`

प्रधानमन्त्री प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट्दैछन् । भेटवार्ताको समय दिउँसो साढे १ बजे तोकिएको छ ।

नेपालले त्रिकोणात्मक शृंखलामा स्कटल्याण्ड र नामिविया हराउदैँ क्लिन स्वीप गरेको थियो । अर्को शृंखलाका लागि नेपाली टिम शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।

बलात्कारकाे आशंकामा एक पुरुष पक्राउ

भक्तपुर /  फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका- ७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले संचालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सुचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वकाे टोली घटनास्थलमा पुगेकाे थियो ।

प्रहरी अनुसन्धानबाट ती युवती राति १० बजेको समयमा राज लामिछानेसँग उक्त गेष्ट हाउसमा बसेकी खुलेकाे छ । घटनापछि  फरार रहेका  लामिछानेलाई सिसिटिभी फुटेज आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बाथरुममा अचेत अवस्थामा फेला परेकी ती युवती बोल्न नसक्ने फरक क्षमताकी छन् । नामथर खुल्न नसकेकी उनकाे उद्धार गरी भक्तपुर अस्पतालमा उपचारको लागी पठाईएको जनाएको छ ।

ती युवतीमािथ जबरजस्ती करणी भएकाे हुन सक्ने आशंकमा यौनजन्य स्वास्थ्य परीक्षण लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । गेष्ट हाउस संचालक भक्तपुर चागुनारायण-५ बस्ने बर्ष ४१ को राजकुमार गिरीलाई पनि पक्राउ गरेको प्रहरी परिसरले जनाएको छ ।  

संसदमा प्रकाश ज्वालाको प्रश्न– याे देशमा श्री ५ महाराजाधिराज र राजतन्त्र छ ?

काठमाडौं – एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले  राजतन्त्र र राजाका नाममा मेची–महाकाली प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोलेका उनले विद्यमान व्यवस्थामाथि प्रहार भइरहेकाले यसविरुद्ध लड्नुपर्ने बताए । 

दुर्गा प्रसाईंको नेतृत्वमा भइरहेको राष्ट्र, राष्ट्रिय र धर्मसंस्कृति संरक्षण अभियानलाई इंगित गर्दै उनले गणतन्त्रसहित राजनीतिक उपलब्धिमाथि प्रहार भइरहेकाले यसविरुद्ध लाग्नुपर्ने बताएका हुन् । 

प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले निकालेको विज्ञप्तिमा प्रयोग गरिएका शब्दप्रति पनि उनले आपत्ति जनाए ।

पूर्वराजा ज्ञानेन्द्रले ‘श्री ५ महाराजाधिराजका नाममा शुभकामना’ भन्दै निकालेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै सांसद ज्वालाले संसदमा प्रश्न गरे– के यो देशमा श्री ५ महाराजाधिराज छ ? अहिले देशमा राजतन्त्र छ ? 

देउवालाई भेट्न माधव नेपाल पुगे धुम्बाराही

काठमाडौं –  एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न धुम्बाराही पुगेका छन् । पार्टीका महासचिव बेदुराम भुसाल र नेता घनश्याम भुसाललाई लिएर अध्यक्ष नेपाल धुम्बाराहीस्थित देउवा निवावमा पुगेका हुन् । 

बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चार घण्टा भेटघाट भएको र सो क्रममा पार्टी एकताको प्रस्ताव राखेको ब्रिफिङ गरेका अध्यक्ष नेपाल दुई शीर्षनेता लिएर देउवा भेट्न पुगेका हुन् । 

एमाले अध्यक्ष ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउन प्रस्ताव राखेका बेला राष्ट्रपतिको दाबेदारी गरिरहेको कांग्रेसका सभापति देउवालाई भेट्न एकीकृत समाजवादीका नेता धुम्बाराही पुगेका हुन् । 

ओलीले राखेको प्रस्तावमा आफूले विश्वास गर्न नसकेको बैठकमा बताएका अध्यक्ष नेपाल देउवा भेट्न पुगेका हुन् । 

दलीय छलफलले तीव्रता पाइरहेका बेला देउवा निवास धुम्बाराहीमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापासहितका नेताहरु बसिरहेका छन् । 

मधेशका मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले गठन गर्‍यो परामर्श समिति

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्य मन्त्रीलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ । 

समितिको सदस्यहरूमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह छन् भने मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भई कार्य गर्ने छन् ।

समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ । 

केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णयहरू कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ । 

राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही गर्नुपर्छ : दुर्गा प्रसाईं

धनगढी – नेकपा एमाले छाडेर नागरिक बचाऔँ अभियान शुरू गरेका व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले केपी ओलीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

धनगढीमा आफ्नो महाअभियानलाई साथ दिन पुगेका उनले बुधवार धनगढीस्थित पार्कमोडमा एक कार्यक्रम आयोजना गरी आफूले पूर्वराजाबाट अभियान शुरू गर्दा कारबाहीमा पर्नुपर्ने भए राजावादीसँग गठबन्धन गर्ने ओलीलाई पनि कारबाही हुनुपर्ने बताए। त्यस क्रममा उनले आफ्नो अभियानलाई साथ दिन पनि आग्रह गरेका छन् ।

प्रसाईंले भने, ‘केपी हजुरबुबाले मलाई पानसमा पूर्वराजाबाट दियो बालेकै कारण कारबाही गर्नुपर्ने, उहाँले त राजावादीसँग गठबन्धन गरेर सरकार चलाइराख्नुभएको छ। उहाँलाई कारबाही हुनुपर्ने होइन रु म पनि केपी हजुरबुवालाई तपाईंको केन्द्रीय सदस्य तपाईं नै राख्नुस् भनेर पार्टीबाट निस्किएँ।’

फरक सन्दर्भमा उनले चर्को ब्याजदर घटाउन पनि आग्रह गरे। चर्को ब्याजले साना व्यवसायी मारमा परेकाले यो विषयलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बेला भएको बताए।

एकीकृत समाजवादीले राष्ट्रपतिबारे सबैसँग छलफल गर्ने

काठमाडौं – एकीकृत समाजवादीले राष्ट्रपतिको निर्वाचनका विषयमा सम्बन्धित् सबैसँग छलफल गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा सम्बन्धित् सबैसँग छलफल गर्ने निर्णय गरेको बैठकपछि महासचिप बेदुराम भुसालले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । 

महासचिव भुसालले सार्वजनिक गरेको विज्ञप्तिको पूर्णपाठ :

आज २०७९ फागुन १० मा नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको ५० औँ बैठक पार्टी अध्यक्ष कमरेड माधवकुमार नेपालको अध्यक्षतामा बस्यो । बैठकमा अहिले मुलुकभित्र घोर दक्षिणपन्थी तथा पुनरुत्थानवादी शक्तिहरुले संविधान र लोकतन्त्रका विरुद्ध विभिन्न ढङ्गले गतिविधि गरिरहेको सन्दर्भमा गम्भीर छलफल भयो र यस सम्वन्धमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग छलफल गर्ने निर्णय गरियो । साथै राष्ट्रपतिको निर्वाचनका सम्बन्धमा पनि सम्बन्धित सबैसँग छलफल गर्ने निर्णय गरियो ।

डा. बेदुराम भुसाल)
महासचिव

सरकार गठन गर्दाकाे सहमतिअनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपति हुन्छ : विष्णु पौडेल

काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमतिअनुसार नै एमालेकै उम्मेदवार राष्ट्रपति हुने बताएका छन् ।

वुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार गठनको बेला भएको समति अनुसार एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दाबी गरेका छन् ।

उनले सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्छ । एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने छ ।’

पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका विषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गरे ।

पालिकाका उम्मेदवारकाे जरिवाना माफी बिरुद्धको पेशी १२ फागुनमा

काठमाडौं –  स्थानीय निर्वाचनको खर्च विवरण नबुझाए बापत निर्वाचन आयोगले जरिवाना गरेका उम्मेदवारलाई माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेशी १२ फागुनमा तोकिएको छ ।

अधिवक्ता लोकेन्द्रबहादुर ओलीले जरिवाना सजाय माफी मिनाहा गर्ने निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट बुधवार दर्ता भए लगत्तै सो रिटमा पेशी १२ गते तोकिएको सर्वोच्च अदालतले जनाएको छ । अदालतका अनुसार १२ गते बिहान १० बजेका लागि पेशी तोकिएको हो ।

निर्वाचन आयोगले तोकिएको समयमा खर्च विवरण नबुझाउनेलाई जरिवाना गर्ने निर्णय गरेको थियो । तर, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानिय तहका उम्मेदवारलाई जरिबानाको माफी दिने निर्णय गरे पछि आजै सर्वोच्च अदालमा मुद्धा परेको थियो ।

हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन,भोलिका दिनमा आए छलफल गछौँ : जगन्नाथ खतिवडा

काठमाडौं – नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीका अध्यक्षलाई राष्ट्रपतिको प्रस्ताव कतैबाट नआएको प्रष्ट पारेको छ ।
बुधबार आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठक पछि प्रवक्ता जगन्नाथ खतिवडाले संचारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।


उनले संचारकर्मीसँग कुरा गर्दै भने, ‘हामीलाई कसैले राष्ट्रपतिको कुनै प्रस्ताव आएको छैन । त्यो च्याप्टर क्लोज भइसकेको छ । भोलिका दिनमा आए त्यसबारेमा अन्य दलसँग छलफल गर्ने नीति लिएको छ ।’

राष्ट्रपतिमा सकेसम्म राष्ट्रिय सहमतिको पक्षमा उभिने उनले बताए ।

उनले भने, ‘उम्मेदवारहरु राजनीतिक दलबाटै हुनेछन् । हामी पनि एउटा पक्ष हौं। कोहीसँग बहुमत छैन । भएको भए अहिलेको छलफल नै हुँदैनथ्यो । अरु कोही उम्मेदवार भयो भने हाम्रो भोटले जित्दैछ । हाम्रो भयो भने पनि अरुको भोटले जित्ने हो । हाम्रो पार्टी पनि त्यही लाइनमा छ ।’ कांग्रेस, माओवादीसहितको दलहरुसँगको छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।

झलनाथ भने, ‘बैठकमा माधवजी राष्ट्रपतिको प्रस्तावबारे केही भन्नु भएन’

काठमाडौं – नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले पार्टीका कसैलाई पनि राष्ट्रपतिको अफर नगरेकाले यो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएको छ ।

आन्दनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठक पछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले राष्ट्रपतिका लागि कसैले प्रस्ताव नगरेकाले सो बिषयको ‘च्याप्टर क्लोज’ भएको बताएका हुन् । 

‘सचिवालय बैठकमा अध्यक्ष माधवकुमार नेपालले अहिलेको परिस्थिति र नेताहरूसँग भएका भेटवार्ताबारे ब्रिफिङ गर्नुभयो, राष्ट्रपति प्रस्ताव आएको भन्नेबारे केही भन्नु भएन त्यसकारण यो हल्ला मात्रै रहेछ भन्ने बुझ्नुपर्‍यो,’ खनालले बैठक पछि भने, ‘राष्ट्रपति निर्वाचन सम्बन्धमा कुनै पार्टीले प्रस्ताव गरेको छैन, यो च्याप्टर क्लोज भयो। कसैले प्रस्ताव गरे धारणा बनाउने हो।’

उनका अनुसार संसदमा रहेका सबै दलहरूसँग राष्ट्रतिका बिषयमा छलफल गर्ने भन्ने निर्णय भएको छ ।

डीआईजी अशोक सिंहद्वारा राजीनामा

काठमाडौं –  डीआईजी अशोक सिंहले राजीनामा दिनुभएको छ । आज दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उहाँले राजीनामा बुझाउनु भएको हो ।

उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले त्यसअघि नै राजीनामा दिनुभएको हो । उहाँले केहीबेरअघि राजीनामा बुझाएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पुष्टि गरेको छ।  

राजीनामाअघि सिंहले प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई भेट्नुभएको थियो । यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गर्नुभएको थियो ।

सिंहको जन्म मिति फरक फरक रहेको लगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन अघि बढिसकेको छ । 

लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेका छन् : गगन थापा

काठमाडौँ — नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले लघुवित्तका कारण कयौं गरिब जनता माथि उठ्न नसक्नेगरी थला परेको उनले बताए । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने बताए । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम चाल्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको हो ।’

लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन सकिने उनले बताए । साथै एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न, सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान उनले माग गरे ।

सांसद अरूण चौधरीको सांसद निलम्बित पद फुकुवा

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सांसद निलम्बित पद फुकुवा भएको छ।

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त सांसद चौधरीलाई आममाफी दिएको पत्र पढेर सुनाएका थिए। योसँगै निलम्बित चौधरीको सांसद पद फुकुवा भएको हो।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चौधरीलाई आममाफी दिएपछि रिहाइ भएका थिए। सांसद पद फुकुवा नभएपछि उहाँको नाम राष्ट्रपति निर्वाचनका लागि मतदाता नामावलीमा समावेश थिएन। 

संसदमा जानकारी भएसँगै संसद सचिवालयले निर्वाचन कार्यालयलाई पत्र पठाएपछि उहाँको नाम मतदाता नामावलीमा समावेश हुनेछ।

थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा चौधरी जेल पर्नुभएकाे थियाे। उहाँ जेल परेपछि सांसद पद निलम्बित भएको थियो।

राष्ट्रपति निर्वाचनको बेलामा विदेशी दौडधूप चलिरहेको प्रति एमाले सांसद पन्तको आपत्ति

काठमाडौँ – एमालेका सांसद रघुजी पन्तले भारतीय विदेशी सचिव विनयमोहन क्वात्राको पछिल्लो नेपाल भ्रमणमा भएका गतिविधिप्रति आक्रोश व्यक्त गरेका छन् ।


वुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रपति निर्वाचनको बेलामा विदेशी दौडधूप चलिरहेकोप्रति आपत्ति जनाए ।

उनले भने, ‘राष्ट्रपतिको विषयमा अहिले छलफल भइरहेको छ । तर, दुखको कुरा भारतको पूर्व प्रोफेशरले राष्ट्रपतिमा हाम्रो पूर्व राजदूत, पूर्व सभामुख र पूर्व अर्थमन्त्रीलगायत व्यक्तिको नाम प्रस्तुत गर्छ । कस्तो दिन आयो? हाम्रो मन्त्रीस्तरको राजदूत हुनुहुन्थ्यो निलाम्बरजी । उहाँलाई भारतको परराष्ट्रमन्त्रीसँग भेट्नको लागि पटक पटक ताकेता गर्दा मुस्किलले भेटघाट हुन्थ्यो । तर, राष्ट्रपतिको चुनावअघि यहाँ भारतका विदेशसचिव आउँछन् । उनी राष्ट्रपतिदेखि पूर्वप्रधानमन्त्री सबैलाई भेटाउँछौं ।’


परराष्ट्र मन्त्रालयले विदेशी पदाधिकारीका भेटहरूलाई कसरी गर्ने भन्ने विषयमा निश्चित प्रक्रिया बनाउनुपर्ने पन्तको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भएको भेटवार्ता निष्कर्षविहीन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको भेटवार्ता निष्कर्षविहीन भएको छ। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड र ओलीबीच बालुवाटारमा राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएको हो। तर प्रचण्ड र ओली आ-आफ्नो अडानमा रहँदा छलफल निष्कर्षविहीन बनेको छ।

राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको विषयमा प्रचण्ड र ओलीबीच विभिन्न चरणमा छलफल भएपनि ठोस निर्णय हुन सकेको छैन। ओलीले पूर्वसहमति अनुसार नै एमालेले बनाएको राष्ट्रपति उम्मेदवार नै सत्ता साझेदार दलको उम्मेदवार हुनुपर्ने धारणा राख्नुभएकाे छ । सत्ता साझेदार राप्रपा र रास्वपाले समेत पूर्वसहमति अनुसार एमालेको उम्मेदवार राष्ट्रपति बनाउनुपर्ने तर्क प्रचण्डसमक्ष गर्दै आएका छन्।

उता माओवादी केन्द्र भने पुस १० गते भएको सहमती उलंघन गर्ने तरखरमा देखिएको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले ‘स्वार्थ मिल्ने’सँग सहकार्य गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको छ।

पछिल्लो समयमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएपछि उनी कांग्रेसतिर ढल्किइरहेका छन्। राष्ट्रपति निर्वाचनलाई लिएर नेपाली कांग्रेसले सत्ता गठबन्धनलाई भत्काएर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेको छ। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ। आज मतदाता नामावली प्रकाशित भइरहेको छ। राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रको मतभार निर्णायक छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं : गंगाराम थारू

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो धारणा माग गरेका हुन् ।


उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन् ।,’

विगतमा पनि यस्तो माग गर्दै आएको र प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको सुनाए । ‘त्यसैले गर्दा अब हामी बाध्य हुनेछौं सदन विरुद्ध । आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।

मुलुकको वर्तमान राजनीतिक प्रणाली र शासकीय स्वरुपमा पुनर्विचार आवश्यक : कमल थापा

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको वर्तमान शासकीय स्वरूप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले मुलुकको प्रणालीको पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताउनुभएको हो ।

थापाले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्यान्डेड दिएको भए पनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको आरोप लगाउनुभयो । काँग्रेस नेतृत्वको गठबन्धन पनि अस्वाभाविक र अपवित्र भएको बताउँदै उहाँले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुई तर्फ बिचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वाभाविक र अपवित्र नै रहेको जिकिर गर्नुभयो । थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबिचमा खिचातानी बढेको धारणा राख्नुभयो ।

अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महँगी दैनिक बढेपनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउनुभयो । अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बिचमा आशङ्का र अविश्वासको खाडल रहेको जिकिर गर्नुभयो ।

कांग्रेसलाई लोसपाको आग्रह : राष्ट्रिय सहमतिमा महन्थ ठाकुरलाई राष्ट्रपतिका लागि समर्थन गरौँ

काठमाडौँ – राष्ट्रपति निर्वाचनको सन्दर्भमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आज छलफल गरेका छन् ।

कांग्रेसका सभापति देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले राष्ट्रपति पदको उम्मेदवारमा राष्ट्रिय सहमतिका लागि उपयुक्त पात्र आफ्नो दलका अध्यक्ष महन्थ ठाकुर भएको भन्दै राष्ट्रपतिका लागि समर्थन गर्न आग्रह गरेको र काँग्रेसबाट सकारात्मक प्रतिक्रिया आएको लोसपाका नेता शरदसिंह भण्डारीले बताए।

काँग्रेसले आधिकारिक रूपमा आफ्नो उम्मेदवार अहिलेसम्म अघि नसारेका कारण पनि सहमतिको परिस्थिति बन्यो भने ठाकुर उपयुक्त पात्र भएको र पार्टीभित्र पनि छलफल गर्ने कुरा काँग्रेसबाट आएको उनले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बारम्बार राष्ट्रिय सहमति भनिरहेकाले अहिले बाहिर आइरहेको नाममा ठाकुर नै उपयुक्त भएको भण्डारीको जिकिर थियो ।

लोसपाका नेताले हिजोमात्र प्रधानमन्त्री प्रचण्डसँग र नेकपा अध्यक्ष केपी ओलीसँग पनि भेटघाट गरी छलफल गरेको जानकारी दिँदै संंसदमा रहेका सबै दलसँग ठाकुरलाई राष्ट्रपतिका लागि आग्रह गर्ने पनि भण्डारीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचन प्रक्रिया सुरु, ८८१ जना मतदाताको नामावली सार्वजनिक

काठमाडौं – राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको  छ । 

२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो । 

सार्वजनिक मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार  बिहान ११ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्म दिन सकिने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । 

दाबी विरोधको उजुरीमाथि फागुन १२ गते अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ । 

उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ । 

मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्काशन

काठमाडौं – मेन्छियाम हाइड्रोपावरले बुधबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ । 

मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँअंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र योबाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ ।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।  यो आइपीओमा एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

उक्त आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदकले फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ यदि सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन् । 

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । 

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक 

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । 

पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए । 

सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो । 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार आज बालुवाटारमा यी दुई नेता बिच भेटवार्ता भएको हो ।

दुई नेता बिच भेटमा राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे छलफल भएको प्रधानमन्त्री सचिवालय जानकारी दिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल यही फागुन २८ गते सकिन लागेकाले नयाँ राष्ट्रपति चुन्न फागुन २५ गते निर्वाचन हुँदैछ । त्यसका लागि फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ ।

निर्वाचनको मिति नजिकिंदै गएकाले दलहरु राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने प्रयासमा छन् । राष्टपति विद्यादेवी भण्डारीको कार्यकाल सकिन लागेकाले आगामी कार्यकालका लागि राष्टपतिको निर्वाचन गर्न लागिएको हो । निर्वाचनको तयारी जारी राखेको निर्वाचन आयोगले आज मतदाता नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रपति भण्डारीद्धारा बागलुङमा कालिका मन्दिरको दर्शन

ढोरपाटन / राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आउनुभएको हो ।

नेपाली सेनाको हेलिकोप्टरबाट बिहान १०ः३० बजे बागलुङ बजार आउनुभएका राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गर्नुभयो ।

बागलुङ कालिका मन्दिरमा राष्ट्रपति भण्डारीले दर्शन तथा पूजा गर्नुहुने कालिका गुठी व्यवस्थापन समितिले जानकारी दिएको छ ।

यस्ताे छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं / नेपाल राष्ट्र बैँकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ १७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७७ पैसा तोकिएको छ । यसअघि मंगलबार अमेरिकी डलरको खरिदमूल्य १३२ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

बुधबार युरोपियन युरोमा एकको खरिददर १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५२ पैसा तोकिएको छ । यसअघि मंगलबार युरोको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीमा १४२ रुपैयाँ ७५ पैसा तोकिएको थियो । 

त्यस्तै, आज पाउण्ड स्टर्लिङ एकको खरिदमा भने १५९ रुपैयाँ ८६ पैसा र बिक्रीमा १६० रुपैयाँ ५९ पैसा पाइन्छ। बुधबार अष्ट्रेलियन डलर को खरिदमूल्य ९० रुपैयाँ ९९ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ४१ पैसामा कारोबार भइरहेको छ ।

त्यस्तै, साउदी अरेवियन रियालको खरिददर ३५ रुपैयाँ २४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४० पैसा तोकिएको छ । यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ २२ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३९ पैसा पाइन्छ । 

बुधबार युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९५ पैसा रहेको छ । 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ १६ पैसा र बिक्रीमा १० रुपैयाँ २१ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ८५ पैसा र बिक्रीमा १६ रुपैयाँ ९३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ १८ पैसा र बिक्रीमा ४३३ रुपैयाँ १४ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ६८ पैसा र बिक्रीमा ३५२ रुपैयाँ २७ पैसा नेपाल राष्ट्र बैंकको विवरणमा उल्लेख छ ।
 

बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु, एक घाइते

बिराटनगर /  मोरङको बेलबारीमा बुधबार बिहान यात्रुबहाक बसको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बेलबारी नगरपालिका–१ मा बिहान ६ः३० बजेतिर ठक्कर दिँदा दुर्घटना परेर साइकल यात्रीको मृत्यु भएको हो।  साइकलमा सवार अर्का एक जना घाइते भएका छन्।

मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलयात्री बेलबारी–२ का १९ वर्षीय लेखनाथ चौहानको उपचारको क्रममा मृत्यु भएको हो ।  बसको ठक्करबाट अर्को साइकलका यात्री बेलबारी–२ का १८ वर्षीय राम बस्नेत घाइते भएका छन्। बस्नेतको उपचार भइरहेको छ। 

बससहित चालक स्याङ्जाको आँधीखोला गाउँपालिका–२ का ३८ वर्षीय नरेन्द्र दर्जीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

यी हुन् नयाँ राष्ट्रपति चुन्ने ८८१ मतदाता ,कस्को मत कति ?

काठमाडौं – नयाँ राष्ट्रपति चयनका लागि ८८१ जना मतदाता रहने भएका छन् ।  निर्वाचन आयोगले तयार पारेको मतदाता नामावलीका अनुसार आगामी २५ फागुनका लागि तय भएको नयाँ राष्ट्रपति निर्वाचनमा ८८१ मतदाता रहने भएका हुन् ।

प्रतिनिधिसभाका २७५ मध्ये चितवन २ बाट निर्वाचित रवि लामिछाने पदमुक्त हुनभएको र  र मनाङबाट निर्वाचित टेबहादुर गुरुङ निलम्बनमा पर्नुभएका कारण उहाँहरुले मतदान गर्न पाउनु हुने छैन । महोत्तरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लक्ष्मी चौधरी कोइरीले मतदान गर्न पाउने–नपाउने भन्नेबारे आयोग निर्णयमा पुगिसकेको छैन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  यस पटकको राष्ट्रपति निर्वाचनमा तीन जना मतदाता कम हुन सक्ने छन् । यसबारे बुधबार आयोगले निर्णय गरेर सार्वजनिक गर्ने उहाँले जानकारी दिनुभयो ।  

राष्ट्रपति निर्वाचन तालिकाअनुसार आयोगले बुधबार मतदाता नामावली प्रकाशन गर्नेछ। त्यसपछि उजुरीमाथि छानबिन ११ र १२ फागुनमा हुनेछ। अन्तिम मतदाता नामावली १२ फागुनमै प्रकाशन गरिनेछ।  

बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपतिको निर्वाचन गर्न आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। राष्ट्रपति उम्मेदवारको मनोनयन दर्ता १३ फागुन र २५ फागुनमा निर्वाचन हुनेछ। 

कानुनअनुसार राष्ट्रपति निर्वाचनमा संघीय संसदले दिएको एक मत बराबर ७९ मतभार हुनेछ। यस्तो मतभार कुल जनसंख्यालाई कुल संघीय संसद सदस्यले भाग लगाएर निकालिन्छ। निर्वाचन आयोगले यसपटक चुनावको मतभार २०६८ सालको जनगणनाकै आधारमा गर्ने जनाएको छ।

प्रदेश सभा सदस्यको मतभार भने ४८ छ । प्रदेश सभा सदस्यको मतभार पनि कुल जनसंख्यालाई कुल प्रदेश सभा सदस्य संख्या, ५ सय ५० ले भाग लगाएर निकालिएको हो।
यसपटकको निर्वाचनमा संघीय संसदका सदस्यको कुल मतभार २६ हजार ३ सय ७ छ। प्रदेश सभा सदस्यको मतभार २६ हजार ४ सय छ। अर्थात् राष्ट्रपतिको निर्वाचनमा कुल मतभार ५२ हजार ७ सय ७ छ । राष्ट्रपति निर्वाचित हुन कुनै पनि उम्मेदवारले यो मतको बहुमत अर्थात् २६ हजार ३ सय ५४ मत ल्याउनुपर्नेछ। 
राष्ट्रपति निर्वाचनमा कांग्रेससँग सबभन्दा धेरै, १६ हजार २ सय २१ मतभार छ।  दोस्रो स्थानमा रहेको एमालेसँग १५ हजार २ सय ३३ मतभार छ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसँग ७ हजार ६ सय ४९ मत छ भने  नेकपा एकीकृत समाजवादी पार्टीसँग २ हजार ५ सय ७४, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सँग २ हजार ४ सय ५० र जनता समाजवादी पार्टी (जसपा) सँग २ हजार १ सय ४५ मतभार छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग १ हजार ५ सय १ मत छ भने जनमत पार्टीसँग १ हजार २ सय ४२ मतभार छ।

अरू साना दलहरूसँग एक हजारभन्दा कम मतभार छ। 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आठौं महाधिवेशन आगामी फागुन १२ देखि १४ गतेसम्म हुने भएको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी आठौं महाधिवेशन एवं २२औं साधरणसभा धादिङ जिल्लाको धादिङवेशीमा हुने जानकारी गराएको हो । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले प्रतिष्ठानको विकास र व्यवस्थापनमा धेरै योजना भएपनि कोरोना महामारीको कारण कार्यकालमा सोचेझैं काम गर्न नसकिएको बताउनुभयो । उहाले कलाकर्मीहरुलाई कोरोना महामारीको कहर एकदमै कष्टकर भएको बताउनुभयो । धादिङ कला र संस्कृतिको उर्वर भूमि भएकाले पनि यसपटकको महाधिवेशन धादिङवेशीमा गर्न लागिएको उहाले बताउनुभयो ।

महाधिवेशनमा ७२ जिल्लास्तरीय समिति, ६ प्रदेशस्तरीय समिति, आजीवन सदस्यहरु, मानार्थ सदस्यहरु र केन्द्रीय समितिसहितका सबै प्रतिनिधि गरी एक हजार जनाभन्दा बढीको उपस्थिति रहने बताइएको छ ।

प्रधानमन्त्री भेट्न महन्थ ठाकुर बालुवाटारमा

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र लोकतान्त्रिक समाजवादी अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेका अध्यक्ष ठाकुर र प्रधानमन्त्री प्रचण्डबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ । 

भावी राष्ट्रपतिले राजनीति गर्माएका बेला अध्यक्ष ठाकुर बालुवाटार पुगेका हुन् । 
 

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार- गर्न थाले दोहोरो संवाद

काठमाडौं – खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारी मंगलबारबाट दोहोरो संवाद गर्न थालेका छन् । 

गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ । 

घटनापछि मंगलबार बिहान सवा १० बजे पहिलोपटक उनले दोहोरो संवाद गरेका कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । 
उनका अनुसार उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेको र सुन्निएको अनुहार घट्दै गएको छ ।  

सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे नेता सिवाकोटीले फेसबुकमा लेखेका छन्, ‘ फागुन–९ बिहान १०.१५ बजेको अपडेट अनुसार दुर्घटनापछि पहिलो पटक दोहोरो संवाद भएको छ। साथमा रहेका माधव न्यौपानेका अनुसार भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ। कल्चर रिपोर्ट आज आउदै छ।अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको अनुहार घटेको छ। स्वास्थ्य सामान्यतर्फ गईरहेको छ।’

सोही घटनामा परेर सांसद भण्डारीकी आमा हरिकला भण्डारीको भने बिहीबार नै उपचारका क्रममा कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा निधन भएको थियो । 
 

केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक (फोटोफिचर)

काठमाडौँ – फाल्गुन ११ गतेदेखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ट्रफी सार्वजनिक गरिएको छ ।

मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी गीत सार्वजनिक गरेको छ । प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगिता आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा ’ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो यूथ क्लब भिड्ने छन् । प्रतियोगिताको फाइनल बाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । फाइनल खेल भने दशरथ रङ्गशालामा आयोजना हुनेछ । ’ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टिम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो यूथ क्लब र जवालाखेल यूथ क्लब छन् । एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन राष्ट्रपति भण्डारीको आग्रह

मकवानपुर – राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा दिन आग्रह गर्नुभएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालको नवनिर्मित भवनको आज उद्घाटन गर्र्र्र्र्र्र्र्र्र्र्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले स्वास्थ्य उपचार सेवा दिन सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायहरु आपसमा समन्वय गरेर प्रभावकारी रुपमा अघि बढ्न आह्वान गर्नुभयो ।
राष्ट्रपति भण्डारीले संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको उल्लेख गर्नुहुँदै स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक एवम् दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई प्रदेश सरकार र स्थानीय निकायले आत्मसात् गरेर अघि बढ्न आह्वान गर्नुभयो ।

उहाँले विपन्न नागरिकलाई स्वास्थ्य उपचार सेवा प्रदान गरी उनीहरुलाई उपचार विधिमा विश्वस्त तुल्याउन मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयोे ।

उहाँले विभिन्न समय र मौसममा हुने सङ्क्रमणबाट मुलुकका सबै नागरिकलाई जोगाउन अस्पताल तथा यहाँका स्वास्थ्य क्षेत्रका जनशक्तिले जनचेतना जगाउने काम गर्नुपर्ने पनि बताउनुभयो । समय समयमा देशका विभिन्न प्रदेशमा डेङ्गु र हैजा जस्ता रोगहरुको सङ्क्रमणले चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रका विशेषज्ञहरु समयमै ती रोगहरुलाई नियन्त्रणमा ल्याउने काममा खटिनुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डको परराष्ट्र मामिला सल्लाहकारमा डा.रुपक सापकोटा नियुक्त

काठमाडौँ – नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को परराष्ट्र मामिला सल्लाहकारमा डा. रुपक सापकोटा नियुक्त भएका छन् । सापकोटाले चीनबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधी गरेका छन् । उनलाई मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो । यसअघि उनी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका उप(कार्यकारी निर्देशक थिए ।

सापकोटा त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापन गर्दै आएका छन् । साथै, त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषय समिति सदस्यका रुपमा पनि जिम्मेवारी निर्वाह गदै आएका छन् । उनी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा पनि जानकार मानिन्छन् ।

सन् २०१८मा चीनको बेइजिङस्थित रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधी हासिल गरेका थिए । उनी चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

उनलाई परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरिएको जानकारी प्राप्त भएको तर पत्र बुझ्न र कार्यभार सम्हाल्न बाँकी रहेको सापकोटाले जानकारी दिए ।

राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्छ : शेखर कोइराला

काठमाडौं – नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन् ।

प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उनको भनाइ थियो ।

नेता कोइरालाले भने , “राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली कांग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस् ।” दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उनले बताए ।

उनले भने “एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्,सङ्गठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ ।” लोकतन्त्रलाई बलियो बनाउन कांग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, शुसासन, पारदर्शिता हुनाका साथै दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो ।

राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको माधवकुमार नेपालको दाबी

काठमाडौँ – नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले  राष्ट्रपतिका लागि कसैबाट ठोस प्रस्ताव नआएको दाबी गरेका छन् । आज दाङको भालुवाङमा पत्रकारसँग कुरा गर्दै उनले राष्ट्रपतिको विषयमा आफू के बन्ने भन्ने बारे अझै सोचिन सकेको बताए ।

 उनले आफूलाई राष्ट्रपतिको प्रस्ताव आउनु स्वाभाविक भए पनि त्यसका लागि वृहत् छलफलको आवश्यकता रहेको बताए । उनले राष्ट्रपति निर्वाचनलाई पावर शेयरिङको रूपमा पार्टीको भूमिका हुनुपर्नेमा जोड दिए । 

उनले भने,‘अहिले बजारमा हल्लाहरू धेरै छन् । चर्चा-परिचर्चाहरू धेरै छन् । कुनै टुङ्गो लागेको छैन । चाहना राख्ने कुरा बेग्लै कुरा हो । मैले नै आफू के गर्ने सोचिसकेको छैन । हाम्रो पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेको छैन । तर, पार्टीको धारणा भने पावर शेयरिङमा हाम्रो भूमिका हुनुपर्दछ ।’

सत्ता गठबन्धन एमालेका कारण टुट्दैन : योगेश भट्टराई

काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्ता गठबन्धन एमालेका कारण नटुट्ने बताउनु भएको छ ।

मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै भट्टराईले एमालेका कारण गठबन्धन नटुट्ने स्पष्ट पार्नुभएको हो ।

उहाँले प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्थिर रहेको बताउनु भयो । माओवादी चरम अवसरवादमा लागेको भन्दै उहाँले आगामी निर्वाचनमा माओवादी ठूलो पार्टी पनि बन्न नसक्ने बताउनभयो 

कुमारी बैंकद्धारा संस्थापक बुढाथोकीको सेयर बिक्रिको घोषणा

काठमाडौं – कुमारी बैंकले आफ्ना एक संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६०० कित्ता संस्थापक सेयर बिक्री घोषणा गरेको छ ।

सो बैंकले संस्थापक सेयरधनी तर्कबहादुर बुढाथोकीको नाममा रहेको सेयर बिक्री खुला गर्ने घोषणा गरेको हो । 

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले सुरुमा आवेदन दिन सक्नेछन्, अन्य संस्थापक सेयरधनी यसका लागि प्रमुख हकदारमा परेका छन । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा आबेदन दिनु पर्नेछ । सेयर मुल्य भने बिक्रेताले तोके बमोजिम हुने जारी सूचनामा उल्लेख गरिएको छ । 
 

सुचना अनुसार उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिनेछ ।

दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरीत छ : देव गुरुङ

काठमाडौँ – नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषको राष्ट्रपति बनाउने कुरा संविधान विपरीत भएको टिप्पणी गर्नुभएको छ । 

सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा  सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले पार्टी विशेषको व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा संविधानमा नै नरहेको बताउनुभएको हो । उहाँले एमाले पार्टी विशेषलाई राष्ट्रपति दिने भन्ने कुरा पनि संविधान विपरीत नै रहेको जिकिर गर्नुभयो । 

राष्ट्रपतिका लागि कुनै दलले प्रस्ताव राख्ने कुरा स्वाभाविक भए पनि कुनै दल विशेषलाई नै राष्ट्रपति बनाउने भन्ने विषय फरक रहेको उहाँले बताउनुभयो । गुरुङले राष्ट्रपति संविधानको संरक्षक भएकाले साझा व्यक्तिका रूपमा उक्त संस्थामा प्रवेश गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राष्ट्रपति गठबन्धनसँग जोडिएको विषय नभएको समेत बताउनुभयो । 

यसअघि भएको कटुवाल प्रकरण, संसद विघटन प्रकरण, सरकारको सिफारिस कार्यान्वयन नभएको विषय लगायतलाई हेर्दा राष्ट्रिय सहमतिका आधारमा दलबाहिरको व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने उहाँले बताउनुभयो । 

त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारबाहीप्रति मन्त्री किराँती असन्तुष्टि

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन विमानस्थलको अध्यागमनको कामकारबाहीप्रति असन्तुष्टि जनाउनुभएको छ । 

सोमबार पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ लगायतले संयुक्त रूपमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री किराँतीले विमानस्थलका समस्याहरू अध्यागमनले समाधान गर्नुपर्नेमा त्यसो हुन नसकेको रिपोर्ट आउने भन्दै असन्तुष्टि जनाउनुभएको हो ।

अहिले मोबाइल ल्याउने व्यवस्था, ५० ग्रामसम्म सुन ल्याउन पाउने व्यवस्थामा सरकारको नीति विपरीत अध्यागमनले नियन्त्रणमा लिने काम गरेको उहाँको भनाइ छ । उहाँले विमानस्थलको सर्भर डाउन हुँदा हजारौँ यात्रु समस्यामा परेको भन्दै अध्यागमनले समयमा नै समाधान गर्न नसकेको बताउनुभयो । त्यस्तै मन्त्री किराँतीले काठमाडौँ उपत्यकाका सात सम्पदा जोड्ने गरी छिट्टै बस सेवा सञ्चालन गरिने र केही प्रक्रियागत कारणले ढिलाइ भइरहेको धारणा राख्नुभयो । मन्त्री किराँतीले हरेक सम्पदाको सर्किट बनाएर नेपालीपनको पर्यटन विकास गरिनुपर्नेमा जोड दिनुभयो । 

उहाँले पर्यटनसँग उत्पादन जोड्नुपर्ने भन्दै मन्त्रालयले छिट्टै सबै क्षेत्रसँग छलफल गरी पर्यटन प्रवर्द्धनको रणनीति तयार गरिने उल्लेख गर्नुभयो । 

बाह्रबुँदे समझदारी पक्षधर शक्तिहरू एक ठाउँ उभिनुपर्छ : प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाह्रबुँदे समझदारी, बिस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँ उभिएका शक्तिहरू फेरि पनि एकै ठाउँ उभिनुपर्ने बताउनुभएको छ।


सोमबार दिउँसो पोखराको लेखनाथमा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको छैटौं पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो।


प्रदेश बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मुलुक राजनीतिक र आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा छ। राजनीतिमा दुषित हावा देखिएको छ, अर्थतन्त्र अप्ठ्यारो ठाउँमा छ। १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला जुन जुन शक्ति एक ठाउँ उभिएका थिए। फेरि पनि ती शक्तिहरू एक ठाउँ उभिन आवश्यक छ। राष्ट्रिय सहमतिमार्फत् मुलुकका समस्या समाधान गर्नुपर्छ। राष्ट्रपति र उपराष्ट्रपतिमा राष्ट्रिय सहमति होस् भन्ने हाम्रो चाहनाको अन्तर्य पनि यही हो।”
“राष्ट्रिय सहमतिका लागि विभिन्न बिकल्प छन्, ठूला पार्टी एक ठाउँ उभिन नसक्ने अवस्था छैन” उहाँले भन्नुभयो, “राज्यका मुख्य ठाउँहरूमा समझदारीका साथ अघि बढ्न सकिन्छ। हाम्रा लागि यही मान्छे भन्ने छैन, जहाँ सहमति हुन्छ, त्यहाँबाट अघि बढौँ। तर, ठूला दलहरू एक ठाउँ उभिनुपर्छ भन्ने हाम्रो प्रष्ट मान्यता छ।”


उहाँले २ महिना जनतामा गएर उनीहरूका रिपोर्ट ल्याउन नेताहरूलाई निर्देशित गर्नुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, “दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं। त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिउँ। सहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं। उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं।”


“समाजवादी मोर्चा निर्माणका लागि छलफल भइरहेको छ, आगामी केन्द्रीय समितिको बैठकसम्म हामी एउटा निष्कर्षमा पुग्छौं” उहाँले भन्नुभयो, “देशमा विद्यमान समस्यालाई अवसरमा बदल्न मोर्चाको महत्वपूर्ण कार्यभार रहन्छ। केही पार्टीहरूसँग एकताको निम्तिसमेत गृहकार्य भइरहेको छ। छिट्टै एउटा निष्कर्षमा पुग्छौँ।”


“वर्तमान सरकार जनताको अवस्था बदल्ने कुरालाई केन्द्रमा राखेर काम गरिरहेको छ” प्रचण्डले भन्नुभयो, “नयाँ सरकारले जनताको पक्षमा महत्त्वपूर्ण कामहरू गरेको छ। अर्थतन्त्रमा सुधार ल्याउन गम्भीर पहल गरेको छ, सुधार पनि आएको छ। सरकारी सेवाप्रवाह चुस्त बनाउने कार्ययोजना बनाइएको छ। हाम्रो प्रयासको नतिजा छिट्टै देखिनेछ।”