`

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई

विराटनगर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचन प्रक्रिया अघि बढिसकेकाले अब कुनै पनि बहानामा चुनाव रोक्ने वा सार्ने विकल्प नरहेको उहाको भनाइ छ ।

आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले दलहरूले समानुपातिकतर्फको उम्मेदवार सूची बुझाइसकेको र माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुन लागेकाले निर्वाचनबाट पछि हट्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

फागुन २१ गते तराई क्षेत्रमा होली तथा हिमाली जिल्लामा सम्भावित हिमपातजस्ता व्यावहारिक कठिनाइ रहेको स्वीकार गर्दै उहँले निर्वाचनलाई आवश्यक परे चरणबद्ध रूपमा सञ्चालन गर्न सकिने सुझाव दिनुभयो । “काठमाडौँ उपत्यकाजस्ता सहज क्षेत्रमा पहिलो चरणमा र मौसम प्रतिकूल हुने हिमाली तथा तराईका जिल्लामा दोस्रो वा तेस्रो चरणमा गरेर भए पनि फागुनमै चुनाव हुनुपर्छ”, उहँले भन्नुभयो ।

देशलाई लामो समयसम्म सङ्क्रमणकालमा राख्दा संविधान र लोकतन्त्रमाथि नै सङ्कट आउन सक्ने चेतावनी दिँदै भट्टराईले संसदीय प्रणालीलाई जीवित राख्न निर्वाचन नै एकमात्र विकल्प रहेको उल्लेख गर्नुभयो । “सङ्क्रमणकाल लम्बिँदा लोकतन्त्रविरुद्ध षड्यन्त्र हुनसक्छ, त्यसैले समयमै निर्वाचन अपरिहार्य छ”, उहाँको भनाइ थियो ।

कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले १५औँ महाधिवेशनसम्बन्धी उक्त प्रस्ताव पारित गरेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उहाँका अनुसार हाल निर्धारित यही पुस २६ देखि २८ गतेसम्मको महाधिवेशनको तालिका समय अभावका कारण आगामी वैशाख २८ देखि ३१ गतेका लागि सारिएको हो । पुसमा प्रस्तावित महाधिवेशन त्यही मितिमा गर्न सम्भव नभएकाले हाल संशोधित कार्यतालिका केन्द्रीय सम्पादन समितिले पारित गरेको प्रवक्ता महतले बताउनुभयो ।

संशोधित कार्यतालिकाअनुसार गाउँ÷नगर वडा अधिवेशन आगामी चैत २१ गते, गाउँ÷नगरपालिका अधिवेशन चैत २५ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन चैत २८ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एकमात्र प्रदेशसभा निर्वाचन क्षेत्र भएको जिल्लामा) विसं २०८३ वैशाख २ गते, दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा वैशाख ५ गते, प्रदेश अधिवेशन वैशाख १० देखि १२ गते र केन्द्रीय महाधिवेशन वैशाख २८ देखि ३१ गते गर्ने निर्णय गरिएको छ ।

उहाँले गत मङ्सिर १५ गते केन्द्रीय कार्यसमितिले महाधिवेशनसम्बन्धी निर्णय गरेपछि विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको तर्क गर्नुभयो । “अब हामी १५आँै नियमित अधिवेशनमा प्रवेश गरिसकेका छौँ”, प्रवक्ता महतले भन्नुभयो । आगामी फागुन २१ गतेको आमनिर्वाचनको कारणले २०८३ वैशाखभन्दा अघि महाधिवेशन गर्न नसकिने उहाँको भनाइ थियो ।

उक्त निर्णयका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले भने आफ्नो पक्षहरूको फरक मत रहेको बताउनुभयो । त्यो फरक मतको बाबजुद पनि केन्द्रीय कार्यसमितिको कार्यसम्पादन समितिको बहुमतले सो निर्णयलाई पारित गरेको थियो । सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूलगायत चार–पाँच जना साथीहरूको त्यसमा फरक मत रहेको जानकारी गराउनुभयो । साथै महामन्त्री थापाले यसअघि असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालयमा दर्ता भएको विशेष महाधिवेशनसम्बन्धी प्रस्ताव विधानतः लागू गर्न यही पुसभित्र १५औँ महाधिवेशन गरिसक्नुुपर्ने बताउनुभयो ।

“पार्टीको विधानको धारा १७ को (२) ले प्रष्टसँग के भन्छ भने केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन गरेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउन सक्नेछ”, महामन्त्री थापाले भन्नुभयो, “केन्द्रीय समितिको पदावधि थप्ने तर विशेष महाधिवेशन नगर्ने भन्ने अथवा विशेष गर्ने भन्ने प्रस्ताव नआएको हुनाले विशेष महाधिवेशन गर्ने प्रस्ताव अनिवार्य रूपमा आउनुपर्छ । यही पुस मसान्तभित्र विशेष महाधिवेशन गर्नैपर्छ विधानको यो धाराअनुसार गर्नुपर्छ भन्ने फरकमत हामीले दर्ज गराएका छाँै ।”

महामन्त्री थापाले अझै एकदुई दिन समय रहेको र आफूहरूले केन्द्रीय समितिबाट विशेष महाधिवेशन बोलाउनका लागि अपेक्षा गरेको र जिम्मेवार नेताले विधानको पालना नगरेको अवस्थामा विधानको पालना गराउन महामन्त्रीको हैसियतमा आफूहरूले टुलुटुलु हेरेर बस्न नमिल्ने धारणा व्यक्त गर्नुभयो । आफ्नो विधानले दिएको अधिकारको प्रयोग गरेर विशेष महाधिवेशन बोलाउने उहाँको भनाइ थियो ।

युक्रेनी गुप्तचर प्रमुख बुडानोभलाई राष्ट्रपति कार्यालयको नयाँ सैन्य प्रमुखमा नियुक्त

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भ्रष्टाचार काण्डमा गत नोभेम्बरमा एन्ड्री येरमाकले राजीनामा दिएपछि सैन्य गुप्तचर प्रमुख काइरिलो बुडानोभलाई शुक्रबार आफ्नो कार्यालयको नयाँ सैन्य प्रमुखको रूपमा नियुक्त गर्नुभएको छ ।

युक्रेनमा ख्याति कमाएका ३९ वर्षीय बुडानोभलाई सन् २०२२ मा युक्रेनविरूद्ध चौतर्फी आक्रमण सुरु गरेदेखि रूसबिरूद्ध भएका साहसी आक्रमणको श्रृंखलाको श्रेय जान्छ ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “मैले बुडानोभसँग भेट गरी उहाँलाई युक्रेनी राष्ट्रपतिको कार्यालयको प्रमुखको भूमिका प्रस्ताव गरेको थिएँ ।द्वन्द्व अन्त्य गर्न अमेरिकी मध्यस्थतामा सम्झौताको ‘९० प्रतिशत’ तयारी पूरा भएको राष्ट्रपति जेलेन्स्कीले बुधबार घोषणा गर्नुभएको थियो ।

जेलेन्स्कीले भन्नुभयो, “यस समयमा युक्रेनले सुरक्षा मुद्दा, देशको भूगोलको रक्षा र सुरक्षा बलको विकास र वार्ताको कूटनीतिक मार्गमा बढी ध्यान केन्द्रित गर्न आवश्यक छ।”

“काइरिलोसँग यी क्षेत्रहरूमा विशेष अनुभव छ र परिणाम दिन पर्याप्त शक्ति छ,” उहाँले भन्नुभयो ।जेलेन्स्कीका सल्लाहकार दिमित्रो लिट्विनले पत्रकारसँगको कुराकानीमा भन्न्ुभयो, “उहाँलाई राष्ट्रपतिको ‘चिफ अफ स्टाफ’मा नियुक्त गर्न औपचारिक प्रक्रिया सुरु गरिएको छ।

नियुक्त भएपछि बुडानोभले येरमाकको राजीनामापछि खालि रहेको राष्ट्रपतिको प्रमुख सैन्य सल्लाहकारको जिम्मेवारी सम्हाल्नुहुनेछ । येरमाकले नोभेम्बरमा भ्रष्टाचारको व्यापक अनुसन्धानको एक भागको रूपमा अन्वेषकहरूले उहाँको घरमा छापा मारेपछि राजीनामा दिनुभएको थियो ।

येरमाक जेलेन्स्कीका सबैभन्दा महत्त्वपूर्ण सहयोगी हुनुहुन्थ्यो । आलोचकहरूको नजरमा येरमाक किएभमा एक विभाजनकारी व्यक्ति हुनुहुन्थ्यो र उहाँले विशाल शक्ति जम्मा गरी निर्दयतापूर्वक आलोचनात्मक आवाजहरूलाई किनारा लगाउनुभएको थियो ।

दोस्रो विश्वयुद्धपछि युरोपेली भूमिमा सबैभन्दा घातक चार वर्ष लामो द्वन्द्वले दशौं हजार मानिसको ज्यान लिएको छ र युक्रेनी भूभाग ध्वस्त पारेको छ।

हेल्प नेपाल एनभिए भलिबलको फाइनलमा

काठमाडौँ, १८ पुस : नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सहज सेटमा हराउँदै हेल्प नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो । हेल्प नेपालले पुलिसमाथि २५–२१, २५–२३ तथा २५–२२ ले जित निकाल्यो ।

त्यसैगरी, सोही मैदानमा आजै भएको महिलातर्फको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ सेटमा हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ । पुलिसले आर्मीलाई २५–१२, २९–३१, २५–१४–२५–१८ ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

काठमाडौँ महानगरद्वारा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरघरमा पुगी स्वास्थ्य सेवा

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । महानगरले आगामी माघदेखि ७० वर्षभन्दा माथिका दीर्घ रोगी, अशक्तको स्वास्थ्य परीक्षण गर्न सुरु गर्न थालेको महानगरका स्वास्थ्य विभागका प्रमुख दीपक केसीले जानकारी दिनुभयो ।

महानगरका ३२ वटै सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले ती ज्येष्ठ नागरिकको घरघरमा गई स्वास्थ्य परीक्षण गर्ने छ । उपचार गर्न अस्पताल र प्रवर्द्धन केन्द्रमा जान नसक्ने ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई महानगरले सेवा प्रदान गर्न थालेको हो ।

महानगरका चिकित्सक डा दिवस न्यौपानले सुरुमा स्टाफ नर्सले घरमा पुगी ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने र आवश्यक परेको खण्डमा चिकित्सक गएर ती ज्येष्ठ नागरिकको उपचार गर्ने बताउनुभयो । “३२ वटै वडामा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा रहेका स्टाफ नर्सले आआफ्नो ठाउँमा रहेका ज्येष्ठ नागरिकको शारीरिक र मानसिक स्वास्थ्य रिर्पोट तयार पार्दछन् । त्यही बेला नै उच्च रक्तचाप, मधुमेहलगायत सामान्य परीक्षण गर्ने छन्”, उहाँले भन्नुभयो, “सोही आधारमा ती नागरिकको रोग पत्ता लगाइसकेपछि चिकित्सकले उपचार गर्ने र आवश्यक अन्य उपचारका लागि अस्पतालसम्म लैजाने व्यवस्था गरिने छ ।”

महानगरले ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्नका लागि तालिम दिइसकेको विभागमा प्रमुख केसीले जानकारी दिनुभयो । “हामीले सबै वडाका स्टाफ नर्सलाई तालिम दिइसकेका छौँ । अब सम्बन्धित वडाका वडाध्यक्ष र केन्द्रका इञ्चार्जसँगको छलफलपछि हामीले ती ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्न घरघरमा जान्छौँ”, उहाँले भन्नुभयो । महानगरमा ७० वर्षभन्दा माथिका करिब २३ हजार ज्येष्ठ नागरिक रहेका छन् ।

अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोगलाई आदेश

काठमाडौँ – सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आदेश दिएको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले आज अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था मिलाउन निर्वाचन आयोगको नाममा सो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, “निर्वाचन आयोगले सबै राजनीतिक दलले पेस गरेको बन्द सूची छानबिन गरी, संविधान र कानुनअनुसार अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व नभएमा सम्बन्धित दललाई सूची सच्याई अपाङ्गता भएका व्यक्तिको नाम अनिवार्य रूपमा समावेश गरी अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चितताको प्रत्याभूति हुनेगरी आवश्यक व्यवस्था गर्नु÷गराउनु हुन आदेश दिएको छ ।”

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईँ, सङ्घका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सीताराम केसीको कानुनी सहायतामा यही पुस ११ गते रिट निवेदन दायर गरिएको थियो ।

रिट निवेदनमा २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको कुल जनसङ्ख्याको २.२ प्रतिशत (६,४७,७४४ जना) कुनै न कुनै प्रकारको अपाङ्गता भएका व्यक्ति भएको र यति ठूलो जनसङ्ख्या हुँदाहुँदै पनि समानुपातिक प्रतिनिधित्व सुनिश्चित नगर्नु समावेशी लोकतन्त्र, समान राजनीतिक सहभागिता र अन्तरराष्ट्रिय दायित्वविपरीत भएको निवेदकहरूको दाबी छ ।

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

काठमाडौँ – गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई आज पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ । कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका उनलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी

दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योलविरूद्ध पुनः पक्राउ पुर्जी जारी गरेको छ ।अभियोजनकर्ताहरूले नोभेम्बरमा युनविरूद्ध देशको शत्रुलाई सहयोग गरेको धेरै आरोपमा अभियोग लगाएका थिए । उहााले सैन्य शासन घोषणा गर्ने आफ्नो प्रयासलाई बलियो बनाउन उत्तर कोरियामाथि ड्रोन उडानहरू गर्न आदेश दिनुभएको थियो ।

त्यस मुद्दाको लागि पक्राउ पूर्जीको म्याद जनवरी १८ सम्ममा समाप्त हुनुपर्ने थियो तर शुक्रबारको आदेशले यसलाई अधिकतम छ महिना विस्तार गर्नेछ ।

दक्षिण कोरियाको राजधानी सियोलस्थित जिल्ला अदालतका एक अधिकारीले एएफपीसँग भन्नुभयो, “उहाँले आफुमाथि लगाइएका मुद्दामा प्रमाण नष्ट गर्न सक्ने सम्भावनालाई मध्यनजर गद पक्राउ पूर्जी जारी गरिएको हो ।युन महिनौंदेखि हिरासतमा हुनुहुन्छ र उहाँविरूद्ध धेरै आपराधिक मुद्दामा अनुसन्धान तथा सुनुवाई भइरहेको छ ।

उहाँले सन् २०२४ डिसेम्बर ३ मा दक्षिण कोरियामा नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्नुभएको थियो । यसले कोरियाली संसद् परिसरबाहिर र राजधानी सियोलसहित देशका प्रमुख सहरमा ठूलो विरोध प्रदर्शन निम्त्यायो । उहाँलाई अप्रिलमा आधिकारिक रूपमा पदबाट हटाइएको थियो ।

युनलाई गत वर्षको जनवरीमा हिरासतमा लिइएको थियो । उहाँ दक्षिण कोरियाको इतिहासमा पदमा नै रहेका समय हिरासतमा लिइएको पहिलो बहालवाला राष्ट्रपति बन्न्ुभएको थियो । उहाँले गिरफ्तारीको विरोध गरेपछि हप्तौँपछि पक्राउ गरिएको थियो ।

उहाँको सैन्य विद्रोहको सुनुवाइ जारी रहँदा उहाँलाई मार्चमा प्रक्रियागत आधारमा रिहा गरिएको थियो तर उहाँले त्यस मुद्दासँग सम्बन्धित प्रमाणहरू नष्ट गर्न सक्ने दावीसहित जुलाईमा फेरि हिरासतमा लिइएको थियो ।

अभियोजनकर्ताहरूले न्यायिक कार्यमा बाधा पुर्याएको आरोपमा युनलाई १० वर्षको जेल सजाय पनि माग गरिरहेका छन् । सियोलको एक अदालतले जनवरी १६ मा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ ।

‘भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकास गरेको छ’

चितवन – सरोकारवालाहरूले भरतपुर महानगरले सङ्घीयताको मर्मअनुरुप विकासको गरेको धारणा राख्नुभएको छ । आज यहाँ सुनौलो नेपालले आयोजना गरेको ‘भरतपुरको विकास मोडल’ विषयक समूहगत छलफलका क्रममा सहभागीले भरतपुरले गरेको विकास अन्य स्थानीय तहका लागि उदाहरणीय भएको उल्लेख गर्दै सङ्घीयताको मर्मअनुरुप भएकाले विकास तीव्रगतिमा भएको बताउनुभयो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले सबैको समन्वय, सहकार्य र सन्तुलित भूमिकाका कारण छोटो समयमा भरतपुरको विकास सम्भव भएको बताउनुभयो । उहाँले विज्ञहरूको सल्लाह, सबैको अपनत्व र आफूले सन्तुलित भूमिका निर्वाह गरेकै कारण भरतपुर दु्र्रतगतिमा विकासको गतिमा अघि बढ्न सकेको उल्लेख गर्नुभयो ।

“भरतपुरको विकास निर्माण विषयमा राजनीतिक आग्रह र पूर्वाग्रह राखिएन, म दाबीका साथ ९५ प्रतिशत जनता विकास निर्माणका विषयमा खुसी हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि विसं २०७४ मा आफू भरतपुर महानगरपालिकाको प्रमुख भएर आउँदै गर्दाको अवस्था र आजको अवस्थामा विकास निर्माणले ठूलो फड्को मारेको उहाँको भनाइ थियो । तत्कालीन समयमा आफू यहाँको भूगोल, यहाँका जनताको मनोविज्ञान, आवश्यकता, योजना, माग र अपेक्षाबारे कम जानकार भए पनि त्यसपछि दिनमा भने लगनशीलता र इमान्दारिताका साथ काम गरेको उल्लेख गर्नुभयो । सुरुआती दिनमा योजना निर्माणदेखि बजेट व्यवस्थापनसम्मका लागि चुनौतीपूर्ण अवस्थाबाट आज समृद्ध भरतपर बनाउनमा सबैको साथ र सहयोग रहेको उहाँको भनाइ थियो ।

“विकासको पहिलो आधार ‘कनेक्टिभिटी’ हो, हामीले सडक पूर्वाधारलाई प्राथमिकता दियौँ, सडक निर्माण भएपछि नजिकै घर हुनेका लागि पढ्न र रोजगारीका लागि स्थानीयलाई डेरा खोज्नुपर्ने बाध्यता हट्यो, स्वास्थ्य, शिक्षा र सामाजिक न्यायका क्षेत्रमा पनि उल्लेख्य प्रगति गर्न सक्यौँ ।”

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ भरतपुर महानगरका घरघरमा समृद्धि पुगेको धारणा राख्नुभयो । “विकास निर्माणमा यातायात, ऊर्जा र सञ्चारलाई प्राथमिकतामा राखिन्छ, यति पूर्वाधार भयो भने निजी क्षेत्रले काम गर्न पाउँछ, यो ढाँचामा भरतपुर महानगरले उल्लेख्य काम गरेको छ”, उहाँले भन्नुभयो, “भरतपुरको विकास मोडल अरुका लागि उदाहरणीय बनेको छ ।”

पूर्वउपाध्यक्ष डा श्रेष्ठले भरतपुरले अहिलेसम्म सहज पहुँच स्थापना गरेको र अबका लागि ‘स्पिड’ र ‘स्मुथ’ विकासमा जोड दिएको बताउनुभयो । पहिले कुनै ठाउँ पुग्न घण्टौँ लाग्ने समयमा अहिले छोटो समयमा पुग्ने अवस्था बनेको छ, यसले समयमात्रै बचाउँदैन, खर्च र उत्पादकत्व दुवैमा फाइदा गर्ने उहाँको भनाइ थियो ।

उहाँले भरतपुरले विकास निर्माणका लागि आधारभूत पूर्वाधार निर्माण गरेकाले अबको बोटो यो औद्योगिक र व्यापारिक राजधानी बन्न सक्ने धारणा राख्नुभयो । भरतपुरले विकास निर्माणमात्र नभई स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि उल्लेखनीय सफलता हासिल गरेको उहाँको भनाइ थियो । साथै सञ्चार तथा सूचना प्रविधिमा पनि ठूलो उपलब्धि हासिल गरेको उहाँले बताउनुभयो ।

पूर्वउपाध्यक्ष डा श्रेष्ठले भरतपुरले विकास निर्माणमात्रै नगरी समानुपातिक विकासमा जोड दिएको बताउनुभयो । “हामीले सुशासनमार्फत सामाजिक न्यायसहितको समृद्धिमा जानुपर्छ भन्छौँ, यसले धनी र गरिबलाई सँगसँगै लैजान्छ, यस अर्थमा भरतपुर महानगरले सफलता हासिल गरेको छ”, उहाँले भन्नुभयो । उदाहरणका लागि किसानलाई दूधमा प्रतिलिटर चार रुपैयाँ अनुदान दिनु पनि हो । यो भनेको धनीबाट उठाएको करलाई पुनः जनतामै वितरण गर्ने प्रणाली पनि हो ।

साथै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भरतपुर महानगरपालिको विकास संविधान र सङ्घीयताको मर्मअनुरुप भएको बताउनुभयो । उहाँले भरतपुरको विकास समन्वय र सहकार्यमा आधारित भएको उल्लेख गर्नुभयो ।

भरतपुर महानगरले आजका दिनमा जेजति विकास गरेको छ, त्यो सहकार्य, सहअस्तित्व र समन्वयमा आधारित छ । यहाँ कतिपय आयोजनाहरू केन्द्र सरकारका छन्, जसमा महानगरले ठूलो भूमिका निर्वाह गरेको छ । जुन अधिकांंश पालिकामा सम्भव नहुने उहाँको भनाइ छ ।

“विसं २०३८ मा चौबिसकोठीदेखि रामपुर क्याम्पससम्म मात्र सडक कालोपत्र थियो, त्यहाँबाट रामपुर बजारसम्म थप दुई किलोमिटर कालोपत्र हुनका लागि २०५२ साल कुर्नुपर्यो । तर अहिले घरघरमा कालोपत्र सडक पुगेको अवस्था छ, यो मुलुक सङ्घीयतामा गइसकेपछि सम्भव भएको हो”, सचिव शर्माले भन्नुभयो । छ लेनको सडक, चक्रपथ, नारायणी तटबन्ध र बाइपास केन्द्र सरकारले भरतपुर महानगरसँगको समन्वयमा गरेको उल्लेख गर्दै त्यसमा महानगरले ‘भ्यालु एड’ गरेको बताउनुभयो ।

भरतपुर अन्य स्थानीय तहका लागि विकासको उदाहरण भएको समेत उहाँको भनाइ थियो । सडक पूर्वाधारमात्र नभई, शिक्षा, स्वास्थ्य तथा सामाजिक ढङ्गले पनि सहरीकरणको आधार भरतपुरले दिएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले अब भरतपुरको योजनाबद्ध विकासको खाँचो भएको उल्लेख गर्दै उहाँले अब जग्गाको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । अहिले चितवनलाई जग्गाको समस्या छैन तर भविष्यमा हुनसक्छ, त्यसैले आजैदेखि योजना बनाएर काम सुरु गर्नुपर्छ ।

सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग

काठमाडौँ, १८ पुसः न्यायपालिका अधिकृत समाजले सर्वोच्च अदालत र उच्च अदालतमा रिक्त न्यायाधीशमा नियुक्ति प्रक्रिया तत्काल सुरु गर्न माग गरेको छ ।समाजका कार्यवाहक अध्यक्ष निराजन पाण्डेले आज जारी गरेको प्रेस विज्ञप्तिमा रिक्त रहेको सर्वोच्च अदालतको न्यायाधीश र उच्च अदालतको मुख्य न्यायाधीशमा योग्यता पुगेका क्रमशः विशिष्ट श्रेणीका मुख्य रजिष्ट्रार, रजिष्ट्रारलाई तत्काल नियुक्ति गरी असल अभ्यासको सुरुआत गर्न माग गरिएको छ ।

“उच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेका न्याय सेवा, न्याय समूहका विशिष्ट र प्रथम श्रेणीका अधिकृतहरूबाट रिक्त रहेको उच्च अदालतको न्यायाधीश पदमा प्राथमिकता दिई नियुक्ति गरियोस्”, विज्ञप्तिमा भनिएको छ, “न्याय सेवा, न्याय समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय तहमा र राजपत्राङ्कित द्वितीय तहका कर्मचारीलाई जिल्ला न्यायाधीश र राजपत्राङ्कित प्रथम श्रेणीमा जाने बाटो फराकिलो हुनेगरी कर्मचारीको वृत्ति सहज र प्रभावकारी बनाउन सकिन्छ, न्यायिक नेतृत्वबाट विशेष चासो प्रदान गरी तत्काल ‘इसर्भे’ गरियोस् ।”

पछिल्ला दिनहरूमा समग्र न्यायपालिकाप्रति नै सार्वजनिक रूपमा भइरहेको प्रहार र अनर्गल प्रचारसमेतका आक्रमणको प्रतिरोध उत्प्रेरित कर्मचारीबाट मात्र सम्भव हुने भएकाले अदालतका कर्मचारी स्वयंलाई उत्प्रेरित गर्नुको अलावा निरुत्साहित र अपमानित महसुस हुने प्रकृतिका कार्यले स्थितिलाई अझै जटिल बनाउन सक्ने हुँदा यसप्रति ध्यान पुर्याउन अनुरोध गरिएको छ ।

समाजले न्यायपालिकाको पुर्नसंरचना गरी सर्वोच्च अदालतमा न्यायाधीशको अधिकतम अवधिको किटान, न्याय परिषद्को पुर्नसंरचना, विशिष्टिकृत अदालतहरूको स्थापना र सहभागिता साथै अदालत सञ्चालनमा नवीनतम अभ्यासमा जोड दिएको छ ।

विदेशी सम्बन्धनमा सञ्चालित शिक्षण संस्थामाथि मन्त्रालयको अनुगमन

काठमाडौँ, १८ पुस : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित उच्च शिक्षा तहका शिक्षण संस्थाहरूलाई दिइएको निर्देशन कार्यान्वयन भए÷नभएको विषयमा अनुगमन जारी राखेको छ ।

शिक्षामन्त्री महावीर पुनको यही पुस १४ गतेको निर्णयअनुसार ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०५९’ बमोजिम अनुमति प्राप्त संस्थाहरूका लागि १० बुँदे निर्देशन दिएको थियो । ती शिक्षण संस्थामा निर्देशिकाविपरीत गतिविधि भएको, विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको, शुल्क र छात्रवृत्तिमा पारदर्शिता नदेखिएको लगायतका गुनासोहरू मन्त्रालयमा प्राप्त भएको मन्त्री पुनले बताउनुभएको छ । उहाँले त्यस्तो उजुरी र गुनासोका सम्बन्धमा अगुगमन भइरहेको जानकारी दिनुभयो ।

मन्त्रालयको निर्देशनमा निर्देशिका बमोजिम शिक्षण संस्थामा अनुशासन इञ्चार्ज (डिआइ) नराख्न, गुनासो सुनुवाइ संयन्त्र बनाउन र शुल्क तथा छात्रवृत्ति पारदर्शी तुल्याउन भनिएको छ ।

पछिल्लो समयमा थापाथलीस्थित ‘द ब्रिटिश कलेज’ मा शिक्षक–विद्यार्थीबीच विवाद उत्पन्न हुनुका साथै विभिन्न प्रश्न उठेको विषयमा मन्त्रालयमा परेका उजुरीका विषयमा अध्ययन भइरहेको जनाइएको छ । मन्त्रालयका उपसचिव परशुराम तिवारीका अनुसार ती निर्देशनहरू कडाइका साथ कार्यान्ययन गर्नु÷गराउनु मन्त्रालय र सम्बन्धित संस्थाको दायित्व हुने भएकाले सोको अध्ययन र अनुगमन जारी रहेको छ । मन्त्रालयले तोकेका शर्त तथा प्रावधानहरू पालना नगरेमा जुनसुकै समयमा कार्यक्रम सञ्चालनको अनुमति रद्द गर्न सक्ने मन्त्रालयले चेतावनी दिएको छ । हाल विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्था ६९ वटा छन् ।

कारबाही गर्न अनेरास्ववियुको माग

यसैबीच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शिक्षामन्त्री पुनलाई ध्यानाकर्षणपत्र बुझाउँदै विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थालाई विद्यमान ऐन÷कानुनबमोजिम सञ्चालन गराउन माग गरेको छ । सो सङ्गठनका अध्यक्ष दिपक धामीले विवादित द ब्रिटिश कलेजमाथि छानबिन गरी कानुनी कारबाही गर्न आग्रह गरिएको र मन्त्रालयले आफूहरुलाई छलफलमा बोलाउने वचन दिएको जानकारी दिनुभयो ।

विद्युत महसुल नतिर्ने उपभोक्तामाथि प्राधिकरणको कडाइ, २४९ उपभोक्ता को लाइन काटियो

विराटनगर, पुष १८ ।नेपाल विद्युत प्राधिकरण विराटगर वितरण केन्द्रले प्रथम चौमासिक सम्ममा विद्युत महसुल नबुझाउने २४९ जना उपभोक्ताको लाइन काटेको छ । विराटनगर वितरण केन्द्रका अनुसार सो अवधिसम्म उपभोक्ताबाट ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ महसुल बक्यौता उठन वाकीँ रहेको नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहले जानकारी दिनुभयो ।

प्राधिकरणले बक्यौता रकम मध्ये मंसिर मसान्त सम्ममा ग्राहकबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दीमार्फत असुल गरेको जनाएको छ ।साथै प्राधिकरणले बाँकी बक्यौता रहेका उपभोक्ताको लाइन काट्ने प्रक्रिया निरन्तर जारी रहेको र समयमै आफुले बुझाउनुपर्ने विद्युत महशुल प्राधिकरणलाई बुझाउन आग्रह गरेको छ ।

वितरण केन्द्र प्रमुख राम उदगार शाहले समयमै विद्युत महसुल बुझाउन उपभोक्तालाई अनुरोध बारम्वार गरिएको तर अटेर गरेर विद्युत महशुल नबुझाउने ग्राहकको पहिचान गरि लाइन काट्ने कार्यलाई तिव्रता दिएको जानकारी दिनुभयो ।

फागुन २१ मा जसरी पनि निष्पक्ष र धाँधलीरहित ढङ्गबाट निर्वाचन हुन्छ : मन्त्री खरेल

भरतपुर (चितवन) । नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन् । भरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन् ।

उनले निर्वाचन हुने महत्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए । उनले भने ‘आयोगले दुर्त गतिमा काम अघि वढाई रहेको छ । पछिल्लो आधार समानुपातीकको वन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरुले वन्द सूचि वुझाई सकेका छन् ।’

१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भई सकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताए । सरकारले निर्वाचनका लागि जनशक्ति सहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई थियो ।

दलहरु जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने ‘पार्टीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ । प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरु लागि सकेका छन् ।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफ सम्म निर्वाचन केन्द्रित भईरहेकाले निर्वाचन नहुनेमा दुबिधा नभएको उनको भनाई थियो ।

पत्रकारहरुको एक प्रश्नमा उनले आँफू अहिले नागरिक सरकारको प्रबक्ता भएको भन्दै अहिले सम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे । उनले भने ‘चुनाब लड्ने नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन ।’ सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आँफू त्यसमा केन्द्रित भएको बताए । सरकारले दलका कार्यालयहरु गएर भेटेर बोलाएर चुनाबको वातावरण बनाई रहेको उनको भनाई थियो ।

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल

किमाथाङ्का (सङ्खुवासभा), १८ पुस : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताउनुभएको छ । आज खाँदबारीमा आयोजित नेपाली कम्युनिष्ट पार्टी सङ्खुवासभाको एकता सन्देशसभामा संयोजक दाहालले संविधान बचाउन वामपन्थी र समाजवादी एकता गरिएको बताउनुभएको हो ।

उहाँले जेनजी आन्दोलनपछिको अवस्थामा देशको उत्तम विकल्प निर्वाचन नै भएको बताउनुभयो । सङ्कटमा परेको राष्ट्रलाई निकास दिन वामपन्थी र समाजवादी शक्ति मिल्नुको विकल्प नभएको उहाँको भनाइ थियो । संयोजक दाहालले हालै देखिएको जेनजी आन्दोलनले देशको शासन प्रणाली र समग्र परिस्थितिबारे नवयुवाहरू सचेत र जिम्मेवारीपूर्ण ढङ्गले आन्दोलित हुन चाहेको स्पष्ट पार्नुभयो ।

जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न नेपाली कम्युनिष्ट पार्टी सच्चिएर अघि बढ्ने बताउनुभयो । त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले राज्यलाई अराजकताबाट जोगाएर अघि बढाउने जिम्मेवारी युवापुस्ताको काँधमा आएको बताउनुभयो । “नयाँ पुस्ता राजनीतिप्रति रुचि राख्दैनन् भन्ने भ्रम थियो, तर जेनजी आन्दोलनले त्यो गलत सावित गरिदिएको छ”, उहाँले भन्नुभयो ।

सहसंयोजक नेपालले सचेत र जिम्मेवार रूपमा आन्दोलित भएकामा युवालाई धन्यवाद दिँदै अब देशलाई शान्तिपूर्ण, लोकतान्त्रिक तरिकाले निकास दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित

खजुरा, १८ पुसः बाक्लो हुस्सु र कुहिरोले बाँकेलगायत पश्चिम तराईको जननीवन प्रभावित भएको छ । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।

कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारु बताउनुहुन्छ ।चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका भेरी अस्पतालका सूचना अधिकारी सङ्केत रिसालले बताउनुभयो । हिजोआज अस्पतालमा १०० बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका जानकारी उहाँले राससलाई दिनुभयो ।

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत, १८ पुसः भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने पोखरास्थित सडक डिभिजन कार्यालयका इन्जिनियर धु्रव पोखरेलले बताउनुभयो । पुल निर्माणका लागि रु छ करोड १३ लाखमा ठेक्का सम्झौता भएको थियो ।

नेत्री जियाप्रति समवेदना प्रकट गर्न दूतावासमा शोक पुस्तिका राखियो

काठमाडौँ, १८ पुसः यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । गत मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ ।

भोलि शनिबारबाहेक यही पुस २१ गते सोमबारसम्म प्रत्येक दिन बिहान १०ः०० बजेदेखि अपराह्न ५ः०० बजेसम्म शोक पुस्तिकामा हस्ताक्षर गर्ने व्यवस्था मिलाइएको उक्त दूतावासले बताएको छ । पत्रमा दूतावासले नेपालमा कार्यरत कूटनीतिज्ञ, सरकारी अधिकारी र अन्तरराष्ट्रिय समुदायका सदस्यलाई शोक व्यक्त गर्न र पुस्तिकामा हस्ताक्षर गर्न आमन्त्रित गरेको छ ।

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ- हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो मुस्ताङका शैक्षिक संस्था हिउँदयाममा घुम्ती कक्षा संञ्चालन गर्न बेसी झर्छन भने यहाँको तल्लो मुस्ताङ र मध्यमुस्ताङका शैक्षिक संस्थाहरु हिउँदयाममा बन्द हुन्छन् ।

अत्यधिक चिसो बढेसंगै यहाँका तीन पालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, संस्थागत र गुम्बा विद्यालयमा जाडो छल्न दुई महिनाका लागि हिउँदे बिदा गरेका शिक्षा विकास तथा समन्वय एकाइका कार्यालय प्रमुख रामेश्वर लामिछाने जानकारी दिनुभयो । उहाँका अनुसार यहाँस्थित माथिल्लो मुस्ताङका विद्यालय अत्यधिक चिसोका कारण जाडो छल्न कात्तिक अगावै घुम्ती कक्षा चलाउन बेसी झरेको र यहाँको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका शैक्षिक संस्था पुस १५ गतेदेखि बन्द भएको छ ।

एकाइ प्रमुख लामिछानेले बताएअनुसार यहाँको तल्लो क्षेत्रका तीन पालिकाका शैक्षिक दुई महिना जाडो बिदा गरेर फागुनको पहिलो र दोस्रो हप्तादेखि नियमित शैक्षिक पठनपाठन सञ्चालन गरिने छ । माथिल्लो मुस्ताङका शैक्षिक संस्थाहरुले विद्यार्थीहरुलाई बेसीको पारिलो स्थानमा राखेर शैक्षिक पठनपाठन सञ्चालन गरिराखेको एकाइ प्रमुख लामिछानेले उल्लेख गर्नुभयो ।

यहाँका शैक्षिक संस्थाहरुले हिउँदयामको जाडो मौसममा सम्भावित हिमपात र अत्यधिक चिसोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले बर्सेनि मुस्ताङका शैक्षिक संस्थाले हिउँदयाममा दुई महिना विद्यालय बन्द गरी विद्यार्थीलाई हिउँदे जाडो बिदा दिने चलन छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका शिक्षा शाखा प्रमुख रेखा पन्तका अनुसार यहाँ पालिकामा रहेका तीन सरकारी सामुदायिक र एक गुम्बा विद्यालय गरी चार सरकारी तथा गुम्बा विद्यालयहरु अत्यधिक चिसोका कारण दुई महिना अर्थात ६० दिनका लागि हिउँदे बिदा दिने अनुमति प्रदान गरिएको बताउनुभयो ।

प्रमुख पन्तका अनुसार यहाँका सरकारी विद्यालय पुसको ८ गतेदेखि फागुन ८ गतेसम्मका लागि जाडो बिदा दिने गरी छुसाङ, कागबेनी, र झारकोटमा रहेका शैक्षिक संस्था पूर्ण रुपमा बन्द भइसकेको बनाउनुभयो । यहाँ शिक्षकहरुका लागि सरकारी बिदा ४५ दिन, ५ दिन स्थानीय बिदा र १० दिन सार्वजनिक बिदामा अध्यापन गराएवापत दुई महिना विद्यालय बन्द गर्ने प्रस्ताव स्वीकृत गरिएको उहाँको भनाइ छ ।

घरपझोङ गाउँपालिकामा सञ्चालनमा रहेका सरकारी सामुदायिक, निजी संस्थागत र गुम्बा विद्यालयहरु अत्यधिक चिसो बढेका कारण दुई महिनाका लागि विद्यालय बन्द गरेको शिक्षा शाखा प्रमुख शिव पुरीले बताउनुभयो । प्रमुख पुरीका अनुसार घरपझोङ गाउँपालिकामा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा सकेर पुस १५ गतेदेखि फागुन २० गतेसम्मका लागि विद्यार्थीलाई हिउँदे बिदा दिएको बताउनुभयो । यहाँ विद्यालयमा विद्यार्थीलाई जाडो बिदा दिएता पनि त यहाँका शिक्षक÷शिक्षिका र शैक्षिक प्रशासन शाखा भने पुस २० गतेपछि मात्रै बन्द हुने शिक्षा शाखा प्रमुख गिरीको भनाइ छ ।

थासाङ गाउँपालिकाअन्तर्गत शैक्षिक संस्था अत्यधिक चिसोका कारण बन्द भएको त्यहाँका शिक्षा शाखा प्रमुख धर्म खनालले जानकारी दिनुभयो । यहाँका सामुदायिक निजी र गुम्बा विद्यालयलाई फागुन १ गतेदेखि विद्यालय खुल्ने गरी ४५ दिनका लागि हिउँदे बिदा दिइएको उहाँको भनाइ छ । योसँगै घुम्ती कक्षा सञ्चालनका लागि बेसी नझरेका मुस्ताङको तीन पालिकाका गरी १९ सरकारी सामुदायिक, निजी र धार्मिक गुम्बा विद्यालय अत्यधिक चिसोका कारण बन्द भएका हुन् । यहाँको बारागुङ मुक्तिक्षेत्रमा चार, घरपझोङमा आठ र थासाङ गाउँपालिकामा सात विद्यालय चिसो मौसमका कारण बन्द भएका हुन् ।

यसअघि माथिल्लो मुस्ताङस्थित लोमान्थाङ गाउँपालिकाका तीन सामुदायिक र चार गुम्बा विद्यालय अत्यधिक चिसोका कारण कात्तिक अगावै साविक स्थानको विद्यालयले छोडेर पोखराका विभिन्न स्थानमा घुम्ती कक्षा चलाइरहेका छन् । माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाअन्तर्गत तीन सामुदायिक र दुई धार्मिक गुम्बा विद्यालय जाडो छल्न बेसी झरिसकेका छन् ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, १८ पुसः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु १००, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु २७, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५५ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३५, बन्दा (नरिबल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली स्थानीय (ज्यापू) प्रतिकिलो रु ८०, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ७०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु ९०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १००, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ९०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १५०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु ११०, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १६०, घिरौँला प्रतिकिलो रु ११०, फर्सी पाकेको प्रतिकिलो रु ४०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो ११०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकेजी रु ७०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५० र कुरिलो प्रतिकिलो रु २,२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु २००, जिरीको साग प्रतिकिलो रु १५०, गाँठकोभी प्रतिकिलो रु ८५, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु ९०, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ११०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ११०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, निबुवा प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु ३५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ७५, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ११०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, भेडे खुर्सानी प्रतिकिलो रु ९०, हरियो लसुन प्रतिकिलो रु ८०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ५००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण गरिएको छ ।

एकै दिन १७ वटा फर्ममा निरीक्षण:एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ, १८ पुस : नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ ।विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ क बमोजिम कारबाही गरिएको हो ।

यस्तै, निकन्टिनेन्टल प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । यस्तै, विभागले अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । स्थानीय प्रशासन, जनप्रतिनिधि तथा सरोकारवालाको समेत सहभागितामा नियमित बजार अनुमगन गर्दै बजारमा स्वच्छता कायम गर्न पहल गरिरहेको जनाएको छ ।

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्री सर्गेई लावरोभको शुभकामना

काठमाडौँ, १८ पुसः रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।

मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार रहेको बताउनुभएको छ ।

रुसी विदेशमन्त्री लावरोभले परराष्ट्रमन्त्री शर्माको सुस्वास्थ्यको कामना गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको यहाँस्थित रुसी राजदूतावासले जनाएको छ ।

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ (स्याङ्जा), १८ पुस : स्याङ्जाबाट यस वर्ष रु एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष रु २० करोड बढी मूल्यको सुन्तला उत्पादन भएको हो । गत वर्ष २० हजार ८४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस वर्ष गत वर्षको तुलनामा उत्पादकत्वसमेत बढेको छ । यस वर्ष १६.३७ टन प्रतिहेक्टर उत्पादन भएको छभने गत वर्ष १४.६६ टन प्रतिहेक्टर उत्पादन भएको थियो ।

स्याङ्जा जिल्लामा उत्पादन भएको कुल परिमाणको सुन्तलामध्ये ९० प्रतिशत बिक्री हुने गरेको छभने बाँकी रहेको १० प्रतिशत सुन्तला कोसेली, उपहार तथा घरघरमै खपत हुने गरेको उहाँले बताउनुभयो । यस वर्ष उत्पादन भएकामध्ये २० हजार ८८२ मेट्रिक टन बिक्री योग्य परिमाणको सुन्तला हो ।

स्याङ्जामा गत वर्षको तुलनामा यस वर्ष सुन्तला बगैँचाले ढाकेको क्षेत्रफलमा वृद्धि भएको छ । गत वर्ष दुई हजार २५० हेक्टर क्षेत्रफलमा रहेको सुन्तला बगैँचा यस वर्ष एक सय ५० हेक्टर क्षेत्रफल वृद्धि भई दुई हजार ४०० हेक्टर पुगेको उहाँले जानकारी दिनुभयो ।

गत वर्ष एक हजार ३७० हेक्टर उत्पादनशील क्षेत्रफल रहेको थियो । यस वर्ष उत्पादनशील क्षेत्रफल एक हजार ४२० हेक्टर रहेको छ । हुर्कँदो बगैँचाको क्षेत्रफलसमेत गत वर्षको तुलनामा यस वर्ष एक सय हेक्टर वृद्धि भएको छ । गत वर्ष ८८० हेक्टर रहेकामा यस वर्ष ९८० हेक्टरमा हुर्कँदो सुन्तलाको बगैँचा रहेको छ ।

विसं २०७३÷७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५÷७६ को सुरुआतसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका छन् ।

स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको स्रोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेतीलाई विस्तार गरी व्यवसायीकरण गर्न थालिएको छ । सुन्तलाखेतीलाई प्रमुख आम्दानीको स्रोतका रूपमा विकास गर्नेतर्फ सुन्तला किसानको लहर बढ्दै गएको छ ।

पाखो, भिरालो जमिन तथा बारीमा अन्य रुख बुट्यानलाई फडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमिनलाई सदुपयोग गरी सुन्तलाका बोट लगाउनेतर्फ अहिले किसान आकर्षित हुँदै गएका छन् ।

जिल्लाको पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदीखोला, विरुवा, अर्जुनचौपारी गाउँपालिका सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र हुन् । यहाँका सुन्तला काठमाडौँ, बुटवल, पोखरा, नारायणगढलगायत ठूला सहरमा पुग्ने गरेका छन् । स्याङ्जामा उत्पादन भएको सुन्तला खरिद गर्न सिधै व्यापारी बगैँचामा पुग्ने गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।

बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ ।उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा, १८ पुस : सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।

त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेखअनुसार सन् २०२५ भरि १४ हजार ९८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७३८ विदेशी, सार्क राष्ट्रबाट ३४४ र २४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।

एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७२१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टबाट अनुमति लिएको उहाँले जानकारी दिनुभयो ।

सन् २०२५ मा पर्यटन भित्रिएबापत रु तीन करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क सङ्कलन भएको एमक्याप प्रमुख शेरचन बताउनुहुन्छ । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट तीन लाख ४४ हजार र नेपाली पर्यटकबाट रु ४८ हजार सङ्कलन भएको छ ।

मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ । “पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ”, उहाँले भन्नुभयो, “यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।” नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु एक सय प्रवेश शुल्क तोकिएको उहाँ बताउनुहुन्छ । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकहरूको विवरणसमेत राख्न सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको सङ्ख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्नुहुन्छ, “स्रोतसाधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।” मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

एमक्यापको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा नौ हजार ७८२ जना, आव २०७९/८० मा सात हजार ७०५ र आव २०७८/७९ मा दुई हजार २८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।

सो क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ज्ञख्या २०७७/७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना, आव २०७६/७७ मा पाँच हजार ३३८ र आव २०७५/७६ मा सात हजार ६५५ जना रहेको थियो ।

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो ।

“कुँडहर सबस्टेशनको एक सय ३२ केभीको बसबार मर्मतका लागि प्राधिकरणले ठेक्का आह्वान गरेको थियो । सोहीअनुसार आजदेखि मर्मत कार्य हुँदैछ । यसबाट कुँडहर ग्रीडबाट आपूर्ति हुने सबै फिडरहरू सटडाउन हुनेछन् । हामीले सोहीअनुसार सूचना गरेका छौँ”, कार्यालय प्रमुख यादवले भन्नुभयो ।

पोखरा प्रवेशको विजयपुरबाट यता हरिचोकसम्मको सम्पूर्ण क्षेत्रमा विद्युत् नआउने पोखरा वितरण केन्द्रले जनाएको छ । तोकिएको समभन्दा अगावै मर्मतकार्य सकिएकामा भने केही छिटो बिजुली आउनेसमेत बताइन्छ । सबस्टेशनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।

पोखरालाई ताररहित बनाउन आग्रह

पोखरा महानगरपालिकाले पोखराको बजार क्षेत्रलाई ताररहित बनाउने योजनामा सहकार्यका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेको छ । विद्युत् प्राधिकरणले अघि बढाएको पोखराको २३ किमी क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजनाअनुसार अधिकांश स्थानमा एकीकृत रूपमा बिजुली, टेलिफोन र इन्टरनेटसमेतलाई भूमिगत गर्ने सम्भावनाका बारेमा महानगरले छलफल अघि बढाएको हो ।

महानगरले इन्टरेनट सेवा प्रदायकहरूसँग छलफल गरी बिजुलीलगायतका पोलहरूमा अव्यवस्थित रूपमा रहेका अनावश्यक तार तत्काल हटाउन पनि आग्रह गरेको छ । नगरप्रमुख धनराज आचार्यले सेवा प्रदायकहरूलाई यथाशक्य छिटो विद्युत् प्राधिकरणसँग समन्वय गरी सेवामा सहकार्य गर्न आग्रह गर्नुभयो ।

“पोखरा बजारक्षेत्रलाई ताररहित बनाउने योजनामा सहयोगका लागि इन्टरनेट सेवा प्रदायकहरूसँग आग्रह गरेका छौँ । यस कार्यका लागि आवश्यक सहयोग गर्न महानगरपालिका तयार छ”, उहाँले भन्नुभयो । प्रमुख आचार्यले एक महिनाभित्रमा तार हटाउन निर्देशन दिइएको र सम्बन्धित कम्पनीले नहटाए महानगरपालिका आफैँले हटाउनेसमेत बताउनुभयो ।

“विद्युत् प्राधिकरणले गरिरहेको तार हटाउने योजनामा इन्टरनेट सेवा प्रदायकहरूलाई समेत सहभागी गराउँछौँ । उहाँहरूलाई एक महिनाको समय दिएका छौँ । एक प्राविधिक समिति बनाएर यसको व्यवस्थापन गर्न निर्देशन दिइएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

पोखरामा हाल विद्युत् प्राधिकरणले विद्युत् प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत तारहरू भूमिगत गर्ने कार्य गरिरहेको छ । पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखि पृथ्वीचोक हुँदै सृजनाचोक–रत्नचोक–राष्ट्र बैंकचोक–शहिदचोक–लेकसाइड–हल्लनचोकदेखि बुलौदी हुँदै जिरो किलोमिटरसम्मको क्षेत्रमा अहिले यो कार्य भइरहेको छ ।

पोखराको सहरी सौन्दर्यकरणमा प्रत्यक्ष प्रतिकूल असर पुर्याइरहेका अव्यवस्थित तारहरूको व्यवस्थापन गर्ने यो उपयुक्त अवसर भएकाले प्राधिकरणको योजनामा सामेल भई ताररहित अभियानमा सहयोगका लागि महानगरले आग्रह गरेको हो । महानगर २३ किमी क्षेत्रमा आगामी जुलाईभित्रमा सम्पन्न गर्नेगरी तारहरू भूमिगत गर्ने कार्य भइरहेको छ । यस परियोजनाको हालसम्म ६० प्रतिशत काम सकिएको प्राधिकरण पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख आनन्द सुवेदीले बताउनुभयो ।

पोखराका मुख्य सहरी क्षेत्र र पर्यटकको बढी आवतजावत हुने ठाउँको तारलाई जमिनमुनि बिछ्याउने कार्य भइरहेको हो । जमिनमुनि तार बिछ्याएपछि ग्राहकको घरघरमा बिजुली पुर्याउने काम पनि प्राधिकरण गरिरहेको छ ।

प्राधिकरणले सडकमा न्यून क्षति हुनेगरी तार बिछ्याउने प्रविधि प्रयोग गर्दै आएको छ । ‘होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ’ प्रविधिबाट सडक खनेर तार भूमिगत गरिएको र तार भूमिगत गरेपछि ठाउँठाउँमा ट्रान्सफर्मर राखेर ग्राहकका घरघरमा बिजुली पुर्याइने आयोजना प्रमुख सुवेदीले बताउनुभयो । विद्युत् लाइन जमिनमुनि बिछ्याउँदा अव्यवस्थित तार, पोलबाट पोखराले मुक्ति पाउनुका साथै सहरी सौन्दर्य बढ्ने विश्वास लिइएको छ ।

यस वर्ष चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित

भोजपुर, १८ पुस : लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।

गत वर्ष प्रतिमन (४० किलोग्राम) चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्ममात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ”, राउतले भन्नुभयो, “मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।”

मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उहाँले बताउनुभयो । हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आउनुभएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राख्नुभएको छ । उहाँका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतोखेतीबाट वार्षिक औसत रु तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उहाँको भनाइ छ ।

टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतोखेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् । यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ ।

स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ ।

यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।

किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ पुस : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ २६ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९६ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०५ रुपैयाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७० पैसा र बिक्रीदर ११२ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५४ पैसा र बिक्रीदर २० रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३० पैसा र बिक्रीदर ३९ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५६ पैसा र बिक्रीदर चार रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा र बिक्रीदर १० रुपैयाँ ०१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५ रुपैयाँ ६६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५९ पैसा र बिक्रीदर २२ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७५ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १८ पुसः देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ, १८ पुस : आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ ।

आयोगले सूचीकृत हुन इच्छुक फर्म वा कम्पनीलाई आवश्यक शर्त पूरा गरी आवेदन दिन भनिएको छ । सम्बन्धित निकायबाट सेवा सञ्चालन गर्न प्राप्त गरेको इजाजतपत्र, मूल्यअभिवृद्धिकर दर्ता प्रमाणपत्र र आर्थिक वर्ष २०८१/८२ सम्मको करचुक्ता प्रमाणपत्र र विगत तीन आवको कारोबार विवरण खुलेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न आयोगले आग्रह गरेको छ ।

हेलिकप्टर भाडामा लिनका लागि पछिल्लो तीन आवको न्यूनतम औसत वार्षिक कारोबार रकम रु तीन करोडबराबरको हुनुपर्नेछ । ट्रक तथा कन्टेनर भाडामा दिनेले रु एक करोड र कुरियर सेवाका लागि रु ३० लाखबराबरको कारोबारको विवरण पेस गर्नुपर्नेछ ।

कुरियर सेवा प्रदान गर्न चाहने कम्पनीले आफ्नो कुरियरको कार्यालय र प्रतिनिधि ७७ वटै जिल्लमा रहेको टेलिफोन, मोबाइल नम्बरबसहितको विवरण निवेदनका साथ पेस गर्नुपर्नेछ ।

एकभन्दा बढी समूहमा सूचीकृत हुनेगरी निवेदन दिएमा त्यस्तो निवेदनउपर कारबाही नगरिने आयोगले जनाएको छ । सेवा प्रदायक फर्म वा कम्पनी सूचीकृत गर्ने, नगर्ने सम्पूर्ण अधिकार भने आयोगमा निहित रहेको छ ।

कांग्रेसका महामन्त्रीद्वयबाट पार्टीको नियमित महाधिवेशनको मिति स्थगन

काठमाडौँ, १७ पुसः नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्तिमार्फत पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको जानकारी गराउनुभएको छ ।

महामन्त्रीद्वय थापार शर्माले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी स्थगित गरिएको हो । महाधिवेशनको मिति तय भइसकेपछि क्रियाशील सदस्यता नवीकरण अन्तिम चरणमा आइपुग्दा समग्रमा पाँच लाख ७९ हजार ३९५ क्रियाशील सदस्यता नवीकरण सम्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

बाँकी रहेका खोटाङ, बारा, कञ्चनपुर र कैलाली जिल्लाका जिल्ला कार्यसमितिबाट नवीकरण प्रक्रिया टुङ्गिएपछि कूल नवीकरण सङ्ख्या करिब छ लाखभन्दा बढी हुने अनुमान छ । यस अवधिमा एक लाख ९५ हजार ७३७ नयाँ क्रियाशील सदस्यता इन्ट्री भएको छ । अन्य जिल्ला तथा जनसम्पर्क समितिबाट पनि नयाँ सदस्यता ‘इन्ट्री’को काम निरन्तर भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

नियमित महाधिवेशन तथा यससँग सम्बन्धित अन्य कार्यतालिका स्थगित भएको अवस्थामा पनि नयाँ क्रियाशील सदस्यता इन्ट्रीको काम निरन्तर जारी राख्न सबै तहलाई निर्देश गरिएको छ । यही पुस २६ गते नियमित १५औँ महाधिवेशन सम्पन्न गर्ने लक्ष्यअनुसार त्यसअघिका अन्य कार्यतालिका परिमार्जन गरी गति दिन नसकिएका कारण सम्पूर्ण कार्यतालिका प्रभावित भई निष्प्रभावी बन्न पुगेको विज्ञप्तिमा उल्लेख छ ।

उत्पन्न भएको यस्तो अन्यौल र अनिश्चिततालाई अन्त्य गर्न यो वक्तव्य जारी गर्न बाध्य भएको महामन्त्रीद्वय थापा र शर्माको भनाइ छ । उहाँहरुले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन भएको तर नियमित महाधिवेशन निर्धारित समयमा सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको उल्लेख गर्नुभएको छ ।

अतःपार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उल्लेख गर्दै महमन्त्रीद्वय थापा र शर्माले उक्त जिम्मेवारीअन्तर्गतका कार्य सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाउने उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार

काठमाडौँ, १७ पुसः नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सुर्खेतका प्रेमबहादुरको इमानदारिताः बाटोमा भेटिएको ८१ हजार रकम दिए फिर्ता

भेरीगङ्गा (सुर्खेत) – सुर्खेत वीरेन्द्रनगर–९ का टेकबहादुर कुमालले घरको गर्जो टार्न भन्दै आफन्तबाट रु ८१ हजार रकम सापटी लिएर आए । वीरेन्द्रनगर बजारबाट रकम लिएर घर जाँदै गर्दा उहाँको पैसा बाटोमै खसेछ । घरमा जाँदा मात्रै पैसा हराएको थाहा पाउनुभयो ।

घर खर्च टार्न र छोराछोरीको पढाइमा खर्चका लागि ऋण काढेर ल्याएको रकम हराएपछि कुमाल आपतमा पर्नुभयो । अब हराएको रकम काहाँ खोज्ने ? भनेर तनावमा परेका कुमालले आफू हिँड्दै आएको बाटोभरि दिनभरि हराएको पैसा खोज्नुभयो, तर कतै पत्ता लागेन ।

निरास भएर साँझमा घर फर्किएका उहाँले अब हराएको रकम नत घरको गर्जो टार्नलाई भयो, न त कुनै काममा प्रयोग नै भयो । तनावमा बसेका कुमालका आफन्तले रकम भेटिएको कुरा फेसबुकमा भेट्टाए ।

कुमालको रु ८१ हजार रकम वीरेन्द्रनगरमा बस्दै आउनुभएका लेकबेँसी नगरपालिका सुर्खेतका प्रेमबहादुर रास्कोटीले भेट्टाउनुभएको थियो । उहाँले सुरक्षित रुपमा राख्नुभएको उक्त रकम स्थानीय रेडियो भेरी एफएममा बुझाउनुभयो । अनि रेडियो भेरीका पत्रकार मधुवन विसीको रोहबरमा उक्त रकम कुमाललाई नै फिर्ता बुझाइएको छ ।

पछिल्लो समय समाजमा खराब व्यक्ति मात्रै हुन्छन् भन्ने भाष्य निर्माण भइरहेका बेला प्रेमबहादुरले देखाएको इमानदारिताप्रति प्रशंसा भएको छ । उहाँले इमानदारिता, संस्कार र मानवीय मूल्यलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिनुभएको छ ।

रास्कोटीले भन्नुभयो, “मैले बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन । त्यो रकम कसैले अत्यन्तै आवश्यकतामा राखेको हुन सक्छ, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै सही निर्णय ठानेँ । इमानदारीले नै आत्मसन्तुष्टि दिन्छ ।”

कुमालले रास्कोटीप्रति धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “मैले हराएको पैसा भेट्टिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ । यस्तो इमानदार व्यवहारले समाजप्रति विश्वास अझै बढाएको छ ।”

उक्त नगद रकम टेकबहादुर कुमाललाई हस्तान्तरण गरिएको हो । उहाँले देखाउनुभएको उदाहरणले अन्य व्यक्तिलाई सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग बन्न प्रेरित गरेको छ ।

अमेरिका आयात हुने फर्निचरमा बढाउने भनेको करवृद्धि एक बर्षका लागि स्थगित

विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ। अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक बर्षका लागि पर सारिएको जानकारी गराएको छ। यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।

अमेरिकी परिवारहरूले जीवनयापनको उच्च लागतको महसुस गरेपछि ट्रम्पले बुधबार अबेर योजनाबद्ध करहरूलाई एक बर्ष पछि सार्नेगरी स्थगित गर्ने बताउनुभएको हो । प्रशासनले सन् २०२६ जनवरी १ देखि केही असवाव फर्निचरमा ३० प्रतिशत र ‘किचन क्याबिनेट’ र ‘भ्यानिटी’ हरूमा ५० प्रतिशत करवृद्धि गर्ने योजनालाई सन् २०२७ जनवरी सम्मका लागि स्थगित गरेको छ।

“काठजन्य वस्तुको आयातका लागि जारी फलदायी वार्तालाई मध्यनजर गर्दै राष्ट्रपतिले अन्य मुलुकसँग थप वार्ताका लागि भन्सार वृद्धिमा ढिलाइ गर्ने घोषणा गर्नुभएको छ,” ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०२५ मा राष्ट्रपति ट्रम्पको कर नीतिले स्टिलदेखि कारसम्मका सामानहरूको आयातमा असर गरेको थियो । प्रशासनले थप अनुसन्धान जारी राखेको र नयाँ करहरूको घोषणा गर्न सक्ने सम्भावना रहेको बताएको छ।

अक्टोबरमा आयातित ‘सफ्टवुड’ र काठमा १० प्रतिशत शुल्क लागू भएको थियो साथै केही असबाबवाला फर्निचर र किचेन क्याबिनेटहरूमा २५ प्रतिशत शुल्क लगाइएको थियो।

ट्रम्प प्रशासनले अमेरिकी उद्योगलाई बढावा दिने र राष्ट्रिय सुरक्षाको रक्षा गर्ने माध्यमका रूपमा यो करलाई उचित ठह¥याएको थियो ।

बिहीबारदेखि लागू हुने उच्च दरले भियतनाम र चीनजस्ता देशहरूबाट हुने आयातलाई असर गर्नेछ । चीन र भियतनाम संयुक्त राज्य अमेरिकामा आयातित फर्निचरको प्रमुख आपूर्तिकर्ता हुन् ।

अमेरिकी सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन अन्तर्गत लागू गरिएको देशव्यापी करवृद्धिको वैधानिकतामाथि फैसला सुनाएको छ।

राहदानीको छपाइ जेनजी आन्दोलन पहिलाको तालिका अनुसार हुने

काठमाडौँ, १७ पुसः राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् जेनजी आन्दोलन पहिला भएको व्यवस्थालाई तालिकाअनुसार सम्बन्धित कार्यालयमा पठाइने भएको छ ।

अब उप्रान्त सम्बन्धित जिल्ला÷इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको विभागका सूचना अधिकारी केशवराज पन्थीले जानकारी दिनुभयो । तत्काल राहदानी आवश्यक परी विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ ।

जिल्ला÷इलाका प्रशासन कार्यालयबाट कम्तीमा गत मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ । विभागले विदेशस्थित नेपाली नियोगबाट मङ्सिर मसान्तसम्म आवेदन दिने आवेदकको राहदानी वैयक्तिकरण गरी पठाइ सकिएको र अन्य आवेदकको हकमा नियमित तालिकाअनुसार पठाउने व्यवस्था मिलाउनुका साथै यही महिनाको २५ गते पश्चात साविककै समय तालिकाअनुसार एक÷दुई हप्ताको अन्तरमा छपाइ गरी सम्बन्धित कार्यालयमा पठाइने व्यवस्था मिलाइएको छ ।

कोइला बाली सुत्दा निस्सासिएर शिशुको मृत्यु, दुई जना बेहोस अवस्थामा भेटिए

कर्णाली, १७ पुसः सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको मृत्यु भएको । निस्सासिएर अन्य दुई जना बेहोस अवस्थामा भेटिएका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार भेरीगङ्गा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीस्थित मानबहादुर चन्दको घरमा बस्ने ३२ वर्षीय तारा बुढाको ३८ दिनको छोरी प्रतीक्षाको निस्सासिएर आज मृत्यु भएको हो ।

कोठामा कोइला बाली सुतेको अवस्थामा निस्सासिएर बालिकाको मृत्यु भएको हो । प्रहरी निरीक्षक यादवका अनुसार आमा तारा र उनकी भदैनी १३ वर्षीया सङ्गम बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

रुकुम पश्चिम ट्रेनिङ सेन्टर नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ, १७ पुसः राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्पmको खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा रुकुमले एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले खेलको पहिलो सेट २२–२५ अङ्कले गुमायो । त्यसछिको खेलमा पुनरागमन गर्दै रुकुम पश्चिमले लगातार तीनै सेट आफ्नो पक्षमा पा¥यो । रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा अन्तिम सेट २५–२० अङ्कले जित्यो ।

यसअघि नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले उक्त खेल २५–१९, २५–१७ र २५–१८ अङ्कले जितेको थियो ।

मौलिकताका लागि चेतना जगाउँदै मनाइयो राष्ट्रिय पोसाक तथा टोपी दिवस

काठमाडौँ, १७ पुसः प्रत्येक वर्ष जनवरी १ तारिखका दिन मनाइने राष्ट्रिय पोशाक तथा टोपी दिवस आज देशभर मौलिकताका लागि चेतना जगाउँदै विभिन्न कार्यक्रमसहित मनाइएको छ ।
दिवस मनाउने क्रममा मुख्य सहरमा राष्ट्रिय पोसाक तथा टोपी लगाएर प्रदर्शन गरिएको थियो । विसं २०७० पुस १७ गते काभ्रेपलाञ्चोकको बनेपामा केही युवाको सक्रियतामा सुरु भएको अभियानले अहिले देशव्यापी स्वरुप ग्रहण गरेको छ । यो दिवस पछिल्लो समय राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपाललगायत संस्थाको नेतृत्वमा मनाउन थालिएको छ ।

दिवसका अवसरमा पुरुषले दौरा, सुरुवाल र महिलाले गुन्यू, चोली लगाएर प्रदर्शन गरेका थिए । दिवसका कार्यक्रममा पछिल्ला वर्षहरुमा सहभागिता बढ्न थालेको प्रतिष्ठानका अध्यक्ष राजानन्द बजगाईं माण्डव्यले बताउनुभयो । पोसाकसँगै देशका सबै मौलिक संस्कृतिको संरक्षण गरिनुपर्ने अभियानमा लागेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले हाल करिब चार दर्जन जिल्लामा शाखा विस्तार गरेको जनाएको छ । वेषभूषा, भाषाशैली एवं संस्कृतिका लागि सबै नेपाली मौलिक हुनुपर्ने लक्ष्यका साथ यो अभियान चलाइएको प्रतिष्ठानले जनाएको छ । यो १३औँ पोसाक तथा टोपी दिवस हो । विश्वभर फैलिएका सबै नेपालीलाई समेट्दै दिवसलाई अन्तरराष्ट्रिय नामकरण गरेको जनाइएको छ ।

पश्चिमा संस्कृतिले गाँज्दै गएपछि जनवरी १ तारिखकै दिन यो दिवस मनाउन थालिएको प्रतिष्ठानले जनाएको छ । राष्ट्रवादको नारा लगाउनेले नै नेपाली संस्कृतिलाई पन्छाउने गरेकाले चेतनामूलक जागरणका लागि यो दिवसले योगदान गर्ने विश्वास लिइएको छ ।

गत वर्ष तीन लाख विदेशी पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी, १७ पुसः सन् २०२५ मा अन्नपूर्ण क्षेत्रमा झण्डै तीन लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख रविन कडरियाका अनुसार गत वर्ष कुल दुई लाख ९९ हजार ८३१ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्र आएका छन् ।

उहाँका अनुसार सन् २०२४ मा कूल दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।साथै सन् २०२३ मा एक लाख ९१ हजार ६६६ जना र सन् २०२२ मा यस क्षेत्रमा एक लाख २९ हजार ७१८ जना पर्यटकले भ्रमण गरेका थिए ।

अन्नपूर्ण क्षेत्र अन्नपूर्ण प्रथम हिमालदेखि कास्कीको उत्तरी क्षेत्र, म्याग्दीको उत्तरपूर्वी क्षेत्र, मुस्ताङ, मनाङ र लमजुङ जिल्लाको उत्तरी क्षेत्र गरी कूल सात हजार ६२९ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

विशेष गरी पदयात्रा पर्यटनको गन्तव्य अन्नपूर्ण क्षेत्र पछिल्लो समयमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बनिरहेको ट्रेकिङ एजेन्सिज एशोसिएन(टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद अचार्यले जानकारी दिनुुभयो ।

सन् २०२५ मा विभिन्न चुनौतीका बाबजुद पर्यटकको आगमन भने उत्साहजनक नै भएको उहाँले बताउनुुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आकर्षक र रमणीय हुनुका साथै यहाँको प्राकृतिक सुन्दरता, भौगोलिक बनावट, मानव बस्ती, जैविक र सांस्कृतिक विविधताका कारण पर्यटकहरू लोभिने गरेका छन् ।

तथ्याङ्कअनसार गत वर्ष सबैभन्दा बढी भारतीय पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् भने त्यसपछि क्रमशः बेलायत, फ्रान्स, अमेरिका, जर्मनी, इजरायल, चीन, अष्ट्रेलिया, साउथ कोरिया र मलेसियाका पर्यटक छन् ।

उत्साहपूर्वक मनाइयो इस्वी सन्को नयाँ वर्ष २०२६ को पहिलो दिन

काठमाडौँ, १७ पुसः विश्वभर धुमधामसाथ मनाइने इस्वी सन्को नयाँ वर्ष २०२६ नेपालका मुख्य सहरमा भेला भएर एकापसमा शुभकामना आदानप्रदान गरी खुसीयालीका साथ मनाइएको छ ।गे्रगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२६ सुरु भएको छ । यस अवसरमा बुधबार बेलुकीदेखि नै मानिसहरु नयाँ वर्ष मनाउन भेला भएका थिए ।

इस्वी सन्को पृष्ठभूमि

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुवात् भएको भन्ने भनाइ रहेको छ । पोप गे्रगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउनुहुन्छ ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । विश्वका मुख्यमुख्य काम इस्वी सन् अनुसार नै गरिन्छ ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । यी स्थानमा आज पनि धेरै मानिस जम्मा भएर नयाँ वर्ष मनाएका छन् । विभिन्न देशबाट भ्रमणका क्रममा नेपाल आएका विदेशी नागरिक पनि नयाँ वर्ष मनाउने कार्यक्रममा सरिक भएका थिए ।

राजधानीका ठमेल, नयाँसडक, बौद्ध, स्वयम्भूलगायत स्थानमा आज बेलुकीसम्म पनि नयाँ वर्षमा रमाउनेको भीड देखिन्छ । इस्वी सन्को नयाँ वर्षका अवसरमा नेपालमा सार्वजनिक बिदा नदिइने भए पनि धेरैले यसलाई उत्सवकै रुपमा मनाएको देखिन्थ्यो ।

अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल

काठमाडौँ, १७ पुसः अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ सुरु भएसँगै राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी तथा होटल व्यवसायी उत्साहित भएका छन् ।

काठमाडौँ महानगरपालिका–१६ ठमेलमा सञ्चालित चारतारे होटल रमदा इन्कोर काठमाडौँका महाप्रबन्धक महेश फुँयाल अङ्ग्रेजी नयाँ वर्षले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको बताउनुहुन्छ । नब्बे कोठा रहेको उक्त होटल अङ्ग्रेजी नयाँ वर्षसँगै भरिभराउ रहेको उहाँ बताउनुहुन्छ । अधिकांश विदेशी पाहुना रहेको उहाँले बताउनुभयो ।

नयाँ वर्ष मनाउन छिमेकी मुलुक भारत, मलेसिया, सिङ्गापुरलगायत देशबाट पर्यटक आएका छन् । काठमाडौँ–२६ मा सञ्चालित काठमाडौँ आगन्तुक होटल तथा अतिथी होटल तथा अपार्टमेन्ट ठमेलका सञ्चालक भविश्वर शर्मा अङ्ग्रेजी नयाँ वर्षसँगै ठमेल क्षेत्रको पर्यटन चलायान भएको बताउनुहुन्छ ।

“नेपाल घुम्न आउने अधिकांश विदेशी पर्यटक ठमेल आउने गरेका छन्, अङ्ग्रेजी नयाँ वर्षले ठमेल क्षेत्रलाई केही राहत पुगेको छ”, उहाँ भन्नुहुन्छ । अङ्ग्रेजी नयाँ वर्षमा आफ्ना दुबै होटल भरिभराउ रहेको उहाँको भनाइ छ ।

ठमेलमा साना तथा ठूला गरी झन्डै ३०० होटल रहेका छन् । यस्तै ३०० भन्दा बढी रेष्टुरेन्ट छन् । ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्षसमेत रहनुभएका शर्माको कार्यकालमा ठमेल क्षेत्रमा तारको व्यवस्थापन, सिसी क्यामरा जडानलगायतका कामलाई अगाडि बढाइएको थियो । उक्त कार्यले हाल पनि निरन्तरता पाएको छ ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष एवं कामपा–२६ मा सञ्चालित ‘काठमाडौँ इको होटल’का सञ्चालक सहदेव (विमल) धमला क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षमा ठमेल क्षेत्रमा पर्यटकको चहलपहल बढेको बताउनुहुन्छ । अङ्ग्रेजी नयाँ वर्षमा ठमेलमा भारतीय पर्यटकको बुकिङ बढेको छ ।

विश्वसम्पदा सूचीमा रहेका काठमाडौँ उपत्यकाका भक्तपुर, पाटन, स्वयम्भू, पशुपति र वसन्तपुरलगायत राजधानीका मुख्य पर्यटकीयस्थल घुमेपछि पर्यटकको बासस्थानको मुख्य रोजाइ ठमेल मानिन्छ । क्रिसमस तथा अङ्ग्रेजी नयाँ वर्षमा भारत, अमेरिका, युरोप, चीन तथा बङ्लादेशका पर्यटक बढीजसो आउने गरेका छन् । मुख्य बजार वरपर घुम्न वा राजधानी बाहिरका पर्यटकीय गन्तव्य पुग्नका लागि सहज हुने भएकाले ठमेल विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजधानीपछि पर्यटकको रोजाइमा पोखरा, अन्नपूर्ण क्षेत्र, लुम्बिनी, सौराह, जनकपुर र सगरमाथा आधार शिविरलगायतका क्षेत्र पर्दछन् ।

ठमेल काठमाडौँ महानगरपालिका–१६, १७, २६ र २७ वडामा पर्छ । ठमेलको सबैभन्दा धेरै भाग वडा नं २६ मा पर्दछ । नेपाल घुम्न आउने पर्यटकमध्ये ८० प्रतिशत पर्यटक ठमेलमा बस्ने गरेका छन् । काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारी वार्षिक अर्बौँ रुपैयाँको कारोबार हुने ठमेललाई व्यवस्थित रूपमा सञ्चालन गर्न महानगरपालिका लागिरहेको बताउनुहुन्छ ।

“ठमेलभित्रका गल्ली कालोपत्र गर्ने, सिसी क्यामरा जडान गर्ने, तार व्यवस्थापन, ढल व्यवस्थापनलगायत काम स्थानीय सरकारले प्राथमिकताका साथ गर्दै आएको छ”, उहाँ भन्नुहुन्छ । ठमेलभित्रको सुरक्षा भने प्रहरी वृत्त लैनचौर र प्रहरी वृत्त दरबारमार्गले गर्दैआएको छ ।