`

मन्त्री शाहीको नर्वे भ्रमण औपचारिक र उद्देश्य केन्द्रितः वन मन्त्रालय

काठमाडौँ, १९ साउनः वन तथा वातावरण मन्त्रालयले मन्त्री ऐनबहादुर शाही ठकुरीको नर्वे भ्रमण औपचारिक तथा उद्देश्य केन्द्रित रहेको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्तिमार्फत उहाँको भ्रमणका सम्बन्धमा प्रकाशित समाचार तथा टिप्पणीप्रति स्पष्ट पार्दै भ्रमणले नेपाल–नर्वेबीच कूटनीतिक सम्बन्ध सुदृढ गर्नमा थप योगदान पुग्ने उल्लेख गरेको छ ।

‘यही साउन ९ देखि १४ गतेसम्म नर्वेमा आयोजना भएको सहयोग सवलीकरण कार्यक्रममा मन्त्रालयलाई सहभागिताका लागि इंगल्यान्ड विश्वविद्यालयबाट असार २० गते डेनमार्कस्थित नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयमार्फत औपचारिक निमन्त्रणा आएको थियोे,’ विज्ञप्तिमा उल्लेख छ ।

सोही निमन्त्रणाका आधारमा मन्त्रालयबाट मन्त्रिपरिषद्मा प्रस्ताव पेस भई नेपाल सरकार मन्त्रिपरिषद्बाट असार २३ गते नेपाल सरकारलाई कुनै थप आर्थिक दायित्व नपर्ने गरी सहभागी हुन वनमन्त्री शाहीलाई स्वीकृति प्रदान गरिएको थियो ।

सोहीबमोजिम भ्रमण कार्यक्रममा मन्त्री शाही नर्वे भ्रमणमा जानुभएको र उक्त कार्यक्रममा भ्रमण खर्च आयोजकबाट नै व्यहोरिएको तथा अन्य खर्च व्यक्तिगत तवरबाट भएकाले यसमा सरकारलाई कुनै आर्थिक दायित्व नपरेको मन्त्रालयले स्पष्ट पारेको छ ।

उपरोक्त भ्रमण कार्यक्रम सो विश्वविद्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको साझेदारिता प्रवर्द्धनका सन्दर्भमा महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी भ्रमणका क्रममा मन्त्रालयस्तरीय र उच्च शैक्षिक संस्थासँग भएका अन्तरक्रियाले नेपालको संरक्षण उपलब्धिप्रति आपसी सहकार्य र सद्भाव बढाएको र पारिस्थितिकीय प्रणालीमा गरिने अनुसन्धान र जैविक विविधता संरक्षणमा नेपाल–नर्वे सहकार्यलाई थप मजबुत बनाउने बलियो आधार तयार गरेको बताइएको छ ।

‘बहुविवाहलाई कानुनी मान्यता दिन हुँदैन’

काठमाडौँ, १९ साउनः अधिवक्तारूले बहुविवाहलाई कानुनी मान्यता दिन नहुनेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा वरिष्ठ अधिवक्ताहरू रामनारायण बिडारी, दिनेश त्रिपाठी र बालकृष्ण न्यौपानेले बहुविवाह गर्न पाउने गरी विधेयकमा व्यवस्था गर्न नहुनेमा जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता बिडारीले महिलालाई दमन हुने प्रकारको कुनै पनि कानुन ल्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “लोग्नेमान्छेले मायाप्रेममा पारेर अर्की महिलासँग सम्बन्ध गरेर गर्भाधान गराएछ भने त्यस्तो गर्भाधानबाट जन्मिएकी बच्चा भएकी आमालाई स्वास्नी कायम हुनेछ भनेर लेखेछ । यस्तो कानुन बनाएछन् । यसले समाज भाँड्छ, नारीलाई दमन गर्छ ।”

वरिष्ठ अधिवक्ता त्रिपाठीले बहुविवाहलाई मान्यता दिनेगरी ल्याउन लागिएको कानुन निन्दनीय रहेको भन्दै लोकतान्त्रिक समाजमा यस्तो प्रकारको कानुनको कल्पना पनि गर्न नसकिने बताउनुभयो । “बहुविवाह अर्को ठूलो सामाजिक भ्रष्टाचार हो, यो निन्दनीय छ । सभ्य समाजमा बहुविवाह हुन सक्दैन, लोकतान्त्रिक समाजमा यसको परिकल्पना पनि गर्न सकिँदैन । यस्तो कानुनको मस्यौदा तयार हुँदैछ भन्ने सुनिएको छ, यसको चौतर्फी विरोध गरिनुपर्छ ।”

वरिष्ठ अधिवक्ता न्यौपानेले राजनीतिक दलहरूले आफ्ना कार्यकर्ताहरु मुद्दा मामिलामा परेपछि उनीहरूलाई उन्मुक्ति दिन यस्तो बहुविवाह गर्न पाउने कानुन ल्याउन खोजिएको हुनसक्ने आरोप लगाउनुभयो ।

समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन : अध्यक्ष नेपाल

काठमाडौँ, १९ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान गरिबी, पछौटेपन, सामाजिक विभेदको अन्त्य गरी समुन्नत राष्ट्र निर्माणका लागि समाजवाद कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आज आयोजित कार्यक्रममा उहाँले सामाजिक न्याय, समानता, न्यायोचित वितरण प्रणालीका आधारमा आर्थिक विकासका अवसरका लागि समाजवादी व्यवस्था उपयुक्त रहेको बताउनुभयो ।

अध्यक्ष नेपालले मुलुकको आर्थिक प्रगति र जनताको समृद्धिका लागि लैङ्गिक हिंसा, अन्याय, अत्याचार, विषमता सामाजिक रुपान्तरणका बाधक रहेकाले त्यसको अन्त्य गरी असल संस्कारको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजवादी क्रान्तिलाई पूरा गर्न कम्युनिष्ट पार्टीका भूमिकाबारे प्रकाश पार्दै सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आफ्नो पार्टीले अङ्गीकार गरेको नीति तथा कार्यक्रमका कारण मूलधारको कम्युनिष्ट पार्टी भएको दाबी गर्दै आर्थिक पारदर्शितामा जोड दिनुभयो ।

सो अवसरमा काठमाडौँका विभिन्न विद्यालयबाट हालै एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।

एसियन बक्सिङमा नेपालको पदक पक्का

काठमाडौँ, १९ साउनः एसियाली बक्सिङ च्याम्पियनसिपमाको पुरुष यु–२२ उमेर समूहमा नेपालका अर्पिल रानाले कम्तीमा कास्य पदक पक्का गरेका छन् ।

थाइल्यान्डको बैङ्ककमा भएको ५० केजी तौल समूहमा अर्पिल सेफिफाइनल प्रवेश गरेसँगै कास्य पदक पक्का भएको बक्सिङका अन्तरराष्ट्रिय को–ओडिनेटर तथा नेपाल बक्सिङ महासङ्घका उपाध्यक्ष श्यामकाजी अवालेले जानकारी दिनुभयो ।

एसियन बक्सिङको आयोजनामा थाइल्यान्डको बैङ्ककमा जारी प्रतियोगितामा अर्पिलले भूटानी मुक्केबाज किन्ले फुन्चोलाई ४ः१ (स्प्लिट) अङ्कका आधारमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन् ।

यसअघि अर्पिलले साउदी अरबका मुक्केबाज इब्राहिमलाई ५–० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए । अर्पिलले अगस्त ६ तारिखमा जापानका मुक्केबाज सोदाई कोटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

जापानी मुक्केबाज कोटोले फिलिपिनी मुक्केबाजलाई ५–० ले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरे

माओवादी केन्द्रले भदौ तेस्रो सातादेखि जनजागरण अभियानलाई पुनः सञ्चालन गर्ने

काठमाडौँ, १९ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक सम्पन्न भएको छ बैठकले आगामी भदौ तेस्रो सातादेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई पुनः सञ्चालनमा ल्याउने भएको छ ।

पार्टीको स्थायी कमिटी बैठकले अत्यधिक वर्षाका कारण स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानलाई आगामी भदौ तेस्रो सातादेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

यस्तै, विसं २०७९ को पार्टीको राष्ट्रिय महाधिवेशनको कार्यतालिकाअन्तर्गत यस वर्षको दसैँपश्चात् केन्द्रीय समिति बैठक बस्ने र उक्त बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुङ्गो लगाइने निर्णय भएको उपाध्यक्ष तथा पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पार्टीको सङ्गठनात्मक एकता र वैचारिक स्पष्टता सुनिश्चित गर्न महत्त्वपूर्ण निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले विचारको स्वतन्त्रता र बहसलाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउनुपर्ने निष्कर्ष निकालेको छ । साथै, निजी स्वार्थमा आधारित, पार्टी हितविपरीत गतिविधि गर्ने गुट र स्वार्थ समूहको अन्त्य गर्ने सामूहिक सङ्कल्प व्यक्त गरिएको प्रवक्ता सापकोटाले बताउनुभयो । ।

“प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धि आजको राष्ट्रिय कार्यभार भएको निष्कर्षमा बैठक पुगेको छ । त्यस कार्यभार पूरा गर्न पार्टीको रुपान्तरण र पुनर्गठनको प्रक्रिया थप गतिशील र सशक्त रूपमा अघि बढाउन साङ्गठनिक एकता कायम गर्ने निर्णय गरिएको छ”, उहाँले भन्नुभयो ।

नेकपा (विप्लव) लगायत क्रान्तिकारी शक्तिहरूसँग पार्टी एकताको पहल गर्दै संवाद अघि बढाउने र समाजवादी मोर्चाको सुदृढीकरण तथा विस्तारमा पनि प्रयत्न गर्ने निर्णय भएको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । बैठकमा पार्टीबाट विगतमा भएका गल्ती, कमजोरीहरूको समीक्षासमेत गरिएको छ ।

बैठकले राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन तथा सामाजिक न्यायसँग सम्बन्धित विविध विषयमा समसामयिक राजनीतक प्रस्ताव गर्दै खबरदारी गरेको छ । यही साउन १६ गतेदेखि सुरु भएको बैठक आज सम्पन्न भएको हो ।

हलेसी दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

खोटाङ, १९ साउन : यहाँको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माईक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ । त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर आज बिहान सिरहाको गोलबजारतर्फ फर्किँदै गरेको प्रदेश २–०१–००१ ज ००५३ नम्बरको माईक्रोबस अनियन्त्रित भइ सडकदेखि करिब २०० मिटर तल खस्दा एक जनाको मृत्यु र १७ जना घाइते भएका थिए ।

दुर्घटनामा परी सिरहा नराह गाउँपालिका–५ निवासी २८ वर्षीया ममतादेवी यादवको मृत्यु भएको हो । दुर्घटनाग्रस्त माईक्रोबसभित्रै च्यापिनु भएका ममतादेवीलाई उपचारका लागि उदयपुरको कटारी अस्पताल पु-याइएकामा अस्पतालले मृत घोषणा गरेको हो ।

घाइते हुनेमा सोही स्थानका ७० वर्षीय राजु यादव, ४९ वर्षीया सरितादेवी ठाकुर, ३२ वर्षीया सविताकुमारी यादव, ४० वर्षीया मिथिलाकुमारी यादव, ३० वर्षीयाा पुनम यादव, ३२ वर्षीया लक्ष्मी शर्मा, ३२ वर्षीय नदिन शर्मा, झालुदेवी यादव र सोही गाउँपालिकाको वडा नं. २ चन्द्र अयोध्यापुरका ५७ वर्षीय धनेश्वर यादव तथा धनुषा जिल्ला सबेला नगरपालिका–४ पटेर्वा निवासी ७९ वर्षीय दुर्योधन यादव रहेका छन् । उनीहरु सबैजनालाई प्राथमिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।

दुर्घटनाका सामान्य घाइतेहरुको उदयपुर घुर्मीस्थित जनसेवा पोलिक्लिनिकमा प्राथमिक उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ । माइक्रोबसका चालक सिरहा नगरपालिका–३ सारसोरका २८ वर्षीय रामनाथ साह फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिनुभयो ।

मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र

काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।

स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको बताए । उनले देशवासीहरुको लागि अझै यो भन्दा धेरै राम्रो खेल्नुपर्ने बताए ।

उनले भने, ‘खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा हुँदैन रहेछ । भित्र छिरेपछि जुध्ने हो, लड्ने हो जसरी नि ढाल्ने हो भन्ने सोचले गएको थिए । सरकारलाई केही भन्दिन । यत्रो माया गर्ने दर्शक हुनुहुन्छ । दर्शकहरु र फ्यानहरुको लागि अझै धेरै राम्रो गर्न मन छ । देशवासीहरुको लागि मैंले अझै यो भन्दा धेरै राम्रो गर्न आवश्यक छ ।’

ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।

विपद व्यवस्थापन प्राधिकरण र इस्ट–चाइना युनिभर्सिटीका प्रतिनिधिबीच विपद छलफल

काठमाडौँ, १९ साउनः राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र छिमेकी राष्ट्र चीनको जियान्सी प्रान्तमा रहेको इस्ट–चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका प्राध्यापक हुई चेन नेतृत्वको प्रतिनिधिमण्डलबीच आज छलफल भएको छ ।

सिंहदरबारमा भएको छलफलमा उक्त विश्वविद्यालयको ‘स्कूल अफ जिओफिजिक्स एण्ड स्पेस एक्प्लोरेसन’सँग सम्बद्ध प्राध्यापक हुईले भौगर्भिक प्रकोपको अनुगमन, पहिचान, पूर्वसूचना प्रणाली र रोकथामका बारेमा विश्वविद्यालयले गरिरहेका काम र त्रिभुवन विश्वविद्यालयसँगको साझेदारीबारे जानकारी गराउनुभएको थियो ।

कार्यकारी प्रमुख भट्टले गत महिनाको रसुवा बाढी एवं विगत वर्षमा तिब्बत हुँदै नेपाल प्रवेश गर्ने नदीमा आएका आकस्मिक बाढीले पुर्याएको ठूलो क्षतिका विषयमा जानकारी गराउनुभएको थियो ।

उहाँले नेपाल र चीनबीच ‘रियल–टाइम डाटा’ को आदानप्रदानलगायत पूर्वसूचना प्रणाली अत्यावश्यक भइसकेको उल्लेख गर्दै सहकार्यका लागि प्राधिकरण तयार रहेको बताउनुभयो । चिनियाँ प्रतिनिधिमण्डल पनि उक्त विषयप्रति सकारात्मक रहेको प्राधिकरणले जनाएको छ ।

पार्टीभित्रका सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरेका छौं : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्पकासाथ अघि बढ्ने सामूहिक प्रतिवद्धता गरेको बताएका छन् ।

सोमबार सम्पन्न भएको स्थायी समितिको बैठकपछि उनले पार्टीलाई एकतावद्ध गर्ने चुनौती देखिएतापनि त्यसलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।

दाहालले भने, ‘देशको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति पार्टी जसले महत्वपूसर्ण भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौती हाम्रो सामू थियो । त्यो चुनौतीलाई हामीलाई जिम्मेवारीपूर्वक पूरा गरेको छौं र सामूहिक प्रतिवद्धता गरेका छौं । अझ सुदृढ एकताकासाथ सबैखाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प लिएका छौं । सामूहिक रूपमा प्रतिवद्धता गरेका छौं ।’

उनले कुलिङ पिरियडको विषयमा जुन चलखेल र गल्ती भएको छ, त्यसका दोषीलाई कारवाही गर्नेगरी छानविन समितिले रिर्पोट ल्याउनुपर्ने बताए ।

पदयात्राले हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिक दलहरुलाई हिन्दूत्वको पक्षमा जनदबाब सिर्जना गर्ने उद्देश्यका साथ धार्मिक पदयात्रा आयोजना गरेको बताएका छन्

सोमबार राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले आयोजना गरेको मैतीदेवीबाट पशुपतिनाथसम्मको धार्मिक पदयात्रापछि उनले नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ हरेक वर्ष धार्मिक पदयात्रा गर्ने गरेको बताए ।

उनले भने, ‘नेपाल सनातन धर्म संस्कृति संगठनको आयोजना हामीले हरेक वर्ष श्रावणको एउटा सोमबार मैतीदेवीबाट पशुपतिनाथ पदयात्रा गर्ने गरेको छ । यसको मूल उद्देश्य भनेको नेपालमा हिन्दु राष्ट्र पुनःस्थापना गर्ने र त्यसका लागि नेपाली जनतामा हिन्दुत्वको भावनाको जागरण गराउने, यसको पक्षमा जनमत निर्माण गर्ने, सरकार र अन्य राजनीतिक दलहरुलाई हिन्दुत्वको पक्षमा जनदबाब सिर्जना गर्ने रहेको छ ।’यस्तै, उनले हिन्दुत्वको संरक्षणको लागि कार्यक्रमहरु सबैतिर भइरहेको देख्दा र नयाँ जागरण आइरहेको देख्दा खुसी लागेको पनि बताए ।

सोही क्रममा राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबराले पनि नेपाल धर्मको केन्द्र भएपनि धर्मको नाममा कहिले पनि लडाइ नभएको भन्दै नेपालमा सबै धर्म एकै ठाँउमा मिलेर बसेको बताए ।पदयात्रामा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाका नेताहरू, धार्मिक क्षेत्रका अगुवाहरू, सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुको सहभागिता थियो ।

तारकेश्वर गाँउपालिका–६ का वडाध्यक्ष रिमालको निधन

त्रिशूली।  नुवाकोटको तारकेश्वर गाउँपालिका-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ। वडाध्यक्ष रिमालको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गरेको छ।आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।

साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

 

 

 

भिजिट भिसामा जाने वार्षिक पौने तीन लाख, ४२ प्रतिशतभन्दा बढी महिला

काठमाडौँ, १९ साउन : पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ‘भिजिट भिसा’मा विभिन्न गन्तव्यमूलुक जाने नेपालीको सङ्ख्या उल्लेख्य रुपमा बढ्दो छ । यही विषयलाई थप व्यवस्थित बनाउन नेपाल सरकारले अध्यागमन क्षेत्र सुधारका अल्पकालीनदेखि दीर्घकालीनसम्मका योजना तयार गरेको छ ।

भिजिट भिसा प्रक्रियामा देखिएका विकृति र विसङ्गतिको समाधानका लागि सदनदेखि सडकसम्म आवाज उठ्दै आएका छन् । सरकारले यसमा सुधारका लागि छानबिन समिति गठन गरी काम सुरु गरिसकेको छ । अर्काेतिर यही प्रकरणको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रतिनिधिसभामा दुई राजनीतिक दलले बैठकलाई अवरोध गर्दै आएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले नेपाल प्रवेश गर्ने वा नेपालबाट बाहिरिने यात्रुहरूको राहदानी, भिसा र अन्य कागजातको जाँच गरी आधिकारिकता प्रमाणित गर्ने काम गर्दै आएको छ । विमानस्थलबाट बर्सेनि यसरी भिजिट भिसामा यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनका लागि स्रोतसाधन र प्रविधिमा चाप बढेको छ । अध्यागमन विमानस्थल कार्यालयमा हाल झण्डै एक सय ५० जना कर्मचारी समयतालिका अनुसार कार्यरत रहेको विभागले जनाएको छ ।

गृह मन्त्रालयले अध्यागमन क्षेत्रलाई चुस्त बनाउन भन्दै केही दिन अघिमात्र विभागको महानिर्देशकमा रामचन्द्र तिवारी र विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा नरहरि अर्याललाई खटाएको छ । महानिर्देशक तिवारीले विभागलाई केवल आगमन र प्रस्थानको अभिलेख राख्ने निकायमा सीमित नराखी राष्ट्रिय सुरक्षा र सुरक्षित आप्रवासनका क्षेत्रमा नीतिगत सुझाव दिने एक विशेषज्ञ निकायको रूपमा विकास गर्ने गरी काम गर्ने बताउनुभयो ।

उहाँले अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधिलाई वर्तमान समयको आवश्यकता र अन्तरराष्ट्रिय अभ्यास अनुकूल परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै प्रविधिमा आधारित सुधारका विभिन्न कार्ययोजनासमेत तयार गरेको अवगत गराउनुभयो ।महानिर्देशक तिवारीले भन्नुभयो, “राहदानी विभाग, वैदेशिक रोजगार विभाग, कन्सुलर सेवा विभाग र सुरक्षा निकायलगायत सबै निकायको डाटालाई अध्यागमन प्रणालीसँग एकीकृत गर्ने एकीकृत डिजिटल अध्यागमन प्रणाली बनाउने योजनामा छौँ ।” त्यस्तै मानव संसाधन विकास र सुदृढीकरण गर्ने, विशेषज्ञता र वृत्ति विकास, उच्चस्तरको निष्ठा र अनुशासन, अन्तर–निकाय समन्वय र सहकार्यका योजनाबारे उहाँले सुनाउनुभयो ।

उहाँले भिजिट भिसा प्रक्रियामादेखि समस्या समाधानका लागि परराष्ट्र, श्रम, गृह मन्त्रालय, नेपाल प्रहरी, र राष्ट्रिय अनुसन्धान विभागबीच सूचना आदानप्रदान र सहकार्यका लागि एक बलियो र स्थायी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

सन् २०२४ मा दुई लाख ७१ हजार ३०५ जना नेपालीले भिजिट भिसामा विभिन्न मुलुकमा यात्रा गरेका थिए । सन् २०२३ मा दुई लाख दुई हजार ४१९ ले यात्रा गरेका थिए, भने सन् २०२२ मा एक लाख ७५ हजार ७९० र ९० हजार १८१ नेपालीले भिजिट भिसामा यात्रा गरेको विभागको तथ्याङ्क छ । यो सङ्ख्या सन् २०२५ को जुलाई सम्ममा एक लाख ३४ हजार ८२५ पुगेको छ । भिजिट भिसामा जाने प्रमुख गन्तव्य मुलुकहरुमा युएई, थाईल्याण्ड, ओमान, कतार, मलेसियालगायत रहेका छन् ।

“भिजिट भिसा समस्या खुद्रे र प्रतिक्रियात्मक सुधारले होइन, वृहत, एकीकृत र दूरगामी सोचले मात्र समाधान सम्भव छ । ‘भिजिट भिसामा कडाइ’ को असफल भाष्यबाटमाथि उठेर सहजीकरण, नियमन र संरक्षणको नयाँ मार्गचित्र अँगाल्नुपर्छ भन्ने विभागको निष्कर्ष छ” उहाँले भन्नुभयो । प्रस्थान व्यवस्थापन र यसको बहसमा मात्र सम्पूर्णमूलुक केन्द्रित भएको परिस्थितिमा विभागले आगामी दिनमा आगमनमा पनि प्राथमिकताका साथ कार्य गर्ने योजना तयार गरेको जनाएको छ ।

महिलाको सङ्ख्यामा उल्लेख्य वृद्धि

भिजिट भिसामा जाने महिला यात्रुहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । कूल सङ्ख्यामा महिलाको हिस्सा सन् २०२१ को १४.४ प्रतिशतबाट बढेर सन् २०२४ मा ४२.१ प्रतिशत पुगेको छ । खासगरी युएई र थाईल्याण्डजस्ता गन्तव्यमा महिला यात्रुहरुको सङ्ख्या उल्लेख्य रहेको तथ्याङ्क छ । त्यसैगरी, युएई, ओमान र कुवेत मात्र यस्ता गन्तव्य हुन् जहाँ पाँच वर्षको अवधिमा महिला यात्रुको कूल सङ्ख्या पुरुषको भन्दा बढी भएको छ ।

भिजिट तथा पर्यटक भिसामा विदेश यात्रा गर्दा म्याद भएको बैध राहदानी र यात्रा प्रयोजनसम्बन्धी भिसा, दुईतर्फी हवाई टिकट, खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्यूनतम् ५०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण हुनुपर्ने प्रावधान छ ।

विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत नरहरि घिमिरेले भिजिट भिसा प्रक्रियामा देखिएका समस्या समाधानमा विशेष कार्ययोजनासहित आफूहरु खटिएको बताउनुभयो । अन्तरप्रणाली आवद्धताका विषयमा सुधार गरी अघि बढ्ने प्रण गर्दै उहाँले भन्नुभयो, “यो राष्ट्रको गरिमासँग जोडिएको विषय हो, यसमा सफलता प्राप्त गर्न सबै निकाय र क्षेत्रको सहयोग आवश्यक हुन्छ । अनिमात्र सुशासन कायम गर्न सकिन्छ ।”अध्यागमन सुधारको लक्ष्य भनेको प्रविधिमैत्री, सुरक्षित, कुशल, पारदर्शी र नागरिकप्रति जवाफदेही प्रणाली निर्माण गर्नुभएको उल्लेख गर्दै उहाँले अनिमात्र राष्ट्रिय सुरक्षाको रक्षा गर्न र आफ्ना तथा विदेशी नागरिकको अधिकार र मर्यादाको सम्मान हुने बताउनुभयो ।

दलालको लहलहैमा भिजिट भिसामार्फत सेटिङमा विभिन्न मुलुकमा रोजगारीका लागि जाने सर्वसाधारण अनेकौ तहमा ठगिँदै आएका छन् । त्यस्ता सर्वसाधारण अध्यागमनसम्म आइपुग्दा आधा दर्जन तहसम्म ठगिने गरेका छन् । खासगरी श्रम प्रक्रियाको झन्झट र ढिलासुस्ती, भिजिट भिसामा विदेश जान छिटोछरितो देखिनु, सरकारी प्रतिबन्धलाई छल्न, लागत र आर्थिक प्रलोभनलगायत कारणले सर्वसाधारण श्रम स्वीकृति लिएर कामका लागि विदेश जान मन पराउँदैनन् ।

यस बाहेक अपारदर्शी शुल्क, आकर्षक तलब र कामको प्रलोभन, एजेन्ट÷दलालको विश्वास र धोका, जोखिमबारे अनभिज्ञता, रोजगारदातासँगको बन्धन, आफ्नै इच्छाले काम खोज्ने सोचलगायत कारणले पनि श्रम स्वीकृति लिएर भन्दा भिजिट भिसामा कामका लागि विदेश जाने सङ्ख्या बढेको हो ।

बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ : मन्त्री यादव

काठमाडौँ, १९ साउन : खानेपानीमन्त्री प्रदीप यादवले बोलबम लगायतका मौलिक परम्पराको जगेर्ना गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, ओख्रेनीमा बोलबम काँवरीया संघको आयोजनामा २९ औँ श्रावणी मेला तथा बोलबम काँवर यात्रा मेलाको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबमले हाम्रो सांस्कृतिक एकता र धार्मिक आस्थालाई झल्काउँने बताउनुभयो ।

उहाँले भन्नुभयो, “बोलबम संस्कृति समाजलाई एकताबद्ध गर्ने, धार्मिक र सांस्कृतिक चेतनालाई मजबुत बनाउने माध्यम हो । बोलबम लगायतका मौलिक परम्पराको जगेर्नाका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।”

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले बोलबम लगायतका हाम्रा धार्मिक, पर्यटकीय एवं संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नु सबै तह र तप्काको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

धार्मिक, सांस्कृतिक र सामाजिक चेतनाको प्रवाह गराउने यस्ता आयोजनाहरूले हाम्रो पहिचानलाई अझ सुदृढ बनाउने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हिन्दुहरुको धार्मिक आस्थाको धरोहर भनेको भगवान पशुपतिनाथ हो । जो नेपालमा छ । बोलबम काँवर यात्रीले पशुपतिनाथमा जल चढाउछन् । उनीहरुले हिन्दु धर्मको रक्षा गर्ने छन् ।”

आज सोमबार भगवान पशुपतिनाथमा बोलबम काँवर यात्री लगायतले सहज रुपमा जल चढाउन सक्ने गरी त्यहाँको एउटा ढोका खोल्नका लागि आफुले पशुपति क्षेत्र विकास कोषका कार्यकारी सदस्य, पदाधिकारी, पर्यटनमन्त्री लगायतसँग समन्वय गर्ने समेत आश्वासन दिनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा बोलबम काँवरीया संघलाई पुजाआजाका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराई सहयोग गरी दिनका लागि नगरप्रमुखलाई मन्त्री यादवले आग्रह गर्नुभयो ।

मन्त्री यादवले नेपालभरिका विभिन्न शिवालयहरूमा श्रावण महिनाको पावन अवसरमा काँवरिया भक्तजनहरूद्वारा गरिने विशेष पूजापाठ र साधनाले हाम्रो मौलिक संस्कारको समृद्धि र निरन्तरतामा अतुलनीय योगदान दिँदै आएको बताउनुभयो ।

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

फिक्कल (इलाम), १९ साउन : यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । एक वर्षको अवधिमा रु १३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सो कार्यालयले रु १३ करोड ८२ लाख तीन हजार पाँच सय १७ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीले जानकारी दिनुभयो । कार्यालयले अघिल्लो आर्थिक वर्षभन्दा रु दुई करोड ४९ लाख ४१ हजार आठ सय ३९ बढी राजस्व सङ्कलन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २२ दशमलव ०२ प्रतिशतले वृद्धि हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०÷८१ मा रु ११ करोड ३२ लाख ६१ हजार छ सय ७८ मात्र राजस्व सङ्कलन गरेको थियो ।

कार्यालयले सवारी साधन वार्षिक करबाट रु नौ करोड ९६ लाख तीन हजार चार सय ४२ सङ्कलन गरेको छ । सवारी दर्ता÷नामसारी÷नवीकरणबाट रु ७२ लाख तीन हजार पाँच सय ५५ सङ्कलन गरेको छ । त्यस्तै, व्यवसाय रजिस्ट्रेशन दर्ता दस्तुरबाट रु एक लाख २८ हजार दुई सय सङ्कलन भएको कार्यालय प्रमुख मैनालीले जानकारी दिनुभयो ।

त्यस्तै आयकरबाट रु ३७ लाख ८५ हजार पाँच सय ९० सङ्कलन गरेको छ । कार्यालयले चालक अनुमतिपत्रबाट रु एक करोड ४३ लाख १७ हजार तीस सङ्कलन गरेको छ । त्यसैगरी नेपाल भारत सीमाक्षेत्र पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट रु एक करोड छ लाख १७ हजार तीस राजस्व सङ्कलन भएको छ । इलाम सदरमुकामस्थित कार्यालय र पशुपतिनगरबाट रुट पर्मिट र पटकेबाट रु एक करोड तीस लाख ७२ हजार दुई सय तीस राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चार चक्के सवारी नेपाल प्रवेश गर्दा रु पाँच सय १० र मोटरसाइकलको रु दुई सय १० राजस्व लिने व्यवस्था गरेको थियो । यातायात व्यवस्था सेवा कार्यालयकै मातहतमा रहने गरी अघिल्लो वर्ष पशुपतिनगरमा राजस्व असुली केन्द्र स्थापना भएको थियो ।

यहाँको यातायात व्यवस्था सेवा कार्यालयको कार्यक्षेत्र इलामसँगै पूर्वी पहाडी जिल्ला पाँचथर र ताप्लेजुङ भए पनि झापासहितका सेवाग्राहीसमेत सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन आउने गरेको कार्यालय प्रमुख मैनालीले बताउनुभयो ।

मकवानपुरको बकैयामा इभि भ्यान दुर्घटना : तीन घाइते, एकको अवस्था गम्भीर

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेमा आज बिहान इभि भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेका एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

स्थानीय विजय लामा थिङको अनुसार बिहानको समयमा भ्यान अनियन्त्रित भई सडकबाट तल खस्दा यात्रुहरू घाइते भएका हुन्। घाइतेहरूमध्ये एकको अवस्था गम्भीर रहेकाले छ । घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ । सुरक्षाकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् भने स्थानीय बासिन्दाहरूको सहयोगमा घाइतेको उद्धार गरिएको थियो।दुर्घटनामा संलग्न इभि भ्यान कुन कम्पनीको हो र कहाँ जाँदै थियो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गर्नुभएको छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन गएराति त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिनुभयो ।

उहाँका अनुसार एमाले विधान २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष गर्ने काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

सप्तकोशी नदीमा पानीको वहाव उच्च, २३ ढोका खुल्ला

इनरुवा (सुनसरी), १९ साउन : वर्षाका कारणले सप्तकोशी नदीमा पानीको वहाव उच्च भएको छ । आइतबार साँझ कोशी ब्यारेजमा प्रतिसेकेण्ड एक लाख ९१ हजार २१० क्यूसेक पानीको वहाव मापन गरिएको थियो ।

आज बिहान गरिएको मापनमा कोशी ब्यारेजर भएर एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । अहिले ५२ मूल र चार नहरको गरेर ५६ ढोकामध्ये २३ खुल्ला गरिएको उहाँले जानकारी दिनुभयो । कोशी ब्यारेज भएर एक लाख ५० हजार भन्दामाथि पानीको वहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ ।

सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । २०६५ भदौ २ गते एक लाख ६८ हजार क्यूसेक पानीको वहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो ।

कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको विशेष आतिथ्यमा सम्पन्न बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाले वर्तमान सुरक्षा चुनौती, गर्नुपर्ने कार्य, र सीमा सुरक्षा विषयमा विस्तृत छलफल गरिएको जानकारी दिए।

बैठकमा लागू पदार्थको विक्री–वितरण तथा ओसारपसार नियन्त्रण, सडकमा सुशासन कायम गर्ने, र आगामी चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तथा कालोबजारी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा कार्ययोजना बनाएर अगाडि बढ्ने निर्णय गरिएको छ।

मुख्यमन्त्री कार्कीले सीमा क्षेत्रमा भइरहेको तस्करीलाई नियन्त्रण गर्न सुरक्षा निकायहरूलाई थप प्रभावकारी ढंगले परिचालन गर्न निर्देशन दिए। साथै उनले कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालनमा आउन लागेको रथयात्रा तथा विराटनगरको रथयात्राको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिन आग्रह गरे।

‘चाडपर्वहरू नजिकिँदै छन्, यस्तो समयमा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि हुन नदिन बजार अनुगमनमा तीव्रता दिन आवश्यक छ,’ मुख्यमन्त्री कार्कीको भनाइ थियो।

बैठकमा मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी प्रमुख, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू लगायत सुरक्षासम्बन्धी निकायका उच्च पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

तराई–मधेशमा देखिएको सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’बाट समाधान निकाल्न सकिन्छ : महानिर्देशक बराल

काठमाडौँ, १९ साउन : जलस्रोत तथा सिँचाइ विभागका नवनियुक्त महानिर्देशक मित्र बरालले राष्ट्रिय गौरबका आयोजनालाई सधैँभरी ‘आयोजनामै मात्रै सीमित’ नराखी यसको प्रतिफल उपभोग चाँडै गराउन समयमै कार्यसम्पादन पूरा गर्नुपर्नेमा जोडदिनुभएको छ ।

उहाँले भन्नुभयो, “राष्ट्रिय गौरबका आयोजना निर्धारित समयभित्र सम्पन्न भएमा गरिबी निवारण र आर्थिक समृद्धिमा टेवा मिल्छ । राष्ट्रिय ध्येय पूरा हुन्छ ।” विभागको ३०औंँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्दै उहाँले तराई–मधेशमा सिँचाइ अभावले खेतीयोग्य जमिन बाँझै रहेको उल्लेख गर्दै सिँचाइको समस्यालाई ‘द्रुत मार्र्ग’ र दीर्घकालीन गरी दुई चरणमा समाधान खोज्न सकिन्छ, यसका लागि विभाग तयार छ भन्नुभयो ।

नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिँदै भन्नुभयो “हामीसँग पर्याप्त पुँजी छ, दक्ष छौंँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, यसैगरी योजनालाई छिटो सम्पन्न गर्ने हामीसँग आधुनिक नवीनतम प्रविधि छ । यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्नेबाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”

‘टिम इफोर्ट’ बिना काम सफल नहुने जनाउँदै उहाँले ‘टिमको स्प्रिट’मै रहेर सबैले अहोरात्र खटिनुपर्नेमा जोड दिनुभयो । आफ्नो कार्यकालमा देशभरका थुप्रै आयोजनामा गरेका अनुभव र जिम्मेवारीको महत्व प्रकाश पार्दै नवनियुक्त महानिर्देशक बरालले उपत्यका बाहिर जिम्मेवारी लिएर जाँदा आफू नौ वर्षमा काठमाडौंँ आएर विभागमा पाइला टेकेको अनुभव सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी अहिले आर्थिक वर्षका सुरुआतमा भएकाले ‘टिम स्प्रिट’ मिलाएर काम गर्दा असम्भव केही हुँदैन । यसरी काम गर्दा विभागको उद्देश्य अनि लक्ष्य पनि पूरा हुने र परिणाम देखिने गरी काम गर्न मन्त्रालयको निर्देशन र अपेक्षालाई पूरा गर्न सकिन्छ ।”

आर्थिक वर्ष सुरुआती महिनाको आधा समय गुज्रदासमेत विभाग मातहतका आयोजनाका दुईवटा मात्रै बोलपत्र आएको जनाउँदै उहाँले सर्वसम्पन्न भइसकेपछि अड्कलेर काम नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयोे । हाल विभागमा ६०१ जनाको दरबन्दी रहेको छ । उहाँले भन्नुभयो,“एकीकृत जलस्रोत व्यवस्थापनको माध्यमवाट सन्तुलित, स्थिर तथा दीगो आर्थिक विकास हासिल गर्ने र दिगो एवं भरपर्दो संरचनागत तथा गैर संरचनागत प्रविधि र जनचेतना अभिवृद्धि लगायतका कार्य गरी जलाधार व्यवस्थापन तथा जल उत्पन्न प्रकोप न्युनीकरण एवं व्यवस्थापनबाट आर्थिक सामाजिक हानिनोक्सानी न्यूनीकरण गर्ने विभागको लक्ष्य हो । जलस्रोत तथा सिँचाइ संरचनाको उचित विकास, मर्मत सम्भार तथा व्यवस्थापन गरी कृषियोग्य भूमिमा वर्षैभरी दिगो एवं भरपर्दाे सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादकत्व तथा उत्पादन वृद्धि गरी गरिबी निवारणमा टेवा पु¥याउने दायित्व हो ।”

नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जीनीयरका रुपमा आफ्नोे सेवा सुरुआत गर्नुभएका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा गर्दै आउनुभएको छ । विभाग मातहातका ठूला–ठूला सिँचाइ आयोजनामा कामको अनुभव बटुलिसकेको उहाँ जलस्रोत तथा सिँचाइ क्षेत्रका अनुभवी र विज्ञका रुपमा परिचित हुनुहुन्छ ।

कार्यक्रममा निवर्तमान महानिर्देशक सञ्जीव बरालले विभागले जलस्रोत तथा सिँचाइ विज्ञलाई नयाँ महानिर्देशक पाएकामा खुसी व्यक्त गर्दै उहाँको कार्यकालमा विभागले ऐतिहासिक काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा विभागका उपमहानिर्देशक सन्तोष कैनी विभागका मुख्य प्रशासकीय अधिकृत रामप्रसाद पौडेल विभागका गतिविधि जानकारी गराउनुभएको थियो ।

आँखा उपचार सेवालाई थप प्रभावकारी बनाउन सहकार्य

काठमाडौँ, १९ साउन : नेपाल नेत्रज्योति सङ्घ र नेपलिज डक्टर्स एसोसिएसन बेलायतकाबीचमा आँखा उपचारका क्षेत्रमा आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । बेलायतमा रहेका नेपाली चिकित्सकको संस्थाको ४० औँ वार्षिकोत्सवका अवसमा आइतबार आयोजित कार्यक्रममा उक्त समझादारीपत्रमा हस्ताक्षर गरिएको हो । समझादारीपत्रमा सङ्घका तर्फबाट केन्द्रीय सदस्य प्राडा सबिना श्रेष्ठ र एसोसिएसनका तर्फबाट अध्यक्ष सञ्जीव नेपालीले हस्ताक्षर गर्नुभएको सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सङ्घकी सदस्य प्राडा श्रेष्ठका अनुसार नेपालमा आँखा उपचार सेवाका विकास र विस्तारको उद्देश्यसहित दुई संस्थाका बीचमा सहकार्य भएको हो । उहाँले एसोसिएसनले नेपालमा सञ्चालन हुने आँखा उपचार सेवासम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउन स्वयंसेवी सेवामा संलग्न हुन इच्छुक योग्य नेत्र विशेषज्ञ तथा आँखाका स्वास्थ्यकर्मीलाई नेपालमा परिचालन गर्ने जानकारी दिनुभयो ।

त्यसैगरी आँखा उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको व्यवस्थापनका लागिसमेत एसोसियसनले समन्वय गर्नेछ ।

एसोसिएसनले नेपालमा विभिन्न निःशुल्क उपचार शिविरसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०३५ मा स्थापना भएको नेपाल नेत्रज्योति सङ्घ नेपालकै अग्रणी गैर–सरकारी संस्था हो । यसले सुलभ र गुणस्तरीयय आँखा उपचार सेवा प्रदान गर्दै आएको छ । २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ, भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।

प्रधानमन्त्री ओली दुबईमा, राजदूतले गरे स्वागत

दुबई, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार बिहान ३ बजे दुबई अन्तरराष्ट्रिय विमानस्थलमा आइप्ग्नुभएको हो । उहाँलाई युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल गएराति ११ः५५ बजे फ्लाइट दुुबइको उडानबाट दुुबई आउनुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव महामहिम एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लाग्नुभएको हो ।

साउनको तेस्रो सोमबार पशुपतिनाथ मन्दिरमा शिवको पूजा आराधना गर्दै भक्तजन(तस्विर)

साउनको तेस्रो सोमबार आज काठमाडौँको पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । बिहानैदेखि पशुपति मन्दिरमा भक्तजनको घुंइचो देखिएको छ ।

साउन महिनाको सोमबार वैदिक सनातन हिन्दू धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन् । यसका लागि विश्व सम्पदा सूचीमा सूचिकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो । 

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन् । साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

वीरेन्द्रभक्तले यसवर्ष पनि जिब्रो छेडाएर निरन्तरता दिने

भक्तपुर, १९ साउन : यहाँको मध्यपुरथिमि नगरपालिका–४ बालकुमारी निवासी ३८ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले यसवर्ष पनि जिब्रो छेडाएर लोप हुन लागेको परम्परालाई निरन्तरता दिनु हुनेभएको छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ अर्थात आगामी भदौ २२ गते इन्द्रजात्राको भोलिपल्ट साँझ जिब्रो छेडेर महाद्विप बोकेर पशुपतिनाथसम्म पुगेर जात्राको संरक्षणमा योगदान दिँदै आउनुभएका उहाँले यसवर्ष पनि जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिने बताउनुभयो ।

केही वर्ष सञ्चालन हुँदै र रोकिँदै आएको जिब्रो छेड्ने जात्रा २०६३ सालदेखि रोकिएर ११ वर्षपछि २०७४ सालमा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उहाँले २०७९ र २०८१ सालमा जिब्रो छेड्नु भएको थियो । यवर्ष पनि जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने उहाँले बताउनुभएको हो ।

विसं २०७५ मा बालकराम श्रेष्ठले एकपटक जिब्रो छेडाएको र कोरोना महामारीले रोकिएकोमा २०७९ मा वीरेद्रभक्तले पुनःजात्रालाई निरन्तरता दिनुभएको थियो । मध्यपुर थिमिका कृष्ण नानिचा श्रेष्ठले २०५२, २०५७ र २०६३ मा जिब्रो छेडाउनु भएको थियो ।

जात्रामा रु पाँच लाख बढीको खर्च हुने र नगरपालिकाले सहयोग गरेकोभन्दा बढी रकम जिब्रो छेड्ने व्यक्तिले खर्च गर्नुपर्ने जात्रा संरक्षण समिति संयोजक अर्जुन श्रेष्ठ बताउनुहन्छ ।

किम्बदन्तीअनुसार प्राचीन कालमा थिमिमा भूतप्रेत र पिशाचहरूको आतङ्क मच्चाएर जथाभावी मानिस मार्ने गरेपछि यसलाई नियन्त्रण गर्न एक जनाको जिब्रो छेडी नगर परिक्रममा गराइएको र त्यसपछि भूत, प्रेत, पिचास भागेर शान्ति स्थापना भएको भनाइ छ ।

भाद्र शुक्ल पूर्णिमाको साँझ, तेलमा डुबाइएको करिब १ फिट लामो फलामको सियो दिगु भैरव मन्दिरको डबलीमा पूजा गरेर जिब्रो छडेर पुशपतिसम्म यात्रा गर्दै अन्तिममा पुनः बालकुमारी मन्दिर पुगेर सियो निकाल्ने परम्परा छ । जात्रा मनाएपछि नगरमा रोग, अनिकाल, प्राकृतिक विपत्तिबाट जोगिने विश्वास रहँदै आएको छ ।

मध्यकालीगण्डकी जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी, १९ साउन : म्याग्दीको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीबाट विद्युत् उत्पादन गर्न जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । कालीगण्डकी नदीमा निर्माण हुन लागेको यो पहिलो आयोजना हो ।

हाइड्रो सपोर्ट कम्पनीले ६६ दशमलब तीन मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो । सिभिल ठेकेदार रसुवा–मल्टी जेभीले अन्नपूर्ण गाउँपालिका–२ नागढङ्गामा विस्फोटक पदार्थको प्रयोग गरेर गत हप्तादेखि चार हजार तीन सय १९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले बताउनुभयो ।

अडिटको दुरी चार सय ५९ मिटर छ । बाँधतर्फबाट यही साउन महिनाभित्र र आउटलेटबाट हिउँददेखि सुरुङ खन्ने तयारी भएको छ । अन्नपूर्ण गाउँपालिका–३ सुकेबगरमा १२ मिटर अग्लो र ३५ मिटर लामो बाँध बनाइ ल्याउने पानी एक सय ५१ मिटर उचाइबाट अन्नपूर्ण–२ नौनीबगरमा निर्माण हुने भूमिगत विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

रन अफ दर रिभर प्रकृतिको यस आयोजनाको विद्युत्गृह, स्विचार्ड, कन्ट्रोल रुम जमिनभित्र भूमिगत हुन्छ । रसुवा–मल्टि जेभीका प्रमुख कार्यकारी अधिकृत फणिन्द्रराज पाण्डेले सुरुङ निर्माणका लागि अत्याधुनिक बुमर रोवटिक सटकिटलगायत उपकरण ल्याएको बताउनुभयो ।

मध्य कालीगण्डकीको विद्युत् नौनीबगरदेखि सात किलोमिटरमाथि दानामा रहेको २२० केभी क्षमताको सवस्टेशनमार्फत केन्द्रिय प्रणालीमा आवद्ध हुनेछ् । आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको हाइड्रो सपोर्टका सञ्चालक ढकालले बताउनुभयो । कूल रु १२ अर्ब ९३ करोड लागत अनुमान गरिएको यस आयोजनामा नविल बैंक लिमिटेडको नेत्तृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत, २५ प्रतिशत प्रर्वद्धक र शेयर लगानीकर्तामार्फत जुटाइने भएको छ ।

नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता हुँदा हिउँदयामको विद्युत् खरिद दर रु आठ ४० पैसा र वर्षायामको दर रु चार रुपैयाँ ८० पैसा कायम भएको छ । आयोजनाबाट हिउँदमा एक सय ३० गिगावाटबाट रु एक अर्ब नौ करोड र बर्खामा दुई सय ७७ गिगावाटबाट रु एक अर्ब ३३ करोड आम्दानी हुने प्रक्षेपण छ ।

मध्य कालीगण्डकीसहित कालीगण्डकी नदी बेसिनमा तीन सय मेगावाट भन्दा बढी क्षमताका तीन वटा जलविद्युत् आयोजनाले निर्माणको अनुमति लिएका छन् । ६५ मेगावाटको माथिल्लो कालीगण्डकी, एक सय ८० मेगावाटको कालीगण्डकी गर्जले पनि निर्माणको तयारी गरेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा बराल

काठमाडौँ, १९ साउन : ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकको जिम्मेवारी मित्र बराललाई दिएको छ ।

बरालले विभागको ३०औँ महानिर्देशकका रुपमा आइतबार पद बहाली गर्नुभएको छ । नेपाल टेलिकमबाट विल्डिङ कन्स्ट्रक्सन इञ्जिनियरको रुपमा जागिरे जीवन सुरु गर्नुभएका बरालले जलस्रोत तथा सिँचाइ विभागमा २०५१ सालदेखि सेवा सुरु गर्नुभएको हो । विभाग मातहातका ठूला सिँचाइ आयोजनामा काम गरिसक्नुभएका अनुभवी र विज्ञको रुपमा चिनिनुहुन्छ । उहाँले यो क्षेत्रमा ३१ वर्ष बढीको अनुभव संगाल्नुभएको छ ।

पदबहाली गरेसँगै नवनियुक्त महानिर्देशक बरालले विभाग मातहातका कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिनुभयो । “हामीसँग पर्याप्त पूँजी छ, दक्ष छौँ, सूचना प्रविधि छ, यातायातको सुविधा छ, त्यसैगरी परियोजना छिटो सम्पन्न गर्ने हामीसँग अत्याधुनिक प्रविधि छ”, उहाँले भन्नुभयो, “यस्तो अवस्थामा हामीले समयमै आयोजना सम्पन्न गर्ने बाहेक कुनै बाहनाबाजीमा छुट हुने छैन ।”

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १९ साउन : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६३ पैसा ,युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५३ पैसा र बिक्रीदर ९० रुपैयाँ ९२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३२ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४ रुपैयाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७० पैसा र बिक्रीदर २१ रुपैयाँ ७९ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ ०२ पैसा र विक्रीदर ३६४ रुपैयाँ ५८ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मिडिया काउन्सिल विधेयकलाई छिट्टै निष्कर्षमा पु-याइने

काठमाडौँ, १९ साउन : सङ्घीय निजामतीलगायतका विधेयक जस्तो धेरै पेचिलो विषयबस्तु नरहेकाले मिडिया काउन्सिल विधेयक छोटो समयमै निष्कर्षमा पु-याउन सकिने संसदीय समितिको दृढ विश्वास रहेको छ ।

राष्ट्रियसभामा उत्पति भइ त्यस सभा र मातहतको संसदीय समितिमा पर्याप्त छलफल भएको उक्त विधेयकले गत असार ३१ गते प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रवेश पाएको थियो । स्वतन्त्र र स्वायत्त संस्थाका रुपमा रहने मिडिया काउन्सिलको गठन र यसका पदाधिकारी छनोट सिफारिस समिति सरकार मातहत नभइ स्वतन्त्र प्रकृतिको बनाइनुपर्ने विज्ञहरुको सुझाव छ ।

विधेयकमा भने मन्त्रालयको सचिवको संयोजकत्वमा सरकारले तोकेको विज्ञ सदस्य एक जना र मन्त्रालयकै सहसचिव रहने गरी तीन सदस्यीय सिफारिस समिति रहने व्यवस्था प्रस्ताव गरिएको छ । जम्मा ३७ दफा रहेको विधेयकमा काउन्सिलका पदाधिकारी चयन सिफारिस कस्तो र कसको नेतृत्वमा गर्ने भन्नेबारेमा धेरैको चासो देखिन्छ ।

विधेयकमाथि १८ समूहमा ३२ सदस्यले संशोधन दर्ता गराउनुभएको छ । विधेयकका संशोधनकर्ता सांसद होस् वा सरोकारवाला पक्ष अधिकांशले काउन्सिल र पदाधिकारी छनोट समिति सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अर्थात सरकार मातहत रहनु हुन्न भन्ने तर्क छ । समितिले विधेयकका सम्बन्धमा अग्रज सञ्चारकर्मी, सञ्चार क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, विज्ञ र सरोकारवालासँग केही दिनअघि मात्रै परामर्श गरेको थियो । उहाँहरुले मिडिया काउन्सिल स्वतन्त्र र स्वायत्त निकायकारुपमा स्थापित गर्न सरकार मातहत नराखी अलग्गै राखिनुपर्ने सुझाव दिनुभएको छ ।

नागरिकलाई सही सूचना प्रवाह गर्ने सन्दर्भमा कुनै समाचार संस्थाबाट पनि कहीँकतै कमीकमजोरी भएको रहेछ भने त्यसलाई सच्याएर नागरिकलाई सूसूचित गर्ने अधिकार सुनिश्चित गर्ने दायित्व मिडिया काउन्सिलको हुनेछ । सञ्चार माध्यममा उठेको विवादको सुनुवाई गर्ने अधिकार रहने स्वतन्त्र संस्था सरकार मातहत भएमा निर्देशित पत्रकारिता हुने विज्ञहरुको धारणा छ ।

विधेयकमा काउन्सिलको गठनमा सरकारले नियुक्त गरेको व्यक्ति अध्यक्ष, मन्त्रालयको प्रथम श्रेणीको अधिकृत, पत्रकार महासङ्घको अध्यक्ष, छापा पत्रकारिता, अनलाइन, रेडियो, टेलिभिजनका प्रकाशक, सम्पादक तथा श्रमजीवी पत्रकारको प्रतिनिधित्व हुने गरी प्रत्येक प्रदेशबाट एक जनाका दरले कम्तिमा तीन जना महिला रहने गरी सात जना तथा सञ्चारमाध्यमका पाठक, दर्शक, स्रोताको प्रतिनिधित्व हुने गरी एक रहने प्रस्ताव गरिएको छ ।

सिफारिस समितिमा सार्वभौम सम्पन्न संसद्को प्रतिनिधित्व वा स्वतन्त्र निकायको नेतृत्व रहनुपर्छ भन्नेमा सरोकारवालको जोड रहेको छ । विधेयकमाथि सैैद्धान्तिक छलफल सकेर संशोधनकर्ता सदस्यको धारणा र सुझाव प्राप्त गरेको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विधेयकमाथि संशोधनकर्ता, सरोकारवाला र विज्ञसँग छलफल गर्ने तथा उपसमिति गठन गर्ने काम सकियो । काउन्सिल गठन र पदाधिकारी सिफारिस समितिका विषयमा सरकारको होइन, संसद्को मातहत रहनुपर्छ भन्ने कोणबाट प्रश्न उठेको छ, स्वायत्त र स्वतन्त्र बनाइनुपर्छ भन्नेछ ।”

सभापति थापाले काउन्सिललाई नियमन, अनुगमन र निर्देश गर्ने काम भने संसदीय समिति र सदनले गर्न उपयुक्त हुने आफ्नो निजी धारणा रहेको स्पष्ट पार्नुभयो । समितिले विधेयकलाई यथाशीघ्र निष्र्कसमा पु¥याउने सन्दर्भमा पूर्ण बैठकमा छलफल गरी टुङ्गोमा पु¥याउन र मन्त्रीको उपस्थिति समय व्यवस्थापनको चुनौती तथा कोरमको पक्षलाई मध्यनजर गर्दै सहजताका लागि उपसमितिमार्फत काम अघि बढाउने निष्कर्ष निकालेको छ ।

सोही निष्कर्षका आधारमा समितिले दीपा शर्मा संयोजक तथा प्रभु हजारा, लीलादेवी बोखिम लिम्बू, ज्ञानु बस्नेत, तोसिमा कार्की, विनिताकुमारी सिंह र महेन्द्रकुमार राय सदस्य रहनुभएको उपसमिति गठन गरिसकेको छ । उपसमितिले कार्य प्रारम्भ गरेको मितिले १५ दिनभित्र समिति समक्ष प्रतिवेदन पेस गर्ने कार्यदेश छ ।

केही दिनभित्रै बस्ने उपसमितिको बैठकमा सबैभन्दा पहिला विधेयकमाथि दफाबार छलफल हुनेछ । त्यसपछि उपसमितिले तयार पारी पेस गरेको प्रतिवेदनमाथि समितिमा फेरि छलफल हुने समिति सचिव दशरथ धमलाले जानकारी दिनुभयो । समितिले उपसमितिको प्रतिवेदनलाई जस्ताको त्यस्तै वा आवश्यकताका आधारमा सुझावसहित परिमार्जन गरी सभामा पेस गर्ने छ ।

पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचार काम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायकारुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन गर्न नयाँ कानुनको निर्माण गर्ने उद्देश्यका साथ सरकारले विधेयक प्रस्तुत गरेको हो ।

पत्रकारिताको क्षेत्रमा आएका परिवर्तन एवं प्रविधिमा भएको विकासको प्रयोगलाई आत्मसात गरी प्रेस काउन्सिललाई रुपान्तरण गरी सक्षम निकायको रुपमा विकास गर्न काउन्सिलसम्बन्धी ऐन तर्जूमा गर्ने सरकारको ध्येय रहेको छ । सरकारले समय सापेक्ष विद्युतीय, अनलाइन र छापा पत्रकारिता पेसालाई मर्यादित, उत्तरदायी, जिम्मेवार एवं विश्वासनीय बनाइ स्वच्छ र स्वतन्त्ररुपमा पत्रकारिताको विकास, संरक्षण तथा नियमनलाई व्यवस्थित बनाउन यो विधेयक विसं २०८१ वैशाख ६ गते सदनमा पेस गरेको थियो ।

यो विधेयक संसद्बाट पारित भई लागू भएसँगै हालको पे्रेस काउन्सिल ऐन २०४८ खारेज हुनेछ । त्यसैगरी प्रेस काउन्सिलले गर्दै आएको पत्रकारिता क्षेत्रको आचारसंहिता उल्लङ्घनका उजुरीको सुनुवाइ स्वतन्त्र, स्वायत्त र सक्षम निकायका रुपमा मिडिया काउन्सिलले गर्नेछ ।

नेपालको संविधानको धारा १९ मा सञ्चारको हकअन्तर्गत रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापाखाना वा अन्य सञ्चार माध्यमको व्यवस्थापन र नियमन गर्ने भन्ने व्यवस्था छ ।

उक्त विधेयकमा काउन्सिलको स्थापना, काम, कर्तव्य र अधिकार, पत्रकार आचारसंहिता जारी, पालना, अनुगमन तथा कारबाही तथा प्रेस प्रतिनिधिसम्बन्धी व्यवस्थालगायतका विषयवस्तु समेटिएका छन् ।

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ, १९ साउन : राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी तोक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्ने, के छ कार्यसूचीमा ?

काठमाडौँ, १९ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा सङ्घीय संसद्का महासचिव ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन ) विधेयक, २०७९’ को सम्बन्धमा राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराइनेछ ।

त्यसैगरी लेखा समितका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखत सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

युवा तथा खेलकूलमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, १९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रधानमन्त्रीलाई विदाई गर्नुभयो ।

सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, नेपाली सेनाका प्रधानसेनापति, सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीलगायतको उपस्थिति थियो । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले सम्मान गारद अर्पण गरेको थियो ।

तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानुभएको हो । यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा सम्मेलन आयोजना हुनेछ ।

सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनका क्रममा एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ ।

एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्ठित मुलुकहरूले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देशहरू हुँदै पारवहनमा निर्भर रहनुपरेको यथार्थलाई दृष्टिगत गरी अतिरिक्त सीमा पार गर्ने ठाउँहरू र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात र अन्य लेनदेनसहित कूल लागतमा उल्लेखनीय वृद्धि हुने भएकाले भूपरिवेष्ठित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तरराष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ । समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण भूपरिवेष्ठित विकासशील देशहरूले अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकासको चुनौती सामना गरिरहेका छन् ।

यसैगरी, प्रत्यक्ष पहुँचका अभावमा विश्वव्यापी बजारबाट उल्लेखनीय लाभ लिन नसकेको, यातायातको विश्वव्यापी सहज सञ्जाल नभएको र खाद्य पूर्वाधार विकास गर्न कठिन रहेको अवस्थामा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न सम्मेलन फलदायी हुने विश्वास लिइएको छ ।

सम्मेलनले सदस्य राष्ट्रहरूले झेल्नु परिरहेको समस्या समाधानका लागि रणनीतिक साझेदारीसहित लगानी वृद्धि गरी चुनौतीहरू सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आँकलन गर्न सहयोग पु¥याउने ठानिएको छ । यसैगरी यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न सम्मेलनको महत्त्वपूर्ण भूमिका रहने छ ।

यसअघि भूपरिवेष्ठित विकासशील देशहरूको दोस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलन सन् २०१४ को नेभेम्बर ३ देखि ५ सम्म अस्ट्रियाको भियनामा भएको थियो । करिब १० वर्षअघि भएको सो सम्मेलनमा ‘अल्माटी कार्ययोजना कार्यान्वयनको समीक्षासहित नयाँ र उदीयमान चुनौतीको सामना गर्न साझेदारी र अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यापार र पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरू’का विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुनुहुनेछ । प्रधानमन्त्री ओली यही साउन २३ गते शुक्रबार राति स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

इनरुवा (सुनसरी), १८ साउनः पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका कारणले सप्तकोशी नदीमा आज बिहानदेखि पानीको बहाव वृद्धि भएको छ ।

साँझ ७ बजेको मापनअनुसार कोसी ब्यारेज भएर एक लाख ८९ हजार ३९० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव रहेकामा राति ८ बजे एक लाख ९१ हजार २१० प्रतिसेकेन्ड क्युसेक पानीको बहाव मापन भएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । हाल ५६ मध्ये २७ वटा ढोका खुला गरिएका उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले नदीमा पानीको बहाव बढे पनि कुनै समस्या नरहेको बताउनुभयो ।

कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव पुगेमा खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोही अनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रूमले जनाएको छ ।

देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट पार्टीबीच एकताको खाँचो छः अध्यक्ष नेपाल

काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन वामपन्थी शक्तिबीचको ध्रुवीकरण अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

पार्टी निकट केन्द्रीय निर्वाचन विभागद्वारा केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उहाँले देश र जनतालाई अग्रगमनतर्फ लैजान कम्युनिष्ट आदर्श, सिद्धान्त तथा साँझा दृष्टिकोण भएका वाम समूहबीच एकता हुनुपर्ने बताउनुभयो ।

विभिन्न समूहमा छरिएका वैचारिक दृष्टिकोण निकट कम्युनिष्ट पार्टीसँग एकताको प्रयास भइरहेको बताउँदै अध्यक्ष नेपालले समाजवादी क्रान्तिलाई पूरा गर्न शक्ति तथा सङ्गठन विस्तारका लागि सही कार्यदिशा निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले समाजमा भ्रष्टाचार, गरिबी, बेरोजगारी बढेको उल्लेख गर्दै सरकारले सुशासन कायम गर्न संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा विद्यमान समस्या समाधान गरी आर्थिक तथा सामाजिक रुपान्तरणका कार्यलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्ने उल्लेख गर्नुभयो ।

पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्छः महासचिव पोखरेल

काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टी नीति र नेतृत्वको पक्षमा सबै नेता तथा कार्यकर्ता बोल्नुपर्ने बताउनुभएको छ ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले पार्टी बाहिरबाट पार्टीका विरुद्ध प्रहार भए अझ सशक्त प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले हाल समग्र प्रहारको निशाना पार्टी अध्यक्ष केपी शर्मा ओली रहेको बताउनुभयो । “हाल हाम्रो पार्टी र आन्दोलनमाथि जुन कुरालाई केन्द्रविन्दु बनाएर प्रहार भएको छ । त्यसलाई विस्थापित नगरीकन हाम्रो आन्दोलन अगाडि बढ्न सक्दैन”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले नवौँ केन्द्रीय कमिटीले पारित गरेका प्रतिवेदन दोस्रो विधान महाधिवेशनमा छलफल गरिनेसमेत बताउनुभयो । उहाँले मिसन २०८४ लाई ध्यानमा राखेर पार्टीलाई एकताबद्ध बनाउन आवश्यक रहेकामा जोड दिनुभयो ।

महासचिव पोखरेलले कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता रहस्यमय तथा अलौकिक पात्रजस्तो हुन नहुने भन्दै जनता र कार्यकर्ताबाट नियमति अनुमोदन हुने प्रणालीमा जानुपर्ने बताउनुभयो । प्रतिस्पर्धाबाट नेतृत्व हासिल गर्ने कुरा पार्टीको सङ्गठनात्मक प्रणाली र जीवन बन्नुपर्ने उहाँको भनाइ थियो ।

महासचिव पोखरेलले सामान्तवादलाई राजनीतिक रूपमा पराजित गरिए पनि दलाल पुँजीवाद यथावत् रहेको बताउनुभयो । “२०६२÷६३ को आन्दोलनबाट सामन्तवाद पराजित भयो, तर दलाल पुँजीवाद पराजित भएको छैन । हाम्रो समाजमा दलाल पुँजीवाद अझै चुनौतीका रूपमा छ”, उहाँले भन्नुभयो,“यी विविध कारणले अर्थतन्त्रलाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्र निर्माण गर्न सकिएको छैन, जसले गर्दा नेपाली राजनीतिमा बाह्य प्रभाव रहेको छ ।”

एमाले पोलिटब्यूरो सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका इन्चार्ज सुजिता शाक्यले पार्टीलाई एकढिक्का बनाएर मिसन २०८४ मा सामेल हुनुपर्ने बताउनुभयो । उपत्यका विशेष प्रदेश कमिटी अध्यक्ष प्रेमप्रसाद पराजुलीले पार्टी नेतृत्व र सरकारमाथि हुने हमलाको सबैले प्रतिपादन गर्नुपर्ने बताउनुभयो ।

प्रदेश सरकारद्वारा गम्भीर प्रकृतिका रोगको उपचारका लागि करिब १९ करोड विशेष आर्थिक सुविधा प्रदान

लुम्बिनी, १८ साउनः लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका १२ जिल्लामा तीन हजार ८५१ जना गम्भीर प्रकृतिका रोग लागेका बिरामीलाई विशेष आर्थिक सुविधा प्रदान गरेको छ ।

स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि आज सार्वजनिक गर्दै मन्त्रालयले क्यान्सर, मुटु र मिर्गौला प्रत्यारोपणलगायत गम्भीर प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई विशेष आर्थिक सुविधाअन्तर्गत करिब रु १९ करोड प्रदान गरिएको जानकारी दिनुभयो । मन्त्रालयले गत वर्षदेखि यस्ता सुविधा लिन जिल्ला स्वास्थ्य कार्यालयमार्फत सिफारिस गरिने व्यवस्था लागू गरिएको बताउनुभयो ।

यस्तै, प्रदेशअन्तर्गतका सबै अस्पतालमा ५४ प्रकारका सेवा तथा शुल्कमा एकरूपता कायम गरी नागरिक बडापत्र र वेबसाइटमार्फत सार्वजनिक गरिएको र १३ स्थानीय तहमा २६ जना ‘रोभिङ्ग नर्स’ खटाई मानसिक स्वास्थ्य, पोषण तथा मातृमृत्यु न्यूनीकरणसम्बन्धी सेवा तथा परामर्श प्रदान गरिएको जनाइएको छ ।

मन्त्री सारुले सुशासन, पारदर्शिता, जवाफदेहिता र गुणस्तरीय सेवा प्रवाहलाई आधार मानेर २५ बुँदे उपलब्धि सार्वजनिक गर्नुभएको छ । उहाँले जनताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकारले प्रभावकारी कार्ययोजना निर्माण गरेर कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

गत आवमा मन्त्रालयले ८६ दशमलव ५१ प्रतिशत वित्तीय प्रगति हासिल गरेको र यो प्रगति लुम्बिनी प्रदेश सरकारअन्तर्गत सबै मन्त्रालयहरूमा सर्वोत्कृष्ट मानिएको मन्त्री सारुको भनाइ थियो ।

बुटवलमा निर्माणाधीन एक हजार २०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको गत भदौ १५ मा शिलान्यास भई हालसम्म २७ प्रतिशत भौतिक प्रगति भइसकेको जानकारी दिइयो । निर्माणाधीन अस्पताल भवनलाई समयमै सम्पन्न गर्न प्रदेश सरकारले बजेटमा कुनै कमी नहुने गरी काम गरिरहेको मन्त्री सारुको भनाइ थियो ।

“स्वास्थ्य प्रणालीलाई कानुनी रूपमा व्यवस्थित गर्न मन्त्रालयले नौवटा नियमावली, कार्यविधि र निर्देशिका स्वीकृत तथा परिमार्जन गरी लागू गरिएको छ । मानसिक स्वास्थ्य व्यवस्थापनका लागि पाँचवर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनको चरणमा पुगेको छ”, उहाँले भन्नुभयो,“प्रदेशमा गत वर्षको अवधिमा एक लाख चार हजारभन्दा बढी नागरिकमा नसर्ने रोग स्क्रिनिङ गरिएको छ । ३९ हजार १७५ जना ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा प्रदान गरिएको छ भने ६९ हजार २४३ जना गर्भवतीले संस्थागत प्रसूति सेवा लिएका छन् ।”

यस्तै, स्वास्थ्य बिमाअन्तर्गत मन्त्रालय मातहतका दुई हजार ६४ कर्मचारी आबद्ध गर्नुका साथै नौ जिल्लामा मिर्गाैलाको डायलाइसिस सेवा विस्तार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रदेशका सबै १२ जिल्लामा पूर्ण खोप सुनिश्चितता कायम गरिएको, ३० स्थानीय तहलाई संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको र महिला, बालबालिका तथा किशोरी लक्षित पोषण सुधार कार्यक्रम सबै जिल्लामा सञ्चालन गरिएको पनि जानकारी दिइयो ।

अझै केही दिन मनसुन सक्रिय,सावधानी अपनाउन अनुरोध

काठमाडौँ, १८ साउनः लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ । महाशाखाकी मौसमविद् विनु महर्जनले भन्नुभयो, “यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्नेगरी नै वर्षा भएको छ, तर पूर्वीतराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।”

आज मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ । देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उहाँले काठमाडौँमा पनि आज खण्डिन वर्षा भएको बताउनुभयो । चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।

मौसमविद् महर्जनले आज दिउँसो विभिन्न प्रदेशका केही क्षेत्रमा भारी नै पानी परेको र अहिले पनि कोशी र मधेस प्रदेशमा वर्षा जारी नै रहेको छ । उहाँका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको अनारमनी विर्ता स्टेसनमा १५१.६ मिलिमिटर पानी परेको छ ।

यस्तै, दमकमा १२१ र चन्द्रगढीमा १२७ मिलिमिटर वर्षा भएको छ । उदयपुरको गाईघाटमा १३४.३ मिलिमिटर वर्षा भएको छभने बाँकेमा पनि १०७ मिलिमिटर वर्षा भएको छ । १६ भन्दा बढी स्टेशनमा ८० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ । यो भारी वर्षा हो ।

मधेस प्रदेशमा पनि यसपालि राम्रो वर्षा भएको छ । मधेसमा सप्तरीको बरमजियामा ९३.६ मिलिमिटर वर्षा भएको छ । यस्तै, सिरहामा ८४.४, धनुषामा ४२.४, महोत्तरी गौशालामा ५७.८, लहानमा ७२.८ मिलिमिटर वर्षा भएको छ । रौतहट गौर ६५.८ मिलिमिटर, बारामा ४३ मिलिमिटर वर्षा भएको छ । पर्सा र सर्लाहीमा भने मध्याम वर्षा भएको छ । देशका धेरै मापन केन्द्रहरुमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ ।

योसँगै बाग्लुङ, लमजुङ, सिन्धुपाल्चोक, मोरङ, सङ्खुवासभा, झापा, उदयपुर, डडेलधुरा, डोटीका केही मापन केन्द्र आसपास पनि भारी वर्षा भएको विभागले जानकारी दिएको छ । हल्कादेखि मध्यम वर्षा भने देशका अधिकांश क्षेत्रमा भएको छ ।

विभागले आगामी २४ घण्टामा देशभर बदली रहने र सबै प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने तथा कोशी प्रदेश, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको प्रक्षेपण गरेको छ । आगामी केही दिन मधेस प्रदेशलगायत देशभर मनसुन सक्रिय रहने जनाइएको छ । विभागले यो समयमा पछिल्लो मौसमी सूचनाको जानकारी लिएर मात्रै काम गर्न तथा सावधानी अपनाउन अनुरोध पनि गरेको छ ।

बलान नदीको कटानले सुन्दरपुर बस्ती जोखिममा, चिन्ताले रातभर निदाउन दिएन

सिरहा, १८ साउनः सिरहाको लहान नगरपालिका–४ स्थित बलान नदीको कटानले सुन्दरपुर र इस्लामपुरका मुस्लिम बस्तीहरू डुबानको जोखिममा परेका छन् । नदी कटान तीव्र बन्दै गएकाले सुन्दरपुरका ४५ र इस्लामपुरका ३० घरधुरी अहिले बाढीको चपेटामा छन् । साना–साना झुपडीसहितका बस्ती नदीको किनारमै छन्, जहाँ कटानको दूरी अब पाँच मिटर मात्र बाँकी रहेको स्थानीयवासी बताउँछन् । शनिबार राति परेको लगातारको वर्षाले बलान नदीमा आएको बाढीले कटान झनै तीव्र बनाएको छ । बस्ती छेउमै रहेको खुट्टी खोलासँगको दोभान क्षेत्रसमेत कटानमा परेको छ ।

स्थानीय मेहम्मद हुसेन अन्सारीका अनुसार बस्तीका बासिन्दा बाढीको त्रासमा रातभर निदाउन सकेका छैनन् । “हिजो रातभरि उठेर खोला हेर्दै बसियो । कतिबेला बाढी बस्ती छिर्छ र डुबाउँछ भन्ने चिन्ताले निदाउन दिएन । चार वर्षदेखि यही समस्या झेल्दै आएको छौँ”, उहाँले भन्नुभयो, “नदीको मूल भङ्गालो पश्चिमतिर गएकाले अलि राहत भएजस्तो देखिएको थियो तर जुनसुकै बेला फेरि पूर्वपट्टि फर्किएर बस्ती नै बगाउन सक्छ ।”

स्थानीय मोहम्मद एफ्रोज पनि बाढीले चिन्तित हुनुहुन्छ । उहाँले भन्नुभयो, “नदीको मुखैमा मेरो घर छ । थोरै बहाव बढ्यो कि मन अत्तालिन्छ । गए राति पनि सुत्न सकिएन । साना बालबच्चा छन्, छोडेर कहाँ जानु ? रातभर नजिकैको मदरसा पुगेर जाग्राम बस्नुपर्ने अवस्था सुरु भइसकेको छ ।”

अघिल्लो वर्ष पनि यस क्षेत्रमा बाढी पसेको थियो । नगरपालिकाले तीन दिनसम्म बस्ती खाली गराई सुरक्षित स्थानमा सारेर खानेबस्ने व्यवस्था गरेको थियो । तर स्थायी समाधान नहुँदा समस्या दोहोरिँदो छ । वडाध्यक्ष रामनाथ पण्डितका अनुसार बस्ती जोखिम मुक्त बनाउन स्थायी समाधान दिने उद्देश्यले जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाबाट विनियोजित रु २५ लाखको योजना भए पनि काम पूरा हुन नपाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उक्त बजेटमध्ये रु १५ लाखको मात्र काम भएको छ । त्यो पनि असार सकिनै लाग्दा हतार हतारमा गरिएको थियो । ठेकेदारले बीचमै काम छोडेर हिँड्दा बाँकी रकम फिर्ता हुन गयो ।” नदी नियन्त्रणमा त्यति काम पर्याप्त नभएको वडाध्यक्ष पण्डितको भनाइ छ ।

बलान नदीले बस्ती कटान गर्दै अगाडि बढेमा करिब ५०० मिटर तर रहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको पुलसमेत जोखिममा पर्ने सम्भावना छ । बस्ती कटान भएपछि नदीले स्वरुप परिवर्तन गर्न सक्ने र संरचना जोखिममा पार्ने खतरा रहेको स्थानीयको भनाइ छ । यसबाट लाखौँ खेतीयोग्य जमिनसमेत कटानको चपेटामा पर्नेछ ।

नदी नियन्त्रण शीर्षकमा बजेट नहुँदा पनि विपद् व्यवस्थापन कार्यक्रममार्फत केही रकम व्यवस्थापन गर्ने योजना रहेको नगरप्रमुख महेशप्रसाद चौधरीले बताउनुभयो । बाढीले क्षति पु¥याउने अवस्था आएमा मानवीयताका आधारमा प्रभावित बस्तीलाई सुरक्षित स्थानमा सारिने उहाँले जानकारी दिनुभयो । नगरप्रमुख चौधरीले बलान नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारबाट सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “हामी प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी दीर्घकालीन समाधानका लागि पहल गरिरहेका छौँ । जनताको सुरक्षालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।”

सरकारसङ १६ बुँदे सहमतिपछि प्रमुख तीर्थराज भट्टराईले तोडे आमरण अनशन

काठमाडौँ, १८ साउनः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुख तीर्थराज भट्टराईको आमरण अनशन अन्त्य गरिएको छ । बाँस र अन्य स्थानीयस्तरमा उत्पादित सामग्रीको प्रवर्द्धन र उपयोग गर्नुपर्नेलगायत माग राखी उहाँ यही साउन १४ गतेदेखि माइतीघर मण्डलामा आमरण अनशन बस्नुभएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेल र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा आज विभिन्न मागमा समझदारीपछि अनशन अन्त्य गरिएको हो ।

निमार्ण कार्यमा बाँसको प्रयोग गर्न सहरी विकास मन्त्रालयबाट बाँस भवनसंहितालाई अन्तिम रूप दिई सबै प्रक्रिया पूरा गरी लागू गरिने सहमति पत्रमा उल्लेख छ । यस्तै, ‘खोटाङलाई बाँसको राजधानी’ का रूपमा विकास गरी बाँस अध्ययन तथा प्रवर्द्धन क्षेत्रको रूपमा विकास गर्नेलगायत विषयमा सहमति भएको छ ।

बाँस, स्वदेशी काठ वा नेपालमा उत्पादित वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका सबै निकायमा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गर्नेलगायत विषय समझदारी पत्रमा समेटिएका छन् ।

यसैगरी बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान, सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकार भएकाहरूमा प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकास गर्ने, यस्ता उत्पादनको ाप्रचारप्रसार, बजारीकरणमा सहयोगलगायत प्रोत्साहनसहितका कार्यक्रम तीनै तहका सरकारले संचालन गर्ने, गराउने विषय पनि समझदारी पत्रमा उल्लेख छ ।

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः प्रवक्ता सापकोटा

काठमाडौँ, १८ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा अधिकांशले पार्टी नेतृत्वलाई सबल र सुदृढ बनाउनुपर्ने मत राख्नुभएको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्त अग्निप्रसाद सापकोटाले पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको बैठकमा हालसम्म पार्टी नेतृत्वमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प खोज्नेबारे कसैले पनि मत नराखेको जानकारी दिनुभयो ।

बैठकबारे पत्रकारलाई जानकारी गराउँदै उहाँ भन्नुभयो, “बैठकमा नेतृत्वको विकल्प खोज्नेबारे कसैले पनि बोल्नुभएको छैन, बरु स्थायी कमिटीका अधिकांश सदस्यले तत्काल नेतृत्वको विकल्प खोज्ने बेला नभएको धारणा राखेका छन्, पार्टी उपमहासचिव जनार्दन शर्माले पनि नेतृत्वको सम्बन्धमा खासै कुरा गर्नुभएन । सबैले नेतृत्वलाई सबल, सुदृढ गर्नुपर्छ भन्नुभएको छ ।”

शुक्रबारदेखि सुरु भएको स्थायी कमिटी बैठक सोमबार पनि जारी रहने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । शनिबार र आज धेरैजसो स्थायी कमिटी सदस्य र पदाधिकारीले धारणा राखिसकेकाले सोमबार वरिष्ठ उपाध्यक्ष, महासचिव र अध्यक्षले बोल्नुहुने उहाँले बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटा अस्पतालबाट घर फिर्ता

मकवानपुर, १८ साउन बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट घर फिर्ता हुनुभएको छ । पिसाबसम्बन्धी सङ्क्रमणपछि काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार गराइएको र स्वास्थ्यमा सुधार आएकाले आज उहाँ घर फिर्ता हुनुभएको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रकाश चौलागाईले हेटौँडास्थित सरकारी निवासमा रहेका बेला गत साउन १४ गते राति समस्या देखिएपछि उहाँ अर्को दिन थप उपचारका लागि काठमाडौँ आउनुभएको बताउनुभयो ।प्रदेश प्रमुख देवकोटा भोलिदेखि नियमित काममा फर्किने जानकारी प्राप्त भएको उहाँले उल्लेख गर्नुभयो ।

एन्जेल राई नेफिनको सद्भावनादूतमा नियुक्त

काठमाडौँ, १८ साउनः नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो । सद्भावनादूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पु¥याउने महासङ्घका महासचिव दिवस राईले विश्वास व्यक्त गर्नुभयो ।

नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवद्र्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्वका साथ हेरेको जनाएको छ ।