`

साउदी अरबमा विदेशीका लागि मदिरा खरिद खुकुलो पारियो

साउदी अरबले केही विदेशी बासिन्दाहरूको लागि रक्सी खरिदमा प्रतिबन्धहरू खुकुलो पारेको छ । साउदी अरबमा कार्यरत विदेशी कूटनीतिज्ञ र प्रिमियम भिसाधारकहरूले एएफपीसँग भने, “सरकारले हालैका दिनहरूमा रक्सी बिक्रीको बारेमा कुनै बयान नदिएको भए पनि स्रोतका अनुसार तथाकथित प्रिमियम आवासीय दर्जा भएका गैर–मुस्लिम व्यक्तिहरूले अब रियादमा रहेको देशको एकमात्र मदिरा पसलमा रक्सी किन्न पाउनेछन् । यो यस पहिले कूटनीतिज्ञहरूका लागि मात्र खुला रहने गरेको थियो।”

एएफपीले कुरा गरेका चार व्यक्तिहरूले नाम नबताउने शर्तमा (साउदी अरबको कडा कानुनका कारण सरकारले घोषणा नगरेको कुरा सार्वजनिक गर्दा समस्या हुने भएकोले) नियमहरू परिवर्तन भएको बताए । उनीहरू कूटनीतिक स्रोत र प्रिमियम भिसा स्थिति दुबै भएका केही बासिन्दाहरू थिए।
“मैले यसको बारेमा साथीहरूबाट सुनेको थिएँ । मैले पनि खरीदका लागि प्रयास गरे । म दुई दिनअघि त्यहाँ गएको थिएँ र मेरा लागि खरिद खुला थियो,” नाम नबताउने सर्तमा एक प्रिमियम भिसाधारकले एएफपीसँग भने । उनले भने, “यसले मलाई कालो बजारबाट किन्नुको सट्टा धेरै पैसा बचायो। मूल्यहरू उचित छन् र हामी अन्ततः साउदी अरबमा रक्सी किन्न सक्ने भएका छौँ ।”

एएफपीले रिपोर्टमा टिप्पणीको लागि साउदी अधिकारीहरूसँग सम्पर्क गरेको थियो तर उनीहरूले समाचार प्रकाशित हुने बेलासम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
सन् २०१९ मा सुरु गरिएको साउदी अरबमा प्रिमियम रेजिडेन्टको स्थिति विदेशीहरूको चयन समूहको लागि उपलब्ध छ । यसका लागि एक पटकका लागि आठ लाख रियाल रियाल (झण्डै दुई लाख १३ हजार अमेरिकी डलर) को एक पटक भुक्तानी आवश्यक पर्छ । त्यसपछि उनीहरूका लागि विभिन्न आवश्यकताहरू पूरा गर्न साउदी नागरिक र अन्य सामान्य विदेशी पर्यटक, व्यवसायी तथा श्रमिकको तुलनामा सहज हुने गर्छ ।

भिसाले मानिसहरूलाई स्थानीय ‘प्रायोजक’ बिना नै साउदी अरबमा बस्न, काम गर्न र स्वतन्त्र रूपमा लगानी गर्न अनुमति दिन्छ । अन्य गैर–नागरिकहरूलाई साउदी अरबमा बस्नको लागि एक प्रकारको ‘साक्षी’ आवश्यक छ।एक प्रिमियम रेसिडेन्सी–धारक विदेशीले एएफपीलाई बताए, “एक विदेशी व्यक्तिले मैले रक्सी किन्नुअघि मरोजस्तै पहिचान भएका एक विदेशी व्यक्तिले पनि खरीद गरेको थिए।”

“यसले ै मेरो लागि काम वास्तवम ग¥यो, यो धेरै सजिलो छ,” उनले भने।एक पश्चिमा कूटनीतिज्ञले एएफपीसँग प्रिमियम रेसिडेन्सीको पहिचान भएका व्यक्तिहरूले पछिल्ला केही दिनहरूमा सहजै मदिरा किन्न सकेको बताएका थिए।

उनले भने, “प्रवासीका ह्वाट्सएप ग्रुपहरूमा यही समाचारहरू आइरहेका छन्।”एक कूटनीतिज्ञले एएफपीलाई भनिन्, “मदिरा पसल खचाखच भरिएको थियो, जब उनले मानिसहरुलाई ३० बोतलसम्म मदिरा लिएर बाहिर निस्किरहेको मैले देखेको थिएँ।”

मदिरा नियमहरू स्पष्ट रूपमा खुकुलो भएको लगभग दुई वर्ष पछि साउदी अरबले सन् २०२४ जनवरीमा विशेष गरी गैर–मुस्लिम विदेशी राजदूतहरूलाई सेवा प्रदान गर्न राजधानीको कूटनीतिज्ञहरूको आवागमन हुने क्षेत्रमा आफ्नो पहिलो र एक मात्र रक्सी पसल खोलेको थियो ।

“त्यस समयमा कुनै आधिकारिक घोषणा भएको भने थिएन, दुई छुट्टाछुट्टै स्रोतहरूले एएफपीसँग पुष्टि गरे।
साउदी क्राउन प्रिन्स र वास्तविक शासक मोहम्मद बिन सलमान शक्तिमा आएपछि साउदीले अर्थव्यवस्थालाई विविधीकरण गर्ने र पर्यटक र अन्तर्राष्ट्रिय व्यापारलाई आकर्षित गर्ने योजना अनुसार निरन्तर परिवर्तनहरू गरिँदै आएको छ।

अहिले महिलाहरूलाई गाडी चलाउन अनुमति दिइएको छ, विदेशी पर्यटकहरूलाई स्वागत गरिएको छ र पुनः सिनेमा घरहरू खुलेका छन्।तथापि, इस्लामको जन्मस्थान र यसका दुई सबैभन्दा पवित्र शहरहरूको घर रहेको राज्यमा मदिरालाई खुला गर्ने बिषयले चर्चा पाउने बिषय बनेको छ । अहिले पनि यो स्वदेशी मुश्लिमहरूको लागि खुला गरिएको छैन ।

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

वीरगञ्ज (पर्सा), ८ मङ्सिर: स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट रु १५ लाख बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार निजको साथबाट स्रोत नखुलेको रू एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र रु पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् रु छ लाख ५० हजार बरामद गरिएको हो । यस्तै, रु १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ ।

प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

एनआरएनएमा बृहत् एकता अत्यावश्यक भई सकेको छ: उपाध्यक्ष सुनील साह

काठमाडौँ – गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष सुनील साहले नेपालमा हालै भएका राजनीतिक परिवर्तनको कारणले पनि गैर आवासीय नेपाली संघमा बृहत् एकता अत्यावश्यक भई सकेको बताएका छन्।

आफू सधैँ सहमतिको पक्षमा, जहिले पनि मिल्नु पर्छ भन्ने पक्षमा रहेको साहले बताए । “नेपालको अहिलेको परिस्थितिमा हामीले पुनर्निर्माणमा सहयोग गर्नु पर्ने छ। एनआरएनएले काठमाडौँस्थित ट्राफिक प्रणालीको पुनर्निर्माणमा सहयोग गरेको छ। तर हामी एकताबद्ध भयौँ भने अझ बलियो सहयोग गर्न सक्छौँ,” उनले भने।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिले गराएको एकता महाधिवेशनले गत मे महिनामा महेश कुमार श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। त्यसैले हाम्रो भनाइ चाहिँ एकता महाधिवेशनको म्यान्डेट अनुसार नै सहमति हुनु पर्छ भन्ने हो। एनआरएन नागरिकताको कार्यान्वयनको लागि, नेपालको विकास र समृद्धिको लागि पनि हामी मिलेर गयौँ भने मात्र हामीले आफ्नो लक्ष प्राप्त गर्न सक्छौँ,” उनले भने।

सङ्घलाई एकताबद्ध बनाउन एनसीसी अमेरिकाको गहन भूमिका रहने बताउँदै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष रही सकेका साहले एनसीसी र केन्द्रमा पनि एकता कायम गर्न आफूले सक्दो प्रयास गरिरहेको जनाए।

संघका केन्द्रीय अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा गत १ नोभेम्बरमा तयार गरिएको सहमति पत्रको मस्यौदाले एनआरएनएलाई पुनः साझा मञ्चमा ल्याउने इमानदार प्रयास गरेको बताउँदै साहले उक्त मस्यौदाले सङ्घलाई यसको मूल मर्मअनुसार स्वतन्त्र, स्वायत्त, गैर राजनीतिक, सामाजिक तथा परोपकारी संस्थाको रूपमा सुदृढ बनाउने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको जनाए ।

“संघको १० औँ महाधिवेशन पछि गठित विभिन्न समितिहरूको अस्तित्वलाई स्वीकार गर्दै विगतमा एनआरएन अभियन्ताहरूको योगदानलाई पनि हामीले सम्मान गर्नु पर्दछ । अदालतमा रहेका मुद्दाहरूलाई आपसी सहमतिमा फिर्ता लिएर संस्थागत एकताको दिशामा ठोस कदम चल्न सकिन्छ,” उनले भने ।

” एनआरएनए कुनै व्यक्ति वा समूहको मात्रै सङ्गठन होइन, यो विश्वभरका नेपालीहरूको साझा संस्था हो। त्यसैले व्यक्तिगत इगो र विगतका तीता मिठा घटनाक्रमलाई बिर्सेर संस्था र मातृभूमिको सर्वोपरि हितका लागि एकताबद्ध हुनुको विकल्प छैन,” साहले भने।

दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ, ८ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता भई नेपाल र नेपालीको शिर उच्च राख्न सफल टोलीलाई बालुवाटारमा बोलाएर बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडी र सम्बद्ध पक्षलाई बोलाएर उहाँले पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा इतिहास रचेकामा बधाई दिनुभएको हो ।

यो उपलब्धि नेपाली खेलकुदकै लागि ऐतिहासिक र गौरवको विषय भन्दै प्रधानमन्त्री कार्कीले दृष्टिविहीन महिला क्रिकेट टोलीलाई थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।“तपाईँहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पका कारण यो उपलब्धि प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “तपाईंहरू हरेक खेलाडी र अफिसियल यस उपलब्धिको हकदार हुनुहुन्छ । अर्कोपल्ट च्याम्पियन बन्ने गरी लाग्नुहोस् ।”

प्रधानमन्त्री कार्कीले आफ्नै पहलमा खेलाडीले देखाएको प्रतिभा सराहनीय रहेको उल्लेख गर्दै यसमा सरकारले लगानी गर्न सकेमा अझै प्रगति हुने बताउनुभयो । अब सरकारका तर्फबाट गर्न सकिने सहयोगबारे सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्ने उहाँको प्रतिबद्धता थियो ।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेल नेतृत्वको नेपाली टोली हालै श्रीलङ्कामा भएको प्रतियोगितामा दोस्रो भएको हो । उहाँहरूले साधनस्रोत सम्पन्न मुलुकका टोलीलाई जितेर दोस्रो हुन सकेको र सरकारको साथ पाएमा च्याम्पियनसमेत बन्ने क्षमता रहेको बताउनुभयो ।

सीमाबाट हुने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देहीको सिद्धार्थ नगरपालिकास्थित भैरहवा–बेलहियामा निर्माणाधीन एकीकृत जाँच चौकी र सशस्त्र प्रहरी बल नेपालको डण्डास्थित त्यहाँको सीमा सुरक्षा गुल्मको निरीक्षण भ्रमण गरेका छन् ।

मङ्गलबारबाट लुम्बिनी प्रदेशबाट सुरु हुन लागेको प्रदेशस्तरीय सुरक्षा गोष्टीको पूर्वसन्ध्यामा उनले आज यहाँ आएको अवसरमा निरीक्षण भ्रमण गरेका हुन् । मन्त्री अर्यालले आजै लुम्बिनी पुगेर मायादेवी मन्दिरको दर्शन गर्दै त्यहाँको समग्र वस्तुस्थितिबारे पनि जानकारी लिएका थिए ।

निरीक्षणका क्रममा मन्त्री अर्यालसँग गृह सचिव रामेश्वर दंगाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धानका प्रमुख अनुसन्धान अधिकृत टेकेन्द्र कार्की, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रहरी तथा सशस्त्र प्रहरी प्रमुख र जिल्लाका प्रहरी प्रमुखको उपस्थिति रहेको थियो ।

मन्त्री अर्याललाई प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जाँच चौकीको भौतिक प्रगति तथा उपलब्ध हुने सेवाबारे जानकारी गराएका थिए । हालसम्म जाँच चौकीको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७७ प्रतिशत पुगेको जानकारी गराइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै, मन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालको भैरहवास्थित सीमा सुरक्षा गुल्म, पुगेर समग्र सीमा सुरक्षा तथा वस्तुस्थितिबारे जानकारी लिएका छन्। त्यस क्रममा उनले नेपाल–भारत सीमामा हुनसक्ने अवान्छित गतिविधि र राजस्व चुहावट नियन्त्रणका लागि कठोर भएर र नेपाली नागरिकलाई सीमामा हुन सक्ने हैरानीबारे सचेत रहँदै सहज वातावरण बनाउन निर्देशन दिए ।

मन्त्री अर्यालले सीमाबाट हुनसक्ने अवैध ओसारपोसार, अवान्छित गतिविधि नियन्त्रणका लागि पनि जिल्ला सुरक्षा प्रमुखलाई निर्देशन दिए ।

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त

जेनेरेटिभ एआई भविश्यमा मेरी शेलीद्वारा लिखित उपन्यास ‘फ्रान्केस्टाइन’ को प्रमुख पात्र (राक्षस) जस्तै समस्या बन्न सक्ने संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले बताउनुभएको छ।

शक्तिशाली विशाल प्रविधि कम्पनीले विश्वमा एआइको प्रयोगलाई बिस्तार गरिसकेका र यसको विकासले मानव अधिकारका बिषयलाई छाँयामा पार्न सक्ने उहाँले बताउनुभएको हो ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले भन्नुभयो, “जेनेरेटिभ एआईसँग ‘ठूलो आशा’ छ तर विशुद्ध राजनीतिक वा आर्थिक फाइदाका लागि गरिने हेरफेरले समाजलाई विकृत गर्न र विचलित गर्न सक्छ।”

उहाँले भन्नुभयो, “गोपनीयता, राजनीतिक सहभागिता, अभिव्यक्ति स्वतन्त्रताजस्ता धेरै मानवअधिकारमाथि खतरा उत्पन्न हुनसक्ने सम्भावना विद्यमान समयमा नै स्पष्ट अनुभव गर्न थालिएको छ।

“उचित सुरक्षा र नियमहरू बिना, एआई प्रणालीहरू आधुनिक समयको ‘फ्रान्केस्टाइन’ को राक्षसमा परिणत हुने सम्भावना छ,” उहाँले थप्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तले ‘आजको चेतावनी भोलिको लागि ‘हानिमा परिणत हुन सक्छ’ र यसले उदीयमान प्रविधिहरूको प्रतिबद्धतालाई कमजोर पार्न सक्छ र अप्रत्याशित परिणामहरू निम्त्याउन सक्छ।”

“यस्तो परिणाम रोक्न सरकारहरूको जिम्मेवारी हो।टर्कले जेनेरेटिभ एआई बाहेक कर्पोरेट शक्तिको बढ्दो एकाग्रता र ‘सीमित’ व्यक्ति वा संस्थामा व्यक्तिगत र कर्पोरेट सम्पत्तिको ठूलो संचय’ हुनुबाट उत्पन्न हुनसक्ने खतरालाई पुष्टि पारेको छ।

“केही अवस्थामा यो सम्पूर्ण देशको अर्थतन्त्रभन्दा बढी हुन्छ”, उहाँले भन्नुभयो, “जब शक्तिलाई कानूनले सीमित गर्दैन, यसले दुरुपयोग र अधीनता निम्त्याउन सक्छ।”

पोखरा–मुग्लिन सडक विस्तार : विजयपुर पुलको प्रगति ७० प्रतिशत, सेतीको ५३

गण्डकी – पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजनाअन्तर्गत पोखरा महानगरपालिका–२६ स्थित विजयपुर खोलामा निर्माणाधीन पुलको भौतिक प्रगति ७० प्रतिशत पुगेको छ ।

उक्त सडक योजनाको पश्चिम खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने गरी निर्माणलाई तीव्रता दिइएको छ ।

शनिबारदेखि पुलमा ‘गिर्डर लञ्चिङ’ को काम भइरहेको उहाँले बताउनुभयो । “अहिलेसम्म चार वटा गिर्डर लञ्चिङ भइसकेको छ, अझै ११ वटा गिर्डर लञ्चिङ गर्न बाँकी छ”, प्रमुख कुँवरले भन्नुभयो, “गिर्डर लञ्चिङपछि पुलको स्लाब र दुवैतर्फको सडक ढलान हुन्छ ।” आउँदो बिहीबारसम्मलाई बिहान ६ देखि ८ बजेसम्म र दिउँसो १२ बजेदेखि २ बजेसम्म सडक बन्द गरेर ‘गिर्डर लञ्चिङ’ को काम गरिएको हो ।

सडक ठेक्काअन्तर्गत उक्त पुल निर्माण भइरहेको हो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नति गरिरहेको छ । यस खण्डमा विजयपुर खोलासँगै सेती नदीमा पुल निर्माण भइरहेको छ । पोखरा–९ र १० लाई जोड्ने गरी सेती नदीमा निर्माणाधीन उक्त पुलको भौतिक प्रगति ५३ प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो ।

गत भदौमा तीनवर्षे ठेक्का अवधि सकिएको उक्त पुलको प्रगति न्यून देखिएको हो । विसं २०७९ साउनमा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार वटा जगको काम पूरा भइसकेको छ । चार वटा टावर निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख कुँवरले जानकारी दिनुभयो । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्ने उहाँको भनाइ छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो ।

५० वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिन सडक विसं २०७८ वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । सडक स्तरोन्नतिसँगै विभिन्न ठाउँमा पुल निर्माण भइरहेका हुन् ।

आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) मा ११ पुल बनिसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । “पश्चिम खण्डमा विजयपुर खोला र सेती नदी पुल मात्र निर्माणको चरणमा छ, अन्य पुल बनेर पनि सञ्चालनमा आइसकेका छन्”, प्रमुख कुँवरले भन्नुभयो ।

पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड निर्माण यसै आवभित्र सक्ने लक्ष्य लिइएको छ । हालसम्म उक्त सडकको भौतिक प्रगति झण्डै ६१ प्रतिशत र वित्तीय प्रगति ५० प्रतिशत पुगेको प्रमुख कुँवरले बताउनुभयो । कूल ३८.८८ किमी दुरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी पहिलो तहको कालोपत्र, २९.६१ किमिमा दुईतर्फी (चार लेन) र ७.७९ किमि सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको जनाइएको छ ।

भोजपुर कारागारका कैदीबन्दीलार्ई ‘स्मार्ट कार्ड’

टक्सार (भोजपुर) – यहाँको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलार्ई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।

कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलार्ई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताउनुभयो ।

महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिए

जलेश्वर (महोत्तरी) – महोत्तरीमा २५ हजारभन्दा बढी मतदाता थपिएका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार गत असोज ९ गतेदेखि मङ्सिर ५ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा २५ हजार २५४ मतदाता थपिएका हुन् ।

कार्यालयमा उपस्थित भएर तीन हजार ९३९ जना पुरुष र दुई हजार ८८९ जना महिला गरी जम्मा छ हजार ८२६ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । यस्तै, १८ हजार ४२६ जनाले राष्ट्रिय परिचयपत्रको आधारमा अनलाईनमार्फत नामावली दर्ता गराएका जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले जानकारी दिनुभयो ।

दश नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटा स्थानीय तह रहेको महोत्तरीमा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलार्ई मध्यनजर गर्दै आयोगले नामावली संकलन गरेको थियो ।

जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने महासचिव पोखरेलको दाबी

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको ११औँ महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेको बताएका छन् ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन प्रचार समितिको भेलालाई आज सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीको नीति तथा कार्यक्रम विधान महाधिवेशनले गरेकाले मङ्सिर २७ गतेबाट हुने राष्ट्रिय महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने बताए । “महाधिवेशन प्रतिनिधि चयनदेखि नेतृत्व निर्माणसम्मका सबै प्रक्रिया लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेर हुने छन”, उनले भने ।

महासचिव पोखरेलले अनुसार पार्टीको भावी कार्यदिशा, संरचना र विधानसम्बन्धी महत्वपूर्ण निर्णयहरू महाधिवेशनमै अन्तिम रूप पाइसकेका छन् । उनले पार्टीको ११औँ महाधिवेशनले प्रतिगमनको विरुद्ध निर्णायक भूमिका खेल्ने बताए । “यो महाधिवेशन प्रतिगमन विरुद्धको निर्णायक राजनीतिक प्रक्रिया हुनेछ”, उनले भने ।

महासचिव पोखरेलले महाधिवेशनको उद्घाटन समारोहमा हुने जनप्रदर्शन अहिलेसम्मकै सबैभन्दा ठूलो ऐतिहासिक प्रदर्शन हुने दाबी गरे । त्यसका लागि तलसम्म लाग्न पोखरेलले आग्रह गरे ।

उपमहासचिव प्रदीप ज्ञवालीले महाधिवेशनले राष्ट्रियता, सामाजिक विकास र पुनःनिर्माण जस्ता मूल राजनीतिक सवाललाई एजेण्डामा केन्द्रित गर्ने दाबी गरे । उनले युवा पुस्ता, विशेषतः जेन–जेड मैत्री संरचना निर्माणमा महाधिवेशनमा जोड दिइने र महिलाको सहभागिता तथा नेतृत्व भूमिकामा उल्लेख्य वृद्धि हुने बताए ।

काठमाडौँ विश्वविद्यालय र साथसाथै फाउण्डेशनबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ – काठमाडौँ विश्वविद्यालयको स्कुल अफ साइन्स र साथसाथै फाउण्डेशनबीच जलवायु परिवर्तनलगायत विभिन्न क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा एक समझदारी पत्रमा हस्तक्षर भएको छ ।

आज भएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कुल अफ साइन्सका डिन प्राध्यापक डा वेदमणि दाहालले वातावरणीय पक्षलाई सामाजिक–आर्थिक दृष्टिकोणसँग जोड्न साथसाथै फाउण्डेशनसँगको सहकार्य अत्यन्त महत्वपूर्ण भएको बताए । उनले संयुक्त अनुसन्धान डिजाइन तथा कार्यान्वयनलगायत सहकार्यका मुख्य क्षेत्रहरू विस्तृत रूपमा स्पष्ट पारे ।

स्कुल अफ साइन्स उपप्राध्यापक स्मृति गुरुङले दुई पक्ष मिलेर व्यावहारिक समाधानमार्फत जलवायु न्यायका मुद्दा उठाउने सक्ने बताए ।

साथसाथै फाउण्डेशनका उपाध्यक्ष डा सिद्धार्थ बज्र बज्राचार्यले आफूहरुले दिगो पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायलाई सशक्त बनाउँदै त्यस क्षेत्रका काम गर्दै आएको र संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा प्रकाश पारे।

साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आफूहरुले विशेषगरी जलवायु न्यायका स्थानिय विषयलाई अन्तरराष्ट्रिय फोरममा उठाएको उल्लेख गरिन्। साथसाथै फाउण्डेशनले स्थापना कालदेखि नै जलवायु परिवर्तन र वातावरणसँग सम्बन्धित विभिन्न विषयमा खोज, अनुसन्धान, नीति निर्माणमा सहयोग तथा नेपालका एजेण्डालाई अन्तरराष्ट्रियस्तरमा उठाउँदै आएको छ ।

अध्यक्ष कार्कीले यसअघि काठमाडौँ विश्वविद्यालय र फाउण्डेशनको बीचमा कोप–२८ र विश्व वातावरण दिवसको दिन नेपाल कोल एक्जिट कार्यक्रम कार्यान्वयन गरिएको र त्यसलाई निरन्तरता दिइने बताइन् ।

‘जेनजी आन्दोेलनका क्रममा क्षतिग्रस्त भवनको पुनःनिर्माणमा जुट्यो सरकार’

काठमाडौँ, ८ मङ्सिरः सरकारले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त घर र संरचनाको पुनर्निर्माण अघि बढाएको छ । क्षतिग्रस्त सरकारी र निजी संरचनाको पुनःनिर्माणमा सरकारले औपचारिक रूपमा काम अघि बढाएको सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले जानकारी दिनुभयो ।

सिग्देल अनुसार आन्दोलनका क्रममा करिब दुई हजार २०० घर एवं संरचनामा क्षति पुगेको थियो । जसमध्ये एक हजार ३०० सरकारी भवन छन् । मन्त्रालयले क्षतिग्रस्त संरचनामध्ये ६०० सङ्घीय भवन पुनःनिर्माणको जिम्मा लिएको छ । तीमध्ये २०० देखि २५० भवनको विस्तृत इञ्जिनियरिङ मूल्याङ्कन अघि बढाइएको हो । दुई महिनाभित्र डिजाइन र लागत अनुमानसहितको प्रतिवेदन तयार हुने अपेक्षा मन्त्रालयको छ ।

सचिव सिग्देलले प्रतिवेदन प्राप्त भए लगत्तै पुनर्निर्माण प्रक्रिया सुरु हुने बताउनुभयो । त्यसका लागि आवश्यक बजेट पुनःनिर्माण कोषमार्फत परिचालित हुनेछ ।मन्त्रालयअन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान फ्लडलाइट जडान र १० हजार दर्शक क्षमताको प्यारामिटर निर्माणको पहिलो चरण पूरा भएको छ । दोस्रो चरणका लागि अर्थ मन्त्रालयमा बहुवर्षीय ठेक्का स्वीकृतिका लागि प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ ।

यद्यपि बजेट अभावले धेरै आयोजना प्रभावित भएको सचिव सिग्देलले बताउनुभयो । अहिले रु ६१ अर्ब ७६ करोड बराबरका आठ हजार १४० वटा आयोजना रोक्कामा परेपछि भुक्तानी, प्रगति र खरिद प्रक्रियामा समस्या देखिएको मन्त्रालयले जनाएको छ ।

पुराना क्रमागत आयोजनासमेत रोक्का सूचीमा परेकाले समस्या थप गम्भीर बनेको उहाँले बताउनुभयो । उहाँका अनुसार सरकारले मूल्याङ्कन, डिजाइन र पुनःनिर्माण प्रक्रियालाई प्राथमिकतामा राखे पनि बजेट फुकुवाको प्रक्रिया चुनौती बनेको छ ।

प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुन्छः मन्त्री खरेल

चरिकोट, ८ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आगामी फागुन २१ मै प्रतिनिधिसभा सदस्य निर्वाचन हुने भन्दै चुनावको माहोल बनाउन यहाँका कार्यालय प्रमुखलार्ई निर्देशन दिनुभएको छ ।जिल्ला समन्वय समितिको सभा हलमा आज भएको कार्यक्रममा उहाँले सरकारले चुनावका लागि वातावरण बनाइरहेकाले चुनाव हुँदैन कि भनेर फैलाइने भ्रमलाई चिर्ने गरी काम गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री खरेलले भन्नुभयो, “चुनावका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी भइरहेको छ । आवश्यक स्रोतसाधनदेखि जनशक्ति जुटाउने काम भइरहेका छन् । त्यसैले भ्रम र कसैको दबाब एवं प्रभावमा नपरी मतदान केन्द्रमा गइ मत दिन वातावरण बनाउन लाग्नुस् । यसमा सबैको सहयोग आवश्यक छ ।”

उहाँले फागुन २१ गते चुनाव होला र ! भनेर कुनै संका नगर्न कर्मचारी, राजनीतिक दल, सुरक्षा निकाय र निर्वाचन कार्यालयहरूलाई आग्रह गर्नुभयो । मन्त्री खरेलले जनताले कुनै गुनासो नगर्ने गरी नियमित सेवा प्रवाहमा समेत ध्यान दिन सबै कार्यालय प्रमुखलाई आग्रह गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मतदान हुने स्थलको अनुगमन गरी अवस्था बुझ्ने काम निरन्तर भइरहेको बताउनुभयो । उहाँले जिल्लामा हाल एक लाख ६३ हजार १३३ जना मतदाता रहेका र विगतमा ९४ वटा मतदान केन्द्र रहेका जानकारी गराउनुभयो ।

‘अब आउने संसद्को बैठक नयाँ भवनबाटै बस्ने गरी काम भइरहेको छ’ :मन्त्री घिसिङ

काठमाडौँ, ८ मङ्सिर: सहरी विकासमन्त्री कुलमान घिसिङले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो बैठक बस्ने गरी सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको कामलाई तीव्रता दिइएको जनाउनुभएको छ ।राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा आज उहाँले संसद् भवनको प्रगतिबारे जानकारी गराउँदै तीव्रताका साथ काम भइरहेको बताउनुभएको हो ।

मन्त्री कुलमान घिसिङले भन्नुभयो,“अब आउने सांसदले नयाँ संसद् भवनमै पहिलो बैठक बस्नुपर्छ भनेर लागिपरेका छौँ । अनुगमन संयन्त्र बनाएर नियमित रूपमा कामको मूल्याङ्कन भइरहेको छ । निर्माण पक्ष र कन्टलटेन्टहरूसँग निरन्तर जानकारी लिएर सुझावका आधारमा काम गराइरहेका छौँ ।”

मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले १२ वटा भवनमध्ये अधिकांशको ‘सिभिल वर्क’ पूरा भइसकेको र भवनको भित्री सजावटको काम भइरहेको बताउयनुभयो । उहाँका अनुसार त्यसको भौतिक प्रगति करिब ३० प्रतिशत सम्पन्न भएको छ । ‘कन्फ्रेन्सिङ’ प्रणालीको करिब ७० प्रतिशत काम पूरा भएको छ । हालसम्म सङ्घीय संसद् भवनको समग्र ८७ प्रतिशत मात्र सम्पन्न भएको छ ।

निर्माणाधीन उक्त भवनको विसं २०७६ असोज १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको थियो । १५१ रोपनी जग्गामा १२ वटा भवन निर्माण भइरहेका छन् ।

हाल ‘फिनिसिङ’ र ‘मेकानिकल इलेक्ट्रिकल’ प्रणाली जडानको काम तीव्र गतिमा भइरहेका छन् । एउटाबाहेक सबै भवनको छाना जडान सकिएको छ । संसद् भवनको डोम क्षेत्रमा निर्माण जारी रहेको र एक महिनाभित्र डोमको माथिल्लो सिलिङ पूरा हुने सचिव सिग्देलले जानकारी दिनुभयो ।

“फ्लोर–सिलिङ, एलुमिनियम विन्डोज, पेन्टिङ, स्यानिटरी, फायर फाइटिङ, इलेक्ट्रिकल, हिटिङ–भेन्टिलेसनलगायत काम एकसाथ अगाडि बढाइएको छ । बाहिरी संरचनामा बगैँचा, भित्री सडक बनाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो,“निर्माण व्यवसायीको नगद प्रवाहमा केही समस्याका कारण निर्माणमा ढिलाइ भएको छ । यसका अतिरिक्त परियोजना अत्यन्तै ठूलो तथा जटिल छ । निर्माणस्थल सेनाबाट चरणबद्ध रूपमा हस्तान्तरण हुन ढिलाइ भएकाले निर्माण ढिलाइ भएको हो ।”

सचिव सिग्देलले भवनमा जडान हुनुपर्ने धेरै सामग्री तथा ‘कन्फ्रेन्सिङ–सेक्युरिटी’ प्रणाली विदेशबाट आयात गर्नुपर्ने र भारतीय प्राविधिक तथा कामदार अभावले पनि समस्या थपेको धारणा राख्नुभयो । करिब रु एक अर्बभन्दा बढी लागतको उपकरण परीक्षण भइरहेको उहाँले बताउनुभयो ।
चैत वैशाखमा सञ्चालन गर्ने गरी निर्माण कार्य अघि बढाउनुपर्नेमा मन्त्रालयले जोड दिँदै आएको छ । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि पाँचौँ पटकका लागि यही वर्षको पुससम्मका लागि म्याद थप गरिएको थियो ।

नयाँ सङ्घीय संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तरराष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर प्रयोग गर्दै आएको थियो । ‘जेनजी’ प्रर्दशनका क्रममा उक्त भवन क्षतिग्रस्त भएपछि नयाँ भवन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको मन्त्रालयले जनाएको छ ।

जेनजी आन्दोलनमा सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जना पक्राउ

काठमाडौँ, ८ मङ्सिरः जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी र तोडफोड गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राजु परियार, कुमार पराजुली, सुशील श्रेष्ठ र ज्योति थापा घतानी रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिनुभयो । प्रहरीले एक जनाको भने पहिचान खुलाएको छैन ।

अदालतमा आगजनी गर्ने अन्य केहीको पहिचान भइसकेको जानकारी दिँदै उहाँले उनीहरुलाई पनि छिट्टै कानुनी दायरामा ल्याइने बताउनुभयो । अदालतमा आगजनी गर्नेमाथि छानबिन गरी कारबाही गर्न सर्वोच्चले परिसरमा जाहेरी दिएको थियो ।

परिसरमा जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड, आपराधिक उपद्रवसँग सम्बन्धित १०४ वटा जाहेरी परेको छ । त्यसमध्ये २२ व्यक्तिगत, ६६ वटा सरकारी कार्यालय र १६ वटा संस्थागत÷व्यापारिक प्रतिष्ठानको रहेको परिसरले जनाएको छ ।

आन्दोलनका क्रममा काठमाडौँमा मात्रै ४९ जनाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । त्यसमध्ये सात जनाको अझैसम्म पहिचान छैन । सो समयमा हराएका सात जनाको हुलिया प्राप्त भएको प्रहरीले जनाएको छ ।

“चुच्चेपाटीको भाटभटेनीमा सात वटा कङ्काल फेला परेका हुन्, जसले आशङ्का गर्नुभएको छ, फेला परेको शव पूर्णरुपले जलेकाले डिएनएनको नमुना पाउन सकिएन”, उहाँले भन्नुभयो, “पहिचानका लागि अन्य ठाउँमा पठाउने कि भनेर लागेको छाँै, सो शवको पहिचान नभएसम्म त्यसको यकीन गर्ने आधार देखिएन ।”

यसबीचमा विभिन्न कसुरमा १५४ वटा दर्ता भएको, २६७ जनालाई पक्राउ गरिएको, ८७ जना हाजिर जमानीमा छुटेका, ११३ जना हिरासतमा रहेको, ३३ जना धरौटीमा छुटेका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा पुगेका छन् ।

स्पिनरले राम्रो प्रदर्शन गर्दा जीत सहज भयोः कप्तान लामिछाने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा विराटनगर किङ्सले लगातार तेस्रो जित निकाल्यो । जनकपुर सामू सामान्य प्रस्तुत गरेको विराटनगरको जितमा स्पिनरको भूमिका महत्वपूर्ण रह्यो ।

जितपछि सञ्चारकर्मीसँग कुरा गर्दै विराटनगरका कप्तान सन्दीप लामिछानेले स्पिनरका कारण जित सम्भव भएको बताए । उनले भने, ‘हाम्रो स्पिन बलिङ राम्रो भयो, हामीले कम रनको लक्ष्य दिएपनि बलिङ राम्रो हुँदा जित सम्भव भयो ।’

लामिछानेले स्पिनर नरेन भट्टको प्रशंसा गरे । उनले भने, ‘नरेन आज जुन खालको बलिङ गर्यो, त्यो उत्कृष्ट थियो, उसले पावरप्ले र अन्तिमतिर पनि राम्रो बलिङ गर्यो ।’

विराटनगरको लगातारको तेस्रो जित टिम सन्तुलित भएकाले पनि सम्भव भएको उनको भनाइ थियो । जनकपुरलाई पराजित गर्ने क्रममा लामिछानेले एक्लैले चार विकेट लिएका थिए ।
जनकपुरका प्रशिक्षक शिवनारायण चन्द्रपलले आगामी खेलमा ब्याटिङमा सुधार गर्दै लैजाने बताए ।

सरकारद्वारा विशेष आर्थिक क्षेत्र मापदण्ड खारेज, भाडादर मासिक रु ५ कायम

काठमाडौँ, ८ मङ्सिरः नेपाल सरकारले भैरहवास्थित विशेष आर्थिक क्षेत्र सञ्चालन मापदण्ड तथा कार्यविधि, २०७१ खारेज गर्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रतिवर्गमिटर रु २० बाट घटाएर रु ५ कायम गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाबिर पुनले जानकारी दिनुभयो ।

बैठकले युरोपियन युनियनको ‘ग्रीन एण्ड रिलाइबल इनर्जी फर इकोनोमिक प्रोस्परिटी इन नेपाल’ परियोजनाका लागि २३ दशमलव ५८ मिलियन युरो बराबरको सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, सरकारले विद्युत् नियमन आयोगलाई ‘साउथ एसिया फर इन्फ्रास्टक्चर रेगुलेशन’ को सदस्यता लिन स्वीकृति प्रदान गरेको मन्त्री पुनले बताउनुभयो ।

नेपाल प्रहरीको हाल कायम रहेको स्वीकृत दरबन्दीभित्र नै केही कार्यालयका पद मिलान तथा दरबन्दी थपघट गर्न समेत बैठकले स्वीकृति दिएको छ । यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय भएको छ ।

गत भदौ २३ र २४ का जेनजी आन्दोलनका घाइतेको उपचार तथा राहतका व्यवस्था गर्ने, सरकारद्वारा सञ्चालनमा रहेको सहायता कक्षमा सह–सचिव तथा उप–सचिवबाहेक १० जना स्वयंसेवक खटाउने र उनीहरूलाई चार महिनासम्म मासिक रु १५ हजारका दरले खाजा खर्च उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रहरी नायब महानिरीक्षक ईश्वर कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ । साथै ‘भूमिसम्बन्धी अध्यादेश, नवौँ संशोधन २०२२’ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत सञ्चालन हुने संरक्षित क्षेत्र तथा जैविक मार्गका एकीकृत भू-परिधि आयोजना लगायतका कार्यक्रमका लागि अधिकृत तहका ३७ दरबन्दी स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ ।

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी, ८ मङ्सिरः लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धीपत्र समावेश छन् ।

बैठकमा सभामुख तुलबहादुर घर्तीले प्रदेशसभा सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नुहुने कार्यसूची छ । त्यसपछि दलका तर्फबाट प्रदेशसभा सदस्यले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताउनुभयो । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्लासभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयक प्रदेशसभामा पेस गर्नका लागि स्वीकृति दिएको छ ।

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेस गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।

यसअघि आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाका लागि पेस गर्न केही विजनेस तयारी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेस गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेशसभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।

मध्यपहाडी राजमार्गः पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा

कास्की, ८ मङ्सिरःमध्यपहाडी(पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ ।

यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङहुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् ।“हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।” इञ्जीनीयर सुवेदीले भन्नुभयो । उहाँका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ । इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ ।

विसं २०७९ साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक विसं २०८१ साउन १४ गते र दोस्रो पटक २०८१ चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यस खण्डको तेस्रो पटक थपिएको म्याद विसं २०८३ वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताउनुभयो ।

“तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ ।” सुवेदीले भन्नुभयो ।

सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेर्होन परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

मध्यपहाडीको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् ।

विश्व कराते च्याम्पियनसिप खेल्ने खेलाडीलाई एनआरएनएको सहयोग

काठमाडौं ।गैरआवासीय नेपाली संघ एनआरएनएले सिनियर विश्व कराते च्याम्पियनसिप २७ औँ संस्करणमा सहभागी हुने नेपाली टोलीलाई ट्रयाकसुट प्रदान गरेको छ ।एनआरएनए स्पोर्टस एकेडेमीले ललितपुरको कोरियन बार्बिक्यूमा एक कार्यक्रमको आयोजना गरी नेपाली टिमलाई ट्रयाकसुट प्रदान गरेको हो ।

नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले सहभागिता जनाउँदै छन् । एरिका गुरुङ ६८ केजीमाथि तथा सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्ने कराते महासंघले जनाएको छ ।अफिसियलमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, महासचिव दावा गुरुङ र कृष्णप्रसाद गौतम, टिम व्यवस्थापकमा रवि महर्जन तथा प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् । तारा गुरुङ र खेलाडी सन्तोष श्रेष्ठ पनि टोलीसँगै इजिप्ट जाने छन् ।

टोलीलाई शुभकामना दिँदै एनआरएनएका उपाध्यक्ष एवं खेलकुद विभागका प्रमुख मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ले नेपाली खेलाडीहरूलाई सहयोग गर्न संस्था सदैव तयार रहेको बताए ।आगामी दिनमा करातेलाई मात्रै नभई अन्य खेलका खेलाडीहरूलाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । अहिले मिसन २०२६ र २०२८ को ओलम्पिक गेमका लागि विदेशमा हुने प्रशिक्षणमा एनआरएनए सहकार्य गर्न तयार रहेको पनि बताए ।

यसैगरी सरकारले फागुनमा दसौँ राष्ट्रिय खेलकुदको मिति तोकेकोमा स्वागत गर्दै उक्त प्रतियोगितामा एनआरएनएको टिमले पनि प्रतिस्पर्धा गर्ने र त्यसका लागि तयारी सुरु गरिसकेको जानकारी दिए ।उनले भने ‘हामी विभागीय टिमको हिसाबले आठौँ राष्ट्रिय देखि जोडिएका छौँ, त्यति बेला १६ र नवौँ राष्ट्रिय गेममा २४ पदक जितेका थियौँ, अब दसौँमा पनि राम्रो तयारीका साथ सहभागिता जनाउँछौँ ।’

यसैगरी, बागमती प्रदेशका पूर्व युवा तथा खेलकुद मन्त्री एवं प्रदेश सभा सदस्य मीनकृष्ण महर्जनले कराते खेलको विकासका लागि आफू सधैँ क्रियाशील रहने बताए । उनले खेलाडीहरूमा अनुशासन पहिलो सर्त रहेको पनि बताए । उनले केही खेलाडीले पदक जित्दा जस लिने मात्रै काम गर्नु राम्रो नहुने उल्लेख गरे ।

यसैगरी, राष्ट्रिय खेलकुद विकास परिषद् बागमतीका सदस्यसचिव दीपक लामाले शुभकामना दिँदै अहिले विभिन्न योजनाका साथ काम भइरहेको जानकारी दिए । उनले आफू प्रचारमुखी भन्दा पनि नतिजामुखी कामका विश्वास राख्ने भन्दै स्थानीय तहका केही विद्यालयमा पाइलट प्रोजेक्टको रूपमा पाठ्यक्रम तयार पारेर सुरु गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा खेलाडी एरिका गुरुङले विश्व च्याम्पियनसिप खेल्न पाउनु नै आफूहरूको ठूलो सफलता भएको बताइन् । उनले खेलको नतिजाका आधारमा मात्रै मूल्याङ्कन नगर्न आग्रह गर्दै भनिन् ‘खेलाडी मैदानमा उत्रिएपछि कि जित्छ, कि सिक्छ ।’कार्यक्रममा गैरआवासीय नेपाली संघका सिइओ रविकिरण अधिकारीले स्वागत गर्दै नेपालको शिर उँचो बनाउने काम खेलाडीबाट भएको उल्लेख गरे । उनले खेलाडीहरूको सफलतामा एनआरएनए पनि सधैँ सहयोग गर्न तयार रहेको बताए ।

विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन सरकार गम्भीर छ : ऊर्जा मन्त्री घिसिङ

काठमाडौँ । अन्तरिम सरकारका ऊर्जा, जलश्रोत, भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई मताधिकार प्रदान गर्ने विषयलाई सरकारले गम्भीरतापूर्वक अघि बढाइ रहेको बताएका छन्। गैर आवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारलाई सम्बोधन गर्दै मन्त्री घिसिङले सरकारले आवश्यक कानुनी तथा प्राविधिक प्रक्रिया अगाडि बढाइरहेको जानकारी दिए।

मन्त्री घिसिङले गृह मन्त्रालयले हाल दुई महत्त्वपूर्ण विषय—एनआरएन नागरिकता तथा विदेशी भूमिबाट मतदान अधिकार—बारे गृहकार्य गरिरहेको बताए । उनले निर्वाचन आयोगसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्दै भने, “ विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूको भोटिङ राइट्स कार्यान्वयनका लागि अध्यादेश जारी गर्न सरकारले काम गरिरहेको छ । निर्वाचन आयोगबाट समयाभावको कुरा आएको छ, तर कुनै पनि हालतमा विदेशमा रहेका नेपालीले भोट गर्न पाउनै पर्छ भन्ने हाम्रो अडान छ।”

उनले मतदानका लागि खाडी मुलुकमा रहेका नेपालीहरूको सुरक्षासम्बन्धी पक्ष र त्यहाँका सरकारसँगको सहकार्यसम्बन्धी चुनौतीहरूबारे पनि जानकारी दिए। “राष्ट्रभक्ति देखाउने भनेका विदेशमा रहेका नेपाली नै हुन्। त्यसैले यो अधिकार कार्यान्वयनका लागि राष्ट्रपतिसमक्ष समेत आफ्नो धारणा राखेको छु,” मन्त्री घिसिङले भने।

ब्रिटिस गोर्खाहरूले उठाउँदै आएका वंशजको नेपाली नागरिकताको निरन्तरताबारे मन्त्री घिसिङले लन्डनमै आफूले उक्त मागको स्पष्ट रूपमा समर्थन गरेको स्मरण गरे। “वंशजको नागरिकताको निरन्तरताले देशलाई घाटा होइन, फाइदा गर्छ। लगानी बढ्छ। सरकारले गम्भीर रूपमा हेर्नुपर्छ,” उनले भने। दोहोरो नागरिकताको विषय भने निर्वाचित संसद्ले मात्र सम्बोधन गर्न सक्ने उनले बताए। मन्त्री घिसिङले गैरआवासीय नेपालीको सीप, स्रोत र लगानीलाई देशमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउँदै गैरआवासीय नेपालीबिच एकता र साझा एनआरएनए निर्माण गर्न पनि आग्रह गरे।

‘मताधिकार कुनै हालतमा रोक्न मिल्दैन’

एनआरएनए आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठले विदेशमा रहेका नेपालीलाई मताधिकार प्रदान गर्ने कार्यमा अब ढिलाइ गर्न नहुने बताए। “यस पटक नभए पनि अर्को पटक अनिवार्य रूपमा लागू गर्नै पर्छ। पाइलट प्रोजेक्टबाट भए पनि सुरु गर्नुपर्छ,” उनले भने। उनले एनआरएन नागरिकता तथा त्यससँग सम्बन्धित समस्याहरू समाधानका लागि नियमावली निर्माण गर्ने काम अघि बढाउनुपर्ने उल्लेख गरे। “गैरआवासीय नेपाली ऐन परिमार्जन गर्न सके धेरै समस्या समाधान हुन्छ,” उनले भने ।

संघका पूर्व अध्यक्ष कुल आचार्यले आफू गैरआवासीय नेपाली नागरिकता लिने पहिलो व्यक्ति भएको स्मरण गर्दै नागरिकता लिएको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि यसको कार्यान्वयन नभएको भन्दै दुख व्यक्त गरे। “एनआरएन नागरिकतालाई नेपालको कुनै प्रणालीले चिन्दैन। यसले देशलाई घाटा पुर्‍याइरहेको छ। पुँजी पलायन बढेको छ, लगानी रोकिएको छ,” आचार्यले भने। उनले मन्त्रिपरिषद्लाई अध्यादेशमार्फत समस्या समाधान गर्न आग्रह गर्दै एनआरएन नै नेपाल समृद्धिको प्रमुख आधार बन्न सक्ने बताए।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले वंशजको नेपाली नागरिकता सुनिश्चित गर्नुपर्ने धारणा राखे। उनले नेपालले वैदेशिक लगानी आकर्षित गर्ने भने पनि गैरआवासीय नेपालीलाई नेपालमै लगानी गर्न सहज वातावरण बनाउन नसकिएको उल्लेख गरे। “ विश्वका १२३ देशले दोहोरो नागरिकता दिन्छन्। नेपालमा पनि दिन सकिन्छ,” उनले भने। वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले गैरआवासीय नेपाली ऐन २०६४ मा रहेका त्रुटिका कारण समस्या जटिल बनेको बताउँदै एकीकृत अध्यादेश वा कम्तीमा मतदान कार्यविधि बनाएर नै अघि बढ्न सकिन्छ भने।

गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष डा केशव पौडेल, अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, एनआरएन नागरिकता लिएका सुरेश राज गौतम, राधा पौडेललगायतका वक्ताले एनआरएन नागरिकतालाई व्यावहारिक रूपमा लागू गर्न सरकारसँग आग्रह गरे। “यो याचना होइन, अधिकार हो,” राधा पौडेलले भनिन्। जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेसनका अध्यक्ष डा यादव पण्डितले भने, ” एनआरएनसम्बन्धी मुद्दाहरूको कुरा गर्दा प्रशासन यन्त्र तथा नेताहरू सबै सहमत देखिन्छन् तर बारम्बार हामीलाई चिट भएको अनुभव भएको छ। मन्त्रिपरिषद्ले निर्णय गरी दियो भने पनि समस्या समाधान भई हाल्छ, अध्यादेश ल्याउनु पनि पर्दैन। मन्त्रीजीलाई यो अवसर पनि हो। हामी कतिपयले अझै नेपाली नागरिकता बोकी रहेका छौँ। बेलायत र अमेरिकाका नेपाली नागरिकहरूलाई दूतावासमा गएर मतदान गर्ने वातावरण बनाउन आग्रह गर्दछु । ”
संघका उपाध्यक्ष विश्वास दीप तिगेला, सल्लाहकार विष्णु सुवेदी, एनआरएनए एनसीसी थाइल्यान्डका सञ्जय ढकाल, एनआरएनए युकेका प्रवक्ता डा कुल प्रसाद कँडेल लगायतले जेन जी आन्दोलनबाट आएको सरकारले साहसिक निर्णय गर्दै गैरआवासीय नेपालीका माग सम्बोधन गर्नुपर्ने धारणा राखे। कार्यक्रममा राज आचार्य, रितादेवी प्रधान, विनय शाह, आङ्गछिरिंग शेर्पा लगायतका वक्ताले आफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सभापतित्व गरिरहेका एनआरएनए आइसिसीका उपाध्यक्ष तथा नागरिकता निरन्तरता समितिका संयोजक बुद्धि सागर सुवेदीले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीको सम्पत्ति तथा लगानी नेपालले उपयोग गर्न नसकेको बताए। उनले भोटिङ अधिकार तुरुन्त कार्यान्वयन गर्नुपर्ने र वंशजको आधारमा नागरिकता सुनिश्चित गर्न संविधान संशोधन आवश्यक भएको बताए।

कार्यक्रम एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष तथा समितिका सदस्य सचिव दीपक गौतमले सञ्चालन गरेका थिए भने एनसीसी फ्रान्सकी पूर्व अध्यक्ष गीता खनाल थापाले सबैलाई स्वागत गरिन् । संघका पूर्व अध्यक्ष आर के शर्माले कार्यक्रमको सफलताको कामना गर्दै सन्देश पठाएका थिए।

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, ८ मङ्सिरः म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ ।

सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माणस्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ ।

टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिकस्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताउनुभयो ।

उहाँका अनुसार ताल निर्माणका लागि उपयुक्त देखिएको र जलस्रोत व्यवस्थापन तथा सुरक्षाका उपायका बारेमा पनि विस्तृत छलफल भएको छ । ताल निर्माण सम्पन्न भएमा कालाञ्जर–हम्पाल र जलजला क्षेत्र धार्मिकस्थलका रूपमा मात्र नभइ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य बन्न सक्ने आयोजना कार्यालय पोखराका प्रमुख श्रेष्ठले बताउनुभयो ।

हम्पाल र जलजलाबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायतका हिमाल तथा म्याग्दी, पर्वत र बागलुङका रमणीय भूगोलको दृश्य अवलोकन गर्न सकिन्छ । हिन्दू धर्मग्रन्थ अग्नि, गरुड, कूर्म, वाराह, स्कन्द, शिवमहा, पद्य, बृहन्नारदीय, लिङ्ग, मत्स्य, महाभारत र श्रीमद्भागवतमा हम्पाल र कालञ्जरको प्रसङ्ग उल्लेख भएको कालीगण्डकी क्षेत्रको संस्कृति र सम्पदाको अध्यता प्राडा जगन्नाथ रेग्मीले बताउनुभयो ।

उहाँका अनुसार धार्मिकग्रन्थमा जलजला क्षेत्रलाई ऋषिमुनिले तपस्या गरेर ज्ञान आर्जन गरेको र यहाँको जडीबुटी औषधिका रूपमा प्रयोग गरेको उल्लेख छ । यस क्षेत्रको भ्रमण गरेमा पुण्य मिल्ने, तपस्या गर्दा सिद्धी प्राप्ति हुने र पिण्डदान गर्नाले पितृहरूले सद्गति प्राप्त गर्ने धार्मिकग्रन्थहरूमा बताइएको छ । पहाडका टाकुरामा अवस्थित जलजलाको खोचमा सिम छ । खोचको पृष्ठभूमिमा अन्नपूर्ण हिमाल देखिन्छ ।

बोझो, सतुवा, चिराइतो, अमिली, ब्राह्मी (भोलटाप्रे), पाषणभेद, जेठीमधु, पदमचाल्नु, निरमसी, जटामसी, टिमुर, सिल्टिम्मुरलगायत जडीबुटी पाइने जलजला जैविक विविधतायुक्त स्थल हो । यहाँको पाखामा मृगको बथान भेटिन्छन् । डाँफे, मुनाल, कालिज, च्याखुरा, गिद्ध, लुइचे, हुकेचरा, दुम्सी, लाटोकोसेरो आदि पक्षी अवलोकन गर्न पाइन्छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, पुनहिल, मोहरेडाँडा, नागी र पर्वतको मोदी गाउँपालिकातर्फबाट जलजलालाई पदमार्गले जोडिएको छ । पर्वतको जलजला गाउँपालिकाको लेकफाँट, शालिजातर्फबाट जलजलासम्म कच्ची सडक पुगेको छ ।

सिरहा लहानबाट १ हजार १५ किलो गाँजा सहित २ जना पक्राउ

सिरहा । सिरहा प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक लहानबाट १ हजार १५ किलो लागूऔषध गाँजा सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ ।

नियमित चेकजाँचका क्रममा शंका लागेपछि प्रहरीले उनीहरुको सामान जाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला परेको जनाएको छ ।पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । सोमबार त्रिवि क्रिकेट मैदानमा हुने बिहान ११ः ४५ बजे सुरु हुने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स भिड्दै छन् भने दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धा गर्दैछन्।

जनकपुर बोल्ट्स र विराटनगर किंग्स गत संस्करणमा उद्घाटन खेल खेलेका थिए जसमा विराटनगरसँग जनकपुर ८ विकेटले विजयी भएको थियो ।दुई ÷दुई खेल खेलेका सुदूरपश्चिम र विराटनगर चारचार अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन्। प्रतियोगितामा लुम्बिनी, चितवन र कर्णालीले दुईदुई अंक जोडेका छन् भने जनकपुर र पोखरा अंकबिहीन छन्। हालसम्म जनकपुरले एक खेल मात्र खेलेको छ ।

कर्णालीले २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेको छ भने सुदूरपश्चिमले दुवै खेल जितेर अपराजित छ ।हालसम्म ८ खेल सम्पन्न भएका छन् जसमा जनकपुरले १ खेल खेल्दा काठमाडौं गोर्खाजले ३ खेल खेलेको छ भने बाँकी सबै टिमले २–२ खेल खेलेका छन् ।

२ खेलमा १ जित र १ हारको नतिजासहित कर्णाली याक्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स क्रमशः तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानमा छन् । जनकपुर बोल्ट्स भने सातौं स्थानमा रहँदा २ खेलमा पराजित भएको पोखरा एभेन्जर्स आठौं स्थानमा छ ।

एनपीएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै, मन्त्री घिसिङसँग विशेष छलफल हुने

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३०७ औँ बैठक बस्ने भएको छ । बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, तथा सहरी विकास मन्त्रालय सम्हाल्ने मन्त्री कुलमान घिसिङसँग विशेष छलफल हुने जनाइएको छ ।बैठकमा मन्त्रालयगत नीतिगत विषय, कार्यान्वयन अवस्थासम्बन्धी प्रश्न तथा आगामी योजनाबारे समिति सदस्यहरूले मन्त्रीसँग प्रत्यक्ष छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।

२१ फागुनको निर्वाचनका लागि बागलुङमा थपिए पाँच हजार ३९३ मतदाता

ढोरपाटन (बागलुङ), ८ मङ्सिर : आगामी २१ फागुनको निर्वाचनका लागि बागलुङमा पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएका छन् । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी गत असोज १० गतेदेखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय बागलुङका अनुसार जिल्लामा यसभन्दा अगाडि एक लाख ८९ हजार १७३ जना मतदाता थिए । बायोमेट्रिक विधिबाट कार्यालयमै आएर एक हजार ४६४ जना र राष्ट्रिय परिचयपत्रका आधारमा तीन हजार ९२९ गरी पाँच हजार ३९३ जना नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।

१०० जनाको बाह्य दर्तासमेत गरेको रिजालले बताउनुभयो । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी रिजालको भनाइ छ । उहाँले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको बताउनुभयो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको रिजाललेको भनाइ छ ।

उहाँले भन्नुभयो, “यसपाली मतदाता नामावलीमा नाम दर्ता गर्ने धेरै जसो युवाहरू हुनुहुन्छ, कतिपयले यहाँबाट नामसारी गर्नुभयो, कार्यालयमा आएर दर्ता गर्नेभन्दा राष्ट्रिय परिचयपत्रबाट अनलाइनमार्फत गर्ने सङ्ख्या बढी देखियो, अहिले अनलाइनबाट दर्ता भएका महिला र पुरुषको सङ्ख्या छुट्टाउने प्रक्रियामा छौँ ।”

नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था छ । उमेर पुगे पनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाइ र कामको सिलसिलामा बाहिर रहेका मतदातालाई लक्षित गरेर जेनजी समूहको मागअनुसार सरकारले मङ्सिर ५ गतेसम्म मतदाता नामावली सङ्कलन गरेको हो ।

जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका बन्दी झापाबाट पक्राउ

झापा, ८ मङ्सिर : जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी यहाँ पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए ।

प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबारपक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम

काठमाडौँ, ८ मङ्सिर : सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन शुरु गरेको सामाजिक सुरक्षा कोषमा झण्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ ।
कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका छन् । यस्तै सूचीकृत योगदानकर्ता २६ लाख ४१ हजार एक सय ८९ बराबर पुगेको छ । कोषले हालसम्म रु १७ अर्ब ६४ करोड ८८ लाख ३४ हजार छ सय ८४ बराबरको रकम दाबी भुक्तानी गरेको छ ।

कोषका अनुसार, औषधी उपचार, स्वास्थ्य तथा मातृत्व दाबी रकम रु दुई अर्ब ५१ करोड २० लाख ९४ हजार आठ सय २२, दुर्घटना तथा अशक्तता दावी रु २२ करोड ८६ लाख ५३ हजार चार सय ७५ बराबर रहेको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबी रकम रु २९ करोड सात लाख ७२ हजार एक सय १६ र अवकाश दाबी रकम रु १४ अर्ब ६१ करोड ७३ लाख १४ हजार दुई सय ७१ बराबर छ ।

सरकारले पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा अनिवार्य रूपमा सहभागी हुनैपर्ने वाध्यकारी व्यवस्था गरेपछि कोषको प्रभावकारिता समेत बढेको छ । स्वरोजगार श्रमिक, उद्योग प्रतिष्ठान तथा विभिन्न सङ्घसंस्थाका कार्यरत कामदार तथा श्रमिक कोषमा सहभागी भइ योगदानकर्ता बन्न सक्छन् ।

कोषमा नियमित रूपमा योगदान गर्नेले औषधोउपचार, पेन्सन तथा दुर्घटना अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत सुविधा पाउँछन् । कोषलाई प्रभावकारी बनाउन थप सिर्जनशल योजना ल्याउनुपर्ने आवाज पनि उठ्दै आएको छ । कोषमा योगदान रकम बढ्दै जाँदा लगानीका अन्य स्रोतहरूको खोजी गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नौ करोड ३० लाख जम्मा

काठमाडौँ, ८ मङ्सिर : सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको तर्फबाट रु एक करोड एक लाख जम्मा भएको छ । सो कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले रु एक करोड एकलाख बराबरको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गर्नुभएको थियो ।

त्यसैगरी भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जम्मा हुनेगरी एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट इन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीको संयुक्त योगदान हुने गरी रु ७५ लाख बराबरको चेक हस्तान्तरण गरिएको थियो । यही मङ्सिर ३ गते अर्थमन्त्री खनाललाई उक्त ग्रुपको तर्फबाट अध्यक्ष सिद्धान्त ठकुरीले चेक हस्तान्तरण गर्नुभएको थियो ।

सरकारद्वारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई सरकारको तर्फबाट अर्थमन्त्री खनालले विशेष धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कोषमा आइतबारसम्म रु नौ करोड ३० लाख जम्मा भएको अर्थमन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ८ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८७ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३४ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७२ पैसा र बिक्रीदर नौ रुपैयाँ ७६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १८ रुपैयाँ ४४ पैसा, कुवेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६६ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८० रुपैयाँ ५८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ६० पैसा र बिक्रीदर ३७३ रुपैयाँ १६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

कैफियत देखिएपछि अर्घाखाँची सिमेन्टलाई दुई लाख बढी जरिवानामा

काठमाडौँ, ८ मङ्सिर : उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ । विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो । विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ ।

ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ । ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना गर्न सक्नेछन् ।
यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि रु दुई लाख पाँच हजार जरिवाना गरेको छ ।

विभागले पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिएको छ । विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेको थियो ।

निर्वाचनमा सबै राजनीतिक दलले भाग लिन्छन् : मन्त्री खरेल

चरिकोट, ८ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै राजनीतिक दल सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार कालिञ्चोक–८ सुनखानीमा कालिनाग माध्यमिक विद्यालयले आयोजना गरेको बधाइ तथा अभिनन्दन कार्यक्रममा उहाँले निर्वाचनका लागि वातावरण बनिसकेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो मुख्य लक्ष्य भनेको निर्वाचन हो, निर्वाचनको लागि सरकार तयार छ, सबै राजनीतिक दलले निर्वाचनमा भाग लिँदैछन् । सरकारले निर्वाचनको वातावरण बनाउछ, यो सन्देश देशभर फैलाउन जरुरी छ ।”

उहाँले सुशासनमा सम्झौता नगर्ने भन्दै छ महिनाभित्र अनुभूति हुनेगरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलनको विरुद्धमा हुने कुनै पनि कार्य सरकारलाई शैह्य नहुने स्पष्ट पार्नुभयो । उहाँले जेनजी आन्दोलनको जगमा बनेको सरकारले जेनजी आन्दोलनका घाइते र मृतकको योगदानलाई खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री खरेलका अनुसार वर्तमान सरकारले भ्रष्टाचार कम गर्दै सुशासनलाई प्राथमिकता दिएको छ । उहाँले देशमा राजनीतिक दलको अत्यधिक सत्ता खेल र स्वार्थ केन्द्रित राजनीतिका कारण समग्र विकाससँगै शिक्षा क्षेत्रमा गम्भीर असर परेको उल्लेख गर्दै अब विकास र सुशासनलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “देशमा स्थिर सरकार नबन्दा राजनीतिक दलको अस्थिर सत्ता–प्रतिस्पर्धा बढेर शिक्षा क्षेत्रदेखि समग्र विकाससम्म प्रभाव परेको छ । अब स्थिरता, गुणस्तरीय शिक्षा र सुशासनलाई प्राथमिकतामा राख्दै सबै दलले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्न आवश्यक छ ।”

सञ्चारमन्त्री अभिनन्दित

सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेल आफ्नो गृह जिल्ला दोलखामा अभिनन्दित हुनुभएको छ । आइतबार दोलखा पुग्नुभएका सञ्चारमन्त्रीलाई कालिञ्चोकको सुनखानीस्थित कालिनाग माध्यमिक विद्यालयले भव्य स्वागतसहित अभिनन्दन गरेको हो ।

त्यसअघि सुनखानी पुगेपछि स्थानीयवासीले मन्त्री खरेललाई बाजागाजासहित स्वागत गरेका थिए । जिल्ला प्रवेश गरेलगत्तै मन्त्री खरेलले आफ्नै जन्मस्थानस्थित कालिनाग मन्दिरको दर्शन गरी पूजा अर्चना गर्नुभएको थियो । स्थानीयस्तरमा आयोजित बधाई तथा अभिनन्दन कार्यक्रममा मन्त्री खरेलले आफूलाई दिएको सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्ने बताउनुभयो ।

मन्त्री खरेलले कालिञ्चोक गाउँपालिकाको कार्यालय निरीक्षण गर्नुभयो । साथै उहाँले गाउँपालिका–७ मा आयोजित कार्यक्रममा सरिक हुनुभयो । मन्त्री खरेलले जन्म घर पुग्नुभयो । सो क्रममा उहाँले जिल्लाकै ज्येष्ठ नागरिक (१०२ वर्ष उमेर) को आशिर्वाद लिनुभयो ।

आगामी निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन अध्यक्ष यादवको आग्रह

चन्द्रपुर (रौतहट), ७ मङ्सिरः जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्धक्क भएर मतदान गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्नुभएको छ । जसपा रौतहटले आज दुर्गाभगवती गाउँपालिका–४ मा आयोजना गरेको भेलामा उहाँले चुनाव घोषणा गरिए पनि हालकै अवस्थामा चुनावको वातावरण बन्नेमा द्विविधा रहेको धारणा राख्नुभयो ।

अध्यक्ष यादवले मतदाताले निर्धक्क भएर मतदानस्थल पुगेर मत खसाल्ने वातावरण बनाउन सरकारले सम्पूर्ण ध्यान लगाउनुपर्नेमा जोड दिनुभयो । “नेपालको इतिहासमै पहिलोपटक प्रहरीको मनोबल गिराउने काम भएको छ । निर्वाचनमा सुरक्षा दिने प्रहरीकै मनोबल उकास्न सकिएन भने समस्या हुन्छ । त्यसैले यसतर्फ बढी जोड दिनुपर्छ”, उहाँले भन्नुभयो,“सरकारले सेना परिचालन गरेर भए पनि चुनाव गराउँछु भनिरहेको छ । यो लोकतान्त्रिक हुँदैन । लोकतन्त्रमा सेना परिचालन गरेर चुनाव गरिँदैन, विश्वका कुनै पनि लोकतान्त्रिक देशमा सेना परिचालन गरेर चुनाव भएको देखिँदैन ।”

अध्यक्ष यादवले नेपालमा बहुदलीय व्यवस्था लागू भएको ३५ वर्ष बितिसक्दा पनि ठूला दलले नै निरन्तर सरकारको नेतृत्व गर्दै आए पनि देशको मुहार परिवर्तन गर्न नसक्दा पछिल्लो ‘जेनजी’ प्रदर्शन हुने अवस्था आएको टिप्पणी गर्नुभयो । उहाँले आगामी निर्वाचनलाई देशको भविष्य परिवर्तन गर्ने महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गर्नुभयो ।

जसपाका रौतहट अध्यक्ष राजीव रञ्जन (राजु यादव) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय उपाध्यक्ष गोविन्द चौधरी, केन्द्रीय सदस्य एवं मधेस प्रदेशका पूर्वकृषि राज्यमन्त्री योगेन्द्र राय यादव, पूर्वमन्त्री शेख फुलबाबु, केन्द्रीय नेता किशोरी यादव, राष्ट्रियसभा सदस्य पूजा चौधरी, प्रदेश सांसद शोभा देवी, महिला नेत्री किरण ठाकुर, युवा नेता राजकुमार दासलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

हमास र हेजबुल्लाहमाथि आक्रमण जारी राख्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको भनाइ

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहलाई लेबनानमा पुनः सङ्गठित हुनबाट रोक्न इजरायलले आवश्यक सबै कदम चाल्ने र हमासलाई गाजामा त्यसो गर्नबाट रोक्ने बताउनुभएको छ । “गत हप्ता इजरायलले छिमेकी लेबनानमा हेजबुल्लाहको लन्चर र सैन्य स्थलसहिच धेरै स्थानमा आक्रमण गरेको छ,” इजरायली सेनाले भनेको छ ।

गाजाको नागरिक सुरक्षा निकायले भनेको छ, “इजरायली हवाई आक्रमणमा २१ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन्।” हमास र इजरायलले अक्टोबर १० देखि सुरु भएको युद्धविराम फेरि उल्लङ्घन गरेको आरोप एक आपसमा लगाएका छन्।“हामी धेरै मोर्चाहरूमा आतङ्कवादविद्धको आक्रमणलाई जारी राख्नेछौँं,” नेतान्याहूले क्याबिनेट बैठकको सुरुमा भन्नुभयो।

“यस सप्ताहन्तमा आईडीएफ (इजरायली सेना) ले लेबनानमा आक्रमण गरेको छ र हामी हिजबुल्लाहलाई आफ्नोबिरूद्ध शक्ति पुनः स्थापित गर्नबाट रोक्न आवश्यक सबै कुरा जारी राख्नेछौँ।
“हामी गाजा पट्टीमा पनि यही गरिरहेका छौँ। युद्धविरामपछि हमासले यसको उल्लङ्घन गर्न छोडेको छैन र हामी तदनुसार कार्य गरिरहेका छौँ।दुई वर्षको युद्धपछि इजरायल र हमासबीच अमेरिकी मध्यस्थतामा भएको युद्धविराम लागू भएपछिको शनिबार सबैभन्दा घातक दिनहरू मध्ये एक थियो।

इजरायली सेनाले भनेको छ, “एक ‘सशस्त्र आतंकवादी’ ले इजरायली सेनाले पछाडि हटेको गाजा पट्टी भित्रको सीमा पार गरेको र इजरायली सैनिकहरूमाथि गोली चलाएको छ। यो युद्धविराम सम्झौतामा पार नगर्ने सहमति भएको थियो । त्यसको जवाफमा सेनाले गाजा पट्टीमा रहेको आतङ्कवादीहको आश्रयस्थलमा आक्रमण गर्न थालेको बताइएको छ ।

“हमासले ‘हाम्रा सैनिकहरूलाई हानि पुर्याउने प्रयास’ मासीमा रेखाभन्दा बाहिर घुसपैठ गर्न ‘धेरै प्रयासहरू’ गरेको छ,” नेतान्याहूले आइतबार भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले ठूलो शक्तिका साथ यसलाई विफल पारेका छौँ र यसको बदला पनि लिएका छौँ र यसको हमासले धेरै ठूलो मूल्य चुकाउनुपर्नेछ।” प्रधानमन्त्री नेतान्याहूले इजरायललाई गाजा वा लेवनानमा आक्रमणका लागि बाहिरबाट अनुमोदन चाहिन्छ भन्ने कुरा ‘पूर्ण गलत’ भएको बताउनुभएको छ।

जोखिम बढेपछि पुर्न थालियो पोखरा–बागलुङ सडकका खाल्डाखुल्डी

गण्डकी, ७ मङ्सिरः ठाउँपिच्छे परेका खाल्डाखुल्डीले यात्रामा जोखिम बढेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडकको मर्मतसम्भार सुरु गरिएको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिगँ्रदा यात्रु र सवारीचालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्कीको फेदीदेखि नयाँपुल र नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म गरी दुई खण्डमा मर्मतसम्भारको काम सुरु गरेको हो ।

अहिले फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने काम भइरहेको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले बताउनुभयो । गत बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएकामा अब छिट्टै उक्त समस्या हट्ने उहाँको भनाइ छ । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम अगाडि बढाइएको सबइन्जिनियर पौडेलले बताउनुभयो ।

बर्खायाम सकिएलगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेका कारण काम केही ढिलो सुरु भएको कार्यालयले जनाएको छ । सडक धेरै ठाउँमा बिगे्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेटक अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताउनुभयो । बजेटले भ्याएसम्मको काम समयमा नै हुने उहाँको भनाइ छ ।

कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको जनाइएको छ । ठाउँठाउँमा सडक बिग्रँदा सहज र निर्बाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था अहिले छैन । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुम पूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्ने गरेका छन् ।

विवाहपञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न

जनकपुर, ७ मङ्सिरः जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।त्रेतायुगमा भगवान् श्रीराम र माता सीताको विवाह भएको सम्झनामा जनकपुरधाममा एक सातासम्म मनाइने विवाहपञ्चमी महामहोत्सवअन्तर्गत राम मन्दिरको प्राङ्गणमा आज तिलकोत्सव विधि सम्पन्न भएको हो ।

जानकी मन्दिरबाट राजर्षि जनकको स्वरूपमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव भार लिएर राम मन्दिर पुग्नुभएको थियो । तिलकोत्सवमा उत्तराधिकारी महन्थ दास र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने जनकपुरधामस्थित राम मन्दिरका महन्थ राम गिरीले एकअर्कालाई अङ्कमाल गरेर सम्धी मिलन गर्नुभयो । उत्तराधिकारी महन्थ दासले दुलहा पक्षका महन्थ गिरीलाई भार हस्तान्तरण गर्नुभयो ।

अब सोमबार मटकोर विधि, मङ्गलबार विवाहपञ्चमीको मुख्य दिन रामजानकी स्वयंवर तथा राति जानकी मन्दिरमा शुभविवाहको कार्यक्रम हुनेछ । बुधबार रामकलेवा गरेसँगै यस वर्षको विवाहपञ्चमी महामहोत्सव सम्पन्न हुनेछ ।

मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न लाग्छौँः कार्यवाहक सभापति अर्याल

मुस्ताङ, ७ मङ्सिरः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापित डोलप्रसाद अर्यालयले मुस्ताङीले देखेको विकासको सपना पूरा गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताउनुभएको छ । आज यहाँको जोमसोममा आयोजित पार्टीको प्रथम जिल्ला भेलामा उहाँले आफ्नो पार्टी सरकारमा गए यहाँको विकासका लागि प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।

कार्यवाहक सभापित अर्यालले रु तीन अर्बभन्दा बढी राजस्व सङ्कलन गरिसकेको कोरलानाकामा पूर्वाधार निर्माण गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले यहाँका व्यवसायी, पर्यटक तथा सुरक्षाकर्मीका लागि शौचालय, खानेपानीलगायत आधारभूत पूर्वाधार तत्काल निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो ।

४९ जिल्लाका ६ लाख १५ हजार जनालाई गरिब परिचयपत्र वितरण

काठमाडौँ, ७ मङ्सिरः सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो ।

अति गरिबलाई रातो, मध्यम गरिबलाई पहँेलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न दुई लाख गरिबको पहिचान भएको छ । यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ ।

गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रुपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन गर्न यो कार्डले सजिलो हुने मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिनुभयो । परिचयपत्रका आधारमा गरिबले राज्यले प्रदान गर्ने सेवासुविधा उपलब्ध गराइने भएकाले स्थानीय तहमार्फत परिचयपत्र वितरण गरिएको हो ।

गरिबीका कार्यक्रम नियमन र एकीकृत नहुँदा दोहोरोपनासहित दुरुपयोग हुने गरेकाले स्थानीय तहले नै गरिबको पहिचान तथा कार्ड वितरणको जिम्मेवारी दिइएको हो । यथार्थ विवरण आउने तथा वास्तविक गरिबको खोजी हुने भएकाले उनीहरुलाई सेवासुविधा तथा सहुलियत उपलब्ध गराउँदा लक्षित वर्गसम्म पुग्ने अपेक्षा राखिएको छ ।

परिचयपत्र पाउने गरिबलाई आयमूलक कामका लागि सीप सिकाउनुपर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने तथा खाद्य सुरक्षा सुनिश्चित गर्ने कार्यलाई तीनै तहका सरकारको समन्वयमा प्राथमिकतामा राखिने छ । बाँकी रहेका १३ जिल्लामा सर्वेक्षण पूरा भएका कारण वितरण कार्य प्रक्रियामा छ । परिचयपत्र वितरण अगावै उनीहरुको घरपरिवार सर्वेक्षण गरेर गरिबको पहिचान तथा वर्गीकरण गरिएको थियो ।

गरिब पहिचानका लागि विभिन्न १८ सूचकलाई आधार बनाइएको थियो । यो कार्यक्रमका लागि अहिलेसम्म करिब रु एक अर्बभन्दा बढी खर्च भइसकेको छ । गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको खोजी सुरु गरिएको थियो । विसं २०७५ देखि मन्त्रालयले यो कार्यक्रमर्लाइ अगाडि बढाएको हो । विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरिएको भए पनि वर्गीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम दुरुपयोग र दोहोरोपन आएको थियो ।

परिचयपत्रका आधारमा स्वास्थ्य बिमा, छात्रवृत्ति, सीपमूलक, तामिल, खाद्यसुरक्षालगायत कार्यक्रम प्रस्ताव गरिएको मन्त्रालयले जनाएको छ । गरिबी निवारणको कार्यक्रमले विपन्न वर्गको जीवनस्तरमा सुधार पुग्ने सहायक प्रवक्ता वाग्लेले विश्वास व्यक्त गर्नुभयो ।

कम्युनिष्ट घटकमात्र होइन सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ : संयोजक दाहाल

त्रिशूली (नुवाकोट), ७ मङ्सिरः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा जारी अस्थिर राजनीतिक परिवेषलार्ई निर्वाचनमार्फत समाधान गर्न सकिने बताउनुभएको छ ।नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा आज घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री दाहालले नेपाली नागरिकको आत्मनिर्णयको अधिकार जोखिममा परेकाले त्यसको पुनःस्थापनाका लागि एकमात्र विकल्प निर्वाचन रहेको बताउनुभयो । त्यसका लागि तोकिएको समयमा निर्वाचन गराउन राष्ट्रिय राजनीतिक एकताको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

“कम्युनिष्ट घटकमात्र होइन कांग्रेस लगायतका सम्पूर्ण राजनीतिक शक्ति एकजुट भएर चुनाव सम्पन्न गर्न केन्द्रित हुनुपर्छ”, संयोजक दाहालले भन्नुभयो, “फागुन २१ गते समयको अभावले चुनाव हुन नसक्ने भएमा आगामी वैशाखदेखि जेठ पहिलो सातासम्ममा ताजा जनादेश लिनुपर्छ । देशमा जारी अस्थिरतालार्ई निकास दिएर नयाँ गतिमा अघि बढ्नुपर्छ ।”

चुनावका लागी नेपाली कांग्रेससहितका दल तयारीमा लागिसकेकाले नेकपा (एमाले)ले पनि सहभागी हुने संयोजक दाहालले विश्वास व्यक्त गर्नुभयो । “सबै शक्ति एकजुट भएर चुनावमा लाग्नुपर्छ यसमा नै सबैको भलो हुन्छ”, संयोजक दाहालले भन्नुभयो ।

भ्रष्ट्राचारमा शून्य सहनशिलता अपनाउन मन्त्री खरेललाई गृह जिल्लावासीको आग्रह

चरिकोट, ७ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेललार्ई गृह जिल्लामा भव्य स्वागत गरिएको छ । उहाँले विद्यालय शिक्षा अध्ययन गरेको श्री कालिनाग माध्यामिक विद्यालयमा अभिनन्दन तथा सम्मान गर्न गरिएको छ ।मन्त्री खरेललाई गृह जिल्लावासीले भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीतिअनुसार अगाडि बढ्न र देशमा सुशासन कायम गर्न भूमिका खेल्न आग्रह गरेका छन् ।

उहाँले देशको अवस्था परिवर्तनका लागि आवाज उठाउँदा युवाहरूले गोली खानुपरेको भन्दै त्यही जगमा आफू मन्त्री बनेकाले सुशासनका लागि प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँहरू सबैलाई जानकारी छ । देशमा सबैलाई अवसर, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता, भ्रष्टाचार अन्त्यको कुरा उठाउँदा धेरै युवाले ज्यान गुमाउनुप¥यो । धेरै अङ्गभङ्ग छन् । मन्त्रालयमा आइसकेपछि आफूले पनि धेरै बेथितिले घेरिएको देखेको छु । यसलाई सङ्लो बनाउन केही दिन, महिना र समय लाग्छ, तर प्रतिबद्ध भएर काम गरिरहेका छौँ ।”

मन्त्री खरेल आफ्नो जन्मभुमी कालिञ्चोक–८ सुनखानी भएकाले यस क्षेत्रको माया नमारेको तर हालको विषम परिस्थितिमा आफ्नो क्षेत्र मात्र हेरेर बस्ने अवस्था नरहेको बताउनुभयो । उहाँले विद्यालयमा राजनीति नगरी विद्यालय र विद्यार्थीको हितलाई मात्र केन्द्रमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

मन्त्री खरेलले कुनै नेताको पछि लागेर छोराछोरी र घर परिवारको भविष्यमा खेलवाड नगर्न पनि सचेत गराउनुभयो । उहाँले सबै पाटी खत्तम छन् भन्ने भ्रम चिरेर राम्रो मान्छेलाई अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो ।