`

चट्याङ लागेर घरमै बसिरहेका लिम्बूको मृत्यु

ताप्लेजुङ, २४ असार : सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर घाइते हुनुभएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो । उहाँको पारिवारिक स्रोतका अनुसार मङ्गलबार साँझ घरमा बसिरहेका बेला चट्याङ लागेर उहाँ घाइते हुनुभएको हो । उहाँलाई तत्काल स्थानीय स्वास्थ्यचौकी पुर्याइएको थियो ।

त्यसैगरी, सिदिङ्वा गाउँपालिका–५ लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङ लागेर घाइते हुनुभएको छ । सत्र वर्षीय लिम्बूलाई चट्याङ लागेको हो । उहाँको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिनुभयो ।

विपद्को घडीमा सबैको सहकार्यबाट खानेपानीको संकट पार गर्न सकिन्छ : मन्त्री यादव

काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको संकट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताएका छन्।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यसमेत रहेका मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहट लगायतका मधेशका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन नै निक्कै कठिन भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिए।

‘यो प्राकृतिक विपत्तिमा पीडित नागरिकसँग सहानुभूति राख्दै म वीरगन्जका विभिन्न प्रभावित क्षेत्रहरूको स्थलगत अनुगमनसमेत गरिरहेको छु,’ उनले भने, ‘खानेपानीको समस्याको तत्कालीन समाधानका लागि बारा, पर्सा लगायतका जिल्लाहरुसहित वीरगन्ज महानगरपालिकाका विभिन्न वडारुमा हालसम्म २३७ भन्दा बढीको सङ्ख्यामा डिप बोरिङ गाडि सकिएको छ। पानीको समस्या समाधानका लागि थप पहल भइरहेको छ।’

यसैगरी उनले आगामी आर्थिक वर्षको सुरुवातसँगै यसकार्यलाई अझ द्रुत गतिमा अगाडि बढाइने भन्दै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताए।

खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैंकको सहयोगमा रु ४ अर्ब ५० करोडको लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उनको भनाई छ।

‘यो कठिन परिस्थितिमा धैर्यता र संयमता अपनाउन आग्रह गर्दै उनले सबैको सहयोग र समन्वयले नै पानी संकटको समाधान निकाल्न सकिने छ,’ उनले भने।

साथै प्रदेश र स्थानीय सरकार तथा खानेपानी र सरसफाई क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उनले आग्रह समेत गरेका छन्।

मन्त्री यादवले भने, ‘यस विपद्को घडिमा हामी सबैको सहकार्यबाट यो सङकट पार गर्न सकिने दृढ विश्वास लिएको छु। विपत्तिका बेला हामी सबै एक हौँ, सङकटका घडीमा सहकार्य नै हाम्रो बल हो।’

वीरगञ्जमा खानेपानीको सङ्कटः समस्याको दीर्घकालीन समाधानमा

वीरगञ्ज (पर्सा), २५ असार : वीरगञ्ज महानगरमा लामो समयदेखि जारी खानेपानी सङ्कटको दीर्घकालीन समाधानमा महानगरवासीले जोड दिएका छन् ।
खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुभन्दा तत्कालीन रुपमा केही दिन ट्याङ्कर तथा दमकमबाट पानी वितरण गरेर नहुने उनीहरूको भनाइ छ । वीरगञ्ज महानगरले ट्याङ्कर र पर्साको सखुवाप्रसौनी गाउँपालिकाले दमकलबाट पानी ओसारेर आपूर्ति गर्न थालेपछि सर्वसाधारणले दिगो समाधानमा जोड दिएका हुन् ।

वीरगञ्ज महानगरप्रमुख राजेशमान सिंह २०७९ सालको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुँदा पनि वीरगञ्जमा खानेपानीको समस्या समाधान गर्न लागिपर्ने घोषणा पनि गर्नुभएको थियो । उहाँको चुनावी सभामा पर्साका प्रतिनिधिसभाका सांसद तथा खानेपानीमन्त्री प्रदीप यादवले पनि खानेपानीको दीर्घकालीन समाधान गर्ने घोषणा गर्नुभएको थियो । उहाँ नगरप्रमुखमा निर्वाचित भएको तीन वर्ष बित्दा पनि समस्या यथावत छ ।

वीरगञ्ज महानगर–१३ श्रीपुरका कैफुल मियाँ खानेपानीको सङ्कट समाधान गर्न महानगर अग्रसर नभएकामा खिन्न हुनुहुन्छ । “चापाकलमा एक थोपा पनि पानी आउँदैन यस्तै हो भने हाम्रो उठिबास हुनेछ ।”

यहाँस्थित नेपाल खानेपानी संस्थानका प्रमुख प्रवीणकुमार साहले महानगरको खानेपानी समस्या दीर्घकालीन रुपमा समाधान गर्नेतर्फ ध्यान दिन जरुरी भएको बताउनुभयो ।

“यहाँको खानेपानी सङ्कट चापाकल वा बोरिङ गरेर हुँदैन”, उहाँले भन्नुभयो, “ओभरहेड ट्याङ्की निर्माणदेखि पाइपलाइन विस्तारसम्मका काम गर्न आवश्यक छ । खानेपानीको लाइन भएकै ठाउँमा टोलटोलमा बोरिङ गरेर पानी वितरण पनि भइरहेको छ । एकीकृत रूपमा आपूर्ति व्यवस्थित हुनुपर्छ ।”

महानगरप्रमुख सिंह मङ्गलबार साँझ वडा नं ११ अन्तर्गत विद्यापति नगर, श्रीपुर, रानीघाटलगायत प्रभावित टोलमा ट्याङ्कर लिएर पुग्नुभयो । “नगरवासीलाई पानीको अभावमा राखिन्न, जहाँ समस्या छ, त्यहाँ समाधानको प्रयास गर्नेछौँ”, उहाँले भन्नुभयो, “पानीको समस्या ३२ वटै वडामा रहेको र सबै वडामा समान रूपमा पानी पुर्याउने गरी संयन्त्र बनाएका छौँ ।”

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २५ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ ५४ पैसा र बिक्रीदर १६१ रुपैयाँ २४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ २५ पैसा र बिक्रीदर १०० रुपैयाँ ६९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ५४ पैसा, ओमनी रियाल एकको खरिददर ३५५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ९४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, २५ असारः आज सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०÷२०८१) पेस गर्नहुने कार्यसूची छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नबल किशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो । यसैगरी उहाँले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८२ प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । उक्त विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गर्न लागिएको छ । सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव मन्त्री अधिकारीले आजको बैठकमा राख्नुहुने जनाइएको छ ।

सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन विधेयकमाथि राष्ट्रियसभाबाट भएको विचारमाथि संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची छ

लेदोसहितको बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति

मुस्ताङ, २५, असार: उपल्लो मुस्ताङमा मङ्गलबार साँझ लेदोसहितको बाढीले छवटा पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।

बाढीले लोमान्थाङ-४ स्थित चुम्जुङ खोलामा एक पुल र लोमान्थाङ-२ साम्जुङस्थित निर्माणाधिन अर्को एक गरी दुई वटा पक्की मोटरेबल पुलमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले सूचना संम्प्रेषण गरेको छ ।

यसैगरी बाढीले त्यसक्षेत्रमा रहेको फलामे पुल र तीन वटा काठेपुल बाढीले बगाएर क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । उपल्लो मुस्ताङको बाढीका कारण जोखिमा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमन्थाङ-४ स्थित अन्दाजी चार सय मिटर दुरीमा रहेको न्याम्डो गाउँका दुई वटा घरका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले त्यस क्षेत्रमा मानवीय तथा पशुचौपायामा क्षति नभएको बताउनुभयो ।

बाढीको सतह अहिले केही मत्थर हुँदै गइरहे पनि त्यस क्षेत्रको सुरक्षा सावधानीका लागि इलाका प्रहरी कार्यालय छोेसेरबाट प्रहरी सहायक निरीक्षक र छोसेरस्थित सशस्त्र प्रहरी बल (बीओपी) नेचुङबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा नौ जनाको टोली खटिएको उहाँले उल्लेख गर्नुभयो ।

त्यहाँ खटिएका सुरक्षाकर्मीहरुले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराइएको छ । अहिले त्यस क्षेत्रमा बाढीको बाहव कम भइसकेको भए पनि सम्भावित जोखिमको खतरा टरिनसकेकाले स्थानीयलाई आवश्यक सर्तकता अपनाउनसमेत जिल्ला प्रहरी कार्यालय मुस्ताङले अनुरोध गरेको छ ।

गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तहभन्दा माथि, सचेत रहन आग्रह

काठमाडौँ, २५ असारः वाग्मती नदीको गौरीघाट, गुह्येश्वरी क्षेत्रमा जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभाग, बाढी महाशाखाले जनाएको छ ।

मङ्गलबार राति १२ बजे आसपासदेखि निरन्तर परेको पानी २ बजे सतर्कता तह पार गरेकाले गौरीघाट, गुह्येश्वरी, चावहिल, नयाँबस्ती, जोरपाटी क्षेत्रमा बस्नेहरुको मोबाइलमा सुरक्षित रहन सन्देश प्रवाह गरिएको महाशाखाका इञ्जिनीयर आशीष भट्टले राससलाई जानकारी दिनुभयो । यसैगरी रुद्रमती (धोबीखोला) को कपन क्षेत्रमा पनि जलसतह सतर्कता तह पार गर्न लागेको छ ।

राजधानीका अधिकांश भागमा राति १२ बजेदेखि नै करिब २५ मिलिमिटरको दरमा निरन्तर पानी परिरहेकाले पनि सुरक्षित हुन विभागले आह्वान गरेको छ ।

गायक तथा हास्य कलाकार अर्जुन कुँवर ( पित्री बुढो) लाई “यु के” ले दियो भिसा

गुल्मी जिल्ला इस्मा गाउँपालिका वाड न ३ मा जन्मिएका अर्जुन कुँवर विगत १२ बर्षदेखि निरन्तर नेपाली कलाकारिता मा सङ्घर्ष गरिरहेका छन । जिल्ला स्तररिय टेलीसिरियल बाट आफ्नो कलाकारीता सुरु गरेका अर्जुनले रेडियोको यात्रा देखि नेपाली चलचित्र, चर्चित टेलीसिरियल देखि दर्जनौ म्युजिक भिडियोमा समेत अभिनय गरेका छन भने उनले स्वर भरेका दर्जनौ गित सुपरहिट छन ।

पछिल्लो समय उनले श्री सङीत पाठशाला मा सङीत सिकिरहेका छन जसले गर्दा आवाजमा झन सुनमा सुगन्ध थापिएको छ, “आशुको कारखाना” ओठ खोलेर, गुल्मेलीको नाच, शासन , सिउदो बेचेर, शोकाकुल, मायाको प्रमाण , शोकाकुल र आशुको शहर जस्ता लोकपृय गितमा उनले आवाज दिएका गित हुन ।

निकै दुख भोगेका अर्जुन सङ्घर्ष को एक उदारणिय पात्र हुन, विभिन्न देश बिदेशमा साङीतिक यात्रा गरिरहेका अर्जुन यसपाली साङीतिक प्रस्तुतिको लागी यु के जादैछन “गुल्मी जिल्ला समाज यु के ” को आयोजनामा बार्षिक भेला २०२५ को कार्यक्रममा अगस्ट ३ मा आफ्नो साङीतिक प्रस्तुति लिएर सहभागी हुदैछन । यो अवसरको लागी गुल्मी जिल्ला समाज यु के का सम्पुर्ण टिमलाई धन्यवाद दिदै उनि यु के का विभिन्न कार्यक्रमा सहभागी हुने जानकारी दिएका छन , साथै यु के मा रहेका सम्पुर्ण नेपालीहरुले माया गर्नुहुनेछ भन्ने आशा समेत राखेको जानकारी दिएकाछन ।

मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ?

काठमाडौँ, २५ असारः यस वर्षको मनसुन अपेक्षित समयभन्दा अगाडि भित्रिएको प्रभाव धान रोपाइँमा परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभागका अनुसार सोमबारसम्म मुलुकभर ४५ दशमलव ०३ प्रतिशत रोपाइँ भएको छ जुन गत वर्षको यही अवधिको तुलनामा एक दशमलव ५३ प्रतिशतले बढी हो । गत वर्ष यति बेलासम्म ४३ दशमलव ५ प्रतिशत रोपाइँ भएको थियो ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले अधिकांश किसान रोपाइँका लागि आकाशे पानीमा निर्भर रहने उल्लेख गर्दै यस वर्ष नेपालमा मनसुन अगाडि नै भित्रिदा गत वर्षको तुलनामा धान रोपाइँ बढी भएको बताउनुभयो ।

“पूर्वी तराईबाट मनसुन सुरु भए पनि वर्षा कम भएका कारण मधेस प्रदेशमा अन्य प्रदेशको तुलनामा रोपाइँ पनि कम भएको छ, यद्यपि गत वर्षको तुलनामा बढी छ”, उहाँले भन्नुभयो, “सामान्यतया सुदूरपश्चिम प्रदेशमा छिटो रोपाइँ सुरु हुने र मधेसमा ढिला सुरु हुने गरेको छ ।”

विभागका अनुसार मुलुकभर कूल १३ लाख ८३ हजार सात सय ३२ हेक्टरमध्ये हालसम्म छ लाख २३ हजार एक सय चार दशमलव ४७ हेक्टरमा रोपाइँ भइसकेको छ ।

कोशी प्रदेशमा हालसम्म दुई लाख ७६ हजार तीन सय ८६ दशमलव ७३ हेक्टरमध्ये ८१ हजार छ सय ३४ दशमलव ९ हेक्टरमा रोपाइँ भएको छ । जुन २९ दशमलव ५४ प्रतिशत हो । प्रदेशमा गत वर्ष यही अवधिमा ३४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो ।

मधेस प्रदेशमा तीन लाख ७२ हजार छ सय ४५ हेक्टरमध्ये ९३ हजार चार सय ६८ दशमलव दुई हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । जुन २५ दशमलव ०८ प्रतिशत हो । प्रदेशमा गत वर्षको यही समयमा २५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार बागमती प्रदेशमा एक लाख २० हजार पाँच सय ४५ हेक्टरमध्ये हालसम्म ५१ दशमलव नौ प्रतिशत अर्थात ६२ हजार पाँच सय ६१ हेक्टरमा रोपाइँ भएको छ । प्रदेशमा गत वर्षको सोही अवधिमा ४१ प्रतिशत रोपाइँ भएको थियो ।

गण्डकी प्रदेशमा ९४ हजार एक सय ८२ हेक्टरमध्ये ५५ दशमलव ६ प्रतिशत अर्थात ५२ हजार तीन सय ५३ हेक्टरमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा प्रदेशमा ४९ दशमलव सात प्रतिशत रोपाइँ भएको थियो ।

विभागका अनुसार लुम्बिनी प्रदेशमा तीन लाख दुई हजार नौ सय ३९ हेक्टरमध्ये एक लाख ५७ हजार आठ सय ५७ हेक्टरमा रोपाइँ भएको छ । जुन ५२ दशमलव एक प्रतिशत हो । प्रदेशमा गत वर्षको यही अवधिमा ४४ दशमलव चार प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली प्रदेशमा ४० हजार आठ सय ८४ हेक्टरमध्ये हालसम्म ७१ दशमलव सात प्रतिशत अर्थात् २९ हजार दुई सय ९९ क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष सोही अवधिमा ७८ प्रतिशत रोपाइँ भएको थियो ।

विभागले दिएको जानकारीअनुसार सुदूरपश्चिम प्रदेशमा एक लाख ७६ हजार एक सय ५१ हेक्टरमध्ये हालसम्म एक लाख ४५ हजार नौ सय ३२ हेक्टरमा रोपाइँ सकिएको छ । जुन ८२ दशमलव आठ प्रतिशत हो । प्रदेशमा गत वर्षको सोही अवधिमा ८६ प्रतिशत रोपाइँ सकिएको थियो ।

कृषि मन्त्रालयका अनुसार मुलुकभर झण्डै ५० प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष जनकपुर, सिमरा, विराटनगरलगायतका स्थानमा औसतभन्दा कम र धनगढी सुर्खेत, भैरहवा, लुम्ले, जुम्ला, दाङ, काठमाडौँमा औसतभन्दा बढी वर्षा भएको छ ।

यस्तो छ वर्षाको अवस्था

जल तथा मौसम विज्ञान विभाग, हावापानी विज्ञान महाशाखा (हावापानी विश्लेषण शाखा) का अनुसार मनसुन अवधिमा १४ सय मिलिमिटर सरदर वर्षा हुने गरेकोमा हालसम्म ३५२ दशमलव मिलिमिटर अर्थात २३ दशमलव आठ प्रतिशत वर्षा भएको छ ।

महाशाखाले जुन महिनामा भएको वर्षा सरदरको ९९ प्रतिशत रहेको जनाएको छ । सामान्यतया सरदरको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई नेपालको सरदर वर्षा मान्ने गरिन्छ । “जुन महिनासम्मको तथ्याङ्क विश्लेषण गर्दा समग्रमा सरदर नै वर्षा भएको छ । तर कुनै स्थानमा बढी र कुनै स्थानमा कम वर्ष पनि भएको छ”, विभागकी प्रवक्ता विभूति पोखरेलले भन्नुभयो ।

यसवर्ष नेपालमा मनसुन सरदरभन्दा १५ दिनअघि जेठ १५ गते पूर्वी नेपालबाट प्रवेश गरी असार ६ गते देशभर फैलिएको थियो । सामान्यतया जुनदेखि सेप्टेम्बर सम्मको चार महिनाको अवधिलाई मनसुन ऋतु भनिन्छ । मनसुन ऋतु सुरु हुनु अगावै गत जेठ ७ गते नेपालको यसवर्षको मनसुन ऋतुको ऋतुगत हावापानी आँकलन सार्वजनिक गरिएको थियो । हाल जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनाका लागि हावापानी आँकलन अध्यावधिक गरिएको थियो ।

जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन अवधिमा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम, कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर र देशका बाँकी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार कर्णाली प्रदेशको पूर्वी भू–भाग, लुम्बिनी प्रदेशको उत्तरी भू–भाग र गण्डकी प्रदेशको अधिकांश भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशत छ भने सुदूरपश्चिम प्रदेशको दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भू–भाग, बागमती र कोशी प्रदेशको उत्तरी भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत छ ।

सुदूरपश्चिम प्रदेशको उत्तरी भू–भाग, लुम्बिनी प्रदेशको दक्षिण–पूर्वी भू–भाग, बागमती प्रदेशको दक्षिणी भू–भाग र कोशी प्रदेशको मध्य भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने कोशी प्रदेशका दक्षिणी भू–भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । साथै मधेस प्रदेशका मध्य तथा पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ ।

धान उत्पादन

कृषि मन्त्रालयका अनुसार वर्ष २०८१ मा ५९ लाख ५५ हजार चार सय ७६ मेट्रिकटन धान उत्पादन भएको छ । जुन २०८० सालको तुलनामा चार दशमलव ०४ प्रतिशतले बढी हो ।

गत कोशी प्रदेशमा १४ लाख ६६ हजार पाँच सय १८ मेट्रिकटन मधेस प्रदेशमा १४ लाख ८० हजार आठ सय ३० मेट्रिकटन, बागमती प्रदेशमा चार लाख ९८ हजार छ सय ३२ मेट्रिकटन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिकटन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिकटन, कर्णाली प्रदेशमा एक लाख ३० हजार एक सय ९१ मेट्रिकटन र सुदूरपश्चिम प्रदेशमा छ लाख ३६ हजार दुई सय १२ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, २५ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । महाशाखाका अनुसार वाग्मती, गण्डकी र लुम्बिनीलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा अन्य प्रदेशका केही भागका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधरणलाई अनुरोध गरेको छ । ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

टेलिकमका प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

काठमाडौँ, २४ असारः विशेष अदालत, काठमाडौँले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई रु दुई लाख धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा आज बयान सकेर थुनछेक बहसपछि यस्तो आदेश दिइएको हो ।

‘विलिङ सिस्टम अपग्रेड’ गर्ने कार्यमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक : रसुवागढी बाढीमा बेपत्ताहरूको खोज प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ, २४ असार : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को आजको बैठकले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, रसुवागढीमा गएराति आएको आकस्मिक बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ता स्वदेशी र विदेशी व्यक्तिको सकुशल खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनामा जीवन गुमाएकाहरूमा हार्दिक श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ । बैठकले जोखिमपूर्ण स्थितिमा खोज र उद्धारमा संलग्न सुरक्षाकर्मी र स्थानीय जनताप्रति धन्यवाद दिएको छ ।

बैठकले नेपाल–चीन जोड्ने नाका रसुवागढीस्थित भोटेकोशी नदीको मितेरी पुल बगाइ आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरुङ नाका सञ्चालन गर्न परराष्ट्र मन्त्रालयमार्फत् मित्रराष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ । सडक पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ भने चीनसँगका वैकल्पिक नाकाहरूको सुसञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ ।

यस्तै क्षतिग्रस्त भन्सार, अध्यागमन, जलविद्युत् आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको छ । व्यवसायीका कन्टेनर, सवारीसाधन र अन्य सामग्रीहरूको क्षतिको बिमालगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ ।

परिषद्को बैठकले घटनामा मृतक र बेपत्ता परिवारलाई प्रचलित कानुन अनुसार तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ । परिषद्ले घटनाको कारण पहिचानका लागि आवश्यक अध्ययन, पूर्वतयारी तथा मित्रराष्ट्र चीनको सरोकारवाला निकायसँग समन्वयको व्यवस्था मिलाउन सरोकारवाला सबै निकायलाई निर्देशन दिने निर्णय गरेको छ ।

यसैगरी यसवर्ष सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान आएकाले पूर्व तयारी तथा प्रतिकार्यका लागि सजग एवं तयार रहन बैठकले सम्बन्धित निकायलाई निर्देश गरेको छ । क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकनबाट फर्किएलगत्तै राखिएको परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले पूर्वानुमान र कल्पनाभन्दा बाहिरको अप्रत्याशित विपद् उत्पन्न भई क्षति भएको देखिएको बताउनुभयो ।

उहाँले मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताहरूको तत्काल गर्नुपर्ने उद्धारका काममा सुरक्षा निकायबाट भइरहेको कामलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले बगाइएको मितेरी पुलमा तत्काल बेलिब्रिज बनाएर भए पनि नाकाको बाटो सुचारु गर्न नेपालका लागि चिनियाँ राजदूतलाई आफूले आजै आग्रह गरेको जानकारी गराउँदै मुस्ताङको कोरला नाकालगायत वैकल्पिक मार्गलाई व्यवस्थित सञ्चालनको तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाद्वारा रेग्मीको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २४ असार : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ राजनीतिज्ञ, पूर्वमन्त्री एवं पूर्वसांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । रेग्मीको अष्ट्रेलियामा उपचारका क्रममा यही असार २३ गते निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । पूर्वमन्त्री एवं २०१५ का सांसद रेग्मीको निधनको खबरले दुःखीत बनाएको उल्लेख गर्दै उहाँले रेग्मीले पुर्‍याउनुभएको सक्रिय योगदान पार्टीमा स्मरणीय रहिरहने बताउनुभएको छ ।

स्व रेग्मी २०१५ सालको प्रथम आमनिर्वाचनमा कांग्रेसका तर्फबाट क्षेत्र नं ९३ पाल्पा पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वको २०४७ सालको अन्तरिम सरकारमा उहाँ आवास तथा भौतिक योजनामन्त्री हुनुहुन्थ्यो ।

पाल्पा तानसेन नगरपालिका–२, मेहलधारामा जन्मनुभएका रेग्मीले कांग्रेसको सङ्गठन निर्माण र प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक वरिष्ठ र अनुभवी राजनीतिज्ञलाई गुमाएको जनाएको छ ।

कर्णालीमा सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन गर्न चार सदस्यीय समिति गठन

कर्णाली, २४ असार : कर्णाली प्रदेश सरकारले सङ्गठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्ले बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित सङ्गठन संरचना अध्ययन उच्चस्तरीय समितिले प्रदेश सरकारलाई बुझाएको सुझाव प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्न समिति गठन गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय शासकीय सुधार महाशाखाका सचिव लक्ष्मीकुमार विकको संयोजकत्वमा उक्त समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिनुभयो ।

प्रवक्ता शाहका अनुसार समितिको सदस्यहरूमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव वीरेन्द्र केसी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रविलाल शर्मा रहनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव विधाप्रसाद उपाध्याय सदस्य सचिव रहेको जनाइएको छ ।

व्यास नगरपालिकाको एक अर्ब ८१ करोडको बजेट पारित

दमौली (तनहुँ), २४ असार : तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गरेको छ । नगरपालिकाको आज आयोजित ४३ औँ नगरसभाले आगामी आवका लागि रु एक अर्ब ८१ करोड ७६ लाख १९ हजारको आयव्यय बजेट सर्वसम्मत पारित गरेको हो ।

नगरपालिकाले गत असार १० गते आगामी आवका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलव ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलव १५ प्रतिशत रहेको जनाइएको छ ।

नगरसभामा आव ०८२/८३ को प्रस्तावित बजेट, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ र विभिन्न समिति र कार्यालय प्रमुख एवं शाखा प्रमुखहरूको प्रस्तावउपर दलबहादुर दुरा, चेतबहादुर दरै, मणिजङ्ग बस्नेत, दधिराज घिमिरे, सरोज भण्डारी, दुर्गाबहादुर आले, हरिशचन्द्र पन्थ, ढालप्रसाद घिमिरे, सुन्दर वाग्ले, रामप्रसाद मिश्र, विज्ञान कैनी, कमला विक, हर्कबहादुर कार्की, सरस्वती सुनार, राधा विक, गौकुमारी न्यौपानेले छलफलमा भाग लिनुभएको थियो ।

नगरसभामा न्यायिक समिति संयोजक इन्दिरा दरै, सामाजिक विकास समिति संयोजक चन्द्रमाया परियार, पूर्वाधार विकास समिति सुरेश थापा, आर्थिक विकास समिति संयोजक खेमराज पोख्रेल, विधायन समितिका संयोजक रमेशचन्द्र हड्खले, लेखा समिति संयोजक विष्णुकुमार श्रेष्ठ, सुशासन समिति संयोजक दलबहादुर दरै, वन वातावरण समिति संयोजक रनसिं नेपालीले समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

नगरसभाले नगरसभा सदस्य गौकुमारी न्यौपानेको संयोजकत्वमा दधिराज घिमिरे, हर्कबहादुर कार्की सदस्य रहने गरी लेखा समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । त्यस्तै यज्ञ शर्माको संयोजकत्वमा रफत साना मियाँ र गोकुल दुरा सदस्य रहने अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ ।

नगरसभाले व्यास नगरपालिका स्वास्थ्य सङ्गठन संरचना प्रतिवेदन र प्रशासनिक सङ्गठन संरचना संशोधन प्रतिवेदन, घर नक्सा मापदण्ड, मानुङकोट जग्गा विकाससम्बन्धी मापदण्ड संशोधन सहित पारित गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो ।

पहिरोमा परी मोटरसाइकलमा सवार चालकको मृत्यु

तानसेन (पाल्पा), २४ असार : सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ ।

बुटवलबाट पाल्पा आउँदै गरेको लु५१प ६६३३ नम्बरको मोटरसाइकल पहिरोमा परी घाइते हुँदा चालक पाल्पाको रामपुर नगरपालिका–५ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

उहाँको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु¥याएपछि डाक्टरले मृत घोषणा गरेका हुन् । मोटरसाइकलमा पछाडि सवार उहाँको श्रीमती कल्पना चापागाई भने सामान्य घाइते हुनुभएको छ । उहाँको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

एक्कासि माथि भिरबाट पहिरो आएर लाग्दा चालक सडकबाट केही तल खस्न पुगेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्डमाका विभिन्न ठाउँमा ढुङ्गा खस्ने र पहिरोको जोखिम रहेकाले अहिले बर्तुङ र सिद्धाबाबा क्षेत्रबाट सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।

रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी)मा आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरूगरिएको जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखा प्रमुख विनोद पराजुलीले भोटेकोशी जलाधारको तिब्बती क्षेत्रमा थुप्रै हिमताल रहेको उल्लेख गर्दै सोमबार राति आएको बाढीको सम्भावित कारण पत्ता लगाउन र नदी किनारमा कस्तो असर गरेको छ भनेर पत्ता लगाउन भूउपग्रहका तस्बिरको अध्ययन प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

उनले जल ताथा मौसम केन्द्रहरूले दिएको विवरण र प्रारम्भिक अवलोकनका आधारमा भोटेकोशीको बाढी ठूलो पानी परेका कारण आएको भन्ने नदेखिने दाबी गरेका छन् ।

उनले भने, ‘नेपालका चीन नजिकै रहेको क्यान्जिङ मौसम केन्द्र र धुन्चेमा भएको केन्द्रले त्यहाँ फाटफुुट पानी परेको देखाएको छ । पाल्पामा रहेको मौसमी राडारले रसुवाको सीमावर्ती क्षेत्रमा पानी परेको दखोएको छैन । विश्व मौसम सङ्गठनको गाइडेन्स सिष्टमको भूउपग्रहमा आधारित वर्षा अनुमानका अनुसार पनि भोटेकोसी लजाधार क्षेत्रमा पछिल्लो २४ घण्टामा पानी नपरेकोलगायत कारणले वर्षाका कारण बाढी आएको भन्ने देखिँदैन ।’

आज बिहान ३ बजेतिर तिब्बतबाट भोटेकोशी नदीमा एक्कासि बाढी पसेको थियो । पानीको सतह रसुवाको टिमुरेमा साढे तीन मिटर बढेको देखिएको पनि उनले बताए ।

रसुवामा भोटेकोशी र त्रिशूली नदी किनारमा ठूलो प्रभाव परेको, नुवाकोटमा मध्यम र धादिङको बेनीघाटसम्म सामान्य प्रभाव परेको पनि उनले जानकारी दिए । बाढी घट्दो क्रममा रहे पनि सावधानी अपनाउन उनले सबैमा अनुरोध गरे ।

बाढीका कारण हालसम्म मालवाहक गाडीसहित ६४ वटा सवारीसाधन बगाएको छ । ५५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । सात जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता रहेका छन् ।

स्कर्पियो र बलेरो एकापसमा ठोक्किँदा १० घाइते

नवलपुर (नवलपरासी), २४ असारः नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बलेरो ठोक्किँदा १० जना घाइते भएका छन् ।

नारायाणघाटतर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नं को स्कर्पियो र बुटवलतर्फ जाँदै गरेको बा प्र ०३–००१ च १४७४ नं को पिकअप बलेरो आज पूर्व–पश्चिम राजमार्गमा पर्ने विनयी त्रिवेणी–१ को गुम्बाचोकमा एकआपसमा ठाक्किँएका थिए ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले घाइतेहरूको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुरमा उपचार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार पिकअप बलेरोमा चालक मात्रै रहेका थिए । चालक स्थानीय ४५ वर्षीय ओमनारायण महतो सामान्य घाइते भएका छन् । अन्य घाइतेमा स्कर्पियोमा सवार नौ जना रहेका छन् ।

विनयी त्रिवेणी–२ का ३१ वर्षीय स्कर्पियो चालक रेशमबहादुर सारु मगर, सोही ठाउँका १४ वर्षीय किरण फाल मगर, ३६ वर्षीया दानुमाया आले, ५५ वर्षीया सीता श्रेष्ठ, ४८ वर्षीय विष्णुबहादुर श्रेष्ठ, ८४ वर्षीया रूपामाया श्रेष्ठ, ३६ वर्षीय हरिबहादुर लामिछाने, ५७ वर्षीया यनिसरा लामिछाने तथा ५२ वर्षीय कुलबहादुर कुमाल घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।

घाइतेमध्ये सात जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छभने यनिसरा लामिछाने र कुलबहादुर कुमाललाई थप उपचारका लागि भरतपुरस्थित चितवन मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

म्याग्दी, २४ असार: मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आज साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको हो ।

छुकार कालीगण्डकी नदीको सहायक खोला हो । यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठूलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् ।

नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुनसक्ने भएकाले सतर्कता अपनाउन स्थानीयबासीलाई प्रशासनले आग्रह गरेको हो ।

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, २४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्सासमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्सासमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्सासमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

“अमेरिकास्थित टेक्सासमा धेरै नेपालीको बसोबास छ । त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ । टेक्सासको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जली अर्पण गर्दछु । त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु

काठमाडौं । गुरुङ समुदायका महिला तथा विवाहित महिलाहरूको सौन्दर्य, आत्मविश्वास र सांस्कृतिक पहिचानलाई उजागर गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको ‘मिस एण्ड मिसेस गुरुङ’को चौथो संस्करण (मिस एण्ड मिसेस गुरुङ २०८२) सुरू भएको छ । आयोजकले प्रतियोगिताको आवेदन खुल्ला गर्दै असार २६ गते काठमाडौंको सामाखुसीस्थित विशाल फूटसलमा पहिलो चरणको अडिसन राखेको एक बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
कार्यक्रमको आयोजना गर्दै आएको संस्था ‘एस के इन्टरटेन्मेन्ट’का अनुसार, यो प्रतियोगिता विगतका संस्करणहरूमा प्राप्त सफलता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राखी यसपटक अझ व्यापक र समावेशी रूपमा आयोजना हुन लागेको छ ।

‘एस के इन्टरटेन्मेन्ट’की अध्यक्ष शान्ता लामा तामाङका अनुसार, प्रतियोगितामा सहभागी हुने महिला तथा विवाहित महिलाहरूका लागि फारम शुल्कदेखि सम्पूर्ण प्रशिक्षण निःशुल्क राखिएको छ । उनले कार्यक्रमलाई कुनै आर्थिक भारबिना प्रतिभा उजागर गर्ने एक प्लेटफर्म बनाएको बताइन् । ‘गुरुङ महिलाहरूमा लुकेका कला, आत्मबल र संस्कृतिक मूल्यलाई मञ्च प्रदान गर्ने हाम्रो उद्देश्य हो’ उनले भनिन् ।

प्रतियोगिताको अडिसनमा सहभागी भएर छनोटमा परेका प्रतियोगीहरूले ३०–३५ दिनसम्म विभिन्न प्रशिक्षणहरू प्राप्त गर्नेछन् । तिनीहरूलाई व्यक्तित्व विकास, फेसन प्रशिक्षण, आत्मविश्वास निर्माण, गुरुङ सांस्कृतिक प्रस्तुति, स्टेज उपस्थिति, फोटोशुट, पब्लिक स्पिकिङ लगायतका क्षेत्रमा दक्ष बनाइनेछ ।
सम्पूर्ण तालिमपश्चात एउटा भव्य ग्रान्ड फिनाले कार्यक्रम आयोजना गरिनेछ, जहाँ निर्णायक मण्डलद्वारा विजेता घोषणा गरिनेछ। विजेताहरूलाई उपाधि, ट्रफी, प्रमाणपत्र, आकर्षक पुरस्कार तथा विभिन्न ब्रान्डहरूसँग आबद्ध हुने अवसर प्राप्त हुनेछ।

यस प्रतियोगिताले गुरुङ जातिको भेषभूषा, परम्परा र सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण अभियान बोकिरहेको आयोजक संस्था ‘एस के इन्टरटेन्मेन्ट’को भनाइ छ । इच्छुक सहभागीहरूलाई समयमै सम्पर्क गरी अडिसनमा भाग लिन आयोजकले विशेष आग्रह गरेको छ । थप जानकारी तथा फारमका लागि ‘एस के इन्टरटेन्मेन्ट’को आधिकारिक फेसबुक पेज वा सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ । प्रतियोगीताको डिजिटल पार्टनरको रुपमा जीनोपे जोडिएको छ ।

विपक्षी दलको विरोधका कारण आज तेस्रो दिन पनि प्रदेशसभा बैठक अवरुद्ध

जनकपुर, २४ असार: मधेस प्रदेशसभाको बैठक आज तेस्रो दिन पनि विपक्षी दलको विरोधका कारण अवरुद्ध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठक अवरोध गरिरहेका छन् ।

आजको बैठकको सुरुमै राप्रपाकी सांसद कञ्चन बिच्छा, नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालकी किरणकुमारी शाह, माओवादी केन्द्रकी शारदा पहाडी, एकीकृत समाजवादीका प्रमोद यादवले शून्य समयमै बजेटमा विचौलिया हाबी भएकाले पुनर्लेखन नभएसम्म सदन चल्न नदिने बताउनुभएको थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले भने बजेटको बहानामा सदनलाई बन्धक बनाउन नहुने बताउनुभयो । सदन चलेपछि मात्र बजेटमा भएको कमजोरीलगायत विषयमा छलफल गर्न सकिने उहाँको भनाइ थियो ।
लगत्तै सभामुख रामचन्द्र मण्डलले विरोधका बीच बैठक बस्न नसक्ने भन्दै स्थगित गर्नुभयो । अर्को बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ ।
सरकारलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज बसेको प्रदेशसभा बैठकमा सो पार्टीका तर्फबाट उर्मिलादेवी सिंहले सरकारलाई दिएको समर्थन फिर्ता लिइएको भन्दै सदनलाई जानकारी गराउनुभयो । मधेस प्रदेशमा उहाँ सो पार्टीको एक्लो सदस्य हुनुहुन्छ । यसअघि यहाँ जनमत पार्टीका नेता सतिशकुमार सिंह नेतृत्वको सरकार बन्दा नागरिक उन्मुक्तिले समर्थन गरेको थियो ।

उपल्लो मुस्ताङमा बाढी, तटीय क्षेत्रका बासीन्दालाई सुरक्षित रहन आग्रह

मुस्ताङ, २४ असार : उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ । आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो ।

अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “यहाँको चुमजुङ गाउँमाथिको उच्चलेकबाट निकै ठूलो लेदोसहितको भीषण बाढी आइरहेको छ, यसले ठूलो क्षति निम्त्याउन सक्ने जोखिम बढेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “हामी अहिले बाढीलाई नजिकबाट नियालिरहेका छौँ, यहाँबाट मुस्ताङको तल्लो क्षेत्रमा कालीगण्डकी तटीय बस्तीलाई फोनबाट सर्तक रहन आग्रह गरेका छौँ ।”

अध्यक्ष गुरुङले उपल्लो मुस्ताङबाट भीषण बाढी आउन सुरू गरेको प्रहरी र प्रशासन सबैलाई जानकारी गराइएको बताउनुभयो । यहाँको बाढीको प्रभावले कालीगण्डकी तटीय क्षेत्रका बस्तीलाई थप जोखिम हुने देखिएकाले सर्तक रहन हामीले फोनमार्फत सूचना गरेको अध्यक्ष गुरुङको भनाइ छ । उपल्लो मुस्ताङको चुमजुङ गाउँ नेपाल–चीन सीमावर्ती नजिकको गाउँ हो । आज त्यहाँबाट अकल्पनीय रूपमा भीषण बाढी आउन सुरू गरेको छ ।

बाढीबाट भएको थप क्षति विवरण सार्वजनिक ,सवारीसाधन मात्रै ६४ वटा बगायो

रसुवा, २४ असार: गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउँदा भएको क्षसितको थप विववरण सार्वजनिक भएको छ । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीका कारण २३ वटा मालवाहक कन्टेनर, छ मालवाहक ट्रक र ३५ वटा नयाँ विद्युतीय सवारीसाधन गरी ६४ वटा बगेका छन् ।

यस्तै, बेपत्ता हुनेमा हालसम्म २० जना रहेका छन् । तीमध्ये नेपाल प्रहरीका तीन जना, सुक्खा बन्दरगाहमा काम गर्ने छ, डिब्बा चालक पाँच र चिनियाँ नागरिक छ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो । बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ ।

यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लोदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ । यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अन्य क्षतिको विवरण प्राप्त भएको छैन ।

यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताउनुभयो । “ल्हेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ । १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन् । रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ”, उहाँले भन्नुभयो ।

बाढीले क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणको प्रक्रिया अघि बढाउन मन्त्री दाहालको निर्देशन

काठमाडौँ, २४ असार: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाढीले क्षतिग्रस्त बनाएका सडक, पुललगायत संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ ।

आज यहाँ सडक विभागका अधिकारीलाई उहाँले क्षति भएका स्थानमा तत्काल अध्ययन गरी अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री दाहालले भोटेकोशी नदीले पु¥याएको क्षतिको अध्ययन गरी यातायात सहज बनाउनेतर्फ लाग्न समेत निर्देशन दिनुभयो । “अझै मनसुन जारी रहनेतर्फ ध्यान दिँदै संरचनाको सुरक्षा र क्षति भएका संरचनाको अस्थायी र स्थायी पुनर्निर्माणको योजना बनाउनुस्”, उहाँले भन्नुभयो,“नेपाल–चीन जोड्ने सडक तथा मितेरी पुलमा भएको क्षतिको अध्ययन गरी जनजीवन र यातायात सहज बनाउन जनशक्ति र स्रोत–साधन परिचालन गर्न पनि लाग्नुुस् ।”

मन्त्री दाहालले बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपका कारण थप क्षति हुनसक्ने पक्षलाई मध्यनजर गरी वर्षायामभरि सुरक्षित यातायात र सडक सञ्चालनको व्यवस्थाका लागि पनि सम्बद्ध निकायसँग समन्वय गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले उक्त सडकबाहेक अन्य सडकतर्फ समेत ध्यान दिई सकेसम्म यातायात अवरुद्ध हुन नदिने गरी आवश्यक बन्दोबस्त गर्न निर्देशन दिनुभयो ।

विभागका महानिर्देशक डा विजयकुमार जैसीका अनुसार रसुवागढी क्षेत्रमा बाढीले पु¥याएको क्षतिको अध्ययन र गर्नुपर्ने कार्यका लागि विभागको टोली परिचालन भइसकेको छ । यस्तै, गल्छी–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक आयोजनाबाट क्षतिग्रस्त क्षेत्रमा प्राविधिक जनशक्ति परिचालन गरिएको छ ।

“बाढी र वर्षाको अवस्थाअनुसार विभागले तत्काल गर्नुपर्ने काम सुरु गर्दैछ भने अल्पकालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यका लागि योजना बनाउँछौँ”, महानिर्देशक जैसीले भन्नुभयो,“सो क्षेत्रमा गर्नुपर्ने संरक्षण, मर्मत र पुनर्निर्माणका लागि विभागको टोलीले अन्य निकायसँग समेत समन्वय गरिरहेको छ ।”

अमेरिकाको २० भन्दा बढी सहरमा ‘सोलफुल यु.एस.ए यात्रा’ गर्दै महेश र अस्मिता

गायिका अस्मिता अधिकारी र गायक महेश काफलेको संयुक्त साङ्गीतिक कार्यक्रम ‘सोलफुल यु.एस.ए यात्रा’ घोषणा भएको छ। उक्त साङ्गीतिक टुर सन् २०२५ को अगस्टदेखि अक्टोबरसम्म संयुक्त राज्य अमेरिकाका २० भन्दा बढी विभिन्न सहरहरूमा आयोजना हुनेछ । मङ्गलवार आयोजित पत्रकार भेटघाटमा उक्त जानकारी दिइएको हो ।

‘ओनेस्ट रियल इस्टेट’ द्वारा प्रस्तुत र ‘थ्री ई इन्टरटेन्मेन्ट’ द्वारा व्यवस्थापन गरिएको यो यात्रा कोलम्बस, ओहायो, मियामी, फ्लोरिडा, ब्रानफोर्ड, कनेक्टिकट, एशबर्न, भर्जिनिया, ल्यान्कास्टर, पेन्सिलभेनिया लगायतका २० भन्दा बढी अमेरिकी सहरहरूसम्म पुग्नेछ । महेश र अस्मिताको अमेरिकाको विभिन्न सहरहरूमा राम्रो डिमान्ड भएकाले पनि यो साङ्गीतिक यात्राको आयोजना गरिएको थ्री ई इन्टरटेन्मेन्टका नेपाल प्रतिनिधि अन्जान बुढाथोकीले जानकारी गराए ।

यता महेश र अस्मिताले पनि आफुहरु यो साङ्गीतिक टुरको लागी निकै नै उत्साहित रहेको बताए । अमेरिकामा रहेका नेपाली समुदायहरु माझ नजिक पुगेर गीत सुनाउने मौका रहेको भन्दै खुसी व्यक्त गरे । महेश र अस्मिताको ‘लजावती झार’, ‘नाच फिरिरि’ र ‘लाइटरले बिडी सल्केको’ जस्ता गीतहरू हिट छन्।

थ्री ई इन्टरटेन्मेन्टले धेरै ठुला कन्सर्ट, टुर र सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक आयोजना गर्दै आएको छ। थ्री.ईले यस अघि आनी छोइङ डोल्मा, अभया एण्ड द स्टिम इन्जिन्स, काली प्रसाद बाँस्कोटा , इन्दिरा जोशी, प्रमोद खरेल र अञ्जु पन्त जस्ता चर्चित नेपाली कलाकारहरूको अमेरिका टुर गराई सकेको छ। साथै १९७४ एडीको लाइभ कन्सर्टसहित थुप्रै अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरू पनि आयोजना गरेको छ। थ्री ईले सन् २०२२ देखि भर्जिनियामा “डिटिफेस्ट – दसैँ तिहार फेस्ट” नामक बृहत् सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस्तै, सन् २०१२, २०१३ र २०१७ मा “ग्लोबल नेपाल फेस्ट” आयोजना गरेर नेपाली संस्कृति, पर्यटन र व्यापारलाई अमेरिकामा चिनाउने ऐतिहासिक पहल गरिएको थियो।

एनआरएनए जापानको अध्यक्षमा श्रेष्ठको उम्मेदवारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आगामी कार्यकाल (२०२५–२०२७) का लागि अध्यक्ष पदमा समाजसेवी सिद्धार्थ श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गर्ने भएका छन्।

उनले यही जुलाई १२ (शनिबार) का दिन टोकियोको Solmari Hall, Shin-Okubo मा उम्मेदवारी घोषणा सभा आयोजना गर्न लागेका छन्। श्रेष्ठ विगत १७ वर्षदेखि जापानमा बसोबास गर्दै सामाजिक सेवामा क्रियाशील रहँदै आएका छन्।

एनआरएनए जापानमा मानार्थ सदस्यदेखि सल्लाहकार, प्रवक्ता, महासचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी वहन गरिरहेका श्रेष्ठले पारदर्शी, उत्तरदायी र समावेशी नेतृत्वद्वारा संस्थालाई अघि बढाउने अठोट व्यक्त गरेका छन्। उनी भन्छन्, “संस्थालाई स्वच्छ र उत्तरदायी बनाउने मेरो प्रयास निरन्तर रहँदै आएको छ।

म कुनै प्रतिस्पर्धामा छु भन्ने हैन, निर्वाचन भनेको एक सुन्दर लोकतान्त्रिक अभ्यास हो, र म समुदायको हितमा अझ प्रभावकारी रूपमा योगदान दिन अध्यक्षको भूमिकामा उभिन लागेको हुँ।” श्रेष्ठको नारा — “नेपालीका दुःखमा पहिलो सहारा!” — ले उनको अभियानको मूल भाव प्रतिबिम्बित गर्छ। जापानमा रहेका नेपालीहरूका समस्यामा सधैं अग्रसर हुने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।

नेपालमा रहँदा विभिन्न जिल्लादेखि राष्ट्रियस्तरसम्मका तेक्वान्डो प्रतियोगिताहरूमा सहभागी भइसकेका श्रेष्ठले नेतृत्व र समर्पणको मूल्य खेलकुदबाट सिकेको बताउँछन्। यही नेतृत्व भावना लिएर जापानमा समेत विभिन्न सामाजिक अभियानहरूमा उनी अग्रपङ्क्तिमा रहँदै आएका छन्। एनआरएनए जापानमा हाल अधिवेशनको सरगर्मी बढ्दै जाँदा श्रेष्ठको उम्मेदवारीले निर्वाचनलाई थप चासोको विषय बनाएको छ। पारदर्शिता, जवाफदेहिता र सामूहिक हितमा आधारित नेतृत्वको आशामा श्रेष्ठले समर्थनको अपिल समेत गरेका छन्।

सरकारी विद्यालयको शैक्षिक गुणस्तर निजी क्षेत्रको भन्दा राम्रो बनाउन जरूरी : शिक्षामन्त्री पन्त

काठमाडौँ, २४ असार : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा शिक्षामन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजीसरह र अझ त्यो भन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“आफ्ना छोराछोरीकहाँ पठाउने भन्नेकुरा बाबुआमाको अधिकारको कुरा हो । व्यक्तिको लोकतान्त्रिक अधिकारसँग सम्बन्धित भएकाले कानुन बनाएर सरकारी विद्यालयमै पढाउनु भनेर बाध्यकारी बनाउन सकिँदैन”, शिक्षामन्त्री पन्तले भन्नुभयो, “सरकारी विद्यालयको गुणस्तरलाई पनि निजीस्तरका विद्यालयकै हाराहारीमा पु¥याउनतर्फ लाग्नपर्छ । बोर्डिङमा उपलब्ध हुनेजत्तिकै वा अझ त्यो भन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमा उपलब्ध गराउनका लागि सरकारले आवश्यक सबै साधनस्रोत प्रयोग गर्ने प्रतिबद्धता जनाउँदछु ।”

सरकारले तीन खम्बे अर्थनीति बनाएको र शिक्षा क्षेत्रमा पनि निजी क्षेत्रले लगानी गरेको उल्लेख गर्दै पन्तले नयाँ विद्यालय शिक्षा विधेयकले निजी क्षेत्रका शिक्षालयलाई फरक तरिकाले व्यवस्थापन गर्न खोजेको बताउनुभयो । “निजी क्षेत्रका विद्यालयको नियमन कडाइका साथ गरिनुपर्ने कुरा सरकारले बोध गरेको छ । निजी क्षेत्रका विद्यालयलाई सहकारी वा गुठीको अवधारणामा ल्याउन सकिने प्रावधान नयाँ शिक्षा विधेयकमा राखिएको छ”, उहाँले भन्नुभयो ।

मदरसाजस्ता परम्परागत शिक्षा प्रणालीलाई राष्ट्रिय प्रणालीसँग आवद्ध गरी प्रभावकारी रूपमा सञ्चालन तथा नियमन गर्न र ती शिक्षण संस्थालाई प्रदान गरिने अनुदानलाई प्रभावकारी बनाई परम्परागत शैक्षिक प्रणालीको संरक्षण गर्न मापदण्ड कार्यान्वयनमा रहेको उहाँले उल्लेख गर्नुभयो । मदरसाजस्ता परम्परागत शिक्षालयमा दिवा खाजा, निःशुल्क पाठ्यपुस्तकलगायतका सुविधा एकमुष्ठ रूपमा उपलब्ध गराइएको उहाँको भनाइ छ ।

यस्ता शिक्षालयहरूको पाठ्यक्रम समय र परिस्थितिअनुसार परिवर्तन गरिँदै लगिने शिक्षामन्त्री पन्तको भनाइ छ । संसद्को यसै अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गरेर कार्यान्वयनमा ल्याउने गरी प्रयास भइरहेको पन्तले उल्लेख गर्नुभयो । त्यस्तै, उच्च शिक्षालाई पनि समयानुकूल बनाउने र युवा विदेशिनबाट रोक्नका लागि प्रयास थालिने उहाँको भनाइ छ ।

राष्ट्रियसभाको आजको बैठकमा ‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिसमेत छलफल भएको छ । उक्त छलफलका क्रममा उठेका विषयहरूमाथि जवाफ पेस गर्नुहुँदै शिक्षामन्त्री पन्तले विश्वविद्यालय तथा आङ्गिक क्याम्पसमा राज्यको हस्तक्षेप हुन नहुने अवस्था सिर्जना गर्नु अपरिहार्य बनिसकेको बताउनुभयो । अध्ययन अनुसन्धान र विचार चिन्तनको थलोका रूपमा विश्वविद्यालयलाई स्थापित गरिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आजको बैठकमार्फत् त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनले दिएका सुझाव तत्काल प्राथमिताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।

त्यस्तै, मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी, राहत तथा उद्धारका काममा जिम्मेवार भएर लाग्न सरकारलाई राष्ट्रियसभाले निर्देशन दिएको छ । “वर्षायाम सुरू भएसँगै यसबाट सिर्जित विपद् र भएको धनजनको क्षतिका घटनाका विवरणहरू आउन थालेका छन् । आज मात्रै रसुवा जिल्लालगायत उत्तरी सीमा क्षेत्रमा आएको बाढीपहिरोले ठूलो धनजनको क्षति भएको विवरण र समाचार आइरहेका छन् । यसले हामी सबैलाई दुःखी र गम्भीर बनाएको छ”, राष्ट्रियसभा अध्यक्ष दाहालले भन्नुभयो, “घटना प्रभावित क्षेत्रमा राज्यका सम्बद्ध निकाय र जिम्मेवार पक्षले तत्काल उपस्थिति जनाई बेपत्ता व्यक्तिको खोजी गर्न, उद्धार कार्यमा तीव्रता दिन, राहत, पुनःस्थापना, पुनःनिर्माण र क्षतिपूर्तिको तत्काल कार्ययोजना बनाइ कार्य गर्न विशेष आग्रह गर्दछ ।”

विभिन्न विपद्जन्य घटनाका सम्भावित क्षेत्रको पहिचान गर्ने, पूर्व तयारीका कार्य गर्ने, घटना हुन नदिने, घटनापश्चात् राहत, उद्धार र क्षतिपूर्ति, पुनःस्थापना र पुनःनिर्माणका कार्यलाई चुस्त बनाइ नागरिकको जीउधनको संरक्षण गर्ने पहिलो दायित्व सरकारको भएकोबारे पनि अध्यक्ष दाहालले सरकार र मातहतका सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गोविन्दप्रसाद शर्मा र संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक यही असार २७ गते शुक्रबार अपरान्ह १२ बजेर १५ मिनेट बस्नेछ ।

र्‍यापर मनोज ओलीको कथा आज सुनाउँदैछुको चर्चा

काठमाडौँ । र्‍यापर मनोज ओलीले नयाँ र्‍याप गीत कथा आज सुनाउँदैछुको भिडियो सार्वजनिक गरेका छन् । र्‍यापमा विद्यमान नेपाली समाजको हुबहु चित्रण छ । जुनसुकै ‘तन्त्र’ र ‘वाद’ आए पनि धनी झन धनी हुँदै गएको र गरिबका दुःख झन बढ्दै गएको यथार्थ चित्रण छ । गणतन्त्र आएपछि गरिबका दिन फर्किन्छन् भनेर राजनीति गर्नेहरू पनि सत्तामा पुगेपछि केही परिवर्तन नभएको नेपालको वास्तविकता र्‍यापमा सुन्न सकिन्छ ।

राजनीतिक दलले देखाउन नछोडेको आश्वासन र व्यवस्था फेरिए पनि नफेरिएको अवस्थालाई र्‍यापले जीवन्त रूपमा चित्रण गरेको छ ।अन्ततः गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछिको परिवर्तनले एक छाक खान र न्यूनतम शिक्षा र स्वास्थ्यबाट पनि बञ्चित हुनु परिरहेको विद्यमान अवस्थालाई र्‍यापले चित्रण गरेको छ । भिडयोमा मुकुन भुसाललगायत कलाकारको अभिनय छ । भिडियो निर्देशन निकेश खड्काले गरेका छन् ।

हेर्नुहोस् प्रशान एलुङ राईको घर हाम्रो सोलुखुम्बुको भिडियो

काठमाडौँ । गीतकार तथा निर्देशक प्रशान एलुङ राईको ‘घर हाम्रो सोलुखुम्बु’ सार्वजनिक गरिएको छ । प्रशानको शब्द, अनिल कोयी राईको पूर्वेली लयमा तयार भएको सोलुखुम्बुको परिचय बोल्ने गीतमा राजेश पायल राई र अन्जु पन्तको स्वर रेकर्ड छ । गीतको भिडियोमा कलाकार हरि निरौला ‘कक्रोच’, बबिन राई ‘गल्फने बाजे’, क्रिसला तामाङ, तथा भिमफेदी गाइजका निर्मल लामा र उनको टिमको आकर्षक प्रस्तुति देख्न पाइन्छ । १७ वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका राईले यसअघि ‘दिलैको दरबार’ र ‘साइँली’मा आफ्नो कलात्मक खुबी देखाइसकेका छन् । गीत निर्माणमा १५ लाख बढी लगानी भएको निर्माण पक्षको दाबी छ ।

गीतको सोमबार काठमाण्डौंको सिटी सेन्टरस्थित बिग मुभिजमा प्रिमियर गरिएको थियो । नेपाल सरकार रक्षा मन्त्री मानवीर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कोशी प्रदेश सांसद बुद्धिकुमार राजभण्डारी, पूर्व सांसद उत्तम बस्नेत, कांग्रेसका नेता प्रकाश सिंह कार्की लगायत काठमाडौँमा बसोबास गर्दै आएका दुई सय बढी सोलुखुम्बुलेको उपस्थिति रहेको थियो । गीतमा सोलुखुम्बुको साबिकको ३४ वटै गाविस र हालका ८ स्थानीय तहको नामसँग प्रेमलाई जोडिएको छ । सगरमाथा सहितका हिमालहरू समीपमै देख्न सकिने जिल्ला भएकाले पनि ‘हितैको सोल्टिनी हिमाल हेर्न जाँउ’शब्दले जोडिएको छ । जिल्ला भित्रको प्राकृतिक सुन्दरता, पर्यटन, संस्कृति, रहनसहन र हिमाली तथा गाउँले जनजीवनलाई गीतको भावमा भेटिन्छ ।

रक्षा मन्त्री राईले सोलुखुम्बुमा कलाकार जन्माउने सल्लेरीमा रहेको अरनिको हललाई स्मरण गर्दै परदेशमा बसेर आफ्नो गाउँ र जिल्लालाई चिनाउने कोसिसको प्रशंसा गरे । उनले भने, ‘साबिकको सोलुखुम्बु जिल्ला र तत्कालीन ३४ गाउँ विकास समितिलाई भावी पुस्तालाई समेत चिनाउने गरी गरिएको कामले म अत्यन्तै खुसी छु, गीतकार तथा निर्देशक प्रशान एलुङ राईलाई धेरै धन्यवाद ।’

गीतकार तथा निर्देशक राईले माटोको सुगन्ध छर्ने गीत सार्वजनिक गर्न पाउँदा प्रफुल्ल रहेको प्रतिक्रिया दिए । ‘गीत सुनेका, हेरेकाले स्याबास भन्नुभएको छ, अब हेर्नेले पनि सायद स्याबासी नै दिनुहुन्छ होला । त्यो नै एउटा सर्जकको सम्पत्ति हो । गाउँको, मेरो जन्मभूमिको गाथा कहन पाउनु पनि आफ्नो अहोभाग्य हो ।’ उनले भने । रोचक के छ भने भिडियोमा काम गरेका गीतकार तथा निर्देशक प्रशान एलुङ राई, कलाकार द्वय हरि निरौला ‘कक्रोच’ र बबिन राई ‘गल्फने बाजे’सोलुखुम्बुको नेचासल्यानका हुन् ।