`

‘दलित समुदायले अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने बेला आएको छ’ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ, १५ पुस : बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले दलित समुदायको संवैधानिक अधिकारको रक्षा गर्दै थप अधिकारको निम्ति सङ्घर्ष गर्नुपर्ने समय आएको बताउनुभएको छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपाल, बागमती प्रदेशको प्रथम अधिवेशन तथा ‘परिवर्तित राजनीतिक परिस्थितिमा दलित आन्दोलनको वर्तमान अवस्था, चुनौती र भावी दिशा’ विषयक विमर्शमा आज मुख्यमन्त्री बानियाँले संविधानमा भएका अधिकारका निम्ति दलित समुदायले एकीकृत रूपमा सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

दलित समुदायलाई आर्थिक रूपमा सम्पन्न बनाउन बागमती प्रदेशले दलित समुदायको आयआर्जनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिँदै उहाँले आगामी दिनमा पनि सो समुदायको अधिकार प्राप्तिका लागि प्रदेश सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

दलितमुक्ति मोर्चाका अध्यक्ष तथा पूर्वमन्त्री दलजीत श्रीपाइलीले पछिल्लो राजनीतिक परिघटनाका कारण संविधान नै सङ्कटमा पर्ने खतरा बढ्र्दै गएको बताउँदै संविधान रक्षाको निम्ति पनि सिमान्तकृत समुदायबीचको एकतालाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री जीतु गौतमले राज्यका सबै संरचनामा दलित सहभागितालाई अनिवार्य बनाउन कानुन बनाएरै लागू गर्नुपर्ने धारणा राख्नुभयो । जागरण मिडिया सेन्टरका अध्यक्ष तथा सभासद् कमला विश्वर्माले दलितको सवालमा केही अधिकार संविधानामा व्यवस्था भए पनि कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभयो ।

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन (ललितपुर), १५ पुस : अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले सबै भुक्तानी विद्युतीय प्रणालीबाट हुने व्यवस्थालाई अनिवार्य गरेको बताउनुभएको छ ।पूर्वयोजनाकार मञ्च नेपालले आज ललितपुरमा आयोजना गरेको ‘पुनःनिर्माण र आर्थिक पुनरुत्थानको लागि वित्तीय सुधार र बजेट प्राथमिकता’ सम्बन्धी उच्चस्तरीय नीति संवादमा उहाँले विद्युतीय भुक्तानीले बिल बोकेर धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“आन्तरिक राजस्व कार्यालयमा अनलाइन प्रणाली सहज बनाएका छौँ, कर प्रणालीलाई स्थानीय तहसँग जोड्न लागिपरेका छौँ, पुनरुत्थानका लागि सहजीकरण गर्न राष्ट्र बैकसँग निरन्तर समन्वय र सहकार्यमा छौँ,” मन्त्री खनालले भन्नुभयो । आर्थिक सुधारका पक्षमा मात्रै सोचेर काम गर्दा निर्वाचनमा समस्या आउँछ कि भन्ने विषयमा सरकार सचेत रहेको उहाँको भनाइ छ ।

अर्थमन्त्री खनालले पुनःनिर्माणका सन्दर्भमा सङ्घीय, प्रदेश र स्थानीय सरकारको लागि रु ३० अर्बभन्दा बढी दिन पुग्नेगरी जगेडामा राखेको जानकारी दिनुभयो ।

अर्थशास्त्री प्राध्यापक डा कुसुम शाक्यले कोरोनाको अवधि र जेनजेड पछिको आर्थिक पुनरुत्थानको लागि कसरी काम गर्ने भन्ने विषयमा लक्ष्य केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले जेडजेड आन्दोलनपछिको राजनीतिक परिवर्तनले अर्थतन्त्रमा ठूलो प्रभाव पारेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवं प्राध्यापक डा गोविन्दराज पोखरेलले विकास प्रक्रियाको महत्त्वपूर्ण पाटो कर्मचारीतन्त्र भएकाले त्यसलाई व्यवस्थापन गर्दै आर्थिक सुशासनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा दिल्लीराज खनालले नेपालको वित्तीय प्रणालीमा रहेका कमजोरी र सुधार गर्नुपर्ने विषयमा केन्द्रीत रहेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।

‘केपी शर्मा ओलीका अभिव्यक्तिमा व्यञ्जना’ विषयमा विद्यावारिधी

काठमाडौँ, १५ पुसः पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिहरूमाथि विद्यावारिधी गरिएको छ । त्यस क्रममा ओलीका अभिव्यक्तिमा उखान–टुक्कामा सीमित नभई व्यञ्जना सिद्धान्तका गहिरा दार्शनिक अभिव्यक्तिहरू भएको निष्कर्ष निकालिएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको अनुसन्धान केन्द्रसमक्ष सानुमैँया खड्काले आफनो विद्यावारिधीको शोधमा पूर्वप्रधानमन्त्री ओलीका भाषणलाई पूर्वीय दर्शनको सैद्धान्तिक दृष्टिकोण अर्थात् व्यञ्जना सिद्धान्तबाट विश्लेषण गर्नुभएको हो ।

अध्यक्ष ओलीका अभिव्यक्तिमा प्रयोग हुने कथनमा व्यञ्जना अर्थ रहेको शोधको निष्कर्ष रहेको उहाँले सुनाउनुभयो । शोधमा ओलीद्वारा अघि सारिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा राष्ट्रिय आकाङ्क्षा एवं गन्तव्य मात्र नभई समयानुकूल विकसित हुँदै सिद्धान्त र दर्शनको रूपमा विकसित भएकोे आफ्नो ठहर रहेको खड्काको भनाइ छ ।

“उक्त आकाङ्क्षा अब आत्मसम्मान र सामाजिक न्यायको समिश्रित आयामहरूमा आधारित दर्शन रहेको शोधको निचोड छ”, उहाँले भन्नुभयो ।

डा खड्काले उक्त शोधको आज प्रतिरक्षा (डिफेन्स) गरी उपाधि हासिल गर्नुभएको छ । यो नेपालको राजनीतिक वक्तृत्व परम्परामा पूर्वीय चिन्तनको प्रयोग गरिएको पहिलो विद्यावारिधिस्तरीय शोध भएको जनाइएको छ ।

शोधमा विश्व चर्चित नेताहरू बाराक ओबामा, डोनाल्ड ट्रम्प, सी चीनफिङ, नरेन्द्र मोदीलगायतका अभिव्यक्ति तथा भाषणशैलीको पनि तुलनात्मक अध्ययन गरिएको छ । तुलनात्मक समीक्षामा ओलीका अभिव्यक्तिहरूमा मौलिकता, सांस्कृतिक गहिराइ र प्रतीकात्मक भाषिक संरचनाको विशिष्ट पहिचान रहेको उल्लेख गरिएको छ ।

यस अध्ययनलाई नेपाली राजनीतिक भाषाशास्त्र, वक्तृत्व अध्ययन, दार्शनिक विमर्श तथा समकालीन राजनीतिक अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण शैक्षिक योगदानको रूपमा लिइएको छ । खड्काले आगामी दिनमा नेपाली नेताहरूका भाषण, अभिव्यक्ति र वैचारिक संरचनालाई व्यवस्थित रूपमा अभिलेखीकरण, विश्लेषण र शैक्षिक बहसमा रूपान्तरण गर्नु आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाली नेताहरूका अभिव्यक्तिमा निहित सांस्कृतिक अर्थ, दार्शनिक गहिराइ र रूपकात्मक संरचनालाई समेटेर अघि बढाइने अनुसन्धान परम्पराले बौद्धिक जगत्लाई नयाँ दिशातर्फ उन्मुख गराउने विश्वास पनि व्यक्त गर्नुभयो । शोधका लागि डा ऋषिराम शर्मा निर्देशक तथा प्रा डा भागवत ढकाल र प्रा केशव सुवेदी विशेषज्ञ रहनुभएको थियो ।

एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने अध्यक्ष ओलीको दाबी

काठमाडौँ, १५ पुस : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा  गर्नुभएको छ ।‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक आज मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले सुनेको उल्लेख गर्दै एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, “जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।” उहाँले मोर्चाबन्दीले एमालेलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै ठूला र पुराना लोकतान्त्रिक शक्तिले नै देशको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयो । संसद् पुनःस्थापना आफूहरूको प्राथमिकता रहेको स्पष्ट पार्दै अध्यक्ष ओलीले पछिल्लो राजनीतिक निकासको सोही बाटो अपनाउनुपर्नेमा जोड दिनुभयो ।

एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले लोकतन्त्र र मुलुकको रक्षाका लागि वामपन्थी र लोकतन्त्रवादीहरू मिलेर जानुपर्ने बताउनुभयो । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले भदौ २३ र २४ को घटनापछि पुराना रु ठूला दलका नेतालाई छानी छानी आक्रमण गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं एमालेका नेता प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र र मुलुकको रक्षाका लागि पुराना दलहरूको सक्रियताको विकल्प नरहेको बताउनुभयो । एमालेका केन्द्रीय सदस्य एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले एमालेको महाधिवेशनमा नयाँ र पुराना पुस्ताका नेता कार्यकर्ताबीच अनुभव आदान प्रदान भई अहिलेको परिस्थितिमा ऊर्जा उत्पन्न भएको बताउनुभयो ।

ग्यासको बुलेट उठाउन नसक्दा अझै खुलेन पूर्व–पश्चिम महेन्द्र राजमार्ग

चन्द्रपुर (रौतहट), १५ पुष: आज बिहान ७ः३० बजेदेखि अवरुद्ध भएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अझै खुल्न सकेको छैन । महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर—धन्सार सडक खण्डको लमाह पुल नजिक एलपी ग्यास बोकेको बुलेट दुर्घटना हुँदा राजमार्ग अवरुद्ध भएको होे ।

भारतको रक्सौलबाट एलपी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्याङ्कर आज बिहान दुर्घटना भएको हो । अवरुद्ध राजमार्ग बिहानैदेखि खुलाउने प्रयास भए पनि प्राविधिक कारणले खुलाउन नसकिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिनुभयो ।

बिहान ९ बजेदेखि नै ग्यास कम्पनीका प्राविधिक र नेपाल आयल निगम वीरगञ्ज शाखाका प्राविधिक टोलीले उक्त बुलेट हटाउन प्रयास गरे पनि अझै समय लाग्ने उपरीक्षक लाबुङले जानकारी दिनुभयो । उक्त ग्यास बुलेट हटाउन छ वटा क्रेन प्रयोग गरिएका छन् । दुर्घटनापछि बुलेटबाट लिक भएको ग्यास प्राविधिकले टाल्न नसकेपछि समस्या भएको उहाँले बताउनुभयो ।

दुर्घटनामा ट्याङ्कर चालक भारतको कदोरा जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते हुनुभएको थियो । हाल पूर्वबाट आएका सवारीसाधन चन्द्रनिगाहपुरमा थन्किएको छन् भने केही सवारीसाधन रौतहटको चन्द्रनिगाहपुर—गौर राजमार्ग हँुदै बालचनपुर, जङ्गल सहिया हुँदै धन्सारको करिब ३५ किलोमिटर लामो बाटो घुमेर आवतजाबत गरिरहेका छन् ।

प्रधानमन्त्री कार्कीले दिइन् तमु ल्होसार र म्हैप्रु नकुमा पर्वको शुभकामना

काठमाडौं ।प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।

तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले लेखेकी छिन् – हार्दिक शुभकामना तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यी पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ गर्दै आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरून्। सबै नेपालीको जीवनमा सुख र समुन्नति होस्।

सन् २०२६ मा राष्ट्रसङ्घको मानवीय सहायताका लागि अमेरिकाले दुई अर्ब डलर दिने घोषणा

संयुक्त राज्य अमेरिकाले सन् २०२६ मा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायताका लागि दुई अर्ब डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।अमेरिकी विदेश मन्त्रालयको स्रोतले सोमबार सन् २०२६ का लागि राष्ट्रसङ्घको मानवीय सहायताका लागि उपलब्ध गराउने सहयोगसम्बन्धी उक्त समाचारलाई पुष्टि गरेको छ ।

अमेरिका विश्वको शीर्ष मानवीय सहायता दाता हो । राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०२२ मा १४ अर्ब डलर रहेको सहायता रकम सन् २०२३ र सन् २०२४ मा लगभग ११ अर्ब डलर थियो भने यो रकम सन् २०२५ मा आइपुग्दा २.७ अर्ब डलरमा झरेको थियो ।

यो प्रतिवद्धता सोमबार सााझ जेनेभामा घोषणा गरिनेछ ।राष्ट्रसङ्घ सहायता प्रमुख टम फ्लेचरले यस महिनाको सुरुमा राष्ट्रसङघको वार्षिक ‘ग्लोबल ह्युमेनिटेरियन अपिल २०२६’ को सुरुवात गर्नुभएको थियो । उहाँले गाजा, युक्रेन, सुडान, हाइटी र म्यान्माजस्ता गम्भीर द्वन्द्वहरूमा धेरै ध्यान केन्द्रित गर्दै विश्वका ८७ लाख खाँचोमा परेका मानिसहरूलाई सहायता प्रदान गर्न २३ अर्ब डलर अनुरोध गर्नुभएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता खर्च घटाएपछि राष्ट्रसङ्घले नयाँ वास्तविकतालाई अनुकूलन गर्ने प्रयास गरिरहेको बेला हालैका वर्षहरूमा अपिलले कभर गर्ने व्यक्तिको सङ्ख्या नाटकीय रूपमा घटाइएको छ।

फ्लेचरले सहयोगका लागि गरिएको अनुरोधमा भन्नुभयो, “अनुरोध ‘कष्टदायी जीवन र मृत्युको छनौटमा आधारित’ रहेको छ । वाशिङ्गटनले प्राथमिकता र सहायता दक्षता सुधार गर्न दृष्टिकोणमा परिवर्तन गर्ने तथा सहयोगको लागि ‘त्यो प्रतिबद्धतालाई नवीकरण’ गर्न छनौट गर्नेछ ।”

राष्ट्रसङ्घले द्वन्द्वग्रस्त क्षेत्रमा महामारीबाट पीडित अर्थात् वा प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको शिकार भएका लगभग २४ करोड मानिसहरूलाई आपतकालीन सहयोगको आवश्यकता रहेको अनुमान गरेको छ ।

सन् २०२५ मा राष्ट्रसङ्घले ४५ अर्ब डलरभन्दा बढीको लागि गरेको अपिल १२ अर्ब डलरमा मात्र सीमित भएको थियो, जुन एक दशककै सबैभन्दा कम थियो ।

यसले केवल नौ करोड ८० लाख मानिसहरूलाई मानवीय सहायता प्रदान गर्न सम्भव भएको थियो यो मानवीय सहयोगको आवश्यकता भएको विश्वको जनसङ्ख्याको अघिल्लो बर्षको तुलनामा थप २५ लाख व्यक्तिको लागि सहयोगको कमी हो ।

कांग्रेस कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन गरेन : अध्यक्ष यादव

जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्टको सरकारले संघीयताको कार्यान्वयन नगरेको आरोप लगाएका छन् ।जसपा नेपाल मधेश प्रेदश समितिद्वारा जनकपुरधाममा सोमबार आयोजित विशाल जनप्रदर्शन तथा विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष यादवले संघीयता आएको १० वर्ष भइसक्दा पनि कांग्रेस र कम्युनिष्टको सरकारका कारण प्रदेशले अधिकार पाउन नसकेको आरोप लगाएका छन् ।

उनले नामका लागि प्रादेशिक संरचना बनाएर दिए पनि प्रदेशले पाउनु पर्ने मुख्य अधिकारहरुबाट कांग्रेस र कम्युनिष्टको सरकारले वञ्चित गरेर राखेको आरोप लगाए ।
उनले नामको लागि प्रदेशको मन्त्री बनाएर, मन्त्रीलाई सुरक्षा दिने प्रहरी, काम गर्ने कर्मचारी, सिडिओ लगायत मुख्य पदहरु केन्द्रकै अधिनमा रहेकोले संघीयता नामको लागि मात्र दिइएको बताए ।

कांग्रेस र कम्युनिष्टको मनमा खोट भएको कारणले प्रदेशलाई हक अधिकारबाट वञ्चित गरेर राखिएको अध्यक्ष यादवले बताए ।कांग्रेस र कम्युनिष्टले मिलेर संघीयता कमजोर पारेर समाप्त पार्ने खेलमा लागेको उनले बताए । देशलाई चौपट र बर्बाद गर्नमा कांग्रेस र कम्युनिष्टको मात्र हात रहेको अध्यक्ष यादवले बताए ।

मधेश प्रदेश ८ जिल्लामा मात्र सिमित नरहेकोले प्रदेशलाई पुनः सिमांकरण गर्न पर्नेमा उनले जोड दिए । मधेश र मधेशी जनाताको हक अधिकारका लागि चुनावमा सहभागी हुन आवश्यक रहेको उनले बताए ।अध्यक्ष यादवले अहिले पनि समय बाँकी रहेकाले सम्पूर्ण मधेश र मधेशीको हक अधिकारका लागि लड्ने दलहरुलाई एकीकृत हुन आग्रह गरे ।

समावेशी राज्य नीतिबाट मात्र राष्ट्रिय एकता सुदृढ हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सबै जाति तथा समुदायको सहअस्तित्व, समानता र समावेशितामा आधारित राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता सुदृढ हुनसक्ने बताएका छन् ।

मंगलबार तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वको अवसरमा जारी शुभकामना सन्देशमा मार्फत उनले नेपाल बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगम रहेको संस्कृतिहरूको संरक्षण, सम्मान र प्रवद्र्धनलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

उनका अनुसार नेपालको राष्ट्रिय एकता दमन वा एकरूपताबाट होइन, पहिचानको सम्मान र समावेशी अभ्यासबाट बलियो बन्छ ।

संयोजक दाहालले परिवर्तनका हरेक आन्दोलनमा आदिवासी जनजाति तथा बहुल समुदायले उल्लेखनीय भूमिका निर्वाह गरेको उल्लेख गर्दै, गणतन्त्रको छहारीमा उनीहरूका भाषा, संस्कृति र पहिचानलाई फक्रिन दिने वातावरण निर्माण गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।

उनले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सहअस्तित्वलाई मजबुत बनाउँदै संविधानले सुनिश्चित गरेको समानता र समावेशिताको मर्म व्यवहारमा उतार्न राज्य गम्भीर हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

प्रचण्डका अनुसार विविध समुदायको सांस्कृतिक पहिचान सुरक्षित गर्दै सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्न सकिए मात्र लोकतान्त्रिक गणतन्त्र अझ सबल र दिगो बन्नेछ ।

विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास, वार्षिक तीन करोडको कारोबार गर्दै

पर्वत, १५ पुसः आफ्नै माटोमा भएको अथाहा सम्भावना नदेखेर दैनिक हजारौँ युवायुवती पलायन भइरहेकाबेला खोलामा बगेर खेर गइरहेको पानी सदुपयोग गरी यहाँका एक पूर्वप्रहरीले वार्षिक रु तीन करोड कारोबार गर्दै आउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरका विकास तिमिल्सिनाले गाउँमा रेन्बो ट्राउट माछापालनबाट वार्षिक रु तीन करोड आम्दानी गर्दै आउनुभएको हो ।

एक्काइस वर्ष लामो प्रहरी सेवा र विसं २०७४ को स्थानीय तहको निर्वाचनमा मोदी-२ देउपुरको वडाध्यक्षसमेत बनेर कार्यकाल सक्नुभएका तिमिल्सिनाले अन्य चार जना स्थानीयवासीको लगानीमा रेन्बो ट्राउन फार्म सञ्चालन गर्नुभएको हो ।

मोदी-५ बाजुङको टिमुरेस्थित पातीखोलाको मुहानमा करिब ३० रोपनी क्षेत्रफलमा रु तीन करोडको लगानीमा सञ्चालित फार्मबाट वार्षिक रूपमा रु तीन करोडको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो ।

फार्ममा उत्पादन क्षमता रहेको ३० टन माछा बिक्रीबाट रु तीन करोड आम्दानी हुने उहाँको भनाइ छ । “फार्मसम्म जाने सडकको अवस्था भने मृत्युमार्ग जस्तो छ । तर पनि हरेस नखाई व्यवसायलाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो । लामो समय ट्राफिक प्रहरीमा रहेर प्रहरी सहायक निरीक्षकसम्म पुगेपछि अवकाश हुनुभएका तिमिल्सिना जागिर छाडेको तीन महिनामा जनप्रतिनिधि बन्नुभएको थियो ।

जनप्रतिनिधिको कार्यकाल सकिएसँगै व्यवसायमा जोडिनुभएका तिमिल्सिनाको अहिले पूर्ण कार्यकाल माछापालनमा बित्ने गरेको छ । चारैतिर वन र दुईतिर खोलाको बीच भागमा रहेको मोदी रेम्बो ट्राउट प्रालि चिसोपानीमा हुर्कने रेन्बो ट्राउट माछापालनका लागि उपयुक्त हावापानी भएको क्षेत्र हो । पोखरा बागलुङ राजमार्गअन्तर्गत पातिचौर बजारबाट पाँच किलोमिटरको दूरीमा पुग्न सकिने उहाँको फार्म जो–कोहीका लागि मन लोभ्याउने केन्द्र बनेको छ ।

फार्ममा उत्पादित ट्राउट माछा पोखरा, काठमाडौँका माछा पारखीसम्म पुग्ने तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार फार्ममा हाल पाँच जनाले रोजगार पाइरहेका छन् । फार्ममा वार्षिक ३० टन माछा उत्पादन हुने उहाँले जानकारी दिनुभयो ।

विसं २०७१ देखि सुरु भएको उक्त फार्म सुरुमा यामप्रसाद शर्मासहितका व्यक्तिले सञ्चालन गरेका थिए । केही वर्षअघि आएको बाढीले फार्म पूर्ण रूपमा क्षतिग्रस्त भएपछि नजिकै थप जग्गा व्यवस्थापन गरी विकास तिमिल्सिना, यामप्रसाद शर्मा, प्रेम पौडेल, राजेश शाही र राजु खड्का गरी पाँच जनाले सामूहिक लगानीमा पुनः नयाँ जग्गामा फार्म सञ्चालन गरिएको थियो । फार्म व्यवस्थापनको जिम्मा तिमिल्सिनाले लिनुभएको छ ।

सञ्चालक तिमिल्सिनाले फार्मबाट भएको आम्दानीमध्ये सबै खर्च कटाएर रु एक करोडभन्दा बढी बचत हुने गरेको जानकारी दिनुभयो । हाल रेम्बो ट्राउट प्रतिकिलो रु एक हजारमा बिक्री हुने गरेको छ ।

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा मतदाता शिक्षा कार्यक्रम सुरु

भोजपुर, १५ पुस : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै यहाँ विद्यालय केन्द्रित मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नयाँ पुस्तालाई निर्वाचन प्रक्रिया, मताधिकारको महत्व र नागरिक कर्तव्यबारे जानकारी गराउने उद्देश्यले जिल्ला निर्वाचन कार्यालयले यो कार्यक्रम सञ्चालन गरेको हो ।

विद्यार्थीलाई प्रत्यक्ष रूपमा मतदाता शिक्षा प्रदान गरी उनीहरूका माध्यमबाट घरघरमा सचेतना फैलाउने लक्ष्य लिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस अभियानले आगामी निर्वाचनमा मतदाताको सहभागिता बढाउने विश्वास लिइएको छ ।

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा विद्यार्थीलाई मतदाता नामावली, मतदान प्रक्रिया, गोप्य मतदानको महत्व तथा लोकतान्त्रिक प्रणालीमा नागरिकको भूमिकाबारे जानकारी दिइएको थियो ।

प्रमुख सुवेदीका अनुसार विद्यालयस्तर मतदाता शिक्षा कार्यक्रम २०८२ अन्तर्गत जिल्लाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । “विद्यार्थीमार्फत अभिभावक र समुदायसम्म मतदाता शिक्षा पुर्याउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो ।

मुख्य रूपमा कक्षा ११ र १२ विद्यार्थीलाई लक्षित गरेर विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले बताउनुभयो । विद्यालयलाई लक्षित गरेर निर्वाचन कार्यालयले सञ्चालन गरिरहेको यो कार्यक्रम प्रभावकारी रहेको उहाँको भनाइ छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा फागुन २१ गते सम्पन्न हुने निर्वाचनमा एक लाख २५ हजार ७६६ मतदाता सहभागी हुनेछन् । मतदाता शिक्षा कार्यक्रमले निर्वाचनप्रति जनचासो बढाउनुका साथै जिम्मेवार र सचेत मतदाता उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मौसम पूर्वानुमान : तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु लाग्ने

काठमाडौं । हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहने छ ।मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
यसैगरी देशको पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

यस्तै, आज राती तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज पौष शुक्ल एकादशी, पुत्रदा एकादशीको व्रत गरिँदै

काठमाडौँ, १५ पुसः आज पौष शुक्ल एकादशी पुत्रदा एकादशीको व्रत गरिँदैछ । यो एकादशीको विधिपूर्वक व्रत गर्नाले सन्तान प्राप्ति हुने विभिन्न पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

यो एकादशीको माहात्म्य युधिष्ठिरले सोधेपछि भगवान् श्रीकृष्णले आज्ञा गर्दै पुत्रदा एकादशीको व्रतले सबै पापलाई हरण गर्ने उल्लेख गर्नुभएको पनि विभिन्न ग्रन्थमा लेखिएको छ । समस्त कामना तथा सिद्धिका दाता भगवान् लक्ष्मीनारायण यस तिथिका अधिदेवता हुनुहुन्छ । यो दिन भगवान्को पूजा अर्चना तिल, तुलसी अर्पणगरी कुन्दको फल र पक्वान्न अपुङ्गोको नैवेद्य चढाएर दारिमको अघ्र्य भगवान्लाई दिई ब्राह्मणलाई घ्यू दान दिनुपर्ने विषय पौराणिक एवं शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटाले बताउनुयभयो ।

परापूर्वकालमा भावतीपुरीका राजा सुकेतुमान तथा महारानी चम्पा धेरै समयसम्म कुनै पुत्र नभएका कारण चिन्तामा डुबेका थिए । एक दिन राजा घोडामाथि चढेर वनतर्फ प्रस्थान गरे । त्यहाँ उनले एउटा सरोवरको नजिकमा ऋषिमुनिको आश्रम भेटे । ऋषि मुनिद्वारा गुञ्जायमान वेद–पाठले राजा अत्यन्त प्रभावित भए ।

त्यस दिन पुत्रदा एकादशी परेको थियो । ऋषिमुनिले राजालाई व्रत गराए । जुन व्रतले व्रतकर्तालाई पुत्र–सुख प्रदान गर्ने सामथ्र्य राख्ने बताए । मुनिको निर्देशानुसार राजाले पुत्रदा–एकादशीका दिन उपवास बसेर द्वादशीका दिन व्रतको पारायण गरे । यस अनुष्ठानको पुण्यफलले उनले सुन्दर र तेजस्वी पुत्र प्राप्त गरे । पुत्रदा एकादशीको व्रत लिनाले यस जन्ममा सन्तान सुख भोगेर मृत्युपछि स्वर्ग प्राप्त गर्दछ ।

पुत्रदा एकादशीको माहात्म्यलाई पढ्नाले र सुन्नाले मात्र पनि अग्निष्टोम यज्ञ वा अष्वमेध यज्ञ गरेसरहको फल प्राप्त हुन्छ । पुत्र प्राप्तिको कामना हुने भक्तजनले पुत्रदा एकादशीबाट प्रारम्भ गरी निम्न मन्त्रको प्रतिदिन कम्तीमा पनि पाँच माला अर्थात् ५०० पटक जप गर्नाले सिद्धि प्राप्त हुने विश्वास छ, ‘क्लीं देवकीसुत गोविन्द वासुदेव जगत्पते । देहि मे तनयं कृष्ण त्वामहं शरणं गतः क्लीं’ मन्त्रको जपपछि सन्तान गोपाल स्तोत्रको पाठ गर्नाले निःसन्तानले सन्तान–सुख प्राप्त गरेका उदाहरण प्रशस्त भेटिने गरेको पण्डित देवकोटाले जानकारी दिनुभयो ।

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा, १५ पुसः मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत मङ्सिर १९ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका यादवले पुस ४ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरिसक्नुभएको छ । विश्वासको मत पाएको १० दिनभन्दा बढी भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसक्दा सरकारको कार्यक्षमता र स्थायित्व प्रभावित बनेको जानकारहरू बताउँछन् ।

प्रदेश सरकारअन्तर्गत ११ वटा मन्त्रालय रहेकामा हालसम्म पाँच जनामात्र मन्त्री नियुक्त भएका छन् । बाँकी छ मन्त्रालय मन्त्रीविहीन रहँदा प्रशासनिक निर्णय, नीति कार्यान्वयन तथा सेवा प्रवाहमा प्रत्यक्ष असर पर्न थालेको विश्लेषकहरूको भनाइ छ । जसपा नेपाल, जनमत पार्टी, नेपाली कांग्रेस, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी पार्टीको समर्थनमा बनेको वर्तमान सरकारले तत्काल पूर्णता नपाएमा जनअपेक्षा पूरा गर्नेमा शङ्का उत्पन्न हुने विश्लेषकहरू बताउँछन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शिक्षा तथा संस्कृति मन्त्रालय, जनमत पार्टीले अर्थ मन्त्रालय, नेपाली कांग्रेसले स्वास्थ्य मन्त्रालय, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय पाइसकेका छन् । यसैगरी, जनता समाजवादी पार्टी (जसपा) ले सभामुख पद प्राप्त गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले मन्त्रिमण्डललाई पूर्णता दिन अझै केही दिन लाग्ने बताउनुभयो । दलहरूभित्र आन्तरिक छलफल, मन्त्री छनोट तथा आवश्यक प्रक्रियाका कारण समय लागेको उहाँको भनाइ छ । “सरकार विस्तार ढिलो भएको जस्तो देखिए पनि दलहरूभित्र आवश्यक छलफल भइरहेको छ । केही दिनभित्र मन्त्रिमण्डल पूर्णता पाउँछ”, झाले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल अपूर्ण रहँदा प्रदेश सरकार कमजोर देखिएको टिप्पणी गर्दै तत्काल मन्त्रिमण्डल विस्तार गर्न माग गर्नुभयो । “अब सरकारले ढिलाइ गर्नुहुँदैन । तुरुन्त मन्त्रिमण्डललाई पूर्णता दिएर काममा अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो, “मन्त्रिमण्डल अपूर्ण रहनु सरकारको कमजोरी हो, यसले जनतालाई सेवा प्रवाहमा समस्या पुर्‍याउन सक्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता युवराज भट्टराईले मन्त्रालय बाँडफाँटको विषय टुङ्गिसकेको बताउँदै मुख्यमन्त्री काठमाडौँबाट फर्किएसँगै सरकार विस्तार हुने उल्लेख गर्नुभयो । उहाँका अनुसार मुख्यमन्त्री यादव हाल आसन्न निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा व्यस्त रहेकाले मन्त्रिमण्डल गठनमा ढिलाइ भएको हो ।

राजनीतिक समन्वय, दलभित्रको शक्ति सन्तुलन र निर्वाचन केन्द्रित गतिविधिका कारण सरकार विस्तार प्राथमिकतामा नपरेको देखिए पनि लामो समयसम्म मन्त्रिमण्डल अपूर्ण रहनु प्रदेशको सुशासन, विकास निर्माण तथा दैनिक प्रशासनिक कामकाजका लागि प्रतिकूल हुने भन्दै नागरिक समाज र प्रशासनिक क्षेत्रबाट चिन्ता व्यक्त हुन थालेको छ ।

कार्यवाहक सभापति खड्काद्धारा तमु ल्होसारको शुभकामना

पाटन (ललितपुर), १५ पुसः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।

तमु (गुरुङ) जातिको महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

“तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उहाँले भन्नुभएको छ ।

कार्यवाहक सभापति खड्काले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

आज पुस १५ : तमु ल्होसार पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौँ, १५ पुसः गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्य रुपमा मनाउँछन् ।

तमु ल्होसार पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुसमा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको जानकारहरू बताउँछन् । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना हुँदैछ ।

कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको प्रदर्शनी गरिनेछ । यस अवसरमा आइतबारदेखि राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव सुरु भएको छ । महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता छ ।

मेची भन्सार कार्यालय : पाँचमहिनामा तीन अर्ब ८० करोड राजस्व सङ्कलन

भद्रपुर (झापा), १५ पुस ः मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात अर्ब ८४ करोड ४० लाख मूल्यबराबरका ११ हजार २८ किलो लिटर पेट्रोलियम पदार्थ आयात भएको जानकारी दिनुभयो । उहाँका अनुसार पेट्रोलियम पदार्थले कार्यालयको कुल राजस्व सङ्कलनको ५५.८० प्रतिशत हिस्सा ओगटेको छ ।

त्यसैगरी, कार्यालयको तथ्याङ्कअनुसार तयारी कपडाबाट ४.१४ प्रतिशत, यातायातका साधन तथा तिनका पार्टपुर्जाबाट ३.६८ प्रतिशत, तरकारीबाट ३.४० प्रतिशत र सिमेन्ट क्लिङ्करबाट ३.३० प्रतिशत राजस्व सङ्कलन भएको छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १५ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७० पैसा र बिक्रीदर १८२ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११२ रुपैयाँ २३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५१ पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३० पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ १२ पैसा र बिक्रीदर ३९ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ १० पैसा र बिक्रीदर ४६९ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन आउन ६५ दिन बाँकीः आयोगले तोक्यो खर्च सीमा

काठमाडौँ, १५ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्च सीमा निर्धारण गरेको हो ।

आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा काठमाडौँ क्षेत्र नं १, ३, ६, ७ र ८ रहेका छन् । यसैगरी, १७ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २७ लाख बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरिएको छ ।

त्यस्तै, ६५ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २९ लाख बराबर खर्च गर्न पाउनेछन् । आयोगका अनुसार ५२ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३१ लाख, २६ वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु ३३ लाख बराबरको खर्च गर्न पाउनेगरी सीमा निर्धारण गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्नुपर्नेछ । त्यसरी खर्च गर्दा निजकोतर्फबाट खर्च गर्ने जिम्मेवार अधिकारी तोकी निजको नाम नामेसीसहितको विवरण भने निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्नेछ ।

उम्मेदवारले तोकेको खर्चको हदभित्र रहेर निर्वाचन खर्च गर्न र प्रतिनिधिसभा सदस्य ऐनबमोजिम निर्वाचन खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।

निर्वाचनको वातावरण बनाउन सञ्चारमन्त्री खरेलको आग्रह

गोरखा – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको छ ।

आज एक कार्यक्रमको सन्दर्भमा गोरखामा भएको भेटमा मन्त्री खरेलले निर्वाचन गराउन मुख्यमन्त्रीको दोहोरो भूमिका रहने भएकाले दुवै भूमिकाको भरपुर प्रयोग गरी निर्वाचनको वातावरण बनाउन आग्रह गर्नुभएको हो ।

मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई भन्नुभयो, “सरकारको तर्फबाट पनि र एक जिम्मेवार राजनीतिक पार्टीको केन्द्रीय नेताको तर्फबाट पनि कुनै कञ्जुस्याइँ नगरी दुवै भूमिका निर्वाह गर्नुहुन मेरो विनम्र अनुरोध छ ।” साथै उहाँले निर्वाचन हुनेमा कुनै पनि शङ्का र प्रश्न नरहेको पनि स्पष्ट पर्नुभयो ।

“आज सबै पार्टीले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेपछि निर्वाचन हुन्छ कि हुन्न होला भन्ने प्रश्न समाप्त भएको छ”, उहाँले भन्नुभयो, “हामी निर्धारित मितिमा निर्वाचन गरेर जतिसक्दो चाँडो राजनीतिक दलको नासो राजनीतिक दललाई नै बुझाउन आतुर छौँ ।”

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू पनि पहिल्यैदेखि निर्वाचनको पक्षमा रहेको स्पष्ट पार्नुभएको थियो । “म त पहिल्यैदेखि निर्वाचनको पक्षमा थिएँ । अहिले वातावरण सकारात्मक बनिरहेको छ । यो खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “यो सरकारले पनि अलि जिम्मेवार भएर काम गर्नुपर्छ ।”

‘नागरिकको हकअधिकारका लागि दुष्कृतिसम्बन्धी कानुन जरुरी’

काठमाडौँ – नागरिकको हकअधिकार र कर्तव्यको संरक्षण गर्ने भएकाले दुष्कृतिसम्बन्धी कानुन जरुरी भएको सरोकारवालाहरुले बताएका छन् ।

उच्च अदालत बार एसोसिएसनको कर, करार तथा कम्पनी कानुन समितिले आज ‘नेपालमा दुष्कृति कानुन र यसको अभ्यास’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो । सो अन्तरक्रियामा कुनै पनि व्यक्तिको हक अधिकार उल्लङ्घन भएमा कानुनी उपचारको प्रबन्ध गर्ने भएकाले यो कानुन जरुरी भएको सरोकारवालाले बताएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलले दुष्कृतिसम्बनधी कानुनले व्यक्ति र समाजलाई जिम्मेवार बनाउने उल्लेख गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासबाट यससम्बन्धी धेरै महत्वपूर्ण फैसला भएको जानकारी दिनुभयो । उहाँले उक्त फैसलालाई सबै अदालत तथा कानुनसँग सम्बन्धित सरोकारवाला सबैले प्रयोगमा ल्याएर कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

उच्च अदालतका न्यायाधीश अवनी मैनाली, न्यायाधीश डालकुमार खड्काले व्यक्तिलाई अन्य व्यक्तिका अधिकारको सम्मान गर्दै आफ्नो कर्तव्य पालनामा प्रोत्साहन गर्ने कानुन भएकाले प्रभावकारी हुने धारणा राख्नुभयो ।

उच्च अदालत बार एसोसिएसनका अध्यक्ष विदुर ढुङ्गानाले दुष्कृतिसम्बन्धी कानुनबारेमा अदालत, कानुन व्यवसायी, आमनागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता डा नारायण घिमिरेले उक्त कानुनका विषयमा कार्यपत्र प्रस्तुत गर्दै व्यक्ति वा उसको आश्रयमा रहेका व्यक्तिलाई गल्ती गर्ने व्यक्ति, दोषकर्ता या हानिनोक्सानीकर्ताबाट क्षतिपूर्ति दिलाउनु कानुनको मूल उद्देश्य रहेको बताउनुभयो ।

दुष्कृति देवानी कानुन हो । नेपालमा यो कानुन दुष्कृतिसम्बन्धी औपचारिक रूपमा २०७५ भदौ १ गतेदेखि लागू भएको थियो भने मुलुकी देवानी संहिता २०७४ को परिच्छेद १७, करार तथा अन्य दायित्वसम्बन्धी व्यवस्थामा उल्लेख गरिएको छ ।

यो कानुन गल्ती गर्नेले क्षतिपूर्ति तिर्नुपर्छ भन्ने मान्यतामा आधारित छ । संहिता आउनुपूर्व दुष्कृतिसम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको थिएन । कुनै पनि दायित्व बहन गर्नुपर्ने व्यक्तिले आप्नो दायित्व पूरा नगरेका कारण वा कुनै काम गरेका कारणबाट अर्को व्यक्तिलाई हानिनोक्सानी भएमा त्यसलाई दुष्कृति मानिन्छ ।

मुलुकी देवानी संहिता २०७४ को दफा ६७२ मा (१) कसैले आफ्नो वा यस परिच्छेदबमोजिम आफैँले दायित्व वहन गर्नुपर्ने अरू कसैको त्रुटि, हेलचेक्य्राइँ वा लापर्वाही जेसुकैबाट भए तापनि गरेको कुनै काम वा अकर्मण्यताबाट कसैको जिउ, ज्यान वा सम्पत्ति वा कानुनबमोजिम संरक्षित हक वा हितमा कुनै किसिमले हानिनोक्सानी पु¥याउनु हुँदैन भनिएको छ ।

त्यस्तै, सोही दफा ६७२ को दफा (२) उपदफा (१) बमोजिमको काम वा अकर्मण्यताका सम्बन्धमा पक्षहरूबीच कुनै पूर्वकरार सम्बन्ध भएको रहेनछ भने त्यस्तो काम वा हेलचेक्य्राइँको परिणामस्वरूप उत्पन्न हानिनोक्सानीलाई दुष्कृति गरेको मानिनेछ भनिएको छ ।

जिल्ला न्यायाधीश नियुक्तिका लागि २० जना सिफारिस

काठमाडौँ – न्याय सेवा आयोगले आज जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ ।

जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकामा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्समक्ष सिफारिस गरिएको हो।

आयोगकी प्रवक्ता रामप्यारी सुनुवारका अनुसार जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११, खुलाबाट छ, महिला एक र आदिवासी जनजाति दुई जना छानिएका छन् । लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए ।

रबी र कुलमानसँगको तस्बिर शेयर गर्दै बालेन भन्छन् – “म नेपाल हासेको हेर्न चहान्छु”

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच आज आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।

कुलमानसँग पनि आफुहरुको सहमती भएपछि बालेनले सामाजिक सञ्जाल फेसबुकमार्फत खुसी ब्यक्त गर्दै आफूहरु ३ जना एकैठाउमा बसेको तस्बिर शेयर गरेका छन् । उनले तस्बिरसँगै “म नेपाल हासेको हेर्न चहान्छु” भनेर लेखेका छन् ।

आज भएको सहमतिअनुसार कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने भएका छन् भने तीनै जना एकै राजनीतिक मोर्चाबाट निर्वाचनमा अघि बढ्ने भएका छन् ।

यसअघि नै रास्वपाले बालेन शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने आन्तरिक सहमति गरिसकेको थियो । आइतबार बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको छलफलमा भने कुलमान घिसिङ सहभागी थिएनन् । त्यसपछि बालेन र रविले पटक–पटक कुलमानसँग वार्ता गर्दै सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

पोखरा ओपन तथा भेट्रान्स टेनिस : कमल थापालाई दोहोरो उपाधि

कास्की – पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा जारी २२ औँ संस्करणको ‘माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस’ राष्ट्रिय टेनिस प्रतियोगितामा कमल थापाले दोहोरो उपाधि जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहनुभएका थापाले ६५ वर्ष उमेर समूह माथिको एकल र ‘डबल्स’तर्फ उपाधि जितेका हुन् । ‘सिङ्गल्स’ फाइनलमा उनले पोखराका पदम गुरुङलाई ४–२, ४–२ ले पराजित गरे । ‘डबल्स’तर्फ चाम्बा धोन्धुपसँग जोडी बनाएका थापाले विदुर विष्ट र ध्रुव गुरुङको जोडीलाई फाइनलमा ४–०, ४–१ को सेटमा पराजित गरी उपाधि हात पारेका हुन् । थापा पोखरामा हुने यस प्रतियोगिताको हरेक संस्करणमा नियमित रुपमा सहभागी हुँदै आएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा ‘मेन्स डबल्स’ फाइनलमा नेपाल नं १ प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडीले निहाल जङ्गबहादुर थापा र राजविर प्रधानको जोडीलाई ६–०, ६–१ ले पराजित गरी च्याम्पियन बनेका छन् ।

महिला खुलातर्फ सिवाली गुरुङले प्रशंसा मोक्तानलाई ६–०, ६–० ले सेमिफाइनलमा पराजित गर्दै सुनिरा थापासँग फाइनल भिडन्त पक्का गरिन् । सुनिराले प्रकृति श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित गरिन् ।

यसैगरी ५५ वर्षमाथिको समूहमा उत्तमकुमार शेर्पा र दीपेन्द्र प्रधानको जोडीले उपाधि जितेको छ । विमल गुरुङ र हिमाल शाहको जोडीलाई उनीहरुको जोडीले पहिलो र दोस्रो सेटमा ६–४, १–६ को बराबरीमा सकिएसँगै सुपर टाइमा पुगेको खेलमा उत्तम र दीपेन्द्रको जोडीले १०–८ ले जित हात पार्न सफल भएका हुन् ।

त्यसैगरी ३५ वर्षमाथिको इभेन्ट फाइनलमा जीतेन्द्र प्रधान र कुमार अधिकारीको जोडीले फाइनलमा सन्तोष खत्री र भीष्म जङ्ग गुरुङको जोडीलाई ६–४, ६–२ ले पराजित गरी च्याम्पियन भएका छन् । विजेता दुवै पूर्वनेपाल नं १ खेलाडी हुन् ।

यसैगरी ४५ वर्षमाथिको फाइनलमा देव क्षेत्री र हिमाल शाहको जोडीले फाइनलमा ७–६, ६–२ ले लेसारी गुरुङ र आशिष सिग्देलको जोडीलाई पराजित गर्दै उपाधि जिते ।

‘ओपन मेन्स सिंगल्स’मा नेपाल नं १ प्रदिप खड्का, आयुष्मान हजुर घले, करनबहादुर थापा, राजविर प्रधानले सेमीफाइनलको यात्रा तय गरे । क्वाटरफाइनलमा प्रदीपले प्रितम परियारलाई ६–१, ६–२ ले, आयुष्मानले निहाल जङ्गबहादुर थापालाई ६–२, ६–३ ले, करनले दर्शिल श्रेष्ठलाई ६–२, ६–२ ले, राजविरले युगेन शेर्पालाई ६–२, ६–१ ले पराजित गरेका हुन् ।

त्यसैगरी ३५ वर्षमाथिको एकल प्रतिस्पर्धामा जीतेन्द्र परियारले अनिल साईलाई ६–१, ६–३ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्दा भीष्म जङ्ग गुरुङ, चन्द्र शाही र पेमा नोर्वुले अन्तिम चारमा स्थान तय गरे । खेलमा भीष्मले सोम रानालाई ६–१, ६–० ले, चन्द्रले विमल गुरुङलाई ६–३, ६–३ ले र पेमाले विकाश खड्कालाई ६–४, ६–२ ले पराजित गरे ।

४५ वर्षमाथि एकलतर्फ कमल भण्डारीले सिजर गुरुङलाई ६–२, ६–० ले र देव क्षेत्रीले रोहित सुनुवारलाई ६–४, ७–५ ले पराजित गरी उपाधि नजिक पुगेका छन् । प्रतियोगिताको फाइनल खेल मङ्गलबार सञ्चालन हुने प्रतियोगिता संयोजक नवीन चालिसेले जानकारी दिए ।

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरी छ – अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान शासकीय प्रणाली सुधारका साथै महँगो निर्वाचन प्रणालीमा सुधार गर्न संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ ।

आज जनकपुरधाममा पार्टीको मधेस प्रदेश समितिले आयोजना गरेको जनप्रदर्शन तथा विरोधसभामा बोल्दै उहाँले वर्तमान अवस्थामा प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रदेश अन्तर्गत प्रहरी र प्रशासन हुन जरुरी रहेको बताउनुभयो ।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको चुनावका लागि पार्टीले तयारी सुरु गरेको बताउँदै उहाँले लोकतन्त्रमा कुनै पनि लोकतान्त्रिक पार्टी चुनावबाट पछाडि जान नमिल्ने उल्लेख गर्नुभयो ।

उहाँले जेनजी पुस्ताले उठाएको कुशासनको अन्त्य तथा सुशासनको स्थापनाका लागि अहिले निर्वाचन तथा शासकीय प्रणालीबाट कठिन हुने बताउँदै मुलुकमा स्थिरता तथा सुशासनका लागि कार्यकारी राष्ट्रपतिको चुनावका लागि शासकीय प्रणालीमा सुधारका लागि संविधान संशोधन जरुरी रहेको बताउनुभयो ।

नेपाल र भारतबीच संयुक्त कृषि कार्य समूहको बैठक सम्पन्न

काठमाडौँ – नेपाल र भारतबीच कृषि क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यसहित संयुक्त कृषि कार्य समूहको नवौँ बैठक सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्वारा आयोजित दुईदिने बैठक आज काठमाडौँमा सम्पन्न भएको हो । नेपालका तर्फबाट मन्त्रालयका सहसचिव डा हरिबहादुर केसी र भारत सरकार, कृषि तथा किसान कल्याण मन्त्रालयका ‘अपर सचिव’ डा प्रमोदकुमार मेहेरले बैठकको सहअध्यक्षता गर्नुभएको थियो ।

सन् २०२५ अप्रिल ९ मा दुई देशबीच हस्ताक्षर भएको ‘कृषि सहयोगसम्बन्धी नयाँ समझदारीपत्र’ अन्तर्गत बसेको यो पहिलो बैठक हो । बैठकमा दुवै देशका प्रतिनिधिले आआफ्नो देशको कृषि नीति, प्राथमिकता र हालका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

सन् २०२४÷२५ मा नेपाल र भारतबीचको द्विपक्षीय कृषि व्यापार एक दशमलव छ अर्ब अमेरिकी डलर नाघेको तथ्य प्रस्तुत गर्दै दुवै पक्षले व्यापार सम्बन्धलाई थप सन्तुलित र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका सहसचिव एवं कृषि मन्त्रालयका प्रवक्ता डा जानुका पण्डितले जानकारी दिनुभयो ।

भारतीय पक्षले ‘छिमेकी पहिला’ नीतिअनुरूप नेपालसँग कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र पूर्वाधार विकासमा सहयोग गर्न इच्छा प्रकट गरेको थियो । व्यापार सहजीकरणको सन्दर्भमा नेपालले आफ्ना आठ प्रकारका कृषिजन्य उत्पादनको प्रयोगशाला परीक्षण भारतले मान्यता दिएकामा धन्यवाद ज्ञापन गर्दै सूची विस्तार र भारतीय बजारमा व्यवस्थित पहुँच सुनिश्चित गर्न अनुरोध गरेको जनाइएको छ ।

बैठकमा डिजिटल कृषि, जलवायु अनुकूल खेती, प्राकृतिक खेती प्रणाली, खाद्यान्न सुरक्षालगायत आधुनिक प्राविधिक क्षेत्रमा सहकार्य गर्ने विषयमा गहन छलफल भएको प्रवक्ता डा पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै देशले आगामी तीन महिनाभित्र द्विवार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने निर्णय गरेका छन् । साथै, रासायनिक मल आपूर्ति, कृषि पूर्वाधार विकास, खाद्य गुणस्तर र क्वारेन्टाइनसम्बन्धी प्राविधिक समस्याहरू समाधानका लागि सहकार्य गर्ने सहमति भएको छ । आगामी बैठक भारतमा आयोजना गर्नेसमेत निर्णय भएको छ ।

जनभावनाअनुरुप सेवा प्रदान गर्न गृहसचिवको निर्देशन

काठमाडौँ – गृहसचिव राजकुमार श्रेष्ठले बदलिँदो परिस्थिति र जनभावनाअनुरुप सेवा प्रदान गर्न सबै कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले जनसेवालाई प्राथमिकता राखेर काम गर्न र कुनै समस्या आए तत्काल समन्वय गर्न निर्देशन दिनुभएको हो ।

गृहसचिव श्रेष्ठले सरकारले दिएको कार्यभार आफूले सबै कर्मचारीको सहयोगबाट कुशलतापूर्वक निर्वाह गर्ने बताउनुभयो ।गृहमन्त्री ओमप्रकाश अर्यालले गृहसचिव श्रेष्ठलाई स्वागत गर्नुका साथै सरुवा भई जानुभएका सचिव रामेश्वर दङ्गाललाई धन्यवादसहित बिदाइ गर्नुभयो ।

मन्त्रिपरिषद्को पुस ११ गतेको बैठकले सचिव दङ्गाललाई लोकसेवा आयोगमा र सचिव श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको नाम सिफारिस गर्न निर्देशन दिएका छ ।

एमालेका सचिव डा राजन भट्टराईले सातवटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेद्वारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसरी उम्मेद्वारको नामावली पठाउँदा एक निर्वाचन क्षेत्रबाट एक जना महिला उम्मेद्वारसहित कम्तीमा तीन जनाको नाम पठाउन भनिएको छ ।

“एक निर्वाचन क्षेत्र भएका जिल्लालाई पुस २० गतेभित्र छनोट गरी प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “एकभन्दा बढी निर्वाचन क्षेत्र भएकालाई पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी जिल्ला कमिटीबाट पठाइएका नामावली पठाउन भनेका छौँ ।”

जिल्ला कमिटीबाट आएका उम्मेद्वारको सूचीलाई प्रदेश कमिटीले जस्ताको तस्तै पठाउन पनि सक्ने र नाम थप गरेर पनि पठाउन सक्ने पार्टी सचिव डा भट्टराईले जानकारी दिनुभयो । पार्टीले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा जिल्ला कमिटीको सिफारिस र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय निर्वाचन कमिटीले एक महिलासहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ ।

तल्लो तहबाट आएका उम्मेद्वारमध्ये मापदण्डका आधारमा निर्वाचन जित्ने उम्मेद्वारलाई पार्टीले टिकट दिने सचिव डा भट्टराईले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम – चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ ।

आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित रु १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार बजेटमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित रु १९ अर्ब ८३ करोड पाँच लाख छ हजारमध्ये दुई दशमलव ८९ प्रतिशत मात्र खर्च भएको छ ।

यो अवधिमा सवारीसाधन करतर्फ रु २६ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा रु रु २५ करोड ९७ लाख नौ हजार सङ्कलन भएको थियो । घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ । यो शीर्षकमा गत वर्ष मङ्सिरसम्म रु १५ करोड १७ लाख ७० हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु आठ करोड २० लाख सात हजार सङ्कलन भएको हो । मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ ।

अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने गत वर्ष मङ्सिरसम्मको रु चार करोड १२ लाख ५१ हजारबाट वृद्धि भई यो वर्षको सोही अवधिमा रु आठ करोड २३ लाख ५६ हजार पुगेको छ । प्रदेश सरकारले चालु आवमा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६५ करोड राखेको छ । गत आव २०८१/८२ मा राजस्व सङ्कलनको लक्ष्य रु एक अर्ब ६० करोड सात लाख १५ हजार राखेको थियो ।

आव २०८१/८२ मङ्सिरसम्म रु ४८ करोड ७६ लाख २३ हजार सङ्कलन भएकामा चालु आवको सोही अवधिमा रु ४५ करोड २४ लाख ८४ हजार सङ्कलन भएको हो ।

थाइल्यान्डद्वारा युद्धविराम उल्लङ्घनको आरोप

थाइल्यान्डको सेनाले सोमबार कम्बोडियामाथि नयाँ हस्ताक्षर गरिएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ । सेनाका अनुसार कम्बोडियाले थाई भूभागभित्र २५० भन्दा बढी ड्रोन उडाएर हप्तौँदेखि जारी घातक सीमा झडपपछि भएको सहमतिलाई बेवास्ता गरेको हो ।

थाई सेनाले जारी गरेको विज्ञप्तिमा आइतबार राति कम्बोडियातर्फबाट थाइल्यान्डको सार्वभौम क्षेत्रमा घुसपैठ गर्दै २५० भन्दा बढी मानवरहित हवाई यान (युएभी) उडिरहेको पत्ता लागेको उल्लेख गरिएको छ । सेनाका अनुसार यस्तो गतिविधिले उक्साहट रोक्ने र तनाव कम गर्ने उद्देश्यले अपनाइएका उपायहरूको उल्लङ्घन गरेको छ ।

विज्ञप्तिमा शनिबार सम्पन्न द्विपक्षीय सीमा समितिको बैठकपछि जारी संयुक्त वक्तव्यसँग यी गतिविधि असङ्गत रहेको पनि जनाइएको छ । थाई पक्षले यस घटनाले आपसी विश्वासमा आघात पु¥याएको संकेत गरेको छ।

यस आरोपप्रति प्रतिक्रिया दिँदै कम्बोडियाका विदेशमन्त्री प्राक सोखोन्नले सोमबार राज्य टेलिभिजनमा प्रसारित टिप्पणीमा दुवै देशका प्रतिनिधिहरूले घटनाबारे छलफल गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार दुवै पक्षले अनुसन्धान गरेर यस विषयलाई ‘तुरुन्तै समाधान गर्ने’ सहमति गरेका छन् ।

प्राक सोखोन्नले यो घटनालाई सीमावर्ती क्षेत्रमा दुवै पक्षले देखेका ड्रोन उडानसँग सम्बन्धित ‘सानो समस्या’ का रूपमा वर्णन गर्नुभयो ।

थाइल्यान्ड र कम्बोडियाले यसै महिनामा दर्जनौँ व्यक्तिको ज्यान जाने र दस लाखभन्दा बढी मानिस विस्थापित हुने गरी भएको नयाँ सीमा झडप अन्त्य गर्न शनिबार ‘तत्काल’ युद्धविराममा सहमति जनाएका थिए । पुनः सुरु भएको लडाइँ दुवै देशका करिब सबै सीमावर्ती प्रान्तमा फैलिएको थियो, जसले यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा भएको भनिएको युद्धविरामलाई पनि कमजोर बनाएको थियो ।

शनिबार हस्ताक्षर गरिएको सम्झौताअनुसार दुवै दक्षिणपूर्वी एसियाली छिमेकी मुलुकले गोली हानाहान रोक्ने, सेनाको आवागमन सीमित गर्ने र साइबर अपराधविरुद्ध सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । युद्धविरामको दीगो कार्यान्वयनले सीमावर्ती क्षेत्रमा शान्ति र स्थिरता फर्काउने अपेक्षा गरिएको छ ।

नेकपा (एमाले)ले बुझायो समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन विभागका निरज आचार्य नेतृत्वको टोलीले बन्दसूची बुझाएको हो ।

पार्टीले पुरानो पुस्ता, नयाँ पुस्ता तथा समावेशी समूहलाई समेट्दै सूची तयार गरेको जनाएको छ । बन्दसूचीमा पुरानो पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा पुष्प कँडेललगायतका नेताको नाम समावेश गरिएको छभने महिला समूहबाट पद्मा अर्याल, टुका हमाल, निरुदेवी पाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतका नाम समेटिएको छ ।

पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना समेटिएको छ । साथै अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्वसमेत सूचीमा समावेश गरिएको छ ।

नयाँ पुस्ताबाट मीना बराम, मनकुमारी तितुङ, मायादेवी पोडेनी, निर्मल दौला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतका युवा तथा समावेशी उम्मेदवार बन्दसूचीमा समावेश गरिएको छ । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अनिता कन्दङ्वालगायतका युवा नेता पनि समावेश गरिएको छ ।

एमालेको आइतबार सम्पन्न सचिवालय बैठकले समानुपातिक उम्मेद्वारको सूची अध्यक्ष केपी शर्मा ओलीले अन्तिम रूप दिई निर्वाचन आयोगमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार समानुपातिकतर्फको उम्मेद्वारको बन्दसूची बुझाउने आज अन्तिम दिन पार्टीले बन्दसूची बुझाएको जनाएको छ ।

काठमाडौँको बाफलबाट दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ – प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय झिल्के भन्ने विकाश शाही, मोरङ, लेटाङ नगरपालिका–४ बस्ने २२ वर्षीय शाहिल तिवारी तथा काठमाडौँ महानगरपालिका–१३ बाफल बस्ने ३३ वर्षीय जस्वन राई भन्ने अश्विन राई रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नागार्जुन नगरपालिका–४ बाफलमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाको आधारमा हाम्रो टोलीले उक्त हतियारसहित तीन जनालाई पक्राउ गरेको हो ।” पक्राउ परेकाहरुको साथबाट सिएफ ९८–९००००३३०८२३७ र सिएफ ९८–९०००१११०८२३६ नम्बरको सिएफ–९८ पेस्तोल, उक्त पेस्तोलको म्यागजिन तीन थान, गोली दुई थान तथा गोलीको खोका दुई थान बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियोः मन्त्री खरेल

गोरखा – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताउनुभएको छ ।

स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट निर्वाचन आयोगमा सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताउनुभएको हो ।

मन्त्री खरेलले आगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताउनुभयो । “चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि अब अन्त्य भइसकेको छ”, उहाँले भन्नुभयो, “आगामी निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नेगरी सबैले भाग लिने वातावरण बनाउनुपर्छ ।”

मन्त्री खरेलले विगतमा विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएको उल्लेख गर्दै यसपटक पनि सरकार र राजनीतिक दल शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । “निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको हो । सरकारले ढुक्क भएर मतदान गर्ने वातावरण निर्माण गरिरहेको छ । सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेकाले शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या हुँदैन । विगतमा जस्तै हामी निर्वाचन गरेर सफल उदाहरण पेस गर्नेछौँ”, उहाँले भन्नुभयो ।

मन्त्री खरेलले देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउनसमेत आग्रह गर्नुभयो ।

हरेक निर्वाचनमा इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा रहेको उल्लेख गर्दै उहाँले त्यसमा सरकारले अझै प्रयास जारी राखेको बताउनुभयो । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे गम्भीर रूपमा छलफल भइरहेको पनि मन्त्री खरेलले जानकारी दिनुभयो ।

उहाँले सबै सरोकार भएकाहरूलाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवा घरघरमा पु¥याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट गुलाक सुरुआत गरेर गोरखा जिल्ला हुलाक उदाहरणीय बनेको बताउनुभयो । उहाँले सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि रूपान्तरण गर्दै लाभ लिनुपर्ने र त्यसमा सरकारले काम गरिरहेको बताउनुभयो ।

समाजका विकृति हटाउन सञ्चार जगत्ले सकारात्मक दबाब सिर्जना गर्छ – प्रहरी महानिरीक्षक कार्की

देवदह (रुपन्देही) – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समाजका विकृति र विसङ्गति हटाउन सञ्चार जगत्ले सकारात्मक दबाब सिर्जना गर्ने बताउनुभएको छ । सञ्चार जगत्ले सन्तुलित किसिमले काम गर्दा त्यसले सञ्चारप्रतिको विश्वास वृद्धि हुने उहाँले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीको ११ औँ स्थापना दिवसको अवसरमा आज लुम्बिनीमा आयोजित शान्ति पदयात्रापश्चात् समारोहलाई सम्बोधन गर्दै उहाँले सञ्चार जगत्ले जनचेतना अभिवृद्धि गरेर अपराध नियन्त्रणमा सहयोग पु¥याउन सक्ने धारणा राख्नुभयो ।

प्रहरी महानिरीक्षक कार्कीले मिडियाकर्मी र प्रहरीबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घको अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य सचिव दीपक श्रेष्ठ, प्रेस काउन्सिलका सदस्य नकुल अर्याल, लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीलगायतको उपस्थिति थियो ।

लुम्बिनी प्रेस क्लबले लुम्बिनीमा आयोजना गरेको तीनदिने न्यूज फेस्टिभलमा नेपाल र भारतका पत्रकार, उद्योगी, व्यवसायी, जनप्रतिनिधिलगायतको सहभागीता रहेको कार्यक्रमका संयोजक तथा क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो ।

इजरायलको स्वच्छ ऊर्जा प्रवद्र्धनमा नयाँ कदम

इजरायलले दक्षिणी क्षेत्रमा रहेको आशालिम ऊर्जा स्टेशनमा ब्याट्रीसहितको नयाँ सौर्य ऊर्जा केन्द्र निर्माण गर्ने भएको छ । यो केन्द्र राष्ट्रिय विद्युत् क्षेत्रमा करिब ८० मेगावाट विद्युत् आपूर्ति गर्न सक्षम हुनेछ भने जडित सौर्य प्यानलको क्षमता १५० मेगावाट रहेको छ ।

साथै, केन्द्रमा करिब ४०० मेगावाट–घण्टा विद्युत् सञ्चयन गर्न सक्ने ब्याट्री प्रणाली स्थापना गरिनेछ, जसले दिनको समयमा उत्पादित विद्युत् राति वा विद्युत् माग उच्च हुने समयमा प्रयोग गर्न सजिलो बनाउनेछ ।

सरकारले सन् २०३० सम्म देशको ३० प्रतिशत विद्युत् आवश्यकताका लागि नवीकरणीय ऊर्जा स्रोत प्रयोग गर्ने लक्ष्य राखेको छ । यस परियोजनाले प्रदूषण कम गर्ने र स्वच्छ ऊर्जा प्रवद्र्धन गर्नेमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

परियोजना पूरा भएपछि आशालिम क्षेत्रमा कार्यान्वयन हुने नवीकरणीय ऊर्जा परियोजनाले इजरायलको विद्युत् क्षेत्रमा ८०० मेगावाटभन्दा बढी विद्युत् आपूर्ति गर्ने अपेक्षा गरिएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा लाम

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन निर्वाचन आयोगमा राजनीतिक दलको लाम लागेको छ ।

दिनभर समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा राख्ने उम्मेद्वारको छनोटमा व्यस्त राजनीतिक दल दिउँसो ४ः०० बजेअघि आयोग पुगेका थिए । आज मुख्य राजनीतिक दललगायतले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न लाममा बसेका हुन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीको नाम बुझाउन आयोग परिसर पुग्नुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यसअघि दलले सार्वजनिक गरेको उम्मेद्वार छनोट मापदण्डका आधारमा सूची तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । संसदीय अभ्यासको कार्यशैली बदल्नुपर्नेमा पार्टीभित्र एकमत रहेको पनि उहाँले सुनाउनुभयो । संसदीय अभ्यासको योग्यता, क्षमता भएका नयाँ पुस्तालाई उम्मेद्वार बनाइएको नेता विश्वकर्माको भनाइ थियो । प्रत्येक प्रदेशबाट युवा उमेर समूहका दुईदेखि तीन जनालाई सूचीमा समावेश गरिएको कांग्रेसले जनाएको छ ।

नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र पाण्डेले विगतमा समानुपातिक सूचीमा परेका, मन्त्री भएका, प्रत्यक्ष निर्वाचनतर्फ जितेकालाई यसपटक बन्द सूचीमा समावेश नगरिएको जानकारी दिनुभयो । पार्टीले ११० जनाको सूची समावेशी सिद्धान्तका आधारमा बुझाउने तयारी गरिएको उहाँले बताउनुभयो । लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा मूल लक्ष्य बनाएर पार्टी चुनावमा जान लागेको नेता पाण्डेको भनाइ थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची बुझाउन प्रगतिशील लोकतान्त्रिक पार्टीका सुदन किराती र सन्तोष परियार, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनता समाजवादी पार्टीको तीन दलीय मोर्चाका तर्फबाट राजेन्द्र महतो, अशोक राई र रेशम चौधरी पनि आयोग पुग्नुभएको थियो ।

निर्वाचन आयोगले जारी गरेको कार्यतालिकाअनुसार आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्न सुरु भएको हो । पहिलो दिन आइतबार केही साना दलका तर्फबाट मात्र बन्दसूची पेस भएको थियो । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले आज बन्दसूची बुझाउन लागेका हुन् । समानुपातिकतर्फको बन्दसूची बुझाउन ती दलले आज बैठक पनि आयोजना गरेका थिए ।

आइतबार तीन दलका १३४ जनाले सबै प्रक्रिया पूरा गरेर बन्दसूची पेस गरेका थिए । ती दलले निस्सा लिएर दर्ता प्रक्रिया पूरा गरेका हुन् । उम्मेद्वारको नाम मतदाता सूचीमा छ, छैन, मतदाता नम्बर एवं नागरिकतालगायत कागजात हेरेर आयोगले निस्सा दिएपछि बन्दसूची पेस गरिएको थियो । आज साँझ ५ः०० बजेसम्म करिब एक दर्जन दलले सूची बुझाएको आयोगले जनाएको छ ।

राजनीतिक दलले पुस १३ र १४ गतेसम्म पेस गरेका समानुपातिकतर्फको बन्दसूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । आयोगले पुस २० गतेसम्म बन्दसूची छानबिन गरेपछि पुस २१ गतेदेखि २७ गतेसम्म दललाई मिलाउन लगाउने कार्यतालिका छ । पुस २८ गतेदेखि माघ ३ गतेसम्म दलले मिलाएको बन्दसूची ठीक छ वा छैन भनी हेरिने आयोगले जनाएको छ । माघ ४ गते बन्दसूची प्रकाश गरिने छ । माघ २० गते अन्तिम सूची प्रकाशन गर्ने पनि प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

सय वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । समानुपातिकतर्पmको निर्वाचन प्रणालीमा भाग लिन दल दर्ता गराएका राजनीतिक दलले मात्र आज र भोलि बन्द सूचीतर्फका उम्मेद्वारको सूची पेस गर्न पाउने छन् । दलले ११ देखि ११० जनाको बन्दसूची बुझाउनुपर्छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन् । मतदाताले समानुपातिक र प्रत्यक्षको दुई वटा मतपत्रमा मतदान गर्छन् ।

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौँ, १४ पुसः सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक नीतिगत सुधारबारे बहस गरिएको छ ।

आज मानवअधिकार तथा सामाजिक रूपान्तरण अभियान नेपाल (काहुरास्ट) ले नेपालका सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरण गर्ने उद्देश्यसहित एल–टु–जी परियोजनाअन्तर्गत काहुरास्ट रिपोर्ट तथा समुदायको अभ्यास साझेदारी कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा मानवअधिकार तथा सामाजिक रूपान्तरण नेपालकी महासचिव मीना तिवारीले शिक्षा, स्वास्थ्य, अपाङ्गता र जलवायु परिवर्तनलगायत क्षेत्र समेटेर तयार पारिएको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अध्ययन सम्बन्धित समुदायले बुझ्ने सरल भाषामा सार्वजनिक गरिने जानकारी दिनुभयो ।

काहुरास्टका अध्यक्ष हुकुमप्रसाद पोख्रेलले सङ्घीय, प्रदेश तथा स्थानीय तहबाट सङ्कलित तथ्य तथा प्रमाणमा आधारित भएर अध्ययन तयार पारिएको स्पष्ट पार्दै प्रमाणमा आधारित बहसले सीमान्तकृत समुदायका वास्तविक समस्या उजागर गर्ने बताउनुभयो ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विकले राज्य प्रणालीका कमजोरी सच्याउन अध्ययनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । विभेद अन्त्यका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले दलित आयोग यस प्रक्रियामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पूर्वमन्त्री तथा नेत्री सत्य पहाडीले अधिकार कागजमा सीमित हुनु गम्भीर चुनौती भएको उल्लेख गर्दै पछाडि पारिएका समुदायका हकअधिकार कार्यान्वयनका लागि नीति निर्माणकर्तालाई झकझक्याउन आवश्यक रहेको धारणा राख्नुभयो ।

गैरसरकारी महासङ्घका अध्यक्ष अर्जुन भट्टराईले राज्यबाट प्रदान गरिएका सेवाको प्रभाव मूल्याङ्कन र अनुगमनमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

मानवअधिकार आयोगका सहसचिव टीकाराम पोखरेलले मानवअधिकार संरक्षणका लागि संस्थागत सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा हलिया, सन्थाल, मुसहर, मुक्तकमैयालगायत समुदायको अवस्थाका आधारमा लक्षित वकालत अघि बढाउन आवश्यक रहेकोमा समेत जोड दिइयो ।

सामाजिक अभियन्ता गौरा नेपालीले हलिया मुक्तिका लागि विनियोजन गरिएको सरकारी बजेट फ्रिज हुनु दुःखद् भएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

रिपोर्ट तयार पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका डा प्रेमबहादुर थापाले यस अध्ययनले नीति निर्माण र कार्यान्वयनमा ठोस आधार प्रदान गर्ने बताउनुभयो । उहाँले कार्यक्रममा प्राप्त सुझावलाई समेटी प्रतिवेदन परिमार्जन गरी सार्वजनिक गरिने जानकारी दिनुभयो ।

सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्छः उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताउनुभएको छ । आज यहाँ राष्ट्रिय दलित आयोगद्वारा आयोजित ‘पञ्चवर्षीय रणनीतिक योजना २०८२–२०८७’ तथा ‘नयाँ उजूरी व्यवस्थापन प्रणाली’ सार्वजनिकरण समारोहमा उहाँले न्याय, अवसर, समानता र समावेशिताको मार्गमा दलित समुदायको अधिकार थप सुदृढ गरिनुपर्नेमा जोड दिनुभयो ।

उपराष्ट्रपति यादवले रणनीतिक योजना दीर्घ दृष्टिअनुरूप तयार गरिने उल्लेख गर्दै यसले दलित समुदायका समस्या समाधानका साथै सभ्य र समुन्नत समाज निर्माणमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नयाँ उजुरी व्यवस्थापन प्रणालीको शुभारम्भले दलित समुदायका मुद्दा, गुनासा र अधिकारसम्बन्धी प्रश्नहरूलाई व्यवस्थित ढङ्गले सम्बोधन गर्ने मार्ग प्रशस्त गर्न सकोस् ।”

उपराष्ट्रपति यादवले आयोगको संस्थागत सुदृढीकरण, नीति तथा कानुनहरूको पालना, अनुसन्धानमा आधारित सुधार, जातीय भेदभाव तथा छुवाछूतमा कमी ल्याउने प्रयास, राज्यका सबै अङ्गमा दलित समुदायको सहभागिता सुनिश्चित गर्ने कार्य तथा अन्तरराष्ट्रिय सन्धि–सम्झौतामा सहकार्य र जवाफदेहिता जस्ता प्राथमिकतालाई अघि बढाउन रणनीतिक योजना सहयोगी बन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

“समाजमा विद्यमान विभिन्न कुरुती, विसङ्गति र विभेद हटाउन आयोग कटिबद्ध रहनुपर्ने आवश्यकता छ । साथै दलित–दलितबीचको विभेद हटाउन पनि आयोगले अग्रसरता देखाउनुपर्छ”, उहाँले भन्नुभयो,“यसका अतिरिक्त मधेसमा दलित–गैरदलितबीच उत्सव, चाडपर्व र महोत्सवमा देखिने सहकार्य र सहअस्तित्वलाई प्रचारप्रसार गर्न सके दलित समुदायप्रतिको सम्मान, सद्भाव र समरसता बढ्ने छ ।”

तराई–मधेसका दलितहरू अझै शिक्षा, स्वास्थ्य, राजनीति आदिमा सीमान्तकृत अवस्थामा रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई मूलधारमा ल्याउन आयोगले थप सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनः कैलालीमा १२ मतदान केन्द्र थप

अत्तरिया (कैलाली) – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि कैलालीमा १२ वटा मतदान केन्द्र थपिएको छ । विसं २०७९ को निर्वाचनको तुलनामा मतदाता सङ्ख्या बढेसँगै आगामी निर्वाचनका लागि मतदान केन्द्र थपिएको हो ।

विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा ६२९ मतदान केन्द्र रहेकामा आगामी निर्वाचनका लागि १२ मतदान केन्द्र थपिएर ६४१ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले जानकारी दिनुभयो । मतदानस्थल भने साविककै २३७ वटा रहेको उहाँले जानकारी दिनुभयो ।

मतदाता सङ्ख्या बढेसँगै मतदान केन्द्र थप भएको उहाँको भनाइ छ । जिल्लामा यस वर्ष १६ हजार ७०८ आठ मतदाता थपिएका कार्यालय प्रमुख भट्टले बताउनुभयो । उहाँका अनुसार अघिल्लो निर्वाचनमा जिल्लामा पाँच लाख ३४ हजार ३४४ मतदाता रहेका थिए । यस वर्ष पाँच लाख ५१ हजार ५२ मतदाता रहेका उहाँले बताउनुभयो । जसमध्ये, दुई लाख ८० हजार २४३ महिला, दुई लाख ७० हजार ७९८ पुरुष र ११ जना अन्य मतदाता रहेका छन् ।

पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा क्षेत्र नं १ मा एक लाख आठ हजार ४९१, क्षेत्र नं २ मा एक लाख सात हजार ७५७, क्षेत्र नं ३ मा एक लाख नौ हजार १२२, क्षेत्र नं ४ मा एक लाख १५ हजार १४३ र क्षेत्र नं ५ मा एक लाख १० हजार ५३९ मतदाता रहेका प्रमुख भट्टले जानकारी दिनुभयो ।

‘खेलकुद क्षेत्रको विकासका लागि एनओसी सक्रिय छ’ – अध्यक्ष श्रेष्ठ

काठमाडौँ – नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुद क्षेत्रको विकासका लागि आफ्नो संस्था सदैव सक्रिय भएर अगाडि बढेको बताउनुभएको छ । एनओसीको २१औँ साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले खेलकुदको नीतिनियममा रहेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै खेलकुद क्षेत्रभित्र रहेका विकृतिलाई उखेलेर फाल्नुपर्ने बताउनुभयो ।

खेलकुद क्षेत्रको विकासमा सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको भन्दै अध्यक्ष श्रेष्ठले एनओसीको विवादलाई समाधान गर्न राज्यले विशेष चासो देखाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका उपाध्यक्ष दीपक थापा, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी र खेल सङ्घका तर्फबाट बेसबल तथा सफ्टबल सङ्घका अध्यक्ष दीपक न्यौपाने शुभकामना व्यक्त गर्नुभयो ।

एनओसीका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको २१औँ साधारणसभामा महासचिव राजीव श्रेष्ठले सन् २०२५ मा सहभागी अन्तरराष्ट्रिय प्रतियोगिता तथा कार्यक्रमको प्रगति विवरण पेस गर्नुभयो । एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले सन् २०२६ मा हुने कार्यक्रमबारे जानकारी गराउनुभयो । त्यसअनुसार अबको वर्षमा चार ठूला अन्तरराष्ट्रिय प्रतियोगिता रहेका छन् ।

ती प्रतियोगिता जापानमा हुने एसियाली खेलकुद, साउदी अरेबियामा हुने एसियन इन्डोर मार्सल आट्स गेम्स, सेनेगलमा हुने युथ ओलम्पिक, चीनमा हुनेबीच गेम्स रहेको छ । यस्तै, ओलम्पिक सोलिडारिटी कोर्स, फन रन, लुम्बिनी पिस म्याराथन, स्पोर्टस कंग्रेस, ट्यालेन्ट हन्ट, अन्तरराष्ट्रिय ओलम्पिक डे र एनओसी अवार्डको पनि आयोजना हुनेछन् ।

सोही अवसरमा पूर्वखेलाडी तथा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक किरण वज्राचार्यको संयोजकत्वमा प्रिभेन्सन अन म्यानुपुलेसन अफ स्पोर्टस (पिएमसी) गठनका लागि प्रस्ताव गरिएको छ । साधारणसभाले जेनजी आन्दोलनमा सहिद हुनेलाई श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय खेलकुद परिषद्ले एसियाली खेलकुदमा सहभागी हुने गरेको निर्णयको स्वागत गरेको छ ।

यस्तै साधारणसभाले सातदोबाटोमा रहेको एनओसीको कार्यालय आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गरेको छ । कार्यक्रमले महासचिवको प्रगति विवरण, आर्थिक विवरण, वार्षिक बजेट र सन् २०२६ को कार्यक्रम पारित गरेको थियो । साधारणसभामा कुल २३ सङ्घका प्रतिनिधिको उपस्थिति रहेको थियो ।