`

हराएका प्राचीन महत्वका पूरातात्विक सम्पदा स्वदेश फिर्ता ल्याइयो

काठमाडौँ । पुरातत्व विभागले विभिन्न समयमा चोरी गरी विदेश पुर्‍याइएका प्राचीन महत्वका पर्शुरामको मूर्ति, टुँडाल र धार्मिक गाताचित्र बेल्जियमबाट फिर्ता ल्याइएको छ । चोरी भएका ती सम्पदा बेल्जियममा फेला परेपछि स्वदेशी तथा विदेशी सम्पदा अभियन्ताको सहयोगमा हालै स्वदेश फिर्ता ल्याएको हो ।

पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण रहेका ती सम्पदा कुन ठाउँबाट हराएको हो त्यसको माग दाबी परीक्षण गरेर सम्बन्धित मन्दिरमा पुनःस्थापना गरिने पुरातत्व अधिकृत सरिता सुवेदीले जानकारी दिइन् ।

नेपालबाट चोरिएका विभिन्न मूर्ति, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि विभागले प्रक्रिया चलाइन्छ । विदेशका विभिन्न सङ्ग्रहालयमा नेपालबाट हराएका मूर्ति फेला परेपछि सरकार, विभिन्न संस्था, अभियान्ता तथा विद्वानबीचको सहकार्यबाट सम्पदा फिर्ता ल्याउन प्रक्रिया सुरु गरिने जनाइएको छ ।

सन् १९५० देखि १९८० को दशकमा नेपाली सम्पदा हराएको अभिलेख विभागसँग रहेको अधिकृत सुवेदीले जानकारी दिइन् । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधान छ ।

विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशील सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् ।

काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमुना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कलाशैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ ।

बङ्गलादेशमा डेङ्गु सङ्क्रमणमा वृद्धि : जुन महिनामा एक हजार ७०० भन्दा बढी सङ्क्रमित

काठमाडाैँ। बङ्गलादेशमा आइतबार डेङ्गु सङ्क्रमित थप २२० व्यक्ति भेटिएको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई थप जनाको मृत्यु भएको रिपोर्ट छ । यससँगै यो वर्ष कुल डेङ्गु सङ्क्रमित सङ्ख्या चार हजार ९०० पुगेको छ भने मृत्यु सङ्ख्या नौ पुगेको छ।

स्वास्थ्य सेवा महानिर्देशनालयले आइतबार जारी गरेको तथ्याङ्कअनुसार मे महिनामा ७१४ व्यक्ति सङ्क्रमित रहेकोमा जुन महिनामा हालसम्म सङ्क्रमितको सङ्ख्या एक हजार ७०३ पुगेको छ।
नयाँ सङ्क्रमणको यो सङ्ख्या देशका केही भागमा यो महिनामा लामखुट्टेबाट लाग्ने यो रोगको द्रूत गतिमा रहेको वृद्धिको प्रवृत्तिलाई देखाउँछ ।

जुन–सेप्टेम्बरको मनसुन अवधिमा बङ्गलादेशमा डेङ्गु ज्वरोको मौसम मानिन्छ । बङ्गलादेश लामखुट्टेबाट सर्ने डेङ्गु रोगका लागि उच्च जोखिमपूर्ण राष्ट्र मानिन्छ ।बङ्गलादेशमा सन् २०२५ मा कूल एक लाख दुई हजार ८६१ जनामा डेङ्गुको सङ्क्रमण भएको थियो भने ४१३ जनाको डेङ्गुजन्य समस्याका कारण मृत्यु भएको थियो ।सन् २०२३ मा यहाँ एक हजार ७०५ डेङ्गुसम्बन्धी मृत्युहरू भएका थिए, जुन अहिलेसम्मकै सबैभन्दा उच्च वार्षिक मृत्यु सङ्ख्या हो ।

काभ्रेका विदुर दाहाल रास्वपा केन्द्रीय सदस्य पदको दौडमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) को केन्द्रीय सदस्य पदका लागि काभ्रेपलाञ्चोकका विदुर दाहालले उम्मेदवारी घोषणा गरेका छन्। खानीखोला गाउँपालिकामा जन्मिएका दाहाल लामो समयदेखि समाजसेवा, जनचासोका विषय तथा संगठन निर्माणमा सक्रिय रहँदै आएका छन्। पार्टी स्थापना कालदेखि नै रा.स्व.पा.मा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनले संगठन विस्तार, सदस्यता अभियान, जनसम्पर्क तथा पार्टी सुदृढीकरणका विभिन्न गतिविधिमा योगदान पुर्‍याएको बताइएको छ।

दाहालले २०७९ सालको निर्वाचन तथा २०८२ को निर्वाचन अभियानमा पनि संगठनात्मक जिम्मेवारी सम्हालेका थिए । व्यवस्थापन विषयमा स्नातक तहसम्म अध्ययन गरेका उनी व्यवसायिक रूपमा मोबाइल व्यवसायमा संलग्न छन्।

हाल बनेपा निवासी दाहाल सामाजिक उत्तरदायित्व, सुशासन, पारदर्शिता र जवाफदेहिताका पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताउँछन्। पार्टीको मूल्य–मान्यता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर सक्षम, समावेशी तथा उत्तरदायी संगठन निर्माण गर्ने उद्देश्यका साथ आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको उनको भनाइ छ। उनले आफ्नो चुनावी नाराका रूपमा ‘विश्वासको आधार, परिवर्तनको नेतृत्व’ तय गरेका छन्।

राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजनाको सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दग्नाम र झिँको सिमानामा पर्ने बाँधबाट पिप्लेस्थित तेस्रो अडिटसम्मको मुख्य सुरुङमा पानी भर्न थालिएको हो।

रघुगङ्गा हाइड्रोका प्रबन्ध सञ्चालक गणेश केसीले आयोजनाको निर्माण सकिएका भौतिक संरचनाको परिक्षण गर्नेक्रम जारी रहेको जनाउँदै छ किलोमिटर दुई सय ७० मिटर मुख्य सुरुङमा पानी भर्न थालिएको बताए। “पहिलो दिन एक हजार ६०० मिटर सुरुङमा पानी भरेका छौँ । करिब चार दिनमा सबै सुरुङमा पानी भरेर १५ दिनपछि सञ्चालन योग्य बनाउने कार्यतालिका छ”, उनले भने, “सात वर्षको प्रयासपछि यो आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका छौँ ।”

यसअघि बाँध, डिसेन्डर (पानी थिग्र्याउने पोखरी) र स्वीचयार्डको सफल परीक्षण भइसकेको आयोजनाले करिब १५ दिन सुरुङमा पानी भरेपछि कुनै समस्या नआएमा त्यसलगत्तै विद्युत्गृहमा रहेका २०/२० मेगावाट क्षमताका दुईमध्ये एक वटा युनिटबाट परीक्षणका लागि विद्युत् उत्पादनको तयारी गरिएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नम्बर ५ झिँको फेदीमा बाँध र दुई वटा पानी थिग्र्याउने पोखरीको परिक्षण भइसकेको छ । भौतिक संरचना र विद्युत्‌गृहका उपकरणको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्ने उनले बताए।

तिल्केनीचौरमा विद्युत्गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । २० मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्‌गृह परिसरमा निर्माण भएको स्वीचयार्ड गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले जानकारी दिए।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोशियट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६ गते) रु छ अर्बमा ठेक्का सम्झौता गरेको थियो । पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो। चौँथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्य अनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए।

कोरोना महामारी, बाढी, पहिरोलगायत प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए। भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग वि.सं. २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२ दशमलव ३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता भएको थियो।

भारतीय आयात निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एण्ड कन्ट्रयाक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो। पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोरअन्तर्गत २२० केभी (डबल सर्किट) क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ। चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ।

वित्तिय विष्लेषक निर्मल गौतम रास्वपाको खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै नेतृत्वका लागि उम्मेदवारको चर्चा र सरगर्मी ह्वात्तै बढेको छ।कतिपय आकांक्षीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने कतिपयको सम्भावित पदलाई लिएर पार्टीभित्र र बाहिर विभिन्न अडकलबाजी भइरहेका छन्।

यसैबिच सामाजिक कामदेखि युवा राजनीतिमा क्रियाशील निर्मल गौतमले रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् । लामो समय बैँक तथा वृत्तिय क्षेत्रमा अनुभव बटुलीसकेका गौतमले खुल्ला तर्फबाट केन्द्रिय समितिको सदस्य पदमा उम्मेद्धवारी दिने तयारी गरेका छन् ।

गौतमले सार्वजनिक सेवा, सुशासन र जवाफदेहिताको पक्षमा, दक्षतामा आधारित राजनीति,वित्तिय स्वायत्तता र आर्थिक विकेन्द्रिकरणका सवालमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् ।विभिन्न अभियान, नेतृत्व विकास तालिम, संवाद तथा अधिकारमुखी कार्यक्रममार्फत युवा नेतृत्वको विकास र लोकतान्त्रिक मूल्य मान्यताको प्रवद्र्धनमा उनी सक्रिय छन् ।

नेपालमा अधिकारमा आधारित विकासको बहस सान्दर्भिक बन्दै गइरहेका बेला युवा राजनीतिज्ञ गौतमलाई रास्वपाभित्र महत्त्वपूर्ण रूपमा हेरिएको छ। २३ वर्षकै उमेरमा ठुलो जिम्मेवारीका साथ साविकको कालिका माईक्रो क्रेडिट डेभलपमेन्ट बैंक लिमिटेड, स्याङ्जामा लेखा परीक्षण विभागको विभागिय प्रमुख भई आफुलाई उमेरले होइन कामले अब्बल भएको प्रमाणित गरे ।

योसंगै क्रमशः धौलागीरी लघुवित्त वित्तिय संस्था लिमिटेड, बागलुङ र ईन्फिनिटी लघुवित्त वित्तिय संस्था लिमिटेड, नवलपुरमा लेखा परीक्षण विभागको प्रमुख जिम्मेवारी तथा कम्पनि सचिवको भूमिका समेत कुशलता साथ सम्हालेको उनीसँग अनुभव छ । यसैबिच नेता गौतमले वित्तिय विष्लेषकका रुपमा २७ वटा सहकारीमा भएको ६० हजार बचतकर्ताको ११ अर्ब घोटालाको सफल छानबिन तथा पिडितको न्यायका लागि प्रतिवेदन समेत तयार गरी कानुनी कारवाहीका लागि समेत राय पेश गरेका छन् ।

एक सफल वित्तिय विष्लेषकका रुपमा गौतमले काम गर्ने क्रममा सहकारीले सृजना गरेको दुई अर्ब भन्दा बढी रकम करको दायरामा ल्याई कसुर आर्जित सम्पत्तिलाई सरकारको आयमा समेत बृद्धि गर्न उनले उल्लेखनिय भूमिका खेलेका छन् ।यसैबिच आईतबार रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनको उद्घाटन सम्पन्न भइसक्दा रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी कार्यतालिका अनुसार यही असार ८ गते दिउँसो १ बजेदेखि उम्मेदवारका लागि फारम वितरण सुरु गरिनेछ।सोही दिन दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। रास्वपा केन्द्रीय समितिको नेतृत्व चयनका लागि असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।निर्वाचन प्रणाली अनुसार पहिलो चरणमा केन्द्रीय सभापति र केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने पदाधिकारी चयनका लागि दोस्रो चरणमा मतदान प्रक्रिया अघि बढाइने निर्वाचन आयोगले जनाएको छ।

पार्टीले प्राप्त गरेको जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरूको आग्रह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना दिने अधिकांश नेताहरुले पार्टीले प्राप्त गरेको जनमत जोगाउन, आन्तरिक लोकतन्त्र सुदृढ गर्न र सुशासनको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सुझाव दिएका छन् ।

नेपाली कांग्रेस सभापति गगनकुमार थापाले राजनीतिक दलहरू जनमतको कदर गर्दै सत्ताको उन्माद र आन्तरिक अहंकारबाट मुक्त रहनुपर्ने बताए । “इतिहासमा राजनीतिक दलहरूले पाएको जनमत नेताहरूको अहंकार, आपसी टकराव र सत्ताको उन्मादका कारण पटकपटक दुर्घटनामा परेको छ । रास्वपाले यी दुवै अवस्थाको सामना गर्न नपरोस् र प्राप्त जनसमर्थनलाई सही ढङ्गले स्थिरताका निम्ति अगाडि बढाओस् ।”

नेपाली कांग्रेस र रास्वपाबीचको सम्बन्धलाई प्रष्ट पार्दै सभापति थापाले संसद्मा आफ्नो दल सशक्त प्रतिपक्षको भूमिकामा रहने उल्लेख गरे । उनले भने, “नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी संसद्मा प्रतिपक्षमा छौँ । जहाँ औँला ठड्याउनुपर्ने हो, त्यहाँ औंला ठड्याउँछौँ, जहाँ ताली बजाउनुपर्ने हो त्यहाँ ताली बजाउँछौँ ।”

पछिल्लो समय राजनीतिमा विगतलाई पूर्ण रूपमा नकार्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रजातन्त्रका लागि भएको ऐतिहासिक सङ्घर्षलाई भुल्न नहुनेमा जोड दिए। उनले भने, “चितवनमा निलो झण्डा फहराउँदै गर्दा विगत ३५ वर्षमा केही पनि भएन भनेर इतिहासलाई इन्कार नगर्नुहोला, तपाईंहरू जुन ठाउँमा उभिनुभएको छ, त्यहाँ मुनि प्रजातन्त्रका लागि लड्ने सहिदहरूको रगत र बलिदान जोडिएको छ । त्यो इतिहासलाई कसैले पनि बिर्सन मिल्दैन ।”

सभापति थापाले गरिबी, अज्ञानता, विभेद र अक्षमता नै देशको मुख्य दुश्मन भएको औँल्याउँदै यी साझा चुनौतीविरुद्ध र संविधान एवं व्यवस्थाको रक्षाका लागि रास्वपासँग सहकार्य हुने स्पष्ट पारे। उनले रास्वपाको स्थापनाको छोटो समयमै प्राप्त जनसमर्थनको प्रशंसा गर्दै महाधिवेशनको पूर्ण सफलताको कामनासमेत गरे ।

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले रास्वपाले छोटो समयमै हासिल गरेको राजनीतिक सफलता नेपाली इतिहासकै एउटा नयाँ क्रान्तिको कडी भएको बताए । उनले आफूले विगत १०–११ वर्षदेखि सुरु गरेको वैकल्पिक राजनीतिको अभियानको सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा रास्वपालाई लिएको स्पष्ट पारे । उनले आफूलाई सधैँ परिवर्तन र न्यायका पक्षमा उभिने एक निरन्तर विद्रोहीको रूपमा प्रस्तुत गर्दै आफ्नो सारा जीवन यसैमा सुम्पिएको उल्लेख गरे ।

रास्वपाको उदयलाई लिएर पुराना राजनीतिक दलहरूले वैदेशिक शक्तिको हात रहेको भनी लगाउने गरेको ‘षड्यन्त्र सिद्धान्त’ को खण्डन गर्दै उनले भने, “मेरा पुस्ताका साथीहरूलाई ठूलो भ्रम छ । उहाँहरू खाली यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भनेर कथा बुनेर बस्नुभएको छ । तर मेरो स्पष्ट धारणा के छ भने, समाज बदल्न हिँडेका युवा सधैँ सत्य र न्यायका पक्षमा उभिनुपर्छ र तपाईंहरू उभिनुभएको छ ।” रास्वपाले आन्दोलन र सङ्घर्षबाट मात्र नभई आधुनिक विज्ञान र प्रविधिको प्रयोग गरी जनताको मन जितेर यो ऐतिहासिक सफलता हासिल गरेको उनको भनाइ थियो ।

आफ्नो आलोचना गर्नेहरूलाई जवाफ दिँदै डा भट्टराईले भने, “कतिपयले मलाई सोध्छनु के ललिपप पाएर यो उमेरमा रास्वपाको महाधिवेशनमा गएको रु म सारा जीवन मर्न तयार भएको मान्छे, मलाई केको ललिपप रु तपाईंहरूकै सद्भावले म मुलुकको प्रधानमन्त्री भइसकेको मान्छे हुँ, मलाई कुनै ललिपप चाहिँदैन, म त नेपाली जनता र युवा पुस्ताले देशमा सुशासन र समृद्धि पाएको हेर्न चाहन्छु ।”

राजनीतिक क्रान्तिलाई एउटा ‘रिले दौड’का रूपमा व्याख्या गर्दै पूर्वप्रधानमन्त्री डा भट्टराईले पहिलो पुस्ताका टङ्कप्रसाद आचार्य, पुष्पलालहरूले सुरु गरेको क्रान्तिलाई आफ्नो पुस्ताले गणतन्त्र र संविधानसभासम्म पु¥याएको र अब देशलाई सुशासन र समृद्धिको शिखरमा पु¥याउने जिम्मेवारी रवि लामिछाने र वालेन्द्र शाहको नयाँ पुस्ताको काँधमा आएको बताए । उनले रास्वपाको नयाँ नेतृत्वले आगामी पूरा पाँच वर्षको कार्यकाल दृढताका साथ पूरा गर्नुपर्नेमा जोड दिए ।

नेकपा ९एमाले० का नेता प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को काँधमा देश र लोकतन्त्रलाई सुदृढ बनाउने ऐतिहासिक जिम्मेवारी आएको बताए। यो महाधिवेशनले केबल नयाँ नेतृत्व मात्र चयन नगरी पार्टीको स्पष्ट राजनीतिक नीति, सिद्धान्त र मार्गचित्र तय गर्नुपर्नेमा उनले जोड दिए । “रास्वपा राष्ट्रिय राजनीतिमा कुन स्थानमा उभिन्छ भन्ने कुराभन्दा पनि यसले संविधानवाद, विधिको शासन, मौलिक अधिकार, सामाजिक न्याय र उत्तरदायी राज्यको अवधारणालाई कसरी अगाडि बढाउँछ भन्ने कुरा महत्त्वपूर्ण रहन्छ”, उनले भने

छोटो समयमा रास्वपाले प्राप्त गरेको जनमतलाई विश्व इतिहासका विभिन्न सन्दर्भसँग जोड्दै नेता ज्ञवालीले जनादेश पाउनु जत्तिकै महत्वपूर्ण त्यसको सही सदुपयोग गर्नु रहेको बताए । इतिहासमा जनमतको सही सदुपयोग र दुरुपयोगका फरकफरक दृष्टान्त रहेको उल्लेख गर्दै उहाँले रास्वपाले इतिहासका गलत शिक्षाहरूबाट सिकेर जनताको अनुहारमा उज्यालो ल्याउने गरी अघि बढ्नुपर्ने सुझाव दिए ।

लोकतन्त्रमा ‘चेक एण्ड ब्यालेन्स’को ठूलो भूमिका हुने चर्चा गर्दै उनले न्यायालय, राष्ट्रपति र संसद्जस्ता राज्यका मुख्य संस्था सधैँ बलियो हुनुपर्ने तथा जनताका आलोचनात्मक स्वरहरूलाई सम्मान गरिनुपर्ने धारणा राखे । उनले रास्वपाभित्र काम गर्ने तीव्र हुटहुटीसँगै आवश्यक संयम र कानुनी सन्तुलन कायम रहन सकोस् भन्दै महाधिवेशनको पूर्ण सफलताको कामना गरे ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य वर्षमान पुनले थिति बसाल्न चालिने जुनसुकै कदम पनि विधिसम्मत र संविधानको दायराभित्र हुनुपर्ने बताएका छन् । उनले सुशासन र भ्रष्टाचार नियन्त्रणको अभियानमा आफ्नो पार्टी र रास्वपाबीच कार्यगत सहकार्य रहँदै आएको उल्लेख गरे ।

पुनले भने, “भ्रष्टाचार र विकृति अन्त्य तथा सुशासनको एजेन्डामा हामी सँगै थियौँ, छौँ र रहनेछौँ । यस सन्दर्भमा एउटा सुझाव र आग्रह छ, थिति बसाल्न चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोऊन् भन्नेमा तपाईंहरूको पर्याप्त ध्यान पुग्ने नै छ ।” उनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका मुद्दामा दुवै शक्तिबीच निकटता रहेको दाबी गरे। “हामी दुवै शक्तिले निरन्तरतालाई क्रमभङ्ग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौँ,” उनले भने, “सुशासनको एजेन्डामा नेपाली कम्युनिष्ट पार्टी र रास्वपाको जतिको निकट सहकार्य सायद अरूका बीचमा भएको छैन ।”

सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्र विभिन्न ऐतिहासिक आन्दोलन र सहिदहरूको बलिदानको जगमा स्थापना भएको स्मरण गर्दै उनले वर्तमान राजनीतिक प्रणालीप्रति रास्वपाबाट अझ उच्च तहको प्रतिबद्धताको अपेक्षा गरिएको बताए । पहिलो पटक देशव्यापी रूपमा पूर्ण सङ्गठनको आकारमा जान लागेको रास्वपाको यस महाधिवेशनले पार्टीमाथिका विविध प्रश्न, आरोप र आशङ्काहरूलाई मेट्दै वैचारिक तथा सङ्गठनात्मक स्पष्टता प्रदान गर्ने विश्वाससमेत नेता पुनले व्यक्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा विद्यमान समस्या नेताहरूमा मात्र नभई वर्तमान संविधान र संवैधानिक व्यवस्थामा समेत रहेको दाबी गरे । समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशलाई सही निकास दिन राजनीतिक प्रणालीमै परिमार्जन आवश्यक रहेको औँल्याए ।

उनले भने, “इतिहासले तपाईंहरूलाई एउटा यस्तो विशिष्ट अवसर दिएको छ, जुन कुनै पार्टी वा व्यक्तिको जीवनमा बारम्बार आउँदैन । यदि यो अवसर चुक्यो भने, यसले तपाईंको पार्टीलाई मात्र होइन, सिङ्गो देशलाई नै ठूलो धोका हुनेछ ।”

जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले मुलुकको समृद्धि र परिवर्तनका लागि राजनीतिक दलहरू सङ्कुचित दायराभन्दा माथि उठ्नुपर्ने बताए । उनले महाधिवेशनहरू केबल नयाँ नेतृत्व चयन गर्ने थलो मात्र नभई राष्ट्रिय राजनीति र जनअपेक्षालाई मार्गनिर्देश गर्ने कडी भएको उल्लेख गरे ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम ऐतिहासिक महाधिवेशन केवल एउटा राजनीतिक भेला मात्र नभएर ‘क्रान्तिको महोत्सव’ भएको बताए । उनले देशभरिका ७७ वटै जिल्लाबाट अनेकन् कष्ट, ऋण र भोक सहेर पनि हजारौँ युवा भरतपुर ओर्लनु पद वा प्रतिष्ठाका लागि नभई देश बदल्ने एउटा साझा जुनुन र आर्थिक समृद्धिको चाहनाका कारण भएको उल्लेख गरे ।

कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु

विराटनगर । कोशी प्रदेशसभाको आइतबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सुरु भएको छ।

बैठकमा कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमान माथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा प्रस्ताव गरे । छलफलमा कोशी प्रदेशसभा सदस्य सपना दर्जीले सरकारले प्रस्तुत गरेको बजेटले वितरणलाई बढाव दिएको प्रतिक्रिया दिइन्।

बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(एमाले) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट रामबहादुर रानामगरले मनसुनको प्रारम्भमा नै मेची राजमार्गमा आएको समस्यामा सरकारको ध्यानाकर्षण गराए। उनले इलामदेखि माथि मेचीराजमार्गमा आएको अवरोधप्रति सरकारले वैकल्पिक उपाय अपनाउनुपर्ने माग गरे।

सदस्य मगरले विपद् व्यवस्थापन र भौतिक निर्माणमा सरकारले विगतदेखि अपनाउँदै आएको नीति तथा अभ्यासमा परिमार्जन गर्नुपर्ने सुझाव दिँदै असार ४ गते राति कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीको निवासमा प्रहरीद्वारा भएको खानतलासीको निन्दा गरे। उनले प्रहरीको यो शैली र प्रयोग राम्रो होइन भन्दै यस सम्बन्धमा छानबिन हुनुपर्ने माग गरे।

सदस्य रानाले नेपाली चियालाई निरुत्साहित बनाउन भारतीय बजारमा भएको रबैयाप्रति सरकारले समयमै ठोस कदम चाल्नुपर्ने धारणा राखे। उनले संवैधानिक अङ्ग आफ्ना अधिकार र क्षेत्रभित्र रही काम गर्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गोपाल तामाङले झापाको बाहुण्डाँगी क्षेत्रमा दिनप्रतिदिन जङ्गली हात्तीको समस्या बढ्दै गएकाले यसप्रति सरकार गम्भीर बत्रुपर्ने धारणा राखे।

उनले अहिले जङ्गली हात्तीका कारण सो क्षेत्रका जनता आन्दोलित रहेको जानकारी दिँदै हात्तीलाई उचित व्यवस्थापन एवं बाटो पहिल्याउन दक्ष जनशक्तिको व्यवस्था हुनुपर्ने बताए।

बर्सेनि हुने जनधनको क्षतिबाट जोगाउन भारतबाट आउने जङ्गली हात्तीलाई धपाउन रबर गोली प्रयोग गर्न स्वीकृति दिनुपर्ने भन्दै सदस्य तामाङले हात्तीबाट पीडित जनतालाई न्याय दिन माग गरे।

नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले आगामी बजेटमा सिँचाइ र खानेपानीका निम्ति सरकारले गरेको विनियोजन सराहनीय रहेकाे भन्दै सरकार पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा चुकेको प्रतिक्रिया दिए। उनले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पराजुलीको विराटनगर स्थितको निवासमा प्रहरीले मारेको छापाको निन्दा गर्दै यस सम्बन्धमा छानविन हुनुपर्ने धारणा राखे।

राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपालबहादुर विश्वकर्माले एकता गरेर बसेको हाम्रो समाजलाई वर्गीकरण गरेर विभाजित गरेको बताउँदै भ्रातृत्व, मेलमिलाप, सद्भावबाट नै नेपाली समाज बलियो हुने धारणा राखे। उनले निहीत स्वार्थका लागि संस्कृति र संस्कार माथि खेलबाड गर्न नहुने भन्दै मेची राजमार्गमा तत्काल देखिएका समस्याप्रति सरकार गम्भीर बन्नुपर्ने कुरामा जोड दिए।

कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड

कर्णाली । कर्णाली प्रदेश सरकारले समावेशी, न्यायपूर्ण र समतामूलक समाज निर्माणका लागि समाज कल्याण र सामाजिक विकासमा आधारित बजेटमा बजेटमा जोड दिएको छ। प्रदेश सरकारले आगामी आव २०८३/८४ को बजेटमा दलित, अल्पसङ्ख्यक, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न समुदायको सशक्तीकरणमा विशेष जोड दिएको हो।

सामाजिक सुरक्षा र संरक्षणका कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैङ्गिक समानता, सामाजिक समावेशीकरण तथा मानव अधिकार प्रवर्द्धन गर्ने उक्त बजेट वक्तव्यमा उल्लेख छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले सामाजिक विभेद्, हिंसा, कुप्रथा र बहिष्करणका सबै स्वरुप अन्त्य गर्न लक्षित कार्यक्रम सञ्चालन गरिने बताए।

समुदायमा आधारित समाज कल्याण कार्यक्रममार्फत सामाजिक सद्भाव, नागरिक सहभागिता र सामुदायिक सशक्तीकरणलाई प्रोत्साहन गरिएको उनले जानकारी दिए । समाजमा हेपिएको, चेपिएको र उपेक्षामा परेको दलित समुदायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गरी पेसाको आधुनिकीरकरण तथा व्यवसायीकरणमार्फत जीविकोपार्जन, आर्थिक उन्नति, सामाजिक प्रतिष्ठा एवं सम्मान अभिवृद्धि गर्न आगामी आवमा ‘मुख्यमन्त्री दलित आयआर्जन’ कार्यक्रमका लागि रु १२ करोड विनियोजन गरिएको आर्थिकमन्त्री शाहले बताए।

महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र राउटेलगायत लोपोन्मुख तथा सीमान्तकृत वर्ग र समुदायलाई सशक्तीकरणमार्फत मूलप्रवाहमा ल्याउन सीप तथा रोजगारमूलक तालिम र प्रविधि हस्तान्तरण सञ्चालन गर्न आवश्यक बजेट छुट्याएको छ । अपाङ्गता रोकथाम र पुनःस्थापनका लागि अपाङ्गता साझेदारी कार्यक्रम सञ्चालन गर्न रु एक करोड बजेट विनियोजन गरिएको मन्त्री शाहले बताए।

उनका अनुसार लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको उद्धार, संरक्षण र पुनःस्थापनका लागि अल्पकालीन सेवा केन्द्रलाई प्रदान गरिँदै आएको सहयोगलाई निरन्तरता दिँदै दीर्घकालीन पुनःस्थापनामा अनुदान उपलब्ध गराउन आवश्यक बजेटको व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकका सहज, सरल र सम्मानपूर्ण जीवनयापनका लागि वृद्धाश्रम तथा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलगायतका कल्याणकारी संस्था सञ्चालन तथा भौतिक संरचना निर्माण जोड दिइएको छ ।

कर्णालीलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेशका रूपमा विकास गर्न मानव सेवा आश्रम, प्रशान्ति वृद्धाश्रमलगायत सङ्घसंस्थालाई सेवा सङ्ख्याका आधारमा अनुदान तथा प्रोत्साहन गर्ने व्यवस्थामा निरन्तरता दिँदै वीरेन्द्रनगरमा सञ्चालित मानवसेवा आश्रमको पूर्वाधार निर्माणका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।

बालबालिकाको संरक्षण र विकासका लागि बालबालिकासम्बन्धी प्रादेशिक नीति तथा कानुन तर्जुमा र कार्यान्वयन गरी बालमैत्री शासन पद्धति स्थापितका निम्ति जोखिममा रहेका, विशेष संरक्षण तथा वैकल्पिक स्याहारको आवश्यक भएका बालबालिकाको उद्धार, संरक्षण, पालनपोषण, शिक्षा, पुनःस्थापना र पारिवारिक पुनर्मिलन सहयोग कार्यक्रमलाई पनि सरकारले निरन्तरता दिएको उनले बताए।

मन्त्री शाहका अनुसार हिंसापीडित, एकल महिला, द्वन्द्वपीडित तथा सन्ताको शिक्षाका लागि अस्थायी आवास गरिरहेका आमाको सीप विकास, आश्रय व्यवस्थापन तथा जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरिएको छ। प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको मूलप्रवाहीकरण नीति कार्यान्वयन गरी उनीहरुको जनसङ्ख्या संरक्षण, मौलिक पहिचान जोगाउने र आधुनिक समाजसँग जोड्ने योजना अगाडि बढाएको छ।

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकाेप्टरमार्फत उद्धार

सङ्खुवासभा। अत्यधिक रक्तश्राव भएकी एक सुत्केरीको हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ। अत्यधिक रक्तश्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरिएको हो।

परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए।

आइतबार बिहान जिल्ला अस्पतालमा शल्यक्रिया गरिएकी सुत्केरी परियारलाई अत्यधिक रक्तश्राव भएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा. सन्तोश देवले जानकारी दिए।

शल्यक्रिया प्रश्चात अत्यधिक रक्तश्राव भएर स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह सिफारिस गरे पनि खराब मौसमका कारण विराटनगर लगिएको प्रहरीले जनाएको छ।

अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु भएको कतारले गर्‍यो पुष्टि

अमेरिका र इरानबीच मध्यपूर्वको युद्धको स्थायी अन्त्यका लागि लक्षित वार्ता आइतबार स्विट्जरल्याण्डमा सुरु भएको मध्यस्थकर्ता कतारले पुष्टि गरेको छ ।

कतारको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् जनाएको छ, “‘लेक लुसर्न समिट’को सुरुवात र उच्च–स्तरीय समितिको पहिलो बैठक अमेरिका, इस्लामिक गणतन्त्र इरान र दुई मध्यस्थकर्ता राष्ट्र, कतार र पाकिस्तानका प्रतिनिधिहरूको सहभागितामा’ सुरु भएको छ।”

इन्धन उत्पादनका लागि सम्पन्न कतारले अगाडि भनेको छ, “कतारले यी बैठकहरूले अमेरिका र इरानबीच भएको ‘समझदारी पत्र’ मा उल्लेखित सबै पक्षहरूलाई सम्बोधन गर्ने व्यापक र स्थायी सम्झौतातर्फ नेतृत्व गर्नेछन्।” उक्त सहमतिको घोषणा गत हप्ताको बिहीबार अमेरिका र इरानबीच हस्ताक्षर भएको समझदारी पत्रमा उल्लेख गरिएको थियो ।

अमेरिका–इरान वार्ताका लागि पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्विट्जरल्याण्डमा

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफ र सेना प्रमुख फिल्ड मार्शल सैयद असिम मुनीर अमेरिका–इरान समझदारीपत्र (एमओयू) कार्यान्वयनसम्बन्धी उच्चस्तरीय वार्तामा सहभागी हुन आइतबार स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्ट पु को छ ।

पाकिस्तानको सरकारी टेलिभिजनका अनुसार पाकिस्तानी प्रतिनिधिमण्डलले वार्ताका क्रममा अमेरिकी, इरानी तथा कतारी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्राविधिक तहको वार्ता छिट्टै सुरु हुने र सोमबारसम्म जारी रहन सक्ने जनाइएको छ । यद्यपि छलफलका लागि कुनै औपचारिक समयसीमा तोकिएको छैन ।

प्रतिवेदनअनुसार समझदारी पत्रको कार्यान्वयनलाई अगाडि बढाउन तथा बाँकी रहेका विषय टुङ्ग्याउन आवश्यकताअनुसार वार्ता जारी रहनेछ ।

उक्त वार्ता अमेरिका र इरानबीच हालै हस्ताक्षर भएको समझदारी ज्ञापनपत्रको कार्यान्वयन प्रक्रियालाई केन्द्रमा राखेर हुन लागेको हो ।

रास्वपाको महाधिवेशनमा छिमेकीसहित वाह्य देशका पार्टीहरुको शुभकामना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनका अवसरमा भारतीय जनता पार्टीलगायत विश्वका विभिन्न पार्टी र राजनीतिक दलले शुभकामना सन्देश पठाएका छन् ।

चितवनको भरतपुरमा जारी महाधिवेशनको उद्घाटनसत्रमा परराष्ट्रमन्त्री एवं रास्वपाका नेता शिशिर खनालले ती शुभकामना सन्देश वाचन गरेर सुनाए ।

भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नीतिन नवीन, चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख, इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (आइसिएपिपी), सत्तारुढ भुटान, बङ्गलादेश, मलेसिया, दक्षिण कोरियाका पार्टीलगायतले शुभकामना दिएको मन्त्री खनालले जानकारी गराए । ती सन्देशमा नेपालको स्थिरत, विकास र समृद्धिका लागि रास्वपाले पाएको अभिमतको प्रशंसा गर्दै आपसी सम्बन्ध र सहकार्यवृद्धिमा जोड दिइएको छ ।

पानीको अभावले मर्चवार लिफ्ट सिँचाइ सञ्चालनमा समस्या

देवदह (रुपन्देही) – तिनाउ नदीमा पानीको सतह घटेपछि मर्चवार लिफ्ट सिँचाइ आयोजनाको पम्पस्टेसन सञ्चालनमा समस्या भएको छ । रोपाइँका साथै कतिपय स्थानमा बीउ राख्ने समयमा नदीमा पर्याप्त पानी नहुँदा सिँचाइ सेवा प्रभावित बनेको हो ।

मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाका अध्यक्ष राजेन्द्र यादवका अनुसार लामो समयदेखि वर्षा नहुँदा तिनाउ र दानव नदीमा पानीको सहत घट्दै गएपछि समस्या भएको हो । नदीमा पानीको सतह पम्पले पानी तान्न मिल्ने न्यूनतम स्तरभन्दा तल झरेपछि नियमित सिँचाइ सेवा पु¥याउन कठिनाइ भएको उहाँले बताउनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, “रोपाइँ सुरु भइसकेको छ । किसान सिँचाइका लागि मर्चवार लिफ्ट आयोजनामा निर्भर छन् । तर, नदीमा पर्याप्त पानी नहुँदा पम्प नियमित सञ्चालन गर्न समस्या भइरहेको छ । पाँच वटा पम्प जडान भए पनि पानीको अभावका कारण हाल तीन वटा पम्प मात्र सञ्चालनमा छन् ।” उहाँका अनुसार दानव नदीबाट बग्ने पानीलाई रोक्न कम्तीमा पाँच फिट उचाइको बाँध (ड्याम) निर्माण गर्न सके नियमित रूपमा पानी आपूर्ति गर्न सहज हुनेछ ।

पम्पस्टेसन प्रबन्धक अकरम खानले नदीको पानी आयोजनाको डिजाइनअनुसार तोकिएको न्यूनतम स्तरभन्दा करिब एक दशमलव पाँच मिटर तल झरेको जानकारी दिनुभयो । यस्तो अवस्थामा पम्प सञ्चालन गर्दा मोटर तथा अन्य उपकरणमा क्षति पुग्ने जोखिम बढेकाले चलाउन नसकिएको उहाँको भनाइ छ ।

“विद्युत् आपूर्ति र उपकरणको अवस्था राम्रो छ । तर, पानीको अभावका कारण लामो समयसम्म मोटर चलाउँदा उपकरण बिग्रिन सक्ने सम्भावना भएकाले सावधानी अपनाउनुपरेको हो”, खानले भन्नुभयो । हाल तिनाउ नदीका विभिन्न भागमा पानी सुकेर घाँस उम्रिन थालेको छ । नदी किनारका जमिन चिरा पर्न थालेका छन् भने बीच भागमा बालुवा र माटो देखिन थालेको छ । यस्तो अवस्थाले सिँचाइमा मात्र नभई समग्र कृषि उत्पादनमा समेत गम्भीर असर पार्ने सङ्केत देखिएको उहाँले बताउनुभयो ।

यसैबीच, रोपाइँका समयमा पर्याप्त पानी नपाउँदा किसान चिन्तित बनेका छन् । कतिपय किसानले रोपेको धान सुक्ने डर व्यक्त गरेका छन् भने केहीले अझै रोपाइँ सुरु गर्न सकेका छैनन् । आकाशे पानीको भरमा बसेका किसानहरू दिनहुँ वर्षा हुने आशामा आकाशतिर हेर्न बाध्य छन् ।

मर्चवार क्षेत्रको कृषि उत्पादन मुख्यतः उक्त सिँचाइ आयोजनाको पानीमा निर्भर छ । यदी पानीको अभाव हुँदै गएमा धान उत्पादनमा कमी आउने र किसानहरूले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना हुनसक्ने स्थानीय हृदयराम गुप्ताले बताउनुभयो ।

स्थानीय बासिन्दाका अनुसार मर्चवार लिफ्ट सिँचाइ आयोजनाले खेतीपातीका साथै भू–जलको सतह सन्तुलित राख्न समेत महत्वपूर्ण भूमिका खेलेको छ । आयोजनाबाट पर्याप्त पानी आपूर्ति हुन नसके भविष्यमा खानेपानीको स्रोतमा समेत असर पर्नसक्ने भन्दै स्थानीयहरूले चिन्ता व्यक्त गरेका छन् ।

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै रु १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै रु १३ लाख ३० हजार, सुक देवले सर्विया पठाइदिन्छु भन्दै रु १३ लाख, मनिषले युके पठाइदिन्छु भन्दै रु दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै रु दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै रु १२ लाख ६३ हजार लिएर सम्पर्कबिहीन भएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताए ।

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

रसुवा – स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबीचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तरराष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो ।

उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ । यसअघि पनि उक्त सडक चीन सरकारले निर्माण गरिदिएको सडक विभागले जनाएको छ ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको आयोजनाका स्थलगत अनुगमनकर्ता एवं इञ्जिनियर कुमार पराजुलीले बताउनुभयो ।

नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो आयोजना नेपाल–चीन सहकार्यको अर्को महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको उहाँको भनाइ छ ।

इञ्जिनियर पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ ।

कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरु भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङमा केही ढिलाइ भइरहेको उहाँले जानकारी दिनुभयो ।

गत पुसदेखि सुरु भएको स्तरोन्नति हालसम्म करिब सात प्रतिशत काम भएको आयोजनाले जनाएको छ । निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताउनुभयो ।

“नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरिसकेको छ । तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति समयमा प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको छ”, उहाँले भन्नुभयो ।

करिब १६ किलोमिटर लम्बाइ रहेको स्याफ्रुबेँसी–रसुवागढी खण्डको स्तरोन्नति सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ । सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल–चीनबीचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

यसैबीच टिमुरे क्षेत्रमा विसं २०६५ मा अधिग्रहण गरिएको सडकको दायाँबायाँको क्षेत्रभित्र स्थानीय बासिन्दाले पुनः घरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजना कार्यालयले जनाएको छ ।

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको थियो । विशेष गरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखोलगायत क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नति कार्यलाई थप प्राथमिकता दिइएको इञ्जिनियर पराजुलीले उल्लेख गर्नुभयो ।

नेपाल र चीनबीचको शताब्दीयौँ पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सडक स्तरोन्नतिसँगै रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने स्थानीय तथा सरोकार भएकाहरूले विश्वास व्यक्त गरेका छन् ।

आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले आगामी चुनावमा पुरानै नभई नयाँ एजेण्डा लिएर जाने बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने हामीले यही कार्यकालमा सुकुमबासी र सहकारी ठगीसम्बन्धी समस्या समाधान गर्छौँ । आगामी चुनावमा यही ‘एजेण्डा’ बोकेर जाँदैनौँ, अब नयाँ एजेण्डा लिएर जान्छौँ

रिष्ठ नेता शाहले पार्टीको महाधिवेशनमा गुट उपगुट बनाउने पुराना पार्टीका अभ्यासलाई रास्वपाले स्थान नदिने बताए । “राम्रो नेता र राजनीतिज्ञ बन्नलाई जनताको माया जित्नुपर्छ, कुनै समूहको मायाले हुँदैन, समूह बनाउनेतर्फ नलाग्नुहोला, त्यो बिउ अहिले नै नरोप्नु, कि भोलि त्यो रुख बनेर बीचबाट फाँड्नु नपरोस् । हामीले पुरानाहरुबाट यो सिक्नुपर्छ”, उनले भने

उनले रास्वपा नयाँ पार्टी भएकाले नयाँ सोचका साथ अघि बढेको स्पष्ट पारे ।

रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन- प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाहले वर्तमान सरकार ‘एक्स्प्रेस’ गाडी भएकाले गन्तव्यमा पुगेपछि मात्रै राकिने बताएका छन् ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले कतिपय राजनीतिक पार्टीहरुले सरकारको गति अनियन्त्रित हुने त होइन भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै भने, “हाम्रो सरकार ‘एक्स्प्रेस वे’मा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर ब्रेक लाग्छ, अनियन्त्रित छैन ।”

महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिने क्रममा केही राजनीतिक दलका नेताले दिएको सुझावलाई पार्टीले गम्भीर रुपले लिएको जनाउँदै प्रधानमन्त्री शाहले अहिलेको जनमतलाई स्वीकार गर्न आग्रह गर्नुभयो । रास्वपाको वैचारिक दृष्टिकोणका बारेमा चिन्ता नलिन आग्रह गर्दै उनले रास्वपा विकासवादी पार्टी भएको बताए । “रास्वपा काम गर्ने पार्टी हो, प्रतिशोध साँध्ने पार्टी होइन, पुराना कुरालाई लिएर निहुँ खोज्ने पार्टी होइन”, उनले भने ।

सरकारी सम्पत्ति र रकम दोहन भएको अवस्थामा विद्यमान सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने उनको भनाइ थियो । प्रधानमन्त्री शाहले भने, “सरकारले नियमकानुन मिच्दैन, नियममै बसेर काम गर्छ, नियमभन्दा बाहिर जाँदैन, हामी निहुँ खोज्ने पार्टी होइन ।”

फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब,

युरोपका केही भागमा बढिरहेको भीषण गर्मीको सामना गर्न फ्रान्सले आइतबार आपतकालीन सेवा र सेनालाई जङ्गली आगो (डढेलो) को खतरासम्बन्धी चेतावनी जारी गरेको छ । सार्वजनिक स्थलहरूमा रक्सी पिउन प्रतिबन्ध लगाएको छ र केही खुला आकाशमा खेलिने खेलकुद कार्यक्रमहरू रद्द गरेको छ ।

आइतबार फ्रान्सको करिब एक तिहाई भागमा राष्ट्रिय मौसम सेवाको ‘तापक्रम वृद्धिसम्बन्धी खतरा’ को चेतावनी जारी गरिएको छ । पूरै देशमा अत्यधिक गर्मी छ । केही क्षेत्रमा आइतबार तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । सोमबार अझ बढी गर्मी हुने अनुमान गरिएको छ ।

जोखिम घटाउन राष्ट्रिय तथा स्थानीय अधिकारीहरूले विभिन्न उपायहरू अपनाएका छन् । भीडलाई चिसो राख्न एफेल टावर र पेरिसका अन्य स्थानहरूमा ‘मिस्टिङ स्टेसन’ (चिसोको फोहोरा छोड्ने मेसिन) जडान गरिएको छ ।

चार वर्षमा दूई लाखभन्दा बढीको गर्मीजन्य समस्याबाट मृत्यु

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) को युरोप कार्यालयले पछिल्ला चार वर्षमा युरोपमा गर्मीसम्बन्धी कारणले दुई लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बताएको छ । सङ्गठनले यीमध्ये धेरैजसो मृत्यु रोक्न सकिने थिए भनेको छ । यो गर्मीमा औसतभन्दा बढी तापक्रम रहने अपेक्षा छ, जसले गर्मीबाट अत्यधिक थकान र घातक ‘हीट स्ट्रोक’ (लू लाग्ने) हुन सक्छ ।

देशहरूलाई गर्मीबाट बच्न योजना लागू गर्न सुझाव

डब्ल्युएचओको युरोप कार्यालयले देश तथा संस्थाहरूलाई देशहरूलाई गर्मीबाट बच्न योजना (हिट प्लान) लागू गर्न आग्रह गरेको छ । कर्मचारीहरू दिउँसोको तीव्र घामबाट बच्न सकून् भनी शीतल क्षेत्रको निर्माण गरी कामको बीचबीचमा यसको उपयोग गराउने, आराम दिने वा लचकतापूर्ण कामको समय सुरु गर्ने व्यवस्थाको थालनी गर्न सुझाब दिएको छ ।

आइतबार फ्रान्समा हुने वार्षिक ‘म्युजिक दिवस’ अधिकारीहरूका लागि विशेष चिन्ताको विषय बनेको छ । गर्मीको सबैभन्दा लामो दिन (समर सोल्स्टिस) को अवसरमा आयोजित यो देशव्यापी उत्सवमा गाउँका चोक र पेरिसका क्लबहरूमा हजारौँ कन्सर्टहरू हुन्छन्। यसमा ठूलो सङ्ख्यामा विदेशी पर्यटकहरू पनि आउँछन्।

रक्सीमा नियन्त्रणको आदेश

सरकारले इमर्जेन्सी सेवाहरूमाथि दबाब कम होस् र चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति सबैभन्दा कमजोर व्यक्तिहरूको हेरचाहमा ध्यान केन्द्रित गर्न सकोस्।म्युजिक डे कार्यक्रमका आयोजकहरूलाई रक्सीको प्रयोग सीमित गर्न आदेश दिएको छ।

अधिकारीहरूलाई विशेष रूपमा गर्मीमा सडकमा बसिरहेका मानिसकासाथै नर्सिङ होममा रहेका वा घरमा एक्लै बस्ने वृद्धहरूको। वर्ष २००३ मा आएको भीषण गर्मीमा करिब १५ हजार वृद्धहरूको मृत्यु भएको थियो, जुन फ्रान्सका लागि ठूलो पाठ बनेको थियो ।

डढेलो र परमाणु प्लान्टमा विशेष निगरानी

सरकारले शनिबार जङ्गलको आगोबाट बच्ने तयारीलाई थप मजबुत बनाउने घोषणा गरेको छ र फ्रान्सका धेरै परमाणु रियाक्टरहरूमा पानी आपूर्तिमा कडा निगरानी राख्न निर्देशन दिएको छ ।

सरकारले विद्यालय बन्द गर्ने निर्णय अन्तिम विकल्पको रूपमा लिने बताएको छ । तर दिउँसो हुने वर्षको अन्तिम परीक्षाहरूलाई अर्को बिहानसम्म सारे वा समय परिवर्तन गर्न सकिनेछ ।

प्रधानमन्त्री सेबेस्टियन लेकोर्नूले शनिबार गर्मी सङ्कटबारे सरकारी बैठक बोलाउनुभएको थियो र आइतबार अर्को बैठक गर्ने योजना बनाएका छन् । यो कदम राष्ट्रिय मौसम सेवाले गर्मीको ’व्यापक, लामो समयसम्म चल्ने र तीव्र’ चरणको चेतावनी दिएपछि उठाइएको हो । भविष्यमा लूको राम्रोसँग सामना गर्न फ्रान्सलाई तयार पार्ने योजना बनाउन र ‘आवश्यक परे एयर कन्डिसनिङको प्रयोग’ गर्न पनि लेकोर्नूले मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ ।

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूको साझा मञ्च बन्न पुगेको बताएका छन् ।आइतबार चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूहरूले पटक–पटक आफ्ना विचार र दृष्टिकोण प्रस्तुत गरेपनि सुनुवाइ नभएको बताए ।

उनले टेलिभिजनको पर्दाबाट, राजनीतिक मैदानमा प्रवेश गर्दा र कारागारबाट समेत आफ्ना कुरा राखेको तर ती बेवास्ता गरिएको उल्लेख गरे ।उनले भने, ‘रास्वपा एउटा यस्तो साझा मञ्च बन्न सकेको छ जहाँ अहिले अधिकांश गैरराजनीतिक मानिसहरु आइपुगेका छन् । यो एउटा बाध्यता हो, रहर थिएन । पटकपटक भन्यौं तर हाम्रो कुरा सुनिएन । टेलिभिजनको पर्दाबाट भन्यौं, राजनीतिको मैदानमा आउने वित्तिकै घोषणा गर्दा भन्यौं तर सुनिएन । यतिसम्मकी जेलको कालकोठरीबाट पनि भन्यौं सुनिएन ।’

यसैगरी लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताए । रास्वपालाई लडाउने शक्ति अब नआउने उनले दाबी गरे । उनले भने, ‘मैंले विगतमा पनि भनेको छु रास्वपा लड्यो भने आफ्नै खुट्टामा अल्झिएर लड्छ, यसलाई लडाउने अरुको तागत छैन । तर, रास्वपालाई लडाउने शक्ति अबको युगमा आउने छैन ।’

उनले फुटाउ र राज गर भन्ने सिद्धान्तअनुसार रास्वपालाई फुटाउने प्रयत्न हुने भन्दै सचेत रहन कार्यकर्तालाई आह्वान गरे ।यसैगरी उनले भैरहवा कारागारमा रहँदा आफूले लेखेको भनाइ स्मरण गर्दै ‘एक दिन जनताले हातमा भएको तस्करले दिएको घडी खोस्नेछन् र त्यहाँ हतकडी लगाउनेछन्’ भन्ने अभिव्यक्तिको उल्लेख गरे । हाल परिस्थिति परिवर्तन भएको र सोही परिवर्तनले रास्वपालाई देशको सबैभन्दा शक्तिशाली राजनीतिक शक्तिको रूपमा स्थापित गरेको उनको दाबी थियो ।

‘बद्लिएको यो परिस्थितिले हामीलाई देशको सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ। शक्तिशाली हुनु भनेको दम्भ गर्ने लाइसेन्स प्राप्त गर्नु होइन, प्रतिशोध साध्ने लाइसेन्स प्राप्त गर्नु होइन, यो मलाई र रास्वपालाई राम्रोसँग थाहा छ। रास्वपा प्रतिशोध र दम्भभन्दा निकै टाढा गएर नागरिक जिम्मेवारी पूरा गर्ने एउटा अदम्य जनमत बोकेर उपस्थित भएको छ ।’

उनले लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, मानव अधिकार, समतामूलक समाज र समावेशिता जस्ता मूल्यहरूलाई संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने,‘निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, देश सुरक्षित छ । लोकतन्त्रका स्थायी मान्यताहरू, संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक हकअधिकार, मानव अधिकारको प्रत्याभूति, समतामूलक समाज, समावेशिता लगायतका थुप्रै उपहार हामीलाई अघिल्लो पुस्ताले र नेतृत्व सम्हालेका पुस्ताहरूले दिएको अमूल्य उपहार हो, हामी यसलाई जगेर्ना र माया गर्ने छौं।’

 

बालेनको प्रतिक्रिया : सीमाबारे प्रमाण छ, राष्ट्रियताप्रति आशंका गर्नु पर्दैन

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र(बालेन) शाहले सीमा विवादका विषयमा नेपालसँग प्रमाण रहेको दाबी गर्दै राष्ट्रियताप्रति कुनैपनि प्रकारको आशंका नगर्न आग्रह गरेका छन् ।

आइतबार चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले सीमा सम्बन्धी विषय संवेदनशील भएकाले विभिन्न देशसँग छलफल गर्दा आपत्ति आउने भएपनि त्यसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै आफ्नो राष्ट्रियताप्रति कसैले पनि आशंका नगर्न आग्रह गरे ।

उनले थप स्पष्ट पार्दै ब्रिटिस शासनकालका ऐतिहासिक दस्तावेजहरू अध्ययन गरेर प्रमाण प्रस्तुत गर्ने कुरा आफूहरूले भनेको बताउँदै ब्रिटिशलाई मध्यस्थकर्ता बनाउन खोजेको भन्ने गलत आरोप रहेको बताए ।

उनले भने,‘सीमाको विषयमा पनि चिन्ता लिनुपर्दैन । सीमाको विषयमा बोल्दा जुनसुकै देशसँग कुरा गर्दा उहाँहरुले पनि आपत्ति जनाउनुहुन्छ । उहाँले आपत्ति जनाउनुभयो मलाई अचम्म लाग्यो । हामीसँग त प्रमाण छ । कालापानी लिपुलेकको प्रमाण छ । त्यो प्रमाण लिनको लागि पहिले ब्रिटिशको पालाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौं । ब्रिटिसलाई मध्यस्तकर्ता राख्न खोजेका हैनौं । छिमेकीसँग कुरा गरेर मिलाउँछौं । मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’

राजनीतिक नेतृत्वबारे टिप्पणी गर्दै उनले व्यक्तिगत समूह निर्माणभन्दा जनताको विश्वास जित्नु नै मुख्य आधार हुने बताए। उनले भने, ‘राम्रो नेता बन्न जनताको आस्था र माया जित्नुपर्छ । कुनै समूह बनाएर मात्र हुँदैन ।’उनले यो चुनावमा गरेको बाचाहरु यही ५ वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै अर्को चुनावमा नयाँ एजेण्डा बोकेर जाने बताए ।

नरेश खातीको  माया जुनी जुनीको भिडियोमा रामकृष्ण र रचना

काठमाडौँ । गायक तथा सर्जक नरेश खातीले माया जुनी जुनीको बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको सार्वजनिक गीतमा नरेश खातीको शब्द तथा संगीत रहेको छ । गीत मदन केसीले एरेन्ज गरेका हुन्। एक रोमान्टिक प्रेम जोडीको कहानीको कथा भनिएको गीतले सँगै बाँच्ने र सँगै मर्ने कुरामा जोड दिएको छ । रोमान्टिक गीतको भिडिओमा गायक गायिकाद्धय रामकृष्ण र रचना नै फिचर्ड छन् ।

यो विसुद्ध मायाप्रेममा आधारित गीत हो। प्रेमी प्रेमीका एकअर्कासँग जति रिसाए पनि, जति झगडा गरे पनि जिन्दगी संगै कटाउने हो भन्ने भाव यसले बोकेको छ गायक, सर्जक तथा मोडल नरेश खातीले भने लोक, आधुनिक शैलीको गीतलाई पक्कै माया गर्नुहुनेछ भन्ने आशा छ। करन चौसरको छायांकन, मनोक केसीको सम्पादन रहेको गीतको भिडिओ बिग नेपाली फिल्मको सक्रियतामा निर्देशन भएको हो । भिडियो मेक्सम नरेश अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज

काठमाडौँ । आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर रिलिज भएको छ। फिल्मको प्रदर्शनको समय नजिकिदै गर्दा निर्माण टिमले प्रमोसन स्वरुप टिजर रिलिज गरेको हो। एक मिनेट २८ सेकेण्ड लामो टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा विरुद्धको कता प्रस्तुत गरिएको छ। घरकी छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको छ। एक बालिकालाई गोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने दर्दनाक घटनालाई पर्दामा उतारिएको देख्न सकिन्छ। जसको विरुद्ध एक पढेलेखेका युवाले समाजलाई नै मुद्धा हालेका छन्। कथा निकै पुरानो जस्तो लागेता पनि नेपालमा भइरहेको एक वास्तविक घटनालाई टिजरमा देख्न सकिन्छ। अन्य के कस्ता कुराहरु रहेका छन्,त्यसको बारेमा दर्शकले फिल्म रिलिजको समय कुर्नै पर्ने हुन्छ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो फिल्ममा निर्देशक आफै मुख्य भुमिकामा देखिएका छन्। फिल्ममा ओमप्रतिकका अलवा सरोज खनाल,प्रमोद दीप,अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडीको अभिनय देख्न सकिने छ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को सहकार्यमा भएको यसमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेको हुन्।
एक महिनाअघि निर्माण पक्षले विशेष आकर्षणको रूपमा एउटा प्रमोशनल गीत रिलिज गरिएको थियो। जसमा दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले विशेष नृत्य प्रस्तुति दिएका छन्। उक्त गीतको चर्चासँगै यतिबेला दर्शकको चासो यस फिल्मप्रति बढेको देखिन्छ। यस फिल्ममा कोरियोग्राफी स्थापित कोरियोग्राफर कविराज गहतराजले गरेका छन् भने केहि गीतको कोरियोग्राफी ओम प्रतीक र कविराज गहतराजले संयुक्त गरेका छन्।

यस फिल्मको कार्यकारी निर्मातामा अर्जुन भुसाल, सह–निर्मातामा नम्रता भण्डारी,लाइन प्रोड्यूसर लक्ष्मण कर्मचार्य र मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहेका छन्। राहुल राईको छायांकन र रामप्रसाद चौधरीको सम्पादन रहेको छ। साथै सम्पादनमा विपिन मल्लले पनि गरेका हुन्। यस फिल्मका गीतमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत सुन्न पाइनेछ। जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको संगीत रहेको गीतमा गायक बाबुल गिरी र चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ। कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको यस फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ। यस फिल्मको प्रमोसनका लागि विदेशमा रहेकी अभिनेत्री सुजता थापा नेपाल आइसकेकी छन्। उनी यस फिल्मप्रति निकै उत्साहित रहेको देखिन्छिन्।

गृहमन्त्री सुदनले गरे रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनस्थलको निरीक्षण

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।

आज (आइतबार) भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनकाे कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् ।

गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।

तस्वीरहरू:

 

ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ७८२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ७५, सङ्केत बत्ती उल्लङ्घनकर्ता ८२ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११० जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६५, निषेधित क्षेत्रमा हर्न बजाउने ७१, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ८७, एकतर्फी बाटोमा सवारी चलाउने ६८ र अन्य सवारी नियम पालना नगरेका एक हजार १४१ जनालाई कारबाही गरिएको हो ।

रास्वपा महाधिवेशन: चार हजार २११ प्रतिनिधि

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) ले प्रथम राष्ट्रिय महाधिवेशनका निम्ति चार हजार २११ प्रतिनिधि निर्धारण गरेको छ । सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट उनीहरू चुनिएका हुन् ।

पार्टी सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार ३३ देशका प्रवास सम्पर्क विभागबाट एक सय ७० जना, विधानअनुसार पार्टी सभापतिबाट १३८ जना मनोनयन भइसकेका छन्भने समुहगत रूपमा पार्टी प्रवेश गरेकालाई १९२ जनालाई चयन गरिएको छ ।

कोशी प्रदेशबाट ३६४, मधेसबाट ६३०, बागमतीबाट ७९४, लुम्बिनीबाट ६२१, गण्डकीबाट ४५४, कर्णालीबाट ३४३ र सुदूरपश्चिमबाट ५०५ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुने छन् ।

महाधिवेशन प्रतिनिधिका रूपमा पालिका सभापति, क्षेत्रीय सभापति र उपसभापति, जिल्ला सभापतिसहित पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ । प्रदेश समितिका सबै सदस्यहरू, प्रदेशस्तरीय विभाग, अनुशासन आयोग र सल्लाहकार परिषद्का पदाधिकारी पनि प्रतिनिधि भएका छन् ।

यसैगरी, सङ्घीय नेतृत्व मञ्चका सबै केन्द्रीय सदस्य, केन्द्रमा रहेका ३८ वटा विभागबाट ११–११ जनाका दरले सदस्य तथा केन्द्रीय निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोगबाट ११–११ जनाको प्रतिनिधित्व भएको छ ।

प्रत्येक गाउँपालिकाबाट एक जना, नगरपालिकाबाट दुई जना, उपमहानगरपालिकाबाट तीन जना र महानगरपालिकाबाट चार जना प्रतिनिधि भएका छन् ।

प्रदेश सम्पर्क विभागबाट तीन–तीन जना र जिल्ला सम्पर्क विभागबाट एक–एक जना प्रतिनिधि हुने व्यवस्था छ । गत प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका तर्फबाट पराजित तथा समानुपातिक सूचीका व्यक्ति पनि प्रतिनिधि भएका छन् ।

साथै, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित समानुपातिक सूचीका र पार्टीमा सक्रिय व्यक्तिलाई पनि प्रतिनिधि बनाइएको छ । केन्द्रीय समितिमा नरहेका प्रतिनिधिसभा सदस्य पनि महाधिवेशन प्रतिनिधि भएका छन् ।

रहेनन् हास्य कलाकार खेम शर्मा ‘चतुरे’

काठमाडौं । हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ । अमेरिकाको बाल्टिमोरमा उपचारको क्रममा आइतबार बिहान उनको निधन भएको हो ।

शर्मा पछिल्लो समय अमेरिका रहँदै आएका थिए । उनि विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लडी रहेका थिए । टेलिफिल्म ‘चतुरेको दाउपेच’ बाट चर्चामा आएका शर्माले धेरै टेलिफिल्म र फिल्ममा काम गरेका छन् । उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए ।

रास्वपा महाधिवेशनको उद्घाटनसत्रमा एमालेको तर्फबाट सहभागी हुन चितवन पुगे ज्ञवाली

काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमालेका तर्फबाट उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।

उनी आज नै चितवन गएका अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

रास्वपाले उद्घाटनसत्रमा उपस्थितिका निम्ति सबै पार्टीका अध्यक्ष र सभापतिलाई निम्ता पठाएको थियो ।

‘माया भनेकै यस्तो होला’का नायक दिलको रेखासँग दोस्रो सहकार्य

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ । आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ तथा विनोद पौडेल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

थुप्रै नायिकाहरूको लाइनअप रहेको यो चलचित्रमा दिल श्रेष्ठ नायक हुन् । दिलको यो तेस्रो कथानक चलचित्र हो । यसअसघि उनले रेखासँग पनि सहकार्य गरिसकेका छन् । ६ वर्ष अघि प्रदर्शनमा आएको चलचित्र ‘हिरो रिटर्न्र्स’मा उनले काम गरेका थिए । यो चलचित्रमा उनले रेखासँगै काम गरेका थिए ।

त्सअघि उनले ‘पर्खि राख है’मा काम गरेका थिए । यो चलचित्र २०११ मा प्रदर्शनमा आएको थियो । यो उनको डेब्यु सिनेमा थियो । बीचका ६ वर्ष उनी सिनेमामा देखिएनन् । “म यो बीचमा चलचित्रमा काम नगरे पनि निरन्तर अपडेट छु । म चलचित्रमा काम गरौँ वा नगरौँ, यो क्षेत्रबाट टाढा हुन सक्दिनँ,” दिल भन्छन्, “यो पटक मैले अघिल्ला चलचित्रहरूमा गरेको कमजोरीलाई परिमार्जन गर्दै काम गरेको छु ।” दर्शकले आफ्नो काम मन पराउनेमा उनी ढुक्क छन् । राम्रो टिम र लेजेन्डसँगको सहकार्यले आफूलाई थप जिम्मेवार बनाएको बताउने उनले मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता कालाकारसँग स्क्रिन सेयर गर्नु आफैँमा चुनौतीपूर्ण पनि हुने प्रस्ट पार्छन् । तर, यो चुनौतीलाई आफूले अवसरमा रुपान्तरण गरेको दिल बताउँछन् ।

‘माया भनेकै यस्तो होला’ अहिले पोस्ट प्रोडक्सनमा छ । यो चलचित्र भदौ २६ गते, तीजको अवसर पारेर देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रलाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् ।

रेखाले पहिलोपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ बाहिर रहेर यो चलचित्र निर्देशन गरेकी छन् । ‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन छ । लम्सालले चलचित्रले प्रेमकथामार्फत सामाजिक भावना र परिवेश प्रस्तुत गर्ने बताएका छन् ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, प्रशान्त सिवाकोटी संगीत, सुजेनी मल्ल ड्रेस डिजाइन, प्रिया कार्की मेकअप तथा चुडामणि प्रोडक्सनमा रहेका छन् ।

सौन्दर्य क्षेत्रका लागि मायाज् ब्युटि पार्लरको नयाँ कदम, ‘आभा’ पुस्तक र ब्युटी प्रोडक्ट सार्वजनिक

काठमाडौं । ब्युटीसँग सम्बन्धित ज्ञान र पेशागत विकासलाई लक्षित गर्दै तयार गरिएको पुस्तकको औपचारिक विमोचन शनिबार काठमाडौंको शंखमुलस्थित एवान क्याफेमा सम्पन्न भएको छ। पुस्तक विमोचन कार्यक्रमसँगै ब्युटी प्रोडक्ट ‘आभा’ को पनि सार्वजनिक गरिएको छ । कार्यक्रम मायाज् ब्युटि पार्लर तथा ट्रेनिङ सेन्टरले आयोजना गरेको हो ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको उक्त पुस्तकलाई ब्युटी क्षेत्रमा देखिएका भ्रम, गलत जानकारी र आधारभूत ज्ञानको अभावलाई सम्बोधन गर्ने उद्देश्यसहित तयार पारिएको लेखकले जानकारी दिए। व्यवहारिक अनुभवमा आधारित यस पुस्तकले विद्यार्थी, प्रशिक्षार्थी तथा पेशागत रूपमा संलग्न व्यक्तिहरूलाई नैतिक अभ्यास, जिम्मेवार सेवा र दीर्घकालीन करियर विकासमा मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा लोकप्रिय नायिका तथा चलचित्र निर्देशक झरना थापा उपस्थित रहिन्। त्यस्तै अतिथि कलाकारहरूमा मोडल पवित्रा साकी (मिस पवि) र अभिनेत्री झरना रिसालको उपस्थिति रहेको थियो।

सोही अवसरमा मायाज् ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरबाट तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। आयोजकका अनुसार प्रमाणपत्र वितरणले उनीहरूको सीप र पेशागत क्षमताको औपचारिक मान्यता प्रदान गरेको हो। आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने अतिथि, प्रशिक्षक, सहकार्यकर्ता तथा सहभागी सबैप्रति आभार व्यक्त गरेको छ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४९ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३० कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १००, तीते करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ३५, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४२०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २५, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले चालु आवको ११ एघार महिनामा रु सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि जेठ मसान्तसम्म नेपाल–चीन उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारी माल वस्तुबापत मुस्ताङ भन्सार कार्यालयले उक्त परिमाणमा राजश्व सङ्कलन गरेको हो ।

कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नेपाल–चीन उत्तरी कोरलानाकाबाट रु १३ अर्ब ८९ करोड ५२ लाख मूल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी रु २० करोड ५५ लाख ७४ हजार मूल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख चुडालले जानकारी दिए । उनका अनुसार यस नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएका कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु सात अर्ब राजश्व सङ्कलन भएको छ ।

गतवर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुल्ला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो । कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम रु सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी रु दुई अर्ब ४९ करोड २५ लाख राजश्व सङ्कलन गरेको कार्यालयका प्रमुख चुडालले जानकारी दिए ।

कोरलानाकाबाट विद्युतीय सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यसैगरी नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।

पोखरा बसपार्कको जग्गामा बनेको बास्तोला कम्प्लेक्स डोजरले हटाइयो

कास्की। पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ ।

पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो । महानगरपालिका र जग्गाधनीका बीचमा संरचना हटाउने सहमतिअनुसार व्यवसायीले सटर खाली गरेका थिए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताउनुभयो । उहाँका अनुसार बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो ।

“हामीले जग्गाधनीसँग सहमति गरेका थियौँ । सोहीअनुसार खाली गरिएको हो । सुकुम्बासी बस्तीमा भने व्यवस्थापन नगरी हटाउने छैनौँ”, उहाँले भन्नुभयो । महानगरले यसअघि असार ४ गते बसपार्क प्रवेशद्धारमा रहेका सटरमा डोजर चलाएको थियो ।

महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । विसं २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो ।

महानगरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णयलगायतका विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुनसकेको छैन । महानगर प्रमुख आचार्यले लालपुर्जा भएका जग्गाधनीको छानबिन पनि द्रुतगतिमा भइरहेकाले केही दिनमै वास्तविकता सार्वजनिक हुने बताउनुभयो ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बसपार्कको सम्पूर्ण जग्गा खाली गरिने बताउनुभयो । उहाँले बसपार्कको जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापनको काम पनि अघि बढाइएको बताउनुभयो । महानगरले यही असार ४ गतेदेखि बसपार्कका संरचना हटाउन सुरु गरेको हो ।

“बसपार्कको ठूलो क्षेत्रभित्र बसेका वास्तविक सुकुम्बासीको अन्यत्र व्यवस्थापन गरेरमात्र सो क्षेत्रमा डोजर चल्छ । अहिले सुकुम्बासीको अन्यत्र जग्गा भए÷नभएको बारेमा छानबिन भइरहेको छ”, वडाध्यक्ष मर्सानीले भन्नुभयो ।

महानगरले सुकुम्बासी बस्तीका ५७२ परिवारमध्ये हालसम्म ३३७ परिवारको ‘डकुमेन्ट भेरिफिकेसन’ सम्पन्न भएको र बाँकीको समेत छिट्टै सकिने जनाएको छ । महानगर प्रमुख आचार्यले केही सुकुम्बासीले तीनपुस्ते सही विवरण नदिएको तथा झुटा विवरणसमेत दिएको पाइएको बताउँदै छानबिनका लागि समय लागेको बताउनुभयो ।

छोटो पदयात्रामा पुगिने अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा

म्याग्दी। सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो ।

पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन थालेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो ।

“अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि त्यहाँको पूर्वाधारले धान्ने भन्दा बढी पर्यटक आउन थालेका छन”, उहाँले भन्नुभयो, “छोटो समयको सहज रूपमा पदयात्रा गरेर पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर आन्तरिक पर्यटकको रोजाइमा परेको छ ।”

विसं २०६७ सम्म अन्नपूर्ण आधार शिविर म्याग्दीमा रहेको तथ्य जानकारी नै थिएन । कास्कीतर्फमात्र आधार शिविर रहेको भनिएको थियो । अन्नपूर्णको फेदी नारच्याङमा सन् २०१२ आएका अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि प्रभा माविका तत्कालीन प्रधानाध्यापक तेज गुरुङ नेतृत्वको स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको थियो ।

सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । “प्रथम आरोही हेर्जोगले दिएको जानकारी र सूचनाका आधारमा निलगिरि र अन्नपूर्ण खोलाको किनारैकिनार ६८ ठाउँमा काठको पुल बनाएर सात दिन लगाएर आधार शिविरमा पुगेका थियौँ”, उहाँले भन्नुभयो, “११ वर्षको अवधिमा आधारभूत पूर्वाधार बनाएर तीन वर्षअघिदेखि सञ्चालन गरिएको नारच्याङ–आधार शिविर जोड्ने पदमार्ग ‘भर्जिन’ गन्तव्य बनेको छ ।”

समुद्री सतहदेखि चार हजार १९० मिटरको उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्गमा अस्थायी टहरा बनाएर सञ्चालन गरिएको रेष्टुरेन्टमा दैनिक ५० जनाको क्षमता भएपछि वसन्त र शरदयाममा दैनिक २०० जनाभन्दा बढी पाहुना आएका भुसकेतका होटल व्यवसायी माइकल पुनले बताउनुभयो ।

“अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ”, उहाँले भन्नुभयो, “एक्यापले ५० पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चारपाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको छ ।”

आधार शिविरमा तीन वर्षअघिसम्म वसन्तयाममा हेलिकप्टरमार्फत आरोहीमात्र पुग्ने गर्दथे । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूत स्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्किन सकिन्छ । निलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ ।

आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको मुख्य विशेषता बनेको छ ।

आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना तथा हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ । सञ्चार, विद्युत्, स्वास्थ्य सुविधाको अभाव र रेष्टुरेन्टहरूको क्षमता कम हुदाँ पाहुना तथा  व्यवसायीलाई समस्या भएको छ ।

सञ्चारको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापन गर्न समस्या हुन थालेको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुल स्तरोन्नति गर्नेुपर्ने अवस्था छ ।

रास्वपा महाधिवेशन आजदेखि

भरतपुर (चितवन) – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । चितवनमा आजदेखि सुरु हुने महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । भरतपुरको गेष्टहाउस चौरमा हुने रास्वपाको महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम छ ।

प्रवक्ता झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइसकेको छ । महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।

“रास्वपाले १८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरेको थियो । प्रतिनिधि छनोटको काम लगभग सकिएको छ”, प्रवक्ता झाले भन्नुभयो, “राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।”

भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ । बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।

“केन्द्रीय बैठकले विधान संशोधन गरेको छ”, बैठकपछि पार्टीका सचिवालय सदस्य तथा विधान संशोधन समितिका सदस्य गणेश पराजुलीले भन्नुभयो, “प्रदेश सभापतिलाई पदेन सदस्य राख्नेगरी १५१ केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ ।”

हाल रास्वपामा १२१ केन्द्रीय सदस्य छन् । उहाँका अनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित उपसभापति तीन, महामन्त्री दुई, एक महिलासहित सहमहामन्त्री पाँच, प्रवक्ता एक, एक महिलासहित सहप्रवक्ता तीन, कोषाध्यक्ष एक तथा एक महिलासहित सहकोषाध्यक्ष दुई जना रहनेछन् । अहिलेको रास्वपाको विधानमा पदाधिकारीमा महिला अनिर्वाय उल्लेख गरिएको छैन । विधान संशोधान भएपछि यसपटक उपसभापति, सहमहान्त्री, सहप्रवक्ता र सहकोषाध्यक्षमा एक जना अनिर्वाय महिला हुनेछन् ।

यस्तै विधानले १५१ सदस्यमध्ये ५१ जना केन्द्रीय सदस्य पार्टी सभापतिले मनोनय गर्नेगरी विधान संशोधन गरिएको छ । बृहत् राजनीति समायोजनलाई ध्यानमा राखी एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री तथा कोषाध्यक्ष र प्रवक्तालाई पार्टी सभापतिले चुन्ने विषयमा छलफल भएको पराजुलीले बताउनुभयो । अब रास्वपामा खुला प्रतिस्पर्धाबाट ९९ जना केन्द्रीय समिति चयन हुनेछन् ।

पार्टी सभापतिले चयन गर्ने केन्द्रीय सदस्य समावेशिताका आधारमा हुनेछन् । प्रत्येक प्रदेशबाट एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य हुनुपर्ने व्यवस्था विधानले गरेको छ । पार्टी नेतृत्वले महाधिवेशनमार्फत सङ्गठन सुदृढीकरण, भावी राजनीतिक रणनीति तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्ने विषयलाई प्राथमिकतामा राखेको प्रवक्ता झाले बताउनुभयो ।

महाधिवेशनमा पार्टीको विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने प्रवक्ता झाले बताउनुभयो । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा निर्धारण गर्नुका साथै सङ्गठन विस्तार र जनसम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरेको उहाँले बताउनुभयो । निर्वाचनमा पाएको मतलाई पार्टीको ‘आम्दानी’का रूपमा लिएको उहाँको भनाइ छ । “हामीले टोलस्तरमा पनि पार्टी सङ्गठन विस्तार गर्ने विधानमा नै उल्लेख गरेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो भ्रातृ सङ्गठन भने हुँदैन ।”

महाधिवेशनमा तीन हजार ९१८ प्रतिनिधि हुनेछन् । त्यसमा ३०० प्रतिनिधि रास्वपाका दुई महामन्त्रीलाई मनोनयनको जिम्मेवारी प्रदान गरिएको छ । रास्वपाले पार्टी सदस्य पाँच लाख पुर्याएको छ । सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा अधिवेशन गरिएको छ । यस्तै छ प्रदेश ६४ जिल्लामा अधिवेशन सम्पन्न भएर प्रतिनिधि छनोट भइसकेका छन् । मधेस प्रदेश र निर्वाचन हुन बाँकी रहेका १३ जिल्लाको तदर्थ समितिबाट महाधिवेशनमा प्रतिनिधि आएको ढकालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शाह आज दिउँसो चितवन जाने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज दिउँसो चितवन पुग्ने भएका छन् ।

रास्वपाका वरिष्ठ नेता समेत रहेका शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर पुग्ने महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उनले सभापति र पार्टीका नेताहरूसँग छलफल गर्ने कार्यतालिका तय भएको उनले बताए ।

नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री शाह र सभापति रवि लामिछानेले घण्टी बजाएर महाधिवेशन उदघाटन गर्नेछन् ।

आज अन्तरराष्ट्रिय योग दिवस

काठमाडौँ – ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ आज अन्तरराष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरीे देशभर मनाइँदै छ ।

अन्तरराष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तरराष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तरराष्ट्रिय योग दिवस विश्वभर मनाइएकोे थियो ।

नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन सुरु भइसकेको छ ।

यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।

माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरूले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते तत्कालीन शान्तिमन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।

योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तरराष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ । रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।

अन्तरराष्ट्रिय योग दिवसका अवसरमा आज बिहान ७ः०० बजे राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । अन्तरराष्ट्रिय योग दिवस मूल समारोह समितिअन्तर्गत गर्न लागिएको कार्यक्रममा यस क्षेत्रका अनुयायीहरूको बाक्लो उपस्थिति हुने जनाइएको छ । कार्यक्रममा योगासनका साथै यसको महत्वका बारेमा जानकारी गराइने छ । मुख्यसचिवको विशेष उपस्थितिमा हुने आजको कार्यक्रममा जीवनका लागि योग जागरण फैलाउनुपर्नेमा जोड दिइने जनाइएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २०० रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८४ पैसा र बिक्रीदर नौ रुपैयाँ ८८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५ रुपैयाँ ७९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २१ पैसा र बिक्रीदर १९ रुपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ०९ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ११ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम

काठमाडौँ। हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने अन्य तराई भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भाग र कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहने जनाएको छ । मधेस प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान छ ।

त्यसैगरी, दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भागका केही तथा बागमती र गण्डकी प्रदेशका हिमाली एवं पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना छ । कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना छ भने बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा तापक्रम बढ्ने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशका तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । मधेस तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ ।

आज राति पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना छ । कोशी प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ । कोशी प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले भारी वर्षा, चट्याङ तथा तातो लहरको सम्भावना रहेका स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै महाशाखाका मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन पनि अनुरोध गरिएको छ

कामपाको बजेट पूर्वाधार योजना, विद्यालय शिक्षा केन्द्रित

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार योजना, फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्द्धन जस्ता कार्यलाई उच्च प्राधमिकतामा राखेको छ ।

नगरसभाको १९औँ अधिवेशनको तेस्रो बैठकमा कार्यवाहक प्रमुखबाट बजेट, आर्थिक विधेयक तथा विनियोजन विधेयक पेस गर्दै उक्त जानकारी दिनुभयो । सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको क्षमता वृद्धि, एक वडा एक उद्यम कार्यक्रमलाई प्रवर्द्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामै रहेका छन् ।

प्रदूषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, कामपा क्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्त्व बोकेका मठमन्दिर, बहाल, पोखरी, हिटी, वहाः वही, ननीलगायतका सम्पदास्थलको संरक्षण कार्य एवं मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा बजेट व्यवस्थापन गरिएको प्रस्तावमा उल्लेख छ ।

कार्यवाहक प्रमुख डङ्गोलले, सञ्चित कोषमा व्ययभार पर्ने रु २५ अर्ब १३ करोड ३० लाख ५५ हजार र वाह्य व्यय भार हुने ७५ करोड गरी रु २५ अरब ८८ करोड ३० लाख ५५ हजार बजेट प्रस्ताव गर्नुभएको हो । सञ्चित कोषमा जम्मा हुने रकममध्ये आन्तरिक आय र बैंक मौज्दातबाट रु २० अर्ब १८ करोड ६३ लाख २९ हजार स्रोत व्यवस्थापन हुने कामपाको अनुमान गरेको छ ।

रु चार अर्ब ९३ करोड ६७ लाख २६ हजार नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण, राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान अनुमान कामपाको रहेको छ । जनसहभागितावापत रु एक करोडको स्रोत प्राप्त हुने बताइएको छ ।

आगामी आवका लागि कामपाको बजेट, कुन शीर्षकमा कति

क्षेत्रगत रूपमा आर्थिक विकास क्षेत्रमा कूल बजेटको २.१ प्रतिशत अर्थात् रु ५४ करोड १८ लाख २० हजार, सामाजिक विकास क्षेत्रमा ९.६ प्रतिशत अर्थात् रु दुई अर्ब ४२ करोड २७ लाख ३१ हजार प्रस्ताव गरिएको छ ।

पूर्वाधार विकास क्षेत्रतर्फ ६१ प्रतिशत अर्थात् रु १५ अर्ब ३१ करोड ६७ लाख ४८ हजार प्रस्तावित छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८.५ प्रतिशत अर्थात् रु दुई अर्ब १३ करोड ४७ लाख ९२ हजार प्रस्ताव गरिएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ १८.८ प्रतिशत अर्थात् चार अर्ब ७१ करोड ६९ लाख ६४ हजार प्रस्ताव गरिएको छ ।

वातावरण व्यवस्थापन गर्न रु एक अर्ब २२ करोड, शिक्षातर्फ रु एक अर्ब ७१ करोड, सम्पदा संरक्षणका लागि रु दुई अर्ब ५३ करोड, सामाजिक विकासमा रु ४९ करोड, पूर्वाधार विकासमा रु पाँच अर्ब ४१ करोड, हरियाली प्रवर्द्धन गर्न रु ४३ करोड, सूचना प्रविधितर्फ रु ४१ करोड, स्वास्थ्य सेवातर्फ रु ७० करोड र विपद् व्यवस्थापनका लागि रु ३६ करोड विनियोजन गरिएको छ ।

शासन व्यवस्थालाई बलियो बनाउने समाचार सम्प्रेशण गर्नुपर्छ: मुख्यमन्त्री पाण्डे

कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको शासन व्यवस्थालाई थप बलियो बनाउने गरी सञ्चारकर्मीले समाचार लेख्नुपर्ने बताउनुभएको छ ।

संसदीय पत्रकार मञ्च गण्डकीको आयोजनामा आजदेखि पोखरामा सुरु भएको ‘संसदीय र अदालती रिपोर्टिङ’ तालिम उद्घाटन गर्दै उहाँले सरकार सञ्चालनका कमिकमजोरी उजागार गर्नुपर्ने तर सङ्घीय लोकतान्त्रिक शासन व्यवस्थाप्रति नागरिकमा वितृष्णा आउने समाचार सम्प्रेशण गर्न नहुने उल्लेख गर्नुभयो ।

“यदि अहिलेको शासन व्यवस्था रहने भने देशमा निरङ्कुशता हावी हुन्छ । त्यस बेला पहिलो सिकार हुने भनेको सञ्चार जगत् हो, नागरिक अधिकार कुण्ठित हुन्छन् ।

पत्रकारिता जगतले सकारात्मक सोच र आत्मविश्वास जगाउने गरी समाचार सम्प्रेषण गर्नु आवश्यक छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । उहाँले सङ्घीयतापछि जनताले नजिकबाट सरकारसँग आफ्ना माग राख्ने र अन्तरक्रिया गर्ने अवसर प्राप्त गरेको बताउनुभयो ।

“प्रदेश सरकार बनेपछि जनताले नजिकबाट सरकारलाई चिन्न पाएका छन् । मुख्यमन्त्री र मन्त्रीहरूलाई भेटेर आफ्ना गाउँ ठाउँका आवश्यकताहरू र प्रत्यक्ष आफ्ना मागलाई सरकार प्रमुखसँग राख्ने अवसर प्राप्त भएको छ । नजिकबाट सरकारलाई सुनाउने अवस्था छ”, उहाँले भन्नुभयो ।

तालिम उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य सुशीला सिँखडा, गण्डकी प्रदेशसभाका सचिव गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल लगायतले कानुन निर्माण प्रक्रियाको बारेमा ज्ञान बढाउन तथा संसदीय प्रक्रिया बुझेर सही रिपोर्टिङका लागि तालिमले सहयोग पुग्ने विश्वास गर्नुभयो ।

तालिमको पहिलो दिन संसदीय पत्रकार मामिला समाजका अध्यक्ष मनोज सत्याल र पोखरा रिसर्च सेन्टरका प्रमुख सुजन रेग्मीले सहजीकरण गर्नुभयो ।

तालिममा पोखरामा क्रियाशील ६० भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको मञ्चका अध्यक्ष विशन क्षत्रीले जानकारी दिनुभयो ।