`

ठाउँठाउँमा भारी वर्षा, तराईमा तातो

काठमाडौँ। पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न थालेको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज तराईका केही क्षेत्रमा बाहेक धेरै स्थानमा वर्षा भएको छ । तर तराई क्षेत्रमा पनि तापक्रम केही घटेको छ ।

केही जिल्लामा ४१ डिग्री नाघेको तापक्रम आज भने घटेर नेपालगञ्जमा ४० डिग्रीमा झरेको छ भने अन्य क्षेत्रमा त्यसभन्दा तलै तापक्रम रहेको छ । भलै तराईका केही क्षेत्रमा भने अझै केही दिन तातो नै रहने विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो । उहाँका अनुसार ठाउँठाउँमा वर्षा जारी रहेको र यो क्रम अझै केही दिन जारी नै रहने छ ।

नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश गरे पनि अन्य क्षेत्रमा प्रवेश गर्न सकेको छैन । तर स्थानीय र पश्चिमी वायु सक्रिय रहेकाले त्यसको असरका कारण अन्य क्षेत्रमा बदली भइरहेको छ । पूर्वमा मनसुनी वायुको प्रभाव रहेको तर कमजोर रहेको जनाइएको छ । यद्यपि देशका केही मापन केन्द्रमा भारी वर्षा भएको छ ।

आज कहाँकहाँ पर्यो भारी वर्षा ?

विभागका अनुसार आज राति साढे ८ बजेको अभिलेखमा पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा तनहुँमा १३३ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।

यस्तै, पर्वतमा ६८, कास्कीमा ५१, लमजुङमा ६०, खोटाङमा ५५.६, मोरङ र सुनसरीमा ६३÷६३ मिलिमिटर वर्षा भएको छ । यी सबै क्षेत्रमा भारी वर्षा भएको हो ।

हल्कादेखि मध्यम वर्षा भने अन्य धेरै मापन केन्द्रमा भएको छ । यद्यपि लुम्बिनी सुदूरपश्चिम र कणाली प्रदशेमा भने खासै वर्षा हुन सकेको छैन ।

विभागले आज साँझ जारी गरेको मौसम बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भोलि आइतबार कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग एक–दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा र बागमती, गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

यस्तै, कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग तथा अन्य एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा। कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ नुहाउने क्रममा बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालीगण्डकी नदीमा डुबेर शिखरडाँडाका १४ वर्षीय शिशिर गाहा र २४ वर्षीय पुजन गाहाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार पौडी खेल्ने क्रममा दुवै जना डुबेर बेपत्ता हुनुभएको थियो । प्रहरी, सशस्त्र प्रहरीका साथै स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा कालीगण्डकीकै तल्लो भागमा आज शव फेला परेको हो ।

शिशिरको सोही स्थानमा र पुजनको टिपुवाघाटमा शव फेला परेको प्रहरी नायक उपरीक्षक भट्टराईले बताउनुभयो । नदीमा पानी धमिलो भएका कारण खोजीमा समस्या भएको थियो ।

उक्त खोलामा आन्तरिक तथा बाह्य पर्यटकहरू बढी जाने र उनीहरूले नै अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले सो स्थानमा सुरक्षाका उपायहरू अपनाउन जिल्ला प्रहरी कार्यालयले स्थानीय सरकारलाई आग्रह गरेको छ ।

गोली प्रहार गरी तीन जना लागूऔषध कारोबारी पक्राउ

काठमाडौँ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली प्रहार गरी तीन जना लागूऔषधको क्रोनिक कारोबारीलाई आज काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका–३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेका लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकामा लागूऔषध सप्लाई गर्ने गिरोहको सूक्ष्म निगरानी गर्ने क्रममा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुलमुनि भारतको वासमतियाबाट काठमाडौँ उपत्यकासम्म लागूऔषध खैरो हेरोइन ल्याई बिक्री गर्दै गरेको अवस्थामा कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।”

उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी टोलीमाथि आक्रमण गरी भाग्ने क्रममा चेतावनीस्वरूप दुई राउन्ड हवाई फायर गरी रोकिन अनुरोध गर्दा नरोकी भागी रहेकाले किशोरप्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि एक राउन्ड गोली प्रहार गरी निजसहित तीन जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गोली लागी घाइते भएका किशोरप्रसाद ओझैयालाई तत्कालै राष्ट्रिय ट्रमा सेन्टर पुर्याई अहिले उपचार भइरहेको प्रवक्ता रेग्मीले बताउनुभयो । ब्यूरोको टोलीले पक्राउ परेकाहरूका साथबाट लागूऔषध खैरो हेरोइन ३०० ग्राम, मोबाइल चार थान बरामद गरी थप अनुसन्धान भइरहेको जनाएको छ ।

यसैगरी, किशोरप्रसाद ओझैया लागूऔषध मुद्दामा तीन वर्ष कैद र रु एक लाख चार हजार जरिवाना भुक्तान गरी मिति २०८२ पुस १७ गते नक्खु कारागारबाट छुटेको अभिलेखबाट देखिएको प्रवक्ता रेग्मीले जानकारी दिनुभयो ।

तनहुँबाट हराएका २१ जनामध्ये १७ जना फेला

तनहुँ। तनहुँ जिल्लामा जेठ महिनामा हराएका २१ जनामध्ये १७ जना फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँले सार्वजनिक गरेको मासिक विवरणअनुसार हराएकामध्ये अधिकांशलाई प्रहरीको खोजतलास तथा अनुसन्धानका क्रममा फेला पारिएको हो ।

प्रहरीका अनुसार जेठ महिनामा हराएका व्यक्तिमध्ये १० महिला, तीन पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक रहेका थिए । तीमध्ये सात महिला, दुई पुरुष, एक बालक, चार बालिका र तीन जना ज्येष्ठ नागरिक फेला परेका छन् । बाँकी व्यक्तिहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले हराएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रहरीले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले परिवारबाट प्राप्त उजुरी र सूचनाका आधारमा विभिन्न जिल्लासँग समन्वय गरी खोजतलास कार्यलाई तीव्र बनाइएको जानकारी दिनुभयो ।

“हराएका व्यक्तिहरूलाई सकुशल फेला पार्न प्रहरी निरन्तर सक्रिय छ,” प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “खोजतलास कार्यलाई प्रभावकारी बनाउन विभिन्न प्रहरी इकाइ तथा सम्बन्धित निकायसँग समन्वय गरी काम गरिरहेका छौँ ।”

त्यसैगरी, जेठमा जिल्लाभर ५१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर प्रकृतिका १०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित तीन, आर्थिक अपराधसँग सम्बन्धित छ तथा अन्य ३२ वटा मुद्दा रहेका छन् ।

प्रहरीका अनुसार उक्त अवधिमा विभिन्न मुद्दाका ३७ जना प्रतिवादी पक्राउ परेका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान कार्यलाई प्रभावकारी बनाउँदै कानुनको कार्यान्वयनमा जोड दिइएको प्रहरी नायब उपरीक्षक घिमिरेको भनाइ छ ।

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । जेठ महिनामा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । पक्राउ परेका प्रतिवादीबाट चार वर्ष दुई महिनाको कैद तथा रु दुई लाख २१ हजार बिगो तथा जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक घिमिरेले जिल्लामा शान्तिसुरक्षा कायम राख्न, अपराध नियन्त्रण गर्न तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा परिचालित रहेको बताउनुभयो ।

“अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न प्रहरी निरन्तर खटिएको छ,” उहाँले भन्नुभयो, “समुदायको सहयोग र सूचनाका आधारमा अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउँदै जानेछौँ ।”

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो जात्रा आज अपराह्न अवलोकन गरेका छन् ।

प्रथम महिला सबिता पौडेलसहित आज ललितपुरको जावलाखेल पुगेर उहाँले सो जात्रा अवलोकन गरेका हुन् ।

मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ । सो अवसरमा गुठी संस्थानका कर्मचारीले सो भोटो देखाएका थिए भने राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथसँगै जीवित देवी कुमारीको दर्शन पनि गरेका थिए ।

मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवता, अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिन्छ । त्यसो हुँदा यसको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्त्व रहिआएको छ ।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोज शर्मा, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थति रहेको थियो ।

एयर होस्टेसहरूको सहभागितामा ट्राफिक सचेतना कार्यक्रम

काठमाडौँ। सडक सुरक्षा र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एयर होस्टेसहरूको सहभागितामा विशेष ट्राफिक सचेतना कार्यक्रम आयोजना गरेको छ ।

काठमाडौँ उपत्यकाका मुख्य चोक तथा बढी सवारी चाप हुने क्षेत्रमा सञ्चालन गरिएको उक्त कार्यक्रममा गीता उड्डयन (एभिएसन) मा प्रशिक्षित एयर होस्टेसहरूको सहभागिता रहेको थियो । यात्रु सेवासँग सम्बन्धित पेसामा रहेका एयर होस्टेसहरूले सडक प्रयोगकर्ता नागरिकलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरणसम्बन्धी सन्देश प्रवाह गरेका थिए ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले सडक सबै नागरिकको साझा प्रयोगस्थल भएकाले यसको सुरक्षामा सबैको समान जिम्मेवारी रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक प्रयोग सबै नागरिकले गर्दछन् । यसमा आम नागरिकको पनि उत्तिकै भूमिका हुन्छ । सडक नियमको पालना गर्नु सबैको दायित्व हो । कुनै व्यक्ति बिहान घरबाट निस्केर सुरक्षित रूपमा साझा घर फर्किने वातावरणको सिर्जना गर्नु ट्राफिक प्रहरीको मुख्य उद्देश्य हो ।”

उपत्यका ट्राफिक प्रहरीले पछिल्लो समय सडक दुर्घटना न्यूनीकरण, अनुशासित सवारी सञ्चालन तथा सुरक्षित यात्राका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ । सोही क्रममा विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थासँग सहकार्य गर्दै जनस्तरसम्म ट्राफिक चेतना पु¥याउने उद्देश्यले विभिन्न सचेतना कार्यक्रम गरिएको कार्यालयले जनाएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार गीता उड्डयनका प्रशिक्षित एयर होस्टेसहरूको सहभागितामा पद्मोदय मोड, नयाँ बानेश्वर, पुतलीसडक लगायतका प्रमुख स्थानमा कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमका क्रममा सहभागीहरूले हातमा सचेतनामूलक प्लेकार्ड बोकेर चालक, पैदलयात्री तथा अन्य सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालना गर्न आग्रह गरेका थिए । ती प्लेकार्डमार्फत तीव्र गति नियन्त्रण, हेल्मेट तथा सिटबेल्टको प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, पैदल यात्रुको सुरक्षालगायत विषयमा सन्देश दिइएको थियो ।

‘ट्राफिक नियम पालना गरौँ, दुर्घटना होइन सुरक्षित गन्तव्य रोजौँ’ भन्ने नाराका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकमहिने ट्राफिक सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

दुर्घटनाको प्रमुख कारणमध्ये चालकको लापरबाही, तीव्र गति, नियम उल्लङ्घन र सडक अनुशासनको कमी देखिएकाले यस्ता समस्यालाई न्यूनीकरण गर्न ट्राफिक प्रहरीसँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताउनुभयो ।

सडक सुरक्षा केवल ट्राफिक प्रहरीको जिम्मेवारी नभई सम्पूर्ण सडक प्रयोगकर्ताको साझा दायित्व भएको सन्देश प्रवाह गर्दै उक्त अभियानले नागरिकमा जिम्मेवार सवारी संस्कृतिको विकास गर्ने अपेक्षा गरिएको छ ।

‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ – आइजिपी कार्की

बिर्तामोड। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले लागूऔषध तथा अन्य अपराध नियन्त्रणका लागि प्रहरीको प्रयाससँगै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।

झापाको बिर्तामोडमा आज आयोजित ‘लागूऔषधविरुद्ध झापा अभियान’को उद्घाटन कार्यक्रममा कार्कीले लागूऔषध दुव्र्यसन नियन्त्रणका लागि देशभर १५ हजारभन्दा बढी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै अब अभियानलाई थप प्रभावकारी, सक्रिय र कडाइका साथ अघि बढाइने बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापा लागूऔषधको जोखिमका दृष्टिले देशकै संवेदनशील जिल्लामध्ये एक रहेको बताउँदै यसको नियन्त्रणका लागि सबै तहका निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी विनोद घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईं, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका वरिष्ठ प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँल तथा जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्कालगायतले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।

अभियानका क्रममा प्रस्तुत तथ्याङ्कअनुसार झापामा हाल २१ हजारभन्दा बढी लागूऔषध प्रयोगकर्ता रहेको अनुमान गरिएको छ ।

जिल्लामा पाँच महिला सुधार केन्द्रसहित ४२ वटा सुधार केन्द्र सञ्चालनमा रहेका छन् । लागूऔषधको बढ्दो प्रयोग र त्यसबाट सिर्जित सामाजिक चुनौती न्यूनीकरणका लागि सरकारी निकाय, सुरक्षा संयन्त्र, स्थानीय तह तथा समुदायबीचको सहकार्यलाई अभियानले थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ ।

चर्काे गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।

महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उहाँले बताउनुभयो । त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ ।

आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ ।

प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताउनुभयो ।

चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उहाँको भनाइ छ । खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । महाधिवेशन आइतबारदेखि सुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ ।

महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन् । पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो सङ्ख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ ।

जनचाप लक्षित गर्दै नेटवर्क क्षमता वृद्धि

नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ । भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो । उहाँले रास्वपा महाधिवेशन मात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला–महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताउनुभयो । उहाँले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताउनुभयो ।

“सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,” उहाँले भन्नुभयो । झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ । “यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,” उहाँले भन्नुभयो । उहाँले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

“आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ । त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,” उहाँले भन्नुभयो । निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ । उहाँका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो ।

नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित २३ जनालाई लियो नियन्त्रणमा

काठमाडौँ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाबाट पाँच, झापा, सप्तरी र कैलालीबाट तीन/तीन, इलाम र धनुषाबाट दुई/दुई, मोरङ, उदयपुर, काठमाडौँ र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा बरामद गरेको छ ।

बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक

ढाका। बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मलेसिया र चीनको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार उहाँले छिमेकी भारतमा प्रारम्भिक गन्तव्यका रूपमा नगई सो भ्रमण गर्न लाग्नुुभएको हो ।

प्रधानमन्त्री रहमान आइतबार मलेसिया प्रस्थान गर्नुहुने र त्यसपछि भोलिपल्ट चीनको राजधानी बेइजिङ पुग्ने कार्यतालिका रहेको बङ्गलादेशी सरकारी समाचार संस्था (बिएसएस)ले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।

प्रधानमन्त्री रहमान बेइजिङमा रहँदा व्यापार तथा पूर्वाधारसम्बन्धी विषयहरू छलफलको मुख्य ‘एजेन्डा’ रहने बताइएको छ । त्यसमा दीर्घकालदेखि अल्झिएको टिस्टा नदी परियोजनामा चिनियाँ सहयोगसमेत समावेश हुन सक्ने जनाइएको छ । उक्त परियोजना नदी व्यवस्थापन, ड्रेजिङ, तटबन्ध निर्माण र सिँचाइ सुधारसँग सम्बन्धित छ ।

परराष्ट्र मन्त्रालयले यी भ्रमणलाई बङ्गलादेशको आर्थिक साझेदारी सुदृढ गर्ने उद्देश्यले गरिएको महत्वपूर्ण कूटनीतिक पहलका रूपमा व्याख्या गरेको बिएसएसले जनाएको छ ।

मलेसियामा करिब आठ लाख बङ्गलादेशी कामदार कार्यरत छन्, जुन त्यहाँको विदेशी श्रमशक्तिको एक तिहाइभन्दा बढी हो ।

सन् २०२४ को राजनीतिक परिवर्तनपछि बङ्गलादेश–भारत सम्बन्धमा तनाव देखिएको छ । त्यतिबेला तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछि नयाँ राजनीतिक परिस्थिति बनेको थियो ।

हालका प्रधानमन्त्री रहमानले गत फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि सत्ता सम्हालेसँगै छिमेकी भारतसँग सम्बन्ध सुधारको प्रयास भइरहेको भए पनि केही विषयमा असमझदारी कायमै रहेको बताइएको छ ।

हसिना भारतमा आश्रयरत रहनुभएको र बङ्गलादेशले उहाँको सुपुर्दगी माग गर्दै आएको विषयले पनि दुई देशबीच कूटनीतिक तनाव बढाएको जनाइएको छ ।

सीमा क्षेत्रमा अवैध आप्रवासनसम्बन्धी विवादले समेत सम्बन्धलाई प्रभावित पारेको छ । यसैबीच, दक्षिण एसियामा प्रभाव विस्तारका लागि भारत र चीनबीच प्रतिस्पर्धा जारी रहेको विश्लेषकहरूले बताएका छन् ।

विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर

लस एन्जलस। विश्वकप फुटबलअन्तर्गत शनिबारका खेलहरूमा बलियो स्थितिमा रहेको जर्मनीले आइभरी कोस्टसँग प्रतिस्पर्धा गर्नेछ भने स्विडेनले नेदरल्यान्ड्ससँग महत्वपूर्ण खेल खेल्नेछ । यी खेलहरूको नतिजाले अन्तिम ३२ मा पुग्ने टोलीहरूको टुङ्गो लाग्नेछ ।

समूह ‘ई’ अन्तर्गत रहेको जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकप खेलमा पहिलो पटक सहभागी भएको कुराकाओलार्ई ७–१ ले पराजित गरेको थियो । यदि जर्मनीले आइभरी कोस्टलाई पराजित गरी इक्वेडरले अर्को खेलमा जित निकाल्न असफल भएमा जर्मनी समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्नेछ ।

जर्मनीका प्रशिक्षकले आइभरी कोस्टको गति र एथलेटिक क्षमताप्रति विशेष सावधानी अपनाउनुपर्ने बताउनुभएको छ । विशेषगरी, आइभरी कोस्टका ‘विङ्गर’ निकोलस पेपेप्रति ध्यान केन्द्रित गरिएको छ ।

यसै समूहमा आइभरी कोस्टले जर्मनीलाई हराएमा अर्को चरणमा स्थान सुरक्षित गर्न सक्ने सम्भावना रहेको छ ।

अर्को खेलमा स्विडेनले नेदरल्यान्ड्सँग प्रतिस्पर्धा गर्नेछ । जित निकाले स्विडेनले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ । स्विडेन हाल अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै प्रतियोगितामा अगाडि बढिरहेको छ ।

स्विडेनका प्रशिक्षक ग्राहम पोटरले ‘स्ट्राइकर’ अलेक्जेन्डर इसाक आगामी खेलहरूमा अझ प्रभावकारी हुँदै जाने बताउनुभएको छ । इसाकले हालसम्मको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एक गोल र दुई गोलमा सहयोगी भूमिका निर्वाह गर्नुभएको छ ।

शनिबारकै अर्को ऐतिहासिक खेलमा जापानले ट्युनिसियासँग विश्वकपको एक हजारऔँ खेलका रूपमा प्रतिस्पर्धा गर्नेछ ।

यसअघि शुक्रबारका खेलहरूमा सह–आयोजक संयुक्त राज्य अमेरिकाले अष्ट्रेलियालाई २–० ले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ । समूह ‘डी’ मा शीर्ष स्थान हासिल गरेसँगै अमेरिका नकआउट चरणमा सहज मार्गतर्फ अघि बढेको छ ।

त्यस्तै, ब्राजिलले हाइटीलाई ३–० ले हराउँदै समूह ‘सी’ मा आफ्नो स्थिति बलियो बनाएको छ भने मोरोक्कोले स्कटल्याण्डलाई १–० ले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।

विश्वकपको समूह चरण रोमाञ्चक मोडमा पुगेको छ र आगामी खेलहरूले ‘नकआउट’ चरणका धेरै समीकरण स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते

लन्डन। लन्डनको उत्तरी क्षेत्रमा दुई वटा रेलहरू शनिबार एक आपसमा ठोक्किँर दुर्घटना हुँदा रेल चालकको मृत्यु भएको उल्लेख गर्दै दुर्घटनामा ११ जना गम्भीर घाइते भएको बेलायती प्रहरीले जनाएको छ ।

इस्ट मिडल्याण्ड्स रेलवे (इएमआर) का अनुसार बेलायतको राजधानी बाट ५६ किलो मिटर उत्तरमा रहेको शहर बेडफोर्ड नजिकै दुर्घटना भएको हो । चालकको घटना स्थलमै मृत्यु भएको जनाउदै प्रहरीले विज्ञप्ति जारी गरेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका ३३ जनालाई अस्पताल लगिएको उल्लेख गर्दै ११ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

रेलमा सवार यात्रुलाई उदृत गर्दै बिबिसीले रेल लन्डनको सेन्ट प्यानक्रास स्टेसनतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको जनाएको छ ।

यस अघि सन् २०२३ सेप्टेम्बर मा, स्कटिस हाइल्याण्ड्सको एभिमोर स्टेसनमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुदा धेरै मानिसहरू घाइते भएको जनाइएको छ ।

२२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ। प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ ।पक्राउपर्नेमा नुवाकोट, म्यगङ गाउँपालिका–५ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–६ बस्ने अन्दाजी ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वत, मोदी गाउँपालिका–७ घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका जिल्ला प्रहरी परिसर काठमाडाँैका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “काठमाडौँ महानगरपालिका–२ लाजिम्पाटस्थित रहेको बारमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।”

उक्त स्थानबाट निज तारालाल विश्वकर्माले साथमा बोकेको झोलाभित्र लुकाइछिपाइ राखेका अवस्थामा स्रोत नखुलेको नेपाली नगद रु २२ लाख, अमेरिकी डलर ४० र दस्तखत गरेको तर रकम उल्लेख नगरेको चेकहरू चार थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी, निज तारालाल विश्वकर्माले प्रयोग गर्ने गरेको मोबाइलमा रहेको वाइनान्समा करिब २००० युएसडिटी बराबरको क्रिप्टो मुद्राको कारोबार देखिएको प्रहरीले जनाएको छपक्राउ परेकाहरूलाई आज काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३०, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४९ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ७०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोसा प्रतिकिलो रु १८०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ७०, टाटे सिमी प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ६० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ६०, चमसुरको साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु १२०, च्याउ (कन्य) प्रतिकिलो रु २२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकन्दर प्रतिकेजी रु ७०, सजीवन प्रतिकेजी रु २००, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु १००, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ८०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २००, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १४०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ३०, माछे खुर्सानी प्रतिकिलो रु ६०, अकबरे प्रतिकिलो रु २५०, भेडेखुर्सानी प्रतिकिलो रु १००, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ। बितेका २४ घण्टामा दुई हजार ४५८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १५५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ८७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १२४ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडकपेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो ।

ब्राजिलको पहिलो जित, हाइटी ३-० गोलले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को फुटबल खेलमा ब्राजिलले पहिलो जित दर्ता गरेको छ ।

आज बिहान फिलाडेल्फिया स्टेडियममा भएको समूह ‘सी’ को खेलमा ब्राजिलले हाइटीलाई ३–० गोलले पराजित गरेको हो ।

ब्राजिलको जितका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेको थियो । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गरेका थिए ।

यो जितसँगै ब्राजिल दुई खेलबाट ४ अंकका साथ समूहको शीर्षस्थानमा उक्लिएको छ ।

फिफा विश्वकप : मोरक्कोले स्कटल्यान्डलाई हरायो

काठमाडों – फिफा विश्वकपमा मोरक्कोले सानदार जित निकालेको छ । आज बिहान भएको खेलमा मोरक्कोले पहिलो हाफको शुरुआती दुई मिनेटमै गरेको गोल निर्णायक भयो । स्कटल्यान्डले अन्तिम समयसम्म पनि गोल गर्न सकेन ।

मोरक्कोका इस्माल साइबेरीले यो विश्वकपमै सबैभन्दा छिटो दोस्रो मिनेटमै गोल गरेका हुन् ।यसअघि भएको खेलमा स्कटल्यान्डले हैटीलाई हराउँदा मोरक्कोले ब्राजिलसँग बराबरी खेलेको थियो । आफ्नो दोस्रो खेलमा स्कटल्यान्डलाई हराएसँगै मोरक्कोको ४ अंक भएको छ ।

केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालको कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनसार अन्य भू–भागमा स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।

विभागका अनुसार कोशी प्रदेशमा तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । अन्य तराई भू–भागमा मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा पनि साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ ।

मधेस प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा अन्य तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

मधेस प्रदेशमा एक–दुई स्थान र कोशी प्रदेशको तराईका केही स्थानहरूमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ ।

पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव

कास्की – पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय क्षेत्र लेकसाइडमा खानेपानी अभाव भएपछि होटल व्यवसायीले नेपाल खानेपानी संस्थान पोखराको ध्यानाकर्षण गराएका छन् ।

होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको टोलीले शुक्रबार संस्थान पुगेर लेकसाइड क्षेत्रमा खानेपानी समस्याबारे जानकारी गराउँदै तत्काल समाधानको माग गरेको हो ।

अध्यक्ष सुवेदीले देशकै प्रमुख पर्यटकीय गन्तव्यमा खानेपानी अभाव हुनु चिन्ताजनक रहेको बताउनुभयो । “पर्यटनको राजधानी भनिने पोखराको मुख्य पर्यटकीय क्षेत्रमा आधारभूत आवश्यकता नै पूरा हुन नसक्नु दुःखद विषय हो,” उहाँले भन्नुभयो ।

पर्यटन व्यवसायी रहनुभएका होटल सङ्घका केन्द्रीय सदस्य भरतराज पराजुलीले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को करिब पाँच अर्ब रुपैयाँ लगानीमा पोखरा खानेपानी सुधार आयोजना सम्पन्न भए पनि अपेक्षित सेवा नपाएको गुनासो गर्नुभयो ।

“पोखरामा आगामी २० वर्षसम्म खानेपानी अभाव नहुने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो। तर अहिले धारामा पानी नआउँदा व्यवसायी र सर्वसाधारण दुवै आक्रान्त बनेका छन्,” उहाँले भन्नुभयो, “हामीले दैनिक ट्याङ्करबाट पानी किनेर होटल सञ्चालन गर्नुपरेको अवस्था छ । पर्यटकीय राजधानीलाई कम्तीमा नियमित खानेपानी सेवा त आवश्यक छ ।”

आयोजना अन्तर्गत मर्दीखोलाबाट पोखरासम्म पानी ल्याइए पनि मुख्य प्रसारण पाइपको क्षमता अपर्याप्त हुँदा समस्या देखिएको संस्थानका इन्जिनियर लक्ष्मण पाण्डेले बताउनुभयो ।

समस्या समाधानका लागि पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारले आवश्यक बजेट व्यवस्था गरी ठूलो क्षमताको पाइप जडान गर्नुपर्ने व्यवसायीको माग छ ।

पोखरा खानेपानी सुधार आयोजनाले दैनिक चार करोड १० लाख लिटर पानी शुद्धीकरण गरी वितरण गर्ने लक्ष्य राखेको छ । तर हाल पोखरामा दैनिक आठ करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको बताइएको छ ।

पोखराको मुख्य स्रोत मर्दीखोला हो, जहाँबाट पानी पुरुञ्चौरस्थित प्रशोधन केन्द्रमा ल्याई शुद्धीकरण गरिन्छ । त्यसपछि २० इन्च व्यासका चारवटा पाइपमार्फत वितरण गरिन्छ । आयोजनाअन्तर्गत २० लाख लिटर क्षमताका तीनवटा ट्याङ्की निर्माण गरिए पनि हाल पोखरा–५ पस्र्याङ र पोखरा–११ फूलबारीस्थित ट्याङ्कीबाट मात्र वितरण भइरहेको छ ।

पोखरा–१५ कोलपाटनस्थित ट्याङ्की भने प्राविधिक कारणले अझै सञ्चालनमा आउन सकेको छैन । पर्यटन क्षेत्रको प्रमुख केन्द्र लेकसाइड मै खानेपानी सङ्कट गहिरिँदै जाँदा यसको असर पर्यटन व्यवसाय र पोखराको छविमाथि पर्न सक्ने भन्दै व्यवसायीले सम्बन्धित निकायको तत्काल ध्यानाकर्षण गराएका हुन् ।

अस्पतालले गाउँ र शहरलाई जोड्नुपर्छः पूर्वमुख्यमन्त्री चौधरी

तुलसीपुर (दाङ), – लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले अस्पतालले गाउँ र शहरलाई जोड्नु पर्ने बताउनुभयो । दाङको तुलसीपुरमा शुक्रबार साझा अस्पतालको उद्घाटन सत्रमा उहाँले गाउँका जनताको स्वास्थ्यलाई ख्याल गर्नुपर्ने बताउनुभयो । अहिले पनि गाउँका जनताले बिशेषज्ञ सेवा प्राप्त गर्न नसकेको जनाउँदै यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले तुलसीपुर तथा आसपासका बिरामीलाई बाहिर रेफर गर्ने वातावरण अन्त्य गर्न यस्ता अस्पतालको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले गुणस्तरीय स्वास्थ्य सेवा दिन सकेमा यहाँका बिरामी बाहिर जानु पर्ने अबस्थाको अन्त्य हुने बताउनुभयो ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका पूर्वनगरप्रमुख घनश्याम पाण्डेले बिरामीले खानपान, शारीरिक ब्याम, सोचाइजस्ता कुरामा ध्यान दिँदा मानिस स्वस्थ हुने बताउनुभयो ।

अस्पतालले २५ शय्याबाट सुविधा दिने सञ्चालक डा रोशन गुप्ताले जानकारी दिनुभयो । आकस्मिक सेवा, प्रसुती तथा शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग, एनेस्थेसिया तथा क्रिटिकल केयर सेवा प्रदान गरिने उहाँको भनाइ छ । त्यस्तै इन्टरनल मेडिसिन, तथा छातिरोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, नाक कान तथा घाँटीरोग विशेषज्ञ सेवा, सर्जरी विशेषज्ञ सेवा, मुटुरोग विशेषज्ञ सेवा, मिर्गौला रोग विशेषज्ञ सेवा प्रदान गरिनेछ ।

त्यस्तै एनआइसियू, एचडियू, इलास्टोग्राफी स्क्यान, फोरडी भिडियो युएसजी सेवा, इसीजी इको सेवा, सीआरम मेसिनबाट हाडजोर्नीसम्बन्धी अप्रेशन सेवा, मानसिक तथा नशा रोगलगायतका सेवा प्रदान गरिने उहाँको भनाइ छ ।

तनहुँ जलविद्युत आयोजनाद्वारा सात योजना निर्माणाधीन

दमौली (तनहुँ) – तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनामार्फत् सात योजना निर्माणाधीन अवस्थामा छन् । आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत सात वटा योजना निर्माणाधीन अवस्थामा रहेका हुन् ।

आयोजना प्रमुख श्यामजी भण्डारीले वैशाख महिनामा दुई वटा योजना सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दे गाउँपालिका–३ स्थित किल्चोक शाखा सडकमा नाला निर्माण र ऋषिङ गाउँपालिका–१ होक्सेटारमा खानेपानी मुहान तथा पाइप सुधार योजना सम्पन्न भएका छन् ।

आयोजनामार्फत् हालसम्म प्रभावित क्षेत्रमा ९६ योजना सम्पन्न भएका छन् । आयोजनाको सामुदायिक विकास कार्यक्रमअन्तर्गत प्रभावित क्षेत्रहरुमा उपभोक्ता समितिहरुमार्फत् सामुदायिक विकास तथा जीविकोपार्जन पुनस्र्थापन कार्यक्रम सञ्चालनमा रहेको भण्डारीले उल्लेख गर्नुभयो । उपभोक्ता समितिहरुमार्फत् सञ्चालित योजना वातावरणीय तथा सामाजिक व्यवस्थापन सेवा प्रदायकबाट नियमित रुपमा अनुगमन गरिएको छ ।

ऋषिङ गाउँपालिका–७ स्थित माछदाङ टुनीबोट ट्रेल पुलसम्मको पहुँच सडक, भिमाद नगरपालिका–५ स्थित फेदीखोला मोटरेवल पुल निर्माण, ऋषिङ गाउँपालिका–७ स्थित डाडीवन चुलेसी पहुँच मार्ग, ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथि चुलेसी, टुनीबोटे, ब्ल्याङ र टुटुवामा गरिने चारवटा झोलुङ्गे पुलका लागि लठ्ठा आपूर्ति तथा ढुवानी, भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण, म्याग्दे गाउँपालिका–५ फूलबारीस्थित सामुदायिक भवन संरक्षणका लागि पर्खाल लगाउने कार्य र ऋषिङ गाउँपालिका–१ गैराखुदीस्थित दीपक माध्यमिक विद्यालय भवन निर्माण कार्य जारी छन् ।

आयोजना निर्माणका लागि समुदायको महत्वपूर्ण भूमिका रहने भएकाले सामाजिक कामलाई प्राथमिकता दिइएको भण्डारीको भनाइ छ । उहाँले भन्नुभयो, “समुदायसँग सहकार्य गर्दै आयोजनालाई सम्पन्न गराउनेतर्फ हामी लागिपरेका छौ, विभिन्न सामाजिक काममा आयोजनाको तर्फबाट सहयोग रहँदै आएको छ ।”

आयोजनाको प्याकेज १ अन्तर्गत बाँध लगायतका संरचना (हेडवक्र्स), प्याकेज २ अन्तर्गत मुख्य सुरुङ, विद्युतगृह तथा सम्बन्धित उपकरणहरु र प्याकेज ३ अन्तर्गत दमौली भरतपुर २२० केभी प्रसारण लाइनको काम भइरहेको छ ।

आज कृषि तथा वनविज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

नारायणगढ (चितवन) – कृषि तथा वनविज्ञान विश्वविद्यालयले शनिवार हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २,१९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् । दीक्षित हुनेमा स्नातक तहका १,८३६ जना, स्नातकोत्तर तहका ३२७ र विद्यावारिधि तहका ३० जना उच्च तहका प्राविधिक तथा वैज्ञानिक जनशक्ति छन् ।

रजिष्ट्रार प्राडा सिंहक अनुसार पाँचौँ दीक्षान्त समारोहमा कृषि सङ्कायतर्फ कृषि स्नातक मा १,३७२, स्नातकोत्तरमा २१२ र विद्यावारिधितर्फ १९ योग्य भएको जानकारी दिनुभयो । त्यस्तै, पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायतर्फ पशु चिकित्सा तथा पशुपालन स्नातक मा ९७, पशु चिकित्सा स्नातकोत्तरमा ५१ र पशु चिक्तिसा÷पशु विज्ञान विद्यावारिधि मा २३ जना दीक्षित हुँदैछन् ।

सोही सङ्कायको मत्स्य विज्ञान स्नातकमा छ, स्नातकोत्तरमा २० र विद्यावारिधिमा ११ जना छन् । वन विज्ञान सङ«काय (हेटौँडा)तर्फ वन विज्ञान स्नातक (बीएस्सी फरेष्ट्री) मा ३४८, स्नातकोत्तरमा ३० विद्यावारिधि तर्फ तीन जना विद्यार्थी यस पटक दीक्षित हुन योग्य भएका छन् ।

विसं २०६७ असारमा स्थापना भएको यस विश्वविद्यालयले आफ्नो स्थापनाको १६ वर्ष पूरा गरेको छ । यस अवधिमा विश्वविद्यालयले देशको कृषि, पशुविज्ञान, मत्स्यपालन र वन विज्ञान क्षेत्रको विकासका लागि उल्लेखनीय जनशक्ति उत्पादन गर्न सफल भएको छ । विश्वविद्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार स्थापना कालदेखि हालसम्म विभिन्न सङ्काय र तहमा गरी कुल ५,९०६ जना दक्ष जनशक्ति उत्पादन भइसकेका छन् ।

मुलुकका लागि आवश्यक पर्ने उच्च तहको प्राविधिक तथा वैज्ञानिक जनशक्ति उत्पादन गरेर विश्वविद्यालयले देशको कृषि र वन क्षेत्रको रूपान्तरणमा ठूलो योगदान पु¥याउँदै आएको रजिष्ट्रार सिंहले बताउनुभयो ।

फिफा विश्वकप फुटबल–२०२६ : अमेरिकाद्वारा अष्ट्रेलिया पराजित

काठमाडौँ – फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।

अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गरयो । खेल सुरुवाती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गरयो ।

त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो । यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज पौडेलले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुने बताउनुभएको छ ।

ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उहाँले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिनुभयो ।

राजनीतिक तथा कुटनीतिक कारणले विमानस्थल नचलेको भन्ने कुरामा सत्यता नरहेको उहाँको भनाइ थियो । मन्त्री पौडेलले नीतिगत त्रुटी मूलभूत कारण भएको उल्लेख गर्दै यसलाई सच्याउने कार्य भइरहेको उहाँको भनाइ छ ।

पौडेलले भन्नुभयो “घरमै बसेर श्रम स्वीकृति लिन सकिने व्यवस्था गरिएको छ । यसका लागि काठमाडौँ जान पर्दैन । ”

मन्त्री पौडेलले जहाजमा केवल नेपाली श्रमिकलाई विदेश लैजाने र घर ल्याउनेभन्दा पनि पर्यटक (यात्रु) ल्याउन प्रवद्र्धनका कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भविष्यमा निजगढ विमानस्थल पनि बन्नुपर्ने बताउनुभयो ।

नेपालमा ढिला प्रवेश भयो मनसुन

काठमाडौँ। नेपालमा यसवर्षको मनसुन औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले सरदर मिति जुन १३ तारिखमा मनसुन प्रवेश गर्ने भए पनि यस वर्षको मनसुन असार ५ गते (जुन १९) मा औसत मितिभन्दा ६ दिन ढिला गरी प्रवेश गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोशी प्रदेशका केही भूभागमा पूवेश गरेको मनसुन अहिले निकै कमजोर रहेको छ । देशभर मनसुन फैलिन भने समय लाग्ने बताइएको छ ।

सन् १९७४ मा पनि आजकै दिन नेपालमा मनसुन प्रवेश गरेको थियो भने सन् १९८२ मा सबैभन्दा ढिलो, जुन २७ मा मनसुन आगमन भएको थियो । सन् १९८१ यता अभिलेख गरिएको मनसुनी वर्षाको विवरण अनुसार सबैभन्दा कम वर्षा सन् २०१५ मा ११६९ मिलिलिटर मात्र भएको थियो ।

नेपालमा मनसुन ऋतुमा औसत १३८२ मिलिलिटर वर्षा हुने गर्दछ । गत वर्ष भने मनसुन १५ दिनअघि नै प्रवेश गरेको थियो । यसपालि प्रि मनसुमा धेरै वर्षा भएको छ । मनसुनमा कम वर्षा हुने र गर्मी बढी हुने आकलन गरिएको छ ।

नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी

काठमाडौँ। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गर्दशन २०८३ जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन २०८३ आज जारी गरिएको बताउनुभयो । सो मार्गदर्शनमा जसमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त गरेका ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनी र ‘घ’ लघुवित्त कम्पनीलाई समेटर मार्गनिर्देशन जारी गरेको हो ।

“इजाजतपत्र प्राप्त संस्थाको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृतलाई नियुक्त गर्दाका बखत नै निजले पाउने वार्षिक तलब, भत्ता तथा अन्य सुविधाको सम्बन्धमा सम्झौतापत्रमा स्पष्ट उल्लेख गर्नुपर्नेछ’’, मार्गदर्शन निर्देशिकामा भनिएको छ ।

ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो तथा चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गरेको जनाएको छ ।

सडकमा चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण फैलाउने तथा मोडिफाइ गरिएका मोटरसाइकलहरूविरुद्ध विशेष निगरानी तथा कारबाही अभियान सञ्चालन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मोटरसाइकललाई मोडिफाइ गरी चर्को आवाज निकाल्ने र ध्वनि प्रदूषण गर्ने गतिविधि नियन्त्रणका लागि हामीले अभियान नै सञ्चालन गरेका छौँ । हालसम्म एक हजार ३२९ मोटरसाइकलका धनीलाई कारबाही गरिएको छ ।”

यसैबीच, ट्राफिक प्रहरीले आजमात्रै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका तथा हराएका ५० वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको जनाएको छ ।

चोरी तथा हराएका सवारीसाधनको खोजतलासका लागि ट्राफिक प्रहरीले विशेष टोली परिचालन गरेको प्रवक्ता सुवेदीले जानकारी दिनुभयो ।

हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन

बागमती। हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ ।बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम सङ्कलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिनुुभयो ।

उहाँका अनुुसार कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटेकामा बक्यौता रकम बुझाउन आउने उद्योगको पुनः लाइन जोड्ने काम पनि भइरहेको छ ।

लाइन काट्ने काम जारी रहने उल्लेख गर्दै सूचना अधिकारी भण्डारीले शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण सोमबारदेखि मात्रै उक्त कार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी कूल १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी करिब रु १३ करोड रहेको र बक्यौता रकम नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने कार्यालयले जनाएको छ ।

रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा

भरतपुर। यही असार ७ गतेदेखि ९ गतेसम्म चितवनको भरतपुरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई लक्षित गरी यहाँ सुरक्षा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, उच्चपदस्थ व्यक्तित्व तथा विदेशी पाहुनाको समेत सहभागिता रहने भएकाले सुरक्षा तयारीलाई उच्च प्राथमिकतामा राखिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताउनुभयो । महाधिवेशनलाई लक्षित गरी चारवटै सुरक्षा निकाय समन्वयात्मक रूपमा तयार भएको सुरक्षा योजना कार्यान्वयन गरिने जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशन अवधिभर कुनै पनि सुरक्षा चुनौती उत्पन्न हुन नदिन रणनीतिक सुरक्षा योजना तयार पारिएको छ ।

“महाधिवेशनलाई केन्द्रित गरेर विस्तृत सुरक्षा योजना बनाएका छौँ”, प्रजिअ अर्यालले भन्नुभयो, “आवश्यक परे अन्य जिल्लाबाट थप सुरक्षाकर्मी मगाएर भए पनि सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइनेछ ।” महाधिवेशनस्थलको निरन्तर अनुगमन र निरीक्षणसमेत गरिरहेको उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताउनुभयो । उहाँका अनुसार खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति अपनाइएको छ ।

“सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिनेछ भने ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी खटाइने छन्”, प्रहरी उपरीक्षक पौडेलले भन्नुभयो, “सुरक्षाका दृष्टिकोणले कुनै कमजोरी हुन नदिने गरी सम्पूर्ण सुरक्षा संयन्त्र परिचालन हुनेछन ।”

महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई विशेष प्राथमिकता दिइएको छ । पार्टीले सकेसम्म कम सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेको छ । रास्वपाका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, तथा शुभेच्छुकहरूको ठूलो उपस्थिति रहने भएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने बताउनुभयो ।

“प्रतिनिधि र सहभागीलाई सकेसम्म सीमित सवारीसाधन प्रयोग गरेर आउन अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो । यसअघि रत्ननगरको टाँडी क्षेत्रमा आयोजना गर्ने तयारी गरिएको महाधिवेशन अन्ततः भरतपुरमा सारिएको हो । रास्वपा चितवनका सभापति मिनिमाधव खनालका अनुसार अध्यधिक गर्मी, वर्षा तथा सुरक्षा व्यवस्थापनलाई मध्यनजर गर्दै कार्यक्रमस्थल परिवर्तन गरिएको हो ।

“यति ठूलो राष्ट्रिय कार्यक्रमको आयोजक बन्न पाउनु चितवनका लागि गौरवको विषय हो”, उहाँले भन्नुभयो, “सहभागीलाई घाम र वर्षाबाट सुरक्षित राख्न आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम भइरहेका छन् ।”

महाधिवेशनको सुरक्षाका लागि सुरक्षाकर्मीसँगै पार्टीका नेता कार्यकर्तासमेत खटिने सभापति खनालले जानकारी दिनुभयो । उहाँका अनुसार बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । खुला सत्रमा भने ४० हजारदेखि ५० हजारसम्म उपस्थित हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

महाधिवेशनमा सवारीसाधन व्यवस्थापनका लागि पूर्वी क्षेत्रबाट आउनेलाई केन्द्रीय बस टर्मिनल क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको छ । पश्चिम र काठमाडौँ क्षेत्रबाट आउने सवारीसाधनलाई विशाल चोक नजिकै रहेको वीरेन्द्र क्याम्पसको खुला चौरमा व्यवस्थापन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हेटौँडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर पिउने पानी वितरण

मकवानपुर। हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले हेटौँडा उपमहापालिकाको विभिन्न वडाका उपभोक्तालाई दैनिक तीन करोड ७५ लाख लिटर प्रशोधित पिउने पानी वितरण गर्ने गरिएको छ ।

हेटौँडा उपमहापालिकामा वडा नम्बर १२ र १३ बाहेक वडा नम्बर १ देखि १९ का करिब एक लाख ७२ हजार बासिन्दालाई स्वच्छ पिउने पानी दैनिक सरदर १० घण्टा वितरण गर्दै आएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेले बताउनुभयो । उहाँले हेटौँडा नगरको विभिन्न वडाका प्रत्येक टोलमा आजसम्म २९ हजार ८०३ धारा जडान गरिएको जानकारी दिनुभयो ।

हेटौँडा उपमहापालिका–२ स्थित बुङदल खोलाको पानी, ४० डिपट्युवेल र १९ समवेलबाट दैनिक तीन करोड, ७५ लाख लिटर पिउने पानी सङ्कलन गरिँदै आएको खानेपानी बोर्डका सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।

यसैगरी सो बोर्डले हेटौँडा–१४ मा डिपट्युवेल दुई लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण र मेनलाइन शाखा पाइप विस्तार कार्य सम्पन्न गरिएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त आयोजनामा हेटौँडा–१६ शक्तिमा ६ वटा ९ सय घनमिटर क्षमताको समवेलको निर्माण र करिब साढे ३ किलोमिटर पाइप लाइन विस्तार गर्ने कार्य सम्पन्न गरिएको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख विष्णुप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

यसैगरी हेटौँडा–१५ को सानो सुकौलीमा बोर्डले एक लाख लिटर क्षमताको पानी ट्याङ्की र वडा नम्बर १६ मा शौचालय निर्माण गरेको छ । हेटौँडा खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा सरसफाइ डिभिजन १ को संयुक्त लगानीमा हेटौँडा–११ थाना भ¥याङको सिमलटार क्षेत्रमा हाल दुई समवेल र चार लाख ५० हजार क्षमताको ओभर हेड पानी ट्याङकी तथा घर निर्माण गरेको प्रमुख सापकोटाले बताउनुभयो ।

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डले आफ्नो परिसरभित्र अत्याधुनिक पानीे परीक्षण प्रयोगशाला हालै सञ्चालनमा ल्याएको छ । बोर्डले पानी सङ्कलन गर्ने कार्यमा प्रयोग गर्ने उद्देश्यले विभिन्न साइजका मोटर पम्पसेटहरु खरिद गरिएको जनाएको छ ।

साथै हेटौँडा–१२ र १३ का स्थानीय उपभोक्ताहरुले आफ्नो लगानीमा छुट्टाछुट्टै खानेपानीको ट्याङ्की निर्माण गरेर पाइप विस्तार गरी ती प्रत्येक घरमा खानेपानीको धारा जडान गरिएको हेटौँडा उपमहानगरपालिकाको प्रवक्ता सविन न्यौपानेले बताउनुभयो ।

रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार

मस्को। रुसले युरोपेली मुलुकसँग सम्पर्क र वार्ताका लागि कुनै चेतावनी नदिएको अवस्थामा आफू खुला रहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार नियमित पत्रकार सम्मेलनमा बताउनुभएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि बारम्बार रुस युरोपसँग वार्ता र सम्पर्कका लागि तयार रहेको बताउँदै आउनुभएको छ ।

“युरोपेलीहरू रुस कमजोर छ भन्ने धारणामा रहेर वार्ता हुनुपर्छ भन्ने चाहन्छन् यो कुरा गलत छ”, उहाँले भन्नुभयोे, “यस्तो दृष्टिकोणले कहीँ पनि पुर्याउँदैन।”

पेस्कोभले भन्नुभयो, “यदि युरोपका राजनीतिक शक्तिहरूले शर्त जारी नगरी वा मस्कोलाई सिकाउने प्रयास नगरी रूससँग पुनः वार्ता सुरु गर्न आवश्यक हुन्छ र यसमा युरोप तयार रहन्छ भने रूस यसका लागि तयार हुनेछ ।

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

काठमाडौँ। वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान गरिएको छ ।

आज राष्ट्रपति कार्यालय शीतलनिवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ प्रदान गर्न आयोजित समरोहमा अभिनेता श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा नगदराशि रु तीन लाख ७५ हजारसहित अभिनेता श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नुभयो ।

साथै, उक्त पुरस्कार समारोहमा गत वर्ष विसं २०८२ मा प्रदर्शन भएर राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सहभागी भएका चलचित्रमध्येबाट निर्णायक समितिद्वारा छनोट भएका चलचित्र र कलाकर्मीलाई पुरस्कृत गरिएको छ ।

उक्त समारोहमा सर्वोत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता नीर शाह (परान), अभिनेत्री मिरुना मगर (ऊनको स्वीटर), लेखन दीपकप्रसाद आचार्य र यम थापा (परान), छायाङ्कन पदमबहादुर श्रेष्ठ (कोशेढुङ्गा), सम्पादन नकुल खड्का (कोशेढुङ्गा), आदिवासी जनजातितर्फको सर्वोत्कृष्ट चलचित्र ‘इन्दिरा धिमे मैचा’ विजेता घोषित हुनुभएको छ । उहाँहरूलाई नगदराशि रु २५ हजारसँगै प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, चलचित्र ‘नाकछोङ्ग’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको थियो । यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कारमार्फत अभिनेत्री आना शर्मा (रमिताको पिरती) र नवकलाकार विमोचन दवाडी (झरीपछिको इन्द्रेणी)लाई प्रदान गरिकेको थियो । विशेष चलचित्रलाई नगदराशि रु दुई लाख र प्रोत्साहन पुरस्कार प्राप्त गर्ने कलाकर्मीलाई जनही रु २५ हजार प्रदान गरिएको थियो ।

यस्तै, मरानोपरान्त चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालाई नगदराशि रु ५० हजारसहित ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो । स्वर्गीय सिटौलाको सम्मान उहाँका पिता गोकर्ण सिटौलाले ग्रहण गर्नुभएको थियो ।

निर्माता विष्णुगोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डाक्टरसिंह गुरुङ, चलचित्र पत्रकार प्रकाश सुवेदी, अभिनेता रोहित रुम्बा, कलाकार अञ्जिला तुम्बापो सुब्बा, कलाकार लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, निर्माण नियन्त्रक शङ्कर पाण्डेलाई समेत ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो ।

उहाँहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न बोर्डले बर्सेनि पुरस्कार प्रदान गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अहिले बक्स अफिसमार्फत चलचित्रको व्यापार सार्वजनिक गरिरहेका छौँ, मूल्याङ्कन गरिरहेका छौँ । पछिल्लो दुई वर्षमा एक अर्ब बढीको व्यापार नेपाली चलचित्रले गरेको छ ।

यसले अब संस्कृतिकसँगै देशलाई आर्थिक रूपमा पनि योगदान दिइरहेको प्रस्ट्याएको छ । हाम्रो चलचित्र ऐन छिटै आउँदैछ, आउँदा दिन नेपाली चलचित्रका लागि राम्रो हुनेमा विश्वस्त छौँ ।”

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

कञ्चनपुर। अत्यधिक गर्मी बढ्दै गएपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा १२ दिन बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार यही असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर विद्यालयमा बिदा दिने गर्ने निर्णय गरिएको हो । उक्त बिदा विद्यालयको वार्षिक बिदा (लामो बिदा) बाट कट्टा हुने छ ।

पछिल्ला दिनमा अत्यधिक गर्मीका कारण विद्यार्थीलाई विद्यालय आउजाउ गर्न कठिनाइ हुन थालेपछि बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत बमले जानकारी दिनुभयो ।

नगरपालिकाले मौसमको अवस्था सामान्य भएपछि पूर्वनिर्धारित तालिकाअनुसार विद्यालय सञ्चालन हुने जनाएको छ ।

नेपालमा भ्रष्टाचार थियो, छ र बढ्दै गएको छ – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सम्पत्ति छानबिन सुशासन र विधिको शासनसँग जोडिएको महत्वपूर्ण विषय भएको बताएका छन् ।

सम्पत्ति छानबिन, सुशासनको सवाल र विधिको बहस कार्यक्रममा बोल्दै थापाले सुशासनको मुद्दा नै निर्वाचनको सबैभन्दा ठूलो मुद्दा रहेको उल्लेख गरे । उनले आफ्नो पार्टीभित्र पनि लामो समयदेखि सुशासनको विषय उठाउँदै र त्यसलाई स्थापित गर्न संघर्ष गर्दै आएको बताए ।

उनले भने, ‘सुशासनको मुद्दा नै यो चुनावको सबैभन्दा ठूलो मुद्दा थियो। हामीहरू आफ्नै पार्टीभित्र पनि लामो समयदेखि उठाउँदै, लड्दै यो विषयलाई स्थापित गर्दै आइरहेका पनि हौँ।’

उनले नेपालमा भ्रष्टाचार विगतदेखि विद्यमान रहेको र अझ बढ्दै गएको दाबी गर्दै भ्रष्टाचारकै कारण मुलुकले अपेक्षित प्रगति गर्न नसकेको तथ्यहरूले पनि देखाएको बताए । थापाका अनुसार राजनीतिक दल तथा दलसँग सम्बन्धित व्यक्तिहरू सार्वजनिक पदमा पुगेर अख्तियारको दुरुपयोग गर्ने, अवैध रूपमा सम्पत्ति आर्जन गर्ने र त्यसलाई वैध बनाउने प्रवृत्तिबारे नागरिक तहमा व्यापक चर्चा हुने गरेको छ ।

उनले भने, ‘नेपालमा भ्रष्टाचार थियो, छ र बढ्दै गएको छ। भ्रष्टाचारकै कारण नेपालले प्रगति गर्न सकेको छैन भन्ने कुरा तथ्यहरूले पनि देखाएका छन्। सबैभन्दा बढी राजनीतिक दलहरू छन्, दलहरूसँग सम्बन्धित व्यक्तिहरू छन्। सार्वजनिक ओहोदामा पुग्छन्, त्यहाँ पुगेर अख्तियारको दुरुपयोग हुन्छ। त्यसबाट अकुत सम्पत्ति, अवैध सम्पत्ति जम्मा गर्छन्। त्यो सम्पत्तिलाई वैध बनाउँछन् भन्ने कुरा नागरिकहरूको बीचमा चलिआएको छ ।’

रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताएका छन् । महाधिवेशनन उद्घाटनस्थलमा शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्।

महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताए। उनले भने, “सबै एकै ठाउँमा आएरमात्रै दुई तिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।”

सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उनले बताए। शाहले भने, “यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।” पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको उनको भनाइ छ।

चर्काे गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भने, “पार्टीको जन्म भएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।” महाधिवेशन पार्टीको पर्व भएको भन्दै उहाँले थप्नुभयो, “महाधिवेशन हो, यो चितवनबाटै हुनुपर्छ भन्ने बुझाइले यही गर्ने निर्णय गर्‍याैँ ।”

भरतपुरमा यही असार ७–९ गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको उद्घाटनसहित आवश्यक पर्ने आधिकारिक कार्यक्रममा उपस्थित रहने उहाँको भनाइ थियो । महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिएका छन्।

पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित ‘आइटी फौज’ निर्माण गरिन्छ – प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउने उद्देश्यसहित डिजिटल प्रविधिको अधिकतम उपयोग गर्दै ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उनले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।

उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा छौं । आइटी प्रयोग गर्ने सन्दर्भमा आइटी सेना वा एउटा बिशाल आइटी फौज तयार गर्नुपर्ने नै भयो । पार्टीलाई सुदृढ, विस्तार गर्ने र नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउनको लागि विशाल आइटी आर्मी चाहियो । यो कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने कुरा कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरु नै गर्न सक्ने कुरा हो ।’

उननले डिजिटल क्षेत्रमा लगानी कम भएको भन्दै चुनावी खर्चसँग तुलना गर्दै असन्तुष्टि पनि व्यक्त गरे।

उनले भने, ‘चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो। एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो।’

कार्यक्रममा उनले पार्टीलाई जनताको पक्षमा अझ मजबुत बनाउने र डिजिटल माध्यमबाट जनसंगठन विस्तार गर्ने योजना रहेको पनि बताए।

सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।महाधिवेशनन उद्घाटनस्थलमा आज साँझ पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले त्यस्तो बताउनुभएको हो ।

महामन्त्री शाहले सबै एकै ठाउँमा उभिएका कारण दुईतिहाइ हासिल गर्न सकिएको भन्दै महाधिवेशनमा पनि सबै एक ठाउँमा हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै एकै ठाउँमा आएरमात्रै दुईतिहाइ हासिल गर्न सम्भव भएको हो, सबै जना महाधिवेशनबाट पनि सम्मानित रूपमा आउने वातावरण बनाउन हामी अहोरात्र खटिरहेका छौँ ।”

सहमतिको वातावरणका लागि सबै प्रयास भइराखेको उहाँले बताउनुभयो । शाहले भन्नुभयो, “यद्यपि सहमति हुन सकेन भने पनि लोकतान्त्रिक पद्धतिमा प्रतिस्पर्धात्मक माहोलबाट साथीहरू आउनुहुनेछ ।” पार्टी जीवनमा सबैभन्दा महत्त्वपूर्ण पर्वका रूपमा महाधिवेशनलाई लिएको उहाँको भनाइ छ ।

चर्काे गर्मीमा पनि चितवनलाई महाधिवेशनका लागि किन रोजियो ? भन्ने प्रश्नमा महामन्त्री शाहले भन्नुभयो, “पार्टीको जन्मभएको ठाउँ, एउटा आन्दोलनबाट यो पार्टी स्थापना भयो, यो हाम्रो उद्गम भूमि पनि हो, सबै हिसाबले सोचेर चितवन रोजेका हौँ ।” महाधिवेशन पार्टीको पर्व भएको भन्दै उहाँले थप्नुभयो, “महाधिवेशन हो, यो चितवनबाटै हुनुपर्छ भन्ने बुझाइले यही गर्ने निर्णय गर्यौँ ।”

भरतपुरमा यही असार ७–९ गतेसम्म हुन गइरहेको पार्टीको केन्द्रीय महाधिवेशनको उद्घाटन सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको उद्घाटनसहित आवश्यक पर्ने आधिकारिक कार्यक्रममा उपस्थित रहने उहाँको भनाइ थियो ।

महामन्त्री शाहले महाधिवेशनको तयारीका विषयमा उपसमितिका संयोजकहरूसँग जानकारी लिनुभएको छ ।

सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता

काठमाडौँ। जिल्ला अदालत काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिनका अनुमति दिएको छ ।

न्यायाधीश आत्मदेव जोशीको इजलासले आज सभापति लामिछानेको सङ्गठित अवराधसम्बन्धी अभियोगको मुद्दा फिर्ता लिन आदेश गरेको हो ।

आदेशमा भनिएको छ, “निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित सङ्गठित रूपमा ठगी गरेको मुद्दाको अभियोगपत्रमा ठगीतर्फको अभियोग कायम राखी सङ्गठित अपराधतर्फको अभियोग कायम नरहनेगरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम यो संशोधन आदेश गरिदिएको छ ।”

आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ को उपदफा (२) को खण्ड (क)ले सम्पत्ति शुद्धीकरणसमेतका केही मुद्दाहरूबाहेक अन्य मुद्दामा अभियोग दाबी फिर्ता लिन वा संशोधन गर्न कानुनले रोक लगाएको अवस्था पनि नदेखिएको उल्लेख छ ।

आदेशमा भनिएको छ, “अपराध संहिता, फौजदारी कार्यविधि संहिता एवं अपराध पीडित संरक्षण ऐनसमेतले पीडितमुखी न्यायको अवधारणालाई स्वीकार गरेको परिप्रेक्ष्यमा पीडितलाई क्षतिपूर्तिसहितको न्यायका लागि बाधकका रूपमा रहने लामो फौजदारी प्रक्रिया, कठोर अभियोग एवं मिलापत्रका लागि अवरोध हुने अवस्थामा फौजदारी न्यायशास्त्र, अभियोजनको स्वायत्तता, पीडितको अधिकार र सार्वजनिक हितबीचको सन्तुलनका लागि अदालतले अभिभावकीय दायित्व निर्वाह गर्नुपर्ने पनि हुन्छ ।”

सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोगपत्र संशोधनको निवेदन दायर गरेको थियो ।

यसअघि, सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी मुद्दा कास्की र पर्सा अदाततले फिर्ता लिन अनुमति दिएको थियो ।

रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनलाई आफ्नो उद्गम थलोका रूपमा मान्दै आएको छ । पार्टीका केन्द्र र जिल्ला तहका नेताले चितवनलाई उद्गम थलोका रूपमा मान्दै आएका छन्।

सो पार्टीका सभापति रवि लामिछाने तीन पटक चितवन जिल्लाबाट भारी मतका साथ निर्वाचित भएका छन्। पार्टीका संस्थापक सभापति लामिछानेको चितवन गृहजिल्ला भने होइन । तर निर्वाचनका हिसाबले सभापति लामिछानेमात्र नभई चितवन रास्वपाकै आधार क्षेत्र बनेको छ । प्रवासमा रहेर पनि नेपालमा हुने रास्वपाका हरेक गतिविधिमा प्रत्यक्ष सहभागी हुँदै आएका चितवन निवासी कृष्ण रेग्मी रास्वपाको उद्गम थलोका रूपमा चितवनलाई नै मान्छन् ।

रेग्मीले घटना विशेषका कारण हिरासतमा बस्दै गर्दा चितवनवासीले सभापति लामिछानेप्रति देखाएको सहानुभूति उनका लागि प्रेरणाको स्रोत बनेको बताए। आफ्नो पक्षमा सिङ्गो चितवनवासी सडकमा निस्किएको घटनालाई सभापति लामिछाने बिर्सन सकेनन्। हिरासतमुक्त भएपछि उर्लिएको जनसागरलाई नारायणी नदी किनारमा सम्बोधन गरेको र चितवनवासीले अपार माया गरेको घटनाले पार्टी सभापति लामिछाने चितवनमा जोडिन सहयोग पुगेको रेग्मीको भनाइ छ।

सभापति लामिछानेको सांसद पद निलम्बन भएर रिक्त रहेको उक्त क्षेत्रमा वि.सं. २०८० मा सम्पन्न उपनिर्वाचनमा पनि सभापति लामिछानेले मत वृद्धि गरी विजयी भए । लामिछाने ५४ हजार २७६ मत ल्याएर विजयी हुँदै गर्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका युवा नेता जीतनारायण श्रेष्ठले जम्मा ११ हजार २५१ मतमात्रै पाएका थिए।

त्यसैगरी २०८२ सालमा भएको संसदीय निर्वाचनमा सभापति लामिछाने अघिल्ला दुई निर्वाचनमा भन्दा अझ बढी मत ल्याएर निर्वाचित हुन सफल भए। उनी ५४ हजार ४०२ मत ल्याएर विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मीना खरेल जम्मा १४ हजार ५६४ मतमा सीमित भइन्।

चितवनका जनताले सभापति लामिछानेलाई लगातार दिएको यो मतले पनि चितवनलाई रास्वपाको आधार क्षेत्रका रूपमा स्वीकार गर्नुपर्ने भनाइ जिल्लास्थित नेताहरूको छ । रास्वपा चितवनका सभापति मिनिमाधव खनाल चितवनवासीको अपार मायापछि लामिछाने पार्टी खोलेर राजनीतिमा होमिएको बताउँछन्। उनले भने, “सभापतिज्यूले यहाँ पाउनुभएको मत र उहाँप्रति दर्शाइएको सद्भाव र मायाले पनि पार्टीको उद्गम थलो चितवनलाई नै मान्नुपर्ने हुन्छ ।”

पार्टी स्थापनाकालदेखि नै जिल्लामा नेतृत्व गर्दै आएका निवर्तमान जिल्ला सभापति कृष्णप्रसाद भुषाल पनि लामिछानेले मिडियामा रहेर राज्यले गर्न नसकेको काम गरिरहेको अवस्थामा पार्टी स्थापना गरेर आफ्नो निर्वाचन क्षेत्र चितवन रोज्नुभएको बताउँछन्।

सबै हिसाबले रास्वपा चितवनमा बलियो भएको उनको भनाइ छ। पहिलो निर्वाचनमा भारी मतका साथ दुई क्षेत्र जितेको रास्वपाले अहिलेको निर्वाचनमा तीन वटै क्षेत्र जित्न सफल हुनुले पार्टीको उद्गमस्थल चितवन नै हो भन्ने तर्क उनले राखे।

रास्वपाका केन्द्रीय सदस्य राजन गौतम तदर्थ समिति रहेको पार्टीले निर्वाचन जितेर दुई तिहाइ नजिक पुगेको यो विरलै घटना भएको बताउँछन्। निर्वाचन प्रचारप्रसारका क्रममा गत फागुन १५ गतेका दिन पार्टी सभापति लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाहले सम्बोधन गरेको ‘स्टेज’मा उभिएर पहिलो महाधिवेशन उद्घाटन गर्न लागिएको उनले जानकारी दिए।

नेता गौतमले भने, “पृष्ठभूमि र घटनालाई केलाउँदै जाँदा रास्वपाको उद्गमथलो चितवन नै हो ।” गएको निर्वाचनमा सभापति लामिछानेको चुनावी कमाण्डर रहेर भूमिका खेलेका गौतम सभापति लामिछानेको तीन वटा निर्वाचनमा पाएको मतको उकालो लाग्दो ‘ग्राफ’ले पनि चितवनलाई रास्वपाको आधाभूमिका रूपमा देखाएको बताउँछन्।

वि.सं. २०७९ असार ७ गते स्थापना भएको रास्वापाको यही असार ७ गतेकै दिन चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । तीन दिने महाधिवेशनमा देशभरबाट करिब तीन हजार प्रतिनिधिसहित निर्वाचन पर्यवेक्षक, पार्टीका शुभचिन्तक र नेता तथा कार्यकताको उल्लेख्य उपस्थिति हुने रास्वपाले जनाएको छ ।

प्रतिनिधि सभामा दुई तिहाइ नजिक बहुमत सदस्य रहेको रास्वपाको प्रथम ऐतिहासिक महाधिवेशनलाई राजनीतिक बृत्तमा बडो महत्वका साथ हेरिएको छ।

मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।

‘द हिमालयन मोटरसाइकल एक्सपेरियन्स (टिएचएमई)’द्वारा आज यहाँ आयोजित ‘नवौँ म्याङ्गो राइड–२०२६’को उद्घाटन गर्दै मन्त्री चौधरीले साहसिक पर्यटनमार्फत तराई क्षेत्रको पर्यटन सम्भावना उजागर गर्न, आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा स्थानीय अर्थतन्त्र सुदृढ बनाउन यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री चौधरीले नेपालको प्राकृतिक, सांस्कृतिक तथा कृषि सम्पदाको संरक्षण, प्रवर्द्धन र प्रभावकारी प्रचारप्रसारमा युवाको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउनुभयो । उहाँले मुलुकको आर्थिक रूपान्तरणमा युवा पुस्ताको सिर्जनशीलता, नवप्रवर्तन र सक्रियताको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो ।

“कृषि तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि युवाको ऊर्जा र सहभागितालाई सही दिशामा परिचालन गर्न आवश्यक रहेको छ । यस्ता अभियानले स्थानीय उत्पादनको बजारीकरण तथा ग्रामीण अर्थतन्त्रको सबलीकरणमा समेत योगदान पुर्याउँछ”, मन्त्री चौधरीले भन्नुभयो, “म्याङ्गो राइड मोटरसाइकल यात्रामा सीमित नरही सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यमा आधारित अभियानका रूपमा विकसित भएको छ ।”

नयाँ पर्यटन गन्तव्यको पहिचान, सामाजिक सञ्जालमार्फत नेपालको प्रचारप्रसार तथा स्थानीय समुदायसँगको प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रमको सकारात्मक पक्ष भएको उहाँले बताउनुभयो ।

सन् २०१५ देखि निरन्तर सञ्चालन हुँदै आएको उक्त कार्यक्रमले साहसिक पर्यटनसँगै परोपकारी र सामाजिक गतिविधिलाई समेत अघि बढाउँदै आएको आयोजकले जनाएको छ ।

मन्त्री चौधरीले यस्ता कार्यक्रमले अन्तरराष्ट्रियस्तरमा नेपालको पहिचान अभिवृद्धि गर्न तथा पर्यटन क्षेत्रको प्रवर्द्धनमार्फत आर्थिक गतिविधि विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको कामना गर्नुभयो ।