`

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा भट्टराई नियुक्ति गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

कक्षा १२ को नतिजा प्रकाशित, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं – परीक्षा सञ्चालनको ३५ दिनमै कक्षा १२ को नतिजा प्रकाशन भएको छ। आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परिक्षाको नतिजा प्रकाशन गरेको हो। परीक्षामा नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन् ।

परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए।

लुइस रोमोको निर्णायक गोल, मेक्सिकोको लगातार दोस्रो जित

काठमाडौं । सहआयोजक मेक्सिको दक्षिण कोरियामाथि १–० को जित हासिल गर्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

मेक्सिकोको ग्वाडलाहारा स्टेडियममा शुक्रबार बिहान भएको समूह चरणको खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित गर्दै एक खेलअगावै अन्तिम चरणमा स्थान सुरक्षित गरेको हो।

मेक्सिकोको जितका लागि खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको गोल नै खेलको निर्णायक गोल बन्यो।

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुदः मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कञ्चनपुरको खेलकुद विकास एवं विस्तारका लागि बजेट विनियोजन गरेको छ ।

यहाँको मिनी स्टेडियम निर्माणदेखि कवर्डहल परिसरमा इन्डोर क्रिकेट हल निर्माणसम्मका लागि आगामी आवमा बजेट विनियोजन भएको हो ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-२ मा खेलकुद मिनी स्टेडियम निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरिएको छ । त्यसैगरी दोधारा चाँदनी-८ मा फुटसल स्टेडियम निर्माणका लागि रु ३० लाख ४० हजार विनियोजन गरिएको छ ।

बेदकाट नगरपालिका-१ मा गौँडी खेल मैदान निर्माणका लागि रु ३८ लाख, शुक्लाफाँटा नगरपालिका-१० मा बाल व्यायमशाला निर्माणका लागि रु सात लाख ६० हजार विनियोजन गरिएको बजेटमा उल्लेख छ । त्यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित ब्याडमिन्टन, फुटबल, कबड्डी, बक्सिङ, कराते क्रिकेटका लागि पनि बजेट विनियोजन गरिएको जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले बताउनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले जिल्ला ब्याडमिन्टन सङ्घ सामग्री खरिदका लागि रु सात लाख ६० हजार, बक्सिङ हल मर्मतसम्भारमा रु सात लाख ६० हजार, कुस्ती प्रशिक्षण केन्द्रलाई रु तीन लाख ८० हजार, कबड्डी सङ्घको प्रशिक्षण हल मर्मतसम्भार रु १५ लाख २० हजार र कञ्चनपुर फुटबल सङ्घको भवन निर्माणमा रु ५३ लाख २० हजार विनियोजन गरेको छ ।

त्यसैगरी महेन्द्रनगरमा क्रिकेट इन्डोर हल निर्माण रु १९ लाख, भीमदत्त नगरपालिका-९ रिडौना खेल मैदानमारु ७ लाख ६० हजार खेलमैदानको पर्खाल निर्माणमा रु ११ लाख ४० हजार विनियोजन गरिएको छ । भीमदत्त नगरपालिका-३ मा कराते तालिम हल निर्माणका लागि रु २२ लाख ८० हजार, बेदकोट नगरपालिका-१० चतहरीमा रहेको अधुरो ब्याडमिन्टन हल निर्माणका लागि रु १९ लाख, कृष्णपुर नगरपालिका-५ पुरानो पञ्चायत खेल मैदानका लागिका लागि रु १९ लाख, सयपत्री खेलमैदान स्तरोन्नतिका लागि रु १९ लाख विनियोजन गरिएको छ ।

दोधारा चाँदनी-७ मा खुला व्यायमशाला निर्माणका लागि रु सात लाख, चाँदनी क्रिकेट मैदान निर्माण एवं खेल सामाग्री खरिदका लागि रु ११ लाख ४० हजार, बेलौरी खुल्ला व्यायमशालाको सामग्री खरिदका लागि रु सात लाख ६० हजार र कृष्णपुर-८ मा राजघाट क्रिकेट मैदान मैदान स्तरोन्नति गर्न रु ११ लाख ४० हजार रकम प्रदेश सरकारबाट विनियोजन भएको जिल्ला खेलकुद समितिका प्रमुख भट्टले जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्ष महेन्द्रनगरस्थित कवर्डहल परिसरमा निर्माणाधीन क्रिकेट मैदानका लागि सङ्घीय सरकारबाट भने रु तीन करोड रकम विनियोजन भएको जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु वर्षको बजेटमा महेन्द्रनगरस्थित कवर्डहल परिसरमा रहेको बक्सिङ हल मर्मत, हक्की खेल मैदान निर्माण, क्रिकेट मैदानमा माटो भरान, हुस्ती सङ्घको हल निर्माण भइरहेको छ भने यहाँ ४०० मिटर एथ्लेटिक्स ट्रयाक निर्माणको पनि गृहकार्य भइसकेको छ ।

जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहले यहाँ निर्माणाधीन बहुउद्देश्यीय कवर्डहल हलका लागि पनि प्रदेश सरकारबाट थप बजेट विनियोजन भएको बताउनुभयो ।

“बहुउद्देश्यीय हलका लागि रु एक करोड ५० लाख विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “अब प्रदेश सामाजिक विकास मन्त्रालयले बजेट कार्यान्वयनमा पनि तदारुपता देखाउनुपर्छ । सरोकार भएका निकायलाई सक्रिय बनाउनुपर्छ ।”

पहिरोले लमजुङ-मनाङ जोड्ने सडक अवरुद्ध,दर्जनौँ सवारीसाधन अलपत्र

लमजुङ। पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ ।बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले भन्नुभयो, “पानी ठूलो परेकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने सम्भावना पनि रहन्छ । सडक माथिबाट ढुङ्गा माटोसहितको पहिरो खसेर सडक अवरुद्ध भइरहेको छ ।” सडक अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङमा जाने र सो जिल्लाबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जाने दर्जनौँ सवारीसाधन अलपत्र परेको उहाँको भनाइ छ ।

यस क्षेत्रमा वर्षैंपिच्छे पटकपटक पहिरो जाँदा सो स्थानमा यात्रा जोखिमपूर्ण बन्नुका साथै यात्रामा समस्या हुँदै आएको छ ।

यहाँ विगत पाँच-सात वर्षअघि गएको ठूलो पहिरो रोकथाम तथा नियन्त्रण हुन नसक्दा पटकपटक पहिरो दोहोरिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । पहिरो रोकथाम गर्न सङ्घीय सरकारको रु १९ करोड ४८ लाखमा काम अघि बढे पनि निर्माणमा ढिलाइ हुँदा सो समस्या उत्पन्न भइरहेको हो ।

विसं २०८० मा सम्पन्न हुनुपर्ने पहिरो हालसम्म पनि सम्पन्न हुन नसक्दा पहिरो रोकथाम हुन सकेको छैन । त्यस्तै, बेँसीसहर घलेगाउँ सडकसमेत पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । यस सडकअन्तर्गत बेँसीसहर-६ पुमा भिरमा पहिरोले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर। करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा लामो सांस्कृतिक-धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा शनिबार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाएपछि औपचारिक रूपमा सम्पन्न हुनेछ ।

ललितपुर महानगरपालिका-४ का वडाध्यक्ष सन्तोष खड्काले जावलाखेलस्थित ललित मण्डपमा भोटो देखाउने तयारी गरिएको बताउँदै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई प्रदर्शन गरिनेछ ।

वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथयात्रामा भगवान् रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो । यसैक्रममा रथलाई जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो ।

संस्कृतिविद्हरूका अनुसार वर्षा र सहकालका देवताका रूपमा पूजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालको प्राचीन तथा विशिष्ट सांस्कृतिक सम्पदामध्ये एक हो । राजतन्त्रकालमा भोटो जात्रामा राजा उपस्थित हुने परम्परा रहेकामा गणतन्त्र स्थापनापछि राष्ट्रपतिले उक्त समारोहमा सहभागिता जनाउँदै आएका छ्न् ।

भोटो देखाउने जात्रा सम्पन्न भएपछि रातो मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखी बाजागाजासहित जावलाखेलबाट बुङ्मतीस्थित मच्छिन्द्रबहालमा लगेर विराजमान गराइने परम्परा रहेको वडाध्यक्ष खड्काले उल्लेख गर्नुभयो ।

उहाँले यस वर्षको जात्रा शान्तिपूर्ण, व्यवस्थित र सफलतापूर्वक सम्पन्न भएको बताउँदै भोटो जात्रामा सहभागी हुन आउने भक्तजन तथा दर्शकलाई आवश्यक सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले जावलाखेल क्षेत्रमा फुटपाथमा व्यापार नर्गन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

संसदमा आज आर्थिक विधेयकदेखि अध्यादेशसम्म निर्णय हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक तथा विभिन्न अध्यादेशमाथि छलफल र निर्णय हुने कार्यसूची तय गरिएको छ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस् तथा राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद खडकबहादुर बुढाले राखेको अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ सम्बन्धमा सांसद नीता घतानीले दर्ता गराएको अस्वीकृतिको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि अर्थमन्त्री डा. वाग्लेले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

फिफा विश्वकप २०२६: कतारसँग ६–० ले क्यानडाको ऐतिहासिक जित

काठमाडौं । फिफा विश्वकप २०२६को सह–आयोजक क्यानडाले विश्वकप फुटबलमा ऐतिहासिक जित दर्ता गरेको छ। बिहीबार राति समूह ‘बी’ अन्तर्गत भएको एकपक्षीय खेलमा क्यानडाले कतारलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो।

क्यानडाको जितमा जोनाथन डेभिडले ह्याट्रिक पूरा गरे भने साइले लारिन र नाथन सालिबाले एकएक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको १६औं मिनेटमा साइले लारिनले गोल गर्दै क्यानडालाई पहिलो अग्रता दिलाएका थिए । त्यसपछि जोनाथन डेभिडले २९औं मिनेटमा गोल गर्दै टोलीको अग्रतालाई दोब्बर बनाए ।

३३औं मिनेटमा हमाम अहमद रातो कार्ड मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सिमित छ । पहिलो हाफको इन्जुरी समयमा जोनाथनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रतालाई तेब्बर बनाए ।

५१औं मिनेटमा असिम माडिबोले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएसँगै कतार ९ खेलाडीमा सीमित रह्यो । जसको फाइदा क्यानडाले उठायो । ६४औं मिनेटमा नाथनले गोल गर्दे क्यानडालाई ४ गोलको अग्रतामा पु¥याए ।

खेलको ७५औं मिनेटमा कतारका मोहम्मद मनाई आत्मघाती गोल गर्दा क्यानडाको अग्रता ५–० मा पुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जोनाथनले ह्याट्रिक पूरा गर्दै टोलीलाई ६–० को फराकिलो जित दर्ता ग¥यो ।

यो विश्वकप इतिहासमा क्यानडाको पहिलो जित निकालेको हो । यसअघि दुई विश्वकप खेलेको क्यानडाले कुनै पनि जित निकाल्न सकेको थिएन ।

यो जितसँगै क्यानडा २ खेलबाट ४ अंक जोड्दै समूह ‘बी’ को शीर्ष स्थानमा छ । समान ३ अंक भएको स्विट्जरल्यान्ड गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । बोस्निया एन्ड हर्जगोभिना र कतारको समान एकएक अंक छ ।

२० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई ५१ हजार नगद दिने बर्दिबासको निर्णय

महोत्तरी । अब महोत्तरीको बर्दिबास नगर क्षेत्रका २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरी (महिला)ले रु ५१ हजार नगद प्रोत्साहन पाउने भएका छन् । नगरको १८औँ नगरसभामा प्रस्तुत आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो ।

“बालविवाह न्यूनीकरणका लागि यसपालि यस्तो प्रोत्साहनको व्यवस्था गरिएको हो”, नगरप्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन्, “अब सुरु हुने नयाँ आर्थिक वर्ष २०८३र८४ मा यो प्रोत्साहन रकम उमेर पुगेर विवाह गर्ने नगर क्षेत्रका प्रत्येक छोरीले पाउनेछन् ।” यसले बालविवाहलाई निरुत्साहित गर्नसँगै कानुनअनुसार उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने सचेतना अभिवृद्धिमा सघाउ पुग्ने क्षेत्रीको विश्वास छ । गत मङ्गलबार प्रस्तुत नीति तथा कार्यक्रमभित्रको यो व्यवस्थाबारे समाजका सबैतिरबाट हौसला पाइएको उनले बताए ।

यसअघि २०८० साल चैत ५ गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगरप्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोडीलाई रु ५० हजार नगद प्रोत्साहनको घोषणा गरेका थिए । सोअनुसार हालसम्म बर्दिबास–१२ को एक जोडीले मात्र प्रोत्साहन रकमको दाबी गरेर लिएका नगर कार्यपालिकाको कार्यालयको अभिलेखबाट देखिन्छ ।

जम्मा १४ वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसहर समुदायको बसोबास छ । तर यो उमेर पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोडीले मात्र लिनुले यिनीहरूमा अझै बालविवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिबास–२ का सामाजिक–राजनीतिक कार्यकर्ता देवनारायण महतो बताउँछन् ।

अहिले एक लाख हाराहारीको जनसङ्ख्या भएको नगरपालिकामा यहाँका १३ वडाहरू पछिल्ला दुई वर्षभित्र बालविवाहमुक्त वडा घोषणा भइसकेका छन् । अब बर्दिबास–१२ मात्र बालविवाह मुक्त क्षेत्र घोषणा हुन बाँकी छ । नगरले आउने आर्थिक वर्षदेखि लागू हुने गरी निर्णय गरेको २० वर्ष उमेर पुगेर विवाह गर्ने छोरीलाई रु ५१ हजार प्रोत्साहन रकमको व्यवस्थाले सामाजिक सचेतना बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

नगरका आमसमुदायका छोरीका लागि यो व्यवस्था भए पनि मुसहर समुदायको हकमा पुरुष, महिला दुवैले पाउने यसअघिदेखिको व्यवस्था कायम नै राखिएको नगरप्रमुख क्षेत्रीले स्पष्ट पार्नुभयो । मुसहर जाति समुदायमा बालविवाहका घटना बाक्लै पाइने हुँदा यसलाई नियन्त्रण गर्न पुरुष, महिला दुवैलाई प्रोत्साहन दिइने व्यवस्था कायम नै राखिएको उहाँको भनाइ छ । नगरपालिकाको यो नयाँ निर्णयलाई महिला अधिकारवादीहरूले सामाजिक सुधारमा सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ महानगरमा आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बहाल करको दर हेरफेर गरेको छ । कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले आगामी आवका लागि बिहीबार बजेट प्रस्तुत गर्दै बहाल करमा दर हेरफेर गरेको जानकारी दिएकी हुन् ।

त्यसैगरी, करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने, असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिवाना मिनाहा दिने कार्यक्रमसमेत कामपाले ल्याउने भएको छ ।

आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक रु दुई लाख ४० हजारभन्दा कम भएमा पाँच प्रतिशत र सोभन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाई सात प्रतिशत कायम गरिने भएको छ ।

करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शीर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञसहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने, करदातालाई वस्तुगत सङ्घहरूसँग आबद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ ।

कामपाले आफ्नै अस्पताल निर्माण गर्ने

कामपाले आगामी आवदेखि महानगर अस्पताल निर्माण गर्ने भएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पताल निर्माणको पहिलो वर्षका लागि रु चार करोड विनियोजन गरिएको छ । “टोलटोलमा योगाभ्यास कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, डङ्गोलले प्रस्तुत गरेको बजेटमा भनिएको छ, “ज्येष्ठ नागरिक निमोनिया खोपका लागि रु एक करोड विनियोजन गरिएको छ । क्यान्सरजस्ता असाध्य रोगहरूको निदानका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरिएको छ । एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र स्थापनार्थ रु दुई करोड रकम विनियोजन गरिएको छ ।”

निःशुल्क एम्बुलेन्स सेवा कार्यक्रमलाई निरन्तरता दिइएको, स्वनिगः विश्वविद्यालय स्थापनाका लागि कानुनी तथा आवश्यक व्यवस्थापकीय कार्यप्रारम्भ गर्न रु ५० लाख छुट्याइएको पनि बजेटमा उल्लेख छ । त्यस्तै, पोषणभत्ता कार्यक्रमका लागि रु १६ करोड विनियोजन गरेको छ ।

छात्रवृत्तिका लागि अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला

काठमाडौँ महानगरपालिकाले शैक्षिकसत्र २०८३/८४ मा कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्नका लागि अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला गरेको छ । एकपटक फेरि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न सकिने भन्दै कामपाले छात्रवृत्तिका लिन अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला गरेको कामपा शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार छात्रवृत्ति परीक्षा समितिले बिहीबार प्रकाशन गर्दै पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयन (र्यापअप)मा समावेश हुन चाहेका परीक्षार्थीले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको हो ।

यस वर्षका लागि कामपाले १४५ वटा शिक्षण संस्थामा चार हजार ८५७ कोटा निर्धारण गरिएकामा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट तीन हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना गरी तीन हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका एक हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजकसमेत रहनुभएका ढकालले जानकारी दिए ।

कामपाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा प्रथम मनोनयन सूची र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयावधिभित्र भर्ना भएका विद्यार्थीको विवरण शिक्षण संस्थाले अद्यावधिक गरेका आधारमा बाँकी रहेका शिक्षण संस्थागत विषयगत सिट सङ्ख्यामा अन्तिम मनोनयन (र्यापअप) गर्नका लागि सूचना प्रकाशन गरिएको हो ।

आवेदन बिहीबार बिहान १०ः०० बजेदेखि खुला भइसकेको छ । असार ८ गते साँझ ५ः०० बजेसम्ममा आवेदन दिइसक्नुपर्ने व्यवस्था छ । रिक्त रहेका शिक्षण संस्था एकिन गरेरमात्र आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षण संस्था छनोट गर्न सकिन्छ । अन्तिम मनोनयनका आधारमा अन्तिम मनोनयन गर्दा विद्यार्थीको एकमुष्ट योग्यताक्रम (ओभरअल मेरिट)का आधारमा विषयगत रूपमा गरिनेछ ।

कामपाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ लिष्टबाट तीन हजार ५१ विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भए । छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूची (म्याचिङ लिष्ट) मा तीन हजार ७३५ विद्यार्थी थिए । यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो ।

यीमध्ये एक हजार ९०१ विज्ञान विषयमा, व्यवस्थापनमा एक हजार १११, कानुनमा ३४ र मानविकीमा पाँच जना विद्यार्थी भर्ना भएका हुन् । यसरी भर्ना भएका विद्यार्थीको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको थियो । छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो ।

कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान

काठमाडौँ । कृषि, वन तथा वातावरण मन्त्रालयलाई तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले करिब दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।

यहाँ बिहीबार आयोजित कार्यक्रममा मन्त्रालय र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बिच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा कोइका नेपाल कार्यालयका कन्ट्री डाइरेक्टर मुहेअन कोङ र मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले हस्ताक्षर गरेका छन् । यस सम्झौताअनुसार दक्षिण कोरिया सरकारले कोइकामार्फत सन् २०२६ देखि २०३१ सम्म सञ्चालन हुने छ वर्षे परियोजनाका लागि रु एक अर्ब ८१ करोड (एक करोड २० लाख अमेरिकी डलर) बराबर रकम उपलब्ध गराउने छ ।

यस आयोजना नेपालको कृषि क्षेत्रमा हाल सञ्चालित अन्तर्राष्ट्रिय सहयोगको सबैभन्दा ठुलो परियोजना हुनुका साथै नेपालमा कोइकाको हालसम्मकै ठुलो द्विपक्षीय परियोजना हो ।यो परियोजना लुम्बिनी प्रदेशका चार जिल्ला बाँके, बर्दिया, दाङ र कपिलवस्तु तथा सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा कार्यान्वयन गरिने जनाइएको छ ।

आयोजनाले जलवायुमैत्री कृषि प्रविधि, सुदृढ धानको बीउ प्रणाली, सुधारिएको बाली कटानीपछिको व्यवस्थापन र कृषक तथा उद्यमीका लागि बजार पहुँच विस्तारमार्फत धानको उत्पादकत्व वृद्धि गरी नेपालको खाद्य सुरक्षा सुदृढ गर्ने लक्ष्य राखेको छ ।

परियोजना कार्यान्वयन कोइकाले कृषि मन्त्रालय र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका प्रादेशिक मन्त्रालयहरूसँगको साझेदारीमा गर्ने छ भने यसमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र अन्तर्राष्ट्रिय धान अनुसन्धान संस्थान (इरी)को प्राविधिक सहयोग रहनेछ ।

परियोजनाले जलवायु अनुकूलित धानको बीउ प्रणाली बलियो बनाउन र नेपालको परिवर्तनशील जलवायु अवस्थाअनुसार धानका सुधारिएका जातहरूको प्रसार तीव्रता दिन विशेष जोड दिने बताइएको छ ।

आजको यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भाग, लुम्बिनी प्रदेशको हिमाली भू–भाग साथै कोशी प्रदेशका तराई भू–भागमा साधारणतया बादल लाग्नेछ।

लुम्बिनी प्रदेशको पहाडी भू–भाग र मधेश प्रदेशको तराई भू–भागमा आंशिक बादल लाग्नेछ । अन्य तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना समेत रहेको छ ।यस्तै, महाशाखाका अनुसार आज राती कोशी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश र अन्य हिमाली र पहाडी भू–भागमा आंशिक बादल तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । महाशाखाका अनुसार कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मलको आपूर्ति तथा वितरणमा हुनसक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी सङ्कलनका लागि ९७०००९९११३ नम्बर तोकेको जनाएको छ । उक्त नम्बरमा किसान तथा सरोकारवालाले बिहान ७ः०० बजेदेखि बेलुका ७ः०० बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमिततालगायत विषयमा जानकारी दिन सक्नेछन् ।

मलसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन मन्त्रालयले क्युआर कोडमार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ । क्युआर कोड स्क्यान गरी सेवाग्राहीले सिधै आफ्नो गुनासो तथा सुझाव पठाउन सक्नेछन्धा

न रोपाइँको मुख्य याममा रासायनिक मलको माग बढ्ने भएकाले आपूर्ति तथा वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन यो व्यवस्था लागू गरिएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताउनुभयो ।

विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरी

काठमाडौँ – फिफा विश्वकप फुटबल २०२६ प्रतियोगिताअन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकिएको छ ।

अमेरिकाको एटलान्ट स्टेडियममा आज भएको समूह ‘ए’को खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको छैटौँ मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यसपछि खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत दक्षिण कोरियाले एक गोल फर्कायो । खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै दक्षिण अफ्रिकाका खेलाडी तेबोहो मोकोनाले गोल गरे ।

स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु

काठमाडौँ। विगतमा भुक्तानी लगायतको समस्या झेलिरहको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने सरकारले काम सुरु गरेको छ ।

यसको पहिलो चरणमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका उच्च अधिकारीसहित प्रदेश तथा स्थानीय तहका स्वास्थ्यकर्मी तथा अधिकारीसँग बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आवश्यक वर्गको पहुँचमा पु¥याउने र बिमाको दाबी रकम भुक्तानीलाई समस्यारहित बनाउने उपायहरुबारे छलफल गरेको थियो ।

छलफलमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सरकारले बिमा कार्यक्रको पुनःसंरचना र यसलाई आर्थिक भारको विषय बन्न नदिनका लागि गृहकार्य गरिरहेको जानकारी दिनुभयो । “स्वास्थ्य बिमा कार्यक्रम अत्यन्त आवश्यक भएको वर्ग कुन हो भनेर छुट्याउनुपर्छ, त्यसका लागि गृहकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी स्वकीय उपसचिव प्रकृति ढकालले स्वास्थ्य बिमा क्षेत्रमा हालसम्म भएका प्रगति तथा विभिन्न अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रम विभिन्न संरचनागत र प्रवृत्तिगत समस्याका कारण समस्याग्रस्त बने पनि सच्याएर अघि बढाउनुको विकल्प नरहेको बताउनुभयो ।

साथै बिमा कार्यक्रम वार्षिक रु ६ अर्ब ७५ करोड घाटामा छ । नयाँ सरकार गठन भएपछि बिमाबापतको रकम तत्काल उपलब्ध गराउँदै आए पनि वार्षिक रु ६ अर्ब ५७ करोड घाटामै छ । अस्पतालको बाँकी बिमा रकम भुक्तानी गर्न रु १६ अर्ब आवश्यक रहेको जानकारी पनि उहाँले दिनुभयो ।

यसरी घाटा हुनुका कारण बिरामीले मात्र बिमा गर्दा जोखिम कोषमा पर्याप्त रकम सङ्कलन नहुने, बिमा कार्यक्रममा स्वेच्छिक सभागिताका कारण पर्याप्त जोखिम कोष बन्न नसक्नु, अस्वाभाविक र झुुठो दाबी, बिलमा अनावश्यक थप रकम र दोहोरो दाबी रहनु बिरामी र सेवा प्रदायक दुवैमा इमानदारीको अभाव आदि छन् । बिमा शुल्कले २४ प्रतिशत दाबीलाई मात्र भर गर्ने हुनाले वार्षिक ६.७५ अर्बको घाटा व्यहोर्नुपरेको उहाँको भनाइ थियो ।

स्वास्थ्य सचिव डा विकास देवकोटाका अनुसार चालु आर्थिक वर्षमा पनि कुल रु एक अर्ब ९९ करोड दावि भएकामा त्यसको आधा अर्थात् रु एक अर्ब १७ करोड मात्र शोधभर्ना भएको छ । यसरी चालु आर्धिक वर्षमा रु एक अर्ब ११ करोड रकम बक्यौता रहेको छ । वर्तमान सरकार गठन भएपछि भुक्तानीको मात्रा बढाउँदै लगे पनि यो समस्याको दीर्घकालीन समाधानका लागि सरकारले गृहकार्य गरिरहेको छ । जसमा निजामती कर्मचारी शिक्षकलगायत अनिवार्य नामाङ्कन, आय आधारित प्रगतिशिल प्रिमियम, उमेर आधारित प्रिमियमको सम्भाव्यता अध्ययनलगायत अल्पकालीन उपाय अपनाइने छन् ।

यसैगरी, झुटा र बढाइ चढाइ गरिएका दाबी रोक्ने संयन्त्रको व्यवस्था, स्थानीय र जिल्ला अस्पतालको सुदृढीकरणजस्ता संरचनागत सुधारको तयारी स्वास्थ्य मन्त्रालयले गरेको स्वास्थ्य सचिव देवकोटाले बताउनुभयो ।

कार्यक्रममा बिमा भुक्तानी सहज बनाउन धुमपान र मद्यपान आदिमा छुटै कर लगाउन तथा अस्पतालहरुको रु १६ अर्ब बक्यौता रकम भुक्तानी दिन पनि विज्ञहरुले सुझाव दिएका छन् । छलफलमा भाग लिने प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुले आमजनतालाई बिमाको जानकारी नै नहुनु, सेवामाथि अविश्वास, औषधि र उपचार उपलब्ध नहुनु, नजिकमा सूचीकृत अस्पताल नहुनु, प्रिमियम तिर्न आर्थिक कठिनाइ, बिमाले दिने सेवाबारे थाह नपाउनु र नामाङ्कन प्रक्रियाको जटिलताका कारण स्वास्थ्य बिमामा नामाङ्कन नै कम भएको उल्लेख गरेका थिए ।

गण्डकी प्रदेशमा सुविधा थैलीको दर अस्पतालको खरिद दरभन्दा कम भएकाले सेवा प्रवाह कठिन भएको छ । त्यस्तै कर्णालीमा बीमित व्यक्तिले समयमै सेवा पाउन नसक्नु, लुम्बिनीमा सेवा प्रदायक व्यवहार अनुकूल नुहुनाका साथै गुणस्तरमा कमी हुनु र मधेस प्रदेशमा औषधिको अभाव तथा सेवाग्राहीको पायकपर्ने स्थानमा सूचीकृत अस्पताल नहुनुजस्ता समस्या देखिएको उहाँहरुले बताउनुभयो ।

फरक प्रसङ्गमा मन्त्री मेहताले सरकारी अस्पतालप्रति जनताको विश्वास फर्काउनुपर्ने त्यसका लागि स–साना कुराबाट सुुरु गर्नुपर्ने बताउनुभयो । “सरसफाइको नियमित तालिका, लाइनको व्यवस्थापन र चिकित्सकको उपस्थिति नियमित हुने कुराले निजी अस्पतालप्रति आकर्षित देखिन्छन् तर स्तरीय जनशक्ति, उपकरण आदिका दृष्टिले सार्वजनिक स्वास्थ्य संस्थाहरु अब्बल छन् । तर स–साना कुरालाई ध्यान नदिएका कारण त्यस्तो भएको देखिन्छ”, उहाँले भन्नुभयो ।

कतैका अस्पतालमा उपकरण काम लिन नसकिएर थन्किएर बस्ने त कतैका अस्पतालमा अभाव हुने प्रवृत्ति रहेको बताउँदै मन्त्री मेहताले त्यस्ता प्रयोग नभएका उपकरणको सूची मन्त्रालयमा पठाइदिन प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीलाई आग्रह गर्नुभयो । “सामान्य मर्मत गरे हुने उपकरण सोही अवस्थामा राख्न र पछि चाहिएका बेला किन्नेतर्फ लाग्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्राडा जगदिश अग्रवालले गलत तरिकाले बिमाबापतको रकम दाबी गर्ने प्रवृत्तिलाई निरुत्साहित नगरेसम्म स्वास्थ्य बिमा समस्याको विषय भइरहने बताउनुभयो । जिल्ला र स्थानीय तहका स्वास्थ्यकर्मीले आफूलाई हाकिम नभई सेवक भएको सम्झेर कार्य गर्नुपर्ने उहाँको भनाइ थियो ।

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी – अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ । कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक विकासले तीव्रता पाएको छ । तर जलविद्युत् विकाससँगै वातावरणीय प्रभाव, जैविक विविधताको संरक्षण र प्राकृतिक तातोपानीका मुहानको भविष्यलाई लिएर चिन्ता पनि बढ्न थालेको छ ।

गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्णमा हाल १७६ मेगावाट क्षमताका छवटा जलविद्युत् आयोजना सञ्चालनमा छन् भने २५५.५ मेगावाट क्षमताका तीनवटा आयोजना निर्माणाधीन अवस्थामा रहेका छन् । नारच्याङ क्षेत्रमा पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, ३८ मेगावाटको निलगिरि–१, ७१ मेगावाटको निलगिरि–२ र छ मेगावाटको रेलेखोला आयोजना सञ्चालनमा छन् । त्यसैगरी वडा नं ५ र ६ को सीमाक्षेत्रमा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ ।

यसबाहेक नारच्याङको भालेबास क्षेत्रमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । सुपर घलेम्दी (९.१४ मेगावाट) र मध्य कालीगण्डकी (६६.५ मेगावाट) आयोजना निर्माणाधीन छ । आइएमई समूहले थप ६६ मेगावाट क्षमताको तिप्ल्याङ कालीगण्डकी आयोजना अघि बढाउने तयारी पनि गरेको छ ।

ऊर्जा उत्पादनको केन्द्र अन्नपूर्ण

अन्नपूर्ण क्षेत्रमा जलविद्युत् विकासको इतिहास २०४५ सालमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजनाबाट सुरु भएको मानिन्छ । त्यसपछि लामो समय खासै गतिविधि नभए पनि पछिल्लो दशकमा निजी क्षेत्रको लगानी बढ्दै जाँदा अन्नपूर्ण ऊर्जा उत्पादनको केन्द्र बन्न पुगेको हो ।

विसं २०७६ मा पाँच मेगावाट क्षमताको घलेम्दीखोला आयोजना सञ्चालनमा आयो । त्यसपछि मिस्त्रीखोला, निलगिरि–१, निलगिरि–२, घारखोला र रेलेखोला आयोजना सञ्चालनमा आए । दाना सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि लगानीकर्ताको आकर्षण उल्लेखनीय रूपमा बढेको घलेम्दी हाइड्रोका सञ्चालक प्रमोद श्रेष्ठले बताउनुभयो ।

जलविद्युतले फेरिएको नारच्याङ

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ जलविद्युत् विकासको केन्द्र बनेको छ । यहाँ निर्माण भएका र निर्माणाधीन आयोजनाले गाउँको स्वरूप नै परिवर्तन गरिदिएका छन् । वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार एक समय सडक पहुँच नभएको नारच्याङ अहिले जलविद्युत् आयोजनाका कारण सडक, पुल र अन्य पूर्वाधारले जोडिएको छ । “हामीले कल्पना नगरेको अक्करे भिर छिचोलेर सडक पुगेको छ । गाउँमै रोजगारी र आम्दानीका अवसर सृजना भएका छन्”, उहाँले भन्नुभयो ।

करिब ४५० घरपरिवार र एक हजार ६०० जनसङ्ख्या रहेको नारच्याङमा अहिले आयोजनामा काम गर्न बाहिरबाट आएका कामदारको सङ्ख्या स्थानीय जनसङ्ख्याभन्दा बढी छ । गाउँमा जग्गाको मूल्य प्रतिरोपनी रु ३० देखि रु ३५ लाखसम्म पुगेको छ । वैदेशिक रोजगार र सहरतर्फ बसाइँ सरेका धेरै व्यक्ति गाउँ फर्किन थालेका छन् ।

पोखराबाट फर्केर होटल व्यवसाय सञ्चालन गरिरहेका टेकबहादुर पुनका अनुसार गाउँमै अवसर सृजना भएपछि बाहिर बस्नुपर्ने बाध्यता हटेको छ । स्थानीयले जग्गाको मुआब्जा, होटल व्यवसाय, कृषि, पशुपालन, ढुवानी, यातायात, निर्माण सामग्री आपूर्ति, ठेक्कापट्टा तथा सेयर लगानीबाट आम्दानी गरिरहेका छन् ।

पालिकाको आम्दानी बढ्दै

जलविद्युत् आयोजनाबाट प्राप्त रोयल्टीले गाउँपालिकाको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । प्राकृतिक स्रोत तथा वित्त आयोगमार्फत गत आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले रु ७० लाख रोयल्टी प्राप्त गरेको थियो । चालु आवमा यो रकम बढेर रु एक करोड ७० लाख पुगेको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेले जानकारी दिनुभयो ।

यसका अतिरिक्त आयोजनाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, सीप विकास, पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिरहेका छन् । प्रभा माध्यमिक विद्यालयमा पाँच वर्षदेखि हाइड्रो इन्जिनियरिङ विषयको अध्ययन सञ्चालन हुनु पनि त्यसकै परिणाम हो ।

स्थानीयले पूर्णलाभ लिन सकेनन्

जलविद्युत् आयोजनाले आर्थिक गतिविधि बढाए पनि दीर्घकालीन लाभको विषयमा स्थानीय समुदाय अझै पर्याप्त रूपमा तयार नभएको देखिन्छ । अधिकांश स्थानीयले मुआब्जा, ज्याला मजदुरी वा निर्माणकालीन अवसरबाट तत्काल लाभ लिए पनि आयोजना सञ्चालनपछिको अर्थतन्त्रमा कसरी सहभागी हुने भन्ने विषयमा रणनीतिक सोचको अभाव देखिएको छ । निर्माण सम्पन्न भएपछि मजदुरीका अवसर घट्ने भएकाले कृषि, पर्यटन, सेवा र उद्यमशीलता क्षेत्रमा दीर्घकालीन लगानी आवश्यक रहेको स्थानीय अगुवाहरू बताउँछन् ।

प्रभावित क्षेत्रका बासिन्दाले जलविद्युत् कम्पनीहरूको सेयर खरिद गरेका छन् । मिस्त्रीखोला आयोजनामा मात्रै प्रभावित क्षेत्रका स्थानीयले १७ लाखभन्दा बढी कित्ता सेयर लगानी गरेका थिए । अन्य आयोजनाले पनि स्थानीयका लागि सेयर निष्काशनको तयारी गरिरहेका छन् ।

वातावरणीय चुनौती बढ्दै

जलविद्युत् विकाससँगै वातावरणीय प्रभावका विषयमा पनि बहस बढ्न थालेको छ । नदीमा पानीको बहाव घट्दा माछा, पाहालगायत जलचरको बासस्थान प्रभावित भएको स्थानीयको गुनासो छ ।

नारच्याङका अविन चोचाङ्गीका अनुसार मिस्त्रीखोलामा पहिले प्रशस्त माछा पाइन्थ्यो । तर आयोजना सञ्चालनपछि पानी सुरुङमार्फत बग्न थालेपछि नदीमा जलचर देखिन छाडेका छन् । वडाध्यक्ष फगामीले पनि जलविद्युत् आयोजनाबाट आर्थिक र भौतिक लाभ भए पनि नदीका जलचर हराउन थालेको, परम्परागत पानीका मुहान सुक्न थालेको तथा वन्यजन्तुको आवतजावत घटेको बताउनुभयो ।

स्थानीयका अनुसार खोलामा न्यूनतम पानी छाड्ने व्यवस्था भए पनि प्राकृतिक पारिस्थितिक प्रणालीमा असर देखिन थालेको छ । वातावरणीय प्रभावको नियमित अध्ययन र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने माग उठिरहेको छ ।

तातोपानी कुण्डको भविष्यप्रति चिन्ता

अन्नपूर्ण क्षेत्रका प्राकृतिक तातोपानी कुण्डहरू पनि जलविद्युत् आयोजनाका कारण जोखिममा पर्न सक्ने आशङ्का बढेको छ । भुरुङ तातोपानी, पाउद्धार, रातोपानी र सेकार्कु क्षेत्रका स्थानीयले सुरुङमार्फत नदीको पानी मोडिँदा प्राकृतिक तातोपानीका मुहान प्रभावित हुनसक्ने बताएका छन् ।

भुरुङ तातोपानीका अनिल हिराचनका अनुसार कालीगण्डकीको पानीको बहावमा परिवर्तन हुँदा तातोपानी मुहानमा असर पर्न सक्ने खतरा छ । स्थानीयहरूले आयोजनाको वातावरणीय प्रभावबारे थप सुनिश्चितता खोजेका छन् । तातोपानी कुण्ड अन्नपूर्ण गाउँपालिकाको पर्यटन र आन्तरिक आम्दानीको महत्त्वपूर्ण आधार भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने आवाज बलियो बनेको छ ।

विज्ञ र स्थानीय अगुवाहरूका अनुसार जलविद्युत्लाई केवल मुआब्जा र ज्याला मजदुरीमा सीमित नराखी स्थानीय अर्थतन्त्रको आधार बनाउनु आवश्यक छ । कृषि उत्पादनलाई आयोजनाको बजारसँग जोड्ने, ऊर्जा प्रयोगमा आधारित उद्योग स्थापना गर्ने, पर्यटन र जलविद्युत्लाई एकीकृत गर्ने तथा स्थानीय युवालाई प्राविधिक तालिम प्रदान गर्ने रणनीति अपनाउनुपर्ने सुझाव दिइएको छ ।

गाउँपालिकाले पनि जलविद्युत् विकासलाई समग्र आर्थिक रूपान्तरणसँग जोड्ने दीर्घकालीन नीति निर्माणको तयारी थालेको अध्यक्ष पुुनले बताउनुभयो । रोयल्टीबाट प्राप्त रकमलाई उपभोगमुखीभन्दा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नुपर्ने देखिन्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ६४ पैसा र बिक्रीदर १५१ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १५ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ७० पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १४ पैसा र बिक्रीदर ४० रुपैयाँ ३० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७९ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५ रुपैयाँ ७८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ १९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २२ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ २१ पैसा र बिक्रीदर ४९२ रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८५ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ

बाँके। यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट प्रहरीले बिहीबार दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा रु २०० लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँले अनुसन्धान जारी रहेकाले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखिएको उल्लेख गर्दै उनीहरूले नियम उल्लङ्घन गरेको बताउनुभयो ।

प्रहरीले रु २०० लिएर सो निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्लाबाट प्रहरी टोली परिचालन गरी निगरानी र अवलोकन गर्ने क्रममा कैफियत भेटिएकाले उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।

गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई केबल परम्परागत सुरक्षा ‘एजेन्सी’का रुपमा मात्र सीमित नराखी यसलाई दिगो शान्ति, विकास, सुशासन र समृद्धिको आधारका रूपमा अगाडि बढाउने स¬ङ्कल्प व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री गुरुङले राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सार्वजनिक सेवाहरूसँग पूर्ण रूपमा आबद्ध गरिने बताउनुभयो । लैङ्गिक हिंसा, विभिन्न कुप्रथाका कारणले पीडित परिवारलाई न्याय दिन विशेष गरी महिला केन्द्रित संयन्त्रहरू क्रियाशील बनाइएको जानकारी दिँदै उहाँले आगामी बजेटमा उक्त कार्यक्रमलाई विशेष जोड दिइएको बताउनुभयो ।

“नागरिकको गुनासो २४सै घण्टा सुनुवाइ गर्न गृह मन्त्रालयमा मैले ‘हेलो गृह’ कल सेन्टर व्यवस्था गरिसकेको र नागरिकलाई गुनासो सुनुवाइको जानकारी दिने गरी प्रविधिमैत्री बनाई यो सरकारले नागरिकको कुरा सधैँ सुन्ने र सम्बोधन गर्ने विश्वास दिलाउन चाहन्छु”, गृहमन्त्री गुरुङले भन्नुभयो ।

नेपाल प्रहरीलेसमेत ‘केस ट्रयाकिङ सिस्टम’ नै बनाइसकेको जानकारी दिँदै गृहमन्त्री गुरुङले यसको प्रगति नागरिकसम्म ‘एसएमएस’ जाने गरी जवाफदेही सरकारको अवधारणालाई आफूले कार्यान्वयनमा ल्याएको बताउनुभयो ।

“हालको सूचना प्रविधिको युगमा सरकारले साइबर अपराधका विभिन्न प्रकृति तथा अन्तरराष्ट्रियस्तरमा भएका ‘बोर्डरलेस क्राइम’का नयाँ चुनौतीलाई सम्बोधन गर्न नेपाल प्रहरीको प्रविधिमैत्री अनुसन्धान क्षमता विस्तार, कार्यक्षमता बढाउन र अपराध अनुसन्धानलाई वैज्ञानिक बनाउन रु ५० करोड ४९ लाखको लगानीमा एआई र ‘एडभान्स्ड एनालिटिक्स क्यापाबिलिटी डेभलपमेन्ट’ कार्यक्रम सञ्चालन गरिनेछ”, गृहमन्त्री गुरुङले भन्नुभयो ।

सुरक्षा निकायका लागि पूर्वाधार विकासमा बजेट थप गरिएको र प्रविधि विस्तार गर्न ‘मोडर्न पुलिस पेट्रोलिङ ड्रोन’, ‘हेभी लिफ्टिङ ड्रोन’, ‘सर्च एण्ड रेस्क्यु ड्रोन’ लगायत पछिल्ला प्राविधिक उपकरण खरिद गर्न बजेट उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो । गृहमन्त्री गुरुङले प्रहरी इकाइका जग्गा–जमिन, भवन र आवश्यक सामग्रीको अवस्था र आवश्यकताका सम्बन्धमा एकीकृत प्रतिवेदन तयार पारी पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको स्पष्ट पार्नुभयो ।

“विभिन्न सरकारी निकायको नाममा रहेको जग्गामा हाल प्रहरी बस्दै आएको अवस्था अन्त्य गर्न प्रहरी कार्यालयकै नाममा जग्गा कायम गर्न सम्बन्धित सरकारी निकायसँग समन्वय गरी अर्को वर्ष यस कार्य सम्पन्न गरिनेछ”, गृहमन्त्री गुरुङले भन्नुभयो, “सोपश्चात् प्राथमिकताका आधारमा दुवै प्रहरी निकायको भवन संरचना निर्माण गर्न समग्र कार्ययोजना बनाई कार्यान्वयन गरिनेछ । अर्को वर्ष दुवै प्रहरीतर्फ ७९ भवन निर्माण गर्न बजेट विनियोजन भएको जानकारी गराउन चाहन्छु ।”

विपद्का अवस्थामा नागरिकको ज्यान जोगाउनु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिमको अवस्था हेरी सरकारी निकाय र सबै सरोकारवालाको समन्वयमा पूर्वतयारी र प्रतिकार्य प्रभावकारी हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताउनुभयो ।

“विभिन्न जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिबाट खोज तथा उद्धार सामग्री विवरण प्रणाली अध्यावधिक गरिएको छ । प्राधिकरणबाट खोज तथा उद्धार सामग्री खरिद गरी माग भएका ठाउँमा पठाउने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । विगतमा भूकम्पबाट प्रभावित निजी आवास पुनर्निर्माणमा रु पाँच अर्ब बजेट स्वीकृत भई काम अगाडि बढाइएको गृहमन्त्री गुरुङले जानकारी दिनुभयो ।

लागुऔषध नियन्त्रणको अन्तर्राष्ट्रिय दिवसलाई औपचारिक मात्रै नबनाइने उल्लेख गर्दै उहाँले लागुऔषधको आपूर्ति शृङ्खला तोड्न गर्न जरासम्म पुगेर नियन्त्रण गर्न प्रहरीलाई निर्देशन दिइएको बताउनुभयो । सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै गृहमन्त्री गुरुङले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गर्ने यो सरकारको मुख्य दायित्व भएकाले प्रहरीका केन्द्रीय र प्रदेशका प्रमुखलाई मातहतका कर्मचारीको निगरानी गर्न तथा कार्य सम्पादन मूल्याङ्कनका आधारमा पुरस्कार तथा दण्ड दिने नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिइएको बताउनुभयो ।

गृह मन्त्रालयमा केन्द्रीय ‘कमाण्ड सिस्टम’ जडान गरी देशभरि र सीमामा समेत सबै सुरक्षा निकायको निगरानी र प्रभावकारी सूचना विश्लेषण गर्ने प्रणालीका लागि बजेट छुट्याइएको गृहमन्त्री गुरुङको भनाइ थियो । आगामी वर्षको बजेट कार्यान्वयनपश्चात् धेरै जिल्लामा नयाँ कारागार भवन निर्माण हुने उहाँले बताउनुभयो ।

गृहमन्त्री गुरुङले हाल करिब १९ हजार कैदी राख्ने क्षमता भएकामा करिब २६ हजार ८०० कैदीबन्दीको चाप रहेको सदनलाई जानकारी गराउनुभयो । “आगामी वर्ष कारागार निर्माणमा ‘युनिफर्मिटी’ कायम गरी हरेक प्रदेशमा एक–एक वटा ठूला कारागार निर्माण गर्ने र प्रदेशभित्रका अन्य कारागारलाई थुनुवा केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ”, उहाँले भन्नुभयो ।

कारागारको भौतिक अवस्थाअनुसार पूर्वाधार सुधारमा बजेट विनियोजन गएिको जानकारी दिँदै गृहमन्त्री गुरुङले ११ कारागार भवन बनिरहेको र २० कारागारका नयाँ भवनका लागि समेत बजेट छुट्याइएको बताउनुभयो । उहाँले प्राकृतिक विपद्का कारण घरबारविहीन भएका र परिवार गुमाएकाका लागि राहत सहायता वितरण गरिएको बताउनुभयो ।

“क्षति भएका आवास निर्माण गर्न प्रभावित परिवारलाई बैङ्क खातामा रकम दिन मापदण्डअनुसार बजेटको समेत व्यवस्था मिलाएको छु, बाढी पहिरोको जोखिम क्षेत्रमा टेक्निकल इभ्यालुएसन गरेर योजनाबद्ध रूपमा काम गर्न प्राथमिकता दिएको छु”, गृहमन्त्री गुरुङले भन्नुभयो ।

इरानसँगको सम्झौताको आलोचना ‘मूर्खतापूर्ण अभिव्यक्ति’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इरानसँगको सम्झौताका आलोचकहरूको आक्रोश पोख्दै युद्ध अन्त्यका लागि सहुलियत दिएको आरोप ‘मूर्खतापूण अभिव्यक्ति’ भएको बताउनुभएको छ ।

ट्रम्प र उहाँका इरानी समकक्षीले मध्यपूर्व युद्ध अन्त्य गर्ने समझदारीपत्रका छुट्टाछुट्टै इलेक्ट्रोनिक प्रतिमा हस्ताक्षर गरेपछि तेलको मूल्यमा गिरावट आएको छ, स्ट्रेट अफ होर्मुज पुनः खुल्नेभएको छ तर दुई देशबचिको दुई महिना लामो वार्ता बाँकी छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँग बुधबार पेरिसबाहिर भर्साइलिजको दरबारमा आयोजित रात्रिभोजमा ट्रम्पले हस्ताक्षर गर्नुभएको थियो ।

पहिलो विश्वयुद्ध अन्त्य गर्ने सन्धिमा हस्ताक्षर गरेको दरबारमा म्याक्रोँले जी–७ शिखर सम्मेलनको आयोजनापछि हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “जब सेयर बजार भर्खरै उच्च रेकडर्को बिन्दुमा पुगेको छ र तेलको मूल्य ‘घट्दै’ छ, यस अवस्थामा सम्झौताको घोषणाको विरोध गर्ने यी मान्छेहरू कि त ईष्र्यालु, खराब वा मूर्ख हुन् ।”

इरानका राष्ट्रपति मसुद पेजेश्कियानले सम्झौतामा हस्ताक्षर गरेको इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले अब सम्झौताको कार्यान्वयनको परीक्षण गर्ने समय आएको बताउनुभएको छ ।

सप्ताहन्तमा सम्झौताको समाचार बाहिरिएदेखि घटेको मूल्यमा थप वृद्धि हुँदै बिहीबार कच्चा तेल तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

–शान्तिको लागि अनुमति–

यो सम्झौताले इरानसँग हालको अमेरिका–इजरायल द्वन्द्वको अन्त्य गरेको छ । अप्रिलको सुरूमा युद्धविराम नभएसम्म उनीह पाँच हप्तासम्म पूर्ण युद्ध लडेका थिए । युद्धमा इरानी आवागमनमाथि अमेरिकी प्रतिबन्ध घोषणा गरिएको थियो भने हर्मुजको घाँटीमा धेरै जहाजलाई प्रतिबन्धित गरिएको थियो, जसले ऊर्जाको मूल्यमा वृद्धि गरेको थियो ।

मध्यस्थता गर्न सहयोग गरेका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यो सम्झौतालाई तत्काल लागू हुने र इरानले तत्काल स्ट्रेट अफ हर्मुज खोल्ने बताउनुभएको छ । उहाँले पनि मध्यस्थताका हैसियतमा सम्झौतामा हस्ताक्षर गर्नुभएको छ ।

दुई महिनाको वार्ताको अवधि अब हर्मुजको जलमार्ग पुनः खोल्ने र इरानको आणविक कार्यक्रमको वार्तामा प्रगति गर्न सकिन्छ कि भनेर सबैको आँखा त्यतातिर पनि गएको छ । वाशिङ्गटनले लामो समयदेखि गोप्य बम बनाउने महत्वाकाङ्क्षाहरू लुकाएको शङ्का गर्दै आएको छ।

विश्व समुदायका अन्य नेतालेजस्तै म्याक्रोँले शान्तिका लागि अनुमति दिने सम्झौताको स्वागत गर्नुभएको छ । स्म्झौताले ‘स्ट्रेट अफ हर्मुज’लाई बिना कुनै कर खोल्न र आणविक ब्यालेस्टिक र क्षेत्रीय गतिविधिहरूमा सम्झौता गर्न ६० दिन’ को अनुमति दिएको छ ।

इरानका मुख्य वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले शुक्रबार स्विट्जरल्यान्डको एक विशेष पर्वतीय रिसोर्टमा प्रत्यक्षरूपमा सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

बघाईले भन्नुभयो, “व्यक्तिगत समारोहको अब आवश्यकता छैन।” पाकिस्तानी प्रधानमन्त्री शरिफले शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक समारोहका साथै प्राविधिक छलफल पनि हुने बताउनुभयो ।

सम्झौता अन्तर्गत वाशिङ्गटनले इरानको अर्थतन्त्रलाई कमजोर बनाउने तेल प्रतिबन्धहरू तुरुन्त माफ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र इरानको आणविक कार्यक्रमबारे अन्तिम सहमति भएपछि अमेरिकाले क्षेत्रीय राष्ट्रहरूको सहयोगमा ३०० अर्ब डलरको पुनर्निर्माण कोष पनि जारी गर्ने सहमति गरेको छ ।

जेनेभामा संयुक्त राष्ट्रसङ्घको आणविक निकायका प्रमुख राफेल ग्रोसीले अमेरिका–इरान सम्झौता कार्यान्वयन गर्न आवश्यक ‘ठोस कदम’लाई परिभाषित गर्न आफूहरु तयार रहेको बताउनुभएको छ।

अमेरिकी अधिकारीहरूले इरानले संयुक्त राष्ट्र सङघको निगरानीमा ‘युरेनियम भण्डारणस्थलमा ‘डाउन–ब्लेन्डिंग’ गरेर आफ्नो प्रवर्धित युरेनियम भण्डारलाई कम गर्नेछ ।

इजरायलले यसलाई खारेज गर्न लामो समयदेखि दबाब दिए पनि सम्झौतामा इरानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको उल्लेख गरिएको छैन ।

उहाँले भन्नुभयो, “इरानका क्षेप्यास्कृतिहरू केवल प्रतिरक्षाका लागि हुन्, वार्ताका लागि होइनन् । इरानको प्रतिरक्षा क्षमताबारे कुनै पनि तरिकाले, कुनै प्रक्रिया वा कुनै पनि पक्षसँग छलफल गरिने छैन।”

–आलोचना–

सम्झौताको इरानभित्रका कट्टरपन्थीहरूबाट केही आलोचना भएको छ, जहाँ सद्दाम हुसेनको इराकसँग सन् १९८० र सन् १९८८ को द्वन्द्वको तुलनामा द्वन्द्वलाई ‘थोपरिएको युद्ध’ को रूपमा वर्णन गरिएको छ ।

गालिबाफले यो सम्झौताले युद्धमा अमेरिकी ‘असफलता’ लाई पुष्टि गरेकोे दाबी गर्नुभयो भने राष्ट्रपति पेजेस्कियनले यसलाई ‘ऐतिहासिक’ भन्नुभयो ।

तेह्र अमेरिकी सैनिकहरू मारिएको र अमेरिकी गोलाबारुद भण्डारको ठूलो हिस्सा प्रयोग गरिएको युद्ध अन्त्य गर्ने ट्रम्पको निर्णयले उहाँका केही सहयोगीहरूलाई घरमा अशान्त बनाएको छ।

यस्तो आलोचनाको अनुमान गर्दै ट्रम्पले जी–७ मा इरानले सम्झौता उल्लङ्घन गरेमा आफूले इरानमाथि बमबर्षा गर्न तयार रहेको बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीका अमेरिकी सिनेटर बिल क्यासिडीले यसलाई ‘दशकौंको सबैभन्दा खराब विदेश नीति गल्ती’ को संज्ञा दिनुभएको छ ।

“इरानको आणविक महत्वाकाङ्क्षालाई नियन्त्रण गरिएको छैन, र उनीहरूले थाहा पाएका छन् कि स्ट्रेट अफ हर्मुजलाई प्रयोग गरी चेतावनी दिँदा काम गर्दछ,” उहाँले भन्नुभयो ।

ट्रम्पमैत्री समाचार च्यानल फक्स न्यूजले पनि आलोचकहरूलाई उद्धृत गर्दै सम्झौताले इरानको आणविक कार्यक्रम खारेज नगरी ‘ठूलो आर्थिक लाभ’ दिएको बताएको छ।

सम्झौताले लेबनान समीकरणको हिस्सा हुनुपर्दछ भनेर निर्दिष्ट गरेको छ, तर यसमा यो स्पष्ट छैन कि त्यस मोर्चामा युद्धको बारेमा अर्को ६० दिनमा छलफल हुनेछ कि छैन।

मार्च २ मा हेजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि रकेट प्रहार गरेपछि लेबनान द्वन्द्वमा तानिएको थियो। इजरायलले आक्रमणको ठूलो अभियान र जमिन आक्रमणको सुरुवात गरेर जवाफ दिएको थियो।

लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार सम्झौताको घोषणापछि लेबनानमा हिंसा घटेको छ तर बिहीबार दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ।

कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम

काठमाडौँ – परीक्षण र सफल ठहरिएका कृषि र पानीसम्बन्धी नवप्रवर्तनको पहुँच र लाभलाई साना किसानसम्म पुर्‍याउने उद्देश्यले क्षमता विकास कार्यक्रम आयोजना गरिएको छ । ‘सिजिआइएआर स्केलिङ हब साउथ एसिया’ले आयोजना गरिएको त्रिदिवसीय कार्यक्रम आज यहाँ सम्पन्न भएको हो ।

कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, जलस्रोत तथा सिँचाइ विभाग, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, नेपाल राष्ट्र बैंक, नेपालस्थित युएई दूतावास, इसिमोडलगायत अन्य विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

‘स्केलिङ हब’ अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्था (इमी) नेपालमार्फत सञ्चालित संस्था हो । यसको मुख्य उद्देश्य दक्षिण एसियामा छरिएर रहेका नवप्रवर्तनका प्रयासलाई समन्वित गरी, लगानीको वातावरण बनाइ विस्तार गर्न आवश्यक समन्वय, क्षमता विकास र साझेदारी गर्नु हो ।

“नवप्रवर्तनमा सफल पाइलट योजनाको विस्तारमा सबैभन्दा ठूलो समस्या प्रविधि होइन; नीति, लगानी र संस्थागत व्यवस्था पनि उत्तिकै चुनौतीपूर्ण छ”, इमी नेपालकी देशीय प्रतिनिधि डा मनोहरा खड्काले भन्नुभयो ।

सहभागीले पाइलट परियोजना र नवप्रवर्तनलाई व्यापकस्तरमा विस्तार गर्ने प्रक्रिया, चरण र आवश्यक तयारीबारे जानकारी लिनुका साथै पाइलट अभ्यासबाट राष्ट्रिय अवलम्बनसम्म पुग्ने मार्गबारे छलफल गर्नुभएको थियो । यसले अलगअलग रूपमा काम गर्दै आएका क्षेत्र र संस्थाबीच नवप्रवर्तन विस्तारबारे साझा बुझाइ निर्माण गरी समन्वय, साझेदारी र लगानी परिचालनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

छलफलमा नेपाल, भारत, बङ्गलादेश र इथियोपियाका प्राध्यापक, अनुसन्धानकर्ता र सहभागीहरूले विद्यार्थीका नवप्रवर्तनलाई शैक्षिक अभ्यासमा सीमित नराखी परीक्षण, सुधार र विस्तार गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

दक्षिण एसियाभर दशकौँदेखि कृषि तथा पानी अनुसन्धान हुँदै आए पनि नवप्रवर्तनको ठूलो हिस्सा अझै पाइलटस्तरमै विभिन्न कारणले सीमित छ । त्यसमध्ये केही कारण भनेका परियोजना अवधिपछि सञ्चालन गर्न वित्तीय स्रोत जुटाउन नसक्नु, विस्तारको लागि उपयुक्त नीति नहुनु, लक्षित लाभग्राहीको अपनत्व नहुनु, र विस्तार गर्नको लागि सम्बन्धित निकायबीच समन्वय कमजोर हुनुलगायत रहेका इमीकी देशीय प्रतिनिधि डा खड्काले उल्लेख गर्नुभयो ।

कार्यक्रममा ऊर्जा मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले सिँचाइ सेवाको पहुँच र प्रभावकारिता बढाउन निजी क्षेत्रसँग विभिन्न साझेदारी ढाँचातर्फ जान आवश्यक रहेको बताउनुभयो । ‘दक्षिण एसिया हब’ले कृषि-खाद्य र पानीसम्बन्धी नवप्रवर्तनको विस्तार गर्नको लागि ‘सिजिआइएआर’ केन्द्र, सरकार, विकास साझेदार, वित्तीय संस्था, शैक्षिक क्षेत्र र निजी क्षेत्रलाई समन्वय, सह–लगानी र क्षमता विकासमा मद्दत गर्ने उद्देश्य राखेको छ ।

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि राजस्वको अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नभएको बताउनुभएको छ ।

अर्थमन्त्री डा वाग्लेले प्रतिनिधिसभामा उठेका प्रश्नहरुको आज जवाफ दिँदै राज्य सञ्चालनका लागि सार्वजनिक ऋण परिचालनको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

“आगामी आर्थिक वर्षमा वैदेशिक ऋणतर्फ रु दुई खर्ब ४७ अर्ब र आन्तरिक ऋणतर्फ रु चार खर्ब १० अर्ब परिचालन गरिने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “सोही अवधिमा आन्तरिक ऋणको सावाँ र व्याज भुक्तानीका लागि रु दुई ४६ अर्ब खर्च हुने र खुद रु एक खर्ब ६४ अर्ब मात्र आन्तरिक परिचालन गरिनेछ ।”

अर्थमन्त्री डा वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको बताउनुभयो । “अर्थतन्त्रको आकारको तुलनामा सार्वजनिक ऋण विगतभन्दा वृद्धि भएको छैन”, उहाँले भन्नुभयो, “आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको छ ।”

अर्थमन्त्री डा वाग्लेले आगामी आवको बजेटमा दलित वालबालिकाको पोषण भत्ता दोब्बर गरिएको जानकारी दिनुभयो । उहाँले विनियोजन ऐन, २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा संशोधन गरी पुँजीगततर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्पष्ट पार्नुभयो ।

सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संसोधन गरी प्रक्रियालाई छोट्याइएको र आयोजना प्रमुखलगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिएकाले पनि अब पुँजीगत खर्चमा वृद्धि हुने अर्थमन्त्री डा वाग्लेको भनाइ थियो । उहाँले पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने बताउनुभयो ।

मस्कोको तेल प्रशोधन केन्द्रमा एक सातापछि अर्को आक्रमण

युक्रेनले एक सातामा दोस्रो पटक मस्कोको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ भने आक्रमणका लागि पठाइएका युक्रेनका ५५५ ड्रोन खसालेको रुसले दाबी गरेको छ ।

आक्रमणका कारण मस्कोस्थित एयरपोर्टहरूमा व्यावसायिक उडानहरूमा अवरोध आएको थियो ।

चार वर्षअघि रुसले युक्रेनमा आक्रमण गरेयता भएको यो सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको एक रुसी अधिकारीले जानकारी दिएका छन् ।

रुसी रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षाले रातभर विभिन्न क्षेत्रमा रहेका ५५५ युक्रेनी ड्रोनलाई खसालेको दावी गरेको छ । मस्कोका मेयर सेर्गेइ सोब्यानिनले केही ड्रोन आक्रमणले राजधानी मस्कोको तेल प्रशोधन केन्द्रलाई निशाना बनाएका छन् ।

रुसी यातायात मन्त्रालयले मस्कोका चार विमानस्थलबाट हुने उडानहरु स्थगित गरिएको जनाएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँसँग महत्वपूर्ण समन्वय बैठक गरेको र त्यसले महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएको केही घण्टापछि यो आक्रमण भएको हो ।

–राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रिया–

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले एक्समा लेख्नुभएको छ, “हिजो राति हाम्रो लामो दूरीको आक्रमणले फेरि एक पटक मस्को क्षेत्रलाई लक्षित गरी निशाना बनाएको छ । मस्कोको तेल प्रशोधन केन्द्रमा यो साता भएको यो दोस्रो पटक हो । रोस्तोभ क्षेत्र र युक्रेनको कब्जामा अस्थायीरूपमा रहेको क्षेत्रमा पनि निशानाहरू लक्षित गरिएको थियो।”

उहाँले अगाडि भन्नुभयो, “यो हाम्रा शहर र समुदायहरूमा रूसको आक्रमणको पूर्ण रूपमा उचित प्रतिक्रिया हो। रूसको युद्ध मेसिनलाई चलाउने आधार क्षेत्रविरुद्ध हाम्रो सेनाको कारबाहीको अर्को महत्त्वपूर्ण परिणाम हो।”

“म युक्रेनको रक्षा र सुरक्षा बल, युक्रेनको सुरक्षा सेवा, मानव रहित प्रणाली बल, विशेष अपरेसन फोर्स, रक्षा खुफिया र हाम्रो मिसाइल ब्रिगेडलाई उनीहरूको सटीक आक्रमण र समन्वित प्रयासहरूको लागि धन्यवाद दिन्छु,” उहाँले भन्नुभयो ।

नेता जेलेन्स्कीले भन्नुभयो, “हालैका दिनहरूमा, हाम्रा सबै सहयोगीहरूले हाम्रो मध्यम दूरीको आक्रमण र लामो दूरीको आक्रमणको सटीकता र प्रभावकारिताको प्रशंसा गरेका छन्। अब युद्ध अन्त्य गर्ने बेला आएको छ । रुसले कूटनीतिको माध्यमबाट आवश्यक कदम चाल्नुपर्छ ।”

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग छलफल गरेको छ।

छलफलका लागि संयोजक शाहसहितको कार्यदलको टोली पूर्वप्रधानमन्त्री भट्टराईको निवास पुगेको थियो।

कार्यदलले यसअघि गत जेठ २८ गते पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि छलफल गरेको थियो ।

सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । मन्त्रालयमा भएको सो भेटवार्तामा अध्यक्ष टेरी हेले नेपाल डिजिटल रूपान्तरणको महत्वपूर्ण चरणमा रहेको उल्लेख गर्दै त्यसका लागि हुवावेसँग आवश्यक प्रविधि, अनुभव तथा स्रोत रहेकाले सहकार्य गर्न सकिने बताए ।

उनले नेपाल सरकारले अघि बढाएको डिजिटल नेपालको अभियानलाई प्रभावकारी बनाउन हुवावे विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेकोसमेत बताए । दूरसञ्चार पूर्वाधारको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रविधि, आधुनिक डेटा सेन्टर निर्माण, कृत्रिम बौद्धिकता (एआई), क्लाउड कम्प्युटिङ तथा डिजिटल पूर्वाधार विकासमा काम गरिरहेको र यी क्षेत्रमा नेपालसँग दीर्घकालीन सहकार्य गर्न चाहेको उनको भनाई थियो ।

भेटका क्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले दूरसञ्चार क्षेत्रको सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुहुँदै देशभर गुणस्तरीय तथा भरपर्दो दूरसञ्चार सेवा विस्तार गर्न लागिएको उल्लेख गरे । नेपालमा हुवावेले लामो समयदेखि दूरसञ्चार पूर्वाधार निर्माण तथा प्राविधिक सेवा दिँदै आएकोमा कम्पनीको सेवा र कार्यसम्पादनमाथि कुनै प्रश्न उठ्ने अवस्था आउन नहुने पनि सञ्चारमन्त्री डा तिमिल्सिनाले बर्ता। उनले काममा कुनै समस्या वा कमजोरी देखिए त्यसलाई तत्काल समाधान गर्न तथा पारदर्शिता र कार्यकुशलतालाई उच्च प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।

‘नेपालमा हुवावेले गरेको काम र सेवामाथि कुनै प्रश्न उठ्नु हुँदैन । यदि कतै समस्या देखिन्छ भने त्यसलाई तत्काल समाधान गर्नुपर्छ । पारदर्शी, जिम्मेवार र सेवा प्रवाहमा कुनै समस्या नदेखिनेगरी काम गर्नुहोला’, सञ्चारमन्त्री डा तिमिल्सिनाले भने।

नेपाल टेलिकममा हुवावेको प्राविधिक सहयोग रहेको सन्दर्भमा उपभोक्ताबाट आउने गुनासो समाधानका लागि दुवै पक्षले समन्वयात्मक रुपमा काम गर्नुपर्ने सञ्चारमन्त्री डा तिमिल्सिनाले बताए ।

प्रतिनिधिसभाः सम्पत्ति छानबिन आयोगबाट अख्तियारको काममा हस्तक्षेप हुँदैनः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुुनुपर्छ भन्ने जनताको माग सम्बोधन गर्न तथा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनतासमक्ष गरेको प्रतिबद्धताअनुरूप राजनीतिक तथा सार्वजनिक जिम्मेवारीमा रहेका पदाधिकारीहरूको सम्पत्ति जाँचबुझ गरी सिफारिस गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राख्नुभएको हो ।

उहाँले यो आयोग सम्पत्ति छानबिन र अनुसन्धानमा संलग्न हुने स्थायी प्रकृतिको आयोग नभएको स्पष्ट गर्दै यसले तोकिएका पदाधिकारीहरूको सम्पत्ति छानबिन गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने बताउनुभयो ।

त्यसैले यसले संवैधानिक आयोगका रूपमा रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको काममा हस्तक्षेप नहुने अर्थमन्त्री डा वाग्लेको भनाइ छ ।

आयोगको गठनबाट सार्वजनिक पद धारण गरेका जुनसुकै ओहदाका पदाधिकारीले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति छानबिन हुन्छ भन्ने मान्यता स्थापित हुने भएकाले पद र शक्तिको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने विश्वास सरकारले लिएको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल सरकारले सुकुमवासी बस्तीमा डोजर लगाई बस्ती हटाउने कार्यमा नेपाली सेनालाई खटाएको भनी संसद्मा उठेका प्रश्नको जवाफ दिँदै सेनाको प्रयोग नभएको स्पष्ट गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राख्नुभएको हो ।

सो छलफलका क्रममा प्रधानमन्त्रीसमक्ष सांसदहरूले सुकुमवासी बस्ती हटाउने क्रममा किन नेपाली सेनाको प्रयोग गरिएको हो भन्ने प्रश्नको जवाफमा उहाँले सुकुमवासी बस्तीलाई स्थानान्तरण गर्ने क्रममा कुनै पनि स्थानमा सेना नखटाएको स्पष्ट गर्नुभएको हो ।

जोखिमयुक्त क्षेत्रमा रहेका सुकुमवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने क्रममा नेपाल प्रहरीले स्थानीय तहसँग समन्वय, सुरक्षाको प्रबन्ध र सहजीकरण गरेको उहाँले स्पष्ट गर्नुभयो ।

त्यस अवसरमा अर्थमन्त्री डा वाग्लेले मुलुकको भौगोलिक अखण्डता र सीमाको रक्षार्थ राष्ट्रिय सुरक्षा नीति तथा नेपाल सरकारको आदेश र निर्देशनबमोजिम मुलुकका सबै भू-भागमा आवश्यकताअनुसार नेपाली सेनालगायतका अन्य सुरक्षा निकायको उपस्थिति हुने गरेको पनि स्पष्ट गर्नुभयो ।

श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन

काठमाडौँ । युवा श्रम तथा रोजगार मन्त्रालय र श्रम तथा रोजगार कार्यालयले काठमाडौँको ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन गरेको छ ।

नेपाल सरकारको नियमित अनुगमन प्रक्रियाअन्तर्गत अस्पताल जस्तो अत्यावश्यक क्षेत्रमा कार्यरत श्रमिकको पारिश्रमिक र सेवा सुविधाका सम्बन्धमा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा मन्त्री रामजी यादवको सचिवालयका प्रतिनिधि र श्रम कार्यालयका कारखाना निरीक्षक विवेक यादवसहितको टोलीले अस्पतालमा कार्यरत कर्मचारीको न्यूनतम पारिश्रमिकको अवस्थालगायत कागजातको अध्ययन गरेको थियो ।

सो क्रममा अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिकको मापदण्ड कार्यान्वयन गरेको पाइएको छ । यद्यपि सामाजिक सुरक्षा कोषमा श्रमिकको आबद्धता भने न्यून पाइएको छ ।

अस्पताल प्रशासनले कर्मचारीमा ६० वर्षको उमेर हद र रकम झिक्ने प्रक्रियाका बारेमा रहेका केही नीतिगत अन्योलका कारण आबद्धता कम भएको जानकारी दिएको छ । तर कर्मचारीले भने अस्पताल प्रशासनले कोषमा पैसा जम्मा गरिदिने आश्वासन मात्रै दिएको तर जम्मा नगरिदिएको गुनासो गरेका छन् ।

श्रम कार्यालयले अनुगमनका क्रममा देखिएका कमी कमजोरी सुधार गर्न र सबै कर्मचारीलाई तत्काल सामाजिक सुरक्षा कोषमा आबद्ध गराई सोको प्रमाण सात दिनभित्र पेस गर्न अस्पताललाई निर्देशन दिएको छ ।

त्यसैसँग सम्बन्धित रहेर कार्यालयले अस्पतालसँग १० बुँदे विवरणसमेत पेस गर्न माग गरेको छ । जसमा सम्पूर्ण श्रमिक तथा प्रशिक्षार्थीको नामावली विवरण, २०८३ वैशाख महिनाको पारिश्रमिक, सेवासुविधा र सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरेको विवरण, प्रतिष्ठानको कर्मचारी सेवा नियमावली र सुरक्षा तथा स्वास्थ्य नीतिको विवरणलगायत विवरण माग गरिएको छ ।

श्रम कार्यालयका कारखाना निरीक्षक यादवका अनुसार अस्पताल क्षेत्रमा ‘ओभरटाइम’ काम गर्नुपर्ने बाध्यता र सोबापतको सुविधाका विषयमा आउने गुनासा सम्बोधन गर्न अनुगमन सुरु गरिएको हो ।

“राज्यले आगामी दिनमा पनि क्षेत्रगत रूपमा सबै प्रतिष्ठानमा अनुगमनलाई निरन्तरता दिने र श्रमिकको कानुनी अधिकार सुनिश्चित गर्ने लक्ष्य राखेको छ”, उहाँले भन्नुभयो । अनुगमन टोलीले तत्काल सुधार गर्नुपर्ने विषयमा मौखिक निर्देशन दिनुका साथै प्रमाण प्राप्त भएपछि थप कानुनी निर्देशन दिइने जनाएको छ ।

अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन गरिने दृढता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उहाँले फैसला कार्यान्वयनमा देखिएका कानुनी, प्रक्रियागत तथा संस्थागत जटिलता हटाउन पहल गरिने बताउनुभएको हो ।

“फैसलाको पूर्णपाठ समयमै उपलब्ध हुने व्यवस्था, आवश्यक जनशक्ति तथा प्रविधिको सुदृढीकरण र मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्मका सम्पूर्ण चरणलाई डिजिटल प्रणालीमार्फत ट्र्याकिङ गर्ने व्यवस्था क्रमशः विस्तार गरिनेछ”, मन्त्री गौतमले भन्नुभयो, “न्यायपालिका, मन्त्रालय तथा अन्य सरोकारवाला निकायबीच नियमित समन्वय र सहकार्यलाई संस्थागत गर्दै फैसला कार्यान्वयन सुधार अभियानलाई थप प्रभावकारी बनाइनेछ ।”

सांसद भरतप्रसाद पराजुलीले सर्वोच्च अदालतबाट भएका आदेश तथा फैसलाको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न सरकारको स्पष्ट प्रतिबद्धता व्यक्त गर्न अनुरोध गर्नुभएको प्रश्नको उहाँले जवाफ दिनुभएको हो ।

“न्याय प्राप्तिको अधिकार केबल फैसला प्राप्तिमा सीमित हुँदैन”, मन्त्री गौतमले भन्नुभयो, “त्यसको प्रभावकारी कार्यान्वयनमा न्यायको वास्तविक अनुभूति नीहित हुन्छ, त्यसैले अदालतका आदेश तथा फैसलाको पूर्ण र समयबद्ध कार्यान्वयन सरकारको उच्च प्राथमिकतामा रहनेछ ।”

नेपालको संविधानको धारा १२६ ले अदालतबाट भएका आदेश तथा निर्णयको पालना गर्नु सबै व्यक्ति, संस्था र राज्यका निकायको अनिवार्य संवैधानिक दायित्व हो भन्ने व्यवस्था गरेको छ ।

मन्त्री गौतमले विधिको शासनमा आधारित लोकतान्त्रिक व्यवस्थामा न्यायालयका आदेशको सम्मान र कार्यान्वयन राज्यको उत्तरदायित्वको मूल आधार हो भन्ने विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको व्यहोरा जानकारी गराउन चाहन्छु भन्नुभयो ।

सर्वोच्च अदालतअन्तर्गत फैसला कार्यान्वयन निर्देशनालय, जिल्ला अदालतमा तहसिल शाखा तथा नेपाल सरकारका मन्त्रालयमा स्थापित फैसला कार्यान्वयन शाखामार्फत अदालतका आदेश तथा फैसला कार्यान्वयन हुँदै आएका छन् ।

मन्त्री गौतमले निःशुल्क कानुनी सहायता र सङ्क्रमणकालीन न्याय शीर्षकमा न्यून बजेट विनियोजन, बजेट कार्यान्वयनमा कानुनी समस्या रहेको जानकारी दिनुभयो ।

अदालतबाट भएका फैसलाको कार्यान्वयन नभएको र संविधानसँग बाझिएका कानुन संशोधनका लागि स्पष्ट कार्ययोजना पेस नभएको, सम्पत्तिको लागि सम्बन्धविच्छेद गर्ने प्रचलन समाधानका लागि मुलुकी देवानी संहिता, २०७४ को व्यवस्थालाई संशोधन गर्नुपर्नेछ भन्नुभयो ।

मन्त्री गौतमले कानुनी सहायतासम्बन्धी ऐन, २०५४ बमोजिम हाल ७७ जिल्लामा कानुनी सहायता अधिकारीको पारिश्रमिक समेतको प्रयोजनका लागि रू पाँच करोड विनियोजन भएको जानकारी दिनुभयो ।

उहाँले सङ्क्रमणकालीन न्यायको कामको प्राथमिकता र बजेटका विषयमा चासो राख्नु भएको र लामो समयदेखि बाँकी रहेको सङ्क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।

“शान्ति सम्झौता भएको २० वर्षको अवधिमा शान्ति प्रक्रियामा के–कति कस्तो काम भयो, सोको एकीकृत विवरण तयार भएको छ, सोका आधारमा सबै राजनीतिक दल र सरोकारवालासँग निरन्तर संवादगरी प्रक्रियालाई टुङ्ग्याउने छौँ”, उहाँले भन्नुभयो ।

सङ्क्रमणकालीन न्याय सम्बन्धित आयोग सत्यनिरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि जम्मा रू २१ करोड ९१ लाख १७ हजार बजेट विनियोजन भएको छ । पीडितको परिपूरणका लागि नेपाल सरकारले नियमावली बनाई छुट्टै कोषको स्थापना गरिसकेको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप कोष व्यवस्थापनका लागि रू नौ करोड १० लाख विनियोजन भएको छ ।

विधायन ऐन, २०८१ जारीपश्चात् सङ्घीय संसद्मा पेस गरिने सरकारी विधेयकमा पूर्वनुमान योग्यताका लागि प्रत्येक आर्थिक वर्षमा विधेयकको प्राथमिकतासहितको कार्यतालिका संसद्मा पेस गर्नुपर्ने व्यवस्था छ ।

“आगामी आर्थिक वर्षका लागि पेस गरिने विधेयकको प्राथमिकता निर्धारणका लागि मन्त्रीसहित मन्त्रालयका कर्मचारीसँग छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “उक्त विधेयकको प्राथमिकता निर्धारण गरी असार मसान्तभित्रै सङ्घीय संसद्मा पेस गरिने व्यहोरा अनुरोध गर्दछु ।”

मन्त्रालयले मुलुकी देवानी संहिता, २०७४ लगायतका संहितामा समायानुकूल संशोधनका लागि विधेयक तयार गरी सर्वसाधारणको रायसुझावका लागि मन्त्रालयको वेबसाइट र सुझाव पोर्टलमा सूचना प्रकाशन गरेको र सर्वसाधारणको सुझाव प्राप्त भएपश्चात् उक्त सुझावलाई विधेयकमा समावेश गरिने जानकारी गराउनुभयो ।

मन्त्री गौतमले न्यायाधीशलाई राष्ट्रसेवक कर्मचारीसरह नै महँगी भत्ता उपलब्ध गराउने गरी यसअघि नै न्यायाधीशको पारिश्रमिक र सेवा सुविधासम्बन्धी ऐनमा अनुसूची हेरफेर गरिसकिएको सदनसमक्ष जानकारी गराउनुभयो ।

प्रतिनिधिसभाः आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन प्राथमिकतामा

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले यस वर्ष आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धनसहितका कामलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत परराष्ट्र मन्त्रायलयका शीर्षकउपर उठेका प्रश्नको जवाफ दिँदै उहाँले आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “आर्थिक कूटनीतिलाई विशेष रूपमा प्रभावकारी बनाउने, नेपालको सौम्य शक्तिको उजागर गरी सार्वजनिक कूटनीतिको प्रभावकारी परिचालनबाट मुलुकको अन्तरराष्ट्रिय छवि र प्रतिष्ठा अभिवृद्धि गर्ने तथा कन्सुलर सेवा सुदृढीकरणका लागि ‘डिजिटाइजेशन’ र सफ्टवेयर अपग्रेडका विषय प्राथमिकतामा राखेका छौँ ।”

नेपाल सरकारले नेपालको संविधान, परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धका स्थापित मान्यताप्रति प्रतिबद्ध रही सुशासन र आर्थिक समृद्धि हासिल गर्ने दिशामा प्राथमिकताका साथ काम गरिरहेको मन्त्री खनालले बताउनुभयो । “संविधानले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशिलका सिद्धान्त, अन्तरराष्ट्रिय कानुन र विश्वशान्तिको मान्यतालाई नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तका रूपमा स्थापित गरेको छ”, उहाँले भन्नुभयो, “यी सिद्धान्तहरूको आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति सञ्चालन गरिँदै आइएको छ ।”

मन्त्री खनालले हाल विभिन्न मुलुक र सहरमा ४४ वटा नेपाली नियोग, ३१ वटा राजदूतावास, तीन स्थायी नियोग र १० वटा महावाणिज्यदूतावास रहेका जानकारी दिनुभयो । हालसम्म विश्वका १८३ मुलुकहरूसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको उहाँले बताउनुभयो ।

आगामी आव २०८३/८४ का लागि परराष्ट्र मन्त्रालय र अन्तरगतका निकायका लागि कूल रु आठ अर्ब ७३ करोडको बजेट स्वीकृत भएको छ । आगामी आव परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटका सम्बन्धमा जानकारी गराउँदै पुँजीगततर्फ समग्रमा रु एक अर्ब ५५ करोड र चालुतर्फ रु सात अर्ब १८ करोड विनियोजन भएको बताउनुभयो ।

आर्थिक कूटनीति, सौम्य शक्ति प्रवद्र्धनसहितका कामलाई प्राथमिकतामा राखेका जानकारी गराउँदै मन्त्री खनालले भन्नुभयो, “भ्रमण, वार्ता, स्थापित संयन्त्रको नियमित बैठकको आयोजनालगायत कार्यलाई प्राथमिकतामा राखी द्विपक्षीय सम्बन्ध सुदृढ गर्नेछौँ । क्षेत्रीय र अन्तरराष्ट्रिय सहकार्यलाई बढावा दिनेछौँ ।”

राहदानी वितरणलाई सहज, छिटोछरितो एवं अनुमानयोग्य तथा प्रविधिमैत्री बनाउने, विदेशस्थित तीन वटा नियोगको भवन निर्माण गर्ने, राहदानी विभाग, कन्सुलर सेवा विभाग र नियोगमार्फत राहदानी तथा कन्सुलरसम्बन्धी घुम्ती शिविर सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

“नियोगमार्फत समस्यामा परेका श्रमिकहरूको उद्धार, कानुनी सहायता, क्षतिपूर्ति तथा घर फिर्ती कार्यक्रम, ‘लुम्बिनी फेलोसिप’ कार्यक्रम, ‘अन्तरराष्ट्रिय संवाद शृङ्खला’ कार्यक्रम आयोजना, सगरमाथा संवादको दोस्रो संस्करण आयोजना, अन्तररष्ट्रिय आरोग्य दिवस, नियोगमार्फत नेपाल प्रवर्द्धनसहितका सगरमाथा दिवस÷वेलनेश डे, पर्यटन प्रवर्द्धन, बुद्धजयन्तीसहितका सांस्कृतिक प्रवर्द्धनलगायत कार्यक्रम प्राथमिकतामा छन्”, मन्त्री खनालले भन्नुभयो ।

परराष्ट्र मन्त्रालयबाट सम्पादन हुने काम संवेदनशील हुने उल्लेख गर्दै ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा, हक र हितलगायत वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउने एवं समस्यामा परेका नेपालीका लागि सहायता, उद्धार र मृत्यु भएको अवस्थामा शव झिकाउने विषयलाई प्राथमिकतामा राखी काम गरिरहेको उहाँले बताउनुभयो ।

“वैदेशिक रोजगारीमा जाँदा श्रम स्वीकृति लिएर गएका वा सन् २०२४ सेप्टेम्बर ३० सम्म विदेशमा पुगेर विदेशस्थित नेपाली नियोगबाट वैधानिकीकरण श्रम स्वीकृति लिएकाको हकमा निजको कुनै कारणले उद्धार तथा सहायता गर्नुपरेमा वा मृत्यु भई शव नेपाल झिकाउनु परेमा सम्बन्धित रोजगारदाता कम्पनीले आवश्यक कार्य गर्ने व्यवस्था छ”, परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “कारणवश रोजगारदाता कम्पनीमार्फत शव झिकाउन सम्भव नभएमा वैदेशिक रोजगार बोर्डले बजेट निकासा दिन सक्ने व्यवस्था छ ।”

मन्त्री खनालले साइप्रसमा बन्धक बनाइएका भनिएका धादिङका उज्ज्वल कुँवरको उद्घार तथा सहायता र जापानमा मृत्यु भएका बझाङका दीपक धामीको शवका सम्बन्धमा नेपाली नियोगहरूलाई आवश्यक समन्वयका लागि निर्देशन दिइसकिएको जानकारी दिनुभयो । उहाँले कुवेतमा घरेलु कामदारका रूपमा काम गर्न गएकी शर्मिला दर्जीलाई नेपाली राजदूतावास, कुवेतको पहलमा यही असार १ गते काठमाडौँ फर्काइएको बताउनुभयो ।

कुवेतको जेलमा सयौँ नेपाली महिला रहेका भन्ने भनाइमा सत्यता नरहेको बेहोरा स्पष्ट पार्दै परराष्ट्रमन्त्री खनालले भन्नुभयो, “हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिक विभिन्न अभियोगमा थुनामा रहेकामा तीमध्ये सात जना महिला छन् ।” उहाँका अनुसार नेपाली राजदूतावासले उद्धार गरेका करिब ७० जना महिलाहरू नेपाल फर्कने क्रममा छन् ।

वर्तमान सरकार गठन भएपश्चात् राष्ट्रिय हित र मुलुकको छवि प्रवर्द्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेका उहाँको भनाइ छ । मन्त्री खनालले परराष्ट्र सम्बन्ध सञ्चालनको विषय संवेदनशील भएको बताउँदै यस विषयमा सबैको उत्तिकै दायित्व, योगदान र भूमिका रहने बताउनुभयो । मन्त्रालयले आफ्नो क्षेत्राधिकारका विषयमा सशक्त र प्रभावकारी कार्यसम्पादन गर्दै आएको र त्यसलाई आगामी दिनमा पनि निरन्तरता दिने र प्राप्त उपलब्धिका विषयमा सदनलाई जानकारी गराउँदै जाने परराष्ट्रमन्त्री खनालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बजेटले परम्परागत ढाँचामा चलिरहेका गृह प्रशासनलाई ‘डिजिटल’ रुपान्तरण गर्ने लक्ष्य राखिएको छ – गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले आगामी आवको बजेटले परम्परागत ढाँचामा चलिरहेका गृह प्रशासनलाई ‘डिजिटल’ रुपान्तरण गर्ने लक्ष्य राखिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले बजेट अङ्कहरूको सूचीमात्र नभई सुशासन, राष्ट्रिय सुरक्षा र समृद्धिको राष्ट्रिय सङ्कल्प भएको बताउनुभयो ।

“नेपाली जनताको पसिनाबाट सङ्कलित यो बजेटको एक÷एक रुपैयाँ नागरिकको सेवामा लगानी गर्न र राष्ट्रिय सुरक्षा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दछु”, गृहमन्त्री गुरुङले भन्नुभयो । उहाँले सुरक्षाकर्मीको मनोबल बढाउन थप कार्यक्रम र बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

नदीजन्य पदार्थको दोहन रोक्न मन्त्रालय प्रयासरत रहेको जानकारी दिँदै उहाँले विभिन्न मन्त्रालयसँग समन्वय गरिएको बताउनुभयो । गृहमन्त्री गुरुङले जाजरकोट भूकम्पबाट प्रभावितका समस्या समाधान गर्न बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।

प्रहरीको पोशाक खरिदसम्बन्धी प्रक्रियामा देखिँदै आएको गुनासो सम्बोधन गर्न मन्त्रालय लागिरहेको उल्लेख गर्दै गृहमन्त्री गुरुङले भन्नुभयो, “प्रहरीको पोशाकमा खर्चदै आइएको रकम प्रहरीलाई नै दिएर उहाँहरू आफैँले खरिद गर्ने भन्ने मन्त्रालयको योजना छ, ताकी कुनै पनि बिचौलियाले यसमा चलखेल गर्न नसकुन् ।”

गृहमन्त्री गुरुङले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यासम्बन्धी घटनाको छानबिन गर्न मन्त्रालय संवेदनशील रहेको जानकारी दिनुभयो । लागुऔषधको कारोबार र सेवन, साइबर अपराध तथा सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न ‘प्रारम्भिक वार्ता’ शुक्रबार बर्नस्थित ‘स्विस रिसोर्ट कम्प्लेक्स’मा हुने योजना रहेको स्विट्जरल्यान्डले बिहीबार पुष्टि गरेको छ ।

स्वीट्जरल्याण्डको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्झौताको कार्यान्वयनका लागि ‘प्रारम्भिक वार्ता’ गर्न संयुक्त राज्य अमेरिका र इरानका साथै मध्यस्थकर्ताहरू पाकिस्तान, कतार र अन्य सम्बन्धित देशहरूले भोलि बर्गनस्टकमा भेट्नेछन् ।”

यस घोषणाले मध्य स्विट्जरल्याण्डको लुसर्न नजिकै बर्गनस्टकस्थित लक्जरी होटल कम्प्लेक्समा हुने भनिएको बैठकको अनिश्चितताको पर्दा हटाएको छ । यो बैठक सुरुमा मङ्गलबार सोही स्थानमा हुने घोषणा गरिएको थियो ।

उक्त बैठकलाई अमेरिका र इरानबीच फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाबाट सुरु भएको क्षेत्रीय युद्ध अन्त्य गर्न सहमति भएको समझदारीपत्रमा हस्ताक्षर समारोहका रूपमा हेरिएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार पेरिस नजिकै आयोजित एक रात्रिभोज कार्यक्रममा र इरानी राष्ट्रपति मसुद् पेजेस्कियानले तेहरानबाटै विद्युतीय प्रतिमा हस्ताक्षर गरेका थिए ।

स्वीट्जरल्याण्डमा इरानका प्रमुख वार्ताकार मोहम्मद बाघर गालिबाफ र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सम्झौताको विस्तृत विवरण तयार पार्न छलफलमा भाग लिने अपेक्षा गरिएको थियो ।

प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकाय, रक्षा मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित विभिन्न शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरूको प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले सो धारणा राख्नुभएको हो ।

मन्त्री डा वाग्लेले यसका लागि आयोजनाको जग्गा प्राप्ति, सम्भाव्यता अध्ययन, पूर्वतयारीका कार्य सम्पन्न भएपछि मात्र राष्ट्रिय गौरवका आयोजनाका रूपमा स्वीकृत गरी बजेट विनियोजन गरिने नीति अवलम्बन गरिएको स्पष्ट गर्नुभयो । भविष्यमा राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमा प्रारम्भ र सम्पन्न हुने विश्वास लिइएको उहाँको भनाइ छ ।

बैठकमा अर्थमन्त्री डा वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सबै निकायहरूको कुल बजेटमा फरक नपरेको तर सूचना प्रविधि विभाग र राष्ट्रिय साइबर सुरक्षा केन्द्रको पुँजीगततर्फ मन्त्रालयगत बजेट सूचना प्रणाली एलएमबिआइएसमा विनियोजित कार्यक्रम एक्सेल सिटमा लुकेकाले प्रकाशन भएको विकास कार्यक्रम पुस्तिकामा नदेखिएको पनि स्पष्ट पार्नुभयो ।

नेपालको संविधानबमोजिम तीनवटै तहका सरकारको काम तथा जिम्मेवारीलाई स्पष्ट गर्ने उद्देश्यले २०७३ सालमा कार्यविस्तृतीकरण प्रतिवेदन तर्जुमा गरिएको जनाउँदै उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका जटिलता र अस्पष्टतालाई निराकरण गर्न उक्त प्रतिवेदन परिमार्जनको कार्य अगाडि बढाएको बताउनुभयो ।

अर्थमन्त्री डा वाग्लेले स्थानीय तह, सातवटै प्रदेश र केन्द्रीयस्तरमा सरोकार भएका निकायसँग छलफल र अन्तरक्रिया गरी विज्ञहरूको समेत राय लिई कार्यविस्तृतीकरण प्रतिवेदनको मस्यौदा तयार गरिएको पनि स्पष्ट गर्नुभयो । उहाँले परिवर्तित सन्दर्भमा उक्त मस्यौदाउपर थप अध्ययन गरी परिमार्जनको प्रक्रिया अगाडि बढाइने जानकारी गराउनुभयो ।

डिजिटल प्रविधि सम्बन्धमा

ठूला डाटा सेन्टर खोल्नु अघि मानव जीवन तथा वनस्पति जगतसम्म नकारात्मक प्रभाव नपार्ने गरी चिसो मौसम भएको ठाउँमा डाटा सेन्टर बनाउनुपर्ने भन्ने प्रश्नमा अर्थमन्त्री डा वाग्लेले हाल सूचना प्रविधि पूर्वाधारका लागि सिंहदरबारस्थित एकीकृत डाटा व्यवस्थापन केन्द्र, हेटौँडास्थित डिजास्टर रिकभरी केन्द्र सञ्चालनमा रहेका जानकारी दिनुभयो ।

साथै, कोहलपुरस्थित डाटा सेन्टरको निर्माण कार्य सम्पन्न भएको, खुमलटारमा डाटा सेन्टर स्थापनाको प्रारम्भिक कार्य सम्पन्न भएको, कृत्रिम बुद्धिमत्ता (एआई) समेतका लागि भविष्यमा नयाँ डाटा सेन्टर स्थापना गर्दा सम्बन्धित स्थानको हावापानी, भौगोलिक अवस्था, वातावरणीय र सामाजिक जीवनमा पार्ने प्रभावकोसमेत मूल्याङ्कन गर्ने व्यवस्था मिलाइने जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले डिजिटल तथा सूचना प्रविधिसम्बन्धी शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापन गरिँदै आइएको जानकारी अर्थमन्त्री डा वाग्लेले सरकारले सूचना प्रविधिको अधिकतम उपयोग गरी विकास व्यवस्थापन र सेवा प्रवाहलाई चुस्त, मितव्ययी, पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन नीति तथा कार्यक्रम र बजेटमा आवश्यक व्यवस्था गरेको बताउनुभयो । उहाँले बजेट वक्तव्यमा सूचना प्रविधि पूर्वाधार विस्तार तथा काठमाडौँको स्युच्याटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्ने कार्यक्रम राखिएको पनि बताउनुभयो ।

राष्ट्रिय सुरक्षा सम्बन्धमा

अर्थमन्त्री डा वाग्लेले संविधान तथा प्रचलित कानुनको उल्लङ्घन, शान्ति सुरक्षामा अवरोधलगायत विषयमा सत्यतथ्य सूचना एवं जानकारी सङ्कलन गरी सोको समयमै नियन्त्रण गर्नु सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो ।

शान्तिसुरक्षाका विषयमा उठेका प्रश्नहरुको जवाफमा उहाँले यस कार्यमा प्रत्यक्ष रुपमा राष्ट्रिय अनुसन्धान विभागलगायतका सुरक्षा निकायहरूले कार्य गर्दै आइरहेका बताउँदै गुप्तचरसम्बन्धी कार्यलाई तथ्यपरक, आधुनिक, पूर्वानुमानयोग्य र विश्वसनीय बनाउन सूचना प्रविधि र एआइको उपयोग बढाउने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी पनि दिनुभयो ।

सूचना प्रविधि प्रणालीमा हुने ह्याकिङलगायत साइबर जोखिम न्यूनीकरण गर्न तथा सूचना प्रविधिका माध्यमबाट हुने अपराधहरूको नियन्त्रणका लागि राष्ट्रिय साइबर सुरक्षा केन्द्र, साइबर ब्युरोजस्ता संस्थाहरू क्रियाशील रहेका उहाँले जानकारी दिनुभयो । साइबर सुरक्षा अभिवृद्धि गर्न तथा साइबर अपराध नियन्त्रणका लागि नेपाल सरकारले थप पूर्वाधार विस्तार तथा संस्थागत क्षमता विकासका कार्यक्रम राखेको उहाँले बताउनुभयो ।

मन्त्री डा वाग्लेले नेपाली सेनाले राष्ट्रिय सुरक्षा नीति, २०७५ बमोजिमका जिम्मेवारी आफ्नो क्षमता र स्रोतसाधनले भ्याएसम्म निर्वाह गर्दै आइरहेको पनि जानकारी दिनुभयो । नेपाली सेनाको आधुनिकीकरण, प्रविधि विकास, सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण तथा विपद् व्यवस्थापन क्षमता अभिवृद्धिका लागि आवश्यक पूर्वाधार विकास गरिँदै आएको र नेपाली सेनाले सैन्य सञ्चार, सूचना प्रविधि, निगरानी प्रणाली, तालिम तथा विपद् प्रतिकार्य क्षमतामा समेत उल्लेख्य सुधार गरेको बताउनुभयो । आगामी दिनमा राष्ट्रिय सुरक्षा, प्रविधि विकास, पूर्वाधार निर्माण तथा विपद् व्यवस्थापन क्षमतालाई थप सुदृढ गर्दै लगिने पनि उहाँको भनाइ छ ।

नेपालमा यस वर्ष प्रि–मनसुन अवधिमा ४५ वर्षयताकै बढी वर्षा

काठमाडाँै – नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभयो ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो । तथ्याङ्कअनुसार सन् २००० मा ३२३ दशमलव १९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो । यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको सङ्केत हुन सक्छ । यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको देखिएको छ । विभागका अनुसार यस वर्षको प्रि–मनसुन वर्षा सन् १९९० यताकै मात्र नभई उपलब्ध अभिलेखमा सबैभन्दा उच्च रहेको रेकर्डका रूपमा दर्ता भएको छ ।

औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न आग्रह

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले औद्योगिक क्षेत्रभित्रका भाडासम्बन्धी विवादको अन्तिम कानुनी निरुपण नहुँदासम्म उद्योगमा विद्युत् लाइन नकाट्न आग्रह गरेको छ। सर्वोच्च अदालतको फैसलाअनुसार केही उद्योगले भाडा भुक्तानी गरिसकेका र अन्य उद्योगीले महसुल तिर्न खोजिरहेका जनाउँदै परिसङ्घले बक्यौता तिर्ने समय थप गर्न अनुरोध गरेको हो।

औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गत जेठ २५ गते सूचना जारी गर्दै सात दिनभित्र बक्यौता भुक्तानी गर्न उद्योगलाई निर्देशन दिएको थियो। औद्योगिक क्षेत्रभित्रका भौतिक संरचना प्रयोग गरेबापत ३०० भन्दा बढी उद्योगले रु ८८ करोडभन्दा बढी बक्यौता तिर्न बाँकी रहेको लिमिटेडले जनाएको छ।

अर्थतन्त्रलाई चलायमान बनाउन उत्पादनमूलक उद्योगलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै परिसङ्घले बिहीबार विज्ञप्तिमार्फत उद्योगलाई निर्वाध सञ्चालनका लागि सहयोग र सहजीकरण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको हो।

औद्योगिक क्षेत्रभित्र भाडा वृद्धिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले वि.सं. २०८१ चैत १२ गते लिमिटेडले बढाएको नयाँ भाडादर वि.सं. २०७९ असार २२ गतेदेखि मात्रै लागू हुने फैसला गरेको थियो। सो फैसलालाई उद्योगीले स्वीकार गरिसकेको अवस्थामा लिमिटेड सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न सर्वोच्च अदालत गएको अवस्था छ।

“सर्वोच्चबाट सो विवादको अन्तिम निरुपण नहुँदासम्म औद्योगिक क्षेत्रभित्रका कुनै पनि उद्योगमा विद्युत् लाइन नकाट्न र काटिएका उद्योगमा पुनःजोड्न परिसङ्घ अनुरोध गर्दछ”, परिसङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालमा भ्रामक विज्ञापन नगर्न विज्ञापन बोर्डको आग्रह

काठमाडौँ । सामाजिक सञ्जालमार्फत आधारहीन तथा भ्रामक विज्ञापन प्रकाशन तथा प्रसारण गरेको भेटिए कारबाही गरिने विज्ञापन बोर्डले जनाएको छ।विज्ञापन बोर्डले बिहीबार सार्वजनिक सूचना जारी गर्दै प्रचलित कानुनले निषेध गरेका, आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधिजन्य पदार्थ तथा सामग्रीको विज्ञापन सामाजिक सञ्जालमा बढ्दै गएको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिएको हो।

बोर्डका प्रमुख प्रशासकीय अधिकृत देवी पाण्डे खत्रीले सामाजिक सञ्जालमार्फत विभिन्न औषधिजन्य सामग्रीको भ्रामक प्रचारप्रसार गरी सर्वसाधारणलाई भ्रममा पार्ने, ठगी गर्ने तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने आधारभूत मापदण्डसमेत उल्लङ्घन भएको विषयमा उजुरीसमेत परेका जानकारी दिए। यस्ता विज्ञापनले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नुका साथै झुट्टा दाबीका आधारमा आर्थिक ठगीसमेत हुने जोखिम बढाएको बोर्डको भनाइ छ।

बोर्डले विशेषगरी कपाल उमार्ने, कपाल लामो वा बाक्लो बनाउने, हड्डी तथा नसासम्बन्धी पीडा निको पार्ने, शरीरको बोसो घटाउने, किड्नी सफा गर्ने, शरीरका विषाक्त पदार्थ हटाउनेलगायत दाबी गरिएका औषधिजन्य पदार्थ तथा अन्य समान प्रकृतिका सामग्रीको प्रचार सामाजिक सञ्जालमार्फत व्यापक रूपमा भइरहेको जनाएको छ।

यस्ता सामग्रीको प्रभावकारिताबारे वैज्ञानिक आधार, आधिकारिक स्वीकृति वा आवश्यक प्रमाणीकरणबिना आकर्षक प्रचार सामग्री तयार गरी सर्वसाधारणलाई भ्रमित बनाउने कार्य बढ्दो क्रममा रहेको बोर्डले उल्लेख गरेको छ।

सूचनामा विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ तथा अन्य प्रचलित कानुनविपरीत कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारण नगर्न तथा नगराउन सम्बन्धित विज्ञापनदाता, विज्ञापन एजेन्सी, सामग्री उत्पादक, बिक्रेता, डिजिटल प्लेटफर्म सञ्चालक तथा सामाजिक सञ्जाल प्रयोगकर्तासहित सबै पक्षलाई सचेत गराइएको छ।

कानुनविपरीतका विज्ञापनले उपभोक्ताको स्वास्थ्य, सुरक्षा तथा आर्थिक हितमा प्रतिकूल असर पुर्‍याउने भएकाले त्यस्ता गतिविधिमा संलग्न नहुनसमेत बोर्डले आग्रह गरेको छ। त्यसैगरी, बोर्डले चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गरिने औषधिकोसमेत सामाजिक सञ्जालमा भ्रामक विज्ञापन भइरहेको गुनासो आएको जनाएको छ।

आवश्यक लेबलिङ, ब्रान्डिङ तथा आधिकारिक प्रमाणीकरण नभएका औषधि वा सामग्रीको प्रचारप्रसारले भ्रम र अफवाह फैलाउने तथा सर्वसाधारणलाई गलत उपचारतर्फ आकर्षित गर्ने जोखिम रहेको बोर्डको निष्कर्ष छ।यस्ता भ्रामक विज्ञापन प्रकाशन वा प्रसारण भएको पाइएमा तत्काल विज्ञापन बोर्डमा उजुरी गर्न पनि बोर्डले अनुरोध गरेको छ । प्राप्त उजुरीका आधारमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइने :मन्त्री चौधरी

ललितपुर । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई अझ शक्तिशाली र आत्मनिर्भर बनाई किसानमैत्री नीति तथा कार्यक्रम ल्याइने बताएकी छन्।

आज ललितपुरस्थित राष्ट्रिय दुग्ध विकास बोर्डमा दुग्ध व्यवसायीहरुसँग भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले दूधको उत्पादन, लागत र बजारलाई दृष्टिगत गरी समयसमयमा मूल्य निर्धारण गर्ने, दुग्धजन्य पदार्थ नकिन्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारबाही गर्ने पक्षमा सरकार रहेको बताएकी हुन् ।

दुग्ध विकास बोर्ड तथा संस्थानमा राजनीति हाबी भएको, विचौलियाको चलखेल हुने गरेको तथा व्यवस्थापनपक्ष कमजोर देखिएको उल्लेख गर्दै उनले विद्युत्लगायत अत्यावश्यक क्षेत्रमा सहुलियतको व्यवस्था गरी दुग्ध व्यवसायमा संलग्न किसानसहित दुग्ध उद्योग र संस्थानका पक्षमा मन्त्रालय रहेको स्पष्ट गरिन् ।

बोर्डका निमित्त कार्यकारी निर्देशक डा बालक चौधरीले बोर्डलाई नियमन, प्रवद्र्धन र अनुगमनसहितको अधिकार दिनुपर्नेमा जोड दिँदै खाद्य ऐनले व्यवस्था गरेकोभन्दा कम गुणस्तरको दूध बिक्री वितरण भइरहेको भन्ने सन्दर्भमा यथासक्य चाँडो अनुगमन गरी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

दुग्ध विकास संस्थानका महाप्रबन्धक डा शरणकुमार पाण्डेले दुग्ध किसान र उद्योगी प्रोत्साहित हुनेगरी किसानमुखी कार्यक्रम ल्याइएको उल्लेख गर्दै गैरव्यावसायिक र असन्तुलित तरिकाबाट उद्योग व्यवसाय सञ्चालन हुँदा किसान मारमा परेको यथार्थलाई सम्बोधन गर्नेगरी संस्थानमा काम भइरहेको जानकारी दिए ।

फिफा विश्वकप २०२६ : कोलम्बियाको उज्बेकिस्तानमाथि ३–१ को जित

काठमाडौं । कोलम्बियाले उज्बेकिस्तानलाई ३–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ मा विजयी सुरुआत गरेको छ।मेक्सिकोको ऐतिहासिक अज्टेका स्टेडियममा भएको समूह ‘के’ को खेलमा कोलम्बियाका लागि डानिएल मुनोज, लुइस डियाज र जामिन्टन क्याम्पाजले गोल गरेका थिए। यता विश्वकपमा डेब्यु गरिरहेको उज्बेकिस्तानका लागि अब्बोसबेक फेजुल्लाएभले एक गोल फर्काए।

खेलको ४०औँ मिनेटमा डानिएल मुनोजले लुइस डियाजको पासमा वान–टच फिनिसिङ गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए।दोस्रो हाफमा उज्बेकिस्तानले उत्कृष्ट पुनरागमन गर्दै ६०औँ मिनेटमा बराबरी गोल ग¥यो। अब्बोसबेक फेजुल्लाएभले गोल गर्दै उज्बेकिस्तानका लागि विश्वकप इतिहासमा पहिलो गोल गर्ने खेलाडी बन्न सफल भएका छन् ।

बराबरीको खेलको केही समयमा नै लुइस डियाजले निर्णायक गोल गर्दै कोलम्बियालाई पुनः अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयको नवौँ मिनेटमा जामिन्टन क्याम्पाजले गोल गर्दै कोलम्बियाको जित सुनिश्चित गरे।यस जितसँगै कोलम्बियाले समूह ‘के’ मा ३ अंक जोड्दै शीर्ष स्थान हासिल गरेको छ।

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा। जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिनुभयो ।

“प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ”, उहाँले भन्नुभयो, “अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ ।”

गतहप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् ।

सोही घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा बोल्नु भएको थियो ।

‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिनुभयो । फोर्सलाई हात्तीको प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ । सो क्षेत्रमा अन्तरराष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बङ्गालबाट ३० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान एकैपटकमा नेपाल प्रवेश गर्दै आएको छ ।

वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन् ।

‘स्पेसल टास्क फोर्स’मा कति सुरक्षाकर्मी परिचालन हुने भन्ने यकिन भइसकेको छैन । सांसद डाँगीले ५० जना सुरक्षाकर्मी माग गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “हात्ती नियन्त्रणका लागि अनुभवी र तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले सुरुमा कम्तीमा दश जनाको सङ्ख्यामा भए पनि ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्दा हुने सुझाव आइरहेको छ ।”

मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने खबरले स्थानीयवासी उत्साहित भएका छन् । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले सर्वसाधारणको जीउधनको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने खबर स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले हात्ती नियन्त्रणका लागि प्रशिक्षण प्राप्त सुरक्षाकर्मी खटाउनुपर्ने सुझाव दिनुभएको छ ।

तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिने र स्थानीयवासीलाई ढुक्क महसुस गराउने ठोस कार्ययोजनासहित सरकार अघि बढ्नुपर्ने बताउनुहुन्छ । मा अख्तियारको अनुसन्धान तीव्र, जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलायो

रास्वपाको सचिवालय बैठक वनस्थलीमा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसिरहेको छ।

बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको बताइएको छ।

रास्वपाले असार ७ देखि ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने जनाइएको छ।