`

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ५ मङ्सिर : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८५ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७५ रुपैयाँ ५० पैसा र बिक्रीदर १७६ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७४ पैसा र बिक्रीदर १०१ रुपैयाँ १७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ र बिक्रीदर नौ रुपैयाँ ०३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४ रुपैयाँ ९० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १९ पैसा र बिक्रीदर १८ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ८३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ७८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३७७ रुपैयाँ २९ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ४५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

घरजग्गा कारोबार क्रमश: ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो

काठमाडौँ, ५ मङ्सिर : देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा राजस्व सङ्कलनको मात्रा क्रमशः ओरालो लागेको छ ।

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व सङ्कलन अपेक्षित रूपमा बढ्नसकेको छैन । केही दिन पहिलेमात्र सरकारले भूउपयोग (तेस्रो संशोधन) नियमावली संशोधन गरेको छ । गत कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले रु दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ बराबरको राजस्व सङ्कलन गरेको थियो ।

गत असोजमा रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ बराबरको राजस्व सङ्कलन भएको थियो । यस्तै, भदौमा रु तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ बराबरको राजस्व सङ्कलन भएको थियो । गत साउनमा रु तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबरको राजस्व सङ्कलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत रु २१ करोड ३४ लाख ४७ हजार ४१३, रजिष्ट्रेसन दस्तुर रु एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ र पुँजीगत लाभकरमार्फत रु ९९ करोड ७८ लाख ४४ हजार ३९२ सङ्कलन गरेको थियो ।

अन्तरदेशीय प्रसारण लाइन निर्माणमा तीन अर्ब लगानी गरिँदै

काठमाडौँ, ५ मङ्सिर : नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल रु तीन अर्ब लगानी गर्ने भएको छ ।प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा रु एक अर्ब र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा रु दुई अर्ब बराबरको स्वपुँजी लगानी हुनेछ ।

इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली चार–चार केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति दुई देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तरदेशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् ।

प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेशन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ ।

नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णयबमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।

एघारौँ अन्तरराष्ट्रिय ब्राह्मण सम्मेलन पशुपति क्षेत्रमा

काठमाडौँ – जन्म र कर्म दुवै आधारमा ब्राह्मण भएकाहरुको ११औँ अन्तरराष्ट्रिय सम्मेलन यही मङ्सिर १२, १३ र १४ गते काठमाडौँमा हुने भएको छ ।

ब्राह्मण अन्तरराष्ट्रिय सङ्गठन ट्रष्ट नेपाल शाखाको आयोजनामा तीनदिने सम्मेलन गर्न लागिएको संयोजक धर्मराज बरालले राससलाई जानकारी दिनुभयो । सम्मेलनमा नौ वटा देशबाट प्रतिनिधि आउने निश्चित भइसकेको पनि उहाँले सुनाउनुभयो । अन्य देशबाट आउने प्रतिनिधिको नाम पनि केही दिनमा प्राप्त हुने भएको छ ।

भारत, पाकिस्तान, बङ्गलादेश, अमेरिका, हल्याण्ड, जर्मनी, अष्टे«लिया, सुरीनाम, बेलायतलगायत देशबाट आउने प्रतिनिधिको नामावली प्राप्त भइसकेको सङ्गठनका मुख्य संरक्षक गर्गाचार्य गुरु अर्जुनप्रसाद बास्तोलाले बताउनुभयो ।

सम्मेलनमा विदेशबाट १५० जना प्रतिनिधि आउने छन् । नेपालका ५० जना ब्राह्मणको सम्मेलनमा सहभागिता रहने जनाइएको छ । तीन दिन चल्ने सम्मेलनमा २०० जना सहभागी हुनेछन् ।

कर्मले सनातनी ब्राह्मणको व्यवहार गर्नेहरुले यस सङ्गठनको सदस्यता लिनसक्ने सम्मेलनको सचिवालय संयोजक रहनुभएका पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो ।

सम्मेलन पशुपति क्षेत्रमै आयोजना गरिने जनाइएको छ । सम्मेलनको अन्तिम दिन मङ्सिर १४ गते काठमाडौँ घोषणापत्र पनि जारी गर्ने तयारी भएको छ । भारतमा दर्ता भएको सङ्गठनको हालको अन्तरराष्ट्रिय अध्यक्ष डा सुरेशचन्द्र कौशिक रहनुभएको छ ।

बागमती प्रदेशसभा बजेट अधिवेशन अन्त्य

बागमती – बागमती प्रदेशसभाको बजेट अधिवेशन (वर्षे अधिवेशन) अन्त्य गरिएको छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको वर्खे अधिवेशन अन्त्य गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले आज सूचना जारी गर्दैै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा २ बमोजिम यही मङ्सिर ३ गते राति ११ः५९ बजेदेखि वर्षे अधिवेशन अन्त्य गर्नुभएको जानकारी दिनुभयो । वर्षे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकारले अब छिट्टै विधेयक केन्द्रित हिउँदे अधिवेशन आह्वान गर्ने तयारी भइरहेको सरकार प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिनुभएको प्रदेशसभा सचिावलयले प्रदेशसभा सदस्यलाई जानकारी गराएको छ । प्रदेशसभा सचिवालयका सचिव पौडेलले आज सूचना जारी गर्नुहुँदै सभामुख पाठकले गत असोज १ गते उपसभामुख अप्सारा चापागाईलाई सम्बोधन गरी राजीनामा बुझाउनुभएको जानकारी दिनुभएको हो ।

प्रदेशसभा नियमावली २०७४ को नियम १८४ को उपनियम २ बमोजिम प्रदेशसभा सदस्यहरुको जानकारीका लागि सूचना प्रकाशन गरिएको सचिव पौडेलद्वारा जारी सूचनामा उल्लेख छ । जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गर्नुभएका सभामुख पाठकले असोज १ गते उपसभामुख चापागाईंलाई लिखित राजीनामा बुझाउनुभएको थियो ।

उपल्लो मुस्ताङमा कायम निषेध फुकुवा गर्न प्रधानमन्त्रीसँग मुस्ताङका जनप्रतिनिधिको माग

काठमाडौँ – मुस्ताङका स्थानीय तहका जनप्रतिनिधिले उपल्लो मुस्ताङको उपल्लो क्षेत्रमा कायम रहेको निषेध फुकुवा गर्न माग गर्नुभएको छ ।

जिल्ला समन्वय समिति, मुस्ताङकी प्रमुख माया गुरुङको नेतृत्वको जनप्रतिनिधिहरुको टोलीले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरी विदेशी पर्यटकसँग लिइँदै आएको शुल्क पनि हटाउनुपर्ने माग राखेको हो ।

उपल्लो मुस्ताङ भ्रमणमा जाँदा विदेशी पर्यटकले ५०० अमेरिकी डलर तिरेर न्यूनतम १० दिनको प्याकेज लिनैपर्ने व्यवस्था हटाएर सरकारले हालै प्रतिदिन ५० डलर कायम गरेकामा पनि टोलीले त्यो संशोधन अपुग भएको भनेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को गत मङ्गलबार बसेको बैठकले अध्यागमन नियमावली संशोधन गरी विदेशी पर्यटकले निषेधित क्षेत्र भ्रमण गर्दा दैनिक ५० डलर तिर्नुपर्ने व्यवस्था गरेको थियो । स्थानीय जनप्रतिनिधिले यस्तो शुल्क लिने व्यवस्था नै खारेज हुनुपर्ने माग राख्नुभएको छ ।

“उपल्लो मुस्ताङका तीन वटा गाउँपालिकाको क्षेत्र निषेधित क्षेत्रमा घोषणा गरिएको र विदेशी पर्यटकलाई महँगो शुल्क लिने नीतिले पर्यटकलाई निरुत्साहित गरिरहेको अवस्था छ”, टोलीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।

प्रतिनिधिमण्डलमा जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख माया गुरुङ, थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप थकाली, लो घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष रिङजिन नाम्गेल गुरूङ, लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरूङ र लोमन्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्ट गुरुङ हुनुहुन्थ्यो ।

सङ्कटका बेला भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय छः मन्त्री घिसिङ

बागमती – भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सङ्कटको समयमा भारतले नेपाललाई गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभएको छ ।

हेटौँडामा आज आयोजित आपतकालीन प्रयोगका लागि भारतले दिएको बेलिब्रिज हस्तारण कार्यक्रममा मन्त्री घिसिङले नेपालमा विनाशकारी भूकम्पपछि सङ्कटको बेला भारतले गरेको सहयोग अविस्मरणीय रहेको चर्चा गर्नुभयो । नेपालको सडक, पुल निर्माणलगायत भारतको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले नेपालको पूर्वाधार विकास, कनेक्टिभिटी र विपद् प्रतिरोध क्षमतामा भारतले निरन्तर सहयोग गरी एक विश्वासनीय साझेदार भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

नेपालमा विपद्का बेलादेखि भौतिक पूर्वाधार विकास निर्माणको कामसम्ममा भारतले एक छिमेकीको मात्र नभई एक विश्वसनीय साझेदारको रुपमा भूमिका निर्वाह गरिरहेको उहाँले बताउनुभयो । भारतको सहयोगमा निर्मित हुलाकी सडकले तराई क्षेत्रमा यातायातको पहुँच विस्तारसँगै सो क्षेत्रको नागरिकको जीवनस्तर नै परिवर्तन भएको मन्त्री घिसिङले बताउनुभयो । भारतको सहयोगमा निर्माण भएका पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ सडकले नेपालको राष्ट्रिय यातायात र व्यापारको मेरुदण्डलाई सुदृढ बनाएको उहाँले बताउनुभयो ।

यातायात पूर्वाधारबाहेक शिक्षा, स्वास्थ्य, ऊर्जा र क्षमता निर्माणलगायत सामाजिक क्षेत्रमा भारतको सहयोगले सकारात्मक प्रभाव पारेको बताउँदै मन्त्री घिसिङले भारतको सहयोगले नेपालको समग्र विकासमा कोसेढुङ्गा सावित भइरहेको बताउनुभयो ।

सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको हरेक समस्यामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपालमा भारतीय लगानी अझ बढी भित्र्याउन हामी प्रयासरत छौँः अध्यक्ष केसी

काठमाडौँ, ४ मङ्सिरः नेपाल–इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन आफूहरु प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)सँग आज गरिएकको अन्तरक्रियामा अध्यक्ष केसीले नेपालमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत र कानुनी सुधार जरुरी रहेको बताउनुभयो ।

“भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक हुनुहुन्छ, निक्कीले यसका लागि काम गरिरहेको छ, नेपालमा लगानीका लागि केही सुधार आवश्यक छ, समस्या देखिएका क्षेत्रमा सुधार भए लगानी बढाउन सकिन्छ”, उहाँले भन्नुभयो । नेपालमा भारतीय लगानी बढाउन निक्कीले भारतको नयाँदिल्लीमा कार्यालय स्थापनाको तयारी गरिरहेको उहाँको भनाइ थियो ।

“निक्कीको पहिलो प्राथमिकतामा लगानीको सुरक्षा, लगानी प्रवद्र्धन र पुनःलगानी हो । त्यसपछि नयाँ लगानी भित्र्याउनु हो”, अध्यक्ष केसीले भन्नुभयो । नेपालमा भारतीय लगानीकर्तालाई आकर्षित गर्न विभिन्न अवसर प्रदान गर्नुका साथै बजारको आकार पनि मुख्य हुने उहाँको भनाइ थियो ।

नेपालमा लगानी ल्याउन भारतमै लगानी सम्मेलनको तयारी भइरहेको अध्यक्ष केसीले बताउनुभयो । पछिल्लो समय नेपालमा सूचना प्रविधिलगायतका क्षेत्रमा ठूलो सम्भावना भएकाले सो क्षेत्रमा भारतीय लगानी आकर्षित गर्न सकिने उहाँले बताउनुभयो ।

त्यस अवसरमा निक्कीका उपाध्यक्षद्वय रविकुमार रायावरम र कुनाल कयाल, महासचिव राजन शर्मा, कोषाध्यक्ष किरण मल्ललगायतले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत तथा कानुनी सुधार जरुरी रहेकामा जोड दिनुभयो ।

अमेरिकी बेरोजगारी दरमा सामान्य वृद्धि

अमेरिकी लामो सरकारी बन्दपछि ढिलो गरी बिहीबार प्रकाशित मासिक रोजगार रिपोर्टअनुसार सेप्टेम्बरमा अमेरिकी बेरोजगारी दर बढेको छ।

श्रम विभागका अनुसार अमेरिकाले अगस्टको तुलनामा एक लाख १९ हजार रोजगारी थपेपनि अघिल्लो बर्षको सेप्टेम्बरमा रहेको बेरोजगारी दर ४.३ प्रतिशतबाट सामान्य बढेर ४.४ प्रतिशतमा पुगेको हो ।

अगस्टको संशोधित तथ्याङ्कले रोजगारीको स्थिति मूल अनुमान गरिएको भन्दा निराशाजनक रहेको देखाएको थियो । रिपोर्टअनुसार अपेक्षा अनुसार अमेरिकामा यो महिना २२ हजार थपिनुपर्ने अनुमान गरिएकोमा थप चार हजार रोजगारी गुमेको देखिएको छ ।

बिहीबारको तथ्याङ्कले दुई महिना भन्दा बढीमा समग्र श्रम बजारको अवस्थाकोे पहिलो आधिकारिक अवस्थालाई सङ्केत गर्छ । अमेरिकामा ४३ दिनको सरकारी बन्दको कारण रोजगारी दरमा कमी भएको हो ।

सङ्घीय कामदारहरूको सामूहिक बर्खास्त र राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातमा धेरै कर लगाउने नीतिको कारण देखिएको व्यवसायिक उथलपुथलको बीचमा रोजगार बजार कमजोर भइरहेको बताइएको छ।

डिसेम्बरमा फेडरल रिजर्भको नीति बैठक अघि यो अन्तिम मासिक रोजगार रिपोर्ट आएको छ। अधिकारीहरूले लगातार तेस्रो ब्याज दर कटौती गर्ने कि नगर्ने निर्णय यसैलाई आधार मानेर लिन सक्नेछन् ।

केन्द्रीय बैङ्कले पनि मुद्रास्फीतिलाई नियन्त्रणमा राख्ने प्रयास गरिरहेको छ तर कमजोर रोजगार बजारले फेडलाई अर्थतन्त्रलाई बढावा दिन थप दर कटौतीतर्फ धकेल्न सक्छ ।

सेप्टेम्बरमा, यातायात र भण्डारण साथै संघीय सरकार मातहतका निकायमा रोजगारी घटेकोे छ यद्यपि स्वास्थ्य सेवा जस्ता क्षेत्रहरूमा सामान्य लाभ देखिएको छ ।

बिहीबारको रिपोटले सङ्घीय सरकारको रोजगारी अघिल्लो महिनाको तुलनामा बेरोजगारी सङ्ख्या तीन हजारले घटेको छ भने जनवरीको तुलनामा ९७ हजारले घटेको छ।
सेप्टेम्बरमा औसत प्रति घण्टा आय ०.२ प्रतिशतले बढेर ३६.६७ अमेरिकी डलर भएको छ।

डाउ जोन्स न्यूजवायर र द वाल स्ट्रिट जर्नलका अर्थशास्त्रीहरूको सर्वेक्षणले रोजगार सङ्ख्या यसको सट्टा ५० हजारले बढ्ने अपेक्षा गरेको थियो।

“बिहीबारको रिपोर्ट महिनौं ढिलो भए पनि यसले हामीलाई अर्थव्यवस्थामा हालसालै के भइरहेको छ भन्ने बारेमा जानकारी दिएको छ,” एलियान्ज ट्रेड नर्थ नर्थका डान नर्थले एएफपीसँग भन्नुभयो ।
सरकारी बन्दले मुद्रास्फीतिदेखि खुद्रा बिक्रीसम्मका विभिन्न आधिकारिक तथ्याङ्कहरूलाई गणना गर्नबाट रोकेकोले रोजगारीको दरमा सामान्य कमी देखिए पनि समग्र बजारमा सकारात्मक भाव पैदा गर्ने अनुमान अर्थशास्त्रीहरुले गरेका नर्थले बताउनुभयो ।

सरकारी बन्दले केही सर्वेक्षण डाटाको सङ्ग्रहमा पनि असर पारेको श्रम मन्त्रालयले जनाएको छ । अक्टोबरको पूर्ण रोजगार रिपोर्ट जारी गर्नुको सट्टा, उपलब्ध तथ्याङ्कलाई नोभेम्बरको तथ्याङ्कको साथ मूल्याङ्कन गरिनेछ। “सन् २०२५ नोभेम्बरको तथ्याङ्क सङ्कलन अवधि विस्तार गर्न थप समय आवश्यक हुने मन्त्रालयले बताएको छ । यो तथ्याङ्क अब डिसेम्बर १६ मा प्रकाशित हुनेछ।

त्रिविको ‘क्यामेरा भवन’ पुगेर सञ्चारमन्त्रीले भन्नुभयो– मन्दिर आएको अनुभूति भयो

काठमाडौँ, ४ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ । मन्त्री खरेलले विभागको बल्खुस्थित ‘क्यामेरा भवन’ को आज स्थलगत अवलोकन गरी त्यहाँको शैक्षिक, प्राज्ञिक र भौतिक अवस्थाकाबारेमा जानकारी लिइ समस्या समाधानका लागि भूमिका खेल्ने बताउनुभयो ।

त्यसक्रममा सञ्चारमन्त्री खरेलले त्रिविको क्यामेरा भवन पुग्दा मन्दिर पुगेजस्तो अनुभूति भएको उल्लेख गर्नुभयो । “क्यामेरा भवनमा आउँदा श्रद्धा र सद्भाव अगाध रह्यो । मन्दिरमै आएको अनुभूति भयो”, उहाँले भन्नुभयो, “म सञ्चारमन्त्रीका रुपमा नभई विद्यार्थीको नाताले एउटा सपनाको घरमा आएजस्तो ‘फिल’ भयो किनकी रत्नराज्य क्याम्पसमा साँघुरो कक्षाकोठा, भौतिक पूर्वाधार र स्रोतसाधनको कमीका बाबजुद अध्ययन गरेको त्यो भोगाइ आज सुविधासम्पन्न भवनमा आउँदा नौलो अनुभूति भयो ।”

सञ्चारमन्त्री खरेलले विभागको शैक्षिक उन्नयनका लागि सरकारकोतर्फबाट आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख डा कुन्दन अर्यालले गुणस्तरीय शैक्षिक जनशक्ति उत्पादनमा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभयो । उहाँले विभागलाई शैक्षिक उन्नयन र रचनात्मक कामका लागि वर्तमान सरकारको सद्भाव रहने विश्वास व्यक्त गर्नुभयो ।

विभागका उपप्राध्यापक डा देवराज अर्यालले ऊर्जाशील व्यक्तित्व सञ्चारमन्त्रीका रुपमा पाउदा केन्द्रीय विभागले विकासको अपेक्षा गरेको र त्यसमा मन्त्रीको तदारुकताले प्रतिफल दिने अपेक्षा गर्नुभयो ।

त्यसअघि सञ्चारमन्त्री खरेल क्यामेरा भवन पुग्दा विभागीय प्रमुख डा अर्यालले स्वागत गर्नुभएको थियो । सञ्चारमन्त्री खरेलले विभागको भवनभित्र कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडिओ, टेलिभिजन स्टुडिओ, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, आधुनिक सभाहललगायतको अवलोकन गर्नुभयो । विभागीय प्रमुख अर्यालले भवनभित्र शैक्षिक, प्रागिक र भौतिक अवस्थाको सञ्चारमन्त्रीलाई जानकारी गराउनुभयो ।

उहाँका अनुसार विभागले ‘डिजिटल मिडिया प्रडक्सन’ र ‘फिल्म स्टडिज’ को शैक्षिक कार्यक्रम छिट्टै सञ्चालन गर्ने तयारी गरेको छ । विश्वका विभिन्न विश्वविद्यालयसँग सहकार्य, अन्तरराष्ट्रिय सम्मेलनहरु, स्रोत साधन जुटाउनेलगायत कामलाई विभागले प्राथमिकता दिएको छ ।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पस परिसरबाट सञ्चालित केन्द्रीय विभाग दुई वर्षदेखि बल्खुस्थित आफ्नै क्यामेरा भवनबाट सञ्चालन भइरहेको छ । जहाँ स्नताकोत्तर तह र दर्शनार्थी (एमफिल) एवं विद्यावारिधि (पिएचडी) सम्मको कक्षा सञ्चालन हँुदै आएको छ ।

प्राध्यापक लालदेउसा राईसँग भेट

सञ्चारमन्त्री खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका संस्थापक एवं पत्रकारिता क्षेत्रका दिग्गज व्यक्तित्व प्राध्यापक
लालदेउसा राईसँग उहाँकै निवास पुगेर भेटवार्ता गर्नुभएको छ । मन्त्री खरेलले वनस्थलीस्थित राईको निवासमा पुगेर भेट गर्नुका साथै उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । उहाँहरुबीच पत्रकारिता क्षेत्रको उन्नयन र विकास र पेसागत व्यावसायिकतालगायत सवालमा कुराकानी भएको थियो ।

सो अवसरमा सञ्चारमन्त्री खरेलले प्राध्यापक राईको सुस्वास्थ्य, दीर्घ जीवनको कामना गर्नुभयो । उहाँले भन्नुभयो, “हजुरले पढाएका धेरै विद्यार्थी पत्रकारिताको सम्पादकीय नेतृत्व तथा राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रमा पनि राम्रो काम गरिरहेका छन् त्यसैले हजुरप्रति सबै विद्यार्थीको माया, सम्मान र आत्मियता छ, हाम्रोतर्फबाट अझै दीर्घायु, सुस्वास्थ्य र शान्तिको कामना गर्दछौँ ।”

मन्त्री खरेलले नेपाली पत्रकारितालाई उचाइम पु¥याउन प्राध्यापक राईको महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले प्राध्यापक राईको सोच, ज्ञान र भावनाअनुरुप सरकारकोतर्फबाट गर्नसकिने विभिन्न काममा सहजीकरण गरिने विश्वास व्यक्त गर्नुभयो ।

प्राध्यापक राईले नेपालको पत्रकारितालाई दक्षिण एशियाकै नेतृत्वदायी भूमिकामा पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यावसायिक पत्रकारिता गर्न र पत्रकार बन्नका लागि गहिरो अध्ययन, खोज र अनुसन्धानमा दक्खल एवं सिर्जनशील हुनुपर्ने धारणा राख्नुभयो ।

राईले त्रिविअन्तर्गतको विभागमा करिब ४० वर्ष प्राध्यापन गराउनुभयो । उहाँले विसं २०३३ मा पत्रकारिताको अध्ययन सुरु भएसँगै बढाउन सुरु गर्नुभएको थियो । उमेरले ९२ वर्ष पुग्नुभएका राई अहिले पनि अध्ययन र लेखनमा सक्रिय हनुहुन्छ । उहाँ विगत एक वर्षदेखि स्वास्थ्यका कारण निवासमै आराम गरेर बस्नुभएको छ ।

सञ्चारमन्त्रीका साथमा विभागीय प्रमुख डा अर्यालसहित प्राध्यापक र विद्यार्थीसहित राईको निवास पुग्नुभएको थियो । विद्यार्थीले शिक्षकप्रति गर्ने सम्मान मन्त्री हुँदा पनि सञ्चारमन्त्री खरेलले गुरु लालदेउसा राईप्रति गरेको सम्मान सराहनीय कदम भएको विद्यार्थीहरुले बताएका छन् ।

विसं २०३३ देखि पत्रकारिता शिक्षाको प्रारम्भ भई पत्रकारिता विषयलाई विस्तार गरी गुणस्तरीय बनाउन अथक प्रयास भइरहेको विभागले जनाएको छ । विभागले २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, २०६७ देखि विद्यावारिधि र २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो ।

काठमाडौँको सोह्रखुट्टेमा सवारी दुर्घटना, एक युवकको मृत्यु

काठमाडौँ, ४ मङ्सिरः काठमाडौँको सोह्रखुट्टेस्थित कालधारामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे कालधारा चोकस्थित सडकमा आज बागमती प्रदेश ०२–०३३ प ३३९७ नम्बरको मोटरसाइकल र बा ४१ प ६७९ नम्बरको स्कुटर एकापसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङका १८ वर्षीय सजन रेग्मीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका रेग्मीको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकल चालक र स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री कार्की र नेकपा माओवादीका शीर्ष नेताबीच भेटवार्ता

काठमाडौँ, ४ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच आज भेटवार्ता भएको छ । उक्त पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेटगरी समसामयिक राजनीतिक विषयमा आफ्ना विचार राख्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिनुभयो ।

“विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ”, महासचिव विप्लवले भन्नुभयो, “अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक समझदारीलाई अझै बृहत् बनाउँदै लैजाऔँ । जेनजीले आन्दोलनका क्रममा उठाएका मागहरू पूरा गरौँ ।”

उपराष्ट्रपति यादवसँग युएईका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ, ४ मङ्सिरः उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद मुबारक जर्वान अल शम्सीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्तामा नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्ध, उच्चस्तरीय भ्रमण, श्रम, आर्थिक तथा बहुपक्षीय सहकार्यका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच आपसी विश्वास, मित्रता र सहयोगका आधारमा सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको उल्लेख गर्नुभयो ।

सन् २०२५ अप्रिलमा युएईका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेइख अब्दुल्ला बिन जायेद अल नाह्यानले गर्नुभएको नेपालको भ्रमणलाई द्विपक्षीय सम्बन्धको इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा स्मरण गर्नुहुँदै राजदूत शम्सीले यस्ता भ्रमणले दुई देशबीचको सहकार्यलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले रमजान महिनाका अवसरमा यस वर्ष युएई सरकारले २८६ नेपाली नागरिकलाई प्रदान गरेको आममाफीप्रति आभार व्यक्त गर्दै नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराइएकामा युएई सरकारलाई धन्यवाद दिनुभयो । सूचना प्रविधि, इञ्जिनियरिङ, स्वास्थ्य सेवा, होटल व्यवस्थापनलगायत क्षेत्रमा अर्ध–दक्ष तथा दक्ष नेपाली श्रमिकको माग बढ्ने सम्भावना रहेको उल्लेख गर्दै उहाँले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र सम्मानजनक बनाउन नेपाल प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

नेपाल र युएईबीच आर्थिक सहकार्य विस्तारको सम्भावना रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले पूर्वाधार, कृषि, स्वास्थ्य, स्वच्छ ऊर्जा, पर्यटन तथा खानेपानीका क्षेत्रमा सहकार्य अघि बढाउन सकिने बताउनुभयो । नेपालले लगानीका लागि कानुनी तथा संस्थागत तयारी पूरा गरेको र प्राथमिक क्षेत्रमा विदेशी लगानीलाई स्वागत गर्ने उहाँको भनाइ थियो ।

भेटमा राजदूत शम्सीले नेपाल र नेपालीप्रति युएईको आत्मीयता रहेको उल्लेख गर्दै अन्तरराष्ट्रिय मञ्चमा युएईलाई नेपालले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । “युएई नेपाली श्रमिकका लागि नेपालमै सीप विकास केन्द्र खोल्न तयार छ”, राजदूत शम्सीले भन्नुभयो, “युएई ऊर्जा, प्रविधिलगायत क्षेत्रमा नेपालसँग सहकार्य गर्न इच्छुक छ ।”

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभारः गृहमन्त्री

काठमाडौँ, ४ मङ्सिरः गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार भएको बताउनुभएको छ । आज गृह मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उहाँले निर्वाचनका लागि आवश्यक तयारीका लागि सबै निकायलाई उच्च प्रतिबद्धताका साथ जुट्न निर्देशन दिनुभयो ।

जेनजी आन्दोलनपछि उत्पन्न अवस्था र जनभावनालाई दृष्टिगत गर्दै सेवा प्रदायक निकायले आफ्नो काम कारबाही छिटोछरितो बनाउने, प्रक्रियालाई सरलीकृत गर्ने तथा सेवालाई सकेसम्म विद्युतीय माध्यमबाट प्रवाह गर्ने व्यवस्था मिलाउन उहाँले निर्देशन दिनुभयो । “सेवाग्राहीले अनावश्यक झन्झट व्यहोर्नु नपर्ने गरी काम गर्न सबै निकायलाई निर्देशन गर्दछु”, मन्त्री अर्यालले भन्नुभयो ।

आगामी निर्वाचनका लागि आवश्यक बजेट तथा कार्यक्रम सहज रूपमा उपलब्ध गराएकोमा मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिनुभयो । समीक्षा क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयले दिएको सुझावलाई मनन गरी कार्यान्वयनमा लैजाने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री अर्यालले मन्त्रालय मातहतका निकायले वार्षिक कार्ययोजना, ‘माइलस्टोन’ तथा आन्तरिक प्रगतिलाई नियमित समीक्षा गर्दै लक्ष्यअनुरूप परिणाम हासिल गर्नेगरी काम गर्न मन्त्री अर्यालले निर्देशन गर्नुभयो ।

सेवा प्रदायक निकायले एउटै विवरण बारम्बार माग्ने प्रथाको अन्त्य गर्न, राष्ट्रिय परिचयपत्र प्रणालीलाई अन्य निकायसँग क्रमशः आबद्ध गर्नुपर्नेमा उहााले जोड दिनुभयो ।

त्यस अवसरमा गृह सचिव रामेश्वर दङ्गालले सुशासन र पारदर्शितालाई कार्यसम्पादनको मूल आधार बनाई काम गर्न मातहतका सबै निकायलाई निर्देशन दिनुभयो । विशेषगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सेवाबाट गृह मन्त्रालयको कार्यसम्पादन झल्किने भएकाले त्यसलाई अझ प्रभावकारी बनाउन सचिव दङ्गालले जोड दिनुभयो ।

सहसचिव तथा मूल्याङ्कन महाशाखा प्रमुख सुरेश पन्थीले चालु आर्थिक वर्षको पहिलो चौमासिकसम्म गृह मन्त्रालयको वित्तीय प्रगतिबारे जानकारी दिनुहुँदै चालु खर्चतर्फ २० दशमलव ९२ प्रतिशत र पुँजीगत खर्चतर्फ १० दशमलव ६५ प्रतिशत प्रगति हासिल भएको प्रस्तुत गर्नुभयो ।

नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदमा कुनै हस्तक्षेप हुँदैन् :मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद गर्ने सन्दर्भमा कुनै हस्तक्षेप नहुने बताएका छन् । बिहीबार सिंहदरबारमा टेलिकमको बिलिङ प्रणाली खरिद टेन्डर प्रक्रियामा छानबिन गर्न मन्त्रालयले गठन गरेको अध्ययन समितिको प्रतिवेदन लिदैँ उनले नेपाल टेलिकमको खास गरेर बिलिङ प्रणालीको खरिद प्रक्रियाको सन्दर्भमा यो प्रतिवेदन अवरोधक नबन्ने र हस्तक्षप नगर्ने बताए ।

उनले भने, ‘नेपाल टेलिकमको बिलिङ प्रणाली खरिदको सन्दर्भमा हामीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र बाहिर जे जस्तो खालको केही विवादको कुराहरु पनि आएका थिए, त्यसलाई पनि समेटेर सबै कुराहरु हेर्दै खास गरेर अख्तियारको पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रलाई आधार बनाएर हामीले यो मन्त्रालयको आन्तरिक प्रयोजनको लागि अध्ययन प्रतिवेदन हो । यो प्रतिवेदनको आधारमा नेपाल टेलिकमले खास गरेर बिलिङ प्रणालीको खरिद प्रक्रियाको सन्दर्भमा यो प्रतिवेदन आफै अवरोधक बन्दैन् ।

यसले हस्तक्षप गर्दैन् ।’यस्तै, उनले कानून र विधिको पालना गर्दै, राम्रो काम गर्नको लागि देश र जनतालाई केन्द्रमा राखेर टेलिकमको विकासको लागि राम्रो निर्णय लिन नेपाल टेलिकम स्वतन्त्र रहेको पनि बताए ।

उनले भने, ‘खास गरेर कानून र विधिको पालना गर्दै, सिस्टमलाई आत्मसाथ गर्दै नेपाल टेलिकमलाई प्रदान गरिएको स्वायतता छ, खरिदको सन्दर्भमा, खरिद प्रक्रियालाई टुंगाउने सन्दर्भमा राम्रो काम गर्नको लागि देश र जनतालाई केन्द्रमा राखेर टेलिकमको विकासको लागि राम्रो निर्णय गर्नको लागि नेपाल टेलिकम स्वतन्त्र छ र कानूनको परिधिभित्र रहेर राम्रो निर्णय गर्नको लागि यो प्रतिवेदनले रोक लगाउदैँन् ।’ अध्ययन प्रतिवेदन आन्तरिक प्रयोजनका लागि मात्रै भएको भन्दै उनले प्रतिवेदन प्रधानमन्त्रीकहाँ पनि बुझाइने जानकारी गराए ।

नेपाली कम्युनिष्ट पार्टी र जसपाबीचको एकता अन्तिम चरणमा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी(जसपा)बीच एकताको प्रकृया अन्तिम चरणमा पुगेको छ । बिहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको वार्तापछि नेता प्रकाश ज्वालाले सञ्चारकर्मीहरुसँगको कुराकानीमा सहमति पत्रको ड्राफ्ट तयार गरेर छलफल समेत भइसकेको भन्दै भोली(शुक्रबार)त्यसलाई अन्तिम रुप दिने जानकारी दिए ।

उनले भने,‘सहमति पत्रको ड्राफ्ट तयार गर्यौं । त्यसमा छलफल पनि गर्यौं र त्यसको अन्तिम रुप भोली दिनेछौं । सहमति पत्रमा समेत छलफल गरेर अन्तिम रुप दिनेसम्म पुग्नु भनेको लगभग एकताको प्रकृया निष्कर्षतिर पुग्ने स्थिति बनेको छ ।’उनले छलफमा आएको सुझावको आधारमा भोली निर्णय हुने बताए ।

एनपिएलः चितवन राइनोजका बोपाराको दोस्रो अर्धशतक

काठमाडौँ, ४ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजका रवि बोपाराले दोस्रो अर्धशतक बनाएका छन् ।

लुम्बिनी लायन्सबिरुद्ध आजको खेलमा बोपाराले ४५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ५० रन बनाएका हुन् । उनले आजको खेलमा ५५ बल खेल्दै तीन छक्का र चार चौका हान्दै ६६ रनको योगदान दिए । बोपारालाई रुबेल ट्रम्पलम्यानले दिलिप नाथले क्याच आउट गराए । यसअघि बोपाराले यही मङ्सिर २ गते कर्णाली याक्सविरूद्ध पनि अर्धशतक प्रहार गरेका थिए । इङ्गल्याण्डका बोपारा दोस्रो पटक चितवनबाट एनपिएल खेलिरहेका छन् ।

जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सका हरमित सिंह, विराटनगर किङ्ग्सका लोकेश बम र मार्टिन गुप्टिल, पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल, कर्णाली याक्सका प्रियाङ्क पञ्चाल र जनकपुर बोल्ट्सका आशिफ शेखले अर्धशतक बनाएका छन् ।

बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख सिंहसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, ४ मङ्सिरः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ ।

सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो । तर निर्माण लागत अनुमान र मापदण्ड विपरीत गरी प्रयोगमा ल्याउन नसकिने अवस्थामा भवन बनाइएको र फर्जी बिल तथा प्रतिवेदनका आधारमा भुक्तानी लिइएको आयोगको अनुसन्धानबाट खुलेको हो ।

निर्मित संरचना हाल प्रयोगविहीन भई भग्नावशेषमा परिणत भएको र यसबाट सार्वजनिक सम्पत्तिको हिनामिना, हानी नोक्सानी तथा दुरुपयोग भएको आयोगले आयोगले जनाएको छ ।आयोगले प्रतिवादीहरूमाथि जनही रु १५ लाख आठ हजार ५५७ बिगो कायम गरेको छ ।

बालाचतुर्दशीपछि सुरु गरियो पशुपति क्षेत्र सफाइ

काठमाडौँ, ४ मङ्सिरः बालाचतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा छरिएको शतबीजलगायत फोहर सफाइ सुरु गरिएको छ । बालाचतुर्दशीका अवसरमा मङ्गलबार बेलुकीदेखि पशुपति क्षेत्रमा रातभर दिवङ्गत पितृका नाममा महादीप दान गरी बसेका भक्तजनले बुधबार बिहान मृगस्थली, किरातेश्वर, गुह्येश्वरी, गौरीघाटलगायत विभिन्न स्थानमा शतबीज छरेका थिए ।

शतबीजलगायत वर्तालु रातभर पशुपति क्षेत्रमा बस्दा जम्मा भएको फोहरको सफाइ बुधबारदेखि नै सुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सूचना अधिकारी अनिता भट्टले राससलाई जानकारी दिनुभयो ।

पशुपति क्षेत्रको मुख्य मन्दिर क्षेत्रदेखि सुरु गरिएको सफाइ अन्य स्थानमा पनि गरिने उहाँले सुनाउनुभयो । केही दिनमै पशुपति क्षेत्रका सबै ठाउँमा गरिने कोषले जनाएको छ । पशुपति क्षेत्रको सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, भक्तजनलगायत सहभागी भएका छन् ।

बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने प्रधानमन्त्रीको भनाई

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाराको सिमरामा भएको घटना लोकतन्त्रमा कदापि स्वीकार्य नहुने बताएकी छन् ।उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट कसैलाई नभएको बताएकी हुन् ।

उनले लेखेकी छन,‘म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य छैन । युवाहरूको आक्रोश र राजनीतिक असन्तुष्टिलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ । अभिव्यक्ति स्वतन्त्रताको सम्मान हाम्रो प्रतिबद्धता हो । तर यसको अर्थ सार्वजनिक सम्पत्तिको क्षति, विमानस्थलमा अवरोध वा कानुन हातमा लिने छुट होइन ।’

प्रधानमन्त्री कार्कीले गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति तथा सुव्यवस्था कायम गर्न, सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न र निर्वाचनको निष्पक्ष तथा भयमुक्त वातावरण बनाउन उच्च संयम र पूर्ण तयारीका साथ काम गर्न निर्देशन समेत दिएकी छन् ।

उनले लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिने पनि बताइन् । ‘लोकतान्त्रिक प्रणालीको माध्यमबाट मात्रै युवाहरूको वास्तविक अपेक्षा पूरा गर्न सकिन्छ । त्यसैले म सबै पक्षलाई अवाञ्छित राजनीतिक उत्तेजनाबाट टाढा रहन र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न हार्दिक अपिल गर्दछु,’ उनले लेखेकी छन् ।

जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

वाग्मती – जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।

पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती – चालु आर्थिक वर्षको पहिलो चार महिनामा वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२÷८३ मा रु ३० अर्ब ८९ करोड ११ लाख ८९ हजार राजस्व सङ्कलन हुने अनुमान गरिएकोमा साउनदेखि कात्तिकसम्ममा लक्ष्यको २२ दशमलव ४५ प्रतिशत अर्थात् रु छ अर्ब ९३ करोड ६४ लाख ४६ हजार राजस्व सङ्कलन भएको वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा योजना विकास मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिनुभयो ।

चालु आव २०८२÷८३ मा घरजग्गा रजिष्ट्रेशन शीर्षकबाट रु सात अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकमा चारमा त्यसको करिब १६ दशमलव ७ प्रतिशत अर्थात् रु एक अर्ब २३ करोड ७० लाख ३५ हजार राजस्व सङ्कलन भएको छ ।

यस्तै प्रदेश सरकारले सवारीसाधन जाँचपास, रुट पर्मिट, सवारीचालक अनुमतिपत्र वितरण तथा नवीकरणअन्तर्गत सवारी कर शीर्षकबाट आव २०८२÷८३ मा रु आठ अर्ब २५ करोड अनुमान गरिएकोमा कात्तिक महिनासम्म २८ दशमलव दुई प्रतिशत अर्थात् रु दुई अर्ब ३१ करोड १८ लाख ४२ हजार राजस्व सङ्कलन गरेको छ ।
प्रदेश सरकारले बाँडफाँटबाट प्राप्त हुने मूल्य अभिवृद्धि करबापत रु आठ अर्ब ७९ करोड ८६ लाख ६७ हजार प्राप्त हुने अनुमान गरिएकोमा सो अवधिसम्ममा रु दुई अर्ब ४९ करोड ५५ लाख ३५ हजार सङ्कलन भएको छभने अन्तःशुल्क करबापत रु चार अर्ब तीन करोड ७९ लाख नौ हजार प्राप्त हुने अनुमान गरिएकोमा रु ८४ करोड ३६ लाख २१ हजार प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानअन्तर्गत रु १४ अर्ब ८१ करोड ९३ लाख प्राप्त हुने अनुमान गरिएकोमा पहिलो चार महिनाको अवधिमा त्यसको २३ दशमलव ३७ प्रतिशत अर्थात् रु तीन अर्ब ४६ करोड ३४ लाख ७१ हजार मात्र प्राप्त भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

चालु आव २०८२÷८३ मा प्रदेश सरकारको आन्तरिक स्रोतबाट सङ्कलित राजस्वबाट रु चार अर्ब ७७ करोड ७४ लाख २५ हजार प्राप्त हुने अनुमान गरिएकोमा चार महिनाको अवधिमा लक्ष्यको २३ दशमलव ७० प्रतिशत अर्थात् रु एक अर्ब १३ करोड २२ लाख २८ हजार मात्र प्राप्त भएको छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ४ मङ्सिरः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १२०, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ५०, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३४ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु १२०, बन्दा (लोकल) प्रतिकिलो रु ७५, बन्दा (तराई) प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु ११०, काउली (तराई) प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ५५, सेतो मूला (लोकल) प्रतिकिलो रु ६०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ९०, तने बोडी प्रतिकिलो रु २००, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु १००, परबर (लोकल) प्रतिकिलो रु ११०, परबर (तराई) प्रतिकिलो रु १२०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १६०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु १८०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २३०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ११०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १५०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १३०, जिरीको साग प्रतिकिलो रु ६००, सेलरी प्रतिकिलो रु १८०, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १८०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १३०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३२० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ११५, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, निबुवा प्रतिकिलो रु ८०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ८०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ७००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १९० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १५०, भेडे खुर्सानी प्रतिकिलो रु १३०, हरियो लसुन प्रतिकिलो रु १९०, हरियो धनियाँ प्रतिकिलो रु ६००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ११० निर्धारण गरिएको छ ।

एमाले सचिवालय बैठक च्यासलमा बस्दै, महाधिवेशनका विषयमा छलफल हुने

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी पार्टी अध्यक्ष केपी शर्मा ओलीले आह्वान गरेका हुन् ।

बैठकमा मंसिर ६ गते एमालेले गर्ने जनप्रदर्शन, पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशन र फागुनमा हुने आमनिर्वाचनको बारेमा छलफल हुने बताइएको छ ।

नेकपा एमालेले प्रतिनिधि सभा पुनस्र्थापना हुनुपर्ने माग राख्दै आएको छ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन मङ्सिर २७, २८ र २९ गते काठमाडौंमा हुदैछ ।

कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशनबारे जुट्ला सहमति ?

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्कर्षमा पुग्न सकेको छैन ।

जसका कारण बैठक बारम्बार स्थगित हुँदै गरेको छ । बैठकमा महाधिवेशनको मितिबारे छलफल गरी थप निष्कर्षमा पुग्न आज फेरी बैठक बोलाइएको हो ।

यसअघि कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरेका थिइ । यी दुई प्रस्तावका पक्ष र विपक्षमा सुझाव दिने क्रम बैठकमा जारी छ ।

एनपिएलः आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँँदै

काठमाडौँ, ४ मङ्सिरः यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हँुदैछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ ।

पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।

गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा छ ।

सीतारा विवाह पञ्चमी महामहोत्सव: बिहीबार नगरदर्शन

धनुषा, ४ मङ्सिरः जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । बिहीबारदेखि नगरदर्शन कार्यक्रमसँगै सप्ताहव्यापी धार्मिक पर्व औपचारिक रूपमा सुरु हुँदैछ ।

जानकी मन्दिर क्षेत्र, रङ्गभूमि मैदान तथा बाह्रबिघा परिसरमा सरसफाइदेखि आकर्षक पण्डाल निर्माणसम्मका काम तीव्र गतिमा भइरहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । मन्दिर वरपरका गल्ली, मठमन्दिरहरूमा पनि विद्युत् बत्ती जडानका काम भइरहेका छन् ।

विवाह पञ्चमीका मुख्य कार्यक्रमहरू जानकी मन्दिर र बाह्रबिघा रङ्गभूमि मैदानमै केन्द्रित रहनेछन्, तर यस वर्ष कुनै पनि तहको सरकारले सहयोग नगरेको मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । विगतका वर्षहरूमा सरकारी निकायले आर्थिक वा व्यवस्थापकीय सहयोग गर्ने गरेकामा यसपटक भने सहयोग नपाइएको उहाँको भनाइ छ ।

अयोध्या, ऋषिकेश, हरिद्वारसहित भारतका विभिन्न धार्मिक केन्द्रहरूबाट यस वर्ष पनि ठूलो सङ्ख्यामा साधु–सन्त, महन्त, योगी, सन्यासी, भिक्षु र भिक्षुणीको आगमन हुने जानकी मन्दिरले जनाएको छ । जनकपुरधामलाई मिथिलाञ्चलको सांस्कृतिक राजधानीका रूपमा चिनाउने यो महोत्सव वर्षौंदेखि नेपाल–भारत धार्मिक सम्बन्ध मजबुत गर्ने प्रमुख माध्यम रहिआएको छ ।

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सवको आज नगरदर्शन, शुक्रबार फूलबारी लिला, ६ गते धनुषयज्ञ, ७ गते तीलकोत्सव, ८ गते मटकोर, ९ गते स्वयंवर तथा शुभ विवाह र १० रामकलेवा विधिसहित समापन हुनेछ । प्रत्येक वर्ष मङ्सिर शुक्लपक्ष पञ्चमीको तिथिमा मनाइने यो पर्वमा नेपाल र भारतका विभिन्न स्थानबाट लाखौँ भक्तजन जनकपुरधाम आउने गर्छन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार विवाह पञ्चमीलाई लक्षित गरी सुरक्षा योजना कडा पारिएको छ । ठूलो भीडलाई ध्यानमा राखेर नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरीलाई पर्याप्त सङ्ख्यामा परिचालन गरिने उहाँले बताउनुभयो ।

जाजरकोटको चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत), ४ मङ्सिरः जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१ चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ- धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा दुई लाख दुई हजार ३५१ जना पर्यटक भित्रिएका छन् । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म बेनी–जोमसोम सडकमार्ग हुँदै एक लाख ६० हजार ९२९ जना आन्तरिक र ४१ हजार ४३० जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९ जना र कात्तिक महिनामा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् ।

यसअघि आव २०८१/८२ मा राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख पाँच हजार ७७९ हजार आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कमा उल्लेख छ । गत वर्ष पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।

मुस्ताङमा गत वर्षको कूल पर्यटक सङ्ख्याको तुलनामा चालु आवको पहिलो चार महिनामा २८ दशमलव ७६ प्रतिशत पर्यटक मुस्ताङ भित्रिएको प्रहरीको तथ्याङ्कले देखाउँछ ।तर, चालु आवको पहिलो चौमासिकमा युवाको जेनजी आन्दोलन र प्रतिकूल मौसमका कारण मुस्ताङको पर्यटनमा आंशिक असर पु¥याएको थियो ।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुस्ताङ आगमन वृद्धि भइरहेको छ । यहाँको कोरला सडकअन्तर्गत म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म दुई तिहाइ स्थानको सडक कालोपत्र सम्पन्न भइसकेकाले पनि मुस्ताङमा पर्यटक आगमन वृद्धि भइरहेको हो । मुक्तिनाथ दर्शनका लागि यहाँ आएका पर्यटकमध्ये एक तिहाइ पर्यटक माथिल्लो मुस्ताङ र कोरला नाका भ्रमणका लागि जाने गरेका छन् ।

नेपाल–चीन बहुचर्चित कोरला नाका तथा लोमान्थाङ दरबार, झोङ गुफालगायत माथिल्लो मुस्ताङका सदियौँ वर्ष पुराना गुम्बा, माने, छोर्तेन, मानव निर्मित गुफालगायत माथिल्लो मुस्ताङको भौगोलिक तथा जैविक विविधता अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षदेखि पर्यटन मन्त्रालयले उपल्लो मुस्ताङको हिमचुचुराको आरोहरण खुला गरिएकाले विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको उहाँको भनाइ छ । यसैगरी, मुक्तिनाथ दर्शन गर्न आएको आन्तरिक पर्यटकले कागबेनी धाममा दिवङ्गत पितृको नाममा श्राद्ध, तर्पण र पिण्डदान गर्ने भएकाले आन्तरिक पर्यटक वृद्धि भएको पाइएको हो । यसैगरी लमजुङको बेँसी सहरबाट मनाङ हुँदै मुस्ताङ भित्रिने विदेशी पर्यटक जोमसोमबाट हवाईमार्ग हुँदै फर्किने गर्छन् । मुस्ताङ आउने पर्यटकले यहाँको ढुम्बाताल, यारुझो भ्युटावर, जोमसोम बजार, मार्फा गाउँलगायत अवलोकन गर्न छुटाउँदैनन् ।

आज कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, ४ मङ्सिरः हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ ।आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज विश्व बाल दिवस, अफ्रिका औद्योगिकीकरण दिवस पनि आजै

काठमाडौँ, ४ मङ्सिरः बालबालिकाका आवाज सुन्ने तथा उनीहरूका अधिकार प्रवद्र्धनमा सामाजिक सङ्घसंस्था, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै विश्वका विभिन्न देशमा आज विश्व बाल दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्घ आह्वानमासन् १९८९ मा आजकै दिन बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)को अगुवाइमा यो दिवस संसारका सबै देशमा मनाइन्छ ।

यस अवसरमा युनिसेफले विश्वभरका बालबालिकाका आवाज सुन्न र उनीहरूको अधिकारलाई सशक्त रूपमा प्रवद्र्धन गर्न सबैलाई आह्वान गरेको छ । युनिसेफले बालबालिकाका जन्मसिद्ध अधिकारको रक्षा, शिक्षामा पहुँच, समानतालगायत हक सुनिश्चित गर्न सरकार, अभिभावक र समाजको ध्यानाकर्षण गराएको छ ।

यसै अवसरमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बालबालिकाका आवाजलाई सम्बोधन गर्न सबैलाई आग्रह गर्नुभएको छ । आज अफ्रिका औद्योगिकीकरण दिवस पनि हो । दिगो र समावेशी औद्योगिक प्रवद्र्धनलाई केन्द्रमा राखेर संयुक्त राष्ट्रसङ्घले अफ्रिकाको दिगो औद्योगिक विकासमा जोड दिएको छ । अफ्रिकी अर्थतन्त्रलाई थप सक्षम बनाउन, उत्पादन क्षमता वृद्धि, रोजगारी सृजना, आर्थिक विविधीकरण र गरीबी न्यूनीकरणका विषयलाई यो दिवसमा विशेष रूपमा उठाइन्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ४ मङ्सिर: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ५८ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७१ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६ पैसा र बिक्रीदर नौ रुपैयाँ १० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८ पैसा र बिक्रीदर ३४ रुपैयाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९० पैसा र बिक्रीदर १४ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९३ पैसा र बिक्रीदर २२ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८ रुपैयाँ २४ पैसा, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ३३ पैसा र बिक्रीदर ४६२ रुपैयाँ २८ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ७८ पैसा, ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ४० पैसा, बिक्रिदर ३६८ रुपैयाँ ९६ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक

नवलपुर (नवलपरासी), ४ मङ्सिरः पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा दुईदिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वरबहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिनुभयो । “निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,” उहाँले भन्नुभयो, “उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो ।”

रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारीसाधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारीसाधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिनुभयो । रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारीसाधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारीसाधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन् । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला मालवाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् ।

यसैगरी नवलपुर हुँदै पश्चिम जान पूर्वतर्फबाट आएका सवारीसाधन नवलपुर नपुग्दै चितवनमा रोकिने छन् । बस, मिनीबस, माइक्रो बस, साना चारपाङ्ग्रे सवारीसाधन मुग्लिन नारायणघाट सडकको रामनगरदेखि जुगेडीसम्म र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने रिजालले जानकारी दिनुभयो । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारीसाधनहरु भने जुगेडीदेखि दासढुङ्गासम्म र गोन्द्राङदेखि टिकौलीसम्म रोकिने छन् ।

सडक बिस्तार सुरु भएदेखि नै यस खण्डमा भएका खाल्डाखुल्डीका कारण यात्रुले दुःख पाउँदै आएका छन् । नारायणी नदीको पुलदेखि पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र भएपछि नारायणघाट बुटवल खण्डको दाउन्नेसम्म करिब ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ ।

सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु

किमाथाङ्का (सङ्खुवासभा), ३ मङ्सिर : सङ्खुवासभाको मकालु आधार शिविर घुम्न गएका एक पुरुषको लेक लागेर मृत्यु भएको छ । मकालु आधार शिविर घुम्न आएका दोलखाको मेलुङ गाउँपालिका–७ का ३४ वर्षीय अरुण कार्कीको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । मेलुङ–७ का कार्कीलाई मकालु आधार शिविर नजिकै पुगेपछि स्वास्थ्य समस्या भएको थियो ।

मकालु आधार शिविरको करिब पाँच हजार उचाइको सेरसुङ भन्ने ठाउँमा लेक लागेर कार्कीको मङ्गलबार मृत्यु भएको हो । मकालु आधार शिविर नजिकै स्वास्थ्य समस्या भएर मृत्यु भएको प्राप्त सूचनाअनुसार आज दिउँसो प्रहरी निरीक्षक मेघराज अर्यालको कमाण्ड तीन जनाको टोली घटनास्थल पुगेको थियो । घटनाको जानकारी मङ्लबार प्राप्त भए पनि भौगोलिक विकटताका कारण आज दिउँसो मात्र प्रहरी घटनास्थल पुगेको हो ।

मृतकको शव हेलिकप्टरमार्फत आज दिउँसो उद्धार गरी शव परीक्षणका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनास्थल प्रहरी चौकी मकालुबाट पाँच दिनको पैदल दूरीमा पर्दछ । मकालु आधार शिविरमा अहिलेसम्म यातायात र सञ्चार पहुँच पुग्न सकेको छैन ।

निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय

काठमाडौँ, ३ मङ्सिर : सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, विश्वसनीय, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरेको छ । गृहमन्त्रालयमा आज बसेको केन्द्रीय सुरक्षा समिति बैठकले त्यसका लागि ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ को प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

निर्वाचन लक्षित सुरक्षा योजना चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयमार्फत कार्यान्वयन चरणमा रहेको छ । बैठकले प्रदेशस्तरमा प्रमुख सचिवको संयोजकत्वमा सबै सुरक्षा निकायका प्रमुख, आन्तरिक मामिला मन्त्रालयका सचिव र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित कमाण्ड पोष्ट तथा निर्वाचन सेल गठन गरी निर्वाचन सुरक्षा व्यवस्थापन सक्रिय हुन लेखी पठाउने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

उक्त विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत लेखी पठाउने बैठकको निर्णय छ । बैठकले वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ ।

बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, चारवटै सुरक्षा निकायबाट सुरक्षा चुनौतिको प्रस्तुति, छलफल एवं सोको समीक्षा र विश्लेषण भएको गहृमन्त्रीको सचिवालयले जनाएको छ ।

निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग राजनीतिक दलको आग्रह

काठमाडौँ, ३ मङ्सिर : राजनीतिक दलका प्रतिनिधिहरूले आगामी निर्वाचनका लागि उपयुक्त वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् । प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारमा बोलाउनुभएको विभिन्न राजनीतिक दलको बैठकमा सहभागी दलका नेताहरूले निर्वाचनका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस निर्वाचनमा जान पूर्ण रूपमा तयार भए पनि विश्वाससिलो वातावरण बन्न नसकेको बताउनुभयो । उहाँले सरकारको गतिविधिबाट आफूहरू विश्वस्त हुन नसकेको बताउँदै निर्वाचनका लागि आवश्यक आधारभूत तयारी नभएको टिप्पणी गर्नुभयो ।

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले निर्वाचनका लागि अनुकूल वातावरण बनाउन नसकेको बताउनुभयो । उहाँले अन्दोलनका क्रममा लुटिएका हतियार फेला नपरेको र फरार कैदी पक्राउ नपरेको अवस्थामा निर्वाचनका लागि शान्तिसुरक्षाको जोखिम हुने आशङ्का व्यक्त गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले रास्वपा निर्वाचन केन्द्रित गतिविधिमा पूर्ण रूपमा होमिएको जानकारी दिँदै निर्वाचनका लागि आवश्यक पर्ने आधारभूत तयारी गर्न सरकारसँग माग गर्नुभयो । उहाँका अनुसार सरकारको पहिलो दायित्व निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु रहेको हुँदा सबै राजनीतिक दलले त्यसमा सहयोग गर्नुपर्नेछ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

भक्तपुर, ३ मङ्सिर : सरकारले भक्तपुरस्थित सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ ।स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोही केन्द्रमा लामो समयदेखि कार्यरत ‘सिनियर कन्सल्टेन्ट नेफ्रोलोजिस्ट’ (मिर्गौला रोग विशेषज्ञ) श्रेष्ठलाई केंन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

यसअघि उक्त पदमा वरिष्ठ प्रत्यारोपण शल्य चिकित्सक डा पुकारचन्द्र श्रेष्ठ रहनुभएको थियो । उहाँको गत महिना अवकाश भएपछि रिक्त रहेको सो पदमा श्रेष्ठलाई नियुक्त गरिएको अस्पतालका प्रशासन प्रमुख हरि पोखरेलले जानकारी दिनुभयो । उहाँले आजै पदभार ग्रहण गर्नुभएको छ ।

फ्लाईदुबईले बोइङसँग १३ अर्ब डलर बराबरका ७५ विमान खरिद्का लागि सम्झौता

कम लागतको एयरलाइन्स फ्लाईदुबईले बुधबार बोइङसँग १३ अर्ब डलर मूल्यको ७५ वटा ७३७ म्याक्स विमानको लागि सम्झौता गरेको बताएको छ।दुबईको विमान कम्पनी फ्लाईदुबई समूहले आफ्नो सेवा विस्तारका लागि दुई दिनमा बोइङ र एयरबसबाट २०० भन्दा बढी विमानहरूको लागि प्रारम्भिक अर्डर घोषणा गरेको छ।

कुल १३ अर्ब अमेरिकी डलर मूल्यका ७५ वटा ७३७ म्याक्स विमानहरूका लागि र थप ७५ विमानहरूको विकल्पका लागि दुबै पक्षले ‘दुबई एयरशो’ मा एक समझदारी पत्रमा हस्ताक्षर गरेका समूहले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ। फ्लाईदुबईले यसपहिले नै ९० भन्दा बढी बोइङ ७३७ विमानहरू सञ्चालन गरिरहेको छ।

फ्लाईदुबईका अध्यक्ष शेख अहमद बिन सईद अल मकतूमले भन्नुभयो, “भरपर्दो विमानको उपलब्धता र समयमै डेलिभरी हाम्रो उद्योगको निरन्तर वृद्धिको लागि महत्त्वपूर्ण छ र यो सम्झौताले हामी भविष्यको विकासको लागि राम्रो स्थितिमा रहेको सुनिश्चित गर्दछ।”

यो सम्झौता अमेरिकी विमान निर्माताका लागि प्रोत्साहन हो किनकि यसले घातक दुर्घटनाहरू, अदालती मुद्दाहरू र यसको रक्षा शाखामा हड्ताल, साथै डेलिभरी ढिलाइजस्ता आरोप लागिरेको कष्टप्रद अवधिमा आफ्नो व्यवसायलाई ठूलो आर्थिक योगदान मिलेको छ।

फ्लाईदुबईले मङ्गलबार आफ्नो प्रारम्भिक एयरबस अर्डर घोषणा गरेको हो । कम्पनीले यो र सन् २०३१ देखि डेलिभर हुने २४ अर्ब डलरको १५० ए३२१ नियो जेटहरूको लागि सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

बोइङले तेस्रो त्रैमासिकमा गत महिनाको अन्त्यमा ५.४ अर्ब घाटा भएको रिपोर्ट गरेको छ। यसको ७७७ एक्स विमानको ढिलो प्रमाणीकरणबाट भएको ठूलो थप लागतले यसको नतिजालाई तुलना गर्न बाध्य पारेको छ।

एमिरेट्सले एलन मस्कको स्याटेलाइटबाट सञ्चालित नेटवर्क प्रयोग गर्न सुरु गर्ने बताएको एक दिन पछि फ्लाईदुबईले स्पेसएक्ससँग आफ्नो सेवामा स्टारलिङ्कको सेवालाई प्रयोग गर्न सम्झौतामा हस्ताक्षर गरेको छ।सोमबार फ्लाई दुबईको भगिनी एयरलाइन्स मानिने इमिरेट्सले मध्य पूर्वको सबैभन्दा ठूलो एयर शोमा ३८ अर्ब डलरको सम्झौतामा ६५ वटा बोइङ जेट अर्डर गरेको थियो ।

निर्माण व्यवसाय विकास परिषद्बाट पुनर्निर्माण कोषमा एक करोड सहयोग

काठमाडौँ, ३ मङ्सिर : निर्माण व्यवसाय विकास परिषद्बाट जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका लागि स्थापना गरिएको कोषमा रु एक करोड सहयोग प्राप्त भएको छ । परिषद् मातहत रहेको निर्माण व्यवसायी कोषबाट आज भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो ।

परिषद्का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभयो । कोषमा हालसम्म रु सात करोड ५४ लाख जम्मा भएको छ ।

आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचनाको पुनर्निर्माण कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन अर्थमन्त्री अध्यक्ष रहनेगरी भौतिक पुनर्निर्माण समिति गठन गरिएको छ ।

समितिको केही दिनअघिको बैठकले कोषमा जम्मा भएको रकम क्षतिग्रस्त सार्वजनिक संरचनाको विस्तृत इञ्जिनियरिङ डिजाइन तयार गरी पुनर्निर्माणको प्रतिवेदन तयार गर्न, सार्वजनिक संरचनाको तत्काल मर्मतसम्भार गरी सेवा चालू गराउन र आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापनाका कार्यक्रममा खर्च गर्ने निर्णय भएको मन्त्री घिसिङको सचिवालयले जानकारी दिएको छ ।

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका पाँचसय ५६ कैदी अझै फरार

विराटनगर, ३ मङ्सिर : कोशी प्रदेशको झुम्कास्थित कारागारका ५५६ जना कैदीबन्दी अझै फरार रहेको कारागार प्रशासनले जनाएको छ । जेनजी आन्दोलको दोस्रो दिन भदौ २४ गते ठूलो सङ्ख्यामा आएका जमातले कारागारमा तोडफोड र आगजनी गर्ने प्रयास गरेको थियो ।

कारागारका प्रशासनको होसियारीले कारागारमा आगजनी हुन सकेन तर सो समयमा रहेका एक हजार ७९६ कैदी भने भाग्न सफल भएका थिए । सो दिन तीन जना कैदी बिरामी भएका कारण अस्पतालमा रहेको कारागार प्रमुख सुवास लामिछानेले जानकारी दिनुभयो ।

फरार सबै कैदीमध्ये केही आफै फर्केर आएका थिए भने केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो । फरार रहेका ५५६ कैदीबन्दीको व्यापक खोजतलास भइरहेको प्रमुख लामिछानेले बताउनुभयो ।