`

नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई उपप्रमुख डंगोलको आग्रह

काठमाडौँ, २१ असार : काठमाडौँ महानगरपालिकाले नन्ग्रेडेड माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजाको कारण खोज्न प्रधानाध्यापकलाई आग्रह गरेको छ ।कामपाको उपप्रमुख सुनिता डङ्गोलले सामुदायिक विद्यालयमा कुशल व्यवस्थापकको नेतृत्वका रूपमा प्रधानाध्यापकलाई नन्ग्रेडेड एसइई नतिजाको कारण खोज्न सम्बन्ध भएका विद्यालयका प्रमुखलाई आग्रह गर्नुभएको हो ।

गएको तीन वर्षदेखि अपेक्षित नतिजा प्राप्त गर्न नसकेका र यस वर्ष ५० प्रतिशतभन्दा धेरै विद्यार्थीहरू नन्ग्रेडेड नतिजा भएका विद्यालयहरूका प्रधानाध्यापकहरूसँग कुराकानी गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

यसकारण नेतृत्वको खोजी भएको हो । उहाँले भन्नुभयो, “साझेदार एकै ठाउँमा बसेर एउटै दृष्टिबाट काम गर्ने हो भने हरेक समस्याको समाधान खोज्न सकिन्छ । यसपछिको एक महिना नन्ग्रेडेड विद्यार्थीलाई पढाएर नतिजा सुधारका लागि काम गरौँ । त्यसपछि सबै समस्या केलाएर, सीप र क्षमताको विश्लेषण गरेर थप कार्यक्रम तर्जुमा गरौँला ।”

छलफलमा कामपाका शिक्षा अधिकृत केशव ज्ञवालीले, प्रधानाध्यापक र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो नहुनु, विद्यार्थीहरूको घरायसी वातावरण राम्रो नहुनु, विद्यार्थीहरू शिक्षासँगै श्रम क्षेत्रमा आबद्ध हुनु, अभिभावकको नियन्त्रणमा विद्यार्थी नहुनुजस्ता कारण केही विद्यार्थीहरूको एसइईको नतिजा राम्रो नभएको धारणा राख्नुभयो ।

छलफलमा विद्यालयका प्रधानाध्यापकहरूले नतिजा सुधारका लागि आउँदो एक महिने अतिरिक्त कक्षा, विद्यार्थीलाई अध्ययनमा प्रोत्साहनलगायत अथक प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूको दृष्टिमा केही विद्यार्थीहरूमा देखिएको नराम्रो नतिजाका पछाडि विद्यालय, अभिभावक र विद्यार्थी सबैका बराबरी भूमिका रहेको उल्लेख गर्नुभयो ।

विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कामपाबाट ५८ वटा सामुदायिक विद्यालयबाट चार हजार ५६ जना विद्यार्थी सहभागी भएका थिए । परीक्षार्थीमध्ये ९५६ जना (नन्ग्रेडेड)ले पुन परीक्षा दिनुपर्ने भएको छ ।

उत्तीर्ण विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका छन् । यसमा १७ जनाले ४ जीपीए पाएका छन् । गएको वर्ष ५४५ जनाले ३ दशमलव ६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् ।

मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित

सिरहा, २१ असार : असार २० सकिँदासम्म पनि सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ ।

खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।

सिरहाका लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्नुहुन्छ, “समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बीउ तयार पारेको धेरै भइसक्यो, तर न पानी प¥यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।”

उहाँका अनुसार, यसपटक असार सुरू भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ । “अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बीउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ ,” उहाँले दुःखेसो गर्नुभयो ।

आकाशेपानीकै भरमा किसान

तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकाशेपानीमा भर पर्न विवश छन् । “पहिला–पहिला असारको सुरूमा नै पानी पथ्र्यो, तर अब त कहिले पानी पर्छ, कुनै ठेगान छैन,” लहान–१९ का किसान प्रदीप यादवले गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कूल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकामा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । उहाँले भन्नुभया, “अहिलेसम्म भएको रोपाइँ पनि अधिकांश किसानले बोरिङमार्फत गरेका हुन् ।”

यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।

डिएपी मलको अभाव

पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने पाँच हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र आठ सय २५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।

“दक्षिणी भेगका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन”, प्रबन्धक पौडेलले भन्नुभयो, “गत वर्ष तीनपटक मल वितरण गरिएको थियो, तर यस वर्ष अहिलेसम्म एकपटक मात्र गरिएको छ । साउनको पहिलो हप्तामा मल आएन भने कार्यालयमै किसानको चाप बढ्ने देखिन्छ ।”

डिएपी मलको अन्तरराष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । “अब कृषि मन्त्रालयले वैकल्पिक उपायबाट मल ल्याउने पहल गर्न आवश्यक छ”, उहाँले सुझाव दिनुभयो । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उहाँले जानकारी दिनुभयो ।

समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ । सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मेहनत खेर जाने खतरा बढ्दै गएको उहाँले बताउनुभयो ।

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज

खोटाङ, २१ असार : रावाबेँसी गाउँपालिका–६ हौँचुरका सरोज खालिङ राई रोजगारीको खोजीमा सन् २००९ मा युएई (युनाइटेड अरब इमिरेड्स) दुबाई पुग्नुभएको थियो । तीन वर्ष अर्काको देश (दुबाई)मा श्रम र पसिना बगाउनुभएका सरोजले धेरै अनुभव र थोरै पैसा लिएर सन् २०१२ मा स्वदेश नेपाल फर्कनुभयो ।

मेनपावर कम्पनीमा बुझाएको धरौटी रकम फिर्ता गरेर केही रकम बचत गर्नुभएका सरोज स्वदेश फर्किएपछि पुनः विदेश नजाने निचोडमा पुग्नुभयो । अर्काको देशमा आफूले पाएको दुःख सम्झेर पुनः विदेश नफर्कने निर्णयमा पुग्नुभएका सरोजले गाउँ फर्किएर व्यावसायिक बङ्गुर फार्म सञ्चालन गर्नुभयो ।

सुरूमा बङ्गुरले राम्रो उत्पादन दिँदै थियो । व्यावसायिक बङ्गुर पालनमा निकै उत्साहित बन्नुभएका सरोज आफूले उत्पादन गरेका बङ्गुर बिक्री नभएपछि छोटो समयमै निरुत्साहित बन्नुभयो । बङ्गुरपालनबाट करिब रु १८ लाख घाटा बेहोर्नुभएको छ ।

ठूलो लगानीमा सुरू गर्नुभएका बङ्गुरपालन व्यवसाय छाडेर सरोज पुनः बाख्रापालनमा लाग्नुभयो । बाख्रापालनका लागि जनशक्ति अभाव भएपछि त्यसलाई पनि छाड्नुभएका सरोजले सम्भावनाका खोजी गर्न भने छाड्नुभएन ।

गाउँमै केही गर्ने उद्देश्यसहित सम्भावनाका खोजी गरिरहनुभएका सरोजले छ वर्षअघि एउटा युटु्यब च्यानलमा ‘ड्रागन फ्रुट’को व्यावसायिक खेती गर्ने विधिसम्बन्धी दिइएको जानकारी राम्ररी हेर्नुभयो । गाउँमै बसेर केही गर्ने हुटहुटीमा छटपटाइरहनुभएका सरोज त्यो युट्युब च्यानलकै माध्यमबाट भारतको हैदरावादसम्म पुगेर ड्रागन फ्रुटखेती गर्ने विधिसम्बन्धी हप्ता दिनको तालिम लिनुभयो ।

तालिम लिएकै ठाउँबाट २५० वटा ड्रागन फ्रुटका बिरुवा खरिद गरी साथमै लिएर आफ्नो घर हौँचुर फर्कनुभयो । घरमा आएर पाखो बारीमा रोप्नुभयो । अहिले ती बिरुवालाई मदर प्लान्ट (आमा बोट)को रूपमा विकास गर्दै त्यसैबाट बर्सेनि नयाँ बिरुवा उत्पादन गरेर विस्तार गर्नुभयो ।

सुरूमा २५० वटा बिरुवा ल्याएर व्यावसायिक खेती थाल्नुभएका सरोजको फार्ममा अहिले दुई हजार ७०० वटा ड्रागन फ्रुटका बोट छन् । सरोजको फार्मभरि अहिले राताम्मे भएर फलेका ड्रागन फ्रुट टिप्ने दोस्रो लट (चरण)को सिजन (समय) सुरू भएको छ ।

तीन वर्षअघिदेखि उत्पादन दिन थालेको फार्मबाट गत वर्ष दुई हजार केजी बिक्री भएको थियो । बर्सेनि उत्पादन वृद्धि हुँदै गएको फार्ममा यस वर्ष तीन हजार केजीभन्दा बढी ड्रागन फ्रुट उत्पादन हुने अनुमान गरिएको सरोजले जानकारी दिनुभयो ।

एउटा बोटबाट सरदर २५ केजी उत्पादन हुन थालेको फार्मबाटै प्रतिकेजी रु ३०० मा बिक्री गर्दा रु छ लाख सङ्कलन भएको सरोजले जानकारी दिनुभयो । करिब २० रोपनी पाखो बारीमा लगाइएको ड्रागन फ्रुट खरिद गर्नका लागि ग्राहक सरोजको घरैसम्म पुग्ने गरेका छन् ।

ड्रागन फ्रुट खरिदका लागि घरैमा आउने ग्राहकलाई प्रति केजी रु ३०० मा बिक्री गरिरहेको सरोजले जानकारी दिनुभयो । “खेती हेर्नकै लागि पनि मानिसहरू फार्ममा पुग्ने गरेका छन् । ड्रागन फ्रुट पाकेको सूचना फेसबुकमा हालेपछि ताजा फल खान र चाख्नैका लागि पनि ग्राहकहरू आउँछन्”, उहाँले भन्नुभयो, “ड्रागन फ्रुटको माग बढ्दो छ । ग्राहकको मागलाई मध्यनजर गरेर थप जग्गामा खेती विस्तार गरिरहेको छु । आगामी दिनमा प्रतिकेजी रु ५० सम्ममा बिक्री गर्नेगरी विस्तार गरिरहेको छु ।”

ड्रागन फ्रुटमा औषधीय गुण हुने र नेपालको लागि नौलो किसिमको फल भएका कारण माग बढ्दै गएको सरोजले बताउनुभएको छ । कृषि पेसामा फाइदा हुँदैन भन्ने भनाइलाई गलत सावित गर्दै सरोज व्यावसायिक ड्रागन फ्रुटखेतीमा रमाउनुभएको छ ।

एक छोरा र एक छोरीकी बुबा सरोजलाई श्रीमती कौशिला लिम्बूले सहयोग गर्दै आउनुभएको छ । झापाको गोमेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय लिएर स्नातकसम्म अध्ययन गर्नुभएका सरोजले २०७६ सालबाट गाउँमा आएर ड्रागन फ्रुटको व्यावसायिक खेती सुरू गर्नुभएको हो ।

सरोज र कौशिला दम्पती काम गर्ने जाँगर र आँट भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणसमेत बन्नुभएको छ । युवा शक्ति विदेश पलायन हुनुभन्दा आफ्नै मुलुकमा उत्पादनमा जोडिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न ड्रागन फ्रुटखेती सुरू गरेको उहाँहरू बताउनुहुन्छ ।

ड्रागन फ्रुट फूल फुलेको ३५–४५औँ दिनमा फल पाकेर खानका लागि योग्य हुने र टिपेर राख्दा १० र १५ दिनसम्म नबिग्रिने सरोजले जानकारी दिनुभयो । सरोजले ड्रागन फ्रुटखेतीका लागि मात्र रु १८ लाख लगानी गरिसक्नुभएको जनाइएको छ ।

व्यावसायिक कृषि पेसामा होमिएका किसानको बजारको चिन्ता नहुने गरी बजार प्रवद्र्धन गर्ने र उत्पादनमा आधारित भएर अनुदान दिने वातावरण मिलाउनुपर्नेमा सरोजको जोड छ । सामान्य अनुदानले कृषि क्षेत्रको प्रवद्र्धन नहुने र उत्पादन पनि नबढ्ने भएकाले राजनीतिक स्वार्थभन्दा माथि उठेर किसानका लागि सहयोग गर्न सरकारलाई सरोजको आग्रह छ ।

सरोजले सुरू गर्नुभएको व्यावसायिक कृषि फार्ममा ड्रागन फ्रुटसँगै आँप, कागती र केराको व्यावसायिक खेती गर्नुका साथै मौरीपालन गर्नुभएको छ । सरोजको फार्ममा लगाइएका ड्रागन फ्रुट, केरा र मौरीले उत्पादन दिन थाले पनि आँप र कागतीका बिरुवा भने भर्खर हुर्कंदै गरेका छन् ।

एकपटक बिरुवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य केही गर्नु नपर्ने र रोपेको २०/२५ वर्षसम्म लगातार फल दिने हुनाले अन्न खेतीबालीको तुलनामा यसको खेतीबाट राम्रो आम्दानी हुने सरोजले बताउनुभयो । जेठ अन्तिमदेखि मङ्सिर अन्तिमसम्म फल दिने ड्रागन फ्रुटको एउटै बोटबाट हरेक वर्ष आठ पटकसम्म फल टिप्न मिल्ने सरोजले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङमा ‘हिमालयन एग्रो फार्म’ दर्ता गरेर व्यावसायिक कृषि व्यवसाय सुरू गर्नुभएका सरोजलाई गाउँपालिकाले ड्रागन फ्रुटका लागि पिलर निर्माण तथा टायर खरिदका लागि रु दुई लाख अनुदान रकम उपलब्ध गराइएको कृषि शाखा प्रमुख उद्धव बास्तोलाले जानकारी दिनुभयो । युवा कृषक सरोजलाई आगामी दिनमा सहयोग गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

वीरगञ्ज (पर्सा), २१ असार : चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१ करोड बढीले आयात भएको छ । जबकी गत आवको ११ महिनामा भने रु सात अर्ब ३७ करोड मूल्यको मात्रै भटमासको कच्चा तेल आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा यो नाका हुँदै भटमासको प्रशोधित तेल धेरै निर्यात भएको जानकारी दिनुभयो । “व्यवसायीले भटमासको कच्चा तेल ल्याएर प्रशोधित गरेर फेरि विदेशी मुलुकमा निर्यात गरेको देखिन्छ ।”

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा भटमास तेल प्रशोधित निर्यात भने रु ५५ अर्ब तीन करोड मूल्य पर्ने २५ करोड ८८ लाख १४ हजार ७३२ लिटर भटमासको तेल प्रशोधित निर्यात भएको छ ।

जबकी गत आवको सोही अवधिमा भने रु आठ करोड ८३ लाख मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात भएको थियो । चालु आवको ११ महिनामा यो नाका हुँदै रु नौ अर्ब ७५ करोड मूल्य पर्ने सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । जबकी गत आवको सोही समयमा भने रु आठ अर्ब चार करोड मूल्यको भएको थियो ।

वीरगञ्ज भन्सार नाका हुँदै चालु आवको ११ महिनामा रु आठ अर्ब ४० करोड मूल्य पर्ने तीन करोड ८८ लाख ९५ हजार ३३९ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । जबकी गत आवको ११ महिनाको अवधिमा रु नौ करोड ९४ लाख मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको थियो ।

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

ढोरपाटन (बागलुङ), २१ असार : बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड । त्यही पहाडका डाँडैभरि सेताम्मे भेडाका बथान । छेउछाउमा बाँसको चित्रा र प्लास्टिकका त्रिपालले बेरिएका केही अस्थायी गोठ । जहाँ केही थान दुःख, केही थान खुसी र केही थान आशा बोकेर बसेका गोठाला भेटिन्छन् र उनीहरूसँगै भेटिन्छन् भर्खरै जन्मिएरका भेडाका पाठा । जसले लेकाली जनजीवनलाई छर्लङ्ग पार्छ । समथर चौरमा चर्दै गरेका भेडाले धेरैलाई आकर्षित गरेको छ ।

हिजोआज त्यही भेडीगोठ र भेडाका बथान हेर्ने बुकीपाटन पुग्ने पर्यटक बढ्दै छन् । हजारौँ भेडा र सयौँ गोठालको बासस्थन बनेको छ ढोरपाटन बुकीपाटन अब पर्यटक घुम्ने ठाउँका रूपमा पनि विकास हुँदै छ । यति बेला बुकीपाटनमा घाँस पलाएर हरियाली बनेको छ । त्यही हरियालीमा सेताम्मे भेडाका बथाले बुकीपाटनको सुन्दरतालाई बढाएको छ । पाँच वर्ष अगाडिसम्म बुकीपाटन भेडा गोठालाका लागि मात्रै प्यारो थियो । तर अहिले प्राकृतिक सुन्दरतासँग रम्नेका लाग अझ बढी प्रिय बनेको छ ।

भेडाका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटन उपत्यका पुग्ने जो कोही पर्यटक बुकीपाटन सहजै पुग्न सक्दैन । उच्च पहाडी क्षेत्र रहेको हुँदा लेक लाग्ने सम्भावना बढी हुन्छ । पछिल्लो दुई वर्षयता बुकीपाटन पुग्ने पर्यटक र पत्रकारले त्यहाँको दृश्य सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न थालेपछि ढोरपाटन उपत्यका पुग्ने पर्यटकले बुकीपाटनको यात्रा तय गर्ने छन् । बुकीपाटन पुग्न सडक सञ्जालको सुविधा छैन । अघिल्लो वर्षसम्म गोरेटोमार्फत भेडीगोठाला र पर्यटक बुकीपाटन उक्लिने गर्थे । यस वर्ष भने पदमार्ग बनेको छ ।

नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा पर्ने बुकीपाटन पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । यहाँ आउने पर्यटकको नजरमा सबैभन्दा पहिले भेडाका बथान र भेठी गोठमा पुग्ने गर्छ । ढोरपाटन पाखाथरदेखि करिब पाँच घण्टाको पैदल यात्राान बुकीपाटनको पहिलो गन्तव्य गर्पाछेडा पुगिन्छ । गर्पाछेडा पुग्दा बित्तिकै चारै तिर हजारौँका सङ्ख्यामा छरिएर चर्दै गरेका भेडाका बथान देख्दा पर्यटकको थकाननै मेटिने गर्छ । बुकीपाटनमा आउने अधिकांश पर्यटक भेडाका बथानसँग रमाउने ढोरपाटनका भेठी गोठाला भक्त अदैले बताउनुभयो ।

पाँच वर्ष अगाडिसम्म गोठाला र भेडाका बथानबाहेक कोही पनि बुकीपाटनमा नआउने गरेको भन्दै पछिल्लो समय दिनदिनै सहर बजारबाट पर्यटक घुम्न आउने गरेको उहाँले सुनाउनुभयो । आफूहरू बच्चैदेखि बुकीपाटनमा बस्ने हुँदा यहाँको सुन्दरतासँगै रमाउने बानी परिसकेको उहाँको भनाइ छ । पर्यटकले भेडीगोठ, भेडाका बथान र गोठालाका जनजीवनबारे बढी चासो दिएर हेर्ने गरेको अदैले बताउनुभयो । पर्यटक आउन थालेपछि बुकी पाटनमा पहलपहल बढ्न थालेको उहाँ बताउनुहुन्छ ।

“हामीहरू रहरले बुकीमा बसेका हैनौँ, तर अहिले त मान्छेहरू रहरले घुम्न आउँछन्, भेडा पाल्ने हाम्रो बाध्यता हो, यहीबाटै हामीहरूले जीविकोपार्जन गर्छौं, पहिले गाठाला मात्रै हुन्थ्यो, बाहिरी मान्छे कोही आउँदैनथ्यो, अहिले हिउँदसम्मै बाहिरी मान्छेको चाप हुन्छ”, उहाँले भन्नुभयो, “सहर बजारका मान्छेले भेडाको बथान नदेखेको भएर होला, यहाँ आए भने घण्टौँ भुल्छन्, हामीहरूलाई पनि अनेक जिज्ञासा राखेर जान्छन्, कोही त दुई÷तीन दिननै यही बस्छन् ।”

दहखर्क, टीकाधारा, फुर्सेधारा, फागुनेलगायत थुप्रै बुकीपाटन क्षेत्र पर्छन् । यो याममा बागलुङसहित पूर्वी रुकुम, डोल्पा र म्याग्दीका सयौँ गोठालाहरू अस्थायी गोठ बनाएर बस्दै आएका छन् । सयौँ गोठालाको हजारौँ सङ्ख्यामा भेडाबाख्रा, गाईभैँसीले बुकी पाटननै ढाकिएका हुन्छन् । एउटै गोठालाको पाँच हजारसम्म भेडा हुन्छन् । धेरै स्थानबाट गोठालाहरूले भेडा लिएर आउँदा सिङ्गो पहाडनै ढपक्क ढाकिने गर्छ । रोल्पाको सुनछहारीबाट बागलुङको निसीखोला, निसेलढोर हुँदै बुकीपाटन आउनुभएका पुनराम घर्तीमगरले हिजोआज घुम्न आउने पर्यटकको सङ्ख्या बढेको सुनाउनुभयो ।

आफू झण्डै ४० वर्षदेखि बुकीपाटनमा भेडा चरनका लागि आएको सुनाउँदै पहिले कोही पनि घुम्नका लागि नआउने उहाँको भनाइ छ । रोल्पाबाट दुई साता लगाएर भेडी गोठ लिएर आएको घर्तीमगरले बताउनुभयो । आफूले झण्डै एक हजार ७०० भेडा पाल्दै आएको उहाँको भनाइ छ । एकै ठाउँमा हजारौँको सङ्ख्यामा भेडा देख्दा घुम्न आएका पर्यटक दङ्ग पर्ने घर्ती मगर बताउनुहुन्छ । पर्यटकले गोठालाको कपडा, खाना र बासस्थानलाई बढी चासो दिएर हेर्ने गरेको उहाँले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “बुकीपाटन त हामीजस्ता गोठलाको लागि घाँसको भण्डार हो, यहाँ जति गए पनि जति भेडा चराए पनि चार÷पाँच महिनालाई प्रस्त घाँसले पुग्छ, यहाँको घाँस पोषिलो हुने हुँदा भेडा सप्रिन्छन्, त्यसले गर्दा बर्खाको समय बुकीपाटन आउँछौँ, अहिले त गोठाला मात्रै होइन, पर्यटक पनि बुकीपाटन आउन थाले, उनीहरूले यहाँ आएर हाम्रो भिडियो बनाएर जान्छन्, के–केमा आउँछ हेर्नु होला भन्छन्, हामीसँग मोबेल (मोबाइल) पनि छैन, केही छैन के बाट हेर्ने ?”

बुकीपाटन समुद्री सतहदेखि चार हजार ५०० मिटरको उचाइसम्म फैलिएको छ । यहाँ हरेक बर्सातको समय असारदेखि कात्तिकसम्म गोठाला बस्ने गर्छन् । कात्तिक महिना पछाडि चिसो बढ्ने हुँदा बँेसी झर्ने गर्छन् । भैरवाहदेखि बुकीपाटन आउनुभएको प्रकाश ज्ञवालीले यहाँको प्राकृतिक सुन्दरता र भेडाका बथानले आफूलाई लोभ्याएको बताउनुभयो । आठ जनाको समूहमा ढोरपाटन उपत्यका घुम्न आएको बेला होटल व्यावसायिकले बुकीपाटन जान सुझाएपछि बुकी उक्लिएको उहाँको भनाइ छ । आफूले अहिलेसम्म एकै ठाउँमा हजारौँ भेडा नदेखेको ज्ञवालीले सुनाउनुभयो ।

“बुकीपाटनमा म पहिलोपटक आएको हुँ, यति अग्लो उचाइमा पहिलोपटक आएको, त्यसमाथि जिन्दगीमै पहिलोपटक पहाडै ढाकिने गरी चर्दै गरेका भेडाका बथान देखेँ, यो मेरो ‘लाइफ’कै अविस्मरणीय हुनेछ”, ज्ञवालीले भन्नुभयो, “यहाँका गोठाला कति सहयोगी, कति मायालु, सबैभन्दा बढी त म यहाँको गोठ र भेडाहरूले प्रभावित भए, अहिले छोटो समयका लागि आएको थियौँ, अर्को पटक आउँदा धेरै दिन बस्ने गरि आउने छौँ ।”

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ असार : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४४, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ३९, आलु रातो (मुडे) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४६, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ५०, बन्दा (लोकल) प्रतिकिलो रु ३५, काउली स्थानीय प्रतिकिलो रु ६५, काउली तराई प्रतिकिलो रु ५५, रातो मूला प्रतिकेजी रु ४५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४०, भन्टा डल्लो प्रतिकिलो रु ५०, तने बोडी प्रतिकिलो रु ४० र मकै बोडी प्रतिकिलो रु ७५ कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, २००, घिउ सिमी (जाजमा) प्रतिकिलो रु ९५, टाटे सिमी मूल्य प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ४५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, भिण्डी प्रतिकिलो रु ६० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ११०, पालुङ्गो साग प्रतिकिलो रु २००, तोरीको साग प्रतिकिलो रु १२०, हरियो प्याज प्रतिकिलो रु २५०, च्याउ (कन्य) प्रतिकिलो रु १६०, च्याउ (डल्ले) प्रतिकिलो रु ३३०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु १२० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १७०, रातो बन्दा प्रतिकिलो रु १२०, जिरीको साग प्रतिकिलो रु १००, ग्याठकोभी प्रतिकिलो रु ७०, सेलरी प्रतिकिलो रु १६०, पार्सले प्रतिकिलो रु १०००, पुदिना प्रतिकिलो रु १५०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३३०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १००, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ६५, नास्पाती (लोकल) प्रतिकिलो रु १२०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ३०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु २५, खुर्सानी हरियो माछे प्रतिकिलो रु ६०, खुर्सानी अकबरे प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, हरियो धनियाँ प्रतिकिलो रु २२०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, लसुन सुकेको नेपाली प्रतिकिलो रु १७०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

सिङ्गापुर विरुद्धको फाइनल खेलमा नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, २१ असार : एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले बलिङ गर्दैछ ।मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका छ्न । यससँगै नेपालले पहिले बलिङ गर्दैछ ।

घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।

समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।

कर्णाली प्रदेशसभा बैठकद्वारा बजेट सर्वसम्मतले पारित

कर्णालीर-कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आव.२०८२/८३ को समग्र बजेट पारित गरियोस् भनि सभामा प्रस्ताव गर्न समय दिनुभएको थियो ।

योजनामन्त्री शाहले कर्णाली प्रदेश विनियोजन विधेयक र आर्थिक विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । उक्त प्रस्तावसँगै आगामी आव.२०८२/८३ को बजेट सर्वसम्मतले पारित भएको सभामुख गुरुङले घोषणा गर्नुभयो ।

बैठकमा मन्त्री शाहले जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तरगत अर्थ वित्तिय व्यवस्थामा विनियोजित ११ करोड ५० लाख रकमलाई विभिन्न योजनाहरुमा विनियोजन गरी कार्यान्वयन गर्न प्रदेशसभामा विशेष प्रस्ताव पेस गर्नु भएको थियो ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले असार १ गते रु ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजारको बजेट ल्याएको थियो । कुल विनियोजित बजेटमध्ये चालूतर्फ रु सात अर्ब ७९ करोड ९१ लाख एक हजार (२३ दशमलव ६४ प्रतिशत) रु पूँजीगततर्फ रु १९ अर्ब ९८ करोड २७ लाख १३ हजार (६० दशमलव ५५ प्रतिशत) बजेट सरकारले विनियोजन गरेको छ ।

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक, २१ असार : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।

उक्त पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको उक्त पुल भाँचिएको हो । पुल भाँचिएपछि उक्त सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।

हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले उक्त सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिनुभयो ।

सुप विश्वविद्यालयमा साउन १४मा स्ववियू निर्वाचन

दोधारा चाँदनी (कञ्चनपुर)-महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन हुने भएको छ ।

विश्वविद्यालयको केन्द्रिय क्याम्पसमा आगामी साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय भएको विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिनुभयो । “साउन १४ गते स्ववियू निर्वाचन गर्ने निर्णय गरेको छ ।”

उहाँले भन्नुभयो, “भर्ना हुन बाँकि सबै निकायमा असार ३० गतेभित्र भर्ना गराउने निर्णय गरिएको छ ।” यसअघि दुई पटक निर्वाचनको मिति तोकिएर अन्तिम समयमा रोकिएको थियो ।

जलविद्युत्को सेयरमार्फत जनतालाई समृद्ध बनाउन सरकार प्रयासरत :मन्त्री खड्का

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् आयोजनाको सेयरमार्फत गरिब तथा विपन्न नागरिकलाई समृद्ध बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सोमबारदेखि जारी बैठकमा  आफ्नो धारणा राख्दै कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री खड्काले गरिब तथा विपन्न जनतालाई सेयरमार्फत समृद्ध बनाउनेगरी सरकारले कार्ययोजना बनाएको उल्लेख गर्नुभयो ।

नेता खड्काले पार्टीले लिएको समाजवादको सिद्धान्तलाई अवलम्बन गर्दै समृद्ध मुलुक निर्माणमा आफूले काम गरिरहेको बताउनुभयो । “जलविद्युत् क्षेत्रमार्फत मुलुकको विकास सम्भव छ, म मन्त्री भएर आएपछि भारतसँगै बङ्गलादेशमा समेत विद्युत् निर्यात सुरु गरेका छौँ, उक्त कार्यसँगै त्रिदेशीय विद्युत् व्यापार भएको छ”, उहाँले भन्नुभयो ।

उहाँले भारत र भारत हुँदै बङ्गलादेश विद्युत् निर्यातका लागि ठूला प्रसारण लाइन निर्माणमा महत्त्वपूर्ण सम्झौता भई र प्रसारण लाइन निर्माण अगाडि बढेको जानकारी गराउनुभयो । यस्तै विद्युत् उत्पादन तथा व्यापारका लागि चीनसँग सकारात्मक छलफल भएको उहाँले बताउनुभयो ।

नेता खड्काले आफू मन्त्री भएपछि ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ऐतिहासिक र उत्कृष्ट काम भएको बताउनुभयो । आगामी आर्थिक वर्षका लागि आफ्नो मन्त्रालयले समानुपातिक ढङ्गले बजेट विनियोजन गरेको उहाँको भनाइ थियो ।

एक अर्बको जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

गलकोट (बागलुङ), २१ असार : बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना गरेको छ । एक अर्बको कोष बनाउने लक्ष्य रहेकामा कोषमा रु ५० लाख १० हजार जम्मा भइसकेको जैमिनी नगरपालिकाले जनाएको छ ।

पालिकाभित्रका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउनका लागि जैमिनी नगरपालिकाले रु एक अर्बको जैमिनी नागरिक उपचार कोष बनाउने लक्ष्यका साथ तीन वर्षअघि कोष घोषणा गरेको थियो । तीन वर्षअघि नगरपालिकाले रु १० लाख जम्मा गरेर घोषणा गरेको कोषमा गत वर्ष रु १५ लाख र यस वर्ष रु २५ लाख जम्मा गरिएको छ ।

कोषको ब्याजबाट नागरिकहरूको स्वास्थ्य उपचारका लागि सहायता प्रदान गर्ने लक्ष्यसहित कोष निर्माण थालिएको बताउँदै आगामी एक वर्षमै कोष वृद्धि भएर एक करोड पुर्‍याइने जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले बताउनुभयो । सामाजिक सुरक्षाको दृष्टिकोणबाट स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नको लागि नगरपालिकाले कोष स्थापना गरेको पुनको भनाइ छ ।

“दीर्घरोगी र ठूलो धनराशि खर्च हुने रोगमा नगरपालिकाले नागरिकलाई उपचारमा सहयोग पुर्‍याउने लक्ष्य रहेको छ, उक्त कोषमा रु एक अर्ब जम्मा भएमा नगरभित्रका नागरिकलाई निःशुल्क उपचारमा सहयोग पुर्‍याउन सकिन्छ, कोषमा आम नागरिकले समेत सहयोग प्रदान गर्न सकिने छ”, पुनले भन्नुभयो, “कोषमा पालिकाले बर्सेनि नीति तथा कार्यक्रममार्फत रकम थपिँदै लैजाने गरिएको छ, आगामी दिनमा रकम अभावमा उपचार गर्न नसकेर नागरिक मर्न नपर्ने हाम्रो चाहना छ ।”

कोषमा हालैमात्र नगरपालिकाका योजना शाखा प्रमुख प्रेमप्रसाद सापकोटाले जन्मदिनको खर्च कटाएर रु १० हजार सहयोग गर्नुभएको छ । सापकोटाले कोषको सकारात्मक सन्देश फैलाउन व्यक्तिगत रूपमा आफूले पहिलो योगदान गरेको बताउनुभयो । नगरपालिकालले कर्मचारी, जनप्रतिनिधि तथा सर्वसाधारणले समेत कोषमा योगदान गर्न आह्वान गरेको छ ।

क्यान्सर, मुटुरोग, मिर्गौलाजस्ता उपचारमा ठूलो खर्च लाग्ने रोगका लागि नगरपालिकाले कोषको ब्याजबाट सहयोग उपलव्ध गराउनेगरी नीति बनाउन लागेको छ ।

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

काठमाडौँ, २१ असारः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३१ पैसा र बिक्रीदर १०० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर नौ रुपैयाँ ४९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १९ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २२ पैसा र बिक्रीदर चार रुपैयाँ २४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ३० पैसा र बिक्रीदर ३२ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ २७ पैसा र बिक्रीदर १४ रुपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७ रुपैयाँ ४५ पैसा, कुवेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

भजनी (कैलाली), २१ असारः कैलालीको भजनी नगरपालिका–३ का सन्तलाल चौधरी चैते धान बिक्री नभएर चिन्तामा हुनुहुन्छ । यसवर्ष तीन बिघाहमा लगाएको धान उहाँले अझँै बिक्री गर्न सक्नुभएको छैन । व्यापारीलाई धान खरिद गरिदिन हारगुहार गर्दा पनि उहाँले उत्पादन गरेको धान बिक्री हुन सकेको छैन ।

“व्यापारीले सस्तोमा धान खोज्नुहुन्छ । उहाँहरुले भनेको दररेटमा धान बिक्री गर्दा आफ्नो लागत नै उठ्ने देखिँदैन ।” उहाँ भन्नुहुन्छ, “आजभोलि धान रोपेर पछुतो लागिरहेको छ ।” सरकारले चैते धानको समर्थन मूल्य तोकेको भए पनि त्यो मूल्यमा व्यापारी किसानको धान खरिद गर्न इच्छुक देखिएका छैनन् । किसानले प्रतिक्विन्टल रु दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री गरिरहँदा कतिपय किसानको त्यतिमा पनि धान बिक्री हुन सकेको छैन ।

गत वर्ष प्रतिक्विन्टल रु तीन हजार ८०० रुपैयाँ पाएका किसानलाई यसवर्ष उत्पादन बढेपछि धान बिक्री गर्न समस्या भएको अर्का किसान डल्लु दास बताउनुहुन्छ । “गतवर्ष मैले नै रु तीन हजार ८०० प्रतिक्विन्टल चैते धान बिक्री गरेको थिए ।” उहाँले भन्नुभयो, “यसवर्ष त्यहीँ धान बिक्री गर्नका लागि व्यापारीसँग हारगुहार किसानले गरिरहेका छन् ।” उहाँका अनुसार कैयौँ किसानले उदारोमा पनि धान व्यापारीलाई दिएका छन् । पैसा कहिले पाइने भन्ने ग्यारेन्टी नभएर पनि किसानले व्यापारीलाई धान बिक्री गर्न थालेलको डल्लु बताउनुहुन्छ ।

भजनी नगरपालिका–५ लालभोझीका कृषि बुढाले उत्पादन गरेको धान उदारोमा जबरजस्ती व्यापारीका जिम्मा लगाउनुपरेको गुनासो गर्नुभयो । उहाँले नगदमा उत्पादन गरेको वस्तु उदारोमा बेच्नु पर्ने बाध्यता आइपरेको बताउनुभयो । “एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदा झण्डै १८ हजार खर्च आउँछ । उत्पादन भएको धान बिक्री गर्नलाई बजार छैन । कसैलाई बेच्नु पर्ने भए पनि लागत भन्दा कममा बिक्री गर्नुपर्ने बाध्यता छ ।” उहाँले भन्नुभयो, “न्युनतम दररेट तोकेको सरकारले कम्तिमा भनेकै दररेटमा धान खरिदको व्यवस्था गरिदिएको भए किसान हतोत्साहित हुने स्थिति आउने थिएन ।”

भजनीमा यसवर्ष झण्डै एक हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती भएको थियो । उत्पादनका हिसाबले किसानमा वर्षेनी आकर्षण बढ्दै गएको भए पनि बजारीकरणले सधैँ धोका हुने गरेको किसान परदेशु चौधरीको भनाइ छ । उहाँले गतवर्ष धानको राम्रो रेट पाएपछि यसवर्ष दुई बिघाह बिस्तार गरेको बताउँदै अहिले त्यो विस्तार गरेकोमा पछुतो लाग्न थालेको बताउनुभयो । “ उत्पादन राम्रो भएका कारण किसानको आकर्षण बढ्दै गएको छ ।” उहाँले भन्नुभयो, “उत्पादन भएको धान बिक्रीका लागि हुने समस्याले आगामी वर्षमा उत्पादन घट्ने सम्भावना देखिएको छ ।”

वर्षात सुरु भइसकेका कारण किसानलाई उत्पादन भएको धान व्यवस्थापनमा चुनौती थपिएको छ । बाढी र डुवानको उच्च जोखिममा रहेको भजनी सामान्य वर्षामा डुवानमा पर्छ । डुवान भएपछि उत्पादन भएको धानलाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ता किसानलाई छ । “व्यापारीले समयमा धान खरिद नगरे उत्पादन भएको धान कता राख्ने भन्ने चिन्ता छ ।” स्थानीय भोजराज कठरिया भन्नुहुन्छ, “वर्षातको समयमा घर बाढीले डुवाउँदा आफै हुलाकी सडकमा जानुपर्ने बाध्यता हुन्छ । खानका लागि राखिएको अन्नपात त जोगाउन सकिँदैन भने यत्रो धान कसरी व्यवस्थापन गर्ने होला ?”

कैयौँ किसानले उत्पादन गरेको धान आज पनि हुलाकी सडकमै छ । घरमा राख्ने ओभानो ठाउँ नभएपछि किसानले धान घर नलिएर व्यापारी खोजिरहेका छन् । किसानलाई दबाबमा राखेर सस्तोमा धान खरिद गर्ने दाउ व्यापारीले खोजिरहेका छन् । “हामी किसानको समस्या देखेर निकै चिन्तित छौँ । हरेक निकायलाई गुहार माग्दा पनि समस्या समाधान हुन सकेको छैन ।” भजनी नगरपालिकाका नगर प्रमुख केवल चौधरीले भन्नुभयो, “प्रदेश सरकार, साल्ट ट्रेनिङ, सङ्घीय सरकारसँग पनि किसानले उत्पादन गरेको धान खरिदको लागि आग्रह गर्दै आएका छौँ, सुनुवाइ भएको छैन ।”

उहाँले धानको समर्थन मूल्य तोकेको सरकारले धान खरिद गरेर सहजीकरण गरिदिन पनि आग्रह गर्नुभयो । “आज सयौँ क्विन्टल धान उत्पादन भएको छ । सरकारले धान खरिद नगर्दा त्यसको फाइदा व्यापारीले उठाएका छन् ।” उहाँले भन्नुभयो, “आज किसानले लागतभन्दा कम मुल्यमा धान बेच्न विवश छन् भने भोली त्यो किसान कृषिमा कसरी उत्साहित बन्न सक्ला ?” भजनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको चैते धान जोन सञ्चालन हुँदै आएको छ । धान जोनका कारण यसवर्ष भजनीमा चैत धान विस्तार विगतको भन्दा बढेको थियो ।

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ, २१ असारः सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागु गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक सबंस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई पत्राचार गरेर योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्न भनेको छ ।

आगामी आवदेखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्नका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको छ । सो प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व सरकारले नबेहोर्ने जानकारी गराइएको छ ।

सरकारले कर्मचारी, मजदुर तथा अन्य व्यक्तिलाई सामाजिक सुरक्षा प्रदान गर्न योगगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ तथा सरकारी कर्मचारीका लागि निवृत्तीभरण कोष ऐन २०७५ कार्यान्वयनमा ल्याएको छ । सरकारले २०७५ सालदेखि सरकारी कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागु गरिसकेको छ ।

कतियप नियामक निकाय, संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानमा पेन्सन, उपदान सुविधा प्रदान गर्ने प्रचलन कायम रहेको छ । सरकारले अबलम्बन गरेको नीति अनुसार सार्वजनिक प्रतिष्ठानबाट कर्मचारीको अवकाशपछिको दीर्घकालीन दायित्व भुक्तानीका लागि आवश्यक व्यवस्था नगर्दा घाटामा रहेका तथा आफ्नै स्रोत नभई सरकारकै स्रोतमा निर्भर रहनुपर्ने निकायले दीर्घकालीन दायित्व सिर्जना गरिरहेको देखिएको छ ।

अर्थमन्त्रीस्तरीय यही असार २० गतेको निर्णयअनुसार सो निर्णय भएको र कार्यान्वयनका लागि पत्राचार गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २१ असार : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि देशभर साधारणतया बदली बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरिएको छ ।

कर्णाली प्रदेशकाे भौतिक मन्त्रालयका सवारी चालकको शव फेला

काँक्रेविहार (सुर्खेत), २० असारः यही असार ६ गतेदेखि सम्पर्कविहीन भएका कर्णाली प्रदेशस्थित भौतिक मन्त्रालयका सवारी चालकको शव भेरी नदीमा फेला परेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय सुर्खेतमा सवारी चालकका रूपमा कार्यरत २९ वर्षीय हिमबहादुर विष्टको शव आज भेरी नदी किनारमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढथापाका अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–२ का विष्ट असार ६ गते बिहान ‘बिरामी छु’ भनेर कार्यालयमा खबर गरेयता सम्पर्कविहीन भएका थिए ।

त्यसअघि विष्टले प्रयोग गर्ने सरकारी मोटरसाइकल असार ९ गते भेरीगङ्गा नगरपालिकास्थित भेरी पुल नजिक सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको थियो । खोजतलासका क्रममा आज बराहाताल गाउँपालिका–४ साजघाटस्थित भेरी नदी किनारमा निजको शव फेला परेको प्रहरी नायब उपरीक्षक बुढथापाले जानकारी दिनुभयो ।

अर्थतन्त्र चिन्ताजनक छैन्, लयमा फर्किएको छ : गर्भनर पौडेल

काठमाडौं । गर्भनर विश्वनाथ पौडेलले अहिले देशको अर्थतन्त्र चिन्ताजनक नभएको बताएका छन्।शुक्रबार काठमाडौं। आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमा गर्ने सन्दर्भमा राय/सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालमा पैसा भएपनि विदेशी विनिमयहरु विनियोजनमा समस्या रहेको बताए।

उनले भने,‘अहिले देशको आर्थिक अवस्था हेरेर दुखी हुनु पर्दैन्। त्यति निराशाजनक छैन् अर्थतन्त्र। ठिक छ। त्यति नराम्रो अवस्था केही छैन्। हामीसँग पैसा पनि छ। हामीसँग विदेशी विनिमयहरु पनि छन्। खाली विनियोजनमा कसरी जाने भन्ने विषय हो।’

उनले प्राकृतिक रुपमा अर्थतन्त्र जम्प गर्ने कुरा नभएको भन्दै उनले पोलिसीहरुमा सहज रुपमा मुभ गर्नुपर्ने धारणा राखे।
उनले पैसा,विदेशी विनिमयहरुहरु पर्याप्त रुपमा हुँदाहुँदै पनि वृद्धिका लागि सही चालक आवश्यक भएको औंल्याए।

उनले भने,‘यो अर्थतन्त्र भनेको प्राकृतिक रुपमा जम्प गर्ने कुरा होइन्। खासगरी पोलिसीहरुमा स्मूथ मुभ हुनुपर्छ। हामीसँग पैसा छ। विदेशी विनिमयहरु छ तर ग्रोथको लागि ड्राइभर छैन्।’गर्भनर पौडेलले अर्थतन्त्रको ग्राफ हेर्दा कोरोनाको समयमा चिन्ताजनक भएतापनि अहिले लयमा फर्किएको दाबी गरे।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलित

घोराही ९दाङ०, २० असार : यहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि आफन्तले आन्दोलन गरेका छन् ।
घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि आज बिहान ४ बजे प्रतिष्ठानमा ल्याइएकामा १० बजेसम्म सामान्य डेलिभरी हुने बताइए पनि नभएपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो ।

शल्यक्रियामार्फत छोरीको जन्म भएको तर केही समयपछि सुत्केरीको मृत्यु भएकाले चिकित्सकको कमजोरी भएको आफन्तहरुको आरोप छ । उनीहरुले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माइली बुहारीको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएकाले न्याय नपाएसम्म शव नउठाउने बताउनुभयो । नवजात शिशुको उपचारसहित क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने उनीहरुको अडान छ ।

प्रतिष्ठानका निर्देशक डा जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे जानकारी लिने काम भइरहेको र वस्तुगत यथार्थ बारे पछि जानकारी गराउने बताउनुभयो ।

प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार

काठमाडौँ, २० असारः सरकारले ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना (२०८२-२०८७)’ को मस्यौदा तयार गरेको छ ।

वायु प्रदूषणका कारण उत्पन्न भइरहेका विविध स्वास्थ्य समस्या, प्राकृतिक विपद्, जलवायु परिवर्तन र यसको प्रभाव, वातावरणीय क्षतिलगायत विषयमा केन्द्रित रहँदै सङ्घीय सरकारले आगामी पाँच वर्षका लागि कार्ययोजनासहित मस्यौदा तयार गरेको होे ।

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय वातावरण विज्ञान विभाग, वातावरण विभाग, वन तथा भू–संरक्षण विभाग, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत संस्थाका प्रतिनिधि, वातावरणविज्ञ र अन्य सरोकार भएकाबीच मस्यौदामाथि छलफल गरेको छ । प्राधिकरणले आएका सल्लाहसुझावलाई समावेश गरेर कार्यविधिलाई अन्तिम रुप दिने तयारी गरिरहेको छ ।

उक्त कार्ययोजना कार्यन्वयनका लागि करिब एक अर्ब २२ करोड लागत लाग्ने अनुमान गरिएकोे छ । मस्यौदाअनुसार विभिन्न प्रदूषण मापन केन्द्र स्थापनाका लागि रु १२ करोड लाग्ने अनुमान गरिएको छ । गणितीय नमूनीकरणका लागि रु एक करोड, अन्तरराष्ट्रिय तथ्याङ्क अध्ययनका लागि रु १० लाख, प्रदूषण मापन केन्द्र सञ्चालनका लागि रु १५ करोेड आवश्यक पर्ने प्राधिकरणले जनाएको छ ।

यसैगरी सेन्टिनेल अस्पतालहरूको पहिचान तथा विकासका लागि रु पाँच करोड, अनुसन्धान प्रयोगशालाका लागि रु एक करोड, मानव स्रोतको विकासलाई रु एक करोड, विपद् सङ्कट उन्मुखता तथा वर्गीकरणका लागि रु एक करोड, अनुकरण अभ्यासलाई रु १० करोड, सुधारिएको चुलो वा विद्युतीय चुलो अनुदानका लागि रु ५० करोड लागत लाग्ने अनुमान गरिएको छ ।

कार्ययोजनाको मस्यौदाअनुसार अध्ययन अनुसन्धानका लागि रु एक करोड, प्रशासनिक खर्चतर्फ रु पाँच करोड, उपकरण खरिदमा रु पाँच करोड, अनुगमन तथा मूल्याङ्कनका लागि रु दुई करोड, राहतका लागि रु १० करोड, प्रचारप्रसारका लागि रु ५० लाख, जनचेतना अभिवृद्धिका लागि रु ५० लाख, अन्य विधिका लागि रु दुई करोड लागत आवश्यक पर्ने अनुमान गरिएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले वायुु प्रदूषणका कारण बर्सेनि मानवीय स्वास्थ्यमा असर परिरहेको भन्दै प्रदूषण न्यूनीकरणका लागि तयार गरिएको मस्यौदा कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । “प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ । अन्य अन्तरसरकारी निकाय र निजी क्षेत्रसँग सहकार्य र समन्वयमा प्रदूषण न्यूनीकरण गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

प्राधिकरणका सहसचिव रोशनी श्रेष्ठले स्थानीय तहलाई बढी सक्रिय बनाएर वायु प्रदूषण न्यूनीकरणलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयोे । वातावरणीय प्रदूषण न्यूनीकरणका लागि कानुनद्वारा छुट्टै कोष स्थापना गर्न आवश्यक रहेको उहाँले भनाइ छ ।

वातावरणविद् तथा कार्ययोजनाका मस्यौदाकार डा रमेशराज पन्तले वायु प्रदूषणजन्य आपतकालीन अवस्था र त्यसबाट हुने क्षति न्यूनीकरण गर्नका लागि विभिन्न मन्त्रालय, निकाय, सङ्घसंस्था, प्रदेश तथा स्थानीय तहहरूबीच समन्वय गरी प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्यका साथ कार्ययोजना तयार गरिएको बताउनुभयो ।

“पाँचवर्षे योजनाअन्तर्गत वायु प्रदूषण नियमन, स्रोत पहिचान, जनचेतना अभिवृद्धि, प्रविधिको प्रयोग, मापन तथा पूर्वानुमान प्रणालीको विकास, कानुनी सुधार, नीति निर्माण तथा अनुगमन संयन्त्रको सुदृढीकरणलगायत कार्य प्राथमिकतामा राखिएको छ”, उहाँले भन्नुभयो, “कार्ययोजनाले वायु प्रदूषणका स्रोतहरूलाई वर्गीकरण गर्दै औद्योगिक उत्सर्जन, यातायातजन्य प्रदूषण, घरेलु इन्धन प्रयोग, कृषि क्रियाकलाप, जङ्गल, डढेलो तथा पूर्वाधार निर्माणलाई पहिचान गरेको छ । काठमाडौँ उपत्यका, लुम्बिनी–बुटवल, विराटनगर–इटहरी, पोखरा उपत्यकालगायत ठूला सहरलाई विशेष जोखिमयुक्त क्षेत्र मानी नियमनात्मक कार्यक्रम सञ्चालन गरिने छ ।”

पन्तका अनुसार वायु प्रदूषणका कारण मानवीय स्वास्थ्यमा पर्नसक्ने नकरात्मक असरको न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ । “प्रदूषणका कारण बर्सेनि बालबालिका, वृद्धवृद्धा, गर्भवती तथा दम, हृदय रोगलगायत दीर्घकालीन रोगीहरूलाई असर गरिरहेको हुन्छ । ती वर्गलाई विशेष लक्षित गरेर स्वास्थ्य सुरक्षाका कार्यक्रम लागू गरिनेछ”, उहाँले भन्नुभयो, “स्वास्थ्य मन्त्रालयको समन्वयमा वायु प्रदूषणसम्बन्धी स्वास्थ्य गम्भीरता बुझ्न र प्राथमिक उपचार सुनिश्चित गर्न अध्ययन गरिनेछ ।”

पन्तले वायु प्रदूषणले सामाजिक, आर्थिक, सांस्कृतिक प्रणालीमा पार्ने असर तुलनात्मक रूपमा बढ्दै गइरहेको भन्दै विमानस्थलको दृश्यता दूरी (भिजिविलिटी) मा कमी हुन गएको बताउनुभयो । “कयौँ घण्टा विमान अवतरण र उडान अवरुद्ध हुने गरेको छ । कतिपय अवस्थामा दुर्घटना गराउने गरेको छ”, उहाँले भन्नुभयो ।

यस्ता छन् कार्यविधिका पाँच वर्षे लक्ष्य

मस्यौदा अनुसार सन् २०१६ देखि स्थापनामा आएका २७ वटा वायु गुणस्तर मापन केन्द्रको विस्तार गरिनेछ । भूउपग्रह, मोबाइल मापन यन्त्र, र गणनात्मक नमूनामार्फत प्रदूषण पूर्वानुमानको प्रणालीलाई सुधार गरिने र अन्तरराष्ट्रियस्तरमा समेत प्रयोग भइरहेका ढाँचाहरूको स्थानीयकरण गरिने मस्यौदामा उल्लेख छ ।

जनचेतना अभिवृद्धि र सामुदायिक सहभागिताका लागि घरदैलो, विद्यालय शिक्षा, सञ्चार माध्यममार्फत वायु प्रदूषणसम्बन्धी जोखिम, त्यसबाट हुने असर र नियन्त्रणका उपायबारे जनस्तरसम्म चेतना पु¥याउने रणनीति अवलम्बन गरिनुका साथै बायो ग्यास, बिजुली चुलो, वातावरणमैत्री प्रविधिको प्रवर्द्धन गरिने लक्ष्य छ ।

कानुनी तथा नीतिगत सुधार गर्ने, संविधानले उपलब्ध गराएको स्वाच्छ वातावरणमा बाच्न पाउने हक कार्यन्वयनमा सहयोग गर्ने लक्ष्य कार्यविधिले राखेको छ । वायु प्रदूषणको मुख्य कारकहरूमा गाडी, इट्टा भट्टा, डढेलो, घरायसी इन्धन, औद्योगिक फोहर जलाउने रहेका भन्दै यस्ता काम गर्न नलगाउने लक्ष्य छ ।

सातै प्रदेशमा वातावरणीय प्रदुषण जाँच गरिने, सरोकार भएकाबीच समन्वय बढाउने, विपद् पोर्टल व्यवस्थित बनाउने, स्थानीय तहलाई सबल बनाउने, अनुमगन र मूल्याङ्कनलाई प्राथमिकता दिने लक्ष्य छ । त्यसैगरी सवारीसाधनमा युरो छको मापदण्डको प्रभावकारी कार्यान्वयन गराउने, वन डढेलो नियन्त्रण गर्ने, २० वर्षभन्दा पुराना सवारीसाधनलाई रोक लगाउनेलगायत लक्ष्य कार्यविधिमा राखिएको छ ।

वायु प्रदूषणका मुख्य असर

सन् २०२२ मा विश्व बैंकको एक अध्ययनअनुसार वायु प्रदूषणका कारण हरेक वर्ष विश्वमा करिब आठ दशमलव एक ट्रिलियन अमेरिकी डलर बराबरको आर्थिक भार पर्ने गरेको छ । यो भार वार्षिक कुल गार्हस्थ्य उत्पादन (जिडिपि)को छ दशमलव १५ प्रतिशत रहेको छ ।

विश्व बैंकको सन् २०१९ मा प्रकाशित प्रतिवेदनअनुसार नेपालमा प्रदूषणका कारण सन् २०३० सम्ममा झण्डै एक दशमलव ३८६ मिलियन अमेरीकी डलर बराबरको आर्थिक भार पर्नसक्ने अनुमान गरिएको छ ।

वायु प्रदूषण मानव स्वास्थ्य, जलवायु, पर्यावरणीय सन्तुलन, कृषि उत्पादन एवं दिगो विकासका लागि विश्वमा प्रमुख चुनौतीका रूपमा रहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको अनुसार घरभित्र र घरबाहिरको वायु प्रदूषणका कारण बर्सेनि ७० लाख मानिसको ज्यान जाने गरेको छ । सङ्गठनको सन् २०२२ को तथ्याङ्कअनुसार विश्वको कूल जनसङ्ख्याको ३० प्रतिशत मानिस घरभित्र भएको वायु प्रदूषणको जोखिममा रहेका, ९९ प्रतिशतभन्दा बढी मानिस प्रतिमाइक्रोमिटर (पिएम) दुई दशमलव पाँचका लागि तोकिएको मापदण्डको मात्राभन्दा बढी प्रदूषित हावा रहेको स्थानमा बसोबास गरिरहेका छन् ।

प्रदूषित वायुका कारण श्वासप्रश्वास, मुटु, मस्तिष्क, नशा, चर्म, इन्द्रिय, अनुवंशिकसम्बन्धी रोगबाट करोडौँ मानिस ग्रसित हुने गरेका र हरेक वर्ष लाखौँ मानिसको ज्यान जाने गरेको अध्ययनले देखाएको छ । त्यस्तै संयुक्त राष्ट्र सङ्घको प्रतिवेदनअनुसार वायु प्रदूषणले ऐतिहासिक र पुरातात्विक महत्वका स्मारक, भवन र मठमन्दिरहरुमा गम्भीर क्षति पु¥याउँछ । फलस्वरुप, पुरातात्विक महत्त्वका संरचना कमजोर र क्षयीकरण भई बिग्रिँदा वा भत्किँदा जनधनको क्षति हुने गरेको उक्त प्रतिवेदनले जनाएको छ ।

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती, २० असार : बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल प्रारम्भ भएको छ ।

यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट प्रदेशसभा समक्ष प्रस्ताव गर्नुभएको थियो । सो बजेटमाथि आजदेखि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।

आजको प्रदेशसभा बैठकमा २६ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राख्नुभयो । प्रदेशसभा सदस्यहरुले जनताको चाहना र प्रदेशको आवश्यकताअनुसार बजेट नआएकाले त्यसलाई सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशसभाको अर्काे बैठक शनिबार दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । बजेटमाथिको छलफलले भोलि पनि निरन्तरता पाउने उहाँले बताउनुभयो । आजको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री काफ्लेले आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ माथि सभामा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।

सो विधेयक बैठकमा छलफलका लागि सर्वसम्मतले स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले घोषणा गर्नुभएको थियो ।

‘सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ’ – राप्रपा अध्यक्ष लिङ्देन

बनियानी (झापा), २० असारः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त लगानी भएर सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्ने बताउनुभएको छ ।

झापाको हल्दिबारी गाउँपालिकालाई आज यहाँ आयोजित पूर्णसाक्षर पालिका घोषणा गर्दै लिङ्देनले सरकारले सामुदायिक विद्यालयमा प्रशस्त लगानी गरे पनि नतिजा खस्किनुको कारण खोज्नुपर्ने समय आएको बताउनुभयो । “कहाँ कमजोरी भयो, यति धेरै लगानी गरेर पनि सामुदायिक विद्यालयको परिणाम कमजोर हुनुको कारण के हो?”, उहाँले भन्नुभयो, “निजी विद्यालयभन्दा किन कमजोर छ ?”

भौतिक पूर्वाधारदेखि शिक्षक तथा कर्मचारीको तलब, तालिम सबै विषयमा निजीभन्दा सामुदायिक विद्यालय पहुँचयोग्य रहेका बताउँदै सङ्घीय सांसदसमेत रहनुभएका लिङ्देनले शिक्षक अभाव भएका ठाउँमा पालिकाहरूले निजी स्रोतबाट शिक्षक नियुक्त गरेको आफूले पाएको उल्लेख गर्नुभयो ।

“भवन नभएर वा तलब नपुगेर वा तालिम नभएर कारण के होकि, कमजोरी र कारणहरू हामीले खोज्नुपर्छ”, उहाँले भन्नुभयो, “हाम्रो देश कस्तो बनाउने भन्ने कुरा अहिले उत्पादन भएका विद्यार्थीबाटै हो, आगामी भविष्य र नेपाल कस्तो हुन्छ भन्ने हामीले उत्पादन गर्ने विद्यार्थीले निर्धारण गर्छन् ।” आगामी दिनमा देश राम्रो÷नराम्रो जस्तो बने पनि त्यसको जस र अपजस शिक्षकले पनि लिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा शैक्षिकसत्र २०८१ को एसइई परीक्षमा हल्दिबारीबाट उत्तीर्ण भएका तीन सय आठ विद्यार्थीमध्ये उत्कृष्ट ३२ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो । प्रमुख अथिति लिङ्देन, गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनालीलगायतले उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले एसइईमा नगरका सामुदायिक विद्यालयबाट दुई सय ८९ र निजीबाट एक सय ७८ गरी चार सय ६७ विद्यार्थी सहभागी भएकामा सामुदायिकबाट एक सय ३८ र निजीबाट एक सय ७० जना उत्तीर्ण भएका जानकारी दिनुभयो । उहाँले गत वर्षभन्दा उत्तीर्ण प्रतिशत वृद्धि भएको बताउँदै गत वर्ष सामुदायिक विद्यालयमा उत्तीर्ण प्रतिशत २७ रहेकामा यस वर्ष बढेर ४८ पुगेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाले तयार पारेको गाउँ शिक्षा योजना पुस्तिका सार्वजनिक गरिएको छ । गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जनककुमारी राईले शिक्षा क्षेत्रको सुधारका लागि पञ्चवर्षीय गाउँ शिक्षा योजना पुस्तिका तयार पारिएको बताउनुभयो । गाउँपालिकामा साक्षरता दर ९५ प्रतिशत रहेको प्रमुख राईले बताउनुभयो ।

त्यस्तै, हल्दिबारीलाई पूर्णखोप पालिका सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

६८ जना अपाङ्गता भएकालाई सहायक सामग्री

गाउँपालिकाले आज यहाँका ६८ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी पालिकाले उनीहरूलाई सहायक सामग्री वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मैनालीले स्वागत गर्नुभएको थियो । अध्यक्ष लिङ्देनले पालिकाले प्रदान गरेको सहायक सामग्रीको सदुपयोग गर्न आग्रह गर्नुभयो । अपाङ्गता भएकाहरूको दैनिकीलाई सहज बनाउन सहायक सामग्री वितरण गरिएकाले अधिकतम उपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

आज कार्यक्रममा सहायक सामग्री लिन आउन नसकेका÷छुटेकालाई घरघरमा पुर्याउन कर्मचारीहरूलाई निर्देशन पनि दिनुभयो । सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, करुणा फाउन्डेसनसँगको सहकार्यमा र हल्दिबारी गाउँपालिकाले रु आठ लाख ९६ हजार बराबरको सहायक सामग्री वितरण गरेको गाउँपालिकाकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापामगरले जानकारी दिनुभयो ।

कार्यक्रममा ह्वीलचियर १३ थान, वैशाखी सात थान, श्रवणयन्त्र १२ थान त्रिपल स्टिक छ थान, एलस्टिक १२ थान, नेक एक थान, एयर मेट्रेस दुई थान, स्टेनिङ फ्रेम तीन थान, ट्वाइलेट स्टेचर छ थान, वकिङ फ्रेम दुई थान र सिपी ह्वीलचियर दुई थान वितरण गरिएको गाउँपालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले जानकारी दिनुभयो ।

मनसुनको हावापानीको अवस्था अद्यावधिकः मधेस प्रदेशको दक्षिण भूभागमा कम वर्षा हुने

काठमाडौँ, २० असारः जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार १७ देखि असोज १४) सम्मको तीन महिनामा मधेस प्रदेशका दक्षिणी भू–भागमा सरदरभन्दा कम वर्षा हुने अद्यावधिक आकलन सार्वजनिक गरेको छ ।

विभागले कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर र देशका बाँकी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको अद्यावधिक विवरण सार्वजनिक गरेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।

यसअघि विभागले गत जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको तथा अधिकतम तापक्रम र न्यूनतम तापक्रमसमेत देशभर सरदरभन्दा बढी रहने आकलन सार्वजनिक गरेको थियो ।

अहिले फेरि मनसुनको हावापानीको अवस्था अद्यावधिक गर्दै विभागले नयाँ आकलन सार्वजनिक गरेको हो । जसअनुसार कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनीको उत्तरी भूभाग र गण्डकीको अधिकांश भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना विगतको आकलनझैँ ५५ देखि ६५ प्रतिशत रहेको छ ।

सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनीको पश्चिमी भूभाग, गण्डकीको उत्तरपूर्वी भूभाग, बागमती र कोशी प्रदेशको उत्तरी भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।

सुदूरपश्चिमको उत्तरी भूभाग, लुम्बिनीको दक्षिणपूर्वी भूभाग, बागमतीको दक्षिणी भूभाग र कोशी प्रदेशको मध्य भूभागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । कोशी प्रदेशका दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छभने मधेस प्रदेशका मध्य तथा पूर्वी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखिदेखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

उक्त अद्यावधिक आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना तथा उत्पादन गर्ने केन्द्रको हावापानीको प्रारुपहरूको आकलन र साउथ एसियन सेसन क्याइमेट आउटलुक फोरकको आकलनका आधारमा गरिएको हो ।

यस्तै नेपालको मनसुन ऋतुको जलवायु प्रभाव पार्ने पूर्वी प्रशान्त महाशाखामा विकसित हुने एल्निनो र साउदर्न ओसिलिएसन तथा हिन्द महासागरमा विकसित हुने इन्डियन ओसन डिपोलको हालको अवस्था तथा जलवायु प्रारुपको मनसुन ऋतुको आकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रिमनसुन ऋतुमा परेको हिउँ, अन्तरऋतु परिवर्तनका कारकहरूका आधारमा आकलन गर्ने गरिएको विभागका सूचना अधिकारी दिनाकर कायस्थले जानकारी दिनुभयो ।

रूसमा नयाँ सवारीसाधनको बिक्रीमा उल्लेखनीय गिरावट

रुसको उद्योग तथा व्यापार मन्त्रालयले सन् २०२५ को पहिलो छ महिनामा नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही अवधिको तुलनामा करिब २८ प्रतिशतले घटेर छ लाख सात हजार पाँच सय युनिटमा झरेको जानकारी दिएको छ । यस अवधिमा यात्रु सवारी, साना व्यवसायिक सवारी तथा यात्रुबाहक बसहरू बिक्री भएका छन् ।

घरेलु रूपमा उत्पादन भएका सवारीसाधनमध्ये करिब तीन लाख ३३ हजार तीन सय युनिट मात्र बिक्री भएको र यो सङ्ख्या गत वर्षको तुलनामा करिब ११ प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ ।

बिक्रीमा यात्रु सवारी २६ प्रतिशत, साना व्यवसायिक सवारी १९ प्रतिशत र यात्रुबाहक बस ५४ प्रतिशतले घटेका छन् । यसैगरी, जुन महिनामा मात्र नयाँ सवारीसाधनको बिक्री गत वर्षको सोही महिनाको तुलनामा ३१ प्रतिशतले घटेको र अघिल्लो महिनाको तुलनामा दुई प्रतिशतले कमि आएको मन्त्रालयले जनाएको छ । जुन महिनामा करिब एक लाख एक हजार युनिट नयाँ सवारीसाधन बिक्री भएका थिए ।

अमेरिकी कर वृद्धिका कारण श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन १.५ प्रतिशतले घट्ने : आइएमएफ

संयुक्त राज्य अमेरिकाले श्रीलङ्काको निर्यातमा ४४ प्रतिशत कर कायम गरेमा र प्रतिस्पर्धी व्यापारिक साझेदारहरूमाथिको कर घटाएमा श्रीलङ्काको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा १.५ प्रतिशतसम्म गिरावट आउन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिवेदनले देखाएको छ ।

संयुक्त राज्य अमेरिकाले श्रीलङ्काविद्ध लगाएको ४४ प्रतिशत कर जुलाई ९ सम्मका लागि स्थगित भएको छ भने हाल आधारभूत १० प्रतिशत निर्यात करको सामना गरिरहेको छ ।

आइएमएफका अनुसार विशेष गरी गार्मेन्ट क्षेत्रका लागि नाफादर कम छ जसले फर्महरूको पर्याप्त कर वृद्धिलाई अवशोषित गर्ने क्षमतालाई सीमित गर्दछ । प्रतिवेदनमा बाह्य मागमा कमी र व्यापारमा देखिएको अस्थिरताका कारण कुल गार्हस्थ्य उत्पादनको तीन प्रतिशत बिन्दुले निर्यात घट्न सक्ने उल्लेख छ ।

आईएमएफले आयातित सामग्रीको न्यून आवश्यकता, विश्वव्यापी वस्तुको मूल्यमा आएको कमी र विनिमय दरको अवमूल्यनका कारण निर्यातमा आएको कमीलाई आंशिक रुपमा पूर्ति गर्ने बताएको छ ।

श्रीलङ्काको प्रतिस्पर्धात्मक क्षमतामा आएको कमी र बढ्दो अनिश्चितताले व्यावसायिक लगानीलाई निरुत्साहित गर्ने र कुल गार्हस्थ्य उत्पादनमा नोक्सानी हुने आइएमएफले जनाएको छ ।

आइएमएफले बेरोजगारी बढ्ने चेतावनी पनि दिएको छ भने सहयोग प्रदान गर्न सरकारमाथि सार्वजनिक दबाबले सुधार कार्यान्वयनलाई सुस्त बनाउन सक्छ र कार्यक्रमको कमजोर प्रदर्शनको जोखिम बढाउन सक्छ ।

युक्रेनमाथि हालसम्मकै ठूलो रूसी आक्रमण, कूटनीतिक समाधानको सम्भावना न्यून

रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको जारी युद्धको सन्दर्भमा तत्काल कुनै कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट पार्नुभएको छ । उक्त अभिव्यक्तिसँगै रूसले युक्रेनविरुद्ध हालसम्मकै सबैभन्दा व्यापक हवाई आक्रमण आरम्भ गरेको पुष्टि भएको छ ।

उक्त आक्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवाद निष्कर्षविहीन रूपमा समाप्त भएको केही घण्टापछि सुरु भएको हो । राजधानी किभ लगायत युक्रेनका विभिन्न सहरहरूमा रातभरि ड्रोनको गुन्जन र विस्फोटहरूको आवाज सुनिएको थियो, जसमा युक्रेनी हवाई सुरक्षा प्रणाली सक्रिय रूपमा परिचालित रहेको जानकारी प्राप्त भएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले संवाददातासँग कुराकानी गर्दै भन्नुभयो, “हामी हाम्रो उद्देश्यहरू हासिल गर्न विशेष सैन्य अभियानलाई प्राथमिकता दिइरहेका छौं, तर त्यसलाई राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान गर्नु अझ उपयुक्त हुनेछ ।” यद्यपि उहाँले वर्तमान अवस्थामा कूटनीतिक समाधान सम्भव नरहेको स्पष्ट गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले एक दिनअघि राष्ट्रपति पुटिनसँग भएको संवादमा युद्ध अन्त्यको विषयमा कुनै प्रगति नभएको जानकारी दिनुभएको छ । युक्रेनी अधिकारीका अनुसार ट्रम्प र राष्ट्रपति भोलोदिमिर जेलन्स्कीबीच थप कुराकानी शुक्रबार नै तय गरिएको थियो ।
किभका बासिन्दा तिमुरले उक्त आक्रमणलाई विगतका घटनाहरूभन्दा निकै फरक र भयावह भएको बताउँदै भन्नुभयो, “यसअघि कहिल्यै यति धेरै विस्फोटहरू एकसाथ भएको थाहा थिएन ।”

राष्ट्रपति जेलन्स्कीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भन्नुभयो,“रूसले फेरि एकपटक प्रमाणित गरेको छ कि उसले युद्ध र आतंकको अन्त्य गर्ने कुनै तयारी गरेको छैन । यदि अन्तर्राष्ट्रिय समुदायबाट ठोस र ठुलो दबाब नपरेसम्म, रूसको विनाशकारी व्यवहारमा परिवर्तन आउन गाह्रो देखिन्छ ।”

रूसी सेनाले डोनेत्स्क क्षेत्रमा रहेको एक गाउँ नियन्त्रणमा लिएको दाबी गरेसँगै युक्रेनी भूभागमा थप दबाब सिर्जना भएको देखिन्छ । आक्रमणको क्रममा पोल्यान्डको किभस्थित दूतावासमा क्षति पुगे पनि त्यहाँका कर्मचारीहरू सुरक्षित रहेको जनाइएको छ ।

जर्मन परराष्ट्र मन्त्रालयले आक्रमणको समयबारे प्रतिक्रिया दिँदै भनेको छ, “नेताहरूबीचको संवाद सम्पन्न भएको तुरुन्तै आक्रमण हुनु यहि देखाउँछ कि रूस अझै पनि बल प्रयोगमा निर्भर रहन चाहन्छ । युक्रेनले आफ्नो रक्षा गर्न झन बढी सहयोगको आवश्यकता छ ।”
उक्त आक्रमण युक्रेनमाथिको रूसी आक्रमणमा हालसम्मकै सबैभन्दा ठूलो भएको युक्रेनी वायु सेनाले जनाएको छ । वायु सेनाका अनुसार सो आक्रमणमा ५३९ ड्रोन र ११ मिसाइल प्रयोग गरिएको थियो, जसबाट कम्तीमा २३ जना घाइते भएको पुष्टि भएको छ ।

युक्रेनले पनि पछिल्लो समय रूसभित्र प्रतिक्रिया स्वरूप हमला बढाएको छ । रुसको रोस्तोभ क्षेत्रमा युक्रेनी ड्रोन खस्दा एक महिलाको मृत्यु भएको त्यहाँका कार्यवाहक क्षेत्रीय गभर्नरले जनाएका छन् ।

युद्धविरामका लागि संयुक्त राज्य अमेरिकाको पहलमा सुरु गरिएका वार्ताहरू अहिले निष्क्रिय अवस्थामा देखिए पनि युक्रेन र रूसले युद्धबन्दीको नयाँ विनिमय कार्यक्रम जारी राखेका छन्, जुन इस्तानबुलमा भएको पछिल्लो छलफलको परिणामस्वरूप सम्भव भएको बताइएको छ ।

‘सरकारमाथि चौतर्फी प्रहार भइरहेको छ’ – मन्त्री भण्डारी

अमरगढी (डडेल्धुरा), २० असार : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार जनपक्षीय काममा निरन्तर लागिपरेको भए पनि चौतर्फी प्रहार भइरहेको बताउनुभएको छ ।

डडेल्धुरामा आज कार्यकर्तासँगको भेटघाटमा मन्त्री भण्डारीले सरकारको जनपक्षीय काम देखेर अत्तालिएकाहरूले वर्तमान सरकारप्रति विरोध गरिरहेका बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार जनआकाङ्क्षा पूरा गर्न लागिपरेको छ । यो संयुक्त सरकार हो, संयुक्त सरकारबाट एकल सरकारको जस्तो अपेक्षा पूरा नहुन सक्छन् । तर सरकारले सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छ ।”

मन्त्री भण्डारीले हालको राष्ट्रिय राजनीति, सरकारको प्राथमिकता, उद्योग तथा आपूर्ति क्षेत्रका विषयमा सरकारको नीति तथा योजनाबारे प्रकाश पार्नुभएको थियो । उहाँले विशेषगरी सुदूरपश्चिम प्रदेशमा आर्थिक विकास, रोजगारी सृजना र औद्योगिक पूर्वाधार विस्तारमा सरकारले चालेका कदमहरूको जानकारी दिनुका साथै स्थानीय तहका कार्यकर्ताको भूमिका पनि महत्त्वपूर्ण रहेको बताउनुभयो ।

भेटवार्तामा कार्यकर्ताहरूले जिल्लाको विकास, रोजगारी, व्यावसायिक विस्तार तथा केन्द्र, प्रदेश र स्थानीय तहबीचको समन्वयका विषयमा सुझाव, गुनासो र अपेक्षाहरू राखेका थिए । मन्त्री भण्डारीले ती सबै सुझावलाई गम्भीरतापूर्वक लिनुका साथै समाधानका लागि मन्त्रालय तथा पार्टीस्तरमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई प्रयोगशाला नबनाउन आग्रह

काठमाडौँ, २० असारः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, नागरिकता, लिङ्ग परिवर्तन र सामाजिक स्वीकार्यतालाई एकीकृत र मर्यादित बनाइनुपर्नेमा जोड दिइएको छ । मायाको पहिचान नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियन्ताहरूले सो समुदायलाई प्रयोगशाला नबनाउन आग्रह गरेका छन् ।

एउटै समुदायभित्रै लिङ्ग परिवर्तन, हर्मोन प्रयोग र नागरिकता वितरणमा देखिएको अनियमितता सबैको सहकार्य र समन्वयबाट रोक्नुपर्ने अभियन्ता सन्ध्या लामाले बताउनुभयो । सो समुदायका अभियन्ताका अनुसार एउटै व्यक्तिलाई कहिले महिला, कहिले पुरुष, कहिले ‘अन्य’को नागरिकता वितरण गरिएको छ । शल्यक्रियामार्फत लिङ्ग परिवर्तन (सेक्स चेन्ज) गरिसकेका व्यक्तिहरू अझै नागरिकता लिन सङ्घर्षरत रहेका लामाले उल्लेख गर्नुभयो ।

अभियन्ता लामा आफै सन् २०१७ मा लिङ्ग परिवर्तन गरी महिला बन्नुभएको हो । उहाँले भन्नुभयो, “लिङ्ग परिवर्तन गरेसँगै नियमित हर्मोन खान्छौँ, क्याल्सियमको कमी ल्याउँछ, हड्डी दुख्छ, अरु असर कति छन् कति । लिङ्ग परिवर्तनपछि पिसाबमा समस्या आयो, फेरि दिल्ली गएर सर्जरी गर्नुपर्यो । विवाहितले सल्लाह नगरी लिङ्ग परिवर्तन गर्दा परिवार बिग्रिन्छ । तेस्रोलिङ्गी भनेर खुलेर आउने अनि पछि विवाह गरेर बस्नेहरूले हामीजस्ता वास्तविक तेस्रोलिङ्गीको बदनाम गरेका छन् ।”

यस्तो अन्योलपूर्ण अवस्था अन्त्य गर्न समुदायका प्रतिनिधिले सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरिरहेको जनाएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सबै व्यक्तिलाई एकीकृत र मर्यादित पहिचानसहितको नागरिकता दिनुपर्ने समुदायको माग छ ।

अभियन्ता नुमा लिम्बू (चञ्चला)ले लिङ्ग परिवर्तनपछिको नागरिकता, संविधान र सामाजिक व्यवहारबारे सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो । “हामी महिला–पुरुष होइनौँ, फरक यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक हौँ । त्यसैले हामी ‘अन्य’ पहिचानसहितको नागरिकता मागिरहेका छौँ”, उहाँले भन्नुभयो । प्रशासनले महिलाका रूपमा नागरिकता लिन सुझाव दिने गरेको बताउँदै उहाँले कतिपयले बाध्य भएर महिलाका रूपमा नागरिकता लिएको उल्लेख गर्नुभयो ।

“कतिले ‘अन्य’को पहिचान पाएका छन् । पुरानो नाममा फेरबदल गर्न गाह्रो हुने भएकाले सुरुआतमै सही पहिचानसहितको नागरिकता दिनुपर्छ । हाम्रो संविधानमा अधिकार लेखिएको छ, व्यवहारमा कार्यान्वयन हुनुपर्छ”, लिम्बूले भन्नुभयो । पहिचान नबुझेर विवाह हुने र तेस्रोलिङ्गी भन्ने थाहा पाएपछि सम्बन्ध विच्छेदका घटना बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।

संविधानसभा सदस्य एवं ब्लु डायमण्ड सोसाइटीका संस्थापक सुनिलबाबु पन्तले पश्चिमी अवधारणाले हाम्रो विविधता निस्तेज पार्न नसक्ने बताउनुभयो । अधिकारसहितको पहिचानको माग गर्दा हाम्रो मौलिकता, विविधता र वास्तविकता लोप नहुने धारणा राख्दै उहाँले भन्नुभयो, “राज्यले कुनै नीति नबनाई चार प्रकारका नागरिकता वितरण गरिरहेको छ । यसले अन्योलका साथै विभेदलाई कानुनी रूप दिइरहेको छ ।”

मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले ब्लु डायमण्ड सोसाइटीको लाजिम्पाट र धुम्बाराहीस्थित भवन पछिल्लो समय युएसएआइडीको अनुदान रोकिएपछि प्रयोगविहीन भएको बताउनुभयो । समुदायको नाममा बनेको भवन निजी स्वार्थमा प्रयोग गर्न नहुने धारणा उहाँले राख्नुभयो ।

विवाहको दाबी र प्रमाणको अभाव

मायाको पहिचान नेपालका सचिव एवं दक्षिण एसियामा पहिलो समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्नुभएका अभियन्ता सुरेन्द्र पाण्डेले समलिङ्गी विवाहबारे भ्रम फैलाइएकाले यसलाई सबै मिलेर असफल बनाउनुपर्ने धारणा राख्नुभयो । “हाम्रो पहलमा दर्ता भएका विवाहलाई आफूहरूले गरेको भनेर गलत प्रचार गरिएको छ । निजी लाभ लिने उद्देश्यले २० जोडीको समलैङ्गिक विवाह भएको भनेर प्रमाणबिना प्रचार गर्ने संस्था पनि छन् । तिनका काम असफल पार्न यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय एकजुट हुनु जरुरी छ”, उहाँले भन्नुभयो ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग सम्बन्धित पहिचान, नागरिकता, लिङ्ग परिवर्तन, सामाजिक स्वीकार्यता, स्वास्थ्य र कानुनी सुरक्षासहित समानता र मर्यादाको सुनिश्चितता आजको आवश्यकता भएकाले यसका लागि समुदायका सबै एकजुट हुनुको विकल्प नरहेको उहाँले उल्लेख गर्नुभयो ।

‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’

काठमाडौँ, २० असार : सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीबाट स्पेनको सेभियामा भएको संयुुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा सहभागिता र त्यसक्रममा भएका उच्चस्तरीय भेटघाटले स्पेनसहितका राष्ट्रहरूसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको स्पष्ट परेको छ ।

प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको यही असार १६ देखि १९ गतेसम्म भ्रमणबाट नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको परराष्ट्रसचिव अमृतबहादुर राईले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सम्मेलनका क्रममा प्रधानमन्त्रीबाट भएका भेटघाटले स्टोनिया, स्पेन, पोर्चुगल, इजिप्टलगायतका राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगको छ, साथै नेपाल र संयक्त राष्ट्रसङ्घसँगको सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउन मद्दत पुगेको छ ।”

परराष्ट्रसचिव राईले सम्मेलनमा प्रधानमन्त्रीको सहभागिता एवं सक्रियाताले अन्तरराष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको जनाउँदै अतिकम विकसित मुलुकको समूहका अध्यक्षका रूपमा धारणा प्रस्ततु गर्नुका साथै नेपालको दिगो विकास तथा स्तरोन्नतिका लागि अन्तरराष्ट्रिय सहयोगको आह्वान गर्नुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “स्पेनको व्यावसायिक समुदाय र तथा प्रवासी नेपालीसँग गर्नुभएको अन्तरक्रियाबाट नेपालमा लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।” त्यसैगरी उहाँका अनुसार प्रधानमन्त्रीले इजिप्टका प्रधानमन्त्रीसँगको भेटमा हमासले बन्दी बनाएका विपिन जोशीको रिहाइका लागि हालसम्म इजिप्टले गरेको सहयोगका लागि धन्यवाद दिँदै निरन्तर रिहाइको पहलका लागि अनुरोध गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली राजदूतावास म्याड्रिडद्वारा आयोजित स्पेनका व्यावसायिक समुदायसँको अन्तरक्रियामा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अतिकम विकसित मुलुकहरूसम्बन्धी उच्चस्तरीय कार्यक्रममा गरिबी, भोकमरी, कुपोषण, व्यापार घाटाजस्ता समस्या भोग्नुपरेको तथा ऋणको साँवाब्याज भुक्तानीमा ठूलो रकम छुट्याउन परेकाले जननताका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न कठिन भएको बताउनुभएको थियो ।

त्यस अवसरमा विकासका लागि वित्त सम्मेलनमा व्यक्ति भएका प्रतिबद्धता कार्यान्वयन गर्न ठोस कदम चाल्न तथा वित्तीय खाडल न्यूनीकरणका लागि व्यावहारिक कार्ययोजना अघि सार्न पनि प्रधानमन्त्रीले आह्वान गर्नुभयो ।

एक प्रश्नको जवाफमा परराष्ट्रसचिव राईले भन्नुभयो, “नेपालप्रति अन्तरराष्टिय जगत्को धेरै ठूलो सद्भाव छ, स्वाभाविक रूपमा युरोपेली मुलुकले गहिरो र ठूलो सद्भाव राख्छन्, त्यो सद्भावलाई नेपालका प्रतिष्ठा अभिवृद्धि गर्ने र आर्थिक समृद्धिमा प्रयोग गर्ने सवालमा यस्ता भ्रमणलाई अन्तरराष्ट्रिय मञ्चलाई प्रयोग गर्ने गरेका छौँ ।”

अन्तरराष्ट्रिय मञ्चमा नेपाल त्यसै पनि ४६ वटा अतिकम विकसित मुलुकको अध्यक्षको नाताले ठूलो भूमिकामा रहेको जनाउँदै उहाँले दश वर्षको अवधिमा हुने यो सम्मेलनले दिगो विकास लक्ष्य पूरा गर्न कसरी आर्थिक सहयोग उपलब्ध गराउने केन्द्रित रहेकाले पनि त्यो आवाजलाई मुखरित गर्न नेपाल सफल भएको प्रतिक्रिया दिनुभयो ।

स्वास्थ्यमा सुधार आएपछि स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

काठमाडौँ, २० असार : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनु भएको अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्रा डा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।
मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।