`

पेशावरको ८४ प्रतिशत पानी आपूर्ति दूषित, पोलियो र पानीबाट सर्ने रोग बढ्ने विज्ञहरूको चेतावनी

पेशावरको ८४ प्रतिशत पानी आपूर्ति दूषित रहेको अनुसन्धानले देखाएको र यहाँ पानी र सरसफाइको सङ्कट बढ्दै गएको विज्ञहरूले चेतावनी दिएका छन् ।

युनिसेफको एक सर्वेक्षणले पेशावरमा लगभग चार लाख व्यक्तिहरू अझै पनि आधारभूत शौचालय सुविधाहरूको पहुँचबाट बञ्चित छन्। यसबाहेक, स्वास्थ्य विशेषज्ञहरू असुरक्षित पिउने पानी, खुला दिसापिसाब र अपर्याप्त सरसफाइले प्रत्यक्ष रूपमा झाडापखाला, पोलियो र अन्य सम्भावित रोगहरू बढाइरहेको विज्ञहरूले युनिसेफको सर्वेक्षण रिपोर्टलाईउद्धृत गर्दै उल्लेख गरेका छन् ।

तीव्र जनसङ्ख्या वृद्धिका कारण स्थिति बिग्रिएको बताइएको छ । पेशावरको वार्षिक वृद्धि दर २.८६ प्रतिशत रहेको छ भने जनसङ्ख्या २४ लाख नाघेको छ । यस पहिले नै खानेपानी र सरसफाइ पूर्वाधारमा नै कमजोर मानिएको पेशावरमा जनसङ्ख्या वृद्धिसँग बढेको पानीको मागले थप तनाव निम्त्याएको छ ।

युनिसेफको तथ्याङ्कअनुसार सहरको करिब ८० प्रतिशत पानीका स्रोत दूषित छन् र २० प्रतिशत मात्र उपभोगका लागि सुरक्षित छन् । भूमिगत पानीको स्तर खतरनाक गतिमा घटिरहेको एक्सप्रेस ट्रिब्यूनमा विभिन्न रिपोर्टलाई उद्धृत गरी उल्लेख गरिएको छ।

के–पी मौजा जनगणना २०२० ले संकेत औसत भूमिगत पानीको स्तर १८८ फिटमा झरेको छ, जसले महत्त्वपूर्ण दीर्घकालीन स्थिरता जोखिम सिर्जना गर्दछ। सर्वेक्षणले ७९.६ प्रतिशत क्षेत्रमा पानीको उपलब्धता पर्याप्त रहेको र ८३.४ प्रतिशत घरधुरीमा पानीको पहुँच रहेको देखाए पनि विज्ञहरू यसको मुख्य चासो परिमाण नभई गुणस्तर हो भन्नेमा जोड दिन्छन् । यहाँको पानीका स्रोतमा ब्याक्टेरियाको व्यापक सङ्क्रमण पहिचान गरिएको छ जसले १३.६ प्रतिशत पानीको स्रोतलाई असर गरेको बताइन्छ ।

ग्रामीण क्षेत्रमा प्रदूषण दर १२.९ प्रतिशत छ तर शहरी क्षेत्रमा यो दर बढेर १७.५ प्रतिशत पुगेको छ। केवल १३.६ प्रतिशत पानीको नमूनाहरू ई. कोलाईबाट मुक्त रहेको अनुसन्धान रिपोर्टहरूले देखाएका छन् ।

सर्वेक्षणले पेशावरको कुल जनसङ्ख्याको ९.५ प्रतिशत अर्थात् करिब चार लाख मानिसमा अझै पनि शौचालयको पहुँच नभएको देखाएको छ ।

प्रतिवेदनले खुला दिसापिसा र अपर्याप्त सरसफाइ अभ्यासले पोलियो र अन्य पानीजन्य रोगहरू फैलिनमा महत्त्वपूर्ण योगदान पुर्याउँछ भनेर प्रकाश पारेको छ। वातावरणविद् हसिब खानले द्वन्द्व प्रभावित क्षेत्रहरूबाट जनसङ्ख्या प्रवाहले विद्यमान मुद्दाहरूलाई बढाएको उल्लेख गर्दै पेशावर ‘अत्यधिक बोझले भरिएको शहर’ भएको बताउनुभयो ।

उहाँले कमजोर शासनको मुख्य कारण औंल्याउँदै भन्नुभयो, “सांसदहरू जनहितभन्दा पनि राजनीति र प्रदर्शनमा बढी केन्द्रित छन्।”

जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा आजदेखि सुरु गरेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुनर्निर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलगायत २८ बुँदे माग र राष्ट्रिय मुद्दा उठाउँदै आएको जसपा नेपालले प्रदेश–प्रदेशमा विरोध सभा आयोजना गर्न लागेको हो।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाअन्तर्गत आज कोशी प्रदेशको विराटनगरमा पहिलो विरोध सभा आयोजना गरिएको छ।कार्यक्रम तालिका अनुसार पुस १४ गते मधेस प्रदेशको जनकपुर, पुस १५ गते वीरगञ्ज र पुस १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभा आयोजना गरिनेछ। विरोध सभालाई पार्टी अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।

यसअघि जसपा नेपालले सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम र पार्टीका प्रदेश समितिहरूको अधिवेशन सम्पन्न गरिसकेको बस्नेतले जानकारी दिए।सङ्घर्षका कार्यक्रमअन्तर्गत पार्टीले संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर–बजारमा विरोध प्रदर्शन, कोण सभा, जिल्ला सदरमुकामका जिल्ला प्रशासन कार्यालय अगाडि शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा र जनसभा गर्दै आएको छ।ती कार्यक्रमहरूमा पार्टीका माग र मुद्दा उल्लेखित प्लेकार्ड तथा ब्यानर प्रयोग गरिएको थियो।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, १२ पुसः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।    समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ८५, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु २८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५८ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु ८०, गाजर (तराई) प्रतिकिलो रु ७०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, बन्दा (नरिबल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ६०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ४५, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (लोकल) प्रतिकिलो रु १५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो रु ८०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १७०, टाटे सिमी प्रतिकिलो रु ७०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ७०, परबर (तराई) प्रतिकिलो रु १३०, घिरौँला प्रतिकिलो रु १२०, फर्सी पाकेको प्रतिकिलो रु ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ४५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो ९०, भिन्डी प्रतिकिलो १३०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु १०० र स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो साग प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु १००, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ११०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु १२०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १००, चुकुन्दर प्रतिकिलो रु ९०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु २००, गाँठकोभी प्रतिकिलो रु १२०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ७००, सौफको साग प्रतिकिलो रु ८०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ४०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु २००, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु ११०, जुनार प्रतिकिलो रु १२०, भुइँकटहर प्रतिगोटा रु १५५, काँक्रो (लोकल) प्रतिकिलो रु ९०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ४०, रुख कटहर प्रतिकिलो रु १६०, निबुवा प्रतिकिलो रु ६०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २३०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ७५, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।

यसैगरी अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४४०, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७०, हरियो लसुन प्रतिकिलो रु ९०, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु ४००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २५०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १०००, काक्रो (लोकलक्रम) प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो, पाँच अर्व ५३ करोड ३२ लाखको निर्यात

भद्रपुर (झापा) – चालु आर्थिक वर्ष २०८२÷०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ ।

पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिनुभयो । अघिल्लो आव २०८१÷०८२ को सोही अवधीमा रु तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलँैची निर्यात भएको उहाँले बताउनुभयो ।

कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा रु एक अर्व ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१÷०८२ को सोही अवधिमा रु दुई अर्व ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिनुभयो ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ ।

मेची भन्साबाट चालु आव २०८२÷०८३ को पहिलो पाँच महिनामा रु १० अर्ब ७१ करोड ५४ लाख १३ हजार बराबरको मालवस्तु निर्यात भएको छ ।

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौँ – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट मुलुकमा परेको छ । नेपालले यस वर्ष (२०२५) मा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिण पूर्वी एसिया क्षेत्र (सेरो) अन्तर्गतका १० मुलुकमध्ये पोलियो भाइरसका शङ्कास्पद बिरामीको उत्कृष्ट खोजतलास (सर्भेलेन्स) गर्न सफल भएको हो ।

डब्लुएचओ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा गरिएको खोजतलासमा डब्लुएचओ सेरोअन्तर्गत १० देशलाई नेपालले उछिनेको हो । देशभरि नै १५ वर्ष मुनि उमेर समूहमा उक्त सर्भेलेन्स गरिएको हो । ती शङ्कास्पद बिरामीको थाइल्याण्डमा परीक्षण गरिएको हो । परीक्षणका क्रममा भने पोलियो सङ्क्रमण पाइएको छैन ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नेपालले प्रति एक लाखमा ७.१ जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाएर उत्कृष्टता हासिल गरेको बताउनुभयो । उहाँका अनुसार देशभरि ५७९ जनामा पोलियोका शङ्कास्पद बिरामी भेटिएका छन् । उहाँका अनुसार अझै ४० शङ्कास्पद बिरामीको परीक्षण हुन बाँकी छ ।

डब्लुएचओको मापदण्डअनुसार प्रति एक लाखमा दुई जना पोलियो भाइरसका शङ्कास्पद बिरामी भेटाउनुपर्ने हुन्छ । तर नेपालले डब्लुएचओले तोकेको मापदण्डभन्दा धेरै बिरामी भेटाएर उत्कृष्ट सर्भेलेन्स गरेको छ ।

“जति धेरै शङ्कास्पद बिरामी भेटियो त्यति नै चाँडो पोलियो भाइरस सङ्क्रमण निर्मूल गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “हामीले डब्लुएचओका सेरोअन्तर्गत १० मुलुकमा सबैभन्दा धेरै शङ्कास्पद बिरामी भेटाएर उत्कृष्ट हासिल गरेका छौँ ।”

नेपालमा २०१४ मा पोलियोमुक्त भइसकेको छ । पछिल्लो पटक २०१० मा रौतहटमा एक जनामा पोलियोको बिरामी भेटिएको थियो । शाखा प्रमुख डा गौतमले नेपालमा हुम्ला र रोल्पामा एकदेखि १.९ जनासम्म र अन्य सबै जिल्लामा दुई जनाभन्दा बढी नै शङ्कास्पद बिरामी भेटिएका बताउनुभयो ।

भारत, बङ्गलादेश, भुटान, दक्षिण कोरिया, माल्दिभ्स, म्यानमार, श्रीलङ्का, थाइल्याण्ड, टिमोर–लेष्टेभन्दा नेपालको पोलियो भाइरसका बिरामीको खोजतलास गर्ने क्षमता राम्रो देखिएको छ । नेपालपछि भुटानले प्रति एक लाखमा ५.३२ जना र भारतले ५.१२ जना पोलियाका शङ्कास्पद बिरामी फेला पारेको छ । बङ्गलादेशले २.८० जना, दक्षिण कोरिया २.३८ जना, म्यानमारले २.५१ जना शङ्कास्पद बिरामीे भेटिएका भेटाएका छन् ।

नेपालले सन् २०२४ मा प्रति एक लाखमा ४.५ जना शङ्कास्पद बिरामीे भेटिएका थिए । नेपालमा गतवर्ष पाँच वर्षदेखि नौ वर्ष उमेर समूहका बालबालिकालाई गत वर्ष पोलियो रोग विरुद्धको खोप दिइएको थियो । नेपालमा जन्मेको छ हप्ता, १० हप्ता र १४ हप्ताका शिशुलाई पोलियो विरुद्धको थोपा खुवाउने गरिन्छ । त्यसैगरी १४ हप्ता र नौ महिना उमेरमा पोलियो रोग विरुद्धको खोप लगाउने गरिन्छ ।

सुशासनका लागि जिम्मेवार बन्न जेनजीलाई गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताका सबै युवा शक्तिलाई सुशासनका मानकहरूमा परिपक्व भएर जिम्मेवार ढङ्ले प्रस्तुत हुन सुझाव दिनुभएको छ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पहिलो पटक विकास गरिएको सुशासन र सेवा प्रवाहको नवीनतम मोडेल सार्वजनिक घोषणा प्रणाली (पब्लिक अनाउन्स्मेण्ट सिस्टम) ‘पास’ एवं टोकन प्रणालीको सुरु गर्दै उहाँले जेनजी पुस्ताका शक्तिलाई सुशासनका प्रमुख मानकहरू जस्तै मानव अधिकारको सम्मान, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताका सवालमा परिपक्व र जिम्मेवार ढङ्गले प्रस्तुत हुन सुझाव दिनुभयो ।

अन्तरिम सरकार बनेको जेनजी जन आन्दोलनको जगबाट बनेको उल्लेख गर्दै उहाँले सरकारको जगलाई मजबुद र संस्थागत गर्नुबाहेक अर्को कुनै विकल्प नभएको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “जेनजी पुस्ता हामी सबैको ‘गुरु पुस्ता’ जस्तै भइसकेको र नेपाल राष्ट्र स्वयं नै ‘गुरु राष्ट्र’ जस्तो भएको छ किन भने यो आन्दोलनलाई अरू देशका जेनजी पुस्ताले अनुसरण गर्न थालेका छन् ।”

जेनजी पुस्ताले जनआन्दोलनबाट देखाएको अग्रसरता र त्यसपछि भएको परिवर्तनलाई सही आचरणबाट संस्थागत गर्दै व्यवहारमा देखाउनुपर्नेमा उहाँको जोड थियो । उहाँले भन्नुभयो, “नेपाललाई गुरु राष्ट्र बनाउनका लागि सुशासनका सबै मानकहरूका बारेमा नव पुस्ताले अभ्यास गर्ने र प्रशिक्षण दिने अवस्थामा पुग्नुपर्छ ।”

आजदेखि काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुरु भएको ‘पीएएस’ प्रणालीले नागरिक र राष्ट्र सेवकको सम्बन्ध नयाँ चरणमा पु¥याएको गृहमन्त्री अर्यालको भनाइ छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सो प्रणालीको विकास खरानीबाट उठेर प्रशासनको नयाँ भवनबाट प्रविधि मात्रै र सेवाग्राहीमैत्री सेवाको सुरु गर्न पाउँदा खुसी लागेको बताउनुभयो । त्यस प्रणालीमार्फत सेवा लिन आउने सेवाग्राहीले कार्यालयभित्र प्रवेश गरेपछि पहिले सेवाग्राहीको कागजात रुजू गरिसकेपछि उनीहरूले लिन चाहेका सेवाका आधारमा टोकन लिएर सम्बन्धित शाखाबाट छिटोछरितो र झन्झटरहित सेवा लिन सकिने उहाँले बताउनुभयो ।

सो अवसरमा गृहमन्त्री अर्यालले आफ्नो कार्यकाल आजदेखि १०० दिन पुगेको बताउँदै आफू नेतृत्वको मन्त्रालयले सम्पन्न गरेका केही प्रमुख कार्यहरू सार्वजनिक गरिएको जानकारी दिनुभयो । उहाँले यस अवधिमा मन्त्रालयले झण्डै ५० भन्दा बढी प्रमुख कार्यमा जेनजी पुस्ताका भावना र उनीहरूको अधिकार, कानुनी र सेवा सुधार, नागरिकता, राष्ट्रिय परिचयपत्र तथा सुशासनका पक्षमा उल्लेख्य काम गरेको बताउनुभयो ।

आलितालमा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी (डडेल्धुरा) – जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ८ः३० बजेतिर आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । सो दुर्घटनामा परी एक जना घाइते भएका छन् ।

परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएको हो । दुर्घटनामा अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते हुनुभएको छ । उहाँको अवस्था गम्भीर भएपछि जोगबुडा अस्पतालबाट थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिनुभयो ।

उक्त अटोमा चालकसहित तीन जना सवार थिए । दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । जिपमा सवार तीनैजना सकुशल रहेको बताइन्छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पखेर–बरङ्जा सडक योजना अन्तिम चरणमा

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नं वडालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पखेर–बरङ्जा सडक स्तरोन्नतिका लागि सञ्चालन भएको योजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत मङ्गला गाउँपालिका–३ पखेरदेखि तीन किलोमिटर ५०० मिटर दुरीमा सडक ग्राभेल र ढलान गर्न आर्थिक वर्ष २०८०÷०८१ देखि पखेर–बरङ्जा ३ र ४ हँुदै महेश–धापुङ–ताराखोला सडक योजना निर्माण सुरु गरेको थियो ।

एनके–युनाइटेड जेभीले विसं २०८१ असारमा रु पाँच करोड ८६ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको योजनाको ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाले जानकारी दिनुभयो ।

“अठार महिनाको ठेक्का आवधी भएको यो योजनालाई निर्धारित समयभित्र नै सम्पन्न गर्ने लक्ष्यसहित ठेकेदारले उपकरण, मजदुर परिचालन र निर्माण सामग्री ब्यवस्थापन गरेको छ,” उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०८०÷०८१ देखि म्याग्दीमा सुरु भएका सात वटा सडक र दुई वटा मोटरेबल पुलमध्य पखेर–बरङ्जा सडकको प्रगति अन्य योजनाको तुलनामा अगाडी छ ।”

विसं २०६६ मा मार्ग खुलेको यो सडकलाई सात मिटरका दरले फराकिलो बनाएर नाली र टेवा पर्खाल निर्माण भएको छ । घुम्ति र उकालोमा ५५० मिटर सडक ढलान भएको छ । ग्राभेल भएको सडकको बर्खामा भत्किएको पर्खाल पुनःनिर्माण र बाँकी संरचना निर्माणलाई पूर्णता दिन लागिएको छ । ग्रेड र घुम्ती सुधार भएको छ ।

खर्कटोलका बासिन्दा मिलन रोकाका अनुसार यसअघि तीनदेखि तीन दशमलब पाँच मिटर फराकिलो कच्चि सडकको घुम्ति, ग्रेड नमिलेको, साघुरो सडक जोखिमयुक्त थियो । “यसअघि जिप, ट्याक्सी र ट्याक्टर मुस्कीलले चल्ने यो सडकमा अहिले दश चक्के ट्रक गाउँमै आउन थालेका छन,” उहाँले भन्नुभयो “बरङ्जादेखि बेनी पुग्न एक घण्टा लाग्ने गरेकोमा सडक स्तरोन्नति भएपछि यात्राअवधी ३० मिनेटमा छोटिएको छ ।”

भिरालो पाखाको घुम्तिमा गाडी पार गराउन पछाडि लैजानुपर्ने समस्या हटेको छ । बरङ्जामा उत्पादन भएको दूध, सुन्तला, तरकारीलगायत कृषि उपज बजारमा बिक्रीका लागि लैजान सहज भएको छ । बरङ्जादेखि थामडाडा–सुर्केमेला हँुदै बेनी जोड्ने घुमाउरो कच्चि सडकमा यात्रा गर्नुपर्ने अवस्था हटेको रोकाले बताउनुभयो ।

मार्ग खुलेको १७ वर्षपछि सडक स्तरोन्नति भएकोमा बरङ्जाबासी उत्साही भएका सडक निर्माण समितिका तत्कालीन अध्यक्ष मोहनलाल सापकोटाले बताउनुभयो । “अप्ठ्यारो ठाउँको खण्डमा अहिले सडक सहज भएकोमा खुसी छौँ,” उहाँले भन्नुभयो, “पखेरदेखि झाक्री पानीसम्मको सबै ११ किलोमिटर सडकलाई स्तरोन्नति गर्न सकेमा अझै सहज हुने थियो ।”

सडक निर्माणकार्यको शुक्रबार अनुगमनका लागि बरङ्जा पुगेका म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीलाई स्थानीयबासीले ग्राभेल भएको सडकलाई पक्की बनाउन, झाँक्रीपानी र बुकेनी, धापुङ हुदै ताराखोलाको सिर्पुतर्फ स्तरोन्नतिको योजनाका लागि पहल गर्न आग्रह गरेका थिए ।

स्थानीयबासीसमेत रहेका संविधानसभा सदस्य गमबहादुर श्रीस, कार्यवाहक वडा अध्यक्ष भेषकुमारी पुनलगायतले सडक स्तरोन्नति योजनालाई निरन्तरताका लागि पहल गर्न प्रस्ताव गर्नुभएको थियो । विसं २०८० मा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालयको नेतृत्व गरेका पूर्वमन्त्री जुग्जालीले प्रदेश सरकारबाट रु १० करोड बजेटको स्रोत सुनिश्चतता गराई बहुवर्षीय ठेक्का लगाइएको थियो ।

“चालु आर्थिक वर्षमा रु एक करोड ३९ लाख बजेट बिनियोजन भएको यस योजनाका लागि आवश्यक पर्ने थप बजेट ब्यवस्थापनका लागि सरकारसँग पहल भइरहेको छ,” जुग्जालीले भन्नुभयो “मङ्गला गाउँपालिकाको ३, ४, ५ नम्बर वडा र बागलुङको ताराखोला गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक योजनाको निरन्तरताका लागि पनि प्रयास गरेका छौँ ।” बरङ्जा म्याग्दीको धेरै जनघनत्व भएको साविकको गाविस हो ।

नेपाल संस्कृत विश्वविद्यालयको जमिन अतिक्रमित

तुलसीपुर(दाङ) – दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको अतिक्रमित जग्गमध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको छ । देउखुरीको एक हजार ३३७ विघा जग्गामध्ये ४०८ विघा जग्गामा मोही रहेको पाइएको कूलसचिब माधव अधिकारीले जानकारी दिनुभयो । यसमा लमही नगरपालिकाको सतबरियामा अतिक्रमित १६८ विघा जग्गामध्ये ८३ विघा जग्गामा मोही छ, भने राजपुर गाउँपालिकाको गङ्दी र दूलैयामा एक हजार १३२ विघा जग्गामध्ये ३०६ विघा जग्गामा मोही रहेको छ ।

त्यस्तै गढवा गाउँपालिकाको गोवरहियामा ३६ विघा जग्गामध्ये १८ विघा जग्गामा मोही लोगेको छ । यसमा केही मोहीको नाम नामेसी फरक देखिएकाले मालपोत कार्यालयको श्रेष्ताअनुसार भिडाउन आवश्यक रहेको उहाँले बताउनुभयो । केही मोही बेपत्ता भएको भन्ने भनाइ रहेको कारण जग्गाधनी प्रमाण पुर्जामा रहेका मोही र क्षेत्रफल फरक हुने सक्ने अबस्था रहेको उहाँको भनाइ छ ।

विसं २०६९ मङ्सिरमा देउखुरी जग्गा व्यवस्थापनसम्बन्धि प्रतिवेदनमा लालपुर्जामा भएका, मोही लगतमा नभएका, अधिकांस मोही जग्गा छाडी अन्यत्र गएका भनि मोहीको नामावली र क्षेत्रफलसमेत उल्लेख भएको देखिएको छ ।

देउखुरीको सबै जग्गा अतिक्रणमा छ । सोही जग्गा विश्वविद्यालयलाई सञ्चालनका लागि भनेर दाताले सहयोग गरेका थिए । २०५८ सम्म त्यो जग्गाबाट आयस्तासमेत आउथ्यो । त्यस बेला देउखुरीमा गोदाम घरसमेत थिए । तर, अहिले आयस्ता आउने गरेको छैन ।

देउखुरीमा हाल १२ विघा जग्गा तेरोमेरोका कारणले नाममा आउन सकेको छैन । हाल गढवामा आठ विघा र सतबरियामा चार विघा जग्गा तेरोमेरो भनेर दर्ता भएको छैन ।

तुलसीपुर उपमहानगरपालिका–१८ को बेलझुण्डीमा पनि ३२६ विघा जग्गा छ । जुन जग्गामा मोही छैन । तर, २० विघा जति सोही ठाउँको जग्गा पनि अतिक्रमणमा परेको छ ।

कुलसचिब अधिकारीका अनुसार मोही परेका किसानलाई जग्गा दिएपनि ८०० विघा जग्गा विश्वविद्यालयसँगै रहन्छ । त्यो जग्गा लिजमा दिएमा विश्वविद्यालयको आम्दानी बढ्ने उहाँको भनाइ छ ।

देउखुरीमा २०१० सालमा मजगैया परिवारले उच्च शिक्षाको प्रोत्साहन गर्दै उक्त जग्गा दान गरेका थिए । जसमा १२ खण्डमध्ये एक खण्डमा महादेवा मन्दिरको पुजाआजा गर्ने र ११ भागको आयस्ताबाट विद्यालयको पठनपाठन गर्ने कार्य गरिएको थियो । तत्कालिन अवस्थामा जनता विद्यालय र सूदय रामेश्वर महादेवजीको नाममा दान गरिएको थियो । २०२८ मा उक्त जग्गामा नाप नक्सा भयो र २०४५ सालमा नेपाल संस्कृत विश्वविद्यालयको नाममा नामसारी भएको थियो ।

त्यस्तै विसं २०२७ मा विश्वविद्यालय रहेको बेलझुण्डीमा साविक विजौरी र मानपुर गाविसमा ३४१ बिघा जग्गा दाताबाट प्राप्त भएको थियो । हाल मोही परेको जग्गा बाँडफाँटकालागि सरकारले यही बर्षको चैत मसान्तसम्म जग्गा बाँडफाँटकालागि निवेदन दिने सूचनासमेत जारी गरेको छ । सोही निवेदनका आधारमा ०८३ साल असारमसान्तसम्म टुङ्गोमा लगाइसक्ने गरी सूचना जारी गरेको हो ।

विश्वविद्यालयको अतिक्रमणमा परेको जग्गा फिर्ता ल्याउनकालागि भनेर पटक–पटक छलफल बहस हुने गरेको भएपनि त्यसले सार्थकता पाउन सकेको छैन् ।

जग्गा तथा सम्पति खोजविनका लागि उच्च अदालतका पूर्वन्यायाधिश शेखरप्रसाद पौडेलको नेतृत्वमा समिति बनेको थियो । त्यो समितिले नौ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो । त्यो प्रतिवेदन कार्यान्वयनकालागि सरकारी संयन्त्रसमेत बनेको छ ।

आज काठमाडौँका यी स्थानमा काटिदैछ बिजुली

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पानीपोखरी फिडर र हस्पिटल फिडर मातहतका विभिन्न स्थानमा आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म बिजुली कटौती हुने भएको छ ।

प्राधिकरणका अनुसार, लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ । यस्तै, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्रमा पनि बिजुली कटौती हुने प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

काठमाडौँ उपत्यकामध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाले वितरण प्रणाली भूमिगतकार्य गरिरहेको र भूमिगतकार्य सम्पन्न भइसकेका केवल जोड्ने प्रयोजनका लागि बिजुली कटौती गर्न लागिएको हो । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएको खण्डमा बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ ।

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुनः बढेको छ । निधारण गरिएको विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११२ रुपैयाँ २० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४८ पैसा र बिक्रीदर २० रुपैयाँ ५६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४१ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९३ पैसा र बिक्रीदर नौ रुपैयाँ ९७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६२ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ९२ पैसा , बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७४ रुपैयाँ २० पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

निर्वाचन ६८ दिन बाँकी : प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।

आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् ।

यस्तै, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् ।

नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन् । अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ ।

सो समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव आयोगका वरिष्ठ कम्युटर अधिकृत सदस्य रहने व्यवस्था छ । यस्तै, मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा तोके बमोजिमको उपसचिव सदस्यसचिव रहनेछन् ।

यसैगरी जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला कारागार प्रमुख सदस्य रहनेछन् । निर्वाचन अधिकारीलाई सदस्य सचिवका रुपमा रहने व्यवस्था गरिएको छ ।

अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गर्ने र विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । अस्थायी मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ ।

निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी वा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली निर्धारित ढाँचामा तयार पार्नुपर्ने व्यवस्था छ ।

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौँ – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

ताप्लेजुङमा सुरुङमार्गमा काम गर्ने क्रममा ढुङ्गाले लागेर मजदुरको मृत्यु

ताप्लेजुङ – यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छभने अर्का एक जना घाइते भएका छन् ।

ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आज बिहान भएको उक्त घटनामा गुराँस गाउँपालिका–३ दैलेखका २४ वर्षीय भद्रबहादुर शाहीको मृत्यु भएको हो । ढुङ्गाले लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि आधारभूत स्वास्थ्य संस्था तापेथोक लगिएकामा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै, मधुवन नगरपालिका–४ बर्दियाका ३३ वर्षीय आकाश खड्का घाइते भएका छन् । खड्काको दाहिने खुट्टा भाँचिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

भद्रबहादुर शाहीको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । घटनास्थलमा प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक निरीक्षक पर्शुराम राउतको कमाण्डमा टोली खटिएको थियो । साथै अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको कमाण्डमा समेत टोली परिचालन प्रहरी प्रमुख गौतमले जानकारी दिनुभयो ।

भ्रष्टाचार गरेको आरोपमा नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौँ, ११ पुस : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको छ ।

प्रतिवादी गजेन्द्र महर्जनसमेत रहेको राजस्व चुहावट गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसला उपर आयोगलाई चित्त नबुझी आज सर्वोच्च अदालतमा पुनरावेदनको फरक–फरक पाँच वटा निवेदन दर्ता गराएको हो ।

आयोगद्धारा आज जारी विज्ञप्तिमा भनिएको छ, “गोदावरी नगरपालिकाका तत्कालीन नगरप्रमुख गजेन्द्र महर्जन, तत्कालीन नगरउपप्रमुख मुना अधिकारीसमेतका प्रतिवादीहरू उपर गोदावरी नगरपालिकाले विभिन्न आर्थिक वर्षमा राजस्व निर्धारण गर्दा बदनियत राखी नेपालको संविधान, सङ्घीय आर्थिक ऐन, प्रदेश आर्थिक ऐन तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ समेतको प्रचलित कानुनलाई बेवास्ता गरी राजस्व चुहावट गरी गराइ नेपाल सरकारलाई हानी पुर्‍याएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम सर्वोच्च अदालतमा पुनरावेदनको फरकफरक पाँच वटा निवेदन दर्ता गरिएको छ ।”    जम्मा रु एक अर्ब चार करोड ८७ लाख ४५ हजार २८७ राजस्व चुहावट गरी सरकारलाई हानी पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौँ, ११ पुस : सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक प्रतिनिधित्व कमजोर पारिएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ ।

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घका अध्यक्ष माधवप्रसाद चम्लागाईं, सङ्घका पूर्वअध्यक्ष तथा पूर्वसांसद प्रकाश पन्थलगायत अपाङ्गता अधिकारकर्मीहरूले वरिष्ठ अधिवक्ता सीताराम केसीको कानुनी सहायतामा आज रिट निवेदन दायर गरिएको हो ।

रिट निवेदनमा नेपाल सरकारले अध्यादेशमार्फत प्रतिनिधिसभा निर्वाचन ऐन, २०७४ को अनुसूची–१ संशोधन गरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारको बन्द सूची (क्लस्टर) पुनःनिर्धारण गर्दा अपाङ्गता भएका व्यक्तिहरूको स्पष्ट, बाध्यकारी र अनिवार्य प्रतिनिधित्व सुनिश्चित नगरिएको उल्लेख गरिएको छ ।

रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ, ११ पुस : प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा आज तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।पक्राउ पर्नेमा जिल्ला काठमाडौँ चन्द्रागिरि–४ बस्ने ३७ वर्षीया ममता श्रेष्ठ, काभ्रेपलाञ्चोक पाँचखाल–६ बस्ने ३० वर्षीय सरोज पोख्रेल तथा दोलखा भिमेश्वर–७ का ४९ वर्षीय डम्बरबहादुर तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “श्रेष्ठले क्यानडा पठाउने भन्दै रु २३ लाख, पोख्रेलले युएई पठाउने भन्दै रु तीन ६४ हजार तथा तामाङले रोमानिया पठाउने भन्दै रु छ लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका उनीहरूलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नागरिक बचाउ दल, नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा आज प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभाको निर्वाचनमा जान ११४ दल दर्ता भएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रिय हितका सवालमा सबै एकताबद्ध हुनुपर्ने धारणा राख्नुभएको हो ।

“चुनावमा भाग लिन ११४ दल दर्ता भएका छन्, फरक विचार भएर नै यति धेरै दल दर्ता भएका होलान्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “विचारमा विविधता हुनु र आफ्ना विचारको पैरवी गर्न पाउनु लोकतन्त्रको सुन्दर पक्ष हो । तर यति हुँदाहुँदै पनि राष्ट्रिय हितका निम्ति देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ ।”

निर्वाचनको पक्षमा पनि अहिले सबै यसैगरी एक ठाउँमा उभिने बेला आएको उहाँले बताउनुभयो । “विषम परिस्थितिमा हामी सबै सम्हालिएर अगाडि बढ्नुपर्नेछ”, उहाँले अगाडि थप्नुभयो, “सबैको विचार एउटै हुँदैन । मेरो विचारमात्र ठिक भन्नु पनि लोकतन्त्रसम्मत हुँदैन । आफ्ना विचार जनतामा लिएर र जनताबाट अनुमोदित भएर आउने अवसर निर्वाचन हो । त्यसैले निर्वाचनलाई सफल पारौँ । देशलाई अप्ठ्यारो अवस्थाबाट जोगाउन तपाईँहरू सबै एक ठाउँमा आउनुपर्छ ।”

उहाँले चुनाव सफल बनाउन सरकार आफ्नोतर्फबाट सम्पूर्ण रूपले तयारी गरिरहेको जानकारी दिँदै सुरक्षाका सवालमा पनि शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “तपाईँ–हामी सबै एक ठाउँमा हुने हो भने कसैले केही गर्न सक्दैन । हतियार, कैदी धेरै फिर्ता भइसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि स्रोतसाधन उपलब्ध गराइसकिएको छ । निर्वाचनका लागि छुट्टै प्रहरी भर्तीको प्रक्रिया अघि बढेको छ । ठूलै भूकम्प वा आँधीतुफान आएमात्र चुनाव रोकिएला । नत्र फागुन २१ गतेको चुनाव कुनै हालतमा सर्दैन । तपाईँहरू पनि तयारी गर्नुहोस् ।”

कुनै विषयमा मत–मतान्तर र छलफल हुनु सामान्य भए पनि देशले ठूलो क्षति बेहोरिसक्दा पनि आत्मसमीक्षा नगर्ने प्रवृत्तिबाट भने आफू आश्चर्यचकित भएको उहाँको भनाइ थियो । “अहिले हेर्नुहोस्, दक्षिण एसियाका साना मुलुकहरू प्रताडित भइरहेका छन् । हामी कस्तो मुलुक बन्ने, कस्तो बनाउने भनेर पनि एकपटक मनन गरौँ । कुनै विषयमा मत–मतान्तर र छलफल हुनु एउटा कुरा हो । तर, देशै तहसनहस हुँदा पनि नचेत्ने प्रवृत्ति भने अनौठो छ ।” उहाँले अगाडि थप्नुभयो, “यो तत्व र त्यो तत्वले खेल्यो भन्छन् । तर, त्यस्ता तत्वलाई खेल्ने ठाउँ कसले बनाइदियो ? कसले निम्त्यायो ? हामी बाहिरियालाई दोष दिन्छौँ, आफैँतिर फर्केर भने हेर्दैनौँ ।”

अहिले मुलुकमा पुरानो र नयाँ विचारबीच द्वन्द्व भइरहे पनि यो एक घरभित्रको मामिला रहेकाले पारिवारिक वातारणमा मिलाउनुपर्ने उहाँले बताउनुभयो । “हामी सबै एक घरभित्रका परिवार हौँ । हाम्रा बालबालिका असन्तुष्ट देखिए भने उनीहरूले के खोजेका हुन् भनेर हेरौँ,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “पक्कै पनि यो पुरानो र नयाँ सोचबीचको द्वन्द्व हो । पुरानो सोच, पुरानो तरिका र पुरानै व्याख्याले अब चल्नेवाला छैन । हामी सुध्रिन र सच्चिन जरुरी छ ।”

यो सरकार चुनाव गराउन आएकाले त्यसमा आफू दृढ रहेको पनि उहाँले दोहोर्याउनुभयो । उहाँले भन्नुभयो, “हामी चुनाव गराउनै आएका हौँ । यो सरकारको गठन गर्दा नै फागुन २१ को मिति तोकेर चुनाव गराउने कार्यादेश दिइएको हो । यसबाट दायाँबायाँ गर्ने छुट हामीलाई छैन ।” नागरिक बचाउ दल, नेपालका तर्फबाट अध्यक्ष माधव कल्पितले प्रधानमन्त्री कार्कीसमक्ष पाँच सूत्रीय ज्ञापनपत्र पनि बुझाउनुभएको थियो ।

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन् । उनीहरू अनुभवका खानी र इतिहासका जीवित साक्षी पनि हुन् । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका १०८ वर्षीय भौना डगौरा यसको एउटा ज्वलन्त उदाहरण हुनुहुन्छ । विसं १९७४ मा जन्मिनुभएका डगौराले नेपालको राजनीतिक र सामाजिक परिवर्तनका धेरै उतारचढावलाई नजिकबाट नियाल्नुभएको छ ।

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले डगौराको घरमै पुगेर उहाँलाई सम्मान गर्नुभयो । सम्मान प्राप्त गरेपछि उहाँ निकै उत्साहित देखिनुहुन्थ्यो । नगरपालिकाकै सबैभन्दा बढी उमेर पुगेका नागरिकका रूपमा सम्मानित हुन पाउँदा उहाँले ‘नगरमा जनप्रतिनिधि भएको अनुभूति’ भएको प्रतिक्रिया दिनुभयो ।

भौना डगौराको जीवनकथा सुन्दा कुनै ऐतिहासिक चलचित्रको वृत्तान्त सुनेझैँ लाग्छ । उहाँले देशमा राणा शासन, पञ्चायती व्यवस्था, प्रजातन्त्र हुँदै हालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा देख्नुभएको छ ।

विशेषगरी, सहिद भीमदत्त पन्तले कञ्चनपुर र डडेल्धुरा क्षेत्रमा चलाएको किसान विद्रोहलाई उहाँले नजिकबाट नियाल्नुभएको मात्र छैन, त्यसको पीडा र गर्वलाई पनि महसुस गर्नुभएको छ । उहाँका आफ्नै जेठा दाजुले उक्त क्रान्तिमा होमिएर सहादत प्राप्त गर्नुभएको थियो । डगौरा भन्नुहुन्छ, “सबैभन्दा राम्रो व्यवस्था लोकतन्त्र आएपछि हुन्छ भन्थे, अहिले आफ्नै आँगनमा सरकार आइपुग्दा खुसी लागेको छ ।”

एक सय आठ वर्षको उमेरमा पनि भौना डगौराको सक्रियता लोभलाग्दो छ । उहाँ अझै पनि ‘ठमठमी’ हिँडडुल गर्नुहुन्छ र नित्य कर्महरू आफैँ गर्नुहुन्छ । उहाँको यो दीर्घायु र स्वास्थ्यको पछाडि घरपरिवारको अथाह माया र स्नेह रहेको उहाँ स्वीकार्नुहुन्छ ।

“घरपरिवारबाट निकै स्नेह पाइरहेकाले यति वर्षसम्म बाँच्न पाएकामा मलाई गर्व छ”, डगौराले मुस्कुराउँदै भन्नुभयो । ज्येष्ठ नागरिकका समस्या र राज्यको दायित्व सम्मान ग्रहण गर्ने क्रममा डगौराले समाजमा बढ्दै गएको तीतो अनुभव उपप्रमुख पन्तसमक्ष पोख्नुभयो ।

उहाँले कतिपय परिवारले ज्येष्ठ नागरिकलाई बोझ ठानेर वृद्धाश्रममा पठाउने गरेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सुझाव दिनुभयो, “ज्येष्ठ नागरिकलाई घरमै मायाका साथ राख्ने र उहाँहरूको सम्मान गर्ने व्यवस्था हुनुपर्छ ।”

नगर उपप्रमुख पन्तले डगौराका साथै नगरका अन्य दुई १०७ वर्षीय ज्येष्ठ नागरिक, नगरपालिकाको वडा नं ५ का कलावतीदेवी भट्ट र जयन्तीदेवी भट्टलाई पनि घरमै पुगेर सम्मान गर्नुभएको छ । नगरपालिका ज्येष्ठ नागरिकको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि सधैँ तत्पर रहने प्रतिबद्धता उहाँले गर्नुभयो ।

“ज्येष्ठ नागरिकहरू ज्ञानका भण्डार हुन्”, उहाँले भन्नुभयो, “उहाँहरूले भोगेको समय र सङ्घर्षले नयाँ पुस्तालाई मार्गदर्शन गर्छ ।” “भौना डगौराजस्ता व्यक्तित्वहरूलाई घरदैलोमै पुगेर सम्मान गर्नुले पुराना सङ्घर्ष र इतिहासको रक्षा हुन्छ”, नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कमला जोशीले भन्नुभयो, “वृद्धवृद्धालाई सम्मान गर्ने संस्कारको विकास हुन्छ, राज्यको उपस्थितिः दुर्गमका ज्येष्ठ नागरिकले पनि राज्य मेरो साथमा छ भन्ने महसुस गर्छन् ।”

“समाजका ज्येष्ठ अभिभावकहरूको उचित हेरचाह र संरक्षण गर्नु नै सभ्य समाजको पहिचान हो”, उहाँले भन्नुभयो, “नगरपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई लाभ पुग्नेगरी योजना तर्जुमा गरी कार्यक्रम सञ्चालन गर्न आतुर छौँ ।”

राष्ट्रिय खेलकुद परिषद् बोर्डमा पाँच सदस्य नियुक्त

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डमा पाँच सदस्य नियुक्त गरेको छ ।

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्को बोर्डमा रिक्त रहेका पदमा पाँच जनालाई नियुक्त गर्नुभएको मन्त्रीका स्वकीयसचिव विनोद रिमालले जनाकारी दिनुभयो ।

परिषद्मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगतबहादुर टमाटा, रग्बी सङ्घका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिज (नारा)को तर्फबाट रोजेश खड्का, नेपाल तेक्वान्दो सङ्घको तर्फबाट कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासङ्घको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरिएको हो । चार वर्षका लागि नियुक्त गरिएका सदस्यहरूको आजै शपथ ग्रहण गरिएको छ ।

युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने

रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै हप्ताको अन्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीले शुक्रबार बताउनुभएको छ।
राष्ट्रपति जेलेन्स्कीले सञ्चारमाध्यमलाई दिएको जानकारीमा भन्नुभएको छ, “यो हप्ताको अन्त्सम्म वा आइतवारसम्म फ्लोरिडामा हामी राष्ट्रपति ट्रम्पसँग बैठक गर्नेछौँ।”

अमेरिका–युक्रेन वार्ताको पछिल्लो चरणले युद्ध अन्त्यका लागि २० बुँदे योजना तयार पारेको छ र यो प्रस्ताव अध्ययनका लागि मस्को पठाइएको छ ।
जेलेन्स्कीले भन्नुभयो, “हामी यी कागजात र सुरक्षा सुनिश्चितताबारे छलफल गर्नेछौँ ।”

“संवेदनशील मुद्दाहरूको लागि, हामी डोनबास र जापोरिज्जिया आणविक ऊर्जा संयन्त्रको बारेमा छलफल गर्नेछौँ र हामी निश्चित रूपमा अन्य मुद्दाहरूमा पनि छलफल गर्नेछाँैं,” उहाँले थप्नुभयो ।

जेलेन्स्कीले यस हप्ता भन्नुभयो, “प्रस्तावमा समावेश भएका एकाध बिषयमा किएभ र वाशिङ्गटनबीच अझै पनि असहमति रहेको छ।”

किएभले पछिल्लो योजनामा केही सहुलियतहरू प्राप्त गरेको छ । यससँगै रूसी सीमा क्षेत्रबाट सेनाफिर्ता गर्ने र किएभलाई नेटोमा सामेल हुने आफ्नो बोली कानुनी रूपमा त्याग्ने आवश्यकता हटाउने कुरा प्रस्तावमा राख्न सफल भएको छ यद्यपि। यो सको सहमतिमा भने भएको होइन ।

युक्रेनी नेताले यो योजनाले अन्ततः पूर्वी डोनेट्स्क क्षेत्रमा आफ्ना सेनाहरू फिर्ता लिने र एक असैन्यीकृत क्षेत्र स्थापना गर्ने बाटो खोल्ने सङ्केत गर्नुभयो ।

क्रेमलिनका विदेश नीतिका सहयोगी युरी उशाकोभले अमेरिकी अधिकारीसँग टेलिफोन वार्ता गरेको र वार्ताबारे छलफल गरेको क्रेमलिनले शुक्रबार जनाएको छ । यसले वार्ताबारे विस्तृत रूपमा बताएको छैन र पछिल्लो योजनाको बारेमा आफ्नो स्थिति सङ्केत गरेको छैन।

मस्कोले अहिलेसम्म युक्रेनलाई डोनबासको पूर्वी क्षेत्रबाट पूर्ण रूपमा फिर्ता लिनु र नाटोमा सामेल हुने प्रयासहरू अन्त्य गर्नु पर्ने आफ्नो कडा क्षेत्रीय मागहरू त्याग्न थोरै झुकाव देखाएको छ।

मस्कोले पश्चिमा देशहरूले युक्रेनमा शान्ति सेना तैनाथ गर्न नपाउने र व्यापक राजनीतिक र सैन्य प्रतिबन्धहरू पनि लगाउन चाहन्छ तर यसलाई किएभले यो आत्मसमर्पणको समान भएको बताउने गरेको छ।

जेलेन्स्कीले भन्नुभयो, “युक्रेनी वार्ताकारहरू मस्कोसँग प्रत्यक्ष सम्पर्कमा थिएनन्, तर संयुक्त राज्य अमेरिकाले मध्यस्थको रूपमा काम गरेको छ र पछिल्लो प्रस्तावमा मस्कोको प्रतिक्रियाको प्रतीक्षा गरिरहेको छ।”

जेलेन्स्कीले भन्नुभयो, “मलाई लाग्छ हामीले आगामी दिनमा उनीहरूको आधिकारिक प्रतिक्रिया थाहा पाउनेछौँ ।”

मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने

काठमाडौँ – सरकारले विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले डोटीको विपीनगर, ताप्लेजुङको श्रीचङ्घा, डोल्पाको धो, मुगुको खत्याग, कालिकोटको रास्कोट, बाजुराको कोल्टी, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निण गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधीमन्त्री जगदिश खरेलले गृह मन्त्रालयअन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज तथा नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गर्ने निर्णसमेत गरिएको जनाकारी दिनुभयो ।

बैठकले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसको रूपमा मनाउने निर्णय गर्नुका साथै जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निर्देशिका खारेज गरिएको पनि उहाँले बताउनुभयो ।

यसैगरी वैदेशिक रोजगारीको सिलसिलामा इराक गई त्यहाँको आधिकारिक भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत ‘रेसिडेन्सी कार्ड’को सक्कल र फोटोकपीसहित आवेदन पेस गरेमा श्रम स्वीकृतिका लागि स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरिएको छ ।

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौँ – प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत जुराएर पशुपतिनाथ मूल मन्दिरमा गरिने धनुर्मास पूजा बिहीबार रातभर विधिपूर्वक गरिएको छ ।

धनुर्मास पूजामा पशुपतिनाथका चारै जना भट्ट ब्राह्मण, पालोवाला भण्डारी, श्रीको भान्छे र अन्य ब्राह्मण सहभागी हुने विधि छ । पशुपतिनाथलाई आदिकलश, पञ्चामृत स्नान, तैलाम्भ्य, श्रीयन्त्र लेखन, श्रृङ्गार, श्री चक्रको पूजा, धूप, बत्ती र बालभोग अर्पण गरी मूलभोगका रूपमा भने खिचडी अर्पण गर्ने परम्परा छ । धनुर्मास पूजाका क्रममा अमालकोट कचहरीका तर्फबाट खिचडी भोग दिइएको द्वारे रामकृष्ण डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशुपतिनाथमा महाभोगका लागि ब्राह्मणले दुई वटा खँडकुलामा खिचडी बनाउँछन् । एउटामा सख्खरसहितको र अर्कोमा चिनीसहितको खिचडी बनाउने गरिन्छ । अरु बेलामा पशुपतिनाथमा लगाइने भोगमा नुनिलो सामग्री हुन्छ । आज गुलियो र चिल्लो सामग्री चढाउने विधि रहेको पशुपति क्षेत्रका मूर्त अमूर्त संस्कृतिबारे खोज गरिरहनुभएका कर्मचारी बरुण खतिवडाले जानकारी दिनुभयो । पुस महिनाभर सूर्यनारायण धनु राशिमा हुने भएकाले प्रत्येक वर्ष पुस महिनामा बढी भीडभाड नहुने दिनको साइत जुराएर धनुर्मास पूजा आराधना गर्ने परम्परा रहेको उहाँले सुनाउनुभयो ।

जानकारहरूका अनुसार चान्द्रमास र सौरमास दुवै पुस महिनामा पारेर धनुर्मास पूजाको साइत निकालिन्छ । पहिले पुस महिनामा नौपटकसम्म धनुर्मास पूजा गर्ने गरिएकामा त्यो परम्परा हाल लोप भइसकेको छ । त्यसबेला भक्तजनले आफ्नो खर्चमा पनि धनुर्मास पूजा गर्न पाउने परम्परा रहेको थियो । धनुर्मास पूजा गर्नुअघि बिहीबार बिहान पशुपतिनाथलाई चिसोबाट बचाउन तातोपानीले स्नान गराउने प्रचलन छ ।

बाला चतुर्दशीदेखि नै चिसो लाग्ने भएकाले पशुपतिनाथलाई तातोपानीले स्नान गराउने परम्परा छ । पानीमा बस्ने माछासमेत चिसोबाट बच्न पानीको सतहमुनि बस्ने मीनपचासको समयमा पशुपतिनाथलाई चिसोबाट बचाउन धनुर्मास पूजासहित खिचडी खुवाउने वैदिक सनातनी परम्परा छ ।

बिहीबार रातभर धनुर्मास पूजा गरेपछि आज पशुपतिनाथलाई उपवास राख्ने गरिन्छ । आज बिहानैदेखि बेलुकीसम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको छ । मध्याह्न १२ बजेसम्म भने एउटा ढोका भने खोलिएको थियो । उपवासका दिन बिहानै महादेव कैलाश एवं शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्नुहुने धार्मिक विश्वाससमेत परम्परादेखि रहेको छ । यसै विश्वासमा आज बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाउने परम्परा सुरु भएको हो ।

महादेव डाँडामा घाम तापेर बस्ने विश्वासमा कैलाशमा दिनभर खिचडी बनाएर खाने परम्परा भने विगत १६ वर्षदेखि लोप भएको खोजकर्ता खतिवडा बताउनुहुन्छ । बेलुकी भने महादेव कैलाश, शिवपुरी डाँडाबाट घाम तापेर फर्कनुहुने विश्वासमा नियमित आरती गरिन्छ । शनिबार बिहानदेखि भने नियमित पूजाआराधना गरी भक्तजनका लागि मन्दिर खुलाइने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रमा सरकारी र गैरसरकारी निकायबीच सहकार्य आवश्यक छ – पूर्वराष्ट्रपति यादव

महेन्द्रनगर (धनुषा) – पूर्वराष्ट्रपति डा रामवरण यादवले स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारी र गैरसरकारी निकायबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

आज धनुषाको हंसपुर नगरपालिका–६ टिल्हीस्थित तपसी बाबा विद्यालयमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै उहाँले बिग्रँदै गएको स्वास्थ्य अवस्थामा सुधारका लागि आफ्नै खेतबारीमा उत्पादित खाद्यान्न सेवन गर्न सुझावसमेत दिनुभयो । समाज सेवाभन्दा ठूलो धर्म अरु केही नभएको भन्दै पूर्वराष्ट्रपति डा यादवले स्वास्थ्य शिविर आयोजना गरेर राम्रो काम गरिएको भन्दै आयोजकको प्रशंसा गर्नुभयो ।

नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले दुर्गम क्षेत्रमा विशेषज्ञसहित बृहत् स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण कार्यक्रम गरेर सराहनीय काम गरिएको बताउनुभयो । उहाँले शिविरमा उपचार गराएर स्वास्थ्यलाभ लिनका लागि सबैलाई आग्रह गर्नुभयो ।

हंसपुर नगरपालिका उपप्रमुख दुर्गीदेवी मण्डलले हंसपुरमा नेपाल–भारतका विशेषज्ञ चिकित्सकको सहभागितामा सुरु भएको स्वास्थ्य शिविरबाट धेरै जना लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

शिविरका आयोजक समाजसेवी गङ्गाराम यादवले यस क्षेत्रका गरिब तथा विपन्न जनताले भारत तथा काठमाडौँमा उपचार गर्न बाध्य हुनुपरेको भन्दै शिविरबाट केही राहत हुने बताउनुभयो । कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा दिग्विजयकुमार ठाकुर, तपसी बाबा विद्यालयका प्रधानाध्यापक मदनकुमार महरा, वरिष्ठ चिकित्सक डा गौराङ्ग मिश्र, जनकपुरधामका पूर्वनगरप्रमुख बजरङ्गप्रसाद साहलगायतले सम्बोधन गर्नु भएको थियो ।

शनिबारसम्म सञ्चालन हुने शिविरमा मुटु, मिर्गौला, बाँझोपन, स्त्री, बालरोग, नाक, कान, घाँटी, हाडजोर्नी, आँखाका साथै सामान्य उपचारसहित निःशुल्क औषधि वितरण गर्ने कार्यक्रम रहेको छ ।

पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री बानिया

नारायणगढ (चितवन) – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

आज चितवनको सौराहमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उहाँले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराउनुभयो । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताउनुभयो । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उहाँको भनाइ थियो ।

भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, महोत्सवका कारण पर्यटकको सङ्ख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।

विसं २०५५ देखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्घनमा उल्लेखनीय योगदान पु¥याएको मुख्यमन्त्री बानियाको धारणा थियो । सौराहाको बाघमारा चौरमा आजदेखि तीन दिनसम्म १९ औँ संस्करणको हात्ती महोत्सव सुरु भएको हो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।

महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।

पाँच महिनामा आठ अर्ब ७७ करोडको खाद्यान्न आयात

वीरगञ्ज (पर्सा) – वीरगञ्ज नाका हुँदै रु आठ अर्ब ७७ करोड मूल्यबराबरको १७ खाद्यवस्तु आयात गरिएको छ । चालु आर्थिक वर्षको पाँच महिनामा १७ थरिका १८ करोड ३१ लाख ४९ हजार ८०८ किलो खाद्यवस्तु आयात गरिएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १४ प्रतिशत बढी मूल्यका खाद्यान्न आयात भएको जानकारी दिनुभयो ।

चालु आवको पाँच महिनामा रु तीन अर्ब ८५ करोड मूल्यको धान र रु दुई अर्ब ९६ करोड मूल्यको मकै आयात भएको छ । त्यसैगरी रु एक अर्ब ३१ करोडको चामल र रु २५ करोडको माल्ट आयात भएको जनाइएको छ ।

‘गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा रहेको एकमात्र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सरकारसँगै निजी क्षेत्र पनि थप अग्रसर हुनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । उनीहरूले लुम्बिनी क्षेत्रको पर्यटन क्षेत्रमा राज्य तथा निजी क्षेत्रको अर्बौँ लगानी भएको र अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनले मात्र पर्यटकीय विकास सम्भव हुने बताएका छन् ।

रूपन्देही उद्योग सङ्घले सञ्चालन गरेको १६औँ औद्योगिक प्रदर्शनीका अवसरमा आज आयोजित पर्यटकीय प्रवेशद्वार र पूर्वाधार लुम्बिनी समृद्धिको आधार विषयक पर्यटन बहसमा सहभागी पर्यटन क्षेत्रका सरोकारवाला तथा विज्ञहरूले पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने सुझावसमेत दिएका छन् । उनीहरूले लुम्बिनी प्रदेशका पर्यटकीयस्थलबीचको सहज पहुँच र धार्मिक स्थानमा पर्यटकमैत्री वातावरण बनाउन पनि सुझाएका छन् ।

छलफलमा नियामक निकायका तर्फबाट लुम्बिनी प्रदेश सरकारअन्तर्गतको लुम्बिनी पर्यटन विकास परिषद्का अध्यक्ष रामु जोशीले प्रदेश सरकारले धार्मिक र पर्यटन क्षेत्र छुट्याएर योजना बनाएको बताउनुभयो । “प्रदेशले नीति बनाइरहेको, होमस्टेमा संस्कृति संरक्षणका कार्यक्रम र प्रवर्द्धन गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “लुम्बिनी, बर्दिया राष्ट्रिय निकुन्ज र पाल्पालाई हिलस्टेशनका रूपमा अघि सार्ने योजना बनाएका छौँ ।” उहाँले प्रदेशबाट ६३० वटा पर्यटकीय गन्तव्य लक्षित गरेर योजना बनाइए पनि बजेट अभावमा ठूला योजना अघि बढाउन नसकिएको बताउनुभयो ।

पर्यटन क्षेत्रका अध्येता संस्कृतिविद् डा गीतु गिरीले पर्यटन क्षेत्रमा ठूलो लगानी भए पनि ‘कनेक्टिभिटी’ नभएकाले यसमा ध्यान दिन आग्रह गर्नुभयो । “अर्बौँ लगानी गरेर संरचना बनायौँ तर ‘कनेक्टिभिटी’ नभएकाले त्यो चलायमान बनाउन सकिएन, निजी क्षेत्रबाट पनि योजनाबद्ध काम भएनन्, लुम्बिनीकै विकासलाई बलियो बनाउन सकेनौँ”, उहाँले भन्नुभयो, “छिमेकी मुलुकका पर्यटकलाई पनि अन्य देशहरूका पर्यटकलाई जस्तै सम्मान गरौँ, त्यसको सन्देश राम्रो जान्छ । सरकारको पर्यटन नीति बन्न सकेन, बनेका पनि कार्यान्वयन भएन, लुम्बिनीमा रहेका ४२ भन्दा धेरै सम्पदा छन् पर्यटकलाई त्यो दिन सकेनौँ, बलियो स्टोरी दिन सकेनौँ ।”

पर्यटन व्यवसायी सिपी शर्माले पर्यटक टिकाउन किन सकेनौँ त भन्ने विषयमा सरकारले मात्र होइन अब निजी क्षेत्रले पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले लुम्बिनीमा रहेका गुम्बाहरूमा विभिन्न देशबाट आउने पर्यटक राखिएकाले बाहिरी क्षेत्र चलायमान हुन नसकेको बताउनुभयो । उहाँले भैरहवाको अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको साढे तीन वर्षमा पनि सञ्चालनमा आउन नसक्नु, सीमा क्षेत्रमा पर्यटकले पाउने समस्याजस्ता विषयमा सरकारी क्षेत्रलाई सुधार्न दबाब दिँदै निजी क्षेत्रले पनि हातेमालो गर्नुपर्ने सुझाव दिनुभयो ।

पर्यटन व्यवसायी तथा मणिमुकुन्द सेन उद्यानका अध्यक्ष माधव नेपालले वन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म पर्यटन क्षेत्रमा कुनै सुधार नआउने तर्क गर्दै यो क्षेत्रका विषयमा बढी हल्ला र काम कमी भएकाले चाहेजस्तो नजिता नआएको बताउनुभयो ।

“सधैँ चर्चामात्र भयो अब एक्सनमा जाऔँ, वन ऐन र पर्यटन ऐन संशोधन नभएसम्म अहिलेको अवस्था चलायमान हुन सक्दैन, एउटा प्रोजेक्ट चलाउन १० वर्ष अड्काउने शैलीले काम रोकिएका छन्, सरकारी निकायबाटै एकले अर्को कानुन बाझिँदा समस्या भयो”, उहाँले भन्नुभयो, “पार्क र फूलबारी सबैलाई चाहियो तर त्यो बनाउने नीति नै भएन । भएका सम्पदामा कति काम भयो र भएका संरचनाबाटै काम नभएकाले समस्या छ ।”

बुटवल हिलपार्क परिषद्का अध्यक्ष टङ्कप्रसाद पराजुलीले बुटवलको जितगढी युद्ध सङ्ग्राहलय बनाउन रु सात करोड लगानीमा भए पनि अहिलेसम्म प्रयोगमा नआएको बताउनुभयो । होटल व्यवसायी सङ्घ रूपन्देहीका अध्यक्ष माधव खनालले पर्यटनमैत्री र लगानीमैत्री वातावरण नभएकाले पर्यटन क्षेत्र अस्थिर भएको बताउँदै यसका लागि राजनीतिक स्थायित्व आवश्यक पर्ने स्पष्ट पार्नुभयो ।

प्रध्यापक डा बाबुराम ज्ञवालीले उद्योगको हिसाबले पर्यटन क्षेत्रमा काम नभएको तथ्य प्रस्तुत गर्नुभयो । पर्यटन क्षेत्रमा अध्ययनरत विद्यार्थी सुदीप पाण्डेले हिजोको कमजोरी भनेर अब हुँदैन नयाँ पिँढीलाई अपनत्व हुनेगरी योजना दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा टिप्पणीकर्ता पर्यटन क्षेत्रका अध्येता युवराज कँडेलले नीतिको कमी र बजेटको समस्याले पर्यटन क्षेत्रको विकास हुन नसकेको तर्क गर्नुभयो । उहाँले आन्तरिक पर्यटन बढाउन स्थानीय पाठ्यक्रममै पर्यटनका क्षेत्रलाई राख्नुपर्ने, सांस्कृतिक विविधता देखाउनु आवश्यक रहेको बताउनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख डा श्रीप्रसाद भट्टराईले नीति बनाउने निकायलाई यस्ता कार्यक्रममा सहभागी बनाउनुपर्ने बताउँदै विश्वविद्यालयमा विद्यागत छलफल गराउने योजना बनाउनुपर्नेमा जोड दिनुभयो । पत्रकार महासङ्घ अध्यक्ष दिनेश पाण्डेले लुम्बिनी विकासको बाधक त्यही कोष भएको आरोप लगाउँदै निजी क्षेत्रले पनि त्यसको वातावरण बनाउन नसकेको टिप्पणी गर्नुभयो ।

‘स्वार्थ त्यागेर देश र जनताको काम गर्नुपर्छ’ – नारायणमान बिजुक्छें

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशका राजनीतिक दलहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल क्रान्तिकारी युवा सङ्घ चाँगुनारायण नगर समितिले आज नगरकोटमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले पार्टी कार्यकर्ताहरूले मनबाटै सेवा गर्ने वाचा गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले देखावटी, बनावटी र प्रचारमुखी राजनीतिभित्र स्वार्थ लुक्ने टिप्पणी गर्दै देशका आम युवाले राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषयमा गहन जानकारी राख्दै देशका लागि जुट्नुपर्ने आवश्यकता बताउनुभयो ।

नेमकिपा अध्यक्ष बिजुक्छेँले नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी जस्ता मुख्यधारका दलहरूले देश र जनताको हितलाई उच्च प्राथमिकता राखेर अगाडि बढ्नुपर्ने बताउँदै नयाँ पुस्तालाई प्रयोग गरेर देश विरुद्ध लाग्ने तत्व सक्रिय हुन सक्नेतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभयो ।

उहाँले देशका विभिन्न स्थानमा सक्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले साम्राज्यवादलाई बलियो बनाउने कार्य गरिरहेको आरोप लगाउँदै यस्ता संस्था निषेध गर्नुपर्ने बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले सचिव सुवालले नेपाली राजनीतिक इतिहासबारे जानकारी गराउँदै विदेशी हस्तक्षेप विरुद्ध स्पष्ट दृष्टिकोण बनाएर देश र जनताको हित सुरक्षित गर्न सबै दल लाग्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक छ – वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौँ – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज भइसकेको अवस्थामा केही स्वास्थ्य संस्थाहरुले उक्त निर्णय अस्वीकार गर्दै सेवा बन्द गर्ने, कामदारलाई अन्योलमा पार्ने तथा अनावश्यक दुःख दिने कार्य आपत्तिजनक, गैरजिम्मेवारपूर्ण र श्रमिक विरोधी भएको जनाउँदै सङ्घको धारणा स्पष्ट पारेको छ ।

आज प्रेस विज्ञप्ति जारी गर्दै सङ्घले स्वास्थ्य संस्थाहरुको यस्तो व्यवहारले श्रमिकहरूको अधिकार, समय, आर्थिक अवस्था तथा मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर परिरहेको जनाएको छ । स्वास्थ्य संस्थाहरूले उत्प्रेषण आदेश तथा परमादेशको माग गर्दै उच्च अदालतमा रिट दायर गरेको विषयमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रमिक तथा व्यवसायी दुवैको प्रत्यक्ष सरोकार रहने भएकाले, सङ्घको तर्फबाट उक्त मुद्दामा सहभागी हुने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विसं २०८२ पुस ४ गतेको गरेको मन्त्रीस्तरीय निर्णयअनुसार स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि खारेज भइसकेको छ । सङ्घले हालै वैदेशिक रोजगार क्षेत्रमा देखिएका चिन्ताजनक घटनाक्रमप्रति गहिरो ध्यानाकर्षण गराएको सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताउनुभयो ।

रक्षा खर्च बढाउँदै जापान, आर्थिक वर्ष २०२६ मा ऐतिहासिक वृद्धि

जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रस्तावित रक्षा बजेट नौ खर्ब चार अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।

यो रकम चालु आर्थिक वर्ष सन् २०२५ का लागि तोकिएको आठ खर्ब ७० अर्ब येनको प्रारम्भिक रक्षा बजेटभन्दा बढी हो । प्रस्तावित बजेट सन् २०२३ देखि २०२७ सम्मको अवधिमा करिब ४३ खर्ब येन रक्षा क्षेत्रमा खर्च गर्ने जापानको दीर्घकालीन योजनाअनुसार तय गरिएको हो ।

बजेटअनुसार तटीय सुरक्षा मजबुत बनाउन ‘शिल्ड’ नामक तहबद्ध रक्षा प्रणाली निर्माणका लागि १०० अर्ब १० करोड येन विनियोजन गरिएको छ । यस प्रणालीका लागि हवाई, समुद्री सतह तथा पानीमुनि प्रयोग हुने विभिन्न प्रकारका सवारी साधन आवश्यक पर्ने जनाइएको छ । साथै, हवाई क्षेत्र उल्लङ्घनको निगरानी गर्न लामो समयसम्म उड्न सक्ने मानवरहित यान प्रयोगको सम्भावना अध्ययन गर्न एक अर्ब १० करोड येन छुट्याइएको छ ।

यसैबीच, गत अप्रिल १ गते स्वीकृत चालु आर्थिक वर्षको १८ खर्ब ३० अर्ब येनको पूरक बजेटमा सुरक्षा र कूटनीतिका लागि एक खर्ब ७० अर्ब येन समावेश गरिएको छ । यसले जापानलाई रक्षा सम्बन्धी खर्चलाई कुल राष्ट्रिय उत्पादनको दुई प्रतिशत पुर्‍याउने लक्ष्य आर्थिक वर्ष २०२५ भित्रै हासिल गर्न सहयोग पुग्ने बताइएको छ, जुन पहिले तय गरिएको समयभन्दा दुई वर्ष अगावै हो ।

दशकौँसम्म जापानले रक्षा बजेटलाई कुल राष्ट्रिय उत्पादनको करिब एक प्रतिशत, अर्थात् झन्डै ५ खर्ब येनमा सीमित राख्दै आएको थियो ।

तर व्यापक जनविरोधका बाबजुद जापान सरकारले सन् २०२२ मा आर्थिक वर्ष २०२७ सम्म रक्षा सम्बन्धी खर्चलाई क्रमशः कुल राष्ट्रिय उत्पादनको दुई प्रतिशतसम्म पुर्‍याउने लक्ष्य तय गरेको थियो ।

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ – नवनियुक्त मन्त्री शर्मा

काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज पदबहालीका क्रममा उहाँले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गर्नुभयो । मन्त्री शर्माले भन्नुभयो, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ । सहकार्य गर्दै अगाडि बढ्ने वातावरण सिर्जना गर्न सकिन्छ भन्ने मलाई आशा छ ।”

नवनियुक्त परराष्ट्रमन्त्री शर्माले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री सुशीला कार्कीले शर्मालाई आजै परराष्ट्रमन्त्रीमा नियुक्त गर्नुभएको हो । मन्त्रिपरिषद् विस्तारसँगै कार्की नेतृत्वको सरकार १५ सदस्यीय भएको छ ।

भयरहित वातावरणमा निष्पक्ष चुनाव अहिले जनताले माग गरेका छन् – संयोजक दाहाल

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नरहेको बताएका छन् ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संसद् पुनस्र्थापनाको पछाडि नलाग्न आग्रह गर्दै भयरहित वातावरणमा निष्पक्ष चुनाव अहिले जनताले माग गरेकाले राजनीतिक दलहरू त्यसका लागि तयार हुनुपर्ने बताए ।

कम्युनिष्टले मात्र देश विकास तथा जनताको पक्षमा काम गर्न सक्ने भएकाले कम्युनिष्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको उल्लेख गरे। पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा गरी देशमा विद्यमान सङ्कटको समाधान गर्न समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको स्पष्ट पारे ।

पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै नेपाली कम्युनिष्ट पार्टीको राजनीतिक दर्शनमा समाजवादी कार्यक्रम प्रष्ट रहेकाले जनताको भरोसा तथा विश्वास बढेको बताए ।

विचार, सिद्धान्त मिलेका दलहरू एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने जानकारी दिँदै राजनीतिक दलहरूको परीक्षा सुरु भएकाले पार्टीलाई बलियो बनाउन सङ्गठन सुदृढीकरणमा जोड दिए।

रघुगङ्गाको दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली

म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ दुवारीमा केन्द्रीय प्रशारण लाइनको बिजुली पुगेको छ । दुवारी भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रम अन्तर्गत दुवारी, ढाँड र पात्लेखर्कमा वितरण लाइन विस्तार र ट्रान्सफर्मर चार्ज भएको हो । मुख्य, शाखा लाइनको पोल गाड्ने, ११ केभी क्षमताको तार तान्ने र ५० केभीए क्षमताको ट्रान्सफर्मर जडान गर्ने काम सकिएको नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताउनुभयो ।

प्रशारण लाइनको परीक्षण र ट्रान्सफर्मरको चार्ज गरिएको उहाँले बताउनुभयो । मिटरबक्स जडान र वायरिङ सकिएपछि घरघरमा केन्द्रीय लाइनको बिजुली बल्नेछ । दुवारी, ढाँड र पात्लेखर्कमा ९० घरपरिवारको बसोबास छ ।

वडाध्यक्ष गमान छन्त्यालका अनुसार यहाँका बासिन्दा हाल लघु जलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन् । म्याग्दीका १४ स्थानका दुई हजार १८३ घरधुरीमा राष्ट्रिय प्रशारण लाइनको विद्युत् सुविधा विस्तारका लागि प्राधिकरणले आर्थिक वर्ष २०८०÷८१ देखि रु २२ करोड बजेटको योजना सञ्चालन गरेको छ ।

यस योजना मार्फत यसअघि मालिका गाउँपालिका–१ निस्कोट, २ रुम, ३ डाडागाउँ, पात्ले, वडा नं–४ ओखरबोटका छ सय, च्युरीबोटका करिब १००, धवलागिरि गाउँपालिकाको मलम्पारका १५० र बुलका ४५ घरमा विद्युतीकरण भइसकेको छ ।

तीन सय ७० घरपरिवारको बसोबास रहेको लुलाङमा गत जेठ, १५० घरपरिवारको बसोबास रहेको मल्कवाङ र १५० घरपरिवारको बसोबास भएको महभिरमा गत मङ्सिर महिनामा ट्रान्सफर्मर चार्ज भइसकेको छ ।

यो ठेक्कामार्फत धवलागिरी गाउँपालिका–१ को गुर्जाबाहेकका बस्तीहरूमा केन्द्रीय विद्युत् सुविधा पुुग्ने म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन) ले बताउनुभयो । धवलागिरि गाउँपालिका–४ खिवाङ, चेचुङ, नाउरा, बगर, सिम्कोश र नेरवाङमा विद्युत् विस्तारको काम थाल्न निर्माण व्यवसायीलाई निर्देशन दिएको उहाँले बताउनुभयो ।

राजनीतिमा धैर्यता र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा (बाँके) – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्यता र समर्पण नभए दुर्घटना निम्तिने बताउनुभएको छ ।

नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने उल्लेख गर्नुभयो ।

“राजनीतिमा धैर्यता र समर्पण चाहिन्छ, हतार गरे दुर्घटना हुन्छ”, उहाँले भन्नुभयो, “युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्छ ।” विषयगत ज्ञानसहितको नयाँपुस्ताले राष्ट्रलाई सही दिशा प्रदान गर्न सक्ने भएकाले सचेत युवाहरू राजनीतिमा अगाडि आउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेकपा (एमाले) युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गर्नुभयो । तीन पुस्ता संयोजनको मान्यतालाई एमालेले व्यवहारमा लागू गरेको उल्लेख गर्दै महासचिव पोखरेलले भन्नुभयो, “राष्ट्र निर्माण गर्ने कुरामा निरास हुनुपर्दैन, युवाको भविष्यलाई एमालेले सुरक्षित गरेको छ ।”

उहाँले राष्ट्रिय वाणिज्य बैंकमा आबद्ध कर्मचारी नेताहरूलाई अहिले सेवा गरी भविष्यमा उद्यमशीलतामा जोडिएर राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गर्नुभयो । महाधिवेशनमा देशभरका आठ सय प्रतिनिधिको सहभागिता रहेको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

चीनद्वारा इन्टरनेट उपग्रह प्रक्षेपण

चीनले शुक्रबार दक्षिणी टापु प्रान्त हाइनानबाट ‘लङ मार्च–८ए’ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरी इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको एक समूहलाई अन्तरिक्षमा पठाएको छ।

लङ मार्च–८ए चीनद्वारा विकास गरिएको आधुनिक रकेट हो, जसको मुख्य उद्देश्य उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु हो । यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ र विशेष गरी पृथ्वी कक्षमा इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रह प्रक्षेपणका लागि प्रयोग गरिन्छ । उच्च सटीकता, विश्वसनीयता र व्यावसायिक तथा सरकारी दुवै प्रयोजनका लागि उपयुक्त क्षमताका कारण लङ मार्च–८ए चीनको अन्तरिक्ष कार्यक्रमको महत्वपूर्ण हिस्सा बनेको छ ।

बिहान ७ बजेर २६ मिनेटमा हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट उडेको रकेटले न्यून पृथ्वी कक्षामा रहेका इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापित गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

यस सफल प्रक्षेपणले चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०८२ का बारेमा जानकारी दिन निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना गरेको छ ।

आयोगमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केन्द्रको उद्घाटन गर्नुभएको हो । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय बनाउन सूचना तथा सन्देश सार्वजनिक गर्न केन्द्र स्थापना गरेको जानकारी गराइएको हो ।

केन्द्रमा समन्वयात्मक रूपमा कार्य गर्नेगरी निर्वाचन सूचना तथा सञ्चार केन्द्र, सूचना सदाचार प्रवर्द्धन एकाइ र विद्युतीय मतदाता शिक्षा एकाई गरी तीन वटा एकाइ रहेको जानकारी गराइयो । आयोगले आजैदेखि पत्रकारलाई निर्वाचनसम्बन्धी साप्ताहिक रूपमा जानकारी दिनेगरी पत्रकार सम्मेलन सुरु गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी एवं विश्वासनीय बनाउन तथ्यपरक र आधिकारिक सूचनाको प्रभावकारी सम्प्रेषण गरिनुपर्ने बताउनुभयो । यसका लागि केन्द्रको स्थापना गरिएको उहाँले बताउनुभयो ।

निर्वाचनका क्रममा सामाजिक सञ्जालमा हुने मिथ्या सूचना, दुष्प्रचार एवं द्वेषपूर्ण अभिव्यक्तिलाई रोक्न र आयोगका सूचना निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षासम्बन्धी सचेतनामूलक सामग्री सम्प्रेषण गर्न केन्द्रले काम गर्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो । आयोगका गतिविधि र सूचनालाई तत्काल एवं सही रूपमा प्रवाहका लागि विज्ञसहितको संयन्त्र खडा गरिएको बताउनुहुँदै उहाँले सञ्चारमाध्यमले स्वनियमन र स्वनियन्त्रणको मान्यतलाई ध्यान दिएर स्वच्छ निर्वाचन गराउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणा भएपछिदेखि हालसम्म आयोगले गरेका मुख्यमुख्य काम र निर्वाचन पूर्वतयारीका सम्बन्धमा प्रस्तति गर्दै यसअघिको निर्वाचनपछि मौज्दात रहेका सामग्री प्रयोग गरेर बाँकी मात्र खरिद गर्न लागिएको जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालयका १५ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौँ – गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो ।

गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ । नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

गृहका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराज प्रसाईंलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङ र मदन कोइरालालाई कञ्चनपुरको प्रजिअमा पदस्थापन गरिएको छ ।

पर्वतका प्रजिअ हरिप्रसाद घिमिरेलाई दोलखा, तनहुँका प्रजिअ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक, भोजपुरका प्रजिअ शिवलाल तिवारीलाई तनहुँ, कञ्चनपुरका प्रजिअ लक्ष्मण ढकाललाई इलाम र प्यूठानका प्रजिअ दीपकराज नेपाललाई नवलपरासी पश्चिममको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

तेह्रथुमका प्रजिअ प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको प्रजिअ र बन्दना राईलाई तेह्रथुमको प्रजिअमा सरुवा गरिएको छ ।

अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग

दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४ मा मार्सल ल लागू गर्ने असफल प्रयास तथा पदमा रहँदा उत्पन्न भएका अन्य गम्भीर आरोपहरूसम्बन्धी सात आपराधिक मुद्दामध्ये पहिलोमा स्वतन्त्र अभियोजनकर्ताले शुक्रबार १० वर्षको जेल सजाय माग गरेका छन् ।

यो पहिलो मुद्दामा युनमाथि अनुसन्धान र हिरासतमा लिन खोज्ने अधिकारीहरूको आदेशको अवज्ञा गरेकोलगायतका आरोप लगाइएका छन् । युनले सबै आरोप अस्वीकार गर्नुभएको छ भने उहाँका कानूनी प्रतिनिधिहरूले हिरासतसम्बन्धी वारेन्ट नै अवैध र गैरकानूनी भएको दाबी गर्दै आएका छन् । अदालतले आगामी महिनाको सुरुआतमा यस मुद्दामा फैसला सुनाउने अपेक्षा गरिएको छ ।

युनले यसबाहेक भ्रष्टाचार, व्यापारिक स्वार्थलाई संरक्षण गरेको र विद्रोहजस्ता गम्भीर अभियोगहरूमा समेत छुट्टाछुट्टै मुद्दा भोगिरहनुभएको छ । विद्रोहसम्बन्धी अभियोगमा आजीवन कारावास वा मृत्युदण्डसम्मको सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको छ र उक्त मुद्दा पनि अन्तिम चरणतर्फ अघि बढिरहेको बताइएको छ ।

युनद्वारा गरिएको मार्सल ल घोषणाले सशस्त्र सेनालाई सियोलका सडकमा उतारेको थियो, जसले दक्षिण कोरियामा दशकौँयताकै सबैभन्दा गम्भीर राजनीतिक सङ्कट सिर्जना गरेको मानिन्छ । यद्यपि, सांसदहरू राष्ट्रिय सभामा प्रवेश गर्न सफल भई उहाँको आदेश खारेज गर्ने पक्षमा मतदान गरेकाले मार्सल ल केही घण्टामै समाप्त भयो । त्यसपछि विपक्षी दलको नियन्त्रणमा रहेको संसद्ले डिसेम्बर २०२४ मा युनलाई महाभियोग लगाएको थियो र अप्रिल २०२५ मा संवैधानिक अदालतको फैसलासँगै उहाँ औपचारिक रूपमा राष्ट्रपतिको पदबाट बर्खास्त हुनुभएको थियो ।

शुक्रबार स्वतन्त्र विशेष सल्लाहकार चो युन–सुकको टोलीले सियोल केन्द्रीय जिल्ला अदालतसमक्ष युनलाई आधिकारिक कर्तव्यमा बाधा पुर्‍याएको, शक्तिको दुरुपयोग गरेको, सरकारी कागजातहरू झूटो बनाएको र प्रमाण नष्ट गरेको आरोपमा १० वर्षको जेल सजाय दिन माग प्रस्तुत गरेको हो ।

महाभियोगपछि युन आफ्नो निजी निवासमै लुकेर बसेको र हप्तौँसम्म उहाँलाई हिरासतमा लिन जारी गरिएको वारेन्ट कार्यान्वयन गर्न खोज्ने अधिकारीहरूको प्रयासमा अवरोध पु¥याएको अभियोजन पक्षको भनाइ छ । यस अवस्थाले राष्ट्रपति सुरक्षा सेवा र हिरासतमा लिन खटिएका अधिकारीहरूबीच शारीरिक झडप हुन सक्ने चिन्ता पैदा गरेको थियो र यसले देशभित्रको राजनीतिक विभाजनलाई थप गहिरो बनाएको बताइएको छ ।

चो सल्लाहकारको टोलीका वरिष्ठ अन्वेषक पार्क इको–सूले शुक्रबारको सुनुवाइमा युनको व्यवहारलाई ‘आधिकारिक कर्तव्यको अभूतपूर्व अवरोध’ भनेर वर्णन गर्नुभएको छ ।

अभियोगअनुसार युनले मार्सल ल घोषणा गर्नुअघि कानूनले अनिवार्य गरेको पूर्ण मन्त्रिपरिषद् बैठक नगरेको, मार्सल लसम्बन्धी कागजातहरू तयार पारेको र उक्त प्रक्रिया कार्यान्वयनमा संलग्न व्यक्तिहरूले प्रयोग गरेका मोबाइल फोनहरूबाट डाटा मेटाउन आदेश दिएको आरोप पनि खेपिरहनुभएको छ ।

युनले यी सबै आरोप अस्वीकार गर्दै मार्सल ल घोषणा मुख्य विपक्षी डेमोक्रेटिक पार्टीविरुद्धको आफ्नो राजनीतिक सङ्घर्षमा जनसमर्थन जुटाउने उद्देश्यले गरिएको दाबी गर्नुभएको छ । उहाँका अनुसार उक्त पार्टीले उहाँका नजिकका अधिकारीहरूलाई महाभियोग लगाएर सरकारको एजेन्डामा निरन्तर अवरोध सिर्जना गरिरहेको थियो ।

गत हप्ता छ महिनाको गहन अनुसन्धानपछि चो सल्लाहकारको टोलीले युनले एक वर्षभन्दा बढी समयदेखि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने र सत्तामा एकाधिकार कायम गर्ने उद्देश्यले मार्सल ल लागू गर्ने षड्यन्त्र रचेको निष्कर्ष सार्वजनिक गरेको थियो ।

युनमाथि उत्तर कोरियातर्फ ड्रोन उडानको आदेश दिई जानाजानी तनाव बढाएको, आफ्ना प्रधानमन्त्रीसम्बन्धी मुद्दालाई ढाकछोप गर्न मार्सल ल घोषणा गर्ने योजना बनाएको र अदालतमा झुटो गवाही दिएको आरोप पनि लगाइएको छ । यसका साथै, सन् २०२३ मा भएको एक समुद्री डुबानसम्बन्धी अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको र राजनीतिक समर्थनको बदलामा निर्वाचन दलालमार्फत स्वतन्त्र जनमत सर्वेक्षण प्राप्त गरेको अभियोग पनि उहाँमाथि लागेको छ ।

युनले ड्रोन उडानबारे आफूलाई जानकारी नभएको र प्रभाव–तस्करीसम्बन्धी काण्डमा कुनै गलत काम नगरेको स्पष्ट पार्दै आउनुभएको छ ।

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर (काठमाडौँ) – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताउनुभएको छ ।

निजी विद्यालयका शिक्षक र कर्मचारीको सङ्गठन नेपाल अध्यापक सङ्घको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गर्नुभयो ।

“अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो, “महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ ।”

सङ्घको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ । यसअनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्ताैला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र गौतम र उपमहासचिवमा सुजाता कार्की र देवकान्त यादव निर्वाचित हुनुभएको छ ।

सङ्घको स्थापना २०७९ साउनमा कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा भएको थियो । निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।

चीनको ऊर्जा क्षेत्रमा वृद्धि, सौर्य ऊर्जामा मुख्य योगदान

चीनको विद्युत् उत्पादन क्षमता नोभेम्बर महिनासम्म तीन अर्ब ७९ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.१ प्रतिशतले बढी हो ।

राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार, यस वृद्धिमा सौर्य ऊर्जाले सबैभन्दा ठूलो योगदान पु¥याएको छ । सौर्य ऊर्जाको क्षमता ४१.९ प्रतिशत बढेर एक अर्ब १६ करोड किलोवाट पुगेको छ भने हावाबाट उत्पादन ऊर्जाको क्षमता २२.४ प्रतिशतले वृद्धि भएर ६० करोड किलोवाटमा पुगेको छ ।

चीनले विश्वकै सबैभन्दा ठूलो हरित ऊर्जा प्रणाली र कार्बन कारोबार बजार स्थापना गरेको छ । १४औँ पंचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिमा, हरित ऊर्जाले चीनको कुल विद्युत् खपतको एक तिहाइ भाग पु¥याएको छ ।

देशले आगामी पाँच वर्षमा हरित रूपान्तरणलाई तीव्र बनाउने र ‘सुन्दर चीन’ निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।नोभेम्बरमा अघिल्लो वर्षको तुलनामा ६.२ प्रतिशतले वृद्धि भएको छ ।