`

उज्यालो बन्यो एबिसी पदमार्ग, बढ्दै छ पर्यटकको आकर्षण

कास्की। विश्वप्रख्यात अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकका लागि अब पदयात्रामा अझै सहज हुने भएको छ ।नेपाल विद्युत् प्राधिकरणले अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने अन्नपूर्ण गाउँपालिका वडा ११ झिनुडाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गरेसँगै यस क्षेत्र उज्यालो बनेको हो ।

कास्की जिल्लाका प्रमुख पदमार्गमा विद्युतीकरण गर्ने सरकारी योजनाअनुसार अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र झिनु डाडादेखि माथिल्लो सिनुवासम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । यससँगै वर्षौैँदेखि माइक्रो हाइड्रो र वैकल्पिक ऊर्जामा निर्भर स्थानीय बासिन्दा, होटल व्यवसायी र पर्यटकले अब भरपर्दो विद्युत् सेवा पाउने भएका छन् ।

यसबाट विशेष गरेर पर्यटन व्यवसायी औधी रमाएका छन् । अन्न्पूर्ण ११ झिनुमा विगत २० वर्षदेखि होटल व्यवसाय गर्दै आउनुभएका जगदीश गुरुङले भन्नुभयो “ यहाँ राष्ट्रिय प्रसारण लाइन विद्युत आउनु औधी खुसीको कुरा हो । अव यहाँको पर्यटन अझ प्रवद्र्धन हुने छ ।”उहाँका अनुसार झिनुडाडादेखि माथिल्लो सिनुवासम्म ठूला साना गरी ६० ÷७० होटल सञ्चालनमा आइसकेका छन् ।

अन्न्पूर्ण ११ छोम्रोङका मिकाश गुरुङले राष्ट्रिय प्रसारण लाइन विद्युत सेवाले पदयात्रीलाई समेत थप सहज बन्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि पदयात्रीले मोबाइल चार्जिङ, तातोपानी, इन्टरनेट तथा अन्य विद्युतीय सेवामा सहज पहुँच पाउने भएका छन् । होटल व्यवसायीका अनुसार अब पर्यटकलाई चौबिसै घण्टा विद्युत् सुविधा उपलब्ध गराउन सकिने भएकाले सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउनेछ ।

नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इन्जिनियर सजीवश्री रम्तेलका अनुसार घान्द्रुक बसपार्कबाट झिनु र छोम्रोङ हुँदै माथिल्लो सिनुवासम्म लाइन विस्तार गरी विद्युत् प्रवाह सुरु भइसकेको छ । उहाँले भन्नुभयो, “घान्द्रुक बसपार्कदेखि माथिल्लो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको थिएन । अहिले अपर सिनुवासम्म लाइन विस्तार गरी चार्जसमेत भइसकेको छ र स्थानीयले मिटर जडान गर्न थालेका छन् ।”

यस क्षेत्रमा विद्युतीकरणका लागि २०७९ सालमा पहिलोपटक बोलपत्र आह्वान गरिएको थियो । पहिलो बोलपत्रअनुसार छनोट भएको कम्पनीले सम्झौता नगरेपछि पुनः ठेक्का आह्वान गरिएको थियो । बीएनआर महालक्ष्मी जेभी, धनकुटाले लेवर कन्ट्रयाक्टबापत रु दुई करोड २१ लाखको लागतमा आयोजना सम्पन्न गरेको हो ।

दुर्गम हिमाली भूगोलका कारण आयोजना कार्यान्वयन चुनौतीपूर्ण बनेको थियो । विशेषगरी छोम्रोङभन्दा माथिल्लो क्षेत्रमा विद्युत् पोल र ट्रान्सफर्मर हेलिकप्टरमार्फत ढुवानी गरेर लाइन विस्तार गरिएको प्राधिकरणले जनाएको छ ।

“पदयात्रीलाई मोबाइल चार्ज गर्न, पानी तताउन र इन्टरनेट चलाउन समस्या हुन्थ्यो । राष्ट्रिय प्रसारण लाइन पुगेपछि ती समस्या धेरै हदसम्म समाधान भएका छन्”, इन्जिनियर रम्तेलले भन्नुभयो ।

प्राधिकरणले आगामी आर्थिक वर्षभित्रमा एबिसी पदमार्गमा पर्ने हिमालयसम्म राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने योजना बनाएको छ । सामग्री अभावका कारण हालका लागि काम रोकिए पनि आगामी वर्ष विस्तारलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ ।

स्थानीयवासीका अनुसार विद्युत् पहुँच विस्तारले पर्यटन व्यवसायमात्र नभई शिक्षा, स्वास्थ्य, सञ्चार तथा स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्नेछ । अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आधुनिक विद्युत् सुविधा विस्तारले अन्नपूर्ण पदमार्गको पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो । “पदयात्रीले अब यस क्षेत्रमा पदयात्रामा आउँदा समस्या भोग्नु पर्दैन, यसबाट सहज सञ्चार सुविधाका लागि सहयोग पुगेको छ”, गुरुङले भन्नुभयो ।

विश्वकै लोकप्रिय पदयात्रा गन्तव्यमध्ये एक अन्नपूर्ण आधार शिविर पदमार्गमा राष्ट्रिय प्रसारण लाइन पुगेपछि पर्यटकको बसाइमा तथा यात्रा थप सहज, सुरक्षित र गुणस्तरीय बन्ने अपेक्षा गरिएको छ । यसबाट थप पर्यटक आगमन वृद्धि हुने स्थानीयले विश्वास लिएका छन् ।

अन्नपूर्ण क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक

अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष अहिलेसम्मकै धेरै विदेशी पर्यटक भित्रिएका छन् । चालु आवको जेठसम्ममा चार लाख ४१ हजार ४२२ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । आव २०८१÷८२ मा जम्मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए । चालु आव सकिन अझै एक महिना बाँकी रहेकाले यस वर्ष पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

“गत जेठमा भारतसहित दक्षिण एसियाली देशका पर्यटकको सङ्ख्या झन्डै ३०० प्रतिशतले वृद्धि भयो”, उहाँले भन्नुभयो, “भारतीय पर्यटक यति ठूलो सङ्ख्यामा आएको यो पहिलोपटक हो ।” भारतमा पोखरा, मुक्तिनाथलगायत यस क्षेत्रका गन्तव्यस्थलको पर्यटन प्रवर्द्धन हुनु, यातायातको सहजता, सामाजिक सञ्जालमार्फत भइरहेको प्रचारप्रसार आदि कारणले भारतीय पर्यटक बढेको उहाँले बताउनुभयो । यस याममा गर्मी छल्न पनि भारतीय पर्यटक पोखरा र आसपासका गन्तव्यमा आउने गरेका छन् ।

आयोजना कार्यालयको आकडाअनुसार गत जेठसम्ममा भित्रिएका कुल पर्यटकमध्ये तीन लाख १९ हजार ४१९ दक्षिण एसियाली मुलुकका र एक लाख २१ हजार ९९३ अन्य मुलकका रहेका छन् । जेठमा मात्र एक लाख २७ हजार ४५९ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमेका हुन् । गत वर्ष जेठमा उक्त सङ्ख्या जम्मा ३१ हजार ९५५ मा सीमित थियो । यस वर्ष वैशाख–जेठमा पोखराका होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतसम्म पुगेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

मनसुन भित्रनुपूर्वको यो याममा पोखरामा भारतीय पर्यटकको सङ्ख्या बढ्ने गरेको उहाँको भनाइ छ । झरी परिरहने पोखरा गर्मी छल्ने गन्तव्यका रूपमा भारतीयहरूको रोजाइमा पर्ने गरेको छ । पोखरा आउने भारतीय पर्यटकमध्ये झन्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने अन्य मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेका छन् । पदयात्रा पर्यटनका लागि अन्नपूर्ण क्षेत्र विश्वप्रसिद्ध गन्तव्य मानिन्छ ।

अन्नपूर्ण चक्रीय पदमार्ग भएर पर्यटक अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार ६०० वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले प्रसिद्ध छ ।

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा समेटिएका छन् । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।

रास्वपाको कर्णाली प्रदेश सभापतिमा खड्का विजयी

कर्णाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ ।आज यहाँ सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पराजित गर्दै खड्का विजयी हुनुभएको हो ।

कुल खसेको ४०० मध्ये खड्काले २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । उहाँका प्रतिस्पर्धीद्वय उपाध्याय र बस्नेतले क्रमशः ६३ र ३५ मत प्राप्त गर्नुभयो ।

सभापतिमा पुनःनिर्वाचित हुनुभएका खड्का पार्टी स्थापनादेखि सङ्गठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गर्नुभएको थियो । उहाँ गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नं १ बाट उम्मेदवार हुनुहुन्थ्यो ।

रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ

भैरहवा। जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जेठ महिनाभर विभिन्न प्रकृतिका १८२ वटा मुद्दा दर्ता भएका छन् । सो अवधिमा विभिन्न अपराधमा संलग्न २४३ जना प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले ज्यानसम्बन्धी २३, आत्महत्या १४, चोरी नौ, सङ्गठित तथा आर्थिक अपराध ५९, सामाजिक अपराध ५२, महिला तथा बालबालिकासम्बन्धी १३ तथा सवारीसम्बन्धी १२ मुद्दा दर्ता भएको जानकारी दिनुभयो ।

फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत ४६ जनालाई पक्राउ गरी रु ५२ लाख ६६ हजार ४१२ जरिवाना असुल गरिएको तथा १६ वर्ष पाँच महिना २५ दिन बराबरको कैद सजाय कार्यान्वयन गरिएको उहाँले बताउनुभयो ।

महिला तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जेठ महिनामा घरेलु हिंसासम्बन्धी ९३ तथा झैझगडासम्बन्धी ७२ उजुरी प्राप्त भएको जनाइएको छ । तीमध्ये घरेलु हिंसाका ८३ वटा उजुरी मिलापत्रमार्फत समाधान गरिएको प्रहरीको भनाइ छ ।

हराएका व्यक्ति खोजतलास अभियानअन्तर्गत १०८ जनाको खोजीका लागि निवेदन प्राप्त भएकामा ६१ जनालाई फेला पारिएको तथा अघिल्लो अवधिदेखि खोजीमा रहेका नौ जनालाई समेत परिवारको सम्पर्कमा ल्याइएको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक आशीष विश्वकर्माका अनुसार जेठ महिनामा लागूऔषधसम्बन्धी १२ मुद्दा दर्ता भई १९ जना पक्राउ परेका छन् । प्रहरीले डाइजेपाम २५२ एम्पुल, फेनार्गन ५८ एम्पुल, बुप्रेनोर्फिन १४७ एम्पुल, ब्राउन सुगरजस्तो देखिने पदार्थ २१ ग्रामभन्दा बढी तथा गाँजा नौ किलो ९४४ ग्राम बरामद गरेको छ ।

यसैबीच, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट नक्कली नेपाली मुद्रा छाप्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट नक्कली नोट, कम्प्युटर, प्रिन्टर, मोबाइल फोन तथा अन्य उपकरण बरामद गरिएको र थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक विश्वकर्माले बताउनुभयो ।

शान्तिसुरक्षालाई प्रभावकारी बनाउन जेठ महिनामा ४९३ प्रहरी पिकेट, ५१० सवारी चेकिङ, ८६८ ग्रामीण गस्ती तथा अन्य विशेष सुरक्षा गतिविधि सञ्चालन गरिएको प्रहरीले जनाएको छ । यस अवधिमा आठ हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको थियो ।

सवारी दुर्घटना न्यूनीकरणका प्रयास जारी रहे पनि जेठ महिनामा जिल्लाभर १५८ सवारी दुर्घटना भएका छन् । दुर्घटनामा चार जनाको मृत्यु भएको तथा २५६ जना घाइते भएको प्रहरीले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने तीन हजार ५६६ सवारीसाधनलाई कारबाही गरी रु ५६ लाख तीन हजार राजस्व सङ्कलन गरिएको छ ।

भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण अभियानअन्तर्गत रु दुई करोड ४३ लाख ४० हजार १६६ बराबरका अवैध सामान नियन्त्रणमा लिइएको तथा २२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो क्रममा ४० वटा सवारीसाधनसमेत नियन्त्रणमा लिइएको थियो ।

प्राकृतिक स्रोत तथा सम्पदा संरक्षण अभियानअन्तर्गत ३१ सवारीसाधन नियन्त्रणमा लिनुका साथै अवैध रूपमा ओसारपसार गरिएका ५६४ कुखुरा, ९०० चल्ला तथा विभिन्न वन पैदावार बरामद गरिएको जनाइएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लागूऔषध दुव्र्यसन, साइबर अपराध, बालविवाह, घरेलु हिंसा, आत्महत्या रोकथाम, सडक सुरक्षा तथा मानव बेचबिखनविरुद्ध १५० भन्दा बढी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ । ती कार्यक्रममार्फत छ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।

नागरिक सहायता कक्षमार्फत एक हजार ६५ सेवाग्राहीलाई सेवा प्रदान गरिएको तथा हटलाइन र सम्पर्क नम्बरमा चार हजार ४८ फोन कल प्राप्त भएको प्रहरीको तथ्याङ्क छ । प्रहरी नायब उपरीक्षक चन्दले अपराध नियन्त्रण, अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै सुरक्षित समाज निर्माणमा नागरिकको सहयोग आवश्यक रहेको बताउनुभयो ।

अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल

लन्डन । संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति सम्झौतापछि स्ट्रेट अफ होर्मुज पुनःसञ्चालनमा आउने अपेक्षाले मङ्गलबार अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य तीन महिनायताकै न्यून स्तरमा झरेको छ ।अन्तरराष्ट्रिय बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य चार प्रतिशतले घटेर प्रतिव्यारेल ७९ दशमलव ८७ डलरमा पुगेको छ । तीन महिनायता ब्रेन्ट तेलको मूल्य पहिलो पटक ८० डलरभन्दा तल झरेको हो ।

यस्तै, अमेरिकी सूचक वेस्ट टेक्सास इन्टरमिडिएट कच्चा तेलको मूल्य चार दशमलव पाँच प्रतिशतले घटेर प्रतिव्यारेल ७७ दशमलव १६ डलरमा कायम भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा शुक्रबार अमेरिका र इरानबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि स्टे«ट अफ हर्मुज पूर्ण रूपमा खुल्ने बताउनुभयो ।

फेब्रुअरीको अन्त्यतिर सुरु भएको अमेरिकी तथा इजरायली आक्रमणको प्रतिक्रियास्वरूप इरानले उक्त महत्वपूर्ण जलमार्गमा ट्याङ्कर आवतजावत प्रभावकारी रूपमा अवरुद्ध गरेको थियो । यसले विश्व बजारमा तेल तथा ग्यास आपूर्तिमा दबाब सिर्जना गर्दै कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो ।

ब्रोकर कम्पनी ट्रेड नेसनका वरिष्ठ बजार विश्लेषक डेभिड मोरिसनका अनुसार स्टे«ट अफ हर्मुज पुनःसञ्चालनमा आउनु कुनै पनि शान्ति सम्झौताबाट प्राप्त हुने सबैभन्दा तत्काल र सकारात्मक परिणाममध्ये एक हो । उहाँले भन्नुभयो “इरानले स्टे«ट अफ हर्मुज प्रयोग गर्ने जहाजमा कर लगाउने चेतावनी दिए पनि तेल बजारका सहभागीले आपूर्ति अवस्था क्रमशः सहज बन्दै गएको संकेत देखिरहेका छन् ।”विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने स्टे«ट अफ हर्मुज पुनःखुल्ने सम्भावनाले बजारमा आपूर्ति अवरोधको चिन्ता कम भएको र त्यसकै प्रभावस्वरूप तेलको मूल्यमा गिरावट आएको विश्लेषकको भनाइ छ ।

पहाडी भूभागमा बादल लाग्ने, तराईका केही स्थानमा तातो दिन हुने

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।यसैगरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

त्यसैगरी आज राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेका महाशाखाले जनाएको छ ।

अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै

तेहरान। अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव तथा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको समझदारीमा डिजिटल हस्ताक्षर भएपछि दुवै पक्षले यसलाई आफ्नो कूटनीतिक सफलता भएको बताएका छन् । सम्झौताको पूर्ण विवरण सार्वजनिक नभएकाले विभिन्न महत्वपूर्ण विषयमा दुवै पक्षका धारणा अझै फरक देखिएका छन् ।

इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य सञ्चारमाध्यममार्फत सम्बोधन गर्दै इरानले आफ्नो राष्ट्रिय हितको रक्षा गर्न सफल भएको दाबी गर्नुभयो । त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताले मध्यपूर्वमा स्थिरता कायम गर्न तथा विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

दुवै पक्षले स्टेट अफ हर्मुज सञ्चालनमा ल्याउने तथा सैन्य गतिविधि रोक्ने सहमति भएको बताएका छन् । तर जहाज आवागमनसम्बन्धी शुल्कका विषयमा स्पष्ट सहमति सार्वजनिक भएको छैन ।अमेरिकी पक्षले जलमार्ग निःशुल्क रहने जनाएको छ भने इरानी सञ्चारमाध्यमले निश्चित अवधिपछि सुरक्षा तथा अन्य सेवाबापत शुल्क लाग्न सक्ने उल्लेख गरेका छन् ।

युद्धविरामको घोषणा भए पनि दक्षिणी लेबनानमा इजरायली सेनाको उपस्थितिबारे दुवै पक्षको धारणा फरक देखिएको छ ।इरानले लेबनानमा स्थायी शान्ति स्थापना सम्झौताको महत्वपूर्ण अंश रहेको जनाएको छ । तर अमेरिकी अधिकारीले इजरायली सेनाको फिर्ती सम्झौताको अनिवार्य शर्त नभएको बताएका छन् ।

यसैगरी दुवै पक्षले इरानले आणविक हतियार विकास नगर्ने प्रतिबद्धता जनाएको स्वीकार गरेका छन् । तथापि, उच्चस्तरमा संवर्धित युरेनियमको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सहमति अझै स्पष्ट हुन सकेको छैन ।

इरानले युरेनियमको व्यवस्थापन आफ्नै भूमिमा गर्नुपर्ने अडान राखेको छ भने अमेरिकी पक्षले यस विषयमा थप प्राविधिक छलफल आवश्यक रहेको जनाएको छ ।

इरानी पक्षले रोकिएका सम्पत्ति फुकुवा हुने तथा पुनःनिर्माणका लागि सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ । तर अमेरिकी पक्षले कुनै पनि आर्थिक सुविधा इरानले आफ्ना दायित्व पूरा गरेपछि मात्र उपलब्ध गराइने स्पष्ट पारेको छ ।

सम्झौतापछि आगामी ६० दिनसम्म प्राविधिक तथा विस्तृत वार्ता सञ्चालन हुने जनाइएको छ । विश्लेषकका अनुसार यस समझदारीले तत्काल तनाव कम गर्न सकारात्मक भूमिका निर्वाह गर्न सक्छ । तर दीर्घकालीन शान्ति र स्थायित्वका लागि अझै विस्तृत संवाद, स्पष्ट कार्यान्वयन योजना तथा आपसी विश्वास आवश्यक रहने देखिन्छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ०९ पैसा र बिक्रीदर १९० रुपैयाँ ८५ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १०८ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २३ पैसा र बिक्रीदर २२ रुपैयाँ ४४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४१ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०२ पैसा र बिक्रीदर १० रुपैयाँ ०६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४५ पैसा र बिक्रीदर २३ रुपैयाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर ४०० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ, ३ असारः फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए ।

खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए ।दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका लागि सान्त्वना गोल इब्राहिम एम्बायेले गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । यद्यपि त्यसको अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३–१ मा पु¥याए ।

समूह ‘आई’ अन्तर्गत आजै नर्वे र इराक (नेपाली समय ३ः४५ बजे) भिड्दैछन् । साथै समूह ‘जे’अन्तर्गत अर्जेन्टिना र अल्जेरिया (नेपाली समय ६ः४५) तथा अष्ट्रिया र जोर्डन (नेपाली समय ९ः४५) भिड्दैछन् ।

गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित आठ जनाविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्षसमेत आठ जना र भागरथी निर्माण सेवाका सञ्चालक विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्थानीय ठूलीगाड र कापडीगाडको बगर क्षेत्रबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी राजश्व रकम संकलन नगरी हानीनोक्सानी गरेको आरोपमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले बडीकेदार गाउँपालिका डोटीका अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी, लेखापाल युवराज भट्ट, गाउँपालिकाका तत्कालीन शिक्षा अधिकृत विवेक देउवा र सवइञ्जिनियर दानबहादुर पछेरा, भागीरथी निर्माण सेवा कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशवबहादुर बम विरुद्ध रु १४ लाख १० हजार २४० बराबरको बिगो र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही गाउँपालिकाले एक्स्काभेटर भाडामा दिने ठेक्कामा राजश्व रकम संकलन नगरी हानी नोक्सानी पुर्‍याएको अभियोगमा बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपकराज जैशी विरुद्ध मुद्दा दायर गरिएको छ ।

यस्तै, लेखापाल, युवराज भट्ट, गाउँपालिकका सबइञ्जिनियर दानबहादुर पछेरा र भागरथी निर्माण सेवा धनगढी कैलालीका सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यीक्त केशवबहादुर बम विरुद्ध समान रु ४६ लाख ९५ हजार ६०० बराबरको बिगो र कैद सजायको माग गर्दै आजै अर्को मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह

ललितपुर। ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनलाई दुई कार्यकालको अनुभवका आधारमा आगामी वर्षको नीति तथा कार्यक्रममा १० वर्षको महानगर गुरुयोजना समेट्न ललितपुर महानगरलाई सांसदहरूले आग्रह गरेका छन् ।

ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम तर्जुमा सम्बन्धमा सङ्घीय संसद् र प्रदेशसभा सदस्यसँगको छलफल कार्यक्रममा पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य जगदीश खरेलले ७५३ स्थानीय तहमध्ये ललितपुरले समग्र रूपमा राम्रो काम गरेको भन्दै जनताको आर्थिकस्तर अभिवृद्धि गर्ने कुरामा हस्तकला र पर्यटनलाई प्रवद्र्धन गर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको हो ।

“सङ्घीय बजेट निर्माणमा महानगरले हामीलाई पनि सुझाव दिएको भए राम्रो हुन्थ्यो, सङ्घीय बजेटमा ललितपुरलाई हामीले बजेट ल्याउन नसकेकै हो, अर्को आर्थिक वर्षमा ललितपुरलाई बजेट पार्न प्रयास गर्नेछौँ, सङ्घीय सरकारबाट निर्वाह गर्नुपर्ने भूमिका बारेमा ध्यान दिन्छौँ, नीतिगत सहजीकरण, सार्वजनिक खरिद ऐन संशोधनमा ध्यान दिन्छौँ,” प्रतिनिधिसभा सदस्य खरेलले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य प्रभा कार्कीले ललितपुरले गरेको राम्रो कामको प्रशंसा गर्दै जनताको दैनिक जीवनमा परिवर्तनमा ध्यान दिनुपर्ने, महानगरभित्र पार्किङको असुविधा रहेकाले सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले मानिस हिँड्ने पेटीमा रूख रोप्नेभन्दा पनि व्यवस्थापन गरेर मात्रै गरिनुपर्छ भन्नुभयो ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सङ्घ र प्रदेशबाट छुटिएको बजेट भए पनि स्थानीय तहबाट नै कार्यान्वयन हुने हो भन्दै सम्पदा संरक्षण र पोखरी निर्माणमा निरन्तरता दिन, अधुरो योजना पूर गर्न, सङ्घ र प्रदेशले बजेट छुट्याएको ठाउँमा दोहोरो नपर्ने गरी बजेट निर्माण गर्न आग्रह गर्नुभयो ।

बागमती प्रदेशका पूर्वमन्त्री एवम् प्रदेशसभा सदस्य प्रेमभक्त महर्जनले बागमती प्रदेशले काष्ठकला, हस्तकलाको विषयलाई अगाडि बढाउनेतिर जोड दिएको जानकारी गराउँदै ऐतिहासिक सहरका रूपमा रहेको खोकना र बुँगमतीलाई संरक्षण र विकास गर्नेतर्फ बजेटमा ध्यान दिन आग्रह गर्नुभयो ।

सुझाव दिने क्रममा सांसदहरूले आर्थिक समृद्धिलाई विशेष जोड दिन, युवा केन्द्रित नवप्रवर्तनमा आधारित रोजगारी सृजना गर्न, डिजिटल नेपाल निर्माणमा सङ्घीय सरकारभन्दा ललितपुर महानगर अगाडि छ भन्ने भान दिन, अरनिकोको जन्मस्थल परिचित गराउन र चीनका पर्यटक नेपाल आएपछि अरनिको जन्मस्थल अनिवार्य पुग्ने वातावरण तयार पार्न आग्रह गर्नुभयो ।

जनताको दैनिक जीवनस्तर र आयस्रोतमा वृद्धि गर्न, उत्पादनमा जोड्ने र रोजगार वृद्धि गर्नेतिर ध्यान दिएर बजेट बनाउन, सामुदायिक विद्यालयप्रति भरोसा जगाउने गरी स्थानीय विद्यार्थीलाई आकर्षित गराउन र संस्थागत विद्यालयलाई प्रभावकारी नियमन गर्नेगरी बजेट ल्याउन सुझावसहित महानगरले कृषि क्षेत्रमा ध्यान दिन नसकेको भन्दै अलि ध्यान दिएर कृषि क्षेत्रका लागि बजेट राखिनुपर्छ भन्नेमा उहाँहरूको जोड थियो ।

सो अवसरमा महानगरप्रमुख चिरीबाबु महर्जनले शिक्षाको क्षेत्रमा महानगरले धेरै राम्रो काम गरेको जानकारी गराउँदै सार्वजनिक सुनुवाइ गरेर जनताको गुनासो सम्बोधन र सुझाव लिने गरेका छौँ भन्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा बिरामीले फोन गर्ने बित्तिकै सेवा दिने गरी डक्टर र नर्ससहितको एम्बुलेन्स सेवा सुरुआत बताउनुभयो । उहाँले आफ्नो नौवर्षे कार्यकालमा १७१ वटा फल्चा पार्टी बनाएको, भगिनी सम्बन्ध कायम गरेको कोरियाली नगरपालिकाको मुख्य केन्द्रमा पनि निर्माण गर्नेगरी प्रक्रिया अगाडि बढाएको, ललितपुर महानगरको २५१ स्थानमा ट्राफिक लाइट राख्नुपर्ने भएकाले यसलाई निरन्तरता दिने जानकारी गराउनुभयो ।

उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले संविधानको मूल मर्मलाई आत्मसात् गर्दै समन्वय, सहकार्य र सहअस्तित्वलाई जोड दिँदै रचनात्मक सुझाव कार्यान्वयनलाई ध्यान दिन्छौँ भन्नुभयो । उहाँले नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सङ्घीय र प्रदेश सांसदहरूसँग समन्वय र सहकार्य गर्ने जानकारी गराउनुभयो ।

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ ।चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको दूतावासले जनाएको छ ।

नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उहाँले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गर्नुभएको थियो । सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो ।

मन्त्री खनालले आजै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गर्नुभएको थियो । नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तरराष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो ।

मन्त्री खनालले आज नै चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गर्नुभएको थियो ।

उहाँ चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

बजेटले स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप

विराटनगर। कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले स्वच्छ, सुखी र समुत्रत प्रदेश निर्माणको दीर्घकालीन सोचलाई सार्थक बनाउने उद्देश्यसहित बजेट ल्याएको बताउनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री लिंथेपले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल रु ४० अर्ब ४४ करोड ९८ लाखको परिणामूखी हुने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञप्तिमा आर्थिक विकास, रोजगारी सिर्जना, समन्यायिक वितरण, गरिबी न्यूनीकरण र दिगो पूर्वाधार विकासलाई केन्द्रमा राखी तयार गरिएको बजेटले करिब पाँच प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने सरकारको लक्ष्य रहेको उल्लेख छ ।

धनकुटाको चौबिसे क्षेत्रमा आइटी पार्क, मुख्य सहरी क्षेत्रका सडकमा स्मार्ट सिसी टिभी सर्भिलेन्स प्रणाली र सार्वजनिक सवारीसाधनमा जिपिएस प्रणाली जडान जस्ता कार्यक्रम र विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।

बहुवर्षीय आयोजनाका लागि कार्यान्वयन, प्रादेशिक सडक सञ्चालन, गुरुयोजना कार्यान्वयन र विपत्र तथा आवासविहीनका लागि ‘कोशी जनता आवास कार्यक्रम’ सञ्चालन, स्थानीय तहको साझेदारीमा फोहोर व्यवस्थापनका लागि पूर्वाधार निर्माणजस्ता कार्यक्रम समावेश गरिएको बताइएको छ ।

प्रमुख राजमार्गसँग जोडिएका सहरमा उज्यालो सहर कार्यक्रम, सार्वजनिक विद्यालयमा रूफटप सोलार कार्यक्रम, जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत घुन्साखोला र सिम्बुवा खेला जलविद्युत् आयोजनामा लगानी, अधुरा आयोजना सम्पत्र गर्ने, निर्वाचन केन्द्र लक्षित मझौला सिँचाइ आयोजना र भूमिगत सिँचाइ कार्यक्रम समेटिएका छन् ।

विसं २०८३ साउनदेखि २०८५ असारसम्म कोशी प्रदेश भ्रमण वर्ष सञ्चालन गरिने, रामधुनीमा प्रादेशिक प्राणी उद्यान स्थापना र हाब्रे (रेडपान्डा) तथा हिउँ चितुवाको संरक्षण गरिने, चियाबारी, फाल्गुनन्द लालीगुराँस र मुन्धुम पदमार्गको विकास तथा केबुलकार र गुप्त बराह मोनोरेलको सम्भाव्यता अध्ययन जस्ता कार्यक्रम समावेश गरिएका छन् ।

प्राविधिक शिक्षामा युवालाई आकर्षण गर्न ‘पढ्दै कमाउँदै कार्यक्रम’, सीमान्तकृत छोरीको शिक्षाका लागि ‘सक्षम छोरी’ कार्यक्रम, १०० वटा सामुदायिक विद्यालयमा डिजिटल बोर्डसहितको प्रविधिमैत्री सिकाइ, विराटनगरको बैजनाथपुरमा प्रादेशिक खेलकुद ग्राम विकास, अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम र किशोरी सशक्तिकरण तथा आत्मरक्षा अभियानजस्ता कार्यक्रम सामाजिक विकासका क्षेत्रमा सञ्चालन गरिने कार्यक्रम बजेटमा उल्लेख छ ।

सम्मेलनमा मन्त्री लिंथेपले प्रदेश मातहतका अस्पताललाई ५० शय्यामा स्तरोत्रति गरिने र प्रमुख अस्पताललाई आइसियु सेवासहित रेफरल अस्पताल बनाइने, मेरो स्वास्थ्य मेरो जिम्मवारी अभियान सञ्चालन र महिलाको पाठेघर तथा स्तन क्यान्सरको स्क्रिनिङ गरिने र १२ वर्षमुनिका लक्षित बालबालिकाको निःशुल्क उपचारजस्ता कार्यक्रममा बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ ।

प्राङ्गारिक मलको उत्पादन र विषादीमुक्त खेतीलाई प्रोत्साहन, कृषि कर्जामा ब्याज अनुदान, पशुपन्छीमा लाग्ने खोरेत रोग नियन्त्रण अभियान सञ्चालन, ढाकाखाँडी र अल्लो जस्ता स्थानीय घरेलु उत्पादनलाई प्रोत्साहन र बजारीकरण, रैथानेबाली, व्यावसायिक फलफूल, नगदे तथा मसला बालीको प्रवर्द्धन कार्यक्रमजस्ता कार्यक्रम कृषि क्षेत्रअन्तर्गत बजेटमा समेटिएका छन् ।

समग्रमा यस बजेटले कृषि तथा औद्योगिक उत्पादन वृद्धि, पर्यटन प्रवर्द्धन, गुणस्तरीय स्वास्थ्य सेवा र दिगो पूर्वाधार निर्माण गर्दै प्रदेशको अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्यसहित यसको सफल कार्यान्वयनका लागि सरकार सबै सरोकारवाला पक्षबाट निरन्तर सहयोगको अपेक्षा राखेको मन्त्री लिंथेपले बताउनुभयो ।

खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण

कर्णाली। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रङ्गशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।बुधबार हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आइपुग्नुभएका मन्त्री पोखरेलले निकट भविष्यमा कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र रङ्गशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको हो ।

उहाँले प्रतियोगताका लागि आउटडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्यसचिव रवीन्द्र चन्दसँग जानकारी लिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “सुर्खेतमा दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु ८० करोड बजेट छुट्याएको छ ।
अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।” फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आर्ट्स, स्विमिङलगायत निर्मित र निर्माणाधीन संरचनाहरूको निरीक्षण गर्दै उहाँले कर्णाली परिषद् सदस्यसचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाउनुभयो ।

सदस्यसचिव चन्दले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले रु नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप रु नौ करोड तथा अन्य जिल्लाका खेलमैदान तथा कभर्डहल निर्माणका लागि रु १० करोड बजेट विनियोजन गरेको जनाउनुभयो ।उहाँले प्रतियोगिता सम्पन्न गर्ने गरी रङ्गशालाको बाँकी काम पूरा गर्न तीव्र रूपमा लाग्ने बताउनुभयो ।

एक हजारभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक रुपाखेती सम्मानित

काठमाडौँ । निर्देशक कृष्णदेव रुपाखेती राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम अवार्ड निम अवार्ड २०२६ दिगदर्शन साधना सम्मान २०८२ बाट सम्मानित भएका छन् । झण्डै ३ दशकदेखि नेपाली म्युजिक भिडियो, डकुमेन्ट्री, टेलिभिजन विज्ञापन, बायोग्राफी लगायत निर्माण तथा निर्देशनमा क्रियाशिल निर्देशक रुपाखेतीलाई सांगीतिक क्षेत्रमा पुर्याएको उच्च मूल्यांकनको कदर गर्दै उक्त सम्मान अर्पण गरिएको हो ।

निर्देशक रुपाखेतीले नेपालका विशिष्ट व्यक्तित्व राष्ट्रकवि माधवप्रसाद घिमिरे, धर्मराज थापा, रत्न शमशेर थापा, डाक्टर ध्रुवचन्द्र गौतम, मदन कृष्ण श्रेष्ठ, आनी छोइङ डोल्मा, लगायतका विशिष्ट व्यक्तित्वहरूसँग सहकार्य गरिसकेका छन् ।

उनले महानायक राजेश हमालदेखि अहिलेका चलेका सम्पूर्ण गायक गायिका लगायत करिब ३०० जनाको बायोग्राफी समेत निर्माण गरिसकेका छन् ।

एक हजारभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेती अहिले पनि उत्तिकै सक्रिय निर्देशकको कोटीमा पर्छिन् ।

यही राष्ट्रिय समावेशी म्युजिक अवार्ड निम्स अवार्डमा उनले निर्देशन गर्नुभएको वरिष्ठ गीतकार अनि ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारी द्वारा लिखित आमा गीत गीतले यस वर्षको गीतकार तर्फ पुरुषको अर्वाड जित्न सफल भएको छ। त्यस्तै वरिष्ठ गीतकार तथा समाजसेवी भोलानाथ पाठकद्वारा रचना गरिएको राधिका गीतको गीतकारले समेत यो वर्ष उत्कृष्ट गीतकार जुरी अन्तर्गत पुरस्कार जित्न सफल हुनुभएको छ। त्यसैगरी गजलकार आरजु गिरीद्वारा लिखित गजल नयन को भिडियोबाट नव प्रतिभा नायिका उपासना पाठकले यो वर्षको अवार्ड जित्न सफल भएकी छिन्। तीनवटै म्युजिक भिडियो निर्देशक रुपाखेतीद्वारा निर्देशन गरिएको थियो।

फिशिङ लिंकमार्फत बढ्दो साइबर जोखिम, प्राधिकरणको कडा चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अपरिचित तथा अनाधिकृत नम्बरबाट व्यक्तिगत मोबाइल नम्बरमा आउने फिशिङ लिंकयुक्त एसएमएस तथा सन्देशप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्राधिकरणले मंगलबार एक अत्यन्त जरूरी सूचना जारी गर्दै पछिल्ला दिनहरूमा मोबाइल सेवा प्रदायकहरूको नेटवर्क पूर्वाधार तथा ओटीटी एप (जस्तै व्हाट्सएप) को माध्यमबाट सर्वसाधारणका मोबाइल नम्बरमा फिशिङ लिंक समावेश भएका सन्देशहरू प्राप्त हुने क्रम बढेको जनाएको छ।

प्राधिकरणका अनुसार यस्ता सन्देशहरूमा विभिन्न निर्देशनसहितका लिंकहरू पठाइने गरिएको छ, जसले आम उपभोक्तामा भ्रम तथा द्विविधा सिर्जना गरिरहेको गुनासो प्राप्त भएको छ। ती फिशिङ लिंकहरू वास्तविक तथा आधिकारिक जस्तै देखिने भएकाले प्रयोगकर्ताहरू झुक्किएर क्लिक गर्न सक्ने जोखिम रहेको उल्लेख गरिएको छ।

सूचनामा त्यस्ता लिंकमा प्रवेश गर्दा विभिन्न प्रकारका आपराधिक गतिविधि, व्यक्तिगत विवरणमा अनधिकृत पहुँच, बैंकिङ तथा वित्तीय अपराध लगायतका क्षति हुन सक्ने चेतावनी दिइएको छ।

मुस्ताङका होटल र पसलमा अनुगमन

मुस्ताङ – जिल्ला सदरमुकाम जोमसोमका होटल तथा पसलमा छड्के बजार अनुगमन गरिएको छ ।

घरपझोङ गाउँपालिका कार्यालयको नेतृत्वमा विभिन्न सरोकारवाला निकायले संयुक्त रुपमा बजार मुस्ताङको पर्यटकीय केन्द्र जोमसोम बजार क्षेत्रमा आज छड्के अनुमगन गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको टोलीले घरपझोङ—३ जोमसोमस्थित पुथाङ एयरपोर्ट बजार क्षेत्रमा छड्के अनुगमन गरेको थियो ।

गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा पुथाङ एयरपोर्ट बजार क्षेत्रका २५ भन्दा बढी होटल तथा किराना र खाद्यान्न पसलहरुमा आकस्मिक छड्के अनुगमन गरिएको गाउँ कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिनुभयो ।

धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको सदरमुकाम तथा सबैभन्दा बढी पर्यटकको चहलपहल हुने मुख्य केन्द्र पुथाङ एयरपोर्ट क्षेत्रमा गाउँपालिकाले आकस्मिक छड्के अनुगमन गरिएको हो । पर्यटकीय यामसमेत भएकाले मुस्ताङ आएका पर्यटक तथा सर्वसाधारण नागरिकको स्वास्थ्य रक्षाका लागि बजार अनुगमन गरिएको उपाध्यक्ष थकालीले बताउनुभयो ।

म्याद गुज्रिएका अखाद्य पदार्थ तथा वस्तुले मानव स्वास्थ्यमा प्रतिकूल असर पु¥याउन सक्ने भएकाले गाउँपालिकाको अगुवाइमा छड्के अनुमगन गरिएको उपाध्यक्ष थकालीको भनाइ छ ।

घरपझोङ गाउँपालिकाले विसं २०८० सालदेखि गाउँपालिकाभित्रका व्यापारिक प्रतिष्ठानहरुमा सिसाका बोतलमा ‘ब्रान्डिङ’ गरिएको मदिराजन्य बियर बिक्री वितरण गर्न प्रतिबन्ध लगाइसकेको छ ।

गाउँपालिकाको उक्त नियमलाई थप कडाइका साथ कार्यान्वयन गर्ने गरी बजार अनुगमन गरिएको हो । सिसाजन्य बियरका बोतलले दुर्घटना र जोखिम निम्त्याउने र वातावरण स्वच्छतामा समेत प्रतिकूल असर पु¥याउने भएकाले गाउँपालिकाले बोतलमा ब्रान्डिङ गरिएका बियर बिक्री वितरणमा प्रतिबन्ध लगाउँदै आइरहेको छ ।

गाउँपालिकाद्वारा गरिएको बजार अनुगमनका क्रममा डेढ दर्जन पर्यटक लक्षित होटल र आधा दर्जन बढी किराना, फ्रेस हाउस र खाद्यान्न पसलहरुको अनुगमन गरियो । टोलीले व्यवसायीले होटल तथा पसलहमा साइनबोर्ड, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, लगबुक रजिस्ट्रार राखेको÷नराखेको तथा खरिद बिल तथा उपभोक्तालाई दिइने बिल, सरसफाइ, मदिराको मूल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नवीकरण गरे÷नगरेकोबारे सोधनी गरेको थियो ।

त्यस्तै, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेयपदार्थमा अन्तःशुल्क स्टिकर राखेको वा नराखेको, खाद्य सामग्रीको लेबल चेकजाँच, नापतौल चेकजाँच र व्यवसायले प्यान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायतको अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका अखाद्य पदार्थलाई बरामद गरी सरोकारवाला निकायको रोहबरमा जोमसोमस्थित कालीगण्डकी नदी किनारामा खाल्डो खनी नष्ट गरिएको छ ।

अन्तरराष्ट्रिय योग दिवसमा पहिलो पटक कैलाश–मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ – विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तरराष्ट्रिय योग दिवसका अवसरमा पहिलो पटक कैलाश–मानसरोवर क्षेत्रमा सामूहिक योग तथा ध्यान कार्यक्रम आयोजना गर्ने भएको छ ।

काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष योगी आचार्य राजन शर्माले नेपाललाई योगको पवित्र जन्मभूमिका रूपमा विश्वसामु चिनाउने उद्देश्यसहित कैलाश–मानसरोवरमा विशेष योग अभ्यास कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देशका रूपमा स्थापित गर्नाका साथै यहाँको प्राचीन योग, तपस्या, ध्यान तथा आध्यात्मिक सभ्यतालाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु हो ।

योग दिवस मनाउन सहभागी टोली असार ३ गते कैलाश–मानसरोवरतर्फ प्रस्थान गर्नेछ । अन्तरराष्ट्रिय योग दिवसका अवसरमा असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक योग तथा ध्यान अभ्यास गरिने कार्यक्रम तय गरिएको छ ।

“भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तरराष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सम्पूर्ण नेपालीका लागि गौरवको विषय हो,” अध्यक्ष शर्माले भन्नुभयो, “हिमालयको मौन सौन्दर्य र कैलाश–मानसरोवरको पवित्र वातावरणमा योग केवल शारीरिक अभ्यास मात्र नभई आत्मिक जागरण र शान्तिको मार्ग बन्ने हाम्रो विश्वास छ ।”

कार्यक्रममा नेपाल, भारतलगायत विभिन्न देशका योगी, ध्यान साधक, योग प्रशिक्षक, तपस्वी, अनुसन्धानकर्ता तथा आध्यात्मिक अभियानकर्मी गरी एक सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ ।

समाजका शाखा तथा साधना केन्द्र नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा सञ्चालनमा रहेका छन् ।

आयोजकका अनुसार कैलाश–मानसरोवरमा हुने अन्तरराष्ट्रिय योग यात्रा तथा साधनाले नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन तथा अन्तरराष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न सहयोग पुग्नेछ । साथै युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्न पनि कार्यक्रम प्रभावकारी हुने विश्वास गरिएको छ ।

अभियानले नेपाललाई ‘योग र ध्यानको उद्गमस्थल’का रूपमा विश्व समुदायमा स्थापित गर्न मद्दत पुग्ने तथा विभिन्न देशका साधकहरूको सहभागिताले नेपाललाई अन्तरराष्ट्रिय योग केन्द्रका रूपमा चिनाउन थप टेवा पुग्ने आयोजकको विश्वास रहेको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालय र निकायका विभिन्न शीर्षकमाथिको छलफल भएको छ ।

आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ, रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि छलफल भएको थियो ।

बैठकमा सांसदहरू नितिमा भण्डारी (कार्की), पुकार बम, राम लामा, बदनकुमार भण्डारी, अङ्किता ठाकुर, बुद्धिप्रसाद पन्त, धनेन्द्र कार्की, सुशान्त वैदिक, सुलभ खरेल, स्मृति सेन्चुरीले मन्त्रालयगत शीर्षकमाथि आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

बैठकले प्रतिनिधिसभाका पूर्वसदस्य मङ्गलप्रसाद गुप्ताको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । प्रतिनिधिसभाको अर्काे बैठक भोलि असार ३ गते बिहान ११ बजे बस्नेछ । बुधबारको बैठकमा मन्त्रालयगत शीर्षकमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम छ ।

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छः सचेतक परियार

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले विगतका सरकारले बजेटमा दलित समुदायलाई झुक्याउने काम गरेको दृष्टान्त पेश गर्दै अहिले भने बजेट सुधारमुखी आएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ को विभिन्न शीर्षमाथिको छलफलमा आज भाग लिँदै सचेतक परियारले विगतमा कानुन नै नबनाई दलित विकास प्राधिकरणका नाममा बजेट विनियोजन गरेर ढाँट्ने काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो “विगतका सरकारले पछाडि पारिएका क्षेत्र र समुदायलाई बजेटमा केवल गफ दिएर ढाँटेका प्रशस्त उदाहरण छन् । आर्थिक वर्ष ०८१÷८२ मा २० करोड र ०८२÷८३ मा ५० करोड विनियोजन गरेको पनि भनियो ।

तर, दलित विकास प्राधिकरण गठनका लागि आवश्यक पर्ने कानुन नै निर्माण गरिएन। कानुनै नबनाएपछि एक पैसा पनि खर्च हुने कुरै भएन। यो दलित समुदायलाई ढाँट्ने काम मात्र थियो ।”

अर्थतन्त्रको एकोहोरो वृद्धि मात्र नभई त्यसको समन्यायिक वितरण मुख्य कुरा भएको भन्दै उहाँले अहिलेको बजेटले भने मध्यमवर्ग र युवा पुस्तालाई समेटेको दाबी गर्नुभयो ।

उहाँले प्रस्तुत बजेटको बचाउ गर्दै यो बजेट सुधारमुखी, मध्यमवर्गीयमैत्री र युवा लक्षित रहेको र यसले जेन–जी पुस्ताको मर्मलाई आत्मसात् गरेको धारणा राख्नुभयो ।

आयकरको करमुक्त सीमालाई दोब्बर बनाएर १० लाख पु¥याइनु र उच्च दरलाई ३९ बाट २९ प्रतिशतमा झारिनु मध्यमवर्गका लागि ऐतिहासिक र स्वागतयोग्य कदम भएको उहाँको तर्क थियो ।

त्यस्तै, मन्त्रालयहरूको सङ्ख्या कटौती, निजी क्षेत्रमैत्री दृष्टिकोण, सेयर बजारको पुँजीगत लाभकरलाई अन्तिम बनाइनु र डिजिटल एआई एवं स्टार्टअप प्याकेज आदिले नयाँ पुस्ताको ढुकढुकी समात्न सकेको दाबी परियारको थियो ।

सचेत परियारले यस बजेटमा गरिबी निवारण र सामाजिक सुरक्षाका धेरै विषय समेटिएको दृष्टान्त पेश गर्दै तीन लाख १३ हजार दलित बालबालिकालाई एक हजार पोषण भत्ता दिने व्यवस्था एउटा यसैको उदाहरण भएको बताउनुभयो ।

साथै यस बजेटमा दलित समुदायको परम्परागत सीप संरक्षण, भूमिहीन सुकुम्बासी व्यवस्थापन र मधेश, कर्णाली तथा सुदूरपश्चिमका दलित बस्तीमा नमुना होमस्टे जस्ता कार्यक्रम प्रशंसनीय रहेको चर्चा गर्नुभयो ।

सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा

ओखलढुङ्गा। सिद्धिचरण नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइमा स्थानीयले बाँदरसम्बन्धी समस्या न्यूनीकरणदेखि शिक्षामा गुणस्तर वृद्धि र रोजगारी सिर्जनासम्मका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

सिद्धिचरण नगरपालिकाले जेठ २१ देखि ३१ गतेसम्म सञ्चालन गरेको वडास्तरीय र पालिकास्तरीय सार्वजनिक सुनुवाइमा सहभागीले वर्षभरि दुःख गरेर लगाएको बाली क्षणभरमै नष्ट गरिदिएकाले बाँदर नियन्त्रणको प्रभावकारी कार्यक्रम ल्याउन माग गरे ।

बाली जोगाउन लखेटेर सम्भव नभएकाले बाँदर व्यवस्थापनका लागि १० वटा वडाका नागरिकले पालिका पदाधिकारीसँग आवश्यक बजेटसहित विशेष कार्यक्रम घोषणा गर्न सुझाव दिएका हुन् ।

नगरप्रमुख तेजेन्द्र खनालले स्थानीय तहमा बजेटको स्रोत कम भएका कारण बाँदर नियन्त्रणका लागि बजेटको व्यवस्था गर्न चुनौती भइरहेको बताउनुभयो । गाउँका नागरिक पलायन हुने क्रम बढेसँगै खेतबारी जङ्गलमा परिणत भएकाले बाँदर आतङ्क बढेको स्थानीय नागरिकको गुनासो छ ।

त्यसैगरी, गाउँमा गुणस्तरीय शिक्षाको र रोजगारीको अभावका कारण नागरिक गाउँ छोड्नबाध्ये भएकाले स्थानीय सरकारले गाउँमा रोजगारी सिर्जना हुने योजना बनाउन माग गरेका छन् । युवाजनशक्ति रोजगारीको सिलसिलामा विदेश गएसँगै परिवार बच्चा पढाउन सहर गएका कारण गाउँमा ज्येष्ठ नागरिक मात्रै बस्न बाध्यकारी अवस्था सिर्जना हुँदा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर कम्जोर भएको स्थानीय बेदुकाजी घिमिरेले गुनासो गर्नुभयो ।

त्यस अवसरमा सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकले आफ्नो सन्तानलाई अनिवार्य सामुदायिक विद्यालयमा नै पढाउन पनि स्थानीयले माग गरेका छन् । उहाँका अनुसार अब गाउँमै रोजगारीको सिर्जना गर्न नसक्ने हो भने गाउँ वृद्धाश्रममा परिणत हुने खतरा बढेको छ । सिद्धिचरण नगरपालिकाले मातहतमा रहेका वडा तथा विषय गत शाखाबाट वितरण गरिने सेवा प्रवाहको प्रभावकारिता र ०८२÷८३ मा सञ्चालन गरिएका योजनाको गुणस्तरीयताका विषयमा नागरिकसँग प्रत्यक्ष सार्वजनिक सुनुवाइ गरेको हो ।

त्यस अवसरमा नगर प्रमुख तेजेन्द्र खनालल नगरपालिकाले गरेका विकास निर्माणका योजना तथा सेवा प्रवाहका विषयमा नागरिकबाट उठेका पारदर्शी, जवाफदेही र आर्थिक अनुशासनका विषयमा प्रत्येक वर्ष सबै वडामा सार्वजनिक सुनुवाइ गरी स्पष्ट पार्दै आएको जानकारी दिनुभयो ।

‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य

काठमाडौँ। सरकारले ‘ओभर–द–टप’ (ओटिटी प्लेटफर्म)लाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै ‘डिजिटल’ प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटिटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो ।

सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटिटी प्लेटफर्म’हरूले अनुमति लिनुपर्नेछ ।

यससँगै वर्षौंदेखि अनौपचारिक रूपमा सञ्चालन भइरहेका ‘डिजिटल स्ट्रिमिङ’ सेवा तथा ओटिटी प्लेटफर्महरू पहिलोपटक स्पष्ट कानुनी संरचनाभित्र आउने भएका छन्।

डिजिटल माध्यम विस्तारसँगै परम्परागत प्रसारण प्रणालीभन्दा बाहिर रहेका प्लेटफर्महरूलाई पनि समान नियमनको दायरामा ल्याउनु आवश्यक रहेको भन्दै सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले ‘ओटिटी प्लेटफर्म’लाई नियमनको दायरामा ल्याउन नीतिगत पहल थाल्नुभएको थियो ।

मन्त्रालयले आन्तरिक गृहकार्यपछि नियमावलीमा संशोधन गरेको हो। सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली २०५२ को विभिन्न अनुसूचीहरूमा संशोधन गर्दै ओटिटी तथा डिजिटल प्रसारण प्रणालीलाई स्पष्ट रूपमा समेटेको छ।

संशोधित व्यवस्थाअनुसार अनुसूची–३ (क) मा ‘डाउनलिङ्क गरिने ओटिटी विदेशी कार्यक्रम तथा ओटिटी प्लेटफर्म’ सम्बन्धी विवरण अनिवार्य गरिएको छ। यसअन्तर्गत अब विदेशी ओटिटी सेवा प्रदायक वा डिजिटल कार्यक्रम वितरण गर्ने संस्थाले नेपालभित्र प्रसारण गर्न अनुमति लिनुपर्नेछ ।

यसअघि यस्ता ओटिटी प्लेटफर्महरू कुनै पनि सरकारी निकायमा दर्ता नभई स्वतन्त्र रूपमा सञ्चालन हुँदै आएका थिए। कानुनी अस्पष्टताका कारण नियमन, कर सङ्कलन तथा सामग्री अनुगमन जटिल बन्दै आएको थियो।

नयाँ संशोधनले अब ओटिटी प्लेटफर्महरूलाई अन्य प्रसारण माध्यमजस्तै नियमन र कानुनी दायरामा ल्याउने आधार तयार गरेको मन्त्रालयले जनाएको छ। संशोधित नियमावलीले ओटिटी तथा डिजिटल प्रसारण सेवाका लागि इजाजतपत्र तथा शुल्क संरचना पनि निर्धारण गरेको छ ।

नयाँ व्यवस्थाअनुसार कुनै पनि विदेशी कार्यक्रम उत्पादकले आफ्नो मुलुकमा उत्पादन गरेको ओटिटी डिजिटल कार्यक्रम नेपालमाल डाउनलिङ्क गरी प्रसारण गर्न प्रतिप्लेटफर्म रु १० लाख शुल्क तोकिएको छ ।

त्यस्तै, डाउनलिङ्क अनुमति प्राप्त विदेशी ओटिटी डिजिटल कार्यक्रमको सिग्नल वितरणका लागि प्रतिओटिटी प्लेटफर्म रु २५ लाख तिर्नुपर्नेछ। ओटिटी प्रसारण सेवा सञ्चालनका लागि रु एक करोड शुल्क तोकिएको नियमावलीमा उल्लेख छ ।

विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेञ्चाइज) वा विदेशी कार्यक्रमको प्रत्यक्ष प्रसारणको स्वीकृतिका लागि रु पाँच लाख शुल्क तोकिएको छ भने अनलाइन रेडियो सञ्चालनका लागि रु ५० हजार इजाजतपत्र शुल्क तोकिएको छ ।

डिजिटल प्रविधिको तीव्र विस्तारसँगै नेपालमा पनि ओटिटी प्लेटफर्महरूको प्रयोग उल्लेखनीय रूपमा बढ्दै गएको छ । तर यस्ता सेवा प्रदायकहरू लामो समयसम्म स्पष्ट कानुनी संरचनाबिना सञ्चालन हुँदै आएका थिए ।

जसकारण यस्ता सामग्रीको नियमन, राजस्व, उपभोक्ता अधिकार संरक्षण र स्थानीय प्रसारण उद्योगसँग अस्वस्थ प्रतिस्पर्धालगायत चुनौती देखिँदै आएका थिए ।

सञ्चार मन्त्रालयका अनुसार डिजिटल प्रसारण सेवा अब परम्परागत मिडियाजस्तै महत्वपूर्ण बन्दै गएकाले यसलाई राज्यको कानुनी संरचनाभित्र ल्याउनु आवश्यक थियो । नयाँ व्यवस्था लागू भएपछि नेपालमा सञ्चालन भइरहेका विदेशी तथा स्वदेशी ओटिटी प्लेटफर्महरूले अब दर्ता प्रक्रिया पूरा गर्नुपर्नेछ ।

यसले डिजिटल सामग्री वितरण प्रणालीमा थप पारदर्शिता ल्याउने अपेक्षा गरिएको छ । त्यस्तै, प्रयोगकर्ताले हेर्ने सामग्रीको गुणस्तर, स्थानीय कानुनअनुसार सामग्री नियमन, तथा कर प्रणालीमा पनि सुधार आउने अनुमान गरिएको छ । ओटिटी प्लेटफर्म भनेको इन्टरनेटमार्फत प्रयोगकर्ताहरूलाई प्रत्यक्ष रूपमा अडियो, भिडियो तथा अन्य डिजिटल सामग्री उपलब्ध गराउने सेवा हो ।

यो प्रणालीले परम्परागत केवल, स्याटेलाइट तथा प्रसारण टेलिभिजन प्रणालीलाई बाइपास गर्छ । नेटफ्लिक्स, युट्युब, अमेजन प्राइम भिडियोलगायत प्लेटफर्महरू ओटिटी सेवाका प्रमुख उदाहरण हुन् ।

जसले स्मार्टफोन, स्मार्ट टिभी, ट्याब्लेट तथा कम्प्युटरजस्ता उपकरणमार्फत प्रयोगकर्तालाई ‘अन–डिमान्ड’ सामग्री उपलब्ध गराउँछन् ।

भारतले टेलिग्राममा किन लगायो अस्थायी प्रतिबन्ध ?

नयाँदिल्ली । परीक्षामा प्रश्नपत्र चुहावटको बढ्दो विवादपछि भारतले राष्ट्रव्यापी मेडिकल प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मेसेजिङ प्लेटफर्म टेलिग्राममा अस्थायी रूपमा पहुँच अवरुद्ध गरेको छ। सरकारले परीक्षा प्रणालीमा हुने सङ्गठित ठगी नियन्त्रण गर्ने उद्देश्यले यो कदम चालेको जनाएको छ।

गत महिना प्रश्नपत्र चुहावटसँग सम्बन्धित ठूलो स्क्यान्डल सार्वजनिक भएपछि एनइइटी परीक्षा रद्द गरिएको थियो। यस घटनाले देशभर आक्रोश फैलाएको छ र शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीहरूको विरोध प्रदर्शनसमेत चर्किएको छ।

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबारदेखि जुन २२ सम्म टेलिग्राममा पहुँच रोक्ने आदेश जारी गरेको हो। साथै, पहिले पठाइएका सन्देशहरू परिवर्तन गर्न प्रयोगकर्तालाई अनुमति दिने मेसेज सम्पादन सुविधा जुन ३० सम्मका लागि निलम्बन गरिएको छ।

राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले जारी गरेको विज्ञप्तिमा यी कदमहरू सार्वजनिक व्यवस्थाको हितमा लिइएको र परीक्षा नकल तथा ठगीमा संलग्न र्‍याकेटहरू टेलिग्राम प्रयोग गरेर सक्रिय भएको प्रमाणका आधारमा गरिएको उल्लेख छ।

एनइइटी परीक्षा भारतको सबैभन्दा प्रतिस्पर्धात्मक प्रवेश परीक्षामध्ये एक हो। यो परीक्षामा करिब २० लाखभन्दा बढी विद्यार्थी चिकित्सा अध्ययनका लागि प्रतिस्पर्धा गर्छन्। यस परीक्षाको सफलताले देशका मेडिकल कलेजहरूमा प्रवेश निर्धारण गर्छ।

चुहावटको आरोप टेलिग्राम च्यानलमार्फत प्रश्नपत्र पहिले नै फैलिएको भन्दै उठेपछि मे महिनामा परीक्षा रद्द गरिएको थियो। यस घटनाले देशको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।

भारतमा परीक्षा तयारी ठूलो उद्योगका रूपमा विकसित भएको छ र लाखौँ विद्यार्थी राम्रो नतिजाका लागि वर्षौँसम्म कोचिङ सेन्टरमा अध्ययन गर्छन्। तीव्र प्रतिस्पर्धा र सीमित अवसरका कारण धेरै विद्यार्थीमाथि ठूलो मानसिक तथा आर्थिक दबाब पर्ने गरेको छ।

यसै दबाब र असमान अवसरका कारण परीक्षा प्रणालीसँग सम्बन्धित असन्तोष समय–समयमा देखिँदै आएको छ। केही अवस्थामा परीक्षामा असफलतापछि विद्यार्थीहरूले आत्महत्यासम्म गरेका रिपोर्टहरू पनि सार्वजनिक भएका छन्।

चुहावट प्रकरणमा भारतको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई) ले अनुसन्धान गर्दै एक रसायनशास्त्र शिक्षकलाई मुख्य योजनाकारका रूपमा पक्राउ गरेको छ। उनीमाथि परीक्षा प्रणालीसँग प्रत्यक्ष संलग्न रहेको आरोप लगाइएको छ।

सरकारले सोमबार एउटा विशेष अनलाइन पोर्टल पनि सुरु गरेको छ। उक्त पोर्टलमार्फत नागरिकले एनइइटीसँग सम्बन्धित शङ्कास्पद गतिविधि, अनधिकृत सामग्री वा ठगीका घटनाहरू रिपोर्ट गर्न सक्नेछन्।

परीक्षा प्रणालीमा डिजिटल मार्किङ र अनलाइन मूल्याङ्कनसम्बन्धी अन्य विवादहरू पनि यस घटनासँगै सतहमा आएका छन्। धेरै विद्यार्थीहरूले गलत ग्रेड दिइएको वा नतिजा वितरणमा त्रुटि भएको गुनासो गरेका छन्।

भारत तीव्र आर्थिक वृद्धिको अवस्थामा रहे पनि लाखौँ युवाहरू स्थिर रोजगारी र उच्च प्रतिस्पर्धात्मक करियर सुरक्षित गर्न सङ्घर्षरत छन्। यसले परीक्षामा सफलता प्राप्त गर्ने दबाब अझ बढाएको छ र परीक्षा केन्द्रित सामाजिक संरचना अझ जटिल बनेको छ।

जेठमा घर जग्गा कारोबारबाट पाँच अर्ब २४ करोड राजस्व सङ्कलन

काठमाडौँ । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ ।

यस्तै, रजिष्ट्रेसन दस्तुरबाट रु दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट रु दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सङ्कलन गरेको छ ।

विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले रु ३४ करोड ४४ हजार, टोखाले रु १० करोड ९९ लाख २३ हजार, चाबहिलले रु ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व सङ्कलन गरेका थिए ।

यस्तै, गत चैतमा कुल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व सङ्कलन गरेका थिए । त्यस्तै, गत फागुनमा रु चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघमा भने रु पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।

मलेसियाको आन्तरिक पर्यटक ११ दशमलव पाँच प्रतिशतले वृद्धि

काठमाडाैँ । मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ।

सरकारी तथ्याङ्कअनुसार आन्तरिक पर्यटक भ्रमण सङ्ख्या सन् २०२४ को २६ करोड एक लाखबाट बढेर सन् २०२५ मा २९ करोड एक लाख पुगेको हो।

मलेसियाको तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार आन्तरिक पर्यटकको खर्च पनि १३ दशमलव ६ प्रतिशतले बढेर १२१ दशमलव तीन अर्ब रिङ्गिट पुगेको छ।

पर्यटक तथा एकदिने भ्रमणकर्ताको खर्चमा भएको वृद्धिले समग्र खर्च बढाउन सहयोग गरेको विभागले जनाएको छ। पर्यटकको खर्च १४ दशमलव ६ प्रतिशत तथा एकदिने भ्रमणकर्ताको खर्च १२ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ।

कुल आन्तरिक पर्यटक खर्चमध्ये पर्यटकको योगदान ५९ दशमलव पाँच प्रतिशत रहेको छ, जुन सबैभन्दा ठूलो हिस्सा हो।

किन केही मानिसहरू लामखुट्टेका लागि ‘चुम्बक’ बन्छन् ?

काठमाडाैँ । केही मानिसलाई लामखुट्टेले बारम्बार टोक्ने, अरूलाई भने लगभग बेवास्ता गर्ने अनुभव केवल संयोग नभई, बरु शरीरबाट निस्कने गन्ध, सास र तापक्रमको जटिल रासायनिक सङ्केतहरूको परिणाम भएको वैज्ञानिकहरूले बताउन थालेका छन् । यस विषयमा हालका अनुसन्धानहरूले किन केही मानिसहरू लामखुट्टेका लागि बढी आकर्षक हुन्छन् भन्ने बुझाइलाई अझ स्पष्ट बनाउँदै लगेका छन् ।

फ्रान्सको इन्स्टिच्युट अफ रिसर्च फर डेभलपमेन्टका मेडिकल एन्टोमोलोजिस्ट फ्रेडरिक सिमार्डका अनुसार लामखुट्टेले सबै मानिसलाई समान रूपमा प्रतिक्रिया दिँदैनन् । उनले भने, “यो गलत धारणा होइन कि लामखुट्टे केही मानिसतर्फ बढी आकर्षित हुन्छ, तर सबै समय सबै मानिस चुम्बक हुँदैनन् ।”

वैज्ञानिकहरूका अनुसार लामखुट्टेले मुख्य रूपमा तीन प्रमुख सङ्केतमार्फत मानिसलाई छान्छन्–हामीले सास फेर्दा निस्कने कार्बन डाइअक्साइड, शरीरबाट आउने गन्ध र शरीरको तापक्रम तथा आद्र्रता । यी सङ्केतहरूलाई महिला लामखुट्टेहरूले अत्यन्त संवेदनशील रूपमा पहिचान गर्छन्, किनकि रगत चुस्ने कार्य केवल तिनीहरूले मात्र गर्छन् ।

स्विडेनका अनुसन्धानकर्ता रिकार्ड इग्नेलका अनुसार लामखुट्टेहरूले कार्बन डाइअक्साइडलाई सयौँ वर्षदेखि पहिलो सङ्केतका रूपमा प्रयोग गर्दै आएका छन् । उनका अनुसार दर्जनौँ मिटर टाढाबाटै लामखुट्टेले मानिसको सासको सङ्केत पत्ता लगाउन सक्छन् र नजिकिँदै जाँदा शरीरको गन्धसँग यसको प्रभाव अझ बढ्छ ।

करिब १० मिटरको दूरीमा पुगेपछि लामखुट्टेले शरीरबाट निस्कने गन्ध पहिचान गर्न थाल्छन् । यसमा कार्बन डाइअक्साइडसँगै अन्य रासायनिक सङ्केतहरूको मिश्रणले उनीहरूलाई अझ आकर्षित बनाउँछ । अझ नजिकिँदा शरीरको तापक्रम र पसिनाको आद्र्रताले पनि आकर्षण बढाउने भूमिका खेल्छ।

केही प्रचलित विश्वासहरू भने वैज्ञानिक रूपमा पुष्टि नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । लामखुट्टेले निश्चित रगत समूहलाई रुचाउँछन् भन्ने दाबीको कुनै ठोस वैज्ञानिक आधार नभएको सिमार्डले बताए उनका अनुसार यस्ता निष्कर्षहरू सीमित अध्ययनमा आधारित छन् र पर्याप्त प्रमाण छैनन्।

त्यस्तै, छाला, आँखाको रङ वा कपालको रङसँग लामखुट्टेको आकर्षणको कुनै सम्बन्ध नरहेको पनि वैज्ञानिकहरूले स्पष्ट पारेका छन् । यसको विपरीत, शरीरको गन्ध निर्धारण गर्ने सूक्ष्म जैविक तत्त्वहरू सबैभन्दा महत्त्वपूर्ण कारकका रूपमा देखिएका छन्।

अनुसन्धानअनुसार मानव छालाबाट ३०० देखि एक हजारसम्म फरक गन्धयुक्त रासायनिक यौगिकहरू निस्किन्छन् । तीमध्ये केही यौगिकहरूको संयोजनले केही व्यक्तिहरूलाई लामखुट्टेका लागि विशेष रूपमा आकर्षक बनाउँछ।

हालै इग्नेल नेतृत्वको अध्ययनमा एडीज इजिप्टी लामखुट्टे प्रयोगशालामा ४२ जना महिलामा परीक्षण गरिएको थियो । यस अध्ययनले लामखुट्टेले गन्धयुक्त यौगिकहरूको मिश्रण प्रयोग गरेर आफ्नो लक्ष्य छान्ने गरेको देखाएको थियो, जसमा एक हजार सम्भावित यौगिकमध्ये करिब २७ वटा पहिचान गरिएका छन्।

विशेषगरी छालाको तेल सेबमको विघटनबाट बन्ने केही रसायनहरू लामखुट्टे आकर्षणसँग जोडिएका छन् । ‘१–अक्टेन–३–ओएल’ अर्थात् ‘मशरूम अल्कोहल’ नामक यौगिकको सानो मात्राको परिवर्तनले पनि आकर्षणमा उल्लेखनीय फरक पार्ने देखिएको इग्नेलले बताए।

अनुसन्धानले गर्भवतीमा पनि लामखुट्टेको आकर्षण बढी हुने सङ्केत दिएको छ, जसको कारण शरीरमा हुने जैविक रासायनिक परिवर्तनहरू मानिन्छन् । वैज्ञानिकहरूका अनुसार यस्ता सूक्ष्म परिवर्तनहरूले लामखुट्टेको व्यवहारमा ठूलो प्रभाव पार्न सक्छ।

जीवनशैलीसँग सम्बन्धित केही तत्त्वहरूले पनि लामखुट्टेको आकर्षण बढाउने देखिएको छ । बियर सेवन गर्दा शरीरको तापक्रम बढ्ने, सासमा कार्बन डाइअक्साइड बढ्ने र छालाको गन्ध परिवर्तन हुने भएकाले लामखुट्टे बढी आकर्षित हुने विभिन्न अध्ययनहरूले देखाएका छन्।

बुर्किना फासोमा गरिएको परीक्षणमा बियर पिउने स्वयंसेवकहरूलाई लामखुट्टेले बढी आकर्षित गरेको थियो । त्यस्तै नेदरल्यान्ड्समा सन् २०२३ मा गरिएको अध्ययनमा बियर सेवन गरेका व्यक्तिहरूलाई लामखुट्टेले करिब १.३५ गुणा बढी आकर्षण देखाएको पाइएको थियो।

जलवायु परिवर्तनका कारण लामखुट्टे फैलिने क्षेत्र विस्तार हुँदै जाँदा यस विषयको महत्त्व अझ बढ्दै गएको छ । विशेषगरी डेङ्गु, पहेँलो ज्वरो र चिकनगुनिया जस्ता रोग फैलाउने लामखुट्टे नयाँ क्षेत्रमा पुगिरहेका छन्, जसले सार्वजनिक स्वास्थ्य जोखिम बढाएको छ।

फ्रान्समा समेत पछिल्ला वर्षहरूमा चिकनगुनिया फैलाउने बाघ लामखुट्टे उत्तरतर्फ फैलिएको पाइएको छ, जसले वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको ध्यान खिचेको छ।

लामखुट्टेको टोकाइबाट जोगिनका लागि वैज्ञानिकहरूले ढिलो–ढाकिने कपडा लगाउने, लामखुट्टे जाली प्रयोग गर्ने र प्रभावकारी विकर्षक प्रयोग गर्ने सुझाव दिएका छन् । साथै, जीवनशैलीमा पनि ध्यान दिन–हल्का खाना खाने र मदिरा सेवन कम गर्न उनीहरूले सल्लाह दिएका छन्।

हर्मुजमा सेना पठाउने विषयमा जापान अझै अन्योलमा

टोकियो – अमेरिका–इरान शान्ति सम्झौता पछि स्ट्रेट अफ हर्मुज मार्फत ढुवानी पुनः सुरु गर्न मद्दत गर्न सेना पठनउने विषयमा जापानले अझै निर्णय गरी नसकेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार देखि तेल र ग्यासका लागि महत्वपूर्ण ढुवानी मार्ग मानिने हर्मुज “पूर्ण रूपमा खुला“ हुने जनाउदै जलमार्गबाट आवागमन सुनिश्चित गर्न अझै “खोजी“ भइरहेको बताउनुभएको छ ।

ट्रम्पले जापान लगायत विश्वव्यापी सहयोगीहरूलाई स्टेट अफ हर्मुज खोल्न मद्दत गर्न यस क्षेत्रमा युद्धपोत पठाउन दबाब दिनु भएको छ ।

यस विषयमा हाल सम्म कुनै निर्णय नगरिएको जापानी रक्षामन्त्री सिन्जिरो कोइजुमीले मङ्गलबार बताउनुभएको छ ।

कोइजुमीले सहयोगी अमेरिकासहित सम्बन्धित देशहरूसँग नजिकबाट परामर्श गरी परिस्थितिको सावधानीपूर्वक मूल्याङ्कन र अन्तर्राष्ट्रिय कानूनको आवश्यक उपायहरू बारे विचार गर्न चाहेको बताउनुभएको छ ।

गत अप्रिलमा, सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीका वरिष्ठ सदस्यहरूले युद्ध रोकिएपछि जापानले स्ट्रेट अफ होर्मुजमा अवरोधहरू हटाउन आवाश्यक तैनाथी गर्ने विचार गर्नु पर्ने बताएको जनाइएको छ ।

हाल फ्रान्समा “जी सेवेन” शिखर सम्मेलनमा सहभागी प्रधानमन्त्री साने ताकाइचीले युद्धविराम सम्झौता पछि जापानसँग विभिन्न विकल्पहरू रहने बताउनु भएको छ ।

यसअघि सन् १९९१ मा भएको खाडी युद्धमा युद्धविराम पछि जापानी सेना माइन–क्लियरेन्स अपरेसनमा संलग्न भएको थियो ।

आगामी जुलाईमा राष्ट्रपति ट्रम्प र इराकी प्रधानमन्त्री जैदीबीच भेटवार्ता हुने : दुतावास

बगदाद – आगमाी जुलाईमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली अल–जैदीबीच ह्वाइट हाउसमा भेटवार्ता हुने बगदाद स्थित अमेरिकी दूतावासले मङ्गलबार जनाएको छ ।

राष्ट्रपतिका विशेष दूत ब्याराकले राष्ट्रपति ट्रम्प यस सम्बन्ध बारे छलफल गर्न जुलाईको मध्यमा ह्वाइट हाउसमा प्रधानमन्त्री अल–जैदीलाई स्वागत गर्न तत्पर रहेको बताउनुभएको छ । इराकी नेता र इराकका लागि ट्रम्पका विशेष दूत टम ब्याराकको संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी गराएको जनाइएको छ ।

इराकको राजधानी बगदादको बाराकको भ्रमणका क्रममा उहाँले इराकका सशस्त्र समूहहरूलाई निशस्त्रीकरण र विघटन गर्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्दा यस्तो घोषणा गरिएको जनाइएको छ ।

अमेरिकाले हालै इरान समर्थित समूहहरूलाई निशस्त्र बनाउन बगदाद माथि दबाब बढाएको छ । मे महिनाको सुरुमा, वासिङ्टनले उक्त समूहहरू विरुद्ध “ठोस कदम“ चालेपछि इराकमा वित्तीय हस्तान्तरण र सुरक्षा सहयोग पुनः सुरु गर्ने प्रतिवद्धता गरेको थियो ।

अप्रिल –८ मा युद्धविराम लागु हुनु अघि फेब्रुअरीको अन्त्यमा मध्यपूर्व युद्ध सुरु भए पछि सशस्त्र समूहहरूले इराकमा अमेरिकी सुविधाहरू विरुद्ध आक्रमणहरू सुरु गरेका थिए ।

अमेरिकाले केही गुटहरूमा पनि आक्रमण गरेको छ, जसले वासिङ्टन र बगदादबिचको सम्बन्धलाई तनावपूर्ण बनाएको छ ।

गत मे महिनाको मध्यमा कार्य–भार सम्हालेका अल–जैदीले राज्यले हतियारमा एकाधिकार कायम राख्ने आश्वासन दिनु भएको छ ।

उहाँले वासिङ्टनसँग व्यापार र लगानी सम्बन्धलाई मझभुत बनाउने इराकको प्रतिबद्धतालाई पनि दोहोर्याउनु भएको छ ।

इरान र संयुक्त राज्य अमेरिकाले सोमबार मध्यपूर्व युद्धको अन्त्य गर्ने सम्झौताको घोषणा गरेका थिए ।

इराक लामो समयदेखि संयुक्त राज्य अमेरिका र इरानबिचको युद्धको मैदान बनेको छ, भने सरकारका प्रतिनिधिहरूले गातार तिनीहरूबीच सन्तुलन कायम राख्नका लागि वार्ता गरिरहेका छन् ।

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

काठमाडौँ – शान्ति पदयात्राका क्रममा नेपाल आउनुभएका भियतनामी भिक्षुको समूहले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती चैत्य एवं बिहारलगायत सम्पदाको अवलोकन गरेको छ ।

पदयात्रामार्फत् विश्वभरि शान्तिको सन्देश प्रसारण गरेपछि भिक्षु रत्नगुणाको समूह सोमबार बुद्धको जन्मभूमि नेपाल आउनुभएको हो । उहाँ भियतनामी थेराबाद बौद्ध सङ्घका संस्थापक एवं प्रथम सङ्घराज भन्ते वमसरखिता महाथेरोझका एकमात्र जीवित शिष्य हुनुका साथै भिक्षु पन्नाकाराका गुरु पनि हुनुहुन्छ ।

उहाँकै निर्देशनमा २४ जना भिक्षुले १०८ दिनसम्म अमेरिकाका विभिन्न राज्यमा गरी तीन हजार ७०० किलोमिटर शान्ति पदयात्रा गरेका थिए । यसको नेतृत्व भिक्षु पन्नाकारले गर्नुभएको थियो ।

शान्ति अभियानअन्तर्गत नेपाल आएको यो टोलीमा भिक्षु पन्नाकारा, उहाँका गुरुलगायत हुनुहुन्छ । यसका साथै पदयात्रा अमेरिकाको तीन हजार ७०० किमी पदयात्रा पुरा गरेको चर्चित अलोका नामको कुकुर पनि सँगै छ । उहाँहरू थाइल्याण्डबाट दिल्ली हुँदै नेपाल आउनुभएको हो ।

यो यात्राको उद्देश्य विश्व शान्ति, करुणा, अहिंसा र सजगताको सन्देशलाई व्यावहारिकरूपमा सबैका माझ पु¥याउनु हो । प्राविधिक पृष्ठभूमिबाट आउनुभएका यी भिक्षुले बौद्ध शिक्षालाई आधुनिक तथा सरल तरिकाले प्रस्तुत गर्ने गर्नुभएको जनाइएको छ ।

पदयात्राका क्रममा विभिन्न समुदायसँग संवाद गर्ने, ध्यान गराउने र ‘शान्ति बाहिर होइन, आफूभित्रबाट सुरु हुन्छ’ भन्ने सन्देश बाँड्ने कार्यक्रम रहेको छ । भारत, श्रीलङ्का र नेपालजस्ता देशमा पनि भ्रमणमार्फत् उनीहरूले बौद्ध धर्मलाई मानवता र सहअस्तित्वको लागि प्रेरणा बनाउने गर्नुभएको छ ।

शान्ति भीडबाट प्राप्त हुँदैन भनेर बुद्धले आफैँभित्र खोजेजस्तै भिक्षुले शान्ति प्राप्तिको लागि कुनै महायज्ञ र अनुष्ठान नगरी अशान्त हुनाका कारण खोजेको जनाइएको छ । सिद्धार्थ गौतम बुद्ध भइसकेपछि पनि कुनै विजययात्रा गरेनन् । बरु ज्ञान बाँड्नतिर लागे जस्तै यी भिक्षु पनि बुद्धको त्यही बाटो हिड्दै यहाँ आइपुग्नुभएको हो ।

दुःखको निवारण र शान्तिको लागि विना भेदभावको बाटो बुद्ध हिँडेको बाटो हो र यो बाटोको प्रारम्भ बिन्दु नेपाल हो भन्ने मान्यताका आधारमा उहाँहरू नेपाल आउनुभएको हो ।

यसैगरी आजै उहाँहरूलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले शान्ति पदयात्रामा सहभागी भई आएका अलोका र भिक्षुको टोलीलाई काठमाडौँमा स्वागत गर्नुभएको मन्त्रालयको सामाजिक सञ्जालमा उल्लेख छ ।

घाम, पानी, हिउँ र अनेकौँ कठिनाइबीच पनि भिक्षुको साथ नछोड्ने अलोकाले करुणा, मैत्री, निष्ठा र सहअस्तित्वको अनुपम उदाहरण प्रस्तुत गरेको छ ।

अमेरिकामा भिक्षुसँगै १०८ दिनसम्म तीन हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्दै शान्ति पदयात्रा अभियानमार्फत लाखौँ मानिसको मन जितेको ‘अलोका’ नामक कुकुर र भियतनामी भिक्षुको टोली सोमबार नेपाल आइपुगेको हो ।

बुद्धको शिक्षाले भन्छ, ‘शान्ति बाहिरबाट आउँदैन, शान्ति हाम्रो मनबाट सुरु हुन्छ’ । यस पदयात्राले त्यही सन्देशलाई अझ गहिरोसँग स्मरण गरायो, मानिस मात्र होइन, सबै प्राणीमा मैत्री र करुणा विस्तार गर्न सके मात्र साँचो शान्ति सम्भव छ ।

रूसी तेल प्रशोदन केन्द्रमा युक्रेनी आक्रमण

मस्को – एउटा युक्रेनी ड्रोनले मङ्गलबार मस्को स्थित एउटा महत्त्वपूर्ण तेल प्रशोदन केन्द्रमा प्रहार गर्दा प्रशोदन केन्द्रमा आगलागी हुनुका साथै भौतिक क्षति पुर्याएको रूसी अधिकारीहरूले जनाएका छन् । यसैगरी युक्रेनले यो आक्रमण रूसकै आक्रमणको प्रति– आक्रमण भएको पुष्टि गरेको छ ।

यसअघि मस्कोले देश भरि गरेको ६०० वटा भन्दा बढी ड्रोन तथा ७० मिसाइल प्रहारले , कम्तिमा ११ जनाको ज्यान गएको र किएभमा युनेस्कोको सूचीमा रहेको अर्थोडक्स मठको क्षेत्रलाई क्षति पुर्याएको युक्रेनले बताएको एक दिन पछि यो आक्रमण भएको हो ।

पछिल्लो २४ घन्टामा मस्कोमा ड्रोनको आक्रमण जारी छ भने एउटा ड्रोन आक्रमणले मस्कोको तेल प्रशोधनको केन्द्रलाई क्षेति पुगेको मस्कोका मेयर सेर्गेई सोब्यानिनले बताउनुभएको छ ।

सोब्यानिनका अनुसार मङ्गलबार मस्कोतर्फ प्रक्षेपण गरिएको ६० वटा ड्रोनलाई रोकियो भने यो आक्रमणलाई राष्ट्रिय समाचार एजेन्सी तासले यस वर्षको रूसी राजधानीमा गरिएको सबै भन्दा ठूलो बम विस्फोटको रूपमा वर्णन गरेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आक्रमणक किएभले गरेको बताउनु भएको छ ।

यस पटक, मस्को क्षेत्रले युक्रेनको व्यापक आक्रमण क्षमताको दायरा बुझने अवरस पाएको जनाइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा भिडियोमा एउटा ड्रोन अपार्टमेन्टका ब्लकहरूमाथि उडिरहेको र चिमेनिया रोजा वाई ब्लान्का नजिकै विस्फोट हुनु अघि औद्योगिक क्षेत्रमा ठोक्किएको देखाइएको थियो ।

यो आक्रमण रूसी आक्रमणहरूको न्यायोचित र आत्म रक्षार्थ प्रतिक्रिया भएको उल्लेख गर्दै जेलेन्स्कीले युद्धको तत्काल अन्त्य हुनु पर्ने बताउनु भएको छ ।

रूसले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरे देखि युक्रेनमा लगभग दैनिक जसो ड्रोन तथा मिसाइलको आक्रमण गर्दै आएको छ ।

पछिल्लो समयमा मस्कोको युद्ध प्रयासलाई वित्त पोषण गर्ने जीवाश्म इन्धनको राजस्वलाई कमजोर पार्ने प्रयास स्वरूप यसको तेल प्रशोधन सुविधाहरू र निर्यात केन्द्रहरूमा आक्रमण गर्दै किएभले रूस विरुद्ध आफ्नो आक्रमणलाई तीव्र बनाएको जनाइएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन

काठमाडौं – सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ १० खर्ब ७९ अर्ब ६३ करोड ४७ लाख राजस्व सङ्कलन गरेको छ ।

सरकारले चालु आर्थिक वर्षभरिमा राजस्व शीर्षकहरुमा १४ खर्ब ८० अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेता पनि चालु आवको ११ महिनामा सबै शीर्षकमा सङ्कलन गर्ने लक्ष्यको ७३ दशमलव ०६ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणमा उल्लेख छ ।

सङ्घीय सरकारले कर राजस्व शीर्षकमा १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा ११ महिनाको अवधिमा भने लक्ष्यको ७४ दशमलव ०३ प्रतिशत अर्थात् रु नौ खर्ब ७९ अर्ब ६८ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ ।

सरकारले चालु आवको ११ महिना गैरकर राजस्वतर्फ रु एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिमा लक्ष्यको ६४ दशमलव ७३ प्रतिशत अर्थात् रु ९९ अर्ब ९४ करोड ६९ लाख राजस्व सङ्कलन गरेको छ ।

त्यस्तैगरी, चालु आवमा अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा सो अवधिमा भने लक्ष्यको ४२ दशमलव ८२ प्रतिशत अर्थात् २२ अर्ब ८८ करोड ५९ लाख मात्रै सङ्कलन भएको छ ।

स्वास्थ्य बिमा दाबीबापत ९१ करोडभन्दा बढी रकम निकासा हुँदै

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई थप ९१ करोड १८ लाख ९४ हजार रुपैयाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बिमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, मिति २०८३ जेठ १३ गते स्वास्थ्य बिमा दाबीबापत १ अर्ब ३ करोड २४ लाख ७७ हजार भुक्तानी गरिएको थियो । त्यसैगरी, जेठ २१ गते विपन्न नागरिकको औषधि उपचार खर्चबापत ३२ करोड १३ लाख ६ हजार निकासा गरिएको थियो भने जेठ २७ गते थप २७ करोड ३७ लाख ७८ हजार भुक्तानी गरिएको थियो ।

सरकारले विगत आर्थिक वर्षदेखि बाँकी रहेको स्वास्थ्य बिमा दाबी तथा विपन्न नागरिकको औषधि उपचारसम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ ।

स्वास्थ्य बिमा बोर्डका अनुसार, सेवा प्रदायक संस्थाहरूको बक्यौता भुक्तानीलाई निरन्तरता दिँदै स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने तथा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ ।

नेपाल भित्रिने सामानमा अनिवार्य शुल्क लगाएपछि राजस्व सङ्कलनमा वृद्धि

बाँके। भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज भन्सार कार्यालयको मासिक राजस्व सङ्कलनमा वृद्धि भएको छ ।रु एक सयभन्दा बढीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रुपमा वृद्धि भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताउनुभयो ।

उहाँका अनुसार, भन्सारमा कडाई गरेपछि चैत र बैशाख महिनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । गत फागुन महिनामा रु एक अर्व ९३ करोड, ३८ लाख १९ हजार सङ्कलन भएकोमा चैत महिनामा रु दुई अर्व १४ करोड, २५ लाख ५४ हजार र वैशाख महिनामा रु एक अर्ब ८४ करोड, २८ लाख २१ हजार राजस्व सङ्कलन भएको छ ।

हरेक सामान किनमेलनका लागि सीमापारि भारतीय बजार रुपैडिहा जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कडाइ गर्दा राजस्व वृद्धि हुनुका साथै नेपागञ्जको व्यापार व्यवसाय फस्टाउँदै गएको उहाँले जानकारी दिनुभयो ।

नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिना अवधिमा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२÷०८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण भएकोमा वैशाख मसान्तसम्म दश महिनामा मात्र रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजारअर्थात् लक्ष्यको ६८ दशमलव दुई प्रतिशत असुली भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले सीमा नाकामा कडाइपछि धेरै उपभोक्ता सीमापारि जान छाडेकोले नेपाली स्थानीय बजार चलायमान हुन थालेको बताउनुभयो ।

नेपाल आयल निगमद्वारा इन्धनको खुद्रा मूल्य स्थिर राख्ने निर्णय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको छ । निगमले सोमबार एक विज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको साविकको खुद्रा बिक्री मूल्यलाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।

पहिलो वर्गमा रहेको (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य २२२.५० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, दोस्रो वर्गका रहेको (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेलरमट्टितेल २२४ रुपैयाँमा रहेको छ ।यस्तै, काठमाडौं, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत रहने छ ।

लुम्बिनी बजेटः स्थायी राजधानी व्यवस्थापनमा जोड

दाङ। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा दाङमा स्थायी राजधानी व्यस्थापनदेखि प्रादेशिक अस्पताल स्तरवृद्धिसम्मका विषय समेटिएका छन् ।

सोमबार प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा पेस गर्नुभएको बजेट बक्तव्यमा दाङको राप्ती उपत्यका (देउखुरी) मा प्रदेश राजधानी व्यवस्थापन र निर्माणको दोस्रो चरणको कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश राजधानीभित्र संसदीय समितिका भवन र अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

त्यस्तै, प्रदेश राजधानी गुरुयोजनाअनुरूप राजधानीभित्रका प्रमुख सडकको रेखाङ्कन र आधारभूत संरचना निर्माणका लागि बजेट व्यवस्था गरिएको छ भने राप्ती गाउँपालिकासँगको समन्वयमा आधुनिक प्रविधिको प्रयोग गरी प्रदेश राजधानीको फोहर व्यवस्थापन गर्न अध्ययन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, घोराहीमा प्याराडाइज बोटानिकल उद्यान तथा रुटाहा ताल पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रु ११ करोड, थारु राजा दङ्गीशरणको इतिहास संरक्षणका लागि सकौरा पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारु सङ्ग्रहालय निर्माणका लागि रु चार करोड, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई २०० शय्याको अस्पतालमा स्तरोन्नति गर्न रु चार करोड विनियोजन गरिएको छ ।

दाङको महत्वपूर्ण सिँचाइ प्रणालीका रूपमा रहेको प्रगन्ना कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण, दिगो व्यवस्थापन र सञ्चालनका लागि रु १५ करोड विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताउनुभयो ।

कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए

कञ्चनपुर। कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् ।

ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६) बमोजिम हरेक वर्ष असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्थाअनुसार स्थानीय तहहरूले उक्त कार्यमा रोक लगाएका हुन् ।

सोही व्यवस्था कार्यान्वयन गर्दै भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै आफ्नो क्षेत्रभित्रका सबै नदी, खोला तथा नालाबाट नदीजन्य पदार्थको उत्खनन, सङ्कलन, ढुवानी र निकासी कार्य बन्द गरेका छन् ।

वर्षायाममा नदीको प्राकृतिक बहाव संरक्षण, सम्भावित बाढी तथा डुबानको जोखिम न्यूनीकरण र वातावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले उक्त निर्णय कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले कानुनी व्यवस्थाअनुसार नगरपालिका क्षेत्रभित्रका महाकालीसहित सबै नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खननमा रोक लगाइएको बताउनुभयो ।

“यस अवधिमा कुनै पनि व्यक्ति वा कम्पनीले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन वा ओसारपसार गर्न पाउँदैनन्”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई जानकारी गराइसकिएको छ ।” उहाँका अनुसार वर्षायाम सुरु भएसँगै उत्खनन रोक्ने व्यवस्था लागू गरिएकाले नदीजन्य स्रोतको संरक्षण, नदीको प्राकृतिक स्वरूप कायम राख्न तथा बाढीजन्य जोखिम नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, बेदकोट नगरपालिकाले पनि सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म नगर क्षेत्रभित्रका नदी तथा खोलाबाट कुनै पनि प्रकारका नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी तथा बिक्री वितरण गर्न नपाइने जनाएको छ । जारी सूचनामा उक्त अवधिभित्र कानुनविपरीत नदीजन्य पदार्थ उत्खनन, सङ्कलन, ढुवानी वा बिक्री वितरण गरेको पाइए प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख गरिएको छ ।

बर्सेनि वर्षायाममा लागू हुने यो व्यवस्थाले नदी तथा जलाधार क्षेत्रको संरक्षण, वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।

आज संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक आज बस्दै छ ।आज अर्थ समिति, पूर्वाधार विकास समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

अर्थ समितिको बैठक आज बिहान ९ बजे बस्ने छ । अर्थ समितिको बैठकमा मस्यौदा कार्यविधिमाथि छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठक ९ बजे बस्ने छ । सार्वजनिक सवारी व्यवस्थापन, ढुवानी व्यवस्थापन र, विविध विषयमा छलफल हुने कार्यसूची तय भएको छ ।

यसैगरी, बिहान १० बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक र ११ः१५ मा विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

कालीकोट। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट ल्याएको छ ।सोमबार कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता दिनुभएको हो ।

कर्णाली प्रदेश सरकारले आगामी आवको बजेटमा महिला स्वास्थ्य स्वंयमसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धारलगायत क्षेत्रमा विषेश प्राथमिकता दिएको मन्त्री शाहले बताउनुभयो ।

“सार्वजनिक स्वास्थ्य संस्थामा सुत्केरीलाई दिइँदै आएको सुत्केरी पोषण भत्तालाई निरन्तरता दिएको छु”, उहाँले भन्नुभयो, “ग्रामीण स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान दिँदै आएका स्वास्थ्य स्वयंसेविकालाई कर्णाली प्रदेश सरकारबाट विगतदेखि दिइँदै आएको प्रोत्साहन भत्तालाई शतप्रतिशत वृद्धि गरी रु २४ हजार पु¥याएको छु ।”

हरेक स्वास्थ्य संस्थाको अभिलेखलाई डिजिटलाइज गरिने व्यवस्था मिलाइएको तथा स्थानीय तहबाट सञ्चालित आधारभूत अस्पताललाई बिरामीको सङ्ख्या, चाप र थप सेवाको आँकलन गरी भौतिक पूर्वाधारसहित स्वास्थ्य सेवा सुदृढीकरण गर्न आवश्यक बजेट विनियोजन गरेको मन्त्री शाहले बताउनुभयो ।

“प्रादेशिक अस्पताल तथा आधारभूत अस्पतालको प्रयोगशाला सेवाको सुदृढीकरण गरिनेछ”, उहाँले भन्नुभयोे, “प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन दरबन्दीअनुसारको जनशक्ति, भौतिक पूर्वाधार र उपकरणको व्यवस्था गरी प्रेषण प्रयोगशालाका रुपमा स्तरोन्नति गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु ।”

प्रदेशका अस्पतालमा विपन्न तथा ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका क्रममा आवश्यक रगत नेपाल रेडक्रस सोसाइटीको समन्वयमा निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्थाका लागि आवश्यक रकम विनियोजन गरेको र जिल्ला अस्पताल दैलेखमा मिर्गाैला डायलासिस सेवालाई विस्तार गर्ने व्यवस्था मिलाएको मन्त्री शाहले बताउनुभयो ।

“क्यान्सर, मुटु, मिर्गाैला, अल्जाइमर, पार्किन्सन, एनिमिया, रिकेट्स, सिकलसेल एनिमिया, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी, अटिजमजस्ता दीर्घरोगबाट पीडित बिरामीको उपचार सहायताका लागि रु दुई करोड ५० लाख विनियोजन गरेको छु”, उहाँले भन्नुभयो, “नसर्ने रोगको पहिचान गर्न ज्येष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका समुदायस्तरमा स्वास्थ्य परीक्षण गरी रोगको पहिचान गर्ने व्यवस्था मिलाइनेछ ।”

इ–हेल्थ, टेलिमेडिसिन विशेषज्ञ सेवा, स्वास्थ्य शिविर, अङ्कोलोजी सेवा, जलन उपचार सेवालगायत कार्यक्रमलाई निरन्तरता दिन रु चार करोड ३९ लाख विनियोजन गरेको र आकस्मिक स्वास्थ्योपचार कोषको स्थापना तथा सञ्चालनलाई निरन्तरता दिइने मन्त्री शाहले बताउनुभयो ।

“प्रतिकार्यमा उक्त कोषको प्रयोग गर्ने व्यवस्था मिलाइनेछ । ट्रपिकल रोगको निवारण गर्न आवश्यक बजेट विनियोजन गरेको छु”, उहाँले भन्नुभयो, “पूर्ण संस्थागत सुत्केरी कार्यलाई अनिवार्य गरी जटिल अवस्था भएका गर्भवती तथा सुत्केरी लाई थप सेवा उपलब्ध गराउन आवश्यक भएमा जिल्ला÷प्रदेश अस्पतालमा समयमै पठाउने व्यवस्थाका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।”

कर्णाली प्रदेशभित्रका अस्पताल तथा स्वास्थ्यचौकीलाई सुविधासम्पन्न बनाउन डेण्टल सेवा विस्तारसम्बन्धी उपकरण खरिद, बायोमेडिकल उपकरण खरिद, अन्य अत्यावश्यक मेशिनरी उपकरण खरिद र बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण तथा औजार खरिदका लागि रु सात करोड ३० लाख विनियोजन गरेको मन्त्री शाहले बताउनुभयो ।

“दुर्गम ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई नजिकको स्थानबाट न्यूनतम् आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा आधारभूत स्वास्थ्य केन्द्र÷सामुदायिक स्वास्थ्य इकाइको प्रभावकारी सञ्चालनलाई निरन्तरता दिन रू दुई करोड २२ लाख विनियोजन गरेको छु”, उहाँले भन्नुभयो, “योग, ध्यान, जीवनशैली परिवर्तन तथा मनोसामाजिक स्वास्थ्य प्रवद्र्धन प्याकेज तयार गर्नका लागि आवश्यक व्यवस्था मिलाएको छु । कर्णालीलाई आरोग्य पर्यटन ‘हब’का रूपमा विकास गर्न कर्णाली समग्र आरोग्यता अभियान सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु ।”

प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी आयुर्वेद औषधिमा आत्मनिर्भर हुन आयुर्वेदिक औषधि उत्पादन केन्द्रको सुदृढीकरण गरिने र उत्पादित औषधिलाई कर्णाली ब्रान्डका रुपमा बजारीकरण तथा बिक्री वितरण गर्न आवश्यक कानुन निर्माण गरिने मन्त्री शाहले बताउनुभयो ।

“वैकल्पिक चिकित्सा सेवालाई नागरिकको जीवनशैलीसँग आबद्ध गर्न परम्परागत ज्ञान सीपको संरक्षण प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न रु ६ करोड ४१ लाख विनियोजन गरेको छु”, उहाँले भन्नुभयो, “सङ्घ, प्रदेश, स्थानीय तह तथा सम्बद्ध साझेदारको समन्वय र सहकार्यमा लागुऔषध, सवारी दुर्घटना, मानसिक स्वास्थ्य, मनोसामाजिक परामर्श तथा पुनःस्थापना, नसर्ने रोगको नियन्त्रणलगायत कार्य गर्न प्रतिकारात्मक, उपचारात्मक, पुनःस्थापनात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य सेवाका कार्यक्रममा आवश्यक बजेट विनियोजन गरेको छु ।”

मातृ, बाल, शिशु तथा नवजात शिशु मृत्युदरलाई न्यूनीकरण गर्न विभिन्न सचेतनामूलक कार्यक्रम, सामाजिक व्यवहार परिवर्तन, पोषण तथा उपचार सेवालाई प्रभावकारी बनाइने मन्त्री शाहले बताउनुभयो ।

त्यस्तै, बालबालिका, किशोरकिशोरी तथा सुत्केरीको पोषण अवस्थालाई सुधार गर्न सुत्केरी पोषण कोसेली कार्यक्रमलगायत पूरक पोषिलो खाना कार्यक्रमलाई निरन्तरता दिन रु ६ करोड ५९ लाख आठ हजार विनियोजन मन्त्री शाहले जानकारी दिनुभयो ।

‘आमा’ गीतको सफलता, डा. रुद्रनाथ अधिकारी वर्षको उत्कृष्ट गीतकार घोषित

काठमाडौं । प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीको रचनामा आधारित मातृभक्ति गीत ‘आमा’ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (NIM Award) को नवौं संस्करणअन्तर्गत सुगम संगीत (पुरुष) विधातर्फ उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। साथै, डा. अधिकारी वर्षको उत्कृष्ट गीतकार अवार्डबाट सम्मानित भएका छन्।

डा. अधिकारी बहुआयामिक तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनी नेपालका चर्चित ज्योतिषमध्ये एक मानिन्छन् भने कर्मकाण्ड, धर्मशास्त्र तथा साहित्य क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन्। उनका विभिन्न विधाका लेख, साहित्य तथा गीतहरूमा जीवन, समाज, संस्कृति र मानवीय भावनाका विविध आयाम झल्किने गरेका छन्।

उनका सिर्जनामा साहित्यिक गहिराइ र सांगीतिक संवेदनशीलताको सुन्दर समिश्रण पाइन्छ। हरेक शब्द र पंक्तिमा जीवन्त भाव, अर्थपूर्ण सन्देश तथा संगीतको मर्म झल्किने गरेको समीक्षकहरूको भनाइ छ। पछिल्ला केही वर्षयता उनी निरन्तर साहित्य, पुस्तक तथा गीत लेखनमा सक्रिय छन्। उनका थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन् भने आफ्ना गीत तथा सांगीतिक सामग्रीहरू आफ्नै युट्युब च्यानल ‘Dr. Rudranath Adhikari’ मार्फत सार्वजनिक गर्दै आएका छन्।

अहिलेसम्म उनका चर्चित गीतहरूमा ‘आमा’, ‘यस्तै रहेछ भाग्य’, ‘बुझ मायालु’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘मदहोश’, ‘यसपालिको तिज’, ‘एक पानीको थोपा’, ‘सपना जिउँदैछन्’, ‘आऊन् माया आऊ’ र ‘या लिएर आऊ’ लगायतका सिर्जनाहरू रहेका छन्। उनका धेरै गीतहरू अडियो स्वरूपमा सार्वजनिक भएका छन् भने केही गीतका म्युजिक भिडियोसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका छन्।

सांगीतिक क्षेत्रमा आफू नयाँ भए पनि चुनौतीसँग नडराई निरन्तर सिक्दै र अनुभव बटुल्दै अगाडि बढ्ने डा. अधिकारी बताउँछन्। “जहाँ पनि सुरुवाती चरणमा चुनौतीहरू हुन्छन्। तर म चुनौतीदेखि हारेर हिँड्दिनँ। बरु सिक्दै, अनुभव बटुल्दै अगाडि बढ्नेछु र एक दिन कालजयी गीतका उत्कृष्ट स्रष्टाका रूपमा आफूलाई स्थापित गरेर छोड्ने अठोट गरेको छु,” उनले भने।

धार्मिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय डा. अधिकारी धर्म, संस्कार र संस्कृतिको संरक्षणसँगै दीनदुःखी, असहाय तथा विपन्नहरूको सेवामा पनि समर्पित रहँदै आएका छन्। बाँकी जीवन परोपकार, साहित्य, सिर्जना र संगीतमै समर्पित गर्ने उनको भनाइ छ।

‘आमा’ गीत आफ्नो हृदयको धड्कनसँग जोडिएको र हरेक मातृभक्त सन्तानको भावनालाई समेट्ने मार्मिक सिर्जना भएको उल्लेख गर्दै उनले यस गीतले उचित सम्मान र न्याय पाएको महसुस गरेको बताए। “यो सफलताले मलाई थप प्रेरणा र ऊर्जा दिएको छ। आगामी सांगीतिक यात्रामा यसले अझ नयाँ उत्साह र रंग भर्ने विश्वास लिएको छु,” उनले भने।

गोकर्णेश्वरवासीलाई केएमसीमा उपचार गर्दा ५० प्रतिशतसम्म छुट

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका स्थायी वासिन्दाहरुले काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । आज गोकर्णेश्वर नगरपालिका र काठमाडौं मेडिकल कलेज (केएमसी) पब्लिक लिमिटेडबीच स्वास्थ्य उपचारमा सहुलियत उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली र काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भएर उपचार गराउँदा औषधि, औषधिजन्य सामग्री, उपकरण, इम्प्लान्ट, क्याबिन तथा केही विशेष सेवाबाहेक अन्य उपचार खर्चमा ५० प्रतिशत छुट पाउनेछन् । सिनामंगल शाखामा उपचार गराउँदा भने सोही प्रकृतिका सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ । दुवाकोटमा उपचार गरिएका बिरामीको कुल खर्चको ५० प्रतिशत तथा सिनामंगलमा उपचार गरिएका बिरामीको कुल खर्चको ७५ प्रतिशत रकम गोकर्णेश्वर नगरपालिकाले केएमसीलाई शोधभर्ना गर्ने सम्झौतामा उल्लेख छ । केएमसी अस्पतालका सञ्चालक डा. सुनिल शर्माले नगरवासीहरुले स्वास्थ्यबीमा, विपन्न, गरिब, गोकर्णेश्वर नगरपालिका र केएमसीको उपचार छुट गरेर मिर्गौलापीडितले १० लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने बताए ।

नगरपालिका प्रमुख दीपककुमार रिसालले गोकर्णेश्वरवासीलाई निशुल्क उपचार गराउने महानगरको लक्ष्य रहेको बताए । उनले वडास्तरमा रहेका स्वास्थ्यचौकी, नगर अस्पताल र आसपासका अन्य निजी अस्पतालको सहकार्यमा नगरवासीहरुलाई सहुलियतमा उपचार सेवा दिने व्यवस्था गरिएको जानकारी दिए । उनले हाल ३० करोड रुपैयाँ बराबरको लागतमा नगर अस्तपाल निर्माणधिन रहेको बताए ।

सम्झौताअनुसार उपचारमा आवश्यक पर्ने रगत उपलब्ध गराउन नगरपालिकाले सिफारिस गर्नेछ । रगतको प्रयोगशाला परीक्षण शुल्कबापत प्रतिपिन्ट एक हजार दुई सय १० रुपैयाँ नगरपालिकाले अस्पताललाई शोधभर्ना गर्नेछ । सहुलियत प्राप्त गर्न सेवाग्राहीले उपचार सहुलियतका लागि निवेदन, नागरिकता, मतदाता परिचयपत्र, विवाह दर्ता प्रमाणपत्र, नाबालकका हकमा जन्मदर्ता प्रमाणपत्र तथा बीमितका हकमा बीमा कार्ड पेश गर्नुपर्नेछ ।

उपचार सम्पन्न भएपछि अस्पतालले खर्च विवरण, बिल भरपाई, उपचार कार्ड, नगरपालिकाको सिफारिसपत्र तथा स्थायी बसोबास पुष्टि हुने कागजातसहितको विवरण स्वास्थ्य शाखामा पेश गरेपछि नगरपालिकाले ३० दिनभित्र भुक्तानी गर्ने व्यवस्था गरिएको छ । सम्झौता साउन १ गतेदेखि लागू भई २०८४ असार मसान्तसम्म कायम रहने जनाईएको छ

विश्वकप फुटबलः स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ। फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता स्पेन र अफ्रिकन राष्ट्र केप भर्डेलबीचको खेल बराबरीमा टुङ्गिएको छ ।अमेरिकाको एटलान्टास्थित एट्लान्टा रङ्गशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा टुङ्गिएको हो ।

सन् २०१० को विश्वकप विजेता स्पेनले विश्वकपमा नवप्रवेशी टोली केप भर्डेलससँग निकै दबाबमा खेले पनि गोल गर्न भने सकेन । यस बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।समूह ‘एच’अन्तर्गत आजै साउदी अरेबिया र उरुग्वेवीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल नेपाली समयअनुसार बिहान ३ः४५ बजे हुनेछ ।