`

९ मेगावाटको दरमखोला हाइड्रोपावरले थाल्यो व्यावसायिक उत्पादन

ढोरपाटन (बागलुङ), २ मङ्सिरः दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ । विसं २०७७ देखि निर्माण सुरु भएको हाइड्रोपावरबाट आइतबारदेखि व्यवसायी उत्पादन सुरु गरिएको हो ।

दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारण लाइनमा जडान गरिएको थियो । विसं २०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि विसं २०७७ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरको उत्पादन क्षमता ९ दशमलव ६ मेगावाट छ ।

सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालीले जिम्मा लिएको छ । गलकोट नगरपालिका–८ काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युत्गृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरिएको हाइड्रोपावरका इञ्जिनियर मिथिलेस चौधरीले जानकारी दिनुभयो । बर्खामा ९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँद याममा ६ दशमलव ६ मेगावाट मात्रै उत्पादन भइरहेको इञ्जिनियर चौधरीले बताउनुभयो ।

इञ्जिनियर चौधरीले भन्नुभयो, “दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारण लाइनमा जोडिएको छ, विद्युत्गृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सवस्टेशनमा जोडिएको छ, प्रसारण लाइनमा एक महिना अगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, बर्खामा ९ दशमलव ६ मेगावाट उत्पादन गर्न सकिने भए पनि अहिले सकिदैन ।”

हाइड्रोपावर निर्माणको जिम्मा रामेछाप शेर्पा कन्स्ट्रक्सन र क्रिमहाइडल लिमिटेड पाएका थिए । हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूले सुरु गरेको उहाँको भनाइ छ ।

निर्माण सम्पन्न गर्न रु दुई अर्ब बढी लगानी भएको अध्यक्ष पुन बताउनुहुन्छ । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँ बस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको उहाँको भनाइ छ ।

“दरमखोला हाइड्रोपावर बागलुङमा अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्ष अगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ, यद्यपि अहिले उत्पादन गर्ने स्थितिमा आएको छ”, अध्यक्ष पुनले भन्नुभयो, “१७ वर्ष अगाडि गोर्खा हाइड्रोपार कम्पनीले इजाजत पाएको थियो, त्यसलाई रद्द गरेर हामीहरुले नयाँ कम्पनी बनाएर काम ग¥यौँ, अहिले सम्पन्न भएर सकियो ।”

जेनजी प्रदर्शनमा काभ्रेमा लुटपाटमा संलग्न थप पाँच जना पक्राउ

काभ्रेपलाञ्चोक, २ मङ्सिर : ज्लिलाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लास्थित विभिन्न सरकारी संरचना, प्रहरी कार्यालय भवन तथा सम्पत्तिमाथि तोडफोड, आगजनी र लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–३ का २१ वर्षीय अजय तामाङ, खानीखोला गाउँपालिका–१ का २१ वर्षीय विशाल भोलन, बनेपा नपा–३ का २२ वर्षीय रवीन्द्र परियार र वडा नं ८ का १९ वर्षीय अभि सुधाकार तथा दोलखाको जिरी नपा–१ का २७ वर्षीय भीम तामाङ रहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकामध्ये भोलनविरुद्ध इलाका प्रहरी कार्यालय बनेपामा २०८१ मा लागुऔषध मुद्दा दर्ता भएको छभने सुधाकारविरुद्ध २०७९ मा सवारी ज्यान मुद्दा दर्ता भएको थियो । पक्राउ परेकाको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि जेनजी आन्दोलनका क्रममा जिल्लामा विभिन्न सरकारी तथा निजी भवन र सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप १२ जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको थियो । जिल्लाका विभिन्न स्थानमा आगजनी र लुटपाटमा संलग्नविरुद्ध कार्यालयमा परेको उजुरीका आधारमा घटनाको अनुसन्धानसँगै आन्दोलनका क्रममा आपराधिक घटनामा संलग्नको खोजी भइरहेको कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले कार्यालयमा छवटा निजी संरचनामा भएको क्षतिबारे उजुरी परेपछि विशेष अनुसन्धान सुरु गरिएको बताउनुभएको छ ।

कार्यालयले आफ्नो मातहतको इलाका प्रहरी कार्यालय बनेपा तोडफोड, आगजनी तथा लुटपाटमा संलग्न ११ लाई भने पक्राउ गरी कारबाहीसहित थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रदर्शनका क्रममा काभ्रेपलाञ्चोकमा विभिन्न १८ वटा सरकारी तथा निजी संरचनामा ठूलो क्षति पुर्याइएको थियो । यसअघि जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका थप ५३ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट विभिन्न मितिमा पक्राउ गरी कार्यालयले जिल्ला कारागार धुलिखेलमार्फत सम्बन्धित कार्यालय पठाएको जनाएको छ ।

यसैबीच प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा ५३ जना कैद तथा जरिवना तोकिएका व्यक्तिलाई पक्राउ गरेको छ । अदालतले फैसला कार्यान्वनका लागि पठाएका करिब छ सय व्यक्तिको सूचीका आधारमा ५३ जना पक्राउ गरिएको कार्यालयले जनाएको छ । विष्टका अनुसार कात्तिक मसान्तसम्म ५३ जना व्यक्ति पक्राउ गरी उनीहरूबाट १२ वर्ष आठ महिना सात दिन कैद र रु दुई करोड ६७ लाख ५९ हजार ९०० जरिवना असुल भएको छ । अदालतले प्रहरीलाई दिएको सूचीका आधारमा विभिन्न अपराधमा कैद तथा सजाय तोकिएका अझै पाँच सय ४३ जना कैद तोकिएका व्यक्ति अझै फरार रहेको जनाइएको छ ।

आज कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही अन्य मौसम सफा रहने

काठमाडौं । आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् ।

महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदी पक्राउ गरेको छ ।गत भदौ २४ गतेको आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवल सुन्धाराबाट फरार भएका धादिङ गजुरी–२ की गीता लामा र काठमाडौँका मङ्गलनारायण मोहन महर्जनलाई सोमबार पक्राउ गरिएको हो । लामा जिउ मास्ने बेच्ने मुद्दामा २२ वर्ष कैद सजाय कायम भई २०७६ मङ्सिर १९ गतेदेखि कारागार कार्यालय जगन्नाथदेवल महिला बन्दीगृह सुन्धारामा कैद भुक्तान गरिरहेकी थिइन् ।

यस्तै, सुन भन्सार चोरी पैठारी मुद्दामा एक वर्ष कैद र रु एक करोड आठ लाख ३९ हजार ७४७ बराबरको जरिवाना कायम भएका महर्जनलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले लामालाई ललितपुर महानगरपालिका–३ धोवीघाटबाट र महर्जनलाई काठमाडौँ धोवीचौरबाट पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवलमा पेस गरिएको जनाएको छ ।

कप्तानद्वय केसी र साह भन्छन्- पहिलो पटक नेपालमा फ्लड लाइटमा खेल्न पाउँदा खुसी लागेको छ

काठमाडौँ – ‘फ्लड लाइट’ले उज्यालिएको मैदानको प्याराफिटमा हजारौँ दर्शक र मैदान बाहिरबाट पनि उल्लेख्य सङ्ख्यामा समर्थकको साथ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा सीमित सिटका कारण कैयौँ दर्शक मैदान बाहिरबाटै समर्थन जनाए ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल हेर्ने दर्शक मात्रै होइन खेलाडीले पनि खुसी व्यक्त गरे । उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गरेपछि काठमाडौँ गोर्खाजका कप्तान करण केसीले यस मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्न पाउँदा निकै खुसी लागेको बताए ।

“आजको खेलमा छुट्टै अनुभव भयो, पहिलोपटक घरेलु मैदान र दर्शकसामु फ्लडलाइटमा खेल्न पाउँदा भित्रैबाट खुसी लागेको छ”, उनले भने, “फ्लड लाइटमा पहिलो पटक खेल्नु ऐतिहासिक क्षण थियो, त्यसका पनि पहिलो खेलमै जित हाात पार्दा निकै खुसी छौँ ।”

पहिलो खेलमा पिचले स्पिनरलाई साथ दिएको उनको भनाइ थियो । स्पिनरकै कारणले खेल आफूहरुले जितेको उनले प्रतिक्रिया दिए । “आगामी दिनमा पनि राम्रो गर्दै जानेछौँ”, उनले भने, “सुरुआत सुखद् छ, नेपाली र विदेशी सबै खेलाडीको प्रदर्शन राम्रो भयो ।” उनले गत संस्करणमा भएका कमीकमजोरी सच्याएर उपाधि जित्ने लक्ष्यका साथ आफूहरुले तयारी गरेको उनले बताए ।

खेलपछि जनकपुरका बोल्ट्सका कप्तान अनिल साहले पनि पहिलोपटक नेपालमै फ्लड लाइटमा खेल्न पाउँदा सुखी लागेको प्रतिक्रिया दिए । उहाँले भन्नुभयो, “नेपालको आफ्नै मैदानमा फ्लड लाइटमा खेल्ने सपना थियो, त्यो पूरा भएको छ, यसमा हामी एकदमै खुसी छौँ ।”

आफू ब्याटिङमा चुक्दा खेल आफ्नो पक्षमा नपरेको उल्लेख गर्दै साहले ब्याटिङमा लामो साझेदारी बन्दा नसक्दा पराजित हुनुपरेको बताए । उनले भने, “पारीको सुरुआत राम्रो भयो, आसिफले राम्रो ब्याटिङ गरे पनि उनीसँगको साझेदारी अन्य ब्याटरको हुन सकेन, लक्ष्य कम भएकाले दोस्रो पारीमा खेलमा फर्कनसक्ने अवस्था रहेन ।” प्रतियोगिताको पहिलो खेलमा हार बेहोरे पनि आगामी खेलमा राम्रो प्रदर्शन गर्दै अगाडि बढ्ने उनको भनाइ थियो ।

एनपिएलको पहिलो संस्करण सफल भएपछि सरकारले मैदानमा फ्लड लाइट जडानमा चासो देखाएको थियो । फ्लड लाइटका जडानका लागि सरकारले रु ४२ करोड १९ लाख खर्च गरेको छ ।

निर्माण कम्पनी विशन–ईश्वरी ज्वाइन्ट भेञ्चरका अनुसार मैदानमा राखिएका छ वटा खम्बामा फ्लडलाइट जडान गरिएको छ । कम्पनीका अनुसार एउटा खम्बामा ७० वटा लाइट गरी कूल ४२० वटा लाइट जडान भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएल)का कूल ३२ खेलमध्ये २३ फ्लड लाइटमा खेलाउने तालिका बनाएको छ । सोमबारदेखि सुरु एनपिएल यही मङ्सिर २७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा आठ टोली विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गोर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

मौलाकाली केबलकार पुनःसञ्चालनमा

नवलपुर (नवलपरासी) – गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो ।

मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै नै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताउनुभयो । केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने कुनै समस्या नआएमा केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ ।

गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो ।

“आगजनी र तोडफोडका क्रममा केबलकारको तल्लो स्टेशनमा क्षति पुगेको थियो”, उहाँले भन्नुभयो, “क्षतिग्रस्त उपकरणको विस्तृत परीक्षण तथा मर्मतका लागि केबलकार जडान गरिएको अष्ट्रियाको संस्थाबाट विशेष प्राविधिक टोली आएर एक सातासम्म परीक्षण गरेको थियो ।”

प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताउनुभयो । केबलकारको आन्तरिक परीक्षणपश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ ।

“मर्मतपछि केबलकारको सम्पूर्ण प्रणाली प्राविधिक रूपमा सुरक्षित रहेको पुष्टि भएको छ”, स्टेसन म्यानेजर पौडेलले भन्नुभयो, “अब अन्तिम चरणका केही परीक्षण र निरीक्षणपछि पूर्ण क्षमतामा सञ्चालनमा आउनेछ ।” मौलाकालिका मन्दिरका दर्शनार्थी तथा अपर स्टेसनमा रहेको होटलमा जाने यात्रुहरू ढुक्क भएर यात्रा गर्नसक्ने अवस्था भएपछि केबलकार नियमित सञ्चालनमा ल्याइने पौडेलले बताउनुभयो ।

मौलाकाली केबलकार लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताउनुभयो । उहाँले आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौँ रुपैयाँ बराबरको क्षति पुगेको बताउनुभयो । जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको सङ्ख्यामा कमी आएको जनाइएको छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून रहेको छ । “केबलकार सञ्चलनमा हुने समयसम्म मन्दिर आउने दर्शनार्थीहरु उल्लेख्य रुपमा देखिनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “केबलकार बन्द भएकाले यस वर्ष दसैँको समयमा अपेक्षाकृतरुपमा भक्तजनको उपस्थिति देखिएन ।” अब केबलकार नियमित रुपमा सञ्चालनमा आएपछि मन्दिरमा दर्शन गर्न आउने भक्तजन बढ्ने अपेक्षा गरिएको सापकोटाले बताउनुभयो ।

पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेका सापकोटाले बताउनुभयो । “हिउँदका समयमा मन्दिरबाट बिहान मन्दिरमुनि बजार क्षेत्रमा हुस्सु (कुहिरो) र सूर्योदयको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “योसँगै उत्तरतर्फ तनहुँ र गोरखाका रमणीय पहाडसँगै हिमालसमेत अवलोकन गर्न सकिन्छ ।”

समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्छ ।

सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब

काठमाडौँ – सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार खर्ब ३० अर्ब बराबर पुग्ने अनुमान गरिएको छ ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१÷८२ को वार्षिक प्रतिवेदनअनुसार उक्त आवमा प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान रहेको छ ।

प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात दशमलव शून्य तीन प्रतिशत योगदान पु¥याउने प्रारम्भिक अनुमान गरिएको छ । बृहत् औद्योगिक वर्गीकरणअनुसार प्रादेशिक कूल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी ३४ दशमलव ७२ प्रतिशत योगदान कृषि, वन तथा मत्स्यपालन क्षेत्रको र सबैभन्दा कम शून्य दशमलव १३ प्रतिशत योगदान प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको रहने प्रारम्भिक अनुमान गरिएको छ ।

आव २०८०÷८१ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान अग्रस्थान (३३ प्रतिशत) र प्रशासनिक तथा सहयोगी क्षेत्रको योगदान अन्तिम स्थान (शून्य दशमलव १३ प्रतिशत) मा हुने संशोधित अनुमान गरिएको थिया ।

त्यसैगरी, आव २०८१÷८२ मा सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन रु चार चार खर्ब ३० अर्ब र आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा तीन दशमलव ३२ प्रतिशत र आधारभूत मूल्यमा दुई दशमलव ७१ प्रतिशत रहने अनुमान गरिएको छ । आधारभूत मूल्यमा प्रदेशको प्राथमिक क्षेत्रको वृद्धिदर दुई दशमलव आठ दुई दशमलव आठ प्रतिशत, द्वितीय क्षेत्रको वृद्धिदर दुई प्रतिशत र तृतीय क्षेत्रको वृद्धिदर दुई दशमलव नौ प्रतिशत रहने अनुमान गरेको छ ।

समीक्षा वर्षमा प्रमुख कृषिबाली (खाद्य तथा अन्य बाली, तरकारी एवं फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र दुई दशमलव १६ प्रतिशतले वृद्धि भएको छ । यस्ता बालीको उत्पादन दुई दशमलव ७७ प्रतिशतले बढेको छ ।

प्रमुख खाद्य तथा अन्य बालीमध्ये सबैभन्दा बढी तेलहन र आलुको उत्पादन क्रमशः १८ दशमलव ८९ प्रतिशत र १६ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ भने फापरको उत्पादनमा सबैभन्दा बढी ७७ दशमलव ८८ प्रतिशतले ह्रास आएको छ ।

पशुजन्य उत्पादनअन्तर्गत माछा उत्पादन १० दशमलव ३६ प्रतिशत, मासु शून्य दशमलव ७९ प्रतिशत, ऊन उत्पादन तीन दशमलव २७ र अण्डा एक दशमलव ७६ प्रतिशतले बढेको छ । प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १० दशमलव १४ प्रतिशत हिस्सा कृषि क्षेत्रमा प्रवाहित भएको छ ।

विंस २०८२ असारमसान्तसम्ममा सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा ३ दशमलव ४१ प्रतिशतले ह्रास भई रु १५ अर्ब ९६ करोड ४२ लाख पुगेको छ ।

प्रदेशका अध्ययन नमुनामा समेटिएका उद्योगको औसत क्षमता उपयोग ३४ दशमलव ४७ प्रतिशत छ । समष्टिगत रुपमा मागमा आएको गिरावटले सम्पूर्ण औद्योगिक वस्तुको उत्पादनमा ह्रास आएको देखिन्छ । समीक्षा वर्षको अन्त्यसम्ममा यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको १६ दशमलव ९७ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा प्रवाहित भएको छ । सो क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा चार दशमलव ३७ प्रतिशतले वृद्धि भई रु २६ अर्ब ७२ करोड तीन लाख पुगेको छ ।

उक्त आवमा नमुनाका रुपमा छनोट गरिएका १० होटलको औसत अकुपेन्सी ३६ दशमलव ४० प्रतिशत रहेको छ । यस्तै, घरजग्गा रजिष्ट्रेसन सङ्ख्या ३७ दशमलव ५० प्रतिशतले बढेको छ भने रजिष्ट्रेसन राजस्व ३७ दशमलव ६२ प्रतिशतले बृद्धि भएको छ ।

गत असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाले सङ्कलन गरेको कुल निक्षेप २०८१ असार मसान्तको तुलनामा १६ दशमलव ३० प्रतिशतले बढेको छ । यस्तै, कर्जा प्रवाह दुई दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, यातायात साधनको दर्ता सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ दशमलव शून्य सात प्रतिशतले वृद्धि भएको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कूल कर्जाको ७२ दशमलव ८८ हिस्सा सेवा क्षेत्रमा प्रवाहित भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजन भएको बजेटमध्ये समीक्षा वर्षमा ७५ दशमलव ६६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्चतर्फ विनियोजन भएको बजेटमध्ये ६६ दशमलव ४७ प्रतिशत खर्च भएको छ ।

मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र सुरु

म्याग्दी – म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकको लस्ती–बेनी खण्डमा कालोपत्र गर्न सुरु भएको छ ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयमार्फत सोमबारदेखि छ किलोमिटर ५०० दूरीको सडकमा कालोपत्र गर्न थालिएको हो ।

कार्यालयका सूचना अधिकारी इञ्जिनियर विष्णु चापागार्इंले दुई लेनमा अक्सफाल्ट प्रविधिको कालोपत्र गरिने जानकारी दिनुभयो । “गत वर्ष पाँच दशमलव पाँच किलोमिटर दूरीको मालढुङ्गा–फर्से खण्डमा कालोपत्र भएको थियो”, उहाँले भन्नुभयो, “बाँकी रहेको फर्से–बेनी खण्डमा यही महिनाभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गरेको छ ।”

कूल १३ किलोमिटर दूरीको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित र पर्वत बेनीको बजार क्षेत्रको एक किलोमिटरलाई ठेक्काबाट हटाइएको छ । दुई किलोमिटर २०० मिटर ढलान भएको छ । लस्ती बजारको ५६० मिटर र लस्ती पुलदेखि केराबारीको पहिरोसम्म २५० मिटरमा सोमबार एकतर्फी कालोपत्र भएको छ ।

मङ्गलबार उक्त खण्डमा दुईतर्फी कालोपत्र सकेर केराबारीदेखि मिलनचोकतर्फ कालोपत्र सुरु गर्ने निर्माण कम्पनी एपेक्स–खड्का–कृष्ण जेभीका इञ्जिनियर जीवन चौधरीले बताउनुभयो ।

कालोपत्रलाई तीव्रता दिनका लागि स्थानीय प्रशासनको समन्वयमा म्याग्दी र मुस्ताङ जाने आउने सवारीसाधनलाई मालढुङ्गा–बागलुङ–रत्नेचौर– बेनी जोड्ने वैकल्पिक सडकबाट आवतजावत गर्ने व्यवस्था मिलाइएको छ ।

मङ्सिर २० गतेसम्मका लागि मालढुङ्गा–बेनी सडक स्तरोन्नतिका लागि बिहान १० देखि साँझ ५ः०० बजेसम्म बन्द गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताउनुभयो ।

एपेक्स–खड्का–कृष्ण जेभीले विसं २०७७ चैतमा रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्यभन्दा तीन वर्षपछि पूर्णता पाउन लागेको हो । कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्रीको अभावका कारण देखाएर सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र बनाएको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।

जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिने, ढुवानी र सार्वजनिक यातायातको भाडादर घट्ने, धुलो र हिलोमा जोखिम तथा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

सडक निर्माणलाई गति दिन जनप्रतिनिधि, उद्योगी व्यवसायी र सरोकारवालाहरुले दबाब दिँदै आएका छन् । यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । चालु आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

राष्ट्र बैंकले तीन अर्ब तीन करोड लगानी गर्ने

काठमाडौँ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ ।

राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि लगानी गर्न लागेको हो । सूचनामा वाणिज्य बैंकमा रु दुई अर्ब ८२ करोड ४० लाख, विकास बैंकमा रु ५२ करोड ९५ लाख र वित्त कम्पनीमा रु १७ करोड ६५ लाख बराबरको रकम लगानी गर्न लागेको उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको दुई वर्ष पूरा भएको, न्यूनतम कूल पुँजीकोष कायम रहेको र कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका सर्तहरु पूरा गरेको हुनुपर्नेछ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९० पैसा र बिक्रीदर १०१ रुपैयाँ ३३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर २० रुपैयाँ , साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ १० पैसा र बिक्रीदर ३४ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९८ पैसा र बिक्रीदर २२ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ २१ पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ९५ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ १४ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

झापा आएका १५ हात्ती मोरङतिरै फर्किए

झापा – यहाँ आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए ।

“तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ”, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भन्नुभयो, “हामी निरन्तर निगरानीमा छौँ । रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन् ।”

मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व लागेको हात्तीको बथानले झापाको बाहुनडाँगी गौडा हुँदै भारतको पश्चिम बङ्गालतिर फर्किने बाटो पछ्याएको अनुमान गरिएको थियो । दिनभरि स्थानीय जङ्गलमा विश्राम गर्ने ती हात्तीहरू रात परेपछि मात्र हिँड्थे । तर सोमबार दिनभरि ती हात्ती झापाको शिवसताक्षीस्थित रतुवामाई र दमकको हम्सेदुम्से सामुदायिक वनमा विश्राममा रहेको श्रेष्ठको भनाइ छ ।

दुई वर्षअघि ५० देखि ६० को सङ्ख्यामा हात्तीको ठूलो बथान बाहुनडाँगीको प्रसाद गौडा हुँदै नेपाल प्रवेश गरेको थियो । तीमध्ये अधिकतम ३० वटा हात्ती डेढ महिना नेपाल विचरणपश्चात भारततर्फ फर्किएका थिए । अरु हात्ती भने मोरङ र सुनसरीको वन क्षेत्रमा बसेका थिए ।

हात्तीको बथान मोरङबाट झापातिर आइरहेको खबर प्राप्त भएपछि डिभिजन वन कार्यालय र स्थानीय पालिकाले जनधनको क्षति नहोस् भनेर व्यापक सुरक्षा सतर्कता अपनाएका छन् । वन कार्यालयले गस्ती टोली परिचालन गरी सर्वसाधारणलाई सावधानी अपनाउन माइकिङसमेत गरेको थियो ।

भारतको आसामदेखि नेपालको कोशी टप्पु क्षेत्रसम्म जङ्गली हात्तीहरू ओहोरदोहोर गर्दै आएका छन् । भारतबाट भित्रिने गर्भिणी हात्ती नेपालमा सुरक्षितरूपमा बालबच्चा हुर्काएरमात्र भारत फर्किने गरेका छन् । अहिले भारत फर्किन लागेको बथानमा हात्तीका थुप्रै छावा रहेको बताइएको छ । भारत नफर्किएसम्म सावधानी अपनाउन वन कार्यालयका प्रमुख श्रेष्ठको आग्रह छ ।

एनपीएल क्रिकेट : आज दुई खेल हुँदै, कति बजे कुन खेल हुँदैछ ?

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य सुखद् सुरुआत गर्ने हुनेछ ।

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल भुर्तेल रहनेछन् ।यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएर काठमाडौँ गोर्खाजले सुखद सुरुआत गरेको छ । जितसँगै काठमाडौँले अङ्कतालिकामा दुई अङ्क पनि जोड्यो ।

नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगिताको फाइनल मङ्सिर २७ मा हुनेछ । प्रतियोगिताका विजेताले रु एक करोड १० लाख पाउने क्यानले जनाएको छ ।

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै मनाइने पशुपतिनाथ मेला आज लाग्दैछ ।

पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज छर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात मङ्गलबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बस्छन् । मङ्गलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन् । यसरी आएका श्रद्धालु भक्तजनको मङ्गलबार बिहानैदेखि पशुपति क्षेत्रमा भीड लाग्ने गर्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लाग्ने गरेको हो । जाडोको मौसम भएकाले पाललगायत व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । ।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिरवरपर बसी दिवङ्गत आत्माका नाममा महादीप बाली भजनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउँछन् ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहँु, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पु¥याउन अनुरोध गरिन्छ ।

धर्मशास्त्रविद् प्रा तोयराज नेपाल शतबीज भन्नाले हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्न होइन भन्नुहुन्छ । “भगवान् शिव मृगरूप लिएर घुम्नुभएको पुण्य क्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने चर्चा विभिन्न धर्मग्रन्थमा गरिएको छ”, उहाँले भन्नुभयो ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गर्नुभएको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ ।

यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।

त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।

आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।

माता, पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद् नेपालले सुनाउनुभयो । धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

सुरक्षा चुनौती निस्तेज पार्ने रणनीति बनाउन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीको विश्लेषण गर्दै त्यसको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाउन निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेपछि उहाँले ‘भर्चुअल’रुपमा आज मातहतका कमिटीलाई व्यावसायिक रूपमा आआफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको हो ।

प्रहरी महानिरीक्षक कार्कीले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको जनाउनुभएको उहाँको सचिवालयले जनाएको छ । उहाँले वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमानाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभयो ।

महानिरीक्षक कार्कीले आसन्न निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीति अवलम्बन गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । “आ–आफ्नो जिम्मेवार क्षेत्रमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुहोला”, निर्देशन सम्बोधनमा प्रहरी महानिरीक्षक कार्कीले भन्नुभयो ।

त्यसक्रममा वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधि भर्चुअल रुपमा सहभागी थिए ।

निर्वाचन आयोगलाई ट्रेड युनियन कांग्रेसको ज्ञापनपत्र

काठमाडौँ – नेपाल ट्रेड युनियन कांग्रेसले स्वदेश र विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने मागसहित निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।

आज निर्वाचन आयोगका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष महासङ्घका अध्यक्ष योगेन्द्र कुँवरको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले संविधान, ऐन, कानुन र नियमावलीको परिधिभित्र रहेर निर्वाचन प्रक्रिया सञ्चालन र कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले ज्ञापनपत्रमा रहेका बुँदाप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो ।

महासङ्घ अध्यक्ष कुँवरले लामो समयदेखि स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई मतदानको व्यवस्था हुनुपर्ने, संविधानको मूल मर्मअनुसार श्रमिकका विषय सम्बोधन गरिनुपर्ने माग महासङ्घले उठाउँदै आएको बताउनुभयो । तिनै विषय सम्बोधनका लागि पुनः आयोगको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

ज्ञापनपत्रमा स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई आगामी निर्वाचनमा कार्यथलोबाट मतदान गर्ने व्यवस्था हुनुपर्ने, संविधानको धारा ४२(१) मा भएको व्यवस्थाअनुरुप युवा, किसान श्रमिकलाई पनि समानुपाति सिद्धान्तका आधारमा राज्यको संसद्लगायत निकायमा प्रतिनिधित्वको लागि बेग्लै ‘क्लष्टर’ बनाउनुपर्ने, आगामी निर्वाचन मितव्ययी बनाउनुपर्ने र तोकिएको मितिमा निर्वाचन हुनुपर्नेलगायत माग समेटिएका छन् ।

पाँचजना प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतको आदेश

जनकपुरधाम – मधेश प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जनता समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टीको पाँच प्रदेशसभा सदस्यहरूलाई पदमुक्त गर्नुभएको थियो ।

सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले मधेस प्रदेशसभाका सभामुख मण्डललाई ती पाँच जना प्रदेशसभा सदस्यलाई तत्काल पदमुक्त नगर्न आदेश दिएको हो ।

जनता समाजवादी पार्टी नेपालका प्रदेशसभा सदस्यहरू मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन साह कलवार र शारदा शङ्कर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी उर्मिला सिंहलाई प्रदेशसभाको बैठकमा लगातार १० दिन अनुपस्थित रहेको भन्दै पदमुक्त गरिएको थियो ।

सभामुखको निर्णयविरुद्ध पदमुक्त भएका प्रदेशसभाका सदस्यहरूले सर्वोच्चमा अदालतमा रिट दायर गरेका थिए ।

एनपिएलः क्रिकेट महाकुम्भको शानदार सुरुआत, के के भयो आज ?

काठमाडौँ – ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए ।

तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु कसैले रुखमै चढेर खेल हेरे भने कतिले अग्लो स्थानमा बसेर टाढैबाट हेर्दै प्रतियोगिताको साक्षी बने ।

नेपाली क्रिकेटको यो महाकुभ्म मेला यही मङ्सिर २७ गतेसम्म यसैगरी चल्नेछ । जहाँ हरेक दिन हजारौँ दर्शकले साथ दिनेछन् । एनपिएलको पहिलो संस्करण अपेक्षा गरिएभन्दा बढी सफल भएपछि दोस्रो संस्करण थप स्तरीय मात्रै भएको छैन, यसले नेपाली मनलाई एकापसमा जोड्ने बलियो माध्यम पनि भएको छ ।

पूर्वाधारका हिसाबले यस वर्ष फ्लड लाइट थपिएको छ । नेपाली दर्शकले पहिलोपटक क्रिकेटमा ‘डे–नाइट’ खेल हेर्न पाएका छन् । गत वर्ष खुला मैदानमा खचाखच भरिएका दर्शक यसपटक सहज रुपमा सिटमा बसेर रमाए । नयाँ क्रिकेट खेलाडीले मौका पाए । एनपिएलको चर्चा विदेशी क्रिकेटप्रेमीमाझ अझ बलियो भयो । विदेशका पूर्वक्रिकेटरहरु प्रशिक्षकका रुपमा एनपिएलमा जोडिएका छन् ।

त्रिवि क्रिकेट मैदानको प्यारापिट निर्माणमा रु ४४ करोड ७७ लाख र फ्लड लाइटका लागि रु ४२ करोड १९ लाख खर्च भइसकेको छ । एउटै मैदानको स्तरोन्नतिका लागि यति ठूलो रकम एकै पटक जुट्न दर्शकको साथकै कारण सम्भव भएको हो । त्यसैले त एनपिएल खेलमा मात्रै सीमित नभई आर्थिक र सामाजिक दृष्टिले पनि महत्त्वपूर्ण बनेको छ । यो पछिल्लो समय विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने सेतु बनेको छ ।

एनपिएल दोस्रो संस्करणको पहिलो खेल पहिलो संस्करणका विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गुर्खाजबीच भयो । जसमा काठमाडौँ गुर्खाजले नतिजा पाँच विकेटले आफ्नो पक्षमा पार्न सफल भयो । एनपिएलको पहिलो खेलमा राष्ट्रिय टिमका ओपनर आशिफ शेखले अर्धशतकीय पारीसँगै दर्शकको मन जिते । पहिलो पारीमा विदेशी खेलाडी मिलिन्द कुमारले किफायती बलिङ गर्दै महत्त्वपूर्ण तीन विकेट लिए । जनकपुरका लागि मयन यादवले ३४ रन र लहिरु समाराकुनले २२ रन जोडे र जनकपुरले काठमाडौँ सामु १३१ रनको सामान्य लक्ष्य प्रस्तुत ग¥यो ।

लक्ष्य पछ्याएको काठमाडौँको सुरुआत निकै राम्रो भयो । पहिलो विकेटका लागि ७० रनको साझेदारी गरेको काठमाडौँलेको गति भने त्यसपछि सुस्त भयो । उसका लागि ओपनरद्वय आकाश त्रिपाठी र बेन चाल्र्सवर्थले क्रमशः ३९ र ४६ रनको योगदान दिए ।

काठमाडौँ गुर्खाजका कप्तान करण केसीले खेलपछि प्रतिक्रिया दिँदै आजको खेलमा स्पिनरलाई पिचले साथ दिएको बताए । “टियुको मैदान कहिले बलर त कहिले ब्याटरलाई साथ दिन्छ, आज स्पिनरलाई राम्रो भयो”, उनले भने ।

दोस्रो संस्करणको एनपिएलमा पनि पहिलो संस्करणमा जस्तै एन्ड्रयु लियोनार्डले ‘कमेन्ट्री’मार्फत टेलिभिजन दर्शकलाई थप रोमाञ्चक बनाए । सदाझैँ विदेशी ‘कमेन्टेटर’लाई नेपाल र ढाका टोपीको बयान गर्न छुट्टाएनन् । आयरल्याण्डमा जन्मिए पनि एन्ड्रयु नेपाली दर्शकका कारण चर्चामा छन् । उनलाई नेपाली दर्शकले टक्लु उपनाम दिएका छन् ।

एनपिएल विजेताले टोलीले रु एक करोड १० लाख पाउने छ । साथै दोस्रो हुनेले रु ५१ लाख र तेस्रो हुनेले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा विराटनगर किङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेञ्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन् ।

विदेशी खेलाडी

विराटनगर किङ्सले यसपटक दक्षिण अफ्रिकाका पूर्वकप्तान फाप डुप्लेसिलाई भित्र्याएको छ । त्यसबाहेक न्यूजिल्याण्डका मार्टिन गप्टिल र मर्चेन्ट डि लांगे, स्कटल्याण्डका जर्ज मुन्सी, अष्ट्रेलियाका हिजलेट र अमेरिकाका शुभम रञ्जनेलाई ल्याएको छ ।

पोखरा एभेञ्जर्सले यसपटक न्यूजिल्याण्डका स्टार जिमी निशम, इंग्ल्याण्डका जेसन रोय, एडम रोसिंटन, ड्यान डौथवेट र वेस्ट इन्डिजका रेयमन रइफरलाई ल्याएको छ । सुदूरपश्चिम रोयल्सले अष्ट्रेलियाबाट क्रिस लिन र जोस ब्राउन, न्युजिल्याण्डबाट स्कट कुग्लाइन र अमेरिकाबाट हरमित सिंहलाई भित्र्याएको छ ।

जनकपुर बोल्ट्सले दक्षिण अफ्रिकाका वेन पार्नेल, श्रीलङ्काबाट लाहिरु मिलान्था, लाहिरु समरकुन, सङ्गीत कोरे, नामिबियाका जाननिकोल लोफ्टी इटन र अमेरिकाका सञ्जय कृष्णमूर्तिलाई ल्याएको छ । चितवन राइनोजले इंग्लायण्डबाट रवि वोपरा, डेविड मलान, सैफ अली जैब, पाकिस्तानबाट सोहेल तनबिर र युगाण्डाका अल्पेस रामजानीलाई ल्याएको छ ।

लुम्बिनी लायन्सले अष्ट्रेलियाबाट डार्सी सर्ट, अफगानिस्तानका गुल्बदिन नाइब, इटालीका थोमस ड्राका तथा नामिबियाका रुबेन ट्रम्पलम्यान र जेजे स्मितसँग अनुबन्ध गरेको छ । काठमाडौँ गुर्खाजले विदेशी कोटाबाट इङ्ग्लायण्डका जोन सिम्पसन, बेन चाल्र्सवर्थ, नामिबियाका जेरार्ड इरासमस, भारत सन्नी पटेल, दक्षिण अफ्रिकाका रिकार्डो भास्कोनसेलोस र अमेरिकाका मिलिन्द कुमारलाई अनुबन्ध गरेको छ ।

साथै कर्णाली याक्स पनि अष्ट्रेलियाका विल बोसिस्टो, भारतका प्रियांक पाञ्चाल र जयकिशन कोलसावाला, नेदरल्याण्ड म्याक्स ओडाउड, स्कटल्याण्डका मार्क वाट र अफगानिस्तानका नाजिबउल्लाह जाद्रानलाई अनुबन्ध गरेको हो ।

प्रधानमन्त्री कार्की र उपत्यका ‘मेयर फोरम’ का प्रतिनिधिबीच चुनाव तथा स्थानीय समस्याबारे छलफल

काठमाडौँ, १ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका ‘मेयर’हरूसँग छलफल गर्नुभएको छ । उपत्यका मेयर्स फोरमका प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा भएको भेटमा स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै त्यसका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भेटका क्रममा फोहर व्यवस्थापन, सडक बत्तीको बक्यौता, सुरक्षा चुनौती र विकास निर्माणका अवरोधलगायत स्थानीय तहलाई परेका विभिन्न समस्याबारे प्रधानमन्त्रीलाई अवगत गराएको र सरकारले यसबारे ‘बोल्ड’ निर्णय गर्नुपर्ने धारणासमेत राखेका प्रधानमन्त्रीको सचिवाललयले जनाएको छ ।

छलफलमा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले सडक बत्तीको बक्यौता रकम धेरै वर्षयता राफसाफ नभएको उल्लेख गर्दै ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत सङ्घीय सरकारले तिर्ने व्यवस्था मिलाइदिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।

गोकर्णेश्वर नगरपालिका प्रमुखले नेपाल ट्रस्टको जग्गामा सडक बिस्तारका लागि पहल गर्न अनुरोध गर्नुभयो । टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले टोखा–छहरे सडक चौडाइका लागि स्थानीयलाई मुआब्जा दिने निर्णय गर्न गैरदलीय सरकारले ऐतिहासिक कदम चाल्नुपर्ने सुझाव दिनुभयो ।

बूढानीलकण्ठ नगरपालिका प्रमुख मीठाराम अधिकारीले आन्दोलनसँग प्रत्यक्ष सम्बन्ध नराख्ने व्यक्तिहरूद्वारा गरिएको लुटपाटमा कडा कारबाही गर्नुपर्ने माग गर्नुभयो । चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले सल्लाघारी–कमलविनायक–नगरकोट सडक वर्षौंदेखि अधुरै रहेकाले छिटो सम्पन्न गरिदिन माग गर्यो ।

‘जेनजी’ प्रदर्शनपछि उत्पन्न सुरक्षा अवस्थाबारे पनि धेरै मेयरले ध्यानाकर्षण गराउँदै स्थानीय तहका कार्यालय सञ्चालनमा सहजता मिलाइदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री कार्कीले आफू निर्वाचनमा केन्द्रित रहेको उल्लेख गर्दै यसमा स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । “एकातिर निर्वाचन मात्र गराऊ, अरु काम नगर भन्ने कुरा पनि उठेको छ । अर्कोतिर तपाईंहरूले उठाउनुभएको समस्या समाधानमा लाग्नुपर्ने माग छ । यसमा के–कति गर्न सकिन्छ, हेरौँला । समाधान तपाईं–हामी मिलेरै गर्ने हो ।”

भावी पुस्ताका लागि देशलाई बस्नलायक बनाउनु सबैको साझा दायित्व भएको बताउँदै प्रधानमन्त्री कार्कीले वर्षौंदेखिको एकलौटी शासनप्रति युवामा देखिएको असन्तुष्टि आत्मपरीक्षणको विषय भएको धारणा राख्नुभयो । नयाँ पुस्ताको सोचअनुसार अघि बढ्नुपर्ने र प्रविधिसँगै हुर्किएको पुस्ताको अपेक्षा बुझ्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो ।

जतिसक्दो छिटो दलित अधिकार विधेयक मस्यौदा तर्जुमा गर्छौँः कानुनमन्त्री सिन्हा

काठमाडौँ, १ मङ्सिरः कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले दलित समुदायको अधिकार तथा व्यवस्था गर्ने विधेयकको मस्यौदालाई जतिसक्दो छिटो तर्जुमा गर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज बसेको बैठकमा संविधान बनेको दश वर्ष बितिसक्दा पनि दलितको अधिकार कार्यान्वयन गराउने विधेयक तयार हुन नसकेको भन्दै सांसदहरूले गुनासो गरेपछि जवाफमा मन्त्री सिन्हाले छिट्टै मस्यौदा ल्याउने बताउनुभएको हो ।

उहाँले अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको मस्यौदा अब आउने नयाँ प्रतिनिधिसभामा पेस गर्न योग्य बनाउने गरी अगाडि बढ्ने बताउनुभयो । “विधेयकको मस्यौदा अन्तिमचरणमा छ । बाँकी रहेका काम पनि चाँडै टुङ्गो लगाउँछौँ”, मन्त्री सिन्हाले भन्नुभयो ।

समितिका सभापति कमलादेवी पन्तले संविधानको धारा ४० बमोजिम दलितको अधिकार विधेयक तर्जुमा गर्न र दलित विकास प्राधिकरणलाई तत्काल कार्यान्वयनमा ल्याउने वातावरण मिलाउन सरकारलाई निर्देश गरिएको बताउनुभयो ।

बैठकमा समितिका सदस्य वामदेव गौतमले हालसम्म पनि सदियौँदेखि दलित समुदायमाथि राज्यले गरेको विभेदको अन्त्य हुन नसक्नु दुःखद् रहेको बताउनुभयो । उहाँले भूमिहीन दलितलाई जग्गा, शिक्षा, स्वास्थ्यजस्ता अधिकार राज्यले संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

समिति सदस्य नारायणकाजी श्रेष्ठले दलितको अवस्थामा सुधारका लागि राज्यले कानुन निर्माण गरेर कार्यान्वयनमा ल्याउन अति आवश्यक रहेको बताउनुभयो ।

सदस्य विष्णुबहादुर विश्वकर्माले दलितलाई न्याय दिने कुरामा राज्य नै उदासिन रहेको बताउनुभयो । “संविधानमा दलितको पक्षमा व्यवस्था गरिए पनि कानुन बनाएर कार्यान्वयन गराउन राज्य किन ढिलासुस्ती गर्दैछ ?”, उहाँले प्रश्न गर्नुभयो, “यो नै राज्यले गरेको दलितमाथिको विभेद हो ।

कानुन मन्त्रालयमा एक वर्षदेखि मस्यौदा घुमिरहेको छ, हालसम्म तयार गर्न नसक्नुको कारण के हो ?”
समिति सदस्य तुलप्रसाद विश्वकर्माले राजतन्त्र फालेर गणतन्त्र आए पनि दलित समुदाय अन्यायमै रहेको बताउनुभयो । “संविधानमा लेखेर मात्रै न्याय पाइँदैन । दलितका लागि राजतन्त्र गयो, तर सामन्तवादले शोषण गरिरहेकै छ ।”

सदस्य उर्मिला अर्यालले मधेस प्रदेशका दलितहरूले भोगेको अन्याय झनै डरलाग्दो रहेको चर्चा गर्नुभयो । राज्यले दायित्वबोध नगरेकै कारण दलित समुदायले विभेद खेप्दै आएको उहाँको भनाइ थियो । बैठकमा पूजा चौधरी, घनश्याम रिजाललगायतले संविधानमा दलितको मौलिक हकबारे लेखिएका बुँदाको मर्मअनुसार विधेयक ल्याउन आग्रह गर्नुभएको थियो ।

रोहित पौडेलको फिनिक्स कलेजमा अध्ययन प्रारम्भ, कलेजले दियो पूर्ण छात्रबृत्ति

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले क्रिकेट खेलसँगै शैक्षिक यात्रालाई पनि सँगसँगै अघि बढाउने भएका छन् ।क्रिकेट खेलमा शिखर चुमिरहेका कप्तान पौडेलले अब व्यवस्थापन अध्ययनमार्फत आफ्नो करियरका नयाँ आयाम खोल्न लागेको फिनिक्स कलेजले जनाएको छ ।

क्रिकेटको स्टारडम बीच पनि पौडेलले शैक्षिक यात्रालाई प्राथमिकता दिएका पौडेललाई स्वागत गर्दै कलेजले १०० प्रतिशत छात्रबृत्ति उपलब्ध गराएको  छ ।पौडेलजस्तो सफल, अनुशासित र प्रेरणादायी व्यक्तित्व कलेज परिवारमा जोडिनुले विद्यार्थीहरूलाई नेतृत्व, अनुशासन र निरन्तर परिश्रमबारे थप उर्जा मिल्ने फिनिक्स कलेजले विश्वास व्यक्त छ ।

कलेजका नेटवर्क निर्देशक राजु टण्डनले भने,‘हामी देशका लागि योगदान पु–याउने प्रतिभाशाली खेलाडीहरूको शैक्षिक यात्रामा साथ दिन पाउँदा निकै हर्षित छौँ । शिक्षा र खेलकुद एकसाथ अघि बढ्न सक्छन् भन्ने उदाहरण दिन हामी सधैं तत्पर छौँ ।’यसअघि पनि फिनिक्स कलेजले राष्ट्रिय टिमका अन्य खेलाडीहरूलाई पूर्ण छात्रबृत्ति प्रदान गर्दै खेलकुद र शिक्षा दुबै क्षेत्रको सन्तुलित विकासलाई प्रोत्साहन गर्दै आएको छ ।

प्रधानमन्त्री कार्कीद्वारा सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन

काठमाडौँ, १ मङ्सिरः प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिनुभएको छ ।केन्द्रका सचिव सरजुकुमार वैद्यसँगको छलफलमा आज उहाँले जेनजी आन्दोलन नै भ्रष्टाचारविरुद्धको आन्दोलन भएकाले त्यसमा सतर्कता केन्द्रले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै उहाँलाई सार्वजनिक निकायहरुबाट हुने ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार सम्बन्धमा प्राप्त उजुरी सुनुवाइका लागि केन्द्रको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री कार्कीले भ्रष्टाचारपछिको दण्डात्मक उपायभन्दा भ्रष्टाचार हुनै नदिने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

“सार्वजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन र अनुगमनलाई बढावा दिनुपर्छ । केन्द्रका निर्देशन पालना भए–नभएको पनि अनुगमन गर्नुहोस्”, प्रधानमन्त्री कार्कीले भन्नुभयो । उहाँले विकास–निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरी तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने तथा प्राविधिक परीक्षणको जिम्मेवारीमा केन्द्रको ध्यान पुग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यसको लागि जनशक्ति र वित्तीय स्रोतको समेत प्रबन्ध गर्नुपर्ने उहाँको भनाइ थियो । प्रधानमन्त्री कार्कीले आमनागरिकलाई अनुभूति हुने गरी संस्थाको उपस्थिति र प्रभावकारिता देखाउन निर्देशन दिनुभएको थियो ।

सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ, १ मङ्सिरः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । पूर्वराष्ट्रपति भण्डारीको बालुवाटारस्थित निवासमा आज भएको भेटमा उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितिबारे विचारविमर्श भएको छ ।

भेटका क्रममा सञ्चारमन्त्री खरेलले सरकारले गरिरहेको काम, सरकारको प्राथमिकता, आगामी निर्वाचनको तयारीलगायत विषयमा पूर्वराष्ट्रपतिलाई जानकारी गराउनुभयो । मन्त्री खरेलले सरकारले निर्वाचनको माहोल बनाइरहेको र निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी गरिरहेको अवगत गराउनुभयो ।

सञ्चारमन्त्री खरेलले आगामी निर्वाचनका लागि सबै राजनीतिक दलहरु सकारात्मक रहेको र केही दलले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरणका लागि चासो देखाएअनुरुप सरकारले निर्वाचनको सुरक्षालगायत तयारी गरिरहेको पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभयो । उहाँले जेनजी आन्दोलनको जगमा बनेको वर्तमान सरकारले निर्वाचन सम्पन्न गर्ने, सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, नवप्रवर्तनलगायतका कामलाई प्राथमिकताकासाथ अगाडि बढाएको उल्लेख गर्नुभयो ।

त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले निर्वाचन नै अहिलेको उपयुक्त विकल्प भएकाले मुलुक निर्वाचनको माहोलमा रहेको उल्लेख गर्नुभयो । उहाँले सबै राजनीतिक दलहरु निर्वाचनमा सहभागी हुनुपर्ने र निर्वाचनका लागि सरकारले वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “निर्वाचननै अहिलेको निकासको सही बाटो हो, यसका लागि सरकारले सोहीअनुसारको माहोल बनाउनुपर्छ र निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्छ ।”सरकारले आगामी फागुन २१ को निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षहरुसँग संवाद तीव्र रुपमा अघि बढाएको छ ।

एमाले कहिल्यै चुनावबाट भाग्ने पार्टी होइनः महासचिव पोखरेल

लुम्बिनी, १ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले एमाले कहिल्यै चुनावबाट नभाग्ने बताउनुभएको छ । उहाँले आफ्नो पार्टी सबैभन्दा बढी जनताको ‘म्यान्डेट’ मा विश्वास गर्ने दल भएको दाबी गर्नुभयो ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरको कार्यक्रममा महासचिव पोखरेलले फागुन २१ का लागि घोषित निर्वाचन गराउन सरकारको काम र क्रियाकलाप चुनाव केन्द्रित हुनुपर्ने तर त्यसो नदेखिएको बताउनुभयो । उहाँले देशले सामना गरिरहेको राजनीतिक सङ्कट समाधानको सबैभन्दा उचित उपाय संसद् पुनःस्थापना जिकिर गर्नुभयो ।

महासचिव पोखरेलले निर्वाचनका लागि सरकारले राजनीतिक दलसँग पर्याप्त छलफल र संवाद गरेर राजनीतिक सहमतिको ‘म्यान्डेट’ सहित संविधान अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “चुनावमा महत्त्वपूर्ण भूमिका भएको प्रहरीको हतियार खोसिएका छन् । फरार कैदीबन्दी र लुटिएका हतियारका कारण समाज त्रसित छ, जसले गर्दा प्रहरी र नागरिकको मनोबल कमजोर छ”, उहाँले भन्नुभयो, “प्रहरी र नागरिक डरको मनोविज्ञानबाट बाहिर ननिस्कदासम्म चुनाव सम्भव कसरी हुन्छ ?”

देशलाई संवैधानिक बाटोमा हिँडाउनको लागि प्रतिनिधिसभा पुनःसंस्थापना, संविधान संशोधन गरेर युवाका माग सम्बोधन गरी ‘अर्ली’ चुनावमा जान सकिने महासचिव पोखरेलको धारणा थियो । भदौ २३–२४ का घटनालाई नियोजित षडयन्त्रको उपज भन्दै उहाँले त्यसको तथ्यगत छानबिन हुनुपर्नेमा जोड दिनुभयो ।

महासचिव पोखरेलले विचारका आधारमा मुलुक धुव्रीकृत नहुँदासम्म देशमा अस्थिरता रहिरहने बताउनुभयो । उहाँले आगामी महाधिवेशनले सहमतिकै आधारमा सक्षम नेतृत्व चयन गर्नेसमेत बताउनुभयो । “पार्टीको नीति र विचारका विषयमा दोस्रो विधान अधिवेशनले टुङ्गो लगाइसकेको छ । जेनजी प्रदर्शनका विषयमा पनि केन्द्रीय समितिमा पर्याप्त छलफल भएर पार्टीले धारणा सार्वजनिक गरिसकेको छ । अब आगामी महाधिवेशनले सहमतिमै सर्वसम्मत नेतृत्व चयन गर्ने छ”, उहाँले भन्नुभयो ।

दोस्रो संस्करणको एनपिएल : उद्घाटन खेलमा जनकपुर विरुद्ध काठमाडौंको रोमाञ्चक जित

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गोर्खाजले पाँच विकेटले जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा जनकपुलाई काठमाडौंले दुई ओभर बाँकी रहँदै पाँच विकेटले हराएको हो ।

एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।
एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

बाजुराका प्रजिअ पौडेलको तीन महिना नपुग्दै सरुवा

बाजुरा । बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलको ३ महिना नपुग्दै सरुवा भएको छ। गत भाद्र १५ गते हाजिरी भएका पौडेलको तिन महिना नपुग्दै सरुवा भएको हो।

जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहेका पौडेललाई मन्त्रालयले गत भाद्रमा बाजुरा पठाएको थियो ।त्यसबेला सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको थियो।

गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलको सरुवा गरेको हो। मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कालीप्रसाद पराजुलीले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेललाई सरुवा गरिएको जानकारी दिए ।

पौडेलको सरुवा भए संगै उनको ठाउँमा जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई पठाईएको छ। ३ महिना नपुग्दै सरुवा भएका पौडेललाई आफ्नै गृह जिल्ला पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको हो।

दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह

काठमाडौँ, १ मङ्सिरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गर्नुभएको छ ।

एडिबी दक्षिण एसिया विभागका उपमहानिर्देशक सोना श्रेष्ठ, एडिबी नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीसँग आज भएको भेटमा उहाँले वित्तीय व्यवस्थापन धेरै लामो समयदेखि चर्चामा रहेकाले तत्काल टुङ्गो लगाइनुपर्ने बताउनुभयो ।

आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजसहित दुई अर्ब २० करोड अमेरिकी डलर (करिब रु दुई खर्ब २५ अर्ब) रहेको छ । यसमध्ये एक अर्ब ६८ करोड डलर ऋणबाट र बाँकी स्वपुँजी जुटाएर वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।

एडिबीको नेतृत्वमा विभिन्न अन्तरराष्ट्रिय वित्तीय संस्थाबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ । त्यसमध्ये एडिबीले ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । आयोजनाको हाल निर्माणपूर्वका तयारीका काम भइरहेका छन् ।

भेटमा मन्त्री घिसिङले खानेपानी, सडक, सिँचाइ, विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका क्षेत्रमा लगानी बढाउन आग्रह गर्नुभयो । काठमाडौँ उपत्यकाका विभिन्न चोकको ट्राफिक व्यवस्थापनका लागि फ्लाइओभर, सुरुङमार्गलगायतको सम्भाव्यता अध्ययनका लागि पनि आवश्यक सहायता उपलब्ध गराउन उहाँले आग्रह गर्नुभयो ।

मन्त्री घिसिङले एडिबीको सहायतामा सञ्चालित आयोजनामा वन क्षेत्रका जग्गा प्रयोग एवं रुख कटान, जग्गा प्राप्ति, ऐलानी जग्गाको क्षतिपूर्तिलगायत वातावरणीय तथा सामाजिक सुरक्षणका विषय कार्यान्वयनमा देखिएका समस्या समाधान गरिने र कार्यान्वयन गर्ने निकायको संस्थागत क्षमता विकास गर्दै जाने बताउनुभयो ।

सहायतामा सञ्चालित आयोजनाको खर्च गर्ने क्षमता बढाउन, जग्गा अधिग्रहण तथा ऐलानी जग्गाको क्षतिपूर्तिमा देखिएको समस्या समाधान गर्न, आयोजना कार्यान्वयन गर्ने निकायको क्षमता अभिवृृद्धि गर्न एडिबीका तर्फबाट अनुरोध गरिएको थियो ।

प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो दिनमै दल दर्ता उत्साहजनक

काठमाडौँ, १ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पहिलो दिन नै दल दर्तामा उत्साह देखिएको छ ।आयोगमा हालै एकताको घोषणा गरेको नेपाली कम्युनिष्ट पार्टी र एकता घोषणा गर्ने क्रममा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लगायत एक दर्जन राजनीतिक दलले पहिलो दिनमै आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गरेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यतालिकाअनुसार आजदेखि यही मङ्सिर १० गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ दल दर्ताको अवधि तोकिएकामा पहिलो दिनमै उत्साहजनक रूपमा दल दर्ता कार्य अगाडि बढेको बताउनुभयो ।

आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका गर्न आयोग परिसरमा राजनीतिक दलका नेता तथा कार्यकर्ताको बाक्लो जमघटले सबै राजनीतिक दल निर्वाचनमा भाग लिन आतुर रहेको देखिएको छ ।

आयोगका अनुसार आगामी निर्वाचनमा भाग लिन देश विकासका सन्ध्या खनाल, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का राजप्रसाद थपलिया, देशभक्त समाजका द्रोण अधिकारी, नेपाल लोकतान्त्रिक पार्टीका श्रवणकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लिमा अधिकारी र आमजनता पार्टीका रवीन्द्र सिंहले आज दल दर्ताका लागि निवेदन दिनुभएको छ ।

यस्तै, मङ्गोल नेशनल अर्गनाइजेशनका सन्तोष तामाङ, बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवान, नेपाल सद्भावना पार्टीका सरस्वतीकुमारी झा, नेपाली कम्युनिष्ट पार्टीका राजेन्द्रप्रसाद पाण्डे र नेपाल मानवतावादी पार्टीका मेघबहादुर कामीले आयोगसमक्ष दल दर्ताका लागि निवेदन पेस गर्नुभएको छ । यस्तै, आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज नेपाल मजदुर किसान पार्टी, बहुजन शक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीले दल दर्ताका लागि निवेदन पेस गरेको आयोगले जनाएको छ ।

प्रधानमन्त्री कप छनोटः ग्वाल्लेक क्रिकेट क्लब विजयी

बैतडी, १ मङ्सिरः प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट तथा बिडिसीए कपको २२ औँ संस्करणअन्तर्गत आज भएको खेलमा ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ ।ग्वाल्लेकले थालिगडा क्रिकेट क्लबमाथि ७ रनको जित दर्ता गर्यो । जितका लागि पाएको १०९ रनको लक्ष्य पछ्याएको थालिगडा १७ दशमलव १ ओभरमा १०१ रनमा अलआउट भयो ।

थालिगडाका कल्पेस चन्दले २३, मुकेश चन्दले २१ र नवीन ठगुन्नाले २० रनको योगदान गरे पनि हार टार्न सकेनन् । ग्वाल्लेकको तर्फबाट म्यान अफ द म्याच समेत भएका तर्कराज जोशीले पाँच र गङ्गादत्त जोशीले चार विकेट हात पारे । दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको ग्वाल्लेक १७ दशमलव ३ ओभरमा १०८ रनमा समेटियो ।

जसमा मनोज जोशीले सर्वाधिक २३ रन बनाए । बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा गत कात्तिक २१ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी छन् । मङ्सिर ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार पाउने जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोकटीले जानकारी दिनुभयो ।

म्यान अफ द सिरिजलाई रु १० हजार, बेस्ट बलर र बेस्ट ब्याटरलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई एकहजार पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि खेलाडी छनोट गरिने जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो । गत वर्ष सम्पन्न २१ औँ संस्करणको बिडिसीए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नागार्जुन रणसैनी युवा क्लब (एनआरवाइसी)ले जितेको थियो ।

स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने : स्वास्थ्य मन्त्रालय

काठमाडौँ, १ मङ्सिरः स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्स अस्पताल पूर्वस्वास्थ्य सेवाबाहेक अन्यत्र प्रयोगमा ल्याइए कानुनी कारबाहीदेखि खारेजीसम्म हुनसक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले आज एक सूचना जारी गर्दै हाल विभिन्न जिल्लामा एम्बुलेन्स सेवा दुरुपयोग, व्यापारिक रूपमा प्रयोग तथा निर्देशिका विपरित सञ्चालन गरिएको गुनासो बढेपछि मन्त्रालयले ध्यानाकर्षण गराएको हो ।

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा एम्बुलेन्स पैठारीमा राजश्व छुट, सञ्चालन अनुमति नवीकरण, अनुगमन तथा अनुमति खारेजका प्रावधान स्पष्ट रूपमा व्यवस्था गरिएकाले उक्त निर्देशिका कडाइका साथ पालना गर्न सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, एम्बुलेन्स व्यवस्थापन समिति तथा सुरक्षाकर्मीलाई मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्सलाई मात्र भारत आवत–जावत गर्न अनुमति दिइने र १० वर्षभन्दा बढी समय पूरा एका एम्बुलेन्स सञ्चालन भएको पाइएमा सञ्चालन अनुमति दर्ता खारेज हुन सक्ने व्यवस्था रहेको जनाएको छ ।

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

म्याग्दी, १ मङसिर : व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका–४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाउनुभएको छ ।

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गर्नुभएको हो । विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,” उहाँले भन्नुभयो “२० वर्ष बेनीमा व्यवसाय गरे । करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे । सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो ।”

तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गर्नुभएको छ । गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ । सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देख्नुभएको छ । बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ । बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ । बजारको समस्या नभएको पौडेलले बताउनुभयो ।

खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोगविहीन भएको थियो । “५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झ¥यौ,” उहाँले भन्नुभयो “बजारमा दुःखसुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन् । खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौँ ।”

बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो । जन्मथलो फर्किएपछि उहाँले बस्नको लागि सामान्य घर निर्माण गर्नुभएको छ । साना–साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गरा बनाउनुभएको छ । मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिनुभएका उहाँका छिमेकी गोपाल आचार्यले बताउनुभयो । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ ।

फरक जिल्ला भए पनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिकसम्बन्ध म्याग्दीसँग धेरै छ । विसं २०४६ देखि सुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना विसं २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ । त्यसअघि सिँचाइको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो ।

सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु

सुरुङ्गा (झापा), १ मङ्सिरः सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।

गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नं को अटो धानलोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नं को मिनी ट्रकको पछाडि ठक्कर दिएको थियो ।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरी जनाएको छ ।

सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएको र उपचारका क्रममा गएराति जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५५ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ५० रुपैयाँ, आलु सेतो प्रतिकिलो ४२ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३३ रुपैयाँ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो ११० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो १०० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ९० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकेजी २५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ८० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ८० रुपैयाँ, तने बोडी प्रतिकिलो १८० रुपैयाँ, मकै बोडी प्रतिकिलो ९० रुपैयाँ कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १४० रुपैयाँ , घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो १४० रुपैयाँ, तीतो करेला प्रतिकिलो १३० रुपैयाँ, लौका प्रतिकिलो ९० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, परबर (तराई) प्रतिकिलो ९० रुपैयाँ, घिरौँला प्रतिकिलो १२० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ३० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।

पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो २० रुपैयाँ, रायोसाग प्रतिकिलो १२० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी २०० रुपैयाँ, चमसुर प्रतिकेजी १५० रुपैयाँ, तोरीको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो २०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो १२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १३० रुपैयाँ, जिरीको साग प्रतिकिलो ३५० रुपैयाँ, सेलरी प्रतिकिलो २५० रुपैयाँ, पार्सले प्रतिकिलो ४०० रुपैयाँ, सौफको साग प्रतिकिलो २०० रुपैयाँ, पुदिना प्रतिकिलो ४५० रुपैयाँ, इमली प्रतिकिलो १७० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकिएको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १०० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७५ रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो २५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ८० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, निबुवा प्रतिकिलो ५५ रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, लप्सी प्रतिकिलो ७० रुपैयाँ, अम्बा प्रतिकिलो ८० रुपैयाँ र किबी प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको छ ।

चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज  छर्न आउने भक्तजनलाई समस्या

नवलपुर (नवलपरासी), १ मङ्सिरः पवित्र तीर्थस्थल देवघाटधाममा बालाचतुर्दशीको तयारी अन्तिम चरणमा पुगेको छ । नवलपुर, तनहुँ र चितवनमा पर्ने कालीगण्डकी नदी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटमा हजारौँ भक्तजन शतबीज  छर्न आउने गरेका छन् ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाटमा यही मङ्सिर २ गतेदेखि नै भक्तजनहरु आउने भएकाले सोहीअनुसारको तयारी गरिएको बताउनुभयो । बालाचतुर्दशीको अवसरमा अघिल्लो दिन (मङ्सिर २ गते) आएर रातभर बत्ती बाल्ने तथा भोलिपल्ट बिहानै स्नान गरी सतबिज छर्न प्रचलन रहेको उहाँको भनाइ छ । “देवघाटतर्फ चार स्थानमा हाइमास्ट बत्ती राखेका छौँ, तनहुँतर्फ सडक बत्ती बाल्नेगरी पोल ठड्याएका छौँ” उहाँले भन्नुभयो, “देवघाटको बेनी सङ्गममासमेत उज्यालो हुने गरी बालाचतुर्दशीका लागि पाँच बत्ती जडान गर्दैछौँ ।”

देवघाटको समग्र सुरक्षा व्यवस्थालाई मजबुत पार्न स्थानीय प्रशासन र प्रहरीसँग छलफल गरिसकेको बरालको भनाइ छ । “शतबीज  छर्न आउने भक्तजनलाई सुरक्षित महसुस गर्न पर्याप्त सुरक्षाकर्मी परिचालन हुने आश्वासन पाएका छौँ” उहाँले भन्नुभयो, “स्नानघाटसमेत हुनसक्ने दुर्घटनालाई मध्यनगर गर्दै दुईवटा ¥याफ्टिङ बोट तयारी अवस्थामा राखेका छौँ ।”

तीर्थयात्रीको सुरक्षालाई ध्यान दिएर बेनी सङ्गममा मागन्तेहरुलाई बस्न नदिनेगरी तनहुँको प्रहरीसँग छलफल गरिएको कार्यकारी निर्देशक बरालले बताउनुभयो । देवघाटको बेनी सङ्गममा जानका लागि पैदल, सवारीसाधन तथा जलमार्गबाटसमेत पुग्न सकिन्छ । देवघाटको बेनी सङ्गममा नवलपुरको गैँडाकोट हुँदै हर्दीकेलादी तथा चितवनको ठिमुरा र दासढुङ्गाबाट यातायातको साधनमासमेत जान सकिन्छ । त्यस्तै जलमार्ग हुँदै चितवनबाट त्रिशूली नदी एवम् नवलपुरबाट कालीगण्डकी नदीमा ¥याफ्टिङबाट तरेरसमेत बेनी सङ्गममा पुग्ने सकिने अवस्था छ ।

पैदल जाँदा भने चितवनको भरतपुर–१ देवघाटबाट झोलुङ्गे पुल तरेर जानुपर्ने हुन्छ । चितवन र तनहुँको देवघाटधामलाई जोड्न ४४ वर्ष अगाडि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण भएकाले २ गतेदेखि नै पुलमा मोटरसाइकल आवतजावत गर्न प्रतिबन्ध लगाइने कार्यकारी निर्देशक बरालले बताउनुभयो । “यो झोलुङ्गे पुल देशकै सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने झोलुङ्गे पुल हो, पुल निकै पुरानो भएको हुँदा पुलका नटबोल्टुहरु हल्लिएका छन्” उहाँले भन्नुभयो, “पुल पुरानो भएकाले जुनसुकै बेला पनि दुर्घटना हुनसक्ने भन्दै ललितपुरमा रहेको सस्पेन्सन ब्रिज तथा झोलुङ्गे पुल महाशाखामा ताकेता गरिरहेका छौँ, तर मर्मत भएको छैन ।”

झोलुङ्गे पुलको कम प्रयोग गर्न तथा पुलको प्रयोग गर्नै परेमा पनि लामबद्ध भएर यात्रा गर्न बरालले तीर्थयात्रुसमक्ष अनुरोध गर्नुभयो । “एकैपटक धेरै यात्रुलाई पुलले नथेग्न सक्छ” उहाँले भन्नुभयो, “यसका लागि लाइन लागेर पुलबाट यात्रा गर्न अनुरोध गरेका छौँ ।” देवघाटमा त्रिशूली नदी र कालीगण्डकी नदी तर्नका लागि ¥याफ्टिङ बोटकोसमेत व्यवस्था भएको भन्दै बरालले नदीमा एकतर्फि डुङ्गा गर्न रु ५० भाडा तोकिएको जानकारी दिनुभयो ।

देवघाटधाममा सतबिज छर्न मङ्सिर २ गतेदेखि नै भक्तजन आउने भएकाले यहाँ सवारीसाधन व्यवस्थापन निकै कठिन रहेको बरालले बताउनुभयो । “हामीले सकेसम्म भक्तजनको भिड कम हुने र सुरक्षित हुनेगरी स्नान गरेर फर्किने गरी व्यवस्था गरेका छौँ” बरालले भन्नुभयो, “ठूला सवारीसाधन चितवनतर्फ र नवलपुरतर्फ पार्किङ गर्ने व्यवस्था गरेका छौँ भने मोटरसाइकल क्षेत्र विकास समितिको कार्यालय अगाडिको चौरमा पार्किङ गर्ने व्यवस्था गरेका छौँ ।”

तीर्थयात्रु लिएर तनहुँ पुगेका ठूला सवारीसाधनले टाउनचोकमा यात्रुहरु झारेर कालीगण्डकी नदीको पुल तरी नवलपुरको केलादीमा पुगेर पार्किङ गर्नुपर्ने बरालले बताउनुभयो । गतवर्ष बालाचतुर्दशीमा सतबिज छर्न करिब एक लाख भक्तजन आएको उल्लेख गर्दै बरालले अहिले पनि त्यही सङ्ख्यामा आउने अनुमान गरिएको बताउनुभयो । देवघाटमा करिब २० हजार भक्तजनलाई रात बिताउनका लागि आश्रम तथा त्रिपालको व्यवस्था गरिएको भन्दै बरालले त्यो भन्दा बढी भक्तालु रात बिताउने गरी आएमा आफैले व्यवस्थापन गर्नुपर्ने जानकारी दिनुभयो ।

सतबिज छर्न चितवनको बाटो हुँदै जाँदा यात्रुहरुलाई सवारीसाधनको जाम तथा झोलुङ्गेपुलको असुरक्षित यात्रा गर्नभन्दा नवलपुरको बाटो भएर बेनी सङ्गम पुग्न गैँडाकोट नगरपालिकाले आग्रह गरेको छ । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले गैँडाकोटको कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो हुँदै केलादी पुग्न सकिने बताउनुभयो । “नवलपुरबाट देवघाट पुग्न सहज र सुरक्षित छ, बाटोसमेत कालोपत्र गरिएकाले सहज तरिकाले देवघाट पुग्न सकिन्छ” उहाँले भन्नुभयो, “केलादीघाटमा सवारीसाधन रोकेर कालीगण्डकी नदीमा स्नान गर्न तथा सतबिज गर्न पनि सकिन्छ, बेनीमा जानका लागि पनि पैदल १० मिनेटमा पुगिन्छ ।”

नवलपुर हुँदै यात्रु देवघाट जाँदा सहज हुने उहाँले बताउनुभयो । नवलपुर तथा यस जिल्लाभन्दा पश्चिमतर्फका यात्रु चितवनतर्फ नगइ सिधैँ गैँडाकोटबाट देवघाट जाँदा सहज हुने तिवारीको भनाइ छ ।

आजको मौसम : मुलुकभर तापक्रम घट्ने क्रम जारी 

काठमाडौं । आज देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन् । महाशाखाका अनुसार, आज दिउँसो कोशी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।यसको साथै महाशाखा मुलुकभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी रहेको हुँदा सबैलाई सतर्क भएर बस्न आग्रह पनि गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंसिर ४ गतेलाई सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको मंसिर १ गते बस्ने भनिएको केन्द्रीय कार्यसमितिको बैठक सारिएको छ । मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने गरि सारिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनले बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको पनि बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

दमौली (तनहुँ), १ मङ्सिर ः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई मतदान केन्द्र थप गर्ने निर्णय सहित निर्वाचन आयोगमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका संयोजकत्वमा रहेको जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको आइतबार बसेको बैठकले जिल्लामा दुई मतदान केन्द्र थप गर्ने निर्णयसहितको सिफारिस निर्वाचन आयोगमा पठाएको हो ।

ऋषिङ गाउँपालिका–४ स्थित पद्मज्योति आधारभूत विद्यालय र ऋषिङ गाउँपालिका–६ स्थित धर्म आधारभूत विद्यालयमा मतदान केन्द्र थप्न आयोगमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिनुभयो । उक्त ठाउँमा मतदान केन्द्र थप गर्न ऋषिङ गाउँपालिकाले जिल्लामा सिफारिस गरेको थियो ।

उहाँले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप्न आवश्यक रहेकाले सोही बमोजिम आयोगमा पठाइएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला सुरक्षा समितिले उक्त ठाउँको केही दिन अगाडी निरीक्षण समेत गरेको थियो ।

तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा तीन सय पाँच मतदान केन्द्र रहेका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार नौ सय १५ जना रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख विकास लम्सालले मतदाता नामावली दर्ताका लागि कार्यालयमा दैनिकजसो भीड रहेको जानकारी दिनुभयो । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यालयले आवश्यक तयारी सुरु गरिसकेको उहाँको भनाइ छ ।

कर्णाली प्रदेशका अस्पतालमा अझै चिकित्सक पाउनै कठिन

कर्णाली, १ मङ्सिर : कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना र जनशक्ति व्यवस्थापनबारे कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा आज छलफल भएको छ । सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारसहित सरोकारवालासँग छलफल भएको हो । गत कात्तिक २२ गते समितिको बैठकले सरोकारवालालाई आमन्त्रण गर्ने निर्णय गरे बमोजिम बैठक बसेको थियो । सो बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालका लागि विशेषज्ञ चिकित्सक पाउन मुस्किल भएको बताउनुभयो ।

सरकारले चाहेर मात्रै पनि सुविधालाई बढवा दिन नसकिएको भन्दै मन्त्री भण्डारीले कर्णालीको भूगोल र वास्तविकतालाई आकलन गर्दा विषेशज्ञ चिकित्सक कर्णाली आउन नमान्ने अवस्था विद्यमान रहेको जनाउनुभयो । उहाँले भन्नुभयो, “सरकारले गाउँगाउँमै चिकित्सक पठाउने गरी छात्रवृत्ति दिने र करारकालाई स्थानीय तहसम्म परिचालन गरेपनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहको चिकित्सक पाउन जटिल छ ।”
उहाँका अनुसार स्वास्थ्य क्षेत्र अहिले प्राथमिकतामा पर्न सकेको छैन । कोभिड पछिका दिनमा बजेट स्रोत घटिरहेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमै कमजोरी भएको स्वीकार्नुभयो । प्रदेश सरकारद्वारा स्वीकृत १५० शय्या भएपनि हाल ३०० शैय्या बराबरको सुविधा उपलब्ध गराउनु परेको र विशेषज्ञ सेवा करिब ९१ जनाले प्रदान गरेतापनि जनशक्ति व्यवस्थापनका लागि बजेट पर्याप्त नभएको उहाँको भनाइ थियो ।

प्रदेश अस्पतालका निर्देशक डा गणेश थापाले विशेषज्ञ चिकित्सकको अभावले ३७ जना आवश्यक जनशक्तिमा हाल १९ जनाबाट मात्र सेवा प्रवाह भइरहेको जानकारी दिनुभयो । उहाँले चार÷पाँच हजार केभिए विद्युत् आवश्यक हुँदा पनि एक हजार केभिए क्षमताको लोड प्राप्त भएको आवश्यकताअनुसार विद्युत् आपूर्ति हुन नसकेको गुनासो गर्नुभयो ।

समितिका सभापति पूर्णबहादुर खत्रीले बैठकमा प्रदेश अस्पतालमा कार्यरत जनशक्तिको पदपूर्तिको अवस्था, कार्यदक्षता, सेवा प्रवाहमा हुने ढिलासुस्तीका कारण, सुधारका विषयका सम्बन्धमा छलफल भएको जानकारी दिनुभयो ।

राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने

काठमाडौँ, १ मङ्सिरः नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार बराबरको पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनअनुसार, २०८२ असार मसान्तको वित्तीय स्थितिमा २९ दशमलव २३ प्रतिशतले वृद्धि भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार, विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरी बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

वार्षिक प्रतिवेदनअनुसार आव २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनः मूल्याङ्कन लाभ हानी समायोजनअघिको खुद् आय अघिल्लो वर्षको तुलनामा नौ दशमलव ११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ९१ मा बैङ्कले वासलात, आय, व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकार समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९३ रुपैयाँ ०२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।

यस्तै, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ १४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७९ रुपैयाँ २३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर १५ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०५ पैसा र बिक्रीदर २२ रुपैयाँ १५ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३९ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा कायम गरिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ ।

दोस्रो संस्करणको एनपिएल आजदेखि : उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ ।

एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति गरेर हुनेछन् । एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुँदै छन् ।

उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार तोकिएको छ । प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपियाँ तय गरेको छ ।

एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।