`

‘आमा’ गीतको सफलता, डा. रुद्रनाथ अधिकारी वर्षको उत्कृष्ट गीतकार घोषित

Nepal One HD २ असार २०८३ ७:४३
मनोरञ्जन

काठमाडौं । प्रसिद्ध ज्योतिषाचार्य, कर्मकाण्डविद् तथा गीतकार डा. रुद्रनाथ अधिकारीको रचनामा आधारित मातृभक्ति गीत ‘आमा’ राष्ट्रिय समावेशी म्युजिक अवार्ड (NIM Award) को नवौं संस्करणअन्तर्गत सुगम संगीत (पुरुष) विधातर्फ उत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ। साथै, डा. अधिकारी वर्षको उत्कृष्ट गीतकार अवार्डबाट सम्मानित भएका छन्।

डा. अधिकारी बहुआयामिक तथा बहुप्रतिभाशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनी नेपालका चर्चित ज्योतिषमध्ये एक मानिन्छन् भने कर्मकाण्ड, धर्मशास्त्र तथा साहित्य क्षेत्रमा पनि उत्तिकै दख्खल राख्छन्। उनका विभिन्न विधाका लेख, साहित्य तथा गीतहरूमा जीवन, समाज, संस्कृति र मानवीय भावनाका विविध आयाम झल्किने गरेका छन्।

उनका सिर्जनामा साहित्यिक गहिराइ र सांगीतिक संवेदनशीलताको सुन्दर समिश्रण पाइन्छ। हरेक शब्द र पंक्तिमा जीवन्त भाव, अर्थपूर्ण सन्देश तथा संगीतको मर्म झल्किने गरेको समीक्षकहरूको भनाइ छ। पछिल्ला केही वर्षयता उनी निरन्तर साहित्य, पुस्तक तथा गीत लेखनमा सक्रिय छन्। उनका थुप्रै कृतिहरू प्रकाशित भइसकेका छन् भने आफ्ना गीत तथा सांगीतिक सामग्रीहरू आफ्नै युट्युब च्यानल ‘Dr. Rudranath Adhikari’ मार्फत सार्वजनिक गर्दै आएका छन्।

अहिलेसम्म उनका चर्चित गीतहरूमा ‘आमा’, ‘यस्तै रहेछ भाग्य’, ‘बुझ मायालु’, ‘तिम्रो मेरो प्रेम कहानी’, ‘मदहोश’, ‘यसपालिको तिज’, ‘एक पानीको थोपा’, ‘सपना जिउँदैछन्’, ‘आऊन् माया आऊ’ र ‘या लिएर आऊ’ लगायतका सिर्जनाहरू रहेका छन्। उनका धेरै गीतहरू अडियो स्वरूपमा सार्वजनिक भएका छन् भने केही गीतका म्युजिक भिडियोसमेत दर्शक तथा श्रोतामाझ लोकप्रिय बनेका छन्।

सांगीतिक क्षेत्रमा आफू नयाँ भए पनि चुनौतीसँग नडराई निरन्तर सिक्दै र अनुभव बटुल्दै अगाडि बढ्ने डा. अधिकारी बताउँछन्। “जहाँ पनि सुरुवाती चरणमा चुनौतीहरू हुन्छन्। तर म चुनौतीदेखि हारेर हिँड्दिनँ। बरु सिक्दै, अनुभव बटुल्दै अगाडि बढ्नेछु र एक दिन कालजयी गीतका उत्कृष्ट स्रष्टाका रूपमा आफूलाई स्थापित गरेर छोड्ने अठोट गरेको छु,” उनले भने।

धार्मिक तथा सामाजिक क्षेत्रमा समेत सक्रिय डा. अधिकारी धर्म, संस्कार र संस्कृतिको संरक्षणसँगै दीनदुःखी, असहाय तथा विपन्नहरूको सेवामा पनि समर्पित रहँदै आएका छन्। बाँकी जीवन परोपकार, साहित्य, सिर्जना र संगीतमै समर्पित गर्ने उनको भनाइ छ।

‘आमा’ गीत आफ्नो हृदयको धड्कनसँग जोडिएको र हरेक मातृभक्त सन्तानको भावनालाई समेट्ने मार्मिक सिर्जना भएको उल्लेख गर्दै उनले यस गीतले उचित सम्मान र न्याय पाएको महसुस गरेको बताए। “यो सफलताले मलाई थप प्रेरणा र ऊर्जा दिएको छ। आगामी सांगीतिक यात्रामा यसले अझ नयाँ उत्साह र रंग भर्ने विश्वास लिएको छु,” उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *