`

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

Nepal One HD २ असार २०८३ २१:४२
प्रमुख खबर

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ ।चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताउनुभएको हो । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभएको दूतावासले जनाएको छ ।

नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा आयोजित सम्मेलनकै असरमा उहाँले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गर्नुभएको थियो । सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो ।

मन्त्री खनालले आजै बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गर्नुभएको थियो । भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

त्यस्तै, मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन गर्नुभएको थियो । नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक हुनाका साथै नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तरराष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण हो ।

मन्त्री खनालले आज नै चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल–चीन सम्बन्ध, नेपालमा नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तरराष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गर्नुभएको थियो ।

उहाँ चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्यूरो सदस्य वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी भोलि असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *