`

अहिले सरकार अचानो जस्तो भएको छ, अहिले छाड्, भोलि छाड् भनेर गाली गर्छन् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार अहिले अचानो जस्तो भएको भन्दै नेपाल बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरेकी छिन् । बाह्खरी कथा लेखन प्रतियोगिता २०८२ को विजेता घोषणा कार्यक्रममा बोल्दै उनले दल र जेनजीहरुकोबीचमा सरकार परेको भन्दै वर्तमान अन्तरिम सरकार अचानो जस्तो भएको बताइन् ।

प्रधानमन्त्री कार्कीले ३० जना जेनजीहरुमा एउटा यो गर भन्ने अर्कोले अर्को भन्ने गरेको भन्दै कतै मुलुक बंगलादेश बन्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन्। ‘हामी त अहिले अचानो जस्तो पो भएछौं । राजनीति दलले पनि अहिले छाढ, भोली छाड भनेर गाली गर्छन् । जेनजीले पनि आजै छाड भोलि छाड वा पर्सी छाड भन्छन् । छाडौं भने के छाडौं । फेरी छाडेको भोलिपल्ट थुक्क पालो त दिएको थिए त तिमीहरुलाई, औकात त छाडेर हिड्ने न रहेछ, के गरेर हिड्यौ भन्ने होलान । पेण्डुलम जस्तो भयौं तर धैर्य भएर काम गरिरहेको छौं,’उनले भनिन्,‘निर्वाचन किन चाहियो भन्ने युवाको कुरा आएको छ, त्यो त संसारको नियम कानुन नै रहेछ । वैधानिकता र अवैधानिकताको कुराहरु रहेछन । यसरी नै यही सरकार चलिरह्यो भने तानासाह हुन्छ, कतै जाँदा सुख नहुने कथा हाम्रो छ ।’

सो अवसरमा उनले सरकारकै कथा लेख्न कथा लेखन प्रतियोगितामा सहभागी ३० जनालाई अनुरोध गरिन् । ‘एउटा यो गर भन्नुहुन्छ अर्कोले अर्को भन्नुहुन्छ । हामी मुलुक बंगलादेश नहोस् भन्नेमा छौं,’ उनको भनाइ थियो ।

धरानमा एनसिसी दीक्षान्त समारोह सम्पन्न

धरान (सुनसरी) – राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ एनसिसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो ।
राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार दीक्षान्त समारोहमा तालिम पूरा गरेका एनसिसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए । उक्त तालिममा कोशी प्रदेशका आठ, मधेस प्रदेशका सात र वाग्मती प्रदेशका तीन विद्यालयका २६५ छात्र र २६३ छात्रा दीक्षित भएका छन् ।
समापन कार्यक्रममा नेपाली सेनाको पूर्वी पृतना  इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीले तालिमबाट भविष्यमा सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । दीक्षान्त समारोहमा २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, २ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी दिवाकरविक्रम राणा, विद्यालयका क्याडेट, अभिभावक तथा शिक्षकहरूको उपस्थिति थियो ।

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा – सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेनजी युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका छन् ।

लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेनजी युवाको तर्फबाट शिव यादव, सन्तोष यादवलगायतले अर्थमन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।

ज्ञापनपत्र बुझाउँदै जेनजी युवा सन्तोष यादवले भन्नुभयो, “शिव यादवलगायत यहाँका आम युवाले पहिलेदेखि नै बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिका लागि पहल गरिरहनुभएको छ । आशा छ, यो भन्सार छिट्टै स्तरोन्नति हुन्छ । चार पाङ्ग्रे सवारीसाधनको आवतजावत खुलेपछि यस क्षेत्रका नागरिक र व्यापारीलाई ठूलो सहयोग पुग्नेछ ।”

स्थानीयका अनुसार बरियारपट्टी छोटी भन्सार कार्यालय बरियारपट्टी बजारको मध्य भागमा अवस्थित छ । यस भन्सारबाट सिरहा जिल्लासहित आसपासका लाखौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन् ।

बरियारपट्टी, औरही, अर्नामा, नवराजपुर, लक्ष्मीपुर पतारी गाउँपालिका तथा सुखिपुर, धनगढीमाइ, गोलबजार र लहान नगरपालिकाका केही वडाका नागरिक तथा साना–ठूला व्यापारीहरूले यस भन्सारमार्फत घरायसी तथा व्यावसायिक सामग्रीको आयात–निर्यात गर्दै आएका छन् ।

भौगोलिक रूपमा नेपालतर्फको बरियारपट्टी बजार र भारततर्फको लदनियाँ बजार सिधैँ जोडिएको हुँदा यस भन्सारको आर्थिक तथा व्यापारिक महत्व उच्च रहेको स्थानीयको भनाइ छ । भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा रु ७० लाख छ हजार राजस्व सङ्कलन गरेको तथ्याङ्क उल्लेख गरिएको छ । ज्ञापनपत्रमा बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द नगरी यथावत् सञ्चालन गर्न, आवश्यक पूर्वाधार निर्माण गरी स्तरोन्नति गर्न र चार पाङ्ग्रे सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गरिएको छ ।

निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल छैन – सञ्चारमन्त्री खरेल

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको बताउका छन् ।

आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताए । उनले निर्वाचनका लागि सरकारले वातावरण बनाएको र राजनीतिक दलहरुपनि त्यसतर्फ होमिएको बताए ।

निर्वाचनका विषयमा कुनै पनि किसिमको अन्योल नरहेको भन्दै सञ्चारमन्त्री खरेलले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन हुनु अत्यन्त आवश्यक रहेको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, ‘निर्वाचनको वातावरण बनाउन सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरुकै कार्यालयमा पुगेर छलफल र अन्तरक्रिया गरिएको छ । राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठक पनि भएको छ । यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ । दलहरु निर्वाचनका लागि तयार छन् । सरकारले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ ।’

कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा

काठमाडौँ – नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशन महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सञ्चारकर्मीसँग आज भेटघाटका क्रममा उनले पार्टीको १४औँ महाधिवेशनमा आफूले महामन्त्रीमा प्रतिष्पर्धा गरेको भए पनि सफलता प्राप्त नभएको अवगत गराउँदै १५औँ महाधिवेशनमा महामन्त्रीमा नै प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका हुन् ।

पार्टीभित्र कुन समूहबाट उम्मेदवारी हुन्छ भन्ने जिज्ञासामा उनले भने “महामन्त्रीको उम्मेदवार सभापतिसहितको समूहबाट हुने पार्टीमा अभ्यास छ, अहिले यही समूह भन्ने निश्चित त भइसकेको छैन, तर मुलुकको वतर्मान परिस्थिति र जनताको भावनाअनुसार पार्टीमा नयाँपन दिनसक्ने सक्षम नेतृत्वसहितको समूह हुन्छ ।”

सो अवसरमा नेता पौडेलले पार्टीको १५औँ महाधिवेशन सम्पन्न गरेर मात्र कांग्रेस नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने आमनिर्वाचनमा जानुपर्ने बताए ।

उनले महाधिवेशनबाट नयाँ नेतृत्व, जेनजी आन्दोलनको भावनाअनुसारको नीति र पार्टीलाई चलायमान बनाई पार्टी निर्वाचनमा होमिनुपर्नेमा जोड दिए । उनले आमनिर्वाचनले नै मुलुकको अहिलेको राजनीतिको दीर्घकालीन समाधान गर्ने बताउँदै निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले चुस्त सुरक्षाको व्यवस्था र आवश्यक अन्य काम गर्नुपर्ने उल्लेख गरे ।

कांग्रेसले यही पुस २६ देखि २९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । तर हाल तोकिएको मितिमा महाधिवशेनको कार्यतालिका प्रभावित भएपछि समयाभावका कारण महाधिवेशनको मिति केही पर धकेलिने निश्चित देखिएको छ । यही प्रसंगमा नेता पौडेलले पार्टीका आठ तहका निर्वाचनमध्ये हाललाई तीन तहका निर्वाचन सम्पन्न गरेर भएपनि १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने सुझाव दिएका छन् ।

नेता पौडेलले भने, “महाधिवेशनको अहिलेको तालिका अलि व्यावहारिक भएन, केही तलमाथि होला, तर आमनिर्वाचन अघि महाधिवेशन सम्पन्न गर्नैपर्छ ।”

चिसोबाट प्रभावितहरुलाई सहयोग गर्न संयोजक दाहालको अपिल

काठमाडौँ, १० पुसः नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनसँगै तराई–मधेसमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बनेको बताउनुभएको छ ।

संयोजक दाहालले आज एक अपिल जारी गर्दै चिसोका कारण खासगरी समाजका गरीब तथा सिमान्तकृत वर्गका जनता बढी पीडित भएका बताउँदै उनीहरुलाई तत्काल सहयोग पुर्‍याउन सम्बद्ध सबैमा अनुरोध गर्नुभएको छ ।

उहाँले मानवीय क्षति र स्वास्थ्य समस्या उत्पन्न हुन नदिन आवश्यक प्रतिकार्यका लागि तीनवटै तहका सरकारसँग अपिल गर्नुका साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहतलगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई निर्देशन दिनुभएको छ ।

कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग

काठमाडौँ, १० पुस: नेपाली कांग्रेसले राष्ट्रियसभा अधिवेशन आह्वानको माग गरेको छ । कांग्रेसको राष्ट्रियसभा संसदीय दलको आजको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा भएको बैठकले प्रतिनिधिसभा नभएकाले अविलम्ब राष्ट्रियसभा बैठक आह्वान गर्न उक्त सभाका अध्यक्षसमक्ष माग गर्ने निर्णय गरेको हो ।

जनआवज उठाउने सार्वभौम संसद् राष्ट्रियसभा मात्र रहेकाले पार्टीले राष्ट्रिय सभाको अधिवेशन अविलम्ब आह्वान हुनुपर्ने माग गरिएको सचेतक रोकायले राससलाई बताउनुभयो ।

बैठकले संविधानसभा सदस्य गणेशबहादुर खड्का, पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री, बाग्लुङका पूर्वजिल्ला सभापति गोविन्दप्रसाद शर्मा कँडेल, संविधानसभा सदस्य रामअयोध्याप्रसाद यादव, ं पूर्वमन्त्री अच्युतराज रेग्मी, पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, पूर्वकेन्द्रीय सदस्य ऋषिकेश गौतम र मोहम्मद आफ्ताव आलम, राष्ट्रियसभाका पूर्वसदस्य कृष्णकुमारी श्रेष्ठ र पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।

निर्वाचन सफलापूर्वक सम्पन्न गर्न सरकारले मेहनतका साथ काम गरिरहेको छः प्रधानमन्त्री

काठमाडौँ, १० पुस: प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा आज यहाँ आयोजित ‘डिशहोम सातौँ बाह्रखरी कथा लेखन प्रतियोगिता, २०८२’ का विजयी लेखकलाई पुरस्कार प्रदान गर्दै निर्वाचनमा नै वर्तमान सरकारको अर्जुनदृष्टि रहेको बताउनुभयो । उहाँले सुशासन कायम गर्न पनि सरकार अहोरात्र खटेको बताउनुभयो ।

वर्तमान सरकारमाथि चौतर्फी प्रहार भइरहेको तर अचानोमा परेरै भए पनि मेहनतका साथ काम गरिरहेको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।प्रधानमन्त्री कार्कीले सबै कुरा एकैचोटि हुनुपर्ने आशा सबैतिरबाट भएको बताउँदै तर सबै कुरा एकैचोटी गर्न नसक्ने भएकाले सरकारले निरन्तरः काम गरिरहेको बताउनुभयो । राजनीतिक दल र जेनजीको दोहोरो दबावमा सरकार परेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले सरकार छोडेर हिँड्ने अवस्था पनि नरहेको बताउनुभयो । उहाँले देश बङ्गलादेशजस्तो नहोस् भन्ने आफ्नो चाहना रहेको बताउनुभयो । दिनदिनै विदेशबाट नेपाली डिपोर्ट भइरहेको सन्दर्भ जोड्दै उहाँले अब देशलाई नै बनाउनुको विकल्प नरहेको बताउनुभयो ।

फरक प्रसङ्मा जेनजी सहिदका प्रत्येक परिवारसँग फरकफरक कथा रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कथा लेख्न साहित्यकारहरुलाई अनुरोध पनि गर्नुभयो ।

सोमबार आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक

पाटन (ललितपुर), १० पुसः पूर्वगृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताउनुभएको छ ।सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई उहाँले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताउनुभएको हो ।

“आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियोे, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु”, उहाँले भन्नुभयो ।

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन (ललितपुर),१० पुसःनेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।सानेपास्थित पार्टी कार्यालयमा आज अपराह्न सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले मुलुकमा निर्वाचनको वातावरण बनिनसकेको बताउनुभयो ।

ढुक्क भएर चुनावमा जान सक्ने अवस्था सृजना भइनसकेकाले सरकार निर्वाचनको विश्वसनीय वातावरण बनाउनेतर्फ लाग्नुपर्नेमा उहाँले जोड थियो । “ निर्वाचनको विश्वसनीय वातावरण नबनेकाले संसद् पुनःस्थापनाको आवाज उठेको हो, ” उहाँले भन्नुभयो ।

उपसभापति गुरुङले सबै मिलेर निर्वाचनमा जानुपर्ने, त्यो निर्विवाद रुपमा हुनुपर्ने र निर्वाचनमा नै सरकारको अर्जुनदृष्टि हुनुपर्ने सुझाव दिनुभयो ।

जसपा नेपालले प्रदेशस्तरीय विरोध सभा गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।२८ बुँदे मुख्य माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले शनिबारदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बस्नेतका अनुसार प्रदेशस्तरीय कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगञ्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो ।

यसबीच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरुको अधिवेशनसमेत सम्पन्न गरिएकोे उनको भनाइ छ ।

जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरुमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानर सहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडी शान्तिपूर्ण धर्ना तथा जिल्लास्तरीय विरोध सभा÷जन सभा गरेको थियो ।

पहिराका कारण भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ: यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ ।

सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज विहान पहिरो खस्दा १० मिटर सडकखण्ड पुरिएर अवरुद्ध भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रहरीचौकी मेवाखा, ताप्लेजुङबाट प्रहरीको टोली घटनास्थलमा खटिएको छ । प्रहरी टोलीले सडक डिभिजन कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी सडक खुलाउने पहल गरिरहेको उहाँले बताउनुभयो ।

देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने

चितवन – देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ । यही पुस ११ गते सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो ।

देवघाट क्षेत्र बिकास समितिको संयोजनमा तीन पालिकासहितको उपस्थितिमा प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको हो । क्षेत्र विकास समितिले पुस ११ गते औपचारिक रुपमा घोषणा गर्ने तयारी गरेको जनाएको हो । क्षेत्र विकास समितिसँगै सहमति संस्था र नदीसँग हामीलगायतका संस्थाहरुसँगको सहकार्यमा प्लाष्टिकमुक्त घोषणा गर्न लागिएको हो ।

यसका लागि पवित्र तीर्थस्थल देवघाट क्षेत्रभित्र ३७ वटा फोहर फाल्ने डस्बिनहरु राखिएको छ । जसमा प्लाष्टिकजन्य सामग्री फाल्ने, पानीका बोटल फाल्ने र ब्लेट (पत्ती) फाल्ने छुट्टै राखिएको छ । देवघाट क्षेत्र विकास समितिको अगुवाइ र भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका एवं देवघाट गाउँपालिकाको सहकार्यमा कार्यक्रम गर्न लागिएको हो । क्षेत्र विकास समितिका अध्यक्ष डा ईश्वरीराज लौडारीले अहिले प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरेसँगै प्लाष्टिकमुक्त बनाउने अभियान सञ्चालन हुने जानकारी दिनुभयो । देवघाट क्षेत्र विकास समितिभित्रको पाँच हजार ४३४ हेक्टर क्षेत्रभित्र प्लाष्टिक निषेधित क्षेत्र घोषणा गर्न लागिएको उहाँको भनाइ छ ।

फोहर व्यवस्थापनका लागि सबै एकजुट हुन आवश्यक रहेको उहाँको भनाइ थियो । हरेक सभ्यतासँग नदी जोडिएकाले नदी सफाइमा सबै लाग्न जरुरी रहेका उहाँको भनाइ छ ।

सो कार्यमा सहकार्य गर्दै आएको संस्था सहमतिका अध्यक्ष ओमनाथ सुवेदीले यस कार्यमा सबैले सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताउनुभयो । देवघाटको दाहासंस्कार स्थलको फोहर व्यवस्थपानमा केही समस्या देखिएको भए पनि यसलाई व्यवस्थापनका लागि सबै जुट्नुपर्ने उहाँले बताउनुभयो । अहिले देवघाट क्षेत्रमा प्लाष्टिकमुक्त गर्नका लागि जनचेतना, झोला नियन्त्रण अभियानलगायका कामहरु गरिएको उहाँले बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्र प्लाष्टिकमुक्त बनाउका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

दुई करोड १० लाख बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपीलाई आज पक्राउ गरेको छ ।

कार्यालयले सुमितकुमार खेतानको जाहेरीका आधारमा बैंकिङ कसुरका आरोपी एसएन सप्लायर्सका प्रोपाइटर धनुषा घर भई काठमाडौँ बस्ने सन्तोषकुमार साहलाई काठमाडौँ महानगरपालिका–४ चन्डोलबाट पक्राउ गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइको पनि आचार्यले बताउनुभयो । उनीमाथि महोत्तरीमा रु एक करोड ७२ लाख र धनुषामा आठ लाख र झापामा ३० लाख बिगो बराबरको बैंकिङ कसुर गरेको अभियोग रहेको छ ।

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ६० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकिलो ३० रुपैया, बन्दा (नरिवल) प्रतिकिलो २५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४० रुपैयाँ, काउली तराई प्रतिकिलो ३५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ८० रुपैयाँ, आलु रातो प्रतिकिलो ३२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २६ रुपैयाँ, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

यस्तै,रातो मूला प्रतिकिलो ३० रुपैयाँ, सेतो मूला (लोकल) प्रतिकिलो १५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ६० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ, मकै बोडी प्रतिकिलो ६० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो ८५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४५ रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १४० रुपैयाँ, टाटे सिमि प्रतिकिलो ६० रुपैयाँ, तितो करेला प्रतिकिलो ८० रुपैयाँ, लौका प्रतिकिलो ६० रुपैयाँ, परवर(लोकल) प्रतिकिलो ८०, घिरौला प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३५ रुपैयाँ, सलगम प्रतिकिलो ८० रुपैयाँ, भिन्डी प्रतिकिलो १२० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ५० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ र स्कुस प्रतिकिलो २५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, समितिले रायोसाग प्रतिकिलो २० रुपैयाँ, पालुङ्गो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकिलो १०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ४० रुपैयाँ, मेथीको साग प्रतिकिलो १०० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

बकूला प्रतिकिलो १०० रुपैयाँ, तरुल प्रतिकिलो ६० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३०० रुपैयाँ, कुरीलो प्रतिकिलो १००० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो १८० रुपैयाँ, जिरीको साग प्रतिकिलो २०० रुपैयाँ, सेलरी प्रतिकिलो २८० रुपैयाँ, पार्सले प्रतिकिलो ६०० रुपैयाँ, सौफको साग प्रतिकिलो १३० रुपैयाँ, पुदिना प्रतिकिलो ४०० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ ।

यस्तै, समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, केरा (दर्जन) १८० रुपैयाँ, कागती प्रतिकिलो ८० रुपैयाँ, सुन्तला (नेपाली) प्रतिकिलो ८० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ९० रुपैयाँ, मौसम प्रतिकिलो ८० रुपैयाँ, जुनार प्रतिकिलो १०० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १४५ रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, निबुवा प्रतिकिलो ५० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।

राष्ट्रपति पौडेलद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘क्रिसमस डे’ का अवसरमा आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभयो ।

सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने गरिएको छ । प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक मार्गदर्शन रहेको यस पर्वमा मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न तथा इतिहास र संस्कृति जोगाउँदै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवद्र्धन गर्न यस दिनले प्रेरणा प्रदान गर्ने अपेक्षा गरिन्छ । यस्तापर्वहरूको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुनाका साथै विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।”

इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपतिले गर्नुभएको छ ।

इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने

इजरायलले आगामी दश बर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको हो ।

“मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा कुल तीन खर्ब ५० करोड शेकेल स्वीकृत गरेको छु,” नेतान्याहूले देशको दक्षिणी क्षेत्रमा रहेको हवाई अड्डामा भएको एक सैन्य समारोहमा भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामी कुनै पनि पक्षप्रति र साथीहरुसँग पनि निर्भरता कम गर्न चाहन्छौँ । हाम्रो रक्षा उद्योगका उत्कृष्ट दिमागहरू हतियार प्रणालीहरू विकास गर्न कडा मेहनत गरिरहेका छन् जसले भविष्यको युद्धभूमिमा इजरायलको फाइदाको ग्यारेन्टी गर्दछ।”

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ – चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्न अन्तिम तयारी गरिएको जानकारी दिनुभयो । यसका लागि उहाँकै अध्यक्षतामा बुधबार सामाजिक समितिको बैठक बसेको थियो । नगरपालिकाका अनुसार नगरका १५ वडामध्ये वडा नम्बर १२ मात्र ‘बालश्रममुक्त वडा’ घोषणा हुन बाँकी छ ।

आगामी हप्ता हुने विशेष समारोहमा चन्द्रागिरि–१२ सहित नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’घोषणा गरिने कार्यक्रम रहेको जनाइएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित विसं २०७९ असार २ गते चन्द्रागिरि – १४ लाई पहिलो ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको थियो ।

यसपछि विसं २०८० असोज ४ मा वडा नम्बर ३, सोही वर्षको फागुन २७ गते वडा नम्बर ८, चैत २१ गते वडा नम्बर ६, चैत २३ गते वडा नम्बर ७, चैत ३० गते वडा नम्बर ५, विसं २०८१ भदौ २९ मा वडा ११, सोही वर्षको असोज ५ मा वडा १०, माघ १० गते वडा ९ र माघ २५ मा वडा २, फागुन १८ वडा ४, विसं २०८२ जेठ ३० मा वडा १५, सोही वर्षको भदौ १३ गते वडा १३, भदौ १५ मा वडा १ लाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएको हो ।

चालु आर्थिक वर्षभित्र सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसक्ने नगरपालिकाको लक्ष्य रहेको थियो । लक्ष्यअगावै सो कार्य पूरा भएको जनाइएको छ । नगर प्रमुख गिरीले भन्नुभयो, “नगरपालिकामा बाल संरक्षण तथा बाल अधिकार सुनिश्चितता गरी बालमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छाँै । नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमितामा राखेर विभिन्न गतिविधि एवं बजेट विनियोजन गरेको कारण नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्नसक्ने अवस्थामा आइपुगेका हौँ ।”

‘बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना (२०७५–२०८५), ‘बालश्रममुक्त स्थानीय तह घोषणा कार्यविधि २०७७’, बालश्रम (निषेध तथा नियमन गर्ने) ऐन २०५६ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा ‘बालश्रम निवारणसम्बन्धी चन्द्रागिरि नगरपालिकाको कार्ययोजना २०७६’ को लक्ष्यअनुसार बालश्रम निवारणको काम गरिएका थिए ।

बालबालिकासम्बन्धी ‘बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८’ ले विभिन्न ३९ सूचक पूरा गरेका अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि– १५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका सभापति घनश्याम लुइँटेलले बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको जानकारी दिनुभयो । उहाँले ‘बालश्रममुक्त वडा’पछिकोे दिगोपन र निरन्तरताका लागि काम गरिने र यसका लागि सङ्घसंस्थाले सहकार्य जारी राख्नुपर्दछ भन्नुभयो ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखा प्रमुख रश्मी श्रेष्ठले नगर कार्यपालिका, सरकारी कार्यालय, विद्यालय, बालक्लब, विभिन्न समिति, सङ्घ संस्था, उद्योग व्यवसाय क्षेत्रको अथक योगदान र सहयोगका कारण नगरपालिकालाई बालश्रम मुक्त घोषणाको चरणमा पुग्न सम्भव भएकोे जानकारी दिनुभयो ।

यसअघि देशभरका छ स्थानीय तहमात्रै ‘बालश्रम मुक्त घोषणा’ भएका बताइएको छ । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण शाखाका अधिकृत विष्णुकुमारी बाँस्कोटाले नगरपालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा वडा निर्माणका लागि विविध कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । ‘बालश्रम मुक्त’ बनाउने नगरपालिकाको कार्यक्रममा बाल विकास समाज, वल्र्ड भिजन इन्टरनेशनल नेपाल लगायत सस्थाले सहयोग गरेका थिए ।

अन्तरराष्ट्रिय श्रम सङ्गठनका (आइएलओ) को प्रतिवेदनअनुसार नेपालमा पाँचदेखि १७ वर्ष उमेर समूहका ७० लाख बालबालिकामध्ये ११ लाख बालश्रममा संलग्न छन् । तेह्र वर्ष उमेर समूहसम्मका बालबालिकाको संलग्नता १८ प्रतिशत रहेको छ भने १४ देखि १७ वर्ष उमेर समूहका १० प्रतिशत बालबालिका श्रममा छन् । बालकभन्दा बालिका श्रममा बढी अर्थात चौध प्रतिशत बालक र १७ प्रतिशत बालिका श्रममा रहेका हुन्छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ ।बैठकमा पार्टीको १५औँ महाधिवेशनको ढाँचा र कार्यतालिकाबारे छलफल भईरहेको छ । सोही विषयलाई मुख्य एजेन्डा बनाएर बुधबारदेखि जारी बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा महाधिवेशनको कार्यतालिका व्यवहारिक नभएको भन्दै संशोधनको माग व्यापक रूपमा उठिरहेको छ ।हिजोको बैठकमा अधिकांश नेताहरूले समयसापेक्ष र व्यवस्थापन गर्न सकिने कार्यतालिका आवश्यक रहेको धारणा राखेका थिए । विशेषगरी पार्टी संगठनलाई चुस्त बनाउने गरी महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ ।

बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यतासम्बन्धी विषयमा विस्तृत ब्रिफिङ गरेका थिए । उनले वडा र क्षेत्रीय अधिवेशन सम्पन्न गरी सिधै केन्द्रीय महाधिवेशनमा जाने प्रस्ताव अघि सारेका छन् । थापाको प्रस्तावमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम आजको बैठकमा पनि जारी रहने बताइएको छ ।

बिलाउनीको स्याल लुक्ने झाडी फाडेर मित्रलालले बनाए हराभरा सुन्तला बगान, केराबाट मात्र एक लाख आम्दानी

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताउनुभयो ।

“कोदो, मकैखेती हुन छाडेपछि पाखोबारी बाँझिएर बिलाउनीको झाडीले भरेको थियो”, उहाँले भन्नुभयो, “केरा र सुन्तलाखेती गरेपछि आम्दानी हुन थाल्यो । घर व्यवहार चलाउने र छोराछोरीको पढाइखर्च जुटाउन खाडीमुलुक जानुपरेको छैन ।”

यस वर्ष करिब रु पाँच लाख मूल्य बराबरको सुन्तला बेचेका मित्रलालले केराबाट थप रु एक लाख आम्दानी हुने बताउनुभयो । उहाँले तीन वर्ष खाडीमुलुक साउदीमा भेडा चराएर विसं २०५७ मा घर फर्किएपछि सुन्तला र केरा खेती सुरु गर्नुभएको थियो । गौतमको १६ रोपनी पाखोबारीमा सुन्तला र केराको बगैँचा छ ।

भित्रलालसँगै उहाँका छिमेकी चन्द्रमा पाइजा र चनदेवी पुनले पनि पाखोबारीमा सुन्तलाखेती गर्नुभएको छ । छिमेकी टोल नरालेका समलाल जुग्जालीले २०५० को दशकमा सुन्तलाखेती भित्र्याउनुभएको थियो ।

हाल मालिका गाउँपालिका–७ मा पर्ने साविक बिम गाविसबाट वार्षिक रु एक करोडभन्दा बढी मूल्यको सुन्तला बिक्री हुने अगुवा किसान भूपेन्द्र शर्माले बताउनुभयो । पोखरा र चितवनका ब्यापारीले बगैचाबाटै प्रतिकिलो रु ७० का दरले सुन्तला खरिद गरेर लगेका छन् । नयाँ बिरुवा थपिने र क्षेत्रफल विस्तार हुने क्रम जारी छ ।

अर्कला, नराले, ओखलढुङ्गा, टुनिबोट, दुुले, बनसार, नौमाने, भारवाङ, लुरवाङ, खारा र ढुनोट टोलमा ब्यवसायिक सुन्तलाखेती भएको छ । सुन्तला बेचेर एक जना कृषकले रु ६० हजारदेखि रु पाँच लाखसम्म आम्दानी गरेका छन् । साठीभन्दा बढी घरपरिवारले व्यावसायिक सुन्तलाखेती गरेका अगुवा किसान भविराज पुनले बताउनुभयो ।

“सडक यातायातको सुविधा, भूगोल र हावापानी अनुकुल भएकाले सुन्तलाखेती फस्टाएको छ”, उहाँले भन्नुभयो, “कोदो, मकै, गहुँलगायत खाद्यान्नको विकल्पमा सुन्तलाखेती गर्ने क्रम बढेको छ ।” पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएका कारण १५ वर्ष साउदी र कतारमा पसिना बगाएका चन्दबहादुर श्रीपालीले पछिल्लो १३ वर्षयता सुन्तलाखेतीलाई आम्दानीको माध्यम बनाउनुभएको छ ।

“चार वर्ष साउदीमा भेडा चराउँदा पाएको दुःख सम्झिएर २०५९ सालमा छुट्टीमा आउँदा बाँझो बारीमा सुन्तलाको बगैँचा बगाएको थिए”, उहाँले भन्नुभयो, “त्यति बेला लगाएको सुन्तला फल्न थालेपछि विदेशको तुलनामा यही आम्दानी हुन थाल्यो । विदेश जानुपरेको छैन् । सुन्तलाखेती पेन्सनजस्तो भएको छ ।” उहाँले वार्षिक रु चार लाखको सुन्तला बिक्री गर्नुहुुन्छ । व्यवस्थित सिँचाइ सुविधा र सुन्तला ढुवानी गर्दा राखिने क्रेट आवश्यक रहेको बिमका कृषकले बताएका छन् ।

प्रतिनिधिसभा निर्वाचनः सुनसरी–४ बाट पाँच जनाको नाम सिफारिस

धरान (सुनसरी) – नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा उम्मेदवारका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गरेको छ ।

क्षेत्रीय कमिटी बैठकले दाहालसँगै महफुज आलम अन्सारी, पर्शुराम बस्नेत, पदम अधिकारी र कमलबहादुर कट्वालको नाम सिफारिस गरेको हो ।

यस्तै, समानुपातिकतर्फ योगेन्द्रप्रसाद मण्डल (पप्पु), धर्मलाल उराँव, दिलमहमद मियाँ, सुरेश शर्मा लोहार र बसिरा खातुनको नाम सिफारिस गरेको नेकपा केन्द्रीय सदस्य पदम अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिहीबार जिल्लाका बाँकी तीन वटा निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुङ्ग्याइ केन्द्रमा सिफारिस गरिनेछ ।

पर्यटनको विकासका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक छ – अध्यक्ष ढकाल

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताउनुभएको छ ।

यहाँ आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उहाँले पर्यटन क्षेत्र नेपालमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताउनुभयो ।

अध्यक्ष ढकालले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताउनुभयो । “पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चयायमान बनाउन ठूलो सहयोग गरेको छ”, उहाँले भन्नुभयो ।

पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको र यसले महिलालाई आत्मनिर्भर बन्न सघाउन पु¥याएको चर्चा गर्दै अध्यक्ष ढकालले महासङ्घले महिलाको उद्यमशीलता विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको उल्लेख गर्नुभयो ।

उहाँले नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अब आन्तरिक पुँजी परिचालन गरेर पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिने धारणा राख्नुभयो । सोही सोचका साथ महासङ्घको पहलमा रु १० अर्बमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्था गर्न कम्पनीले सहयोग गर्ने बताउनुभयो ।

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय गरेको छ । रास्वपा सचिवालयको बुधबारको बैठकले आगामी फागुन २१ गतेको निर्वाचनलाई लक्षित गर्दै समानुपातिक तर्फका उम्मेदवार छनोट प्रक्रियासम्बन्धी विभिन्न निर्णय गरेको जनाइएको छ ।

बैठकले २०८२ पुस ५ गते आयोजित छलफल कार्यक्रममा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेदवार आकांक्षीहरूलाई पुनः छलफल प्रक्रियामा सहभागी गराउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आकांक्षीहरूको प्रारम्भिक निर्वाचनबाहेक छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ । सो प्रक्रियाको आवश्यकताअनुसार पार्टी उपसभापति डा स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले अनुगमन गर्ने निर्णय गरिएको छ ।

प्रवासमा रहेका उम्मेदवार आकांक्षीहरूको मूल्याङ्कन भर्चुअल माध्यमबाट गर्ने निर्णय गरिएको छ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई पुस १४ गते बिहान ९ बजेसम्म निर्वाचन आयोगमा बन्दसूची बुझाउनुअघि पार्टी केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय भएको प्रवक्ता झाले बताए ।

बैठकले उम्मेदवार छनोट समितिको प्रस्ताव र पार्टी उपसभापति डोलप्रसाद अर्याल तथा डा स्वर्णिम वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यलाई सहभागी गराउने निर्णय गरेको छ ।

समानुपातिक उम्मेदवार छनोटका लागि हुने प्रारम्भिक निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरूको मापदण्ड निर्धारण गर्ने जिम्मेवारी उम्मेदवार छनोट समितिको प्रस्तावमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि र सूचना प्रविधि इकाईका प्रतिनिधि सम्मिलित कार्यदललाई दिइएको छ ।

बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगको सदस्यमा गोकुल सापकोटा र केन्द्रीय सङ्गठन विभागको सदस्यमा शिवराज पन्तलाई मनोनयन गर्ने निर्णयसमेत गरेको छ । रास्वपाले उम्मेदवार छनोट प्रक्रिया थप पारदर्शी, समावेशी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित यी निर्णय गरिएको प्रवक्ता झाले जानकारी दिए ।

आजको मौसम : तराईका धेरै स्थानहरूमा हुस्सु

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल कोशी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका तराई भू–भागमा हुस्सु÷कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, आज राति तराई भू–भागमा हुस्सु/कुहिरो रहनेछ । पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने महाशाखाले जनाएको छ।

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज (पर्सा) – वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।

जबकी गत आवको पाँच महिनामा भने रु २१ अर्ब १८ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा यो नाका हुँदै हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो ।

चालु आवको पाँच महिनामा रु २० अर्ब ७६ करोड मूल्य पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । त्यस्तै रु तीन अर्ब सात करोड मूल्य पर्ने फलफूलको जुस निर्यात भयो । रु दुई अर्ब ८७ करोड मूल्य पर्ने सूर्यमुखीको प्रशोधित तेल, रु एक अर्ब ९७ करोड मूल्य पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ । त्यस्तै रु एक अर्ब ५० करोड मूल्य पर्ने विभिन्न किसिमका कपडाहरु पनि निर्यात भएको कार्यालयले जनाएको छ ।

विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् – कार्यवाहक सभापति खड्का

काठमाडौँ – नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताउनुभएको छ ।

इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै एकता र मेलमिलापको वातावरण सिर्जना गर्न पर्वले भूमिका खेलिरहेका उल्लेख गर्नुभयो ।

“यिनै विविधताभित्र मनाइने यहाँका विभिन्न चाडपर्व, धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा रहिआएको छ”, कावा सभापति खड्काले सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले ‘क्रिसमस डे’ का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

त्रिविको ५१ औ दीक्षान्त समारोह आज

कीर्तिपुर (काठमाडौँ) 0 त्रिभुवन विश्वविद्यालयको ५१आँै दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिनुभयो ।
समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । टोकियो विश्वविद्यालयमा आबद्ध उहाँले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाउनुभएको थियो ।

उपकुलपति प्रा डा अर्यालले दीक्षान्तका लागि सम्पूर्ण तयारी गरिएको बताउनुभयो । मण्डप निर्माण, दीक्षित विद्यार्थी र अभिभावक बस्ने कुर्सीको व्यवस्थापनलगायत सबै काम सम्पन्न भएको उहाँले जानकारी दिनुभयो ।

यसपटक त्रिविका १६ हजार ३०० भन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी हुने जनाइएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका उपकुलपति प्रा डा अर्यालले बताउनुभयो ।

कार्यक्रममा विभिन्न सङ्काय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रले पदकसमेत पाउने छन् । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।

उपराष्ट्रपति यादवद्वारा क्रिसमस पर्व २०२५ को शुभकामना व्यक्त

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवशका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले शान्ति, प्रेम, करुणा र सहअस्तित्वको सन्देश बोकेको यस पर्वले मानवता, सहिष्णुता र सामाजिक सद्भावलाई सुदृढ बनाउनमा सहयोग पुगोस् भन्दै शुभकामना दिनुभएको छ ।

“हाम्रो संविधानले सुनिश्चित गरेको समानता, धार्मिक स्वतन्त्रता र सामाजिक न्यायसँग यी मूल्यहरू प्रत्यक्ष रूपमा जोडिएका छन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक हो । यहाँका विविध धर्म, संस्कृति र परम्पराले राष्ट्रिय पहिचानलाई समृद्ध बनाएका छन् । यी चाडपर्वले ‘विविधतामा एकता’ को सन्देश दिँदै राष्ट्रिय अखण्डता, सामाजिक समानता र सहअस्तित्वलाई बलियो बनाएका छन्”, सन्देशमा भनिएको छ ।

उपराष्ट्रपति यादवले यी पर्वहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समावेशी शासनको अभ्यासलाई सांस्कृतिक आधार प्रदान गर्दै स्थायी शान्ति, सुशासन र समृद्धिको दिशामा अघि बढ्न उत्प्रेरित गरेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

क्रिश्चियन धर्मका प्रवर्तक यशु ख्रीष्टको जन्म दिवसका रूपमा हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर क्रिसमस पर्व मनाइन्छ । क्रिसमसको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व छ । यसले परिवार, साथीभाइ र समुदायबीच शुभकामना आदानप्रदान, उपहार साटासाट र सांस्कृतिक कार्यक्रममार्फत् आपसी सद्भावलाई बलियो बनाउँदछ । साथै, व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई चलायमान बनाउँदै मुलुकलाई आर्थिक लाभ पु¥याउने अवसर पनि प्रदान गर्दछ । विपन्न, असहाय तथा सीमान्तकृत समुदायप्रति करुणा र सहयोगको भावना जागृत गर्ने प्रेरणा पनि यस पर्वले दिन्छ ।

पछिल्ला वर्षहरूमा अन्य धर्मावलम्बीहरूले पनि उत्साहपूर्वक क्रिसमस मनाउन थालेका छन्, जसले सर्वधर्म सहिष्णुता, परस्पर सम्मान र हाम्रो मौलिक पहिचानलाई जीवन्त राख्न मद्दत पु¥याएको शुभकामना सन्देशमा जनाइएको छ । यस अवसरमा सबैले सामाजिक न्याय, समावेशिता र समान अवसरलाई अझ सुदृढ बनाउने सङ्कल्प लिन सक्नुपर्ने पनि उपराष्ट्रपति यादवको भनाइ छ ।

क्रिसमस पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता, सामाजिक न्याय र राष्ट्रिय एकताको सूत्रमा बाँध्दै समृद्ध, शान्त र विकसित नेपाल निर्माणमा प्रेरणा प्रदान गरोस् भनी उहाँले पुनः शुभकामना व्यक्त गर्नुभएको छ ।

डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ, १० पुस : क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।

आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।

पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो । उहाँले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका उहाँले बताउनुभयो ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको अध्यक्ष गहतराजको भनाइ छ । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको उहाँले सुनाउनुभयो ।

महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिएकोे जनाइएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने अध्यक्ष गहतराजले बताउनुभयो ।

दिवसका अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । विसं २०७८ देखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।

महासङ्घको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।

निर्वाचन आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

काठमाडौँ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।

निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो ।

आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ । जारी आचारसंहिता उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८२ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०५ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४९ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३९ रुपैयाँ २० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८९ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५ रुपैयाँ ७१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६४ पैसा र बिक्रीदर २२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५१ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४६८ रुपैयाँ ५९ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौँ – वाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान गराउन सम्भाव्यता अध्ययन गरिने भएको छ ।

गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको संयोजकत्वमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीसहितको बैठकले यस्तो निर्णय गरेको हो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्द्वारबाट शुद्ध जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन लागिएको हो ।

जानकारहरूका अनुसार विसं २०४० सम्म पशुपतिनाथलाई वाग्मती नदीको जलले स्नान गराइन्थ्यो । वाग्मती प्रदूषित हुँदै गएपछि पशुपति क्षेत्रमा इनार खनेर स्नान गराउने गरिएको छ । डेढ दशकअघिदेखि नै वाग्द्वारको जल ल्याएर पशुपतिनाथलाई स्नान गराउन पहल गरिए पनि सफल हुन सकेको छैन । पूर्वप्रधानन्यायधीश रामप्रसाद श्रेष्ठ यो अभियानमा लाग्नुभएको थियो ।

वाग्द्वारको शुद्ध जल विभिन्न धार्मिकस्थल हुँदै आराध्यदेव पशुपतिनाथलाई स्नान गराउन ल्याउने विषयमा प्रथम चरणको कार्य सुरु गरिएको कोषका कार्यकारी निर्देशक जोशीले जानकारी दिनुभयो ।

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ, पास गराई दिने भन्दै १० हजारसम्म लिने गरेको खुलासा

काठमाडौँ – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा ट्रायल सेन्टर दक्षिणढोकालगायत स्थानमा विचौलियाको काम गर्ने १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी–८ का ६१ वर्षीय झमकलाल श्रेष्ठ, काभ्रेपलाञ्चोक बनेपा–५ काठुटोल बस्ने ३३ वर्षीय अनिमेष अवा, दोलखा तामाकोशी–४ का ३३ वर्षीय वासु खड्का, झापा कमल गाउँपालिका–२ का ४७ वर्षीय भिमबहादुर नेम्वाङ, काठमाडौँ–८ गुह्वेस्वरी गौरीघाटका ४३ वर्षीय प्रदीप श्रेष्ठ, कागेशवरी मनहोरा–५ बस्ने ३६ वर्षीया शर्मिला चौलागाई, सिन्धुपाल्चोक मेलम्ची–१० बस्ने ४१ वर्षीया दिपा कटुवाल, पर्वत जलजला–४ का ५० वर्षीय दुर्गाप्रसाद न्यौपाने, चन्द्रागिरी–५ गुर्जुधाराका २९ वर्षीय रन्जित महर्जन, नवलपरासी बर्दघाट–११ का ३० वर्षीय अर्जुन चौधरी, सिन्धुपाल्चोक चौतारा–६ का १९ वर्षीय दिवस लामा, सुनसरी ईटहरी–१० का ३१ वर्षीय सरोज ढङ्गाना, काभ्रेपलाञ्चोक रोशी–१ का ३७ वर्षीय सन्तोष स्याङ्तान तथा काभ्रेपलाञ्चोक पनौती–५ का ४० वर्षीय दिलिप खड्गी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेकाहरूले यातायात व्यवस्था कार्यालय राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा, काठमाडौँ तथा यातायात कार्यालय ट्रायल सेन्टर दक्षिणढोका लगायतका स्थानहरूमा विचौलियाको काम गरी सेवाग्राहीलाई दुःख हैरानी दिने तथा यातायात व्यवस्था कार्यालयका कर्मचारी समेतको दैनिक कामकारबाहीमा प्रभाव पार्ने कार्य गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा पक्राउ गरिएको हो ।”

पक्राउ परेकालाई आज थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडाँै र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रवक्ता आचार्यले बताउनुभयो ।

यसैगरी, उनीहरूले लिखित तथा ट्रायल फेल भएकालाई यातायात कार्यालयका कर्मचारीसँग चिनजान छ पास गराई दिने भनी नेपाली रकम १० हजारसम्म लिने गरेको, लाइसेन्स प्रिन्ट तथा ब्लुबुकलगायत कागजात नवीकरण सहज तरिकाबाट गरिदिने भनि अतिरिक्त रकम लिने गरेको ।

मेडिकल फेल भएकाहरूलाई पास गराइदिने प्रलोभन देखाइ अतिरिक्त रकम लिने गरेको । यातायात कार्यालयसँग सम्बन्धित काममा कर्मचारीको सेटिङमा छिटोछरितो गराइदिने भन्दै विचौलियाजन्य अन्य कार्य गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको इयूद्वारा विरोध

युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि कम्पनीहरूलाई नियमन गर्ने पाँच युरोपेली व्यक्तित्वमाथि लगाइएको अमेरिकी प्रतिबन्धको ‘कडा निन्दा’ गरेको युरोपेली आयोगले बुधबार जानकारी गराएको छ।

अमेरिकी विदेश मन्त्रालयले मङ्गलबार प्रविधि क्षेत्रमा काम गर्ने ब्रेटन र अन्य चार व्यक्तिलाई भिसा अस्वीकार गर्ने घोषणा गरेको छ । उनीहरूले अमेरिकी सामाजिक मिडिया प्लेटफर्महरूको विरोध गर्ने दृष्टिकोणलाई नियन्त्रण गर्न ‘जबरजस्ती’ गर्न खोजेको आरोप लगाए ।

“हामीले अमेरिकी अधिकारीहरूसँग स्पष्टीकरण मागेका छौँ र यस मुद्दामा नियमित लागिपरेका छौँ । आवश्यक भएमा हामी अनुचित उपायबिरूद्ध हाम्रो नियामक स्वायत्तताको रक्षा गर्न द्रूत र निर्णायक रूपमा प्रतिक्रिया दिनेछौँ,” आयोगको एक विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रो डिजिटल नियमहरूले सबै कम्पनीहरूको लागि सुरक्षित, निष्पक्ष र समान स्थान सुनिश्चित गर्छ, साथै, यो निष्पक्ष र भेदभावबिना लागू हुन्छ।”

“अभिव्यक्ति स्वतन्त्रता युरोपको मौलिक अधिकार हो र लोकतान्त्रिक संसारमा संयुक्त राज्य अमेरिकासँग साझा र प्रमुख मूल्य हो,” आयोगले भनेको छ ।

“इयू एक खुला, नियममा आधारित एकल बजार हो, जसमा हाम्रो लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू अनुरूप आर्थिक गतिविधिलाई नियमन गर्ने सार्वभौम अधिकार छ,” आयोगले भनेको छ।

‘विकास–निर्माणका कामलाई दलीय स्वार्थभन्दा माथि राख्नुपर्छ’ – मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकासलाई दलीय स्वार्थभन्दा माथि राखेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।मकवानपुरको थाहा नगरपालिकाको चित्लाङमा चित्लाङ हिल स्टेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले विकास निर्माणमा दलीय भावनाभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनमा एजेण्डा फरक भए पनि निर्वाचनपश्चात् विकास निर्माणमा फरक विचार हुन नहुने जिकिर गर्दै मुख्यमन्त्री बानियाँले विकासमा विग्रह नभई सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।

मकवानपुरको दामन, पालुङ, चित्लाङलगायत क्षेत्रलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री बानियाँले काठमाडौँ–चन्द्रागिरि–थाहा नगरको ‘कनेक्टिभिटी’ले सो क्षेत्रको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले गरेको विकास र निर्माण गरेको संरचनालाई जोगाउने र चलाउने काम स्थानीय तहले लिनुपर्ने उल्लेख गर्दै उहाँले थाहा नगरपालिकामा बनेको संरचनालाई सफल रूपमा सञ्चालन गर्न सकिए सङ्घीयता बलियो हुने उल्लेख गर्नुभयो ।

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता

काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच औपचारिक रूपमा चुनावी एकताको घोषणा गरिएको छ ।

आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै पार्टीका शीर्ष नेतृत्वले चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाउनुभएको हो ।

उक्त पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले संयुक्त रूपमा चुनावी एकता घोषणापत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

दुई पार्टीबीच भएको सहमतिअनुसार सर्वोदय पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा चुनावी घोषणापत्र निर्माण गर्ने तथा चुनावी प्रक्रियामा उत्पन्न हुनसक्ने विवाद समाधानका लागि संयुक्त संयन्त्र गठन गर्ने उल्लेख गरिएको छ ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष उपाध्यायले वर्तमान देशको जटिल राजनीतिक अवस्था, अस्थिरता र जनतामा बढ्दो निराशाबाट निकास खोज्ने उद्देश्यले औपचारिक चुनावी एकता घोषणा गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “देशलाई स्थिरता, सुशासन र जवाफदेही राजनीतिक संस्कृतितर्फ डो¥याउन समान सोच र लक्ष्य भएका शक्तिहरूबीच एकता अपरिहार्य भएको छ ।”

यसैगरी सर्वोदय पार्टीका अध्यक्ष दीपक साहले ‘जेनजी आन्दोलन’ को भावना, चेतना र मागलाई व्यवहारमा रूपान्तरण गर्दै नयाँ राजनीतिक संस्कृतिको निर्माण गर्ने लक्ष्यसहित एकीकृत मोर्चाबाट चुनावमा जाने निर्णय गरिएको बताउनुभयो ।

चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाइयोस्ः मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत) – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशभित्रका राजमार्ग चौबिसै घण्टा यातायात सञ्चालन हुने वातावरण मिलाउन सङ्घ सरकारसँग माग गनुभएको छ ।

उहाँले कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापनमा हाल कर्णाली राजमार्गसँगै भेरी करिडोरको जाजरकोट खण्डमा रात्रीकालीन यातायात सेवा बन्द हुँदै आएको जानकारी दिनुभयो । सङ्घ सरकारको मातहतका यी सडकमा राति यातायातका साधन चल्न सकेका छैनन् । दश जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सुरक्षा निकायका केन्द्रीय प्रमुखहरु तथा गृहमन्त्री ओमप्रकाश अर्याल सहभागी उक्त गोष्ठीमा मुख्यमन्त्री कँडेलले कर्णालीमा सञ्चालन हुने सडक मृत्यु मार्गको रुपमा परिभाषित भएकाले यसलाई सुधार गर्न आग्रह गनुभयो ।

हिमाली जिल्लामा रहेका प्रहरीचौकीको अभावमा त्यहाँ रहेका सुरक्षाकर्मीले भोगेको समस्या तत्काल समाधान गर्नसमेत उहाँले गृहमन्त्री अर्याललाई आग्रह गनुभयो । आगामी फागुन २१ गते तोकिएको निर्वाचन यही अवस्थाको सुरक्षा र प्रमुख दललाई बाहिर राखेर गरिने विषयले सम्भव नहुने उहाँको भनाइ थियो ।

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै भत्किन थालेपछि मापदण्डअनुसार सुधार गर्न जनप्रतिनिधि र उपभोक्ताले दबाव दिएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजनाअन्तर्गत बेनी नगरपालिका– १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डमा हालै ‘डिबिएसटी’ प्रबिधिको कालोपत्र गरिएको थियो ।

बिटुमिनले सडकमा बिछ्याएको चिप्स नसमातेको र खाल्डै खाल्डा बनेको विषयमा वडा नं १ का अध्यक्ष टेकबहादुर थापा र २ का अध्यक्ष यामबहादुर कार्की, पूर्वअध्यक्ष हिराबहादुर थापासहित स्थानीयवासी आज सडक डिभिजन कार्यालय पुगेर ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले सडक डिभिजनका निमित्त प्रमुख विष्णु लामिछाने र निर्माण कम्पनी गजेन्द्र–नयाँबाटो जेभीका आयोजना व्यवस्थापक अरुण सेढाईंलाई प्रत्यक्ष निरीक्षण गराएका छन् । “यो सडकको बेस बिछ्याउँदादेखि गुणस्तरीय नभएको गुनासो थियो । सो विषय लिखित रुपमा सचेत गराउँदा पनि सुनुवाइ भएन”, वडा नं २ का अध्यक्ष कार्कीले भन्नुभयो, “बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र कार्पेट बिछ्याएको जस्तो भएको छ ।”

नौ मिटर चौडाइको सो सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी गर्ने सम्झौता छ । उक्त योजनाका लागि २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनामा सम्पन्न गर्ने म्याद रहेकामा पुनः आगामी फागुनसम्म काम गर्ने म्याद थप भएको छ ।

सडक डिभिजनका अनुसार हालसम्म करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख लामिछानेले सडकमा देखिएको समस्यालाई सुधार गर्न लगाइने प्रतिबद्धता जनाउनुभयो ।

निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाईंले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा बिछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्डअनुसार बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया (गुलरिया) –  बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना गर्न सुरु गरिएको छ । निकुञ्जभित्र क्यामरा जडान गरेर माघ गणना थालिएको वन तथा वातावरण मन्त्रालयका सचिव गोविन्द शर्माले बताउनुभयो ।

उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा बाघको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । यहाँ आठगुणाले बाघको सङ्ख्यामा वृद्धि भएको पाइएको छ । बाघको वृद्धिसँगै यस क्षेत्रमा संरक्षणको चुनौति पनि उत्तिकै वृद्धि भएको छ ।

यद्यपि बाघ गणना सुरु भएकै दिन आज बारबर्दिया नगरपालिका–१० बैदीको फेनापति सामुदायिक वन पार्वती डाँगीलाई बाघले आक्रमण गर्दा उहाँको मृत्यु भएको छ ।

नेपालले अन्तरराष्ट्रिय लक्ष्यअनुसार दशकभरमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो । सो लक्ष्यभन्दा बढी बाघमा वृद्धि भएको सचिव शर्माको भनाइ छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिएको जानकारीअनुसार हाल नेपालमा ३५५ बाघ छन्, जसमा बर्दियामा मात्रै करिब १२५ रहेको छ ।

पछिल्लो समय २१ वटा पाटेबाघको मृत्यु भएको छ । बाढीपहिरो, चोरी सिकारी, आपसमा लड्नु र प्रकृतिक कारणले निकुञ्ज र सामुदायिक वनमा रहेका पाटेबाघको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

बाघको सङ्ख्या विस्तारका लागि संरक्षण, सुरक्षा, आवास विस्तार र सिकार नियन्त्रणलाई प्रमुख कारण मानिएको छ । बाघको पछिल्लो गणना गरेपछि संरक्षणको प्रभाव कस्तो रहेको छ भन्ने तथ्य प्रस्तुत गर्न सकिनेछ । तर, बाघको सङ्ख्या वृद्धि हुनासाथ मानव–वन्यजन्तु द्वन्द्व पनि बढेको तथ्य अधिकारी र स्थानीय दुवैले स्वीकार गरेका छन् ।

निकुञ्जको तथ्याङ्कअनुसार तीन आर्थिक वर्षमा बर्दियामा ३२२ वन्यजन्तु मृत्यु भएका छन् र ४२३ वन्यजन्तुको उद्धार गरिएको छ । वन्यजन्तु मृत्युमध्ये ठूलो हिस्सा सवारी दुर्घटना, तारजालीमा अड्किनु, कुकुरको आक्रमण, प्राकृतिक कारण, रोग, विद्युत् र आपसी द्वन्द्वका कारण भएको पाइएको छ ।

बाघको मर्नुको मुख्य कारणमध्ये आपसी लडाईं पनि देखिएको छ । वयस्क बाघहरू क्षेत्राधिकारका लागि प्रतिस्पर्धा गर्दा धेरैजसो मृत्यु हुने गरेको निकुञ्जका कर्मचारीको भनाइ छ । मानवीय पक्षबाट हेर्दा बाघसँगको द्वन्द्व अत्यन्तै पीडादायी बन्दै गएको छ ।

यस आव २०८२/२०८३ को दुई महिनामा चार जनाले बाघको आक्रमणमा परी मृत्युवरण गरेका छन् ।

तीन वर्षको अवधिमध्ये नेपालभर ५३ जनाले ज्यान गुमाएका छन्, जसमा ३४ जना बर्दियाबाट मात्र छन् । बर्दियाका मधुवन, बारबर्दिया र गेरुवा क्षेत्रलाई बाघ आक्रमणका उच्च जोखिम क्षेत्रका रूपमा पहिचान गरिएको छ । मधुवन नगरपालिका–३ धनौराकी रमिता थारूको घटना यस क्षेत्रमा भएका घटनामध्ये सबैभन्दा मार्मिक मानिन्छ । उहाँले २०७७ कात्तिकमा एकैदिन श्रीमान् र भाइ गुमाइन् ।

जङ्गलमा हराएका श्रीमान् खोज्न गएकी रमिताले दुवै परिवार सदस्यलाई गुमाउनुपर्‍यो । अहिले उहाँ सानो घर, पाँच कट्ठा जमिन र दुई छोरीको पालनपोषणको जिम्मेवारीसँग सङ्घर्ष गरिरहनुभएको छ । आर्थिक अभाव, आयको स्रोतको कमी र मनोवैज्ञानिक आघातले उहाँको जीवन अझ जटिल बन्दै गएको छ ।

रमिताकी भाउजु पूजा थारूले पनि श्रीमान् गुमाउनुभयो । निकुञ्जले रु १० लाख राहत रकम दिए पनि दुवै परिवारका लागि त्यो रकम जीवनयापनका लागि पर्याप्त छैन । स्थानीयका अनुसार मृतकका परिवारलाई राहत रकम उपलब्ध भए पनि शिक्षा, स्वास्थ्य, आयआर्जन र लामो समयको खर्च व्यवस्थापनमा ठूलो कठिनाइ भइरहेको छ । निकुञ्जले राहत वितरणका क्रममा कडाइ अपनाउँदा, कागजात र प्रक्रिया झन्झटिलो हुँदा धेरै पीडितले समयमै राहत पाउन नसकेको गुनासो छ ।

बाघ संरक्षणका दृष्टिले बर्दियाको खाता करिडोर अन्तरराष्ट्रिय मान्यता प्राप्त क्षेत्र हो । त्यसैले गर्दा यस क्षेत्रमा बाघको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय प्रमुख अजित तुम्बाहाम्फे बताउनुभयो । यही क्षेत्रमा बाघ संरक्षणको प्रभावकारिता र जैविक विविधताको उत्कृष्ट नमुना देखिँदा यसलाई ‘टी–एक्स–टु’ अन्तरराष्ट्रिय पुरस्कारसमेत प्राप्त भइसकेको छ । तर, यही करिडोर अहिले मानवीय पक्षबाट सबैभन्दा जोखिमपूर्ण क्षेत्र बनेको छ । यहाँ बाघको उपस्थिति धेरै भएकाले स्थानीय बस्ती गाउँको सुरक्षामा निरन्तर चुनौती छ ।

मधुवन–३ मा मात्रै पछिल्ला वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । स्थानीयको भनाइमा बाघ नियन्त्रण, वन व्यवस्थापन र राहत कार्यक्रम अझै प्रभावकारी हुन सकेका छैनन् । निकुञ्जले सुरक्षा व्यवस्थाका रूपमा तारबार, सोलार फेन्स र आरसिसी वालजस्ता पूर्वाधार निर्माण गरे पनि ती पूर्ण रूपमा बाघ रोक्न सफल भएको छैन । अधिकारीहरूका अनुसार बाघहरू उच्च क्षमताका जनावर भएकाले तारजाली नाघ्ने, भत्काउने वा कमजोरी खोजेर गाउँमा पस्ने गर्छन् ।

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत अशोक रामका अनुसार मानव–बाघ द्वन्द्व अन्त्य गर्न केबल पूर्वाधार निर्माणले मात्र काम नपुग्ने, मानवीय व्यवहारमा परिवर्तन, जोखिम पहिचान र सही व्यवस्थापन आवश्यक रहेको छ । बाघ आक्रमणबाट बच्न सफल भएका घाइतेको उपचार पनि ठूलो चुनौती बनेको छ ।

विसं २०८२ भदौमा आक्रमणमा परेकी जुनाकुमारी चौधरीको उपचारमा डेढ लाखभन्दा बढी खर्च भएको परिवारको भनाइ छ । उहाँ लामो समय अस्पतालमा उपचाररत रहनुभयो । यस्तो घटनामा शारीरिक मात्र नभई आर्थिक र मानसिक पक्षमा पनि गम्भीर असर पुग्ने चिकित्सकहरूको भनाइ छ । तर, गम्भीर घाइतेलाई दुई लाख रूपैयाँ मात्र राहत दिने वर्तमान निर्देशिकाले वास्तविक खर्च धान्न नसक्ने स्पष्ट भइसकेको छ ।

मानिसको मात्रै होइन, पशुधनको क्षति पनि ठूलो छ । तीन वर्षमा बाघले बर्दियामा ८४१ पशुपन्छी मारेको छ । विपन्न समुदायका लागि पशुधन आयको मुख्य स्रोत भएकाले यसले आर्थिक सङ्कट थप गाढा बनाएको छ । निकुञ्जले पशुधन क्षतिपूर्तिका लागि केही रकम उपलब्ध गराए पनि प्रक्रिया जटिल र रकम न्यून भएको स्थानीयको भनाइ छ । धेरै किसानले क्षति बुझेपछि पनि उजुरी नदिने गरेका छन् ।

राहत प्रणालीमा कानुनी अस्पष्टता, क्षमता अभाव र समन्वयको कमजोरी रहेको अधिकारीहरूले पनि स्वीकार गरेका छन् । डिभिजन वन कार्यालयका प्रमुख विजय राज सुवेदीका अनुसार बाघ आक्रमण धेरैजसो सामुदायिक र सरकारी वनमा हुने गरेको छ, तर निर्देशिकाले निकुञ्ज क्षेत्रका लागि मात्रै स्पष्ट व्यवस्था गरेको छ । जसका कारण राहत वितरणमा समस्या आउँछ । उहाँले यस प्रणालीलाई समग्र दृष्टिले परिमार्जित गर्न जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।

सरकारले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन र जीवनस्तर सुधारका लागि ‘प्रधानमन्त्री बाघ संरक्षण तथा जीविकोपार्जन कार्यक्रम’ सञ्चालन गर्ने तयारी गरेको छ । यस उद्देश्यका लागि एक अर्ब रूपैयाँ बराबरको कोष बनाउने योजना प्रस्तुत गरिएको छ । यस कार्यक्रमअन्तर्गत संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै विपन्न समुदायका लागि आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिइएको छ ।

बर्दियाका धेरै गाउँमा बाढी, कटान र बाघ आक्रमणका कारण विस्थापन भएको छ । गेरुवा नदीको कटानबाट एक हजार २०० बिघाभन्दा बढी जमिन बगाएको छ र एक हजारभन्दा बढी परिवार प्रभावित भएका छन् । यस्तै करिब तीन सय परिवार विस्थापित भएका छन् । कृषि, पशुपालन र दैनिक श्रममा निर्भर समुदाय यसले दोहोरो मार परिरहेको छ । उनीहरू अब जङ्गल, खेत र नदी तीनैबाट जोखिममा छ ।

विशेषज्ञहरूको भनाइमा नेपालले बाघ संरक्षणमा शानदार सफलता प्राप्त गरेपनि यसको पीडा भोगिरहेको समुदायलाई प्राथमिकतामा राख्नु जरुरी छ । बाघ विज्ञ डा बाबुराम लामिछानेका अनुसार नेपालको संरक्षण मोडल अब मानिस र वन्यजन्तुको सहअस्तित्वमा आधारित हुनुपर्छ ।

बाघको सङ्ख्या बढाउने लक्ष्य पूरा भइसकेको तर मानिसको सुरक्षाका लागि दीर्घकालीन समाधान आवश्यक रहेको उहाँको तर्क छ । बर्दियामा संरक्षण, पर्यटन र जैविक विविधताले उत्पन्न गरेको अवसरलाई उपयोग गर्ने क्षमता भए पनि त्यसलाई मानवीय हितसँग जोड्न नसकिएको स्थानीयको गुनासो छ । उनीहरूको भावनाअनुसार बाघ संरक्षणको मूल्य गरिब समुदायले तिर्न बाध्य भएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षालाई प्राथमिकता दिन सरकार र निकुञ्जले पर्याप्त योजना नबनाए स्थानीयको जीवन अझ कष्टकर बन्ने जोखिम छ । बर्दियाको अनुभवले नेपालले संरक्षणमा सफलता हासिल गर्नसक्ने क्षमता देखाएको छ । तर, यसको दीर्घकालीन टिकाउ प्रभावका लागि मानवीय पक्षलाई प्राथमिकता दिनैपर्ने आवश्यकता छ । द्वन्द्व कम गर्ने, राहत प्रणाली सरल र प्रभावकारी बनाउने, सुरक्षित बसोबास सुनिश्चित गर्ने र विकट समुदायलाई आर्थिक अवसर उपलब्ध गराउने नीति महत्त्वपूर्ण बन्ने देखिन्छ । संरक्षण मात्र होइन, सहअस्तित्व स्थापनाको चुनौती नेपालका लागि नयाँ लक्ष्यका रूपमा देखा परेको छ ।

अत्यधिक जाडो बढेपछि तराईका विद्यालय बन्द हुन थाले

राजविराज (सप्तरी) – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका सम्पूर्ण विद्यालयलाई चार दिनका लागि बिदा दिएको छ ।

नगरपालिकाका प्रमुख आतेशसिंह यादवका अनुसार नगरपालिकाअन्तर्गतका सबै विद्यालय आजदेखि पुस १३ गतेसम्मका लागि बन्द रहने छ ।

तराई क्षेत्रमा शीतलहरका कारण विगत केही दिनदेखि बढेको अत्यधिक जाडोेका कारण जनजीवन प्रभावित हुँदा बालबालिकालाई विद्यालय आउजाउ गर्न असहज हुने भएकाले बिदा दिइएको जारी गरेको सूचनामा उल्लेख छ ।

केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण सप्तरीसहित तराई–मधेसको जनजीवन कष्टकर बनेको छ ।