`

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल भइरहेको छ ।

बैठककोकार्यसूचीमा आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुनेछ ।

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो । आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले प्रस्तुत गरेको बजेट कार्यक्रममा कृर्षि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

सुदूरपश्चिममा गत वर्ष ३३ अर्ब ५० करोडको बजेट ल्याएको थियो । आगामी आर्थिक वर्षका लागि सरकारले अनुदान र आन्तरिक राजस्वलाई आधार बनाएको छ । आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड रुपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँडबाट १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने प्रदेश सरकारको अनुमान छ ।

यस्तै सङ्घीय रोयल्टी बाँडफाँडबाट ७ करोड रुपैयाँ, सङ्घीय वित्तीय समानीकरण अनुदान ९ खर्व ६ करोड ३३ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै चालु आर्थिक वर्षको बाँकी मौज्दात रकम ९ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

सङ्घीय सशर्त अनुदानबाट ६ अर्ब ३ करोड ५८ लाख रुपैयाँ र सङ्घीय समपूरक अनुदानबाट ३८ करोड ८० लाख र सङ्घीय विशेष अनुदानबाट ५२ करोड ७६ लाख रुपैयाँ अनुमान गरिएको छ ।सरकारले मध्य राति बजेट प्रस्तुत गर्दा यहाँका प्रतिपक्ष दलले भने बैठक अवरुद्ध गरेको छ । प्रतिपक्ष दल नेकपाले प्रदेश सभा बैठक बहिस्कार गरेको छ ।

सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै प्रतिपक्षी सांसदहरूले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाएका हुन् ।बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद मानबहादुर धामीले मध्य राति बजेट ल्याएर सरकारले नाटक गरेको आरोप लगाए ।

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती। बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गरेको छ ।सोमबार बागमती प्रदेशसभाको बैठकमा सरकारको आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले कर तथा जरिरवाना छुटसम्बन्धी विशेष व्यवस्थाहरूबारे जानकारी गराउनुुभएको हो ।

सरकारले व्यावसायिक फर्म दर्ता गरी नवीकरण नगरेका उद्योग÷व्यवसायले २०८३ पुस मसान्तसम्म आव २०८२÷८३ सम्मको नवीकरण शुल्क बुझाएमा आव २०८१/८२ भन्दा अगाडिको जरिवाना पूर्ण रूपमा छुटको व्यवस्था गरेको मन्त्री तामाङले जानकारी दिनुुभयो ।

सरकारले २० वर्ष वा सोभन्दा पुराना सार्वजनिक (भाडाका) सवारीसाधनका धनीले २०८३ पुस मसान्तभित्र २० वर्षसम्मको बुझाउन बाँकी कर र नवीकरण दस्तुर बुझाएमा, लाग्ने जरिवाना रकममा शत–प्रतिशत छुट दिई सवारी दर्ता खारेज (लगतकट्टा) गरिने जनाएको छ ।

नवीकरण नगरेका ‘ड्राइभिङ ट्रेनिङ सेन्टर’, ‘वर्कसप’, र ‘रिकन्डिसन हाउस’हरूले २०८३ पुस मसान्तसम्म पछिल्लो अवधिको शुल्क बुझाएमा सोभन्दा अगाडिको नवीकरण दस्तुर र जरिवानामा शत–प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

घरजग्गा रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशतसम्म छुट गरिएको मन्त्री तामाङले जानकारी दिनुुभयो । स्वदेशी लगानीका जलविद्युत् उद्योग, चियाखेती, कफीखेती, कपासखेती, पुष्प व्यवसाय, तरकारीखेती, पशुपन्छीपालन, डेरी, अलैँचीखेती, जडीबुटीखेती र फलफूल उद्योगको नाममा खरिद गरिने जग्गाको रजिष्ट्रेसन दस्तुरमा ५० प्रतिशत छुटको निरन्तरता दिएको उल्लेख गर्दै मन्त्री तामाङले स्वदेशी सामूहिक खेती उद्योगको नाममा पास हुने जग्गाको रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुुभयो ।

स्वदेशी सूर्ती, गुड्खा, पानपराग र मदिराजन्य उद्योगबाहेकका उत्पादनमूलक तथा सूचना प्रविधि उद्योग स्थापनाका लागि खरिद गरिने जग्गाको लिखतमा ५० प्रतिशत छुट गरिएको छ ।उत्पादनमूलक उद्योग स्थापना वा विस्तार गरी तीन सय जनाभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिने उद्योगले जग्गा खरिद गर्दा लाग्ने रजिष्ट्रेसन शुल्कमा ५० प्रतिशत छुट दिने उल्लेख गर्दै बजेटमा प्रदेशभित्रका हिमाली जिल्लाका दुर्गम स्थानका जग्गाको लिखत पारित हुँदा ५० प्रतिशत छुटको निरन्तरता दिइएको जनाइएको छ ।

जनआन्दोलन, सशस्त्र सङ्घर्ष र मधेस आन्दोलनका सहिद तथा बेपत्ता पारिएका व्यक्तिका आश्रित परिवारको नाममा स्वामित्व प्राप्त हुने लिखतमा सबै प्रकारको दस्तुर र शुल्क पूर्ण रूपमा छुटको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, दलित, पिछडिएका, अल्पसङ्ख्यक र सीमान्तकृत व्यक्तिहरूको नाममा स्वामित्व प्राप्त हुने घरजग्गा रजिष्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट गरिएको छ ।

महिला, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र बुबाआमाविहीन नाबालकको नाममा पास हुने घरजग्गा रजिष्ट्रेसन शुल्कमा २५ प्रतिशत छुट गरिएको छ । एकल महिलाको नाममा स्वामित्व प्राप्त हुने लिखतमा रजिष्ट्रेसन शुल्कमा ३५ प्रतिशत छुट एवं गाउँपालिका क्षेत्रभित्रको जग्गामा महिलाको नाममा स्वामित्व प्राप्त हुने गरी पारित हुने लिखतको रजिष्ट्रेसन शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

भूमिहीन, मुक्त कमैया र मुक्त हलिया परिवारले सहुलियत ऋण र अनुदानबाट खरिद गरेको जग्गाको रजिष्ट्रेसन शुल्क, सेवा शुल्क र रोक्का दस्तुर पूर्ण रूपमा छुट गरिएको मन्त्री तामाङले जानकारी दिनुुभयो ।

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका लागि नेपाल सरकारद्वारा निर्धारित चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन महाशाखाले सोमबार विज्ञप्ति जारी गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल, तेल, दाल उत्पादन सङ्घ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायतलाई चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो ।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकार मन्त्रिपरिषद्को गत चैत २४ गतेको निर्णयबाट १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६६ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको थियो ।

मन्त्रालयका सहसचिव ई जगन्नाथ तिवारीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाली धानले सस्तो भारतीय धानसँग प्रतिस्पर्धा गर्नुपरेको, चिस्यानका कारण भण्डारणमा समस्या भएको र कृषकले उचित मूल्य नपाएको गुनासो विभिन्न माध्यमबाट प्राप्त भएकाले यो कदम चालिएको उल्लेख छ ।

चैते धान भित्र्याउने समय वर्षात्को सिजन पर्ने भएकाले कृषकले न्यूनतम मापदण्ड कायम गरी भण्डारण गर्न नसक्ने र वर्षे धानखेतीका लागि तत्काल पैसा आवश्यकपर्ने हुँदा उनीहरू कम मूल्यमा सिजनमै धान बिक्री गर्न बाध्य हुने गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन चैते धानखेतीको संरक्षण र विस्तार अपरिहार्य रहेको औँल्याउँदै कृषकको लागत र न्यूनतम मुनाफा सुनिश्चित गर्न सरकारी तथा निजी क्षेत्र दुवैको दायित्व भएको स्मरण गराएको छ ।धान चामल उद्योगीसहित सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी कृषकबाट निर्धारित मूल्यमा धान खरिद गर्ने प्रक्रिया सहज बनाउन मन्त्रालयले विशेष जोड दिएको छ ।

तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने, यी प्रदेशमा बर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

देशको हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशको तराई भूभागमा साधारणतया बादल तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ। कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । मधेश प्रदेश तथा कोशी,बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भूभागको एकरदुई स्थानमा पनि मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

राति देशको हिमाली र पहाडी भूभाग साथै कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल तथा अन्य तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यम वर्षारहिमपात तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न

भक्तपुर – तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको एकमहिने मेला सम्पन्न भएको छ । भक्तपुरको दक्षिणतर्फ खरिपाटी, देकोचा, चाँगुनारायण मन्दिर र नगरकोट चारैतिरबाट पक्की सडक हुँदै पुग्न सकिने चाँगुनारायण नगरपालिका–५ छालिङ गोकुलधामस्थित उक्त मेला सोमबार सम्पन्न भएको हो ।

एकमहिने पुरुषोत्तम मेलामा सत्सग, प्रवचन, भजनलगायतको प्रतुतिसहित सोमबारदेखि एकमहिने मेला सम्पन्न भएको मेला आयोजना समितिका संयोजक गोकर्ण पुरीले जानकारी दिनुभयो । मेला व्यवस्थापन गर्न सिङ्गो गाउँ लागेको बताउँदै उहाँले स्थानीयस्तरबाटै महिना दिनसम्मका लागि प्रवचन र भजनकीर्तनको व्यवस्था, नारायणको पूजा÷पुरुषोत्तम महात्म्य वाचन, यहाँ आउने दर्शनार्थीलाई सहज पूजा गर्ने व्यवस्था गरिएको बताउनुभयो । भक्तपुरका चारवटै नगरपालिका, काठमाडौँ, ललितपुर, साँखु, मूलपानी, काभ्रेपलाञ्चोकलगायत विभिन्न ठाउँका दर्शनार्थीको मन्दिरमा आगमन भएको थियो ।

मन्दिरको संरक्षकसमेत रहेका पुरीले भन्नुभयो, “यो ३०० वर्ष पुरानो मन्दिर हो, दुई पीपलको बोटको बीचमा रहेको मन्दिर भत्किएपछि पुनःनिर्माण गरिएको हो, यसको शिलालेख पुरिएकाले उत्खनन् र अध्ययन गर्नुपर्ने देखिन्छ, १०० पुरानो पुजाको थाली भने अझै पनि छ, मन्दिरको संरक्षणमा यहाँका बासिन्दा सबै जुटेपछि अहिले यो मन्दिर वर्षभरि नै आन्तरिक पर्यटकको केन्द्र बनेको छ ।”

स–साना तीन खोलाको सङ्गमस्थलमा रहेको यस मन्दिरलाई त्रिवेणी धामका नामले चिनिने गरिन्छ । मन्दिर संरक्षणसँगै ६४ शिवलिङ्ग, सप्तऋषिको मन्दिर, कृष्ण वर्तेश्वर महादेव मन्दिर, गणेश मन्दिर र कुण्डसमेत रहेको यस मन्दिर परिसरमा मलमासमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने तथा यसले आन्तरिक पर्यटनको विकासमा टेवा पुग्ने विश्वास रहेको बताउनुभयो ।

यहाँको कुण्डमा स्नान गरेमा छालालगायत विभिन्न रोग नाश हुने जनविश्वास रहँदै आएको छ । मच्छेनारायण मन्दिर परिसरमा रहेको श्रीकृष्णवर्तेश्वर महादेव मन्दिर परिसरमा एउटै विशाल ढुङ्गाबाट निर्माण गरिएको २५ हजार ७७७ किलोग्रामको गीताचार्य श्रीकृष्ण भगवाणको विराट स्वरुप श्रीमूर्तिको यसै वर्ष स्थापना गरिएपछि यहाँको धार्मिक महत्व र आकर्षण अझै बढेको वडाध्यक्ष जयन्द्र खड्काले बताउनुभयो ।

ख्यो पुखमा एकमहिने मेला सम्पन्न

यसैगरी, भक्तपुर नगरपालिका–६ स्थित अंचा पोखरी (ख्यो पुखु) मा लागेको एकमहिने मेला सोमबारदेखि सम्पन्न भएको छ । सोमबार नै एकमहिने मत्स्यनारायण अर्थात् पुरुषोत्तम मलमास मेला सम्पन्न भएको हो ।

यस मन्दिरमा पनि एक महिनासम्म नारायणको पूजा, पुरुषोत्तम महात्म्य वाचन गरिने र यहाँका कुण्डमा स्नान गरी मन्दिरमा दर्शन गरे रोगव्याधि नष्ट हुने, पापकर्म नष्ट हुने जनविश्वास रहँदै आएकाले भक्तपुर नगरका बासिन्दाले यहाँ पूजा, दर्शन एवं स्नान गरेको मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

लुम्बिनी बजेटः स्थायी राजधानी व्यवस्थापनमा जोड

तुलसीपुर (दाङ) – लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा दाङमा स्थायी राजधानी व्यस्थापनदेखि प्रादेशिक अस्पताल स्तरवृद्धिसम्मका विषय समेटिएका छन् ।

सोमबार प्रदेश अर्थमन्त्री धनेन्द्र कार्कीले प्रदेशसभामा पेस गर्नुभएको बजेट बक्तव्यमा दाङको राप्ती उपत्यका (देउखुरी) मा प्रदेश राजधानी व्यवस्थापन र निर्माणको दोस्रो चरणको कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै प्रदेश राजधानीभित्र संसदीय समितिका भवन र अन्य आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइने बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।

त्यस्तै, प्रदेश राजधानी गुरुयोजनाअनुरूप राजधानीभित्रका प्रमुख सडकको रेखाङ्कन र आधारभूत संरचना निर्माणका लागि बजेट व्यवस्था गरिएको छ भने राप्ती गाउँपालिकासँगको समन्वयमा आधुनिक प्रविधिको प्रयोग गरी प्रदेश राजधानीको फोहर व्यवस्थापन गर्न अध्ययन र पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको छ ।

त्यस्तै, घोराहीमा प्याराडाइज बोटानिकल उद्यान तथा रुटाहा ताल पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवद्र्धनका लागि रु ११ करोड, थारु राजा दङ्गीशरणको इतिहास संरक्षणका लागि सकौरा पर्यटकीयस्थलको पूर्वाधार निर्माण र थारु सङ्ग्रहालय निर्माणका लागि रु चार करोड, तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई २०० शय्याको अस्पतालमा स्तरोन्नति गर्न रु चार करोड विनियोजन गरिएको छ ।

दाङको महत्वपूर्ण सिँचाइ प्रणालीका रूपमा रहेको प्रगन्ना कुलोलगायत सिँचाइ प्रणालीको सुदृढीकरण, दिगो व्यवस्थापन र सञ्चालनका लागि रु १५ करोड विनियोजन गरिएको अर्थमन्त्री कार्कीले बताउनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ६७ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ १९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६२, सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६५ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४९ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६ रुपैयाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्रीदर १९ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३९२ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

नेपाल र चीनबीच एकअर्काका संवेदनशीलताप्रति साझा प्रतिबद्धता

काठमाडौँ: नेपाल र चीनबीच पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता तथा संवेदनशीलताप्रतिको साझा प्रतिबद्धतालाई स्वीकार गर्दै विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।

ती क्षेत्रहरूमा पूर्वाधार, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, तथा जनस्तरका सम्बन्ध समावेश छन् ।

चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा विदेश मामिलामन्त्री वाङ यीसँग बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको हो ।

उक्त अवसरमा दुई देशका प्रतिनिधिमण्डलबीच मित्रता, सद्भावना र सहकार्यले परिभाषित नेपाल–चीन सम्बन्धका समग्र आयामबारे सारगर्भित छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली पक्षले एक चीन सिद्धान्तप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता पुनःव्यक्त गर्दै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिइने स्पष्ट गरेको थियो ।

त्यस्तै, चिनियाँ पक्षले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति आफ्नो दृढ प्रतिबद्धता पुनःदोहो¥याउँदै सुशासन तथा आर्थिक वृद्धिका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतालाई पूर्ण समर्थन रहने आश्वासन दिएको थियो ।

मन्त्रालयका अनुसार दुवै पक्षले विगतमा सहमति भएका कार्यक्रम तथा परियोजनाको शीघ्र कार्यान्वयनप्रति बलियो प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, दुवैपक्षले बहुपक्षीय तथा क्षेत्रीय मञ्चमा साझा चासोका विषयमा थप सहकार्य अघि बढाउने विषयमा जोड दिएका नेपाली दूतावास, बेइजिङले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

वार्तापश्चात् मन्त्री खनालले विदेशमन्त्री वाङले उहाँको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागिता जनाउनुभएको थियो । यसअघि आजै परराष्ट्रमन्त्री खनालले बेइजिङमा चीनको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ हाइसिङसँग भेटवार्ता गर्नुभएको थियो । भेटमा पार्टीपार्टी आदानप्रदानसहित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विषयमा विचार आदानप्रदान भएको थियो ।

आजै मन्त्री खनालले बेइजिङस्थित चाइनिज एकेडेमी अफ साइन्सेजअन्तर्गतको इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चको भ्रमण गर्नुभएको थियो । उहाँले उक्त संस्थानका गतिविधिहरू, विशेषगरी त्रिभुवन विश्वविद्यालयसहित नेपाली संस्थासँग भइरहेको सहकार्यबारे जानकारी लिनुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री खनालले विज्ञान तथा प्रविधिका क्षेत्रमा दुई पक्षबीचको सहकार्यलाई अझ गहिरो बनाउने आवश्यकतामा जोड दिनुभएको थियो । उहाँ चीनका विदेश मामिलामन्त्री वाङको सौहार्दपूर्ण निमन्त्रणामा आइतबार बिहान बेइजिङ पुग्नुभएको थियो । मन्त्री खनाल भ्रमण सम्पन्न गरी यही असार ३ गते स्वदेश फर्किनुहुने कार्यक्रम छ ।

रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ

जेनेभा। संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुखले सोमबार देशहरूलाई ‘स्वचालित हतियार’ प्रणालीलाई तत्काल नियमन गर्न आह्वान गर्नुभएको छ ।“उनीहरूले व्यापक अपराधजन्य अत्याचार नफैलाउन सुनिश्चित गर्न सकून्,” उहाँले भन्नुभयो । जेनेभामा संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्मा बोल्दै राष्ट्रसङ्घीय उच्चायुक्त भोल्कर टर्कले भन्नुभयो, “स्वचालित हतियारको सम्बन्धमा लामो समयदेखि चेतावनी दिइएका खतराहरू द्रुत गतिमा देखा परिरहेका छन् ।”
उहाँले भन्नुभयो, “हामी युद्ध गर्ने तरिकामा विश्वव्यापी परिवर्तन देखिरहेका छौँ । यो भोलीको पिँडीका लाथि खतराको चेतावनी बनेको छ ।” संयुक्त राष्ट्रसङ्घले धेरै वर्षदेखि घातक स्वचालित हतियारको विकासविरुद्ध चेतावनी दिँदै आएको छ ।

उहाँले प्रजातान्त्रिक गणतन्त्र कङ्गो, गाजा, इजरायल, लेबनान र म्यान्माजस्ता ठाउँहरूमा युद्धमा ड्रोनको द्रुत गतिमा बढ्दो प्रयोगले पृथ्वीलाई ‘नरक बनाएको’ औँल्याउनुभयो ।उहाँले ‘युक्रेनमा निरन्तर ड्रोन आक्रमणले ‘ठूलो सङ्ख्यामा हताहती बनाएको र सर्वसाधारणलाई आतङ्कित पारेको’ उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले सुडानमा यस वर्षको जनवरीदेखि मेको बीचमा ड्रोन आक्रमणमा एक हजारभन्दा बढी नागरिकहरूको मृत्यु भएको तथ्याङ्क दर्ता गरेको छ।” लामो दूरीको ड्रोनले सहायताका लागि गएका बन्दोबस्तीका सामान लिएर गएका गाडी र महत्त्वपूर्ण ऊर्जा पूर्वाधारहरू पनि नष्ट गरेको उहाँले बताउनुभयो ।

कृत्रिम बौद्धिकता र द्रूत प्रगतिसँगै विशेषज्ञहरूले हतियारको बढ्दो जोखिमको चेतावनी दिइरहेका छन् । मानिसहरूले त्यस्ता हतियारहरूमाथिको नियन्त्रण गुमाउन सक्छन् ।संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले भन्नुभयो, “अर्बौं डलरका एआईबाट सञ्चालित हतियार र रक्षात्मक ढालहरूको सम्भावनाले युद्धको भयावहता, शून्यता र निरर्थकतालाई उजागर गर्दछ ।”

उहाँले भन्नुभयो, “स्वचालित हतियारहरू अपराधको लागि इजाजतपत्र बन्न सक्दैनन् ।”

एक दशकदेखि किलर रोबोट भनिने स्वचालित हतियारको प्रयोगलाई नियमन गर्ने सम्भावित भविष्यको सन्धिको बारेमा छलफल चलिरहेको छ तर यसको टुङ्गोमा पुग्न सकिएको छैन ।देशहरूले यस वर्षको अन्त्यमा पूर्ण सन्धिका लागि वार्ता सुरु गर्ने वा नगर्ने निर्णय गर्नेछन् ।

टर्कले अन्तर्राष्ट्रिय समुदायलाई खतरालाई नियन्त्रण गर्न आग्रह गर्दै अगाडि भन्नुभयो, “राज्यहरूले यसले उठाएका नैतिक र कानुनी प्रश्नहरूलाई तत्काल विचार गर्न आवश्यक छ ।” उहाँले भन्नुभयो, “उनीहरूलाई ‘नागरिकहरूको जीवनको रक्षा गर्ने साझा दृष्टिकोणमा सहमत हुन र कूटनीति र मध्यस्थतामा पुनः प्रतिबद्धता जनाउन आग्रह गर्नुभयो ।उनीहरूले मानव नियन्त्रण र जवाफदेहिता सुनिश्चित गर्न कानुनी ढाँचाहरू अद्यावधिक गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ

काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।चन्द्रागिरि नगरपालिका वडा नं ११ सतुङ्गलका ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई साइबर ब्यूरोबाट खटिइएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निजलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको व्यूरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले राससलाई जानकारी दिनुभयो ।

गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा

बागलुङ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा बागलुङका सडक, पर्यटन, कृषि, खानेपानी र पूर्वाधार विकासका विभिन्न योजना समेटिएका छन् ।प्रदेश सरकारले ‘समुन्नत गण्डकीः उत्पादन, उद्यमशीलता र सुशासनमार्फत समुन्नति’ भन्ने नारासहित ल्याएको बजेटमा बागलुङलाई प्रदेशको आर्थिक तथा पर्यटकीय विकाससँग जोड्ने योजनाले प्राथमिकता पाएका हुन् ।

बजेटमा बागलुङको अदालत चौतारी-तित्याङ-सालबोट-भकुण्डे सडक कालोपत्रका लागि रकम विनियोजन गरिएको छ । यस सडकले बागलुङ नगरपालिकाका ग्रामीण क्षेत्रलाई सदरमुकामसँग सहज रूपमा जोड्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले रणनीतिक महत्वका ग्रामीण सडकको स्तरोन्नतिलाई प्राथमिकतामा राख्दै उक्त सडकका लागि बजेट विनियोजना गरिएको प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिनुभयो ।

उक्त सडकसँगै गोरखाको अवुवा-विर्दी-सेराबजार-पौवाटार सडक, पर्वतको पातीचौर-बाजुङ-क्याङ-नागी खण्ड, कास्कीको घट्टेखोला-धम्पुस-खानीगाउँ खण्ड, नवलपरासी (बसुपू)को आलोक चक्रपथलगायत ग्रामीण सडक कालोपत्र गर्न रु सात करोड ७२ लाख बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी म्याग्दी र बागलुङ जोड्ने दरबाङ करिडोर तथा तमान-लाममेला-शोले खण्डलाई प्राथमिकताका साथ अगाडि बढाइने भएको छ । यी सडक आयोजना सम्पन्न हुँदा ढोरपाटन, तमानखोला तथा पश्चिम बागलुङका बस्तीहरूलाई आवागमनमा सहजता पुग्ने अपेक्षा गरिएको छ । प्रदेश सरकारले कोराला त्रिवेणी आयोजनाअन्तर्गत यी सडकलाई प्राथमिकता दिँदै रु एक अर्ब १० करोड बजेट विनियोजन गरेको जनाएको छ ।

पर्यटन क्षेत्रतर्फ बागलुङका धार्मिक तथा साहसिक पर्यटन गन्तव्यलाई समेत बजेटले समेटेको छ । दामोदरकुण्ड-मुक्तिनाथ-गलेश्वर-पञ्चकोट-रिडी-रामदी-केलादिघाट-देवघाट-त्रिवेणीधाम जोड्ने धार्मिक पर्यटन परिपथ विकास गर्ने योजना अघि सारिएको छ । बागलुङको पञ्चकोट र गलेश्वर यस परिपथका महत्वपूर्ण केन्द्रका रूपमा रहेका छन् ।

ढोरपाटन क्षेत्रको पर्यटन विकासलाई लक्षित गर्दै ढोरपाटन चक्रीय पदमार्गको स्तरोन्नति, वैकल्पिक पदमार्गको पहिचान तथा ढोरपाटनका बुकी संरक्षण र जलाशय निर्माणमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने कार्यक्रम पनि बजेटमा समावेश गरिएको छ । कृषि क्षेत्रमा व्यावसायिक खेती विस्तार गर्ने योजनाअन्तर्गत पहाडी क्षेत्रमा ओखर, मेकाडेमिया नट, किवी, स्याउ, सुन्तला र एभोकाडोका बगैँचा विस्तारका लागि रु ३० करोड विनियोजन गरिएको छ । उच्च पहाडी भूगोल रहेको बागलुङका तमानखोला, ढोरपाटन र निसीखोला क्षेत्रमा यस कार्यक्रमबाट लाभ पुग्ने अपेक्षा गरिएको छ ।

दामोदरकुण्ड-मुक्तिनाथ-गलेश्वर-पञ्चकोट-रिडी-रामदी-केलादिघाट-देवघाट-त्रिवेणीधाम जोड्ने ‘धार्मिक पर्यटन परिपथ’ विकासमा जोड दिइएको मन्त्री शेरचनले जानकारी दिनुभयो । यस परिपथसँग जोडिएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिने, मोदी बेनीधामबाट पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइनेछ ।

दलित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि परम्परागत पेसा, ज्ञान र सीपको संरक्षण, संवर्द्धन एवं व्यवसायीकरण गर्न ‘भगत सर्वजित सीप तथा व्यावसायिकता विकास कार्यक्रम’ लाई निरन्तरता दिइएको अर्थमन्त्री शेरचनले बताउनुभयो । सामाजिक न्याय र समतामूलक समाज निर्माणका लागि अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन तथा आवश्यकतानुसार पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरिएको छ ।

प्रदेश सरकारले ‘रिटर्न टु भिलेज’ अभियान सञ्चालन गर्दै कृषि ऋणमा ब्याज अनुदान, न्यूनतम समर्थन मूल्य कार्यान्वयन र व्यावसायिक कृषि प्रवर्द्धनका लागि रु चार करोड विनियोजन गरेको छ । यसले कृषिबाट पलायन भइरहेका युवालाई गाउँमै उद्यम र उत्पादनमा आकर्षित गर्ने लक्ष्य राखेको छ ।

ऊर्जा र खानेपानीतर्फ प्रदेश सरकारले आगामी वर्षभित्र सबै घरधुरीमा विद्युत् पहुँच विस्तार गरी ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने लक्ष्य लिएको छ । साथै ‘एक घर एक धारा’ कार्यक्रमलाई निरन्तरता दिँदै बहुवर्षीय खानेपानी आयोजनाका लागि रु एक अर्ब सात करोड विनियोजन गरिएको छ ।

गण्डकी प्रदेशको आगामी बजेटले बागलुङका सडक, पर्यटन, कृषि, ऊर्जा र खानेपानीका योजनालाई प्राथमिकतामा राखेको पाइएको छ ।विशेषगरी पश्चिम बागलुङका दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने, धार्मिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धन गर्ने र कृषि उत्पादन बढाउने योजनाले जिल्लाको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा

विराटनगर। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम तथा सहुलियतको घोषणा गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्दै ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको लक्ष्यअनुरूप राज्यको मूलधारबाट पछाडि परेका समुदायको उत्थानका लागि विभिन्न कल्याणकारी कार्यक्रम अघि सारिएका बताउनुभयो ।

प्रदेश सरकारले सीमान्तकृत समुदायका छोरीलाई पढाउन ‘सक्षम छोरी’ कार्यक्रमलाई निरन्तरता दिएको छ । उक्त कार्यक्रमका लागि रु सात करोड बजेट विनियोजन गरिएको छ । यसबाट प्रदेशभरका करिब दुई लाख ७५ हजार छात्रा लाभान्वित हुने अपेक्षा गरिएको छ । किशोरीहरूको शारीरिक तथा मानसिक विकासका लागि ‘किशोरी सशक्तीकरण तथा आत्मरक्षा’ अभियानलाई पनि बजेटमा समेटिएको छ ।

महिला स्वास्थ्य प्रवद्र्धनका लागि ‘समयमै पहिचान, समयमै उपचार, महिलाको स्वास्थ्य हाम्रो सरोकार’ नारासहित पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्या तथा निःसन्तानपनसम्बन्धी निःशुल्क परीक्षण सेवा गाउँगाउँसम्म विस्तार गरिने भएको छ । ग्रामीण क्षेत्रमा सेवा प्रवाह गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन गर्न रु दुई करोड बजेट विनियोजन गरिएको छ ।

बालबालिकाको हकहित र संरक्षणका लागि सरकारले बालविवाह नियन्त्रण तथा लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्न युवा लक्षित ‘म अघि बढ्छु’ अभियान सञ्चालनका लागि रु दुई करोड छुट्याएको छ । प्रदेशलाई सडक बालबालिकामुक्त तथा सहयोगापेक्षी मानवमुक्त बनाउने अभियानलाई पनि आवश्यक बजेटसहित निरन्तरता दिइएको छ । आगामी दिनमा निर्माण हुने सरकारी तथा सार्वजनिक संरचनालाई बालमैत्री र अपाङ्गतामैत्री बनाइने घोषणा पनि बजेटमा गरिएको छ ।

लैङ्गिक हिंसा तथा मानव बेचबिखनविरुद्ध ‘शून्य सहनशीलता’ को नीति अवलम्बन गर्दै पीडितको उद्धार, संरक्षण तथा सम्मानजनक पुनःस्थापनाका लागि आवश्यक वित्तीय व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

त्यसैगरी अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी कर तथा स्वास्थ्य सेवामा विशेष सहुलियतको व्यवस्था गरिएको छ । सार्वजनिक यातायातका १४ वा सोभन्दा बढी सिट क्षमताका सवारीसाधनमा अपाङ्गता भएका व्यक्ति, विद्यार्थी तथा ज्येष्ठ नागरिकलाई अनिवार्य रूपमा भाडा छुट उपलब्ध गराएबापत सवारीधनीलाई तिर्नुपर्ने सवारीसाधन करमा ६० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र पूर्ण सहभागिता सुनिश्चित गर्न प्रदेश सरकारले सञ्चालन गर्दै आएको ‘अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’ सबै स्थानीय तहमा आन्तरिकीकरण गर्ने घोषणा गरेको छ । साथै श्रवणशक्ति तथा स्वर–बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्तिको सार्वजनिक सेवा, सूचना तथा न्यायमा सहज पहुँच सुनिश्चित गर्न र सांकेतिक भाषाको अधिकार प्रवद्र्धन गर्न रु १६ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

स्वास्थ्य सेवातर्फ पनि अपाङ्गता भएका व्यक्ति, हिंसापीडित, दीर्घरोगी तथा ७० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हुने स्वास्थ्य परीक्षण शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको बजेट वक्तव्यमा उल्लेख छ ।

नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न

कञ्चनपुर। नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको छ ।बैठकमा कञ्चनपुर, कैलाली, डडेल्धुरा, बैतडी र दार्चुलाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारी सहभागी थिए भने भारततर्फ सम्बन्धित जिल्लाधीश भारतीय प्रहरी तथा सीमा सुरक्षा बलका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

बैठकको सहअध्यक्षता गर्नुभएका कैलालीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीका अनुसार नेपाल–भारत सीमा व्यवस्थापनका लागि भइरहेका कामकारबाही, सीमा स्तम्भको अवस्था, मर्मत–सम्भार तथा पुनःनिर्माणलगायत विषयमा छलफल भएको थियो ।

पारस्परिक सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समझदारी भएको जानकारी दिँदै प्रजिअ रेग्मीले भन्नुभयो “सीमा स्तम्भको मर्मत–सम्भार, हराएका स्तम्भको खोजी गरी पुनःनिर्माण तथा आवश्यक मर्मतलाई अघि बढाइनेछ ।”बैठकमा हराएका सीमा स्तम्भको पुनःनिर्माण सम्बन्धी प्राविधिक टोलीको प्रगतिबारे पनि जानकारी गराइएको थियो ।

प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव

काठमाडौं । तीन दिनसम्म दरबारमार्गको दरबार रोधी क्लब लोकसंगीतको रंगमा रंगियो। एकातिर वरिष्ठ गायक प्रेमराजा महतदेखि विश्व दोङसम्मका चर्चित कलाकारले दर्शकलाई नचाए, अर्कोतिर दृष्टिविहीन तथा संघर्षरत कलाकारप्रति सहयोगको हात बढाउँदै क्लबले सामाजिक उत्तरदायित्वको उदाहरण पनि प्रस्तुत गर्‍यो।

२९ जेठदेखि १८औँ वार्षिकोत्सवको अवसरमा आयोजित सांगीतिक उत्सवमा प्रेमराजा महतको ‘माया भेटियो बन्दीपुरैमा’, राजु परियारको ‘मिर्मिरेको घाम’, श्याम रानाको ‘रेलै सलल’ र दीपिका बयम्बुको ‘मायालाई के दिउँ म बैना’ जस्ता लोकप्रिय गीतले दर्शकलाई झुमाएका थिए। कृष्ण कँडेलले लाइभ दोहोरी प्रस्तुत गर्दै माहोललाई थप जीवन्त बनाएका थिए।

कार्यक्रमकै अवसरमा दरबार रोधी क्लबले दृष्टिविहीन तथा संघर्षरत कलाकारहरूको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गरेको छ। क्लबका अध्यक्ष श्रवणकुमार कुँवरले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा पनि वार्षिकोत्सवबाट प्राप्त आम्दानीको एक हिस्सा यस्ता कलाकारहरूको सहयोगमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरे।

वार्षिकोत्सवको दोस्रो दिन गायिका प्रीति आले र गायक कुलेन्द्र विश्वकर्माले दर्शकलाई भरपुर मनोरञ्जन दिए। प्रीति आलेले ‘बामरी बामरी’ प्रस्तुत गर्दा दर्शकले साथ दिएका थिए भने कुलेन्द्रले ‘सालको पातको टपरी’ गाएर माहोल तताएका थिए।

उत्सवको अन्तिम दिन गायक विश्व दोङको प्रस्तुति मुख्य आकर्षण बन्यो। उनको चर्चित तामाङ सेलो ‘माया भन्दा ठूलो जात होइन’ दर्शकको प्रतिक्षामा रहने नै भयो।

दरबारमार्गस्थित मायालु कम्प्लेक्समा आयोजित कार्यक्रममा वरिष्ठ गायक तथा सर्जक प्रेमराजा महत प्रमुख अतिथि थिए। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रीता थापा विशिष्ट अतिथि तथा नेपाल लोक दोहोरी व्यावसायी संघका अध्यक्ष विनोद श्रेष्ठ, राष्ट्रिय लोक दोहोरी व्यावसायी संघका अध्यक्ष दीपसागर थापा, मनोरञ्जन व्यावसायी संघका अध्यक्ष आशिष खड्का, रात्रिकालीन व्यावसायी प्रतिष्ठानकी अध्यक्ष उमा श्रेष्ठलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

अतिथि कलाकारहरूलाई परम्परागत नौमती बाजासहित स्वागत गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सव मनाइएको थियो। कार्यक्रमको सञ्चालन कृष्ण आँसुले गरेका थिए।

नेपाली लोकगीत–संगीतको संरक्षण, संवर्द्धन तथा नयाँ प्रतिभालाई मञ्च प्रदान गर्ने उद्देश्यसहित स्थापना भएको दरबार रोधी क्लबले १८ वर्षको यात्रामा थुप्रै कलाकारलाई व्यावसायिक अवसर प्रदान गरेको छ। यस वर्षको वार्षिकोत्सवले मनोरञ्जनसँगै कलाकारप्रतिको सामाजिक दायित्वलाई पनि सँगसँगै अघि बढाउन सकिने सन्देश दिएको आयोजकको भनाइ छ।

एभरेस्ट अस्पतालको ‘डिजिटल सुझाव पेटिका’ : अब सुझाव दिनुहोस्, परिवर्तन आफैं हेर्नुहोस्

काठमाडौं । सेवाग्राही, बिरामी तथा शुभेच्छुकहरूको आवाजलाई थप प्रभावकारी रूपमा सुन्ने र सम्बोधन गर्ने उद्देश्यका साथ एभरेस्ट अस्पताल, नयाँ बानेश्वरले ‘डिजिटल सुझाव पेटिका’ सञ्चालनमा ल्याएको छ। अस्पतालले आधुनिक प्रविधिको प्रयोग गर्दै सुझाव, गुनासा, अनुभव तथा प्रशंसा संकलन गर्ने नयाँ प्रणाली सुरु गरेको हो।

यस डिजिटल माध्यममार्फत सेवाग्राहीहरूले आफ्ना भावना र अनुभवहरू लेखेर, बोलेर वा फोटोसहित सहज रूपमा अस्पतालसम्म पुर्‍याउन सक्नेछन्। विशेषतः, सुझाव दिने व्यक्तिले आफ्नो सुझाव अस्पताल प्रशासनले प्राप्त गर्‍यो कि गरेन, त्यसको अध्ययन भयो कि भएन तथा सम्बोधनका लागि के–कस्ता कदम चालिए भन्ने जानकारीसमेत प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ।

अस्पतालका अनुसार स्वास्थ्य सेवा केवल उपचारमा सीमित नभई विश्वास, संवाद र निरन्तर सुधारसँग जोडिएको विषय हो। बिरामी तथा सेवाग्राहीका अनुभव र सुझावहरूलाई संस्थागत सुधार तथा सेवा गुणस्तर अभिवृद्धिको महत्वपूर्ण आधार मान्दै यो प्रणाली सञ्चालनमा ल्याइएको हो।

अस्पताल प्रशासन प्रमुख दीपक चन्द्र बरालले बिरामीको उपचारसँगै उनीहरूको आवाज सुन्नु पनि संस्थाको जिम्मेवारी भएको उल्लेख गर्दै प्रत्येक सुझावलाई सुधारको अवसरका रूपमा लिइने बताए। उनका अनुसार डिजिटल सुझाव पेटिकाले अस्पताल र सेवाग्राहीबीचको दूरी घटाउँदै पारदर्शी, उत्तरदायी र सहभागितामूलक सेवा संस्कृतिको विकासमा टेवा पुर्‍याउनेछ।

एभरेस्ट अस्पतालले प्राप्त सुझावहरूको नियमित विश्लेषण गरी सेवा गुणस्तर सुधार, बिरामीमैत्री वातावरण निर्माण तथा संस्थागत विकासका कार्यक्रमहरूमा उपयोग गर्ने जनाएको छ।‘सुझाव दिनुहोस्, परिवर्तन देख्नुहोस्’ भन्ने मूल नारासहित सञ्चालनमा आएको यो अभियानले स्वास्थ्य सेवामा नागरिक सहभागिताको नयाँ अध्याय सुरु गर्ने विश्वास अस्पतालले व्यक्त गरेको छ।

अधिकमास आजदेखि समाप्त

काठमाडौँ – गत जेठ ३ गतेदेखि सुरु भएको अधिकमास आजदेखि समाप्त भएको छ । यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यसलाई हिन्दू पात्रोमा चन्द्र वर्ष र सौर वर्षबीचको समयान्तर मिलाउन करिब ३२ महिना १६ दिनमा एक अतिरिक्त महिना थपिने गरिन्छ, जसलाई अधिक मास भनिन्छ ।

अधिक मासमा विवाह, व्रतबन्ध तथा गृहप्रवेशजस्ता शुभ कार्य नगरे पनि जप, तप, दान, पूजा–आराधना, धार्मिक ग्रन्थको अध्ययन तथा सत्कर्म गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

काठमाडौँ उपत्यकाको दक्षिणपश्चिम भेगमा अवस्थित मन्दिरमा लाखौँले पूजा आराधना गरेका मन्दिर व्यवस्थापन समितिले जनाएको छ । महिनाभर त्यहाँ भगवान् नारायणको पूजा र पुरुषोत्तममास महात्म्य वाचन एवं श्रवण भएको थियो । विसं.२०८० साउनमा अधिकमास परेको थियो ।

सम्झौताका बाबजुद पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास’ कायमैः इरान

युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले अमेरिकाप्रति ‘गहिरो अविश्वास’ राखेको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।

“दुर्भाग्यवस, यो स्वीकार गर्नुपर्दछ कि संयुक्त राज्य अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो इतिहासको गलत कामका कारण उत्पन्न भएको हो,” इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले साप्ताहिकरूपमा गरिने पत्रकारहरूसँगको भेटमा भन्नुभयो ।

“अमेरिकाले इरानी जनताको विश्वास जित्न अझै लामो यात्रा बाँकी छ”, उहाँले भन्नुभयो, “फेब्रुअरीको अन्त्यमा सुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको यो प्रस्तावको ढाँचा ‘तनाव कम गर्ने र युद्ध अन्त्य गर्ने दिशामा एक कदम मात्र हो’।”

सुडानमा पाँच महिनामा ड्रोन आक्रमणबाट एक हजारभन्दा बढीको मृत्यु

संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखले सोमबार द्वन्द्वग्रस्त सुडानमा ड्रोन युद्धको प्रयोगमा ‘तीव्र वृद्धि’ भएको भन्दै यसको निन्दा गर्नुभएको छ ।

ड्रोन युद्ध सुडानको द्वन्द्वको बढ्दो प्रमुख विशेषता बनेको छ । सन् २०२३ अप्रिलमा देशको सेना र विद्रोही अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएको थियो।

“सुडानमा द्वन्द्वको विस्तार भयानक भएको छ र युद्धमा ड्रोनको प्रयोगमा तीव्र वृद्धि भएको छ,” संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले भन्नुभयो ।

“सन् २०२६ जनवरी र मेको बीचमा हाम्रो कार्यालयले ड्रोन आक्रमणबाट एक हजारभन्दा बढी नागरिकहरू मारिएका दस्तावेजहरू रेकर्ड गरेको छ,” उहाँले जेनेभामा संयुक्त राष्ट्रसङ्घ मानवअधिकार परिषद्मा उद्घाटन भाषणमा भन्नुभयो ।

उहाँले त्यहाँ बलात्कार र यौन हिंसा व्याप्त रहेको पनि बताउनुभयो ।

अहिले युद्धको चौथो वर्षमा प्रवेश गरेको सुडानमा भएको द्वन्द्वले दशौँ हजार मानिसको ज्यान लिएको छ भने एक करोड १० लाखभन्दा बढीलाई आन्तरिक वा बाह्यरूपमा विस्थापित हुन बाध्य बनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’

काठमाडौँ – चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शन अघि नै अन्तरराष्ट्रिय बजारमा आकर्षणको केन्द्र बनेको छ ।

नेपाली चलचित्रको विदेशी बजार विस्तार भइरहेका बेला ‘पेन्सन पट्टा’ ले पनि लगातार अन्तरराष्ट्रिय माग प्राप्त गर्दै आफ्नो बजार प्रवर्द्धनलाई जोड दिएको छ । उक्त चलचित्रको निर्देशन तथा कथा लेखन माओत्से गुरुङले गर्नुभएको हो । उहाँका अनुसार चलचित्रको प्रदर्शन मिति सार्वजनिक हुनु अघि नै बेलायत र हङ्कङ्का प्रदर्शन अधिकार बिक्री भइसकेका छन् ।

बेलायतको लागि सपन इन्टरटेन्टमेन्ट लिमिटेड र हङकङमा मेन ड्रागन लिमिटेडले रिलिज अधिकार खरिद गरेको उहाँले जानकारी दिनुभयो । त्यसको निरन्तरता स्वरूप अहिले चलचित्रको अष्ट्रेलिया र न्यूजिल्यान्ड प्रदर्शन अधिकारसमेत बिक्री भएको उहाँले बताउनुभयो ।

दि ब्याक ईभेन्ट्सले अष्ट्रेलिया र न्यूजिल्याण्डको लागि प्रदर्शन अधिकार खरिद गरेको हो । यससँगै ‘पेन्सन पट्टा’ ले प्रदर्शनअघि नै विभिन्न अन्तरराष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण टिमले जनाएको छ । माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपाली समाज, परिवार, सम्बन्ध र मानवीय संवेदनालाई केन्द्रमा राखेको छ ।

यसअघि माओत्से गुरुङले निर्माण गरेका ‘पुरानो डुङगा’ र ‘दयारानी’ ले स्वदेशसँगै विदेशमा पनि राम्रो चर्चा बटुलेका थिए । त्यसैले ‘पेन्सन पट्टा’ प्रति विदेशी वितरक तथा नेपाली डायस्पोराको चासो उल्लेखनीय रूपमा बढेको निर्देशक गुरुङको विश्वास छ ।

चलचित्रको कथा खुदी खोलाको किनारमा रहेको सुकुमवासी बस्तीमा बस्ने आमा–छोरा छलु र राजनको जीवन सङ्घर्षमा केन्द्रित छ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, गौमाया गुरुङ, वुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, सोल गुरुङ, सूरज तमु, राज थापा काउँचा, मनोज गुरुङ, अनुशा राई, लुनिभा तुलाधर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती

मुस्ताङ – धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको छ ।

मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको हो ।

बिगत वर्षभन्दा चालु वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहकरुको आगमन भने बढेको छ । भारतीय पर्यटकहरुकै कारण यहाँ जथाभावी फोहर बढेसँगै व्यवस्थापनमा कठिनाइ भएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोम कार्यालयका अनुसार झण्डै दैनिक १० हजार भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने गरेको उल्लेख छ । यहाँ दर्शनार्थी बढेसँगै, राजमार्ग, आसपासका होटलमा पर्यटकको चहलपहल भने उत्साह जनक रहेको छ ।

दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहर मिल्काउने, अनियन्त्रित रुपमा जथाभावी फोहर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ ।

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौँ : राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिने सदस्यले बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमासम्बन्धी विभिन्न विषयमा प्रश्न उठाउनुभएको छ ।

उहाँहरुले बजेट कार्यान्वयन क्षमता, बढ्दो ऋणभार, कर नीतिमा देखिएका विवाद तथा रोजगारी सिर्जनाका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद तुलप्रसाद विश्वकर्माले कूल बजेटको ठूलो हिस्सा प्रशासनिक खर्चमा विनियोजन गरिएकाले रोजगारी सिर्जना र पूर्वाधार विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब रु २१ खर्बभन्दा बढीको बजेट विनियोजन भए पनि त्यसको प्रत्यक्ष लाभ आम जनतामा पुग्ने सम्भावना कम छ ।” सांसद किरणबाबु श्रेष्ठले आगामी आवको बजेट परम्पराको निरन्तरताभन्दा परिवर्तनको स्पष्ट खाकासहित आउनुपर्नेमा त्यसो नभएकाले परिमार्जनको खाँचो आँैल्याउनुभयो ।

उहाँले भन्नुभयो, “बजेट कार्यान्वयनमा इमान्दारी, पारदर्शिता र जवाफदेहिता आवश्यक छ ।” सांसद मदनकुमारी शाह (गरिमा) ले संसदमा पेस भइसकेको आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा छानबिन हुनुपर्ने माग गर्नुभयो । “बजेटले विगतका कतिपय कार्यक्रमलाई निरन्तरता दिएको, करका विषयमा उद्योगी व्यावसायिक आवाज सम्बोधन गर्दै निजी क्षेत्रलाई सकारात्मक सन्देश दिएको छ”, उल्लेख गर्दै उहाँले भन्नुभयो, “तर निम्न आय भएका वर्गका आवश्यकता सम्बोधन गर्न बजेट भने चुनौती देखिएको छ ।”

सांसद सोनाम गेल्जेन शेर्पाले सङ्ंघीयतालाई सुदृढीकरण गर्ने प्रतिबद्धता बजेटको सकारात्मक पक्ष भए पनि त्यसको कार्यान्वयनको स्पष्ट खाका प्रस्तुत हुन नसकेको बताउनुभयो । उहाँले हिमाली अर्थतन्त्र र पर्यटन विकासलाई पर्याप्त प्राथमिकता नदिइएको बताउनुभयो । सांसद शेर्पाले भन्नुभयो, “हिमाल र पर्यटन नेपालको आर्थिक उन्नतिको महत्वपूर्ण आधार हुन्, तर बजेटमा हिमाली क्षेत्रको विकासका लागि पर्याप्त व्यवस्था देखिएन ।”

सांसद सुनिलबहादुर थापाले स्रोत व्यवस्थापन नै बजेट कार्यान्वयनको प्रमुख चुनौती रहेको बताउनुभयो । उहाँले सरकारले आगामी आवमा ७.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखे पनि त्यसको आधार स्पष्ट नभएको धारणा राख्नुभयो । सांसद मनरुपा शर्माले बजेट नेपाली जनताको आवश्यकता र अपेक्षाअनुसार आउन नसकेको टिप्पणी गर्नुभयो ।

सांसद युवराज शर्माले बजेटले किसान र कृषि क्षेत्रलाई महत्त्व दिदै स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकता दिन नसकेको बताउनुभयो । सांसद घनश्याम रिजालले बजेट अनुशासनको पालना नभएको तथा ऋणको भार बढाएर घाटाको बजेट ल्याइएको भनी आलोचना गर्नुभयो ।

सांसद धर्मेन्द्र पासवानले ‘स्टार्टअप’ नीतिमार्फत दलित युवालाई अवसर प्रदान गर्ने व्यवस्थासहित बजेट परिमार्जन आवश्यकता औँल्याउनुभयो । सांसद उदयबहादुर बोहराले बजेट उत्पादन मुखीभन्दा उपभोगमुखी भएकाले पुँजीगत खर्च कार्यान्वयनमा चुनौती रहेको बताउनुभयो ।

सांसद पदमबहादुर परियारले भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन आगामी आवभित्र गर्ने सरकारको प्रतिबद्धता महत्वाकांक्षी भएकाले प्रभावकारी कार्यान्वयनका लागि माग गर्नुभयो ।

तोकिएको शुल्कभन्दा बढी रकम मागे तत्काल उजुरी दिन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरेमा तत्काल मन्त्रालयलाई जानकारी गराउन आग्रह गरेका छन् । सोको प्रमाणसहित मन्त्रालयको ‘हटलाइन’ नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका हुन् ।

पदभार ग्रहण गरेपछि मन्त्री श्रेष्ठले जनगुनासोको सुनुवाइ र शीघ्र समस्या समाधानलाई मन्त्रालयको प्रमुख प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएका छन् । उनको निर्देशनानुसार मन्त्रालय र मातहतका निकायमा सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने प्रयास तीव्र बनाइएको छ ।

विद्युत् सेवासम्बन्धी गुनासो तथा समस्याको सुनुवाइका लागि सञ्चालनमा रहेको हटलाइन नम्बर ११५१ लाई थप सक्रिय र परिणाममुखी बनाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मन्त्री श्रेष्ठले कार्यभार सम्हालेयता हटलाइनमार्फत प्राप्त १३ हजार ८८ वटा गुनासो सम्बोधन गरिएको छ ।

प्राप्त गुनासोमध्ये विद्युत् अवरोध ‘नो लाइट’, ट्रान्सफर्मर बिग्रिएको, पोल तथा मिटर अभाव, भूमिगत विद्युत् जडानलगायत विषय प्रमुख रहेका छन् । यस्ता समस्याको समाधानलाई तीव्र बनाउँदै सेवाग्राहीले सहज रूपमा सेवा पाउने वातावरण निर्माणमा मन्त्रालय केन्द्रित रहेको जनाएको छ ।

त्यस्तै, सङ्घीय संसद् र प्रदेशसभाका सदस्यहरूले संसद्को शून्य तथा विशेष समयमा उठाउने ऊर्जा जलस्रोत तथा सिँचाइ क्षेत्रसँग सम्बन्धित गुनासोलाई समेत तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्यले मन्त्रालयले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ अनुरूप ‘सुशासन एकाइ’ गठन गरी सञ्चालनमा ल्याएको छ । उक्त एकाइलाई क्षेत्रगत जिम्मेवारी प्रदान गर्दै अनुगमन, मूल्याङ्कन तथा कार्यसम्पादन परीक्षणको प्रणालीलाई व्यवस्थित बनाइएको छ ।

एकाइले मन्त्रालय तथा मातहतका निकायका कर्मचारीहरूको कार्यसम्पादन, जिम्मेवारी निर्वाहको अवस्था, कानुनी समयसीमाको पालना तथा सेवा प्रवाहको प्रभावकारिताका नियमित समीक्षा गरिरहेको छ ।

साथै, सरकारी स्रोतसाधनको उपयोग, निर्धारित सूचकहरुको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए-नभएको विषयमा समेत निरन्तर निगरानी राखिएको छ । मन्त्रालयले ‘डेलिभरीमा आधारित शासन प्रणाली’लाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, जनगुनासोको प्रभावकारी व्यवस्थापन तथा कर्मचारीको उत्तरदायित्व अभिवृद्धिमा जोड दिएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा पुँजीगत खर्च ३२ दशमलव ५३ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा पूर्वाधार तथा विकास निर्माण लक्षित पुँजीगत खर्च रु एक खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख भएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी विवरणअनुसार चालु आवको ११ महिनामा कूल लक्ष्यको ३२ दशमलव ५३ प्रतिशत पुँजीगत खर्च भएको हो ।

सरकारले चालु आवमा रु चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रकम पुँजीगत खर्चतर्फ विनियोजन गरेको छ । चालु आव सकिन एक महिना मात्रै बाँकी रहेको अवस्थामा पुँजीगत खर्च भने पर्याप्त हुन सकिरहेको छैन ।

चालु आवमा चालु खर्चतर्फ रु ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखेकामा ११ महिनामा ७६ दशमलव ९१ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ वर्षभरिमा रु तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म रु तीन खर्ब पाँच अर्ब ७१ करोड ८१ लाख खर्च भएको छ ।

फिफा विश्वकप : इक्वेडरविरुद्ध आइभोरी कोस्टको विजयी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्र्तगको खेलमा आइभोरी कोस्टले विजयी सुरुवात गरेको छ । अमेरिकाको फिलाडेल्फिया रंगशालामा भएको समूह (ई) अन्र्तगत खेलमा इक्वेडरलाई १-० ले हराउदै विजयी हात पारेको हो ।

अमद डियालोले खेलको खेलको ८०औँ मिनेटमा गोल गरेपछि आइभोरी कोस्ट विजयी भएको हो ।

ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन

काठमाडौँ। ट्राफिक प्रहरीका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार २५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।जसबाट राज्यकोषमा रु १० लाख ४८ हजार पाँच सय राजस्व दाखिला भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मादकपदार्थ सेवन गरेका १००, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १०७, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३६ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १६५ जनालाई कारबाही ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘लेन’ अनुशासन पालना नगर्ने ५८, निषेधित क्षेत्रमा हर्न बजाउने १०९, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने ११७ र अन्य सवारी नियम पालना नगरेका एक हजार १२८ गरी कुल दुई हजार २५ जनालाई कारबाही गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारको बजेट आज

भैरहवा। लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ लागि बजेट सार्वजनिक गर्दैछ ।आज साँझ ५ः०० बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारका अनुसार आगामी आवको बजेट ‘समृद्ध लुम्बिनीः सुखी नागरिक’ को दीर्घकालीन सोच, दोस्रो आवधिक योजना तथा दिगो विकास लक्ष्यलाई आधार बनाएर तर्जुमा गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको बजेट आज प्रस्तुत हुने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८३/८४ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै छ । आज अपराह्न ४ बजे आर्थिक मामिला मन्त्री बिक्रमसिंह धामीले प्रदेश सभामा बजेट तथा कार्यक्रम पेस गर्ने कार्यपालिका रहेको प्रदेश सभा सदस्यले जनाएको छ ।

यस पटक सरकारले हाल सम्मकै सबै भन्दा ठुलो बजेट ल्याउने तयारी गरेको श्रोतको भनाई छ । आकार वृद्धि गर्न सरकारले चालु आर्थिक वर्षको बजेटमा हुने बचतलाई मुख्य आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकृतले बताए । चालु आर्थिक वर्षको बजेटबाट कम्तीमा ८ अर्ब बचत हुने अनुमान रहेको प्रदेश नीति तथा योजना आयोगका सदस्य नृप बहादुर सुनारले बताए । बजेटको आकार वृद्धिको अन्य आधारमा आन्तरिक राजश्वमा चालु आर्थिक वर्षभन्दा वृद्धि हुने बजेट निर्माणको तयारीमा रहेका अधिकारीहरूको भनाइ छ । वन स्रोतको कच्चा पदार्थ, गिट्टी बालुबाट पनि राजश्वलगायत थप हुने आकलन गरिएको छ ।

चालु आर्थिक वर्षमा सरकारले आन्तरिक राजश्वको कूल अंक एक अर्ब ६५ करोड हुने अनुमान गरेको थियो । आर्थिक मामिला सरकारले यस पटक सांसदहरूलाई बेग्लै बजेट दिन सरकारले उनीहरूबाट बजेट आयोजना संकलन गरिसकेको छ । सरकारले सांसदहरूका लागि बजेट बढाएर कूल ३ अर्ब २९ करोड बजेट भागबण्डा यसअघि नै गरिसकेको छ ।

मुख्यमन्त्री कार्यालयले सांसदहरूबाट बजेट अंक र आयोजनाको सूची संकलन गरिसकेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाखभन्दा कम बजेटका आयोजना नराख्ने घोषणा गरे । मुख्यमन्त्री शाहको नेतृत्वमा यो तेश्रो बजेट आउने छ । एउटा बजेट भने पूर्व मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको नेतृत्वमा प्रस्तुत भएको थियो । तर सो बजे प्रदेश सभाबाट पारित हुन सकेको थिएन ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु २५ र भन्टा डल्लो प्रतिकिलो रु ४० कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ४०, मटरकोसा प्रतिकिलो रु १७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४५, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ४०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ७०, चमसुरको साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु ९०, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १५०, पार्सले प्रतिकिलो रु ३५०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु २००, गान्टेमूला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १७०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु १००, आँप (दशहरी) प्रतिकिलो रु १२०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ७०, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ६५, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

भ्रामक एसएमएसबाट सावधान रहन नेपाल टेलिकमको आग्रह

काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक एसएमएस पठाउने गतिविधि भइरहेको पाइएकोले सचेत रहन नेपाल टेलिकमले अनुरोध गरेको छ । यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ ।

नेपाल टेलिकमले ग्राहकलाई यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन अनुरोध गरेको छ । कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरण सुरक्षित राख्न समेत कम्पनीले अनुरोध गरेको छ ।

अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्न, ओटिपि, पासवर्ड, पि आइएन, सिभिभि लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्न समेत कम्पनीले सुझाव दिएको छ ।

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ ।सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्न लागेको हो ।प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ ।

कार्यसूचीअनुसार आज युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका लागि विनियोजित शीर्षकमाथि छलफल हुनेछ ।

त्यसैगरी राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ ।अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आवको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुहुने कार्यसूची रहेको जनाइएको छ

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा। रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा अघि बढिरहेका बेला निजी क्षेत्रको सक्रियताले नयाँ आयाम थपेको छ ।निजी लगानीमा अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सम्पन्न हुने चरणमा पुग्दा सरकारी स्वामित्वको सिद्धार्थ क्रिकेट रङ्गशाला भने बजेट अभाव र सुस्त कार्यान्वयनका कारण अझै पूर्ण हुनसकेको छैन ।

तिलोत्तमा नगरपालिका–१७ पूर्वदरखसवामा अष्ट्रेलियामा व्यवसाय गर्दै आएका विनोद कुँवरको लगानीमा करिब रु ६० करोड लागतमा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण गरिएको हो । छ बिघा क्षेत्रफलमा फैलिएको उक्त रङ्गशालामा खेलाडी ड्रेसिङ रुम, मिडिया बक्स, भिआइपी बक्सलगायतका संरचना निर्माण भइरहेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा रङ्गशालाका ब्राण्ड एम्बेसडर शक्ति गौचनका अनुसार मैदान राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्न तयार भइसकेको छ भने अन्य पूर्वाधार विस्तारको काम जारी छ । हाल दुईदेखि तीन हजार दर्शक अट्ने क्षमता रहेको रङ्गशालालाई आगामी दिनमा १५ देखि २० हजार दर्शक क्षमतामा विस्तार गर्ने योजना रहेको छ ।

रङ्गशालासँगै आवासीय सुविधासहितको क्रिकेट एकेडेमी सञ्चालन गरी दक्ष खेलाडी उत्पादन गर्ने लक्ष्य राखिएको छ । यसले खेलकुदसँगै पर्यटन तथा स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।लगानीकर्ता पक्षले मैदानसम्म पुग्ने सडक, विद्युत् र अन्य आधारभूत पूर्वाधार निर्माणमा सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । उनीहरूले रङ्गशाला निर्माणका लागि सरकारी आर्थिक सहयोग नचाहिए पनि पहुँचमार्ग र सार्वजनिक पूर्वाधार विकासमा राज्यको भूमिका आवश्यक रहेको धारणा राखेका छन् ।

यता, भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालालाई अन्तरराष्ट्रियस्तरमा स्तरोन्नति गर्ने योजना भने लामो समयदेखि अलपत्र छ । विसं २०६८ मा सुरु गरिएको उक्त परियोजनाको हालसम्म करिब १६ प्रतिशतमात्रै काम सम्पन्न भएको जनाइएको छ ।

रुपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाका अनुसार पर्याप्त बजेट विनियोजन नहुनु र बहुवर्षीय योजनाअन्तर्गत कार्यान्वयन नगरिनु परियोजना सुस्त हुनुका मुख्य कारण हुन् । हालसम्म करिब रु १२ करोड खर्च भए पनि रङ्गशालाका अधिकांश संरचना निर्माण हुन बाँकी छन् ।डिपिआरअनुसार प्रारम्भिक लागत रु ३८ करोड अनुमान गरिएको भए पनि समयसँगै निर्माण लागत बढेकाले अहिले रङ्गशाला सम्पन्न गर्न रु ७० करोडभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ ।

खेलकुद क्षेत्रका सरोकारवालाले क्रिकेटप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै सरकारी रङ्गशाला निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।उनीहरूका अनुसार निजी क्षेत्रले देखाएको उत्साह र लगानीले रुपन्देहीलाई क्रिकेटको केन्द्रका रूपमा स्थापित गर्न मद्दत पुर्याएको छ भने सरकारी परियोजनाले पनि सोही गतिमा अघि बढ्न आवश्यक छ ।

दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने

काठमाडौँ। पशुसेवा विभागले काठमाडौँ उपत्यकालगायत बर्डफ्लु पुष्टि भएका १० जिल्लामा करिब सात लाख पन्छी नष्ट गरेको जनाएको छ ।प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पन्छीसहित करिब तीन लाख किलो दाना नष्ट गरिएको हो ।

काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ‘र्‍यापिड रेस्पोन्स टिम’ परिचालन गरिएको विभागका महानिर्देशक डा उमेश दाहालले जानकारी दिनुभयो ।

बर्डफ्लुको खोप विकास नभएकाले सङ्क्रमण देखिनासाथ पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गरिएको हो । करिब ११ लाख अण्डा नष्ट गरिएको छ । सम्बन्धित किसानलाई नष्ट गरिएका पन्छीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालयमार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइने छ ।त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ ।

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

बागलुङ। काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् ।

बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस पुर्याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन् ।

जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत स्थानबाट गोठाला आफ्ना वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । पश्चिम बागलुङका अधिकांश किसान पशुपालनमा आबद्ध छन् । कतिपय गोठाला जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसके भने धेरैजसो यतिबेला खर्च बोकेर लेक उक्लिन थालेका छन् । अहिले बुकीपाटन उक्लिने गोठाला अब चार महिनापछि मात्रै गाउँ (बेँसी) झर्छन् ।

बर्खाभरि लेकमा बस्ने गोठलाले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् । समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा गोठाला पुग्छन् । बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनाँै उतै बिताउने गर्छन् । लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुँदा उनीहरूको लामो समय परिवारसँग फोन सम्पर्कसमेत हुँदैन । असारदेखि असोजको बीचमा बिरामी परेमा, खर्च सकिएमा र अन्य कुनै आकस्मिक घटना भएमात्रै बेँसी झर्छन् ।

गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङलगायत अग्ला पहाडी क्षेत्रमा पुग्छन् । बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताउनुभयो । अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो, “यतिका सम्पत्ति (वस्तुभाउ) एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउन पर्छ, बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ, घाँस पनि पलाइसकेको हुँदा चरनका लागि सजिलो हुन्छ, एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ ।”

लेकमा बस्दा किसानले पशुपालनमात्रै गर्दैनन् । उनीहरूले काठका भाँडाकुँडा, चायोका सामग्री बनाउने गर्छन् । लेकमा उत्पादन भएका वस्तु बेँसी झरेपछि बिक्री गर्छन् । तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता बुकीपाटन पुग्नुभएको थियो । यसपालि बाली लगाउन ढिला हुँदा बल्ल बुकीपाटनका यात्रा गरेको बताउनुभयो । आफ्ना छिमेकी एक साता अगाडि नै लेक उक्लिएको उहाँको भनाइ छ ।

“म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा जहान (श्रीमती) बिरामी छ, बारीमा बालीनाली लगाउनुपर्ने, त्यसले गर्दा एक साता ढिला भयो”, उहाँले भन्नुभयो, “एक महिनापछि फेरि बेँसी झर्ने काम छ, बेँसी झर्दा लेकमा साथीहरू हुन्छन्, उनीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला, अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु ।”

ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्रै नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानले भेडा लिएर चरनका लागि आउने गर्छन् । ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसक्नुभयो । अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेको बताउनुभयो । जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको उहाँको भनाइ छ । लेकमा घाँस पलाइसकेको हुँदा अबको एक सातामा बेँसीमा रहेका सबै गोठाला उक्लिसक्ने अदै बताउनुहुन्छ ।

अदैले भन्नुभयो, “हामी यसरी लेक बेँसी गर्न थालेको तीन÷चार दशक बितिसक्यो, पढाइलेखाइ पनि भएन, देशविदेश पनि गइएन, यही वस्तुभाउ हेर्ने ज्यान पालन गर्नेबाहेक अरु केही गर्न सकिएन, बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो, अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा भरिभराउ हुन्छ ।”

टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार

झापा। बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।आज अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनीहरूले उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो ।

संयुक्त टोलीले साँझ करिब ५ः२० बजे उनीहरूको सकुशल उद्धार गरेको हो । उद्धार गरिएकामध्ये बिर्तामोड नगरपालिका–१ का २६ वर्षीय राजु पाठक, ३४ वर्षीया एन्जिना पाठक र २२ वर्षीया आरती पाठक, भद्रपुर नगरपालिका–५ का २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २३ वर्षीय मोहित हलुवाई तथा २४ वर्षीय रोहित साहको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा खोलानाला तथा नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मंगलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी। म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मंगला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ ।

विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार तटीय क्षेत्रमा म्याग्दी नदीको कटान र माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको छ । “बर्खायाममा नदी कटान र खोल्सामा आउने बाढी तथा सुक्खा मौसममा डढेलो र आगलागीको जोखिम रहेको छ”, उहाँले भन्नुभयो, “जोखिमयुक्त क्षेत्र पहिचान गरी नदी नियन्त्रण, पहिरो रोकथाम, वृक्षरोपण, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरेका छौँ ।”

विसं २०५८ मा अर्मनमा गएको पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने धेरै घर, विद्यालय र खानेपानी संरचना क्षतिग्रस्त भएका थिए । त्यसभन्दा अघि २०४५ सालमा निस्कोटको भिर भत्किँदा म्याग्दी खोला थुनिएर आएको बाढीले व्यापक जनधनको क्षति पुर्याएको थियो ।

हाल छिसवाङ, कुरसिम्ला, पिपलबोट, सेराफाँट, हाडेभिर, बाबियाचौर, काँशेबगर, सिमलचौर, बान्द्रेलगायतका क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । स्थानीयवासीका अनुसार नदीको बहाव परिवर्तन र गहिरिँदै गएको कटानले खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ ।

पानाबगरका स्थानीय जितबहादुर किसानले म्याग्दी नदीले आफ्नो चार रोपनीभन्दा बढी खेतीयोग्य जमिन कटान गरी बगर बनाएको बताउनुभयो । “नदीले खेतमात्र होइन, बस्तीलाई नै जोखिममा पारेको छ”, उहाँले भन्नुभयो, “जोखिम धेरै भए पनि संरक्षणका योजना पर्याप्त छैनन् ।”

म्याग्दी नदीको करिब १० किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्नमात्रै करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काँशेबगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ । करिब रु ४२ लाख लागतमा म्याग्दी नदी किनारमा पक्की र ग्यावियन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख रुचेन्द्र अधिकारीले बताउनुभयो । यस योजनाले २५० भन्दा बढी घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, हाडेभिर क्षेत्रमा निर्माण गरिएको नदी नियन्त्रण संरचनाले बस्ती, स्वास्थ्यचौकी, निर्माणाधीन अस्पताल भवन तथा सडकलाई कटानबाट जोगाउन प्रभावकारी भूमिका खेलेको छ । प्रदेश सरकारको सहयोगमा सिम र ताराखेत क्षेत्रमा पनि नदी नियन्त्रण योजना सम्पन्न भएका छन् ।

यद्यपि सङ्घीय सरकारले हिलवाङखोला, छिसवाङ र रातोढुङ्गामा नदी नियन्त्रणका लागि विनियोजन गरेको रु एक करोड ५० लाख बजेट भने विवादका कारण कार्यान्वयन हुन नसकी फिर्ता भएको मङ्गला गाउँपालिका–५ छिसवाङका पृजेन भट्टचनले बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पाँचै वडामा हेलिप्याड निर्माण, राहत कोष व्यवस्थापन, सडक मर्मत तथा हरित सडक अभियान सञ्चालन गरेको छ । तर मनसुनजन्य विपद्बाट घरबार गुमाएका नागरिकको निजी आवास पुनःनिर्माणमा भने समस्या देखिएको गाउँपालिकाका उपाध्यक्ष पे्रमकुमारी अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय विपद् प्राधिकरणको प्रणालीमा लाभग्राहीको विवरण अद्यावधिक हुन नसक्दा पछिल्ला तीन वर्षयता १९ जना पीडित अनुदान सम्झौताबाट वञ्चित भएका छन् ।

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ । देशको पहाडी भू–भागमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपात तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

रौतहट। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ ।

सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो ।

छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति नपुर्याउनका लागि एउटा देशले आफ्नो सिमानामा यस्तो संरचना बनाउने प्रावधान छैन । बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षायाममा बाढीको बहाव थुनिने र त्यसले सदरमुकाम गौरसहित दर्जनाँै नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय अमित केशरीले बताउनुभयो ।

भारतले आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान हुने गरेको केशरीले बताउनुभयो । भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रस्थित बाँधको तीनवटा ढोका सुलीसगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौर नगर क्षेत्र डुबानमा पर्दै आइरहेको उहाँले बताउनुभयो ।

गौर डुबानमा परेपछि नेपालीले बाँध भत्काउने र सुलीसगेट खोल्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली हतियारसहित २४सै घण्टा बाँधमा बस्दै आइरहेका केशरीले जानकारी दिनुभयो ।

बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले निकास नपाउने र पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठले जानकारी दिनुभयो ।

बैरगनिया क्षेत्रको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव रोकिने र यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताउनुभयो । गौरमा बाढीको पानी निकास नहँुदा ठूलो धनजनको क्षति हँुदै आइरहेको छ ।

केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी)ले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो । नेपाल–भारत दुई देशबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताउनुभयो । तर भारतले आफ्नो भूमि डुबानबाट जोगाउन लगाएको बाँध मर्मतको बाहनामा माटो थपेको र चौडाइ पनि बढाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताउनुभयो ।

भारतले एकतर्फी रूपमा पूर्वमा वाग्मती नदीदेखि र पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्मको पाँच किलोमिटर क्षेत्रसम्म बाँध निर्माण गरेका कारण बर्सेनि गौर नगर क्षेत्र डुबानमा पार्दै आएको उहाँले बताउनुभयो ।

विसं २०७७ मा आफू नगरप्रमुख हँुदा गौर नगरपालिका–२ महादेवपट्टि गाउँस्थित रहेको बकैया नदीमा तटबन्ध गर्दा भारतीय पक्षले अवरोध गरेको तर अहिले भारतले मनपरी ढङ्गले बाँध मर्मतका नाममा अग्लो तथा बलियो बनाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलीसगेट (पानी निकास हुने ढोका) बन्द गरेपछि गौरवासी झन् समस्यामा पर्दै आइरहेको उहाँले बताउनुभयो । बाँध र सुलीसगेट नखोलेका कारण गौर हरेक वर्ष डुबानमा परिरहेको उहाँको भनाइ छ ।

यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामाढी जिल्लाका प्रमुख (डिएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकार्षण गराएको बताउनुभयो । डिएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएको प्रजिअ भुसालले बताउनुभयो ।

दुई देशको सीमा र अन्तरराष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

भारतले एकपक्षीय रूपमा बाँध बाधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकम गौरका नौवटै वडा र इशनाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ । सो क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौँको धनजन तथा बालीनालीको क्षति हुँदै आइरहेको छ ।

अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै

कास्की। अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको स्तरोन्नति सुरु गरिएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै पदयात्रालाई सहज बनाउने उद्देश्यले उक्त मार्गलाई थप सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन थालिएको हो ।

अन्नपूर्ण क्षेत्रलाई अन्तरराष्ट्रिस्तरको सुरक्षित र आकर्षक पदयात्राको गन्तव्यका रूपमा विकास गर्नेगरी कास्कीको घान्द्रुक देउरालीबाट माछापुच्छ«े आधार शिविर (एमबिसी) सम्मको पदमार्ग स्तरोन्नति तथा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

हिमपात, पहिरो, वर्षा तथा चट्टान खस्ने जोखिमका कारण संवेदनशील मानिने देउराली–एबिसी खण्डमा ढुङ्गे सिँढी निर्माण, पदमार्ग चौडा बनाउने, जोखिमयुक्त स्थानमा सुरक्षात्मक संरचना निर्माण तथा आवश्यक पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्षमा रु ४५ लाख लागतमा काम भइरहेको हो ।

पदमार्ग स्तरोन्नतिपछि हिमाली पर्यटनको प्रमुख गन्तव्य अन्नपूर्ण क्षेत्रको आकर्षणलाई अझ बढाउने अध्यक्ष केसीले विश्वास व्यत्तल गर्नुभयो । “एबिसी ट्रेकिङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । अन्नपूर्णको महत्त्व विश्वभर छ । त्यसैले यस क्षेत्रमा पुग्ने पर्यटकलाई थप सुविधा होस् भनेर पदमार्ग बनाउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

समुद्री सतहबाट तीन हजार ५०० मिटरभन्दा माथिको दुर्गम क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारले विशेषगरी अन्नपूर्ण आधार शिविर पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पदमार्ग सुधारपछि पदयात्रा अझ सुरक्षित, सहज र व्यवस्थित बन्ने विश्वास व्यक्त गर्नुभयो । “देउराली–माछापुच्छ«े बेसक्याम्प पदमार्ग सुधारले पर्यटकलाई सहज हुनेछ । यसका साथै स्थानीय होटल व्यवसाय, यातायात सेवा, कृषि उत्पादनको बजारीकरण तथा पर्यटनसँग सम्बन्धित आर्थिक गतिविधिमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ«े र हिमचुली हिमालका मनमोहक दृश्यले एबिसी नेपालकै सबैभन्दा लोकप्रिय हिमाली पदयात्रामध्ये एकमा पर्दछ । पदमार्ग स्तरोन्नति सम्पन्न भएपछि यात्रुहरूले अझ सुरक्षित, सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले आगामी दिनमा अन्य पदमार्ग स्तरोन्नति, विश्रामस्थल तथा सूचना केन्द्र तथा पर्यटन पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’

काठमाडौँ। कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ । सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ । टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित हुनुभयो ।

पुस्तकको चर्चा जति थियो, उत्तिकै उहाँले लगाउने पहिरनले पाठकको ध्यान खिचेको थियो । खासगरी नेपाली समाजमा च्यातिएको र टालिएको लुगा लगाउनु गरिबीको सङ्केत दिन्छ । तर, फेशन डिजाइनर गुरुङले भने आफूले लगाएको उक्त टालेको सर्ट निकै महँगो अमेरिकी डलरमा किनेको बताउनुभयो । “टालेको सर्ट अमेरिकामा डलर हालेर किनेर लगाए, यो स्टाइल हो ।”

शनिबार जमलस्थित मण्डला बुक प्वाइन्टमा पुस्तक हस्ताक्षर कार्यक्रममा देखिनुभएका गुरुङले भन्नुभयो, “लुगा कस्तो लगाउनेभन्दा पनि कसले र कति आत्मविश्वासका साथ लगाएको छ भन्ने कुराले निकै महत्व राख्छ ।” उहाँले आत्मविश्वासका साथ टालेको लुगा लगाउदा पनि राम्रो र प्रभावकारी व्यक्तित्व झल्किन सक्ने सन्देश दिन उक्त पहिरन लगाएको बताउनुभयो ।

अमेरिकामा बस्दै आउनुभएका गुरुङ प्रत्येक एक वर्षमा दुई पटक नेपाल आउने गर्नुहुन्छ । नेपालमै बसोबास गर्ने परिवारलाई भेट्न उहाँले जतिसुकै व्यस्त भए पनि समय मिलाउने गरेको बताउनुभयो । “जहाँ जाउ यो मन त मेरो नेपाली नै हो नी”, गुरुङले भन्नुभयो, “नेपाली खाना, मुमा (आमा) को माया र यहाँको संस्कृतिले मन छुन्छ”, उहाँले भन्नुभयो, “वर्षमा दुई पटक आमाको हातले पकाएको गुन्द्रुकको अचार, दाल भात खान आएकै हुन्छु ।”

नेपाली मुलुकका गुरुङ सिङ्गापुरमा जन्मिनुभयो र भारतमा हुर्किनुभयो । दिल्लीको नेशनल फेशन इन्स्टिच्युटमा अध्ययन गरेर उहाँले फेशन डिजाइनरको करिअर न्यूयोर्कबाट सुरु गर्नुभयो । गुरुङले सन्, १९९९ मा न्युयोर्कबाट फेशन डिजाइनसम्बन्धी औपचारिक शिक्षा लिनुभयो । साथै, अन्तरराष्ट्रिय ब्रान्डमा फेशन यात्रामा सक्रिय भई सफलताको उचाइमा पुग्नुभएको हो ।

गुरुङले हलिउडदेखि बलिउड फिल्मी क्षेत्रका प्रख्यात व्यक्तित्वहरुका लागि फेशन डिजाइन गरेर नेपालको नाम स्थापित गर्नुभएको छ । उहाँले तत्कालिन अमेरिकी प्रथम महिला मिचेल ओमाबादेखि बेलायती राजकुमारीको रोजाइको पहिरन फेसन डिजाइन गरेपश्चात् भने अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा चुलिएको थियो । यसलाई गुरुङले करिअरको सबैभन्दा महत्वपूर्ण क्षणका रुपमा लिनुहुन्छ ।

फेशन डिजाइन यात्रामा झण्डै तीन दशक परिपक्व देखिए पनि गुरुङ यस क्षेत्रमा भर्खरै सुरुआत गर्दै गरेको धारणा राख्नुहुन्छ । उहाँका अनुसार फेशन क्षेत्रमा सिक्ने तत्परता सधैँ कामय राख्नुपर्छ । सिक्ने निरन्तरतालाई नै उहाँले आफ्नो सफलताको मुल सुत्र मान्नुभएको छ । गुरुङले भन्नुहुन्छ, “फेशन क्षेत्र सागर हो । जति सिक्दै गयो उति गहिराइमा पुगिन्छ । त्यसैले मैले यस क्षेत्रमा भर्खरै बामेसर्दै गरेको शिशु ठान्छु । अझै धेरै काम गर्न बाँकी छ ।”

हारपर कोलिन्सले सन्, २०२६ मा प्रकाशन गरेको गुरुङको पुस्तक ‘वक लाइक अ गल्स’ को कथा रोचक छ । उहाँले केटीको चालमा केन्द्रित भएर पुस्तकको शीर्षक राख्नुमा गुरुङकै बाल्यकालको भोगाइ समेटिएको बताउनुभयो । सानो छँदा केटी जस्तै हिँड्ने भन्दै साथीभाइले गिज्याउने गरेको क्षणलाई उहाँले किताबको मुख्य शीर्षक बनाएको सुनाउनुभयो ।

सृष्टि सिर्जना गर्ने क्षमता राख्ने महिला पात्रप्रति समाजको हेपाह दृष्टिलाई चिर्न पनि पुस्तकको शीर्षक यस्तो राख्नुपरेको गुरुङले बताउनुभयो । “केटी जस्तो हिँड्दा के फरक पर्छ ? म त भन्छु हिँडाइ केटीको जस्तै हुनुपर्छ”, उहाँले भन्नुभयो, “जहाँ, शान्ती, सभ्यता र गाम्भीरता झल्किन्छ ।” एक अर्थमा गुरुङले पुस्तकमार्फत नारी अस्तित्वलाई स्वीकार भावले हेर्न आग्रह गरेको प्रष्ट पार्नुभयो ।

यसैगरी, अर्को दृष्टिमा आफ्नो पुस्तकले युवापुस्तालाई लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरणा मिल्नसक्ने गुरुङले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले चर्चा पाउन काम सुरु गरिन्, मेहनतको निरन्तरताले गर्दा सफलता आफैँ आउँदै गयो । पुस्तकले यही सन्देश दिन खोजेको छ, मेहनत गर ।

सफलता आफैँ आउँछ”, मण्डला बुक प्वाइन्टका प्रमुख सिद्धार्थ महर्जनले गुरुङको हस्तारक्षित १०० भन्दाबढी पुस्तक बिक्री भएको बताउनुभयो । पाठकहरु पुस्तक किन्नुका साथै गुरुङसँग भलाकुसारी गर्ने अवसर पाउँदा हर्षित थिए ।