`

विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न कम्युनिष्ट आन्दोलनलाई एकीकृत बनाउनुपर्छः सहसंयोजक नेपाल

काठमाडौँ, २९ कात्तिकः नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा कम्युनिष्ट आन्दोलनलाई शक्तिशाली बनाउन वामपन्थी शक्ति एकीकृत हुनुपर्ने बताउनुभएको छ ।

पार्टी कार्यालय आलोकनगरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै वामपन्थी शक्ति एकै ठाउँमा उभिनुपर्ने बताउँदै त्यसका लागि ध्रुवीकरण हुन आवश्यक रहेको बताउनुभयो ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय सदस्य तबस्सुम परविन मिकरानीलाई पार्टीमा स्वागत गर्दै सहसंयोजक नेपालले मुलुकमा भएका सबै राजनीतिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेलेका कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्नेमा जोड दिनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकको वर्तमान राजनीतिक अवस्था असहज तथा आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक क्षेत्रमा देखापरेको सङ्कट समाधान गर्ने सामथ्र्य कम्युनिष्ट आदर्शमा हुने विचार व्यक्त गर्नुभयो । समान विचारधारा भएका दल तथा समूहसँग पनि एकताको गृहकार्य भइरहेको बताउँदै उहाँले शक्ति तथा सङ्गठन बिस्तारका लागि वैचारिक दृष्टिकोण तथा दीर्घकालीन कार्यदिशा निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रदेशमा शान्तिसुरक्षा सुदृढ गर्न सुरक्षा निकायलाई मुख्यमन्त्री यादवको निर्देशन

जनकपुर, २९ कात्तिकः मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले हालको बिग्रँदो राजनीति अवस्थामा शान्तिसुरक्षालाई प्रभावकारी बनाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।आज जनकपुरधाममा भएको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा उहाँले राजनीतिको नाममा भइरहेको बदमासी र उग्र कार्यलाई रोक्न गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

बैठकमा प्रदेशमा विभिन्न पक्षबाट भइरहेको आन्दोलन तथा सुरक्षा चुनौतीका विषयमा छलफल भएको मधेस प्रदेशका निमित्त प्रमुख सचिव लालबाबु कवाडीले जानकारी दिनुभयो । उहाँले पछिल्लो समयमा आन्दोलनका क्रममा कर्मचारी तथा प्रहरीमाथि भएको हातपातलगायत विषयमा पनि छलफल भएको बताउनुभयो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशको शान्तिसुरक्षाका विविध पक्षमा छलफल भएको र सुरक्षा निकायलाई प्रदेश सरकारबाट पूर्ण सहयोग रहने आश्वस्त पार्दै उच्च मनोबलका साथ काम गर्न निर्देशन दिइएको बताउनुभयो । सुरक्षा अवस्था सुदृढ बनाउन प्रदेश सरकारको प्रमुखको हैसियतले प्रतिबद्ध रहेको बताउँदै उहाँले शान्तिसुरक्षाका लागि आवश्यक गर्ने भौतिक, आर्थिक तथा नैतिक समर्थन रहने विषयमा सुरक्षा प्रमुखहरूलाई आश्वस्त पारिएको बताउनुभयो ।

बैठकमा मधेस प्रदेशका प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका प्रदेश प्रमुखका साथै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो ।

मानवकल्याण नै सबैभन्दा ठूलो धर्म हो – प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवकल्याण नै सबैभन्दा ठूलो धर्म भएको बताउनुभएको छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आज पोखरामा आयोजना गरेको श्री हेमदेवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले सडक आश्रित सहयोगापेक्षी मानवको हित गर्ने कार्य पनि निकै पुण्यको कर्म भएको बताउनुभयो ।

समितिका तर्पmबाट प्रदेश प्रमुख भट्ट, अध्यक्ष गणेशबहादुर श्रेष्ठले यस वर्ष मावन सेवा आश्रम नेपाललाई संस्थागत पुरस्कार गर्नुभएको । उहाँहरुले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । समितिका संस्थापक अध्यक्ष स्व हेमबहादुर प्रधानले स्थापना गरेको रु १५ लाखको अक्षयकोषबाट रु एक लाख एक हजार राशीको पुरस्कार प्रदान गरिएको हो ।

प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवर्द्धनको महाअभियानलाई सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्व सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई यस पुरस्कारबाट सम्मान गरिसकिएको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।

‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर सञ्चारमन्त्री खरेल स्वदेश फिर्ता

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना भएको ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी भएर आज स्वदेश फिर्ता हुनुभएको छ ।

मन्त्री खरेल फोरममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया जानुभएको थियो । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए) सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

फोरममा ‘डिजिटल’ र ‘एआई ट्रान्सफर्मेसनः स्ट्राटिजिस एन्ड च्यालेन्ज’ र ‘ग्लोबल कोअपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर’ विषयमा दुई सत्र सञ्चालन भएका थिए ।

सञ्चारमन्त्री खरेलले ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको बताउनुभयो । नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको र राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको सन्दर्भमा थप ज्ञान, सीप र अनुभव हासिल गर्न फोरम सान्दर्भिक भएको उहाँले उल्लेख गर्नुभयो ।

समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको सहकार्य एवं साझेदारिताका विषयमा धारणा राख्नुभएको थियो । त्यस क्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआइए) ले पनि नेपाललाई सहकार्य गर्ने र आपसी सझेदारिताका विषयमा पनि परामर्श भएको जनाइएको छ ।

फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेलगायत सहभागी हुनुहुन्थ्यो ।

दक्षिण कोरियामा रहँदा सञ्चारमन्त्री खरेलले सिओल एआई फाउन्डेसनद्वारा सञ्चालित ‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकन भ्रमण गर्नुभयो । यस्तै, उहाँले सिओलस्थित नेपाली राजदूतावासको अवलोकन गर्नुभएको थियो ।

मन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले नेपाली समुदायसँग साक्षात्कार कार्यक्रम गरेको थियो । डिजिटल र एआई ट्रान्सफर्मेसनः एसडिजी र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा ‘एचिभिङ द एसडिजी एन्ड ए फ्युचर’ विषयक फोरममा नेपाल, भूटान, श्रीलङ्का, पाकिस्तान, कम्बोडिया, लाओ पिडिआर, भियतनाम, काजकिस्तान, मङ्गोलिया र उब्जेकिस्तानका मन्त्रीहरु तथा वरिष्ठ नीति निर्माताहरु सहभागी भएका थिए । एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तरराष्ट्रिय संस्था पनि कार्यक्रममा सहभागी भएका सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

सङ्खुवासभामा सार्वजनिक यातायातमा ‘टाइम कार्ड’ लागू

किमाथाङ्का (सङ्खुवासभा) – कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको सभाखोला –लेगुवा सडक खण्डमा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । पछिल्लो समय दुर्घटना बढेको भन्दै प्रहरीले आजदेखि टाइम कार्ड लागू गरेको हो ।

कोशी राजमार्गअन्तर्गत १७ दशमलव पाँच किलोमिटर सडकखण्डमा ४५ मिनेट कायम रहनेगरी ‘टाइम कार्ड’ लागू गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिनुभयो ।

गन्तव्यमा चाँडो पुग्ने बहानामा तीव्र गतिमा सवारीसाधन चलाउने प्रवृत्तिलाई निरुत्साहन गर्न गत भदौमा जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले यस्तो प्रणाली लागू गर्ने निर्णय गरेको थियो । जिल्लामा दैनिक दुई सय यात्रुवाहक तथा मालवाहक सवारीसाधन आवतजावत हुने गरेका छन् । जिल्लास्थित यातायात व्यवसायीसँगको समझदारीमा टाइम कार्ड लागू गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताउनुभयो । यस क्रममा दुर्घटना न्यूनीकरणका लागि चालक र सहचालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न निगरानी राखिने उहाँले बताउनुभयो ।

लोकतन्त्र, संविधानको रक्षा र जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित एमालेको प्रदर्शन

लुम्बिनी – नेकपा (एमाले)ले आज बुटवलमा प्रदर्शन गरेको छ । एमाले रुपन्देहीको आयोजनामा आज बुटवलमा प्रदर्शन तथा ¥याली निकालिएको हो ।लोकतन्त्र र संविधानको रक्षा तथा जेनजी पुस्ताको माग सम्बोधनका एजेन्डासहित प्रदर्शन गरिएको एमाले रुपन्देहीले जनाएको छ । प्रदर्शनले राजनीतिक उत्साह र एकताको नयाँ ऊर्जा ल्याउने अपेक्षा एमालेको छ ।

बुटवलको राजमार्ग चौराहादेखि सुरु भएको ¥याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्ने नेताहरुले संबिधान र लोकतन्त्रको रक्षा गरेर युवा पुस्तालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल बिश्वकर्माले नेकपा एमाले सदैव संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको र राष्ट्र राष्ट्रियता र संविधानमाथि धावा बोल्ने जो कोहीका विरूद्ध दृढ भएर उभिने बताउनुभयो ।

उहाँले एमालेको नेतृत्वमा भएका विकास निर्माणका कामबाट आम जनता जानकार रहेको बताउनुभयो । एमाले पोलिटब्युरो सदस्य लीला गिरीले एमाले संविधान, राष्ट्र, राष्ट्रियता र समृद्धिका पक्षमा आवाज बुलन्द गर्दै आएको उल्लेख गर्दै अहिले संविधान सङ्कटमा परेको बेला सडकमा आउनुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।

युवा सङ्घका पूर्वउपाध्यक्ष राजु गुरुङले जेनजी आन्दोलनको आवरणमा मुलुकका राष्ट्रिय सम्पदा, एमालेका पार्टी कार्यालय, व्यापारिक प्रतिष्ठान, नेता तथा कार्यकर्ताका निजी सम्पत्तिलगायतमा छानी छानी आगजनी र तोडफोड गरिएको बताउदै त्यस्ता व्यक्तिलाई कारवाही गर्नुपर्ने माग राख्नुभयो ।

एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले गत भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन प्रहरी प्रशासनलाई आग्रह गर्नुभयो ।

युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले अस्ट्रेलिया र नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव कार्यक्रममा आज सरिक हुनुभएको छ ।

नेपालस्थित अस्ट्रेलियाली राजदूतावासले काठमाडौँमा आयोजना गरेको समारोहमा उहाँले दुई देशबीचको पारस्परिक सम्मान, दिगो मित्रता र साझा लोकतान्त्रिक मूल्यमा आधारित साझेदारीको स्मरण गर्दै नेपाल सरकार तथा नेपाली जनताको तर्फबाट अस्ट्रेलियाका जनताप्रति हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भन्नुभयो, “यस आन्दोलनले हाम्रो युवा पुस्ताले जवाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन चाहन्छ भन्ने स्पष्ट सन्देश दियो। मेरो सरकारले यी लक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ र यसैअन्तर्गत हामी आगामी फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारी गरिरहेका छौँ ।”

अस्ट्रेलियाबाट प्राप्त मैत्रीभाव, विकास सहायता तथा लोकतान्त्रिक र समावेशी रूपान्तरणप्रतिको समर्थनलाई उहाँले अत्यन्त मूल्यवान भन्दै प्रधानमन्त्री कार्कीले कृतज्ञता पनि व्यक्त गर्नुभयो ।

नेपाल र अस्ट्रेलियाबीचमा औपचारिक सम्बन्ध स्थापना भएदेखि नै निरन्तर मित्रता सुदृढ हुँदै आइरहेको बताउँदै उहाँले शिक्षा, व्यापार, विकास र संस्कृतिसहितका महत्त्वपूर्ण क्षेत्रमा दशकौँदेखिको सहकार्यका लागि आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको विकास यात्रामा अस्ट्रेलिया एक विश्वस्त साझेदार रहँदै आएको छ । शिक्षा, स्वास्थ्य, सुशासन, ग्रामीण विकास र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा प्राप्त सहयोगले हाम्रो राष्ट्रिय प्रगतिमा महत्त्वपूर्ण योगदान पुगेको छ ।”

नेपाल र अस्ट्रेलियाले विभिन्न अन्तरराष्ट्रिय तथा बहुपक्षीय मञ्चमा एकअर्कालाई समर्थन गर्दै आएको सन्दर्भ अगाडि सार्दै उहाँले यसबाट दुई देशबीचका साझा मूल्य र हितलाई प्रस्ट पारिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालले क्षेत्रीय तथा विश्व शान्ति र स्थिरतालाई अत्यन्त महत्त्व दिन्छ र विश्वलाई सुरक्षित तथा समृद्ध राख्न अस्ट्रेलियाले खेलेको सकारात्मक भूमिकाको उच्च प्रशंसा गर्दछ ।”

हजारौँ नेपाली विद्यार्थीले अस्ट्रेलियाका विश्वविद्यालयमा उच्च शिक्षा हासिल गरेको र आज पनि उनीहरू नेपाल र अस्ट्रेलिया दुवै देशको प्रगतिमा योगदान गरिरहेको उल्लेख गर्दै उहाँले थप्नुभयो, “अस्ट्रेलियामा बसोबास गर्ने करिब दुई लाख नेपाली हाम्रो दुई देशबीच जीवन्त सेतु बनेका छन्, जसले हाम्रो सम्बन्धमा थप निकटता र आत्मीयता जोडेको छ ।”

पर्यटन, प्रविधि तथा नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्दै नेपालमा बढाइरहेको लगानीप्रति उहाँले प्रशन्नता पनि व्यक्त गर्नुभयो । “अस्ट्रेलियासँगको बढ्दो व्यापार र लगानीका लागि हामी कृतज्ञ छौँ, उहाँले भन्नुभयो, “नेपाल सन् २०२६ मा अति कम विकसित देशको श्रेणीबाट स्तरोन्तति हुने लक्ष्य पूरा गर्न द्रुतगतिले अघि बढिरहेको छ । यस महत्त्वाकांक्षी राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रदान भइरहेको अस्ट्रेलियाको निरन्तर सहयोग हामी कृतज्ञतासाथ स्वीकार गर्छौँ ।”

नेपाल–अस्ट्रेलिया सम्बन्धलाई अझ सुदृढ बनाउन राजदूत लियान जोन्स्टनले दिनुभएको योगदानप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँको समर्पण तथा व्यक्तिगत सङ्लग्नताले दुई मुलुकबीचको आपसी समझदारी र सहकार्यमा उल्लेखनीय प्रगति ल्याएको प्रधानमन्त्री कार्कीले बताउनुभयो ।

कार्यकाल समाप्त भई अस्ट्रेलिया फर्कँदै गर्दा आगामी जिम्मेवारी सफल एवं सार्थक हुन सकून भन्दै राजदूत जोन्स्टनलाई शुभकामना पनि दिनुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “नेपाल–अस्ट्रेलिया मैत्रीपूर्ण सम्बन्धलाई निरन्तर समर्थन गरिरहनुहुनेछ भन्ने आशा गर्दछु । नेपाल र अस्ट्रेलियाबीचको मित्रता पुस्तौँ–पुस्तासम्म अझ प्रगाढ र समृद्ध बन्दै जाओस् ।”

आज देशका ७७ जिल्लामा एमालेका सभा सम्पन्न

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताउनुभयो । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गर्नुभएको छ ।

उहाँका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गर्नुभएको छ । यसैगरी रुपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको विर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गर्नुभएको छ ।

एमालेले भदौ २३ र २४ मा ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिनुभयो । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उहाँले बताउनुभयो ।

यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ ।

‘एमाले चुनाव विरोधी र चुनावबाट विचलित हुने पार्टी होइन’

गुल्मी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताहरूले आफ्नो पार्टी चुनावविरोधी नभएको बताएका छन् । एमालेले गुल्मीद्वारा आज सदरमुकाम तम्घासमा आयोजना गरेको कार्यक्रममा नेताहरूले एमाले चुनावबाट विचलित हुने र के परिणाम आउँछ भनेर आत्तिने पार्टी नभएको भन्दै चुनावका लागि सरकारले निष्पक्षता र भयरहित वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्णराज बिष्ट र नेत्री रामकुमारी झाँक्रीले सरकारले दलहरूलाई ढुक्कसँग मतदातासँग जान र मतदाताले पनि ढुक्कसँग मतदानस्थलसम्म पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

उपमहासचिव ज्ञवालीले संसद् विघटनपछि देश शून्यतामा पुगेको आरोप लगाउँदै भदौ २३ र २४ को प्रदर्शनमा जेनजीका भावना र कलिला काँधमा चढेर देशलाई खरानी बनाउन अपराधीहरूले प्रतिगामी षडयन्त्र गरेको बताउनुभयो ।

सचिव विष्टले लोकतन्त्रको विकल्प हुन नसक्ने भन्दै कार्यकर्तालाई निराश नबनी पार्टीमा थप ऊर्जाशील भएर लाग्न आग्रह गर्नुभयो । नेत्री झाँक्रीले सरकारले निर्वाचनको वातावरण बनाउन नसके राष्ट्रिय सहमतिमा प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने धारणा राख्नुभयो ।

पशुपति क्षेत्रमा बालाचतुर्दशीको तयारी सुरु,गरगहना र छालाका जुत्ता–चप्पल नलगाउन आग्रह

काठमाडौँ, २९ कात्तिकः विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ । बाला चतुतर्दशीका लागि बत्ती, पाल, शतबीज मार्ग व्यवस्थापनलगायत तयारी सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तयारीका लागि सरोकार भएका निकायसँग बैठक गरी कामको बाँडफाँट गरिएको छ ।

दिवङ्गत पितृको सम्झनामा आफन्तजनबाट मङ्सिर २ गते मङ्गलबार रातभर दीप प्रज्वलन गरी भोलिपल्ट बुधबारका दिन शतबीजारोपणलाई व्यवस्थित रूपमा गर्न तयारी सुरु गरिएको हो ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृको स्मरणमा बत्ती बाली चतुर्दशीका दिन बिहान शतबीज छर्ने परम्परा छ । मन्दिर प्राङ्गणको चारैढोका र पश्चिम मूल ढोकासहित बाहिरी परिसरको प्रवेशद्वारमा दीप प्रज्वलन गरी राख्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

बत्ती बाल्न र रातभर जाग्रामका लागि पालभित्र र उपलब्ध हुन सक्ने अन्य स्थानसमेत कोषको तर्पmबाट निःशुल्क उपलब्ध गराइने भएको छ । कसैले पनि शुल्क उठाउन नपाउने गरी कडा निर्देशन दिइएको निमित्त सदस्य सचिव सुभाषचन्द्र जोशीले जानकारी दिनुभयो ।

मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्र र ढुङ्गा छापेको, पीच गरेको स्थानमा शतबीज नछर्न र सकेसम्म उम्रने खाली ठाउँमा मात्र छर्न भक्तजनलाई अनुरोध गरिएको उहाँले बताउनुभयो ।

यस अवसरमा मादक पदार्थ एवम् नशालु पदार्थ बिक्री वितरण तथा उपभोग गर्न निषेध गरिएको छ । यसको अनुगमनका लागि कडा व्यवस्था मिलाइएको कोषले जनाएको छ । भक्तजनलाई महङ्गा र भड्किला गरगहना एवम् छालाका जुत्ता–चप्पल नलगाउन पनि आग्रह गरिएको छ ।

कोषका अनुसार खोजखबर कक्षको सञ्चालन, सञ्चारको प्रभावकारिताका लागि नेपाल टेलिकम र एनसेलबाट विशेष व्यवस्था मिलाइएको छ भने प्रहरी शिविरसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर राखी प्राथमिक उपचारको व्यवस्था मिलाइने भएको छ । खानेपानी तथा नुहाउने व्यवस्था गर्न कोषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरी आवश्यक व्यवस्था मिलाइने भएको छ ।

कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, किराँतेश्वर, वनकाली, आर्यघाट, मृगस्थली, विश्वरुपलगायत जङ्गलमा पर्ने शतबीज मार्ग एवम् नमोबुद्धमा समेत पर्याप्त बत्तीको व्यवस्था गरिएको र त्यसका लागि नेपाल विद्युत् प्राधिकरणको सहयोग लिई ‘लोड सेडिङ्ग’ नहुने गरी व्यवस्था मिलाइने निमित्त सदस्य सचिव जोशीले बताउनुभयो ।

कांग्रेस कावा सभापति खड्काद्वारा एकताबद्ध भएर धैर्यता राख्न आग्रह

काठमाडौँ, २९ कात्तिकः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एकताबद्ध भएर पार्टीको वर्तमान मर्मलाई बुझी दिइ धैर्यता राख्न आग्रह गर्नुभएको छ ।

उहाँले आज समाजिक सञ्जालमार्फत आफूप्रतिका टिप्पणीहरुलाई सदा सम्मान गरिरहने र त्यस्ता टिप्पणी नै आफ्ना लागि शक्ति र मार्गदर्शन हुने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “इतिहासमै देश र पार्टीमाथि देखिएको प्रतिकूल अवस्थालाई ध्यानमा राखेर निर्णय गर्न केही समय ढिला भए पनि, हतारमा निर्णय गरेर पछि पछुताउनुभन्दा, पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको छ ।”

कावा सभापति खड्काले पार्टीलाई एकताबद्ध राखेर प्रतिकूल समयको पदचापलाई सामना गर्न, विगतका गल्ती–कमजोरी स्वीकारी जनतासँग माफी मागेर विगतमा जस्तै समाधानको नेतृत्व फेरि एकपटक कांग्रेसले लिन सक्ने गरी पार्टीको उपयुक्त निर्णय गर्न समय लागेको स्पष्ट पार्नुभएको छ ।

दलहरुबीचको एकता र विभाजन के निर्वाचन लक्षित मात्रै हो ?

काठमाडौँ, २९ कात्तिकः जेनजी आन्दोलनपछिको राजनीति परिस्थिति र आमनिर्वाचन घोषणा भएसँगै पछिल्लो समय मुलुकका राजनीतिक दलभित्र विभाजन र एकताको लहर चलेको छ । विभाजन र एकताका शृङ्खला पुराना राजनीतिक दलमा नभई पछिल्लो समय वैकल्पिक शक्तिका रुपमा उदाएका दलहरुमा दोहोरिएको छ ।

त्यति मात्रै होइन, भ्रष्टाचार र बेथिति अन्त्यलगायत मुद्दा सारेर आन्दोलनमा होमिएका जेनजीका प्रतिनिधिबीच पनि कतिपय विषयमा मतैक्यता छैन । विशेषगरी शासकीय स्वरुप, संविधान संशोधन, निर्वाचन प्रणालीलगायत विषयमा उनीहरुबीच पनि फरक मत छ ।

खासगरी दलहरुबीचमा वैचारिक दृष्टिकोणभन्दा पनि तत्कालको परिस्थितिबाट फाइदा लिने अभिप्रायका साथ विभाजन र एकताका घटनाक्रम देखिएको विश्लेषकको भनाइ छ ।

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति र जनमत पार्टीबाट केही नेताहरु अलग्गिएर पार्टी तथा नयाँ राजनीतिक शक्ति निर्माणमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न १० राजनीतिक दल र राष्ट्रिय राजनीतिमा चर्चामा रहेका केही नेता मिलेर नेपाली कम्युनिष्ट पार्टी गठन भइसकेको छ । विभाजन र एकताको शृङ्खलामा विगतमा झँै यसपटक पनि वामपन्थी विचारधाराका दलहरु नै अग्रस्थानमा छन् ।

वरिष्ठ अधिवक्ता रामनारायण बिडारी यस परिघटनालाई निर्वाचन लक्षित कार्यक्रमका रुपमा हेर्नुहुन्छ । “निर्वाचन घोषणा भएको हुनाले परिणाम आफ्नो पक्षमा पार्न दलहरु जुट्ने र विभाजन हुने यो निर्वाचन लक्षित कार्यक्रम मात्रै हो । यो असैद्धान्तिक छ, सिद्धान्त, विचार र दृष्टिकोणमा एकता देखिन्न”, उहाँले भन्नुभयो ।

यसलाई सबै दलमा बढिरहेको असन्तुष्टि तथा जेनजी आन्दोलनपछि नेताहरुमा देखिएको विचलित र त्रसित मानसिकताको उपजका रुपमा हेरिनुपर्ने उहाँको मत छ ।

पछिल्लो समय राजनीतिक दल पुनः गठन गर्ने भन्दै आफ्नो दल त्यागेका नेताहरु फेरि नयाँ दल सिर्जना गर्ने अभियानमा विभिन्न कोणबाट छलफलमा जुटेका देखिन्छन् । सो क्रममा माओवादीबाट अलग्गिएर प्रगतिशील राष्ट्रिय अभियान सञ्चालन गर्नुभएका नेता सुदन किराँती, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजक दुर्गा सोब र रास्वपा छाडेका नेता सन्तोष परियारबीच आगामी मङ्सिर पहिलो साता पार्टी एकता घोषणा गर्ने सहमति भइसकेको छ । साथै जेनजीका अगुवामध्येका एक मिराज ढुङ्गानाले पनि पार्टी गठन गर्ने भन्दै पत्रकार सम्मेलन नै आयोजना गरिसक्नुभएको छ । यद्यपि उहाँले निर्वाचन आफूहरुको माग र प्राथमिकता नभएको उल्लेख गर्दै विकास र सुशासन पहिलो सर्त भएको बताउनुहुन्छ ।

अधिकारकर्मी डा राधा पौडेललाई भने राजनीतिक दलमा देखिएको फुट र जुट ‘रमिता’ जस्तो लागेको छ । “जेनजी विद्रोह र भोलिपल्टको घटनाभित्र लुकेका अन्तरनिहित कारण र आयामलाई जोड्नुपर्नेमा यसमा राजनीतिक दल चुके”, उहाँ भन्नुहुन्छ, “त्यो कार्यभारप्रति ध्यान नदिएर दलमा एकता र विभाजन देखिएको छ । यसले हामीलाई कहीँ पनि पु¥याउँदैन ।”

दलहरुमा आन्तरिक लोकतन्त्र कमजोर भएको र उनीहरुले आशा दिलाउन नसक्दा आफैँमा टुटफुटको अवस्थामा पुगेको उहाँको भनाइ छ । मुलुकमा देखिएको बेथितिको कारणबारे एकरुपता नदेखिँदा ‘बिरामी एउटा छ, उपचार अर्को’ जस्तो भइरहेको अधिकारकर्मी पौडेलको टिप्पणी छ ।

निर्देशक कार्की र संगीतकार शर्माको सहकार्यमा तयार भयो बालखैमा दिल बस्यो गौथली २

काठमडौँ । बालखैमा दिल बस्यो गौथलीको सफलतापछि बालखैमा दिल बस्यो गौथली २ सार्वजनिक भएको छ । बालखैमा दिल बस्यो गौथलीको भिडियोलाई ६ करोड भन्दा बढी पटक दर्शकको माया पाएसँगै निर्माण पक्षले यसको भाग २ बजारमा ल्याएको हो । जसमा बालगायक निश्चल अधिकारीको स्वर तथा दीपक शर्माको शब्द तथा संगीत सृजना रहेको छ ।

नरेन्द्र वियोगीको एरेन्ज मिक्सिगं तथा मास्टरिगं रहेको गीतमा बालकलाकारद्धय आलोक चौरेली र आयुषा ढकालको लोभलाग्दो अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतको भिडियोमा उज्जवल भविष्यको संभावना खोज्दै दुर दराजको गाउँबाट शहर पसेको एउटा बालकले भोग्नु परेको असहज परिस्थितीलाई भिडियोमा देखाइएको छ । जहाँ उस्तै उमेरकी आयुषीले आलोकले भोगेको परिस्थितीलाई सहजीकरण गर्दै स्कुल पढ्नेसम्मको वातावरण बनाइएको सन्देश मुलक र नेपाली समाजमा व्याप्त कथालाई कलात्मक शैलीमा लोकप्रिय युवा निर्देशक प्रहील कार्कीले भिडियोमा देखाएका छन् ।

भिडियो रिलिज भएसँगै संगीतकार शर्माले आफ्नो पछिल्लो सृजनामा आशा बोकेको गीत बनेको बताए । बाल्यकालदेखि नै गायनमा क्रियाशिल गायक निश्चलको अफिसियल युट्युब च्यानल निश्चल अधिकारीबाट बजारमा ल्याएका हुन् । काठमाडौँका विभिन्न रमणीय स्थानमा खिचिएको भिडियोको छायांकन राजेश घिमिरे र केही भाग योगेन थापाले गरेका हुन् । सार्वजनिक गीतको भिडियाको सम्पादन माधव वेल्वासेले गरेका हुन् ।

गण्डकी प्रदेशसभा : गाँजाखेतीसम्बन्धी विधेयक विषयगत समितिमा

गण्डकी, २९ कात्तिक : गण्डकी प्रदेशसभामा सामान्य छलफलपछि संशोधन प्रस्तावसहित ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन गर्न बनेको विधेयक’ दफावार छलफलका लागि विषयगत समितिमा पठाइएको छ ।

यही कात्तिक २४ गते बसेको प्रदेशसभा बैठकमा प्रस्तुत भएको उक्त विधेयकमा दुई जना प्रदेशसभा सदस्यबाट संशोधनको सूचना प्राप्त भएको थियो ।

शुक्रबारको प्रदेशसभा बैठकले संशोधन प्रस्तावसहित उक्त विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले जानकारी दिनुभयो । विषयगत समितिमा दफावार छलफपछि पुनः प्रदेशसभामा बैठकमा छलफल भएपछि विधेयक पारितको प्रक्रिया अगाडि बढ्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

लागुऔषधसम्बन्धी सङ्घीय ऐन र अन्य प्रचलित कानुनसँग नबाझिने गरी गाँजाखेतीसम्बन्धी कानुन बनाउने तयारीमा प्रदेश सरकार छ । प्रदेशसभामा प्रस्तुत भएको भइसकेको उक्त विधेयकमा गाँजाखेती र व्यवसायका लागि कडा प्रावधान राखिएको छ । प्रदेश सरकारले गाँजाखेतीसम्बन्धी नौ प्रकारका इजाजत दिनेगरी विधेयकको तयार पारेको हो । जसमा प्रतिव्यक्ति निवेदन दस्तुरको रु पाँच हजारदेखि खरिद बिक्रीसँगै आयात–निर्यातका लागि रु एक करोड ५० लाखसम्म तिरेर अनुमति लिनुपर्ने पाउने व्यवस्था गरिएको छ ।

गाँजाखेतीका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अनुमति लिनुपर्ने र सोको अन्तिम निर्णय गर्ने अधिकार मुख्यमन्त्रीमा रहने गरी विधेयकमा प्रस्ताव गरिएको छ । अनुमतिबिना गाँजाखेती, ओसारपसार र बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । गाँजाजन्य पदार्थको विज्ञापन गर्न नपाइने तर रेशाबाट बनेका कपडा, तेलजस्ता औद्योगिक उत्पादनको भने विज्ञापन गर्न पाइने व्यवस्था विधेयकमा गरिएको छ । गाँजाखेती व्यवस्थापन र नियमनका लागि शक्तिशाली ‘गाँजा नियमन बोर्ड’ गठनको प्रस्ताव गरिएको छ ।

नेपालको निर्वाचनमा सक्दो सहयोग गर्ने चीनकाे प्रतिबद्धता

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन् सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकोमा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए ।

शुक्रबार साँझ मूलधारका प्रमुख सञ्चारमाध्यमका प्रमुख तथा सम्पादकहरूसँग भएको छलफलमा उनले ‘नेपालमा व्यापार, लगानी, औद्योगिक ‘पार्क’ निर्माणलगायत सबैतिर प्रगति भएको छ, केही आयोजनामा केही विलम्ब हुनु अस्वभाविक होइन’, भने । ‘बिआरआई परियोजनामा प्रगति भएको छ । ती सबै प्रशासनिक प्रक्रियामा छन्, तिनको सफल कार्यान्वयनका निम्ति स्थायी सरकार अपरिहार्य छ । आगामी चुनावपछि बन्ने सरकारबाट ती परियोजना द्रुतगतिमा कार्यान्वयन हुनसक्छन्,’ राजदूत छनले भने, ‘हामी  अन्तरिम सरकारसँग पनि निकट सम्पर्क र समन्वयमा काम गरिरहेका छौँ, तर यो सरकारको ‘म्यान्डेट’ आमनिर्वाचन गराउनुभएकाले हामीले निर्वाचनलाई नै प्राथमिकतामा राखेर काम गरिरहेका  छौँ ।’

चीनले हालै सार्वजनिक गरेको पञ्चवर्षीय योजनाको नेपाललगायत सबै छिमेकीका निम्ति आर्थिक विकासको ढोका खोल्ने जानकारी दिँदै चिनियाँ राजदूतले नेपालको आवश्यकताअनुसार योजना तर्जुमा गरिएको बताए ।

‘नेपालका कृषि उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउने परियोजनामा काम भइरहेको छ, हाम्रो तयारी अन्तिम चरणमा पुगेको छ’, पञ्चवर्षीय योजनाका विशेषताबारे जानकारी दिँदै राजदूत छनले भने । ती योजना चीन र नेपालका निम्ति वरदान सावित हुने उनको कथन छ ।

नेपालको राजनीति स्थायित्व, विकास र समृद्ध नै चीनको चाहना भएको दोहोर्‍याउँदै उनले अन्तरिम सरकारसँग निकट सम्पर्कमा रहेर चीनले काम गरिरहेको बताए । रणनीतिक योजना तथा भरपर्दो विकास साझेदारको अभावमा नेपालको विकास सुस्त गतिमा भएको विश्लेषण सुनाउँदै उनले नेपालको विकासमा सघाउन चिनियाँ पञ्चवर्षीय योजनामा नेपालको विकासका परियोजना पनि समाहित गरिएका जानकारी दिए । अन्य छिमेकीलाई पनि सघाउने परियोजना १५औँ पञ्चवर्षीय योजनामा समेटिएका उनले बताए ।

ताइवान, हङकङ र मकाउ चीनका अभिभाज्य भूभाग हुन् भन्ने मान्यतालाई नेपालका सबै सरकारले स्वीकार गरेर एक चीन सिद्धान्तप्रति अटल ऐक्यबद्धता जनाएर तदनुरूप व्यवहार गरेकामा आभार व्यक्त गर्दै चिनियाँ राजदूतले चीन र नेपालबीचको मैत्री सधैँ सुमधुर छ भने ।

चीन–नेपाल सम्बन्धलाई प्रभावित पार्ने विषयप्रति जेनजी अगुवाहरूको पनि विमति नरहेको आफूले पाएको उनको भनाइ छ ।  एक प्रश्नको जवाफमा राजदूत छनले चीन र नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्य गर्दै आएको, दुवै देशले संयुक्त राष्ट्रसङ्घलाई केन्द्रमा राखेका, विधिमा आधारित विश्व व्यवस्थालाई मानेको बताए ।

निर्वाचनको वातावरण बनिसकेको छः सञ्चारमन्त्री

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनको वातावरण बनिसकेको बताएका छन् ।

दक्षिण कोरिया भ्रमणमा रहेका सञ्चारमन्त्री खरेलसँग नेपाल पत्रकार महासङ्घ दक्षिण कोरिया शाखाले शुक्रबार गरेको साक्षात्कारमा मन्त्री खरेलले निर्धारित मितिमै निर्वाचन हुने विश्वास व्यक्त गरे ।

‘फागुन २१ मा निर्वाचन गर्छौं, निर्वाचनका लागि वातावरण बनिसकेको छ,’ सञ्चारमन्त्री खरेलले भने, ‘भयरहित निर्वाचनका लागि सुरक्षाको वातावरण पनि बनिसकेको छ । नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले निर्वाचनमा भाग लिन्नौँ भनेका छैनन् । केही दलले निर्वाचनका लागि सुरक्षाको वातावरण बनाउनुपर्छ भनेर चासो देखाएका छन् ।’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले निर्वाचनका लागि सरकार र राजनीतिक दलले वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेन्जी आन्दोलनको जगमा बनेको अन्तरिम सरकारको मुख्य प्राथमिकता निर्वाचनसँगै सुशासन कायम, भ्रष्टाचार नियन्त्रण तथा रोजगारी र नवप्रवर्द्धन भएको उल्लेख गरे ।

मन्त्री खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नै नेपालको भविष्य भएको बताए । उनले डिजिटल रूपान्तरमा संसारको प्रतिष्ठित मुलुक कोरियाबाट ज्ञान, सीप अनुभव हासिल भएको तथा नेपालले भर्खरै राष्ट्रिय एआई केन्द्र स्थापना गरेको सन्दर्भमा एआईको विस्तारका लागि कोरिया सरकारबाट थप सहयोगको अपेक्षा गरे ।

विदेशमा रहेका नेपालीको नेपाल बनोस, शान्ति, स्थिरता र सुशासन प्रवद्र्धन होस् भन्ने चाहना रहेको मन्त्री खरेलले उल्लेख गरे । उनले भने, ‘तपाईंहरूमा देश बनोस् भन्ने भावना छ । यो सरकारलाई नराम्रो गलत गर्ने छुट्टै छैन, व्यवहारिक रूपमा कति गर्न सकिन्छ थाहा छैन तर नराम्रो चाही अवस्य गरिने छैन । पाँच महिनाको अवधिमा केही थितिहरू बसाल्छौँ ।’

सञ्चारमन्त्री खरेलले सरकार संविधानको जगमा गठन भएको तथा नेपालका सबै राजनीतिक दलहरूले मान्यता दिएको र अन्तरराष्ट्रिय समुदायको पनि समर्थन रहेको भन्दै जेनजीको भावनाअनुरूप निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे छलफल गरिने विश्वास दिलाए । उनले आगाडि थपे, ‘निर्वाचन प्रणालीमा सुधार गर्नैपर्छ । शासकीयस्वरूप कस्तो बनाउने सर्वपक्षीय छलफल गरेर निर्वाचन प्रणाली कम खर्चिलो बनाएर लैजानुपर्नेछ । विदेशमा रहेका नेपालीलाई मतदान गर्ने प्रबन्ध मिलाउनका लागि कानुनी प्रक्रिया सुरु गरिएको छ, अध्यादेश ल्याएर भए पनि यो व्यवस्था गरिने विश्वास दिलाउँदछु ।’

मन्त्री खरेलले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को दक्षिण कोरियामा सिधा उडानका लागि आवश्यक पहल गरिने बताए । महासङ्घ दक्षिण कोरिया शाखाका कार्यवाहक अध्यक्ष सन्तोष खड्काले कोरियामा रहेका नेपालीको समस्या सहजीकरण र दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावासका द्वितीय उपाध्यक्ष जेमिन अधिकारीले नेपालीको हकअधिकार तथा नेपाल र कोरियाबीचको सम्बन्ध बलियो बनाउ दूतावासले काम गरिरहेको उल्लेख गरे ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीको महिला उपाध्यक्ष जुनु गुरुङले कोरियामा रहेका श्रमिकहरूको समस्यालाई सहजीकरण गर्न, समस्यामा परेका नेपालीलाई सहयोगलगायतमा समन्वय गरिरहेको जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा पर्यटनलगायत क्षेत्रमा लगानी गर्न र आर्थिक लगानी भित्र्याउने वातावरण बनाउन सुझाएका थिए । जेन्जीको भावनाबमोजिम सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने उनीहरूको सुझाव छ ।

साथै जेन्जीका माग पूरा गराउन पहल गर्न तथा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्थाका लागि पहल गर्न सञ्चारमन्त्रीसमक्ष आग्रह गरे । दक्षिण कोरियामा रोजगारी, व्यापार, अध्ययनलगायतमा झण्डै एक लाख नेपाली रहेको बताइन्छ ।

दक्षिण कोरियाको सिओलमा आयोजना भएको ११ औँ ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुन सञ्चारमन्त्री खरेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही कात्तिक २५ गते दक्षिण कोरिया गएका थिए । कोरियाको विज्ञान र आइसिटी (एमएसआइटी) मन्त्रालय तथा नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (एनआइए)सँगको संयुक्त आयोजनामा सिओलमा आइसिटी लिडरसिप फोरम आयोजना गरिएको हो ।

‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक

काठमाडौं । एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’को दोस्रो गीत ‘कुटु कुटु कस्तो माया लाग्यो बरिलै’ सार्वजनिक गरिएको छ ।शुक्रबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका दुई मुख्य कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत रोमान्टिक अवतारमा प्रस्तुत छन् । अभिनेता खगेन्द्र लामिछाने पहिलो पटक ‘हर्ष’मा रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

सार्वजनिक गीतको भिडियोमा सुनिल क्षेत्रीको कोरियोग्राफी हेर्न सकिन्छ । गीतको भिडियोले दर्शकलाई सिनेमाप्रति उत्साह पैदा गर्न सफल देखिन्छ । एलिस कार्कीले कम्पोज गरेको यो गीतमा सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर छ । नीरकमल खड्का (मामल)को शब्द रचना रहेको गीतमा एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग शैलेन्द्र एम प्रधान (बाबु) को छ ।

गायक सनिश श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल सिजन २’ बाट चर्चाका आएका थिए । त्यसपछि गुमनाम जस्तै देखिएका गायक श्रेष्ठ आगामी मंसिर १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’बाट पाश्र्व गायनमा प्रवेश गरेका हुन् । यो गीतले आफुलाई संगीतमा स्थापित गर्ने विश्वास उनको छ ।

निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

सुदूरपश्चिममा वन उपभोक्ता समूहको आन्दोलन स्थगित, समस्या समाधानका लागि १३ सदस्यीय कार्यदल गठन

कञ्चनपुर, २९ कात्तिक : सुदूरपश्चिम प्रदेशका वन उपभोक्ता समूहहरूले घोषणा गरेको प्रदेशव्यापी आन्दोलन स्थगित गरेका छन् । वन उपभोक्ता समूह सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा भएको छलफलपछि आन्दोलन रोक्ने निर्णय गरेको हो ।

मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको अध्यक्षता र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा भएको छलफलमा समितिबाट प्रस्तुत २८ बुँदे माग सम्बोधन गर्ने सहमति बनेपछि आन्दोलन स्थगित गरिएको सामुदायिक वन सहजीकरण समिति कञ्चनपुरका पुनाराम चौधरीले बताउनुभयो ।

उहाँका अनुसार छलफलमा प्रदेश सरकारले दिगो वन व्यवस्थापन (सिल्भीकल्चर सिस्टम) कार्यविधि एक महिनाभित्र तयार गरी स्वीकृत गर्ने प्रतिबद्धता जनाएको छ । साथै सबै २८ बुँदे मागका विषयमा समाधान खोज्न १३ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको छ ।

कार्यदलको संयोजकमा प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्ट रहेका छन् । कार्यदलमा साझेदारी वन उपभोक्ता महासङ्घ नेपाल, सामुदायिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ, वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासङ्घ, वन सम्पदा राष्ट्रिय महासङ्घ, सामुदायिक वन उपभोक्ता महासङ्घ, सामुदायिक वन समन्वय समिति, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, सामुदायिक वन सहजीकरण समिति, डिभिजनल वन अधिकृत, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रका प्रमुख, वन व्यवस्थापन महाशाखा प्रमुख सदस्य तथा मन्त्रालयको वातावरण महाशाखा प्रमुख सदस्य सचिव रहने निर्णय गरिएको छ ।

कार्यदलले प्रदेशभरका वन क्षेत्रसँग सम्बन्धित समस्याहरूको अध्ययन गरी एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्नेछ । सो प्रतिवेदनका आधारमा मागहरूको कार्यान्वयनका लागि प्रदेश सरकारले लिखित निर्णय गर्ने सहमति भएको छ ।

यही प्रतिबद्धता प्राप्त भएपछि कात्तिक ३० गतेदेखि सुरु गर्न भनिएका सबै आन्दोलनका कार्यक्रमहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको समन्वय समितिद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिमा समेत उल्लेख छ । सामुदायिक वन सहजीकरण समिति कञ्चनपुरका पुनाराम चौधरीका अनुसार, सरकारबाट आएको प्रतिबद्धताले समुदायमा सकारात्मक सन्देश गएको छ । “समस्यामा छिटो निकास आउने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

जेनजी आन्दोलनका अमर प्रहरी राय

काठमाडौँ, २९ कात्तिक : जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति ! मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहनुभएकी उहाँले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु भएको १२ः०० बजेतिर मोटरसाइकल जलेको र आफू सटरभित्र सुरक्षित रहेकाले कुनै ‘तनाव’ नलिउ भनेर आश्वस्त पार्नुभयो ।

जापानको एक रेष्टुराँमा कार्यरत मङ्गलाले ‘ड्युटी’मा रहँदा पनि नेपालको अवस्थाबारे छिनछिनमा जानकारी लिइराख्नुभएको थियो । आन्दोलनले उग्ररूप लिइरहँदा उहाँको मन स्थिर हुन सकिरहेको थिएन । मङ्गलाले आफ्नो ‘ड्युटी’ सकेपछि पटक–पटक फोन गर्नुभयो तर उठेन । निरन्तरको प्रयासपछि एक हवल्दारले मिलनको निधन भएको कुरा सुनाउनुभयो ।

जेनजी आन्दोलनमा भएको घुसपैठको निशानामा सहायक निरीक्षक राय र जवान उत्तम थापा पर्नुभयो । उहाँ र जवान उत्तमलाई आन्दोलनकारी सडकमा ल्याएर कुटीकुटी पासविक तबरले हत्या गरियो ।

घटनाको वास्तविकता थाहा पाएपछि मङ्गलाले केही सोच्न सक्ने अवस्था थिएन । त्यसमाथि आन्दोलनकारीले वीभत्स तरिकाले मारेको थाहा पाउँदा मुटु भक्कानिन पुग्यो । धरती नै भासिएजस्तै भयो । मुटु छियाँछियाँ हुन पुग्यो । श्रीमान्लाई अन्तिम बिदाइ गर्न उहाँ भदौ २६ गते काजक्रियाका लागि काठमाडौँ आइपुग्नुभयो ।

यही वर्ष जापान जाने तयारीमा थिए मिलन

तीन जना दाजुभाइमध्ये कान्छो छोरा थिए मिलन । सानैमा बाआमा बितेपछि हजुरआमा र काकाको रेखदेखमा हुर्किनुभएका उहाँले सानैदेखि हन्डर खाएर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । सिन्धुलीको दूधौली–८ खोरभञ्जाङका मिलन २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरी भरतपुरमा तालिम सकिएपछि पहिलो पोष्टिङ जलेश्वर, ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज सरुवा हुनुभएको थियो ।

त्यसअघि काठमाडौँमा सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने सिलसिलामा धादिङ छत्र देउरालीकी मङ्गलासँग चिनजान भयो । दुवैको उमेर एउटै, काम एउटै । त्यही चिनजानले प्रेम २०८० फागुन २१ विवाहमा परिणत भयो ।

मङ्गला सम्झिनुहुन्छ, “लामो समयसम्म प्रेममा रहेर विवाह गरेका कारण एक–अर्कालाई नाम नै लिएर बोलाउँथ्यौँ । उसले पनि यही वर्षभित्रै प्रहरीको जागिर छोडेर जापान जाने सोच बनाएको थियो ।” करिब रु १२ लाख खर्च गरेर मङ्गला गत वैशाखमा मात्रै रोजगारीका सिलसिलामा जापान जानुभएको थियो ।

पढाइमा अब्बल, क्रिकेट र खानपिनमा सौखिन । काका केशव, हजुरबा र हजुरआमाको छत्रछायाँमा हुर्किनुभएका मिलन सबैको प्यारो थिए । परिवारको कान्छो सदस्य गुमाएपछि उमेरले पाका भइसकेका हजुरआमा र बाका आँखा ओभाना हुन सकेका छैनन् । “सानैमा बाआमा बिते, हामीले हुर्कायौँ । संरक्षकको रूपमा आफ्नै सन्तानसरह हुर्काएको थियौँ । उसको सम्झना त सधैँ मनमा रहिरहन्छ”, काका केशव मिलनलाई स्मरण गर्नुहुन्छ ।

जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका मिलनलाई सरकारले कात्तिक १७ गते सहिद घोषणा गरी अमर प्रहरीको सम्मान प्रदान गरेको छ । सहिद परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएबमोजिमको रु १५ लाख परिवारले प्राप्त गरिसकेको छ । साथै नेपाल प्रहरीले अमर प्रहरी मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउने छ ।

प्रहरी नायब निरीक्षकसमेत रहेका माइला दाजु हरिबाबु मिलनलाई आफ्नो भाइ मात्र होइन, एक असाध्यै मिल्ने साथीजस्तै ठान्दथे । कलिलैमा भाइ गुमाउँदा उहाँ विक्षिप्तजस्तै हुनुहुन्छ । भन्नुहुन्छ, “मैले भाइमात्र होइन असल साथी पनि गुमाएँ । सबै कामसँगै गर्ने । पेसा पनि एउटै रोजेका थियौँ । मेरो मुटुको टुक्रा थियो ऊ ।”

विद्यालयस्तरको पढाइमा पनि कक्षामा सधैँ पहिलो÷दोस्रो हुँदै आएका मिलनले क्याम्पसको पढाइ भने चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेज र बौद्धस्थित अरुणिमामा अध्ययन गरेको स्मरण गर्दै दाजु हरिबाबु भन्नुहुन्छ, “भाइलाइ असइमा भर्नाका लागि मैले पढेका किताब दिएँ, दिमाग तेजिलो थियो, दोस्रो पटकमा सफल भयो, साथीभाइसँग उ छिटो घुलमिल हुन्थ्यो ।”

प्रहरी सङ्गठनभित्र पनि एक इमान्दार, अनुशासित र असल चरित्रको परिचय बनाएका मिलन दिएको जिम्मेवारी ठीक ढङ्गले समयमै फत्ते गर्ने कर्तव्यनिष्ठ भएकाले हाकिमहरूको रोजाइमा पर्दैआउनुभएको थियो । भदौ २४ गते महाराजगञ्जमा आन्दोलनकारीबाट भाइको ज्यान लिइएको घटना सुन्न पर्दा सपनाजस्तै भएको बताउँदै नुवाकोटमा कार्यरत हरिबाबु भन्नुहुन्छ, “मेरो जीवनको साह्रै दुःखद् दिनका रूपमा रह्यो भदौ २४ !”

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आक्रमणबाट तीन प्रहरीको ज्यान गएको थियो । सो दिन प्रहरी जवान मिलनका साथै कास्कीका रूपा गाउँपालिका–५ का अमृत गुरुङ, दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापाको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको थियो ।

बुद्धशान्तिमा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाए

सुरुङ्गा (झापा) – झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११ : ३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय (इप्रका) बुधबारेमा जानकारी गराएका थिए ।

सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ ।

परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उहाँले केही समयदेखि डिप्रेसनको उपचार गराइरहनु भएको थियो । केही महिना अघिमात्र उहाँले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराउनुभएको थियो ।

देशभरको मौसम सफा रहने, पहाडी भूभागमा आंशिक बदली

काठमाडौँ, २९ कात्तिक : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६४, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (तराई) प्रतिकिलो रु ९०, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ६०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु १८०, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १६०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु १४०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु ११०, परबर (लोकल) प्रतिकिलो रु १००, परबर (तराई) प्रतिकिलो रु १००, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ११०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ९०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ८०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ८०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १५०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु ९०, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु १००, बकुला प्रतिकिलो रु १५०, तरुल प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु १००० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २५०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु ११०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु १२०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ८०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ८०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ११०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको स्थगित, अब मङ्सिर १ गते बस्ने

पाटन (ललितपुर) – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते आज शनिबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारी अनुसार शनिबार दिउँसो २ बजे बस्ने भनिएको बैठक आगामी मङ्सिर १ गते सोमबार दिउँसो २ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो ।

तीन वर्षमै दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा, २९ कात्तिक : नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिका सञ्चालन हुँदै आएको आँखा जाँच शिविरले तीन वर्षको अवधिमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीलाई शल्यक्रियामार्फत निःशुल्क उपचार गरेको छ ।

नगरपालिकाका २४ वटै वडामा आयोजित शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा जाँच गरिएको थियो, जसमा दुई हजार ५५३ जनामा मोतियाबिन्दु पहिचान गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिनुभयो ।

उहाँको अनुसार पहिचान भएका बिरामीमध्ये एक हजार ९७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीलाई खोजी गरी शीघ्र उपचार गर्ने तयारी भइरहेको छ । त्यस्तै, ५० वर्षभन्दा माथिका नागरिकमा मोतियाबिन्दुको समस्या धेरै देखिएको उहाँले बताउनुभयो ।

शिविर सञ्चालनका लागि लाग्ने प्रतिव्यक्ति पाँच हजार रूपैयाँ खर्चमध्ये आधा रकम लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन् । बिहीबार वडा नं २४ मा गरिएको शिविरमा ३३५ जनाको स्वास्थ्य परीक्षण हुँदा ९९ जनामा मोतियाबिन्दु फेला परेपछि तुरुन्तै अस्पताल ल्याई शल्यक्रिया गरिएको थियो ।

नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त’ बनाउन अभियान चलाइरहेको बताउनुभयो । “दियोको मुनि अँध्यारो रहनु हुँदैन भन्ने भावनाले हामी नगरवासीको आँखाको स्वास्थ्यमा विशेष ध्यान दिइरहेका छौँ,” उहाँले भन्नुभयो ।

अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाइरहेको उल्लेख गर्दै लहान नगरपालिकाको सहकार्यले सिरहा–सप्तरीका अन्य पालिकासमेतमा आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताउनुभयो ।

शिविरमार्फत जाँच र शल्यक्रिया पाएका दलित तथा विपन्न समुदायका नागरिकले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएर नयाँ जीवन दिएको जनाउँदै लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गरेका छन् ।

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा नेपाल नेत्रज्योति सङ्घको २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्रको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ।

महोत्तरीमा शीतलहर सुरु हुन पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी, २९ कात्तिक : बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुन पहिले नै पूर्व तयारी बढाएको हो ।

“मधेसमा शीतलहर वर्षौंपिच्छे भोग्दै आइएको समस्या हो, क्षति हुन थालेपछि यसको व्यवस्थापन बढी खर्चिलो र समाल्न धौधौ पर्ने हुन्छ”, समितिका अध्यक्ष तथा जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव भन्नुहुन्छ, “त्यसैले हामीले अहिलेदेखि नै पूर्वसचेतता र तयारीका काम थालेका छौँ ।”

समितिले जिल्लाका सबै नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, सामाजिक सङ्घसंस्था र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसहितको बृहत् बैठक सम्पन्न गरेर अहिलेदेखि नै क्षति हुन नदिनेगरी पूर्वतयारी थालेको उहाँको भनाइ छ । जिल्लामा यो समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने व्यवस्था छ ।

समितिले यसअघि शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा संस्थागत योगदान दिँदै आएका संस्थाहरू, विभिन्न व्यक्तित्व र निकायसँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार गर्ने निर्णय गरेको यादवले जानकारी दिनुभयो । यसरी प्राप्त हुने योजना समितिबाट स्वीकृत गरी कार्यान्वयनमा लगिने उहाँको भनाइ छ ।

जिल्लाका सबै गैरसरकारी संस्थाहरूलाई यस काममा अभिप्रेरित गर्दै स्थानीयतहसँगको सहकार्यमा शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोडिने समितिले जनाएको छ । समितिको यो बैठक बिहीबार नै सम्पन्न भएको हो ।

“समितिको निर्णय सबै स्थानीयतह र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको उपस्थितिमा भएको छ”, यादवले भन्नुभयो, “हामी बैठकका निर्णय र गरिन पर्ने पूर्वतयारीका कामबारे सम्बद्धपक्षसँग समन्वय गरेर अघि बढ्ने छौँ ।”

मधेसमा शीतलहरका बेला बर्सेनि मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिबालीमा समेत ठूलो परिमाणमा नोक्सानी हुँदै आएको छ । यसपालि शीतलहरका बेला आवश्यक पर्ने दाउराको प्रबन्ध अहिलेदेखि नै गर्न सम्बद्ध पक्षलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी यादव बताउनुहुन्छ ।

समितिले शीतलहरबाट जोगिन गरिने पूर्वतयारीसँगै गत असोज तेस्रो साताको बाढी तथा डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणको काम जिम्मेवार निकायले तत्काल प्राथमिकतासाथ सम्पन्न गर्न पर्ने निर्णयसमेत गरेको प्रजिअ यादवले बताउनुभयो ।

सकेसम्म घरमा नै बनाएको खाना खान चिकित्सकको सुझाव

कास्की, २९ कात्तिकः विश्व मधुमेह दिवस(नोभेम्बर १४) का अवसरमा शुक्रबार पोखरामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ ।पोखरा महानगरपालिका–५स्थित सूर्यचन्द्र विकास समाजले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा २०५ जनाको निःशुल्क मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको थियो ।

शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिनुभयो ।उहाँले सबैले मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गर्नुभयो । “सकेसम्म घरकै खाना खानुस्, कामका अनुपातमा खानुस् । अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेलाबेलामा जाँच गराउनुस्,” डा अधिकारीले भन्नुभयो ।

मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उहाँले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्ने भएको सुनाउनुभयो । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राख्नुयो ।

मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याई गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गर्नुभयो ।“मधुमेह लागेपछि पनि हेलचेक्र्याई गर्दा पाँच वर्षसम्म केही असर नदेखिन सक्छ । त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । पाँचदेखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधि शक्ति कम हुन्छ । १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अङ्गमा असर गर्न थाल्छ ।” अधिकारीले भन्नुभयो ।

कार्यक्रममा पोखरा–५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताउनुभयो । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने उल्लेख गर्नुभयो । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निःशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको बताउनुभयो ।

युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र सात ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ ।विभिन्न सङ्घसंस्थासँग सहकार्य र आफैँसमेतले शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २११ औँ रहेको अध्यक्ष पन्थको भनाइ छ ।

म्याग्दीको ताकममा सेनाको स्वास्थ्य शिविर : करिब दुई सय जना लाभान्वित

म्याग्दी, २९ कात्तिकः नेपाली सेनाको गुरु गोरख गुल्म अर्थुङ्गे ब्यारेकको आयोजनामा शुक्रबार म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा सम्पन्न भएको स्वास्थ्य शिविरमा करिब २०० जना लाभान्वित भएका छन् ।

धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलब पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको प्रर्वद्धक अपर म्याग्दी हाइड्रोपावरको सहयोगमा शिविर सञ्चालन भएको हो । शिविरमा ११३ जना महिला र ७१ जना पुरुष गरी १८४ जना लाभान्वित भएका गुरु गोरख गुल्मका गुल्मपति रामभोला खड्काले बताउनुभयो ।

नेपाली सेनाको श्री नं २३ फिल्ड एम्बुलेन्स गुल्म बागलुङका प्राविधिक सहसेनानी डा असिम भण्डारी, प्रादेशिक अस्पताल बेनीका डा सागरबाबु ढकाल, गुरु गोरख गुल्म र ताकम स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरणसम्बन्धी सेवा दिनुभएको थियो ।

दाँत, आँखा, कान, जनरल चेकजाँच तथा अन्य सेवा प्रदान गरिएको थियो । ताकम, धारापानी, हिलापोखरी, काफलडाडा, शिवाङ, मच्छिम, काफलडाडाका बासिन्दाले सेवा लिएका थिए । म्याग्दीको जिल्ला सदरमुकाम बेनी बजारदेखि ४५ किलोमिटर पश्चिममा रहेको ताकम घना बस्ति भएको वडा हो ।

सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरेर स्वाथ्य शिविर सञ्चालनका लागि नेपाली सेनालाई सहयोग गरेको अपर म्याग्दी हाइड्रोपावरका वरिष्ठ सामाजिक सुरक्षा प्रबन्धक सुरेश घलेले बताउनुभयो । उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी समेत दिनुभयो ।

ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस : प्रजिअ अधिकारीद्वारा स्थलगत अनुगमन

दमौली (तनहुँ), २९ कात्तिकः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा दुई वटा मतदान केन्द्र थप गर्न स्थानीय तहबाट सिफारिस भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले थपघट गर्र्नुपर्ने भए सिफारिस गर्न आग्रह गरिएबमोजिम ऋषिङ गाउँपालिकाबाट दुई वटा मतदान केन्द्र थप गर्न सिफारिस भएर आएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले ऋषिङ गाउँपालिका–४ र ६ मा यसअघि एक÷एक मतदान केन्द्र रहेकामा थप एक÷एक मतदान केन्द्र थप्न सिफारिस भएर जिल्लामा आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भूगोल ठूलो भएकाले मतदान केन्द्रसम्म पुग्नै दुई घण्टाभन्दा बढी लाग्ने देखिएको छ । सहज रूपमा मतदान गर्ने व्यवस्था मिलाउन पालिकाबाट थपका लागि सिफारिस भएर आएको छ ।”

आइतबार बस्ने समितिको बैठकले जिल्लाका मतदान केन्द्र र मतदानस्थलका बारेमा निर्णय गर्ने प्रजिअ अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र निर्णय गराएर पठाउन निर्देशन दिएको छ, सोही बमोजिम तयारी गरेका छौँ ।”ऋषिङ गाउँपालिकाबाट थप गर्न माग गरिएका मतदान केन्द्रको जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको छ ।

तनहुँका दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा ३०५ मतदान केन्द्र रहेका छन् । २०८२ असोज ८ गतेसम्म जिल्लामा दुई लाख ४७ हजार चार जना मतदाता रहेका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख १९ हजार ८९ जना र महिलाको सङ्ख्या एक लाख २७ हजार ९१५ जना रहेको छ । कात्तिक ३० गतेसम्म नयाँ मतदाता नामावली दर्ता गर्ने समय रहेकामा हाल जिल्ला निर्वाचन कार्यालय तनहुँमा मतदाता नामावली दर्ता गर्नेको घुइचो लागेको निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिनुभयो ।

सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा वृद्धि, देशभर सात स्थानमा आगलागी

काठमाडौँ – सुक्खायाम शुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देशभर सात स्थानमा आगलागीको घटना भएको छ । प्राधिकरणका अनुसार, मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत, कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको छ ।

प्राधिकरणको विवरणअनुसार कात्तिक २७ गते देशभर, १६ स्थानमा आगलागीका घटना भएका छन् । त्यसदिन बारा र रुपन्देहीका दुई स्थानमा आगलागीको घटना भएको थियो । त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा भएको आगलागीका कारण भौतिक सम्पत्ति जलेर नष्ट भएको छ ।

प्राधिकरणका अनुसार, कात्तिक २६ गते देशभर ११ स्थानमा आगलागीका घटना भए । कात्तिक २५ गते आठ स्थानमा, कात्तिक २४ गते देशभर नौ स्थानमा आगलागीका घटना भएका थिए । जनचेतना र असावधानीका कारण आगलागीका घटना भएको भन्दै प्राधिकरणले सबैलाई सचेत गराएको छ ।

यस्तै, शुक्रबार मात्रै ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन् । कञ्चनजङ्घा आधार शिविर जानेक्रममा स्थानीय खामाचेन भन्ने स्थानमा दुई जापानी नागरिक लेक लागेर बिरामी परेका छन् । त्यस्तै, कञ्चनजङ्घा आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकसमेतलाई लेक लागेको छ । मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणका कारण तीन जना घाइते भएका छन् ।

समस्याग्रस्त सडकमा काम सम्पन्न गर्ने चुनौति

दमौली (तनहुँ – तनहुँका तीन ठूला सडक आयोजना निर्माण सुरु भएको लामो समय भएपनि सम्पन्न गर्न नसक्दा चुनौति थपिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा निर्माण सुरु गरिएका यहाँका तीन सडकलाई समस्याग्रस्त आयोजनामा राखिएको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको बजेटबाट सुरु गरिएका जिल्लाका तीन सडकलाई पूर्वाधार विकास कार्यालय तनहुँले समस्याग्रस्त आयोजनाका रूपमा राखेको कार्यालय प्रमुख रवीन्द्र तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार आँबुखैरेनी छिम्केश्वरी सडक, दुलेगौडा हर्कपुर सडक र भानुमार्ग चन्द्रावती पिलिगार्ग, कुन्छा कालीमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा राखिएको जानकारी दिँदै उक्त सडक सम्पन्न हुन नसक्दा समस्या भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि निर्माण सुरु भएर पनि समयमै काम सम्पन्न हुन नसकेका यी आयोजनामा काम सम्पन्न गराउन खबरदारी गर्दै आएका छौँ ।”

आँबुखैरेनी छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि विसं २०७६ मङ्सिर ६ गते सम्झौता भएको थियो । विसं २०७८ फागुन १३ गतेसम्म सम्पन्न गर्नुपर्ने म्याद भए पनि पटक–पटक म्याद थप गरिएको कार्यालयले जनाएको छ । उक्त सडकको अन्तिम विसं २०८२ असोजसम्म थियो ।

प्रमुख तिवारीका अनुसार उक्त सडकको भौतिक प्रगति ९१ प्रतिशत र वित्तीय प्रगति ८९ प्रतिशत भएको छ । उक्त सडकका लागि रु ३६ करोड पाँच लाख ५० हजार पाँच सय १५ मा एमएस शर्मा काष्ठमण्डप जेभी बल्खुसँग सम्झौता भएको थियो । १६ किलोमिटर लम्बाइ उक्त सडकका लागि रु ३१ करोड ९२ लाख ९७ हजार चार सय ४२ भुक्तानी भइसकेको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएको थियो ।

भानुमार्ग चन्द्रावती पिलिमार्ग कुन्छा कालिमाटी सडक निर्माणका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । सम्झौता अनुसार विसं २०७८ माघ १५ गते सम्पन्न गर्नुपर्ने थियो । तर उक्त खण्डमा पनि पटक पटक म्याद थप गरिएको छ । हाल उक्त सडकको म्याद विसं २०८२ चैतसम्म थप भएको छ ।

१० दशमलब १२ किलोमिटर उक्त खण्डमा हालसम्म ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ ।

रु २३ करोड दुई लाख ८० हजार छ सय ६१ को लागतमा एमएस शङ्करमालि निर्माण सेवा प्रालिसँग सम्झौता भएकामा रु दश करोड ११ लाख एक हजार सात सय ५० भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।

यस्तै एमएस शङ्करमाली निर्माण सेवाले नै ठेक्का पाएको दुलेगौडा हर्कपुर सडकको काम पनि अलपत्र छ । उक्त सडक स्तरोन्नतिका लागि विसं २०७६ कात्तिक ४ गते सम्झौता भएको थियो । विसं २०७८ माघ १५ मा सकिनुपर्नेमा उक्त खण्डको म्याद पनि पटक पटक भप भएको छ । हाल विसं २०८२ चैत प्रस्ताव गरिएको पूर्वाधारा विकास कार्यालयले जनाएको छ ।

उक्त सडकमा ५० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको छ । हालसम्म रु १३ करोड चार लाख ११ हजार सात सय ५३ भुक्तानी भएको छ । गत आर्थिक वर्षमा उक्त सडकका लागि रु दुई करोड बजेट विनियोजन भएको थियो ।

१० दशमलब १८ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २५ करोड ९९ लाख दुई हजार आठ सय ९५ मा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६५ रुपैयाँ २२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०९ रुपैयाँ २५ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ १६ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ९६ पैसा र बिक्रीदर २० रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०४ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कअनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३७ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ २९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७१ पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५ रुपैयाँ ०३ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २३ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४३ पैसा , ओमनी रियाल एकको खरिददर ३६८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६१ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ

हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने

काठमाडौँ – हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा दिने ट्रान्जिट भिसा हटाएको छ ।

नेपाली महावाणिज्य दूतावास हङ्कङले भोलि शनिबार (सन् २०२५ को नोभेम्बर १५) देखि लागू हुनेगरी चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी दिएको छ ।

महावाणिज्य दूतावासले आज एक विज्ञप्ति जारी गरी निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण चीनको विशेष प्रशासकीय क्षेत्र, हङ्कङको सरकारले उक्त व्यवस्था गरेको जानकारी गराएको छ । नेपाली राहदानीबाहक यात्रुलाई सन् २००५ जुनदेखि हङ्कङ अन्तरराष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनुपर्ने नियम लागू गरिएको थियो ।

हङ्कङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात हङ्कङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानीबाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको महावाणिज्य दूतावासले उल्लेख गरेको छ ।

साथै, यो प्रावधानले नेपाली राहदानीबाहक यात्रुहरूलाई हङ्कङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको जनाइएको छ ।

महावाणिज्य दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हङ्कङ सरकारको यो कदमले नेपाल र हङ्कङ सरकारको द्विपक्षीय सम्बन्धलाई अझ मजबुद बनाउन सहगोग पुर्याउने हुँदा सराहनीय एवं प्रशंसनीयसमेत रहेको छ । अतः नेपाल सरकारको तर्फबाट महावाणिज्य दूतावास हङ्कङ सरकारलाई धन्यवाद दिन चाहन्छ ।”

वडाध्यक्ष यादवको ज्यान लिएको आरोपमा प्रहरी जवान पक्राउ

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमको भनाइ छ ।

उक्त घटनामा केही व्यक्ति घाइते समेत भएको प्रहरीको भनाइ छ । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । मृतक यादवको शव परीक्षणका लागि अस्पतामा ल्याइएको छ ।गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरी नायब उपरीक्षक गणेश बमले घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिनुभयो ।

गोली लागेर गोलेको घटनास्थलमै मृत्यु, थोकर पक्राउ

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहनुभएका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिनुभयो । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताउनुभयो ।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

सुन्धारा कारागारबाट फरार एक कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा काठमाडौँस्थित सुन्धारा कारागारबाट फरार भएका एक जना कैदीलाई आज मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सुन्धारा कारगारबाट फरार मनहरी गाउँपालिका–६ निवासी ६१ वर्षीय सीताराम थिङलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले जानकारी दिनुभयो ।

थिङ वन्यजन्तु बेचबिखन तथा ओसारपोसार मुद्दामा अदालतबाट १५ वर्ष कैद र रु १० लाख जरिवानाको सजाय पाई सुन्धारा कारागारमा कैद सजाय भोगिरहेको प्रहरीले जनाएको छ ।

युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताउनुभएको छ ।

युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उहाँको जोड छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उहाँले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले उहाँले भन्नुभयो, “युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ । नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो र ? युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ । होइन भने विचलन र विद्रोह जन्मिन्छ ।”

युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोहोर्याउने कर्तव्य राज्यकै हुने उहाँको भनाइ थियो । “युवालाई सही बाटोमा लगाउन सकिन्छ । खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा अग्रसर गराउनुपर्छ”, उहाँले थप्नुभयो, “युवामन्त्री एकदमै तेजिलो हुनुहुन्छ । समाज सेवामा पनि काम गर्नुभएको छ । युवालाई कसरी परिचालन गर्ने भनेर मन्त्रिपरिषद्मा पनि योजना राम्रो राम्रो ल्याउँदै हुनुहुन्छ ।”

हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवामा परिभाषित गरेको छ । यस समूहमा एक करोड २४ लाख जनसङ्ख्या छ, जुन कुल जनसङ्ख्याको ३० प्रतिशत हो ।

“जनसङ्ख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन् । यसमा देशभरिका युवा आएर जोडिन सकून् । यसैकारण हामीले बलियो मन्त्री पठाएका छौँ । यो ‘फाइटिङ एज’ पनि हो । नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ । यो भावनाका साथ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

हालसम्म साढे दुई लाखभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौँ – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छ्न् ।निर्वाचन आयोग नेपालका अनुसार मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात आयोगको असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यही कात्तिक ३० गतेसम्म कायम गरिएकोमा कात्तिक २७ गतेसम्म कूल दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुभएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि आयोगको आजको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको छ । थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

भोलि शनिबार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले जततउस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउ मार्फत आवेदन गर्न सकिने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले सो दिन आवेदन गर्न नसकिने आयोगले जनाएको छ ।

आयोगले पहिले नै आवेदन पेस गरिसकेका नागरिकहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य शनिबार सञ्चालन रहने व्यहोरा जानकारी गराएको छ ।

सम्बन्धित कार्यालयसँग सम्पर्क गरी (शनिबारको दिनसमेत) जैविक विवरण दिने सेवा लिनु हुन सबै सेवाग्राहीलाई आयोगको अनुरोध छ । साथै आयोगले शनिबारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ््कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन हुन सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ ।

धनुषामा अपरिचित व्यक्तिको गोली प्रहारबाट वडाध्यक्षको मुत्यु

धनुषा – मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी ह त्या गरिएको छ । आज साँझ अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको ह त्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । अस्पालमा ल्याउने वित्तिकै चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण सम्पन्न गर्नुभएको छ । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिनुभएको थियो । निरीक्षणका क्रममा उहाँले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गर्नुभयो ।

आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको थियो । तर खुसीको कुरा सबै क्षेत्रबाट प्राप्त सहयोगका कारण आज ती संरचना पुनर्निर्माण भई प्रहरी सङ्गठन पुनः उभिन सक्षम बनेको छ । सरकार यसका लागि आभारी छ ।”

गृहमन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयका संरचनाको पुनर्निर्माणको गति र कार्यक्षमताको विशेष रूपमा प्रशंसा गर्नुहुँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी तथा उहाँको नेतृत्वमा कार्यरत सम्पूर्ण टोलीलाई खुलेर धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरी कार्यालय भौतिक रूपमा क्षतिग्रस्त भए पनि प्रहरी दायित्वबाट विचलित भएन । चुनौतीपूर्ण परिस्थितिमा पनि सङ्गठनप्रति कर्तव्यनिष्ठ र दायित्व पालनामा उदाहरणीय प्रदर्शन गरेकामा म उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीसहित सम्पूर्ण टोलीको कामको उच्च प्रशंसा र धन्यवाद व्यक्त गर्दछु ।”

पुनर्निर्माणपछि सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका नयाँ संरचनामा आधुनिक कार्यकक्ष, सेवा काउण्टर, सिसीटिभी प्रणाली, आपतकालीन प्रतिक्रिया कोठा तथा नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले गृहमन्त्री अर्यालसमक्ष जानकारी दिनुभएको थियो ।

निर्वाचन आयोग र गृहमन्त्री अर्यालबीच निर्वाचनको पूर्वतयारीका बिषयमा कुराकानी

काठमाडौँ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल भएको छ ।

उक्त कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन व्यवस्थापनको तयारीका सम्बन्धमा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने आवश्यक सम्पूर्ण स्रोत साधनको व्यवस्थाका साथै शान्ति, सुरक्षाको उचित प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा युवापुस्ताको सहभागिता बढाउन अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरी आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि थप गर्न सक्ने व्यवस्था मिलाइएको, मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने कार्यमा आयोगलाई सहयोग उपलब्ध गराइएको बताउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्री अर्यालले निर्वाचनमा भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था मिलाउन गृह मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा निर्वाचन व्यवस्थापनमा सुधार र सहजताका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएदेखि नै आयोगले योजनाबद्ध रूपमा निर्वाचनको पूर्वतयारीका कार्य गरिरहेको बताउनुभयो । त्यस समयमा आयोगले राजनीतिक दल, नेपाल सरकारलगायत सबै सरोकारवालासँग छलफल तथा समन्वय गरिरहेको र सेवाग्राहीको आग्रह तथा मौजुदा कानुनी व्यवस्थाको सकारात्मक प्रयोग गरी सेवाग्राहीहरूलाई प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।

निर्वाचन पूर्वतयारीको काममा सरकारले हालसम्म उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा समेत निर्वाचनको वातावरण निर्माण, स्रोत साधनको व्यवस्था एवं सुरक्षाको प्रबन्ध तथा आवश्यक समन्वय र सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । भविष्यमा निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवापुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तक्र्रिया कार्यक्रममा समेत नेपाल सरकारको तर्फबाट सहजीकरण गर्न आग्रह गर्नुभयो ।

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम, २८ कात्तिक : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८ र गत आवको जिम्मेवारी सरिआएका नौ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरीमध्ये दुई हजार ९१० उजुरी फछ्र्योट भएको र बाँकी एक हजार ६१ उजुरी आव २०८२/८३ मा छानबिन हुनेगरी जिम्मेवारी सरेको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिबास कार्यालयमा घुस रिसवतसम्बन्धी ३७ वटा, गैरकानुनी हानिलाभसम्बन्धी ३५ वटा, झुठा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति अर्जनसम्बन्धी आठ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी, यी उजुरीहरूमा छ सय १९ पुरुष, ९४ महिला तथा ४० सङ्घसंस्था गरी सात सय ५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको छ । जरिवानामार्फत रु छ अर्ब एक करोड ८४ लाख ७२ हजार बढी बिगो मागदाबी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।