`

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

बागलुङ। काँधमा भारी । साथमा सयाँैका सङ्ख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले सडक नै छेकिनेगरी हिँडिरहेका हुन्छन् । यसरी आफ्नै गतिमा हिँडेका गोठाला र वस्तुभाउ लेकका खर्क र बुकीपाटन उक्लिन थालेका हुन् ।

बर्खा सुरु भएसँगै पश्चिम बागलुङका पशुपालक किसान हरेक वर्ष वर्षात्को समयमा खर्क र बुकीपाटन उक्लिने गर्छन् । गत असोजमा बेँसी झरेका गोठाला वस्तुभाउ लिएर बुकीपाटन उक्लिन थालेका हुन् । एउटै परिवारले दर्जनौँ वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै घाँस पुर्याउन नसक्ने हुँदा उनीहरू हिउँद बर्खा लेक–बेँसी गरेर पशुपालन गर्दै आएका छन् ।

जिल्लाको निसीखोला, ढोरपाटन, तमानखोला, गलकोटलगायत स्थानबाट गोठाला आफ्ना वस्तुभाउ लिएर लेक उक्लिने गर्छन् । पश्चिम बागलुङका अधिकांश किसान पशुपालनमा आबद्ध छन् । कतिपय गोठाला जेठ दोस्रो साता नै बुकीपाटन उक्लिसके भने धेरैजसो यतिबेला खर्च बोकेर लेक उक्लिन थालेका छन् । अहिले बुकीपाटन उक्लिने गोठाला अब चार महिनापछि मात्रै गाउँ (बेँसी) झर्छन् ।

बर्खाभरि लेकमा बस्ने गोठलाले असोजसम्म पुग्ने खाद्यान्न र लत्ताकपडा बोकेर जाने गर्छन् । समुद्री सतहदेखि तीन हजारदेखि चार हजार ८०० मिटरको उचाइसम्मको चरन क्षेत्रमा गोठाला पुग्छन् । बुकीपाटनमा वस्तुभाउका लागि पर्याप्त घाँस पाइने हुँदा महिनाँै उतै बिताउने गर्छन् । लेकमा टेलिफोन र विद्युत्को सुविधा नहुँदा उनीहरूको लामो समय परिवारसँग फोन सम्पर्कसमेत हुँदैन । असारदेखि असोजको बीचमा बिरामी परेमा, खर्च सकिएमा र अन्य कुनै आकस्मिक घटना भएमात्रै बेँसी झर्छन् ।

गोठालाहरू निसीखोलाको रिग, पातीहाल्ने, तिलाचन, निसेलढोर, खानीखोला र ढोरपाटनको गर्पाछेडा, फागुने, टीकाधारा, स्यार्चुङलगायत अग्ला पहाडी क्षेत्रमा पुग्छन् । बेँसीका बारीमा खेतीपाती गरिसकेपछि लेक उक्लिन थालेको निसीखोला गाउँपालिका–५ का किरबहादुर घर्ती मगरले बताउनुभयो । अब दसैँ मनाउनका लागि मात्रै गाउँ झर्ने उहाँको भनाइ छ ।

घर्ती मगरले भन्नुभयो, “यतिका सम्पत्ति (वस्तुभाउ) एकै ठाउँमा राखेर पाल्न सकिँदैन, यिनीहरूलाई ठाउँठाउँमा घुमाएर चराउन पर्छ, बेँसीमा गर्मी हुन्छ, लेकमा यतिबेला शीतल छ, घाँस पनि पलाइसकेको हुँदा चरनका लागि सजिलो हुन्छ, एक डेढ महिना एक ठाउँ बस्छौँ, त्यसपछि फेरि अर्को ठाउँमा सर्नुपर्छ ।”

लेकमा बस्दा किसानले पशुपालनमात्रै गर्दैनन् । उनीहरूले काठका भाँडाकुँडा, चायोका सामग्री बनाउने गर्छन् । लेकमा उत्पादन भएका वस्तु बेँसी झरेपछि बिक्री गर्छन् । तमानखोला गाउँपालिका–५ का किसान शेरबहादुर सिर्पाली अघिल्लो वर्ष जेठको तेस्रो साता बुकीपाटन पुग्नुभएको थियो । यसपालि बाली लगाउन ढिला हुँदा बल्ल बुकीपाटनका यात्रा गरेको बताउनुभयो । आफ्ना छिमेकी एक साता अगाडि नै लेक उक्लिएको उहाँको भनाइ छ ।

“म पनि यतिबेला लेकमा पुगिसक्थेँ, घरमा जहान (श्रीमती) बिरामी छ, बारीमा बालीनाली लगाउनुपर्ने, त्यसले गर्दा एक साता ढिला भयो”, उहाँले भन्नुभयो, “एक महिनापछि फेरि बेँसी झर्ने काम छ, बेँसी झर्दा लेकमा साथीहरू हुन्छन्, उनीहरूलाई दुईचार दिन पशुको जिम्मा लगाएर झर्नु पर्ला, अबको दुई दिनमा म बुकीपाटन पुगिसक्छु ।”

ढोरपाटनको बुकीपाटनमा बागलुङका मात्रै नभई रोल्पा, रुकुम, म्याग्दी र डोल्पासम्मका किसानले भेडा लिएर चरनका लागि आउने गर्छन् । ढोरपाटन नगरपालिका–६ का पुनराम अदै भने बुकीपाटन पुगिसक्नुभयो । अदै जेठ २३ गते नै ढोरपाटन हुँदै बुकीपाटन पुगेको बताउनुभयो । जेठ २० गते शुभ बार पारेर लेक उक्लिएको उहाँको भनाइ छ । लेकमा घाँस पलाइसकेको हुँदा अबको एक सातामा बेँसीमा रहेका सबै गोठाला उक्लिसक्ने अदै बताउनुहुन्छ ।

अदैले भन्नुभयो, “हामी यसरी लेक बेँसी गर्न थालेको तीन÷चार दशक बितिसक्यो, पढाइलेखाइ पनि भएन, देशविदेश पनि गइएन, यही वस्तुभाउ हेर्ने ज्यान पालन गर्नेबाहेक अरु केही गर्न सकिएन, बर्खाभरि लेकमै बस्छौँ, अब असोज लागेपछि बल्ल बेँसी झर्ने हो, अहिले गोठालाहरूले बुकीपाटन भरिन थाल्यो, अबको केही दिनमा भरिभराउ हुन्छ ।”

टिमाई खोलाको बाढीमा फसेका सात जनाको सकुशल उद्धार

झापा। बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ ।आज अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनीहरूले उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मङ्गलबारे तथा भुटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो ।

संयुक्त टोलीले साँझ करिब ५ः२० बजे उनीहरूको सकुशल उद्धार गरेको हो । उद्धार गरिएकामध्ये बिर्तामोड नगरपालिका–१ का २६ वर्षीय राजु पाठक, ३४ वर्षीया एन्जिना पाठक र २२ वर्षीया आरती पाठक, भद्रपुर नगरपालिका–५ का २३ वर्षीय भुपाल ठाकुर, २३ वर्षीय पिन्टु बर्मन, २३ वर्षीय मोहित हलुवाई तथा २४ वर्षीय रोहित साहको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले वर्षायाममा खोलानाला तथा नदीमा पानीको सतह अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

मंगलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम

म्याग्दी। म्याग्दी नदीले तटीय क्षेत्रमा गर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढी र पहिरोले मंगला गाउँपालिकामा विपद्को जोखिम बढाएको छ ।

विगतका ठूला विपद्का घटना, नदी कटानबाट खेतीयोग्य जमिनमा पुगेको क्षति र बस्तीमा बढ्दो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार तटीय क्षेत्रमा म्याग्दी नदीको कटान र माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको छ । “बर्खायाममा नदी कटान र खोल्सामा आउने बाढी तथा सुक्खा मौसममा डढेलो र आगलागीको जोखिम रहेको छ”, उहाँले भन्नुभयो, “जोखिमयुक्त क्षेत्र पहिचान गरी नदी नियन्त्रण, पहिरो रोकथाम, वृक्षरोपण, राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरेका छौँ ।”

विसं २०५८ मा अर्मनमा गएको पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने धेरै घर, विद्यालय र खानेपानी संरचना क्षतिग्रस्त भएका थिए । त्यसभन्दा अघि २०४५ सालमा निस्कोटको भिर भत्किँदा म्याग्दी खोला थुनिएर आएको बाढीले व्यापक जनधनको क्षति पुर्याएको थियो ।

हाल छिसवाङ, कुरसिम्ला, पिपलबोट, सेराफाँट, हाडेभिर, बाबियाचौर, काँशेबगर, सिमलचौर, बान्द्रेलगायतका क्षेत्रलाई नदी कटानको जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरिएको छ । स्थानीयवासीका अनुसार नदीको बहाव परिवर्तन र गहिरिँदै गएको कटानले खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ ।

पानाबगरका स्थानीय जितबहादुर किसानले म्याग्दी नदीले आफ्नो चार रोपनीभन्दा बढी खेतीयोग्य जमिन कटान गरी बगर बनाएको बताउनुभयो । “नदीले खेतमात्र होइन, बस्तीलाई नै जोखिममा पारेको छ”, उहाँले भन्नुभयो, “जोखिम धेरै भए पनि संरक्षणका योजना पर्याप्त छैनन् ।”

म्याग्दी नदीको करिब १० किलोमिटर तटीय क्षेत्रमा स्थायी संरक्षण संरचना निर्माण गर्नमात्रै करिब दुई अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदानमा चालु आर्थिक वर्षदेखि बाबियाचौर–काँशेबगर बस्ती संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ । करिब रु ४२ लाख लागतमा म्याग्दी नदी किनारमा पक्की र ग्यावियन पर्खाल निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख रुचेन्द्र अधिकारीले बताउनुभयो । यस योजनाले २५० भन्दा बढी घरपरिवार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी, हाडेभिर क्षेत्रमा निर्माण गरिएको नदी नियन्त्रण संरचनाले बस्ती, स्वास्थ्यचौकी, निर्माणाधीन अस्पताल भवन तथा सडकलाई कटानबाट जोगाउन प्रभावकारी भूमिका खेलेको छ । प्रदेश सरकारको सहयोगमा सिम र ताराखेत क्षेत्रमा पनि नदी नियन्त्रण योजना सम्पन्न भएका छन् ।

यद्यपि सङ्घीय सरकारले हिलवाङखोला, छिसवाङ र रातोढुङ्गामा नदी नियन्त्रणका लागि विनियोजन गरेको रु एक करोड ५० लाख बजेट भने विवादका कारण कार्यान्वयन हुन नसकी फिर्ता भएको मङ्गला गाउँपालिका–५ छिसवाङका पृजेन भट्टचनले बताउनुभयो ।

विपद् जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पाँचै वडामा हेलिप्याड निर्माण, राहत कोष व्यवस्थापन, सडक मर्मत तथा हरित सडक अभियान सञ्चालन गरेको छ । तर मनसुनजन्य विपद्बाट घरबार गुमाएका नागरिकको निजी आवास पुनःनिर्माणमा भने समस्या देखिएको गाउँपालिकाका उपाध्यक्ष पे्रमकुमारी अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय विपद् प्राधिकरणको प्रणालीमा लाभग्राहीको विवरण अद्यावधिक हुन नसक्दा पछिल्ला तीन वर्षयता १९ जना पीडित अनुदान सम्झौताबाट वञ्चित भएका छन् ।

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । साथै बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।

विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ । देशको पहाडी भू–भागमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हिमपात तथा बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा हिमपातको सम्भावना छ ।

कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेस प्रदेशको पनि एकदुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा

रौतहट। रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको छ ।

सीमा क्षेत्रको दशगजा वा त्यसको नजिक दुवै देशको सहमतिबिना कुनै पनि भौतिक संरचना निर्माण, विस्तार वा परिवर्तन गर्न नपाइने नियम भए पनि भारतीय पक्षले बाँध मर्मतको बाहनामा झन् अग्लो र बलियो बनाएको हो ।

छिमेकी देशको भूभागमा डुबान वा अन्य वातावरणीय क्षति नपुर्याउनका लागि एउटा देशले आफ्नो सिमानामा यस्तो संरचना बनाउने प्रावधान छैन । बैरगनिया क्षेत्रको बाँधकै कारण वर्षायाममा बाढीको बहाव थुनिने र त्यसले सदरमुकाम गौरसहित दर्जनाँै नेपाली गाउँहरू डुबानमा पर्दै आइरहेको स्थानीय अमित केशरीले बताउनुभयो ।

भारतले आफ्नो भूमि बैरगनियालगायतका बिहारको सहर डुबानबाट बचाउन सीमा क्षेत्रमा १५ फिट अग्लो र पाँच किलोमिटर लामो बाँध बनाएपछि नेपालतिर डुबान हुने गरेको केशरीले बताउनुभयो । भारतीय पक्षले बैरगनियाको पूर्वी क्षेत्रस्थित बाँधको तीनवटा ढोका सुलीसगेट बन्द गर्दै आएका कारण हरेक वर्ष गौर नगर क्षेत्र डुबानमा पर्दै आइरहेको उहाँले बताउनुभयो ।

गौर डुबानमा परेपछि नेपालीले बाँध भत्काउने र सुलीसगेट खोल्छ भनेर भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोली हतियारसहित २४सै घण्टा बाँधमा बस्दै आइरहेका केशरीले जानकारी दिनुभयो ।

बाँध अग्लो हुँदा नेपालतर्फबाट बग्ने लालबकैया र वाग्मती नदीको पानीले निकास नपाउने र पानी ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको नेपाल पत्रकार महासङ्घ रौतहट शाखाका सचिव तथा गौरवासी गौतम श्रेष्ठले जानकारी दिनुभयो ।

बैरगनिया क्षेत्रको रिङ बाँधमा माटो थपिँदा वर्षायाममा बाढीको बहाव रोकिने र यसले सदरमुकाम गौर र आसपासका क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने गरेको श्रेष्ठले बताउनुभयो । गौरमा बाढीको पानी निकास नहँुदा ठूलो धनजनको क्षति हँुदै आइरहेको छ ।

केही वर्षअघि तत्कालीन प्रमुख जिल्ला अधिकारी किरण थापाको पालामा यसरी नै माटो थप्न लाग्दा नेपालका तर्फबाट स्थानीय प्रशासन र सुरक्षा निकाय (सशस्त्र प्रहरी)ले कडा आपत्ति जनाएपछि काम रोकिएको थियो । नेपाल–भारत दुई देशबीचको सहमतिअनुसार सीमारेखाको निश्चित दूरीभित्र एकतर्फी रूपमा बाँध वा सडकजस्ता अग्ला संरचना बनाउन निषेध गरिएको गौर नगरपालिकाका पूर्व नगरप्रमुख अजयकुमार गुप्ताले बताउनुभयो । तर भारतले आफ्नो भूमि डुबानबाट जोगाउन लगाएको बाँध मर्मतको बाहनामा माटो थपेको र चौडाइ पनि बढाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताउनुभयो ।

भारतले एकतर्फी रूपमा पूर्वमा वाग्मती नदीदेखि र पश्चिमतर्फ बकैया नदीपारि बन्जराहा गाउँसम्मको पाँच किलोमिटर क्षेत्रसम्म बाँध निर्माण गरेका कारण बर्सेनि गौर नगर क्षेत्र डुबानमा पार्दै आएको उहाँले बताउनुभयो ।

विसं २०७७ मा आफू नगरप्रमुख हँुदा गौर नगरपालिका–२ महादेवपट्टि गाउँस्थित रहेको बकैया नदीमा तटबन्ध गर्दा भारतीय पक्षले अवरोध गरेको तर अहिले भारतले मनपरी ढङ्गले बाँध मर्मतका नाममा अग्लो तथा बलियो बनाइरहेको पूर्व नगरप्रमुख गुप्ताले बताउनुभयो । नेपाल–भारत सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधमुनिको सुलीसगेट (पानी निकास हुने ढोका) बन्द गरेपछि गौरवासी झन् समस्यामा पर्दै आइरहेको उहाँले बताउनुभयो । बाँध र सुलीसगेट नखोलेका कारण गौर हरेक वर्ष डुबानमा परिरहेको उहाँको भनाइ छ ।

यता रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षी सितामाढी जिल्लाका प्रमुख (डिएम) रुचि पाण्डेसँग बाँधमा माटो थप्ने काम भएको भन्दै ध्यानाकार्षण गराएको बताउनुभयो । डिएम पाण्डेले आफूलाई भारतीय केन्द्रीय सरकारबाटै बाँध मर्मतको काम भएको जानकारी गराएको प्रजिअ भुसालले बताउनुभयो ।

दुई देशको सीमा र अन्तरराष्ट्रिय सन्धिसँग जोडिएको विषय भएकाले केन्द्र सरकारले कूटनीतिक नोट पठाएर यसको स्थायी समाधान खोज्न आवश्यक रहेको भन्दै विगतका मधेस प्रदेशका मुख्यमन्त्रीहरूले सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।

भारतले एकपक्षीय रूपमा बाँध बाधेपछि रौतहटको राजदेवी नगरपालिकाको बेलबिछुवा, ब्रम्हपुरी लक्ष्मीपुर, सदरमुकम गौरका नौवटै वडा र इशनाथ नगरपालिकाको बैरिया, औरैया र बन्जरहा गाउँ बर्सेनि डुबानमा पर्दै आएको छ । सो क्षेत्रमा हरेक वर्ष डुबानका कारण करोडौँको धनजन तथा बालीनालीको क्षति हुँदै आइरहेको छ ।

अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै

कास्की। अन्नपूर्ण क्षेत्रमा पर्ने अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गको स्तरोन्नति सुरु गरिएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेसँगै पदयात्रालाई सहज बनाउने उद्देश्यले उक्त मार्गलाई थप सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन थालिएको हो ।

अन्नपूर्ण क्षेत्रलाई अन्तरराष्ट्रिस्तरको सुरक्षित र आकर्षक पदयात्राको गन्तव्यका रूपमा विकास गर्नेगरी कास्कीको घान्द्रुक देउरालीबाट माछापुच्छ«े आधार शिविर (एमबिसी) सम्मको पदमार्ग स्तरोन्नति तथा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

हिमपात, पहिरो, वर्षा तथा चट्टान खस्ने जोखिमका कारण संवेदनशील मानिने देउराली–एबिसी खण्डमा ढुङ्गे सिँढी निर्माण, पदमार्ग चौडा बनाउने, जोखिमयुक्त स्थानमा सुरक्षात्मक संरचना निर्माण तथा आवश्यक पर्यटकीय पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र अन्नपूर्ण गाउँपालिकाको संयुक्त लगानीमा चालु आर्थिक वर्षमा रु ४५ लाख लागतमा काम भइरहेको हो ।

पदमार्ग स्तरोन्नतिपछि हिमाली पर्यटनको प्रमुख गन्तव्य अन्नपूर्ण क्षेत्रको आकर्षणलाई अझ बढाउने अध्यक्ष केसीले विश्वास व्यत्तल गर्नुभयो । “एबिसी ट्रेकिङ स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण बढेको छ । अन्नपूर्णको महत्त्व विश्वभर छ । त्यसैले यस क्षेत्रमा पुग्ने पर्यटकलाई थप सुविधा होस् भनेर पदमार्ग बनाउन लागेका हौँ”, उहाँले भन्नुभयो ।

समुद्री सतहबाट तीन हजार ५०० मिटरभन्दा माथिको दुर्गम क्षेत्रमा निर्माण भइरहेको पूर्वाधारले विशेषगरी अन्नपूर्ण आधार शिविर पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको सुरक्षालाई प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले पदमार्ग सुधारपछि पदयात्रा अझ सुरक्षित, सहज र व्यवस्थित बन्ने विश्वास व्यक्त गर्नुभयो । “देउराली–माछापुच्छ«े बेसक्याम्प पदमार्ग सुधारले पर्यटकलाई सहज हुनेछ । यसका साथै स्थानीय होटल व्यवसाय, यातायात सेवा, कृषि उत्पादनको बजारीकरण तथा पर्यटनसँग सम्बन्धित आर्थिक गतिविधिमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ«े र हिमचुली हिमालका मनमोहक दृश्यले एबिसी नेपालकै सबैभन्दा लोकप्रिय हिमाली पदयात्रामध्ये एकमा पर्दछ । पदमार्ग स्तरोन्नति सम्पन्न भएपछि यात्रुहरूले अझ सुरक्षित, सहज र गुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास गरिएको छ ।

गाउँपालिकाले आगामी दिनमा अन्य पदमार्ग स्तरोन्नति, विश्रामस्थल तथा सूचना केन्द्र तथा पर्यटन पूर्वाधार विकासका योजनालाई समेत प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’

काठमाडौँ। कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ । सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ । टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित हुनुभयो ।

पुस्तकको चर्चा जति थियो, उत्तिकै उहाँले लगाउने पहिरनले पाठकको ध्यान खिचेको थियो । खासगरी नेपाली समाजमा च्यातिएको र टालिएको लुगा लगाउनु गरिबीको सङ्केत दिन्छ । तर, फेशन डिजाइनर गुरुङले भने आफूले लगाएको उक्त टालेको सर्ट निकै महँगो अमेरिकी डलरमा किनेको बताउनुभयो । “टालेको सर्ट अमेरिकामा डलर हालेर किनेर लगाए, यो स्टाइल हो ।”

शनिबार जमलस्थित मण्डला बुक प्वाइन्टमा पुस्तक हस्ताक्षर कार्यक्रममा देखिनुभएका गुरुङले भन्नुभयो, “लुगा कस्तो लगाउनेभन्दा पनि कसले र कति आत्मविश्वासका साथ लगाएको छ भन्ने कुराले निकै महत्व राख्छ ।” उहाँले आत्मविश्वासका साथ टालेको लुगा लगाउदा पनि राम्रो र प्रभावकारी व्यक्तित्व झल्किन सक्ने सन्देश दिन उक्त पहिरन लगाएको बताउनुभयो ।

अमेरिकामा बस्दै आउनुभएका गुरुङ प्रत्येक एक वर्षमा दुई पटक नेपाल आउने गर्नुहुन्छ । नेपालमै बसोबास गर्ने परिवारलाई भेट्न उहाँले जतिसुकै व्यस्त भए पनि समय मिलाउने गरेको बताउनुभयो । “जहाँ जाउ यो मन त मेरो नेपाली नै हो नी”, गुरुङले भन्नुभयो, “नेपाली खाना, मुमा (आमा) को माया र यहाँको संस्कृतिले मन छुन्छ”, उहाँले भन्नुभयो, “वर्षमा दुई पटक आमाको हातले पकाएको गुन्द्रुकको अचार, दाल भात खान आएकै हुन्छु ।”

नेपाली मुलुकका गुरुङ सिङ्गापुरमा जन्मिनुभयो र भारतमा हुर्किनुभयो । दिल्लीको नेशनल फेशन इन्स्टिच्युटमा अध्ययन गरेर उहाँले फेशन डिजाइनरको करिअर न्यूयोर्कबाट सुरु गर्नुभयो । गुरुङले सन्, १९९९ मा न्युयोर्कबाट फेशन डिजाइनसम्बन्धी औपचारिक शिक्षा लिनुभयो । साथै, अन्तरराष्ट्रिय ब्रान्डमा फेशन यात्रामा सक्रिय भई सफलताको उचाइमा पुग्नुभएको हो ।

गुरुङले हलिउडदेखि बलिउड फिल्मी क्षेत्रका प्रख्यात व्यक्तित्वहरुका लागि फेशन डिजाइन गरेर नेपालको नाम स्थापित गर्नुभएको छ । उहाँले तत्कालिन अमेरिकी प्रथम महिला मिचेल ओमाबादेखि बेलायती राजकुमारीको रोजाइको पहिरन फेसन डिजाइन गरेपश्चात् भने अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा चुलिएको थियो । यसलाई गुरुङले करिअरको सबैभन्दा महत्वपूर्ण क्षणका रुपमा लिनुहुन्छ ।

फेशन डिजाइन यात्रामा झण्डै तीन दशक परिपक्व देखिए पनि गुरुङ यस क्षेत्रमा भर्खरै सुरुआत गर्दै गरेको धारणा राख्नुहुन्छ । उहाँका अनुसार फेशन क्षेत्रमा सिक्ने तत्परता सधैँ कामय राख्नुपर्छ । सिक्ने निरन्तरतालाई नै उहाँले आफ्नो सफलताको मुल सुत्र मान्नुभएको छ । गुरुङले भन्नुहुन्छ, “फेशन क्षेत्र सागर हो । जति सिक्दै गयो उति गहिराइमा पुगिन्छ । त्यसैले मैले यस क्षेत्रमा भर्खरै बामेसर्दै गरेको शिशु ठान्छु । अझै धेरै काम गर्न बाँकी छ ।”

हारपर कोलिन्सले सन्, २०२६ मा प्रकाशन गरेको गुरुङको पुस्तक ‘वक लाइक अ गल्स’ को कथा रोचक छ । उहाँले केटीको चालमा केन्द्रित भएर पुस्तकको शीर्षक राख्नुमा गुरुङकै बाल्यकालको भोगाइ समेटिएको बताउनुभयो । सानो छँदा केटी जस्तै हिँड्ने भन्दै साथीभाइले गिज्याउने गरेको क्षणलाई उहाँले किताबको मुख्य शीर्षक बनाएको सुनाउनुभयो ।

सृष्टि सिर्जना गर्ने क्षमता राख्ने महिला पात्रप्रति समाजको हेपाह दृष्टिलाई चिर्न पनि पुस्तकको शीर्षक यस्तो राख्नुपरेको गुरुङले बताउनुभयो । “केटी जस्तो हिँड्दा के फरक पर्छ ? म त भन्छु हिँडाइ केटीको जस्तै हुनुपर्छ”, उहाँले भन्नुभयो, “जहाँ, शान्ती, सभ्यता र गाम्भीरता झल्किन्छ ।” एक अर्थमा गुरुङले पुस्तकमार्फत नारी अस्तित्वलाई स्वीकार भावले हेर्न आग्रह गरेको प्रष्ट पार्नुभयो ।

यसैगरी, अर्को दृष्टिमा आफ्नो पुस्तकले युवापुस्तालाई लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरणा मिल्नसक्ने गुरुङले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मैले चर्चा पाउन काम सुरु गरिन्, मेहनतको निरन्तरताले गर्दा सफलता आफैँ आउँदै गयो । पुस्तकले यही सन्देश दिन खोजेको छ, मेहनत गर ।

सफलता आफैँ आउँछ”, मण्डला बुक प्वाइन्टका प्रमुख सिद्धार्थ महर्जनले गुरुङको हस्तारक्षित १०० भन्दाबढी पुस्तक बिक्री भएको बताउनुभयो । पाठकहरु पुस्तक किन्नुका साथै गुरुङसँग भलाकुसारी गर्ने अवसर पाउँदा हर्षित थिए ।

अदिभारा-टाक्से-रुम सडक छ वर्षपछि सञ्चालन

म्याग्दी – जिल्लाको मालिका गाउँपालिकाको अदिभारा-टाक्से-रुम सडकमा छ वर्षपछि यातायात सञ्चालन हुन थालेको छ । स्थानीयले घरजग्गा धितो राखेर विसं २०७५ मा मार्ग खोलेका उक्त सडकको टाक्से खण्डमा पहिरो खसेपछि विसं २०७७ देखि बन्द भएको थियो ।

रुम म्याग्दी जिल्लाको ठूलो बस्तीमध्येमा पर्ने वडा हो । रुमलाई पालिकाको केन्द्र दरवाङ बजारसँग जोड्ने यो सडकमा पछिल्लो दुई महिनायता नियमित सवारीसाधन सञ्चालन भइरहेका मालिका-२ का वडाध्यक्ष उदयकुमार बूढाथोकीले बताउनुभयो ।

“मालिका गाउँपालिकाले सञ्चालन गरेको अदिभारा-टाक्से-रुम मोटरबाटो आयोजनामार्फत सडकको पहिरो रोकथाम, नयाँ मार्ग खोल्ने, ग्रेड तथा मोड सुधार गरेर छ वर्षपछि सवारीसाधन सञ्चालन हुने बनाइएको हो”, उहाँले भन्नुभयो, “रुमवासीलाई पालिकाको केन्द्र दरबाङ र जिल्ला सदरमुकाम बेनी आउनजानका लागि घुमाउरो सडकको यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”

विसं २०८१ पुस २५ गते रु दुई करोड ४८ लाख ८७ हजार छ सय छ मा विके कन्स्ट्रक्सनसँग सम्झौता भएको आयोजनाको ८० प्रतिशत भौतिक प्रगति भएको गाउँपालिकाले जनाएको छ । पालिकाको पूर्वाधार शाखाका प्रमुख दीपक सापकोटाले बिलबाङ-टाक्से खण्डमा दुई दशमलव पाँच किमी नयाँ मार्ग खोल्ने, टेवा र पलम पर्खाल निर्माण, घुम्ती र ग्रेड सुधारको काम सकिएकामा ढलानको काम बाँकी रहेको वडाध्यक्ष बूढाथोकीले बताउनुभयो ।

विसं २०८२ असारमा सम्पन्न हुनुपर्ने आयोजनाको काम निर्माण व्यवसायीले पर्याप्त उपकरण, मजदूर परिचालन गर्न नसक्नु, प्रतिकूल भूगोललगायत कारणले एक वर्ष ढिलागरी सम्पन्न हुन लागेको हो । योसँगै रुम, बिलवाङका बासिन्दालाई निस्कोट र औँला हुँदै घुमाउँरो सडकको यात्रा गर्नुपर्ने समस्या हटेको स्थानीयवासी प्रकाश पटेलले बताउनुभयो ।

रुमबाट जेम, बेली, औँला, स्याउलुङ हुँदै अदिभारा जोड्ने १७ किमी दूरीको घुमाउँरो सडकमा यात्रा गर्दा एक घण्टा ३० मिनेट लाग्ने गरेकामा रुम-बिलवाङ-टाक्से-अदिभारा जोड्ने नौ किमी दूरी अब ४० मिनेटमा पार गर्न सकिने उहाँले बताउनुभयो । सडक मर्मत भएपछि यात्राअवधि छोटिएको उहाँको भनाइ छ ।

मालिका गाउँपालिकाका प्रवक्ता अनुप गौचनले उक्त खण्ड ठूलो बस्ती रुम र छिमेकी जिल्ला बागलुङको ताराखोला जोड्ने छोटो दूरीको भएकाले अदिभारा-टाक्से-रुम सडकलाई पालिकाले प्राथमिकता दिएको बताउनुभयो ।

स्थानीयको माग अनुसार टाक्से खोलामा मोटरेबल पुल निर्माण र पहिरोबाट प्रभावित जोखिमयुक्त सडकलाई सुरक्षित बनाउन पहल गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ७० पैसा र बिक्रीदर १७६ रुपैयाँ ४० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ६३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ५३ पैसा र बिक्रीदर १९१ रुपैयाँ २८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०९ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ २५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ०७ पैसा र बिक्रीदर १६ रुपैयाँ १४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ४० पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०३ पैसा रहेको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा

लुम्बिनी। विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर ‘वाक फर पिस’ अभियान सञ्चालन गर्दै पैदलयात्रामा रहनुभएका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छ ।

उक्त अभियानसँग जोडिएको ‘आलोका’ कुकुरसहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी आएको हो । उक्त पैदलयात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा १८ जना भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो ।

उक्त शान्ति पदयात्रा टोलीले कुकुरसहित लुम्बिनीस्थित अखण्ड शान्ति दीप क्षेत्रबाट आइतबार बेलुका मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको थियो । मायादेवी मन्दिर पुगेर पूजा र प्रार्थना गरेका थिए । यस ऐतिहासिक एवं प्रेरणादायी अवसरमा भन्तेहरूलाई लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक नगरप्रमुख कल्पना हरिजन तथा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानीन राईले स्वागत गर्नुभयो ।

भिक्षु टोलीले शान्तिको पैरवी गर्दै यात्रा गरेका छन् । पदयात्राका दौरान भिक्षुहरूले सर्वसाधारणलाई बुद्ध दर्शन र शान्ति शिक्षा सिकाउँदै हिँडेका छन् । ठाउँठाउँमा ध्यान सिकाउँथे । करुणा, दयामाया, सद्भाव र सदाचार सिकाउँदै उनीहरूको पदयात्रा अघि बढेको थियो ।

मायादेवी मन्दिरको अवलोकन तथा प्रार्थनापश्चात् आयोजित स्वागत कार्यक्रममा भिक्षु पन्याकरले बुद्धले यो संसारको जन्म र मरणको अनन्त चक्रबाट उम्कने बुद्धका सन्देशलाई अपनाएर उहाँले देखाउनुभएको निर्वाण र परम आनन्द प्राप्त गर्न भगवान् बुद्धले देखाउनु बाटोलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

उहाँले हरेक प्राणीले मुक्ति प्राप्त गर्न र निर्वाणको परम आनन्द प्राप्त गर्न कस्तो हुनुपर्ने हो भन्ने एउटा ठूलो प्रश्नको विषय बनेको बताउँदै संसारमा सबै कुरा पाउन हरेक व्यक्तिमा बलियो सङ्कल्प आवश्यक रहेको बताउनुभयो । उहाँले त्यही बलियो सङ्कल्पका साथ अभियान थालेको बताउनुभयो ।

भिक्षु पन्याकरले आफूहरूको एउटा सानो यात्राको आज विश्वभर सम्मान पाएको र यसले विश्व शान्ति सन्देश दिन ठूलो सफलता मिलेको बताउनुभयो । उहाँले आफूहरूको एकमात्र उद्देश्य विश्वमात्र रहेको बताउँदै शान्ति व्यक्तिबाट सुरु हुने भएकाले सबै शान्तिका लागि लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो यात्राको सदस्यका रूपमा रहेको आलोका कुकुरको बारेमा भन्नुभयो, “हामी आलोकको कुरा गर्दैछौँ, यो शान्त कुकुर जुन यहाँ छ । आलोक एउटा यस्तो कुकुर हो जो हामीसँग लामो समयदेखि हिँडिरहेको छ । ऊ हिँड्यो र अहिले शान्तिको दूत (एम्बेसेडर) बन्यो । तर कसरी, ऊ किन कुकुर बन्यो त ? यो शील (नैतिकता)को कारणले हो, शील पालना नगरेको कारणले हो ।”

सन् २०२२ मा भिक्षु पन्याकार भारतमा पदयात्रामा छँदा उक्त कुकुरले पछ्याएको थियो । सन् २०२५ को अन्त्यमा भिक्षु पन्याकारसहितको टोलीले अमेरिकाकोे टेक्सासबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो । अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो ।

त्यस अवसरमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख हरिजनले लुम्बिनी जहाँबाट मानवता, करुणा, सहअस्तित्व र विश्व बन्धुत्वको सन्देश संसारभर प्रवाहित भएको छ, त्यही पवित्र भूमिमा सम्पन्न यस ‘शान्ति पदयात्रा’ कार्यक्रमले शान्ति, सद्भाव र वैश्विक एकताको भावनालाई थप ऊर्जावान बनाएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक राईले अलोका कुकुरसहित भिक्षु पन्याकारको आगमनले पिस वाकले सार्थकता पाएको बताउनुभयो । उहाँले यसले लुम्बिनीको शान्ति पर्यटनमा पनि टेवा दिने विश्वास व्यक्त गर्नुभयो ।

पदयात्राको टोली सोमबार (आज) बिहान हवाई उडानबाट काठमाडौँ पुगेर बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ ५ः०० बजे राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ ।

विश्व शान्तिका लागि अहोरात्र हिँडेका व्यक्तिहरूलाई शान्तिकै उद्गमस्थल लुम्बिनी आउने वातावरण बनाउनुभएको भिक्षु महासङ्घका पूर्वअध्यक्ष भिक्षु मैत्री महास्थवीरले नेपाल भ्रमणको चाहनाबारे सोध्दा राष्ट्रपति÷प्रधानमन्त्रीसँग भेटघाट हुने भए आउने जानकारी पाएपछि आफू सक्रिय भएर व्यवस्थापनमा लागेको बताउनुभयो ।

उहाँले धर्म, राजनीति र विचारधाराले विभाजित देखिने अमेरिकामा गरिएको त्यो पदयात्राले त्यहाँ शान्ति, करुणा मैत्रीभावप्रतिको गजबको आकर्षण देखिएको बताउनुभयो ।

युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील रहेको बताएका छन्।नेपाली युवा उद्यमी मञ्चले आइतबार आयोजना गरेको ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’लाई सम्बोधन गर्दै मन्त्री यादवले युवालाई सीप, रोजगार र उद्यमशीलतासँग जोड्न सरकारले राष्ट्रिय अभियान अगाडि बढाएको बताए।

उनले सरकार एक्लैले रोजगार सिर्जना गर्न नसक्ने र रोजगार सिर्जना गर्ने निजी क्षेत्रले नै भएको बताए । मन्त्री यादवले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धनको दशक’का रूपमा मनाइने बताए। देशको समृद्धि युवाको पसिना स्वदेशमै बगाउँदा मात्र सम्भव हुने उनको भनाइ थियो।

मन्त्री यादवले आफ्नो मन्त्रालयको ८० प्रतिशत समय वैदेशिक रोजगारीका समस्या समाधानमा खर्च भइरहेको बताए । ‘सरकार, रोजगारदाता र श्रमिक’ बीचको त्रिपक्षीय सहकार्यमार्फत रोजगारीका अवसर वृद्धि गरिने उनको भनाइ थियो । सूचना प्रविधि, पर्यटन, कृषि प्रशोधन र ‘ग्रीन इकोनोमी’मा नेपालको उज्ज्वल भविष्य रहेको मन्त्री यादवले उल्लेख गरे। उनले सरकार सधैँ उद्यमीको साथमा रहेको बताए।

इप्पानमा नयाँ नेतृत्वको सुरुवात, शपथ लिएपछि कार्यसमितिले सम्हाल्यो कमान्ड

इप्पानको २४औँ वार्षिक साधारणसभा तथा ८औँ अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको शपथ ग्रहण तथा पद हस्तान्तरण भएको छ। आइतबार काठमाडौँमा कार्यक्रम आयोजना गरेर नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको हो।

गत शुक्रबार सम्पन्न अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो। संस्थाको विधानअनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मोहन डाँगी अध्यक्ष बन्दा उपाध्यक्षहरूमा क्रमश: उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका थिए।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका थिए। सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका थिए। त्यसैगरी, कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शंकर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका थिए। उनीसँग प्रतिस्पर्धा गरेका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए। खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका हुन्।

सुदन र सुनिललाई अँगालो हालेर बालेनले लेखे – देश बनाउने टोली

काठमाडौं प्रधानमन्त्री बालेन शाहले आज दुई मन्त्रीसँग तस्बिर खिचेर सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेका छन् ।

उनले देश बनाउने टोली भन्दै गृहमन्त्री सुधन गुरुङ र पूर्वाधार मन्त्री सुनिल लम्साललाई बीचमा बसेर अँगालो हालेर तस्बिर सेयर गरेका छन् ।उनले आइतबार साँझ यो तस्बिर शेयर गरेलगतै धेरै लाइक र कमेन्टहरु आएका छन् ।

नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षको बजेटमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेको छ । त्यसका लागि रु दुई अर्ब ६२ करोड ७४ लाख बराबरको बजेट विनियोजन गरिएको छ ।

त्यसमा नेपाल सरकारतर्फ रु एक अर्ब १९ करोड ७४ लाख रहेको छ भने वैदेशिक सहायतातर्फ रु एक अर्ब ४३ करोड रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनको माध्यमबाट विद्युत् पहुँच विस्तार गर्ने कार्यक्रम भने निरन्तर कार्यान्वयनमा छ ।

यस्तै, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधि प्रवद्र्धन, उत्पादकत्व वृद्धि, फोहोरबाट ऊर्जा उत्पादन, लघु, साना तथा मझौला व्यवसाय प्रवद्र्धन, ऊर्जा दक्षता कार्यक्रम पनि क्रमशः सञ्चालनमा छ ।

त्यस्तै, च्यालेन्ज फण्डमार्फत नवीकरणीय ऊर्जा कार्यक्रम कार्यान्वयन, ग्रीन हाइड्रोजन, स्थानीय तह र प्रदेश सरकारको क्षमता अभिवृद्धि, प्राविधिक सहयोग, प्रविधिको अनुगमन मूल्याङ्कन, वातावरण तथा सामाजिक सुरक्षण, लैंगिक तथा सामाजिक समावेशीकरण जस्ता क्रियाकलापमा बजेट विनियोजन गरिएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका अनुसार, आगामी आवका लागि सङ्घीय सरकारको वार्षिक नीति तथा कार्यक्रमको बुँदा नं ३१ मा राष्ट्रिय ग्रिड नपुगेका स्थानमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युत् प्रणाली विस्तार गरिने उल्लेख छ ।

ग्रीन हाइड्रोजन, हरित एमोनिया तथा रासायनिक मल जस्ता रणनीतिक हरित उद्योगलाई प्रवद्र्धनका लागि कर भन्सार छुट, सहुलियतपूर्ण विद्युत् दर, पुँजी प्रोत्साहन र लागतमैत्री नीति लागू गरिनेछ ।

त्यस्तै, यातायात क्षेत्रमा व्यावसायिक प्रयोग विस्तार गर्ने ग्रीन हाइड्रोजन पूर्वाधारको सुरुवात गर्ने विषयलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

सरकारको मार्गदर्शन अनुसार नै केन्द्रको वार्षिक कार्यक्रम तथा बजेट तय गरिएको छ । विद्युत् पहुँचतर्फ राष्ट्रिय ग्रिड नपुगेका स्थानमा लघु तथा साना जलविद्युत्, सौर्य मिनीग्रिड प्रणाली विस्तार गर्ने लक्ष्य रहेको छ ।

लघु तथा साना जलविद्युत् एवं सौर्य मिनीग्रिडमार्फत दुई दशमलव पाँच मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिनुभयो ।

यसैगरी, खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको प्रवद्र्धन तथा विस्तारलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।

खाना पकाउने स्वच्छ ऊर्जा प्रविधितर्फ किीब २ लाख ५० हजार घरधुरीमा विद्युतीय चुलो, बायोग्यास र सुधारिएको चुलो लगायतका स्वच्छ ऊर्जा प्रविधि विस्तार गर्ने कार्यक्रम अगाडि सारिएको छ । त्यस्तै १० वटा संस्थागत तथा व्यावसायिक बायोग्यास प्लान्ट र नौ वटा ठूला क्षमताका फोहरबाट ऊर्जा उत्पादन परियोजना निर्माण गर्ने योजना छ ।

त्यसैगरी बजेटमार्फत सरकारले उत्पादकत्व वृद्धि, कृषि, डिकार्बनाइजेसन तथा व्यावसाय प्रवद्र्धनका क्षेत्रको विकासमा समेत जोड दिइएको छ ।

सो कार्यक्रमअन्तर्गत २७ मेगावाट सौर्य रुफटप प्रणाली, १२० वटा सौर्य खानेपानी तथा सिंचाइ आयोजना, एक हजार वटा व्यापारिक तथा संस्थागत क्षेत्रहरुमा तापीय उर्जाका लागि प्रयोग भइरहेको खाना पकाउने ‘एलपिजी’लाई जैविक पेलेट चुलो मार्फत प्रतिस्थापन, १० वटा सौर्य तापीय प्रणाली एवं ५०० किलोवाट पिक क्षमताको एग्रोभोल्टाइकमा आधारित सौर्य ऊर्जा नमूना आयोजना कार्यान्वयन गरिनेछ ।

त्यसैगरी ऊर्जा दक्षता अवलम्बनका लागि ऊर्जा परीक्षण तथा ऊर्जा परीक्षण सिफारिस कार्यान्वयन, ऊर्जा दक्ष नमूना विद्यालय तथा ऊर्जा दक्षतासम्बन्धी गुणस्तर तथा मापदण्ड निर्माण, जलवायु परिवर्तन न्यूनीकरण तथा कार्बन व्यापारलाई प्राथमकितामा राखिएको छ ।

स्थानीय तह तथा प्रदेश सरकारको क्षमता अभिवृद्धि, ग्रीन हाइड्रोजनलगायत नवीनतम प्रविधिसम्बन्धी अध्ययन अनुसन्धान र नमूना आयोजना सञ्चालन गरिनेछ ।

दिगो ऊर्जा च्यालेञ्ज फण्डमार्फत नवीकरणीय ऊर्जा प्रवद्र्धनको भायबिलिटी ग्याप फण्डिङ्ग, विपदबाट क्षति भएका आयोजनाको पूनर्निर्माण तथा मर्मतसम्भार र अफग्रिड आयोजनालाई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने क्रियाकलापको लागि बजेट विनियोजन गरिएको केन्द्रले जनाएको छ ।

युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी पाँच वर्षमा युवाले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य हुने बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३ मा अर्थमन्त्री डा वाग्लेले आगामी वर्षको बजेटमार्फत युवालाई स्वदेशमै रोजगारी, शिक्षा र अन्य अवसरको पर्याप्त अवसर सृजना गरिने बताउनुभयो । उहाँले देशका युवा आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता अन्त्य हुनुपर्ने बताउँदै भन्नुभयो, “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट नीतिगत पहल सुरु गरेका छौँ । बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।”

देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डा वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी र व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटामा अघि बढ्ने जनाउनुभयो ।

बजेटमा करको दर घटाएर रु एक लाखसम्म कमाउने युवालाई महत्वपूर्ण सहुलियत दिएर करको झन्झटबाट मुक्ति दिइएको उहाँको भनाइ थियो । अर्थमन्त्री डा वाग्लेले त्यसको फाइदा लिन सबैलाई आग्रह गर्नुभयो । बजेट बनाउँदा युवाको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रम घोषणा भएका उहाँले बताउनुभयो ।

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उहाँविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो ।

कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छाड्नुभएको थियो ।

‘र्यापिड एक्सन बटालियन’ नामक अर्धसैनिक बलको नेतृत्व गरेका उहाँलाई सयाँै बेपत्ता र गैरन्यायिक हत्यामा कथित भूमिकाको लागि संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा उहाँलगायत केही बङ्गलादेशी अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको थियो ।

“पूर्व प्रहरी प्रमुख अहमदलाई जुन १२ मा पक्राउ गरिएको र छिट्टै सुपुर्दगी गरिने छ,” बङ्गलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले संसदलाई बताउनुभयो ।

अहमद्विरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गरिएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो ऐतिहासिक उपलब्धि हो । यी प्रयासहरूको माध्यमबाट हामी दण्डहीनताको संस्कृतिलाई तोड्न सक्षम हुनेछौँ,” सलाहुद्दीन अहमदले भन्नुभयो ।

उहाँले थप्नुभयो, “हामी राष्ट्रलाई आश्वस्त पार्न चाहन्छौं कि कुनै पनि अपराधी, जतिसुकै शक्तिशाली भए पनि, कानूनभन्दा माथि छैन।”

सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उहाँ निर्वासनमा रहँदै आउनुभएको छ ।

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको परमाणु कार्यक्रम, तेल प्रतिबन्धमा राहत, हर्मुज पुनः खोल्ने र इरानको कब्जा सम्पत्ति फुकुवाजस्ता धेरै प्रमुख मुद्दाहरू समावेश गरिएको इरानी वरिष्ठ अधिकारीले जानकारी दिएका छन् ।

इरान र अमेरिकाबीच सम्भावित सम्झौताको खबर बाहिर आएको छ । रिपोर्टअनुसार इरानका एक वरिष्ठ अधिकारीले दुई देशबीच एक मस्यौदा सम्झौता तयार गरिएको छ, जसमा तेल प्रतिबन्ध, परमाणु कार्यक्रम र आर्थिक राहतजस्ता धेरै महत्वपूर्ण मुद्दा समावेश गरिएको छ । यो मस्यौदा तयार भई सहमति भएमा आगामी ६० दिन युद्धविराम अवधि लम्बिनेछ भने यो समयमा युद्ध अन्त्यका लागि अन्तिम सम्झौता हुनेछ ।

यो प्रस्तावित सम्झौता अन्तर्गत सबैभन्दा ठूलो कदम भनेको इरानले ‘स्ट्रेट अफ हर्मुज’लाई तत्काल सबै व्यापारिक जहाजका लागि खुला गर्नेछ ।

त्यसको बदलामा अमेरिकाले इरानको बन्दरगाहमा लगाएको नौसैनिक नाकाबन्दी फुकुवा गर्नेछ । सम्झौतामा हस्ताक्षर हुनासाथ यो प्रक्रिया सुरु हुनेछ उक्त प्रक्रिया आगामी ३० दिनभित्र सम्पन्न हुनेछ । यो मार्ग विश्वव्यापी तेल आपूर्तिका लागि निकै महत्वपूर्ण मानिन्छ, त्यसैले यो खुल्नु अन्तर्राष्ट्रिय बजारका लागि ठूलो राहत हुनसक्छ ।

आर्थिक मोर्चामा, अमेरिकाले अन्तिम सहमति नभएसम्म इरानमाथि कुनै नयाँ प्रतिबन्ध लगाउने छैन । अन्तिम सम्झौतापछि अमेरिका र संयुक्त राष्ट्रसङ्घका सबै नाकाबन्दी तोकिएको समयसीमाअनुसार फुकुवा हुनेछन् । अमेरिकाले इरानलाई निश्चित अवधिका लागि तेल बेच्न र त्यसबाट प्राप्त हुने आम्दानी प्राप्त गर्न अनुमति दिन तेल प्रतिबन्धहरू पनि खुकुलो बनाउनेछ । मस्यौदामा अमेरिकाले इरानको जफत गरिएको २५ अर्ब डलर बराबरको सम्पत्ति पनि सार्वजनिक गर्ने प्रस्ताव गरिएको छ । यो रकम प्रत्यक्ष नगद स्थानान्तरण, क्षेत्रीय देशहरूसँग सहयोग र वित्तीय ‘क्रेडिट लाइन’हरू मार्फत उपलब्ध गराउन सकिन्छ । यसका साथै अमेरिकाले इरानको पुनर्निर्माण र विकासका लागि योजना तयार गर्न आफ्ना क्षेत्रीय सहयोगीहरूसँग काम गर्नेछ, जुन तेहरानसँगको वार्ताबाट ६० दिनभित्र हुनेछ ।

आणविक मामिलामा इरान परमाणु हतियार निर्माण वा अधिग्रहण नगर्ने कुरामा सहमत हुनेछ । अन्तिम सम्झौता नभएसम्म, इरानले आफ्नो परमाणु कार्यक्रमको वर्तमान स्थितिलाई कायम राख्नेछ र युरेनियम संवर्धन वा आणविक सुविधाहरूको विस्तारलाई अघि बढाउने छैन । मस्यौदाद्वारा निर्दिष्ट आगामी बृहत् सम्झौताअन्तर्गत अमेरिकाले इरानलाई आफ्नो उच्च संवर्धित युरेनियमको भण्डारलाई इरानी भूमिमा कम संवर्धित स्तरमा रूपान्तरण गर्न अनुमति दिनेछ। सम्झौतापछि ६० दिनभित्र इरानको आणविक कार्यक्रम, युरेनियम संवर्धन गतिविधि र अत्यधिक संवर्धित युरेनियमको भण्डारको व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरूमा वार्ता हुनेछ र यसलाई अन्तिम सम्झौतामा समावेश गरिनेछ ।

हुम्लामा कैलाश तीर्थयात्रीको भीड, सिमकोट विमानस्थलमा चहलपहल

हुम्ला। पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थल भएर हिल्सा हुँदै मानसरोवर कैलाशको दर्शनका लागि यात्रा गर्ने पर्यटकको सङ्ख्या तीन हजार ७०० भन्दा बढी पुगेको छ ।यस वर्षको मानसरोवर कैलाशको दर्शन गर्ने याम सुरु भएपछि भारतीय धार्मिक पर्यटक हवाई मार्गबाट आउन थालेपछि सङ्ख्या बढ्दै गएको हो ।

हालसम्म तीन हजार ७८० जना भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट हुँदै हिल्सा भएर चीनको ताक्लाकोटतर्फ मानसरोवर कैलाशको दर्शन गर्न जाने गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु श्रेष्ठले जानकारी दिनुभयो । यस वर्ष गत वैशाख ३० गतेदेखि भारतीय पर्यटक जिल्लामा प्रवेश सुरु गरेका उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार हालसम्म एक हजार ८९२ महिला र एक हजार ८८८ जना पुरुष भारतीय पर्यटक हुम्ला आएका छन् । पर्यटकीय याम सुरु भएसँगै दैनिक ८० देखि २०० जना भारतीय पर्यटक हवाई मार्गबाट हुम्ला आउने गरेका उहाँले जानकारी दिनुभयो । सोही कारणले यहाँका होटेलसहित कैलाश, मानसरोवर आसपासका होटल तथा रिसोर्ट भरिभराउ हुने गरेका छन् ।

पर्यटकको आगमन बढेसँगै होटल व्यवसायीको आम्दानीमा उल्लेख्य सुधार भएको व्यवसायीहरू बताउँछन् । यसैगरी सिमकोट विमानस्थलबाट होटेलसम्म पर्यटकका झोलाहरू बोक्ने काममा ३० भन्दा बढी भरियाले काम गरिरहनुभएको छ । सिमकोटमा उत्पादित कृषिउपजले बजार पाउन थालेका छन् ।

पर्यटकको आगमन बढेपछि हाल ताराको एउटा, सीताका दुई र समिट एयरका तीन गरी निजी एयरलाइन्सले छ वटा उडानमार्फत बिहान ७ः०० बजेदेखि बेलुका अबेरसम्म नेपालगञ्ज–सिमकोट सेवा प्रवाह गरिरहेका नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख महेन्द्र सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार छ वटा कम्पनीका छ वटा हेलिकप्टरले सिमकोट विमानस्थलबाट हिल्सा उडान भर्दै आएका छन् । हेलिकप्टर बिहान ६ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म उडान भरिरहेका छन् । यस्तो पर्यटकको चहलपहल सिमकोटमा मात्र नभएर दुई देशको सीमा क्षेत्र हिल्सामा पनि हुने गरेको छ ।

पर्यटक आगमन बढेसँगै हिल्साका होटल व्यवसायी र भरियाको कमाइ बढेको उहाँको भनाइ छ । मानसरोवर कैलाशको दर्शन गर्ने समय सुरु भएपछि भारतीय पर्यटक आउने क्रम उल्लेख्य रूपमा बढेकाले सिमकोट विमानस्थलमा बिहानदेखि बेलुकासम्म चहलपहल हुन थालेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो ।

उहाँले सिमकोटबाट पर्यटक हिल्सा ओसार्ने हेलिकप्टरले बिहान ६ः३० बजेदेखि उडान भर्न सुरु गर्ने जानकारी दिनुभयो । कतिपय बेला सिमकोट विमानस्थलमा ट्राफिक जाम हुने गरेको उहाँको भनाइ छ ।

बालेन सरकारले कर छुटको नाममा नागरिकमाथि थप भार थोपरेको गगन थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले कर छुटको नाममा नागरिकमाथि थप भार थोपरेको आरोप लगाएका छन् । आइतबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘सुवर्ण शम्शेर इकोनोमिक श्रृङ्ला’ कार्यक्रममा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले बजेटमार्फत नागरिकलाई कर छुट दिएकोजस्तो देखाए पनि विभिन्न शीर्षकमा त्यसभन्दा बढी रकम असुल्ने व्यवस्था गरेको बताए ।

उनले व्यक्तिगत आयकरको सीमा बढाएर केही राहत दिएको भनिए पनि अन्य क्षेत्रबाट थप शुल्क र कर लगाउँदा नागरिकको खर्च झन् बढ्ने अवस्था सिर्जना भएको बताए ।

‘निजी विद्यालयमा अध्ययन गराउनु अधिकांश परिवारका लागि विलासिता नभई बाध्यता हो,’ थापाले भने, ‘सामुदायिक विद्यालयलाई पर्याप्त रूपमा प्रभावकारी बनाउन नसकिएको अवस्थामा निजी विद्यालयमा लगाइएको समता शुल्कको भार अन्ततः अभिभावकमा पर्छ ।’

‘शिक्षा, स्वास्थ्य, विद्युत् तथा मूल्यवृद्धिसहितका प्रभाव जोड्दा एक परिवारले वर्षभरिमा कर छुटबाट प्राप्त हुने लाभभन्दा धेरै रकम अतिरिक्त खर्च गर्नुपर्ने अवस्था हुन्छ,’ थापाले भने, ‘बजेटलाई मध्यमवर्गमैत्री भनेर गरिएको प्रचार वास्तविकतासँग मेल खाँदैन ।’

महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले संविधान संशोधन बहसका लागि महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न अवधारणापत्र तयार गरेको छ ।
सो पार्टी निटकको अखिल नेपाल महिला सङ्घ तथा जातीय समता समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा आज यहाँ भएको अन्तरक्रियामा पार्टीका महासचिव मनोज भट्टद्वारा प्रस्तुत अवधारणापत्रमा महिला र दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न प्रस्ताव गरिएको हो ।

नेपाल सरकारले संविधान संशोधनका लागि बहसपत्र निर्माण कार्यदल गठन गरेको सन्दर्भमा विद्यमान प्रत्यक्ष र समानुपातिक गरी मिश्रित प्रकारको निर्वाचन प्रणालीको कायम राख्न तथा महिला र दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्न सो पार्टीको माग रहेको छ ।

नेपालमा दलित र महिलाले जातीय तथा वर्गीयरूपले युगौँदेखि समाज वा राज्य दुवैबाट दोहोरो उत्पीडन व्यहोर्नुपरेको अवस्थामा महिला तथा दलित समुदायलाई छुट्टै निर्वाचन क्षेत्र निर्धारण गर्दा उनीहरूप्रतिको सम्मान र विगतका भोगेका पीडाको क्षतिपूर्ति हुने महासचिव भट्टको भनाइ छ ।

परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी

काठमाडौँ। चीनको चारदिने औपचारिक भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।परराष्ट्रमन्त्री खनाल चीनको विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य वाङ यीको सौहार्दपूर्ण निमन्त्रणामा आज बिहान बेइजिङ पुग्नुभएको हो । उहाँलाई बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थलमा बेइजिङस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत श्रीमती रोशन खनाल तथा चीनको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।

आज अपराह्न परराष्ट्रमन्त्री खनाल उहाँको सम्मानमा नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा सहभागी भई नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको दूतावासले जनाएको छ ।

कार्यक्रममा उहाँले वर्तमान सरकारका प्राथमिकता सुशासनको संस्थागत विकास, आर्थिक विकास तथा समृद्धिमा केन्द्रित रहेको उल्लेख गर्नुभयो । साथै उहाँले नेपाली समुदायलाई मुलुक समृद्धिको अभियानमा सहभागी हुन पनि आह्वान गर्नुभयो ।

यसअघि परराष्ट्रमन्त्री खनालले राजदूतावास परिसरमा बिरुवा रोप्नुभएको थियो । साथै, उहाँले कार्यवाहक राजदूत तथा अन्य अधिकारीबाट राजदूतावासको कार्यसम्पादन र प्राथमिकताबारे जानकारी लिनुभएको थियो ।मन्त्री खनालले चीनमा नेपालको हित प्रवद्र्धन गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न राजदूतावासका अधिकारीहरुलाई निर्देशन दिनुभएको थियो ।

लोकतन्त्र कमजोर बन्दै गएको भन्दै कोइरालाको चिन्ता

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता शुरु भएको बताएका छन् ।कोइरालाले लोकतन्त्र ईतिहाँसकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए । नेपाली कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेका राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको बिकल्प नभएको कोइरालाको भनाई थियो ।

कोइरालाले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउँन नेपालका सबै शक्तिका बिचमा सहकार्य र एकता जरुरी छ।’विराटनगरमा आयोजित कोशी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफुले राखेका पाँचवटा कुरा स्विकारेको बताउँदै उनले भने, ‘सहमति गर्न अहिले के कुराले रोक्यो ?’

गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफुले राखेका ५ बुँदे सार्वजनिक गरेको बताए ।सहमतिबिना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकता बाटै हामी हिड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ ।’कोइरालाले आफुले कुनैपनि हालतमा पार्टी नफुट्ने र फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे ।

बागमती प्रदेशसभा बैठकः प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

मकवानपुर। बागमती प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गर्नुभएको छ ।आजको बैठकमा सो आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बागमती प्रदेशभित्र राजस्व असुली गर्ने कार्य उल्लेखित प्रगती भएको उहाँले जानकारी दिनुभयो ।

मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले प्रदेशको विभिन्न जिल्लामा नयाँ ८०० किलोमिटर सडक निर्माण सम्पन्न गरिएको र खानेपानी, सिँचाइका विद्युतीय योजनालाई कार्यान्वयन गर्दै लगिने जानकारी दिनुभयो ।

मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा सडकका ढल व्यवस्थापन गरिनुका साथै स्तरोन्नति गरिएको, थप सडक कालोपत्र गरी विपन्न जनतालाई सुविधा उपलब्ध गराइएको उल्लेख गर्नुभयो । उहाँले कृषि उत्पादनलाई बढुवा दिन विपन्न समुदायको चेपाङ, तामाङ, जनजाति, दलित, आदिवासीलगायत खस र आर्यलाई केन्द्रमा राखेर आगामी आव २०८३/८४ का लागि आर्थिक योजनाका कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

सोही बैठकमा प्रदेशसभाअन्तर्गत रहेका पाँच वटा विभिन्न समितिका सभापतिहरूले आआफ्नो समितिको तर्फबाट सातौँ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

समितिको सातौँ प्रतिवेदन प्रस्तुत गर्नेमा क्रमशः प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जेलामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, अर्थ तथा विकास समितिका सभापति नुरज वज्राचार्य, कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुरप्रसाद ढकाल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ हुनुहुन्छ ।

बैठकमा विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले सो समितिको तेस्रो प्रतिवेदन छुट्टै पेस गर्नुभएको थियो । प्रदेशसभाको उपसभामुख अप्सरा चापागाईंले अर्को बैठक असार १ गते अपराह्न ४ः०० बजे बस्ने जानकारी दिँदै आजको बैठक स्थगित गर्नुभयो ।

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार दाङको राप्ती गाउँपालिकामा ट्रकको ठक्करबाट पैदलयात्री अन्दाजी ६५ वर्षीया चुरिया चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएकी चौधरीको भालुबाङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।त्यस्तै ललितपुर महानगरपालिका-१३ थसिखेल चोकस्थित सडकमा आज बिहान ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार भक्तपुर लोकन्थलीकी २३ वर्षीया सोनु गडालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएकी गडालको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।

दाङबाट सल्यानतर्फ जाँदै गरेको बसले सल्यानको शारदा नगरपालिका-१ श्रीनगरस्थित सडकमा ठक्कर दिँदा पैदलयात्री छत्रेश्वरी गाउँपालिका ७ बस्ने ४६ वर्षीया उमा रेउलेको आज मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते हुनुभएकी रेउलेको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

कतारको प्रतिनिधिमण्डल तेहरानमा

तेहरान। इरान र संयुक्त राज्य अमेरिकाबिचको युद्ध अन्त्य गर्ने मध्यस्थता प्रक्रियाको एक भागको रूपमा कतारको प्रतिनिधिमण्डल आइतबार तेहरान आइपुगेको इरानी मिडिया र एक कूटनीतिज्ञले पुष्टि गरेका छन् ।इरानको समाचार एजेन्सी आइएसएनएले कतारका विदेशमन्त्रीका सल्लाहकारलाई कुटनीतिक वार्ताको पहल गर्न इरान पठाइएको जनाएको छ । इरानको अर्को समाचार एजेन्सी तस्निमले यो भ्रमणको उद्देश्य ‘कूटनीतिक प्रक्रियाका पछिल्ला घटनाक्रमलाई हेर्ने’ रहेको बताएको छ ।

कतारी वार्ताकार आज बिहान तेहरानतर्फ उडेका एक कूटनीतिज्ञले एएफपीसँग बताउनुभयो । नाम नबताउने सर्तमा ती कूटनीतिज्ञले भने, “प्रतिनिधिमण्डलले सम्झौतालाई अन्तिम रूप दिन सहयोग पुर्याउन इरान भ्रमण गरेको हो ।”

महिनौँदेखि जारी मध्यपूर्व युद्ध अन्त्यका लागि मध्यस्थताको नेतृत्व गर्दै आएको पाकिस्तान र संयुक्तराज्य अमेरिकाले आइतबार द्वन्द्व अन्त्यका लागि सहमतिमा हस्ताक्षर हुने सङ्केत गरेका छन्, यद्यपि, तेहरानले त्यो समयलाई लिएर शङ्का व्यक्त गरेको छ र इरानी मिडियाले फ्रेमवर्कमा अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन् ।

सुगठन खेलाडी सगेन्द्र सिंहले जिते मिस्टर महानगर उपाधि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्ष मिस्टर महानगरको उपाधि सगेन्द्र सिंहलाई प्रदान गरेको छ । काठमाडौँ महानगरपालिका–२२ ले आयोजना गरेको मिस्टर महानगरको दोस्रो संस्करणको उपाधि सिंहलाई प्रदान गरिएको हो ।

मिस्टर महानगर शारीरिक सुगठन प्रतियोगितामा डिभाइन फिजिकल फिटनेस सेन्टरका सिंहले ७५ किलोभन्दा माथिको तौल समूहबाट उपाधि हासिल गरेका हुन् । उनले तौल समूहको प्रतिस्पर्धामा रु एक लाख र ओभरअल प्रतिस्पर्धाबाट दोस्रो ‘मिस्टर महानगर’ को उपाधिसहित रु पाँच लाख र ट्रफी र ब्यानेट प्राप्त गरेका छन् ।

गत वर्ष सम्पन्न पहिलो प्रतियोगितामा ग्रेस महर्जनले पहिलो ‘मिस्टर महानगर’ उपाधि प्राप्त गरेका थिए । विजेतालाई काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । प्रतियोगिताको ओभरअल प्रतिस्पर्धामा रु ५५ किलो तौल समूहबाट जिमटारका सविन चौलागाईं, ६० किलो तौल समूहबाट फिटएक्स जिमका अमृत गहतराज, ६५ किलो तौल समूहबाट फिटनेस ग्यारेज थापाथलीका नवराज डुम्ब्रे, ७० किलो तौल समूहबाट ग्यारेजकै माधव सुवेदी, ७५ किलो तौल समूहबाट नेपाल व्यायाम मन्दिरका क्षितिज थापा र ७५ किलो भन्दा माथिको तौल समूहबाट डिभाइनका रुपमा सिंहले प्रतिस्पर्धा गरेका थिए ।

महिला फिजिक्सतर्फ एनआरके फिटनेसकी सीता खत्रीले प्रथम स्थान हासिल गरिन् । उनलाई नगद रु एक लाख २५ हजारसहित पदक र सम्मान पत्र प्रदान गरिएको छ । यस वर्ष पुरुषतर्फ नौ विधामा प्रतिस्पर्धा भएको थियो । एथलेटिक्स फिजिक्सतर्फ दुई विधामा प्रतिस्पर्धा भएको थियो । महिलातर्फ एथलेटिक्स फिजिक्सअन्तर्गत प्रतिस्पर्धा गराइएको थियो ।

एथलेटिक्स फिजिक्सतर्फ पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार रु एक लाख २५ हजार, दोस्रोदेखि पाँचौँ स्थानसम्म क्रमशः रु ७५ हजार, रु ५० हजार, रु २५ हजार तथा रु १० हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिएको थियो ।

युवाले सपना पूरा गर्न विदेशिनुपर्ने बाध्यता अन्त्य गर्छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यताको अन्त्य गर्न बजेटबाट सुरु गरेको बताएका हुन् ।

उनले त्यस कामको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पु¥याउने बताए । ‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनैपर्ने बाध्यता आइलागेको छ,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस्, बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।’

देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी÷व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने बताए ।

करको दरहरू घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए । यस्तै करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे ।बजेट बनाउँदा युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरू घोषणा भएको उनको भनाइ छ ।

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ । मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको आगामी असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ(्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।

असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने सचिवालयले जनाएको छ ।

असार ३ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीले मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेछन् ।

यस्तै असार ४ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन, न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम तय भएको छ ।

सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेको थियो । प्रतिनिधिसभामा यसअघि बजेटमाथिको सामान्य छलफल सम्पन्न भई अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिइसकेका छन् ।

विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो

काठमाडौँ। हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ ।अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । २८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अङ्क जोडेको छ । स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन ।

स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो । उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे ।समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो । यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै, समान एक अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ । अङ्कविहीन रहेको हाइटी चौथो स्थानमा छ ।विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९ः४५ बजेदेखि सुरु हुनेछ ।आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ । उक्त खेल राति १०ः४५ बजे हुनेछ ।

झापामा हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

झापा । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो ।

आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

फिफा विश्वकप : मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिल र मोरक्कोले बराबरी खेलेका छन् । शनिबार न्यु जर्सीस्थित न्युयोर्क-न्यु जर्सी स्टेडियममा भएको खेलमा ब्राजिलले मोरक्कोसँग १–१ को बराबरी खेलेका हुन् ।

खेलको २१औँ मिनेटमा मोरक्कोका मिडफिल्डर इस्माइल साइबारीले गोल गर्दै १-० को अग्रता दिलाएका थिए । ब्राजिलले खेलको ३२ औं मिनेटमा स्टार स्ट्राइकर भिनिसियस जुनियरले गोल गर्दै खेललाई १-१ को बराबरी बनाएका थिए । पहिलो खेलमा दुवै टोलीले एक–एक अंक जोडेका छन् । ब्राजिलले आफ्नो दोस्रो खेलमा हाइटीसँग प्रतिस्पर्धा गर्नेछ ।

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणमा आज बेइजिङतर्फ गएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने जनाइएको छ।

मुलुकमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि छलफल गर्ने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा उक्त दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । समारोहमा उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछन्।

मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु रातो (मुढे) प्रतिकिलो रु ३५, सेतो आलु प्रतिकेजी ३०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०, भन्टा लाम्चो प्रतिकिलो रु ३० र भन्टा डल्लो प्रतिकिलो रु ३५ कायम भएको छ ।

समितिका अनुसार बोडी (तने) प्रतिकिलो रु ३०, मकै बोडी प्रतिकिलो रु ४०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ५०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १००, टाटे सिमी प्रतिकिलो रु ८०, भटमास कोसा प्रतिकिलो रु १२०, मटरकोशा प्रतिकेजी १४०, तीते करेला प्रतिकिलो रु ५०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ५०, परवर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, भिन्डी प्रतिकिलो रु ३०, सखरखण्ड प्रतिकिलो रु १२० र पिँडालु प्रतिकिलो रु १००, इस्कुस प्रतिकिलो रु ५० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकिलो रु ७०, चमसुरको साग प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ६०, हरियो प्याज प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३७०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकेजी रु १००, ब्रोकाउली प्रतिकिलो रु १००, चुकन्दर प्रतिकेजी रु ६०, सजीवन प्रतिकेजी रु १२०, रातो बन्दा प्रतिकिलो रु ४०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १३०, पार्सले प्रतिकिलो रु २२०, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु १२०, गान्टेमूला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १५०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो रु १८०, अनार प्रतिकिलो रु ४२०, आँप (मालदह) प्रतिकिलो रु ९०, आँप (दशहरी) प्रतिकिलो रु ११०, तरबुजा (हरियो) प्रतिकिलो रु ५०, जुनार प्रतिकिलो रु २२०, भुइँकटहर प्रतिकिलो रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ८०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६५, रूखकटहर प्रतिकिलो रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (नेपाली) प्रतिकिलो रु ९०, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) रु २५०, लिची (भारतीय) रु ३००, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु १७० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १३०, सुकेको खुर्सानी प्रतिकिलो रु ५००, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, माछे खुर्सानी प्रतिकिलो रु ७०, अकबरे प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८०, हरियो लसुन प्रतिकिलो रु २००, हरियो धनियाँ प्रतिकिलो रु ११०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १८०, माछा सुकेको प्रतिकिलो रु १,०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३०० र ताजा माछा (छडी) प्रतिकिलो रु २५० निर्धारण भएको छ ।

कोलकातामा पोखरा–कोलकाता पर्यटन साझेदारी, भारतीय पर्यटक भित्र्याउने पहल

गण्डकी । भारतीय सहर कोलकातामा पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ सम्पन्न भएको छ ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीको ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत शनिबार आयोजित ‘बिटुबी’ एवं ‘सेल्स मिसन’मार्फत पोखरा र कोलकाताबिच पर्यटन साझेदारीलाई अगाडि बढाइएको हो । त्यस क्रममा पोखराका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई आकर्षक ‘प्याकेज’ सहितको भ्रमण योजना प्रस्तुत गरेका थिए । भारतीय पर्यटन व्यवसायीले आगामी दिनमा थप भारतीय पर्यटक नेपाल पठाउने प्रतिबद्धता जनाएको नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले बताए ।

भारतीय पर्यटन व्यवसायीले पोखरा, मुक्तिनाथ, अन्नपूर्ण क्षेत्र र गण्डकी प्रदेशका अन्य पर्यटकीय गन्तव्यलाई भारतीयमाझ चिनाउने र घुम्नका लागि प्रेरित गर्ने बताएको उनको भनाइ छ । कार्यक्रममा कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यले पर्यटनले नेपाल र भारतबिचको मित्रता, संस्कृति र आर्थिक समृद्धिमा थप टेवा पुग्ने बताए । ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ले पश्चिम बङ्गाल र पोखराबिच सहकार्य र पर्यटन विस्तारका लागि नयाँ आधार तयार गरेको उनको भनाइ थियो ।

पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीच सांस्कृतिक र जनस्तरको सम्बन्ध रहेको बताए । उनले पर्यटन साझेदारीले दुवै ठाउँले लाभ लिन सक्ने धारणा राखे । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्यमध्ये एक भएको बताएका थिए । पर्यटकीय राजधानी पोखरासहित गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि पोखरा र कोलकाताका पर्यटन व्यवसायीबिच व्यावसायिक साझेदारी ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिएको हो ।

अध्यक्ष दाहालले पश्चिम बङ्गालका बासिन्दालाई लक्षित गरेर कोलकातामा पोखराको पर्यटन प्रवर्द्धन गरिएको बताए । “पछिल्लो समय पोखरासहित नेपालका विभिन्न गन्तव्यस्थलमा भारतीय पर्यटकको आवागमन बढेको छ”, उनले भने, “बिटुबी कार्यक्रमले नेपालमा भारतीय पर्यटकको सङ्ख्यालाई थप वृद्धि गर्न मद्दत पुग्नेछ ।”

कार्यक्रममा पोखरासहित समग्र नेपालको पर्यटन गतिविधि समेटिएको वृत्तचित्र, प्रवर्द्धनात्मक सामग्री प्रदर्शन एवं वितरण गरिएको थियो । कार्यक्रममा टूर अपरेटर्स वेलफेयर एसोसिएसन, इन्डियन एसोसिएसन अफ टुर अपरेटर्स, ट्राभल एजेन्ट्स एसोसिएसन अफ बङ्गाल, एसोसिएसन अफ बुद्धिस्ट टुर अपरेटर्स तथा एसोसिएसन अफ टुरिजम सर्भिस प्रोभाइडर्स अफ बङ्गालका प्रतिनिधिहरूको सहभागिता थियो । नाट्टा गण्डकीले यसअघि भारतको पटना, बाराणासी, अयोध्या, गोरखपुर र सिलुगुढीमा पोखराको पर्यटन प्रवर्द्धनसँगै ‘बिटुबी’ एवं ‘सेल्स मिसन’ आयोजना गरिसकेको छ ।

असार १ गतेदेखि चिया उद्योग बन्द गर्ने घोषणा

इलाम । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । ५३ उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ ।

संस्थाका अनुसार भारतीय बजारमा पुगेको तीन लाख किलोभन्दा बढी नेपाली चिया गुणस्तर परीक्षणका नाममा अलपत्र छ भने उद्योगमा सात लाख किलोभन्दा बढी तयारी चिया थन्किएको छ । भण्डारण क्षमता भरिएपछि उद्योग सञ्चालन गर्न नसकिएको एसोसिएसन अध्यक्ष डिल्ली श्रेष्ठले बताए ।

“किसानबाट खरिद गरिएको हरियो पत्ती प्रशोधन गरेर तयारी चिया बनाएका छौँ, तर बजारमा बिक्री हुन सकेको छैन । भण्डारण गर्ने ठाउँसमेत भरिइसकेको छ”, अध्यक्ष श्रेष्ठले भने, “किसानलाई भुक्तानी रोक्न मिल्दैन, त्यसैले उद्योग बन्द गर्नुबाहेक अर्को विकल्प रहेन ।”

भारतले सन् २०२६ मे १ देखि नेपालबाट आयात हुने चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ (एसओपी) लागू गरेको छ । यसअनुसार प्रत्येक गाडीको चिया छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने, प्रतिवेदन आउन २० दिनभन्दा बढी लाग्ने र नतिजा नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ । परीक्षणमा असफल भए चिया नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता छ ।

“उत्पादन भएको चिया बजारमा पुर्‍याउने बाटो नै बन्दजस्तै भएको छ”, उद्योगी गोपाल कट्टेलले भने, “भारतले विभिन्न प्राविधिक झन्झट सृजना गरेर नेपाली चिया रोकेपछि उद्योग सञ्चालन गर्न सक्ने अवस्था रहेन ।” नेपाली चियाको निर्यात समस्या समाधान गर्न सङ्घीय सरकारले प्रभावकारी रूपमा पहल गर्नुपर्ने उनको भनाइ छ । “सरकारले समयमै कूटनीतिक पहल गरेर निर्यात सहजीकरण गर्न पहल गर्नुपर्छ”, कट्टेलले भन्नुभयो, “अवरोध हटाउन पहल नभए अर्बौँ रुपैयाँको नेपाली चियाको बजार गुम्ने खतरा छ ।”

उद्योग बन्द हुँदा हजारौँ किसान प्रभावित हुनेछन् । एसोसिएसनका अनुसार सूर्योदय नगरपालिकामा दुई हजार ९९५ चिया किसान छन् । यहाँ ३३ हजार ६५५ रोपनी क्षेत्रफलमा चिया खेती हुँदै आएको छ, जहाँबाट वार्षिक दुई करोड किलो हरियो पत्ती उत्पादन हुन्छ । “उद्योग बन्द भयो भने आम्दानी नै रोकिन्छ, परिवार कसरी चलाउने ? हाम्रो त रोजिरोटी हराउँछ”, किसान राजन भट्टराई भन्नुहुन्छ, “उद्योग बन्द भएपछि हाम्रो हरियो पत्ती बिक्दैन । अब कसरी बाँच्ने भन्ने चिन्ता बढ्यो ।”

पैसठ्ठभन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले चिया बिक्रीका लागि भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ । नगरले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमुना सङ्कलन र परीक्षण गर्न थालेको तथा आधा दर्जनभन्दा बढी ट्रकबाट नमुना सङ्कलन गरिएको एक साता व्यतीत भइसक्दा पनि प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदनबेगर बिक्री–वितरण पूर्ण रोक लगाइएको पाएको जनाएको छ ।

“झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने जोखिम छ”, सूर्योदय नगरपालिकाका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले भने, “भारतीय अवरोध हटाउन नेपाल सरकारले उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ ।”

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका नवीन कोइरालाका अनुसार नेपालबाट बर्सेनि ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ । वार्षिक सवा रु चार अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ ।

मनसुनअघि महाकालीमा विशेष तयारी,गाइडबण्ड पुनर्निर्माणमा खटियो नेपाली सेना

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ ।

गत वर्ष वैशाखमा सरकारले महाकाली पुल योजनालाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरी गाइडबण्ड निर्माण गरी भीमदत्त नगरपालिका क्षेत्रका तटीय बस्ती जोगाउन काम नेपाली सेनालाई दिएको थियो । शुक्रबारमात्रै पुल योजना र गत वर्ष बाढीले क्षति पुर्याएको गाइडबण्डको स्थलगत निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल यहाँ आइपुग्नुभएको थियो । लगत्तै सरकारले क्षति भएको गाइडबण्ड पुनर्निर्माण गर्न र आसन्न वर्षात्का हुनसक्ने सम्भावित क्षति कम गर्न पुनः शनिबारदेखि नेपाली सेना खटाएको हो ।

गाइडबण्ड क्षति भएको स्थलमा सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा सैनिक जनशक्ति उक्त योजनामा परिचालन भएको छ । सो क्रममा नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका बाहिनीपति सहायकरथी बिजितराज रेग्मीसहित सैनिक प्राविधिक टोली क्षतिग्रस्त क्षेत्रको अवस्थाका बारेमा जानकारी लिनसमेत पुगिसकेको छ ।

बाहिनीले योजनास्थलमा तत्कालको क्षति न्यूनीकरण गरी थप क्षति हुन नदिन, चार लेनको पुल संरक्षण तथा तटीय क्षेत्रको बस्ती जोगाउन काम थालिसकेको छ । त्यसका लागि सुदूरपश्चिम पृतनाअन्तर्गत विभिन्न ठाउँबाट सेनाको टोली यहाँ आउने क्रम सुरु भइसकेको छ ।

क्षतिग्रस्त गाइडबण्ड क्षेत्रको अनुगमनका क्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले डिभिजन सडक कार्यालयलाई तत्काल पुनर्निर्माणको काम थाल्न आवश्यक सहयोग स्थानीयस्तरबाट लिन आग्रह गरे । “टिपरलगायतका सामग्रीका लागि स्थानीयस्तरबाट पनि सहयोग लिन सकिन्छ”, उनले भने, “जनशक्ति सहयोग सेनाबाट पूर्ण रूपमा रहन्छ ।”

गत वर्ष पनि सेनालाई दिइएको जिम्मेवारी पूरा गरेका कारण महाकाली नदीले गाइडबण्डमा क्षति धेरै गर्न पाएन । यस वर्ष पनि दिइएको जिम्मेवारीअनुरुप गाइडबण्डको संरक्षण र थप क्षति हुन नदिने गरी सेना खटिएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवले गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटरमा क्षति पुर्याएको बताए । “क्षति पुर्याएको ठाउँमै केन्द्रित भएर सैनिक टोली पुनर्निर्माणमा खटिएको छ”, उनले भने, “त्यसका लागि मेसिनरी र प्राविधिक सहयोग हाम्रो रहन्छ, जनशक्ति सेनाबाट उपलब्ध भएको छ ।”

पक्की पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र भेरियसन अर्डर (भिओ)को विषय किनारा नलागेपछि निर्माण कम्पनी कामबाट गत वर्षदेखि बाहिरिएको छ । पुल निर्माण व्यवसायी र सडक विभागबीचको मुद्दा अहिले मध्यस्त न्याधीकरणमा (आर्बिटेसन) मा छलफलमा रहेको छ ।

आज चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री खनाल, लगानी सम्मेलन र उच्चस्तरीय भेटवार्तामा सहभागी हुने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदैछन् । मन्त्री खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गर्ने जनाइएको छ।

मन्त्री खनालले चीनमा रहँदा आफ्ना समकक्षी वाङसँग नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस्तै भ्रमणकै क्रममा मन्त्री खनालले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्। उनले नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । उनी आगामी असार ३ गते स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

ट्राफिकको कडा निगरानी: एकै दिन हजारौँ चालक कारबाहीमा,चार लाख ५८ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४०८ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ५८ हजार राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १४०, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका ११६, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३८ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २८४ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८५, निषेधित क्षेत्रमा हर्न बजाउने १०६, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १२४, एकतर्फी सडकमा सवारी चलाउने ११६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ३३५ जनालाई कारबाही गरिएको हो ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८० पैसा र बिक्रीदर १७६ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ७३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ७८ पैसा र बिक्रीदर १९१ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०१ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ३० पैसा र बिक्रीदर ११८ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४८ पैसा र बिक्रीदर नौ रुपैयाँ ५२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४६ पैसा र बिक्रीदर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १० पैसा र बिक्रीदर १६ रुपैयाँ १६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५२ पैसा र बिक्रीदर २३ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १९ रुपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर ४९४ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४९६ रुपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर ४०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर ४०४ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९४ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ०३ पैसा रहेको छ ।त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।प्रदेशसभाको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बहुमतले परित गरिएको हो ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले वार्षिक नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै प्रदेशसभा सदस्यहरुबाट छलफलका क्रममा आएका सुझावलाई बजेट वक्तव्यमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।