`

युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको छः प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना राज्यले समयमै नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको बताउनुभएको छ ।

युवाको भावना र आवश्यकता सम्बोधन गर्दै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा उहाँको जोड छ । युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्ने क्रममा उहाँले युवाको भावना राज्यले नबुझिदिँदा जनसङ्ख्याको यस समूहमा बेचैनी देखिएको र अब राज्यले सम्बोधन गर्नैपर्ने बताउनुभएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले उहाँले भन्नुभयो, “युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ । नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो र ? युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ । होइन भने विचलन र विद्रोह जन्मिन्छ ।”

युवामा सुधार ल्याउने र रचनात्मक मार्गतर्फ डोहोर्याउने कर्तव्य राज्यकै हुने उहाँको भनाइ थियो । “युवालाई सही बाटोमा लगाउन सकिन्छ । खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा अग्रसर गराउनुपर्छ”, उहाँले थप्नुभयो, “युवामन्त्री एकदमै तेजिलो हुनुहुन्छ । समाज सेवामा पनि काम गर्नुभएको छ । युवालाई कसरी परिचालन गर्ने भनेर मन्त्रिपरिषद्मा पनि योजना राम्रो राम्रो ल्याउँदै हुनुहुन्छ ।”

हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसङ्ख्यालाई युवामा परिभाषित गरेको छ । यस समूहमा एक करोड २४ लाख जनसङ्ख्या छ, जुन कुल जनसङ्ख्याको ३० प्रतिशत हो ।

“जनसङ्ख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन् । यसमा देशभरिका युवा आएर जोडिन सकून् । यसैकारण हामीले बलियो मन्त्री पठाएका छौँ । यो ‘फाइटिङ एज’ पनि हो । नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ । यो भावनाका साथ अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

हालसम्म साढे दुई लाखभन्दा बढी नयाँ मतदाता थपिए

काठमाडौँ – हालसम्म दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छ्न् ।निर्वाचन आयोग नेपालका अनुसार मतदाता नामावली ऐन, २०७३ मा गरिएको संशोधन पश्चात आयोगको असोज ९ गतेको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि यही कात्तिक ३० गतेसम्म कायम गरिएकोमा कात्तिक २७ गतेसम्म कूल दुई लाख ५७ हजार ५०५ नयाँ मतदाताहरूले मतदाता नामावलीमा नाम दर्ता गराउनुभएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, “पछिल्लो समयमा मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक कार्यमा देखिएको उत्साहजनक सहभागितालाई मध्यनजर गरी नागरिकको सहजता र सुविधाका लागि आयोगको आजको निर्णयानुसार मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि मङ्सिर ५ गतेसम्मका लागि थप गरिएको छ । थप गरिएको अवधिमा मतदाता नामावलीमा नाम दर्ता गराउन राष्ट्रिय परिचयपत्र प्रयोग गरेर वा साविकमा प्रयोगमा रहेकोमार्फत आवेदन गरी निर्वाचन कार्यालयमा जैविक विवरण (फोटो तथा औँठाछाप) दिएर सेवा लिन सकिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”

भोलि शनिबार राष्ट्रिय परिचयपत्र नम्बर भएका सेवाग्राहीले जततउस्ररबउउथिखच।भभिअतष्यल।नयख।लउ मार्फत आवेदन गर्न सकिने र राष्ट्रिय परिचयपत्र नम्बर नभएका सेवाग्राहीले सो दिन आवेदन गर्न नसकिने आयोगले जनाएको छ ।

आयोगले पहिले नै आवेदन पेस गरिसकेका नागरिकहरूलाई सम्बन्धित निर्वाचन कार्यालयमा गई जैविक विवरण दिने कार्य शनिबार सञ्चालन रहने व्यहोरा जानकारी गराएको छ ।

सम्बन्धित कार्यालयसँग सम्पर्क गरी (शनिबारको दिनसमेत) जैविक विवरण दिने सेवा लिनु हुन सबै सेवाग्राहीलाई आयोगको अनुरोध छ । साथै आयोगले शनिबारका दिन मतदाता नामावलीमा नाम दर्ताका लागि जैविक विवरण सङ््कलन गर्ने सेवा पूर्ववत रूपमा सञ्चालन हुन सबै प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराएको छ ।

धनुषामा अपरिचित व्यक्तिको गोली प्रहारबाट वडाध्यक्षको मुत्यु

धनुषा – मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी ह त्या गरिएको छ । आज साँझ अपरिचित व्यक्तिले गोली प्रहार गरी यादवको ह त्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार गोली प्रहारबाट गम्भीर घाइते वडाध्यक्ष यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो । अस्पालमा ल्याउने वित्तिकै चिकित्सकले उहाँलाई मृत घोषित गरेका थिए । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

गृहमन्त्री अर्यालद्वारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण सम्पन्न गर्नुभएको छ । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।

गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिनुभएको थियो । निरीक्षणका क्रममा उहाँले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गर्नुभयो ।

आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्नुहुँदै उहाँले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको थियो । तर खुसीको कुरा सबै क्षेत्रबाट प्राप्त सहयोगका कारण आज ती संरचना पुनर्निर्माण भई प्रहरी सङ्गठन पुनः उभिन सक्षम बनेको छ । सरकार यसका लागि आभारी छ ।”

गृहमन्त्री अर्यालले ट्राफिक प्रहरी कार्यालयका संरचनाको पुनर्निर्माणको गति र कार्यक्षमताको विशेष रूपमा प्रशंसा गर्नुहुँदै उपत्यका ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी तथा उहाँको नेतृत्वमा कार्यरत सम्पूर्ण टोलीलाई खुलेर धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, “ट्राफिक प्रहरी कार्यालय भौतिक रूपमा क्षतिग्रस्त भए पनि प्रहरी दायित्वबाट विचलित भएन । चुनौतीपूर्ण परिस्थितिमा पनि सङ्गठनप्रति कर्तव्यनिष्ठ र दायित्व पालनामा उदाहरणीय प्रदर्शन गरेकामा म उपत्यका ट्राफिक प्रमुख नवराज अधिकारीसहित सम्पूर्ण टोलीको कामको उच्च प्रशंसा र धन्यवाद व्यक्त गर्दछु ।”

पुनर्निर्माणपछि सञ्चालनमा आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका नयाँ संरचनामा आधुनिक कार्यकक्ष, सेवा काउण्टर, सिसीटिभी प्रणाली, आपतकालीन प्रतिक्रिया कोठा तथा नागरिकमैत्री सेवा प्रवाहको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी प्रमुख अधिकारीले गृहमन्त्री अर्यालसमक्ष जानकारी दिनुभएको थियो ।

निर्वाचन आयोग र गृहमन्त्री अर्यालबीच निर्वाचनको पूर्वतयारीका बिषयमा कुराकानी

काठमाडौँ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वतयारीका सम्बन्धमा आज निर्वाचन आयोगमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल भएको छ ।

उक्त कार्यक्रममा गृहमन्त्री अर्यालले निर्वाचन व्यवस्थापनको तयारीका सम्बन्धमा नेपाल सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने आवश्यक सम्पूर्ण स्रोत साधनको व्यवस्थाका साथै शान्ति, सुरक्षाको उचित प्रबन्ध मिलाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले निर्धारित मितिमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । निर्वाचनमा युवापुस्ताको सहभागिता बढाउन अध्यादेशमार्फत मतदाता नामावली ऐन, २०७३ मा संशोधन गरी आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने अवधि थप गर्न सक्ने व्यवस्था मिलाइएको, मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता कायम गर्ने कार्यमा आयोगलाई सहयोग उपलब्ध गराइएको बताउनुभएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गृहमन्त्री अर्यालले निर्वाचनमा भरपर्दो शान्ति, सुरक्षाको व्यवस्था मिलाउन गृह मन्त्रालयले योजनाबद्ध रूपमा काम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा निर्वाचन व्यवस्थापनमा सुधार र सहजताका लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।”

कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भएदेखि नै आयोगले योजनाबद्ध रूपमा निर्वाचनको पूर्वतयारीका कार्य गरिरहेको बताउनुभयो । त्यस समयमा आयोगले राजनीतिक दल, नेपाल सरकारलगायत सबै सरोकारवालासँग छलफल तथा समन्वय गरिरहेको र सेवाग्राहीको आग्रह तथा मौजुदा कानुनी व्यवस्थाको सकारात्मक प्रयोग गरी सेवाग्राहीहरूलाई प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको जानकारी गराउनुभयो ।

निर्वाचन पूर्वतयारीको काममा सरकारले हालसम्म उपलब्ध गराएको सहयोगका लागि धन्यवाद दिँदै भविष्यमा समेत निर्वाचनको वातावरण निर्माण, स्रोत साधनको व्यवस्था एवं सुरक्षाको प्रबन्ध तथा आवश्यक समन्वय र सहजीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । भविष्यमा निर्वाचनको वातावरण तयार गर्न निर्वाचन आयोगले राजनीतिक दल, नेपाल सरकार, युवापुस्ताका प्रतिनिधि र निर्वाचन आयोगका बीचमा आयोजना गर्ने छलफल तथा अन्तक्र्रिया कार्यक्रममा समेत नेपाल सरकारको तर्फबाट सहजीकरण गर्न आग्रह गर्नुभयो ।

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम, २८ कात्तिक : अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ९७१ उजुरी परेको जनाएको छ ।

कार्यालयबाट प्राप्त विवरणअनुसार आव २०८१/८२ मा तीन हजार ४८ र गत आवको जिम्मेवारी सरिआएका नौ सय २३ उजुरी गरी तीन हजार ९७१ उजुरी दर्ता भएको उल्लेख छ । कुल उजुरीमध्ये दुई हजार ९१० उजुरी फछ्र्योट भएको र बाँकी एक हजार ६१ उजुरी आव २०८२/८३ मा छानबिन हुनेगरी जिम्मेवारी सरेको अख्तियारले जनाएको छ ।

अख्तियारको बर्दिबास कार्यालयमा घुस रिसवतसम्बन्धी ३७ वटा, गैरकानुनी हानिलाभसम्बन्धी ३५ वटा, झुठा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी २४ वटा, गैरकानुनी सम्पत्ति अर्जनसम्बन्धी आठ उजुरी परेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी, यी उजुरीहरूमा छ सय १९ पुरुष, ९४ महिला तथा ४० सङ्घसंस्था गरी सात सय ५३ प्रतिवादीविरुद्ध कैद सजाय तथा जरिवाना गरिएको छ । जरिवानामार्फत रु छ अर्ब एक करोड ८४ लाख ७२ हजार बढी बिगो मागदाबी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतीय प्रधानमन्त्री मोदीद्वारा बिहार विधानसभा आफ्नो पक्षमा देखिएको दावी, सहयोगका लागि उच्च प्रशंसा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको स्थानीय निर्वाचनमा आफ्नो पार्टी र उसका सहयोगीहरूले ‘शानदार’ विजय गरेको भन्दै परिणामका लागि सहयोगी सबैको प्रशंसा गर्नुभएको छ। १३० करोड जनसंख्या भएको यो पूर्वी राज्यलाई नयाँ दिल्लीको बढ्दो अर्थतन्त्रलाई सबैभन्दा गरिब नागरिकका लागि लाभमा परिणत गर्न मोदीको क्षमताको परीक्षणका रूपमा हेरिएको थियो ।

मतगणना अझै जारी छ र अन्तिम नतिजा शनिबारसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ। तर निर्वाचन आयोगले आंशिक परिणाम र प्रक्षेपणहरूले राज्यको विधानसभामा मोदीको भारतीय जनता पार्टी (भाजपा) र उसका सहयोगीहरूलाई ठोस बहुमत दिने सङ्केत मिलेको छ। प्रधानमन्त्री मोदीले यो जीतलाई ‘सुशासनको जीत’ भन्नुभएको छ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यो जनादेशले हामीलाई जनताको सेवा गर्न र बिहारका लागि नयाँ सङ्कल्पका साथ काम गर्न सशक्त बनाउनेछ।
बिहार हिन्दी भाषी उत्तरको एक मात्र राज्य हो, जहाँ भाजपाले कहिल्यै एक्लै शासन गरेको छैन ।

यसपटक पनि उसले आफैंले बहुमत प्राप्त गर्ने सम्भावना छैन तर गठबन्धन साझेदार जनता दल (युनाइटेड) लाई पनि पछि पार्दै सबैभन्दा ठूलो पार्टीको रूपमा उभिने देखिन्छ।निर्वाचन आयोगको तथ्याङ्क अनुसार साना सहयोगीहरूसँग मिलेर उनीहरूले राज्य विधायिकाको २४३ सिटमध्ये कम्तिमा तीन चौथाई सिट प्राप्त गर्ने देखिएको छ।

विश्लेषकहरूले आगामी वर्ष हुन लागेको अन्य क्षेत्रीय चुनावअघि मोदी र उहाँको पार्टीलाई बलियो बनाउन सक्ने बताएका छन्।छिमेकी मुलुक पाकिस्तानसँगको सशस्त्र द्वन्द्व र अमेरिकी करवृद्धिलगायत आर्थिक र विदेश नीतिका चुनौतीहरूको शृङ्खलापछि पनि यसले भारतीय नेतालाई बलियो स्थितिमा उभ्याउने अपेक्षा गरिएको छ।

जेनजी आन्दोलनमा कास्की कारागारबाट भागेकामध्ये १९८ कैदीबन्दी अझै फरार

कास्की, २८ कात्तिक : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेकामध्ये १९८ जना कैदीबन्दी अझै फरार रहेका छन् ।आन्दोलनका क्रममा कारागारको बन्दीगृहबाट फरार भएका ७७३ जना मध्येमा कोही आफँै फर्किएको र केहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कारागार नफर्कि हालसम्म फरार रहेका मध्येमा १८७ जना पुरुष र ११ जना महिला रहेको कारागारका प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू मध्येमा १३ जना विदेशी रहेका छन् ।

विदेशीहरूमा ११ जना भारतीय र दुई जना चिनियाँ रहेका छन् । कास्कीबाट भागेका मध्येमा १९ जना अन्य जिल्लामा समातिएका थिए । त्यसैगरी अन्य जिल्लाबाट भागेका सात जना कास्कीमा पक्राउ परेको जनाइएको छ । कारागार प्रशासक शर्माले फरार कैदीलाई प्रहरीले खोजी गरिरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रदर्शनकारीले कारागारमा तोडफोड गरेपछि भागेका मध्येमा कतिपय कैदीबन्दी आफैँ कारागार फर्किएका छन् । केहीलाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको हो । फरार रहेकाको खोजी प्रहरीले गरिरहेको छ ।” फरार कैदीहरूमा लागुऔषधसम्बन्धी मुद्दा र लामो समयको सजाय तोकिएका बढी रहेका छन् ।

आजीवन कारावासको सजाय तोकिएका दुई जनामध्ये एक जनालाई म्याग्दीबाट पक्राउ गरिएको र एक जना अझै फरार रहेको बताइन्छ । आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दीलाई कारागारले गत असोज १२ गते सूचना जारी गरी असोज २० गतेसम्म फर्कन समय दिएको थियो । तर तोकिएको समयभित्रमा कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको प्रहरीले खोजविन गरिरहेको छ ।

कारागार प्रशासनले फरार रहेकाहरू प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी कानुनअनुसार कारबाही हुने जनाएको छ ।

निर्वाचन आयोगले दियो नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र

काठमाडौँ, २८ कात्तिक : निर्वाचन आयोग नेपालले आज नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)सहितका १२ वटा वाम समूह मिलेर गठन भएको नेपाली कम्युनिष्ट पार्टीलाई निर्वाचन आयोगले आज दल दर्ताको प्रमाणपत्र प्रदान गरेको सो पार्टीका नेता लिलामणि पोखरेलले जानकारी दिनुभयो ।

गत कात्तिक १९ गते माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच एकता घोषणा गर्दै नयाँ पार्टी गठन गरिएको थियो । उक्त पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुनुहुन्छ ।सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । त्यसका लागि दल दर्ता र प्रमाणपत्र लिनुपर्ने समयसीमा कात्तिक ३० गतेसम्म छ ।

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ कात्तिक : प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिनुभएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो”, प्रधानमन्त्री कार्कीले भन्नुभयो, “सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीहरू र सचिवहरूलगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ ।

आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्द्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।” उहाँले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रर्दशनबाट सिर्जित असामान्य परिवेश, मनसुनजन्य विपद् र चाडपर्वका लामा सार्वजनिक बिदा जस्ता विविध कारणका बाबजुद केही न केही काम भएकामा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु, मन्त्रालयहरूबाट सम्पादित कार्यहरूको प्रगतिको समीक्षा गर्ने कार्य केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो जवाफदेहिताको एक उत्तम अभ्यास हो । यस प्रकारको अभ्यासबाट सरकारको काम र त्यसप्रति जनताको विश्वास र आस्थाको अभिवृद्धि गर्ने अवसर हो ।”

सरकारले आफ्नो प्रशासनिक प्रक्रिया सञ्चालन गरिरहने तर त्यसबाट जनताको आकांक्षा सम्बोधन नहुने, सार्वजनिक हितका लागि सरकारी स्रोतसाधन परिचालन भइरहेको उहाँको भनाइ छ । “जनताले महसुस गर्न तथा गराउन नसकेका कारण आमनागरिक र विशेषगरी नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विष्फोट भएको हामी सबैले प्रत्यक्ष रूपमा देखेका छौँ, यसबाट समग्र सरकारी संयन्त्रले गहिरो पाठ सिक्नुपर्ने देखिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले मन्त्री र सचिवलगायत सबै जिम्मेवार अधिकारीहरूलाई जनताको अपेक्षा सम्बोधन हुने गरी काम गर्न, आफ्ना मातहतका निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गरी जनतालाई परिवर्तन र सुधारको महसुस हुनेगरी नतिजा निकाल्न आह्वान गर्नुभयो ।

भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा क्षति हुन पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरूत्थान र राहतसमेतका लागि आयोजनाको पुनः प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकको निर्णयअनुसार सबै मन्त्रालय तथा निकायहरूबाट वार्षिक कार्ययोजना संशोधन हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ ।

बजारको स्वतन्त्रता कुण्ठित नगरी अर्थतन्त्र अगाडि बढाउनु अहिलेको आवश्यकताः अर्थमन्त्री खनाल

काठमाडौँ, २८ कात्तिकः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रको चरित्र क्रमशः परिवर्तन भइरहेका भए पनि बजारमुखी उदार आर्थिक प्रणालीलाई नै अवलम्बन गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।नेपाल राष्ट्र बैंकले आज यहाँ आयोजना गरेको ‘डा यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचारगोष्ठीमा बोल्दै मन्त्री खनालले राजनीतिक तथा नीतिगत अस्थिरता नेपालका लागि दीर्घकालीन चुनौती बनेको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार विभिन्न कालखण्डमा आन्तरिक–बाह्य, राजनीतिक तथा प्राकृतिक कारणहरूले आर्थिक क्षेत्रमा दबाब सृजना गर्दै आएको छ । उहाँले भन्नुभयो, “अर्थतन्त्रको चरित्र बदलिँदै गएको छ । औद्योगिक क्षेत्रको योगदान घट्दो रहेकाले सेवा क्षेत्र र अन्य उत्पादनशील क्षेत्र तीव्रगतिले अगाडि बढिरहेका छन् । तर हामीले बजारको स्वतन्त्रता कुण्ठित नगरीकनै अर्थतन्त्रलाई अघि बढाउनु अहिलेको आवश्यकता हो ।”

अर्थमन्त्री खनालले अर्थतन्त्र निराशाजनक अवस्थामा नभएको दाबी गर्दै हाल करिब आठ प्रतिशत कर्जा प्रवाहले लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच राम्रो नीतिगत सामञ्जस्य रहेको उल्लेख गर्दै उहाँले आर्थिक नीति तथा राजनीतिक व्यवस्थाले समय–समयमा बाटो बिराउने गरेको पनि टिप्पणी गर्नुभयो ।डा यादवप्रसाद पन्तको स्मरण गर्दै उहाँले पन्तले आन्तरिक अर्थतन्त्रलाई अन्तरराष्ट्रिय संयन्त्रसँग जोड्ने तथा कृषिक्षेत्रलाई उद्योगसँग समन्वय गराउने कार्यमा ऐतिहासिक भूमिका खेलेको बताउनुभयो ।

त्यस अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले विसं २०२० को दशक र वर्तमान आर्थिक अवस्थाबीच उल्लेख्य समानता रहेको बताउनुभयो । उहाँका अनुसार कृषिक्षेत्रमा कर्जाको प्रभावकारिता अहिलेजस्तै त्यसबेला पनि कमजोर थियो ।

पाँचौँ योजना कार्यान्वयनका समयमा देखिएको कृषि वृद्धिदर सुस्तता, सार्वजनिक संस्थानको उच्च दायित्व, बजेटको आकारभन्दा ठूलो व्यापारघाटा तथा बैंकिङ क्षेत्रको कमजोर विस्तारजस्ता चुनौतीहरू आज पनि समान रूपमा देखिएको गभर्नर पौडेलले स्मरण गर्नुभयो । गभर्नर पौडेलले राजनीतिक परिवर्तन रातारात हुनसक्ने तर आर्थिक सुधार र रूपान्तरणलाई समय लाग्नेसमेत टिप्पणी गर्नुभयो ।

नेपाल सरकारका पूर्वअर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर स्वर्गीय डा पन्तको एक सयौँ जन्मजयन्तीका अवसरमा यो विचारगोष्ठी आयोजना गरिएको हो ।

विसं २०२५ वैशाखमा नेपाल राष्ट्र बैंकको पाँचौँ गभर्नरका रूपमा जिम्मेवारी सम्हाल्नुभएका डा यादवकै कार्यकालमा रु पाँच सय र एक हजार दरका बैंक नोट प्रचलनमा आएका थिए । त्यस्तै राष्ट्र बैंकमा डेपुटी गभर्नर राख्ने र समावेशी वित्तीय पहुँचको योजना बनाई कार्यान्वयनमा लैजाने श्रेय डा पन्तलाई जान्छ ।

कार्यक्रममा पूर्वकार्यकारी निर्देशक भोलाराम श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा पूर्वगभर्नर गणेशबहादुर थापा, दीपेन्द्रपुरुष ढकाल, दीपेन्द्रबहादुर क्षेत्री, डा तिलक रावल र पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, डा रुप ज्योति, ज्ञानेन्द्रबहादुर कार्कीलगायतले डा पन्तले नेपालको समग्र आर्थिक क्षेत्रको योगदानको स्मरण गर्नुभएको थियो ।

पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले डा पन्तलाई कुशल अर्थशास्त्री, योजनाविद्, कुटनीतिज्ञ र बहुआयामिक व्यक्तित्व भएका व्यक्तिका रूपमा स्मरण गर्नुभयो । अहिले मुलुकको अर्थतन्त्र आयातमुखी, रेमिट्यान्स आप्रवाह र उपभोगमा आधारित बन्दै गएको उल्लेख गर्नुहुँदै उहाँले उत्पादनसँग जोड्न नसक्दा विकासको गति सुस्त हुँदै गएको बताउनुभयो ।

त्यस्तै, निजी क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि न्यून ब्याजदरले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा त्यसो हुन नसकेको पनि डा लोहनीको टिप्पणी छ । राजनीतिक अस्थिरता कमजोर आर्थिक विकासको मुख्य बाधक रहेको पनि उहाँको भनाइ छ ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले राजनीतिक दबाबमा सरकारी बजेटमा हुने चलखेललाई अर्थमन्त्रीले रोक्न सक्नुपर्ने ज्ञान आफूले डा पन्तसँग सिकेको उल्लेख गर्नुभयो । अर्थमन्त्रीले राजनीतिक दबाबमा भन्दा पनि आर्थिक क्षेत्रलाई हेरेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री डा रुप ज्योतिले अहिलेको सन्दर्भमा उद्यमशीलता प्रवर्द्धनमा जोड दिने र सुनको बजारलाई सहज बनाउनुपर्ने बताउनुभयो । त्यस्तै अहिले राजनीतिक नेताहरुमा नियन्त्रणमुखी विचार हाबी हुँदै गएको उहाँको भनाइ थियो ।

पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहिले दिगो विकास स्थायित्व र लगानीयोग्य वातावरण चाहिएको बताउनुभयो । अब राजनीतिक परिवर्तनभन्दा पनि आर्थिक समृद्धि, रुपान्तरण र परिवर्तन आवश्यक रहेको उल्लेख गर्नुहुँदै उहाँले आउने पुस्ता समृद्ध पुस्ता बनोस् भन्ने कामना गर्नुभयो ।

प्रा डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले डा पन्त एक कुशल अध्यापक, योजनाकार, लेखक र समाजसेवीसमेत रहेको बताउनुभयो । नेपालको अर्थशास्त्र, योजना, नेपालको आर्थिक कूटनीतिलगायत विषयमा डा पन्तका करिब दुई दर्जन हाराहारी पुस्तक प्रकाशित छन् ।

विश्व साइकलयात्री शाहद्वारा लिखित ‘मृत सागरदेखि सगरमाथासम्म’ पुस्तक लोकार्पण

काठमाडौँ, २५ कात्तिकः विश्व साइकलयात्री पुष्कर शाहले लेख्नुभएको पुस्तक ‘मृत सागरदेखि सगरमाथासम्म’ आज एक विशेष समारोहबीच लोकार्पण गरिएको छ ।नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो । समारोहमा लेखक शाहले आफ्नो बाल्यकालदेखि विश्व साइकलयात्रासम्मको जीवनकथा यस पुस्तकमा समेटिएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, “मैले सानो गाउँमा बिताएको बाल्यकालदेखि लिएर विश्वभरिका देशमा साइकल चलाउँदासम्मका अनुभव, सङ्घर्ष र उपलब्धिहरू यस पुस्तकमा लेखेको छु । यो केवल मेरो यात्रा होइन, विश्वभरका मानवताका साझा सपना र असिम सम्भावनाको कथा पनि हो ।”

विश्वयात्राका क्रममा आफूले विभिन्न संस्कृतिका मानिसहरूसँग भेटेको र कहिले कठिन परिस्थिति भोगेको कहिले असाधारण सहयोग पनि पाएकाले ती सबै अनुभवहरूले आफूलाई नयाँ दृष्टिकोण र जीवन दर्शन सिकाएको शाहले बताउनुभयो ।

कार्यक्रममा उपस्थित वक्ताहरूले पुष्कर शाहको यात्रालाई नेपालको गौरवको विषय बताउनुहुँदै उहाँको अनुभवबाट नयाँ पुस्ताले धेरै प्रेरणा लिन सक्ने उल्लेख गर्नुभएको थियो ।

पुष्कर शाहले सन् १९९८ देखि करिब ११ वर्षसम्म विश्वका एक सय ५० भन्दा बढी देशमा साइकलयात्रा गरी विश्व शान्तिको सन्देश फैलाउनुभएको थियो । उहाँले सगरमाथाको शिखरमा पुगेर विश्वका राष्ट्रहरूको झण्डा फहराउँदै ‘विश्व शान्ति’को सन्देश पनि दिनुभएको थियो ।

विदेशी पर्यटकलाई ठगी गरेको अभियोगमा सुर्खेतका सिंजाली पक्राउ

काठमाडौँ, २८ कात्तिकः विदेशी पर्यटकलाई यात्रा सहजीकरणको बहानामा अनलाइन ठगी गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाइएको छ । विदेशमै रहेका पर्यटकलाई नेपाल भ्रमणमा सहजीकरण गर्ने भनेर अनलाइनबाटै सम्झौता गरी ठगी गरेको आरोपमा सुर्खेत बराहताल गाउँपालिका–३ घर भई अल्टिट्युड राइडर्स प्रालिका संस्थापक ४० वर्षीय विशु सिञ्जालीलाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जानकारी दिएको छ ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएर मुद्दा चलाइएको जानकारी दिनुभयो । प्रवक्ता अवस्थीले भन्नुभयो, “पर्यटकको जाहेरीपछि पक्राउ गरी उनलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको थियो, अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ ।”

उहाँका अनुसार अनुसन्धानमा सिञ्जालीले नेपालमा मेरो अल्टिट्युड राइडर्स प्रालि कम्पनी रहेको र सो कम्पनीले तपाईँहरूलाई नेपालस्थित मोटरसाइकल राइडको व्यवस्था गरिदिनेछ भनी म्यासेन्जरमा कुराकानी गरी पोल्यान्डका १३ जना पर्यटकलाई विश्वासमा पारेका खुलेको छ ।

उनका अनुसार सिञ्जाली राइडर्सको लागि मोटरसाइकल राइड, खाना, बस्न, अन्य सपोर्टसमेतको सम्पूर्ण प्याकेजसहित सेवा दिने शर्तमा नेपाल भ्रमणका लागि सम्झौता भएको सात दिनभित्र ३० प्रतिशत रकम लिएर शर्तबमोजिमका सेवा प्रदान नगरी सम्पर्कविहीन भएका थिए ।

त्यसपछि विद्युतीय माध्यमसम्बद्ध ठगी कार्य भएको भनी पीडित पोल्यान्डका नागरिकको निवेदनका आधारमा खोजतलास गर्दा उनी रोल्पामा भएको पत्ता लागेपछि ब्यूरोको टोलीले रोल्पा प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याएको ब्यूरोले आज सूचनामार्फत जनाएको छ ।

महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक गर्न मुख्यमन्त्री बानियाँको माग

भक्तपुर, २८ कात्तिकः नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पार्टी महाधिवेशनको सर्वसम्मत कार्यतालिका सार्वजनिक हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको १३औँ पूर्ण बैठक एवं प्रदेशसभा संसदीय दलको संयुक्त बैठक आज उद्घाटन गर्दै उहाँले कांग्रेसको क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर मात्रै महाधिवेशनको मिति तय गरेर एक ढिक्का भएर जानुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचन अगाडि र निर्वाचन पछाडिको कार्यतालिका सार्वजनिक भएसँगै दलका नेता तथा कार्यकर्तामा अन्यौलता छाएको उहाँले बताउनुभयो ।

पार्टीको केन्द्रीय बैठकमा महाधिवेशनको दुई वटा तालिका सार्वजनिक गरेर विवादमा ल्याएर कांग्रेसको अस्तित्व सिद्धिने बताउँदै मुख्यमन्त्री बानियाँले भन्नुभयो, “केन्द्रीय समिति बैठकले पहिला विधान समिति बनाओस्, क्रियाशील सदस्य छानबिन समिति बनाओस् त्यसपछि छानबिन समितिले प्रतिवेदन बुझाएको १५ दिनभित्र महाधिवेशनको मिति तोक्ने काम हुनुपर्छ, महाधिवेशन निर्वाचन अगाडि र पछाडि भनेर विवाद नगरोस् ।”

बागमती प्रदेशको दुई दिन चल्ने बैठकले घनीभूत छलफल गरेर केन्द्रीय समितिलाई सुझाव दिने उहाँका भनाइ थियो । कांग्रेसलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले प्रदेशको बैठकपछि कांग्रेसलाई एक ढिक्का बनाएर लजाने सन्देश दिँदै कांग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका कांग्रेस जिल्ला सभापतिहरुको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको बताउनुभयो ।

कार्यक्रममा संयोजक कृष्णलाल भँडेलले पार्टी एकतालाई खल्बल्याउने गरी जान नहुने बताउँदै उहाँले महाधिवेशनमा जानु अगाडि पार्टीभित्रका सबै विवादलाई टुङ्याएर जानुपर्ने बताउनुभयो । बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेशसभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापतिहरु, गरी १८० जनाको सहभागिता रहेको बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश सरकारले वन कार्यविधि एक महिनाभित्र लागू गर्छ : मुख्यमन्त्री शाह

गोदावरी (कैलाली), २८ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशमा रोकिएको वन कार्यविधि प्रदेश सरकारले एक महिनाभित्र लागू गर्ने बताउनुभएको छ ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा आज बसेको सरोकारवालासहितको बैठकलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशका दिगो वन व्यवस्थापनसँगै सामुदायिक वनका समस्या सवालका बारेमा तत्काल कामको सुरुआत गरिने बताउनुभयो ।

उहाँले सिङ्गो वनक्षेत्र सङ्लो बनाउन र समस्या समाधान गर्न १३ सदस्यीय कार्यदल निर्माण गरी कार्यदलले ल्याएको सकारात्मक प्रतिवेदनमा आएको कुरालाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका विषयमा कुनै सम्झौता नगरिने उहाँले बताउनुभयो । उहाँले वन क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन क्षेत्रमा धेरै समस्या र जटिलता देखिएका छन्, त्यसका लागि प्रदेश सरकारले कार्यविधि ल्याएर हल गरिनेछ ।” बैठकले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकतामा १३ सदस्यीय सुझाव सङ्कलन समिति गठन गर्ने निर्णय गरेको छ । वन उपभोक्ता समितिका प्रतिनिधिहरूले वन उपभोक्ता समूहको सुदूरपश्चिम प्रदेशस्तरीय आन्दोलन परिचालन समन्वय समितिले विभिन्न २५ बुँदे मागपत्र राखी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको थियो ।

विदेशी लगानीकर्तासँगको समन्वयलाई प्रभावकारी बनाउन अर्थमा फोकल युनिट

काठमाडौँ, २८ कात्तिकः अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तरराष्ट्रिय विकास वित्त संस्थाहरुसँगको समन्वयलाई प्रभावकारी बनाउन एक फोकल युनिट स्थापना गरेको छ ।

विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय तथा निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत युनिट स्थापना गरेको हो ।

विदेशी लगानीकर्ताका लागि मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

कृत्रिम बौद्धिकता प्रवर्द्धन गर्न ऊर्जा मिलेको छः सञ्चारमन्त्री खरेल

काठमाडौँ – एघारौँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’ मा सहभागी हुने सिलसिलामा दक्षिण कोरियाको राजधानीमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले कृत्रिम बौद्धिकता (एआई) को प्रवर्द्धनका निम्ति काम गर्ने ऊर्जा मिलेको बताउनुभएको छ ।

‘सिओल एआई स्मार्ट सिटी सेन्टर’को अवलोकनपछि उहाँले नेपालमा एआईको विकासका लागि काम गर्ने ऊर्जा मिलेको बताउनुभएको हो । साथै उहाँले मुलुकलाई सूचना प्रविधिका माध्यमबाट समृद्धितर्फ उन्मुख गराउन एआई उपयोगी हुने बताउनुभयो ।

सञ्चारमन्त्री खरेलको निजी सचिवालयका अनुसार सेन्टरका गतिविधिबारे जानकारी लिएपछि उहाँले भन्नुभयो, “कोरियाको एआई स्मार्ट सिटी सेन्टरबाट नेपालको एआई केन्द्रलाईं अझ सुदृढ गर्न ज्ञान मिलेको छ । यसबाट हालै हाम्रो देशमा स्थापना भएको केन्द्रलाई सबल बनाउन टेवा पुग्ने छ ।”

सञ्चारमन्त्री खरेलले केन्द्रलाई प्रभावकारी बनाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । साथै उहाँले एआईका माध्यमबाट प्राप्त अवसर, राष्ट्रनिर्माणमा यसको अधिकतम उपयोग र भविष्यबारे विज्ञहरूसँग परामर्श गर्नुभयो । सञ्चारमन्त्री खरेलले ‘डिजिटल नेपाल’ र ‘डिजिटल ट्रान्सफरमेसन’का लागि लिडर्सिप फोरम उपलब्धिपूर्ण भएको बताउनुभयो ।

तारागाढ खोलामा तीन करोड बढीको लागतमा पक्की पुल निर्माण

काँक्रेविहार (सुर्खेत) , २७ कात्तिक: दैलेखको महाबु गाउँपालिका भएर बग्ने तारागाढ खोलामा रु तीन करोड ६२ लाख ७६ हजारको लागतमा हलुका सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ ।

दुल्लुस्थित पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीका अनुसार यो पुल निर्धारित समयभन्दा आठ महिना पहिले निर्माण सम्पन्न भएको छ । जिल्लाका आठबीसकोट नगरपालिकाको चिनियाथापा खोला र चामुण्डाविन्द्रासैनी नगरपालिकाको मछेइनामा निर्माणाधीन पक्की पुल पनि सम्पन्न हुने चरणमा छन् ।

राष्ट्रिय भवन संहिता कार्यान्वयनमा

काठमाडौँ – राष्ट्रिय भवन संहिता कार्यान्वयनमा आएको छ । संहिता बिहीबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो ।

संहिता जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायत भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शक बन्ने सहरी विकास मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई संहिताको अक्षरसः पालना गर्न आग्रह गरेको छ ।

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २८ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७५, आलु रातो प्रतिकिलो रु ६५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४८, आलु सेतो प्रतिकिलो रु ४५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ ।

यस्तै, गाजर (लोकल) प्रतिकिलो रु १३०, गाजर (तराई) प्रतिकिलो रु ११०, बन्दा (लोकल) प्रतिकिलो रु ६५, काउली स्थानीय प्रतिकिलो रु १२०, काउली (तराई) प्रतिकिलो रु १००, रातो मूला प्रतिकिलो रु ५०, सेतो मूला (लोकल) प्रतिकिलो रु ३०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ५०, भन्टा लाम्चो प्रतिकिलो रु ८०, भन्टा डल्लो प्रतिकिलो रु ८०, तने बोडी प्रतिकिलो रु २००, मकै बोडी प्रतिकिलो रु १०० कायम भएको छ ।

त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १४०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १४०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १००, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु १५०, लौका प्रतिकिलो रु १००, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १००, फर्सी पाकेको प्रतिकिलो रु ४५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ९०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ८०, सलगम प्रतिकिलो १३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ५५, पिँडालु प्रतिकिलो रु ८०, स्कुस प्रतिकिलो रु ३० कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग प्रतिकेजी रु २५०, चमसुर प्रतिकिलो रु १८०, तोरीको साग प्रतिकिलो रु १००, मेथीको साग प्रतिकिलो रु २२०, हरियो प्याज प्रतिकिलो रु ११०, बकुला प्रतिकिलो रु १६०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु २५०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ९५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु १००, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु ४००, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु २२०, पुदिना प्रतिकिलो रु ५५०, गान्टेमुला प्रतिकिलो रु १००, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १५० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३२०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १२०, अनार प्रतिकिलो रु ४००, सुन्तला (नेपाली) प्रतिकिलो रु १००, सुन्तला (भारतीय) प्रतिकिलो रु १२०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १००, जुनार प्रतिकिलो रु २६०, भुइँकटहर प्रतिगोटा रु १७०, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो ८०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २२०, मेवा (नेपाली) प्रतिकिलो रु ७०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ७०, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु ३०० निर्धारण गरिएको छ ।

यसैगरी, अमला प्रतिकिलो रु ८०, अदुवा प्रतिकिलो रु ९०, सुकेको खुर्सानी प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १५०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु १२०, भेडे खुर्सानी प्रतिकिलो रु १२०, हरियो लसुन प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु ५००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २८०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, रूख टमाटर प्रतिकिलो रु १२०, राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु १००० र काँक्रो (लोकल क्रस) प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो ।

क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ

क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन । जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० तोकिएको छ ।

यसका साथै सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको छ । टिकट ‘खल्ती बाइ आईएमई’ मार्फत अनलाइन खरिद गर्न सकिने समेत क्यानले जनाएको छ।

कांग्रेस केन्द्रीय समितिको बैठक भोलि बस्ने

पाटन (ललितपुर – गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिनुभएको जानकारीअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहिबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आआफ्नो धारणा राख्नुभएको थियो ।

पार्टीको बैठक यही कात्तिक २९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिनुभयो । बैठकपछि प्रतिक्रिया दिनुहुँदै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको महाधिवेशन सम्पन भएर चार वर्षको कार्यकाल पूरा भएको अवस्थामा विशेष महाधिवेशन हुँदैन भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्छ भन्नेमा जोड दिनुभयो ।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीको बैठकमा सबैले आआफ्नो धारणा राख्नुभएको जानकारी गराउँदै जनसरोकारका विषष र देशको परिस्थितिलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्छ भन्नुभयो । उहाँले पार्टीभित्र असल नेतृत्वको खोजी भइरहेको बताउनुभयो ।

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी, मासिक ४० हजारभन्दा बढी आम्दानी

दोधारा चाँदनी (कञ्चनपुर) – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म फर्निचरको काम गर्नुहुन्थ्यो ।

उक्त कामबाट परिवारको जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गर्नुभयो । एक दिन उहाँका साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उहाँको मोबाइलमा पठाउनुभयो । “इन्टरनेटमा भिडियो देखेपछि मलाई काष्ठकलाका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ”, महराले भन्नुभयो, “हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो, अहिले मजदुरीभन्दा यसमा फाइदा छ ।” उहाँले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोत्तल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताउनुभयो ।

उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री रु पाँच सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेका छन् । युट्युबकै सहायताबाट अहिले उहाँले काठका भाँडाकुँडा तयार पार्दै आउनुभएको छ । “अहिले मासिक रु ४० हजारभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो”, महराले भन्नुभयो, “यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ ।” अहिले उहाँले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्नुहुन्छ । उहाँले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताउनुभयो । “माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु”, उहाँले भन्नुभयो, “यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन् ।”

पछिल्लो समय युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा मानिस लामो समय बिताउने गरेका छन् । तर यी सञ्जालहरूको सदुपयोग गर्न जानेमा धेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरणीय पात्र बन्नुभएको महरा । उहाँले पारिवारिक समस्याका कारण ज्याला मजदुरी गर्दागर्दै यहाँसम्म पुगेको महराको भनाइ छ । “आर्थिक अभावले छिटो पैसा कमाउने भन्ने सोच थियो ।

यसमा मलाई यति राम्रो आम्दानी होला भन्ने कल्पना गरेको थिइनँ”, महराले भन्नुभयो, “अहिले सन्तुष्ट छु राम्रै कमाइ भइरहेको छ ।” उहाँले स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने बताउनुभयो ।

कुमारी घरको छानो जीर्णाेद्धार गर्न एक करोड २५ लाख

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कुमारीवहाल (कुमारीघर) को छानो जीर्णाेद्धार गर्न रु एक करोड २५ लाख ४७ हजार ८६४ लागत अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८२/८३ को दररेट राखेर गणना गर्दा झिङ्गटी, पर्खाल, काठलगायतका छानासँग सम्बन्धित अवयवहरूको जीर्णोद्धार गर्न यो लागत आएको कामपाले जनाएको छ । कुमारीघरको छानो चुहिने भएपछि यसको प्राविधिक पक्षको अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न आज कामपाकी उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा साझेदार कार्यालयका अधिकारीहरूका बीच बसेको बैठकमा लागत अनुमानका विषयमा जानकारी दिइएको हो ।

कुमारी घर जीर्णोद्धारको प्राविधिक, सामाजिक तथा अन्य पक्षका विषयमा सरोकारवालाबाट प्रतिक्रिया लिएपछि उपप्रमुख डङ्गोलले, मौसम प्रतिकूलता हुनुअघि कुमारीघरको छानो जीर्णोद्धार गरिसक्नुपर्नेमा जोड दिँदै जीर्णोद्धारको प्रक्रिया तत्काल अगाडि बढाउन हनुमानढोका दरबार संरक्षण कार्यक्रमलाई निर्देशन दिनुभएको छ । बर्खायाममा कुमारीघरको छानो चुहिने भएपछि जीर्णोद्धारको अध्ययन गर्न गत साउन २० गते समिति गठन भएको थियो ।

समितिको संयोजकमा पुरातत्व विभागका पुरातत्वविज्ञ पुरुषोत्तम डङ्गोल हुनुहुन्थ्यो । सदस्यहरूमा विभागका इञ्जिनियर रोशन डङ्गोल, हनुमानढोका हेरचाह अड्डाका प्रमुख काजीमान प्याकुरेल, गुठी संस्थानका इञ्जिनियर भीमप्रसाद अधिकारी र कामपाको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका आर्किटेक्ट अमित बज्राचार्य हुनुहुन्थ्यो ।

अध्ययन समितिले दिएको प्रतिवेदनअनुसार कुमारीघरका नामले चिनिने कुमारीवहालको तीनै तलाको पर्खालमा चिरा परेको छ । केही धाम र मेथहरूले ठाउँ छोड्ने अवस्था छ । कतिपय दलिन कीराले खाएर स–साना प्वाल पारेको छ । ठाउँठाउँका काठ मक्किएको अवस्था छ । दोस्रो तलामा सिसाले छोपेर राखिएको भित्तेचित्र जोगाउनुपर्ने अवस्थामा छ । धामबाहेक अधिकांश काठका अवयव अग्राखका नभई कुकाठ प्रयोग भएकाले तत्काल जीर्णोद्धार गर्नुपर्ने देखिएको छ । बैठकमा समितिका सदस्य आर्किटेक्ट अमित बज्राचार्यले जानकारी दिनुभयो ।

बज्राचार्यका अनुसार झिङ्गटी छानो चारैतिर ठाउँठाउँमा धसिएको छ । धुरी चाङ फुटेर खसेको छ, आइरन वेल्ट खुस्केका छन् । कहीँ त आइरन बेल्ट नै छैन । मुठलहरू खुस्केका छन् । झिङ्गटीहरू खुस्केका छन् । टुँडाल झरेका र मक्किएका छन् । नस नभएको वा भए पनि मक्किएका छन् । अधिकांश मुसीहरू फेर्नुपर्ने अवस्थाका छन् ।

हिमाल आरोहीको सुरक्षाका लागि बोर्डद्वारा उद्धार सामग्री हस्तान्तरण

काठमाडौँ – नेपाल पर्यटन बोर्डले हिमाल आरोही र पर्वतीय पर्यटकको सुरक्षालाई ध्यानमा राखेर हिमालय उद्धार सङ्घ नेपाल (हिमालय रेस्क्यु एसोसिएसन)लाई आपतकालीन उद्धार सामग्री हस्तान्तरण गरेको छ । सगरमाथा र अन्नपूर्ण क्षेत्रका आरोही र पदयात्रीको सुरक्षामा थप सघाउ पुर्याउने उद्देश्यले बिहीबार ती उद्धार सामग्री हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्वतीय पर्यटकको सुरक्षाका लागि बोर्डले निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपालको हिमालय विश्वकै आकर्षण हो । यहाँ आउने आरोही र पर्यटकको सुरक्षा सुनिश्चित गर्न नेपाल पर्यटन बोर्ड निरन्तर प्रतिबद्ध छ । उद्धार सङ्घसँगको सहकार्यलाई हामी हिमाली पर्यटनको दिगोपनासँग पनि जोडेर हेर्छौँ ।”

त्यसैगरी, बोर्ड सदस्य नरेन्द्रदेव भट्टले उद्धार कार्य केवल आपतकालीन व्यवस्थापनमात्र नभएर नेपाल पर्यटनको विश्वसनीयता निर्माण गर्ने माध्यम पनि भएको उल्लेख गर्दै आगामी दिनमा उद्धार र जोखिम व्यवस्थापनमा अझ व्यवस्थित गर्ने बताउनुभयो ।

सामग्री ग्रहणपछि हिमालय उद्धार सङ्घका अध्यक्ष डम्बर पराजुलीले बोर्डको सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो, “सगरमाथा, अन्नपूर्णजस्ता चुनौतीपूर्ण क्षेत्रमा काम गर्दा उद्धार सामग्री अत्यन्त आवश्यक हुन्छ । बोर्डको यो सहयोगले हाम्रो उद्धारकार्य अझ प्रभावकारी र शीघ्र हुने विश्वास लिएको छु ।”

उक्त अवसरमा बोर्डले सङ्घलाई क्याराबिनर्स २० थान, मेकानिकल एसेन्डर्स चार थान, डिसेन्डर्स पाँच थान, पुली चार थान, स्लिङ्स पाँच थान, आइसस्क्रु र पिकेट्स पाँच थान, बिले डिभाइस चार थान, एङ्कर्स चार थान र स्लीपिङब्याग पाँच थान हस्तान्तरण गरेको थियो ।

बोर्डले आगामी दिनमा हिमाली क्षेत्रमा उद्धार र सुरक्षा पूर्वाधारलाई अझ सुदृढ बनाउन निजी क्षेत्र र स्थानीय समुदायसँग सहकार्यका कार्यक्रम पनि विस्तार गरिने विश्वास व्यक्त गरेको छ ।

कँडेलको चरा पाल्ने रहर : वनकुखुरा पालनमा ५० लाख लगानी

ढोरपाटन (बागलुङ) – घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो ।

कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्नुभयो । सुरुमा उहाँलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उहाँको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो । रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसक्नुभएको छ । दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराख्नुभएको छ ।

कालिज व्यवसाय राम्रो हुँदै गएपछि उहाँले चल्लासमेत आफैँ उत्पादन गर्न थाल्नुभएको छ । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुनुहुन्छ । बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्नुहुन्छ । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ ।

सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित हुनुभएको छ । अहिले उहाँको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताउनुभयो । दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उहाँले जानकारी दिनुभयो । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउनुहुन्छ । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

“यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उहाँले भन्नुभयो, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।”

केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उहाँले सुनाउनुभयो । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी हुनुहुन्छ । कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिनुभएको छ । यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताउनुभयो । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उहाँ बताउनुहुन्छ । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उहाँले सुनाउनुभयो ।

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १७ पैसा र बिक्रीदर १०१ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रूपैयाँ २९ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रूपैयाँ कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३८ पैसा र बिक्रीदर चार रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३४ रूपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६६ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०२ पैसा र बिक्रीदर २२ रूपैयाँ ११ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २२ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४६३ रूपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ११ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६९ रूपैयाँ २७ पैसा रहेको छ । भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

मधेसमा उमेर नपुग्दै विवाह हुने चलन अझै विकराल

महोत्तरी, २८ कात्तिक : मधेसमा उमेर नपुगी विवाह हुने सङ्ख्या अझै विकराल अवस्थामा छ । बालविवाहविरुद्धको कानुन र यससँग जोडिएका अभियान सञ्चालनमा रहे पनि यो समस्या मधेसमा अझै रहेको तथ्याङ्कले देखाएको छ ।

विसं २०७८ को राष्ट्रिय जनगणनाअनुसार राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली काठमाडौँले प्रकाशित गरेको तथ्याङ्कमा मधेसमा अझै १० वर्ष नपुग्दै विवाह हुने पनि पाइएको उल्लेख छ । यद्यपि यस्तो सङ्ख्या शून्य दशमलव दुई (०.२) मात्र छ । त्यसैगरी १० देखि १४ वर्षभित्र विवाह हुने ९.३ र १५ देखि १७ वर्षभित्र विवाह हुने २७.७ प्रतिशत छन् । यसैगरी १८ देखि २० वर्षमुनिका ३९.५ प्रतिशत रहेका तथ्याङ्कमा उल्लेख छ । पछिल्लो १८ देखि २० वर्ष उमेर समूहभित्र पुरुषको उमेर सालाखाला २० वर्ष देखिए पनि महिला भने १७ को हाराहारी पाइएका छन् ।

मधेसमा १८ वर्ष नपुग्दै विवाह गर्ने महिलाको सङ्ख्या ४२.४ प्रतिशत छ । यो सङ्ख्या महोत्तरीमा अझ बढी ४३.३ प्रतिशत रहेको बालविवाहविरुद्ध सामाजिक अभियानमा विभिन्न सामाजिक सङ्घसंस्थासँग सहकार्य गर्दै आएको अन्तरराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका सञ्चार अधिकृत झम्केश्वर ओझा बताउनुहुन्छ ।

मधेसमा पहिलो विवाहको औसत उमेर १८ वर्ष देखिन्छ । जसमा पुरुषको २० वर्ष र महिलाको १७ वर्ष रहेको तथ्याङ्कमा उल्लेख छ । यी उमेर समूहभित्रको विवाहमा पुरुषभन्दा महिला बढी देखिएका छन् । यस्तै २१ देखि २४ वर्ष उमेरभित्र विवाह हुने मधेसमा १४.५ प्रतिशत छन् ।

यद्यपि तथ्याङ्कमा उल्लेख यो अवस्थामा २०७८ सालको जनगणनायता निकै सुधार भएको जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्ण बताउनुहुन्छ । “हामीकहाँ बालविवाह अझै सामाजिक समस्याको रूपमा छँदैछ, यद्यपि २०७८ यता यसमा निकै सुधार भएको छ”, कर्ण भन्नुहुन्छ, “यसबीचमा बालविवाहविरुद्धका सामाजिक अभियानको निरन्तरताले अवस्थामा निकै सुधार आएको छ ।” जिल्लाका १५ मध्ये सात स्थानीय तहले विभिन्न सामाजिक सङ्घसंस्थासँगको साझेदारीमा बालविवाहविरुद्धको अभियानलाई निरन्तरता दिएपछि ती ठाउँमा निकै सुधार आएको कर्णको भनाइ छ ।

त्यसैगरी, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले २०७८ सम्म विकराल सामाजिक समस्या रहेको बालविवाह अब आफ्नो नगर क्षेत्रमा करिब शून्यमा झारिएको बताउनुभयो । “हामीले त्यसयता बर्सेनि विवरण सङ्कलन, छोरी शिक्षा कार्यक्रम र किशोरी शिक्षासँगसँगै बालविवाहविरुद्ध बस्तीबस्तीमा अभियान टोली सञ्चालन गरेपछि यसको सकारात्मक परिणाम आएको छ”, उहाँ भन्नुहुन्छ, “यो वर्ष बालविवाहका घटना देखिएका छैनन् ।”

बालविवाहको अवस्था विकराल देखिएपछि मधेस प्रदेश सरकारले २०७८ सालमै सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउन १० वर्षको रणनीतिक योजना अघि बढाएको छ । यसअघि प्रदेश बालअधिकार ऐन, २०७७, सारभूत लैङ्गिक समानता नीति, २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि, २०७८, बालिका सशक्तीकरण तथा संरक्षण ऐन, २०८१ र सरकारको ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानले पनि बालविवाहलाई दुरुत्साहन गर्दा पछिल्ला वर्षहरूमा उत्साहजनक सुधार हुँदै आएको जिल्ला समन्यव समितिका प्रमुख कर्णको भनाइ छ ।

विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ – विविध चेतनामूलक कार्यक्रमका साथ आज विश्व मधुमेह दिवस नेपालसहित विश्वका विभिन्न देशमा मनाइँदैछ । मधुमेहको जोखिम, रोकथाम र उपचारबारे चेतना फैलाउनु यो दिवसको उद्देश्य हो

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि दिवस मनाउन प्रारम्भ भएको हो । मधुमेहको रोकथाम र उपचारका लागि आफ्ना स्वास्थ्य प्रणालीअनुसार राष्ट्रिय नीति निर्माण गर्न सबै सदस्य राष्ट्रलाई राष्ट्रसङ्घले प्रोत्साहन गर्दै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा विश्वभर ४२ करोड २० लाख वयस्क मधुमेहबाट प्रभावित थिए भने १९८० मा १० यो समस्याबाट पीडित थिए । मधुमेह मोटोपना, अस्वस्थ जीवनशैली र शारीरिक गतिविधि कमीका कारण यो रोग बढ्दै गएको हो । स्वस्थ आहार तथा नियमित व्यायाम गर्ने, धूमपान र मद्यपानबाट टाढा रहनु यो रोगबाट बच्ने उपाय हुन् ।

उक्त विश्व संस्थाले बढ्दो मधुमेहलाई रोक्न प्रत्येक देशले दीर्घकालीन स्वास्थ्य नीति, जनचेतना र जीवनशैलीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ ।

अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिन प्रहरीको अनुरोध

काठमाडौँ – जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजातहरू उपलब्ध गराइदिन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार काठमाडौँ उपत्यकामा भएको प्रदर्शनका क्रममा विभिन्न प्रहरी इकाईमा आगजनी, तोडफोड हुँदा अनुसन्धान प्रक्रियामा रहेका मिसिल कागजात जलेर नष्ट भएकाले निवेदक तथा पीडितसँग भएका कागजात एवं विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

ती कागजात उपलब्ध भए अनुसन्धान प्रक्रियालाई सहज रूपमा अगाडि बढाउन सहज हुने प्रहरीको भनाइ छ । प्रहरीले नजिकको सम्बन्धित वृत्त तथा जिल्ला प्रहरी परिसर काठमाडौँमा ती कागजात उपलबध गराइदिन अनुरोध गरेको छ ।

देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ – हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छभने केही स्थानमा आंशिक बदली हुनेछ ।

सभामुख मण्डलविरुद्ध महाअभियोग दर्ता

जनकपुरधाम – नेपाली कांग्रेससहित सात दलले मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध महाअभियोग दर्ता गराएका छन् ।

आज मधेस प्रदेशसभा सचिवालयमा सभामुख मण्डलविरुद्ध सात राजनीतिक दलले महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी नेपाल र नागरिक उन्मुक्ति पार्टीले ६४ सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता गराएको छ ।

प्रदेशसभामा १०७ सदस्य रहेको छ । अहिले तीन जना सांसद निलम्वनमा छन् ।

जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई मान्यता दिन अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधानमल्ल, न्यायाधीशहरू सुनीलकुमार पोखरेल र मेघराज पोखरेलको पूर्ण इजलासले आज दल विभाजनबाट बनेको पार्टीलाई मान्यता दिन अस्वीकार गरेको हो ।

फैसलामा भनिएको छ, “राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ले ऐनको दफा ३३ को उपदफा (२) मा गरेको संशोधनका आधारमा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम ५ को संशोधित व्यवस्थाका आधारमा विपक्षी निर्वाचन आयोगको मिति २०८२÷०६÷२८ को विपक्षी जनस्वराज पार्टी दर्ता गर्ने निर्णय कानुनसम्मत देखिएन ।”

फैसलामा राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश आएको र अध्यादेश निष्क्रय भइसकेको अवस्थामा साविककै ऐनको प्रावधान कायम रहेको मान्नुपर्ने उल्लेख छ ।

‘राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्नेछ’ – शङ्कर पोखरेल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलसँग संवाद गरेर सरकारले चुनावको वातावरण बनाउनुपर्ने जोड दिनुभएको छ ।

नेपाल खेलकुद महासङ्घको पाँचाँै केन्द्रीय कमिटीको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले फागुन २१ गते चुनाव गरेर दललाई सत्ता सुम्पिनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले गत भदौ २३ र २४ गते घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभएको छ । उहाँले उक्त घटनामा तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई पहिचार गरेर दण्डित गरेर मुलुकलाई फेरि पनि लोकतन्त्र, शान्तिको दिशातिर फर्काउने कामलाई आवश्यक रहेको बताउनुभयो ।

महासचिव पोखरेलले मुलुकमा शान्तिसुरक्षा अमनचयन गर्ने कुरा सरकारले प्राथमिकता राख्नुपर्ने बताउनुभयो । उहाँले लोकप्रिय पार्टीको नेतालाई स्थान हद गरेर चुनाव हुने नभई मुलुकमा सङ्कट निम्तिने खतरा रहेको बताउनुभयो ।

उहाँले देशको सङ्कट टार्न प्रतिनिधिसभाको पुनःस्थापना गरेर त्यसका माध्यमबाट युवाका मागलाई सम्बोधन गर्न सकिने बताउनुभएको छ । “संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पु¥याउनुपर्छ भन्ने छैन । ‘अर्ली इलेक्सन’मा जान सकिन्छ”, उहाँले भन्नुभयो, “यी सबै काम गर्न पहिलो शर्त प्रतिनिधिसभाको पुनःस्थापना हो ।”

महासङ्घका अध्यक्ष परशुराम बस्नेतले जेनजीका माग सही भए पनि तोडफोड र लुटपाटले मुलुकको विकास निर्माणमा पछि धकेलेको दाबी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले जेनजीका मागलाई सम्बोधन गरेर अगाडि बढ्नुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।

एभरेस्ट महिला भलिबलः काठमाडौँ स्पाइकर्सको जीत

काठमाडौँ – काठमाडौँमा जारी एभरेस्ट महिला भलिबल लिग प्रतियोगितामा काठमाडौँ स्पाइकर्सले पोखरा निञ्जाजलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा काठमाडौँले पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । काठमाडौँले सुरुआती दुई सेट २५–१९, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा भने काठमाडौँ १२–२५ ले पछि प¥र्यो । चौथो सेटमा २५–१८ ले विजयी भयो ।

चार खेल खेल्दा दोस्रो जीत निकालेको काठमाडौँ ६ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा उक्लेको छ । पोखराले भने पाँचै खेल खेलिसक्दा १ जीत तथा ४ हारका साथ ४ अङ्क जोडेर लिग सकाएको छ ।

बिहार बिधानसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न, सन् १९५१ पछि सबैभन्दा बढी मतदानः निर्वाचन आयोग

भारतको निर्वाचन आयोगले बिहीबार सम्पन्न बिहार विधानसभा निर्वाचन २०२५ शान्तिपूर्ण भएको निर्वाचन आयोगले जनाएको छ। मतदान मा सन् १९५१ पछिको सबैभन्दा उच्च सहभागिता रहेको आयोगले बताएको छ।

आयोगका अनुसार बुधबार सम्पन्न बिधानसभा निर्वाचनमा ६७.१३ प्रतिशत मतदान भएको बिहारका ३८ जिल्लामध्ये कुनै पनि जिल्लामा विवादका कारण पुनः मतदानको अनुरोध नआएको पनि बताएको छ ।

निर्वाचन आयोगको सञ्चारमाध्यमका लागि दिइएको आधिकारिक जानकारी अनुसार नोभेम्बर ६ र ११ मा भएको दुई चरणको निर्वाचनमा दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले भाग लिएका थिए ।

“बिहार विधानसभा चुनाव २०२५ मा पुनः मतदानका लागि कुनै पनि आवेदन नपरेको आयोगले जनाएको छ।

दुई हजार ६१६ उम्मेदवार र १२ मान्यता प्राप्त राजनीतिक दलले मतदानप्रति असन्तुष्टि प्रकट गर्दै कुनै पनि निवेदन नदिएको आयोगले सञ्चारमाध्यमका लागि जारी सूचनामा भनेको छ।

“अन्तिम मतदाता सूचीमा सात लाख सात करोड ४५ लाख २६ हजार ८५८ मतदाता रहेको बिहारमा एसआइआरको समयमा शून्य अपिल गरिएको छ,” आयोगको सूचनामा भनिएको छ।

निर्वाचन आयोगले नोभेम्बर १४ देखि सुरू हुने मतगणनाका लागि व्यापक व्यवस्था पनि गरेको छ ।

मतगणना सबै २४३ विधानसभा निर्वाचन क्षेत्रमा हुनेछ भने यसको निरीक्षण २४३ निर्वाचन अधिकृत, २४३ मतगणना पर्यवेक्षक, उम्मेदवार वा उनीहरूका एजेन्टहरूद्वारा हुनेछ।
मत गणनाका लागि बिहारमा कुल चार हजार ३७२ गणना टेबल स्थापना गरिएको छ।

बिहारमा विधानसभाको पहिलो र दोस्रोे चरणको मतगणना शुक्रबार बिहान ८ः०० बजे सुरु हुनेछ । सुरूमा हुलाक मतपत्रबाट मतगणना सुरु हुनेछ र त्यसपछि बिहान ८ः३० देखि इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) गणना हुनेछ। इभिएम गणनाको अन्तिम चरणअघि हुलाकको मतपत्र गणना पूरा गर्नुपर्नेछ।

आयोगले सबैलाई सही र प्रमाणित अपडेटका लागि निर्वाचन आयोगद्वारा स्थापना गरेको यो पोर्टल https//results.eci.gov.in मा मात्र सम्पर्क गर्न र कुनै पनि सुनेको वा अनौपचारिक स्रोतमा भर नपर्न सल्लाह दिएको छ।

यस वर्ष मधेस प्रदेशमा धान उत्पादनमा कमी आउने अनुमान

वीरगञ्ज (पर्सा), २७ कात्तिकः धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र बाली भित्र्याउने समयमा परेको वर्षातको कारणले यस वर्ष मधेस प्रदेशमा धान उत्पादनमा करिब २० प्रतिशत कमी आउने अनुमान गरिएको छ ।

कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशले आज यहाँ आयोजना गरेको प्रदेशस्तरीय कृषि प्राविधिक समूह कार्यशाला गोष्ठीमा बोल्दै कृषि विकास निर्देशनालयका प्रमुख जितेन्द्र यादवले यो वर्ष धान बाली लगाउने र भित्र्याउने समयमा प्रतिकूल मौसमको कारणले मधेस प्रदेशमा धान उत्पादन घट्ने अनुमान गरेको बताउनुभयो ।

“अहिलेसम्म प्राप्त प्रारम्भिक तथ्याङ्कले मधेस प्रदेशमा करिब २० प्रतिशतसम्म धान उत्पादन घट्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो, “धानबाली लगाउने बेला मधेस प्रदेशमा देखिएको सुक्खायामको कारणले धानखेती हुने कूल क्षेत्रफलमध्ये १३ प्रतिशतमा रोपाइँ हुन सकेन ।” उहाँले धानबाली भित्र्याउने समयमा परेको वर्षातको कारणले धानबालीमा ठूलो असर पारेको उल्लेख गर्नुभयो ।
निर्देशनालयका अनुसार मधेस प्रदेशमा करिब १३ लाख मेट्रिकटन धान उत्पादन हुन्छ । जसमध्ये यस वर्ष भने करिब १० लाख मेट्रिकटनको हाराहारीमा धान उत्पादन हुने अनुमान गरिएको छ ।

निर्देशनालयका अनुसार मधेस प्रदेशमा आठ जिल्लामा धान रोपाइँ हुने तीन लाख ७२ हजार ६४५ हेक्टर छ । जसमध्ये ८७ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको थियो । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहालले मधेस प्रदेश सरकारले कृषि क्षेत्रमा यान्त्रिक प्रविधि गरेर उत्पादकत्व बढाउनेतर्फ अग्रसर रहँदै आइरहेको बताउनुभयो ।

“प्रदेश सरकारका भएका प्रविधिहरुको उच्चतम प्रयोग गर्दै कृषि क्षेत्रलाई व्यवस्थित गर्न लागिरहेका छौँ”, उहाँले भन्नुभयो, “प्राविधिकहरुको दक्षता अभिवृद्धि समग्र कृषि क्षेत्रलाई सुधार्नेतर्फ अग्रसर भइरहेका छौँ ।”

कृषि अनुसन्धान निर्देशनालय मधेस प्रदेशका प्रमुख विश्वेरप्रसाद यादवले प्रदेशस्तरमा कार्यरत रहेका कृषि प्राविधिकको क्षमता अभिवृद्धि गरेर कृषिमा लागत घटाउँदै उत्पादकत्व बढाउनको लागि अभिमुखीकरण गरिएको जानकारी दिनुभयो । “कृषि क्षेत्रमा भएको यान्त्रिकरण र प्राविधिक विषयलाई कृषकमाझ पु¥याउन यस्ता खालका कार्यशाला गोष्ठी गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले कृषि क्षेत्रमा भएका नयाँ प्रविधि र अनुसन्धानका कार्यलाई हस्तान्तरण गर्नका लागि मद्दत पु¥याउनेछ ।”

चाँडो इञ्जिन ल्याएर विमान सञ्चालन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० विमानको इजरायलमा रहेको इञ्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिनुभएको छ ।

निगम सञ्चालक समिति तथा व्यवस्थापनका अधिकारीहरूलाई आज सिंहदरबारमा बोलाएर प्रधानमन्त्री कार्कीले जहाजको इञ्जिन इजरायलमा थन्क्याउने र भाडाको इन्जिन ल्याएर जहाज चलाउने प्रवृत्तिमाथि प्रश्न गर्दै यस्ता बेथिति सहेर बस्न नसकिने बताउनुभयो । “आफ्नो इन्जिन त्यसै थन्किएर बसेको छ, यता भाडा बढेको बढ्यै छ”, उहाँले भन्नुभयो, “सञ्चालक समितिले निर्णय गरेर हुन्छ वा व्यवस्थापन तहबाटै काम हुन्छ, जसरी पनि नतिजा दिनुपर्छ ।”

उहाँले कुनै प्रक्रियागत बहाना नगर्न निर्देशन दिँदै जनताको पैसा लगानी भएको संस्थालाई नै ग्राउन्डेड गर्ने अवस्था आउन दिन नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको पक्षमा निर्णय गर्दा नडराउन पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनुहुँदैन, गलत काम गर्दा मात्र डराउनुहोस् ।”

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायतको उपस्थिति थियो ।

सामूहिक कफी खेतीमार्फत कृषि पर्यटनलाई जोड्दै ‘फ्रेस्को हिमालय’

काठमाडौँ – फ्रेस्को हिमालय कम्पनीले कृषिमार्फत पर्यटन क्षेत्रलाई जोड्नका लागि सामूहिक कफीखेती सुरु गरेको छ ।

कम्पनीले कृषिमार्फत पर्यटन क्षेत्रको विकासका लागि स्थानीयस्तरका जनताको सहभागितामा चार जिल्लामा सामुहिक कफीखेती सुरु गरेको हो । कम्पनीले गोरखाको बारपाक सुलिकोट गाउँपालिका, दोलखाको कालिञ्चोक गाउँपालिका, उदयपुरको लिम्चुङबुङ गाउँपालिका र सङ्खुवासभाको मकालु गाउँपालिका–३ सँगको सहकार्यमा सामूहिक कफीखेती सुरु गरेको कम्पनीका अध्यक्ष देवेन्द्र पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा एक हजार रोपनी, दोलखाको कालिञ्चोक गाउँपालिकामा एक हजार रोपनी, उदयपुरको लिम्चुङबुङ गाउँपालिका ५०० रोपनी र सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा २०० रोपनी क्षेत्रफलमा कफीखेती गरिएको छ । उक्त कम्पनीले स्थानीय स्रोतसाधनको प्रयोग गरेर कफी नर्सरीको उत्पादन, स्थानीय महिलालाई रोजगारीसमेत प्रदान गर्दै आइरहेको छ ।

“सामूहिक कफी खेतीमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने प्रमुख लक्ष्यका साथ यो परियोजना सुरु गरेका हौँ, हामीले स्थानीय तहमा पुगेर कफीको वेर्ना उत्पादन, किसानलाई कफीखेतीसम्बन्धी तालिम, बिरुवाको वितरणलगायतका काम गरी किसानबाट उत्पादित कफीलाई खरिद गर्ने गरेका छौँ”, अध्यक्ष पोखरेलले भन्नुभयो ।

कम्पनीले स्थानीयस्तरमा उत्पादित कफीलाई सोही स्थानको ‘ब्राण्ड’ बनाएर स्वदेश तथा विदेशमा बिक्री वितरण गर्दै आएको छ । सामूहिक कफीखेतीसँगै कम्पनीले स्थानीय तहमा घरवास (होमस्टे) सञ्चालनका लागिसमेत प्रोत्साहन गर्दै आएको छ ।

उक्त स्थानमा उत्पादित कफी हाल प्रतिकिलो नेपालमा रु तीन हजारमा बिक्री वितरण गरिँदै आएको छ । विसं २०७६ मा स्थापित उक्त कम्पनीेले स्थानीय तह, कृषि सहकारी, किसान र पर्यटन सङ्घ संस्थासँगको सहकार्यमा काम गर्दै आएको छ ।

प्रधानमन्त्री कार्कीद्वारा अन्तरनिर्वाचन क्षेत्र मतदानको सम्भावनाबारे छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्रमा मतदानको व्यवस्था आवश्यक रहेको बताउनुभएको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उहाँले सरोकारवालासँग अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका सम्बन्धमा छलफल गर्नुभएको हो ।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमाथि आर्थिक भार निकै ठूलो परिरहेको र त्यसले भ्रष्टाचारलगायत अरु बेथिति पनि देखापरेको छ, यसका लागि एउटा सुदृढ कदम चाल्नुपर्ने आवश्यकता छ ।”

पुरानै तरिकाको निर्वाचन गर्ने हो भने त जेनजी आन्दोलन गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्दै उहाँले एउटा सन्देशयुक्त काम गर्न आवश्यक रहेको बताउनुभयो । “भोलिका लागि पनि प्रणाली स्थापित गरौँ, हामीले गर्न खोजेको पहलमा राजनीतिक तहको समझदारी पनि हुनुपर्छ”, उहाँले भन्नुभयो, “सबै पक्ष तयार हुनुपर्छ, हाम्रा सन्तान डिजिटल साक्षरतामा धेरै अगाडि छन् । राजनीतिक नेतृत्व यो कुरा बुझ्न कति तयार हुनुपर्छ ।”

छलफलमा गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहका अधिकारीहरु, कानुन मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान, राष्ट्रिय पञ्जीकरण विभागका अधिकारीहरूको पनि सहभागिता थियो ।

त्यस अवसरमा नीति अनुसन्धान प्रतिष्ठानले देशबाहिर र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिरबाट मतदानका लागि सम्भावित विकल्पका विषयमा आफ्नो अध्ययनको सारांश प्रस्तुत गरेको थियो ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पनि विगतका निर्वाचनभन्दा यसपालि केही न केही फड्को मार्नैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो चुनावी सरकार हो, विगतका कमजोरी र खराबी हटाउँदै सुधारसहित निर्वाचन गराउन आएको सरकार हो, त्यसैले केही न केही फड्को त मार्नैपर्छ ।”

छलफलपछि अन्तरनिर्वाचन क्षेत्र मतदान र विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगका सम्बन्धमा गर्न सकिने काम, लागत र कानुनी संरचनाका विषयमा सुझाव दिन नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित संयन्त्र बनाइएको छ ।