`

चलचित्र ‘रियाल रिङ्गेट’को प्रचार अभियान कलेज कलेजमा, गायक रामचन्द्र र कवि नाथनको साथमा कविता र गीतको प्रस्तुति

काठमाडौं – यही श्रावण १६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ ले प्रदर्शन पूर्वको प्रचारमा विशेष जोड दिइरहेको छ। चलचित्रको प्रचार टोली अहिले काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरूमा पुगेर फरक शैलीमा प्रचार अभियान सञ्चालन गरिरहेको छ।

क्याम्पस क्याम्पसमा भइरहेको यो प्रचारमा चलचित्रका निर्देशक विभोर पोखरेल, चर्चित गायक रामचन्द्र काफ्ले, लोकप्रिय कवि नाथन रायन, कलाकारहरू प्रमोद चौलागाईं, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापा लगायतको सक्रिय सहभागिता रहेको छ। उनीहरू हालसम्म विनायक सिद्ध कलेज, द इनसाइट भिजन एसएस कलेज, साइपाल एकेडेमी लगायतका शिक्षण संस्थामा पुगेका छन्।

यो प्रचार अभियानको विशेषता भनेको कविता र गीतको संयोजन हो। कवि रायनले आफ्नै लेखनका मार्मिक कविताहरू प्रस्तुत गर्दा गायक काफ्लेले त्यसमा सङ्गीत र स्वरको स्पर्श थपेर विद्यार्थीहरूलाई भावनात्मक रूपमा छोइरहेका छन्। विद्यार्थीसँग प्रत्यक्ष संवाद, कविता वाचन र गीतमार्फत चलचित्रको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरिँदैछ।

कवि रायनले चलचित्र ‘रियाल रिङ्गेट’ का लागि विशेष कविता रचना तथा वाचनसमेत गरेका छन्, जुन चलचित्रमा पनि समावेश छ। नेपाली चलचित्रमा कमै मात्र प्रयोग हुने कविता विधालाई यस चलचित्रले विशेष प्राथमिकता दिएको देखिन्छ।

यसैबीच, चलचित्रको ट्रेलर पनि सार्वजनिक भइसकेको छ, जसमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूले भोग्नुपरेका सङ्घर्ष र पीडाको चित्रण देखाइएको छ। निर्देशक विभोर पोखरेलका अनुसार, चलचित्रले नेपाली श्रमिकहरूको वास्तविक कथा बोल्ने प्रयास गरेको छ। चलचित्रको नाम ‘रियाल रिङ्गेट’ नै कतार, साउदी अरब र मलेसिया जस्ता नेपालीका प्रमुख श्रम गन्तव्य राष्ट्रहरूलाई सङ्केत गर्छ।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय छ भने सङ्गीतमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको योगदान रहेको छ।

विश्वभरका पशुको कल्याणका लागि महायज्ञ गर्न ओडिसाका पण्डित पशुपतिमा

काठमाडौँ, ८ साउनः विश्वभरका सबै पशुलाई पशुपतिनाथले कल्याण गरुन् भन्ने कामनासहित पशुपति क्षेत्रमा राम कथा महायज्ञ सञ्चालन भइरहेको छ ।
पशुपतिनाथले विश्वभरका सबै पशुको कल्याण गर्ने भन्दै भारतको ओडिसास्थित विश्व सनातन ट्रष्टले पशुपति क्षेत्रमा आएर राम कथाको आयोजना गरिरहेको हो ।

पशुपति क्षेत्रमा आएर महायज्ञ गर्दा पशुपतिनाथबाट विश्वभरका पशुको उन्नति हुने भन्दै गत आइतबारदेखि राम कथा महायज्ञ सुरु भएको हो ।

महायज्ञ गर्न भारतका विभिन्न स्थानबाट करिब दुई सयजना भक्तजन काठमाडौँमा आएका छन् । पशुपति क्षेत्रस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालामा पण्डित काशीनाथ मिश्रले राम कथा वाचन गरिरहनुभएको छ ।

यो महायज्ञ आगामी शनिबारसम्म सञ्चालन हुने ट्रष्टले जनाएको छ । यसबाट धार्मिक पर्यटन प्रवर्द्धन भएको कथास्थलमा भेटिनुभएकी मनिषा निरौलाले बताउनुभयो ।

महायज्ञमा दैनिक करिब पाँच सयजना सहभागी हुने गरेका छन् । दिउँसो ३ः०० बजेदेखि बेलुकी ७ः०० बजेसम्म कथा वाचन भइरहेको छ ।

ट्रष्टले सनातन धर्म, संस्कृतिको संरक्षणका लागि नेपाल, भारत, अमेरिका, क्यानडा, बेलायतलगायत देशमा यस्तो यज्ञ आयोजना गरिरहेको ट्रष्टका अध्यक्षसमेत रहनुभएका पण्डित मिश्रले बताउनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

लुम्बिनी, ८ साउनः लुम्बिनी प्रदेश सरकारले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनाको औचित्य प्रमाणित गर्न नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।

संवैधानिक र कानुनी सुधार, सुशासन र पारदर्शिता, विकास परियोजना, वित्तीय प्रबन्ध, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा, कृषि र रोजगार, पयर्टन, संस्कृति र वातावरण तथा जनतासँगको संवादलगायत काममा प्रदेश सरकार सक्रिय रहेको जनाइएको छ ।

लुम्बिनी प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेको अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा ‘एक वर्षे कार्यकालका उपलब्धि’ विषयक कार्यक्रम आयोजना गरी एक वर्षका उपलब्धि सार्वजनिक गर्नुभएको हो । सरकार गठन भएको एक वर्षको अवधिमा प्रदेश सरकारले ७६ बुँदे उपलब्धि सार्वजनिक गरेको छ ।

सङ्घीयताको सवलीकरण र प्रदेशलाई सक्षम बनाउन शासकीय सुधार, नीति तथा कानुन निर्माणसँगै त्यसको कार्यान्वयनमा लुम्बिनी प्रदेश सरकारले सफलता हासिल गरिरहेको जनाइएको छ ।

सङ्घीयताको संस्थागत अभ्यासमा प्रदेशले अग्रणी भूमिका निर्वाह गरेको, सरकार जनताका लागि देखिने, भेटिने र सुनिने बनोस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएका नीति तथा कार्यक्रमले प्रदेशलाई सङ्घीय अभ्यासको ढाँचामा उभ्याउने प्रयास गरिएको उहाँले बताउनुभयो ।

एक वर्षको अवधिमा सरकारले आफ्ना काम जनस्तरसम्म पुर्‍याउँदै विकासप्रतिको नागरिकको अपेक्षा सम्बोधन गर्न सफल भएको, सुशासन, पारदर्शिता र जवाफदेहितालाई नागरिकस्तरमा अनुभूत गराउन प्रदेश सरकारले अहम भूमिका निर्वाह गरिरहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

सरकारले चालु खर्चलाई घटाउँदै विकास खर्चलाई बढाएर लैजाने सन्दर्भमा अनावश्यक चालु खर्च न्यून गर्दै लगिरहेको छ भने पूर्वविशिष्ट श्रेणीका पदाधिकारीलाई दिँदै आइएको सेवासुविधा पनि कटौती गरिएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको खर्च गर्ने क्षमतासँगै आम्दानीसमेत निरन्तर बढ्दै गइरहेका बताउँदै उहाँले यो एक वर्षको उपलब्धि मानिएको उल्लेख गर्नुभयो ।

यस अवधिमा आर्थिक वर्ष २०८०/८१ मा कुल खर्च ६६ दशमलव १४ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा ७२ दशमलव शून्य नौ प्रतिशत पुगेको छ । प्रदेश सरकारले गरेको नीतिगत सुधार एवम् प्रभावकारी अनुगमनका कारण प्रदेशको आन्तरिक आम्दानी बढ्दै गएको मुख्यमन्त्री आचार्यले धारणा राख्नुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५० करोड आन्तरिक राजस्व बढेको छ । अघिल्लो वर्ष रु चार अर्ब ५० करोड राजस्व सङ्कलन भएकामा गत आवमा रु पाँच अर्ब ६४ करोड राजस्व सङ्कलन भएको हो ।

गौरवका आयोजनामा फड्को
प्रदेशका गौरवका आयोजनासहित प्रदेशस्तरीय अन्य आयोजना तथा कार्यबाट स्वास्थ्य, शिक्षा, प्रशासनिक सुधार र सडक सञ्जालमा उल्लेखनीय प्रगति हासिल भएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई मुलुककै नमुना अस्पताल बनाउने लक्ष्यका साथ १२ तलाको एक हजार दुई शय्याको अस्पताल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ ।

हालसम्म २७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको उक्त अस्पताल पाँच वर्षभित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने योजनाकासाथ प्रदेश सरकार अघि बढिरहेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

करिब रु छ अर्ब १८ करोड लागतमा विसं २०८५ पुससम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित कार्यारम्भ भएको उक्त अस्पतालको एक वर्षमा भौतिक प्रगति २७ प्रतिशत पुगेको पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

यस अस्पतालले नेपालको उत्कृष्ट भौतिक पूर्वाधारसहित अत्याधुनिक सेवा सुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ । साथै, यो आयोजनाले बुटवल–भैरहवा क्षेत्रलाई समग्र आर्थिक केन्द्र (हव)का रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास सरकारले लिएको छ ।

प्रदेश राजधानीको एकै परिसरमा प्रदेश सरकार र प्रदेश सभाको कार्य सञ्चालन भइरहेका छन् । प्रदेशको आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्माण अन्तिम चरणमा पुगेका छन् । अहिलेसम्म ८० प्रतिशत भौतिक प्रगति हासिल भएको छ ।

नदी सभ्यतामा आधारित व्यवस्थित राजधानी बनाउने उद्देश्यले सहरको निर्माण अघि बढिरहेको छ । राजधानीको समग्र विकासअन्तर्गत नयाँ बस्ती क्षेत्रमा १५० बिघा क्षेत्रफलमा ‘ल्याण्डपुलिङ्ग’ अवधारणामा आयोजना सुरु हुने तयारीमा रहेको मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

शैक्षिक क्षेत्रमा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै बाँकेमा प्राविधिक विश्वविद्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको छ भने विद्यार्थी सङ्ख्यामा पनि वृृद्धि हुँदै गएको छ । हाल विभिन्न सङ्कायमा गरी २१० विद्यार्थी अध्ययनरत छन् ।

सूचना प्रविधिको विकाससँगै प्राविधिक विषयमा विद्यार्थीको रुची बढेको छ । प्रदेशले लुम्बिनीलाई प्राविधिक शिक्षाको केन्द्र बनाउने उद्देश्यसहित लुम्बिनी प्राविधिक विश्वविद्यालय सञ्चालनमा ल्याएको हो । अघिल्लो वर्ष ३३ जना विद्यार्थी भर्ना भएकामा एक वर्षको अवधिमा यो सङ्ख्या २१० पुगेको मुख्यमन्त्री आचार्यले जानकारी दिनुभयो ।

सडक पूर्वाधार विकासमा प्रदेश सरकार योजनाबद्ध हिसाबले अगाडि बढिरहेको छ । रामपुर–कपुरकोट सडकलाई प्राथमिकतामा राखेर प्रदेश गौरवको आयोजनाका रूपमा कार्यान्वयनमा ल्याइएको छ ।

रामपुर–कपुरकोट सडक आयोजनाअन्तर्गत पाल्पा, अर्घाखाँची, प्यूठान र रोल्पा जिल्लामा कालोपत्र, सडक स्तरोन्नति र संरचना निर्माणमा महत्त्वपूर्ण प्रगति हासिल भएको मुख्यमन्त्री आचार्यले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार हालसम्म कुल ४४ दशमलव ४० किमी सडकमा कालोपत्र सम्पन्न, तीन दशमलव आठ किमीमा ग्राभेल सडक सम्पन्न र २१ दशमलव १५ किमी सडक कालोपत्र गर्ने तयारीमा रहेको छ ।

कार्यक्रममा मुख्यमन्त्री आचार्यले उपलब्धिहरूको विवरण सार्वजनिक गर्दै प्रदेश सरकार सङ्घीय संरचनाको अपरिहार्य तहका रूपमा विकास हुँदै गएको स्पष्ट पार्नुभयो ।

“सुशासनलाई केन्द्रविन्दुमा राख्दै हामीले पाँच वर्षे रणनीतिक योजना तयार पारेका छौँ”, उहाँले भन्नुभयो, “जसअनुसार राजस्व वृद्धि, पुँजीगत खर्चमा सुधार र प्रशासनिक कार्यसम्पादनमा उल्लेखनीय प्रगति भएको छ, सुशासनको पाटोलाई दृढताका साथ अघि बढाइनेछ ।”

उहाँका अनुसार चालु खर्च कटौती गर्दै पुँजीगत खर्च बढाउने रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भएको छ । कर्मचारी व्यवस्थापन, मन्त्रालय र मातहतका कार्यालयको कार्यसम्पादन मूल्याङ्कन र अनुगमनका लागि ‘मुख्यमन्त्री ड्यासबोर्ड’ स्थापना गरिएको बताउँदै उहाँले यसबाट नीतिगत तथा कार्यान्वयन पक्षमा नियमित अनुगमन हुने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरले कानुन निर्माणमा लुम्बिनी प्रदेशले उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । जनताले मूल्याङ्कन गर्न सक्नेगरी पारदर्शी रूपमा काम भएका बताउँदै उहाँले अब बाँकी रहेका सामाजिक न्यायसँग सम्बन्धित ऐनहरू यसै अधिवेशनमा पेस गरेर पारित गरिने जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदी व्यापार सम्झौताका लागि बेलायतमा

लन्डन, ८ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार व्यापार सम्झौताका लागि बेलायत प्रस्थान गरेका छन् । बेलायती प्रधानमन्त्री किर स्टार्मरले भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिहीबार बेलायतमा स्वागत गर्ने तथा यसअघिको घोषणा बमोजिम बेलायत–भारत व्यापार सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाइएको छ ।

मोदीले बेलायतमा आफ्नो छोटो प्रवासका क्रममा राजा चाल्र्स तृतीयलाई पनि भेट्ने कार्यक्रम तय भएको छ । सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि मोदीको यो चौथो बेलायत भ्रमण हो ।

स्टार्मर र मोदीले गत महिनाको एयर इन्डियाको विमान दुर्घटनाबारे पनि छलफल गर्ने सम्भावना छ । पश्चिमी भारतको अहमदाबादबाट उडान भरेपछि लन्डन जाने विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको थियो ।गत मे महिनामा स्टार्मर र मोदीले बेलायतको अर्थतन्त्रमा वार्षिक चार अर्ब ८० करोड पाउन्ड ९छ अर्ब ५० करोड डलर० थप गर्ने गरी स्वतन्त्र व्यापार सम्झौता गरेका थिए।

“भारतसँगको हाम्रो ऐतिहासिक व्यापार सम्झौता बेलायतका लागि ठूलो जीत हो”, स्टारमरले बुधबार राति एक विज्ञप्तिमा भने ।

स्टारमरको एक वर्ष पुरानो सरकारले वर्षौँको स्थिर वृद्धि र उच्च मुद्रास्फीतिले कमजोर पारेको अर्थतन्त्रलाई उक्साउन सङ्घर्ष गरिरहेको छ । भारत र बेलायतले यो सम्झौताले दुई देशबीचको व्यापारलाई २५ अर्ब ५० करोड अर्ब पाउन्डले बढाउने अपेक्षा गरेका छन् ।

बेलायत र भारत क्रमशः छैटौँ र पाँचौँ ठूलो विश्वव्यापी अर्थतन्त्र हुन् । यी दुई मुलुकबीचको व्यापार सम्बन्ध लगभग ४१ अर्ब पाउन्ड छ र लगानीले दुवै देशमा छ लाखभन्दा बढी रोजगारीबाट लाभान्वित हुनेछन् ।

बुधबार भारत छोड्दा मोदीले साझेदारीले ‘पछिल्ला केही वर्षमा महत्त्वपूर्ण गति हासिल गरेको’ बताए । “हामीसँग दुवै देशमा समृद्धि, वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले हाम्रो आर्थिक साझेदारीलाई अझ बढाउने अवसर हुनेछ”, उनले भने ।

यो सम्झौताले भारतमा ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरणहरूसहित बेलायतका सामानहरूको आयातमा कर कटौती गर्नेछ । बदलामा बेलायतले भारतबाट फ्रोजन झिँगेमाछासहित कपडा, जुत्ता र खाद्य उत्पादनहरूमा शुल्क कटौती गर्नेछ ।

द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द

बैङ्कक, ८ साउन । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षित आक्रमण’ मा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ ।

सामाजिक सञ्जालमा उप–रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ ।

सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।

स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको रिपोर्ट गरेको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ ।

कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ–१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।

द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् ।

उबोन रत्चथानी प्रान्तको चोङ एन मा सीमा नजिकै भएको विस्फोटमा पाँच थाई सैनिक घाइते भएको एक दिनपछि आक्रमण भएको जनाइएको छ ।

कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई सेनाले ओड्डर मिन्चे प्रान्तको ता मोने थोम र ता क्राबे मन्दिरहरूमा कम्बोडियाली सैन्य स्थानहरूमा आक्रमण गरेको र आफ्नो आक्रमणलाई मोम बेइ क्षेत्रमा विस्तार गरेको बताएका छन् ।

नोमपेन पोस्टका अनुसार उनले ‘कम्बोडिया सधैँ शान्तिपूर्ण रूपमा मुद्दाहरूको समाधान गर्न कटिबद्ध रहेको तर यस अवस्थामा हामीसँग यस सशस्त्र आक्रमणको विरुद्ध बलपूर्वक जवाफ दिनु बाहेक कुनै विकल्प नभएको’ बताएका छन् ।

यसैबीच, कम्बोडियाको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै थाइल्यान्डले अत्यधिक सङ्ख्यामा सेना तैनाथ गरेको, भारी हतियार प्रयोग गरेको र कम्बोडियाको क्षेत्र जबरजस्ती कब्जा गर्ने प्रयासमा हवाई आक्रमण गरेको आरोप लगाएको छ ।

बिहीबार देखि लागु हुने गरी बुधबार सेनाका कमान्डर लेफ्टिनेन्ट जनरल बुन्सिन पाडक्लाङले सीमा बन्द गरी सुरिनको मन्दिरका भग्नावशेषहरू बन्द गर्न आदेश दिएको बैङ्कक पोस्टले जनाएको छ ।

बुधबार थाई सरकारले कम्बोडियाका राजदूत हुन सारोउनलाई निष्कासन गरी थाई राजदूतलाई फिर्ता बोलाइएको बैङ्क पोस्टले जनाएको छ ।सीमाको थाईतर्फका क्षेत्रका गाउँलेहरूलाई यस क्षेत्र खाली गर्न आदेश दिइएको छ ।

गत महिना कम्बोडियाका पूर्व प्रधानमन्त्री तथा सिनेटका वर्तमान अध्यक्ष हुन सेनले थाई प्रधानमन्त्री पेटोङ्टार्न सिनावात्रासँगको विवादित सीमासम्बन्धी कुराकानी चुहावट गरेको आरोपमा थाइल्यान्डको संवैधानिक अदालतले सिनावात्रालाई प्रधानमन्त्रीबाट निलम्बन गरेको थियो ।

एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : जनार्दन शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् ।

संसदमा प्रस्तावमा गरिएको मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि आफ्नो धारण राख्दै उनले भने, ‘प्रविधिको दुरुपयोगले अपराधका प्रकृतिहरु बदलिएका छन् । बदलिएका अपराधका प्रकृतिहरुलाई कसरी हामीले नियन्त्रण गर्ने महत्वपूर्ण कुरा छ । प्रविधिले मानव बेचविखनलाई विस्तार गर्न वातावरण सहज बनेको अवस्था छ ।’

उनले वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) गर्ने विधेयकले काम गर्नुपर्ने बताए । उनले भने, ‘मानव तस्करी र बेचविखन दुई तरिकाले भइरहेको छ ।

एउटा अवैधानिक समुद्र पार, बोर्डर पार र स्थानीयरुपमा पनि भइरहेका होलान् । वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको छ । खाडि मुलुकमा पुगेका महिलाहरु एकदमै यौन शोषणमा पर्नुभएको र ठुलो दुख खेप्नु परेको छ । वैधानिकरुपमा भिजिट भिषा लगायत अन्यका रुपमा बेचिरहेका छन् । त्यसलाई यो ऐनले कसरी नियन्त्रण गर्छ हेर्न जरुरी छ ।’उनले युवाहरु गाउँबाट सहर पस्दा नै बेचिन सुरु हुने भन्दै एउटै युवा पटक पटक बेचिने गरेको बताए ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू

काठमाडौं । साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।

निर्णयहरुमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई मलेसियामा हुने नेपाल आदिवासी जनजाति महासंघको चौथो अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन स्वीकृति प्रदान गरिएको छ । कार्यक्रम साउन १८ गतेका लागि तय गरिएको छ ।

यसैगरी जापानको टोकियोमा भदौ ९–१३ सम्म हुने ब्कष्ब एबअषष्अ न्चयगउ यल ःयलभथ ीबगलमभचष्लन (ब्एन्) कार्यक्रममा ७ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी हुने मन्त्री गुरुङले बताए ।थाइल्याण्डको बैंककमा साउन १३–१५ गते आयोजना हुने ऋब्च्भ् ायच क्यगतज ब्कष्ब ध्यचपकजयउ मा सचिव गोविन्दबहादुर कार्की सहभागी हुनेछन् ।

जापानको ओसाकामा साउन १२–१३ मा हुने नेपाल दिवस कार्यक्रममा सचिव डा. रामप्रसाद घिमिरेले सहभागी हुनेछन् ।
यसैगरी सासेक विद्युत ट्रान्समिसन तथा वितरण आयोजनाका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट बाट प्राप्त १०० मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने निर्णय गरिएको छ ।

नेपालका लागि पोल्याण्डका अवैतनिक महावाणिज्यदूत लोकमान्य गोल्छालाई पोल्याण्ड सरकारले प्रदान गर्न लागेको इााष्अभचगक ऋचयकक या तजभ इचमभच या ःभचष्त पदक ग्रहण गर्न स्वीकृति दिइएको छ ।

रुकुम (पूर्व) जिल्लाको सदरमुकाम सिस्ने गाउँपालिका वडा नं. ५ र ६ मा पर्ने रुकुमकोट तोक्ने निर्णय भएको छ ।यसैगरी मन्त्रिपरिषद् बैठकले मधेश प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको जनाएको छ ।नेपाल स्काउटसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गरिएको छ ।

बलेफी कोरिडोर १३२ केभी प्रसारण लाइन आयोजना निर्माणका लागि सिन्धुपाल्चोकको जुगल गाउँपालिका र बाह्रबिसे नगरपालिका क्षेत्रभित्र पर्ने ९.८७५७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न विद्युत प्राधिकरणलाई अनुमति दिइएको छ ।दाना खोला जलविद्युत आयोजना निर्माणका लागि मनाङ जिल्लामा ४.८ हेक्टर राष्ट्रिय वन क्षेत्र लालुपाते हाईड्रोपावर कम्पनीलाई उपयोग गर्न स्वीकृति दिइएको छ ।

एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको उम्मेद्धवारीले पायो सर्वत्र चर्चा

काठमाडौँ । गैर आवासिय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालको नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष पदमा उम्मेद्‍वारी परेको छ ।

निर्वाचन समितिका अनुसार कोषाध्यक्ष पदमा भुषाले उम्मेदवारी दर्ता गराएका हुन् । भुषाल लामो समयदेखि स्वयम सेवकका रुपमा काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरिसकेका उम्मेद्धवार हुन् । उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने कुरामा जोड दिएका छन्।

नर्दन टेरीटोरीमा अध्यक्ष पदका लागि भवानी पौडेल, उपाध्यक्षमा रविन भुषाल, सचिवमा आकाश बुढाथोकी तथा युथ कोअर्डिनिडेरमा अनुपम ढुंगाना बलियो दाबेदारका रुपमा देखिएका छन्। नर्दन टेरीटोरी राज्यमा २६ जुलाईमा एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका निर्वाचन हुँदैछ।

नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा नेपालले २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवाको निर्यात गर्न सफल भएको बताए ।

उनले आफू प्रधानमन्त्री हुनुअघि अर्थात् अघिल्लो वर्ष नेपालको कुल निर्यात १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ मात्र रहेको बताउँदै गत वर्षको तुलनामा निर्यात ८१.८० प्रतिशतले वृद्धि भएको बताए ।

उनले लेखेका छन्,‘यस वर्ष निर्यातमा इतिहासकै उच्च बिन्दु हासिल भएको छ। २ खर्ब ७७ अर्ब ३ करोड २ लाख रुपैयाँको निर्यात गर्न हामी सफल भएका छौं। हामी सरकारमा आउनु भन्दा अगाडि अघिल्लो वर्ष १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँको निर्यात भएको थियो। गत वर्षको तुलनामा ८१.८० प्रतिशत निर्यात बढेको छ।’

वीरगञ्ज नाका हुँदै छ खर्ब २५ अर्बको आयात र एक खर्ब एक अर्बको निर्यात

काठमाडौँ, ८ साउन : वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशतअर्थात् रु ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।

गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थमात्रै रु एक खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रु ५७ अर्ब ६८ करोडको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आवमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । “गत आवमा आयात र निर्यात दुवैमा उल्लेखीय सुधार भएको देखिन्छ”, उहाँले भन्नुभयो, “अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुनसक्छ ।”

गत आवमा मेसिनरी तथा तिनका पार्टपुर्जा रु ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । रु ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा रु २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।

गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । रु एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आवमा यो नाका हुँदै रु ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशतअर्थात् रु ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा प्रशोधित भटमासको तेल रहेको छ । गत आवमा रु ६१ अर्ब ४५ करोड मूल्य पर्ने रु २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो ।

जबकी अघिल्लो आवमा रु नौ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो । त्यसैगरी गत आवमा रु नौ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आवमा रु १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।

गत आवमा रु सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आवमा रु आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।

गत आवमा रु पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु आठ अर्ब ५९ करोड मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।

२ वर्षको ठेक्का लागेको पुल नौ महिनामै तयार,प्रधानमन्त्रीले दिए धन्यवाद

काठमाडौं । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल सुरु भएको नौ महिनामै सम्पन्न भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत आफूले विकासमा खोजेको यस्तै तीव्रता रहेको बताउँदै निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाइ धन्यवाद दिए ।

उनले लेखेका छन्,‘हामीले विकासमा खोजेको यस्तै तीव्रता हो । कपिलवस्तुको वाणगंगा नगरपालिका– ९, कोइली खोला (ख)मा दुई वर्षको निर्माण सम्झौता भएको पुल निर्माण सुरु भएको नौ महिनामै सम्पन्न भएको छ । निर्माण सम्पन्न गर्ने ठेकेदार समूहलाई धन्यवाद !’नौ करोड तीन लाख ७८ हजार ६८ रुपैयाँ लागतमा पुल निर्माणको सम्झौता भएको थियो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, ८ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ३२, आलु रातो (मुडे) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४०, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ८५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ७०, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ५०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३५, भन्टा लाम्चो प्रतिकिलो रु ३०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ३५ र मकै बोडी प्रतिकिलो रु ८० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ४०, टाटे सिमी प्रतिकिलो रु ७०, भटमास कोसा प्रतिकिलो रु १२०, तीतो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु ३०, परबर (तराई) प्रतिकिलो रु ३५, चिचिण्डो प्रतिकिलो रु २५, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ४५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकिलो रु ७०, भिण्डी प्रतिकिलो रु ३० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो रु ८०, पिँडालु प्रतिकिलो रु ७०, स्कूस प्रतिकिलो रु ४०, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो रु ७०, तोरीको साग प्रतिकिलो रु ४५, हरियो प्याज प्रतिकिलो रु २००, च्याउ (कन्य) प्रतिकिलो रु १५०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु २५०, निगुरो प्रतिकिलो रु ८० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु १२०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु २५०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १२००, सौफको साग प्रतिकिलो रु १७०, पुदिना प्रतिकिलो रु २१०, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु ११०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १३५, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु १४०, आँप (दशहरी) प्रतिकिलो रु १४०, तरभुजा प्रतिकिलो रु १००, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ३५, मेवा (भारतीय) प्रतिकिलो रु १०० र लप्सी प्रतिकिलो रु ५० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ४५, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ५०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७०, लसुन हरियो प्रतिकिलो रु १५०, हरियो धनियाँ प्रतिकिलो रु ३५०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २५०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गतका तीनवटा समितिका बैठक बस्दै छन्।बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन र पारित गर्ने सम्बन्धमा छलफल हुने छ।त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने तयारी छ।

चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

काठमाडौँ, ८ साउनः चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन् ।

सबैभन्दा धेरै गैँडाको आक्रमणबाट आठ जनाले ज्यान गुमाएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिनुभयो । त्यसैगरी हात्तीको आक्रमणबाट दुई र बाघको आक्रमणबाट एक जनाले ज्यान गुमाएको उहाँले बताउनुभयो । सोही अवधिमा वन्यजन्तुको आक्रमणबाट ४१ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते ३२ र सामान्य घाइते नौ जना छन् ।

वन्यजन्तुबाट मृत्यु हुनेमा अधिकांश घाँस काट्न र निगुरो टिप्न गएका व्यक्ति छन् । बाघ, गैँडा, हात्ती, जङ्गली बँदेल, मगरगोही, गौरीगाईलगायत वन्यजन्तुको आक्रमणबाट मानिसहरूको मृत्यु भएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो पाँच वर्षमा जङ्गली जनावरको आक्रमणबाट ७३ जनाले ज्यान गुमाइसकेका छन् । सोही अवधिमा वन्यजन्तुको आक्रमणमा परी १६९ जना घाइते भएका छन् । उहाँका अनुसार पछिल्लो पाँच वर्षको अवधिमा आव २०७८/२०७९ मा सबैभन्दा धेरै ३० जनाले ज्यान गुमाएका थिए । सो वर्ष बाघको आक्रमणबाट मात्रै २१ जनाको मृत्यु भएको थियो ।

मध्यवर्ती क्षेत्रका बासिन्दाहरू निकुञ्ज तथा सामुदायिक वनको अनुमति लिएर घाँसदाउराका लागि जाने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मानव र वन्यजन्तुको द्वन्द्व न्यूनीकरणका लागि वन्यजन्तुको वासस्थानलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो । निकुञ्जले जनचेतनामूलक कार्यक्रमसहित मेस जाली लगाउने काम गरिरहेको जनाएको छ ।

वन्यजन्तुको आक्रमणबाट एक वर्षको अवधिमा १७९ वटा घरपालुवा पशुको क्षति भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । सबैभन्दा बढी चितुवाको आक्रमणबाट १४० वटा पशुको क्षति भएको छ । बाघको आक्रमणबाट ३७ र अजिङ्गरबाट दुई वटा पशुको क्षति भएको सूचना अधिकारी रानामगरले जानकारी दिनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका २३ वटा घरमा हात्तीले क्षति पु-याएको छ । निकुञ्जका अनुसार गत आवमा मात्रै १३ वटा घरको अन्न भण्डारमा हात्तिले क्षति गरेको छ ।

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

काठमाडौँ, ८ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थान तथा देशका बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेस र बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाद्वारा प्रकाशित बुलेटिनअनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका पहाड र तराईका साथै मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

‘एनआरएनए’ अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।निर्वाचन आयोगले जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनेकोमा एकल उम्मेदवारी परेपछि निर्विरोध घोषणा गरेको हो।

अध्यक्षमा विकास उप्रेतीसहित विभिन्न पदमा पदाधिकारी चयन भएका छन्, तर दुई पक्षबीचको विवादले निर्वाचन फरक मितिमा हुने भएको छ।
अमेरिका । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकामा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

सङ्घको नयाँ नेतृत्वका लागि घोषित निर्वाचन कार्यक्रमअनुसार सबै पदमा एक/एक मात्र उम्मेदवारी परेपछि निर्वाचन आयोगले सबै पदाधिकारीलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार यही जुलाई २७ र २८ मा निर्वाचन गर्ने भनिएको थियो । आयोगका अनुसार अधिकांश पदमा एकल उम्मेदवारी परे पनि केही पदमा एकभन्दा बढी उम्मेदवारी परेको थियो । सङ्घका अगुवाहरुले नयाँ नेतृत्व सर्वसम्मत बनाउन प्रयास गरेपछि सबै पदाधिकारी सदस्यहरु निर्विरोध निर्वाचित भएको आयोगले बुधबार जनाएको छ ।

निर्वाचन आयोगका अनुसार अध्यक्षमा विकास उप्रेती, वरिष्ठ उपाध्यक्षमा प्रेम तामाङ, उपाध्यक्षहरुमा क्रमशः दीपक पाण्डे, दिवाकर सापकोटा, कुमार तामाङ, थलविर ओली, महिला उपाध्यक्षमा शान्ति पौड्याल, युवा उपाध्यक्षमा विष्णुप्रसाद पौडेल चयन भएका छन् ।

त्यसैगरी राष्ट्रिय समन्वय परिषद्को महासचिवमा रामचन्द्र पन्त, सचिवमा प्रचण्ड श्रेष्ठ, महिला सचिवमा सङ्गीता लामा लामिछाने, कोषाध्यक्षमा कमल ढुङ्गाना र सहकोषाध्यक्षमा मनोजकुमार ठगुन्ना, महिला संयोजकमा सावित्रा सिवाकोटी, युवा संयोजकमा आशिष सङ्ग्रौला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी)सँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशनअनुसार जुलाई महिनाभित्र निर्वाचन गराउनुपर्ने सन्दर्भमा विवाद उत्पन्न भएपछि आइसिसीले एनसिसी अमेरिकाको निर्वाचन गराउन विशेष निर्वाचन समिति गठन गरेको थियो । वासु फुलाराको नेतृत्वमा रहेको अर्को पक्षीय निर्वाचन आयोगले भने आगामी अगस्ट १७ र १८ तारिखमा निर्वाचन मिति घोषणा गरेको छ ।

सङ्घ अमेरिकाको कानुनी संरचनाअनुसार सामाजिक संस्था स्वरूपमा दर्ता भएकाले आइसिीससँगको आबद्धता र परराष्ट्र मन्त्रालयको निर्देशन बाध्यकारी नभएको जनाउँदै उक्त पक्षले छुट्टै निर्वाचन प्रक्रियाको तयारी गरेको हो ।

यसरी दुई पक्षीय मतभेदका कारण गैरआवासीय नेपाली सङ्घ अमेरिकाको निर्वाचन छुट्टाछुट्टै मितिमा हुन लागेको छ । आइसिसीको विवाद र गुटबन्दीको असर एनसिसी अमेरिकाको निर्वाचन प्रक्रियामा समेत स्पष्ट रूपमा देखिएको छ ।

सामान्य प्रशासन मन्त्रालयमा गुनासो व्यवस्थापन इकाई स्थापना गरिने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाइका लागि गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ।गुनासो व्यवस्थापन इकाईले सेवाग्राहीका गुनासोहरू सुनुवाइ गरी समाधान गर्नेछ र यसका लागि गुनासो सहजकर्ता तोकिनेछन्।सेवाग्राहीले विभिन्न माध्यमबाट गुनासो गर्न सक्नेछन् र गुनासोको प्रकृतिअनुसार तत्काल वा निश्चित समयभित्र सम्बोधन गरिनेछ।

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सेवाग्राहीको गुनासो सुनवाइ तथा समाधानका लागि गुनासो व्यवस्थापन इकाई स्थापना गर्ने भएको छ । मन्त्रीस्तरको निर्णयअनुसार मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवम् नतिजाका सम्बन्धमा गुनासा सम्बोधन गर्न क्षमता विकास महाशाखाअन्तर्गतको सुशासन शाखाले गुनासो व्यवस्थापन इकाइको रूपमा समेत कार्य गर्ने जनाइएको छ ।

एक प्रभावकारी संयन्त्रको रूपमा गुनासो व्यवस्थापन कार्य गर्न उक्त शाखाको प्रमुखलाई गुनासो सहजकर्ता तोक्ने र निजलाई सहयोग गर्न मन्त्रालय वा अन्य मन्त्रालय तथा निकायमा फाजिलमा रहेका कर्मचारीमध्येबाट अतिरिक्त समूहमा दरबन्दी राखी कामकाज गर्ने गरी एक जना शाखा अधिकृत र दुई जना कम्प्युटर सीपमा दखल भएका नायब सुब्बा वा कम्प्युटर अपरेटरलाई जिम्मेवारी दिइने मन्त्रालयले जनाएको छ ।

सेवाग्राहीले विभिन्न सञ्चार साधन वा आफैँ उपस्थित भई लिखित वा मौखिक गुनासो गर्ने वा पत्राचार गरी/गुनासो पठाउन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

गुनासो सहजकर्ताले प्राप्त गुनासाको अध्ययन गरी कारबाही गर्नुपर्ने वा नपर्ने वर्गीकरण गरी तत्काल प्रक्रिया अगाडि बढाउने, कुनै निर्धारित विधि र प्रक्रिया पूरा गर्नु पर्ने वा नपर्ने, सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

सहजकर्ताले तत्कालै सम्बोधन गर्न नसक्ने भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्बोधन गर्न सम्भव भए सम्बोधन गर्ने, नसक्ने भए महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने भनिएको छ । त्यहाँबाट पनि सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा आवश्यकताअनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका माथिल्लो तहका अधिकारीसँग समन्वय गरी सात दिनभित्र सम्बोधन गर्ने व्यवस्था गरिएको छ ।

नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासा सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा उच्च व्यवस्थापन समूहको बैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रिस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गर्ने प्रबन्ध गरिने मन्त्रालयले जनाएको छ ।

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा

पर्सा । विदेशी मुलुकबाट आहारपूरक (डाइटरी सप्लीमेन्ट)को आयातले स्वदेशी उद्योग समस्यामा परेका छन् । विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन् ।

मानव शरीरमा सन्तुलित आहारको कमीलाई परिपूर्ति गर्नका लागि डाइटरी सप्लीमेन्ट लिने गरिन्छ । बारा-पर्सा औद्योगिक कोरिडोरमा आहारपूरक ‘जयश्री हेल्थ केयर’ उद्योग सञ्चालन गर्दै आएका साकेत क्यालले विदेशी मुलुकबाट आयातित यस्ता उत्पादनका काण स्वदेशी उद्योगलाई समस्या भएको बताए ।

आफूले रु. ४० करोड लगानी गरेर आहारपूरक उद्योग सञ्चालनमा ल्याए पनि जथाभाबी आयात गरिने वस्तु र स्वदेशमा आवश्यक सहयोग नहुँदा समस्या भएको उहाँको गुनासो छ । सञ्चालक क्यालले भने, “राज्यका निकायबाट आवश्यक सहयोग र समन्वय नहुँदा स्वदेशी उद्योग मर्कामा पर्दै आइरहेका छन् । विदेशबाट भित्रिएका गुणस्तरहीन आयातित सप्लिमेन्टले जनस्वास्थ्यमा समेत गम्भीर असर पार्न सक्छन् । यसतर्फ सरोकार भएका निकायको ध्यान जान जरुरी छ ।”

आहारपूरक सामग्रीको नियामक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हो, तर कार्यालयसँग पर्याप्त मात्रामा जनशक्ति र प्राविधिक नहुँदा पनि आवश्यक समन्वय गर्न समस्या भइरहेको छ ।

जयश्री हेल्थ केयर उद्योगका सञ्चालक क्याल विदेशबाट जभाभावी आयात हुँदै आएका यस्ता सामग्री दर्ता नहुने र कतिपय अवस्थामा स्वीकृतिबिना भित्रिने गरेकाले आवश्यक कानुनी प्रबन्ध गरेर व्यवस्थित गराउनुपर्ने बताउँछन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले स्वदेशी उद्योगलाई सरकारले प्रवर्द्धन र संरक्षण गर्ने खालको नीति अवलम्बन गर्नुपर्ने बताए । “स्वदेशी उद्योगले भोग्नुपरेका कानुनी र अन्य प्रक्रियागत झन्झन्टको अन्त्य गर्दै सहजीकरण गर्न जरुरी छ”, उनले भने, “उद्योगीले कच्चापदार्थमा छुट पाउनुपर्ने माग राख्दै आइरहनुभएको छ । यसको सम्बोधन गरिनुपर्छ ।”

सरकारले औषधि उद्योगलाई एक प्रतिशत भन्सार महसुलमा कच्चापदार्थ र प्याकेजिङ सामग्री ल्याउन दिए पनि आहारपूरकलाई भने २० देखि ४० प्रतिशतसम्म भन्सार महसुल र मूल्य अभिवृद्धि कर लाउँदै आएको व्यवसायीको भनाइ छ । औषधिको कच्चापदार्थ जस्तै आहारपूरक कच्चापदार्थ आयातमा सहजीकरण गर्न जरुरी रहेको कतिपयको भनाइ छ ।

यहाँ रहेको जयश्री हेल्थ केयर उद्योगले हाल करिब ५० जनालाई रोजगारी दिँदै आएको छ । करिब ३१ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको उद्योगले आवश्यक कच्चापदार्थ ल्याएर यहाँ करिब ४० प्रकारका आहारपूक उत्पादन गर्दै आएको छ । यस उद्योगले गत आवमा मात्रै करिब रु. ६० लाख मूल्य बराबरको डाइटरी सप्लिमेन्ट बिक्री गरेको जनाएको छ ।

गत वर्ष नेपालमा करिब रु. डेढ अर्ब बराबरको आहारपूरक सामग्री आएकाले स्वदेशी उत्पादनलाई प्रोत्साहन गरे आफूहरूजस्ता धेरै उद्योगले आयात प्रतिस्थापनमा सहयोग गर्न सक्ने उद्योगी क्यालको भनाइ छ ।

प्रतिनिधिसभा बैठकः दुई विधयक प्रस्तुत हुने

काठमाडौँ, ८ साउनः प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा दुई विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

आजै तीन वटा संसदीय समितिका बैठकसमेत बस्दैछन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति एवं राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापनको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१ माथि दफावार’ छलफल गर्ने कार्यसूची छ । प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ ।

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५१ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७४ रुपैयाँ ६२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९६ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०२ रुपैयाँ, सिंगापुर डलर एकको खरिददर १०८ रुपैयाँ र बिक्रीदर १०८ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

जापानी येन १०को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ २६ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ एक पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २९ पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ तीन पैसा र बिक्रीदर १० रुपैयाँ सात पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४ रुपैयाँ ५७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६७ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७ रुपैयाँ ६५ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रुपैयाँ ११ पैसा र बिक्रीदर ४५४ रुपैयाँ सात पैसा, बहराइन दिनार एकको खरिददर ३६५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा, ओमनी रियाल एकको खरिददर ३५८ रुपैयाँ ३३ पैसा र विक्रीदर ३५९ रुपैयाँ ८९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

१३ दिनसम्म रोकिएको चीनबाट आयात सामग्रीको भन्सार प्रक्रिया पुनःसञ्चालन

रसुवा, ७ साउनः ल्हेन्देखोलाको बाढीका असरले भन्सार यार्ड र सडकमार्गमा क्षति पु¥याएपछि १३ दिनसम्म रोकिएका भन्सार प्रक्रिया पुनःसञ्चालनमा आएको छ ।भन्सार यार्डमा पार्किङ गरेर राखेका अधिकांश मालवाहक ट्रक तथा कन्टेनरलाई गत असार २४ गतेको बाढीले बगाउनुका साथै क्षति पुगेर जोगिएका माल सामान पल्टी गराई सुरक्षित ठाउँमा राखिएको र सडक सञ्चालन भएसँगै भन्सार प्रक्रिया पूरा गरी काठमाडौँ पठाइएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले बताउनुभयो ।

स्थानीय प्रशासनको पहलमा टिमुरेदेखि स्याफ्रुबेँसीसम्म क्षति भएको सडक मर्मत सुधार भएसँगै भन्सार प्रक्रिया पूरा गरेका ३४ वटा मालवाहक ट्रक तथा कन्टेनर एवं १९ वटा विद्युतीयकार काठमाडौँतर्फ पठाइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार भने गत आवमा जाँचपास भइसकेका र चालकको अभावमा जाँचपास भए पनि भन्सार हातामै राखिएको थियो । आयातकर्ताले ढिलोगरी लाने गरेका कारण बाढीको चपेटामा परेको बताइएको छ । भन्सार जाँचपास भएका माल सामानमध्ये केही नेपालका विभिन्न भागमा निर्माणाधीन जलविद्युत् आयोजनाका भएको भन्सार कार्यालयले जनाएको छ ।

भक्तपुरमा पृथक गठामङ्गल पर्व, आज साँझ राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर, ७ साउन : प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व आज भक्तपुरका नेवार समुदायले भव्य रूपमा उपत्यकामै पृथक शैलीमा मनाएका छन् ।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप आज साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाएको हो ।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षसरूपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रङ लगाई राक्षसको स्वरूप बनाएर टोलटोलमा घुमाएर परम्पराअनुसार जगाति लगेर विसर्जन गरिएको छ । यसप्रकारको राक्षसरूपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय भेलुखेलका बाबुरत्न द्यौलाले बताउनुभयो ।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउनुहुन्छ । उहाँले महादेवलाई मनपराउने राक्षसका रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताउनुभयो ।

उहाँका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ । आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने डा श्रेष्ठले बताउनुहुन्छ । आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउनुहुन्छ ।

यौनसँग सम्बन्धित पर्व

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षसरूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाई दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरू गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौँदेखि चल्दै आएको उहाँ बताउनुहुन्छ ।

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्दहरूको प्रयोग गर्ने छुट रहेको उहाँ बताउनुहुन्छ ।

घण्टाकर्णको दाहसंस्कार गरी फर्किंदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाँले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायत विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैदेखि गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू गरिन्छ ।

शक्तिपीठमा घुइँचो

त्यसैगरी, भक्तपुरका विभिन्न शक्ति पीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो ।

नेवार समुदायले आज बिहानै स्नानगरी शुद्ध भएर घरघरमा लिपपोत गरी विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ । नेवार समुदायले रोपाइँ सकिएको पर्वका रूपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ ।

“युनेस्कोबाट बहिर्गमनको तयारीमा अमेरिका- के कारण ?”

संयुक्त राज्य अमेरिका संयुक्त राष्ट्रसंघ शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) बाट सन् २०२६ को अन्त्यसम्ममा बाहिरिने निर्णयमा पुगेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त निर्णय ‘अमेरिका फस्र्ट’ नीति अन्तर्गत अमेरिकाको राष्ट्रिय हितअनुसार गरेको बताएको छ ।

किन अमेरिका युनेस्कोबाट बहिर्गमन गर्दैछ ?

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार युनेस्कोले सामाजिक र सांस्कृतिक विषयमा ‘विवाद सिर्जना गर्न सक्ने’ नीतिहरू अघि बढाएको भन्दै चिन्ता व्यक्त गरिएको छ । विशेषतः प्यालेस्टाइनलाई सदस्यता प्रदान गरिएको निर्णयले अमेरिकाको आधिकारिक नीतिसँग असमञ्जस्य देखिएको बताइएको छ ।
वाइट हाउसका प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पले अमेरिकी जनताको चाहनालाई ध्यानमा राख्दै सबै अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहभागिता पुनरावलोकन गरिरहेका स्पष्ट पार्नुभयो । उहाँका अनुसार, यस्ता निर्णयहरूमा अमेरिकाको राष्ट्रिय हितलाई सधैं प्राथमिकता दिइनेछ ।

अन्य अन्तर्राष्ट्रिय प्रतिक्रिया

युनेस्कोका महानिर्देशक औड्रे अजोउले अमेरिकी निर्णयलाई ‘दुःखद’ बताउँदै, संस्थाले यस किसिमको परिस्थितिको लागि आवश्यक तयारी गरिसकेको जानकारी दिनुभयो ।
उहाँले बहुपक्षीयता, सहकार्य र सांस्कृतिक संरक्षणका क्षेत्रमा युनेस्कोको भूमिकालाई दोहो¥याउँदै, विगत केही वर्षमा संस्थाले संरचनात्मक सुधार र विविध वित्तीय स्रोतहरू विकास गरेको उल्लेख गर्नुभयो । साथै, उहाँले अमेरिकी निर्णयले युनेस्कोका अमेरिकी साझेदार संस्थाहरूमा प्रत्यक्ष असर पार्न सक्ने चेतावनी पनि दिनुभयो ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले युनेस्कोप्रति फ्रान्सको दृढ प्रतिबद्धता व्यक्त गर्दै, विज्ञान, संस्कृति, शिक्षा र विश्व सम्पदाको संरक्षणमा युनेस्कोको योगदानको उच्च मूल्यांकन गर्नुभयो ।

इतिहासमा यस्ता बहिर्गमन

अमेरिकाले विगतमा पनि तीन पटक युनेस्कोबाट बहिर्गमन गरेको छ । सन् १९८४ मा राष्ट्रपति रोनाल्ड रेगनको कार्यकालमा, सन् २०१७ मा राष्ट्रपति ट्रम्पको पहिलो कार्यकालमा र यसपटक सन् २०२६ मा हुने बहिर्गमन दोस्रोपटक हुनेछ । सन् २०२३ मा पूर्वराष्ट्रपति जो बाइडेनले अमेरिका पुनः युनेस्कोमा फर्किने निर्णय गर्नुभएका थिए ।

सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिनुहुन्न’ : अर्जुननरसिंह केसी

काठमाडौँ, ७ साउनः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले सिङ्गै सदनलाई झुक्याउने गरी ‘कुलिङ पिरियड’ तोडमोड गर्नेलाई छुट दिन नहुने बताउनुभएको छ ।

आज नेपाल निजामती कर्मचारी युनियन, विभागीय कार्यसमिति, महालेखा परीक्षकको कार्यालयले आयोजना गरेको नवौँ विभागीय अधिवेशन तथा नवनियुक्त, पदोन्नति प्राप्त कर्मचारीलाई स्वागत, अवकाश प्राप्त कर्मचारीलाई बिदाई एवं सम्मान कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “एउटा समितिबाट पारित भइसकेको कुलिङ पिरियडको व्यवस्था सिङ्गै सदन झुक्याउने गरी अर्को आउँछ भने त्यो भन्दा ठूलो धोका अरु के हुन्छ ? भोलिका दिनमा कसैले देशलाई नै खतरा हुने गरी संशोधन गरे त्यसको जवाफदेही को हुन्छ ?”

नेता केसीले निजामती सेवा ऐनलाई परिर्वतन गरी प्रशासनिक सेवा, नागरिक सेवालगायत राख्नुपर्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषय अहिले राष्ट्रियसभामा पुगिसकेको छ । हाम्रो हातमा पनि छैन । तर मेरो विचारमा निजामती सेवा ऐन परिर्वतन गर्न जरुरी छ ।”

अबदेखि पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौँ, ७ साउन : प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको फोटो तथा भिडियो सार्वजनिक नगर्न देशभरका प्रहरी कार्यालयहरूमा परिपत्र गरेको छ ।

पत्रकार सम्मेलनमा वा कुनै पनि सूचना दिँदा पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न र नपठाउन भन्दै प्रहरी प्रधान कार्यालयले देशैभरका प्रहरी युनिटमा परिपत्र जारी गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले तस्बिर, भिडियोहरू सार्वजनिक नगर्न प्रहरी प्रधान कार्यालयलाई दिएको निर्देशनका आधारमा यसरी मातहतका सबै युनिटमा परिपत्र जारी गरिएको प्रवक्ता घिमिरेले   जानकारी दिनुभयो ।

गएको असारमै महान्यायाधिवक्ताको कार्यालयले उक्त निर्णय गरिसकेको छ । सोही निर्णयको जानकारी प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रहरीले तत्काल कार्यान्वयन गर्न परिपत्र जारी गरेको हो ।

प्रवक्ता घिमिरेले जघन्य अपराधका घटना वा त्यस्ता तस्बिर र भिडियो सार्वजनिक नगर्दा राज्य तथा सामाजिक असर पर्ने अवस्था रहेको खण्डमा सम्बद्ध निकायको अनुमतिमा सार्वजनिक गर्न सकिने जनाइएको छ ।

कांग्रेसभित्रै आन्तरिक द्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा

जलेश्वर (महोत्तरी), ७ साउनः उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आन्तरिकद्वन्द्वका कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताउनुभएको छ । महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका–१ मा नवनिर्मित ‘‘जलेश्वर बहुउद्देश्यीय भवन’’ को समुद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री सिंहले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र हाल नेपाली कांग्रेस पार्टी भित्रै द्वन्द्व बढेको कारण प्राप्त उपलब्धि गुम्ने खतरा बढेको प्रष्ट्याउनुभयो ।

उहाँले पार्टीभित्रै एक अर्काभित्र आरोप प्रत्यारोप र हिलो छ्याप्ने कामले सङ्गठन कमजोर हुँदै गएको र यसको प्रत्यक्ष असर सङ्घीय लोकतान्त्रिक व्यवस्थामा पर्ने औँल्याउँदै यस्तो परिस्थितिमा आजको आवश्यकता पार्टीलाई बलियो बनाउनु रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले अहिले पार्टीका सबै नेता कार्यकर्ताले सङ्गठन सुदृढीकरण तथा सहकार्य र समन्वयमा पार्टीलाई बलियो बनाउँदै लैजानुको विकल्प नरहेको बताउनुभयो । नेता सिंहले मधेसमा अहिले खानेपानी र सिँचाइको हाहाकार रहेकाले यसको लागि सङ्घीय सरकारले ठोस कदम चाल्ने निर्णय गरिसकेको र कुनै न कुनै वैकल्पिक उपाय निकालिने बताउनुभयो ।

अन्त्यमा मन्त्री सिंहले सङ्घीय सहरी विकास मन्त्रालयको सहयोगमा जलेश्वरमा नवनिर्मित ‘जलेश्वर बहुउद्देश्यीय भवन’ ले जलेश्वर नगरपालिका क्षेत्रभित्रका जनताका लागि बहुउपयोगी सावित होस् भन्ने आशा व्यक्त गर्नुभयो ।

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

काठमाडौँ, ७ साउन : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले चालु आर्थिक वर्ष २०८२/८३ का लागि रु ३१ अर्ब ४० करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।

क्यानले आज पत्रकार सम्मेलनमार्फत स्वीकृत बजेट तथा कार्यक्रमबारे संक्षिप्त जानकारी दिएको हो । अघिल्लो वर्ष रु ३४ अर्ब १२ करोड १६ लाख विनियोजन गरेको क्यानले चालु आर्थिक वर्षका लागि रु दुई अर्ब ७१ करोड ६९ लाख बजेट घटाएको छ ।

क्यानले पुँजीगततर्फको बजेट भने बढाएर रु १२ अर्ब ३९ करोड ७० लाख पु¥याएको छ । गत वर्ष रु एघार अर्ब ५२ करोड २५ लाख विनियोजन गरिएको थियो । यस्तै कार्य सञ्चालनतर्फ रु ६ अर्ब १५ करोड ६७ लाख विनियोजन गरिएको छ । अघिल्लो आर्थिक वर्ष रु ६ अर्ब ५२ करोड ७१ लाख विनियोजन भएको थियो । वित्तीय व्यवस्थापनका लागि रु १२ अर्ब ८५ करोड १० लाख बजेट विनियोजन गरिएको क्यानले उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले पुँजीगत खर्च बढाउने र सञ्चालन खर्च घटाउनेतर्फ क्यान केन्द्रित रहेको बताउनुभयो । उहाँले प्राधिकरणको आम्दानी बढाउन विमानस्थल शुल्क, यात्रुसेवा आदि विषयमा पुनरावलोकन हुन जरूरी भएको बताउनुभयो ।

महानिर्देशक अधिकारीले क्यानको स्रोत खुम्चिएको र हरेक वर्ष बजेट घटिरहेको भन्दै स्रोत व्यवस्थापनमा ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भैरहवा र पोखरा अन्तररष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालका लागि पहल भइरहेको जानकारी दिनुभयो ।

अभिनेत्री मनिषा कोइरालालाई बेलायतमा सम्मान

बेलायत, ७ साउनः अभिनेत्री मनिषा कोइराला बेलायती संसद्को माथिल्लो सदन ‘हाउस अफ लड्र्स’मा आयोजित एक समारोहमा सम्मानित हुनुभएको छ । महिला सशक्तीकरणका विषयमा चलचित्र र अन्य माध्यमबाट निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाका लागि कोइराला सम्मानित हुनुभएको हो ।

सो सम्मान प्रदान गर्दै हाउस अफ लर्डस्का सदस्य लर्डस् रेमि रेन्जर सिविईले चलचित्रको माध्यमबाट महिलाहरुको सशक्तीकरण र महिला स्वास्थ्य, पुर्नजीवन र क्यान्सर पीडितहरुको सहयोगमा निर्वाह गरेको भूमिकाका लागि सम्मान प्रदान गरिएको बताउनुभयो ।

सम्मानित भएपछि कोइरालाले खुसी व्यक्त गर्दै महिला सशक्तीकरणमा काम गर्न प्रेरणा मिलेको बताउनुभयो । महिलाको सशक्तीकरणबारे गरिमामय स्थलमा उपस्थित भएर बोल्ने अवसर दिएकोमा र दक्षिण एशियाली महिलाको अवस्थाबारे सुनेर साथ दिएकोमा कोइरालाले धन्यवाद दिनुभयो । “यो क्षण म जीवनभर सम्झिरहने छु”, उहाँले भन्नुभयो, “यो साँच्चिकै सौभाग्यको कुरा हो, म परम्परा, नेतृत्व र प्रगतिको ठाउँ हाउस अफ लड्र्समा उभिरहेको छु र दक्षिण एसियामा महिला सशक्तीकरणको विषयमा बोल्न पाउँदा खुसी छु ।”

बङ्गलादेश, भारत, पाकिस्तान र नेपाललगायतका ग्रामीण भेगमा अनेक कष्ट सहेर बाचिँरहेका महिलाहरु पीडित नभइ योद्धा भएको उहाँको भनाइ छ । दक्षिण एशियाभर नेपालका पहाडदेखि ढाकाका सडक र भारत, पाकिस्तानको ग्रामीण केन्द्रविन्दुसम्म महिलाहरूले विशाल चुनौतीको सामना गरिरहेको उहाँले उल्लेख गर्नुभयो । शिक्षामा सीमित पहुँच, लैङ्गिक पूर्वाग्रह, बालविवाह, स्वास्थ्य सेवाको अभाव र आर्थिक निर्भरता अझै धेरैका लागि वास्तविकता भएको स्मरण गर्नुभयो ।

आयोजक पानस गोर्खा रेष्टुरेन्टका सञ्चालक तथा खाद्य अभियन्ता सुजन कटवाल एमबिईले हाउस अफ लर्डस्मा सम्मानित हुनुहुने कोइराला सम्भवतः प्रथम नेपाली महिला भएको जानकारी दिनुभयो । दक्षिण एसियालगायत विश्वभरका महिलाको सशक्तीकरणमा उहाँले पु¥याउनु भएको योगदानलाई सम्मानित गर्ने यो कार्यक्रममा आयोजकको भूमिका निर्वाह गर्न पाएकोमा खुसी उहाँले खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा बेलायती सांसद, पूर्व सांसदहरु तथा दक्षिण एसियामा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय महिला सहभागी थिए ।

कर्णाली मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाइँदै ,एक हजार नौ सयलाई रोजगार दिइने

सुर्खेत । कर्णाली प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रम उत्पादन केन्द्रित बनाउन लागिएको छ । पूर्वाधारलाई प्राथमिकतामा राखेर सञ्चालन हुँदै आएको यो कार्यक्रम चालु आर्थिक वर्षदेखि उत्पादनसँग जोडेर कार्यान्वयन गरिने भएको हो । चालु आर्थिक बर्षमा पूर्वाधारका कार्यक्रम कटौति गरिएको छ ।

कर्णाली आर्थिक बर्ष २०७६÷०७७ देखि सुरु भएको मुख्यमन्त्री रोजगार कार्यक्रम कर्णालीका सात सय तीन वडामा सञ्चालन भएको थिए । कर्णालीका सात सय १८ वडामध्ये १५ वडामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन भएको थिएन । हरेक बर्ष कर्णाली सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा साथ आउने उक्त कार्यक्रम पूर्वाधार बिकासमा केन्द्रित हुँदै आएको थियो ।

लागत धेरै र प्रतिफल न्यून भएकाले पूर्वाधारका कार्यक्रम कटौती गरेर उत्पादन लक्षित कार्यक्रममा कार्यान्वयन गर्ने गरी चालु आर्थिक बर्षमा योजना बनाइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका योजना, अनुगमन तथा आर्थिक पूर्वाधार शाखाका नवीन ढकालले जानकारी दिए । ‘अतिरिक्त सीप तथा उद्यम विकास र कृषिका कार्यक्रममार्फत रोजगारीको अवसर सिर्जना गर्ने गरी कार्यक्रमको ढाँचा परिवर्तन गरिएको छ’ ढकालले भने, ‘सिंचाइ, खानेपानी, सहकारी र उद्योग विशेष कार्यक्रम कार्यान्वन गर्न लागिएको छ ।’

यो कार्यक्रम मार्फत कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा एक हजार ९ सयभन्दा बढी व्यक्तिलाई रोजगारीमा जोड्ने लक्ष्य सरकारले राखेको छ । हुम्ला, डोल्पा र मुगु जिल्लाका वडामा योजना कार्यान्वयनका लागि २० लाख बजेट पठाइएको छ कर्णालीका सबै स्थानीय तहमा एक अर्ब १४ करोड ९० लाख बजेट विनियोजन गरिएको छ ।

रड काट्ने क्रममा करेन्ट लागेर कामदारको मृत्यु

इनरुवा (सुनसरी), ७ साउनः सुनसरी सदरमुकाम इनरुवा–३ मा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु गाउँपालिका–६ चिमडीका ४० वर्षीय नन्दकुमार चौधरी रहेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक योगराज खतिडाले जानकारी दिनुभयो ।

माथिल्लो तलामा रड काट्ने क्रममा हाइटेन्सन लाइनमा रडले छोएर नन्दकुमार चौधरीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर अर्का कामदार श्रवण चौधरी गम्भीर घाइते हुनुभएको छ । श्रवणलाई उपचारका लागि विराटनगर पठाइएको जिल्ला प्रहरीले जनाएको छ । घर निर्माणमा १२ जनाको समूहले काम गर्दै आएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रनाउ खतिवडाले बताउनुभयो ।

‘मधेसको खडेरी सङ्कट समाधान गर्न तीनै तहका सरकारबीच समन्वय आवश्यक’

काठमाडौँ, ७ असारः मधेसी आयोगले मधेस प्रदेशमा देखिएको खडेरीको सङ्कट समाधान गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वयको आवश्यकता औँल्याएको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गरी खानेपानी जस्तो आधारभूत आवश्यकताबाट मधेस प्रदेशका बासिन्दा वञ्चित हुनु मानव अधिकारसँग जोडिएको विषय भएकाले त्यसतर्फ गम्भीर हुन ध्यानाकर्षण गराएको हो । लामो समयसम्म वर्षा नभइ खडेरी परेका कारण मधेस प्रदेशका अधिकांश जिल्लामा भूमिगत जलस्रोतको सहत निरन्तर घटेको, चुरे दोहन र जवलायु परिवर्तनको असरले पानीको सङ्कटलाई थप जटिल बनाएको आयोगका सचिव नरेशराज खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेसमा कयौँ स्थानमा स्थानीय तह र प्रदेश सरकारको समन्वयमा दमकल र ट्याङ्करमार्फत खानेपानी वितरण गरिए पनि त्यो पर्याप्त नभएको जनाउँदै आयोगले खानेपानीको अभाव भएका क्षेत्रमा तत्काल सो सुविधा पु¥याउन आग्रह गरेको छ । आयोगले खडेरीका कारण बालीनालीमा क्षति व्यहोरेका किसानलाई राहत प्याकेजको घोषणा गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न तथा सिँचाइका लागि तत्काल डिप बोरिङ जडान गरी वैकल्पिक सिँचाइको व्यवस्था गर्न माग गरेको छ ।

मधेस–प्रदेशलाई अन्नको भण्डार मानिए पनि मध्यवर्षा आइपुग्दासमेत ५० प्रतिशत भन्दा कम मात्रै रोपाइँ हुनुले खाद्य सङ्कटको जोखिम बढाएको आयोगले जनाएको छ ।

‘खानेपानीको वैकल्पिक व्यवस्था गर्नुस्’

यसैबीच, आमजनता पार्टीका अध्यक्ष एवं रौतहटका सांसद प्रभू साहले खडेरीका कारण बालीनाली लगाउन नपाएको मात्र नभइ खानेपानीकै हाहाकार भई कतिपय स्थानमा काकाकुलको अवस्था सिर्जना भएकाले तत्काल सरकारलाई त्यसमा ध्यान दिन माग गर्नुभएको छ ।

“राज्यले अप्ठयारोमा परेका किसानलाई सिँचाइ र खानेपानीको वैकल्पिक व्यवस्था गर्नुपर्छ”, उहाँले रासससँग भन्नुभयो, “मुलुकमा ७६१ वटा सरकार भए पनि किसानलाई तत्काल राहत दिन ती सरकारबीच सहयोग र समन्वयको अभावका कारण जनताले राहत पाउन नसकेका हुन् ।”

खानेपानी जनताको आधारभूत मौलिक हक भएको जनाउँदै सांसद साहले कतिपय गाउँमा खानेपानी ट्याङ्की भए पनि समयमै मर्मतसम्भार हुन नसक्दा समस्या थप जटिल बनेको बताउनुभयो । किसानालाई समयमै मलखाद र सिँचाइको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दै उहाँले सुक्खा क्षेत्रको वर्गीकरण गरी किसानलाई राहत दिने विभिन्न सेवामा छुट/सहुलियत दिन माग गर्नुभयो ।

सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गरेनन् : प्रधानमन्त्री

काठमाडौँ, ७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेकपा (एमाले) को केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गर्नुभयो ।

“पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुहुन्थ्यो”, अध्यक्ष ओलीले भन्नुभयो, “जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो थरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरूको सङ्गठनलाई गतिशील रूपमा हाँक्नसक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै विरासत बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन ।”

विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फे्रडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । उहाँकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

लोकतन्त्र बलियो बनाउन पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काइएन : महासचिव पोखरेल

काठमाडौँ, ७ साउन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा नफर्काइएको बताउनुभएको छ ।

पार्टीको प्रचार तथा प्रकाशन विभागले आज यहाँ आयोजना गरेको पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक कार्यक्रममा उहाँले पूर्वराष्ट्रपति भण्डारी एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारी राजनीतिकमा सक्रिय हुने दलीय कोणबाट मात्र नहेरेर समग्र राष्ट्रको लोकतान्त्रिक र भविष्यसँग जोडेर हेर्नुपर्ने उहाँको भनाइ थियो । “उहाँ हाम्रो पार्टीको आन्दोलनमा आउँदा हामीलाई फाइदा पनि पुग्थ्यो होला । तर लोकतन्त्रको मूल्यलाई कमजोर बनाएर दललाई बलियो बनाउने कुरा राम्रो होइन”, महासचिव पोखरेलले भन्नुभयो, “लोकतन्त्रको मूल्य स्थापित गर्ने कुरा लोकतान्त्रिक पार्टीको कर्तव्य हो भनेर बुझ्नुपर्दछ । स्वाभाविक रूपमा प्रभावशाली व्यक्ति पार्टीमा जोडिने कुरा पार्टीका लागि लाभको विषय हुनसक्ला तर राष्ट्रका लागि केही हुन्छ भन्ने कोषबाट पनि हामीले सोच्नुपर्दछ ।”

महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी आफैँ राजनीतिमा सामेल नभएर राजनीतिकको अभिभावकको भूमिमा रहनुपर्ने बताउनुभयो ।

“राजनीति बिग्रन थाल्यो भने सपार्ने हो तर आफैँ दलीय राजनीतिकमा आउने होइन । लोकतन्त्रलाई सही दिशामा अघि बढाउने कुरामा उहाँको भूमिका रहन्छ, उहाँ घरमा चुप लागेर बस्नुुहुन्छ भनेर पार्टीको अपेक्षा होइन”, महासचिव पोखरेलले भन्नुभयो, “उहाँले मुलुकलाई सही दिशा दिन सक्नुहुन्छ । सामाजिक भूमिकामा सक्रिय बन्न सक्नुहुन्छ भन्ने पार्टीले अपेक्षा गरेको छ ।”

पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकले संवैधानिक राष्ट्रपति, उपराष्ट्रपतिजस्ता उच्च संवैधानिक ओहोदामा पुगिसकेको व्यक्ति दलीय राजनीतिमा फर्किने विषय संविधानको मर्म अनुकूल नहुने, यसले पदमा बहाल रहँदा गरेका कामहरूको संवैधानिकता र निष्पक्षतामाथि प्रश्न उठ्ने, लोकतान्त्रिक मूल्यलाई कमजोर गर्ने र व्यक्ति स्वयंको सम्मानित व्यक्तित्वलाई विवादित बनाउने मान्यतामा उभिएर त्यस्तो अभ्यास गर्न नहुने निर्णय गरेको जानकारी दिनुभयो ।

सरकार र व्यवसायीबीचको अविश्वास अन्त्य गर्न मन्त्री भण्डारीको आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाली व्यवसाय क्षेत्रका समस्याको समाधान सरकारी नीतिगत सुधार र व्यवसायीको सक्रिय सहकार्यबाट मात्र सम्भव हुने बताएका छन् ।

व्यवसायीक क्षेत्रका समसामयिक विषयमा आयोजित संवाद तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले हाल देखिएका समस्याहरु राज्य र निजी क्षेत्र दुवैको भूमिकाका कारण आएको उल्लेख गर्दै त्यसको समाधान पनि संयुक्त प्रयासबाटै खोजिनुपर्ने बताएका हुन्

‘आज जति पनि व्यवसायीक क्षेत्रका समस्या छन् त्यो हाम्रै कारणले आएका हुन् र हामीले नै समाधान गर्नुपर्ने हुन्छ,’ मन्त्री भण्डारीले भने, ‘हामीले बनाएको बजार प्रणाली, सञ्चालन भईरहेका व्यवसायका आधारमा समाधानको बाटो तय गर्नुपर्छ ।’
उनले नेपाली बजारमा एमआरपी (अधिकतम खुद्रा मूल्य) प्रणालीको आवश्यकता औंल्याउँदै गुणस्तर र उपभोक्ता हितका लागि यसको कार्यान्वयन अपरिहार्य भएको धारणा राखे ।

‘आजको नेपाली बजार आफ्नो वस्तुको सुनिश्चित बजारका लागि एमआरपी चाहियो । हाम्रो एमआरपी नहुँदाखेरि वस्तुको गुणस्तरको कुरा, त्यसको बजारको कुरामा समस्या आयो भन्नु भएको छ । अब त्यसलाई सहजै रुपमा एमआरपीलाई स्वीकार्य गर्यौं तर त्यसलाई हाम्रै तहबाट पूर्ण रुपमा कार्यान्वयन गरेर यसको समाधान दिन्छौं ।’

साथै व्यवसाय र नाफाको सन्दर्भमा मन्त्री भण्डारीले राज्य र निजी क्षेत्रबीचको सम्बन्धलाई स्पष्ट गर्दै व्यवसायबाट मुनाफा हुँदैन भने राज्यले के पाउने भन्दै प्रश्न गरे । उनले व्यवसायले फाइदा कमाएपछि मात्र राज्यले आश गर्न सकिने बताए ।
मन्त्री भण्डारीले देशको समृद्धि र व्यवसायिक समृद्धि एकअर्कासँग गाँसिएको भन्दै सरकार र निजी क्षेत्रबीच आपसी अविश्वास हटाउनुपर्नेमा जोड दिए । उनले कानुनी र नीतिगत सुधारका लागि व्यवसायीहरुको सुझाव र योगदान आवश्यक रहेको बताउँदै सरकार त्यसका लागि खुला रहेको बताए ।

उनले भने, ‘हामी यतिबेला यो परस्थितीको जगबाट अब नेपालको पूँजी बजारलाई उर्जावान कसरी बनाउने ? व्यापार वृद्धि कसरी गर्ने ? देश बलियो भए पो व्यवसाय पनि बलियो बन्छ । देश समृद्ध बने पो व्यापार पनि समृद्ध बन्छ । व्यापार समृद्ध भए देश पो समृद्ध हुन्छ । त्यसैले व्यवसायीले सरकारलाई विरोधी देख्ने, सरकारले व्यवसायीलाई विरोधी देख्ने मानसिकताबाट पहिला अन्त्य हुनुपर्छ । तब मात्र समस्याको सहि किसिमबाट समाधान दिन सकिन्छ । के गर्नुपर्ने हो कानुनमा सुधार या नीतिमा सुधार यसका लागि राज्य तयार छ ।’

कम्युनिष्ट देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना :अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री हुँदा पनि परिणाम आउने काम नहुनु विडम्वना रहेको बताएका छन् ।बुधबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले परिणाम आउँनेगरी काम गर्न नसकेको आरोप लगाए ।

उनले भने, ‘अहिले पनि कम्युनिष्ट पार्टीका नेता देशको प्रधानमन्त्री तर देशको अवस्था राम्रो छैन् । जनतामा निराशा छ । परिणाम आउने काम भइरहेको छैन कस्तो विडम्वना एक जना छाउपडी प्रथाको शिकार भएर मृत्युवरण गरेको छ । त्यो समाजले हटाउन सकेको छैन । त्यहाँ कम्युनिष्ट पार्टीहरू पनि छन् तर उनीहरु अभियान चलाउँदैनन् । हामीले छुवाछुत, छाउपडी लगायतका प्रथाको अन्त्य गर्न सामाजिक जागरण मात्र होइन् त्यस्ता प्रवृत्ति बोक्नेहरुको विरुद्धमा भण्डाफोर गर्ने अभियान चलाएको छैनौं ।’त्यस्तै, उनले अहिले देशको सबैभन्दा ठूलो रोग व्यक्तिवाद रहेको पनि धारणा राखे ।

‘अहिले भएको सबैभन्दा ठूलो रोग व्यक्तिवादको रोग हो । आफूलाई मात्र केन्द्रबिन्दुमा राख्ने रोग हो । सामुहिकताको भावनाको अभाव छ । सामुहिक छलफल गरेर निष्कर्षमा पुग्ने भावनाको अभाव हो ।’ उनले त्यस्तै, सोही कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्य हुन लाग्दा उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइ रहेको टिप्प्णी गरे । जुन एउटा षड्यन्त्रको सिकार भएको उनको धारणा छ ।

‘कम्युनिष्ट आन्दोलन करिब करिब अन्त्य भएको जस्तो देख्छु तर कम्युनिष्ट आन्दोलनबाट लिबरल डेमोक्रेटिक मुभमेन्टतिर भड्किरहेको देख्छु । त्यो पनि एउटा ठूलै षड्यन्त्रको सिकार हो ।’ उनले भने,उनले नेपालमा जीवनभर गणतन्त्रको पक्षमा र राजतन्त्रको विरुद्धमा कुनै ठाउँमा कहिले पनि कतै पनि कुनै किसिमको लचकता नदेखाइकन जीवन्त संघर्ष गर्ने व्यक्तित्वको रूपमा पुष्पलाललाई लिनुपर्ने धारणा पनि राखे ।

अध्यक्ष यादवले नेपालमा यति धेरै कम्युनिष्ट नेताहरु हुँदा हुँदै कहिले राप्रपा त कहिले कांग्रेसकोपछि लाग्नु पनि एउटा षड्यन्त्र भएको बताए ।

‘पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक’:अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीवादविरुद्ध क्रान्तिकारी शक्तिहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । बुधबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरू एकजुट हुनु पर्ने भन्दै दलाल पुँजीवाद सबै मिलेर लाग्नु पर्ने बताए । उनले संविधानसभाको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्दै जनयुद्धमार्फत जनतालाई गोलबन्ध गरेर मात्रै संविधानसभा सम्भव भएको स्मरण गराए ।

उनले भने, ‘संविधानका विषयमा युरोपमा बुद्धिजीवीहरूले बहस गर्थे, तर ती बहसलाई माक्र्सले जनताको साथ र विद्रोह बिना कागजका खोस्टा मात्र हुन् भनेका थिए। नेपालमा पनि संविधान सभाको बहस पहिले देखि हुँदै आए पनि निर्वाचन हुन सकेको थिएन। माओवादी केन्द्रले जनयुद्धको सुरुवात गरी जनतालाई गोलबन्ध गर्दै जनमिलिसिया सेना निर्माण गरेपछि मात्रै जनताको विद्रोहको बलमा संविधानसभाको निर्वाचन सम्भव भएको हो ।’

साथै, उनले नेपाली कम्युनिष्ट आन्दोलनमा ३६ वर्ष लामो आफ्नो भूमिकाको स्मरण गर्दै कम्युनिष्ट पार्टीहरूबीचको एकता, विद्रोह र देशमा शान्ति कायम गर्न खेलेको भूमिकाबारे चर्चा गरे ।

वर्तमान परिस्थितिमा केही भ्रम फैलाउने प्रवृत्ति देखिएको उल्लेख गर्दै त्यसविरुद्ध जनता र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउनुपर्ने पनि उनको भनाई छ । अध्यक्ष प्रचण्डले सबै कम्युनिष्ट शक्तिहरूलाई दलाल पुँजीवाद र आत्मसमर्पणवादी प्रवृत्तिविरुद्ध एकजुट भएर अघि बढ्न आह्वान पनि गरेका छन् ।

सोही कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लपले अमेरिकाले नेपाललाई स्वतन्त्र र स्वाधिन भएको हेर्न नचाहने बताए । अमेरिकाको चाहाना नेपालमा आफ्नो एउटा अखडा बनाउने रहेको बताउँदै उनले विभिन्न साम्राज्यवाद देशहरुले आफ्नो खेलमैदान नेपाललाई बनाउन चाहेको समेत तर्क गरे ।

उनले भने, ‘अमेरिकाले नेपाललाई स्वतन्त्र र स्वाधिन भएको हेर्न चाहँदैन् । अमेरिकाको चाहाना नेपालमा आफ्नो एउटा अखडा बनाउने छ । यो हामीले राम्रोसँग बुझेका छौं । नेपाललाई विभिन्न साम्राज्यवाद देशहरुले आफ्नो खेलमैदान बनाउन चाहेका छन् ।’
दलालहरूलाई कुन खाल्टोमा हाल्नुपर्छ आफूले जानेको भन्दै उनी आक्रोसित पनि भए । महासचिव विप्लपले गणतन्त्रमा अहिले झारपात पलाएको तर कुन फूल हो को दलाल हो भन्ने कुरामा जनता अलमलमा परेको भन्दै अब कुन फूल हो कुन झारपात हो प्रचण्ड र माधवले भन्न सक्नुपर्ने धारणा राखे ।

कसैले चाहँदैमा पार्टीको अस्तित्व समाप्त नहुने नेपालको दाबी

कीर्तिपुर (काठमाडौँ), ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राख्नुभएको छ ।

पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणाबमोजिम अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गर्नुभएको उल्लेख गर्दै उहाँले आफूले पनि नेकपा (एमाले)को नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिनुभयो ।

“त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए”, उहाँले भन्नुभयो, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझ्नुभएको थियो । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।”

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकरशाही पुँजीवाद हाबी भएको बताउनुभयो ।

पार्टीका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि पुष्पलालको योगदानको जगमा भएको बताउनुभयो । आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादीसँग एकता गरेको बताउँदै आफूलाई समयसापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो ।

पुष्पलालप्रति उच्च सम्मान : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठपप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत पुष्पलालको ४७औँ स्मृति दिवसमा उच्च सम्मान गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । “आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको स्मृति दिवस । श्रद्धेय नेता पुष्पलालप्रति उच्च सम्मान, भावपूर्ण श्रद्धाञ्जली !”, प्रधानमन्त्री ओलीले सामजिक सञ्जालमा लेख्नुभएको छ ।

कम्युनिष्ट पार्टीहरुले देशभरि नै आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४७औँ स्मृति दिवस मनाउँदैछन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिस्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलोपटक नेपाली भाषामा अनुवाद गर्नुभएको थियो ।

पुष्पलालकै नेतृत्वमा नेपालमा पहिलोपटक २००६ वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । पुष्पलाल नेकपाका संस्थापक महासचिव हुनुहुन्थ्यो । उहाँको २०३५ साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ नेपालीले कहिल्यै पनि बिर्सन नसक्ने पात्रका रूपमा रहेको बताउनुभएको छ ।

अध्यक्ष नेपालले ४७औँ पुष्पलाल स्मृति दिवसका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन र नेपाली समाजको रूपान्तरणका लागि पुष्पलालले सुरु गरेको यात्रा अहिले विभिन्न प्रकारले विस्तारित भइरहेको बताउनुभयो । मुलुकमा निरङ्कुशताविरुद्धको सङ्घर्षमा जनतालाई सङ्गठित गर्न कम्युनिष्ट पार्टी स्थापनामा उहाँले निर्वाह गरेको भूमिका आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको उहाँले उल्लेख गर्नुभयो ।

कम्युनिष्ट आन्दोलनको विकाससँगै क्रान्तिले एकपछि अर्को उपलब्धि हासिल गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस अर्थमा हामी उहाँलाई कहिल्यै बिर्सन सक्दैनौँ ।” अध्यक्ष नेपालले पुष्पलालको सिङ्गो जीवनयात्रा, सैद्धान्तिक, वैचारिक रचना र कार्यक्रममा नेपाली जनताको मुक्ति र समाजिक विकासका लागि महत्त्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । जीवनको अन्तिम घडीसम्म आफ्नो आस्थाप्रति अटल र अविचलित रही पुष्पलालले सङ्घर्षको यात्रामा अविराम क्रियाशील श्रेष्ठले नेपाली समाजको ऐतिहासिक भौतिकवादी ढङ्गले व्याख्या गरेर समाजमा विद्यमान वर्ग विश्लेषण, त्यसको विकासक्रम, वर्गीय अन्तरविरोधको पहिचान तथा समाधानका उपायहरूलाई माक्र्सवादी ढङ्गले व्याख्या गर्ने कामको अगुवाइ गरेको उहाँको विचार व्यक्त गर्नुभयो ।

कुशल सङ्गठक पुष्पलालले नेपाली समाजको वस्तुनिष्ठ विश्लेषण गर्दै निरूपण गरेको नेपाली क्रान्तिको सिद्धान्तमा आफ्नो पार्टी रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवादी व्यवस्था कार्यान्वयनका लागि जोड दिनुभयो ।

‘मलाई बचाउनु दाइ’ भनेर दाजुलाई म्यासेज लेखेका हरिप्रसाद पाँच दिनदेखि सम्पर्कविहीन

खोटाङ- वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहनुभएका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन हुनुभएको छ । तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन हुनुभएको हो ।

सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहनुभएका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ । “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ ।

काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै आउनुभएको थियो । कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ ।

रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताउनुभयो । “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो !”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।”

म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताउनुभयो । “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उहाँले भन्नुभयो, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।”

हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिनुभयो । “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।” काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुग्नुभएका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।