दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयले दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ । महिनौंदेखि जारी द्वन्द्व र असुरक्षाका कारण सयौं हजार नागरिक घरबार छाड्न बाध्य भएका छन् ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार जोङ्लेई राज्यको अकोबो काउन्टीबाट मात्रै करिब एक लाख ४० हजार मानिस विस्थापित भएका छन् । सन् २०२५ को डिसेम्बरयता जोङ्लेई तथा छिमेकी राज्यहरूबाट तीन लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।
सुरक्षाको खोजीमा करिब एक लाख मानिस छिमेकी इथियोपिया पुगेका छन् । प्रभावित क्षेत्रमा जनसंख्याको आवागमन निरन्तर भइरहेकाले अवस्थालाई अस्थिर र चुनौतीपूर्ण मानिएको छ ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले अकोबो तथा आसपासका क्षेत्रमा आश्रय लिएका परिवारहरू आगामी दिनमा अझ बढी जोखिममा पर्ने जनाएको छ । भारी वर्षा बढ्दै जाँदा उनीहरू बाहिरी सहयोगबाट थप टाढिने, विभिन्न रोगको जोखिम बढ्ने तथा राहत वितरण कार्य झन् कठिन हुने चेतावनी दिइएको छ ।
सन् २०११ मा स्वतन्त्रता प्राप्त गरेयता दक्षिण सुडानले पटक–पटक सशस्त्र द्वन्द्व, व्यापक विस्थापन तथा जलवायुजन्य विपद्को सामना गर्दै आएको छ ।
तथ्याङ्कअनुसार हाल करिब २४ लाख दक्षिण सुडानी शरणार्थी छिमेकी मुलुकहरूमा बसिरहेका छन् भने झन्डै २० लाख मानिस आफ्नै देशभित्र विस्थापित अवस्थामा रहेका छन् ।
यसैबीच सन् २०२३ को अप्रिलदेखि सुडानमा जारी युद्धका कारण दक्षिण सुडानले १३ लाखभन्दा बढी मानिसलाई आश्रय दिएको छ । तीमध्ये स्वदेश फर्किएका नागरिक, शरणार्थी तथा आश्रय खोज्ने व्यक्तिहरू रहेका छन् ।
मानवीय निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा तत्काल सहायता, सुरक्षा तथा राहत कार्यक्रम विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
