`

रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा

Nepal One HD ६ असार २०८३ १९:३५
प्रमुख खबर

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ ।

चर्काे गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।

महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ । उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उहाँले बताउनुभयो । त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ ।

आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ ।

प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ । समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने डा प्रधानले बताउनुभयो ।

चितवनमा अहिले अत्यधिक गर्मी छ । हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उहाँको भनाइ छ । खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उहाँले बताउनुभयो ।

जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । महाधिवेशन आइतबारदेखि सुरु हुनेछ । उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ । बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ ।

महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन् । पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो सङ्ख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ ।

जनचाप लक्षित गर्दै नेटवर्क क्षमता वृद्धि

नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ । भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो सङ्ख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो । उहाँले रास्वपा महाधिवेशन मात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला–महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताउनुभयो । उहाँले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताउनुभयो ।

“सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,” उहाँले भन्नुभयो । झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ । “यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,” उहाँले भन्नुभयो । उहाँले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

“आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ । त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,” उहाँले भन्नुभयो । निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ । उहाँका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *