`

उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने

Nepal One HD ८ असार २०८३ १९:३५
राजनीति

काठमाडौँ। नेपाल राष्ट्र बैंकले देशव्यापी रुपमा सङ्कलन गर्दै आएको उपभोक्ता मूल्य सूचकांक (सिपिआई) अब राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गर्ने भएको छ ।

मुद्रास्फीति मापन, आर्थिक नीति निर्माण, तलब तथा भक्ता समायेजन, जीवनयापन लागत मापन गर्न उक्त विवरण महत्वपूर्ण रहँदै आएको छ ।

केन्द्रीय बैंकले नियमित रुपमा उपभोक्ताउपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने मूल्य सूचकाङ्क तथा मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै आएको छ ।

राष्ट्रिय तथ्याङ्क परिषद्को आजको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयलाई नै उक्त जिम्मेवारी प्रदान गरेको प्रमुख तथ्याङ्क अधिकारी डा कमलप्रसाद पोख्रेलले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । आगामी एक वर्षसम्म तथ्याङ्क सङ्कलन, प्रशोधन तथा प्रकाशनका लागि नेपाल राष्ट्र बैंकलाई सहयोग गर्नेछ ।

तथ्याङ्क कार्यालयका कर्मचारी, प्राविधिक जनशक्ति एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्याङ्क कार्यालयमा हस्तान्तरण हुनेछ ।

लामो समयसम्म उपभोक्ता मूल्य सूचकाङ्कको काम राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेपनि पछि केन्द्रीय बैंकले जिम्मा लिएर प्रकाशन गर्दै आएको छ । केन्द्रीय बैंकले हरेक महिना विवरण सार्वजनिक गर्दै आएको छ ।

प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै तथ्याङ्कको दोहोरापना हटाउन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरे ।

“हामीले महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेका छौँ, यसले हामीलाई थप सबल बनाउनेछ भने तथ्याङ्क कार्यालयलाई पनि काम उपलब्ध हुनेछ”, पोख्रेलले भने।

संरचनागत सुधार, स्रोत तथा साधनको उपलब्धतालाई समेत ख्याल गरेर सङ्क्रमणकालीन रुपमा एक वर्षसम्म केन्द्रीय बैंकको सहयोगमा काम गर्ने र क्रमशः तथ्याङ्क कार्यालयले जिम्मेवारी लिने उहाँको भनाइ छ ।

सात दिनमा तथ्याङ्क सङ्कलन, प्रशोधन तथा महिना दिनमा प्रकाशन गर्नुपर्ने भएकाले उपभोक्ता मूल्य सूचकांकको काम आफैमा चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।

हाल तथ्याङ्क कार्यालयले त्रैमासिक रुपमा उपभोक्ता मूल्य सूचकाङ्कको काम गर्दै आएको थियो। कार्यालयलाई थप सबल सक्षम र कामकाजी बनाउने उद्देश्यका साथ राष्ट्र बैंकले गर्दै आएको जिम्मेवारी प्राप्त भएको जानकारी दिँदै प्रमुख तथ्याङ्क अधिकारी पोख्रेलले यसलाई गौरवको रुपमा लिनुपर्ने तर्क गरे ।

उनले तथ्याङ्कको दोहोपना हट्ने र मौद्रिक नीति तय गर्ने केन्द्रीय बैंकले नै उपभोक्ता मूल्य सूचकाङ्कको काम गर्दा आउने आलोचना समेत कम भएर जाने विश्वास व्यक्त गरे ।

“आवश्यक तयारीका लागि केही समय लाग्छ, त्यसपछि हामी हामी आफै सबल र सक्षम बन्छौ। तत्कालका लागि राष्ट्र बैंककै साधन र स्रोत उपयोग गरेर काम गर्छौ”, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *