`

प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धिमा प्रतिबद्ध छ : मुख्यमन्त्री कार्की

मोरङ, २१ साउन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सञ्चारिका समूहका केन्द्रीय तथा प्रदेशका पदाधिकारीबाट आज यहाँ ज्ञापनपत्र बुझ्दै उहाँले महिलालाई पत्रकारिता क्षेत्रमा अगाडि बढाउन सरकारले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले आफ्नो स्रोतसाधनले भ्याएसम्म पत्रकार महिलाको हितमा काम गर्ने बताउनुभयो ।

प्रदेश सरकारले ल्याउन लागेको सञ्चार पत्रकारिता प्रतिष्ठानमार्फत पत्रकारको हितमा काम गर्ने सोचाइ अगाडि राखेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले ‘लैङ्गिकमैत्री कानुन’ बनाउन र महिलालाई सञ्चार क्षेत्रमा प्राथमिकता दिएर काम गर्न आफ्नोतर्फबाट सक्दो पहल र प्रयत्न हुने धारणा राख्नुभयो । उहाँले प्रदेश सरकार सञ्चारिका समूहलाई सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।

सञ्चारिका समूहकी महासचिव राधा खनालले पत्रकार महिलाका विविध विषय समेटेर ज्ञापनपत्र बुझाउनुभएको थियो । सञ्चारिका समूहकी कोषाध्यक्ष, कोशी प्रदेशको अध्यक्षलगायत पदाधिकारी ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ

हेटौंडा, २१ साउन : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा निजी क्षेत्र, यातायात, सीमान्तकृत र विपन्न समुदाय रहने बताउनुभएको छ । नारायणी यातायात व्यवसायी सङ्घले आज एक कार्यक्रम आयोजना गरी उहाँलाई बधाइ तथा स्वागत गरेको थियो ।

सङ्घको सल्लाहकार समेत रहनुभएका मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो । यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थाका राष्ट्रिय राजमार्गहरु मर्मतका लागि पहल गर्ने बताउनुभयो ।

पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्नेमा उहाँको जोड छ । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मुल मेरुदण्ड रहने बताउनुभयो ।

सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायका समस्याहरुबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराउनुभयो । पञ्जीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको गुनासो उहाँले गर्नुभयो ।

पूर्णरुपमा बालविवाहको अन्त्य गरिनुपर्छ : सभापति साह

काठमाडौँ, २१ साउन : प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहले कानुन निर्माण गरेर पूर्णरुपमा बालविवाहको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले बालविवाहको कल्पना पनि गर्न नसकिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

युनिसेफको सहयोगमा महिला विकास र कानुनमञ्च (एफडब्लुएलडी) ले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयक, २०८२ माथि प्रतिनिधिसभाका सांसदसँग आज छलफल गरेको थियो ।

“बालविवाहको कल्पना पनि गर्न सकिँदैन” सभापति साहले भन्नुभयो, “परिवर्तनशील समाजमा समयसापेक्ष कानुन निर्माण गर्नु आजको आवश्यकता हो ।” सभापति साहले नेपालमा भएका कुनै पनि बाल सुधारगृह मापदण्डअनुरुपको नभएको उल्लेख गर्दै सुधारगृहमा रहेका बालबालिका जोखिममा रहेको बताउनुभयो ।

विषयगत समितिमा दफावार छलफलपछि प्रतिनिधिसभामा टेबुल हुने तयारीमा रहेको बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयकमा धेरै नयाँ कुरा समयसापेक्ष समेटिएको र अन्तरराष्ट्रिय सन्धि–सम्झौतासँग नबाझिने भएको बताइएको छ । सभापति साहले कसैको स्वार्थबाट पे्ररित नभइ समय सापेक्ष र बालहितमा केन्द्रित रहेर विधेयक आएको बताउनुभयो ।

बालबालिकासम्बन्धी मौजुदा ऐनबारे सांसदहरुलाई श्रव्यदृश्यमार्फत् अवगत गराइएको थियो । एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले बालबालिकासम्बन्धी पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्तुति दिनुभएको थियो । उहाँले विधेयकमा बालन्यायमा केन्द्रित रहेर संशोधन विधेयक आएको र थप केही संशोधन गर्न सके अझ राम्रो हुने बताउनुभयो ।

अधिवक्ता विधान खनियाले संशोधन विधेयक तयार गर्दाका अवस्था र समेटिएका विषयबारे जानकारी गराउनुभयो । बाल अधिकार परिषद्का श्रीराम अधिकारीले दफा ४३ र २४ बारे विचार गर्न सांसदहरुलाई आग्रह गर्नुभयो । युनिसेफ प्रतिनिधि रामप्रसाद गौतमले दफा ६२ मा बाल मनोविज्ञको स्थानमा बालमनोविमर्शकर्ता राख्न सुझाव दिनुभयो । उहाँले साइबरबाट हुने हिंसाबारे विधेयक मौन रहेकोबारे सांसदको ध्यानाकर्षण गराउनुभयो ।

सुझावले विधेयकमा संशोधन हाल्न सजिलो भएको सहभागी सांसदहरुले बताएका थिए । सांसद रञ्जुकुमारी झाले विधेयकमा रहेका केही अस्पष्ट प्रावधानलाई स्पष्ट पार्न छलफल कार्यक्रमले सजिलो भएको बताउनुभयो । सांसद प्रतिक्षा तिवारीले पीडित स्वयंलाई उपस्थित गराएर कार्यक्रम गरिएको भए अझ प्रभावकारी हुने सुझाव दिनुभयो ।

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले बालबालिकासम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकले समेट्न बाँकी विषय सांसदलाई अवगत गराउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । उहाँले विधेयकमा रहेको व्यवस्था र संशोधन गर्नुपर्ने विषयवस्तु सर्वसाधारणसम्म पुगोस भन्ने कार्यक्रमको उद्देश्य रहेको स्पष्ट पार्नुभयो ।

जलवायु परिवर्तनका कारण उत्पन्न प्रकोपको सामना गर्न विश्वव्यापी साझेदारीका लागि प्रधानमन्त्रीको आह्वान

तुर्कमेनिस्तान, २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामनाका लागि विश्वव्यापी सहकार्य र साझेदारी बढाउन जोड दिनुभएको छ ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा आज आयोजित ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालले कार्बन उत्सर्जनमा अति न्यून योगदान गरे पनि नेपालले जलवायु परिवर्तनको प्रतिकूल असर भोगिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले दिगो विकासको चुनौती सामनाका लागि समन्वयात्मक काम गर्न आग्रह गर्दै नेपालको हिमशृङ्खला पग्लने क्रमले मानवीय र भौतिक जोखिम हुने गरेकाले जलवायु परिवर्तनमा हिमालदेखि समुद्रसम्मको रक्षाको अवधारणाका साथ सगरमाथा संवाद कार्यक्रम आयोजना गरिएको स्मरण गराउनुभयो ।

उहाँले नेपालले जलवायु जोखिम न्यूनीकरणका लागि दीर्घकालीन एकीकृत अनुकूलन रणनीति पनि तयार गरेकाले सोको कार्यान्वयनका लागि विदेशी साझेदार संस्थाहरुले पनि सघाउनुपर्नेमा जोड दिनुभयो ।

समृद्री सतह वृद्धिमा कारण हिमाल पग्लन थालेको तथ्य राख्दै उहाँल हिमालदेखि समुद्रसम्मको एकीकृत जलवायु अनुकूलन कार्ययोजना बनाउन विश्वसमुदायसँग आग्रह गर्नुभयो ।

“हिमालय प्राकृतिक रिचार्ज सिस्टम भएकाले हिमाल पग्लन र समुद्रको तापक्रम बढ्न नदिन विश्वव्यापी साझा प्रयास आवश्यक छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “दिगो विकासका लक्ष्यको प्राप्ति गर्न समन्वयात्मक र एकीकृत प्रयासका लागि हामीले विश्वव्यापी साझा प्रयासलाई अझ गति दिनुको विकल्प छैन । यसमा नेपालकोतर्फबाट उचित सहकार्य हुनेछ । सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीका आजका लागि निर्धारित औपचारिक कार्यक्रमहरु सकिएका छन् ।”

सोच सोचपछि भावनाले ल्याइन् न त बने हिरोइनको भिडियो

काठमाडौं । गायिका भावना आचार्यको नयाँ गीत न त बने हिरोइनको भिडियो सार्वजनिक भएको छ । नबिन पाण्डेको शब्दमा गायिका स्वयमकै संगीत रहेको गीतको एरेन्ज श्याम श्वेत रसाईलीले गरेका हुन् ।

भिडियोमा मोडल मिस पवी , राजन अधिकारी र भावना रोमान्टिक मुडमा देखिएका छन् । छमछम नचाउने खालको भिडियोको कन्सेप्ट गायिका भावनाकै हो भने भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन् । गायिका आचार्यले सोच सोच बोलको तीज गीतको भिडियो सार्वजनिक गरेको डेढ साता नबित्दै सार्वजनिक गरेको सातमा नै न त बने हिरोइनले राम्रो चर्चा पाइरहेको छ ।

यसअघि भावनाले नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडीलाई लिएर सोच सोचको भिडियो निर्माण गरेकी थिइन् । जुन भिडियोबाट लामो समयपछि नायिका शिल्पा फेरी काममा फर्किएकी हुन् । भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी उडी आ सुवा , मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरु बजारमा आइसकेका छन् ।

प्रधानमन्त्रीसँग लगानी प्रवर्द्धनसम्बन्धी महासङ्घका कार्यकारी निर्देशकको भेट

तुर्कमेनिस्तान, २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगानी प्रवर्द्धनसम्बन्धी निकायको विश्व महासङ्घ (वाइपा)का कार्यकारी निर्देशक इजमाइल इर्साहिले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उहाँहरूबीच साइडलाइन भेट भएको हो । भेटका अवसरमा नेपालमा लगानी अभिवृद्धिको सम्भावना र नेपालको लगानी प्रवर्द्धन बोर्डले महासङ्घको सदस्यता लिनेलगायत विषयमा छलफल भएको भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाले जानकारी दिनुभयो ।

भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी हुनुहुन्थ्यो ।

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अभिलेख

चितवन, २१ साउनः चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ भेटिएको छ । यही साउन २० गते दिउँसो १२ः३० बजे चितवन राष्ट्रिय निकुञ्जको गेट अगाडि रहेको वन क्षेत्रमा नेपालका लागि अतिदुर्लभ मानिएको पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’ अर्थात् जिनास्पा टोडरा अभिलेख गरिएको पोखरा पक्षी समाजका अध्यक्ष मनोजशान्त घिमिरेले बताउनुभयो ।

उक्त पुतलीलाई सौराहाका अनुभवी नेचर गाइड रोजन सुवेदीले पहिलोपटक देखेपछि, मिलन तामाङ, विशाल लामा, वासु विडारी तथा पुतली विज्ञ टेकबहादुर गुरुङको टोलीले पहिचान गरी विस्तृत अध्ययनका लागि आवश्यक विवरण सङ्कलन गर्नुभएको थियो । पुतली पहिचानमा पोखराबाट साजन केसी, नेदरल्याण्डका विज्ञ पिट भान पोल, सुरेन्द्र परियार र चितवनका टेकबहादुर गुरुङसहितको विशेषज्ञ टोलीको सहकार्यमा पुष्टि गरिएको घिमिरेले जानकारी दिनुभयो ।

यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गर्नुभएको थियो । ५१ वर्षयता नेपालमा पुनः देखिएको यो दोस्रो अभिलेख हो, जुन चितवनको जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण रहेको बताइएको छ ।

हालसम्म नेपालमा करिब ६९२ प्रजातिका पुतली अभिलेख भएका छन् भने चितवनमा मात्रै ३०० भन्दाबढी प्रजातिका पुतली छन् । यो नयाँ अभिलेखले चितवनको जैविक सम्पदा थप समृद्ध बनाएको जनाइएको छ । यसले सौराहा क्षेत्रका प्रकृतिप्रेमी, नेचर गाइड र अनुसन्धानकर्ताका लागि प्रेरणा जगाएको छ ।

प्रधानमन्त्री ओलीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

तुर्कमेनिस्तान, २१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं अतिकम विकसित तथा भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा फातिमाले प्रधानमन्त्री ओलीलाई भेट गर्नुभएको हो ।

भेटमा सहभागी संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार भेटका अवसरमा नेपालले आगामी सन् २०२६ मा आफूलाई विकासशील मुलुकका स्तरोन्नतिमा लान गर्नुपर्ने तयारीलाई थप गति दिने विषयमा छलफल भएको थियो । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, स्थायी प्रतिनिधि थापालगायत सहभागी हुनुहुन्थ्यो ।

विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुन्छ – महासचिव गुरुङ

काठमाडौँ, २१ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग छिट्टै एकता हुने बताउनुभएको छ ।

आज यहाँ सम्वाद डबलीले आयोजना गरेको अन्तरसंवादमा गुरुङले तत्काल वार्ता टोली गठन गरी एकताका आधार तयार गर्ने जानकारी दिनुभयो ।

गुरुङले देशमा बढ्दै गएको व्यवस्थामाथिको खतरा र समाजवादी क्रान्तिका लागि विचार मिल्ने शक्तिबीचको एकता अत्यावश्यक भएको बताउनुभयो । “अहिले विप्लबजीको पार्टीसँग मात्रै नभएर देश, जनता र समयको मागअनुसार नेकपा (एस)सँग पनि एकताका लागि छलफल चलेको छ”, गुरुङले भन्नुभयो ।

नेकपासँगको एकता विचार राजनीतिक प्रतिबद्धतामा त्यति धेरै भिन्नता नदेखिएकाले छिटो एकता गर्न सहज हुने बताउदै गुरुङले भन्नुभयो, “समाजवादी क्रान्तिका लागि न्यूनतमदेखि अधिकतम कार्यक्रम, सङ्गठन कसरी बलियो बनाउने, सदन र सडकसम्म सङ्घर्ष कसरी गर्ने भन्नेलगायत विषयबारे छलफल गरेर एकता आधार तयार गर्नुपर्नेछ ।”

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेर निरन्तर सदन अवरुद्ध गर्दा महत्त्वपूर्ण विधेयक रोकिने भएकाले दुई बुँदे सहमति गरेको विषय स्थायी कमिटीले सही भएको मूल्याङ्कन गरेको उहाँले बताउनुभयो ।

‘कुलिङ पिरियड’ प्रकरणबारे बनेको छानबिन समितिले सही निष्कर्ष निकालेर त्यसलाई सच्याउनुपर्नेमा आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

त्यसैगरी, कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी सुशीलले माओवादीले स्थायी समितिबाट आफ्नो पार्टीसँग एकता गर्ने भन्ने निर्णय स्वागतयोग्य रहेको बताउनुभयो ।

समाजवादी मोर्चा कर्णाली प्रदेश इञ्चार्जसमेत रहनुभएका बुढाथोकीले आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा तथा समाजवादी क्रान्तिका लागि माओवादी धार र समाजवादी मोर्चामा आबद्ध पार्टीबीच एकता ध्रुवीकरण हुनुपर्ने धारणा रख्नुभयो ।

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २१ साउन : प्रतिनिधिसभाको आजको बैठकमा बोल्ने सांसदहरूले मदिरा तस्करी नियन्त्रणमा गम्भीर हुन आग्रह गर्दै तस्करलाई कानुनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सदस्यहरू रञ्जुकुमारी झा र रेखा यादवले सप्तरीमा मदिरा तस्करी नियन्त्रणका क्रममा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको घटनाको वि रोध जनाउनुभएको छ ।

सभाको आजको बैठकमा विशेष समयमा उहाँहरूले तस्करी नियन्त्रणका क्रममा गोलीगठ्ठाको प्रयोग नगरी तस्करीमा संलग्नलाई कानुनको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा सप्तरीमा प्रहरीले गोली चलाउँदा स्थानीय लालु यादवको मृत्यु भएको थियो । भारतीय सीमा नजिकबाट मदिरा तस्करीमा ‘सर्च अप्रेसन’ चलाउँदा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।

सांसदहरूले तस्करीले राजस्व चुहावट र नियन्त्रणका क्रममा जनताको मृत्यु भइरहेको भन्दै यसतर्फ गम्भीर हुन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

जनता समाजवादी पार्टीका सांसद झाले भन्नुभयो, “तस्करीको निदान एवं नियन्त्रण, कानुनी कारबाहीका लागि सरकार किन गम्भीर छैन ?”

जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले कानुनी दायरामा ल्याउन आग्रह गर्नुभयो । “देशमा तस्करी, कालाबजारी हुनुहुँदैन। तर त्यसको सजायको यन्त्र गोलीगठ्ठा नै हो त ? त्यसलाई कानुनी दायरामा ल्याउन नपर्ने हो ?”, उहाँले भन्नुभयो । सांसद यादवले सुक्खाग्रस्त क्षेत्र घोषणा र स्थलगत अवलोकनपछि पनि मधेस प्रदेशका जनतालाई राहतको कार्यक्रम प्रभावकारी नदेखिएको टिप्पणी गर्नुभयो ।

विशेष समयमा जनमत पार्टीका सांसद अब्दुल खाँनले तीनै तहका सरकारको काम र जिम्मेवारी स्पष्ट पार्दै जनताले अनुभूत गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “जनतालाई तीनै तहको सरकारको अनुभूति गराउन सकेनौँ”, सांसद खाँनले भन्नुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले मधेस प्रदेशका जिल्लालाई जलसङ्कट र मरुभूमि हुनबाट बचाउन उदयपुर, सिन्धुली र मकवानपुर जिल्लामा पर्ने चुरे भावर क्षेत्रलाई समेटेर पुनःसंरचना गर्नुपर्ने बताउनुभयो । उहाँले रासायनिक मलको बहुउपयोग हुनेहुँदा किसानलाई अभाव हुने गरेको बताउनुभयो । मल खरिदको अनुमति निजी फार्मलाई दिनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै, आमजनता पार्टीका सांसद प्रभु साहले संसदीय गरिमा खस्कँदै गएकोतर्फ सबैलाई सचेत गराउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद नारायणप्रसाद आचार्यले विद्यालय शिक्षा पाठ्यक्रम सुधार आधारभूत तहदेखि माध्यमिक तहसम्म पाठ्यक्रमको व्यावहारिक, समावेशी र समसामयिक बनाउने कार्य थालनी भएको भन्दै यसलाई प्रभावकारी, समयसापेक्ष बनाउनुपर्नेमा जोड दिनुभयो ।

एमाले सांसद गङ्गाप्रसाद यादवले मुसहर समुदायको उत्थान र विकासका लागि सभामुखमार्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही पार्टीका सांसद अमृतादेवी अग्रहरीले जलवायु परिवर्तनको प्रभावले मधेसमा पर्याप्त वर्षा नभएको भन्दै जथाभावी बस्ती निर्माण र वन फँडानी नियन्त्रण गर्नुपर्ने बताउनुभयो । सरकारलाई मात्र दोषारोपण नगरी चुरे संरक्षणमा सबै सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।

नेकपा(एमाले)का सांसद सूर्यकुमारी श्रेष्ठले आउँदो चाडपर्वमा देशभरको सुरक्षित सडक यात्रा, स्वस्थ्यकर खानपान र महँगी नियन्त्रणका लागि सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

विशेष समयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले समसामायिक विषयमाथि ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रतिनिधिसभा : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ, २१ साउन : प्रतिनिधिसभाको आजको बैठकले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव र ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमा विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको छ । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक सम्पत्ति विधेयक र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक प्रस्तुत गर्नुभएको थियो ।

क्रमशः औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले औद्योगिक सम्पत्तिसम्बन्धी कानुन प्रर्याप्त नभएकाले नेपाली वस्तुको इनोभेटिभ, स्टार्टप र नवीन प्रवद्र्धनलाई ध्यान दिएर समयसापेक्ष कानुन बनाउनका लागि विधेयक ल्याइएको बताउनुभयो । विधेयकलाई समयसापेक्ष र मौलिकताको जगेर्ना उजागर, खोज र आविष्कार समयसापेक्षा बनाएर समृद्ध बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“हाम्रा वस्तुको अरूले लेबलिङ, ब्राण्डिङ र व्यवसायीकरण गर्नुपर्ने अवस्था छ । त्यसैले इनोभेटिभ र अनुसन्धानलाई ध्यान दिएर विधेयक ल्याइएको हो”, उहाँले भन्नुभयो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू वासुदेव घिमिरे, मैना कार्की, दामोदर पौडेल वैरागी, प्रतिमा गौतम, भगवती चौधरी, ज्वालाकुमारी साह, किरणकुमार साह, हेमराज राई, रणेन्द्र बराइली, विद्या भट्टराई, बिमला सुवेदी, दुर्गा राई, सराज अहमद फारुकी, नारायणी शर्मा, उर्मिला माझी, अम्बरबहादुर रायमाझी, प्रेम सुवाल र रमा कोइराला पौडेल सहभागी हुनुभयो ।

यस्तै भन्सार विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री पौडेलले राष्ट्रियसभाबाट संशोधनसहित पारित भएर आएको विधेयकलाई पारित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभाबाट पारित भएको विधेयकमा सारभूत रूपमा भिन्नता छैन । भाषिक सम्पादनलगायत केही विषय मात्रै भिन्नता रहेका छन् । राष्ट्रियसभाबाट गरिएको संशोधन उचित रहेकाले यसलाई पारित गरेर लैजादा उपयुक्त हुन्छ ।”

उक्त विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरू किरणकुमार साह, नारायणी शर्मा, नागिना यादव, भगवती चौधरी र ज्वालाकुमारी साह सहभागी हुनुभयो । बैठकमा सभामुख देवराज घिमिरेले विषयगत समितिमा सदस्य हेरफेरसम्बन्धी सूचना पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक यही साउन २७ गते मङ्गलबार दिउँसो १ बजे बस्नेछ ।

न्युजिल्याण्डमा बेरोजगारी दर ५.२ प्रतिशत, श्रम बजार थप कमजोर

न्युजिल्याण्डको बेरोजगारी दर सन् २०२५ को दोस्रो त्रैमास (अप्रिल–जुन) मा बढेर ५.२ प्रतिशत पुगेको छ । श्रम बजारमा लगातार कमजोरी देखिँदै गएको राष्ट्रिय तथ्यांक विभाग स्ट्याट्स एनजेड ले बुधबार जानकारी दिएको छ ।
मार्चमा बेरोजगारी दर ५.१ प्रतिशत थियो भने अघिल्लो वर्षको यही अवधिमा ४.७ प्रतिशत थियो। अहिले देशभर एक लाख ५८ हजार व्यक्ति बेरोजगार छन्, जुन अघिल्लो वर्षको तुलनामा १६ हजारले (११ प्रतिशतले) बढी हो ।

स्ट्याट्स एनजेडका श्रम विश्लेषक जेसन एट्टवेलका अनुसार, पछिल्ला केही वर्षमा श्रम बजारको अवस्था उल्लेखनीय रूपमा कमजोर हुँदै गएको छ । सन् २०२२ को जुनयता बेरोजगारी दरमा १.९ प्रतिशत अंकको वृद्धि भएको छ ।
बेरोजगारी मात्र होइन, श्रम बजारको समग्र अवस्थालाई देखाउने अन्डरयुटिलाइजेसन दर पनि बढेर १२.८ प्रतिशत पुगेको छ । यो दर मार्च त्रैमासमा १२.४ प्रतिशत थियो भने एक वर्षअघि ११.९ प्रतिशत थियो ।

यद्यपि तलब वृद्धि भइरहेको छ, यसको गति भने सुस्तिएको छ । वार्षिक तलब वृद्धिदर ४.३ प्रतिशतबाट घटेर २.४ प्रतिशतमा झरेको छ । औसत घण्टाको तलब ४.५ प्रतिशतले बढेर ४३.३९ न्युजिल्याण्ड डलर (लगभग २५.६६ अमेरिकी डलर) पुगेको छ ।

श्रम बजार कमजोर बनेपछि धेरै युवा शिक्षातर्फ फर्किएका छन्। १५ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीको संख्या ५ प्रतिशतले बढेर ३ लाख ७९ हजार नौ सय पुगेको छ ।
युवाको रोजगार र सहभागिता दर घटेर क्रमशः ५३.१ र ६२.३ प्रतिशतमा झरेका छन्। तर, रोजगार, शिक्षा वा तालिममा नरहेका (नीट) युवाको दर भने १२.२ प्रतिशतमै स्थिर रहेको स्ट्याट्स एनजेड ले जनाएको छ ।

एथलेटिक्स टोली भारत प्रस्थान

काठमाडौँ, २१ साउन : प्रथम इन्डियन ओपन वल्र्ड एथलेटिक्स ब्रोन्ज कन्टिनेन्टल टुरमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली आज भारतको उडिसा प्रस्थान गरेको छ ।

अगष्ट १० तारिखमा हुने प्रतियोगिताको पुरुषमा आदेशकुमार यादव, सोमबहादुर कुमाल, मुकेशबहादुर पाल, सलिम देवान, डिल्ली खत्री, रोहित चौधरी र प्रकाश दनुवारले प्रतिस्पर्धा गर्ने छन् । महिलामा कलेसी चौधरी, नारायणी भण्डारी, सीमाकुमारी चौधरी, चन्द्रकला लाम्गाडे र पूर्णलक्ष्मी न्यौपानेले खेल्ने छन् । अफिसियलमा शिवलाल आचार्य र अनिलरुद्र कुमार चौधरी छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल एथ्लेटिक्स सङ्घका महासचिव सञ्जीव तुलाधरलगायतले आज यहाँ आयोजित एक कार्यक्रममा सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । प्रतियोगितामा १९ राष्ट्रको सहभागिता रहने एथलेटिक्स सङ्घका सचिव आरके विष्टले जानकारी दिनुभयो ।

भिजिट भिसा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउनैपर्छ – महामन्त्री शर्मा

काठमाडौँ, २१ साउनः नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसद्प्रति जनताको आस्था र विश्वास बढाउन संसद्का काम कारबाहीलाई प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले संसद्को काम कारबाहीलाई समीक्षा गर्नुपर्ने आवश्यकता औंँल्याउनुभएको हो ।

उहाँले संसद् सरकार, कानुन र बजेट बनाउने थलोमात्रै नभएर आफ्नो कार्यशैली र व्यवहारबाट विश्वास सम्प्रेषण गर्ने साझा थलो पनि भएकाले त्यो अभिभारा पूरा गर्ने दायित्व सरकार र प्रतिपक्षी दल सबैको भएको बताउनुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, “संसद् कत्तिको सफल भइरहेको छ । सरकार कत्तिको प्रभावकारी भएको छ । प्रतिपक्षमा रहेका दलहरु सुझाव र दबाबको भूमिकामा कत्तिको प्रखर र जिम्मेवार बनेका छन् ? नागरिक पङ्क्तिमा रहेको आशा र विश्वासलाई सफलतामा बदल्न कत्तिको सफल भएका छाँै ?”

महामन्त्री शर्माले वर्षाँैपछि बनेका कतिपय विधेयक संसद्मा विचाराधीन रहेको, कानुन निर्माणमा उत्साहवर्द्धक प्रगति हुन नसकेको तथा कतिपय विधेयकमा असमझदारी बढेको र कतिपय दल सदन बहिस्कार गरेर हिँडिरहेको बताउनुभयो ।

उहाँले भिजिट भिसा प्रकरणका दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । यस विषयमा उच्चस्तरीय छानबिन समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

कांग्रेस महामन्त्री शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई संयमता अपनाउन सुझाव दिनुभयो । महामन्त्री शर्माले सहकारी पीडितलाई पाँच लाखसम्मको रकम फिर्ता गराउने प्रक्रियामा अविलम्ब गति बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, “अध्यादेश हुँदै संसद्बाट यससम्बन्धी मार्ग प्रसस्त पनि भइसकेको छ, किन ढिला भइरहेको छ । म गृहमन्त्रीलाई सभामुखमार्फत प्रश्न गर्दछु सहकारी ठग कोही जेल गए, अझैपनि कैयौँलाई कारबाहीको दायरामा ल्याउन किन ढिलाइ भइरहेको छ ? जिबी राईका दुई पार्टनर जेलमा छन् तर उनलाई नेपाल ल्याउन किन विलम्ब भइरहेको छ ?”

उहाँले विद्यालय शिक्षासम्बन्धी विधेयक चाँडो अगाडि बढाउन, किसानलाई मलखादको व्यवस्था गर्न, स्वास्थ्य सेवा बिमा सहज बनाउन, विपीन जोशीको रिहाइ गर्न तथा भैरहवा र पोखरा विमानस्थल प्रभावकारी सञ्चालन गर्न सरकारसमक्ष माग गर्नुभयो ।

महामन्त्री शर्माले संविधान दिवसलगायत कतिपय अवसरमा कैदमा रहेका नागरिकका चालचलन ठिक रहेको भनेर कतिपय कैदीलाई छुट दिने विषयको गम्भीर समीक्षा गरेर मात्रै कानुन संशोधन गर्न आग्रह गर्नुभयो । उहाँले दैलेखमा फेला परेको ग्याँसको उत्खननमा सरकारको सफलतालाई बधाई दिँदै ग्याँस उत्खननका लागि प्रक्रिया अगाडि बढाउन सरकारसमक्ष माग गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र महासचिव चन्दबीच भेटवार्तामा यी बिषयमा छलफल

काठमाडौँ, २१ साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज पार्टी एकताबारे छलफल भएको छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठको हात्तीवनस्थित निवासमा भएको भेटघाटमा समसामयिक राजनीतिक परिस्थिति, नेपालको कम्युनिष्ट तथा क्रान्तिकारी आन्दोलन, राष्ट्रियता र पार्टी एकताको सम्भावनासहित विविध विषयमा विचारविमर्श भएको थियो ।

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः छैटौँ अधिवेशन आज रातिदेखि अन्त्य गर्न सिफारिस

काँक्रेविहार (सुर्खेत), २१ साउनः कर्णाली प्रदेश मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलकराज ढकाललाई सामाजिक विकास मन्त्रालयमा सचिवका रूपमा खटाउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिनुभयो । त्यस्तै, सर्वोच्च अदालतको २०८२ जेठ ७ गतेको परमादेशअनुसार जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिकाको प्रशासनिक केन्द्र वडा नं ४ लुहादहमा तोक्न सङ्घीय सरकारसमक्ष सिफारिस गर्ने समेत निर्णय भएको छ ।

बैठकले ‘पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८२’लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ । प्रदेश सरकारका कार्यालयहरूमा सूचना अधिकारीको कार्यान्वयन भएको वा नभएको विषयमा अनुगमन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत शासकीय सुधार महाशाखाका सचिवको संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको प्रवक्ता शाहले जानकारी दिनुभयो ।

चलाउने जनशक्ति नभएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द

जुम्ला, २१ साउनः जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ । अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ ।

तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट वञ्चित भएका छन् ।

अस्पतालमा भिडियो एक्सरे मेसिन उपलब्ध भए पनि त्यसलाई चलाउने जनशक्ति अभावका कारण सेवा बन्द रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा डबलबहादुर धामीले जानकारी दिनुभयो । प्रतिष्ठानले रेडियोलोजिस्टका लागि माग गरे पनि कोही सम्पर्कमा नआउँदा यो समस्या भएको उहाँले बताउनुभयो ।एक सातादेखि बन्द भएको सिटिस्क्यान सेवा भने सञ्चालनमा ल्याएको निमित्त उपकुलपति डा धामीले बताउनुभयो ।

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध,सवारी आवागमन पूर्ण रूपमा रोकिए

बैतडी, २१ साउनः अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिनुभयो ।

राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ । सवारी आवागमन रोकिँदा यात्री बीच बाटोमै अलपत्र परेका छन् । जयपृथ्वी राजमार्गमा बेलाबेलामा पहिरो खस्दा अवरुद्ध हुने गरेको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

बनियानी (झापा), २१ साउनः झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा चन्द्रमायाका छोरा २५ वर्षीय सुशीलले देखेपछि शव घरमा ल्याएका थिए । घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको थियो ।

यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, २१ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३८, आलु रातो प्रतिकिलो रु ४९, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, आलु रातो (मुडे) प्रतिकिलो रु ४५, आलु सेतो प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ९०, बन्दा (लोकल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८५, काउली तराई प्रतिकिलो रु ६०, रातो मूला प्रतिकेजी रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडी प्रतिकिलो रु ८० र मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६५, घिउ सिमी (राज्मा) प्रतिकिलो रु १४०, टाटे सिमी प्रतिकिलो रु ६५, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ३०, लौका प्रतिकिलो रु ५५, परबर (लोकल) प्रतिकिलो रु ६०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ३५, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ५५, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो रु ९० र भिण्डी प्रतिकिलो रु ५५ कायम गरिएको छ ।

त्यसैगरी, पिँडालु प्रतिकिलो रु ८०, स्कूस प्रतिकिलो रु ५०, रायोसाग प्रतिकिलो रु ४५, पालुङ्गो साग प्रतिकिलो रु ६०, तोरीको साग प्रतिकिलो रु ५०, हरियो प्याज प्रतिकिलो रु ९०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ४००, कुरिलो प्रतिकिलो रु ३५०, निगुरो प्रतिकिलो रु ९० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकिलो रु २१०, चुकुन्दर प्रतिकिलो रु ७०, सजिवन प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु २६०, जिरीको साग प्रतिकिलो रु १००, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु १३००, सौफको साग प्रतिकिलो रु १७०, पुदिना प्रतिकिलो रु ३००, इमली प्रतिकिलो रु २००, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३०० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १४०, कागती प्रतिकिलो रु १५०, अनार प्रतिकिलो रु ४००, आँप (माल्दह) प्रतिकिलो रु २००, आँप (दशहरी) प्रतिकिलो रु २००, आँप (चोसा) प्रतिकिलो रु १७०, सुन्तला (भारतीय) प्रतिकिलो रु ३५०, तरबुजा हरियो प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु १६०, जुनार प्रतिकिलो रु २४०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु २०, रुखकटहर प्रतिकिलो रु ५०, नास्पाती (लोकल) प्रतिकिलो रु ७०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २५०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो रु २५०, र लप्सी प्रतिकिलो रु ५५ निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ९०, खुर्सानी सुकेको प्रतिकिलो रु ३५०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४०, खुर्सानी हरियो माछे प्रतिकिलो रु ७०, खुर्सानी अकबरे प्रतिकिलो रु २२०, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनियाँ प्रतिकिलो रु ४००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु १६०, छ्यापी सुकेको प्रतिकिलो रु १८०, छ्यापी हरियो प्रतिकिलो रु १८०, माछा सुकेकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३००, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० निर्धारण गरिएको छ ।

बाढीले क्षति पुर्‍याएको भटौली खोलाको पुल मर्मतपछि सडक सञ्चालनमा

रामेछाप । गएको शुक्रबार रातिको बाढीले क्षति पु¥याएको रामेछापको भटौली खोलाको पुल मर्मतपछि मन्थली–खाँडादेवी सडक खण्ड पुनः सञ्चालनमा आएको छ ।मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ को पकरबास जोड्ने यो पक्की पुल रामेछापको वैकल्पिक यातायात सञ्जालमा अत्यन्त महत्त्वपूर्ण मानिन्छ।

बाढीले पुलको खाँडादेवीपट्टिको पिलर कटान गरेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको थियो। चार दिनको मर्मतपछि मंगलबार अपराह्नबाट ठूला सवारीसाधनसहित यातायात पुनः सञ्चालनमा आएका हुन् ।

खाँडादेवी गाउँपालिका–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार सो पुलबाट अब सबै खालका यातायात सञ्चालनमा आएका छन्। ‘ठुलो पानी परेमा फेरि पनि समस्या आउन सक्छ, अहिलेलाई भने यातायात सञ्चालन हुन लागेका छन्’ उनले भने ।

पुल अवरुद्ध भएपछि खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति गाउँपालिका तथा काठमाडौं जोड्ने वैकल्पिक मार्गसमेत प्रभावित बनेको थियो। चार दिनसम्म ठूला मालवाहक गाडीहरू खाँडादेवी गाउँपालिका–४ कै विभिन्न स्थानमा रोकिएका थिए।

मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले पुलको पिलर नजिक खोलाले खोलेको ठाउँ मर्मत गरेपछि सडक सञ्चालनमा आएको जानकारी दिए। ‘रोकथामका उपायहरू अपनाइएकाले तत्काल समस्या नआउला,’ श्रेष्ठले भने।

४० मिटर लम्बाइको यो पुल स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम (LRBP) अन्तर्गत आर्थिक वर्ष २०७१÷०७२ मा निर्माण भएको हो। स्वच्छन्द सिर्जना जेभीले करिब ४ करोड रुपैयाँ लागतमा पुल निर्माण गरेको थियो।

पुल सञ्चालनमा आएपछि पुनः सवारी आवागमन सहज भएको छ। मन्थली र काठमाडौं जाने वैकल्पिक मार्ग यही पुल हो । गत असोजमा खुर्कोटको पुल बगाएपछि त्यहाँ जडान गरिएको बेली ब्रिज १५ टनभन्दा माथिका सवारी चलाउन नसकिने भएपछि ठुला सवारीसाधन यही सडकबाट सञ्चालन हुने गर्दछन् । सुनकोसी–मरिण डाइभर्सनका निर्माण सामाग्री बोकेका ठुला गाडीहरू सडकमा क्षति हुँदा चार दिनसम्म रोकिएका थिए ।

स्थानीय प्रशासन, नेपाली सेना, प्रहरी, स्थानीय तह, पूर्वाधार विकास कार्यालय, मरिण डाइभर्सन लगायतको सहकार्यमा पुल क्षेत्रको संरक्षण गरिएको हो ।

जङ्गली हात्ती दिउँसै बस्तीमा पसेपछि स्थानीय बासिन्दा त्रसित

कञ्चनपुर, २१ साउनः कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित जाई–पर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती प्रवेश गर्न थालेको छ । हात्ती बस्ती क्षेत्रमा दिउँसै देखिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो । हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका थिए । हात्ती पुनः बस्तीमा फर्कने डर कायमै रहेको स्थानीय लक्ष्मण रानाले बताउनुभयो ।

“हात्तीले प्रत्येक वर्ष बाली नष्ट गर्छ, गत वर्ष एक जनाको ज्यानसमेत लिएको थियो”, उहाँले भन्नुभयो, “हामी त्रसित छौँ, हात्ती नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिरहेका छौँ ।”

जाई–पर्सिया गाउँमा प्रत्येक वर्ष जङ्गली हात्ती प्रवेश गर्ने, किसानको बालीमा क्षति पुर्याउने र जनधनको क्षति पुर्याउने काम गर्दै आएको छ । हात्ती लालझाडी संरक्षण क्षेत्र हुँदै जाई र पर्सिया गाउँ पसेको गाउँपालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।

लालझाडी सबडिभिजन वन कार्यालयका प्रमुख करुणकर जोशीले लालझाडी संरक्षण क्षेत्रमा पाँच जङ्गली हात्ती रहेको जानकारी दिनुभयो । उहाँका अनुसार हात्ती बस्ती हुँदै निकुञ्जतर्फ आउजाउ गर्ने गरेको छ । हात्ती बस्तीतर्फ जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

सप्तरीमा गोली प्रहारबाट ३६ वर्षीय लालु यादवको मृत्यु

राजविराज (सप्तरी), २१ साउनः मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । राजगड गाउँपालिका–२ कमलपुरका ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो ।

भारतीय सीमा नजिकबाट ठूलो मात्रामा मदिरा भण्डार गरी तस्करी भइरहेको सूचनाका अधारमा ‘सर्च अप्रेसन’ चलाउँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो । प्रहरीलाई घेरा हालेर ढुङ्गामुढा गर्न थालेपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । सो क्रममा यादवको तिघ्रामा गोली लागेको हो । गम्भीर घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजगड गाउँपालिका–२ स्थित नेपाल–भारत सीमामा ‘सर्च अप्रेसन’ गर्दा उक्त ठाउँबाट प्रहरीले विभिन्न ब्रान्डका ८० कार्टुन मदिरा बरामद गरेको छ । यस्तै चार दिन अगाडि पनि सप्तरी प्रहरीले छिन्नमस्ता गाउँपालिका–१ बरहीविरपुरमा हवाई फायर गरी हेरोइनसहित दुई जनालाई पक्राउ गरेको थियो । प्रहरीले छिन्नमस्ता–१ बरहीविरपुरका विशाल राय र डाक्नेश्वरी–७ का मनोज रायलाई पक्राउ गरेको थियो ।

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं। आज संघीय संसद अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।

बुधबार बिहान १० बजे सिंहदरबारमा बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल गरिने कार्यसूची रहेको छ।

यस्तै, बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल गरिदैँछ।

यसैगरी बिहान १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गरिने कार्यसूची रहेको छ।

आज दिनको १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ।

कार्यसम्पादनमा उत्कृष्ट बागलुङ नगरपालिका सम्मानित

गलकोट (बागलुङ), २१ साउन -विकास निर्माणमा उत्कृष्ट काम गरेको उल्लेख गर्दै बागलुङ नगरपालिकालाई सम्मान गरिएको छ । विश्व बैंकले नेपाल सरकारमार्फत बागलुङ नगरपालिकालाई उपलब्ध गराएको रु ४८ करोड अनुदानबाट यहाँको दुई वटा सडक निर्माण सुरु भएको सात महिनामै कालोपत्र गरिएको थियो ।

तीन वटा सडकमध्ये दुई वटा सडकको काम सम्पन्न भएको र एउटा सडक कालोपत्रको तयारी भइरहेको छ । उक्त अनुदानबाट एकै पटक १७ नगरपालिकामा विकास निर्माण भए पनि कार्यसम्पादनका अधारमा बागलुङ नगरपालिका सम्मानित भएको हो ।

काठमाडौँमा आयोजित नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाले आर्थिक वर्ष २०८१÷८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने बागलुङ नगरपालिकालाई सम्मान गरिएको हो ।

गत असारमा ठेक्का सम्झौता भएको सडक गत माघमै कालोपत्र थालिएको र चैतसम्म दुई वटा सडक कालोपत्र सम्पन्न गरिएको थियो भने एउटा सडक कालोपत्रका लागि ग्राभेल भइसकेको छ । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत बागलुङ नगरपालिकामा निर्माण भइरहेका तीन प्रमुख सडक योजनाको सफलतापूर्वक सञ्चालन र कार्यान्वयनको मूल्याङ्कन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नगरप्रमुख वसन्तकुमार श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

बागलुङ नगरपालिका–४ स्थित ओडारचौरबाट ढोडेनीसम्म दुई दशमलव दुई किलोमिटर र वडा नम्बर १ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाटको एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र भइसकेको छ । निर्माणको अन्तिम चरणमा रहेको बागलुङ नगरपालिका–७ को मूलपानीबाट तितौरेसम्मको आठ दशमल छ किलोमिटर सडकको प्रगति ७० प्रतिशत पुगेको र बर्खा सकिँदा साथ कालोपत्र गरिने निर्माण व्यवसायीका इञ्जिनियर मनोज शर्माले जानकारी दिनुभयो ।

बर्दियाको किरिनखोलामा जलसतह सतर्कता तहभन्दामाथि,सावधानी अपनाउन आग्रह

काठमाडौँ, २१ साउनः बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागले एक सूचना सार्वजनिक गर्दै बर्दियाको किरिनखोला जलमापन केन्द्रको जलसतह बढेको र नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा स्थानमा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको हो । विभागले बुधबार बिहानसम्म आवश्यक सावधानी अपनाउनसमेत सबैको ध्यानाकर्षण गरेको छ ।

यसअघि विभागले रुकुम पश्चिमको ठूलो भेरी नदीको रिम्ना जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरेको थियो ।

‘कुलिङ अफ पिरियड’ : समिति सभापति र सचिवले उत्तरदायीपूर्ण र परिभाषित जिम्मेवारी बहन नगरेको छानबिन समितिको ठहर

काठमाडौँ-सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ले सो विधेयकलाई अन्तिमरूप दिने क्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिले उत्तरदायीपूर्ण र सचिवले परिभाषित जिम्मेवारी पूरा नगरेको ठहर गरेको छ ।

समितिले प्रतिनिधिसभामा पेस गरेको प्रतिवेदनमा सो प्रकरणमा संलग्न राजनीतिक व्यक्तिको राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोहीबमोजिम गर्न सुझाव दिइएको छ ।

गत जेठ २ मा परिमार्जनसहित सर्वसम्मत पारित गरेको समितिको निर्णय र मस्यौदा प्रतिवेदनमा सभापति रामहरि खतिवडाको हस्ताक्षर भएको र परिमार्जित मस्यौदा प्रतिवेदन समितिका सदस्यलाई देखाई छलफल गरी सभामा पेस गर्नुपर्नेमा सो नगरी निश्चित व्यक्तिबीच अनौपचारिक बैठक बसी प्रतिवेदन पठाएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

मस्यौदा प्रतिवेदन सभापतिको हस्ताक्षरबाट सभामा पेस भएको देखिँदा कानुनत: हस्ताक्षरकर्ताको हैसियतले मस्यौदामा देखिएको गम्भीर त्रुटिका सम्बन्धमा सभापतिले उत्तरदायीपूर्ण र समन्वयकारी भूमिका वहन नगरेको समितिको निष्कर्ष छ ।

समितिका सचिव सुरजकुमार दुरा सचिवको हैसियतले उपसमिति र समितिको बैठकमा प्रारम्भदेखि नै रही प्रतिवेदन लेख्नेसमेत भूमिका रहेको हुँदा सचिवले पनि परिभाषित जिम्मेवारी पूरा नगरेको प्रतिवेदनमा उल्लेख छ । सो विधेयकको समिति र उपसमितिमा हुने छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रतिनिधि सहसचिव र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रूपमा रहेका सहसचिव प्रारम्भदेखि नै संलग्न रहेको र विधेयकको प्रतिवेदन निज सहसचिवले जेठ ६ गते प्राप्त गरे पनि विधेयकको त्रुटि सच्याउन सम्बन्धित समितिलाई जानकारी गराई सुधार गर्न ध्यान नदिएको समितिको निष्कर्ष छ ।

जनताको मतादेशमार्फत प्राप्त विधायिकी अधिकार सभा र संसदीय समितिले प्रयोग गर्ने संविधान र सम्बन्धित सभाको नियमावलीले व्यवस्था गरेको सम्बन्धमा सभा वा समितिले गरेका निर्णयको सम्मान र पालना गर्दै कार्यान्वयन गर्नु, गराउनु सरकारी निकाय र पदाधिकारीको कानुनी जिम्मेवारी भएको प्रतिवेदनमा उल्लेख छ । “यस संवैधानिक र कानुनी व्यवस्थाको आधारमा संसदीय समिति र सभाले पारित गरेको उक्त विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’ को विषय हटाउन समूह बनाई सार्वजनिक रूपमा ‘लबिइङ’ गर्दै हिँड्नु परिभाषित जिम्मेवारी भएका पदाधिकारीको पदीय आचरण मान्न सकिन्न”, प्रतिवेदनमा लेखिएको छ ।

राज्य व्यवस्था समितिले पारित गरेको सो विधेयकसम्बन्धी प्रतिवेदनमा रहेको विश्राम अवधि सम्बन्धमा मुख्यसचिव, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव (कानुन) को प्रत्यक्ष संलग्नता नदेखिए पनि त्यससम्बन्धमा सार्वजनिक रूपमै विपक्षमा देखिनु शोभनीय नभएको समितिले ठहर गरेको छ ।

“विधेयकको दफा ८२ को उपदफा (४) र (५) का बीच कानुनी तादात्म्यता सम्बन्धमा गम्भीर त्रुटि भएको देखिँदा यसमा संलग्न पदाधिकारी वा व्यक्तिलाई के कस्तो कारबाही गर्नुपर्छ भन्ने सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोहीबमोजिमको सुझाव एवं निष्कर्ष छ”, प्रतिवेदनमा उल्लेख छ ।

छानबिन समितिका सभापति जीवन परियारले सो विधेयकका सम्बन्धमा मिहीन रूपमा दफावार छलफल नगरिएको, परिमार्जन गरिएको प्रतिवेदन समितिका सदस्यले अन्तिममा नहेरेको र छलफल नगरिएको छानबिनका क्रममा पाइएको स्पष्ट पार्नुभयो । उहाँले मस्यौदा प्रतिवेदनसँग मूल विधेयक एकीकरण गरी मिलाउने प्रणाली नभएको र विधेयक मस्यौदामा मिलाउने जिम्मेवारीमा संलग्न पक्षले आफ्नो दायित्व पूरा नगरेकाले कानुनी तादाम्यता नमिलेको सदनलाई जानकारी गराउनुभयो ।

प्रतिवेदनले सो त्रुटिका सम्बन्धमा राजनीतिक व्यक्तिलाई राजनीतिक र नैतिक जिम्मेवारी तथा कर्मचारीको पदीय र कानुनी जिम्मेवारी हुने हुँदा सोही बमोजिमको व्यवस्था गर्न सुझाव दिएको छ । समितिले आगामी दिनमा यसखालका त्रुटि हुन नदिन मूल विधेयक र समितिको मूल प्रतिवेदन एकीकृत रूपमा हेर्ने र अध्ययन गर्ने अभ्यास प्रारम्भ गर्न सुझाव दिएको छ ।

विधेयकमाथिको दफावार छलफलमा सम्बन्धित मन्त्रालयका निश्चित तहका पदाधिकारीलाई मात्र समितिमा पहुँच दिने, विधेयक प्रस्तुतकर्ता मन्त्रीलाई त्यससम्बन्धमा बढी जवाफदेही बनाउने, संवेदनशील छलफलमा गोपनीयता र पारदर्शितालाई सन्तुलनमा राख्न सोही अनुरूप सरोकारवालाबाहेक र अन्यलाई विचार गरी प्रवेश दिन समितिले सुझाव दिएको छ ।

“समितिका निर्णयलाई एक रूपता कायम गर्न र मानवीय त्रुटि कम गर्न मार्गदर्शन तयार गरी लागू गर्ने, सभापतिले निर्णय प्रक्रियामा सबै सदस्यलाई विधेयकमा के–के परिमार्जन गरियो भन्ने विषयलाई वाचन गरी निर्णयमा सदस्यको हस्ताक्षर गर्ने पद्धतिको विकास गर्ने तथा समितिको अन्तिम प्रतिवेदन सभामा पठाउनुपूर्व अनिवार्य रूपमा समितिको बैठक राखी छलफल गराउनुपर्ने”, छानबिनको निष्कर्ष सुनाउँदै सभापति परियारले भन्नुभयो ।

समितिले राज्य व्यवस्था समितिका सभापति, सचिव, सदस्य, विज्ञ, गृहमन्त्री, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विभिन्न राजनीतिक दलका मुख्य तथा प्रमुख सचेतक, संसद्मा रहेका सबै राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्वतन्त्र सांसदसँग अन्तरक्रिया र छलफल गरेको उहाँले जानकारी दिनुभयो ।

यसैगरी, समितिले मुख्यसचिव, उच्चपदस्थ कर्मचारी, संसद्का महासचिव, विभिन्न मन्त्रालयका सचिवसँग पनि प्रत्यक्ष साक्षात्कार गरेको थियो । समितिले २९ दिनसम्म विभिन्न ३७ पटक बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । समितिले आजै सभामुख देवराज घिमिरेसमक्ष प्रतिवेदन बुझाएको थियो । सोमबार रातभर सिंहदरबारमा बैठक बसेर समितिले प्रतिवेदन तयार गरेको थियो ।

प्रतिनिधिसभाले गत असार २३ गते उच्चस्तरीय छानबिन विशेष समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहनुभएको थियो ।

कर्णालीमा ९६ प्रतिशत धान रोपाइँ

काँक्रेविहार (सुर्खेत), २० साउन : कर्णाली प्रदेशमा ९६ प्रतिशत रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशका अनुसार प्रदेशको ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ सकिएको हो ।

निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार प्रदेशका १० जिल्लामध्ये जुम्ला, हुम्ला र डोल्पाले शतप्रतिशत रोपाइँ भएको छ । जुम्लामा दुई हजार ८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पाको १९८ हेक्टरमा रोपाइँ सकिएको छ ।

चार जिल्लामा रोपाइँ ९९ प्रतिशतको हाराहारीमा पुगेको छ । जाजरकोटमा सबैभन्दा बढी ९९.२ प्रतिशत रोपाइँ हुँदा सल्यान, मुगु र रुकुम पश्चिममा समान ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । जाजरकोटमा दुई हजार ६४५ हेक्टरमध्ये दुई हजार ६२३ हेक्टर र सल्यानमा छ हजार १३४ हेक्टरमध्ये छ हजार ७२ हेक्टरमा रोपाइँ सकिएको हो । कालिकोटमा दुई हजार ४६२ हेक्टरमध्ये ९८ प्रतिशत अर्थात् दुई हजार ४१२ हेक्टरमा रोपाइँ सकिएको छ ।

प्रदेशमा सबैभन्दा बढी धानखेती हुने सुर्खेतमा भने ९५ प्रतिशत रोपाइँ भएको छ । सुर्खेतमा कुल १४ हजार ९२१ हेक्टर क्षेत्रफलमध्ये १४ हजार १७४ दशमलव ९५ हेक्टरमा रोपाइँ सकिएको छ । दैलेखमा कुल सात हजार ६२० हेक्टरमध्ये सात हजार ८६ दशमलव ६ हेक्टरमा रोपाइँ भएको छ ।

यस्तो छ प्रधानमन्त्री ओलीको तुर्कमेनिस्तानमा आजका कार्यक्रम

काठमाडौँ, २१ साउनः भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तुर्कमेनिस्तानको तटवर्ती सहर अवाजामा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज विभिन्न कार्यक्रममा सहभागी हुँदैहुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आज ‘जलवायु परिवर्तनका कारण सिर्जित प्रकोपमा भूपरिवेष्ठित विकासशील देशहरुले अवलम्बन गर्नुपर्ने अनुकूलन क्षमताको अभिवृद्धि र लचिलोपन’ विषयका छलफल सत्रलाई सम्बोधन गर्नुहुने कार्यसूची छ ।

यस्तै, भूपरिवेष्ठित विकासशील देशहरूका लागि व्यापार तथा वाणिज्यको सहजता र क्षेत्रीय सहकार्य विषयक छलफल सत्रको प्रधानमन्त्री ओलीले सहअध्यक्षता गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले आजै काजकस्तान, अजरवैजान, ताजकस्तानका राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

यही साउन २० देखि २३ गतेसम्म अवाजामा भइरहेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणा गर्नुभएको थियो ।

लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल भइरहेको छ । ती मुलुकहरुको अन्तरराष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने सन्दर्भमा छलफल जारी छ ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्यासिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उच्चपदस्थ सरकारी अधिकारी सहभागी हुनुहुन्छ ।

भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तरराष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिहेको सन्दर्भमा तेस्रो सम्मेलन भइरहेको हो ।

सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ ।

भूपरिवेष्टित विकासशील देशहरूसम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३-५ मा अस्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तरराष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तरराष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो ।

आजको मौसम : देशका केही भागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २१ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ ।

मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेस प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अब सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

काठमाडौँ-सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ । विभागले सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो ।

सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ ।

विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो ।

सूचनामा भनियको छ, “उपर्युक्त सन्दर्भमा राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदैआएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएकोइ व्यहोरा जानकारीका लागि अनुरोध छ ।”

छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा थपिएको दफा ७ (ख) बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य हुने व्यवस्था गरिएको छ । उक्त दफाअनुसार अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिले तोकिएको दस्तुरसहित स्थानीय अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

पानीजन्य रोग नियन्त्रण गर्न पानीपुरी र चटपटे बिक्रीको अनुगमन गर्दै कामपा

काठमाडौँ-काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गरिने भएको छ । बर्खाको समयमा सहज रूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु बिक्रीलाई नियन्त्रण गर्न अनुगमन गर्न लागिएको हो ।

त्यस्ता खाद्यवस्तुमा जहाँको पानी पनि प्रयोग गर्न सकिने हुँदा प्रदूषित पानीले उपभोक्ताको स्वास्थ्यमा पानीजन्य रोगको सङ्क्रमण बढाउन सक्ने देखिएकाले कामपाले त्यसको नियमन गर्न लागेको जनाएको छ ।

कामपाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन ऋषिप्रसाद भुसालले खाद्यप्रविधि र खानेपानी ढल व्यवस्थापन विभागसँगको सहकार्यमा वर्षायामभरि यो अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । वर्षायामभरि पानीपुरी तथा चटपटे बिक्री वितरणको नियमनका साथै पिउने पानीको गुणस्तर परीक्षणलाई तीव्रता दिइने उहाँले बताउनुभयो ।

हैजा नियन्त्रणका लागि खानेपानीको गुणस्तरमा विशेष ध्यान दिँदै जारको पानी ढुवानीमा हुने कमजोरी रोक्न ‘प्लास्टिक ¥याप स्टिकर’ र सचेतनामूलक अभियान सञ्चालन गर्ने तयारीमा कामपा रहेको भुसालले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार खानेपानी उपभोक्ता समितिसँग समन्वय गरी पानीको स्रोतदेखि घरसम्मको गुणस्तर जाँच गरिने छ । त्यस्तै खोलामा तरकारी पखाल्ने र ढल मिसाउने कार्यलाई निरुत्साहित गर्ने तयारी पनि कामपाले गरिरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा कक्षा ७ देखि १० सम्मका विद्यार्थीलाई डेङ्गी र हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम, ३२ वटै वडामा हैजा रोकथाम तथा नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भइसकेका कामपाको स्वास्थ्य विभागले जनाएको छ ।

विद्यार्थीले सिकेका कुरा समुदायमा पु¥याउन सहज हुने भएकाले प्रत्येक विद्यालयमा स्वास्थ्य नेतृत्वकर्ता तोकेर सरसफाइमा सक्रियता बढाइएको महामारी रोग रोकथाम तथा नियन्त्रण फोकलपर्सन भुसालले बताउनुभयो । उहाँका अनुसार यसको लागि कामपाले ३२ वटै वडामा स्वयंसेवक र स्वास्थ्यकर्मी परिचालन गरिसकेको छ ।

कामपाले स्वास्थ्यसम्बन्धी गुनासो सुन्न र जानकारी लिन निःशुल्क हटलाइन नम्बर ११८० उपलब्ध गराउनुका साथै कुनैपनि समस्या परे सम्पर्क गर्न आग्रह गरेको छ ।

सहरी व्यवस्थापन विभागसँगको समन्वयमा अव्यवस्थित रूपमा राखिएका निर्माण सामग्री हटाउन पहल गर्ने, पानी जम्ने सम्भावित ठाउँमा सरसफाइ गरी व्यवस्थापन गर्ने, कामपा प्रहरी, विपद् व्यवस्थापन विभाग, नेपाल रेडक्रस सोसाइटीलगायत युवासँगको सहकार्यमा नागरिक सचेतना अभियान र स्वयंसेवक परिचालन गर्ने तयारी भइरहेको फोकलपर्सन भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार महानगरले कामपाका प्रत्येक कार्यालय परिसरमा हरेक शुक्रबार बिहान ९ देखि १० बजेसम्म डेङ्गी बासस्थान खोज गरी लार्भा नष्ट गर्ने अभियान पनि सञ्चालन गरिरहेको छ ।

कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, २१ साउन: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ८० पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६९ पैसा र बिक्रीदर २१ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७ रुपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४६० रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १२ पैसा र विक्रीदर ३६५ रुपैयाँ ६७ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, २१ साउन : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

आजै अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

अन्तरराष्ट्रिय सम्बन्ध समितिमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौतीलगायतका विषयमा’ समसामयिक छलफल गर्ने कार्यसूची छ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा दफावार छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिमा ‘जलस्रोत विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । त्यस्तै, सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिमा ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदन’का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

अनुदान रकम माग गर्दै सर्लाहीमा चिनी उद्योग अगाडि किसानको प्रदर्शन

मलङ्गवा (सर्लाही), २० साउनः अनुदान रकम माग गर्दै सर्लाहीमा चिनी उद्योग अगाडि उखु किसानले टायर बालेर प्रदर्शन गरेका छन् । उखु उत्पादक सङ्घको अगुवाइमा आज सर्लाहीमा रहेका तीन वटै चिनी उद्योग अगाडि टायर बालेर किसानले प्रदर्शन गरेका हुन् ।

राज्यबाट प्रदान गरिने प्रतिक्विन्टल रु ७० अनुदान दिइँदै अइएको रकम आव २०८२/८३ को बजेटमा काटेर रु ३५ गरिएको भन्दै किसान आन्दोलनमा उत्रेका हुन् । गोडैता नगरपालिकाको बगदहस्थित महालक्ष्मी सुगर मिल्स, धनकौलको अन्नपूर्ण चिनी उद्योग र हरिवनको इन्दुशङ्कर चिनी उद्योग अगाडि किसानले प्रदर्शन गरेका छन् ।

गत वर्षको बाँकी अनुदान रकम रु ३५ राज्यले दिनुपर्ने र चालु आर्थिक वर्षमा कटौती नगरी रु ७० अनुदान रकम दिने सुनिश्चितता नगरेसम्म आन्दोलन नरोकिने किसान बताउँछन् ।

प्रदर्शनमा सहभागी किसानले ‘उखुको बाँकी अनुदान रकम रु ३५ तत्काल निकासा गर’, ‘आर्थिक वर्ष २०८२/८३ मा रु ७० अनुदानलाई निरन्तरता देउ’, र ‘उखुको न्यूनतम मूल्य एक हजार कायम गर’ भन्ने मागसहित नाराबाजी गरिरहेका हुन् ।

बगदहस्थित महालक्ष्मी सुगर मिल्स अगाडि विरोध प्रदर्शनमा सहभागी किसानलाई सम्बोधन गर्दै गोडैता नगरपालिकाका प्रमुख देवेन्द्रकुमार यादवले उखु किसानको माग सम्बोधन नगरिए आगाी भदौ ८ गतेदेखि काठमाडाैँ केन्द्रित प्रदर्शन गरिने उल्लेख गर्नुभयो । “उखु किसानलाई चिनी उद्योगले पनि ठगिरहेको अवस्थामा सरकारले अनुदान रकम कटौती गरेपछि थप मर्कामा परेका छन्”, उहाँले भन्नुभयो ।

महालक्ष्मी सुगर मिल्स बगदहले हालसम्म रु चार करोड रकम किसानलाई भुक्तानी नदिएको नगरप्रमुख यादवले बताउनुभयो । सरकारले अनुदान नदिएसम्म आन्दोलन नरोकिने उहाँको भनाइ छ ।

“सुख्खा तथा खडेरीको समयमा किसानलाई धान रोपाइँ गर्न पैसा छैन् । अनुदान रकम पाएको भए किसानलाई खेतीपाती गर्न सजिलो हुन्थ्यो”, नगरप्रमुख यादवले भन्नुभयोे, “रु ७० बाट कटौती गरेर रु ३५ मात्र दिएर किसानसँग बेइमानी भएको छ । प्रतिक्विन्टल रु एक हजार न्यूनतम मूल्य कायम गरोस्, हामीलाई अनुदान चाहिँदैन ।”

अन्यबाली झै उखुलाई पनि पकेट क्षेत्र घोषणा गरेर सरकारले किसानलाई प्रोत्साहन गर्नुपर्ने बलरा नगरपालिकाका प्रमुख रामाशङ्कर कुशवाहाले जोड दिनुभयो । मकै, धान, सुन्तला जोनका लागि सरकारले अरबौँ रुपैयाँ विनियोजन गरे पनि उखु किसानका लागि राज्यले केही नगरेको उहाँले गुनासो गर्नुभयो ।

अनुदान रकमलाई निरन्तरता दिन माग गर्दै उखु जिल्लास्थित उत्पादक सङ्घले यही साउन १८ गते सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । गत असार २३ को मन्त्रिपरिषद् बैठकले किसानलाई दिँदै आएको प्रोत्साहन अनुदान रकम आधा घटाएर प्रतिक्विन्टल रु ३५ कायम गरेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत पुसमा प्रतिक्विन्टल रु ७० अनुदान प्रस्ताव गरेसँगै सोही रकम पाउँदै आएका थिए । चालु आवको बजेटमा उखु किसानलाई दिइँदै आइएको अनुदान कटौती गरिएको हो ।

गत आवमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ पर्यटकको मृत्यु

गण्डकी, २० साउनः गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८ पर्यटकको लेक लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा छ नेपालीसहित आठ भारतीय, अमेरिका, जर्मन, कोरिया र स्वीजरल्याण्डका एक/एकजना नागरिक रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।

पदत्रायाका क्रममा लडेर र अन्य दुर्घटनाका कारण गतवर्ष चारजना पर्यटकले ज्यान गुमाएका एक्यापका प्रमुख डा रविन कडरियाले जानकारी दिनुभयो । अधिकांश लेक लाग्ने घटना मुस्ताङ र मनाङको उपल्लो भेगमा हुने गरेको उहाँको भनाइ छ ।

आव २०८०/८१ मा अन्नपूर्ण क्षेत्रमा २० जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो । लेक लागेका कतिपय पर्यटकलाई हेलिकप्टरबाट समेत उद्धार गरेर बचाइएको एक्यापका प्रमुख कडरियाले बताउनुभयो । सडकमार्ग भएर मुक्तिनाथ दर्शनका लागि जाने भारतीय पर्यटकमा लेक लाग्ने समस्या बढी देखिने गरेको उहाँले उल्लेख गर्नुभयो ।

“हिमाली तथा उच्च पहाडी भेगको यात्रामा जाँदा एकैपटकमा धेरै उचाइमा पुग्न हुँदैन, विश्राम लिँदै जानुपर्छ”, डा कडरियाले भन्नुभयो, “लेक लागेको लक्षण अनुभव भएमा तत्कालै कम उचाइ भएको ठाउँमा फर्किहाल्नुपर्छ ।” एक्याप कार्यालयले विगत दुई वर्षदेखि लेक लागेका घटनाको तथ्याङ्क राख्न सुरू गरेको हो । पदयात्रामा क्रममा लडेर मृत्यु हुने गरेका घटना पनि बर्सेनि दोहोरिने गरेका छन् । आव २०८०/८१ मा कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको पदयात्रा क्रममा लडेर मृत्यु भएको थियो ।

“लामो दुरीको पदयात्रामा निक्किँदा एक्लै जानुहुँदैन, समूहमा वा पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ”, प्रमुख डा कडरियाले भन्नुभयो, “ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।”

पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताउनुभयो । “हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ, कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासि पुग्दा लेक लाग्ने हुन्छ”, उहाँले भन्नुभयो, “यो समस्या मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकमा बढी देखिने गरेको छ ।”

काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रर्दशक गुरुङले बताउनुभयो । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको उहाँको भनाइ छ । उहाँले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाउनुभयो ।

शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताउनुभयो । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्न नहुने उहाँको भनाइ छ ।

पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटक पुगेका थिए । अन्नपूर्ण चक्रिय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

सात हजार ६०० वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्दछन् ।

सात किलोभन्दा बढी सेतो हेरोइनसहित दुई जना विदेशी पक्राउ

काठमाडौँ, २० साउनः लागुऔषध नियन्त्रण ब्यूरोले सात किलोग्राम ८०० ग्राम सेतो हेरोइनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले लाओसबाट बंैकक हुँदै काठमाडौँ आएका भारत उत्तर प्रदेश, जैनपुरका ३५ वर्षीय फिरोज अहमद र सोही स्थानबाट आएका भारतको इरोद, तालिमनाडुका ३२ वर्षीय मौलेश्वर नन्जुन्दामूर्ति कुरानल भेललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

अहमदलाई साउन १७ र भेललाई साउन १८ गते पक्राउ गरिएको ब्यूरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो । प्रहरीले निजहरूको साथबाट सात किलोग्राम ८०० ग्राम सेतो हेरोइन बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार कारबाही अगाडि बढाइएको सहप्रवक्ता निरौलाले बताउनुभयो । निजहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीद्वारा ३१ पदाधिकारी चयन

काठमाडौँ, २० साउनः राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रियमुक्ति पार्टी नेपाल’ले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमिति तथा केन्द्रीय निकायको पदाधिकारी र सदस्य चयन गरेको जानकारी दिनुभएको हो ।

सो पार्टीले अध्यक्षमहतोसहित तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष, दुई प्रवक्ता, सात उपमहासचिव र सात सचिव चयन गरेको छ । त्यसैगरी केन्द्रीय अनुशासन, निर्वाचन, लेखापरीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ ।

वरिष्ठ उपाध्यक्षमा मलाकुमारी गुरुङ, रामनरेश राय यादव, सुमन सायमी र उपाध्यक्षमा कौसलकुमार सिंह, डा राजीवकुमार झा, राजेन्द्रप्रुाद पाठक र ओमप्रकाश यादव हुनुहुन्छ । त्यसैगरी महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार महतो र अनिलकुमार महासेठ हुनुहुन्छ भने कोषाध्यक्षमा नरेन्द्र बज्राचार्य चयन हुनुभएको विज्ञप्तीमार्फत जनाइएको छ ।

बङ्गलादेश : युनुसद्वारा क्रान्तिको वार्षिकोत्सवमा सुधारका लागि आह्वान

बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले मङ्गलबार मानिसहरूलाई सुधारको ‘अवसर’ लिन आह्वान गर्दै शेख हसिनाको निरङ्कुश शासनको पतन भएको एक वर्षको वार्षिकोत्सव मनाउनुभएको छ ।

तर चुनाव नभएसम्म कार्यवाहक सरकारको मुख्य सल्लाहकारका रूपमा नेतृत्व गरिरहनुभएका ८५ वर्षीय नोबेल शान्ति पुरस्कार विजेता युनुसले प्राप्त उपलब्धिहरूलाई पछाडि धकेल्न खोज्नेहरूविरुद्ध पनि चेतावनी दिनुभयो ।

“आज बङ्गलादेशको इतिहासमा एक अविस्मरणीय अध्याय हो”, ‘लामो समयदेखिको फासीवादी शासनको पकडबाट हाम्रो प्रिय राष्ट्रलाई मुक्त गरेको दिन’ लाई अङ्कित गर्दै उहाँले भन्नुभयो ।

युनुसले साँझ संसद् भवन बाहिर आशा गरिएका भीडलाई सम्बोधन गर्नुहुनेछ । त्यहाँ उहाँले मुख्य राजनीतिक दलका नेताहरूसँगै ‘घोषणापत्र’ जारी गर्ने तालिका छ ।

करिब १७ करोड जनसङ्ख्या भएको दक्षिण एसियाली यो राष्ट्र विद्यार्थी नेतृत्वको विद्रोहले सन् २०२४ अगस्ट ५ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको १५ वर्षको शासनलाई अन्त्य गरेदेखि राजनीतिक उथलपुथलमा परेको छ ।

वार्षिकोत्सव सार्वजनिक बिदा हो र छिटपुट राजनीतिक र्‍यालीहरू बाहेक राजधानी ढाकाका सडकहरू शान्त थिए ।

सक्ने सामान्य बङ्गलादेशीहरूले आराम गर्ने अवसर लिए भने अरूले कामको दैनिक काम जारी राखे ।

“मजदुर वर्गका मानिसहरूले ठूलो सङ्ख्यामा आफ्नो जीवन बलिदान गरे र त्यसपछि आफ्नो नियमित काममा फर्किए”, सडकको छेउमा चिया पसल चलाउने ४० वर्षीय रफिकुल इस्लाम हेलालले भन्नुभयो, “राजनीतिले हामीलाई बिल तिर्न मद्दत गर्दैन, त्यसैले हामीले कुनै कार्यक्रममा भाग लिएनौँ ।”

– एकजुट भएर उभिऔँ –

हसिनाको शासनमा व्यापक मानवअधिकार हनन देखियो । उहाँको शासनमा उहाँका राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्याहरू समावेश थिए र युनुसले लोकतान्त्रिक संस्थाहरूलाई सुधार गर्ने वाचा गर्नुभएको छ ।

“हजारौँको बलिदानले हामीलाई राष्ट्रिय सुधारको यो दुर्लभ अवसर उपहार दिएको छ र हामीले यसलाई जुनसुकै मूल्यमा संरक्षण गर्नुपर्छ”, युनुसले वार्षिकोत्सव मनाउन जारी गरिएको पत्रमा भन्नुभयो, “पतित तानाशाहहरू र तिनीहरूका स्वार्थी सहयोगीहरू सक्रिय छन्, हाम्रो प्रगतिलाई पटरीबाट हटाउन षड्यन्त्र गरिरहेका छन् ।”

तर उहाँले अन्तरिम सरकारले ‘व्यापक सुधार प्रयासहरू’ गरे पनि अधिनायकवादी शासनको फिर्तीलाई रोक्ने उपायहरूमा सम्झौता अझै पनि पहुँचबाहिर रहेको बताउनुभयो ।

सन् २०२६ को प्रारम्भमा तोकिएको चुनावअघि राजनीतिक दलहरूले सत्ताका लागि सङ्घर्ष गर्दा प्रयासहरूले ढिलो प्रगति गरेको छ ।

“राजनीतिक र चुनावी प्रणाली सहित आवश्यक सुधारहरूमा राजनीतिक दलहरू र सरोकारवालाहरूसँग संवाद जारी छ”, उहाँले भन्नुभयो ।

उहाँले मानिसहरूलाई गत वर्षका बलिदानहरू सम्झन र सँगै काम गर्न आह्वान गर्नुभयो ।

“हामी यी खतराहरूको सामना गर्न र पराजित गर्न सबै विभाजनभन्दा बाहिर एकजुट भएर उभिऔँ”, उहाँले भन्नुभयो, “सँगै मिलेर, हामी यस्तो बङ्गलादेश निर्माण गर्नेछौँ जहाँ अत्याचार फेरि कहिल्यै उठ्न पाउनेछैन ।”

विश्वविद्यालयका विद्यार्थीहरूले सार्वजनिक क्षेत्रको जागिरका लागि कोटा प्रणालीमा सुधारको आह्वान गर्दै सन् २०२४ जुलाई १ मा विरोध प्रदर्शन सुरु भएको थियो ।

सन् २०२४ अगस्ट ५ मा विरोध प्रदर्शन चरम अवस्थामा पुगेपछि हजारौँ प्रदर्शनकारीहरूले हसिनाको दरबारमा आक्रमण गरे र उहाँ हेलिकप्टरबाट भाग्नुभयो ।

सतहत्तर वर्षीया हसिना भारतमा हुनुहुन्छ । उहाँले मानवता विरुद्धको अपराधको आरोपमा चलिरहेको मुद्दामा उपस्थित हुन अदालतको आदेशको अवज्ञा गरिरहनुभएको छ ।

इन्डोनेसियाको अर्थतन्त्र फस्टाउँदै, वृद्धि दर ५.१२ प्रतिशत

इन्डोनेसियाको अर्थतन्त्र सन् २०२५ को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ५.१२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो त्रैमासिकमा यो वृद्धि दर ४.८७ प्रतिशत रहेको इन्डोनेसियाको केन्द्रीय तथ्यांक संस्था (बिपीएस) ले मंगलबार सार्वजनिक गरेको हो।

बिपीएसका उपप्रमुख एडी महमुदले पत्रकार सम्मेलनमा भन्नुभयो, “सन् २०२५ को दोस्रो त्रैमासिकमा चालु मूल्यअनुसार इन्डोनेसियाको कुल गार्हस्थ उत्पादन पाँच हजार ९४७ खर्ब रुपियाँ पुगेको छ।”

उत्पादनतर्फ, सबैभन्दा बढी वृद्धि ११.३१ प्रतिशतको दरले ‘अन्य सेवा क्षेत्र’ मा देखिएको छ। त्यसपछि व्यवसायिक सेवा ९.३१ प्रतिशत, यातायात तथा गोदाम सेवा ८.५२ प्रतिशत, तथा होटल तथा खाना सेवा ८.०४ प्रतिशतले वृद्धि भएको छ।

खर्चतर्फ, सबैभन्दा बढी १०.६७ प्रतिशतले वस्तु तथा सेवा निर्यात बढेको छ। त्यसपछि गैर-नाफामुखी संस्थाहरूको खर्च ७.८२ प्रतिशत र स्थिर पूँजी निर्माण ६.९९ प्रतिशतले वृद्धि भएको छ।

जाभा टापुका प्रदेशहरूले ५.२४ प्रतिशत आर्थिक वृद्धि हासिल गरेका छन् र तिनीहरूको योगदान राष्ट्रिय उत्पादनमा ५६.९४ प्रतिशत रहेको छ, जसले देशको समग्र आर्थिक वृद्धिमा जाभा टापुको प्रमुख भूमिका देखाउँछ।