`

हिउँ चितुवा र याक संरक्षणका लागि मनाङमा मैत्रीपूर्ण फुटबल हुने

काठमाडौँ – हिउँ चितुवा र याकको संरक्षणका लागि मनाङका विभिन्न स्थानमा मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । बायोकोस नेपाल र एन्ट फाउण्डेशनको संयुक्त आयोजना तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा उक्त मैत्रीपूर्ण फुटबल खेल खेल्न लागिएको आज यहाँ आयोेजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

स्थानीयवासीले मनाङमा गरेको प्रकृति संरक्षणलाई सम्मान गर्दै स्थानीय युवाहरूलाई संरक्षणमा लागिरहन अभिप्रेरित गर्ने, मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम गर्ने, जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असर बारेमा सूचीत गर्ने र पर्यापर्यटन प्रवर्द्धनमा प्रोत्साहन गर्ने उद्देश्यका साथ उक्त खेल हुन लागेको आयोजकले जनाएको छ ।

हिमालको काखमा रमाएर बस्ने हिउँ चितुवाले हिमालको पारिस्थितिक प्रणालीलाई सन्तुलन राख्न महत्त्वपूर्ण भूमिका खेल्ने मात्र होइन यसको बासस्थान जलवायु परिवर्तनको असर मापन गर्ने सूचक पनि हो ।

यही भदौ २५ देखि २७ गतेसम्म मनाङको तिमाङ, पिसाङ र मुङ्जीमा अवस्थित फुटबल मैदानहरूमा खेल हुने एन्ट फाउण्डेशनका अध्यक्ष प्रशान्त ताम्राकारले जानकारी दिनुभयो । सेलिब्रेटी टिम हिमालयन स्नो लेपर्ड (राष्ट्रिय स्तरका ख्यातिप्राप्त खेलाडीहरू, कलाकार, गायक, विभिन्न सौन्दर्य प्रतियोगिताका विजेताहरू) र स्थानीय खेलाडी टिम कान्जिसरा याक, पिसाङ याक र मनाङ याक  (स्थानीय युवाहरू) बीच खेल हुनेछ ।  

मैत्रीपूर्ण फुटबल खेल यही भदौ २५ गते तिमाङमा, २६ गते पिसाङमा र २७ गते मुङ्जी ब्राकामा अवस्थित फुटबल मैदानमा आयोजना गर्न लागिएको अर्काे आयोजक संस्था बायोकोस नेपालका इकोलोजिष्ट पारसविक्रम सिंहले जानकारी दिनुभयो ।

टिम हिमालयन स्नो लेपर्डमा कालाकार (प्रशान्त ताम्राकार, आँचल शर्मा, त्रिचु राई, नरेन खड्का, आर्यन अधिकारी, जेम्स प्रधान), खेलाडी (हरि खड्का, अनिल गरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंह), मिस नेपाल वल्र्ड सृचा प्रधान, मिस्टर नेपाल समरपन कार्की, मिस युनिभर्स नेपाल सोफिया भुजेल र प्रिस्का उदास उद्घोषक रहनुहुनेछ ।

हिउँ चितुवा र याक संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी जनचेतना जगाउनका लागि मैत्रीपूर्ण फुटबल खेल, स्थानीय आमा समूह, युवा क्लबद्वारा सांस्कृतिक कार्यक्रमको प्रदर्शन, मनाङसम्मको रमणीय यात्रा र विभिन्न उचाइमा रहेका फुटबलका खेल मैदान, हिउँ चितुवा बासस्थानको भ्रमण र अन्तरक्रिया कार्यक्रमका आकर्षण रहेका छन् ।

भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ ।

निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो । भैरहवाबाट हरेक मङ्गलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । उडान तालिकाअनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ ।

तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् । यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिनसक्नेछन् ।

विदेशमा आर्जित सीप, प्रविधि र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपाली समुदायलाई त्यहाँ आर्जन गरेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ ।

ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीआईएफ) को सातौँ विश्व सम्मेलनमा भागलिन क्यानडा पुग्नुभएका अर्थमन्त्री महतले त्यहाँ रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको र लगानीका लागि पर्याप्त क्षेत्र रहेको पनि उहाँको भनाइ छ । ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायत क्षेत्रहरूमा लगानीको आकर्षण रहेको र यी क्षेत्रबाट प्रतिफलको प्रत्याभूत पनि गर्न सकिने अवस्था नेपालमा रहेको अर्थमन्त्री महतले बताउनुभयो ।

नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायस्पोरालाई मद्दत गर्न पनि मन्त्री महतले आग्रह गर्नुभयो । यसैक्रममा उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचनाबिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराउनुभएको थियो ।

अर्थमन्त्री डा महत जीईएफको सातौँ विश्व सम्मेलनमा भाग लिन गत आइतबार क्यानाडा पुग्नुभएको थियो । क्यानडाको भ्यानकुअलमा आयोजना भएको उक्त सम्मेलनबाट अर्थमन्त्री डा महत जीआईएफको उपाध्यक्ष पनि निर्वाचित हुनुभएको छ । उहाँ भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि हट्दैन – गृहमन्त्री श्रेष्ठ

वीरगञ्ज – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनको अभियानबाट सरकार कुनै पनि हालतमा पछि नहट्ने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) पर्साद्वारा आज आयोजित प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले जस्तोसुकै चुनौतीको सामना गरी सरकारले सुरु गरेको सुशासनको अभियानलाई निष्कर्षमा पु¥याई छाड्ने दृढता व्यक्त गर्नुभयो ।

“सरकारले भ्रष्टाचार, अनियमितता र तस्करीका ठूला ठूला फाइलहरू खोलेर अनुसन्धान सुरु गर्दा भ्रष्ट, ठग र तस्करहरू सरकारको सुशासन अभियानलाई असफल बनाउन सक्रिय बनेर लागेका छन्”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “तर सरकार कसैको धम्की, घुर्की र अवरोध गर्दैमा रोकिनेवाला छैन्, जसरी पनि अगाडि बढ्छ ।” सरकारले भ्रष्टाचारका फाइलहरूको छानबिन गरी निष्कर्षमा पु¥याएर दोषीलाई कानूनी दायरामा ल्याइछाड्ने उहाँले बताउनुभयो ।

भ्रष्टाचार र अनियमितताका जालोहरूलाई टुटाउँदै नेपालमा सुशासन कायम गरी आर्थिक समृद्धिको यात्रामा जाने सरकारको लक्ष्य रहेको उहाँको भनाइ थियो । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रित गरी काम अघि बढाएको उल्लेख गर्नुहुँदै उहाँले राजनीतिक परिवर्तनलाई साधन र माध्यम बनाएर जनताको जीवनस्तरमा नयाँ खालको परिवर्तनको अनुभूति गराउन सरकारको ध्यान केन्द्रित रहेको बताउनुभयो ।

सुशासनबिना मुलुकमा आर्थिक समृद्धि हासिल गर्न नसक्ने दाबी गर्नुहुँदै उहाँले सुशासनलाई अनिवार्य सर्त बनाई भ्रष्टाचार तथा अपराधमाथि प्रभावकारी नियन्त्रण गर्न तथा तस्करी, कालोबजारी, ठगी गर्ने अपराधीलाई कारबाही गरी सुशासन कायम गर्न अघि बढ्ेको उल्लेख गर्नुभयो । सरकारले सुरु गरेको सुशासनको अभियान, पार्टीको कार्यसूचीसहित जनतामा जान पार्टीले सञ्चालन गरेको तीनमहिने अभियानमा सक्रियतापूर्वक जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुहुँदै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका गृहमन्त्री श्रेष्ठले आन्तरिक विवाद र मतभेदहरूलाई बिर्सेर जनताको घरघरमा पुग्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परिसङ्घको आग्रह

काठमाडौँ – नेपाल उद्योग परिसङ्घले विदेशस्थित नेपाली राजदूतावासमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले आज परराष्ट्रमन्त्री एनपी साउदसँग छलफल गर्दै वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न तथा पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि नेपाली दूतावासहरुले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने परिसङ्घको भनाइ छ ।

भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेलवे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल–भारतबीच ‘मोटर भेहिकल एग्रीमेन्ट’ गरी नेपाली मालवाहक एवं अन्य सवारी साधनहरुको आवतजावतलाई सहज बनाइनुपर्नेमा परिसङ्घले जोड दिएको छ । छलफलका क्रममा परराष्ट्रमन्त्री साउदले परिसङ्घले उठाएका विषयहरुलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो । मुलुकमा व्यावसायिक वातावरण बनाउने र स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कूटनीतिक पहल गर्ने विषयमा मन्त्रालय सधैँ तयार रहने उहाँको भनाइ छ ।

धादिङबेसी रुवीभ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्ध

मलेखु – धादिङको उत्तरी क्षेत्रमा पर्ने रुवीभ्याली पुग्ने मुख्य गन्तव्य पहिराले अवरुद्ध भएको छ । सदरमुकाम धादिङबेसीबाट खनियाबास गाउँपालिका हुँदै रुवीभ्याली पुग्ने सडक पैदल हिँड्नसमेत नसक्ने गरी अवरुद्ध भएको हो । खनियाबास गाउँपालिका–१ को पेर्चाेगाउँ र लिस्ने खोलाको बीचमा पर्ने म्लिम्लीगङ (जुगाडाँडा) भन्ने ठाउँमा पहिरो खसेको हो । सडकभन्दा माथिबाट झरेको पहिराले सडक नै बगाएको स्थानीय शिक्षक दामन तामाङले जानकारी दिनुभयो । अहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो ।

फेरि उही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ । पहिलो पटकको पहिराले भासिएको जमिन पुनः पहिरा जाँदा बग्न थालेपछि छापचेत गाउँ पनि जोखिममा परेको छ । पहिरोले बिजुलीको खम्बाहरु ढलेका छन् । आँखु खोला किनारबाट सुरु भएको पहिरो सडकबाट करिब ७० मिटर माथि पुगेको छ । त्यसभन्दा केही माथी रहेको छापचेतका ४५ घर जोखिममा परेको स्थानीय एलिया तामाङले बताउनुभयो ।

“पहिलाको पहिरो रोकियो भन्नेमा ढुक्क थियौँ, यसपालि झन् ठूलो पहिरो झ¥यो”, एलियाले भन्नुभयो, “तत्काल पहिरो रोकथामतिर नलाग्ने हो भने बस्तीसम्म पहिरो पुग्ने र गाउँ नै तानिने जोखिम छ ।” पानी नपरेको बेला रुवीभ्यालीतर्फ आउजाउ गर्नेहरु जोखिममा परेका छन् । एलियाले भन्नुभयो, “बलियो मान्छेहरु जोखिम मोलेरै दौडेर आउने जाने गर्छन् । भारी बोकेर हिँड्नेहरुले भने प्लेङयर्ताेङ (गोलो ढुङ्गा)को बाटो हुँदै हिँड्नु पर्ने बाध्यता छ ।”

रुवीभ्यालीको बोराङ, सेर्तुङ, तिप्लिङ, लापाका स्थानीय आउजाउ गर्ने मुख्य सडक हो । बर्खाको बेला सदरमुकाम धादिङबेसीबाट किन्ताङफेदीसम्म एउटा गाडी र किन्ताङ खोला तरेपछि अर्काे गाडीमा खनियाबास–४ तरम्हानेसम्म पुगेर पैदल सुरु गर्ने यात्रुलाई म्लिल्मीगङको पहिरोले थप समस्या पारेको छ । बर्खाको बेला गाडी त पुग्दैन थियो नै पहिरोले पैदल हिँडेर समेत बाटो पार गर्न नसकिने भएपछि लामो समय लगाएर प्लेङयर्ताेङको बाटो घुम्नुपर्ने बाध्यता छ । पहिरो नझर्दासम्म यो बाटोमा दैनिक सयौँ स्थानीय आवतजावत गर्दै आएका थिए ।–––

प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले भोलि पूर्णता पाउने

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिले भोलि पूर्णता पाउने भएका छन् । समितिका सभापतिको उम्मेदवारी प्रस्ताव दर्तापछि आजै ती प्रस्तावको सूची प्रकाशित भइसकेको छ । भोलि सोमबार सम्बन्धित समितिमा ती प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछन् । सङ्घीय संसद् सचिवालयका अनुसार नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएको छ ।

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलि सभापति घोषणासँगै सपथ ग्रहणको काम पनि गर्ने तयारी सचिवालयको छ । दर्ता भएका प्रस्ताव सम्बन्धित समितिको भोलिको बैठकमा प्रस्तावकले प्रस्तुत गर्नु हुनेछ र समर्थकले उक्त प्रस्तावको समर्थन गरेपछि निर्णयार्थ प्रस्तुत हुनेछ । एक मात्र प्रस्ताव दर्ता भएका समितिमा समर्थक सदस्यले बोलिसकेपछि सभापतित्व गर्ने सदस्यले प्रस्तावित सदस्य सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुहुनेछ ।

दुई वटा प्रस्ताव दर्ता भएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि दर्ता क्रमअनुसार समर्थक सदस्यले बोलिसकेपछि दुई वटै प्रस्तावमाथि छलफल हुनेछ । त्यसपछि तत्काल सभापतित्व गर्ने सदस्यले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ । समितिको भोलिका बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने पनि प्रवक्ता गिरीले जानकारी दिनुभयो । प्रतिनिधिसभाअन्तर्गतका समितिको सभापतिको निर्वाचनका लागि प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७६ को उपनियम (१) बमोजिम सभामुखले भोलि दिउँसो ३ बजेको समय निर्धारण गर्नुभएको छ । समितिको सभापतिका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमत पार्टीकातर्फबाट आज उम्मेदवारी दर्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । दशमध्ये नौ समितिको सभापतिमा एकल उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको उम्मेदवारी छ । अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ । कानून, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेलको उम्मेदवारी दर्ता भएको सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो । ‘मिनी पार्लियामेन्ट’ का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन हुन नसक्दा समितिको काम प्रभावकारी हुन सकेको थिएन ।

समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन – प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ ।ललितपुरको सैँबु भैँसेपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको सम्पर्क कार्यालय तथा निवासको आज उद्घाटन गर्दै उहाँले राष्ट्रिय सहमतिका साथै मुलुकलाई समृद्धि र सुशासनको दिशामा अघि बढाउने उद्घोष गर्नुभयो ।

“स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प छैन,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “मैले कार्यकारी प्रमुखको हैसियतले यो पक्षमा आफ्नो ठाउँमा राष्ट्रिय सहमति र समझादरी गरेर अगाडि जाने प्रयास गर्दै आएको छु ।”

प्रधानमन्त्री दाहालले प्रदेशहरूलाई प्रभावकारी बनाउन तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नवनिर्मित भवनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “प्रदेश प्रमुख र मुख्यमन्त्रीको भवन सुन्दर छ, भैँसेपाटी ठाउँ पनि रमाइलो छ, मैले यसलाई भवन र स्थानको कुरा हैन, हाम्रा प्रदेशहरूलाई प्रभावकारी बनाउनुपर्ने छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सन्दर्भमा बेलामौकामा केही मानिसले प्रश्न उठाउने गर्छन् त्यसको जवाफ पनि हो । जुन सङ्घीयता संस्थागत गर्न एक कदम अघि बढेको छ ।”

प्रधानमन्त्री दाहालले संविधानको प्रभावकारी कार्यान्वयन गर्न र राजनीतिक स्थिरता र स्थायित्वको वातावरणलाई अझ राम्रोसँग अगाडि बढाउन तथा सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय उद्देश्यलाई पूरा गर्न प्रदेश र स्थानीय सरकारले सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।  

नयाँ भवनले समृद्ध सुसंस्कृत, प्रणाली र विधिविधानमा चल्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले प्रदेश सरकार र स्थानीय तहले सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई प्रभावकारी रुपमा अगाडि बढाउन आग्रह पनि गर्नुभयो ।

प्रधानमन्त्री दाहालले नयाँ मन्त्री बनेपछि पुल्चोकको मन्त्री निवासमा को पहिला गएर कुन क्वाटरमा बस्ने भन्ने ‘लिगलिगे दौड’ हुने गरेको ठट्ठा गर्दै अब त्यस्तो प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले सङ्घीय मन्त्रीको निर्माणाधीन निवासमा पनि सम्बन्धित मन्त्रीको तोकेको खण्डमा भवनको मर्मत स्याहार प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन र यसको संस्थागत विकासका निम्ति नवनिर्मित भवन उदाहरणीय हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले प्रदेश सरकारले समन्वय र सहकार्यका साथ जनतालाई छिटो छरितो र सहज ढङ्गले सुविधा दिलाउनेतर्फ सक्रिय ढङ्गले लाग्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङ्गले नयाँ सहर, ‘स्मार्ट सिटी’ निर्माणलाई अगाडि बढाउन मन्त्रालय लागि परेको र निर्माणाधीन पूर्वाधारको चाँडो निर्माण सम्पन्न गर्नेतर्फ पनि ध्यान दिइएको उल्लेख गर्नुभयो ।

सहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले सरकारले मन्त्रालयलाई दिएको जिम्मेवारी अनुरुप प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास निर्माण सम्पन्न गरिएको तथा निर्माणाधीन सङ्घीय मन्त्री निवास पनि छिट्टै सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार सहरी विकास मन्त्रालयले प्रदेश प्रमुख र मूख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास निर्माण गरेको हो ।

विसं २०७६ असोज २६ गतेदेखि निर्माण कार्य सुरु भएर चार वर्षभित्र निवास भवन सम्पन्न गरिएको छ ।सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्रीको एक÷एक भवन एउटै कोलोनिमा निर्माण गरिएको छ ।

सत्र रोपनी सात आनामा भवन, पाँच रोपनीमा आन्तरिक सडक र आठ आनामा पोखरी र बगैँचा क्षेत्र रहेको छ । अत्याधुनिक सुविधायुक्त भवनसहित सबै पूर्वाधारको लागत मूल्य अभिवृद्धि करसहित रु ८५ करोड रहेको मन्त्रालयले जनाएको छ । केसी–समानान्तर जेभीले पूर्वाधार निर्माण गरेको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्यमन्त्री हस्तान्तरण गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री दाहालले सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रदेश प्रमुख तथा मुख्यमन्त्रीको भवन निरीक्षण गर्नुभएको थियो ।

उद्घाटन समारोहमा सङ्घीय मन्त्रीहरु, सातै प्रदेशका प्रमुख तथा मुख्यमन्त्री, मुख्यसचिव, ललितपुर महानगरपालिकाका प्रमुख, ललितपुरका जनप्रतिनिधि उच्च सरकारी अधिकारीलगगायतको सहभागिता रहेको थियो ।

अभिनेता ताम्राकारको आर्यघाटमा अन्त्येष्टि

काठमाडौँ – कलाकार तथा जादुगर सानु ताम्राकारको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अगाडि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आर्यघाटमा केही समय राखिएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घको संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रममा उहाँको पार्थिव शरीरलाई कलाकार, आफन्त, शुभेच्छुकलगायतले श्रद्धाञ्जलि दिएका थिए । कलाकार ताम्राकारको ७४ वर्षको उमेरमा उपचारकै क्रममा शनिबार निधन भएको थियो । कलाकार सङ्घका पूर्वकार्यवाहक अध्यक्षसमेत रहिसक्नुभएका कलाकार ताम्राकारलाई कलाकार सङ्घको झण्डा ओढाएर श्रद्धाञ्जलि दिइएको थियो । सङ्घका अध्यक्ष मोहन निरौलाले कलाकार ताम्राकारको निधनबाट आफू मर्माहत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगत २८ दिनदेखि उपचाररत हामीमाझ रहनुभएन । उहाँको काम र कलाकारितासँगै चलचित्र क्षेत्रमा दिनुभएको योगदान हामीमाझ रहिरहने छ ।”

मिर्गौलासम्बन्धी रोगले पीडित कलाकार ताम्राकारले गत असार २१ गते छोरा तथा अभिनेता सारुकको निधन भएपछि पुत्रवियोगसमेत खेप्नुभएको थियो । उहाँलाई अन्तिम श्रद्धाञ्जलि दिन चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, अभिनेता दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला, केपी पाठक, नीर शाह, रवि गिरी, वसुन्धरा भुसाललगायतका कलाकर्मी आर्यघाट पुग्नुभएको थियो । ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गर्नुभएका कलाकार ताम्राकारकी श्रीमती रुकमणी ताम्राकार हुनुहुन्छ ।

विदेशमा आर्जित सीप, प्रविधि र पूँजी नेपालको विकासमा लगाउन अर्थमन्त्री महतको आग्रह

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले विदेशमा रहेका नेपाली समुदायलाई त्यहाँ आर्जन गरेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गर्नुभएको छ । ग्लोबल इन्भाइरोमेन्ट फ्यासिलिटी (जीआईएफ) को सातौँ विश्व सम्मेलनमा भागलिन क्यानडा पुग्नुभएका अर्थमन्त्री महतले त्यहाँ रहनुभएका नेपाली समुदायसँग छलफल तथा अन्तरक्रिया गर्ने क्रममा उहाँले यस्तो आग्रह गर्नुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको र लगानीका लागि पर्याप्त क्षेत्र रहेको पनि उहाँको भनाइ छ । ऊर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायत क्षेत्रहरूमा लगानीको आकर्षण रहेको र यी क्षेत्रबाट प्रतिफलको प्रत्याभूत पनि गर्न सकिने अवस्था नेपालमा रहेको अर्थमन्त्री महतले बताउनुभयो । नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायस्पोरालाई मद्दत गर्न पनि मन्त्री महतले आग्रह गर्नुभयो ।

यसैक्रममा उहाँले नेपाली समुदायले उच्च शिक्षाका लागि क्यानाडा आउने विद्यार्थीहरू पर्याप्त सूचनाबिना आउने गरेको र विभिन्न समस्यामा परेको जानकारी गराउनुभएको थियो । अर्थमन्त्री डा महत जीईएफको सातौँ विश्व सम्मेलनमा भाग लिन गत आइतबार क्यानाडा पुग्नुभएको थियो । क्यानडाको भ्यानकुअलमा आयोजना भएको उक्त सम्मेलनबाट अर्थमन्त्री डा महत जीआईएफको उपाध्यक्ष पनि निर्वाचित हुनुभएको छ । उहाँ भोलि साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

जेबी टुहुरे क्रान्तिका नायक र जनताका गायक हुनुहुन्थ्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगायक जुठबहादुर खड्की (जेबी टुहुरे) क्रान्तिकारी आन्दोलनका नायक र जनताका प्रिय गायक भएको बताउनुभएको छ । जनगायक टुहुरेको स्मृतिमा प्रकाशित पुस्तक ‘जनबोलीका अविश्रान्त गायक’को लोकार्पण गर्दै उहाँले टुहुरेको योगदानको कदर गर्दै सरकारले जनगायकको उपाधि दिएको बताउनुभयो । नेपालको वाम लोकतान्त्रिक, राजनीतिक आन्दोलन एवं सांगीतिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको विशिष्ट योगदानकै कारण हालैको मन्त्रिपरिषद् बैठकले टुहुरेलाई जनगायकको राष्ट्रिय सम्मान प्रदान गरेको बताउनुभयो ।

“टुहुरेको गायकीले नागरिकको दुःख बोल्थ्यो, अन्याय विरूद्ध आवाज उठाउन प्ररित गथ्र्यो, महिलाहरूलाई आफ्नो मुक्तिका निम्ति सङ्घर्ष गर्न प्रेरित गथ्र्यो, त्यसैले उहाँ न्यायप्रेमी जनसमुदायका बीच अजर अमर गायकका रूपमा स्थापित हुनुभयो”, उहाँले भन्नुभयो । “टुहुरे नेपालको प्रगतिवादी साहित्यिक एवं सांगीतिक आन्दोलनको एक सिद्धहस्त नेता, राजनीतिक सामाजिक रूपान्तरणका एक अविचलित अभियात्री र जनतामा विद्रोह चेत पैदा गर्ने जनप्रिय जनबोलीका गायक हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “बाल्यकालदेखि नै देश र जनताको मुक्ति र परिवर्तनका निम्ति समर्पित रहनुभएका टुहुरेको सिङ्गो जीवन ऊर्जाले भरिएको छ ।”

टुहुरे नेपाली वाम आन्दोलनको एक बहुआयमिक व्यक्तित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रगतिवादी साहित्यिक सांस्कृतिक आन्दोलन र सामाजिक रूपान्तरणको आन्दोलन उहाँको मुख्य विधा भएको बताउनुभयो । “जतिबेला हामी राजनीतिक आन्दोलनमा सक्रिय भएर जनतालाई जागृत गर्न, सङ्गठित गर्न प्रयत्न गथ्र्यौँ, कोरा विचार प्रवाहबाट जनसमुदायलाई सङ्गठित गर्न निकै कठिन हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर, जब साहित्यकार एवं सङ्गीतकर्मीको प्रस्तुति हुन्थ्यो, जनतामा विशेष प्रकारको अनुराग र आकर्षण हुन्थ्यो ।” कार्यक्रममा प्रधानमन्त्री दाहालले साहित्यक साधक अनिल पौडेललाई रु एक लाख राशीको पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कृत व्यक्तित्व पौडेलले पुरस्कारले जनता तथा समाजको पक्षमा सिर्जना गर्न आफूलाई अझ प्रेरित गरेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले टुहुरेको स्मृति, जीवन र कार्यसमेत समाविष्ट गरी ‘जनबोलीका अविश्रान्त गायक जेबी टुहुरे’ स्मृतिग्रन्थ लोकर्पण गर्नुभएको थियो । पुस्तकमा वरिष्ठ राजनीतिकर्मी, लेखक, साहित्यकार एवं उहाँसँग प्रत्यक्ष सम्बन्ध र सहकार्य गरेका बौद्धिक व्यक्तित्वका साथै घनिष्ठ मित्र र नातेदारका विचार र भावना समेटिएको छ । विसं २००१ मा मोरङमा जन्मिनुभएका उहाँले सांगीतिक क्षेत्रमा प्रवेशसँगै आफूलाई जेबी टुहुरेका रूपमा स्थापित गराउनुभएको थियो ।

पञ्चायती व्यवस्था र राजतन्त्रकाविरूद्ध सांस्कृतिक एवं सांगीतिक आन्दोलनको नेतृत्व गर्नुभएका टुहुरेका सयौँ कृति सार्वजनिक छन् । तीमध्ये ‘आँधीखोलैले मलाई दुई राने बनायो साहुको जालैले’, ‘छोराहरू, ‘शहीदको रात’, ‘आमा दिदी बहिनी हो कति बस्छौं दासी बनेर’लगायत गीतले उहाँलाई राष्ट्रिय गायकमा स्थापित गरेको थियो । २०७८ साल भदौ १० गते टुहुरेको निधन भएको थियो । समारोहमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईलगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो ।

पश्चिम बङ्गालमा अवैध पटाका कारखानामा विष्फोट, पाँचजनाको मृत्यु

कलकत्ता – भारतको पश्चिम बङ्गालको उत्तर २४ परगना जिल्लाको दत्तापुकुरमा रहेको अवैध पटाका उत्पादन कारखानामा विस्फोट हुँदा कैयौँ व्यक्तिको मृत्यु भएको आशङ्का गरिएको छ ।

उद्धार अधिकारीहरूले घटनामा हताहत भएको पुष्टि गर्दै पटाका उत्पादन गर्ने कारखाना रहेको भग्नावशेषको थुप्रोबाट पाँच जनाको शव निकालिएको बताएका छन् ।

“अहिलेसम्म पाँच जनाको शव निकालिएको छ,” अग्नि नियन्त्रण कार्यालयका एक अधिकृत आशिष घोषले बताउनुभयो । दत्तपुकुरस्थित प्रहरी स्रोतका अनुसार विस्फोटमा परी अरु कैयौँको मृत्यु भएको र घाइते भएको आशङ्का गरिएको छ । यो समाचार तयार पार्दासम्म उद्धार कार्य जारी रहेको छ । घाइतेहरुलाई बारासातको एक अस्पतालमा लगिएको अधिकारीहरूले बताएका छन् ।

स्वेदेशी फूलले बजारको माग धान्नै मुस्किल

काठमाडौँ – लगानी अभावका कारण बजारको मागअनुसार फूल उत्पादन हुन सकेको छैन । स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेपछि आयात गर्नुपरेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ । हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म माग वृद्धि हुन्छ तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको एशोसिएशनले जनाएको छ । बजारको मागअनुसार फूल उत्पादन गर्न नसक्नुको मुख्य कारण साना साना व्यापारीले सहज रुपमा ऋण प्राप्त गर्न नसक्नु रहेको फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो ।

“कोरोना महामारीपछि बैंकहरूले सहज ऋण दिँदैनन्, लगानी गर्ने रकम नपाएपछि उत्पादन बढाउन सकिएन, त्यसकारण बजारको माग धान्न सकिएन,” उहाँले भन्नुभयो । अध्यक्ष तामाङका अनुसार पुष्प नीतिहरू कार्यन्वयन हुन नसक्दा पनि लगानी विस्तार गर्न र उत्पादन बढाउन समस्या भएको हो ।

अघिल्ला आर्थिक वर्षमा कोरोना महामारीका कारण फूलको कारोबार कम भए पनि गत आवमा भने रु तीन अर्ब सात करोडको कारोबार भएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा रु ७७ करोडले बढी हो । कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८÷ ८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोलाबरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा प्रयोग हुने सयपत्री र रातो गुलाफ भने छिमेकी मूलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन ।

कोरोना महामारी अघि गुलाफ आन्तरिक उत्पादन राम्रो रहे पनि पछिल्लो समय यसको उत्पादन घढ्दै गएको कारण पनि हरेक वर्ष आयात गर्ने गुलाफको मूल्य बढ्दै गएको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४८ जिल्लामा सर्सरी विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजार भन्दा बढी व्यक्तिले प्रत्यक्ष अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले पुष्प खेती गरेका छन् ।

ओठमा चुम्बन गर्ने प्रशिक्षक निलम्बमा

जेनेभा – अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले स्पेन फुटबल महासङ्घका अध्यक्ष लुइस रुबियाल्सलाई निलम्बन गरेको छ । महिला विश्वकप फाइनलमा स्पेन विजयी भएपछि खेलाडी जेनी हर्मोसालाई ओठमा चुम्बन गरेका उनलाई ९० दिनका लागि निलम्बन गरिएको हो ।

फिफा अनुशासन समितिले प्रशिक्षक रुबियाल्सलाई उनको आचरणलाई लिएर अनुसन्धान पनि गरिरहेको छ । चार दिनअघि अष्ट्रेलियाको सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इङ्गल्याण्डलाई १–० गोलले पराजित गरेको थियो । प्रशिक्षक रुबियालेसले चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरह भएपछि उनले क्षमा याचना गरेका थिए । यद्यपि उनले सहमतिमा चुम्बन गरेको बताएका छन् । खेलाडी जेनीले त्यसको प्रतिवाद गरेकी छन् ।

स्पेनको पहिलो महिला विश्वकप उपाधिको ठूलो उपलब्धिलाई चुम्बनले ओझेलमा पारेको छ । खेलाडी जेनीसहित उनको टोलीका सदस्यले प्रशिक्षक रुबियाल्सलाई जिम्मेवारीबाट नहटाएसम्म खेल मैदानमा नफर्कने घोषणा गरेका छन् । महासङ्घमा उनीहरूले उजुरी पनि दायर गरेका छन् ।

नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि २० दशमलब ५४ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २० दशमलव ५४ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९३ दशमलब ३८ कायम भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ४४ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ११ मा सीमित भएको छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको शेयर मूल्यमा उकालो लागेको छ भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३८ लाख ९५ हजार दुई सय ३६ कित्ता शेयर रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्य १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

साथै स्वाभिमान लघुवित्त छ, सिटिजन म्युचुअल फण्ड पाँच दशमलव ८८, पिपुल्स पावर पाँच दशमलव १८ र अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको शेयर मूल्य चार दशमलव ८९ प्रतिशतले बढेको छ । यस्तै, कमर जीतमाया सुरी हाइड्रोपावर नौ दशमलव ६३, लिवर्टी इनर्जी छ दशमलव ३०, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव ७९, माहुली लघुवित्त पाँच दशमलव ६८ र खानीखोला हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ५१ प्रतिशतले बढेको छ ।

पेस्तोल र गोलीसहित २८ वर्षीय युवा पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटबाट मेड इन युएसए लेखेको एक थान पेस्तोल र ९ एमएन लेखिएको चार राउन्ड गोलीसहित काठमाडौँ महानगरपालिका–७ का चावहिलका २८ वर्षीय सुलभ भन्ने सुरज श्रेष्ठलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र खत्रीले गुण्डागर्दी तथा लागुऔषध कारोबारमा संलग्न श्रेष्ठलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ श्रेष्ठले रामेछाप घर भई बौद्ध बस्ने सानुभाइ लामालाई धारिलो हतियार प्रहार गरी विसं २०६७ मा प्रहरी वृत्त बौद्धबाट ज्यान मार्ने उद्योगमा मुद्दा चलेर पाँच वर्ष कैद भुक्तानी गरिसकेको परिसर प्रमुख खत्रीले बताउनुभयो । पक्राउ श्रेष्ठमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरी परिसरको कार्यभार सम्हालेपछि पहिलोपल्ट आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिसर प्रमुख खत्रीले कोही कसैको सरुवा हुँदैमा कुनै पनि घटनाको अनुसन्धान प्रभावित नहुने बताउनुभयो ।

“कोही कसैको सरुवा हुँदैमा अनुसन्धान प्रभावित हुँदैन, नियमित काम भइरहन्छ, जहाँसम्म भूटानी शरणार्थी प्रकरणको कुरा छ त्यो रोकिँदैन, कानूनअनुसार अगाडि बढ्छ,” उहाँले भन्नुभयो ।

ललिता निवास प्रकरण : किर्ते कसुरमा मुद्दा दायर

काठमाडौँ – ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आज काठमाडौँ जिल्ला अदालतमा किर्ते कसुरमा मुद्दा दायर गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको अनुसन्धान प्रतिवेदनको सिफारिसका आधारमा सरकारी वकिलले उक्त कसुरमा मुद्दा दायर गरेको हो । सरकारी लिखत तथा दस्तखत किर्ते गरेर सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा दुई सय ९० जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

मुद्दा दर्ता गरिएकामध्ये ५२ जनालाई जग्गा जफत प्रयोजनमा प्रतिवादी बनाइएको छ । सरकारी वकिलले सरकारी दस्तखत तथा लिखत किर्तेको कसुरमा संलग्न भएको देखिएका सर्वसाधारण विरुद्ध एक वर्ष कैद सजाय माग दाबी गरेको छ । सरकारी अधिकारी र मन्त्रीहरूलाई दुई वर्ष कैदको सजाय माग दाबी गरिएको छ ।

सरकारी लिखत तथा दस्तखत किर्ते गरी एक सय ४३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाउने सङ्गठितरूपमा काम भएको निष्कर्षसहित सीआइबीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सीआईबीले सङ्गठित अपराध र किर्तेको कसुरमा दुई सय ८६ जनालाई प्रतिवादी बनाउन राय दिएको थियो ।

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

कास्की – कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ । सेती नदी जलविद्युत् आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनीले यही भदौ १९ गतेदेखि आइपिओ जारी गर्नका लागि सार्वजनिक सूचना निकालेको हो ।

आयोजनाको प्रभावित क्षेत्रका रूपमा रहेका माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका वडा नं १९ का स्थानीय बासिन्दाले कम्पनीको आइपिओमा आवेदन दिन सक्नेछन् । भिजन लुम्बिनीले आफ्नो जारी पुँजी रु एक अर्ब ९१ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु १९ करोड १२ लाख ५० हजार बराबरको १९ लाख १२ हजार पाँच सय कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागिएको कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशतले एक लाख ९१ हजार दुई सय ५० कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरिने छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतम्मा तीन लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम् १९ हजार एक सय २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असोज २ गते र ढिलोमा असोज १७ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने असोज २ गतेभित्र आवेदन दिनुपर्ने बताइएको छ । आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

भिजन लुम्बिनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो । आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइन (प्रसारण लाइन) निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । कम्पनीका अनुसार ढिलोमा पनि आगामी मङ्सिरभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरूपमा विद्युत् उत्पादन हुनेछ । स्थानीयवासी, स्थानीय सरकार र प्रशासनको सहयोगबाट नै आयोजना तोकिएको समयमा सम्पन्न हुन लागेको अध्यक्ष पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “जलविद्युत्मा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ, सुरुआती लागत बढेको छैन । पारदर्शीरूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका छौँ, छिट्टै सफलता मिल्नेमा आशावादी छौँ ।”

माछापुच्छ्रेको सार्दिखोला भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावरहाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ । सेती जलविद्युत् आयोजनामा रु पाँच अर्ब लगानी रहेको छ । यसमा रु तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गर्न लागिएको आयोजना प्रमुख इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिनुभयो ।

समाजवादी प्रेस सङ्गठनले असोजभित्र सातै प्रदेश भेला गर्ने

काठमाडौँ – समाजवादी प्रेस सङ्गठनले आगामी असोजभित्र सातै प्रदेशमा भेला आयोजना गर्ने भएको छ । सङ्गठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गरी सङ्गठनको संरचना र सामथ्र्य विस्तार गर्ने निर्णय गरेको हो ।

बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवं श्रमजीवी पत्रकारको विभिन्न सञ्चारगृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । बैठकले सङ्गठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ । अब बस्ने पदाधिकारी बैठकले सङ्गठनको आवश्यक विभाग गठन, सल्लाहकार समिति निर्माण, विभागलाई पूर्णता प्रदान गर्ने छ ।

सङ्गठन सुदृढीकरण, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे बैठकमा छलफल गरिएको उपमहासचिव प्रेम गौतमले जानकारी दिनुभयो । बैठकमा साङ्गठनिक प्रतिवेदनलगायत मातहतका कमिटीले सम्बन्धित भूगोलमा भए÷गरेका कार्यप्रगतिको समीक्षा गर्दै सङ्गठनको नीति, विधानमा छलफल गरिएको थियो । सङ्गठनले आज स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रम गरी मनाउने तथा विभिन्न पुरस्कारको घोषणा गर्ने भएको छ ।

डेङ्गु संक्रमण पहाड र हिमाली क्षेत्रमा पनि देखिन थाल्यो, दार्चुलाको ब्यासमा डेङ्गु सार्ने लामखुट्टे फेला

बैतडी – तराईका जिल्लामा बढी हुने डेङ्गु सङ्क्रमण पछिल्लो समय पहाड र हिमाली क्षेत्रमा पनि देखिन थालेको छ । तराईबाट लामखुट्टे पहाड उक्लिएकाले ती क्षेत्रमा पनि जोखिम बढ्दै गएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “ दार्चुलाको ब्यासमा पनि डेङ्गु सार्ने लामखुट्टे फेला परेको छ । दार्चुलामा प्रदेशकै बढी सङ्क्रमित पनि भेटिएका छन् ।”

पहाडमा पनि डेङ्गु सङ्क्रमण बढ्दै गएको र सङ्क्रमितलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यहाँ पनि डेङ्गु सङ्क्रमण बढेको छ । सबैले सचेत रहन आवश्यक छ ।”

डेङ्गु भएका उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण देखापर्ने गर्दछन् । यसका साथै गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाह्रो हुने, पेट–खुट्टा सुन्निनेजस्ता लक्षण देखापर्ने निर्देशनालयले जनाएको छ ।

डेङ्गु जोखिम कम गर्न निर्देशनालयले प्राविधिक सहजीकरण, किट आपूर्ति र बिरामी व्यवस्थापनमा सहयोग गर्ने गरेको छ । स्थानीय तहहरूले उक्त रोग नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेका जोशीले बताउनुभयो । वर्षात्मा दैनिक डेङ्गुका बिरामी बढ्दै गएपछि प्रदेशभरि डेङ्गु सङ्क्रमण फैलाउने लामखुट्टे नष्ट गर्ने र सरसफाइ अभियानका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको छ । सन् २०२३ को पछिल्लो चार महिनाको तथ्याङ्क हेर्दा यहाँ डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको हो ।

निर्देशनालयका अनुसार मे महिनामा २२, जुनमा २६ जनामा सङ्क्रमण देखिएकामा जुलाइमा त्यो सङ्ख्या बढेर ५८ पुगेको छ । यस्तै अगस्ट महिनामा भने डेङ्गु सङ्क्रमण ह्वात्तै बढेको पाइएको छ । अगस्तको हालसम्म दुई सय १३ जनामा सङ्क्रमण देखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिममा सन् २०२३ को हालसम्म पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । उहाँले भन्नुभयो, “अरु महिनाभन्दा यो अगस्त महिनामा डेङ्गु सङ्क्रमितको सङ्ख्या अधिक बढेको पाइएको छ । गर्मी र वर्षात्को समय रहेकाले यो सङ्ख्या बढेको हो ।”

यसअघि सन् २०२३ कै जनवरीमा १५, फेब्रुअरीमा ५२, मार्चमा एक सय २९, अप्रिलमा २५ जनामा सङ्क्रमण देखापरेको थियो । प्रदेशको तथ्याङ्कअनुसार सबैभन्दा बढी पहाडी जिल्ला दार्चुलामा एक सय ९४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । कैलालीमा एक सय २५, कञ्चनपुरमा ९५, अछाममा ५२, बाजुरामा ३२, डोटीमा १५, बझाङमा १२, डडेल्धुरामा नौ र बैतडीमा छ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण यस वर्ष मृत्यु भने कसैको पनि भएको छैन ।

गत वर्ष यस प्रदेशमा एक हजार दुई सय ८९ जनामा सङ्क्रमण देखिएकामा चार जनाको मृत्यु भएको थियो । लामखुट्टेको टोकाइबाट हुने डेङ्गु गर्मी र वर्षात्को समय भएकाले बिरामीको सङ्ख्या बढ्न थालेको जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “डेङ्गुको जोखिम कात्तिकसम्ममै रहन्छ । वर्षात्को समयमा लामखुट्टे उत्पादन बढी हुने र यसको टोकाइबाट सङ्क्रमण पनि हुन जान्छ ।”

रास्वपा र राप्रपाले पनि सिट प्राप्त गर्नुपर्छ – पूर्वसभामुख नेम्वाङ

काठमाडौं – सविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताउनुभयो ।

संसद्को सभा होस् वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुङ्गोमा पुर्याउने काम संसदीय समितिबाटै हुने बताइएको छ ।

रासससंगको कुराकानीमा उहाँले भन्नुभयो, “मूल थलो संसद् मूलभूतरूपमा औपचारिकतामा सीमित रहन्छ, सङ्घीय संसद्ले सरकार र सिङ्गो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै हुन्छ ।”पूर्वसभामुख नेम्वाङले संसदीय समितिका सभापति चयनको ढिलाइले राजनीतक दल आफ्नो मूल–जिम्मेवारीप्रति कति पछि परेका छन् भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिनुभयो ।

नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, “हामी समितिमार्फत देशमा पारदर्शिता र जनताप्रति जवाफदेहिता स्थापित गर्ने काम गर्छाँै, समिति संविधान, कानुन, संसदीय मूल्य मान्यताका विषयमा हुने खुला र गहन छलफलका आधारमा सकारात्मक परिणाम निकाल्ने उपयुक्त थलो हो । खुसी लागेको छ, ढिलै भए पनि नेतृत्व पाउँदैछ ।”

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीको एक सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।

उहाँले भन्नुभयो, “संसदीय परिपाटी र मूल्य मान्यताको सन्दर्भमा कुनै पनि दलले आफूलाई बाहिर पारियो भन्ने महसुस गरिनुहुन्न । सत्ता गठबन्धन र समितिको कामकारबाही र जिम्मेवारी फरक विषय हुन् । चौथो र पाँचौँले स्वभाविकरूपमा सिट प्राप्त गर्नुपर्छ भन्ने मान्यता हो ।” हाल संसद्मा चौथो ठूलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी छ भने पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए÷गरेका कामकारबाहीका अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ ।

अघिल्लो सङ्घीय संसद्मा प्रतिनिधिसभा मातहतका १०, राष्ट्रियसभाका चार र संयुक्त समितिका रूपमा रहेका दुई गरी १६ विषयगत समितिमध्ये नौको नेतृत्व महिलाले गर्नुभएको थियो ।संविधानसभा अध्यक्ष नेम्वाङले भन्नुभयो, “समितिको नेतृत्व छनोटमा संविधानका मर्म र भावनाअनुरुप समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने विषयमा समयमै हेक्का पुर्याउनु पर्छ । ”

संसदीय सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको कामलाई सहयोग गर्ने मुख्य जिम्मेवारीमा रहेका संसदीय समिति कानुन निर्माणदेखि कानुनको परीक्षण, कार्यपालिकाको कामको अध्ययन, विश्लेषण, निगरानी निर्देशनसम्मको कार्यजिम्मेवारीमा रहने बताउनुभयो ।उहाँले भन्नुभयो, “संसदीय समितिले बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनेर परीक्षण अर्थात् अडिट गर्छ । सरकारको कामको अध्ययन र विश्लेषण गर्छ ।”

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ ।

अफगानिस्तानमा साठी लाखभन्दा बढी व्यक्ति आन्तरिक रूपमा विस्थापित

अफगानिस्तान – संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले अफगानिस्तानमा हाल ६५ लाख ५० हजार आन्तरिक रूपमा विस्थापित व्यक्ति रहेको उल्लेख गरेको छ । यूएनडीपी) ले अफगानिस्तान सिरियापछि सबैभन्दा बढी विस्थापित भएको मुलुक बनेको जनाएको छ ।

यूएनडीपीको प्रतिवेदन अनुसार सन् २०२२ को डिसेम्बर ३१ सम्ममा द्वन्द्व र हिंसाका कारण ४३ लाख ९० हजारभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् भने विपद्का कारण २१ लाख ६० हजार मानिस विस्थापित भएका छन् । प्रतिवेदनले आगामी ३० वर्षमा विश्वव्यापी विस्थापनको सम्भावित वृद्धिबारे चेतावनी जारी गरेको टोलो न्यूजले जनाएको छ ।

द्वन्द्व र अस्थिरताका कारण केही वर्षअघि लघमान प्रान्तबाट काबुल बसाइँ सरेका मलिक खानले भन्नुभयो, “हाम्रो मुख्य मुद्दा आन्तरिक रूपमा विस्थापितका लागि कुनै सहयोग नहुनु हो र पछिल्लो दुई वर्षमा हामीले प्राप्त गरेको एक मात्र सहयोग ५० किलो तेल र पाँच किलो मटर हो ।

टोलो न्यूजका अनुसार केही अन्य विस्थापितले तालिबान र सहायता संस्थाहरूसँग उनीहरूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

अर्की विस्थापित महिला मरियमले भन्नुभयो, “हामी इस्लामिक इमिरेट्ससँग हामीलाई आश्रय दिन र सहयोग गर्न आग्रह गर्दछौं । यदि यसले हामीलाई समान स्थान दिन्छ र हामीसँग वासको व्यवस्था गर्ने स्रोत नै छैन भने हामी यसलाई स्वीकार गर्दछौं ।”

“हामी यहाँ केही गर्न र हाम्रा बच्चाहरूलाई आश्रय प्रदान गर्न आएका थियौं । हामीसँग पानीको, बिजुलीको समस्या छ र हाम्रा बच्चाहरू विदालय जाँदैनन् । हामी मजारबाट यहाँ आएका थियौँ, जहाँ कुनै काम थिएन,” बाल्ख प्रान्तबाट विस्थापित हयातुल्लाहले भन्नुभयो ।

गरिबी, असुरक्षा र द्वन्द्वका कारण पनि अफगानी नागरिकले आफ्नो घर छोड्दै श्रम, रोजगारी र सहयोगको खोजमिा शहरी क्षेत्रमा केन्द्रित भएको टोलो न्यूजले जनाएको छ ।

यसबाहेक, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले यसअघि अफगानिस्तानमा आन्तरिक रूपमा विस्थापित हुनेहरूको सङ्ख्यामा वृद्धि भएको बताएको थियो । सङ्गठनले देशको आन्तरिक रूपमा विस्थापित जनसङ्ख्या करिब ६० लाख रहेको अनुमान गरेको छ ।

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

गलकोट ( बागलुङ), १० भदौ- ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै रु तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ ।

रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो । केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब रु ३० देखि ४० हजार र उन्नत जातको रु एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा रु तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेको बताउनुभयो । उहाँले एक सय २२ बङ्गुर मरेको तथ्याङ्क ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिनुभयो । बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा रु १६ लाख बजेट विनियोजन गरेको बताउनुभयो ।पाँच हजार पशुलाई लम्पी स्किनको खोपजिल्लामा फैलँदो क्रममा रहेको लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइएको छ । खोप लगाउने पशुको सङ्ख्या बढेपछि रोग नियन्त्रणउन्मुख भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । जिल्लामा गोरुगाई र भैँसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि निजी र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङले समेत थप पाँच हजार खोप वितरण गरेको पशुप्राविधिक केशवप्रसाद शर्माले जानकारी दिनुभयो ।“हालसम्म पाँच हजार पशुलाई खोप लगाइएको छ भने अझै एक हजार एकm सय खोप लगाउने क्रम जारी रहेको छ, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले आफैँ खरिद गरेर एक हजार एक सय खोप लगाइसकेका थिए, केही गाई फार्मले आपैmँ खोप लगाएका थिए”, उहाँले भन्नुभयो, “भदौको मध्यतिर छ हजार पशुले खोप पाइसक्ने छन्, खोपका कारण अहिले लम्पी स्किन रोगको सङ्क्रमण र मृत्युदरसमेत घटेर गएको पाइएको छ । ”भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ढोरपाटन नगरपालिकामा पाँच सय ५०, गलकोट नपामा पाँच सय, निसीखोला गाउँपालिकामा पाँच सय, तमानखोलामा पाँच सय, बडिगाडमा चार सय, ताराखोलामा तीन सय, बरेङमा दुई सय, काठेखोलामा पाँच सय, बागलुङ नपामा पाँच सय २५ र जैमिनी नपामा पाँच सय डोज खोप वितरण गरिएको जनाएको छ । जसमध्ये एक हजार एक सय खोप लगाउने क्रममा रहेको र अन्य खोप भने पशुलाई लगाइसकेको छ ।लम्पी स्किनको सुरुआती चरणमा बडिगाडले एक सय २५, काठेखोलाले एक सय, बागलुङ नपाले चार सय २५ र जैमिनी नपाले चार सय ५० डोज खोप पालिकाकै खर्चले लगाइसकेका थिए । लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिएपछि रोग फैलिने क्रम कम भएको छ । जिल्लाको निसीखोला, ढोरपाटन र बडिगाडमा लम्पी स्किनबाट गाई तथा गोरु बढी प्रभावित बनेको तथ्याङ्क छ ।

धरानको सामाजिक सद्भाव खलबलले के सन्देश दिन्छ ?

काठमाडौं । धरानमा धार्मिक सद्भाव भड्कने त्रासबिच यतिखेर त्यहाँको स्थानीय प्रशासनले कफ्र्यु (निषेधाज्ञा) आदेश जारी गरेको छ । अहिले झिल्कोका रूपमा देखिएको धार्मिक सद्भाव भोलिको दिनमा अन्य क्षेत्रमा भुसको आगोसरि नसल्केला भन्न सकिन्न ।

सत्तारूढ दल घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धरानमा देखिएको द्वन्द्वको विषयलाई लिएर शनिबार एक प्रेस विज्ञप्ति नै जारी गरे । उनले कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले पनि दख्खल पुर्‍याउन नमिल्ने बताएका छन् ।

केही दिनयता धरानमा भइरहेको द्वन्द्वका विषयमा सभापति देउवाले चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक र राजनैतिक सद्भावका लागि अपिल गरेका छन् ।यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

धरानको विषयलाई अत्यन्त संवेदनशीलरूपमा बुझेका सभापति देउवाले धार्मिक सद्भाव र सामाजिक सद्भाव भड्कदा उत्पन्न हुने परिस्थितिलाई मूल्यांकन गर्दै धर्म, संस्कृतिक पालना गर्ने स्वतन्त्रता दिएको र त्यस्तो स्वतन्त्रताको प्रयोग गर्दा अरूको आस्थामा समेत चोट पुर्‍याउन नपाइने व्यवस्था गरेको स्मरण गराएका छन् ।

देउवाले किन पनि यो भनिरहेका छन् भने भोलि यो खालको सद्भाव भड्कदै गएमा देशमा अशान्तिको रूप लिने र धार्मिकसँगै जातीय र सामाजिक द्वन्द्व हुन सक्ने आँकलन समेत गरेको देखिन्छ ।

धर्म र संस्कृति मान्न पाउने स्वतन्त्रता राज्यका हरेक नागरिकलाई छ । तर, धार्मिक स्वतन्त्रता र संस्कृतिक स्वतन्त्रताको नाममा कसैको धर्म, जात, सम्प्रदायमाथि सद्भाव खलबलने द्वन्द्व निम्त्याउने छुट कसैलाई पनि छैन । आज धरानमा देखिएको द्वन्द्व भोलिका दिनमा जनकपुरमा, गढीमालिकामा, पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म भुसको आगोसरि नफैलिएला भन्न सकिन्न ।

मजदुरबाट मालिका बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी, १० भदौ : अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रोत समेत बन्नुभएको छ ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा १० को पढाइ छाडेर विसं २०५८ माघमा काठमाडौँ पस्नुभएका लामा होटलमा खाना बनाउने, सरसफाइ गर्ने काम सिकेर एक वर्षपछि बागलुङ आउनुभयो । बाग्लुङको विभिन्न ‘क्याफे’मा तीन वर्ष कुक र वेटर हुनुभएका उहाँ २०६२ असारदेखि कुकको रूपमा बेनीको होटलमा जोडिनुभयो ।भाँडा माझ्ने, कोठा सफा गर्ने र खाना पकाउने सबै काम गर्ने उहाँका लागि होटलको जागिर जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उहाँको परिश्रम र इमान्दारीबाट होटल सञ्चालक हरिकृष्ण श्रेष्ठ र नानुकुमारी प्रभावित बन्नुभयो ।“होटलमा काम गर्दा होटल कसरी चलाउनु पर्दोरहेछ भन्ने सिकेँ”, लामाले सम्झनुभयोे, “भान्छा व्यवस्थापन, अतिथि सत्कार र कर्मचारी व्यवस्थापन गर्ने कला पनि सिकेँ ।” विसं २०७२ मा बेनीको गणेशटोलमा आफैँ ‘लामा रेष्टुरेन्ट एन्ड भान्छाघर’ खोलेका उहाँले २०७६ मा अस्पतालचोकमा ३० पाहुना राख्न मिल्ने लामा ‘कुदाप’ लज सञ्चालन गर्नुभयो ।तामाङ भाषाको शब्द ‘कुदाप’को अर्थ ‘चुल्हो हुन्छ । भान्छाघर र लजको दूरी करिब पाँच सय मिटर छ । दुई वर्षअघि भाडाको घरमा चलाएको लजसँगै जोडिएको चार आना जग्गा किन्नुभएका लामाले त्यहाँ पाँचतले पक्की घर बनाएर लजको क्षमता विस्तार गर्नुभएको छ । सत्तरी जना क्षमताको भान्छाघर र ८० जना क्षमताको लजमा उहाँ, श्रीमती र भाइसहित १८ जना रोजगार छन् । घरभाडामा मात्र रु एक लाख ५० हजार तिर्ने भान्छाघर र लजमा रु पाँच करोडभन्दा बढीको लगानी छ । रु छ लाख लगानीमा व्यवसाय सुरु भएको थियो ।“घरबाट रित्तोहात निस्किएको हो, भाडा माझेरै भएको आम्दानी र अनुभवले आफ्नै घरजग्गा जोडेर लज चलाउने अवस्थासम्म आएको हुँ”, उद्यमी लामा भन्नुहुन्छ, “केही ऋण लिएको छु । कमाएर तिर्दै जानेछौँ ।”होटलमा काम गर्दागर्दै एसएलसी र दश जोड दुई उत्तीर्ण गर्नुभएका उहाँले स्नातक तहसम्मको शिक्षा हासिल गर्नुभयो । उहाँले नुवाकोटका १० जनाभन्दा बढी युवालाई बेनीको होटलमा काम लगाइदिनुभएको छ ।“स्कुल पढ्दा त्यस्तो खासै सपना थिएन । पछि होटलमा मजदुरी गर्दा कुनै दिन म पनि साहुजी बन्छु भन्ने लागेको थियो”, उहाँले भन्नुभयो, “त्यही सपनामा डोरिएर यहाँसम्म आइपुगेँ ।” बिहान ६ः०० नबज्दै उठ्ने उहाँ राति सुत्ने बेलामा १२ः०० बज्छ ।नेपाली, इन्डियन र कन्टिनेन्टल खानाका लागि लोकप्रिय बनेको रेष्टुराँ र लजको व्यवस्थापनमा बिहानदेखि बेलुकीसम्म उहाँ आफँै सक्रिय हुनुहुन्छ । उहाँलाई व्यवसायमा श्रीमती सारिका र भाइ अर्जुनको पनि साथ छ । उनीहरू आवश्यकता पर्दा रेष्टुराँका भाँडा माझ्नेदेखि पाहुनालाई खाना बाँड्ने काममा अग्रसर हुन्छन् ।म्याग्दी उद्योग वाणिज्य सङ्घका द्विृतीय उपाध्यक्ष राजेश शाक्य राजनको काम, मेहनत र सफलता युवाहरूका लागि प्रेरणाको स्रोत भएको बताउनुहुन्छ । “साथमा केही नलिई नुवाकोटबाट आएर मालिक बनेका राजनको सफलता प्रेरणादायी छ”, उहाँले भन्नुभयो, “मेहनत गरे संसार जित्न सकिन्छ भन्ने उदाहरण हुन् राजन ।”मगर समुदायको बाहुल्य बसोबास भएको म्याग्दीको होटल क्षेत्रमा ‘लामा’ भनेर चिनिने पहिचान राजनले बनाउनुभएको छ । मीठा परिकार, आत्मिय व्यवहार, परम्परा र आधुनिकताको फ्युजन गरिएको सजावट रेष्टुराँ र लजको विशेषता रहेकोब बताइएको छ ।लामाले होटलको कोठालाई म्याग्दीका स्थानीय तह, हिमाल र पर्यटकीयस्थलबाट नामकरण गर्नुभएको छ । धवलागिरि, अन्नपूर्ण, मङ्गला, मालिका, बेनी, रघुगङ्गा, खोप्रा, निलगिरि र गुर्जा नामकरण गरिएका कोठा, डाइनिङ लजमा शालिग्राम पाइने कालीगण्डकी नदीको शिला राखेर सजावट गरिएको छ ।म्याग्दीको मालिका गाउँपालिकाको रुमको खानीको स्लेट भुइँमा बिछ्याइएको छ । स्थानीय जङ्गलको टुनी, सल्लाको काठबाट खाट, दराज, टेबुल र कुर्ची बनाउनुभएका उहाँले होटलको हल र भित्तामा म्याग्दीका पर्यटकीयस्थलको तस्वीर राखेर सजावट गर्ने तयारीमा हुनुहुन्छ ।“मेरो होटलमा आउने पाहुनलाई परिकारदेखि सजावटमा म्याग्दीको पहिचानको अनुभव दिलाएर पठाउने उद्देश्य हो”, उहाँले भन्नुभयो, “बेनीको होटल व्यवसायलाई मर्यादित पेसाका रूपमा स्थापित गराउने अठोट पनि लिएको छु ।” लज र रेष्टुरेन्टमा तामाङ परिकार थप गर्ने, काठमाडौँ, पोखरा, कुश्मा, बागलुङलगायत सहरमा होटलको शाखा विस्तार गर्ने राजनको योजना छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।आइतबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

यस्तै आज अमेरिकी डलर एकको खरिद दर १३१।९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।५४ रुपैयाँ, युरोपियन युरो एकको खरिद दर १४२।३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३।०२ रुपैयाँ, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६।०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६।८१ रुपैयाँ रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८४।७१ रुपैयाँ र बिक्री दर ८५।०९ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको छ ।

१० अर्बको विकास ऋणपत्र जारी गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौँ – नेपाल राष्ट्र बैंकले रू १० अर्ब बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले उठाउने आन्तरिक ऋणका रुपमा राष्ट्र बैंकले आइतबार छ वर्ष अवधिको विकास ऋणपत्र २०८५ ‘ज’ जारी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र सर्वसाधारण नागरिकसमेतले विकास ऋणपत्र खरिद गर्न सक्नेछन् । यो ऋणपत्रको ब्याजदर बोलकबोलका माध्यामकबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो ऋणपत्र धितो राखी कर्जासमेत लिन सकिनेछ । भदौ १० गते दिउँसो ३ बजेसम्म बोलकबोल हुने ऋणपत्र भदौ ११ गते सोमबार निष्काशन हुनेछ । अर्धवार्षिकरुपमा ब्याज भुक्तानी हुने यो ऋणपत्रको साँवा भुक्तानी २०८६ भदौ ११ मा हुनेछ ।

घटीमा रू पचास हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाई रू पचास हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले प्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन् । यो ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।

आजदेखि मौसममा सुधार हुँदै, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

काठमाडौं । गत हप्तादेखि देशभर पानी परिरहेकोमा आजदेखि मौसममा सुधार आएको छ ।जल तथा मौसम विभागका अनुसारहाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू(भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

हाल कोशी,मधेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।साथै मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ।

सोमबार पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबारपनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

स्याङ्जामा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै

गल्याङ (स्याङ्जा), १० भदौ : स्याङ्जाको वालिङ नगरपालिका–८ जैसीपँधेरास्थित अकला नमूना साना किसान कृषि सहकारीद्वारा उत्पादित छुर्पी अमेरिका निर्यात हुँदै आएको छ । सहकारीका अध्यक्ष पुण्यप्रसाद अर्यालले सहकारीले कृषकबाट दूध सङ्कलन गरेर विभिन्न प्रकारका परिकार उत्पादन गर्दै आएकोसमेत बताउनुभयो ।

“हामीले यहाँ सङ्कलित दूधबाट छुर्पी, पनिर, दही, नौनीघ्यू, आइसक्रिमलगायतका वस्तु उत्पादन गर्दै आएका छौँ, छुर्पी अमेरिका निर्यात हुँदै आएको छ ”, उहाँले भन्नुभयो, “दूधबाट बनेका परिकार स्थानीय बजारमा बिक्री गरेर पनि काठमाडौँ निर्यात गर्ने गरेका छौँ ।” उहाँले विशेष गरेर सहकारीले उत्पादन गरेको छुर्पीमात्र अमेरिका निर्यात हुने गरेको दाबी गर्नुभयो । यहाँको दुग्ध सङ्कलन केन्द्रमा वालिङ नगरपालिकासहित दक्षिणी पर्वतबाट समेत कृषकले दूध जम्मा गर्ने गरेका छन् ।

“साना किसान कृषि सहकारीले सञ्चालन गरेको डेरीमा दैनिक आठ सयदेखि एक हजार एक सय लिटरसम्म दूध सङ्कलन हुन्छ”, उहाँले भन्नुभयो, “दैनिक २५ देखि ३० किलोसम्म छुर्पी उत्पादन हुँदै आएको छ, दूधको सिजनमा छुर्पीको उत्पादन धेरै नै हुन्छ ।” अध्यक्ष अर्यालले प्रतिकिलो छुर्पीलाई रु एक हजारदेखि एक हजार एक सयसम्म पर्ने बताउनुभयो । उहाँले दूधबाट उत्पादित परिकारको बजारीकरणका लागि समस्या नभएको बताउनुभयो ।

सहकारीका प्रबन्धक लक्ष्मी पोख्रेल रेग्मीले प्रतिलिटर दुई रुपैयाँ ५० पैसा दूधमा दिएको अनुदानले कृषक व्यावसायिक गाईभैँसीपालनमा आकर्षित हुँदै गएको बताउनुभयो । “कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री, लहरेबालीका बीउबिजन, घाँसका बिरुवा वितरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “बाख्रापालक कृषकलाई बोयर बोका, एक सय ५० किलोदेखि माथि अदुवा लगाउने कृषकलाई किलोमा रु २५ अनुदान दिँदै आएका छौँ ।”

प्रबन्धक रेग्मीले प्रधानमन्त्री कृषि आनुनिकीकरण परियोजनासँगको सहकार्यमा गत आर्थिक वर्षमा १० जना कृषकलाई ‘भँैसी अनुदान कार्यक्रम’ अन्तर्गत ५० प्रतिशत अनुदान उपलब्ध गराएको बताउनुभयो । उहाँले २८ जना कृषकलाई ‘भकारो सुधार कार्यक्रम’अन्तर्गत अनुदान वितरण गरिएकोसमेत जानकारी दिनुभयो ।

विसं २०७५ मा स्थापन भएको सहकारीमा दुई हजार आठ सय ५० शेयर सदस्य रहेका छन् । सहकारीले चालु आर्थिक वर्षमा पशुधन सुरक्षण कार्यक्रमअन्तर्गत निःशुल्क पशु बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कृषि पेसातर्फ किसानलाई आकर्षित गर्दै रोजगारीको सिर्जना गर्ने उद्देश्यले कृषकलाई अनुदान दिँदै आएको प्रबन्धक रेग्मीको भनाइ छ ।

“हिजोआज वित्तीय संस्थाहरूले ऋण लगानी गर्ने र ब्याजमार्फत मुनाफा आर्जन गर्ने परम्परा चलिरहेको छ”, उहाँले भन्नुभयो, “यो अवस्थामा परिवर्तन ल्याएर कृषकलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजनाअनुसार सहकारीले काम गरिरहेको छ ।” रेग्मीले सहकारीले कृषकमुखी कार्यक्रम सञ्चालन गर्दा वैदेशिक रोजगारमा जान ठिक्क परेकाहरू रोकिने गरेको सुनाउनुभयो । उहाँले कृषकलाई अकला नमूना साना किसान कृषि सहकारीमा जोडिएर स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरिएकामा माधव नेपालद्वारा असन्तुष्टी व्यक्त

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठनका निम्ति सरकारले बोलाएको सर्वदलीय बैठकमा आफ्नो पार्टीलाई निषेध गरिएकामा असन्तुष्टी व्यक्त गर्नुभएको छ ।

पार्टी निकट अनेरास्ववियुको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले संसद् खुलाउने विषयमा छलफल गर्न बोलाइएको दलहरूको बैठकमा आफ्नो पार्टी सहभागी हुन नपाएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले एकीकृत समाजवादी पार्टीले राष्ट्रिय मान्यताप्राप्त दल नभएका आधारमा आफूहरूलाई निषेध गरेको बताउनुभयो । उहाँले आफ्नो पार्टीले जनताको मन जितेर राजनीतिक शक्ति बढाउन देशभर सङ्गठन सुदृढीकरणमा क्रियाशील हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष नेपालले आफूलाई राष्ट्रपतिका लागि प्रस्ताव आए पनि पार्टीलाई अलपत्र छाडेर राष्ट्रपति हुँदा आलोचना हुने भएकाले राष्ट्रपति हुने इच्छा नगरेको दाबी गर्नुभयो ।

उहाँले मुलुकको शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीअनुसार उपलब्धि हासिल हुन नसकेकाले अब विद्यार्थी आन्दोलन गुणस्तरीय शिक्षाका लागि केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले शिक्षालाई उत्पादनसँग जोडेर व्यावसायिक सीप तथा क्षमता विकास गर्न सके उत्पादनका साथै रोजगारी बढ्ने र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

समाजवादी मोर्चामा रहेका दलबीच एकीकरण भएर एउटै पार्टी बन्ने सम्भावना : सचिव पौडेल

कास्की-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले समाजवादी मोर्चामा रहेका दलबीच एकीकरण भएर एउटै पार्टी बन्ने सम्भावना रहेको बताउनुभएको छ ।नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो विस्तारित बैठकको सनिबार उद्घाटनका अवसरमा उहाँले समाजवादी मोर्चा वर्तमान संसद्को अङ्कगणितका लागि मात्र नभएको स्पष्ट पार्नुभयो । नेता पौडेलले विचार मिल्नेसँग सुरुआतमा मोर्चा बनाउने र पछि पार्टी एकीकरण गर्ने नीति माओवादीले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपक्षीले समाजवादी मोर्चालाई संसद्को अङ्कगणितसँग मात्र जोडेर प्रचार गरेका छन् । मोर्चा संसद्को अङ्कगणित जोगाउन होइन । विचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने नीति हाम्रो हो । सोही नीतिअनुसार अहिले मोर्चा बनेको छ, भोलि मोर्चामा आबद्ध दलहरूबीच एकीकरण भएर एउटै पार्टी बन्न पनि सक्छ ।”इन्चार्ज पौडेलले आगामी भदौ १६ गतेदेखि देशभर सुरु हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई प्रभावकारी बनाउने गरी खटिन नेता– कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले तोकेको वडा र प्रत्येक घरमा पुगेर वर्तमान सरकारले सुशासन र समृद्धिका लागि गरेका काम जनतालाई बुझाउँदै जनताबाट सुझाव लिन उहाँले आग्रह गर्नुभयो ।रुपान्तरण अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर खटाइएको नेता पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी पुनःनिर्माणको सङ्कल्प गरेर जनतामा जाने निर्णय गरेका छौँ । अभियानका क्रममा हामी प्रदेशका सबै वडा–वडामा जान्छौँ । केन्द्रीय समितिका सदस्य र प्रदेशका पदाधिकारी पालिकामा, प्रदेशका सदस्य वडामा जाने र अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेका छौँ । अभियानले पार्टीलाई नयाँ उचाइमा लैजाने विश्वास लिएका छौँ ।”माओवादी केन्द्रलाई देशको प्रमुख पार्टी बनाउने आशा र विश्वासका साथ लाग्न उहाँले विशेष आग्रह गर्नुभयो । अभियानका क्रममा हरेक कार्यकर्ताले तीन जना पार्टी सदस्य थप गर्नुपर्ने उहाँले बताउनुभयो । “हाम्रा नेता–कार्यकर्ता पार्टी बन्दैन भनेर निराश हुन्छन् । पहिल्यै पार्टी बन्दैन भनेर निराश भएपछि कसरी पार्टी बन्छ ? यसरी निराश होइन, आशा र विश्वासका साथ पार्टी बनाउन लाग्नुभयो भने पार्टी अहिलेभन्दा सुदृढ हुन्छ”, इन्चार्ज पौडेलले भन्नुभयो ।माओवादी केन्द्र पोखरा महानगर समितिले तीनमहिने अभियानका लागि कार्ययोजना बनाएर जनतामाझ जाने कमिटीका अध्यक्ष हरिनारायण गिरीले बताउनुभयो । महानगरका ३३ वटै वडाका प्रत्येक घरमा पुग्ने गरी कार्ययोजना बनाइएको उहाँले जानकारी दिनुभयो ।

आज संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन

काठमाडौँ – ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरुप निर्वाचन प्रक्रिया अघि बढेको हो ।

समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।

दल मूल–जिम्मेवारीप्रति पछि रहेको सङ्केत छ– पूर्वसभामुख नेम्वाङ

सविधानसभाका अध्यक्ष सुवास नेम्वाङले सङ्घीय संसद्प्रति सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री र मन्त्री व्यक्तिगत र सामूहिकरूपमा उत्तरदायी हुने संसदीय लोकतान्त्रिक व्यवस्थामा संसदीय समितिलाई ‘मिनी पार्लियामेन्ट’का रूपमा लिने गरिएको बताउनुभयो ।

संसद्को सभा होस् वा बैठक औपचारिक हुने भएकाले देश र जनहित सम्बन्धित छलफलका लागि प्रवेश पाएका सबै विषयवस्तु र प्रस्तावमाथि विभिन्न कोणबाट गहन बहस गरी टुङ्गोमा पुर्याउने काम संसदीय समितिबाटै हुने बताइएको छ ।

रासससंगको कुराकानीमा उहाँले भन्नुभयो, “मूल थलो संसद् मूलभूतरूपमा औपचारिकतामा सीमित रहन्छ, सङ्घीय संसद्ले सरकार र सिङ्गो मन्त्रिपरिषद्लाई जनताप्रति उत्तरदायी बनाउने काम संसदीय समितिमार्फत नै हुन्छ ।”पूर्वसभामुख नेम्वाङले संसदीय समितिका सभापति चयनको ढिलाइले राजनीतक दल आफ्नो मूल–जिम्मेवारीप्रति कति पछि परेका छन् भन्ने स्पष्ट सङ्केत गरेको प्रतिक्रिया दिनुभयो ।

नेकपा (एमाले) संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो, “हामी समितिमार्फत देशमा पारदर्शिता र जनताप्रति जवाफदेहिता स्थापित गर्ने काम गर्छाँै, समिति संविधान, कानुन, संसदीय मूल्य मान्यताका विषयमा हुने खुला र गहन छलफलका आधारमा सकारात्मक परिणाम निकाल्ने उपयुक्त थलो हो । खुसी लागेको छ, ढिलै भए पनि नेतृत्व पाउँदैछ ।”

यसपटक संयुक्त समिति दुई र प्रतिनिधिसभा मातहतका १० विषयगत समितिमध्ये सत्तापक्ष नेपाली कांग्रेस चार, नेकपा (माओवादी केन्द्र) दुई, नेकपा (एमाले) तीन, नेकपा (एकीकृत समाजवादी) एक, जनमत पार्टीको एक सिटमा दाबी रहेको विषय सार्वजनिक भएको छ ।
उहाँले भन्नुभयो, “संसदीय परिपाटी र मूल्य मान्यताको सन्दर्भमा कुनै पनि दलले आफूलाई बाहिर पारियो भन्ने महसुस गरिनुहुन्न । सत्ता गठबन्धन र समितिको कामकारबाही र जिम्मेवारी फरक विषय हुन् । चौथो र पाँचौँले स्वभाविकरूपमा सिट प्राप्त गर्नुपर्छ भन्ने मान्यता हो ।” हाल संसद्मा चौथो ठूलो दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी छ भने पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेको छ ।

प्रतिनिधिसभा नियमावलीमा सरकारलाई संसद्प्रति उत्तरदायी र जवाफदेही बनाउन, सरकारबाट भए÷गरेका कामकारबाहीका अनुगमन र मूल्याङ्कन गरी आवश्यक निर्देशन र राय सल्लाह दिनसमेतका लागि संसदीय समिति रहने उल्लेख छ ।

अघिल्लो सङ्घीय संसद्मा प्रतिनिधिसभा मातहतका १०, राष्ट्रियसभाका चार र संयुक्त समितिका रूपमा रहेका दुई गरी १६ विषयगत समितिमध्ये नौको नेतृत्व महिलाले गर्नुभएको थियो ।संविधानसभा अध्यक्ष नेम्वाङले भन्नुभयो, “समितिको नेतृत्व छनोटमा संविधानका मर्म र भावनाअनुरुप समावेशी र समानुपातिक सिद्धान्तलाई आत्मसात गर्ने विषयमा समयमै हेक्का पुर्याउनु पर्छ । ”

संसदीय सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको कामलाई सहयोग गर्ने मुख्य जिम्मेवारीमा रहेका संसदीय समिति कानुन निर्माणदेखि कानुनको परीक्षण, कार्यपालिकाको कामको अध्ययन, विश्लेषण, निगरानी निर्देशनसम्मको कार्यजिम्मेवारीमा रहने बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसदीय समितिले बनेका कानुन कार्यान्वयनको अवस्था कस्तो छ भनेर परीक्षण अर्थात् अडिट गर्छ । सरकारको कामको अध्ययन र विश्लेषण गर्छ ।”

प्रतिनिधिसभा मातहत अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति रहेका छन् ।पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्वजनिक लेखा समितिले पनि सोमबार नयाँ नेतृत्व प्राप्त गर्ने छ ।

कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थाल्यो

काठमाडौँ । सार्वजनिक खरिदसम्बन्धी कानुनी प्रक्रिया र आचरण पालना नगर्दा कालो सूचीमा पर्नेको सङ्ख्या निरन्तर बढ्न थालेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा १६२ वटा विभिन्न बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था तथा कम्पनी कालो सूचीमा परेका छन् । यो सङ्ख्या त्यसअघिको वर्षको तुलनामा करिब दोब्बर हो ।

कार्यालयका अनुसार त्यसअघि आव २०७८/७९ मा ८४ वटा त्यस्ता विभिन्न संस्था कालो सूचीमा परेका थिए । सार्वजनिक खरिद कानुनले दिएको अधिकारबमोजिम कार्यालयले एक वर्षदेखि तीन वर्षसम्म त्यस्ता संस्थालाई कालो सूचीमा राखेको छ । कालो सूचीमा परेका संस्थाहरूले सार्वजनिक खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

गत आवमा कालो सूचीमा परेका संस्थामध्ये अधिकांशलाई कार्यालयले एक वर्षको प्रतिबन्ध लगाएको छ । १४ वटा संस्था भने तीन वर्षको प्रतिबन्धमा परेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै एकता र सद्भावको पक्षमा उभिन प्रधानमन्त्रीको अपिल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गर्नुभएको छ । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्नुहुँदै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावको वातावरण बनाइराख्न आग्रह गर्नुभएको हो ।

यस्ता गतिविधिले सामाजिक एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको जनाउनुहुँदै प्रधानमन्त्री दाहालले संवाद र सहाकार्यका माध्यामबाट समस्या समाधानका लागि पनि अपिल गर्नुभएको छ ।“एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेरमात्र सही अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक सतर्कता अपनाइरहेको व्यहोरासमेत म स्पष्ट गर्दछु”, प्रधानमन्त्रीले भन्नुभएको छ, “धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक सङ्घसंस्था, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा हार्दिक अपिल गर्दछु ।”विमतिलाई संवादको माध्यमबाट समाधानमा पुर्याउन राजनीतिक शक्ति, विभिन्न सामाजिक संस्था, धार्मिक समुदाय र त्यसका अगुवा एवं नागरिक समाजको भूमिका महत्त्वपूर्ण रहनेमा प्रधानमन्त्री दाहालले जोड दिनुभएको छ । धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिनेबारे पनि उहाँले नागरिकलाई स्मरण गराउनुभएको छ । सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्नका लागि धरानवासीलाई पनि प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।“नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ”, प्रधानमन्त्रीले जारी गरेको अपिलमा भनिएको छ ।उहाँले जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिस भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न नसक्ने बताउनुभयो । उहाँले हामीबीचको एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहेको बताउनुभयो ।

सुन तस्करी प्रकरण : प्रहरीले माग्यो इन्टरपोलको सहयोग

काठमाडौँ – नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो ।

गत साउन ३ गते हङ्कङबाट ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो । त्यसपछि अहिले सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ । सिआइबीले हिजोमात्रै सुन प्रकरणका आवश्यक सूचना र जानकारी भए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको छ ।

सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेको भन्दै त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि पत्राचार गरिएको प्रहरीको भनाइ छ । सुन प्रकरणमा संलग्न २३ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घडीका पुर्जामा पनि सुन राखेर ल्याएको खुल्यो

काठमाडौँ । राजस्व अनुसन्धान विभागले साउन ३ गते बरामद गरेको करिब ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले अनुसन्धान गर्दा सात वटा विभिन्न व्यापारिक कम्पनीले घडीका पुर्जामा पनि सुन राखेर ल्याएको पाइएको छ । ती कम्पनीले ‘ब्रेक सु’का अतिरिक्त घडीभित्रका पुर्जामा सुन लुकाएर ल्याएको खुलेको हो ।

विभिन्न मितिमा दर्ता भएका फरकफरक ती कम्पनीका मालिक पनि फरकफरक देखाइएको छ । सीआईबी स्रोतका अनुसार विकेन्द्र भुजेल, रामकुमार भुजेल, लेखनाथ कार्की डोली, रामबहादुर भुजेल, दिलीप भुजेललगायतका नाममा सातवटा कम्पनी खोलेर सुन तस्करी गरिएको पाइएको छ । कार्कीका नाममा खोलिएको चुङ्गक इलेक्ट्रिक सप्लायर्स कम्पनीले विद्युतीय सामानसँगै सुन तस्करी गरेको स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार उक्त कम्पनीको ठेगाना काठमाडौँको बौद्ध राखिएको भए पनि त्यहाँ कार्यालय फेला परेको छैन । भुजेल इलेक्ट्रिक सप्लायर्स प्रालिको ठेगाना सुकेधारा राखिएको छ तर त्यहाँ कार्यालय छैन । वादा इलेक्ट्रिक सप्लायर्स कम्पनी सामाखुसीमा र पवाटी इलेक्ट्रिक सप्लायर्सको कार्यालय बाँसबारीमा देखाइएको छ । दोलखा इलेक्ट्रिक सप्लायर्स प्रालिले विद्युतीय सामान, ब्रेक प्याड र घडीमा तस्करीको सुन राखेर ल्याउने गरेको पाइएको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

खेलकुदमन्त्री लिम्बूलाई डेङ्गु सङ्क्रमण, वीर अस्पताल भर्ना

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेङ्गु सङ्क्रमण भएको छ । शुक्रबार साँझ एक्कासी ज्वरो आएर डेङ्गु सङ्क्रमण देखिएपछि उपचारका लागि सनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना हुनुभएको उहाँका स्वकीयसचिव रोशन राईले जानकारी दिनुभयो ।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेङ्गु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्कनुभएको थियो । वीर अस्पतालमा भर्ना हुनुभएका मन्त्री लिम्बूलाई डा धु्रव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ ।मन्त्री लिम्बूलाई भेट्न सनिबार साँझ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुग्नुभएको थियो । उहाँले मन्त्री लिम्बूको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग जानकारी लिनुभएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिनुभयो ।

मधेसमा कांग्रेसलाई बलियो बनाउन सबै जुट्नुपर्छ : नेता निधि

महेन्द्रनगर (धनुषा)-नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले मधेस प्रदेशमा कांग्रेसलाई बलियो बनाउने गरी काम गर्न आग्रह गर्नुभएको छ । जनकपुरधामको श्री महाविर युवा किमिटिका कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यको पदभार, सपथ ग्रहण र प्रमाणपत्र वितरणको अवसरमा नेता निधिले मधेसमा पहिले जस्तै कांग्रेसलाई बलियो बनाउन सबै जु्ट्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीयता बलियो बनाउनुपर्ने भन्दै प्रदेशमा अधिकार प्रत्यायोजन गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटीका नवनिर्वाचित अध्यक्ष अजय गुप्ता नेतृत्वको ११ सदस्यीय पदाधिकारी र सदस्यलाई सपथ गराउनुभएको थियो ।

हेर्नुहोस् आज भदौ १० गते आइतवारको राशिफल

मेष राशि – पारीवारिक सम्बन्धमा सुधार आ उनेछ । भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनेछ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुनेछ । बिश्वासिला ब्यत्तीहरुबाट धोका हुन सक्ने योग रहेकोछ ।

बृष राशि – दम्पति बिच सामान्य मनमुटाब रहला । बाणी तथा स्वास्थ क्षेत्रमा ध्यान दिएको बेश हूनेछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । गरीरहेकोकार्यमा सामान्य तनाव उत्पन्न हुनाले शारीरिक आलस्यताले सताउनेछ । समय त्यति राम्रो रहेको छैन ।

मिथुन राशि – जिवन सार्थीको सहयोगमा ब्यापार ब्यबसायमा राम्रै समय रहेको छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । ब्यापार ब्यवसायमा समय खर्चिदा उत्तम रहनेछ । पारीवारिक समस्याले भने सताउन सक्नेछ । मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहने छन ।

कर्कट राशि – सामाजिक कार्यमा समय ब्यतित रहनेछ । खर्च नियन्त्रण गर्न गारो पर्न सक्ला । आफन्त जनहरु टाढिन सक्छन । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । प्रतिद्वन्धीहरुका कारण गरीरहेका कार्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

सिंह राशि – मित्र जनकोृ सहयोग बाट मन प्रशन्न रहला । बोलिको कारण साथि भाई टाढिन सक्छन । आय आम्दानिका क्षेत्रमा जुट्ने समय रहेकोछ । मानसिक तनावका कारण कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । आफुभन्दा सानाको सहयोगबाट कार्य सम्पादित रहनेछन । रचनात्मक कार्यबाट लाभ प्राप्त रहनेछ ।

कन्या राशि – ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । भोगबिलासमा मन जानेछ । खुशीको खबरले मन प्रशन्न रहनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्य सम्पादित हुनेछन । सभासम्मेलन जन्य कार्यमा सहभागीताको योग रहेको छ ।

तुला राशि – कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । पराक्रम बृद्धि हुने छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । नजिकका मित्रजनहरुबाट धोका मिल्ने सम्भाबना रहेकोछ । कार्यक्षेत्रमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – दाजुभाई बिच मनमुटाब रहन सक्ला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । खानपानका क्षेत्रमा सावधानि अपनाउनु उत्तम रहनेछ । स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । संचीत रकम समेत खर्चको योग रहेको छ ।

धनु राशि – खानपानका प्रभाबले घाटी सम्बन्धि सामान्य असर गर्नेछ । स्वास्थमा देखिएका समस्या बिस्तारै समाधान हुनेछन । कार्य सम्पादनका क्षेत्रमा सावधानि साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त हुनेछ ।

मकर राशि – सन्चित रकम खर्चको योग रहेको छ । नयाँ कामको थालनि नगरेकै बेश होला । कामको क्षेत्रबाट सामान्य झन्जट ब्यर्होनु पर्ला । भोग बिलासका क्षेत्रमा समय ब्यतित रहनेछ । मनोरञ्जनका साधन खरीदका निम्ती सामान्य खर्चको योग बन्नेछ । तपाईको कार्यको चीयोचर्चा गर्नेहरुको सङख्यामा बृद्धिहुनेछ । नयाँ लगानिका क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम रहेकोछ । नयाँलगानि साथै आयमुलक कार्यका क्षेत्रमा खर्चीएको समय समेत उत्तम रहनेछ । कुलकुटुम्बहरुको साथ सहयोगमा बृद्धिहुनेछ ।

मीन राशि – मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । गरीरहेका कार्य सम्पादनमा निकै संघर्ष गर्नु पर्नेछ । सामाजिक कार्य साथै सभासम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । समयमा सहि निर्णय गर्न सकिने छ । बिलासिताका साधनको प्रयोमा समय ब्यतित रहनेछ ।

बेनी–जोमसोम सडक तीन दिनपछि पुनःसञ्चालनमा

म्याग्दी – म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनपछि यातायात पुनःसञ्चालन भएको छ । गत बुधबारदेखि अवरुद्ध भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको सिधा यातायात सेवा शनिबार अपराह्नदेखि पुनःसञ्चालन भएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुुख जगत प्रजापतिले म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ गुुइठे, सुकेबगर, खामभित्ता, दुवारी क्षेत्रमा खसेको पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको जानकारी दिनुुभयो । “पाँच दिनको प्रयासपछि गत बुधबार दिउँसो खुुलेको सडक साँझ पानी परेपछि पुुनःअवरुद्ध भएको थियो”, उहाँले भन्नुुभयो, “वर्षात रोकिएर मौसममा सुुधार भएपछि डोजर र मजदुर परिचालन गरेर सडक खुुलाएका हौँ ।”

कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण झरेको पहिराले जलथले–दुवारी खण्डको सडक क्षतविक्षत बनाएको छ । जलथले र दाना क्षेत्रमा रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । जिल्ला प्रशासन कार्यालयले बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डमा अत्यावश्यक काममा बाहेक यात्रा नगर्न आग्रह गरेको छ ।

पहिराका कारण सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र पर्ने र दुर्घटनाको जोखिम बढेपछि शुक्रबार सार्वजनिक सूचना जारी गरेर बेनीदेखि दाना खण्डमा अति आवश्यक काम नपरी यात्रा नगर्न आग्रह गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले सडक अवरुद्ध हुँदा तीर्थयात्रा र भ्रमणका लागि स्वदेशी तथा विदेशी पर्यटकले दुःख पाएकाले बाध्य भएर मौसममा सुधार र सडक सहज नहुँदासम्मका लागि यात्रामा नआउनका लागि आग्रह गरेको बताउनुभयो ।