`

समाजवादी मोर्चामा रहेका दलबीच एकीकरण भएर एउटै पार्टी बन्ने सम्भावना : सचिव पौडेल

Nepal One HD १० भदौ २०८० ७:१८
राजनीति

कास्की-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले समाजवादी मोर्चामा रहेका दलबीच एकीकरण भएर एउटै पार्टी बन्ने सम्भावना रहेको बताउनुभएको छ ।नेकपा (माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो विस्तारित बैठकको सनिबार उद्घाटनका अवसरमा उहाँले समाजवादी मोर्चा वर्तमान संसद्को अङ्कगणितका लागि मात्र नभएको स्पष्ट पार्नुभयो । नेता पौडेलले विचार मिल्नेसँग सुरुआतमा मोर्चा बनाउने र पछि पार्टी एकीकरण गर्ने नीति माओवादीले लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विपक्षीले समाजवादी मोर्चालाई संसद्को अङ्कगणितसँग मात्र जोडेर प्रचार गरेका छन् । मोर्चा संसद्को अङ्कगणित जोगाउन होइन । विचार मिल्नेसँग मोर्चा बनाउने, मिल्यो भने पार्टी एकीकरण गर्ने नीति हाम्रो हो । सोही नीतिअनुसार अहिले मोर्चा बनेको छ, भोलि मोर्चामा आबद्ध दलहरूबीच एकीकरण भएर एउटै पार्टी बन्न पनि सक्छ ।”इन्चार्ज पौडेलले आगामी भदौ १६ गतेदेखि देशभर सुरु हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई प्रभावकारी बनाउने गरी खटिन नेता– कार्यकर्तालाई निर्देशन दिनुभयो । पार्टीले तोकेको वडा र प्रत्येक घरमा पुगेर वर्तमान सरकारले सुशासन र समृद्धिका लागि गरेका काम जनतालाई बुझाउँदै जनताबाट सुझाव लिन उहाँले आग्रह गर्नुभयो ।रुपान्तरण अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई पालिकामा र प्रदेश सदस्यलाई वडामा जिम्मेवारी दिएर खटाइएको नेता पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पार्टी पुनःनिर्माणको सङ्कल्प गरेर जनतामा जाने निर्णय गरेका छौँ । अभियानका क्रममा हामी प्रदेशका सबै वडा–वडामा जान्छौँ । केन्द्रीय समितिका सदस्य र प्रदेशका पदाधिकारी पालिकामा, प्रदेशका सदस्य वडामा जाने र अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेका छौँ । अभियानले पार्टीलाई नयाँ उचाइमा लैजाने विश्वास लिएका छौँ ।”माओवादी केन्द्रलाई देशको प्रमुख पार्टी बनाउने आशा र विश्वासका साथ लाग्न उहाँले विशेष आग्रह गर्नुभयो । अभियानका क्रममा हरेक कार्यकर्ताले तीन जना पार्टी सदस्य थप गर्नुपर्ने उहाँले बताउनुभयो । “हाम्रा नेता–कार्यकर्ता पार्टी बन्दैन भनेर निराश हुन्छन् । पहिल्यै पार्टी बन्दैन भनेर निराश भएपछि कसरी पार्टी बन्छ ? यसरी निराश होइन, आशा र विश्वासका साथ पार्टी बनाउन लाग्नुभयो भने पार्टी अहिलेभन्दा सुदृढ हुन्छ”, इन्चार्ज पौडेलले भन्नुभयो ।माओवादी केन्द्र पोखरा महानगर समितिले तीनमहिने अभियानका लागि कार्ययोजना बनाएर जनतामाझ जाने कमिटीका अध्यक्ष हरिनारायण गिरीले बताउनुभयो । महानगरका ३३ वटै वडाका प्रत्येक घरमा पुग्ने गरी कार्ययोजना बनाइएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया