`

सार्कलाई गतिशील बनाइनेछ : परराष्ट्रमन्त्री साउद

काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गतिशील बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताउनुभयो । मन्त्री साउदले भन्नुभयो, “केही दिनमा नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल जाँदैछ, सो अवसरमा अनौपचारिक रुपमा भए पनि सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक राखेर सार्कलाई गतिशीलता तथा पुनः जीवन दिइनेबारेमा छलफल गरिनेछ ।”

उहाँले सीमा र सुरक्षाका बारेमा सरकार संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक काम हुँदैआएको बताउनुभयो । सीमा सम्बन्धमा दुवै देशको संयुक्त समितिमार्फत काम हुँदै आएको उल्लेख गर्र्दै मन्त्री साउदले सीमा विवादलाई पारस्परिक वार्ता छलफल र कूटनीतिकरुपमा समाधान गर्नुपर्नेमा सरकार रहँदै आएको बताउनुभयो । उहाँले नेपालको परराष्ट्र नीति असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्तिको मान्यता, संयुक्त राष्ट्र सङ्घको वडापत्रका आधारमा सञ्चालन हुँदै आएको बताउँदै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध रहेको धारणा व्यक्त गर्नुभयो ।

परराष्ट्र नीति राजनीतिक दलपिच्छे फरक फरक गर्न नहुने र सरकारमार्फत एक नीतिमा एकरुपता अपनाउँदा राम्रो हुने मन्त्री साउदको धारणा थियो । बैठकमा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति र व्यवहारबीच तालमेल नभएको र अस्पष्टताको सन्दर्भमा संसद् र समाजमा अनेकाँै प्रश्न उठेकाले समितिले ती प्रश्नको यथोचित सम्बोधन गर्न प्रयास गर्नुपर्र्ने आवश्यकता रहेकामा जोड दिनुभयो । साथै उहाँले सार्वभौमसत्ता, स्वाधीनता, समानता, भूगोलको रक्षा भौगोलिक अखण्डता, राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन स्वाभिमानका सवालमा उठ्ने विषयलाई पनि सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले छिमेकीसँगको सम्बन्धलाई परस्परिक हित र सम्मानका आधारमा सहज र सुमधुर बनाउनुपर्ने बताउनुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बनाउँदै त्यसमा समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री वर्षमान पुनले पछिल्लो समय राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्ध जटिल विषय बनेर आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वको भूराजनीतिक सन्तुलन फेरिएको छ, परराष्ट्र नीति संविधानले निर्देशन गरेअनुसार र संयुक्त राष्ट्र सङ्घको वडापत्र तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई टेकेर अघि बढाउनुपर्छ ।”

इलामको उच्च पहाडी क्षेत्रमा पुग्यो विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन

फिक्कल (इलाम) – बिजुली अभावका कारण समस्या भोग्दै आएका इलामको उच्च पहाडी क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको छ । सञ्चार र विद्युत्को उज्यालोबाट टाढा रहेका उच्च पहाडी क्षेत्रमा विद्युत् पुगेपछि गोठ सञ्चालकको दैनिकी फेरिएको छ । आठ वर्षदेखि गोठ सञ्चालन गर्दै आउनुभएका सन्दकपुर गाउँपालिका–२ का शिव राईले विद्युत् पुगेपछि दैनिकी नै परिवर्तन भएको बताउनुभयो । गोठमा टुकी पन्छाएर सोलार जडान गर्नुभएका राईलाई विद्युत्को केन्द्रीय प्रसारण लाइन पुगेपछि सुरक्षित भएको अनुभूति भएको छ ।

इलामको उच्च पहाडी क्षेत्र बन्दुके क्षेत्रमा अहिले विद्युत्को उज्यालो छ । घना जङ्गलको बीचमा सञ्चालनमा आएको गोठमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो । अर्का स्थानीय रुकमान शेर्पाले भन्नुभयो, “हाम्रो अर्थतन्त्रको आधार नै गोठ राखेर पशुपालन गर्नु हो । सडक, खानेपानी सञ्चार, विद्युत्लगायत आधारभूत सुविधाविहीन गोठमा विद्युत् पुगेपछि स्वर्गझै भएको छ ।” विद्युत् पुगेपछि जङ्गली जनावरको आक्रमणमा पनि कमी आएको छ । गोठमा पालिएका बाख्रा, गाई र चौँरीको रेखदेखका लागि विद्युत् विस्तारले सहयोग पुगेको हर्कमान मुखियाको भनाइ छ ।

आधारभूत सुविधा नभएको क्षेत्रमा विद्युत् पुगेपछि घरधन्दा गर्न पनि सहज भएको गोठ सञ्चालिका सञ्जीला राईले सुनाउनुभयो । इलामको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारी, कालपोखरी, बिखेभञ्ज्याङ बन्दुके, धुपी, आहाललगायत क्षेत्रमा गोठ राखेर पशुपालन हुँदै आएको छ । व्यावसायिक रुपमा पशुपालन गरिएका क्षेत्रमा विद्युत्को उज्यालो पु¥याउने योजनाअनुसार विद्युत् विस्तारको काम हुँदै आएको सन्दकपुर–२ का अध्यक्ष सनम राईले बताउनुभयो । विद्युत्को उज्यालो नपुग्दा मोबाइल चार्ज गर्न पनि घन्टाँै धाउनुपर्ने बाध्यता अहिले विद्युत् विस्तारसँगै सहज भएको छ । उच्च पहाडी क्षेत्रमा पशुपालन गरी दूध, घ्यू, छुर्पी, चीज उत्पादनसँगै बिक्रीबाट किसानले आम्दानी गर्दै आएका छन् ।

अबको मौसम कस्तो रहला ? यस्तो भन्छन् मौसमविद्

काठमाडौँ – तत्काललाई धेरै भारी वर्षाको सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका मौसमविद् रोजन लामिछाने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेको र तत्काल भारी वर्षा वा लगातार वर्षाको सम्भावना भने नरहेको बताउनुभयो ।

धेरै असर गर्ने खालको वर्षा तत्काल नहुने पनि उहाँले बताउनुभयो । लामिछानेका अनुसार अबको २४ घण्टामा देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । छिटफुट भारी वर्षा पनि हुनसक्ने उहाँले बताउनुभयो । पहाडी भूभागका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्नसक्ने गेग्र्यान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध भने गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ ।

हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ । आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । भोलि भदौ १२ गते देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

भोलि १२ गते राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । यस्तै १३ गते देशभर आंशिकदेखि सामान्य बदली रहने र देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस दिन राति देशभर आंशिकदेखि सामान्य बदली रहने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

स्थानीयद्वारा ल्यान्डफिल साइटमा फोहर पाल्न रोक्ने घोषणा

काठमाडौँ – बञ्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाको फोहरमैला लैजान स्थानीयले बन्द गर्ने घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाडौँ महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयले फोहरमैला लैजान बन्द गर्ने र शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने निर्णय गरेका हुन् । बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र व्यवस्थापन सरोकार समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा स्थानीय जनताको जीवन रक्षाको लागि मानवरहित ल्यान्डफिल साइट र फोहरमैला व्यवस्थापन दीर्घकालीन योजना नअपनाएमा असोज १ गतेदेखि सधैँका लागि बन्द गर्ने गरी शान्तिपूर्ण आन्दोलन घोषणा गर्ने जानकारी गराएका छन् ।

उक्त सम्मेलनमा समिति संयोजक श्रीराम ढुङ्गानाले स्वच्छरुपमा बाँच्न पाउने मानवअधिकार राज्यले सुनिश्चित गर्न नसकेको बताउँदै महानगरपालिकाले प्रभावित क्षेत्रका बासिन्दामा गरेको अविवेकपूर्ण व्यवहारमा घोर आपत्ति जनाउनुभयो । “अरुलाई बचाउन आफू मर्नुपर्ने कस्तो अत्याचार ? स्थानीय जनताको जीवनरक्षाको लागि नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । पुस्तौँपुस्ताले सहेको यो व्यवहार दीर्घकालीन समाधान नभएसम्म ल्याण्डफिल साइटमा फोहर लैजान सधैँका लागि बन्द गर्छौँ”, उहाँले भन्नुभयो । प्रभावित क्षेत्रका पीडित व्यक्ति हरि लामाले फोहर र मानव एकैठाउँमा रहन नसकिनाले सरकारले गरेको अपहेलना सह्य नभएकाले आन्दोलन गर्न बाध्य भएको गुनासो गर्नुभयो । समितिका उपसंयोजक सुमित्रा ढकालले समस्या समाधान गर्न प्रभावित क्षेत्रमा मानव बस्ती हटाई व्यवस्थापन गर्नुपर्ने या फोहरको स्रोत जहाँ छ त्यसको व्यवस्थापन सोही पालिकामा हुनुपर्नेमा जोड दिनुभयो ।

ककनी गाउँपालिका–२ का कार्यबाहक अध्यक्ष चुयामे तामाङले बञ्चरेडाँडाको फोहरबाट जनतालाई टाढा राख्न सबै एकजुट हुनुपर्ने बताउँदै जनतालाई आफ्नो जीवन रक्षाको लागि आन्दोलन गर्नुपर्ने बाध्यता सिर्जना नगरिदिन महानगरपालिकालाई आग्रहसमेत गर्नुभयो । काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य नगरपालिकासमेतको सयुंक्त षडयन्त्रद्वारा प्राविधिकलाई आफ्नो एकाधिकारमा राखी मानव अस्तित्व समाप्त गराउने योजनामा महानगरपालिका लागेकोले फोहरमैला प्रवेश गर्न पूर्णरुपमा रोक लगाउने समितिले निर्णय गरेको, प्रभावित क्षेत्रसँग सरकारले गरेका निर्णय कार्यान्वयन नगरेको, हानिकारक फोहरमैला प्रतिबन्ध नगरेको, महानगरपालिका समेतले १८ वर्षसम्म गरेका गैरजिम्मेवार कार्यबारे समितिले उल्लेख गरेको छ ।

समितिले प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी मानव बस्तीरहित ल्याण्डफिल साइट विकास क्षेत्र, फोहरमैला प्रदूषणरहित बस्ती विकास क्षेत्र, प्रभावित क्षेत्रलाई विशेष संवेदनशील क्षेत्र घोषणा गरी शिघ्र कार्यान्वयन गर्नुपर्ने, प्रधानमन्त्री कार्यालयको मातहातमा काम कारबाही गर्ने गरी फोहरमैला विकास प्राधिकरण गठन गर्नुपर्ने विषयको कार्यान्वयन अवलम्बन गर्नुपर्ने माग राखेका छन् ।

उपप्रधानमन्त्री खड्कासँग भारतको एडिसीका शिक्षार्थीको शिष्टाचार भेट

काठमाडौँ – उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेसनल डिफेन्स कलेज (एनडिसी), नयाँदिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमण दलका सदस्यहरूले शिष्टाचार भेट गर्नुभएको छ ।

आज रक्षा मन्त्रालय सिंहदरबारमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति सञ्चालनका आधारका रूपमा रहेको बताउँदै सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको उल्लेख गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको उहाँले बताउनुभयो । रक्षामन्त्री खड्काले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने हुँदा विभिन्न देशमा यससम्बन्धी संस्थाहरूको स्थापना र सञ्चालन भइरहेको सन्दर्भमा नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको बताउनुभयो ।

प्रतिनिधिमण्डलको नेतृत्व गर्नुहुने भारतीय एयर–भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकामा उहाँले धन्यवाद दिनुभयो । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उहाँको भनाइ छ । सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावासका अधिकारी एवं नेपाली सेनाका अधिकृतहरूको समेत उपस्थिति थियो ।

एक साताभित्रै विद्युत् विधेयक सङ्घीय संसद्मा पेश हुन्छ : ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, ११ भदौ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक साताभित्र विद्युत् विधेयक सङ्घीय संसद्मा पेश गरिने बताउनुभएको छ । मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पूर्णरूपमा पारित गरी मन्त्रिपरिषद्मा पेश गरिसकेको जानकारी दिँदै उहाँले यसै साताभित्र सो विधेयकले अन्तिम निष्कर्ष पाउने र सङ्घीय संसद्मा पेश हुने बताउनुभएको हो । राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडले आज यहाँ आयोजना गरेको कार्यक्रमा उहाँले सरकारले मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी काम गरिरहेको बताउनुभयो । आन्तरिक बिजुली खपत बढाउनेदेखि प्रसारण तथा वितरण प्रणालीको निर्माणमा उत्तिकै ध्यान दिइएको उल्लेख गर्दै उहाँले समग्र विषयलाई एकीकृत कार्ययोजनाका साथ अगाडि बढाइएको स्पष्ट पार्नुभयो । सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारेर ऊर्जा क्षेत्रको एकीकृत विकास गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिनुभयो । “कुन कुन आयोजनाबाट कति मेगावाट बिजुली उत्पादन गर्ने त्यसको समगै्र तयारी गरिएको छ । ती आयोजनाबाट उत्पादित बिजुली प्रसारणका लागि निर्माण गरिने प्रसारण प्रणालीका साथै लगानीको स्रोतको पनि सुनिश्चित गर्न लागिएको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “आन्तरिक माग र खपत बढाएर बढी भएको बिजुली अन्तर्राष्ट्रिय बजारमा बिक्रीका लागिसमेत मार्ग प्रशस्त भएको छ ।” प्रधानमन्त्री प्रचण्डको पछिल्लो भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका लागि सहमति भइसकेको जानकारी दिँदै उहाँले निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको योजना रहेको बताउनुभयो । निजी क्षेत्रलाई खुला हृदयका साथ लगानी गर्न आग्रह गर्नुहुँदै उहाँले प्रसारण प्रणाली नभएर बिजुली खेर फाल्नुपर्ने अवस्थाको पूर्णतः अन्त्य गरिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “प्रसारण प्रणाली नभएर बिजुली खेर गयो भन्ने अवस्था आउन दिने छैनाँै । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएर अगाडि बढ्दा मात्रै मुलुकको समृद्धि हासिल हुन सक्छ ।” उहाँले सबैका लागि ऊर्जा र समृद्धिका लागि ऊर्जा भन्ने मार्गचित्रका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो । विगतका कमजोरीबाट पाठ सिकेर प्राप्त भएको उपलब्धिलाई थप संस्थागत गर्दै जाने सरकारको सोच रहेको मन्त्री बस्नेतको भनाइ छ । उहाँले विगतमा लोडसेडिङको अन्त्य गर्ने विषय प्रधान हुने गरेको तथ्य पेश गर्दै अहिले भने विद्युत् खपत बढाउने र बढी भएको बिजुली बिक्री गर्नेतर्फ मूल उद्देश्य केन्द्रित भएको उल्लेख गर्नुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा क्षेत्रमा बदलिएको आयामअनुसार व्यावसायिकरूपमा प्रसारण लाइनहरूको निर्माण गरेर ऊर्जा उद्यमीलाई राहत प्रदान गर्न लागिएको बताउनुभयो । उहाँले प्रसारण लाइन प्रयोग गरेबापत निश्चित शुल्क तिरेर बिजुली प्रसारण गर्न पाउने प्रबन्ध गर्न लागिएको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमा देखिने गरी केही कामलाई अगाडि बढाइएको जानकारी दिनुहुँदै त्यसबाट मुलुक र समग्र क्षेत्रमा लगानी गरेका प्रवर्द्धकले फाइदा प्राप्त गर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका कार्यकारी निर्देशक डा नेत्र ज्ञवालीले प्राधिकरणको परिपूरक र सहयोगी संस्थाका रूपमा आफ्नो कम्पनीले प्रसारण प्रणालीको विकासमा लागिपरेको बताउनुभयो । सो अवसरमा विभिन्न सात आयोजनाका प्रवर्द्धकसँग कार्यकारी निर्देशक डा ज्ञवालीले प्रसारण लाइन प्रयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो ।

राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट

काठमाडौँ, ११ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गर्नुभएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ । सो अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षालगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको थियो ।

क्रिकेटर सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौँ – नेपाली राष्टिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने एसिया कपमा सहभागिता जनाउन आज पाकिस्तान प्रस्थान गर्नुभएको छ । नेपाली टोली भने गत मङ्गलबार नै पाकिस्तान प्रस्थान गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै गएर सन्दीपलाई बिदाइ गर्नुभयो । एसिया कप यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुँदैछ ।

त्यसै दिन नेपालले पाकिस्तानको मुल्तानमा पाकिस्तानसँग समूह चरणको पहिलो खेल खेल्ने छ । समूह ‘ए’ मा नेपाल र पाकिस्तानसहित भारत रहेको छ । नेपालले दोस्रो खेल भदौ १८ गते भारतविरुद्ध श्रीलङ्कामा खेल्ने छ । नेपालले पहिलोपटक एसिया कपमा खेल्न लागेको हो । “देशले सन्दीपमाथि जसरी भरोसा गरेको छ त्यो भरोसा सन्दीपबाट पूरा हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

साथै सम्पूर्ण टिमलाई पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिन चाहन्छु । नेपाली टिममा सन्दीप समावेश हुनु भनेको टिमले पूर्णता पाएको सन्देश जानु हो”, बिदाइका क्रममा सदस्य सचिव घिसिङले भन्नुभयो, “सुखद् परिणामका लागि सफलता मिलोस् भन्ने सम्पूर्ण टिमलाई सन्देश दिन र सन्दीपलाई शुभयात्रा भन्न म यहाँ उपस्थित भएको हुँ । अल द बेस्ट ।”

त्यस्तै सन्दीपले पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरेको बताउँदै एसिया कपमा राम्रो खेल प्रदर्शन गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एसिया कपमा खेल्न पाउनु सबै नेपालका लागि गर्वको कुरा हो । जित÷हारभन्दा पनि हामीले त्यहाँबाट सिक्न पाउने कुरा पनि महत्त्वपूर्ण हो । एसिया कपमा खेल्न पाउनु खुसीको पर्वजस्तै हो हाम्रा लागि ।”

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल

गण्डकी – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने बताउनुभयो । पोखरा विमानस्थलको हाल रहेको दुई हजार पाँच सय मिटरको धावन मार्गलाई थप पाँच सय मिटर बढाउने सम्बन्धमा पनि छलफल हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।

नेपाल चीनबीचको कोरोला नाका सञ्चालनमा ल्याउने विषय पनि भ्रमणका क्रममा प्राथमिकतामा पर्नु आवश्यक रहेको उहाँको भनाइ छ । कोरोला नाका चीनका लागि पनि सहज हुने भन्दै उहाँले चीन र भारतका बीचको अन्तरदेशीय व्यापारका लागि पनि यो नाका सञ्चालनमा आउनु महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो । पोखरालाई पर्यटकीय गन्तव्यका लागि सूचीकृत गर्नुपर्ने, पोखरामा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने, प्रविधिको हस्तान्तरणलगायतका विषयलाई पनि प्राथमिकतामा राख्न सकिने उहाँले बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनका साथै हङकङलगायतका सहरबाट पोखरामा सीधा उडानका विषय नै भ्रमणमा उठ्नुपर्ने प्रमुख विषय रहेको बताउनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कसरी अन्तर्राष्ट्रिय उडान गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको पहिलो आवश्यकता भएको बताउनुभयो ।

कोरोला नाका सञ्चालनमा ल्याउन सके यहाँबाट कैलाश तथा मानसरोवरको यात्रा गर्न सकिने उल्लेख गर्दै उहाँले त्यसबाट लाखौँ भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, मनि चेन्जर एसोसिएसन पोखराका अध्यक्ष रूपक मिश्र, माइकल कर्माचार्यलगायतले सङ्कटमा परेको पोखराको पर्यटनलाई बचाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । प्राथमिकता तय गरी प्रधानमन्त्रीको भारत भ्रमणमा उठ्नुपर्ने विषयका रूपमा लिपिबद्ध गरिने उक्त अवसरमा जानकारी गराइयो । यही भदौ १५ गते एक कार्यक्रमका सन्दर्भमा पोखरा आउन लाग्नुुभएका प्रधानमन्त्री दाहाललाई यस विषयमा भेटेर प्राथमिकताका विषयबारे अनुरोध गरिने नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले जानकारी दिनुभयो ।

वर्षा बाधक बनेपछि नेपाल र थाइल्यान्डबीचको खेल रद्द

काठमाडौँ – नेपाल र थाइल्यान्डको महिला टोलीबीच आज भएको टी–ट्वान्टी अभ्यास खेल वर्षा बाधक बनेपछि रद्द भएको छ । मलेसियाको बायोमास रङ्गशालामा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले नेपाललाई जितका लागि एक सय २८ रनको लक्ष्य दिएको थियो ।

थाइल्यान्डका लागि कप्तान नथाकन चान्थमले सर्वाधिक ७८ रनको अविजित इनिङ खेलेकी थिइन् । नेपालकी कविता कुँवरले २ विकेट लिएकी थिइन् भने पूजा महता, खुसी डङ्गोल, इन्दु बर्माले समान एक÷एक विकेट झारेका थिए ।

उक्त विजयी लक्ष्य पछ्याएको नेपालले तीन बल खेल्दा वर्षा बाधक बनेपछि खेल रोकिएको थियो । सीता रानामगर शून्यमा रन आउट भएकी थिइन् । नेपाल र थाइल्यान्डले आइसीसी महिला विश्वकप टी–ट्वान्टी एसिया क्षेत्र छनोट अघि खेलको उक्त अभ्यास खेल खेलेको हो । एसिया छनोट खेल यही भदौ १४ देखि २३ गतेसम्म मलेसियामा हुँदैछ । एसिया छनोटमा विभिन्न ११ राष्ट्रको सहभागिता रहनेछ । नेपालको समूह ए मा परेको छ ।

नेपालको समूहमा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् । त्यस्तै समूह बीमा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् । प्रतियोगितामा फाइनल पुग्ने दुई टोलीले २०२४ मा ग्लोबल महिला टी–ट्वान्टी विश्वकप छनोट खेल्न पाउने छन् । नेपालले आफ्नो उद्घाटन खेल ३१ अगस्टमा मलेसियासँग खल्नेछ ।

कैलालीमा एक हजार बढी बिगाहा जग्गामा ‘चिप्स’ बनाउने आलु उत्पादन हुँदै

सुदूरपश्चिम – कैलालीमा एक हजार बढी बिगाहा जग्गामा ‘आलु चिप्स’ बनाउन प्रयोग गरिने आलु खेतीको विस्तार गर्न लागिएको छ । खेतीको विस्तारका लागि जिल्लाका विभिन्न पालिकाका एकसय दुई वडामा किसान जागरण समिति गठन भइरहेको किसान रामबहादुर रावतले जानकारी दिनुभयो ।

“यस वर्ष आलु चिप्स बनाउनका लागि प्रयोग हुने इन्युभेटर र सजिता जातको आलु खेती विस्तार गर्दैछौँ,” उहाँले भन्नुभयो । घोडाघोडी नगरपालिकाको पहलमानपुरमा सञ्चालित शीतगृह (कोल्ड स्टोर)का सञ्चालक समितिका अध्यक्षसमेत रहेका रावतले भन्नुभयो, “गठन भइरहेका जागरण समितिमार्फत् आलु लगायतका कृषिउपजको उत्पादन वृद्धि गर्न जागरण ल्याउने छ ।” जागरण समिति गठनका क्रममा वडा तहमा २५÷२५ जनाको कृषक समूह गठन गर्न लागिएको छ । यो समूहले बचत रकम सङ्कलनका साथै उत्पादन हुने आलु पनि सङ्कलनको व्यवस्थापन गर्ने जनाइएको छ । बुटवलस्थित आलुको चिप्स उत्पादन गर्ने कम्पनीसँग कैलालीमा उत्पादन हुने आलु खरिद गर्ने सम्बन्धमा समझदारी भएको बताइएको छ । गत वर्ष रु दुई करोड मूल्य बरबरको आलु उक्त कम्पनीले खरिद गरेको थियो ।

“आलु उत्पादन भएपछि प्रतिकिलोमा बजारको मूल्यभन्दा रु दुई बढीमा खरिद गर्ने समझदारी भएको छ,” रावतले भन्नुभयो, “बजारको सुनिश्चितता हुँदा किसान हौसिएका छन् । कम्पनीले आलुको बीउ भारतबाट आयात गरी व्यवस्थापन गरिदिने भएको छ ।” प्रदेश सरकारले चालु वर्षमा घोडाघोडी नगरपालिकासहित धनगढी, गोदावरी, कैलारी, लम्कीचुहालगायतका छ पालिकामा बृहत् आलु उत्पादन कार्यक्रम सञ्चालन गर्न रु २५ लाखका दरले बजेट विनियोजन गरेको छ । शीतगृह सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी क्षमताको शीत भण्डारन गृह हो । आर्थिक समस्याका कारण भने शीत भण्डारन गृह घाटामा गएको छ । सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसाय प्रालिको पहलमा कम्पनी ऐनअनुसार दर्ता भई सञ्चालनमा रहेको उक्त शीतगृह साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको सहयोगमा विसं २०७३ मा निर्माण गरिएको थियो । तीन हजार तीनसय मेट्रिक टन क्षमताको उक्त शीत भण्डारन गृह स्थापनामा लागेको ऋण र सोको ब्याज रकम बुझाउन समस्या हुँदा घाटामा गएको बताइएको छ ।

सहकारी बैंक, सामुदायिक वन, व्यक्तिगतसमेत गरेर रु २५ करोड ऋण रहेको छ । यो शीत भण्डार गृहसँग पाँच हजार किसान जोडिएका छन् । प्रदेश सरकारले गत विगतका वर्षमा छुट्याएको बजेट रकम चालु शीर्षकमा नराखेर पुँजीगत शीर्षकमा राख्दा बजेट खर्च गर्न समस्या भई घाटामा गएको हो । शीत भण्डार गृहका लागि प्रदेश सरकारले आव २०७८/७९मा छुट्याएको रु पाँच करोड र आब २०७९/८० मा छुट्याएको रु चार करोड बजेट खर्च हुन नसकेर फ्रिज भएको थियो । विद्युत्को बक्यौता रकम रु २३ लाख पुगेपछि पटकपटक विद्युत् लाइनसमेत काटिने समस्या सञ्चालकले बेहोर्दै आएका छन् । बिजुलीको लाइन काटिँदा डिजेल प्रयोग गरी शीतगृह सञ्चालन गर्ने गरिएको छ । प्रदेशले रकम देखाउने तर काम नगरिदिने प्रवृत्ति देखाउँदा हैरानी खेप्नुपरेको स्थानीय किसानको भनाइ छ ।

प्रत्यारोपण केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता : स्वास्थ्यमन्त्री बस्नेत

भक्तपुर – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई राज्यको सहयोग अपुग रहेको बताउनुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज आकस्मिक अनुगमन गर्दै उहाँले मिर्गौला प्रत्यारोपण, डायलासिस, कलेजो प्रत्यारोपणलगायतका प्रभावकारी काम गर्दै आएको यस केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता देखिएको बताउनुभयो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका भवन अत्यन्तै साँघुरो रहेकाले नयाँ भवन बनाउन अत्यावश्यक देखिएको उहाँले बताउनुभयो ।

अस्पतालको अवस्था हेर्दा बिरामीको चाप अत्यधिक रहेको, भवन निकै साँघुरो रहेको, कतिपय टहरामा बनाएको कोठामा पानी चुहिएको पाइएकाले जतिसक्दो छिटो नयाँ भवनको आवश्यकता देखिएको बताउनुभयो । यस अस्पतालकोबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यहाँको सेवा विस्तारको आवश्यकताका बारेमा चासो लिएको बताउनुभयो । “यहाँको बारेमा प्रधानमन्त्रीले पनि चासो लिनुभएको छ, यहाँको भवनको अवस्था हेर्दा सङ्कटाग्रस्त लाग्यो, टहराको कोठामा पानी चुहिएको देखियो, सयौँ बिरामी पालो कुरेर बसेको पाइयो”, स्वास्थ्य मन्त्री बस्नेतले भन्नुभयो, “यो अस्पतालको भवन निर्माणका लागि जग्गा खोज्न भनेका छौँ, जग्गा प्राप्त हुने बित्तिकै सरकारले भवन निर्माण प्रक्रिया थाल्छ, बजेट अपुग भए विदेशी दातालाई आह्वान गर्न सक्छौँ ।” यहाँको अवस्था हेर्दा सरकार र स्वास्थ्य मन्त्रालय गम्भीर बनेका बताउँदै उहाँले छिट्टै भवन बनाएर बिरामीले धेरै पालो कुरेर दुःख पाउनु नपरोस् भनेर मन्त्रालय लाग्ने बताउनुभयो ।

केन्द्रले साँघुरो भवनमा दिएको प्रभावकारी सेवा देखेर आफू प्रभावित भएको र बिरामीको गुनासो नआउने गरी प्रभावकारी सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो । स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गर्ने अहिले ‘फेसन’ नै भएको भन्दै मन्त्री बस्नेतले कतिपय ठाउँमा आवश्यकता रहेको हुनसक्ने तर पहिलो प्राथमिकता बिरामीलाई तत्काल गुणस्तरीय सेवा कसरी दिने भन्नेबारेमा राज्य लाग्ने बताउनुभयो ।

मन्त्री बस्नेतले अनुगमनको क्रममा केन्द्रले सेवा प्रवाह गर्दै आएको आकस्मिक सेवा, ओपिडी, ल्याब, डायलासिस सेवा, अपरेसन वार्ड, क्याथल्याब, पोष्ट अपरेटिभ वार्डलगायतका वार्डको अनुगमन गर्दै बिरामीसँग सेवाका बारेमा जानकारी लिनुभएको थियो । केन्द्रमा डायलासिस गराइरहेका बिरामी, भर्ना भएका र अङ्ग प्रत्यारोपण गरेर उपचाररत रहेका बिरामीले उहाँलाई यहाँको सेवाभन्दा पनि राज्यले दिनुपर्ने सेवालाई व्यवस्थित गर्न माग गरेका थिए ।

डायलासिस गराइरहेका एक बिरामीले तामाकोशी गाउँ पालिकाका अध्यक्षले बजेट छैन भन्दै सरकारले उपलब्ध गराउँदै आएको मासिक रु पाँच हजार उपचार खर्च नदिएको, बिरामीले डायलासिस गर्न धेरै कुर्नुपरेको, डायलासिस गर्न आउँदा बस्ने ठाउँ नहुँदा चिसो भुइँमा बस्नुपरेको, सरकारले ताकेको औषधिको मूल्यभन्दा बिमाबाट प्राप्त हुने एउटै औषधिमै रु छ सय बढी लिने गरेको गुनासो गर्नुभयो । उनीहरुले देशभरका सबै पालिकाबाट मासिक रु पाँच हजार अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न, बिमाबाट प्राप्त हुने औषधिको मूल्य घटाउन माग गरेका थिए ।

केही बिरामीले बीमाको ‘रिफर कार्ड’ बनाउँदै हिँड्नुपर्ने समस्या रहेकाले बिमाको एउटै कार्डले सबै अस्पतालमा उपचार पाउने व्यवस्था गरिदिन मन्त्री बस्नेतसँग माग गरेका थिए । मन्त्री बस्नेतले बिरामीबाट आएको समस्या समाधानका लागि आफू लाग्ने बताउनुभयो । अनुगमनपछि केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पताल सुरु भएको १० वर्षको अन्तरालमा एक हजार एक सय छ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको र त्यसमा ९९ प्रतिशत प्रत्यारोपण सफल भएको मन्त्री बस्नेतलाई जानकारी गराउनुभयो ।

उहाँले केन्द्रमा वार्षिक दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको बताउनुभयो । नेपालको कानुनअनुसार गैरनातेदारमा मिर्गौला साटासाटबाट ४५ जोडीको ९० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै अहिलेसम्म १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । एक वर्षमा ३० हजार बिरामीले ओपिडीसहित यहाँबाट प्राप्त सेवा लिने गरेको बताउँदै केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले यस केन्द्रमा वार्षिक दुई हजार बिरामीले भर्ना भएर सेवा लिएको र यो सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको बताउनुभयो ।

केन्द्रमा क्याथ ल्याब सेवाबाट चार सय जनाले सेवा लिएको बताउँदै उहाँले ठाउँ अभावका कारण ओपन हार्ड सर्जरी रोकिएको जानकारी गराउनुभयो । दुर्घटनाबाट हुने मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइने अङ्गदान नेपालमा प्रभावकारी हुन नसकेको भन्दै डा श्रेष्ठले भन्नुभयो, “नेपालमा वर्षमा एक हजार जनाको दुर्घटनाका कारण मस्तिष्कघात भई मृत्यु हुन्छ, तर उनीहरुबाट अङ्गदान गराउन सकेका छैनौँ, मस्तिष्कघात भएका एक बिरामीबाट आठ वटा अङ्ग प्राप्त गर्न सकिन्छ, यसले एक जनाबाट आठ जनाको ज्यान बचाउन सकिन्छ, तर यसलाई प्रभावकारी बनाउन सकेका छैनौँ ।” विदेशमा ८० प्रतिशत अङ्ग मस्तिष्कघात भएका बिरामीबाट लिइने गरेको तर नेपालमा अहिलेसम्म मस्तिष्कघात भएका पाँच जनाबाट १० जनालाई मिर्गौला र तीन जनालाई कलेजो दान गर्न सकिए पनि हजारौँ अङ्ग खेर गइरहेको उहाँको भनाइ थियो । मिर्गौला प्रत्यारोपणको लागि एक हजार बिरामी, कलोजो प्रत्यारोपणका लागि ५० जना बिरामी प्रतिक्षारत रहेको भन्दै अब मुटु र फोक्सोको पनि नेपालमै पहिलो पटक केन्द्रबाटै प्रत्यारोपण सेवा सुरु गर्नुपर्ने बताउनुभयो ।

बिरामीको चाप बढ्दै गएकाले केन्द्रले नेपाल सरकारको समन्वयमा सात वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य सुरु गरेको जानकारी दिँदै कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “अहिले वर्षमा दुई सय मिर्गौला प्रत्यारोपण गर्दा विदेशिने एक अर्ब रुपैयाँ बचाउन सकेका छौँ, अझै पाँच अर्ब रकम यही उपचारका लागि बाहिरिने गरेको छ, सेवा बिस्तार गर्न सके यो रकम विदेशिनबाट रोकिन्थ्यो, नेपालमै बिरामीले सहज उपचार पाउथे ।”

प्रत्यारोपण र डायलाइसिसको लागि प्रतिक्षा सूचीमा रहेका बिरामीलाई तत्काल सेवा दिन भवनको व्यवस्था भए सय श्ययामा विस्तार गर्दै निकट भविष्यमा दैनिक तीन सय जनाको डायलाइसिस गर्ने योजना अगाडि बढाएको बताउनुभयो । केन्द्रले सातवटै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा पाँच सय जनाभन्दा बढी नर्स र ५० जनाभन्दा बढी डाक्टरलाई तालिम दिएर दक्ष बनाएको बताउँदै कार्यकारी निर्देकक डा श्रेष्ठले मन्त्री बस्नेतसँग केन्द्रलाई ‘नेशनल ट्रान्सप्लान्ट एकेडेमी अफ हेल्थ साइन्स’ को नाममा प्रतिष्ठान बनाउन माग गर्नुभयो

राष्ट्रपतिद्वारा विभिन्न देशमा राजदूत नियुक्त

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूत पदमा, तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूत पदमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले उहाँहरुलाई आज नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ अमेरिकामा

काठमाडौँ, ११ भदौ : नेपालमा सफलतापूर्वक प्रदर्शन भएको चलचित्र ‘बगान’ को संयुक्तराज्य अमेरिकामा प्रदर्शन प्रारम्भ भएको छ । कलाकारसमेत रहनुभएका निर्देशक सरोज खनालले भदौको पहिलो सातादेखि सुरु भएको प्रदर्शन दशैँसम्म हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विभिन्न सहर र क्यानाडामा समेत प्रदर्शन तय गरेका छौँ । नेपालमा दर्शकले दिनुभएको प्रतिक्रिया र यहाँ माग भएकाले सानोरूपमा सुरु गरेका छौँ । दर्शकको मागअनुसार सो सङ्ख्या बढ्ने छ ।”

उहाँसँगै अभिनेत्री प्रमिला कार्की र गीतकार सुरेश वाग्ले प्रदर्शनीमा सहभागी भइरहनुभएको छ । चलचित्र र रङगमञ्चमा उत्तिकै लोकप्रिय नाम बनिसक्नुभएका खनालले यसै चलचित्रमार्फत निर्देशकीय यात्राको प्रारम्भ गर्नुभएको हो । यद्यपि योजना बनाएर नै निर्देशनको यात्रा प्रारम्भ नभएको उहाँले बताउनुभयो ।“मलाई नाट्यकर्मी सुनिल पोखरेलले एउटा पुस्तक दिनुभएको थियो । त्यहाँ सङ्गृहीत कथामध्ये एउटा बगान थियो । त्यो पढेपछि यसलाई ठूलो पर्दामार्फत आम दर्शक र समाजमा पु¥याउनु पर्छ भन्ने लाग्यो”, निर्देशक खनालले भन्नुभयो, “यो कथा ममार्फत नै भन्नुपर्छ भन्ने लागेर निर्देशन गरेँ । मलाई छायाङ्कनकै समयमा कसैले निर्देशकभन्दा नि अप्ठ्यारो हुन्थ्यो । मैले सरोज नै भनेर सम्बोधन गरिदिनुस् भनेर भन्थेँ ।”आफूलाई कथा वाचक भन्न रुचाउने खनालले चलचित्रमा आफूभन्दा वरिष्ठ कलाकार नै बढी राख्नुभयो । सयौँ चलचित्रमा अभिनय गरिसक्नुभएका अभिनेता खनालले चलचित्रमा स्टार कलाकारभन्दा पनि विषयवस्तु महत्त्वपूर्ण हुनुपर्ने बताउनुभयो । त्यसैले उहाँले एकल महिलाको कथा, समवेदना र शिक्षाको महत्त्वलाई चलचित्रमा प्रस्तुत गर्नुभएको छ ।गीतकार वाग्लेका अनुसार चलचित्र ‘बगान’ मेफिल्ड, ग्रीन्सबोरो, कोलोराडो, टोरोन्टो (क्यानाडा), न्युयोर्क, डलास, ह्युस्टन, अस्टिन, लसएन्जलस, क्यालिफोर्निया, ह्यारिस्वर्ग, एटलान्टालगायतका सहरमा प्रदर्शन हुँदैछ ।‘बगान’ मा आकाश श्रेष्ठ, नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । स्वप्निल नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समिर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ संयोजन गर्नुभएको छ ।

किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्युपछि अस्पतालमा आफन्तको प्रदर्शन

सुदूरपश्चिम, ११ भदौ : किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् । चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै लापर्वाही गर्ने माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिक–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा आज मृत्यु भएको थियो । चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताउनुभयो । प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

सुन तस्करी प्रकरणमा संलग्न कसैलाई कानुनले छुट दिँदैन : महामन्त्री शर्मा

रामपुर (पाल्पा), ११ भदौ : नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणमा संलग्न रहेका व्यक्तिलाई कानुनी दायरामा ल्याउने बताउनुभएको छ ।

पाल्पाको रामपुरमा आज नेपाल प्रेस युनियन पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा महामन्त्री शर्माले सुनकाण्डमा जोकोही संलग्न रहे पनि कानुनी कठघरामा ल्याउनुपर्ने र त्यसको लागि कांग्रेसले दलको आडमा कसैलाई ढाकछोप गर्न लागेमा उम्कन नदिने बताउनुभयो ।

सुनकाण्डका विषयमा अहिले सिआइवीले छानबिन गरिरहेको बताउँदै उहाँले जात, धर्म, ठूलो, साना व्यक्ति भनेर कसैलाई छुट नरहेको, छानबिनको क्रममा रहेकाले यस कार्यमा कोको संलग्न छन् एवं कसरी भित्रिरहेको छ यी सबै कुराको अध्ययन गरेर प्रतिवेदन बनाएर आवश्यक छानबिन गर्ने स्पष्ट पार्नुभयो ।

कानुनविपरीत कार्य गर्नेलाई कुनै पनि राजनीतिक दलले शक्ति र सत्ताको आडमा ढाकछोप गर्न नहुने, दल आफैँले बनाएको कानुन पालना गरेर भ्रष्टाचार, बेथितिविरुद्ध सबै दल एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ । धरानमा भएको गौहत्या काण्ड गम्भीर रहेकाले धर्म निरपेक्षता रहेको देशमा कसैले पनि एकले अर्को जात, सम्प्रदायबीच खलल पुग्ने कार्य गर्न नहुने महामन्त्री शर्मा बताउनुहुन्छ ।

एक अर्को प्रसङ्गमा उहाँले हरेक राजनीतिक दलभित्र नेतृत्व विकल्प रहेको हुँदा एकले अर्कोलाई दोषरोपण गरेर राजनीति चल्दैन भन्नुभयो । महामन्त्री शर्मा कांग्रेस क्षेत्र नं १ पाल्पाले आयोजना गरेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनका लागि आज पाल्पाको रामपुर आउनुभएको हो ।

आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन नेपालमा हुने

काठमाडौँ, ११ भदौ : आठौँ दक्षिण एसियाली न्युरोसर्जरी शिखर सम्मेलन दक्षिण एसियाको न्युरोसर्जरी अर्थात् स्नायु शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । नेपाल न्युरोसर्जन समाजका अध्यक्ष डा प्रवीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ तारिख (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण एसियाली न्युरोसर्जरीसम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो । यो सम्मेलन सन् १९९९ मा पहिलोपल्ट नेपालबाट नै सुरु भएको थियो ।

त्यसपछि सन् २०१२ मा दोस्रो पटक गरी नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ । विगत करिब छ वर्षदेखि र कोरोनाको समयमा यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले आठौँ शिखर सम्मेलन नेपालमै आयोजना गर्न लागेको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्युरोसर्जन रहेका छन् र देशका विभिन्न भागमा सेवारत छन् ।

तीमध्ये करिब ५० प्रतिशत काठमाडौँ उपत्यकामै कार्यरत छन् । बाँकी आधा देशका अन्य स्थानमा कार्यरत छन् । हाल देशको सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति रहेको हुनाले न्युरोसर्जरीसम्बन्धी सेवा देशभर पुगेको छ । सन् १९८८ मा स्व डा उपेन्द्र देवकोटाले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा सुरु गरेपश्चात् देशमा यो सेवाको सुरुआत भई विस्तार हुँदै गएको हो ।

हाल नेपालमा रहेका न्युरोसर्जन सङ्ख्याको हिसाबले पर्याप्त नभए तापनि सातै प्रदेशमा न्युरोसर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो । नेपालको पूर्वी र तराई क्षेत्रमा न्युरोसर्जनको सङ्ख्या प्रशस्त भए पनि पश्चिम र पहाडी क्षेत्रमा न्युरोसर्जरी सेवा अझै न्यून रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जनको आवश्यकता पर्दछ ।

नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ जुन त्यति नराम्रो होइन । दक्षिण एसियाका अन्य देशमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ । भारतमा करिब दश लाख जनसङ्ख्याका लागि एक न्युरोसर्जन रहेको छ भने बङ्गलादेशमा पनि झन्डै उस्तै अवस्था रहेको छ । पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ । त्यहाँ करिब ५० लाख जनसङ्ख्याका लागि एकमात्र न्युरोसर्जन रहेको छ ।

श्रीलङ्कामा करिब आठ लाखका लागि एक न्युरोसर्जन रहेको छ भने मल्दिभ्समा करिब एक लाखको लागि एक न्युरोसर्जन रहेको छ । भुटानमा न्युरोसर्जन र न्युरोसर्जरी सेवाको अझै पनि धेरै कमी देखिन्छ । नेपाल न्युरोसर्जन समाजले नेपालमा न्युरोसर्जरी सेवा र न्युरोसर्जरी शिक्षाको विकासका लागि धेरै योगदान पु¥याउँदै आएको छ ।

हाल देशमा बर्सेनि विभिन्न शिक्षण अस्पतालबाट करिब दश जना न्युरोसर्जन उत्पादन हुँदै आएको छ भने देशका सातै प्रदेशमा वर्षैभरि नेपाल न्युरोसर्जन समाजअन्तर्गत न्युरोसर्जरीसम्बन्धी विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ ।

सम्झौताविना नदीजन्य वस्तुको उत्खनन्

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिकामा ठेक्का सम्झौताविनै नदीजन्य वस्तुको उत्खनन् भएको छ । मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीको बगरमा डोजर लगाएर बालुवा निकालेर निकासी भएको हो । असार १५ देखि भदौ १५ गतेसम्म नदीजन्य पदार्थ उत्खनन् गर्न नपाउने नियम छ । कानुनी व्यवस्था विपरीत म्याग्दी नदीबाट वर्खा याममा बालुुवा उत्खनन गरेका हुन् ।

तोलावाङ, पतेनी, रानीवासा, कमेरे, इल्पु, भारवाङलगायत क्षेत्रमा ठेक्का सम्झौताविनै बालुुवा उत्खनन् भएको गाउँपालिकाका जनप्रतिनिधिले नै बताएका छन् । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले केही व्यक्तिहरुले ठेक्का सम्झौता नै नगरिकन बालुुवा उत्खनन गरेको गुुनासो आएको र उनीहरुलाई जरिवाना तिराइएको बताउनुुभयो । 

“हाम्रो पालिकाको क्षेत्रमा नदीजन्य वस्तुको उत्खनन र निकासीका लागि गत वर्ष भएको सम्झौता अवधि सकिएको छ । नयाँ आवको ठेक्का आह्वान भएको छैन”, उहाँले भन्नुुभयो, “सम्झौताविनै बालुुवा उत्खननमा प्रयोग भएका डोजर र दुवानी गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएर जरिवाना तिराएका छौँ ।”

नदीबाट निकालेर भण्डारण गरिएका बालुुवाको केही दिनमै अनुुगमन गरेर जफत र लिलामी गर्ने तयारी गरेको पनि अध्यक्ष गर्बुजाले बताउनुुभयो । स्थानीय तहको प्रमुख आम्दानीको स्रोत रहेको नदीजन्य वस्तुको अवैध उत्खनन र चोरी निकाशीले गाउँपालिकाले राजस्व गुुमाउने जोखिम छ ।  

म्याग्दी उद्योग वाणिज्य सङ्घ दरवाङ एकाइका अध्यक्ष लेकबहादुुर पुनले हालै गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुुनुवाइमा ठेक्का सम्झौताविनै उत्खनन् गर्ने र ठेक्का आह्वान गर्दा सहभागी नहुने प्रवृत्ति देखिएको विषयमा प्रश्न उठाउनुुभएको थियो । 

अवैध हिसाबले बालुुवा उत्खनन गरेर वर्खामा थुपार्ने र हिउँदमा गाउँपालिकाले ठेक्का आह्वान गर्दा ठेक्का नै नपर्ने समस्या देखिएको हो । गत वर्ष मालिका गाउँपालिकाले नदीजन्य वस्तुको उत्खनन र निकासीको ठेक्का लगाउन चार पटकसम्म सूचना प्रकाशन गरेको थियो । रु। बीस लाख बढीमा छ वटा बगर ठेक्का लागेको थियो । 

बर्खामा बाढीले बगाएर ल्याएको बालुवा थुपार्न नदीभित्र खाडल बनाएका छन् । छोटो समयमा धेरै, कम लागतमा बढी गहिराइमा पुगेर बालुवा निकाल्न पाइने लोभले कानुनले नदिए पनि डोजर प्रयोग गरेका छन्् । हिउँदमा ठेक्का लिँदा बगरमा बालुुवा कम हुुने हुँदा ‘सेटिङ’ मिलाएर वर्खामा डोजर प्रयोग गरेर निकाल्ने, जरिवाना तिर्ने र लिलामीको प्रक्रियाबाट सकार्ने घुमाउरो विधि प्रयोग गरेको पाइएको छ । बालुवा निकाल्नेले गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकायसँग ‘सेटिङ’ गरेको स्थानीयको गुुनासो छ । 

नदी उत्खनन्मा संलग्न दुुई जनालाई यसवर्ष रु ४५ हजार जरिवाना तिराइएको र उपाध्यक्षको नेतृत्वमा अनुुगमन समितिले प्रतिवेदन दिएपछि थप जरिवाना गरिने प्रमुख प्रशासकीय अधिकृत चुुर्णबहादुुर कार्कीले बताउनुुभयो । ठेक्का सम्झौतामा मजदुर परिचालन गरेर उत्खनन् गर्ने भनिए पनि व्यवहारमा ‘डोजर’को प्रयोग हुुने गरेको छ ।

फिल्म‘बरिष्ठ बलराम’मा पनि जोडिए दयाहाङ राई

काठमाडौं – नेपाली चलचित्र क्षेत्रका अभिनेता दयाहाङ राई एकपछि अर्को फिल्ममा जोडिदै गइरहेका छन् । अघिल्लो वर्ष ‘कबड्डी ४’ र ‘दुई नम्बरी’बाट चर्चामा आएका उनी कपछि अर्को फिल्ममा जोडिदै गइरहेका हुन् । यस वर्ष उनी फिल्म ‘जारी’बाट चर्चामा छन् ।

फेरि उनी फिल्म ‘बरिष्ठ बलराम’मा पनि जोडिएका छन् । उनले केही दिनअघि फिल्म ‘रङ्गेली ग्याङस्टर’ मा पनि सम्झौता गरेका थिए। फिल्म ‘बरिष्ठ बलराम’लाई आगामी मंसिर महिनाको समय दिएको बताइएको छ। त्यसअघि उनले कम्तिमा तीनवटा फिल्मको छायांकन पूरा गर्ने बताइएको छ । फिल्म सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको हो ।

नेपालबारे भारतमा कस्तो बुझाइ छ ? समस्या कहाँ छ?

भारत स्वतन्त्र हुनु केही साता अघि ब्रिटेनका फिल्ड मार्शल लर्ड मोन्टगमरीलाई तत्कालीन भारतीय प्रधानमन्त्री जवाहारलाल नेहरुले नेपालसँग जोडेर भेनेको कुरा परराष्ट्र मामिलाका कैयौँ विज्ञहरूले अझ सम्झिरहन्छन्।

सन् १९४७ को गर्मीयाममा भएको भेटमा नेहरुले भनेका थिए, “नेपाल स्वतन्त्र देश भए पनि संस्कृति र परम्पराका हिसाबले उ भारतसँग ज्यादै निकट छ र हामीले उसलाई कुनै विदेशी राष्ट्रका रूपमा हेरेका छैनौँ।”

दुई देशको ‘निकट सम्बन्ध’ भविष्यमा अझ बढ्ने आशयसाथ नेहरुले त्यस बेला उक्त धारणा राखेका थिए।तर त्यस यताका वर्षहरूमा नेपाल भारत सम्बन्धमा कैयौँ गम्भीर उतारचढाव आएका छन् जसले दुई देशबीच एक अर्काको बुझाइबारे समेत प्रश्नहरू खडा गर्ने गरेको पाइन्छ।

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले असन्तुष्टि जनाएका कारण तीनै नेहरुले ‘नेपाल र भुटानमाथिको कुनै पनि हमलालाई भारतमाथिको आक्रमण मानिने’ भन्ने अभिव्यक्तिबारे प्रस्टीकरण नै दिनुपरेको थियो।

एक अर्कालाई घनिष्ठ छिमेकीका रूपमा सार्वजनिक रूपमा प्रस्तुत गर्ने नेपाल र भारत पछिल्ला वर्षहरूमा पनि आपसी बुझाइमा देखिएका कैयौँ समस्याहरूसँग जुझिरहेका छन्।कतिपय गलत बुझाइले दुवै देशमा ‘उग्र राष्ट्रवादी’ भावना निम्त्याएको विज्ञहरू बताउँछन्।

समस्या कहाँ छ?
तीन दिशामा भारतसँग साँध कायम भएको भूपरिवेष्टित नेपालको सिमाना बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बङ्गाल र सिक्किम राज्यहरूसँग जोडिएको छ।दशौँ लाखको सङ्ख्यामा नेपालीहरू भारतमा रोजगारीमा छन् भने लाखौँको सङ्ख्यामा भारतीयहरू नेपालमा काम गर्दै बसिरहेका छन्।

चीन र पाकिस्तानसँगको तनावग्रस्त सीमा क्षेत्रमा खटिने गोर्खा सैनिकको साहसदेखि आफ्ना घरमा काम गर्ने सहयोगी र पशुपतिनाथजस्ता नेपालका तीर्थस्थलका कारण पनि कैयौँ भारतीयले नेपालबारे थाहा पाएका छन्।

तर नेपाल भारत सम्बन्धमा गहिरो दक्खल राख्ने विज्ञहरू निकट छिमेकी भएपनि नेपाल र भारतमा एक अर्काको बारेमा ज्ञानको दायरा कमजोर रहेको ठान्छन्।

भारतस्थित नेपाल मामिला विज्ञ प्राध्यापक एसडी मुनीका अनुसार नेपाल र भारतबारे दुवै देशका नागरिकहरूमा कैयौँ अस्पष्टताहरू छन्।

मुनीले बीबीसी न्यूज नेपालीसँग भने, “भारतमा सबै जनाले नेपाल हाम्रै हो भन्ने किसिमले सोच्छन्। त्यसो गर्दा उनीहरूले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई समेत भुलिदिन्छन्। नेपालको समाज र राजनीतिमा जस्ता विकासक्रम भइरहेका छन् त्यो उनीहरूले न अध्ययन गर्छन् न बुझ्छन्।”

प्राध्यापक मुनी जस्ता कैयौँ विज्ञहरू संस्कृति, भूगोल र इतिहास जस्ता आधारले भारतमा नेपालको पहिचान तय गरिरहेको ठान्छन्।

त्यस्तै मध्येकी एक हुन नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धकी सिनिअर असिस्टेन्ट प्रोफेसर गीता कोछड।उनका अनुसार धेरै भारतीयहरूले ऐतिहासिक अवधारणाहरूलाई हेरेर नेपालबारे जानकारी पाएका छन् र त्यसमा भारतीय चलचित्र र गीतहरूले पनि एउटा दृष्टिकोण निर्माण गरिदिएका छन्।

उनी भन्छिन्, “भारतीय आभिजात्य वर्गमा (नेपालबाट आएका) सुरक्षा गार्ड, घरेलु कामदार विश्वसनीय हुन्छन् भन्ने एक किसिमको भावना पाइन्छ। ‘कान्छी रे कान्छी’जस्ता कतिपय गीतहरूले नेपाली किशोरीबारेका एउटा तस्बिर प्रस्तुत गर्‍यो भने सन् ८० र ९० को दशकको प्रारम्भको जीप्सी संस्कृतिका कारण नेपाली संस्कृति स्वतन्त्र र खुला खालको छ भन्ने भावना भारतीयहरूमा रहनपुग्यो।”

विगतमा रहेको उक्त भावना हालैका वर्षमा अत्याधिक मात्रामा देखा परेको भारतविरोधी सङ्गठन र नयाँ नक्साको विवादले प्रभावित भएको उनको भनाइ छ।

“भारतमा कतिपय राष्ट्रवादीहरू त्यसलाई नेपालीहरूबाट पाएको धोका भन्ने ठान्छन्। तर कसैले पनि नेपाल र भारत सांस्कृतिक र सामाजिकरूपमा एक अर्कासँग नजिक रहेको कुरा अस्वीकार गर्दैनन्।”उनका अनुसार अधिकांश नेपालीहरू ज्यादै गरिब छन् भन्ने आम बुझाइ भारतमा छ जुन त्रुटिपूर्ण हो।

ध्यानमा नपरेका तथ्य
सन् २०२२ मा सार्वजनिक गरिएको बहु आयामिक गरिबी सूचकाङ्कका अनुसार कुल जनसङ्ख्याको १७.७ नेपालीहरू गरिबीको रेखामुनी छन्।हालै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक बनेको भारतले गरिबी घटाउन उल्लेख्य प्रगति गरेको भएपनि त्यहाँ अझै पनि झन्डै २३ करोड मानिसहरू गरिबीको रेखामुनि रहेका ग्लोबल मल्टिडाईमेन्सल पभर्टी इन्डेक्समा उल्लेख छ।

सन् २०२१ मा भारतबाट नेपाल भित्रिएको अनुमानित रेमिट्यान्स रकम २ खर्ब ९ अर्ब रुपियाँ पाइएको छ।त्यसै गरी नेपालबाट अनुमानित २ खर्ब ११ अर्ब रुपियाँभन्दा केही बढी रकम भारतमा विप्रेषणका रूपमा पठाइएको वर्ल्ड ब्याङ्कको बाइलेटरल रेमिट्यान्स म्याट्रिक्समा उल्लेख छ।

तर यस्ता विषयहरू दुवै देशका नीति निर्माताका नजरमा खासै नपरेको कैयौँ विज्ञहरूलाई लाग्छ।प्राध्यापक मुनी थप्छन्, “भारतमा (नेपालका) जसको ठूलो व्यवसाय वा स्वार्थ छ उनीहरू सधैँ राम्रो सम्बन्ध राख्न चाहन्छन्। तर यहाँ गरिब मानिसहरू पनि छन् जसलाई राम्रो व्यवहार गरिएको छैन र उनीहरूमा आक्रोश पनि छ। तर मलाई लाग्छ आमरूपमा नेपालीहरूले भारतलाई सहयोग र समृद्धिको स्रोतका रूपमा नै लिएका छन्।”

फोर्ब्स पत्रिकाको अनलाइन संस्करणका अनुसार कुल गार्हस्थ उत्पादन ३,७५० अर्ब डलरसहित भारत सन् २०२३ मा विश्वकै सबैभन्दा पाँचौँ ठूलो अर्थतन्त्र भएको देश बनेको छ।भारतीय सेनाको गोर्खा रेजिमेन्टमा लामो समय काम गरेका पूर्व मेजर जेनरल अशोक मेहता नेपाललाई नजिकबाट चिन्ने भारतीय विज्ञमा पर्छन्।

उनी भन्छन्, “यहाँ कस्तो दृष्टिकोण छ भने जब नेपालीहरू भारतमा आउँछन्, उनीहरू एबीसी बन्छन्। एको अर्थ आया (आयो), बी अर्थ बाबर्ची (भान्छे) र सीको अर्थ चौकीदार। भारतमा धेरै जनालाई नेपालीहरू काम र अन्य अवसरको सिलसिलामा अमेरिकादेखि अस्ट्रेलिया र क्यानडासम्म पुगिसकेको थाहा नै छैन।”समाचार बीबीसी न्यूज नेपालीबाट लिइएको हो ।

उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गतको पर्यटन तथा हवाई यातायात समिति विस्तार भएको छ । महासङ्घमा आज एक कार्यक्रमबीच उक्त समिति विस्तार गरिएको हो ।

देशबन्धु बस्नेत (अजित) नेतृत्वको उक्त समितिमा सो समितिको उपसभापतिमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बाँस्तोला र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का निवर्तमान अध्यक्ष अच्युत गुरागाईं रहनुभएको छ ।

भूकम्प र कोरोनापछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उजागर गरी ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्र्याउने उद्देश्यसहित उक्त समिति विस्तार गरिएको महासङ्घले जनाएको छ । यसैगरी, सदस्यहरुमा होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ ¥याफ्टिङ (नारा) का अध्यक्ष शिव अधिकारी, नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ (एनटिभिए) का अध्यक्ष कुलप्रसाद न्यौपाने, वेष्ट रिसोर्टका प्रबन्ध निर्देशक सचिन ढकाल र पर्यटन बोर्डका तर्फबाट सिर्जना नेपाली रहनुभएको छ । समितिको आमन्त्रित सदस्यहरुमा रेस्टुरेन्ट एन्ड बार एसोसिएन (रेवान) का उपाध्यक्ष सङ्घर्ष विष्ट, पाटा नेपाल च्याप्टर अध्यक्ष विभूति चन्द ठकुरी, होटल स्टर्न स्टारका अध्यक्ष भावेशकुमार श्रेष्ठ, होटल व्यवसायी महासङ्घ नेपाल (एचपिएफएन) का निवर्तमान अध्यक्ष अमृत भुजेल र एभरेष्ट ग्रुपका निर्देशक प्रनिल प्रधान रहनुभएको छ ।

यस्तै, उक्त समितिको सल्लाहकारहरुमा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी, मेरिएट काठमाडौँका अध्यक्ष शशिकान्त अग्रवाल, लुम्बिनीका सद्भावनादूत विक्रम पाण्डे, डोल्मा फन्डअन्तर्गत प्राक्टिक टुरिजमका प्रमुख उप्पल मजुम्दर रहेका छन् । समितिका सदस्यहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा उक्त समितिले पर्यटन क्षेत्रको सुधारका साथै महासङ्घको साख उँचो बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । समितिका सभापति देशबन्धु बस्नेतले उक्त समितिले विदेशी मुद्रा भित्र्याउन महत्त्वपूर्ण भूमिका रहेको पर्यटन क्षेत्रलाई देशविदेशमा प्रचारप्रसार तथा प्रवर्द्धनात्मक कार्यक्रम गरिने बताउनुभयो । अहिलेको पर्यटन क्षेत्रको प्रवर्द्धन तथा हवाई क्षेत्रलाई विस्तार गर्ने उद्देश्यअनुरुप पर्यटन क्षेत्रका सबैजसो सङ्घसंस्थाका प्रतिनिधिहरूलाई समेट्ने गरी समिति गठन गरिएको र यो समितिले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

क्यान्सर अस्पतालको निर्देशकमा डा पौडेल नियुक्त

चितवन, ११ भदौ ः भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त हुनुभएको छ । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । उहाँहरुमध्ये अस्पताल सञ्चालक समितिले डा पौडेलको नाममा सर्वसम्मत निर्णय गरेको सञ्चालक समिति सदस्य डा अनिलविक्रम कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबार साँझ उपसमितिले सिफारिस गरेका मध्येबाट डा पौडेललाई आज बिहान सञ्चालक समितिले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । अस्पताल सञ्चालक समितिले अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि डा मदन उपाध्याय, डा प्रदीप ज्ञवाली र डा दिनेश विश्वकर्मा सदस्य रहेको तीन सदस्यीय सिफारिस उपसमिति गठन गरेको थियो । सोही उपसमितिले तीन जनाको नाम सिफारिस गरेको हो । डा उपाध्याय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, डा ज्ञवाली स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव र डा विश्वकर्मा सञ्चालक सदस्य हुनुहुन्छ । अस्पतालको नियमावलीमा सिफारिस समितिमा मन्त्रालयको प्रतिनिधि, काउन्सिलको सदस्य सचिव पदेन उपसमितिको सदस्य हुने व्यवस्था छ ।

डा पौडेल क्यान्सर अस्पतालका ‘रेडियसन अंकोलोजिष्ट’ हुनुहुन्छ । उहाँ नेपाल मेडिकल काउन्सिलका उपाध्यक्षसमेत हुुनुहुुन्छ । निवर्तमान कार्यकारी निर्देशक डा देजकुमार गौतमको कार्यकाल गत चैत २५ गते समाप्त भएपछि अस्पतालमा कार्यकारी निर्देशक पद रिक्त रहेको थियो । अस्पताल कार्यसञ्चालन तथा व्यवस्थापन नियमावली, २०६६ अनुसार कार्यकारी निर्देशकको काम अध्यक्षको निर्देशनमा अस्पतालको दैनिक प्रशासन सञ्चालन गर्ने रहेको छ । कार्यकारी पद रिक्त हुँदा कर्मचारीलाई तलब खुवाउनदेखि दैनिक कार्य सञ्चालन गर्न समस्या भएपछि सञ्चालक समितिले अत्यावश्यक कामका लागि आर्थिक अधिकार अध्यक्ष डा विजयराज न्यौपानेलाई दिएको थियो ।

यस्ता छन् मेवा खानुका फाइदा

काठमाडौं – फलफुलको राजा मानिने मेवा हाम्रो स्वास्थ्यको लागि निजकै फाइदाजनक छ । मेवाको रुखको प्रत्येक भागमा पनि कुनै न कुनै औषधिय गुण हुन्छ । त्यसैले मेवालाई फलको राजा भनिएको बताइएको छ ।

मेवाको सेवनले हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदा गर्छ। यसमा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर प्रशस्त पाइन्छ । मेवामा फाइबर, भिटामिन र एन्टी आक्सीडेन्टको प्रचुर मात्रा रहेको हुन्छ, जसले रक्त शिरामा कोलेस्ट्रोल बन्न दिदैँन ।

महिनावारी अनियमित हुने महिलाहरुका लगी मेवा निकै राम्रो हुन्छ । हरेक दिन २ सय ५० ग्राम मेवा खानाले महिनावारि नियमित हुन थाल्छ।मेवाको रसमा टमाटरको रस मिसाएर पिउनाले कब्जियत समस्या हट्छ ।

मेवाको सेवनले यौनक्षमतामा समेत वृद्धि गर्छ । वाको लेदो बनाएर अनुहारमा दल्नाले मुखको चाउरीपन पनि हट्छ । आफ्नो तौल घटाउन मन छ भने पनि मेवा खानु राम्रो हुन्छ । मधुमेह भएका बिरामीले मेवा खानु धेरै राम्रो हुन्छ ।

मधुमेह भएका बिरामीले चिनी छोड्न पर्ने भएकाहरुलाई मेवा अत्यन्त महत्वपूर्ण हुनसक्छ ।प्राचिनकालदेखि नै मेवाको पातहरू घाउ सफा गर्न, दाद र दुखाई निको पार्न प्रयोग गरिँदै आएको पाईन्छ ।

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि व्यवसायमा लगाउने उद्देश्यले क्रेडिट कार्ड वितरण सुरु गरिएको हो ।

ग्लोबल आइएमई बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि र नगरपालिकाको साझेदारीमा किसानलाई कर्जासँगै किसान क्रेडिट कार्ड वितरण सुुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो । “पहिलो चरणमा कर्जा लिएका नगरपालिकाका २१ किसानलाई किसान क्रेडिट कार्ड वितरण गरिएको छ । क्रमशः अन्य किसानलाई किसान क्रेडिट कार्ड वितरण गर्न योजनामा छौँ । तर, सहुलियतपूर्ण कर्जा लिएका किसानले खाताबाट नगद झिकेर चलाउन पाउने छैनन्”, उहाँले भन्नुभयो, “क्रेडिट कार्डबाटै रु दुई लाख खर्च गर्ने÷गराउने व्यवस्था मिलाइएको छ । किसानले कृषि सामग्री, मल र मेसिनरी सामान बिक्रेता पसलमा क्रेडिट कार्डको क्यूआर कोड स्क्यान गरेर मल, बीउ र उपकरण खरिद गर्न सक्ने छन् ।” कृषि व्यवसाय गर्ने किसानका लागि आवश्यक वित्तीय, प्रावधिक एवं बजार व्यवस्थापनका लागि नगरपालिकामा न्यूनतम ब्याजमा कर्जा कार्यान्वयनमा ल्याइएको जनाइएको छ ।

अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशोधन समेत) अन्तरगत व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा कार्यान्वयनमा सहयोग पु¥याउने गरी किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ । कर्जा लिने किसानको ब्याजमध्ये सङ्घीय सरकारले पाँच प्रतिशत र नगरपालिकाले पाँच प्रतिशत ब्याज तिरिदिने व्यवस्था मिलाइएको नगर उपप्रमुख विशन राईले जानकारी दिनुभयो ।

“पैसाको कारण कृषि पेशा गर्न सकिन भन्ने किसानका लागि यो कार्यक्रम ल्याइएको हो । प्रत्येक वर्षको नवीकरणमा २० प्रतिशत कर्जा रकम चुक्ता गर्दै लगिनेछ”, उहाँले भन्नुभयो, “पाँचौँ वर्षको अन्त्यमा सम्पूर्ण कर्जा रकम चुक्ता हुनेछ । कृषकले उक्त रकम नगदका रुपमा झिक्न पाउने छैन । क्यूआर कोड स्क्यानिङमार्फत तोकिएको एग्रोभेटलाई भुक्तानी गर्ने÷गराउने व्यवस्था गरिएको छ ।” ऋण लिएर व्यावसायिक रुपमा पशुपंक्षी पालन तथा कृषि पेशा गर्न चाहने किसानलाई आर एण्ड डि इनोभेटिभ सोलुसनले कर्जा तथा अन्य साधनस्रोतको सदुपयोग तथा दक्षता अभिवृद्धिसँग सम्बन्धित तालिम उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । लगानीको अभाव झेलिरहेका किसानलाई ग्लोबल आइएमई बैङ्कले त्रिपक्षीय साझेदारीमा पाँच वर्षभित्र तिर्नेगरी रु दुई लाखका दरले कर्जा रकम उपलब्ध गराएसँगै नगरपालिकाले किसानलाई क्रेडिट कार्ड वितरण सुरु गरेको हो । पन्ध्र वडा रहेको यस नगरपालिकाले पशु तथा कृषि व्यवसायका लागि पकेट क्षेत्र निर्धारण गर्ने तयारी गरेको छ । ‘

एक वडा, एक उत्पादन’ कार्यक्रम बनाएर लागू गर्नेगरी तयारी भइरहेको नगरपालिकाले जनाएको छ । कृषि उत्पादनलाई जोड दिने नीति लिएको नगरपालिकाले पशुपालनसँगै फलफूलका बिरुवा वितरण तथा विभिन्न नगदे बालीमा अनुदान दिँदै आएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा रहेको यस नगरपालिकामा अनुदान पाएका कतिपय कृषक व्यावसायिक बनेका छन् भने, कतिपयले काम नै नगरी अनुदान मात्र लिएको पाइएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषकको आम्दानी वृद्धिका लागि सबैले व्यवसायिक कृषि प्रणालीमा जोड दिएका छन् । जिल्लाका कतिपय स्थानीय तहले कृषि उत्पादनलाई आफ्नै क्षेत्रमा प्रशोधन गरेर बजारीकरण गर्नेसम्मको योजना बनाएका छन् ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं।आज केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ ।

यस्तै आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६५.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.७२ रुपैयाँ, युरोपियन युरो एकको खरिद दर १४२.५२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८४.४५ रुपैयाँ रहेको छ भने बिक्री दर ८४.८४ रुपैयाँ रहेको छ ।

आज संसदीय समितिमा नेतृत्व चयन हुँदै

काठमाडौँ – प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि नेतृत्व पाउँदैछन् । संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका लागि गठन भएको प्रतिनिधिसभा अन्तर्गतका संसदीय समितिका सभापतिको चयन हुन लागेको हो ।

विषयगत समितिका रुपमा अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति छ । त्यस्तै महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति प्रतिनिधिसभा मातहतका संसदीय समिति हुन् । आज दिउँसो ३ बजे बस्ने बैठकले ती समितिको सभापति चयन गर्नेछ । ती समितिका सभापति पदका लागि आइतबार उम्मेदवारी दर्ता सम्पन्न भएको छ ।

दस संसदीय समिति सभापतिका लागि ११ जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) का ऋषिकेश पोखरेल र किरणकुमार साह, नेकपा (माओवादी केन्द्र) का विमला सुवेदी, नेकपा (एकीकृत समाजवादी) का भानुभक्त जोशी, नेपाली कांग्रेसका सन्तोष चालिसे, आरजु राणा देउवा र रामहरि खतिवडा, जनता समाजवादीका राजकिशोर यादव, जनमत पार्टीका अब्दुल खान, राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह र राष्ट्रिय स्वतन्त्र पार्टी (राजस्वपा)का गणेश पराजुलीको उम्मेदवारी परेको छ । नौ समितिमा एक÷एक जनाको उम्मेदवारी परेको छ भने उद्योग तथा वाणिज्य तथा उपभोक्ताहित समितिमा जनमत पार्टीका खान र रास्वपाका पराजुलीबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – आज देशका केही स्थानमा पानी परे पनि धेरै स्थानको मौसममा सुधार आएको छ ।जल तथा मौसम विभागका अुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल पश्चिमी आसाम र त्यस आसपासमा रहेको न्यून चापीय क्षेत्रको पनि प्रभाव रहेको छ।

हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानहरुमा हावा-हुरीको सम्भावना रहेको छ।

आज राती पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

एक हजार दुई सय २३ केजी पटाकासहित तीन जना पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक हजार दुई सय २३ केजी पटाकासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट राजदेवी नगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने ३२ वर्षीय राजु भन्ने दीपक मण्डल, भारत बिहार बेतिया मजौलिया थाना सेनवरिया ग्राम घर भई हाल काठमाडौँ महानगरपालिका–१३ ताहाचल बस्ने २८ वर्षीय धर्मेन्द्र साह र सर्लाही चक्रघट्ट गाउँपालिका–५ घर भई गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बस्ने २८ वर्षीय मुकेश मण्डल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ जिल्लामा केही व्यक्तिले गैरकानूनी रूपमा भारतबाट पटाका, भुइँचम्पालगायतका आतसबाजीजन्य विष्फोटक पदार्थहरू पैठारी गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ६५ वटा बोरामा राखेका उक्त पटाकासहित काठमाडाँै ताहाचल, मान्टारबाट शुक्रबार पक्राउ गरिएको हो ।पक्राउ परेकालाई विष्फोटक पदार्थसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।

नमूना बोलपत्रको कागजात नेपाली भाषामा बनाइने

काठमाडौँ – सरकारले आगामी दिनमा सार्वजनिक खरिदका नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने भएको छ ।सार्वजनिक खरिदको प्रभावकारिता अभिवृद्धि गर्न खरिद ऐनलाई सामयिक बनाउने र सरल कार्यविधि निर्माणलाई पनि प्राथमिकतामा राख्न लागेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीले खरिद विषय आफैँमा जटिल र प्राविधिक विषय भएकाले यो जटिलतालाई कागजातले सरल र सहज बनाउनु आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विभिन्न सरोकारवालाका सुझावअनुरुप सरल खरिद कार्यविधि र नमूना बोलपत्र कागजातलाई नेपाली भाषामा बनाउने कामलाई प्राथमिकता दिइएको हो ।” सचिव रेग्मीले खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा तीव्रता आउने हुँदा सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिइ सुधारका आवश्यक काम गर्ने क्रममा सार्वजनिक खरिद ऐनलाई पनि सामयिक बनाउन लागिएको उल्लेख गर्नुभयो ।

राष्ट्रियस्तरमा प्रयोग हुने कागजातमा आउन सक्ने भाषागत समस्या निराकरण गर्न कार्यालयले त्यस्तो आवश्यकता महसुस गरेको जनाएको छ । त्यससम्बन्धी सुधार कार्यले प्रदेश र स्थानीय तहको खरिद क्षमतामा वृद्धि गर्ने र सबै सार्वजनिक निकायको खरिद क्षमतामा वृद्धि हुने कार्यालयले अपेक्षा गरेको छ ।

सार्वजनिक निकायमा सबै संवैधानिक अङ्ग वा निकाय, अदालत,सरकारका मन्त्रालय, सचिवालय, आयोग, विभाग वा सो अन्तर्गतका अन्य जुनसुकै सरकारी निकाय वा सबै कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ का प्रवधान पालना गर्नुपर्ने बाध्यता छ । खरिद प्रक्रियामा प्रतिस्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी सार्वजनिक खरिदसम्बन्धी कार्यविधि, प्रक्रिया तथा निर्णयलाई अझ बढी खुला, पारदर्शी, वस्तुनिष्ट र विश्वसनीय बनाउने उद्देश्यका साथ उक्त कार्यहरु गर्न लागिएको सचिव रेग्मीले बताउंनुहुन्छ ।

यसैबीच, सार्वजनिक खरिद अनुगमन कार्यालयले यही महिनाको अन्तिम साता पोखरा र हेटौँडामा प्रोक्युरमेन्ट क्लिनिक सञ्चालन गर्न लागेको छ । सार्वजनिक खरिद कार्य जटिल र प्राविधिक विषय भएकाले खरिद एकाइ र खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास तथा उनीहरुलाई सार्वजनिक खरिदका विषयमा आइपरेका समस्या समाधान गर्ने उद्देश्यले क्लिनिक कार्यक्रम सञ्चालन लागेको हो ।

सार्वननिक खरिदका विषयमा आएका चुनौती सहभागीबाट व्यक्त गर्ने र विज्ञले ती समस्या समाधानका तरिका बताइदिने गरी ‘प्रोक्युरमेन्ट क्लिनिक’ अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्न लागेको हो । प्रोक्युरमेन्ट क्लिनिक एउटा सफल अन्तर्राष्ट्रिय अभ्यास भएकाले यस विधिबाट खरिद कार्यमा संलग्न जनशक्तिको क्षमता विकास गर्न सकिने विश्वास गरिएको छ ।

 पोखरामा मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई पाँच हजारदेखि १५ हजारसम्म जरिवाना

गण्डकी, ११ भदौ- गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पोखरा उपत्यकाभित्र मिटरमा ट्याक्सी नगुडेको पाइएमा कारबाही हुने बताउनुभएको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित सवारी व्यवस्थापनका चुनौती र समाधान विषयक अन्तरक्रियामा उहाँले ट्याक्सी मिटरमा गुडे÷नगुडेकोबारे कडाइका साथ अनुगमन गरिएको उल्लेख गर्नुभयो । “मिटरमा यात्रु बोक्न तयार नहुने ट्याक्सी चालकलाई सवारी ऐनअन्तर्गत कारबाही हुन्छ, ऐनले नै न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म जरिवाना तोकेको छ”, मन्त्री जुग्जालीले भन्नुभयो, “जस्तो सुकै दबाब र चुनौती आए पनि ट्याक्सीमा मिटर प्रणाली लागू भएरै छाड्छ ।”

मन्त्रालयको विशेष पहलमा यही भदौ १ गतेदेखि पोखरा उपत्यकाभित्र चल्ने ट्याक्सीमा मिटर प्रणाली लागू भएको थियो । अहिले पनि कपितय ट्याक्सी चालकले मिटरमा हिँड्न आनाकानी गरिरहेको गुनासो आएको जनाउँदै उहाँले यात्रु ठग्ने ट्याक्सीलाई कारबाही गरिने बताउनुभयो । ट्राफिक प्रहरीसँगै मन्त्रालयको संयन्त्रले पनि अनुगमन गरिरहेको बताउँदै उहाँले कुनै ट्याक्सी मिटरमा गुड्न तयार नभएमा सम्बन्धित निकायमा खबर गर्न आग्रह गर्नुभयो । मन्त्रालयका पदाधिकारीसँग पटकपटकको छलफलपछि ट्याक्सी चालक मिटर प्रणालीमा हिँड्न तयार भएका थिए ।

विसं २०७८ फागुन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले भाडादर समायोजन गरे पनि लामो समयसम्म पोखराका ट्याक्सी मिटर प्रणालीमा चलेका थिएनन् । ट्याक्सीले मनपरी भाडा लिने गरेको जनाउँदै जनगुनासो उठ्दै आइरहेको थियो ।

इञ्जिनियरिङ अध्ययन संस्थानको शुल्क वृद्धि फिर्ता लिन नेविसङ्घको माग

काठमाडौँ – नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले इञ्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आइतबार इञ्जिनियरिङ अध्ययन संस्थानले एक सय ४४ प्रतिशतसम्म शुल्क वृद्धि गर्दा नेपाली विद्यार्थी मारमा परेको भन्दै शुल्क वृद्धि फिर्ता लिन माग गर्दै बालुवाटारमा प्रदर्शन गरेको हो । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाले सर्वसुलभ उच्च शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकार नागरिकको भए पनि सरकारले एक्कासि एक सय ४४ प्रतिशत शुल्क वृद्धि गर्दा विद्यार्थीहरू ठूलो मारमा परेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो ।

“इञ्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहन्दार विद्यार्थीहरू अध्ययनबाट बञ्चित हुने हुँदा शुल्क वृद्धिको निर्णय निन्दनीय छ”, अध्यक्ष शेर्पाले भन्नुभयो । नेविसङ्घले शुल्क वृद्धिको विरोधमा विगत पाँच दिनदेखि आमरण अनशन बसेका सुलभ चापागाईंको जीवनरक्षाको माग गरेको छ । अध्यक्ष शेर्पाले सबै विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने बताउनुभयो ।

नेविसङ्घले इञ्जिनियरिङ अध्ययन संस्थानको एक सय ४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि फिर्ता लिनुपर्ने, त्रिभुवन विश्वविद्यालय र इञ्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सका रूपमा स्थापित गरी अनुदान बढाउन आग्रह गरेको छ । सबै विश्वविद्यालयमा इन्टर्नसीप, रोजगार सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने, विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय सङ्कट घोषणा गर्नुपर्ने नेविसङ्घले बताएको छ ।

चलचित्र ‘महाजात्रा’ बन्ने

काठमाडौँ – नेपाली चलचित्र ‘महाजात्रा’ बन्ने भएको छ । ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि यसको तेस्रो शृङ्खलाको रूपमा निर्माण कम्पनी षटकोण आर्ट्सले ‘महाजात्रा’ घोषणा गरेको हो ।

यस अगाडिका शृङ्खलामा रहेका कलाकारसँगै यसपटक हरिवंश आचार्य जोडिनुभएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाजात्रा भएकाले अभिनेता आचार्य जोडिनुभएको हो । अघिल्लो शृङ्खलाको सफलताले हामीमा अझै दायित्व थपिएको छ ।”

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार हुने चलचित्रमा अभिनेता आचार्यसँगै विपिन कार्की, वर्षा राउत, रवीन्द्र झालगायतका कलाकारले अभिनय गर्नुहुनेछ । चलचित्रको छायाङ्कन दशैँ लगत्तै हुने र चैत ९ मा प्रदर्शन हुने निर्देशक भट्टराईले जानकारी दिनुभयो । उहाँले छायाङ्कन अगावै चलचित्रको नेपाल र भारतबाहेकको प्रदर्शन अधिकार बिक्री भइसकेको जानकारी दिनुभयो ।

“हामीले नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन गर्नुपर्ने भएकाले पनि सो प्रदर्शन मिति तय गरेका हौँ । यसै चलचित्रमार्फत मैले निर्देशन यात्रा प्रारम्भ गरेको थिएँ । यसैले गर्दा यो शृङ्खला मेरा लागि खास छ”, निर्देशक भट्टराईले भन्नुभयो । चलचित्रलाई दीपेश खत्रीले निर्माण गर्नुहुनेछ । 

घट्यो श्रम स्वीकृति लिनेको सङ्ख्या

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को सुरुदेखि लगातार बढेको श्रम स्वीकृति लिनेको सङ्ख्या चालु आव २०८०/८१ को पहिलो महिनामा घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको पहिलो महिना साउनमा ५५ हजार ५७५ जनाले श्रम स्वीकृति लिएकामा गत आवको पहिलो महिना साउनमा भने श्रम स्वीकृति लिएर बिदेसिनेको सङ्ख्या ६१ हजार ६३० थियो । जुन सङ्ख्या चालु आवको भन्दा छ हजार ५५ ले बढी हो ।

गत साउनपछि लगातार उकालो लागेको विदेश जानेको सङ्ख्या एकै महिनामा ७६ हजार जनाले सम्म श्रम स्वीकृति लिएका थिए । विभागका अनुसार चालु आवको साउनमा बिदामा आएर पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १६ हजारभन्दा बढी रहेको छ भने वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीमार्फत ३९ हजार १५२ श्रमिकले विदेश जान श्रम स्वीकृति लिएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

साउनमा मात्रै ११ अर्ब ९३ करोडको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता, व्यापक भ्रष्टाचार, झन्झटिलो कर्मचारीतन्त्र तथा ऐन, नियमहरूको कार्यान्वयनमा एकरूपता नभएका लगायतका समस्याका बाबजुद पनि साउन महिनामा मात्रै उद्योग विभागमार्फत ११ अर्ब ९३ करोड १८ लाख रुपैयाँको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएकामा चालू आवमा झन्डै साढे चारगुणा वैदेशिक लगानी प्रतिबद्धता आएको हो । सरकारले लगानी बोर्डमार्फत र उद्योग विभागमार्फत वैदेशिक लगानी भित्र्याइरहेकामा उद्योग विभागमार्फत मात्र साउनमा करिब १२ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

नेपाल सरकारले वैदेशिक लगानीसम्बन्धी ऐनमार्फत ६ अर्बभन्दा मुनिका वैदेशिक लगानी उद्योग विभागमार्फत र सोभन्दा माथिका लगानी बोर्डमार्फत स्वीकृत गर्दैै आएको छ । उद्योग विभागले एकद्वार बिन्दुमार्फत वैदेशिक लगानीमा सहजीकरण गरेका कारण यसवर्ष ह्वात्तै वैदेशिक लगानी प्रतिबद्धता आएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

उद्योग विभागका अनुसार साउनमा ६० वटा उद्योगका लागि वैदेशिक लगानी प्रस्ताव आएको छ । जसमा साना आकारका ५४ वटा, मझौला खालका चारवटा र दुईटा ठुला उद्योग रहेका छन् ।

वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये पर्यटनतर्फका २८ दशमलव ४६ प्रतिशत, सेवामूलक ९सर्भिस०तर्फका २६ दशमलव ४३ प्रतिशत, उत्पादनतर्फ ४ दशमलव ७० प्रतिशत, सूचना प्रविधि (आइसिटी)तर्फका १ दशमलव २ प्रतिशत र कृषितर्फ १ दशमलव २ प्रतिशत रहेका छन् ।

यी सबै वैदेशिक लगानी भित्रिएको खण्डमा ३ हजार ३ सय १ जनाले रोजगारी प्राप्त गर्नेछन् । नेपालले हालसम्ममा ५ हजार ९ सय १९ उद्योगका लागि ४ खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार ६ सय रुपैयाँको उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रस्ताव उद्योग विभागमार्फत स्वीकृति दिइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ।

एमसीसी भोलिदेखि कार्यान्वयन चरणमा प्रवेश गर्ने

काठमाडौँ । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) मङ्गलबार (भदौ १२) देखि कार्यान्वयन चरणमा प्रवेश गर्ने भएको छ ।


एमसीसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसीसी कार्यान्वयनमा जाने जनाएको छ । एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टका अनुसार एमसीसीको कार्यावधि कार्यान्वयनमा प्रवेश गरेको दिनदेखि पाँच वर्षको हुने छ ।

एमसिए नेपालका अनुसार एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनालाई कार्यान्वयन चरणमा प्रवेश गराउनु पूर्व नेपाल सरकारले पूरा गर्नुपर्ने अधिकांश पूर्वसर्त पूरा भएका छन् । छ वटा प्राथमिक पूर्वसर्तमध्ये छैटौँ वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण र रुख कटानी पूरा हुन बाँकी छ ।

यस विषयमा सन्तोषजनक प्रगति भएकाले एमसीसीको केन्द्रीय कार्यालयले कार्यान्वयनमा जान असर नपर्ने जनाएको र काम थालेपछि पनि यो काम पूरा गर्न सकिने अनुमति एमसिए नेपालले पाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो छ : अध्यक्ष नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिले जनताको समस्या केन्द्रित गर्ने संसद् प्रतिपक्षीको कारण राम्रोसँग चल्न नसकेको बताउनुभएको छ ।समाजवादी प्रेस सङ्गठनको दोस्रो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले प्रतिपक्षीले गरेको संसद् अवरोध ठीक तथा बेठीक थियो भन्ने समाचार नागरिकलाई सञ्चार जगत्ले प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले अहिलेसम्मका राजनीतिक उपलब्धि रक्षाका लागि कम्युनिष्ट शक्तिबीच कार्यगत एकताको खाँचो औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले मुलुकमा नेपाली विशेषताको समाजवाद कार्यान्वयनका लागि सुशासनको प्रत्याभूति, राष्ट्रिय पूँजीको विकास र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रियता संरक्षण, जनअधिकार, वामपन्थी दलमा देखापरेका विचलन र उनीहरूमा पूँजीवादी चरित्रको बढ्दो प्रभाव, विकास हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी प्रभाव देखापरेकाले आफ्नो दललाई त्यसबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । पूँजीवादी चरित्रको अन्त्य गर्न आम कम्युनिष्टलाई एकीकृत गर्नुपर्ने भन्दै उहाँले जनतालाई समाजवादी रूपान्तरणका लागि दिशानिर्देशन गर्न सकिने बताउनुभयो ।

पार्टी उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्गठन सुदृढीकरण, पार्टीको भावी रणनीति, जनताको सेवा, सुशासन, समाजवादी व्यवस्थाका सम्भाव्यतालगायत विषयमा पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । सो अवसरमा विभिन्न सङ्गठनका प्रतिनिधिले स्थपना दिवसको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव, ऋणमाथि ऋण

काठमाडौँ । सरकारलाई चालु आर्थिक वर्षको सुरुवातमै स्रोतको अभाव भएको छ । पहिलो महिनाबाटै स्रोत (पैसा) अभाव भएपछि सरकारले ऋण उठाएको छ । साउनमा २० अर्ब रूपैयाँको विकास ऋणपत्र जारी गरेको नेपाल राष्ट्र बैंकले आइतबार थप १० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ ।

गत वर्ष राजस्व संकलन ऋणात्मक हुँदा स्रोतको अभाव झेलेको सरकारलाई चालु आर्थिक २०८०/८१ को सुरुवातमै राजस्वले खर्च व्यवस्थापनमा अपुग भएपछि विकास ऋणपत्रमार्फत सार्वजनिक ऋण उठाउन थालेको हो । आर्थिक वर्षको सुरुमै ऋण उठाएर खर्च व्यवस्थापन गर्नुपर्ने बाध्यतामा सरकार परेको छ । स्रोतमा चाप परेको कारण चालु आवको पहिलो महिना (साउन) बाटै ऋण लिनुपरेको अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले बताए । गत वर्ष साउनमा ऋण उठाए पनि यो वर्ष साउनमै ऋण उठाउनुपरेको उनले बताए ।

आर्थिक वर्षको पहिलो त्रैमासमा पुँजीगत बजेट खासै खर्च नहुने भएकाले स्रोतमा दबाब नपर्नुपर्ने हो । तर राजस्व संकलन न्यून भई दायित्व बढेपछि सरकारलाई स्रोतको अभाव भएको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

हेर्नुहोस् भदौ ११ गते सोमवारको राशिफल

मेष राशि – गैर ब्यक्तिको संगतले अपजसको सामना गर्नु पर्ला । यात्रा कारक समय रहेको छ । पारीवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्यान पश्चात भौतिक श्रोत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ । कार्य क्षेत्रमा लगाईएको कर्मको प्रतिफल प्राप्तीका निम्ती सामान्य प्रतिक्क्षा गर्नु पर्नेछ ।

बृष राशि – ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान पश्चात मित्र तथा दाजु भाई बिचको सम्बन्धमा सुधार आउनेछ । मनोरञ्जनमुलक यात्रा को सम्भाबना रहेकोछ । कार्य कुसलतालको क्षेत्रबाट मान्यजनको मन जित्न सफल रहने योग रहेको छ ।

मिथुन राशि – भोग बिलास को क्षेत्रमा समय ब्यतित हुनेछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान पश्चात खानपानमा बिशेष ध्यान दिनु होला । खुट्टा तान्ने ब्यक्ति बाट बच्नु पर्ने समय छ । बाणी तथा स्वास्थका क्षेत्रमा ध्यान दिएको बेश हूनेछ ।

कर्कट राशि – सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाई आईपर्न सक्छ । तपाईको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन । मध्यान पश्चात जिवनसाथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्नेछ । शारिरीक आलस्यताका कारण कार्य सम्पादनमा सामान्य ढिलाईको योग रहकोछ ।

सिंह राशि – अरुको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । मध्यान पश्चात जिद्दी स्वभावको कारण प्रतिश्पर्धामा पराजयको सामना गर्नुपर्नेछ । समयको सदुपयोग गर्न नसक्नाले मित्रजनहरु बिच पछि परीने योग रहेकोछ ।

कन्या राशि – सामाजिक कार्यमा आफु अग्रसर रहेपनि त्यसको श्रेय भने अरु लाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सहि निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान पश्चात बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । मानसिक चन्चताले बिद्या असफल रहला ।

तुला राशि – मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानि भने उत्तम रहनेछ । मध्यान पश्चात आम्दानिको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन । भोगबिलासीताका क्षेत्रमा मन जानेछ । हतासमा गरीएका निर्णयले असफल बनाउन सक्नेछ ।

बृश्चिक राशि – सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानशिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । मध्यान पश्चात नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । बल तथा पराक्रम बृद्धि हुने छ । आम्दानि क्षेत्र उत्तम रहने योग रहेको छ ।

धनु राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्यान पश्चात ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । कुलकुटुम्ब हरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ । मेहेनत को रामा्रे फल प्राप्त हु्नेछ । खानपानमा बिशेष ध्यान दिनुहोला ।

मकर राशि – बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । मध्यान पश्चात मान प्रतिष्ठामा बृद्धि हुनेयोग परेकोछ । मान्यजनको साथ सहयोग प्राप्त होला । भोगबिलासमा समय ब्यतित हुनेछ । कार्य सम्पादनमा गोप्यताको आवश्यक रहनेछ ।

कुम्भ राशि – मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । मध्यान पश्चात आम्दानि क्षेत्रमा बृद्धि हुने योग रहेको छ । गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ ।

मीन राशि – सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । बिद्यार्थी वर्गका निम्ती समय त्यति उत्तम रहेको छैन । मध्यान पश्चात मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्यमा समय ब्यतित रहनेछ । बिद्या प्राप्ति को योग रहेको छ । सहि समयमा सहि निर्णय गर्न सकिने छ ।ज्यो.प. सरोज घिमिरे

मन्त्री जोशीको निर्देशनपछि अस्पतालहरूको पार्किङ शुल्क हट्यो

चितवन – बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीको निर्देशनपछि जिल्लाका अस्पतालहरूले पार्किङ शुल्क हटाएका छन् । चितवन मेडिकल कलेजबाहेक सबै अस्पतालमा पार्किङ निःशुल्क गरिएको हो । मेडिकल कलेजले केही दिनभित्रै पार्किङ निःशुल्क गर्ने जनाएको छ । भरतपुर अस्पतालले आजदेखि पार्किङ शुल्क हटाएको छ ।

यसअघि नै अन्य अस्पतालहरूले पार्किङ शुल्क हटाएका थिए । केही दिनअघि भरतपुर आँखा अस्पतालले सूचना जारी गरी पार्किङ निःशुल्क गरेको थियो । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, कलेज अफ मेडिकल साइन्सेसलगायतका साना अस्पतालहरूले पार्किङ निःशुल्क गरेका छन् । मन्त्री जोशीले गत साउन २ गते मन्त्रिस्तरीय निर्णय गरी ३ गते सबै अस्पतालहरूमा पार्किङ निःशुल्क गर्न पत्राचार गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालै प्रादेशिक अस्पतालहरूमा निःशुल्क गरिएको थियो । सङ्घीय अस्पतालमा पार्किङ निःशुल्क गर्न सङ्घीय स्वास्थ्य मन्त्रीलाई आवश्यक निर्देशनका लागि अनुरोध गरिएको मन्त्री जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “बागमती प्रदेशभित्रका प्रायः सबै अस्पतालले पार्किङ निःशुल्क गरेका छन् ।” बाँकी रहेकाहरूलाई तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

बाल सुधार गृह प्रकरण : मृतक परिवारसँग सहमति, ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा आज सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले थलिएको अवस्थामा समयमै उपचार नपाउँदा भदौ ३ गते बिहान मृत्यु भएपछि मृतकका आफन्त र परिवारले क्षतिपूर्तिको माग गर्दै शव उठाएका थिएनन् । यही भदौ ३ गते मृतकका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनावग्रस्त बनेको थियो भने ४ गते मृतकका आफन्तले नाराबाजी र बाल सुधार गृहका बन्दीले विद्रोह गरेर तोडफोड गरी दुई सय २१ जना फरार भएका थिए । पटक पटकको छलफलसँगै आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसी, सुरक्षा निकायका प्रमुखहरु, युसेप नेपालका निर्देशक केशव सुवाल र प्रतिनिधिहरु तथा मृतक परिवारसँग भएको छलफल सहमतिमा टुङ्गिएको हो । आज भएको सहमति गरेर शवपरीक्षण गरी सदगद गर्ने सहमति भएको भक्तपुरका प्रजिअ रिजालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मृतकका परिवार र आफन्तसँग पटकपटक छलफल ग¥याँै र आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा शवपरीक्षण गर्ने, शवपरीक्षणपछि मृतकको दाहसंस्कार गर्ने, छानबिन कमिटीबाट आएको रिपोर्टअनुसार अगाडि बढ्ने, मृतक परिवारका लागि राहत रकमका लागि नेपाल सरकारलाई लेखी पठाउने सहमति भएको छ ।” मृतक परिवारले भने रु १० लाख क्षतिपूर्ति एवं राहत रकमको माग गर्दै आएका थिए । युसेप नेपालले मृतकको काजकिरिया गर्नका लागि आफ्ना कर्मचारीको केही दिनको तलब काटेर सहयोगस्वरुप रु दुई लाख सहयोग रकम उपलब्ध गराएको छ । सहमति भएसँगै मृतक बस्नेतको सोमबार शिक्षण अस्पताल महाराजगञ्जमा शवपरीक्षण गर्ने र दाहसंस्कार हुने भएको छ । त्यसैगरी बाल सुधार गृहमा रहेका ५७ जनालाई कारागार विभागले उपत्यका बाहिरका सुधार गृहमा स्थानान्तरण गरेको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको सिफारिसमा विभागले सानोठिमीस्थित सुधार गृहबाट १८ जनालाई पर्साको, १८ जनालाई मकवानपुरको, सात जनालाई डोटीको र १४ जनालाई रुपन्देहीको सुधार गृहमा स्थानान्तरण गरेको विभागले जानकारी दिएको छ । स्थानान्तरण गरिएकाहरू अधिकांश १८ वर्षमाथिका छन् । सुधार गृहमा रहेका दुई सय ९७ मध्ये ४३ बालिका र किशोरी छन् । सुधार गृहमा रहेका बालक एवं १८ वर्षमाथिका किशोरहरू दुई समूहमा विभाजन भई ग्याङ बनाउने र आपसमा झगडा गर्ने, विवाद मिलाउन गएका प्रहरीमाथि नै जाइलाग्ने गर्न थालेपछि थप घटना हुन नदिन उनीहरूलाई अन्यत्र स्थनान्तरण गरेको बताइएको छ । सुधार गृहमा अधिकांशलाई जबर्जस्ती करणी, कर्तव्य ज्यान, लागुऔषध, डाँका, ज्यान मार्ने उद्योग, अभ्रद व्यवहार, चोरी लगायतको मुद्दामा अदालतको आदेशले सुधार गृहमा राखिएको थियो । सानोठिमीको सुधार गृहमा रहेकामध्ये एक सय ५४ जना जबर्जस्ती करणीमा, ५८ जना कर्तव्य ज्यानमा संलग्न थिए । अदालतले १८ वर्षभन्दा कम उमेरका अपराधमा संलग्नहरूलाई सुधार गृह पठाउने गर्दै आएको छ । अदालतले तोकेको अवधि पूरा नगरेसम्म १८ वर्ष उमेर नाघे पनि सुधार गृहमै बस्न पाउने सुविधा दिएको छ । बालबालिकासम्बन्धी ऐनको दफा ४३ (४) मा ‘१८ वर्ष पुगेमा बानी ब्यहोरामा आएको सुधार, आर्जन गरेको सीप तथा शिक्षालाई ध्यानमा राखी बाँकी अवधि अन्य बालबालिकाबाट अलग राख्नुपर्ने’ उल्लेख छ । तर सानोठिमीमा रहेकामध्ये एक सय ३१ जना १८ वर्षमाथिका किशोरकिशोरी रहे पनि छुट्टाछुट्टै राख्ने व्यवस्था भने सरकारले गर्न नसक्दा सुधार गृहभित्रै अर्को अपराधका घटना होलान् भन्ने जोखिम भने रहँदै आएको छ । केटा एक सय र केटी १० जनाको क्षमता रहेको यहाँको सुधार गृहमा तेब्बरभन्दा बढी दुई सय ९९ बालबन्दी रहँदै आएकामा ५७ जनालाई स्थानान्तण गरेको हो । यही भदौ ४ गते सुधार गृह तोडेर फरार रहेकामध्ये ६ जनाबाहेक अरूलाई २४ घण्टाभित्रै प्रहरीले पक्राउ गरेको थियो भने ६ जना अझै फरार छन् । कारागार विभागका अनुसार देशभरमा बाल सुधार गृहमा एक हजार एक सय २७ बालबालिका छन् । अपराधमा मुछिएका १८ वर्षमुनिका बालबालिका राख्न मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, बाँके र डोटीमा बालसुधार गृह सञ्चालनमा रहेका छन् ।