`

सन्दकपुरको पानी इलाम बजारमा

मङ्गलबारे-इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ । आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो ।काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ । नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो । आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो ।

एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो । जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।

खानेपानी आयोजनाका लागि सन्दकपुर गाउँपालिकामा रहेका चारवटा खोलाको मुहानबाट पानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष केदार थापाले जानकारी दिनुभयो । आयोजनाबाट सदरमुकाममा प्रतिसेकेन्ड करिब ४३ लिटर पानी आइरहेको छ ।

आयोजनाका लागि सदरमुकामबाट करिब ३२ किलोमिटरको उत्तरी क्षेत्रमा पर्ने सन्दकपुर गाउँपालिकाको मुहानबाट पानी ल्याइएको हो । आयोजनाअन्तर्गत सुरुमा दुई हजार आठ सय ७७ घरमा पानी वितरण गर्ने लक्ष्य लिइएको थियो । पछि थप भएर तीन हजार तीन सय ४४ घरमा आयोजनामार्फत नै खानेपानी वितरण भएको छ । पुनः तीन सय बढी उपभोक्ताको सङ्ख्या बढेकाले सो काम हाल भइरहेको बताइएको छ । पछि रकम जम्मा गर्ने उपभोक्ताको घर–घरमा समेत धारा जोड्ने काम भइरहेको जनाइएको छ ।

हालसमेत दैनिक दुईपटक पानी वितरण गरिँदै आइएको निर्माण कम्पनीका इञ्जीनियर कपिलदेव यादवले बताउनुभयो । हाल कतिपय स्थानमा पानी वितरणमा समस्या उत्पन्न भइरहेको भए पनि यसलाई आफूहरूले मर्मतको काम गरिरहेको उहाँको भनाइ छ । गिताङ खोलाबाट प्रतिसेकेन्ड १६ लिटर, राते र मेवाखोलाबाट १०–१० तथा सुम्बेकको भाँडीखोलाबाट पाँच लिटर मिसाएर सदरमुकाममा पानी आपूर्ति गरिँदै छ । उपभोक्तालाई नयाँ मिटर, १२ मिटर पाइप र धारा जडान खर्च आयोजनाको तर्फबाट व्यवस्थापन गरिएको छ ।

निर्माण सम्पन्न भएपछि सो आयोजनाको शनिबार अनुगमनसमेत गरिएको छ । जिल्लास्थित राजनीतिक दल, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी तथा उपभोक्ता समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

नारायणगढ–बुटवल सडक विस्तार : मासिए वरपिपलका चौतारा, भत्किए प्रतिक्षालय

नवलपुर-पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन् । पूर्वपश्चिम राजमार्ग निर्माणको बेला बाटोको दुवैतर्फ किनारमा रहेका चार सयभन्दा बढी वरपिपलका रुख, चौतारा तथा यात्रु प्रतिक्षालय अहिले चार लेन सडक विस्तार सुरु भएसँगै मासिएका हुन् ।

नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इञ्जीनियर धीरज ढकालले पूर्वी खण्डको ६५ किलोमिटर क्षेत्रमा चार सय दुईवटा वरपिपलका रुख काटिएको जानकारी दिनुभयो । “चार लेनको सडक विस्तारको काम सुरु भएसँगै हामीले सडक किनारका रुखबिरुवा तथा भौतिक संरचना हटाउन सुरु गरेका थियौँ”, उहाँले भन्नुभयो, “पूर्वी खण्डमा मात्रै दुई सय ५७ वटा पिपल र एक सय ४५ वटा बरका रुख काटिएका छन्, भत्किएका प्रतिक्षालयको तथ्याङ्क राखिएको छैन ।” यस सडकखण्डमा हरेक चोक तथा चौराहामा वरपिपलका रुखमा चौतारा तथा प्रतिक्षालय निर्माण भएका थिए ।

यस सडक भएर यात्रा गर्ने यात्रुहरूले प्रतिक्षालय तथा चौतारीका कारण कुन ठाउँ पुग्यौँ भनेर सहजै थाहा पाउने गरेको भए पनि अहिले ठाउँ ठम्याउनै मुस्किल पर्ने गरेको कावासोती–१६ डण्डाका ७० वर्षीय सूर्यनाथ बरालले बताउनुभयो । “हामी पहिले नाराणगढ–बुटवलको बाटो धेरै यात्रा ग¥यौँ”, उहाँले भन्नुभयो, “सडक किनारमा रहेका वरपिपलका चौतारा तथा चोकमा निर्माण गरिएका प्रतिक्षालय देखेर कहाँ पुग्यौँ भनेर सहजै थाहा पाउँथ्यौँ ।” सडक विस्तारका क्रममा वरपिपलका चौतारा मासिँदा यस सडक भएर यात्रा गरे पनि कुन ठाउँ पुगियो भनेर अलमलमा पर्ने गरेको बरालको भनाइ छ ।

“चोक तथा सडक किनारमा रहेका चौतारा र प्रतिक्षालयमा सवारीसाधन कुरेर बस्न पाइन्थ्यो”, उहाँले भन्नुभयो, “सडक विस्तारसँगै ती संरचना मासिएपछि अहिले चर्को घाममा बसेर सवारीसाधन कुर्नुपर्ने बाध्यता छ ।” पहिले धार्मिक आस्थाका कारण सडक किनारमा रोपेर हुर्काइएका वरपिपलका चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सहज हुने गरेको उहाँको भनाइ छ । “ती चौतारा गाउँ–समाजमा भएका विवाद, झै–झगडा तथा समस्या मिलाउन भेला हुने थलोका रूपमा प्रयोग हुन्थ्यो । तर अहिले बाटो विस्तारसँगै सबै मासिएर गए, यसको संरक्षणमा कसैको पनि ध्यान पुगेन”, उहाँले भन्नुभयो ।

सडक किनारमा रहेका वरपिपलका चौतारी तथा प्रतिक्षालय मासिँदा अबका पुस्ताले चौतारी नै देख्ने नपाउने हुन् कि भन्ने चिन्ता गैँडाकोट–८ का शालिकराम सापकोटालाई लागेको छ । सडक विस्तारका कारण चौतारी धमाधम मासिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायी सापकोटाले चौतारी तथा प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको विनासको तत्काल विकल्प खोजिनुपर्ने र धार्मिक आस्थासँग जोडिएको वरपिपलको चौतारीलाई पुनः अन्य सार्वजनिक स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने सापकोटाको भनाइ छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडक सञ्जालको चेपुवामा पुराना चौतारा परेका सापकोटाको भनाइ छ । स्थानीय तहका प्राथमिकताका विषयमा ग्रामीण क्षेत्रको मौलिकता र पहिचान बचाउने काम समेटिनुपर्ने भए पनि उनीहरूको चासो कम देखिएको सापकोटाले बताउनुभयो । धार्मिक आस्थासँगै अक्सिजन र औषधिका लागि महत्वपूर्ण मानिने वर–पिपलका रूख सडक विस्तारका क्रममा संरक्षण नहुँदा गाउँघरबाटै लोप हुने अवस्थामा पुगेका उहाँको भनाइ छ ।

अन्य ५० रुखबाट प्राप्त हुने अक्सिजनको मात्रा पिपलको एउटै रूखले दिने र जरादेखि पातसम्मको भाग ४२ प्रकारका औषधिमा प्रयोग हुने आयुर्वेद चिकित्सकहरू बताउँछन् । वरपिपलको जरा धेरै टाढासम्म फैलने भएकाले बाढीपहिरो नियन्त्रणमा यस्ता ठूला रुखहरूले महत्वपूर्ण सहयोग पुर्याउने भूगर्वविद्हरुको भनाइ छ । पहिले गाउँमा मानिसहरूले धर्म कमाउन पोखरी खन्ने तथा वरपिपलका बिरुवा रोप्ने गरेका धार्मिक अभियान्ता आचार्य लक्ष्मण भण्डारीले बताउनुभयो ।

“अघिल्लो पुस्ताले पुण्य हुने भन्दै सार्वजनिक स्थानमा वरपिपल रोपेर चौतारी बनाउने चलन थियो”, उहाँले भन्नुभयो, “विकासका गतिविधिसँगै बैदिक धर्म मासिन थाल्यो, गाउँका पोखरी र वरपिपल पनि हराउँदै गए ।” रोप्ने र संरक्षण गर्ने पाका पुस्ताको अभावमै वरपिपल सङ्कटमा पर्न थालेको आचार्य भण्डारीले बताउनुभयो । “सहरीकरणका कारण ठूला–ठूला र घनावृक्ष रोप्न नसकिए पनि गाउँघरमा समेत वरपिपलका रुख नरोपिनु, नहुर्काइनु राम्रो होइन”, उहाँले भन्नुभयो, “चौतारी भत्काइनु, पोखरी पुरिने ढुङ्गेधारा कुवाजस्ता जलस्रोतको संरक्षण नगरिनु बडो चिन्ताको विषय हो ।”

हाम्रो पुरातन चौतारी, पोखरी तथा देउरालीको संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा भण्डारीले जोड दिनुभयो । परिवर्तनको सङ्घारमा उभिएको वर्तमान समाजले परिवर्तनको नाममा युगौँदेखि चलिआएका सनातन चालचलन र पद्धतिलाई बिगार्न नहुने उहाँको भनाइ छ ।

चितवनको तीन हजार तीन सय ६० बिघामा ट्युबेलमार्फत बाह्रै महिना सिँचाइ

चितवनको तीन हजार तीन सय ६० बिघामा डिप र स्यालो ट्युबेलमार्फत सिँचाइ उपलब्ध गराइएको छ । चितवन भूमिगत जल संयोजनात्मक जल सिँचाइ आयोजना स्थापना भएको तीन वर्षमा ती खेतीयोग्य भूमिमा सिँचाइ सुविधा उपलब्ध गराइएको हो ।

सिँचाइ सुविधाका लागि जिल्लामा ४० वटा डिप ट्युबेल र तीन सय ६० वटा स्यालो ट्युबेल जडान गरिएको आयोजना प्रमुख देवकुमार स्याङ्बोले बताउनुभयो । उहाँका अनुसार यी क्षेत्रमा अहिले बाह्रै महिना सिँचाइको सुविधा उपलब्ध छ । विशेष गरेर कुलो, नहर नभएको र भएर पनि नियमित पानी नआउने ठाउँमा पनि बाह्रै महिना सिँचाइ उपलब्ध गराउने गरी किसानको खेतबारीमा डिप र स्यालो ट्युबेल जडान गरिएको उहाँले जानकारी दिनुभयो । पश्चिम चितवनका कतिपय ठाउँमा अहिले बाह्रै महिना सिँचाइमार्फत खेती गरिएको स्याङ्बोले बताउनुभयो ।

आयोजनाले स्यालो ट्युबेल पूर्ण अनुदानमा उपलब्ध गराउँदै आएको छ । डिप ट्युबेलका लागि पाँच प्रतिशत जनसहभागिता आवश्यक पर्छ । त्यसका लागि किसानले श्रमदान पनि गर्न सक्नेछन् । “चार बिघासम्म जग्गा भएको क्षेत्रमा स्यालो ट्युबेल उपलब्ध गराइएको छ”, स्याङ्बोल भन्नुभयो, “किसान सानो समूह बनाएर आउने गर्नुभएको छ ।” यस्तै डिप ट्युबेलका करिब ४० बिघा जग्गा क्षेत्रफल भएमात्र उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो । “ट्युबेलमार्फत सिँचाइ गर्न किसानले रुचाएका छन्, कार्यालयले माग धान्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो । धेरै जग्गा आवश्यक पर्ने भएका कारण पनि डिप ट्युबेलमा किसानको आकर्षण कम भएको उहाँको भनाइ छ । चितवनमा भूमिगत सिँचाइ लागू भएपछि बाह्रै महिना सिँचाइ गर्दा पनि पानीको सतह घटेको छैन । नारायणी र राप्तीको दोभान भएका कारण यहाँ पानीको समस्या नभएको आयोजना प्रमुख स्याङ्बोले बताउनुभयो ।

बाह्रै महिना चाहेको समयमा सिँचाइ गर्न पाएपछि चितवनका किसान भूमिगत सिँचाइमा आकर्षिक छन् । भरतपुर महानगरपालिका २२ गर्भेटाँडीकी इन्दिरा बोटे सिँचाइमार्फत बाह्रै महिना खेती गर्न पाउँदा निकै खुसी हुनुहुन्छ । “बोरिङ नहुँदा त खेती नै हुँदैन्थ्यो । जग्गा बाँझो राख्नुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “आकाशबाट पानी नपरे बाँझै हुन्थ्यो । डिपबोरिङ जोेडेपछि निकै सहज भएको छ ।” एकपटक खेत रोपेपछि आफ्नो गाउँ मरुभूमिजस्तो हुने गरेको उहाँले अनुभव सुनाउनुभयो ।

पाँच कठ्ठा जमिनमा मकै लगाउनुभएकी सोही ठाउँकी कमला ढकाल विगतमा बाँझै हुने जमिनमा मकै फलेको देख्दा आफैँ दङ्ग हुनुहुन्छ । “अहिले तोरी पनि राम्रो भयो”, ढकालले भन्नुभयो, “मकै यति राम्रा भएका छन् ।” बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उहाँले बताउनुभयो ।

भरतपुर २२ का वडाध्यक्ष विष्णुराज महतोले आफ्नो वडाका सुक्खा ठाउँ अहिले हराभरा भएको बताउनुभयो । “यहाँ किसानले खेती लगाएपछि मात्र पानी आउथ्यो । यहाँका किसानले जेनतेन धानखेती गर्थे । अहिले मकै र तरकारी हराभरा छ । कृषिको आधार प्रविधि भन्ने कुरा भूमिगत जल सिँचाइले पुष्टि गरेको छ”, उहाँले भन्नुभयो ।

भरतपुर महानगरपालिकाले भूमिगत सिँचाइलाई प्राथमिकता दिइरहेको बताएको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको महानगरपालिका प्रमुख रेनु दाहालले बताउनुभयो । “भूमिगत सिँचाइ, महानगर, कृषि ज्ञान केन्द्र चितवनबाट चितवनका सिँचाइका कार्यक्रम अगाडि बढेका छन्”, उहाँले भन्नुभयो, “भरतपुरमा सिँचाइमा कृषिक्रान्ति नै भएको छ ।” अबको चार वर्षभित्र महानगरपालिकाभित्रका सबै जमिनमा सिँचाइ पुग्ने उहाँले बताउनुभयो । भरतपुरमा नौ हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकामा हालसम्म दुई हजार एक सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उहाँको भनाइ छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून

चौतारा- चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व सङ्कलन भएको छ ।आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ सङ्कलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताउनुभयो । केसीका अनुसार वैशाखसम्मको लक्ष्य रु तीन अर्ब ८१ करोड ४५ लाख ७० हजार रहेको थियो ।

हालसम्म ६६ दशमलव ६६ प्रतिशत प्रगति भएको उहाँले जानकारी दिनुभयो । गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उहाँको भनाइ छ । तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

दुई करोड ठगी गरेकोआरोपमा हुलाक कार्यालय बाराका निमित्त प्रमुख पक्राउ

बारा- जिल्ला हुलाक कार्यालय बाराका निमित्त प्रमुख बलिरामप्रसाद कुर्मी पक्राउ परेका छन् । हुलाक बचत बैंक कलैयामा विभिन्न व्यक्तिका खाता रहेको करिब रु दुई करोड रकम ठगी गरेको उजुरीका आधारमा कुर्मीलाई पक्राउ गरिएको बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।

पर्सा, बहुदारमाई गाउँपालिका–२ बस्ने कुर्मीले देवताल गाउँपालिका–४ टोल पिप्राढी निवासी ५५ वर्षीय प्रदीपकुमार चौधरीको खाताबाट ३५ लाख ५० हजार पाँच सय २६ र उहाँकी पत्नीको खाताबाट रु २१ लख ५३ हजार आठ सय ८५ गरी रु ५७ लाख चार हजार चार सय ११ हिनामिना गरेको उनीहरुको आरोप छ ।

कुर्मीले उनीहरुसहित १३ जना बचतकर्ताको रु एक करोड ९५ लाख ३४ हजार नौ सय ६६ आफ्नो खातामा ट्रान्सफर गरी हुलाकको खाता शून्य बनाइ सो रकम हिनामिना गरेको आरोपमा महागढीमाई नगरपालिका–२ बरियापुरका ज्ञानप्रकाश रौनियारसहित १३ जनाले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । 

 जिल्ला प्रहरी कार्यालयले हुलाकका निमित्त प्रमुख कुर्मीमाथि अनुसन्धान गर्न जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको प्रवक्ता पाण्डेयले भन्नुभयो ।

कोशी प्रदेशमा जनतालाई महसुस हुने गरी सडक निर्माणमा तीव्रता

कोशी प्रदेश सरकार स्थापनापछि प्रदेशमा विकासले गति लिएको छ । जनतालाई महसुस हुने गरी प्रदेश सरकारले सडक निर्माणलाई तीव्रता दिएको तथ्याङ्कले देखाएको छ । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयकाले आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० को हालसम्मको अवधिमा सडक मर्मत, ग्रावेल, कच्ची सडक, ढलान सडक, सोलिङ सडक, सडक ट्रयाक खोल्ने र कालोपत्रे गरी तीन हजार चार सय ९५ दशमलव ७१ किलोमिटरमा काम भएको मन्त्रालयका सूचना अधिकृत इञ्जिनियर ललित चौधरीले जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार आव २०७५/७६ मा सडक मर्मततर्फ ६०१, आव २०७६/७७ मा ६१ दशमलव ५४,  आव २०७७/७८ मा ५१ दशमलव १३, आव २०७८/७९ मा एक सय छ दशमलव १६ र  आव  २०७९/८० मा ७३ दशमलव २७ गरी जम्मा आठ सय ३९ दशमलव नौ गरी आठ सय ८३ दशमल शून्य नौ किलोमिटर सम्पन्न गरिएको छ ।

आव २०७५/७६ मा ग्रावेल सडकतर्फ एक सय २८ दशमलव नौ, आव  २०७६/७७ मा दुई सय ११ दशमलव ३५, आव २०७७/७८ मा एक सय ७५ दशमलव ३१, आव २०७८/७९ मा तीन सय ८० दशमलव १९ र आव २०७९/८० मा ७४ दशमलव ८० गरी नौ सय ७० दशमलव ५५ किलोमिटर निर्माण गरिएको छ ।

कच्ची सडकतर्फ आव २०७५/७६ मा एक सय ८१ दशमलव तीन, आव २०७६/७७ मा चार सय ७७ दशमलव ८२, आव २०७७/७८ मा एक सय नौ दशमलव १९, आव २०७८/७९ मा ९१ दशमलव शून्य सात र आव २०७९/८० मा एक सय २५ गरी नौ सय ८४ दशमलव ३७ किलोमिटर निर्माण गरिएको छ ।

सडक कालोपत्रेतर्फ आव २०७५/७६ मा २६ दशमलव १८, २०७६/७७ मा आव ५२ दशमलव २१, आव २०७७/७८ मा ४० दशमलव ६१, आव २०७८/७९ मा ९८ दशमलव ७२, र आव २०७९/८० मा एक सय २३ दशमलव ६७ गरी तीन सय ४१  दशमलव ३९ किलोमिटर निर्माण सम्पन्न गरिएको छ ।

सोही अवधिमा ढलान सडकतर्फ १० दशमलव २६ , सोलिङ्ग सडकतर्फ २२ दशमलव १९ किलोमिटर सडक निर्माण गरिएको सूचना अधिकृत चौधरीले बताउनुभयो । सोही अवधिमा दुई सय ७३ दशमलव ८६ किलोमिटर सडकको ट्रयाक खुला गरिएको छ ।

मन्त्रालयले  आव २०७५/७६ मा मोटरेवल पुल १०,  आव २०७६/७७ मा १२, आव २०७७/७८ मा  आठ, आव २०७८/७९ मा २५ र आव २०७९/८० मा  ११ गरी ६६  बटा निर्माण सम्पन्न गरिएको जानकारी दिएको छ । सो अवधिमा एक सय २६  बटा झोलुङ्गले पुल निर्माण सम्पन्न गरिएको छ । 

सो अवधिमा सामुदायिक भवन एक सय पाँच वटा निर्माण सम्पन्न भइसकेका छन् भने एक सय ५७ वटा निर्माणाधीन अवस्थामा छन् । सरकारी भवनतर्फ ३३ निर्माण सम्पन्न भएको छ भने छ वटा निर्माणाधीन अवस्थामा छन् । खेलकुद पूर्वाधारतर्फ ५० वटा निर्माण सम्पन्न भएका छन् भने छ वटा निर्माण भइरहेका छन् ।

सो अवधिमा एकीकृत वस्ती विकासतर्फ ५४ निर्माण सम्पन्न भएका छन् भने १२ वटा निर्माणाधीन छन् । जनता आवास कार्यक्रमअन्तर्गत चार हजार पाँच सय  ५१ निर्माण सम्पन्न भएका छन भने दुई हजार चार सय २८ निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

सहरी सडक (ढलान) तर्फ तीन हजार सात सय ५० किलोमिटर सम्पन्न भइसकेको छ भने नौ दशमलव पाँच किलोमिटर निर्माण भइरहेको छन् । सहरी सडक कालोपत्रेतर्फ १८ किलोमितटर निर्माण सम्पन्न भइसकेको छ भने चार दशमलव २५ किलोमिटर निर्माणाधिन अवस्थामा रहेको मन्त्रालयको भनाइ छ । 

 समीक्षा अवधिमा ४६ वटा पार्क निर्माण भइसकेका छन् भने १० वटा निर्माण भइरहेका छन् । साथै १८ वटा बसपार्क निर्माण भइसकेको छ भने चार निर्माणको अवस्थामा रहेको छन् । त्यसैगरी गेट तथा भ्यूटावरतर्फ ११ वटा निर्माण सम्पन्न भइसकेका छन् भने पाँच वटा निर्माण भइरहेको मन्त्रालयका सूचना अधिकृत चौधरीले बताउनुभयो । सोही अवधिमा प्रहरी भवनतर्फ २९ वटा र अन्य पूर्वाधारतर्फ ४२ वटा निर्माण सम्पन्न भइसकेका छन् भने १८ वटा निर्माणाधीन अवस्थामा छ ।

यसैगरी अन्य मर्मत सम्भारतर्फ एक सय ४८ वटा सम्पन्न भइसकेका छन् भने १८ निर्माण हुने क्रममा छन् । मन्त्रालयका अनुसार उक्त अवधिमा भवन, खेलकुद मैदान, पार्कलगायत डिपीआरतर्फ एक सय २५ सम्पन्न भइसकेका छन् भने १० वटा हुने क्रममा छन् । 

‘मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई, ‘मिस नेपाल अर्थ’ बनिन् मजगैयाँ

मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जित्नुभएको छ । शनिबार गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिनुभयो । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गर्नुभयो । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुनुहुन्छ । 

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पार्नुभएको छ भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जित्नुभयो । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो । 

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनुहुनेछ । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ । 

अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने तयारी

नेपाल विद्युत् प्राधिकरणले अबको दुई महिनाभित्र काठमाडौँमा भूमिगत लाइनबाट विद्युत् वितरण गर्ने योजना बनाएको छ । प्राधिकरणले यहाँको रत्नपार्क र महाराजगञ्ज लाजिम्पाट क्षेत्रमा घर–घरमै भूमिगत लाइनबाटै बिजुली जोड्ने तयारी गरेको छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका पानीपोखरी, लाजिम्पाट र नारायणहिटी सङ्ग्रहालयसहित कीर्तिपुर आसपासका क्षेत्रमा भूमिगत लाइनबाटै बिजुली वितरण गर्ने तयारी सुरु भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार कतिपय वितरण बक्सबाट घरका मिटरसम्म जाने बिजुलीको लाइन पनि भूमिगत गर्ने काम भइरहेका छन् ।

भूमिगत लाइनबाटै घर–घरमा बिजुली पुर्याउन प्राधिकरणले पूर्वाधार बनाउँदै गरेको र तार भूमिगत गर्ने काम सकिएका फिडरहरूमा क्रमशः यो काम गर्दै जाने योजना बनाइएको जनाइएको छ । प्राधिकरणले सडकबाट उपभोक्ताका घर र कार्यालयसम्म भूमिगतरूपमा तार लगी मिटरमा भूमिगत लाइनबाट बिजुली जोडे पनि केही महिना पोल भने नहटाउने योजना रहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।

आगामी हिउँद यामसम्म सकेसम्म काम सकिएका धेरै क्षेत्रका भूमिगत लाइन चार्ज गर्ने प्राधिकरणको योजना रहेको जनाइएको छ । हिउँदमा काठमाडौँमा विद्युत् लोड बढेर वितरण लाइनमा समस्या देखिने गरेको छ । यसका कारण हिउँदसम्म सकेसम्म धेरै फिडरमा भूमिगत लाइनबाट चार्ज गर्ने प्राधिकरणको तयारी छ ।

महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका करिब एक लाख घरमा स्मार्ट मिटर जोडेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । काठमाडौँको वितरण लाइन सुदृढीकरण गर्न प्राधिकरणले उपत्यकाभर बिजुलीको तार भूमिगत गर्न ठेक्का लगाएर काम गरिरहेको छ । काठमाडौँमा भूमिगत वितरण लाइन बिछ्याइरहेको प्राधिकरणले केही महिनापछि ओभरहेड वितरण लाइन हटाउने जनाएको छ । यसपछि इन्टरनेटका तारसमेत पोलमा राख्न नपाइने भएकाले प्राधिरकणले विकल्प सोच्न इन्टरनेट सेवा प्रदायकलाई आग्रह गर्दै आएको छ ।

जलकुम्भीले ढाकियो ताल, भाइरल बन्यो टिकटकमा !

चितवन – चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैयामा यतिबेला जलकुम्भीले छोपिएका छन् । जलकुम्भी कारण फोटो खिच्न र टिकटक बनाउन आउनेको लर्को लागेको छ । पहिले फाट्टफुट्ट आउने आन्तरिक पर्यटक अहिले दिनमै सयौँको सङ्ख्यामा आउन थालेका छन् । यसले आन्तरिक पर्यटकको चहलपहल त बढाएको छ तर संरक्षणकर्मीलाई जलकुम्भीका कारण ताल सुक्दै जान थालेकामा चिन्ता बढेको छ ।

भरतपुर महानगरपालिका–५ केशरबागको नवज्योति मध्यवर्ती सामुदायिक वनका अध्यक्ष भीमलाल चापागाईँ वनभित्र रहेको किङफिसर तालमा फोटो खिच्न र टिकटक बनाउन दैनिक सयौँ आउने गरेको बताउनुहुन्छ ।

“दैनिक सात÷आठ सयसम्म पर्यटक यहाँ आएका छन् । यो भीड दुई सातादेखि बढेको हो”, उहाँले भन्नुभयो । पहिले फाट्टफुट्ट आउने भए पनि टिकटकमा भिडियो भाइरल भएपछि यहाँ घुम्न आउनेको सङ्ख्या दिनदिनै बढेको छ उहाँको भनाइ छ । ताल क्षेत्रमा बिहान १० देखि ५ बजेसम्म प्रवेश खुला गरिएको अध्यक्ष चापागाईँले बताउनुभयो ।

यहाँ आउने पर्यटक जलकुम्भीको फूल टिप्छन् । फोटो भिडियो खिच्छन् र नाच्छन् रमाउँछन् । फर्कने बेलामा ‘गमलामा सार्छौँ’ भनेर पनि केहीले फूलसहितका जलकुम्भी लैजाने गरेको उहाँले सुनाउनुभयो । वन प्रवेश गरेको एक जनाको रु २५ लिने गरिएको छ । मान्छे धेरै आउँदा आम्दानी नभएको होइन तर तालमा जलकुम्भी फैलँदा र फुल्दा ताल सुक्ने चिन्ता रहेको अध्यक्ष चापागाईँ बताउनुहुन्छ । पानी बग्ने क्षेत्रभन्दा जमेका पोखरीलाई जलकुम्भीले ढाकेको उहाँको भनाइ छ ।

दक्षिणकाली मध्यवर्ती वन उपभोक्ता समूहका अध्यक्ष बाबुराम न्यौपानेले यस वर्ष वर्षात्को कमी भएका कारण जलकुम्भी झार बढेको बताउनुभयो । “पानीको सतह कम भएकाले मानिस तालमा जाने अवस्था भएको हो”, उहाँले भन्नुभयो, “पहिले पनि फुल्थ्यो । अहिले फूल टिप्ने र टिकटक बनाउने प्रचलन बढेको हो ।”

जलकुम्भीले ताललाई विनास गरेको उहाँ बताउनुहुन्छ । “अहिले जलकुम्भीका कारण ताल पुरिने अवस्थामा छ । ताल गहिराउनुपर्ने अवस्था छ । हाम्रो पनि दक्षिणकाली ताल र ओरालेघोल तालमा जलकुम्भी छ तर पर्यटकलाई टिकटै काटेर प्रवेश गराएका छैनाँै”, उहाँले भन्नुभयो ।

बाटुलीपोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष ज्ञानु सुनार जलकुम्भीलाई कमलको फूल भन्दै टाढा–टाढाबाट हेर्न आउने गरेको बताउनुहुन्छ । “प्रत्येक दिन यहाँ आएर सयौँले यो जलकुम्भीबारे सोध्नुहुन्छ”, उहाँले भन्नुभयो, “हामीले तालमा फुल्ने झार हो भनेर पठाउने गरेका छौँ ।” यो झारले तालमा समस्या आएको भन्दै यसको व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज र संरक्षणको क्षेत्रमा काम गर्नेहरूले जलकुम्भीको समस्या विकराल हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामपृत यादवले जलकुम्भीको समस्या बेलैमा समाधान गर्न नसके यसले विकराल अवस्था सिर्जना गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यसले तालतलैया सुकाउँदै छ । जहाँतहीँ यसको समस्या छ, यसलाई आउनै दिनहुन्न । यसलाई मान्छे लगाएर निकाल्नुपर्छ । नत्र भयावह हुन्छ ।”

बीसहजारी ताल जलकुम्भीका कारण सङ्कटमा पुगेको उहाँले बताउनुभयो । बीसहजारी तालको जलकुम्भी हटाउन ठूलो मेहनत र रकम खर्च भएको उहाँको भनाइ छ ।

“मान्छे प्रकृतिमा जान चाहन्छ, अहिले क्षणिक रमाइलो हेरेर हुँदैन । यहाँका तालमा पहिले थिएन । यो विदेशबाट आएको हो । यसले यहाँको रैथाने झारलाई समेत मार्ने गरेको छ”, उहाँले भन्नुभयो ।

जलकुम्भीको फूल फुल्छ । बाक्लो हुँदै जान्छ । अर्को वर्ष कुहिँदै जान्छ । ताल माथिमाथि आउँछ र विस्तारै ताल सुक्छ । यहाँ हुने रैथाने झार चराका लागि पनि राम्रो भएको यादवको भनाइ छ । ताल सुक्दै जाँदा चरा पनि आउन छाड्ने भन्दै उहाँले यो प्रकृतिको महारोग भएकाले बेलैमा सोच्न जरुरी रहेको बताउनुभयो ।

चितवन निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले रैथाने वनस्पतिलाई संरक्षण गर्नुपर्ने बताउनुहुन्छ । उहाँ जैविक विविधता संरक्षण गरेर सबैको विविधता कायम गर्न सक्नुपर्ने भन्दै सबैको ध्यान यसतर्फ जानुपर्ने बताउनुभयो ।
“डढेलो लाग्ने ठाउँमा जलकुम्भी बढी फैलन्छ र तालतलैया ढाक्छ । आगलागी नियन्त्रणलाई पनि ध्यान दिनुपर्छ । यसले दीर्घकालीनरूपमा असर गर्छ बेलेमा सोचेर समाधनतर्फ लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना जलकुम्भीको फूल देखाएर पर्यटक बढाउन खोज्ने चिन्तनले तालहरू नै नरहने जोखिम बढ्ने बताउनुभयो । उहाँले यहाँका ताल यस क्षेत्रको सिँचाइको समेत स्रोत भएको जानकारी दिनुभयो ।

“यी तालहरु रिचार्ज सेन्टर हुन् । यिनको संरक्षणबिना सिमसार जोगाउने कुरा सम्भव हुँदैन । जलकुम्भीले तत्कालका लागि पर्यटक त भित्रिएला तर दीर्घकालीनरूपमा यसले असर गर्छ”, उहाँले भन्नुभयो । उहाँले सामुदायिक वन क्षेत्रको संरक्षण र उपभोग पनि स्थानीयले गर्ने भन्दै पर्यटक ल्याउनका लागि पनि अन्य दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा कार्यालयका प्रमुख रचना शाहले जलकुम्भी जोगाउनभन्दा उखेल्न उपयुक्त हुने बताउनुभयो । उहाँले यसको दीर्घकालीन समस्या समाधनका लागि संरक्षण कोषले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेले जलकुम्भी देखाएर पर्यटक भित्र्याउनेभन्दा तालको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले तालहरू यहाँको कृषि प्रणालीसँग पनि जोडिएको बताउनुभयो । उहाँले सबै संरक्षणकर्मी एक भएर सिमसार क्षेत्रको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।

आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै

​​​​​​​काठमाडौँ – आज सङ्घीय संसद्को संयुक्त बैठक बस्दै छ । सङ्घीय संसद् अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्न लागेको हो । 

सङ्घीय संसद् भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।  

आजको बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन)नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुवबहादुर प्रधानले प्रस्तुत गर्नुहुनेछ । 

सो मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरेपछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनको माग

रुपन्देही-उद्योगी–व्यवसायीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि पहल गर्न लुम्बिनी प्रदेश सरकारका मन्त्रीसँग माग गरेका छन् । उनीहरूले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार सङ्गठन, रुपन्देही) ले आज भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेय र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ता (सिके) गुप्ताको स्वागत, बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी–व्यवसायीले यस्तो माग गरेका हुन् । उनीहरूले विगतमा पनि विमानस्थल पूर्ण र नियमितरूपमा सञ्चालनका लागि विभिन्न दबाबमूलक कार्यक्रम गरिएको जनाउँदै थप दबाब आवश्यक रहेको जनाउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणअघि नै विमानस्थलबारे भारत सरकारसँग छलफल गर्न प्रदेश सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ छ । चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिलकुमार ज्ञवालीले नागरिकले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्माणका लागि जग्गा तथा घर नै दिए पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसक्दा नागरिक निराश भएको बताउनुभयो ।

अध्यक्ष ज्ञवालीले खुल्ला सीमाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको उल्लेख गर्दै ४० प्रतिशत सटर खाली भइसकेको जानकारी गराउनुभयो । चेम्बर अफ कमर्स, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायणप्रसाद भण्डारीले समग्र रुपन्देही र लुम्बिनीको विकास आवश्यक रहेको बताउनुभयो । उहाँले लुम्बिनीमा सञ्चालित गुम्बा तथा मोनाष्ट्रीमा पर्यटक राख्दा त्यहाँ सञ्चालित होटल धरासायी भएको गुनासो सुनाउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित र पूर्णरूपमा सञ्चालनका लागि आन्दोलनका कार्यक्रम गरिएको उहाँले बताउनुभयो । उहाँले लुम्बिनी र लुम्बिनीको प्रवेशद्वार भैरहवा क्षेत्रमा रहेका समस्या समाधानका लागि अग्रसर हुन मन्त्रीहरूसँग आग्रह गर्नुभयो । सिद्धार्थ होटल एशोसिएशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्योग, पर्यटन र व्यवसायको विकासका लागि सरकारको ठूलो हात रहने भएकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि जनप्रतिनिधिको भूमिका रहने बताउनुभयो ।

विमानस्थल नियमितरूपमा सञ्चालनका लागि विभिन्न चरणका आन्दोलन र छलफल भए पनि मन्त्री र सचिवबाट आश्वासन मात्रै पाएको उहाँले गुनासो गर्नुभयो ।

लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री गुप्ताले उद्योगी व्यवसायीसँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले विमानस्थल पूर्ण र नियमित सञ्चालनका लागि प्रदेश सरकारबाट सक्दो पहल गरिने बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेयले विमानस्थल पूर्ण सञ्चालनका लागि सङ्घीय सरकारसँग निरन्तर पहल भइरहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले बेथरी पुल निर्माण कार्यलाई फास्ट ट्र्याकमा अगाडि बढाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।

नक्कली शरणार्थी छानबिनमा सरकारले सरकारले हस्तक्षेप गर्नु हुँदैन : नेता खनाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले नक्कली शरणार्थी छानबिनमा सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताउनुभएको छ । काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा आफ्नो पार्टीले साथ नदिने बताउनुभयो ।

उक्त घटनाको निष्पक्ष छानबिनमा सरकार संवेदनशील हुनुपर्नेमा जोड दिँदै सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध रहेको बताउनुभयो । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही कार्यमा क्रियाशील रहेकामा चिन्ता व्यक्त गर्दै उहाँले कानून सबैलाई समान रहेकाले घटनामा उच्च ओहोदामा रहेका तथा सामान्य व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले ठूला तीन दलको छलफलपछि छानबिनलाई प्रभावित बनाएर केही दोषीलाई उन्मुक्ति दिने आशङ्का जनताले गरिरहेको भन्दै त्यसप्रति सचेत रहन आग्रह गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कतिपय व्यवहारबाट आफ्नो पार्टी सन्तुष्ट नरहेकाले ध्यानाकर्षण गराउनु पार्टीको कर्तव्य रहेको बताउनुभयो । उहाँले अहिले साना छरिएका समान विचार भएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध गरी एउटा बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि छलफल चलिरहेको जानकारी दिनुभयो ।

भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना छ : प्रधानमन्त्री

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताउनुभयो । उहाँले सो अवसरमा भारतसँग सन् १९५० को सन्धि र नेपालमा रासायनिक मल कारखाना खोल्नेबारे छलफल हुने जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभएको छ । “नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा होल्डमा बसेको थियो, खारेज र एकपटकभन्दा बढी फिर्ता गर्ने प्रावधानसमेत थिएन”, उहाँले भन्नुभयो, “विधेयक उत्पत्ति भएको मन्त्रिपरिषद्बाटै प्रमाणीकरण गर्नका लागि विगतको यथार्थ विवरणसहितको पत्र राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । मलाई विश्वास छ राष्ट्रपतिले यसको प्रमाणीकरण गर्नुहुन्छ भन्ने विश्वास छ ।”

उहाँले भूमिसम्बन्धी समस्या दुई वर्षभित्र समाधान गर्ने सरकारको नीति तथा कार्यक्रमबारे स्मरण गराउँदै भालुवाङका जनताको लालपुर्जाको व्यवस्था सोही रणनीतिअन्तर्गत समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भूमि दर्ता गर्न लाग्ने शुल्क घटाउन सरकारले पहल गर्नेसमेत जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रणका विषयमा नयाँ ऐन बनाउने र नीतिगत भ्रष्टाचारका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले चुरे दोहन र तराई मरुभूमिकरणको विषयमा सरकार गम्भीर रहेको स्मरण गराउनुभयो । रुबी भ्यालीका विषयमा आवश्यक नीतिगत निर्णय लिएर अघि बढ्ने उहाँको भनाइ छ ।

वैदेशिक रोजगारीका लागि विदेशिने क्रम रोक्न सिधैँ गाउँपालिका केन्द्रित रोजगार तालिम सञ्चालन गर्ने र आगामी आवको बजेटमा यसबारे व्यवस्था गर्ने उहाँले बताउनुभयो । “विगतमा विभिन्न नाममा जुन अनुदान रकम पठाउने गरेका छौँ, त्यसको सदुपयोग भएन भनेर नै यो पटक हामीले त्यसखालका कार्यक्रम गाभेर एकीकृत कार्यक्रमका रूपमा सिधै गाउँपालिकाअन्तर्गत कार्यक्रम लागू गर्नेछौँ”, उहाँले भन्नुभयो ।

उहाँले आगामी आवको नीति तथा कार्यक्रम र बजेटबीच दुई महिनाको ‘ग्याप’ राख्ने सुझावप्रति नयाँ ढङ्गले सोच्न जरुरी रहेको भन्दै यसबारे सरकारले पहल गर्नेसमेत बताउनुभयो ।

नक्कली भूटानी शरणार्थी, भ्रष्टाचारका विषयमा निष्पक्षरूपमा अनुसन्धान भइरहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितको संरक्षण र समस्या समाधानका लागि ऐन बनाएर विशेष ‘एक्सन टिम’ले समाधानको काम अघि बढाएकोसमेत जानकारी दिनुभयो । यस्तै रुग्ण उद्योग र बन्द उद्योग पुनः सञ्चालनका लागि सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले रासायनिक मलबारे यसपटक समस्या नहुने दाबीसमेत गर्नुभयो ।

उहाँले पञ्चेश्वर परियोजना अघि बढाउनेबारे सकारात्मक छलफल भइरहेको भन्दै पश्चिम सेती परियोजनाको डिपिआर तयार भइरहेको बताउनुभयो । सिकलसेल एमेनियाको समस्या समाधानमा बजेटमा व्यवस्था गरिने उहाँको भनाइ छ ।

चीन र नेपालबीचको सहमतिमा सुरु भएको माडी जलाशययुक्त आयोजना सात महिनायता बन्द रहे पनि नयाँ शिराबाट फेरि अघि बढ्ने प्रधानमन्त्रीको भनाइ छ ।

उहाँले दैलेखको पेट्रोल खानी, खेलाडीको संरक्षण, छोटी भन्सार, जुट खेती, दार्चुला टिङ्कर सडक निर्माण, सामाजिक सञ्जाल नियमन, यौनिक अल्पसङ्ख्यकको विषय, निजी र सार्वजनिक विद्यालयबीचको अन्तर कम गर्ने, रासायनिक मल कारखाना, सेती नदीको संरक्षण, धनगढी विमानस्थल र पशुपति विकास कोषको जग्गाको विषय सरकारको प्राथमितामा रहेको बताउनुभयो ।
 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

खोटाङ-दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो ।

श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताउनुभयो । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो । नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ ।”

नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ । ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घमा आबद्ध एकजना व्यवसायीले कम्तीमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन् ।

श्रमदानको पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको करिब १२ किलोमिटर लामो सडकखण्डमा पर्ने सोल्मामा श्रमदान गरिएको हो । श्रमदान अभियानमा नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई, वडाध्यक्ष ध्रुवविक्रम राई, विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।

जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम गरियो । पहिलो दिनको श्रमदानमा चारवटा ट्रयाक्टर र एउटा जेसिबी प्रयोग गरेर खाल्डाखुल्डी पुरिएको वडा नं २ सोल्माका वडाध्यक्ष राईले बताउनुभयो ।

श्रमदान अभियानअन्तर्गत दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुङ्गाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ । नगरपालिकाको जेसिबी र व्यवसायीको ट्रयाक्टरमार्फत ल्याइएको रोडा श्रमदानमा सहभागीले गैँती, बेल्चा र कोदालो प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने गरेका छन् ।

नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्रयाक्टर व्यवसायीहरू स्वःस्फूर्तरूपमा सहभागी भएको मेरुङ कन्ट्रक्सन प्रालिका सञ्चालक भलकाजी पुरीले बताउनुभयो । “जिल्लामा एक सय ३० वटा ट्रयाक्टर सञ्चालनमा छन् । नगरभित्रमात्रै ८०–८५ वटा ट्रयाक्टर नियमितरूपमा सञ्चालनमा छन् । नगरभित्रका व्यवसायीको सबै ट्रयाक्टरलाई कम्तीमा एक दिन श्रमदान गर्न अनुरोध गरिएको छ”, उहाँले भन्नुभयो, “दिउँदमा हिलो र वर्षामा हिलोको कारण नगरपालिकाभित्रका सबै ग्रामीण सडकमा सहजरूपमा ट्रयाक्टरसमेत सञ्चालन हुने अवस्था छैन । नगरपालिकाले थालेको श्रमदान अभियानले ट्रयाक्टर व्यवसायीलाई समेत सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

नगरपालिकाले थालेको श्रमदान अभियानमा दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सहभागी हुने भएका छन् । जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ ।

सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने संस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान सुरु गरेर राम्रो सन्देश दिएको वरिष्ठ पत्रकार कृष्ण आचार्यले बताउनुभयो । “हाम्रो समाजमा आफूले गरेको फोहरसमेत अरुले नै गरिदिनुपर्ने संस्कारको विकास हुँदै गएको छ । यो राम्रो होइन”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको श्रमदान अभियानले आफ्नो लागि आफँै गर्न सक्छौँ भन्ने सन्देश दिएको छ । यो अभियान कसैका लागि लक्षित गरेर लागू गर्नुभएन । एक जना व्यक्तिको फाइदाका लागि गर्नुभएन । सार्वजनिक सरोकारका विषयलाई समेट्न सक्नुपर्छ । त्यसो गरेको खण्डमा अभियान सफल हुन्छ ।”

नगरपालिकाले थालेको श्रमदान अभियानलाई आफूहरूको कार्यकालभरि निरन्तरता दिने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताउनुभयो । “पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ग्रामीण सडक मर्मत गर्ने कामबाट सुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरि जारी राख्ने छौँ । श्रमदान अभियानअन्तर्गत नगरपालिकाभित्रका सडक, सार्वजनिकस्थलहरुको मर्मत तथा सरसफाइ लगायतका क्रियाकलाप गरिनेछ”, उहाँले भन्नुभयो, “नगरपालिकाले सुरु गरेको श्रमदान अभियानले नागरिकमा श्रम संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ ।”

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले थालेको श्रमदान अभियानलाई जिल्लामा निकै महत्वका साथ हेरिएको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा सबै सरकारी कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मध्यपहाडी लोकमार्गबाहेक अन्य ग्रामीण सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएका छन् ।
–––

नीति तथा कार्यक्रम माैलिक रहेकाे प्रधानमन्त्रीकाे दाबी

काठमाडाैं-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रम मौलिक रहेको दाबी गरेका छन् । 
शनिबार प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा  कार्यक्रम माैलिक रहेकाे बताएका हुन् ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले नीति तथा कार्यक्रमको विरोध गरेकोप्रति लक्षित गर्दै प्रचण्डले एमालेका एजेण्डा पनि नीति तथा कार्यक्रममा समेटिएको दाबी गरे । 


निर्वाचन पछि एमाले र कांग्रेससँगको गठबन्धनमा सरकार बनेको प्रसङ्ग उल्लेख गर्दै प्रचण्डले यो दुवै गठबन्धनको न्यूनतम साझा कार्यक्रम मिसिएको मौलिक नीति तथा कार्यक्रम भएको उनकाे भनाइ थियाे ।
 

आजको मौसमः पाँच प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, १४ बैशाख । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ(गर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई

काठमाडौं, १३ जेठ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन् । 

पुर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।

‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौं,’ भट्टराईले भनेका छन, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं।’

नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण

म्याग्दी-नेपालमा मात्र पाइने रैथाने प्रजातिका गुराँस म्याग्दीको मौसिज हर्गोज पदमार्गको आकर्षण बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि हुमखोला हुँदै अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौसिस हर्गोज पदमार्गमा पाइने ‘रोडोडेन्ड्रन कोवानियनम’ र ‘रोडोडेन्ड्रन लोन्डेसी’ नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् ।

दुई हजार आठ सय ८३ मिटर उचाइको हुमखोलादेखि तीन हजार पाँच सय ५३ मिटर उचाइमा रहेको भुसकेटमेला पुग्ने अन्नपूर्ण खोला वारिपारिका पाखामा वसन्त ऋतुमा ढकमक्क फुलेको गुराँसले पर्यटक लोभ्याएको हो । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले अन्नपूर्ण हिमाल आरोहण, पच्चकुण्ड नारच्याङ ताल र मौसिज हर्गोज पदमार्ग भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि ‘फुच्चे गुराँस’ थप आकर्षण बनेको बताउनुभयो ।

“मौरिस हर्गोज पदमार्ग आरोहण र पदयात्राका लागि मात्र नभएर नेपालमा मात्र पाइने गुराँसको अवलोकन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “झाडीधार वनस्पतिमा पर्ने यो प्रजातिको गुराँस लाङ्टाङ र गोसाइँकुण्ड क्षेत्रमा पाइने अभिलेख भएको छ । अन्नपूर्ण क्षेत्रमा पनि पाइने अभिलेख गराउन पहल गरेका छौा ।” आधा मिटरदेखि तीन मिटरसम्मको उचाइ हुने यो गुराँस फुलेको बेला पातसँगै निस्कने वनस्पतिविद् कमल मादेनले बताउनुभयो । उहाँका अनुसार लाङ्टाङ क्षेत्रमा यो गुराँसलाई किसुर भनेर पनि चिनिन्छ ।

“अप्रिलदेखि जुन महिनामा फुल्ने यो गुराँस गुलाबी हुन्छ । रोडोडेन्ड्रन कोवानियनमको पातमा रौँजस्ता ससाना भाग देखिन्छन्”, उहाँले भन्नुभयो, “रोडोडेन्ड्रन कोवानियनम र रोडोडेन्ड्रन लोन्डेसी नेपालमा मात्रै पाइने रैथाने गुराँस प्रजाति हुन् । यी नेपालबाहेक संसारका अन्य स्थानमा रेकर्ड भएका छैनन् ।”

वनस्पतिविद् मादेनले सन २०१९ मा नारच्याङदेखि अन्नपूर्ण आधार शिविर भ्रमणमा जाने क्रममा यस प्रजातिका गुराँस पहिचान गर्नुभएको थियो । रोडोडेन्ड्रन कोवानियनम प्रजातिको फूल फुल्दा पात कम पलाएका हुन्छन् ।

सन् १९५० मा बेलायती वनस्पतिविद् ओलेग पोलुनिन नेपालमा अध्ययन गर्न आएका बेला यो प्रजाति लाङ्टाङबाट सङ्कलन गरेका थिए । अध्ययन गर्ने क्रममा यो संसारकै लागि नयाँ प्रजातिको गुराँस भएकाले यसको नाम रोडोडेन्ड्रम कोवानियनम राखिदिएका थिए । उक्त नाम स्कटिस वनस्पतिविद् जोन म्याकक्विन कोवानको सम्मानमा राखिएको थियो ।

रोडोडेन्ड्रन कोवानियनम प्रजातिको गुराँसको उचाइ डेढदेखि तीन मिटरसम्म हुन्छ । यो गुराँस पूर्णरूपमा फुल्दा पात पलाइसकेको हुने मादेनले बताउनुभयो । विश्वमा गुराँसका हजारभन्दा बढी प्रजाति छन् । तीमध्ये नेपालमा ३३ प्रजाति पाइन्छन् । नेपालमा पाइने गुराँसमध्ये दुई वटा रैथाने हुन् । अरु अन्य मुलुकमा पनि पाइन्छन् । रोडोडेन्ड्रन कोवानियनमको फूल गुलाबी रङको हुन्छ ।

छ सय ४० विद्यार्थीलाई निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा

काठमाडौँ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले छ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ । परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको परिषद्का सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९९ स्थानीय तहका ८० जनालाई तीनवर्षे डिप्लोमा तथा विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई १८ महिने प्रि–डिप्लोमा तहमा एक सय ६० जना र तीन वर्षे डिप्लोमा/प्रमाणपत्र तहमा चार सय जनालाई विशेष छात्रवृत्ति कार्यक्रमअन्तर्गत अध्ययन गराइँदैछ । उहाँले ती विद्यार्थीलाई निर्वाह भत्ताबापत मासिक रु तीन हजार पाँच सय, यातायात खर्चबापत प्रतिवर्ष रु एक हजार पाँच सय र पोशाक खर्चबापत प्रतिवर्ष रु दुई हजार पाँच सय समेत उपलब्ध गराइनेछ ।

असी विद्यार्थीलाई तीन वर्षे बालीविज्ञान (डिप्लोमा इन एग्रिकल्चर) र डिप्लोम इन होटल म्यानेजमेन्ट विषय निःशुल्क पठनपाठन गर्दैछन् । डिप्लो इन एग्रिकल्चर श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय, भोजपुर र डिप्लोमा इन होटल म्यानेजमेन्ट नेपाल बनेपा बहुप्राविधिक शिक्षालय बनेपामा पढिरहेको उहाँले जानकारी दिनुभयो । अठार महिने प्रि डिप्लोमा एग्रिकल्चर, फरेष्ट्री, अटोमोबाइल इञ्जिनियरिङ र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

यस्तै तीन वर्षे डिप्लोमा सिभिल इञ्जिनियरिङ, बालीविज्ञान), जियोमेटिक्स इञ्जिनियरिङ, बायोमेडिकल इञ्जिनियरिङ, सिभिल (स्पेशलाइजेशन इन हाइड्रोपावर) इञ्जिनियरिङ, रेफ्रिजिरेशन एण्ड एयरकन्डिसनिङ इञ्जिनियरिङ, मेडिसिनल एण्ड एरोमेटिक्स प्लान्ट, पशुविज्ञान र सिभिल इञ्जिनियरिङ विषय अध्ययन गराइन्छ ।

व्यवस्थित बन्दै बागलुङको ‘हरिचौर बजार’

ढोरपाटन, १३ जेठ – हरिचौर बजार बागलुङको पुरानो जिल्ला सदरमुकाम हो । साँघुरा ठाउँमा अव्यवस्थित बस्ती । त्यसले गर्दा बजारको सौन्दर्यता हराउँदै गएको छ । तर गलकोट नगरपालिकाले बजारको सौन्दर्यलाई जोगाइराख्न व्यवस्थित बजारका रुपमा विकास गरिरहेको छ । बजार क्षेत्रमा आवश्यकपर्ने पूर्वाधारसमेत निर्माण गर्न थालेको छ । सार्वजनिकस्थलमा खानेपानी, शौचालय, बालउद्यानलगायतका संरचना निर्माणमा नगरपालिकाले ध्यान दिएको छ ।

नगरपालिले चालु आर्थिक वर्षमा बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी वडा नं ६ हरिचौरमा बालउद्यान निर्माण गर्न थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु छ लाखले उद्यान निर्माणको सुरुआत गरेको छ । नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नका लागि हरेक वडामा बालउद्यानलगायतका संरचना आवश्यक हुनेहुँदा हरिचौरमा यस वर्ष उद्यान निर्माण गर्न थालिएको वडाध्यक्ष पवन हमालले बताउनुभयो । उहाँले बजार नजिकैको दुई रोपनी सार्वजनिक जग्गामा बालउद्यान निर्माण गर्न थालेको जानकारी दिनुभयो ।

बालउद्यानसँगै ढल व्यवस्थापनलगायतका कामसमेत गरिरहेको छ । बालउद्यानका लागि यस वर्ष जग्गा व्यवस्थापन गरी सम्याएर संरचना निर्माण गर्न थालिएको अध्यक्ष हमालको भनाइ छ । उद्यानसँगै बगैँचासमेत व्यवस्थापन गरिनेछ । अहिले उद्यानमा बालबालिकाका लागि खेल्ने सामग्री राखिएको उहाँले बताउनुभयो ।

अहिलेसम्म बजार क्षेत्रमा कुनै पनि तनाव व्यवस्थापन गर्ने स्थल नभएको भन्दै वडा कार्यालयले छोटो समय भए पनि भुल्ने स्थान बनाउन थालेको अध्यक्ष हमाल बताउनुहुन्छ । आफूहरुले हरिचौर बजारलाई समेत थप व्यवस्थित र बालमैत्री बजारका रुपमा विकास गर्न थालिएको उहाँको भनाइ छ ।

“यस वर्षदेखि हामीले बजार व्यवस्थापन गर्नुका साथै बालउद्यान निर्माण गर्न थालेका छौँ, बजार तीव्ररुपमा विस्तार हुँदैछ, दिनदिनै भिडभाड हुने हुँदा शान्त हुने ठाउँको अभाव पनि छ, त्यसले गर्दा मान्छेलाई एकैछिन भए पनि ‘फ्रेस’ हुन र मनलाई शान्त पार्नका लागि बालउद्यान निर्माण गरेका हौँ”, अध्यक्ष हमालले भन्नुभयो, “खासगरी बालबालिका र वृद्धवृद्धालाई लक्षित गरी यो निर्माण गरेका हौँ, यस वर्ष केही काम भएको छ, आगामी वर्षको बजेटले पूर्णता दिनेछौँ, उद्यानमा फूलबारी हुनेछ, बालबालिका खेल्ने सामग्री अहिले नै राखेका छौँ थप सामग्री व्यवस्थापन गर्दै जानेछौँ ।”

अध्यक्ष हमालले हरिचौर बजार क्षेत्र अव्यवस्थित हुँदा आगन्तुक तथा स्थानीयलाई समस्या हुने गरेको भन्दै अब बन्ने सबै संरचना मापदण्डअनुसार निर्माण हुने र हरिचौरलाई जिल्लाकै उत्कृष्ट बजारका रुपमा विकास गर्ने अध्यक्ष हमालले बताउनुभयो । यहाँ रहेका साँघुरो र अप्ठ्यारो सडकमा बेलाबेला दुर्घटना हुने गरेको भन्दै अहिले ढलान गरेको उहाँ बताउनुहुन्छ ।

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले हरिचौर बजारको सौन्दर्यकरण गरी व्यवस्थित बजार बनाउन नगरपालिकाले मापदण्ड बनाएको बताउनुभयो । बजारमा तीव्ररुपमा भवनहरु बनिरहेको भन्दै अब निर्माण हुने सबै संरचना नगरपालिकाले बनाएको मापदण्डअनुसार बनाउनुपर्ने प्रवक्ता भण्डारी बताउनुहुन्छ । यहाँ ऐतिहासिक गलकोट दरबार छ । हरिचौर हुँदै पर्यटकीयस्थल टेउवाको मूर्तिकला पुगिने हुँदा बजारमा विभिन्न संरचना बनाउन थालिएको उहाँको भनाइ छ ।

प्रवक्ता भण्डारी भन्नुहुन्छ, “हरिचौर बजार पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको ठाउँ हो, यहाँ दैनिक आन्तरिक पर्यटक घुम्न आउने गर्छन्, यहाँको गलकोट दरबार र टेउवाको मूर्तिकला हेर्न आउने पर्यटकले एकैछिन थकान मेटाउनका लागि र बालबालिकालाई ‘रिफ्रेसमेन्ट’ गराउनका लागि पार्क निर्माण भएको छ, अहिले सामान्यरुपमा निर्माण भए पनि यसलाई थप व्यवस्थित बनाउने योजना छ ।”

फेवातालको सिमसार खार्ने र पुर्ने काम रोक्ने निर्णय

पोखरा-पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय भएको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताउनुभयो । कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा सङ्कट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उहाँको भनाइ छ ।

बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले फेवा माथिको दोहन रोक्नका लागि र सो क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन सोका लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । यसअघि फेवातालको आसपासको सिमसार क्षेत्र पुर्ने गतिविधि बढिरहेकाले त्यसलाई रोकेर सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले रोक्न माग गरेको थियो ।

शिक्षामा सीप कार्यक्रमको निरीक्षण गर्न कामपा प्रमुख साह विद्यालयमा

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह शिक्षामा सीप कार्यक्रमको अनुगमन निरीक्षणका लागि विभिन्न सामुदायिक विद्यालयमा पुग्नुभएको छ ।कामपाले गत वैशाख १२ गतेदेखि पहिलो पटक सामुदायिक विद्यालयमा शिक्षामा सीप कार्यक्रम सुरु गरेको हो । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित कामपाले उक्त कार्यक्रम लागू गरेको हो । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्ने कामपाको उद्देश्य हो । उक्त कार्यक्रमअन्तर्गत ९० घण्टे कार्यक्रम तय गरिएको छ । जसमा कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला रङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० क्षेत्र निर्धारण गरिएका छन् ।

निरीक्षण कार्यको सुरुआत वडा नं ५ टङ्गालमा रहेको टङ्गाल माध्यमिक विद्यालयबाट भएको थियो । विद्यालयका विद्यार्थीहरू समूहमा बाँडिएर कोही काठ चिल्लो बनाउने, बुट्टा भर्ने, काट्ने, नाप्ने सीप सिकिरहेका थिए । केही विद्यार्थी मोबाइल मर्मत गर्न सिकिरहेका थिए । सीपमूलक तालिममा सहभागी नहुने विद्यार्र्थीहरू कक्षा कोठाको सजावट गर्ने सामग्री निर्माण गर्ने, आर्ट गर्ने, कागज काटेर सजावटका सामान बनाउनेलगायत काम गरिरहेका थिए । 

त्यसैगरी वडा नं २५ मा रहेको कन्या विद्या मन्दिर माध्यमिक विद्यालयको पनि प्रमुख साहले अनुगमन गर्नुभयो । उहाँसँग प्रवक्ता नवीन मानन्धर, शिक्षा सल्लाहकार रेशु अर्याल, सहायक विज्ञ शैलेन्द्र झासहित अधिकारी सहभागी हुनुहुन्थ्यो । विद्या मन्दिरका विद्यार्थीको एउटा समूह ब्युटिसियन (सौन्दर्य कला) र अर्को समूह सिलाइ कटाइ तालिममा व्यस्त थिए । 

‘प्रयोगात्मक शिक्षण विधिबाट विद्यार्थीहरूको सिकाइप्रतिको रुचि बढ्छ । शिक्षण पद्धतिलाई परम्परागत बनाइनुहुँदैन । खेल र प्रविधि जोडेर विद्यार्थीहरूमा स्वतः रुचि जगाउनुपर्छ”, निरीक्षणका क्रममा प्रमुख साहले भन्नुभयो, “मैले चुनावी घोषणापत्रमा सामुदायिक विद्यालयमा हप्ताको एक दिन सीप, उद्यमशीलता, खेलकुद, सङ्गीत, कला तथा नेतृत्व विकास जस्ता कार्यक्रम सुरु गर्नु भनेको थिएँ, घोषणाअनुरूप कार्यान्वयनमा आएको छ ।  

निरीक्षणपछि शिक्षा सल्लाहकार रेशु अर्यालले भन्नुभयो, “प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावकले सक्रिय सिकाइ अनुभूति भएको प्रतिक्रिया पाएका छौँ । कक्षा कोठा तयारीका लागि शिक्षक, विद्यार्थी र विद्यालय प्रशासनको सहभागिता सकारात्मक छ, हामीले निर्धारण गरेका सबै विधा प्रयोगमा आइसकेका छन् । मोबाइल मर्मतमा धेरै विद्यार्थीको रुचि देखिएको छ ।” 

महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् । 

बिराटनगरमा आज देखी अनिश्चितकालिन निषेधाज्ञा जारी

बिराटनगर, १३ जेठ । कोशी प्रदेशको राजधानी विराटनगरमा आज देखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ ।कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो । जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता कार्यक्रममा रोक लगाईएको छ ।

‘जिल्ला सुरक्षा समिति, मोरङको निर्णयानुसार, मिति २०८०– २– १३ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निम्न स्थानहरूमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्‍याली जस्ता कार्यहरू गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३ क० बमोजिम निषेध गरिएकाले सम्बन्धित सबैको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ’ जारी सुचनामा भनिएको छ ।

जसअनुसार पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । 

प्रतिनिधिसभा बैठकः नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं, १३ जेठ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनका १३ औं बैठक बस्न लागेको हो । बैठक ४ बजे बस्नेछ ।आजको बैठकमा गत जेठ ५ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रम माथी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

हिजोको बैठकमा नीति तथा कार्यक्रम माथी सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिने कार्यसुची रहेता पनि अचानक पशुपतिनाथको जलहरी प्रकरणलाई लिएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली माथी नेकपा माओवादीका सांसदले गम्भिर आरोप लगाए पछि बैठक बिबादमा परेको थियो ।

नेकपा एमालेले माओवादीले माफी नमागेसम्म संसद चलाउने नदिने अडान राखे पछि हिजो भएका पटक पटकको प्रयास असफल भई बैठक नै बस्न नसके पछि अन्ततः आज ४ बजे बोलाईएको हो । 

हिजोको बैठकमा ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसुचीमा उल्लेख थियो । आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावना रहेको छ ।

निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुँदै

काठमाडौँ-निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक फूलमान वलले चलचित्रमार्फत सामाजिक कथा भन्न खोजिएको जानकारी दिनुभयो । “चलचित्रमा भूकम्प, त्यसपछि निम्तिने परिस्थिति, नागरिकले भोग्ने सास्तीलगायतका विषय समेटेको छु । यो चलचित्रले त्यो समयलाई पर्दामा जीवित राखेको छ”, निर्देशक वलले भन्नुभयो ।

भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतको अभिनय गर्नुभएको छ ।

“मलाई सधैँ बाँचिरहने चलचित्रमा अभिनय गर्न मन थियो किनकी ती चलचित्र जहिले देखाउन सकिन्छ । यस्तै चलचित्र बनेको छ”, अभिनेता राईले भन्नुभयो, “यसले हाम्रै समाजको कथालाई हाम्रै सुन्दर दृश्यमार्फत व्यक्त गरेको छ । हामीले नेपालको सुन्दरता देखाउने प्रयास गरेका छौँ ।”

भत्किएका मन र सम्बन्धको पुनःनिमाणको कथा समेटिएको चलचित्र विविध कारणले प्रदर्शन हुन समय लागेको निर्देशक वलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रदर्शन तय गरेको समयमा कोरोना भाइरसका कारण सम्भव भएन । त्यसपछि अहिले बल्ल तय भएको छ । प्रदर्शन ढिलो हुँदा निर्माण लागत पनि बढेको छ ।”

रुवि भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्र आफूले खोजे झैँ भएको अभिनेता खतिवडाले बताउनुभयो । “कहिले पैसा र कहिले कथाले म जस्ता कलाकारलाई चलचित्रमा आबद्ध हुन बाध्य बनाउँछ । तर यसमा दुवै पाएँ”, उहाँले भन्नुभयो । आयोजित पत्रकार सम्मेलनमा चलचित्रको गीत तथा ट्रेलर पनि देखाइएको थियो ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहनुभएको चलचित्रमा प्रमोद कार्कीले छायाङ्कन, निमेष श्रेष्ठलले सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङले सङ्गीत दिनुभएको छ । यो चलचित्र जेठ २६ बाट प्रदर्शन हुँदैछ ।

आजको मौसमः यी पाँच प्रदेशमा पर्नेछ पानी

काठमाडौं, १३ जेठ । हाल देशमा  पश्चिमी  निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र देशका अन्य भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागहरूका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको ।देशका तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती भने देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

कोशी, मधेश, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहको र तराईका भू-भागमा हावाहुरीको सम्भावना रहेकोले त्यसबाट जोगिन र हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।

बागमती प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने

बागमती- बागमती प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस, २०८० विविध कार्यक्रमहरू गरी मनाउने तय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गङ्गानारायण श्रेष्ठले जेठ १४ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने तालिका सार्वजनिक गर्नुभएको छ ।

सरकारले जेठ १४ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्नेछ । यस्तै जेठ १५ गते बिहान हेटौँडाको बुद्धचोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणसम्म प्रभातफेरि आयोजना गर्ने, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राङ्गणमा गणतन्त्र दिवस, २०८० विशेष समारोहमा प्रदेश प्रमुखबाट सम्बोधन हुने कार्यक्रम रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । सोही दिन साँझ प्रदेशस्थित सबै मन्त्रालय, कार्यालय, सार्वजनिक एवं सामुदायिक सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान तथा निकाय र प्रदेशवासीका घरघरमा दीपावली गर्ने बताउनुभयो ।

जेठ १६ गते वृक्षरोपण कार्यक्रम आयोजना गर्ने मन्त्रालयअन्तर्गतका कार्यालय र सार्वजनिक स्थानको सरसफाइ गर्ने, सार्वजनिक निकायले राष्ट्रिय झण्डा फहराउने एवं ब्यानर प्रदर्शन गर्ने, सञ्चार माध्यममार्फत गणतन्त्र दिवसलाई सभ्य र भव्यरूपमा मनाउन अपिल गर्ने, प्रदेशमा क्रियाशील पत्रकारलाई प्रोत्साहित गर्न विभिन्न विधामा स्थापित पत्रकारिता पुरस्कार वितरण गर्ने जस्ता कार्यक्रम तय भएको मन्त्री श्रेष्ठले बताउनुभयो । दिवसका अवसरमा राजनीतिक दल र नागरिक समाजको प्रतिनिधिबीच अन्तरक्रिया गर्ने,“गणतन्त्रको १५ वर्ष अवसर र चुनौती विषयमा खुला लेख प्रतियोगिता आयोजना गर्ने बताउनुभयो ।

सेलायो हेम्जा–नयाँपुल र बिहुँ–नरेठाँटी सुरुङ मार्गको चर्चा

गण्डकी, १२ जेठ – कास्कीको हेम्जा–नयाँपुल र बागलुङको बिहुँ–नरेठाँटी सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा ढिलाइ भएको छ । समयमै अध्ययन नहुँदा आयोजना निमार्ण धकेलिँदै गएको छ । वर्षौँअघि घोषणा भएका सुरुङ मार्ग गतिहीन बनेपछि अहिले चर्चासमेत हुन छाडेको छ ।

सडक विभागले हेम्जा–नयाँपुल सुरुङ मार्गको चार वर्ष पहिले नै प्रारम्भिक अध्ययन थालेको थियो । उक्त सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन हुनै बाँकी छ । पोखरा–बागलुङ राजमार्गमा पर्ने हेम्जा–नयाँपुल सुरुङ मार्ग बनेमा डेड घण्टाको सडकमार्ग १५ मिनेटमा छोटिनेछ । अहिले हेम्जा–नयाँपुलको दुरी ४० किमि छ । 

सुरुङ मार्गले त्यसलाई सातदेखि आठ किमिमा घटाउने अनुमान गरिएको छ । यसले प्रदेश राजधानी पोखरालाई पर्वतसहित धवलागिरिका चारै जिल्लालाई जोड्छ । पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले सरकार सुरुङ मार्ग अध्ययनकै प्रक्रियामा अलमलिएको बताउनुभयो ।

“यो सुरुङ मार्ग बनाउनुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै माग हो, अध्ययनका लागि बजेट पनि छुट्टिने गरेको छ, तर आयोजनामा खासै प्रगति भएको देखिन्न”, उहाँले भन्नुभयो, “गण्डकी प्रदेशकै पर्यटन र आर्थिक विकासमा यो सुरुङ मार्ग कोशेढुङ्गा बन्छ, यसलाई अगाडि बढाउनुपर्छ ।”

चीन जोड्ने कालीगण्डकी करिडोरसमेत यस क्षेत्रमा पर्ने हुँदा सुरुङ मार्गले अन्तरदेशीय पारवहन र पर्यटनमा उल्लेख्य टेवा पुग्ने अध्यक्ष अधिकारीले बताउनुभयो । सुरुङ मार्गबाट नयाँपुलमा जोडिएपछि पर्वतको सदरमुकाम कुश्मा हुँदै जाने लोकमार्ग बागलुङ–पर्वतको सीमास्थल मालढुङ्गामा करिडोर काटेर पश्चिम लाग्छ ।

दक्षिणबाट गुल्मी हुँदै आएको कालीगण्डकी करिडोर बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै उत्तर कोरोला नाका जोडिन्छ । सडक विभागका सुरुङ मार्ग हेर्ने इञ्जिनियर सोनी श्रेष्ठले हेम्जा–नयाँपुल सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन छिट्टै सुरु हुने जानकारी दिनुभयो । “पूर्वसम्भाव्यता अध्ययनको रिपोर्ट आइसकेको छ, अब विस्तृत सम्भाव्यता अध्ययनको काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो, “अध्ययनमै समय लाग्छ, प्रतिवेदन आउनुप¥यो, सुरुङ मार्ग निर्माण कहिले र कसरी सुरु हुन्छ यसै भन्न सकिँदैन ।”

उक्त सुरुङ मार्ग अध्ययनका लागि सरकारले चालु आवमा रु एक करोड ५० लाख बजेट छुट्टाएको थियो । सुरुङ मार्ग अध्ययनका लागि परामर्शदाता कम्पनीसमेत छनोट गरिसकेको विभागले जनाएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, पोखराका प्रमुख ललिजन खनालले सुरुङमार्गबारे आफूहरुलाई कुनै जानकारी नआएको बताउनुभयो ।

सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रमार्फत सुरुङमार्ग अध्ययनको काम हुँदै आएको छ । लोकमार्गअन्तर्गत बागलुङको बिहुँ–नरेठाँटी जोड्ने सुरुङ मार्गको त प्रारम्भिक अध्ययनसमेत हुन सकेको छैन । सरकारले गत वर्ष नै उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आवमा उक्त सुरुङ मार्गका लागि रु ५० लाख बजेट छुट्टाएको थियो । बिहुँ–नरेठाँटी सुरुङ मार्ग आयोजनाबारे बेलाबेला चर्चा चल्ने गरे पनि पहिलोपटक बजेटमा समेटिएको थियो । तर आर्थिक वर्ष सकिनै लाग्दा पनि आयोजना अध्ययनको काम सुरु हुन सकेको छैन । 

बागलुङ–२ का सासंद देवेन्द्र पौडेलले बजेट अभाव देखाएर मन्त्रालयले काम अगाडि नबढाएको बताउनुभयो । “रातो किताबमै परेको आयोजना हो, अहिलेसम्म अध्ययनको काम अगाडि बढ्नुपर्ने हो, तर मन्त्रालयले बजेटको समस्या देखाउने गरेको छ”, उहाँले भन्नुभयो, “यसमा हामीले पनि सुरुदेखि नै पहल गरिरहेका छौँ ।”

सांसद पौडेलले उक्त सुरुङ मार्ग निर्माण हुन सके मध्यपहाडी लोक मार्ग भएर यात्रा गर्ने कैयन जिल्लाका सर्वसाधारणदेखि पर्यटकसम्मलाई लाभ पुग्ने बताउनुभयो ।

काठेखोला गाउँपालिका–५ बिहुँदेखि गलकोट नगरपालिका–२ नरेठाँटी जोड्ने उक्त सुरुङमार्गले लोकमार्गमा घण्टौँ लाग्ने यात्रालाई केही मिनेटमै सीमित गर्नेछ । गलकोट–२ का अध्यक्ष हेमन्त भण्डारीले बजेटमै पर्दा पनि सुरुङ मार्गको काम अघि नबढ्नु दुःखद् भएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार केही वर्षअघि परामर्शदाता कम्पनीका प्रतिनिधि आएर सुरुङ मार्ग बन्ने ठाउँको स्थलगत अवलोकन भने गरेका थिए । “एकपटक ठाउँ हेर्ने काम भएको थियो, त्यतिबेला केही आशा पलाएको थियो, त्यसपछि फर्केर कोही आएका छैनन्”, अध्यक्ष भण्डारीले भन्नुभयो, “अध्ययनसमेत हुन नपाइ आयोजना सुस्ताउने स्थिति देखिएको छ ।” 

उक्त सुरुङ मार्गले यातायातसँगै त्यस क्षेत्रको आर्थिक/सामाजिक विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ । सरकारले घुमाउरा सडक भएका पहाडी भूगोलमा सुरुङ मार्ग निर्माणको नीति लिएको छ । चालु आवमा २४ सुरुङ मार्ग आयोजनाका लागि सरकारले रु एक अर्ब १९ करोड ६० लाख बजेट छुट्टाएको थियो । सडक विभागले ‘सुरुङ मार्ग विकास कार्यक्रम’ मार्फत सुरुङकमार्गको निर्माण र अध्ययनलाई अगाडि बढाएको छ ।

–––

जनमत पार्टीका दुई सांसदलाई निष्काशन गर्न केन्द्रीय समितिको सिफारिस

काठमाडौँ- जनमत पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीका दुई सांसदलाई निष्कासन गर्ने सिफारिस गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसद सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरू पार्टीको चेन अफ कमाण्डमा नबसेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेका कारण कारबाहीको लागि सिफारिस गरिएको हो । अनुशासन विभागमा यो विषय राखिएको छ ।” पार्टी अध्यक्ष डा सिके राउतको नेतृत्वमा रहेको अनुशासन विभागले सो विषयमा निर्णय गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

बाँदर नियन्त्रणको माग राख्दै किसान आन्दोलित, कृषि मन्त्रीको राजीनामा माग

मलेखु-खेतबारीमा लगाएको अन्नपात र फलफूल बाँदरले सखाप पारेपछि धादिङका किसान आन्दोलित भएका छन् । वर्षभरि खाने अन्नपात फल लाग्ने बेला बाँदरले वर्षेनी नाश बनाउने क्रम झन बढ्न थालेको किसानले बताएका छन् । बाँदरले नष्ट पारेको मकैको बोटसहित शुक्रबार धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानी आसपासका किसानले सदरमुकाम धादिङवेसीमा प्रदर्शन गरेका छन् । मकैको बोटको माला बनाएर घाँटीमा झुण्डाउँदै प्रदर्शनमा उत्रिएका किसानले कृषि मन्त्रीको राजीनामा माग गरेका छन् ।

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि सरकारले बेवास्था गरेको उनीहरुको भनाइ छ । वर्षेनी खेतबारीमा लगाएको अन्न र फलफूल बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन् । “बारीमा बाँदरले मकै भाँचेको देखेर आँसु आउँछ ।” बाँदर नियन्त्रणको माग गर्दै शुक्रबार धादिङवेसी आइपुग्नुभएकी टिकाकुमारी श्रेष्ठ भन्नुहुन्छ, “बारीमा जे लगाए पनि बाँदरबाट जोगाउन सकिदैन, वर्षेनी दुःख गर्यो फल खान पाइएन, यो वर्ष पनि अनिकाल पर्ने भयो ।”

अहिले मकैमा चमरा लाग्ने बेला भएको छ । निगालपानी आसपासका किसानले लगाएमो मकैमा बाँदरको रजाइ छ । “दुःख ग¥यो, मल हाल्यो खेती ग¥यो, हुर्कायो । आउला खाउँला, छाक टारौला भन्यो वर्षेनी बाँदरले सखाप बनाउँछ”, किसान देवीप्रसाद रिजाल भन्नुहुन्छ, “हाम्रो समस्यालाई सरकारले ध्यान दिएन, कि बाँदर नियन्त्रण गरियोस् कि हाम्रो खानेकुराको व्यवस्थापन सरकारले गरिदियोस् ।”बाँदरले मकै नाश गरेको मकैको बोटकै माला लगाएर किसान सदरमुकाम धादिङवेशीमा रहेका सरकारी कार्यालयको गेट गेटमै नारा लगाउँदै हिँडेका हुन् ।

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजे

काठमाडौँ – आज बेलुका छ बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक भोलि शनिबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक विशेष कारणवस आज नियमित हुन नसकेकाले शनिबार अपराह्न ४ बजेको लागि तय गरिएको हो ।

सङ्घीय संसद्द्वारा जारी सूचनामा भनिएको छ, “६ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारण बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले सभाको बैठक मिति विसं २०८० जेठ १३ गते शनिबार दिनको ४ बजे बस्ने निर्धारण गर्नुभएको छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक पक्राउ

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ । लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

सन्दर्भ गणतन्त्र दिवस : बहुभाषी र समावेशी बन्दै कविता महोत्सव

काठमाडौँ – नेपाल प्रज्ञा प्रतिष्ठानले नियमितरूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने भएको छ ।

हरेक वर्ष असार ९ गते प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा आयोजना हुने महोत्सवलाई नामअनुसार नै ढाँचागत परिमार्जनसहित ‘राष्ट्रिय’ र ‘महोत्सव’ बनाउन सबैले अपनत्व महसुस गर्न सक्नेगरी कार्यक्रम तय गरिएको छ । ‘सबैको प्रज्ञा प्रतिष्ठान’ नीतिअनुसार सम्भव भएसम्म प्रतिष्ठानका सबै विभाग र पत्रिकाका प्रकाशनलाई बहुभाषी बनाउने तयारी प्रतिष्ठानको रहेको छ ।

गत फागुन ४ गते नियुक्त प्राज्ञसभा सदस्यको कार्यकाल एक सय दिन पूरा भएको सन्दर्भमा कुलपति भूपाल राईले प्रतिष्ठानको ६५ वर्षको लामो इतिहासको निरन्तर कडीका रूपमा जोडिन आएकाले आफू यसको इतिहास, परम्परा, मूल्य, मान्यतालाई आत्मसात गर्दै सशस्त्र जनयुद्ध र त्यसको जगमा भएको ऐतिहासिक जनआन्दोलनपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रका सन्दर्भमा नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, त्याग र बलिदानको विरासतलाई बोकेर अघि बढिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “कविता प्रतियोगिता होइन, आम कवि वा स्रष्टाका लागि सिर्जनात्मक वातावरण निर्माण गर्नु हो भन्ने ठहरसहित सहभागितामूलक कविता महोत्सवको आयोजना गरिएको र साहित्यका अन्य विधा (सम्भव भएसम्म सबै विधा) मा पनि यस्तै महोत्सव सञ्चालन गर्ने नीति रहेको छ ।”

प्रतिष्ठानका कतिपय पूर्वपदाधिकारीले भने कविता महोत्वसलाई ढाँचा परिवर्तनका नाममा नेपाली खस भाषालाई अवहेलना गर्न खोजिएको र विविध भाषाको कवितालाई एकै मूल्याङ्कनको विधिमा समावेश गर्न नमिल्ने तर्क राख्दै आएका छन् ।

“वर्तमान नेतृत्वलाई प्रज्ञा प्रतिष्ठानको अविच्छिन्न उत्तराधिकारको निरन्तरतामा रहँदारहँदै पनि यसको काँधमा परम्पराका राम्रा कुराको अनुसरण गर्दै आजको युगसापेक्ष संस्कृतिको निर्माण र रूपान्तरणको दायित्व आइपरेको छ”, कुलपति राईको भनाइ छ, “खास गरेर जनसङ्घर्षको इतिहास, सबै प्रकारका विभेद, उत्पीडन, असमानता, शोषण, अन्यायको अन्त्य र नेपालको वर्तमान संविधानले निर्दिष्ट गरेको समावेशी, समानुपातिक, सङ्घीय गणतन्त्रात्मक व्यवस्था र संविधानमा परिकल्पना गरिएको समाजवाद उन्मुखताका मूल्य, मान्यता, सौन्दर्यअनुरूपको जिम्मेवारीप्रति प्रतिष्ठानको वर्तमान नेतृत्व सचेत र प्रतिबद्ध रहेको छ ।”

‘साहित्यिक पत्रकार राष्ट्रिय पुरस्कार’ स्थापना

प्रतिष्ठानले यसअघि साहित्यिक पत्रिकालाई केही आर्थिक अनुदान प्रदान गर्दै आएकोमा यस पटकदेखि मूलधारका साहित्यिक पत्रकार र मातृभाषाका साहित्यिक पत्रकार गरी वार्षिक दुई जनालाई ‘साहित्यिक पत्रकार राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने जनाएको छ ।

प्रतिष्ठानमा रहेका ११ ओटा विभागमध्ये यसअघि प्रचलनमा रहेको ‘लोकवार्ता तथा बालसाहित्य’ विभाग विषय क्षेत्रअनुसार अमिल्दो भएकाले बालसाहित्यलाई अर्को विषय क्षेत्रमा नमिसाई स्वतन्त्ररूपमा विकास गर्नुपर्ने आवश्यकता बोध गर्दै बालसाहित्यको मात्रै छुट्टै विभाग कायम गरी बालसाहित्यको विकासमा विशेष जोड दिइने उल्लेख गरेको छ ।

प्रतिष्ठानले संस्कृति, लोकवार्ता र मौखिक इतिहासजस्ता एक अर्कासँग सम्बन्धित विषयलाई समेटेर ‘संस्कृति, लोकवार्ता तथा मौखिक इतिहास’ विभागको गठन गरेको छ । जनताका सुख, दुःख, भोगाइ र संस्कृतिको इतिहास मौखिक परम्परामा रहेको र ती सबैको लिखित इतिहास नहुने भएकाले मौखिक इतिहासको सङ्कलन तथा अभिलेखनलाई प्राथमिकतामा राखेको सदस्यसचिव डा धनप्रसाद सुवेदीले बताउनुभयो ।

शब्दकोष परिमार्जन गरिने

प्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोशका बारेमा रहेका विवाद र त्यससम्बन्धी परेका उजुरीसमेतलाई मध्यनजर गर्दै शब्दकोश परिमार्जन र विस्तार गर्ने भएको छ । यसका लागि सरोकारवाला संस्थाका साथै विषय विज्ञ, भाषाविज्ञको सल्लाह लिई शब्दकोशलाई सकेसम्म कम विवादित बनाउने प्रयत्न गरिने भएको छ ।

यस्तै नेपालका मौलिक तथा रैथाने दर्शनको अध्ययन एवं अनुसन्धानमा जोड दिइने र नेपाली भाषाबाट विभिन्न मातृभाषा तथा विदेशी भाषामा, मातृभाषाबाट नेपाली तथा विदेशी भाषामा र विदेशी भाषाबाट नेपाली तथा मातृभाषामा विभिन्न कृतिको अनुवाद तथा प्रकाशनमा जोड दिइने भएको छ ।

सङ्घीय गणतन्त्र नेपाललाई समग्रमा चिनाउने गरी नेपालको भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, साहित्यिकजस्ता महत्त्वपूर्ण पक्ष सात ओटै प्रदेशको अध्ययन अनुसन्धान गरी ‘नेपाल दिग्दर्शन’ विभिन्न भागमा ग्रन्थको प्रकाशन गरिने प्रतिष्ठानको तयारी छ । यो दिग्दर्शनको तयारी अघिल्लो नेतृत्वले गरेको थियो ।

नेपालमा बोलिने सबै भाषाको साहित्यको समग्र इतिहासको खोजी गर्न प्रतिष्ठानले साहित्येतिहासलाई जोड दिँदै ‘समालोचना तथा साहित्येतिहास’ विभागको गठन गरेको छ । यसअघि प्रचलनमा रहेको ‘समालोचना र निबन्ध’ विभाग विधागत प्रकृतिअनुसार त्यति उपयुक्त नभएकाले त्यसलाई संशोधन गरी निबन्धलाई गद्य विभागमा समावेश गरिएको छ । यस विभागमार्फत नेपाली साहित्यको प्रादेशिक तथा समग्र इतिहासको अनुसन्धान एवं प्रकाशनमा जोड दिइने जनाइएको छ ।

थारू, तामाङ, मगर र राई भााषामा पत्रिका प्रकाशन हुने

प्रतिष्ठानले यसअघि प्रकाशित गर्दै आएका विभिन्न पत्रिकाका अतिरिक्त थारू, तामाङ, मगर, राई (किराती)लगायतका भाषामा पत्रिका प्रकाशन गर्ने र सामाजिक शास्त्र विभागको संयोजनमा ‘अन्वेषण’ नामक अनुसन्धानमूलक पत्रिका प्रकाशन पनि गर्ने भएको छ ।

भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनका क्षेत्रमा क्रियाशील स्रष्टा, लेखक तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीलाई निजामती कर्मचारी अस्पतालमा निजामती कर्मचारीसरह स्वास्थ्योपचारमा सुविधा उपलब्ध गराउन पहल गर्ने, प्रतिष्ठानबाट स्थापित पुरस्कारमा विस्तार गर्ने, सिर्जनवृत्ति तथा अनुसन्धान वृत्तिलाई थप विस्तार गरी प्रभावकारी बनाउने तथा प्रतिष्ठानको वार्षिक उत्सव, अन्तर्राष्ट्रिय दर्शन दिवस, अन्तर्राष्ट्रिय मातृभाषा दिवस, अन्तर्राष्ट्रिय अनुवाद दिवस, विश्व कविता दिवस, समालोचना दिवस, विभिन्न स्रष्टाको स्मृति दिवस आदिमा साहित्यिक गोष्ठी, अन्तरक्रिया आदि कार्यक्रमलाई अझ प्रभावकारी बनाइने प्रतिष्ठानले जनाएको छ ।

प्रदेश तथा पालिकास्तरका स्तरसमेतमा प्रतिष्ठान बनेको अहिलेको अवस्थामा प्रतिष्ठानले त्यस्ता प्रतिष्ठान एवं तथा अन्य साहित्यिक संस्थासँगको सहकार्यमा आफ्ना कार्यक्रम अगाडि बढाउनु उचित हुने हुनाले भाषा, साहित्य, संस्कृति, दर्शन तथा सामाजिक शास्त्रको अध्ययन, अनुसन्धान, प्रकाशनका साथै गोष्ठी, अन्तरक्रियालगायतका कार्यक्रममा सहकार्य गर्ने प्रतिष्ठानको योजना रहेको छ ।

दोहोरो सुविधा कायम

प्राज्ञ परिषद्को गत फागुन ११ गतेको बैठकबाट आजीवन सदस्यको दोहोरो सुविधा हटाउने निर्णय हाल सर्वाेच्च अदालतको अन्तरिम आदेशबाट निर्णय स्थगन भई सुविधा पूर्ववत् प्रदान गरिएको छ । उक्त निर्णय २०८० वैशाख ४ गतेको प्राज्ञ सभाबाट अनुमोदनसमेत भइसकेकामा सो निर्णयमाथि ११ जना आजीवन प्राज्ञ सदस्यले दिएको रिट निवेदनका आधारमा वैशाख ५ गते सम्मानित सर्वोच्च अदालतबाट तत्काल कार्यान्वयन नगर्ने भनी अन्तरिम आदेश जारी भएपछि निर्णय कार्यान्वयन नभएको सदस्यसचिव डा सुवेदीले बताउनुभयो ।

सय दिनका उपलब्धि

प्राज्ञिक नेतृत्वको सय दिनको कार्यकालमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइएको, विभागीय समिति तथा पत्रिकाको सम्पादक मण्डल गठन गरी काम अगि बढिरहेको, इतिहास शिरोमणि बाबुराम आचार्य, साहित्यकार भीमनिधि तिवारी, युगकवि सिद्धिचरण श्रेष्ठ आदि स्रष्टाको स्मृतिमा विभिन्न कार्यक्रम सम्पन्न भएको जनाइएको छ । यस्तै भाषा, साहित्य, संस्कृति, दर्शन, सामाजिक शास्त्रसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना र विभिन्न सङ्घ, संस्थासँगको सहकार्यमा गोष्ठी, अन्तरक्रिया, अनुसन्धान तथा प्रकाशनका कार्यक्रमको थालनी भएको छ ।

प्रतिष्ठानले इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, मकवानपुर, चितवन, बाँके, कैलाली, कास्की, स्याङ्जा, सुर्खेत, दैलेख, कालिकोट, सिञ्जा, जुम्ला, मुगुको रारालगायत देशका विभिन्न क्षेत्रमा भएका भाषा, साहित्य, संस्कृतिसम्बन्धी कार्यक्रममा सहभागिता जनाएको छ ।

यस्तै प्रगतिशील लेखक सङ्घ तथा स्थानीय संस्थासँगको सहकार्यमा २०८० वैशाख १४ गतेदेखि सप्ताहव्यापी साहित्यिक यात्राका क्रममा सुर्खेत, दैलेख, दुल्लु, कालिकोट, सिञ्जा, जुम्ला खलङ्गा, रारासम्मको सिर्जना यात्राका साथै कविता गोष्ठी, दर्शन, भाषा तथा सामाजिक शास्त्रका विषयमा अन्तरक्रिया कार्यक्रम भई पाँच बुँदे रारा घोषणापत्र जारी भएको छ ।

मानवअधिकारका विषयमा सरकार प्रतिबद्ध छ – प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकारको सम्मान, संरक्षण र प्रर्वद्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सुसंस्कृत समाज विकास गर्न सरकार निरन्तर लागिरहने स्पष्ट पार्नुभयो ।

“मानवअधिकारको दृष्टिले उत्कृष्ट मानिएको नेपालको संविधान कार्यान्वयनका लागि सरकार क्रियाशील रहँदै आएको छ । संविधान जारी भएपश्चात् मौलिक हकको कार्यान्वयन, आर्थिक, सामाजिक, सांस्कृतिकरुपान्तरणमा सरकारले प्राथमिकता दिँदै आएको छ” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

संविधानमा उल्लेखित मौलिक हकको कार्र्यान्वयनका लागि आवश्यक अधिकांश ऐन जारी भइसकेको र केही विचाराधीन विधेयक पारित गर्न सरकार प्रयासरत रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । आयोगका सिफारिस कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहसचिवस्तरीय समिति बनाउने क्रममा रहेको समेत उहाँले जानकारी दिनुभयो ।

आयोगको स्वतन्त्रता र स्वायत्ततालाई अविच्छिन्न राख्न सरकार सदैव तत्पर रही संस्थागत सुदृढीकरण, राष्ट्रिय मानवअधिकार आयोग ऐन संशोधनको विषयलाई प्राथमिकतामा राखिएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

आयोगले नेपाल पक्ष भएका मानवअधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको दायित्व पुरा गर्दै आएको छ । विश्वव्यापी आवधिक समीक्षा, सन्धि समितिका प्राप्त सुझावको कार्यान्वयन गर्न कानुनमा परिमार्जन वा नयाँ कानून निर्माणलगायत गर्नुपर्ने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

मानवअधिकार गम्भीर उल्लङ्घन भएका घटनालाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यताका साथ शान्ति प्रक्रियालाई छिट्टै टुङ्गोमा पु¥याउन राजनीतिक सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिनुभयो । पीडितलाई न्यायको अनुभुति हुने र अन्तर्राष्ट्रियस्तरमा अनुकरणीय हुने गरी शान्ति प्रक्रिया टुङ्गाउने उहाँले दावी गर्नुभयो ।

आयोगका सिफारिस पूर्णरुपमा कार्यान्वयनका लागि सरकारले निरन्तर प्रतिबद्धता जनाए पनि त्यसको परिणाम सन्तोषजनक नदेखिएको आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनुभयो ।

“सिफारिस कार्यान्वयनको प्रतिशत हेर्दा १५ दशमलव ०३ प्रतिशत पूर्ण, ३९ दशमलव ०२ प्रतिशत आंशिक र कार्यन्वयन हुन नसकेको ४५ दशमलव ०५ प्रतिशत रहेको छ । पीडितलाई क्षतिपूर्तिका लागि आयोगले सिफारिश गरेकोमा पर्याप्त बजेट निकास र छुट्टै कोषको अभावमा सबै पीडितले क्षतिपूर्ति पाउन सकेका छैनन्”, अध्यक्ष मगरले बताउनुभयो । आयोग मानवअधिकारको संरक्षण र संवद्र्धनमा दृढताका साथ जुटिरहने अध्यक्ष मगरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोही कार्यक्रममा गैरसरकारी संस्था महासङ्घका अध्यक्ष रामप्रसाद सुवेदीले आयोगका प्रतिवेदनमा सरकारले समीक्षा गर्नुपर्ने बताउनुभयो । मौलिक हक, मानवअधिकारसँग जोडिएका विषय हुनाले कार्यान्वयनको अवस्था कस्तो छ ? गम्भीरताका साथ हेर्न जरुरी रहेको बताउनुभयोे ।

नेपाल संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्डी ले मानवअधिकारका विषयमा अन्तराष्ट्रिय सन्धि सम्झौताका प्रतिबद्धतालाई प्रभाकारी, नतिजामुखीरुपमा कार्यान्वयन गर्न आयोगको आर्थिक स्वायत्तता सक्षम हुनुपर्ने बताउनुभयो । “जीवन, मर्यादा, समानता र स्वतन्त्रताको अधिकार : दिगो शान्ति र समृद्धिको आधार” भन्ने नारासहित आयोगले आज २३औँ वार्षिकोत्सव मनाएको हो ।

शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गर्नुभएको छ ।

एमाले पार्टी मुख्यालयमा आजदेखि सुरु भएको स्थानीय तहका जनप्रतिनिधिलाई दुई दिने अनुशिक्षण कार्यक्रममा उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताउनुभयो ।

“एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ”, उहाँले भन्नुभयो, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।” उहाँले एमाले विरुद्ध संसद्मा आधारहिन, असत्य र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताउनुभयो । “संसद्मा बोलेका कुराको पुष्टि हुनुप¥यो । पुष्टि हुने सम्भावना छैन”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फि घेराबन्दीमा परेको बताउनुभयो । “नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्न”, उहाँले भन्नुभयो, “तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।”

उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाउनुभयो । “मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन् ।”

उहाँले आफू माथि भौतिक आक्रमण हुँदा सरकारले आक्रमण गर्नेलाई कारबाही नगरेको आरोप लगाउनुभयो । उहाँले स्थानीय तहका प्रतिनिधिलाई एमालेको प्रतिनिधि जस्तो भएर काम गर्न आग्रह गर्नुभयो । “आचरण, बानी, व्यवहार, शैली सबै कुरा एमाले जस्तो अगाडि बढ्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो, “कामले सफलता हामीले सफलता हासिल गर्नुपर्दछ ।”

भोलिसम्म सञ्चालन हुने प्रशिक्षणमा आज पहिलो दिन स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका पूर्वकार्यकारी निर्देशक विमल पोखरेल, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रशिक्षण दिनुभयो । अनुशिक्षणमा एमालेले नगरप्रमुख ८३ र उपप्रमुख ११५ तथा गाउँपालिका अध्यक्ष एक सय २३ र उपाध्यक्ष एक सय २६ सहभागी हुनुहुन्छ ।

शान्ति सैनिक दिवस : प्रधानसेनापति शर्माद्वारा राष्ट्रसङ्घको झण्डोत्तोलन

काभ्रे – प्रधानसेनापति प्रभुराम शर्माले संयुक्त राष्ट्रसङ्घको विश्व शान्तिकार्यको उद्देश्य पूरा गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ ।काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा आज आयोजित अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस समारोहमा उहाँले शान्ति स्थापनामा सेनाको सहभागिताले नेपालको प्रतिष्ठा बढाउन योगदान पु¥याएको उल्लेख गर्नुभयो ।

समारोहमा प्रधानसेनापति शर्माले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै राष्ट्रसङ्घ शान्ति सेनाको झण्डोत्तोलन गर्नुभयो ।शान्तिकार्य निर्देशक सन्तोषबल्लभ पौडेलले विश्वभर राष्ट्रसङ्घले विश्वशान्ति जस्तो पवित्र कार्यका लागि नेपाली सेनाले देखाएको विशिष्ट आँट, योगदान र बलिदानका लागि मान्यता प्रदान गरेको बताउनुभयो ।समारोहमा प्रधानसेनापति शर्माले विश्व शान्तिकार्यमा परिचालित हुने क्रममा बलिदानी दिने साहसिक सैनिकका परिवार र योद्धालाई पदक र कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

राष्ट्रसङ्घको निस्वार्थ शान्तिकार्यमा योगदान पु¥याउने मरणोपरान्त सैनिक, प्रहरी र नागरिकलाई राष्ट्रसङ्घका पूर्वमहासचिव ड्याग ह्यामर सोल्डका नाममा स्थापित पदक र प्रमाणपत्र प्रदान गरिएको हो ।

उक्त सम्मान शान्ति मिसनमा खटिँदाको अवस्थामा वीरगति प्राप्त गर्ने सवारी साधनका प्राविधिक पिताम्बर थापा, सिपाही दीपेन्द्र वस्ती र पशुपति कार्कीका धर्मपत्नीलाई प्रदान गरियो ।

समारोहमा सहसेनानी कैलाशकुमार बस्नेत, जमदार गोविन्द थापा र हुद्दा हिक्मत तामाङलाई सम्मानपत्र प्रदान गरिएको थियो । नेपाली सेनाले विगत ६८ वर्षको अवधिमा विश्वका ४४ शान्ति मिसनमा खटिई योगदान पु¥याइसकेको छ । हालसम्म एक लाख ४५ हजार तीन सय ५६ शान्ति सैनिकले राष्ट्रसङ्घको शान्ति पदक प्राप्त गरिसकेका छन् ।

विश्व शान्ति स्थापनाकार्यमा हालसम्म ७२ सैनिकको वीरगति प्राप्त भइसकेको छ भने ६६ जना घाइते भएका छन् । हाल विश्वका विभिन्न मुलुकमा स्थापना भएका १३ शान्ति मिसनमा पाँच सय २९ महिलासहित छ हजार ५७ नेपाली शान्ति सैनिक परिचालित छन् ।

राष्ट्रसङ्घबाट अनुरोध भई आएमा एकै पटक १० हजारको सङ्ख्यामा शान्ति सैनिक खटाउन सक्ने नेपालले यसअघि नै प्रतिबद्धता जनाइसकेको छ । विश्व शान्तिका लागि धेरै सैनिक खटाउने मुुलुकको सूचीमा नेपाल हाल दोस्रो वरियतामा छ ।

वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा शान्ति स्थापनाकार्यका लागि खटिने विश्वका विभिन्न देशका सैनिक तालिमरत छन् । उक्त तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सिलेन्स’ का रूपमा विकास गर्ने लक्ष्य छ । उक्त सेन्टरबाट तालिम प्राप्त हाल छ हजार सैनिक कार्यक्षेत्रमा परिचालित छन् ।

जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त हुनुभएको छ । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गर्नुभएको सो पार्टीले जनाएको छ ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो । उहाँलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ ।

नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौँ – काठमाडाँै जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ ।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियोे । तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन । फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ ।

एक हप्ताभित्र वीर अस्पतालको सेवा सुधार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एक हप्ताभित्र बिरामीले महसुस हुने गरी र सुधार भएको देखिने गरी वीर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिनुभएको छ । आज वीर अस्पतालको आकस्मिक निरीक्षणपछि मन्त्री बस्नेतले अनलाइन टिकटको व्यवस्था, अस्पतालको सरसफाइ, शय्याबारे वेबसाइटमार्फत जानकारी र सघन उपचार कक्षमा शय्या थप्दै सेवा सहजरूपमा प्रवाह गर्न अस्पताललाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “वीर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिनुपर्छ । एक हप्ताभित्र अनलाइन टिकट, फोहोर व्यवस्थापन, इमरजेन्सी र डाइलासिसमा शय्या थपेर सेवा सुधार गर्नुहोस् । ”मन्त्री बस्नेतले वीर अस्पतालमा सञ्चालनको तयारीमा रहेको नौ शय्याको सघन उपचार कक्ष एक हप्ताभित्रै सञ्चालनमा ल्याउन अस्पताललाई निर्देशन दिनुभयो ।

उहाँले वीर अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्यालय अवधिभर नबसे कारवाही गर्न चेतावनीसमेत दिनुभयो । “सुरुमा हामी चिकित्सकलाई कार्यालय समयमा निजी अस्पताल क्लिनिकमा नगइदिन अनुरोध गर्दछाँै । तर हाम्रो अनुरोधलाई कमजोरी ठाने कारवाही गरिने छ”, उहाँले भन्नुभयो ।

मन्त्री बस्नेतलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का निमित्त उपकुलपति प्राडा भुपेन्द्र बस्नेत र वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले वीर अस्पतालले प्रदान गरिरहेका सेवा र सुविधाका विषयमा जानकारी दिनुभएको थियो ।

न्याम्सका निमित्त उपकुलपति प्राडा बस्नेतले स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार एक सातामा अस्पतालको सेवामा सुधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विश्व स्वास्थ्य सङ्गठनको महासभामा भाग लिएर आजै बिहान काठमाडौँ आइपुग्नुभएका मन्त्री बस्नेतले वीर अस्पतालको अनुगमन गर्नुभएको हो । निरीक्षण टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेल, देवकुमारी गुरागाईं, अतिरिक्त सचिव डा सङ्गीता मिश्र र मन्त्रालयका अधिकारी हुनुहुन्थ्यो ।

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

अग्ला पहाडबाट खस्ने झरना । झरनाको फेदीमा बनेका सफा तलाउ । वरिपरि वनजङ्गल । पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ ।

हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरनालगायतका आधा दर्जन बढी मनमोहक झरना छन् ।

पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । कडा चट्टानलाई बीचमा पानीको बहावले काटेर झर्ने झरनाको पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पहिलोपटक झरनाको अवलोकनका लागि पुग्नुभएका आन्तरिक पर्यटक प्रदीप  पुनले बताउनुभयो । “सबै झरना पहाडबाटै बग्ने हुन्, तर यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ, झरनाबाट बग्ने निलो रङको पानीले झरनालाई नियालेर धित नै नमर्ने रहेछ”, पुनले भन्नुभयो ।

नीलगिरि र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोलाको पानी यसै झरना भएर बग्ने गर्छ । झरना र फेदीमा रहेको पानीको तलाउमा यस क्षेत्रमा जाने अधिकांश पर्यटकले तस्बिर र भिडियो खिचेर रमाउने गर्छन् । घना जङ्गल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताउनुभयो । 

यस झरनाकै अगाडि अन्नपूर्ण हिमशृङ्खलाबाट बग्ने अर्को आकर्षक झरना रहेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत गुफा फाँटमा अन्नपूर्ण हिमशृङ्खलाबाटै बग्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा रहेको छ । अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुसी भएर आवतजावत गर्ने गरेको स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले बताउनुभयो । 

पदमार्गअन्तर्गत भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा रहेको छ । अन्नपूर्ण पदयात्रामा जाने पर्यटकका लागि अन्नपूर्ण हिमशृङ्खलाको अवलोकनसँगै मनमोहक झरनाको दृश्यावलोकन गर्न पाउनु प्रमुख आकर्षण रहेको छ । झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार, फुतफुते झरना वारपारका लागि अहिले रहेको झोलुङ्गे पुललाई मर्मत गर्न आवश्यक बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उहाँले जानकारी दिनुभयो ।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायतका पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ । नारच्याङबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ ।