`

लाइसेन्स नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सर्वोच्चको नयाँ सिद्धान्त

काठमाडौँ । सवारी कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले नयाँ सिद्धान्त प्रतिपादन गरेको छ । दोहोऱ्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुईपाङ्ग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै दुर्घटना भएमा लापरबाहीको कसुर आकर्षित गर्न नमिल्ने व्याख्या गरेको हो। सवारी चालक इजाजतपत्र नभए पनि दुर्घटना भएमा लापरबाही मान्न नमिल्ने बृहत् पूर्णले व्याख्या गरेको हो ।

मुद्दामा अदालतले जिल्ला र तत्कालीन पुनरावेदन तहले गरेको फैसला नै सदर गरेको छ । न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सुष्मालता माथेमा, कुमार रेग्मी र मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले दुर्घटनाको समग्र विश्लेषण गरेर मात्र कानुनी व्यवस्थाको प्रयोग गर्नु न्यायोचित हुने व्याख्या गरेको हो।

सर्वोच्चको पूर्ण पाठमा भनिएको छ, “सतर्कता अपनाई कुनै गल्ती नगरी होसियारीपूर्वक दुईपाङ्ग्रे सवारी चलाएको अवस्थामा परिस्थितिजन्य वा अन्य व्यक्तिका कारण दुर्घटना हुन गएमा लापरबाही नै हो भनी कसुर कायम गर्दा न्यायिक विवेकको प्रयोग सही तवरले भएको मान्न मिल्ने देखिँदैन ।

वस्तुतः दुईपाङ्ग्रे सवारीको हकमा उल्लेखित अवस्थामा सवारी चलाएको रहेछ भने अपवादका रूपमा दुर्घटनाको समग्र परिस्थितिको मूल्याङ्कन गरी कानुनी व्यवस्थाको प्रयोग गरिनु नै न्यायोचित हुने देखिन्छ।” मौजुदा सवारी तथा यातायात व्यवस्था ऐनले लापरबाहीपूर्वक सवारी चलाएमा जन्मकैदसम्मको कैदको व्यवस्था गरेको छ । मनासाय पुष्टि नभएको अवस्थामा पाँचदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था कानुनमा छ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

१७ अर्ब भारतीय लगानीमा पेट्रोलियम पाइपलाइन बन्ने

भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ।नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण गर्न सघाउने भएको हो।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) बीच पेट्रोलियम पाइपलाइन निर्माणका विषयमा लामो समयदेखि छलफल हुँदै आएकोमा प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणमा दुई सरकारबीच जिटुजी गर्ने सहमति भएको हो।

प्रधानमन्त्री दाहाल जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्। दुई पाइपलाइन र झापाको टर्मिनल भारतले अनुदानमा बनाइदिने विषयमा प्रधानमन्त्रीको भारत भ्रमणमा सम्झौता हुने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए।

‘अनुदानमा पेट्रोलियम पाइपलाइन बनाउन भारत सरकार सहमत भएको छ,’ मन्त्री रिजालले भने, ‘आसन्न भारत भ्रमणमा सम्झौता हुन्छ।’ प्रधानमन्त्रीको भारत भ्रमणमा मन्त्री रिजाल पनि सहभागी हुनेछन्।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

सेनाका लागि हतियारको एलसी खोल्न बैंकद्वारा अस्वीकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत खटिने शान्ति सेनाका लागि ६ अर्ब रूपैयाँबराबरको सैनिक सामग्री खरिद गर्ने तयारीका लागि नेपाली सेनाले प्रतीतपत्र (एलसी) खोल्न लाग्दा हिमालय बैंकले अस्वीकार गरेको छ ।

कालोसूचीमा रहेको चिनियाँ कम्पनीबाट सेनाले हतियार खरिद गर्न लागेको भन्दै हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको हो ।चिनियाँ कम्पनी नर्थ इन्डस्ट्रिज कर्पोरेसन (नोरिन्को) बाट ६ अर्ब रूपैयाँबराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिदका लागि एलसी खोल्न यही जेठ ३ गते नेपाली सेनाका अधिकारी सो बैंकमा पुगेका थिए ।

नोरिन्कोलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको थाहा पाएपछि हिमालय बैंकले एलसी खोल्न अस्वीकार गरेको स्रोतको दाबी छ ।नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गर्न लागेको विषयमा जिज्ञासा राख्दा सैनिक जनसम्पर्क निर्देशनालयका प्रमुख सैनिक प्रवक्ता एवं सहायक रथी कृष्णप्रसाद भण्डारीले अनभिज्ञता प्रकट गरे ।यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।सैन्य सामग्री तथा हतियार खरिदका लागि सेनाले विगतदेखि नै सरकारसँग लबिङ गर्दै आएको छ ।

अघि बढ्ने भयो ४ वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम

म्याग्दी-चार वर्षदेखि रोकिएको प्रसारण लाइन निर्माणको काम अघि बढ्ने भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने क्रममा जग्गाधनीको अवरोधले रोकिएको थियो । आयोजना प्रमुख बोधराज ढकालले जिल्ला समन्वय समितिमा भएको जनप्रतिनिधि र सरोकारवालाहरुको बैठकको निर्णयपछि प्रसारण लाइनको पोल गाड्ने र तार तान्ने काम सञ्चालन भएको बताउनुभयो । बैठकले स्थानीयवासीहरुले उठाएको विद्युत् आपूर्तिसम्बन्धी मागको सुनुवाइ गर्ने र आयोजना निर्माणलाई गति दिने निर्णय गरेको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाको अध्यक्षतामा बुधबार बेनीमा आयोजना र नेपाल विद्युत् प्राधिकरणका अधिकारी, प्रभावित वडा र पालिकाका जनप्रतिनिधि, प्रजिअ तुलसीराम पौडेललगायत सुरक्षा अधिकारीहरुको बुधबार बेनीमा रोकिएको प्रसारण लाइन निर्माण गर्ने विषयमा छलफल गर्न बैठक बसेको थियो ।

नेपाल विद्युत् प्राधिकरणमार्फत ए टू जेड इञ्जिनियरिङले रु आठ करोडमा सन् २०१६ मा ठेक्का लिएको सबस्टेसन र प्रसारण लाइन सन् २०१८ को डिसेम्बरमा सक्ने लक्ष्य थियो । सुरुआती चरणमा जग्गा अधिग्रहणमा भएको ढिलाइका कारण प्रभावित बनेको थियो ।

सबस्टेसनभित्र संरचना बनाउने र उपकरण जडान गर्ने काम अन्तिम चरणमा पुगेको छ । कूल पाँच सयवटा पुल गाड्नुपर्नेमा बेनी नगरपालिका–६ डम्मरामा २५ र मङ्गला गाउँपालिका–२ सिमलचौरमा ४२ वटासहित ८० वटा पोल गाड्न र तार तान्न बाँकी छ । बाँकी पोल गाड्ने र तार तान्ने काम बिहीबारदेखि सुरु भएको ए टू जेड निर्माण कम्पनीका प्रतिनिधि पद्मसागर लुइँटेलले बताउनुभयो ।

“सहमति भएको ठाउँमा आजैदेखि काम सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “सरासर काम गर्न पायौँ भने १० दिनमा प्रसारण लाइन तयार हुन्छ । असार महिनाभित्र सबस्टेसन चार्ज र प्रसारण लाइन सञ्चालन गर्ने लक्ष्य छ ।”

चार वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेसन र प्रसारण लाइन निर्माणमा भएको ढिलाइले म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन विस्तार र विद्युत् आपूर्ति प्रभावित भएको छ ।

सबस्टेसन बनाउन सात रोपनी जग्गा अधिग्रहण भएको थियो । ठेकेदारले ट्रान्सफर्मर लगायतका उपकरण ल्याएर जोडेका छन् । पोल गाडिएको ठाउँमा तारसमेत तानेका छन् । कर्मचारी आवास र प्रशासनिक भवनलाई पूर्णता दिन मजदुर परिचालन भएका छन् ।

सोही कम्पनीले ठेक्का लिएको दुखु, निस्कोट, अर्मनका विभिन्न ठाउँमा ११ केभी क्षमताको वितरण लाइनले पनि अधुरो छ । म्याग्दीका जनप्रतिनिधिहरुले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरेर ठेकेदारलाई काममा फर्काउन पहल गर्नुभएको थियो ।

सबस्टेसन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धौलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताउनुभयो ।

“हाल मिलनचोक सबस्टेसनबाट चारवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “२० किलोमिटर दूरीसम्म एउटा सबस्टेसनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड भए पनि ८० किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको छ ।”
 

बीसवर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्ने प्रदेशको निर्णय अव्यावहारिक छ – यातायात व्यवसायी

यातायात व्यवसायी र विभिन्न मजदुर सङ्घ सङ्गठनले यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र विभिन्न सङ्घ सङ्गठनले एक विज्ञप्ति जारी गरी बागमती प्रदेशले बीसवर्षे सार्वजनिक सवारीसाधन पत्रु गर्नेसम्बन्धी सूचना प्रकाशन गरेको भन्दै यान्त्रिक रुपमा उपयुक्त सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्ने बताएका हुन् ।

महासङ्घका महासचिव डेकनाथ गौतमले प्रदेश सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी यही जेठ ७ गते २० वर्षे सवारीसाधन हटाउने निर्णय गरेको भन्दै उक्त निर्णय अव्यावहारिक भएको बताए । “सवारीसाधनलाई यान्त्रिक परीक्षण गरेर सञ्चालन गर्न ठीक सवारीसाधनलाई सञ्चालन गर्न दिनुपर्छ, फलामको कुनै आयु हुँदैन, सञ्चालन गर्न ठीक नभएका सवारीसाधनलाई मात्र हटाउनुपर्छ”, उनले भने ।

व्यवसायी र सङ्घ सङ्गठनले एकैपटक २० वर्ष पुराना सार्वजनिक सवारीसाधन हटाउँदा राज्यको ठूलो रकमसमेत नयाँ गाडी खरिदका लागि विदेश जाने बताएका छन् । पत्रु नै गर्ने हो भने ‘ब्ल्यु बुक’का आधारमा अर्को सवारीसाधन ल्याउने विकल्प दिँदै सरकारका तर्फबाट सहुलियत र सहयोग हुनुपर्ने बताइएको छ ।

यस्तै, सवारीसाधनको अवस्था अध्ययन गरी उपयुक्त सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्ने व्यवस्था गर्नुपर्ने बताइएको हो । विज्ञप्तिमा नेपाली कांग्रेस निकट नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, नेकपा (एमाले) निकट नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीमज्वाला राई, नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसीले हस्ताक्षर गरेका छन् । उनीरुले प्रदेश सरकारले सार्वजनिक सवारीसाधन सञ्चालनको सम्बन्धमा गरेको निर्णय तत्काल सच्याउनसमेत मागसमेत गरे ।

तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन कार्यालयमै थन्कियो  

झापा-सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कार्यालयको भुइँतलाको साविक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर रक्तचन्दन थुपारिएको छ । कोठाबाहिर दुई वन रक्षकले अहोरात्र सुरक्षा दिइरहेका छन् ।

ओसारपसार र बिक्रीमा विश्वव्यापी प्रतिबन्ध भएका कारण रक्तचन्दनलाई लिलाम (बिक्री) गर्न मिल्दैन । अन्तर्राष्ट्रिय सन्धिबमोजिम रक्तचन्दन जुन मुलुकबाट आएको हो, उसैलाई फिर्ता पठाउनुपर्ने हुन्छ ।“वन विभागबाट यहाँ राखिएको रक्तचन्दनलाई के गर्ने भन्ने कुनै निर्देशन आएको छैन”, जिल्ला वन कर्यालय झापाका प्रमुख राईले भन्नुभयो, “हामीले यसलाई लिलाम बिक्री गर्ने, नष्ट गर्ने वा फिर्ता पठाउने आफूखुसी निर्णय गर्न सक्दैनौँ ।”

भारतबाट आउँथ्यो रक्तचन्दन

विश्व बजारमा उच्च मूल्य भएको रक्तचन्दन दक्षिण भारतको जङ्गलबाट तस्करी भएर नेपाल आएको हो । तस्करले अवैधरूपमा नेपालको बाटो भएर रक्तचन्दनलाई चीन पु¥याउने गर्दथे ।
यही क्रममा विसं २०६४ साउन १३ गते राति ११ बजे जिल्ला वन कार्यालय झापाको टोलीले दक्षिण झापाको तत्कालीन टाघनडुब्बा गाउँ विकास समितिको वडा नं ४ स्थित उपेन्द्र चौधरीको घरमा छापा मार्दा ११ हजार सात सय ७० केजी रक्तचन्दन लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।

त्यसपछि विसं २०६३ पुस २ गते दक्षिण झापाकै कुमरखोदको कामाटोलीमा सुरक्षा गस्तीले घेरेपछि ट्रक चालकले रक्तचन्दन सडकमै छाडेका थिए । त्यस घटनामा छ हजार तीन सय ७५ केजी रक्तचन्दन बरामद भएको थियो । विसं २०६४ साउन १२ गते थप एक हजार छ सय ८७ केजी रक्तचन्दन बरामद भएको थियो ।

रक्तचन्दन बरामद हुँदा पक्राउ परेका छ जना आरोपी सबै छुटिसकेका छन् । रक्तचन्दन बरामद भएको एउटा वटा ट्रक लिलाम भइसकेको छ । सिद्राले छोपेर रक्तचन्दन ल्याइएको थियो । भारतको चेन्नाईबाट आन्ध्रप्रदेश, उडिसा हँुदै विहारको किसनगञ्ज जिल्लाको डिगलबैंक नाकाबाट लुकीछिपी आएको एपी २७ डब्लूओ ४०५ नम्बरको ट्रकबाट रक्तचन्दन बरामद थियो ।

कामाटोलीमा सुरक्षाकर्मी र स्थानीयवासीले ट्रकलाई सडकमै रोकेका थिए । उक्त ट्रक हेर्दा रक्तचन्दनका काठलाई समुद्री माछाबाट बनाइएका सिद्रा र धानको भुसले छोपिएको पाइएको थियो । रक्तचन्दनको बासना नआओस् भनेर ट्रकमा सिद्राको गन्ध राखिएको थियो । ट्रकबाट भारत चेन्नाई निवासी यम भाष्कर र राजु शर्मासमेत पक्राउ परेका थिए ।

झापा जिल्ला अदालतले वन ऐन, २०४९ को दफा ४९ (घ) को कसुरमा सोही वन ऐन, २०४९ को दफा ५० (१) (घ) ४ बमोजिम पक्राउ परेका चार जनालाई रु एक करोड ८८ लाख ३२ हजार जरिवाना र चार वर्ष कैद सजाय सुनाएको थियो ।

सोही मुद्दामा पक्राउ परेका अन्य दई जनालाई भने जनही रु तीन लाख १८ हजार सात सय ६३ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो । रक्तचन्दन भण्डारण गरिएको कोठाको सिलबन्दी नखोलिएको कारण काठको अवस्था के कस्तो छ यकिनसाथ भन्न सकिने अवस्था छैन । उक्त कोठाभित्र कार्यालयका पुराना विभिन्न मुद्दाका फाइल थुनिएको बताइएको छ ।

बरामद भएको बेला गरिएको मुचुल्कामा रक्तचन्दनको मूल्य प्रतिकेजी रु २५ निर्धारण गरिएको थियो । बजारमा रक्तचन्दनको मूल्य अहिले प्रति केजी रु एक हजारभन्दा बढी नै छ ।
 

तनहुँ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीस्वाराका कृषकलाई मौरीसहितको घार वितरण गरिएको छ । समूहमा आबद्व ४६ कृषकलाई मौरीसहितको घार वितरण गरिएको हो । ग्रामीण पोषण सुरक्षण कार्यक्रमअन्तर्गत कृषकलाई ९० प्रतिशत अनुदानमा मौरीसहितको घार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारी र म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले कृषकलाई घार हस्तान्तरण गर्नुभयो ।

कृषकलाई कृषि पेसामा आकर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखिएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताउनुभयो । मौरीपालनसम्बन्धी स्थलगत तालिम तथा अभिमुखीकरण कार्यक्रममा सहभागी भएका कृषकलाई मौरीसहितको घार अनुदानमा वितरण गरिएको हो । कृषकको आयआर्जनमा वृद्वि गराई आर्थिक क्षेत्रमा सबल बनाउन सरकारले अनुदान कार्यक्रमलाई जोड दिँदै आएको छ ।

कृषकलाई कुटानी पिसानी, हाते ट्याक्टर, कृषिऔजार, बीउबिजनलगायत ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएको छ । अनुदान दिन थालेपछि पछिल्लो समय व्यावसायिक खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको पाइन्छ ।

आजको मौसमः पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा रहने

काठमाडौं, १२ जेठ । पछिल्लो समय पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव स्थानीय वायुमा परिरहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुुसार देशभर आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा र बाँकी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रही कोशी प्रदेशका थोरै स्थानहरुमा र देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
 

नक्कली शरणार्थी प्रकरण: आजवाट अदालतमा बयान सुरु हुने

काठमाडौं, १२ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ । 

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो । 

गत सोमवार प्रहरीले आफनो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो ।

राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धाा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रवारवाट अदालत बयान लिन लागिएको हो । 

लत्रिएको विद्युत्को तारमा छोइँदा करेन्ट लागेर २७ वर्षीय योगको मृत्यु

मनाङ- मनाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको किस्पाङ गाउँपालिका–१ स्थायी घर भएका २७ वर्षीय योग छिरिङ तामाङ रहेका छन् ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेमा रोकेर ट्र्याक्टरमा ढुङ्गा लोड गर्ने क्रममा हातले विद्युत्को नाङ्गो तारमा छोइँदा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई जिल्ला अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक पुष्कल कार्कीले जानकारी दिनुभयो ।

“बाढीपहिराका कारण लत्रिएको विद्युत्को तारमा छोइँदा करेन्ट लागेको हो, करेन्ट लागेर गम्भीर घाइते भएका तामाङका आफन्तले स्वास्थ्य चौकीमा पु¥याएका रहेछन्, थप उपचारका लागि जिल्ला अस्पताल पु¥याउनासाथ अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन्”, प्रहरी निरीक्षक कार्कीले भन्नुभयो ।

एक मन्त्रालयसहित लोसपा मधेस सरकारमा

जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस सरकारसँग केही दिनयता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालयसहित मधेस सरकारमा सहभागी भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिनुभयो । कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशङ्कर मिश्रले वन तथा वातावरणमन्त्रीका रूपमा शपथ गराउनुभयो ।

कुर्मीलाई मुख्यमन्त्री यादवले आफैँसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । अब वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुङ्गो लाग्न बाँकी रहेको छ । राज्यमन्त्रीको नाम पछि टुङ्गो लाग्ने बताइएको छ ।

सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेस प्रदेशमा अब पाँचौँपटक मन्त्रिपरिषद् विस्तार भएको छ । यसअघि मङ्गलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानून मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राख्नुभएको छ ।

सिड्नीको भवनमा फिल्मी शैलीमा भीषण आगलागी,१०० वटा दमकलले आगो निभाइयो

सिड्नी-सिड्नीमा बिहीबार एउटा भवनमा भीषण आगलागी हुँदा भवन भत्किएको छ । “आगो लागेको केही क्षणम उक्त भवन खरानीमा परिणत भयो। भित्ताका ठूला टुक्रा र इँटाहरू भुइँमा खस्न थालेपछि मानिसहरू चिच्याउन थाले”, फायर एण्ड रेस्क्यू एनएसडब्ल्यू (न्यू साउथ वेल्स)ले उल्लेख गरेको छ ।

करिब १०० वटा दमकलको सहायताले आगो निभाइएको थियो । उक्त भवनमा लागेको आगो निभाउँन र नजिकैको आवासीय भवनहुमा फैलिनबाट रोक्न अग्नि नियन्त्रकहरूले भर्याङ ट्रक र ड्रोनहरू प्रयोग गरेका थिए । उक्त सम्पदा सूचीमा सूचीकृत भवनमा के कारणले ठूलो आगलागी भयो भन्नेबारे अनुसन्धान जारी छ ।

रुसी विमान आक्रमण गरेको जापानको दाबी

टोकियो- प्रशान्त महासागर र जापानको समुद्रको किनारमा रुसी “गुप्तचर सूचना सङ्कलन” विमान फेला परेपछि जापानले बिहीबार लडाकु विमानहरू खसालेको दाबी गरेको छ ।

एउटा रुसी विमानले जापानको उत्तरबाट पश्चिमी तटतर्फ यात्रा गरेको पाइएको थियो भने अर्कोले विपरीत तटमा उस्तै बाटो लिएर फर्केको पाइएको जापनी कर्मचारीले उल्लेख गरेका छन्।जासुसी विमान उडेको पाइएपछि जवाफमा कारवाही गरिएको जापानले दाबी गरेको छ ।

जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा

चितवन- विसं २०७८ को जनगणनाअनुसार जनसङ्ख्या वृद्धिका हिसाबले चितवन तेस्रो स्थानमा रहेको छ । पहिलोमा भक्तपुर, दोस्रोमा रुपन्देही र तेस्रोमा चितवन रहेको तथ्याङ्क कार्यालय चितवनले जनाएको हो । कार्यालयले आज यहाँ आयोजना गरेको जिल्लास्तरीय नतिजा सार्वजनिक कार्यक्रममा कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा विसं २०६८ को जनगणनामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव छ रहेको थियो । विसं २०७८ मा जिल्लामा जनसङ्ख्या वृद्धिदर दुई दशमलव सात प्रतिशत रहेको छ ।

उहाँका अनुसार विसं २०६८ को जनगणनामा जनघनत्व दुई सय ६१ प्रतिवर्गकिलोमिटर रहेकोमा अहिले बढेर तीन सय २५ पुगेको छ । जिल्लाको जनसङ्ख्या सात लाख १९ हजार आठ सय ५९ रहेको छ । तीमध्ये महिला तीन लाख ६८ हजार ७० र पुरुष तीन लाख ५१ हजार सात सय ८९ रहेको तथ्याङ्कले देखाएको छ । विसं २०६८ मा जिल्लाको जनसङ्ख्या पाँच लाख ७९ हजार नौ सय ८४ थियो । पहिलेको तुलनामा एक लाख ३९ हजार आठ ७५ बढेका छन् ।

परिवारको औसत आकार चार दशमलव एक रहेको भण्डारीले जानकारी दिनुभयो । जिल्लामा एक लाख ७९ हजार तीन सय ४५ परिवार बसोबास गर्दै आएको कार्यक्रममा जानकारी दिइयो । जिल्लामा स्थायी ठेगाना भएर धेरैजसो विदेश बसोबास गर्ने ४६ हजार आठ सय ६१ परिवारका ६५ हजार ६४ छन् । तीमध्ये पुरुष ५० हजार छ सय ५५ र महिला १४ हजार चार सय नौ छन् । सोह्र हजार चार सय ९६ अपाङ्गता भएका व्यक्ति रहेको कार्यक्रममा जानकारी दिइयो । तीमध्ये आठ हजार सात सय ६७ पुरुष र सात हजार सात सय २९ महिला रहेका छन् । जिल्लाको साक्षरता दर ८३ दशमलव ६८ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

बाह्रौँ राष्ट्रिय जनगणनाअनुसार जिल्लाको सबैभन्दा धेरै जनसङ्ख्या भएको पालिका भरतपुर महानगरपालिका रहेको छ । भरतपुर महानगरमा मात्रै तीन लाख ६९ हजार दुई सय ६८ बसोबास गर्ने गरेको सो अवसरमा जानकारी दिइयो । सबैभन्दा कम इच्छाकामना गाउँपालिकामा २७ हजार छ सय ४३ बसोबास गर्दै आएको तथ्याङ्कमा उल्लेख छ । यस्तै कालिका नगरपालिकामा ५२ हजार एक सय ६४, खैरहनी नगरपालिकामा ६७ हजार तीन सय ८५, माडी नगरपालिकामा ३८ हजार दुई सय ९५, राप्ती नगरपालिकामा ६६ हजार छ सय १७, रत्ननगर नगरपालिकामा ८९ हजार नौ सय पाँच रहेको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले राष्ट्रिय जनगणनाको तथ्याङ्कले नीति निर्माणमा सहयोग पुग्ने बताउनुभयो । यो तथ्याङ्कका आधारमा नीति निर्माण तथा विकास निर्माणमा सहयोगी बन्ने भन्दै उहाँले यस्ता तथ्याङ्कको सही सदुपयोग हुन आवश्यक रहेको बताउनुभयो ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले यस्ता तथ्याङ्कलाई अझै विस्तृतरूपमा केलाउन सके समाजको विकासमा सहयोगी बन्ने बताउनुभयो ।
 

युवा वैज्ञानिक प्रोत्साहन कोषका लागि ऐन बनाउँछौँ : मुख्यमन्त्री जम्कट्टेल

मनहरि-बागमती प्रदेश सरकारले युवा वैज्ञानिक प्रोत्साहन कोष सञ्चालनका लागि ऐन बनाउने भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोष अहिले कार्यविधिमा रहेर सञ्चालन भइरहेको भन्दै अब ऐन निर्माण गरी सञ्चालन गरिने बताउनुभयो ।

आज कोषद्धारा सञ्चालित पाँच आयोजनाको उपलब्धि सार्वजनिक कार्यक्रममा उहाँले ऐन निर्माण गरी आगामी दिनमा पनि नयाँ प्रविधि प्रयोग गर्न युवा वैज्ञानिक कोषलाई अघि बढाइने बताउनुभयो । नयाँ प्रविधि, अनुसन्धानलाई प्रयोग गर्नेतर्फ सरकार तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री जम्कट्टेलले अनुसन्धानपश्चात नवजीवनमा प्रयोग भएन भने अनुसन्धानको औचित्य नरहने बताउनुभयो । कोष सञ्चालन गर्न ऐन तयार भएपछि हाम्रो अधिकारभित्र रहेर प्रदेश सरकार यी कार्यहरु गर्न समक्ष रहने उहाँको भनाइ थियो ।

कोषमा रहेर पाँच आयोजना सञ्चालन गरिएको थियो । तीमध्ये दुई सम्पन्न भएको र तीन वटा सम्पन्नको तयारीमा छन् । सम्पन्न भएका आयोजनामा सफारी गाडीको विद्युतीय रुपान्तरण आयोजना र डेन्टलप्लेटसम्बन्धी आयोजना रहेको कोषका अध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जानकारी दिनुभयो ।

अन्य तीन वटा आयोजनामा च्याउ (खरानी/रातो) को विकास, फिस प्रोवायोटिक आयोजना र मेडिकल प्लान्टअन्तर्गत जडीबुटीबाट फाइटो केमिकलबारेको अनुसन्धान आयोजना रहेका छन् ।

विद्युतीय गाडी निर्माण गर्ने आयोजना प्रमुख इन्जिनियर वसन्त आलेले अन्य गाडीको तुलानामा विद्युतीय गाडी १० गुणा राम्रो रहेको बताउँदै पुराना गाडीको सदुपयोग गर्न आवश्यक कानूनी व्यवधान खुला गर्न सरकारलाई आग्रह गर्नुभयो । मेडिकल प्लान्ट आयोजनाका प्रमुख भुवन गुरुङले बिरुवा÷जडीबुटीमा भएको केमिकल बनाउन सकिने बताउनुभयो ।

कार्यक्रम डेन्टलप्लेट आयोजनाका प्रमुख डा प्रभाकर पराजुलीले प्राकृतिक दाँत जस्तै नक्कली दाँतका लागि काम गर्न सकिने बताउनुभयो । “हामीले गरेको अनुसन्धानमा राँगाको दाँतमा प्रयोग गराएका हौँ, सफल पनि भयौँ, अब हामीले सजिलै ३२ वटा देशमा यस प्रविधिको प्रयोग गर्न सक्छौँ”, डा पराजुलीले भन्नुभयो, “यस प्रविधिको नाम हामीले दन्त्यनिखन राखेका छौँ ।”

पदबहाली गरेको एक वर्ष : सरसफाइ विशेष कार्यक्रममा सहभागी हुन प्रमुख साहको आग्रह

काठमाडौँ-काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गर्नुभएको छ । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गर्नुभएको छ ।

आगामी १३ गते बिहान ७ देखि १० बजेसम्म आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुनका लागि प्रमुख साहले आग्रह गर्नुभएको हो । “विशेष सरसफाइ कार्यक्रममा वडाका सम्पूर्ण जनप्रतिनिधि तथा कर्मचारीसहित वडाका सबै सरोकारवाला समेतलाई अधिकतम सहभागी गराई कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न गर्नुहुनसमेत उहाँले पत्रमार्फत आग्रह गर्नुभएको छ । सरसफाइ गरिने स्थानको छनोट र आवश्यक सामग्री वडाले उपलब्ध गराउनेछन् । सङ्कलित फोहर उठाउने तथा अन्तिम व्यवस्थापन गर्ने काम वातावरण विभागले फोहर व्यवस्थापनमा काम गर्ने निजी क्षेत्रको सहयोगमा गर्नेछ ।

गत वर्ष २०७९ वैशाख ३० गते शुक्रबार स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको थियो । वैशाख ३१ गते शनिबारदेखि सुरु गरिएको काठमाडौँ महानगरपालिकाको मतगणना जेठ १३ गते शुक्रबार सकिएको थियो । शुक्रबार राति ११ बजे मत परिणाम घोषणा गरिएको थियो । त्यसको भोलिपल्ट अर्थात् जेठ १४ गते शनिबार बिहान ८ बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रुपमा बधाई कार्यक्रम आयोजना गरेको थियो ।

जेठ १६ गते सोमबार कामपाका जनप्रतिनिधिहरुले बिहान १० बजे पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको थियो । सोही दिन अपराह्न ४ बजे कार्यपालिकाको पहिलो बैठकसमेत बसेको थियो ।

कर असुलीका लागि संयन्त्र बनाएर अनुगमन गर्दै काठमाडौँ महानगरापालिका

काठमाडौँ- काठमाडौँ महानगरापालिकाले आफ्नो क्षेत्रभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए/नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएबारे बुझ्न अनुगमन गर्ने भएको छ ।
त्यसका लागि वडास्तरीय राजस्व अनुगमनका संयन्त्र बनाएर अघि बढ्नका लागि कामपा राजस्व विभागले ३२ वटै वडा कार्यलयलाई पत्राचार गरेको छ । अनुगमनका क्रममा अनलाइन राजस्व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन पनि अनुरोध गरिएको कामपा राजस्व विभाग प्रमुख धुव्र काफ्लेले जानकारी दिनुभयो ।

जनप्रतिनिधि र कर्मचारी परिचालन हुने अनुगमनका लागि यही जेठ १ गते बसेको कार्यपालिका बैठकको निर्णय गरेको थियो । तोकिएको दिनमा सम्बन्धित करदाताहरुको स्थलमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नवीकरणको फारम भरिनेछ । यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपिसमेत लिइनेछ । यसरी भरिएका विवरण फारामहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ । वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ । यसबापत तिर्नुपर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइनेछ ।

अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ । कामपा क्षेत्रभित्र भएका बहाल कर तिर्नुपर्ने करदातालाई अनुरोध गर्दै राजस्व विभागले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार बहाल रकमका क्षेत्रमा लाग्ने बहाल कर स्थानीय तहको मात्र अधिकारमा रहेको भन्दै सोहीअनुसार बुझाउन आग्रह गरिएको छ ।

राज्यको मूल कानुन संविधान, सङ्घीय कानुन (स्थानीय सरकार सञ्चालन ऐन, २०७४) मा स्थानीय तहले बहाल कर लिने विषयमा कतै व्यक्ति तथा संस्था भनी छुट्याएको छैन । नेपालको संविधान, २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, कामपाको राजस्व ऐन, २०७५ र बहाल व्यवस्था निर्देशिका २०७९ बमोजिम उल्लेख गरिएकोप्रमुख काफ्लेले बताउनुभयो ।

संस्थागत बहाल कर नेपाल सरकारका निकायले सङ्कलन गरिरहेको सन्दर्भ उल्लेख गर्दै, ‘नेपालको संविधान २०७२ को धारा, ५७ (४) र अनुसूची ८ मा घरबहाल कर सङ्कलन गर्ने व्यवस्था स्थानीय तहको एकल अधिकारमा रहेको काफ्लेले स्पष्ट पार्नुभयो । संविधानको धारा, ६० मा स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र उठाउन सक्ने व्यवस्था छ ।

पठान भर्सेस टाइगरलाई खतरनाक भिलेनको खोजी

मुम्बई, ११ जेठ । यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्स फिल्म ‘पठान भर्सेस टाइगर’का लागि भिलेनको खोजी सुरु गरेको छ । शाहरुख खान र सलमान खानको प्रमुख भूमिकामा अभिनय रहने यो फिल्मको सुटिङ सन् २०२४ बाट सुरु हुनेछ ।

फिल्मका लागि यशराज फिल्मस्ले सबै कुरा फाइनल गरिसके पनि भिलेनको हकमा भने उनीहरुले फिल्मका लागि ‘खतरनाक’ भिलेन पाउन सकेका छैनन् । फिल्मको काम आगामी वर्षको जनवरीबाट सुरु गर्ने तयारी भइरहेको छ । सिद्धार्थ आनन्दको निर्देशन रहने फिल्ममा दीपिका पादुकोण र कटरीना कैफरको पनि अभिनय रहनेछ । फिल्ममा उनीहरुको भूमिका समान रहने बताइएको छ ।

‘फिल्मको नाम पठान भर्सेस टाइगर हो, तर यसको अर्थ यो होइन कि यसमा दुई जासुसबीचको दुश्मनी हुनेछ । फिल्ममा एक सामान्य भिलेन देखाइनेछ, जसका विरुद्ध दुई जासुस लड्नेछन् । निर्देशक सिद्धार्थ फिल्ममा खतरनाक भिलेनका लागि कुनै ठूला स्टारको खोजीमा छन्, जसको लेभल हिरोको जस्तै होस्’, फिल्म निकट स्रोतले भनेको छ । हाल निर्माण युनिटले एक्सन सेटको डिजाइनको काम गरिरहेको छ ।

मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस जिल्ला पार्टी कार्यालय भवन शिलान्यास

गण्डकी-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेस पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । बेँसीसहर नगरपालिका–८ झिङ्गेखोलामा निर्माण हुन लागेको नेपाली कांग्रेस लमजुङको बिपी स्मृति भवन उहाँले आज शिलान्यास गुर्नभएको हो ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेशको मुहार फेर्नेगरी गण्डकी प्रदेश सरकार विकासका कार्यक्रममा अघि बढेको दाबी गर्नुभयो । जनमुखी कार्यक्रम र बजेट निर्माणका लागि वर्तमान सरकार तयार रहेको उहाँको भनाइ छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “वर्तमान सरकारले नागरिकको हितमा काम गर्छ, कुनै पनि नागरिकले प्रदेश सरकार नभएको आवास गर्नुपर्ने छैन ।” सबैको प्रयास रहेमा बिपी स्मृति भवन निर्धारित समयमै सम्पन्न विश्वास उहाँको छ ।

कांग्रेस जिल्ला कार्य समिति लमजुङले निर्माण गर्नु लागेको उक्त भवन कूल ११ आनामा रहने छ भने करिब रु तीन करोड लागतमा निर्माण हुने बताइएको छ । चार तलाको निर्माण हुने उक्त भवन आगामी दुई वर्षभित्रमा सम्पन्न हुने लक्ष्य रहेको पार्टी प्रवक्ता गणेश गौलीको भनाइ छ ।

भवन शिलान्यास कार्यक्रममा कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री रमेशकुमार पाण्डे, पार्टी जिल्ला पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, चन्द्रबहादुर कुँवर, पार्टी पूर्वसभापति एवं गण्डकी प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, प्रदेशसभा सदस्य पार्वती तामाङ, टीकाकुमारी बस्याल, पूर्वसभापति एवं सुन्दरबजार नरपालिका प्रमुख कृष्णप्रसाद कोइराला लगायतको सहभागिता रहेको थियो ।

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान : ३५ हजार किलोभन्दा बढी फोहर सङ्कलन

काठमाडौँ-नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियानका क्रममा अहिलेसम्म झण्डै ३६ हजार किलो फोहर सङ्कलन गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सफा हिमाल अभियान २०२३ मा ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य रहेको थियो ।

हालसम्म अन्नपूर्ण हिमालबाट तीन हजार पाँच सय ६७ किलो, बरुञ्चे हिमालबाट १८ हजार पाँच सय २० किलो र सगरमाथा तथा ल्होत्सेबाट १३ हजार छ सय २१ किलो गरी जम्मा ३५ हजार सात सय आठ किलो फोहर सङ्कलन भइसकेको निर्देशनालयले जानकारी दिएको छ ।

सगरमाथा र ल्होत्से हिमाल सफाईका लागि सगरमाथाको आधार शिविरमा तैनाथ नेपाली सेनाको टोली सफाइ कार्य सम्पन्न गरी फिर्ता हुने क्रममा रहेको पनि नेपाली सेनाले जानकारी दिएको छ । विश्व वातावरण दिवसमा काठमाडौँमा औपचारिक कार्यक्रमको आयोजना गरेर अभियानको समापन गरिनेछ ।

सफा हिमाल अभियान २०२३ अन्तर्गत सगरमाथा र ल्होत्से हिमाल सफाइ तथा आरोहणका सिलसिलामा अस्वस्थ भई उपचाररत नेपाली सेनाका चार जनालाई थप उपचारको लागि भारत लगिएको छ । अभियानका क्रममा दुई शेर्पा सहयोगीको भने निधन भएको छ ।–––

सबै दलको विश्वास लिएर सरकार अगाडि बढ्छ : मुख्यमन्त्री यादव

जनकपुरधाम-मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा सबै दलका प्रदेशसभा सदस्यको विश्वास लिएर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशअन्तर्गतका पालिकाहरूमा पठाउने ससर्त अनुदानको रकमका सम्बन्धमा बनेको कार्यविधिमा रहेको जटिलतालाई दलहरुकै सल्लाह र सुझावअनुसार संशोधन गरेर आवश्यक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “सरकार गठन भएपछि राष्ट्रपति, उपराष्ट्रपति र उपनिर्वाचन गरी तीनवटा चुनाव भयो । आचारसंहिता र चुनावमा व्यस्त हुनुपरेकाले ससर्त अनुदानका सम्बन्धमा माननीयज्यूहरुसँग जति छलफल र समन्वय गर्नुपथ्र्यो त्यति गर्न सकिएन”, मुख्यमन्त्री यादवले भन्नुभयो, “आगामी आर्थिक वर्ष ससर्त अनुदानको रकम र बजेट, नीति तथा कार्यक्रममा सबैसँग छलफल एवं समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्दछु ।” 

आजै प्रदेश सरकारका सचिवहरुसँग बैठक बसेर तीन दिनभित्र अधिकार प्राप्त व्यक्तिबाहेकले चढ्ने गाडी फिर्ता ल्याउन निर्देशन दिइएको जानकारी दिँदै मुख्यमन्त्री यादवले पूर्वाधार कार्यालय सिरहाको कामकारबाही र लहान अस्पतालमा कर्मचारी नियुक्तिका सम्बन्धमा उठेका प्रश्नहरुबारे सम्बद्ध पक्षसँग जानकारी लिई आवश्यक निर्देशन दिइसकेको जानकारी सभालाई गराउनुभयो । 

यसअघि सभामुख रामचन्द्र मण्डलले बैठकको विशेष समय सुरु भएको जानकारी गराएलगत्तै नेकपा (एमाले) संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले सरकारको जवाफ नआएसम्म बैठक नचल्ने जनाएपछि एमालेका सबै प्रदेशसभाका सदस्यहरु आ–आफ्नो स्थानमा उभिनुभएको थियो ।

सरकारले ससर्त अनुदान रकम बाँडफाँट गर्दा फरक फरक मापदण्ड अपनाइएको विषयमा आफूहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने भन्दै विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका बैठक स्थगित गर्नुभएको थियो ।

आजको बैठकमा सभामुख मण्डलले पेस गर्नुभएको यसअघि गठित विषयगत समितिमा रहेका सदस्यहरुको समिति हेरफेर प्रस्ताव पारित गरिएको छ । जसअनुसार लखन दास लेखा समितिबाट अर्थ तथा योजना समिति, शारदादेवी थापा कृषि तथा भूमि व्यवस्थापन समितिबाट सार्वजनिक लेखा समिति, केशव राय प्रदेश मामिला समितिमा, मोहम्मद जयद आलम महिला, बालबालिका तथा सामाजिक न्याय समितिमा, सरोजकुमार यादव अर्थ तथा योजना समितिमा, राजकुमार लेखी प्राकृतिक स्रोत तथा वातावरण समितिमा, शत्रुधनप्रसाद सिंह कृषि तथा भूमि व्यवस्थापन समितिमा र अनिरुद्रप्रसाद सिंह महिला बालबालिका तथा सामाजिक न्याय समितिबाट सार्वजनिक लेखा समितिमा रहनुभएको छ । प्रदेशसभाको अर्को बैठक यही जेठ १६ गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

काठमाडौँ-मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो ।बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आउनुभएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन गरिएको संस्थाका अध्यक्ष ललन ठाकुरले जनाउनुभयो ।

पार्थिव शिवलिङ्ग पूजामा नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले सहभागिता जनाउनुभएको थियो । उहाँले संस्थाले विगतदेखि गरेका कामको प्रशंसा गर्दै काठमाडौँसम्म आएर पूजापाठ, तथा हवन गरेकामा खुसी जनाउनुभयो । लामो समयदेखि संस्थामा ठूलो योगदान पुर्याउनुभएका राजेन्द्र झा, नवराज घिमिरे, उदयकान्त झा, हर्षित मिश्र र द्रवेश ठाकुरलाई सांसद निधिले सम्मान गर्नुभएको थियो ।

संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकै दिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको थियो । आगामी दिनमा सोही किसिमको पूजा काठमाडौँमा पनि गर्ने योजना रहेको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिर, डोलेश्वर, जलेश्वर, छिरेश्वर, सत्तोखर, इटहरवा महादेव मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहितका धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरको थियो ।

अरुण तेस्रो प्रवेश मार्गको छुट जग्गाको मुआब्जा दर निर्धारण, प्रतिरोपनी ११ लाख ७५ हजार तोकियो

किमाथाङ्का-सङ्खसवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवासडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण गरिएको छ ।

अरुण तेस्रो प्रवेश मार्ग छ्याङकुटी–दिदीङ–पुखुवा (०–२४ किमी) सडक खण्डको जग्गा छुट मुआब्जको दररेट निर्धारण भएको हो । सरकारले जग्गा अधिग्रहण गरेको करिव १४ वर्षपछि स्थानीयवासीले जग्गाको मुआब्जा पाएका हुन् । स्थानीयवासीले लामो समयदेखि मुआब्जाको माग राख्दै आन्दोलन गरेपछि सरकारले मुआब्जा दिन छुट जग्गाको यकिन विवरण र अन्यसम्बन्धी प्रतिवेदन तयार पार्न कार्यदल गठन गरेको थियो । 

विसं २०७५ चैत १ मा सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको संयोजकत्वमा आयोजना प्रवेशमार्ग छ्याङकुटी–दिदिङअन्तर्गत छुट जग्गाको यकिन विवरण र अन्य समस्यासम्बन्धी अध्ययन गरी प्रतिवेदन बुझाउन कार्यदल निर्माण गरिएको थियो ।

छ्याङकुटी–दिदीङ–पुखुवा क्षेत्रको मुआब्जा दर प्रतिरोपनी रु ११ लाख ७५ हजार  रहने गरी दर निर्धारण गरिएको छ । केही दिनअघि जिल्ला मुआब्जा दर निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको संयोजकत्वमा बसेको बैठकले मुआब्जा दर निर्धारण गरेको हो । जिल्लास्थित जनप्रतिनिधि, दलका प्रतिनिधि तथा सरोकारवालाबीच पटक पटकको छलफलपछि दर निर्धारण गरिएको हो । 

चिचिला गाउँपालिकाको १, २ र ३ वडाका करिब दुई सय घर परिवारको जग्गा अधिग्रहण गरी छ्याङकुटीदेखि परियोजनास्थल पुखुवासम्म जोड्ने साढे २३ किलोमिटर लामो सडक निर्माण गरिएको थियो । विसं २०४६ मा मुआब्जा वितरण भएको तर २०५१/५२ मा नापी हुँदा सरकारी स्वमित्वमा लगत कट्टा हुनुपर्नेमा व्यक्तिको नाममा भएकाले पछि २०६६/६७ सालमा लगत कट्टा हुँदाको छुट जग्गाको मुआब्जा अधिग्रहण गर्ने सूचना प्रकाशन भएको थियो । सो सूचनाका आधारमा आवेदन परेकाबाट सर्वपक्षीय बैठकबाट दर निर्धारण गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको अध्ययन समितिले चार सय ५१ रोपनी जग्गाको मुआब्जा दिन छुट भएको ठहर गरेको छ । छ्याङकुटीदेखि विद्युत् गृह पुखुवासम्मको छुट जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीयवासीले पटक–पटक माग गर्दै आएका थिए । 

मुआब्जा दर निर्धारण भएसँगै स्थानीयवासी खुसी भएका छन् भने अवरोध भइरहेको अरुण तेस्रोको काम सहजरूपमा हुने अपेक्षा लिइएको छ ।  सङखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा बाँधस्थल निर्माणाधीन छ भने चिचिला गाउँपालिका–३ पुखुवामा विद्युत् गृह निर्माण भइरहेको छ । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम भारतीय सतलज कम्पनी एसजेभिएनले गरिरहेको छ । आयोजनाको कूल लागत रु एक खर्ब चार अर्ब हुने अनुमान गरिएको छ ।

बागमती प्रदेशमा चल्ने सार्वजनिक गाडीको भाडा घट्यो

बागमती प्रदेशमा छोटो दूरीमा चल्ने सार्वजनिक गाडीको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आज सार्वजनिक गाडीको भाडा घटाएको हो । नेपाल आयल निगमले डिजलको भाउ घटाएको नौँ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो ।

मन्त्रालयले घटाएको भाडा दर आजै राजपत्रमा प्रकाशित भएको छ । काठमाडौँ उपत्यकाभित्र ५ दशमलव ९ प्रतिशतले तथा उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक गाडीमा ४ दशमलव १८ प्रतिशत र मालवाहक गाडीमा ५ दशमलव ६९ प्रतिशतले भाडा घटाएको मन्त्रालयका सचिव अस्मान तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ भाडा दर आजै राजपत्रमा प्रकाशित भइसकेकाले आजदेखि नै घटेको भाडादर लागू हुनेछ ।”

यसअघि डिजेलको भाउ बढेको बेला लामो दूरीको गाडीभाडा बढेर छोटो दूरीको नबढेपछि व्यवसायी आफैँले भाडादर तोकेका थिए । नेपाल आयल निगमले अघिल्लो हप्ता बुधबारदेखि लागू हुने गरी डिजेलको भाउ घटाएको थियो । लगत्तै सरकारले लामो दूरीको भाडा समायोजना गरेको थियो । लामो दूरी अर्थात् अन्तर प्रदेशको भाडा केन्द्र सरकारबाट र छोटो दूरी अर्थात् अन्तरपालिकाको भाडा प्रदेश सरकारबाट निर्धारण हुने गर्दछ ।

गएको चैत २० गते डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १०/१० र पेट्रोलमा रु तीन मूल्य घटाएको निगमले अघिल्लो हप्ताको बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर रु १०/१० ले भाउ घटाएको थियो । घटेको मूल्यअनुसार हाल डिजेलको मूल्य लिटरको रु एक सय ५५ कायम भएको छ । अघिल्लो वर्ष प्रदेशभित्र सञ्चालन हुने छोटो दूरीको गाडी भाडा बढेको थियो । बढेको भाडाअनुसार यात्रुले काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा चढ्ने वित्तिकै रु २० भाडा तिर्दै आइ रहेका छन् ।

कोरला नाकामा चाँडो भन्सार बन्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरला नाकामा चाँडो भन्सार कार्यालय बन्नुपर्ने बताउनुभएको छ । चीन र भारत जोड्ने देशकै सबैभन्दा छोटो नाकाका रूपमा रहेको कालीगण्डकी करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उहाँले कोरलामा चाँडो भन्सार स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोर निरीक्षणका लागि आज नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट आउनुभएका अध्यक्ष तिमिल्सिनाले चीनले भन्सार निर्माणको काम सकाएको उल्लेख गर्दै नेपालमा बल्ल जग्गा प्राप्ति भएको बताउनुभयो । “कोरलामा चीनतर्फ भन्सार निर्माणका लागि उनीहरूले सबै पूर्वाधार बनाइसकेका छन्”, उहाँले भन्नुभयो, “नेपालमा जग्गा प्राप्तिको काम सकियो, तर अब निर्माण गर्ने कुरामा कमी भएको छ ।” आफूले अर्थमन्त्री तथा प्रधानमन्त्रीलाई कोरलामा नेपालले चाँडै भन्सार कार्यालय निर्माणको काम गर्नुपर्ने जानकारी गराएको उहाँले बताउनुभयो । 

“यो करिडोर राष्ट्रिय गौरवको परियोजना हो”, उहाँले भन्नुभयो, “यसबाट सामान्य आउजाउ मात्रै नभएर त्रिदेशीय व्यापारको लाभ नेपालले लिन सक्छ ।” कोरला नाका धार्मिक पर्यटकीय मार्गसँगै व्यापारिक मार्ग पनि भएकाले सरकारले विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ । उत्तरमा चीनको सिमाना कोरला जोड्ने यस करिडोरले दक्षिणमा नवलपुरको त्रिवेणी भन्सार कार्यालयबाट भारतसँग सीमा जोड्ने काम गरेको छ । 

अध्यक्ष तिमिल्सिनाले कालिगण्डकी करिडोरको समग्र प्रगति राम्रो भएको भन्दै निर्माण कम्पनीले केही खण्डमा बेवास्ता गर्दा काम केही सुस्त गतिमा भएको बताउनुभयो । “अहिले पछिल्लो समय कामले केही गति लिएको छ, अबको तीन वर्षभित्र यस करिडोरको सम्पूर्ण निर्माणको काम पूरा हुनुपर्छ”, उहाँले भन्नुभयो, “आयोजनाको काम ढिलो हुँदा लागत पनि बढ्छ, हामीले सेवा पनि ढिलो पाउँछौँ । लागत बढी हुने कुरामा किन लाग्ने, त्यसैले काम छिटो गराउन सबै जना लाग्नुपर्छ ।” यस करिडोर निर्माणको काम अन्तिम चरणमा पुगेको कालिगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजनाले जनाएको छ । 

नेपाली कला र संस्कृतिलाई संसारमा फैलाउन सभामुखको आग्रह

काठमाडौँ-सुभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने काममा लाग्न आग्रह गर्नुभएको छ ।

इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा काठमाडौँमा जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारहरुलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सो आग्रह गर्नुभएको हो । नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै सभामुख घिमिरेले कला र संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान गर्नुभएको हो ।

विश्वका प्रतिभाहरुलाई जम्मा गरेर गायन र नृत्य प्रतियोगिता आयोजना गरेकामा उहाँले उक्त फाउण्डेशनको प्रशंसा पनि गर्नुभयो । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्व सामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई उहाँले सुझाव पनि दिनुभयो ।

यो संसारमा नेपाली नपुगेको ठाउँ कमै रहेको र नेपालीहरू जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै उहाँले भन्नुभयो, “विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित यो विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले नेपाललाई विश्वमै चिनाउन ठूलो योगदान गर्छ भन्नेमा म विश्वस्त छु ।”

“नेपालीपन जोगाउनका लागि नेपाली कला, संस्कृति कसरी जोगाउने भन्ने विषयमा फाउण्डेसनले जुन काम गरेको छ, त्यो निकै सराहनीय छ । हाम्रो कला, धर्म र संस्कृतिको देश विदेशमा यसरी नै जगेर्ना होस् भन्ने मेरो र प्रतिनिधिसभाको तर्फबाट यहाँहरु सबैमा आग्रह छ”, सभामुख घिमिरेले भन्नुभयो ।

विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये अन्तिमतर्फको छनोटमा परेका गायनका ५० र नृत्यका ५० प्रतियोगीले आफ्नो प्रस्तुतिमार्फत आगामी यात्रा तय गरिरहेका छन् ।

नेपाली मूलका भूटानी अमेरिकी युवा व्यवसायीले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न गायन र नृत्यका यी दुई प्रतियोगिता आयोजना गरेको हो ।

‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजनबाट पनि प्रसारण भइरहेको छ । नेपाल टेलिभिजनमा बुधबार र बिहीबार ‘मेरो भ्वाइस युनिभर्स’ बेलुकी ८ः५० बजेदेखि र ‘मेरो डान्स युनिभर्स’ एनटिभी प्लसमा शुक्रबार र शनिबार बेलुकी ८ बजे प्रसारण भइरहेको छ ।

गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यतर्फ पनि प्रथम हुनेलाई रु २० लाख पुरस्कार रहेको छ ।

संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच दुई महिनादेखि काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् । ती प्रतिभाहरुलाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी ओली लगायतले भेटेर शुभकामना दिनुभएको छ ।

आज सभामुखसँग ती प्रतिभाहरुले पनि आफूहरुले नेपाली भाषामा गीत गाउन तथा नेपालमा आएर नृत्यसहितको आफ्नो प्रतिभा देखाउन पाएकामा खुसी व्यक्त गरेका थिए । सो कार्यक्रममा अमेरिकाका मोन मगर, म्यानमार–थाइल्याण्डका पुनाराम र खुसी कार्की, संयुक्त अरब इमिरेट्सबाट राजेश लिम्बू, पोर्चुगलबाट सुवास थापामगर, भारतबाट साइराज खातीलगायतका कलाकारले आफ्ना प्रस्तुति दिएका थिए ।

एकीकृत समाजवादीले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्ष गर्ने

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप सङ्घर्षका कार्यक्रम गर्ने भएको छ । सो पार्टीको मोर्चा सङ्गठन विभागको नवौँ बैठकले नक्कली भूटानी शरणार्थी प्रकरण विरुद्ध थप आन्दोलनको घोषणा गरेको हो ।

यही जेठ १६ गते दिउँसो ४ बजे भ्रष्टाचार विरुद्ध काठमाडौँको माइतीघर मण्डलामा जुलुससहित नयाँ बानेश्वरमा पुगी सभा गर्ने निर्णय भएको विभागका प्रमुख डा विजय पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन देशका ७७ वटै जिल्लामा पनि एकैसाथ विरोध प्रदर्शन, ¥याली र कोणसभा गरिने छ ।

सङ्घर्षका लागि मोर्चा सङ्गठनको तर्फबाट पार्टी केन्द्रीय कमिटी, भूगोलका सबै प्रदेश कमिटी, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटीलाई सहयोगका लागि पार्टीले अनुरोध गर्ने जनाएको छ । यसअघि पनि सो पार्टीको मोर्चा सङ्गठन विभागले काठमाडौँसहित देशभर नक्कली भूटानी शरणार्थी प्रकरणमा दोषीमाथि हदैसम्मको सजाय माग गर्दै प्रदर्शन गरेको थियो ।

भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता, शुल्क आधाभन्दा कम

रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन् । वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको भोटो देखाउने दिन परेकाले अन्य दिनभन्दा धेरैले चिडियाखाना अवलोकन गरेका हुन् । चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार अन्य दिन बढीमा तीन हजारले मात्र चिडियाखानाको अवलोकन गर्ने गरेका थिए आज भोटो देखाउने दिन भएकोले उल्लेख्य मात्रामा अवलोकनकर्ता आएका हुन् ।

चिडियाखाना अवलोकनकै लागि अन्य दिन रु दुई सय तिर्नुपर्ने भए पनि आज रु ७५ मै अवलोकनको व्यवस्था मिलाइएको अधिकारी कोइरालाले बताउनुभयो ।  कोरोनाले गर्दा तीन वर्षसम्म आर्थिक समस्या झेलिरहेको चिडियाखानामा पछिल्लो समय अवलोकनकर्ताको भीड नै लाग्ने गरेको छ । उहाँका अनुसार अवलोकनकर्ता बढेकै कारण विगत वर्षमा भन्दा यस वर्ष आम्दानीको लक्ष्यसमेत बढाइएको छ । विगतका वर्षमा वार्षिक रु १४ देखि १६ करोड आम्दानी गर्दै आएको चिडियाखानाले यस वर्ष रु २० करोड आम्दानी गर्ने लक्ष्य लिएको छ ।

 “यही अनुपातमा अवलोकनकर्ता आउने हो भने लक्ष्यमा पुग्न हामीलाई कठिन छैन । यहाँको आम्दानीको स्रोत भनेको अवलोकनकर्ताबाट आउने प्रवेश शुल्कवापतको रकम नै हो”, अधिकारी कोइरालाले भन्नुभयो । 

हाल चिडियाखानामा एक सय १० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छन् । त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन् । ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन् । नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ । चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु सात सय ५०, सार्क देशका लागि रु पाँच सय, नेपालीलाई रु दुई सय तथा नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिएको छ । 

अवलोकनका लागि तीर्ने शुल्कबाट नै चिडियाखानाले कर्मचारीलाई तलब भत्ता र जीवजनावरलाई खाना खुवाउनेलगायत सबै व्यवस्थापनको काम गर्दै आएको छ । तत्कालीन राणा प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा यहाँ निजी चिडियाखानाका रूपमा स्थापना गरेका थिए ।

विसं २०११ देखि सर्वसाधारणका लागि खुला गरिएको चिडियाखाना विसं २०५२ देखि व्यवस्थापनको जिम्मेवारीसहित राष्ट्रिय प्रकृति संरक्षण कोषबाट सञ्चालित छ ।

पाँचखाल खानेपानी आयोजना : सात हजार घरमा पानी पुर्याइने

काभ्रे-सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम तीव्रगतिमा अघि बढाइएको छ । विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र सो कार्य सम्पन्न हुने भएको छ ।

विसं २०७६ भदौमा सम्झौता गरिएको सो आयोेजनाको काम २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो । कोरोना महामारीलगायत कारणले सामग्री अभाव भएपछि एक वर्ष म्याद थपिएको हो । सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र काम सक्ने उल्लेख गरेको थियो ।

नगरको १३ मध्ये १० वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको हो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । प्रतिउपभोक्ता परिवारले खानेपानी आयोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरेका छन् ।

हाल आयोजनाको काम ८५ प्रतिशत सकिएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । “केही स्थानमा पानी परीक्षण समेत गरिएको छ”, उहाँले भन्नुभयो । दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने बताइएको छ । आयोजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएका छन् । हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ ।

अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० कामदार खटिएको बताउनुभयो । पाँचखालमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका–१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्याउने काम भइसकेको छ । करिब चार हजार घरमा धारा जडानको काम सकिएको लामछिानेले बताउनुभयो ।

अव्यवस्थित बसोबासी समस्या हल नहुँदा सम्पन्न भएन वाग्मती करिडोर

निर्माण सुरु भएको साढे दुई दशक बित्दासमेत अव्यवस्थित बसोबासका कारण वाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्र्याक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्र्याक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताउनुभयो ।

बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै खुलेको छ भने अर्कातर्फ खुल्न सकेको छैन । तिलगङ्गाबाट अगाडि देब्रे सडक मात्रै खुलेको छ । उहाँले भन्नुभयो, “तीनकुने पुलबाट दायाँतर्फ सिनामङ्गल पुल नजिकै दुई किमी सडक खुल्न सकेको छैन ।”

अव्यवस्थित बसोबासीका विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती स्थानमा सडक निर्माण गर्न सकिने उहाँले बताउनुभयो । तिलगङ्गादेखि सिनामङ्गलसम्म पाँच÷छ सय र थापाथलीमा दुई सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने स्थानमा रहेको छ ।

राष्ट्रिय भूमि आयोगले पहिले त्यस समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने सूचना अधिकारी अर्यालले बताउनुभयो । आयोग र सम्बन्धित स्थानीय तहको भूमिका बढी रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “वास्तविक सुकुम्बासी को हुन् को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।”

तीनकुनेबाट बुद्धनगर हुँदै थापाथलीसम्मका खण्डमा सडक बनिसकेको छ । शङ्खमूलमा च्यासल मैदानबाट मनोहरातर्फबाट आउँदाका खण्डमा ट्र्याक खुल्न बाँकी रहेको अर्यालले बताउनुभयो । शङ्खपार्क क्षेत्रमा काठमाडौँतर्फ ट्र्याक खुलेको छ भने ललितपुरतर्फ खुलेको छैन । शङ्खमूलबाट ललितपुरतर्फ निरन्तर जाँदा चक्रपथ बल्खु हुँदै सुन्दरीघाटसम्म सडक पुग्छ । सुन्दरीघाटबाट पनि अस्थायी बाटो चोभारको मोर्डन इन्डियन स्कुलको अगाडिसम्म पुगेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म गर्न सकिँदैन ।”

विष्णुमती दोभानबाट अघि बढ्दा फलफूल बजारतिर अघि ट्र्याक खुलेको र अबका दिनमा त्यसलाई स्तरोन्नति गरिने समितिको योजना छ । समितिको कार्यक्षेत्र बागद्वारबाट कटुवाल दहसम्म ४४ किमी हो । सुरु र अन्तिम खण्डमा निर्माण हुन बाँकी छ भने बीचका खण्डमा पनि समस्या नभएका खण्डमा मात्रै निर्माणको काम भएको छ ।

करिडोर निर्माणको काम अव्यवस्थित बस्ती भएको ठाउँमा नै बढी बाँकी रहेको समितिले जनाएको छ । अरु कतिपय ठाउँमा अरु संरचनाका कारण पनि करिडोर निर्माण अघि बढ्न नसकेको पाइएको छ । कतै विद्यालय, क्याम्पस र वृद्धाश्रमलगायतका संरचना रहेकाले निर्माण हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त्यो सारेर काम अघि बढिरहेको छ ।”

काठमाडौँका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले बताउनुभयो । 

अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु,एक सय घर ध्वस्त

अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु,एक सय घर ध्वस्त
मध्य अफगानिस्तानमा भारी वर्षासँगै आएको बाढीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय घर ध्वस्त भएका छन् । दर्जनौँ घर डुबानमा परेका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार हेरातबाट दुई सय ८० किलोमिटर पूर्वमा रहेको प्रान्तीय राजधानी फिरोजकोहमा घर भत्कँदा तीन महिला र एक बालकको मृत्यु भएको छ । मङ्गलबार परेको मुसलधारे पानी आफूले एक दशक यता कहिल्यै अनुभव नगरिएको मध्य घोर प्रान्तका तालिबान गभर्नरका प्रवक्ता अब्दुल वाहिद हमासले बताएका छन् । 

पहाडबाट वेगका साथ आएको बाढीले हेरात प्रान्तको पासाबन्द जिल्लामा एक पुरुष र एक महिलालाई बगाएको र उनीहरूको शव पछि फेला पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार हेरात प्रान्तका एक सयभन्दा बढी घर ध्वस्त भएका छन् भने दुईसय हेक्टर खेतीयोग्य जमिन नष्ट भएको छ । कृषि कार्यका निम्ति निर्मित सिँचाइ प्रणाली र नहरहरू पनि  क्षतिग्रस्त भएको छन् ।  

सन् २०२१ मा अमेरिका समर्थित सरकारको पतनसँगै तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानवीय सङ्कट गहिरिँदै गएको छ । प्राकृतिक विपत्तिको चपेटमा पनि युद्धले तहसनहस भएको यही मुलुक परेको छ । तालिबान सत्तामा आएपछि बाह्य सहायता प्रवाह शून्यप्रायः भएको छ भने विदेशी राष्ट्रले पनि काबुलका नयाँ शासकसँग व्यवहार गर्न अनिच्छा देखाएका छन् । गैरसरकारी संस्था र संयुक्त राष्ट्र सङ्घीय निकायमा अफगान महिलाहरूलाई काम गर्न तालिबानले प्रतिबन्ध लगाएर आय आर्जनका सीमित मार्गबाट समेत महिलालाई वञ्चित गरेको छ ।  

–––

प्रहरीभित्रको टक्कर सतहमा

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रकरणको अनुसन्धानले नेपाल प्रहरीभित्रको आन्तरिक टक्कर सतहमा आएको छ । एकै ब्याचका आइजिपी र एआइजिपीबीच यस्तो टक्कर सतहमा आएको हो । खासगरी आइजिपी वसन्त कुँवर र सचिव टेकनारायण पाण्डेबीचको संवादको स्क्रिन सट सार्वजनिक भएपछि प्रहरीभित्रको टक्कर सतहमा आएको हो ।

एकै ब्याचका तर अहिले आइजिपी भएका कुँवर र एआइजिपी श्याम ज्ञवालीबीचको टक्कर सतहमा आएको हो । एआइजी ज्ञवालीमा तहतमा अनुसन्धान भइरहेको भुटानी शरणार्थी प्रकरणमा एक वर्षअघि एसएसपी रहेका हालका आइजिपी कुँवर र सचिव पाण्डेबीच भएको संवाद सार्वजनिक गर्ने भूमिकामा ज्ञवाली रहेको भन्दै कुँवरले असन्तुष्टि व्यक्त गरेका छन् ।

२०७९ असार ८ गते डिआइजीमा बढुवाबाट सुरु भएको कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्रनजिकमा को पुग्ने र को महानिरीक्षक बन्ने भन्ने विवाद अहिले उत्कर्षमा पुगेको र एसएमएस संवाद सार्वजनिक भएको हो । त्यतिबेला पछाडिबाट १२ औं नम्बरमा रहेका कुँवर एक नम्बरमा बढुवा भएपछि ज्ञवाली भने ५ नम्बरमा डिआइजी भएका थिए । आफ्नो एक नम्बर बरियता कायम राख्दै कुँवर आइजिपी भएका थिए ।

त्यसअघि मन्त्रिस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालयमा गएका थिए। उनी त्यहाँ २०७९ असार १७ गतेसम्म कार्यरत रहे । त्यसक्रममा नक्कली भुटानी शरणार्थी पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते केशव दुलाल र टंक गुरुङ पक्राउ परेका थिए । तर उनीहरूलाई सामान्य सोधपुछ गरेर रेकर्ड नै नराखी सचिव पाण्डेको दबावमा छाडिएको थियो ।

सो रेकर्डमै नराखी छाडिएको घटना अहिले बाहिर ल्याइएपछि यसको दोष ज्ञवालीमाथि गएको छ । आइजिपीका प्रतिस्पर्धी भएका कारण ज्ञवालीले कुँवरबारे यस्ता विषयहरू बाहिर ल्याएको हुन सक्ने आशंका आइजिपी स्वयंले गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र

सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घटना उजागर भएको छ । स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ ।

तर यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल खडक नगरपालिका ७ वस्ने मो।मन्जुर मियाँको २२ वर्षिय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा न गरी सवारी चालक अनुमती पत्र प्राप्त गरेको चकित तुल्याउने घट्ना सार्वजनिक भएको हो ।

अपहरण तथा शरिर बन्धक मुदामा उनी २०७४ बैशाख ५ गते देखी राजविराज कारागारमा छन् । तर उनको हातमा २्र०७४ साल असार ३० गते सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट वस, ट्रक, लहरी (हेवी सवारी साधन)को सवारी चालक अनुमती पत्र प्राप्त गरेको पाइएको अचम्मको घटना उजागर भएको छ ।

उनको साथमा रहेको सवारी चालक अनुमती पत्रको सिरियल नम्बर ३९९०५६१ हो । लाइसेन्स नं.०२–००–११–३४ हो । लाईसेन्सको अवधी सकिने मिति २०७९ असार ३० गते हो । लाईसेन्समा उल्लेखित नागरिक्ता नं.१६ १०७९÷३२२ र सैयद मियाँ संग रहेको नेपाली नागरिक्ताको नम्बर पनि एउटै हो । लाईसेन्स र नागरिक्ता दुबैमा बुवाको नाम मन्जुर मियाँ र ठेगाना कल्याणपुर उल्लेख छ ।

सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केका अनुसार दुर्गा प्रसाद साहको जाहेरीले चलाइएको अपहरण तथा शरिर बन्धक मुदामा मो।सैयद सहित २ जनालाई २०७४ साल बैशाख ५ गते पक्राउ गरी पुर्पक्षका लागी राजविराज कारागार चलान गरिएको थियो । त्यसपछी २०७५ साल फागुन १४ गते अदालतले मो.सैयद मियाँलाई ९ वर्ष कैद र ५० हजार रुपैया जरिवाना गरेको थियो । अदालतको आदेशमा जरिवाना रकम बुझाउन न सके सो वापत ५ महिना १६ दिन थप कैदमा राख्ने र कैद भुक्तान सकिने मिति २०८३ साल असोज २० गते रहेको समेत उल्लेख छ ।

सोही अनुसार उनी २०७४ बैशाख ५ देखि नै हाल सम्म कैद भुक्तानका लागी राजविराज कारागार मै छन् । उनी कारागार मै रहेको अवस्थामा कसरी सवारी चालक अनुमती पत्र प्राप्त गरे भन्ने कुरा आश्चर्य र अनुसन्धानको विषय रहेको कानून व्यवसायी एवं प्रदेश सभासदस्य किरण कुमारी साहको भनाई छ । सैयदले आफन्त मार्फत सो चालक अनुमती पत्रको नविकरण गर्न खोज्दा यसको रहस्योदघाटन भएको हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया

बागलुङ- बागलुङको धललागिरि अस्पतालमा पहिलोपटक मेरुदण्डको शल्यक्रिया गरिएको छ । मेरुदण्डको हड्डी भाँच्चिएर समस्यामा पर्नुभएका बागलुङकै ५२ वर्षीय एक पुरुषकोे बुधबार शल्यक्रिया गरिएको हो ।

धवलागिरि अस्पतालका डा विनित ढकाल, डा समिर लामिछाने, डा प्रमेश थापा, डा राजन शर्मा, डा अमित ढुङ्गानालगायत चिकित्सक टोलीले मेरुदण्डको शल्यक्रिया गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रविरञ्जन प्रधानले जानकारी दिनुभयो । 

“यसअघि कम्मरको हड्डी भाँचिएको पनि शल्यक्रिया गरिएको थियो, ‘रिफर सेन्टर’का रूपमा चिनिएको अस्पतालले पछिल्लो समय विशेषज्ञ सेवालाई थप गर्दै गएको छ”, उहाँले भन्नुभयो । अहिले अस्पातलमा दैनिक चार सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका डा प्रधानले बताउनुभयो । 

यसअघि मेरुदण्डको शल्यक्रियाका लागि बिरामी पोखरा, भरतपुर, काठमाडौँलगायत ठाउँ जाने गरेका थिए । महँगो उपचारका रूपमा मानिदै आएको मेरुदण्डको शल्यक्रिया बागलुङकै सरकारी अस्पतालमा भएपछि अब अरुलाई पनि सहज हुने भएको छ । पछिल्लो समय विशेषज्ञ चिकित्सक थप भएसँगै अस्पतालले ओपिडी बाहेकका अन्य विशेष प्रकारका सेवासमेत दिन थालेको छ ।

चलचित्र ‘टुल्की’ शुक्रबारदेखि प्रदर्शन हुने

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबारदेखि देशभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माण गरेको ‘द पाल्म गुप्र प्रालि’ले बुधबार यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

चलचित्रका निर्माता शेखर लामाले नेपालको हिमाली भेगको केही ठाउँमा चलिआएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइएको जानकारी दिनुभयो । “चलचित्र टुल्कीमा डोल्पा, हुम्ला, मुगुलगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथालाई देखाइएको छ”, उहाँले भन्नुभयो । चलचित्र डोल्पा जिल्लाको से–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायत विकट गाउँबस्तीमा पुगेर छायाँङ्कन गरिएको निर्माता लामाले बताउनुभयो ।

निर्देशक देवजङ्ग थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताउनुभयो ।

चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी, वरिष्ठ कलाकार कृष्ण मल्ल, पत्रकार रामजी बगाले, फेसियल हाउसकी सञ्चालिका सुष्मा महरालगायतले चलचित्र सफलताको शुभकामना दिनुभएको थियो ।

चलचित्रको निर्देशन देवजङ्ग थापा तथा छायाँङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गर्नुभएको छ । शेखर लामाको प्रस्तुतिमा निर्माण भएको सो चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा हुनुहुन्छ । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको हो भने सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीले गर्नुभएको छ ।

चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ ।

आजको मौसमः पाँचवटा प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, ११ जेठ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको पनि स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

स्वास्थ्यकर्मीले पाँच महिनादेखि तबल पाएनन्

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएपछि हातमा कालोपट्टि बाँधेर आन्दोलन गरेका छन् । तिलोत्तमा नगरपालिकाअन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् ।

नगरपालिका कार्यालयमै  पत्रकार सम्मेलन गरी कर्मचारीले तलब नपाएपछि जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाए पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा शान्तिपूर्ण आन्दोलनमा आएको बताएका छन् ।

स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलब प्राप्तिका लागि नगरप्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरदेवी चौधरी र प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालसँग पटकपटक मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीमार्फत माथिल्लो निकायमा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको बताउनुभयो ।

पाँच महिनासम्म तलब नपाउँदा घरखर्च चलाउन समस्या भएको भन्दै स्वास्थ्यकर्मीले छिटो तलब पाउने व्यवस्थाका लागि नगरपालिकासँग आग्रह गरिएको छ । यहाँ ४५ जना दरबन्दी तथा समायोजन संशोधन, कामकाज र कोभिड काज गरी ३२ जना दरबन्दीबाहेकका कर्मचारी छन् ।

तलब नपाएको विरोधमा अहिले कालोपट्टी बाँधेर काम गरिरहेका स्वास्थ्यकर्मीले जेठ १२ गतेदेखि नगरपालिका कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको सङ्घर्ष समितिका सदस्य जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिनुभयो ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको बताउनुभयो । उहाँले स्वास्थ्यले पठाएको बजेट पुगेको र त्यसपछि बजेट नपुगेपछि सबैको रोकिएको बताउनुभयो । तर सङ्घर्ष समितिले स्वास्थ्यकर्मीको पाँच महिनाको करिब रु चार करोड तलब दिन बाँकी रहेको जनाएको छ ।
–––

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र

काठमाडौँ-नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । आउँदो असार ७ देखि १० गतेसम्म चल्ने महोत्सवमा नेपालका सुजित विडारीद्वारा निर्देशित ‘ऐना झ्यालको पुतली’, पाकिस्तानका साइम सदिकद्वारा निर्देशित ‘जोइल्याण्ड’, नेपालकै अविनाशविक्रम शाहद्वारा निर्देशित लघु चलचित्र ‘लोरी’ र दीपक रौनियारद्वारा निर्देशित ‘फोर नाइट्स’ लगायतका चलचित्र महोत्सवमा प्रदर्शन हुने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारीपछि यो वर्षका सबै प्रदर्शन भौतिकरूपमा नै आयोजना गर्न लागिएकाले उत्साहित भएका छौँ । महोत्सवमा नेपाल, अमेरिका, इजिप्ट, भारत, पाकिस्तानलगायत एघार देशका फिचर चलचित्र, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३७ चलचित्र प्रदर्शन हुनेछन् ।”

वासिङ्टन डिसी महानगर क्षेत्र स्थापित महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुने र चलिचत्र एएफआई तथा ओल्ड ग्रिनवेल्ट थिएटरमा प्रदर्शन हुने उहाँले जानकारी दिनुभयो ।

आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीको आयोजनामा सम्पन्न हुने महोत्सवमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे छलफल हुनेछ । महोत्सवका लागि आवेदन परेका चलचित्रलाई फिल्म सोसाइटीको चलचित्र छनोट समितिले प्रदर्शनका लागि छनोट गरेको थियो । म्यारिल्याण्ड राज्यमा स्थापित नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष निरन्तर महोत्सव आयोजना गर्दै आएको छ ।

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं, ११ जेठ । आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिईएको छ ।गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लाहरू काठमाडौं, ललितपुर र भक्तपुरमा मा सार्वजनिक बिदा दिईएको हो ।

मन्त्रालयद्धारा सूचनामा भनिएको छ, विसं२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ (तीन) जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने

वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।

डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।

मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । 

पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।