`

युवाले पार्टी र देशबाट के खोजिरहेको ? यो बुझ्न जरुरी : कांग्रेस नेता डा कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले युवाको सङ्ख्या देशमा घट्दै जानु सुखद नरहेको बताउनुभएको छ । शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासङ्घको स्थापना दिवसका अवसरमा आयोजित ‘राष्ट्रिय प्रशिक्षण भेला तथा चित्रकला कार्यशाला २०८०’ को समापन समरोहलाई सम्बोधन गर्दै नेता कोइरालाले युवाले खोजिरहेको कुरा बुझ्न आवश्यक रहेको बताउनुभयो ।

“युवाले पार्टी र देशबाट के खोजिरहेको ? यो बुझ्न जरुरी छ । उनीहरू देशमै नरहनु राम्रो सङ्केत होइन । युवालाई काङ्ग्रेसमा कसरी आकर्षित गर्ने विषयमा महासङ्घले समेत भूमिका खेल्नु जरुरी छ”, उहाँले भन्नुभयो । उहाँले पछिल्लो समय पार्टी जनतासँग टाढा भएको र सहर केन्द्रीत भएको स्वीकार्दै पुरानो बाटोमा पुनः यात्रा गर्न सुझाव दिनुभयो ।

नेता कोइरालाले सांस्कृतिककर्मीलाई पार्टीले चिन्न नसकेको समेत स्वीकार्नु भयो । “कलाकारलाई चिन्ने र बुझ्ने गिरिजा बाबु हुनुहुन्थ्यो । अहिले चुनावको बेलामा सहयोग चाहिँदा मात्र सम्झिने गरेका छौँ”, उहाँले भन्नुभयो, “समयानुकूल परिमार्जित गर्दै महासङ्घलाई अगाडि बढाउनु जरुरी छ । यहाँ काङ्ग्रेस नभएता पनि लोकतान्त्रिक विचार राख्ने कलाकर्मीलाई समेट्न अझै मेहनत गर्नुस् ।” उहाँले आगामी निर्वाचनमा कांग्रेसले वडा तहबाट नै एक्लै लड्नु पर्ने विचार समेत राख्नुभयो ।

भेलामा देशभरबाट सांस्कृतिककर्मीको उपस्थिति रहेको महामन्त्री शिवशङ्कर रिजालले जानकारी दिनुभयो । “सातै प्रदेशबाट प्रतिनिधि आउनुभएको छ । यस भेलाले महासङ्घलाई बढ्न मार्गदर्शन समेत दिएको छ”, महामन्त्री रिजालले भन्नुभयो । उहाँले छ महिनामा महाधिवेशन गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । भेलाको उद्घाटन दिउँसो कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले गर्नुभएको थियो ।

पशुपति वनकालीमा पार्थिव शिवलिङ्ग पूजाआजा हुने

काठमाडौँ-मानश तथा बोलबम परिवार, जनकपुरधामको आयोजनामा भोलि बिहीबार पशुपति वनकालीस्थित हंशमण्डपमा दिनभर पार्थिव शिवलिङ्ग पूजाआजा हुनेभएको छ । स्वदेश तथा विदेशमा समेत धार्मिक अनुष्ठान गर्दै आएको सो बोलबम परिवार नामक संस्थाले जनकपुरबाट ल्याएको माटोले पशुपतिनाथ परिसरमा शिवलिङ्ग बनाई पाठ, पूजा, हवन गर्न लागेको हो ।

सो संस्थाका अध्यक्ष ललन ठाकुरले बनारसबाट झिकाइएका पण्डितसहित स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन हुने धार्मिक अनुष्ठानमा ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति हुने जानकारी दिनुभयो । सो संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकैदिन दश हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको जनाएको छ ।

बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहित विभिन्न धार्मिक नगरीमा यसकिसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरकोसमेत अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति

काठमाडौँ-पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि आज जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो । बिनु यादवको सत्याग्रहका मागमध्ये यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले सरकारले यादवको माग सम्बोधनका लागि सम्पूर्ण प्रयत्न गर्ने आश्वासन दिनुभयो । “कत्रोकत्रो केसको अनुसन्धान गरिरहेका छौँ भने यो केस अनुसन्धान गर्न सक्दैनौँ र !”, उहाँले भन्नुभयो, “जहाँ अन्याय र पीडा छ त्यसलाई सम्बोधन गर्नुपर्छ भनेर हामी लागिरहेका छाँै । तपार्इंलाई हाम्रो सम्पूर्ण प्रयत्नका साथ न्याय दिन्छौँ ।”

यादवले सहमतिअनुसार आफ्नो माग पूरा गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठसँग अनुरोध गर्नुभयो । “सरकारसँग भएको सहमतिअनुसार मेरो माग पूरा नभए म आत्मदाहको बाटोसमेत रोज्नसक्छु”, उहाँले भन्नुभयो ।

अदातलमा विचाराधीन रहेका विषय अदालतबाट न्यायिक निरुपरण हुने, अन्य मागका सम्बन्धमा क्षेत्राधिकार रहेको सम्बन्धित निकायमा लेखी पठाउने, यादवको स्वास्थ्योपचार गर्ने र उहाँको जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्न महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लेखी पठाउने सहमति भएको छ ।

यादव विगत १५ दिनदेखि कालीमाटी प्रहरीलाई विसं २०७५ मा आफूमाथि जबर्जस्ती करणीको उजुरी फिर्ता गर्न लगाउने तत्कालीन प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीमाथि कारबाही र अन्य विभिन्न पाँचबुँदे मागसहित माइतीघर मण्डलामा सत्याग्रह बस्नुभएको थियो । उहाँले न्यायाधीश बद्रीप्रसाद ओली र यादवको काका ससुरा पवन कठायतलाई कारबाहीको माग गर्नुभएको थियो ।

स्थायी शान्ति र राहतको पर्खाइमा सुडान

खार्तूम – सुडानमा अमेरिका र साउदी अरबको मध्यस्थतामा भएको युद्धविराम घोषणाको दोस्रो दिन बुधबार झडपका घटना कम भए पनि युद्ध पूर्णरूपमा रोकिएको छैन । युद्धविरामको घोषणाले सङ्कटमा परेका नागरिकमा राहत कोरिडोर र युद्धबाट उम्कने बाटो चाँडै खुल्ने आशा जगाएको छ ।

राजधानीभर छिटपुट गोलाबारी अझै पनि प्रतिध्वनित भएको छ तर एक हप्ता लामो युद्धविरामको अवलोकन गरिरहेका दुई विदेशी शक्तिहरूले सोमबार अबेर युद्धविराम लागू भएदेखि खार्तूममा लडाईं ‘कम तीव्र’ देखिएको बताएका छन् ।

युद्धरत पक्षहरूले युद्धविरामको पूर्वसन्ध्यामा सैन्य लाभ लिन खोजेको मा ‘चिन्ता’ व्यक्त गरे र ‘दुवै पक्षले सम्झौताको उल्लङ्घन गरेको सङ्केत गर्ने’ रिपोर्टहरू आएका वासिङ्टन र रियादले जनाएका छन् ।

अप्रिल १५ मा युद्ध सुरु भयो, जसका कारण हजारौं विदेशीहरूले सुडान छोडेका छन् भने १० लाखभन्दा बढी सुडानीहरू आन्तरिक वा बाह्यरूपमा आफ्नो घर छोड्न बाध्य भएका छन् ।

सुडानका नेता सेना प्रमुख अब्देल फतह अल बुरहानले अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उहाँका पूर्व सहयोगी मोहमद हमदान डग्लोसँग प्रतिस्पर्धा गरिरहेका छन् ।अत्यधिक गर्मी, विद्युत् आपूर्ति बन्द र खाद्यान्न, औषधि र अन्य खाद्यान्नको चरम अभावबीच लाखौं मानिस लडाकु र घुमन्ते लुटेराहरूबाट लुक्न घरभित्रै थुनिएका छन् ।

सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकार विज्ञ राधुआने नुइसरले युद्धको भयवहको चित्रण गर्दै भन्नुभयो, “पूरै देशलाई बन्धक बनाइएको छ । मानिसहरू एक्लो र परित्यक्त महसुस गरेका भेटिन्छन् ।”

यद्यपि, उनीहरूले सुडानका जनतालाई ‘जीवन रक्षक सहायता प्रदान गर्ने’ तयारी भइरहेकोमा जोड दिए । पाँच हप्ताभन्दा बढीको लडाईको सामना गरेको सुडानी नागरिकले युद्धबाट अतालिएको बताएका छन् । युद्धका कारण एक हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युद्धमा हजारौँको सङ्ख्यामा घाइते भएका छन् ।

अजय देवगनको फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने

अभिनेता अजय देवगन र तब्बू स्टारर फिल्म ‘दृश्यम’ अब कोरियन भाषामा रिमेक हुने भएको छ ।फ्रान्सको कान्समा जारी कान्स फिल्म फेस्टिभलको इण्डिया पेभिलियनमा हालै फिल्मको कोरियन रिमेकको घोषणा गरिएको हो । हिन्दी, मलयालम, तमिल, कन्नड, तेलुगु भाषामा हिट यो फिल्मको अब कोरियन रिमेक हुन लागेको हो ।भारतीय प्रोडक्सन कम्पनी पानोरामा स्टुडियो र वार्नर ब्रदर्सका पूर्व कोरियन प्रमुख जे चोईले स्थापना गरेको एन्थोलोजी स्टुडियोज, ‘पारासाइट’ अभिनेता सोङ कांग–हो र निर्देशक किम जी–वूनले कोरियन रिमेकको जिम्मेवारी लिएका हुन् ।

दिवंगत निशिकान्त कामतद्वारा निर्देशित ‘दृश्यम’ को पहिलो संस्करण विजय सलगांवरको वरपर घुमेको छ । जसको साधारण संसार एक आकस्मिक मृत्युपछि बिग्रन्छ । जसमा उनको परिवार र आफूलाई कानूनबाट बचाउनका लागि हतास निर्णय लिइएको देखाइएको छ । फिल्ममा कमलेश सावन्तको पनि अभिनय छ ।

फिल्मका निर्माता कुमार मंगत पाठकले पहिलोपटक कुनै हिन्दी फिल्मलाई कोरियन भाषामा रिमेक गर्न लागेकोमा खुशी व्यक्त गरेका छन् । ‘कैयौं वर्षदेखि हामी कोरियन फिल्मबाट प्रेरित छौं । अब हाम्रो एक फिल्मबाट उनीहरुले प्रेरणा खोज्नेछन् । भारतीय फिल्मका लागि योभन्दा ठूलो उपलब्धी के नै हुनसक्छ र ?’ उनले भनेका छन् ।

वार्नर ब्रदर्शका कोरियन पूर्व प्रमुख जेले ‘दृश्यम’लाई कोरियन भर्सनमा रिमेक गर्न लागेकोमा गर्व महशुस गरेको बताएका छन् । ‘हामी कोरियाली फिल्मको मौलिकलाई जीवित राख्दै एक व्यापक रुपले सफल हिन्दी फिल्मको रिमेक बनाउने अवसर पाउँदा रोमाञ्चित छौं । कोरिया र भारतको बीच पहिलोपटक प्रमुख सह–निर्माणका रुपमा यसको रिमेक गर्नु अझ महत्वपूर्ण कुरा हो ।’, उनले भनेका छन् ।

नक्कली मदिरा बनाई बिक्री गर्ने पक्राउ

रुपन्देही – राजश्व छल िनक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

अम्बिका ट्रेडर्स सञ्चालक पन्थी र पठानलाई राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गरेको भन्ने गोप्य सूचना आधारमा पक्राउ गरिएको हो ।

प्रवक्ता अर्यालका अनुसार उनीहरूले स्थानीय फिरोज खानको घरमा कोठा भाडामा लिइराखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ वटा, सिग्नेचरको खाली बोतल ४८ वटा, ओल्ड दरबार लेखेको खाली बोतल १६ वटा, गोल्डेन ओक लेखेको खाली बोतल नौ वटा, सिग्नेचर १८० एमएलको १२ बोतल बरामद गरिएको छ ।

यस्तै सिग्नेचर ३७५ एमएलको दुई बोतल, गोल्डेन ओक १८० एमएलको चार बोतल, ओल्ड दरबार रेगुलर १८० एमएलको तीन बोतल, ओल्ड दरबार रेगुलर ३७५ एमएलको एक बोतल, १८० एमएलको एटएटफोरएट ४१ बोतल, जारको भाँडामा रहेको रक्सी जस्तो तरल पदार्थ एक लिटर बरामद गरिएको छ । बरामद खरिएको समान तथा व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

फिल्म ‘पुष्पा २’ मा रणवीर सिंह पनि जोडिने, प्रहरी अधिकृतको भूमिका निभाउने

साउथ अभिनेता अल्लू अर्जुन हालका दिनमा आफ्नो सुपरहिट फिल्म ‘पुष्पा’को सिक्वेलल ‘पुष्पा २’को सुटिङ गरिरहेका छन् । अब यो फिल्ममा अभिनेता रणवीर सिंह पनि जोडिने भएका छन् । फिल्ममा उनले प्रहरी अधिकृतको भूमिका निभाउनेछन् ।

रणवीरले यसअघि फिल्म ‘सिम्बा’ र ‘सूर्यवंशी’मा प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका थिए । फिल्म ‘पुष्पा २’मा रणवीरले पुष्पा राजको परिचय गराउनेछन् । फिल्ममा रणवीरको भूमिका महत्वपूर्ण हुने बताइएको छ ।

फिल्मका निर्देशक सुकुमारले फिल्मा ठूला ठूला कलाकारको केमियो हुने बताएका छन् । उनले फिल्मको तेस्रो सिक्वेल बनाउने पनि सोच बनाइरहेको खुलाएका छन् ।

महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौँ – एनएससी–काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–३ को सेटमा पराजित भएको हो । यससँगै भारत समूह ए को विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो ।

अब सेमिफाइनल खेलमा नेपालले समूह बी को विजेता काजकिस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ । भारतले सेमिफाइनलमा समूह बी को उपविजेता उक्वेकिस्तानसँग खेल्नेछ । आजको खेलमा नेपालले पहिलो सेट १२–२५ ले गुमाएको थियो । त्यसपछि नेपालले दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो ।

आरोही बुढालाई राज्यले उच्च सम्मान गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कीर्तिमानी आरोही हरि बुढामगरसहितको टोलीलाई आज सिंहदरबारस्थित कार्यकक्षमा सम्मान गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले दुवै खुट्टा गुमाउँदा पनि सगरमाथा आरोहण गरेर बुढामगर सबैको प्रेरणाको स्रोत बनेको बताउनुभयो । उहाँले बुढामगरलाई सरकारले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले संविधान दिवसका अवसरमा विभिन्न विभूषण प्रदान गर्नेगर्छ । उहाँलाई पनि सरकारले उच्च सम्मान गर्नुपर्छ र यसका लागि आफ्नो तर्फबाट पहल हुन्छ ।”

बुढामगरले हिमाल चढ्न सुरुमा अनुमति लिन जाँदा नदिएको स्मरण गर्दै आज सम्मान पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आफ्नो आरोहणसँगै विश्वमा नै नेपालमा शारीरिक अशक्त भएकालाई पनि हिमाल आरोहणका लागि स्वागत छ भन्ने सन्देश गएको बताउनुभयो । शारीरिकरूपमा अशक्त भएका व्यक्तिलाई अझै जीवन र केही नयाँ गर्न आँट र इच्छाशक्ति चाहिन्छ भन्ने सन्देश गएको बुढामगरको भनाइ थियो ।

उहाँले भन्नुभयो, “आज सम्मानित हुन पाउँदा निकै खुसी छु । यो मेरो मात्र नभई सम्पूर्ण अपाङ्गता भएका व्यक्तिको सम्मान हो । नेपालमा सबैलाई स्वागत छ भन्ने कुरा यहाँबाट सन्देश गएको छ । पहिला प्रतिबन्ध हुँदा नेपालमा स्वागत छैनजस्तो म्यासेज गएको थियो, यसले सबैलाई स्वागत छ भन्ने कुराको सन्देश दिएको छ । आफ्नो आरोहणले नेपालमा भएका र संसारमा अपाङ्ग भएका व्यक्तिले जिन्दगी सकिएको छैन, केही न केही गर्न सकिन्छ भन्ने सन्देश गएको छ ।”

बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको हो । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी (घुँडा माथिबाट दुवै अङ्गविच्छेदन)’ व्यक्तिको नयाँ विश्व रेकर्ड कायम गर्नुभएको छ ।

(प्रोस्थेटिक) कृत्रिम खुट्टाको सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।

बागमती प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा छलफल

मकवानपुर – बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा(करको प्रस्ताव बाहेक) विषयमा छलफल प्रारम्भ भएको छ ।

छलफलमा सत्तापक्षका प्रदेशसभाको सदस्यहरूले प्रदेशको १३ वटै जिल्लालाई समेटिने गरी कृषि उत्पादन, फलफूल, मौसमी तरकारी खेतीलाई आत्मनिर्भर तुल्याउन दीर्घकालीन गुरुयोजना तर्जुमा गर्नुपर्ने सुझाव दिनुभयो । उहाँहरूले कृषकलाई बीउबिजन र मल खाद्य उपलब्ध गराउन सम्बन्धित मन्त्रालयले पहलकदमी लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विनियोजित विधेयकको सिद्धान्तलाई केवल प्रचारमुखी मात्र नगरी जनताको जीवनस्तरलाई माथि उठाउन सक्ने खालका पूर्वाधार विकास, गुणस्तरीय स्वास्थ्योपचार र मेडिकल शिक्षालाई बढुवा दिई व्यवहारिकरुपमा कार्यान्वयन गर्नेगरी उच्च प्राथमिकतामा राख्नुपर्ने उहाँहरूको सुझाव थियो ।

बैठकमा बोल्ने सदस्यहरूले प्रदेश सरकारले प्रदेशमा सुशासन ल्याउन जनतालाई सरकारप्रति भरोसा दिलाउने गरी व्यवहारिक पक्षलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँहरूले कृषि उत्पादनलाई बढुवा दिने, मझौला सानो रुग्न उद्योगलाई पनि सञ्चालनमा ल्याउने र प्रत्यक्ष रोजगारीको अवसर दिलाउने किसिमका आयोजना प्रस्ताव गर्नुपर्ने बताउनुभयो ।

ग्रामीण बस्तीमा विद्युतीकरण, खानेपानी, कृषि सडक, स्वास्थ्यचौकीको निर्माण गर्न र शैक्षिक गुणस्तरीय दक्ष जनशक्ति उपलब्ध गराउन पनि पाठ्यसामग्री वितरण गर्न पनि बजेटको प्राथमिकतामा पर्नुपर्नेमा सदस्यहरूको जोड थियो ।

भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान ऐन कानुनलाई परिमार्जन गरी अगाडि बढाउनुपर्ने र जुनसुकै दलको नेतृत्वले भ्रष्टाचार एवं त्यस्ताखाले क्रियाकलामा संलग्न भएको थाहा पाएमा सरकारले कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँहरूको माग थियो ।

यसैगरी प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारले अघिल्लो वर्षझै यस वर्ष पनि विनियोजन विधेयक सैद्धान्तिक र प्राथमिकतामा हुबहु शब्दावली राख्नु न्यायोचित नभएको टिप्पणी गर्नुभयो । उहाँहरूले जनतालाई मौसमी खेतीको लागि अत्यन्तै आवश्यक पर्ने मल खाद्य, बीउको समयमै किसानलाई उपलब्ध गराउनेतर्फ बजेटले प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रदेशको १३ वटै जिल्लामा कृषि उत्पादन हुने धेरै जग्गा बाँझो रहेको तर सरकारले ती किसानको मर्म र समस्या बुझ्न नसक्दा वर्तमान अवस्थामा कृषि उत्पादन र फलफूल उत्पादनमा ह्रास आएको भन्दै उहाँहरूले बाह्य मुलुकबाट खाद्यान्न (चामल, तरकारी, फलफूल) आयात गर्नुपर्ने कारणसहित विधेयक बनाउन सुझाव दिनुभयो ।

बजेटमा जेसुकै लेखिएको भए पनि अहिले सर्वसाधारण नागरिकले सम्बन्धित कार्यालयबाट सेवा सुविधा पाउनुबाट निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुहुँदै उहाँहरूले प्रदेश सरकारले ती विपन्न नागरिक, कृषकलाई भरोसा दिलाउने कार्यक्रम ल्याउन र उनीहरूलाई स्वास्थ्य उपचारको लागि दक्ष चिकित्सक अस्पतालमा गुणस्तरीय सेवा पुर्याउनेतर्फ पनि नीतिगत कार्यक्रममा समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी उहाँहरूले प्रदेशको विभिन्न जिल्लामा रहेका सुकुम्बासी र अवस्थित बसोबासीलाई स्थायी बसोबासको लागि जग्गा धनीको पुर्जा, रोजगारीको अवसर र विपन्न कृषकलाई अनुदानमा पशुपालन, कृषि उत्पादनको लागि ऋण उपलब्ध गराउन पनि सरकारले छुट्टै कार्यक्रम ल्याउन आग्रह गर्नुभयो ।

प्रदेशको १३ जिल्लाको एक सय १९ वटै स्थानीय निकायलाई अझ प्रभावकारी ढङ्गबाट परिचालन गरी सर्वसाधारणलाई सेवा सुविधा सहज ढङ्गबाट उपलब्ध गराउने र उनीहरुलाई प्रदेश सरकार र स्थानीय निकाय हाम्रै हो भन्ने खालको बजेट ल्याउन अग्रसर हुनुपर्नेमा प्रदेशसभा सदस्यको जोड थियो ।

विनियोजित विधेयकको सैद्धान्तिक पक्षमा प्रदेशसभा सदस्य तारानाथ श्रेष्ठ, मायादेवी शर्मा, आनन्द मोहन श्रेष्ठ, कुमारी तामाङ, डा दिनेशचन्द्र देवकोटा, भरतबहादुर केसी, रामप्रसाद ढुङ्गानाले छलफलमा सहभागी हुनुभई सुझाव प्रस्तुत गर्नुभएको थियो ।

आजै बसेको प्रदेशसभाको पहिलो बैठकमा सभामुख भुवनकुमार पाठकले संसद्को मौजुदा कार्यव्यवस्था परामर्श समितिको सदस्यमा हेरफेर गर्नु भई तीन जना सदस्य थप मनोनित गर्नुभएको थियो । मनोनीत हुने सदस्यमा श्रीराम लामिछाने, कुमारी तामाङ र गिरबहादुर तामाङ हुनुहुन्थ्यो । सोही बैठकले उक्त नामावलीलाई स्वीकृति प्रदान गरेको थियो । प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाको बैठक भोलि जेठ ११ गने बिहीबार बिहान ८ बजे बस्ने गरी स्थगित गर्नुभयो ।

भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता छैन : नेपाल प्रहरी

काठमाडौँ – नेपाल प्रहरीले भूटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षकको कुनै संलग्नता नरहेको बताएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले आज एक विज्ञप्ति जारी गरी नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरको कुनै संलग्नता नरहेको बताउनुभएको हो ।

“कुनै आधार, तथ्य र प्रमाणविना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारप्रति नेपाल प्रहरी प्रधान कार्यालयको पूर्ण असहमति रहेको छ”, प्रवक्ता कडायतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले कुनै दुई व्यक्तिले गरेको संवादकै आधारमा शरणार्थी प्रकरणका आरोपितबाट प्रहरी प्रमुख स्वयंले नै आर्थिक फाइदा लिएको भन्ने अतिशयोक्ति तथ्य स्थापित गर्न खोजी प्रहरी महानिरीक्षकलाई विवादमा तानिनु अत्यन्त निन्दनीय भएको बताएको छ ।

प्रवक्ता कडायतले नक्कली भूटानी शरणार्थी प्रकरणमा नेपाल प्रहरीले नै सफल अनुसन्धान गरी मुद्दा पेस गरिसकेको अवस्थामा कल्पितरूपमा समाचार बनाई आरोपित भगाउन प्रहरी महानिरीक्षक नै संलग्न भएको प्रचारबाजी गरिनु सङ्गठनकै लागि अत्यन्त दुःखद् रहेको बताउनुभयो ।

“नेपाल प्रहरी सदैव संविधान, कानून र सङ्गठनको आफ्नै मूल्यमान्यतामा अडिग रही दोषी नछुटुन्, निर्दोष नफसुन् भन्नेमा सचेत र प्रतिबद्ध छ”, विज्ञप्तिमा भनिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले प्रहरी महानिरीषकले नक्कली भूटानी शरणार्थी प्रकरणमा आरोपीलाई जोगाउन भूमिका खेलेको भन्दै उहाँलाई निलम्बन गरी सत्यतथ्य छानविन गर्नुपर्छ भनी गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

व्यापार घाटा न्यूनीकरणमा लागौँ : मन्त्री रिजाल

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले व्यापार घाटा न्यूनीकरण गर्न आआफ्नो क्षेत्रबाट इमान्दारिताका साथ भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । बुधबार मन्त्रालयमा आयोजित व्यापार घाटा न्यूनीकरण कार्ययोजना र नेपाल व्यापार एकीकृत रणनीतिको कार्यान्वयनसम्बन्धी बैठकमा उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।

नेपालमा नीति बन्ने तर कार्यान्वयनमा कम जाने तथा कार्यान्वयनमा लगिएका नीतिले पनि वाञ्छित नतिजा हासिल गर्न नसकेको भनी आलोचना हुने गरेको जनाउँदै मन्त्री रिजालले व्यापार घाटा न्यूनीकरणमा सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभयो ।

“नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयन खाकाबमोजिम आवश्यक साधन स्रोतको व्यवस्था गरी लक्षित क्रियाकलाप सञ्चालन गर्ने, निर्धारित सूचक प्राप्त गर्ने र सोको माध्यमबाट उल्लेख्यमात्रामा निर्यात व्यापार प्रवद्र्धन, व्यापार घाटा न्यूनीकरण तथा विदेशी मुद्रा प्राप्तिको वर्तमान अवस्था सुधार गर्न सफलता प्राप्त हुनेछ”, मन्त्री रिजालले भन्नुभयो ।

नेपालले विगत केही वर्षदेखि सामना गरिरहेको बढ्दो व्यापार घाटालाई सम्बोधन गर्न २०७९ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकबाट व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना स्वीकृत भएको थियो । गत वैशाख २६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल व्यापार एकीकृत रणनीति, २०८० स्वीकृत गरेको थियो ।

सिलिन्डर पड्केर घाइते वृद्धको हेलिकप्टरमार्फत उद्धार

खलङ्गा – दार्चुलाको नौगाड गाउँपालिका–३ जामिरमा सिलिन्डर ग्यास पड्किँदा ८० वर्षीय अमरसिंह ठगुन्ना गम्भीर घाइते हुनुभएको छ । बुधबार बिहान ७ः३० मा चिया पकाउने क्रममा सिलिन्डर पड्किएर ठगुन्ना गम्भीर घाइते हुनभएपछि उहाँलाई तत्काल गोकुलेश्वर अस्पताल ल्याइएको थियो।

आगलागीमा परी गम्भीर घाइते भएका वृद्धको जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताउनुभयो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ – सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन् । मुद्दा दर्ता गरेपछि जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले भन्नुभयो, “३० जनाविरुद्ध मुद्दा दर्ता भएको र १६ जना पक्राउ परिसकेका छन्, फरार रहेका १४ जनाको हकमा अदालतबाट म्यादपूर्जी जारी गरेर खोजिन्छ र उनीहरुको सम्पत्ति रोक्का हुन्छ ।” अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ ।

दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।

जिल्ला न्यायाधिवक्ता खत्रीका अनुसार निजहरूविरुद्ध रु २७ करोडभन्दा बढीको बिगो रहेको छ भने कैद सजाय ठगी र किर्तेमा सात वर्ष कैद, राज्यविरुद्धको कसुरमा पाँच वर्ष कैद र जरिवाना पनि छ । सङ्गठित र एकीकृत कसुरमा कानूनअनुसार गरिनेछ ।

तथ्य र प्रमाणका न्याय दिनुपर्छ : कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायका उपभोक्तालाई तथ्य र प्रमाणका आधारमा न्याय दिनुपर्ने बताउनुभएको छ ।

‘न्याय : अवधारणा एक परिप्रेक्ष्य अनेक’ पुस्तकको आज सार्वजनिक गर्दै उहाँले तथ्य र प्रमाणका आधारमा नै न्याय दिनुपर्ने बताउनुभयो । पुस्तक निकै पठनीय र सङ्ग्रहणीय भएको उल्लेख गर्दै उहाँले सबैलाई उपयोगी हुने उक्त पुस्तक पढ्न आग्रहसमेत गर्नुभयो ।

“पूर्वीय दर्शनबारे हामीलाई नै थाहा छैन, पश्चिमाले पूर्वीय दर्शनकै विषयमा लेखेका पुस्तक किन्छौँ”, कामु प्रन्या कार्कीले भन्नुभयो, “न्यायको पूर्वीय दर्शनको हामीले नै सोध गर्नु जरुरी छ ।”

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले तर्क र प्रमाणबाट न्याय कसरी दिलाउन सकिन्छ भनेर पुस्तकमा स्पष्ट लेखिएको बताउनुभयो । उहाँले पूर्वीय दशर्नमा न्याय भनेको अनुभूति भएको बताउनुभयो ।

पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता डा युवराज सङ्ग्रौलाले समाज र न्यायको उत्थान गर्ने हो भने अनुसन्धान गर्नुपर्ने र पश्चिमी प्रयोग छाड्पर्ने बताउनुभयो । वरिष्ठ अधिवक्ता लक्ष्मीप्रसाद मैनालीले न्याय दर्शनको विषयमा लेखिएको पुस्तक अत्यन्तै कम भएको र यो पुस्तक न्याय क्षेत्रकै लागि उपयोगी भएको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक न्यायको विकास कसरी सुरुआत भयो भन्ने कुरा उल्लेख भएको र दशर्नमा आधारित पुस्तक भएकाले महत्वपूर्ण रहेको बताउनुभयो ।

पुस्तकका लेखक अधिवक्ता रवीन्द्र भट्टराईले पुस्तक बुद्ध दर्शनबाट प्रभावित भएर लेखिएको र सबैले पढ्दा राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । पुस्तकमा पौरस्त्य न्याय प्रणालीलाई एउटा मौलिक प्रणालीका रूपमा शोधमूलक गर्ने प्रयास भएको जनाइएको छ ।

लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आह्वान

लुम्बिनी – लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट आह्वान गर्नुभएको छ ।

प्रदेश प्रमुख कार्यालयबाट आज जारी विज्ञप्तिमा प्रदेश सरकार, मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीबाट मङ्गलबार सिफारिस भई आएकाले सभाको दोस्रो अधिवेशन आह्वान भएको जनाइएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही जेठ १२ गते शुक्रबार दिनका १ बजे प्रदेशसभा भवन, राप्ती उपत्यका (देउखुरी) मा प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस्तै प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले संविधानको धार १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको बजेट अधिवेशन आह्वान गर्नुभएको लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम १ बमोजिम सूचना जारी गरिएको उल्लेख गर्नुभएको छ ।

सारको पहिलो सातादेखि अष्ट्रेलियाको सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

काठमाडौँ – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ ।

सिड्नी विमानस्थलले निगमलाई सातामा दुई उडानका लागि अनुमति र स्लट दिएको हो । विमानस्थलले बिहीबार र शनिबारका लागि स्लट दिएको निगमले उल्लेख गरेको छ ।

विमानस्थलबाट उडानका लागि अनुमति पाएसँगै निगमले अष्ट्रेलियाली नागरिक उड्डयनसँग उडान अनुमतिका लागि आवश्यक कागजात बुझाएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमको जहाज तत्काललाई सिङ्गापुरमा ‘टेक्निकल अवतरण’ गरेर सिड्नी उड्नेछ ।

“आगामी असार ६ गते (जुन २१ तारिख) लाई लक्षित गरेर उडान स्वीकृतिका लागि स्लट, अवतरण पर्मिटलगायतका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको छ, स्लट पाइएको छ, बाँकी प्रक्रियामै छ”, उहाँले भन्नुभयो । उडानका लागि निगमले हाल जिएसए (जनरल सेल्स एजेन्ट) छनोट लगायत प्रक्रिया पनि अगाडि बढाएको छ ।

त्यस्तै, निगमले सिङ्गापुर र सिड्नीमा इन्धनका लागि पनि कम्पनी छनोटको काम गरिरहेको उल्लेख गरेको छ । सिङ्गापुर र सिड्नी विमानस्थलका लागि एमआरओ (मेन्टेनन्स, मर्मत र अपरेशन) समेत छनोट गरिसकेको छ । निगमले वाइडबडी ‘ए’ ३३० जहाजबाट अष्ट्रेलियाको सिड्नीमा सिधा उडानको तयारी गरेको जनाएको छ ।

मलेसिया–भैरहवा एघार हजार चार सय ६१ मै उडाउने

वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु ११ हजार चार सय ६१ कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो ।

“मलेसिया–भैरहवा–काठमाडौँका लागि अत्यन्तै सस्तो शुल्कमा टिकट उपलब्ध गराएका छौँ”, निगमका सहायक प्रवक्ता घिमिरेले भन्नुभयो । उहाँका अनुसार मलेसिया–भैरहवाका लागि रु एघार हजार चार सय ६१ र मलेसिया–भैरहवा–काठमाडौँका लागि रु १२ हजार तीन सय ४६ भाडादर कायम गरिएको छ ।

निगमको उडान नम्बर आरए ४२१ जहाज जेठ २९ गते काठमाडौँबाट मलेसियाको क्वालालम्पुर उडान गर्ने र जेठ ३० गते आरए उडान नम्बर ४२२ जहाज क्लालालम्पुरबाट भैरहवा हुँदै काठमाडौँ आइपुग्ने उडान तालिका रहेको छ । यो गन्तव्यमा निगमको न्यारो बडी ‘ए’ ३२० जहाजले उडान भर्नेछ ।

लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

काठमाडौँ – सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले स्पष्ट पारिसक्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी दिनमा लोककल्याण्कारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसक्नुभएको सञ्चारविज्ञ केसीले जानकारी दिनुभयो ।

कीर्तिमानी आरोहीलाई उपराष्ट्रपतिको बधाई

काठमाडौँ – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले दुवै खुट्टा नभएर पनि सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हरि बुढामगर र कीर्तिमानी आरोही कामिरिता शेर्पालाई बधाई दिनुभएको छ । आज एक वक्तव्य जारी गरी उहाँले पर्वतारोही कामिरिता शेर्पाले २८औँ पटक सगरमाथा आरोहण गरी नयाँ विश्व कीर्तिमान कायम गरेकामा बधाई दिनुभएको हो ।

“यी दुई सफल हिमाल आरोही बुढाथोकी र शेर्पाको लगन, धैर्य, साहस र गौरव सबैका लागि सदैव प्रेरणाको स्रोत बन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभएको छ । उपराष्ट्रपतिले उहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सगरमाथा खुट्टाले होइन आत्मबलले चढेँ : कीर्तिमानी आरोही हरिबहादुर

काठमाडौँ – सगरमाथा आरोहणसँगै मैले नयाँ कीर्तिमान कायम गरेको छु । झट्ट हेर्दा म एक्लैले सगरमाथा चढेकोजस्तो देखिन्छ । तर यथार्थमा मलाई सगरमाथा चढ्न धेरै मनकारीहरुको साथ र सहयोग छ । विशेष गरी शेर्पा पथप्रदर्शक र सहयोगी बिना यो सम्भव हुने थिएन । मेरो परिवार यतिबेला बेलायतमा छ ।

मेरो यो सफलतामा बेलायतमा रहेको परिवारले ठूलो साथ दिएको छ । त्यति मात्रै होइन, नेपाल र विश्वका कुना–कुनाबाट मलाई फोन कल र सन्देशमार्फत हौसला प्रदान गर्ने धेरै हुनुहुन्छ । म कुनै समय विक्षिप्त भइ आत्महत्या गर्ने सोचमा समेत पुगिसकेको थिए । रक्सीको लतमा फसेर जीवन बर्बाद गर्ने अवस्थासम्म आएको थियो तर त्यसबाट बाहिर निस्किर आज यो अवस्थामा आइपुग्न साथ दिने सबै मेरो यो सफलतामा म जत्तिकै हकदार हुनुहुन्छ । हामी नेपालीहरु सगरमाथा, बुद्ध र गोरखालीको देशका रुपमा विश्वभर परिचित छौँ । यी तीन वटै कुरामा म व्यक्तिगत रुपमा जोडिएको छु ।

स्कुल पढ्दा हामीले सगरमाथाबारे पढेका थियौँ । तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथा चढेका कथा सुन्दा म पनि चढ्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो । तर करिअर बनाउने सिलसिलामा ब्रिटिस आर्मीमा भर्ना हुन पुगे । त्यहाँ केही समय सेवारत भए । सेवाकै क्रममा अफगानिस्तान तैनाथ हुँदा युद्धमा परी म घाइते हुन पुगे । फलस्वरुप मेरा घुँडासम्मका दुवै खुट्टा गुमे । घाइते भएपछि मेरा पीडाका दिन सुरु भए । शारीरिक र मानसिक पीडाले लामो समयसम्म दुःख दियो । मेरो भाग्य र कर्ममै खोट रहेछ, पुरानो जन्मको फल होला भन्दै आफैलाई कैयन पटक धिक्कारेको छु ।

अब मेरो जिन्दगी नै सकियो भन्ने निचोडमा पुगिसकेको थिए । त्यही बेला पीडा भुलाउन रक्सी बाहना बन्यो । करिब डेढ वर्षसम्म रक्सीको लतमा जीवन डुब्यो । यतिसम्म कि रक्सी नपिउँदा शरीर काम्न थाल्यो । हरेक दिन रक्सी अनिवार्य जस्तै बन्यो । कतिपटक आत्महत्या गर्ने सोच पलायो अहिले भन्न सक्दिन । तर आफू मरेर परिवार र सन्तानलाई किन पीडा दिनु ? भन्ने सोचले आत्महत्या पनि गर्न सकिन । लामो समयसम्म रक्सीको लतमा फसेपनि केही समयपछि भने मनमा बाँच्ने रहर पलाएर आयो । घर परिवार र सन्तानको मायाले मलाई आफू बाँच्नुपर्छ भन्ने लाग्यो । म आफूलाई खेल तथा साहसिक गतिविधिमा केन्द्रित गराए । यो मेरो जीवन परिवर्तन गर्न सहयोगी बन्यो । यसैक्रममा स्की खेल्न युरोप र अमेरिकामा पनि पुगे । एड्भेञ्चर खेल खेल्दा विद्यालयमा छँदा पढेको आफ्नै सगरमाथाको तस्बिरले पछ्याउन थाल्यो ।

विश्वका अन्यत्र स्थानका हिमाल देख्दा सगरमाथाको झल्को अझ बढ्न थाल्यो । यसबीच मैले माउन्टेनरिङसम्बन्धी तालिम लिएँ । माउन्टेन प्रशिक्षक भएर काम पनि गरेँ । अपाङ्गता भएर पनि स्की खेल खेल्ने नेपालमा पहिलो खेलाडी पनि बने । तालिमका क्रममा गोसाइँकुण्डसम्म पुगे । हाइ अल्टिच्युडमा कस्तो हुन्छ ? शारीरिक रुपमा सम्भव छ वा छैन भन्ने अनुभव भयो । स्की खेल्दा सुरुमा दुवै खुट्टाले खेले पनि पछि बसेर खेल्न थाले । जर्मनी र अष्ट्रियामा रहँदा भेटिएका म जस्तै १२÷१५ जना साथीहरुका बीचमा आफूलाई अब्बल सावित गर्न सफल भएँ । यी सबै अनुभवले मलाई इच्छाशक्ति भयो भने असम्भव केही छैन भन्ने पाठ सिकायो । मलाई सगरमाथा चढ्नका लागि भने लामो समय लाग्यो । मैले सन् २०१८ मै सगरमाथा आरोहणको योजना बनाएको थिएँ । तर सरकारले दुई आँखा र दुई खुट्टा नहुनेलाई आरोहणमा प्रतिबन्ध लगायो । यसका विरुद्ध हामी अदालत गयौँ र त्यहाँबाट बाटो खुल्यो । सन् २०१९ मा आरोहणका लागि आवश्यक रकम जुटाउन सकिन । त्यसपछि कोरोना महामारीका कारण योजना पाँच वर्ष पछाडि धकलियो । तर यसपटक भने सफल भएँ ।

मलाई धेरैले प्रश्न गर्छन्, दुवै खुट्टा नभएकाले कसरी सगरमाथा चढिस ? म भन्छु, मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ । यसअघि मैले मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका हिमाल आरोहण गरिसकेको छु । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काई ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि मेरो नाममा छ । आधार शिविरमा १८ दिन सगरमाथा आरोहणका क्रममा हामी अप्रिल ५ मा मेरापिक बस्यौँ । दुई पटक मेरापिक चढेपछि हामी सगरमाथाको आधार शिविर पुग्यो । मौसम बिग्रिएकाले आधार शिविरमा १८ दिन बस्यौ । मौसम सफा हुँदै गएपछि दोस्रो आधार शिविरतर्फ लाग्यौँ । त्यहाँ मौसमले साथ नदिएपछि म पहिलो आधार शिविर फर्किए । साथीहरुले त्यहीँ बसेर अन्य व्यवस्थापकीय काममा जुट्नुभो । जब मौसम अनुकुल भयो हामी सगरमाथा चढ्न सक्यौँ । सगरमाथा आरोहणमा निकै ठूलो पीडा भोग्यौँ । समूहका सबै साथीहरु चुचुरोसम्म पुग्न सक्नुभएन । सगरमाथा चुचुरोबाट धेरै फोटो खिच्ने र त्यहाँबाट हिमालहरु हेर्ने सपना भने मौसम बिग्रिएकाले पूरा हुन सकेन । अब मैले बाँकी जीवन सामाजिक काममा सक्रियताक साथ बिताउने योजना बनाएको छु । पुरानो उपलब्धिका आधारमा सामाजिक कार्यमा सक्रिय हुनेछु । मलाई जस्तै अवस्था अरुलाई नआओस् भन्ने चाहना छ ।

अब फाउन्डेसनमार्फत सशक्तिकरणमा लाग्ने योजना बनाएको छु । यसमार्फत एकजनाको मात्रै जीवनमा सुधार ल्याउन सकियो भने त्यसले सकारात्मक ऊर्जा दिन्छ । अवसरबाट वञ्चित र साहसिक कार्यप्रति रुचि भएकालाई हौसला दिने योजना बनाएको छु । ममा अझै पनि खुट्टा गुमाउँदाको पीडा ठूलो छ । युद्धका कारण मैले दुवै खुट्टा गुमाएको छु । युद्धका कारण मेरो जीवनमा परेको असर म भुल्न सक्दिन । त्यसैले विश्वमा अशान्ति मच्चाउनेहरुलाई सगरमाथाको शीरबाट शान्तिको कामना गर्न चाहन्छु । कृत्रिम खुट्टाको भरमा सगरमाथा आरोहण गरी विश्व रेकर्ड बनाउनुभएका भूतपूर्व गोरखा सैनिक हरि बुढामगर आरोहण सकेर मङ्गलबार काठमाडौ फर्किएर पत्रकार सम्मेलनमार्फत आफ्नो अनुभव सुनाउनुभएको हो । बुढामगरलाई कृत्रिम खुट्टाले सगरमाथा चढेर विश्व रेकर्ड बनाएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटेर बधाई दिनुभयो । बुढामगरले जेठ ५ गते अपराह्न ३ः१० बजे सगरमाथाको सफल आरोहण गरी कृत्रिम खुट्टाको बलमा सगरमाथा चढ्ने पहिलो व्यक्तिका रुपमा विश्व रेकर्ड बनाउनुभएको थियो ।

यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ । कृत्रिम खुट्टा (प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झन्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो । (सगरमाथा आरोहण गरी हिजो काठमाडौँ फर्केपछिको कुराकानीमा आधारित उहाँको अनुभव राष्ट्रिय समाचार समिति (रासस) समाचारदाता सिबी अधिकारीले प्रस्तुत गर्नुभएको हो ।)

आमरण अनशनमा रहेकी यादवको जीवनरक्षा गर्न आग्रह

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले आमरण अनशनमा रहेकी बिनु यादवको स्वास्थ्यलाई ध्यान दिँदै जीवनरक्षा गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा अनशनरत यादवको स्वास्थ्यप्रति संवेदनशील भई निजको मागका सम्बन्धमा सम्बन्धित निकायबाट कानूनी कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाई व्यक्तिको जीवनको अधिकार सुनिश्चित गर्न सबैलाई आग्रह गरिएको छ ।

आफूलाई विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको र सम्बन्धित निकायमा उजुरी गर्दा पनि न्याय नपाएको एवं जबर्जस्तीरूपमा जाहेरी फिर्ता लिन लगाइएको भनी सिराहा नगरपालिका–२ की यादव विगत १५ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी र निजको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगको टोलीले अनशनस्थलमा पुगी निजको स्वास्थ्यावस्था सम्बन्धमा जानकारी लिएको छ । पहिलेदेखि नै स्वास्थ्यमा विभिन्न समस्या रहेको र अहिले लामो समयदेखि आमरण अनशनमा रहँदा निजको स्वास्थ्य अवस्था थप नाजुक बन्दै गएको अनुगमनका क्रममा पाइएको विज्ञप्तिमा जनाइएको छ ।

कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मलको अभाव हुने उनीहरुलाई चिन्ता छ ।कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ । सरकारले अन्र्तराष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टटे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । यस वर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने बेलामा डिएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिनुभयो ।

“किसानले खेती गर्ने बेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्”, उहाँले भन्नुभयो, “मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।”

कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार दुई सय मेट्रिक टन डिएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताउनुभयो । “पहिलो चरणमा एक हजार दुई सय मेट्रिक टन डिएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ”, उहाँले भन्नुभयो, “थप मल भैरहवा नाकामा आयात गरिए वितरण गर्न सकिन्थ्यो ।”

कृषि सामग्री कम्पनी धनगढीसित हाल दुई सय ५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ । कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको छ । माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ । यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।

किसान रुपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहित गर्ने गरेको बताउनुभयो । “खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैँ अभाव झेलिरहन्छौँ”, उहाँ भन्नुहुन्छ, “अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ । समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ ।”

अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । “हरेक वर्ष खेती गर्ने समयमा मल अभाव झेल्छौँ”, उहाँ भन्नुहुन्छ, “नेपाली बजारमा मल अभाव हुने, भारतबाट किनेर ल्याउँदा सीमामा दुःख दिइन्छ । हामीले खेती कसरी गर्नु ?”

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति, अनुसन्धानमा तेर्साए १६ प्रश्न

काठमाडौं, १० जेठ । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् ।भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन ।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाएका हुन । उनले सो बयान पछि १६ वटा बुदाँ (प्रश्न) अगाडी राखेका छन् । 

यस्ताे छ उनले सामाजिक सञ्जालमा राखेका बुदाँः 

१- आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।

२- गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन ।

३- केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पी ए लिला जी सी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।

४- केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५- तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६- प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन ।

७- तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८- उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन ।

९- निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।

१०- सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन ।

११- आफु अमेरिका जान खोजेको कसै सँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ।

१२- केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३- जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाँण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन ।

१४- देउबाले आज दिउँसो आफु निकटको ब्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन

१५- बयानमा खाँण लगाएतलाई बचाउने नियत प्रष्ट छ । । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

१६- रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।

यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।

घेराबन्दी तोडिएको हो र तोडिनेछः

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल । जो कांग्रेसका नेता हुन् । गएको आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए । । दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे । दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए ।

उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले)सँग जोडिएकाहरुलाई बदनाम गर्ने गरी वयान दिएका छन् । कथित वयान भनिएको एमाले विरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले वयानको अंश छानी-छानी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइरहेका छन् । अनि हाम्रा सञ्चार माध्यमहरुले उही कथालाई तथ्य जसरी प्रकाशन गरीरहेका छन् । यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो ।

सडक अतिक्रमण गरी बनाइएका मनोहरा क्षेत्रका घरटहरा हटाइँदै

भक्तपुर- मनोहरा जग्गा एकीकरण आयोजनाले आयोजना क्षेत्रभित्र रहेका अतिक्रमित घरटहरा, छाप्रो, पर्खाललगायत संचना हटाउन सुरु गरेको छ ।सडक अतिक्रमण गरी बनाइएका मनोहरा जग्गा एकीकरण आयोजना क्षेत्रभित्रका अतिक्रमित घरटहरा भत्काउने अभियान सुरु गरेको आयोजनाका उपनिर्देशक निर्मलराज बरालले जानकारी दिनुभयो । आयोजना क्षेत्रभित्रका सबै क्षेत्रमा माइकिङ गरेर अतिक्रमित घरटहरा, छाप्रो, भ¥याङ, पर्खाललगायतका संचना हटाउन सातदिने सूचना जारी गर्ने र सूचनालाई अटेर गरे त्यस्ता संरचना धमाधम आयोजनाले आफैँ डोजर लगाएर भत्काउने उहाँले बताउनुभयो ।

यसअघि अतिक्रमति घरटहरा, छाप्रा, भ¥याङ, पर्खाललगायतका संरचना हटाउन आयोजनाले २०७९ भदौ ५ र फागुन १७ गते सूचना प्रकाशित गरेको थियो । ती सबै क्षेत्रमा पटक–पटक माइकिङ गरेर सूचना जारी गर्नुका साथै घरघरमा गएर सूचना टाँस गर्दा पनि अटेर गरेकाले घरटहरा भत्काउन थालिएको गरेको बरालले बताउनुभयो ।

अभियानअन्तर्गत आयोजनाले मध्यपुरथिमि नगरपालिका–१ मनोहरा पुलसँगै आयोजनाको क्षेत्राधिकारभित्र सडकको मापदण्ड मिचेर बनाइएका तीन टहरा मङ्गलबार भत्काएको छ । यसलाई तीव्रता दिँदै भक्तपुर र काठमाडौँतर्फका सबै अतिक्रमित संरचना भत्काइने उहाँले बताउनुभयो ।

मनोहरास्थित टहरामा बस्दैआएकाहरूले उच्च अदालत पाटनमा रिट निवेदन दिए पनि उच्च अदालतले २०८० जेठ ४ गते अन्तरिम आदेश नदिई खारेज गरेको र अदालतले रिट खारेज गरिदिएपछि आयोजनाले माइकिङ गर्दै अतिक्रमित घरटहरा हटाउन पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेकाले बाध्य भएर डोजर चलाएको उहाँले जानकारी दिनुभयो ।

आयोजनाले भदौ २९ गते पनि अतिक्रमित संरचना हटाउन १५ दिने सूचना जारी गरेको तर अटेर गरेको पटक–पटक अतिक्रमित क्षेत्र र आयोजनाभित्र माइकिङ गरेको र गतसाता मात्रै घरमै गएर सूचना टाँस गर्नुका साथै पुनः माइकिड गर्दा पनि अटेर गरेको उपनिर्देशकको बरालको भनाइ छ । भित्री सडक खुलिसकेको, तर मुखको सडकमा संरचना बनाएर नौ मिटर चौडा सडक नै कब्जा गरेपछि संरचना भत्काइको उहाँको भनाइ छ ।

गणतन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको निर्देशन

टीकापुर- कोशी प्रदेश सरकारले १६औँ गणतन्त्र दिवस तीन दिन भव्यरूपमा मनाउने निर्णय गरेको छ । मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले यही जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जेठ १४ गते विराटनगर महानगरपालिको नेतृत्वमा नगर क्षेत्रका ऐतिहासिक तथा धार्मिक सम्पदाको सरसफाइ गर्ने, जेठ १५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा औपचारिक समारोह गर्ने र लोकतन्त्रको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका पत्रकारलाई सम्मान गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिनुभयो ।

गणतन्त्र दिवसका अवसरमा वन, पर्यटन तथा वातावरण मन्त्रालयले विभिन्न स्थानमा वृक्षरोपण गरिनेछ । प्रदेश सरकारले दिवसका अवसरमा तीन दिन सर्वसाधारण नागरिकदेखि सरकारी कार्यालयमा दीपावली गर्न आग्रह गरेको छ । मुख्यमन्त्री कार्कीले गणतन्त्र दिवसका अवसरमा एक सय ३७ वटै स्थानीय तहमा कार्यक्रम गर्नका लागि प्रमुख जिल्ला अधिकारीमार्फत परिपत्र गर्न निर्देशन दिनुभएको छ ।

नवनियुक्त मन्त्रीको शपथग्रहण आज

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का तर्फबाट मन्त्री नियुक्त हुनुभएका वीरेन्द्रप्रसाद महतो र राज्यमन्त्री प्रमिला कुमारीको शपथग्रहण आज हुने भएको छ ।

दुवैजनाले राष्ट्रपति कार्यालयमा आज बिहान शपथग्रहणको कार्यक्रम राखिएको जसपाले जनाएको छ । मङ्गलबार महतो वन तथा वातावरणमन्त्री तथा प्रमिला शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको हो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

प्रचण्ड सरकारको मन्त्रीपरिषद बैठक सुरु हुदैँ

काठमाडौं, १० जेठ । संघीय सरकारको मन्त्रिपरिषद् बैठक आज बस्दैछ।नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रीपरिषद बैठक बोलाईएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार नियमित कार्यसूचीमाथि छलफल गर्न बैठक बिहानै बोलाईएको हो ।

नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ । 

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि

कर्णाली -कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन आजदेखि सुरु हुने भएको छ । पहिलो अधिवेशन गत वैशाख १७ गते अन्त्य भएको थियो ।कर्णाली प्रदेश सरकारको यही जेठ ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार दोस्रो अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज दिउँसो ३ः०० बजे बैठक बस्ने गरी अधिवेशनको आह्वान गर्नुभएको हो ।

उक्त बैठकमा कर्णाली प्रदेश सरकारको आगामी आव २०८०÷८१ को नीति तथा कार्यक्रम, त्यसको सिद्धान्त तथा उद्देश्यमा रहेर बैठकमा छलफल हुने जनाइएको छ । प्रदेश प्रमुखको कार्यालयको अधिवेशन आह्वानको पत्र प्राप्त भएबमोजिम कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम (३) बमोजिम सबै सभा सदस्यलाई आजको बैठकका लागि जानकारी गराइएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

वडास्तरीय फुटबल : सेमिफाइनलका खेल आजदेखि

पोखरा- पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा जारी वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलका खेल आजदेखि हुनेछन् ।मङ्गलबार सम्पन्न खेलमा पोखरा–१५, पोखरा–३०, पोखरा–१४ र पोखरा–२७ वडाको टोली विजयी हुँदै सेमिफाइनल प्रवेश गरेका छन् । खेलकुद विकास समितिका सदस्यसचिव सुवास खड्काका अनुसार वडा नं १५ ले वडा नं १३ लाई ४–१, वडा नं ३० ले वडा नं ८ लाई ३–२, वडा नं १४ ले वडा नं ३२ लाई २–० तथा वडा नं २७ ले वडा नं २४ लाई ४–३ गोलअन्तरले पराजित गरेका थिए ।

आज पहिलो सेमिफाइनल खेल वडा नं १५ र ३० बीच तथा दोस्रो सेमिफाइनल खेल वडा नं १४ र २७ बीच पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने छ । कास्की जिल्ला फुटबल सङ्घको प्राविधिक सहयोगमा भइरहेको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ ।

विजेताले रु एक लाख ५० तथा उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्यसचिव खड्काले जानकारी दिनुभयो । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु १५ हजार तथा उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । फाइनल खेल बिहीबार पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने आयोजकले जनाएको छ ।

सात कम्पनीले पाए ब्रेकर लाइसेन्स

नेपाल धितोपत्रबोर्ड (सेबोन) ले सात नयाँ कम्पनीलाई धितोपत्र व्यवसायी (ब्रोकर) को लाइसेन्स दिएको छ ।पहिलो चरणमा ४३ कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि आशयपत्र दिएको सेबोनले सात कम्पनीलाई लाइसेन्स वितरण गर्ने निर्णय गरेको हो ।

जेठ ८ गते बसेको सञ्चालक समिति बैठकले आशयपत्र प्राप्त गरिसकेका सात कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए ।

F
आशयपत्र पाएका अन्य कम्पनीको सम्बन्धमा समेत क्रमशः निर्णय गरिने सूचना अधिकारी देवकोटाको भनाइ छ । बोर्डले आशयपत्र प्राप्त गरेका कम्पनीहरूले व्यवसाय सञ्चालनका लागि तयार गरेको पूर्वाधार अवलोकनपछि ब्रोकर लाइसेन्स वितरण गर्ने निर्णय गरेको देवकोटाले बताए । यो समाचार आर्थिक समाचार दैनिकमा छ ।

चीनबाट मिसन शान्ति सेनाका लागि ६ अर्बको सैन्य सामग्री किन्दै नेपाली सेना

नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय मिसन शान्ति सेनाका लागि ६ अर्ब रुपैयाँ बराबरका सैनिक सामग्री खरिद गर्न लागेको छ। सेनाले छिमेकी मुलुक चीनबाट ६ अर्ब रुपैयाँ बराबरका २६ वटा आर्मोड पर्सोनेल क्यारियर (एपिसी) र हतियार खरिद तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले चीनबाट २६ वटा एपिसी, ७२ वटा ट्याक्टिकल भेहिकल र गोली खरिद गर्ने निर्णय गरेको थियो। सो निर्णयलाई पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले कार्यान्वयन गर्न सेनालाई अनुमति दिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार सेनाले चीनबाट १० हजार थान सिक्यु राइफलसमेत खरिद गर्ने भएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने चीनबाट सैन्य सामग्री खरिद विषयमा आफूलाई जानकारी नभएको बताए। ‘नेपाली सेनाले सैन्य सामग्री खरिद गर्दै छ भन्नेबारेमा मलाई जानकारी छैन, म बुझेर खबर गरौंला,’ उनले भने।

सेनाले आफ्नो कल्याणकारी कोषबाट शान्ति सेनालाई आवश्यक पर्ने गाडी र गोली चीनबाट खरिद गर्न लागेको स्रोतको दाबी छ। जसका लागि दुई साताअघि प्रक्रिया अघि बढाइएको हो। कल्याणकारी कोषको पैसाबाट सेनाले भारतबाट पनि चारवटा एपिसी किन्ने भएको छ।

भारतको महिन्द्रा कम्पनीबाट चारवटा एपिसी खरिदका लागि कोटेसनसमेत लिइसकेको छ। भारतबाट ल्याउन लागिएका एपिसीको मूल्य एउटाको करिब चार करोड रूपैयाँ पर्छ भने चीनबाट खरिद गर्न लागिएका एपिसीको मूल्य एउटाको सात करोड ७५ लाख रूपैयाँ रहेको स्रोतको दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।

वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने गर्ने निर्णय अलपत्र

काठमाडौँ । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबिच मत बाझिएको छ । वीर अस्पतालले जलन वार्डका लागि केही भौतिक पूर्वाधार तयार पारे पनि सञ्चालनका लागि मन्त्रालयसँग बजेट मागेको तर त्यो नआउँदा सञ्चालन गर्न नसकिएको धारणा प्रस्ट गरेको छ । तर मन्त्रालयले बजेट अभावकै कारण वार्ड सञ्चालन गर्न नसकिने अवस्था नरहेको तर्क गरेको छ ।

गत फागुन ३ गते राति प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारी र उनकी आमा आगलागीमा परी गम्भीर दुर्घटना हुँदा उपचारमा समस्या परेको थियो । आमा चन्द्रकला भण्डारीको घटनाको भोलिपल्ट निधन भयो भने सांसद भण्डारीको उपचार नेपालमा नहुने भएपछि भोलिपल्टै भारत लगिएको थियो ।

वीर अस्पतालमा कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने भनी पहिलो निर्णय नै गरेका थिए । निर्णयको तीन महिना बित्दा पनि त्यसबारे वीर अस्पताल प्रशासन र स्वास्थ्य मन्त्रालयबीच समन्वयको अभाव देखिएको छ । काम पनि अगाडि बढेकै छैन ।

भारतको मुम्बईबाट उपचार गरी फर्किएका सांसद् भण्डारीले सरकारी अस्पतालमा उपचार गराउन पाएका छैन । उनी कीर्तिपुर बर्न अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँकै एक निजी अस्पतालमा थप उपचार गराइरहेका छन् ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. पौडेलले स्वास्थ्य मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसक्दा वार्ड सञ्चालन गर्न नसकिएको दाबी गरे । उनले जलन वार्ड सञ्चालनका लागि अस्पतालले गर्नुपर्ने सम्पूर्ण कार्य पूरा गरिसकेको जानकारी दिए । उनले जलन वार्डका लागि आवश्यक चिकित्सक, शय्या, सघन उपचार शय्या तथा स्थानको समेत व्यवस्था भइसकेको भए पनि केही उपकरण र नर्सिङ जनशक्ति पूरा नभएको एवं त्यसका लागि बजेट मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो । “वीर अस्पताल स्वास्थ्य मन्त्रालयको प्राथमिकतामा पर्न सकेन” उनले भने ।

वीर अस्पतालले २५ शय्या क्षमताको छुट्टै जलन कक्ष सञ्चालन गर्नका लागि तयारी अघि बढाएको थियो । वीर अस्पतालका प्रवक्ता सागर मिश्रले मन्त्रालयमा जलन वार्डसम्बन्धी तीन करोड रुपियाँको प्रस्ताव पठाइएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

सिंहदरबारका मन्त्रालयदेखि सरकारी कार्यालयका हाकिमहरू सेवा प्रवाह दिन छोडेर मिटिङमा व्यस्त

काठमाडौं । सिंहदरबारका मन्त्रालयदेखि अन्य अधिकांश सरकारी कार्यालयका हाकिमहरू नीति निर्माण गर्न तथा सेवा प्रवाह दिन छोडेर अधिकांश समय मिटिङमा व्यस्त हुने गरेका छन् । मन्त्रालयमा सचिव सहसचिव जुनसुकै समयमा पनि मिटिङमा व्यस्त हुने गर्दा सेवाग्राहीहरू उच्च पदस्थलाई भेट्न पाउँदैनन् । सचिव सहसचिवलाई भेट्न घण्टौं कुर्नुपर्ने अवस्था छ ।

जसो मिटिङ हुने भए पनि मिटिङले गरेकामध्ये ८० प्रतिशतभन्दा बढी निर्णय कार्यान्वयन नै नहुने गरेको सरकारी अधिकृतको दाबी छ । सचिव सहसचिवको लगातारको मिटिङले मन्त्रालयमा शाखा अधिकृत तथा खरिदार सुब्बालगायतका कर्मचारीहरू नै अचम्ममा पर्ने गरेका छन् ।

यतिसम्म कि मुख्य सचिवको अध्यक्षतमा हुने सचिव बैठककै कैयौं निर्णयहरू कार्यान्वयन नभई त्यसै थन्कने गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक शाखा अधिकृतका अनुसार सचिव बैठक नियमित भए पनि बैठकले गरेका कैयौं निर्णयहरू त्यसै अलपत्र पर्दै आएका छन् । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिव बैठकले गरेका निर्णयहरूको अनुगमन गर्ने जिम्मेवारी प्रधानमन्त्री कार्यालयको भए पनि त्यस सम्बन्धमा कहिल्यै कुनै अनुगमन नहुने गरेको ती शाखा अधिकृतको भनाइ छ ।

नीति निर्माण तहमा समेत पहँुच राख्ने सिंहदरबारका सचिव सहसचिवहरू लगातार मिटिङमा व्यस्त हुने गर्दा पनि जनसरोकारका समस्याहरू समाधान गर्ने प्रभावकारी योजना र कार्यक्रम ल्याउन सकेका छैनन् ।

‘शिक्षा र स्वास्थ्यमा अत्यधिक विकृति छ, जनताहरू महँगीको मारले आक्रान्त छन् तर सचिव सहसचिवको दिनहुँको बैठकले जनताका यी समस्या समाधान गर्ने विषयमा ठोस पहल र निर्णय गर्न सक्दैन’ –प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो । कैयौं सचिव सहसचिव बाहिरी काममा व्यस्त हुँदा पनि उनीहरू कार्यालयकै मिटिङमा व्यस्त भएको भन्दै सन्देश दिने गरेको स्रोतको दाबी छ ।

मिटिङमा मात्रै वार्षिक करोडौं रुपियाँ खर्च हुने गरेको छ भने मिटिङबाट हुने ८० प्रतिशत निर्णय नै कार्यान्वयन नहुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विभिन्न अध्ययनहरूले देखाएको छ । प्रशासकहरूले कैयौं मिटिङ मन्त्रालयमा गर्न छोडेर महँगो तारे होटलमा समेत गर्ने गरेको बताइन्छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

धारापानीमा परिवार र साथीभाइका साथ घुम्न आउनेको सङ्ख्या बढ्दै

बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिनुभयो । बिदाको सदुपयोग गर्दै उहाँ यहाँ घुम्न आउनुभएको हो । चौधरीले भन्न्ुाभयो, “धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो ।”

यस्तै तुलसीपुर–६ का यमलाल भण्डारीपनि साथीसँग धारापानी घुम्न आउनुभयो । गर्मीमा शीतलता पाउने आशले उहाँ यहाँ आउनुभएको हो । पछिल्लो समय दाङको धारापानी आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।

पाण्डवेश्वर महादेवधाम, धारापानी पर्यटकीय एवं धार्मिक क्षेत्र जोड्ने पुल निर्माण भएसँगै पर्यटकलाई सहज भएको छ । “बिदाको दिन परिवार र साथीभाइका साथ घुम्न आउनेको सङ्ख्या धेरै रहेको छ”, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीले भन्नुभयो । दसँै, तिहार, बिदाको समय र गर्मीमा शीतलताका लागि घुम्न आउनेको सङ्ख्या बढी छ । पूरै स्थल घुम्न लगभग एक घण्टा लाग्छ । प्राकृतिक मनमोहक स्थान भएकाले धारापानी सबैको रोजाइमा पर्न थालेको छ ।

“यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटक यहाँ आउन थालेका छन्”, अधिकारीले भन्नुभयो । शिवरात्रि र साउनको सोमबार भक्तजनको घुइँचो नै लाग्छ । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण छ । धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातु मिश्रित त्रिशूल निर्माण गरिएको छ । अन्य जिल्लाबाट पनि यहाँ घुम्न आउने गरेका छन् । यहाँ एक सय आठ शिवलिङ्ग, एक सय आठ वरपिपल जोडी, एक सय आठ समीका वृक्ष, एक सय आठ तुलसीका मठ, ॐकार कुण्ड, पाण्डव शयनशिला र विभिन्न देवी–देवताका मन्दिर यहाँ रहेका छन् । दाङ उपत्यकाको अवलोकन धारापानीबाट गर्न सकिन्छ ।

पाण्डवेश्वरधाम धारापानीको पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माण गर्न गुरुयोजना तयार भएको छ । गुरुयोजनाअनुसार हाल धामबाट करिब दुई किलोमिटर दक्षिणतर्फको डाँडामाथि सुनकोटडाँडासम्म सिँढी र मन्दिर निर्माण गर्न लागिएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । बृहत् गुरुयोजनामा धारापानी वरपरको वनक्षेत्र संरक्षण गर्ने, मन्दिरको उत्तरतर्फ करिब चार बिघा क्षेत्रफलमा नौका शयरका लागि ताल बनाउने, सुनकोटडाँडामा ३१ क्विन्टलको घण्ट निर्माण गर्ने योजना छ । सुनकोटमा षड्केश्वरी भगवती मन्दिर पुनःनिर्माण गर्न थालिएको छ ।

धारापानीमा पञ्चधातुमिश्रित त्रिशूल निर्माण भएपछि पर्यटक बढीजसो आकर्षित भएका हुन् । पाण्डवेश्वर मन्दिर व्यवस्थापन समितिले भग्नावशेष अवस्थामा रहेको मन्दिरको संरक्षण गरेको छ । सुनकोटबाट दाङ उपत्यका, देउखुरीलगायत ठाउँ तथा हिमशृङ्खलासमेत स्पष्ट देख्न सकिन्छ ।

पर्यटन विकासका लागि विभिन्न भौतिक पूर्वाधार निर्माण गर्ने काम गुरुयोजनाअनुसार अगाडि बढेको धाम व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभयो । सुनकोटस्थित भगवतीको मन्दिरसम्म चार हजार नौ सय ६३ सिँढी बनाउने काम आर्थिक अभावले ओझेलमा परेको छ । पाण्डवेश्वर मन्दिरभन्दा उत्तरतर्फको बबई नदीको छेउमा जलाशय बनाइएको छ । घोराही बजारबाट सो स्थान नौ किलोमिटर टाढा पर्छ । “आर्थिक अभावले गुरुयोजना अनुसारका काम अघि बढ्न सकेका

चिकित्सा शिक्षा : विदेशी विद्यार्थी नेपाल आउनेभन्दा जाने नेपाली दोब्बर

चिकित्सा शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थी नेपाल आउनेभन्दा दोब्बर सङ्ख्यामा नेपाली विद्यार्थी विदेश जाने गरेका छन् । चिकित्सा शिक्षा आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले यस आर्थिक वर्षमा चार सय २१ जना विदेशी विद्यार्थी नेपाल आएका र नौ सय ७२ जना नेपाली विद्यार्थी अध्ययनका लागि बाहिरिएको बताउनुभयो ।

उहाँका अनुसार स्नातकोत्तर तहमा १५ जना र स्नातक तहमा चार सय छ जना विदेशी विद्यार्थी नेपालका विभिन्न शिक्षण अस्पताल तथा कलेजमा अध्ययन गरिरहेका छन् । नेपालमा भारत, ब¬ङ्गलादेश, माल्दिभ्स, अमेरिकाबाट अध्ययनका लागि विद्यार्थी आउने गरेका छन् ।

यसैगरी आयोगले नेपालबाट विदेशमा चिकित्सा शिक्षा अध्ययनका लागि फेलोसिपमा पाँच जना, स्नातक तहमा सात सय एक जना र स्नातकोत्तर तहमा दुई सय ६६ जनालाई अध्ययन अनुमति दिइएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा गिरीले यही जेठ ८ गते बसेको आयोगको बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षासम्बन्धी शिक्षण संस्थाको आशयपत्र र सम्बन्धन अनुमोदन गरिएको जानकारी दिनुभयो ।

पाँच हजार मिटर दौडमा मिङमार र निनुलाई स्वर्ण

मनहरी- दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् ।

मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन् । सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन् ।

यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते । हेटौँडास्थित पिप्ले क्याम्पा रङ्गशालामा भएकोे सो स्पर्धामा मकवानपुरकी निर्धारित दूरी २९ दशमलव ३७ सेकेन्डमा तथा जिकेशले २४ दशमलव ६० सेकेन्डमा पूरा गरे । महिला स्पर्धामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । पुरुषतर्फ मकवानपुरका सुजन राईले रजत र चितवनका शेखर उप्रेतीले कास्य पदक प्राप्त गरे ।

यस्तै महिला आठ सय मिटर दौडमा ललितपुरकी रजिना दुलालले स्वर्ण जितिन् । उनले निर्धारित दूरी दुई मिनेट ४० सेकेन्डमा पूरा गरिन् । यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कास्य पदक प्राप्त गरिन् । सोही स्पर्धामा पुरुषतर्फ चितवनका अृमत बोटले स्वर्ण जिते । उनले निर्धारित दूरी दुई मिनेट आठ सेकेन्डमा पूरा गरे । सिन्धुपाल्चोकका टीकाराम लोप्चनले रजत र नुवाकोटका दिनेश राईले कास्य पदक प्राप्त गरेका छन् ।

बझाङको दौलीचौर केन्द्रविन्दु भएर गयो भूकम्प

बझाङ- सुदूरपश्चिम प्रदेशको बझाङ दौलीचौर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बझाङको दौलीचौर वरपर केन्द्रविन्दु भएर आज बिहान ४ बजेर ६ मिनेटमा चार दशमलव पाँच रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर यही जेठ ७ गते बिहान चार दशमलव एक रेक्टरको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

काठमाडौं-सरकारले यस वर्षदेखि असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो । 

२०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइने भए पनि २०६२/०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।

सरकारले यस वर्षदेखि लागू हुने गरी राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय गरेको शिक्षामन्त्री अशोक राईले बताए ।

बैठकले शिक्षा क्षेत्रकै लागि १२० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण कर्जा र १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायतासमेत स्वीकार गर्ने निर्णय गरेको छ । विद्यालय शिक्षा क्षेत्र आयोजनाका लागि विश्वव्यापी साझेदारीबाट प्राप्त १९.७० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने अर्थ मन्त्रालयको प्रस्ताव बैठकले स्वीकार गरेको हो ।

१० महिनामा रामेछाप बाट साढे छ हजार युवा शक्ति बाहिरिए

चालु आर्थिक वर्षको १० महिनामा रामेछाप जिल्लाबाट छ हजार तीन सय ४९ युवा जनशक्ति बाहिरिएका छन् । नेपालमा रोजगारीका अवसर नभएपछि उनीहरू रोजगारीका लागि विदेश पलायन भएका हुन् । मन्थली नगरपालिकालगायत विभिन्न गाउँपालिकाद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार चालु आव २०७९÷८० को साउनदेखि वैशाखसम्म रामेछापबाट छ हजार तीन सय ४९ रोजगारीका लागि विदेश गएका हुन् ।

दश महिनाको तथ्याङ्कलाई हेर्दा रोजगारी गर्न रामेछापबाट झन्डै साढे छ हजार मानिस विदेश गएको देखिन्छ । रोजगारीका लागि मलेसिया, युएई, कतार, बहराइन, कुवेत, साउदी अरब र ओमानलगायत देशमा गएको तथ्याङ्कमा उल्लेख छ । सामी कार्यक्रम अधिकृत दीपक केसीका अनुसार चालु आव २०७९÷८० को साउनदेखि वैशाखसम्म जिल्ला प्रशासन कार्यालय रामेछापबाट आठ हजार आठ सय ५९ जनाले राहदानी लिएका छन् ।

यो अवधिमा रामेछापका दुई नगरपालिका र छ गाउँपालिकाबाट एक हजार दुई सय ५० महिला र पाँच हजार ९९ पुरुष वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रामेछापका अधिकृत दीपक केसीले बताउनुभयो । मन्थली नगरपालिकाले आज मन्थलीमा आयोजना गरेको एक कार्यक्रममा सो कुराको सर्वाजनिक गरिएको थियो ।   

मन्थली नगरपालिकाले वैदेशिक रोजगारीमा जाने आफ्ना नागरिकको वैदेशिक रोजगारीलाई थप सुरक्षित बनाउन सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालन गरिरहेको छ । मन्थली नगरप्रमुख लव श्रेष्ठले यो कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जाने नागरिकलाई आवश्यक सीप प्रदान गर्ने, विदेश गएकाको परिवारलाई पठाएको पैसालाई उत्पादनको क्षेत्रमा परिचालन गर्न प्रेरित गर्ने, विदेश गएपछि विभिन्न समस्यामा परेका र उनका परिवारलाई आवश्यक परामर्श तथा सहयोग जस्ता कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो । 

रामेछापको मन्थली नगरपालिका, सुनापति गाउँपालिका, उमाकुण्ड गाउँपालिका र दोरम्बा सैलुङ गाउँपालिकामा अहिले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सञ्चालनमा ल्याएका छन् । 

आँबुखैरेनीमा निर्माण गरिएको नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुलमा साहसिक खेल सञ्चालन गरिने

तनहुँ- जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने समस्तीपुर र बरडाँडालाई जोड्ने गरी खुदी खोलामा निर्माण गरिएको नेपालकै दोस्रो अग्लो झोलुङ्गे पुलमा साहसिक खेल सञ्चालन गरिने भएको छ । स्थानीय खुदीखोलाको सतहबाट दुई सय ७५ मिटर उचाइमा रहेको यस पुलमा एडभेन्चर स्पोर्ट्स खेलको रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका कार्यालयले जनाएको छ । उक्त पुलसम्म जाने सडकको स्तरोन्नति गर्दै बञ्जी जम्प, जीपलाइन लगायतका साहसिक खेलका रूपमा विकास गर्न डिपीआरको तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

“यसको सम्भाव्यता अध्ययन गरेर थप साहसिक खेल जोड्नका लागि तयारी गरिहेका छाँै”, उहाँले भन्नुभयो, “यसको विकाससँगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास लिएका छौँ ।” उक्त पुलको आडैमा रहेको गिरानचौरको गुरुङ बस्तीलाई पर्यटकीय गाउँका रूपमा विकास गर्न गाउँपालिकाले रु ३० लाख बजेट विनियोजन गरिसकेको छ ।

सोही स्थान नजिकै रहेको आँधीमूल मन्दिरमा तालसहितको आँधीमूल निर्माण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त स्थानमा पर्यटन प्रवर्द्धन गर्न सकिए त्यस क्षेत्रका नागरिकलाई आर्थिक क्षेत्रमा सबल बनाउन सकिने विश्वास गरिएको उहाँले बताउनुभयो ।

दुई सय २० मिटर लामो यो पुल बनेसँगै यहाँका स्थानीय बासिन्दाले एक घण्टाको दूरी दुई मिनेटमा नै पार गर्न सक्ने भएका छन् । खुदी खोलाको खोल्सा वरिपारि रहेका यी दुई गाउँबीच मेलापात र लेनदेन हुँदै आए पनि आवातजावत गर्न घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकामा पुल बनेपछि सहज भएको छ ।

तरकारी उत्पादनको पकेट क्षेत्रका रूपमा मानिएको समस्तीपुरका कृषकले यसअघि बरादी बजारसम्म उत्पादित वस्तु ढुवानीका लागि समस्या खेप्दै आएका थिए । दुई गाउँलाई जोड्ने गरी अग्लो स्थानमा पुल बनेसँगै पछिल्लो समय यहाँ घुम्न र फोटो खिचाउन आउनेको आकर्षण बढ्दै गएको छ । यो पुल पर्वत कुस्मामा रहेको पुलको उचाइभन्दा एक सय नौ मिटर अग्लो र मनाङको नासो गाउँपालिकास्थित ड्रोनाखोलाको पुलभन्दा एक सय ३७ मिटर कम उचाइमा रहेको छ ।

नेपालमा सबैभन्दा अग्लो पुल मनाङको नाचे गाउँ र थोचेँ गाउँ जोड्ने पुल हो । यो पुल सतहबाट चार सय १२ मिटर उचाइमा रहेको छ ।