`

आज मधेश, बागमती र गण्डकी प्रदेशमा बर्षा हुने

काठमाडौं, १० जेठ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

दमौली अस्पतालको क्षमता स्तरोन्नति गरिनेछ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दमौली अस्पतालको क्षमता स्तरोन्नति गरिने बताउनुभएको छ । दमौली अस्पताल व्यवस्थापन समितिका पदाधिकारीसँगको आज भएको छलफलमा मुख्यमन्त्री पाण्डेले अस्पतालको क्षमता स्तरोन्नतिका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मुख्यमन्त्री पाण्डेले सदरमुकाममा अवस्थित अस्पतालको सेवा विस्तार अतिआवश्यक रहेकाले यसलाई एक सय शय्यामा विस्तार गरिने बताउनुभयो । दमौली अस्पतालले जिल्लाका मात्र नभई छिमेकी जिल्लाका सर्वसाधारणलाई पनि सेवा दिइरहेकाले यसको स्तरोन्नति अति आवश्यक भइसकेको बताउनुभयो ।

अस्पतालमा बढ्दो चापसँगै उक्त अस्पताललाई विस्तार गर्नुपर्ने अवस्था रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो । अध्यक्ष थापाले गण्डकी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री पाण्डेले अस्पतालको वर्तमान अवस्थाबारे गराउनुभएको थियो । विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको उहाँको भनाइ छ ।

तीव्र सहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन । अस्पतालको स्तरोन्नतिका लागि पटक–पटक प्रयास भए पनि त्यसले मूर्तरुप लिन सकिरहेको छैन । हरेक पटक सरकार परिवर्तन हुँदा अस्पताल व्यवस्थापन समितिले अस्पतालको क्षमता स्तरोन्नतिका लागि पहल गर्दै आइरहेको छ । “अस्पतालको विस्तार गर्नुपर्ने अति आवश्यक भइसकेको छ, बिरामीको चाप बढ्दो छ, अहिल्यैकै अवस्थामा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ”, थापाले भन्नुभयो, “मुख्यमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएका छाँै ।”

अस्पताल विस्तारका लागि सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि ज्ञान केन्द्र र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँको स्वामित्वमा रहेको जग्गा अस्पताल विस्तारका लागि प्रदान गर्ने निर्णय गरिसकेको छ । कृषि ज्ञान केन्द्रको दुई रोपनी र पशु सेवा विज्ञ केन्द्रको डेढ रोपनी जग्गा अस्पतालका लागि भोगचलन गर्न प्राप्त भएको छ । तर त्यसका लागि सम्झौता गर्न बाँकी छ ।

उक्त जग्गाको सम्झौताका लागि पहल गरिदिन प्रदेश सरकारकै कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई भेटेर अनुरोध गरिएको छ । अस्पताल व्यवस्थापन समितिको टोलीले अस्पतालको नयाँ भवनको डिपीआरका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीसमक्ष माग गरेको छ । त्यस्तै सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिङ्खडालाई भेटेर अस्पतालमा हेमोडायलासिस सेवा र विशेषज्ञ चिकित्सकको व्यवस्था गर्न माग गरिएको छ ।

विसं २०३४ मा स्वास्थ्यचौकीको रुपमा स्थापना र विसं २०५५ सालमा प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा स्तरोन्नति भएको यस अस्पताल विसं २०५९ मा अस्पतालको रुपमा स्तरोन्नति भएको थियो ।

अस्पतालमा फोहरपानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्याधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्सरे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुईवटा मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ । अस्पतालले इमर्जेन्सी सेवा, फार्मेसी, एआरटी, ल्याव्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

शरणार्थी प्रकरण : बुधबार अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारीमा सरकारी वकिलको कार्यालय

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ ।अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “भोलि बुधबार मुद्दा दर्ता गर्ने गरी अध्ययन गरिरहेका छौँ, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन ।” जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो । प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताउनुभयो । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।

उक्त घटनामा ६० दिन भित्रमा अभियोजन गरिसक्नुपर्छ । भोलि नै ६० दिन पुग्दैछ । यस घटनामा एक सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुने गरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ ।

शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एमाले)का निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् ।

एक वर्षमा बुटवल उपमहानगरले के–के गर्‍यो ? यस्तो छ उपलब्धि

बुटवल उपमहानगरपालिकाले एक वर्षका उपलब्धि सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि आज सार्वजनिक गरेको हो ।

नगर प्रमुख खेलराज पाण्डेयले उपलब्धि तथा प्रयास सार्वजनिक गर्दै पदभार ग्रहण गरेदेखि बुटवल र बुटवलवासीको हितमा नीति निर्माण, बजेट निर्माण र कार्यान्वयन तथा सङ्घ, प्रदेश सरकार, विभिन्न सरकारी कार्यालय, सामाजिक सङ्घसंस्थासँग सहकार्य र समन्वय गरी काम गर्दै आएको बताउनुभयो ।

उहाँले एक वर्षमा बुटवलका सबै क्षेत्र र समुदायलाई समेटेर अगाडि बढ्ने र सबैलाई बुटवल उपमहानगरपालिकाप्रति अपनत्व महसुस गराउने उदेश्यका काम गरिएको बताउनुभयो । उहाँले नगरबासीसँग प्रत्यक्ष भेटघाट र संवाद गरी क्षेत्रगत सुझाव सङ्कलन गरेको र त्यसकै आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै जाने बताउनुभयो ।

नगर प्रमुख पाण्डेले बुटवलका मुख्य चुनौतीका रुपमा देखिएका ज्योतिनगर–लक्ष्मीनगर, पाखापानी क्षेत्रको पहिरो, तिनाउ नदी कटान, अव्यवस्थित बसोबास, भूमिहीन, सुकुम्बासी समस्या, छाडा चौपाया व्यवस्थापन, ट्राफिक व्यवस्थापनजस्ता विषयमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार तथा स्थानीय सरोकारवालासँग पटक पटक छलफल गरी समाधानका लागि अगुवाई गरिरहेको बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक उपलब्धि तथा प्रयासमा बुटवल १३ र १७ मा १५÷१५ शय्याका अक्सिजनसहितका दुई अस्पताल निर्माण सम्पन्न हुने चरणमा रहेको र चालु आर्थिक वर्षभित्रै उद्घाटन गरी आगामी साउनदेखि नै सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

बुटवल–१५ सेमलारमा नेपालकै आधुनिक र व्यवस्थित कृषि बजार केन्द्र स्थापना गर्ने कामका लागि इआइए भइरहेको, नगरको मुख्य राजमार्ग, बस टर्मिनल, सुखौरा खोला, १६–३६ नहर, कालिका पथलगायतका सार्वजनिक स्थानको नियमित तथा विशेष सरसफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो ।

कार्यक्रममा बुटवल ३ र ४ का ज्योतिनगर–लक्ष्मीनगर तथा पाखापानी पहिरोबाट प्रभावित क्षेत्रमा पर्खाल, कल्भर्ट, जाली र वृक्षरोपण गरी सुरक्षित बनाउने, ज्योतिनगरका पहिरो क्षेत्रका जोखिमयुक्त घरहरुको प्रकोप व्यवस्थापन कोषबाट बीमा गर्ने प्रमुख पाण्डेयले बताउनुभयो ।

त्यसैगरी, सडक क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत्, इन्टरनेट, केवलका तारले सहरको सौन्दर्य बिगारेका कारण व्यवस्थित गर्ने काम निरन्तर सञ्चालन भइरहेको, चार प्रकारका जटिल रोग मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका एक सय ९० जना बिरामीलाई मासिक रु पाँच हजार, जटिल रोग अनुदान सहयोग कार्यक्रमअन्तर्गत एक सय ४५ जनालाई प्रतिबिरामी रु १७ हजार बिरामीकै बैंक खातामा उपलब्ध गराइएको उपलब्धिमा समेटिएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाइले बुटवलले वार्षिक उपलब्धि सार्वजनिक गर्ने अभ्यासले स्थानीय सरकारलाई जवाफदेही र उत्तरदायी बनाउने बताउनुभयो । उहाँले स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले बुटवलले जसरी प्रभावकारीरुपमा सेवाप्रवाह गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले निर्वाचित भएर आएदेखि स्थानीय, प्रदेश र सङ्घीय सरकारकै काममा आफूहरुले समय खर्चेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलको सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउँदै सरल पहुँच र सहज सेवा उपलब्ध गराउन सधैँ तयार रहेको बताउनुभयो ।

निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भमा १४ तला थप्ने तयारी

निर्माणाधीन काठमाडौँ दृश्यावलोकन स्तम्भ ‘भ्यू टावर’ मा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको छ । साबिक पुरानो बसपार्कमा निर्माण भइरहेको टावरको काम हालसम्म १२ तला सम्पन्न भइसकेको छ ।

१२औँ तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन काठमाडौँ महानगरपालिकालाई बुझाइ सकेको अवस्था छ । प्रतिवेदनअनुसार निर्माण मापदण्डअनुसार नै काम भएको र थप लता थप्न सकिने जनाएकाले कामपाको प्राविधिक टोलीले उक्त प्रतिवेदको अध्ययन गरी तला थपको लागि अनुमति दिने तयारी गरेको छ ।

उक्त टावर विसं २०७२ को भूकम्प अघि २९ तलाकै बनाउने भने पनि भूकम्प पछि १२ तलाको काम अघि बढाईएको थियो । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको कामपा सार्वजनिक निजी साझेदारी एकाईका प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कती तला थप्नेबारे यकिन हुनेछ ।  

हाल टावर निर्माण गरिरहेको कम्पनीले तला थपको लागि कामपालाई निवेदन दिनुपर्छ सोहीअनुसार कामपाले कानुनी प्रक्रिया पूरा गरी तला थपको लागि नक्सा स्वीकृत गर्नेछ । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो, भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । “हालसम्म निर्माण भएको संरचना कस्तो निर्माण भएको छ, निर्माण सामग्री कस्तो प्रयोग गरेको छ, तला थप्न मिल्छ कि मिल्दैन जस्ता विषयबारे पुल्चोक क्याम्पसले अभ्ययन गरेहो हो”, काफ्लेले भन्नुभयो ।  

स्तम्भ निर्माणको काम जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनदेखि सुरु गरेको हो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोई कम्पनीबीच विसं २०७१ फागुन २२ गते सम्झौता भएको थियो । सम्झौताअनुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म भोगचलन गर्न सक्ने उल्लेख गरिएको छ । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । उक्त भ्यू टावर नेपाली कला संस्कृति झल्किने किसिमको हुने बताइएको छ । 

कूल क्षेत्रफलको ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिने छ । ६० प्रतिशत जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका सामग्री राखिने योजनाअनुरुप निर्माणको काम अघि बढाइएको हो । टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा चार सय सवारी साधन अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ । टावरमा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुराँ तथा पुस्तकालय हुनेछ । 

गत वैशाख २२ देखि निजी गाडी पार्किङ सुरु

निर्माणाधीन भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले चार पाङ्ग्रे साना सवारी साधन र दुई पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ । अहिले सुरुआती समयमा निःशुल्क पार्किङको व्यवस्था गरिए पनि केही दिनबाट थप व्यवस्थापनसहित शुल्क लिएर पार्किङको व्यवस्थापन मिलाइने बताइएको छ । प्रमुख काफ्लेका अनुसार चार सय साना सवारी साधन र एक हजार मोटरसाइकल अट्ने पार्किङ गत वैशाख २२ वैशाखदेखि नै सञ्चालनमा आएको हो ।

अहिले पार्किङको समस्या निकै नै रहेकाले पूर्ण रुपमा निर्माणको काम सम्पन्न नभईकनै पार्किङ खुला गरिएको बताइएको छ । टावर निर्माणकै लागि विसं २०७२ साउनबाट बसपार्कलाई खुल्लामञ्चमा स्थानान्तरण गरिएको थियो । पाँच वर्षमा भ्यू टावर निर्माणको काम सम्पन्न गर्ने र साविकै बसपार्क रहेको स्थानबाट थप व्यवस्थित रूपमा सवारी साधनलाई आवतजावत गराइने भने पनि हालसम्म पनि उक्त टावरको निर्माणको काम भने सम्पन्न भएको छैन । उक्त स्थानबाट काठमाडौँ उपत्यकाका विभिन्न १७ रुटमा चल्ने गाडीहरु आवातजावत गर्ने गरेका थिए ।˗ 

कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीको बधाई

प्रधानमन्त्री पुष्पकमल दाहालले दुवै खुट्टा गुमाएका कीर्तिमानी सगरमाथा आरोही हरिबहादुर बुढालाई सिंहदरवारमा भेटेर बधाई दिएका छन्। सगरमाथाको सफल आरोहण गरेका बुढा आजमात्रै काठमाडौं आइपुगेका हुन्।

काठमाडौंको आन्तरिक विमानस्थलमा बुढालाई पर्यटनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए। 

गणतन्त्र दिवस भव्यरुपमा मनाउन मुख्यमन्त्री जम्कट्टेलको आग्रह

बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेलले गणतन्त्र दिवस भव्यरुपमा मनाउन आग्रह गर्नुभएको छ ।
गणतन्त्र दिवश २०८० मनाउने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आज आयोजना बागमती प्रदेशस्तरीय मूल समारोह समितिको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले गणतन्त्रबारे भ्रम पैदा भइरहेकाले पनि यो दिवस भव्यरुपमा मनाउन प्रदेशका सचिवहरुलाई निर्देशन दिनुभयो ।

गणतन्त्र खतरामा परेको भन्दै उहाँले विभिन्न कार्यक्रम गरेर जनतालाई यसको महत्त्व बुझाउन जोड दिनुभयो । गणतन्त्रलाई चुनौती दिनेविरुद्ध प्रभावकारी कार्यक्रम गर्नु जरुरी रहेको बताउँदै उहाँले भव्य र सव्य कार्यक्रमको तयारी थाल्न निर्देशन दिनुभयो ।

बैठकले गणतन्त्र दिवस २०८० मा सरसफाइका कार्यक्रम, राष्ट्रिय झण्डा फराउने कार्यक्रम, रक्तदान, वृक्षरोपण, प्रभातफेरीलगायतका कार्यक्रम गर्नेबारे छलफल भएको थियो । बैठकमा विभिन्न मन्त्रालयका मन्त्री सचिव, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको थियो ।

नक्कली भुटानी प्रकरणमा मुछिएकालाई कारबाही गर्न सक्कली शरणार्थीको माग

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्कीएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याममा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्र्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ । पथरी शनिश्चरे–१० मा रहेका भुटानी शरणार्र्थीले भुटानीप्रति भएको बैमानी, शरणार्र्थीको नाम बेचेर गरिएको मानव तस्कर, छुटेका भुटानीको पुनःस्थापना गर्नुपर्ने माग राख्दै शान्तिपूर्ण आन्दोलन गरेका छन् । सोझा जनतालाई अमेरिका पठाउने प्रलोभनमा पारेर नेपालका विभिन्न स्थानबाट करोडौँ ठगी गर्ने गिरोह धमाधाम पक्राउ पर्न थालेपछि यसको प्रतिकारस्वरुप विभिन्न क्षेत्रमा विरोध आन्दोलन भइरहेका छन् ।

नक्कली शरणार्थीका कारण सक्कली शरणार्थीको पुनर्मिलन कार्यमा ढिलासुस्ती गरेको भन्दै भुटानी शरणार्थीले विरोधमा उत्रिएका हुन् । आज वाइएफसी पथरी शनिश्चरे क्याम्पको आयोजनामा भएको विरोध ¥यालीमा शरणार्थी समस्या समाधान गर, कि गरेर खाने अधिकार देउ नत्र गाँस बाँस कपास देउ, जनता बेच्न पाइँदैन, यस्ता नेता चाहिँदैन, भुटानीलाई न्याय दे, शरणार्थीलाई पुनःस्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

पथरी शनिश्चरे शिविरको होम केयर सेन्टरबाट सुरु भएको र्यालीले भुटानी शरणार्थी शिविर परिक्रमा गरी वडा नम्बर १० को वडा कार्यालय अगाडि कोणसभा गरेको छ । कोणसभामा सामाजिक अभियान्ता प्रदीपकुमार राई, शान्ति पाख्रिनले शरणार्थीको समस्या हल गर्नुको साटो उल्टै पुनःस्थापनको बाटो बन्द गर्ने कोसिस गरेको बताउनुभयो । शनिश्चरे शिविर क्यामका सहसचिव राम बानियाँले देशमा बेतिथिले पराकाष्ठा पार गरेको भन्दै यो अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भुटानीको समस्या र यस्तो बेथिति न रोकेसम्म सङ्घर्ष जारी राख्ने बताउनुभयो ।

बागमती नदीमा मौलिकता झल्कने पुल निर्माण गरिने

थापाथलीस्थित पुलको विकल्पका रुपमा बागमती नदीमा त्यसको नजिकै काठमाडौँ र ललितपुर जिल्ला जोड्ने पुल निर्माण गरिने भएको छ ।थापाथलीस्थित प्रसूति गृह पछाडिबाट ललितपुरको ज्वागल जोड्ने पुल बनाउन अध्ययन अघि बढाउन लागिएको हो । ललितपुर र काठमाडौँ दुवै जिल्लाको मौलिकता समेट्ने गरी सुन्दर पुल निर्माणको योजना अघि बढाइएको सडक विभाग पुल महाशाखाले जनाएको छ ।

सो पुलको आगामी आवमा अध्ययन हुने पुल महाशाखा प्रमुख नरेशमान शाक्यले बताउनुभयो । उहाँका अनुसार सकेसम्म पुलले त्यस क्षेत्रको परिचय दिने गरी मौलिक खालको ‘सिग्नेचर’ पुल बनाउन लागिएको हो । उहाँले भन्नुभयो, “सकेसम्म त्यस क्षेत्रको नौलो परिचय होस् भन्ने गरी निर्माण गर्ने योजना रहेको छ ।”

आधुनिक पुल निर्माण गर्न लागिएकाले त्यो ‘एडभान्स’ र अलि ‘हाइफाइ’ हुने प्रमुख शाक्यले बताउनुभयो । त्यसलाई हेर्दा नौलो र हावापानी अनुकूलको बनाउन लागिएको छ । उहाँले भन्नुभयो, “बाढी पहिरोमा बढी थाम्न सक्ने किसिमको हुनेछ ।”

अब निर्माण हुने पुलले सामाजिक समावेशीकरणलाई समेत ध्यान दिने उहाँको भनाइ छ । शारीरिकरुपमा अशक्तलाई समेत ध्यान दिएर लिफ्ट वा ¥याम्प राख्दा कसरी बनाउन सकिन्छ भन्ने विषयलाई ध्यान दिने उहाँले बताउनुभयो । पुल हेर्दा आकर्षक, मौलिक र नौलो बनाउन कलाको पनि प्रयोग गरिने प्रमुख शाक्यले बताउनुभयो । पुलको टुप्पेमा घर वा मन्दिर बनाउने कि धार्मिक वा अरु स्थानीय झलक दिने भनी प्रयास गरिने भएको छ ।

अहिले बागमती पुलमा सवारी चाप बढिरहेकाले त्यसको विकल्पका रुपमा त्यस आसपासको क्षेत्रमा नयाँ पुल निर्माणको आवश्यकता महसुस गरिएको हो । बुद्धनगरमा काठमाडौँ ललितपुर जोड्ने पुल सञ्चालनमा भए पनि त्यसको अवस्था पनि थप सवारीसाधन थेग्न नसक्ने रहेको छ । बिहान र साँझ दुवै पुलमा सवारी चाप उच्च रहेकाले त्यसलाई कम गर्नका लागि पनि त्यसको विकल्पमा अर्काे पुल बनाउने योजना बनाइएको हो ।

पहिले पुल निर्माण एउटा गाउँ, जिल्ला, सहरलाई अर्काेसँग जोड्ने पूर्वाधार भए पनि पछिल्लो समय यसलाई कुनै पनि ठाउँको सुन्दरता बढाउन सक्ने माध्यमसमेत मानिएको छ । विश्वका कतिपय ठाउँमा पुलकै कारण त्यस ठाउँ परिचित बनेको छ । नेपालमा पनि त्यस्तै नौलो र आधुनिक प्रविधिप्रति सडक विभागले चासो बढाएको पाइन्छ । केही वर्ष पहिले सम्पन्न बिजुलीबजार पुलले त्यस क्षेत्रको सुन्दरता बढाएको छ । सरकारले उपत्यका र उपत्यका बाहिर पनि ‘सिग्नेचर’ पुल निर्माणको योजना बनाएको छ ।

जनमत पार्टीद्वारा केन्द्रीय समितिको बैठक आह्वान

डा सिके रावतले नेतृत्व गर्नुभएको जनमत पार्टीले सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

पार्टी सङ्गठन विस्तार तथा सुदृढीकरण, देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्नका लागि यही जेठ १२ गते बैठक आह्वान गरिएको सो पार्टीका सचिव अनिता साहले जानकारी दिनुभयो । जनमत पार्टीले केन्द्रीय सरकारबाट आफ्ना तर्फका मन्त्री केही समय पहिले फिर्ता बोलाइसकेको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ ।

विद्यार्थी बेहोस हुन थालेछि विद्यालय बन्द

कालीकोटको महाबै गाउँपालिका–२ पादमघाटस्थित तिला माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको छ । सोमबार दिउँसो कक्षामा शिक्षकले पढाइरहेका बेला विद्यार्थी बेहोस भएर ढल्न थालेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयमा पढिरहेको अवस्थामा ३० जना विद्यार्थी बेहोस भएका थिए । विद्यार्थी बेहोस भएपछि चार दिनका लागि विद्यालय बिदा गरिएको विद्यालयले जनाएको छ । कक्षाकोठामै विद्यार्थी बेहोस भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेशबहादुर शाहीले बताउनुभयो । “पादमघाट अत्यधिक गर्मी हुने ठाउँ हो”, उहाँले भन्नुभयो, “विद्यालयमा विद्यार्थी बेहोस हुन थालेपछि हामीले अहिले विद्यालय बन्द गरेका छौँ ।”

विद्यालयमै स्टाफ नर्स पठाएर प्राथमिक उपचार गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करन सिंहले बताउनुभयो । “दश वर्षदेखि १४ वर्षसम्म उमेर समूहका बालबालिका बेहोस भएका हुन्”, उहाँले भन्नुभयो, “कक्षाकोठामा पढिरहेको अवस्थामा विद्यार्थी बेहोस भएका थिए ।”

गर्मीमा पर्याप्त पानी नखाएकाले विद्यार्थीमा डिहाइड्रेसन भएर बेहोस भएको महाबै आधारभूत अस्पतालका डा अरुण मण्डलले बताउनुभयो । “जटिल समस्या होइन”, उहाँले भन्नुभयो, “सुक्खापना देखिन्छ, स्लाइन दिएपछि सबैलाई ठीक भएको छ”, केही विद्यार्थी प्रारम्भिक उपचारपछि निको भई घरमै रहेको र केहीलाई महाबै आधारभूत अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ ।

रुपन्देहीमा मिटरब्याज पीडितको सङ्ख्या बढ्दै

बेलहिया (रुपन्देही), ९ जेठ- लुम्बिनी प्रदेशको रुपन्देहीमा मिटरब्याज पीडितहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । जिल्ला प्रशासन कार्यलय भैरहवामा पीडितहरूले लामबद्ध भएर दिनहुँजसो उजुरी दिइरहेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार रुपन्देहीमा चार सय १४ जना पीडितले उजुरी दिएका छन् । उजुरी दिने क्रम अझै जारी रहेको उहाँले बताउनुभयो । अर्यालले भन्नुभयो, “जो जसले उजुरी दिए पनि हामीले दर्ता गरेका छौँ । यसमा पछि छानबिन हुन्छ ।”

मिटर ब्याजको सन्दर्भमा सरकारले गठन गरेको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले नै उजुरी तथा मुद्दामाथि छानबिन गर्ने भएकाले जिल्ला प्रशासन कार्यलयले उजुरी दर्ता गरी अनलाइन इन्ट्री गराइरहेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । मिटर ब्याज भन्नाले लगानीकर्ता अर्थात साहुले क्रृणीसँग बैंक ब्याजदर भन्दा चारगुणा ब्याज असुल्ने, समयमा ब्याज नआएमा त्यसलाई पुनः साँवामा कायमगरी रकम असुल्नु हो ।

यसमा चक्रवर्ती ब्याज लगाउने प्रचलन हुन्छ । यसरी चक्रवर्ती ब्याजको फन्दामा परी धेरै सर्वसाधरणले आफ्नो घरबार, श्री–सम्पत्ति साहुको नाममा लेखाइदिँदासमेत क्रृण चुक्ता नभएको देखिन्छ । तराईमा आर्थिक अपराधको रूपमा फैलिँदै गएको मिटरब्याज प्रकरण समाधानका लागि राज्यले आयोग नै गठन गरी सबै जिल्ला प्रशासन कार्यलयमार्फत मिटरब्याज पीडितलाई निवेदन दिन आह्वानसमेत गरेको छ । मिटरब्याजमा पैसा लिँदा बैंक तथा वित्तीय संस्थामा जस्तो कानूनी जटिलता नहुने, तुरुन्तै एउटा कागज गरेको भरमा सहजरूपले साहु महाजनले दिने हुँदा गरिब तथा निम्न वर्गीय मानिसले यो कर्जाको प्रयोग अधिकतम गरेको पाइएको छ ।

जिल्लामा सिद्धार्थनगर नगरपालिका–३ खजहना निवासी पुनम गेलालको समूहले आफूविरुद्ध उजुरी दिएको भन्दै यतिबेला पीडितलाई घरमै पुगेर धम्काउने, थर्काउने गर्न थालेका छन् । यसरी मिटरब्याज पीडित एकातिर आर्थिकरूपले समस्याग्रस्त भएका छन् भने अर्कोतिर सरकारले गरेको आह्वानअनुसार जिल्ला प्रशासनमा निवेदन दर्ता गराएकै भरमा साहुमहाजनबाट धम्की र मानसिक तनाव झेल्न बाध्य भएका छन् ।

सामन्य परिवारकी पुनम पछिल्लो १० वर्षमा करोडपति बनेर स्थापित भएको उनलाई वर्षांैदेखि नजिकबाट चिन्ने बताउँछन् । उनको आम्दानीको मुख्य स्रोत नै ऋण लगानी हो । उनले धेरै सर्वसाधारणलाई ऋण लगानी गरेकी छन् । तमसुक बनाउने, क्रृण लगानी गर्ने र नदिए थर्काएर पैसा असुल्ने यिनीहरूको दैनिकी नै हो ।

गल्लामन्डीमा सामान्य व्यवसाय गर्दै आएकी नेहा बर्माले गेलालको समूहले आफूलाई फसाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले विश्वास जित्ने, सम्बन्ध स्थापित गर्ने र त्यसपछि कारोबारमा फसाउने गर्दा रहेछन् । मलाई पनि फसाएका छन् ।” नेहा जस्तै बर्मेलीटोलकी सावित्री पौडेलले पनि गेलालसँग घरखर्च चलाउन रु दुई लाख ऋण लिएको तर यतिबेला रु २५ लाख तिर्न दबाब दिइरहेको बताउनुभयो ।

अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध देशभरबाट पाँच हजार बढी निवेदन परेका छन् । तराई–मधेसका जिल्लाबाट मिटरब्याज पीडितले आन्दोलन सञ्चालन गरेपछि सरकारले गत चैत २० गते आयोग गठन गरेको थियो । सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत सङ्कलन भएको निवेदनमाथि कारबाही अगाडि बढाउँदै छ ।

मिटरब्याज पीडितलाई सहयोग गरिरहेका सामाजिक अभियन्ता प्रख्यात बञ्जाडेले रुपन्देहीमा मिटर ब्याजीको सञ्जाल डरलाग्दो रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिटर ब्याजीको विरुद्धमा पीडितको पक्षमा वकालत गर्दा धेरै चुनौती छ तर पनि हामी न्यायको पक्षमा सधैँ वकालत गरिरहेका छौँ । ”

रुपन्देहीमा मिटरब्याज पीडितले सङ्घर्ष समिति नै गठन गरेर आन्दोलन गरिरहेका छन् । समितिका संयोजक उमेश कोरीले मिटरब्याजीलाई कानूनी कारबाहीमा ल्याउन समिति गठन गरेको बताउनुभयो । मिटरब्याजीको समस्या समाधानका लागि सरकारले आयोगलाई तीन महिनाको अवधि दिएको छ । आयोगले जनकपुरमा केन्द्रीय कार्यालय र काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरेर काम गरिरहेको छ भने सबै जिल्ला प्रशासन कार्यलयमा उजुरी दर्ताको व्यवस्था गरेको छ ।

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगको केन्द्रिय कार्यलय जनकपुरमा रहेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की यतिबेला जिल्ला जिल्लामा पीडितहरूको छलफल सकेर काठमाडाँै फर्किनुभएको छ । केही दिन अगाडि रुपन्देहीको जिल्ला प्रशासन कार्यलयमा भएको एक अन्तरक्रियामा अध्यक्ष कार्कीले मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने बताउनुभएको थियो ।

राजमार्गको मुख्य नाका क्षेत्रमा सिसी क्यामरा जडान

सुर्खेतको बराहताल गाउँपालिका–५ स्थित कर्णाली राजमार्ग छिर्ने मुख्य नाकासहित बड्डिचौर बजार क्षेत्रका विभिन्न स्थानमा सिसी क्यामरा जडान गरिएको छ । बराहताल गाउँपालिका सुर्खेत र अस्थायी ट्राफिक पोस्ट बड्डिचौरको आयोजनाका सिसी क्यामरा जडान गरिएको हो । राजमार्ग र बजार क्षेत्रमा आठ वटा सिसी क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ ।

शान्ति सुरक्षाका लागि सिसी क्यामरा मेरुदण्डका रूपमा रहने बराहताल गाउँपालिका–५ का वडाध्यक्ष धिमराज जुल्मी मगरले बताउनुभयो । बराहताल गाउँपालिकाले शान्ति सुरक्षा, सडक सुरक्षालगायत अवाञ्छित क्रियाकलाप निगरानीसमेत गर्न तथा सार्वजनिक सुरक्षा व्यवस्थापनमा प्रविधिको प्रयोगका लागि अस्थायी ट्राफिक पोस्ट बड्डिचौरमा कन्ट्रोल रुम रहने गरी सिसी क्यामरा जडान गरिएको हो ।

प्रहरीसँगको समन्वयमा पालिकाले सिसी क्यामरा जडान गरेको बराहताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी पुनमगरले बताउनुभयो । बजार क्षेत्रका हरेक चोक र स्थानमा सिसी क्यामरा राख्दा घटना कसरी घट्छन्, तिनका कारण सजिलै पत्ता लगाई अन्य घट्ने घटना न्यूनीकरण गर्न र दोषी पत्ता लगाउन सजिलो हुने कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीमप्रसाद ढकालले बताउनुभयो ।

राजमार्ग तथा बजार क्षेत्रमा सिसी क्यामरा जडानपछि विभिन्न किसिमका चोरी डकैत, तस्करी, सवारी दुर्घटना कम हुने विश्वास गरिएको छ । पालिकाले सिसी क्यामरा जडान आगामी वर्षमा अन्य स्थानमा जोड्न बजेट विनियोजन गर्ने गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

भूकम्पको आठ वर्षपछि पुनःनिर्माण गरिँदै हुलाक प्रशिक्षण केन्द्रको भवन

काठमाडौँ, ९ जेठ – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त हुलाक प्रशिक्षण केन्द्रको भवन आठ वर्षपछि बन्ने निश्चित भएको छ ।सरकारी भवन बनाउने जिम्मेवारी पाएको सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको केन्द्रको भवन पुनःनिर्माण हुन सकेको थिएन । भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघिदेखि नै जीर्ण बनिसकेको थियो । भूकम्पपछि त भवनका धेरै संरचना क्षतविक्षत भएका छन् । भूकम्पले पूर्णरुपमा क्षति पुगेको भवन कोरोनाअघि नै बनाउने तयारी भएको थियो तर कोरोना महामारीका कारण केन्द्रको भवन निर्माण सरकारको प्राथमिकतामा पर्न सकेन । भवन भूकम्पले क्षतिग्रस्त भएपछि हाल कार्यालय परिसरमा प्रि–फ्याबको संरचना निर्माण गरेर काम चलाइएको केन्द्रका मुख्य प्रशिक्षक सविता कार्की बताउनुहुन्छ ।

भूकम्पले भत्किएका संरचनाको पुनःनिर्माणका लागि गठन भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको छ वर्षे कार्यकालमा समेत केन्द्रको भवन प्राथमिकतामा पर्न सकेन । प्राधिकरणले २०७८ पुसमै छ वर्षे कार्यकाल पूरा गरी विघटन भइसकेको छ । प्राधिकरण विघटन भएपछि यस्ता भवनको निर्माण गर्ने जिम्मेवारी पाएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले रु ६५ करोडको लागतमा भवन बनाउन लागेको हो ।

सिंहदरबारअघि बबरमहलको मुख्य सडकमा चार रोपनी १२ आना क्षेत्रफलमा फैलिएको जग्गामा अन्य सरकारी निकायले पनि आँखा लगाएका कारण पनि सरकारले बजेट विनियोजनमा ढिलाइ गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतकै नेपाल दूरसञ्चार प्राधिकरणले पनि यो जग्गा माग गरेको केन्द्रका प्रशिक्षक प्रदीपमणि शर्मा चौलागाईँले सुनाउनुभयो ।

भवन निर्माणका लागि राष्ट्रिय योजना आयोगको आयोजना बैंकसँग रु ६९ करोड माग गरिएको छ । आयोगको प्रक्रिया पूरा गरी बजेट मागको कागजात अर्थमन्त्रालय पुगेर बन्ने निश्चित भएको जनाइएको छ । भूमिगत पार्किङसहित सात तले भवनका लािग माटो परीक्षण र ड्रइङ, डिजाइनको काम सकिएर ठेक्का भई छनोटको क्रममा रहेको उहाँले बताउनुभयो ।

केन्द्रले हुलाक सेवामा रहेका स्थायी कर्मचारीलाई सेवाकालीन तालिम दिन्छ । केन्द्रका लागि विसं २०२२ मा बबरशम्शेर राणासँग बबरमहलको चार रोपनी १२ आना जग्गा किनिएको हो । जग्गासँगै रहेको राणाकालीन भवनमा केन्द्र सञ्चालन हुँदै आएको छ । एक सय वर्षभन्दा पुरानो भवन भएकाले यस विषयमा पुरातत्व विभागले पनि अध्ययन गरेर पुनःनिर्माणको अनुमति दिएको केन्द्रले जनाएको छ ।

राणाकालीन यो दरबार ‘एनइओ क्लासिकल’ प्रकारको हो । अब बन्दा भने यस्तै भवन नबन्ने सहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर निशा केसीले बताउनुभयो । अब भने यो भवन आधुनिक र ‘न्यू क्लासिकल’ स्वरुपमा बन्ने गरी डिजाइन गरिएको उहाँले सुनाउनुभयो ।

प्रशिक्षण केन्द्र भवनको ऐतिहासिकता

पुरानो भवन कहिले बनेको भन्ने स्पष्ट नभए पनि भत्किएका इँटामा विसं १९८० लेखिएको भेटिएको केन्द्रकी पूर्वमुख्य प्रशिक्षक सीता रेग्मीले राससलाई जानकारी दिनुभयो । २०१९ साल मङ्सिर १ गते स्थापना भएको केन्द्र सुरुमा कमलपोखरीमा भाडाको घरमा बसेको थियो ।

राणाकालमा चन्द्रशम्शेरले घोडा तबेलाका रुपमा प्रयोग गरेको यो भवनमा विसं २०२२ फागुन ९ गतेदेखि प्रशिक्षण केन्द्र सञ्चालन भएको हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै भवन जीर्ण भई बनाउने प्रस्ताव केन्द्रले गरेको थियो । विसं २०७० मा नयाँ भवन बनाउन माटो परीक्षणसमेत भएको थियो ।

हुलाक पुस्तकालय आठ वर्षदेखि बन्द

प्रशिक्षार्थीका लागि कम्प्युटर प्रयोगशालासहित पुस्तकालयसमेत रहेको तीन तले १५ कोठे भवन जीर्ण भएपछि हाल केन्द्र प्रि–फ्याब भवनमा सञ्चालन भइरहेको छ । भूकम्पले भवन पूर्णरुपमा क्षति भएपछि अस्थायी भवनमा कार्यालय सञ्चालन गर्न बाध्य हुनुपरेको मुख्य प्रशिक्षक कार्कीले बताउनुभयो । भवनमा स्थानअभावका कारण हुलाक र समसामयिक विषयका महत्वपूर्ण पुस्तक रहेको पुस्तकालय बन्द छ ।

सहरी विकास तथा भवन निर्माण विभागसँगै जोडिएको भए पनि जीर्ण भएको दशकौँसम्म यो भवन बन्न सकेको छैन । सेवाग्राही नजाने, हुलाकमा कार्यरत कर्मचारी तालिम लिने प्रयोजनका लागि मात्र छिर्ने भएकाले यसप्रति कसैको चासो नगएको हो ।

केन्द्रको भवन बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने प्राथमिकताका साथ काम अघि बढाएकाले आठ वर्षपछि बन्न लागेको हो । भवन निर्माण भएपछि यसलाई बहु सेवा केन्द्रका रुपमा सञ्चालन गर्ने सोच मन्त्रालयले बनाएको छ । हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग, केन्द्र, मुद्रण विभाग, सुरक्षण मुद्रण विभागको प्रशासन शाखालगायत कार्यालय नयाँ बन्ने भवनमा रहने बारेमा हाल छलफल चलिरहेको पनि प्रशिक्षक चौलागाईंले बताउनुभयो ।

करिश्मा मानन्धर र आकाश अधिकारीलाई मुम्बईमा दादासाहेब फिल्म अवार्डबाट सम्मानित

काठमाडौँ-नेपाली चलचित्र निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेत्री करिश्मा मानन्धर भारतको प्रतिष्ठित दादासाहेब फाल्के फिल्म फाउण्डेशन अवार्ड २०२३ बाट सम्मानित हुनुभएको छ ।
उहाँहरु नेपाली चलचित्र क्षेत्रमा वर्षौँदेखिको महत्त्वपूर्ण योगदान गरेको कदर स्वरुप भारतको मुम्बईमा यही जेठ ७ गते सम्पन्न सो अवार्ड समारोहमा सम्मानित हुनुभएको हो । भारतको सूचना तथा प्रसारण मन्त्रालयले आयोजना गरेको ६९औँ संस्करणको ‘दादासाहेब फाल्के अवार्ड’मा नेपालबाट क्रमशः उत्कृष्ट निर्देशक र उत्कृष्ट अभिनेत्रीको रुपमा सम्मानित उहाँहरु सम्मानित हुनुभएको हो ।

सम्मानप्रति कृतज्ञता व्यक्त गर्दै निर्देशक अधिकारीले भन्नुभयो, “स्वर्ग, मैले सुनेको मात्रै, देखेको छैन, मेरो देश नेपाल, स्वर्गजस्तो छ । त्यस पछि, म महाराष्ट्र मुम्बईलाई अर्को स्वर्ग मान्छु, जहाँ मैले सिक्न र काम गर्ने अवसर पाएँ ।” अभिनेत्री मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा कृतज्ञता व्यक्त गर्दै भन्नुभयो, “कला भनेको सिमाना नाघेर मानिसको जीवनलाई समृद्ध बनाउने विश्वव्यापी भाषा हो ।”दादासाहेब फाल्केको नाममा रहेको राष्ट्रिय चलचित्र पुरस्कार समारोह चलचित्र उद्योगमा असाधारण योगदानको कदर गर्न हरेक वर्ष आयोजना हुँदै आएको छ ।

सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

काठमाडौँ- सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । यही जेठ २ गते उहाँले सगरमाथाको आरोहण गर्नुभएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराउनुभएको थियो । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो । सोहीअनुरुप उहाँले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराउनुभएको जनाइएको छ ।

यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिनुभएको छ । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन हुनुभएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “म अरोही शेर्पाले सगरमाथा चुम्न गर्नुभएको अथक प्रयास, मेहनत र उच्च साहसको ह्ृदयदेखि नै सरहना गर्दछु । यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराउनुभएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।” मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उहाँले प्रतिबद्धतासमेत जनाउनुभएको छ ।

आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, “रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।”

युक्रेनद्वारा रुसको दाबी अस्वीकार

कीभ – मस्कोले रुसको बेलगोरोड सीमा क्षेत्रमा प्रवेश गरी तोडफोडमा युक्रेनको संलग्नता रहेको बताएपछि युक्रेनले सोमबार रुसी भूभागमा घुसपैठमा आफ्नो संलग्नता नभएको दाबी गरेको छ ।

“युक्रेनले रुसको बेल्गोरोड क्षेत्रका घटनाहरूलाई चासोका साथ हेरिरहेको र विकसित अवस्थाको अध्ययन गरिरहेको ।,” युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखायलो पोडोल्याकले बताउँनु भएको छ । युक्रेनले यसअघि रुसको भूभागमा भएको कयौं तोडफोड आक्रमणको जिम्मेवारी अस्वीकार गरेको थियो।

रुसले यसअघि युक्रेनबाट बेल्गोरोड क्षेत्रमा तोडफोड गर्ने समूह प्रवेश गरेको र रुसी सेना र एजेन्टहरूले उनीहरूलाई ” निश्तेज” पार्ने प्रयास गरिरहेको बताएको थियो।यता पोडोल्याकले भने त्यस्ता गतिविधिमा रूसी “गुरिल्ला समूहहरू” जिम्मेवार हुन सक्ने बताउँनु भएको छ।

ऐश्वर्यासँग रोमान्टिक हुँदा निकै लजाएको थिएँ रणवीर

मुम्बई। अभिनेता रणवीर कपूर बलिउडका चकलेटी ब्वाईका रुपमा चिनिन्छन् । पर्दामा अभिनेत्रीसँगको उनको रोमान्टिक क्यामेष्ट्रीलाई जोकोहीले मनपराउँछन् । फिल्म ‘ए दिल हे मुस्किल’मा रणवीरले अनुष्का शर्मा र ऐश्वर्या रायसँग रोमान्स गरेका थिए । यो फिल्म सुपरहित साबित भएको थियो ।

यद्यपि यो फिल्म रिलिज पछि रणवीरले ऐश्वर्यासँग अभिनय गर्दाका केही किस्साको खुलासा गरेका थिए । रणवीरका अनुसार ऐश्वर्यासँग रोमान्स गर्दा उनी लजाएका थिए । उनले ऐशको गालामा हात लैजान सकेका थिएनन् । रणवीरले हालै एक रेडियोलाई दिएको अन्तरवार्तामा ऐश्वर्यासँग रोमान्स गर्दा आफ्नो हात कामेको बताएका छन् ।

‘ऐश्वर्यासँग रोमान्टिक हुँदा म निकै लजाएको थिएँ । मैले उनको गालामा छुन सकेको थिइनँ । छुन खोज्दा हात कामेको थियो’, रणवीरले भनेका छन्, ‘त्यसपछि ऐश्वर्याले मलाई आफूले एक दृश्यमात्र गरिरहेको भन्दै सम्झाएकी थिइन् । हामीले अभिनय मात्र गर्नुपर्ने हो र आफ्नो कामलाई निकै राम्रो ढंगले गर्नुपर्छ भनेर सम्झाएकी थिइन् । त्यसपछि मलाई यो मौका फेरी आउँदैन जस्तो लाग्यो । त्यही मौकालाई मैले सदुपयोग गरे ।’ 

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

कास्की – पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो ।

वडा प्रहरी कार्यालय बैदामबाट गएको प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारका लागि मेट्रोसिटी अस्पताल पठाएको थियो । प्रहरीले दुर्घटनाको अनुसन्धान भइरहेको जनाएको छ । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।

भारतले दुई हजार दरका नोटमाथि रोक लगाउँदा त्यसको प्रभाव नेपाललाई कसरी पर्ला ?

भारतको रिजर्भ ब्याङ्कले गत साता भारतीय रुपैयाँ दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेसँगै खुला सीमा रहेको नेपालमा त्यसको सम्भावित प्रभाव पर्ने चर्चा परिचर्चा भइरहेको छ।

शुक्रवार जारी गरिएको विज्ञप्तिमा आरबीआईले दुई हजारका नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने जनाएको छ।

यसअघि सन् २०१६को नोभेम्बर महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अचानक भारतीय रुपैयाँ पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको थियो।

उक्त कदम चालिएको ६ वर्ष भइसकेको छ तर नेपालमा रहेका प्रतिबन्धित नोटहरू फिर्ता लिने विषयबारे दुई देश टुङ्गोमा पुग्न सेकका छैनन्।यस्तो अवस्थामा भारतको पछिल्लो कदमले नेपाललाई के फरक पार्छ भन्ने कुरा चासोको विषय बनेको छ।

पछिल्लो प्रतिबन्धले कस्तो प्रभाव पर्छ?

सन् २०१६मा भारतले भारु पाँच सय र एक हजारको नोट चलनचल्तीबाट हटाउने निर्णय अचानक गर्दा नेपालका ब्याङ्कहरूमा ८ करोड १० लाख बराबरका त्यस्ता नोट थिए।राष्ट्र ब्याङ्कका अनुसार देशका विभिन्न ब्याङ्कहरूमा पाँच सय दरका ६८,१४७ थान नोट र एक हजार दरका १६,५५२ थान नोट अहिले पनि यथावत् छन्।

त्यसको अतिरिक्त सर्वसाधारणहरूसँग पनि चलनचल्तीबाट हटाइएको भारु भएको बताइने गरे पनि परिमाण भने यकिन हुन सकेको छैन।सन् २०१६को नोटबन्दीपछि नेपालले भारु एक सय भन्दा बढीको नोट चलनचल्तीमा ल्याएको छैन। केन्द्रीय ब्याङ्कले यस विषयमा सार्वजनिक सूचना जारी गरेको थियो।

‘‘एक सय भन्दा माथिका दरका नोटहरू गैर कानुनी मानिने भनेर सार्वजनिक सूचना जारी गरिएको थियो,’’ नेपाल राष्ट्र ब्याङ्कका सहायक प्रवक्ता नारायणप्रसाद पोखरेलले भने।त्यसको अर्थ हाल नेपालको ब्याङ्कीङ प्रणालीमा भारु एक सयभन्दा बढी दरका नोटहरू छैनन्।

आम सर्वसाधारणले एक सय भारुभन्दा बढीको नोट कारोबार गर्नु वा साथमा राख्नुलाई समेत केन्द्रीय ब्याङ्कले गैर कानुनीको संज्ञा दिएको छ।‘‘त्यसकारण यसको असर जिरो (कुनै असर पर्दैन) नै पर्ला भन्नु पर्‍यो, देखिने रूपमा,’’ पोखरेलले भने।

‘‘तर नदेखिँदो रूपमा त पक्कै पनि भारतीय सीमा क्षेत्रका मानिसहरूले ठूलो दरको नोट सहजताका कारण बोक्ने भएको हुनाले उनीहरूलाई चाहिँ अप्ठ्यारो पर्छ।’’

नोट राखेका नेपालीको हकमा अब के हुन्छ?
नेपाल र भारतबीच लामो खुला सीमा छ। जस कारण दुवै देशका सर्वसाधारण सहजै एक देशबाट अर्कोमा पुग्न र त्यहाँका बजारमा किनमेल गर्न सक्छन्।सीमावर्ती जिल्लाहरूमा भारतमा नेपाली रुपैयाँ र नेपालमा भारतीय रुपैयाँमै कारोबार समेत हुने गरेका छन्।

आधिकारिक रूपमा नेपालका वित्तीय संस्थाहरूसँग भारु दुई हजारको नोट नभए पनि सर्वसाधारणहरूसँग उक्त दरको रकम रहेको सहजै अनुमान गर्न सकिने अवस्था छ।

आरबीआईले मे २३, २०२३ देखि नोटहरू सर्वसाधारणको ब्याङ्क खाता वा कुनै पनि ब्याङ्कबाट साट्न सकिने जनाएको छ।पोखरेल पनि भारु दुई हजार दरका नोट भएका व्यक्तिहरूले आफै ती नोट साट्न पहल लिनुपर्ने बताउँछन्।

‘‘उहाँहरू के कुरामा सुसूचित हुनुपर्‍यो भने त्यो इन्डिभिजुअल इफोर्टबाटै (व्यक्तिगत पहल) सटही गर्नुपर्दो रैछ, ब्याङ्किङ च्यानलबाट सटही हुन नसक्दो रहेछ। त्यसको कारण यो (दुई हजारको नोट) गैरकानुनी भनिएको रहेछ। त्यसले गर्दा यो प्रहरी प्रशासनले भेट्नुभन्दा अगाडि वहाँहरूले व्यक्तिगत तवरबाट साट्न सक्नु पर्‍यो, समय सीमाभित्र। सक्नुभएन भने त्यो कागजको खोस्टो बराबर हुन्छ,’’ पोखरेलले भने।

अधिकारीहरूका अनुसार विगतमा नेपालले ठूला दरका भारतीय नोट चलाउने गरेको थिएन। सन् २०१६को नोटबन्दी अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा दुई देशका सरकारबीच भएको समझदारीमा आधारित रहेर भारु पाँच सय र एक हजारका नोट चलाउन थालिएको थियो।यो समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

यस वर्षको वसन्त ऋतुमा पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे

काठमाडौँ- यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताउनुभयो । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”, महानिर्देशक लुइँटेलले भन्नुभयो ।

मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ । यस वर्षको वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेबाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका एक सय तीन महिला र तीन सय ७६ पुरुष गरी कूल चार सय ७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।

बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री गर्ने लक्ष्मी आयल स्टोर्सलाई दुई लाख जरिवाना

मन्थली- कृत्रिम अभाव सिर्जना गरेको र बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको भन्दै रामेछापको मन्थलीस्थित लक्ष्मी आलय स्टोर्सलाई जिल्ला प्रशासन कार्यालय रामेछापले दुई लाख जरिवाना गरेको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रजिअ अनोजकुमार घिमिरेको नेतृत्वमा पुगेको अनुमगन टोलीले जरिवाना गरेको हो । उक्त आयल स्टोर्सका सञ्चालकले कृत्रिम अभाव सृजना गर्ने र मनलाग्दी मूल्य लिएर गैरकारनुनी तरिकाले पेट्रोलियम पदार्थ बिक्री गरेको ठहर गर्दै कानुनअनुसार जरिवाना गरिएको सहायक प्रजिअ अनोज घिमिरेले बताउनुभयो ।

गैरकानुनी ढङ्गबाट बढी मूल्य लिएर बिक्री गरेपछि आफूलाई स्थानीयले उजुरी गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उक्त आयल स्टोर्सका बारेमा सूक्ष्म रुपले अनुगमन गर्दा सञ्चालकले गलत नै गरेको पुष्टि भएपछि हामीले जरिवाना गरेका हौँ । यो न्यूनतम जरिवाना गरिएको हो ।”

जिल्लामा सदरमुकाम मन्थलीमा रहेका तीनवटा पेट्रोल पम्पमा एक हप्तादेखि पेट्रोलियम पदार्थ नभएपछि आजै बिहानमात्र आएको सो पेट्रोल पम्पमा बढी मूल्य लिएर गैरकानुनी ढङ्गबाट बिक्री वितरण भएको पाइएको थियो ।

उता लक्ष्मी आयल स्टोर्सका प्रोप्राइटर केशव घिमिरेले आफूले मूल्यमा कुनै पनि तलमाथि नगरेको र सबैलाई आयल निगमले तोकेको एउटै मूल्यमा वितरण गर्ने गरेको दाबी गर्नुभएको छ । दुई वर्षअगाडि पनि यो आयल स्टोर्स पेट्रोलियम पदार्थमा मिसावट गरेको आरोपमा कारबाहीमा परेको थियो ।

अभिनेता आदित्य घरको बाथरुममा मृत भेटिए

काठमाडौं भारतीय अभिनेता तथा मोडल आदित्य सिंह राजपूत मृत अवस्थामा भेटिएका छन् । आदित्य मुम्बईको अँधेरीस्थित घरको बाथरुममा मृत भेटिएका हुन् । ‘मैंने गान्धीको नहीँ मारा’ र ‘क्रान्तिवीर’ जस्ता फिल्मका अभिनेता आदित्यको मृत्युको कारण के हो भन्ने हालसम्म खुल्न सकेको छैन ।

आदित्यका साथी र भवनको सुरक्षागार्डले आदित्यलाई तुरुन्त अस्पताल पु¥याए पनि बचाउन नसकिएको बताइएको छ । अहिले प्रहरी यो मामलामा अनुसन्धान गरिरहेको छ । आदित्यको निधनले बलिउड शोकमा डुबेको छ ।

काभ्रेमा डरलाग्दो अबस्थामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता ,नौ महिनामा तीन सय ६५

काभ्रे- काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा तीन सय ६५ मुद्दा दर्ता भएको छ । बढ्दो प्रविधिको विकास एवं प्रयोगसँगै संहिता कानुनले पुरुष र महिला दुवैलाई सम्बन्ध विच्छेदको सहज अधिकार प्रदान गरेका कारण यस्ता घटनामा वृद्धि हुन थालेको विश्लेषण गर्न थालिएको छ ।

अदालतका अनुसार सम्बन्ध विच्छेदको उक्त सङ्ख्या विसं २०७९ साउन महिनादेखि चैतसम्मको हो । चालु आवको उक्त घटना दर्ता अघिल्लो आवको भन्दा निकै बढी भएको अदालतका श्रेष्तेदार गोविन्द घिमिरेले बताउनुभयो । उहाँका अनुसार वैशाख महिनामा करिब दुई दर्जन सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । “अघिल्लो वर्षको तुलनामा सम्बन्ध विच्छेदसम्बन्धी घटना यो वर्ष ह्वात्तै बढेको पाइयो, यो निकै डरलाग्दो सङ्ख्या हो”, घिमिरेले भन्नुभयो । 

जिल्ला अदालतमा गत वर्ष डेढ सयको हाराहारीमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको जनाइएको छ । जेठ महिना लाग्दै गर्दा अदालतमा दैनिक सम्बन्ध विच्छेदका घटना दर्ता भइरहेको घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्बन्ध विच्छेदका कारण उनीहरुबाट जन्मेका सन्तान बेवारिसे हुन थालेको गुनासो आउन थालेका छन् । बाल मस्तिकमा पार्ने प्रभावले भविष्यमा उत्पन्न हुने जोखिमलाई सोच्न भने सकिएको छैन ।” 

सम्बन्ध विच्छेदका घटनाको ग्राफ बढिरहँदा समाजमा नकारात्मक असर पु¥याउने चिन्ता व्यक्त गर्न थालिएको छ । घिमिरेका अनुसार सम्बन्ध विच्छेद भएका घटनामा पनि सम्पत्तिको हक दाबी कार्यान्वयनमा कठिनाइ देखिएको छ । केहिले सम्बन्ध विच्छेदको सट्टा अंश चलन र मानाचामलमा मुद्दा दर्ता गरेका छन् ।

जिल्लामा फौजदारी सरकारवादीअन्तर्गत दर्ता हुने मुद्दामध्ये डरलाग्दो तथ्याङ्क देखिएको करणीसम्बन्धी मुद्दा रहेका छन् । हरेक महिना चारभन्दा धेरै जबरजस्ती करणीका घटना दर्ता हुने गरेको अदालती तथ्याङ्कले देखाएको छ । यही अवधिमा महिनाको अवधीमा ४१ करणीसम्वन्धी मुद्दा दर्ता भएको अदालतले जानकारी दिएको छ । जसमा जबरजस्ती करणीसम्बन्धी ३६ र बालयौन दुव्र्यवहारमा चारवटा र जबरजस्ती करणी उद्योगमा एउटा मुद्दा दर्ता भएको हो ।

सहमतिमा सम्बन्ध राख्ने र पछि परिवार, समाज र आफन्तले जानकारी पाएपछि जबरजस्ती करणीमा अभियोग दर्ता भएका केही मुद्दा पनि रहेको जनाइएको छ । प्रेम गर्ने, सम्बन्ध रहने अनि परिवारले थाहा पाएर असमझदारी भएको दिन जबरजस्ती करणीमा मुद्दा दर्ता भएको पाइएको छ । यस्ता घटनामा एकल महिला, बालिकादेखि बृद्धासम्म जबरजस्ती करणीका सिकार बनेको घटनाक्रमले देखाएको छ । 

जिल्ला अदालत धुलिखेलमा दर्ता भएकामध्ये अंश चलनसम्बन्धी एक सय ७५ थान मुद्दा यस वर्षका छन् । नौ महिनाको अवधिमा महिलाले १६  मानाचामलमा र एक सय ७५ वटा अंश चलनसम्बन्धी मुद्दा दर्ता गराएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार यही अवधिमा बहुविवाहसम्बन्धी छ मुद्दा दर्ता भएका छन् । 

अदालतमा आव २०७८/७९ बाट चालु आव २०७९/८० का लागि एक हजार पाँच सय ५५ थान मुद्दाको जिम्मेवारी सरेको थियो । नौ महिनाको अवधिमा एक हजार तीन सय ६२ थान दर्ता भएका छन् । कूल मुद्दाको सङ्ख्या दुई हजार नौ सय १७ पुगेको छ । जसमध्ये गत चैत्र महिनामा मात्रै दुई सय ९४ फछ्र्याैट भएका छन् भने छ महिना अवधिका दुई सय ९१, एक वर्ष अवधिका पाँच सय चार, डेड वर्ष अवधिका दुई सय ४०, दुई वर्ष अवधिका एक सय ६६ र दुई वर्ष नाघेका दुई सय ७७ गरी कूल एक हजार चार सय ७८ मुद्दा फैसला भएका छन् । प्रतिशतका हिसाबले यो ५० दशमलव ६७ प्रतिशत हो । 

अदालतमा अझै दुई वर्ष नाघेका एक सय ४६, दुई वर्ष सम्मका ८४, डेड वर्ष अवधिका दुई सय आठ, एक वर्ष अवधिका तीन सय ९६, छ महिनाभित्रका छ सय पाँच गरी कूल एक हजार चार सय ३९ मुद्दा फछ्र्याैट हुन बाँकी रहेको जनाइएको छ ।  

सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा

काठमाडौं । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि विभिन्न पालिकाका प्रमुख, अध्यक्षदेखि प्रतिनिधि सभाका सांसदहरु नै कर्मचारी सरुवाको लागि मरिहत्ते गर्दै दौडधूपमा लाग्ने गरेको पाइएको छ ।

विभिन्न पालिकाका प्रमुख र सांसदहरुले कर्मचारी सरुवाको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा दवाव दिन थालेका छन् । जनप्रतिनिधिहरुको दबाव र कर्मचारी मोहका कारण सामान्य प्रशासन मन्त्रालयले बनाएको कर्मचारी सरुवा मापदण्ड समेत लामो समयदेखि निश्प्रभावी बन्दै आइरहेको छ ।

प्रशासनिक क्षेत्रमा कर्मचारी सरुवा सामान्य र नियमित प्रक्रिया भएपनि विभिन्न पक्षको रुचि र सेटिङका कारण सरुवा विवादित बन्ने गरेको छ । सरुवामा आर्थिक चलखेल समेत हुने गरेको स्रोतको दावी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुश्कर पनि जनप्रतिनिधि तथा उच्च तहको राजनीतिक नेतृत्वको दबावका कारण कर्मचारी व्यवस्थापनमा समस्या परिरहेको बताउछन् ।

उनले स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतको सरुवामा सांसद तथा स्थानीय तहकै जनप्रतिनिधिको बढि दवाव आउने गरेको बताए । ‘विभिन्न खालका दबावका कारण सरुवा मापदण्ड समेत लागु गर्न सकिएको छैन, त्यस्ता दबाव रोकिन नसक्दासम्म सरुवालाई व्यवस्थित गर्न कठिन छ,’ सचिव पुश्करले भने ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जिल्लाबाट दिनहुँजसो जनप्रतिनिधिहरु कर्मचारी सरुवाको माग लिएर मन्त्रालयमा आउने गरेका छन् । उनीहरुले स्थानीय तहमा आवश्यक पर्ने प्रमुख प्रशासकिय अधिकृत आफुले भने अनुसारको हुनुपर्ने भन्दै दबाब समेत दिने गरेका छन् ।

अर्कोतर्फ प्रायः अधिकांश सांसदहरुले पनि आफ्नो जिल्लाका पालिकाहरुमा आफ्नै रुचिका प्रमुख प्रशासकिय अधिकृत लगायतका कर्मचारी लैजान भन्दै मन्त्रालयमाम दवाब दिने गरेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

एसएमई प्लेटफर्म निमावली स्वीकृतका लागि अर्थ मन्त्रालयमा

काठमाडौं । साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०८० स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गरिएको छ । नेपाल धितोपत्र बोर्डले जेठ ७ गते उक्त नियमावली स्वीकृतिका लागि अर्थमा पेश गरेको हो ।

बोर्ड प्रवक्ता मुक्तिनाथ श्रेष्ठले चैतमै तयार नियमावलीको मस्यौदामा केही बुँदा थप गरी स्वीकृतिका लागि अर्थमा पेश गरेको जानकारी दिए । उनका अनुसार जेठ ४ गतेको बोर्ड बैठकले नियमावली स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको थियो । बोर्डले यसै आर्थिक वर्ष (आव) भित्र साना तथा मझौता संगठित संस्थाको मात्र कारोबार हुने प्रणाली (एसएमई प्लेटफर्म) सञ्चालनका लागि नियमावली बनाएको हो।

अर्थबाट समयमै स्वीकृत भए धितोपत्रको दोस्रो बजार सञ्चालक नेप्सेसँगको समन्वयमा यसै आवभित्र एसएमईज प्लेटफर्म सञ्चालन गर्ने बोर्डको लक्ष्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बोर्डले साना तथा मझौला संगठित संस्थाको कारोबारसम्बन्धी धितोपत्र निष्कासन तथा नियमावली, २०५० को मस्यौदामा सरोकारवालाको सुझावका आधारमा केही बुँदा थपेको छ । प्रवक्ता श्रेष्ठका अनुसार प्रिमियममा आईपीओ निष्कासन गर्ने कम्पनीले अन्डरराइटिङ गर्नुपर्ने व्यवस्था थपिएको छ ।

यसअघि प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको हकमा पछिल्लो ३ वर्षसम्म नाफामा रहेको, प्रतिशेयर चुक्ता पूँजीभन्दा प्रतिशेयर नेटवर्थ बढी भएको र औसतभन्दा माथिल्लो क्रेडिट रेटिङको शर्त मात्र समावेश थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

गाउँपालिकाद्वारा पशुपालक किसानलाई याकको बाच्छा वितरण

ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पशुपालनको प्रवर्द्धनका लागि स्थानीय पशुपालक किसानलाई याकको बाच्छा वितरण गरेको छ । गत वर्ष समेत याकको बाच्छा वितरण गरेको गाउँपालिकाले यो वर्ष १२ जना किसानलाई याकको बाच्छा खरिद गरेर वितरण गरेको हो । पछिल्लो समय पशुपालन व्यवसाय घट्दै गएको पाइएकाले किसानलाई प्रोत्साहन गरी पशुपालन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि याकका बाच्छा वितरण गरिएको गाउँपालिका अध्यक्ष भक्त कार्कीले बताउनुभयो । जनशक्तिको अभाव, आधुनिक जीवनशैली, चरन क्षेत्रको अभावलगायत कारण पछिल्लो पशुपालन व्यवसाय घट्दै गएको पाइन्छ ।

गाउँपालिकाले गत वर्ष ३२ वटा याकका बाच्छा किसानलाई बाँडेको थियो । गाउँपालिकाले यसरी बाच्छा खरिद गरेर दिन थालेपछि पशुपालक किसान उत्साहित बनेको गाउँपालिकाले जनाएको छ । यो वर्ष ८ लाख रुपैँयाको लागतमा १२ जना पशुपालक कृषकलाई याक वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष कार्की सहितको टोलीले विभिन्न क्षेत्रमा रहेका गोठमै पुगेर वितरण गरेको बताइएको छ ।

विशेष गरी गाउँपालिकाभित्र पर्ने पापुङका किसानले याक पालन गर्दै आएका छन् । गाउँपालिकाभर ४४ वटा याक गोठ रहेको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ । कृषि कार्यक्रमअन्तर्गत गाउँपालिकाले पशुपालकलाई प्रोत्साहन गर्ने गरी याक वितरणको कार्यक्रम बनाएको उहाँले बताउनुभयो । पशुपालन व्यवसायबाट राम्रो आमदानी लिन सकिने भएकाले किसानलाई आत्मनिर्भर बनाउने यो कार्यक्रमले सहयोग पुग्ने र निरन्तरता दिने अध्यक्ष कार्कीले बताउनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत निर्णय गर्ने भूमिकामा रहेको किटान गर्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

अलगअलग भूमिका किटान गर्दै प्रहरीले पक्राउ परेका १६ जना र पक्राउ नपरेका १७ जना गरी ३३ जनाविरुद्ध मुद्दा चलाउन राय दिँदै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। तर प्रहरीले पक्राउ परेका सबै र फरार तथा शंकाको घेरामा रहेकाहरूलाई पुनः अनुसन्धान गर्ने बाटो पनि खुला राखेको छ।

प्रहरीले पीडितहरूबाट पूरक निवेदन लिएर थप ६० दिन अनुसन्धान गर्ने अधिकार राखेर सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पठाएको छ । सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले प्रहरीले पूरक निवेदन लिएर पुनः ६० दिनसम्म थुनामा राखेर अनुसन्धान हुन सक्ने बताए ।

पुनः अनुसन्धान गर्नुपर्ने अवस्थामा पहिलाको जस्तै थुनामा लिएर प्रहरीले अनुसन्धान गर्नेछ, सहन्यायाधिवक्ता न्यौपानेले भने । प्रहरीले पीडितहरूका तर्फबाट पूरक निवेदन लिइरहेको छ । यो समाचार नागरिक दैनिकमा छ ।

आजदेखि सम्पदा बस सञ्चालन हुने

काठमाडौँ – नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ ।बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिनुभयो ।

“पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको हो”, उहाँले भन्नुभयो, “विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो ।”

बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ । “दुईवटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ । केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ”, उहाँले भन्नुभयो ।

हावाहुरीसहितको वर्षाले कागतीका तीन सयभन्दा बढी बोट भाँचिए

दमौली- केही दिनदेखि आएको हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा नोक्सान पुर्याएको छ । स्थानीयवासी राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गर्नुभएको कागती खेतीमा हावाहुरीले नोक्सानी गरेको हो ।

छब्बीस रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोट नष्ट गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भन्नुभयो, “हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।” कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उहाँले गुनासो गर्नुभयो ।

चार वर्ष कोरिया बसेर फर्किनुभएका उहाँले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढ्नुभएको छ । हालसम्म रु ३५ लाख लगानी भएको उहाँले बताउनुभयो । अघिल्लो वर्ष रु पाँच लाखको कागती बिक्री गरेकामा यस वर्ष रु २५ लाखको बिक्री गर्ने लक्ष्य थियो ।

उहाँले भन्नुभयो, “कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ ।” कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उहाँले गुनासो गर्नुभयो ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाभर क्षतिको विवरण सङ्कलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्याङ्कन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ छ ।

“हामी सम्बन्धित निकायमा यसबारेमा जानकारी गराउँछौँ, कृषकलाई क्षतिपूर्तिको व्यवस्था नगर्ने हो भने उहाँहरू कृषि पेसाबाटै विमुख हुनुपर्ने अवस्था आउन सक्छ”, उहाँले भन्नुभयो ।

आशापानीका कागती खेती कृषकको बगैँचामा पुगेर अवलोकन गर्दा धेरै ठूलो क्षति भएको जानकारी पाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकले राम्रो व्यवस्थापनका साथ कागती खेती गर्नुभएको थियो, बगैँचा व्यवस्थापन आकर्षण छ, तर हावाहुरीले एकतिहाइ बोट जरैदेखि नष्ट गरिदियो ।”

पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ । जिल्लाभरको हावाहुरीको क्षतिको विवरण आइनसकेको भन्दै उहाँले भन्नुभयो, “हामीले स्थलगतरूपमा क्षतिको विवरण सङ्कलनको काम गरिरहेका छौँ ।”

व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न लागेको छ । केही दिन अगाडि आएको हावाहुरी, असिनापानीका कारणले नगरपालिका क्षेत्रका विभिन्न वडामा पारेको असरको विवरण सङ्कलन गरी सात दिनभित्र वडा विपद् समितिबाट निर्णय गराई नगर विपद् समितिमा सिफारिस गर्न सबै वडा समितिलाई निर्देशन दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।

जसपाको संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत चयन हुनुभएको छ । जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको निर्वाचन समितिको बैठकमा संसदीय दलको नेतामा यादवको नाम दलको नेतामा सर्वसम्मत घोषणा भएको सो पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार जसपा केन्द्रीय कार्यकारिणी समितिले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । मिथिलेस सिंहको नेतृत्वमा रहेको समितिमा दीपेन्द्र झा र अर्जुन थापा सदस्य रहनुभएको थियो । सोही समितिले सोमबार जसपा संसदीय दलको कार्यालयमा निर्वाचनसम्बन्धी बैठक बोलाएर उक्त बैठकले सर्वसम्मतिबाट अध्यक्ष यादवलाई दलको नेता चयन गरेको सो पार्टीले जनाएको छ । संसदीय दलको नेता चयन हुनुभएका यादव गएको वैशाख १० गते भएको उपनिर्वाचनमा बारा–२ बाट सङ्घीय सांसदमा निर्वाचित हुनुभएको थियो ।

आज मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ४ बजे बस्दैछ । मन्त्रिपरिषद् बैठक ४ बजे बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए  । 

 उनका अनुसार प्रधानमन्त्री प्रचण्डले मंगलवार बिहान ११ बजे सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) को वार्षिक साधारणसभाको कार्यक्रममा तथा दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा सहभागी हुनेछन् ।
 

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रमाथी नै छलफल हुने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रमा माथी आज पनि छलफल जारी रहने भएको छ । गत ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथी आज पनि छलफल जारी रहने भएको हो ।

बैठक बिहान ११ बजे बस्नेछ ।राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथी नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शिर्ष नेताले सम्बोधन गरिसकेका छन् ।

पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।

मिटरब्याजीहरुको कारण दुःख पाएको भन्दै पीडितले हालसम्म नौ सय ८४ वटा निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका मिटरब्याजी पीडित सहायता कक्षका प्रमुख गौरीशङ्कर साहले जानकारी दिनुभयो । सरकारले मिटरब्याजीविरुद्ध अध्यादेशमार्फत कानुन बनाइ ठगी गर्ने साहुहरूलाई कानुनी कारबाही गर्ने निर्णय बमोजिम पीडितहरूले न्यायका लागि निवेदन दिएको उहाँले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले वैशाख १५ गते मिटरब्याजी पीडितहरूलाई निवेदन दिन सूचना निकालेपछि वैशाख १७ गतेदेखि निवेदन आउन सुरु भएको प्रमुख साहले बताउनुभयो । अधिकांश पीडितहरूले स्वयं आफैँ निवेदन लिएर जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गराउने उहाँको भनाइ छ ।

गरिबी र सोझोपनको फाइदा उठाउँदै साहुहरूले दिएको रकमको तिहाइ, चौथाइ कपाली कागज गराउनाका साथसाथै जग्गासमेत आफ्नो नाममा साहुहरूले दर्ता गराई अन्याय गरेको अधिकांश पीडितले उजुरीमा उल्लेख गरेका छन् । पीडितहरूको निवेदन दिने चाप बढेको हुनाले जेठ १४ गतेसम्म निवेदन लिने गरी समय बढाइएको उहाँले बताउनुभयो ।

समय सीमा सकिसकेपछि निवेदनमाथि जाँच बुझ गरी आयोगको निर्देशनअनुसार आयोगलाई सिफारिस गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताउनुभयो ।

भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण

मकवानपुर – मकवानपुरको भीमफेदी कारागारका ३५ कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो ।

सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारका जेलर प्रमुख तीर्थ पौडेलले जानकारी दिनुभयो । सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले आवश्यक औषधिसहित उपचार भइरहेको जेलर पौडेलले बताउनुभयो ।

हेर्नुहोस् यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही ती प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाको आकाश बिहानैदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर आंशिकदेखि समान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र मधेस प्रदेशको तराईका केही स्थानमा हुरीको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
 

अर्थमन्त्री डा महत र एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता

काठमाडौँ – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ ।

भेटका क्रममा एमसिसीले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समितिअन्तर्गत अघि बढाइरहेका परियोजना कार्यान्वयनको समग्र स्थितिबारे छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ ।

एमसिसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्त २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले पाँच वर्षभित्र आयोजना सम्पन्न गरिसक्नुपर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाका बारेमा जानकारी लिन एमसिसीका पदाधिकारीको भ्रमण भएको सचिवालयले बताएको छ ।

भेटघाटका क्रममा एमसिसी नायब उपाध्यक्ष ब्रुक्सले आयोजनाको जग्गा प्राप्ति, खरिद प्रक्रिया जस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो । त्यसैगरी, सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भइसक्नुपर्ने बाँकी कार्यका बारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको जनाइएको छ ।

भेटका क्रममा अर्थमन्त्री डा महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नाका साथै आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानूनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुङ्ग्याउने प्रतिबद्धता जनाउनुभयो । मन्त्री डा महतले एमसिएअन्तर्गतका आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसिसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।

एमसिसी नायब उपाध्यक्ष ब्रुक्सले यसअघि उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटघाट गर्दै आयोजनाको जग्गा प्राप्तिमा सहजीकरणका लागि आग्रह गर्नुभएको थियो ।

मिलेनियम च्यालेन्ज नेपाल अकाउन्ट विकास समितिमार्फत करिब तीन सय १५ किलोमिटर चार सय केभी डबल सर्किट प्रसारणलाइन र करिब तीन सय पाँच किलोमिटर रणनीतिक सडक सञ्जाल विस्तार तथा मर्मतसम्भार परियोजनामा काम भइरहेको छ ।

भोलिदेखि सम्पदा बस सञ्चालन हुने

नेपाल पर्यटन बोर्डको अगुवाइमा भोलिदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ ।बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिनुभयो ।

“पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको हो”, उहाँले भन्नुभयो, “विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो ।”

बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ । “दुईवटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ । केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ”, उहाँले भन्नुभयो ।

बाजुराको बिछिया केन्द्रविन्दु भएर गयो भूकम्प

बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जर सम्झौता

काठमाडौँ-लक्ष्मी बैंक लिमिटेड र सनराईज बैंकबीच मर्जरको अन्तिम सम्झौता भएको छ । आज एक कार्यक्रमका बीच दुई बैंकको मर्जरको अन्तिम सम्झौता भएको हो ।ड्यु डिलिजेन्स अडिटरको प्रतिवेदनका आधारमा दुवै बैंक १ः१ को स्वाप रेसियोमा मर्ज हुनेछन् । मर्ज भएपछि बन्ने संस्थाको नाम लक्ष्मी सनराईज बैंक लिमिटेड हुनेछ ।

लक्ष्मी बैंकका हालका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुनेछ भने बैंक गाभिएपछि बन्ने बैंकको सञ्चालक समितिको प्रथम बैठकले सञ्चालक समितिको अध्यक्षको चयन गर्नेछ ।

दुवै बैंकको साधारणसभाले मर्जरको निर्णण पारित गरेपछि नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि एकीकृत कारोबार सुरु हुनेछ । सबै प्रक्रिया पूरा गरेर आगामी असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने लक्ष्य रहेको जनाइएको छ ।

यसअघि गत पुस २५ गते लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराईज बैंकका अध्यक्ष मोतीलाल दुगडले मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक डा मनिष थापा र स्वति रुङ्गटा तथा सनराईज बैंकको तर्फबाट सञ्चालकहरू शारदा शर्मा र दीपक नेपाल रहनुभएको छ ।