`

हावाहुरीसँगै वर्षा हुन थालेपछि…

फुङ्लिङ – हावाहुरीसँगै वर्षा हुन थालेपछि सुरेश लिम्बूको मन भौँतारिन थाल्छ । उहाँ यसो माथि घरको छानो हेर्नुहुन्छ । छानोदेखि तपतप पानी चुइरहेको हुन्छ । पानीका थोपाले लुथ्रुक भिजेर पानीको थोपा नझर्ने घरको कतै कुना खोज्दाखोज्दै उज्यालो हुन्छ ।

यो दृश्य हो ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवाका लिम्बूको घरको बसाइको अवस्था । गाउँपालिकाको प्रशासकीय केन्द्र रहेकै वडामा एक परिवार जीर्ण घरमा जोखिमपूर्णपमा बस्दै आएका छन् । मिक्वाखोला –४ साँबाका स्थानीय लिम्बूको परिवार फुस (खर)ले छाएको चुहिने घरमा जोखिम मोलेर बस्दै आएका हुन् ।

निकै जीर्ण बनेको घर पुनःनिर्माण गर्ने आर्थिक अवस्था नहुँदा लिम्बूको परिवार जोखिमयुक्त घरमा बस्न बाध्य भएको छ । फुसले छाएको छानो धेरै नै पुरानो भएकाले घामपानी र हावाहुरी छेक्न नसक्ने अवस्थाको जीर्ण घरमा लिम्बूको परिवारको बसोबास रहेको छ ।

झट्ट हेर्दा हालको उक्त संरचनामा मानिसको बसोबास नरहेको अर्थात् पहिले नै छाडिसकेको जस्तो देखिने जीर्ण घरमा लिम्बूको परिवारको बास रहेको छ । लिम्बूको परिवारमा दुई छोरा, दुई छोरी र श्रीमती छन् । परिवारमा छ जनाको सङ्ख्या रहे पनि अधिकांश समय लिम्बूकी श्रीमती रीता र कान्छी छोरी माया लिम्बू बस्दै आएका छन् ।

दुई दाजु काम वा अन्य सिलसिलामा बाहिरै बस्ने गरेको, दिदी फुपूको घरमा र आफूचाहिँ आमासँगै रहेको १४ वर्षीया माया लिम्बूले बताउनुभयो । बाबु सुरेश गाउँघरतिरै डुलघुम गर्दै घर आउने टुङ्गो नरहने मायाले सुनाउनुभयो । उहाँले यस वर्ष बर्खा नलाग्दै हावाहुरी र पानी पर्न थालेकाले घर चुहिएर बसिनसक्नुरहेको बताउनुभयो ।

केही ठूलो पानी पर्दा घरभित्र आहाल (पानी जम्ने) हुने र चुल्होमा आगो बाल्नै नमिल्ने अवस्था रहेको छोरी मायाले सुनाउनुभयो । “कुनै समय ठूलो पानी परेका बेला रातभर नसुती (जाग्राम) बस्ने गरेका छौँ”, उहाँले भन्नुभयो । गाउँपालिका र वडाका जनप्रतिनिधिले सहयोग गर्ने कुरा के छ ? भन्ने प्रसङ्गमा आफूलाई केही थाहा नभएको उहाँले बताउनुभयो । उहाँले घरको एकछेउमा थोरै जस्तापाताले छाएको छाल्की रहेकाले टाउको ओताउने ठाउँ भएको बताउनुभयो ।

यसरी पानी चुहिएर घर जीर्ण भई दयनीय अवस्थासँगै लिम्बूको परिवारमा दैनिकी चलाउनलाई पनि मुस्किल रहेको स्थानीयले बताएका छन् । घरमुली लिम्बूले आफ्नो घरको व्यवस्थापन गर्नेतर्फ खासै चासो नदिएकाले पनि थप संरचना जीर्ण बन्दै गएको छरछिमेक बताउँछन् । स्थानीय छिमेकीले परिवारमा अभिभावकीय भूमिका निभाउने कार्यमा पनि लिम्बूको कमजोरी औँल्याएका छन् ।

लिम्बूको घरको दयनीय अवस्थाबारे आफूलाई हालसम्म कुनै जानकारी नै नगराइएको मिक्वाखोला गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीले बताउनुभयो । उहाँले लिम्बूको घर संरचनाको अवस्था हेरेर तत्काल छानो व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

साँवाका वडाध्यक्ष सदनकुमार साँवा लिम्बूले फुसको छाना विस्थापन कार्यक्रमअन्तर्गत लिम्बूको नाम पनि सूचिकृत भएको जानकारी दिनुभयो । वडाका १८ परिवारको सूचीकृत भएका नाममा लिम्बूको नाम रहेको वडाध्यक्ष साँवाले बताउनुभयो । सरकारी अनुदान लिने उद्देश्य राखेर कतिपय परिवारले आफ्नो घरको बेवास्ता गर्ने गरेको पाइएको पनि वडाध्यक्ष साँवाको भनाइ छ ।

उहाँका अनुसार समयमा आफ्नो घर वा संरचनाको सुरक्षाप्रति घरधनीले बेवास्ता गर्दा छाना चुहिएर घर थप जीर्ण बन्ने गरेको पाइएको छ । ढुङ्गा र माटोले बनेको घरको वाल (गारो) धराप हुने गरेको छ भने छानाका डाँडाभाटा, दलिन, सेप्रीमा प्रयोग गरिएका काठहरु मक्काउने गरेका छन् ।

रजनीकान्तको फिल्म ‘लाल सलाम’चर्चामा, कपिल देव पनि जोडिए

मुम्बई । साउथ सुपरस्टार रजनीकान्त यतिबेला आफ्नो फिल्म ‘लाल सलाम’लाई लिएर चर्चामा छन् । यो फिल्ममा अब भारतीय प्रख्यात पूर्व क्रिकेटर कपिल देव पनि जोडिएका छन् ।फिल्ममा कपिल देवको केमियो हुनेछ । उनले फिल्ममा आफ्नो भागको सुटिङ पुरा गरिसकेका छन् । हालैमात्र रजनीकान्तले ट्वीटरमा सुटिङ सेटका केही तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीरमा कपिल र रजनीकान्त देखिएका छन् । रजनीकान्तले सेतो कलरको परम्परागत आउटफिट लगाएका छन् भने कपिल क्याजुअल लुक्समा छन् । दुवैजना एकापसमा कुराकानी गरिरहेका छन् । कपिलको सुटिङ मुम्बईमा भइरहेको छ ।

स्रोतका अनुसार फिल्ममा कपिलले क्रिकेटरकै भूमिका निर्वाह गर्दैछन् । यसबाहेक फिल्मबाट बढी जानकारी बाहिर आएको छैन । फिल्मको निर्देशन रजनीकान्तकी छोरी ऐश्वर्याले गरेकी छन् ।

 कपिलका लागि फिल्मी अभिनय यो पहिलोपटक होइन । उनले कैयौं पटक फिल्ममा केमियो गरेका छन् । केही वर्षअघि रिलिज फिल्म ‘८३’ मा उनले केमियो गरेका थिए । यसबाहेक सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा अभिनित ‘मुझ से सादी करोगी’मा पनि अभिनय गरेका थिए ।

सुडानबाट भागेर इथियोपिया पुगेकालाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घको अपिल

सुडान – सुडानमा जारी सुरक्षा अवस्थाका कारण इथियोपिया प्रवेश गर्ने मानिसहरूको आवश्यकतालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (यूएनओसीएचए) ले थप रकमको लागि अपिल गरेको छ ।

युएनओसीएचएले शुक्रबार जारी गरेको पछिल्लो स्थिति अद्यावधिकमा सुडानबाट करिब ८५ हजार मानिस इथियोपिया प्रवेश गर्ने अनुमान गरिएको र यस्तो अवस्थामा मानवीय आवश्यकता तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ ।

“हालको आवश्यकता र आगामी हप्ताहरूमा अपेक्षित आगमनको निरन्तर प्रवाह पूरा गर्न थप वित्तीय स्रोतहरू आवश्यक छन्,” विज्ञप्तिमा भनिएको छ ।

युएनओसीएचएको तथ्याङ्कअनुसार अप्रिल २१ देखि मे १६ को बीचमा इथियोपियाको उत्तरपश्चिमी अम्हारा क्षेत्रको मेटेमा सीमा नाकामा ६४ भन्दा बढी देशका २२ हजार ६०० भन्दा बढी मानिस जम्मा भइसकेका छन् ।

मेटेमाले अहिले सुडानमा द्वन्द्वबाट भाग्ने मानिसहरूको सबैभन्दा ठूलो हिस्सा प्राप्त गरिरहेको छ । युएनओसीएचएका अनुसार सुडानको राजधानी खार्तूम शहरबाट आउने विदेशीको सङ्ख्या कुल आगमनको ७६ प्रतिशत हो । तीमध्ये करिब १८ प्रतिशत ओमदुरमान शहरका रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले सुडानमा जारी सङ्कट र हिंसाबाट प्रभावित जनतालाई मानवीय सहायता प्रदान गर्न २० करोड ९० लाख अमेरिकी डलरको अपिल गर्दै बुधबार एक प्रतिकार्य योजना सार्वजनिक गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय आप्रवासन निकायले सुडानको बिग्रँदो अवस्थाले छिमेकी देशहरूमा पनि नाटकीय प्रभाव पारिरहेको बताएको छ । सुडानको राजधानी खार्तूम र अन्य क्षेत्रमा गत अप्रिल १५ देखि सुडानी सशस्त्र बल र अर्धसैनिक ¥्यापिड सपोर्ट फोर्सेजबीच हिंसात्मक सशस्त्र झडप भएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन, वानेश्वरमा आज बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्माननीय राष्ट्रपति महोदयले २०८० जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा

उल्लेखित आ.ब. २०८०÷८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफल प्रारम्भ गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन ।साथै, बार्षिक नीति तथा कार्यक्रम माथी माननीय सदस्यहरुबाट प्राप्त संसोन प्रस्तुत हुने र  सम्बोधनमाथि छलफल गरिने महासचिव भरतराज गौतमले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख छ । 


राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

काठमाडौं।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसोे बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।

यही जेठ ९ र १० गते काठमाडौँमा बस्ने केन्द्रीय समितिको बैठकको तयारीका सन्दर्भमा आजको बैठक बस्न लागेको सो पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा केन्द्रीय समितिमा पार्टी अध्यक्ष कमल थापाबाट प्रस्तुत हुने राजनीतिक कार्यपत्र, महामन्त्री भास्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठबाट प्रस्तुत हुने सचिवालय, प्रशिक्षण, सङ्गठन र ‘स्मार्ट’ पार्टी निर्माणसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीबाट प्रस्तुत हुने आर्थिक प्रतिवेदनमाथि छलफल हुने जनाइएको छ ।

‘सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पु-याइने छ ’

सर्लाही – खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पु¥याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ । शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।

नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहनुभएको उहाँले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ ।”

सुकुम्बासी भन्छन्– ‘भूमि आयोगले लगत उठाउन ढिलो किन ?’

बनियानी – झापा बिर्तामोडका भूमिहीन तथा सुकुम्बासीले आफूहरुलाई हटाएको ठाउँमा भू–माफियाले महल ठड्याएकामा आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र) बिर्तामोड नगर कमिटीले शनिबार आयोजना गरेको भूमिहीन सुकुम्बासी समस्या, चुनौती र समाधान विषयक अन्तक्र्रिया उनीहरूले गरिब, निमुखा सुकुम्बासी हटाएकामा गुनासो गरेका हुन् ।

कार्यक्रमका सहभागी रमेश मुर्मूले राष्ट्रिय भूमि आयोगका सदस्यलाई बिर्तामोड नगर क्षेत्रभित्रको सुकुम्बासीसम्बन्धी कार्य प्रगतिबारे जिज्ञासा राख्नुभयो । उहाँले जिल्लाका अन्य पालिकामा काम भइरहे पनि बिर्तामोडमा आयोगले काम गर्न र लगत उठाउन ढिलो किन ? गरेको जनाउँदै प्रश्न गर्नुभयो ।

अर्का सहभागी बिर्तामोड–१० का मानबहादुर श्रेष्ठले सुकुम्बासीलाई नगरवासी बनाइदिन आयोगका सदस्यलाई आग्रह गर्नुभयो । पूर्व–पश्चिम रेलमार्गले धेरै सुकुम्बासीको उठिबास हुनलागेको जनाउँदै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

“मुआब्जाका लागि हामीसँग धनीपुर्जा छैन”, उहाँले भन्नुभयो, “घरबास नै उठ्ने अवस्था छ, धनीपुर्जा छैन, हाम्रो उठीबास हुने भयो ।” कम्युनिष्ट पार्टीले सर्वहाराको पक्षमा काम गर्ने भन्ने गरिए पनि बिर्तामोड नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै जना कम्युनिष्ट भए पनि सुकुम्बासीको समस्या समाधानमा चासो नदिएको उहाँको गुनासो छ ।

सहभागीको प्रश्नको जवाफ दिँदै राष्ट्रिय भूमि आयोग झापाका सदस्य सानुकुमार लामाले बिर्तामोड नगरपालिकाले आयोगमा सुकुम्बासीको सूची नै नपठाएको बताउनुभयो । समस्या लिएर नगरपालिका जाने सुकुम्बासीलाई आयोगमा जानु भनेर पठाउने तर आयोगमा कुनै कागजात नपठाउँदा धेरै मानिसले दुःख पाइरहेको उहाँको भनाइ छ ।

साविकमा वन जनिएको जग्गा एकपटकलाई भए पनि जो बसेको छ उसलाई धनीपुर्जा दिनु भन्ने नियमावलीमा उल्लेख भएको उहाँले बताउनुभयो । “स्थानीय पालिकाले निस्सा नबाँडी अन्य प्रक्रिया नै सुरु हुँदैन”, उहाँले भन्नुभयो । कार्यक्रममा उपस्थित अधिकांशले बिर्तामोडमा निस्सा नपाएको बताएका छन् ।

कार्यक्रमका नेकपा (माओवादी केन्द्री)का केन्द्रीय सदस्य धर्मशीला चापागाईँले सुकुम्बासीको समस्या जटिल भएको जनाउँदै आफूले २०४८ सालदेखि समस्या समाधान गर्न पहल गरिरहेको बताउनुभयो ।
–––

एमसीसीको औपचारिक काम भदौदेखि थालिने

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसनसँगको सम्झौता अुनसार नेपालमा गठित मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समितिले प्रारम्भिक काम थालेको छ। नेपालसँग ५० करोड डलर (करिब ५० अर्ब रुपियाँ) बराबरको एमसिसी सम्झौता सन् २०१७ मा भएको हो।

एमसिसी र सरकारबिच भएको सहमति अनुसार ५० करोड अमेरिकी डलरमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर परिचालन गर्नुपर्ने छ। यस अनुसार कुल ७१ अर्ब नेपाली रुपियाँ बराबरको खर्च विकासमा हुने छ। संसद्बाट परियोजना अनुमोदित भएसँगै नेपालमा कामको थालनी भएको समितिका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । हालसम्म पूर्वतयारीका कामको प्रक्रिया जारी छ। उनले भने, “जग्गा अधिग्रहणको काम सुरु भयो, १० जिल्ला छोएर जाने ३१५ किलोमिटर प्रसारण लाइनका लागि जग्गा आवश्यक छ।”

जग्गा प्राप्ति ऐन अनुसार सुरु भएको जग्गा अधिग्रहणको प्रक्रिया अनुसार अबको तीन महिनाभित्र जग्गाको मूल्य निर्धारण कार्य सम्पन्न हुने उनले बताए । अर्को कामका रूपमा परियोजना निर्माणकर्ताको छनोट प्रक्रिया सुरु भएको जानकारी उनले दिए । प्रतिस्पर्धाका आधारमा छनोट हुने कम्पनी नेपालमा काम गर्ने गरी पाँच महिनाभित्र उपस्थित भइसक्ने छन्। आगामी भदौदखि एमसिसी परियोजनाको कार्यान्वयन औपचारिक रूपमा सुरु हुने गरी तयारी तीव्र बनेको विष्टले बताए । भदौदेखि नै नेपालले परियोजना सम्पन्न गर्न सम्झौता अनुसार पाएको पाँच वर्षको अवधिको सुरुवात हुने छ। यो समाचार गोरखात्र दैनिकमा छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धान प्रतिवेदन तयार

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने गिरोहबारे प्रहरीले झन्डै दुई महिना लगाएर तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। पीडितहरूको उजुरीका आधारमा नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिए । यस प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। २०७९ चैत १२ गते ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र टङ्क गुरुङलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको थियो।

अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो। वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र संविधान सभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।

त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो। पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ।

परिसर स्रोतका अनुसार पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।

छुट भएका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनस्र्थापना गराउने योजना अनुरूप २०७६ वैशाखमा कार्यदल गठन भएको थियो तर सो कार्यदलको प्रतिवेदनमा नै अनुसूची थपेर नेपाली नागरिकको समेत नाम थपी अमेरिका लैजाने गिरोहको योजनामा यो घटना भएको हो। यो समाचार गोरखापत्र दैनिकमा छ ।

पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, पूर्वीरुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आज बिहान २ः५९ बजे चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

सरकारको नीति तथा कार्यक्रम माथी अध्यक्ष ओलीले आज टिप्पणी गर्ने

काठमाडौं। सरकारको नीति तथा कार्यक्रम माथी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज टिप्पणी गर्ने भएका छन् । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै आज बिरोधसमेत जनाउने छन् । 

प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले सो नीति तथा कार्यक्रमलाई पार्टीले पारित गर्न नसक्ने धारणा पनि आज बस्ने प्रतिनिधिसभा बैठकमा राख्ने छन् ।  

‘मुलुकलाई सहि दिशा दिनका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम बेकारको पुलिन्दा हो, स्वीकार योग्य छैन, समर्थन योग्य छैन । विरोध योग्य छ । र, यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो,’ ओलीले शनिवार बसेको संसदीय दलको बैठकमा भनिसकेका छन, ‘यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।’ 

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा मधेश प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती  भने देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

प्रक्रियाबिना वैदेशिक रोजगारीमा पठाउन खोज्ने दुई विदेशी पक्राउ

काठमाडौँ – सरकारी अनुमतिबिना मनोमानी तरिकाले पोल्याण्ड लैजाने तथा त्यहाँको रोजगारीका बारेमा अभिमुखीकरण (सेमिनार) गर्न खोज्ने दुई जना विदेशी नागरिकलाई प्रहरीले शनिवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलारुस स्थायी ठेगाना भई काठमाडौँस्थित मेरियट होटल बस्दै आएकी ३० वर्षीया रीता फियाडोसिक तथा सोही ठाउँका ३७ वर्षीय ओलिग फियाडोसिक रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरूले सामाजिक सञ्जाल टिकटकमार्फत विज्ञापन जानकारी गराई पोल्याण्डमा रोजगारीका बारेमा यही जेठ ६ र ७ गते सेमिनार गर्ने भनी आज उक्त होटलमा हल बुक गरी ठूलो सङ्ख्यामा (अन्दाजी पाँच सय जना) नेपाली नागरिकको भेला गर्ने भनी सम्पूर्ण तयारी पूरा गरेको तथा सो विषयमा नेपालस्थित कुनै पनि सरकारी निकायलाई जानकारी नगराएको हुँदा निजहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगार विभागसँग समन्वय गरी नियन्त्रणमा लिएका निज विदेशी नागरिकलाई वैदेशिक रोजगार विभागलाई जानकारी गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै छ : महासचिव पोखरेल

देउखुरी – नेकपा(एमाले)का महासचिव शङ्कर पोखरेलले आफ्नो पार्टीले लोककल्याणकारी राज्य निर्माणमा महत्वपूर्ण योगदान गरेको दाबी गर्नुभएको छ । उहाँले एमालले सामाजिक सुरक्षाका कार्यक्रम र विकास निर्माणलाई विशेष महत्व दिएको बताउनुभयो ।

एमाले जिल्ला कमिटी दाङले नेत्रलाल अभागीको ४०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशको सङ्कट टार्ने विकल्प एमालेसँग मात्रै रहेको ठोकुवा गर्नुभयो । उहाँले नेत्रलाल अभागीले दाङको कम्युनिष्ट आन्दोलन, शिक्षा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।

संसद्मा कडाइका साथ प्रस्तुत हुन सांसदलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदलाई नीति तथा कार्यक्रममा पार्टीका धारणा कडाइका साथ प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले आइतबारदेखि छलफल हुने नीति तथा कार्यक्रममा पार्टीका तर्फबाट व्यक्त गरिएका कुरालाई कडाइका साथ प्रस्तुत गर्न सांसदलाई निर्देशन दिनुभएको हो ।

“एमालेको भूमिका अलि लुलोलुलो भयो । नुन खाएको कुखुरा जस्तो, झोक्राए जस्तो के भएको भनेर भन्ने गरेका छन्”, उहाँले भन्नुभयो, “त्यसैले हाम्रो प्रस्तुति संसद्मा कडा हुनुपर्दछ, । संसद्मा जति समय पाउनुहुन्छ । आफ्ना कुरा कडाइका साथ राख्नुहोला ।”

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा संसद्बाट पारित गर्न नदिने बताउनुभयो । सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्योलग्रस्त र दिशाहीन तथा राजनीतिक, सामाजिक, आर्थिक कुनै पनि समस्या समाधान नगर्ने आरोप लगाउँदै अध्यक्ष ओलीले पारित नगर्नेतर्फ आफ्नो पार्टीको नीति हुने बताउनुभयो ।

“नीति तथा कार्यक्रममा यस वर्ष हामी कसरी अगाडि बढ्छौँ त त्यस सम्बन्धमा यसमा खासै योजना रहेको छैन । यो नीति वार्षिक कार्ययोजनामात्र हो”, उहाँले भन्नुभयो, “यसले देशको मार्गदर्शन गर्दैन । यो स्वीकार र समर्थन योग्य छैन । विरोधयोग्य छ, त्यसैले यसलाई पास गर्न मिल्दैन ।” नेता ओलीले पञ्चवर्षीय योजना, संविधान, मौलिक हकसँग नीति तथा कार्यक्रम जोडिएर आउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमम पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले सिद्धान्त र नीतिसँग नमिल्ने गरी नीति तथा कार्यक्रम आएको टिप्पणी गर्नुभयो । नीति तथा कार्यक्रममा राखिएका कुरा बजेटमा आउनुपर्नेमा उहाँको जोड थियो ।

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथाको चुचुरोमा

काठमाडौँ – पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा बुढामगरले यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुग्नुभएको हो । यससँगै पूर्वगोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गर्नुभएको छ ।

कृत्रिम खुट्टा(प्रोस्थेटिक)को सहायताले बुढामगरले सगरमाथा आरोहण गर्नुभएको हो । झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गर्नुभएको हो । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाउनुभएको थियो ।

बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गर्नुभएको थियो । बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उहाँको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुसीका साथ जोडले चिच्चाउँदै भन्नुभएको थियो, “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा रहनुभएको छ । थापाले ब्रिटिसको स्पेशल एअर सर्भिस (एसएएस)को माउन्टेन ट्रुप लिडरका रूपमा २४ वर्ष सेवा गर्नुभएको थियो ।

सफल आरोहणपछि स्याटलाइट फोनमार्फत बुढामगरले भन्नुभयो, “वास्तवमा मैले सोचेभन्दा धेरै गाह्रो थियो तर हामीलाई अगाडि बढ्नैपर्ने थियो । त्यसैले हामीलाई कुनै फरक परेन । जतिसुकै दुःख भए पनि अन्ततः हामी सफल भयौँ ।”

बुढामगरले शारीरिक अशक्त भएका व्यक्तिहरू कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरूमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि म संसारको शिखरमा चढ्न सक्छु भने, अपाङ्गता भए पनि जो कोहीले आफ्नो सपना पूरा गर्न सक्छ ।”

सगरमाथाको आरोहणपूर्व पूर्वगोर्खा सैनिक बुढामगरले यसअघि मोन्ट ब्लाङ्क (चार हजार आठ सय १० मिटर), चुलु सुदूरपूर्व (छ हजार ५९ मिटर), किलिमन्जारो (पाँच हजार आठ ९५ मिटर) र मेरापिक (छ हजार चार सय ७६ मिटर)लगायतका आरोहण गर्नुभएको थियो । साथै सगरमाथा आधार शिविर पुग्ने र सगरमाथामाथि स्काइ ड्राइभ गर्ने ‘डबल एम्प्युटी एभोब एभोब नी’ को रेकर्ड पनि बुढामगरको नाममा छ ।

वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्दै कर्णाली सरकार

कर्णाली – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को तर्जुमा कार्यलाई अगाडि बढाएको छ । यसका लागि प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रममा समावेश गर्नुपर्ने आवश्यक सुझाव मागेको छ ।

यही जेठ ५ गतेसम्मको समयसीमा राखी कर्णाली प्रदेश सरकारले यहाँका स्थानीय तह, राजनीतिक दल, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, नागरिक समाज, सङ्गठित सङ्घसंस्था, आमसञ्चार एवं सर्वसाधारणलाई सूचनामार्फत आवश्यक राय, सुझाव मागेको थियो । सूचनाअनुसार धेरै राय, सुझाव र सल्लाह आएको र ती सबै समेटेर प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम आउने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

“प्राप्त राय, सुझावका आधारमा कर्णाली प्रदेशको समृद्धि र विकासमा सहयोग पुग्ने आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम बन्छ र त्यहीअनुसार बजेट आउँछ”, उहाँले भन्नुभयो, “यसका लागि हामीले बस्तीस्तरदेखि माथिल्लो निकायसम्मका सबै सरोकारवालाबाट आवश्यक सल्लाह लिएर नीति तथा कार्यक्रम तर्जुमाको कार्यलाई तीव्रता दिएका छौँ ।”

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा गोपीकृष्ण खनालले जेठ ५ गतेसम्म सबै क्षेत्रको सुझाव सङ्कलन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आज हामीले सङ्घीय सांसदहरूको राय सुझाव लिएका छौँ । अहिलेसम्म मुख्यतः तीन क्षेत्रमा जोड दिएर सुझाव आएका छन् ।” ती सुझावहरूमा पहिलो रोजगारी, दोस्रो पूर्वाधार विकास र तेस्रो कर्णालीमा जनशक्तिको व्यवस्थापन तथा क्षमता विकास रहेको प्रमुख सचिव डा खनालले बताउनुभयो ।

कर्णालीको आवश्यकता सम्बोधन गर्ने सुझावलाई प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समेटिने जनाउँदै उहाँले विगतका वर्षभन्दा अहिले नवीन अभ्यास थालिएको बताउनुभयो । आगामी आवको बजेटको आकार कस्तो र कत्रो बनाउने भन्ने तयारीमा आर्थिक मामिला तथा योजना मन्त्रालय लागिरहेको जनाइएको छ ।

‘पर्यटन विकासका लागि भारत र चीनका सहरमा हवाई उडान आवश्यक’

काठमाडौँ – नेपालको पर्यटन विकासका लागि छिमेकी मुलुक भारत र चीनका प्रमुख सहरमा हवाई उडान सुरु गर्नुपर्नेमा सरोकारवालाले जोड दिनुभएको छ ।

बुढानीलकण्ठ-१० कपन, निलोपुलमा गत वर्ष गठित बहस मण्डपले नेपालको पर्यटन विकासका विषयमा आयोजना गरेको छलफलमा सहभागी कूटनीतिज्ञ, पर्यटनका ज्ञाता तथा अर्थशास्त्रीहरुले भारतीय पर्यटकको सङ्ख्या बढाउन त्यहाँका प्रमुख सहरमा पर्यटन केन्द्र स्थापना गर्दै विभिन्न ‘टुर प्याकेज’ सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्बद्ध सरकारी निकाय र पर्यटन व्यवसायीबाट गुणस्तरीय पर्यटन सेवा उपलब्ध गराउनुपर्ने, देशभित्र पर्यटकीयस्थलको विकास र सहर व्यवस्थापन, धार्मिक, सांस्कृतिक, पर्वतारोहण, पदयात्रा, चलचित्र निर्माण, जलयात्रा, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, हाइअल्टिच्युड स्की आदि विधागत पर्यटनको व्यावसायिक विकास हुनुपर्नेमा छलफलमा उहाँहरुले जोड दिनुभयो । सरकारले पर्यटकीय पूर्वाधार निर्माण, ठाउँ ठाउँमा शौचालय, खानेपानी आदिको न्यूनतम सुविधाका साथै अनुगमनको पनि व्यवस्था गर्नुपर्ने उहाँहरुको भनाइ छ ।

कार्यक्रमको सहजीकरण डेनमार्कका लागि पूर्वराजदूत तथा पत्रकार युवनाथ लम्सालले गर्नुभएको थियो । बहसमा अर्थशास्त्री डा जयप्रसाद लम्साल तथा पदयात्री एवं लेखक विष्णुप्रसाद शर्मा पराजुलीले नेपालले पर्यटन क्षेत्रको विकास गरी सकेको फाइदा लिन धेरै काम गर्नुपर्ने औँल्याउनुभएको थियो ।

बहसमा पूर्वप्रशासक, विद्युत्कर्मी एवं वित्तीय क्षेत्रका विज्ञको सहभागिता थियो । बहस मण्डपको आगामी हप्ताको बहस नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका सम्बन्धमा केन्द्रित हुने संयोजक डा लम्सालले जानकारी दिनुभयो ।

भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्छ : अध्यक्ष नेपाल

धनुषा – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले राष्ट्रिय समस्याका रूपमा रहेको भ्रष्टाचारको अन्त्य गर्नु सरकारको पहिलो प्राथमिकता हुनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले भ्रष्टाचारको अन्त्य नभएसम्म देशलाई विकासतर्फ डोहो¥याउन कठिन हुने भएकाले यो राष्ट्रिय समस्या समाधान हुनु आवश्यक रहेको बताउनुभयो । भ्रष्टाचारलाई निर्मूल पार्नु नै अहिले पहिलो प्राथमिकता हुनुपर्ने उहाँको कथन रहेको थियो ।

नेपालले भन्नुभयो, “सरकार मुलुकमा सुशासन कायम गर्नका लागि कदम उठाइरहेको छ । यो राम्रो विषय हो । नीति तथा कार्यक्रममा देश र जनताको समस्या समाधानका उपाय खोज्ने गरी ल्याइएको छ ।”

अर्को प्रसङ्गमा अध्यक्ष नेपालले रेशम चौधरीको रिहाइका लागि हामी सबै लागिपरेको बताउनुभयो । मधेस सरकारको नेतृत्व परिवर्तन वा सरकार परिमार्जनको कुरा उठिरहेको बेला उहाँले जसपा संसदीय दलका नेता सरोजकुमार यादव नेतृत्वमा रहेको सरकारलाई नै निरन्तरता दिने गरी सहमति भएको बताउनुभयो ।

नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ : मन्त्री किराती

काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताउनुभएको छ । उहाँले विदेशी ब्राण्डलाई नेपाल भित्र्याउनेभन्दा पनि यही भएका स्थानीय खानेकुरालाई ‘ब्राण्डिङ’ गरेर ठूला होटल तथा रेष्टुरेन्टमा भित्र्याउनुपर्ने बताउनुभयो ।

बूढानीलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको नेपाली मौलिक भान्सा घरको कार्यक्रममा उहाँले आर्थिक समृद्धिका निम्ति हामीले नेपाली उत्पादन नै उपभोग गर्नुपर्ने बताउनुभयो । आज पनि हामी खर्बौँको खाद्यवस्तु आयात गरिराखेका छौँ । निर्यातको दृष्टिले हेर्दा नगन्य मात्रामा रहेको उहाँको भनाइ छ ।

मन्त्री किरातीले भन्नुभयो, “हाम्रो उत्पादन हाम्रै बजार भनेर हामी अघि बढ्नुपर्छ । विदेशी उत्पादन प्रयोगलाई नेपाली सबैले कम गर्न सक्नुपर्छ । ज्ञान, सीप र क्षमता भएका तन्नेरीहरू विदेश जानुपर्ने, विदेशबाट पठाएको पैसाले छोराछोरी र बाबुआमालाई आयात गरेर खाने खाद्यवस्तुले खासमा हामीलाई राष्ट्रवादी ठहराएको छैन ।” राष्ट्रवादी भनेको आफ्नै उत्पादन, आफ्नै बजार, आफ्नै आर्थिक विकास र समृद्धिको बाटो रोज्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली भान्सा घरमा आएर मैले देश देखेँ, देशको उत्पादन देखेँ, देशको समृद्धि देखेँ । सपनाले मानिसलाई डोर्याउँछ, सिर्जनाले मन्छे र समाजलाई सुन्दर बनाउँछ । नेपाली मौलिक भान्साघरमा तपाईँहरूले त्यही बाटो डोर्याउनुभएको रहेछ ।”

मौलिक भान्साघरका सञ्चालक सुमन दाहालले नेपाली भान्साघरमा ८४ थरिका परिकार आफ्नै स्वादमा खान पाइने बताउनुभयो । उहाँले हप्ताका सात बार सात प्रदेशका विषेश परिकार, सात पक्षी सात स्वाद, सातै दिन सांस्कृतिक साँझ भनेर नयाँ ढङ्गले भान्सा घर सञ्चालन गरेको बताउनुभयो । उहाँले बसे पनि सहर, गाउँकै खाने रहर नारालाई मध्यनजर गर्दै आएको जनाउनुभयो ।

त्यसैगरी डिजफर नेपलालका अशोक काफ्लेले बाझो जग्गामा उत्पादन गर्न सरकारले सम्बन्धित जग्गाधनीसँग सहजीकरण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । देशका अग्र्यानिक उत्पादनलाई बढाउनुपर्ने र बजारीकरण गर्नुुपर्ने उहाँको भनाइ थियो ।

स-साना विवाद वार्ताबाटै टुङ्ग्याउन सकिन्छ : न्यायाधीश खतिवडा

रसुवा – सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले गाउँघरमा हुने स-साना विवाद तथा झगडा वार्ताका माध्यमबाट सुल्झाउन सुझाव दिनुभएको छ ।

मेलमिलाप परिषद्द्वारा रसुवाको धुञ्चेमा आज आयोजित मेलमिलामसम्बन्धी अन्तक्र्रियालाई सम्बोधन गर्दै न्यायाधीश खतिवडाले कानुनद्वारा निर्धारित मापदण्डलाई शिरोपर गर्दै गाउँघरमा हुने स–साना विवादका मुद्दा गाउँ न्यायिक समितिले स्थानीयस्तरमै छिनोफानो गर्न सुझाव दिनुभएको हो ।

पहिलोपटक भएको जिल्लास्तरीय अन्तक्र्रियाले मेलमिलापका विषयमा रसुवाका बासिन्दामाझ जागरण ल्याउने विश्वास गरिएको छ । मेलमिलाप के हो ? मेलमिलापकर्ताको भूमिका, सामुदायिक मेलमिलापको अर्थ, विवादका प्रकार, मेलमिलापमा अपनाउनुपर्ने प्रक्रियाजस्ता विविध विषयमा यथेष्ट ज्ञान दिलाउने उद्देश्यले आयोजित अन्तक्र्रियामा कानुनका मर्म र भावना प्रष्ट पारिएको थियो ।

कार्यक्रममा क्रियाशील मेलमिलापकर्ता एवं मेलमिलापमा अभिरुचि राख्ने युवापङ्क्तिको समेत ठूलो सङ्ख्यामा सहभागिता थियो । आगामी दिनमा हुने मेलमिलापका काम छिटो–छरितो हुनेमा न्यायालय आशावादी रहेको रसुवा जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारी ढकालले बताउनुभयो ।

रसुवामा भइरहेको मेलमिलापका गतिविधि प्रस्तुत गर्दै जिल्ला अदालत रसुवाका न्यायाधीश रामचन्द्र पौडेलले मेलमिलापसम्बन्धी ऐन तथा नियमावलीको सिद्वान्तमा अगाडि बढ्न सहभागीलाई अनुरोध गर्नुभयो ।

अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्छ : पौडेल

लुम्बिनी – पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधारका लागि फजुल खर्च कटौती गर्नुपर्नेमा जोड दिनुभएको छ ।बुटवलमा आजादेखि सुरु भएको राष्ट्रिय पार्क सम्मेलनको उद्घाटन गर्दै पौडेलले यसका लागि सरकारले सबै दल र विज्ञसँग छलफल गरी फजुल खर्च कटौती गर्दै राजस्वले चालु खर्च धान्न सक्ने बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

उहाँले कानुनको अभावमा सामुदायिक वनभित्र सञ्चालित पार्कले समस्या र द्वन्द्व झेल्नुपरेको बताउनुभयो । सरकारले कानुन बनाएर वैज्ञानिक ढङ्गले दिगो व्यवस्थापनको बाटो खोल्नुपर्नेमा जोड दिनुभयो ।
पार्कहरूको विशिष्टीकरण र वर्गीकरण आवश्यक रहेको बताउँदै सरकारले कानुन निर्माणमा बेवास्ता गरे निजी क्षेत्रबाट गैरसरकारी विधेयक दर्ता गरेर पनि कानुन बनाउन सकिने उहाँको भनाइ छ ।

सम्मेलनमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले धेरैजसो पार्कहरू वन क्षेत्रभित्र सञ्चालनमा रहेकाले बेला–बेलामा वनसँग हुने विवाद र द्वन्द्व अन्त्यका लागि स्पष्ट कानुन बनाउन दबाब दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वल कसजूलगायतले देसभरका पार्कहरूको सही ढङ्गले व्यवस्थापन गर्ने विषयमा सम्मेलन उपलब्धिमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा पार्क व्यवस्थापनमा नीतिगत समस्या र कानुनी जटिलताका विषयमा संविधानविद् काशीराज दाहाल र पत्रकार डिआर घिमिरेले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको छ ।

सम्मेलनमा समुदायबाट सञ्चालित पार्कलाई लगाइएको मूल्यअभिवृद्धि कर, उपभोक्ता समितिबाट हुने निर्माणका सम्बन्धमा रहेका जटिलताका विषयमा पनि छलफल गरी आइतबार बुटवल घोषणपत्रसमेत जारी गर्ने सम्मेलनका सदस्यसचिव अनन्त सिलवालले जानकारी दिनुभयो ।

सम्मेलन बुटवलको मणिमुकुन्दसेन उद्यान र तिलोत्तमाको शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)को आयोजनामा सुरु भएको हो ।

एक सातामै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था हुन्छ : यातायात मन्त्री ज्वाला

भक्तपुर, – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिने झन्झटिलो प्रक्रियाको अन्त्य गर्दै अब एक हप्ताभित्र प्राप्त गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । पूर्व अरनिको यातायात प्रालिले आजदेखि सञ्चालनमा ल्याएको निःशुल्क स्कुल बस सेवाको उद्घाटन गर्दै उहाँले सवारी चालक अनुमतिपत्र प्राप्त गर्ने सम्पूर्ण झन्झटिलो व्यवस्थाको अन्त्य गर्न आफू लागिरहेको बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र लिन घण्टौँ लाइन बस्नुपर्ने, सेवाग्राहीले धेरै झन्झट व्यहोर्नुपर्ने, चालक अनुमतिपत्र लिन एक वर्ष कुर्नुपर्नेजस्ता यहाँभित्रका धेरै बेथिति केलाएका छौँ, त्यसको अब अन्त्य गर्छौँ, अब हप्ता दिनमै सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था गर्दैछौँ ।”

नागरिकले सवारी चालक अनुमतिपत्र समयमै प्राप्त गर्नका लागि थप प्रिन्टर मेसिन खरिद गरेर लामो लाइनमा बस्नुपर्ने र लामो समय कुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रक्रिया अगाडि बढाएको उहाँले बताउनुभयो ।

कतिपय व्यवस्थालाई परिवर्तन गर्न कानुन नै बाधक बन्ने र त्यस्ता कानुनलाई संशोधन गरेर सहज बनाउँदै लानुपर्ने बताउँदै मन्त्री ज्वालाले भन्नुभयो, “अहिले सवारी चालक अनुमतिपत्रको नवीकरण पाँच वर्षमा गर्नुपर्ने कानुनी व्यवस्था छ, त्यसलाई संशोधन गरी १० वर्ष पुर्याउने भएका छौँ, त्यसको प्रक्रिया पनि अगाडि बढाएका छौँ, स्मार्ट लाइसेन्सको अवधि २० वर्ष तर नवीकरण गर्नुपर्ने व्यवस्था पाँच वर्षमा गर्दा व्यवहारिक पनि भएन, त्यसैले अब नवीकरणलाई १० वर्षमा गर्ने व्यवस्था गर्न लागेका हौँ ।”

सडक पूर्वाधारमा लगानी बढाएर रोजगारीका अवसर सिर्जना गरी राष्ट्रलाई समृद्धितर्फ लैजान आफू लागिरहेको बताउँदै मन्त्री ज्वालाले अर्थतन्त्रमा आएको सङ्कटका कारण पूर्वाधारका क्षेत्रमा लगानी बढाउन नसक्ने अवस्था आए पनि जनतासँग प्रत्यक्ष जोडिने सडक भएकाले सडक क्षेत्रमा लगानी बढाउने प्रयास सरकारले गरिरहेको बताउनुभयो । आफू मन्त्री भएर आएदेखि नै सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले अलपत्र र रुग्ण अवस्थामा रहेका सडकका योजनालाई टुङ्गोमा पुर्याउन मन्त्रालयले समयमै गुणस्तरीय सडक निर्माण गर्न अभियान नै थालेको बताउनुभयो ।

उहाँले सार्वजनिक सवारी सुरक्षित, भरपर्दो र थप सेवामुखी बनाउन प्रतिबद्धताका साथ काम गरिरहेको भन्दै यातायात क्षेत्रमा रहेका अव्यवस्था र जटिलतालाई सुुधार्न मन्त्रालयले थालनी गरेको बताउनुभयो । सडक पूर्वाधार राम्रो नहुँदासम्म यात्रुले सुविधा पाउन नसक्ने भन्दै उहाँले सडकलाई राम्रो बनाउने र दुर्गम ठाउँसम्म सुरक्षित सवारी सेवा पुर्याउन सडक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, “मन्त्रालयको बढी चासो सडकको स्तर राम्रो र सार्वजनिक सवारीसाधन सुरक्षित गर्नतर्फ रहेको छ, सवारी दुर्घटनाको कहालीलाग्दो अवस्थाको अब अन्त्य हुनुपर्छ, सकेसम्म दुर्घटना नै नहोस्, भइहाले पनि कोही यात्रुको ज्यान नजाने अवस्था सिर्जना गर्नुपर्छ, त्यसका लागि सबै निकायसँग सहकार्र्य र समन्वय आवश्यक छ ।

ट्राफिक व्यवस्थापनमा कडाइ गर्नुपर्ने तर यसका नाममा सवारी चालकले अनावश्यक दुःख पाउने अवस्था सिर्जना हुनु हुँदैन भन्दै उहाँले ट्राफिक प्रहरीले सहजीकरण र कडाइ दुवै गर्नुपर्ने बताउनुभयो । मन्त्री ज्वालाले यातायात व्यवस्थासँग जोडिएका सवालमा यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, सम्बन्धित सरोकारवालाले समन्वयात्मक ढङ्गले छलफल गर्दै समस्याको निकास निकाल्नुपर्ने औँल्याउनुभयो ।

यातायात व्यवस्थालाई सुधार र सुदृढ गर्न तथा भरपर्दो एवं सुरक्षित बनाउनका निम्ति सम्बन्धित सवालमा मन्त्रालयको सीमाभित्र रहेर महानगरपालिका, नगरपालिका ट्राफिक प्रहरी र अन्य मन्त्रालय तथा निकायसँग जोडिएर समन्वयन गरिरहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पूर्व अरनिको यातायात प्रालिका अध्यक्ष केदार खत्री क्षेत्रीले विगत ५० वर्षदेखि कोटेश्वरपूर्वका जिल्लामा सार्वजनिक यातायातको सेवा दिँदै आएको प्रालिले श्रमिकका छोराछोरीका लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्दै आएको र आजदेखि तिनै मजदुरका छोराछोरीका लागि निःशुल्क चारवटा स्कुल बस सञ्चालनमा ल्याएको बताउनुभयो ।

चालक, सहचालकका छोराछोरीलाई निःशल्क पठनपाठनको व्यवस्था गर्दै आएकामा आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरेको बताउँदै उहाँले मजदुरका छोराछोरी पनि डाक्टर, इञ्जीनियर बनाउन लागिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कोटेश्वरपूर्वका लागि जडीबुटीमा १४ रोपनी जग्गा भाडामा लिएर रु तीन करोडको लगानीमा १५ वर्षका लागि बसपार्क बनाउँदैछौँ, तर काठमाडौँ महानगरपालिकाले टिकट काउन्टर र यात्रु चढ्ने तथा ओर्लन नपाउने निर्णय गरेर जटिलता ल्याएको छ, महानगरले गर्दा जडीबुटीबाट कोटेश्वरसम्म बिहान ५ बजे यात्रुहरू अलपत्र पर्ने गरेका छन् ।”

कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका प्रमुख पोषराज पोखरेललगायतले यातायात व्यवस्थाभित्र रहेका समस्यालाई समाधान गर्न आवश्यक रहेको औँल्याउनुभयो । त्यस अवसरमा दुर्घटनामा निधन भएका अरनिको यातायात प्रालिका बस चालक कृष्णराम कोजूकी पत्नी लक्ष्मी कोजूलाई प्रालिको तर्फबाट रु १० लाख सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएका छन् : डा देउवा

काठमाडौँ – सांसद डा आरजु राणा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभएको छ । आज यहाँ आयोजित सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपालको १२औँ केन्द्रीय साधारणसभामा महासङ्घका अध्यक्षसमेत रहनुभएका डा देउवाले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अवस्था विगतको तुलनामा उल्लेख्य सुधार आए पनि सरकारले लिएको लक्ष्य हासिल गर्न विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । यसका लागि ‘मिडवाइफ’ शिक्षालाई अझ प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

“सन् २०३० सम्म मातृ मृत्युदर प्रतिलाख ७० मा झार्ने र सोका लागि १० हजार पाँच सय ९० ‘मिडवाइफ’ तयार गरिसक्ने लक्ष्यबमोजिम हाल सञ्चालन भएका कार्यक्रम पर्याप्त छैन, त्यसैले विशेष कार्यक्रम आवशयक छ”, उहाँले भन्नुभयो ।

महिलालाई सम्मानजनक सेवाको पहुँचमा पु¥याउन स्थानीयस्तरबाटै सचेतनामूलक कार्यक्रम सञ्चालनका लागि महासङ्घका प्रदेश र जिल्लाका प्रतिनिधिलाई उहाँले आह्वानसमेत गर्नुभयो ।

साधारणसभामा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छाले महासङ्घ मातृ मृत्युदर न्यूनीकरणमा विशेष योगदान पु¥याएको बताउनुभयो । साथै समाज कल्याण परिषदका कोषाध्यक्ष विनय लामाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा महासङ्घका महासचिव रविन्द्र बहादुर प्रधानले महासङ्घको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष सुनिल श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गर्नुभएको थियो ।

महासङ्घका मधेस प्रदेश अध्यक्ष कमलेशकुमार मण्डलले मधेसमा सञ्चालित कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । साथै उपाध्यक्ष विष्णुराज नेपाल, गङ्गालक्ष्मी अवाल, ओमकला गौतम, कविता इटनी, भावना शाहीलगायतले महासङ्घका विगतमा भएका कार्यक्रमको समीक्षा र आगामी कार्यक्रमका रणनीतिबारे सभामा मन्तव्य राख्नुभएको थियो ।

साधारणसभामा महासङ्घका ३१ जिल्लाका ८० जना प्रतिनिधिहरुको सहभागिता थियो । महासङ्घले स्थानीय गैरसरकारी संघ संस्थासँग समन्वय गरी महासङ्घको सम्बन्धित उद्देश्य हासिल गर्नका लागि विभिन्न काम गर्दै आएको छ । महिलाको प्रजनन स्वास्थ्यको अवस्था सुधारका लागि महासङ्घले काम गर्दै आएको छ ।

महासङ्घ अन्तर्राष्ट्रियस्तरमा ‘ह्वाइट रिवन अलाइन्स’को नेपाल प्रतिनिधि सदस्य हो । अलायन्समा विश्वका १४ वटा देश सदस्य छन् । अलायन्सले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ नेपाललाई ‘मदर अफ ह्वाइट रिवन अलाइन्स’को सज्ञाले पुरस्कृत समेत गरेको छ । महासङ्घले नेपालमा सुरक्षित मातृत्वसम्बन्धी चार वटा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना समेत गरिसकेको छ ।

युक्रेन सङ्कट समाधानका लागि भारतले ‘सक्दो प्रयास’ गर्छ – मोदी

हिरोसिमा – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युक्रेन सङ्कट समाधानका लागि भारतको ‘सक्दो प्रयास’ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जापानको हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा मोदीले भन्नुभयो, “म तपाईँको पीडा र युक्रेनी नागरिकको पीडा राम्ररी बुझेको छु । समस्यालाई समाधान गर्न भारत र व्यक्तिगत रूपमा म जे गर्न सक्छौं त्यो गर्नेछौँ ।”

१५ महिनाअघि रूसले आक्रमण सुरु गरेयता दुई नेताको पहिलो व्यक्तिगत भेटघाट हो । जेलेन्स्कीको टेलिग्राम अकाउन्टमार्फत् एक पोस्टमा भनिएको छ, “उहाँले हाम्रो देशको क्षेत्रीय अखण्डता र सार्वभौमिकतालाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।”

जेलेन्स्कीले युद्धग्रस्त देशलाई मानवीय सहायता प्रदान गरेकोमा मोदीलाई धन्यवाद दिँदै युक्रेनले अघि सारेको ‘शान्ति सूत्र’ पहलको कार्यान्वयनमा सामेल हुन भारतलाई आमन्त्रण गर्नुभएको छ ।युक्रेनलाई अत्याधुनिक लडाकू विमान खरिदका लागि अमेरिकी स्वीकृति प्राप्त गरेपछि जेलेन्स्की शनिबार अपराह्न हिरोशिमा पुग्नुभएको थियो ।

उहाँले जी–सेभेन साथै आमन्त्रित प्रमुख विकसित प्रजातान्त्रिक मुलुकका नेताहरू सम्मेलनमा सहभागी हुन हिरोसिमा पुगेका छन् ।मोदीले रूसको आक्रमणपछि भारतीय विद्यार्थीलाई प्रदान गरिएको सहयोगका लागि जेलेन्स्कीलाई धन्यवाद दिनुभएको थियो ।

युक्रेनी नेताले यसअघि इटालियन प्रधानमन्त्री जियोर्जिया मेलोनी र बेलायतका ऋषि सुनकसँग पनि वार्ता गर्नुभएको छ । उहाँले सुनकसँग केही दिनअघि युरोपेली मित्रराष्ट्रहरूको भ्रमणका क्रममा भेटवार्ता गर्नुभएको हो । टेलिग्राममा जेलेन्स्कीले अन्तर्राष्ट्रिय लडाकू जेट गठबन्धनमा बेलायतको नेतृत्वका लागि सुनकलाई धन्यवाद दिएको बताउनुभएको थियो ।

युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेलसँगको छलफलका क्रममा जेलेन्स्कीले युक्रेनी कृषि उत्पादनमा निर्यात प्रतिबन्ध र जुन ५ पछि थपएिका उपायहरूको ‘अस्वीकार्यता’ बारे आवाज उठाउनुभएको पनि उहाँले आफ्नो टेलिग्राम अकाउन्टमा बताउनुभएको छ ।

ईयूले छिमेकी देशहरूका अतिरिक्त आपूर्तिलाई कम गर्न मद्दत गर्न धेरै युक्रेनी उत्पादनहरूको आयातमा प्रतिबन्धहरूलाई जुन ६ सम्मका लागि अनुमोदन गरेको छ ।फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्कीको व्यक्तिगत भ्रमणको निर्णयको प्रशंसा गर्दै विकासशील देशहरूसँग संलग्न हुने अवसर ‘परिवर्तनको खेल’ हुन सक्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाको अध्यक्षमा भीम लामा

काठमाडौँ – समाजवादी प्रेस सङ्गठन काठमाडौँ शाखाले भीम लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । शाखाको आज सम्पन्न प्रथम अधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईँ र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाईँ, सहसचिवमा बद्री चौलागाईँ र गणेश विक, कोषध्यक्षमा सुजन पाख्रिन तथा सदस्यमा डिगबहादुर श्रेष्ठ र स्यारोन घिसिङ हुनुहुन्छ । कार्यसमितिले दुई सदस्य मनोनयन गर्नेछ ।

सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले पत्रिकारिता क्षेत्र सधैँ अग्रगमनको पक्षमा रहेर व्यावसायिकरूपमा निष्पक्ष लेखन गर्नुपर्ने बताउनुभयो । उहाँले सूचनाको अधिकारलाई जनतासम्म पु¥याउन प्रेसको महत्वपूर्ण भूमिका हुने हुँदा यसको स्वतन्त्रताको पक्षमा सङ्गठन सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेकपा (एकीकत समाजवादी)का काठमाडौँ जिल्ला अध्यक्ष एलपी श्रेष्ठले सञ्चार जगत्ले गर्ने अनुसन्धानपछि आउने समाचारले मुलुकमा भइरहेका ठूला भ्रष्टाचारका काण्ड बाहिरिएको बताउँदै यस्ता विकृतिलाई न्यूनीकरण गर्न प्रेसले खोजी गरिरहनुपर्ने विचार व्यक्त गर्नुभयो ।

समाजवादी प्रेस सङ्गठनका उपाध्यक्ष शन्तराम बिडारीले साना लगानीका सञ्चारमाध्यमको जगेर्नाका लागि विज्ञापन बोर्डले लगानी बढाउनपर्ने बताउनुभयो । प्रेस चौतारी नेपाल काठमाडौँ शाखाका अध्यक्ष मकुन्द भुसालले पत्रकारिता क्षेत्रलाई थप व्यावसायिक गर्न सबै सङ्गठन एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । नवनिर्वाचित कार्यसमितिका अध्यक्ष भीम लामाले श्रमजीवीको हक, हित अधिकार पक्षमा क्रियाशील रहने प्रतिबद्धता जनाउनुभयो ।

तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छ : मन्त्री मोदी

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने मन्त्री मोदीको विश्वास छ ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयले आयोजना गरेको कार्यशालामा उहाँले मुलुक सङ्घीयता कार्यान्वयनको सुरुआती चरणमा रहेको र यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनमा सरकार गम्भीर भएर लागेको छ, संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना विकास गर्दै जनतालाई सुविधा दिनुपर्छ ।”

तीनै तहका सरकारबीच आवश्यक समन्वय र सरकार्यमा अभाव देखिँदा जनताले अपेक्षा गरेअनुरुप कार्यसम्पादन हुन नसकेकाले सङ्घीय व्यवस्थामाथि समय–समयमा टीका–टिप्पणी हुने गरेको भन्दै मन्त्री मोदीले त्यस्ता कमी–कमजोरी समाधान गर्दै अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।

प्रदेश र स्थानीय जनप्रतिनिधि, कर्मचारी र अन्य सरोकारवालामा सङ्घीयतासम्बन्धी विविध कार्यक्रम, सुशासन तथा वित्तीय विकेन्द्रीकरणलगायत शासन र सुशासनसम्बन्धी मुद्दाहरूमा केन्द्रित रहने गरी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालन गरिरहेको र यो कार्यक्रम सङ्घीयता कार्यान्वयनमा प्रभावकारी देखिएको उहाँको भनाइ छ ।

त्यस्तै कार्यशालामा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सङ्घीयता कार्यान्वयन सबैको समान दायित्व रहने भएकाले कार्यान्वयनमा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । तीनै तहका सरकार सञ्चालनका सम्बन्धमा विभिन्न प्रशासनिक र प्राविधिक कठिनाइ देखिए समयानुकूल व्यवस्थित गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

“जनताले गाउँटोलमै सिंहदरबार खोजेका छन्, सोही व्यवस्थाबमोजिमको सङ्घीय शासन प्रणाली संविधानले व्यवस्था गरेको छ, यसमा देखिने समस्या समाधान गरेर प्रभावकारी कार्यान्वयनमा तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो । मौलिक हकको कार्यान्वयन, ऐन निर्माण, बजेट व्यवस्थापन, कर्मचारी व्यवस्थापनलगायतमा सबै तहले सहकार्य र समन्वयमा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै मन्त्रालयका सचिव डा कृष्णहरि पुष्करले अन्तरसरकारको सम्बन्ध सहकार्य, सहअस्तित्व र साझेदारीमा रहेको बताउनुहँुदै आपसमा समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले तीनै तहका सरकारले आ–आफ्ना भूमिका र उत्तरदायित्व स्पष्ट पार्दै देखिन सक्ने द्वन्द्वको सही व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै अन्तरसरकारी सम्बन्ध प्रभावकारी बनाउन व्यवस्था भएका प्रदेश समन्वय परिषद्जस्ता निकायलाई प्रभावकारी बनाउनुपर्ने उहाँको भनाइ छ ।

सङ्घ, प्रदेश र स्थानीय तहबीच राजनीतिक, प्रशासनिक, वित्तीय, कानुनी, विपद् व्यवस्थापनलगायतमा अन्तरसम्बन्ध रहने भएकाले त्यस सम्बन्धमा देखिने समस्या समाधानमा सबै मिलेर जानुपर्ने धारण सचिव पुष्करले राख्नुभयो ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आयोजनामा सम्पन्न कार्यशालामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिवले राजनीतिक, प्रशासनिक, वित्तीय, कानुनी विपद् व्यवस्थापनलगायतका क्षेत्रमा तीनै तहको सरकारबीच सहकार्य र समन्वय हुन आवश्यक रहेको बताउनुभएको छ ।

खाद्यान्न आयात प्रतिस्थापन गर्ने सरकारको योजना छ : मन्त्री भुसाल

अर्घाखाँची – कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले कृषि र पशुपालनबाट मात्र देशको अर्थतन्त्रमा सुधार हुने बताउनुभएको छ ।

मन्त्री भुसालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि कृषिमा केही गर्न सकिन्छ भन्ने छनक देखिएको बताउँदै कृषि र पशुपालनको क्षेत्रको विकासले मात्रै अर्थतन्त्र बलियो हुने बताउनुभयो ।

कृषि र पशुपालनमा उत्पादन वृद्धि भएमा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन बढाउन सकिने उहाँको भनाइ छ । पहिले खाद्यान्न निर्यात गथ्र्यौँ, अहिले खाद्यान्न आयात गर्छाँै । त्यसलाई प्रतिस्थापन गर्ने हाम्रो पहिलो लक्ष्य हो । सबैभन्दा बढी उब्जाउ क्षेत्र तराई हो । तराईमा सिँचाइको व्यवस्थापन गरेर कृषिमा व्यावसायीकरण गरेर खाद्यान्न निर्यात गर्ने लक्ष्य सरकारको रहेको मन्त्री भुसालको भनाइ छ ।

भूमिकास्थान नगरपालिकामा आयोजित कृषिमन्त्री भुसालको सम्मान तथा अन्तरक्रियामा उहाँले नेपालमा १० लाख ३० हजार हेक्टर जमिन बाँझो रहेको र त्यस्तो जग्गामा सामूहिक खेती र सहकारी खेती गरेर उत्पादन वृद्धि गर्ने सरकारको योजना रहेको बताउनुभयो ।

बाँझो जमिनमा एकल खेती होइन, सामूहिक तवरको खेती गरिनेछ । पहिलेजस्तो गोरुले जोतेर, कोदाली खनेर गरिने खेतीको लागत मूल्य बढ्ने भएकाले व्यावसायीककरण र यान्त्रिकीकरणबाट उत्पादन बढाउनु अहिलेको आवश्यता रहेको बताउनुभयो ।

उहाँले धान, मकै, गहुँलगायतको मूल्य उत्पादन हुनुभन्दा पहिले नै तोकिने बताउनुभयो । उहाँले यसभन्दा पहिला उत्पादन भएपछि धानको तथा उखुको मूल्य निर्धारण हँुदै आएकामा अब बाली लगाउनुभन्दा पहिले नै मूल्य निर्धारण हुने जानकारी दिनुभयो ।

भूमिकास्थान नगरपालिकाका प्रमुख झबिलाल थापाले नगरपालिकामा रहेको पाखोबारी तथा खेतका फाँटमा अन्नबाली, फलफूल, तरकारी र जडीबुटीको माध्यमबाट उत्पादन वृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

कृषि र पशुपालनलाई पहिलो प्राथमिकता राखेर नगरले काम सञ्चालन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण पोख्रेलले बताउनुभयो । भूमिकास्थान नगरपालिकाको वडा नं १० धनचौरमा जन्मनुभएका मन्त्री भुसालको सम्मानमा नगरले कार्यक्रम गरेको थियोे ।

स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान

काठमाडौँ – विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । उहाँका साथमा मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटासहित छ जना हुनुहुन्छ ।

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लुएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ ।

कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा डिल्लीराम उप्रेती नियुक्त

विराटनगर – कोशी प्रदेश योजना आयोगको उपाध्यक्ष पदमा प्राध्यापक डिल्लीराम उप्रेती नियुक्त हुनुभएको छ ।

कोशी प्रदेश मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले कोशी प्रदेश दलित अधिकार विधेयक तर्जुमाका लागि मुख्य न्यायाधिवक्तासँग थप कानुनी परामर्श लिई सरोकारवालासँग थप छलफल गर्न सामााजिक विकास मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।

बैठकले विशिष्ट व्यक्तिको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई पोसाक सुविधा प्रदान गर्नेसम्बन्धी कार्यविधि २०८० लाई स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रम : आत्मनिर्भर कृषिमा सहयोग पुग्ने

कर्णाली – सङ्घीय सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुनसके आत्मनिर्भर कृषि विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमले मुलुकसहित कर्णालीको अर्थतन्त्र वृद्धि तथा आत्मनिर्भर कृषि प्रणालीमा मद्दत पुग्ने बताइएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश सङ्घीय सरकार ल्याएको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताउनुभयो ।

“सङ्घीय सरकारको नीति तथा कार्यक्रमअन्तर्गतको कृषि नीतिले कर्णाली सरकारले लिएको कृषि नीति कार्यान्वयनमा ठूलो सहयोग पुग्ने देखिन्छ”, उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन अनिवार्य सर्त बन्नुपर्दछ ।” कार्यक्रमको निरन्तरता र प्रभावकारिता बढ्न सकेममा कर्णाली सरकारको अर्गानिक अभियानमा सघाउ पुग्नुका साथै कृषि उत्पादन तथा आत्मनिर्भरतामा वृद्धि हुने मन्त्री शर्माको भनाइ थियो ।

सङ्घीय सरकारको प्रस्तुत नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहको सहकार्यमा प्रत्येक पालिकामा एक–एकवटा शीतगृह, कृषि भण्डारण र वितरण केन्द्र स्थापना गरी किसानको उत्पादनलाई बजारीकरण गर्ने, ‘एक टोल, एक सामूहिक कृषि उत्पादन,’ ‘एक वडा एक विशेष उत्पादन’ र ‘एक पालिका, एक उत्पादन क्षेत्र’ नीतिमार्फत आत्मनिर्भर स्थानीय अर्थतन्त्रको निर्माण गरिने उल्लेख गरिएको छ ।

त्यस्तै, उपयोगमा नआएका तथा बाँझो जमिनमा कृषि खेती प्रवद्र्धन गर्न युवा लक्षित सहकारी तथा सामुदायिक खेती प्रणालीलाई प्रोत्साहित गर्ने, कृषि उत्पादन वृद्धि गर्न भूमिको चक्लाबन्दीलाई प्रोत्साहित गरिने भन्ने भए पनि कर्णालीमा भूगोल नभई बाली चक्लाबन्दी गर्न सकिने नीति लिइएको मन्त्री शर्माले बताउनुभयो ।

नदी उकास जग्गामा भूमिहीन विपन्नलाई लक्षित गरी स्थानीय तहको समन्वयमा जग्गा, बीउ, प्रविधि तथा कृषि प्रसार सेवा उपलब्ध गराई तरकारी तथा फलफूल उत्पादनमा वृद्धि गर्ने, डिजिटल स्वाइल म्यापिङ्ग कार्यलाई थप प्रभावकारी गर्ने तथा वडास्तरसम्म कृषि तथा पशुपन्छी क्षेत्रका प्राविधिक जनशक्ति परिचालन गरिने प्रस्तुत नीति तथा कार्यक्रममा समावेश छ ।

स्थानीय तहमा जैविक मल कारखाना स्थापनाका लागि प्रोत्साहित गर्ने, अर्गानिक कृषि उत्पादनलाई प्रोत्साहन गर्न कृषि वस्तुको प्रमाणीकरण र ब्रान्डिङ गरी बजारीकरण, चिया, अलैँची र अदुवाजस्ता कृषिवस्तुको निर्यात प्रवद्र्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिने नीति कर्णालीका लागि हितकर भएको उहाँले बताउनुभयो किनकी कर्णालीले अदुवा अहिले पनि युरोप निर्यात गरिरहेको छ ।

मन्त्री शर्माका अनुसार कृषि, पर्यावरण र प्राकृतिक पर्यटनको प्रवद्र्धन, ‘सामुदायिक वन, फलाउनेछ धन’ अभियानअन्तर्गत यसै वर्षदेखि सामुदायिक वन क्षेत्रमा निश्चित मापदण्ड र अनुगमन प्रणालीसहितको कार्यविधि अपनाई परीक्षणका रुपमा हरिण, मृग, बँदेल, कालिजजस्ता वन्यजन्तु र पन्छीको नियन्त्रित व्यावसायिक पालन सुरु हुने सङ्घीय सरकारको नीति तथा कार्यक्रम यहाँका लागि अझ बढी लाभदायक हुनेछ ।

राप्रपाको अमेरिकालाई पत्र – ‘हिन्दु राज्यका लागि बाह्य आर्थिक सहयोग स्विकार्य छैन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा असहमति जनाएको छ । अमेरिकाले हालै सार्वजनिक गरेको प्रतिवेदन ‘हिन्दु राज्य’ को पक्षमा अभिब्यक्ति दिनका लागि भारतको सत्तारूढ राजनीतिक दल भारतीय जनता पार्टी र भारतका अन्य हिन्दू समूहले रकम दिने गरेको जनाएपछि राप्रपाले असहमति जनाएको हो । 

राप्रपाले सो प्रतिवेदन प्रति असहमति जनाउदै नेपालस्थित अमेरिकी राजदुतावासमार्फत पत्राचार गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकाले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमाथि असहमति जनाउँदै अमेरिकी राजदूत डीन आर थम्प्सनलाई पत्र लेखेका हुन ।

अमेरिकी बिदेश मन्त्रालयको सो प्रतिवेदन एकपक्षीय र पुर्वाग्रही भएको पनि अध्यक्ष लिङदेनले जनाएका छन् । ‘प्रतिवेदन (हालै सार्वजनिक प्रतिवेदन ) ले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ नागरिक समाजप्रति पनि अमेरिकन बिदेश मन्त्रालयले अपुरो ज्ञानका आधारमा लेखेको भन्दै राप्रपाले भनेको छ, ‘नागरिक समाजका नेताहरूले आरोपलाई समर्थन गर्ने कुनै ठोस प्रमाण पेस गरेका छैनन्, यसबाहेक प्रतिवेदनले राप्रपाबाट कुनै विचार वा प्रतिक्रिया खोज्न असफल भएको छ ।’

हिन्दु राज्य स्थापनाका लागि आफुहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्विकार गरेको पनि पत्रमा उल्लेख छ । ‘हामी हाम्रा एजेन्डा र लक्ष्यहरू स्थापना गर्नका लागि हाम्रा मित्र राष्ट्रहरूबाट राम्रो विश्वासको स्वागत गर्दछौं । तथापि, राप्रपाले कुनै पनि प्रकारको बाह्य हस्तक्षेप र आर्थिक समर्थनलाई स्वीकार गर्दैन,’ राप्रपाको स्पष्ट दृष्टीकोण उल्लेख गर्दै भनेको छ । 
 
सो प्रतिवेदनले नेपाल र अमेरिकाको बिचमा बैमन्यस्यता उत्पन्न गराउने पनि उल्लेख गरिएको छ । ‘प्रतिवेदनमा लगाइएका व्यापक आरोपहरूले हाम्रो (नेपाल र अमेरिका बिचको) छविलाई धमिलो पार्छ र नतिजाहरूको कारण हामी गहिरो चोटमा छौं,’ पत्रमा भनिएको छ, ‘हामी अमेरिकाको विदेश मन्त्रालयलाई प्रतिवेदनका कमजोरीहरू पुनः हेर्न र सुधार गर्न आग्रह र आह्वान गर्दछौं ।’

सो पार्टीले राष्ट्रको संरक्षकको रूपमा संवैधानिक राजतन्त्र र सबै धर्मकाे सम्मानसहित हिन्दू राज्यप्रतिको आफ्नो दृढ विश्वासमा अडिग रहेको पनि पत्रमा उल्लेख गरेको छ ।

गोसाइँकुण्डमा विशेष मेला सुरु

रसुवा – रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ ।गङ्गा दशहरा पर्वअन्तर्गत आरम्भ भएको १० दिने विशेष मेला भर्नका लागि टाढा टाढाबाट आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आरधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले आफ्ना मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । गोसाइँकुण्ड मेलाको पहिलो दिन आज तीर्थ पुग्ने भक्तजनले दिनभरिनै कुण्डमा स्नान तथा विशेष पूजा गर्ने गर्दछन् ।

समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न जलको खोजी गर्दै भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता रहेको छ । त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नु भइं त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहनुभएको बताइएको छ । कुण्डमा डुबुल्की मारेपछि शक्तिले उकालोमा जाँदा लागेको सम्पूर्ण थकाइ समाप्ति भएको अनुभव प्राप्त हुँदै आएको छ ।

निलाद्री पर्वतअर्थात् गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित रहेको छ । पवित्र कुण्डमा स्नान गर्दा शारीरिक रोगव्याधसमेत हट्ने मान्यता रहिआएको छ । कालकुट विषपान गरी प्राणी बचाउने शिवको दर्शनका लागि जिन्दगीमा एक पटक गोसाइँकुण्ड पुग्नै पर्ने मान्यता रहिआएको छ ।

स्थानीय पुरोहित टङ्कप्रसाद ढकाल ९टङ्कु गुरु० ले उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने, कुण्डमा भगवान्को दर्शन गरी फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताउनुभयो ।

आज पहिलो दिन करिब पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजनको आउनेक्रम जारी रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत मिलन सापकोटाले जानकारी दिनुभयो ।

दशहरा पर्वमा १० दिन एवं जनैपूर्णिमा पर्वका अवसरमा पाँच दिन गरी प्रत्येक वर्ष १५ दिन निलाद्री पर्वतमा विशेष मेला लाग्ने परम्परा रहिआएको छ । यस वर्षको गङ्गा दशहरा पर्वमा पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने प्रक्षेपण गरिएको जनाउँदै लाङटाङ राष्ट्रिय निकुञ्जले भनेको छ सबै यात्रुको सङ्ख्यात्मकरूपमा लगत राखिने छ ।

यात्रुको चापलाई मध्यनजर राखी नेपाल प्रहरीले यथेष्ट सुरक्षा प्रबन्ध मिलाइसकेको जनाउँदै जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीले कुनै स्थानमा सुरक्षा चाहिएमा वा उद्धार गर्नुपर्ने अवस्था सिजर्ना भएमा नेपाल प्रहरीको निःशुल्क फोन नं १०० मा खबर गरिदिन यात्रुसमक्ष अनुरोध गरिएको बताउनुभयो ।

ट्राफिक व्यवस्थापनअन्तर्गत यात्रुले ल्याएका सवारी साधन धुञ्चेमा पार्किङ एवं सुरक्षाको प्रबन्धसमेत तय गरिसकिएको उहाँले जानकारी दिनुभयो । यात्रुको चापलाई मध्यनजर राख्दै भोजनको उचित व्यवस्थापनका लागि होटल व्यवसायीले आवश्यक दाल, चामल, नुन, तेलजस्ता खाद्यान्न धार्मिक मार्गका चन्दनबारी, लौरीविनायक, गोसाइँकुण्डसमेतका सबै स्थानमा भण्डारण गरिसकेको होटल व्यवसायी सङ्घका जिल्ला अध्यक्ष रामशरण गजुरेल ९निसान० ले बताउनुभयो ।

हिमाली क्षेत्रमा उकालो चढ्दै जानुपर्ने भएका कारण वातावरण सहजताको लागि काठमाडौँबाट एक दिन धुञ्चे, भोलिपल्ट चोलाङपाटी वा लौरीविनायक बसेर शरीरमा लेकाली हावापानीको वातावरण मिलाउँदै तेस्रो दिन कुण्ड पुगेर स्नान गर्दा लेक लाग्ने समस्या हल हुने उहाँको भनाइ थियो ।

गोसाइँकुण्डका यात्रुले बास, निगालोको मात्र लठ्ठी प्रयोग गरी वन सम्पदा संरक्षणमा योगदान पु¥याउन र आफूबाट उत्पन्न फोहरलाई सुरक्षित स्थानमा फ्याकी वातावरणको संरक्षणमा समेत सहयोग गरिदिन लाङटाङ राष्ट्रिय निकुञ्जले अनुरोध गरेको छ ।

यसैगरी हिमालय पुत्री पार्वती माता विराजमान रहनुभएको रसुवाको गतलाङस्थित पार्वती कुण्डमा समेत स्नान तथा पूजाआजाका लागि भक्तजनको ओहरदोहर भइरहेको छ । गोसाइँकुण्डमा उकालो हिँड्नुपर्ने र पार्वती कुण्डमा भने सवारी साधनबाटै पुग्न सकिने भएका कारण गोसाइँकुण्ड पुग्न नसक्ने भक्तजनले पार्वती कुण्ड स्नान गरेर भए पनि धार्मिक लाभ प्राप्त हुने जनाइएको छ ।

राष्ट्रपतिसँगै जनताका सवारीसाधन

काठमाडौँ । राष्ट्रपतिको सवारीका कारण जनताले सास्ती भोग्दै आएको खबर नौलो होइन । तर पछिल्लो समय सवारीका सुखद तस्बिर देखापर्न थालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन जाने क्रममा सडकमा सर्वसाधारण जनतालाई यात्रामा रोक लगाइएन । राष्ट्रपतिसँगै जनताका सवारीसाधन पनि चले। यसले धेरैको मन जितेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल शीतलनिवासबाट नयाँ बानेश्वस्थित संसद् भवनमा पुगेका थिए । यसअघिका राष्ट्रपतिका सवारीभन्दा शुक्रबार पौडेलको सवारी निकै सहज र चुस्त देखियो । ‘पहिलोपटक राष्ट्रपति जनतासँगै अनि जनता राष्ट्रपतिसँगै हिँडेको देखियो,’ सामाजिक सञ्जालमा राजेश फुयाँल लेख्छन्, ‘यो सवारीले राष्ट्रप्रमुखलाई जनतासँग जोड्ने काम गरेको छ ।’

जनतालाई रोकेर होइन, सँगै लिएर जाँदा सही गन्तव्यमा पुगिने पनि उनले लेखेका छन् । गणतन्त्रका ‘सेरेमोनियल’ राष्ट्रपतिको सवारीका समयमा कम्तीमा सडकमा लामो समय रोकिन नपरोस् भन्ने अपेक्षा सर्वसाधारण जनताको थियो, छ । आजको नागरिक दैनिकमा समाचार छ ।

आठ करोड बढी ठगी गरेको आरोपमा कांग्रेस नेता सिन्धुलीबाट पक्राउ

सिन्धुली – नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यका लागि दावेदार रहेका कृष्णमुरारी गुरुङ आठ करोड बढी रकम र सुन ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनी विभिन्न व्यक्तिलाई रकम लिने र नतिर्ने गरि करोडौं ठगी गरेको आरोपमा काठमान्डौबाट पक्राउ परेका हुन् ।

गोलञ्जोर गाउँपालिका ४ तिनकन्या घर भएका गुरुङलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमान्डौले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ । उनलाई परिसरमा उजुरी परेपछि खोजी गरिएको थियो । पक्राउ परेका गुरुङलाई काठमान्डौ अदालतबाट म्याद थप गरि ठगी, अपराधिक लाभ तथा अपराधिक विश्वासघात सम्बन्धि कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

उनी विरुद्ध प्रहरी परिसर काठमान्डौमा फरक फरक तीनजना व्यक्तिबाट ८ करोड ५ लाख नगद र २० तोला सुन ठगी गरेको उजुरी परेको थियो ।

गुरुङ विरुद्ध विभिन्न मितिमा व्यवहार सल्टाउने भन्दै सुरेश केसीसँग पटक पटक गरि ७ करोड ७५ लाख रकम र २० तोला सुन लिएको उजुरी छ । केसीसँग आफ्नो सम्पूर्ण सम्पत्ति विशेष अदालतबाट रोक्का भएको र मुद्दा मिलाउन र मुद्दामा खर्च गर्न भनि गुरुङले रकम लिएको पाईएको प्रहरीले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण बजेटपछि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नयाँ आर्थिक वर्षको बजेट प्रस्तुतलगत्तै गर्ने गरी तयारी सुरु भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार जेठ १५ गते बजेट प्रस्तुत गरेलगत्तै जेठको तेस्रो साता भारत भ्रमण गर्ने तयारी भएको हो।

१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यसलगत्तै भारतीय सञ्चारमाध्यममा आफ्नो पहिलो भ्रमण भारतबाट हुने घोषणा गरेका थिए। प्रधानमन्त्री बनेयता उनले मिति तय भए पनि चीनमा आयोजित बोआओ फोरममा सहभागी भएका थिएनन्। बैशाखमै भारत जाने घोषणा गरेका उनी कुटनीतिक रुपमा सफल नहुँदा भ्रमण मिति सार्दै आएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले पनि जिम्मेवारी सम्हालेलगत्तै आफ्नो पहिलो काम प्रधानमन्त्रीको भारत भ्रमणको तयारी नै रहेको बताएका थिए। प्रधानमन्त्री भारत जान व्यग्र देखिए पनि प्रचण्डले भ्रमणका क्रममा नेपालले उठाउने मुद्दाबारे छलफल र परामर्श गरेका छैनन् ।

परराष्ट्र मन्त्रालयले भने भ्रमणबारे छलफल अघि बढे पनि मितिबारे निर्णय हुन बाँकी रहेको जनाएको छ। सचिवालय स्रोतले जेठ १७ देखि प्रधानमन्त्रीको तीनदिने भारत भ्रमणको तयारी भइरहेको बताएको छ।

परराष्ट्रमन्त्री साउदले भ्रमणकै लागि पूर्वपरराष्ट्रमन्त्री, पूर्वराजदूत र पूर्वसचिवहरूसँग छलफल गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री साउदले भारत भ्रमणका क्रममा नेपालले उठाउनु पर्ने व्यापार, वाणिज्य, जलस्रोत, सिमाना, पारवहन, पर्यटनलगायतका विषयमा छलफल गरेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

उन्मुक्तिको नेपाल बन्द घोषणा आजैवाट लागु हुने गरी फिर्ता

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले आजवाट गर्ने भनिएको नेपाल बन्दको घोषणा फिर्ता लिएको छ । यस बिचमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फौजदारी बिद्येयक संसदमा टेबुल भएको भन्दै उन्मुक्तिले यसअघि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको हो ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तथा फैजदारी बिद्येयक संसदमा टेबुल भईसकेकाले राजबन्दीको रिहाई कानुन संसोधन गरेर निकाल्ने प्रतिबद्धता संसदमा जाहेर गरेको भन्दै सरकारसँगको सम्झौता सकारात्मक भएको महशुश गर्दै बन्दको घोषणा फिर्ता लिईएको बरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जानकारी दिए । 

सो पार्टीका संस्थापक रेशम चौधरीलाई १४ बर्ष जेल सजाय दिने उच्च अदालतको फैसालालाई सर्वोच्च अदालतले पनि सदर गरे पछि आक्रोशित उन्मुक्तिले ६–९ जेठसम्म नेपाल बन्दको घोषणा गरेको थियो  । 

प्लास्टिक झोला प्रयोगमा रोक लगाउने सरकारको नीति

काठमाडौँ-कार्बन उत्सर्जन कटौती र जलवायु परिवर्तनका मुद्दामा सरकारले केही महत्त्वपूर्ण नीति तय गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले प्लास्टिक झोलाको प्रयोगमा रोक लगाउने जनाएको छ ।

“जलवायु परिवर्तनका असर र प्रभावलाई सामना गर्न उत्थानशीलता वृद्धि गरिनेछ । जलवायु अनुकूलन तथा विपद् व्यवस्थापनका क्रियाकलापलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथाम गरिनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “कानून तर्जुमा गरी कार्बन व्यापारमा जोड दिइनेछ । प्लास्टिक झोला प्रतिस्थापन गरी स्वदेशी कागजको झोला उत्पादन तथा प्रयोगलाई अभियानको रूपमा सञ्चालन गरिनेछ ।”

जलवायु परिवर्तनका मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने पनि वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । “अल्पविकसित तथा हिमाली देशमा जलवायु सङ्कटले उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सञ्जाल निर्माणको पहल गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ । ‘हिमाल बचाऔँ अभियान’ शुरु गरिने पनि उल्लेख छ ।

नेपालको हिमशृङ्खलादेखि पहाड तथा तराईसम्म जलवायु परिवर्तनबाट परेको प्रतिकूल असरलाई न्यूनीकरण तथा वातावरणीय संरक्षण संवर्द्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा जनाइएको छ ।

सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइ गर्ने

काठमाडौँ-सरकारले भ्रष्टाचारविरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले सङ¬्घीय संसद्को संयुक्त बैठकमा सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गर्न लागेको हो ।

नीति तथा कार्यक्रममा भनिएको छ, “अनियमितता, भ्रष्टाचार, करछली, कृत्रिम अभाव, कालोबजारी, व्यावसायिक एकाधिकारलगायतका सुशासनविरोधी क्रियाकलापमा जनताका गुनासोलाई तत्काल र प्रभावकारीरूपमा सम्बोधन गर्न प्रधानमन्त्रीको प्रत्यक्ष सुपरीवेक्षणमा रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई आवश्यक जनशक्ति र प्रविधि उपलब्ध गराई क्रियाशील तुल्याइनेछ ।”

जनगुनासो तथा उजुरी सम्बोधन र अनुगमनका लागि जिल्लादेखि केन्द्रसम्मका सरकारी संयन्त्रको परिचालन गरिने र अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भ्रष्टाचारसम्बन्धी विधेयक संसद्को यसै अधिवेशनबाट पारित गरिने जनाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रसम्बन्धी विधेयक संसद्को यसै अधिवेशनमा पेश गरिने उल्लेख छ ।

“सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्धनसम्बन्धमा पेश भएको विधेयकलाई चालु अधिवेशनबाट पारित गरिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “एशिया प्रशान्त क्षेत्र समूहको मूल्याङ्कन प्रतिवेदनले औँल्याएका सुझावलाई सम्बोधन गर्नेगरी नीतिगत, कानूनी र संस्थागत सुधार गरिनेछ ।” त्यस्तै, कसूरजन्य सम्पत्ति तथा साधनको एकीकृत विवरण तयार गरी कसूरजन्य सम्पत्ति तथा साधनको उचित व्यवस्थापन र परिचालन गरिने जनाइएको छ ।नीति तथा कार्यक्रममा उच्चपदस्थ लगायत जोकोहीले गैरकानूनीरूपमा आर्जन गरेको सम्पत्तिलाई छानबिनको दायरासमेतमा ल्याइने उल्लेख छ ।

बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म, सबै सङ्घीय अस्पताललाई शिक्षण अस्पताल बनाइने

काठमाडौँ-सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सामुदायिक अस्पतालको स्तरोन्नतिदेखि प्रदेशस्तरको ‘सुपर स्पेशियालिटी अस्पताल’ निर्माणलाई प्राथमिकता दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमले सामुदायिक अस्पतालमा एक चिकित्सक एक अस्पतालको व्यवस्था सुनिश्चित गर्ने बताएको छ । साथै बहिरङ्ग सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म अनिवार्य सञ्चालन हुने भनिएको छ ।

नीति तथा कार्यक्रमअनुसार प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ । अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न कार्यक्रमले प्राथमिकता दिएको छ ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।सङ्घीय अस्पतालको हकमा नीति तथा कार्यक्रमले निजामती अस्पताल र सबै सङ्घीय अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने भनेको छ । नीति तथा कार्यक्रममा भनिएको छ, “निजामती अस्पताललाई विशिष्टीकृत चिकित्सा सेवासहितको सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्दै क्रमशः सातवटै प्रदेशमा विस्तार गर्ने नीति लिइने छ ।”

सरकारले मेडिकल कलेजलाई पूर्णक्षमतामा सञ्चालन गर्ने बताएको छ । गेटा विश्वविद्यालयसम्बन्धी विधेयक यसै अधिवेशनमा प्रस्तुत गरिने र उक्त अस्पताल यसै वर्ष सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।सरकारले दुर्गम क्षेत्रमा समयमा उपचार नपाउँदा अल्पायुमै हुने मृत्युको क्रम रोक्न दुर्गम जिल्लामा एयर एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताएको छ ।

नीति तथा कार्यक्रममा अति दुर्गम, सुदूरपश्चिमका पहाडी र कर्णाली प्रदेशका जिल्लामा दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सेवा नियमित सञ्चालन गरिने उल्लेख छ । यस्तै, केन्द्रीकृत डाटाबेससहितको राष्ट्रिय एम्बुलेन्स सेवाको व्यवस्था मिलाइनेछ ।

आधारभूत अस्पतालमा एक एमडिजिपी, एक महिला तथा प्रसूति रोग विशेषज्ञ, कम्तीमा तीनजना मेडिकल अधिकृत र आवश्यक नर्ससँगै स्वास्थ्य उपकरण तथा एम्बुलेन्स उपलब्ध गराई सबै आधारभूत स्वास्थ्य सेवा प्रवाह प्रभावकारी बनाउने उल्लेख छ ।

नवजात शिशु र मातृ मृत्युदर बढी भएका स्थानीय तहमा मातृ तथा नवजात शिशु स्याहार एवं उपचार सेवाका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

नीति तथा कार्यक्रममा आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिने व्यवस्थासमेत गरिएको छ ।

नीति तथा कार्यक्रममा सरकारले सातै प्रदेशका सङ्घीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार गर्ने भनिएको छ । प्रदेशस्तरको कम्तीमा एउटा अस्पताललाई मुटुको शल्यक्रिया र क्यान्सर रोगसमेतको निदान हुनसक्ने सुपर स्पेशियालिटी अस्पतालका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, प्रविधि र जनशक्तिको व्यवस्था गर्दै लाने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रमअनुसार सङ्क्रामक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ ।

यस्तै स्वास्थ्य संस्थाहरूमा अटिजम रोगको निदान र उपचारको व्यवस्था मिलाइने छ । महिलामा देखिने पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क शीघ्र पहिचान र प्रारम्भिक उपचारलाई विशेष कार्यक्रमका रूपमा क्रमशः देशभर विस्तार गरिनेछ ।

सरकारले औषधि व्यवस्था विभागलाई खाद्य, औषधि तथा स्वास्थ्य प्रविधि विभागमा रूपान्तरण गर्ने बताएको छ । “आधारभूत स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक ९८ प्रकारका औषधि स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइनेछ । औषधिजन्य तथा स्वास्थ्यजन्य सामग्री स्वदेशमै उत्पादन गरी आत्मनिर्भर हुन वित्तीय र अन्य सुविधा एवं सहुलियत उपलब्ध गराइनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ ।

यस्तै, सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधिको उत्पादन र उपलब्धता वृद्धि गरिनेछ । आयुर्वेदिक अस्पतालको सेवा प्रभावकारी बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।