`

नीति तथा कार्यक्रम : गण्डकीका विभिन्न योजना समावेश

गण्डकी – सङ्घीय सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालन गरिने योजनासमेत समेटिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा वर्षौंदेखि बन्द अवस्थामा रहेको यहाँको गोरखकाली रबर उद्योग सञ्चालनदेखि जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाइनेसम्म उल्लेख छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना सरकारले आफ्नै लगानीमा बनाउने घोषणा यसअघि नै गरेको थियो । गोरखा र धादिङको सिमानामा पर्ने बूढीगण्डकी नदीमा बन्ने एक हजार दुई सय मेगावाटको उक्त आयोजना वर्षौंदेखि अन्यौलमा रहँदै आएको थियो ।

संसद्मा सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखानासँगै गोरखामा रहेको गोरखकाली रबर उद्योग पनि पुनःसञ्चालनमा ल्याइने उल्लेख गर्नुभएको थियो । गोरखाको मजुवा देउरालीमा रहेको सो उद्योग विसं २०७१ देखि पूर्णरुपमा बन्द छ । विसं २०४९ देखि उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्र टायर उद्योग हो ।

लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समितिसमेत गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । गोरखामै उपयुक्त स्थान पहिचान गरेर नेपालका सम्पूर्ण जातजातिको संस्कृति र पहिचान झल्कने गरी सङ्ग्रहालयका निर्माणको प्रक्रिया अगाडि बढाइने भएको छ ।

पोखरासहित प्रमुख सहरमा भूमिगत विद्युत् वितरण प्रणालीलाई विस्तार गरिने जनाइएको छ । पोखरामा विद्युतीय तार भूमिगत गर्ने परियोजना गत महिनादेखि सुरु भइसकेको छ । गण्डकी जलाधार क्षेत्रमा पर्ने जलाधारीय स्रोतको दिगो व्यवस्थापन गर्दै जलवायु परिवर्तनको अनुकूलन क्षमता अभिवृद्धि गरिने भएको छ ।

आजको मौसम: कोशी र मधेश प्रदेशको तराईमा हावाहुरी चल्ने

काठमाडौं, ६ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहेको छ। 

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। गण्डकी प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राती भने कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

सुरक्षा निकायलाई साधनस्रोत सम्पन्न तुल्याइने

काठमाडौँ – सरकारले सुरक्षा निकायलाई समयानुकूल दक्ष, व्यावसायिक, आधुनिक र साधनस्रोत सम्पन्न तुल्याउने दृढता व्यक्त गरेको छ ।सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज सङ्घीय संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा डिजिटल सुरक्षा प्रणालीको विकास र विस्तार गरी राष्ट्रिय सुरक्षा व्यवस्थालाई प्रभावकारी र विश्वसनीय बनाउने उल्लेख गरेको छ ।

राष्ट्रिय परिचयपत्र विवरण दर्ता तथा वितरणलाई अभियानको रूपमा सञ्चालन गरी स्थानीय तहबाटै वितरणको व्यवस्था मिलाउने तथा एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, “नागरिकको व्यक्तिगत जैविक विवरण एकपटक मात्र लिने र त्यस्तो विवरणलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा आबद्ध गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।”

सरकारले आगामी तीन वर्षभित्र जग्गाधनी प्रमाणपुर्जा, बैंक खाता, स्थायी लेखा नम्बर र सवारी चालक अनुमतिपत्र जारी गर्दा अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्र नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रममा नागरिकतासम्बन्धी समस्या अविलम्ब समाधान गरिने र विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिने उल्लेख छ ।

सरकारले आतङ्कवाद तथा सङ्गठित अपराध, वित्तीय अपराध, मिटरब्याजी, हिंसा, साइबर अपराध, लागूऔषधको अवैध ओसारपसार र कारोबारलगायत सबै प्रकारका अपराधजन्य गतिविधि नियन्त्रणमा आधुनिक प्रविधिको उपयोग गरी सुरक्षा निकायलाई सक्षम बनाउने उल्लेख गरेको छ ।

नीति तथा कार्यक्रममा डिजिटल फरेन्सिक ल्याबको सुदृढीकरण गरिनेछ । क्रिप्टो करेन्सी, हुण्डी, सङ्गठित अपराध, अन्तरदेशीय र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणलाई प्रभावकारी बनाइनेछ । लागू पदार्थ सेवनविरुद्ध समुदायको अगुवाइमा दशैभरि अभियान सञ्चालन गरिने विश्वास दिलाइएको छ ।

सरकारले आगामी पाँच वर्षभित्र कारागारमा कैदीबन्दीको चाप नहुने गरी निर्माण भएका कारागारको सञ्चालन तथा नयाँ कारागारको निर्माण गर्ने भएको छ ।

नीति तथा कार्यक्रममा फौजदारी सजायमा प्रोबेसन तथा प्यारोल, सामुदायिक सेवा खुला कारागारलगायतका सुधारात्मक व्यवस्था कार्यान्वयनमा ल्याइने उल्ल्ेख छ । नीति तथा कार्यक्रममा कैदीबन्दीको स्वास्थ्य उपचारका लागि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने पनि जनाइएको छ ।

सरकारले अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सबल, सुदृढ र प्रभावकारी बनाउन बोर्डर आउटपोष्टको सुदृढीकरण र थप स्थानमा आउटपोष्ट निर्माण गर्दै लगिनेछ । सीमास्तम्भको नियमित मर्मत–सम्भार गर्ने भएको छ । नीति तथा कार्यक्रममा सीमा नाकाहरूमा सघन गस्ती परिचालन तथा चेकजाँच गरी अवैध व्यापारलाई नियन्त्रण गरिने उल्लेख छ ।

सरकारले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकतालगायत राष्ट्रिय हितको रक्षाको लागि नेपाली सेनालगायत सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि जनाएको छ ।

नीति तथा कार्यक्रममा राष्ट्रिय सुरक्षा नीति, २०७५ एवं राष्ट्रिय प्रतिरक्षा नीति, २०७७ को प्रभावकारी कार्यान्वयन गरिने उल्लेख छ ।नीति तथा कार्यक्रममा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण तथा कानून तर्जुमा गर्ने काम सम्पन्न गरी सञ्चालनमा ल्याइने जनाइएको छ ।

सुरक्षा तथा प्रतिरक्षाका लागि आवश्यक गोलीगट्ठा, विस्फोटक पदार्थ, सुरक्षाकर्मीले प्रयोग गर्ने पोशाकलगायत अन्य सैन्य सामग्री उत्पादनमा आत्मनिर्भरता अभिवृद्धि गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, “नेपाली सेनाको बङ्करदेखि ब्यारेक कार्यक्रमलाई यथाशीघ्र सम्पन्न गरिनेछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सुरक्षाकर्मीलाई आधारभूत सुविधासहितको भौतिक संरचनाको व्यवस्था गरिनेछ ।”

सरकारले युवामा राष्ट्रसेवा भाव जागृत गर्न तथा शारीरिक एवं मानसिक विकासका लागि तालिम सञ्चालन गरिनेछ । राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहको समन्वयमा विद्यालयस्तरमा विस्तार गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रमा ठुला प्राकृतिक प्रकोप, महामारी तथा बृहत्स्तरको विपद्को अवस्थामा घाइते तथा बिरामी भएका आम सर्वसाधारणलाई विशिष्टीकृत स्वास्थ्योपचार सेवासहितको आपत्कालीन स्वास्थ्योपचार सेवा उपलब्ध गराउन बृहत् उपचार केन्द्र स्थापनाकार्य अगाडि बढाइने उल्लेख छ ।

सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गरिने जनाएको छ ।नीति तथा कार्यक्रममा भनिएको छ “जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्गता भएकालाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति, आर्थिक सहायता उपलब्ध गराइनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथमिकता साथ अघि बढाइनेछ ।”

प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गरी हिँड्ने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिद्वारा आज यहाँ आयोजित पूर्वबजेट अन्तरक्रियामा उहाँले निजी क्षेत्रको सहकार्यमा प्रदेशको कृषिको यान्त्रिकीकरण, उद्योग स्थापना, आयात प्रतिस्थापन र रोजगारी सिर्जना गरिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बजेटमा निजी क्षेत्रले दिएको आर्थिक सुधारको सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले राष्ट्रिय पूँजीको पर्याप्त विकास हुनुपर्नेमा जोड दिँदै प्रदेश सरकारले करको दायरालाई फरालिको बनाउने कार्यक्रमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय तहलाई स्वावलम्बन, समक्ष जनशक्ति बनाई क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै राजश्व सङ्कलन, पूँजीगत खर्चमा रहेका कमजोरी सुधार गर्नु आवश्यक रहेको विचार राख्नुभयो ।

यस क्षेत्रमा रहेको ऐतिहासिक विराटनगरको भेडियारीमा रहेको विराट राजाको दरबार, धार्मिक क्षेत्र वराह क्षेत्र, पाथिभरालगायतमा छिमेकी देशका धार्मिक पर्यटकलाई आकर्षण कायम गरी आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माणमा निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

उहाँले विकास भनेको पुल र बाटो मात्र होइन भन्दै उद्योगले स्वदेशी कच्चा पदार्थ प्रयोग गरी उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउतले विराटनगरमा स्वदेशी उत्पादनको प्रदर्शनका लागि अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अन्तरक्रियामा प्रदेश लगानी प्राधिकरणका प्रमुख डा सरोज कोइराला, महासङ्घका केन्द्रीय सदस्य अविनाश बोहरा, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका योजना महाशाखा प्रमुख पशुपति पोखरेल, पर्यटन व्यवसायी भविस श्रेष्ठ, डा जगदीशचन्द्र पोखरेललगायतले डिजिटल प्रदेश र निजी क्षेत्र मैत्री बजेट आउनुपर्ने बताउनुभयो ।

सो अवसरमा उद्योग, व्यापारीले नेपाली सवारी साधनलाई भारतमा प्रवेशका लागि लागि स्थानीयस्तरमा अनुमतिपत्र पाउनुपर्ने, विराटनगरमा चियाको अक्सन हुनुपर्ने, पौराणिक तथ्यमा रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा जोड दिनुपर्ने, बैङ्क ब्याज पुरानो स्थितिमा ल्याउनुपर्ने, विद्युतीय सवारी साधनमा पूर्णभन्सार छुट हुनुपर्ने, कृषिमा अनुदान वृद्धिलगायतका कार्य आगामी वर्षको नीति कार्याक्रम र बजेटमा ल्याउनुपर्ने सुझाव दिइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले समय माग्दा सरकार विस्तार रोकियो

सुदूरपश्चिम – सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टीले सहमति जुटाउन समय मागेपछि सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् विस्तारको काम आज रोकिएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहका प्रमुख स्वकीय सचिव धीरेन्द्र शाहीले नागरिक उन्मुक्ति पार्टीले भोलि शनिबारसम्म समय मागेकाले आज मन्त्रिपरिषद् विस्तारको काम रोकिएको बताउनुभयो । शाहीले भन्नुभयो, “नागरिक उन्मुक्तिले भोलि १० बजेसम्मको समय मागेको छ, उहाँहरूको निर्णयपछि मन्त्रिपरिषद् विस्तार हुनसक्छ ।”

शाहीले विस्तार हुनलागेको मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट शिवराज भट्ट वा पृथ्वीबहादुर सिंहमध्ये एक जना र नेकपा (माओवादी केन्द्र)बाट रमेशसिंह धामी र झपटबहादुर बोहराको नाम आएको बताउनुभयो । माओवादी केन्द्रकै गीतादेवी मालको नाम राज्यमन्त्रीका लागि आएको छ । नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नेको नाम आउन बाँकी छ ।

यसअघि आजै बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्ले पूर्णता पाउने जानकारी गराउनुभएको थियो ।

प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पार्टीभित्रको आन्तरिक छलफल र सत्ता गठबन्धन दलसँगको छलफलसमेत टुङ्गिन बाँकी रहेको बताउनुभयो । आफूहरूले दुई मन्त्रालयमा मागेको उहाँले बताउनुभयो ।

गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।

संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको थियो । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त हुनुभएको थियो ।

त्यपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

फेरिएको राजनीतिक समीकरणसँगै शाहलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थन छ । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उहाँले सजिलैसँग विश्वासको मत पाउनुभएको थियो ।

मुख्यमन्त्री शाहको नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालयबाहेक अन्य मन्त्रालय नेतृत्वविहीन छन् । कांग्रेसका युवा नेतासमेत रहेका प्रकाशबहादुर देउवाले भौतिक पूर्वाधार विकास मन्त्रालय र नेकपा (एकीकृत समाजवादी) का युवा नेता नरेशकुमार शाहीले आर्थिक मामिला मन्त्रालय सम्हाल्दैै आउनुभएको छ ।

सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा

काठमाडौँ – सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आव २०८०/०८१ को नीति तथा कार्यक्रममा विशेष पर्यटन वर्ष मनाउने घोषणा गर्नुभएको हो ।

संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने नीति तथा कार्यक्रममा भनिएको छ । कोरोना महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन विस्तारै लयमा फर्किरहेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो ।

पर्यटन ऐन समयानुकूल
पर्यटन ऐनमा समयानुकूल परिमार्जन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ । सूचीकृत पर्यटकीय गन्तव्यहरूको विश्‍वव्यापी प्रचार गरी अत्यावश्यक पूर्वाधारहरूको विकास, सुरक्षा प्रबन्ध र नयाँ पर्यटकीय गन्तव्यको विस्तारमा जोड दिइने छ ।

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान र विकास गरिनुका साथै एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने नीति कार्यक्रममा जनाइएको छ । प्रकृति र संस्कृतिको सम्मिश्रणलाई आधार बनाई विश्‍व पर्यटन बजारमा सबैका लागि सधैँका लागि आकर्षक गन्तव्यका रूपमा नेपालको ब्राण्डिङ गरिनेछ । आन्तरिक तथा बाह्‍य पर्यटन प्रवर्द्धन अभियान सञ्‍चालन गरिनेछ ।

नयाँ हिमाल खुल्ला गरिने
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नयाँ हिमाल आरोहणका लागि खुल्ला गर्ने घोषणा गरेको छ । हिमाल आरोही तथा पदयात्री पर्यटकको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था गरिने जनाइएको छ ।

साहसिक पर्यटनका नयाँ विधाहरूको प्रवर्द्धन गर्नुका साथै चलचित्र पर्यटनको विकास र विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । अन्तर्राष्‍िट्रय चलचित्र छायाङ्‍कनका लागि नेपालका प्रमुख आकर्षकस्थललाई प्रवर्द्धन गरिनुका साथै अन्तर्राष्ट्रियस्तरमा चर्चित एवं लोकप्रिय व्यक्तित्वलाई आमन्त्रण गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

अन्तर्राष्‍िट्रयस्तरमा नेपालको भूगोल, कला, साहित्य, भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन गर्न उत्कृष्‍ट योगदान पु¥याउने विदेशी नागरिकलाई निजी क्षेत्रसँगको सहकार्यमा ‘सगरमाथा विशेष सम्मान’ प्रदान गरिनेछ ।

सार्वजनिक र निजी क्षेत्रको लागत साझेदारीमा संयुक्त प्रवर्द्धनात्मक कार्यक्रम सञ्‍चालन गरिनुका साथै हवाई सेवालाई सुरक्षित र गुणस्तरीय बनाउन सुरक्षासम्बन्धी मापदण्ड कडाइका साथ लागू गरिने जनाइएको छ । पशुपति तथा लुम्बिनीलाई धार्मिक, आध्यात्मिक एवं सांस्कृतिक धरोहर तथा विशिष्टीकृत अध्ययन केन्द्रका रूपमा विकास, संरक्षण र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा समेटिएको छ ।

नीति तथा कार्यक्रम : हिमालको पानी बिक्रीदेखि रुग्ण उद्योग सञ्चालन गर्नेसम्म

काठमाडौँ – सरकारले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गर्ने एवं अर्थतन्त्रको विकास र विस्तार गर्ने लक्ष्यका साथ ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकताका साथ सहयोग गर्ने भएको छ । निजी क्षेत्रले अगाडि बढाएका यी अवधारणलाई सरकारले स्वामित्व लिँदै प्रमुख प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई सक्षम र सुदृढ बनाउनुका साथै विद्यमान नीतिगत, कानूनी तथा प्रक्रियागत सुधार गर्ने लक्ष्य राखेको छ ।

हिमालको पानी प्रशोधनसहितको व्यावसायिक उत्पादन गर्ने कार्यक्रम पनि समेटिएको छ । तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वमा ब्राण्डिङ गरिनेछ ।

यस्तै, औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउनका लागि विदेशस्थित कूटनीतिक नियोगको सक्रियता बढाउने, वैदेशिक लगानीलाई उत्पादन एवं रोजगारमूलक क्षेत्रमा परिचालन गर्न प्रोत्साहित गर्ने विषयलाई नीति तथा कार्यक्रमले महत्त्व दिएको छ ।

लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने सरकारको योजना छ । त्यस्ता उद्योग पुनःसञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

निजी क्षेत्रसँगको सहकार्य र साझेदारीमा औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र र औद्योगिक ग्रामको पूर्वाधार निर्माण तथा सञ्चालन गरिनेछ । त्यस्तै, उद्योगका लागि आवश्यक पर्ने पहुँच मार्ग र प्रसारण लाइन लगानीकर्ता स्वयंले निर्माण गरेमा निर्माणलागतको निश्चित रकम शोधभर्ना दिने कार्यक्रम अगाडि सारिएको छ ।

उद्योगमा निर्वाध विद्युत् आपूर्ति सुनिश्चित गर्ने, आन्तरिक खपत र निर्यातबाट बचत हुने विद्युत् सहुलियत दरमा उपलब्ध गराई उद्योगको प्रतिस्पर्धी क्षमता वृद्धि गर्ने सरकारको योजना छ ।

मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारीकरण गर्ने र त्यसका लागि सार्वजनिक निजी साझेदारीमा प्रदर्शनीस्थलसहितको बिक्री केन्द्र सञ्चालनमा ल्याउने सरकारको योजना छ ।

उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानूनी व्यवस्थालाई एकीकृत गर्दै नयाँ औद्योगिक विकास ऐन तर्जुमा गर्ने, आत्मनिर्भर हुनसक्ने वस्तु तथा सेवा उत्पादन गर्ने सम्भावित उद्योग पहिचान गरी त्यस्ता उद्योगको विकास र स्थायित्वका लागि नीतिगत प्रबन्ध गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गर्ने प्रबन्ध गर्ने, दिगो व्यापार पूर्वाधार विकासका लागि गुरुयोजना तयार गर्ने भएको छ । यस्तै, सार्वजनिक निजी साझेदारीको मोडेलमा औद्योगिक र व्यापार सहजीकरणका उपायमार्फत व्यापार लागत कम गरी नेपाली वस्तुलाई अन्तराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाइने छ । दोधारा चाँदनी सुक्खा बन्दरगाह तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने, नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्ने सरकारको योजना छ ।

त्यसैगरी, ढुङ्गे संरक्षण, प्रवर्द्धन, व्यावसायिक उत्खनन तथा निकासीका माध्यमबाट आय र रोजगारी सिर्जना हुने नीतिगत र कानूनी व्यवस्था मिलाउने लक्ष्य राखिएको छ । हालसम्म नक्साङ्कन हुन नसकेको देशको उच्चपहाडी र हिमालय क्षेत्रको भौगर्भिक नक्साङ्कन गरी धातु, अधातु एवं दुर्लभ भौगोलिक पदार्थको अन्वेषण कार्य अगाडि बढाउने लक्ष्य सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

भेरी नदीमा बहाव बढेपछि डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध

भेरी नदीमा बहाव बढेपछि भेरी करिडोरको डोल्पा जाजरकोट सडकखण्ड अवरुद्ध भएको छ । जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको छेरा बगरस्थित भेरी नदीमा बहाव बढेपछि सडक अवरुद्ध भएको हो ।

डोल्पा जाजरकोट सडकखण्ड जोड्नका लागि भेरी नदीमा राखिएको ह्यमपाइप बहाव बढेपछि पुरिँदै गएका कारण सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ । नदीमा पुल नहुँदा ह्युमपाइप राखेर डोल्पा जाजरकोट सडकखण्ड सिधा जोडिएको थियो । सडकखण्ड अवरुद्ध भएसँगै नेपालगञ्ज, सुर्खेत, बुटवल, दाङलगायतका बाहिरी जिल्लाबाट डोल्पा आउने मालबाहक ट्रकसमेत तल्लुबगरमै रोकिने भएका छन् ।

बस सेवा प्रभावित

यस्तै केही दिनअघि मात्रै सञ्चालनमा ल्याइएको डोल्पा–नेपालगञ्ज सिधा बस सेवासमेत सडकखण्ड अवरुद्ध हुँदा प्रभावित हुने भएको छ । अब डोल्पा नेपालगञ्ज यात्रुबाहक बस, मालबाहक ट्रकसहितका सवारीसाधन डोल्पासम्म सिधा पुग्ने छैनन् ।

अब डोल्पादेखि बस चढेर रुकुम पश्चिमको छेरा बगरसम्म मात्रै यात्रा गर्न सकिने छ भने नेपालगञ्जदेखि डोल्पा आउने यात्रुहरुले जाजरकोटको तल्लु बगरसम्म मात्रै यात्रा गर्न सक्ने छन् । सडक अवरुद्ध भएसँगै अब तल्लुबगरमा सामान पल्टी गरेर छेरा बगरदेखि डोल्पासम्म सामानसहित यात्रु पु¥याइने बताइएको छ ।

इन्टरनेटमा गरिने नेपाली विज्ञापनलाई करको दायरामा ल्याइने

काठमाडौँ – सरकारले इन्टरनेटको माध्यमबाट गरिने नेपाली विज्ञापन वा अन्य कारोबारलाई करको दायरामा ल्याई नियमन गर्ने भएको छ ।

लामो समयदेखि विद्युतीय माध्यममा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने माग उठ्दै आएको थियो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत इन्टरनेटको माध्यमबाट हुने विज्ञापनलाई करको दायरामा ल्याउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सरकारी निकायबाट सञ्चालित अनलाइन प्रणालीबीच अन्तरआबद्धता कायम गरी सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

अनलाइन सेवाहरू वडा तहबाट नै उपलब्ध गराउने एवं विद्युतीय प्रणालीबीच तथ्याङ्क आदान प्रदान गर्न डाटा एक्सचेन्ज प्लेटफर्म निर्माण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगमा आम नागरिकको पहुँच अभिवृद्धि गर्ने, तथा शिक्षा, स्वास्थ्य, विकास निर्माण र सेवा प्रवाह लगायतका क्षेत्रमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिने भएको छ । ज्ञानमा आधारित अर्थतन्त्रको विकास र सुशासनका लागि सूचना प्रविधि प्रणालीको अनुसन्धान, विकास र विस्तार गर्ने नीति अगाडि सारिएको छ ।

सार्वजनिक निकायका सूचना प्रणालीहरूको नक्साङ्कन गरी विद्युतीय सुशासन ब्लुप्रिन्ट निर्माण गर्ने, सरकारी तथा सार्वजनिक सेवा प्रवाहमा प्रयोग हुने सूचना प्रविधिको नक्साङ्कन, प्रयोग, गुणस्तर निर्धारण तथा प्राविधिक परीक्षणसम्बन्धी कार्य एकीकृतरूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन एवं मर्यादित पत्रकारिताको विकासका निम्ति नीतिगत, कानूनी र संरचनागत सुधार गर्ने भएको छ ।

रेडियो नेपाल र टेलिभिजन गाभिने

सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रूपमा विकास गर्ने योजना अगाडि सारिएको छ । सार्वजनिक सेवा प्रसारकको स्थापना गरी यसै आर्थिक वर्षभित्र रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकआपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

प्रेस काउन्सिललाई सबै सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने विषयवस्तुको नियमन गर्नेगरी नयाँ कानुनी व्यवस्थासहित मिडिया काउन्सिलमा रूपान्तरण गर्ने कार्यक्रममा समावेश छ । त्यस्तै, आमसञ्चारसम्बन्धी छाता कानुन निर्माण गरिनेछ ।

समानुपातिक विज्ञापन प्रणाली लागू गर्ने, पत्रकार कल्याण कोषलाई एकीकृत र सबल बनाई ज्येष्ठ पत्रकार सम्मान वृत्ति, द्वन्द्वपीडित पत्रकारलाई राहत तथा पत्रकारको स्वास्थ्य तथा दुर्घटना बीमाका साथै महिला पत्रकार एवं विभिन्न भाषाभाषी र समुदायको पत्रकारितालाई प्रोत्साहित गर्ने नीति सरकारले अगाडि सारेको छ ।

श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्ने, दुर्गम क्षेत्रमा कार्यरत श्रमजीवी र द्वन्द्वप्रभावित पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न तथा खोज पत्रकारितालाई प्रोत्साहन गर्न आवश्यक व्यवस्था गर्नेएवं पत्रकार तथा आमसञ्चार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट्न आवश्यक प्रबन्ध गर्ने सरकारको योजना छ ।

डिजिटल नेपाल फ्रेमवर्कलाई समसामयिक परिमार्जन गरी प्रभावकारी कार्यान्वयन गर्ने, दूरसञ्चार सेवालाई थप सुलभ, गुणस्तरीय र प्रतिस्पर्धी बनाउन नयाँ दूरसञ्चार विधेयक तर्जुमा गर्ने, दूरसञ्चार पूर्वाधारको निर्माण र प्रयोगमा रहेको दोहोरोपन हटाउन दूरसञ्चार पूर्वाधारको सहप्रयोगलाई प्रोत्साहित गर्ने सरकारको योजना छ ।

सरकारले सुरक्षण मुद्रण केन्द्र र मुद्रण विभागलाई गाभेर मुद्रण कार्य एउटै छानामुनी ल्याउन सङ्गठन पुनःसंरचना गर्ने, सुरक्षण मुद्रण र नेपाल सरकारका आधिकारिक दस्तावेजको छपाइ देशभित्रै गर्ने प्रबन्ध गर्ने नीति अगाडि सारेको छ । साइबर सुरक्षासम्बन्धी छुट्टै कानुन निर्माण गर्ने, राष्ट्रिय साइबर सुरक्षा केन्द्र सञ्चालनमा ल्याउने, ललितपुरको खुमलटारमा राष्ट्रिय ज्ञानपार्क स्थापना गर्ने योजना अगाडि सारिएको छ ।

विद्युतीय तथ्याङ्कको सुरक्षा, भण्डारण र उपयोगलाई व्यवस्थित बनाउन विद्युतीय तथ्याङ्क सुरक्षा नीति बनाउने, अत्यावश्यक सरकारी विद्युतीय सेवाको वास्तविक र नियमित उपलब्धता सुनिश्चित गर्नेगरी डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तार गर्ने सरकारको योजना छ ।

काभ्रेपलाञ्चोकको बनेपामा अत्याधुनिक इण्डोर स्टुडियो निर्माण कार्यलाई तीव्रता दिने, प्रतिलिपि अधिकार ऐन, २०५९ लाई स्रष्टामैत्री हुनेगरी परिमार्जन गर्ने, समाज रूपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रवर्द्धन गर्ने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

हरेक स्थानीय तहमा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाउने योजना अगाडि सारेको छ । हरेक स्थानीय तहमा कम्तीमा एउटा विद्यालयलाई स्मार्ट विद्यालय बनाइ प्रविधिको माध्यमबाट पठनपाठन हुने व्यवस्था मिलाइने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

वायुसेवा निगमको पुनःसंरचना गरिने

काठमाडौँ – सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को पुनःसंरचना गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा वायु सेवा निगमको पुनःसंरचना गरिने उल्लेख छ ।

आर्थिकरुपमा निकै कमजोर बनेको वायुसेवा निगमलाई व्यावसायिकरुपमा सबल बनाउदैँ बजार हिस्सा बढाउन सरकारले आवश्यक तयारी गरिहेको छ । आन्तरिक उडानलाई प्रभावकारी बनाउन थप जहाज खरिद गरेर गन्तव्य विस्तार गर्ने निगमको योजना छ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा दुई थान वाईड बडी र दुई थान न्यारो बडी जहाज छन् । आन्तरिकमा हाल दुई थान ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।

राष्ट्रपति पौडेलले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थल एवम् टर्मिनल भवनको स्तरोन्नती गरिने पनि बताउनुभयो । उहाँले हवाइसम्बन्धी मापदण्ड कडाइको साथ पालना गर्नुका साथै निर्माण भएका अन्र्तराष्ट्रिय, क्षेत्रीय र आन्तरिक विमानास्थल पूर्णक्षमतामा सञ्चालन गर्ने नीति सरकारको रहेको उल्लेख गर्नुभयो ।

नयाँ मुलुकसँग हवाई सम्झौता गरिने

काठमाडौँ – सरकारले नयाँ मुलुकसँग हवाई सेवा सम्झौता गर्ने योजना बनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा नयाँ मुलुकसँग हवाई सम्झौता गर्ने घोषणा गरिएको हो ।

राष्ट्रपति पौडेलले मुलुकमा निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गरिने बताउनुभयो । नेपालले हालसम्म विभिन्न ४० मुलुकसँग हवाई सेवा सम्झौता गरेको छ । पछिल्लो पटक अष्ट्रेलियासँग हवाई सेवा सम्झौता भएको थियो । राष्ट्रपति पौडेलले नयाँ मुलुकसँग हवाई सम्झौता गरी नेपाली वायुसेवा कम्पनीको अन्तर्राष्ट्रिय बजार विस्तार गरिने बताउनुभयो ।

एक वर्षअघि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पाँच महिनादेखि सञ्चालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले राम्रो विजनेश पाउन सकेका छैनन् । गौतमबुद्ध विमानस्थलमा आगामी जेठ २९ देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मलेसिया–भैरहवा–काठमाडौँ नियमित उडान गर्दैछ । कुवेतको जजीरा एयरले एकवर्षदेखि यो विमानस्थलमा उडान गरिरहे पनि विभिन्न समस्या देखाउँदै उडान स्थगन गर्दै आएको छ । पछिल्लो पटक एक महिनादेखि जजीराले उडान स्थगित गरेको छ ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गते उद्घाटन भएको थियो । यो विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । पोखरा विमानस्थलबाट छिट्टै चीनका विभिन्न शहरमा चार्टर्ड उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

निर्माण सम्पन्न भएका विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनमा ल्याइने, निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

नीति कार्यक्रम कर्मकाण्डी : प्रमुख प्रतिपक्ष

काठमाडौँ, – सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिनुभएको हो ।

एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताउनुभयो । “कार्यक्रममा आर्थिक, सामाजिक चुनौती सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचारलाई सम्बोधन गर्ने ठोस र प्रभावकारी कुरा छैनन्”, उहाँले भन्नुभयो ।

नेताहरूको मिश्रित प्रतिक्रिया

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नीति कार्यक्रम कर्णप्रियसहित सबै राम्रा कुरा मात्र समेटिएको प्रतिक्रिया दिनुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नीति कार्यक्रम लामो निबन्ध र दन्त्यकथा जस्तो देखिएको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति कार्यक्रम सनातनी खालको भएकाले कार्यान्वयन गर्न र राष्ट्रका समस्या समाधान गर्न नसक्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले नीति कार्यक्रम राम्रै लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतको जस्तै छ, यस्ता कार्यक्रम पहिला पनि आएका हुन्, कार्यक्रम ल्याउनु ठूलो कुरा होइन, कार्यान्वयन गर्नु प्रमुख कुरा हो ।”

नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले नीति कार्यक्रममा सबै क्षेत्रलाई समेटिएको बताउनुभयो । “आर्थिक अवस्थालाई मध्यनजर गरेर विगतको वर्षजस्तो कनिका छरेजस्तो होइन, विकासका लक्ष्यसहित पूर्वाधारमा लगानी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गर्ने गरी बजेट निर्माण गर्नुपर्छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नीति कार्यक्रमले आजको आर्थिक जटिलतालाई सम्बोधन नगरेको बताउनुभयो । “आर्थिक संकट र राजनीतिक अन्योललाई पार लगाउने गरी नीति कार्यक्रम आएको छैन, विगतका भन्दा फरक छैन”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सांसद जीवन परियारले नीति कार्यक्रमले विकास निर्माण, कृषि, ऊर्जा, पर्यटन, रोजगारीलगायत विविध विषयमा प्राथमिकता दिएको बताउनुभयो ।

नाउपाद्वारा आफ्ना आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले भोलि जेठ ६ गतेदेखि १० गतेसम्म गर्ने भनेको नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ ।

सो पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले आज एक विज्ञप्ति प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसद्मा टेबल भइसकेको जानकारी दिएको भन्‍दै पार्टीले जेठ ६ गतेदेखि गर्न लागेको सबै बन्दका कार्यक्रम फिर्ता लिएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्रीज्‍यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसद्मा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानून संशोधन गरेर भए पनि निकाल्‍ने प्रतिबद्धता संसद्मै जाहेर गर्नुभएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।”

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो । विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेका अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

“आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौँ”, उहाँले भन्नुभयो, “यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ ।”

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण सुरुआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ ।

“चार्टर्ड उडानमार्फत अन्तराष्ट्रिय उडान हुनु आफैँमा महत्वपूर्ण छ”, उहाँले भन्नुभयो । नेपाल आउने चिनियाँँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रने गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । विशेषतः साहसिक पर्यटन चिनियाँँ पर्यटकको रोजाइ हुने उहाँले बताउनुभयो ।

“चिनियाँ पर्यटकको पोखराको मुख्य रोजाई प्याराग्लाइडिङ हो, उनीहरू छोटो दूरीको पदयात्राका लागि पनि उत्तिकै रुचि राख्छन्”, सुवेदीले भन्नुभयो । पोखरामा चिनियाँँ पर्यटकका लागि चाइनिज खाना खुवाउने होटेल तथा रेष्टुराँ पर्याप्त रहेको उल्लेख गर्दै उहाँले चिनियाँँ पर्यटकको आवश्यकताअनुसारका पर्यटक गाइड तथा सहयोगी पनि उपलब्ध रहेको बताउनुभयो ।

सन् २०१९ अघि पोखरामा ठूलै सङ्ख्यामा चिनियाँ पर्यटक आए पनि कोरोना महामारीलगायत कारणले पछिल्लो समय आगमन प्रभावित बनेको थियो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको पोखरा विमानस्थलको निर्माणको जिम्मा चिनियाँँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बको लागतमा विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २०, बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिन्छ । धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन् । अन्तर्राष्ट्रिय उडानले विभिन्न देशका सहरसित पोखराको सीधा सम्पर्क हुनेछ । पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान पोखरामात्र नभई समग्र देशको पर्यटकीय विकासका लागि कोसेढुङ्गा सावित हुने पर्यटन व्यवसायी बताउँछन् ।

घरबहाल विवरण लिएर आउनेको सङ्ख्या नगन्य

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले घरबहाल व्यवस्था निर्देशिका जारी गरेको तीन महिना बितिसक्दासम्म विवरण लिएर आउने घरधनीको सङ्ख्या बढ्न सकेको छैन । घरबहालमा लगाउनेलाई कानूनी दायरामा ल्याउनका लागि कामपाले गत फागुन ३ गते नै ‘घरबहाल व्यवस्था निर्देशिका, २०७९’ जारी गरेको थियो ।

निर्देशिका जारी गरेको तीन महिना बितिसक्दा पनि घरधनी विवरण लिएर नगन्य मात्रामा मात्रै आउने गरेको कामपाको राजस्व विभागका प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । यसैलाई व्यवस्थित गर्न र घरबहाललाई कानूनी दायरामा ल्याउनका लागि गरिएको प्रयास अझै प्रभावकारी हुन सकेको छैन ।

यदि तपाईंले घर, कुनै भवन, जग्गा वा पसल भाडामा लगाउनुभएको छ भने त्यसवापत तपाईंले स्थानीय तहलाई निश्चित कर बुझाउनुपर्ने कानूनी व्यवस्था नै छ । राजस्व विभागका अनुसार अहिले तीन–चार दिनमा एक–दुई जनामात्रै विवरण बुझाउन आउने गरेका छन् ।

विभाग प्रमुख काफ्लेका अनुसार हाल महानगरभित्र चार लाखभन्दा बढी घर भाडामा लगाइएका छन् । यी सबैलाई करको दायरामा ल्याउने कामपाको तयारी छ । कामपाभित्रका सबैलाई करको दायरामा ल्याउने योजनालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने उद्देश्यले निर्देशिकासँगै ९० दिनको सार्वजनिक सूचनासमेत जारी गरेको थियो ।

घरबहाल विवरण बुझाउनेले घरबहालमा बस्नेबाट हुने आम्दानीको निश्चित रकम करका रूपमा स्थानीय तहलाई बुझाउनुपर्छ । विवरण लिएर आउनेको सङ्ख्या कम भए पनि यही जेठ र असार महिनामा उक्त सङ्ख्या बढ्ने कामपाले विश्वास लिएको छ ।

निर्देशिकामा भएको व्यवस्था

निर्देशिकाअनुसार कुनै पनि घरधनीले घरभाडामा लगाउँदा वा घर खाली गराएको बारेकोे सूचना सात दिनभित्र वडा कार्यालयमा दिनुपर्छ । लिखित सम्झौताको एकप्रति सम्बन्धित वडा कार्यालय, एकप्रति घरघनी र अर्को एकप्रति भाडामा बस्नेले राख्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।

सम्झौतामा बहाल रकम, तिर्नुपर्ने मिति, बहाल कायम रहने अवधि र अवधि थपबारे उल्लेख हुनुपर्छ । निर्देशिकामा मासिक तथा वार्षिक बहाल रकम तथा बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख हुनुपर्छ । निर्देशिकाअनुसार बहालमा बस्नेले पनि प्रत्येक महिनाको ७ गतेभित्र बहाल रकम तिर्नुपर्छ ।

भाडामा बस्नेले तोकिएको म्यादभित्र बहाल रकम बुझाउन नसकेमा १० प्रतिशत जरिवाना तिरी अर्को महिनाको मसान्तभित्र बुझाउनुपर्ने र तीन महिनाभित्र पनि रकम नतिरे सम्झौता स्वतः भङ्ग भएर घर खालीसमेत गराउन सकिने व्यवस्था निर्देशिकामा छ ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा सम्झौता गर्नुपर्छ । बहालमा बस्नेले घर छाड्नुपर्ने अवस्था आएमा ३५ दिनको पूर्वलिखित सूचना घरधनीलाई दिनुपर्ने छ ।

सोनाक्षी सिन्हा बनिन् प्रहरी अधिकृत

मुम्बई । रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । 

साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो ।

सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब–इन्स्पेक्टर अञ्जली भाटीको भूमिकामा छिन् ।

‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी–पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद अनुभव थियो,’ उनले भनेकी छन् ।

सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । उनले स्क्रिप्टका लागि सहमत हुन आफूलाई एक घण्टा भन्दा कम समय लागेको खुलाइन् । 

राष्ट्रियसभा बैठक बस्ने

काठमाडौ । सरकारको नीति तथा कार्यक्रम अघि राष्ट्रियसभाको बैठक बस्ने भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका संयुक्त बैठकलाई दिउँसो ४ बजे सम्बोधन गनर््ु अघि राष्ट्रियसभाको बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ । 

सो बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ संसोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी गराउने कार्यक्रम रहेको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली–२०७५ संसोधन मस्यौदा समितिमा राष्ट्रिय सभा सदस्यहरुको मनोनयनसहित समिति’ गठन सबन्धि प्रस्तावलाई गोपीबहादुर सार्की आछामीले प्रस्तुत गर्ने छन् । 

 उता, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘मुलुकी संहिता सबन्धी केही ऐनलाई संसोधन गर्ने अध्यादेश २०८०’ स्विकृत गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची रहेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरण : हदम्यादभित्र अनुसन्धान भ्याउन कठिन

एकातिर दिनहुँ नयाँनयाँ तथ्य भेटिइरहँदा थप व्यक्तिलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ भने अर्कातिर ‘६० दिने’हदम्याद सकिने दिन नजिक आइरहेको छ। संगठित अपराध निवारण ऐन, २०७० अनुसार पक्राउ परेका व्यक्तिलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ।

ऐनअनुसार हदम्याद सन्निकटमा आइसकेको छ। हदम्याद गुज्रिने दिन नजिकिँदै आउँदा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट अनुसन्धान सकाएर प्रतिवेदन बुझाउन प्रहरीलाई निरन्तर दबाब आइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको नेतृत्व जिल्ला प्रहरी परिसर काठमाडौंले गरेको छ। आवश्यकताअनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं जिल्लामा रहेका प्रहरी वृत्तहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र प्रहरी प्रधान कार्यालय नक्सालले पनि काठमाडौं प्रहरी परिसरलाई अनुसन्धानमा सघाइरहेका छन्।

ठुलो टिम संलग्न हुँदा पनि समय व्यवस्थापन गरेर अनुसन्धानका सम्पूर्ण पाटालाई किनारामा पुर्याउन प्रहरीलाई हम्मेहम्मे परिरहेको छ। ‘आज ९बिहीबार० ५५औं दिन पुगिसक्यो। सरकारी वकिल कार्यालयबाट छिटो प्रतिवेदन बुझाउन दबाब आइरहेको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले भने, ‘यता हाम्रो अनुसन्धानमा नयाँनयाँ सूचना फेला परिरहेका छन्। सूचनाको तथ्य जाँच र आरोपितसमक्ष पुग्न समय अभाव देखिएको छ।’

जिल्ला सरकारी वकिल कार्यालयले यसअघि प्रहरीलाई मंगलबारसम्म अनुसन्धान भ्याएर बुधबार प्रतिवेदन बुझाउन निर्देशन दिएको थियो। जुन निर्देशनको समयसीमा घर्किसकेको छ। समय घर्किएपछि सरकारी वकिल कार्यालयले परिस्थितिको गाम्भीर्यलाई हेरेर शुक्रबारसम्म समय थपिदिएर अनुसन्धान गर्न प्रहरीलाई सहज गरिदिएको छ।

हाम्रो अपेक्षा भोलि (शुक्रबार) सम्म प्रहरीको अनुसन्धान प्रतिवेदन आइदेओस् भन्ने छ। किनभने यो प्रकरण निकै गहिरो भएकाले हामीलाई पनि अध्ययन गरेर अभियोजन गर्न समय लाग्छ,’ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले भने, ‘खै उहाँ (प्रहरी) हरूलाई पनि निकै प्रेसर छ। मान्छे पक्राउ परेको पर्यै छन्। नयाँनयाँ विषय भेटिएका छन्।’ यो समाचार नागरिक दैनिकमा छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ – नेता ज्ञवाली

लेखनाथ – नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव ज्ञवालीले भन्नुभयो, “शरणार्थी काण्डको छानबिन गर्न सजिलो होस् भनेर एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्वन गरेका छौँ, कांग्रेसले पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई संरक्षण गरेर राख्नु हुँदैन, छानबिनका लागि प्रहरीलाई सजिलो बनाइदिनुपर्छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नै गम्भीर असर पारेको बताउँदै उहाँले ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर लोकतन्त्रको रक्षा गर्न आवश्यक रहेको औँल्याउनुभयो । “देशमा राजनीतिक सङ्कट उत्पन्न भएको अवस्थामा लोकतान्त्रिक पार्टी एक हुनुको विकल्प छैन”, उहाँले भन्नुभयो, “पछिल्लो समय देशको पूर्वी कोशी प्रदेशको नामकरणमा जातीय गन्ध आइरहेको छ ।”

नक्कली भुटानी शरणार्थी, वाइडबडी, एनसेललगायत काण्डको छानबिन गरी दोषीमाथि कडा कारबाहीको मागसमेत उहाँले गर्नुभयो । पछिल्लो समय देशको अर्थतन्त्र अत्यन्त कमजोर अवस्थामा पुगेको र देशको अर्थतन्त्र बिग्रनुमा भूकम्प, नाकाबन्दी, कोरोना र फान्स र युक्रेन युद्ध पनि रहेको उहाँको भनाइ छ ।

भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्छ – राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीले भ्रष्टाचारविरुद्ध वसन्तपुरमा बिहिबार आयोजना गरेको कार्यक्रममा उहाँले उक्त प्रकरणमा संलग्नलाई संरक्षणको प्रयास भइरहेको बताउँदै भ्रष्टाचारीविरुद्ध सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

विदेशी चासोका कारण शरणार्थी प्रकरण अनुसन्धान अगाडि बढेको भन्दै यस प्रकरणमा कसैलाई पनि छुट दिन नहुने र राष्ट्रघाती काम गर्ने सबैलाई दण्डित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापित गर्न देशभर अभियान गरी जनतालाई मुलुकको वर्तमान अवस्थाबारे सुसूचित गराउने जानकारी दिनुभयो ।

विपन्नको स्वास्थ्योपचार निःशुल्क गराउन सुर्तीजन्य पदार्थको कर बडाउने : स्वास्थ्यमन्त्री बस्नेत

सिन्धुपाल्चोक-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउन सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्ने बताउनुभएको छ ।आज यहाँ एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको उद्घाटन गर्दै उहाँले विपन्न नागरिकको सहज र निःशुल्क स्वास्थ्योपचारमा पहुँच पु¥याउनका लागि सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न आवश्यक रहेको बताउनुभयो ।

“विपन्न नागरिकको उपचार जिम्मेवारी सरकारले लिनुपर्छ । तर स्वयं मन्त्रालयसँग बिरामीलाई सहयोग गर्न रकम छैन”, उहाँले भन्नुभयो, “त्यसैले सुर्तीजन्य पदार्थमा कर ह्वात्तै बढाएर त्यसबाट प्राप्त रकमलाई कोषको रूपमा खडा गरेर बिरामीको उपचारका लागि मन्त्रिपरिषद्सम्म प्रस्ताव गरेको छु । छिट्टै स्वीकृत भएर काम अघि बढ्नेछ ।”

मन्त्री बस्नेतले स्वास्थ्यमा बजेट बढाउन निरन्तर पहल गरिरहेको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ४० प्रतिशत बजेटको सिलिङमा घटेर आयो । म आएपछि, मन्त्रालयको टोलीले नै अर्थ मन्त्रालयमा अनुरोध गरेपछि सात अर्ब बजेट थप्न सकेका छौँ ।”

उहाँले एक–एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत गर्नुभयो । सामुदायिक अस्पतालको स्तरोन्नति गर्न आफू लागिपरेको भन्दै मन्त्री बस्नेतले धुलिखेल सामुदायिक अस्पताललाई ट्रमा अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो ।

सुनकोसी गाउँपालिका र एक–एक पाइला फाउण्डेशनको साझेदारीमा सञ्चालित अस्पताल गत साउनदेखि सञ्चालनमा आएको हो । अस्पताल सञ्चालनमा आएदेखि हालसम्म तीन हजार सेवाग्राहीले उपचार सेवा लिएका छन् । मुख्यतः सुनकोसी, लिसङ्खुपाखर, काभ्रेको भुम्लु र चौतारा साँगाचोकगढीका स्थानीय लाभान्वित भएको अस्पतालका प्रमुख डा विनोद रानामगरले बताउनुभयो ।

सुनकोसी गाउँपालिका वडा नं ३ का स्थानीय सूर्यबहादुर कार्कीले सहजरूपमा उपचार सेवा पाउँदा आफूहरू हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य उपचारका लागि धुलिखेल र बाडीचौर पुग्नपर्ने बाध्यता टरेको छ ।” यस्तै वडा नं ३ कै धनमाया लामाले आफ्नै गाउँपालिकामा आँखाको उपचार गर्न पाउँदा खुसी व्यक्त गर्नुभयो, “काठमाडौँमा उपचार गर्न जाँदा धेरै झन्झट हुन्छ, आफ्नै घरगाउँमा उपचार गर्न पाउँदा सहज हुने नै भयो ।”

सुनकोसी गाउँपालिका, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जिल्ला समन्वय समिति, सिन्धुपाल्चोक स्वीडेन नेपाल सोसाइटीको लगानीमा अस्पतालको भौतिक संरचना निर्माण भएको थियो । विसं २०७४ देखि निर्माण सुरु गरिएको ठोकर्पा अस्पताल गत वर्ष २०७९ साउनमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो ।

स्वास्थ्य सेवा केन्द्र (पोलिक्लिनिक)को रूपमा सुरु भएको संरचना अहिले १० शय्याको अस्पतालका रूपमा सञ्चालन भइरहेको छ । हाल अस्पतालमा दुई चिकित्सकसहित २९ कर्मचारीले आकस्मिक सेवा, बहिरङ्ग सेवा, दन्त, आँखा, बर्थिङ सेन्टर, ल्याब, एक्स–रे, भिडियो एक्स–रे र फार्मेसीलगायतका उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यस्तै प्रत्येक महिना विशेषज्ञ सेवासमेत उपलब्ध गराउँदै आएको अस्पतालका प्रमुख रानाको दाबी छ ।

पार्टीमा अब ३३ प्रतिशत युवालाई स्थान दिनुपर्छ: महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका आधारभूत तहका कमिटीमा ३३ प्रतिशत स्थान युवालाई दिइने बताउनुभएको छ ।अनेरास्ववियुको सुरु भएको केन्द्रीय कमिटी बैठकमा उहाँले पार्टी निर्माणमा ३५ वर्षमुनिका युवालाई विशेष प्रथामिकता दिइने बताउनुभयो । “पार्टीले ३३ प्रतिशत युवालाई स्थान दिनुपर्दछ । त्यो युवाको अनुहार हेरेर पार्टीले भनेको हो”, उहाँले भन्नुभयो, “अब समाज बदल्ने युवाले हो, नेतृत्व गर्ने युवाले हो । त्यसैले नेतृत्व गर्ने ठाउँका लागि तयार रहेको छाँै भन्ने सन्देश युवाले दिनुपर्दछ ।”

उहाँले यस वर्षलाई पार्टीले अधिवेशनको वर्ष बनाउन खोजेको समेत बताउनुभयो । अनेरास्ववियु विद्यार्थीबीचमा जति धेरै सङ्गठित भएर अगाडि बढ्छ पार्टीको भविष्य त्यति नै सुरक्षित हुने उहाँको भनाइ थियो ।

उहाँले अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता नगर्नसमेत आग्रह गनुभयो । “अखिलका नेतालाई विद्यार्थी राजनीति सकेपछि के होला भनेर चिन्ता गर्नु पर्दैन । गाउँ गइहाल्ने, समाज बदल्ने कुराको नेतृत्व गर्ने हो”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले सहरिया मध्यम वर्गलाई पार्टीले सामजिक एजेण्डाबाट जोड्न नसकेको बताउनुभयो । “पार्टीमा समस्या देखिएपछि सारा ध्यान हाम्रो पार्टीको रक्षा गर्ने कुरामा केन्द्रित भयो । पार्टी रक्षा गर्न ठूला–ठूला प्रदर्शन ग¥यो, जनताका एजेण्डामा आधारित भएर जनपरिचान हुन पाएनौँ, त्यसैले सहरिया मध्ययम वर्गको टुट्न गयो ।”

जनसङ्गठनका नेता आफ्नो समुदायको भरोसायोग्य नेता बन्नुपर्ने उहाँको भनाइ थियो । “आजभोलि जनसङ्गठनका नेता पार्टी सङ्गठनमा बढी र आफ्ना गतिविधिमा कम देखिने गरेका छन्”, उहाँ भन्नुभयो, “त्यसरी जनसङ्गठनको नेता बन्न सकिन्न । अनेरास्ववियु पार्टी कार्यालयमा नभई विश्वविद्यालय, क्याम्पस र विद्यालयमा देखिनुप¥यो ।”

कार्यक्रममा अखिलका अध्यक्ष समिक वडालले राजनीतिक मुद्दामा अखिल केन्द्रित भइरहेको बताउनुभयो । तीन दिनसम्म सञ्चालन हुने बैठकले शैक्षिक एजेण्डा तय गर्नेछ ।

अतिक्रमण गरी बनाइएको संरचनामा चल्यो महानगरको डोजर

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले वडा नं १७ अलौमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएको संरचना डोजर चलाएर हटाएको छ । डोजरसहित गएको महानगरको टोलीले सार्वजनिक सडक अवरुद्ध हुने गरी स्थानीयवासीद्वारा निर्माण गरिएको संरचना हटाएको हो ।

अलौंमा रहेको इनार नजिकैको एउटा घर भत्काएर सडक खुलाइएको छ भने पोखरीको पूर्वपट्टि रहेको सडकमा निर्माण गरिएका चारवटा घरको पर्खालसमेत भत्काइएको छ । सडक अतिक्रमण गरी बनाइएका पर्खाल हटाइएसँगै रोकिएको नाला निर्माणकार्य अघि बढाइने वडा नं १७ का वडाध्यक्ष सञ्जीवबहादुर क्षेत्रीले बताउनुभयो ।

महानगरपालिकाले सार्वजनिक, ऐलानी जग्गा खोजी गर्नुका साथै त्यसमा बनेका संरचना हटाउने अभियान नै अघि बढाएको छ । अतिक्रमित संरचना हटाउन महानगपालिकाका प्रमुख राजेशमान सिंह आफैँ पुग्नुभएको थियो ।

महानगर प्रमुख सिंहले महानगरको ३२ वटै वडामा सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्ने अभियान नै चलाइएको बताउँदै कहीँकतै अतिक्रमण भएको सूचना भए आफूलाई जानकारी दिन पनि आग्रह गर्नुभयो ।

कर्णालीमा विपद्का घटनामा परी चालु आवमा ६५ जनाको मृत्यु

कर्णाली प्रदेशमा विपद्का घटनामा परी चालु आर्थिक वर्षको नौ महिनामा ६५ जनाको मृत्यु भएको छ भने एक सय १० घाइते भएका छन् । कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्याङ्कानुसार चालु आवको नौ महिनामा विपद्का घटनामा परी प्रदेशभर ६५ जनाको मृत्यु भएको हो ।

सबैभन्दा धेरै पहिरोका कारण मानवीय क्षति हुने गरेको मन्त्रालयको तथाङ्कमा उल्लेख छ । वर्षाका कारण एक हजार छ सय ३५ भन्दा धेरै घटना भएका छन् भने पहिरोका कारण ४८ वटा घटना भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद् व्यवस्थापन अधिकृत कृष्णबहादुर रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिरोका कारण ३८ जनाको मृत्यु भएको छ भने आगलागीबाट सात जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आवमा हालसम्म ८६ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

त्यसैगरी चट्याङका ३३ वटा घटनामा परी तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । यो वर्ष पहिरोका तीन सय ४८ वटा घटना भएका तथ्याङ्कमा जनाइएको छ ।

आजको मौसम: कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, ५ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुुसार हाल कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र  गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन मन्त्रालयको आग्रह

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले टाइफाइड रोगबाट बच्नका लागि सरसफाइमा ध्यान दिन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले फोहर गर्दा टाइफाइड लाग्ने भएकाले सरसफाइमा ध्यान दिन सबैलाई आग्रह गरिएको बताउनुभयो । “ढल वा सङ्क्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ”, उहाँले भन्नुभयो, “त्यसैले टाइफाइड रोगबाट बच्ने मुख्य उपाय भनेको व्यक्तिगत सरसफाइ र वातावरण स्वच्छ राख्नु हो ।”

मन्त्रालयले सफा चर्पीको प्रयोग गर्ने र बच्चाको दिसा चर्पीमा फाल्ने, बेला–बेलामा साबुनपानीले मिचीमिची हात धुने, राम्ररी पकाएको र सधैँ छोपेर राखेको खानामात्र खाने गर्नुपर्दछ । यस्तै बासी, सडेगलेको र झिङ्गा भन्केको खाना कहिल्यै नखाने र पानीलाई उमालेर, फिल्टर गरेर वा क्लोरिन ताबेल प्रयोग गरी सफा र सुरक्षित पानी पिउने गर्न समेत मन्त्रालयले आग्रह गरेको छ ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर बिचौलिया र एजेन्टहरूबाटै ७६ करोड ठगी

काठमाडौँ-वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ ।

यो रकम दाबी वैदेशिक रोजगारीमा श्रमिक पठाउन अनुमति नै नपाएका गैरकानूनी एजेन्ट र बिचौलियाबाट भएको ठगीको जनाइएको छ । वैदेशिक रोजगारीमा श्रमिक पठाउनकै लागि विभागसँग अनुमति लिएका म्यानपावर कम्पनीबाहेक अन्य कोही पनि एजेन्टले रोजगारीका लागि श्रमिक पठाउन नपाउने सरकारी नियम भए पनि सरकारको नियमविपरीत एजेन्ट र बिचौलियाबाट हुने ठगीका उजुरी भने बर्सेनि बढ्न थालेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अघिल्लो वर्षको तुलना चालु आवमा ठगी भएका उजुरीहरू बढेका छन् । विभागका अनुसार पछिल्लो केही समययता वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत नै नलिएका व्यक्तिहरूबाट भएको ठगीको उजुरी महिनामै सयभन्दा बढी पर्न थालेका छन् । विभागले गएको वैशाख महिनामा मात्रै एजेन्ट र बिचौलियाबाट भएको ठगीको एक सय चार वटा उजुरी परेको जानकारी दिएको छ  । चालु आवको १० महिनामा एजेन्ट र बिचौलियाबाट भएको नौ सय २५ वटा  ठगीको उजुरी विभागमा दर्ता भएका बताइएको छ ।

विभागको तत्थ्याङ्कअनुसार गएको आर्थिक वर्षमा एजेन्टहरूबाट ठगी भएको छ सय ९५ उजुरी विभागमा परेको थियो । ती उजुरी उपर रु ५० करोड ४४ लाख ६१ हजार २०३ रकम दाबी गरिएको थियो । विभागका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/०७९ देखि अहिलेसम्म एजेन्ट र बिचौलियाबाट रु एक अर्ब २६ करोड २२ लाख दुई हजार चार सय १७ ठगी भएको छ । विभागमा परेको एक हजार छ सय २० उजुरी उपर यो रकम दाबी गरिएको हो । चालु आर्थिक वर्षको दश महिनामा परेका नौ सय २५ उजुरीमध्ये ७७ वटा मुद्दा अदालतमा दायर गरिएको छ भने एक सय ७६ बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी विभागकै रोहबरमा एक सय ३५ जनाले मिलापत्र गरेका छन् । मिलापत्रमार्फत एजेन्टहरूले रु नौ करोड ४३ लाख ५६ हजार एक सय फिर्ता गरेका जनाइएको छ । गैरकानूनी एजेन्ट र बिचौलियामार्फत भएको ठगीको उजुरी उपर विभागले अनुसन्धान गर्ने, प्रमाण जुटाएर अदालतमा मुद्दा दायर र मिल्छु भन्नेहरूलाई मिलापत्र गराउने गरेको वभागका निर्देशक तथा सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले संयुक्त बैठकलाई आज सम्बोधन गर्ने

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि सङ्घीय संसदमा उहाँको यो पहिलो सम्बोधन हुन लागेको हो ।

 सङ्घीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने सङ्घीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ । उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवं प्रतिनिधि,  सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट महानुभाव सहभागी हुनुहुने छ ।

 उक्त बैैठकपछि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाका बेग्लाबेग्लै बैठक बस्ने छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले गर्नुभएको सम्बोधनको प्रति ती बैठकमा टेबुल गर्नुहुनेछ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।

सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने सम्बैधानिक व्यवस्था छ ।

अमेरिकी राष्ट्रपति बाइडेनको पपुवा न्यू गिनी भ्रमण अन्तिम समयमा रद्द, ब्लिन्केनले प्रतिनिधित्व गर्ने

अमेरिकी ऋण सङ्कटका कारण आगामी हप्ता हुने भनिएको राष्ट्रपति जो बाइडनको भ्रमण रद्द भएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पपुवा न्यु गिनीमा अमेरिकाको प्रतिनिधित्व गर्नुहुने भएको हो ।

बाइडेनले पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापेलाई एयर फोर्स वानबाट फोन गरेर रिपब्लिकन प्रतिद्वन्द्वीसँग वार्तामा सामेल हुन आइतबार घर फर्किनुपरेको जानकारी गरानुभएको बिहीबार ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति बाइडेनले प्रशान्त टापुसँगको नयाँ साझेदारीका लागि अमेरिकी प्रतिबद्धतालाई निरन्तरता दिँदै विदेशमन्त्री ब्लिन्केनले पोर्ट मोरेस्बीमा हुने युएस प्यासिफिक आइल्यान्ड्स फोरमको बैठकमा आफ्नो प्रतिनिधित्व गर्ने जानकारी गराउनुभएको छ ।”

बाइडेनको यो भ्रमण सोमबारका लागि तय गरिएको थियो । बाइडेन प्रशासनले बढ्दो चीनको सामना गर्दै प्रशान्त महासागरमा आफ्नो नेतृत्वलाई पुनर्जीवित गर्न कडा प्रयास गरिरहेको छ ।

बाइडेनको एसिया–प्रशान्त यात्रा राष्ट्रिय ऋणको सीमा बढाउने वा जोखिम नतिर्ने अधिकार काङ्ग्रेसलाई दिने विषयमा रिपब्लिकनसँग भएको तनावपूर्ण वार्ताका कारण अवरुद्ध भएको हो ।

बाइडेनले अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको क्वाड क्षेत्रीय समूहका अन्य नेताहरूसँग अष्ट्रेलियामा हुने भनिएको बैठकपनि रद्द गर्नुभएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले प्रशान्त टापु फोरमसँगको दोस्रो अमेरिकी शिखर सम्मेलनका लागि यस वर्षको अन्त्यमा प्रधानमन्त्री र अन्य प्रशान्त क्षेत्रका नेताहरूलाई वासिङ्टन डीसीमा निमन्त्रणा पनि गर्नुभएको छ ।

तेलको मूल्य सीमा निर्धारणका कारण रूसी राजस्व सङ्कलनमा गिरावट

वासिङ्टन-पश्चिमा मुलुकहरूले युक्रेनमाथिको आक्रमणको सजायस्वरूप रूसी कच्चा तेलको मूल्य सीमा तोकेपछि रूसको तेलबाट हुने राजस्व सङ्कलनमा उल्लेखनीय गिरावट आएको अमेरिकी ट्रेजरीले बिहीबार जनाएको छ ।

ट्रेजरी रिपोर्टका अनुसार, “मूल्य क्यापको बारेमा व्यापक प्रारम्भिक बजार शङ्काको बावजुद, बजार सहभागीहरू र भूराजनीतिक विश्लेषकहरूले इन्धनको अधिकतम मूल्य सीमाले यसको दुबै लक्ष्यहरू पूरा गरिरहेको छ ।”

विकसित अर्थतन्त्र, युरोपेली सङ्घ र अस्ट्रेलिया र जी–७ समूहले लगाएको प्रतिब्यारेल ६० अमेरिकी डलरको सीमाका कारण रूसको इन्धनबाट सङ्कलन उठ्ने राजस्व युद्धअघिको कूल रूसी बजेटको ३५ प्रतिशतबाट घटेर यस वर्ष २३ प्रतिशतमा खुम्चिएको ट्रेजरीले जनाएको छ ।

रूसी अर्थ मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै ट्रेजरीले यस वर्षको जनवरीदेखि मार्चको बीचमा सङ्घीय सरकारको तेल राजस्व अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले घटेको जनाएको छ ।

गत वर्षको तुलनामा भारतलगायतका मुलुकलाई समग्र रूसी तेल निर्यातमा वृद्धि भए पनि राजस्वमा गिरावट आएको हो ।

यो प्रतिवेदनले जापानमा शिखर सम्मेलन गर्न लागेका जी–७ का नेताहरूका लागि स्वागतयोग्य समाचार प्रदान गर्नेछ । उनीहरूले युक्रेनमा जारी युद्धलाई लिएर नयाँ रूसी प्रतिबन्धहरू र विद्यमान प्रतिबन्धहरूलाई कसरी अझ राम्रो तरिकाले लागू गर्न सकिन्छ भनेर विचार गर्ने अपेक्षा गरिएको छ ।

युक्रेनका सबै निशाना रातारात ध्वस्त पारेको रुसको दाबी

कीभले मस्कोले प्रक्षेपण गरेका ३० मध्ये २९ वटा क्षेप्यास्त्रलाई खसालेको बताएपछि रुसले बिहीबार युक्रेनमा रातारात गरिएका शृङ्खलाबद्ध हमलाहरूमा सबै लक्ष्यमा प्रहार गरेको दाबी गरेको छ।


“सबै तोकिएका लक्ष्यहरू ध्वस्त पारिएको र युक्रेनी सशस्त्र बलको हतियार र गोलाबारुदको ठूलो भण्डारमा आक्रमण गरेको छ।”

कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा बगेर एक जना बेपत्ता

हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका–२ मा पर्ने कर्णाली नदीमा एक युवक बेपत्ता भएका छन् । गाउँपालिका–२ निवासी ४० वर्षीय छक्क बुढा पौडी खेलेर कर्णाली नदी पार गर्ने क्रममा बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो कर्णाली नदीमा माछा मार्ने जाल हाल्ने क्रममा कर्णालीमा बगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै श्रीनगर प्रहरी चौकीका इन्चार्ज कुमार गिरीले बताउनुभयो । अदानचुली गाउँपालिका गल्फगाडको रैसेडी खोला नदीमा जाल हाल्नका लागि पौडी खेलेर नदी पार गर्ने क्रममा कर्णाली नदीबीचबाट बेपत्ता भएको प्रहरी चौकी इन्चार्ज गिरीले बताउनुभयो ।

रैसेडी कर्णाली नदीमा बिहीबार बेपत्ता भएका बुढाको खोजीकार्यका लागि गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही, सुरक्षाकर्मी, स्थानीयवासी, कामदार सबैले खोजीकार्य गरिरहेको बताइएको छ ।

बेपत्ता भएका बुढा अदानचुली गाउँपालिकाको एम्बुलेन्स चालक हुन् । बुढाको श्रीमती, दुई छोरा र एक छोरीका छन् । बेपत्ता बुढा अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी हुम्लाले जनाएको छ ।

आर्थिक सङ्कट समाधान गर्न दुवै मुलुकबीच सहकार्य आवश्यक छ : मन्त्री रिजाल

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अहिले देखापरेको आर्थिक तरलताको समस्यालाई समाधान गर्न नेपाल र भारतबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभएको छ ।वीरगञ्जमा जारी ‘भारत–नेपाल आर्थिक साझेदारी शिखर सम्मेलन २०२३’ लाई आज सम्बोधन गर्नुहुँदै मन्त्री रिजालले नेपाल र भारतबीच सनतातनकालदेखि नै सम्बन्ध अत्यन्तै सुमधुर रहेकाले आर्थिक तरलताको वर्तमान समस्यालाई समाधान गर्न दुवै मुलुकले आपसमा सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने बताउनुभयो ।

नेपाल र भारतबीचको द्विपक्षीय व्यापार तथा आर्थिक सम्बन्धलाई नयाँ ढङ्गबाट अघि बढाउनुपर्नेमा जोड दिँदै मन्त्री रिजालले नेपालमा नीतिगत र विधिगतरूपमा लगानी गर्न सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

वर्तमान आर्थिक सङ्कटलाई समाधान गर्न निजी क्षेत्रको लगानीलाई प्रोत्साहित गर्नुपर्ने उल्लेख गर्दै उहाँले मुलुकको आर्थिक विकास र समृद्धिका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्न चाहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य अजय चौरसियाले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गर्दै निर्यातमुखी अर्थतन्त्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

नेपाल एसबीआई बैंक, नेपाल–भारत उद्योग वाणिज्य सङ्घ वीरगञ्ज च्याप्टर, वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र द स्टार्टअप नेटवर्कको सहकार्यमा पिएचडी च्याम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीसँगै सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

अनुसन्धानमा बाधा पुग्ने गरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल

प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले पछिल्लो घटनाक्रमका विषयमा कतिपय सञ्चारमाध्यम एवं सञ्चारमाध्यमको झल्को दिने गरी भ्रम फैलाउने सामाजिक सञ्जाल (युट्युब/फेसबुकलगायत)बाट दुष्प्रचार भएको बताएको हो ।

काउन्सिलले यथेष्ट प्रमाणबिना र अपुष्ट स्रोत/बयानको हवाला दिई घटनासँग असम्बन्धित व्यक्ति, सङ्घसंस्था, राजनीतिक दल र नेताको चरित्रहत्या एवं मानहानी हुने गरी भएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । “समाजमा भ्रम/अफवाह फैलाउने, अतिरञ्जित गर्ने, अनुसन्धान र न्यायिक निरुपणमा प्रभाव पार्ने किसिमबाट सत्य, तथ्य एवं सन्तुलन विमुख भई सामग्री सम्प्रेषण हुनु पत्रकारिताका मूल्य र मान्यताविपरीत कार्य हो”, काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीबारे उजुरी र गुनासा आउने क्रम बढेको भन्दै विज्ञप्तिमा पत्रकारिताको मूल्य, मान्यताविपरीत र आचारसंहिता प्रतिकूलका कुनै पनि सामग्री सम्प्रेषण नगर्न/नगराउन भनिएको छ । पेसागत आचरणविपरीत, आधार प्रमाण पुष्टि नहुने, अनुसन्धान/छानबिनलगायत समग्र न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने गरी सम्प्रेषित सामग्रीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६)को दफा ४(३), ४(६) र ५(११) उल्ल¬ङ्घन हुन्छ । काउन्सिलले सञ्चारमाध्यमबाट सम्प्रेषित सामग्रीबारे नियमित अनुगमनका साथै प्राप्त उजुरी र जनगुनासाको सुनुवाइ गर्दै आएको छ ।

शेरबहादुर देउवाका छोरा जयवीरसिंहले कभर सिंगर शिवानासँग गरे ‘इन्गेजमेन्ट’

काठमाडौं, ४ जेठ-कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले इन्गेजमेन्ट गरेका छन् ।

जयवीरसिंहले यहि जेठ १ गते दुई परिवारको उपस्थितिमा शिवाना श्रेष्ठसँग इन्गेजमेन्ट गरेका छन् । शिवानासँग औंठी साटासाट गरेका जयवीरसिंहले सम्भवतः यहिँ माघमा बिहे गर्ने बताइएको छ । 

शिवाना कभर सिंगर हुन् । उनकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत इन्गेजमेन्टको तस्वीर सार्वजनिक गरेकी हुन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन ।’

आज पक्राउ परेका टेकनाथ रिजाल र मियाँलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शम्शेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।

रिजाललाई झापाबाट काठमाडौँ आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो भने मियाँलाई सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।

उक्त घटनामा यसअघि प्रहरीले पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ । आज पक्राउ परेका दुईसहित उक्त घटनामा पक्राउ पर्नेको सङ्ख्या १६ पुगेको छ ।

रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । सोही आधारमा सरकारले कार्यदल गठन गरेको थियो ।

यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । उक्त सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

उक्त घटनामा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्वगृहसचिव) टेकनारायण पाण्डे, पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।

उक्त घटनामा अब प्रहरीले छ दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्याउनुपर्ने छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।  

अन्नपूर्ण आरोहण दिवसमा अन्नपूर्ण म्याराथन हुँदै

अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा अन्नपूर्ण म्याराथन हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा म्याराथनसहित महोत्सव हुन लागेको हो । महोत्सव जेठ १७ देखि २० गतेसम्म हुने संयोजक ललित गुरुङले जानकारी दिनुभयो ।

सोही महोत्सवको अन्तिम दिन २० गते (जुन ३) अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२ दशमलव १९५ किमी)को म्याराथन आयोजना हुने संयोजक गुरुङले बताउनुभयो । सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली मौरिस हर्जोगले अन्नपूर्ण हिमालको चुचुरोमा पाइला टेकेको दिनलाई ‘अन्नपूर्ण आरोहण दिवस’का रूपमा मनाइन्छ । “दिवस मनाउन म्याराथन आयोजना गरेका छौँ”, अध्यक्ष गुरुङले भन्नुभयो । म्याराथनले पर्यटनको क्षेत्रमा देखिएको सङ्कटमोचन गर्ने उहाँको भनाइ छ ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद रु एक लाख ५० हजार, द्वितीय हुनेले रु एक लाख र तृतीय हुनेले रु ७५ हजार प्राप्त गर्ने उहाँले जानकारी दिनुभयो । महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७५ हजार, ५० हजार र २५ हजार प्राप्त गर्नेछन् ।

कोभिड–१९ का कारण दुई संस्करण स्थगित भए पनि समितिले यसपटक अन्नपूर्ण म्याराथनलाई निरन्तरता दिन लागेको समितिका अध्यक्ष ललित गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण आधार शिविरको पर्यटन पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न विगतमा निरन्तर पर्यटन महोत्सव र अन्नपूर्ण म्याराथन गरिँदै आइएको थियो । प्रतिकूल परिस्थितिका कारण कार्यक्रम स्थगित भए पनि यसपटक कार्यक्रमलाई निरन्तरता दिइने समितिका घान्द्रुक होटल व्यवसायी समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

महोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता पत्रकारिता पुरस्कार वितरण, हर्स राइडिङलगायत विविध सांस्कृतिक कार्यक्रम हुने संयोजक गुरुङले बताउनुभयो ।

मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पुरानो ‘तिजी’ पर्व मनाइयो

म्याग्दी- मुस्ताङको लोमान्थाङमा आठ सय वर्ष पहिलेदेखि सुरु भएको ऐतिहासिक र सांस्कृतिक महत्वको पर्व ‘तिजी’ मनाइएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको लोमान्थाङमा मङ्गलबारदेखि सुरु भएको तिजी पर्व बिहीबार सकिएको हो । लोमान्थाङ दरबारमा बौद्ध धर्मगुरु पद्मसम्वाको तस्बिर अङ्कित थाङ्का प्रदर्शनी र धार्मिक विधिअनुसार पूजाआजा गरेर तिजी पर्व मनाउन थालिएको थियो ।

उजाड पहाडको बीचमा समथर भूगोलमा रहेको लोमान्थाङका १३औँ पुस्ताका राजाले तिजी पर्व मनाउन सुरुआत गरेका थिए । यहाँका बासिन्दाले अझै पनि सांस्कृतिक राजा र मुखिया प्रथालाई मान्यता दिँदै आएका छन् । राजाका लामा बसेका बाहेकका सन्तान दिवङ्गत भएपछि अनिष्ठ नहोस् भनेर तिजी पूजा गर्ने परम्परा बसालेका इतिहास छ ।

दुई तले घर बराबरको उचाइ भएको थाङ्का तिजी पर्वमा मात्र दरबारबाट बाहिर निकालेर सर्वसाधारणलाई पूजाआजा र अवलोकनका लागि खुला गरिन्छ । लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका दशवटा वडाका बासिन्दाले हरेक वर्षको ज्येष्ठ कृष्ण द्वादशी तिथिदेखि तीन दिन ‘तिजी’ पर्व मनाउने गर्दछन् ।

तिजी लोवा समुदायले मनाउने सबैभन्दा ठूलो र प्रख्यात पर्व भएको लोमान्थाङ गाउँपालिका–५ का वडा सदस्य छेवाङ रिङजिङ गुरुङले बताउनुभयो । “दुई पालिकाका बासिन्दाका साथै तिजी पर्व मनाउन विदेशी पर्यटक पनि उल्लेख्य मात्रामा लोमान्थाङमा आए”, उहाँले भन्नुभयो, “तिजी पर्व संस्कृति र परम्परामात्र नभएर पर्यटक भ्यियाउने माध्यम पनि बनेको छ ।”

लोमान्थाङ दरबार र गाउँका पुजारी आम्ची घ्याचो विष्टले सम्पूर्ण प्राणीहरूको हितका लागि तीन दिनसम्म पूजाआजा र विभिन्न पौराणिक तथा मौलिक नृत्य प्रदर्शन गरेर तिजी पर्व मनाइएको बताउनुभयो । “प्राकृतिक प्रकोप, रोगब्याधी, महामारी, अनिकालजस्ता अनिष्ट नहोस् भन्ने कामना गरेर पूजाआजा गरेका छौँ”, उहाँले भन्नुभयो, “पहिलो दिन जमिनका देवी–देवता, दोस्रो दिन समाजलाई दुःख दिने राक्षसको अन्त्य र राक्षसलाई लखेटेको अभिनय लामाहरूले नृत्यमार्फत देखाएर पर्वको समापन गरिएको छ ।”

तिजीमा लामाहरूले देखाइने नृत्य विशेष आकर्षण हो । लोमान्थाङ गाउँपालिकाका उपाध्यक्ष छ्युमी विष्टले तिजी पर्व अवलोकनका लागि आएका स्वदेशी र विदेशी पर्यटकहरूको बाक्लो उपस्थितिले लोमान्थाङमा रहेका ३५ वटा होटल भरिभराउ भएका बताउनुभयो । माटोको पर्खालभित्र रहेको सात सय वर्ष पुरानो गुम्बा, दरबार, लोवा समुदायको संस्कृति र हिमाली जनजीवन लोमान्थाङको आकर्षण हो ।

सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ कांग्रेस व्यास नगर कार्यसमितिका पूर्वसभापति, नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भट्टराईको ७७ वर्षको उमेरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा गए राति निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

भट्टराईले २०२९ सालमा तरुण आन्दोलनमा गिरफ्तार भई दुई वर्ष जेल जीवन बिताउनुभएको थियो र त्यसपछि पनि पटक–पटक गिरफ्तार हुनुभएको थियो । स्व भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।

चिनियाँ आरोहीले गरे सगरमाथामा प्याराग्लाइडिङ

चिनियाँ आरोहीले सर्वोच्च शिखर सगरमाथामा प्याराग्लाइडिङ गरेका छन् । चिनियाँ नागरिक ली सेनगतोले सगरमाथाको आठ हजार मिटरबाट आधार शिविरसम्म प्याराग्लाइडिङ गर्नुभएको नेपाल बिग माउन्टेन ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सुदर्शन नेपालले जानकारी दिनुभयो । आरोही ली आठ हजार मिटरबाट करिब ४० मिनेटमा आधार शिविर झर्नुभएको थियो ।

उहाँका अनुसार चिनियाँ आरोहीले सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिनुभएको थियो । आरोही ली नेपाल बिग माउन्टेन ट्राभल कम्पनीको समन्वयमा सगरमाथा आरोहणमा जानुभएको हो ।

सगरमाथाको आठ हजार मिटरबाट प्याराग्लाइडिङ गरेर आधार शिविर झरेर पुनः सगरमाथा आरोहणका लागि निस्कनुभएको छ । “चिनियाँ आरोही ली आरोहण गरेर सगरमाथाको आठ हजार मिटरमा पुगी प्याराग्लाइडिङ गरेर आधार शिविर झर्नुभयो । अहिले आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लाग्नुभएको छ”, उहाँले भन्नुभयो ।

प्रबन्ध निर्देशक नेपालले साहसिक कार्यमा रमाउने चिनियाँ पर्यटकलाई आकर्षण गर्न यसले प्रोत्साहन गर्ने बताउनुभयो । कोरोना महामारीपछि चिनियाँ पर्यटक आगमन बढिरहेको सन्दर्भमा चिनियाँ पर्यटकलाई बढीभन्दा बढी आकर्षण गर्न सहयोग पुग्ने बताउनुभयो ।