सभापति देउवाद्वारा भट्टराईको निधनप्रति दुःख व्यक्त


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तनहुँ कांग्रेस व्यास नगर कार्यसमितिका पूर्वसभापति, नेपाल प्रजातन्त्र सेनानी सङ्घका निवर्तमान केन्द्रीय सदस्य बद्रीहरि भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । भट्टराईको ७७ वर्षको उमेरमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचारका क्रममा गए राति निधन भएको हो ।
सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिको कामना साथ शोकसन्तप्त परिवारजनप्रति पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।
भट्टराईले २०२९ सालमा तरुण आन्दोलनमा गिरफ्तार भई दुई वर्ष जेल जीवन बिताउनुभएको थियो र त्यसपछि पनि पटक–पटक गिरफ्तार हुनुभएको थियो । स्व भट्टराईले नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको निधनबाट कांग्रेसले एक अग्रज व्यक्तित्वलाई गुमाएको जनाएको छ ।