सैनिक कल्याणकारी कोष : ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा
काठमाडौँ । सैनिक कल्याणकारी कोषलाई बहालवाला तथा अवकाशप्राप्त सैनिक र तिनका आश्रित परिवारको सामाजिक सुरक्षा सुनिश्चित गर्ने संस्थागत आधारका रूपमा विकसित गरिएको छ । नेपाली सेनाले २०३२ सालदेखि सैनिक कल्याणकारी कोषमार्फत उनीहरूका लागि शिक्षा, स्वास्थ्य, सीप विकास, रोजगारी तथा आर्थिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
सैनिक प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार कोषको योगदान सैनिक परिवारको कल्याणमा मात्र सीमित नभई सरकारका शिक्षा, स्वास्थ्य, सीप विकास र सामाजिक सुरक्षासम्बन्धी प्रयासमा समेत सहयोगी बनेको छ । हाल १० लाख हिताधिकारीले ती सुविधा तथा सुहलियत लिएका छन् । त्यस्तै करिब ४० हजार विद्यार्थी सैनिक विद्यालयमा छात्रवृत्तिमा अध्ययनरत छन् भने करिब एक लाख १० हजारभन्दा बढी सकलदर्जा सहुलियतपूर्ण ऋणबाट लाभान्वित भइसकेका छन् ।
सैनिक कल्याणकारी कोष सैनिक परिवारलाई सुविधा उपलब्ध गराउने संयन्त्रमात्र नभई शिक्षा, स्वास्थ्य, सीप, रोजगारी र उद्यमशीलतामार्फत राष्ट्रका लागि दक्ष तथा आत्मनिर्भर नागरिक उत्पादन गर्ने संस्थागत माध्यमका रूपमा स्थापित भएको छ । सैनिक परिवारका सन्ततिलगायत सर्वसाधारणलाई गुणस्तरीय, सहुलियतपूर्ण तथा समान शैक्षिक अवसर उपलब्ध गराउँदै चिकित्सा, प्राविधिक र कृषिलगायतका क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमार्फत राष्ट्रिय जनशक्ति विकासमा कोषले योगदान पुर्याउँदै आएको उल्लेख छ ।
सेनाले सुलभ, गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउँदै विशिष्टीकृत उपचार, दक्ष स्वास्थ्य जनशक्ति उत्पादन तथा परिचालनमार्फत राष्ट्रिय स्वास्थ्य प्रणालीलाई समेत सघाएको छ । हिताधिकारीको सामाजिक तथा आर्थिक सुरक्षा सुनिश्चित गर्न स्वास्थ्य तथा दुर्घटना बीमा, विपद् राहत, सहुलियतपूर्ण आवास, घडेरी तथा सवारीसाधन कर्जामार्फत सैनिक र तिनका परिवारको जीवनस्तर सुधारमा सैनिक कल्याणकारी कोषले निरन्तर योगदान दिँदै आएको छ ।
