`

किसानलाई निरास नहुन मुख्यमन्त्री जम्कट्टेललको आग्रह

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले किसानलाई निरास नहुन आग्रह गर्नुभएको छ । हेटौँडामा आज आयोजित पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अन्तक्र्रियामा उहाँले वास्तविक किसानलाई समेट्दै प्रदेश सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किसानहरु पछिल्लो समय कृषि क्षेत्रमा उत्साहित नभएको उल्लेख गर्दै उहाँले किसान लक्षित कार्यक्रम ल्याई पहुँचका आधारमा अनुदान पाउने प्रणालीलाई अन्त्य गर्न आफूहरू लागिपरेको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले अबका दिनमा व्यक्तिगत फार्मलाई अनुदान नदिने र किसानलाई झन्झटिलो हुने गरी तयार पारिएको कार्यविधिलाई परिवर्तन गरी सहजता प्रदान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “फलफूलमा हामी आत्मनिर्भर छैनौँ, यस आयोजनाले अब आत्मनिर्भर बन्न सक्नेछौँ ।” कृषिजन्य उत्पादनमा ध्यान दिइनुपर्ने र बजारको व्यवस्थापन गर्न सकियो भने किसानमा उत्साह आउने जम्कट्टेलको छ । आयोजना तोकिएको स्थानीय तहलाई पकेट क्षेत्र नै बनाएर लैजान सुझाव दिँदै उहाँले कृषिका नीति तथा कार्यक्रमका मोडेल परिवर्तन गरी आगामी आवमा कार्यक्रम ल्याउने तयारी गरेकोसमेत बताउनुभयो ।

कार्यक्रममा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास केन्द्रीय आयोजनाका निर्देशक राजेन्द्र कोइरालाले नेपालको पाँच प्रदेशका एक सय स्थानीय तहमा काष्ठफल तथा फलफूल विकासका कामहरू सुरु गरिन लागिएको बताउनुभयो । उहाँले एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता, विश्व कृषि खाद्य सुरक्षा कार्यक्रमको अनुदान सहायता तथा नेपाल सरकारको संयुक्त लगानीमा सन् २०२२ देखि २०२९ सम्म काष्ठफल तथा फलफूल विकास आयोजना आव २०७९/८० मा कार्यान्वयनमा आएको बताउनुभयो ।

उक्त परियोजना कार्यान्वयन गर्न रु १२ अर्ब ५५ करोड लगानी रहने बताउँदै निर्देशक कोइराला भन्नुभयो, “जलवायु अनुकूल बागवानीजन्य उत्पादनमा आधारित लाभग्राही कृषक घरपरिवारको कृषि आय १० प्रतिशत वृद्धि हुने बताउनुभयो । काष्ठफलअन्तर्गत सुन्तला, स्याउ, ओखर, किबी, एभोकाडो, जुनार, चुच्चे ओखर, मेकाडेमिया नट, पिकानट कागतीलगायतको उत्पादन गरिने निर्देशक कोइरालाले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग लक्षित गरी स्थानीय तहहरू छनोट गरी आयोजनालाई लक्ष्यमा पु¥याउन आयोजनाको प्रभाव, उपलब्धि र त्यसको प्रतिफलमा रहेर कार्यविधि बनाउने तयारी रहेको उहाँले बताउनुभयो । दश हजार हेक्टर क्षेत्रमा यस आयोजनालाई कार्यान्वयन गर्दा लाभग्राहीमा वित्तीय संस्था, उद्यमी/कृषक समूह/सहकारी, कृषि उद्यमी तथा सेवा प्रदायक, स्थानीय तह/प्रदेश तह र निजी नर्सरी रहने जनाइएको छ ।

नौं दिन देखी माइतीघर मण्डलामा अनसनरत बिनु यादव माग सम्बोधन नभएसम्म बसिरहने अडान

काठमाडौं, ४ बैशाख । माइतीघर मण्डलामा अनसन बसेको नौ दिन बितिसक्दा पनि बिनु यादवको मागका बारेमा सरकारले अझै कुनै सम्वोधन गरेको छैन् ।

प्रहरीले पालसमेत टाँग्न नदिए पछि खुल्ला आकासमा ९ दिन देखी न्यायको माग गर्दै अनसनरत यादवको मागका बारेमा सरकारले कुनै सम्वोधन नगरेको हो । ‘आज सत्याग्रहको नवौ दिन न्याय नलिई  यहाँबाट नउठ्ने निर्णय गरे’ उनले भनेकी छिन् ।  
 

‘माइतीघर मण्डलामा ९ दिन देखी न्यायका लागि अनसनरत छु तर पाल पनि प्रहरीले टाँग्न नदिए पछि खुल्ला आकासमा रात कटाउँदै आएको छु,’ कठायतले भन्दै अाएकी छिन, ‘तर, सरकारले मेरा मागका बारेमा अझै पनि कुनै सम्वोधन गरेको छैन् ।’ हावाहुरीसँगै भिषण बर्षा भएपछि नजिकैको रेष्टुरेन्टमा ओत लागेर रात कटाउनु परेको परेको पीडा उनले सुनाएकी छिन् ।

गत २७ बैशाख देखी अनसनरत कठायतको मागका बारेमा गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत र काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख श्याम उपाध्यायले भेटघाट गरेर गए पनि माग सम्वोधनका बारेमा कुनै खबर नगरेको उनको भनाइ छ । ‘गृह मन्त्रालयका प्रवक्ता र काठमाडौंका सिडियो साहेब आएर भेटघाट गरेर जानकारी लिनु भयो, तपाईको माग सम्वोधन गर्छु भनेर जानु भएको थियो तर अहिलेसम्म कुनै पनि माग सम्बोधन गर्नुभएको छैन ।’ आफनो माग सम्वोधन नभएसम्म अनसन जारी राख्ने उनले जानकारी दिइन् ।

गत २०७५ सालमा आफु माथी जर्बजस्ती करणी भएको र सो उजुरी फिर्ता गर्न लगाउने डिएसपी सुरज कार्की मार्थी कारबाही गर्नुपर्ने, आफनो इच्छा बिपरित सबन्धबिच्छेद गराउने न्यायधिस बद्रीप्रसाद ओली माथी कारबाही गर्नुपर्ने, आफु माथी पटक पटक बलात्कारको प्रयास गर्ने काका ससुरा पवन कठायतलाई पक्राउ गर्नुपर्ने, पहिला बलात्कार अनि बिबाह गरेर सबन्ध बिच्छेद गराउन बाध्य बनाउने प्रदिप कठायतलाई कारबाही गर्नुपर्नेसहित ५ बुदेँ माग राखेर उनी माइतीघर मण्डलामा सात दिन देखी अनसनरत  छिन् ।

जो भ्रष्टाचारमा मुछिए, राजनीतिमा ग्रहण लाग्यो

काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेताहरूको राजनीतिक जीवनमा पूर्ण रूपले ग्रहण लाग्ने भए पनि नेपालमा भ्रष्टाचार संस्थागत हुने क्रम रोकिएको छैन ।राजनीतिक नेतृत्वकै डिजाइनमा विभिन्न खाले भ्रष्टाचार भइरहेको भए पनि भ्रष्टाचारकै कारण केहीको राजनीतिक जीवन समाप्त भएको छ भने धेरैले उन्मुक्ति पाउँदै आएका छन् ।

पछिल्लो समयमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको राजनीतिक जीवनमा पनि ग्रहण लाग्ने देखिएको छ ।यस्तै, सोही प्रकरणमा मुछिएर पक्राउ परेका एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको राजनीतिक जीवन पनि संकटोन्मुख देखिएको छ ।

यसअघि भ्रष्टाचार काण्डमा परेर कांग्रेसका धेरै नेताहरूको राजनीतिक जीवन समाप्त भएको थियो । धेरै पटक मन्त्री भइसकेका कांग्रेसका नेताहरू खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जिवी वाग्ले, जयप्रकाश प्रसाद गुप्ता, तारणीदत्त चटौत, विजयकुमार गच्छदारलगायतले भ्रष्टाचार मुद्दा खेप्नु परेपछि उनीहरूको राजनीति समाप्त भएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

देश चिनाउने अभियानमा युवा अगाडि बढ्न जरुरी : मन्त्री लिम्बू

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले देश चिनाउने अभियानमा युवा अगाडी बढ्न जरुरी रहेको बताउनुभएको छ । काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिले आयोजना गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ समारोहमा सहभागी हुँदै मन्त्री लिम्बूले आफ्नो मन्त्रालय खेलकुदमा मात्र सीमित नरहेको बताउनुभयो । “हामी युवाको अन्य गतिविधीमा सहकार्य गर्न तत्पर छौँ”, उहाँले भन्नुभयो, “युवाको विचार, दृष्टिकोण तथा सिर्जनशीलतामा सहकार्य गर्न सके समृद्धि अवश्य सम्भव छ ।”

मन्त्री लिम्बूले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिभा पुग्न धेरै मेहनत चाहिने बताउनुभयो । “प्रयास गरिरहनुपर्छ । सफलता अवश्य मिल्छ”, उहाँले भन्नुभयो ।

‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ सम्पन्न

सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ सम्पन्न भएको छ । ‘मिस्टर नेसनल नेपाल २०२३’ शिशिर वाग्ले, ‘मिस नेसनल नेपाल २०२३’ समा पराजुली, ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेशनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार बन्नुभएको छ । चारैजनाले सोही शीर्षकअन्तर्गत नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै, प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अङ्कित कातिला र सुम्निमा खापुङ्ग लिम्बूलाई घोषित गरियो । कार्यक्रमका आयोजक डा सन्तोष उपाध्यायले कार्यक्रम आयोजना गरेर युवाका लागि मञ्च निर्माण गरेको बताउनुभयो । “मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपालीलाई पु¥याउने र जिताउने हो”, उहाँले भन्नुभयो । प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० जना सहभागी थिए ।

‘विशेष प्रहरी’ भन्दै व्यवसायीलाई धम्क्याउने चारजना पक्राउ

चितवनमा आफूलाई ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै हिँड्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरुलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

आफू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेको पाइएको उहाँले बताउनुभयो । भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ । उनीहरुले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताउनुभयो । उनीहरुलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ । सो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ ।

पोर्चुगलमा राहदानी शिविरबाट पाँच करोड राजस्व सङ्कलन

लिस्बन-पोर्चुगलमा राहदानीलगायत विभिन्न समस्यामा रहेका नेपालीलाई लक्षित गरी सञ्चालन गरिएको राहदानी सेवा शिविरबाट रु पाँच करोड २२ लाख राजस्व सङ्कलन भएको छ ।राजधानी लिस्बनमा करिब एक महिनासम्म सञ्चालन भएको उक्त शिविरबाट सो राजस्व सङ्कलन भएको पोर्चुगलका लागि गैर आवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले जानकारी दिनुभयो । शिविरबाट दुई हजार तीन सय आठ नेपालीले प्रत्यक्ष दर्ता प्रणालीमार्फत विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि आवेदन दिएका थिए । राहदानी तयार भए पछि अवैतनिक नेपाली महावाणिज्य दूतावास लिस्बनमार्फत सम्बन्धित व्यक्तिलाई उपलब्ध गराइनेछ ।

राहदानी विभागकी शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको प्राविधिकसहितको टोलीले लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको समन्वय र सहजीकरणमा राहदानी सेवा प्रदान गरेको हो । टोलीमा फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका प्रतिनिधिको समेत सहभागिता रहेको थियो । गत मार्च २९ देखि अप्रिल २५ तारिखसम्म सञ्चालन भएको शिविरबाट टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नेपालीको राहदानी बनाउनका लागि आवेदन फारम सङ्कलन गरेको थियो ।

परराष्ट्र मन्त्रालयले राहदानी नै नभएका र कागजातसम्बन्धी समस्यामा परेका नेपालीका लागि विशेष व्यवस्था गरेर पोर्चुगलमा शिविर सञ्चालन गरेको र शिविरबाट समस्यामा परेका अधिकांश नेपाली लाभान्वित भएको राजदूत अधिकारीले बताउनुभयो ।

“पछिल्लो समय विभिन्न मुलुक हँुदै युरोप आएका अधिकांश नेपाली पोर्चुगल पस्ने गरेका छन् । त्यसरी पोर्चुगल छिर्ने नेपालीले राहदानी सुरक्षित गर्न नसक्दा त्यहां राहदानीलगायतका कागजातसम्बन्धी समस्या बढ्दै गएको हो”, उहाँले भन्नुभयो, “विदेशी मुलुकमा राहदानीबिना कुनै पनि कागजी प्रक्रिया सम्भव नै छैन, अझै दूतावास नै नभएका ठाउँमा त झनै समस्या हुन्छ, त्यसैले राहदानी सुरक्षित राख्नका लागि आफैँले सतर्कता र सावधानी अपनाउनुपर्र्छ ।”

विद्युतीय राहदानी बनाउन प्राविधिकरुपमा खर्चिलो र झन्झटिलो हुने भएकाले पटक–पटक टोली आउन सम्भव नरहेको उल्लेख गर्दै उहाँले राहदानीलाई सुरक्षितरुपमा जतन गरेर राख्न सुझाव दिनुभयो ।

बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले अर्थ मन्त्रालयसँग बजेटका लागि छलफल भएको र अबको १० दिन भित्रमा ठेक्का प्रक्रियाका लागि सूचना प्रकाशित गर्ने जानकारी दिनुभयो ।

बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर सहमतिमा पुगेको उहाँको भनाइ छ । पुराना पुलको अदालतमा मुद्दा भएको र त्यसको आसपास नयाँ ठाउँमा पुलको ठेक्कामा जान लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नभयो, “अर्थ मन्त्रीसँग मन्त्रिपरिषद् बैठकमा कुराकानी हुँदा अर्थले बजेट सुनिश्चित गर्नुप¥यो र प्राविधिकरुपमा गर्नुपर्ने काम विभागले गरिरहेको बताएको छु ।”

सांसद गौतमलाई अनशन तोड्न आग्रह

मन्त्री ज्वालाले हाल अनशनमा बसिरहनुभएका सांसद सञ्जय गौतमलाई अनशन तोड्न अनुरोध गर्नुभएको छ । अरु मन्त्रालयसँग सम्बन्धित विषय सम्बन्धित मन्त्रालय बोल्ने भए पनि आफ्नो मन्त्रालयले माग सम्बोधन गरेको उहाँको भनाइ छ । जब्दिघाट पुल निर्माण गर्नुपर्नेलगायतका माग गर्दै बर्दियाका सांसद गौतक आमरण अनशन बस्नुभएको छ । पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको सो पुल पाँच वर्ष पहिले भत्केको थियो भने गत वर्षको बाढीले सबै संरचना बगाएको थियो ।

विकासका काम छिटो सम्पन्न भएर नागरिकले छिटो सुविधा पाउन् भन्ने कुरामा आफूले ध्यान दिइरहेको मन्त्री ज्वालाले बताउनुभयो । ‘क्रोनिक’ ठेक्काका विषयमा सकेसम्म लचिलो भएर काम गराउन लागिएको उहाँले बताउनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, वन मन्त्रालय वा अन्य कुन मन्त्रालय वा निकायका कारण निर्माणमा अवरोध पुगेको हो सो निकायसँग अनुरोध गरेर वा दबाब दिएर कसरी हुन्छ काम गराउन लागिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि अवस्थामा काम नहुने र जनतालाई दुःख दिने र काम गर्नसक्ने अवस्था नभएमा मात्रै ठेक्का तोड्न लागिएको छ ।”

घोराहीको बबईदेखि तुलसीपुरसम्मको एक्जिम बैंकको सफ्ट लोनमा अघि बढेको सडक योजनाको ठेक्का तोडिएको उहाँले जानकारी दिनुभयो । सन् २०१९ मा दुई वर्षमा सकाउने गरी ठेक्का भए पनि अवधि थप्दासमेत १० प्रतिशत बाहेक प्रगति नभएकाले त्यो ठेक्का तोडिएको उहाँले बताउनुभयो । उहाँले बताउनुभयो, “त्यसपछि पनि निर्माण कम्पनीलाई पत्राचार र सम्पर्क गर्दा पनि वेवास्ता गरेकाले ठेक्का तोडिएको थियो ।”

मन्त्रालयका सहसचिव अर्जुनजङ्ग थापाले गत आर्थिक वर्षमा कतिपय पुराना ठेक्का सम्पन्न भएका र नभएको योजनामा पुरानो ठेक्का तोडेर नयाँ प्रक्रियामार्फत निर्माण अघि बढाइरहेको बताउनुभयो । सधैँ निर्माण व्यवसायीको कारणले मात्रै नभएर कहिलेकहिले भौगोलिकलगायतका कारणले निर्माणमा समस्या आउने गरेको उहाँले बताउनुभयो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले यस अघि पनि जब्दिघाट पुलका विषयमा कुरा उठेको र कुन विकल्पमा जान सकिन्छ भनी छलफल भइरहेको बताउनुभयो । अहिले आफू विभागका पुल महाशाखाका प्रतिनिधिसहित निर्माणस्थल पुगेर स्थानीयवासीसँग छलफल गरेर आएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीसँग अहिले पुल भएको ठाउँभन्दा केही यताउता बनाउने गरी कुरा भएको छ ।”

नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा

झापा- नेपालकै ठूलो र कोशी प्रदेशकै नमूना परियोजनाका रूपमा रहेको सौर्य विद्युत् परियोजनाको निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । शिवसताक्षी नगरपालिका–४ मा झापा इजर्नीले निर्माण गरिरहेको परियोजनाको हालसम्ममा ७० प्रतिशत काम पूरा भएको छ ।पूर्वपश्चिम राजमार्गको झिलझिले चोकदेखि करिब सात किलोमिटर दक्षिणमा रहेको परियोजनाको निर्माण कार्य असार मसान्तभित्र सम्पन्न गरिने झापा इनर्जीका सञ्चालक सदस्य सुवास भट्टराईले जानकारी दिनुभयो । उहाँले साढे तीन वर्षअघि निर्माण सुरु गरिएको परियोजना कोभिड–१९ का कारण सञ्चालनमा आउन ढिलो भएको बताउनुभयो ।

इनर्जीको नाममा खरिद गरेको २२ बिघा जमिनमा हाल परियोजनाको प्यानल राख्ने संरचना निर्माणको काम भइरहेको उहाँको भनाइ छ । उहाँले परियोजना निर्माणमा रु ४० करोड लगानी भइसकेको बताउनुभयो । “यो नेपालकै ठूलो परियोजना हो, असार मसान्तभित्रमा काम सक्ने तयारी छ”, उहाँले भन्नुभयो, “धेरै काम भइसक्यो, सामान आयात प्रक्रियामा ढिलाइ भएकाले निर्धारित समयभन्दा एक महिनापछि धकेलिन पनि सक्छ ।”

झापा इनर्जी १० मेगावाट क्षमताको परियोजना हो । सदस्य भट्टराईले सो परियोजना निर्माणका लागि माछापुच्छ्रे बैंकले रु ३५ करोड र सिभिल बैंकले रु २५ करोड गरी रु ६० करोड बैंकिङ कर्जा लिइएको उक्त परियोजनामा रु २० करोड शेयरदाताहरूबाट लगानी गरिएको बताउनुभयो ।

सो परियोजनाको कूल लागत रु ७९ करोड रहने उहाँको भनाइ छ । उहाँले जलविद्युत् परियोजनाभन्दा ५० प्रतिशत कम लगानीमा सुरक्षित र भदपर्दो सेवा सौर्य विद्युत् परियोजनाबाट दिन सकिने बताउनुभयो ।

परियोजनाका मुख्य इञ्जिनियर केशव चापागाईंले २१ हजार आठ सय ४० थान प्यानल स्टेन जडान भइसकेको बताउनुभयो । हाल स्थापना गरिएका प्यानल स्टेनमा आठ सय १९ वटा सोलर प्यानल टेबल जडान गरिने उहाँको भनाइ छ । “कुनै ठूला टेबल हुन्छन् कुनै साना”, उहाँले भन्नुभयो, “कुनै २८ प्यानलको एउटा टेबल बनाइन्छ भने कुनै आधा टेबलमा १४ वटा सोलार प्यानल जडान गरिन्छ ।”

बिर्तामोड नगरपालिकाकी प्रमुख तथा परियोजनाकी सञ्चालक सदस्य पवित्रा महतारा प्रसाईंले उत्पादित ऊर्जालाई ग्रिडमा जडान गर्नका लागि ट्रान्समिसन संरचना एक वर्षअघि नै तयारी भइसकेको बताउनुभयो । उहाँले परियोजनालाई सोलार टुरिजमका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।

ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि कृषि र ऊर्जा पर्यटनसँग सम्बन्धित थप योजना अगाडि बढाइरहेको उहाँले बताउनुभयो । सोलार टुरिजमसँगै नजिकै एग्रो टुरिजमको अवधारणा बनाइएको उहाँको भनाइ छ । पर्यटकलाई घुमफिर गर्न मिल्ने गरी परियोजनाको परिकल्पना गरिएको उहाँले बताउनुभयो । सो क्षेत्रमा पर्यटकलाई लक्षित गरी दुई वटा सेल्फी टावर, पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्कसमेत निर्माण गरिनेछ । परियोजनामा हाल ४० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उहाँको भनाइ छ ।

आगामी असोज १ गतेदेखि व्यावसायिकरूपमा सौर्य विद्युत् उत्पादन सुरु गरिने सञ्चालक सदस्य नारायण कोइरालाले बताउनुभयो । उहाँले नेपाल विद्युत् प्राधिकरणलाई यहाँ उत्पादित विद्युत् प्रतियुनिट सात रुपैया ३० पैसाका दरले बिक्री गर्नेगरी सम्झौता भइसकेको जानकारी दिनुभयो ।

झापा क्षेत्र नं ४ का सङ्घीय सांसद लालबहादुर सावा अध्यक्ष रहेको झापा इनर्जीले जिल्लामा सौर्य ऊर्जा उत्पादनको राम्रो सम्भावना देखेर परियोजना सुरु गरेको उहाँको भनाइ छ ।

प्रतिनिधिसभा बैठक बस्दै: सांसदले सोधेका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने

काठमाडौं – आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।संघीय संसद भवन, बानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेसनको छैटों बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरुले सोधेको जवाफ दिने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सबन्धमा गरेका काम र प्राप्त उपलब्धीसहितको आर्थिक बर्ष २०७८/७९ को बार्षिक प्रतिवेदन’ पनि पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

आजको मौसम: तीन प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

 काठमाडौं, ४ जेठ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको संभावना रहेको छ।

दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा दुई सय २० खेलाडी सहभागी हुँदै

बनेपा-दोस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नका लागि काभ्रेपलाञ्चोक जिल्लाबाट विभिन्न विधाका गरी दुई सय २० खेलाडीले सहभागिता जनाउने भएका छन् ।आगामी जेठ ७ गतेदेखि १३ गतेसम्म हुने प्रतियोगिताका लागि छनोट भएका विभिन्न विधाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले प्रमाणपत्र वितरणसहित   बिदाइ गरेको हो ।

विभिन्न १३ विधामा हुने खेल प्रतियोगिताका लागि जिल्लामा विधागत खेलको प्रतिस्पर्धाबाट छनोट भएका खेलाडीले प्रदेशस्तरमा प्रतिस्पर्धा गर्नेछन् । त्यसका लागि काभ्रेपलाञ्चोकबाट भलिबलमा २०, फुटबलमा ३२, कराँतेमा २१, डब्लु टि एफ तेक्वान्दोमा २२, क्रिकेटमा १४, बक्सिङमा १९, ब्याडमिन्टनमा छ, एथलेटिक्समा २७, रग्बीमा १२, जुडोमा सात, उसुमा १०, आइ टि एफ तेक्वान्दोमा २५ र पौडीमा पाँच जना छनोट भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

खेलाडीलाई बिदाइ गर्दै बागमती प्रदेशसभा सदस्य रुक्कु चौलागाईंले युवामा खेलप्रतिको उत्साह बढेको बताउनुभयो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराले आमनागरिकलाई हौसला प्रदान गरे पनि जीवन नै खेल क्षेत्रमा समर्पित गर्दै राष्ट्रलाई चिनाउन लागिपरेका खेलाडीका लागि राज्यले महत्त्वका साथ लिन नसकेको उहाँले बताउनुभयो । उहाँले धेरै समस्याका बाबजुद पनि भविष्य देखेर निरन्तर लागिरहने खेलाडीको वृत्ति विकास र उत्साह पैदा गर्न आइपरेको समस्या हल गर्न बनाउनुपर्ने नीतिगत र व्यवस्थापकीय कामको समाधानका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो ।

बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले छनोट भएर प्रदेशस्तरमा प्रतिस्पर्धाका लागि बिदाइ भएका खेलाडीलाई विजयीको अग्रिम शुभकामना व्यक्त गर्दै जिल्लाको नाम राख्नेगरी खेल्न आग्रह गर्नुभयो ।

जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर लामाले प्रदेशस्तरमा हुन लागेको प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई प्रमाणपत्र वितरण तथा बिदाइ गर्दै उत्कृष्ट खेल प्रदर्शनका लागि सफलताको शुभकामना व्यक्त गर्नुभयो । सो क्रममा जिल्लाबाट सहभागी खेलाडी, प्रशिक्षक र व्यवस्थापकको जिम्मेवारीसहित गरेर दुई सय ४९ जनालाई आज बिदाइ गरिएको छ ।

बागमती प्रदेश खेलकुद परिषद्ले आगामी जेठ ७ गतेदेखि हुने प्रतियोगितामा उसु, जुडो र पौडी खेलको प्रतियोगिता काठमाडौँमा गर्ने, क्रिकेट चितवनमा र बाँकी सबै खेल मकवानपुर जिल्लामा नै गर्ने तयारी गरेको छ ।

वीरगञ्जका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह

वीरगञ्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले प्रदेश सरकारसँग विशेष प्याकेजसहितको बजेट व्यवस्था गर्न आग्रह गरेको छ । मधेस प्रदेश सरकारको अर्थमन्त्रालयले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेटसम्बन्धी छलफल कार्यक्रममा सहभागी वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले महानगरको समग्र विकासका लागि विशेष प्याकेजसहितको बजेट उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।

वीरगञ्ज मधेस प्रदेशकै एकमात्र महानगर भएकाले नयाँ नीति तथा कार्यक्रममा वीरगञ्ज महानगरका लागि विशेष प्याकेजको बजेट व्यवस्था गर्न आग्रह गर्दै महानगर प्रमुख सिंहले प्रदेश सरकारको नीति तथा कार्यक्रम बनाउनुपूर्व प्रदेश सरकारका अर्थमन्त्री, योजना आयोगका उपाध्यक्षका साथै सम्बद्ध मन्त्रालयका सचिवसहितका टोलीलाई वीरगञ्जमै आएर स्थलगत भ्रमण र अवलोकन गरिदिनसमेत आग्रह गर्नुभयो ।

“माननीय मन्त्रीज्यू, आयोगका उपाध्यक्षज्यूसहितको टोलीलाई एकपटक वीरगञ्जमै आएर स्थलगत भ्रमणका लागि आइदिन निमन्त्रणा गर्दछु”, महानगरप्रमुख सिंहले भन्नुभयो, “तपाईंहरूले स्थलगत भ्रमण गरेपछि मात्रै वीरगञ्जका आवश्यकता के के हुन् स्पष्ट हुन्छ, त्यसले बजेट विनियोजनमा अझ सहज हुनेछ ।” सङ्घीय सरकारबाट देशका छ वटा महानगरमध्ये सबैभन्दा कम बजेट वीरगञ्ज महानगरले पाइरहेको उल्लेख गर्दै उहाँले त्यसका कारण प्रदेश सरकारले अपनत्व लिएर वीरगञ्जका लागि विशेष प्याकेजसहितको बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो ।

वीरगञ्जलाई मधेस प्रदेशकै सम्मुनत र समृद्ध सहर बनाउनका लागि प्रदेश सरकारले वीरगञ्जमा आवश्यक पूर्वाधार निर्माणमा विशेष जोड दिनुपर्ने उहाँको भनाइ थियो । कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादव, मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, मन्त्रालयका सचिव, प्रदेशसभा सदस्य, पालिकाका प्रमुखका साथै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको सहभागिता थियो ।

जबराको मुद्दामा बहस नोट माग

काठमाडौँ – सर्वोच्च अदालतले तत्कालीन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाभियोग फुकुवासम्बन्धी विवादमा बहस नोट माग गर्ने आदेश गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले आज दुवै पक्षको बहसपछि फैसला लागि बहस नोट माग गर्ने आदेश गरेको हो ।

महाभियोग लागेर निलम्बन भएपछि अवकाश पाउनुअघि संसद्बाट फुकुवा भएको पत्र प्राप्त गर्नुभएका राणाको मुद्दामा दुवै पक्षसँग बहस नोट माग गर्ने आदेश भएको हो ।

गत फागुन १ गते सर्वोच्चको प्रधानन्यायाधीश रहेका राणामाथि तत्कालीन सत्तारुढ दलले महाभियोग दर्ता गरेको थियो । महाभियोग दर्ता भएलगत्तै निलम्बनमा राणाले अवकाश प्राप्त गरेपछि पनि उक्त विवाद निष्कषर्मा पुग्न सकेको छैन ।

गत मङ्सिर १ गते सङ्घीय संसद्का महासचिव भरतप्रसाद गौतमले महाभियोग फुकुवा भएको पत्र राणालाई लेख्नुभएको थियोे । त्यस पत्रविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यलगायतले संवैधानिक इजलासमा संसद्को महासचिवले महाभियोग फुकुवा भएको निर्णय गर्न नसक्ने उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियोे । सोही विवादमा आज बहस नोट माग गरिएको हो ।

चिनियाँ विशेष प्रतिनिधिले जेलेन्स्कीसँग वार्ता गर्दै

युक्रेन – युक्रेनमा जारी युद्ध अन्त्यका लागि बेइजिङ नेतृत्वको वार्तालाई अघि बढाउन चीनका तर्फबाट विशेष दूत कीएभ आइपुग्नुभएको छ । उहाँलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बुधबार दिउसो स्वागत गर्नुहुने अपेक्षा गरिएको छ ।

कीएभमा अधिकारीहरूले रूसले अमेरिकाले आपूर्ति गरेको ‘प्याट्रियट एयर डिफेन्स सिस्टम’ ध्वस्त पारेको आशङ्कालाई पनि कम गर्न खोजेका थिए ।

चीनका विशेष दूत ली हुई रुससँगको द्वन्द्व सुल्झाउने बेइजिङको योजनालाई बढावा दिन युरोपेली भ्रमणका क्रममा अधिकारीहरूसँग दुई दिने वार्ताका लागि मङ्गलबार युक्रेनको राजधानी आइग्नुभएको हो ।

युक्रेनका एक उच्च अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग कुरा गर्दै जेलेन्स्की र लीबीच दिउँसो भेटवार्ता हुने सम्भावना रहेको बताएका छन् ।

सन् २०२२ को फेब्रुअरीमा मस्कोले आक्रमण गरेपछि युद्धग्रस्त देशको भ्रमण गर्ने उच्च पदस्थ चिनियाँ कूटनीतिज्ञ ली चिनियाँ नेता सी चिनपिङसँग जेलेन्स्कीले टेलिफोनमा कुरा गरेको तीन हप्तापछि कीएभ पुग्नुभएको हो ।

मङ्गलबार युक्रेनलाई ‘मध्यस्थताका लागि पहल’ को आवश्यकता नरहेको यूक्रेनी अधिकारीले बताएका थिए । नाम नबताउने शर्तमा युक्रेनका एक वरिष्ठ अधिकारीले एएफपीसँग भने, “युक्रेनको खर्चमा सम्झौता गरेर युद्ध अन्त्य गर्दा काम हुँदैन ।”

चीनले युक्रेनी सङ्कटको राजनीतिक समाधानका लागि सबै पक्षसँग संवाद गर्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको जनाएको छ ।चीनलाई तटस्थ मध्यस्थकर्ताका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएका र मार्चमा मस्कोको भ्रमण गरेका सीले क्रेमलिनले आफ्नो छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न इन्कार गरेको भन्दै आलोचना हुँदै आएको छ ।

आइसल्याण्डमा भएको युरोपेली नेताहरूको बैठकले युक्रेनमा रूसले युद्धकालमा पु¥याएको क्षति र विनाशको अभिलेख राख्न ‘क्षतिको रजिस्टर’ स्थापना गर्न सहमत भएको थियो ।

युरोपको ४६ सदस्यीय परिषद्ले तयार पारेको यो विधेयकले भविष्यमा रूसी नेताहरूमाथि मुद्दा चलाइनुअघि एउटा प्रमाणिक रेकर्ड तयार पारेको छ र क्षतिपूर्तिको आधार तयार पारेको छ ।

काउन्सिल अफ युरोपका महासचिव मारिजा पेजसिनोभिच बुरिकका अनुसार बुधबार बिहानसम्ममा संयुक्त राज्य अमेरिका र अन्य सबै जी–७ राष्ट्रसहित ४० देशले रजिस्टर निर्माणमा हस्ताक्षर गरिसकेका छन् ।

आइसल्याण्डमा शिखर सम्मेलनको दोस्रो दिन आइपुग्दा उहाँले भन्नुभयो, “यो पहिलो अत्यावश्यक कदम हो, जसले युद्धका पीडितहरूमा केन्द्रित न्याय सुनिश्चित गर्दछ ।”

कामपाद्वारा सात अर्ब ३९ करोड बढी राजस्व असुल

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्मा रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।

चालु आवको लागि कामपाले लागि रु १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । सङ्कलित राजस्वमा आन्तरिक आयतर्फ ९० दशमलव ४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३ दशमलव ५० प्रतिशत र अनुदानतर्फ ८६ दशमवलव ४५ प्रतिशत प्रगति प्राप्त भएको कामपा राजस्व विभाग प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । गत वर्ष कामपाले रु नौ अर्ब आठ करोड ७० लाख १३ हजार लक्ष्य लिएको थियो ।

कामपामा विशेष गरी आन्तरिक आयमा सम्पत्ति कर, बहाल कर, भूमि कर÷मातपोत कर, सवारी कर (साना सवारी साधन), अन्य व्यक्तिगत आन्तरिक अनुदान (जनसहभागिता÷लागत सहभागिता÷सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा जम्मा हुने रकम), घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत शीर्षक छन् ।

यस्तै पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा, बेरुजुलगायत शीर्षक छन् ।

यी शीर्षकमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ । यसमा रु सात करोड लक्ष्य लिएकोमा रु आठ करोड ७१ लाख ८७ हजार ५० आम्दानी भएको छ । यो लक्ष्यको एक सय २४ दशमलव ५५ प्रतिशत हो । यस्तै पार्किङ शुल्कमा एक सय २४ दशमलव ०४, नक्सापास दस्तुरमा एक सय १२ दशमवलव १८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा एक सय ११ दशमवलव २८ प्रतिशत आय भएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।

राजस्व बाँडफाँटअन्तर्गत सरकारले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको शुल्क एउटै शीर्षकमा पठाउने गरेको छ । छुट्याएर नपठाएकोले मूल्य अभिवृद्धि करअन्तर्गत कति प्राप्त भया ? अन्तःशुल्कबापत कति प्राप्त भयो भन्न सकिएन । प्राप्त रकम मूल्य अभिवृद्धि करको शीर्षकमा जम्मा भएकाले अन्तःशुल्कमा प्रगति शून्य देखिएको हो ।

बाँडफाँटबाट आय प्राप्त हुने शीर्षकमा, घरजग्गा रजिष्ट्रेसन दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर छन् । आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान चालु सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ ।

सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प छैन : चौधरी

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक तथा टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्नुको विकल्प नभएको बताउनुभएको छ ।

उहाँले आज एक विज्ञप्ति प्रकाशित गरी आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताउनुभएको हो ।

विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “मिति २०८० जेठ २ गते सम्माननीय सर्वोच्च अदालतले गरेको फैसलामा मप्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न, हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौं, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ, म डिल्लीबजार कारागारमा धैर्य, सहनशीलताका साथ कैद भुक्तान गरिरहेको छु । स्वस्थ छु । रत्तिभर मन विचलित छैन । अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभावी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न हुन अनुरोध गर्दछु ।”

आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको उहाँको भनाइ छ । “हामी अझै न्यायिक पर्खाइमा छौँ । त्यसैले सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न अनुरोध गर्दै यो विज्ञप्ति जारी गरेको छु”, आफू पुस्तक लेखिरहेको भन्दै केही दिनमा ‘धरातल’ नामक पुस्तकका आउने उहाँले जानकारी गराउनुभएको छ ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

यसैबीच नाउपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । सो पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको हो ।

उक्त आयोगको प्रतिवेदन सार्वजनिक नगरे आफूहरू चरणबद्धरूपमा आन्दोलन गर्न बाध्य हुनेसमेत सो पार्टीले जानकारी दिएको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष पण्डितद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “हिजोको सम्मानित अदालतको फैसला न्यायमूर्तिको निर्णय स्वीकार्य छ, तर यो राजनीतिक मुद्दा हो, अदालती होइन । आजका सबै राजनीतिक दलका शीर्ष नेतृत्वले आफ्नो विगत फर्केर हेर्न अनुरोध गर्दै टीकापुर घटना राजनीतिक भएकाले राजनीतिक हिसाबले नै हल गर्न अनुरोध गर्दछौँ ।”

विसं २०७२ मा संविधान जारी गर्दा त्यसको विरोधमा मधेस तथा थरुहटमा भएको आन्दोलनका क्रममा सरकारी पक्षको दमनबारे अध्ययन गर्न सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेको थियो ।

शरणार्थी प्रकरण : पक्राउ परेका सबैको म्याद तीन दिन थप

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई नै हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई तीन दिनको म्याद दिएको छ

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार उनीहरूमध्ये १३ जनामाथिको प्रारम्भिक बयान लिने काम जिल्ला सरकारी वकिलको कार्यालयले सकेको छ । पछिल्लो समयमा पक्राउ परेको पूर्वसभासद् आङटावा शेर्पासँग भने आज बयान जारी छ । यसअघि उक्त घटनामा मुछिएका पूर्वमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग सोमबार र मङ्गलबार बयान लिइएको थियो ।

अन्य ११ आरोपीको बयान भने आईतबार सकिएको छ । अब तीन दिनमा आवश्यक बाँकी अनुसन्धान गरी अन्तिम प्रतिवेदन बनाएर सरकारी वकीलको कार्यालयमा पेश गर्ने तयारी प्रहरीको छ । उनीहरूमाथि प्रहरीले सङ्गठित अपराध र ठगीमा अनुसन्धान गरिरहेको छ । अब प्रहरीलाई उनीहरूमाथि अनुसन्धान गर्न सात दिनको मात्रै समय छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ ठगी भएको फेला परेपछि प्रहरीले त्यस घटनामा जोडिएका पूर्वमन्त्री र बहालवाला सचिवसहित १४ जनालाई पक्राउ गरी अनुसान गरिरहेको छ ।

नक्कली शरणार्थी बनाउनेलाई छुट दिन सकिँदैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ – उप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै देशको नागरिकलाई पैसा असुलेर अनागरिक र शरणार्थी बनाउनेलाई जस्तोसुकै दबाब वा प्रभाव आए पनि छुट दिन नसकिने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का मोर्चा सङ्गठन प्रमुख विजय पौडेल र प्रवक्ता जगन्नाथ खतिवडालगायतको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै उहाँले दोषी नउम्कने, निर्दोष नफस्ने गरी प्रहरीले स्वतन्त्र अनुसन्धान गरिरहेको बताउनुभयो ।

एकीकृत समाजवादीले यस प्रकरणमा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउन स्पष्ट अडान, कार्यकुशलता र सक्रियता देखाएर आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गरेकामा सरकारलाई धन्यवाद दिएको छ । विगतका धेरै भ्रष्टाचार विषय बीचैमा सामसुम पारिएको हुँदा यति गम्भीर मुद्दालाई कुनै पनि प्रकारको मिलेमतोमा कमजोर नबनाउन र ढाकछोप नगर्न समाजवादीले सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

मानव अधिकार तथा शान्ति समाजले पनि आजै उपप्रधानमन्त्री श्रेष्ठलाई पाँचबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ । समाजले नक्कली शरणार्थी प्रकरणका दोषी तथा सबै भ्रष्टाचारीलाई कारबाही गर्न र मानवअधिकारमैत्री ऐन बनाई सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन आग्रह गरेको छ ।

वन्यजन्तुका अङ्ग बिक्रीको आरोपमा नौ पक्राउ

चितवन – वन्यजन्तुको अङ्ग अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा चितवन राष्ट्रिय निकुञ्ज कार्यालय र निकुञ्ज सुरक्षार्थ तैनाथ खड्गदल गणबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत वैशाख ३१ गते भरतपुर महानगरपालिका क्षेत्रमा आखेटोपहार बिक्री व्यवसाय गर्ने व्यक्ति भेटिएपछि सोधपुछ गर्दा आखेटोपहार गोरखाको दशकिलो भन्ने ठाउँमा लुकाएर राखेको सूचना प्राप्त भएको थियो ।

सो सूचनाका आधारमा खोजतलास गर्दा गोरखाको दशकिलोबाट तीन जना महिलालाई जरायोको सिङजस्तो देखिने आखेटोपहार बिक्री व्यवसाय गर्ने मनसायले राखेको अवस्थामा पक्राउ गरिएको हो ।

जेठ १ गते गोरखाकै पालुङटार नगरपालिका वडा नम्बर ६ बाट पनि पाँच जना पुरुष र एक जना महिला गरी छ जनालाई एकसिङ्ग गैँडाको खागजस्तो देखिने वन्यजन्तुको आखेटोपहार खरिद बिक्री व्यव

बागमती प्रदेशमा लामालाई चार मन्त्रालयको जिम्मेवारी

मनहरी – बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई थप तीन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । प्रदेश प्रमुख शर्माले सूचना जारी गर्दै मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा लामालाई थप मन्त्रालयको जिम्मेवारी दिइएको उल्लेख गर्नुभएको छ ।

बुधबार मन्त्री लामाले स्वास्थ्य मन्त्रालयमा स्वागतको क्रममा सम्पूर्ण कर्मचारीलाई एकबद्ध भई सेवा भावले काम गर्न र चुस्त दुरुस्त सेवा प्रदान गर्न निर्देशन दिनुभयो । निर्देशनकै क्रममा मन्त्री लामाले अहिलेको अवस्थामा राजस्व आशातितरुपमा उठ्न नसकेको कारण स्रोतको कमी भएको र समग्र विश्व नै आर्थिक सङ्कटमा परेको बताउनुभयो ।

बागमती प्रदेशको ११ मन्त्रालयमध्ये छ वटा मन्त्रालयमा मात्र मन्त्री नियुक्त रहेका छन् । पाँच वटा मन्त्रालय मन्त्रीविहीन रहँदै आएको थियो । सत्तारुढ दलको बीचमा भागबण्डा नमिल्दा सरकारलाई पूर्णता दिन नसकेपछि मुख्यमन्त्री जम्कट्टेलले नेपाली कांग्रेसका नेता लामालाई नै थप तीन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । अझै पनि प्रदेशको दुई मन्त्रालय मन्त्रीविहीन अवस्थामै रहेको छ ।

बागमती प्रदेशमा पाँच वटा मन्त्रालय कांग्रेसले सम्हालेको छ भने माओवादी केन्द्रले चार मन्त्रालय सम्हाल्दै आएको छ । प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालय र श्रम रोजगार तथा यातायात मन्त्रालयमा अझै मन्त्री नियुक्त हुन सकेका छैनन् । यी मन्त्रालय भने मुख्यमन्त्री जम्कट्टेलले नै सम्हाल्दै आएका छन् ।

एमालेद्वारा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग

काठमाडौँ – नेकपा (एमाले)ले कोशी प्रदेशमा पार्टीका नेतामाथि आक्रमण भइरहेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले प्रचार विभागका सचिव गगन विष्टले आज विज्ञप्ति जारी गरी कोशी प्रदेशमा एमाले नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग गर्नुभएको छ । उहाँका अनुसार आज इलामको माङसेवुङ गाउँपालिका आयोजित बैठकमा सहभागी हुने जाने क्रममा एमाले केन्द्रीय सदस्य राम राना चढेको गाडीमा सोही गाउँपालिकको वडा नं ३ घर्तीदोभान नजिककै ढुङ्गामुढा भएको थियो ।

प्रचार सचिव विष्टले एमाले कोशी प्रदेश संसदीय दलका उपनेता रानामाथि भएको घटनाको पार्टीले निन्दा र भत्र्सना गर्दै कोशी प्रदेशका विभिन्न जिल्लामा पहिचानका नाममा उच्छृङ्खल समूहले हिंसात्मक गतिविधि गरिरहेको र खासगरी एमालेका नेतामाथि निशाना बनाइरहेको घटनाले पार्टीलाई गम्भीर बनाएको बताउनुभएको छ ।

“संवैधानिक व्यवस्था, ऐन र कानूनी प्रक्रियाबाट प्रदेशसभाले कोशी प्रदेश नामकरण गर्न निर्णय गरेको र असहमत समूहले विरोधमा कोशी प्रदेशमा हिंसात्मक गतिविधि सञ्चालन गरिरहे पनि सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्न ध्यान दिएको छैन”, विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी घटनामा संलग्नलाई तुरुन्त पक्राउ गरी कानूनी कारबाही गर्न र शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।”

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अभियान सुरु गर्नुपर्छ : नेता कोइराला

काठमाडौँ, ३ जेठ – राजनीतिज्ञहरुले जनताको विश्वास गुमाउन थालेकाले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका लागि अभियान सुरु गर्नुपर्नेमा जोड दिइएको छ । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन कार्यक्रमका वक्ताहरुले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले देशको शिर निहुरिएकाले यो भ्रष्टाचार काण्डलाई ढाकछोप गर्न नहुने बताउनुभयो । “यो भ्रष्टाचार काण्डलाई ढाकछोप गरियो भने देशकै अवस्था नाजुक हुन्छ, नेपालको सार्वभौमिकतामाथि धावा बोलेको यो मुद्दामा संलग्न कसैलाई पनि छोडिनु हुन्न, भ्रष्टाचारविरुद्ध नेपाल प्रहरीले अहिले देखाइरहेको तागत पछिसम्म पनि कायम राख्नुपर्छ”–उहाँले भन्नुभयो ।

युरोपबाट समानुपातिक निर्वाचन प्रणाली नक्कल गर्दा नेपालको राजनीतिमा समस्या देखिएको उल्लेख गर्दै नेता कोइरालाले त्यसमा पुनःविचार गर्ने बेला आएको बताउनुभयो । नेपालको अर्थतन्त्र दयनीय अवस्थामा पुगेकाले त्यसको सुदृढीकरणका लागि राजनीतिक स्थिरता, सुशासनका लागि सबै दल एक हुनुपर्नेमा उहाँको जोड थियो । अबको निर्वाचनमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै निर्वाचन लड्ने भनाइ पनि नेता कोइरालाले सुनाउनुभयो ।

कांग्रेसभित्र शुद्धीकरण गर्ने बेला आएको छ : महामन्त्री थापा

कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी नेतालाई पनि कुनै अभियोग लाग्दा निलम्बन गरिनुपर्ने मत केन्द्रीय समितिमा राखेको बताउनुभयो । “अनुहारमा दाग लागेका बेला ऐना पुछेर समस्या समाधान हुँदैन, पार्टीभित्र शुद्धीकरणका लागि काम गर्ने बेला आएको छ, यसमा प्रजातान्त्रिक विचार समाजको पनि साथ र सहयोग आवश्यक पर्छ, समाजले कांग्रेसको शुद्धीकराणका लागि आलोचनात्मक दबाब दिनुपर्छ”– उहाँले भन्नुभयो । निर्वाचनअघि सरकारमा जानकै लागि गठबन्धन गर्नु गल्ती भएको स्वीकार गर्दै महामन्त्री थापाले त्यसलाई रोक्न नसक्नुसमेत कमजोरी भएको बताउनुभयो । निर्वाचन परिणाम आइसकेपछि सत्ता समीकरण बनाउनु नै स्वाभाविक हुने उहाँको भनाइ थियो ।

कांग्रेस नेता अर्जुननरसिंह केसीले प्रजातान्त्रिक पद्दतिको रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताउनुभयो । नक्कली भुटानी शरणार्थी प्रकरण राज्यसंयन्त्रको गठबन्धनमा गरिएको मानव तस्करी भएको उहाँले सुनाउनुभयो । “एकपटक मन्त्री भएकाहरु भ्रष्ट होइनन् भन्ने मान्न जनता तयार छैनन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा आशङ्कमा रहेका कोही छुट्नुहुन्न, पहाड खनेर मुसा निकाल्ने काम फेरि गरिनुहुन्न, डेढ खर्ब जनसङ्ख्या रहेको भारतमा पाँच सय ४३ सांसद, तीन करोड जनसङ्ख्या रहेको नेपालमा दुई सय ७५ सांसद चाहिने हो कि होइन ? भन्ने अब बहस हुनुपर्छ, समानुपातिक प्रणालीले भ्रष्टाचार र विकृति बढाएकाले यस विषयमा पनि पुनःविचार गरिनुपर्छ”–नेता केसीले भन्नुभयो ।

संसारमै प्रजातन्त्र खतरामा

त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा केदारभक्त माथेमाले संसारमै प्रजातन्त्र खतरामा पर्न थालेको बताउनुभयो । उहाँले म्यानमार र ट्युनिसियाले केही समयअघि प्रजातन्त्र गुमाएको बताउनुभयो । अहिले पनि ५२ देशमा प्रजातन्त्र खतरामा रहेको प्रतिवेदन आफूले अध्ययन गरिरहेको उहाँले सुनाउनुभयो ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले लोकतान्त्रिक शासन व्यवस्थाको सूत्रपात भएको लामो समय बितिसक्दा पनि प्रजातान्त्रिक संस्कृति र संस्कारको विकास हुन नसकेको बताउनुभयो । समाजका अध्यक्ष डा केदारनरसिंह केसीले दलले गरेका गल्ती औँल्याउन नसके प्रजातान्त्रिक विचार समाजको सदस्य हुन नसक्ने बताउनुभयो । समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राजनीतिक रिक्तता पूर्ति गर्न प्रजातान्त्रिक दल सक्षम हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक योद्धा सम्मान २०८० डा सुरेश मल्ललाई प्रदान गरियो । प्रथम राष्ट्रपति डा रामवरण यादवले उहाँलाई सम्मानपत्र, दोसल्ला र रु २५ हजार राशिसहित प्रदान गर्नुभयो । प्रजातान्त्रिक आन्दोलनमा मल्लले पु¥याउनुभएको योगदानको कदर गर्दै समाजले सम्मान गरेको हो । सो अवसरमा मल्लले नगद राशि भने समाजका अध्यक्ष केसीलाई नै हस्तान्तरण गर्नुभयो ।

सम्मानित व्यक्तित्व मल्लले देश आर्थिक, सामाजिक र प्रजातान्त्रिक सङ्कटमा पुगेको उल्लेख गर्दै मानिसको चरित्र ह्रास भएकाले यस्तो अवस्था आएको बताउनुभयो । समाजको लुम्बिनी प्रदेश, केन्द्रीय सदस्य मिलनचन्द्र खनाल, कास्की र चितवन जिल्ला शाखालाई पनि उत्कृष्ट काम गर्ने शाखा एवं सदस्यका रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजका पूर्व अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिहर दाहाल, समाजका उपाध्यक्ष बिमला शाक्य, महासचिव गोकर्ण अर्याललगायतले हालसम्म भएका समाजका गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । विसं २०५२ मा प्राध्यापक वासुदेवचन्द्र मल्लको सक्रियतामा समाजको स्थापना भएको हो । समाजमा प्रजातन्त्रवादी विचार राख्ने प्राध्यापक, पत्रकार, कानुन व्यवसायी, चिकित्सक, शिक्षकलगायत विभिन्न पेसा र व्यवसायमा संलग्न आवद्ध रहेका छन् ।

आज बेलुकीदेखि नै समाजको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशन गरिने निर्वाचन समिति संयोजक डा मधुसुदन पुनले जानकारी दिनुभयो ।

रायमाझी र खाँणसहित १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

पूर्वगृह मन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । 

आजसम्म पक्राउ परेका १३ जनाको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सकिएको छ । बयान नसकिएकाले अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको काठमाडौं प्रहरी परीसरका प्रवक्ता सीताराम रिजालले बताए ।

मन्त्री यादवद्वारा मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन

सिन्धुपाल्चोक – खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्नुभएको छ ।

मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रमका क्रममा मन्त्री यादव मेलम्ची पुग्नुभएको हो । उहाँले आफू भर्खरै मन्त्रालयमा आएकाले योजनाको विषयमा बुझ्न र जानकारी लिन स्थलगत अवलोकन गर्नुपरेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादवले मन्त्रालयबाट आयोजनाका लागि आवश्यक पर्ने सहयोगमा कुनै कमी नहुने र छिट्टै प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय जनप्रतिनिधिसँग बैठक बसी खानेपानी बोर्ड गठनको विषय टुङ्ग्याउने जानकारी दिनुभयो ।

यसैबीच उहाँले अबको दुई हप्ताभित्रमा समय मिलाएर प्रधानमन्त्रीले पनि आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानको भ्रमण गर्नुहुने बताउनुभयो । सोही क्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङले अहिले वर्षायाममा पानी बन्द गर्नुपर्ने र हिउँदमा मात्र पानी पठाउनुपर्ने अवस्था भएकाले उक्त समस्या समाधानका लागि सरकारले बाह्रै महिना पानी पठाउन विशेष योजना बनाउन मन्त्री यादवसमक्ष अनुरोध गर्नुभयो ।

साथै सिन्धुपाल्चोकले काठमाडाँैलाई पानी पठाएबापत पाउनुपर्ने रोयल्टीलगायत सेवा सुविधाका बारेमा छिट्टै ऐन बनाई कार्यान्वयन गर्नुपर्नेमा तामाङले जोड दिनुभयो ।

राजस्व नतिर्नेमाथि छानबिन हुने

विराटनगर – आन्तरिक राजस्व कार्यालय विराटनगरले लामो समयदेखि कर नतिरेका उद्योगबाट ठूलो रकम उठाउनुपर्ने देखाएकाले छानबिन प्रक्रिया सुरु गरिने जनाएको छ ।

अशोककुमार मुराका र कृष्णप्रसाद प्रसाईं साझेदारबाट सञ्चालित अवनिश एग्रिगेट इण्डस्ट्रिज तथा अशोककुमार मुरारका, अभिषेककुमार मुरारका र कृष्णप्रसाद प्रसार्इं साझेदार रहेको ओम साइबाबा क्रसर उद्योगबाट तीन अर्बभन्दा बढी कर असुल उपर गर्नुपर्ने देखिएको आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिबी क्षेत्रीले जानकारी दिनुभयो ।

उनीहरु व्यावसायिक औद्योगिक घराना मुरारका समूहसँग भने आबद्ध नरहेको पनि स्पष्ट गरिएको छ । यी उद्योगले लामो समयदेखि कर नबुझाएकाले असुलउपरका लागि प्रक्रिया अघि बढाइने डा क्षेत्रीको भनाइ छ ।

त्यस्तै मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महशुल करिब रु ४९ लाख बक्यौतामा राखेको नेपाल विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा क्षेत्रीले राजस्वका विषयमा छानबिन तथा आवश्यक कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी दिनुभयो ।

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भूमिकास्थान–२ ढाकाबांगको बेल्वासे गाउँमा वनमा काँडामा लगाएको आगो सल्किएर गाउँमा पसेपछि निभाउने क्रममा चार जनाको ज्यान गएको थियो । आगो लगाउने भूमिकास्थान–२ का ३६ वर्षीय दिनेश थापा, १८ वर्षीय दीपक विक, ७० वर्षीय देवीराम बेल्वासे र ३६ वर्षीय धर्मराज बेल्वासेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जङ्गली जनावरले सताएर आगो लगाएको उनीहरूले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । गत वैशाख २६ गते दुई जना र २७ गते दुई जना गरी चार जनाको मृत्यु भएको थियो । आगलागीमा परी घाइते भएकी एक महिला अझै उपचार भइरहेको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद १२, ज्यानसम्बन्धी कसुरको दफा १८२ अन्तर्गत हेलचेक्य्राइँ गरी ज्यान मार्न नहुने नियम ३ उपदफा १ अनुसार कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

उक्त नियममा छ महिनादेखि दुई वर्षसम्म कैद वा रु २० हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ । अदालतबाट पाँच दिनको म्याद थप गरेर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै सन्धिखर्क–७ खाँचीकोटको सामुदायिक वनमा आगो लगाउने ४१ वर्षीय ईश्वरीप्रसाद न्यौपाने रु १० हजार धरौटीमा रिहा भएका छन् भने सन्धिखर्क–३, खाँचीखर्कमा आगो लगाउने ५० वर्षीया मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

जनावरलाई धपाउने, काँडा तथा पात पतिङ्गर जलाउने, हेलचेक्य्राइँ गर्ने तथा विभिन्न बहानामा आगो लगाउँदा घरबस्ती तथा जनधनकै क्षति बढेपछि प्रहरीले सक्रियता देखाएको छ । “हेलचेक्य्राइँ गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ”, प्रनाउ रिजालले भन्नुभयो, “फागुनदेखि असारसम्म सबै चनाखो बन्नुहोला ।”

ओलीले गरे मदन भण्डारीको शालिकमा माल्यापर्ण  (फोटोफिचर)

काठमाडौैं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको शालिकमा माल्यापर्ण गरेका छन् । 

बल्खु, काठमाडौंमा आयोजित एक बिशेष कार्यक्रममा सहभागी भएका अध्यक्ष ओली भण्डारीको शालिकमा माल्यापर्ण गरेका हुन ।

शोषण र निरङ्कुशताविरुद्ध पार्टी प्रतिबद्ध छ : अध्यक्ष नेपाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजमा भएका शोषण, दमन र निरङ्कुशतासँग जुधेर लोकतन्त्रका मूल्य, मान्यता स्थापित गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

३०औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा अध्यक्ष नेपालले आज विज्ञप्ति जारी गर्नुहुँदै जनताको लामो सङ्घर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई समाप्त गर्न कम्युनिष्ट आन्दोलन विसर्जनवादतर्फ उन्मुख भएकाले लोकतान्त्रिक माध्यमबाट सामाजिक न्यायसहितको समाजवादको आधार निर्माण गर्ने उद्देश्यले पार्टी पुनर्गठन गरिएको बताउनुभयो ।

पुष्पलाल श्रेष्ठले कोर्नुभएको जनवादी क्रान्तिको रुपरेखाको उत्तराधिकार ग्रहण गर्दै एकीकृत समाजवादीले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पु¥याउने सङ्कल्प गरिएको विज्ञप्तिमा उल्लेख छ । विश्वभर रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन तत्कालीन समयमा अग्रज नेता मदनकुमार भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपाली क्रान्तिको मौलिक सिद्धान्तलाई स्थापित गरी अन्तर्राष्ट्रिय तहमा कम्युनिष्ट विचार तथा आन्दोलनलाई उचाइमा पु¥याएको अध्यक्ष नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता जननेता भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितले पार्टीको विधि विधान, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा गरेको अतुलनीय योगदानको स्मरणका साथै अध्यक्ष नेपालले उहाँहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

राप्रपा केन्द्रिय समिति बैठक आज पनि जारी

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय समिति बैठक आज पनि बस्दैछ ।सोमवारवाट सुरु भएको बैठकमा अध्यक्ष राजेन्द्र लिङदेन ‘यथास्थितिवादी राजनीतिक कित्ताको एकमात्र विकल्प राप्रपा’ नामक राजनीतिक प्रतिवेदनलगायतमा केन्द्रिय सदस्यहरुले राखेको धारणाको जवाफ आज दिईदैछ ।

अध्यक्ष लिङ्देनले पेश गरेकाे राजनीतिक प्रतिवेदन उपाध्यक्ष हेमजङ गुरुङले सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री धवलशम्शेर राणाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष नीलकण्ठ काफ्लेको आर्थिक सम्बन्धी प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले राखेकाे धारणाकाे जवाफ दिइने प्रवक्ता सगुन लावतीले जानकारी दिए । हिजाेकाे बैठक ९ घन्टासम्म चलेकाे थियाे भने सबै केन्दिय सदस्यहरुले ३-३  मिनेटमा आपःनाे धारणा राखेका थिए । 

अध्यक्ष लिङदेनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बिदेशी इशारामा चल्न थाले पछि सरकार छाडनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा पनि बिदेशी संलग्न रहेको, प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी नपुगे जस्तै हुने मार्गमा रहेको, सरकार निर्माण र विघटनमा बाह्य प्रभावका रहने गरेको र जसकाकारण राष्ट्रिय लज्जाको विषय बन्न पुगेको जस्ता बुदाँ उल्लेख गरेर प्रतिवेदन पेश गरेका छन् ।

भ्रष्टचारको बिरुद्धमा निमर्म भएर उभिन पनि पार्टी पंक्तिलाई आग्रह गरेका अध्यक्ष लिङदेनले मुख्य दलका अराजनीतिक गतिबिधि र भ्रष्ट प्रवृतिका कारण संबैधानिक राजतन्त्रको औचित्य अझै बढन गएको निष्कर्षसहित पेश गरेका प्रतिवेदनमा हिजो केन्द्रिय सदस्यहरुले आ-आफनो धारणा राखेका थिए । जसअनुसार अध्यक्षको प्रतिवेदनको केही बुदाँहरु संसोधन गर्नुपर्ने केन्द्रिय सदस्यहरुको धारणा रहेको थियो । 

पोल्याण्डका दुई आरोहीद्वारा धवलागिरि हिमाल आरोहण

म्याग्दी- पोल्याण्डका दुई आरोहीले मङ्गलबार धवलागिरि हिमाल आरोहण गरेका छन् । यस याममा आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने दुवैजना पहिलो हुन् ।सेभेन समिट टे«क्समार्फत बाक जिम्स्की र ओसवाल्ड रोड्रिगो पपेराको टोलीले धवलागिरिको सफल आरोहण गरेको सेभेन समिट टे«क्सका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईँले जानकारी दिनुभयो । उनीहरूले मङ्गलबार बिहान ७ः३० बजेको समयमा धवलागिरि आरोहण गरेका हुन् । दुवैजनाले शेर्पाको सहयोगबिना हिमाल आरोहण गरेको कम्पनीले जनाएको छ ।

आरोहण गरेर फर्किएपछि बार्केटले चार हजार सात सय मिटरको उचाइमा स्किसमेत गर्नुभएको थियो । दुवैजना एमएडी स्कि परियोजनाअन्तर्गत धवलागिरि हिमाल आरोहण गर्न गएका थिए । गत चैत अन्तिम साता आधार शिविर पुगेका अन्य आरोही पनि धवलागिरिको चुचुरो नजिकै पुगेका बताइएको छ । धवलागिरिको पहिलो, दोस्रो र तेस्रो आधार शिविरसम्म शेर्पाहरूले आरोहीका लागि बाटो बनाइसकेका छन् ।

स्पेनका ८३ वर्षीय कालोर्स सोरियाको टोली क्याम्प–३ मा पुगेको छ । पर्यटन विभागका अनुसार वसन्त ऋतुको यस याममा २४ पुरुष र ११ महिलाले धवलागिरि हिमाल आरोहणको अनुमति लिएका छन् । सेभेन समिट कम्पनीबाट २६ जनाले धवलागिरि हिमाल चढ्न लागेका छन् । सेभेन समिट, इलाइट र पाइनर एडभेन्चरले धवलागिरिमा आरोही लगेका हुन् । चैतको अन्तिम साता धवलागिरि गएका आरोही प्रतिकूल मौसमका कारण करिब एक महिनासम्म आधार शिविरमा रोकिएका थिए ।

वैशाख अन्तिम हप्तादेखि मौसममा सुधार आएपछि आरोही चुचुरोतर्फ लागेका थिए । पर्यटकको उद्धार र व्यवस्थापकीय कार्यमा संलग्न म्याग्दीको दानाका पर्यटनकर्मी इन्द्रसिंह शेरचनले वैशाखमा धेरै हिउँ परेकाले आरोहणमा ढिलाइ भएको बताउनुभयो ।

सन् १९६० मे १३ मा पहिलोपटक अस्ट्रियाका कुर्ट डिम्बर्गरलगायत स्वीस धवलागिरि आरोहण टोलीका पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जेले पहिलोपटक धवलागिरि हिमालको आरोहण गरेका थिए । पदमार्गको यात्रा लामो, जोखिमपूर्ण र सञ्चार पहुँचभन्दा टाढा हुँदा विदेशी र नेपाली आरोही काठमाडौँबाट सडकमार्ग हुँदै ताकम र त्यहाँबाट हेलिकोप्टरमार्फत आधार शिविर पुग्ने गरेका छन् । आधार शिविरसम्म पुग्नका लागि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारले पदमार्ग निर्माण गर्दै आएका छन् । अक्कर पहाड, जङ्गल, खोलानाला हुँदै पदयात्रा गर्नुपर्ने भएकाले धवलागिरि पदमार्गको यात्रा चुनौतिपूर्ण मानिन्छ । यस याममा पनि आरोही, पथपर्दशक, भरिया र आरोहण दलका सहयोगी आधार शिविर पुगेका छन् । धवलागिरि हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ ।
–––

मदन भण्डारीलाई सम्झदै शंकर पोखरेलले भने, ‘जबजको पक्षमा खुल्न सुरुमा सबै नेता डराएका थिएँ’

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्त प्रतिवाद गरी पार्टीमा ल्याउँदा सो प्रस्तावको बारेमा खुल्न धेरै जसो नेता डराएको स्मरण गराएका छन् ।

उनका अनुसार भण्डारीको जबजको पक्षमा शिर्ष नेता नखुले पनि सोको बारेमा छलफल गर्नका लागि पुर्व नेपालीको बिराटनगरवाट भेला सुरु गरिएको थियो र चितवनमा आईपुगे पछि मात्रै माधवकुमार नेपालले त्यसलाई समर्थन जनाएका थिए । तर, पदमकन्या क्याम्पसमा आए पछि माधव नेपाल पुरै खुलेर मात्रै लागेनन, त्यसको पक्षमा माहौल बनाउन पनि नेपाल निकै सक्रिय भएको पोखरेलले आज  स्मरण गरेका छन् ।

 
उनै भण्डारीका बारेमा बारेमा पोखरेलले लेखेको स्मरणः 

पाँचाै राष्ट्रिय महाधिवेशनको समय थियो । महाधिवेशनको प्रचारप्रसार कमिटीकाे संयोजक भरतमोहन अधिकारी र त्यसको सचिव म थिए । महाधिवेशनको अपिल प्रकाशित गर्ने जिम्मेवारी समेत उक्त समितिलाई दिइएको थियो । विचारको खुला बहस संचालन गरिएको उक्त महाधिवेशको अपिल विशेष हुनुपर्ने आग्रहका साथ मैले मदन कमरेडलाई लेख्न अनुरोध गर्ने प्रस्ताव भरतमोहन कमरेडसँग राखेको थिए । भरतमोहन कमरेडले त्यसमा सहमती जनाउदै मदनसंग कुरा गर्ने जिम्मेवारी मलाई नै सुम्पनु भयो । म वडो उत्साहकासाथ उहाँ वस्ने गरेको डेरामा पुगेर लेख्न अनुरोध गर्दा उहाँले तपाईहरु जस्ता साथिहरुलाई जिम्मा लगाएको के अर्थ भयो र भन्दै लेख्न अस्विकार गर्नु भयो । उहाँले म अहिले दस्तावेज माथिको बहसको तयारीमा छु र प्राप्त सुझावका आधारमा परिमार्जन समेत गर्नुपर्नेछ भन्नु भभो । अनि उहाँले तपाई आफैले लेख्नुहोस् । वरु प्रकाशन गर्नु पूर्व मलाई देखाउनुहोस् भन्नु भयो । मैले पनि मदन कमरेडको सुझाव अनुरुप उत्साहकासाथ अपिलको मस्यौदा तयार गरेर उहाँलाई देखाए । उहाँले अपिल पढेर विना कुनै संशोधन प्रकाशनका लागि अनुमती दिनु भयो । विश्वास गरेर कामको जिम्मा दिने र त्यसप्रति खुलेर भरोसागर्ने उहाँको शैली वेजोड थियो ।

साेही महाधिवेशनका सन्दर्भको मदन कमरेडसंगको अर्को प्रसंग पनि वढो रोचक छ । महाधिवेशनमा जनताको वहुदलिय जनवाद पार्टीको कार्यक्रमरुपमा प्रस्तावित थियो । पार्टी केन्द्रीय कमिटीमा अत्यन्त झिनो मतवाट उक्त कार्यक्रम छलफलको आधिकारीक दस्तावेज वन्न पुगेको थियो । पार्टीको संस्थापन पक्षका जिम्मेवार नेताहरुसमेत वहसका वेलासम्म खुलेर जबजका पक्षमा उभिन सक्नु भएको थिएन । पूर्वको विराटनगर देखि खुला वहस आरम्भ गरिएको थियो । चितवनसम्म आइपुग्दा जबजका पक्षमा कार्यकर्ताको ठुलो पंक्ति पक्षमा देखिसकेको थियो । चितवनको वहसपछि माधव नेपाल जबजको पक्षमा खुल्न तयार हुनु भएछ । मदन कमरेडले माधव कमरेड जबजका पक्षमा खुलेर वोल्न तयार भएकोले काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गर्न लगाउनु भयो । उहाँको अनुरोधमा पद्मकन्या क्याम्पसमा विद्यार्थीहरुको भेला आयोजना गरेर माधवकुमार नेपाललाई वोल्ने लगाइएको थियो । साेही भेलामा पहिलो पटक माधव कमरेड खुलेर जबजका पक्षमा वोल्नु भएको थियो ।

पाँचौ राष्ट्रिय महाधिवेशनवाट जनताको वहुदलिय जनवाद अत्यधिक वहुमतका साथ नेपाली क्रान्तिको मौलिक कार्यक्रमका रुपमा पारित भयो । पारित गराउने कुरामा समेत माधव कमरेडको सकृयता विशेष रह्यो । जननेता मदन भण्डारीको अगुवाईमा प्रतिपादन भएको जनताको वहुदलिय जनवाद यतिवेला नेपाली क्रान्तिलाई मार्गदर्शन गर्ने सिद्धान्त वन्न पुगेकोछ । सुरुको अवधिमा जबजको विचारले पार्टी भित्र समर्थन प्राप्तगर्न भएको त्यस प्रकारको कठिनाई भएको संझदा अनौठो अनुभूती हुन्छ ।

आज जेठ ३ गते जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको ३०औं स्मृति दिवस । स्मृति दिवसका अवसरमा जबजका प्रतिपादक तथा कम्युनिष्ट आन्दोलनका नविन विचारक जननेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितप्रति भावपूर्ण श्रद्धान्जली ।

तीन अर्बभन्दा बढी राजस्व नतिर्ने उद्योगी माथि छानबिन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले उद्योगी मुरारका समूहबाट ठूलो रकम राजस्व उठाउनुपर्ने देखाएको छ ।मुरारका समूहका अशोक मुरारका र उहाँका साझेदार कृष्णप्रसाद प्रसाईंबाट सञ्चालित उद्योगबाट रु तीन अर्ब ७५ करोड राजस्व असुल उपर गर्नुपर्ने कार्यालयले जनाएको छ । मुलुक आर्थिकमन्दीमा रहेका बेला उहाँहरूले सञ्चालन गरेको उद्योगबाट लामो समयदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरेको अनुसन्धानबाट खुलेको छ ।

लामो समयदेखि राजस्व नबुझाएका कारण आन्तरिक राजस्व विभागले पनि कारबाही प्रक्रिया अघि बढाएको आन्तरिक राजस्व कार्यालय विराटनगरले जनाएको छ । मुरारकाको सञ्चालनमा आएको सुनसरीमा पशुपति आइरन तथा इलामको श्रीअन्तुमा रहेको चिया उद्योगसमेत छ ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार मुरारका र प्रसाईंको संयुक्त सञ्चालनमा रहेको अवनिश एग्रोभेट इण्डष्ट्रिजले रु दुई अर्ब ४४ करोड राजस्व बुझाउनुपर्ने देखाएको छ । यो उद्योग अन्तरिक राजस्व कार्यालय विराटनगरमा विसं २०६० फागुन २६ गते भ्याट दर्ता लिएको थियो तर हालसम्म यसले कर विवरण बुझाएको देखिएको छैन ।

त्यस्तै मुरारका र प्रसाईंकै संयुक्तरूपमा सञ्चालनमा रहेको मोरङको बेलबारीस्थित ओम साइबाबा क्रसर उद्योगले रु एक अर्ब ३३ करोड कर बुझाएको छैन । क्रसरले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणलाई तिर्नुपर्ने विद्युत् महसुल करिब रु ४९ लाख पनि बक्यौतामै राखेको छ । विद्युत्ले बारम्बार ताकेता गर्दा पनि उद्योगीले नटेरेको प्राधिकारणको कर्मचारीको भनाइ छ ।

यो उद्योगमा अशोक मुरारका, अभिषेकुमार मुरारका कृष्णप्रसाद प्रसाईं साझेदार छन् । यो उद्योग आन्तरिक राजस्व कार्यालय विराटनगरमा विसं २०६० वैशाख ४ गते दर्ता भएको थियो । आन्तरिक राजस्व कार्यालयले दुबै उद्यागले तिर्नुपर्ने मूल्यअभिवृद्धि कर र आयकर निर्धारण गरेर त्यसमा लाग्ने जरिवाना र ब्याजको रकमसमेत जोड्दा रु तीन अर्ब ७७ करोड हुने ठहर गरेको छ ।

राजस्व न्यायाधीकरणमा मुद्दा चलिरहेको यस विषयमा जिल्ला अदालत मोरङका न्यायाधीश सत्यमोहन जोशीको इजलासले आन्तरिक राजस्व कार्यालयलाई कर निर्धारण गर्नु भन्ने आदेश पनि भएको थियो ।यसरी पत्र पाएपछि आन्तरिक राजस्वले दुवै उद्योगले तिर्नुपर्ने रु तीन अर्ब ७७ करोडको कर निर्धारण गरेको बताइएको छ । यस सम्बन्धमा आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख डा डिवी क्षेत्रीले राजस्वका विषयमा अनुसन्धान र कारबाही प्रक्रिया अघि बढेकाले तत्काल केही भन्न नसकिने बताउनुभयो ।

१७ वर्षीया बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई तीन महिना कैद

सप्तरी- सप्तरीकी १७ वर्षीया एक बालिकासँग बाल विवाह गर्ने भारतीय नागरिकलाई तीन महिना कैद सजायको फैसला भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले जम्मु काश्मिर राज्य श्रीनगर अविकरपोरा पालामोराका ४१ वर्षीय गुलाम जिलानीलाई कैद सजायको फैसला भएको हो ।

बाल विवाह गराउन सहयोग गर्ने भारत जम्मु काश्मिर राज्य रैनवारीका ४० वर्षीय मो रफिकखार र उनकी पत्नी २७ वर्षीया नुर जहानलाई साढे एक महिना कैद सजाय भएको सप्तरी जिल्ला अदालतले जनाएको छ । अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार जिलानीलाई दुई हजार तथा खार र जहानलाई जनही एक हजार रूपियाँ जरिवाना भएको छ । तीनै आरोपितबाट फौजदारी कसुर पीडित राहत कोषमा जनही दुई सय भराउने फैसलासमेत भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।

अभियुक्तले तिर्नुपर्ने जरिवाना वापतको रकम भने कैद बसेको अवधिबाट भुक्तान भएको अदालतले जनाएको छ । बालिकाका बुवा र आमाले अभियोग दाबीबाट सफाइ पाएका छन् । बाल विवाह गरेर भारततर्फ जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट वनैनियाको टोलीले बालिका र तीन जना आरोपित भारतीय नागरिकलाई पक्राउ गरेर गत माघ १४ गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो । राजी खुसीले विवाह गरेकाले बालिकाका अभिभावकले उजुरी दिन अस्विकार गरेपछि सशस्त्र प्रहरीकै प्रतिवेदनका आधारमा मुद्दा दर्ता गरिएको छ ।

सशस्त्र प्रहरी निरीक्षक तुलसीराम कार्कीको प्रतिवेदनले जिलानीसहित उनलाई नेपाल ल्याएर विवाह गराउने रफिक खार र उनकी पत्नी नुर जहान तथा बालिका विरुद्ध उजुरी दर्ता भएको थियो । पक्राउ परेका आरोपितहरू गत फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा थिए । अदालतमा फागुन १७ गते हाजिर भएका बालिकाका आमा साधारण तारेखमा र बुवा रु पाँच हजार धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए । बालिकाका बुवा आमाले भने अभियोग दाबीबाट सफाइ पाएका छन् ।

महानगरको पेट्रोलपम्प अनुगमनः कस्तो पेट्रोल वितरण हुन्छ पोखराका पम्पहरुबाट ?

कास्की-पोखरा महानगरपालिकाले पेट्रोल पम्प अनुगमन गरेको छ । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखरा महानगरभित्रका पाँच पेट्रोल पम्पमा अनुगमन गरिएको हो । अनुगमन टोलीले हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुली आयल स्टोर्स, मालेपाटनको सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरेको हो ।

अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेको अनुगमन संयोजक तथा पोखरा महानगरपालिकाकी उमप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नवीकरण भए नभएको अनुगमन गरिएको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयो । “अनुगमनका क्रममा परिणाम र गुणस्तरमा कैफियत फेला परेन”, पौडेलले भन्नुभयो । उहाँका अनुसार केही पेट्रोल पम्प महानगरमा विना दर्ता सञ्चालन भएको पाइएको छ । उनीहरुलाई महानगरमा दर्ता गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

विश्व दूरसञ्चार र सूचना समाज दिवस आज

काठमाडौँ – आज विश्व दूरसञ्चार र सूचना समाज दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुवेदीले दिवसका अवसरमा आज सरकारले दूरसञ्चारसँग सम्बन्धित विषयमा अन्तक्र्रियालगायत कार्यक्रम गर्न लागेको जानकारी दिनुभयो ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणले आज बिहान होटल राजधानीको ¥याडिसनमा दूरसञ्चारसम्बन्धी गोष्ठीको आयोजना गरेको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।

विश्व दूरसञ्चार दिवस सन् १९६९ मे १७ देखि प्रत्येक वर्ष मनाइँदै आएको छ । दूरसञ्चारको विकासँगै आधुनिक युगमा फोन, मोबाइल र इन्टरनेट नागरिकको पहिलो आवश्यकता भएको छ । यो बिना जीवन कल्पना गर्न गाह्रो भएको छ । ‘सूचना तथा सञ्चार प्रविधिका माध्यमबाट अति कम विकसित देशहरूको सशक्तीकरण’ नारासहित मनाइने दूरसञ्चार दिवसले सबै नागरिकलाई प्रविधिसँग जोडिने अवसर प्रदान गरेको छ ।

तोकिएकोभन्दा बढी शुल्क नलिन सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार प्राधिकरणबाट स्वीकृति सूचना प्रकाशित भएपछि मात्रै इन्टरनेट सेवा प्रदायकले महसुल बढाउन पाउने नियम छ ।

हाल विभिन्न पत्रपत्रिकामा इन्टरनेट सेवा प्रदायकले आपसी मिलोमतोमा इन्टरनेट सेवाको शुल्क बढाउने गरी भद्र सहमति भइसकेको भनी समाचार प्रकाशित भएका साथै केही इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको निर्देशन भन्दै इन्टरनेट सेवाको महसुलदर बढाएको भनी उपभोक्ताले विभिन्न माध्यमबाट गुनासोसमेत व्यक्त गरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएकोसमेत प्राधिकरणले जनाएको छ ।

इन्टरनेट सेवा प्रदायकले मिलेमतोमा आफूखुसी इन्टरनेट सेवाको शुल्क/महसुलदर बढाउनु दूरसञ्चार ऐन, २०५३ तथा प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण ऐन, २०६३ विपरीत हुने भएकाले सो कार्य नगर्नसमेत प्राधिकरणले उक्त सूचनामार्फत आग्रह गरेको छ ।

यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दूरसञ्चार सेवा प्रदायकले सेवा प्रदान गरेबापत ग्राहकसँग लिने शुल्क/महसुलदर दूरसञ्चार ऐन, २०५३ को दफा ४२ तथा अनुमतिपत्रको शर्तबमोजिम प्राधिकरणबाट अनिवार्यरूपमा स्वीकृत गराई प्राधिकरणबाट स्वीकृत भएको मितिसमेत उल्लेख गरी ग्राहक तथा सर्वसाधारणको जानकारीको लागि सूचना प्रकाशित गरेपश्चात मात्र लागू गर्नुपर्ने कानूनी व्यवस्था रहेबमोजिम अनुमतिपत्र प्राप्त सबै दूरसञ्चार सेवा प्रदायकलाई शुल्क/महसुलदर स्वीकृत गराएर मात्र लागू गर्न आग्रह गरिएको छ ।

दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्ने विद्यमान कानूनी व्यवस्थाबमोजिम प्राधिकरणबाट दूरसञ्चार सेवाको शुल्क/महसुलदर स्वीकृत गर्दा स्वच्छ बजार प्रतिस्पर्धासमेतलाई मध्य नजर गरिँदै आएको प्राधिकरणले जनाएको छ ।

उक्त व्यवस्थाअनुसार प्राधिकरणबाट कुनै पनि इन्टरनेट सेवाप्रदायकले स्वीकृत शुल्क/महसुलदरभन्दा बढी लिने गरी अनुमति प्रदान नगरिएको तथा इन्टरनेट सेवाको विद्यमान स्वीकृत शुल्क/महसुलदरभन्दा बढी शुल्क लिने गरी प्राधिकरणले हालसम्म कुनै पनि सूचना जारी नगरिएको जनाएको छ ।

शुल्क/महसुलदर बढाउन इन्टरनेट सेवा प्रदायकलाई कुनै पनि निर्देशन नदिएको हुँदा प्रस्तुत विषयमा स्पष्ट हुन सम्बन्धितलाई जानकारी गराउँदै कुनै उपभोक्तालाई स्वीकृत महसुलदरभन्दा बढी शुल्क/महसुलदर लिने गरी बिल÷बिजक जारी गरिएको भए सो को जानकारी प्राधिकरणलाई उपलब्ध गराइदिनु भई नियमन गर्ने कार्यमा सहयोग पु¥याइदिन प्राधिकरणले सोही सूचनामार्फत आग्रह गरेको छ ।
–––

आज काेशी र लुम्बिनी प्रदेशका पहाडी भु-भागमा बर्षा हुने

काठमाडौं, ३ जेठ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि गणडकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागको एक दुई सथानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भएको छ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो  देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती भने कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको संभावना रहेको छ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा र हावा हुरीको समेत सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।

आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ- आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत विभिन्न सङ्घसंस्थाले भोलि विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न सचेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ ।

यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, नचाहिँदो सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले मानिसलाई हाइपरटेन्सिभ अर्थात् उच्च रक्तचापको बिरामी दिनप्रतिदिन बढ्दै गएका छन् । सन् २०१६ मा नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरूका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

सन्तुलित खानपान, शारीरिक अभ्यास र तनाव घटाउने गरेमा उच्च रक्तचापको समस्या कम हुने चिकित्सक बताउँछन् । नेपाल डेमोग्राफिक एण्ड हेल्थ सर्वेमा २५ प्रतिशत वयस्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ । सहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो छ ।

रोकिएको पूर्वगृहमन्त्री खाणसँगको बयान जारी

काठमाडौँ – सञ्चो नभएको जनाएपछि सोमबार रोकिएको पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको नक्कली भुटानी शरणार्थी प्रकरणका विषयको प्रारम्भिक बयान आज जारी राखिएको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सोमबार सुरु गरिएको उहाँसँगको बयान सञ्चो नभएको जनाएपछि रोकिएको थियो । त्यसपछि सोमबार म्याद थपे लगत्तै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिइएको थियो । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेका अनुसार अहिलेसम्म १२ जनासँग बयान लिने काम सकिएको र आज पूर्वगृहमन्त्री खाणसँगको बयान जारी रहेको छ । उहाँले अब सोमबार पक्राउ परेका पूर्वसभासद आङटावा शेर्पासँग मात्रै बयान लिन बाँकी रहेको जानकारी दिनुभयो ।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १४ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका दुई आरोपीहरू भने फरार छन् ।

भूटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उहाँका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ ।

यस्तै उक्त घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् । पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृह मन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार छन् ।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले २० उनीहरू विरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ ।

मनसुनजन्य विपद् उद्धारको तयारीमा रहन महानिरीक्षकको निर्देशन

काठमाडौँ – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मनसुनजन्य विपद् उद्धारका लागि तयारी हालतमा रहन निर्देशन दिनुभएको छ ।

मनसुनका बारेमा पूर्वजानकार रहन र हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्नको लागि तत्काल तयारी गर्न जरुरी रहेको बताउँदै उहाँले जति धेरै पूर्वतयारी गर्न सक्यौँ त्यति नै मनसुनजन्य प्रकोपबाट मानवीय तथा भौतिक क्षति कम गर्न र पीडितको उद्धार गर्न सकिने बताउनुभएको छ ।

मुलुकमा आइपर्ने विषम परिस्थितिमा जुनसुकै समयमा जस्तोसुकै अवस्था र जहाँ पनि परिचालित हुन पूर्वतयारीका साथसाथै शारीरिक र मानसिक रुपमा तयार रहन महानिरीक्षक अर्यालले निर्देशन दिनुभयो । यसअघि उहाँले सोमबार सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरीक्षण भ्रमण गर्नुभएको थियो । सो क्रममा पनि उहाँले विपद् व्यवस्थापनको आवश्यक तयारीमा बस्न भन्नुभएको थियो ।

विपद् उद्धारको लागि दक्ष जनशक्ति उत्पादन र आउनसक्ने प्राकृतिक जोखिमलाई उत्तिनै ध्यान दिएर भूगोल र प्रकोपअनुसार कुनै पनि समयमा जस्तो सुकै परिस्थितिमा परिचालन हुनसक्ने ढङ्गले लाग्नसमेत शिक्षालयलाई उहाँले निर्देशन दिनुभयो ।