`

राप्रपाको केन्द्रीय समिति बैठकमा प्रतिवेदनहरु प्रस्तुत

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् ।

सोमबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तु राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नुपर्नेलागयत सुझाव दिएका छन् । प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ ।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबाट आउने सुझावका आधारमा जेठ ३ गते आगामी कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।

कांग्रेस रूपान्तरण अभियान घोषणा

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेताहरूले कांग्रेस रूपान्तरण अभियान घोषणा गरेका छन् । कांग्रेसका युवा नेताहरूले आज पत्रकार सम्मेलन गरी देशभरका सातै प्रदेशमा कांग्रेस रूपान्तरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसभित्रको कमी कमजोरीबाट फाइदा उठाएर देशको राजनीतिमा उग्र वामपन्थी र दक्षिणपन्थी शक्तिको उदय भएकाले रूपान्तरण अभियान सुरु गरिएको जानकारी दिनुभयो ।

उहाँले कांग्रेसको चाल, चरित्र र चेहरालाई परिवर्तन नगरी कांग्रेस रूपान्तरणको सम्भावना नभएकाले आफूहरूले पार्टीलाई समयसापेक्ष रूपान्तरण गर्न उक्त अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । कांग्रेसभित्र नैतिक शक्तिको क्षय भएकाले आफूहरूले राजनीतिलाई नैतिक शक्तिसँग जोड्न अभियान चलाएको उहाँको भनाइ थियो ।

केन्द्रीय सदस्य आचार्यले कांग्रेस रूपान्तरणको अभियानलाई अगाडि बढाउनुपर्ने टड्कारो आवश्यकता भएकाले अभियान सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

कांग्रेसको उक्त अभियान जेठ ११ गते जनकपुर, जेठ १६ गते काठमाडौँ, जेठ २० गते पोखरा, जेठ २२ गते दाङ, जेठ २४ गते सुर्खेत, जेठ २६ गते धनगढी, जेठ २९ गते इटहरी र जेठ ३१ गते पुनः काठमाडौँमा हुने आचार्यले बताउनुभयो ।

पत्रकार सम्मेलनमा कांग्रेस युवा नेता गुरुराज घिमिरे, रञ्जित कर्ण, भूपेन्द्रजङ्ग शाहीलगायतको उपस्थिति रहेको थियो ।

साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ – विश्वप्रकाश शर्मा

पाटन – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यकार हुन परिस्थिति मात्रै नभई, मनस्थिति पनि चाहिने बताउनुभएको छ । ललितपुरमा साहित्यकार वसन्तश्रीको ११औँ कृति हिमाल खण्डकाव्यको आज विमोचन गर्दै उहाँले लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ राजनीतिबाट त्यति सन्तुष्टि प्राप्त हुन नसक्ने बताउनुभयो ।

हुम्लाको सिमकोटमा जन्मिएका वसन्तश्री मानसरोवर बहुमुखी क्याम्पस सिमकोटका पूर्व क्याम्पस प्रमुख हुनुहुन्छ । उहाँले कर्णालीबाट काठमाडौँ आएर भोग्नुपर्ने पीडा र सङ्घर्षमा आधारित रहेर खण्डकाव्यमा तयार पार्नुभएको छ । खण्डकाव्यमा १० खण्ड रहेका छन् ।

“साहित्यकार हुन परिस्थिति मात्रै हैन, मनस्थिति पनि चाहिन्छ । साहित्यमा जति तागत छ, त्यति राजनीतिमा छैन । लेखिरहँदा जति सन्तुष्टि प्राप्त हुन्छ । लेखिएका कृतिहरुले तत्काल मात्रै हैन, चीर काल पर्यान्तसम्म प्रभाव पर्छ । लेखकको शक्ति चीर कालसम्म प्रभाव पार्छ ।” महामन्त्री शर्माले भन्नुभयो ।

उहाँले सहर बन्दै गएको, भवन ठडिँदै गएको, तर भावना मर्दै गएको अवस्थामा कविताले भावनात्मक सम्बन्धलाई जोडेको तर्क गर्नुभयो । सृजनशीलताले नेपाली साहित्यमा सकारात्मक प्रभाव छोड्ने बताउँदै उहाँले कर्णाली अबको दशकमा समृद्ध प्रदेश बन्ने विश्वास व्यक्त गर्नुभयो । साहित्यको माध्यमबाट नेपालीपनको भावलाई सौन्दर्यीकरण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्नुहुँदै साहित्यकार प्राडा मोहनप्रसाद तिमल्सिनाले कविता भनेको लेखकले भन्दा पाठकले बुझ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कविता भनेको लेखकले भन्दा पाठकले बुझ्छ । यो खण्डकाव्य चलचित्रात्मक शैलीमा लेखिएको छ । जीवन र जगतसँग सापेक्ष सम्बन्ध राख्ने सन्देशमूलक छ । यो काव्य मानिसलाई स्वाभिमानी बनाउने सन्देश दिने खालको छ ।”

हिमाल खण्डकाव्यमाथि टिप्पणी गर्दै खण्डकाव्यमा पिएचडी गर्नुभएका प्राध्यापक डा नारायण गर्तौलाले लेखक नै खण्डकाव्यको पात्रमा व्यक्त भएको हो कि भन्ने भान हुने बताउनुभयो । “कर्णालीको वेदना हिमाल खण्डकाव्यमा व्यक्त भएको छ । खण्डकाव्य भनेको जीवनको एउटा क्षणलाई व्यक्त गर्ने काव्य हो । खण्ड काव्यमा हिमाल र यार्साको यौन, शिक्षा, स्वास्थ र प्रेमलाई व्यक्त गरिएको छ ।” उहाँले भन्नुभयो ।

लेखक वसन्तश्री (वसन्त रोकाया) ले हिमाल पुरुष प्रदान खण्डकाव्य भएको बताउनुभयो । उहाँले समाजमा भएका गतिविधिलाई साहित्यमार्फत व्यक्त गर्नुपर्ने र त्यसलाई राजनीतिमार्फत बदल्नुपर्ने बताउनुभयो ।

नक्कली भूटानी शरणार्थी प्रकरणमा मुछिएका शेर्पालाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ-जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका नेपाली पूर्वसभासद आङटावा शेर्पालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पूर्वसभासद शेर्पामाथि अनुसन्धान गर्न अदालतले दुई दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै हिजो सोमबार शेर्पा आफँै जिल्ला प्रहरी परिसर काठमाडौँमा पुग्नुभएको थियो । यसअघि प्रहरीले शेर्पाको बारेमा अनुसन्धान गरिरहेको बेला आफैँ प्रहरीमा आएपछि उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । उहाँसहित अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १४ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

राष्ट्रिय गौरवका आयोजनाका पदाधिकारी सरुवा नहुने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना तोकिएको समयमै पूरा गर्न आयोजनामा कार्यरत पदाधिकारीको सरुवा नहुने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उहाँले तोकिएको समयमा काम पूरा गर्नेगरी पदाधिकारीलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो । “राष्ट्रिय गौरवका आयोजना समयमा पूरा भएका छैनन्, यस्ता आयोजना समयमा पूरा नगर्ने जिम्मेवार पदाधिकारीलाई अन्यत्र सरुवा नहुने व्यवस्था सरकारले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “त्यसो गरियो भने जवाफदेही सोही पदाधिकारीको हुने भएकाले काम समयमै सम्पन्न हुन्छ ।” उहाँले उपलब्ध भएसम्म विकास, निर्माणका काममा स्वदेशी कच्चा पदार्थको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले राष्ट्रिय गौरवका आयोजना भनेर जथाभावी नामकरण गर्न नहुने र स्पष्ट परिभाषा तय गरेर मात्रै नामकरण गर्न उपयुक्त हुने उल्लेख गर्नुभयो । उहाँले देशमा राष्ट्रिय गौरवको आयोजना जति थोरै भयो त्यति गौरव हुने बताउनुभयो ।–

डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर १० रुपैयाँले घट्यो

काठमाडौं, २ जेठ-नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । 

घटेको मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ रूपैयाँ प्रतिलिटरमा डिजेल र मट्टीतेल बिक्री हुँदै आएको थियो ।

निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राखेको छ ।म‌गलबार मात्रै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको थियो । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र पेट्रोलको मूल्य ९ रुपैयाँले घटेर आएको थियो ।

अर्थतन्त्रको जग उठाउन उत्पादनमा जोड दिनुपर्छ : पर्यटनमन्त्री किराती

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अर्थतन्त्रको जग उठाउन लघु, घरेलु तथा साना उद्योगका उत्पादन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने बताउनुभएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासङ्घको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा उहाँले पर्यटन पनि उद्योग नै भएको भन्दै पर्यटन र साना उद्योगलाई जोडेर प्रचारप्रसार गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

पर्यटन उद्योग विस्तारै लयमा फर्किएको उल्लेख गर्दै उहाँले पर्यटन उद्योग प्रवद्र्धनका लागि विकास, विस्तार र विविधिकरणका साथै घरेलु उद्योगलाई जोडेर लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । महासङ्घले नेपाल सरकारसँगको सहकार्यमा आगामी मङ्सिरमा गर्ने ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ लाई मन्त्रालयको तर्फबाट सहकार्यका लागि सकारात्मक सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा महासङ्घको प्रतिनिधिमण्डलले नेपाल प्रवद्र्धन कार्यक्रमको कार्यान्वयनको मोडालिटीबारे छलफल पनि गरेको थियो । महासङ्घले हरेक वर्ष आयोजना गर्ने गरेको औद्योगिक प्रदर्शनीको आगामी शृङ्खला ‘नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा घरेलुु उद्योग महोत्सव– २०८०’ यस वर्ष ‘सगरमाथा राष्ट्रिय सम्मान तथा नेपाल प्रवद्र्धन कार्यक्रम–२०८०’ को नामबाट नेपाल सरकारसँगको सहकार्यमा आयोजना गर्ने भएको छ ।

मन्त्रिपरिषद् बैठक : मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय

काठमाडौँ-सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले १७ वर्षदेखि जिउँदो सहिदका रूपमा चिनिएका कायस्थलाई सहिदको घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । कायस्थको गत बुधबार ३२ वर्षको उमेरमा निधन भएको थियो ।

आन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते मुकेशको कञ्चटमा गोली लागेको थियो । सरकारले मुकेशको उपचार खर्च, रु १५ हजार मासिक भत्ता, एक सुसारेका लागि रु छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो ।

त्यसैगरी आजको मन्त्रिपरिषद्ले सिँचाइ मन्त्रालयको प्रस्तावमा नयाँ बुटवल–लमही ४०० केबी प्रसारण लाइनअन्तर्गत मोतीपुर सवस्टेशनको लागि वाणगङ्गा नगरपालिकामा १५ बिघा जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउनको निम्ति अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता शर्माले सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा राष्ट्रिय योजना आयोग सदस्य डा जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई यही जेठ १ देखि ५ गतेसम्म थाइल्याण्डमा हुने स्क्यापको ७९औँ बैठकमा भाग लिन जान स्वीकृति दिने निर्णय भएको पनि जानकारी दिनुभयो ।

जुम्लाको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा टर्मिनल भवन निर्माणको निम्ति करिब एक सय ८३ दशमलव ८० रोपनी जग्गा प्राप्त गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृत प्रदान गर्ने सरकारको निर्णय छ ।

जेठ ७ देखि १६ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजित वल्र्ड हेल्थ सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्रीलाई स्वीकृति दिने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । पत्रकारको प्रश्नमा मन्त्री शर्माले भन्नुभयो, “नागरिकताको विषय सरकारको हतारको विषयभन्दा पनि आमनागरिक र जनताको विषय हो, आजसम्म नागरिकता नपाउँदा कयौँ समस्या पैदा भएको छ, मानिसको जीवनसँग जोडिएका विषयलाई सरकारले छिटोभन्दा छिटो टुङ्गाउने पक्षमा छ ।” उहाँले प्रधानमन्त्रीको भारत भ्रमणलाई नागरिकता विधेयकसँग जोडेर नहेर्नसमेत आग्रह गर्नुभयो ।

सङ्खुवासभाको तुम्लिङटारमा ५२ वर्षपछि उड्न थाल्यो ७२ सिट क्षमताको ठूलो जहाज

सङ्खुवासभाको तुम्लिङटार विमानस्थलको धावनमार्गको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको छ । तुम्लिङटार विमानस्थलमा पहिलो पटक बुद्ध एयरको एटीआर ७२ सिटे जहाजले उडान सुरु गरेको छ । तुम्लिङटार विमानस्थलको स्तरोन्नति भएसँगै बुद्ध एयरको एटिआर ७२ सिटको जहाजले मङ्गलबारदेखि दैनिकरूपमा काठमाडौँ–तुम्लिङटार–काठमाडौँ उडान भर्न थालेको नागरिक उड्डयनको कार्यालय तुम्लिङटारले जनाएको छ ।

विसं २०२८ मा स्थापना भएको हिमाली जिल्ला तुम्लिङटार विमानस्थल ५२ वर्षपछि ७२ सिट क्षमताको ठूलो जहाजले उडान भर्न थालेको हो । बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा उडानका लागि परीक्षण उडान गरेको थियो । बुद्ध एयरको ७२ सिटको जहाजले उडान भर्न थालेपछि बिरामी र वृद्धवृद्धाले खुसी व्यक्त गरेका छन् । निजी क्षेत्रको सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटीआर ७२ सिट क्षमताको जहाजले सेवा विस्तार गरेपछि खुसी व्यक्त गरेका हुन् ।

पहाडी भेगका विमानस्थलमध्ये अहिले तुम्लिङटार नियमित र निर्बाध उडान भइरहेको विमानस्थल हो । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भीडभाड हुने गर्दछ । यस विमानस्थलमा यात्रुको चाप बढेपछि ७२ सिटे एटीआर जहाजले सेवा विस्तार बुद्ध एयर तुम्लिङटारका स्टेसन म्यानेजर राम लुइँटेलले बताउनुभयो ।

विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यसअघि जहाजको टिकट पाउन समस्या भएको छ । तुम्लिङटार विमानस्थल धावनमार्गको लम्बाइ एक हजार चार सय २० मिटर लामो रहेको छ । ७२ सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ ।तुम्लिङटार–काठमाडौँको भाडादर रु सात पाँच हजार छ सय ५० भाडा रहेको छ । ठूलो जहाजबाट उडान सुरु भएसँगै भाडादर घट्ने अनुमान गरिएको छ ।
 

गाई खोज्न जङ्गल गएका शेर्पा मृत फेला

काठमाडौँ – ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको लेप्चुङका ५५ वर्षीय लाक्पाडन्डु शेर्पा मृतावस्थामा फेला परेका छन् ।

आइतबार चरनमा निस्किएका गाई खोज्न जङ्गल गएका शेर्पा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । गाई खोज्न हिँडेका शेर्पा घर नफर्किएपछि आफन्तले प्रहरीलाई खबर गरेको र प्रहरीचौकी लेलेपबाट खटेको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार कानुनी प्रक्रिया पूरा गरी शेर्पाको शव आफन्तलाई जिम्मा लगाइएको छ ।

आठ महिना देखि पाएनन ‘सक्कली भुटानी’ले शरणार्थी परिचयपत्र

झापा, २ जेठ । आठ महिनाभन्दा बढी भइसक्दा पनि नविकरण भएका भुटानीहरुले अझै पनि शरणार्थी परिचयपत्र पाउन सकेका छैनन् ।

नवीकरण भएको लामो समयसम्म पनि सक्कली भुटानी शरणार्थीहरु परिचयपत्र नपाए पछि समस्यामा परेको भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले जनाएको छ ।

साे समितिका कार्यवाहक अध्यक्ष तिलक राईका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुकमा नै तहल्का मच्चाईरहेको बेला सक्कली भुटानीहरुले भने परिचय पत्र अझै नपाएका हुन् । 

त्यसमाथी नक्कली भुटानी शरणार्थी काण्डले वर्षौ‌देखि झापा र मोरङको शिविरमा कष्टकर जीवन बिताइरहेका शरणार्थीलाई गम्भीर असर पुर्‍याएको उनको भनाई छ ।  जसकाकारण पनि भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले सो काण्डका बारेमा स्वतन्त्र एवं निष्पक्ष छानबिनका लागि सरकारसँग औपचारिक रुपमा आग्रहसमेत गरेको छ।

‘हालै गैर भुटानीहरूलाई भुटानी बनाएर पश्चिमा देश खासगरी अमेरिका लैजान ठूलो धनराशीको भ्रष्टाचार मुद्दामा नेपाली नागरिकदेखि उच्च तहका कर्मचारी र पूर्वमन्त्रीहरूसमेत गिरफ्तार भइसकेको घटनाप्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ’ भन्ने उल्लेख गर्दै सो संस्थाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न तथा त्यसमा आवाश्यक सहयोग गर्न संस्था प्रतिबद्ध रहेको समेत जनाएको छ ।

झापा र मोरङमा शिविरहरुमा कष्ठपूर्ण जीवन बिताइरहेका करिब ६ हजार ५ सय हाराहारीका भुटानी शरणार्थीहरुको जीवनयापनका बारेमा संबेदनशिल भईदिन पनि सो समितिले आग्रह गरेको छ । 
 

लुम्बिनी प्रदेशमा २० प्रतिशत कटौती गरेर नयाँ बजेट ल्याउने तयारी

तुलसीपुर- लुम्बिनी प्रदेशमा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि २० प्रतिशत कटौती गरेर बजेट ल्याउने तयारी गरिएको छ । आर्थिक मामिला मन्त्रालयका प्रवक्ता सुरेन्द्र पाण्डेका अनुसार २० प्रतिशत बजेट कटौती गरेर आगामी वर्षको बजेट ल्याउने गरी छलफल अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “राजस्व परामर्श समितिले प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पु¥याएको छ, स्रोत अनुगमन समितिको बैठक बसेर गएको वर्षको बजेटको ८० प्रतिशतमात्रै बजेट ल्याउने गरी मन्त्रालयलाई मार्गदर्शन गरिएको छ ।”

अहिले प्रि–बजेटमा छलफल चलिरहेको भन्दै बजेट सीमा निर्धारण अन्तिम चरणमा पुगेको प्रदेश योजना आयोगका प्रमुख प्रशासकीय अधिकृत पोषणराज भण्डारीले बताउनुभयो । “अहिले प्रि–बजेट छलफल चलिरहेको छ । बजेटको सीमा निर्धारणको अन्तिम चरणमा पुगेको छ”, उहाँले भन्नुभयो, “बजेटका मार्गनिर्देशन वितरण भएको छ ।”

गत वर्ष रु ४२ अर्ब ६३ करोड ५७ लाख बजेट आएको थियो । तर यस वर्ष सोही बजेटको २० प्रतिशत कटौती गर्ने गरी प्रि–बजेटमा छलफल भइरहेको उहाँको भनाइ छ । विगतको बजेटमा २० प्रतिशत कटौती भएमा रु ३४ अर्ब १० करोडको हाराहारीमा बजेट आउने छ ।

यस वर्ष नयाँ योजना थप्नेभन्दा पनि विगतका ठूला योजनालाई पूरा गर्नेतर्फ बजेट केन्द्रित हुने उहाँले बताउनुभयो । विगतका जस्ता साना योजना कटौती हुने छन् । समृद्धि, रोजगारी र गरिबी निवारण नै मुख्यमन्त्रीको प्राथमिकता रहेकाले यसकै सेरोफेरोमा बजेट आउने सम्भावना रहेको उहाँले बताउनुभयो । तर त्यो कुरा नीति तथा कार्यक्रमपछि मात्रै थाहा हुने बताउनभुयो । राष्ट्रिय लक्ष्य पनि आर्थिक समृद्धि र रोजगारी नै भएकाले यसतर्फ बढी केन्द्रित हुनसक्ने उहाँको भनाइ थियो ।

भीआईपी अभियुक्तहरुकाे कस्तो छ ‘हिरासत’ बसाई ?

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई सघाएको आरोप लागेका तीन जना पूर्वभीआईपी हाल प्रहरी अनुसन्धानका लागि हिरासतमा छन् । प्रहरीले नक्कली शरणार्थी प्रकरणमा नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री टोबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र सरकारका वर्तमान सचिव तथा पूर्व गृह सचिव टेकनारायण पाण्डेलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा संलग्न भनिएका अन्य १० जनासमेत अनुसन्धानकै क्रममा हिरासतमा छन् ।

सामान्यतया प्रहरीले पक्राउ गरेका अभियुक्तलाई थुनामा राख्ने स्थान फरक भए पनि निर्धारित ठाउँ एकै हुने गर्छ । तर, नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका भीआईपी अभियुक्तलाई भने प्रहरीले बसोबासका लागि अन्य अभियुक्त राख्नेभन्दा अलग्गै व्यवस्थापन गरेको छ ।

प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका निलम्बित सचिव रायमाझीलाई प्रहरी वृत्त सोह्रखट्टेमा हिरासतमा राखेको छ । प्रहरी स्रोतका अनुसार रायमाझीलाई वृत्तका प्रहरी निरीक्षक (इन्सपेक्टर) बस्ने कोठामा राखिएको छ । उनलाई खानासमेत त्यही प्रबन्ध गरिएको छ ।

‘रायमाझीलाई इन्सपेक्टर बस्ने कोठामा बस्ने व्यवस्था गरिएको छ, अरूसँगै राखेका छैनौं, सुरक्षाको कुरासमेत हुन्छ,’ प्रहरी स्रोतले भन्यो । यसैगरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री खाँणलाई प्रहरी परिसर काठमाडौंमा हिरासतमा राखिँदै आइएको छ । उनलाई डीएसपी भरतबहादुर शाहको कार्यकक्षमा राखिएको छ ।

‘खाँणलाई डीएसपी शाहको कार्यकक्षमा खाट राखेर सुत्ने व्यवस्था गरिएको छ,’ उनी त्यही बस्छन्, कहिले घरबाट ल्याइदिएको खाना खान्छन्, ‘कहिले त्यही खान्छन्, प्रायः घरकै खाना हुन्छ, मोबाइल चलाउन पाउँदैनन्,’ परिसरका एक प्रहरीले खाँणको व्यवस्थापन जानकारी दिँदै भने ।

खाँणको रेखदेखका लागि कोठाबाहिर प्रहरी जवान बस्ने गरेका छन् । उनीहरू आलोपालो ड्युटीअनुसार फेरबदल हुन्छन् । रेखदेखका लागि खटिएका प्रहरीले बेलाबखत खाँणको अवस्था हेर्छन् । उनीसँग भेट गर्न आउनेहरूले एक्लै भेट्न पाउँदैनन्, भेटमा प्रहरीसमेतसँगै हुन्छन् । खाँणले जुनियर प्रहरी अधिकृतले प्रयोग गर्ने शौचालय नै प्रयोग गर्छन् ।

यसैगरी, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव पाण्डे भने सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । उनलाई सो वृत्तका तीन जना इन्सपेक्टर बस्ने कोठामा हिरासतमा राखिएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका राना

स्याङ्जा- स्याङ्जाको गल्याङ नगरपालिका–५ रुपाखानीका चन्द्रबहादुर राना ‘चित्र’ले सयपत्री फूलको व्यावसायिक खेतीबाट मनग्ये आम्दानी गर्नुभएको छ । गल्याङमा सयपत्री फूलखेती गर्ने एक्लो कृषकको पहिचान बनाउनुभएका उहाँ तीन वर्षदेखि यो पेसामा आबद्ध हुनुहुन्छ । अत्यधिक माग हुन थालेपछि उहाँले व्यावसायिकरूपमा सयपत्री फूलको खेती गर्दै आउनुभएको हो ।

रानाले स्याङ्जासहित पाल्पा, पर्वत, कास्कीलगायतका जिल्लामा वार्षिकरूपमा रु दुई लाख बराबरको सयपत्री फूल निर्यात हुने गरेको जानकारी दिनुभयो । “सिजनमा मासिक रु २० देखि ३० हजार बराबरको फूल तथा माला बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “अफसिजनमा पनि विभिन्न सङ्घसंस्थाको कार्यक्रम, पूजाआजाका लागि मासिक रु १५ देखि २० हजारको फूल तथा माला बिक्री हुने गरेको छ ।”

सुरुमा आफ्नै घर रुपाखानीमा फूलखेती गर्नुभएका उहाँले कारोबार राम्रो भएपछि दुई वर्षयता गल्याङ नगरपालिका–३ छर्तिमा १२ रोपनी जग्गा भाडामा लिएर सयपत्री फूलको खेती गर्नुभएको छ । सयपत्री फूलको बजार राम्रो पाएपछि हौसिनुभएका रानाको दिनचर्या बिहान ५ बजेदेखि साँझ आँखा देखुन्जेल फूलबारीमै बित्छ ।

परम्परागतरूपमा खेती गर्दै आए पनि व्यावसायिक र बेमौसमीरूपमा सयपत्री फूलखेती नगरेको उहाँले सामाजिक सञ्जाल र कृषि विज्ञको सल्लाहमा काम गर्न सिकेको बताउनुभयो । रुपाखानीमा खेती गर्दा परिवारको साथ पाउनुभएका उहाँले छर्तिमा भने एक्लै काम गर्नुहुन्छ ।

“कहिलेकाहीँ काम धेरै भएका बेला ज्यालामा पनि खेतला लगाउने गरेको छु”, उहाँले भन्नुभयो, “एक्लै भए पनि काम गर्न आनन्द लाग्छ, ढकमक्क फुलेका फूलको सुगन्धले एक्लोपनको आभास नै गराउँदैन ।”

रानाले विवाह, पूजा, विभिन्न सङ्घसंस्थाको औपचारिक तथा अनौपचारिक कार्यक्रममा उत्पादन गरेको सयपत्री फूलको माला खपत हुने गरेको बताउनुभयो । उहाँले अन्य जिल्लाबाट गल्याङमा सयपत्री फूल निर्यात हुने गरेको भन्दै त्यसलाई निरुत्साहित गर्न व्यासायिक फूलखेती सुरु गरेको बताउनुभयो ।

“गल्याङ नगरपालिकाका विभिन्न स्थानमा बाँदरले कृषकलाई आतङ्कित बनाएको छ”, उहाँले थप्नुभयो, “फलफूल, तरकारी खेती पनि गरेँ तर बाँदरले रहन दिएन, बाँदरले नबिगार्ने भएपछि सयपत्री फूलखेतीतर्फ आकर्षित भएको हुँ ।”

उहाँले आफ्नो खेतमा उत्पादित फूलले बजारको माग पूरा गर्न नसकेको बताउनुभयो । गल्याङमा कृषक फूलखेतीतर्फ आकर्षित नभएकाले बजारीकरणमा समस्या नभएको दाबी गर्नुभयो । उहाँले गल्याङमा सयपत्री राम्रो उत्पादन हुने भन्दै हब नै बनाएर अन्यन्त्र जिल्लामा निर्यात गर्न सकिने जानकारी दिनुभयो ।

“व्यवसायलाई विस्तार गर्ने योजना बनाएको छु, अहिलेसम्म कुनै पनि निकायले अनुदान दिएका छैनन्, बैंकमा ऋण खोज्दा नपाउने स्थिति छ । उहाँले दुःखेसो पोख्नुभयो, “प्रशस्त बजार भएर पनि लगानी अभावमा व्यवसाय विस्तार गर्न सकेको छैन ।”

गल्याङ नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले चन्द्रबहादुर राना गल्याङका एकमात्र सयपत्रीको व्यावसायिक फूलखेती गर्ने कृषक भएकाले प्राविधिक सहयोगका साथै उपयुक्त सल्लाह दिने गरेको बताउनुभयो । यस्तै गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले रानाको गल्याङमा सफल कृषकको पहिचान भएकाले नगरपालिकाले अनुदानलगायतका कार्यक्रम सहयोग गर्ने योजना बनाएको बताउनुभयो । रानाको सयपत्रीको फूलबारीमा सर्वसाधारण फोटो खिच्न र टिकटक बनाउनसमेत पुग्ने गरेका छन् ।

महानगरको कर्मचारीले भ्रष्टचार गरे मेरो माेबाइलमा खबर गर्नुहोस– बालेन शाह

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफु माताहातका कर्मचारीले भ्रष्टचार गरे प्रमाणसहित उजृुरी दिन अपिल गरेका छन् । काठमाडौंका ‘भ्रष्ट कर्मचारी’ बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत गएका मेयर शाहले त्यस्तो टेक्स्ट, अडियो, भिडियोसहितको उजुरी दिनका लागि अलग्गै मोबाइल नम्बर पनि उपलब्ध गराएका छन् । 

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित,’ उनले भनेका छन, ‘कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला ।

उनले अगाडी मोबाईल नम्बर उपलब्ध गराउँदै भनेका छन, ‘हामी लाई 9863592011 मा whatsapp मा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ ।’

नक्कली शरणार्थी प्रकरणः पुर्व मन्त्री खाँणको बयान आज पनि

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणसँग आज पनि बयान लिईने भएको छ ।

गत बिहिवार पक्राउ परे पनि सोमवारवाट मात्रै बिषय केन्द्रित भएर बयान सुरु भएको र सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको हो ।   

सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानका अनुसार हिजोवाट सुरु भएको खाँणको बयान आज पनि जारी रहने छ । ‘मंगलबार पनि उहाँको बयान हुनेछ’ उनले भने ।

सो प्रकरणमा मुछिए पनि खाँणले ‘मोबाइल फरम्याट’ गरेको तथा सो मोबाइलको ‘डाटा रिकभर’ हुनका लागि समय लागे पछि सोमवारवाट मात्रै उनको बयान सुरु गरिएको प्रहरीले जनाएको छ ।

सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको र मन्त्रालयमा नै लगेर १ करोड ४६ लाख रुयैँया दिएको वयान दिए पछि खाँण सो पक्ररणमा तानिएका हुन ।

साथै, तत्कालिन गृह सचिव टेकनारायण पाण्डेले पनि मन्त्रीको संलग्नतामा आफुले काम कारबाही अघि बढाएको बयान दिए पछि खाँणलाई पक्राउ गरी हिरासतमा लिईएको हो ।  

रोमानिया पठाइदिन्छु भनी १८ लाख ठगी गर्ने बागलुङका ३४ वर्षीय विशाल पक्राउ

काठमाडौँ-प्रहरीले रोमानिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोमानिया पठाइदिन्छु भनी रु १८ लाख ठगी गर्ने बागलुङ घर भई हाल काठमाडौँको टोखा बस्ने ३४ वर्षीय विशाल विश्वकर्मालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । विभिन्न व्यक्तिसँग रकम ठगी गरेको उजुरीको आधारमा विश्वकर्मालाई काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरिएको कार्यालयका सूचना अधिकृत रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

विश्वकर्माले आठ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिन्छु भन्दै पीडितबाट प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रकम उठाएर सम्पर्कविहीन भएका थिए । उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

रामेछाप-बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपालका सबै खालका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभएको छ । रामेछापको मन्थलीमा रहेको मन्थली माविको नवनिर्मित तीनवटा भवनको उद्घाटन गर्ने क्रममा उहाँले उक्त छानबिनका लागि कुनै पनि दल बाधक बन्न नहुने बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले मुलुकमा प्रहरी प्रशासन भएको अनुभूति बल्ल नागरिकलाई हुन लागेको भन्दै भ्रष्टाचार गर्ने जुनसुकै दलको भए पनि कानूनी दायरामा आउने बताउनुभयो । उहाँले वर्तमान शिक्षा प्रणालीको पाठ्यक्रमलाई परिमार्जन गरी व्यावसायिक र व्यावहारिक शिक्षा बनाउनुपर्ने बताउनुभयो ।

सो अवसरमा उहाँले यसअघि शैक्षिक सत्र सुरु भएको महिनाँै बित्दा पनि पाठ्यपुस्तक नपाइने अवस्थालाई अन्त्य गरी यस शैक्षिक सत्रबाट शैक्षिक सत्र सुरु नहँुदै जिल्ला जिल्लामा सरकारी पाठ्यपुस्तक पुगेको हुँदा यो वर्ष विद्यार्थीहरूलाई पठनपाठनमा सुविधा पुगेको बताउनुभयो ।

एसियाली विकास बैंकको सहयोगमा यस नमूना माविको नवनिर्मित तीनवटा भवनमा ३६ वटा कोठा रहेका छन् । खानी निर्माण सेवाले रु १५ करोड ८६ लाख ४७ हजार पाँच सय ५३ को लागतमा ती भवन निर्माण गरेको हो ।

आज कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं, २ जेठ । हाल देशमा  पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र  बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने  क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन : रास्वपा

काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न नहुने बताएको छ । रास्वपाका प्रवक्ता एवम् महामन्त्री डा मुकुल ढकालले सोमबार विज्ञप्ति जारी गर्दै भूटानी शरणार्थी प्रकरणका आरोपितको राहदानी जफत गरी दोषीलाई कारबाही र पीडकलाई क्षतिपूर्ति दिलाउन सरकारसँग माग गर्नुभएको छ । उक्त प्रकरण सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको रास्वपाले जनाएको छ ।

“यो घटनाले विश्वसामु स्वाभिमानी नेपालीको शिर झुकाएको छ, यस प्रकरणमा संलग्न जोसुकै भए पनि कुनै पनि हालतमा छाड्न हुँदैन, उक्त घटनाका सम्बन्धमा हालसम्म सरकार र नेपाल प्रहरीले उठाएका कदमप्रति हाम्रो साथ, समर्थन छ”, विज्ञप्तिमा भनिएको छ । रास्वपाले उक्त घटना भ्रष्टाचारको मुद्दामात्र नभई एक सङ्गठित ठगी र राज्यविरुद्ध अपराध भएको जनाएको छ ।

भूटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय समुदायमा नेपाल र नेपालीको छविमा आँच पु¥याएको भन्दै उक्त प्रकरणका बहुआयामिक पक्षलाई केलाएर अनुसन्धानलाई सोही ढङ्गले अगाडि बढाउन रास्वपाले सरकारसँग माग गरेको छ ।

भक्तपुर आगलागी: दुई करोड २९ लाखको क्षति

आइतवार साँझ यहाँ भएको आगलागीमा दुई करोड २९ लाख बराबरको सामान जलेर नष्ट भएका छन् । सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित ३७ वर्षीय बिजेन चौगुठीले सञ्चालन गरेको न्यू दाजुभाइ फर्निचर ट्रेडर्स, फर्निचर सञ्चालक बिजेनको साढे तीनतले घर र सँगै रहेको पुष्प शिल्पकारको कृपालु फर्निचर कारखाना आगलागी भएको थियो ।

प्रहरी परिसर भक्तपुरले दुई फर्निचर र एक घरमा भएको आगलागीको सोमबार दिनभर लगाएर घटनाको मुचुल्का गरी क्षति विवरण सङ्कलन गर्दै क्षतिको मूल्याङ्कन गरी साँझ क्षति विवरण सार्वजनिक गरेको हो ।

न्यू दाजुभाइ फर्निचर ट्रेडर्समा सुरुमा आइतवार साँझ सवा ७ बजे अचानक आगलागी सुरु भएर त्यहीँ आगो फैलिँदै घर र सँगैको कृपालु फर्निचरमा समेत आगलागी हुँदा मानवीय क्षति नभए पनि तयारी फर्निचर, कच्चापदार्थ, मेसिन, केमिकल, कार, घर, नगद तथा जिन्सी लगायतका सामान जलेर नष्ट हुँदा दुई करोड २९ लाख बराबरको क्षति भएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिनुभयो ।

आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, दमकल र स्थानीयवासीको सहयोगमा राति १० बजेर ३० मिनेटमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको उहाँले बताउनुभयो ।

एमाले सबै प्रकारका भ्रष्टाचार छानबिन गर्न तयार : महासचिव पोखरेल

काठमाडौँ-नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले नक्कली भूटानी शरणार्थी प्रकरण राष्ट्रमाथिको घात रहेको बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले शरणार्थी प्रकरण ठगी मात्र नभएर राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अपमान भएको बताउनुभयो ।

“नेपाल राष्ट्र आफैँ मानव तस्करीका लागि काम गर्दछ भन्ने जुन प्रकारको सन्देश गएको छ, त्यो राष्ट्रका लागि लज्जाको विषय भएको छ,” उहाँले भन्नुभयो ।बदमासी एउटाले गर्ने सङ्केत अर्कोतिर देखाउने काम भइरहेको भन्दै उहाँले अपराधमा जो–जो संलग्न रहेका छन्, तिनीहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने धारणा राख्नुभयो ।

शरणार्थी प्रकरणसम्बन्धी घटनामाथि भइरहेको छानबिनलाई राजनीति नगर्नसमेत महासचिव पोखरेलले आग्रह गर्नुभयो । उहाँले मुलुकलाई सुशासनतर्फ लैजानका लागि सबै प्रकारका भ्रष्टाचारको छानबिन हुनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले एमाले सबै प्रकारका भ्रष्टाचारका घटनाको छानबिन गर्न तयार रहेको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । सुशासन, स्वतन्त्रता, स्वाभिमान र सामाजिक सुरक्षाको नेतृत्व गर्ने एमालेलाई कमजोर पार्नका लागि एमालेमाथि चौतर्फी आक्रमणको प्रयास भइरहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले युवा सङ्घ नयाँ युवाको बीचमा गई सङ्गठन विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी निर्वाचनमा एमालेलाई बहुमतमा ल्याउन अभियान चलाउनुपर्ने भन्दै युवामा रहेको ऊर्जालाई एमालेले मर्न नदिने बताउनुभयो ।युवा सङ्घका अध्यक्ष क्षितिज थेवेले युवा लक्षित कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
 

डोल्पाका पाटनमा पाइने यार्सागुम्बा सङ्कलन सबैका लागि खुला

जाजरकोट-डोल्पाका पाटनमा पाइने यार्सागुम्बा सबैका लागि खुला गरिएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्रका साथै सामुदायिक वन समूहले यार्सागुम्बा खुला गरेका हुन् ।
तीन दर्जन पाटनमा यहाँ यार्सागुम्बा पाइने गर्दछ । यार्सागुम्बा सङ्कलन गर्न जुम्ला, जाजरकोट, रुकुमपश्चिम र मुगुका सर्वसाधारणहरू आउने गर्छन् । यार्सा सङ्कलन गर्न पाटनमा प्रवेश गरेबापत निश्चित शुल्कसमेत तोकिएको छ । जेठ १ गतेदेखि सुरु भएर असार १ गतेसम्म मात्र पाटनमा यार्सागुम्बा सङ्कलन गर्न दिने निकुञ्जले जनाएको छ । यार्सागुम्बा सङ्कलनकर्तालाई पाटन क्षेत्रमा प्रवेश गर्दा फोहोर नगर्नसमेत निर्देशन दिइएको छ ।

डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा अवस्थित सुरक्षा निकायका प्रमुख, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका पदाधिकारी, डिभिजन वन कार्यालयको सहभागिता भएको बैठकले प्रवेश शुल्क निर्धारण गरेको हो । 

कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुलारूपमा सङ्कलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो । यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्लाबाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क तोकिएको छ । 

यार्सा पाटनमा यार्सा सङ्कलन गर्न जाँदा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाले रु पाँच सय, निकुञ्ज जिल्लाभित्रका बासिन्दाले रु दुई हजार र जिल्लाबाहिरबाट यार्सा सङ्कलन गर्न आउनेले रु तीन हजारका दरले प्रवेश शुल्कबापत तिर्नुपर्नेछ ।

यार्सागुम्बा सङ्कलनकर्ताका लागि सुलिगार्ड, धो, साल्दाङ, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलिगार्ड डोल्पाले जनाएको छ । 

यस्तै, डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिनेछ । डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेका दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनमा सर्वसाधारणको भीड हुने र आपराधिक गतिविधि हुनसक्ने भएकाले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्न श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा सुरक्षा परिचालन गरिनेछ ।

यार्सा सङ्कलनको अवधिमा यार्सा सङ्कलनबाहेक अन्य गैरकानूनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, हिमाली राष्ट्रिय निकुञ्ज नियामावली, २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ । 

यस्तै, यार्सागुम्बा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविर, पाटनमा हुने फोहोरमैला व्यवस्थापनका लागि यार्सागुम्बा सङ्कलनकर्तालाई नाकामा अभिमुखीकरण गरिने जनाइएको छ ।

कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग प्रधानमन्त्री दाहालको छलफल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफलमा उहाँले मुलुकको पछिल्लो राजनीतिक अवस्था, आर्थिक परिदृश्य र विदेश नीतिका बारेमा कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनदेखि सङ्घीय संसद्को निर्वाचन हुँदै पछिल्लो पटक सम्पन्न उपनिर्वाचनसम्मको घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउनुभएको थियो । सङ्घीय संसद्को निर्वाचनको परिणाम गठबन्धन सरकारको पक्षमा देखिएकाले सोहीअनुसार वर्तमान सरकार गठन भएको प्रधानमन्त्रीको भनाइ छ ।

निर्वाचनमा जनताले दिएको मतअनुसार नै गठबन्धन गरेर सरकार गठन गरेको र समावेशी लोकतान्त्रिक अभ्यास गरिहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले भन्नुभयो, “सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचन छ महिनाको अवधिमा सम्पन्न भएको छ । लोकतान्त्रिक प्रक्रियामा जनताको विश्वास बढाउन ती कोसेढुङ्गा साबित भएका छन् । निर्वाचनपछि तीनै तहका सरकार बनेका छन् । संविधानमा व्यवस्था भएबमोजिम निर्वाचनमार्फत स्थानीय सरकार, प्रदेश र सङ्घीय संसद्मा महिला, युवा र विभिन्न पिछडिएका समुदायको अधिकार सुनिश्चित गरिएको छ ।”

वर्तमान सरकार गठनसँगै मुलुकले प्राप्त गरेको लोकतान्त्रिक उपलब्धिलाई सुदृढ गर्ने र सामाजिक–आर्थिक रूपान्तरणका लागि प्रयास गर्ने सङ्कल्पलाई पुनः नवीकरण गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले लोकतान्त्रिक संस्थाको सुदृढीकरण र सशक्तिकरण शान्तिपूर्ण, समृद्ध र समावेशी समाजको निर्माण तथा समृद्धिका लक्ष्य हासिल गर्नु वर्तमान सरकारको मुख्य कार्यादेश भएको बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रममा स्पष्टसँग काम कारबाहीका बारेमा उल्लेख गरिएको र त्यसलाई कार्यान्वयन गर्न लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले आफूहरूको प्रयास सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नेतर्फ केन्द्रित रहेको तथा सबै प्रकारका भेदभावको अन्त्य गरी न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न प्रयासरत रहेको बताउनुभयो ।

उहाँले लोकतन्त्रलाई बलियो र संस्थागत गर्दै देशको विकास समृद्धिमा जोड दिने काम सरकारले गरिरहेको बताउनुभयो । आर्थिक समृद्धिमा नै वर्तमान सरकारले काम गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

नेपालीकै प्रयासमा शान्तिप्रक्रियालाई करिब सम्पन्न गरेको र बाँकी रहेका कामलाई सत्य निरुपण मेलमिलाप तथा बेपत्ता छानबिन आयोग बनाएर अगाडि बढाइएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्रीले मानवअधिकारको गम्भीर उल्लङ्घनका घटनामा कुनै पनि प्रकारको आममाफी नदिइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले विश्वव्यापी महामारीका रूपमा देखापरेको कोरोनाका कारण आफूहरू पनि अछुतो नरहेको उल्लेख गर्दै त्यसबाट देशको अर्थतन्त्रमा ठूलो असर गरेको र हाल सुधारोन्मुख रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “हामी कोरोना महामारीका कारण आर्थिकरूपमा असहज अवस्थामा पुगेका थियौँ अहिले सुधार गर्दै गइरहेका छौँ । उद्योगी तथा व्यवसायीलाई समस्या परेको थियो । बैंकको ब्याजदर घटाएर केही राहत दिएका छौँ । कृषि, उत्पादन र उद्योगको विस्तारमा जोड दिएका छौँ ।”

प्रत्यक्ष वैदेशिक लगानीका लागि सरकारले सुरक्षित वातावरण बनाउँदै लगेको जानकारी दिँदै प्रधानमन्त्रीले अति कम विकसित मुलुकबाट विकसित मुलुकमा फड्को मार्न प्राथिमकताका आधारमा काम गरिरहेको जानकारी दिनुभयो ।

नेपाल हिमाली मुलुक भएकाले हामी प्रत्यक्षरूपमा जलवायु परिवर्तनको असरमा परेको उल्लेख गर्दै उहाँले त्यसका कारण यहाँको जीवनस्तर उकास्न समस्या पैदा भएको बताउनुभयो ।

जलवायु परिवर्तनले नागरिकको स्वास्थ्यमा समस्या आइरहेको जानकारी दिँदै उहाँले अन्तर्राष्ट्रियस्तरमा पनि त्यसका असरबारे छलफल गर्न चाहेको उल्लेख गर्नुभयो ।

हामीले आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले लगानीको अनुकूल वातावरण सिर्जना गर्ने उपाय अगाडि सारेको, श्रम उत्पादकत्वको लाभ उठाउने, संस्थाहरूलाई सुदृढ गर्ने, नवप्रवर्तनमा लगानी गर्दै अर्थतन्त्रमा संरचनात्मक रूपान्तरण ल्याउनमा जोड दिएको बताउनुभयो ।

स्वदेशी स्रोत परिचालनको क्षमता अभिवृद्धि गर्न राजस्व प्रशासनमा सुधार र आधुनिकीकरण गर्न लागिपरेको, वित्तीय नीतिहरूले असमानता घटाउन र गतिशील अर्थतन्त्रको विकास गर्न मद्दत गर्छ भन्ने कुरा सुनिश्चित गर्न लागिपरेको प्रधानमन्त्रीको भनाइ छ ।

निजी क्षेत्रलाई उत्पादकत्वको वृद्धि तथा उत्पादन बढाउन, रोजगारी सिर्जना गर्न, राजस्व सृजना गर्न र नवप्रवर्तन गर्न प्रोत्साहन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

विशेषगरी स्वच्छ ऊर्जा, पर्यटन र पूर्वाधारका क्षेत्रमा वैदेशिक लगानीलाई प्रोत्साहन गरिएको, लगानीकर्ताको विश्वास अभिवृद्धि गर्न थप कानूनी, नीतिगत र संस्थागत सुधार गर्दै जाने उहाँको प्रतिबद्धता छ ।

“तपाईंहरूमध्ये धेरैजसो नेपालको विकास प्रयासहरूमा लामो समयदेखि साझेदार हुनुहुन्छ र तपाईंको सहयोगले देशको प्रगतिलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेलेको छ”, उहाँले भन्नुभयो ।

दिगो विकास, गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य सेवा र अन्य आधारभूत सेवाहरूमा पहुँच र हामीले गरेको प्रगतिलाई दिगो बनाउनका लागि बाह्य लगानीको आवश्यकता रहेको उहाँको भनाइ छ ।

पेरिस सम्झौताको एउटा पक्षका रूपमा नेपालले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनमा नेट शून्यको परिदृश्यमा पुग्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको जानकारी दिँदै उहाँले जलवायु परिवर्तनले विश्वलाई निम्त्याएको अस्तित्वको खतरालाई ध्यानमा राख्दै अगाडि बढेको बताउनुभयो । उहाँले नेपालले अगाडि सारेका महत्त्वाकाङ्क्षी जलवायु लक्ष्यहरू पूरा गर्न, हामीलाई जलवायु वित्तमा सजिलो र लचिलो पहुँच चाहिनेमा जोड दिनुभयो ।

नेपालको संविधानले हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको पक्षलाई आधारभूत रूपमा निर्देशित गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो परराष्ट्र नीति पञ्चशील, असंलग्नता, संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानून र विश्व शान्तिको मान्यताबाट निर्देशित छ । हामी सार्वभौम समानता, गैरहस्तक्षेप, आपसी सम्मान र लाभका सिद्धान्तमा आधारित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्छौं ।”

राष्ट्रिय हितको संरक्षण र प्रवर्द्धन नेपालको परराष्ट्र नीतिको लक्ष्य रहेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले शान्तिपूर्ण, समावेशी र लोकतान्त्रिक राज्यका रूपमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्ने र आर्थिक कूटनीतिलाई अगाडि बढाउने नै परराष्ट्र नीतिको केन्द्रविन्दु रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वर्तमान सरकार हाम्रा निकट छिमेकी, विकास साझेदार, आप्रवासी कामदारका लागि गन्तव्य मुलुकहरू र अन्य सबै मित्र राष्ट्रहरूसँग न्यानो र सुमधुर सम्बन्ध बनाउन प्रयासरत रहेको छ ।”

प्रधानमन्त्रीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई गति दिन र बिमस्टेकलाई नयाँपनका आधारमा गति दिन प्रयासरत रहेको उल्लेख गर्नुभयो ।

विश्व शान्ति र सुरक्षा, दिगो विकास, मानव अधिकार र जलवायु परिवर्तन जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दामा नेपालको संलग्नता र योगदानलाई थप सुदृढ पार्दै लैजाने सोच राखेको प्रधानमन्त्रीको भनाइ छ । बहुपक्षीयताप्रति नेपालको प्रतिबद्धता सदैव दृढ रहेको तथा संयुक्त राष्ट्रसङ्घको बडापत्रमा उल्लिखित सिद्धान्तप्रति पनि उत्तिकै प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

सो अवसरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा प्रकाशशरण महतलगायतको सहभागिता थियो ।

गढमुक्तेश्वर वन क्षेत्रमा ४० वटा बाँदर मृत अवस्थामा फेला

भारतको उत्तर प्रदेशमा कम्तीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेका छन् । राष्ट्रिय राजधानी नयाँदिल्लीबाट करिब १२१ किलोमिटर पूर्वमा पर्ने हापुड जिल्लाको गढमुक्तेश्वर वन क्षेत्रमा ती मृत बाँदर फेला परेका हुन् ।

वन विभागका अधिकारीले बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गढमुक्तेश्वर क्षेत्रको झाडीमा ४० वटा बाँदर मृत अवस्थामा फेला परेको हामीले थाहा पायौं । हाम्रो टोलीले घटनास्थलमा थुप्रै तरबुजा र गुड़का टुक्रा फेला पारेको छ,” वन विभागका एक अधिकारीले भन्नुभयो ।

“मुख्यतः बाँदरलाई विष खुवाएको हुन सक्ने आशङ्का गरिएको छ, पुष्टि हुन अझै बाँकी छ,” उहाँले भन्नुभयो । प्रहरी टोली पनि घटनास्थलमा पुगेको छ र बाँदरको मृत्युको अनुसन्धानका लागि मुद्दा दर्ता गरिएको छ । “घटनास्थलमा छरिएर रहेका खाद्य वस्तुमा विष मिसाइएको छ कि छैन भनेर पत्ता लगाउन नमूना सङ्कलन गरिएको छ,” उहाँले भन्नुभयो । यसैबीच, वन विभागका अधिकारीले केही शव परीक्षणका लागि बरेलीस्थित भारतीय पशु चिकित्सा अनुसन्धान संस्थानमा पठाएका छन् ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग : मछिन्द्रद्वारा खुमलटार पराजित

काठमाडौँ-शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मछिन्द्र फुटबल क्लबले खुमलटार युथ क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा मछिन्द्रले खुमलटारलाई ३–० गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा ओलावाले अफिजले दुई तथा एन्ड्रिस नियाले एक गोल गरे ।

मछिन्द्रका लागि नियाले खेलको ४२औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यस्तै, अफिजले खेलको ७७औँ मिनेटमा मछिन्द्रको अग्रता दोब्बर बनाए । उनलेनै खेलको ८३औँ मिनेटमा थप गोल गर्दै आफ्नो टोलीको ३–० गोलको स्थितिमा पु¥याए । जितसँगै मछिन्द्रले १८ खेलबाट ३० अङ्क जोडेको छ । मछिन्द्र अङ्क तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलको खुमलटार १७ अङ्कसहित अङ्क तालिकाको पुछारमा छ ।

यसैगरी त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजै भएको अर्को खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लबबीचको खेल १–१ गोलको बराबरी सकियो । हिमालयन शेर्पाका लागि म्यानुअल नानाले खेलको ५०औँ मिनेटमा एक गोल गरे ।

हिमालयन शेर्पाको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ७२औँ मिनेटमा सङ्कटाका आयुश घलानले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पु¥याए । त्यसपछि दुवै टोलीका तर्फबाट थप गोल हुन सकेन । यस खेलसँगै सङ्कटा १८ खेलमा २१ अङ्क जोड्दै अङ्क तालिकाको ११औँ स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा २२ अङ्कसहित नवौँ स्थानमा छ ।

सञ्चो नभएको जनाएपछि पूर्वगृहमन्त्री खाणको बयान रोकियो, रायमाझीसँग बयान लिन सुरु

काठमाडौँ-जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पूर्वगृहमन्त्री बालकृष्ण खाणले आफूलाई सञ्चो नभएको जानकारी गराएपछि नक्कली भूटानी शरणार्थी प्रकरणका विषयमा सुरु गरिएको उहाँसँगको बयान आजका लागि रोकिएको छ ।

खाणसँगको बयान बीचैमा रोकिएपछि कार्यालयले उक्त प्रकरणमा मुछिएर अनुसन्धानका लागि आजै तीन दिनको म्याद थप भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन सुरु गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधीवक्ता अच्युतमणि न्यौपाने भन्नुभयो, “बयान लिँदालिँदै पूर्वमन्त्री खाणले सञ्चो नभएको बताउनुभयो, त्यसपछि उहाँसँगको बयान रोकेर पूर्वउपप्रधानमन्त्री रायमाझीसँग बयान लिन सुरु भएको छ ।”

नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर सङ्गठित ठगीका आरोपीहरूमध्ये ११ जनासँग जिल्ला सरकारी वकिलको कार्यालयले यसअघि नै बयान लिइसकेको छ । कार्यालयले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग बयान लिन बाँकी रहेकोमा आज बिहानदेखि नै खाणसँगको बयान सुरु भएको थियो । तर सञ्चो नभएको बताएपछि उहाँसँगको बयान रोकेर कार्यालयले रायमाझीसँग बयान लिन थालेको हो ।

यसअघि आइतबार खाणका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । उक्त घटनामा अहिलेसम्म खाण रायमाझी, पाण्डे र केसीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पुर्जी जारी भएका तीन आरोपीहरू भने फरार छन् ।

आइतबारअघि पक्राउ परेका १२ जनालाई अनुसन्धानका लागि आइतबार अदालतबाट चार दिनको म्याद प्राप्त भएको थियो । आइतबार पक्राउ परेका रायमाझीको हकमा भने आज तीन दिनको म्याद थप भएको छ । शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाण र उहाँका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए ।

उक्त घटनामा संलग्न रहेको आरोपमा टोपबहादुर रायमाझी र छोरा सन्दीप रायमाझीलाई वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो । त्यस दिन सन्दीप मात्रै पक्राउ परेका थिए । त्यसपछि फरार रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रहरीले आइतबार काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको हो ।

यही वैशाख २६ गते काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । त्यसअघि गत चैतमा उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका थिए । उनीहरूकै बयानका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवको नाम मुछिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका डा राईका छोरा नीरज र शुक्रबार पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक हाल सम्पर्कविहीन छन् ।

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरू विरुद्ध २० वटा जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरेप लगाएका छन् । उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । उक्त घटना विसं २०७६ सालदेखि नै सुरु भएको र २०७७ सालदेखि भने गृहका अधिकारीसहितको मिलेमतोमा सङ्गठित रूपमा ठगी भएको प्रहरीले दावी गरेको छ । लामो समयसम्म शरणार्थी बनेर अमेरिका जान नपाएपछि मात्रै पीडितहरू प्रहरीमा आएका थिए । गत जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पीडितले जाहेरी दिएका थिए ।

तर उक्त घटनाका आरोपीहरू १० महिनापछि गत चैतमा मात्रै पक्राउ परेपछि उनीहरुको बयानका आधारमा घटनामा जोडिएका मन्त्री तथा सरकारी उच्च पदस्थ अधिकारीहरू समेत पक्राउ परेका हुन् । अन्य केही उच्च अधिकारीहरूका विषयमा भने प्रहरीले प्रमाण जुटाउने प्रयास जारी राखेको बताइन्छ ।
–––

बीमा क्षेत्रको प्रभावकारी नियमन आवश्यक : अर्थमन्त्री महत

काठमाडौँ-अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा व्यवसाय क्षेत्रको प्रभावकारी नियमन आवश्यक रहेको बताउनुभएको छ । नेपाल बीमा प्राधिकरणको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा महतले बीमा क्षेत्रको नियामकका रुपमा रहेको प्राधिकरणले आफ्नो व्यावसायिकता पूरा गरे–नगरेको बारे समीक्षा गर्नुपर्ने बताउनुभयो ।

“पुरातन शैलीले नभई अब नवीनतम प्रविधिको प्रयोगमार्फत स्वस्थ, प्रतिस्पर्धी र ग्राहकको सुरक्षालाई ध्यानमा राखी बीमा व्यवसाय चलाउन नियामकको भूमिका बलियो बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।

बीमा व्यवसाय विस्तार गरेर लागत कम गर्नुपर्ने उहाँको भनाइ छ । बीमा कम्पनीको सङ्ख्या धेरै भएकाले यो व्यवसायलाई थप मजबुद र प्रतिस्पर्धी बनाउन मर्जरको नीति लिइनुपर्ने पनि मन्त्री महतले बताउनुभयो । “यति धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु ठीक थिएन । बीमा पोलिसी दिँदा जे जस्ता सेवासुविधा दिने भनेर प्रतिबद्धता जनाएका छन्, त्यो कार्यान्वयन भए÷नभएको बारे नियामकले नियमन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक संस्थानमा चरम राजनीतिक हस्तक्षेप हुँदा व्यावसायिकता खुम्चिँदै गएको अर्थमन्त्री डा महतको भनाइ छ । त्यस्तै, स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षाको दायित्व बढेको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बीमा र वित्तीय क्षेत्रको नियमनका लागि वित्तीय क्षेत्र विकास रणनीतिको प्रभावकारी कार्यान्वयनको आवश्यकता औँलाउनुभयो । प्राधिकरणले नियामकका रुपमा स्वतन्त्र ढङ्गले आफ्नो काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पछिल्लो समय बीमा व्यवसायबारे नागरिकस्तरमा बुझाइ बढ्दै गएको बताउनुभयो । यद्यपि तल्लो तहसम्म र सीमान्तकृत नागरिकलाई समेत समेट्ने गरी बीमा सेवा विस्तार हुन नसकेको उहाँले बताउनुभयो । सरकारले बीमासम्बन्धी नीति परिवर्तन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
 

लडाकु जेट सम्झौतामा द्रुत निर्णय हुनेमा जेलेन्स्की आशावादी

लन्डन-युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सोमबार बेलाइती प्रधानमन्त्री ऋषि सुनकलाई भेटेर पश्चिमी साझेदारहरूबाट लडाकु विमानहरू प्राप्त गर्न द्रुत सम्झौता हुनेमा आफू आशावादी रहेको बताउँनु भएको छ।

जेलेन्स्कीले रूस विरुद्धको युद्धको लागि “जेट गठबन्धन” सृजना गर्ने बारे आफू “धेरै सकारात्मक” रहेको र निर्णय “नजिकै रहौको” तर त्यसका निम्ति केही काम आवश्यक रहेको पनि उहाँले बताउँनु भएको छ ।

म्यानमामा आएको मोचा आँधीका कारण ५ जनाको मृत्यु

याङ्गुन- म्यानमामा आइतबार आएको भीषण चक्रवात मोचाका कारण पाँच जनाको मृत्यु भएको छ । राज्य प्रशासन परिषद्का अध्यक्ष मिन आङ ह्लिङले सोमबार दिनु भएको जानकारी अनुसार आधी शक्तिशाली भए पनि कम क्षति पुगेको र राम्रो प्रतिरोधी व्यवस्थाको तयारी गरिएको बताउँनु भएको छ ।

आँधीबाट मृत्यु हुनेमा शान राज्यको ताचिलेक टाउनसिपका दुई जना, राखिन राज्यको सिट्वे र तौनगुप शहरका एक-एक जना र अय्यारवाडी क्षेत्रको येकी शहरका एक जना रहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार मोचा चक्रवातले ८६४ घर, ११ धार्मिक भवन, १६ गुम्बा, ६४ विद्यालय, १४ अस्पताल, ७ टेलिकम टावर, ७१ ल्याम्पपोस्ट र ३८ विभागीय भवनमा क्षति पुर्याएको छ ।

मोचा प्रभावित क्षेत्र र राज्यहरूमा राखिन, अय्यारवाडी, बागो, याङ्गुन, मगवे, सागाइङ, चिन, मण्डले र नेपी ताव काउन्सिल क्षेत्र लगायत रहेका छन् । मोचा आइतबार पश्चिमी म्यानमारको रखाइन राज्यको सिट्वे नजिकै १३० माइल प्रतिघण्टा (लगभग २०९ किलोमिटर प्रतिघण्टा) को गतिमा आएको र देशका झण्डै ५०० वडा र गाउँहरूमा व्यापक धनजनको क्षति पुर्याएको बताइएको छ । राखिन र चिन राज्यका शहरहरूमा थप हताहती र सम्पत्तिको क्षति बारे अध्ययन अनुसन्धान भइरहेको छ ।

म्यानमाले सोमबार रखाइन राज्यका १७ वटा टाउनशिपलाई प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्र घोषणा गरेको छ । साथै मोचा चक्रवातका कारण दक्षिणपूर्वी एसियाली देशमा सबैभन्दा ठूलो धनजनको क्षति भएको उल्लेख गरिएको छ । सोमबार दिउँसो म्यानमाको मौसम निकायले जनाएअनासर अनुसार मोचा चक्रवात चीनमा न्यून चापीय अवसादमा परिणत भएको छ।

कांग्रेसका पूर्वसांसद शेर्पाले पनि प्रहरीसमक्ष गरे आत्मसमर्पण

काठमाडौं, १ जेठ-नेपाली कांग्रेसका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन् ।

पक्राउ पुर्जी जारी हुनुअघि देखिनै फरार रहेका शेर्पाले आज प्रहरीसमक्ष आफैंले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ ।

उनीविरुद्ध गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो । शेर्पा २०७० सालमा रामेछापबाट संविधान सभा सदस्य बनेका थिए ।

चट्याङबाट घाइते यार्सागुम्बा सङ्कलक तीन दिनदेखि हिमाली भेगमै अलपत्र

खलङ्गा-चट्याङ लागेर घाइते भएका दार्चुलाका तीन यार्सागुम्बा सङ्कलकको उद्धार हुन सकेको छैन । उनीहरु तीन दिनदेखि हिमाली भेगमै उद्धारको पर्खाइमा छन् । तीन दिनपछि घाइतेको हेलिकप्टरबाट उद्धारको प्रयास गरिए पनि सफल हुन सकेको छैन । खराब मौसमका कारण दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चट्याङ लागेर भएकाको उद्धार हुन सकेको छैन । घाइतेको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गामै थन्किएको छ ।

उद्धारका लागि साँझ ४ बजे हेलिकप्टर खलङ्गा आइपुगे पनि मौसममा खराबी आएपछि घाइते रहेको स्थानमा जान नसकेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो । “मौसम अनुकूल नभएका कारण आज घाइतेको उद्धार हुन सकेन्”, उहाँले भन्नुभयो–“मौसममा सुधार आए मङ्गलबार बिहानै घाइतेको उद्धारमा लाग्छौँ ।”

घाइतेलाई हुमदुम्तीबाट मलकोटसम्म ल्याइपु¥याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

शनिबार साँझ चट्याङ लागेर ब्यास गाउँपालिकाको हुमदुम्तीमा तीन यार्सागुम्बा सङ्कलक घाइते भएका थिए । चट्याङ लागेर दुहुँ गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, सोही गाउँपालिका–१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा घाइते भएका थिए । उनीहरु गाउँलेसँगै यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेग उक्लेका थिए । दार्चुलको हिमाली भेगमा जेठदेखि असार अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गरिन्छ ।
–––

दशगजा खाली गराउन नेपाल–भारतका सीमावर्ती प्रशासकहरू सहमत

झापा- भारतसँग सीमा जोडिएको झापा र मोरङ जिल्लाको दशगजा क्षेत्रलाई खाली गराउन र ढलेका सीमास्तम्भहरू मर्मतसम्भार गर्न दुवै देशका सीमावर्ती जिल्लाका प्रशासकहरू सहमत भएका छन् ।नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बिडिसिसी)को आज भारतको किसनगञ्जमा सम्पन्न बैठकमा दशगजा क्षेत्रमा रहेका खेतीपाती र घरटहरा हटाउने सहमति भएको हो ।

बैठकमा नेपाली टोलीको नेतृत्व मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र भारतीय टोलीको नेतृत्व विहार प्रान्तको किसनगञ्ज जिल्लाका मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्नुभएको थियो ।

बैठकपश्चात् जानकारी दिँदै किसनगञ्जका जिल्ला मजिस्ट्रेट शास्त्रीले दुवै देशको सीमाको दशगजा क्षेत्र अतिक्रमणमुक्त गराउने विषयमा सहमति भएको बताउनुभयो । उहाँले नदीले बगाएका, पुरेका र हराएका सीमास्तम्भहरूको खोजी गरी यथास्थानमा पुनःस्थापना गर्नेसमेत सहमति भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दशगजा क्षेत्र खाली गराउने र क्षतिग्रस्त सीमा स्तम्भहरूको मर्मत गर्न हामी दुवै देशका जिल्ला प्रशासकहरु सहमत भयौँ ।”

यसैगरी, बैठकमा नेपाली टोलीको नेतृत्व गर्नुहुने मोरङका प्रमुख जिल्ला अधिकारी यादवले दुवै देशका सीमा क्षेत्रका अधिकारीबीच १४ वटा विषयमा सौहार्दरूपमा छलफल भएको बताउनुभयो । उहाँले हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव तस्करी, चोरी निकासीलगायतका महत्त्वपूर्ण विषयमा नियन्त्रणका लागि भारतीय पक्षलाई नेपालका तर्फबाट आग्रह गरिएको जानकारी दिनुभयो ।

“सीमा क्षेत्रमा भइरहेका समस्याका बारेमा हामीले भारतीय पक्षको ध्यानाकर्षण गरायौँ”, प्रजिअ यादवले बैठकका विषयमा भन्नुभयो, “हात्ती आतङ्क, लागूऔषधको कारोबार, मानव बेचबिखन, चोरी निकासी जस्ता आपराधिक घटना नियन्त्रणमा सहकार्य गर्न उहाँहरू सहमत हुनुभयो ।”

बैठकमा भारतीय पक्षबाट सीमा क्षेत्रमा हुनसक्ने आतङ्ककारी गतिविधि, हतियार तस्करी, नक्कली नोट, मदिरा र गाईवस्तु तस्करीलगायतका समस्याको समाधानका लागि नेपाली पक्षको ध्यानाकर्षण गराइएको थियो । सीमा क्षेत्रमा सवारी साधनको नियमित चेकजाँच, अपराधी पक्राउका लागि सूचनाको आदानप्रदान गर्ने विषयमा समेत बैठकमा छलफल भएको झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताउनुभयो ।

सशस्त्र सीमा बल (एसएसबी)को १९औँ बटालियनको ठाकुरगञ्जस्थित कार्यालयमा उक्त बैठक भएको थियो । बैठकमा नेपाली पक्षबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपाल, मोरङका सहायक प्रजिअ शरदकुमार पोखरेल, सशस्त्र प्रहरी बलको २ नं गणका गणपति देवराज अर्याल, झापाका प्रहरी उपरीक्षक रेग्मी, मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेललगायतको सहभागिता रहेको थियो ।

भारतीय पक्षबाट बैठकमा किसनगञ्जका सहायक डिस्ट्रिक्ट मेजिस्ट्रेट एके गुप्ता, एसएसबीको ४१औँ बटालियन कमान्डर एससी नागी, १९औँ बटालियन कमान्डर मधुकर अमिताभ, अररियाका वन विभागका अधिकारी नरेश प्रसादलगायतको सहभागिता रहेको थियो ।भारतसँग झापाको एक सय १८ किलोमिटर र मोरङको ५३ किलोमिटर सीमा क्षेत्र रहेको छ ।

पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने ३६ वर्षीय देवराज पक्राउ

विराटनगर- मोरङमा पासवर्ड ह्याक गरेर बैंकबाट रकम झिक्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैचा नगरपालिका बिराट चोकस्थित दुईवटा बैंकबाट पासवर्ड ह्याक गरेर रकम निकाल्ने स्थानीय ३६ वर्षीय देवराज सिग्देल आज पक्राउ परेका हुन् ।

सिग्देलले आरए भिजन एकाउण्ट सोलुसन प्रालिका एकाउण्टेण्ट रमेश आचार्यको नबिल बैंकमा रहेको खाताबाट विभिन्न समयमा रु २८ हजार तथा आचार्यका काका ओमनाथ आचार्यको माछापुच्«छ्रे बैंकमा रहेको खाताबाट विभिन्न मितिमा रु ६६ हजार निकालेको उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।

आजदेखि काठमाडौँ महानगरपालिकामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आजदेखि भवन नक्सा स्वीकृति प्रक्रिया अनलाइन प्रणालीबाट सुरु गरेको छ । यसअघि नक्सा स्वीकृति फाराम भर्नका लागि कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने अवस्था थियो । नागरिकलाई सहज बनाउनकै लागि विगत गरिँदै आएको शैली बन्द गरी अनलाइन प्रणालीबाट उक्त सेवा आजदेखि सुरु गरिएको कामपाका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

उक्त कार्यका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) प्रणाली अद्यावधिक गरिएको छ । यो प्रणाली भवन नक्सा पास गर्ने कामलाई व्यवस्थित बनाउने अनलाइन प्रणाली हो । उक्त प्रणालीबाट नै नक्सा स्वीकृति हुने कामपाले जानकारी दिएको छ । नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाणपत्र लिँदा यसअघि अनलाइनमा राखिएका कागजपत्रको फाइल बोकेर जानुपर्ने अवस्था रहेको थियो ।

विसं २०७० भदौ १६ गतेदेखि कामपाले कागज पनि हुनुपर्ने गरी अनलाइन प्रणाली सञ्चालन थालेको थियो । फाइलमा भएका कागज र प्रणाली भिडाएर प्रक्रिया अगाडि बढाइन्थ्यो । अनलाइन प्रणालीलाई विकास गर्दै विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्कासम्बन्धी उजुरीसहितको बनाएपछि काजगरहित सेवामा रूपान्तरण गरिएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो । यो प्रणालीजस्तै सेवाग्राहीको हातहातमै सेवा दिने, जहाँबाट पनि सेवा लिन सकिने एकीकृत विद्युतीय सुशासन प्रणालीको व्यवस्था गरिएको कामपाको भनाइ छ ।

सहज, सरल र पहुँचयुक्त सेवाका लागि सेवा प्रवाहसँगै कर प्रणाली, आकस्मिक सेवा, विभिन्न प्रकारका सिफारिस लिनेजस्ता महत्त्वपूर्ण काम इन्टरनेट भएको मोबाइल र कम्प्युटरमा प्राप्त हुने बताइएको छ । भवनको नक्सा पास प्रक्रियालाई सरल, सहज र पारदर्शी बनाउन विद्युतीय भवन अनुमति प्रणाली (इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम–इबिपिएस) लाई थप प्रभावकारी बनाउन आवश्यक प्रबन्ध मिलाइनेछ । डिजिटल सिग्नेचरलाई आगामी वर्षदेखि कार्यान्वयनमा ल्याइने कामपाको भनाइ छ ।

कामपाको सेवालाई अटोमेसन (स्वचालित प्रणाली) मा आबद्ध गराउँदै लैजाने क्रममा यो एउटा महत्त्वपूर्ण कामको थालनी भएको आचार्यले बताउनुभयो । यसअघि वैशाख १ गतेदेखि पाँच हजार वर्गफिटसम्म क्षेत्रफल भएको भवनको नक्सा स्वीकृत गर्ने अधिकार वडालाई दिइसकिएको छ ।
˗˗˗

विद्यार्थी नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विद्यार्थीहरू नयाँ संस्कार र संस्कृतिको अगुवा बन्नुपर्ने बताउनुभएको छ । उन्साठ्ठीऔँ विद्यार्थी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले चरम व्यक्तिवादी प्रवृत्तिलाई परास्त गर्दै विद्यार्थीहरू अगाडि बढ्नुपर्ने बताउनुभयो । “अहिले व्यक्तिवाद चरमरूपमा विकास भएको पाइन्छ । आफूले खोजेको र चाहेका पद नपाए सङ्गठनलाई तोडिदिने, देश र जनताप्रति घात गर्ने प्रवृत्ति व्याप्त छ । अखिलका योद्धाहरूले नयाँ संस्कार र संकृतिको अगुवा भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो ।

जनताको विश्वास जितेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले जनतामा नयाँ विश्वास सिर्जना गर्न सक्नुपर्ने बताउनुभयो । “जनताबाहेक राजनीतिको कुनै अर्थ छैन, कम्युनिष्ट पार्टी स्थापना गर्नुको मुख्य उद्देश्य राष्ट्रियताको रक्षा, देशभक्तिको भावनाको विकास र जनताको अधिकार स्थापित गर्नु थियो”, उहाँले भन्नुभयो ।

वामपन्थी शक्तिले मात्र जनताको आशा अपेक्षा पूरा गर्न सक्ने दाबी गर्दै उहाँले देशभक्तिको झण्डा फहराउने, लोकतन्त्रका लागि जीवन अर्पित गर्ने नै कम्युनिष्ट हुन् भन्ने स्थापित भएको बताउनुभयो । “अहिले गणतन्त्र, लोकतन्त्र, सङ्घीयता र संविधान सङ्कटमा पर्ने अवस्था देखिएको छ, यस्तो बेला कम्युनिष्टले आफूलाई जिम्मेवार बनाउनुपर्ने बेला आएको छ”, पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो ।  

युवा विद्यार्थी बिहानीको उज्यालो घाम भएको जनाउँदै उहाँले सिङ्गो विश्व र नेपालको भविष्य विद्यार्थीको हातमा केन्द्रित रहेको बताउनुभयो । “तपाईंहरू सही बाटोमा अगाडि बढ्नुभयो भने देशले राम्रो बाटो पाउनेछ । राम्रो विचार र नेता पाउनेछ । तपाईंले बाटो बिराउनुभयो भने हामी सबैको भविष्य अँध्यारो हुनेछ”, उहाँले भन्नुभयो । युवा, प्रौढ र ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीपलाई एक ठाउँमा मिलाएर अगाडि बढे जुनसुकै चुनौतीको सामना गर्न सकिने उहाँको भनाइ थियो । 

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकाटाले आधारभूत आवश्यकता पूरा गर्ने, गरिबी  हटाउने, जनताको जीवनस्तर उकास्ने, साझा प्रगति प्राप्त गर्ने विषय समाजवादको मूलभूत विषय भएको बताउनुभयो । उहाँले विचार र दृष्टिकोणको विकास गर्नका लागि विद्यार्थी अगाडि बढ्नुपर्ने बताउनुभयो । पूर्वसभामुख सापकोटाले रानजीतिक परिवर्तनमा जनताले ठूलो त्याग तपस्या र बलिदान गरेका भए पनि जनताको जीवनस्तर उठाउन राजनीतिक दलबाट कमजोरी भएको स्वीकार गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अप्ठ्यारो परेको मुलुकलाई सहज मार्गमा ल्याउन विद्यार्थी सङ्घसङ्गठन एकजुट हुनुपर्ने बताउनुभयो । “देशलाई बर्बादीमा जान दिन हुँदैन, यहीँ भविष्य देखाउन सक्नुपर्छ, त्यसका लागि विद्यार्थी एक हुनुपर्छ”, उहाँले भन्नुभयो । 

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको राष्ट्रियता, सार्वभौमिकताको रक्षा, शिक्षा, स्वास्थ्य, रोजगारीलागायत अधिकार प्राप्त गर्न युवाको सक्रियता आवश्यक रहेको बताउनुभयो । नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंले मुलुकको बेथितिका विरुद्ध सम्पूर्ण विद्यार्थी एक हुनुपर्ने बताउनुभयो । अखिल छैठौँका अध्यक्ष देवेन्द्र कुँवरले समाजवादी शिक्षा प्रणाली प्राप्त नभएसम्म विद्यार्थी एकता आवश्यक रहेको बताउनुभयो । 

अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहीले व्यवस्था बदल्न विद्यार्थी सङ्गठनको ठूलो भूमिका रहे पनि राजनीतिक नेतृत्वले युवालाई स्थान नदिँदा विद्यार्थी वर्गमा निराशा पैदा गरेको बताउनुभयो । उहाँले युवा प्रतिभा पलायन, विश्वविद्यालयको बेथिति, भ्रष्टाचार, कुशासनका विरुद्ध सम्पूर्ण युवा विद्यार्थी एक हुनुपर्ने बताउनुभयो । 

मेलम्ची खानेपानी वितरण जेठ ५ गतेदेखि बन्द हुने

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी वितरण यही जेठ ५ गतेदेखि मात्र बन्द हुने भएको छ । मर्मतका लागि सोमबारदेखि दुई हप्ता बन्द गर्ने भनिएकामा सरोकारवालाहरूको सुझावअनुसार पाँच दिनपछि मात्र मर्मतको काम सुरु गरिने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हप्ता जति मर्मत कार्य भएपछि पुनः पानी पठाइने छ ।

हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवर्क्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले बताउनुभयो ।

नारायणी नदीमा डुबेर श्रीमान् श्रीमतीको मृत्यु

त्रिवेणी – नवलपरासी–बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ ।

जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उहाँकी श्रीमती करिब ५० वर्षीया बगरी बोटेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो । आइतबार बेलुका नदीले बगाएर बेपत्ता भएका दुवै जनालाई राति मृतावस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो ।

यस वर्षको सकियो सिकार याम, तीन झारलको सिकार भएन

बलेवा – ढोरपाटन सिकार आरक्षमा यस वर्षको सिकार याम सकिएको छ । सिकारीले नाउर र झारलको सिकार गरेर फर्किएसँगै सिकार याम अन्त्य भएको हो ।

दोस्रो सिकार याममा ढोरपाटनमा १२ नाउर र छ झारलको सिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो सिकार यामको लागि नौ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम सिकार भएको हो ।

हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी सिकारीले यस पटक निर्धारित कोटामा तीन झारलको सिकार गर्न नसकेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले बताउनुभयो । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत आठ देशका पेसेवर विदेशी सिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा सिकार गरेका थिए ।

यस पटक सिकारीले एक नाउरको पाँच लाख २० हजारदेखि सात लाख ८० हजारसम्म र झारलको रु तीनदेखि तीन लाख १० हजारसम्म राजस्व तिरेका थिए । पहिलो याममा एक नाउरको रु २० लाख पाँच हजार र झारलको रु छ लाख राजस्व बुझाइएको थियो । सिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।

यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको सिकार कोटा निर्धारण गरिए पनि सात नाउर र पाँच झारलको सिकार भएको थियो । आरक्षमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खान्छन् भने सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।

पुर्वमन्त्री रायमाझीलाई आज अदालतमा उपस्थित गराईदै

काठमाडौं । नेकपा एमालेका सचिव तथा पुर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराईदैछ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी हिजो बुढानिलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई आज अदालतमा उपस्थित गराउन लागिएको हो । 

शनिवार साँझ पक्राउ पछि हिजो नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।