`

दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशबीचको सीमाको सबैले सम्मान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र डा अच्युत गौतमद्वारा लिखित नेपाल–भारत सीमा कूटनीति कालीनदी सन्दर्भमा अन्तर्राष्ट्रिय कानुनको दृष्टि विषय पुस्तक विमोचन गर्दै उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूभाग भएको बताउनुभयो ।

उहाँले नेपालको नक्सामा ती भूभाग समावेशपछि मुलुकमा सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताका सिलसिलामा ऐतिहासिक नयाँ चेतनाको सञ्चार भइरहेको उल्लेख गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “भौगोलिक अखण्डता र देशप्रेमप्रतिको अटल विश्वास प्रदर्शन भइरहेको छ, नेपाली भूभागको यस विषयलाई व्यावहारिकरुपमा निष्कर्षमा लैजान इतिहासका प्रसङ्गलाई हामीले फेरि एकपटक उच्च महत्वका साथ स्मरण गर्नुपर्छ ।”

उहाँले दुई देशबीचको भौगोलिक सिमानालाई पूर्णरुपमा चुस्त र स्पष्ट राख्नुपर्ने खाँचो आवश्यकता आँैल्याउँदै पूर्वराष्ट्रपति भण्डारीले यस्ता कार्यले दुई देशबीच सदियौँदेखि रहिआएको जनविश्वासका रुपमा रहेको सांस्कृतिक र कूटनीतिक सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले भारतीय सैनिक कालापानी क्षेत्रमा बसेपछि नेपालको सार्वभौमसत्ता र स्वाधीनता खण्डित भएकाले त्यहाँबाट तुरुन्त फिर्ता हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

पूर्वजलस्रोत सचिव द्वारिकानाथ ढुङ्गेलले नेपाल–भारत सीमा र कालापानीलगायतका विषयमा अध्ययन गर्ने र जान्न चाहने जोकोहीका लागि पुस्तक निकै उपयोगी अध्ययन र सराहनीय भएको बताउनुभयो ।

सीमाविद् बुद्धिनारायण श्रेष्ठले कालापानी, लिपुलेक र लिम्यिाधुरा नेपालकै हो भन्ने गतिलो प्रमाण पेस गर्दै पुस्तकले यस विषयमा भारतलाई बोल्न, चाइचुई गर्न र हलचल गर्न नसक्ने बताउनुभयो ।

पुस्तकमा खासगरी अन्तर्राष्ट्रिय कानुन, नक्सा, जलविज्ञान र भोगचलनलगायतले उक्त भूभाग नेपालकै भएको स्पष्ट गरेको बताउँदै लिम्पियाधुराबाटै निस्केको नदी काली भएको यसअघि नै प्रमाणित भइसकेको धारणा राख्नुभयो ।

वरिष्ठ पत्रकार भैरव रिसालले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला कालापानी क्षेत्रको भूभागसम्बन्धी विषयलाई मूल विषय बनाएर लामो समयदेखि रहिआएको भारतीय सेना फिर्ताका लागि परिणाममुखी वार्ता गर्न सुझाव दिनुभयो ।

अधिवक्ता रमण कर्णले कालापानी नेपालको हो भन्ने सन्दर्भमा नेपालले वास्तविक नक्सा प्रकाशित गरिसकेको हुँदा त्यस क्षेत्रमा सार्वभौम र स्वाधीनता कायम गर्न नेपालले दाबी प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

चार सय ७६ पृष्ठको उक्त पुस्तकमा नेपालको भारत–चीनबीचको सम्बन्ध र सीमा तथा बेलायतलगायत देशसँग सम्बन्धित विभिन्न आधिकारिक तथ्य, तथ्याङ्क र प्रमाण समेटिएको छ । कार्यक्रमका सहभागी वक्ताले नेपाल-भारतलाई दाजुभाइका हिसाबले नभई छिमेकीमै सीमित रहनुपर्ने आवश्यकता औँल्याउनुभयो । एक हजार एक सय मूल्य रहेको उक्त पुस्तक छ खण्ड र ३२ अनुच्छेद रहेको छ ।

विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताउनुभएको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौँमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव सङ्कलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताउनुभएको हो ।

“अहिले सबैभन्दा ठूलो चुनौतीका रुपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्”, उहाँले भन्नुभयो ।

 अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रुपमा आफूले अधिकतम प्रयास गरिरहेको उहाँको भनाइ छ । “अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो त्यो भन्दा धेरै समस्या रहेछन् । तर म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमान्दार प्रयास हुनेछ”, अर्थमन्त्री महतले भन्नुभयो ।

उहाँले अर्थतन्त्र सुधारका लागि जादु गरे जस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताउनुभयो । “धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन”, उहाँले भन्नुभयो, “ अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहने छ ।” उहाँले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताउनुभयो ।

अहिले सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व निकै बढेको अर्थमन्त्री महतको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको उहाँले बताउनुभयो । त्यस्तै, बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा क्रियाशीलताका लागि पनि सरकारको जोड रहने उहाँको भनाइ छ ।

 “हाम्रा संरचनामा धेरै ठूलो सुधार आवश्यक छ । बजेटको प्रभावकारिता बढाउनु पर्नेछ । अहिलेको समस्या पुँजीगत खर्च नहुँदा बजारमा चाहिए जति पुँजी प्रवाह भएको छैन”, उहाँले भन्नुभयो, “अर्कोतर्फ बैंकिङ प्रणालीमार्फत पनि पुँजी प्रवाह हुन सकेको छैन ।” आर्थिक वर्षको अन्त्यमा खर्च गर्ने प्रवृत्तिमा सुधार आवश्यक रहेको महतले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रबाट आएका सुझाव आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताउनुभयो । त्यस्तै बजेटमा समेटिन नसकेका विषयहरु १६औँ आवधिक योजनामा समेटिने बताउनुभयो ।

 पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा भएको लगानीले पुँजी निर्माण गर्न र रोजगारी सिर्जना गर्न नसकेको बताउनुभयो । ऋण लिएको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उहाँले बताउनुभयो ।

अहिले अर्थतन्त्रमा देखिएको समस्या अहिले एकैपटक आएको नभई पछिल्लो तीन दशकयताका नीतिको नतिजा रहेको उहाँको भनाइ छ । “विगत तीन दशक देखिका नीतिको साङ्गो–पाङ्गो नतिजा अहिले देखिएको हो । गलत नीतिका कारण थुप्रिएका समस्या हुन्”, उहाँले भन्नुभयो ।

 बढ्दो चालु खर्च र खुम्चिएको राजस्वका कारण सिर्जित वित्तीय असन्तुलन अहिलेको चुनौती भएको उहाँको भनाइ छ । त्यस्तै, अब पूर्वाधार केन्द्रित बजेट नभई जनताका आधारभूत आवश्यकता केन्द्रित बजेट बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । आयोजना र कार्यक्रमको प्राथमिकीकरण हुन नसकेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्राडा शिवराज अधिकारीले नेपालमा भइरहेको लगानीअनुसार आर्थिक वृद्धिदर देखिन नसकेको र आर्थिक वृद्धिदरको तुलनामा रोजगारी सिर्जना हुन नसकेको बताउनुभयो । 

“लगानी बढेको छ तर त्यसको तुलनामा आर्थिक वृद्धिदर बढेको देखिँदैन । रोजगारी पनि बढेको छैन । सार्वजनिक ऋण र लगानी बढ्ने तर आर्थिक वृद्धिदर नबढ्ने भनेको पक्कै यहाँ केही समस्या छ”, अधिकारीले भन्नुभयो ।

धवलागिरि हिमपातमा परी बेपत्ता तामाङको शव काठमाडौँ ल्याइयो

काठमाडौँ- धवलागिरि हिमाल क्षेत्रमा गत असोज २० भएको भारी हिमपातमा परी वेपत्ता भएका हिमाल आरोहण पथप्रदर्शक रामबहादुर तामाङको शव आधार शिविरबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

धवलागिरि हिमाल आरोहणका लागि कोरियाली नागरिकको टोली लिएर जाने क्रममा त्यस क्षेत्रमा भएको हिमपातका कारण उहाँ बेपत्ता हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

त्यस बेलादेखि नै उद्धारका लागि विभिन्न प्रयास गरिँदै आएकामा प्रतिकूल मौसमका कारण कठिनाइ भएको थियो । पछिल्लोपटक सेनाको सहयोगमा शेर्पा आरोही सम्मिलित टोलीले यही वैशाख २८ र २९ गते खोज्ने क्रममा करिब पाँच हजार मिटरको उचाइमा शव फेला परी आधार शिविर ल्याएको थियो ।

जेठ १ गतेदेखि मेलम्चीको पानी वितरण बन्द हुने

सिन्धुपाल्चोक – मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।- 

नवलपुरमा जग्गा नापीको कामले गति लिँदै

त्रिवेणी- भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो । नवलपुरका आठ वटा पालिकामध्ये हाल तीन वटा पालिकामा जग्गा नापीको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य राम तामाङका अनुसार कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापीको काम जारी छ ।

नवलपुरको देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा प्राप्त आवेदनमा अनलाइन ‘इन्ट्री’को काम चलिरहेको छ । जसमध्ये देवचुली र गैँडाकोटको काम करिब अन्तिम चरणमा रहेकाले चाँडै जग्गा नापीको काम सुरु हुने जिल्ला सदस्य तामाङले बताउनुभयो । जिल्लाका पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली र बुलिङटारमा भने भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढाउने गरी सम्झौताको काम सकिएको र चाँडै रहे तापनि थप आवश्यक कार्य अघि बढ्ने बताउनुभयो ।

“करिबजसो सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक काम अघि बढेका छन्, केही पालिकामा नापीकै काम चलिरहेको छ, यही गतिमा काम अघि बढे केही वडामा अबको एक महिनामा पुर्जा दिन सकिन्छ”, जिल्ला सदस्य तामाङले भन्नुभयो ।

नवलपुरमा प्रारम्भिक तथ्याङ्कअनुसार करिब ३० हजार आवेदन परेका छन् । सबै पालिकाले प्राप्त आवेदनलाई अनलाइन इन्ट्रीको काम सके यकिन तथ्याङ्क आउने उहाँले बताउनुभयो । शुक्रबार मात्रै जिल्लाको कावासोती नगरपालिकाले जग्गा नापीको कामलाई अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर १ र ४ बाट जग्गा नापीको काम सुरु भएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । पालिकामा अघिल्लो आयोगका समयमा केही वडामा नापीको काम भएको थियो । हालको आयोगले सोही प्रक्रियालाई स्वामित्व लिएपछि नयाँ वडाबाट थप नापीको काम सुरु गरिएको नगर प्रमुख भुसालले बताउनुभयो । जग्गाको समस्या चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । वर्षौंदेखि भूमिहीन सुकुम्बासीका रुपमा रहेकालाई राज्यले एकपटकको लागि पुर्जा दिन लागेकाले यो कामलाई जतिसक्दो चाँडो सम्पन्न गरी भूमिहीन, सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा सबैले सकारात्मक सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

कावासोती नगरपालिकाभित्र सात हजार पाँच सय ६७ जनाले आवेदन दिएका छन् । नगरपालिकामा सात सय सात भूमिहीन दलित, एक हजार दुई सय ५१ भूमिहीन सुकुम्बासी र पाँच हजार छ सय नौ जनाअव्यवस्थित बसोबासीले आवेदन दिएका छन् । जसमध्ये सबै कम्प्युटर इन्ट्रीको काम सकिएको छ । पालिकाभित्र यसअघि दुई हजार ८६ कित्ताको नापीसमेत सकिएको छ । कावासोती नगरपालिका वडा नम्बर ३, ५, १०, १५ र १७ मा यसअघि नापी गरिएको छ तर यी वडामा पूर्णरुपमा नापीको काम सम्पन्न हुन बाँकी छ ।जग्गा नापीको काम सकिने वडामा क्रमशः फिल्डबुक तयार पार्ने, स्रेस्ता पुर्जा तयार पार्ने र पुर्जा बितरणको काम हुने आयोगका जिल्ला सदस्य तामाङले बताउनुभयो ।

व्यावसायिक ड्रागन खेतीबाट मनग्य आम्दानी गर्दै स्याङ्जाका राना

 स्याङ्जा- सिउँडीको जस्तै काँडामा फल्ने अनौठो फलमा मुक्तबहादुर रानाको मन गयो । स्याङ्जाको पुतलीबजार–१३ का रानाले १५ वर्षअघि अनौठो र नौलो देख्नुभएको फल लाग्ने चार वटा विरुवा घरमा ल्याउनुभयो । सुरुमा लगाएका चार वटा बेर्नाबाटै अहिले हजारौँ बेर्ना लगाउने र व्यावसायिक उत्पादन थाल्ने कल्पना सुरुमा उहाँमा थिएन । जब ती चार वटा बोटबाट उत्पादन राम्रो हुन थाल्यो तब उहाँले हाँगा काट्दै नर्सरी गरी बेर्ना उत्पादनमा जोड दिनुभयो ।

सुरुमा लगाइएका चार वटा बेर्नाले उहाँलाई व्यावसायिक बन्नमा महत्वपूर्ण भूमिका खेल्यो । “कस्तो हुनेरैछ भन्ने कौतुहलता जागेर बेर्ना लिएर आएँ, बेर्ना सारेको केही वर्षपछि फल दिन सुरु भयो”, उहाँले भन्नुभयो, “फल लाग्न थालेपछि छुट्टै ऊर्जा मिल्यो र त्यहीँबाट बेर्ना उत्पादन गर्दै व्यावसायिकरुपमा ड्रागन खेतीको विस्तार गरेँ ।”

दिउँसोको समयमा संस्थागत विद्यालयमा अध्यापनरत उहाँले विशेष गरी बिहान, साँझ वा बिदाका दिनमा ड्रागन खेतीको विस्तारमा ध्यान दिनुभयो । “अन्नबाली उब्जाउ हुँदै आएको जमिनमा सुरुका दिनमा धान, गहुँ, मकैलगायतका खाद्यान्न बाली नलगाई ड्रागन लगाउन चुनौती थियो”, उहाँले भन्नुभयो, “जब राम्रो हुँदै गयो तब ड्रागन खेती पनि विस्तार हुँदै गयो ।”

पन्ध्र वर्षअघि घरमा परीक्षण गर्न ल्याइएको बेर्नाबाट उत्पादन राम्रो हुँदै गएपछि बर्सेनि आफँैले बेर्ना उत्पादन गर्दै लगाउँदै गएको उहाँ बताउनुहुन्छ । सुन्तला उत्पादन हुन्छ कि भन्ने लागेर केही वर्ष सुन्तलाका बोट लगाइएको थियो । सुन्तलाका बोट ठाडै मरेपछि माटो परीक्षण गर्दा ड्रागन उपयुक्त हुन्छ भन्ने कृषि विज्ञसँगको परामर्शपछि ड्रागन खेती थालिएको उहाँले बताउनुभयो ।

“परीक्षणका लागि ल्याइएको चार वटा बेर्नाले व्यवसायी बनाउँछ भन्ने लागेको थिएन”, उहाँले भन्नुभयो, “धान, मकै, गहुँजस्ता खाद्यान्न बालीबाट भन्दा यसबाट आम्दानी धेरै हुने गरेकाले यसतर्फ आकर्षित भएको हुँ ।” चार रोपनी क्षेत्रफलमा ड्रागन खेती गरेर व्यावसायिक उत्पादन थाल्नुभएका रानाले गत वर्ष रु ६० हजार आम्दानी गर्नुभएको थियो ।

गत वर्ष आफन्त, घरमा आएका पाहुनालगायत छर छिमेकमा बाँडेर रहेको बिक्री गर्दा उक्त आम्दानी भएको उहाँ बताउनुहुन्छ । आफैँले उत्पादन गरेका बेर्ना बर्सेनि थप गर्दै जाँदा अहिले उहाँसँग १३ रोपनी क्षेत्रफलमा पाँच हजार बेर्ना रहेका छन् । आगामी वर्षमा पनि करिब दुई हजार पाँच सय बिरुवाले उत्पादन दिने उहाँको अनुमान छ । त्यसबाट राम्रै आम्दानी हुने अपेक्षा छ ।

करिब दुई वर्षपछि सबै बोटले फल दिन थाल्ने भएकाले उत्पादन तीन दोब्बरले वृद्धि हुने उहाँ दाबी गर्नुहुन्छ । “सबै बोटले फल दिँदा एक सिजनमा रु १२ देखि १५ लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “अहिले प्रतिकेजी रु छ सयका दरले बिक्री हुँदै आएको छ ।” यहाँ उत्पादन भएको ड्रागन स्थानीय बजार तथा पोखराका बजारमा सहजरुपमा बिक्री भइरहेको छ ।

अहिले उत्पादनभन्दा बजारमा यसको माग धेरै रहेकाले मागअनुसार पु¥याउन नसकिएको उहाँले बताउनुभयो । उहाँले ड्रागन खेतीसँगै मिश्रित बालीको रुपमा अकबरे खुर्सानी, कुरिलो, बन्दा, बदाम, गाँजरलगायतका तरकारी बाली लगाउनुभएको छ ।

उत्पादन राम्रो हुनुका साथै बजारमा माग बढ्दै गएकाले क्षेत्र विस्तार गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो । “परम्परागतरुपमा गरिँदै आएको खेती प्रणालीबाट फाइदा हुन्छजस्तो मलाई नलागेकाले धान, मकै, गहुँको साटो व्यावसायिक ड्रागन खेती सुरु गरेको हुँ”, उहाँले भन्नुभयो ।
 

जनकपुधाम उपमहानगरको आगामी रणनीतिः आन्तरिक आयवृद्धि र प्राथमिक क्षेत्रमा लगानी

जनकपुरधाम, ३० वैशाख -मधेस प्रदेश राजधानीकारुपमा रहेको धनुषाको जनकपुरधाम उपमहानगरपालिकालाई स्थानीय जनताका आवश्यकता पूर्ति गर्दै हेर्न लायक प्रादेशिक सहर बनाउनुपर्ने जिम्मेवारीसमेत छ । त्यसैमा पौराणिक, ऐतिहासिक एवं धार्मिक सहरको स्थापित पहिचानलाई मध्यनजर गर्दै धार्मिक पर्यटनमैत्री विकास गतिविधि सञ्चालन गर्नु उपमहानरपालिकाको अर्को दायित्व छ । यसलाई पूरा गर्न अन्दाजको भरमा काम गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै प्राथमिकतामा आधारित विकास योजना र आन्तरिक आम्दानीको दायरा बढाउनुपर्ने चुनौती उपमहानगरलाई छ ।

“स्थानीय जनताका आवश्यकता, प्रादेशिक र अन्तर्राष्ट्रिय समुदायलाई समेत आकर्षित गर्ने गरी व्यवस्थित धार्मिक सहर बनाउनुपर्ने दायित्व उपमहानगरको काँधमा छ । हाम्रा लागि यो अवसर र चुनौती दुवै हो”, उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले भन्नुभयो, “त्यसका लागि विगतमा भएका राम्रा अभ्यासको अनुशरण र सुधार्नुपर्ने पक्षको प्राथमिकीकरण गरी आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबाट केही फरक गर्ने सोचसहित अगाडि बढ्छौँ ।”

उहाँले जनकपुरधाम उपमहानगरपालिकाको एक्लै प्रयासले महत्वपूर्ण कार्य गर्न सजिलो नरहेको भन्दै नागरिक, सङ्घ तथा प्रदेश सरकारको पनि यसमा ठोस योगदान जरुरी रहेको बताउनुभयो । “स्थानीय जनताका आवश्यकता मात्रै पूर्ति गर्नुपर्ने भए सोहीअनुसारको योजना बनाउँथ्यौँ तर हेर्न लायक स्वच्छ प्रादेशिक र ऐतिहासिक धार्मिक सहरको संवेदनालाई पनि ख्याल गरेर विकास योजना कार्यान्वयन गर्नुपर्नेछ । त्यसका लागि जिम्मेवारीपूर्वक कर तिर्ने नागरिक, नागरिकमैत्री सेवाप्रवाह र योजनाबद्ध विकास खाकासहितको पर्याप्त लगानी सुनिश्चितता अहिलेको आवश्यकता हो”, साहले भन्नुभयो ।

उपप्रमुख किशोरी साहले पनि जनकपुरधामको ऐतिहासिक संवेदनशीलतालाई मध्यनजर गरी तथ्य र प्राथमिकतामा आधारित ठोस योजना बनाउन आगामी आर्थिक वर्षको बजेटबाट निश्चित सङ्कल्प लिनुपर्ने आवश्यकता औँल्याउनुभयो । चालु आवमा पहिले २० प्रतिशत र अन्तिममा ५० प्रतिशत बजेट कटौती हुँदा भोग्नुपरेको समस्यालाई सिकाइका रुपमा लिनुपर्ने भन्दै उपप्रमुख साहले आफ्नै आम्दानी बढाउँदै जानुपर्ने दबाबलाई थेग्ने गरी आगामी आर्थिक वर्षको बजेटबाट ठोस पहलकदमी लिनुपर्ने बताउनुभयो । “आर्थिक अभाव देखाउँदै सङ्घ सरकारले बजेट कटौती गरेको छ ।

यो अवस्था आगामी दिनमा पनि रहेमा विकास निर्माण तथा नागरिकका आवश्यकता सम्बोधनमा समस्या हुन्छ । त्यसैले पनि आन्तरिक स्रोतवृद्धिमा जोड दिनुपर्नेछ”, उपप्रमुख साहले भन्नुभयो, “प्रतिकूलताका बीच पनि कसरी काम गर्ने, आम्दानीको स्रोतवृद्धिका उपाय के हुनसक्छन्, नागरिकलाई समस्याको बोध गराउँदै नियमानुसारको कर तिर्न कसरी आकर्षित गर्ने र उपमहानगरले अझ बढी जिम्मेवारी एवं जवाफदेहीतासहित कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्छौं । त्यसले आगामी आवको बजेट तथा कार्यक्रमबाट निश्चित प्रतिफल दिनेछ ।”

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले आन्तरिक आय बढाउने गरी पहिलेका नीतिको समीक्षा, सुधार र परिमार्जन, आगामी आवमा लिनुपर्ने प्रभावकारी नीति, कार्यक्रम र योजना, आम्दानीका सम्भावित स्रोत पहिचानलगायतका विषयमा गम्भीर छलफल गरी निष्कर्षमा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब सङ्घ, प्रदेश वा अरुतिर समस्या देखाएर त केही हुँदैन । सबैले आफ्नो जिम्मेवारी इमान्दारितापूर्वक बहन गर्नुपर्ने आवश्यकता छ । उपमहानगरको आन्तरिक स्रोतसाधन र आम्दानी बढाउने गरी बजेट बनाउन काम गरिरहेका छौँ ।”

उपमहानगरपालिकामा आव २०७८÷७९ मा कूल रु एक अर्ब ५३ करोड ८७ लाख वार्षिक बजेटमध्ये आन्तरिक आयस्रोतको योगदान १३ करोड एक लाख रहने लक्ष्य राखिएकोमा ज्येष्ठ मसान्तसम्म रु ११ करोड ६४ लाख ४६ हजार (आन्तरिक राजस्व सङ्कलन) थियो । आव २०७९÷८० को कूल बजेट रु एक अर्ब ८० करोड ७१ लाख ४५ हजारमध्ये रु १४ करोड ३१ लाख १० हजार आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चैत मसान्तसम्म रु १० करोड ३४ लाख नौ हजार सात सय ८६ सङ्कलन गरिएको उपमहानगरपालिका राजस्व शाखाको तथ्याङ्क छ ।

उपमहानगरका प्रवक्ता तथा राजस्व शाखा प्रमुख परमेश्वरकुमार झाले आगामी आवमा २० देखि ३० प्रतिशत राजस्व वृद्धि गर्ने गरी आफूहरुले सम्भावित क्षेत्रको अध्ययन गरिरहेको जानकारी दिनुभयो । “अहिलेसम्म अधिकांश स्रोतका लागि सङ्घ सरकारको भर पर्नुपर्ने अवस्था छ । लक्ष्यअनुसारको राजस्व सङ्कलन भइरहे पनि त्यतिले मात्रै धेरै काम गर्न सकिँदैन”, झाले रासससँग भन्नुभयो, “आन्तरिक स्रोत वा राजस्व अभिवृद्धि गर्ने दायरा एक्कासि बढ्ने अवस्था नभए पनि हालको आन्तरिक आयमा २० देखि ३० प्रतिशत बढाउनुपर्ने सोचसहित तयारी गरिरहेका छाँै ।”

उपप्रमुखको नेतृत्वमा रहेको राजस्व परामर्श समितिले विभिन्न चार वटा उपसमिति बनाएर आन्तरिक आयवृद्धिका सम्भावित क्षेत्रको विस्तृत अध्ययन भइरहेको छ । नगर कार्यपालिका सदस्य सन्तोष महतो नेतृत्वको समितिले पोखरी, राकेश विक्रम साह नेतृत्वमा हाटबजार, दीपेन्द्रकुमार साह नेतृत्वको समितिले घरजग्गा, घरधुरी, बहालकर र मनिषा देवीको नेतृत्वमा व्यवसाय दर्तामा देखिएका समस्या तथा सम्भावनाबारे अध्ययनको काम भइरहेको हो ।

“प्रदेश राजधानी भएर पनि वीरगञ्ज, विराटनगरजस्तो व्यापारिक कारोबार, आम्दानी र राजस्वको सुदृढ अवस्था यहाँ छैन तर पनि भएकै स्रोत पहिचान, परिचालन र व्यवस्थापन गरेर सबल कसरी हुने भनेर छलफल गरिरहेका छौँ । आगामी आवमा पक्कै पनि केही सुधार हुनेछ”, झाको भनाइ छ ।

गुठी र मन्दिर नै मन्दिरको सहर भए पनि जनकपुरधाम उपमहानगरपालिकाले त्यसबाट प्रत्यक्ष लाभ लिन सकिरहेको छैन । पच्चीस वडामध्ये वडा नं १ देखि १३ सम्मको अधिकांश भूमिकरअर्थात् मालपोत गुठी संस्थानले उठाउँछ । भूमिकर शीर्षकमा उपमहानगरको कूल कर सङ्कलन लक्ष्य रु ६७ लाख मात्रै छ, त्यसमा पनि हालसम्म आधाभन्दा कमअर्थात् रु ३३ लाख मात्र सङ्कलन भएको छ । बहाल करको कूल लक्ष्य दुई करोड २० लाख मात्रै छ तर यो लक्ष्यभन्दा बढी नै सङ्कलन हुने गरेको छ । पोखरीको सहर भनेर चिनिए पनि अधिकांश पोखरी उपमहानगरको अधिनमा छैनन् र भएका पोखरीबाट पनि आर्थिक लाभ लिन सकिएको छैन ।

यी सबै समस्या, सम्भावना र आवश्यकतालाई दृष्टिगत गरी अध्ययन गरिरहेका चार वटा उपसमितिको अध्ययन प्रतिवेदन र सुझावअनुसार आन्तरिक आम्दानीको हिस्सा बढाउने गरी काम गर्ने उपमहानरपालिकाको योजना छ । त्यसबाहेक करको दायराभन्दा बाहिर रहेका विद्युतीय रिक्सासम्बन्धी कानुन बनाएर लागू गर्ने, भानुचोकमा निर्माणाधीन व्यावसायिक भवनको प्रयोग, पिकनिकस्थल विकास र पोखरीको सौन्दर्यीकरण गरी आम्दानी बढाउन सकिने उपमहानगरपालिकाको विश्वास छ ।

प्रशासकीय अधिकृत शशीले आव २०७४÷०७५ देखि चलिरहेको करको दर र दायराबारे समीक्षा, दुई वर्षदेखि रोकिएको विज्ञापनको टेण्डर, प्राथमिकता निर्धारण गरी योजना छनोट र बजेट विनियोजनमा जोड दिने बताइरहँदा उपमहानगर प्रमुख साहले पनि बेरुजु फछ्र्योट, फोहर व्यवस्थापन र शिक्षा क्षेत्रमा सुधार ल्याउने गरी आगामी आवमा बजेट तथा कार्यक्रम ल्याउने गरी तयारी भइरहेको सुनाउनुभयो ।

प्रियंका चोपडा भन्छिन्- छोरीका लागि करियर र देश छोड्न तयार छु

मुम्बई, २९ वैशाख । बलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनयको माध्यमबाट बलिउडदेखि हलिउडसम्म स्थान बनाएकी छन् । आज पनि उनी विश्वकै उत्कृष्ट अभिनेत्रीमा पर्छिन् । आफ्नो जिन्दगीमा यो सफलता बाबजुद पनि प्रियंका छोरी मालतीका लागि करियरसँगै देश पनि छोड्न तयार छिन् ।

उनले एक अन्तरवार्तामा आफ्ना लागि आमाबुवाले त्याग गरेको सम्झँदै आफू पनि छोरीका लागि सबै कुरा त्याग गर्न तयार रहेको खुलासा गरेकी छन् । ‘मेरा लागि मेरो करियर अत्यावश्यक छ । मैले यहाँसम्म पुग्नका लागि धेरै मेहनत गरेकी छु । मैले कहिल्यै पनि सोचिनँ कि कुनै समय मैले करियर नै छोड्नुपर्छ । अब म ४० वर्षकी भएँ । म यो अवस्थामा मेरो छोरीका लागि करियर र देश छोड्न तयार छु’, प्रियंकाले भनेकी छन् ।

उनले आफ्ना लागि आमाबाबुले सबै कुराको त्याग गर्नु आफूहरुका लागि भाग्यको कुरा भएको दाबी गरेकी छन् । ‘तर समाजमा यस्ता पनि आमाबाबु छन्, जो आफ्नो सन्तानका लागि केही गर्न सक्दैनन् । आज पनि समाज दबाबमा छ । यसकारण मलाई लाग्छ कि हामीले सन्तानसँग कुराकानी गर्न आवश्यक छ’, उनी भन्छिन् ।

कृषि क्षेत्रका गतिविधि जानकारी लिँदै मन्त्री भुसाल

काठमाडौँ- कृषि तथा पशुपन्छी विकास मन्त्री डा बेदुराम भुसालले प्रदेश सरकारका कृषि मन्त्री र सचिवसँग शुक्रबार छलफल गर्नुभएको छ । कोशी, मधेश र कर्णालीका कृषिमन्त्री तथा लुम्बिनी, गण्डकी, वाग्मती र सुदुरपश्चिम प्रदेशका कृषि सचिवलाई शुक्रबार कृषि मन्त्रालयमै बोलाएर मन्त्री भुसालले आगामी बजेट तथा कृषि क्षेत्रमा भए गरेका गतिविधिबारे जानकारी लिनुभएको हो ।

सो क्रममा उहाँले अब नतिजामुखी भएर काम गर्नुको विकल्प नभएको भन्दै आवश्यक निर्देशनसमेत दिनुभयो । नेपालको कृषि क्षेत्रको विकासको लागि छुट्टै ऐन नबन्दा समस्या सिर्जना भएको भन्दै आफूले गर्न सक्ने क्षेत्रमा इमान्दारीपूर्वक काम गरेर जनताको मन जित्नु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो ।

कृषिको आधुनिकीकरण तथा यान्त्रिकीकरणमा जोड दिन आग्रह गर्दै मन्त्री भुसालले भन्नुभयो, “कृषिको आधुनिकीकरण र यान्त्रीकीकरणमा हाम्रो ध्यान छैन । अनुदानको रकम दुरुपयोग भइरहेको सुनिन्छ । उत्पादनमुखी अनुदान छैन । वास्तविक किसानसँग अनुदान नपुगेको गुनासो सुनिन्छ । यत्ति कुरामा तपाईं सचेत रहन सक्नुभयो भने पनि धेरै सुधार हुन्छ । तपाईंहरू इमान्दार भएर काम गर्नुहोला ।’

मन्त्री भुसालले यसपटक किसानको लागि रासायनिक मल सहज हुने बताउँदै सोहीअनुसार आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो । सो अवसरमा पोखरा उप–महानगरपालिकाका प्रमुख धनराज आचार्यसमेतको सहभागिता भएको छलफलमा मन्त्री भुसालले प्रदेश र स्थानीय तहमा भए गरेका कामको जानकारी लिनुभयो ।

वीरगञ्जमा दोस्रो पटक रात्रि बजार सञ्चालन

वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले दोस्रो पटक शुक्रबारदेखि रात्रि बजार लगाएको छ । अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले नयाँ वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई निरन्तरता दिन आजदेखि दुई दिने रात्रि बजार लगाएको हो ।

हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजनाअन्तर्गत शुक्रबार र रात्रि बजार लगाइएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

रात्रि बजार व्यवस्थापन समितिको बैठकले नयाँ पर्वलाई दृष्टिगत गरी २०७९ चैत ३० देखि २०८० वैशाख २ गतेसम्म लगाइएको रात्रि बजार प्रभावकारी भएपछि यसलाई अझै विस्तार गर्दै लैजाने निर्णयबमोजिम दोस्रो पटक वैशाख २९ र ३० दुई दिने रात्रि बजार लगाइएको महानगरप्रमुख सिंहले बताउनुभयो ।

रात्रि बजारका लागि वीरगञ्जको माइस्थान चोकदेखि आदर्शनगर चोक हुँदै पशुपति घोष चोकसम्म विभिन्न स्टल राखिएको छ । विशेष गरेर विभिन्न खानाका परिकार, लत्ताकपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टल राखिएको रात्रि बजार व्यवस्थापन समितिका सदस्यसमेत रहेका ग्रिनसिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिनुभयो ।

वीरगञ्जको व्यापार व्यवसाय अबेरसम्म सञ्चालन गर्ने वातावरण बनाउन रात्रि बजारलाई निरन्तररूपमा अघि बढाउने प्रयास गरिएको र यसबाट बजार चलायमान बन्ने महानगरप्रमुख सिंहको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले बजारको नेतृत्व लिएर अघि आउन आग्रह गर्नुहुँदै महानगरप्रमुख सिंहले सुरक्षा तथा अन्य व्यवस्थापनको जिम्मा महानगरले लिने पनि बताउनुभयो ।

उहाँले रात्रि बजार लाग्ने समयमा नेपाल भारत मुख्य सीमा राति १ बजेसम्म खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

नयाँ वर्षमा पुरानो बसपार्कमा राखिएका स्टल अबदेखि भने सडक पेटीमै राखेर बजार सञ्चालन गराइने जनाएको छ ।

कोभिड–१९ का कारण अर्थतन्त्र पछिल्लो पटक आएको आर्थिक मन्दीका लागि झन् बिग्रिएपछि बजारको रौनक फिर्ता ल्याउँदै त्यसलाई चलायमान बनाउने उद्देश्यले रात्रि बजार सञ्चालन गरिएको सिंहको भनाइ छ ।

गण्डकीमा प्रादेशिक सडकको गुरुयोजना निर्माण गरिँदै

गण्डकी- गण्डकी प्रदेश सरकारले सडक व्यवस्थित गर्न प्रदेश मातहत रहेका सडकहरूको गुरुयोजना बनाउने भएको छ । प्रादेशिक सडकहरूको गुरुयोजनापछि सडक पूर्वाधार निर्माणको योजना तथा मर्मतसम्भारका लागि सहयोगी हुने भौतिक पूर्वाधार विकास तथा यातायात व्ययवस्था मन्त्रालयले जनाएको छ । प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज मन्त्रालयमा पदभार ग्रहण गर्दै प्रादेशिक सडक सञ्जालको गुरुयोजना बनाउनका लागि प्राविधिक समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।

पूर्वाधार विकास निर्देशनालयका निर्देशक राम पराजुलीको संयोजकत्वमा रहेको समितिले अध्ययन गरेर दुई महिनाभित्र गुरुयोजनाको खाका मन्त्रालयमा बुझाउनेछ । समितिमा मन्त्रालयका योजना हेर्ने महानिर्देशक तथा जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुखहरू सदस्य रहने मन्त्रालयका सचिव इन्जिनियर तुलसीराम भट्टराईले बताउनुभयो ।

प्रादेशिक सडकहरूलाई व्यवस्थित गर्नका लागि गुरुयोजना बनाउन लागिएको सचिव भट्टराईले बताउनुभयो । सडक निर्माण, मर्मत, सुधार, स्तरोन्नति तथा यातायातको पहुँचको अवस्था र पुनर्निर्माण गर्नुपर्ने सडकको माग सङ्कलन, सडक यातायातसँग सम्बन्धित आवश्यक सेवा तथा सुविधाका लागि गुरुयोजनाले सहयोग पुग्ने बताइन्छ ।

सचिव भट्टराईले भन्नुभयो, “प्रदेश सरकारअन्तर्गत रहेका प्रादेशिक सडक सञ्जालको गुरुयोजना निर्माणका लागि प्राविधिक समिति गठन गर्ने दीर्घकालीन महत्त्वको निर्णय गरेका छौँ । गुरुयोजनापछि प्रदेशभित्रको सडक तथा यातायात क्षेत्रको योजना बनाउन, सडक मर्मतसम्भार तथा प्राथमिकीकरणका लागि सहयोग पुग्नेछ ।”

पदबहालीपछि मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री जुग्जालीले जनताका आवश्यकतालाई पूरा गर्ने गरी विकास निर्माण अघि बढाइने बताउनुभयो । पूर्वाधार क्षेत्रको विकासबाट मात्र देशको समृद्धि हुने भएकाले भौतिक पूर्वाधार मन्त्रालयको ठूलो जिम्मेवारी रहेकाले इमानदारीपूर्वक काम गर्न उहाँले कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

आज पनि एमालेको केन्द्रिय समिति बैठक, अध्यक्ष ओलीले जवाफ दिने

काठमाडौं, ३० बैशाख । नेकपा एमालेको केन्द्रिय समिति बैठक आज पनि बस्दैछ । गत बिहिवार देखी सुरु भएको एमालेको चौथौ केन्द्रिय समिति बैठक बस्न लागेको हो । 

शुक्रवार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामुहिक छलफल भएको थियो । जसअनुुुसार गण्डकीवाट पदमा अर्याल, बाग्मतिवाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीवाट लालबाबु पण्डित, उपत्यका बिशेष प्रदेशवाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथी सामुहिक छलफल सुरु गरिएको थियो ।

आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शंकर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । 

आजको मौसमः चार प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने

काठमाडौं, ३० बैशाख । हाल देशमा  स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसोː  कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरुमा हावा हुरीको सम्भावना रहेको छ ।

राती भने देशभर मौसम सामान्यतया सफा रहने छ।

विमान चालकले ककपिटमा साथीलाई प्रवेश दिएपछि ‘एअर इन्डिया’लाई जरिवाना

नयाँ दिल्ली – भारतको उड्डयन नियामक निकायले शुक्रबार ‘एयर इन्डिया’लाई ३० लाख भारतीय रूपैँया (३६ हजार ४९६ अमेरिकी डलर) जरिवाना गरेको छ ।

भारतीय निजी एयरलाइन्स ‘एअर इन्डिया’ का विमान चालकले उडानका क्रममा आफ्ना साथीलाई ककपिटभित्र छिर्न दिएर सुरक्षा मापदण्ड उल्लङ्घन गरेको पाइएको हो । भारतीय नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) का अनुसार दुबई–दिल्ली उडानका चालक दलका सदस्यले फेब्रुअरीमा उजुरी दिएपछि घटनाको अनुसन्धान गरिएको थियो ।

डीजीसीएले पाइलटको लाइसेन्स पनि तीन महिनाका लागि निलम्बन गरेको छ ।

उजुरीका आधारमा डीजीसीएले गत महिना निजी एयरलाइन्सलाई कारण देखाउ आदेह जारी गरेको थियो । अनुसन्धानको क्रममा डीजीसीएले पाइलटलाई सुरक्षा मापदण्ड उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको थियो र सबै सह–चालकलाई उल्लङ्घन रोक्न दृढ बन्न निर्देशन पनि दिएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानको स्वागत

काठमाडौँ – नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर विदेश पठाउन गरिएको सङ्गठित प्रयासबारे हाल भइरहेको तदारूकतापूर्ण अनुुसन्धानको ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले स्वागत गरेको छ ।

हालसम्मको अनुसन्धानबाट उच्च प्रशासनिक तथा राजनीतिक तहको संलग्नता देखिएको यस प्रकरणको अनुसन्धान कुनै पनि प्रकारको दबावबाट प्रभावित नहोस्, कुनै पनि बहानामा छानबीन शिथिल नहोस् र नरोकियोस्, प्राप्त प्रमाणलाई उचित संयोजन नगरी मुद्दा कमजोर बनाएर अदालतमा पेश गर्ने प्रपञ्च नरचियोस् एवं अपराधीहरू जुनसुकै पद तथा तहका भए पनि तिनलाई हदैसम्मको कारवाही होस् भनी टिआई नेपाल जोडदार माग गरेको अध्यक्ष पद्मिनी प्रधानाङ्गले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

आफ्नै नागरिकलाई अनागरिक बनाउने, उनीहरूसँग अवैध रकम असूली गर्ने र कीर्ते कागजात तयार गरी शरणार्थीका रूपमा विदेश पठाउने यो उपक्रम जालसाजी, लूट र मानव तस्करीको सङ्गठित अपराध मात्र नभई राज्यविरुद्धको, नागरिक विरुद्धको र मानवता विरुद्धको अक्षम्य अपराधसमेत भएको उहाँले बताउनुभयो । “यो अन्तर्राष्ट्रिय जगत्मा नेपालको छवि र साख ध्वस्त पार्ने कुकृत्य त हुँदै हो, नेपालका मित्रराष्ट्रको सदाशयलाई प्रताडित गर्ने दुष्कृत्य पनि हो, यसमा कार्यपालिकाका वरिष्ठ सदस्यको संलग्नता रहनु र एकपछि अर्को सरकारका सञ्चालकले निरन्तरता दिँदै जानुले यसको जरो राज्यको उपल्लो तहसम्म पुगेको सङ्केत दिएको छ, जसले नेपाल र नेपालीलाई अत्यन्त दुःखद एवम् अवाञ्छनीय प्रश्नसामु खडा गरेको छ”, विज्ञप्तिमा भनिएको छ ।

कुनै पनि प्रकारको दबाव र प्रभावबाट मुक्त निष्पक्ष छानबिन गरी सबै पद र तहका समस्त अपराधीमाथिको निर्मम कारवाही मात्र यस प्रकरणको उपचार हो भन्ने टिआई नेपालको धारणा रहेको अध्यक्ष प्रधानाङ्ग बताउनुभयो ।

राप्रपाद्वारा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही माग गर्दै जिप्रकामा ज्ञापनपत्र हस्तान्तरण

मकवानपुर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न आरोपीलाई थप अनुसन्धान गरी दोषीउपर कडा कानूनी कारबाही अगाडि बढाउनुपर्ने माग गर्दै आज अपराह्न जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र हस्तान्तरण गरेको छ ।

राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापाले मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई आज एक कार्यक्रमबीच ज्ञापनपत्र बुझाउनुभयो ।

ज्ञापनपत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएका दोषीहरूलाई कानूनको कठघरामा ल्याई कारबाही अगाडि बढाउन र उक्त घटनामा संलग्न नरहेका व्यक्तिलाई प्रतिशोधको आधारमा अपमानजनक व्यवहार र थुनछेक गर्न नहुनेतर्फ पनि ध्यानाकर्षण गरिएको छ ।

राप्रपा केन्दीय समितिको आह्वानबमोजिम राप्रपा मकवानपुरले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

हुम्ला

त्यसैगरी राप्रपा हुम्लाले पनि नक्कली भूटानी शरणर्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै हुम्लाका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएको छ ।

आज दिउँसो जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपा हुम्लाका अध्यक्ष विकासबहादुर महतले ज्ञापनपत्र बुझाउनुभएको हो ।

त्यस्तै ७७ वटै जिल्ला प्रशासनमा जिल्ला कार्यसमितिका अध्यक्षमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । राप्रपाले भ्रष्टाचारविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।

एमाले स्थायी कमिटी बैठक सर्यो

काठमाडौँ – नेकपा (एमाले)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक सरेको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक सरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार समय अभावको कारणले बैठक भोलि बिहान ८ बजेका लागि सारिएको हो । बैठक ललितपुरस्थित एमाले मुख्यालयमा बस्नेछ । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।

बाखमुत नजिकै रूसी सेना ‘पछि हट्दै’

मस्को – रूसको एक लडाकू समूह, वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले शुक्रबार मस्कोको परम्परागत सेना पूर्वी युक्रेनको हटस्पट शहर बखमुत नजिकैको आफ्नो स्थानबाट ‘पछि हट्न’ लागेको बताउनुभएको छ । रूसको रक्षा मन्त्रालयले बाखमुतको उत्तरमा बलियो रक्षात्मक पोजिसन खडा गर्न सेनालाई पुनः तैनाथ गरेको घोषणा गरेलगत्तै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

प्रिगोजिनले सामाजिक सञ्जालमा पोस्ट गरेको अडियो वक्तव्यमा भन्नुभएको छ, “यसलाई ‘रिग्रुपिङ्’ भनिँदैन, भगाइ हो ।”प्रिगोजिनले अर्को एक भिडियो सन्देशमा रक्षा मन्त्रालयका एकाइहरू शहरको उत्तर र दक्षिणमा रहेका स्थानहरूबाट ‘भाग्न थालेको’ बताउनुभएको छ ।

“सैन्य इकाइहरू असफल भइरहेका छन् । मोर्चा ढल्दैछ,” क्रेमलिनका सहयोगी रहेका उहाँले बताउनुभयो । युक्रेनी सेनाले बाखमुत नदीको जलाशय र सामरिक उचाईमा रहेका स्थानकब्जा गरेको उहाँले बताउनुभयो ।

कीएभको सेनाले यसपहिले रूसी सेनाले नियन्त्रणमा लिएको अर्को सानो शहर चासिव यारबाट बाखमुत जाने बाटोलाई पनि नियन्त्रणमा लिएको थियो । उहाँको दाबीलाई स्वतन्त्र पुष्टिका लागि एएफपीले गरेको प्रयास सफल हुन सकेन ।

यसअघि शुक्रबार युक्रेनले बाखमुत नजिकैको केही भूभाग फिर्ता लिएको दाबी गरेको थियो । यद्यपि रूसले बाखमुत नजिकैको पूर्वी मोर्चाको ९५ किलोमिटर (६० माइल) क्षेत्रमा युक्रेनी आक्रमणलाई प्रतिकार गरेको बताएको छ ।

प्रिगोजिनले भन्नुभयो, “सूचनाको क्षेत्रमा रक्षा मन्त्रालयले स्थितिलाई छिपाउने प्रयास गरेको छ । यो अघि बढेको छ र यसले रूसका लागि विश्वव्यापी त्रासदी निम्त्याउनेछ ।” उहाँले थप्नुभयो, “यस कारण हामीले तुरुन्तै झूट बोल्न छोड्नुपर्छ ।”

प्रिगोजिन र परम्परागत सेना प्रमुखहरूबीचको प्रतिद्वन्द्विता बाखमुतको लडाइँको क्रममा सतहमा आएको छ, जुन द्वन्द्वको सबैभन्दा लामो र रक्तपातपूर्ण थियो । प्रिगोजिनले रूसी रक्षा मन्त्रालयले गोलाबारुद उपलब्ध गराउन अस्वीकार गरेको दाबी गर्दै आएको छ ।

भारतीय विदेश मन्त्रीले भेटे परराष्ट्र मन्त्री साउदलाई

काठमाडौं, २९ वैशाख-‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन बंगलादेशको राजधानी ढाका पुगेका परराष्ट्र मन्त्री एनपी साउद र सोही सम्मेलनमा भाग लिन पुगेका भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ‌।

दुई नेताबीच भेट भएको तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सेयर गर्दै भारतीय विदेश मन्त्री जयशंकरले दुई पक्षीय सम्बन्ध, विद्युत, कनेक्टिभिटी र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख गरेका छन् ।

साथै, परराष्ट्र मन्त्री साउदलाई जयशंकरले बधाई पनि दिएको उल्लेख गरेका छन् ।

शुक्रबार र शनिबार २ दिन चल्ने उक्त कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री साउद ढाका प्रस्थान गरेका थिए । 

सुडानबाट करिब दुई लाख मानिस विस्थापित

सुडान – सुडानबाट अप्रिलको मध्यमा सुरु भएको द्वन्द्वबाट बच्न करिब दुई लाख मानिस भागेको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ ।“सुडानमा हिंसा चौथो हप्तासम्म जारी रहँदा सुडानी शरणार्थीसहित स्वदेश फर्केकाहरू गरी कूल दुई लाख व्यक्ति विस्थापित भएका छन्,” संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीका प्रवक्ता ओल्गा सारडोले जेनेभामा पत्रकारहरूलाई बताउनुभयो ।

सुडानमा गत अप्रिल १५ मा सुरु भएको द्वन्द्वका कारण थप सात लाख मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घको आप्रवासन निकायले जनाएको छ । सुडानमा ७५० भन्दा बढीको मृत्यु भएको र लाखौँ विस्थापित हुने गरी भएको द्वन्द्व सुरु भएको करिब एक महिनापछि बिहीबार साउदी अरबको जेद्दाह शहरमा भएको वार्तामा दुवै पक्षले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

वार्तामा उनीहरू युद्धविरामका लागि सहमत भएका छैनन्, तर उनीहरूले नागरिकहरूको रक्षा गर्ने कसम खाएका छन्, र गरिब देशमा सहायतालाई लक्षित गरी लुटपाट र आक्रमणपछि अति आवश्यक मानवीय सहायता प्रदान गर्न प्रतिबद्ध भएका छन् ।

संयुक्त राष्ट्रसङ्घका सुडानका दूत भोल्कर पर्थेसले यो सम्झौता ‘पारस्परिक प्रतिबद्धता’ को प्रतीक भएकाले महत्वपूर्ण रहेको बताउनुभयो । “मलाई लाग्छ यो पहिलो कदम हो र एक महत्वपूर्ण पहिलो कदम हो,” उहाँले पोर्ट सुडानबाट भिडियो लिङ्कमार्फत जेनेभामा पत्रकारहरूसँग भन्नुभयो । विशेष गरी दुवै पक्षले अमेरिका र साउदी मध्यस्थताअन्तर्गत ‘वार्ता जारी राख्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

“युद्धविरामसम्बन्धी वार्ता आज वा भोलिबाट फेरि सुरु हुने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो ।यद्यपि तत्काल केही पनि परिवर्तन हुने देखिएन र दुई प्रतिद्वन्द्वी जनरलको फौजले शुक्रबार खार्तुममा फेरि गोली चलाएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफले सुडानको राजधानीमा कुपोषणविरुद्ध लड्न उपचारात्मक खाना उत्पादन गर्ने कारखाना जलेर नष्ट भएको र १४ हजार ५०० बालबालिकाको जीवन रक्षक उपचार नष्ट भएको चेतावनी दिएको छ ।

युनिसेफका प्रवक्ता जेम्स एल्डरले जेनेभामा पत्रकारसँग भन्नुभयो, “यो द्वन्द्वले बालबालिकाको जीवनलाई विभिन्न माध्यमबाट कसरी खतरामा पार्छ भन्ने कुराको यो अहिलेसम्मको सबैभन्दा अँध्यारो र विशिष्ट दृष्टान्त हो ।”

सार्राडोका अनुसार सुडानबाट भाग्नेमा बालबालिकाको सङ्ख्या पनि बढी छ ।हालैका दिनहरूमा करिब ३० हजार शरणार्थीहरू चाड आइपुगेको र हालैका हप्ताहरूमा सुडानबाट आएका शरणार्थीहरूको सङ्ख्या ६० हजार पुगेको उहाँले बताउनुभयो ।

“लगभग ९० प्रतिशत शरणार्थीहरू बालबालिका र महिलाहरू छन्, जसमा धेरै गर्भवती महिलाहरू पनि छन्,” उनले थप्नुभयो । उहाँका अनुसार छ महिनादेखि पाँच वर्ष उमेर समूहका २० प्रतिशत बालबालिका कुपोषित रहेको पाइएको छ ।

उदयपुर सिमेन्ट उद्योगको नाफा चार करोड ९२ लाख

कटारी – सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक वर्ष २०७८/७९ मा करिब पाँच करोड आम्दानी गरेको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेडको आज सम्पन्न ३५औँ वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनमा रु चार करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको जनाइएको छ । उद्योगले आर्थिक वर्ष २०७७/७८ को तुलनामा आव ०७८/७९ मा करिब २३ प्रतिशत बढी उत्पादन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनकाअनुसार आव २०७७/७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुँदा ३० करोड नोक्सानी भएकामा आव २०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।

उद्योगले एक वर्षमा एक अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको छ भने हालसम्म उद्योगको सञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको महाप्रबन्धक न्यौपानेले बताउनुभयो । सिमेन्ट उद्योगको वार्षिक साधरणसभाको उद्घाटन गर्दै उद्योग तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्ने बताउनुभयो ।

उदयपुर सिमेन्ट उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनका आधारमा लगानीको स्वरुप प्रस्ट हुने मन्त्री रिजालले बताउनुभयो । मन्त्री रिजालले उदयपुर सिमेन्ट उद्योगमा काम नै नगरी ओभरटाइम सेवा लिने प्रवृत्तिलाई दुरुत्साहित गर्नुपर्ने बताउनुभयो ।

साधरणसभाले विराटनगर जुटमिल्सले २०५१ सालमा ऋण लगेको ३४ लाख रकम असुल गर्न विराटनगर जुटमिल्सका नाममा रहेको तीन बिघा १२ कट्ठा जग्गा रोक्का राख्ने निर्णय अनुमोदन गरेकोे छ ।

वैदेशिक लगानी आकर्षित गर्न संरचनात्मक सुधारमा ध्यान दिन विज्ञको सुझाव

काठमाडौँ – नेपालमा विदेशी लगानी भित्र्याउनका लागि कानूनी एवं संरचनात्मक सुधार गर्नुपर्नेमा जोड दिइएको छ । लगानी बोर्ड र स्टान्डर्ड चार्टर्ड बैंकको संयुक्त आयोजना र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा आज काठमाडौँमा सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को अन्तिम सत्रका वक्ताहरूले नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि कानूनी संरचनासहित लगानीयोग्य आयोजना निर्माणमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा दबन सान्चेजले भन्नुभयो, “नेपालको कानूनी संरचना सुधार्नुपर्छ, दिगो अर्थतन्त्रका लागि आयातमा आधारित राजस्व प्रणालीलाई परिवर्तन गर्नुपर्छ । त्यसका लागि उत्पादनमूलक क्षेत्रमा लागनी बढाउनुपर्छ ।” उहाँले वैदेशिक लगानी आकर्षित गर्नका लागि आयोजना कार्यान्वयन क्षमता अभिवृद्धि र नीतिगत सुधारमा विशेष केन्द्रित हुन पनि सुझाव दिनुभयो ।

त्यसैगरी एसियाली विकास बैंका प्रमुख अर्थशास्त्री जान हान्सेनले नेपालमा लगानीमैत्री वातारण बनाउनका लागि प्रविधिमैत्री हुनुपर्ने बताउनुभयो । उहाँले स्थानीयस्तरमा लगानी पु¥याउनका लागि सोहीअनुसारका फरक–फरक लगानीयोग्य आयोजना निर्माण गर्न नेपाललाई सुझाव दिनुभयो । अर्थशास्त्री हान्सेनले सार्वजनिक र निजी क्षेत्रको सहकार्यमा नै लगानीको वातावरण सिर्जना हुने भएकाले आपसी सहकार्य गर्दै लागनीका क्षेत्र पहिल्याउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घ, वित्तीय विकास कोषका राष्ट्रिय कार्यक्रम संयोजक सरोज नेपालले नेपालका सङ्घ, प्रदेश र स्थानीय तहमा थुप्रै आयोजनाहरू रहेको उल्लेख गर्दै लगानीयोग्य आयोजना भने पाउन मुस्किल रहेको बताउनुभयो । उहाँले लगानीयोग्य आयोजना तयार भएको अवस्थामा मात्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी आकर्षित हुने भएकाले त्यस्ता योजना तयारमा विशेष ध्यान जानुपर्नेमा उहाँको जोड थियो ।

स्टान्डर्ड चार्टर्ड बैंक युकेका स्थिरतासम्बन्धी वरिष्ठ सल्लाहकार जोहन मुर्टनले सन् २०३० सम्ममा मध्यस्तरको आय भएको देशमा परिणत हुने र सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने लक्ष्य लिएको नेपालले त्यस्तो लक्ष्य भेट्टाउनका लागि वातावरणमैत्री लगानीलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक लगानीलाई आकर्षित गर्नका लागि तीव्र गतिमा विकास गरिरहेका विश्वका ठूला अर्थतन्त्र (भारत र चीन) बाट फाइदा लिन सक्नुपर्ने र त्यसका लागि नीतिगत सुधारलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले सार्वजनिक क्षेत्र र निजी क्षेत्रको सहकार्यबाट मात्रै आर्थिक विकास अगाडि बढाउन सकिने विश्वास व्यक्त गर्दै सोहीअनुसार नेपाल अगाडि बढेको जानकारी गराउनुभयो । उहाँले दिगो विकासका लागि निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै नेपालका निजी क्षेत्रको आर्थिक विकास निरन्तर सहयोग बताउनुभयो ।

नेपाल पूर्वाधार बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपालले लिएको आर्थिक लक्ष्य पूरा गर्नका लागि वैदेशिक सहयोग आवश्यक पर्ने र सोहीअनुसारका कार्यक्रम तय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

लगानीमैत्री वातारण तयार गर्न सक्षम छौँ : गभर्नर अधिकारी

सम्मेलन समापन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सक्षम रहेको बताउनुभयो । उहाँले नेपालमा लगानी गर्नका लागि अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाले चासो देखाइरहेको जानकारी दिँदै भन्नुभयो, “नेपाल लगानीमैत्री वतावरण निर्माण गर्न सक्षम छ । हामी गर्वका साथ भन्न सक्छौँ, हामी लगानीमैत्री वातावरण तयार गर्छौं ।”

उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय लगानीकर्ताले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेका छन् । हाम्रो अवस्थालाई अन्य देशसँग तुलना गरिरहेका छन्, यद्यपि उनीहरू लगानीका लागि इच्छुक छन् ।” गभर्नर अधिकारीले आज सम्पन्न ‘नेपालका लागि वित्तीय लगानीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेल’ले नेपालमा लगानीको वातारण छ भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा चार सत्रमा लगानीसम्बन्धी विभिन्न क्षेत्रमा बहस भयो । नेपालको लगानीका अवस्था एवं वित्तीय उपलब्धता, कानूनी, संस्थागत कार्यान्वयनको अवस्था, विकास र लगानी एवं सबल पक्षको उपयोग गर्दै अप्ठ्याराहरू निराकरण गर्नेजस्ता विविध विषयमा राष्ट्रिय एवं अन्तर्राष्ट्रि क्षेत्रका विज्ञहरूले आ–आफ्ना धारणा राख्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ बाट उद्घाटसहित शुरु भएको सम्मेलनको समापन राष्ट्र बैंका गभर्नर अधिकारीले गर्नुभएको थियो ।

फोहोरलाई मोहरमा रुपान्तरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैखाले फोहोर व्यवस्थापन र निर्मूल गर्न सरकार दृढतापूर्वक अगाडि बढेको बताउनुभएको छ । शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित फोहोरमैला व्यवस्थापनसम्बन्धी बैठकमा उहाँले सहरको सौन्दर्य र स्वस्थ जीवनका लागि फोहोर व्यवस्थापन महत्वपूर्ण भएको बताउनुभयो ।

सरकार राजनीतिक क्षेत्रमा देखिएको फोहोरसमेत व्यवस्थापन र निर्मूल पारिने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामी फोहोर व्यवस्थापनको छलफलमा छौँ । उपत्यकाको मात्र नभएर देशभरिको फोहोर व्यवस्थापन गर्ने कुरा हाम्रो प्राथमिकतामा छ । यो फोहोरको कुरा त छँदैछ, राजनीतिमा देखिएको फोहोर व्यवस्थापन र निर्मूल गर्नसमेत सरकार अगाडि बढेको छ ।”

परम्परागत तरिकाले फोहोरमैलाको दीर्घकालीन समाधान सम्भव नरहेको भन्दै उहाँले आधुनिक प्रविधिको प्रयोगबाट मात्रै फोहोरलाई मोहरमा रूपान्तरण गर्न सकिने बताउनुभयो । फोहोरलाई समस्या र झन्झटका रूपमा नभई ऊर्जा, मल र आम्दानीका विभिन्न स्रोत र अवसरका रूपमा बुझ्नुपर्ने बताउनुभयो । त्यसका लागि प्रविधिमैत्री सोच र योजना आवश्यक रहेको उहाँको भनाइ छ ।

“फोहोर व्यवस्थापनलाई कसरी दीर्घकालीन रूपमा सञ्चालन गर्ने, यसलाई समस्या होइन, आयमूलक परियोजनाका रूपमा कसरी प्रविधिकरण गर्ने भन्नेमा हाम्रो जोड छ । यससँग सम्बन्धित समितिहरूको बैठक बसेर १० दिनभित्र हामी फेरि अर्काे बैठक बस्छौँ, त्यसले व्यवस्थापनको दीर्घकालीन निर्णय गर्नेछ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।

काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनलाई व्यवस्थित गर्नेबारे प्रधानमन्त्रीले आह्वान गर्नुभएको बैठकमा सरकारका प्रतिनिधि, ल्यान्डफिल साइटका प्रतिनिधि र सरोकारवालाका प्रतिनिधिले फोहोर व्यवस्थापनको दीर्घकालीन उपायबारे आफ्नो धारणा राख्नुभएको थियो ।

बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, सहरी विकासमन्त्री सीता गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेल, नुवाकोटका सङ्घीय सांसदहरू हितबहादुर तामाङ, बिमला सुवेदी, ललितपुर महानगरका प्रमुख चिरीबाबु श्रेष्ठ, नेपाल सरकारका सचिवहरू, उपत्यकाका नगर प्रमुखहरू र प्रमुख प्रशासकीय अधिकृतलगायत सरोकार पक्षका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

बजेटमा के चाहन्छ निजी क्षेत्र ?

सरकार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको क्रममा छ । जेठ १५ गतेभित्र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार अहिले सरकारले विभिन्न क्षेत्रसँग पूर्वबजेट छलफल चलाइरहेको छ ।

बजेटका सिद्धान्त तथा प्राथमिकतामा संसद्मा प्रस्तुत भइसकेका छन् भने त्यसमाथि संसद्मा छलफलसमेत सकिसकेको छ । पूर्वबजेट छलफलका क्रममा विभिन्न सरोकारवाला क्षेत्रबाट सरकारले सुझाव लिइरहेको छ । निजी क्षेत्रका छाता सङ्गठनले पनि आगामी आवको बजेटमा समेटिनुपर्ने विषयबारे सरकारलाई सुझाव बुझाइसकेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आगामी आवका लागि आर्थिक सुधारका लागि सरकारलाई मुख्य पाँचवटा सुझाव दिएको छ । महासङ्घले सरकारलाई बुधबार बुझाएको सुझाव प्रतिवेदनमा तरलता व्यवस्थापन एवं कर्जा विस्तार, विप्रेषण प्रवद्र्धन कार्यक्रम, पुँजीगत खर्च वृद्धि, अनुत्पादक खर्चमा कटौती र सुशासनलाई केन्द्रमा राख्न भनिएको छ । त्यस्तै, प्रतिस्पर्धी औद्योगिक उत्पादन, स्टार्टअप प्रवद्र्धन, ऊर्जा विकास रणनीत, कृषि पारस्थितिक प्रणालीमा सुधार, पूर्वाधार विकास, राजस्व सुधार योजनालगायत विषयलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने महासङ्घको माग छ ।

तरलता व्यवस्थापन तथा कर्जा विस्तारका लागि कर्जाको पुनःसंरचना र पुनरतालिकीकरण, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा सहजीकरण, निर्माण व्यवसायीको रकम समयमै भुक्तानी, वैदेशिक ऋण तथा अनुदानका आयोजनाको समयमै लेखापरीक्षण र शोधभर्नालगायत सुझाव सरकारलाई दिएको छ ।

त्यसैगरी, पूर्वाधार आयोजनाको कार्यान्वयनका लागि सहजीकरण गर्न उच्चस्तरीय एकद्वार समिति गठन, संस्थागत कोषको रकम कम्तीमा २० प्रतिशत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था, २० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु मात्रै खरिद गर्ने व्यवस्थाको कार्यान्वयनलगायत सुझाव महासङ्घले दिएको छ ।

विप्रेषण प्रवद्र्धनका लागि निजी क्षेत्रमा लगानी गर्न पाउनुपर्ने, रु एक लाखसम्मको आन्तरिक विप्रेषण खुला गरिनुपर्ने, निजी क्षेत्रको सहकार्यमा चार महिनाको रोजगारमुखी कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव महासङ्घको रहेको छ ।

त्यसैगरी, सुशासन प्रवद्र्धनतर्फ अन्तर्राष्ट्रिय अनलाइन पेमेन्ट गेटवेको व्यवस्था गर्नुपर्ने, सबै सरकारी सेवा अनलाइनबाट हुने व्यवस्था गर्ने, विद्युतीय माध्यमबाट कर परीक्षण गरिनुपर्नेलगायतका सुझाव दिइएको छ ।

नेपालको औद्योगिक उत्पादनलाई प्रतिस्पर्धी बनाउनका लागि करिब चार सयको सङ्ख्यामा ऐन, तीन सय ५० नियमावली, निर्देशिका, अध्यादेशका संशोधन र परिमार्जन आवश्यक रहेको महासङ्घले जनाएको छ ।

त्यसैगरी लगानी बोर्डको कार्यालय, उद्योग विभाग, विशेष आर्थिक क्षेत्र, कम्पनी रजिष्ट्रार कार्यालय, कर कार्यालय, वाणिज्य विभाग, घरेलु कार्यालय, प्रदेश र स्थानीय तहबाट सेवा लिन एकीकृत सेवा प्रणालीको स्थापना गरिनुपर्ने सुझाव दिइएको छ ।

उद्योगलाई निर्वाध विद्युत् उपलब्ध गराउने र उत्पादनमूलक उद्योगलाई विद्युत् खरिद सम्झौता (पीपीए) दरमा प्रतियुनिट रु एक सेवाशुल्क लिई विद्युत् बिक्रीको व्यवस्था गरिनुपर्ने सुझाव महासङ्घले सरकारलाई दिएको छ ।

लघु, घरेलु, साना तथा मझौला उद्यम र स्टार्टअप प्रवद्र्धनका लागि बिनाधितो परियोजना कर्जा, स्थानीय तहमा स्थापना हुने औद्योगिक ग्राममा साना तथा मझौला उद्यमलाई प्रोत्साहन, ‘मेरो उत्पादन, मेरो पहिचान’ कार्यक्रम सञ्चालनलगायतका सुझाव दिइएको छ । त्यस्तै, स्टार्टअपसम्बन्धी नीति पारित गर्नुपर्ने र निजी साझेदारीमा कोसेली घरलाई प्रोत्साहन गर्नुपर्ने माग महासङ्घको छ ।

मुलुकको समृद्धिको आधारका रुपमा पर्यटन व्यवसायलाई स्थापित गर्न सन् २०२५ लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरिनुपर्ने महासङ्घको माग छ । त्यस्तै चीन तथा भारतमा पर्यटन सम्मेलन गर्ने, भैरहवा र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय पर्यटन क्षेत्र विज्ञापन कोष स्थापना गरिनुपर्नेलगायतका सुझाव छन् । भारतीय पर्यटकले नेपालमा आउँदा प्रतिव्यक्ति भारतीय रुपैयाँ एक लाखसम्म नगद ल्याउन पाउनुपर्ने पनि महासंघको भनाइ छ ।

त्यस्तै, ऊर्जाक्षेत्रको विकासका लागि निजी क्षेत्रलाई व्यापार र निर्यातको इजाजत दिइनुपर्ने महासङ्घको धारणा छ । निजी तथा सरकारी साझेदारीमा जलाशययुक्त आयोजना निर्माण, भारत तथा बङ्गलादेशसँग विद्युत् व्यापारका लागि उच्चस्तरीय संयन्त्र गठन, स्वदेशी पुँजीबाट निर्माण भएका आयोजनामा १५ वर्षसम्म रोयल्टी मिनाहालगायतका सुझाव छ ।

राजस्व प्रणाली सुधारका लागि पाँच वर्षभन्दा पुरानो बक्यौता कर रकमको फरकफारक गर्न ब्याज र जरिवाना छुट गरी एक पटकलाई विशेष व्यवस्था गरिनुपर्ने सुझाव महासङ्घले दिएको छ । लेखाङ्कन प्रयोजनका लागि आवश्यक न्यूनतम शुल्क लिई एकपटकको लागि सम्पत्ति अभिलेखीकरणको व्यवस्था गरिनुपर्ने, रु एक करोडसम्मका कारोबार भएका सबै करदाताले कर विवरण बुझाउँदा लेखा परीक्षण अनिवार्य गर्न नपर्ने व्यवस्था गर्ने, ‘मिसम्याच’ समायोजना अवधि एक वर्ष थप गरिनुपर्नेलगायतका सुझाव महासङ्घले दिएको छ ।

त्यसैगरी, उद्योगी व्यवसायीको अर्को छाता संस्था नेपाल उद्योग परिसङ्घले आगामी पाँच वर्षलाई लगानी वर्ष घोषणा गर्न सरकालाई सुझाव दिएको छ । मुुलुकलाई आर्थिकमन्दीबाट उकास्न लगानीमैत्री बजेट ल्याउनुपर्ने जोडसहित परिसङ्घले सरकारलाई सुझाव पेश गरेको छ । परिसङ्घले ‘मन्दीदेखि समृद्धि, लगानीमा अभिवृद्धि’ विषयमा केन्द्रित रहेर आगामी आर्थिकको बजेटबारे सुझाव पेश गरेको हो ।

परिसङ्घले औद्योगीकरण, निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापन, स्वदेशी उत्पादन प्रवद्र्धन एवं बजार नियमन, पूर्वाधार विकास, नवप्रवर्तनलगायत विषयलाई केन्द्रमा राखेर बजेट ल्याउन सुझाव दिएको छ । त्यस्तै, घरेलु, साना तथा मझौला उद्योग, ऊर्जा, पर्यटन, सूचना प्रविधि, कृषि तथा जडीबुटीजस्ता क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर आगामी बजेट तर्जुमा गर्न सुझाएको छ ।

 तरलता समस्या तथा बढ्दो ब्याजदर, मागमा आएको कमी, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी तथा रोजगारी कटौतीलगायतका कारण निजी क्षेत्रको मनोबल घटिरहेको परिसङ्घको ठहर छ । यी चुनौतीको सामना गर्न र अर्थतन्त्रलाई मन्दिको अवस्थाबाट उकास्न सरकारले विकास बजेटमार्फत अधिकतम पूर्वाधारको क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव सरकारलाई दिएको छ ।

“हालसम्मकै चरम निरासा तथा मन्दीबाट गुज्रिरहेका उद्योगलाई जोगाइ प्रोत्साहन गर्न चोरी पैठारी र अनाधिकृत आयात नियन्त्रण गर्न आवश्यक छ”, परिसङ्घको सुझावमा भनिएको छ, “भन्सार मूल्याङ्कन दरबन्दी सन्दर्भ पुस्तिका खारेजी, कच्चा पदार्थ तथा तयारी वस्तुमा कम्तीमा दुई तहको भन्सार महसुल फरक गरी स्वदेशी उद्योगमा लगानी प्रोत्साहन गर्न सकिन्छ ।”

निर्यात भइरहेका र हुनसक्ने सम्भावना रहेका वस्तुको पहिचान गरी त्यस्ता वस्तुको निर्यातमा नगद अनुदान उपलब्ध गराइनुपर्ने परिसङ्घको सुझाव छ । त्यस्तै, स्वदेशी उत्पादनलाई नेपाली बजारमै प्रतिस्पर्धी बनाउन र अनाधिकृत व्यापार नियन्त्रण गर्न मूल्य अभिवृद्धि करमा बहुदर कायम गरिनुपर्ने माग परिसङ्घको छ ।

औद्योगिक व्यवसाय ऐनले नेपालका उद्योगलाई उपलब्ध गराएका सुविधा आर्थिक विधेयकबाट सुनिश्चित गरिनुपर्ने परिसङ्घको सुझाव छ । उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको ब्याजदरभन्दा कम गर्ने नीति लिइनुपर्ने विषयलाई बजेटले सम्बोधन गरिनुपर्ने परिसङ्घले जनाएको छ ।

पूर्वाधार विकासको नीतिगत तथा कार्यगत सुधारका काम गर्नेगरी ‘इन्फ्रास्ट्रक्चर कन्स्ट्रक्शन डेभलपमेन्ट अथरिटी’ गठन गरिनपर्ने माग पनि परिसङ्घको छ । त्यस्तै, लगानीका लागि ठूलो रकम सङ्कलन गर्न सरकारले ग्रीन बन्ड, पूर्वाधार बन्ड ल्याउनुपर्ने सुझाव परिसङ्घको छ । राष्ट्रिय गौरव, दीर्घकालीन महत्व र रणनीतिक महत्वका आयोजना समयमै सम्पन्न गर्न ‘सनसेट ल’ तयार पारिनुपर्ने सुझाव पनि सरकारलाई परिसङ्घले दिएको छ ।

आयकर ऐनको दफा ५७ मा संशोधन गर्न, महिला उद्यमीलाई बिना धितो दिइने कर्जाको न्यूनतम सीमालाई बढाउन, महिलाद्वारा प्रवद्र्धित उद्योगबाट उत्पादित वस्तुको निर्यात प्रोत्साहनका लागि निर्यातमा कम्तीमा एक प्रतिशत थप नगद अनुदान दिने व्यवस्था गर्न परिसङ¬्घले आग्रह गरेको छ ।

त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट वितरणमुखी नभई उत्पादनमुखी बनाउन सरकारसमक्ष आग्रह गरेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि आगामी आवको बजेट उत्पादनमुखी क्षेत्रमा केन्द्रित हुनुपर्ने चेम्बरको माग छ ।

“गम्भीर आर्थिक शिथिलताले धराशायी हुने संघारमा पुगेका उद्यमी व्यवसायीलाई आवश्यक नीतिगत संरक्षण एवं सहुलियत प्रदान गर्नेगरी बजेट तर्जुमा गरिनुपर्दछ”, चेम्बरले सरकारलाई दिएको सुझावमा भनिएको छ, “विद्यमान अर्थ व्यवस्थामा सङ्कुचित मौद्रिक नीतिले व्यापारको असहजीकरण र नियन्त्रणमुखी आर्थिक नीतिको नकारात्मक प्रभावले गम्भीर आर्थिक शिथिलता उत्पन्न गरेको छ । अवको बजेट उत्पादनमा केन्द्रित गर्न आवश्यक छ ।”

चेम्बरले करको दायरा बढाउनसमेत सुझाव दिएको छ । नागरिकता वितरण गर्दा प्यानकार्ड पनि दिने व्यवस्था गर्नुपर्ने चेम्बरको माग छ । भन्सार प्रशासनलाई चुस्त बनाउनुपर्ने भन्दै चेम्बरले भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनसमेत आग्रह गरेको छ । यस्तै भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन ल्याब राखिनुपर्ने उसको सुझाव छ ।

यस्तै, मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू हुनुपर्ने र आम उपभोग्य वस्तु र विलासिताका वस्तुमा फरक दर कायम हुनुपर्नेमा पनि चेम्बरले सुझाव दिएको छ । चेम्बरले व्यक्तिको हकमा रु आठ लाख र दम्पतीको हकमा रु १२ लाखसम्मको आम्दानीमा कर छुट दिन सरकारसमक्ष माग गरेको छ ।

नकारात्मक सूचीमा रहेका रक्सी, वियर एवं सुर्तीजन्य पदार्थ आदिको उत्पादनबाहेक सबै प्रकारका उत्पादनमा अन्तशुल्क हटाउनसमेत चेम्बरले माग गरेको छ । मुलुकमा रहेका प्राकृतिक स्रोत साधन र जडीबुटीजन्य वस्तुको समुचित प्रर्वद्धन गर्न कानुन बनाई अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने व्यवस्था गर्न पनि चेम्बरले सरकारको ध्यानाकर्षण गराएको छ । चेम्बरले बाँझो जमिन सदुपयोग नीति बनाएर बजेटमा विशेष व्यवस्था गर्न आग्रह गरेको छ ।

“बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाइनुपर्दछ”, चेम्बरले दिएको सुझावमा भनिएको छ । चेम्बरले घरजग्गा कारोबारलाई व्यवस्थित बनाउन ब्रोकर लाइसेन्स बिना घरजग्गा कारोबार गर्न नपाउने व्यवस्था गर्नसमते सरकारसँग आग्रह गरेको छ । 

पक्षपातरहित ढङ्गले विकास गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

पर्वत – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउने सक्ने चिन्ता व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटनलाई सम्बोधन गर्दै उहाँले पक्षपातरहित ढङ्गले विकास निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । “विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ”, उहाँले भन्नुभयो, “बिना गुरुयोजना पहुँच हुनेले योजनाहरु लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा विद्रोह हुन्छ । पक्षपातरहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ ।”

अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नु हुँदैन भन्ने मान्यता सबैले राख्नुपर्नेमा जोड दिँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनोटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले बिना पक्षपात काम गर्नुपर्ने बताउनुभयो । तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनोट गर्न उहाँले आग्रह गर्नुभयो ।

पर्वत जिल्लाका सबै वडा कार्यालयहरुसम्म पुग्ने सडकहरु कालोपत्र हुने चरणमा रहेको बताउँदै अध्यक्ष तिमिल्सिनाले अहिले काम भइरहेका र योजना छनोट प्रक्रियामा रहेका स्थानका बासिन्दालाई पनि धैर्यता गर्न आग्रह गर्नुभयो । उहाँले आफूँ राष्ट्रियसभालाई राम्रो समय चलाउने तर बचेको समय विकास निर्माण र देशका अन्य सरोकारका विषयमा पनि लागिरहने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका सदस्य पुष्प तिमिल्सिना, गण्डकी प्रदेशसभाका सदस्य भक्त कुँवर, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, निर्वतमान अध्यक्ष प्रेम पौडेल, उपाध्यक्ष बिमल लामिछाने, वडा नं ७ का अध्यक्ष दुर्गाप्रसाद शर्मा, निवर्तमान वडाअध्यक्ष वसन्त गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त वडा कार्यालय भवन रु ६८ लाखको लागतमा निर्माण भएको थियो । भवन निर्माणका लागि रुद्रप्रसाद तिमिल्सिना र नीलकुमारी तिमिल्सिनाले दुई रोपनी ६ आना जग्गा निःशुल्क दिनुभएको थियो भने स्थानीय लोकनाथ रिजालले बाटोका लागि जग्गा प्रदान गर्नुभएको वडा कार्यालयले जानकारी दिएको छ ।

संविधानसभा सदस्य बस्नेतको निधन

काठमाडौ। संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । 

नेपाली काँग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौँको सिफलमा बस्दै आएका थिए ।

२००२ मङ्सिर २१ गते लिखु पिके गाउँपालिका, वार्ड नं ३ सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लामो समयसम्म रहेका थिए ।

काग्रेसको केन्द्रिय सदस्यसमेत भएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट एमए तथा बीएल गरेका छन् । बस्नेतले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षसमेतको जिम्मेवारी सम्हालेका थिए ।

निर्वाचन आयोगले सोध्यो नागरिक उन्मुक्तिसहित ९ दललाई स्पष्टीकरण

काठमाडौं, २९ बैशाख । लेखा परिक्षण प्रतिवेदन नबुझाएको भन्दै नागरिक उन्मुक्तिसहित ९ राजनीतिक दललाई निर्वाचन आयोगले कारबाही प्रक्रिया सुरु गरेको छ ।

आज सार्वजनिक सुचना जारी गर्दै आयोगले नागरिक उन्मुक्तिसहित ९ वटा राजनीतिक दललाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको हो । आयोगले ७ दिन भित्रमा चित्तबुझदो जवाफ नदिएमा कारबाही गर्ने चेतावनीसहित ७ दिने सार्वजनिक सुचना जारी गरेको हो । 

रााजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ४१  को  उपदफा  (१)  बमोजिम  आयोगमा  दर्ता  कायम  रहेका  राजनीतिक  दलहरूले  आर्थिक  वर्ष समाप्त भएको छ महिनाभित्र कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र सो लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्नुपर्ने कानुनी दायित्व रहेको आयोगले स्मरण गराएको छ ।  

‘आव २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधि भित्र पेस नगरी सो समयावधि व्यतीत भए पछि पेस गर्ने ९ (नौ) राजनीतिक दल लाई लेखा परीक्षण प्रतिवेदन कानुन बमोजिम तोकिएको समयावधिभित्र किन पेस नगरेको हो ? लेखा परीक्षण प्रतिवेदन आयोगमा पेस गर्ने कार्य नगरेकोले तपाईंलाई  राजनीतिक  दल  सम्बन्धी  ऐन,  २०७३  को  दफा  ५४ को उपदफा (५) को खण्ड (क) बमोजिम किन कारबाही हुनु नपर्ने हो ? आफ्नो सफाइ सहितको स्पष्टीकरण सोही ऐनको सोही दफा ५४ को उपदफा (८) बमोजिम ७ (सात) दिनभित्र आयोगमा पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ आयोगले भनेको छ, ‘साथै आर्थिक वर्ष २०७७÷७८ र २०७८÷७९ को लेखा परीक्षण प्रतिवेदन निरन्तर  दुई  आर्थिक  वर्षसम्म  पेस  नगर्ने राजनीतिक दलहरूको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।

आयोगले स्पष्टीकरण सोधेका ९ वटा राजनीतिक दलहरुमा नेपाली ग्रिन्स पार्टी, नेपाल आमा पार्टी, नेपालबाद, त्रिमुल नेपाल, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी, बहुजन एकता पार्टी नेपाल, जनता प्रगतिशिल पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन । 

उडडयन प्राधिकरणले खुलायो १ सय भन्दा बढी पदमा जागिर

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । 

प्राधिकरणमा आर्थिक बर्ष २०७९८०को असार मसान्तसम्म रिक्त हुन आउने निम्न पदमहरुमा खुल्ला प्रतियोगितात्मक परिक्षाद्धारा पद पुर्ति गर्न लोकसेवा आयोगवाट सहमअति प्राप्त भए अनुसार सो जागिर खुलाईएको हो । प्राधिकरणका अनुसार प्रबन्धक देखी सहयाकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो  ।

आजको २१ दिन भित्रमा उल्लेखित पदहरुमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।  

देउखुरीको रोक्का रहेको जग्गा फुकुवा गर्न मन्त्री मास्कीलाई जिम्मा

तुलसीपुर- लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उहाँको जिम्मा लगाएको छ ।

राप्ती उपत्यकामा लुम्बिनीको स्थायी राजधानी तोकिएपछि त्यहाँ जग्गा किनबेच रोकिएको थियो । जग्गा फुकुवा नगर्दा जीवन निर्वाहमा समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका थिए । यस विषयमा मन्त्री मास्कीले आन्दोलनरत पक्षसँग छलफल गर्नुभएको थियो । छलफलमा एक महिनाभित्र जग्गा फुकुवा गर्ने गरी प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेपछि आन्दोलन रोकिएको थियो ।

“एक महिनाभित्र जग्गा फुकुवाका लागि मैले प्रतिवेदन तयार गरेर मन्त्रिपरिषद्मा लैजान्छु”, मन्त्री मास्कीले भन्नुभयो, “त्यसपछि जग्गा फुकुवाको काम अघि बढ्छ ।”

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी क्षेत्रमा ३२ महिनादेखि जग्गा किनबेच रोक्का थियो । लामो समयदेखि जग्गा रोक्का हुँदा दैनिक जीवनयापनसहित उद्योग, व्यापार सञ्चालनमा समस्या भएको थियो । त्यस्तै अंशवन्डा तथा बैंक एवं वित्तीय संस्थाबाट कुनै पनि प्रकारको ऋण लिन समस्या भएको छ । लुम्बिनी प्रदेशको क्षेत्र रहेको राप्ती गाउँपालिकाको पूरै नौवटा वडा, गढवा–१, २ र ३ वडा तथा सितगङ्गा नगरपालिका–८ र ९ मा जग्गा रोक्का गरिएको छ ।

महाभियोगबारे सर्वोच्चको व्याख्या : दर्ताले मात्र निलम्बित हुन्न

काठमाडौँ – सर्वोच्च अदालतले महाभियोग प्रस्ताव दर्ता हुनेबित्तिकै आरोपित पदाधिकारी निलम्बित नहुने व्याख्या गरेको छ । प्रतिनिधि सभाले प्रव्रिmया सुरु नगरी प्रस्ताव दर्ताकै भरमा निलम्बन हुने संविधानको समेत परिकल्पना नभएको सर्वोच्चको व्याख्या छ । अदालतले सभामा प्रस्ताव पेस भई छानबिन समितिमा पठाएपछि मात्र प्रस्तावको प्रक्रिया सुरु हुने व्याख्या गरेको छ ।

२०७४ मा तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्कीको महाभियोग प्रस्तावउपर अधिवक्ता सुनीलरञ्जन सिंहले दायर गरेको रिटको अन्तिम फैसला सार्वजनिक गर्दै अदालतले प्रस्तावकै भरमा निलम्बित भएको पत्राचार गर्ने पदाधिकारीलाई विभागीय कारवाहीको विषय हुनसक्ने समेत फैसलामा उल्लेख गरेको छ । कायममुकायमा प्रधान न्यायाधीश हरिकृष्ण कार्की तथा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले सो फैसला गरेको हो । बहुमतको रायमा सहमति जनाउँदै न्यायाधीश भट्टराईले भने आफ्नो फरक रायसमेत लेखेका छन् । उक्त रायमा भट्टराईले तीन सांसदले पनि महाभियोगको विषय उठान गर्ने व्यवस्थामा प्रश्न गरेका छन् ।

फैसलामा कार्कीमाथिको महाभियोग प्रस्ताव प्रतिशोधपूर्ण रहेको उल्लेख छ । प्रस्तावको व्यहोरा, इजलासमा सम्मिलित अन्य न्यायाधीशबारेको मौनतालगायतले प्रतिशोध देखिएको इजलासको ठहर छ । प्रस्तावमा मूल्य, मान्यता, आदर्श तथा संविधानको पालना र सुनिश्चितता नदेखिएकाले प्रस्ताव आपत्तिजनक रहेको इजलासको निष्कर्ष छ । न्यायपालिकाबाट गरिएका काम कारवाहीमा प्रस्तावका नाममा कुनै पनि निकायले हस्तक्षेप गर्न नमिल्ने पनि फैसलामा उल्लेख छ ।

पूर्ण पाठमा भनिएको छ, “महाभियोगसम्बन्धी प्रस्तावको स्वरूप, अभिव्यक्तिबाट नै उक्त प्रस्ताव कुनै मूल्य, मान्यता, आदर्श स्थापित गर्न वा संविधानको पालना गर्ने अवस्था सुनिश्चित गर्न अभिप्रेरित नभएर सरकारले गरेको निर्णयको प्रतिरक्षार्थ पेस गरिएको भन्ने देखिन्छ । यस प्रकारको कामकारवाहीलाई सामान्य वा नियमित प्रशासनिक वा व्यवस्थापनसम्बन्धी व्यवहारमा समेत स्वीकार्य ठानिँदैन । महाभियोगको सन्दर्भमा भन्नुपर्दा उल्लेखित व्यहोरा अझ बढी आपत्तिजनक प्रकृतिको रहेको देखिन्छ ।’’

अदालतले मुद्दा मामिलामा निरूपण गरिएका विषय संसद्मा छलफलको विषय नभएको संविधानमा प्रस्ट व्यवस्था भएको उल्लेख गरेको छ । अदालतले महाभियोग प्रतिशोधमा चलाउने हतियार नभएको उल्लेख गर्दै अमूक स्वार्थ र चाहना प्रतिकूल आदेश, निर्णय वा फैसला गरेको कुरालाई सैद्धान्तिक आवरण दिएर चलाइने महाभियोगले संविधानवादको अवधारणालाई खतरामा पार्ने उल्लेख गरेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

कामै नगरी कर्मचारीले लिए १० करोड ४७ लाख

काठमाडौं । सरकारले सयौं कर्मचारीलाई जिम्मेवारी नदिई अतिरिक्त समूहमा राख्दा राज्यकोषको १० करोडभन्दा बढी रकम खेर गएको छ । अतिरिक्त समूहमा रहेका कर्मचारीले हाजिर गर्ने र कामै नगरी त्यसै घर फर्केरै १० करोड ४७ लाखभन्दा बढी रकम सकाएका हुन् । यद्यपि, सो रकम कर्मचारीको तलबमा खर्च भएको हो । अतिरिक्त समूहमा राखिएकाले कामबिना नै तलब बुझ्ने गरेका छन् ।

सरकारले विभिन्न बहानामा सयौं कर्मचारीलाई अतिरिक्त समूहमा राख्ने गरेको छ । आर्थिक वर्ष २०७९र८० मा ती कर्मचारीले कामै नगरी १० करोड ४७ लाख बढी रकम सकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

त्यसरी अतिरिक्त समूहमा राखिएकाहरूले कुनै काम गर्दैनन् । महालेखा परीक्षकको कार्यालयले कर्मचारीको यस्तो प्रवृत्तिप्रति प्रश्न उठाउँदै अतिरिक्तमा राखिएकालाई आवश्यक जिम्मेवारी दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । निजामती सेवा ऐन, २०४९ को दफा १८ घ तथा निजामती सेवा नियमावली २०५० को नियम ३४ ग मा अतिरिक्तसम्बन्धी व्यवस्था रहेकोमा सोही ऐनको दफा १८ ख मा जिम्मेवारी नदिई राख्न नहुने व्यवस्था छ ।

तर, सरकारका विभिन्न मन्त्रालयले मातहतका कैयौँ कर्मचारीलाई अतिरिक्त समूहमा राखे पनि जिम्मेवारी दिन सकेका छैनन् । मन्त्रालयलहरूले अतिरिक्त समूहमा रहेकालाई जिम्मेवारी नदिँदा ऐन नियमावली उल्लंघन भएको पाइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई अतिरिक्त समूहमा राख्न नहुने र अन्य मन्त्रालयलाई पनि सोहीअनुसार गराउन आवश्यक निर्देशन दिनुपर्नेमा मन्त्रालय आफंैले ठूलो संख्यामा कर्मचारीलाई अतिरिक्त समूहमा राख्ने गरेको पाइएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी

काठमाडौं । वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल शुरू गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच बिहीवार भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।

बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले अन्तरराष्ट्रिय श्रम बजारको अध्ययन गर्ने गराउने र नयाँ अन्तरराष्ट्रिय श्रम बजारको खोजी गर्ने गराउने वैदेशिक रोजगार ऐनमा भएको व्यवस्थाबमोजिम नयाँ श्रम गन्तव्य मुलुकको खोजी गर्न लागिएको जानकारी दिए ।

प्रत्येक वर्ष झण्डै ५ लाखको हाराहारीमा नेपाली श्रम शक्ति वैदेशिक रोजगारीमा जाने गरेको वर्तमान अवस्थामा युरोप, क्यानडालगायत मुलुकमा रोजगारीको दायरा विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

बोर्डका निर्देशक सीता दुवाडीले नेपाली श्रमिकका लागि श्रमको नयाँ क्षेत्र र मुलुकको खोजी भइरहेको जानकारी दिइन् । नयाँ क्षेत्र पहिचानका लागि युरोपेली मुलुकमा रहेका दूतावास, गैरआवासीय नेपाली र सरोकारवाला पक्षसँग छलफल गरिने उनले बताइन् ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले परम्परागतरूपमा खाडी मुलुकमा जाने ८० प्रतिशत श्रम शक्तिलाई नयाँ गन्तव्य मुलुकमा ‘सिफ्ट’ गर्न आवश्यक रहेको बताए ।

उनले पूर्वी युरोपलगायत मुलुकमा ठूलो सङ्ख्यामा जान शुरू गरेका नेपाली श्रमिकलाई संस्थागत रूपले पठाउने सवालमा द्विपक्षीय सम्बन्ध विस्तारमा सरकारले जोड दिनुपर्ने धारणा राखे ।

अर्थमन्त्रीका आँखा मौद्रिक नीतिमै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेका बेला मन्दी उन्मुख अर्थतन्त्रलाई सपार्न अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्त नीतिभन्दा मौद्रिक नीतिलाई सुधार्नुपर्नेमा जोड दिएका छन् ।

निजीक्षेत्रले आगामीबजेटमार्फत वित्त र मौद्रिक दुवै नीतिमा सुधार गर्नुपर्ने माग गरे पनि अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक भएको बताएका छन् ।नेपाल राष्ट्र बैकको कसिलो मौद्रिक नीति र सरकारले पूँजीगत खर्च कम हुँदा अर्थतन्त्र सुस्ताएको महतको बुझाइ छ ।

‘मौद्रिक नीतिलाई खुकुलो बनाउँदा ब्याजदर कम हुन्छ, सस्तो ब्याजदरले व्यावसायिक लागत कम हुन्छ । उत्पादन सस्तो हुन्छ। अर्थतन्त्र धरासाही भएको होइन,’ अर्थमन्त्री महतले भने । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण छानबिनको स्वागत तथा समर्थन

काठमाडौँ-जवाफदेहिता निगरानी समितिले नक्कली भूटानी शरणार्थी प्रकरण छानबिन गरी कानूनी दायरमा ल्याउने कार्यप्रति स्वागत तथा समर्थन गरेको छ । “नेपाल सरकारको उच्च राजनीतिक एवं प्रशासनिक संलग्नता, संरक्षण एवं प्रभावमा ठूलो रकम ठगी गरी नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउने गरेको देखियो” समितिका संयोजक चरण प्रसाईंले आज प्रेस विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “सङ्गठित अपराधमा सक्रिय गिरोहविरुद्ध नेपाल प्रहरीले तदारुकताका साथ अगाडि बढाएको छानबिन तथा अनुसन्धान प्रक्रियालाई जवाफदेहिता निगरानी समिति हार्दिक स्वागत गर्दछ ।”

विगत लामो समयदेखि राजनीतिक संरक्षणमा मुलुकभित्र मौलाउँदै गएको भ्रष्टाचार, सङ्गठित अपराध र कुशासनको दुष्चक्रलाई मलजल गर्ने काम भइरहेको यस प्रकरणले उजागर गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सत्ताको दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर तेस्रो मुलुकमा पठाउनुका साथै मानव तस्करी, ठगी एवं भ्रष्टाचारजन्य कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा संलग्न रहने व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन नेपाल प्रहरीले अगाडि बढाएको छानबिन तथा कानूनी प्रक्रियाले जनसमुदायमा कानूनी शासनप्रति आशा र विश्वासको सञ्चार गराएको जवाफदेहिता निगरानी समितिले अनुभव गरेको छ”, समितिले भनेको छ ।

नक्कली भूटानी शरणार्थी प्रकरण ठगीसम्बन्धी अपराध मात्रै नभएर राज्यशक्तिको चरम दुरुपयोगका साथै मानव तस्करी एवं देश र जनताविरुद्ध गरिएको निकृष्ट विश्वासघात एवं संगठित योजनाबद्ध अपराध भएको समितिको ठहर छ ।

यस प्रकृतिको घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै कुनै पनि राजनीतिक दबाब, प्रभाव वा चलखेलमा नफसी उच्च मनोबलका साथ स्वच्छ, निष्पक्ष र स्वतन्त्र अनुसन्धान गरी राष्ट्रको विश्वसनीयता, इज्जत तथा प्रतिष्ठा जोगाउन नेपाल प्रहरी र नेपाल सरकारका सम्बन्धित निकायहरूसँग समितिले माग गरेको छ । कानूनी शासन, मानवअधिकार र न्याय प्रवर्द्धनतर्फका हरेक प्रयत्नलाई जवाफदेहिता निगरानी समिति खुलेर समर्थन र प्रतिरक्षा गर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

दोर्खु खोलाको पक्की पुल १४ महिना अगावै सम्पन्न, मुख्यमन्त्री जमकट्टेलले गरे उद्घाटन

नुवाकोटको तादी गाउँपालिका–३ खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको पक्की पुलको बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमकट्टेलले उद्घाटन गर्नुभएको छ ।जिल्लाकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातको साधनमार्फत जान मुख्य अवरोध रहेको दोर्खु खोलामा निर्माण पक्की पुल निर्माण गरिएको हो ।

सो अवसरमा मुख्यमन्त्री जमकट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताउनुभयो । “विकासका लागि सडक पूवार्धार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिइरहेको छ”, उहाँले भन्नुभयो, “ग्रामीण क्षेत्रको विकास र दुर्गमबाट सुगम यातायातको पहुँचले भिन्नता बनाउने भएकाले निर्माण गरिएको पक्की पुलमा १२ महिना गाडी चलाउन जीर्ण सडकलाई व्यवस्थित गर्न क्रमशः (बहुवर्षीय) बजेट उपलब्ध गराउने छौँ ।”

तादी गाँउपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्म पुग्न कच्ची सात किलोमिटरसहित उर्लेनीको मुख्य बस्ती काल्चे र ओख्रेसम्म पुग्ने सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार उर्लेनीको प्रसिद्ध कृषी सामग्री उपजलाई बजार पु¥याउन, स्थानीयवासीको दैनिक उपभोग्य वस्तु खरिद गरेर लैजान र सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारु गराउन पक्की पुलले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास छ ।

पक्की पुलको निर्माणले गाउँ छाडेर शहर बजारतर्फ जाने बसाइँसराइ रोक्न, भूकम्पपछि जोखिममा परेको उर्लेनीबाट सुरक्षित स्थानको खोजीमा रहेको पीडितलाई आफ्नै थातथलोमा अड्याउन सकिने बागमती प्रदेशसभा सदस्य राधिका तामाङले बताउनुभयो ।

दुई वर्षमा सक्नुपर्ने पुल एक वर्ष नपुग्दै सम्पन्न

तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खु खोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण सुरु भएको छ महिनामै सम्पन्न भएको हो । विसं २०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच दुई वर्ष (विसं २०८१ असार ३०) भित्र पुल सम्पन्न गर्ने सम्झौता भएको थियो ।

ठाडो खोला र पानीको बहावले साउन १ देखिको सट्टामा काम सुरु गर्न कात्तिक लागेको थियो । पुल निर्माणको काम सुरु भएको छ महिना नपुग्दै सम्पन्न गरेको जयविष्णु निर्माण सेवाका प्रोप्राइटर अनिल सिलवालले बताउनुभयो । उहाँका अनुसार २४ महिनामा पूरा गर्नुपर्ने काम जिम्मेवारी पाएको १० महिनामा नै सम्पन्न भयो । पुल निर्माण गर्न ठेक्का लगाएको पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र बज्राचार्यका अनुसार रु छ करोड ९९ लाख ३९ हजारमा ठेक्का दिएको पुलको निर्माण व्यवसायीलाई रु पाँच करोड ६२ लाख भुक्तानी दिन बाँकी छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्न भनेर दिएको जिम्मेवारी १४ महिना अगावै पूरा गरेसँगै सोहीअनुसार बजेट नहुँदा भुक्तानी दिन प्रदेश सरकारलाई समस्या भएको हो ।

आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भु-भागमा बर्षा हुने

काठमाडौं, २९ बैशाख । हाल देशमा  स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र  गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती भने कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनु साथै तराईका भू-भागहरुमा अधिकतम तापक्रममा केही वृद्धि हुने सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ । 

अर्घाखाँचीमा आगोले जलेर मृत्यु भएका चार जनाको सामूहिक दाहसंस्कार, गाउँ शोकमा

अर्घाखाँची- आगोले जलेर मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ढाकाबाङ्गका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ ।खाकाबेँसीको बघमारे घाटमा सो सामूहिक दाहसंस्कार गरिएको भुमिकास्थान नगरपालिका–१ का वडाध्यक्ष गोपाल खनालले बताउनुभयो । भुमिकास्थान नपा–२ ढाकाबाङ्गमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ शोकमा डुबेको छ ।

मङ्गलबार दिउँसो भुमिकास्थान नगरपालिका–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँ बेल्वासे टोलका चारै जनाको मृत्यु भएको थियो । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा सिफारिस गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ सिफारिस गरिएकामा उपचारका लागि लैजाँदै गर्दा केहीको बाटोमा र केहीको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको थियोे ।

आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा र ३६ वर्षीय माधव वेल्वासेको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको हो । आगलागीमा परी घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उहाँको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत

सिन्धुपाल्चोक- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताउनुभएको छ । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने छ भन्नुभयो ।

सिन्धुपाल्चोक घर भई हाल अमेरिका रहनुभएका राम श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा खेल गतिविधि बढाउन सहयोग गर्नुभएकोमा उहाँले आभार प्रकट गर्नुभयो । मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थमा कर बढाएर आर्थिक स्थिति कमजोर भएकाको उपचारमा खर्च गर्ने नीति ल्याउन आफू लागिपरेको बताउनुभयो ।

आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि सिन्धु योङ स्टार क्लब मेलम्ची–९ ले हात पारेको छ । फाइनलमा मेलम्ची–७ दुवाचौरलाई ३–१ को सेटमा पराजित गर्दै सिन्धु योङ स्टारले उपाधिमाथि कब्जा जमाएको हो । मेलम्ची–९ ले दुवाचौरलाई २५–२०, २५–१८, २०–२५ र २५–१६ ले पराजित गरेको हो ।

उपाधिसँगै मेलम्ची–९ ले रु दुई लाख हात पारेको छ भने मेलम्ची–७ दुवाचौरले रु एक लाखमा चित्त बुझाएको छ । त्यस्तै वनकाली युवा समाज जुगलले तेस्रो स्थान हात पारेको छ । सिर्जनशील युवा क्लब दुवाचौर छापलाई ३–२ को सेटमा पराजित गर्दै वनकाली तेस्रो भएको हो । उसले रु ७५ हजार नगद पाएको छ । खेलाडीलाई नगद, ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

मेलम्ची युवा क्लबको आयोजना तथा राम श्रेष्ठको प्रायोजनमा वैशाख २५ गतेबाट सुरु भएको प्रतियोगितामा अनुशासित टिम मेलम्ची–२ घोषित भएको प्रतियोगिताको सहजीकरण गरिरहनु भएका प्रकाश सापकोटाले जानकारी दिनुभयो ।-

शरणार्थी प्रकरणको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का तथा जनवर्गीय सङ्गठनका नेताहरूसँगको छलफलमा उहाँले दोषीलाई कुनै पनि हालतमा नछाड्ने र निर्दोष कुनै पनि हालतमा नफस्ने गरी सरकार अगाडि बढेको बताउनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “निर्दोष कुनै पनि हालतमा पर्ने छैनन्, दोषी कुनै पनि हालतमा छुट्ने छैनन् ।” यो कार्य सामान्य भ्रष्टाचार मात्रै नभएर सङ्गठित अपराध भएको र अझ त्योभन्दा बढी यो राज्य विरुद्ध कै अपराध भएको उहाँको भनाइ थियो ।

“यो भ्रष्टाचार मात्रै होइन माथिदेखि तलसम्म मिलेर चलाइएको सङ्गठित अपराध हो, यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्य विरुद्ध कै अपराध हो”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “यसकै सबै नेक्ससलाई कानूनी कारबाहीको दायरामा ल्याउनेतर्फ हामी अगाडि बढेका छौँ ।”

उहाँले उक्त प्रकरणमा आफूलाई कुनै पनि नेताले दबाब नदिएको उल्लेख गर्नुहुँदै दबाब आए त्यसलाई थेगेरै भए पनि अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पु¥याइने दृढता व्यक्त गर्नुभयो । शरणार्थी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट आफूले दह्रो साथ र आड भरोसा पाएको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ ।

“मलाई अहिलेसम्म शीर्ष नेताले यसलाई नपक्रनुस्, उसलाई नपक्रनुस् भनेर दबाब दिनुभएको छैन, दोषी नफसोस् र निर्दोष नउम्कियोस् भन्ने नै उहाँहरूको कुरा छ”, श्रेष्ठले भन्नुभयो, “प्रधानमन्त्रीको निर्देशन र आड भरोसा छ, दोषीलाई कारबाही गरियोस् निर्दोष नपरुन् भन्ने छ ।”

सिङ्गो देश भ्रष्टाचार र कमिसनले आक्रान्त बनेकाले त्यसबाट मुक्त गराउन प्रहरीलाई निर्धक्क भएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएको उहाँको भनाइ थियो । उहाँले थप्नुभयो, “राजनीतिक दबाबको सामना गर्ने म छु, तपाईंहरू पनि अन्य चलखेलमा नलागी अनुसन्धान गर्नुहोला भनेर प्रहरीलाई भनेको छु ।”

गण्डकीमा मन्त्रालयको नयाँ कार्यविभाजन

गण्डकी प्रदेश सरकारले मन्त्रालयको कार्यविभाजन हेरेफेर गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको नयाँ कार्यविभाजन गरेको हो । सरकारको उक्त निर्णय आजै प्रदेश राजपत्रमासमेत प्रकाशित भइसकेको छ । यसअघिको कार्यविभाजन नमिलेको देखिएकाले हेरेफेर र समायोजन गरिएको सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।

नयाँ कार्यविभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्यजिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपक्षी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा अब ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै रहने छ । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत कायम छन् ।

अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नामअनुसार कार्यप्रकृति नमिल्दा यसअघि समायोजन भएका मन्त्रालयलाई कार्यसम्पादनमा जटिलता थपिएको थियो । मन्त्रालयको कार्यविभाजन हेरफेर भइसकेकाले अब सरकारले एक–दुई दिनमै पूर्णता पाउने प्रवक्ता तिवारीले बताउनुभयो ।

“गठबन्धन दलहरूबीच मन्त्रालयको बाँडफाँट पनि करिब टुङ्गिसकेको छ, अब मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुँदैन”, उहाँले भन्नुभयो । कांग्रेसले मुख्यमन्त्रीसहित चार, नेकपा (माओवादी केन्द्र)ले दुई र नेकपा (एकीकृत समाजवादी)ले एक मन्त्री पाउने जनाइएको छ ।

यही वैशाख १४ गते कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँले यही वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत पाइसक्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)का एक गरी ३५ प्रदेशसभा सदस्यले उहाँलाई विश्वासको मत दिएका थिए ।

हाल मन्त्रिपरिषद्मा मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रूपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसका सरस्वती अर्याल तिवारी रहनुभएको छ । मन्त्रालयको सङ्ख्या सातबाट नबढाइने प्रदेश सरकारले प्रष्ट पारेको छ । –