`

अनाथ, असहाय नागरिकको स्थायित्वको जिम्मेवारी चाँगुनारायण नगरपालिकाले लिने

भक्तपुर-चाँगुनारायण नगरपालिकामा रहेका अनाथ तथा असहाय व्यक्तिको गाँस, बास तथा कपाससहितको स्थायित्वको जिम्मेवारी अब नगरपालिकाले लिने भएको छ । यस क्षेत्रमा काम गर्दै आएको मानव कल्याण समाज (सेवा घर)को पाँचौँ वार्षिकोत्सव कार्यक्रममा आज दीप प्रज्ज्वलन एवं आश्रित ५० जनालाई भोजन खुवाउँदै नगरपालिकाका प्रमुख जीवन खत्रीले स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिने घोषणा गर्नुभएको हो ।

नगरप्रमुख खत्रीले भन्नुभयो, “यहाँ आउनु अगाडि रु आठ–दश लाख सहयोगको घोषणा गरौँला भनेर आएको थिएँ, तर यहाँको अवस्था देख्दा यसको स्थायित्व नै गरेर जानुपर्ने देखेँ, त्यसैले यसका लागि स्थायी भवन निर्माण गर्न आवश्यक जग्गा र भवन निर्माणको काम आउँदो वर्षबाटै सुरु हुने गरी आउँदो बजेटमा व्यवस्था गर्ने गरी अगाडि बढ्नेछाँै, अब यसको स्थायित्वको जिम्मेवारी नगरपालिकाले लिन्छ ।”

उहाँले आश्रममा रहेका ५० अनाथ असहायलाई भोजनको व्यवस्था गर्दै थप नौ हजार आर्थिक सहयोग प्रदान गर्नुभयो । कार्यक्रममा चाँगुनारायण नगरपालिका–२ का वडाध्यक्ष सोम प्रधानले अनाथ, असहाय, सडक मानवको उद्धार गरी समाजमा पुनःस्थापना गर्ने र आश्रय दिने काम सहज नभएको भन्दै यस्तो पुण्य कामलाई सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईँले आठ वर्षअघि सात जना सडक मानवलाई सडकमै गएर खाना खुवाएर सुरु गरिएको यो अभियान आजका दिनसम्म आइपुग्दा भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बाराका छवटा शाखामा तीन सय ५० जनालाई उद्धार गरी व्यवस्थितरूपमा राखिएको बताउनुभयो । –

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश

पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफका प्रमुख इमरान खानको गिरफ्तारीलाई ‘गैरकानुनी’ ठहर गर्दै उहाँलाई तत्काल रिहा गर्न निर्देशन दिएको छ ।पूर्वप्रधानमन्त्रीलाई अदालतमा उपस्थित भएको केही समयपछि नै ठूलो राहत मिलेको हो ।

गत वर्ष अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइएका खानलाई सर्वोच्च अदालतले अपराह्न ४ः३० बजे उपस्थित हुन आदेश दिएको थियो तर एक घण्टापछि साँझ ५ः४० बजे उहाँलाई उपस्थित गराइएको थियो ।

पाकिस्तानका मुख्य न्यायाधीश उमर अता बन्दियालले पीटीआई नेता खानलाई इस्लामाबाद उच्च अदालत परिसरबाट हिरासतमा राख्नु देशको कानुनी प्रणालीको ठूलो अपमान भएको बताएपछि उहाँलाई अदालतमा उपस्थित हुन आदेश दिइएको थियो ।

खानको गिरफ्तारीलाई चुनौती दिने पीटीआईको अपिलमाथि बहस गर्ने तीन सदस्यीय बेन्चको अध्यक्षता गर्दै प्रधान न्यायाधीशले यस्तो टिप्पणी गरेका हुन् ।

इजलासमा पाकिस्तानका प्रधान न्यायाधीशका अतिरिक्त न्यायाधीश मोहम्मद अली मजहर र अताल मिनाल्लाह पनि छन् । एआरवाई न्यूजका अनुसार राष्ट्रिय जवाफदेही ब्यूरो (एनएबी) ले खानको गिरफ्तारीलाई ‘वैध’ ठहर गर्ने इस्लामाबाद उच्च अदालत (आईएचसी) को निर्णयलाई चुनौती दिँदै पीटीआईले सर्वोच्च अदालतमा एक याचिका दायर गरेको थियो ।

खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।

नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमाथि कारबाहीको माग गर्दै आज देशभर दबाबमूलक कार्यक्रम गरेको छ ।

पार्टीआबद्ध २२ जनवर्गीय सङ्गठनले सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी सजायका लागि सबै जिल्ला सदरमुकाममा कार्यक्रम गरेको हो । सरकारले कारबाही प्रक्रिया सुरु गरेपछि पारदर्शी छानबिनमा दबाब दिन नागरिक सभा, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

मोर्चा फाँट इञ्चार्ज एवं पार्टी उपमहासचिव डा विजय पौडेलले सरकारले गरेको छानबिनको सराहना गर्दै भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रिय सम्मानसहित मुकेश कायस्थको अन्त्येष्टि

काभ्रेपलाञ्चोक-दोस्रो जनआन्दोलनमा घाइते भई बुधबार साँझ उपचारका क्रममा निधन हुनुभएका बनेपाका ३२ वर्षीय मुकेश कायस्थको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । कायस्थको नेवारी परम्पराअनुसार उग्रतिर्थेश्वर घाटमा दाहसंस्कार गरिएको हो ।बनेपा नगरपालिका–८ का कायस्थको शव आज बिहान ११ देखि दिउँसो २ बजेसम्म श्रद्धाञ्जलि अर्पणका लागि बनेपा नगरपालिका कार्यालयको प्राङ्गणमा राखिएको थियो ।

कायस्थको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सांसदद्वय गोकुलप्रसाद बाँस्कोटा र सूर्यमान दोङ, बागमती प्रदेशसभा सदस्यद्वय कञ्चनचन्द्र वादे र लक्ष्मण लम्साल, गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलगायत जिल्लास्थित राजनीतिक दलका नेता, कार्यकर्ता उपस्थित हुनुहुन्थ्यो । सो अवसरमा मन्त्री मोदीले मुकेशलाई सहिद घोषणा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

दोस्रो जनआन्दोलनका क्रममा विसं २०६२ चैत २७ गते बनेपाको तीनदोबाटोमा सुरक्षाकर्मीको गोली लागी मुकेश घाइते हुनुभएको थियो । विसं २०४८ भदौ ९ गते जन्मिनुभएका मुकेश १७ वर्ष एक महिना अर्धचेत अवस्थामा जीवन बिताउनुभयो । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार बनेपास्थित शिर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै नगर तथा जिल्लास्थित सबै राजनीतिक दलले शोक विज्ञप्ति जारी गरेका छन् । मुकेशको निधनमा बनेपा नगरले आज सबै प्रकारको सेवा बन्द ग¥यो ।  

सिङ्गापुर, मान्दिभ्स र दुबई पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने पक्राउ

काठमाडौँ- प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा घर भई काठमाडौँको वसुन्धारा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिङ्गापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सिङ्गापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति रु १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक रु चार लाखसम्म तलब हुने भनी लोभ देखाएर रकम सङ्कलन गरेको खुलेको छ ।

पीडितहरूबाट रु ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँको सिनामङ्गलबाट पक्राउ गरी आज वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

यता सिग्देललाई जडीबुटीबाट पक्राउ गरिएको र आजै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो । यस्तै तामाङलाई भने काठमाडौँको बसुन्धाराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।

अदालतको फैसलापछि मात्रै बालकृष्ण खाँणलाई कांग्रेसले कारबाही गर्ने

काठमाडौं, २८ वैशाख-नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने निष्कर्ष निकालेको छ।

बिहीबार बसेको पदाधिकारी बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेता खाँणले अनुसन्धानलाई सहयोग पुर्‍याएको भन्दै तत्काल कारबाही नगर्ने निष्कर्ष निकालेको हो ।

उनले बैठकमा यस विषयमा सामान्य छलफल भएको र कारबाही गर्ने विषयमा कोसैबीच पनि मतभेद् नभएको बताए ।

उनले पक्राउ पर्नेवितिकै कोही पनि दोषी भइनहाल्ने बताउँदै शरणार्थी प्रकरणमा सरकारसँग निष्पक्ष र तटस्ठ छानबिनको माग गरे ।

पचास करोड लगानी गरी हवाई व्यवसायी वीरेन्द्रबहादुर बस्नेत व्यावसायिक कृषिमा

काठमाडौँ-आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहनुभएका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी विस्तार गर्नुभएको छ ।निर्वाहमुखी कृषिलाई व्यावसायिकीकरण गर्ने उद्देश्यले बस्नेतले ‘आरजु राइस मिल’मार्फत विभिन्न दुई ब्रान्डका चामल उपभोक्तामाझ ल्याउनुभएको छ । “कृषिलाई प्रविधिसँग जोडेर किसानलाई यसतर्फ आकर्षण गर्ने लक्ष्यसहित गुणस्तरीय, सस्तो र स्वादिलो चामल ल्याएका छौँ”, उहाँले भन्नुभयो, “तत्काल ‘जीरा मसिनो’ र ‘लङग्रेन’ चामल ल्याएका छौँ । आगामी दिनमा बास्मती चामल पनि ल्याउनेछौँ ।”

कम्पनीले आज पत्रकार सम्मेलन गरी चामल बिक्री–वितरण शुभारम्भको घोषणा गरेको छ । नेपालमा उत्पादन हुने ‘रामधान’ प्र्रशोधन गरी उपभोक्तामाझ ल्याइएको कम्पनीका कार्यकारी अध्यक्ष बस्नेतले बताउनुभयो ।

बुद्ध एयरले करिब रु ५० करोड लगानीमा मोरङको बेलबारीमा अत्याधुनिक मिल हालै सञ्चालन ल्याएको थियो । उक्त मिलबाट उत्पादित विभिन्न ब्रान्डका चामल आजदेखि औपचारिकरूपमा बजारमा ल्याएको हो ।

कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव मेघनाथ तिम्सिनाले कृषिलाई उद्योगसँग जोडेर किसानलाई प्रोत्साहन गर्ने कार्यमा कम्पनीले भूमिका खेलेको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रबाट भएको यस किसिमको प्रयासलाई थप प्रोत्साहनका लागि मन्त्रालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख डा रामकृष्ण श्रेष्ठले सम्भावित खाद्यसङ्कटलाई मध्यनजर गरी सरकार र निजी क्षेत्रको सहकार्यमा कृषि उत्पादन र प्रवर्द्धनमा प्रभावकारी कार्यक्रम लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले कृषिमा लगानीअनुसारको प्रतिफल नआइरहेको समयमा आरजु मिलले नयाँ नमूना स्थापित गरेको बताउनुभयो ।

नेपाल कृषि केयर कम्पनीका सञ्चालक सदस्य डा रामचन्द्र खनालले विगत १२ वर्षदेखि नेपालको पूर्वी क्षेत्रमा कृषिको व्यावसायीकरणमा कम्पनी लागेको र त्यसको प्रतिफल देखिन थालेको बताउनुभयो । मोरङको कानेपोखरीका किसान दिव्यराज खतिवडा र बेलबारीका शिवनाथ धिमालले परम्परागत कृषि खेतीको सुधार गरी आधुनिक प्रणालीबाट खेती उत्पादन प्रवर्द्धनमा आरजु राइस मिलले किसानलाई सहयोग पु¥याएको बताउनुभयो ।

कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन सकेन : कृषिमन्त्री भुसाल

कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताउनुभएको छ । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा रासायनिक मल समयमा उपलब्धता, कृषि क्षेत्रको अवस्थासम्बन्धी विषयमा मन्त्री भुसालले आवश्यकतानुसार लगानी हुन नसकेको बताउनुभएको हो ।

“मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा रहेको कृषि क्षेत्रमा कुल बजेटको तीन प्रतिशतभन्दा बढी बजेट विनियोजन हुनसकेको छैन । यान्त्रिकरणसँगै यसको प्रवद्र्धन गर्नका लागि आउने दिनमा पहल गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

किसानको पाँच लाख मेट्रिक टन रासायनिक मलको आवश्यकतालाई अन्तर्राष्ट्रिय बजारमा समयसापेक्ष मूल्य परिवर्तन हुनाले रकमका आधारमा नभई परिमाणको आधारमा समयममै बजेट सुनिश्चित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

मन्त्री भुसालले ‘नेपालमा मल कारखाना खोल्न सम्भव छ÷छैन’ भनी अनुसन्धान गर्न अध्ययन अनुमति दिने निर्णय गरेको बताउँदै मलको समस्या राष्ट्रिय विकास समस्या समाधान समितिमा समावेश गरी स्वीकार गरिएको जानकारी दिनुभयो । जसमा मल समस्यामा बाधा पु¥याएका नीतिलाई सरलीकरण गर्ने र ‘जीटुजी’मा जाँदा मल आपूर्तिमा सहज हुने दुई ठोस निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै कृषि सचिव डा गोविन्दप्रसाद शर्माले अघिल्लो वर्षमा समयमै बजेट विनियोजन नहुनु मुख्य समस्या रहेता पनि यस वर्ष बजेट सुनिश्चित रहेको बताउनुभयो । जिल्लास्तरमा बीउ उत्पादन कार्यक्रमले जिल्लाको माग धान्न सक्ने रहेको अवस्थामा पछिल्लो पाँच वर्षयता बीउबिजन उपलब्धताको अवस्था खस्किँदै गएकाले यसको प्रवद्र्धन गर्न जरुरी रहेको सचिव शर्माले बताउनुभयो ।

सचिव शर्माले कृषि बीमालाई प्रभावकारी बनाउन यस वर्ष सफ्टवेयर तयार गरी अर्को वर्षबाट सबै किसानलाई अनलाइन प्रणालीमा आबद्ध गराउन मन्त्रालय तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद वामदेव गौतमले कृषि क्षेत्रको जिम्मेवारी स्थानीय सरकारलाई बनाउनुपर्ने बताउनुभयो । “ग्रामीण क्षेत्रमा नागरिकलाई आकर्षण गर्ने मुख्य उपाय त्यहाँको कृषि क्षेत्रमा लगानी गरी कृषकलाई अनुकूल वातावरण सिर्जना गर्नु हो । डिजिटल प्रणालीमार्फत यस क्षेत्रलाई प्रवद्र्धन गरेमा मुलुकभित्रका जनशक्ति पलायन हुने समस्या आउँदैन । अनि मात्र नागरिकलाई स्थानीय सरकारको अनुभूति हुन्छ”, उहाँले भन्नुभयो ।

समितिका सभापति प्रकाश पन्थले कृषि क्षेत्रको समस्या समाधानमा मन्त्रालयलाई कार्ययोजना माग गर्ने गरी समय–समयमा निर्देशन दिएको बताउनुभयो ।

सभापति पन्थले किसान आयोगले सिफारिस गरेको पाँच प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनुपर्ने सिफारिसमा नीतिगत व्यवस्थाका लागि मन्त्रालयको तयारी अवस्था, दीर्घकालीन कृषि समस्या समाधानका लागि मन्त्रालयले गरेको समन्वयात्मक गतिविधि, बजार व्यवस्थापनमा सरकारले गरेको पहललगायतका प्रश्न समितिमा राख्नुभएको थियो ।

सो अवसरमा समितिका सदस्यले समयमा रासायनिक मल आपूर्ति, उत्पादनमा आधारित रही अनुदान प्रदान गर्न, कृषि क्षेत्रका विगतका समस्या नदोहो¥्याउन, कृषि क्षेत्रको लगानीमा सुदृढ बनाउन, खरिद ऐनमा छलफल गर्न आवश्यक रहेकोबारे छलफल गर्नुभएको थियो । त्यस्तै हाल उखु किसानको सङ्ख्या घट्दै गएकाले कृषकलाई उत्साहित गर्ने, किसान आयोगलगायतका कृषि संस्थाको भूमिका थप सुदृढ बनाउने, किसानको वर्गीकरण गरी पेन्सनको व्यवस्थामा पहल गर्नुपर्नेलगायतका विषय उठान गर्नुभएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन-चितवन राष्ट्रिय निकुञ्जमा गएको दुई दिनमा दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । वैशाख २६ र २७ गते ती गैँडा मृत भेटिएका हुन् ।निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार २६ गते कसरा क्षेत्रको तमोर ताल क्षेत्रमा चार महिनाको पोथी गैँडा र २७ गते सौराहाको पटना क्षेत्र राप्ती नदी किनारमा भाले गैँडा मृतावस्थामा भेटिएको हो । भाले गैँडा दुई वर्ष छ महिनाको रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुवै गैँडा प्राकृतिक कारणले मरेका हुन् । मृत भेटिएका गैँडाको खाग र खुर दुवै सुरक्षित अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा मृत भेटिएको गैँडाको सङ्ख्या १८ पुगेको छ ।

एमालेकै सम्पर्कमा छैनन् टोपबहादुर रायमाझी

काठमाडौं, २८ वैशाख-नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आठ दिनदेखि फरार छन् । 

नेकपा एमालेले पनि उनी पार्टीसँग सम्पर्कमा नरहेको जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबारदेखि बसेको केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारमा दोषी ठहर हुने कसैलाई पनि उन्मुक्ति दिन नहुने बताए । सो प्रकरणमा मुछिएपछि पार्टीबाट निलम्बनमा परेका रायमाझी बैठकमा उपस्थित छैनन् ।

बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले रायमाझी एमालेसँग सम्पर्कमा नभएको बताएका थिए ।

सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण भने बुधबार नै पक्राउ परिसकेका छन् । 

बनाउँदै नबनाएको ट्युबेलको नाममा लाखौं हिनामिना !

काठमाडौं । नवलपरासीको देवचुली र दुम्किवासमा बनाउँदै नबनाएको ट्युबेलको काम गरेको भनी लाखौं रकम हिनामिना गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा पम्प हाउस, स्टोरेज ट्याङ्की र वितरण प्रणाली निर्माण कार्यको ठेक्कामा राज्यकोषको रकम हिनामिना भएको पाइएको हो ।

ठेकेदार र उपभोक्ता समिति मिलेर झुटो बिल भरपाई पेस गरी भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वुटवल, रूपन्देहीबाट ९ लाख ३२ हजार ५ सय ४८ रूपैयाँ ७३ पैसा भुक्तानी लिइएको थियो ।यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

सो कार्यमा संलग्न डिभिजनका कर्मचारी, ठेकेदार र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो । मुद्दामा कार्यालयका तत्कालीन कार्यालय प्रमुख इच्छाकुमार श्रेष्ठ, इन्जिनियर सन्तोषकुमार दास, लेखापाल नेत्रप्रसाद मरासिनीलाई प्रतिवादी बनाइएको छ ।

चार वर्षदेखि चीनतर्फका नाका नखुल्दा खाद्य संकट

सङ्खुवासभा/दोलखा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ ।

सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची गाउँका बासिन्दा चरम खाद्य संकटमा परेका छन् । दुवै नाका कोभिड–१९ को कारण देखाउँदै चिनियाँ पक्षले चार वर्षदेखि बन्द गरेको हो ।

सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ को किमाथाङ्का, थुदाम, रिदाक र छुम्सुर गाउँमा खाद्यान्न संकट भएपछि गाउँपालिकाको मागबमोजिम कोशी प्रदेश सरकारले ९० क्विन्टल चामल पठाएको छ ।

उक्त चामल संकट क्षेत्रका नागरिकलाई वितरण गरिसकिएको र त्यसले दुई महिना मात्र धान्ने भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

स्याङ्जामा पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन

स्याङ्जा-स्याङ्जाको भीरकोट–८ ओकादीका डिलबहादुर गुरुङले बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको छ । दश वर्षअघि ‘जुना बाख्रापालन फार्म’ दर्ता गरी सानन जातका बाख्रा पाल्न थाल्नुभएका उहाँले दुई सातादेखि चीज उत्पादन सुरु गर्नुभएको हो ।गुरुङले दैनिक पाँच लिटर दूधबाट चीज बनाउँदै आउनुभएको छ । उहाँको फार्ममा २७ माउ तथा २३ पाठापाठी गरी हाल ५० बाख्रा रहेका छन् । सत्ताइस माउमध्ये अहिले १० वटाले दूध दिन्छन् ।

भैँसी तथा गाईको दूधबाट चीज बनाइरहेका बेला गुरुङले स्याङ्जामा नै पहिलो पटक बाख्राको दूधबाट चीज उत्पादन थाल्नुभएको हो । स्थानीय खरीको माउ र विदेशी सानन जातको बोकाबीचमा क्रस गराइएको छ । दूध उत्पादन गर्ने, उत्पादित दूधबाट चीज र साबुन बनाउने उहाँको लक्ष्य छ ।

“ठूला होटलमा बाख्राको दूधबाट बनेको चीजको माग बढी हुने भएकाले उत्पादन थालेको हुँ”, उहाँले भन्नुभयो, “भर्खरै उत्पादन थालेको छु, अहिले उत्पादन भएको बिक्री भइरहेको छ, उत्पादन वृद्धि गरे बजारको खोजी गर्नुपर्ने हुन्छ ।”

बाख्राको दूधबाट चीज बनाउनेसम्बन्धी सीप गुरुङले तनहुँको बन्दीपुरमा सिक्नुभएको हो । दुई वर्षअघि चीज बनाउने सीप सिकेपश्चात् घरमै प्रयोगात्मक परीक्षण गरेर व्यावसायिक उत्पादन थालेको उहाँ बताउनुहुन्छ । “अहिले उत्पादन भएको चीज स्थानीयस्तरमै प्रतिकिलो दुई हजारका दरले बिक्री भइरहेको छ”, गुरुङले भन्नुभयो, “अब यसलाई गुणस्तर, प्याकेजिङ र ब्राण्डिङ गरी बजार पठाउने तयारीमा छु ।”

भारतमा रेडियो र टेलिभिजन मर्मत तथा वायरिङसम्बन्धी तालिम लिई काम गर्दै आउनुभएका गुरुङले स्वदेशमै फरक ढङ्गको व्यवसाय थाल्ने लक्ष्यसहित घर फर्कनुभयो । बाख्रापालनसम्बन्धी तालिम लिनुभएका गुरुङ भन्नुहुन्छ, “मासु तथा पाठापाठी खरिद बिक्री त सबैले गर्छन्, अरुले भन्दा फरक खालको ब्यवसाय गर्ने हुटहुटीले दूधालु सानन जातका बाख्रापालन गर्ने निचोडमा पुगेको हुँ, अहिले राम्रै गरेछु भन्ने लागेको छ ।”

गुरुङले २०७० सालमा १२ बाख्राबाट व्यवसाय थाल्नुभएको थियो । बाख्रा खरिद र खोर निर्माणमा रु तीन लाख ५० हजार लगानी गरी व्यवसाय थाल्नुभएका गुरुङ अहिले यो व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ।

नमूना बाख्रा गाउँ अभियानका अभियान्ता सुशील अर्यालले चीजको माग पछिल्लो समय बढ्दै गएकाले उत्पादनलाई गुणस्तरयुक्त बनाउनुका साथै वृद्धि गर्नुपर्ने सुझाव दिनुभयो । “बाख्राको दूधबाट उत्पादित चीजको बजार मूल्य राम्रो रहेको छ”, उहाँले भन्नुभयो, “गुणस्तरयुक्त उत्पादन गर्न सके बजारको समस्या हुँदैन ।”

अर्थतन्त्रको पछिल्लो अवस्था : बाह्य क्षेत्र बलियो, आन्तरिकमा पनि सुधारको संकेत

कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले बाह्य क्षेत्र बलियो हुँदा आन्तरिक अर्थतन्त्रमा पनि सुधारको संकेत गरेको छ ।

विप्रेषण (रेमिट्यान्स) र भ्रमण आय वृद्धिसँगै शोधनान्तर स्थिति, विदेशी मुद्राको सञ्चिति, सञ्चिति पर्याप्ततालगायत सूचक सहज अवस्थामा पुगेका छन् । यससँगै उच्च विन्दुमा पुगेको बैंकको आधारदर र ब्याजदर घट्न थालेको छ । निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार देखिएको राष्ट्र बैंकले औंल्याएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ९आव० को चैतमा मात्र १ खर्ब ९ अर्ब ७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । विदेशमा रहेका नेपालीले एक महीनामा पठाएको यो हालसम्मकै बढी रकम हो । यसअघि फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, माघमा १ खर्ब ४ अर्ब ८ करोड र पुसमा १ खर्ब ४ अर्ब ६० करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो ।

चालू आवको चैतसम्ममा विप्रेषण आप्रवाह २४ दशमलव २ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । गतवर्षको यही अवधिमा विप्रेषण शून्य दशमलव २ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण १३ दशमलव ९ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष डलर विप्रेषण १ दशमलव ८ प्रतिशतले घटेको थियो ।

विप्रेषण बढ्नुमा वैदेशिक रोजगारीमा जानेको संख्या वृद्धि र औपचारिक माध्यमबाट पैसा पठाउन प्रोत्साहन गर्ने सरकारको नीतिलाई कारण मानिएको छ । औपचारिक रूपमा प्राप्त हुने विप्रेषणलाई बैंकमा राख्दा साधारण निक्षेपको भन्दा १ प्रतिशत विन्दु थप ब्याज प्रदान गर्नुका साथै विप्रेषण पठाउने नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सूचीकृत कम्पनीको साधारण शेयरमा आरक्षणको व्यवस्था गरिएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

पूर्वगृहमन्त्री बालकृष्ण खाणसँगको सम्बन्ध खोज्दै प्रहरी

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो।

‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप लागेकी कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच आर्थिक कारोबार भएनभएको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ, त्यसमा खाणपत्नी मन्जुको नाम पनि जोडिएको छ। अडियोमा एकसाथ दुवैजनाको नाम जोडिएकाले अनुसन्धानको दायरामा आउने अवस्था छ,’ प्रहरी स्रोतले भन्यो।

सो अडियोमा आफूलाई अनाहकमा मुछ्ने काम भएको दाबी आरजु राणाले गरेकी छन्। बिरामी भएर जापानमा उपचार गराइरहेको अवस्थामा आफूमाथि आरोप लगाइएको दाबी उनको छ। त्यस सन्दर्भमा आरजुले बुधबार नै प्रहरीको साइबर ब्युरोमा छानबिनका लागि उजुरीसमेत दिइसकेकी छन्। प्रहरीले भने यी सबै पक्षमा अनुसन्धान गर्ने भएको छ। प्रहरीले पक्राउ गरेका गिरोहका सदस्यले आफ्नो बयानमा एमाले सचिव टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, उनकी पत्नी मन्जु खाण तथा आरजु राणाको समेत नाम लिएपछि प्रहरीले उनीहरू सबैलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भन्दै बुधबार पूर्वगृहमन्त्री खाणलाई पक्राउ गरेको हो। यो समाचार नागरिक दैनिकमा छ ।

भुटानी शरणार्थी प्रकरण : सरकारी वकिलले खाँणसँग बिषय केन्द्रित बयान लिदै

काठमाडौं, २८ बैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको आजवाट बयान सुरु हुने भएको छ ।सरकारी वकिलले आजवाट पुर्व मन्त्री खाँण पक्राउको बिषयमा केन्द्रित भएर आज बयान लिन सुरु गर्ने भएको हो । 

‘हिजो प्रहरीले किन पक्राउ गरेको हो ? अदालत किन जानु भएको हो ? अदालतले के के निर्णय दियो ? लगायतको बिषयमा सामान्य सोधपुछ गरिएको थियो भने आजवाट पक्राउ पर्र्नुको कारण के हो र त्यसमा उनको संलग्नता के कस्तो हो ? भन्ने बिषयमा केन्द्रित भएर बयान सुरु हुनेछ,’ एक सरकारी वकिलले भने । उनका अनुसार आजवाट नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नता र उनका सहयोगीहरुका बारेमा पनि सोधपुछ गरिने छ ।

बुधवार बिहान ‘जरुरी पत्र’ मार्फत पक्राउ परेका पुर्व गृहमन्त्री खाँण माथी अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौंले चार दिनको समय दिईसकेको छ । अदालतले दिएको समयसिमा भित्र नै खाँणको बयान सक्ने तयारीमा सरकारी वकिलको कार्यालय रहेको छ । 

आज रातभर प्रहरी कस्टडीमा बिताएका पुर्व गृहमन्त्री खाँणसँग आज बिहान १० बजे पछि सरकारी वकिलले बयान लिन सुरु गर्ने जनाईएको छ ।

हिजो झन्डै ४५ मिनेट सरकारी वकिलको कार्यालयमा बिताएका खाँणले सरकारी वकिल समक्ष आफनो पक्राउ वारेमा सामान्य जानकारी दिएका थिए । 

बाजुराको बिछ्या केन्द्रविन्दु भएर गयो भूकम्प

बाजुरा – बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।

आइएफआरसीको महासचिवमा पुनः जगन चापागाईं चयन

काठमाडौँ-रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत पदमा जगन चापागाईं दोस्रो कार्यकालका लागि पुनः चयन हुनुभएको छ । सो पदमा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ ।

चापागाईंले यसअघि सन् २०२० फेब्रुअरीमा चार वर्षे सो पदको पहिलो कार्यकाल सम्हाल्नुभएको थियो । स्वीट्जरल्याण्डको जेनेभामा गए राति सम्पन्न आइएफआरसीको गभर्निङ बोर्डको बैठकले पहिलो पदावधि समाप्त हुनु एक वर्ष अगाडि नै उहाँलाई दोस्रो कार्यकालका लागि पुनः चयन गर्ने निर्णय गरेको हो । सो बोर्डमा विश्वका २९ देश सहभागी रहेको बताइएको छ । चापागाईंले सन् २०२८ को जनवरीसम्म आइएफआरसीको सर्वाेच्च पदको नेतृत्व गर्नुहुनेछ ।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीका स्वयंसेवक तथा कर्मचारी पछिल्ला वर्षमा कोभिड–१९ महामारीको प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटेका थिए । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका, प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण र पीडितलाई अनवरत रुपमा मानवीय सहयोग गर्दैआएको छ ।

दोस्रो कार्यकालको पदावधि थपपछि महासचिव चापागार्इंले भन्नुभयो, “अइएफआरसीको गभर्निङ बोर्ड र आइएफआरसीका अध्यक्ष फ्रान्सेस्को रोक्काको विश्वास पाउँदा म सम्मानित र गौरवान्वित भएको छु । थुप्रै चुनौतीबीच समाधान खोज्न र हामीले सेवा गर्ने समुदायका बीचमा विश्वास निर्माण गर्न निष्ठाका साथ काम गर्नेछौँ ।”

तीन दशकभन्दा बढी समय मानवीय सेवामा तल्लीन चापागाईंले गत महिना नेपाल भ्रमणका क्रममा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्नुभएको थियो । विश्वका एक सय ९२ देशका रेडक्रस आइएफआरसीमा आबद्ध छन् । सल्फेरिनो युद्धका पीडाले छट्पटाइरहेकालाई मानवीय सेवा स्वःस्फुर्त प्रदान गर्न जँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रस स्थापना गर्नुभएको थियो । युद्ध र युद्धका परिणाम, प्राकृतिक तथा मानवसिर्जित विपद्, विपद्ले सिर्जना गरेका असर, गरिबी, भोकमरी, विषमता न्यूनीकरण, सङ्कटासन्न समुदायलाई उत्थानशील बनाउनेलगायत क्षेत्रमा आइएफआरसीले मानवीय सहायता प्रदान गर्दछ ।

सात लाखभन्दा बढी कर्मचारी र झण्डै दुई करोड स्वयंसेवकको माध्यमबाट करिब एक अर्ब जनसङ्ख्यालाई आइएफआरसीले बर्सेनि मानवीय सहायता पु¥याउने गरेको छ । साथै रेडक्रस अभियानले मूलभूतरूपमा मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकता जस्ता आधारभूत सिद्धान्तद्वारा निर्देशित भई सेवा गर्ने गर्छ ।
–––

क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने सुवर्ण पक्राउ

काठमाडौँ-क्यानडा र चेक रिपब्लिक पठाइदिन्छु भनी लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ घर भई हाल काठमाडौँको नयाँ बजार बस्ने ३४ वर्षका उद्धव नेपाल भन्ने सुवर्ण मग्रातीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाबुराम सापकोटासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि क्यानडा तथा चेक रिपब्लिकलगायतका देशमा पठाउने लोभ देखाएर त्यहाँ जानका लागि प्रतिव्यक्ति रु १० लाख लाग्ने भन्दै रकम असुलेको पाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।

त्यहाँ पुगेपछि प्रतिष्ठित अटोमोबाइल कम्पनीमा जनरल वर्करको काम लगाइदिने र त्यहाँबाट मासिक रु दुई लाखसम्म तलब पाइने भन्दै उनले पीडितबाट रु पाँच लाख असुलेको फेला परेको छ । यसरी रकम लिएपछि फरार भएका उनलाई वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन गरेको अनुरोधको आधारमा पक्राउ गरी आजै थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा बुझाइएको रेग्मीले बताउनुभयो ।

नक्कली विज्ञापन गरी ठगी-काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मोबाइल बिक्रीको नक्कली विज्ञापन राखी ठगी गर्नेलाई पनि पक्राउ गरेको छ । पक्राउ परेका धनुषाका आदित्य कर्णले विभिन्न मोडेलका मोबाइल सेट किन्नका लागि सम्पर्कमा आएमा आएका व्यक्तिलाई पोखरा, चितवनलगायतका स्थानमा मोबाइल पसल छ भनी कुरियर, कार्गोलगायतका माध्यमबाट मोबाइल डेलिभरी गरी पठाइदिन्छु भन्दै रकम ठगी गरेका थिए ।

उनले यसरी झुक्यानमा पारी अर्डरबमोजिमको मोबाइल उपलब्ध नगराई १५ जनाबाट रु चार लाख ८५ हजार ठगी गरेको उजुरी परेको थियो । उनलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि आजै जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिनुभयो ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उहाँ कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (१) बाट निर्वाचित हुनुभएको हो । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन हुनुभएको छ । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी हुनुुहुन्थ्यो ।

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिनुभयो ।

“बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ”, उहाँले भन्नुभयो, “यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।” त्रिपन्न सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का दश, नेकपा (एकीकृत समाजवादी)का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य हुनुहुन्छ ।
 

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, २८ बैशाख । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ । पार्टी नेता तथा पुर्व गृह मन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थीतिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो । 

हिजो बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथी प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै निर्णय गरिएको थिएन । आज बस्ने बैठकले खाँणलाई निलम्बन गर्न सक्ने बुझिएको छ । 

आज गण्डकी, बागमती र कोशी प्रदेशमा आशि‌क बदली रहने, लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौं, २८ बैशाख । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ।

गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ ।

राती  देशभर मौसम सामान्यतया सफा रहने छ।
 

किन भयो अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट ?

काठमाडौँ- अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०ः४५ बजे काठमाडौँ अवतरण गर्ने उडान तालिका रहेको छ ।

डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । काठमाडौँ विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो । जहाजले पुनःएप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको बताउनुभयो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन् । यो समाचार तयार पार्दासमेत मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्स झण्डै एक घण्टा सिमरा माथिको आकाशमा होल्ड भएपछि भर्खरै अवतरण गरेको छ । सिङ्गापुर एयरलाइन्सले पनि केहीबेर होल्डमा परेको छ ।–

कांग्रेस पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल

नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा आज साँझ बसेको उक्त बैठकमा समसामयिक राजनीतिक र पार्टी सङ्गठनका विविध विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकमा काठमाडौँमा उपलब्ध पार्टी पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।

भारतीयको कुटाइबाट नेपाली युवा २६ वर्षीय रविकुमारको मृत्यु

भैरहवा- सीमावर्ती भारतीय गाउँमा शङ्कास्पदरूपमा नेपाली युवा मृतावस्थामा भेटिएका छन् । मृत भेटिनेमा रोहिणी गाउँपालिका–२ बस्ने २६ वर्षीय रविकुमार यादव रहेका छन् । यादवको शव हात बाँधिएको र शरीरमा चोटपटक लागेको अवस्थामा भेटिएको छ ।

स्थानीयवासीका अनुसार रविको मानसिक अवस्था ठीक थिएन । अतिविपन्न अवस्थाका यादव घर नजिकैको सीमा क्षेत्रमा आउजाउ गरी रहनुहुन्थ्यो । सोही क्रममा उहाँ आज बिहान भारत महाराजगञ्ज जिल्लाको भगवानपुर बजार पुग्नुभएको थियो । एक जना स्थानीयको घरमा पसेपछि भारतीयले यादवको हात बाँधेर कुटपिट गरेको बुझिएको रोहिणी गाउँपालिका–७ का राजन यादवले बताउनुभयो । “मृतकको आमा पनि पछिपछि जानुभएको थियो, मेरो छोराको मानसिक अवस्था ठीक छैन भन्दाभन्दै पनि उनीहरूले कुट्न छोडेनन्”, यादवले भन्नुभयो, “भारतीयको कुटपिटबाट उहाँको मृत्यु भयो ।”

मृतक यादवको शव भारतीय प्रहरीले परीक्षण गरेको छ । रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विश्वकर्माले घटना जानकारीमा आएको र यसबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रलोभनमा धर्म परिवर्तन गर्नुहुँदैन : नेता कोइराला

विराटनगर- नेपाली कांग्रेसका नेता एवं सांसद डा शेखर कोइरालाले प्रलोभनमा धर्म परिवर्तन गर्न नहुने बताउनुभएको छ । मोरङको सुन्दरहरैँचास्थित सलकपुरमा निर्माण भएको पाथीभरा देवीमाताको मन्दिर उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उहाँले संविधानमै प्रलोभनमा धर्म परिवर्तन गर्न नपाइने उल्लेख भएको स्मरण गराउनुभयो ।

नेता कोइरालाले भन्नुभयो, “सनातनकालदेखि चलिआएका धर्म र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने, राष्ट्रिय जनावर गाई भन्ने र तेस्रो महत्वपूर्ण कुरा प्रलोभनमा धर्म परिवर्तन गर्न पाइँदैन, यदि कसैले गरे दण्डनीय हुनेछ भनेर हामीले संविधानमै लेखेका छौँ ।” नेता कोइरालाले आफूलाई धर्म परिवर्तनको प्रस्ताव आएको स्मरण गर्दै सनातन हिन्दू धर्ममाथि चौतर्फी आक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

धर्म, संस्कृति र रीतिरिवाजलाई बचाउन सकेमात्रै मुलुक सभ्य हुने बताउँदै उहाँले भन्नुभयो, “धर्म, संस्कृति र रीतिरिवाज बचाउन नसके सभ्य समाज बन्न सक्दैन, सभ्य समाज नभई सभ्य र सुसंस्कृत राष्ट्र बन्न सक्दैन ।” उहाँले भौतिकवादलाई आध्यात्मिकसित जोडेर जानुको विकल्प नभएकोसमेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार लिम्बू, कोशी प्रदेशका पूर्वसांसद लोकप्रसाद सङ्ग्रौला, पण्डित रामकृष्ण उपाध्यायलगायतले सनातन हिन्दू धर्मको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । चार कट्ठा दुई धुर जग्गामा करिब रु एक करोडको लागतमा मन्दिर निर्माण गरिएको छ भने मन्दिरस्थलमा आजदेखि जेठ ४ गतेसम्म श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ सुरु भएको छ ।

भीमनारायण कप : पहिलो खेलमा विराटनगर विजयी

धनकुटा- धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ । धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ । विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी) मा ४–२ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको थियो । खेलको ३१औँ मिनेटमा आकास राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि विपक्षी टिमका विदेशी खेलाडी ओस्कारले खेलको ३३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए ।

खेलको ७७औँ मिनेटमा ओस्कारले पुन अर्को गोल गरेर आफ्नो टिमलाई १ का विरुद्ध २ गोलले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । तर खेलको ८२औँ मिनेटमा आयोजका तर्फबाट दिपेन शाक्यले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपिएफ काठमाडौँ र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजयी टोलीले नगद रु पाँच लाख नगद र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २०३० मा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मा मृत्युदण्ड दिएको थियो । उनैको सम्झना र सम्मानमा विसं २०५५ देखि फुटबल प्रतियोगिता हँुदै आएको हो ।

पूर्वप्रधानमन्त्री इमरान खान इस्लामावाद अदालतमा उपस्थित

इस्लामाबाद-पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान बुधबार इस्लामावादको विशेष अदालतमा भ्रष्टाचारको आरोपमा सुनुवाइको लागि उपस्थित भएका छन् । अर्धसैनिक बलले उनलाई यहाँको अदालतबाट गिरफ्तार गरेपछि देशभर व्यापक विरोध प्रदर्शन भएको छ ।

यसैबीच पाकिस्तानको आन्तरिक मन्त्रालयले आज पूर्वी प्रान्त पञ्जाबमा कानूनी व्यवस्थाको सुनिश्चित गर्नका लागि सेनाको सहयोग माग गरेको मन्त्रालयले उल्लेख गरेको छ । जियो न्युजले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ- न्यायाधीश मुहम्मद बशीरले सुनुवाइको अध्यक्षता गर्दै नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) ले अल-कादिर ट्रस्ट भ्रष्टाचार मुद्दामा खानलाई १४ दिनको हिरासतमा राख्न अनुमतिका निम्ति अदालतलाई अनुरोध गरेको छ ।
नेशनल एकाउन्टेबिलिटी ब्युरो (एनएबी) का डेपुटी प्रोसिक्युटर जनरल सरदार मुजफ्फर अब्बासी र विशेष अभियोजक रफिक मसूद पनि अदालतमा उपस्थित भएको जियो न्यूजले उल्लेख गरेको छ । अदालतमा एनएबीको तर्फबाट सरकारी वकिल सरदार जुल्कारनैन र अनुसन्धान अधिकृत मियाँ ओमर नदीमले प्रतिनिधित्व गरेका थिए ।
मङ्गलबार इमरान खानलाई इस्लामाबाद उच्च न्यायालय बाहिर पाकिस्तान रेंजर्सले अल-कादिर ट्रस्ट मुद्दामा राष्ट्रिय एकाउन्टेबिलिटी ब्युरो (एनएबी) द्वारा जारी गरेको वारेन्टमा पक्राउ गरेको थियो। अल कादिर युनिभर्सिटी ट्रस्टको नाममा सयौं नहर जग्गा आर्जन गरेको आरोपमा इमरान खान, बुशरा बिबी र अन्य विरुद्ध एनएबीले अनुसन्धान थालेको थियो जसले राष्ट्रिय कोषलाई १९ करोड पाउण्ड नोक्सान पुर्याएको बताइएको छ ।

भ्रष्टाचार विरोधी स्वतन्त्र संगठनको निर्देशनमा पूर्वप्रधानमन्त्रीलाई मङ्गलबार अल-कादिर ट्रस्ट मुद्दामा रेंजर्सले हिरासतमा लिएको थियो। त्यसपछि उनलाई सोधपुछका लागि रावलपिण्डीको ग्यारिसन शहरमा स्थित मुख्यालयमा लगिएको थियो।

यसकारण घट्यो ३४ जिल्लाको जनसङ्ख्या

काठमाडौँ, २७ वैशाख – नेपालमा जनसाङ्ख्यिक वितरणमा असन्तुलन पाइएको छ । राष्ट्रिय जनगणना, २०७८ ले नेपालको जनसाङ्ख्यिक असन्तुलनले हिमाल र पहाडका ३४ वटा जिल्लाको जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएको देखाएको छ ।

जनगणनाअनुसार रामेछाप, खोटाङ, मनाङ, भोजपुर, तेह्रथुम, स्याङ्जा, गुल्मी, अछाम, पर्वत, अर्घाखाँची र पाँचथर जिल्लामा जनसङ्ख्या घटेको छ । यसैगरी सिन्धुपाल्चोक, धनकुटा, दोलखा, गोरखा, बागलुङ, लमजुङ, पाल्पा, म्याग्दी, ओखलढुङ्गा, ताप्लेजुङ, नुवाकोट, काभ्रेपलाञ्चोक, इलाम, दैलेख, बैतडीमा पनि जनसङ्ख्या घटेको छ । डोटी, धादिङ, बझाङ, डडेल्धुरा, सल्यान, सोलुखुम्बु, तनहुँ, सङ्खुवासभामा पनि जनसङ्ख्या घटिरहेको छ ।

त्रिवि केन्द्रीय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्रा डा योगेन्द्र गुरुङ सेवा सुविधा केन्द्रीकृत भएर मानिस बसाइँसराइ गर्दा जनसङ्ख्या ती जिल्लामा घटेको बताउनुहुन्छ । “जहाँ सेवा सुविधा केन्द्रित छन् त्यहाँ बसाइँसराइ बढी भएको छ । वैदेशिक रोजगारले गर्दा आर्थिक अवस्था राम्रो भयो । त्यसले राम्रो अवसर शिक्षा, स्वास्थ्य, रोजगार खोज्न थालेपछि बसाइँसराइ भयो”, उहाँले भन्नुभयो, “अनि जनसङ्ख्या वृद्धिदर पनि कमी भयो ।”

रामेछाप र सिन्धुपाल्चोकमा भूकम्पले गर्दा असर गरेर मानिस धेरैले काठमाडौँ बसाइँसराइ गरेका छन् । जनगणनाले सेवा सुविधा अझै केन्द्रित रहेकाले नै हिमाली तथा पहाडी जिल्लाबाट बसाइँसराइ तराईमा भएको देखाएको छ । गुरुङले प्रदेशलाई अधिकार सम्पन्न बनाउने हो भने प्रदेशहरुले गर्नसक्ने विकास आफ्नो जिल्लामा गर्ने र ती जिल्लाको जनसङ्ख्या त्यहीँ रोकिन सक्ने बताउनुभयो ।

केन्द्रीय विभागका प्रा डा गुरुङका अनुसार जनगणनाले नेपालको जनसाङ्ख्यिक वितरणमा व्यापक असन्तुलन देखाएकाले यसको उचित सम्बोधनका लागि तीनै तहका सरकार गम्भीर हुनुपर्छ ।

सबैभन्दा बढी जनसङ्ख्या क्षय भएको जिल्ला रामेछाप हो । जनगणनाको प्रतिवेदनअनुसार २०६८ सालमा दुई लाख दुई हजार छ सय ४६ जनसङ्ख्या रहेकामा २०७८ मा एक लाख ७० हजार तीन सय दुई मात्र जनसङ्ख्या रहेको छ । रामेछापमा ३२ हजार जनसङ्ख्या घटेको छ ।

रामेछापबाट भूकम्प र खानेपानीको कारणले मानिस बसाइँसराइ गरेको पाइएको छ । यस्तै ताप्लेजुङमा पनि जनसङ्ख्या घटेको छ । विसं २०६८ को जनगणनामा एक लाख २७ हजार चार सय ६१ जनसङ्ख्या रहेको ताप्लेजुङमा अहिले एक लाख २० हजार पाँच सय ९० मात्र जनसङ्ख्या रहेको छ ।

जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन पोमुले हिमाल र पहाडलाई राज्यले हेर्ने दृष्टिकोणमा फरक गर्नुपर्ने बताउनुहुन्छ । “राज्यले तराईका जिल्लामा जनसङ्ख्याको आधारमा बजेट धेरै विनियोजन गर्दछ र त्यहाँ सेवा सुविधा बढी हुन्छन् तर हिमाली र पहाडी क्षेत्रका जिल्लामा कम बजेट हुन्छ र विकास निर्माण र सेवा सुविधा हामीले उपलब्ध गराउन सक्दैनाँै”, उहाँले भन्नुभयो, “त्यसैले मानिसले सेवा सुविधाका लागि तराईमा बसाइँसराइ गरेका छन् ।”

उहाँ जनसङ्ख्याका आधारमा नभई भूगोलका आधारमा बजेट विनियोजन हुनुहुर्ने बताउनुहुन्छ । पहाडी र हिमाली क्षेत्रमा सरकारले आधारभूत सेवा शिक्षा, स्वास्थ्यजस्ता सुविधा पु¥याए मात्र जनसङ्ख्याको सन्तुलन कायम हुने र नभए झन घट्ने स्थिति हुने उहाँको भनाइ छ ।

पोमुका अनुसार बसाइँसराइ नहोस् भन्नका लागि आफ्नो पालिकामा बिजुली निःशुल्क र १२ कक्षासम्मको शिक्षा निःशुल्क गर्दा पनि बसाइँसराइ बढिरहेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यलयको जनगणना शाखाका प्रमुख ढुण्डीराज लामिछानेले भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रको जनसङ्ख्या घटेको बताउनुभयो । जनगणनाअनुसार नेपालको जनसङ्ख्या १० वर्षमा करिब १० प्रतिशतले बढेको छ । वार्षिक वृद्धिदर भने शून्य दशमलव ९२ प्रतिशतले जनसङ्ख्या वृद्धिदर रहेको छ ।

उहाँका अनुसार जनगणनामा जनसङ्ख्या वृद्धिदर शून्य दशमलव पाँच प्रतिशत हिमालमा, तीन दशमलव १९ प्रतिशत पहाडमा र १७ दशमलव ३८ प्रतिशत तराईमा वृद्धिदर छ । हिमालमा २०६८ सालमा १७ लाख ८१ हजार जनसङ्ख्या रहेकामा अहिले १७ लाख ७२ हजार जनसङ्ख्या रहेको छ ।

दश वर्षमा नेपालको जनसङ्या २६ लाख ७० हजारले बढ्दा तराईमा मात्र २३ लाख १५ हजारले बढेको छ । पहाडमा दश वर्षमा तीन लाख ६३ हजारले जनसङ्ख्या बढेको छ ।

प्रा डा गुरुङले मुलुक सङ्घीय संरचनामा गइसकेपछि गाउँगाउँमा सिंहदरबार भने पनि मानिसले त्यस कुराको अनुभूति नगरेकाले बसाइँसराइ गर्ने दर बढेको बताउनुहुन्छ । “बसोबास गरिरहेको ठाउँमा नै बस्ने वा नयाँ मान्छे त्यस ठाउँमा बसाईं सरेर आउने वातावरण बनाउनुपर्दछ”, प्रा डा गुरुङ भन्नुहुन्छ, “हिमाली र पहाडी क्षेत्रमा मानिसले भविष्य नदेखेपछि तराईतिर झरे जसले गर्दा पहाडी क्षेत्रको जनसङ्ख्या वृद्धिदर ऋणात्मक देखियो ।”

उहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, यातायातजस्ता आधारभूत सुविधा पहाडी र हिमाली क्षेत्रमा नै पाउने हो भने तराईबाट पनि मानिस पहाडतिर बसाईं सरेर जाने र पहाडका मानिस पनि उतै अडिने बताउनुहुन्छ । “सरकारले जनसङ्ख्याको सन्तुलित वितरण गर्ने वातावरण बनाउनुपर्दछ । नत्र आगामी वर्षमा हिमाल र पहाडमा मानिसको सङ्ख्या घटेर र तराईमा मानिसको सङ्ख्या अधिक बढेर अर्को असन्तुलन सिर्जना हुन सक्छ”, उहाँ भन्नुहुन्छ ।

स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्छ : मन्त्री बस्नेत

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमको उपचार पद्धति सरल बनाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयमा आयोजित पत्रकारसँग कुराकानी गर्दै उहाँले स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयन प्रभावकारी बनाएर उपचार पद्धति सरल बनाइने बताउनुभयो । “स्वास्थ्य बिमा कार्यक्रममा एकरूपता पनि भएन”, उहाँले भन्नुभयो, “जुन ढङ्गले बिमा कार्यक्रम लागू हुनुपर्ने हो, त्यो भएन । अब बिमा कार्यक्रमलाई प्रभावकारीरूपमा कसरी कार्यन्वयन गर्ने भन्नेमा सम्बन्धित पक्षसँग कुरा गरिरहेको छु ।”

मन्त्री बस्नेतले राज्य स्वास्थ्य क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल नपाएकोसमेत बताउनुभयो । स्वास्थ्य मन्त्रालयले आफ्नो काममा सुधार गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले मन्त्रालयमा काम गर्ने कर्मचारीलाई दण्ड र पुरस्कारको व्यवस्था गरेर सुधार गर्ने बताउनुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य नीति राम्रो बनाउन सके दातृ निकायले पनि लगानी गर्ने बताउनुभयो । “स्वास्थ्य नीति राम्रो बनाउन सक्ने हो भने दातृ निकाय स्वास्थ्य क्षेत्रमा लगानी गर्न तयार रहेका छन्”, उहाँले भन्नुभयो, “हामीले स्वास्थ्य नीति बनाएर वैदेशिक सहयोग भित्र्याउनुपर्दछ ।”

उहाँले सुर्तीजन्य पदार्थमा कर थोरै भएकाले बढाउन पहल गर्ने बताउनुभयो । “सुर्तीजन्य पदार्थको कर अत्यन्तै कम छ । कर बढाउँदा सुर्तीजन्य पदार्थ नखाएपछि स्वास्थ्य जोगिन्छ”, उहाँले भन्नुभयो ।

आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि सिङ्गो गाउँ नै शोकमा

अर्घाखाँची-आगोले जलेर एकै गाउँका चार जनाको मृत्यु भएपछि अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भूमिकास्थान नगरपालिका–२ ढाकाबाँगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा मृत्यु भएपछि सिङ्गो तिरतिरे गाउँ नै शोकमा डुबेको हो ।

कोरियाबाट रोजगारी गरेर घरमा आएका ३६ वर्षीय माधव बेल्वासे घर नजिकै लागेको निभाउन जानुभयो । आगो निभाउने क्रममा घाइते माधवको उपचारका सिलसिलामा काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भयो । उहाँको मृत्यु भएपछि घरमा रहेका २६ वर्षीया श्रीमती राधा बेल्वासे र नाबालक दुई छोराको बिचल्ली भएको छ । छोरा अढाइ वर्ष र एक वर्षका छन् । कमाउने र केही गर्ने छोरा गयो ६८ वर्षीया आमा गिरी बेल्वासेले भक्कानिँदै  भन्नुभयो, “साना छोरा र बुहारीको यो अवस्था हाम्रो त विचल्ली भयो ।”

मङ्गलबार दिउँसो भूमिकास्थान नगरपालिका–२ तिरतिरे खोला गाउँका पदम बेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका एकै गाउँका चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियोे । पाल्पामा उपचार हुन नसकेपछि काठमाडौँ पठाइएकामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा तथा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालको भनाइ छ ।

आगलागीमा परी घाइते भएका भूमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पीताम्बर बेल्वासेको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पद्म बेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम बेल्वासेको काठमाडौँ कीर्तिपुरको बर्न अस्पतालमा पुगेपछि र ३६ वर्षीय माधवको उपचारका क्रममा मृत्युु भएको उपचारमा संलग्न स्थानीय विष्णु बेल्वासेले बताउनुभयो । 

आगलागीमा परेर घाइते भएकी २६ वर्षीय अस्मिता बेल्वासेको अवस्था सुधारोन्मुख छ । उहाँको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ । आगलागीले ज्यान गुमाएका घरपरिवारमा रहेका आफन्तलाई भेटेर घटनाबारे प्रमुख जिल्ला अधिकारी मिना अर्याल लगायतको टिमले जानकारी लिनुका साथै राहतसमेत प्रदान गरेको छ । 

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको जिल्लास्तरीय सुरक्षा प्रमुखको टोलीले घटनास्थलमा गएर आगलागीको प्रकृति, मृतकका परिवारको अवस्था र आगो लाग्नुका कारणबारे जानकारी लिएको छ । आगलागीमा परेर ज्यान गुमाएका चार जनाको परिवारलाई तत्कालका लागि रु ५० हजारका दरले राहत पनि प्रदान गरिएको प्रजिअ मीना अर्यालले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखलाई स्थानीयले आगो लगाउने व्यक्तिलाई पक्रिएर कारबाही गर्न माग गरेका छन् । मङ्गलबार नै नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा लिएसँगै अन्य घर जोगिएका थिए ।

मिटर व्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट अर्थमन्त्री डा प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराउनुभएको थियो ।

यही वैशाख २४ गतेको बैठकमा कानुनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधिसभामा पेस गर्नुभएको थियो । उक्त अध्यादेश यही वैशाख २० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो । सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी जेठ १ गते अपराह्न १ बजे बस्नेछ । 

जनताले औँला नउठाउने गरी काम गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

गण्डकी- गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले औँला नउठाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भर्खरै सम्पन्न उपनिर्वाचनको परिणामले पुरानो राज्य संरचनाबाट गरिने कामकारबाही अब काम नलाग्ने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेस कास्कीद्वारा आज पोखरामा गण्डकी प्रदेश सदस्यमा गठबन्धनकातर्फबाट निर्वाचित मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यको सम्मानमा आयोजित शुभकामना तथा बधाई कार्यक्रममा मुख्यमन्त्री पाण्डेले सो धारणा राख्नुभएको हो । 

“नेपाली जनताले हाम्रा प्रत्येक गतिविधिमा निगरानी गरिरहेका छन्, अब पनि गल्ती ग¥यौँ भने जनताले हामीलाई छाड्ने छैनन्, तीन तहको सरकारले अब नयाँ किसिमबाट आफ्ना कामकारबाहीलाई अगाडि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो । 

“सीमित स्रोत र साधनलाई उपयोग पारदर्शीरुपमा जनताको हित र चाहनाअनुसार नै सरकार अगाडि बढ्न जरुरी छ”, उहाँले भन्नुभयो, “आम नेपाली जनताले सरकारको अनुभूति गर्न सकुन् ।” जनताको शिर उठ्नेगरी काम गर्न जरुरी रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले अब पनि ठूला दलले नयाँ ढङ्गबाट अगाडि बढेनन् भने आगामी निर्वाचनमा जनताले तर्क गर्नुभयो । 

गण्डकी प्रदेश सरकारले एक दुई दिनमै पूर्णता पाउने बताउँदै उहाँले कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने र एक दुई दिनभित्र मन्त्री नियुक्त गरिने बताउनुभयो । गण्डकी प्रदेशले कृषि, उद्योग, शिक्षा तथा स्वास्थ्य, पर्यटन तथा सिँचाइलाई प्राथमिकतामा राखेको र निर्वाचनमा गाउँमा जाँदा गरिएका प्रतिबद्धतालाई समेत पूरा गर्ने भनाइ उहाँको छ । 

नेकपा (माओवादी केन्द्र)का नेता तथा गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले गण्डकी प्रदेश सरकारले परिणाम देखिने गरी काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले अब पनि पुरानै शैलीबाट अगाडि बढ्याँै भने आगामी निर्वाचनमा  ठूला दल बडारिने तर्क गर्नुभयो । प्रि–बजेटसम्बन्धी छलफल गर्न पनि समय धेरै नभएकाले मन्त्रिमण्डल छिटै गठन गर्नुपर्ने नेता चुमानको जोड थियो ।  

सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको मुख्यमन्त्री कार्कीको दाबी

मोरङ-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गर्नुभएको छ । नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोड गरेको आरोप लगाउनुभयो ।

सरकारको गठन भएको ५२ दिन एवं प्रदेशसभाको १३ औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवं नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गर्नुभयो । उहाँले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पार्नुभयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।”

सरकारले विराटनगरको एतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो सहरको रुपमा बनाउनका लागि उपलब्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकसँग आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामकरण कानुनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नुपर्नेमा जोड दिनुभयो । प्रष्ठिानका अध्यक्ष इन्दिरा रिजाल, कविराज न्यौपाने, विवश पोखरेललगायतले धार्मिक र साहित्य क्षेत्रका विविध पक्षमा चर्चा गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म संस्कृति पुरस्कारबाट आबाल ब्रह्मचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद रु एक लाख एक हजार एक सय ११ र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । त्यसैगरी उहाँले नगेन्द्र–आशा साहित्य पुरस्कारबाट साहित्यकार दधिराज सवेदीलाई नगद रु एक लाख एक हजार एक सय ११ एवं सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो ।

सीमिति स्रोतले असीमित आवश्यकता पूरा गर्न सकिँदैन : अर्थमन्त्री डा महत

अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोतको निकै ठूलो चुनौती रहेको बताउनुभएको छ ।आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभाका सदस्यहरूबाट उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री महतले सीमित स्रोतले असीमिति आवश्यकता पूरा गर्न नसक्ने बताउनुभएको हो ।

“हाम्रा महत्त्वाकांक्षा र आवश्यकताहरू थुप्रै छन्, तर हाम्रो साधन र स्रोतको सीमितता छ । थोरै स्रोत र साधनले धेरै आवश्यकता र महात्त्वाकांक्षालाई कसरी पूर्ति गर्ने भन्ने चुनौती छ”, उहाँले भन्नुभयो, “अहिले पनि बजेट छर्ने दवाव छ । त्यो स्वाभाविक पनि हो । तर बजेटमा क्षेत्रगत प्राथमिकताभित्र पनि अर्को प्राथमिकता निर्धारण गर्नुपर्ने भएको छ ।”

क्रमागत र बहुवर्षीय आयोजनाको दायित्व निकै धेरै रहेकोले नयाँ योजना र कार्यक्रमका लागि बजेट व्यवस्थापन गर्न चुनौती हुने उहाँको भनाइ छ । “वास्तविक स्रोत सुनिश्चित नै नभइकन विगतका वर्षहरूमा पूरा लागतका आयोजना अघि बढाइएका छन् । चार खर्बभन्दा बढीका यस्ता आयोजना छन्”, डा महतले भन्नुभयो, “स्रोत नै सुनिश्चित नभइकन ठेक्का लगाइएका आयोजना हेर्ने हो भने अझै तीन–चार वर्ष हामीले अरु कुनै आयोजना र कार्यक्रममा बजेट नछुट्याइकन त्यसैमा मात्र विनियोजन गर्नुपर्ने अवस्था छ ।”

 विगतका वर्षहरूमा बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दा अर्थतन्त्रका सूचकको विश्लेषण गर्ने चलन नभए पनि यस वर्ष आफूले अर्थतन्त्रको वास्तविक समस्यासमेत देखाएर समस्या स्वीकार गरेरै अघि बढ्न चाहेको बताउनुभयो । लक्षित रूपमा आर्थिक वृद्धिदर हासिल नभएको, न्यून राजस्व देखिएको, व्यापार घाटा बढेको, सार्वजनिक ऋणको दायित्व बढेकोलगायतका समस्या अहिले अर्थतन्त्रमा रहेको अर्थमन्त्री महतको भनाइ छ । सार्वजनिक ऋणको साँवा ब्याजको दायित्व बढिरहेकाले बजेट स्रोतमा चाप परेको उहाँको भनाइ छ ।

 त्यस्तै अर्थतन्त्र विगतका वर्षहरू राम्रो रहेको र अहिले एकाएक बिग्रिएको नभई एकपछि अर्को समस्या थपिएर अहिलेको अवस्थामा आइपुगेको उहाँको भनाइ छ । “हामी हुँदा ठिकठाक थियो, तर अहिले मात्रै बिग्रियो भनेर भन्नुभएको छ । तर विगतदेखिकै समस्या थपिएर अहिलेको अवस्था बनेको हो”, डा महतले भन्नुभयो, “रोग लागिसकेको हुन्छ । तर त्यसको पुष्टि हुन समय लाग्छ । अर्थतन्त्रको अवस्था पनि त्यही हो ।”

अर्थमन्त्री महतले अर्थतन्त्र निकै धराशायी भइसकेको भन्ने नरहेको पनि दावी गर्नुभयो । “अर्थतन्त्र धराशायी भएको, ओरालो लागेको भन्ने होइन । तर उकालो चढ्नेक्रम र रफ्तार कम भएको मात्रै हो”, उहाँले भन्नुभयो । पूँजीगत खर्च बढाउन र खर्चमा मितव्ययिता कायम गर्न आर्थिक वर्ष शुरु भएलगत्तै साउनदेखि नै बजेट कार्यान्वयनमा लैजान आवश्यक रहेको समेत उहाँले बताउनुभयो । पूर्वतयारी नै नसकिएका आयोजना बजेटमा पर्दा आयोजनाको लागत र समय दुवै बढ्ने गरेको उहाँको भनाइ छ ।

संसद्मार्फत आएका सुझाव, सल्लाह, आलोचना, समालोचनाले बजेटलाई थप परिष्कृत गर्न सघाउ पु¥याउने अर्थमन्त्री डा महतले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट ल्याउनका लागि निकै छोटो समय मात्र बाँकी हुँदा विस्तृत छलफल हुन नसकेको र धेरैभन्दा धेरै सुझाव समेट्न नसकिएको उहाँले स्वीकार्नुभयो । “समय थोरै छ । तर यसबीचमा धेरै काम गर्न बाँकी छ । मैले तीन दिन संसद्मा बसेर सबै माननीयज्यूहरूका सुझाव टिपोट गरेका छु । त्यसलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्ने प्रयास गर्नेछु”, अर्थमन्त्री महतले भन्नुभयो ।

पाथीभरा तीर्थयात्रीलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने

ताप्लेजुङ- ताप्लेजुङस्थित पाथीभरा मन्दिर आउने दर्शनार्थी एवं पर्यटकलाई तोकिएकोभन्दा बढी सवारी भाडा लिन नपाइने भएको छ । दर्शनार्थीका लागि गाडी तथा यात्रा व्यवस्थापनका सम्बन्धमा यसअघि भएको निर्णय कडाइका साथ कार्यान्वयन गर्न सरोकारवालाले पुनःध्यानाकर्षण गराएका छन् ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले पाथीभरा आउने दर्शनार्थीको सहजताका लागि यसअघि भएका निर्णय पूर्णरुपमा कार्यान्वयन गर्ने, गराउनेसहितका केही थप निर्णय गरेको छ । अघिल्लो सर्वपक्षीय बैठकमा सदरमुकाम फुङ्लिङदेखि पाथीभरा क्षेत्रमा पर्ने काफ्लेपाटीसम्मको यातायात भाडा प्रतिव्यक्ति रु चार सयभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो । तर पछिल्ला दिनमा भाडा बढी लिने गरेको भन्दै गुनासो आएपछि उक्त निर्णय कडाइका साथ कार्यान्वयन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

पाथीभरा मन्दिरमा खटिएका पुजारी, कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकले दर्शनार्थीलाई लाइनमा व्यवस्थित गरी पूजाआजामा सहयोग पु¥याउने, शिष्ट र मर्यादित व्यवहार गर्नेसमेत निर्णय भएको छ । सुकेटार–काफ्लेपाटी सडकखण्ड स्तरोन्नति गर्ने कार्य सुस्त गतिमा भएकाले सम्बन्धित निर्माण कम्पनीलाई चाँडो गर्न ध्यानाकर्षण गराउने पनि निर्णय भएको छ । 

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अध्यक्षतामा बसेको बैठकमा प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिम र फुङ्लिङ नगरपालिका प्रमुख अमीर मादेनसमेत सहभागी हुनुभएको थियो । बैठकमा उपस्थित सरोकारवाला सङ्घसंस्थाका प्रतिनिधिले ताप्लेजुङमा आउने पर्यटकलाई सहजता सिर्जना गर्न आआफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । 

हिमाली जिल्ला मनाङमा चार महिनामा आठ हजार पर्यटक भित्रिए

मनाङ- हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमका अनुसार मनाङमा सन् २०२३ को चार महिनामा पाँच हजार ५६ पुरुष र तीन हजार एक सय ६३ महिलाले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । सन् २०२३ को सुरुआतमा नै ४२ देशका पर्यटक मनाङ भित्रिएका थिए । सन् २०२३ को जनवरीमा ४२ देशका तीन सय १८ नागरिकले मनाङ भ्रमणका लागि प्रवेश पाएको तथ्याङ्क छ ।

कोभिड–१९ को सङ्क्रमणपश्चात सहज बनेपछि अहिले विश्वभरबाट पर्यटक नेपाल आउने क्रम जारी छ । नेपाल भित्रिने क्रममा उनीहरु विशेषगरी मनाङको अन्नपूर्ण पदमार्ग यात्रामा अउने गरेका छन् । पदयात्राका लागि विदेशी पर्यटक विशेषगरी आउने गरेको एक्यापका प्रमुख गौतमले बताउनुभयो । जनवरीमा सबैभन्दा बढी दक्षिण कोरियाका ६९ नागरिक मनाङ भ्रमणका लागि आएको तथ्याङ्कमा उल्लेख छ । अहिले वर्षात्को समय भएकाले पदमार्गको यात्रा गर्दा सम्भाव्य जोखिमका बारेमा जानकारी गराएर पठाउने गरिएको उहाँले बताउनुभयो ।

“पर्यटक एक्लै जाँदा बिरामी पर्ने, हराउने र जोखिम क्षेत्रमा खोजीकार्य गर्न समस्या भएपछि सरकारले पथप्रदर्शकबिना यात्रामा जान रोक लगाएको छ, अहिले पथप्रदर्शक लिएर मात्रै पर्यटक आउने गरेका छन्”, गौतमले भन्नुभयो । पथप्रदर्शक भएपछि सूचना पाउन सहज भएको उहाँको भनाइ छ ।

यात्राका क्रममा पर्यटक बिरामी परेको खण्डमा पथप्रदर्शकको सहयोग हुने हुँदा सहज भएको पर्यटक बताउँछन् । पर्यटकको आवागमन बढेपछि मनाङका होटल तथा पर्यटन व्यवसायीमा खुसी छाएको छ । पर्यटक वृद्धि हुँदा उनीहरुको आयस्तरसमेत वृद्धि हुने छ । पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरताको अवलोकन गर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ तथा पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा पर्छ ।

अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दीसित जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सडकमार्ग त्यसपछि पदमार्गमार्फत पर्यटकले मनाङका विभिन्न स्थानको अवलोकन गर्छन् ।

यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, २७ वैशाख  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप १८० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १६० रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २४ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी १२० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, लोकल परवर ९० रुपैयाँ, न्यूरो ८० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदीना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली १५० रुपैयाँ, भान्टा लाम्चो ५० रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ५० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २४० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँमा पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

इमरान खान पक्राउ पछि पाकिस्तानमा आज बिद्यालय बन्द  

इस्लामवाद, २७ बैशाख । पुर्ब प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भडकिएको हिंसा कारण आज पाकिस्तानमा नीजि स्कुलहरु सबै बन्द हुने भएका छन् ।

हिजो इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठावाट सेनाले उनलाई पक्राउ गरे पछि उनका समर्थकले देशैभरी बिरोधस्वरुप आगजानी तथा उग्र प्रदर्शनमा उत्रेका छन् ।

बुदाँगत रुपमा जान्नुहोस सो घटनाबारेः
 

  • हिंसाका कारण आज देशभरका निजी विद्यालय बन्द रहने छन् ।
  • पीटीआईले आफ्ना नेता र कार्यकर्तालाई बिहान ८ बजे इस्लामावाद न्यायिक कम्प्लेक्समा भेला हुन आग्रह गरेको छ ।
  • पीटीआई नेता फवाद चौधरीले इस्लामावाद हाईकोर्टको फैसलाविरुद्ध पार्टीले सर्वोच्च अदालत जाने बताएका छन् ।
  • पञ्जाब प्रान्तमा दुई दिनदेखि धारा १४४ लागू गरिएको छ। पेशावरमा ३० दिनका लागि धारा १४४ लगाइएको छ ।
  • पीटीआई नेता कासिम सुरीले क्वेटामा प्रदर्शनका क्रममा पार्टी कार्यकर्ताको मृत्यु भएको दाबी गरेका छन् ।
  • इस्लामावाद प्रहरीले ५ अधिकारी घाइते भएको र ४३ प्रदर्शनकारीलाई हिरासतमा लिएको जनाएको छ ।

यसैगरी,  मारन अल कादिर ट्रस्ट घोटाला प्रकरणमा उनलाई पक्राउ गरेको सेनाले जनाएको छ । पाकिस्तानको अखबार द डनका अनुसार अल कादिर ट्रस्ट घोटाला ५० अर्ब रुपैयाँभन्दा बढीको घोटला छ, जहाँ इमरान, पत्नी बुशरा बीबी र बुशराकी साथी फराह गोगीले यसको फाइदा उठाएका छन् ।

आइतवारको एक र्‍यालीमा इमरानले खुफिया एजेन्सी आईएसआईको राजनीतिक शाखाका प्रमुख फैसल नसीरमाथि निकै गम्भीर आरोप लगाए । खानले भनेका थिए– फैसल मलाई मार्न चाहन्छ । यसमा कतिपय अधिकारीहरुले उनलाई सहयोग गरिरहेका छन् । 

यसपछि मंगलबार लाहोरबाट इस्लामाबाद प्रस्थान गर्नुअघि इमरानले भने– ‘सेनाले कान खोलेर सुन्नु पर्छ, म डराएको छैन ।’ उनले यसो भनेको करिब ४ घण्टापछि इस्लामावाद हाईकोर्टको बायोमेट्रिक कोठाबाट सिसा फुटाएर उनलाई पक्राउ गरिएको हो । सेनालाई चुनौती दिएपछि मात्रै खानको गिरफ्तारी भएको मानिन्छ ।
 

कोशी आन्दोलन : दमकमा गोली चल्यो, १० सुरक्षाकर्मी घाइते

झापा, २७ बैशाख । कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सुरू भएको दोसो चरणको आन्दोलनको पहिलो दिनमा झडप हुन पुगेको छ ।

झापाको दमकमा मंगलबार साँझ राँके जुलुससहित बिरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरी बिच मुढभेड हुदाँ आन्दोलनले उग्र रुप लिएको छ ।  झडपको क्रममा प्रहरीले गोलीसमेत चलाएको छ ।

सो आन्दोलनमा परी १० जना प्रहरी र २ जना आन्दोलनकारी घाइते हुन पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापका अनुसार सो झडपमा परेर इलाका प्रहरी कार्यालय दमकका डिएसपी मनोजकुमार लामासहित १० सुरक्षाकर्मी घाइते हुन पुगेका छन् भने प्रदर्शनकारीतर्फ पनि दुई जना घाइते भएका छन्। यसरी घाइते हुने प्रदर्शनकारीहरूमा दिक्षा क्षेत्री र गजेन्द्र फागो रहेका छन्। दुवैतर्फको घाइतेको स्थानिय अस्पतालमा प्रारम्भिक उपचार गरिएको थियो ।

दमकको पश्चिम बस स्ट्याण्डबाट गणतन्त्र चोकतर्फ ठूलो संख्यामा प्रदर्शनकारीहरू मसालसहित सडकमा निस्किएका थिए। सुरक्षाकर्मीले प्रदर्शनकारीहरूले बोकेको मसाल खोस्न खोजे पछि स्थीति तनावग्रस्त बन्न पुगेको स्थानियले जनाएका छन् ।