`

अर्घाखाँची आगलागी अपडेट : आगो निभाउने क्रममा जलेर घाइते भएका तीन जनाको मृत्यु

अर्घाखाँची-अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका तीन जनाको मृत्यु भएको छ । आगलागीमा परी घाइते भएका भुमिकास्थान–२ तिरतिरे गाउँका ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे र ५२ वर्षीय घनश्याम बेल्वासेको मृत्यु भएको हो । पिताम्बरको उपचारका लागि लैजाँदै गर्दा पाल्पाको रामपुरमा मृत्यु भएको हो भने पदमको अस्पताल लैजाँदै गर्दा चितवनको नारायणघाट नजिक पुग्दा मृत्यु भएको हो । यस्तै घनश्यामको उपचारका लागि काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

मङ्गलबार दिउँसो भूमिकास्थान–२ तिरतिरे खोलागाउँका पदम बेल्वासेको घरमा आगो निभाउने क्रममा पाँच जना घाइते भएका थिए । आगलागीबाट २६ वर्षीया अस्मिता बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेसमेत घाइते भएका छन् । माधवको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा लैजान सिफारिस गरिएको थियोे । त्यहाँ उपचार हुन नसकेपछि काठमाडौँ लैजान सिफारिस गरिएको थियो ।

यसैबीच सन्धिखर्क नगरपालिका–४ वाङलास्थित मुस्लिम बस्तीमा आगलागी हँुदा आठ घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट चार भैँसीसमेत जलेर मरेका छन् । कुखुरा फार्ममा आगलागी हुँदा आठ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालद्दिन मियाँ, सफी मियाँ र समसेर मियाँका घरगोठ जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए ।

महाकालीबाट तीन महिला पत्रकारले सुरु गरे मेची–महाकाली साइकलयात्रा

झापा- दलितमाथि हुँदै आएका सबैखाले विभेदको अन्त्यका लागि जनचेतना जगाउन महाकालीबाट तीन महिला पत्रकारले सुरु गरेको साइकलयात्रा मङ्गलबार साँझ काँकडभिट्टाको मेची पुलमा समापन भएको छ ।

यही वैशाख ६ गते पश्चिम नेपालको कञ्चनपुरस्थित गड्डाचौकीबाट रीता विश्वकर्मा बुढाथोकी, सङ्गीता नेपाली र इन्दिरा विश्वकर्माले साइकलयात्रा सुरु गर्नुभएको थियो । मेचीनगरस्थित पूर्वी सीमा काँकडभिट्टामा उहाँहरूले यात्रा पूरा गर्नुभएको हो ।

रुपन्देही निवासी रीता विश्वकर्मा बुढाथोकी रेडियो नेपालमा आबद्ध पत्रकार हुनुहुन्छ । अर्घाखाँचीकी सङ्गीता नेपाली र नवलपरासीकी इन्दिरा विश्वकर्मा पनि सञ्चारकर्मी हुनुहुन्छ ।

‘सबैखाले विभेदको अन्त्य हाम्रो अभिभारा, न्याय, समानता र आत्म सम्मानका लागि महाकाली–मेची साइकल यात्रा २०८०’ नाराका साथ तीनैजनाले साइकलयात्रा गर्नुभएको हो । साइकलमा उहाँहरूले राष्ट्रिय झन्डा फहराउनुभएको थियो भने विभिन्न जिल्लामा जातीय छुवाछूतलगायत विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्नुभएको थियो ।

साइकल यात्री बुढाथोकीले मुलुकमा ठूला राजनीतिक परिवर्तन र राज्य व्यवस्थामा फेरबदल आए पनि दलित समुदायले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा समानता तथा आत्मसम्मानको पूर्ण अनुभूति गर्न नपाएको गुनासो गर्नुभयो । साइकलयात्राले समानता र आत्मसम्मानका लागि सकारात्मक सन्देश प्रवाहित गरेको उहाँको भनाइ छ ।
 

बहुपति प्रथामा आधारित टुल्की जेठ १२ गते देखी

काठमाडौं । एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जे ज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए ।

विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो।त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ। द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ।

एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण सम्पन्न भएको चलचित्र टुल्कीको सार्वजनिक डेट आगामी १२ जेठलाई तोकेरै निर्माण कम्पनीले विहीवार पोष्टर सार्वजनिक गरेको हो।

संभवत बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायाँकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कम्पनीले भनेको छ ।डोल्पा, हुम्ला, मुगु, मुस्ताङ  लगायतका हिमाली जिल्लाको  भेषभूषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई  टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको बैबाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुसिल अधिकारि र नमराज घिमिरेले छायांकन गरेको हुन भने सम्पादन तारा किम्भे थापा संगीत तथा गीतकार ग्यानेन्द्र गिरी र  रोहित देउबा हुन भने रेखा जोशी, हरिना नाथ र रोहित देउबाको स्वर मा २ गीत समाबेस रहेको छ र पार्स्व संगीत सन्जिब सुब्बाको रहेको छ यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।

यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ ।

यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा सम्बाद भने शेखर लामाले गरेका हुन । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।
 

रजनीकान्तको डन कमब्याक, करियरकै ठूलो धमाका गर्दै

मुम्बई । पेन इण्डियाको फिल्मको बाढी आइरहेको वर्तमान समयभन्दा धेरै वर्ष अघि नै पेन इण्डिया सुपरस्टार बनिसकेका अभिनेता रजनीकान्त यो साल करियरकै ठूलो धमाका गर्दैछन् । हालैमात्र उनको फिल्म ‘जेलर’को फस्टलुक सार्वजनिक हुनासाथ त्यसले राम्रै चर्चा पायो ।

यो वर्ष रजनीकान्त दुई फिल्ममा देखिँदैछन् । उनी अर्को फिल्म ‘लाल सलाम’मा पनि देखिँदैछन् । यो फिल्ममा रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको निर्देशन छ । ऐश्वर्या ८ वर्षपछि निर्देशनको कुर्सीमा बसेकी हुन् । फिल्मले ९० को दशकको मुम्बईको कथालाई देखाउनेछ ।

क्रिकेट खेलको कथालाई उतारिएको फिल्ममा तमिल स्टार विष्णु विशाल र विक्रान्तको प्रमुख भूमिकामा अभिनय छ । फिल्ममा रजनीकान्तले मुम्बईको एक डनको भूमिका निभाएका छन् ।

फिल्मको फस्टलुक सार्वजनिक भइसकेको छ । सार्वजनिक फस्टलुकमा रजनीकान्तले शेरवानी र पाइजामा तथा शीरमा एक रातो टोपी लगाएका छन् ।

सन् १९९५ रिलिज ‘बाश्शा (बादशाह)’ रजनीकान्तको सबैभन्दा आइकनिक फिल्ममध्ये एक हो । यो फिल्ममा उनले मुम्बईको एक डनको भूमिका निभाएका थिए । फिल्ममा उनको चरित्रको नाम मानिक थियो, तर उनले आफ्नो मरिसकेको साथी अनवर बाश्शाको सम्झनामा उसको नाम पनि आफ्नो नाममा जोड्छन् । २८ वर्षअघि रिलिज यो फिल्म रजनीकान्तको सफल फिल्ममा पर्छ । यो फिल्म १५ महिनासम्म थिएटरमा प्रदर्शन भएको थियो ।

प्रि बजेटका बारेमा अर्थमन्त्री महतले सांसदहरुलाई जवाफ दिदैँ

काठमाडौं । आज प्रि बजेटका बारेमा सांसदहरुले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् ।
 
गत आइतवार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले गरेकाे निर्णय अनुसार तीन दिनसम्म सांसदहरुले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।
 
गत बैशाख २५ देखी प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदहरुले आा–आफनो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सा‌सदहरुले उठाएका सवालको जवाफहरु भने हिजै दिइसकेका छन् । उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् ।

संबैधानिक ब्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा राजनीतिक दलहरुले  प्रि बजेटका बारेमा छलफल सुरु गरेका थिए ।  गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि सो बारेमा प्रारम्भिक छलफल भएको थियो ।
 
शुक्रवार र शनिवार पनि बसेको गठबन्धनको बैठकमा सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा प्रारम्भिक चरणका छलफल भईसकेको छ । उनीहरु यतिखेर सरकारका प्राथकिताका बारेमा छलफल गरिरहेका छन् ।  

सेनाको हिमाल सरसफाइ अभियान : अन्नपूर्णबाट तीन हजार किलो फोहर सङ्कलन

म्याग्दी-म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो । आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गर्नुभएको थियो । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोली आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गर्नुभएको थियो ।

एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर सङ्कलन भएको टोलीले जनाएको छ । कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।

नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको थियो । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताउनुभयो । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौँ लगिएको हो ।

आरोहण भएको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । “आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उहाँले भन्नुभयो, “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।”

हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई रु १५ लाख बजेट सहयोग गरेको छ । सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ ।

गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो । हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश पनि गएकाले सेनाले सफाइ अभियान चलाएको हो । सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर सङ्कलन गरेको थियो ।

कैलालीको जानकी गाउँपालिकाका विद्यार्थीले गरे पाँच कठ्ठा जमिनमा तरकारी खेती

कैलाली-कैलालीको जानकी गाउँपालिकामा विद्यार्थी पढाइसँगै करेसाबारीमा व्यस्त रहने गरेका छन् । जानकी–२ स्थित जय पार्वती आधारभूत विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’अन्तर्गत उनीहरुले खेतीसमेत गरेका छन् ।

विद्यार्थीले पाँच कठ्ठा जमिनमा तरकारी खेती गरेका छन् । विद्यालयको हाताभित्र गरिएको तरकारी खेतीबाट विद्यार्थीमा कृषिप्रति उत्प्रेरणा दिँदै आधुनिक कृषि कर्म गर्ने अभिभावकलाई फाइदा पुग्ने लक्ष्य गाउँपालिकाले लिएको छ । तरकारी खेतीमा काम गर्ने किसान नभई विद्यालयमा अध्ययनरत आधारभूत तहका विद्यार्थी छन् ।

विद्यालय तहबाटै कृषितर्फ विद्यार्थीको उत्प्रेरणा जगाउन गाउँपालिकाले नमूनाका रूपमा केही विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ लागू गरेको हो । सोही कार्यक्रमअन्तर्गत विद्यालय करेसाबारी कार्यक्रमबाट आफूहरूले कृषिसम्बन्धी सैद्धान्तिक र व्यवहारिक सिकाइ गर्न पाएको विद्यार्थी बताउँछन् । विद्यार्थी सुरजा प्याकुरेल कृषिसम्बन्धी सिकाइ भइरहेको बताउनुहुन्छ ।

“हामीले बारीमा काम गर्न रुचि नै देखाउने गरेका थिएनौँ । घरमा आमाबुवाले बारीमा काम गर्दा हामीले कहिल्यै चासो दिएनौँ”, उहाँ भन्नुहुन्छ, “अब विद्यालयमा पढाइ नै हुन थालेपछि सिक्न थाल्यौँ, अब घरमा अभिभावकलाई पनि तरकारी खेती गर्ने तरिकाबारे सिकाउँदैछौँ । बल्ल कृषि पनि पढाइ रहेछ भन्ने बुझ्न थालेका छौँ ।”

कृषि पेसालाई व्यावसायिक बनाउन तथा कृषिमा दक्ष जनशक्ति उत्पादनका लागि अभिप्रेरणा दिन गाउँपालिकाले पालिकाभित्रका तीन सामुदायिक विद्यालयमा ‘विद्यालय करेसाबारी कार्यक्रम’ सञ्चालन गरेको छ । करेसाबारी कार्यक्रम सञ्चालन हँुदा आपूmले विद्यालयमा सिकेको कृषि ज्ञानलाई घरमा आफ्ना आमाबुवालाई जानकारी गराउने गरेको कल्पना गिरी बताउनुहुन्छ ।

“तरकारी खेतीबारे सिकाइसँगै मिलेर काम गर्दा रमाइलो हुन्छ । हामी रमाउँदै खेती गर्न सिकिरहेका छौँ”, उहाँ भन्नुहुन्छ, “हामीले नयाँ प्रविधि र नयाँ अभ्यास सिकिरहेकाले अभिभावकलाई पनि सिकाउँछौँ ।”

करेसाबारी कार्यक्रम सञ्चालन हुँदा विद्यार्थीलाई कृषिसम्बन्धी जानकारी पाउन सहज भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बमले बताउनुभयो । “विद्यालयमा करेसाबारी कार्यक्रमप्रति विद्यार्थी उत्साहित भएकाले अहिले विद्यालयमा पाँच कठ्ठामा तरकारी खेती गरिएको हो”, उहाँले भन्नुभयो, “विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत काम गराउँदा विद्यार्थीमा सिकाइ भइरहेको छ । यसले विद्यार्थीलाई विद्यालय र कृषि पेसाप्रति हौस्याएको छ ।”

तीस हप्तासम्म करेसाबारी कार्यक्रम सञ्चालन हुनेछ । यसका लागि हप्तामा एक दिन कृषिसम्बन्धी पढाइ गर्दै व्यवहारिकरूपमा करेसाबारीमै काम सिकाइन्छ । कार्यक्रमअन्तर्गत विद्यालयमा लौका, करेला, तोरिया, बोडी र भिन्डी खेती गरिएको जानकी गाउँपालिकाका कृषि प्राविधिक तेजराम चौधरीले बताउनुभयो ।

“एक विद्यालयमा न्यूनतम दुईदेखि पाँच कठ्ठामा अहिले खेती सञ्चालन गरिएको छ”, उहाँ भन्नुहुन्छ, “यसरी विद्यालयमा विद्यालय करेसाबारीले विद्यार्थीमात्र नभई उहाँहरूको घरमा कृषि कर्ममा परिवर्तन भई घरको आर्थिक अवस्थामा सुधार ल्याउनमा मद्दत पुग्नेछ ।”

पालिकाले कृषिमा विद्यार्थीको आकर्षण बढाउनका लागि थालेको यो कार्यक्रम प्रभावकारी रहेको स्थानीय बताउँछन् । स्थानीय रविन चौधरीले पालिकाले विद्यालयमा कृषि कर्म सिकाउन थाल्नु नयाँ अभ्यास भएको बताउनुभयो ।

चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा बन्ने

काठमाडौँ-नेपाली चलचित्रसमेत दुईभागमा बन्ने भएको छ । बलिउड र हलिउडले यस्तो शैलीमा बनाएका चलचित्रले सफलता पाएपछि नेपालमा सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबल : अगस्त्य’ दुई भागमा तयार गरिने भएको छ ।

निर्देशक चौधरीले दुवै भागको कथालाई तयार गरेर छायाङ्कनको तयारी गरिएको जानकारी दिनुभयो । “हिन्दू धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको शीर्षकमै रहेर कथालाई तयार गरेको छु । दुई भागमा तयार गर्ने योजनासहित सुरु गर्दैछौँ”, निर्देशक चौधरीले भन्नुभयो । उहाँले कथा लेखनकै क्रममा एक भागमा नसकिने भएपछि दुई भागलाई नै तयार गरिने योजना बनेको जानकारी दिनुभयो ।

यद्यपि अहिले दोस्रो भागको केही दृश्य मात्र खिच्ने उहाँको योजना छ । निर्देशक चौधरीले भन्नुभयो, “दुई भागमा मात्र कथा सकिने छ । भारतको गोरखपुरबाट यसको छायाङ्कन प्रारम्भ गर्दैछौँ ।” भारतको गोरखपुर र वनारसमा छायाङ्कन सकिएपछि नेपालमा काठमाडौँ र नवलपरासीमा छायाङ्कन हुने तालिका निर्धारण गरिएको छ । चलचित्रमा कलाकार सौगात मल्ल, मलिका महत, प्रमोद अग्रहरी, रवीन्द्र झा र विजय बरालको अभिनय रहनेछ ।

सगरमाथामा हिउँको तहमा ह्रास

सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा ह्रास आउनसक्ने देखाएका छन्।

विश्वकै सबैभन्दा अग्लो सगरमाथामा तीव्र गतिमा प्रवाह हुने चिसो हावा र न्यून आद्र्रताले नयाँ हिउँ नपरेको अवस्थामा हिउँदयाममा यसको उचाइ ९० सेन्टिमिटरसम्मले घट्नसक्ने एक अध्ययनको प्रारम्भिक प्रतिवेदनले देखाएको हो।

यो प्रक्रिया लामो समयसम्म जारी रहे सगरमाथाको उचाइमासमेत परिवर्तन हुन सक्ने देखिएको छ।सगरमाथाको ८ हजार ४३० मिटर उचाइमा रहेको बाल्कोनी, ७ हजार ९४५ मिटर उचाइमा रहेको साउथ कोललगायत अन्य स्थानमा स्थापना गरिएका मौसम–मापन यन्त्रबाट प्राप्त हिउँदयामका तथ्यांकको पहिलोपटक गरिएको समीक्षात्मक अध्ययनले यस्तो नतिजा देखाएको हो।

मौसम र जलवायुको क्षेत्रमा काम गर्दै आएको बेलायतको रोयल मेटेरोलोजिकल सोसाइटीद्वारा प्रकाशित वैज्ञानिक जर्नल ‘वेदर’मा नेपाली वैज्ञानिक तेन्जिङ छोग्याल शेर्पाले नेतृत्व गरेको शोधकर्ताहरूको समूहले तयार पारेको प्रतिवेदन प्रकाशित भएको छ। प्रतिवेदनअनुसार सगरमाथा शिखरमा हावाको घण्टागत सरदर चिसोपना सबैभन्दा बढी माइनस ८३ डिग्री सेल्सियस र सबैभन्दा कम माइनस ७७ डिग्री सेल्सियससम्म झर्ने देखिएको छ।

अध्ययनले सगरमाथाको उच्च भूभागमा प्रवाह हुने तीव्र चिसो हावा र न्यून सापेक्षिक आद्र्रताका कारण हिउँद याममासमेत प्रतिदिन २।५ मिलिमिटर पानीबराबरको हिउँको तह उर्ध्वपातनमार्फत नष्ट हुने र यसले अन्ततः शिखरमा हिउँ थुप्रो कम हुँदै जाने देखाएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट

चितवन। पूर्व–पश्चिम राजमार्गको चितवन–नवलपरासी खण्डको नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि निर्माण कम्पनी छनोट भएको छ । यससँगै पुल निर्माणको काम अगाडि बढ्ने भएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख नरेशमान शाक्यले नारायणी नदीमा ‘सिग्नेचर पुल’ निर्माणका लागि तुँदी निर्माण सेवा छनोट भएको जानकारी दिए ।

उनका अनुसार अत्याधुनिक प्रविधियुक्त निर्माण हुन लागेको यो पुल दुई लेनको हुने छ । अब बन्ने पुलको आयु कम्तीमा एक सय वर्ष हुने छ । अहिले नारायणी नदीमा रहेको पुल पनि दुई लेनको नै छ । २०३८ सालमा निर्माण भएको अहिलेको पुलको आयु ७० वर्ष तोकिएको छ । २०३८ सालअघि नारायणी नदीमा फेरीको सहायताले यातायातका साधन वारपार गराइन्थ्यो ।

महाशाखा प्रमुख शाक्यले भने, “नारायणी नदीमा अहिले भएको पुलको समानान्तर हुने गरी (जोडेर) ४२० मिटर लामो ‘सिग्नेचर पुल’ निर्माण गरिने छ । डेढ अर्ब रुपियाँको लागतमा सो पुल निर्माण हुन गइरहेको छ । स्वदेशी लगानीमा नै यो पुल निर्माण हुन लागेको हो । सो पुल निर्माणको लागि तुँदी निर्माण कम्पनी छनोट भएको हो । यस पुलको निर्माण अवधि चार वर्ष रहेको छ ।’’

उनका अनुसार यस पुल निर्माणका लागि चार महिनाअघि गरिएको राष्ट्रिय स्तरको बोलपत्रमा दुई वटा निर्माण कम्पनीले आवेदन दिएका थियो । तुँदी र अनक निर्माण कम्पनीले बोलपत्र भरेकोमा तुँदी निर्माण कम्पनी छनोट भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे

काठमाडौं । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई खोजी गरिरहँदा तल्लो तहमा बसेर बिचौलियाको काम गर्नेहरू भने धमाधम पक्राउ पर्दै छन् ।

प्रहरीले मंगलबार रायमाझीको सातदोबाटोस्थित निवासमा खानतलासी गर्दैगर्दा नक्कली शरणार्थी प्रकरणमा बिचौलियाको काम गर्ने रामशरण केसी र गोविन्द चौधरी मंगलबार नै काठमाडौंबाट पक्राउ परेका हुन् । केसी र चौधरी पक्राउ परेसँगै सो प्रक्ररणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । पक्राउ परिसकेका सबैलाई प्रहरीले धमाधम बयान लिइरहेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्लामा सर्कुलर भइसकेको र प्रहरीका सबै संयन्त्र खटाइएको बताए । ‘रायमाझीको खोजीका लागि हुलिया र फोटोसहित ७७ वटै जिल्लामा सर्कुलर भइसकेको छ, प्रहरीले खोजी गरिरहेको छ, यो पक्राउ पुर्जी जारी भएपछिको नियमित प्रक्रिया नै हो,’ प्रहरी प्रवक्ता कडायतले भने । यो समाचार राजधानी दैनिकमा छ ।

टोपबहादुर रायमाझीलाई तत्काल कारबाही नहुने

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ । पार्टीद्वारा हुने आन्तरिक कारबाहीको विषयमा पार्टी मौन रहेको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको छ । रायमाझी अहिले फरार रहेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले अनुसन्धानमा सघाउने निर्णय गर्दै तत्कालका लागि ‘पर्ख र हेर’को रणनीतिअनुसार पार्टीबाट हुने आन्तरिक कारबाही नगरेको हो । राजधानी दैनिकमा प्रकाशित छ ।

भोलि २८ वैशाखदेखि काठमाडौंमा सुरु हुने एमाले केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल गर्न मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको केन्द्रीय सचिवालय बैठकले रायमाझीबारे आन्तरिक कारबाही वा अनुसन्धानबारे केही निर्णय नलिई उनले कानुनी प्रक्रियामा सघाउनुपर्ने निष्कर्ष निकालेको छ ।

नेपाली सेनाको सफा हिमाल अभियानबाट २९ हजार किलो फोहर सङ्कलन

काठमाडौँ-नेपाली सेनाको अगुवाइमा भइरहेको ‘सफा हिमाल अभियान–२०२३’ अन्तर्गत परिचालित टोलीले सगरमाथा, ल्होत्से, बरुन्चे तथा अन्नपूर्ण हिमाल सफाइ कार्य जारी राखेको छ । तीन वटा समूहमा परिचालित टोलीले सगरमाथा, ल्होत्से सात हजार छ सय ३२, बरुन्चे १८ हजार पाँच सय २०, अन्नपूर्णबाट तीन हजार दुई सय ५० गरी जम्मा २९ हजार चार सय दुई किलो फोहर सङ्कलन गरिसकेको नेपाली सेनाले जनाएको छ ।

उक्त अभियानमा संलग्न जनशक्तिलाई हौसला प्रदान गर्नुका साथै हालसम्म भइरहेको कार्य प्रगतिबारे जानकारी लिन बलाध्यक्ष रथी सीताराम खड्काले यही वैैशाख २३ गते अन्नपूर्ण आधार शिविरको भ्रमण गर्नुभएको थियो । अन्नपूर्ण हिमाल सफाइ कार्यक्रमलाई पोखरा महानगरपालिकाले पनि सहयोग पु¥याएको छ ।

अन्नपूर्ण हिमाल सफाइमा संलग्न टोलीका सदस्य सह–सेनानी सुमन पाण्डे, प्यूठ मानसिंह चौधरी, सिपाही नवराज राना र सिपाही ज्ञानेन्द्र डाँगीले मिति २०८० वैशाख ०४ गतेको बिहान उक्त हिमालको सफल आरोहण गर्नुभएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत चैत १४ गते प्रधानसेनापति प्रभुराम शर्माको अभियान सुरुआतको घोषण गर्नुभएको र अभियानबाट करिब ३५ टनअर्थात् ३५ हजार किलो फोहर सङ्कलन गर्ने लक्ष्य राखिएको छ । विश्व वातावरण दिवस (जुन ५) मा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रुपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालमा थुप्रिएको फोहर हटाउन केही सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

आजको मौसम: गण्डकी र कर्णाली प्रदेशका पहाडी भु‍-भागमा पानी पर्ने

काठमाडौं, २७ बैशाख । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरुमा सामान्य हावा हुरीको सम्भावना रहेको छ । 

राती भने  देशको पहाडी भू-भागका आंशिक  बदली रही  बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

पाल्पाको मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट, दुई घाइते

पाल्पा-पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।मंगलबार दिउँसो करिब ३ बजेको समयमा गाउँदेखि तल रहेको जङ्गलमा लागेको आगो सल्केर घरमा क्षति गरेको छ ।

मधुकोटका दलबहादुर साठीघरे, ऐतराम साठीघरे, लोकबहादुर साठीघरेको घर पूर्णरुपमा जलेर नष्ट भएको छ भने भिमिसरा साठीघरेको घर आंशिकरूपमा जलेको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन । सात बाख्रा, एक बङ्गुर मरेको स्थानीयवासीले बताएका छन् ।

घर जलेर विस्थापित परिवारलाई अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालयमा राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिनुभयो । स्थानीय, प्रहरी र नेपाली सेनाको टोली आगो नियन्त्रण गर्न जुटेका छन् । चारैतिर जङ्गल र बीचमा बस्ती भएकाले आगो अन्यत्र पनि फैलने जोखिम छ । आगो नियन्त्रणमा ल्याउने कोसिस भइरहेको छ ।

रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले स्थलगतरूपमा घटनाको अनुगमन गर्नुहुँदै पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । जङ्गलमा आगो कसले लगायो भन्नेबारे अनुसन्धान भइरहेको छ ।

आगलागीबाट ७६ वर्षीय दलबहादुर साठीघरे र उहाँकी बुहारी लक्ष्मी साठीघरे घाइते हुनुभएको छ । घाइतेलाई रामपुर नगरपालिकाले रामपुर अस्पतालसम्म ल्याएर उपचार गराइरहेको छ । आगलागीबाट के कति क्षति भयो त्यसको विवरण सङ्कलन भइरहेकाले आउन बाँकी छ ।

थानीमाई मन्दिरमा वैशाखको अन्तिम मङ्गलबार २३ फूलको डोली भित्रियो

तनहुँ- तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा वैशाखको अन्तिम मङ्गलबार २३ फूलको डोली भित्रिएको छ । मन्दिरमा तनहुँ, लमजुङ, गोरखा र चितवनलगायतबाट आएका भक्तजनले २३ फूलको डोली भित्र्याएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

त्यसक्रममा दुई हजार एक सयभन्दा बढी भक्तजनले मन्दिरमा पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । मन्दिरमा सोमबार राति ५५ जना भक्तजनले जागाराम बसेर बत्ती बालेका थिए ।

सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ । पछिल्ला वर्षहरूमा थानीमाई जाने नयाँ सडकसमेत खुलेका छन् । सडक खुलेपछि भक्तजनको सङ्ख्या बढ्न थालेको छ ।

भक्तजन फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।

समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।

विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ ।

मुगु हिमपहिरोमा पुरिएकाको खोज उद्धार अझै हुन सकेन

कर्णाली – यही वैशाख २२ गते मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँ पहिरोमा पुरिएकाको खोज उद्धार हुन सकेको छैन ।

उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीका हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की तथा ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएका थिए । कर्णाली प्रदेश सरकारले सोमबारदेखि खोज उद्धार टोली मुगु कार्मारोङ गाउँपालिकामा सोमबार पु¥याए पनि मृतकको शव पत्ता लगाउन सकिएको छैन ।

सशस्त्र प्रहरीको १०, नेपाल प्रहरीको ११ र दुई जना घटनाका प्रत्यक्षदर्शी गरेर २३ जनाको टोली घटनास्थलमा पुगेको तर उनीहरू नै जोखिम अवस्थामा रहेको कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय, विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिनुभयो ।

“सुर्खेतबाट मुगु गमगढी हुँदै सुरक्षाको खोज तथा उद्धार टोलीलाई मुगुमा कार्मारोङ गाउँपालिका पु¥याइएको छ”, उहाँले भन्नुभयो, “उनीहरू भएको ठाउँबाट घटनास्थलमा पैदल जान अझै पाँच घण्टा लाग्दो रहेछ ।” हिमपात बढी र भौगोलिक कठिनाइका कारण उद्धार कार्य जटिल बनेको शाखा प्रमुख रोकायले बताउनुभयो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले सुरक्षा टोली सोमबारदेखि खोज उद्धारमा लागेको यद्यपि हराएको भनिएको ठाउँमा दश फिट जति हिमपात भएकाले हराएका भेट्टाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “उनीहरू दिउँसो करिब छ घण्टा समय लगाएर घटनास्थल पुग्छन् तर साँझ बस्ने ठाउँ फर्किनुपर्छ । यसले गर्दा समस्या भइरहेको छ । आवश्यकतामा थप बल पनि पठाउँछौँ ।”

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले खोज उद्धार भइरहे पनि घटनास्थल सोली आकारको भएकाले घाम लाग्दा पग्लेर हिउँपहिरो थपिरहँदा समस्या भएको बताउनुभयो । उहाँका अनुसार खोज उद्धारमा खटिए पनि टोली बेसक्याम्प आउनुपर्छ । बेपत्ताको खोजीमा जाँदा खोज उद्धार टोली नै जोखिममा रहेकाले अवस्था सोचनीय र संवेदनशील रहेको उहाँले जनाउनुभयो ।

आयुब र रुपेशलाई विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण

काठमाडौँ – नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिनुभयो ।

विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौल समूहमा स्वर्ण जितेका हुन् । खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका–५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।

युक्रेनमा तत्काल शान्ति वार्ता असम्भव – राष्ट्रसङ्घ प्रमुख

मड्रिड – संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनमा जारी द्वन्द्व अन्त्यका लागि शान्ति वार्ता ‘अहिले नै सम्भव नभएको’ बताउनुभएको छ । रूस र युक्रेनका नेताहरूले दोस्रो विश्वयुद्धको अन्त्यको अवसरमा आयोजित कार्यक्रममा विजय हासिल गर्न आह्वान गरिरहेका बेला उहाँको यो भनाइ आएको हो ।

संयुक्त राष्ट्रसंघका प्रमुखले स्पेनी दैनिक एल पाइसलाई दिएको अन्तर्वार्तामा भन्नुभयो, “दुई पक्षहरू यस युद्धमा पूर्ण रूपमा लीन छन् र उनीहरूले युद्ध जित्न सकिन्छ भन्नेमा विश्वस्त छन् ।”भविष्यमा रूस र युक्रेनलाई वार्ताको टेबलमा ल्याउन सम्भव भएपनि तत्काल कुनै पक्ष यसका लागि तयार नदेखिएको उहाँले बताउनुभएको हो ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको रेड स्क्वायर भिक्ट्री डे परेडमा विश्व ‘टर्निङ प्वाइन्ट’मा रहेको र रूसविरुद्ध ‘युद्ध’ सुरु भएको दाबी गर्नुभएको थियो । त्यसको अघिल्लो दिन युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नाजीवादलाई परास्त गरेझैं रूसी सेनालाई पनि परास्त गरिने बताउनुभएको थियो ।

युक्रेन द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न चीनले दबाब दिइरहेका बेला चिनियाँ विदेशमन्त्री किन ग्याङले यसै साता युरोपको भ्रमण गर्ने घोषणा गर्नुभएको छ ।

भारतमा पुलबाट बस खस्दा २१ जनाको मृत्यु

भारत – भारतमा मङ्गलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।बस मध्य प्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुख्खा नदीको किनारमा करिब छ मिटर तल खसेको थियो ।

“कम्तीमा २१ जनाको मृत्यु भएको छ,” नाम नबताउने सर्तमा एक वरिष्ठ प्रहरी अधिकारीले भन्नुभयो । मृत्यु हुनेमा तीन जना बालबालिका र १० जना महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।

दुर्घटना हुनुअघि बसका चालक (स्टेयरिङ)मा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए ।विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या ११ प्रतिशत भारतमा छ ।

सोही प्रतिवेदनअनुसार भारतमा वर्षेनी करिब एक लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ ।

जनकपुरमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न विद्यार्थी सङ्गठनको माग

धनुषा – धनुषाका विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम उपमहानगरपालिकाको भानु चोकमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न माग गरेका छन् ।

मङ्गलबार विद्यार्थी सङ्गठनले संयुक्तरूपमा उपमहानगर प्रमुख मनोजकुमार साहसँग भेट गरी सालिक निर्माण कार्य अगाडि बढाउन ध्यानाकर्षण गराएको हो । प्रमुख साहले ध्यानाकर्षण पत्र बुझ्दै चाँडै सालिक निर्माण कार्य अगाडि बढाइने बताउनुभयो । उहाँले सालिक निर्माण स्थगित भएको अफवाहको पछाडि नलाग्न आग्रह गर्दै चाँडै निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विगत केही दिन पहिला मात्र उपमहानगरप्रमुख साहले भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण शिलान्यास गर्नुभएको थियो । शिलान्यासका क्रममा लोकतान्त्रिक विद्यार्थी सङ्गठनले सो स्थानमा रमेश महतोको सालिक निर्माणको माग गर्दै प्रदर्शन गरेको थिए । जनकपुरधाम उपमहानगरपालिकाको नवौँ नगरसभाबाट भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण गर्ने निर्णय भएको र सोका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।

नेपाल विद्यार्र्र्थी सङ्घ, अनेरास्ववियु (नेकपा एमाले), अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, अनेरास्ववियु (नेकपा एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, नेपाल समाजवादी विद्यार्थी युनियन मधेस, नेपाल तरुण दल, राष्ट्रिय युवा सङ्घ, वाइसिएल, युथ फोर्स र युवा सङ्घ नेपालले संयुक्तरूपमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

एमाले सचिवालय बैठकद्वारा एजेण्डा तय

काठमाडौँ – नेकपा (एमाले)को सचिवालय बैठकले आगामी बस्ने केन्द्रीय कमिटीको एजेण्डा तय गरेको छ । ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको आज बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा छलफल गर्ने एजेण्डा तय गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सचिवालय बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि १० वटा एजेण्डा तय गरेको छ ।

उहाँले केन्द्रीय कमिटी बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने एजेण्डासमेत तय गरिएको बताउनुभयो । “२०७९ भदौ १० र ११ गते सम्पन्न भएको केन्द्रीय कमिटी बैठकयता धेरै राजनीतिक परिवर्तन भएको छ सो सम्बन्धमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन तयार गरी अबको बैठकमा पेश गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

यस्तै बैठकले चौथो केन्द्रीय कमिटी बैठकपछि भएका सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयको जानकारी र अनुमोदन गराउने एजेण्डा समेत रहेको छ । “चौथो केन्द्रीय कमिटीपछि पार्टीका धेरै सचिवालय र स्थायी कमिटी बैठक बसेका छन् । त्यसका निर्णयको अनुमोदन गराउने एजेण्डा रहेको छ”, उहाँले भन्नुभयो ।

यसैगरी अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग र केन्द्रीय सल्लाहाकार परिषद्ले केन्द्रीय कमिटी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुुहुनेछ । यस्तै केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको समीक्षासमेत हुने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

मिसन ग्रासरुट अभियानको सातवटै भौगोलिक र दुई वटा गैरभौगोलिक प्रदेशको समीक्षा प्रतिवेदन सम्बन्धित प्रदेशमा खटिएका पार्टीका सचिवले पेश गर्ने उहाँले बताउनुभयो । समीक्षा प्रतिवेदन गरिसकेपछि केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुटबारे छलफल गरिनेछ ।

मिसन ग्रासरुट अभियानलाई आधार मानेर पार्टीले वार्षिक कार्ययोजना बनाउने उहाँको भनाइ रहेको थियो । यस्तै पार्टीले केन्द्रीय सदस्यलाई आफ्नो ठाउँभन्दा अर्को ठाउँमा वर्षमा एकपटक खटाउने निर्णयसमेत गरेको छ ।

बैठकले पार्टीले नवप्रवेशीलाई व्यवस्थापन गर्न सम्बन्धमा र समसामयिक राजनीतिक प्रस्तावमाथि छलफल गर्नेसमेत एजेण्डा रहेको उहाँले बताउनुभयो । उहाँले एमाले कानुन पालना मान्ने पार्टीले सचिव टोपबहादुर रायमाझीमाथि लागेका आरोपमाथि अनुसन्धान गर्न सम्बन्धित निकायलाई सहयोग गर्ने बताउनुभयो । एमालेको आगामी केन्द्रीय कमिटी बैठक वैशाख २८ गतेदेखि ३० गते काठमाडाँैमा बस्दैछ ।

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छ । प्रतिनिधिसभामा अर्थमन्त्री डा प्रकाशशरण महतले यही वैशाख २४ गते प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमाथि छलफलमा सांसद ठाकुरप्रसाद गैरेले दलाल पुँजीलाई अन्त्य गरेर राष्ट्रिय पुँजीको विकास गरेर देशको अर्थतन्त्र विकास गरी देशमा तमान रोजगारीको सिर्जना गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद दुर्गा राईले देशभर रहेको बाँजो जमिनलाई उत्पादनमा लगाई व्यावसायिक खेती गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी मुलुकको आर्थिक स्थितिलाई सुधार गर्नुपर्ने सुझाव दिनुभयो । सांसद नागिना यादवले अर्थतन्त्र धरासायी बन्दै गएकाले आर्थिक अवस्था सुदृढ बढाउने खालको बजेट निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । सांसद अच्युतप्रसाद मैनालीले बजेट विनियोजन गर्दा मुख्य प्राथमिकताको आधार तय गरेर गर्नुपर्ने र उत्पादनमूलक काममा पनि ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

सांसद गङ्गा कार्कीले अर्थतन्त्रलाई लयमा ल्याउनका लागि सबैले पहल गर्नुपर्ने र त्यसका लागि सत्तापक्ष र प्रतिपक्ष दुवैले उत्तिकै भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो । सांसद दिनेशकुमार यादवले कृषि क्षेत्रमा राम्रोसँग लगानी गरेमा छ महिनाभित्र मुलुकको समृद्धि हुने भएकाले किसानलाई समयमै मल, बीउ, सिँचाइ समयमै दिन सकेर, प्रविधिमैत्री तरिकाले उत्पादनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

सांसद जुलीकुमारी महतोले सरकारको नीति र निर्णयकै कारण आज मुलुकको आर्थिक धरासायी बनेको र बन्द भएका महत्वपूर्ण उद्योग पुनः सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिनुभयो । सांसद रमा कोइराला पौडेलले वैदेशिक रोजगारीलाई मुख्य आम्दानीको स्रोत बनाउन नहुने र स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो । सांसद बलराम अधिकारीले विगतमा निर्यात गरेको वस्तु अहिले आयात गरिएको अवस्था भएकाले निर्यात गर्ने सामग्री उत्पादन गर्ने खालका योजनामा बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सुशीला थिङले नेपालमा विद्युतीय गाडी, इन्डक्सन चुलोको प्रयोग गर्नुपर्ने र नेपालमा जति पनि काम सबै बिजुलीको उपयोग गर्दा नेपालको अर्थतन्त्रमा सुधार आउने सुझाव दिनुभयो । सांसद विद्या भट्टराईले दैनिक दुई हजार पाँच सय युवा विदेशिएको कुरालाई वास्ता नगरिएको, आत्मनिर्भर अर्थतन्त्र र युवा पलायत रोक्ने खालको बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद सरस्वती बजिमायाले प्राथमिकताका आधारमा बजेट विनियोजन नगर्दा उत्पादनमूलक क्षेत्रमा बजेट लगानी हुन नसकेको हुँदा आगामी दिनमा त्यस कुरालाई ध्यान दिनुपर्ने सुझाव दिनुभयो । सांसद दामोदर भण्डारीले राष्ट्रिय अभिभारा पूरा गर्न नसक्ने खालको बजेट आएको तर शिक्षा, स्वास्थ्यजस्ता कुरामा ध्यान दिन नसकेको सुझाव राख्नुभयो ।

सांसद मैना कार्कीले जनसङ्ख्याका आधारमा महिलाको सामाजिक सुरक्षा र सशक्तीकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । सांसद प्रतीक्षा तिवारीले शिक्षा, स्वास्थ, उद्योगधन्दा सञ्चालन र उत्पादनमुखी क्षेत्रमा बजेट लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद मुक्ताकुमारी यादवले शिक्षामा राज्यले विशेषरुपमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो । सांसद सरिता भुसालले जनसङ्ख्याका आधारमा महिलाको सीपमूलक तालिम र सशक्तीकरणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद जीवन परियारले कृषि प्रदान देशका हजारौँ युवा रोजगारीका लागि विदेशिका छन् तर स्वदेशमै लगानी गर्ने र उत्पादन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद अमृतलाल राजवंशीले असाधारण आर्थिक परिस्थितमा मुलुकको आयआर्जनलाई वृद्धि गर्नुपर्ने सुझाव दिदै पर्यटन, हाइड्रोपावरजस्ता कुरालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद मनबहादुर गुरुङले मुलकको आर्थिक अवस्था कमजोर युवाशक्ति पलायन रोक्ने खालको बजेट ल्याउनुपर्ने सुझाव दिनुभयो । आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा बुधबार पनि छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २७ गते ११ बस्नेछ ।

वैदेशिक रोजगारीबाट फर्केकाले दुईवटा मोबाइल ल्याउन पाउने

काठमाडौँ – वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रक्रिया पूरा गरेर ल्याउन पाउने सुविधा थियो ।

श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार छ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा प्रकाशशरण महतले गर्नुभएको यस्तो प्रस्ताव मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको उहाँको सचिवालयले जनाएको छ ।

विसं २०७७ जेठ १५ गते प्रकाशित सूचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र प्रयोग गरिरहेको सेलुलर मोबाइल फोन एक एकथान ल्याउन पाउने व्यवस्था थियो तर मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगारीमा छ महिना काम गरेर फर्किएकालाई थप एक थान मोबाइल फोन ल्याउन पाउने सुविधा सरकारले दिएको हो ।

मन्त्रिपरिषद् निर्णय : झिटिगुन्टासम्बन्धी नियमावली संशोधन हुने

काठमाडौँ – सरकारले सहकारी क्षेत्रको समग्र सुधारका निम्ति कार्यदल गठन गरेको छ । त्यसैगरी सरकारले नेपाल कृषि वन सेवा समीकरणको सचिव पदमा रेवतीरमण पौडेललाई बढुवा गर्नुका साथै झिटिगुन्टासम्बन्धी नियमावलीलाई संशोधन गर्ने भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कोहलपुर वितरणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा ढल्केबर–वाणगङ्गा १३२ केभी प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन अधिकारी तोक्ने भन्ने निर्णय भएको छ ।”

मन्त्रिपरिषद्को बैठकले कोहलपुर वितरण केन्द्रका लागि जग्गा प्राप्ति गर्ने र प्राविधिक कारबाही चलाउनको निम्ति सम्बन्धित प्रशासकीय अधिकृत अधिकारीलाई तोक्ने पनि निर्णय गरेको छ । “प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा इसिमोड बोर्ड अफ गभर्नमेन्स मिटिङमा सहभागी हुनका लागि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने पनि निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

नक्कली भूटानी शरणार्थी प्रकरणका थप दुई विचौलिया काठमाडौँबाट पक्राउ

प्रहरीले नक्कली भूटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई विचौलियालाई आज काठमाडौँबाट पक्राउ गरेको छ ।काठमाडौँको टोखा स्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू उक्त घटनामा विचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो । उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।

यसअघि पक्राउ परेकामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । 

पक्राउ पूर्जी जारी भएका नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी अहिले सम्पर्कमा नभएकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरले उनीहरू विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् ।   पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाइसकेको पनि रेग्मीले जानकारी दिनुभयो । 

बत्तीस सय परिवारलाई बिजुली : प्रधानमन्त्री दाहालद्वारा उद्घाटन

जिल्लाको डाँडापारिस्थित दक्षिणी क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाको तीन हजार दुई सय परिवारलाई आजदेखि केन्द्रीय विद्युत् उपलब्ध गराइएको छ । सरकारको उज्यालो अभियान कार्यक्रमअन्तर्गत महाभारतका सबै परिवारमा पु¥याइएको बिजुलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले आगामी नीति, कार्यक्रम तथा बजेटमा आउँदो दुई वर्षभित्र प्रत्येक घरमा बिजुलीको व्यवस्थापन गरिसक्ने घोषणा गर्ने बताउनुभयो । “नेपाली लोडसेडिङको युगबाट विद्युत् बिक्री गर्ने युगमा आइसकेका छन्, म केही समयपछि भारत भ्रमणमा जाँदा विद्युत् बिक्री र उत्पादनका विषयमा छलफल गरी सम्झौतासमेत गर्नेछु”, उहाँले भन्नुभयो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल ९५ प्रतिशत नेपाली विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिई उज्यालो उपभोग गरिरहेको उल्लेख गर्दै दुई प्रदेश पूर्ण विद्युतीकरण भइरहेको र अबको केही महिनामा कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताउनुभयो ।

स्थानीय जनप्रतिनिधिले अवस्थामा महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेश गरेपछि तत्कालीन नेकपाको सरकारले रु एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम सुरु गरिएको थियो ।

केन्द्रीय प्रसारण लाइन नभएका कारण उक्त गाउँपालिकामा उद्योग कलकारखाना सञ्चालन गर्न नसकिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले बताउनुभयो । उहाँका अनुसार यसअघि गाउँपालिकामा लघु जलविद्युत्, सोलार तथा अन्य वैकल्पिक उपायबाट घरमा बत्ती बाल्दै आइएको थियो ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – मंगलबार पनि अमेरिकी डलरको भाउमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर एकको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीमूल्य १६६ रुपैयाँ १३ पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८८ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८९ रुपैयाँ १० पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

विदुर नगरपालिकाले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निः शुल्क भरिदिने

त्रिशूली-जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ ।नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको हो ।

आगामी जेठ १ गतेदेखि विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको परिसरमा रहेको विदुर नगरपालिकामार्फत सञ्चालित आप्रवासी स्रोत केन्द्र (सामी)को सहायता कक्षबाट निःशुल्क फाराम भर्न कर्मचारी खटाउने नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यसका लागि नगरपालिकाले दुई कर्मचारीसहित आवश्यक उपकरणको व्यवस्था आफैँ मिलाउने भएको छ ।

राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि अनलाइन आवेदन अनिवार्य गरिएको छ । सोही कारण जिल्लाभरका सेवाग्राहीलाई निःशुल्क सेवा दिनका लागि विदुर नपाले जिम्मेवारी लिन लागेको हो । प्रजिअ थापाका अनुसार अनलाइन आवेदन फाराम भरेवापत अहिले राहदानीका लागि रु तीन सय र राष्ट्रिय परिचयपत्रका लागि रु एक सय शुल्क लिन प्रशासन कार्यालयले तोकेको शुल्कमा निजी क्षेत्रले सेवा दिँदै आएका छन् ।

“अनलाइन आवेदन फारम भर्ने क्रममा निजी तथा व्यावासयिक सेवा प्रदायकहरूले महँगो शुल्क (रु पाँच हजारसम्म) लिने गरेको गुनासो आएसँगै शुल्क निर्धारण गरेका थियौँ”, प्रजिअ थापाले भन्नुभयो, “विदुरले निःशुल्क सेवा उपलब्ध गराउन तयार भएसँगै सेवाग्राहीलाई सहजसहित आर्थिक भारको समस्यासमेत हट्ने विश्वास छ ।”

प्रशासन कार्यालयका अनुसार राहदानी बनाउन आवेदन फाराम भरेपछि पालो आउन करिब तीन साता लाग्ने छ भने पछिल्लो केही दिनदेखि राष्ट्रिय परिचयपत्र भने सेवाग्राहीले चाहेको समयमै भर्न पाइरहेका छन् । राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन दिने सेवाग्राही दैनिक दुई सयभन्दा बढी हुने प्रशासनको तथ्याङ्क छ ।

आगामी जेठ १ गतेदेखि प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदनको सेवा लिन पुग्नेलाई विदुरले निःशुल्क फाराम भर्नेसहित विदेश जाँदा अपनाउनुपर्ने प्रक्रिया, जान चाहेको देशको कानुनी सेवा, सीपसहितको क्षमता अभिवृद्धिका लागि सहजीकरण गर्ने जनाएको छ ।

नगरप्रमुख श्रेष्ठका अनुसार विदेशमा अलपत्र परेका नागरिकलाई फिर्ता, बिमासम्बन्धी परामर्श, बिरामी तथा घाइतेको उपचार, कानुनी सेवा, बेपत्ता तथा सम्पर्कविहीनको खोजतलासमा पु¥याउँदै आएको सेवाले वैदेशिक रोजगार, अध्ययन, भ्रमण तथा व्यवसायमा जानेका लागि उल्लेख्य सहयोग पुग्दै आएको छ ।

यस्ताे छ तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, २६ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, मालदह आँप २०० रुपैयाँ, हरियो अंगुर १३० रुपैयाँ, अनार २५० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १५० रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २४ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ७० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, गान्टे मूला ७० रुपैयाँ, लोकल घिउ सिमी ८० रुपैयाँ, घिरौला ५० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैया, लोकल परवर ९० रुपैयाँ, न्यूरो ७० रुपैया, भारतीय सुकेको प्याज ३४ रुपैयाँ, हरियो प्याज ६० रुपैयाँ, पुदीना १५० रुपैयाँ, रातो बन्दा ५० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली १४० रुपैयाँ, भान्टा लाम्चो ३५ रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ५० रुपैयाँ, भुई कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन २४० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २५० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

एमाले सचिवालय बैठक आज

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा कपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।   च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने अजेन्डाका बारेमा छलफल हुनेछ । सो छलफल पछि केन्द्रिय समितिको छलफलको अजेन्डा तय हुनेछ । 

एमालेको केन्द्रिय समिति बैठक यही बैशाख २८ देखी सुरु हुदैँछ । यसअघि झापामा हुने भनिएको बैठक संघीय संसदमा नीति तथा कार्यक्रम र बजेट लगायतका बिषय छलफल गर्नु पर्ने भएको भन्दै काठमाडौंमा सारिएको थियो ।

 गत मंशिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका अजेन्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।  
 

आज देखी १२ कक्षाको परिक्षा सुरु

काठमाडौं,।  आजवाट कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ ।बिहान ८ बजेवाट १२ बजेसम्म परिक्षा सञ्चालन हुनेछ । 
 
परीक्षा नियन्त्रण कार्यालयका अनुसार यस बर्षको परिक्षामा यस वर्ष ५६  हजारभन्दा बढी बिद्यार्थी ग्रेड बृद्धीका लागि परिक्षामा सामेल भएका छन् ।र, त्यसका लागि १, ४५३ परीक्षा केन्द्रहरु तोकिएका छन । परिक्षा जेठ ५ गतेसम्म हुनेछ ।

मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै प्रधानमन्त्रीको दिनगन्ती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १०औं पटक मन्त्रिपरिषद् विस्तार गर्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन । किस्ताबन्दीमा मन्त्रिपरिषद् विस्तार गर्दै आएका प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलहका कारण अझै मन्त्रिपरिषद् पूर्णता दिन नसकेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँग अझै वन तथा वातावरण मन्त्रालय रहेको छ । सो मन्त्रालय जनता समाजवादी पार्टी नेपाल (जसपा)को भागमा परेको छ । तर, जसपाले अझै मन्त्री हुनेको नामावली दिएको छैन । जसपा प्रवक्ता मनीष सुमनले २७ वैशाखमा बस्ने पार्टीको कार्यकारिणी समितिबाट निर्णय गरेर मन्त्रीको नामावली बुझाउने बताए ।

११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले सत्तारूढ दलभित्रको आन्तरिक कलह सुल्झाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइका साथै उता प्रतिपक्षी दलले उनको दिनगन्ती सुरु गरिसकेका छन् ।प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका दल मिलेर सरकार सत्तारूढ दललाई फुटाउने र अर्को नयाँ गठबन्धन बनाएर सरकार बनाउने रणनीति बनाएका छन् ।

संसद्को चौथो ठूलो दल रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । १० पुसमा प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपाले २२ माघमा सरकारबाट बाहिरिए पनि समर्थन कायमै राखेको थियो ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री प्रचण्डको समर्थनमा कांग्रेसका ८८, माओवादीका ३२, जसपाका १२, एकीकृत समाजवादीका १०, जनमतका ६, लोसपाका ४, नागरिक उन्मुक्तिका ४ र जनमोर्चा तथा आम जनता पार्टीका एक÷एक गरी १ सय ५८ सांसद रहेका छन् । यीमध्ये जनमत, जनमोर्चा र आजपा सरकार बाहिरै रहेका छन् । जनमतले मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै १७ चैतमा सरकारबाट बाहिरिए पनि समर्थन फिर्ता लिएको छैन ।

संसद्को चौथो ठूलो दल रास्वपाले समर्थन फिर्ता लिएसँगै विपक्षी मोर्चा भने मजबुत भएको छ । अब एमालेका ७९, रास्वपाका २१, राप्रपाका १४ र नेमकिपाका १ सहित विपक्षी बेन्चमा १ सय १५ सांसद रहेका छन् । यी दल मिल्दा सरकार बनाउन २३ सांसद अपुग हुन्छ । विपक्षी गठबन्धनले जसपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टीसहितका साना दललाई मिलाएर सरकार बनाउने कसरतमा पनि लागेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

नागरिकता विधेयकबारे राष्ट्रपतिका आठ सवाल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्बाट पारित गरी प्रमाणीकरण गर्न राष्ट्रपतिसमक्ष पठाइएको नागरिकता विधेयकका सन्दर्भमा कानुन व्यवसायीसँग परामर्श गरेकाक छन् । राष्ट्रपति पौडेलले नेपाल बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता हरिशङ्कर निरौलासँग राष्ट्रपति कार्यालयमा सोमबार भएको छलफलमा आठबुँदे जिज्ञासा राखे ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले नागरिकता विधेयकको संवैधानिक अवस्थाबारे जिज्ञासा राखे । उनले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि आएको यो विधेयकको संवैधानिक अस्तित्व के हो ? दुई–दुई पटक सम्प्रभु संसद्बाट आएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन ? भन्ने जिज्ञासा राखे । उनका अनुसार यदि प्रमाणीकरण गर्न मिल्ने हो भने ब्युँताउने संवैधानिक व्यवस्था के हो ? भनेर बारका दुई अध्यक्षलाई सोधे ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण नभई रहे–बसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार व्रिmयाशील हुन्छ ? यो विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्था अन्तर्गत गर्न मिल्ने हो ? भन्ने जिज्ञासा पनि राखे ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार यदि संविधानमा कुनै कुरा प्रस्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलन अनुसार के–के गर्दा हुने हो र दुई–दुई पटक संसद्ले पारित गरेर राष्ट्रपतिसमक्ष आएको विधेयक फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था के हो ? भन्ने जिज्ञासा राष्ट्रपतिले राखे । उनले भने, “राष्ट्रपतिज्यूले विधेयक पद्धति प्रव्रिmयाअनुसार प्रस्तुत भइसकेपछि प्रमाणीकरण गर्नु वा नगर्नु राष्ट्रपतिको स्वविवेक हो भने संसद्को सार्वभौमिकताको प्रश्न कहाँ जान्छ ? राज्य व्यवस्थाको अवस्था र स्थिति के हुन जान्छ ? यसबारे संवैधानिक बाटो के हो ? खुलाउन भन्नुभएको छ ।”

साथै राष्ट्रपति पौडेलले शक्ति पृथकीकरणमा कार्यपालिकाले विधेयक संसद्मा पेस गरिसकेपछि संसद्को विशेषाधिकार के हुने हो ? भनेर कानुन व्यवसायीसँग सोधे । यो समाचार गोरखापत्र दैनिकमा छ।

आज कानुन दिवस मनाइँदै

काठमाडौँ – आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ ।

नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ ।

सर्वोच्च अदालतले उक्त दिवस प्रत्येक वर्ष मनाउने गरेको छ । प्रधानन्यायाधीश आयोजक रहने समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कानुनमन्त्रीलगायत, सरकारी उच्च अधिकारीहरूको उपस्थिति रहने गरेको छ ।

न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले प्रत्येक वर्ष शुभकामना आदान–प्रसाद तथा चियापान कार्यक्रमको आयोजना गर्ने गरेको छ । आज पनि दिउँसो २ बजे उक्त शुभकामना कार्यक्रम रहेको छ ।

मेयर, अध्यक्ष र कर्मचारीलाई विदेश भ्रमणमा रोक

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका पदाधिकारी र कर्मचारीलाई अत्यावश्यकबाहेकको अवस्थामा विदेश भ्रमण नगर्न आग्रह गरेको छ ।

देशको आर्थिक संवेदनशीललाई ध्यानमा राख्दै अहिले तीनै तहका सरकारको बजेट निर्माणको प्रव्रिmया चलिरहेकाले औचित्य पुष्टि हुने अवस्था नभई विदेश भ्रमण नगर्न ७५३ स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई आइतबार परिपत्र गरेको हो ।

गत फागुन ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले अत्यावश्यक अवस्थाबाहेक अन्य अवस्थामा विदेश भ्रमण नगर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । कतिपय भ्रमण तथा कार्यक्रमको आधिकारिता पुस्ट्याइँ हुन नसकेको भन्दै मन्त्रालयले आफूखुसी विदेश भ्रमण नगर्न मन्त्रालयले स्थानीय तहलाई गरेको परिपत्रमा उल्लेख गरिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

भुटानी शरणार्थी प्रकरण : नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न

भुटानी शरणार्थी बनाएर अमेरिका लाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने गिरोहलाई सहजीकरण गर्न उच्च राजनीतिक नेतृत्व नै संलग्न भएको पाइएको छ। कांग्रेसभित्र उपल्लो तहमा प्रभाव राख्ने कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु राणा देउवा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकी पत्नी मन्जु खाण नै लेनदेनमा संलग्न भएको अडियो बाहिरिएपछि गिरोहलाई सहजीकरण गर्न राजनीतिक नेतृत्व नै संलग्न भएको आशंका बढेको छ।

साथै गृह मन्त्रालयको निरन्तर उत्तराधिकारीका रूपमा आएका तत्कालीन बालकृष्ण खाणले नै भुटानी शरणार्थीको समस्या समाधान गर्ने नाममा गिरोहलाई पैसा उठाउन बल पुग्नेगरी ताकेता गर्दा उनको संलग्नता लुकाउने ठाउँ भेटिएको छैन। यद्यपि खाण र आरजु राणाले यो विषयमा आफ्नो संलग्नता नभएको बताएका छन्। यही प्रकरणमा तत्कालीन गृहसचिव टेकनारायण पाण्डे पक्राउ नै परिसकेका छन्।

गृह मन्त्रालयमा नीति मिलाउने कार्यमा एमाले सचिव टोपबहादुर रायमाझी र इन्द्रजित राई संलग्न थिए। राई तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार नियुक्त भएका थिए। उनी नियुक्त भएपछि नै गिरोहले आफ्नो काम थालेको थियो।

सो गिरोहले प्रशासनिक काममा राईलाई प्रयोग गरेको थियो भने रायमाझीले भुटानी शरणार्थी स्थायी र दीर्घकालीन समस्या समाधान गर्न कार्यदल गठनका लागि तत्कालीन गृहमन्त्री थापालाई मनाएका थिए।

सल्लाहकार राई गोप्य भन्दै सधैं शरणार्थीहरूको फाइल बोकेर हिँड्ने गर्थे। रायमाझी मन्त्रीलाई भेटेर मनाउने गर्थे, त्यही क्रममा कार्यदल बनेको हो,’ तत्कालीन मन्त्रीको सचिवालयमा बसेर काम गरेका एक सदस्यले भने। उनका अनुसार रायमाझीकै दबाबमा कार्यदल बनेपछि गिरोहका सदस्यहरू निकै सक्रिय भएका थिए।

स्रोतका अनुसार गिरोहमा संलग्न मोरङका केशव दुलाल र सागर राई, ललितपुरका सानु भण्डारी, पाँचथरका कुमार गुरुङ, दाङका सन्देश शर्मा छन् भने एकजना अमेरिका पनि बस्छन्। प्रहरीले अमेरिकामा रहेका व्यक्तिको नाम सार्वजनिक गर्न चाहेको छैन। उनी अमेरिका पुगेपछि मात्रै प्रहरीमा यस प्रकारको गहिरो सूचना आएको थियो।

‘यतिबेला अनुसन्धानलाई हेर्दा रायमाझी र राई नीति मिलाउने, गिरोहका सदस्यहरू राजनीतिज्ञहरूलाई मिलाउनेमा सक्रिय हुने गरेको बुझिन आएको छ, पक्राउ परेकाहरूको बयानलाई हेर्ने हो भने पनि यही देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

एमाले सचिव रायमाझी अहिले फरार छन्। प्रहरीले पक्राउ पुर्जी जारी गर्नेबित्तिकै उनी फरार भएका हुन्। उनी फरार भए पनि विभिन्न शंका–उपशंका उत्पन्न भएपछि प्रहरीले उनको खोजी जारी राखेको बताइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न पत्राचार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ ।

महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गर्नुभएको हो । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।”

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला सोको क्षेत्राधिकारको जग्गालाई सरकारी÷सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४ (२) ले सरकारी÷सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था छ ।

सरकार मन्त्रिपरिषद्को विसं २०६५ मङ्सिर १ गतेको निर्णयले कुनै खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको छ । सो निर्णयले टुकुचा खोलाको बहाव क्षेत्र तथा सोको दायाँबायाँको चार–चार मिटरको जग्गामाथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको छ ।

मापदण्डविपरीत हात्तीसार क्षेत्रमा टुकुचा खोला पूर्णरूपमा छोपिएको अवस्था छ । टुकुचा खोला छोपिएको विषयमा सम्मानित उच्च अदालत पाटनबाट मिति २०७९ माघ १८ गते आवश्यक दिशानिर्देशसहितको आदेश भएको छ । सो आदेशले टुकुचा खोलालाई खुला कायम गर्ने विकल्पका सम्बन्धमा ध्यानाकर्षण गरेको छ ।

पत्रमा भनिएको छ ,‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को ९७ (१) ले समेत आफ्नो क्षेत्रभित्रको सरकारी, सामुदायिक तथा सार्वजनिक जग्गाको रेखदेख, मर्मतसम्भार तथा संरक्षणसम्बन्धी दायित्व यस कामपालाई तोकेको छ ।’ आधार, कारण र अदालतको आदेशलाई मध्यनजर गर्दा, टुकुचा खोला तथा सोको क्षेत्राधिकारभित्रको जग्गा व्यक्तिविशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिएको कामपाको भनाइ छ । उच्च अदालतको आदेशपछि टुकुचा पुनःस्थापनाका लागि महानगरले अगाडि बढाएको कुनै पनि प्रयास खेर नगएको प्रमुख साहको भनाइ छ ।

दार्चुला हिमपहिरो : बेपत्ता थप एकजनाको शव फेला

खलङ्गा – दार्चुलाको व्यास गाउँपालिका–१ मा यही वैशाख १९ गते गएको हिमपहिरोमा परी बेपत्ता भएका थप एक जनाको शव फेला परेको छ ।

पहिरोमा पुरिएकी डोटीको जोरायल गाउँपालिका–२ की २८ वर्षीया ईश्वरी थापाको शव फेला परेको छाङरुस्थित सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले जानकारी दिए । यसअघि बेपत्ता पाँच जनामध्ये तीन जनाको शव फेला परिसकेको छ ।

हिमपहिरोमा परी बेपत्ता दार्चुलाको दुहँ गाउँपालिका–४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर तथा डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया क्षिमिसोमो थापाको शव फेला परेको थियो । डोटीको जोरायल–२ की ४५ वर्षीया नक्की डोमा थापा अझै बेपत्ता छिन् । पाँचै जना यार्सागुम्बा सङ्कलनका लागि सो क्षेत्रमा गएका थिए । दार्चुला तथा अन्य जिल्लाबाट यार्सागुम्बा सङ्कलनका लागि बर्सेनी सर्वसाधारण यहाँ आउने गरेका छन् ।

नेपालगञ्जका ठेला व्यवसायीलाई नम्बर प्लेट

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका ठेला व्यवसायीलाई परिचयपत्रसँगै क्युआर कोडसहितको नम्बर प्लेट प्रदान गरेको छ ।

ठेलालाई व्यवस्थापन गर्न परिचयपत्र र नम्बर प्लेट प्रदान गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । जथाभावी ठेला राख्ने प्रवृत्तिको अन्त्य गर्न नम्बर प्लेट र परिचयपत्र उपलब्ध गराएर व्यवस्थित बनाइएको उहाँको भनाइ छ । यसबाट नगरको सौन्दर्य बढाउन पनि सहयोग गर्ने विश्वास लिइएको छ । परिचयपत्र र नम्बर प्लेट प्रदान गर्दै उहाँले भन्नुभयो, “अनाधिकृत रुपमा ठेला राख्ने कार्य अब बन्द हुन्छ ।”

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक तिलक सुनारले मुख्य चोकका भित्री गल्लीमा व्यवस्थित गरिकाले ठेला राख्न पाउने गरी व्यवस्थापन गरिएको बताउनुभयो । वडा नम्बर १२ का वडाध्यक्ष तरुणकुमार बज्राचार्यले नर्सिङ होम क्षेत्रका ठेलालाई भेरी प्राविधिक शिक्षालय जाने बाटोमा निर्मित सटरमा व्यवस्थापन गरिने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले गरेको आह्वान बमोजिम हालसम्म एक सय नौ ठेला दर्ता भएका छन् । ती ठेलालाई परिचयपत्र र नम्बरप्लेट प्रदान गरिएको छ । आज मात्रै ४३ ठेला व्यवसायीले परिचयपत्र र नम्बर प्लेट लिएर आ–आफ्नो तोकिएको क्षेत्रमा गएका छन् । नेपालगञ्ज क्षेत्रमा नेपाली व्यवसायीले मात्रै सञ्चालन गरेका ठेलाको सङ्ख्या १५० को हाराहारी छ । ठेला दर्ता गर्न नेपाली नागरिकता अनिवार्य गरिएको छ ।