`

पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकालाई आदेश

महेन्द्रनगर – उच्च अदालत जनकपुरले राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गामा पार्किङस्थल निर्माण नगर्न जनकपुरधाम उपमहानगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र सागर विष्टको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो । स्थानीय बलदेव साह तेलीले जनकपुरधाम उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई दिएको रिट निवेदनमा अदालतले यस्तो फैसला गरेको हो ।

राष्ट्रिय प्राथमिक विद्यालय दशरथनगरको जग्गा अतिक्रमण गरी नगर सवारीसाधन पार्किङस्थल बनाउँदा विद्यालयमा ध्वनि प्रदूषण बढाउने र विद्यार्थीकोे पठनपाठनमा पनि ठूलो असर पर्ने भन्दै अदालतले निर्माण कार्यमा रोक लगाएको हो ।

उच्च अदालतले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ र उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।

निवेदकको तर्फबाट अधिवक्ता किशोरी साह र कौशलेन्द्र लाल कर्ण तथा विपक्षीको तर्फबाट मन्सुर राईनले बहस गर्नुभएको थियो । यसअघि जनकपुरधाम उपमहानगरपालिकाले आधुनिक पार्किङस्थल निर्माणका लागि सो जग्गामा गत माघ २७ गते शिलान्यास गरेको थियो । नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले उपमहानगरको वडा नम्बर–८ दशरथ मन्दिरको छेउमा रहेको करिब १२ कठ्ठा जग्गामा निर्माण हुने पार्किङस्थलको शिलान्यास गर्नुभएको थियो ।

एआइजीको नेतृत्वमा पाँच सदस्यीय प्रहरी टोली अमेरिकामा

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यको नेतृत्वमा प्रहरीको पाँच सदस्यीय टोली अमेरिका प्रस्थान गरेको छ ।

संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डिसी र न्युयोर्कमा यही वैशाख २७ देखि २९ गतेसम्म हुन लागेको नेतृत्व विकाससम्बन्धी कार्यक्रममा भाग लिन हिजो साँझ एआइजी बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय टोली अमेरिका गएको हो ।

अमेरिका जानेमा एआइजी बज्राचार्यसँगै एआइजी सुदीप गिरी, प्रहरी नायब महानिरीक्षक (डिआइजी) रामदत्त जोशी, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रबहादुर धामी र प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्का रहेका छन् ।

अमेरिकामा हुने उक्त कार्यक्रममा भविष्यमा हुने सुरक्षा चुनौती र आतङ्कवाद, डिजिटल अपराध, क्रिप्टोकरेन्सी कारोबार, वित्तीय अपराध अनुसन्धान तथा नियन्त्रणका बारेमा ज्ञान आदानप्रदान हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यक्रमबाट नेपाल र अमेरिकाका सुरक्षा निकायहरूबीचको सम्बन्ध सुमधुर हुने अपेक्षासमेत लिइएको छ ।

कामु प्रधानन्यायाशीले भने, ‘न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ ’

काठमाडौँ – कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले कानुन दिवस, २०८० को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

“सबैलाई न्याय सुनिश्चित गर्ने तथा सुशासन र गुणस्तरीय सेवा प्रवाहको प्रत्याभूतिमार्फत भरोसायोग्य न्याय प्रणालीको विकास गर्न न्यायपालिकाले विभिन्न सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको पनि म यस अवसरमा उल्लेख गर्न चाहन्छु”, सन्देशमा भनिएको छ, “यस प्रकारका सुधारका प्रयासलाई सार्थक र परिणाममुखी बनाई न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्न कानुन दिवसले हामी सबैमा थप ऊर्जा प्राप्त हुने विश्वाससमेत व्यक्त गर्दछु ।”

स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायतका लोकतान्त्रिक मूल्य, मान्यता संस्थागत हुने उल्लेख गर्दै सन्देशमा भनिएको छ, “मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि तथा सामाजिक न्याय सुनिश्चित गर्न र सहज पहुँचयुक्त एवं जनआस्थामा आधारित न्याय प्रणालीको स्थापना र विकासका लागि आजको यस विशेष दिनले प्रेरणा प्रदान गर्ने छ भन्ने कामनासमेत गर्दछु ।”

नेपालको संविधानले प्रत्याभूत गरेका हक–अधिकारको सुनिश्चितता गर्दै आम नागरिकको लामो समयदेखिको विकास र समृद्धिप्रतिको अभिलाषा पूरा गर्न एवं सुशासनको अनुभूति दिलाउन राज्यका सबै निकायले आ–आफ्नो तहबाट योगदान गर्न सक्नुपर्ने र आजको विशेष दिनले सबैले गर्नुपर्ने प्रण पनि त्यही भएको सन्देशमा छ ।

कानुन दिवसले संवैधानिक सर्वोच्चता, विधिको शासन, समानता र न्यायको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ ।

प्रधान न्यायालय ऐन, २००८ बने पनि विस २००९ वैशाख २६ गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाइँदै गरिएको छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको स्थापनाका लागि उक्त ऐनले खडा गरेको जगलाई थप मजबुत बनाउन आ–आफ्नो ठाउँबाट योगदान गर्नुहुने सम्पूर्ण व्यक्तिहरूको योगदानको यस विशेष अवसरमा हार्दिकतापूर्वक स्मरणसमेत कामु प्रधानन्यायाधीश कार्कीले गर्नुभएको छ ।

एमालेले भ्रष्टाचारीलाई जोगाउँदैन – ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले भ्रष्टाचारीलाई जोगाउने पक्षमा आफू नरहेको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको पहिलो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले एमालेले कसैको पनि दोषको ढाकछोक नगर्ने बताउनुभयो ।

“एमालेले कसैको पनि दोष र अपराधलाई ढाकछोक गर्दैन”, अध्यक्ष ओलीले भन्नुभयो, “कोही पनि दोषीलाई एमालेले बचाउ गर्दैन र भ्रष्टाचार कसैले गर्छ भने जान्छ । व्यक्तिगत भ्रष्टाचारलाई एमाले पनि समर्थन गर्दैन ।” उहाँले एमालेविरुद्ध षड्यन्त्र हुन्छ भने त्यसको मुकाबिला गर्न आफू तयार रहेको बताउनुभयो । अध्यक्ष ओलीले भ्रष्टाचारको मुद्दामा प्रमाणले तानिनुपर्ने भन्दै केही दिनअघि गिरफ्तार भए पनि मान्छेलाई किन छाडियो भनेर प्रश्न गर्नुभयो ।

उहाँले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा प्रहरीलाई निष्पक्ष छानबिन गर्न दिनुपर्ने बताउनुभयो । “दोषीलाई न्यायको कठघरामा उभ्याउनु पर्दछ । निर्दोषलाई फसाउने कोसिस गर्नुहुँदैन”, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गर्नुभयो ।

सेनाको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

लहान – नेपाली सेना र सञ्चारक्षेत्र बीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेसागत सम्बन्धलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सेनाको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आजदेखि सिन्धुली जिल्लाको सदरमुकामस्थित श्री नं ९ वाहिनी अड्डामा सुरु भएको छ ।

नेपाली सेनाको बागमती प्रदेश मध्यपृतना हेडक्वार्टरको समन्वयमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २० जना संवाददाताहरु सहभागी रहेका छन् । उक्त कार्यक्रम २८ गतेसम्म सञ्चालन हुने यहाँका वाहिनीपति सहायक रथी शक्तिजङ्ग बस्नेतले बताउनुभयो ।

सैनिक जनसम्पर्क तथा निर्देशनालयका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले कार्यक्रमको शुभारम्भ गर्दै नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका, जिम्मेवारी तथा नेपाली सेनासम्बन्धी अन्य विविध विषयमा जानकारी दिने एवं समाचार सम्प्रेषण गर्दा स्पष्टता होस् भन्ने उद्देश्यका साथ यस कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

“जनताको सङ्गठित शक्ति भनेकै सेना हो । आफ्नो देशको सेनाका बारेमा सुसूचित हुने अधिकार जनतालाई छ”, उपरथी भण्डारीले भन्नुभयो, “जनता र सेनाको बीचमा पुलका रुपमा सञ्चारमाध्यमले भूमिका खेल्नुपर्दछ ।” साथै उहाँले यस प्रकारको कार्यक्रमले रक्षा संवाददताहरुलाई नेपाली सेनासम्बन्धी समाचार सङ्कलन तथा सम्प्रेषणमा थप सहजता एवं स्पष्टता प्रदान हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

पूर्वीनाकाबाट नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक भूटानी

झापा : पूर्वीनाका काँकडभिट्टाबाट प्रवेशाज्ञा (भिसा) लिएर नेपाल प्रवेश गर्ने अधिकांश पर्यटक छिमेकी मुलुक भूटानका नागरिक रहेका छन् । भूटानबाहेक अरु मुलुकका प्रवेशाज्ञाबाहक पर्यटक ज्यादै न्यून छन् ।

सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञा लिएर कूल एक हजार नौ सय १४ जना तेस्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रेवन्त भट्टराईले बताउनुभयो ।

तीमध्ये एक हजार सात सय १८ जना भूटानी नागरिक नै रहेका छन् । सोही अवधिमा काँकडभिट्टा नाकाबाट प्रवेशाज्ञासहित नेपाल प्रवेश गर्ने भूटानबाहेक तेस्रो मुलुकका पर्यटक एक सय ९६ जना मात्र रहेका छन् ।

काँकडभिट्टा नाका पर्यटकका लागि पूर्वी नेपालको प्रमुख प्रवेशद्वार हो । भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्न प्रवेशाज्ञा लिनु पर्दैन । उनीहरू आधारकार्ड लगायतका परिचय खुल्ने सामान्य कागजातकै आधारमा नेपाल प्रवेश गर्न पाउँछन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख भट्टराईका अनुसार नेपाल प्रवेश गर्ने तेस्रो मुलुकका पर्यटकमा भूटानपछि बङ्गलादेशले अग्रस्थान ओगटेको छ । सङ्ख्या भने ज्यादै थोरै रहेको छ । सन् २०२० को जनवरीदेखि सन् २०२३ को अप्रिल महिनासम्मको साढे तीन वर्षमा कूल २७ जना बङ्गलादेशका पर्यटकले काँकडभिट्टा नाका हुँदै नेपाल प्रवेश गरेका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाले अफगानिस्तान, घाना, जिम्बाबे, स्वाजील्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन र सिरिया गरी १२ मुलुकबाहेक अरु मुलुकका पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराउँदै आएको छ ।

बढी सङ्ख्यामा तेस्रो मुलुकका पर्यटकहरू नेपाल आउन सहज होस् भनेर नेपालले १२ वटा अफ्रिकी र एसियाली मुलुक बाहेकका अरु विदेशी नागरिकलाई नाकामै अध्यागमन कार्यालयमार्फत प्रवेशाज्ञा प्रदान गर्ने खुकुलो नीति लिएको छ ।

विगतमा यो खुकुलो नीतिको फाइदा छिमेकी बङ्गलादेशका नागरिकले बढी सङ्ख्यामा लिने गरेका थिए । हरेक वर्ष हजारौँको सङ्ख्यामा बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट प्रवेशाज्ञा लिएर नेपाल प्रवेश गर्दथे । तर, केही वर्षदेखि बङ्गलादेशीहरूको आगमन स्वात्तै घटेको छ ।

कोभिड १९ को भीषण महामारी पश्चात शून्यमा झरेको पर्यटक आगमन त्यसपछिको तीन वर्षमा लगातार सुधार भइरहेको देखिन्छ । तीन वर्षको तथ्याङ्क विश्लेषण गर्ने हो भने पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने बाह्य पर्यटकको सङ्ख्यामा बढोत्तरी हुँदै आएको छ ।

सन् २०२० मा ९६ जना मात्र तेस्रो मुलुकका पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । सन् २०२१ मा यो सङ्ख्या झन् घटेर ४० जनामा झर्यो । तर, सन् २०२२ मा यो सङ्ख्या बढेर छ सय २५ र सन् २०२३ को हालसम्ममा एक हजार दुई सय ४१ पुगेको छ ।

नेपाल आउने सबैभन्दा ठूलो सङ्ख्या ओगटेको भूटानका पर्यटकहरू पनि बर्सेनि बढ्दै गएका छन् । सन् २०२० मा एक जना मात्र भूटानी पर्यटक काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका थिए । तर, सन् २०२१ मा या सङ्ख्या बढेर १५ पुग्यो भने सन् २०२२ मा पाँच सय १९ र सन् २०२३ को हालसम्ममा यो सङ्ख्या अझ बढेर एक हजार एक सय १८ जना पुगिसकेको छ ।

भूटानी नागरिकहरू आफन्त भेटघाट र तीर्थयात्राका लागि नेपाल आउने गरेको पाइएको छ । काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गाल हुँदै भूटानको सीमा फुन्चोलिङसम्म मोटर बाटोको दूरी मात्र एक सय ७२ किलोमिटर रहेको छ ।

भूटानमा रहेका नेपाली भाषीहरूको आफन्त नेपालका विभिन्न जिल्लामा रहेका छन् । पारिवारिक भेटघाटका लागि समेत नेपालीभाषी भूटानी नागरिकहरू नेपाल आउने गरेको पाइन्छ । तर, भूटानी पर्यटकको अधिकांश सङ्ख्या भने धार्मिक तीर्थाटनका लागि रहेको पाइएको छ ।

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दर्शनका लागि भूटानीहरू आउने गर्छन् । त्यसबाहेक पर्यटकीय स्थल पोखरामा घुमफिरका लागि समेत उनीहरू नेपाल आउने गरेका छन् ।

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले दुई÷चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । “सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री हुनुभएको हो । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो ।

लुम्बिनीमा सत्ता गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन÷तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । त्यस्तै विपक्षमा एमालेका २९ र राप्रपाका चार प्रदेशसभा सदस्य छन् ।

बङ्गलादेशको आर्थिक वृद्धिदर चीनको भन्दा बढी रहेको आईएमएफको प्रक्षेपण

ढाका – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले एशिया–प्रशान्त क्षेत्रको प्रक्षेपणसम्बन्धी गरेको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा बङ्गलादेशको कूल गार्हस्थ्य उत्पादन वृद्धिदरले चीनलाई उछिन्ने देखिएको छ ।

आईएमएफको पछिल्लो प्रतिवेदनअनुसार चालू आर्थिक वर्षमा कूल गार्हस्थ्य उत्पादन वृद्धिदरका आधारमा बङ्गलादेश भियतनामपछि दोस्रो स्थानमा रहनेछ । आईएमएफको एशिया र प्रशान्त क्षेत्रका लागि क्षेत्रीय आर्थिक मूल्याङ्कन मे २०२३ को रिपोर्टले पनि बङ्गलादेशले सन् २०२४ मा वृद्धिको हिसाबले चीनलाई उछिन्न सक्ने अनुमान गरेको छ ।

बङ्गलादेशमा सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादन को वृद्धिदर ५.५ प्रतिशतमा खुम्चिने छ, जुन चीनको अनुमानित ५.२ प्रतिशतको वृद्धिदरभन्दा अझै बढी रहेको डेली सनले जनाएको छ ।

यद्यपि चीनको अर्थतन्त्र बङ्गलादेशको भन्दा निकै ठूलो छ । आईएमएफको प्रतिवेदनअनुसार बङ्गलादेशका लागि हालै स्वीकृत विस्तारित कोष सुविधाले युक्रेनमा रूसको युद्धका कारण उत्पन्न आर्थिक चुनौतीहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ, लचिलोपन साथै स्थिरता सुविधा व्यवस्थाले जलवायु लगानी प्राथमिकताहरू वित्तपोषण गर्न वित्तीय स्थान विस्तार गर्नेछ र दीर्घकालीन जलवायु जोखिमहरूको विरुद्ध लचीलापन निर्माण गर्नेछ ।

प्रतिवेदनले विशेष गरी बङ्गलादेश र प्रशान्त टापुहरू सहित यस क्षेत्रका कमजोर उदीयमान बजारहरूमा जलवायु परिवर्तन अनुकूलनका लागि वित्तीय सहायता सुरक्षित गर्न, अन्तर्राष्ट्रिय सहयोगको महत्वलाई उजागर गरेको डेली सनको रिपोर्टमा उल्लेख गरिएको छ ।

बङ्गलादेशको तीव्र आर्थिक विकासको बावजुद आईएमएफका अधिकारीहरूले देशको केही समष्टिगत आर्थिक सूचकहरूबारे चिन्ता व्यक्त गरेका छन् ।

आईएमएफको टोलीले सन् २०२३ को अप्रिल २५ देखि मे ७ सम्म बङ्गलादेशको राजधानी ढाकामा हालैका समष्टिगत आर्थिक घटनाक्रम र यसको कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गर्न ढाकाको भ्रमण गरेको थियो ।

भ्रमणको समापनमा बङ्गलादेशका लागि मिसन प्रमुख राहुल आनन्दले एक वक्तव्य जारी गर्दै चुनौतीपूर्ण आर्थिक पृष्ठभूमिका बाबजुद एशिया–प्रशान्त क्षेत्रमा सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये बङ्गलादेश एक रहेको बताउनुभएको छ ।

निरन्तर मुद्रास्फीतिको दबाब, विश्वव्यापी वित्तीय स्थितिमा अस्थिरता र प्रमुख उन्नत व्यापारिक साझेदारहरूमा मन्दीले यसको वृद्धि, विदेशी मुद्रा सञ्चिति र यहाँको मुद्रा टाकालाई असर गरिरहेको आनन्दले बताउनुभयो ।

रिपोर्टका अनुसार बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति पछिल्लो समय छ वर्षयताकै न्यून बिन्दुमा झरेको छ ।

वन क्षेत्रलाई रोजगारीसँग जोड्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनुभएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज यहाँ आयोजित त्रैमासिक प्रगति समीक्षा गोष्ठिलाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारको सबैभन्दा धेरै संरचना भएको मन्त्रालय भएर पनि वन मन्त्रालयबाट राजस्व योगदान कम रहेको टिप्पणी गर्नुभयो ।

उहाँले प्रदेशभित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पु¥याइरहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्कीले भत्रुभयो, “प्रदेशभित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ ।”

सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै मुख्यमन्त्री कार्कीले वनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले खुल्ला चिडियाखानाको अवधारणाबारे वन मन्त्रालयले गरिरहेको अध्ययन आगामी आर्थिक वर्ष २०८०/८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपतिले भने , ‘नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ ?’

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिसमक्ष आएको नागरिकतासम्बन्धी विधेयकको संवैधानिक अस्तित्व के हुन्छ भनी कानूनविद्हरूसँग छलफल र परामर्श गर्नुुभएको छ ।

राष्ट्रपति पौडेलले नागरिकता विधेयकका सम्बन्धमा आइतबारदेखि कानूनविद्हरूसँग छलफल प्रारम्भ गर्नुभएको हो । आज उहाँले नेपाल बार एसोसिएसनका पदाधिकारीसँग दुई÷दुईपटक सार्वभौम संसद्ले पारित गरेर आएको विधेयक म्यादभित्र प्रमाणीकरण नभइसकेपछि जहिलेसुकै प्रमाणीकरण गर्न मिल्ने हो कि होइन भनी जिज्ञासा राख्नुभएको थियो ।

साथै उहाँले यदि त्यसरी मिल्ने हो भने त्यसको संवैधानिक व्यवस्था के हो, ब्यँुताउने हो भने त्यसको संवैधानिक व्यवस्था के हो भनी सुझाव माग्नुभएको राष्ट्रपतिलाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले राससलाई जानकारी दिनुभयो ।

“प्रमाणीकरण नभई रहेबसेको विधेयक संविधानको कुन व्यवस्थाअनुसार क्रियाशील हुन्छ ?”, राष्ट्रपति पौडेलले कानूनविद्हरूसँग भन्नुभयो, “यो विधेयकले संसद्मा पुनः प्रवेश पाउने हो भने वा राष्ट्रपतिले यही रूपमा प्रमाणीकरण गर्नुपर्ने हो भने संविधानको कुन व्यवस्थाअन्तर्गत गर्न पाइने हो ?”

यदि संविधानमा कुनै कुरा स्पष्ट छैन भने अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनअनुसार के के गर्दा हुने हो, दुई÷दुई पटक संसद्ले पारित गरेर राष्ट्रपतिसमक्ष आएको विधेयक फेरि फिर्ता गर्ने संवैधानिक व्यवस्था के हो भनी उहाँले जिज्ञासा राख्नुभएको थियो ।

विधेयक पद्धति र प्रक्रियाअनुसार प्रस्तुत भइसकेपछि प्रमाणीकरण गर्नु वा नगर्नु राष्ट्रपतिको मर्जी र खुसी हो भने संसद्को सार्वभौमिकताको प्रश्न कहाँ जान्छ भन्ने उहाँको जिज्ञासा थियो । राज्य व्यवस्थाको अवस्था र स्थिति के हुन्छ र यसमा संवैधानिक बाटो के हो खुलाउन आग्रह गर्दै राष्ट्रपति पौडेलले शक्ति पृथकीकरणमा कार्यपालिकाले विधेयक संसद्मा पेस गरिसकेपछि यो बेला संसद्को विशेषाधिकार के हुन्छ भनी सुझाव माग्नुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको वीरगञ्ज सम्मेलनको घोषणापत्रमा विधेयक प्रमाणीकरण गर्नुपर्ने विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हुँदा व्यापक छलफल गरी राष्ट्रपतिलाई सुझाउने बताउनुभएको थियो ।

यसैगरी, सर्वाेच्च बार एसोसिएसनका अध्यक्ष हरिशङ्कर निरौलाले भने यस विधेयकको अस्तित्व नभएको र विधेयक मरिसकेको भनी सुझाउनुभएको थियो । विधेयकका रूपमा संसद्बाट आएको खण्डमा मात्र राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने उहाँको भनाइ थियो ।

अध्यक्ष निरौलाको भनाइका सम्बन्धमा राष्ट्रपति पौडेलले सार्वभौम संसद्ले दुई÷दुईपटक पारित गरी पठाएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्दैमा विधेयक मर्छ भन्ने व्यवस्था कहाँ छ भनी जिसाज्ञा राख्नुभएको थियो । साथै उहाँले संसद्ले पारित गरी पठाएको विधेयक राष्ट्रपतिलाई मार्ने अधिकार कहाँ छ र राज्यका तीन अङ्गको आफ्नै अधिकार हुने तथा एक अङ्गको अधिकार अर्काे अङ्गको अधिकार हनन गर्ने व्यवस्था कहाँ छ भनी जिज्ञासा राख्नुभएको थियो ।

यसअघि नागरिकतासम्बन्धी विधेयक संसद्का दुवै सदनबाट पारित भएपछि सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयकमा भएका कमी कमजोरी औँल्याउँदै २०७९ साल साउन २९ गते विधेयक संसद्मै फिर्ता पठाउनुभएको थियो ।

त्यसपछि पुनः दुवै सदनबाट पारित गरेर विधेयक प्रमाणीकरणका लागि गत भदौ २० गते राष्ट्रपतिसमक्ष पठाइएको थियो । तर राष्ट्रपति भण्डारीले त्यो विधेयक प्रमाणीकरण गर्नुभएन ।

नीति तथा कार्यक्रम तयार पार्न छलफल

हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्नका लागि प्रदेशको संसद्मा सहभागी सातवटै दलहरुसँग छलफल गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यमन्त्री शालिकराम जमकट्टेलले अध्यक्षतामा छलफल भएको हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दल नेता, सचेतकलगायत प्रतिनिधिहरुको सहभागितामा छलफल भएको मुख्यमन्त्री जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जनभावनाअनुरुप काम गर्नेगरी बजेट तयार पार्नका लागि दलहरुको राय सुझाव लिइएको हो ।

आकारभन्दा पनि व्यावहारिक हुनुपर्नेतर्क दलका नेताहरुका सुझाव रहेको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार प्रत्येक दल र जनभावना समेटेर प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनका लागि मुख्यमन्त्री जमकट्टेलले छलफल चलाउनुभएको हो ।

महाकाली सिँचाइ : शाखा नहर धमाधम निर्माण, मूल नहरमा अझै पानी आएन

महेन्द्रनगर – आयोजना सुरु भएको डेढ दशकपछि महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २२ किलोमिटर शाखा नहर निर्माण थालिएको छ ।

कञ्चनपुरको राष्ट्रिय गौरवको आयोजनामा परेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत आगामी असारसम्म कूल २८ किलोमिटर मूल नहर निर्माण सकिँदैछ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रमा २०६४ सालमा निर्माण सुरु भएको मुल नहरको काम हाल शुक्लाफाँटा नगरपालिकाको फुलेलीसम्म पुगेको छ ।

कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पु¥याउन सुरु गरिएको आयोजनाको अहिले १५ किलोमिटर मूल नहर निर्माण तीन प्याजेकमा भइरहेको छ । तर निर्माणमा आउने प्राविधिक कठिनाइ हल गर्न आयोजनाका कर्मचारीले ढिलासुस्ती गरेकै कारण निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीको आरोप छ ।

“मूल नहरअन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब सात÷आठ सय मिटर पानीको मूल फ्टने समस्याले निर्माण ढिलाइ भइरहेको छ ।” महाकाली सिँचाइ आयोजना तेस्रो चरणका सिनियर डिभिजनल इञ्जिनियर शम्भू पण्डितले भन्नुभयो, “आगामी असारभित्र निर्माणाधीन काम सकिएर नयाँ ठेक्काको सुरसारमा लाग्छौँ ।”

विसं २०७५ अघिसम्म मुआब्जा विवाद, रुख कटान अनुमति आउन ढिलाइ, बजेट अभावलगायत समस्याले जेलिएको आयोजनाले महाकाली नदीबाट पाउनुपर्ने पानी अझै पाएको छैन । इञ्जिनियर पण्डितका अनुसार २८ किलोमिटर मूल नहरको क्षेत्रमा अहिले दुई प्याकेजमा ठेक्का सम्झौता गरेर शाखा नहर निर्माण भइरहेको छ । यहाँ २२ वटा शाखा नहर निर्माणका लागि रु एक अर्ब बढीको लागतमा काम अघि बढेको छ ।

“एकदेखि १४ किलोमिटरसम्म पहिलो र १४ देखि २२ किलोमिटरसम्म दोस्रो गरी दुई प्याकेजका शाखा नहर निर्माण हँुदैछन्”, उहाँले भन्नुभयो, “अब चाँडै नै हामी स्याली नदीसम्म मूल नहरमा पानी ल्याउन सक्ने अवस्थामा पुग्दैछौंँ ।”

शाखा नहरको पहिलो प्याकेज राजेन्द्र निर्माण सेवा र दोस्रो प्याकेज केएस निर्माण सेवाले काम गरिरहेको उल्लेख गर्दै पण्डितले सो कामको अवधि दुई वर्षको रहेको जानकारी दिनुभयो । २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको २० किलोमिटर मुल नहर निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

“मूल नहर निर्माणको आवश्यक योजना बनाएर सिँचाइ विभाग पठाएको छौँ”, उहाँले भन्नुभयो–“ठेक्का पूरा हुन आगामी असोजसम्म लाग्न सक्छ ।” अढाइ दशकपछि महाकाली नदीदेखि नेपाल–भारत सिमानासम्म महाकाली सन्धिअनुसार बनाउनुपर्ने एक हजार दुई सय मिटर मूल नहर र हेड रेगुलेटर भारतीय पक्षले बनाएको छ ।

गत वर्ष असार १५ गते धान दिवसका अवसरमा भारतीय पक्षले मूल नहरमा पानी छोडे पनि पछि विधिवत उद्घाटनपछि मात्रै नियमित पानी दिने भन्दै पानी दिन मानेको छैन । “प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा महाकाली नदीबाट पानी पाउनुपर्ने विषय एजेण्डा बनोस भनेर विभाग र मन्त्रालयसम्म कुरा पु¥याएका छौँ”, पण्डितले भन्नुभयो, “नहरमा नियमित पानी आउने प्रबन्ध गर्नुपर्छ ।”

कालीकोटमा प्रहरीमाथि आक्रमण

मान्म – कालीकोटमा बला-त्कारको आरोप लागेका एक जनालाई पक्राउ गर्न गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गरेका छन् । बला-त्कारको आरोप लागेका पलाँता गाउँपालिका–६ सैनका ३१ वर्षीय संकल्प बुढालाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आज गाउँलेले आक्रमण गरेका हुन् ।

आक्रमणबाट इलाका प्रहरी कार्यालय पलाँताका प्रहरी सहायक निरीक्षक लक्ष्मी ढुङ्गेल रावत घाइते हुनुभएको छ । सो घट्नामा परी स्थानीय धनमान विकसमेत घाइते हुनुभएको छ । घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक शुवराज बमले जानकारी दिनुभयो । आरोपित बुढालाई सदरमुकाम ल्याउने क्रममा स्थानीयले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

आक्रमणपछि आरोपित बुढा फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक बमले बताउनुभयो । बुढाले २०७९ असोज ३१ गते गाउँकै एक दलित महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । पीडित परिवारले गत कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको थियो । तर घटनापछि बुढा भने फरार थिए । घरमा आएको जानकारी पाएपछि रावतको नेतृत्वमा प्रहरी टोली पलाँता–६ सैन पुगेको थियो । घरमै सुतिरहेका बुढा पक्राउ परे पनि स्थानीयको आक्रमणपछि भने फरार भएको प्रहरीले जनाएको छ ।

प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश कार्की सिफारिस

काठमाडौँ – संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपसभामुख इन्दिरा रानामगर सहभागी हुनुहुन्थ्यो ।

श्री एयरलाइन्सको जहाज उडानमा प्रतिबन्ध

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको नाइन एन–एएनइ (डीएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो । भैरहवाबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि बीच बाटोबाटै भैरहवा फर्किएको थियो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २० माइल दूरीमा पुग्दा जहाजमा प्राविधिक समस्या देखिएपछि पुनःसोही विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएकाले पुनः गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो । अवतरणका क्रममा धावनमार्ग मै जहाज अड्किएकोमा सो जहाजको प्राविधिक मर्मतपछि धावनमार्गबाट निकालिएको थियो ।

मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटको मोडबाट गुज्रिएको भन्दै सांसदहरूले दिए यस्ता सुझाव

काठमाडौँ – सरकारले हिजो आइतबार संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसदहरूले संसद्मार्फत सरकारलाई विभिन्न खालका सुझाव दिएका छन् ।

अहिले मुलुकको अर्थतन्त्र सामान्य अवस्थामा नभएर गम्भीर सङ्कटको मोडबाट गुज्रिरहेकाले त्यो समस्यालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइनुपर्ने सुझाव सांसदहरूले दिनुभएको छ । त्यस्तै, आर्थिक सूचकहरू सङ्कुचनबाट गुज्रिरहेको अवस्थामा सरकारको स्रोत पनि कमजोर भएकाले वास्तविक आकारको बजेटमा उहाँहरूको जोड छ । पूर्वाधार लक्षित कार्यक्रमहरू भन्दा पनि बढीभन्दा बढी मानव विकासका बहुआयामिक क्षेत्र समेट्नुपर्ने गरी बजेट ल्याइनुपर्ने माग सांसदहरूको छ । कृषि, पर्यटन, जलविद्युत्लगायत आन्तरिक स्रोत परिचालनमार्फत आर्थिक सुधारमा केन्द्रीत हुनुपर्ने सुझाव सरकारलाई आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सरकारले संसद्मा प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता विगतकै असफल नीतिको निरन्तरता रहेको धारणा राख्नुभयो । अहिले अर्थतन्त्रमा देखिएका समस्यालाई पुरानै शैलीका अव्यावहारिक सिद्धान्त तथा प्राथमिकताले समाधान गर्न नसक्ने उहाँको भनाइ छ ।

“विगत केही वर्षका यिनै दस्तावेज लिएर केही वाक्य र शब्दहरूको हेरफेर गरी कर्मकाण्डी रूपमा बजेटका सिद्धान्त र प्राथमिकता आएको हामीले ठानेका छौँ । अहिले अर्थतन्त्र असाधारण अवस्थामा छ । असाधारण अवस्थामा पुगेको अर्थतन्त्रलाई जोगाउन र आम जनतालाई राहत दिन सधैँको जस्तो कर्मकाण्डी योजनाले कसरी सम्भव होला ?”, लामिछानेले भन्नुभयो ।

सांसद रघुजी पन्तले आगामी आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राखिएका विषयहरू अमूर्त तथा विरोधाभाषपूर्ण रहेको बताउनुभयो । कृषि र औद्यागिक क्षेत्रको विस्तारमार्फत आयातमा परनिर्भरता घटाउनतर्फ सरकारको नीति तथा कार्यक्रम र बजेट केन्द्रीत हुनुपर्ने धारणा पन्तले राख्नुभयो । “किसानलाई नगद अनुदान दिइनुपर्ने तथा रैथानेबाली र प्राङ्गारिक खेतीलाई प्रवर्द्धन गर्ने नीति सरकारले लिनुपर्छ”, उहाँले भन्नुभयो । त्यस्तै, सरकारले विभिन्न आयोजनालाई अनावश्यक स्रोत सुनिश्चितता दिएर आर्थिक भार थप्न नहुने पनि सांसद पन्तको भनाइ छ ।

संसद्को आजको बैठकमा बोल्दै सांसद लेखनाथ दाहालले अर्थतन्त्रमा अहिलेको समस्याबारे सबै जानकार भए पनि ती समस्या समाधान कसरी गर्ने भनेर निकै कम मात्र बहस हुने गरको बताउनुभयो । “अहिलेको समस्यालाई हामी सबैले बुझेका छौँ । तर समाधानका उपाय के हुन् भनेर छलफल आवश्यक छ”, सांसद दाहालले भन्नुभयो, “पूँजी निर्माण गर्ने, उत्पादन र रोजगार बढाउने आयोजना बजेटको प्राथमिकतामा राखिनुपर्छ ।”

सांसद डा स्वर्णिम वाग्लेले बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको बताउनुभयो । “सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा यो यथास्थितिवादी निबन्धले अब अर्थतन्त्र सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ”, बजेटका सिद्धान्त र प्राथमिकताबारे आफ्नो धारणा राख्दै उहाँले भन्नुभयो ।

सांसद आरजु राणाले पारदर्शिताको विषयलाई गम्भीररूपमा लिइनुपर्ने बताउनुभयो । त्यस्तै, ‘क्लाइमेट फन्डिङ’का लागि नेपालले कुनै संयन्त्र तयार पार्नु पर्ने, स्टार्टअप व्यवसायलाई प्रवर्द्धन गरिनुपर्ने, डिजिटल इकोनोमीलाई प्रवर्द्धन गरिनुपर्नेलगायतका धारणा उहाँले राख्नुभयो ।

सांसद सुनीता बरालले बजेटका सिद्धान्त र प्राथमिकताले धरै कुरा समेटेको भए पनि त्यसलाई थप स्पष्ट पार्न जरुरी रहेको बताउनुभयो । सिद्धान्तले अमूर्त कुरा बोल्ने भएकाले त्यसलाई विशिष्टीकृत गरिनुपर्ने उहाँको भनाइ छ । सार्वजनिक प्रशासनको पुनःसंरचना गरी खर्च घटाउनुपर्ने सांसद बरालले बताउनुभयो । पूँजीगत खर्च बढाउने, कृषि क्षेत्रलाई बजेटको प्राथमिकतामा राखिनुपर्ने पनि उहाँले सुझाव दिनुभयो । रासायनिक मलभन्दा प्राङ्गारिक मल प्रयोगलाई बढावा दिनुपर्ने उहाँको भनाइ छ । त्यस्तै, भूमि आयोगले कसरी काम गरिरहको रहेछ भनेर पनि उहाँले संसद्मा प्रश्न गर्नुभएको छ ।

सांसद सञ्जयकुमार गौतमले विषय परिस्थितिमा आउन लागेको बजेटले अहिले जनतामा रहेको निराशा चिर्न सक्नुपर्ने बताउनुभयो । “यो परिस्थिति किन आयो ? कसरी आयो ? के अहिलेको सरकार र अहिलेको अर्थतन्त्र मात्रै दोषी छन् त ? हामीले राजनीतिक परिवर्तन ग¥यौँ भन्यौँ । तर के हामी साँच्चिकै परिवर्तित भयौँ त ? हामी एकपल्ट सबैले आफ्नो अनुहार हेर्न जरुरी छ”, उहाँले भन्नुभयो । अर्थतन्त्रका समस्या निदानका लागि सुशासन पहिलो कदम हुनुपर्ने पनि उहाँले बताउनुभयो । सङ्घीयताका प्रभावकारितामाथि पनि उहाँले प्रश्न गर्नुभयो । त्यस्तै प्रदेश तहलाई पुनःसंरचना आवश्यक रहेको उहाँको भनाइ छ ।

सांसद बिजुला रायमाझीले कृषिजन्य वस्तु उत्पादन, भण्डारण र बजारीकरणका लागि पर्याप्त बजेट छुट्याइनुपर्ने बताउनुभयो । कृषकले आफ्ना उत्पादनको उचित मूल्य नपाइरहँदा विदेशबाट आयात भएका विषादीयुक्त खाद्य र कृषिजन्य वस्तु प्रयोग भइरहेको विषयलाई गम्भीररूपमा लिइनुपर्ने उहाँको भनाइ छ ।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि जनतामा ठूलो आशा र विश्वास रहेकाले सरकारले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन योजना बनाएर अघिबढ्नुपर्ने सांसद रामकृष्ण यादवको भनाइ छ । एक घर एक रोजगारीलाई सरकारले अभियानका रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि उहाँले दिनुभयो । कृषि उत्पादनलाई केन्द्रमा राखेर मल, बीउबिजन, सिँचाइलगायतका सुविधा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।

आगामी आर्थिक वर्षको विनियोजन विधेययकको सिद्धान्त र प्राथमिकताहरू परम्परावादीरूपमै आएको धारणा सांसद ऋषिकेश पोखरेलले राख्नुभयो । नेपालले आफ्नो मौलिकता र आवश्यकता पहिचान गरेर त्यसैअनुसार विभिन्न क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ छ । सरकारका योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनको प्रश्न पनि उहाँले उठाउनुभयो । “जतिसुकै राम्रा योजना ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयनको जिम्मेवारी र जवाफदेही को हुन्छ ? हामीले चालु आर्थिक वर्षमा पनि आठ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेका थियौँ । तर दुई प्रतिशत बराबर मात्रै देखियो । त्यसको जिम्मेवार को हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो ।

खारेज भइसकेको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई ब्युँताउनुपर्ने माग सांसद शेरबहादुर कुँवरले राख्नुभएको छ । सांसदलाई आफ्नो क्षेत्रमा भइरहेका कामबारे जानकारी नै हुन छाडेको भन्दै उक्त कार्यक्रम ल्याइनुपर्ने उहाँको भनाइ छ । “सांसद बलिया भएपछि संसद् बलियो हुन्छ, र संसद् बलियो भएपछि सरकार बलियो हुन्छ”, उहाँले भन्नुभयो, “निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे बजेटका सिद्धान्त र प्राथमिकतामा उल्लेख भएको छैन । सांसदहरूलाई अत्यन्त अपमान भएको महसुस गराउने तरिकाले विकास निर्माणका काम भइरहेका छन् ।”

सांसद शिशिर खनालले आगामी आर्थिक वर्षको बजेट विस्तारकारी हुने वा सङ्कुचित हुने भन्ने अस्पष्टता रहेको बताउनुभयो । “विस्तारमुखी बजेट बनाउने हो भने त्यसका आधार के हुन्छन् भनेर खोज्न जरुरी छ । सङ्कुचनमा जाने हो सरकारले राखेका महत्त्वाकांक्षी लक्ष्य कसरी प्राप्त हुन्छन् त्यसबारे स्पष्ट छैन”, खनालले भन्नुभयो ।

सांसद राजु थापाले बजेटले जनताको आवश्यकतालाई सम्बोधन गर्ने प्रभावकारी कार्यक्रम समेटिनुपर्ने बताउनुभयो । त्यस्तै, सांसद महेश बस्नेतले विकास खर्च बढाएर रोजगारी सिर्जना गर्नसक्ने गरी बजेट आउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको वर्षे अधिवेशनको आइतबार भएको पहिलो बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस्’ भनी प्रस्तुत गर्नुभएको उक्त प्रस्तावउपर सदनमा आजदेखि छलफल भइरहेको हो । भोलि मङ्गलबार र पर्सि बुधबार पनि उक्त प्रस्तावमाथि संसद्मा छलफल हुनेछ ।प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २६ गते बिहान ११ बजे बस्नेछ ।

चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै

भक्तपुर – मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गर्नुभयो । उहाँले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गर्नुभयो ।

कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थीले परीक्षा दिन लागेका बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो । परीक्षाका लागि देशभर एक हजार चार सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उहाँले परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको जानकारी दिनुभयो ।

“परीक्षाका लागि आवश्यक सामग्री जिल्ला जिल्लामा पु¥याइएको छ”, शर्माले भन्नुभयो । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।

तीन वा सोभन्दा बढी विषयमा ‘नन ग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै छ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब नन ग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।

बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा नन ग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

शैक्षिक गुणस्तर सुधारका लागि सरोकारवाला सबै गम्भीर हुनुपर्छ : मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले शैक्षिक गुणस्तर सुधारका लागि सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित फुल्चोकी माध्यमिक विद्यालयको ६४औँ स्थापना दिवस कार्यक्रममा सहभागी हुँदै मन्त्री शर्माले स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “जुन पालिकाका जनप्रतिनिधि लक्ष्यसहित आएका छन्, उनीहरुले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर राम्रो बनाएका छन् । केहीमा अझ बिग्रेको गुनासो पनि अभिभावकले गरिरहेका छन् । सबै स्थानीय तहका जनप्रतिनिधिले शैक्षिक गुणस्तर सुधारका लागि प्रभावकारी योजना बनाउनु आवश्यक छ ।”

मन्त्री शर्माले शैक्षिक गुणस्तर वृद्धिका लागि सूचना प्रविधिको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । विद्यालय तहका विद्यार्थीमा सूचना प्रविधिको दुरुपयोग बढ्ने खतरा पनि उत्तिकै रहेकाले यसतर्फ सचेत हुन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो । पछिल्लो समय समाजमा फेरिएको चेतनासँगै सामुदायिक विद्यालय राम्रा बनाउने र आफ्ना छोराछोरी त्यसमै पढाउने क्रम बढ्दै जानु सकारात्मक भएको उल्लेख गर्दै मन्त्री शर्माले समाजका अगुवाले यसमा अझै मेहेनत गर्न आवश्यक रहेको बताउनुभयो ।

“कुनै बेला सामुदायिक विद्यालयमा गरिबका छोराछोरीले मात्र पढ्छन् भनेर हेप्ने गरिन्थ्यो, विस्तारै सामुदायिक विद्यालयप्रतिको आकर्षण बढिरहेको छ, यसलाई अझै बढाउँदै लैजानुपर्छ, ”, उहाँले भन्नुभयो ।

वामपंथी नेता स्व दिलबहादुर श्रेष्ठको अगुवाईमा २०१६ सालमा स्थापित सो विद्यालयमा हाल कक्षा १२ सम्म एक हजार दुई सय ५८ विद्यार्थी अध्ययनरत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थाले – एमाले महासचिव

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेको बताएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत भुटानी शरणार्थी प्रकरणको जिम्मा सिबिआईलाई लगाउनु पर्ने बताउका छन् ।

‘नक्कली शरणार्थी प्रकरणसंग जोडिएर नयाँ नयाँ अडियो दिनदिनै आउन थालेका छन् तर अनुसन्धानको गति धिमा र विवादास्पद बन्दैछ,’ उनले भनेका छन् , ‘प्रभावकारी अनुसन्धानका लागि सिविआईलाई जिम्मा लगाउने हो कि ? किनकी दोषि कोही नछुटुन् र निर्दोस कोही नपरुन् भन्नका लागि अनुसन्धान प्रभावकारी हुनु आवश्यक हुन्छ ।’ 

सबैलाई रुवाउँदै अस्ताए व्यवसायी कँडेल

चितवन – “दुःखी र कमजोर मन लिएर मसँग डाक्टरको रुपमा पीडा पोख्न कोही आए म शङ्कर कँडेल दाइजस्तो हँसिलो, व्यस्त र समाधानपरक जीवन जिउनुपर्छ भन्थेँ । आज आफ्नो आँखा अघि त्यो आशा दिलाउने दियो निभ्यो, सहन गाह्रो भो ।” जिल्लाका परिचित चिकित्सक डा भोजराज अधिकारीले व्यवसायी शङ्कर कँडेलको निधनको खबर सुनेपछि सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको ‘स्टाटस’ हो यो ।

यो साता जिल्लाका नेता कार्यकर्ता, व्यवसायी सबैको सामाजिक सञ्जालमा यस्तै स्टाटसले भरिए । कँडेलले मङ्गलबार साँझ देहत्याग गरेसँगै जिल्लामा स्तब्धता छायो । धेरैले त्यो रात सुतेनन् । चोक चोकमा कँडेलकै चर्चा भयो । भोलिपल्टबाट सडकमा उहाँकै न्यायका लागि जिल्लावासी उर्लिए । यसलाई न त कुनै दलले रोक्न सक्यो, न त प्रशासनले ।

पाँच दशकको उमेर पार गरेका कँडेल जहिले पनि हँसिलो मुद्रामा भेटिनुहुन्थ्यो । सबैलाई लाग्थ्यो, यस्तो मान्छेलाई पक्कै कुनै पीडा छैन । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ भन्दै हुनुहुन्थ्यो “कँडेललाई भेटेपछि ऊर्जा उत्पन्न हुने गर्दथ्यो।” उहाँ मात्रै होइन, सबै पार्टीका नेता कार्यकर्ता र व्यवसायीका लागि ऊर्जाशील हुनुहुन्थ्यो कँडेल ।

पार्टी, सङ्घ संस्थालाई सहयोग चाहिँदा होस् वा कसैलाई बन्द व्यापार गर्नुपर्दा कँडेलकै ढोकामा सबै पुग्ने गर्दथे । कोही कसैले खाली हात फर्किनु पर्दैनथ्यो । कँडेलले जहाँ देहत्याग गर्नुभयो, सुरुमा देख्दै गर्दा धेरैले आफूलाई सम्हाल्न सकेनन् । तिनैमध्येका एक हुनुहुन्छ उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतम । उहाँको घर कँडेलको कार्यालयबाट नजिकै छ । घटनालगत्तै पुग्नुभएका उहाँले सुरुमा पत्यारै गर्नुभएन । उहाँले भन्नुभयो, “जब मैले कँडेल नै देखेँ, सम्हाल्न सकिँन, म ढलेछु, झण्डै २० मिनेटपछि बल्लतल्ल उठेँ । ”

आफूले कँडेलको निधन भएको सुनेसँगै निशब्द बनेको पूर्व सांसद कृष्णभक्त पोखरेलले बताउनुभएको छ । उहाँले यसलाई अपत्यारिलो घटनाका रुपमा चित्रण गर्नुभएको छ ।

कांग्रेस चितवनका पूर्वसभापति जीतनारायण श्रेष्ठले सबैलाई हँसाउने कँडेलको निधनले सबैलाई रुवाएको बताउनुभयो । अप्रत्याशित घटनाले कांग्रेसलाई त क्षति पुगेकै छ समग्र व्यावसाायिक क्षेत्रमा अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कँडेल कांग्रेसको मात्रै नभएर साझा व्यक्तित्व हुनुहुन्थ्यो ।”

व्यवसायी कँडेल नेपालका परिचित पोल्ट्री व्यवसायी हुनुहुथ्यो । कांग्रेस पार्टीका महासमिति सदस्य पनि हुनुहुन्थ्यो । आफूले सम्हालेको अनमोल फिड्सको अधिकांश शेयर बिक्री गरी अबको यात्रा राजनीतिक बनाउने योजनामा उहाँ हुनुहुन्थ्यो । पार्टीभित्रका गुट उपगुटको बीचमा साझा चरित्र बनाउनु भएका कँडेललाई कांग्रेस भनेर भन्दा सामाजिक व्यक्तित्व भनेर सबैले चिन्ने गर्दथे ।

कँडेलले भरतपुर महानगरपालिका–३ स्थित आफ्नै कार्यालयमा गत मङ्गलबार देहत्याग गर्नुभएको हो । उहाँले लेखेको मृत्युपत्रमा दुई पात्रलाई मृत्युको कारण उल्लेख गरिएको छ । उनीहरुलाई पक्राउ गरी कारबाहीका लागि दैनिक प्रदर्शन हुँदै आएका छन् । उनीहरुमध्ये एक जीवन रावल पक्राउ परेका छन् भने प्रदीप रुङ्गटा फरार छन् । रावल कँडेलकै कम्पनीका चार्टर एकाउन्टेट हुन् भने रुङ्गटा कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका साझेदार हुन् ।

कँडेलको निधन भएको छैटौँ दिन आइतबार पवित्र तीर्थस्थल देवघाटमा अन्त्येष्टि गरिएको छ । उहाँ भरतपुर महानगरपालिका–८ निवासी हुनुहुन्थ्यो ।

रोल्पाका चार स्थानीय तहले गरे आफ्नै प्रहरी भर्ना

रोल्पा – रोल्पामा विभिन्न चार स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन । जिल्लाका रोल्पा नगरपालिका सहित सुनिलस्मृति,रुन्टीगढी र माडी गाउँपालिकाले सो व्यवस्थापन गरेका हुन् ।

रोल्पा नगरपालिकाले तीन महिलासहित १० नगर प्रहरी भर्ना गरेको छ । नगर प्रहरीमा एक प्रहरी हवल्दार रहेका छन भने नौ प्रहरी जवान छन् । जिल्ला सदरमुकाममा रहेको रोल्पाले ट्राफिक व्यवस्थापन, वजार अनुगमन, पर्यटकीय क्षेत्रमा रहेका संरचनाको सुरक्षालगायतका काममा समेत नगरप्रहरी परिचालन हुने गर्दछन् ।

जिल्लामा सबैभन्दा पहिला आफ्नै प्रहरी भर्ना गर्ने स्थानीय तह रुन्टीगढी गाउँपालिका हो । रुन्टीगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ । उसले एक जना प्रमुख नगर प्रहरी र आठ नगर प्रहरी पद सिर्जना गरी भर्ना गरेको हो । नगर प्रहरी सुरक्षा र विकास गतिविधिमा परिचालन हँुदै आएको रुन्टीगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले जानकारी दिनुभयो । “शान्ति सुरक्षालाई चुस्त राख्नका साथै अन्य गतिविधिमा समेत नगरप्रहरी परिचालित हुन्छन्”, उहाँले भन्नुभयो ।

जिल्लाको माडीले गाउँ प्रहरीको नाम दिएर आफ्नै प्रहरी भर्ना गरेको छ । उसले दुई महिलासहित सात गाउँ प्रहरी भर्ना गरेको हो । गाउँ प्रहरीमा एक प्रहरी सहायक निरीक्षक र छ प्रहरी जवान कार्यरत छन् ।

त्यसैगरी सुनिलस्मृतिले नगर प्रहरी भर्ना गरेको छ । पाँच नगर प्रहरी भर्ना गरेको सुनिलस्मृति गाउँपािलकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिनुभयो । ट्राफिक व्यवस्थापन, बजार अनुगमन, शान्ति सुरक्षालाई चुस्त राख्नका समेत नगर प्रहरी परिचालित गरिएको उहाँले बताउनुभयो ।

रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने सुनिलस्मृति, रुन्टीगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन ।

स्थानीय तहले भर्ना गरेका प्रहरीलाई सलामी, पिटी परेट, भीड नियन्त्रण, रेक्यु, विपद व्यवस्थान तथा उद्धार र सामान्य हतियार सञ्चालनसम्बन्धी एक महिनासम्मको तालिम सञ्चालन गरिएको थियो । प्रहरीलाई कार्यालय सञ्चालन, ‘चेन अफ कमाण्ड’लगायतका विषयमा समेत तालिम दिइएको थियो ।

राजस्व सङ्कलन, न्यायिक समितिलाई सहयोग, सरसफाइ, पर्यटन गाइड र कार्यालय सुरक्षाको लागि उनीहरुलाई परिचालन गर्ने सोच स्थानीय तहहरुको भनाइ छ । नगर प्रहरीलाई सञ्चार सेट, खुकुरी र लठ्ठीको सहायताले सुरक्षा दिने व्यवस्था मिलाइएको छ । स्थानीय तहहरुले भर्ना गरेको प्रहरीको खर्च व्यवस्थापन आन्तरिक स्रोतबाट हँुदै आएको छ । रोल्पामा एक नगरपालिकासहित दश स्थानीय तह रहेका छन् ।

म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय भएको छैन – रक्षामन्त्री खडका

काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खडकाले हतियार कारोबारमा आफ्नो संलग्नता अस्विकार गरेका छन् । नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उनले आफु यसमा संलग्न नभएको बताए ।

उनले आफू रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको बताए ।

उनले भने – ‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’

मुगु हिउँ पहिरो अपडेट : हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थान

मुगु – च्याखु लेकमा हिउँ पहिरोमा परी बेपत्ताको खोजीका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टबाट सुरक्षाकर्मी घटनास्थलतर्फ प्रस्थानका छन् ।

हेलिकप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका विपद् उद्घारकर्मी र बेपत्ता भएकाका आफन्त सहित २० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालयका निमित प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी गराउनुभयो । यही वैशाख २२ गते नै इलाका प्रहरीचौकी मुगुबाट घटनास्थलतर्फ प्रहरी हिँडे पनि अझै घटनास्थलसम्म पुग्न नसकेको बताइएको छ ।

हिउँ, उच्च हिमाल पार गरेर जानुपर्ने तथा बन्दोबस्तीका सामानको अभावमा त्यहाँ पुग्न कठिनाइ भएको पनि निप्रनाउ पन्थीले बताउनुभयो ।

स्थलमार्गबाट सुरक्षाकर्मी घटनास्थलसम्म पुग्न समय लाग्ने भएपछि गृहमन्त्रालयले हेलिकप्टर सहित उद्धारकर्मी पठाएको हो । मुगुम कार्मारोङ गाउँपालिकाले यार्सा पाइने पाटन क्षेत्रमा आगामी जेठ ४ गते सङ्कलकलाई राजस्व काटेर प्रवेश गराउने सूचना गरिरहँदा जुम्ला जिल्ला पातारासी गाउँपालिका–२ तल्फी गाउँका १५ स्थानीय अवैध बाटो भएर पाटनतर्फ प्रस्थान गरेका जनाइएको छ । पाटनमा जाँदै गर्दा च्याखु लेकमा यही वैशाख २२ गते दिउँसो १ बजे माथिबाट हिउँ पहिरो आउँदा तारासिंह सार्की (४०), पुन्न सार्की (३५) र वीर बोहरा (३५) बेपत्ता भएको जनाइएको छ ।

आज देखी प्रि बजेटका बारेमा छलफल सुरु

काठमाडौं । आजदेखी प्रि बजेटका बारेमा छलफल हुने भएको छ । आइतबार बसेको प्रतिनिधिसभा कार्य ब्यवस्था समितिको बैठकले प्रि बजेटका बारेमा छलफल गर्ने निर्णय गरेको हो । छलफल तीन दिनसम्म चल्नेछ । बैशाख २५ देखी २८ गतेसम्म प्रि बजेटका बारेमा छलफल हुनेछ ।

छलफल बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म गरिने र छलफलको अन्तिम दिन अर्थमन्त्री प्रकाशरण महतले जवाफ दिने गरी कार्यतालिका तय भएको एक नेताले बताए ।
 
बजेटको बिषयमा गत बुधवार बसेको नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठकमा पनि छलफल भएको थियो । शुक्रवार र शनिवार बसेको गठबन्धनको बैठकमा पनि सरकारको आगामी बजेट तथा नीति तथा कार्यक्रमका बारेमा शिर्ष नेताका बिचमा छलफल भइसकेको छ ।

काठमाडौ महानगरपालिकाले अब्यबस्थित तार हटाउदैँ

काठमाडौं – आज देखी काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरिदैँछ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न  स्थानमा  रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो । 

आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका  प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए। 

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने  सहमति  दूरसञ्चार प्राधिकरणले जानकारी दिएकाे छ ।

फ्रेन्च लिग वान : पिएसजीको सानदार जीत

काठमाडौ। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जीत हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ट्रोएसको खेल मैदानमा आइतबार राति भएको खेलको ८ औं मिनेटमा केलियन एमबाप्पेले सुरुवाती गोल गरेर पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीवाट गोलका लागि अनवरत प्रयास गरे पनि कुनै गोल हुन सकेनन, अन्ततः पहिलो हाफ १–० मा टुंगियो ।

उता, दोस्रो हाफको ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारिदिए तर ८३औं मिनेटमा जेभियर चाभालेरिनले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए ।अन्तिम समयमा रोमाञ्चक बन्न पुगेको खेलको ८६ औं मिनेटमा पछि फावियन रुइजले गोल गर्दै पिएसजीलाई ३–१ को स्थीतिमा अघि बढाए । अन्ततः खेल ३–१ मा टुंगिन पुग्यो ।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ भने पराजित ट्रोएस समान ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा सिमित छ ।

यस्तो छ ‘ज्याकी : आई एम ट्वान्टी वान’?

काठमाडौँ – गत हप्तादेखि नयाँ चलचित्र ‘ज्याकी ः आई एम ट्वान्टी वान’ प्रदर्शनरत छ । बनिरहेका चलचित्रको भिडमा यो फरक देखिएको छ । किनकि नृत्यलाई प्रमुख विषय बनाएर यसको कथा भनिएको छ । नृत्य निर्देशनमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल रिनाशा राई राणाले यसको निर्देशन गर्नुभएको छ । उहाँको यो दोस्रो निर्देशकीय चलचित्र हो तर, दर्शकलाई पर्दामा निर्मित पात्रसँग जोड्न नसक्दा यसले नत राम्रो समीक्षा नै पाइरहेको छ नत राम्रो व्यापार नै गर्न सकेको छ ।

पात्रहरुले आफ्ना उद्देश्य प्राप्तिका लागि प्रयत्न गर्दा आइपर्ने व्यवधान नै अवरोध हुन् । अवरोध नभएमा पात्रलाई उद्देश्य प्राप्त गर्न सहज हुन्छ । सहजताले दिएको सफलताले अन्यलाई प्रभाव पार्दैन। चलचित्रमा प्रमुख पात्रले आफ्नो उद्देश्य प्राप्तिका लागि खासै अवरोधहरुको सामना गर्दैनन् । तसर्थ उसको उद्देश्य प्राप्ति सजिलै हुन्छ । द्वन्द्व सिर्जनामा चुक्दा दर्शकले पात्रसँगै यात्रा गर्दैनन् ।

धराने केटो ज्याकी लिम्बू (धीरज मगर) मै केन्द्रित रहेको चलचित्रमा उनको पहिचान नृत्यले स्थापित गरेको हुन्छ तर, ज्याकीका बुबा छोरालाई लाहुरे बनाउन चाहन्छन् । जेठा दाजु मिलनमार्फत पूरा नभएको सपना ज्याकीमाथि लादिएको छ । एकतर्फ बुबाको चाहना अर्कोतर्फ आफ्नो गन्तव्य । ज्याकी अलमलमा रहँदा नै एउटा घटनाले उनलाई काठमाडौँसम्म ल्याउँछ । ज्याकीझैँ रुबी (जसिता गुरुङ)को पनि सपना नृत्य नै हो । उनलाई आफ्नो भविष्य नृत्यकार भएर बनाउनु छ तर, घरमा आमाबाहेक उनको यो सपनामा साथ दिने कोही छैन । काठमाडौँमा यी दुईको भेट हुन्छ । एउटै गन्तव्य भएकाले सहकार्य गर्छन् । यी दुई पात्रले आफ्नो सपना पुरा गर्ने सन्दर्भमै ‘ज्याकी ः आई एम ट्वान्टी वान’को बाँकी कथा प्रस्तुत गरिएको छ ।

हिपहप डान्सलाई सुन्दर ढङ्गबाट प्रस्तुत गरिएको छ । सङ्गीतको तालअनुसारका नृत्यका स्टेपको प्रस्तुती आकर्षक देखिन्छ। नृत्यझैँ कथालाई पर्दामा विश्वासिलो ढङ्गमा प्रस्तुत गर्न नसक्दा निर्देशक राईले राम्रो चलचित्र दिन सक्नुभएको छैन । प्रमुख पात्रले सहजै गन्तव्य तय गर्न थालेपछि दर्शक जोडिँदैनन् । चलचित्रको सङ्गीत र यसमा देखाइएको नृत्यहरू धेरै मात्रामा प्रभावित भएको देखिन्छ । आफ्नो पात्रलाई जीवन्त बनाउन अभिनेता मगर, अभिनेत्री गुरुङसँगै अभिनेता अरुण क्षेत्रीले गरेको मेहनत देखिएता पनि प्रस्तुतीका कारण त्यो महसुश गर्न सकिँदैन । निर्माण समूहले उल्लेखित कलाकारलाई नृत्यको प्रशिक्षण नै दिएर चलचित्र निर्माण गरेको थियो । नेपाली चलचित्रमा आफ्नो पात्र निर्माणमा यस किसिमको मेहनत निकै कम कलाकारले गर्ने गरेकाछन् ।

यद्यपि विषय र त्यसको प्रस्तुतीको कारण त्यो फिक्का देखिएको छ । एउटा गीतलाई उत्कृष्ट बनाउन निर्देशक राणाले गर्ने मेहनत चलचित्रमा देखिएको छैन । त्यसैले चलचित्र हेरिरहँदा कहीँकतै नृत्य रियालिटी सो हेरेजस्तो पनि लाग्छ तर, हिपहपका नृत्य रुचाउने, भूमिगत नृत्य गर्ने समूहलाई भने यसले आकर्षण गर्न सक्छ । किनकि चलचित्रमा कथा नभई नृत्य नै नृत्य छ ।

खानेपानी शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता हुँदैन : नवनियुक्त मन्त्री यादव

काठमाडौँ-नवनियुक्त खानेपानीमन्त्री महिन्द्रराय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताउनुभएको छ ।मन्त्रालयमा सोमबार पदबहाली गर्दै उहाँले नेपालको संविधानमा मौलिक हकका रूपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको व्यवस्था रहेको उल्लेख गर्दै जनताको उक्त हकलाई उच्च प्राथमिकता राखेर सामूहिकरूपमा काम गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो । उहाँले मौलिक हकको व्यवस्थालाई साकार पार्नमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

दिगो विकास लक्ष्यअन्तर्गत खानेपानी तथा सरसफाइको क्षेत्रलाई विशेष प्राथमिकता राखेर नेपाली जनतालाई सुरक्षित खानेपानी र सरसफाइको पहुँचमा ल्याउन आफू कटिबद्ध रहेको उहाँको भनाइ थियो ।

मन्त्री यादवले स्वच्छ नेपाल अभियानलाई दिगोरूपमा सञ्चालन गर्न विशेष संयन्त्र गठन गर्न र छुट्टै सरसफाइसम्बन्धी विशेष कोषको स्थापना तथा सोको कार्यान्वयनको फाइल सदर गर्दै आज कार्यभार सम्हाल्नुभएको हो । गत चैत १७ गतेको मन्त्रिपरिषद् विस्तारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनुभएका उहाँलाई आज प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले खानेपानीमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी, गोरखाका तामाङ पक्राउ

काठमाडौँ – नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी रु ३१ लाख ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

तीनजना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

संबैधानिक परिषदको बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज साँझ ६ बजे बस्दैछ । प्रधानन्यायधिस नियुक्तीलगायतको बिषयमा छलफल गर्नका लागि आज संबैधानिक परिषदको बैठक बस्न लागेको हो ।गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाईएको हो ।
 
प्रतिनिधिसभाकाो पहिलो अधिवेसनका अन्तिम समयमा संबैधानिक परिषद सबन्धी (संसोधन) बिद्येयक पेश गर्ने सहमति भए पनि अन्तिम समयमा आएर रोकिन पुगेको थियो । संबैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित बुदाँ थप गरेर बिद्येयक ल्याईए पछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाएको थियो ।

प्रमुख प्रतिपक्ष दल एमालेको आपत्ति पछि कार्यसुचीमा समावेश गरिसकेको सो बिद्येयक अन्तिममा फिर्ता लिर्ईएको थियो । एमालेले संसदीय सुनवाईको पुर्णता पछि मात्रै सो बिद्येयक अघि बढाउनु पर्ने सर्त राख्दै आएको छ । 

बागमती सफाइका नाममा १२ अर्ब असुली

काठमाडौँ । बागमती नदी सरसफाइ गर्ने र काठमाडौँलाई बस्न लायक सहर बनाउने नाममा उत्यकावासीले १५ वर्षदेखि निरन्तर कर बुझाउँदै आएका छन् । सो अवधिमा बुझाइएको १२ अर्ब रुपैयाँ केन्द्रीय बजेटमा गाभिएको पनि प्रयोजनका रकम उठाइयो सोअनुसार खर्च गरिएको छैन ।

उपत्यकाका बागमती, विष्णुमती, धोबीखोलालगायत नदीलाई सफा र सुन्दर बनाउने, ढल प्रशोधन गर्ने, पानी स्वच्छ बनाउने, नदीकिनारमा बाटो निर्माण गर्ने, पार्क बनाउने तथा उपत्यकालाई सफा र सुन्दर सहरमा परिणत गर्ने नाममा अहिलेसम्म १२ अर्बभन्दा बढी रुपैयाँ सर्वसाधारणबाट असुली गरिसकिएको छ । यसरी प्रदूषण नियन्त्रण, जलविद्युत् आयोजना निर्माण आदिका नाममा उठाइएको रकमको समेत समुचित उपयोग हुन सकेको छैन ।

१५ वर्षयता उपत्यकाका महानगरसहित १८ वटा नगरपालिकामा जग्गाको बेचबिखन तथा कारोबार गर्दा रजिस्ट्रेसनमा नियमअनुसार लाग्नेभन्दा शून्य दशमलव ५ प्रतिशत थप दस्तुर उठाउने गरिएको छ । अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका अनुसार अहिलेसम्म सरसफाइका लागि १२ अर्ब २९ करोड ७७ लाख ८० हजार ३७४ रुपैयाँ उठिसकेको छ । तर प्रगति शून्य छ । आजको नागरिक दैनिकमा समाचार छ ।

नेपालकै यस्तो ठाउँ, जहाँ मलामीमा शङ्ख बजाइँदैन

बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन ।

स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए ।

“जिजुबाजेका पालादेखि कसैको मृत्यु भएमा घाटसम्म लिएर जाँदा एकोहोरो शङ्ख बजाउन नहुने विश्वास नै परम्परा बन्न पुगेको छ,” उनले भने । एक हजार रोपनी जग्गा बिर्ता पाएको सो स्थानमा अहिले दुई सय घरपरिवार बस्दै आएका छन् ।

स्थानीय ज्येष्ठ नागरिक लोकनाथ बजगाईंले परापूर्वकालदेखि नै स्थानीयको मृत्युपछि शङ्ख नबजाउने र बजाएमा अनिष्ट हुने विश्वास रहेको बताए । सयौँ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको परम्परा अहिलेसम्म कायम रहेको बताउँदै उहाँले आफ्नो बिर्ता जमिनसम्म शङ्ख बजाए अनिष्ट हुने जनविश्वास रहेको बताए ।

स्थानीय बलराम बजगाईंले मानिसको मृत्युपछि एकाघर परिवारले ‘गाह्रो प(यो दाजुभाइ’ भनेर तीन पटक बोलाएपछि दाजुभाइ भेला भएर शवलाई घाटसम्म लिएर जाने र १३ दिनसम्मका सबै कार्यमा सहभागी हुने गरेका छन् । यसरी कसैको मृत्यु भएपछि दाजुभाइ बोलाउने परम्परा नेपालका अरू ठाउँमा विरलै हुने उनले बताए।

सो गाउँबाट दुई किलोमिटर परको घट्टेकुलोमा पुगेपछि बिर्ता सकिन्छ । त्यसपछि एकोहोरो शङ्ख बजाउने, लाजा र टिलो छर्ने गरिन्छ । सो गाउँका मानिसको अयन्त्र कुनै ठाउँमा पुगेर मृत्यु भएमा शव उठाउने समयमै एकोहोरो शङ्ख बजाइन्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रचण्डका साढे चार महिना कसरी बिते ?

काठमाडौं । संसदीय राजनीतिक इतिहासका ४४औं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साढे चार महिना गठबन्धन र मन्त्री फेरबदलमै बितेको छ । गत पुस १० मा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो अवधि जनसरोकारका विषयभन्दा पनि सरकारका मन्त्री फेरबदल, मन्त्रालय भागबण्डा र गठबन्धन परिवर्तनमै बितेको छ ।

प्रधानमन्त्री प्रचण्डले यस बीचमा १० पटक मन्त्रीमण्डल विस्तार गरे भने चारपटक मन्त्रीहरूको राजीनामा स्वीकृत गरे । त्यस्तै, साढे चार महिनाको अवधिमा तीनपटक गठबन्धन फेरबदल गरेका प्रचण्डले दुईपटक संसद्बाट विश्वासको मत लिए । उनले १० औं पटक गत आइतबार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा सुरेन्द्रराज आचार्यलाई नियुक्त गरे । आचार्यलाई मन्त्री बनाएसँगै मन्त्रिपरिषद् २३ सदस्यीय भएको छ ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ९ जना मन्त्री भएका छन् भने गठबन्धनका बाँकी दलहरूबाट १४ जना मन्त्री भएका छन् । १० औंपटक मन्त्रिपरिषद् विस्तार हुँदासमेत सरकारले पूर्णता भने पाउन सकेको छैन । वन तथा वातावरण मन्त्रालय अझै प्रधानमन्त्रीले नै सम्हाल्दै आएका छन् ।

नेपाली कांग्रेससहितको पाँच दलीय चुनावी गठबन्धन तोडेर पुष १० मा नेकपा एमालेसहितका सात दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले फागुन १० मा पुनः गठबन्धन परिवर्तन गरे । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिनामै उक्त गठबन्धन भत्काउँदै फेरि कांग्रेससहित आठ दलको समर्थन जुटाएर दोस्रोपटक संसदबाट विश्वासको मत हासिल गरेसँगै एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिर बस्न बाध्य भएका थिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

‘टुकुचा खोला नै हो तर खोलामाथिको सम्पत्ति व्यक्तिगत हो’

काठमाडौँ – उच्च अदालत पाटनले काठमाडौँको कमलादी र हात्तीसार क्षेत्रमा भूमिगत गरिएको टुकुचा खोला नै भए पनि खोलामाथिको सम्पत्ति व्यक्तिगत सम्पत्ति ठहर गरेको छ ।

न्यायाधीशहरू महेश शर्मा पौड्याल र राज्यलक्ष्मी बज्राचार्यको संयुक्त इजलासले गत माघ १८ गते सुनाएको फैसलाको आइतबार सार्वजनिक गरिएको पूर्णपाठमा टुकुचा खोला भएको भए पनि खोलामाथि रहेको घर जग्गा भने व्यक्तिगत सम्पत्ति भएको हुँदा राज्यले हस्तक्षेप गर्न नपाउने उल्लेख छ ।

फैसलामा भनिएको छ, “टुकुचा (इच्छुमती) खोला र बागमतीको सहायक नदी रहेको र यति लामो बहाव रहेको अवस्थामा यस खोलालाई खोल्सा वा ढल हो भनी विद्वान कानून व्यवसायीहरूले लिएको जिकिर मनासिव देखिँदैन ।”

जग्गाधनी दर्ता प्रमाण पुर्जाबाट निवेदनमा उल्लिखित जग्गा निवेदकको हकको भन्ने देखिएको र सो स्रेस्ता बदर नभई यथावत कायम रहेको अवस्थामा निवेदकको सहमति वा क्षतिपूर्ति नदिई सो जग्गामा रहेको संरचनामा असर पर्ने गरी कुनै कार्य नगर्न÷नगराउन फैसलामा भनिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत भदौ ३० मा टुकुचा खोला उत्खनन गर्न थालेपछि काठमाडौँ महानगरपालिका–१ का विश्वप्रकाश साखले निजी सम्पत्तिमा हस्तक्षेप भएको उल्लेख गर्दै रोक्न आदेश माग गर्दै उच्च अदालतमा रिट निवेदन दर्ता गर्नुभएको थियो ।

खोलामा भूमिगत संरचना निर्माण गरिएपछि खोलामाथिको जमिन व्यक्तिका नाउँमा दर्ता भएको देखिएको उच्च अदालतले टुकुचा खोलालाई खुलारूपमा प्राकृतिक स्वरूपमा ल्याउन आवश्यक छ वा छैन र ल्याउन आवश्यक भएमा त्यहाँ बनेका पुरातात्विक महत्त्वको गुम्बजको संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञसहितको छलफल आवश्यक भएको फैसलामा उल्लेख छ ।

मुगु हिमपहिरामा पुरिएकाहरूको खोज उद्धार आजदेखि हुने

कर्णाली – कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार आजदेखि गर्ने भएको छ ।

हिजो ढिला भएकाले प्रदेश सरकारले आज बिहान हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पु¥याउने तयारी गरेको छ । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले घटनाका बारेमा तत्काल जानकारी हुन नसकेकाले खोज उद्धार कार्यमा ढिलाइ भएको बताउनुभयो ।

“हामीले मुगु प्रशासनबाट त्यहाँको यथार्थ विवरण मागी आजै सुरक्षा समितिको बैठक बसेर हेलिकप्टर तयारी अवस्थामा राखेका छौँ”, उहाँले भन्नुभयो, “भोलि सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत औजारसहितको उद्धार टोली सुर्खेतबाट मुगु गमगढी र त्यसपछि घटनास्थलतर्फ जानेछ ।” हेलिकोप्टर आज बेलुकी पठाउँदा राति हुने र उद्धार कार्यमा असहज बन्ने भएकाले सुर्खेतमै अवतरण गरिएको मन्त्री जिसीले जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले घटना वैशाख २२ गते दिउँसो २ बजे भए पनि मृतकसँग गएका प्रत्यक्षदर्शीहरूले शनिबार साँझ मात्र जानकारी दिएकाले उद्धार कार्यका लागि सूचना दिन ढिलाइ भएको बताउनुभयो । प्रत्यक्षदर्शीहरूको भनाइ उद्धृ्रत गर्दै प्रजिअ थापाले उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीको हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएको जनाउनुभयो ।

उहाँका अनुसार जेठ ४ गते यार्सागुम्बा (जीवनबुटी) सङ्कलनका लागि त्यहाँको पालिकाले खुला गर्ने भनिए पनि पातारासीबाट १४ र मुगु छायाँनाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेको थियो । शव हिउँमै रहेको बताइएको छ । घटना भएको ठाउँ मुगु कार्मारोङ गाउँपालिकाको प्रहरी चौकीबाट दुई दिनको पैदल यात्रा हिँड्नुपर्ने जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।

‘निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्नुपर्छ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वदेशीलाई शरणार्थी बनाएर विदेश पठाउने कार्यमा संलग्न दोषीलाई निष्पक्ष छानबिन दण्डित गर्नुपर्ने बताउनुभएको छ ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको प्रथम एकता अधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले यस्ता जघन्य आपराधिक कार्य क्षम्य नहुने बताउँदै राजनीतिक शक्ति केन्द्रका आडमा भएका नक्कली शरणार्थी काण्ड प्रभावित हुन सक्ने र आरोपी उम्कन सक्ने खतरा रहेको शंका गर्नुभयो ।

प्रहरीले गरिरहेको अनुसन्धान कुनै पनि बहानामा रोक्न नहुने बताउँदै अध्यक्ष लिङ्देनले मुलुकमा भइरहेका संस्थागत भ्रष्टाचार अन्त्य नगरी सुशासन कायम हुन नसक्ने र देश समृद्ध हुन नसक्ने बताउनुभयो । दुई दिनसम्म काठमाडौँमा चल्ने अधिवेशनमा पार्टीका पदाधिकारी तथा शीर्ष नेतृत्वले शुभकामना दिनुभएको थियो ।

देशभरबाट करिब एक हजार एक सय प्रतिनिधि सहभागी अधिवेशनमा राजनीतिक र महिलाका मुद्दा विषयक प्रतिवेदन र विधान मस्यौंदा समितिले प्रस्तुत गरेको विधानमा सहभागीबाट छलफल तथा संशोधनसहित पारित गरेपछि नयाँ कार्यसमितिको निर्वाचन गरिनेछ ।

यही वैशाख २५ गते नयाँ कार्यसमिति चयन गर्ने कार्यतालिका छ । पार्टीले अवलम्बन गरेको हिन्दू राष्ट्रलगायत मुद्दामा साङ्गठनिक गतिविधि गर्दै आएको उक्त सङ्गठनले समसामयिक राजनीतिक विषयवस्तुमा छलफलका साथै महिला हक, हित अधिकारका लागि कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष अन्जना रावलले जानकारी दिनुभयो ।

जालसाझी गरेको आरोपमा दुई पक्राउ

कलिवस्तु – जग्गा कीर्ते तथा जालसाझी गरेको आरोपमा कपिलवस्तुको चन्द्रौटाबाट दुईजना पक्राउ परेका छन् । शिवराज नगरपालिका–११ थुन्हिया बस्ने कानुन तथा लेखापढी व्यवसायी समिति एकाइ चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र उनका सहयोगी रामप्रताप यादव पक्राउ परेका हुन् ।

अध्यक्ष कुर्मी र उनका सहयोगी यादवले साबिक वीरपुर गाविस–९ स्थित मुकेश यादवका नाममा रहेको जग्गा जग्गाधनी यादवलाई जानकारी नगराई नक्कली राजीनामा बनाएर ठगी गरेको आरोपमा वडा प्रहरी कार्यालय चन्द्रौटाले पक्राउ गरेको छ ।

जिल्लाको कृष्णनगर नगरपालिका–११ बस्ने रेखा लोहारलाई जग्गाधनी मुकेश यादवको जग्गाबारे जानकारी नगराई राजनीमा तयार गरेर रकम असुल गरेका थिए । आरोपी कुर्मी चौधरीले पीडित लोहारलाई मालपोत कार्यालय चन्द्रौटामा लगेर जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए ।

कुर्मी चौधरीले पीडित लोहारलाई जग्गा पास भएको भन्दै दुई दिनमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका थिए । कार्यालय समय सकिएकाले दुई दिनमा आफैँ पुर्जा लिएर आउने बताएका चौधरीले चार दिन बित्दासमेत पुर्जा नआएपछि आफू ठगिएको अनुभव भएको पीडित लोहारले बताइन् ।

पीडित लोहारले आफू ठगिएको पता लागेपछि वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएकी थिइन् । उजुरीपछि वडा प्रहरी कार्यालय चन्द्रौटाले चौधरी र यादवलाई पक्राउ गरेको हो । प्रहरीले मालपोत कार्यालय चन्द्रौटालाई पत्र पठाई राजीनामा स्वीकृत गर्ने अधिकारी हस्ताक्षरको वास्तविकता, जग्गाको स्रेस्ताको विवरण झिकाएको थियो ।

जवाफमा मालपोत कार्यालय चन्द्रौटाले मालपोतका अधिकारीको हस्ताक्षर नभएको, उक्त जग्गाको कीर्ते तथा जालसाझी गरी राजीनामा तयार गरिएकाले कानुनी कारबाहीका लागि पत्राचार गरिएको मालपोत कार्यालय चन्द्रौटाका प्रमुख लक्षमण चालिसेले बताउनुभयो । बिहीबार पक्राउ परेका चौधरी र यादवलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कपिलवस्तुमा म्याद थपका लागि लगिएको छ ।

एक करोड ४० लाख व्यक्तिद्वारा राजा चाल्र्स तृतीयको राज्याभिषेक समारोह अवलोकन

लण्डन – बेलायती राजा चाल्र्स तृतीयको राज्याभिषेक हेर्न एक करोड ४० लाखभन्दा बढी मानिस उपस्थित भएको बीबीसीले आइतबार जनाएको छ ।बीबीसी वनको मुख्य च्यानलमा एक करोड ३४ लाख दर्शकले अवलोकन गरेका थिए भने शनिबारको कार्यक्रम औसतमा एक करोड १९ लाखले हेरेका थिए ।

बीबीसी टुमा हस्ताक्षर गरिएको संस्करणको मूल्य १७ लाख पुगेको छ, जुन औसतमा १४ लाख रहेको बीबीसीले जनाएको छ ।बेलायतमा ७० वर्षपछि पहिलो पटक आयोजना गरिएको शनिबारको राज्याभिषेक टेलिभिजनमा प्रसारण हुने दोस्रो र रङ्गीन श्रव्यदृश्यमा देखाइएको पहिलो राज्याभिषेक थियो ।

तर यो आँकडाले विगतका प्रमुख शाही अवसरहरूमा समग्र अवलोकनको आँकडा निकै कम भएको सङ्केत गर्छ ।चाल्र्सकी आमासमेत रहनुभएका महारानी एलिजाबेथ द्वितीयाको गत वर्षको राजकीय अन्त्येष्टिले आधुनिक समयमा बेलायतको सबैभन्दा ठूलो टेलिभिजन दर्शकलाई आकर्षित गरेको थियो ।

राजकीय अन्त्येष्टिलाई अनुमानित औसत दुई करोड ६२ लाख दर्शकले टीभी सेटमा मात्र हेरेका थिए, जुन बीबीसीमा एक करोड ८५ लाखसहित दुई करोड ८० लाख पुगेको थियो ।सन् २०११ मा चाल्र्सका छोरा राजकुमार विलियमको विवाहलाई बीबीसी टेलिभिजनमा दुई करोड ४० लाखभन्दा बढी दर्शकले हेरेका थिए ।

सन् १९९७ मा, बेलायतमा तीन करोड २० लाखभन्दा बढी दर्शकले चाल्र्सकी पहिलो पत्नी र विलियमकी आमा राजकुमारी डायनाको अन्त्येष्टि हेरेका थिए ।एलिजाबेथको सन् १९५३ को राज्याभिषेकलाई टीभीमा पहिलो पटक देखाइएको थियो भने यसलार्ई प्रसारणमा एक सफलताको रूपमा हेरिने गरेको छ ।

बकिङ्घम प्यालेसका अनुसार त्यतिबेला करिब दुई करोड ७० लाख मानिसले रेडियो सुनेका थिए भने एक करोड १० लाखले रेडियोमा सेवा सुनेका थिए । तर टीभी सेटको स्वामित्व भने कम थियो ।त्यतिबेला राज्याभिषेकको प्रत्यक्ष एक प्रसारणकर्ता बीबीसी थियो ।

त्यसपछि दर्जनौँ अधिक च्यानलहरू, साथै अनलाइन, अन–डिमान्ड र स्ट्रिमिङ सेवाहरूको साथ सञ्चारमाध्यमको परिदृश्य परिवर्तन भएको छ ।चाल्र्सको राज्याभिषेकलाई एलिजाबेथको राज्याभिषेकको दुई वर्षपछि मात्र सुरु भएको कमर्सियल च्यानल आईटीभी र स्काई न्यूजलगायत अन्य च्यानलले प्रत्यक्ष प्रसारण गरेका थिए । तिनीहरूको अवलोकनको आँकडा तुरुन्तै उपलब्ध थिएन ।

४० प्रतिशत जापानी युवाले उच्च शिक्षा निःशुल्क होस् भन्ने चाहन्छन् – सर्वेक्षण

टोकियो – जापानमा १० देखि १८ वर्ष उमेर समूहका जापानी युवामा हालै गरिएको एक सर्वेक्षणले ४० प्रतिशतले बालबालिकाका लागि उच्च शिक्षालाई निःशुल्क बनाउने नीतिलाई सरकारका उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
निप्पोन फाउन्डेसनले गरेको अनलाइन सर्वेक्षणमा मार्चमा १० हजार व्यक्तिलाई समावेश गरिएको थियो ।

उत्तरदाताहरूलाई एक भन्दा बढी उत्तरहरू छनौट गर्न दिइएको थियो । बालबालिकाका लागि सरकारले आफ्नो नीतिमा के लाई प्राथमिकता दिनुपर्छ भन्ने प्रश्नमा ४० प्रतिशत उत्तरदाताले उच्च माध्यमिक विद्यालय र विश्वविद्यालयलाई ट्युसनमुक्त बनाउनुपर्ने बताएका थिए भने ३७ प्रतिशतले भयरहित समाज निर्माण गनुपर्ने बताएका थिए ।

बालबालिकालाई अपराधबाट जोगाउने र सहयोगको गम्भीर खाँचोमा परेका बालबालिकाको आवाज राम्ररी सुन्ने दुवै प्रश्नको जवाफ ३० प्रतिशतभन्दा बढी थियो । निप्पोन फाउन्डेसनका एरिको ताकाहाशीका अनुसार सर्वेक्षणमा केही बालबालिकाले आफ्ना आमाबाबुको आर्थिक अवस्थाका कारण आफूले चाहेको शिक्षाका लागि अनुरोध गर्न हिचकिचाउने गरेको बताएका छन् ।

उहाँले बालबालिकालाई आफ्नो विचारको सम्मान गर्ने अधिकार छ भन्ने ज्ञान सरकारले फैलाउनुपर्ने र सुधारका लागि ठोस कदम चाल्नुपर्ने बताउनुभयो ।

संसद्मा देखिएको बेग्लै परिदृश्य

काठमाडौँ – सङ्घीय संसद्को आइतबार अपराह्नदेखि सुरु भएको वर्षेे अधिवेशनको बैठकको पहिलो दिन बेग्लै परिदृश्य देखियो । निर्धारित समय ४ बजेभन्दा १५ मिनेट ढिला गरी सुरु भएको बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति माग्नुभयो । लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै हुनुहुन्थ्यो । त्यही बीचमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गर्नुभयो ।

यसरी उठेर बोल्न चाहने सांसदको सङ्ख्या बाक्लो भएपछि सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरुलाई आग्रह गर्नुभयो । “माननीय सदस्यहरु दोस्रो अधिवेशनको पहिलो बैठक सुरु भइरहेको छ, यसका केही नियम र पद्धतिहरु छन् यसलाई पूरा गरेपछि बोल्नुहोला, पहिलो बैठक औपचारिक सुरु हुन दिनूस् बाँकी के कसरी चलाउने हो सल्लाह गरेर गरुँला”, सभामुख घिमिरेले भन्नुभयो ।

सभामुखले उठेका सांसदलाई बसेर बैठक सुरु हुने वातावरण बनाउन अनुरोध गर्नुभयो । तर, सभामुखको आग्रहलाई बेवास्ता गर्दै केही सांसदहरुले निरन्तर बोल्नका लागि उभिएर सङ्केत गरिरहनुभयो । “संसद्को कारबाही सुरु गरेपछि आफ्नो कुरा राख्नुहोला म बोल्नका लागि समय निर्धारण गर्नेछु; यस्तो साङ्केतिक जुहारी करिब १० मिनेट चलेपछि सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउनुभयो । त्यसपछि बैठकमा लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि जीवन अर्पण गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति बैठकले १ मिनेट मौनधारण गरियो ।

बैठकमा पहिलो वक्ताका रुपमा सांसद प्रेम सुवालले भूटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप इञ्जिनियरिङ कलेजको विषय उठाउनुभयो । सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भूटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गर्नुभयो । सबै भ्रष्टाचारको उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषीलाई कानुनी दायरामा ल्याउन उहाँले माग गर्नुभयो ।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । “हामी फिल्म हेर्न टिकट काटेर बसेका छौँ फिल्म देखाउनूस् वाइडबडी, यतिलगायत सबै काण्डको छानबिन गरियोस्”, उहाँले भन्नुभयो ।

एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिङ्गो देशको ध्यान नेपालीलाई भूटानी शरणार्थी बनाएर अर्बौैैैँ घोटला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो ।

एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताउनुभयो । त्यसपछि सांसद बोलिसकेपछि पुनः सभामुखले सांसदलाई बस्न र नियम पालना गर्न अनुरोध गर्नुभयो ।

जवाफमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरुले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमान्दार हुन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीले राखेका कुरा खिसिटिउरी गरिरहनुले विषयलाई विषयान्तर गर्ने र खिसिटिउरी गरिरहेको भन्दै इमान्दारीपूर्वक रायामाझीलाई पक्राउ गर्न सहयोग गरेको खण्डमा काफी हुने उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गर्नुभयो । एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानुनको पालनामा प्रतिबद्ध रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताउनुभयो ।

कांग्रेसका सांसद सुनील शर्मा भूटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराउनुभयो । सांसद सरिता प्रसाईं भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु हुन्न, निर्दोष उम्कनु हुन्न । सांसद रञ्जुकुमारी झाले भ्रष्ट्राचारको मामिलामा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताउनुभयो । उहाँले नागरिकतासम्बन्धी आम नेपालीको समस्या भएकाले यसमा राजनीति नगरी संविधान र कानुनसम्मत ढङ्गले अघि बढाएर पीडित जनतालाई न्याय दिनुपर्ने औँल्याउनुभयो ।

सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताउनुभयो । उहाँले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गर्नुभयो । सांसद हरि ढकालले विगत ३३ वर्षमा धेरै भ्रष्टाचारका काण्ड भएको भन्दै आयोग बनाएर भ्रष्टाचारीको छानबिन हुनुपर्ने माग गर्नुभयो । उहाँले सरकारले भूटानी शरणार्थीसम्बन्धी छानबिन गर्ने तदारुकता देखाएकोप्रति धन्यवाद ज्ञापन पनि गर्नुभयो । सांसद मेटमणि चौधरीले तत्कालीन गृहसचिव, मन्त्री र उच्चपदस्थ अधिकारी भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको खुल्दै गएकाले यो कार्यमा संलग्न सरकार प्रमुखलाई समेत कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढङ्गले उठाउन नसकेको बताउनुभयो । सांसदहरुले आकस्मिक समयमा समसामयिक विषयमा समधारणा राखिसकेपछि बैठक कार्यसूचीमा प्रवेश गरेको थियो ।