नीति तथा कार्यक्रम तयार पार्न छलफल


हेटौँडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम तयार पार्नका लागि प्रदेशको संसद्मा सहभागी सातवटै दलहरुसँग छलफल गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मुख्यमन्त्री शालिकराम जमकट्टेलले अध्यक्षतामा छलफल भएको हो ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र),नेकपा (एकीकृत समाजवादी), हाम्रो नेपाली पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दल नेता, सचेतकलगायत प्रतिनिधिहरुको सहभागितामा छलफल भएको मुख्यमन्त्री जमकट्टेलका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार जनभावनाअनुरुप काम गर्नेगरी बजेट तयार पार्नका लागि दलहरुको राय सुझाव लिइएको हो ।
आकारभन्दा पनि व्यावहारिक हुनुपर्नेतर्क दलका नेताहरुका सुझाव रहेको ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार प्रत्येक दल र जनभावना समेटेर प्रभावकारी नीति तथा कार्यक्रम ल्याउनका लागि मुख्यमन्त्री जमकट्टेलले छलफल चलाउनुभएको हो ।