`

विदेश जाने लोभमा करोडौँ फस्यो

काठमाडौँ – अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा एक सय एकजना ठगिएको फेला परेको छ । पीडितहरु साढे तीन करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति रु ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । गिरोहले पीडितहरुबाट पटकपटक गरी जम्मा रु तीन करोड ५६ लाख आठ हजार लिएर फरार भएका भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आज पक्राउ गरिएको रेग्मीले बताउनुभयो । उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।

आर्थिक वृद्धि न्यून हुने देखिएको छ : अर्थमन्त्री डा महत

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशरण महतले चालु आर्थिक वर्षमा उत्पादन, व्यापार र निर्माण क्षेत्रमा सुस्तता आएकाले आर्थिक वृद्धि न्यून हुने देखिएको बताउनुभएको छ ।

राष्ट्रियसभाको आजदेखि सुरु भएको चौधौँ अधिवेशनको पहिलो बैठकमा उहाँले ‘आव २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दै आशा गरेअनुरुप राजस्व परिचालन हुन नसकेको र सार्वजनिक ऋणको दायित्व बढ्दै गएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारी खर्चको प्राथमिकीकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृत्ति कायमै छ । साधारण खर्च वृद्धि हुँदै गएको छ, आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च न्यून हुनाका साथै खर्चको प्रभावकारिता बढ्न सकेको छैन ।”

उक्त प्रस्तावमाथि यही वैशाख २५ र २६ छलफल हुनेछ । राष्ट्रिसभाका सदस्यले प्रस्तावमाथि उठाउनुभएको जिज्ञासाको अर्थमन्त्री डा महतले २६ गते जवाफ दिनुहुनेछ । ती दुवै दिन अर्थमन्त्रीले राख्नुभएका प्रस्तावमाथि केन्द्रित भई छलफल हुने अध्यक्ष तिमिल्सिनाले सभालाई जानकारी गराउनुभयो ।

सभामा उठाइएका विषयवस्तुको टिपोट गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र संसद् सचिवालयलाई बैठकमा निर्देशन दिइयो । राष्ट्रियसभाको अर्का बैठक यही सोमबार बिहान १० बजेर ३१ मिनेटमा बस्नेछ ।

जनताको विश्वास जगाउने पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताप्रति विश्वास जगाउने पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार एवं सम्मान कार्यक्रम–२०८० को उपलक्ष्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनतामा आस्था एवं विश्वास बढाउनुका साथै पत्रकारिता पेशलाई सत्यतथ्यका आधारमा अगाडि बढाउनुपर्ने तर्क गर्नुभयो ।

सो अवसरमा राससकर्मी चन्द्रकला न्यौपाने भण्डारी (झापा), राजेश विद्रोही यादव (सुनसरी), सोमनाथ अधिकारी सुसेली (इलाम) र सटेन्द्र जवेगु (इलाम) लाई नगदसहित पुरस्कृत गरियो । मुख्यमन्त्री कार्कीले यस दिवसले नेपालको पत्रकाररिता क्षेत्रलाई सुधार्दै जनतामा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले कानुन निर्माण गरी प्रदेश सञ्चार प्रतिष्ठान बनाउने र यसको माध्यमबाट पत्रकारिता क्षेत्र बलियो तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै यस पेशाप्रति आकर्षण बढाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले संविधान दिवस, गणतन्त्र दिवस र प्रदेश स्थापना दिवसजस्ता महत्वपूर्ण दिनहरुमा समाजमा योगदान गर्ने प्रदेशका पत्रकारलाई आगामी दिनमा सम्मान गर्ने जानकारी दिनुभयो । जनताको जनादेश, संविधान र कानुनको माध्यमबाट संसद्भित्र छलफल गरी प्रदेशको सामूहिक पहिचानको आधारमा ‘कोशी’नामकरण गरिएको मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नुभयो । आगामी नीति तथा कार्यक्रम एवं बजेटमा जनताले प्रदेश सरकार एवं विकासको अनुभूति हुने खालको सुझाव दिन पत्रकार सङ्घसंस्थालाई उहाँले आग्रह गर्नुभयो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आवश्यक स्रोत र साधनका आधारमा सञ्चारकर्मीलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कृत पत्रकार चन्द्रकला न्यौपाने भण्डारी र सोमनाथ अधिकारी सुसेलीले सञ्चारकर्मीले सचेत, संयमित र वास्तविक सत्य तथ्यका आधारमा समाचार सार्वजनिक गर्नुपर्ने सुझाव दिनुभयो । मन्त्रालयका उपसचिव अर्जुन निरौला र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारीले पत्रकारको क्षमता अभिवृद्धि र विकास तथा सङ्घको भौतिक पूर्वाधारमा सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।

‘आमा बनेपछि पात्रसँग नजिकिए’

काठमाडौं – चारवर्ष अगाडि अभिनेता विजय बरालसँग विवाह बन्धनमा बधिनुभएकी अभिनेत्री प्रमिला खनालले आमा बनेपछि त्यो पात्रको गहिराईलाई बुझेको बताउनुभएको छ । आफू अभिनित प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘हुक्काः एन एब्जर्ड ड्रिम’ बारे जानकारी दिन आज आयोजित कार्यक्रममा उहाँले मातृत्वलाई पर्दामा ल्याए पनि बुझाई बल्ल आएको जानकारी दिनुभयो ।

वैशाखको पहिलो हप्ता आमा बन्नुभएकी अभिनेत्री खनालले चलचित्रको पात्रलाई अझै नजिकबाट महसुस गरेको बताउनुभयो । “हामीले पर्दामा गरिरहेको अभिनयमा चाहिने ममता, धैर्यता र सङ्घर्षलाई महसुस गरे । सम्बन्ध विच्छेदपछि माइतमै बसेकी एक छोरीकी आमा र गाउँकी मुखियाकी छोरीको चरित्रमा देखिएकी छु”, अभिनेत्री खनालले भन्नुभयो ।

चलचित्र ‘दबाब’ बाट अभिनय यात्रा सुरु गर्नुभएकी अभिनेत्री खनालले सहायक चरित्रबाट मुख्य चरित्रमा आफूलाई प्रस्तुत गर्न गरेको सङ्घर्षलाई सम्झिनुभयो । अभिनेत्रीको फेरिएको परिभाषाले उहाँलाई अगाडि आउन मद्दत गरेको छ । “पहिला अभिनेत्री भन्ने वितिकै मानसपटलमा आउने चित्र अहिले फेरिएको छ । अहिले नामभन्दा पनि चरित्रलाई दर्शकले बुझ्न थाल्नुभएको छ । परिभाषा फेरिएसँगै धेरैले काम पाइरहनुभएको छ”, अभिनेत्री खनालले भन्नुभयो ।

गाउँमा रहँदा एउटा सामान्य कोइला बालेर तमाखु भरी धुँवा तान्ने भाडालाई ‘हुक्का’ सम्झिने अभिनेत्री खनालले वास्तविकता यो चलचित्रमा काम गरेपछि बुझ्नुभयो । उहाँले यसमा साहसी र निडर महिलाको भूमिका निर्वाह गर्नुभएको छ । शम्भु थापाको निर्देशन तयार भएको चलचित्रमा सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकले अभिनय गर्नुभएको छ ।

मेरो कुनै गल्ती छैन, म डराउँदिन : नेका नेत्री देउवा

काठमाडौँ-नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताउनुभएको छ ।

प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उहाँले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट गर्नुभयो । उहाँले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताउनुभयो ।

उहाँले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सैह्य हुँदैन रहेछ । पुरूषले भनेको ठाउँमा मात्र नारी बस्नुपर्ने, उनीहरूले भनेको भाषा मात्रै हामीले बोल्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले अभ्यास गर्नुपर्नेे, कुनै पनि नारी अलिकति सार्वजनिक जीवनमा आयो भने पुरूषहरूलाई असैह्य हुने परिस्थिति बनेको छ ।

तर पनि जसले जति आलोचना गरे पनि मैले बिराएको छैन, म डराउन्न । उहाँले अहिले चर्चामा रहेको शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता त के त्यो प्रकरणका बारेमा थाहासमेत नपाएको बताउनुभयो । साथै उहाँले आफू विरुद्ध प्रचार गर्ने नेता या जो कसैलाई पनि तथ्यमा आधारित भएर बोल्न पनि आग्रह गर्नुभयो । उहाँले आफू र श्रीमान् शेरबहादुर देउवाको सम्पत्ति विवरण नेपाल सरकारलाई बुझाएको बताउँदै सबै सांसदहरुको पनि सम्पत्ति विवरण वेबसाइटमा प्रकाशित गर्न र कसको के कति सम्पत्ति छ, बढ्यो या घट्यो भन्ने बारेमा जनताले सबैले थाहा पाउने परिस्थिति बनाउन पनि स्पष्ट गर्नुभयो ।

अर्थतन्त्र सुधारलाई केन्द्रमा राखी बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत

काठमाडौँ – सरकारले विनियोजन विधेयक, २०८० का सिद्धान्त र प्राथमिकता संसद्मा प्रस्तुत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठकमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले अहिले सङ्कट उन्मुख रहेको अर्थतन्त्र सुधारलाई केन्द्रमा राखेको छ ।

आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि हासिल गर्ने, रोजगारीका अवसर बढाउने, सुशासन प्रवर्द्धनमा केन्द्रित हुने, सेवा प्रवाहमा सुधार तथा स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राख्नेतर्फ लक्षित हुने अर्थमन्त्री महतले बताउनुभयो ।

सरकारले दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्वलाई आगामी आर्थिक वर्षको बजेटको पहिलो सिद्धान्तका रुपमा राखेको छ । “सरकारी, निजी र सहकारी क्षेत्रको लगानीको प्रभावकारिता वृद्धि गरी उत्पादनमुखी अर्थतन्त्रको आधार निर्माण गर्नेतर्फ बजेट केन्द्रित हुनेछ”, बजेटका सिद्धान्त र प्राथमिकतामा भनिएको छ, “अर्थतन्त्रलाई गतिशील बनाई दिगो, फराकिलो एवम् समावेशी आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न वित्त नीति र मौद्रिक नीतिबीच तादम्यता कायम गरिनेछ । वित्त घाटालाई वाञ्छित सीमाभित्र राखिनेछ ।”

सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायलाई पनि बजेटको सिद्धान्तमा राखिएको छ । संविधानले प्रत्याभूत गरेको गुणस्तरीय शिक्षा, स्वास्थ्य र खानेपानी सुविधालाई सहज रुपमा उपलब्ध गराउने नीति सरकारले लिएको छ ।

दिगो विकास र जलवायु परिवर्तनको विषयलाई केन्द्रमा राखेर सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नेतर्फ बजेट निर्देशित हुने अर्थमन्त्री महतले भन्नुभयो । जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका कार्यक्रमलाई आयोजनाको प्रारम्भिक चरणबाटै समावेश गर्दै जाने जनाइएको छ ।

त्यसैगरी, सङ्घीयताको सबलीकरणको विषय पनि आगामी आर्थिक वर्षको बजेटको निर्देशक सिद्धान्तका रुपमा राखिएको छ । निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकका रुपमा विकास गरी मनोबल बढाउनतर्फ बजेट केन्द्रित हुने जनाइएको छ ।

“लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको भूमिकालाई सबल बनाइनेछ । नीतिगत स्थिरता, व्यवसायमैत्री नीति र प्रक्रिया सरलीकरण गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गरिनेछ”, बजेटका सिद्धान्त र प्राथमिकतामा भनिएको छ ।

त्यस्तै, सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा सुधारलाई पनि सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्तका रुपमा राखेको छ । “भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिइनेछ । नागरिकलाई प्रदान गर्ने सेवाको पहुँच र गुणस्तर वृद्धि गरिनेछ”, बजेटको सिद्धान्त, प्राथमिकतामा भनिएको छ ।

आगामी आर्थिक वर्षको बजेटका लागि सरकारले विभिन्न क्षेत्रगत प्राथमिकता पनि निर्धारण गरेको छ । किसानको आयआर्जनमा सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गर्ने, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाएर मुलुकलाई आत्मनिर्भरतातर्फ उन्मुख गराउने, कृषिको व्यावसायिकीकरण तथा यान्त्रिकीकरण गरी उत्पादनलाई प्रतिस्पर्धी बनाउने लगायतका विषय बजेटको प्राथमिकतामा राखिएका छन् ।

त्यस्तै, औद्योगिक क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी उपभोग्य वस्तुमा वैदेशिक निर्भरता कम गर्दै जाने सरकारको योजना छ । उद्यमशीलता विकासका साथै स्टार्टअपलाई प्रोत्साहन गरी नयाँ उद्यमीलाई आकर्षित गरिने जनाइएको छ ।

“शिक्षा क्षेत्रको विकासमार्फत ज्ञानमा आधारित अर्थतन्त्रको आधारस्तम्भ तयार गरिनेछ । आधारभूत शिक्षामा सबै बालबालिकाको पहुँच पु¥याइनेछ । विद्यालयमा शिक्षाको गुणस्तर सुधार गरिनेछ”, बजेटका प्राथमिकतामा भनिएको छ, “प्राविधिक शिक्षामा जोड दिइनेछ । उच्च शिक्षालाई उत्पादनमूलक र अनुसन्धानमूलक बनाइनेछ ।”

ठूला र रणनीतिक महत्वका भौतिक पूर्वाधार आयोजनालाई उच्च प्राथमिकतामा राख्ने जनाइएको छ । “काठमाडौँ तराई मधेस द्रुतमार्ग, पूर्वपश्चिम जोड्ने लोकमार्ग र उत्तरदक्षिण जोड्ने करिडोर निर्माण कार्यलाई तीव्रता दिइनेछ । सबै स्थानीय तहको केन्द्रलाई नजिकको सडक सञ्जालसँग जोडिनेछ”, बजेटका प्राथमिकतामा भनिएको छ ।

आन्तरिक आवश्यकता पूरा गरेर निर्यातमार्फत देशको आयको मुख्य स्रोतका रुपमा ऊर्जा रहने गरी जलविद्युत् क्षेत्रको विकास गरिने जनाइएको छ । त्यस्तो विद्युतीय यातायातको प्रयोग र धराशयी विद्युत् खपतलाई बढावा दिइने जनाइएको छ । सूचना प्रविधि क्षेत्रलाई उद्योगका रुपमा विकास गर्ने विषय सरकारको प्राथमिकतामा परेको छ । त्यस्तै, सूचना प्रविधिको व्यवसायिकीकरण तालिम सञ्चालन गरी सेवा निर्यात बढाइने जनाइएको छ ।

आगामी आर्थिक वर्षको बजेटमार्फत पर्यटन व्यवसायलाई आयआर्जन, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्वपूर्ण क्षेत्रका रुपमा विकास गरिने सरकारको योजना छ । “कोभिड–१९ महामारीपछि पुनर्जागृत हुँदै गरेको पर्यटन क्षेत्रलाई थप गति दिन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिनेछ । महत्वपूर्ण धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरुको विकास र अन्तर आबद्धता कायम गरी पर्यटन प्रवर्द्धन गरिनेछ”, बजेटका सिद्धान्त तथा प्राथमिकतामा भनिएको छ ।

वन सम्पदाको संरक्षणका साथै समुचित उपयोग प्रणालीलाई व्यवस्थित गरिने, देशको आर्थिक विकासमा युवाको सहभागिता र उद्यमशीलता प्रवर्द्धन गर्ने, महिलाका लागि उद्यमशीलता र रोजगारी प्रवर्द्धन गर्ने लगायतका विषयहरू पनि आगामी आर्थिक वर्षको बजेटको प्राथमिकतामा परेका छन् ।

त्यसैगरी, मित्रराष्ट्रहरुसँग सन्तुलित र आपसी हित अभिवृद्धि गर्ने गरी परराष्ट्र नीति अवलम्बन गर्ने, छिमेकी एवम् उदीयमान अर्थतन्त्र भएको देशबाट लाभ प्राप्त गर्नेगरी आर्थिक कूटनीति सञ्चालन गर्ने, बहुपक्षीय सङ्घसंस्थासँगको सम्बन्ध नेपालको हित र आर्थिक सुरक्षा संवर्द्धन गर्नेतर्फ लक्षित गर्ने विषयलाई पनि सरकारले आगामी आर्थिक वर्षको प्राथमिकतामा राखेको छ ।

संविधानले परिकपना गरेअनुसार गैरआवासीय नेपालीले नागरिकता पाउँछन् : परराष्ट्रमन्त्री साउद

नगढी, २४ वैशाख-संसदमा विचाराधिन रहेको गैरआवासीय नेपाली सम्बन्धी नागरिकताको विषयमा नेपालका प्रमुख दलका नेताहरूले साझा प्रतिबद्धता व्यक्त गरेका छन् । चेक रिपब्लिकको राजधानी प्रागमा जारी गैरआवासीय नेपाली संघको १५औं युरोप क्षेत्रीय सम्मेलनलाई आइतवार सम्बोधन गर्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका संसदहरूले गैरआवासीय नेपालीहरूका मुद्दामा एक मत जाहेर गरेका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले संविधानले गरेको परिकल्पनाभित्र गैरआवासीय नेपालीले नागरिकता पाउनेमा दुईमत नभएको बताए । चेक रिपब्लिकमा जारी १५औं यूरोपेली क्षेत्रीय सम्मेलनको समापन सत्रमा आइतबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले संविधानले नै व्यवस्था गरेर गैरआवासीय नेपालीलाई आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता दिने भनी  स्पष्ट व्यवस्था रहेकोले अबको केही समयभित्रै नागरिकताको मुद्दा सम्बोधन हुने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले भने, ‘गैरआवासीय नेपालीको नागरिकता सम्बन्धी मुद्दा १५/१६ वर्षदेखि बहसको विषय बनिरहेको छ अब यसलाई सम्बोधन गर्न ढिलो भइसक्यो, यस मुद्दालाई सम्बोधन गर्ने प्रतिवद्धता म सरकारको तर्फबाट गर्दछु ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसको संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गैरआवासीय नेपाली नागरिकता लगायतका विषय नेपाली कांग्रेस सकरात्मक रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको नागरिकता, सम्पती अधिकार, मताधिकारका विषयमा बिभिन्न कानूनहरुमा संशोधन गर्नु पर्नेमा जोड दिए । लेखकले आगामी दशैँ तिहारभित्रै गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गरिने प्रतिबद्धता जनाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नेपालको संविधान निमार्णमा गैरआवासीय नेपालीको समेत भूमिका भएको चर्चा गरे ।

उनले समयअनुकूल आवश्यकता अनुसार संविधानलाई संसोधन तथा परिमार्जन गरेर गैरआवासीय नेपालीलाई थप अधिकार दिन सकिने बताए । उनले गैरआवासीय नेपाली संघलाई सबै नेपालीहरुको साझा संस्थाको रूपमा विकास गर्न सबै दलीय शक्ति एक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले गैरआवासीय नेपाली सम्बन्धी नागरिकता समस्या नभएर पृथक र तत्काल सम्बोधन गर्नुपर्ने मुद्दा भएको भन्दै चर्चा गरे । उनले  नेपालका राजनीतिक दलहरुलाई थप जिम्मेवारी दिनसमेत  गैरआवासीय नेपालीहरूलाई आग्रह गरे ।

‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्न माग

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टीले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सङ्लग्न व्यक्तिलाई कारबाही गर्नुपर्ने माग गरेको छ । सो पार्टीले प्रकरणमा सङ्लन कुनै पनि व्यक्तिलाई राजनीतिक संरक्षण हुन नहुने भन्दै यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्नुपर्नेसमेत माग गरेको छ ।

“नेपालबाट गैरभुटानी नेपालीलाई भुटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै राष्ट्रको घोर बेइज्जत हुने ठगी तथा भ्रष्टाचार काण्डको पर्दाफास भएको छ, त्यसको यथार्थ छानबिन गरी दोषी सबैलाई कडाभन्दा कडा दण्ड सजाय गर्न माग गर्दछौँ”, आज जारी विज्ञप्तिमा भनिएको छ ।

विगतमा भ्रष्टाचारका ठूलठूला घोटालाबारे केही समय हो–हल्ला चलाएर ती सबैलाई ढाकछोप गर्ने र भ्रष्टाचारीलाई चोख्याउने जुन गलत परम्परा रहेको भन्दै जुनसुकै दल निकट व्यक्ति वा उच्चपदस्थ भए पनि ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा सलग्न दोषीलाइ उम्कन दिन नहुने सो पार्टीको भनाइ छ ।

आज प्रतिनिधिसभा बैठकः बिनियोजित बिद्येयक माथी छलफल सुरू हुने

काठमाडौं, २४ बैशाख । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दोस्रो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । 

संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने छन भने सभामुख घिमिरेले राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रि पदमा नियुक्ती सबन्धि पत्र पढेर सुनाउने कार्यसुची रहेको छ ।

यसैगरी सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरुलाई मनोनयन गर्ने तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०÷८१ का लागि बिनियोजित बिद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।
 

आज राष्ट्रियसभा बैठकः कानुन मन्त्रीले मिटर ब्याँज सबन्धि अध्यादेश पेश गर्ने

काठमाडौं – संघीय संसद अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दैछ । राष्ट्रियसभाको चौथो अधिवेसनको बैठक आज अपरान्ह ४ बजे संघीय संसद भवन बानेश्वरमा बस्नेछ । 

संघीय संसद भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयवाट प्राप्त अधिवेसन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउने छन भने अध्यक्ष तिमिल्सिनाले  राष्ट्रपति कार्यालयवाट प्राप्त मन्त्रि पदमा नियुक्ती र कार्यभार सबन्धी  पत्र पढेर सुनाउने कार्यसुची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी नेपाल ऐनलाई संसोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ ।

साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आब २०८०/८१ का लागि बिनियोजित बिद्येयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथी छलफल गरियोस भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

नेपालीसँगै हिन्दी भाषामा चलचित्र ‘परस्त्री’

काठमाडौं-पछिल्लो समय नेपाली चलचित्र विदेशी भाषामा स्वराङ्कन भएर प्रदर्शन हुने क्रम बढेको छ । गतवर्ष ‘प्रेम गीत ३’ को प्रदर्शन हिन्दी भाषामा भएसँगै अन्य निर्माताले छिमेकी राष्ट्र भारतमा नेपाली चलचित्रको बजार विस्तार गर्न प्रयास गरिरहेका छन् ।

अभिनेता हुँदै निर्देशक बन्नुभएका सुरज पाण्डेले आफ्नो पहिलो निर्देशकीय चलचित्र ‘परस्त्री’ को प्रदर्शन हिन्दी भाषामा गरिने जानकारी दिनुभयो ।

“हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझैँ भव्यता थप पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ”, निर्देशक पाण्डेले भन्नुभयो ।

आगामी असार १५ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा कलाकार कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शमाले अभिनय गर्नुभएको छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथावस्तुमा निर्माण भएको चलचित्रको प्राविधिक कार्य भारतकै मुम्बईमा भइरहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गर्नुभएको छ । हिन्दी भाषामा नेपाली चलचित्रले दर्शक पाएमा यहाँ निर्माणका लागि बजेट समेत भित्रिने वितरक करण श्रेष्ठको भनाइ छ ।

“हामी कहाँ हिन्दी भाषामा बन्ने चलचित्रको बजार राम्रो छ । यद्यपि भारतमा हामीले नेपाली चलचित्रलाई राम्रोसँग प्रदर्शन गर्न सकिरहेका छैनौँ । विस्तार भइरहेको प्रयाशले पक्कै एक दिन सफलता दिनेछ”, वितरक श्रेष्ठले भन्नुभयो ।

नक्कली शरणार्थी प्रकरण संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्छ : उपाध्यक्ष महरा

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने बताउनुभएको छ ।काठमाडौँस्थित संवाद डबलीले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, “नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराधमा संलग्न कसैलाई पनि सरकारले छाड्नुहुँदैन, यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ ।” उहाँले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा सरकार अडिग रहेको बताउनुभययो ।

इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यपुस्तक विद्यालयमा पु¥याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको पनि उहाँले बताउनुभयो ।

राजनीतिक प्रसङ्ग जोड्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत रहेको पनि बताउनुभयो । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उहाँको भनाइ थियो ।

माओवादी केन्द्रका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष महराले सरकार जनतासँग गरेको प्रतिबद्धता अनुरुप अघि बढिरहेको दाबी गर्नुभयो । माओवादी केन्द्रसहित छ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको पनि उहाँले बताउनुभयो ।

टोखा–छहरे सुरुङमार्ग निर्माण सुरु गर्न लागेका छौँ : अर्थमन्त्री डा महत

त्रिशूली – अर्थमन्त्री डा प्रकाशरण महतले काठमाडौँको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङमार्ग निर्माण कार्य थालनी गर्न लागिएको बताउनुभएको छ ।

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित गुरु पद्मसम्भवको आज मूर्तिको प्राण प्रतिस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङमार्ग निर्माणका लागि धेरै पहिलेदेखि बहस भए पनि अब भने काम सुरु गर्न आवश्यक बजेटको विनियोजन गर्ने बताउनुभयो ।

“नुवाकोटसहित रसुवा हुँदै चीनसँगको केरुङ बजारसँगको व्यापार बढाउन टोखा–छहरे सुरुङ मार्गको परिकल्पना गरिएकाले कार्यान्वयनमा लैजान लागिएको हो ।” उहाँले भन्नुभयो, “कृषि र पर्यटनको विकास, उद्योग व्यवसायको वृद्धि, धार्मिक तथा सांस्कृृतिक गतिविधिलाई चलायमान बनाएर केरुङ हुँदै चीनसँगको व्यापार बढाउन के–कति सकिन्छ आगामी आर्थिक वर्षमा बजेट तर्जुमा गर्न लागिएको छ । यसलाई कार्य प्रारम्भका रुपमा लिनुपर्छ ।”

सङ्घीय सरकार आगामी आर्थिक वर्षको तयारीमा रहेकाले उत्पादक र ठूला योजनाका क्षेत्रमा बजेटले प्राथमिकता पाउने नेपाली कांग्रेसका प्रवक्तासमेत रहनुभएका डा महतको भनाइ छ ।

“विकास निर्माणलाई कांग्रेसले सदैव प्रथामिकता दिँदै आएको छ । जनताको सुखदुःख, विकास निर्माण, धर्म र संस्कृति तथा मानवीय जीवनसँग जोडिएका पक्षमा काम गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो, “अहिले अर्थतन्त्र अप्ठ्यारो परिस्थितिको भएकाले धेरै अपेक्षा नराख्न तर, राम्रा र नमुना कामको थालनी हुन्छ भन्नेमा ढुक्क हुनुहोस् ।”

दुप्चेश्वर–४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा निर्मित ‘गुरु पद्मसम्भव’ मूर्तिको प्राण प्रतिस्थापन गर्दै उहाँले बुद्धपछिको बुद्ध भगवान्का रुपमा सम्मानित भगवान् पद्म सम्भवको मूर्तिको स्थापनाले धार्मिक र सांस्कृतिक संरक्षणमा सहयोग पुग्ने बताउनुभयो ।

“दण्ड–जरिवाना गराउने कानुनभन्दा नैतिकवान बनाउने धर्म, संस्कार र मान्यताले हामी चलेका छौँ”, उहाँले भन्नुभयो, “हजारौँ वर्षदेखि मानिस एकअर्काप्रति सद्भाव कायम राख्दै जीवन चलाइरहेका छाँै । त्यो हाम्रो महान धर्म, संस्कृति र त्यसले सिकाएको पाठको नतिजा हो ।”

एक हजार दुईसय वर्षअघि बुद्ध धर्मको प्रचारमा तिब्बत र नेपाली भूमिमा योगदान पु¥याउनुभएका ‘गुरु पद्मसम्भव’लाई बौद्ध धर्मालम्वीले बौद्ध पछिको बौद्ध भगवान्को अवतारका रुपमा पुज्ने गरेका छन् । उहाँले सिकाइको पाठलाई अनुशरण गर्दै बौद्ध दर्शन अध्ययन केन्द्रका रुपमा छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसम्भव’को मूर्ति प्रतिस्थापन गरिएको गुम्बा व्यवस्थापन समितिका सल्लाहकार योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो ।

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो

काठमाडौँ – गोरखाको मनास्लु क्षेत्रमा पदायात्रका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ ।गत वैशाख १८ गते मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । वैशाख १८ गते उक्त क्षेत्रमा हिमपात भएको थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौँ ल्याउनका लागि टानले पहल गरिरहेको बताउनुभयो । काठमाडौँ ल्याउन लागिएको उक्त शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ ।

जलवायु परिवर्तनको असरबारे स्थानीयमा पर्याप्त जानकारी छैनः उपसभामुख

डोल्पा – जलवायु परिवर्तनले स्थानीयमा पारेको असरबारे जानकारी लिन उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली डोल्पाको फोक्सुण्डो क्षेत्रमा आइपुगेको छ ।

टोलीले दुनैहुँदै शे फोक्सुण्डो ताल क्षेत्र पुगी स्थानीयसँग भेटघाट र अन्तक्र्रिया गरेको छ । शे फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको अन्तक्र्रिया उपसभामुख रानामगरले जलवायु परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पु¥याएको बारे स्थानीयमा त्यसबारे पर्याप्त जानकारी नभएको बताउनुभयो ।

“जलवायु परिवर्तनले यस क्षेत्रमा ठूलो समस्या पारेको छ । प्रकृतिको संरक्षण हुन सकेको छैन । त्यसले पर्यटनलाई प्रभावित बनाएको छ । यसलाई रोक्न सबैको सहकार्य जरुरी छ”, उहाँले भन्नुभयो । वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा आयोजना गरेको कार्यक्रममा रानामगरले भन्नुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र यसबारे अदालतले यसबारे विभिन्न निर्णय गरेको बताउनुभयो । “प्रकृतिको पनि आत्मसम्मान हुन्छ । त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ । यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ, नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक छ”, उहाँले भन्नुभयो । न्यायाधीश मल्लले सरकारले विशेषरुपमा यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभाका सांसद एवं पूर्वपरराष्ट्र मन्त्री डा विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताउनुभयो । उहाँले यसबारे संसदमा आवाज उठाउने बताउनुभयो ।

शे फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, वडा न ८ का वडा अध्यक्ष निमा लामालगायतले केन्द्रबाट आएको टोलीसमक्ष ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेश गरेको थियो ।

वन मन्त्रालय, शे फुक्सुण्डो गाउँपालिका, नेपाल टेलिकम, नेपाल, दूरसञ्चार प्राधिकरण, डब्ल्यूडब्ल्यूएफसहितको सहकार्य र समन्वयमा भएको कार्यक्रममा स्थानीयले जलवायु परिवर्तनका असर र समस्या राखेका थिए । आयोजक संस्था साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिई सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जो कोहीलाई कारबाही गर्नुपर्छ : उपाध्यक्ष महरा

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरण’मा संलग्न जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आयोजित कार्यक्रममा सो पार्टीका प्रवक्तासमेत रहनुभएका उपाध्यक्ष महराले सो प्रकरणमा संलग्न सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही हुने विषयमा कुनै पनि खालको भेदभाव हुनु हुँदैन, सरकारले सबैलाई कारबाही गर्नुपर्छ ।”

उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि वर्तमान सरकार बहुमतमै रहेको बताउँदै सो पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकारलाई असर नपर्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “रास्वपाले समर्थन फिर्ता लिए पनि असर पर्दैन, सरकारलाई विश्वासको मत लिन पनि कुनै समस्या छैन, सरकार अहिले पनि बहुमतमै छ ।”

उपाध्यक्ष महराले समाजवादी मोर्चा घोषणाका लागि आफूहरु प्रयासरत रहेको बताउँदै त्यसका लागि नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, विप्लब नेतृत्वको नेकपासहितका छ वटा राजनीतिक पार्टीबीच छलफल चलिरेको जानकारी दिनुभयो ।

संवैधानिक परिषद्को बैठक सोमबार

काठमाडौं – संवैधानिक परिषद्को बैठक बोलाइएको छ । सोमबार अपराह्न पाँच बजेका लागि संवैधानिक परिषद्को बैठक बोलाइएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशको नियुक्त सिफारिस नभइरहेका बेला शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बैठकबारे छलफल गरेपछि संवैधानिक परिषद् बैठकको मिति तय भएको हो । 

संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलका नेता पदेन सदस्य रहने व्यवस्था छ । यसअघिको परिषद् बैठकमा ओलीले पुराना कुरा कोट्याएको भन्दै कुनै निर्णय हुन सकेको थिएन । 

चार्ल्स तृतीय र क्यामिलालाई बाइडेनको बधाई

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिनुभएको छ । उहाँले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उहाँहरूप्रति सद्भाव व्यक्त गर्नुभएको छ ।

लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भन्नुभएको छ ।

राज्याभिषेक समारोहमा संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व प्रथम महिला जिल बाइडेनले गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत सम्प्रेषित वधाई सन्देशमा भन्नुभएको छ, “यस ऐतिहासिक अवसरको लागि अमेरिकी प्रथम महिला वाइडेन त्यहाँ उपस्थित भएको र यसमा मलाई गर्व लागेको छ ।”

शुक्रबार प्रसारित एक अन्तर्वार्तामा बाइडेनले जुलाईमा नयाँ राजालाई विशेष गरी वातावरणका बारेमा कुरा गर्न आफूले भेट्ने बताउनुभएको थियो । “हामी युरोपमा नेटोको सम्मेलनमा जान लागेका छौं, र मैले (चार्ल्स ) लाई उक्त अवसरमा भेट्नेछु,” बाइडनले एमएसएनबीसीसँग भन्नुभयो ।

नेटोको वार्षिक शिखर सम्मेलन जुलाई ११ र १२ मा लिथुआनियाको भिल्नियसमा हुने तय भएको छ ।बाइडेनले अप्रिलको सुरुमा चार्ल्सलाई फोन गरेर गद्दी आरोहण भएकोमा बधाई दिनुभएको थियो ।

सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्छ : जसपा अध्यक्ष यादव

भक्तपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं सांसद उपेन्द्र यादवले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सरकारले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उहाँको भनाय छ । “सरकारको स्थिरताबिना मुलुकको आर्थिक, सुशासन र समृद्धि प्राप्त हुँदैन, त्यसैले सत्तामा रहेका राजनीतिक दलले मुलुक र जनताको हितमा परिवर्तनमुखी काम गर्नु पर्दछ ।”

अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकार परिवर्तनको हल्ला व्यर्थ रहेको बताउदै उहाँले भन्नुभयो, “दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित हुँदैन । अब जनतालाई गरेर देखाउने बेला आएको छ, हाम्रो पाटी शिक्षा, रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ ।”

अध्यक्ष यादवले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर विदेश पठाउँदै कमाउने प्रथा चलेकोबारे आफूले पहिलोपल्ट सुनेको भन्दै यसबारे सरकारले गम्भीररुपमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले वर्तमान आर्थिक सङ्कटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले व्यापारीले घरमा थुपारेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “घरघरमा थुपारिराखेको रकमलाई बाहिर ल्याउन पाँचसय र एकहजारका नोट विमुद्रीकरण गर्ने जुन हल्ला बजारमा छ, त्यसो गरिए देशको आर्थिक सङ्कट झन बल्झिने मात्र नभई अर्थतन्त्र नै डामाडोल हुन्छ, त्यस्तो कदम सरकारकै लागि आत्मघाती हुनेछ ।”सांसद यादवले कोशी प्रदेशमा नामकरणलाई लिएर चलिरहेको असन्तोषलाई गम्भीरतापूर्वक ध्यान दिएर सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

चार्ल्स तृतीयद्वारा राजमुकुट ग्रहण

लण्डन – चार्ल्स तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट ग्रहण गर्नुभएको छ । उहाँलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिनुभएको हो ।

राजा चार्ल्स तृतीय यो राजमुकुट पहिरिने सातौँ शासक हुनुहुन्छ । यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिनुभएको थियो । उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उहाँको राज्याभिषेकमा पहिरिनुभएको थियो ।

सोही समारोहमा आर्कविशपले रानी कमिलालाई ‘क्वीन मेरीज’ नामक ताज पहि¥याइदिनुभएको थियो । उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो ।

वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चाल्र्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिनुभएको थियो ।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गरिएको थियो । सरकार प्रमुखको रूपमा बाइबलका पवित्र श्लोकहरू बेलायती प्रधानमन्त्री ऋषि सुनकले बाचन गर्नुभएको थियो । उहाँ हिन्दू हुनुहुन्छ ।

पत्नी रानी कमिलाका साथ राजा चार्ल्स बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा मध्य लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत उहाँहरूको स्वागत गरेको थियो । सवारीका समय शहरको सुरक्षालाई मध्यनजर गर्दै झण्डै १२ हजार प्रहरी अधिकारीलाई तैनाथ गरिएको थियो ।

राज्याभिषेकको परेडलाई प्रत्यक्षरूपमा हेर्न मानिसहरू अनुकूल स्थान सुनिश्चित गर्नका लागि विहान सबेरैदेखि सडकमा कुरेर बसेका थिए ।वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उहाँहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ जानुहुनेछ ।

जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताउनुभएको छ ।

नेपाल दलित मुक्तिमोर्चाको छैटौँ राष्ट्रिय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणमा कुनै कञ्जुस्याइँ नगरिने बताउनुभयो। उहाँले भन्नुभयो, “लामो समयदेखि गलत नीति, संस्कार, बेथिती, कार्यशैली र मुख्यतःभ्रष्टाचारका कारणले नै नेपालको स्थिति अहिले आर्थिक सङ्कटको स्थिति बनेको हो ।”

उहाँले सुशासन कायम गर्ने गम्भीर र पेचिलो लडाईं भएको उल्लेख गर्दै त्यसका लागि प्रारम्भिक कदम चालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुशासन कायम गर्ने भन्न जति सजिलो छ त्यो उति नै चुनौतीपूर्ण छ । सुशासन भन्नेबित्तिकै भ्रष्टाचार नियन्त्रण गर्ने कुरासँग सम्बन्धित छ ।”

प्रधानमन्त्री दाहालले आफू सरकारको नेतृत्वमा आएको सुरुका दिनबाटै तीन वटा शब्दलाई सरकारको प्राथमिकताका रुपमा अगाडि बढाएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले पहिलो सामाजिक न्याय, दोस्रो सुशासन र तेस्रो समृद्धि सरकारको उच्च प्राथमिकतामा रहने छ भनेर भनेको थिएँ ।”

प्रतिगमनविरुद्धको आन्दोलनको स्मरण गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “दुई÷दुई पटक संसद् विघटन गरिएको थियो । त्यो संसद् विघटन थिएन, त्यो संविधान विघटन थियो । त्यो हजारौँको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षडयन्त्र थियो । त्यसको केही समयपछि एकपटक हैन, तीन पटक काठमाडौँमा लाखौँ जनता आइसकेपछि उनीहरूका प्रतिगमनका षड्यन्त्र परास्त भए, नेपाली जनता फेरि विजयी भए, हामी फेरि विजयी भयौँ ।”

प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनमा दलित समुदाय अग्रमोर्चामा रहेर क्रान्तिलाई सफल बनाउन भूमिका खेलेका उल्लेख गर्दै भन्नुभयो, “हामीले आफ्नै मौलिकतामा क्रान्ति अगाडि बढाउँदै लगेका थियौँ । तर आज परिवर्तन उल्याउने कसरत भइरहेको छ । दलितको संवैधानिक अधिकारलाई उल्ट्याउने षड्यन्त्र भइरहेको छ । दलितलाई दिइने विशेष अधिकार उपल्लो वर्गले दिने दान होइन । दलित आफैँ लडेर ल्याएको अधिकार हो ।”

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का नेता महेश्वरजङ्ग गहतराज, गोपीबहादुर अछामी सार्कीलगायतले दलित तथा अल्पसङ्ख्यक समुदायको हितका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने धारणा राख्नुभएको थियो ।

चण्डेश्वरी जात्रा : ‘ल्हाका पालुं हाः’मा रम्दै बनेपाली

बनेपा-बनेपामा चण्डेश्वरी जात्रा सुरु भएको आज तीन दिन भयो । बुधबार अपराह्न हनुमान ढोकाबाट तरबार (खड्ग) ल्याई सरकारकातर्फबाट पूजा गर्ने व्यक्तिको सहभागिता जनाएपछि बनेपाको प्रसिद्ध चण्डेश्वरी जात्राको औपचारिक सुरुआत गरिएको हो । १७औँ शताब्दीदेखि हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमाको दिनदेखि मानिदै आइएको जात्रा भोलि सम्पन्न हुँदैछ ।

विशेषगरी नेवार समुदायले मनाउने जात्राअन्तर्गत हिजो पूर्णिमाको दिन बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाले बोकेर ‘ल्हाका पालुं हाः’ (सबैले एकैचोटी उचालौँ) भन्दै चण्डेश्वरी पु¥याएका थिए ।

एकपटक उचालेर अलिअघिसम्म लगेपछि बिसाउने रथलाई पुनःउचाल्नुपर्दा हरेक पटक सोही भन्दै झुम्दै आज युवाले रथलाई मन्दिरबाट पुनःबजार परिक्रमा गराएका छन् । रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरुलाई ‘ल्हाका पालुं हाः’ले साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाइरहेका छन् ।

पूर्णिमाको दिन बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकालिएको थियो । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिएको थियो ।

स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धरका अनुसार पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ । त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारका साथ पूजाआजा र बलि दिने परम्परा छ ।

जात्राको सुरुदेखि नै ठाउँठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पु¥याइ र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनःचण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।

बनेपालीका लागि यो जात्रा महान पर्व दशैँ जस्तै लाग्ने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सवले भरिएको देखिन्छ । यस जात्रामा ठूलो सङ्ख्यामा भक्तजनले सहभागिता जनाई धुमधामका साथ मनाइरहेका छन् । विशेषरुपमा नगरको मुख्य (पुरानो) बजारमा जात्रा केन्द्रित बनाइएको छ । विशेष पर्व झैँ मानिने जात्राका लागि चण्डेश्वरी मन्दिर परिसर बेहुली झैँ सिँगारिएको छ ।

जात्रा व्यवस्थापन समिति र स्थानीयले जात्रामा रथोरोहणका लागि ठूलाठूला काठको खट तयार गरेका थिए । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज चलिरहन्छ । सरकारी पूजाआजको प्रतिनिधिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकोमा गर्व गर्छन् । बुढापाकाले टोलटोलमा बसी भजन गाउँछन् । चण्डेश्वरी मन्दिर, सडक, बस्ती–गल्लीमा भीडभाड छ ।

जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । ‘शक्तिकि अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार भक्तजन जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् । बनेपा नगरपालिका कार्यालयले बर्सेनि जात्रामा आर्थिक सहयोग गर्ने गर्दछ ।

चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिएको छ । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएका पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्ने प्रचलन छ भने यहाँको जात्रा छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ ।

प्रचलनअनुसार पूर्णिमाकै दिन धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आआफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गरिएको थियो । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोका बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन छ । बोकाको बाँकी मासु ‘कलंदान’ गरिँदै आइन्छ ।

कलंदान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने गरेको बताइन्छ । किंवदन्ती अनुसार दुई हजार पाँच सय वर्ष अघि धार्मिक कथन अनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरु (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाईसमेत चण्डासुरले जितेपछि देवताहरुको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे । चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीका रुपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसियालीमा आराध्यदेवी चण्डेवरी माई (माता)को जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।

प्रियंका चोपडाले छाडेका सलमान खानसँग तीन फिल्म, जो पछि सुपरहिट हुन पुगे

मुम्बई, २३ बैशाख । प्रियंका चोपडा ग्लोबल स्टार बनेकी छिन् । उनको वेब सिरिज सिटाडेल अमेजन प्राइम भिडियोमा विश्वव्यापी रूपमा रिलिज भएको छ, अब उनको हलिउड फिल्म ‘लभ अगेन’ रिलिजको लागि तयार छ। देसी गर्लले यो फिल्मको प्रचार गरिरहेकी छिन् । 

यसरी कुनै समय भारतमा दर्शकको रोजाइमा परेकी प्रियंका चोपडा आज विश्वभर नाम कमाइरहेकी छिन् । हरेक अभिनेताको जीवनमा यस्ता धेरै कम अवसर आउँछन्, जब उसले आफ्नो कुनै बाध्यताका कारण केही प्रोजेक्टलाई छाडनु पर्ने हुन्छ ।

प्रियंका चोपडासँग पनि यस्तै भएको छ । उनले आफ्नो करियरमा धेरै फिल्म अस्वीकार गरेकी छिन् । तर यहाँ हामी ती तीन फिल्मको बारेमा कुरा गर्न जाँदैछौं, जुन भाइजान सलमान खानसँग थिए र रिलिज पछि ब्लकबस्टर पनि हुन पुगे ।

पहिले सलमान खानको फिल्म भारत (२०१९) को बारेमा कुरा गरौं। यस फिल्मका लागि प्रियंका चोपडालाई फाइनल गरिएको थियो । फिल्मका लागि सबै कुरा तय भइसकेको थियो । तर प्रियंका चोपडाले विवाहको कारण फिल्म छोड्नु पर्ने जनाइन । उनले फिल्मबाट अलग भएको जनाए पछि निकै हंगामा भएको थियो । तर प्रियंकाले प्रायः आफ्नो मनको कुरा सुन्छिन्, र उनले निक जोनससँग आफ्नो जीवन बिताउने आफ्नो निर्णयमा अगाडि बढ्नु उचित ठानिन्।

यति मात्र होइन, साजिद नाडियाडवालाको फिल्म किक (२०१४) मा सलमान खानको अपोजिटमा प्रियंका चोपडा पनि देखिने बताइएको थियो । तर, प्रियंका चोपडाले यो प्रस्ताव अस्वीकार गरिन् । यसको कुनै कारण पत्ता लाग्न सकेको छैन । फिल्ममा प्रियंकाको स्थानमा ज्याकलिन फर्नान्डिसलाई फेरि कास्ट गरिएको थियो र जुन फिल्म पछि आएर ब्लकबस्टर हुन पुग्यो ।

अब कुरा गरौं सलमान खानको फिल्मको जसमा उनी पहलवानको भूमिकामा देखिए र दर्शकको मन जितेका थिए । यो फिल्म सन् २०१६ मा रिलिज भएको ‘सुल्तान’ थियो । यसअघि यो फिल्ममा प्रियंका चोपडालाई कास्ट गर्ने तयारी भइरहेको थियो । तर उनले यो फिल्मलाई अस्वीकार गरिन् । र, सो फिल्ममा अनुष्का शर्मालाई कास्ट गरिएको थियो । यसरी प्रियंकाले सलमान खानसँग अस्वीकार गरेका फिल्महरु ब्लकबस्टर साबित भए । 

तर, यसैबीच प्रियंका पनि ग्लोबल स्टार भइन् ।

कस्तो र कतिको बजेट ?

काठमाडौँ, २४ वैशाख -आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको काम चलिरहेको छ । कोभिड महामारीयता सम्हालिन नसकेको अर्थतन्त्रलाई टेको लगाउन सरकारले कस्तो वित्त नीति तयार पार्छ भन्ने चासो सबैतिर छ । मुर्छाएको अर्थतन्त्रमा प्रायवायु भर्नु र नयाँ आशा जगाउनु अहिलेको पहिलो प्राथमिकता हो ।

सङ्घीयता कार्यान्वयनपछि प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रोपटक सदस्यमा निर्वाचित भइसकेका छन् । भर्खर निर्वाचित भएर संसद् छिरेका जनप्रतिनिधिले चुनाव अघि मतदातासँग गरेको वाचा पूरा गर्नुछ । जसका कारण सत्तासिन राजनीतिक दलका घोषणापत्र कार्यान्वयनका लागि जोडबल चल्नेछ । तर यस वर्ष सरकारलाई अनिवार्य दायित्वकै लागि स्रोत व्यवस्थापन गत सकस छ । नयाँ योजना कार्यक्रम ल्याउनेभन्दा पनि पुरानै कार्यक्रमका लागि सरकारलाई बजेट पु¥याउन धौधौको अवस्था छ ।

पन्ध्रौँ पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) कार्यान्वयनको यो अन्तिम वर्ष हो । सरकारले यो आवधिक योजनाको समीक्षा र १६औँ आवधिक योजनाको तयारी यसै वर्ष थालिसक्नुपर्नेछ । नयाँ आवधिक योजनाका लागि गरिनुपर्ने कागजी काम पनि यसै वर्षभित्र टुङ्ग्याइसक्नुपर्नेछ । सामाजिक सुरक्षा र वृद्धभत्ता चुनावी नारा बने । तर अहिले यसको आर्थिक भार राज्यले धान्न नसक्ने अवस्थामा पुगेको छ । चुनाव जित्ने अश्त्र र सस्तो लोकप्रियताको औजार भन्यो, कहिले रकम बढाउने त कहिले उमेर घटाउने नाममा ।

राज्यबाट विशेष संरक्षणको आवश्यकता भएका नागरिकलाई सामाजिक सुरक्षा आवस्यक पर्छ । तर यसको व्यवस्थापन, समन्वय, न्यायपूर्ण र पारदर्शी छ÷छैन भन्ने विषयमा स्पष्टता छैन । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको तथ्याङ्कअनुसार हाल सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सक्रिय लाभग्राहीको सङ्ख्या ३७ लाख ४४ हजार पाँच सय जना छ । बजेटको करिब १३ प्रतिशत सामाजिक सुरक्षामा जान्छ । सीमित स्रोतबाट अनेकौँ आवश्यकता पूरा हुन सक्दैन भनेर सोच्न जरुरी छ । सङ्घ सरकारले दिएको सामाजिक सुरक्षा माथि प्रदेश र स्थानीय सरकारले पनि आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँडीरहेका छन् ।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडा सामाजिक सुरक्षाबारे सबै राजनीतिक दलले समान धारणा राखेर राष्ट्रिय सहमति बनाएर जानुपर्ने बताउनुहुन्छ । सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति भइसक्ने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने विषयलाई पनि बजेटको केन्द्रमा राखिनुपर्छ । पूर्वाधार विकासमा मात्र नभई मानव विकासका बहुआयामिक पक्षलाई बजेटले हेर्नुपर्छ । राष्ट्रिय स्रोत अनुमान समितिले बजेटको सिलिङ तोकिसकेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्षका लागि रू १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट निर्माण गर्ने भइरहेको छ ।

व्यावहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र अनावश्यक दायित्व थपिने गरी नयाँ आयोजना थप नगर्न सरकारलाई दबाब परेको छ । पूर्वअर्थमन्त्री डा प्रकाशचन्द्र लोहनीले अहिलेको समस्या आर्थिकरुपमा मात्र नभई राजनीतिक रुपमा शासन शैलीमै समस्या रहेकाले त्यसमा सुधार आवश्यक रहेको बताउनुभयो । “देशको शासन गर्ने पात्रहरु, शासकीय पद्धति र प्रक्रियामा परिवर्तन गर्न जरुरी छ । फजुल खर्च कटौतीका लागि थुप्रै अध्ययन भएका छन्, त्यस्ता अध्ययनका सुझाव कार्यान्वयन गरिनुपर्छ”, लोहनीले भन्नुभयो, “साधारण खर्च कम गर्ने, निजी क्षेत्रको मनोबल उठाएर जाने र सँगसँगै शासकीय चरित्रमा पनि सुधार गर्दै जानु आवश्यक छ ।”

पूर्वअर्थमन्त्री डा ज्ञानेन्द्रबहादुर कार्कीले सुस्ताएको अर्थतन्त्रमा आशा जगाउने गरी यथार्थपरक बजेट ल्याइनुपर्नेमा जोड दिनुभयो । “सबै क्षेत्रमा आशा जगाउने गरी यथार्थपरक बजेट आउनुप¥यो । राष्ट्रिय पुँजी निर्माण गर्न ८० प्रतिशत योगदान रहेको निजी क्षेत्रको मनोबल बढाउन आवश्यक छ”, कार्कीले भन्नुभयो, “कृषि, ऊर्जा र पर्यटन क्षेत्र बजेटको प्राथमिकतामा पर्नुपर्छ । वैदेशिक रोजगारीमा गएका श्रमिकको सुरक्षाबारे पनि सोच्नुपर्ने बेला भएको छ ।” अहिले धेरै नेपाली कामदार विदेशी जेलमा रहेको विषयलाई सरकारले गम्भीररुपमा लिनुपर्ने उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सार्वजनिक ऋण प्रयोगमा सरकारले संयमता अपनाउन आवश्यक रहेको बताउनुभयो । सरकारले महँगोमा ऋण लिएर त्यसको उपयोग पुँजी निर्माणमा गर्न नसक्ने हो भने थप समस्या सिर्जना हुने उहाँको भनाइ छ । बहुवर्षिय आयोजनालाई अनावश्यक स्रोत सुनिश्चितता दिन नहुने, आयोजनाको प्राथमिकताका आधारमा कार्यान्वयनमा लैजानुपर्ने, सामाजिक सुरक्षामा एकरुपता कायम गर्नुपर्ने लगायतका  सुझाव अर्थमन्त्री महतलाई दिएको पाण्डेले रासससँग बताउनुभयो ।

“बहुवर्षीय ठेक्काको मात्रै चार खर्ब बराबरको स्रोत सुनिश्चितता भएको छ । चालु खर्चलाई घटाउन भवन निर्माण, सवारी खरिदजस्ता क्षेत्रमा कार्यविधि बनाएर जान सकिन्छ । प्रदेश र स्थानीय तहले यसमा कति खर्च गर्न पाउने भन्ने यकीन गरिनुपर्छ”, पाण्डेले भन्नुभयो, “सामाजिक सुरक्षालाई एउटै बास्केटमा हाल्न जरुरी छ । रोजगारीका क्षेत्रलाई पनि एउटै निकाय मातहत ल्याउन सकिन्छ ।” अहिले वित्त नीति कडा बनाएर मौद्रिक नीति केही खुकुलो बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । त्यस्तै कर प्रणालीलाई प्रविधिमैत्री बनाउन र करका दर निर्धारणमा बाह्य व्यक्तिको संलग्नता रोकिनुपर्ने पाण्डेले बताउनुभयो ।

“करका दरहरुमा म्यानुपुलेसन नहोस् भनेर सजग हुन सुझाव दिएका छौँ । कर प्रणालीलाई सफ्टवेयर बनाएर, भ्याट सरकारी खातामा जाने विषयलाई पनि प्राथमिकतामा कुनै गाह्रो छैन । कर प्रणाली चुस्त बनाउन प्रविधिको प्रयोग बढाउन आवश्यक छ । त्यस्तै उत्पादनमा मात्रै अनुदानको व्यवस्था कार्यान्वयनमा ल्याइनुपर्छ ।”

त्यसैगरी पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले अहिले ठूलो आकारको बजेट ल्याउन नसकिने भएकाले नयाँ योजना तथा कार्यक्रम बजेटमा हाल्नेभन्दा पनि पुराना कार्यक्रमलाई सक्नेगरी बजेट व्यवस्थापन गरिनुपर्ने बताउनुभयो । “बजेटको अङ्कको आकार बढाउने ठाउँ छैन । तोकिएको सिलिङ वरिपरि नै बजेट आउनुपर्छ । नयाँ कार्यक्रम नल्याउने र अधुरा कार्यक्रम सम्पन्न गर्ने नीति लिइनुपर्छ”, उहाँले भन्नुभयो, “तीनवटै तहका सरकारमा मितव्ययितालाई पहिलो प्राथमिकता दिइनुपर्छ । बहुवर्षीय ठेक्कालाई स्रोत सुनिश्चिता दिनु हुँदैन ।”

सामाजिक सुरक्षाको दायित्व बढ्दै गएको तर स्रोत अपुग रहेको अवस्थामा सबै दलहरूले यसबारे समान धारणा बनाउनुपर्ने र राष्ट्रिय सहमति जुटाउनुपर्ने उहाँको भनाइ छ । बजेटमा विचलन नहोस् भन्नेबारे पनि सरकारलाई सुझाव दिएको खतिवडाले बताउनुभयो । “बजेटमा विचलन नहोस् । करका प्रस्ताव तलमाथि नहोस् । पहिलो त्रैमासमै रकमान्तर गर्ने रोकियोस्”, डा खतिवडाले भन्नुभयो, “राज्यले भार बोक्न नसक्ने अवस्थाका निजी क्षेत्रको लिन सकिन्छ । अहिले मौद्रिक नीति खुकुलो गर्न सकिन्छ । तर वित्त नीति कसिलो हुनुपर्छ ।”

पूर्वअर्थमन्त्रीसँग सुझाव लिएपछि अर्थमन्त्री डा महतले लक्ष्यको तुलनामा कम राजस्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्याउने र निजी क्षेत्रको आत्मविश्वास बढाउन आफू लागिपरेको बताउनुभयो । साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

छलफलका क्रममा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षको बजेटका लागि रू १६ खर्ब ८८ अर्ब ४० करोडको सीमा (सिलिङ) तोकेको छ । मध्यमकालीन खर्च संरचनासहित तयार पारिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ चालु आर्थिक वर्षको विनियोजित बजेटभन्दा रू एक खर्ब पाँच अर्ब ४३ करोडले कम हो ।

अहिले अर्थतन्त्रमा देखिएका विभिन्न चुनौती र त्यसले आर्थिक सूचकहरूमा पारेको प्रभावलाई विश्लेषण गरेर बजेटको सीमा अनुमान गरिएको आयोगले जनाएको छ । “चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिसम्म राजस्व परिचालनमा देखिएको सङ्कुचन, वैदेशिक सहायता परिचालनमा अनुदानको घट्दो प्रवृत्ति र विनिमय दरमा भएको वृद्धिका कारण साँवाब्याज भुक्तानीमा पर्नसक्ने थप चाप तथा आन्तरिक ऋण भुक्तानीको व्ययभार समेतको विश्लेषण गरी राष्ट्रिय स्रोत परिचालनको यथार्थपरक अनुमान तथा प्रक्षेपण गरिएको छ”, आयोगले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

आयोगले त्रिवर्षीय मध्यमकालीन खर्च संरचना तथा आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन तथा ढाँचा, २०७९ तयार गरी स्वीकृत गरिसकेको जनाएको छ । सो मार्गदर्शन तथा ढाँचा सबै संवैधानिक निकाय तथा विषय क्षेत्रगत मन्त्रालय एवं प्रदेश सरकारलाई समेत पठाइसकेको आयोगले जनाएको छ ।

मध्यमकालीन खर्च संरचनाअनुसार सरकारी राजस्व आगामी तीन आर्थिक वर्षमा सरदर १४ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ । राजस्व वृद्धिको सोही अनुमानका आधारमा बजेटको आकार पनि अनुमान गरिएको हो । “नेपाल सरकारको कूल स्रोत आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रू १६ खर्ब ८८ अर्ब ४० करोड, आर्थिक वर्ष २०८१/८२ का लागि रू १८ खर्ब ८० अर्ब २० करोड र आर्थिक वर्ष २०८२/८३ का लागि रू २० खर्ब ८८ अर्ब ९० करोड बराबर रहने प्रारम्भिक अनुमान छ”, आयोगले भनेको छ ।

आयोगका अनुसार आगामी आर्थिक वर्षको बजेटको सीमा निर्धारण गर्दा विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । “विषयगत मन्त्रालय वा निकायबाट बढी बजेट माग हुने तर विनियोजित बजेट बाँडफाँट मुताविक खर्च नहुने अवस्थालाई मनन् गरी बजेट प्रणालीको अनुमान योग्यता र विनियोजन कुशलतालाई ध्यानमा राखिएको छ । आगामी आर्थिक वर्षका लागि खर्च हुने वा खर्च गर्न सकिने कार्यक्रम तथा क्रियाकलापमा मात्र बजेट व्यवस्था गर्नु उपयुक्त हुने विषयलाई मार्गदर्शनमा जोड दिइएको छ”, आयोगको विज्ञप्तिमा उल्लेख छ ।

सरकारी खर्च र राजस्व असुली लक्ष्यभन्दा न्यून छ । मूल्यवृद्धिले वाञ्छित सीमा नाँघेको छ । आर्थिक वृद्धिदर लक्ष्यभन्दा आधा मात्रै देखिन्छ । सरकारी सञ्चित कोष घाटामा छ । आन्तरिक मात्र होइन अर्थतन्त्रको बाह्य क्षेत्र पनि उत्तिकै दबाबमा छ । विदेशी मुद्रा सञ्चितीको अवस्था खस्किँदो छ । कोभिड–१९ महामारी पछि विस्तारै कमजोर हुँदै गएको निजी क्षेत्र अझै सम्हालिन सकेको छैन । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव र ब्याजदरको समस्या छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा पनि समस्या देखिन थालेको छ । त्यस्तै तीन खम्बे अर्थनीतिको मुख्य खम्बाका रुपमा रहेको सहकारी क्षेत्रमा समस्या छ ।

बैंक, वित्तीय संस्था र सहकारी क्षेत्रका समस्याले अहिले बजार तरङ्गीत छ । कर्जाको साँवाब्याज तिर्न नसकिने भन्दै ऋणी आन्दोलित छन् । वित्तीय क्षेत्रमा देखिएका यस्ता समस्याबारे आज प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालयमा भएको छलफलपछि अहिले देखिएका समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन आस्वासन पनि सरकारले निजी क्षेत्रलाई दिएको छ ।

सरकारी ऋणको साँवा ब्याजको दायित्व बर्सेनि थपिँदै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आगामी आर्थिक वर्ष २०८०/८ का लागि आन्तरिक र बाह्य दुवै ऋणको साँवा र ब्याज भुक्तानीका लागि सरकारसँग रू तीन खर्ब ३७ अर्ब माग गरिएको छ । जसमध्ये ट्रेजरी बिलको साँवा भुक्तानीका लागि मात्रै रू एक खर्ब माग गरिएको छ । तर चालु आर्थिक वर्षमा सरकारी राजस्व निकै न्यून उठेपछि ऋण व्यवस्थापन कार्यालयले माग गरेअनुसार बजेट उपलब्ध गराउनसक्ने अवस्थामा सरकार देखिँदैन । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत पुस मसान्तसम्ममा सरकारको कुल सार्वजनिक ऋण रू २० खर्ब ७० अर्ब ५३ करोड बराबर छ । जसमध्ये रू ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र रू नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण हो ।

चितुवा नियन्त्रणको लागि बनाएको खोर प्रभावकारी बन्दै

तनहुँ- डिभिजन वन कार्यालय तनहुँले चितुवा आतङ्क बढ्न थालेपछि चितुवा नियन्त्रणको लागि बनाएको (खोर) पासो प्रभावकारी बन्दै गएको छ । फलाम र परम्परागतरुपमा काठको खोर पासोको रुपमा राख्ने गरिएको हो । चितुवा आक्रमणबाट प्रभावित १८ स्थानमा पासो राखिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

चितुवाले जनमानसमा त्रास बढाएकोले यसको नियन्त्रण गरी सुरक्षित किसिमले वन्यजन्तु संरक्षण क्षेत्रमा पठाउन पासो थाप्ने काम गरिएको उहाँले बताउनुभयो । एक पटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः पटक–पटक आक्रमण गर्ने सम्भावना बढी हुने भएकाले यसलाई नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको उहाँले बताउनुभयो ।

पानीको पोखरी बनाएपछि विगतको तुलनामा वन्यजन्तुबाट मानवीय क्षतिमा कमी आएको बताइएको छ । खोला खोल्सीका पानी बस्तीमा लैजाँदा प्यास मेटाउन वन्यजन्तु बस्तीमा पस्दा मानवीय क्षति हुने गरेकाले पोखरी निर्माणलाई प्राथमिकता दिइएको हो ।

चितुवाको आक्रमणमा परी छ वर्षमा तनहुँमा १४ बालबालिकाको मृत्यु र १७ जना चितुवाको आक्रमणबाट घाइते भए । जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायतका पालिकामा चितुवाले सताएको थियो । चितुवाबाट भानु नगरपालिका धेरै प्रभावित बनेकोमा अहिले बन्दीपुर गाउँपालिकामा त्रास बढ्ेको छ । जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी दश बालक र चार बालिकाको मृत्यु भएको वन कार्यालय तनहुँका सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

स्वच्छ र सुन्दर वीरगञ्ज बनाउने अभियान : फोहर पाल्नेलाई ५० हजार जरिवाना

पोखरीया-सफा, स्वच्छ र सुन्दर वीरगञ्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।

वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहर फाल्ने एक जनालाई कारबाही गरी रु ५० हजार जरिवाना तिराएको छ । वीरगञ्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर रु ५० हजार जरिवाना गरेको हो ।

वीरगञ्ज सहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियानअन्तर्गत महानगरपालिकाले जथाभावी फोहर फाल्नेलाई नगद रु एक हजारदेखि ५१ हजारसम्म जरिवाना तिराउँदै आएको महानगरका मेयर राजेशमान सिंहले जनाएका छन् । महानगरले यसअघि वीरगञ्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहर गरेको भन्दै रु ५१ हजार जरिवाना गरेको थियो ।

वीरगञ्ज सहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म तीन सय ९० जनालाई कारबाही गरी जरिवानावापत नौ लाख ६१ हजार पाँच सय रकम असुल गरेको महानगरको फोहरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिनुभयो ।–

मिटर ब्याँज पीडितहरु एक महिना देखी धर्नामा

काठमाडौं, २३ बैशााख । मिटर ब्याँज पीडित एक महिना देखी धर्नामा बसेका छन् । गत चैत २९ देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन ।  सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन । सरकारले हालै अध्यादेशमार्फत मिटर ब्याँजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिईसकेको छ ।  

 
मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए ।

जोखिममा रहेको अरुण तेस्रोको बाँध निर्माणस्थल अनुगमन

खाँदबारी-जिल्ला विपद् व्यवस्थापन समितिले सङ्खुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पहिरो खसेर बनेको तालको स्थलगत अनुगमन गरेको छ । निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थलको बाँध निर्माणस्थलमा गत आइतबार पहिरो खसेपछि झन्डै तीन किलोमिटर ताल बनेको छ । अरुणमा पानीको बहाव बढेको र तालको पानी नघटेपछि जोखिम बढेको गुनासो स्थानीयवासीले गरेपछि विपद् व्यवस्थापन समितिले अनुगमन गरेको हो ।

अरुण तेस्रो आयोजनाले अरुणमा २६ मिटर अग्लो अस्याथी बाँध बनाएर खोला फर्काएको थियो । अरुण थुनिएपछि अरुण तेस्रोमा बाँध निर्माणस्थलको काम ठप्प भएको छ । अझै पनि सुक्खा पहिरो ५० मिटर माथिबाट लगातार खसिरहेको प्रहरीले जनाएको छ । टोलीमा सेनाको पूर्वीपृतनापति उपरथी आशबहादुर तामाड र २ नं बाहिनी हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापाको पनि सहभागिता थियो । बाँध निर्माणस्थलमा भारतीय कम्पनी जयप्रकाश एशोसिएट्स लिमिटेडले बाँध बनाउने काम गरिरहेको छ ।

दोधारा चाँदनी सुक्खा बन्दरगाह : नेपाली सीमासम्म भारतले खोल्यो पहुँचमार्ग

बेदकोट- भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुक्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्रयाक खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।

भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरस्थित राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बूले जानकारी दिनुभयो ।

“भारतीय पक्षले आफ्नो क्षेत्रमा पर्ने वन फडानी गरेर पहुँचमार्गको ट्रयाक खोलेको छ”, उहाँले भन्नुभयो, “पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको हो ।” उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म करिब चार किलोमिटर दुरीको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ ।

पहुँचमार्ग निर्माणका लागि गत कात्तिकमा दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार डेढ वर्षभित्र पहुँचमार्ग निर्माणको काम गरिसक्नुपर्छ । पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका करिब दुई हजारभन्दा बढी रूख काटेर ट्रयाक खोलिएको हो ।

ट्रयाक खोलिएसँगै अब पहुँचमार्ग कालोपत्रेको काम अगाडि बढ्ने छ । यो मार्गले नेपाल–भारतलाई व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने छ । दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने तयारी छ । दुई दशकअघिदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणस्थलको गत फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहालले निरीक्षण गर्नुभएको थियो ।

तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्नेगरी भारतसँग सम्झौता गर्ने उहाँले प्रतिबद्धता जनाउनुभएको थियो । सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताउनुभयो ।

“संरचना भारतले बनाउने समझदारी भइसकेको छ, अहिले इआइए गर्ने काम अन्तिम चरणमा छ”, उहाँले भन्नुभयो, “फाइल वन मन्त्रालय पुगेको छ, स्कीकृतिको प्रक्रियामा छ ।” उहाँका अनुसार प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको क्रममा सुक्खा बन्दरगाहको एओयु गर्ने गृहकार्य भइरहेको छ ।

आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ । यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो । उक्त क्षेत्रमा स्थानीयको विरोध र भारतसँगको पहुँचमार्गमा समस्या हुने भएपछि सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ लाई प्रस्ताव गरिएको थियो ।

सुक्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएको छ । पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको आठ किलोमिटर पहुँच मार्ग निर्माणको काम पनि लगभग अन्तिम चरणमा रहेको छ ।

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिकरूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने र यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।

नौ महिनामा भारतबाट साढे चार अर्बको तरकारी र फलफूल आयात

झापा-कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको साउनदेखि चैत मसान्तसम्ममा काँकरभिट्टा नाकाबाट एक लाख ८० हजार आठ सय १७ मेट्रिक टन तरकारी तथा फलफूल नेपाल भित्रिएको छ ।

भारतबाट ताजा फलफूलभन्दा झन्डै दोब्बर मूल्य बराबरको तरकारी नेपाल भित्रिने गरेको छ । नौ महिने अवधिमा रु दुई अर्ब ६२ करोड ६३ लाख ५३ हजार मूल्य बराबरको एक लाख ४७ हजार छ सय ५३ मेट्रिक टन ताजा तरकारी नेपाल भित्रिएको पाइएको छ । सोही अवधिमा रु एक अर्ब ७९ करोड १० लाख ३६ हजार मूल्य बराबरको ३३ हजार एक सय ६४ मेट्रिक टन ताजा फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइनले जनाएको छ ।

आजको मौसम: कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमलगायत पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं, २३ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ । 

दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

कोशी प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

पाँच सय र हजारको नक्कली नोटसहित दुई जना पक्राउ

काठमाडौँ-नेपाल प्रहरीले रु पाँचसय र एक हजारको नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्ती क्षेत्रबाट नक्कली नोटबाट सामग्री किनबेच गरेको सूचनाका आधारमा जाजरकोटकी ३१ वर्षीया सम्झना गहतराज र बाँकेका ३२ वर्षीय सादाय हलुवाईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले गोकर्णेश्वरको नयाँ वस्ती क्षेत्रको किराना पसलमा सम्झनाले नक्कली नोटबाट रिचार्ज कार्ड किनीरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकी सम्झनासँग सोधपुछका क्रममा बागबजारको युनिक होटलमा कोठा लिई बस्ने हलुवालाईसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकासँग एक हजारको ४९ थान नोट बरामद गरेको छ ।

पक्राउ परेकासँग प्रहरीले प्रिन्ट गरेको काट्न बाँकी एक हजारको नोट एक सय २६ थान, तयारी ५०० को नोट दुई थान, प्रिन्ट गरेको काट्न बाँकी ५०० को नोट ६० थान, पिन्ट मेसिन एक थान, प्रयोग गरिसकेको रिचार्ज कार्ड एक चार थान, कृषि विकास बैँकको चेकबुक एक थान, नागरिकता एक थान, फोटोकपी पेपर एक रिम र दुईथान मोबाइल बरामद गरेको छ । पक्राउ परेका व्यक्तिलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२२ बमोजिम मुद्रासम्बन्धी कसूरमा प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

६४ वर्षदेखि भेडापालनमा, थाहा छैन कृषक अनुदान

ढोरपाटन-तमानखोला गाउँपालिका–५ खुङ्खानीका रनबहादुर सिर्पाली उमेरले सात दशक पार गर्नुभयो । उमेर घर्कँदै गए पनि उहाँमा काम गर्ने जोस जागर भने तन्नेरीको भन्दा कम छैन । बिहान उठेदेखि राति नसुतुन्जेलसम्म भेडाबाख्राको स्याहार सुसारमा लाग्ने सिर्पालीका दुई सय ५० बढी भेडाबाख्रा छन् । जाडो बढेपछि मङ्सिरमा बेसी झर्नुभएका सिर्पाली गर्मी याम सुरु भएपछि भेडाबाख्रा लिएर बुकी चढ्न थाल्नु भएको छ । सिपार्ली आफ्ना भाइ देवबहादुर सिर्पालीसँग बुकी चढ्ने तयारीमा हुनुहुन्छ ।

देवबहादुरका डेढ सय र रनबहादुरका साढे दुई सय गरी चार सय भेडा बुकी लैजाने तयारी छ । तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि नर्जाखानी जाने सडक उनीहरुको भेडाले ढाकिएका छन् । ठूलो भेडाको बथानमा केही काला र केही खैरो रङ्गका भेडा देखिन्छन् । यस क्षेत्रका अधिकांश स्थानीय पशुपालनमै निर्भर छन् । ७१ वर्षीय रनबहादुर भेडापालनमा लागेको ६४ वर्ष भयो । सात वर्षदेखि भेडा गोठालो गर्दै आउनुभएका सिर्पालीको यात्रा अहिले पनि नडगमगाई निरन्तर चलिरहेको छ ।

बाउबाजेको पेसालाई अँगाल्दै आउनुभएका रनबहादुर नयाँ पुस्ता भेडापालनमा नलाग्दा परम्परागत पेसा हराउना थालेको प्रति चिन्तित हुनुहुन्छ । भाइ देवबहादुर पनि सानै उमेरदेखि यही पेसामा आबद्ध हुँदै आउनुभएको छ । ६० वर्षीय देवबहादुर भेडापालनमा लागेको ५२ वर्ष भयो । आठ वर्षकै उमेरदेखि भेडा चराउन सुरु गर्नु भएको सिर्पाली अहिले दाइसँग सहकार्य गर्दै आउनुभएको छ । उहाँहरुले भेडा हुलमूलमा हराउने डरले सिङमा रातो, हरियो लगायतका रङ लगाइ दिनुभएको छ । भेडापालन पुख्र्यौली पेसा भएको हुँदा यसको संरक्षण गर्नुपर्ने रनबहादुरको भनाइ छ ।

उहाँले आफ्ना पालामा अहिलेको जस्तो पढ्नेलेख्ने जमाना नभएको भन्दै जान्ने बुझ्ने भएदेखि नै गाईभैँसी र भेडाबाख्रा पाल्न थालेको बताउनुभयो । रनबहादुरले समय परिवर्तनसँगै गाउँघरमा पेसा पनि फेरिदै गएको बताउनुभयो । आफ्ना बाउबाजेले कृषि र पशुपालन गर्न सिकाएको स्मरण गर्दै अहिलेका अभिभावकले पढ्न लेख्न र विदेश जान सिकाउने गरेको उहाँको भनाइ छ ।

“पहिलेपहिले एकै जनाको दुई÷तीन हजार भेडा हुन्थे, अहिले त भेडा पाल्ने मान्छे घट्दै गए, थोरैले मात्रै पाल्छन्, हामीको जन्मनै भेडी गोठमा भयो, गोठमै जन्मेको, गोठमै हुर्केको हुँदा हाम्रो पेसा भेडा पाल्ने भयो”, रनबहादुर भन्नुहुन्छ, “हामीहरुले अरु केही गर्न जानिएन, जानेको यही पशुचौपायाको गोठाला गर्न हो, दुःख पाउनेको कोखमा जन्म भयो, दुःख पाउने पेसानै गर्नुप¥यो, सहज बजार त हाम्रो लागि बिरानो लाग्छ, दुःख भए पनि गोठनै रमाइलो हुन्छ ।”

पछिल्लो समय युवा पुस्ताले यो पेसा अँगाल्न नचाहँदा परम्परागत भेडापालन विस्तारै हराउँदै गएको छ । केही समय अगाडिसम्म बागलुङको उच्च पहाडी क्षेत्रमा भेडा गोठालो र भेडा प्रशस्त मात्रामा भेट्याउन सकिन्थ्यो । पहिले पहिले भेडीगोठ जाँदा धेरै जिल्लाका धेरै ठाउँका भेडी गोठालेको जमघट हुने गरेको तर पछिल्लो समय गोठाले कम भएको रनबहादुर बताउनुहुन्छ ।

भेडापालनबाटै परिवार चलाउँदै आएको देवबहादुरले बताउनुभयो । उहाँले पाँच भाइबहिनी छोराछोरी यही पेसाबाटै हुर्काउने र पढाउने गरेको बताउनुभयो । तीन छोरा र दुई छोरीको विवाहसमेत भेडा बेचेरै गरेको उहाँको भनाइ छ । आफूहरुले अहिलेसम्म भेडापालन गर्दै आए पनि छोराछोरीले यसतर्फ चासो नै नदिएको देवबहादुर बताउनुहुन्छ । बुढापाकाले भेडापाल्न नसक्ने अवस्थामा पुगेको भन्दै अबको एक दशकमा वनपाखा सुनसान हुने उहाँको भनाइ छ ।

देवबहादुर भन्नुहुन्छ, “भेडा चराउन निकै टाढाटाढा पुग्नुपर्छ, हिमालको काखदेखि अग्लो पहाडका टाकुरासम्म पुग्ने गर्छौँ, केही वर्ष अगाडिसम्म भेडा लगेरमाथि बुकी तिर जाँदा हामी जस्तै धेरै भेडा गोठालाको भेट हुन्थ्यो, अहिले त निकै कम भएको छ, बुढाहरु मरे होलान्, अहिलेका युवा तन्नेरीले यस्तो काम गर्दैनन्, यही हिसाबले त हामी मरेपछि त भेडा पनि पाल्न छोड्छन् होला, पढ्ने लेख्ने मान्छेले भेडा पाल्न गाह्रो मान्छन् ।”

भेडाको सुरक्षाका लागि उहाँहरुले तीन कुकुरसमेत पाल्नुभएको छ । उहाँहरु जता जानुहुन्छ, भेडा र कुकुर पनि र उतै लैजाने गर्नुहुन्छ । अबको एक सातामा बुकी पुग्ने देवबहादुरको भनाइ छ । उहाँहरुले अहिले नर्जाखोलाको छेउमा सानो त्रिपालको छाप्रो बनाएर बस्दै आउनुभएको छ । उहाँ राति सुत्ने बेला पनि भेडा उहाँहरुकै छेउछाउमा बस्ने गर्नुहुन्छ । भेडाको बथानमा केही ठूला, केही साना र भर्खर सुत्केरी भएका बाख्रासमेत छन् ।

सरकारले कृषकलाई अनुदानसमेत दिने गरेको छ । टाठाबाठा कृषकले अनुदान लिने गरेका छन् । देवबहादुर र रनबहादुर जस्ता दुर्गम ठाउँका कृषकलाई अनुदान भनेको थाहा नै छैन । उनीहरुलाई सरकारले सहयोग गर्छ भन्दा अनौठो मान्छन् । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले भेडापालक कृषकलाई गाउँपालिकाले करको दायरामा लिएर सेवा सुविधा दिन थालेको बताउनुभयो । उहाँले तमानखोलामा धेरै पशुपालक कृषक रहेको भन्दै उनीहरुलाई पालिकाबाट प्रदान हुने कुनै पनि सुविधाबाट वञ्चित नगराएको बताउनुभयो ।

“पशुपालनका लागि तमानखोला उर्बर मानिन्छ, यहाँ घना जङ्गल र भुई घाँसका लागि प्रशस्त ठाउँ छन्, परापूर्वकदेखि नै यहाँका स्थानीयले भेडापालन गर्ने र आफ्नो जीविकोपार्जन गर्दै आएको हुँदा अहिले पनि त्यो पेसा कायमै छ, बुढापाकाले निरन्तरता दिँदै आउनु भएको छ,” अध्यक्ष बुढा मगरले भन्नुभयो– “उहाँहरुलाई पाल, लाइट र आवश्यक सामग्रीहरु दिँदै आएका छौँ, परम्परागत रुपमा गर्दै आएकोमा अब आधुनिक प्रबिधिसँग जोड्ने प्रयास पनि भइ रहेको छ ।”

घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएर चार जनाको मृत्यु

इलाम, २२ वैशाख-इलामको सूर्योदय नगरपालिका-१० फिक्कल बजारनजिकै घर बनाउने क्रममा पुरिएर चार जनाको ज्यान गएको छ ।आज अपराह्न ४:४५ बजेतिर घरको जग खन्दै गर्दा खसेको ढिस्कोले पुरिएका चार जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् ।

मृत्यु हुनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी वर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र वर्ष १९ का मैजफर आलम रहेको प्रहरीको भनाइ छ ।

स्थानीय विनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खसैझैँ ढिस्को खस्दा उनीहरू पुरिएको इलाका प्रहरी पशुपतिनगरका प्रहरी निरिक्षक सन्तोष राईले बताए । जग खन्ने क्रममा अन्य ३ जनाले भागेर ज्यान जोगाएका थिए ।

मौसमी प्रणाली र रोग कीराको चपेटामा अलैँची,किसान चिन्तित

ताप्लेजुङ-हिमाली तथा पहाडी जिल्लाको प्रमुख नगदेबालीका रुपमा रहेको अलैँचीमा रोग किराको प्रकोपसँगै खडेरी र असिनाका कारण बोट र पात सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । लामो समयसम्म परेको खडेरीका कारण फस्टाउन नसकेका बोटमा रोग कीरासँगै केही दिनअघि परेको असिनाले थप क्षति पु¥याएकाले अलैँची खेती गरिरहेका किसान चिन्तामा परेका हुन् ।

“यसपालि खडेरीले बोट फस्टाउन सकेनन्, त्यही माथि केही दिनअघि असिनाले क्षति पुग्यो, हिजोआज हरियो रङ्गको झुसुले जस्तै देखिने कीरा लाग्न थालेको छ, अलैँची सखाप हुने भयो”, मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका किसान ईन्द्रकुमार हाङ्गामले भन्नुभयो । उहाँका अनुसार आसपासमा रहेका छिमेकीका बगान रोग कीराको प्रकोपमा परेका छन् ।

यता सिरीजङ्घा गाउँपालिकाको तेल्लोक, पेदाङ, खेवाङलगायत ठाउँमा अलैँचीका बोट सुक्न थालेका छन् । तीन दिनसम्म लगातार साँझपखमा परेको असिनाकै कारण पेदाङलगायतका ठाउँमा आधाजसो अलैँचीका बोट भाँचिएको यहाँका वडा अध्यक्ष बमबहादुर गौतमले बताउनुभयो । “केही दिनअघि लगातार तीन दिन साँझपखमा असिना प¥यो, आधाजसो अलैँचीका बोट भाँचिएका र सुक्न थालेका देखिन्छन्, अलैँचीसँगै किबी र मकै बालीमा समेत क्षति पुग्यो”, गौतमले भन्नुभयो ।

अलैँची खेती गर्दै आएका सिदिङ्वा, मिक्वाखोला, फक्ताङलुङ गाउँपालिकाका किसानले समेत खडेरी, असिना र रोगकिराले अलैँचीमा क्षति पुगेको बताएका छन् । गत असोजदेखि फागुनसम्म ताप्लेजुङमा प्रयाप्त वर्षा भएको थिएन । फागुनको मध्यदेखि सामान्य वर्षासँगै हिमपात सुरु भएको थियो । लामो समय वर्षा नहुँदा भएको खडेरीले विशेषगरी अलैँची बालीमा त्यसको असर पुगेको किसानले बताएका छन् । खडेरीले जमिन सुक्खा हुँदा अलैँचीका बोट सुकेको र सिँचाइ उपलब्ध क्षेत्रमा समेत प्रयाप्त वर्षा नहुँदा बोट फस्टाउन नसकेको सिरीजङ्घा ७ खेवाङका कषक लक्ष्मण अधिकारीले बताउनुभयो । “पछिल्लो समय मूल्यमा पनि सुधार छैन, यो पटक खडेरी, असिना र रोग किराले गोडमेलकै खर्च नउठ्ला भन्ने चिन्ता छ”, अधिकारीले भन्नुभयो ।

पछिल्ला दिनमा परेको वर्षाले किसानलाई सामान्यतया राहत मिले पनि सुकेका अलैँचीका बोट भने उठ्न सकेनन् । त्यसैमाथी केही दिनअघि जिल्लाका अधिकांश क्षेत्रमा परेको असिनाले अन्य बालीनालीसँगै अलैँचीमा थप क्षति पुग्यो । लगातार र बाक्लो असिना परेको क्षेत्रमा अलैँचीका बोट भाँचिएका छन् । कतै पात सुक्दै गएकाछन् भने कतै बोट नै मर्न थालेका छन् । यो समयमा हरियाली देखिनुपर्ने अलैँचीका बगान उजाड देखिन थालेको स्थानीयले बताएका छन् ।

यता कृषि ज्ञान केन्द्र ताप्लेजुङका प्रमुख सन्तोष थापाले समेत केही दिन अघि परेको असिनाले अलैँची बालीमा निक्कै क्षति पुगेको पाईएको बताउनुभयो । “फिल्डमा जाँदा अधिकांश अलैँची बगानमा असिनाका कारण क्षति पुगेको देखियो, यसले गत वर्षको तुलनामा उत्पादन घट्न सक्ला भन्ने अनुमान छ, तर के कति घट्छ भन्ने यकिन गरिसकेका छैनौँ”, थापाले भन्नुभयो । यस पटक भएको खडेरी, असिना लगाएतले हिउँदे बालीनालीमा क्षति भएको उहाँको भनाइ छ ।

यस्तै आकस्मिक रुपमा आएको रोग किरा जस्ता प्रकोपको न्यूनीकरणमा कृषि ज्ञान केन्द्रले सहयोग गर्ने कार्यालय प्रमुख थापाले बताउनुभएको छ । अलैँचीमा मात्र नभई अन्य बालीनालीमा समेत नयाँ रोग किराको प्रकोप देखिए किसानले कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सक्ने र त्यसको निदानका लागि कार्यालयले सहयोग गर्ने थापाको भनाइ छ । यसका लागि बजेट र जनशक्तिको व्यवस्थापन गरेर समेत सहयोग गर्न सकिने उहाँले बताउनुभयो । ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँची खेती गरिन्छ ।

यहाँका ६१ वटा वडाहरुमध्ये फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङगोला बाहेकका सबै ठाउँमा अलैँचीको खेती गरिँदै आएको छ । प्राय किसान अलैँची खेतीमा नै आत्मनिर्भर छन् । तर मूल्यमा आएको गिरावटसँगै मौषमी प्रणाली र रोग किराको प्रकोपले उत्पादन घट्ने भन्दै चिन्तित छन् । आजभोलि ताप्लेजुङमा प्रतिमन अलैँचीको मूल्य ३५ हजार रहेको छ । केही दिनअघि रु ३६ हजारसम्म पुगेको मूल्य फेरी घटेर ३५ मा कारोबार भइरहेको अलैँची व्यवसायीले बताउनुभयो ।

कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने

काठमाडौं, २२ वैशाख-नेपाली कांग्रेसले वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने विषयमा छलफल गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको शुक्रबार बसेको पदाधिकारी बैठकमा वैशाख मसान्तभित्र केन्द्रीय कार्यसमिति बैठक बोलाउने बारे छलफल गरेको हो ।

बैठकपछि अर्थमन्त्रीसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले वैशाख २८–२९ गते तिर बैठक बोलाउने सम्भावना रहेको बताए । उनका अनुसार मिति भने तय हुन बाँकि छ ।भ्रातृ संगठनलाई पूर्णता दिने, विभाग गठन गर्ने गृहकार्य सुरु भएको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन लियो फिर्ता

काठमाडौं, २२ वैशाख- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । बसुन्धरास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

पुस १० गते रास्वपाले पुष्पकमल दाहाल नेतृत्वको गठनबन्धनमा सहभागी भएकोमा आजको बैठकले प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको छ ।

युएईले सुडानलाई ३० टन खाद्यान्न पठायो

अबू धावी – संयुक्त अरब इमिरेट्स (युएई) ले हालको अवस्थाबाट प्रभावित हजारौं सुडानी परिवारलाई तत्काल सहयोग प्रदान गर्न इमिरेट्स एयरलाइन्समार्फत ३० टन आधारभूत खाद्य सामग्रीको पहिलो खेप सुडान पठाएको छ ।

युएई नेतृत्वको निर्देशनमा र सुडानी जनतालाई समर्थन गर्न र अन्तर्राष्ट्रिय राहत प्रयासहरूमा योगदान पु¥्याउने उनीहरूको स्थायी प्रयासको एक भागको रूपमा सुडानमा प्रत्यक्ष राहत पठाउने पहिलो देश हो ।

युएईको राहतले वर्तमान परिस्थितिको कारण मानवीय पीडालाई कम गर्न सेवा गर्नेछ, जसले धेरै सेवाहरूको गम्भीर अभाव निम्त्याएको छ र जनङ्ख्याको ठूलो भाग, विशेष गरी बिरामी, बच्चाहरू, वृद्धहरू र महिलाहरूलाई खाद्य अभावको कारण प्रभावित गरेको छ ।

सुडानलाई युएईले छिमेकी मुलुकका शरणार्थी र विस्थापित लगायत सुडानी जनतालाई सहयोग गर्न विभिन्न रूप लिएको छ । यस राहतमा संयुक्त अरब इमिरेट्सले चाड–सुडान सीमामा सुडानी शरणार्थीहरूलाई सहयोग गर्न आपूर्ति र खाद्यान्नसहितको विमान पठाउनु र दुबईको अन्तर्राष्ट्रिय मानवीय शहरबाट ३० टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाउन विश्व स्वास्थ्य संगठनसँग काम गर्नु समावेश छ ।

द्वन्द्व सुरु भएयता सुडानमा अवतरण गर्ने यो पहिलो अन्तर्राष्ट्रिय राहत प्याकेज होे र महत्वपूर्ण सर्जिकल आपूर्ति र आधारभूत औषधिहरू प्रदान गरिएको थियो ।

बजेट तयारीका लागि पूर्वअर्थ मन्त्रीसँग अर्थ मन्त्रीको छलफल

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि पूर्वअर्थमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । पूर्व अर्थमन्त्रीले व्यवहारिक बजेट तयार गर्न, खर्च कटौतीमा निर्मम बन्न र नयाँ आयोजना थप नगर्न सुझाव दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएकोछ ।

छलफलमा पूर्वअर्थ मन्त्रीहरू ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशचन्द्र लोहनी, डा युवराज खतिवडा, विष्णु पौडेल र सुरेन्द्र पाण्डे सहभागी हुनुहुन्थ्यो । छलफलमा अर्थमन्त्री डा महतले अहिलेको जटिल अवस्थालाई सम्बोधन गर्नेगरी बजेट तयार गर्न आफू प्रयासरत रहेको र यसका लागि सबैबाट सहयोग मिल्ने आशा व्यक्त गर्नुभयो ।

उहाँले पूर्वानुमानको तुलनामा धेरै कम राजश्व उठेको अवस्थामा खर्च कटौती गर्ने, प्राथमिकता प्राप्त आयोजनालाई मात्र बजेट छुट्टाउने र नीजि क्षेत्रको आत्म विश्वास बढाउन आपूm लागिपरेको जानकारी गराउनुभयो ।

साथै उहाँले प्रतिफल नदिने आयोजनामा लगानी नगर्ने र तोकिएको समयमै सम्पन्न हुने, कार्यान्वयन तुरुन्तै गर्न सकिने पूर्वाधार आयोजनालाई प्राथमिकता दिने बताउनुभयो । अर्थमन्त्री महतले अन्य पूर्वअर्थ मन्त्रीसमेतबाट निरन्तर सुझाव प्राप्त हुने आशा व्यक्त गर्नुभएको छ ।

काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी

‘काठमाडौँ – सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारीअनुसार काठमाडौँ महानगरपालिकाका विभिन्न स्थानमा सिसिटिभी जडान गरिने भएको छ । महानगरपालिकाले दिने बजेटबाट काठमाडौँका विभिन्न स्थानमा एक सय ६० सीसीटिभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच यही वैशाख ७ गते सीसीटिभी जडान गर्ने सम्झौता भएअनुसार महानगरपालिकाले ‘क्लोज सर्किट टेलिभिजन’ (सीसीटिभी) क्यामेरा जडान गर्न रु छ करोड उपलब्ध गराउने भएको छ ।

काठमाडौँलाई ‘सीसीटिभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सीसीटिभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटिभी जडान गर्ने महानगरको योजना छ । काठमाडौँमा पाँच चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने ‘नाइट मोड’ भएका क्यामरा जडान गर्ने तयारी भइरहेको प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँ उपत्यकाभर दुई सय ४२ सिसिटिभी चेक प्वाइन्ट राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ । बुढानीलकण्ठ नगरपालिकाले पनि सो नगरपालिका क्षेत्रभित्र सीसीटिभी जडान गर्न प्रहरीलाई रु पाँच करोड उलपब्ध गराउने निर्णय गरेको छ । बुढानीलकण्ठ नगरपालिका क्षेत्रभित्र पनि एक सय ४५ सीसीटिभी जडान गर्न काम अघि बढेको प्रहरीले जनाएको छ ।