जनताको विश्वास जगाउने पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की


मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनताप्रति विश्वास जगाउने पत्रकारिता गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवस तथा पुरस्कार एवं सम्मान कार्यक्रम–२०८० को उपलक्ष्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनतामा आस्था एवं विश्वास बढाउनुका साथै पत्रकारिता पेशलाई सत्यतथ्यका आधारमा अगाडि बढाउनुपर्ने तर्क गर्नुभयो ।
सो अवसरमा राससकर्मी चन्द्रकला न्यौपाने भण्डारी (झापा), राजेश विद्रोही यादव (सुनसरी), सोमनाथ अधिकारी सुसेली (इलाम) र सटेन्द्र जवेगु (इलाम) लाई नगदसहित पुरस्कृत गरियो । मुख्यमन्त्री कार्कीले यस दिवसले नेपालको पत्रकाररिता क्षेत्रलाई सुधार्दै जनतामा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो । उहाँले कानुन निर्माण गरी प्रदेश सञ्चार प्रतिष्ठान बनाउने र यसको माध्यमबाट पत्रकारिता क्षेत्र बलियो तथा सञ्चारकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै यस पेशाप्रति आकर्षण बढाउने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले संविधान दिवस, गणतन्त्र दिवस र प्रदेश स्थापना दिवसजस्ता महत्वपूर्ण दिनहरुमा समाजमा योगदान गर्ने प्रदेशका पत्रकारलाई आगामी दिनमा सम्मान गर्ने जानकारी दिनुभयो । जनताको जनादेश, संविधान र कानुनको माध्यमबाट संसद्भित्र छलफल गरी प्रदेशको सामूहिक पहिचानको आधारमा ‘कोशी’नामकरण गरिएको मुख्यमन्त्री कार्कीले स्पष्ट पार्नुभयो । आगामी नीति तथा कार्यक्रम एवं बजेटमा जनताले प्रदेश सरकार एवं विकासको अनुभूति हुने खालको सुझाव दिन पत्रकार सङ्घसंस्थालाई उहाँले आग्रह गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले आवश्यक स्रोत र साधनका आधारमा सञ्चारकर्मीलाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कृत पत्रकार चन्द्रकला न्यौपाने भण्डारी र सोमनाथ अधिकारी सुसेलीले सञ्चारकर्मीले सचेत, संयमित र वास्तविक सत्य तथ्यका आधारमा समाचार सार्वजनिक गर्नुपर्ने सुझाव दिनुभयो । मन्त्रालयका उपसचिव अर्जुन निरौला र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लिलावल्लभ अधिकारीले पत्रकारको क्षमता अभिवृद्धि र विकास तथा सङ्घको भौतिक पूर्वाधारमा सरकारले महत्वपूर्ण सहयोग उपलब्ध गराएको जानकारी दिनुभयो ।