`

नेता डा रिजाल कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसले नेता डा मिनेन्द्र रिजाललाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा रिजाललाई आज मनोनयन गर्नुभएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै ज्ञापनपत्र

लुम्बिनी – लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् ।

उहाँहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन हुनुपर्ने मागसहित आज प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा उक्त कुराको ध्यानाकर्षण गराउनुभएको हो ।

दुई २५६७औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० मूल समारोहका लागि लुम्बिनी आउनुभएका प्रधानमन्त्री दाहाललाई सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलले भेटी विमानस्थल पूर्णरुपले सञ्चालनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहँुदासम्म अन्य स्वदेशी तथा विदेशी विमान कम्पनी आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्तै नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतारको उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यहीँ भएकाले विश्वका सबै बुद्धिष्ट मुलुकलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडान हुने अन्तर्राष्ट्रिय विमानमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकामा त्यो छुट थप एक वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने माग गरिएको छ ।

ज्ञापनपत्रमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु ६० अर्ब बढी लगानी भइसकेकोले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकाले सो लगानी सुरक्षित गराउने वातावरणका लागि पहल गर्नुपर्ने माग गरिएको छ ।

यस क्षेत्रको आर्थिक मेरुदण्डको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडानको व्यवस्थाका लागि माग गर्दै ज्ञापनपत्र बुझाइएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताउनुभयो । उहाँले ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्री विमानस्थल पूर्णरुपमा सञ्चालका विषयमा सकारात्मक रहनुभएको र तत्कालै विभागीय मन्त्री सुदन किरातीलाई निर्देशन गर्नुभएको बताउनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले सङ्घको मागप्रति आफू सकारात्मक रहेको तथा विमानस्थलको सञ्चालनका लागि भारत भ्रमणबाट फर्केपछि निजी क्षेत्रका व्यवसायी र सरोकारवाला निकायसँग छलफल गरेर अगाडि बढने बताउनुभएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवालीले बताउनुभयो ।

प्रदेश बनाउने अभियानमा लाग्न मुख्यमन्त्री शाहको आग्रह

चैनपुर-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले सबै मिलेर प्रदेश बनाउने अभियानमा लाग्न आग्रह गर्नुभएको छ । बझाङका विभिन्न ठाउँको अवलोकन तथा भम्रणका क्रममा उहाँले लामो समयपछि प्राप्त भएको लोकतन्त्र, गणतन्त्र र सङ्घीयतालाई संरक्षण गर्न सबै एकै ठाउँमा लाग्नुपर्ने बताउनुभयो ।

जिल्लाका कर्मचारी, जनप्रतिनिधि र सञ्चारकर्मीसँग भेट गर्दै उहाँले कर्मचारी र जनप्रतिनिधिका क्रियाकलापका कारणले मुलुक कमजोर हुने अवस्था आउन नदिन विचार पु¥याउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई पूर्णता दिई प्रदेश लोक सेवालाई छिटोछरितो बनाइ कर्मचारी पदपूर्तिको कुरामा मेरो ध्यान गएको छ, बझाङ जलस्रोत, जडिबुटी, कृषि र पर्यटनका लागि सम्भावना भएको जिल्ला भएकाले ठोस नीति र कार्यक्रम बनाएर अगाडि बढ्ने विगतका वर्षमा योजना किनबेचका कुरा आएकाले योजना प्रक्रियागत रुपमा स्थानीय तहबाट महत्वपूर्ण योजना छनोट गरी पठाउन स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्छु ।” 

योजनामा कुनै विचौलिया, दलाल सक्रिय भएको खण्डमा त्यसलाई रोक्नुपर्ने र त्यसलाई कानुनी दायरामा ल्याउनुपर्ने उहाँले बताउनुभयो । योजनाका नाममा बदमासी गर्न खोजेमा कसैलाई पनि छुट नहुनेमा उहाँले जोड दिनुभयो ।

मुख्यमन्त्री शाहले बझाङ पुगेर ताक्लाकोट सडकलगायतका विभिन्न योजनाको अनुगमन गर्नुभयो । सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारी, प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह, बाजुराबाट प्रदेश (२) का प्रदेशसभा सदस्य पदम शाही पनि बझाङ आइपुग्नुभएको छ ।

नक्कली शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्न आरोपीको खोजी गर्दै प्रहरी

प्रहरीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा करोडौँ रकम ठगीमा संलग्न रहेका आरोपीको खोजी तीव्र पारेको छ । पक्राउ पुर्जी जारी भएका आरोपी सम्पर्कविहीन भएपछि खोजी तथा अनुसन्धानमा विशेष सावधानीका साथ टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । जाहेरीमा नाम किटान गरिएका कतिपय व्यक्तिका बारेमा थप प्रमाण सङ्कलन गर्ने तथा पक्राउ पुर्जी जारी भएका आरोपीको खोजी कार्यमा प्रहरी टोली जुटेको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताउनुभयो ।

उहाँले पुर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी प्रहरीको सम्पर्कमा नरहेको बताउनुभयो । यसअघि पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार ईन्द्रजित राईका छोरा निरजका बारेमा प्रहरीले कुनै जानकारी पाउन सकेको छैन ।

“अब १० देखि ११ जना आरोपीको खोजी तथा अनुसन्धान भइरहेको छ”, परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक रिजालले भन्नुभयो, “अहिलेसम्म आठ जना पक्राउ गरी अनुसन्धान भइरहेको छ ।” पक्राउ परेकामा तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ छन् । 

जिल्ला प्रहरी परिसरले उनीहरु विरुद्ध सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । यसको अनुसन्धानका लागि प्रहरीले ६० दिन समय पाउँछ । उक्त घटनामा हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कूल रु २३ करोड २५ लाख ठगी भएको भनी जाहेरी दिएका छन् । सुरुमा पीडितले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएकामा कार्यालयले केहीलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी परिसरलाई बुझाएको थियो ।–

नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुन्छ : राष्ट्रिय सूचना आयोग

काठमाडौँ – राष्ट्रिय सूचना आयोगले सूचनाको हकलाई सङ्घदेखि स्थानीय तहसम्मका सार्वजनिक निकाय, नागरिक तथा सूचनाको हकका अभियन्तासम्म पु¥याउने तथा यससम्बन्धी कानुनी व्यवस्थाको पालना गर्न गराउन उत्प्रेरित गर्ने कार्य गरिरहेको जनाएको छ ।

आयोगको १६औँ स्थापना दिवसका अवसरमा जारी प्रतिबद्धतामा सूचनाको हकले शासकीय व्यवस्थामा पारदर्शीता र जवाफदेहिता कायम गर्दै नागरिकको सशक्तीकरणद्वारा सुशासनको प्रवद्र्धन र लोकतन्त्रको सुदृढीकरणमा योगदान गर्ने उल्लेख छ ।

आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङद्वारा जारी प्रतिबद्धतामा भनिएको छ, “मौलिक हकका रुपमा रहेको सूचनाको हकको कार्यान्वयनको प्राथमिक दायित्व सार्वजनिक निकायको हुन्छ ।” सार्वजनिक निकायको सूचनाको हकको कार्यान्वयन गरे नगरेको अनुगमन गर्न नेपाल सरकारले सङ्घ, प्रदेश र जिल्लास्तरमा बनाइएका संयन्त्रको प्रभावकारीरुपमा क्रियाशील बनाउन आयोगले अनुरोध गरेको छ ।

लोकतन्त्रको संस्थागत विकासका निर्मित राज्यको काम कारबाही र सार्वजनिक सूचनामा नागरिकको पहुँच हुनुपर्नेमा जोड दिँदै आयोगले नागरिक सुसूचित भएमा नै नागरिक नियन्त्रित सरकारको विकास हुने उल्लेख गरेको छ ।

अन्तक्र्रिया र कार्यक्रममार्फत सूचनाको हकका कानुनी व्यवस्था तथा प्रयोगबारे सचेतना गराउने कार्य नियमितरुपमा भइरहेको उल्लेख गर्दै आयोगले संविधान र कानुनले प्रत्याभूत गरेको सूचना माग गर्ने तथा प्राप्त गर्ने नागरिक अधिकारको आधिकारिक सदुपयोग गर्न आम नागरिकलाई आह्वान गरेको छ ।

आयोग स्थापना दिवसको अवसरमा आफूलाई दिइएको जिम्मेवारीमा खरो उत्रने प्रतिबद्धता व्यक्ति गर्दै प्रमुख सूचना आयुक्त गुरुङले सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताउनुभएको छ ।

किराँतहरूको महान् पर्व उँभौलीको अवसरमा आज शुभकामना दिँदै उहाँले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्यवन आजको मुख्य दायित्व भएको जनाउनुभयो । उहाँले जनअधिकार स्थापित गर्ने सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभएको छ ।

कृषि युगमा प्रवेश गरेपश्चात् प्रचलनमा आएको उँभौली पर्व नेपालजस्तो कृषिप्रधान मुलुकका लागि थप प्रेरणादायी र सन्देशमूलक रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्रकृतिलाई खुसी तुल्याएर भूमिबाट बढीभन्दा बढी लाभ लिने परम्परा संस्कृतिका दृष्टिले मात्र नभएर समृद्धि र विकासको चेतबाट समेत वैज्ञानिक र प्रगतिशील देखिएको बताउनुभएको छ । उधौली पर्व किरात समुदायका साथै उत्पादनशील चेतका समस्त नेपालीहरूको समेत पर्वको रूपमा स्थापित हुँदै गएको उहाँको भनाइ छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त स्वाधीन र समुन्नत मुलुक रहेको जनाउँदै प्रधानमन्त्री दाहालले नेपाली चाडपर्व, वेशभूषा, संस्कार–संस्कृतिहरू राष्ट्रिय एकताका सेतुमात्र नभएर समुन्नत नेपाल निर्माणका आधारशीलासमेत भएका बताउनुभयो । “ऐतिहासिक कालदेखि आफ्नो जीवनवृत्तिका क्रममा विभिन्न जाति र समुदायले हासिल गरेका अनुभव र प्राप्त ज्ञानको शृङ्खला नै सभ्यता र संस्कृतिको स्रोत पनि हो । यस अर्थमा नेपालका विभिन्न जातिले मनाउने पर्व हाम्रा ऐतिहासिक गौरवगाथा र प्रेरणाका स्रोत हुन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले उँधौली पर्वले समान अधिकारका साथ सबै वर्ग, जाति, लिङ्ग र समुदायको भाषा, कला, संस्कृतिको संरक्षण र प्रवद्र्धनसहित राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सकोस् भनी कामनासमेत गर्नुभएको छ । उहाँले स्वदेश तथा विदेशमा रहनुभएका किराँत समुदायलगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, दीर्घायु र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो

काठमाडौँ – २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौँको स्वयम्भू, बौद्धलगायत तीर्थस्थलमा बौद्ध अनुयायीको बिहानैदेखि घुइँचो लागेको हो ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिएका छन् । स्वयम्भू परिसरमा रहेको आनन्द कुटी विहारमा बुद्धको अस्तु धातु दर्शनका लागि राखिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

एसियाका तारा गौतम बुद्ध

काठमाडौँ – इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गर्नुभयो । बुद्धत्व प्राप्त गरेपछि नै उहाँलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ । दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाउनुभएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि यी आठ मार्ग हुन् भनी उहाँले ज्ञान बाँड्नुभएको थियो ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँड्नुभएको थियो । झण्डै ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उहाँले महापरिनिर्वाण (मृत्यु) प्राप्त गर्नुभयो ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभयो । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको हो ।

विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

यिनमा बेलायतबाट प्रकाशित डेली टेलिग्राफका सम्पादक सर एडविन आर्नोल्डको ‘एसियाको ज्योति (१८७९)’ तत्कालीन भारतीय संविधान मस्यौदा समितिका अध्यक्ष डा बाबा साहेब अम्बेडकरको ‘बुद्ध र उनको धम्म (१९५७)’ र सन् १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मन उपन्यासकार हेर्मन हेस्सेको ‘सिद्धार्थ (१९२२)’ प्रसिद्ध छन् ।

यसैगरी जर्मनीका माथेरा न्यानातिलोकाले ‘बुद्धिस्ट डिक्सनरी’ (१९५०), ‘विश्वमा बुद्ध’ (१९०६), फ्रान्सका डा. वाल्पोला राहुलको ‘बुद्धको विचार’ (१९५९), इटलीका जिसेप्पे टिउचिलेको ‘मुस्ताङको भ्रमण’ (१९६९) आदि पुस्तकले बुद्धलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

विश्वका अति प्रसिद्ध अक्सफोर्ड, क्याम्ब्रिज, हार्वर्ड आदि विश्वविद्यालयमा बौद्ध अध्ययन हुँदै आएको छ । यसैगरी त्रिभुवन, नेपाल संस्कृत, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतले पनि बौद्ध दर्शनमा स्नातकोत्तर (एमए) को अध्ययन अध्यापन गर्दै आएका छन् ।

बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिनुभयो जुन ‘विनय’, ‘सुत्त’, ‘अभिधम्म’, ‘त्रिपिटक’ आदि पुस्तकमा सङ्ग्रहित छन् । सम्राट् अशोकले इ पू २४९ मा ‘हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राह्मी लिपिमा पाली भाषामा लेखेको अशोक स्तम्भ पत्ता लागेको एक शताब्दी पूरा भइसकेको छ ।

तत्कालीन वेस्टर्न कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो ।

सन् १९५६ मा चौथो विश्व बौद्ध मातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव उ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।

बुद्ध जन्मिएको नेपाललाई विश्वमा चिनाउन २०७० सालको अन्तिमतिर अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जानुभएका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले नेपालका साथै एसियाका भारत, बर्मा, श्रीलङ्का, थाइल्यान्ड, हङ्कङ्, मङ्गोलिया, भुटान, सिङ्गापुरलगायत देशलाई समेटेर बौद्ध परिपथको प्रस्ताव गर्नुभएको थियो । प्रस्तावलाई धेरै देशले समर्थन गरेका थिए ।

नेपालमा पनि लुम्बिनी, स्वयम्भू, बौद्ध, मणिचुड, नमोबुद्ध, हलेसीलगायत बौद्ध तीर्थस्थललाई समेटेर बौद्ध परिपथको प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएका यी दुवै परिपथले पूर्णता भने पाउन सकेका छैनन् । बुद्ध जयन्ती वा यस्तै अन्य अवसरमा प्रस्ताव गर्ने तर त्यसको कार्यान्वयनका लागि काम हुन नसकेको टिप्पणी हुने गरेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्धजयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो । दरबार त्यागेर निस्केपछि नै उहाँले बुद्धत्व प्राप्त गर्नुभएको हो ।

नक्कली शरणार्थी प्रकरणमा एक दर्जन व्यक्ति प्रहरीको निगरानीमा

काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा पक्राउ परेकाहरूको बयानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम पनि मुछिएको छ ।

पक्राउ परेकाहरूको बयानका क्रममा नाम आएपछि एकपछि अर्को गर्दै राजनीतिक व्यक्ति र नेपाल सरकारका बलालवाला उच्च पदस्थ कर्मचारीसमेत तानिन थालेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ परेका आरोपीविरुद्ध संगठित ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

‘पक्राउ परेकाहरूको बयानका क्रममा आर्थिक कारोबार हुँदा गृह मन्त्रालयका तत्कालीन सचिव रहेका प्रेमकुमार राईको पनि नाम आएको छ, बयानका आधारमा प्रहरीले थप प्रमाणको खोजी गरिरहेको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले राजधानीसँग भने । राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख छन् । उनी २७ चैत २०७४ देखि २० माघ २०७६ सम्म गृहसचिवको जिम्मेवारीमा थिए ।

प्रहरीले बुधबार मात्रै गृह मन्त्रालयको सचिवका रूपमा त्यसबखत जिम्मेवारीमा रहेका टेकनारायण पाण्डेलाईसमेत नक्कली भुटानी शरणार्थी तयार गर्ने गिरोहलाई सघाएको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।

पाण्डे बुधबारसम्म उपराष्ट्रपति कार्यालयमा सचिवको जिम्मेवारीमा थिए । पाण्डे २७ साउन २०७८ देखि २ असोज २०७९ सम्म गृहसचिव थिए । काठमाडौं जिल्ला अदालतमार्फत बुधबार नै प्रहरीले पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पनि पक्राउ पुर्जी बुझिसकेको छ । उनी पक्राउ परिसकेका छैनन् ।

यसैगरी, हाल एमाले सचिव रहेका टोपबहादुर रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । रायमाझी बुधबार अर्घाखाँचीमा सार्वजनिक कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भइरहेका बेला काठमाडौं प्रहरीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

उनी बुधबार राति नै बुटवल आएको र बुटवल आएपछि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्येका एक आरोपी सागर राईले रायमाझीलाई आफूले नगद बुझाएको बयान प्रहरीसमक्ष दिएको प्रहरी स्रोत बताउँछ ।

प्रहरीले रायमाझीका छोरा सन्दीप रायमाझीलाई पनि बुधबार साँझ नै बुटवलबाट पक्राउ गरिसकेको छ । काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नक्कली शरणार्थी बनाउने धन्दामा जोडिएका अन्य १०/११ जना व्यक्ति प्रहरीको निगरानीमा रहेको र पक्राउ परेकाहरूको बयानका आधारमा थप व्यक्तिको संलग्नता खुल्ने बताए । यो समाचार राजधानी दैनिकमा छ ।

नेफ्टा चलचित्र अवार्ड साउनमा

काठमाडौँ – आउँदो जेठ १३ मा हुने भनिएको नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) को चलचित्र अवार्डको मिति सारिएको छ । अमेरिकामा आयोजना हुने भनिएको ‘नेफ्टा चलचित्र अवार्ड’ को ११औँ संस्करण साउनको पहिलो साता ६ गते हुने सङ्घले जानकारी दिएको छ । “हाम्रो तयारीका लागि समय अपर्याप्त भएकाले मिति हेरफेर गरेका हौँ । नयाँ मितिमा अवार्डलाई थप समावेशी, बृहत र सफल तुल्याउन सजिलो हुनेछ”, नेफ्टा अध्यक्ष पुस्कर लामाले भन्नुभयो ।

नयाँ तालिकाअनुसार आगामी ३१ वैशाखमा अवार्डका सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गरिनेछ । “उत्कृष्ट पाँचमा रहने चलचित्रकर्मीले अवार्डमा सहभागिता जनाउनु हुनेछ । हामी अवार्डलाई भव्य रूपमा सम्पन्न गर्दै नेपाली कला, संस्कृतिमार्फत चलचित्रको बजार विस्तारसमेत गर्न चाहन्छौँ”, अध्यक्ष लामाले भन्नुभयो ।

उहाँका अनुसार विसं २०७९ भित्र प्रदर्शन भएका चलचित्रले ४२ विधामा प्रतिस्पर्धा गर्नेछन् । नेफ्टाका विदेशी संस्करण युएई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भइसकेको छ । अमेरिकी संस्करणका लागि फेम नेपालसहित युएस खबर र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् ।

विश्व शान्तिका अग्रदूत गौतमबुद्ध : मुख्यमन्त्री कार्की

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २५६७औँ बुद्ध जयन्तीको अवसरमा देश विदेशमा बस्नु हुने दाजुभाइ तथा दिदीबहिनीसहित सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आज विज्ञप्ति जारी गर्दै राष्ट्रका गौरव एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको वैशाख शुक्ल पक्षको पूर्णिमाको दिन त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकै दिन परेकाले यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति भक्ति भाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने उल्लेख गर्नुभएको छ ।

लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँच जना भिक्षुलाई उपदेश दिएर सुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुखधर्महरू मध्ये एक भएको उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

“शान्ति, सत्य, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका महान् गुरु हुन् । आज विश्व जगत् बुद्धको यिनै आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । पच्चीस सय वर्षभन्दाअघि बुद्धले प्राप्त गरेको ज्ञानको अविरल ज्योतिले विश्व मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा अवश्य पनि शान्ति र कल्याण प्राप्त हुन्छ”, मुख्यमन्त्री कार्कीले भन्नुभएको छ ।

उहाँले बुद्ध जयन्तीको यस महत्त्वपूर्ण दिनले हामी सबैलाई एकआपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् साथै राष्ट्रियता तथा पारस्परिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन सबैलाई अभिप्रेरित गर्न सकोस् भन्नुभएको छ ।

शुभकामना सन्देशमा भनिएको छ, “हाम्रा जुनसुकै पर्वहरू सबै नेपाली मनलाई राष्ट्रिय एकताको एउटै सूत्रमा बाँध्ने माध्यम हुन् र यी पर्वहरूबाट सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षासहित पुनः बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दछु ।”

मनाइँदै उँभौली पर्व

काठमाडौँ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।

बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दुमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।

वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको उहाँले सुनाउनुभयो । यस पर्वका अवसरमा चण्डी नाच नाचिन्छ । यसै कारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।

किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण सुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन सुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् । यो पर्व किराँत राई समुदायको महत्त्वपूर्ण पर्व हो ।

बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग गर्दछ : सभामुख

काठमाडौँ – सभामुख देवराज घिमिरेले भगवान् बुद्धले देखाउनुभएको पवित्र मार्गको अनुसरणले शान्ति, सद्भाव, करुणा र मैत्रीभाव प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

२५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले शान्तिका अग्रदूत भगवान् गौतम बुद्धलाई प्रेम, दया, करुणा, विश्व शान्ति र अहिंसाको स्रोतको रूपमा लिने गरिएको र बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “सम्पूर्ण नेपाली बौद्ध धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु, आजको पवित्र दिनले सम्पूर्ण मानव–जगत्लाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न प्रेरित गर्ने विश्वास लिएको छु ।” सभामुख घिमिरेले नेपाली समाजमा विभिन्न जातजातिहरूको बसोबास गर्ने, जातीय विविधताले नेपाल बहुजातीय मुलुक भएको र विविध जातिहरूको आाफ्नो सांस्कृतिक परम्पराले गर्दा नेपाल बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्नुभएको छ । “विविधता भित्रको एकता हामी नेपालीको मौलिक पहिचान हो, बहुभाषा, बहुधर्म र बहुसंस्कृतिले नै हाम्रो समाजलाई पारस्परिक सम्मान एवं सद्भावसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्”, उहाँले भन्नुभएको छ ।

जीवनलाई रोग, शोक, दुःख र कष्टबाट माथि उठाउने तथा शान्ति र करुणा प्रवद्र्धन गर्ने बुद्धका शिक्षा आज पनि त्यत्तिकै सान्दर्भिक रहेका र बुद्धका शिक्षाले सार्वकालीन महत्व राख्ने उहाँको भनाइ छ ।

माओवादी पदाधिकारीको अनौपचारिक बैठक : भ्रष्टाचारी र आर्थिक अनियमिततामा जोडिएकालाई नछाडिने

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र आर्थिक अनियमिततामा जोडिएका कोही कसैलाई पनि नछाडिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारीको अनौपचारिक बैठकमा उहाँले नक्कली शरणार्थी प्रकरणमा जोडिएका कोही कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको हो ।

प्रधानमन्त्रीले नक्कली शरणार्थी बनाउने र त्यससँग जोडिएर गैरकानुनी रुपमा आर्थिक चलखेल गर्नेलाई कानुनी दायरामा ल्याउनका लागि सरकारले अधिकतम पहल गर्ने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल गर्न बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री एवं् पार्टी अध्यक्ष दाहालले सरकार आर्थिक अनियमितता र भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत हुनुभएको बताउनुभएको थियो ।

बैठकमा पार्टी पदाधिकारीले राजनीतिक रङ्ग नदिइकन शरणार्थी प्रकरणमा जोडिएका सबैलाई कानुनी दायरामा ल्याउन सरकारले कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राख्नुभएको थियो । प्रधानमन्त्री दाहालले पदाधिकारीमा रहेका नेतालाई आगामी आवको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने विषयलाई लिखित रुपमा नै पेश गर्न निर्देशन दिनुभएको थियो ।

सरकार विस्तार, गठबन्धनमा आबद्ध दलहरुबीचमा भइरहेको छलफल तथा समाजवादी मोर्चालगायतका विषयमा बैठकमा छलफल भएको थियो । पार्टीका अर्का सचिव गणेश साहका अनुसार बैठकमा सरकारको काम कारबाहीलगायतका विषयमा छलफल भएको थियो ।

एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हो – प्रधानमन्त्री

काठमाडौँ, २२ वैशाख (रासस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताउनुभएको छ ।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि बुद्धले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीका लागि विशेष ऐतिहासिक गौरवका विषय भएको उहाँले उल्लेख गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “नेपालको भूमिमा जन्मिनुभएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसङ्ग आज पनि उत्तिकै महत्वपूर्ण मानिन्छ, बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन् ।”

प्रधानमन्त्री दाहालले बुद्ध दर्शन, बुद्धको जन्मभूमि लुम्बिनी र महत्वपूर्ण सबै बौद्ध क्षेत्रहरूको प्रवद्र्धन र विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको जानकारी गराउँदै बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । सन्देशमा भनिएको छ, “बौद्ध धर्मावलम्बीलगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, दीर्घायु, समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।” नेपालको लुम्बिनीमा जन्मिनुभएका बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभरि नै अद्वितीय रहिआएको छ । –

शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अनेकौँ प्रकारका हिंसाको प्रयोगबाट आक्रान्त समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्न गएको बताउनुभएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले समस्त मानव जातिलाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धका उपदेशहरूको पालना एवं अनुसरण गरी व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने विश्वास व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभएको छ, “नेपाल प्राचीन बौद्ध सभ्यताको उद्गम स्थल भएको हुनाले बौद्ध धर्म र दर्शनसम्बन्धी अध्ययन एवं अनुसन्धानको संस्थागत विकास गर्न, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक स्थलहरूको संरक्षण, विकास र प्रवद्र्धन गर्नका लागि आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ ।” उहाँले भन्नुभएको छ, “विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

वैशाख शुक्ल पूर्णिमा गौतम बुद्धले जन्म लिएको, ज्ञान प्राप्ति गरेको र महापरिनिर्वाण हासिल गरेको त्रि–संयोगयुक्त दिवस हो । तसर्थ, विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि यो दिन गौतम बुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिनका रूपमा रहेको छ । पूर्व राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, “गौतम बुद्धका उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच परस्पर सद्भाव र सहिष्णुताको भावना अभिवृद्धि गर्दै सुदृढ राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा अग्रसर रहन म सबैमा हार्दिक आह्वान गर्दछु”, भन्नुभएको छ ।

बुद्धको उपदेशलाई सबैले मन, बचन र कर्मले पालना गरौँ : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शान्ति, सहिष्णुता तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा उहाँले देशमा शान्तिको कामना गर्दै अन्याय, अत्याचार एवं सबै प्रकारका दमनबाट सबैले मुक्ति पाउन् भन्ने कामना गर्नुभएको छ । साथै उहाँले दिवसका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

“दिगो शान्ति विना मुलुकको समग्र विकास सम्भव छैन्”, सभापति देउवाले सन्देशमा उल्लेख गर्नुभएको छ । उहाँले विश्व शान्तिका अग्रदुत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धधर्मावलम्वी, शान्ति र अहिंसाप्रेमी दिदीबहिनी तथा दाजुभाइ एवं किराँत समुदायको महान पर्व उभौलीको अवसरमा किराँत दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विविधता बीचको एकताबाट राष्ट्रिय एकता सबल : प्रदेश प्रमुुख गुरुङ

गण्डकी – गण्डकी प्रदेश प्रमुुख पृथ्वीमान गुरुङले विविधता बीचको एकताबाट राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताउनुभएको छ । २५६७औँ बुद्ध जयन्तीको अवसरमा शुुभकामना सन्देश जारी गर्दै उहाँले गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

“वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा उहाँप्रति श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ”, सन्देशमा भनिएको छ । यस दिनले विविधता बीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिको पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने प्रदेश प्रमुख गुरुङले उल्लेख गर्नुभएको छ ।

गौतम बुद्धको जन्मभूमि नेपाल हुनु नेपालीका लागि गौरवको विषय हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विश्व शान्तिका प्रकाश भनेर सम्मान गरिने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताउनुभएको छ ।

२५६७औँ बुद्ध जयन्तीको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले गौतम बुद्धले प्रतिपादन गर्नुभएको अहिंसा र शान्तिको सन्देशले व्यक्ति, परिवार, समाज, देश र विश्वको सर्वोत्तम हित र प्रगतिका लागि सदैव प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्जुभएको छ ।

सन्देशमा भनिएको छ, “शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास मैले लिएको छु ।”

उहाँले २५६७औँ बुद्ध जयन्तीको यस शुभ अवसरमा बुद्धको अहिंसात्मक शान्ति सन्देश तथा उपदेशको स्मरण गर्दै एकता, सहिष्णुता, सद्भाव, अहिंसा र शान्तिको महान् अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीद्वारा गौतम बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्दै बुद्ध जयन्ती मनाउने गरिन्छ । त्यस दिन बुद्धका मन्दिर, गुम्वा, विहार, मठ, स्तुपा र चैत्यमा बुद्धको विशेष पूजा अर्चना लगायत विविध कार्यक्रम गरी मनाइन्छ ।

आज २५६७औँ बुद्ध जयन्ती

काठमाडौँ – शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ । इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६७ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिनुभएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बन्नुभयो । उनान्तीस वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्कनुभयो ।

यातायात क्षेत्रलाई व्यवस्थित गर्ने : मुख्यमन्त्री कार्की

विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘सार्वजनिक यातायातको क्षेत्रमा डिजिटलाइजेशन’ सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले प्रदेशमा राजस्वको धेरै ठूलो क्षेत्र बोकेको यातायातलाई व्यवस्थित गर्न डिजिटलाइजेशन हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले समयसापेक्ष यातायात क्षेत्रलाई सुधार गर्न नसके अपेक्षित लाभ लिन नसकिने भन्दै प्रदेशमा यातायातको रुट निर्धारण र नियमन पनि प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रविधितर्फ नागरिक आकर्षित भइरहेको समयमा हरेक क्रियाकलाप प्रविधिमैत्री हुन आवश्यक छ भन्दै छलफलमा उठेका कुरालाई सरकारले नीति तथा कार्यक्रममा समावेश गर्ने स्पष्ट पार्नुभयो ।

मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्वसदस्य एवं यातायात व्यवसायी श्रीप्रसाद मैनालीलगायतले डिजिटलाइजेशनको पक्षमा बोल्नुभएको थियो ।

कार्यक्रममा सार्वजनिक यातायातको वर्तमान अवस्था र गर्नुपर्ने कार्य, आवश्यक नीति, नियम र कार्यविधि, चल्ने रुट तथा नम्बर, बस बिसौनी, कार्यान्वयन तथा निगरानी, यातायात व्यवसायीले गर्नुपर्ने कार्य, यातायात श्रमिकको क्षमता अभिवृद्धि, श्रमिकको पारिश्रमिक पद्धतिमा पुनरावलोकन, प्रविधि उपकरण तथा प्रणालीको व्यवस्था, जनशक्तिका लागि तालिमको व्यवस्था, सुरक्षित वित्तीय कारोबारको सुनिश्चितता, सहज तथा सरल सञ्चालनको व्यवस्थापनजस्ता विषयमा छलफल भएको थियो ।

सुडानमा रहेका १३ नेपाली आइपुगे

काठमाडौँ, सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपाली नागरिकको सकुशल उद्धार तथा घर फिर्तीका लागि कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका १३ जना नेपाल आइपुगेका छन् ।

दूतावासको सम्पर्कमा रहेका ३१ जना मध्ये साउदी अरेबिया सरकारको सहयोगमा जेद्दा पु¥याइएका १९ जनामा १३ जना आज नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । छ जना रोजगारदाता कम्पनीको संयुक्त अरब इमिरेट्सको दुबइस्थित शाखामा स्थानान्तरण भएका छन् । चिनियाँ कम्पनीमा कार्यरत एक जना नेपाली नागरिकको चीन सरकारको सहयोगमा यसअघि नै उद्धार भइसकेको छ ।

अन्य १२ जना मध्ये नौ जना नेपाली नागरिक भारत सरकारको सहयोगमा आज पोर्ट सुडानबाट हवाईमार्ग हुँदै भारतको अहमदावादका लागि प्रस्थान गरेको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वेच्छाले सुडानमै रहेका तीन जनामध्ये रोजगारदाता कम्पनीको प्रबन्धमा एक जना पोर्ट सुडानमा र दुई जना सुडान–इजिप्टको सीमाना नजिक सुरक्षित रहेका छन् । तीनै जना नेपाली नागरिक कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका छन् ।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुको यसअघि नै सुरक्षित स्थानमा उद्धार भइसकेको छ । सुडानमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्यमा परराष्ट्र मन्त्रालय तथा कायरो, रियाद र जेद्दास्थित नेपाली नियोगहरुबाट सक्रिय रुपमा समन्वय र सहजीकरण भएको छ । उद्धार प्रकृयामा सहयोग पु¥याउने छिमेकी मित्रराष्ट्र भारत, चीन र मित्रराष्ट्र साउदी अरेबिया सरकारप्रति नेपाल सरकारले धन्यवाद प्रकट गरेको छ ।

कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ

काठमाडौँ – नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताउनुभएको छ ।

शपथग्रहणपछि मन्त्रालयमा आज पदभार ग्रहणमा उहाँले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।

उहाँले आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई छिटो छरितो बनाउने विषयमा सदा ध्यान दिएर काम गर्ने बताउनुभयो ।

बुद्ध जयन्ती मनाउन रामग्रामले धातु जात्रा निकाल्ने

नवलपरासी – वैशाख २२ गते शुक्रबार बुद्धको २५६७औँ जयन्तीको अवसरमा रामग्राम नगरपालिकाले धातु जात्रा गर्दैछ । हरेक वर्ष रामग्राम स्तपुमा मनाउँदै आएको बुद्ध जयन्ती यो वर्ष नगरपालिकाले फरक तथा आकर्षक ढङ्गले गर्ने बताएको छ ।

नगरपालिकाले नगरभित्र रहेको कोलिया गणराज्यको पण्डितपुरबाट धातु जात्रा (रथ) गर्ने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताउनुभयो । करिब २५ सय वर्ष तथा इसापूर्व पाँच सय वर्ष पुरानो यो स्तुप कोलिया गणराज्यद्वारा निर्माण गरिएको थियो । बुद्धको परिनिर्वाणपश्चात विभिन्न राजाले बनाएका विभिन्न आठ स्तुपमध्ये सिङ्गो अस्तु भाग रहेको रामग्राम स्तुप हो । स्तुपको सुरक्षार्थ नागजातिको आग्रहमा उत्खनन नगराई दिदा सिङ्गाँ भाग बचेको छ । सोही अस्थिको झल्को दिन धातु रथयात्रा गर्ने नगरप्रमुख यादवले भन्नुभयो ।

बुद्ध जयन्तीका अवसरमा कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि नगरपालिकाले सम्पूर्ण तयारी गरिसकेको छ । रामग्राम स्तपु, पण्डिपुर र परासी बजार सरसफाइ गरिएको छ । त्यस्तै दिउँसोका कार्यक्रम सकिएपछि साँझ दीपावली गर्ने कार्यक्रम पनि छ ।

सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

ग्रिल तथा स्टिल व्यवसायी महासङ्घको २८औँ साधारणसभा तथा नवौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले उद्योगी, व्यवसायीको समस्या समाधान गर्न सरकारले व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको हो । “लगानी, व्यावसायिक वातावरण निर्माण गरी उनीहरूको समस्या समाधान गर्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले रोजगारी सिर्जना, आयात प्रतिस्थापन गरी निर्यात हुने वस्तु उत्पादनको क्षेत्र पहिचान गरी उद्योग, व्यवसाय खोल्ने, साना उद्योगलाई ठूला उद्योगसँग जोड्ने काममा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्सजस्ता ठूला र अग्रणी संस्थाहरूले विशेष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले ग्रिल व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायहरूको ध्यानाकर्षणसमेत गराउनुभयो । उहाँले ग्रिलजन्य सामग्रीको उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । ग्रिल व्यवसायीको भविष्य राम्रो रहेको उहाँको भनाइ थियो ।

अझै पक्राउ परेनन् हात्तीको सुँड काट्ने अभियुक्त

चितवन-सौराहामा एक महिनाअघि हात्तीको सुँड काट्ने अभियुक्तलाई पक्राउ गर्न सकिएको छैन । गत चैत २१ गते राति पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले पालेको चञ्चलकली नामको हात्तीको सुँड काटिएको थियो । राति ११ः३० बजे हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको थियो ।

घटनालगत्तै चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिस पक्राउ परिसकेको छैन । अनुसन्धान भइरहेकाले थप केही भन्न मिल्दैन ।” निकुञ्जले नेपाल प्रहरीलाई पत्राचार गरी सहयोगसमेत लिइरहेको छ । तिवारीले अभियुक्त पक्राउ पर्नेमा ढुक्क रहेको भन्दै यस्ता आपराधिक घटनाका अभियुक्तलाई पक्राउ गरी कारबाही गरिने बताउनुभयो ।

व्यवसायी खतिवडाले निकुञ्जले अनुसन्धान गरिरहेको भए पनि नतिजा नआएसम्म भन्ने अवस्था नरहेको बताउनुभयो । हात्तीको अवस्था सुधार हुँदै गएको छ । सुँडले घाँस खान नमिलेपछि माउतेले हातले खुवाउँदै आएको छ भने पानी हात्तीले आफँै खाएको उहाँले जानकारी दिनुभयो । खतिवडाले भन्नुभयो, “पानी खान सकेको छ । घाँस टिप्न सकेको छैन । घाउ ७० प्रतिशत ठिक भयो ।” पशु प्राविधिक किरण रिजालले निकुञ्जका पशु चिकित्सकको परामर्शमा हात्तीको उपचार गरिरहेको उहाँले जानकारी दिनुभयो ।

सङ्गठन निर्माणमा जुट्न अध्यक्ष नेपालको निर्देशन

गोदावरी – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्गठन निर्माणमा अहोरात्र खट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

आज सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढीमा आयोजित सङ्गठन सुदृढीकरण विशेष अभियान समीक्षा भेलाको उद्घाटन गर्दै उहाँले सङ्गठन निर्माण र जनजीविकाका मुद्दामा केन्द्रित भएर अहोरात्र खट्न निर्देशन दिनुभयो । अध्यक्ष नेपालले उपनिर्वाचनको परिणामले पुराना दल सक्किने होइन, सच्चिनु पर्छ भन्ने सन्देश दिएको टिप्पणी गर्नुभयो । देश र जनताका पक्षमा काम गर्न सकिएन भने जनता निराश हुने भन्दै उहाँले पुराना दल सच्चिनुको विकल्प नभएको बताउनुभयो ।

उहाँले गठबन्धन दलमा कुनै समस्या नरहेको बताउँदै साना–तिना समस्या भएकाले छलफल गरेर समाधान गरी गठबन्धन अगाडि बढ्ने स्पष्ट गर्नुभयो । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सरकारबारे गठबन्धन दलहरूबीच छलफल भइरहेकाले चाँडै निकास निस्केर प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

वार्ता समिति गठनपछि कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ – सरकारले उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि निजामती सेवाका कर्मचारीहरूले तत्कालका लागि आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले वार्ता समिति गठन भएपछि तत्कालका लागि आन्दोलन स्थगित गरिए पनि वार्तामार्फत आफूहरूको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो ।

वार्ता समितिले आजै आन्दोलनरत निजामती कर्मचारीसँग वार्ता गर्ने तय गरेको छ । सङ्घीय निजामती कर्मचारी सेवा ऐनको माग गर्दै निजामती कर्मचारीले आज सिंहदरबारको दक्षिण गेट अगाडि धर्ना दिएका थिए ।

सर्वोच्चको परमादेश : ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’

सर्वोच्च अदालतले दुई महिनाभित्र भारतलगायतका देशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । अदालतले उक्त विषयमा चार बुँदे निर्देशनसमेत दिएको छ ।

“नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार विन्दुमा नै गरेर मात्र पैठारी गर्नेसम्बन्धी मिति २०७६/३/२ को निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा भन्सार विन्दुहरूमा प्रयोगशाला स्थापना गर्नू”, आदेशमा भनिएको छ, “त्यसरी स्थापित प्रयोगशालामा सबै किसिमको विषादी परीक्षण हुनसक्ने अन्तर्राष्ट्रियस्तरको आधुनिक उपकरण र दक्ष जनशक्ति उपलब्ध गराउनू ।”

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट विष्णुप्रसाद तिमल्सिनाले दायर गरेको रिट निवेदनमाथिको सुनुवाइपछि उक्त आदेश गरेको हो ।

“विषादीको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून एवं मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न के–कस्तो योजना बनेको छ ? कुनै योजना बनेको भए सो योजना कार्यान्वयनका लागि के–कस्तो तयारी भएको छ ?”, आदेशमा भनिएको छ, “योजना नबनेको भए आम उपभोक्ताले विषादी परीक्षण नगरी पैठारी गरिएका र अनियन्त्रित मात्रामा विषादी प्रयोग गरिएका तरकारी तथा फलफूल खान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरी जनस्वास्थ्य र वातावरणमा गुणात्मक सुधार ल्याउन गर्नुपर्ने निर्णय तथा क्रियाकलापको सूचीसहित सम्बन्धित जिम्मेवार अधिकारीसमेत तोक्नुपर्ने देखिन्छ ।”

मानवको जीउ–ज्यान तथा स्वास्थ्य र वातावरणमा हानि पु¥याउने विषादीयुक्त वस्तुको बिक्री वितरणबाट सुरक्षित हुन पाउने नेपाली नागरिकको मौलिक हकको संरक्षणको सुनिश्चितताका लागि नेपालमा पैठारी हुने तरकारी तथा फलफूल विषादी परीक्षण गरेर मात्र पैठारी गर्ने भनी सूचना प्रकाशित भएको झन्डै चार वर्ष पुग्न लागेको छ ।

आदेशमा भनिएको छ, “यो अवधिमा के–कस्तो योजना तथा मापदण्ड बनी के–कसरी कार्यान्वयन भएको छ ? योजना कार्यान्वयनमा के–कति प्रगति भएको छ, अदालतमा त्यसको जवाफ पेस गर्नू ।”

स्पष्ट र कार्यान्वयनयोग्य कार्ययोजना बनाई यो आदेश प्राप्त भएको मितिले दुई महिनाभित्र अन्य विपक्षी एवं सरोकारवालाहरूसँग समेत आवश्यक समन्वय गर्नसमेत आदेशमा भनिएको छ ।

आदेशमा २०७६ साल असार २ को निर्णयबमोजिम पैठारी हुने तरकारी र ताजा फलफूलमा विषादीको अवशेष परीक्षण गरेर मात्र नेपाल भित्र्याइने भनी गरिएको निर्णय के–कति अवधिमा पूर्णरूपमा कार्यान्वयन हुने हो ? भनी सरकारलाई प्रश्न गरिएको छ ।
–––

जनताको सेवाका लागि हरपल सहकार्य गर्छु : नवनियुक्त मन्त्री बस्नेत

नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको सेवाका लागि हरपल सहकार्य गर्ने बताउनुभएको छ ।मन्त्रालयमा आज पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले पत्रकारसँगको कुराकानीमा आफ्नो बढीभन्दा बढी समय मन्त्रालयसँग सहकार्य गर्ने रहेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सङ्कटमा सबै पक्ष जनता बचाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । “स्वास्थ्य सङ्कटमा पहिला जनता बचाऔँ अनि राजनीति गरौैँ । वर्तमान परिप्रेक्ष्यमा स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न रोगबाट उन्मुक्तिका लागि सबै जनाले ‘एक घन्टा आफ्नो लागि’ नारासहित अघि बढौँ”, उहाँले भन्नुभयो ।

विगतमा स्वास्थ्यमन्त्री हुँदा गरेका उत्कृष्ट कार्य, लिएका अनुभव र हाल पाएको जिम्मेवारीले मन्त्रालयमा रहेका कमी–कमजोरीलाई न्यूनीकरण गरी सबै पक्षसँग सहकार्य र समन्वय गरी स्वास्थ्य क्षेत्रको सुधारोन्मुख दिशामा प्रतिबद्ध रहने उहाँको भनाइ छ ।

मन्त्रालयले गर्ने हरेक कार्यको पारदर्शिता कायम गरी कर्मचारीको कार्यसम्पादनको प्रभावकारिताका आधारमा सरुवा तथा स्तरोन्नतिको अवसर प्रदान गर्ने उहाँले बताउनुभयो । पदभार ग्रहणपश्चात मन्त्री बस्नेतले चार निर्णय गर्नुभएको छ ।

उहाँले स्वास्थ्य उपचारका नियमित सेवाका अलावा समय क्रममा विकसित भई सङ्क्रामक एवं महामारीका रूपमा फैलिने कोभिड, डेङ्गु र अन्य सरुवा रोग फैलिन नदिन मन्त्रालयले नीतिगत नेतृत्वका साथै सङ्घ, प्रदेश र स्थानीय तहसँगको पारस्परिक समन्वय र व्यवस्थापनलाई चुस्तदुरुस्त गरी आम नागरिकको स्वास्थ्य उपचारसँगै जीवन सुरक्षाका लागि तीनै तहका सरकारका साथै दातृ निकाय एवं सङ्घसंस्थाको साझेदारी र लगानीमा स्वास्थ्योपचार विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको छ ।

दोस्रो निर्णयका रूपमा स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने रहेको छ ।

तेस्रो, आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि मन्त्रालयले प्रदेश तथा स्थानीय तहहरूमा साधन, स्रोत, स्वास्थ्य उपकरण र सेवा सुविधासहित चिकित्सकलाई अधिकतम परिचालन गर्ने रहेको छ ।

त्यसैगरी स्वास्थ्य सेवा प्रवाहका लागि सङ्घ, प्रदेश र स्थानीय तहहरूमा रहेका अस्पतालबाट भइरहेको उपचारात्मक सेवा र उपलब्ध स्रोत र साधन (औजार उपकरण)को अत्यधिक उपयोग भए/नभएको समेत समग्र क्षेत्रको अनुगमन गरी मन्त्रीसमक्ष प्रतिवेदन पेस गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा देहायबमोजिमको अनुगमन समिति गठन गर्ने निर्णय रहेको छ ।

राजनीतिक पृष्ठभूमि

मन्त्री बस्नेत नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै विसं २०५६ र २०६८ को आम निर्वाचनमा सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा र दोस्रो संविधानसभा सदस्यका रूपमा निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्री बन्नुभएका बस्नेत त्यसअघि २०५६ मा प्र्रधानमन्त्री देउवाकै नेतृत्वमा स्वास्थ्य राज्यमन्त्री हुनुभएको थियो ।

विसं २०१५ मा सिन्धुपाल्चोकमा जन्मिनुभएका बस्नेतले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पूरा गर्नुभएको छ । सिन्धुपाल्चोक क्षेत्र नं २ मा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यमा गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित मोहनबहादुर बस्नेतले नेकपा (एमाले)का उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको थियो ।

तेजाब रिमेकमा रणवीरलाई किन गरियो आउट ?

मुम्बई । सन् ९० को दशकको फिल्म ‘तेजाब’को रिमेक हुने भएको छ । सन् १९८८ मा रिलिज यो फिल्मको रिमेक भर्सनमा स्टारकास्ट परिवर्तन भएको छ । यसअघि फिल्ममा जाह्नवी कपूर र रणवीर सिंहको जोडी देखिने चर्चा चलिरहँदा अब फिल्ममा रणवीरको स्थानमा कार्तिक आर्यनको प्रवेश भएको छ ।

फिल्म ‘कबीर सिंह’का निर्माता मुराद खेतानीले सन् २०२१ मा फिल्मको रिमेक अधिकार लिएका थिए । उनी सुरुमा फिल्ममा कार्तिक र श्रद्धा कपुरलाई लिन इच्छुक थिए । तर, फिल्ममा माधुरी दिक्षित र अनिल कपुरको स्थान जाह्नवी र रणवीरले मात्र लिन सक्ने देखिएपछि प्रमुख कलाकार छनोटको काम सकिएको थियो । अहिले भने मुरादले रणवीरको स्थानमा कार्तिकलाई लिने निर्णय लिएका छन् ।

कार्तिकले यसअघि निर्माताहरुसँग ‘भूल भुलैया २’मा काम गरिसकेका छन् । त्यसकारण पनि निर्माताहरु कार्तिकको कामप्रति ढुक्क छन् । पछिल्लो समयमा कार्तिकको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । सोही कारण पनि कार्तिक निर्माताको नजरमा परिरहेका छन् ।

कार्तिकले ‘तेजाब रिमेक’का निर्मातासँग अर्को फिल्मका लागि कुराकानी गरिरहँदा निर्माताहरु रिमेकमै कार्तिकलाई अभिनय गराउन इच्छुक देखिएका छन् ।

ब्रेकअपपछि साथी बन्दा रिस उठ्छ – नागा चैतन्य

मुम्बई । साउथ अभिनेता नागा चैतन्य अभिनेत्री सामन्था रुथ प्रभुसँगको सम्बन्धविच्छेदपछि चर्चामा छन् । सम्बन्धविच्छेदपछि एकअर्काको नाम नलिएर दुवैले धेरै कुरा बोलिसकेका छन् ।

कहिले सामन्था पूर्व पति नागा र उनकी कथित प्रेमिका शोभित धुलिपालाको विषयमा बोल्छिन् । त कहिले नागा सामन्थाको नाम नलिई आफ्नो कुरा राखिरहेका छन् । हालैमात्र नागाले सामन्थाको नाम नलिईकन सम्बन्धविच्छेदपछिको जीवनका बारेमा बोलेका छन् ।

फिल्म ‘कस्टडी’को प्रमोसनका समयमा उनले आफूले सम्बन्ध टुटेपछि साथी बन्नुपर्ने विषयलाई बुझ्न नसकेको उल्लेख गरेका छन् । ‘एकपटक मेरी पूर्वले ब्रेकअप पछि साथी भन्ने विषयमा बोलेकी थिइन् । यो कुरालाई मैले अस्वीकार गरेको थिएँ’, उनले भनेका छन्, ‘यस्तो कुरा मलाई मनपर्दैन । यस्तो कामले मलाई रिस उठाउँछ ।’

नागाको नाम हाल शोभित धुलिपालासँग जोडिएको छ । उनीहरु कैयौं पटक सँगै देखिएका छन् । 

राम्रो कपाल बनाउन चाहानुहुन्छ ? अपनाउनुहोस् यस्तो उपाय

काठमाडौं । कपालको हेरचाहमा अक्सर तेल प्रयोग गर्न सल्लाह दिइन्छ। तेलले कपाललाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि पोषण दिने काम गर्छ । कपालको विभिन्न समस्याहरूलाई लक्षित गर्न विभिन्न तेलहरू प्रयोग गर्न सकिन्छ। 

यदि तपाईको कपाल अत्यधिक टुक्रिरहेको छ र टाउकोको कपालको सट्टा टाउकोको छाला स्पष्ट देखिन थालेको छ भने यहाँ उल्लेख गरिएको कपालको तेल लगाउनुहोस, तपाईको कपालले अर्को रुप लिनेछ ।

आउनुहोस जान्नुहोस्, कपाल लामो र बाक्लो बनाउन मद्दत गर्ने र कपालको वृद्धिमा सहयोगी साबित हुने तेलहरू के के हुन भनेर । 

तिलको तेल

तिल प्राय: खाना पकाउन समावेश गरिन्छ, तर कपालमा तिलको तेलको निकै फाइदाजनक छ। तिलको तेलमा फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । यो तेलले कपाललाई बाक्लो मात्र बनाउँदैन, मुहारमा आउने डन्डीफोर र बिल्डअपलाई पनि हटाउँछ।

अमलाको तेल

भिटामिन सीले भरपूर अमलाको तेलले कपाललाई पूर्ण रुपमा पोषण दिन्छ। यो तेलले कोलाजेन प्रोटिन बनाउँछ, जसले कपाल बढाउन मद्दत गर्छ। यसबाहेक यो तेलको राम्रो प्रभाव कपालको फोलिकल्सलाई पोषण गर्नमा देखिन्छ। अमलाको तेलमा एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल र एन्टीड्यान्ड्रफ गुण पनि प्रशस्त हुन्छ।

जैतुनको तेल

ओलिभ आयलले कपाललाई राम्रो बनाउनन मधत गर्दछ । यस तेलको एन्टी इन्फ्लेमेटरी गुणले कपालको सतह सफा राख्छ। यसबाहेक जैतुनको तेल, भिटामिन ई एन्टिअक्सिडेन्ट र ओलिक एसिडले समृद्ध कपाललाई क्षति हुनबाट रोक्छ र कपालको वृद्धिलाई बढावा दिन्छ।

बदामको तेल

मीठो बदामको तेल कपालका लागि निकै फाइदाजनक हुन्छ । यो तेलले कपाल पातलो हुने समस्या हट्छ । यसबाहेक यो बदामको तेल भिटामिन र खनिजको राम्रो स्रोत हो। यसमा भिटामिन ई, भिटामिन ए, पोटासियम, जिंक, प्रोटिन र फ्याटी एसिड पनि पाइन्छ, जुन कपालको लागि राम्रो साबित हुन्छ।

अरंडीको तेल
क्यास्टर आयललाई अरंडीको तेल पनि भनिन्छ। यो तेलले कपालको मोटोपन बढाउन मद्दत गर्छ। टाउकोमा मात्र नभई यो तेल कपाललाई बाक्लो बनाउन पनि लगाइन्छ । क्यास्टर तेलले कपाललाई बलियो र नरम बनाउँछ।

पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अवार्ड कसले जित्ला ?

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्दैै आएको पोखरा स्पोर्टस् अवार्डको सातौँ संस्करण यही वैशाख २३ गते पोखरा सभागृहमा हुँदैछ ।

गण्डकी प्रदेशका खेलाडी र खेलकुदकर्मीका लागि स्पोर्टस् अवार्ड सर्वाधिक चासोका रुपमा रहने गरेको छ । खेलकुद क्षेत्रमा लागेका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था र खेल पत्रकारले सयौँको उपस्थितिमा प्रतिष्ठित अवार्ड प्राप्त गर्ने भएकाले यसप्रति खेलकुदकर्मीको कौतुहलता र चासो बढी हुने गर्दछ ।

खेलाडीले राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा अघिल्लो वर्ष प्राप्त गरेको सफलताका आधारमा मनोनयनमा परेका खेलाडीमध्ये सर्वोत्कृष्ट छनोट गरी अवार्ड प्रदान गर्दछन् । गण्डकी प्रदेशका खेलाडीले मात्र यसमा सहभागी बन्न पाउने प्रावधान छ । स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडीमा समेत कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी (बागलुङ), आर्चरीका गङ्गाबहादुर कुँवर (तनहुँ) र टेनिसका प्रदीप खड्का (कास्की) मनोनयनमा पर्नुभएको छ ।

वर्ष उत्कृष्ट खेलाडीको अवार्डमा सर्वाधिक चासो रहने गर्दछ । मनोनयनमा परेका खेलाडीमध्येमा खेलमा प्राप्त गरेको उपलब्धिलाई आधार मानेर मञ्चद्वारा गठन गरिएको खेलाडी छनोट समितिका आधारमा सर्वोत्कृष्ट खेलाडी छनोट गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उत्कृष्ट खेलाडी छनोटका मुख्य आधारनै खेलाडीको प्रदर्शन र उपलब्धि हो । यसैमा रहेर वर्ष उत्कृष्ट खेलाडीलाई अवार्ड प्रदान गर्नेछौँ ।” वर्ष उत्कृष्ट खेलाडीको उपाधि जित्ने खेलाडीले टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्नेछन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य करण केसी क्रिकेटका अलराउण्डर खेलाडी हुनुहुन्छ । राट्रिय टोलीबाट एक दिवसीय क्रिकेटमा बलिङ तथा फिल्डिङमा ४० खेल खेल्नुभएको छ । यस अवधिमा उहाँले तीन सय १४ रन बनाउनुभएको छ ।

करणले नेपाललाई आइसिसी विश्वकप लिग–२ मा शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा पु¥याउनुको साथै आगामी चार वर्षसम्मलाई ओडिआई मान्यता जोगाउन सानदार प्रदर्शन गर्नुभएको थियो । नेपालका तीव्र गतिका बलर करण केसी लिग–२ मा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा छैटौँ स्थानमा हुनुहुन्थ्यो ।

यसैगरी आर्चरीका गङ्गाबहादुर कुँवरले गण्डकी प्रदेशमा आयोजना भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन स्वर्ण पदक जित्न सफल हुनुभयो । उहाँले व्यक्तिगत रिकर्भ, रिकर्भ पुरुष टोली र रिकर्भ मिक्स टोलीमा स्वर्ण पदक जित्न सफल हुनुभएको हो । आर्चरी खेलमा गण्डकी प्रदेश टोली च्याम्पियन बनेको थियो ।

नेपालका टेनिसका पहिलो बरियताका खेलाडी हुनुहुन्छ पोखराका प्रदीप खड्का । टेनिसमै १५ वर्षको करियर पूरा गर्नुभएको प्रदीपको खेल जीवनको सुरुआत विसं २०६५ देखि अघि बढेको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उहाँले तीन स्वर्ण पदक जिन्न सफल हुनुभएको थियो । ‘मेन्स सिङ्गल’, ‘मेन्स डबल’ र ‘टिम इभेन्ट’मा स्वर्ण पदक जित्नुभयो ।

यसैगरी खड्काले सिटिजन बैंक ओपन टेनिस प्रतियोगिताको पुरुष एकल र डबल्समा समेत स्वर्ण पदक हात पार्नुभएको थियो । पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी पुरुषसहित वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सातवटा विधामा अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पुरस्कार पाउने छन् । ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका प्रशिक्षक विद्या प्रसाद मर्सानीलाई प्रदान गर्ने घोषणा मञ्चले गरिसकेको छ । मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

आठ वर्षमा दुई सय बीस गैँडा मरे

चितवन – बिगत आठ वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि हालसम्ममा ती गैँडा मरेका हुन ।

निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर आठ वर्षको समयमा ५१ गैँडा मरेका छन् । यस्तै बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट नौ, करेन्ट लागेर आठ, बिरामी तथा रोगी भएर १२, खाडलमा परी तीन, विष सेवनले पाँच तथा कारण नखुलेका २९ गैँडा रहेको उहाँले जानकारी दिनुभयो ।

तिवारीका अनुसार विगत आठ वर्षमा एक सय भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन् । आर्थिक वर्ष २०७२÷७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५÷७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ । सो आवमा ४३ गैँडा मरेका थिए । सबैभन्दा कम आव २०७२÷७३ मा १४ गैँडा मरेको तिवारीले बताउनुभयो । तिवारीका अनुसार आव २०७३÷७४ मा २५, आव २०७४÷७५ मा २६, आव २०७६÷७७ मा २६, आव २०७७÷७८ मा ३३ र आव २०७८÷७९ मा ३७ गैँडा मरेका छन् । चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो ।

निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५÷६६ देखि आव २०७९÷८० सम्म ३२३ गैँडा मरेका छन् । निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताउनुभयो । गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा डायरीले खोल्यो रहस्य

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काण्डमा उच्चपदस्थ अधिकारी कसरी पक्राउ परे भन्नेबारे विभिन्न अनुमान गरिएको छ । सत्ता र शक्तिको भरपुर उपयोग गरेका व्यक्तिहरू अनुसन्धानमा तानिएको र पक्राउ परेको रहस्य एक डायरीसँग जोडिएको छ ।

पूर्वगृहमन्त्रीहरू र गृहसचिवहरूको संलग्न भएको यो घटना गुपचुप पार्ने प्रयास नभएको पनि होइन । पक्राउ परेका मोरङका केशव दुलाल, सागर राई, ललितपुरका सानु भण्डारी र पाँचथरका कुमार गुरुङले घटना गुपचुप पार्न अनेक प्रयास र प्रयत्न गरेको प्रहरी उच्च स्रोतको दाबी छ ।

अनुसन्धान पूरा नहुँदै अदालतमा मुद्दा दर्ता गराउन दबाब पनि थियो । यसै क्रममा प्रहरीले गिरोहमा संलग्न दाङका सन्देश शर्मालाई नियन्त्रणमा लिएपछि अनुसन्धान पूरा नगरी मुद्दा चलाउने अवस्था रहेन ।

शर्मासँगको बयानपछि प्रहरीले पक्राउ परेका सानु भण्डारीको घर तलासी गर्दा एउटा डायरी फेला पा(यो, जसमा रकम लिएका उच्च पदस्थ अधिकारीको विवरणसहितको ठगिएको रकमसमेत फेला प(यो ।

जसमा मोरङका केशव दुलाल र पूर्वगृहसचिव पाण्डेको लेनदेनका थुप्रै प्रमाण फेला परे । दाङका सन्देश शर्मा, टोपबहादुर र राईबीचको लेनदेनका प्रमाणसमेत प्रहरीले सुरक्षित राखेको जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकारीका अनुसार गिरोहमा पूर्वगृहमन्त्रीहरू, अन्य पूर्वगृहसचिवहरूको पनि संलग्नता देखिएको छ । कतिपय प्रमाण अप्रत्यक्ष खालका देखिएकाले प्रहरीले ठोस प्रमाण सङ्कलन गरिरहेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

फास्ट ट्र्याकमा ४५ अर्व लागत बढाउन सेनाको प्रस्ताव

काठमाडौं । नेपाली सेनाले काठमाडौंलाई तराई-मधेससँग जोड्ने काठमाडौं तराई र मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) लागत करिब ४५ अर्व रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । निर्धारित समयमा परियोजना सम्पन्न नगरेर आलोचना खेपिरहेको सेनाले फेरि लागत बढाउन प्रस्ताव गरेको हो ।

सुरुमा १७५ अर्ब लाग्ने अनुमान गरिएको यो आयोजनाको लागत बढाएर करिब २१४ अर्ब रूपैयाँ पुयाइएको थियो । अहिले फेरि २१५ अर्बबाट बढाएर २६० अर्ब रूपैयाँ पुयाउने तयारी भइरहेको रक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए।

सेनाले रक्षा मन्त्रालयसँगको छलफलमा लागत बढेर २६० अर्ब रूपैयाँ पुग्ने ब्रिफिङ गरेको थियो। ‘समयमा काम नगर्दा लागत बढ्दै गएको छ,’ रक्षाका ती अधिकारीले भने, ‘फेरि ४५ अर्ब रूपैयाँ बढाउन सेनाले प्रस्ताव गरेको छ ।’

नेपाली सेनाले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गरेर लागत बढाउन लागेको हो। यसका अतिरिक्त हरेक दुईदुई वर्षमा लागत २०८१ मंसिरसम्म सम्पन्न गर्नुपर्ने आयोजनाको चैतसम्मको भौतिक प्रगति करिब साढे २२ प्रतिशत मात्र रहेको छ ।

नेपाली सेनाले समयमा निर्माण सम्पन्न गर्छ र गुणस्तरीय काम हुन्छ भन्ने मान्यताले सरकारले फास्ट ट्र्याक निर्माणको जिम्मा सेनालाई दिएको थियो । यो समाचार दैनिकमा छ ।

नेप्से ३० इन्डेक्स सञ्चालनको तयारी

काठमाडौं । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नेप्से ३० इन्डेक्स सञ्चालनको गरेको छ । यसअघि तयारी नेप्से (५० इन्डेक्सको चर्चा चले पनि नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालन गर्न लागेको जानकारी
दिएको हो ।

नीतिगत, संस्थागत तथा प्रविधिमार्फत पूँजी बजारको विकास गरी लगानीकर्तालाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउने उद्देश्यले नेप्सेले नयाँ इन्डेक्स थप गर्न लागेको बताएको छ । नेप्सेले नेप्से ३० इन्डेक्स सञ्चालनका लागि सरोकारवालासँग
सुझाव मागेको छ ।

नेप्से ३० इन्डेक्समा प्रारम्भिक रूपले तय गरिएका इन्डेक्समा समावेश गर्न सूचीकृत संगठित संस्था छनोटका आधार तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गतेभित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको छ ।

पक्राउ पुर्जी जारी भएको सुनेपछि हतारमै कार्यक्रम सकेर फर्किए रायमाझी

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ मा रहेको महेन्द्र विद्याबोध माध्यमिक विद्यालयको हिरक महोत्सवको कार्यक्रममा सहभागी हुन एमाले सचिव एवं सासंद टोपबहादुर रायमाझी बुधबार करिब १२ बजे कार्यक्रममा पुगे । सभामुख देवराज घिमिरे पनि कार्यक्रममा आएका थिए ।

अतिथि आसनग्रहण, विद्याललाई सहयोग गर्ने सहयोगी चन्दा दाताको नाम सार्वजनिक र विद्यालयको तर्फबाट स्वागत मन्तव्य अनि त्यहाँका कलासहितको झाकी प्रस्तुति गरेपछि रायमाझीलाई पक्राउ पुर्जी जारी भन्ने समाचार सार्वजनिक भयो । रायमाझीलाई कसैले पक्राउ पुर्जी जारी भएको सुनायो ।

आयोजकले कार्यक्रमको सेड्युलविपरीत रायमाझीलाई र सभामुख घिमिरेलाई पहिला बोल्न दिने कुरा भयो । विद्यालयलाई ५० लाख सहयोग गर्ने चन्दा दाता स्व। रामलाल ज्ञवाली र स्व। नेत्रलालको सम्झनामा उनीहरूको परिवारका सदस्य श्रीमती कल्पना ज्ञवाली र छोरा विश्वमणि ज्ञवालीलाई सभामुख देवराज घिमिरे र रायमाझीको हालबाट प्रमाणपत्र प्रदान गरियो ।

रायमाझीले करिब ८ मिनेट भाषण गरे । जिल्लाको बसाइँसराइ रोकथाम अबको एजेन्डा आफ्नो हुने बताए । सभामुख देवराज घिमिरेले कार्यक्रम सम्बोधन गरे र शैक्षिक सुधारका लागि सबै तह लाग्नुपर्ने विषयमा जोड दिए । सभामुखले पनि धेरै बोलेनन् । हतारहतार सभामुख घिमिरेसँगै रायमाझी सन्धिखर्क झरे । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिनुहुँदै

गण्डकी – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अपराह्न २ बजे बस्ने प्रदेशसभा बैठकमा उहाँले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गत सोमबार प्रदेशसभा अधिवेशन आह्वान गर्नुभएको थियो । यही वैशाख १४ गते नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । साठी सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) सात र नेकपा (एकीकृत समाजवादी) एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा उहाँ गण्डकी प्रदेशको चौथौ मुख्यमन्त्री बन्नुभएको होे ।

हाल मुख्यमन्त्रीसहित दुई बिनाविभागीय मन्त्री मात्र रहेको मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिने तयारीमा मुख्यमन्त्री पाण्डे हुनुहुन्छ । नियुक्त भएको भोलिपल्ट मुख्यमन्त्री पाण्डेसहित बिनाविभागीय मन्त्रीका रुपमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिम्खडा र कांग्रेसकी सरस्वती अर्याल तिवारीले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।