`

आजको मौसमः देशका पहाडी भु-भागमा पानी पर्ने

काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । 

दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरु तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको  सम्भावना रहेको छ।

राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

बुटवलवाट पक्राउ परेका टोपबहादुर रायमाझीका छोरालाई अदालतमा पेश गरिदैँ

काठमाडौं, २१ बैशाख । पुर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । वुटवलवाट नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दिप पक्राउ परेका हुन । आजै उनलाई अदालतमा पेश गरिनेछ । 

रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् । 

पुर्व गृह सचिव उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्  । उनमाथी अनुसन्धान गर्ने भन्दै तीन दिनका म्याद जिल्ला अदालतवाट लिईसकेको छ ।   

मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न जरुरी रहेको बताउनुभएको छ । मन्त्री यादवले बुधबार रौतहटको चन्द्रपुरस्थित चन्द्रनिगाहपुरमा आयोजित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले मधेश प्रदेशको विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सञ्चारकर्मी र सञ्चारमाध्यमका लागि हित अनुकूलका ऐन तथा कानून निर्माणमा प्रदेश सरकार लागि परेको भन्दै उहाँले प्रदेशमा सञ्चारकर्मीलाई सहयोग गर्न आगामी आर्थिक वर्षमा रु एक करोडको अक्षयकोष स्थापना गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा रौतहटका सांसद देवप्रसाद तिमल्सिना,प्रदेशसभा सदस्य युवराज भट्टराईलगायतले पत्रकारिता पेशालाई मर्यादित बनाउन जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश तथा रौतहट शाखाको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा प्रदेशका आठवटै जिल्लाका अध्यक्षको सहभागिता रहेको थियो ।

नौ महिनामा काँकडभिट्टाबाट सत्र करोडको बन्दाकोभी भारत निर्यात

काँकडभिट्टा नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात गरिएको छ । धनकुटा, इलाम, झापालगायत जिल्लामा उत्पादन भएको बन्दाकोभी भारत निर्यात गरिएको हो ।

गत वर्ष साउनदेखि चैत मसान्तसम्म काँकडभिट्टा नाका भएर रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिनुभयो । काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा कृषिउपज निर्यात हुने गरेको उहाँले बताउनुभयो । 

चालु आवको साउनदेखि चैत मसान्तसम्म सो नाकाबाट रु १६ अर्ब १९ करोड १७ लाख ३१ हजार बराबरको एक लाख ५६ हजार नौ सय ९२ मेट्रिक टन खाद्यान्न तथा कृषिउपज निर्यात भएको ठाकुरले जानकारी दिनुभयो । सोही अवधिमा काँकडभिट्टा नाका भएर रु नौ अर्ब ३० करोड ५८ लाख ८० हजार बराबरको तीन लाख छ हजार १२८ मेट्रिक टन खाद्यान्न तथा कषिउपज आयात भएको छ । नेपालबाट सबैभन्दा धेरै निर्यात हुने मालवस्तुमा क्रमशः अलँैची, चिया, प्लाइउड र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा तरकारी, फलफूल, सोयाबिन र आलु रहेको कार्यालयले जनाएको छ ।

मङ्गोलियामा ३५९,५०० हेक्टर जङ्गल डढेलोबाट नष्ट, ३,२७३ पशुपन्छी मारिए

मङ्गोलियामा यस वर्षको शुरुदेखि छुट्टाछुट्टै ४९ ठाँउका जङ्गल र मैदानमा लागेको डढेलोबाट ३५९,५०५ हेक्टर जङ्गल र घाँसे मैदान नष्ट भएको । राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले मङ्गलबार जनाएकोअनुसार यसबाहेक २० वटा घर र एउटा गाडी जलेको छ । त्यस्तै ३,२७३ पशुपन्छी जङ्गलमा लागेको आगोमा मारिएको नेमाले जनाएको छ ।

आपतकालीन एजेन्सीले आगलाघिको प्रमुख कारण लापरबाही भएको बताएको छ, । नागरिकहरूलाई खुलास्थानमा आगो बाल्न र जथाभावी चुरोटका ठुटा नफाल्न आग्रह गरेको छ।यस्तै मङ्गलबारसम्म अग्नि नियन्त्रकहरूले पूर्वी प्रान्त डोर्नोडको चोइबाल्सन र बुल्गान सोम्स (प्रशासनिक उपविभागहरू) मा दुईवटा मैदानको आगो नियन्त्रण गर्न काम गरिरहेको जनाएका छन् ।

केन्याले सुडानबाट ४०९ नागरिकलाई स्वदेश फर्कायो

नैरोबी – केन्याले अप्रिल १५ मा प्रतिद्वन्द्वी सैन्य गुटहरूबीचको द्वन्द्व सुरु भएदेखि हालसम्म सुडानबाट चार सय नौ जना नागरिकलाई बाहिर निकालेको छ । सरकारी अधिकारीले मङ्गलबार जनाएअनुसार विदेश र डायस्पोरा मामिला मन्त्रालयका सचिव अल्फ्रेड मुटुआले केन्याको राजधानी नैरोबीमा पत्रकार सम्मेलनमा सो बारे जनाकारी दिएका हुन् ।

निकासी प्रक्रिया अझै खुला छ र हामीले सुडानमा एउटा टोली राखेका छौँ, जसले सुडान छोड्न इच्छुक केन्यालीहरूसँग नजिकबाट काम गरिरहेको छ, “मुटुआले भनेका छन् ।उनले पूर्वी अफ्रिकी राष्ट्रले सुडानमा केन्यालीहरूलाई सहयोग गर्न स्रोत र प्राविधिक सहयोग पनि जारी राखेको उल्लेख गरेका छन् ।

दक्षिण सुडान र इथियोपियाले पनि केन्यालीलाई आफ्नो सिमाना पार गरेर केन्या पुग्न सहयोग गरेको उनले बताए ।सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) बीचको झडपमा मृत्यु हुनेको सङ्ख्या पाँच सय पुगेको र हजारौँ घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दार्चुला हिमपहिरो अपडेट : बेपत्ताको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाई

खलङ्गा- दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।

सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहँु गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमाछोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।

गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाई भएको डिएसपी भट्टले बताउनुभयो । “रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ”, उहाँले भन्नुभयो–“हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।”

मङ्गलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा सङ्कलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मङ्गलबार साँझ घट्नास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो सोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो ।

“घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन”, डिएसपी भट्टले भन्नुभयो । हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको बताउनुभयो ।

वर्षा र हिमपातका कारण यार्सागुम्बा सङ्कलन प्रभावित बनेको छ । सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए ।

प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो- मन्त्री शर्मा (अन्तर्वार्ता)

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ । यसले विगतको यथार्थ समीक्षासहित आगामी दिनमा प्रेस स्वतन्त्रताको पक्षमा कार्यक्रम तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिइ पत्रकारिताको विकासका लागि कर्म गर्ने प्रेरणा यस दिवसले दिन सकोस् भन्ने अपेक्षा रहेको छ ।

आधुनिक विश्वमा नागरिकलाई सुुसूचित गर्ने दिशामा प्रेसको भूमिका सर्वोपरि रहेको छ । राज्यको चौथो अङ्ग प्रभावकारी हुँदा नै लोकतन्त्र बलियो हुन्छ । मिडिया क्षेत्रका विभिन्न सरोकारवालालाई आ–आफ्नो दायित्व स्मरण गराउने दिवसका रूपमा यो दिनलाई औंँल्याउन सकिन्छ । प्रेसको भूमिका स¬ङ्कुुचित हुने अवस्था आउन नदिन विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिनु प्रेसप्रति विश्वव्यापी प्रतिबद्धतासमेत हो । सूचना तथा सञ्चार प्रविधिको उपयोग विश्वसनीय, सुरक्षित र पहुँचयोग्य तुल्याउन सरकारले नियमनकारी व्यवस्थालाई प्रभावकारी तुल्याउँदै लगेको छ । पछिल्लो समय बढ्दै गएको प्रविधिको दुरुपयोग रोक्नका लागि नयाँ ऐन तथा कानुनसमेत निर्माण भइरहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनुभएको छ । प्रस्तुत छ, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा उहाँसँग कृष्ण अधिकारी र समाचारदाता अशोक घिमिरेले गर्नुभएको कुराकानीको सम्पादित अंश :

आज विश्व प्रेस स्वतन्त्रता दिवस, यस दिवसलाई सरकारले कसरी हेरेको छ ?

सर्वप्रथम, विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार जगत्का साथै स्वतन्त्रताका पक्षधर सबैमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै घाइते, अपाङ्गता भएका व्यक्तिलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गर्नेहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा सञ्चार जगत्ले खेलेको भूमिका प्रशंसनीय छ । प्राप्त अधिकारको उपयोगका लागि सञ्चार जगत् सधैँजस्तै निर्भिकतापूर्वक लागिरहने छ भन्ने विश्वास लिएको छु ।

हामीले जसरी आजको दिनसम्म प्रेस स्वतन्त्रताको उपभोग गर्दै आयौँ, यो उपभोगको स्थितिमा कमी नहोस् । प्रेस स्वतन्त्रता विगतदेखि नै उठाउँदै आएको विषय हो । नेपालको राजनीतिक आन्दोलनमा धेरै प्रकारका आरोह–अवरोहबाट गुज्रियौँ । निरङ्कुशताका अवधि पनि हामीले भोगेका छौँ । प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यका निम्ति पहिलो शर्त हो । नेपाल सरकार, राष्ट्र र संविधान प्रेस स्वतन्त्राप्रति चनाखो छ । सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छ । प्रेस स्वतन्त्रा मौलिक हकका रूपमा स्थापित भइसकेको छ । प्रेस स्वतन्त्रताको पक्षमा सरकार जहिले पनि साथमा छ र फेरि पनि रहिरहनेछ ।

प्रेस स्वतन्त्रताबिना सुदृढ लोकतन्त्रको परिकल्पना गर्नु असम्भवप्रायः हुन्छ । स्वतन्त्र प्रेस नै लोकतन्त्रको मर्म तथा मेरुदण्ड हो । लोकतन्त्र तथा स्वतन्त्र प्रेसलाई एकै सिक्काका दुई पाटाका रूपमा पनि लिन सकिन्छ । लोकतन्त्रलाई सही दिशामा डो¥याउन स्वतन्त्र प्रेसको निकै महत्वपूर्ण भूमिका रहिआएको कुरामा कुनै विवाद छैैन । मुलुकमा सुशासन प्रवद्र्धन प्रेसको प्रभावकारी भूमिकामा मात्र सम्भव छ ।

संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको छ, यसलाई कार्यान्वयनमा ल्याउन सरकारको तर्फबाट के–कस्ता प्रयास भएका छन् ?

लोकतन्त्रको आधारभूत तत्व प्रेस स्वतन्त्रता जनताको सुसूचित हुने अधिकारसँग जोडिएको मौलिक हक हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा हो । त्यसैले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई हामीले संविधानको प्रस्तावनामै उल्लेख गरेका छौँ । प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर छ । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानुनमा र कानुनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ । यसकै लागि सरकार सञ्चारसँग सम्बिन्धित कानुन निर्माण तथा पुनरावलोकनमा जुटेको छ ।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानुनको कार्यान्वयनमा पनि सरकार दृढ छ । प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थाहरूको चासोलाई सरकारले नजिकबाट हेरिरहेको छ । पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा सरकारले कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउन चाहन्छौँ । प्रेस स्वतन्त्रताविरुद्ध हुने घटनामा दोषीलाई उन्मुक्ति दिनु हुँदैन भन्ने कुरामा सरकार स्पष्ट र प्रतिबद्ध छ । साथै निराशाभाव दिने प्रस्तुतिभन्दा आशा, उत्साहका साथ समाज र मुलुकलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने सामग्री उत्पादन तथा प्रकाशन÷प्रसारणमा ध्यान दिन पनि म यस अवसरमा सञ्चार जगत्सँग आग्रह गर्दछु ।

संविधान कार्यान्वयन भएको आठ वर्ष हुन लाग्यो भने सञ्चार नीति तर्जुमा भएको पनि झन्डै सात वर्ष बित्यो । त्यसअनुसार अझै सञ्चारसम्बन्धी कानुन तर्जुमा हुनसकेका छैनन् । मन्त्रालयले आवश्यक सञ्चार ऐन ल्याउने तयारी कसरी गरिरहेको छ ?

सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञहरूको राय सुझावका आधारमा कानुन निर्माण गर्न कार्यदल निर्माण तथा सरोकारवालासँगको विषयगत छलफललाई प्राथमिकता दिइएको छ । कानुन निर्माणको प्रक्रियालाई पारदर्शी बनाउँदै आम सरोकारवालाको राय सुझाव सुनिश्चित गर्न विधेयकका मस्यौदा वेबसाइटबाट सार्वजनिक गर्ने परिपाटी मिलाइएको छ । सञ्चारसँग सम्बन्धित सार्वजनिक प्रसारण ऐन विधेयक प्रतिनिधिसभामा गइसकेको छ । ऐनले नेपाल टेलिभिजन र रेडियो नेपाललाई मर्ज गरेर लैजाने विषय अगाडि बढेको छ । दुवै सञ्चारमाध्यमलाई अझ बढी प्रभावकारी, जनपक्षीय बनाउने विधेयकमा उल्लेख छ । आमसञ्चारसँग सम्बन्धित विधेयकको मस्यौदा तयार भइरहेको छ । यसमा मन्त्रालयले काम गरिरहेको छ । यससँगै मिडिया काउन्सिल विधेयक पनि अगाडि बढाएका छौँ । पछिल्लो समय विकास भएका अनलाइन मिडियालाई प्रवद्र्धन गर्ने, नियमन गर्ने र करको दायरामा ल्याउने विषयमा आवश्यक कानुन निर्माण गर्ने तयारी गरिरहेका छौँ । सञ्चारसँग सम्बन्धित नीतिगत व्यवस्थाको विषयमा मन्त्रालयमा गम्भीरताका साथ छलफल भइरहेको छ ।

सरकारले प्रेस स्वतन्त्रताको सुनिश्चितता कसरी गर्छ ?

प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको सुन्दर पक्ष हो । यससँगसँगै संविधानले गोपनीयताको हकको पनि व्यवस्था गरेको छ । संविधानमा एकातिर स्वतन्त्रताको हक र अर्कातिर गोपनीयताको हकको व्यवस्था छ । दुवै मौलिक हकलाई सन्तुलित ढङ्गले अगाडि बढाउनुपर्छ । प्रेस स्वतन्त्र हुनुपर्छ यो हाम्रो मान्यता हो । सँगसँगै प्रेसले मर्यादा र कर्तव्य पनि बिर्सन हुँदैन । त्यसप्रति जागरुक हुँदै स्वतन्त्रताको उपयोग गर्नुपर्छ । कानुन निर्माण गर्दा कहीँकतै त्यस्तो विषय समेटिएको भए पनि त्यसलाई संसद्बाट संशोधन गरेर जान सकिन्छ । नेपालमा कतिपय अवस्थामा प्रेस स्वतन्त्रतामाथि समस्या पैदा भए पनि सामूहिक पहल र प्रयत्नबाट त्यस्ता समस्यालाई निराकरण गरिएको छ । राज्यको दृष्टिकोणले प्रेसमाथि अङ्कुश लगाउने कुनै पनि आशय छैन ।

नेपालमा लोकतन्त्र स्थापनाका लागि प्रेसले निर्वाह गरेको भूमिका उच्च छ । असहज अवस्थामा प्रेसले उच्च भूमिका निर्वाह गरेको तथ्यलाई राजनीतिक पार्टी र तिनका नेताहरूले बिर्सेका छैनन् र बिर्सन पनि हुँदैन । प्रेस स्वतन्त्रता रक्षा गर्नु सरकारको प्रमुख दायित्व पनि हो र यसप्रति वर्तमान सरकार पूर्ण प्रतिबद्ध छ । कहीँकतै कसैले कुनै परिवेशमा प्रेसमा अङ्कुश लगाइएको भए त्यो फरक पाटो रह्यो । तर हामी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छौँ । प्रेस स्वतन्त्रा दिवसका अवसरमा प्रेस स्वतन्त्र हुँदाहुँदै पनि मर्यादा पनि कायम गर्न सक्नुपर्छ भन्नेमा सचेत बनाउनुपर्छ भन्ने अर्को कुरा रह्यो । तर मुलतः सरकार प्रेस स्वतन्त्रताको पक्षमा छ ।

राजनीतिक परिवर्तनमा पनि प्रेसको ठूलो भूमिका रहेको छ । तर राजनीतिक पार्टी र तिनका नेताहरू प्रेसप्रति अनुदार छन् भनिन्छ नि ?

प्रेस स्वतन्त्रता भन्नेबित्तिकै अन्य स्वतन्त्रता पनि जोडिने भइहाले । हामी धेरै लामो उतारचढावयुक्त राजनीतिबाट अगाडि बढ्यौँ । राजनीति र प्रेस सँगसँगै जोडिएर आएको छ । राजनीतिकरूपमा भएका आन्दोलनले ल्याएका उपलब्धि यदि प्रेस हुँदैनथ्यो भने त्यसबारे जनता कसरी सुसूचित हुन्थे र ? त्यो सम्भव पनि थिएन । हामीसँग भएको संवैधानिक र कानुनी व्यवस्थाका सन्दर्भमा हामीले तिनलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषय महत्वपूर्ण छ । सबैले आ–आफ्नो मर्यादामा बसेर तथा सरकार पनि जनपक्षीय भएर काम गर्नुपर्छ । प्रेस स्वतन्त्रता दिवसका सन्दर्भमा यस वषर््ाको नारा महत्वपूर्ण छ र यो कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ । आ–आफ्ना अधिकार र कर्तव्य कसैले पनि भुल्नु हुँदैन । प्रेस स्वतन्त्रताको बारेमा विभिन्न समयमा उठेका विषयमा सरकारको ध्यान गएको छ । स्वतन्त्रता भनेको स्वच्छन्दता पनि होइन, स्वतन्त्रताको परिपालना सबैले गरौँ ।

काठमाडौं महानगरपालिकाले माग्यो ५६ जना करारमा प्रहरी

काठमाडौं । काठमाडौं महानगरपालिकाले ५६ जना करारमा प्रहरी मागेको छ । गत बैशाख १० गतेको सूचना अनुसार महानगरपालिकाले करारमा प्रहरी भर्ति गर्ने भएको हो । 

सार्वजनिक सूचना अनुसार ३० जनाको नियुक्ती प्रक्रिया सुरु भएको जनाउँदै महानगरपालिकाले थप ५६ जना प्रहरीको माग गरेको हो ।  जसमा महानगरपालिकाले खुल्लातर्फ २४ जना, महिला १५ जना, आदिवासी जनजाति १२ जना, मधेसी १ जना, दलित ३ जना र अल्पसंख्यक समुदायवाट १ जना गरी ५६ जनाको माग गरेको हो ।

खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि बनेन

बाँके-बाँकेको खजुरामा निर्माणाधीन चारलेन सडक तीनपटक म्याद थप्दा पनि सम्पन्न हुनसकेको छैन । बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर हालसम्म तीनपटक म्याद थप भए पनि काम सन्तोषजनकरूपमा अघि बढ्न नसकेको सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इञ्जीनियर नीरज शाक्यले जानकारी दिनुभयो ।

“सम्झौताअनुसार प्रतिदिन शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले हर्जाना लगाएर काम सुरु भए पनि सन्तोषजनकरूपमा निर्माण कार्य अघि बढेको छैन”, उहाँले भन्नुभयो । सुरुआतमा बिजुलीका पोल तथा खानेपानीको पाइप सार्ने, रुख तथा सडकखण्डमा पर्ने संरचना, कोभिड–१९ का कारण कामले गति लिन नसके पनि पछिल्लो समय भने निर्माण कम्पनीको लापरवाही देखिएको छ ।

सडक डिभिजन कार्यालय नेपालगन्जले पटक–पटक म्याद थप हुँदासमेत काम सम्पन्न नगरेपछि अन्तिमपटकका लागि भन्दै हर्जाना तिराएर चैत सुरुदेखि निर्माण कम्पनीलाई सडक निर्माणको अनुमति दिएको थियो । दैनिक हर्जाना लगाएर काम सुरु गराउँदा पनि निर्माण कम्पनीले सडक निर्माणका लागि बारम्बार आलटाल गरेपछि ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु गरिएको शाक्यले बताउनुभयो । काम सन्तोषजनकरूपमा अघि नबढेपछि पछिल्लो समय पेश्कीस्वरुप उपलब्ध गराइएको रकमसमेत बैंकबाट फिर्ता ल्याइएको उहाँको भनाइ छ ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । निर्माण कम्पनीले निर्माणकार्यमा ढिलाइ गर्दा यात्रुलाई सास्ती भएकाले ठेक्का तोड्नका लागि प्रक्रिया अघि बढाइएको शाक्यले बताउनुभयो । सडक निर्माण अलपत्र पारेपछि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले सडक डिभिजन कार्यालयलाई ठेक्का सम्झौता तोड्न आग्रह गर्नुभएको थियो ।

सडक निर्माणका लागि पटक–पटक ताकेता गर्दा पनि काम सुरु नभएपछि सरोकारवाला निकाय सडक डिभिजनलाई ठेक्का सम्झौता तोडेर अन्य प्रक्रियाबाट सडक निर्माणका लागि पहल गरिदिन आग्रह गरिएको अध्यक्ष विकले बताउनुभयो ।
 

‘रकी और रानी की प्रेम कहानी’मा देखिँदै आलिया

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट अमेरिकाको न्यूयोर्कमा भइरहेको ‘मेट गाला २०२३’मा सहभागिता जनाउन हालै मुम्बईबाट न्यूयोर्क पुगेकी थिइन् । त्यो कार्यक्रममा अमेरिकामा बस्दै आएका फेसन डिजाइनर प्रबल गुरुङको पनि उपस्थिति थियो ।

प्रबलले आफ्नो ट्वीटर हेण्डलमा आलियासँगको तस्वीर राखेका छन् । तस्वीरमा प्रबल र आलिया खुशी देखिन्छन् । प्रबलसँगको तस्वीरमा आलियाले कालो पहिरन लगाएकी छन् । यो तस्वीर आलियाका फ्यानले सामाजिक सञ्जालमा तिब्र रुपमा शेयर गरिरहेका छन् ।

आलिया चाँडै नै ‘रकी और रानी की प्रेम कहानी’मा देखिँदैछिन् । फिल्ममा अभिनेता रणवीर सिंहको पनि अभिनय छ । 

लाइफलाइन सडकको बिजोग

धादिङ । पृथ्वी राजमार्गको धार्केमा १८ घण्टादेखि बन्द भएको यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ । धुनिबेंसी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासिएपछि सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी सञ्चालनमा आएको छ ।

भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले लगातार १८ घण्टा काम गरेपछि अस्थाइ रूपमा सडक सञ्चालन गर्न सकिने अवथामा आएको थियो ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन कठिनाइ भएको थियो । पूर्व पश्चिमका जिल्लाबाट रातीको समयमा धादिङ आइपुगेका सवारीलाई प्रहरीले जोगिमारा, मलेखु, घाटबेंसी, आदमघाट लगायतका प्रहरी चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको थियो । राजमार्ग एकतर्फी सञ्चालन आए पनि मंगलबार अबेरसम्म पनि राजमार्गको जाम हटेको छैन । नागढुंगा नौबिसे क्षेत्रमा समेत सवारी साधनको जाम लागेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यमा धक्का

काठमाडौं । अर्थतन्त्रमा मूल्य अभिवृद्धि गर्ने क्षेत्रमै संकुचन आएपछि उच्च आर्थिक वृद्धि गर्ने सरकारको लक्ष्यमा धक्का लागेको छ। अर्थतन्त्रमा अधिकतम मूल्य अभिवृद्धि गर्ने सवारीसाधन, थोक तथा खुद्रा क्षेत्र, निर्माण र उद्योग क्षेत्र खुम्चिँदा चालु आर्थिक वर्षमा सरकारको लक्ष्यको एक चौथाइका दरले मात्र आर्थिक वृद्धि हुने भएको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा ८ प्रतिशतको आर्थिक वृद्धि गर्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो। तर, राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय लेखा तथ्यांक सार्वजनिक गर्दै २.१६ प्रतिशतले मात्र आर्थिक वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो।

यो वृद्धिदर देशको अर्थतन्त्रलाई नजिकबाट नियाल्ने विश्व बैंक र एसियाली विकास बैंकजस्ता दातृ निकायको अनुमानको आधामात्र हो। अपेक्षा गरेभन्दा न्यून दरको उपलब्धि अर्थतन्त्रमा देखिनुको मुख्य कारण औद्योगिक क्षेत्र विस्तार नहुनु, निर्माण गति सुस्ताउनु, विभिन्न वस्तुमा गरिएको आयात प्रतिबन्धका कारण राजस्वमा कमी आउनु आदि मानिएको छ।

राजस्व संकलन गत वर्षको तुलनामा घट्दा सरकारी खर्च व्यापक दरमा कटौती गर्नुपरेको थियो। जसकारण निर्माण क्षेत्र अघिल्लो आर्थिक वर्षको तुलनामा सानो भएको छ। वनस्पति, तोरी, भटमास तथा सूर्यमुखी तेल र फलाम तथा स्टिलजन्य उत्पादनमा आएको कमीले उद्योग क्षेत्रको मूल्य अभिवृद्धि २.०४ प्रतिशतले घटेको छ।

यस्तै, सार्वजनिक तथा निजी निर्माण कार्यमा आएको शिथिलता, निर्माण सामग्रीको आयात र आन्तरिक उत्पादनमा आएको कमीले निर्माण क्षेत्रको मूल्य अभिवृद्धि २.६२ प्रतिशतले घटेको छ। यस्तै सवारीसाधनसमेत थोक र खुद्रा व्यापार क्षेत्रले सर्वाधिक २.९६ प्रतिशतले खुम्चिएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार अनुमान गरिएको चालु आवको आर्थिक वृद्धिदर कोरोना महामारी पछिको सबैभन्दा कम हो । कार्यालयका अनुसार गत आवको आर्थिक वृद्धि ५.२६ प्रतिशतले हुने संशोधित अनुमान तथा अघिल्लो आवको आर्थिक वृद्धिदर ४.४९ प्रतिशत हुने अन्तिम अनुमान छ । कोभिड महामारीले आक्रान्त पारेको वर्ष नेपालको अर्थतन्त्रको आकार २.४ प्रतिशतले सानो भएको थियो । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

‘कांग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौं’

‘नेपाली कांग्रेस २० वर्षसम्म हारे हार्छ, अब कुनै दलसँग पनि चुनावअघि गठबन्धन गर्दैनौं ।’ नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्ति हो यो । अब आफ्नो दलका मतदातालाई अन्य पार्टीको चिह्नमा भोट हाल्न नलगाउने पनि उनले बताए।

कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयका विषयमा सहमति जुट्न नसक्दा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । कांग्रेसका सबै सांसद मन्त्री बन्न लालायित छन् ।

अझ महामन्त्री थापा आबद्ध गुटमा सरकारमा सहभागी हुने तीव्र मतभेद बढ्दै गएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाहाल नेतृत्वको सरकारमा सहभागी हुने विषयले कांग्रेसबाट मन्त्री थपिने विषय अन्योलमा परेको छ । यसले कांग्रेसभित्रको असन्तुष्टि थप बढ्ने देखिएको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि संघदेखि प्रदेशसम्मका सरकार गुमेपछि पार्टी संगठन गर्न लाग्नुको साटो एकअर्काप्रति आरोपप्रत्यारोपमा कांग्रेस नेताहरू खनिएका थिए । छोटो समयमै कांग्रेस संघदेखि प्रदेशसम्मका सरकारमा फर्केको छ । सत्तामा फर्किएको कांग्रेसका नेताको ध्यान र रुचि संगठन सुधारतर्फ नदेखिएको गुनासो कार्यकर्तामा छ ।

कांग्रेस सहमहामन्त्री बद्री पाण्डे पार्टी संगठन सुधारमा लाग्नुको विकल्प नभएको बताउँछन् । पार्टीका नेता तथा कार्यकर्ताको मनोभावना अनुसार कांग्रेसलाई रूपान्तरण गर्दै जानुपर्नेमा जोड दिँदै पाण्डेले तल्लो तहका नेता तथा कार्यकर्ताको चाहना चुनावमा अन्य दलसँग मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्नुपर्ने रहेको बताए ।

‘तल्लो तहको सेन्टिमेन्ट चुनावमा मिलेर होइन, एक्लै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने छ,’ पाण्डे भन्छन्, ‘यो पनि समीक्षाको विषय हो तर अहिले नै छिनोफानो गर्नुपर्ने कुरा होइन।’ पार्टी संगठनलाई मजबुत बनाउने अहिलेको आवश्यकता भएको बताउँदै उनले भने, ‘चुनावी तालमेल गर्ने कि नगर्ने, गरे कोसँग गर्ने भन्ने उपयुक्त समयमा निर्णय लिने विषय हो।’ यो समाचार नागरिक दैनिकमा छ ।

फेरि सरकार फेरबदलको खेल सुरु, रविलाई प्रधानमन्त्री बनाउन ओलीको प्रस्ताव

काठमाडौं । आमनिर्वाचन भएको ६ महिना नबित्दै फेरि सरकार फेरबदलको खेल सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ‘प्रधानमन्त्री’को अफर गरेका छन् ।

एमाले, रास्वपा, जसपा, जनमतसहितका दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत ११ पुसमा प्रधानमन्त्रीको शपथ लिएका थिए । तर, अहिले एमालेसँगको सहकार्य तोडेर प्रचण्ड नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी)सहितका दलसँग नयाँ गठबन्धन गरेपछि एमाले संघीय र प्रदेश सरकारबाट बाहिरिएको छ ।

सरकारबाट बाहिरिएपछि एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड नेतृत्वको सरकार जसरी पनि ढाल्ने खेलमा लागेको छ । सोही क्रममा एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका हुन् । एमालेबाट प्रधानमन्त्रीको प्रस्ताव आएपछि रास्वपा अध्यक्ष लामिछाने मंगलबार जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको जनमत सरकारसँग असन्तुष्ट छ । एमाले, रास्वपा, जनमत, जसपासहितका दलसँग मिलेर नयाँ गठबन्धन बनाउने र सरकारको नेतृत्व गर्ने लामिछाने छलफल अगाडि बढाएका हुन् ।

रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्यालले एमालेबाट आएको प्रस्तावअनुसार अन्य दलसँग छलफल भइरहेको बताए । अहिले नै अन्तिम निष्कर्षमा पुगिनसकेको बताउँदै उनले थप निर्णय पार्टीको बैठकबाट नै हुने बताए ।

‘राजनीति सम्भावनाको खेल हो जे पनि हुन सक्छ । तर, एमालेले गरेको प्रस्ताव कतिको विश्वास गर्न सकिन्छ हेरौं न । छलफल भइरहेको छ, अन्तिम निर्णय त पार्टी केन्द्रीय समितिले गरेअनुसार नै हुने हो,’ अर्यालले भने । यो समाचार राजधानी दैनिकमा छ ।

नेपालको नयाँ चिनारी बन्दै क्रिकेट

काठमाडौँ – नेपाल र युनाइेट अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा हुनुहुन्थ्यो गुलशन झा र भीम सार्की ।

नेपालले तीन विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै एक सय १८ रनको लक्ष्य करिब करिब पच्छ्याइसकेको थियो । दर्शकमा गज्जबको रोमाञ्च थियो । उनीहरू सोमबारजस्तै फेरि वर्षाले खेल नबिथोलोस् भन्ने प्रार्थना गरिरहेका थिए । ३१औँ ओभरमा बलिङ गर्न आए युएईका आयान खान । पहिलो बल डट । नेपाली दर्शक दीर्घामा एक किसिमको सन्नाटा । ओभरको दोस्रो बलमा गुलशनद्वारा छक्का प्रहार र युएईसँग बराबरीको स्कोर । दर्शक दीर्घामा प्रसन्नताको लहर । पूरै मैदानमा खुसीको सञ्चार ।

ओभरको तेस्रो बलमा गुलशनद्वारा एक रनको वृद्धि र एसिसी कपमाथि नेपालको कब्जा । मैदानमा नेपाली दर्शकको विजयोत्सव र हर्षोल्लास । सम्भवतः नेपाली क्रिकेटको अहिलसम्मकै सबैभन्दा ठूलो विजयको साक्षी बन्न पाउँदा कुन चाहिँ नेपाली खुशी नहोलान् ? त्यसमाथि मैदानमै रहेका दर्शकको खुसी र उत्साहलाई कुनै पनि शब्दमा वर्णन गर्न सकिँदैन ।

मङ्गलबार पनि काठमाडौँ उपत्यकाको मौसम दर्शकले चाहेको जस्तो थिएन । आकास बादलले ढाकिएको थियो । पानी एकछिनमै परिहाल्छ की भनेजस्तो अवस्था थियो । तर दर्शकलाई मौसमको कुनै पर्वाह थिएन । उनीहरू सोमबारको जस्तै छाता बोकेरै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान ओइरिएका थिए ।

नेपालले सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको थियो । खराब मौसमकै बीच प्रारम्भ भएको खेलमा युएईले २७ दशमलव तीन ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय छ रन बनाएको थियो । सोमबारको खेलबाट दर्शकसँगै नेपाली टोली पनि उत्साहित थियो । खेलको नतिजा आफ्नो पक्षमा रहनेमा उनीहरू एक किसिमले ढुक्क थिए । सोमबार बाँकी रहेको खेल मंगलबार नौ बजे पुनः सुरु भएको थियो । युएई ३३ दशमलव एक ओभरमा एक सय १७ रन बनाउँदै ‘अल आउट’ भयो ।

नेपालको ब्याटिङ पनि सुरुआतमा राम्रो रहेन । आठ ओभर खेल्दा नेपालले मात्र २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । कुशल भुर्तेल, आशिफ सेख र कप्तान रोहितकुमार पौडेल सस्तैमा पेवेलियन फर्किएको अवस्थामा गुलशन झा र भीम सार्कीले नेपालको पारी सम्हाल्नुभयो । दुवै जनाबीच ९६ रनको साझेदारी कायम हुन पुग्यो र नेपालको विजय यात्रा सुनिश्चित भयो । झाले अद्र्धशतकीय पारी खेल्नुभयो । उहाँले अविजित ६७ रन बनाउनुभयो । यस्तै सार्कीले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । झा मंगलबारको खेलका नायक बन्नुभयो ।

अघिल्लो खेलमा बेञ्चमा सीमित झालाई युएईविरुद्धको फाइनल खेलमा प्रशिक्षक मोन्टी देसाईले रणनीतिका साथ मैदानमा उतार्नुभएको थियो । उहाँले प्रशिक्षक देसाईको आफूमाथिको भरोसालाई सत्य प्रमाणित गरेर देखाइदिनुभयो । प्रायः ब्याटिङ गर्न तल्लो क्रममा पठाउने गरिए पनि मंगलबारको खेलमा भने झा तेस्रो नम्बरमै मैदानमा आउनुभएको थियो । झा तिनै खेलाडी हुुनुहुन्छ, जसले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई नै हराउँदै नेपाललाई विश्वकपको छनोटका लागि पक्का गराउनुभएको थियो । प्रशिक्षक देसाईले त्यही प्रदर्शनबाट प्रभावित भएर आजको खेलमा पनि उहाँलाई स्थान दिलाउनु भएको थियो । उहाँलाई दरिलो साथ दिनुभएको थियो सार्कीले । यही जोडीको उत्कृष्ट प्रदर्शनले नेपाल सहजै एसिया कपका लागि चुनियो ।

युएईलाई सात विकेटले हराउँदै नेपालले उपाधिमाथि कब्जामात्र जमाएन, बरु दोस्रो पटक एसिया कपका लागि छनोट हुन पनि सफल भयो । जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एशिया कपमा छनोट भएको छ । अब नेपालले भारत र पाकिस्तानजस्ता क्रिकेटका अब्बल देशसित खेल्ने मौका पाउने निश्चित भएको छ । सन् २००२ मा पनि नेपालले एशिया कपमा स्थान बनाएको थियो । तर, त्यतिबेला भारत र पाकिस्तानबीचको तनावका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन ।

“भारत र पाकिस्तानसित खेल्ने सपना पूरा भएको छ”, उपाधि जितेपछि नेपाली राष्ट्रय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भन्नुभयो, “वषौँदेखिको मेहनतले बल्ल सार्थकता पाएको छ ।” “हामीले खेलेअनुसारकै परिणाम आयो”, कप्तान पौडेलले खुसी व्यक्त गर्दै भन्नुभयो, “विगतमा भारत र पाकिस्तानको खेल हेर्दै आयौँ, अब उनीहरूसित खेल्छौँ ।”

नेपाली क्रिकेटले उल्लेख्य प्रगति गर्नुमा दर्शकको ढाडसलाई पनि महत्त्वपूर्ण मानिन्छ । क्रिकेटमा धेरै प्रगति गरेका कतिपय देशमा खेलाडीले दर्शकबिना नै खेलिरहेका हुन्छन् । तर नेपालमा भने खेलाडीलाई सबैभन्दा ठूलो साथ दर्शकको रहेको छ । नेपाली क्रिकेट टोलीले तिनै दर्शकले प्रदान गर्ने हौसला विपक्षी टोलीमाथि विजय प्राप्त गर्ने ठूलो हतियार मान्ने गरेको छ । एसीसी मेन्स प्रिमियर कपका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछाने भन्नुहुन्छ, “झरीमा रुझेर पनि दर्शकले हामीलाई अन्तिम समयसम्म साथ दिनुभयो, खेलाडीलाई प्राप्त यही हौसलाले हामीलाई सफलता मिलिरहेको छ ।”

एशिया कपका लागि छनोट हुनुअघि नेपाल विश्वकप क्रिकेटको छनोट प्रतियोगिताका लागि स्थान बनाउन सफल भएको थियो । उक्त प्रतियोगिता जिम्बावेमा हुने तय भएको छ । नेपालका लागि दुवै प्रतियोगिता महत्त्वपूर्ण रहेका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । “नेपालले क्रिकेटमा फड्को मारेको छ, अब पछाडि फर्किनुपर्ने अवस्था छैन”, उहाँले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो । उहाँको विश्वास छ, “भारत र पाकिस्तान जस्ता देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बलियो हुनेछ ।” अध्यक्ष चन्दको भनाइ छ, “बलिया टोलीसित जति धेरै खेल्यो त्यति नै निखारिँदै गइन्छ, अब हाम्रो क्रिकेट विश्वले तारिफ गर्न लायक हुन्छ ।”

नेपाली क्रिकेट टोलीले दुई महिनायता तीनवटा सफलता हासिल गरेको छ । नेपालले सङ्कटमा परेको एकदिवसीय मान्यता आगामी चार वर्षका लागि सुरक्षित गरेको छ । एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको छ र जितपछि टेस्ट मान्यता प्राप्त पाँच देशसित खेल्न एशिया कपका लागि छनोट भएको छ । नेपालको सपना एशिया कपसम्म मात्र सीमित नहुने क्यान अध्यक्ष चन्द बताउनुहुन्छ । उहाँको भनाइ छ, “नेपालको अबको लक्ष्य विश्वकपमा सहभागिता हो ।”

क्रिकेटको माहोल राम्रो हुँदै गएकोमा क्यान सन्तुष्ट छ । नयाँ नयाँ प्रतिभा देशभर उत्पादन हुने क्रम जारी छ । व्यक्तिगत लगाव र अभिभावकको लगानीका कारण यो सम्भव भएको हो । खेलाडी उत्पादनमा सरकारी उत्पादन न्यून छ भन्दा हुन्छ । यसतर्फ सङ्घीय, प्रदेश र स्थानीय सरकारको ध्यान अनिवार्यरूपमा जानुपर्छ । नेपाललाई खेल पर्यटनका माध्यमबाट पनि विश्वमाझ चिनाउनमा मद्दत पुग्ने निश्चित छ । यसका लागि तीनै तहका सरकारले होस्टेमा हैँसे गर्न जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाल अब क्रिकेटका माध्यमबाट पनि विश्वभर चिनिने छ ।

ताप्लेजुङमा हिमपात

ताप्लेजुङ-ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । सोमबार र मङ्गलबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो ।ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट हिमाल सहजरूपमा देख्न सकिन्छ । हिमाल चाँदीजस्तै सेताम्य भएर टल्केका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा नं ७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको स्थानीयले बताएका छन् ।

घुन्साका टासी छिरिङ शेर्पाका अनुसार हिमाली क्षेत्रमा गए राति पनि हिमपात भएको छ । यस्तै ओलाङ्चुङगोला क्षेत्रका हिमाली क्षेत्रमा हिउँ परेको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा दुई फिटसम्म हिउँ परेको छ । चार हजार दुई सय मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।

यसैगरी तेह्रथुम, सङ्खुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् । ताप्लेजुङको हिमाली क्षेत्रमा यस वर्ष फागुन १५ गते पनि हिमपात भएको थियो । यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ ।

हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकैलगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसुस गरेका छन् । त्यस्तै नगदे बाली अलैँची, तरकारलगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ ।

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौँ – नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ मा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो प्रतिबद्धता जनाइएको थियो भने स्वतन्त्र र बहुलवादी प्रेसका पक्षमा सो सम्मेलनले आफूलाई प्रष्ट रूपमा उभ्याएको थियो ।

यो वर्षका लागि युनेस्कोले “भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता” नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।

अभिव्यक्ति स्वतन्त्रतालाई बढीभन्दा बढी प्रचलनमा ल्याउन र नागरिकलाई अभिव्यक्त गर्न प्रोत्साहित गर्न सञ्चार क्षेत्रले नै भूमिका निर्वाह गर्नसक्छ । त्यसकारण अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्न यो वर्षको युनेस्कोले तय गरेको नाराले अपिल गरेको छ ।

प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कानून कार्यान्वयनमा सरकार दृढ छ– सञ्चारमन्त्री

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौती कम गर्न साइबर सुरक्षा नीति, साइबर सचेतनाका कार्यक्रममा पनि सरकार गम्भीर रहेको प्रष्ट पार्नुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सरकारका प्रवक्ता शर्माले प्रेस स्वतन्त्रताको सवालमा क्रियाशील राष्ट्रिय÷अन्तर्राष्ट्रिय संस्थाको चासोलाई सरकारले नजिकबाट हेरिरहेको उल्लेख गर्नुभयो ।

सरकारले सञ्चारसम्बद्ध संस्था तथा यस क्षेत्रका विज्ञको राय सुझावका आधारमा कानून बनाउन कार्यदल निर्माण तथा सरोकारवालासँगको विषयगत छलफललाई प्राथमिकता दिएको मन्त्री शर्माको भनाइ छ । “कानून निर्माणको प्रक्रियालाई पारदर्शी बनाउँदै आम सरोकारवालाको राय सुझाव सुनिश्चित गर्न विधेयकका मस्यौदा बेवसाइटबाट सार्वजनिक गर्ने परिपाटी मिलाइएको छ, प्रेस स्वतन्त्रतालाई बलियो बनाउन सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐनलगायत विद्यमान कानूनको कार्यान्वयनमा पनि सरकार दृढ छ”, उहाँले भन्नुभएको छ ।

पत्रकारिता र पत्रकारको पेसागत तथा भौतिक सुरक्षामा सरकारले कुनै पनि खालको सम्झौता नगर्ने तथ्य दोहो¥याउँदै उहाँले प्रेस स्वतन्त्रताविरुद्ध हुने घटनामा दोषीलाई उन्मुक्ति दिनुहुँदैन भन्ने कुरामा सरकार स्पष्ट र प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री शर्माले निरासा भाव दिने प्रस्तुतिभन्दा आशा, उत्साहका साथ समाज र मुलुकलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्ने सामग्री उत्पादन तथा प्रकाशन÷प्रसारणमा ध्यान दिन सञ्चार जगत्सँग आग्रह गर्नुभएको छ । “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत प्रेस स्वतन्त्रताको आन्दोलनमा योगदान गर्नेप्रति उच्च सम्मान प्रकट गर्दछु”, शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३ मे का दिन नेपालसहित विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको जीवनरेखा भएको उल्लेख गर्दै मन्त्री शर्माले लोकतन्त्रलाई बलियो बनाउन पूर्ण प्रेस स्वतन्त्रतालाई हामीले संविधानको प्रस्तावनामै उल्लेख गरेको स्मरण गर्नुभएको छ । प्रेस स्वतन्त्रतासम्बन्धी संविधानको व्यवस्थालाई कानूनमा र कानूनलाई कार्यान्वयनमा बदल्न वर्तमान सरकार दृढ र प्रतिबद्ध छ भन्दै उहाँले त्यसकै लागि सरकार सञ्चारसँग सम्बिन्धित कानून निर्माण तथा पुनरावलोकनमा जुटेको उल्लेख गर्नुभएको छ ।

प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य अझै पनि अनुदार छ – अध्यक्ष पोखरेल

काठमाडौँ – नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले प्रेस स्वतन्त्रताका सन्दर्भमा राज्य र राजनीतिक शक्ति अझै पनि अनुदार रहेको बताउनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) को अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष पोखरेलले सरकार र संसद्को प्राथमिकतामा सञ्चारसँग सम्बन्धित कानून र मुद्दा नपर्ने गरेको गुनासो गर्नुभयो । “सञ्चार क्षेत्रमाथि जिम्मेवार राजनीतिक नेतृत्वबाट सञ्चार संस्था घेराउ गर्ने धम्कीसमेत सुनिँदै आएको अवस्था छ, तर यति हुँदाहुँदै पनि निरन्तर नागरिकलाई सूचना प्रवाह गर्ने, राज्यलाई खबरदारी गर्ने आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता निरन्तर लागि परिरहेको अवस्था छ”, उहाँले भन्नुभएको छ ।

प्रेसमैत्री कानून निर्माणका लागि पनि सञ्चार जगत्को खबरदारीले काम गरिरहेको उल्लेख गर्दै उहाँले सञ्चार जगत्को लडाइँका कारण स्थगित भएका कानून निर्माणका प्रक्रियालाई सही ढङ्गले अगाडि बढाउन राज्यसँग प्रतिबद्धता खोजिरहेको बताउनुभएको छ । उहाँले अधिकारको प्रयोगको दिशामा एउटा फड्को नै मार्ने गरी सञ्चार क्षेत्रले आफूलाई अझ क्रियाशील बनाउनका लागि काम गर्नुपर्नेमा समेत जोड दिनुभएको छ । सन्देशमा भनिएको छ, “आमसञ्चार नीति, २०७३ को कार्यान्वयनका लागि कानूनको अभाव भएको छ, जसले गर्दा सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेकोजस्तो गरी पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन सकिएको छैन ।”

पत्रकारिता क्षेत्रमा आएका नयाँ आयाम र प्रविधिको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने चुनौतीलाई सम्बोधन गर्ने गरी कानून निर्माण गरेर अगाडि बढ्नुपर्ने दायित्व काँधमा आएको बताउँदै अध्यक्ष पोखरेलले अघिल्लो संसद्मा पेश गर्नका लागि बनाइएका कानूनका मस्यौदालाई परिमार्जन गरेर नयाँ संसद्मा पेश गर्नका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । “त्यो परिमार्जनले हामीले खोजेकोजस्तो कानून निर्माणको सुनिश्चितता गरोस् भनेर हामीले गम्भीर चासो दिन आवश्यक छ र दिई पनि राखेका छौँ”, उहाँले भन्नुभएको छ ।

मे ३ (वैशाख २०) का दिन विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको थियो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्त्वपूर्ण दिनका रूपमा लिइन्छ ।

आज संसारभर प्रेस स्वतन्त्रताको महत्त्वका बारेमा चर्चा गरिँदै छ । यो वर्षका लागि युनेस्कोले ‘भविष्यको अधिकार सुनिश्चितता ः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा तय गरेको छ । नागरिकले आफूलाई अभिव्यक्त गर्न सक्यो भने मात्र उसले सबै प्रकारका मानव अधिकारको प्रयोग गर्न सक्नेछ भन्ने भावका साथ यो नारा तय गरिएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत : मुख्यमन्त्री पाण्डे

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताउनुभएको छ ।

विश्व प्रेस स्तन्त्रताका अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र यसको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । सरकारका तर्फबाट निर्माण गर्नुपर्ने सञ्चारसम्बन्धी ऐन नियम बनाउन प्राथमिकताका साथ लाग्ने भन्दै सन्देशमा पत्रकारिता क्षेत्रमा समस्या देखापरे पनि सबै खाले समस्यालाई सामुहिक समाधान गर्न सकिने विश्वास व्यक्त गरिएको छ ।

“प्रविधिको प्रयोगले परम्परागत सञ्चार माध्यम क्रमशः सङ्कटमा पर्दै गएका छन् । प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताले खोजमूलक र अनुसन्धानमूलक विषयमा ध्यान केन्द्रित गर्न सकोस्, आफैलाई परिष्कृत गर्न सकोस्”, सन्देशमा उल्लेख छ ।

लोकतन्त्रको पहरेदार राज्यको चौथो अङ्गमाथि जुनसुकै ढङ्गले हुनसक्ने नियन्त्रणलाई अस्वीकार गर्दै प्रेस जगतलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन खेल्नुपर्ने सबै खाले भूमिकाका लागि सरकार तयार रहेको मुख्यमन्त्रीले उल्लेख गर्नुभएको छ ।

स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ – सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छ ।

उहाँले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा शुभकामना र बधाई दिनुभएको छ । शुभकामना सन्देशमार्फत उहाँले प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत् नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्नुभएको छ ।

मे महिनाको ३ तारिख अर्थात आज संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । पत्रकार जगत्ले आफ्नो हक र हितका निमित्त सङ्गठितरूपमा दृढ साहस र सङ्कल्पका साथ सङ्घर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो ।

सभापति देउवाले कांग्रेस मर्यादित, जिम्मेवार र स्वतन्त्र व्यावसायिक पत्रिकारिताको प्रवर्द्धन, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सञ्चारमाध्यममा सञ्चारकर्मीको पेसागत एवं व्यावसायिक विकास र प्रेस स्वतन्त्रताको पक्षमा सधैँ लड्दै आएको बताउनुभएको छ । उहाँले जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सराहना गर्नुभएको छ ।

“लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने सञ्चारकर्मीले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

सभापति देउवाले नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यबद्धता प्रकट गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली सञ्चारकर्मी एवं सञ्चारमाध्यमलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको छ ।

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गर्नुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण, सम्वद्र्धन एवं विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभएको छ, “प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो, लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ ।”

प्रधानमन्त्री दाहालले नेपालको संविधानको मूल मर्म र भावना एवं सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता भएको बताउँदै प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारीसमेत दिनुभएको छ ।

त्यसैगरी सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवं एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको उहाँको भनाइ छ ।

“प्रेस स्वतन्त्रता दिवसबाट राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र सञ्चारमाध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, यही कामनासहित सबैमा पुनः हार्दिक बधाई तथा शुभकामना”, शुभकामना सन्देशमा भनिएको छ । उहाँले दिवसको अवसरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, न्याय र समानताका लागि विभिन्न आन्दोलन र सङ्घर्षमा सहादत प्राप्त गर्नुहुने महान् सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । बेपत्ता योद्धाप्रति उच्च सम्मानका साथ घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ ।

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

कास्की-गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशालाका लागि यही वर्षदेखि आवश्यक बजेट विनियोजन गरी पूर्वाधार निर्माणको थालनी गरिने उहाँले बताउनुभयो । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) लाई पराजित गरी एसिया कपमा छनोट भएपछि नेपाली टोलीलाई सामाजिक सञ्जालबाट बधाई ज्ञापन गर्दै मुख्यमन्त्री पाण्डेले क्रिकेट खेलका आवश्यक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्नुभयो ।

कमजोर खेल पूर्वाधारका बीचमा नेपाली टोलीले उच्चस्तरीय प्रदर्शन गरेकामा उहाँले टिमका सबै खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नेपालको जीत सारा नेपालीको भावनासँग जोडिएको छ । कमजोर पूर्वाधारका बीच यति उच्चस्तरीय प्रदर्शनबाट पुलकित भएको छु । साथै गण्डकीको क्रिकेट विकासका लागि सरकारको नेतृत्वका हिसाबले केही नयाँ गर्ने अठोट लिएको छु ।”

गण्डकी प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट स्टेडियम निर्माणका लागि प्रदेश सरकारले पटकपटक नीति कार्यक्रम तथा बजेटमा समावेश गरे पनि काम अघि बढ्न सकेको छैन । यसअघि विसं २०७७ मा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान निर्माणका लागि प्रदेश सरकारले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएको थियो ।

पशुपतिघाटको एक सय १७४ रोपनी क्षेत्रफल जमिनमा २० हजार दर्शक क्षमताको क्रिकेट रङ्गशाला बनाउने योजना बनाए पनि त्यसपछिका अन्य काम भने सुरु हुन सकेको छैन । पोखरा रङ्गशालाभित्रको एक मात्र क्रिकेट मैदानमा अहिले विभिन्न क्रिकेटका प्रतियोगिता सञ्चालन हुँदै आएको छ । अन्तर्राष्ट्रिस्तरका प्रतियोगिताका लागि वैकल्पिक मैदान अनिवार्य हुने भएकाले पूर्वाधार अभावमा ठूला प्रतियोगिता हुन सकेको छैन ।–––

पृथ्वी राजमार्गमा यात्रुलाई दुई दिन सास्ती

मलेखु, १९ वैशाख – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलको मुखमा जमिन भासिनुको एउटै कारण हो ‘लापरबाही’ । सडक आयोजना र हाल सडक विस्तारको काम गरिरहेको निर्माण व्यवसायीको लापरबाहीले १८ घण्टा राजमार्ग ठप्प बनेर सयौँ यात्रुले सास्ती भोग्नुपरेको हो ।

सोमबार दिउँसो धादिङको धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका वडा नं ८ को सिमाना जोड्ने गणेश खोला पुलको मुखमा जमिन भासियो । आज बिहान १० बजेसम्म सवारी आवागमन ठप्प रह्यो । सयौँ सवारी बाटोमै अलपत्र रोकिए । कति यात्रुले भोकनिन्द्रा भन्न पाएनन् गन्ती छैन । एम्बुलेन्स पनि बाटैमा रोकियो ।

धार्के बजारका स्थानीय रहेका पत्रकार रामबहादुर ठकुरी (आषिस) भन्नुहुन्छ, “सम्पर्कमा आएका सोध्नेहरु धेरैलाई वैकल्पिक बाटो प्रयोग गर्न सुझाइयो, तर पूर्वपश्चिमका जिल्लाबाट काठमाडौँ आउँदै गरेका सवारीका यात्रुको विचल्ली सहिसक्नु थिएन । पानी किन्न नपाउने अवस्थाको दृष्य हेरिसक्नु रहेन । रातिको समयमा सडकमै बास परेका यात्रुको पीडाको बयान गरिसक्नु थिएन ।”

पुल छेउको जमिन भासिएर सडक अवरुद्ध बनेको गणेश खोला पुलसँगै सडक आयोजनाले नयाँ पुलको निर्माण कार्य थालेको छ । त्यही नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुलको फाउण्डेशनको जगसमेत खोतलियो । पुलको पिल्लरलाई सपोर्ट दिन लगाइएका पर्खालका ढुङ्गाहरु पनि थर्किएर भासिन पुग्यो । वर्षातपछि सडकमा बगेको भल त्यही पस्यो । फाउण्डेशन कमजोर बनिसकेको पुलको मुखको जमिन हेर्दाहेर्दै भासियो । धार्के बजारका स्थानीय जगन्नाथ आचार्य भन्नुहुन्छ, “पुरानो पुल पट्टी बढी नखोतल्नुस् पहिरो जान्छ पछि समस्या आउँछ भनेर कामदार र साइड हेर्ने इञ्जिनियरलाई पटक पटक भन्याँै, हाम्रो कुरा सुन्नै चाहेनन्, अहिले यो अवस्था आयो ।”

पुलबाट सवारी आवागमन बन्द भएको सूचना नपाउँदै त्यस क्षेत्रमा पुगेका यात्रुहरुले धार्के बजार आसपासमा थुप्रिए । बाटो खुल्ने छाट नदेखेपछि हिँड्न सक्ने र नजिककैको यात्रामा रहेकाले सटकट बाटो हिँडेरै गन्तव्यतर्फ लागे । पूर्वपश्चिमबाट त्यहाँ आइपुगेकाहरु पनि धेरैले नौविसे र खानीखोलासम्म पैदल हिँडेर अर्काे गाडीमा काठमाडौँ पुगे । हिँड्न नसक्ने र टाढाबाट आएका अधिकांशले आआफ्नै गाडीमा रात बिताए । सडक ठप्प भएको सुचना पाएपछि बीच बाटोमा रोकेका र आफै बैकल्पिक बाटो रोजेकाहरुको त गन्ती नै छैन ।

स्थानीय र जनप्रतिनिधिहरुले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने संभावित समस्या सडक आयोजना र निर्माण कम्पनीलाई बताएका रहेछन् । तर, उनीहरुले अटेर गरि ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपालिका–६ का वडाध्यक्ष रमेश आचार्यले बताउनुभयो । “तीन दिनदेखि पुलमा सवारी एकतर्फी थियो, बाटो विस्तारको जिम्मेवारी पाएका सगुन कन्ट्रक्सनलाई पटक पटक अवगत गराएका थियौँ, नमानेर ढिलासुस्ती गरिरह्यो”, वडाध्यक्ष आचायले भन्नुभयो, “ निर्माण व्यवसायीकै लापरबाही र ढिलासुस्तीकै कारण बाटो अवरुद्ध हुन पुग्यो ।”

नयाँ पुलको फाउण्डेशन बनाउने क्रममा सावधानी नअपनाए कै कारण समस्या उत्पन्न भएको धेरैको बुझाइ छ । “झट्ट हेर्दा पुरानो पुलको फाण्डेशनभन्दा नयाँ पुलको फाउण्डेशनको गहिराइ बढी भएको र नयाँ पुलको फाउण्डेशन खन्ने क्रममा पुरानो पुल पट्टीको भाग कमजोर बनेकोले वर्षातको भलले माटो बगाएर भासिन पुगेको देखिन्छ”, खानीखोला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बम भन्नुभयो ।

नागढुङ्गा मुग्लिन सडक आयोजना पूर्वीखण्डका इञ्जिनीयर जयराम अधिकारी भने ठेकेदार र आयोजनाको कमजोरीभन्दा पनि वर्षात्को पानीले भासिएको बताउनुहुन्छ । “पहिलाको भन्दा अहिले बन्ने पुलको फाउण्डेशनको गहिराई करिब पाँच मिटर गहिरो छ । त्यसमाथि पुलको उचाइ पनि अग्लो भएकाले स्लोपमा कटिङ गर्नुपर्दा पुरानो पुलको छेउसम्म पुगेको हो, तर क्षति पुगेको छैन”, अधिकारी भन्नुहुन्छ, “वर्षात्को बेला सडकमा बगेको भलले हानेर जमिन भासिएको हो, समाचारमा आएजस्तो पुल नै भासिएको होइन ।”

हालको लागि एकतर्फि सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने टरेको छैन । अहिले भासिएको ठाउँमा ग्याविन जाली लगाएर माटोले पुरिएको छ । ठूलो पानी परेर भल चल्यो भने फेरि पनि भासिने र भलले बगाउने जोखिम उत्तिकै छ ।–––

दार्चुला हिमपहिरो अपडेट : पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता

दार्चुला-दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा आज दिउँसो गएको हिमपहिरोमा परी पाँच यार्सागुम्बा सङ्कलक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चार महिला र एक पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार मङ्गलबार दिउँसो ३ बजेतिर खसेको हिमपहिरोमा परी डोटी जिल्ला जोरायल गाउँपालिका बुडर–२ का तीन महिला तथा दुहु गाउँपालिका पोक्से–४ का एक पुरुष र एक महिला बेपत्ता भएका हुन् ।

  सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक (डिएसपी) ईश्वरीदत्त भट्टले त्यहाँ बसेका १२ जना यार्सा सङ्कलकमध्ये सात जना सकुशल रहेको जानकारी दिनुभयो । बेपत्ता भएकाहरूको नाम खुल्न नसकेको उहाँले बताउनुभयो । 

डिएसपी भट्ट सशस्त्र प्रहरीको २५ जनाको टोलीसहित आज साँझ घट्नास्थलमा पुग्नुभएको थियो । हिमपहिरो गएका बेला केही यार्सागुम्बा सङ्कलक दाउरा खोज्न त्रिपालबाट बाहिर निस्केका कारण ठूलो मानवीय क्षति हुन नपाएको उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो, “घटनास्थल वरपर बाक्लो हिमपात भएको छ, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था छैन ।” राति उद्धार गर्न कठिनाइ भएका कारण सशस्त्र प्रहरीको टोली छाङरु नै फर्किन लागेको डिएसपी भट्टले बताउनुभयो । हिमपहिरो गएको स्थानमा सकुशल रहेका सबै यार्सागुम्बा सङ्कलकलाई आफूसँगै सुरक्षित स्थानमा लैजान लागेको उहाँले बताउनुभयो ।

लेक लाग्ने हिमाली भेगमा बस्ने ठाउँ अभाव रहेकाले टोली यार्सा सङ्कलकसहित फर्किन लागेको र बुधबार बिहानै उद्धारमा खटिने उहाँको भनाइ छ । “राति यतै बस्न सकिने अवस्था छैन, कसैको पनि उद्धार गर्न सम्भव छैन, हिउँ अझै परिरहेको छ”, घट्नास्थलबाट सुरक्षित स्थानमा फर्किने तयारी गर्दै गरेका डिएसपी भट्टले भन्नुभयो । हिमपहिरोपछि सो क्षेत्रमा रहेका यार्सागुम्बा सङ्कलक त्रसित बनेको उहाँले बताउनुभयो । 

यार्सागुम्बा सङ्कलक बस्दै आएका केही त्रिपाल हिमपहिरोका कारण पुरिएका थिए । अत्यधिक हिउँ परेका कारण यार्सागुम्बा सङ्कलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा सङ्कलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सो क्षेत्रमा सर्वसाधारण गएका थिए ।

अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन, एक जना पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एकजनालाई पक्राउ गरेको छ ।प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रालिमा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिनुभयो ।

प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ । उक्त महको बजार मूल्य रु पाँच लाख रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो

कास्की कारागारका कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण

कास्की-कास्की कारागारका थप १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको छ । कारागारका सात सय ३३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा १३ जना कैदीबन्दीमा क्षयरोगको सङ्क्रमण भेटिएको हो ।कारागारमा चार जना पुरानै क्षेयरोग सङ्क्रमित रहेका छन् । हाल कास्की कारागारभित्र नयाँ र पुराना गरी १७ जना क्षयरोग सङ्क्रमित पुगेका छन् । कास्की कारागारका जेलर भीमराज कोइरालाका अनुसार क्षयरोग रोगको आशङ्कामा ३६ जनाको नमूना जाँचका लागि क्षयरोग केन्द्रमा पठाइएको छ ।

“पुराना र नयाँ क्षयरोग सङ्क्रमण १७ जनालाई कारागारभित्र छुट्टै कोठामा राखिएको छ । सोमबार र मङ्गलबारको परीक्षणबाट भेटिएका नयाँ १३ सङ्क्रमणलाई पनि बुधबारदेखि नै औषधि चलायौँ”, जेलर कोइरालाले भन्नुभयो ।

जापान–नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था (जन्त्र) ले कास्की कारागारमा सोमबारदेखि कैदीबन्दीको क्षेयरोग परीक्षण गरेको हो । उक्त संस्थाका कार्यकारी निर्देशक रामशरण गोपालीले डिजिटल चेष्ट एक्सरे मेसिनको माध्यमबाट कैदीबन्दीको क्षयरोग परीक्षण गरिएको जानकारी दिनुभयो । एक चिकित्सकसहित पाँच जना प्राविधिक टोलीले सोमबारदेखि कास्की कारागारका कैदीबन्दीको क्षयरोग सङ्क्रमणको जाँच गरेको हो ।

उक्त मेसिनबाट छातीको एक्सरे गरी सङ्क्रमण भेटिएमा उपचारका लागि समन्वय र व्यवस्थापन गरिने जानकारी उक्त संस्थाका निर्देशक गोपालीले बताउनुभयो । कास्की कारागारलगतै बुधबारदेखि बालसुधार गृह सराङकोटका ८५ बालकको क्षयरोग सङ्क्रमण जाँच गरिने उहाँले जानकारी दिनुभयो ।

उक्त संस्थाले नेपाल सरकारको राष्ट्रिय क्षयरोग कार्यक्रमसँग हातेमालो गर्दै बागमती र गण्डकी प्रदेशमा क्षयरोगको सक्रिय खोजपड्ताल गर्दै आएको छ । विशेषगरी कारागार, वृद्धाश्रम, बालसुधार गृह, उद्योग तथा कलकारखाना, सुकुम्बासी तथा मजदुर बस्ती तथा गुम्बामा क्षयरोगीको खोजपड्ताल गर्ने गरेको उहाँले बताउनुभयो ।

सङ्क्रमणलाई नियमित औषधि सेवनका लागि कास्की कारागारको स्वास्थ्य शाखाको निगरानीमा हुने जानकारी जेलर कोइरालाले बताउनुभयो । क्षयरोग लागेर औषधि सेवन गरेकामध्ये ९० प्रतिशत निको भएको जानकारी जापान–नेपाल स्वास्थ्य तथा क्षेयरोग अनुसन्धान संस्थाका म्यानेजर विजय महर्जनले दिनुभयो ।

कास्की कारागारका कैदीबन्दीमा क्षयरोग, छाला, छारेरोग, डिप्रेसन, निमोनियालगायतका बिरामी रहेको कास्की कारागारका अहेव तपरमण पोखरेलले बताउनुभयो । कास्की कारागारमा सात सय ३३ कैदीबन्दी र चार नाबालक छन् । सात सय ३३ मध्ये ३९ जना महिला कैदीबन्दी छन् ।

कारागारमा खानेपानी, बिजुली, बस्ने ठाउँ, स्वास्थ्योपचार र सुरक्षाको समस्या छ । कारागारका सबैजसो भवन जीर्ण भएको कारागार प्रशासनले जनाएको छ । आधारभूत आवश्यकता खानेपानीकै हाहाकार छ । कारागारमा कैदी,बन्दीको सुरक्षा र खाने, बस्ने व्यवस्थापन गर्नकै लागि अप्ठ्यारो भएको कारागार जेलर कोइरालाले बताउनुभयो ।

एक थुनुवाका अनुसार कारागारमा खानेपानीको सधैँ समस्या छ । कारागारमा पानी त आउँछ तर अपुग हुन्छ । खानेपानीमात्रै होइन, उनीहरु सुत्नसमेत राम्रोसँग पाउँदैनन् । प्लास्टिक म्याट बिछ्याएर भुइँमै सुत्नुपर्ने बाध्यता छ । वर्षा लागिसक्यो बर्सातमा पानी चुहिने डर छ, जस्तापात पुराना भइसके, एक थुनुवाको गुनासो छ ।

प्राथमिक उपचार कारागारभित्रै हुनुपर्ने कानुनमा व्यवस्था छ तर, स्रोत र साधनको कमीले सामान्य समस्याको उपचार गर्न पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजानुपर्ने अवस्था रहेको कर्मचारी बताउँछन् । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा शौचालयसमेत अव्यवस्थित हुन पुगेको छ ।

कारागारको प्रशासनिक भवन छैन । जस्ताका छानामुनि स–साना कोठामा विषयगत शाखा र तिनमा कार्यरत कर्मचारी छरिएर रहनुपर्ने स्थिति छ । कारागारजस्तो संवेदनशील क्षेत्रको सुरक्षा प्रबन्धका लागि बनाइएका सुरक्षा पोष्ट जीर्ण छन् । बाहिरी पर्खालको उचाइ कम हुँदा सुरक्षा चुनौती छ । प्रहरी नायब निरीक्षकको नेतृत्वमा ३२ जना प्रहरी कार्यरत रहेका छन् ।

कैदीबन्दीको स्वास्थ्य उपचारका लागि विभागले पनि कम बजेट छुट्याउने गरेको गुनासो जेलर कोइरालाले छ । कैदीबन्दीले मुढा, झोला, भाङ्ग्रालगायत सामग्री बुन्ने गरेका छन् । त्यस्ता सामग्रीको बिक्रीकक्ष पनि राखिएको छ । पछिल्लो समय जेललाई सुधारगृहका रुपमा विकास गर्न पहल भए पनि प्रगति हुन सकेको छैन ।

घाइते कांग्रेस नेता भण्डारीको फ्रन्टलाइन अस्पतालमा उपचार सुरु

काठमाडौँ-आगलागीमा परी घाइते हुनुभएका नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्रकान्त भण्डारीको थप उपचार आजदेखि काठमाडौँमै सुरु गरिएको छ । काठमाडौँको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उहाँलाई आज भर्ना गरेर उपचार सुरु गरिएको अस्पतालका प्रमुख डा नवराज पाण्डेले जानकारी दिनुभयो । गत फागुन ४ गते राति घटना हुनासाथ प्रारम्भिक उपचार गराइएको कीर्तिपुर वर्न अस्पतालका प्रमुख तथा वरिष्ठ चिकित्सक डा शङ्करमान राईसँग परामर्श गरी फ्रन्टलाइनमा भर्ना गरिएको हो ।

अस्पतालले उहाँका लागि आवश्यक सबै सेवा, सुविधा निःशुल्क प्रदान गर्ने बताएको उहाँका स्वकीय सचिव बोधराज कँडेलले जानकारी दिनुभयो । उहाँको उपचारमा वरिष्ठ चिकित्सक डा चक्रराज पाण्डे र उहाँका टिम संलग्न छ । अस्पतालमा अहिले फिजियोथेरापी, ड्रेसिङलगायतका उपचार गराइने डा पाण्डेले जानकारी दिनुभयो । 

डा भण्डारीलाई यसअघि भारतको मुम्बईमा रहेको नेशनल बर्न सेन्टरमा उपचार गराइएको थियो । भारतबाट आइतबार स्वदेश फर्किनुभएका भण्डारीको शरीरका अधिकांश भागमा जलेको घाउ रहेको छ । 

शरीरमा सङ्क्रमण हुने खतरा कायमै रहेकाले अस्पताल प्रशासन र चिकित्सकले भेटघाटमा अझै पनि प्रतिबन्ध लगाएका छन् । गत फागुन ३ गते काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा ग्यास आगलागी भएपछि नेता भण्डारीसँगै उहाँकी आमा हरिकला भण्डारी पनि घाइते हुनुभएको थियो । आमाको भने उपचारकै क्रममा कीर्तिपुर अस्पतालमै निधन भएको थियो ।

केही व्यक्तिले आफूविरुद्ध दुष्प्रचार गरेको कांग्रेस नेता डा राणाको आरोप

काठमाडौँ-नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले केही दिनयता आफ्नो व्यक्तिगत र राजनीतिक चरित्रहत्या गर्ने मनसाय लिएर केही व्यक्तिले आफूलाई लक्षित निराधार र कपोकल्पित आरोप लगाउँदै दुष्प्रचार गरिएको भन्दै ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

उहाँले आज प्रेस विज्ञप्ति जारी गर्दै हरेक व्यक्तिलाई आफ्नो विचार र अभिव्यक्ति स्वतन्त्रतापूर्वक राख्ने अधिकार भए पनि कसैलाई पनि कोहीविरुद्ध आधारहीन गालीगलौज र लाञ्छना लगाउने अधिकार नभएको उल्लेख गर्नुभएको छ ।

“नियोजितरूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यका साथ केही व्यक्तिले सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै मविरुद्ध गाली बेइज्जतीमा उत्रनु खेदजनक छ । तथ्यमा रहेर कसैको हस्तक्षेपबिना विचार राख्ने र मिडियामार्फत सूचना र विचार दिन सकिन्छ तर नियोजितरूपमा मविरुद्ध व्यक्तिगत मानर्मदन गर्ने र हुँदै नभएका आधारहीन विभिन्न विवादमा जोड्ने गरिएकोप्रति सचेत भई त्यस्ता व्यक्तिको व्यक्तिगत रिस, कुण्ठा र आवेगमा सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीले बुझिदिनुहुन अनुरोध गर्दछु”, डा राणाले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

हरेकजसो अन्तर्वार्तामा केही व्यक्ति नियोजितरूपमै आफ्नोेविरुद्ध व्यक्तिगत गालीगलौज गर्ने, आरोप लगाउने, चरित्रहत्या गर्ने कार्य गरिरहेकाले त्यस्ता आधारहीन, निराधार, तथ्यहीन र चरित्रहत्या गर्ने दूषित उद्देश्यबमोजिम आएका आरोपलाई स्थान नदिन सबै आम सञ्चारमाध्यमलाई उहाँले आग्रह गर्नुभएको छ ।

यातायात कार्यालयका तत्कालीन उपसचिवविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय बाग्मती सुकेधारााका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार २०३८ साउन १ गते सेवा प्रवेश गरेका भट्टराईको २०७५ मङ्सिरसम्मको सम्पत्तिमाथि छानबिन गरिएको थियो । उपसचिव भट्टराईले रु एक करोड ९२ लाख एक हजार नौ सय २२ बराबर आम्दानी गरेको भए पनि रु तीन करोड सात लाख ३१ हजार एक सय १६ बराबरको व्यय देखिएको छ । आयबाट समग्र व्यय घटाउँदा रु एक करोड १५ लाख २९ हजार एक सय ९३ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।

आयोगले रु एक करोड १५ लाख २९ हजार एक सय ९३ बराबरको बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव भट्टराईका हालकी पत्नी मुना अधिकारी, छोरा उत्सुक भट्टराई, छोरी प्रेरिका भट्टराईको नाममा राखेको पाइएको छ । आयोगले भट्टराईका मृतक पत्नी इन्दिरा भट्टराईलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

चार महिनामा विदेशी पर्यटक एक सय ३२ प्रतिशतले बढे

काठमाडौँ, १९ वैशाख – सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् ।

कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६, सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार सात सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो मार्च महिनामा ९९ हजार चार सय २६, फेब्रुअरीमा ७३ हजार दुई सय ५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । “चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ”, उहाँले भन्नुभयो ।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहबद्र्धकरूपमा बढेको निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । फेब्रुअरीमा करिब एक हजार आठ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर दुई हजार छ हजार पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर चार हजार सात सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् ।

पर्यटक बढी आउने १० मुलुकमध्ये चीन चौथो नम्बरमा छ । पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३, बेलायतबाट पाँच हजार चार सय नौ, अष्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार चार सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार छ सय ६७, बङ्गलादेशबाट दुई हजार दुई सय १७ र थाइल्याण्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल आएका छन् ।

यो विवरण हेर्दा महामारीपछि पर्यटन पुनरुत्थान भएको देखिन्छ । महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

सभापति लामिछानेका सवारी चालकको मृत्युप्रति रास्वपाद्वारा दु:ख व्यक्त

काठमाडौं, १९ वैशाख-राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेका  सवारी चालक दिलबहादुर थापा (शम्भु)को मृत्युप्रति दु:ख व्यक्त गरेको छ । महामन्त्री डा. मुकुल ढकालद्वारा जारी विज्ञप्तिमा पार्टी निर्माणमा थापाको पनि योगदान रहेको उल्लेख गरिएको छ । 

विज्ञप्तिमा चालक थापाको उपचारका क्रममा निधन भएको र  उनको देहावसानबाट पार्टी परिवार स्तब्ध भएको बताइएको छ । 

उपराष्ट्रपतिद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले एसिसी प्रिमियर कपको उपाधि जित्न सफल भई एसिया कप २०२३ मा छनोट भएकामा नेपाली क्रिकेट टोलीलाई बधाई दिुनभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले अन्तर्राष्ट्रिय जगत्मा नेपालको शिर उच्च राख्न नेपाली क्रिकेट टोलीले गरेको योगदानको उच्च कदर गर्नुभएको छ । उहाँले आगामी दिनमा हुने एसिया कपको सफलताका लागि पनि क्रिकेट टोलीलाई शुभकामनासमेत दिनुभको छ ।

उपराष्ट्रपतिले प्रशिक्षक, अफिसियल तथा खेलाडीको लगनशीलता, मेहनत र कडा परिश्रमका कारण नेपाली क्रिकेट टिमले एसिया कपमा छनोट भई ऐतिहासिक सफलता प्राप्त गरेको उल्लेख गर्नुभएको छ ।

प्रधानसेनापति राष्ट्रिय टेनिस यही वैशाख २८ देखि

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिताको दोस्रो संस्करण यही वैशाख २८ देखि जेठ ५ गतेसम्म सञ्चालन हुने भएको छ ।प्रतियोगिता त्रिभुवन आर्मी अफिसर्स क्लब र दशरथ रङ्गशालाको टेनिस कोर्टमा हुने नेपाली सेना सैनिक तालिम तथा खेलकुद केन्द्रका प्रमुख एवं महासेनानी मुनाल बस्नेतले जानकारी दिनुभयो ।

मुलुकको टेनिस खेलको विकासमा सहयोग पु¥याउने हेतुले सेनाले विसं २०७८ देखि यस प्रतियोगिता सञ्चालनमा ल्याएको हो । तहगतरुपबाट प्रभावकारी योजनासहित खेलाडीको सीप, कौशल र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासेनानी बस्नेतले बताउनुभयो ।

प्रतियोगितामा ३५ देखि ७० वर्ष उमेर समूहका खेलाडी आठ विधामा सिङ्गल, डबल र समूहमा प्रतिस्पर्धा गर्ने छन् । प्रत्येक विधामा कम्तीमा आठ टोली हुनुपर्नेछ । प्रतियोगितामा विजयी हुने क्लबले रनिङ ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा पुरुष र महिला सिङ्गल र समूहगत खुला विधातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु ५० हजार, रु २५ हजार र रु १५ हजार प्रदान गरिने छ । उक्त प्रतियोगितामा भाग लिन चाहने व्यक्ति वा समूहले आजदेखि यही वैशाख २३ गतेसम्म दर्ता गराउनुपर्नेछ ।

पुर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार पक्राउ

काठमाडौं – पुर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई पक्राउ गरिएको हो। 

 उनलाई सुनाकोठी, ललितपुरवाट पक्राउ गरिएकाे हाे ।नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृत उनी माथी सोधपुछ सुरु भएको छ । 

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – मंगलबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसासा, बेलायती पाउण्ड स्टर्लिङको खखरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ८७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।
 

उपेन्द्र यादवले आज पद तथा गोपनियताको सपथ लिदैँ

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँछन् ।गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । 

संघीय संसद सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको सपथ गराउने छन्  ।सोही उपनिर्वाचनवाट बिजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै सपथ ग्रहण गरिसकेका छन् ।

आम नागरिकमा सूचना प्रविधिको पहुँच पु-याउनु आजको दायित्व – मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेका जनाउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा भइरहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताउनुभएको छ ।

सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुका साथै लागत कटौतीमा मद्दत पुगेको जनाउँदै उहाँले नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको बताउनुभएको छ ।

सूचना प्रविधिलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उहाँको भनाइ छ । मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको जनाउनुभएको छ ।

केही समयअघि सरकारी सर्भरहरूमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउनुभयो ।

साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्ने भन्दै उहाँले तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समयसापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको उल्लेख गर्दै मन्त्री शर्माले सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पु¥याउने गरी कार्यक्रम सञ्चालन भइरहेको जनाउनुभयो । “यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने विश्वास लिइएको छ”, उहाँले भन्नुभएको छ ।

सूचना प्रविधिको विकासबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताउनुभएको छ ।

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताउनुभयो ।

सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै उहाँले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययनकार्य भइरहेको उहाँको भनाइ छ । उहाँले सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि सबै जिल्लामा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको जनाउँदै प्रधानमन्त्री दाहालले अप्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूतगतिमा अघि बढाइएको बताउनुभएको छ । आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पु¥याउने सरकारको लक्ष्य रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।

प्रधानमन्त्री दाहालले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रुपान्तरण ल्याउनका लागि सबै पक्षसँग अपिल गर्नुभएको छ । ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज देशव्यापी रुपमा छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएको विकास र विस्तारसँगै पछिल्ला दिनमा नेपालमा पनि सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढिरहेका छन् । सार्वजनिक क्षेत्रबाट प्रवाह हुने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् ।
–––