`

अवरुद्ध सडक खुलाउन सेना सक्रिय

काठमाडौँ – धादिङ धुनीबेँसी नगरपालिका वडा नं ६ स्थित गणेश खोलामा सोमबार गएको पहिरो पन्छाउन नेपाली सेना परिचालन भएको छ ।

उक्त स्थानमा आएको पहिरोका कारण सोमबार अपराह्नदेखि पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सडक खुलाउन तत्कालै सेना परिचालित भएको हो । उक्त स्थानमा परिचालित सैनिक इञ्जीनियर्स टोलीले उक्त स्थानमा तत्कालै एक्रोब्रिज जडान गरिहाल्नुपर्ने अवस्था नभएको जानकारी गराएको छ ।

सडक विभागका कर्मचारी तथा धादिङस्थित गणबाट परिचालित फौजले रातभर करिब १० फिट तलबाट ग्यावियन वायर लगाई माटो ढुङ्गा भर्ने कार्य गरिरहेको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताउनुभयो । अवरुद्ध सडक खुलाउन आज बिहानदेखि नै सेनाको थप फौज परिचालन भएको पनि उहाँले जानकारी दिनुभयो ।

अख्तियार विधेयकको संशोधनमा ‘कपी पेस्ट’, कुनै फेरबदल छैन

काठमाडौँ। विषय र प्रसङ्गमा कुनै पनि विधेयकमा सांसदहरूको संशोधन प्रस्तावको आशय मिल्नु नौलो अभ्यास हैन । एउटै विषयमा एकभन्दा बढी माननीयको संशोधनको व्यहोरा हुबहु मिल्नुचाहिँ संयोग मात्र हुँदैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको एक विवादित व्यवस्थामा छ जनाभन्दा बढी सांसदको संशोधनको व्यहोरा पूर्ण रूपमा दुरुस्त नै पाइएको छ । शब्द, शब्दावली मात्र हैन अनुच्छेदको कमामा समेत कुनै फेरबदल छैन, ‘कपी एन्ड पेस्ट’जस्तो छ । त्यसरी संशोधन दर्ता गर्ने सांसदहरू पनि फरक फरक दलका छन् ।

राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकको दफा २ मा विवाद छ । पब्लिक कम्पनीलाई समेत अख्तियारको अधिकार क्षेत्रभित्र राख्नेगरी राष्ट्रिय सभाले विधेयक पारित गरेपछि पक्ष र विपक्षमा बहस जारी छ । विधेयकको विवाद जारी रहँदा प्रतिनिधि सभामा पेस भएको सोही दफाको संशोधनमा सांसदहरूको हुबहु संशोधन पाइएको हो ।

नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी तथा स्वतन्त्र सांसदसमेतले एकै व्यहोराको संशोधन उक्त दफामा दर्ता गरेका छन् । धेरै सांसदले पब्लिक कम्पनी अख्तियारको क्षेत्राधिकारमा लैजाने व्यवस्था खारेजीको प्रस्ताव गर्दा उनीहरूले भने नियामकसम्बन्धी कानुनले कसुर मानेका बाहेक अन्य विषय अख्तियारलाई दिन मिल्नेगरी संशोधन दर्ता गरेका छन् ।

कांग्रेसका रामहरि खतिवडा र पूर्णबहादुर तामाङ, एमालेका प्रेमबहादुर महर्जन, रास्वपाकी सुमना श्रेष्ठ, स्वतन्त्र सांसद अमेरशकुमार सिंहले दर्ता गरेको संशोधनमा व्यहोरा हुबहु छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

संस्थागत विद्यालयको दबाबमा अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी

काठमाडौं । संस्थागत विद्यालयको दबाबमा सरकारले विद्यालय तहको अनिवार्य सामाजिक अध्ययन विषय अंग्रेजीकरण गर्ने तयारी गरिरहेको छ। यसको गतिलो उदाहरण राष्ट्रिय परीक्षा बोर्ड बनेको छ। यही वैशाख २६ गते सुरु हुने कक्षा १२ को परीक्षाका लागि सामाजिक विषयको नमुना प्रश्नपत्र नेपाली र अंग्रेजी दुवै भाषामा बनाएर आफ्नो वेबसाइटमा राखेपछि सरकारी नियत प्रस्टसँग झल्किएको हो।

उक्त नियतको अहिले चौतर्फी विरोध भइरहेको छ। दुई वर्षअघि मात्र नेपाली भाषा र राष्ट्रियता प्रवद्र्धन गर्न भनेर विज्ञहरूसँगको बृहत् छलफलपछि विद्यालय तहको सामाजिक अध्ययन विषयलाई नेपाली भाषामा पढाउन थालिएको हो।

तर, हाल पाठ्यक्रम विकास केन्द्रले भने परीक्षा बोर्डकै सुझावका आधारमा वैशाख २० गते बस्ने परिषद्को बैठकमा अंग्रेजी भाषामा पनि प्रश्नपत्र सोधिने गरी निर्णय गराउने तयारी गरिरहेको छ।

बोर्डका उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले गत वर्ष कक्षा १२ को सामाजिक अध्ययन विषयको प्रश्नपत्र नेपालीमा मात्र सोधिँदा धेरै विद्यार्थीले प्रश्नका भाषा, शब्द र शब्दावली बुझ्न नसकेकाले धेरै विद्यार्थी न्यून ग्रेडमा परेको सुनाए।

‘दुई वर्षअघिदेखि सामाजिक विषयको पठनपाठन कक्षा १२ मा नेपाली भाषा माध्यमबाट भइरहेको छ। प्रश्न पनि नेपालीमै सोधियो। तर धेरै विद्यार्थीले आफूले प्रश्नै नबुझेको भनेर लिखित निवेदनै दिनुभयो,’ उपनियन्त्रक घिमिरेले नागरिकसँग भने, ‘वैशाख १८ गतेबाट वेबसाइटमार्फत सुझाव संकलन गर्ने काम भएको छ। निजी विद्यालय, विदेशी सम्बन्धनमा नेपालमा खुलेका विदेशी स्कुल र तिनका विद्यार्थी तथा अभिभावकले प्रश्न अंग्रेजीमा पनि सोधिनुपर्ने सुझाव दिनुभएको छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण

काठमाडौं । एक दशकपछि सेवा क्षेत्रमा करिब ८४ लाख जनशक्ति आवश्यक पर्ने प्रक्षेपण गरिएको छ । सरकारले हालै जारी गरेको राष्ट्रिय जनशक्ति नीति–२०८० मा सो प्रक्षेपण गरिएको हो । सरकारी प्रक्षेपणअनुसार २०९० सालमा सेवा क्षेत्रमा ८४ लाख १३ हजार ८ सय ९८ र २१०० सालमा १ करोड ३ लाख १ सय १ जनशक्ति लाग्ने अनुमान छ । त्यस्तै, यो वर्षको अन्त्यमा ४५ लाख ७४ हजार ६ सय ९३ जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।

कृषिमा क्रमशः २०८० सालसम्ममा १ करोड ३ लाख ५४ हजार, २०९० मा ७८ लाख ८६ हजार र २०२१ सालमा ७६ लाख ६१ हजार जनशक्ति चाहिने अनुमान छ । कृषिमा अनुमानित जनसंख्या घट्दो क्रममा रहेको सरकारी प्रक्षेपण छ । उद्योगमा क्रमशः २०८० मा ३० लाख २४ हजार, २०९० सालमा ४६ लाख ६१ हजार र २०२१ सालमा ५५ लाख ३० हजार जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।

यसअघि उच्चस्तरीय शिक्षा आयोग, २०७५ तथा जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास अध्ययन कार्यदल, २०७५ ले सरकारलाई प्रतिवेदन बुझाएको थियो । जनशक्ति विकास योजना तथा समन्वय शाखाका सदस्य सचिव ईश्वरीप्रसाद पोखरेलले शुक्रबार जारी गरिएको उक्त नीति सरोकारवालाहरूसँग छलफल गर्दै विस्तारै कार्यान्वयनमा लगिने जानकारी दिए ।

जनशक्ति शाखाले नीतिसँगै शैक्षिक सेवासुविधा तथा छात्रवृत्तिसम्बन्धी सरोकारवालाको धारणा सङ्ग्रहित सारसंक्षेप प्रतिवेदन २०७८ र ११ वटा विश्वविद्यालयबाट उत्पादित जनशक्ति (मानव संसाधन)सम्बन्धी अध्ययन तथा अभिलेखन तयार गरेको छ ।

सदस्य सचिव पोखरेलले सामुदायिक विद्यालय, ११ वटा विश्वविद्यालय र ८६ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीलगायत विभिन्न निकायका १ हजार ३ सय ८१ जनासँग छलफल गरेर नीति तयार गरेको जानकारी दिए ।

मन्त्रालयले ५ वर्षअघि राष्ट्रिय जनशक्ति नीति बनाउन समिति गठन गरेको थियो ।आर्थिक सर्वेक्षण–२०७९ अनुसार ५६ लाख ६५ हजार युवा वैदेशिक रोजगारमा गएको नीतिमा उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

नेपालमै सवारी उत्पादन गर्ने तयारी

काठमाडौं । नेपालमा बर्सेनि करिब एक खर्ब रुपैयाँभन्दा बढीको सवारी आयात हुने गरेको छ। सवारी आयातलाई रोक्न नेपालमा नै उत्पादनको विकल्प छैन। गाडी सुविधाभन्दा पनि आवश्यकता बन्दै गएपछि सरकारले आयातभन्दा पनि नेपालमा नै गाडी उत्पादन गर्ने निर्णय गरेको हो।

लगानी बोर्ड नेपालले सरकारको निर्णयअनुसार नै भेइकल म्यानुफ्याक्चरिङ एन्ड एसेम्बली प्लान्ट आयोजनालाई अघि बढाइरहेको छ। बोर्डको ५१औं बैठकले एसेम्बल प्लान्ट परियोजना विकासका लागि मोट्रेक्स कम्पनीसँग वार्ता प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। कम्पनीले २०७६ सालमा बोर्ड समक्ष उक्त एसेम्बल प्लान्ट स्थापनाको प्रस्ताव पेस गरेको थियो।

२०७६ सालमा नै गाडी उत्पादन गर्ने कोरियाली कम्पनीसँग बोर्डले प्रारम्भिक लगानी सम्झौता गरेको थियो। तर, कोभिडलगायतका कारण योजना कार्यान्वयन सम्झौता हुन सकेको छैन। कम्पनीले बुटवलको मोतीपुर औद्योगिक क्षेत्रको सेक्टर एमा १० अर्ब ५४ करोड रुपैयाँ लगानीमा नेपालमा कम्पनी सुरुवात गर्ने भनिएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कोरियाली लगानी भित्र्याउने निर्णय गरेका थिए।

तर, सरकारको कार्बन उत्सर्जनलाई शून्यमा झार्ने नीतिसँगै यस आयोजनाको प्रकृतिमा केही परिवर्तन भएको बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिए। सुरुमा चारपाङ्ग्रे सवारीसाधनका साथै विद्युतीय गाडी एसेम्बल गर्ने कारखाना खोल्ने तयारी भएको थियो। तर, अहिले पेट्रोलियम पदार्थबाट चल्ने नभई विद्युत्बाट चल्ने ९इलेक्ट्रिक भेइकल–ईभी० मा उत्पादन गर्ने बोर्ड बैठकले नै निर्णय गरेको लम्सालले जानकारी दिए। आयोजनाले अब ईभीका पार्टपुर्जा र गाडी उत्पादन गर्नु पर्नेछ।

यसमा पनि मोट्रेक्स सहमति जनाएको छ। तर भन्सार तथा अन्तःशुल्कमा पछिसम्म नै छुटको सुनिश्चित गर्नुपर्ने उसको प्रस्ताव छ। यसमा अर्थ मन्त्रालयको सुझाव प्रतीक्षा भइरहेको प्रवक्ता लम्सालले बताए। प्लान्ट ईभीमा मात्र रूपान्तरण हुने भएपछि आयोजनाको लागत करिब सात अर्ब रुपैयाँमा सीमित भएको छ।

मुलुकको तीन तिहाइभन्दा बढी रकम आयातमा खर्चिने हुँदा गाडीको उत्पादन नेपालमा नै हुँदा यसले आर्थिकसँगै परनिर्भता पनि हटाउने बताइएको छ। केही समय लागे पनि मोट्रेक्सले नेपालमा नै गाडी उत्पादन गर्ने विश्वास बोर्डको छ। कम्पनीले नेपालमा नै पहिलो पटक विद्युतीय गाडीको पनि पार्टपुर्जा एसेम्बल गर्नेछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रजनन केन्द्रमा जन्मिए तीन सय घडियाल गोही

नवलपुर – चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा यस वर्ष तीन सय सात बच्चा जन्मिएका छन् । सङ्कटापन्न अवस्थामा रहेका घडियाल गोहीको संरक्षण गर्ने उद्देश्यले सन् १९७८ मा कसरामा सो केन्द्र स्थापना गरिएको थियो ।

केन्द्रमा जन्मिएर हुर्काइएका घडियाल हरेक वर्ष प्राकृतिक बासस्थानमा लगेर छाड्ने गरिएको छ । यस वर्ष जन्मिएका घडियाल गोहीहरू वयस्क भएपछि प्राकृतिक बासस्थानमा छाडिने निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताउनुभयो । तिवारीका अनुसार हाल प्रजनन केन्द्रमा साना–ठूला सबै गरी छ सय ४० घडियाल छन् ।

“निकुञ्जको प्रजनन केन्द्रमा हुर्काइएका वयस्क घडियाललाई सन् १९८१ बाट देशका विभिन्न नदीमा लगेर छाड्ने गरिएको छ”, उहाँले भन्नुभयो, “अहिले प्रजनन केन्द्रमा तीन सय सात नयाँ जन्मिएका, ७२ एक वर्ष उमेर समूहका, एक सय ८७ किशोरावस्थाका, ४१ उपवयस्क र ३३ वयस्क घडियाल रहेका छन् ।” यस केन्द्रमा हुर्किएका घडियाललाई निकुञ्जले बर्सेनि राप्ती, नारायणी नदीमा छाड्ने गरेको छ । प्रजनन केन्द्रमा हुर्किएका घडियालहरू निकुञ्जले हालसम्म देशका अन्य नदीहरू सप्तकोशी, बबई, कर्णाली र कालीगण्डकीमा लगेर प्राकृतिक बासस्थानमा छाडिसकेको अधिकृत तिवारीले बताउनुभयो ।

उहाँका अनुसार १९८१ बाट हालसम्म एक हजार आठ सय ५२ घडियाललाई प्रजनन केन्द्रमा हुर्काइएर प्राकृतिक बासस्थानमा छाडिएको छ । “प्रजनन केन्द्र स्थापनापछि हालसम्म राप्तीमा एक हजार एक सय ३२, नारायणीमा चार सय १९, सप्तकोशीमा एक सय १५, बबईमा एक सय १०, कर्णालीमा ४१ र कालीगण्डकीमा ३५ वटा घडियाल छाडिएको छ”, उहाँले भन्नुभयो, “अहिले कालीगण्डकी नदीमा घडियाल भेटिएको छैन । सप्तकोशीमा गत वर्ष केही घडियाल देखिएको थियो भने अन्य नदीमा घडियाल सहजै देख्न सकिन्छ ।”

प्रजनन केन्द्रमा हुर्काएर प्राकृतिक बासस्थानमा छाड्ने गरिएको गोहीमध्ये थोरैमात्रै जीवित रहने गरेको पाइएको उहाँले बताउनुभयो । “राप्तीमा छाडिएका गोहीहरूको बाँच्ने प्रतिशत अलि बढी छ”, उहाँले भन्नुभयो, “अन्य नदीमा छाडिएका गोही हराउने गरेका छन्, केही नदीहरू बग्दै भारततर्फ जाने गरेका छन् भने केही गोही विभिन्न कारणले मर्ने गरेका छन् ।” नारायणीबाट बग्दै भारततर्फ गएको गोहीहरू नवलपुरको त्रिवेणीस्थित भैसालोटन पुलबाट नेपालतर्फ फर्किन नसक्ने अधिकृत तिवारीले बताउनुभयो ।

“नदी प्रणालीमा रहेका गोही पनि बोटेहरूले माछा मार्न प्रयोग गर्ने तियारी जालमा अल्झिएर मर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “हामीले तियारी जाल प्रयोग गरेर नदीमा माछा मार्न प्रतिबन्ध लगाएका छौँ । तर लुकीछिपी तियारी जाल प्रयोग हुँदा सङ्कटापन्न अवस्थामा रहेका गोही त्यो जालमा जेलिएर मर्ने गरेका छन् ।” निकुञ्ज र संरक्षणकर्मीले बर्सेनि जालमा बेरिएका घडियाललाई उद्धार गर्ने गरेका छन् । प्राकृतिक बासस्थानमा जोखिमयुक्त अवस्थामा रहेका घडियालका अन्डा सङ्कलन गरेर प्रजनन केन्द्रमा लगेर बच्चा जन्माउने गरिएको छ ।

मिटरब्याज पीडित २९ दिन देखी धर्नामा, सरकारको पुरै वेवास्ता

काठमाडौं, १९ बैशाख । मिटर ब्याँज पीडित २९ दिन देखी धर्नामा बसेका छन् । काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई जारी राखेका छन ।  सरकारले  मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

२८ दिन देखी धर्नामा बसेका मिटर ब्याँज पीडितलाई भेटनका लागि हिजो पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेका थिए । उनले मिटर ब्याज पीडितहरुको माग राजनीतिक रुपमा सम्बोधन गर्न सुझाव दिएका छन् ।

‘सरकारले बनाएको आयोगको कार्यादेश विस्तार गर्ने र शक्तिशाली बनाउने, जाली तमसुकहरू आयोगसमक्ष समर्पण गर्ने वा जफत गर्ने, जाली मुद्दा र धरपकड रोक्ने गरी तुरून्त राजनीतिक निर्णय गर्ने कुरा सरकारले गरोस्’ सो भेट पछि भट्टराईकाे सुझाव छ ।मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईसमक्ष गरेका थिए । उनीहरु गत चैत २९ गते काठमाडौंमा आई धर्ना सुरु गरेका हुन् । 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिने

बुटवल, १९ बैशाख । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिदैँछन् । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकवाट नवनियुक्त मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिन लागेका हुन ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गत आइतवार दर्ता गराएका थिए । जसअनुसार सभामुख तुलाराम घर्तीले सो पत्र दर्ता भएको ४८ घण्टा पछि अर्थात मंगलबार बिहान ११ बजेका लागि प्रदेशसभा बैठक आब्हान गरेका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थनमा नेकपा एमालेका लिलानाथ गिरीको नेतृत्वमा गठन भएको सरकारले विश्वासको मत पाउन नसके पछि गत बिहिवार ढलेको थियो । सो सरकार ढले पछि माओवादी केन्द्रलगायतका राजनीतिक दलको समर्थनमा समर्थनमा नेपाली कांग्रेसका चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

गत शुक्रवार मुख्यमन्त्री चौधरीले माओवादीका धनबहादुर मास्की, लोकतान्त्रिक  समाजवादी पार्टी नेपालका सन्तोष पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीलाई मन्त्री नियुक्ती गर्दै पद तथा गोपनियताको सपथ लिएका थिए । नवनियुक्त मन्त्रीहरुलाई जिम्मेवारी भने तोकिएको छैन, सबै तीन मन्त्री बिना बिभागीय रहेका छन् ।

विश्वासको मत लिए पछि मुख्यमन्त्री चौधरीले तीनै जना मन्त्रीको जिम्मेवारी तोक्ने तथा नयाँ अनुहारलाई मन्त्रीमा नियुक्त गर्ने योजना बनाएका छन् ।

आजको मौसमः आज पनि देशैभरी पानी पर्ने

काठमाडौं, १९ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आशिक देखि सामान्य बदली रहेको छ ।

दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुका साथै तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

राती भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको  सम्भावना रहेको छ।

देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आज ‘आइसिटी डे’ मनाइँदै

काठमाडौँ – सरकारले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस ‘आइसिटी डे’ यही वैशाख १९ गते मनाउने भएको छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ छैटौँ दिवस अर्थात् ‘आइसिटी डे’ यही वैशाख १७, १८ र १९ गते तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर मनाउने भएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीका अनुसार सूचना प्रविधिको क्षेत्रमा योगदान दिएकालाई सम्मान गर्ने गरिन्छ । “सूचना प्रविधिको प्रयोगबाट हुने साइबर अपराध कसरी रोक्न सकिन्छ भनेर अध्ययन गर्ने गरिन्छ”, उहाँले थप्नुभयो, “सूचना प्रविधिको प्रयोग गरेर देशको विकास र मुलुकको समृद्धि गर्न सकिने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।”सूचना विश्वसनीय र भरपर्दो खालको हुनुपर्ने भन्ने सोचका साथ यो दिवसको नारा तय गरिएको समेत उहाँले जानकारी दिनुभयो ।

दिवस मनाउन मन्त्रालयका सचिव कृष्णबहादुर राउतको संयोजकत्वमा गठित मूल समारोह समितिको यही वैशाख १० गते बसेको बैठकले यस वर्ष मूल नारा पारित गर्दै मनाउने निर्णय गरेको थियो ।

दूरसञ्चार सेवाप्रदायकमार्फत तीन दिनसम्म वैशाख १७, १८ र १९ गते रिङब्याक टोनका रूपमा ‘आइसिटी डे २०२३ भव्य रूपमा मनाऔँ’ भन्ने सन्देशका साथै वैशाख १९ गते बिहान मोबाइल प्रयोगकर्तालाई एसएमएसमार्फत पठाउने व्यवस्था मिलाउन नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गर्ने प्रचार उपसमितिले जनाएको छ ।

नेपालमा २०२८ सालमा कम्प्युटर भित्रिएको थियो । नेपालमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को सन् १९९२ मा स्थापना भयो । त्यही स्थापना भएको दिनलाई सूचना प्रविधि दिवसका रूपमा मनाउन थालेको हो ।

रास्वपाको सभापति लामिछानेको लिखित जवाफ सर्वोच्चमा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा आज पेस गरेको लिखित जवाफमा आफूविरुद्ध दायर भएका रिट निवेदन खारेज गर्नुपर्ने माग गरिएको छ ।

लिखित जवाफमा राहदानी विवादमा महान्यायाधिवक्ताको कार्यालयले तहगत निर्णयका आधारमा आफूविरुद्ध मुद्दा चलाउने प्रमाण नभएको निर्णय गरेका कारण उक्त निर्णयविरुद्ध दायर रिट निवेदन खारेज हुनुपर्ने माग गरिएको छ ।

लामिछानेविरुद्ध राहदानी दुरुपयोगको कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय खारेज हुनुपर्ने माग गर्दै दायर भएका रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षी लामिछानेसँग लिखित जवाफ माग गरेको थियो ।

महान्यायाधिवक्ताको कार्यालयको लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय बदरको माग गर्दै युवराज सफललगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । उक्त रिट निवेदनको सुनुवाइपछि संवैधानिक इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो ।

नागरिकता विवादमा सर्वोच्चले फैसला गरेको र सोही अनुरुप आफूले पुनः नागरिकता प्राप्तिको प्रक्रियासमेत पूरा गरेको लिखित जवाफमा उल्लेख छ । आफूले राहदानी ऐन विपरीतको कसुर कहिले पनि नगरेको र राहदानी लिएर अरूलाई असर पार्ने कामसमेत नगरेको दाबी लिखित जवाफमा छ । लिखित जवाफमा आफूलाई विवादमा ल्याउन सन्दर्भ नै नमिल्ने नजिरहरु पेस गरेर रिट निवेदन दायर गरिएको छ ।

अफगानमा ७२ हजार टन कपास उत्पादन

काबुल – अफगान किसानहरूले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट ७२ हजार ४९३ टन कपास दत्पादन गरेको जनाएको छ ।

बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्याुएको विज्ञप्तिमा उल्लेख छ।सन् २०२२ अप्रिलमा अफिम लगायतका खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानहरूले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन्।

अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली र मूल्यवान् उब्जाउन किसानहरूलाई प्रोत्साहित गरेको छ।

नागरिक उन्मुक्ति पार्टीसहित चार पार्टीबीच एकता घोषणासभा

मोरङ – नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता सङ्घर्ष समाज र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच आज यहाँ पार्टी एकता घोषणासभाको आयोजना गरिएको छ ।

उन्मुक्ति पार्टीकी राष्ट्रिय अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, समाजका संयोजक त्रिनारायण राजवंशी र अध्यक्ष दिनेशराज राजवंशी र अभियानका विनोद पाण्डेद्वारा १० बुँदे पार्टी एकतामा हस्ताक्षर गर्नुभएको छ ।

भूमि व्यवस्थामन्त्री चौधरीले एकता घोषणासभाको उद्घाटन गर्दै यो पार्टी दमनको विरुद्धमा जन्मिएको बताउनुभयो । उहाँले विगतमा सुदूरपश्चिमको टिकापुरमा भएको घटना मुलुकको अन्य ठाउँमा नहोस् भन्नका लागि हामी एकजुट हनुपर्नेमा जोड दिनुभयो । मन्त्री चौधरीले राजबन्दी रिहाइ र जनताको विकासप्रतिको चाहना पूरा गर्न निर्वाचनमा प्रतिस्पर्धा गरी सदन र सरकारमा सहभागी भएको प्रष्ट पार्नुभयो ।

सङ्घीय लोकतान्त्रिक मञ्चका अध्यक्ष ज्ञानबहादुर गुरुङ, उपाध्यक्ष एवि पण्डाक लिम्बू, उन्मुक्ति पार्टीका उपाध्यक्ष दामोदर पण्डित, कोचिला सङ्घर्ष समितिका अध्यक्ष चौधरी लगायतकाले पहिचानवादी एकजुट भई उत्पीडन, विभेद र पछाडि परेका जातजातिलाई माथि उठाउनुपर्नेमा जोड दिएका छन् ।

मानसिक स्वास्थ्यलाई हेयको दृष्टिले हेर्दा संवेदनशील बन्दै : उपराष्ट्रपति

काठमाडौँ – उपराष्ट्रपति रामसहायप्रसाद यादवले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्दा समस्या आएको बताउनुभएको छ ।

मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपालको आज २०औँ वार्षिकोत्सवको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई हेयको दृष्टिले हेर्ने पुरातन दृष्टिकोणको कारण समस्या अझ बढी संवेदनशील बन्दै गएको बताउनुभयो । उहाँले नेपालको संविधानले नै आधारभूत स्वास्थ्यलाई मौलिक हकका रुपमा स्थापित गरेकाले सो पूरा गर्नका लागि सरकारको योजनामा गैरसरकारी क्षेत्रको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा उपसभामुख इन्दिरा रानाले मानसिक स्वास्थ्य अझ महत्वपूर्ण रहेकाले नेपाल सरकार, विकास साझेदार सबै मिलेर काम गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । “मानसिक स्वास्थ्यको क्षेत्रमा सरकार र गैरसरकारी क्षेत्र मिलेर काम गर्नुपर्दछ । अझ जेल जीवन बिताइरहेका व्यक्तिको मानसिक स्वास्थ्यमा समेत सरकारले ध्यान दिन जरुरी छ,” उहाँले भन्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सचिव डा रोशन पोखरेलले आत्महत्या रोकथाम र सहरी विकासअन्तर्गत मानसिक स्वास्थ्यको विषयमा काम गरिनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्य रणनीति कार्यान्वयन गर्न सबैभन्दा महत्वपूर्ण रहेको भन्दै त्यसलाई सचेतना फैलाउनु र भ्रम निवारण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले मानसिक स्वास्थ्यलाई सरकारले अझै प्राथमिकतामा राखी काम गर्ने बताउनुभयो ।

केन्द्रका प्राविधिक निर्देशक डा पशुपति महतले आफूले सरकारसँग मानसिक स्वास्थ्य सेवामा हातेमालो भएर काम गरिरहेको बताउनुभयो । उहाँले केन्द्र सन् २००३ देखि मानसिक स्वास्थ्य तथा मनोसामाजिकमा काम गर्दै आइरहेको उल्लेख गर्दै हालसम्म ५१ जिल्लाका दुई सय छ स्थानीय तहमा काम गरिरहेको जानकारी दिनुभयो ।

रास्वपाको संसदीय दलको सचेतकमा डाँगी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको सचेतकमा निशा डाँगी चयन गरेको छ ।

रास्वपाको संसदीय दलको आज बसेको बैठकले सांसद डाँगीलाई सचेतक चयन गरेको उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । “हाम्रो पार्टीमा प्रमुख सचेतकका रुपमा म कार्यरत छु”, उहाँले भन्नुभयो, “निशा डाँगीलाई आज सचेतक बनाउने निर्णय गरेका छौँ ।”

बैठकले सभापति रवि लामिछानेलाई पुनः संसदीय दलको नेता चयन गरेको छ । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानेले सांसद पद गुमेको थियो ।

कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैन : मुख्यमन्त्री कार्की

उर्लाबारी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेकोे बताउनुभएको छ । आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उहाँले भन्नुभयो, “नेपाल बहुजातिय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो । अब पुनः प्रदेशको नामाकरण सम्भव छैन ।”

विगतको पाँच वर्ष प्रदेशको नामाकरण हुन नसक्दा जनस्तरबाटै प्रदेश सरकार आलोचित भएको स्मरण गर्दै कार्कीले थप भन्नुभयो, “प्रदेश सरकार निर्माण गर्न समर्थन गरेका सबै राजनैतिक दलको समर्थनमा नामाकरण टुङ्गोमा पु¥याइएको हो । पछिल्लो समय केही व्यक्ति र केही संस्थाले एमालेलाई लक्षित गरी आक्रमण गर्ने प्रवृति बढ्दै गएको छ । हिंसात्मक आन्दोलन गर्ने कसैलाई छुट छैन यसप्रति कोशी प्रदेश सरकार सचेत छ ।”

मन्त्री कार्कीले ‘कोशी प्रदेश’ निश्चित सम्प्रदाय, धर्म, पहिचान र जातिभाषाको रुपमा नभएर नेपालकै सबैभन्दा ठूलो प्राकृतिक सम्पदा कोशी नदीको नाम भएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “यो प्रदेशको नाम सम्पदाका आधारमा राखिएको हो, अन्य ठाउँमा प्राकृतिक सम्पदा र भूगोलको आधारमा नामाकरण हुँदा हुने हाम्रोमा किन नहुने ?”

मन्त्री कार्की कार्यक्रममा सहभागी हुने खबर आन्दोलनरत पहिचानवादीले उहाँविरुद्ध नाराबाजी गरेका थिए । आन्दोलनरत पक्षधरले कार्कीको विरोध गर्दै पूर्वपश्चिम राजमार्गको मङ्गलबारेमा केही बेर सडकमा टायर बालेर प्रदर्शन गरेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्न थालेपछि मुख्यमन्त्री कार्की अर्को बाटो भएर विराटनगर फर्किनुभएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि युवाले निकाले -याली

नेत्र प्रसाद भुसाल / चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र धुलोरहित सडक निर्माणको दबाबका लागि समृद्धिका लागि युवा अभियान माडीले मोटरसाइकल -याली निकालेको छ । सोमबार समृद्धिका लागि युवा अभियान माडी र माडी जेसीजको सहकार्यमा माडीको बसन्तपुर बजारदेखि बरुवा बनकट्टा हुँदै निकुञ्ज पार गरी कसराचोकसम्म -याली प्रदर्शन गरिएको हो ।

प्रदर्शनको क्रममा युवाहरुले निकुञ्जका जनावरहरुले पनि धुलोका कारण मास्क लगाउनुपरेको प्रतिकात्मक फोटो ब्यानर र प्लेकार्ड पनि बोकेका थिए । प्लेकार्डमा “वायु प्रदुषणले जनावरलाई पनि हानी पुर्‍याउँछ, सँगै लडौं”, “बन्यजन्तु र मानब दुबैको हितकोलागी धुलो रहित बाटो आजको आबस्यकता”, “Full of Dust, We are Lost”, “Much Pollution not Solution” र “Reduce Pollution, Save Wildlife, Secure our Future” लेखिएको थियो ।

निकुञ्जभित्र बाटोमा उड्ने धुलोले जनावरहरुलाई समेत असर गरेको र यो बिषय अन्तर्राष्ट्रिय र राष्ट्रिय चासो एवं चिन्ताको बिषय रहेकोले अब धुलोरहित सडक निर्माण गर्नुपर्ने भन्दै र्याली निकालिएको माडीका एक अभियन्ता हरि लम्सालले जानकारी दिए ।

यस्तै बिप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य सन्देश पौडेलले माडीका युवाहरुले गरेको सो दबाबमूलक कार्यक्रमको आफ्नो पार्टीले समर्थन गर्ने बताए । उनले निकुञ्जभित्र सडक बन्न नसक्नुमा यहाँका सांसद र जनप्रतिनिधिहरु नै दोषि रहेको बताए । उनले जेठ १५ गते घोषणा हुने बजेटमा निकुञ्जभित्र कालोपत्रे बनाउने बजेट नसमेटिए युवाहरुले सांसद र जनप्रतिनिधिहरुलाई माडी आउनै रोक्नुपर्ने पनि बताए ।

जलविद्युत् आयोजनाको बाँधस्थलमा शव फेला

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित जलविद्युत् आयोजनाको बाँधस्थलमा आज एक युवकको शव फेला परेको छ ।

मस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधस्थलमा तनहुँको आँबुखैरेनी गाउँपालिका–६ स्थायी घर भई हाल गोरखा नगरपालिका–१४ याङ्कोटमा डेरा गरी बस्ने १५ वर्षीय सोमबहादुर गुरुङको शव फेला परेको हो । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै सनाखत हुन नसके पनि पछि आफन्तको सहयोगमा उनको सनाखत भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा

सिरिया – सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ ।

शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत झाई जुनसँगको भेटमा असदले उक्त टिप्पणी गर्नुभएको हो । सिरियाको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित मुद्दाहरूमा चीनको दृढ समर्थनको सिरियाले सराहना गरेको उहाँले बताउनुभयो ।

सिरियाले बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्र रहेर चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई मजबुत बनाउन चाहेको उहाँले बताउनुभयो ।

यसैबीच असदले इरान र साउदी अरबबीचको मेलमिलापमा सफलतापूर्वक मध्यस्थता गरेकोमा चीनलाई बधाई दिँदै यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ ।

सिरियाको अन्य अरब राष्ट्रसँगको सम्बन्धलाई प्रबद्र्धन गर्न चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै असदले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनले ठूलो भूमिका निर्वाह गरेकोमा स्वागत गर्नुभयो ।

हालैका वर्षहरूमा चीन–सिरिया सम्बन्ध निरन्तर विकसित हुँदै गएको र राजनीतिक पारस्परिक विश्वास निरन्तर वृद्धि भएको उल्लेख गर्दै सिरियासँग मिलेर दुई देशको मुख्य चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न र नयाँ प्रगति हासिल गर्न दुवै पक्षबीच मैत्रीपूर्ण सहयोग लाई बढावा दिन चीन इच्छुक रहेको झाईले बताउनुभयो ।

झाईले सिरियाको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको सम्मान र कायम राख्नुपर्ने उल्लेख गर्दै संयुक्त राज्य अमेरिका र पश्चिमा मुलुकलाई सिरियाविरुद्ध एकतर्फी प्रतिबन्ध र आर्थिक नाकाबन्दी तत्काल हटाउन आग्रह गर्नुभयो । उहाँले सिरियाली जनतालाई मानवीय र विकास सहायता प्रदान गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै चीन सिरियाको अरब मुलुकसँगको सम्बन्ध सुधारमा रचनात्मक भूमिका निर्वाह गर्न इच्छुक रहेको उल्लेख गर्नुभयो ।

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : नयाँ नियम ल्याउँदै नेफ्टा

काठमाडौँ – नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) प्राविधिकलाई लक्षित गर्दै सिफ्ट प्रणालीको कार्यान्वयनमा जुटेको छ । यही वैशाख १ गतेदेखि नयाँ नियम ल्याइए पनि लागू गर्ने विषयमा छलफल भइरहेको नेफ्टाका अध्यक्ष पुस्कर लामाले बताउनुभयो ।

नेफ्टाले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा नयाँ व्यवस्था लागू गर्न प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो । “हामीले विदेशमा लागू गरिएको आठ घण्टे सिफ्ट यहाँ वैज्ञानिक नदेखिएपछि बाह्र घन्टाको बनाएका छौँ । जिम्मेवार श्रमिक संस्था भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ”, उहाँले भन्नुभयो ।

सरोकारवाला संस्थाहरू नेपाल चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र निर्देशक समाजसँग सहकार्य गरेर यसलाई पूर्ण कार्यान्वयनमा ल्याउने तयारीमा रहेको नेफ्टाले बनाएको सिफ्टअनुसार नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म वा बिहान ९ देखि राति ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नेछन् । अतिरिक्त समय काम गर्नुपरे निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ ।

अध्यक्ष लामाले २०७६ सालदेखि नै यो अभ्यास सुरु गर्ने तयारी भए तापनि कोरोना महामारीले रोकिएको भन्दै अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याइएको बताउनुभयो । “कार्यान्वयनका लागि सम्बन्धित संस्थासँग सहकार्य र छलफल गरिरहेका छौँ”, अध्यक्ष लामाले भन्नुभयो । नेपालमा छायाङ्कन गर्दा नेफ्टासँग अनुमति लिनुपर्नेदेखि सहकार्यका साथै आउने विदेशी चलचित्रमा अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने नियमसमेत नयाँ प्रावधानमा उल्लेख छ । नेफ्टा अध्यक्ष लामाले सिफ्ट प्रणाली पूर्णरूपमा कार्यान्वयनमा आउन केही समय लाग्ने बताउनुभयो ।

गुरु (बृहस्पति) उदयको आजदेखि सकियो बाल दोष

काठमाडौँ – एक महिनाअघि अस्त भएको गुरु उदय भई आजदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही वैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । गुरुको बाल दोष आजदेखि सकिने भएकाले भोलिदेखि नै विवाह, व्रतबन्धलगायत शुभ साइत दिइएको पनि उहाँले सुनाउनुभयो । गुरु अस्तका समयमा कामना राखेर गरिने शुभ कर्म नगर्न समितिले अनुरोध गरेको थियो ।

गुरु अस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ देखि १८ गतेसम्म गुरुको बाल्य दोष रहने भएकाले वैशाख १८ गतेसम्म विवाह, व्रतबन्धलगायत कामना राखेर गरिने शुभ कर्मको साइत नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । उक्त अवधिमा इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रतको आरम्भ र उद्यापन गर्न नहुने शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको थियो ।

यसैगरी, वधूप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्टका श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षाग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ट पूजा, पाठ यज्ञयागादि कहिल्यै नगरिएको देव दर्शन तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यासग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेक आदि अन्यगतिक काम्य कर्म अस्तकालमा गर्नु हँुदैन भन्ने तथ्य श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र आदि ग्रन्थले बताएका छन् ।

वैशाख १९ गतेदेखि भने यी सबै कर्म गर्न कुनै दोष नरहेको समितिले जनाएको छ । अस्त समयमा गुरु शुक्र सूर्यको समीपमा रहने भएकाले यज्ञका फलदाता देवगुरुको र शुक्रको कुनै पनि सकारात्मक प्रभाव पर्दैन भन्ने नै शास्त्रको मनसाय भएको अध्यक्ष अधिकारीले बताउनुभयो । शास्त्रअनुसार फलको आशाले गरिने धार्मिक कृत्यहरू शास्त्रले निषेध गरेको समयमा गर्न मिल्दैन । यसो गरेमा जुन कामनाले गरिन्छ त्यो फल नपाइने समितिको भनाइ छ । वर्जित समयमा देशका विभिन्न धार्मिकस्थलमा सप्ताह, नवाह र ठूलाठूला यज्ञहरू भइरहेको भनी समितिले चैत अन्तिम साता विज्ञप्तप्रकाशन गरी जानकारी गराएको थियो । गुरु अस्तका बेला पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा ठूला धार्मिक कर्म गरिएको थियो । शास्त्रको मर्म विपरीतका यस्ता काममा जनसहभागिता भने न्यून देखिन्थ्यो । शास्त्रले निषेध गरेका समयमा व्यापारिक उद्देश्यले यस्ता कर्म गरिएकाले यसमाथि प्रतिबन्ध लगाउन जनस्तरबाट पनि माग भएको थियो ।

अहिले पनि ठूला उद्योग बन्द गराउन खोजिँदै छ – ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि सार्वजनिक स्वामित्वका ठूला उद्योगलाई बन्द गराउन खोजिएको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभएको छ ।

एक सय ३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले ठूला उद्योग बेचेर खाएको भन्दै अहिले पनि बचेका ठूला उद्योग बन्द गराउन खोजेकोले रोक्नुपर्ने बताउनुभयो । हिजो कौडीका भाउमा ठूला उद्योग बन्द गराएर मुलुकको अर्थतन्त्रलाई टाट पल्टाइएको उहाँको भनाइ थियो ।

“निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गरेर सुरक्षा गर्नुपर्दछ । निजी क्षेत्रलाई सहुलियत दिनुपर्दछ”, उहाँले भन्नुभयो, “उद्योग बन्द गराउने काम हुनुहँुदैनथ्यो । हिजो भए । अहिले पनि बन्द गराउन खोजिरहेका छन्, रोक्नुपर्दछ ।”

उहाँले वैदेशिक रोजगारमा गएका युवाले त्यहाँका मजदुरले पाए सरहको सुविधा त्यहाँका श्रम कानून, त्यहाँका श्रमिकले पाउने सुविधाअनुसार जतिकै पाउनुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले देशभित्र योगदानका आधारमा पेन्सन जस्तै विदेशमा काम गरेका युवाले पनि पेन्सन पाउनुपर्ने बताउनुभयो । “समान काम गर्दा समान ज्याला र सुविधा हुनुपर्दछ । हाम्रा वैदेशिक रोजगारमा गएका श्रमिकले पनि त्यहाँका श्रम कानून, त्यहाँका मजदुरलाई दिएको सुविधा कम नहुने गरी पाउनुपर्दछ”, उहाँले भन्नुभयो, “हाम्रा देशबाट गएका मजदुर पनि विदेशमा योगदानका आधारमा पेन्सनमा पाउनुपर्दछ, होइन भने उमेर छउन्जेल विदेशमा काम गरेर आउँछ अनि केही नपाउने स्थिति आउँछ ।”

उहाँले देश अप्ठ्यारो स्थितिमा रहेको भन्दै देशलाई अप्ठ्यारो अवस्थाबाट सहज अवस्थामा फर्काउनुपर्ने धारणा राख्नुभयो । कुनै पनि भुलभुलैयामा नपरी सचेत, अनुशासित, गतिशील युवाले मुलुक बनाउनुपर्ने भनाइ राख्नुभयो । “भ्रम, भावनाबाट देश बन्दैन । हामीले योजनाबद्ध ढङ्गले सही नीतिका साथ देशलाई अगाडि बढाउनुपर्दछ,” उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले श्रमिक, किसान, मजदुर, चिकित्सक, प्राध्यापक, इन्जिनियर भए पनि देश कहिले अगाडि र कहिले पछाडि सर्ने गरेको भनाइ राख्नुभयो । प्रजातन्त्र, सामाजिक समानता, लैङ्गिक समानता, शोषणको अन्त्य, थिचोमिचो र दमनको अन्त्य, समान कामको समान ज्याला, आठ घन्टा काम आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम आदि कुराको सुधार श्रमिकको सङ्घर्षबाट प्राप्त गरेको उहाँको भनाइ थियो ।

उहाँले मजदुर र जनताको हित गर्ने प्रणााली समाजवादी प्रणालीमात्र भएको भन्दै नेपाली जनताको भलाइ समृद्ध नेपाल र सुखी नेपालीको अभियान पूरा भएपछि सबै जनताले समृद्धिको प्रतिफल प्राप्त गर्ने बताउनुभयो । टे«ड युयिनयन आन्दोलनलाई कमजोर पारेर पूँजीपति वर्गले आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले आफू पूँजीवादको विरोधी भए पनि पूँजीको विरोधी नभएको स्पष्ट पार्नुभयो । “हामी पूँजीवाद विरोधी त हाँै । तर पूँजी विरोधी होइनौँ । मानिस पूँजी (धनी) हुनपर्दछ तर पूँजीवाद भनेको शोषणवाद हो, पूँजी हुनुपर्दछ भनेको समृद्ध हुनुपर्दछ भनेको हो”, उहाँले भन्नुभयो । उहाँले आफू शोषणकारी पूँजीवादको पक्षमा नभई राष्ट्रिय पूँजीवादको पक्षमा रहेको बताउनुभयो ।

परिवर्तन र न्यायका लागि महिला पत्रकारहरूको साइकल यात्रा

हेटौँडा – महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको छ । यात्राका लागि सो टोली हेटौँडा हुँदै पूर्वतिर अगाडि बढेको हो ।

पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सु सहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो । न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन् ।

पत्रकार बुढाथोकीले चेतनामूलक सन्देश प्रवाहका लागि साइकल यात्रा तय गरिएको बताउनुभयो । साहसी काम मानिने साइकल यात्रासहित महिलाहरूले चेतना फैलाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यात्रा थालिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी, अग्रज पत्रकार टिटिक्सुले सामाजिक रुपान्तरणसँगै सडकमा जनपहुँच, साइकलबारे जनचेतना सहितको सन्देश प्रवाहका लागि आफू चितवनबाट यात्रामा जोडिएको उल्लेख गर्नुभयो । उमेरले पाँच दशक पार गरिसक्नुभएकी उहाँले लिङ्ग र उमेरले यात्रालाई अवरोध नगर्नेसमेत सन्देश दिनुभएको छ ।

पुल भासिएपछि पृथ्वीराजमार्गमा सवारी आवागमन अवरुद्

धादिङ – धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल आज भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्घ भएको छ ।

दिउँसो वर्षा भएपछि पुलको धुनीबेँसी पट्टिको भाग भासिएको थियो । दिउँसो केही समय एकातर्फी भएको सवारी आवागमन दिउँसो ४ बजेदेखि पूरै सडक भासिएर आवागमन नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

भासिएको पुलसँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । नयाँ पुल निर्माणका लागि पुल छेउमा केही समयदेखि खनिएको थियो । राजमार्ग अवरुद्ध भएपछि साना सवारी साधनलाई कच्ची सडक प्रयोग गरी आवागमन गरिएको छ । ठूला सवारी साधनका लागि सडक मर्मत गरेर मात्र आवागमन सञ्चालन गर्न सकिने भएकाले केही समय लाग्ने जैसवारले बताउनुभयो ।

सहजताअनुसार हेटौँडा काठमाडौँ र काठमाडौँ नुवाकोट गल्छीको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

श्रमिकको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक छ – अध्यक्ष नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मजदुर वर्गका सामाजिक सुरक्षा, सुरक्षित कार्यस्थल, हक, हित अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ ।

एकीकृत समाजवादी निकट ट्रेड युनियनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उहाँले श्रमिक वर्गको अधिकारका साथै राज्यबाट सेवासुविधा उपलब्ध गराउन आवश्यक नीति निर्माणमा उनीहरूको सहभागिता हुनुपर्ने बताउनुभयो । उहाँले मुलुकको विकास र आर्थिक समृद्धि प्राप्त गर्न उनीहरूको आर्थिक तथा सामाजिक रूपान्तरणको खाँचो औँल्याउनुभयो ।

पूर्वप्रधानमन्त्री नेपालले उत्पादनको विभिन्न क्षेत्रमा क्रियाशील श्रमिक वर्गको अधिकार तथा हितको संवर्द्धन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको भन्दै उनीहरूले पनि लोकतान्त्रिक मूल्यमान्यताको रक्षा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । सामाजिक शोषण, अन्याय, विभेदको अन्त्य गरी गरिबी न्यूनीकरण गर्न सकिने बताउँदै उहाँले त्यसका लागि कम्युनिष्ट पार्टीको स्थापना गरिएको र मूलधारको कम्युनिष्ट सिद्धान्तलाई आफ्नो पार्टीले आत्मसात् गरेको बताउनुभयो ।

कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले श्रमिक, मजदुर, श्रमजीवी वर्गलाई सामाजिक न्याय र समानतामा आधारित सुरक्षा कायम गरी अन्य अधिकार सुनिश्चित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । यही वैशाख २० गतेसम्म चल्ने अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

काठमाडौँ – सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ । पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ ।

आजसम्ममा ती पोष्ट स्थापना गरी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिसकिएको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले जानकारी दिनुभयो । यसरी थपिएको सीमा सुरक्षा चौकीमा हाल भएकै सशस्त्र प्रहरी कर्मचारीलाई परिचालन गरिएको पनि उहाँले बताउनुभयो ।

योसँगै अब सीमा क्षेत्रमा सशस्त्र प्रहरीको दुई सय ४९ वटा बिओपी पुगेको छ । यसअघि दुई सय २८ वटा बिओपी स्थापना भएको थियो । सरकारले पाँच सयवटा बिओपी पु¥याउने लक्ष्य राखेको छ । क्रमशः अन्य जिल्लामा पनि थप गर्दै जाने योजना रहेको जनाइएको छ । सशस्त्र प्रहरीले सीमा सुरक्षा विभागसमेत स्थापना गरी व्यवस्थित कार्य आरम्भ गरिएको सशस्त्र प्रहरीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

यस्तै, अस्पताल, सीमा विभाग र अनुगमन तथा गुनासो व्यवस्थापन एकाइमा हटलाइन सेवाहरू थप गरी कार्यान्वयनमा ल्याइएको छ । सशस्त्र प्रहरी बल नेपालले भए गरेका कार्यप्रगतिबारे जानकारी दिँदै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले प्रधान कार्यालयमा अनुगमन तथा गुनासो व्यवस्थापन एकाइ स्थापना गरिएको र विभिन्न माध्यमबाट प्राप्त पाँच सय २० गुनासोमध्ये पाँच सय १८ फर्छ्योट भइसकेको र दुईवटा छानबिनका क्रममा रहेको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतामा विशेष जोड दिइएको र सोही क्रममा विभिन्न ६५ युनिटमा जवान मेसहरूको स्तरोन्नति गरिएको उहाँले बताउनुभयो । एक जवान एक बेडिङ अवधारणा लागू गर्ने अवधारणाअनुसार करिब ८५ प्रतिशत कर्मचारीका लागि बेडिङ तयार भइसकेको र ७० युनिटमा शिशु स्याहार केन्द्र स्थापना गरिएको पनि जानकारी गराइएको छ ।

आव ०७९÷०८० को वैशाख १६ गतेसम्ममा सशस्त्र प्रहरी बल, नेपालका विभिन्न युनिटले अवैधरूपमा चोरी–निकासी तथा पैठारी गरिरहेको अवस्थामा रु ९६ करोड ९५ लाख सात हजार सात सय ९३ बराबरको माल, वस्तु नियन्त्रणमा लिई सम्बन्धित कार्यालयमा बुझाएको छ । यसअघि आव ०७८÷०७९ को यो समयमा रु ७९ करोड ८५ लाख ९९ हजार ६३ मात्रै बुझाइएको थियो । चालु आवको अहिलेसम्म १९ वटा विभिन्न प्रकारका पेस्तोल, १६ वटा भरुवा तथा एअर बन्दुकलगायत थुप्रै विस्फोटक पदार्थ बरामद गरी सम्बन्धित निकायमा बुझाइएको छ ।

यस्तै, चार हजार दुई सय ८३ केजी गाँजा, ३५ केजी चरेस तथा ४० हजार चार सय ९५ ट्याबलेट लगायतका विभिन्न किसिमका लागूपदार्थ बरामद गरी सम्बन्धित निकायलाई बुझाइएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ ।

रास्वपाद्वारा वाग्ले अर्थनीति विभाग प्रमुखमा चयन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ–१ बाट निर्वाचित आफ्ना सांसद डा स्वर्णिम वाग्लेलाई अर्थनीति विभाग प्रमुखको जिम्मेवारी दिएको छ ।

सो पार्टीको आज केन्द्रीय कार्यालय बसुन्धारामा बसेको बैठकले वाग्लेलाई उक्त जिम्मेवारी प्रदान गरेको हो । यसैगरी, आजको बैठकले विभिन्न ३६ वटा विभाग गठनसमेत गरेको जनाइएको छ । यही वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ–१ बाट वाग्ले निर्वाचित हुनुभएको थियो । चुनावअघि वाग्ले नेपाली कांग्रेस परित्याग गरेर रास्वपामा प्रवेश गर्नुभएको थियो ।

संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिन्छ – मन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानको पूर्ण कार्यान्वयनबाट श्रमिकको हक स्थापित गर्न सकिनेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै उहाँले संविधानप्रदत्त मौलिक हकको कार्यान्वयनबाट श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गर्नुभएको छ ।

“नेपालमा श्रमिकका पक्षमा विविधखाले आन्दोलन हुँदै आएका छन् । किसान मजदुरसहित श्रमजीवी वर्गको सहभागितामा नेपालमा भएका ठूलाठूला राजनीतिक आन्दोलनको परिणामस्वरुप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ जनताको बलिदानपूर्ण सङ्घर्षको जगमा बनेको संविधानले श्रमको हकलाई मौलिक हककै रुपमा स्थापित गरेर श्रमिक वर्गको हकहितलाई प्राथमिकता दिएको छ”, उहाँले भन्नुभएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री शर्माले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुने, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने, प्रत्येक श्रमिकलाई कानुनबमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउनेजस्ता प्रावधान मौलिक हकमै समेटिएको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।

शिक्षा, स्वास्थ, आवास, खाद्यान्न, खानेपानी, सामाजिक सुरक्षा, रोजगारीलगायत मौलिक हकको कार्यान्वयनबाट पनि श्रमिक वर्गको पक्षमा पर्याप्त काम गर्न सकिने आधार तयार भएको उल्लेख गर्दै मन्त्री शर्माले मौलिक हकलाई पूर्ण कार्यान्वयनमा ल्याउँदै संविधानले निर्दिष्ट गरेको समाजवादोन्मुख अर्थतन्त्र अवलम्बन गरेर पुँजी र श्रमको उचित संयोजनमार्फत समृद्धि हालिस गर्ने सम्भावना फराकिलो बन्दै गएको बताउनुभएको छ ।

सामाजिक न्यायसहितको समृद्धिबाट नै नेपालमा मजदुर किसानसहित आम श्रमजीवी वर्गको जीवनमा रुपान्तरण ल्याउन सम्भव भएको उल्लेख गर्दै उहाँले राजनीतिक उपलब्धिको जगमा आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणमार्फत आम जनताको जीवनमा परिवर्तन ल्याउन प्रण गर्नुपर्ने बेला आएको स्मरण गराउनुभएको छ ।

अझैँ तीन दिनसम्म वर्षा हुने, यस्तो छ आजको मौसम

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण अहिले देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशैभरका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस प्रदेशका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहने जनाइएको छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय श्रम दिवस : ‘प्राप्त अधिकार संरक्षणका लागि आवाज उठाउँछौँ’

काठमाडौँ – मुलुकका ट्रेड युनियन नेतृत्वले मजदुरलाई सङ्गठित गर्ने र निर्माण भएका कानुन कार्यान्वयनमा सरकार र रोजगारदाता दुवै अनुदार देखिएको भनी गुनासो गर्नुभएको छ ।

उहाँहरुले नेपाली श्रमिक क्षेत्रले कानुनीरुपमा धेरै उपलब्धि हासिल गरे तापनि व्यवहारिकरुपमा भने झन प्रताडित रहेको प्रतिक्रिया दिनुभयो । नेपाल टे«ेड युनियन कांग्रेका अध्यक्ष पुस्कर आचार्यले शान्तिपूर्ण वार्ता र संवादबाटै मजदुरका हकहितका माग र मुद्दा उठाइए पनि सरकार र रोजगारदाताबाट आवश्यक चासो नदिएको प्रतिक्रिया दिनुभयो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा रासससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “वार्ता र संवादबाटै सबै समस्या सुल्झिन्छ भन्ने ढङ्गबाट पहल र प्रयत्न गरिएकामा सरकार र रोजगारदाताले बेवास्ता गरेपछि ट्रेड युनियन आन्दोलनको दिशातर्फ उन्मुख हुन बाध्य भएको छ ।”

काम गर्नेमाथि काम लगाउनेको ज्यादतीका विरुद्ध सन् १८८६ मा अमेरिकाको सिकागोमा पहिलो सङ्गठित मजदुर आन्दोलन भएको थियो । त्यस आन्दोलनमाथि भएको चरम दमन स्मरण गर्दै आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आरामको मागसहित सन् १८९० देखि विश्वभर श्रमिक दिवस मनाइँदै आएको छ ।

अध्यक्ष आचार्यले भन्नुभयो, “कानुन अनिवार्य लागू गर्नुपर्छ भन्ने भए पनि राज्य स्वयं उदासिनता छ, उद्योगपति मात्र होइन सरकारी कार्यालयले पनि मज्दुरलाई त्यो सुविधा दिएको देखिन्न ।” अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष जगत सिम्खडाले लाखौँलाखको सङ्ख्यामा रहेका मजदुरको हकहितको संरक्षणका लागि सामाजिक सुरक्षा र श्रम ऐन ल्याउन सफल भए पनि कार्यान्वयनमा सरकार र रोजगारदाता अझै अनुदार देखिएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “जति धेरै सामाजिक सुरक्षा त्यतिकै श्रम लचकता भनिए तापनि शोषण, उत्पीडन, सरुवा, निष्कासन र जगेडामा राख्ने प्रवृत्तिले प्राप्त अधिकार गुम्ने हुन् कि भन्ने प्रश्न खडा गरेको छ ।” नेपालका श्रमिकले समग्रमा सामाजिक सुरक्षालगायतका सेवा सुविधा प्राप्त गर्नुका साटो न्यूनतम पारिश्रमिक नपाएर पिरोलो झेल्नुपरेको ट्रेड युनियनसँग सम्बद्ध नेताको भनाइ छ ।

नेपालमा विसं २००३ मा पहिलो सङ्गठित मजदुर आन्दोलन सुरु भएको थियो । मुलुकको श्रमिक आन्दोलनले श्रमिकको सम्मान, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धि लागि मनाउँदैआएको छ ।

नेपाल टे«ड युनियन महासङ्घ (जिफण्ट)का अध्यक्ष विनोद श्रेष्ठले उपलब्धिका हिसाबले कानुनीरुपमा अहिलेसम्म आउँदा अधिकार प्राप्त भए पनि व्यवहारमा भने कार्यान्वयन नभएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि उठाउँदै आएको योगदानमा आधारित सामाजिक सुरक्षाको नारा कानुनीरुपमा पूरा भएको छ, श्रम कानुनमा पनि सुधार भएको छ, तर कार्यान्वयनको पाटोबाट हेर्दा अत्यन्तै कमजोर अवस्थामा छ ।”

कानुनी लडाइँ जित्दै गए पनि व्यवहारमा प्राप्त अधिकार पनि खोसिँदै गएको बताउँदै अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रका मजदुरले खाइपाइ आएको सेवा सुविधामा व्यापक कटौती भएको उल्लेख गर्नुभयो । संविधानमै पनि मजदुरका हकलाई मौलिक हकका रुपमा स्थापित गरिएको स्मरण गराउँदै उहाँहरुले मजदुरलाई सेवा सुविधा दिनुपर्छ भनेर स्वास्थ्य, बैंक, विद्यालयलगायतका सङ्घ संस्थामा तालिम र आउट सोर्सिङका नाममा शोषणका नयाँरुप प्रयोग हुन थालेको भनी आलोचना गर्नुभयो ।

सरकार, राजनीतिक दल, समाजले श्रम क्षेत्रलाई हेयको दृष्टिकोणबाट हेर्ने गरेको गुनासो गर्दै उहाँहरुले राजनीतिक अस्थिरताले पनि श्रमिकका मुद्दा ओझेलमा पर्दैआएको उल्लेख गर्नुभयो । ट्रेड युनियनको आन्दोलनले पछिल्लो श्रम ऐनमा एक जना मात्रै मजदुर भएका सङ्घ संस्थाले पनि श्रमिकलाई न्यूनतम तलब, भत्ता उपलब्ध गराउन पर्ने तथा असङ्गठित क्षेत्रका श्रमिक पनि सङ्गठित हुने व्यवस्था गरेको छ ।

ट्रेड युनियनले यस पटकको मजदुर दिवसमा थप अधिकारभन्दा प्राप्त अधिकारको संरक्षणका निम्ति आवाज उठाउने उद्घोष गरेका छन् । देशका ट्रेड युनियनले श्रम र सामाजिक सुरक्षा ऐन कार्यान्वयनको विषयलाई प्राथमिकतामा राख्दै श्रमिक विरोधी प्रावधान र समयानुकूल सेवा सुविधाका मद्दालाई जोडदाररुपमा उठाउँदै आएको दाबी गरेका छन् ।

सरकारी कार्यालयमै पनि भइरहेको आउट स्वर्सिङ प्रथाले ट्रेड युनिन आन्दोलनलाई चुनौती खडा गरेको हुँदा अहिले त्यो नै सबैभन्दा महत्वपूर्ण मुद्दा भएको उहाँहरुको टिप्पणी छ । सामाजिक सुरक्षाको दायरामा सम्पूर्ण मजदुरलाई ल्याइदिनुपर्नेमा निर्माण क्षेत्र, यातायात, कृषि, पसलजस्ता असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिक अहिले पनि न्यूनतम ज्यालाभन्दा निकै कममा श्रम बेच्न बाध्य रहेको युनियनको भनाइ छ ।

राज्यबाट श्रमिका माग र मुद्दालाई बेवास्ता गरिँदा कूल श्रमिकको १० प्रतिशत मजदुर पनि सङ्गठित हुन नसकेको मजदुर नेताको भनाइ छ । ट्रेड युनियनले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी तुल्याउन सकेको खण्डमा मजदुरको जीवनस्तरमा सुधार आउने र राज्यको आर्थिक भारसमेत कमी हुने दाबी गरेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६४ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ एक पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८६ रुपैयाँ ३२ पैसा र बिक्रीमा ८६ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९९ पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, रहेको छ ।

अध्यक्ष तिमिल्सिना कम्बोडिया प्रस्थान

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ ।

उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदवि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेशसभाका सदस्य अमन मास्के र सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।

श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस् – राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले श्रम अधिकार सुनिश्चितताको कामनासमेत गर्नुभएको छ । श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिएको उल्लेख गर्दै उहाँले यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको जनाउँदै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रात्मक, समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुने बताउनुभयो । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले यस दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं समाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ ।

रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज, लामिछाने दलको नेता बन्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिवार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिवार जुम मिटिङ गरी जानकारी दिएको थियो ।

आज बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।
 

सामुदायिक विद्यालयमा नयाँ विद्यार्थीको थेगिनसक्नु चाप

केही सामुदायिक विद्यालयमा भर्ना हुने नयाँ विद्यार्थीको चाप थेगिनसक्नु छ। विद्यार्थी भर्ना गरिदिन निकै माथिल्लो तहबाट चर्को दबाब पनि उनीहरूले खेप्नु परिरहेको छ। वरपर निजी विद्यालय प्रशस्त हुँदा पनि अभिभावक र विद्यार्थीको आकर्षण तिनै सामुदायिक विद्यालयप्रति रहँदै आएको छ। यसले सामुदायिक विद्यालयप्रतिको छवि सुध्रिँदै गएको सङ्केत गरेको छ।

विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले प्रदेश मन्त्रालयका सचिवदेखि सङ्घीयमन्त्रीका स्वकीय सचिवसम्मले विद्यार्थी भर्नाका लागि चर्को दबाब दिएको बताउँदै भने, “भर्ना नगरिदिएको भन्दै धेरै जना रिसाए। अहिले पनि दबाब खेपिरहेका छौँ। दैनिक थुप्रै फोन आइरहेकै छन्। भर्नासम्बन्धी सानो काम गरिदिएनन् भन्ने आरोप जनप्रतिनिधिले पनि लगाइरहेका छन् तर त्यस्ता दबाबलाई बेवास्ता गर्दै आएका छौँ।”

उक्त विद्यालयले ३७५ जना विद्यार्थी भर्ना खुलाएकोमा एक हजार ९७४ जनाको आवेदन परेको थियो। कक्षा ३ सम्म पहिलो आउनेलाई भर्ना लिइयो भने त्यसभन्दा माथिका तहमा प्रवेश परीक्षा सञ्चालन गरिएको छ। यति बेला भर्ना अभियान जारी छ ।

महालेखा परीक्षकको तथ्याङ्कले पछिल्ला समयमा सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको देखाएको छ। यसो हुनुमा त्यस्ता विद्यालयमा बढी राजनीति हुने र शैक्षिक गुणस्तर खस्किनु नै प्रमुख कारण रहँदै आएको छ। केही विद्यालय भने नमुनाका रूपमा अगाडि आएका छन्। ती विद्यालयमा भर्ना पाउनु निकै ठूलो उपलब्धि ठानिन्छ।

कतिपय सामुदायिक विद्यालयका प्रधानाध्यापकको नेतृत्व, शिक्षकको मेहनत र पठनपाठनमा नयाँ अभ्यासका कारण अब्बल बन्दै गएका छन्। धान्नै नसक्ने गरी विद्यार्थी ओइरिएपछि प्रवेश परीक्षा नै सञ्चालन गर्नु परिरहेको छ। नयाँ विद्यार्थी भर्नाको दबाब थेग्न नसकेपछि केही विद्यालयले प्रवेश परीक्षामा कोड प्रणालीसमेत लागू गर्नुपरेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने

काठमाडौँ । लामो समयदेखि बन्द रहेका चीनतर्फका उत्तरी नाका सोमबारदेखि खुला हुने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाबीच गत चैतमा चीनमा भएको भेटका क्रममा (मे १) वैशाख १८ गतेदेखि चीनतर्फका सबै नाका खुला गर्ने सहमति भएअनुसार नाका खुल्न लागेका हुन् । भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको कोदारी नाका र हुम्लाको यारी नाकालगायतका अन्य सबै नाका सोमबारदेखि खुला हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

चीनतर्फका नाकाहरूमा मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला रहेका छन् । मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला हुने मन्त्रालयले जनाएको छ । चीनतर्फका व्यापारिक नाका रसुवाको केरुङ, कोदारी र यारी रहेका हुन् । केरुङ र कोदारी नाकाबाट सामान आयात निर्यात धेरै हुने गर्छ ।

हुम्लाको यारी नाकाबाट समेत सामानको आयात हुने गर्छ । २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण तातोपानी नाका लामो समयदेखि बन्द रहेको थियो । सो नाकाबाट बीचमा कार्गो सामान आयात भए पनि नाका पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।सरकारले २०७६ चैत ११ गते कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि लकडाउन गरेपछि बन्द रहेको चीनतर्फको रसुवागढी–केरुङ नाका बन्द रहेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद कोइरी निलम्बनमा पर्ने

काठमाडौँ । फौजदारी अभियोग लागेपछि फरार एमाले सांसद लक्ष्मी महतो कोइरी अन्ततः निलम्बनमा पर्ने भएका छन् । नयाँ प्रतिनिधिसभा नियमावली बनेपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको सूचना आइतबार संसद् सचिवालयमा पुनः पठाएपछि उनलाई निलम्बन गर्ने तयारी सभामुखले गरेका हुन् ।

प्रतिनिधिसभाको नयाँ नियमावलीले फरार अभियुक्तलाई पनि निलम्बन गर्ने व्यवस्था गरेको छ । संसद्मा कोइरीको अनुपस्थितिबारे प्रश्न उठेपछि सभामुख देवराज घिमिरेले फरारको सूचना पठाउन प्रहरीलाई ‘रुलिङ’ गरेका थिए । यसअघिको सूचनाबमोजिम कारबाही भयो भएन भन्दा पनि आफू सभामुख भएपछि पुनः सूचना आवश्यक परेको भन्ने आशयका साथ उक्त रुलिङ भएको थियो ।

सभामुखमाथि कोइरीको पद लम्ब्याउन खोजेको आरोप लागेको थियो । कोइरीले लगातार २१ वटा बैठकमा अनुपस्थित हुनुको कारण बिरामी परेको भन्ने पत्र संसद सचिवालयमा पठाएका थिए । सभामुखले उनको अनुपस्थितिको सूचना स्वीकृतिका लागि प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेका थिए । तर सत्तारूढ दलहरू त्यसको विरोधमा उत्रिए । आजको नागरिक दैनिकमा समाचार छ ।

डाटा हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रियामा लोक सेवा

काठमाडौँ, लोक सेवा आयोगले राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आवेदकको तथ्याङ्क (डाटा) हराएपछि पुनःदरखास्त आह्वानको प्रक्रिया शुरु गर्ने भएको छ ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप दस्तुर तिर्न नपर्ने गरी पुनःदरखास्त आह्वान प्रक्रियामा रहेको छ ।

अघिल्लो वर्ष मङ्सिरमा प्रकाशित राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको विज्ञापन, पुसमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको विज्ञापन र माघमा प्रकाशित राजपत्र अनङ्कित प्रथम श्रेणी (प्राविधिक) नायब सुब्बा वा सो सरहको र स्वास्थ्य सेवातर्फ पाँचौँ तहको पदको विज्ञापनमा पेश भएका दरखास्तसम्बन्धी विवरणमा पहुँच पाउन नसकेको आयोगले जनाएको छ ।

आयोगले प्रेस विज्ञप्ति जारी गरी उक्त विज्ञापनका परीक्षा कार्यक्रम परिमार्जन गरी यथाशिघ्र नयाँ परीक्षा प्रकाशन गर्ने प्रक्रियामा आयोग रहेको उल्लेख गरेको छ । अघिल्लो वर्ष फागुन २३ गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रको सर्भरमा देखिएको समस्याका कारण आयोगको अनलाइन प्रणाली अवरुद्ध भएको थियो ।

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्योपचारपछि स्वदेश फर्कनुभएको छ । उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

उहाँको भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल यही वैशाख ६ गते उपचारका लागि भारत प्रस्थान गर्नुभएको थियो ।

गीतकार नमिता दवाडीले न्युजल्याण्डबाट ल्याइन् ‘मलाई बाँच्न सिकायौ तिमीले’को भिडियो

काठमाडौँ । गीतकार नमिता दवाडीले आफ्नो चर्चित गीत ‘परिचय ’को सफलतासँगै अर्को गीत मलाई बाँच्न सिकायौ तिमीलेको भिडियो सार्वजनिक गरेकी छिन् ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिगं तथा मास्टरिगं पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उतार चढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

https://www.youtube.com/watch?v=6eQtcPjk4g0

जसमा अभिनेता शिशिर भण्डारी र मोडल अनुजा सिंहको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा शिशिर र अनुजा दुवै कलाकार गज्जबसँग खुलेका छन् । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ ।

त्रिवीबाट अँग्रेजीमा स्नातोकोत्तर दवाडी नेपालमा रहँदा लामो समय अध्यापन पेशामा संलग्न रहिन् । न्युजिल्याण्डमा परिवारसहित रहँदै आएकी नमिताले त्यहाँ इन्टरनेशनल बिजनेश इनोभेसन लेभल सेभन गरेसँगै सुपरमार्मेटमा ड्युटी म्यानेजरको रुपमा कार्यरत छिन् । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो । हेर्नुहोस् यो मनछुने गीतको भिडियो
काबुल – अफगान किसानहरूले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट ७२ हजार ४९३ टन कपास दत्पादन गरेको जनाएको छ ।

बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्याुएको विज्ञप्तिमा उल्लेख छ।सन् २०२२ अप्रिलमा अफिम लगायतका खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानहरूले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन्। अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली र मूल्यवान् उब्जाउन किसानहरूलाई प्रोत्साहित गरेको छ।