`

रचना रिमालको ‘जाली परदेशी’मा उषा र गरिमासँग नवराजको छमछमी

काठमाडौँ । गायक आलिफ खान र गायिका रचना रिमालको स्वर रहेको जाली परदेशी बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेम गरेर आफ्नी मायालुलाई धोका दिएर विदेश जान खोज्ने प्रेमीलाई मायालुले छाडेर जान नदिएको रमाइलो कथामा रोमान्टिक शैलीमा तयार पारिएको गीतको भिडियोमा पछिल्लो पुस्ता हिट सुन्दरी टिकटकरद्धय गरिमा शर्मा र उषा उप्रेतीको बेजोड अभिनय देख्न सकिन्छ ।

जसमा उषा र गरिमासँग नवराज न्यौपानेले अनस्क्रिन रोमान्स गरेका छन् ।नवराज न्यौपाने कै शब्द तथा राजेन्द्र बजगाईको संगीत तथा एरेन्ज रहेको गीतको निर्मात्री निशा न्यौपाने हुन् ।

केशवराज भट्टको निर्देशनमा तयार भएको सार्वजनिक गीतको भिडियोको सम्पादन बन्दे प्रसादले गरेका हुन् भने भिडियोको छायांकन मन कृष्ण मर्हजनले गरेका हुन् । हेर्नुहोस् भिडियो

अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएको भन्दै विरोध

धनकुटा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको भन्दै सो पार्टीले विरोध जनाएको छ । पार्टीको कोशी प्रदेश र मातहतका कमिटीले आज पत्रकार सम्मेलन गरी विरोध जनाएका हुन् ।

धनकुटाको साँगुरीगढी गाउँपालिकाको नाम्जेमा एमालेको ग्रासरुट अभियानको समीक्षा बैठकका क्रममा पार्टीको १४ जिल्ला कमिटी र प्रदेश कमिटीले संयुक्त विज्ञप्ति जारी गरेर विरोध जनाएका हुन् । जिल्ला तथा प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले अध्यक्षमाथि भएका हिंसात्मक क्रियाकलापप्रति आपत्ती जनाउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टीका महासचिव शङ्कर पोखरेलले सरकार निकट व्यक्तिलाई बेवास्ता गर्ने र अध्यक्ष ओलीलाई मात्र आक्रमण गर्न खोजिएकाले यसको विरोध गरिएको टिप्पणी गर्नुभयो । एमाले पहिचानकै पक्षमा रहेकाले कोशी प्रदेशभित्रै पहिचानलाई समेटेर लगिने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ ।प्रदेश प्रमुख गुरुङले गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन वैशाख २१ गते दिनको २ः०० बजेदेखि आरम्भ हुने गरी आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उक्त दिन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिने कार्यक्रम छ । प्रदेश प्रमुख गुरुङले पाण्डेलाई यही वैशाख १४ गते मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । पाण्डेले नेपाली कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र) का सात र स्वतन्त्र एक जना गरी ३५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

कर्णाली – कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य हुने सूचना गर्नुभएको हो ।

प्रदेशको १५औँ बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराउनुभयो ।

आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष पुगेर सिफारिस पत्र बुझाउनुभएको थियो । गत पुस १८ गते बसेको प्रदेशको पहिलो बैठकसँगै चालु अधिवेशनअन्तर्गत आजसम्म २० घण्टा सात मिनेटको समयावधिमा १५ वटा बैठक बसेको सभामुख गुरुङले जानकारी दिनुभएको थियो ।

पोखरा स्पोर्टस् अवार्ड : मर्सानीलाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

पोखरा – सातौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गतको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बक्सिङका वरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मर्सानीलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लासहित सो अवार्ड प्रदान गरिने जनाएको छ । अवार्डका लागि गठन गरिएको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएर खेलकुदमा योगदान गर्नुभएका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो ।

पोखरा स्पोर्टस् अवार्ड यही वैशाख २३ गते हुँदैछ । सोही समारोमा उहाँलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । नेपाली खेलकुदको विकासमा योगदान पु¥याउने अग्रज व्यक्तित्वलाई सो अवार्ड प्रदान गर्ने गरिएको छ ।

मर्सानीले गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पु¥याउन तथा खेलको विकास र विस्तार गर्न योगदान गर्नुभएको छ । यसअघि अग्रज खेलकुदकर्मी कृष्ण थापा, खड्कबहादुर रानाभाट, डा वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेशबहादुर भट्टराईले यो विधाअन्र्तगको पुरस्कार पाउनुभएको छ ।

मर्सानीले पहिलो पटक विसं २०३७ मा बक्सिङ प्रतियोगितामा लिनुभएको थियो । भैरहवामा भएको बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगितामा उहाँ गण्डकी अञ्चलबाट छनोट हुनुभएको थिया । उहाँले पहिलो सहभागितामै कास्य पदक जित्नुभयो । विसं २०३८ मा काठमाडौँमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउनुभयो । यसैगरी वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा कास्य र विसं २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने स्वर्ण पदक हात पार्नुभयो ।

उहाँले भारतमा अध्ययन गरेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गर्नुभयो । बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिर जीवन व्यतित गरेर उहाँ विसं २०७७ असारमा अनिवार्य अवकास पाउनुभएको थियो ।

वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डसहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्थावा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष बरालले बताउनुभयो ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार पाउनेछन् । यसैगरी वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लबतर्फका विजेताले नगद रु ३५ हजारको साथमा ट्रफी पाउने छन् ।

आर्थिक समस्या नियन्त्रणबाहिर छैन : मन्त्री साउद

सुदूरपश्चिम – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले देशको आर्थिक समस्या नियन्त्रणबाहिर नरहेको बताउनुभएको छ ।

कैलाली उद्योग वाणिज्य सङ्घले आज धनगढीमा गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री साउदले एकथरी मान्छेले धेरै निराशाजनक कुरा गरेर मुलुकलाई अस्थिरतातर्फ लैजान खोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक समाज चुनौतिपूर्ण हुन्छन् नै, बजार अर्थतन्त्रमा विश्वास गर्ने सरकार रहेकाले निजी क्षेत्रलाई अगाडि बढाउने कुरामा सरकार दृढताका साथ लागेको छ ।”

नेपालमा बैंकिङ क्षेत्र मजबुत रहेको भए पनि उद्योग व्यवसाय क्षेत्रमा केही समस्या रहेको बताउँदै उहाँले सञ्चित रकमको ब्याजदर घटाइएको र ऋणको ब्याजदर घटाउने प्रयासमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

भारतबाट सुदूरपश्चिम भित्रिने मुख्य सीमा नाका गौरीफन्टाको बाटो जङ्गल भएर आउने भएकाले केही चुनौती रहेको उल्लेख गर्दै उहाँले यो विषयमा दुई देशबीच छलफल गरिने र नाका क्षेत्रमा दुवै देशको क्वारेन्टाइनको व्यवस्थापनका लागि पहल गरिने बताउनुभयो ।

सो अवसरमा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुवँरले गौरीफन्टा नाका स्तरोन्नति, नाकामा प्लान्ट क्वारेन्टाइनको व्यवस्थाका साथै नागरिकको आवागमन सहज बनाउन र कञ्चनपुरको सुक्खा बन्दरगाह निर्माणमा सक्रियता देखाउनुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र पेश गर्नुभएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका परराष्ट्रमन्त्री साउदले आजै नेपाली कांग्रेस कैलालीद्वारा धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा एकताबद्ध भएर पार्टी सङ्गठनलाई बलियो बनाउने काममा लाग्न निर्देशन दिनुभयो ।

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु

रोल्पा – रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिनुभयो ।

तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताउनुभयो ।

जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ ।

जापानमा ९४.५ प्रतिशत व्यक्तिद्वारा मूल्यवृद्धिको असर महसुस

टोकियो – बैंक अफ जापानले हालै गरेको एक सर्वेक्षणअनुसार जापानमा ९४.५ प्रतिशतले एक वर्ष अघिको तुलनामा मूल्यवृद्धि भएको महसुस गरेका छन् ।

त्यसैगरीे ६२.८ प्रतिशतले मूल्य वृद्धि भएको तर यसलाई आफूले व्यवस्थापन गर्न सकेको बताएका छन् ।

फेब्रुअरी ३ देखि मार्च १ सम्म गरिएको राष्ट्रव्यापी सर्वेक्षणमा २० वर्ष वा सोभन्दा बढी उमेरका एक हजार ९८१ उत्तरदातालाई सहभागी गराइएको थियो । त्यसको ५६ प्रतिशत उत्तरदाताले लगातार तेस्रो त्रैमासिकसम्म महङ्गीको महशुस गरेको बताएका छन् ५० प्रतिशतभन्दा बढीले अत्यधिक मूल्य बढेको बताएका छन् ।

पछिल्ला तीन सर्वेक्षणमा सहभागीमध्ये आधाले आफ्नो आम्दानी उस्तै रहेको बताएका छन् भने मानिसहरुको सङ्ख्यामा क्रमिक वृद्धिले खर्चको लागत बढेको बताएका छन् ।

हरेक तीन महिनामा गरिने सर्वेक्षणमा अधिकांश उत्तरदाताले खाना, त्यसपछि दैनिक उपभोग्य वस्तु र विद्युतीय उपकरणमा खर्च बढेको देखाएको छ ।

प्रधानमन्त्री भेटेपछि लघुवित्त पीडितको आमरण अनसन स्थगित

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफलपश्चात लघुवित्तविरुद्धको सङ्घर्ष समितिका संरक्षक अगस्त अधिकारीले अनसन स्थगित गर्नुभएको छ । अधिकारीले आफूहरुको माग सम्बोधन नभए आज बेलुका ६ बजेदेखि वसन्तपुरमा आमरण अनसन बस्ने चेतावनी दिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएपछि अधिकारीको अनसन स्थगित भएको हो । लघुवित्तविरुद्धको सङ्घर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली (मनिराम) र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच आज छलफल भएको थियो ।

आज बिहान सङ्घर्ष समितिका पदाधिकारीले प्रधानमन्त्री प्रचण्डलाई उहाँको निवास बालुवाटारमा भेटेका थिए । भेटमा प्रधानमन्त्रीले आगामी नीति तथा कार्यक्रममार्फत लघुवित्तसम्बन्धी समस्या नीतिगत रुपमै हल गर्ने र सङ्घर्ष समितिका मागहरुको अध्ययन गरी छलफल अगाडि बढाउने बारे आजै सरकारी प्रतिनिधि तोक्ने बताउनुभएको थियो । प्रधानमन्त्रीसँगको छलफलपछि आफूहरुको सङ्घर्षको कार्यक्रम तत्कालका लागि स्थगित भएको ज्ञवालीले जानकारी दिनुभयो ।

प्रचण्ड सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ हटाएको खुलासा, रास्वपाले समर्थन फिर्ता लिन सक्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढेको छ । प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारीलाई कारबाही गर्ने बुदाँ न्यनतम नीति तथा कार्यक्रमवाट हटाएको खुलासा भएपछि रास्वपाले समर्थन फिर्ता लिने सम्भावना बढेको हो । यस बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रिय तथा संसदीय दलको बैठक पनि बोलदाएको जनाइएको छ ।

शुक्रवार सपथ पछि लामिछानेले सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले आफूहरुको गम्भीर आपत्ति रहेको बताएका थिए ।

उनले भने – ‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ ‘

जानकी नवमी हर्षोल्लासका साथ मनाइयो

जनकपुरधाम – त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ ।

नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिनुभयो ।

करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिबार भने जानकी मन्दिरमा विशेष पूजा, दिपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो । तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न आफैँ खेतमा हलो जोत्न लागेको बेला वैशाख शुक्ल नवमीका दिन माता जानकी धर्तीबाट प्रकट हुनुभएको किंवदन्ती छ ।

त्यही दिनको सम्झना र माता जानकीको सम्झनामा शनिबार बिहानै ऐतिहासिक दूधमती नदीमा शाही स्नान, माता जानकी दिउँसो १२ बजे प्रकट हुनुभएको किंवदन्तीअनुसार जानकी मन्दिरमा प्राकट्य महोत्सव, बेलुका डोला शोभायात्रा, साँझ दिपावली र राति बधैयागानसहितका कार्यक्रम आयोजना गरियो ।

यस अवसरमा हिन्दू धर्मका विभिन्न सङ्घसंस्था तथा समाजहरूले शनिबार दिउँसो जनकपुरधाममा धार्मिक ¥याली निकालेका थिए । त्यसैगरी विश्व हिन्दू परिषद् नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा विगत वर्षहरूमा जस्तै अलौकिक कन्या पूजन् एवं सम्मान समारोहको आयोजना गरेको परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिनुभयो ।

घरभित्रै बसिरहेका बेला चट्याङ लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – शनिबार अपराह्न वर्षात्सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।

घरभित्रै बसिरहेका बेला उनीलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनि चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।

नेपाल बार एशोसियन आजदेखी आन्दोलनमा उत्रदै, के के छन् मागहरु ?

काठमाडौं – नेपाल बार एशोसियन आजदेखी आन्दोलनमा उत्रने भएको छ । प्रधानन्यायधिस नियुक्तीसहितका माग राख्दै बार आन्दोलनमा उत्रन लागेको हो ।

महासचिव अधिबक्ता अन्जिता खनालले एक सूचना जारी गर्दै बैशाख १७ गतेवाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको बताएकी छिन् ।

बारले सर्वोच्च अदालतको प्रधानन्यायधिस नियुक्तीसहित ८ वटा माग राखेको छ । स्वतन्त्र न्यायापालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पुर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायधिस नियुक्ती अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने माग बारको रहेको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं – आइतबार अमेरिकी डलरको भाउमा सामान्य गिरावट आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा कायम गरिएको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा, बेलायती पाउण्ड स्टर्लिङको खरिददर १६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा र अष्ट्रेलियन डलरको एकको एकको खरिदमा ८५ रुपैयाँ ९९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ३८ पैसा तोकिएको छ ।

यस्तै क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ ६६ पैसा र बिक्रीमा ९६ रुपैयाँ १० पैसा रहेको छ भने कतारी रियाल खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ एक पैसा रहेको छ ।

यस्तै युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५७ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर एकको खरिददर ३४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ८ पैसा, साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।

सांसद भण्डारी आज नेपाल फर्कदै

काठमाडौं – ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारी उपचारपछि आज स्वदेश फर्कने भएका छन् । 

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी उनी गम्भीर घाइते भएका थिए मुम्बईस्थित नेशनल बर्न सेन्टरमा ।

झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि उनी आज स्वदेश फर्कन लागेका हुन् । अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको र बोल्ने र हिँड्न सक्ने भएका छन् ।आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।

चर्का कुरा गरेरमात्रै कुनै पनि देशको परराष्ट्र नीति हुन सक्दैन : मन्त्री साउद

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कुनै पनि देशको परराष्ट्र नीति चर्का कुरा गरेरमात्रै सञ्चालन नहुने बताउनुभएको छ ।परराष्ट्रमन्त्रीमा नियुक्ति भएपछि पहिलोपटक गृहजिल्ला कञ्चनपुर आउनुभएका परराष्ट्रमन्त्रीले कार्यकर्तासँगको भेटघाटमा भन्नुभयो, “कुनै पनि राष्ट्रबीचको सम्बन्धका निर्धारकत्वहरू हुन्छन्, इतिहास, समाजको बनावट र आर्थिक स्वार्थमा आधाररित पनि भएको हुन्छ ।” पुर्खाहरूले दुई–अढाई सय वर्षदेखि नै दक्षिण एसियाको भू–भागमा मुलुकलाई स्वतन्त्र बनाएर राखेको स्मरण गर्दै उहाँले परराष्ट्र नीतिको आधार पूर्वजहरूले इतिहासमा दिएर गएको बताउनुभयो ।

“पूर्वजको आधारशिलालाई टेकेर नै हामी अघि बढिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामी छिमेकी र पश्चिमा मुलुकहरूसितको सम्बन्धहरूलाई महत्व दिएर निरन्तरता दिन चाहन्छौँ ।” उहाँले सबै देशसित राम्रो सम्बन्ध राखेर मुलुक अगाडि बढाउनु अहिलेको चुनौती रहेको बताउनुभयो ।

त्यसैगरी दोधारा चादँनीमा सुक्खा बन्दरगाह, डडेल्धुरा र बैतडीको झुलाघाटमा पक्की पुल बनेपछि अन्तर्राष्ट्रिय कनेक्टिभिटी बढ्दै लगिएको उहाँको भनाइ थियो । “समग्र सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु”, उहाँले भन्नुभयो, “सुदूरपश्चिमको आर्थिक पर्यटनको विकासका लागि पनि गृहकार्य अघि बढेको छ ।”

बनेपामा २५ सय वर्ष पुरानो चण्डेश्वरी जात्रा मनाइँदै

काभ्रेपलाञ्चोक, १७ वैशाख-काभ्रेपलाञ्चोकको बनेपामा करिब दुई हजार पाँच सय वर्ष अघिदेखि चण्डेश्वरी जात्रा मनाइँदै आइएको छ । विशेषगरी नेवार समुदायले मनाउने उक्त जात्रा हरेक वर्षको चण्डी (वैशाख शुक्ल)पूर्णिमादेखि तीन दिन मनाउने गरिन्छ ।

बनेपामा आउँदो बिहीबारदेखि चण्डेश्वरी जात्रा सुरु हुने भएको हो । वैशाख शुक्ल पूर्णिमा, जसलाई चण्डीपूर्णिमा नाम दिइएको छ, प्रत्येक वर्ष यहाँका बासिन्दाले मनाउने यो पर्वमा चण्डेश्वरी मन्दिर परिसर बेहुलीझैँ सिङ्गारिन्छ । तीन दिनसम्म मानिने उक्त जात्रामा यहाँका मानिसमा नयाँ उमङ्ग र उत्सव देखिन्छ । बनेपालीका लागि यो जात्रा महान् पर्व दशैँजस्तै लाग्ने गर्दछ ।

हालका दिनमा जात्रा व्यवस्थापन समिति र स्थानीय जात्राको तयारीमा जुटेका छन् । जात्राको विधिअनुसार यहाँका घर चोख्याइन्छन् । पूर्णिमाको अघिल्लो दिन हनुमान ढोकाबाट ल्याइने तरबार (खड्ग)सँगै जात्रामा सरकारको तर्फबाट समेत पूजा गर्ने व्यक्तिको सहभागिता रहनुले पनि बनेपाली यसको महत्वले अझ व्यापकता पाएकामा गर्व गर्छन् । जात्रा अवधिभर बनेपाका सबै नेवार समुदायका घरघरमा भोज गरिन्छ ।

बूढापाकाले टोल–टोलमा बसी भजन गाउँछन् । सडक, गल्लीमा भीड हुन्छ । ‘शक्तिकी अधिष्ठात्री देवी मानिएकी चण्डेश्वरी देवी’को पूजा गर्न टाढादेखि भक्तजन आउने स्थानीय वृद्ध जगतबहादुर मानन्धरले बताउनुभयो । उहाँका अनुसार जात्रामा सामेल हुन पाउँदा निकै खुसी मान्दै भक्तजन ‘मागेको पुग्ने’ कुरामा विश्वास गर्छन् ।

जात्राअन्तर्गत पहिलो दिन (पूर्णिमाको दिन) बिहान सबेरै मत पूजा (चिराग यात्रा) गरिन्छ । तुलसीको काठद्वारा निर्मित रथमा देवी चण्डेश्वरीलाई रथारोहण गराई देवगृहबाट परिक्रमाका लागि निकाल्ने चलन छ । बनेपाको तीनधारामा बनाइएको पाङ्ग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई विभिन्न बाजागाजासहित स्थानीय युवाहरूले बोकेर ‘ल्हाका पालुं हाः’ भन्दै चण्डेश्वरी पु¥याउने प्रचलन छ ।

यतिबेला रथ तान्ने र घचेट्नेको उत्साहमा थप ऊर्जा प्रदान गर्दै बजारका हरेक घरका झ्यालझ्यालबाट उनीहरूलाई साहस थपिदिने काम पनि हुन्छ भने हरेक घरमा तयार पारिएका प्रसाद झ्यालबाटै रथमा बसेकी चण्डेश्वरीलाई चढाउँछन् । खटलाई मन्दिर नजिक पु¥याएपछि विधिपूर्वक पूजा गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

पूर्णिमाको भोलिपल्ट बकुटोलबाट चण्डेश्वरीले भण्डासुर दैत्यको वध गरेपछि समाधि गरिएको स्थान भन्ने विश्वास गरिन्छ, त्यहाँ रथ पु¥याउने र भव्य स्वागत सत्कारकासाथ पूजाआजा र बलि दिने परम्परा रहेको स्थानीय इतिहासविद् ज्ञानकाजी मानन्धर बताउनुहुन्छ । उहाँका अनुसार जात्राको सुरुदेखि नै ठाउँ–ठाउँमा बलि दिइन्छ । खटलाई प्राचीन लायकू दरबारसम्म पु¥याउँदै र त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याउने गरिएको हो । यस्तै मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्छ ।

बनेपा नगरपालिकाले बर्सेनि जात्रामा आर्थिक सहयोग पनि गर्दै आएको छ । चण्डेश्वरी जात्राको महत्व ठूलो भएको जनाउँदै बनेपा र आसपासमा रहेका सङ्घसंस्था तथा विद्यालय जात्रा अवधिभर बन्द गरिन्छन् । बनेपाबाट जहाँसुकै स्थानमा बसाइँ गएकाहरू पनि चण्डेश्वरी जात्रामा पूजा गर्न आइपुग्छन् । यहाँ छुटाउनै हुँदैन भन्ने जनविश्वास पनि छ ।

धिमे, नाय्खिं, छुस्यालगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकूमा जम्मा भई जलेश्वर महादेव (जसिगा)सम्म पुगेर विसर्जन गर्ने प्रचलन रहेको छ । जात्राका क्रममा चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवतालाई १२ वटा बोकालाई बलिदिने र तीमध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने प्रचलन रहेको छ । बाँकी बोकाको मासु ‘कलङ्दान’ गरिँदै आइन्छ ।

कलङ्दान जात्रामा मासुलाई प्रसाद स्वरुप भीडमा फालिन्छ । चण्डेश्वरी जात्रामा बनेपाका स्थानीय मानन्धर, भोछिभोया, राजवाहकलगायतका सबै नेवार समुदायसँग प्रत्यक्ष सम्बन्ध रहने भएकाले यो जात्रालाई विशेष महत्वकासाथ लिइने गरिएको हो ।

किंवदन्तीअनुसार २५ सय वर्ष अगाडि आराध्यदेवी चण्डेवरी माईको जात्रा धार्मिक कथनअनुसार दैत्यराज चण्डासुरले लामो समयसम्म तपस्या गरेपछि कुनै पनि पुरुषले आफूलाई मार्न नसक्ने वरदान पाएका थिए । त्यसपछि पाताल, मच्छेमण्डल र स्वर्गमा चण्डासुरले हाहाकार मच्चाउन थालेपछि उनीहरू (देवता) भागेर बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा पुगे ।

स्वर्गका राजालाई समेत चण्डासुरले जितेपछि देवताहरूको भागाभाग भई ज्यान जोगाउन पक्षीको रुपधारण गरी उक्त वनबाट अलप भए । चण्डासुरका अनुयायीले रक्तचन्दन वनमा कोही नभएको र एउटी राम्री युवती चम्पक वृक्षभित्र बसेको बताएपछि चण्डासुरले वृक्षमा प्रहार गरे ।

चम्कप वृक्षमा प्रहार गरेपछि त्यहाँबाट कुमारी चण्डेश्वरी प्रकट भइन् र चण्डासुरलाई मार्ने प्रयास गरिन् तर, सकिनन् । त्यसपछि उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको वध गरेर देवताको रक्षा गरेको खुसीयालीमा जात्रा मनाइँदै आएको जनविश्वास रहिआएको छ ।

शैक्षिक सत्र सुरु नहुँदै कर्णालीका विद्यार्थीका हातमा पुस्तक

सुर्खेत । कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाकी आशा गिरीले कक्षा सातको परीक्षा दिँदासम्म दुईवटा किताब पनि पाइनन्। शिक्षकले कक्षा कोठामा पढाएकै भरमा उनले वार्षिक परीक्षा दिनुपर्‍यो। ‘परीक्षा दिने बेलासम्म पनि किताब नआउँदा शिक्षकले कक्षा कोठामा पढाएकै भरमा हामीले परीक्षा दियौं,’ उनले भनिन्, ‘कक्षा सातसम्म किताब नपढेर परीक्षा दिने म मात्रै होइन, मजस्ता धेरै विद्यार्थी हुनुहुन्थ्यो।’

सरकारले किताब छपाइ र ढुवानी ढिला गर्दा कर्णालीमा परीक्षा सकिने बेलासम्म विद्यार्थीले पाठ्पुस्तक पाउँदैनथे। यसलाई सामान्य मानिन्थ्यो। नयाँ शैक्षिक सत्रअन्तर्गत कर्णालीमा आइतबारदेखि पठनपाठन हुँदै छ। तर यसपटक आशा लगायतका विद्यार्थीले अघिल्ला वर्षमा जस्तो किताब नपाएर वार्षिक परीक्षामा सहभागी हुनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसपटक विद्यालय सुरु नहुँदै विद्यार्थीले किताब पाइसकेका छन्। ‘यस वर्ष त विद्यालय नखुल्दै किताब आइपुगे, अच्चमै भयो,’ आशाले भनिन्, ‘अब सधैं यस्तै भइदिए हामी कर्णालीका विद्यार्थी पनि सुगम ठाउँका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्ने हुन्थ्यौं किरु’ कालिकोटमा कक्षा ६ देखि १० सम्म २१ हजार ५९० विद्यार्थी छन्। उनीहरूका लागि आवश्यक साढे चार हजार सेट किताब सूचीकृत स्टेसनरी व्यवसायीमार्फत दु्ई साताअघि जिल्लामा पुगेका छन्।

हिमाली जिल्ला हुम्ला सडक सञ्जालसँग जोडिएको छैन्। स्टेसनरी व्यवसायीले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नेपालगन्ज कार्यालयबाट हवाई मार्ग भएर किताब हुम्लामा पुर्‍याउँछन्। अघिल्लो वर्ष हुम्लामा असोजतिर किताब पुगेका थिए। त्यो पनि विद्यार्थी अनुपातमा आधा मात्रै। यो वर्ष भने ६ देखि १० कक्षाका ६ हजार ५७० विद्यार्थीका लागि पर्याप्त पुस्तक हुम्ला पुगिसकेका छन्।

हुम्लामा विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउने जिम्मा तीनवटा स्टेसनरी व्यवसायीले पाएका छन्। यसपटक ती तीनवटा स्टेसनरी व्यवसायीले क्रमशः ४७५, ५२५ र ९२० सेट पुस्तक जिल्लामा लगेर पालिका–पालिकामा पुर्‍याएका छन्। ‘पहिलोपटक हुम्लाका विद्यार्थीले समयमै पाठ्यपुस्तक पाएका छन्,’ हुम्लाका स्टेसनरी व्यवसायी लोकेन्द्र भण्डारीले भने, ‘यो वर्ष हुम्लामा पाठ्यपुस्तक अभाव भएका समाचार सुन्न पाइनेछैन्।’ भण्डारीका अनुसार जिल्लामा पुगेका पुस्तक स्थानीय तहको मागका आधारमा सम्बन्धित विद्यालयसम्म पुर्‍याइएको छ। यो समाचार नागरिक दैनिकमा छ ।

बाघलाई छोराछोरीजस्तै मान्ने ‘बाघ बा’

पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उनी साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उनको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उनलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत बोटेको बाघको स्याहार सुसार गर्नु जागिर नै हो । तर उनको अनुभव सन्तुष्टिसँग जोडिएको छ । “रोजगारी त भयो भयो बाघको स्याहार सुसार गर्नु आत्मसन्तोष पनि हो,” उनले भने, “पहिले त बाघ देख्ने बित्तिकै डर लाग्थ्यो । विस्तारै बानी परेपछि बाघको स्याहार सुसार सामान्यजस्तै लाग्छ ।”

२७ वर्षदेखि निकुञ्जमा कार्यरत बोटे २५ वर्षदेखि बाघकै स्याहार सुसार गर्छन् । अहिले बाघको आनीबानी सबै थाहा भएकाले पनि स्याहार सुसार गर्न सजिलो भएको उनको अनुभाव छ ।

विशेषतः घाइते वा नरभक्षी भएपछि उद्धार गरेर ल्याइएका बाघलाई उहाँले खोरमा राखेर स्याहार सुसार गर्छन् । अहिले पनि निकुञ्जको मुख्यालय नजिकै रहेको कसरामा तीनवटा यस्तै बाघ थुनेर पालिएका छन् ।

उनका अनुसार बाँकेबाघ बाँकेमा मान्छे खाएर नरभक्षी भएपछि ल्याइएको हो । नवलपरासीको पिप्रहाको सीतामाईमा घाइते अवस्थामा भेटिएको सीतेमाई पनि खोरमै छ । माडीको वसन्तपुर क्षेत्रमा मान्छे आक्रमण गरेको वसन्ती पनि थुनेरै पलिएको छ । बाघको नाम त्यसलाई नियन्त्रणमा लिएका ठाउँका आधारमा राख्ने गरिन्छ ।

तिनमा दुईवटा पोथी र एउटा भाले हुन् । यिनीहरूलाई छुट्टाछुट्टै खोर बनाएर राखिएको छ । बाँकेबाघले पाँच जनाको ज्यान लिएको थियो भने सीतेमाईले गाउँमा बस्ने घरपालुवा जनावर मारेर खान थालेपछि नियन्त्रणमा लिइएको हो ।

वसन्तीले दुई जनाको ज्यान लिएको छ । बाँकेलाई तीन वर्षअघि, वसन्तीलाई छ महिनाअघि र सीतेमाईलाई एक वर्षअघि ल्याइएको हो । बोटेले अहिलेका तीनसहित १२ वटा जिउँदा बाघको स्याहार सुसार गर्नुभएको छ । तीमध्ये चारवटाको मृत्यु भइसकेको छ । पाँचवटालाई उपचारपछि निकुञ्जमै छाडिएको र बाँकी तीनवटा अहिलेका हुन् ।

पालिएका बाघलाई नियमित आहारा मासु र पानी दिइन्छ । “एक दिन बिराएर २० किलो मासु आउँछ, त्यो दामासाहीमा तीनवटालाई बाँडेर दिने हो,” उनले भने । मासुको मात्रा पछिल्लो समय घटेर आएकोमा उनको गुनासो छ । यो समाचार गोरखापत्र दैनिमा छ ।

निर्वाचन आयोगमा दलहरूको आर्थिक विवरण, कुन पार्टीसँग कति छ सम्पत्ति ?

काठमाडौँ । राजनीतिक दलहरूले निर्वाचन आयोगमा आम्दानी र खर्चको विवरण प्रस्तुत गरेका छन् । प्रस्तुत गरेको विवरणअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले) सबैभन्दा धनी दल रहेको छ । दोस्रो धनी दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी देखिएको छ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने घाटामा चलेको छ ।

एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले नौ महिनामा नै सात करोड रुपियाँभन्दा बढीको सम्पत्ति जोडेको छ । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा दोस्रो ठूलो दल बने पनि एमाले सबैभन्दा धनी दल रहेको छ । निर्वाचन आयोगमा बुझाइएको आय–व्ययको विवरणअनुसार सो दलको मौज्दात करिब १३ करोड छ । कुल आम्दानी भने करिब ४१ करोड छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार ८३ वटा राजनीतिक दलले आय–व्ययको लेखापरीक्षण विवरण समयभित्रै बुझाएका छन् । आयोगमा कुल ११६ दल दर्ता छन् ।

एमालेको असार मसान्तसम्म ४१ करोड ७२ लाख २० हजार ३१७ रुपियाँ आम्दानी रहेकोमा १५ करोड ७० लाख ७६ हजार ९८३ रुपियाँ खर्च छ । कुल आम्दानीमा चलरअचल सम्पत्तिसमेत गरेर ४१ करोड हुन सक्ने आयोग स्रोतले बतायो । प्रतिनिधि सभामा एमालेले ७८ सिट जितेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको कांग्रेस भने घाटामा रहेको आय–व्ययको विवरणमा जनाइएको छ । प्रतिनिधि सभामा उसको सिट सङ्ख्या ८९ छ ।

आर्थिक वर्ष २०७८र७९ सम्म सो दलले १४ करोड ८९ लाख ९४ हजार ८७ रुपियाँ आम्दानी गरेको छ । तर सो दलको खर्च भने १७ करोड ९० लाख ७८ हजार २२२ रुपियाँ छ । आयोगमा बुझाइएको विवरणबमोजिम नेपाली कांग्रेसको तीन करोड ८४ हजार १३५ रुपियाँ दायित्व छ ।

संसद्को तेस्रो ठूलो दल माओवादी केन्द्र भन्दा आयोगमा बुझाइएको विवरणबमोजिम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने दोस्रो धनी दल हो । प्रतिनिधि सभामा १४ सिट जितेको सो दलको मौज्दात करिब तीन करोड २१ लाख छ ।

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको आय र व्ययको विवरण दुईथरीको पाइएको छ । उक्त दलको आम्दानी नौ करोड ८६ हजार ६४ रुपियाँ छ भने सात करोड ४२ लाख ६४ हजार ४३ रुपियाँ खर्च छ । यसरी सो दलको करिब एक करोड ५८ लाख मौज्दात छ । अर्कोथरीको विवरणबमोजिम ३२ लाख २१ हजार ९७१ रुपियाँ बचत छ ।

नाम उल्लेख नगर्न अनुरोध गर्दै आयोगका एक अधिकारीले दुईथरी विवरण रहेको जानकारी दिए। माओवादी केन्द्रको ३२ सिट छ  । एकीकृत समाजवादी भने एक वर्ष नपुग्दै एक करोडभन्दा बढी बचत गरेको छ। आयोगमा सो दलले बुझाएको विवरणअनुसार उसको बचत एक करोड १० लाख ६० हजार ८४८ रुपियाँ छ।

छोटो अवधिमै एकीकृत समाजवादीले करिब सात करोड रुपियाँभन्दा बढी सम्पत्ति जोडेको छ। सङ्घीय संसद्मा प्रतिनिधित्व गरेको र मधेश प्रदेशमा लगातार दोस्रो कार्यकालका लागि नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपालको बचत भने अन्य दलको अपेक्षा थोरै देखिएको छ। आयोगमा बुझाएको विवरणमा सो दलको बचत ११ लाख १८ हजार ८६२ रुपियाँ छ।

दल दर्ता गरेर छोटो अवधिमै निर्वाचनमा स्पर्धा गरेका राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीको बचत भने थोरै छ। राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार ७ गते निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको थियो। गत असार मसान्तसम्म एक महिनाको आय–व्ययको विवरणमा उसले चार लाख नौ हजार ७६० रुपियाँ आम्दानी देखाएको छ। प्रतिनिधि सभामा सो दलका २१ जना सांसद छन्। जनमत पार्टीले भने एक लाख ९० हजार आम्दानी जनाउँदा ११ लाख ५० हजार खर्च देखाएको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

सरकारले चैतमा महिनामा मात्र गर्‍यो साढे ३३ अर्ब रकमान्तर

काठमाडौं । चालु आर्थिक वर्षको चैत महीनामा मात्र सरकारले करीब साढे ३३ अर्ब रूपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महीनामा पुँजीगततर्फ रू। १ करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’ अनुसार रू। ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो ।

यो अवधिमा अर्थ मन्त्रालयले रू। २७ अर्ब बराबर आन्तरिक ऋण तिर्नका लागि रकमान्तर गरेको छ । यो रकम अर्थ विविध शीर्षकबाट निकासा दिइएको छ । त्यस्तै अर्थ विविध शीर्षकबाटै गण्डकी प्रदेश प्रमुखको कार्यालयको चालु खर्चका लागि रू। २८ लाख ४३ हजार बराबर थप निकासा दिइएको छ ।

संघीय संसद् सचिवालका कर्मचारी, सुरक्षाकर्मी र पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीका लागि अतिरिक्त समय भत्ताका रूपमा रू। ५० लाख निकासा दिइएको छ । लोकसेवा आयोगलाई रू।४ करोड ३३ लाख, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि रू। ६ करोडका बराबर निकासा दिइएको छ ।

चैत महीनामा दुई ओटा योजना तथा कार्यक्रमका लागि बहुवर्षीय ठेक्काको स्रोत सहमति दिइएको अर्थ मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गत ललितपुरको गोदावरीमा राष्ट्रिय ‘हरवोरियम’ भवन निर्माणका लागि रू। ४० करोड ५० लाख र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सामाखुसी(टोखा(गुज्रे सडक आयोजनाका लागि रू। ७ करोड ६२ लाख बराबर स्रोत सहमति दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बूढीगण्डकी जलविद्युत् आयोजनाको रू। १९ करोड रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिएको छ । त्यसैगरी पालुङटार(कुण्डुटार सिँचाइ आयोजनाको रू। ३ करोड ६४ लाख र सिँचाइ पुनःस्थापना आयोजनाको रू। ३ करोड ९० लाख बराबर रकमान्तर गरेर नदी नियन्त्रण आयोजनाका लागि दिइएको छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाको रू। २१ करोड रकमान्तर गरेर बृहत् सरकारी सिँचाइ योजनाको पुनःस्थापना तथा व्यवस्थापन कार्यक्रमका लागि र रू। २५ करोड रकमान्तर गरी सुनसरी(मोरङ आयोजनालाई दिइएको छ । बूढीगण्डकीकै रू। २० करोड समृद्ध तराई(मधेश सिँचाइ विशेष कार्यक्रमका लागि र रू। ६ करोड भूमिगत स्यालो ट्युबवेल कार्यक्रमका लागि दिइएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

परिषद्को निर्णय उल्ट्याउँदै राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा अब दुई भाषामा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को निर्णयविपरीत सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा विषयमा प्रश्नपत्र र उत्तर पनि नेपाली र अंग्रेजी भाषामा दिने पाइने व्यवस्था गर्न लागेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अध्यक्ष रहने परिषद्मा सो परिषद्को बैठक नबस्दै बोर्डका अध्यक्ष महाश्रम शर्मा र सदस्यसचिव दुर्गाप्रसाद अर्यालले ठाडो निर्णय गरी सामाजिक अध्ययन विषयको प्रश्नपत्र अंग्रेजी र नेपाली भाषामा तयार गर्न लागेको हो ।

बोर्डका अध्यक्ष शर्मा र सदस्य सचिव अर्यालले कूटनीतिक नियोग, जापानमा सञ्चालित एभरेस्ट स्कुल र केही निजी विद्यालयको दबाब थेग्न नसकेर दुई भाषामा प्रश्नपत्र बनाउने तयारी गरेका हुन् । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ मा मातृभाषा वा नेपाली भाषा उल्लेख छ । सामाजिक अध्ययन र मानव मूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुबाहेक अन्य विषयका लागि भने अंग्रेजीलाई पनि माध्यम भाषा बनाउन सकिने नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै, माध्यमिक तहमा भने नेपाली वा अंग्रेजी माध्यम भाषा हुने छ तर सामाजिक अध्ययन र मानवमूल्य÷चारित्रिक शिक्षालगायत नेपाली कला, संस्कृति र मौलिक पहिचानमूलक विषयवस्तुको पठनपाठनका लागि पाठ्य सामग्री र माध्यम नेपाली भाषा हुने उल्लेख छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

आजको मौसमः पहाडी तथा तराईका भु–भागमा मेघगर्जनसहित बर्षा हुने

काठमाडौं, १७ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली  रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको  सम्भावना रहेको छ।

राती पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्तिमार्फत जनाएको छ । राष्ट्रपति पौडेल भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने पनि दूतावासले उल्लेख गरेको छ ।

“सम्माननीय राष्ट्रपतिज्यूको उपचार आज पनि जारी रह्यो । राष्ट्रपतिको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरूले उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन्”, विज्ञप्तिमा भनिएको छ ।

ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने चिन्ताको विषय : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र ओरालो लाग्नु चिन्ताको विषय भएको बताउँदै अर्थतन्त्र सुधारमा आफूहरू गम्भीर रहेको बताउनुभएको छ । अध्यक्ष ओलीले देशलाई सकारात्मक बाटोमा फर्काउन आफ्नो दल लागिपरेको समेत स्पष्ट पार्नुभयो ।

“देशलाई कसरी अनुकूल अवस्थामा फर्काउने, त्यसमा जनताको साथ कसरी लिने भनेर हामी लागेका छौँ”, अध्यक्ष ओलीले भन्नुभयो ।

नेकपा (एमाले) पाँचथरले फिदिममा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले अर्थमन्त्रीले ‘कर्मचारीलाई तलब खुवाउनै नसक्ने अवस्थामा त पुगेका छैनौँ’ भन्नु सामान्य कुरा नरहेको बताउनुभयो । “अर्थमन्त्रीले नै यसो भनेपछि अरु विकास निर्माणका कुरा त छाडिदिनुपर्ने स्थिति आएको बुझ्न सकिन्छ”, ओलीले भन्नुभयो, “ओरालो लागेको अर्थतन्त्रलाई कसरी सुधार गर्ने भन्ने हाम्रो मुख्य चिन्ता रहेको छ ।”

कानुन कार्यान्वयन प्रभावकारी नहुँदा देशको राजनीति अस्थिरता, अराजकता र कानुनविहीनतातर्फ गएको टिप्पणी गर्दै अध्यक्ष ओलीले सामाजिक मूल्य मान्यता कमजोर भएको बताउनुभयो । भत्कन लागेका मूल्य, मान्यतालाई पुनःस्थापित गर्न एमाले कार्यकर्ताले अनुशासित, सङ्गठित र व्यवस्थितरूपमा पार्टी पङ्क्तिलाई सक्रिय गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

“अब लोगो झुन्ड्याएर, सङ्गठनमा बसेरमात्रै हुँदैन । एमालेका नेता, कार्यकर्ता जनतामा जानुपर्छ । पार्टीले सबै सङ्गठनलाई चुस्तदुरुस्त र सक्रिय ढङ्गले चलाउनु पर्छ”, उहाँले भन्नुभयो, “यो सबै काम पार्टी सङ्गठन बनाउन, चुनाव जित्नका लागि होइन । यो देशलाई ठीक ढङ्गले चलाउनका लागि आवश्यक परेको हो ।”

अध्यक्ष ओलीले श्रमलाई घृणा नगर्न र सबै प्रकारका श्रममा जोडिन कार्यकर्तालाई आग्रह गर्नुभयो । उत्पादनलाई विशेष जोड दिई उत्पादन हुनसक्ने खाद्यवस्तुमा आत्मनिर्भर बनेर उदाहरणीय बन्न उहाँ पार्टी सदस्यलाई सुझाव दिनुभयो । गरिबी, पूर्वाधारको अभावजस्ता समस्याको अन्त्य गर्दै देशलाई परिवर्तन गर्न आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अघि सारेको उहाँले स्मरण गर्नुभयो ।

प्रदेश नं १ को नाम कोशी राखिएकामा विरोध जनाउँदै आएका पहिचान पक्षधरले हिजो आयोजित कार्यक्रममा विरोध जनाएको प्रसङ्ग कोट्याउँदै अध्यक्ष ओलीले एमालेसहितका दलले स्थापित गरेको लोकतान्त्रिक व्यवस्थामा जनमतमार्फत नाम परिवर्तन गर्न सकिने स्पष्ट पार्नुभयो । “विद्यालयको उद्घाटन गरेको, विद्यालय चलेको कतिपयलाई मन परेन । बालबालिकाले गाउँमा प्राविधिक शिक्षा पढ्न पाएको राम्रो ठानेनन्”, ओलीले भन्नुभयो, “मैले विद्यालय उद्घाटन गरेँ, मलाई नै देश छोड भन्दै नारा लगाए । यसरी पहिचानको राजनीति सफल हुँदैन ।

एमाले संसदीय दलका उपनेता एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले लोकतान्त्रिक विधिबाट आफ्ना असन्तुष्टिलाई सम्बोधन गर्न सक्ने बताउनुभयो । आफूहरूलाई लक्षित गरी भएको विरोधलाई अन्यथा नलिएको बताउँदै नेम्वाङले सबै समस्याको उठान समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसले पार्टीभित्रको समस्या समाधान गर्न जरुरी : महामन्त्री थापा

काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत्र नम्बर–४ का सांसद गगनकुमार थापाले नेपाली कांग्रेसले पार्टीभित्रका समस्या खोजी गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समस्या पहिचान गरी समाधानको बाटोतर्फ अगाडि बढ्न आवश्यक रहेको धारणा राख्नुभयो । काठमाडौँ निर्वाचन क्षेत्र ४ प्रदेश १ को वार्षिक प्रदेश भेलामा महामन्त्री थापाले आफूहरूले कार्यकर्ताहरूलाई अन्त कतै भोट हाल्न नभनेको समेत उल्लेख गर्नुभयो । यदी कोही कसैले यसबारेमा गलत गरेको भए यसबारे गम्भीर रूपमा छलफल गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा काठमाडौँ क्षेत्र ४ का सभापति श्यामकृष्ण संगतले गत निर्वाचनमा नेपाली कांग्रेसभित्रकै नेताहरूले नै प्रतिपक्षी नभएको ठाउँमा पनि आफ्नै पार्टीबाट प्रतिपक्ष खडा गरेर निर्वाचनमा असहयोग गरेको पाइएको बताउनुभयो ।

उहाँले पार्टी सदस्यता लिएर आफ्नो जिम्मेवारी सही ढङ्गले ननिभाउने र अन्य पार्टी नेता कार्यकर्ताका कुरा सुनेर पार्टीभित्रै फरक मत राख्ने र पार्टीलाई सहयोग नगर्नेलाई कारबाही गर्नुपर्ने उहाँको भनाइ छ ।

काठमाडौं क्षेत्र ४ (१) का सभापति विमल होडाले युवाप्रति राजनीतिमा वितृष्णा बढ्दै गएको बताउनुभयो । यस्ता समस्या समाधानका लागि पार्टीले फरक योजना बनाएर युवा लक्षित कार्यक्रमसहित अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अर्थतन्त्र सुधार गर्न नसकिने अवस्थामा छैन : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहनुभएका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताउनुभयो ।

“देशको अर्थतन्त्र बर्बाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो”, उहाँले भन्नुभयो । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उहाँले बताउनुभयो । “अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ”, उहाँले भन्नुभयो । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सभाध्यक्षसमेत रहनुभएका बागमती प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का प्रमुख सचेतक मधुसुदन पौडेल, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, पूर्वउपसभामुख पुष्पा भुसाल, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका सल्लाहकार धर्म स्वर्णकारलगायतले दिगो विकासका लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कार्य तथा कानुन निर्माणका विविध पाटाका बारेमा धारणा राख्नुभएको थियो ।

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरे

पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका–३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई चट्याङले लागेको थियो ।

चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई, सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् ।

चट्याङले लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिका–३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ । उक्त गोठमा एक सय ३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ

अमेरिकी राष्ट्रपति बाइडेनले प्रशान्त क्षेत्रका अठार नेतासँग भेटवार्ता गर्ने

पोर्ट मोरेस्बी – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी मे महिनामा पपुवा न्युगिनीको भ्रमणका क्रममा दक्षिण प्रशान्त क्षेत्रका १८ नेतासँग भेटवार्ता गर्ने एक उच्च क्षेत्रीय कूटनीतिज्ञले शनिबार बताउनुभएको छ ।

दक्षिण प्रशान्त क्षेत्रलाई दोस्रो विश्वयुद्धपछि सापेक्षिक कूटनीतिक रूपमा पछिपरेको क्षेत्रका रूपमा हेरिएको थियो तर पछिल्लो समय यो व्यापारिक, राजनीतिक र सैन्य प्रभावका लागि प्रतिस्पर्धा गर्ने शक्तिहरूको अखडा बन्दै गएको छ ।

पपुवा न्यू गिनीका विदेशमन्त्री जस्टिन टकाचेन्कोले पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति बाइडेनले आफ्ना आयोजकसँग द्विपक्षीय वार्तामा भाग लिने र प्रशान्त टापुका १८ नेतासँग पनि भेटघाट गर्ने जानकारी दिनुभयो ।

प्यासिफिक आइल्याण्ड फोरम समुद्रको विशाल भूभागमा छरिएका प्रायः साना राज्यहरूको १८ सदस्यीय क्षेत्रीय समूह हो ।उक्त भेटवार्तामा अष्ट्रेलिया र न्युजिल्याण्डका प्रधानमन्त्री पनि सहभागी हुनेछन् ।

बाइडेन आगामी मे २२ मा पपुवा न्युगिनीको भ्रमण गर्ने कम्तीमा एक शताब्दीपछि पहिलो बहालवाला अमेरिकी राष्ट्रपति बन्नुहुनेछ । सन् १९०१ मा थियोडोर रुजवेल्टको प्रशासनसँग सम्बन्धित विदेश मन्त्रालयकोे रेकर्डअनुसार कुनै पनि बहालवाला अमेरिकी राष्ट्रपतिले पपुवा न्युगिनीको भ्रमण गरेका छैनन् ।

बाइडेनले जापानको हिरोसिमामा हुने जी–७ शिखर सम्मेलन र मे महिनामा सिड्नीमा हुने क्वाडको शिखर सम्मेलनमा अस्ट्रेलिया, भारत, जापान र संयुक्त राज्य अमेरिकाको पनि सहभागिता जनाउने कार्यक्रम छ ।

अमेरिकी विशेष दूत जोसेफ युनले दक्षिण प्रशान्त क्षेत्रमा चीनको प्रभाव बढेपछि अमेरिकाले आफ्नो कुटनीतिक पहल बढाउन लागेको हो ।चीनले हालै पपुवा न्यू गिनीको पूर्वमा रहेको सोलोमन टापुसँग चिनियाँ सेनालाई त्यहाँ तैनाथ गर्न गोप्य सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको छ ।

राज्य समर्थित एक चिनियाँ कम्पनीले गत मार्चमा राजधानी होनियारामा अन्तर्राष्ट्रिय बन्दरगाह विकास गर्ने ठेक्का पाएको थियो, जुन दक्षिण प्रशान्त क्षेत्रमा रणनीतिक पकड हासिल गर्ने बेइजिङको प्रयासमा ठूलो विजय हो ।

ताइवानमाथि कुनै पनि सम्भावित सैन्य द्वन्द्वमा यो क्षेत्र महत्वपूर्ण साबित हुन सक्छ । बाइडनको प्यासिफिक बैठक को पुष्टि हुनुअघि उहाँले भन्नुभयो, “कुनै पनि उच्चस्तरीय संलग्नता स्वागतयोग्य छ ।”

जापानमा औषधिको प्रयोग गरी गर्भपतन गराउने प्रस्ताव स्वीकृत

जापान – जापानको स्वास्थ्य मन्त्रालयले प्रारम्भिक चरणको गर्भ पतन गर्न प्रयोग हुने औषधिलाई स्वीकृति दिएको छ । यो अनुमतिसँगै जापानमा पहिलो पटक गर्भपतनको चक्की उपलब्ध हुने भएको छ ।

जापानमा २२ हप्तासम्म गर्भपतनलाई कानुनी मान्यता दिइएको छ तर अहिलेसम्म यसको लागि शल्यक्रिया एक मात्र विकल्प रहेको थियो । यसका लागि सामान्यतया पति वा पत्नी वा सम्बन्धित केटी साथीको सहमति आवश्यक पर्दछ ।

मन्त्रालयले शुक्रबार स्वास्थ्य अधिकारीहरूलाई एक सूचना जारी गर्दै बेलायती औषधि कम्पनी ‘लाइन फार्मा’ले बनाएको औषधिलाई स्वीकृति दिएको जनाएको छ ।औषधि निर्माताले आफ्नो उत्पादन, मिफेप्रिस्टोन र मिसोप्रोस्टोलको दुई चरणको उपचार, डिसेम्बरमा जापानमा स्वीकृतिको लागि पेश गरेको थियो ।

सन् १९८८ मा पहिलो पटक गर्भपतनको चक्कीलाई स्वीकृति दिएको फ्रान्स र सन् २००० देखि उपलब्ध हुँदै आएको संयुक्त राज्य अमेरिकालगायत थुप्रै देशमा पनि यस्तै औषधि उपलब्ध छ ।

नौ हप्तासम्मको गर्भ फाल्नका लागि यो चक्कीको स्वीकृति मन्त्रालयको प्यानलको अनुमोदनपछि गरिएको थियो । हजारौं सार्वजनिक रायहरू प्रस्तुत भएपछि यसलाई एक महिनाका लागि स्थगित गरिएको थियो ।

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार गर्भपतनको चक्की र चिकित्सकीय परामर्शको कुल लागत करिब एक लाख येन (७०० अमेरिकी डलर) हुनेछ । गर्भपतनलाई सार्वजनिक स्वास्थ्य बिमाले समेटेको छैन ।

अहिले जापानमा चिरफार विधिद्वारा हुने गर्भपतनका लागि एक लाखदेखि दुई लाख येनसम्म खर्च हुन सक्छ ।मिफेप्रिस्टोन हालैका हप्ताहरूमा अमेरिकी अदालती लडाईंको केन्द्रमा रहेको छ ।

अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको व्यापक रूपमा प्रयोग हुने औषधिको पहुँचलाई अस्थायी रूपमा सुरक्षित राखेको छ । उक्त अदालतले तल्लो अदालतहरूको निर्णयलाई रोक लगाएको छ जसले यसको उपलब्धतालाई प्रतिबन्धित वा कडा रूपमा प्रतिबन्धित गरेको थियो ।

जापानका अभियानकर्ताहरूले पनि बिहान–पछिको चक्कीको राम्रो पहुँचको लागि जोड दिइरहेका छन्, जसले गर्भावस्थालाई रोक्छ ।जापानमा हाल चिकित्सकको अनुमतिबिना आपतकालीन गर्भनिरोधक खरिद गर्न पाइँदैन ।

शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्छु : शिक्षामन्त्री राई

पाटन – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने बताउनुभएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)को सातौँ राष्ट्रिय महाधिवेशनमा आज उहाँले शिक्षा क्षेत्र सम्मानित र राष्ट्रनिर्माताहरू तयार पार्ने क्षेत्र भएकाले यसको सुधारका लागि ध्यान दिएर लाग्ने बताउनुभयो ।

“माध्यमिक शिक्षा व्यक्तिको ज्ञान प्राप्त गर्ने महत्वपूर्ण जग हो, धेरै लामो समय शिक्षा क्षेत्रमा लगानी गर्नुभएका व्यक्तित्वहरू यहाँ हुनुहुन्छ । शिक्षकबिना शिक्षण र सिकाइको परिकल्पना हुन सक्दैन । शिक्षकको समस्या हाम्रो पनि समस्या हो । शिक्षा क्षेत्रलाई सुधार गर्न इमानदारीपूर्वक लाग्ने छु”, मन्त्री राईले भन्नुभयो, “शिक्षाका क्षेत्रमा भएका समस्या सबैको साझा समस्या हुन् । यसलाई मिलेर सम्बोधन गर्नुपर्नेछ ।” उहाँले शिक्षक र शिक्षा क्षेत्रका विषयमा सरकार र शिक्षकबीच भएका सम्झौता झुलाउनका लागि नभएर समस्या समाधानका लागि नै भएको बताउँदै विभिन्न समस्याका कारण ती कार्यान्वयन हुन ढिलो भएको औँल्याउनुभयो ।

मन्त्री राईले राज्यप्रति धेरै वितृष्णा र विद्रोह भाव नराख्न र राज्यलाई सधैँ अविवेकीरूपमा नबुझिदिन आग्रह गर्नुभयो । उहाँले विवेकसहितको राज्य हुनुपर्छ भन्दै आफूहरू इमानदारीपूर्वक जिम्मेवारी वहन गर्न लागिपरेको बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले शिक्षा ऐन संसद्मा प्राथमिकता दिएर पास गराउन लागिपर्ने बताउनुभयो । “सङ्घीय शिक्षा ऐन राज्यकै आवश्यकता हो । सङ्घीय निजामती ऐन, स्वास्थ्य ऐन र शिक्षा ऐन सेवा प्रदान गर्ने विषयसँग सम्बन्धित छ ।”, सचेतक लेखकले भन्नुभयो, “शिक्षा ऐन छलफल तथा पारितका लागि ल्याउन मन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु । संसद्मा प्रवेश भएपछि प्राथमिकता दिएर पास गराउन लागिपर्ने छु ।” उहाँले शिक्षक दरबन्दी कायम गर्न आफ्नोतर्फबाट प्रयत्न गर्ने बताउनुभयो ।

पूर्वशिक्षा मन्त्री देवेन्द्रराज पौडेलले राष्ट्र निर्माणका लागि योग्य जनशक्ति निर्माण गर्ने अभिभार शिक्षकहरूमा भएको बताउनुभयो । “राष्ट्र निर्माण गर्ने पहिलो आधार भनेको शिक्षामा सुधार हो । शिक्षा क्षेत्रमा पूर्वाधारका साथसाथै शिक्षण सिकाइ र नीतिगत सुधार आवश्यक छ । यसका लागि शिक्षण क्षेत्रमा केन्द्रित सङ्घसंस्था लाग्नु आवश्यक छ ।” पूर्वमन्त्री पौडेलले भन्नुभयो, “मुलुकको जनसङ्ख्या घट्दो अवस्थामा छ, अर्कोतिर शैक्षिक जनशक्ति बाहिरिँदै छ । यो चिन्ताको विषय छ । यस्तो अवस्था राज्यप्रति जिम्मेवारीवोध गराउने शिक्षा प्रदान गर्नु आवश्यक छ ।”

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षकका समस्या कार्यान्वयन हुन नसक्नु दुःखद् भएको बताउनुभयो । “शिक्षकका समस्या कार्यान्वयन हुन नसक्नु दुःखद विषय हो । कुनै समयमा मैले सरकारको तर्फबाट मैले हस्ताक्षर गरेको छु । आफैँले हस्ताक्षर गरेको विषय कार्यान्वयनमा नआउँदा दुःख लागेको छ”, अध्यक्ष शर्माले भन्नुभयो, “हिस्टुनले उठाएको माग जायज र अत्यन्तै मार्मिक छ ।” उहाँले विद्यालय तहको आधार इसिडी भएको बताउँदै दरबन्दीलाई सपोर्ट गर्दै इसिडीलाई व्यवस्थापन गरिनुपर्ने बताउनुभयो ।

दरबन्दी सिर्जना गर्न सकिएन भने गुणस्तरीय शिक्षा दिन सकिँदैन भन्दै अध्यक्ष शर्माले परीक्षा व्यवस्थापन र स्तरीकृत गर्न शिक्षकहरूलाई तालिम दिन आवश्यक भएको र शिक्षण सिकाइलाई प्राथमिकता राखेर अगाडि बढ्दै परीक्षा प्रणालीमा राष्ट्रिय फ्रेमवर्क तयार गर्ने बताउनुभयो ।

नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले राज्यका मन्त्री र सचिवले गरेका सम्झौता कार्यान्वयन नहुनु दुःखद् भएको बताउँदै यस वर्ष आन्दोलन गरेर भए पनि सङ्घीय शिक्षा ऐन ल्याउन सरकारलाई बाध्य पार्ने बताउनुभयो । हिस्टुनको सातौँ राष्ट्रिय महाधिवेशन भोलिसम्म चल्नेछ ।

काठमाडौँमा मध्यम वर्षा, अझै तीन दिन पानी पर्ने

काठमाडौँ – काठमाडौँ उपत्यकामा आज अपराह्नपछि मध्यम वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकामा ३१ मिलीमिटर वर्षा मापन गरिएको जनाएको छ ।

आज पोखरामा २३ दशमलव दुई मिलीमिटर, ताप्लेजुङमा २२ र लुम्लेमा १९ मिलीमिटर वर्षा भएको छ । महाशाखाका अनुसार ५० मिलीमिटर मध्यम र ५० मिलीमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ ।

देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भएको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशका केही स्थानमा आज वर्षा भएको छ भने काठमाडौँ उपत्यका, पोखरा ताप्लेजुङलगायत क्षेत्रमा धेरै वर्षा भएको छ ।”

काठमाडौँमा भारी वर्षासँगै सिंहदरबार वरिपरि न्यूप्लाजा, पुतलीसडक, जमललगायत क्षेत्रको सडक जलमग्न भएका छन् । निरन्तरको वर्षाले सवारी आवागमनमा समेत केही व्यावधान भयो भने गन्तव्यमा पुग्ने सर्वसाधरणले सास्ती व्यहोर्नुपरेको छ ।

अझै तीन दिन वर्षा

स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका पहाडी भेगमा वर्षा भएको महाशाखाले उल्लेख गरेको छ । अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।

“पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको समिश्रणले वर्षा गराएको छ । रातिको समयमा दिउँसोको भन्दा सिस्टम कमजोर हुने भएकाले वर्षा कम हुन्छ । भोलि र पर्सि पनि वर्षाको सम्भावना छ”, उहाँले भन्नुभयो । प्रि–मनसुन पनि सक्रिय रहेकाले मेघगर्जन÷चट्याङसहित वर्षा भएको र यो क्रम केही दिन जारी रहने मौसमविद् नगरकोटीको भनाइ छ ।

भोलि आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

मालवाहक सवारीको भारमापनमा अन्योलता

काभ्रेपलाञ्चोक – अरनिको, बिपी र हेलम्बु राजमार्गमा गुड्ने मालवाहक सवारीलाई अनिवार्यरूपमा भारमापन गर्न दिएको निर्देशनमा अन्योलता भएको छ ।

गृह मन्त्रालयले काभे्रपलाञ्चोकका विभिन्न सडकमा गुड्ने मालवाहक सवारीलाई भारमापन गर्न निर्देशन दिएपछि स्थानीय प्रशासनले यही वैशाख ७ गतेदेखि अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयले जिल्लाका तीन स्थानमा रहेको भारमापन केन्द्र (तौलपुल) सञ्चालनमा ल्याउनसमेत परिपत्र गरेपछि मालवाहक सवारीका व्यवसायीले सोही दिनदेखि विरोधस्वरुप निर्माण सामग्री ढुवानी ठप्प पार्दै आएका थिए । पाँच दिनसम्म मालवाहक सवारी ठप्प भएपछि काभे्रपलाञ्चोक प्रशासन र व्यवसायीबीच भएको छलफल निष्कर्षविहीन भएपछि पूर्ववत् अवस्थामा मालवाहक सवारी सञ्चालन हुँदै आएका छन् ।

प्रशासनको निर्देशनपछि मालवाहक सवारी ठप्प पार्दै ढुवानीसम्बद्ध तीन संस्थाले जिल्ला प्रशासन कार्यालयसँग ढुवानी सहजताको वातावरण बनाइदिन माग गर्दै आएका थिए । “गृहको निर्देशनलाई अवज्ञा गरिएको होइन, कुन विधिद्वारा मालवाहक सवारीको भारमापन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्नुपर्ने भएकाले हाल यथावत रहन गएको हो, तौलपुल सञ्चालन गर्नैपर्छ”, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले भन्नुभयो । उहाँका अनुसार तौलपुल सञ्चालन नगर्ने विषयमा कुनै लिखित निर्णय भएको छैन ।

व्यवसायीले तौलपुल सञ्चालनपछि मजदुर र व्यवसायीलाई थप समस्या भएको जनाउँदै उक्त निर्णय कार्यान्वयन नगर्न माग गर्दै आएका हुन् । यातायात व्यवस्था विभागको सात दशमलव पाँच घनमिटर निर्माण सामग्री बोक्न पाउने प्रावधानअनुसार ढुवानी भइरहेकामा भारमापन केन्द्र (तौलपुल)मा तौल लिँदा समय लाग्ने तथा प्रशासनले बोक्नुपर्ने तौलको यकिन नगरी झन्झट दिलाएको कारण देखाउँदै व्यवसायीले ढुवानी रोकेको जनाएका थिए । तर विभागले आयातनको मापदण्ड दिएर बोक्न पाउने तौलबारे उल्लेख नगर्दा भारमापन गर्न अन्योलता बढेको हो ।

बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले विभागको प्रावधानअनुसार नै चलेका बताउँदै तौलपुलमा गाडी जोखेर सामग्री ढुवानी गर्न नसकिने बताउनुहुन्छ । उहाँका अनुसार प्रशासनसँगको छलफलपछि पूर्ववत् अवस्थामा मालवाहक सवारी सञ्चालन भएको हो । टिपरलाई दिउँसो ढवानी गर्न प्रतिबन्ध लगाउँदै आइएको छ ।

विसं २०७८ पुसमा काभ्रेपलाञ्चोकका तीन स्थान पाँचखाल नगरपालिकाको केराघारी, पनौती नगरको नैकिन्टार र नमोबुद्ध नगरको भकुण्डेमा भारमापन केन्द्र (तौलपुल) व्यवस्थित गरिएको थियो । तौलपुल स्थापनापछि मालवाहक सवारीले आनाकानी गरेपछि तीनै स्थानीय तहले भारमापन केन्द्र सञ्चालन गरी ‘लोडसिट’ लिई ढुवानी गर्न÷गराउन आग्रहसमेत गर्दै आएका थिए । मालवाहक सवारीसाधनको भारमापन नगर्दा जिल्लास्थित राजमार्गका सडक जीर्ण बन्दै गएका छन् ।

भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा २०७८ फागुनमा जारी पत्रअनुसार स्थानीय तहले भारमापनलाई कडाइ गरे पनि भारमापन हुनसकेको थिएन ।

तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीले रु एक सय तिर्नुपर्ने नियम बनाइएको छ । निर्देशिकामा छ पाङ्ग्रेभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने उल्लेख गरिएको छ ।

मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ : माधव नेपाल

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको विकास र जनताको समृद्धिका लागि समाजवादी व्यवस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घद्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले मुलुकमा समाजवादी व्यवस्था स्थापना गरेर मात्रै समाजको दमन, शोषण, भ्रष्टाचार समाप्त हुने बताउँदै समाजमा देखिएका अनैतिकता समाप्त हुने बताउनुभयो ।

अध्यक्ष नेपालले आफ्ना पार्टीका सङ्गठनको चरित्र समाजवादी चरित्र भएको बताउँदै जनताले चाहेको विकास र समृद्धिको चाहना पूरा गर्न समाजवादी शिक्षा प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो ।

ठोस कार्यदिशाका साथ पार्टी निकट सबै जनवर्गीय सङ्गठनलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका सबै आन्दोलनमा महिला वर्गको उल्लेखनीय सहभागिता रहेको बताउँदै अध्यक्ष नेपालले राज्यको नीति–निर्माण तहमा पनि उनीहरूको प्रतिनिधित्व थप वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

डोल्पामा जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने

जाजरकोट – डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ । जिल्ला समन्वय समितिको आज सदरमुकाम दुनैमा बसेको बैठकले से–फोक्सुण्डो राष्ट्यि निकुञ्जभित्र र विभिन्न सामुदायिक वनमा रहेका यार्सा पाटन जेठ १ गते र असार १ गतेसम्म खुला गर्ने निर्णय गरेको हो ।

बैठकमा डोल्पा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्लामा अवस्थित सुरक्षा निकायका प्रमुख, से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका पदाधिकारी, डिभिजन वन कार्यालयका प्रमुख तथा सञ्चारकर्मीको उपस्थिति थियो ।

बहुमूल्य जडीबुटीका रूपमा लिइने यार्सागुम्बा डोल्पा जिल्लाका स्थानीयलगायत छिमेकी जिल्लाका स्थानीयको आम्दानीको स्रोत हो । प्रायःजसो स्थानीयहरू यार्सागुम्बा सङ्कलनबाट प्राप्त आम्दानीले बालबच्चा पढाउने, घर खर्च चलाउने गर्छन् ।

कोभिड–१९ सङ्क्रमणका कारण लामो समयसम्म सर्वसाधारणले यार्सागुम्बा खुलारूपमा सङ्कलन गर्न नपाएको भन्दै यसपटक विभिन्न तयारीका साथ एक महिनाका लागि यार्सा पाटन खुला गरिने भएको हो ।

यार्सा सङ्कलनका लागि मध्यवर्ती क्षेत्रका बासिन्दा, जिल्लाभित्रका बासिन्दा र जिल्ला बाहिरका बासिन्दालाई राष्ट्रिय निकुञ्ज ऐन र नियामावलीअनुसार फरक–फरक प्रवेश शुल्क तोकिएको छ । यार्सा पाटनमा यार्सा सङ्कलन गर्न जाँदा निकुञ्जको मध्यवर्ती क्षेत्रभित्रका बासिन्दाले रु पाँच सय, निकुञ्ज जिल्लाभित्रका बासिन्दाले रु दुई हजार र जिल्ला बाहिरबाट यार्सा सङ्कलन गर्न आउनेले रु तीन हजारका दरले प्रवेश शुल्कवापत तिर्नुपर्नेछ ।

यार्सागुम्बा सङ्कलनकर्ताका लागि सुलिगार्ड, धो, साल्दाङ्ग, रिग्मो, सुम्दुवा, छेप्का, त्रिपुराकोट, खालीवन, पहाडा, तोइजम र मुगु जिल्लाको डोल्फु र किम्रीबाट पुर्जी वितरण हुने से–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सुलीगार्ड डोल्पाले जनाएको छ । यस्तै डिभिजन वनको क्षेत्रमा आवश्यकतानुसार स्थान निर्धारण गरी पुर्जी वितरण गरिने छ ।

डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेका करिब दुई दर्जनभन्दा बढी यार्सागुम्बा पाटनमा सर्वसाधारणको भीड हुने र आपराधिक गतिविधि हुनसक्ने भएकाले त्यस्ता किसिमका क्रियाकलाप रोकथाम तथा नियन्त्रण गर्न श्री रामवाण गुल्मका गुल्मपतिको संयोजकत्वमा सुरक्षा परिचालन गरिनेछ ।

यार्सा सङ्कलनको अवधिमा यार्सा सङ्कलनबाहेक अन्य गैरकानुनी कार्य गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, हिमाली राष्ट्यि निकुञ्ज नियामावली, २०३६, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ अनुसार कारबाही हुने निकुञ्जले जनाएको छ ।

यस्तै यार्सागुम्बा सङ्कलनको अवधिमा सर्वसाधारणका लागि विभिन्न नाकामा स्वास्थ्य सेवा कार्यालय, विभिन्न स्थानीय तहहरूसँग समन्वय गरेर निःशुल्क स्वास्थ्य शिविर, पाटनमा हुने फोहरमैला व्यवस्थापनका लागि यार्सागुम्बा सङ्कलनकर्तालाई नाकामा अभिमुखीकरण गरिने जनाइएको छ ।

पूर्वमन्त्री डा रिजालद्वारा बाल अस्पताललाई ५० लाख सहयोग

दमक – दमकमा हालैमात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले रु ५० लाख प्रदान गर्नुभएको छ ।

आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उहाँले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहनुभएका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान् कोइरालालाई चेक प्रदान गर्नुभयो ।

रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका डा रिजालले बाल अस्पताललाई सहयोग पु¥याउन आफूले स्वेच्छिक सहयोग पु¥याएको बताउनुभयो ।

उहाँले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाको स्वास्थ्योपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।

कार्यक्रममा डा कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पु¥याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टिकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासँगको सहयोगमा दमकमा सञ्चालन आएको सो अस्पतालमा बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको अस्पतालका रूपमा यसले सेवा पु¥याउँदै आएको छ ।

सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको छ : मन्त्री शर्मा

भालुवाङ – नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले छोटो समयमै महत्वपूर्ण काम गरेको बताउनुुभएको छ ।

दाङको राप्ती गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सरकारले समयमै हरेक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पछिल्लो समय ज्येष्ठ नागरिकले पाउँदै आएको सामाजिक सुरक्षा भक्ता कटौती गर्दैछ भनेर पनि प्रचार गरिएको छ यो सरासर गलत हो । यो बारेमा अहिलेको सरकारले कुनै निर्णय नलिएको र यो विषय सोच्नै नसक्ने भन्दै सरकारलाई बदनाम गराउनेले ज्येष्ठ नागरिक भत्ता कटौती गर्दैछ भनेर हल्ला फिजाइ रहेको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले गरेका सकारात्मक कामलाई पार्टी कार्यकर्ताले जनता सामू लैजान र जनताका समस्या सरकारसम्म ल्याउन आग्रह गर्नुभयो । सरकार खेतीको समय अगावै सबै किसानको पहुँचमा मलखाद पु¥याउन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले मिटरब्याजी पीडितका समस्या सधैँका लागि अन्त्य गर्नका लागि कानुन निर्माण गरी हल गर्ने प्रक्रियामा सरकार रहेको जानकारी दिनुभयो ।

गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धिहरू खतरामा पर्छन् – गृहमन्त्री श्रेष्ठ

सर्लाही – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान गठबन्धन सरकार सफल नभए आन्दोलनका उपलब्धि गुम्ने र देश दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभएको छ । सर्लाहीका प्रथम सहिद इन्द्र कोइराला परिवारलाई आवास हस्तान्तरण कार्यक्रममा उहाँले वर्तमान सरकारलाई सफल पार्न सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले अहिले पनि दलितलगायत निमुखा वर्गले विभेदपूर्ण व्यवहारको सामना गर्नु परिरहेको बताउँदै सामाजिक परिवर्तनका लागि थप योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो । जुनयुद्धबाट प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्ने चरणमा अहिलेको सरकार लागिपरेको बताउँदै गृहमन्त्री श्रेष्ठले सङ्क्रमणकालीन न्याय, सबै प्रकारका विभेद तथा अन्याय, अत्याचार र उत्पीडित वर्गको मुक्तिका लागि भएको आन्दोलनका उपलब्धिलाई भुल्न नहुने स्पष्ट पार्नुभयो ।

उहाँले गठबन्धन सरकार राष्ट्रियता, भ्रष्टाचार र विभेदका समस्या समाधान गर्न निर्मम भएर लागिपरेको बताउनुभयो । स्व कोइराला परिवारलाई आवास हस्तान्तरणसहित नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेशको प्रथम सम्मेलन उद्घाटन कार्यक्रममा सहभागी हुनुभएका गृहमन्त्री श्रेष्ठले देशमा पटक–पटक भएका सशस्त्र द्वन्द्वबाट प्राप्त उपलब्धिलाई विश्वविद्यालय सम्झिँदै अगाडि बढ्नुको विकल्प नरहेकोसमेत बताउनुभयो ।

उहाँले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त भएको जनताको संविधानमाथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना बढ्ने पनि बताउनुभयो । गृहमन्त्री श्रेष्ठले अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताउनुभयो ।

प्रतिकूल परिस्थितिको गठबन्धन सरकार भएकाले माओवादी केन्द्रले चाहँदैमा मात्र जनताका सबै माग पूरा गर्न सक्ने अवस्था नरहेकोसमेत बताउँदै उहाँले भ्रष्टाचारमा शून्य सहनशीलता, शान्ति सुरक्षा कायम गराउने (जनतालाई स्वतन्त्ररूपमा जीवन जिउन सक्ने बनाउने), महिला हिंसा, जातीय विभेद अन्त्य गर्ने, अपराध, ठगी, गुण्डगर्दी, मिटरब्याजीविरुद्धको बृहत् अभियान बनाएर लाग्नेलगायतका काममा आफ्नो ध्यान केन्द्रित भएको जानकारी दिनुभयो ।

गृहमन्त्री श्रेष्ठले बागमती नगरपालिका–१२ मा निर्माण भएको सहिद कोइरालाको परिवारलाई आवास हस्तान्तरण गर्नुभएको छ भने जिल्लाको लालबन्दीमा भएको नेपाल दलित मुक्ति मोर्चा मधेस प्रदेशको प्रथम सम्मेलन उद्घाटनसमेत गर्नुभयो ।

देव गुरुङको चुनावी खर्च २४ लाख ५२ हजार २ सय रुपैयाँ

लमजुङ १६ बैशाख । मंसिर ४ गतेको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङका प्रतिनिधि सभा सदस्य उम्मेदवार नेकपा माओवादी केन्द्र महासचिव देवप्रसाद गुरुङले चुनावी खर्च सार्वजनिक गरेका छन् ।

उनका प्रतिनिधि हरिजंग तामाङले  निर्वाचन कार्यालयमा बुझाएको निर्वाचन खर्च विवरण अनुसार चुनावमा २४ लाख ५२ हजार २ सय २५ रुपैयाँ खर्च भएको छ ।

खर्च विवरण अनुसार सवैभन्दा बढी प्रतिनिधि परिचालनमा ८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, मतदाना नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामाग्री ३ लाख ३९ हजार ३ सय ५०, गोष्ठी अन्तरक्रिया ८ स्थानमा १ लाख ५० हजार, सवारी साधन २ वटाको ३ लाख खर्च भएकाे छ भने  ढुवानी खर्च १ लाख, कार्यालय सञ्चालन ३ लाख ३६ हजार ४ सय, इन्धन डिजेल पोट्रोल ३ लाख ३३ हजार ४ सय ७५ र प्रचारप्रसार एवं प्रतिनिधि परिचालनमा १ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

वालिङमा अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने

स्याङ्जाको वालिङ नगरपालिकाभित्रका नागरिकले घरको नक्सा पास गर्न नगरपालिका धाउनु नपर्ने भएको छ । सूचीकृत इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत अब अनलाइनबाटै घरको नक्सा पासको निवेदन दिन सकिने भएको छ । यसबाट सेवाग्राहीलाई सहज भएको छ ।

फाइल बोकेर कार्यालयमा जानुपर्ने झण्झट सकिएको छ । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले नगरभित्रका इन्जिनियरिङ कन्सल्टेन्सीलाई अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणालीका बारेमा प्रशिक्षण दिई सूचीकृत गरेको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इन्जिनियर प्रकाश अर्यालले बताउनुभयो ।

नगरपालिकामा हाल सात कन्सल्टेन्सी सूचीकृत गराइएको र सोहीमार्फत अनलाइन घरको नक्सा पास ब्यवस्थापन प्रणाली (इविपिएस) अनुसार काम अगाडि बढिरहेको उहाँले बताउनुभयो । “नगरपालिकाको इविपिएसमा सूचीकृत भएका कन्सल्टेन्सीमार्फत लाभग्राहीले अनलाइन निवेदन दिनुहुन्छ”, अर्यालले भन्नुभयो, “सूचिकृत कन्सल्टेन्सीमार्फत नगरपालिकामा आएका निवेदन तथा आवश्यक कागजात रुजु गर्ने, सम्बन्धित फाँटमा सिफारिस गर्नेजस्ता चरण पार गर्दै शाखा प्रमुखले दस्तखत गरेपश्चात् प्रमुख प्रशासकीय अधिकृतले दस्तखत गरी स्वीकृत हुने गर्छ ।”

अनलाइन माध्यमबाटै घरनक्सा पासको रकम भुक्तानीको व्यवस्थापन, डिजिटल दस्तखतको प्रयोगमा जोड दिँदै आगामी दिनमा यसलाई अझै प्रभावकारी तरिकाले अगाडि बढाउने तयारी भइरहेको अर्यालले बताउनुभयो । फाइल बोकेर सेवाग्राही कार्यालयसम्म आउन नपर्ने, काम छिटो छरितो र पारदर्शी हुने, कागजातहरु अनलाईनमै सुरक्षित रहने भएकाले पछि खोज्दा सजिलै प्राप्त गर्न सकिने भएकाले पनि इबिपिएस प्रभावकारी बन्दै गएको उहाँले बताउनुभयो ।

वालिङस्थित इन्जिनियरिङ कन्सल्टेन्सीलाई विभिन्न चरणमा प्रशिक्षण दिएर अनलाइन घर नक्सा पास व्यवस्थापन प्रणालीको सुरुआत गरिएको नगरपालिकाका घर नक्सा शाखाका कम्प्युटर अपरेटर रञ्जित पौडेल बताउनुहुन्छ । अनलाइन घरनक्सा पास व्यवस्थापन प्रणाली लागू भएसँगै चालु आर्थिक वर्षमा २०७२ सालको मापदण्ड अनुसार ६०, नियमित अभिलेखीकरण (भूकम्प) २७ र ८५ वटा दर्ता पास भएका अपरेटर पौडेलले बताउनुभयो ।

अनलाइनबाट गरिने घर नक्सा पास प्रणाली प्रभावकारी बन्दै गएको वालिङ इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिका प्रबन्ध निर्देशक तथा सिभिल इन्जिनियर शङ्कर बस्यालले बताउनुभयो । “यो प्रणाली नयाँ र प्रयोगमा भर्खरै आएकाले पनि सेवाग्राहीलाई बुझाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “अनलाइन माध्यमबाट काम हुने भएकाले आफ्नै पद्धतिबाट काम हुन्छ, राम्रो छ, बुझ्दै जाँदा झनै प्रभाव बढ्दै जान्छ भने सेवाग्राहीलाई सहजता हुन्छ ।”

अनलाइन प्रणालीबाट काम गर्दा कागजातका विवरण भर्दै जाँदा अपुग भएका वा नमिलेका विषय पत्ता लाग्ने भएकाले तत्कालै सच्याउन सकिन्छ । सेवाग्राहीले निवेदन दिएपश्चात् आफ्नो ‘युजर र लगइन’ को प्रयोग गरेर फाइल कुन शाखामा पुगेको छ भनी घरमै बसेर जानकारीसमेत लिन सकिने सुविधा रहेको छ ।