`

ताप्लेजुङ चट्याङ लागेर ६० वर्षीय श्रीप्रसादको ज्यान गयो

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो ।

इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइने कार्कीले बताउनुभयो । केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो ।

विश्व बैंकद्वारा बङ्गलादेशका लागि एक अर्ब पच्चीस करोड डलर सहयोग स्वीकृत

ढाका – विश्व बैंकले सन् २०२३ देखि २०२७ सम्मका लागि बङ्गलादेशका लागि तीन वटा नयाँ परियोजनामा १.२५ अर्ब अमेरिकी डलर बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ ।

बैंकले पोषण, उद्यमशीलता र उत्थानशीलताका लागि कृषि तथा ग्रामीण रूपान्तरण कार्यक्रम (पार्टनर) नामक परियोजनाका लागि ५० करोड रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।बैङ्कले अन्य ५० करोड हरित र जलवायु उत्थानशील विकास ऋणको रूपमा पठाउने जनाएको छ ।

सहयोगले लघु उद्यम क्षेत्रलाई अधिक गतिशील, कम–प्रदूषणकारी, संसाधन–कुशल र जलवायु प्रभावित क्षेत्रका लागि मद्दत गर्न लघु उद्यममा एक परियोजनाको लागि दुई बरोड ५० लाख स्वीकृत गरेको छ ।

“यो कन्ट्री पार्टनरशिप फ्रेमवर्क (सीपीएफ) विश्व बैंक समूह र बङ्गलादेशबीचको पाँच दशक लामो बलियो साझेदारीमा आधारित छ,” बङ्गलादेश र भुटानका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक अब्दुलाय सेकले भन्नुभयो ।

“बङ्गलादेशले अझ बढी समृद्ध बन्ने लक्ष्य लिएकाले उच्च मध्यम आय भएको देशको आवश्यकता पूरा गर्नका लागि बलियो संस्था र नीतिको आवश्यकता पर्नेछ ।
सीपीएफले रोजगारी प्रदान गर्न र समावेशीकरण र लचिलोपनलाई समर्थन गर्न सरकारको सुधार कार्यक्रमहरूलाई समर्थन गर्नेछ,” सेकले भन्नुभयो ।

“बङ्गलादेश विश्वको उत्कृष्ट विकास वृद्धिको कथामध्ये एक हो । थप विविध र प्रतिस्पर्धी निजी क्षेत्रको विकासलाई गति दिन थप सुधारले निर्यात बढाउनेछ र गुणस्तरीय रोजगारी सिर्जना गर्नेछ,” बङ्गलादेश, नेपाल र भुटानका लागि अन्तर्राष्ट्रिय वित्त निगमका कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले भन्नुभयो ।

अर्थतन्त्र जटिल अवस्थामा

काठमाडौँ । मुलुकको अर्थतन्त्र जटिल अवस्थामा गएर राजस्वले चालु खर्च पनि धान्न नसकेपछि संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा जाने करिब साढे ३१ अर्ब रुपैयाँ अनुदान कटौती गरेको छ । यसअघि ससर्त अनुदानका रूपमा प्रदेश र स्थानीय तहमा जाने वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत कृषिको साढे ८ अर्ब रुपैयाँ पनि रोक्का गरेको सरकारले फेरि समानीकरण अनुदानको थप करिब २३ अर्ब १३ करोड रुपैयाँ कटौती गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयका शाखा अधिकृत चूडामणि अर्यालका अनुसार चालु आव २०७९/८० को अन्तिम किस्तामा प्रदेश र स्थानीय सरकारमा जाने वित्तीय समानीकरण अनुदानअन्तर्गत अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती गरिएको हो । यसरी ५० प्रतिशत अनुदान कटौती गर्दा प्रदेश सरकारलाई जाने ९ अर्ब ९३ करोड ६८ लाख र स्थानीय तहमा जाने १३ अर्ब २० करोड १५ लाख रुपैयाँ रोकिएको छ । सरकारले चालु आवको बजेटमा विनियोजन भएअनुसार प्रदेश सरकारलाई अन्तिम किस्तामा पठाउनुपर्ने १९ अर्ब ८७ करोडमध्ये ५० प्रतिशत कटौती गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।

अदुवाको निर्यात १०५ प्रतिशतले वृद्धि

काठमाडौँ । तुलनात्मक लाभको वस्तुका रूपमा प्रवर्द्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो ।

व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो । गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ८४ हजार रुपियाँ बराबरको ७३ लाख १८ हजार ३५ किलो अदुवा निर्यात भएको थियो ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब ४१ करोड ४५ लाख छ हजार रुपियाँ बराबरको एक करोड १९ लाख ५८ हजार ८९३ किलो अदुवा निर्यात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ हजार ९१२ हेक्टर क्षेत्रफलमा दुई लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

आज देशका पहाडी भू–भागमा मेघगर्जनसहित पानी पर्ने

काठमाडौं, १६ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। गण्डकी र सुदूरपश्चिम  प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

काठमाडौँ महानगरपालिकाले रोक लगायो बाह्य विज्ञापन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सहरको सुन्दरता कायम गर्न र सर्वसाधारणलाई सुरक्षा दिन आफ्नो क्षेत्रभित्रका कुनै पनि स्थानमा बाह्य विज्ञापन नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।त्यस्तै सडक पेटी वा सार्वजनिक प्रयोगका संरचना, विद्युत् तथा टेलिफोनका खम्बा, सवारी आवागमनमा असर हुने गरी कुनै पनि ठाउँमा बाह्य विज्ञापन नगर्न कामपाले भनेको छ । २०७९ चैत ३० गते प्रकाशन भएको स्थानीय राजपत्रमा समावेश ‘कामपाको वाह्य विज्ञापन नियमन निर्देशिका–२०७९’ मा यस सम्बन्धी व्यवस्था गरिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो ।

अधिकारी आचार्यका अनुसार निर्देशिकामा विज्ञापन गर्न निषेध, विज्ञापन गर्न नहुने, ग्राह्य नहुने विषय, निषेधित क्षेत्र घोषणा गर्न सक्ने, विज्ञापन बोर्ड, परिचय पाटी, नियमन समिति गठनलगायत व्यवस्था छन् । नियमन समितिको काम कर्तव्य र अधिकार, विज्ञापन करसम्बन्धी व्यवस्था, स्थानान्तरणसम्बन्धी व्यवस्था, विज्ञापन कल्याण कोष सञ्चालन, बाह्य विज्ञापनका लागि अनुमति दिन नसकिने, विज्ञापन खारेज, वातावरणमैत्री विज्ञापनको प्रवद्र्धन, प्रोत्साहनलगायत प्रबन्ध छन् ।

निर्देशिकाको प्रतिकूल हुने गरी निषेधित स्थानमा राखे रु एक लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था छ । कामपा क्षेत्रभित्र विज्ञापन गर्ने प्रयोजनका लागि कुनै पनि स्थानमा द्वार तथा स्टल निर्माण गर्ने, स्टिकर टास्ने, वाल पेन्टिङ, पोष्टरिङ, पम्प्लेटिङ, पर्चा वितरण, व्यानर टास्ने माध्यमलाई अनुमति दिइने छैन ।

सङ्घीय र प्रदेश कानुन विपरीत हुने, धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिकस्थल, विश्व सम्पदा क्षेत्रमा सूचीकृत मौलिक संरचना वा संस्कृतिमा प्रतिकूल असर हुने विज्ञापन गर्न पाइँदैन । विज्ञापन राख्ने ठाउँ १२ फिटभन्दा कम उचाइमा रहेमा, नक्सापास नभएको संरचनामा, प्राविधिक रुपमा सवल नभएको भवनमा, बाहिरी रुपमा रङ रोगन नगरिएको भवनमा, हेर्दा दुरुस्त नदेखिने भवनमा विज्ञापन बोर्ड राख्न पाइँदैन ।

पुरातात्विक महत्वका क्षेत्र, प्रशासनिक क्षेत्र, सम्पदा क्षेत्र, कूटनीतिक क्षेत्रमा र त्यसको एक सय मिटरभित्रको दुरीमा बोर्ड राख्न पाइँदैन । विज्ञापन गर्न नमिल्ले विषयहरुमा प्रयोग गर्न निषेध गरेका वस्तु, पदार्थ तथा सेवा, कामपाको स्थानीय कानुन विपरीतका सेवा, संरचना र विषयवस्तु रहेका छन् । कानुनले अश्लील मानेका विषय, सामाजिक रुपमा भ्रम र विकृति फैलाउने, अन्धविश्वाशलाई प्रोत्साहन गर्ने, चिकित्सकको सिफारिसमा मात्र बिक्री वितरण गर्नुपर्ने औषधिको विज्ञापन गर्न पाइँदैन

लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार पठाइँदै

लुम्बिनी-बुद्धकालीन समयको ‘कालानमक’ चामल उपहारस्वरूप कम्बोडिया लगिने भएको छ । २५६७औँ बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश कुमार त्रिपाठी)ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहारस्वरूप कालानमक चामल प्रदान गर्ने हुनुभएको हो ।

यही वैशाख १९ गते (मे २ तारिख) का दिन कम्बोडियामा हुने अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै मागअनुसार उपहारस्वरूप प्रदान गरिने भिक्षु मैत्तयले बताउनुभयो । कार्यक्रममा सहभागी हुन जानुअघि शुक्रबार भिक्षु मेत्तेयलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गर्नुभएको छ । 

बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत चार वर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालीन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ । बौद्ध धर्म मान्ने मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालीन कालानमक धानको चामल माग गर्नुले बौद्ध परम्परामा यो चामलको महत्त्व उजागर गरेको कोषका भिक्षु मैत्तयले बताउनुभयो । “कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुसीको कुरा हो”, उहाँले भन्नुभयो, “हामीले उपहारस्वरूप कालानमक चामल दिन लागेका हौँ ।”

 कपिलवस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रूपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उहाँको भनाइ छ । बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूर्णिमामा  कालानमक रोपेर धान मङ्गलोत्सव गरिने इतिहासमा उल्लेख छ । बुद्धकालीन महत्त्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको भिक्षु मैत्तयले बताउनुभयो । 

कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु मैत्तयले भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्त्वपूर्ण ऐतिहासिक एवं सांस्कृतिक महत्त्वको क्षेत्रका रूपमा विकास गर्न छलफल गर्नुहुनेछ । साथै दुई देशका जनताबीचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका विषयमा छलफल हुने उहाँले बताउनुभयो । 

खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । बौद्ध सम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । बुद्धकालीन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले लाभ लिन सक्ने छन् । 

यो चामलमा पोटासियम, प्रोटिन, फाइबर, भिटामिन बी, आइरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बीउ विकास गरेको छ ।  

बुद्धजयन्तीको तयारी तीव्र

२५६७औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस भव्यरूपमा मनाउन तयारी सुरु गरिएको छ । लुम्बिनी विकास कोषले वैशाख २२ गते बुद्धजयन्ती तथा लुम्बिनी दिवसलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर तयारी गरेको हो । 

विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तयको संयोजकत्वमा पाँच सय ६७ सदस्यीय बुद्धजयन्ती व्यवस्थापन समिति गठन गरिएको छ । 

कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयंसेवक उपसमिति गठन गरिएको छ । योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

बुद्धजयन्तीलाई विशेष उत्सवका रूपमा मनाउनका लागि लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह गरिएको छ । वैशाख २२ गते बिहान पूजा र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । 

त्यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देवदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रवृत्ति, खेलकुद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसहित सांसदको उपस्थिति रहनेछ । नेपालस्थित विभिन्न देशका राजदूतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ । तयारी स्वरूप पत्रकार सम्मेलन, सुरक्षा समितिको बैठक गरिएको छ ।  गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रूपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो । 

आज राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस , पूजा आराधना गरी मनाइँदै

काठमाडौँ, १६ वैशाख-प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।

 त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रुपमा अयोध्याका राजा दशरथका पुत्रका रुपमा श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रुपमा उत्पत्ति हुनुभएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिनुभयो ।

सीतालाई सत्यवती, पतिव्रता एवं आदर्श नारीका रुपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदा सँगै जानुभएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भए पनि वनवास हिँडेकाले आदर्श नारीका रुपमा सम्झना गरिन्छ । 

 अयोध्या त्याग गरे पनि मन, वचन र कर्मले पति रामप्रति समर्पित रहेको, लव, कुश दुई छोरालाई वाल्मीकि आश्रममा राखेर शिक्षा दीक्षाले निपुण बनाइ अयोध्या फर्काएका कारण पनि सीताको भूमिकाले सबै नारीलाई सम्मानित बनाएको धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । अयोध्यामा आएका लव, कुशले रामायणको कथा एवं सीता निर्दोष भएर पनि वनमा बस्नुपरेको करुण गीत सुनाएपछि प्रजाको मागअनुसार सीतालाई ऋषि वाल्मीकिसहित दरबारमा बोलाइएको थियो ।

 दरबार आएकी सीताको धेरै अयोध्यावासीले स्वागत गरे पनि केहीले पवित्रताको विषयमा प्रश्न उठाएपछि सीताले ‘म पवित्र छु भने हे धर्तीमाता मलाई आफ्नो कोखमा लिनुस्’ भनी आह्वान गरी पृथ्वीभित्र लोप हुनुभएको वर्णन वैदिक ग्रन्थमा गरिएको छ । प्रश्न उठाउने प्रजाले सीतासँग माफी मागे पनि उहाँ धर्तीको कोखमा लुप्त हुनुभएको प्रसङ्ग रामायणलगायत धर्म ग्रन्थमा उल्लेख गरिएको छ । यसरी माटोबाट उत्पत्ति हुनुभएकी सीता माटोमै लुप्त हुनुभएको थियो । 

 सीता उत्पत्ति हुनुभएको भए पनि आजको दिनलाई सीता जयन्तीका रुपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवं प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रुपमा सम्मान दिएको छ ।

पर्यटनमन्त्री किरातीले होटल व्यवसायीलाई भन्नुभयो : ‘नआत्तिनुस् म तपाईँकै साथमा छु’

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले होटल क्षेत्रसँगै समग्र पर्यटन क्षेत्रमा देखिएका समस्याबाट नआत्तिन व्यवसायीलाई आग्रह गर्नुभएको छ । होटल सङ्घ नेपाल (हान)को ४८औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उहाँले समस्याबाट नडराउन र परिस्थिति सुध्रनेमा ढुक्क रहन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँ व्यवसायी समस्याबाट नडराउनुस् म तपाईँहरुकै साथमा छु, चिन्ता गरेर हैन समाधानको पहल गरेर सफलतातिर अघि बढ्न सकिन्छ ।”

 कोरोना महामारीले नराम्ररी थलिएको होटल क्षेत्रका समसामयिक समस्या व्यवसायीले राखेपछि पर्यटनमन्त्री किरातीले सरकारले व्यवसायमैत्री सेवा सहजीकरण र नीगित सुधारका लागि पहल लिएकाले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।

 पर्यटनमन्त्री किरातीले मुलुकको आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि नीतिगत सुधारदेखि योजनाबद्ध कार्यक्रम अघि बढाइने विश्वास दिलाउनुभयो । उहाँले व्यवसायमैत्री समय सापेक्ष ऐन नहुँदा लगानीकर्ताले निकै शास्ती बेहोर्नुपरेको भन्दै ऐन कानुन एकद्वार प्रणालीको हुनुपर्नेमा जोड दिनुभयो ।

 मन्त्री किरातीले पर्यटनको महत्वपूर्ण पाटोको रुपमा रहेको होटल क्षेत्रको विकासका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो । उहाँले तराईका ठूला विमानस्थलमा एटिआर जहाज सहज रुपमा सञ्चालन गर्न, विभिन्न विमानस्थलबाट भारतका गन्तव्यमा सहज उडान गर्न र अन्य साना विमानस्थलको स्तरोन्नति गर्न मन्त्रालय लागि परेको जानकारी दिनुभयो ।

 “प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडेर लैजानुपर्छ, विश्वले फोटोकपी गर्न नसक्ने सगरमाथा र गौतमबुद्धको जन्मस्थल लुम्बिनी नेपालमै छन्, यीलगायत अन्य सम्पदाको संरक्षण र प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्न सकिन्छ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो । उहाँले पर्यटन क्षेत्रका नयाँ आयामको खोजी गरी बढीभन्दा बढी पर्यटक आकर्षण गर्ने कार्यक्रम जरुरी रहेको उल्लेख गर्नुभयो ।

हानका निवर्तमान अध्यक्ष सिर्जना राणाले ठूलो लगानी भएको होटल क्षेत्रलाई उद्योगको रुपमा मान्यता दिलाउन पहल गरिदिन पर्यटनमन्त्रीसमक्ष अनुरोध गर्नुभयो । हानका नवनिर्वाचित अध्यक्ष विनायक शाहले होटल क्षेत्रका विद्यमान समस्याको समाधानका लागि पहलकदमी गर्नु आफ्नो पहिलो दायित्व हुने उल्लेख गर्नुभयो ।

 हानका महासचिव साजन शाक्यले होटल व्यवसाय सञ्चालनमा भइरहेका समस्या र आगामी सम्भावनाबारे बताउनुभएको थियो । हानको वार्षिक साधारणसभाले आजै विनायक शाहको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेको हो । 

गण्डकीमा लिफ्टिङ खानेपानी र सिँचाइमा विद्युत् महसुल निःशुल्क

गण्डकी-गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि लिफ्टिङ खानेपानी र सिँचाइ आयोजनाको विद्युत् महसुलमा सत प्रतिशतसम्म अनुदान दिने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदभार ग्रहण गरेसँगै शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं बिनाविभागीय मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।“लिफ्टिङ प्रविधिबाट सञ्चालित खानेपानी र सिँचाइ आयोजनामा खर्च हुने विद्युत्को महसुल पूर्णरुपमा निःशुल्क गर्ने निर्णय भएको छ”, उहाँले भन्नुभयो ।

यस्तै यातायात व्यवस्था कार्यालयबाट हुने सेवा प्रवाहलाई प्रविधिमैत्री र सवारी चालक अनुमति पत्र वितरण प्रक्रियालाई छिटोछरितो बनाउन प्रदेश सरकारले आवश्यक प्रबन्ध गर्ने भएको छ । उक्त सेवालाई सहज बनाउन गर्नुपर्ने सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहित प्रतिवदेन पेस गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । उक्त समितिले १५ दिनभित्र प्रतिवदेन पेस गर्नेछ ।

बुद्ध एयरले ल्यायो नयाँ एटिआर–७२ जहाज

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ । कम्पनीले शुक्रबार १५औँ एटिआर–७२ जहाज भित्र्याएको हो ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार नयाँ जहाजले आवश्यक कागजी प्रक्रिया पु¥याएर एक महिनाभित्र व्यावसायिक उडान सञ्चालन गर्नेछ । ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र भाडादर पनि स्वतः सस्तो हुने भएकाले ७२ सिटे जहाज भित्र्याइएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

योसँगै बुद्ध एयरका १५ एटिआर जहाज पुगेका छन् । यीमध्ये १२ एटिआर–७२ र तीन एटिआर–४२ जहाज छन् । यसअघि बुद्धसँग भएका दुई बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो ।

नयाँ जहाज थपिएपछि हाल दैनिक दुईवटा उडान हुँदै आएको धनगढी र सुर्खेत गन्तव्यमा एउटा उडान थप्ने कम्पनीको योजना छ । त्यसैगरी सङ्खुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने तयारी छ । कम्पनीले छिट्टै थप एउटा नयाँ जहाज ल्याउन लागेको जनाएको छ ।

भारतमा उपचाररत कांग्रेस नेता भण्डारी आइतबार स्वदेश फर्कने

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने हुनुभएको छ ।गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते हुनुभएका डा भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लाग्नुभएको हो । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लाग्नुभएको डा भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले राससलाई जानकारी दिनुभयो । उहाँ साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुहुनेछ ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । उहाँ बोल्ने र हिँड्ने गर्न थाल्नुभएको छ । नेपाल फर्केसँगै डा भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानुहुनेछ ।

आगलागीमा परी सांसद डा भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । डा भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।

प्रधानमन्त्रीको पहलपछि नुवाकोटका किसान घिमिरेको माग सरकारले सम्बोधन गर्ने

काठमाडौँ-सरकारले नुवाकोटका किसान श्रीराम घिमिरेको माग पूरा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यसचिव शङ्करदास वैरागीमार्फत कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई किसान घिमिरेले उठाउनुभएको माग सम्बोधन गर्न बिहीबार नै निर्देशन दिनुभएको थियो ।

सचिव घिमिरेलगायतको टोलीले किसान घिमिरेसँग आज पनि वार्ता गरेको थियो । सोही वार्ताका आधारमा माग सम्बोधन गर्ने प्रतिवद्धता सरकारको तर्फबाट व्यक्त भएको छ ।

प्रधानमन्त्री प्रचण्डले जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने र त्यसका लागि सरकारले नै सबै माग सम्बोधन गर्ने बताउँदै किसान घिमिरेले उठाउनुभएका विषयलाई समाधान गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । प्रधानमन्त्रीको निर्देशनअनुसार नै उहाँको माग सरकारले सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छ । माग सम्बोधन हुने भएपछि घिमिरेले आमरण अनशनसहितको कार्यक्रम स्थगित गर्ने विश्वास लिइएको छ ।

कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्र पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै किसान घिमिरे यही ५ वैशाखदेखि काठमाडौँको भूगोल पार्कमा आमरण अनशनमा बस्नुभएको थियो । यस्तै लघुवित्त समस्याको विषयलाई लिएर माइतीघर मण्डलामा आन्दोलनरत पक्षसँग प्रधानमन्त्री दाहालको जनसम्पर्क सल्लाहकार वुद्धि जिसीलगायतको टोलीले आज वार्ता गरेको छ ।

लघुवित्त संस्थाले शोषण गरेको भन्दै लघुवित्त संस्था विरुद्धको सङ्घर्ष समितिले आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेका थिए । सो टोलीसँग आज भएको छलफलका आधारमा प्रधानमन्त्री दाहालले शनिबार सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवसहितको बैठकको आयोजना गर्नुभएको छ ।

रामकृष्ण ढकाल र केकीको अभिनयमा तयार भयो ‘माया हुन्छ भनन’

काठमाडौं : प्रख्यात संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहिबार काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो

। कार्यक्रममा बरिस्ठ संगीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा , निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो । गीतको म्युजिक भिडियोमा स्वयम् गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ । निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ ।

‘माया हुन्छ भनन’ लाइ म्युजिक नेपालको युट्युब च्यानल,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक रामकृष्ण ढकालले केहि लाइभ गीतहरु गाउदा उपस्थित व्यक्तिहरुबाट वान्स अगेन र हुटिंङ गर्दै रमाइलो गरेका थिए लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर लागिरहेका छन् । गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित भैसकेका छन् ।

अर्थतन्त्र सुधार्न सहकार्यका लागि निजी क्षेत्रका छाता संस्थाको जोड

काठमाडौँ – विद्यमान अर्थतन्त्रमा देखिएका समस्या समाधानका उपाय खोज्न निजी क्षेत्रका दुई ठूला छाता सङ्गठनले सहकार्य गर्ने भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घले अर्थतन्त्रका समस्या समाधान गर्न संयुक्तरूपमा अघि बढ्ने ऐक्यबद्धता जनाएका हुन् ।

महासङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागतका लागि आज परिसङ्घ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा दुवै संस्थाले यस्तो ऐक्यबद्धता जनाएका हुन् ।

परिसङ्घद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिलेको चुनौतीपूर्ण अवस्थामा अर्थतन्त्र सुधारसँगै निजी क्षेत्रमैत्री कानून निर्माणका लागि सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।

“उहाँले निजी क्षेत्रले भोगिरहेका समस्या समाधानका लागि छाता सङ्गठन मिलेर समाधानका उपायसहित सरकारसमक्ष प्रस्तुत हुनुपर्ने बताउनुभयो”, परिसङ्घको विज्ञप्तिमा भनिएको छ, “एक भएर अगाडि बढ्दा निजी क्षेत्रको समस्या समाधान भएको दृष्टान्त प्रस्तुत गर्नुहुँदै उहाँले आगामी दिनमा पनि अर्थतन्त्र सुधारसहित लगानीमैत्री वातावरण निर्माणका लागि एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।”

अर्थतन्त्र चलायमान बनाउन तथा विद्यमान चुनौतीको सामना गर्न निजी क्षेत्र एक भएर अगाडि बढ्नुपर्नेमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि सहमति जनाएको प्रेस विज्ञप्तिमा उल्लेख छ । “निजी क्षेत्रले सङ्गठितरूपमा उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै अध्यक्ष ढकालले समान ध्येयका साथ अगाडि बढे समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी, परिसङ्घका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले विद्यमान अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न यथार्थपरक समाधानका उपायसहित सरकारलाई सुझाउनुपर्ने बताउनुभयो ।

परिसङ्घका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले थप प्रभावकारीरूपमा निजी क्षेत्रका समान समस्या समाधानका लागि समान समाधानका उपाय खोज्नुपर्ने बताउनुभयो । महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा परिसङ्घका उपाध्यक्ष हेमराज ढकाल, परिसङ्घ गभर्निङ काउन्सिल सदस्य शिवरतन सारडा, योगेश्वरलाल श्रेष्ठलगायत हुनुहुन्थ्यो ।

मुख्यमन्त्री शर्मालाई तेस्रो पटक विश्वास मत

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो । जसअनुरुप उहाँले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

प्रदेशसभाका ३९ सदस्यमध्ये २९ जनाले उहाँलाई विश्वासका मत दिएका थिए । मुख्यमन्त्री शर्माले योसहित तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी २९ जनाले मुख्यमन्त्री शर्माको पक्षमा विश्वासको मत दिएका थिए ।

नेकपा (एमाले)का नौ र राप्रपाका एक गरी १० सदस्यले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । गत माघ ६ गते एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए । राष्ट्रिय राजनीति बदलिएसँगै सङ्घ सरकारबाट राप्रपा बाहिरिएपछि कर्णालीमा पनि फागुन १८ गते मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि चैत्र १७ गते दोस्रो पटक सभाबाट उहाँले विश्वासको मत लिनुभएको थियो ।

चुनावी नतिजाबाट आत्तिनुपर्दैन – नेत्री राणा

सुदूरपश्चिम – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले हालै सम्पन्न प्रतिनिधिसभाको उपचुनावको नतिजाबाट कांग्रेसले आत्तिनुनपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा गरेको शुभकानमना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “उपनिर्वाचनमा विजयी नहुँदैमा कांग्रेस कमजोर छैन, विगतमा पनि कांग्रेस कहिले पहिलो र कहिले दोस्रो दल बनेकै थियो ।”

कांग्रेसप्रति आकर्षण नघटेको बताउँदै उहाँले भन्नुभयो, “युवालाई लोकतान्त्रिक पार्टीका पक्षमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा विशेष ध्यान दिनुपर्ने जरुरी छ ।” कांग्रेसकै नेतृत्वमा विगतमा देशमा विकास निर्माणका ठूला काम भएको बताउँदै उहाँले पार्टीले गरेको कामको प्रचारप्रसार गरेर सहयोग गर्न पत्रकारलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका जिल्ला सभापति नारायणदत्त भट्ट, नेपाल महिला सङ्घका जिल्ला सभापति पुष्पा भट्ट, नेपाल प्रेस युनियनका प्रदेश अध्यक्ष मनमोहन स्वाँर र जिल्ला सभापति श्रवण देउवालगायतले समसामयिक विषयमा बोल्नुभएको थियो ।

चट्याङ लागेर पश्चिम बङ्गालमा पन्ध्र जनाको मृत्यु

नयाँदिल्ली – मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् ।

बिहीबार साँझ चट्याङ लागेर पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो ।

श्रीलङ्काको प्रहरीमा महिलाको भूमिकालाई थप प्रभावकारी बनाइँदै

कोलम्बो – श्रीलङ्काका प्रहरी महानिरीक्षक (आईजीपी) चन्दना डी विक्रमरत्नेले प्रहरी विभागमा महिलालाई समान अवसर प्रदान गर्न सुधार कार्यक्रम शुरु गरिएको बताउनुभएको छ ।

संसद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रहरीको वार्षिक कार्यसम्पादनको समीक्षा गरिरहेको संसदीय निगरानी समितिसँगको बैठकमा प्रहरी महानिरीक्षकले उक्त अभिव्यक्ति दिएको जनाएको हो ।

उहाँले विगतमा प्रहरीको साङ्गठनिक संस्कार महिलाले माथि जानसक्ने खालको नभएको बताउनुभयो । विक्रमरत्नेले दुई हजार ४०० भन्दा बढी महिला प्रहरी हवल्दारको दरबन्दी रिक्त रहेको बताउँदै सुधारसँगै भविष्यमा एक जना महिला आइजिपी समेत हुने बताउनुभयो ।

सन् २०२३ सम्ममा पदपूर्ति गरिसक्नुपर्ने भए पनि हालको आर्थिक अवस्थाका कारण पदपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।

निजामती कर्मचारीका छोराछोरीलाई छात्रवृत्तिका लागि दरखास्त आह्वान

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीका सन्तति (छोराछोरी) लाई छात्रवृत्ति प्रदान गर्न आवेदन आह्वान गरेको छ । मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले आज कर्मचारीका सन्ततिलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

कक्षा १२ वा सो सरहको परीक्षामा कम्तीमा पनि २ दशमलव ४ जीपीए वा ५० प्रतिशतभन्दा बढी अङ्क ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्ने उक्त सूचनामा जनाइएको छ ।

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका, २०७९ अनुसार स्वदेशी विश्वविद्यालय वा त्यस्तो विश्वविद्यालयको आङ्गिक वा सम्बन्धन प्राप्त शिक्षण संस्थामा कुनै विषयमा स्नातक वा सो सरहको तहमा प्रथम वर्ष वा पहिलो वा दोस्रो सेमेस्टरमा भर्ना भई अध्ययन गरिरहेको निजामती सेवा ऐन, २०४९, स्वास्थ्य सेवा ऐन २०५३, व्यवस्थापिका संसद् ऐन, २०६४ बमोजिम सेवाका पदमा बहाल रहेका र कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम सरकारी सेवाबाट प्रदेश वा स्थानीय तहमा समायोजन भएका कर्मचारीका सन्ततिले यस्तो छात्रवृत्ति पाउनेछन् ।

प्रहरीका १८ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस

काठमाडौँ – नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालय बढुवा समितिको आज बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको १८ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अभिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिपशम्शेर जवरा रहनुभएको छ ।

बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, प्रविण पोखरेल, गङ्गा पन्त, कृष्णबहादुर पल्लीमगर, विश्वमणि पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहनुभएको छ । बढुवा समितिले प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।

शान्ति सुरक्षा कायम गर्न एमालेको माग

काठमाडौँ – नेकपा (एमाले) ले सरकारसँग मुलुकमा शान्ति सुरक्षा कायम गर्न माग गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालमा आज गरेको पत्रकार सम्मेलनमार्फत एमालेले मुलुकमा पछिल्ला दिनमा भइरहेको घटनाप्रति सरकारको ध्यानाकर्षण गराउँदै शान्ति सुरक्षा कायम गर्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा एमालेका उपमहासचिव विष्णु रिमाललले एमालेका शीर्ष नेतामाथि आक्रमणको भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “शान्ति सुरक्षाको अवस्था कमजोर हुनु, शीर्ष नेताको गतिविधिमा अवरोध हुनु, समाजमा अस्थिरताका सिर्जना हुनु र अर्थतन्त्र पनि कमजोर हुनु अहिलेको चिन्ताको विषय हो ।”

उहाँका अनुसार पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुभाषचन्द्र नेम्बाङ कोशी प्रदेशका विभिन्न ठाउँमा गएको बेला आक्रमण भएको भएको छ । “हाम्रो अध्यक्ष झापाको घटनापछि इलाम जानुभयो । त्यहाँ जाँदा पनि फेरि अवरोधको प्रयास गरियो”, उहाँले भन्नुभयो, “हिजो पशुपतिनगरबाट फर्किँदा आउँदा ढुङ्गा राखेर बाटो छेकियो । आज पनि तेह्थुमको देउडी भन्ने ठाउँमा प्राविधिक स्कुल उद्घाटन गर्ने गएको बेला दुई चार जनाले कालो भण्डा देखाउने काम भयो ।”

उपमहासचिव रिमालले कालोझण्डा देखाउने, विरोध प्रदर्शन गर्ने र असहमति जनाउने कुराको कुनै चिन्ता नभएको भन्दै तर एउटा ठूलो दलको शीर्ष नेतालाई अनावश्यक ढङ्गले अवरोध सिर्जना गरेको विषयले पार्टीलाई गम्भीर बनाएको बताउनुभयो । उहाँले एमालेले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्न स्थिति नल्याउन आग्रह गर्नुभयो । “हरेक दलले आफ्नो नेता तथा कार्यकर्ताको सुरक्षा आफैँ गर्ने स्थिति आयो भने मुलुकमा राज्य कहाँ र शासन कसरी हुन्छ भन्ने प्रश्न खडा हुन्छ”, उहाँले भन्नुभयो । “त्यस्तो स्थिति नआओस् भनेर हामीले चिन्तित रहेका छौँ ।”

पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराईले एमालेका शीर्ष अनेता लक्षित गरेर अहिले आक्रमण गर्नु निन्दनीय भएको बताउनुभयो । उहाँले शान्तिपूर्ण रुपमा विरोध गर्नु ठीक रहेको तर नेता लक्षित आक्रमण निन्दनीय रहेको बताउनुभयो । उहाँले कोशी प्रदेशका नामका सम्बन्धमा शान्तिपूर्ण रुपमा विरोध गर्न पाइने भन्दै तर कुनै दल विशेषका नेतालाई आक्रमण गर्न नपाइने बताउनुभयो ।

नेता भट्टराईले मधेस प्रदेश नामकरणमा एमालेको विरोध गरेको र प्रदेशसभाले निर्णय गरेपछि एमालेले स्वीकार गरेको बताउनुभयो । “कोशी प्रदेश नामाकरणको असहमतका सम्बन्धमा सम्मान गर्दछौँ”, उहाँले भन्नुभयो, “तर उहाँले जुन शैली अपनाउनुभएको छ । त्यसको विरोध गर्दर्छौँ । अझ एमाले नेतामाथिको आक्रमणको हामीले निन्दनीय छ ।” हिजो एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको दुव्र्यवहारको प्रयास गर्नेलाई कारवाहीको माग गरेको थियो ।

प्रधानमन्त्री दाहालका सूचना प्रविधि विज्ञद्वारा प्रष्ट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सूचना प्रविधि विज्ञ प्रकाश रायमाझीले एक दैनिक पत्रिकामा ‘राष्ट्रिय परिचयपत्र प्रमाणीकरणमा प्रधानमन्त्रीका आइटी विज्ञको रुचि’ शीर्षकको समाचारमा आफूलार्ई जोडेर आएको विषय आधारहीन, कपोलकल्पित र बदनाम गर्ने नियतले उल्लेख भएको प्रष्टयाउनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रिय परिचयपत्रमा अभिलेख हुने नागरिकको जैविक र वैयक्तिक विवरणमा निजी क्षेत्रको पहुँच हुने किसिमले कार्यविधि निर्माण गरेर अमूक कम्पनीलाई ठेक्का दिइएको विषयमा नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले यसअघि नै निर्णय गरिसकेको जनाउनुभएको छ ।

सञ्चारमाध्यमले कुनै पनि कुरा प्रकाशन गर्दा त्यसको विश्वसनीयता र भरपर्दो आधार प्रस्तुत गर्नु सञ्चारमाध्यमको आधारभूत धर्मसमेत रहेको स्मरण गराउँदै उहाँले आफूले आइटी विज्ञका रूपमा सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा सुशासन कायम गर्न खोजेको प्रयासलाई रोक्ने र अन्ततः सरकारलाई नै बदनाम गर्ने रहेको स्पष्ट देखिएको बताउनुभएको छ ।

प्रधानमन्त्री दाहालले नागरिकले प्राप्त गर्ने सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र झन्झटमुक्त बनाउने निर्देशन दिएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकको व्यक्तिगत विवरण प्रयोग गरिरहेका नेपाल सरकारका कैयौँ निकायबीच अन्तरआबद्धता कायम गर्न सहजीकरण गर्दै आएको उहाँको भनाइ छ ।

“सुनियोजितरूपमा म र मेरो नाम जोडेर, मसँग कुनै प्रतिक्रियासमेत नलिई मेरो मानमर्दन र चरित्रहत्या गर्ने तथा प्रधानमन्त्री कार्यालयलाई नै बदनाम गर्ने नियतले समाचार प्रकाशन गरेकोले उक्त समाचारको खण्डन गर्न चाहन्छु”, उहाँले भन्नुभएको छ ।

‘सांसद कोइरी बिरामी होइनन्, फरार अभियुक्त हुन्’

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले सांसद कोइरी बिरामी भएको भन्ने सूचना प्राप्त भएको अवगत गराएपछि सांसदहरूले सो विषय सचिवालयको रेकर्डबाट हटाउन माग गर्दै आसनबाट उभिएर बैठक अवरुद्ध गर्नुभएको थियो ।

सभामुखले बोल्ने समय दिएपछि सांसद रमेश लेखकले फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरीलाई बिरामी भन्न नहुने बताउँदै बिरामी भएको भन्ने विषय रेकर्डबाट हटाउन माग गर्नुभयो ।

सांसद रवि लामिछानेले सांसद कोइरी फरार अभियुक्त भएको बताउँदै कोइरीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको तस्बिर आफूसँग भएको जानकारी गराउनुभयो । उहाँले यस सम्बन्धमा छानविन समिति गठन हुने वा सभामुखबाट रुलिङ हुने अपेक्षा गर्नुभयो ।

सांसद प्रेम सुवालले सो विषयबारेमा फरार सूचीमा रहेको अहिलेसम्म किन जानकारी नगराइएको भनी सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले गृहमन्त्री हुने, सरकारमा रहने, फरार व्यक्तिलाई थुन्न नसक्ने अनि सदन अवरुद्ध गर्ने भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद चित्रबहादुर केसीले ज्यानमारा अभियोग लागेकालाई चोख्याउन नमिल्ने बताउनुभयो । सांसद हितराज पाण्डेले बिरामीको बहानामा रहेका फरार अभियुक्त कोइरीका बारेमा स्पष्ट रुलिङ गर्न आग्रह गर्नुभयो ।

बैठकमा सभामुख घिमिरेले सांसदले उठाएका विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै सो विषयमा नेपालको संविधान, प्रचलित कानून र संसद् नियमावलीअनुसार हुने बताउनुभयो । बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ ।

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उहाँको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ ।

अर्थमन्त्री महत र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौँ – अर्थमन्त्री डा प्रकाशशरण महत र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ ।

सो भेटमा टोखा–छहरे सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा छलफल भएको अर्थमन्त्री महतको सचिवालयले जनाएको छ । त्यस्तै, मुस्ताङ, रसुवागढीलगायत अन्य पहाडी भू–भागसमेतमा सुरुङ मार्ग बनाउने विषयमा पनि छलफल भएको जनाइएको छ ।

चीनबाट नेपाल भित्रिने पर्यटकको सङ्ख्या बढाउने विषयमा पनि छलफल भएको सचिवालयले प्रेस नोटमार्फत जानकारी दिएको छ ।

“अर्थमन्त्री डा महतले चीनबाट प्राप्त हुने सहयोग नेपालको पूर्वाधार विकासकै क्षेत्रमा लगानी गरेर प्रतिस्पर्धी क्षमता बढाउने कुरा बताउनुभयो”, भेटबारे उल्लेख गर्दै भनिएको छ, “चिनियाँ राजदूत सोङले नेपालको पूर्वाधारका विकासका लागि करिब रू ८० अर्ब उपलब्ध गराउन सक्ने जानकारी गराउनुभएको छ ।”

चीन सरकारले उपलब्ध गराउने सहयोग रकम पूर्वाधार क्षेत्रमै प्रयोग हुने विश्वास पनि राजदूत सोङले व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाको विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर

काठमाडौँ – राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर गरिएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहनुहुने सांसदको नाम हेरफेर भएको सूचना सुनाउनुभएको थियो ।

उहाँले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मनोनयन हुनुभएका सांसदको नाम पनि प्रस्तुत गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने जानकारी गराउनुभयो ।

यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ सभासमक्ष पेश गर्नुभयो ।

बैठकमा मन्त्री किरातीको ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४को उपनियम (४) बमोजिम सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना अध्यक्ष तिमल्सिनाले प्रस्तुत गर्नुभएकामा स्वीकृत भएको छ ।

संसद्को कुन समितिमा को–को सांसद ?

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकले विषयगत १० समितिमा रहने सांसदको नाम अनुमोदन गरेको छ । सभामुख देवराज घिमिरले राख्नुभएको उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले मनुमोदन गरेको हो ।

अनुमोदन गरिएका नामहरुमा अर्थ समितिमा अन्जनी श्रेष्ठ, अम्मरबहादुर रायमाझी, गङ्गा कार्की, छिरिङ डम्डुल लामा (भोटे), जुलीकुमारी महतो (महासेठ), दीपक खड्का, दीपक बोहरा, नारायणप्रसाद आचार्य, नारायणी शर्मा, पदम गिरी, पूर्णबहादुर तामाङ, भगवती चौधरी, मुक्ताकुमारी यादव रहनुभएको छ ।

समितिको सदस्यमा मेटमणि चौधरी, रणकुमारी बलम्पाकी मगर, रामनाथ अधिकारी, विनोदकुमार चौधरी, विराजभक्त श्रेष्ठ, वीरेन्द्रप्रसाद महतो, विष्णुप्रसाद पौडेल, सन्तोष चालिसे, स्वर्णिम वाग्ले, सूर्यबहादुर थापा क्षेत्री, ज्ञानबहादुर शाही र ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उदयशम्शेर जबरा, एकनाथ ढकाल, केपी शर्मा ओली, गङ्गाराम चौधरी, छिरिङल्हामु लामा (तामाङ), दामोदर पौडेल वैरागी, देवीप्रकाश भट्टचन, धवलशम्शेर जङ्गबहादुर राणा, नागिना यादव, नारायण खड्का, पशुपति शमम्शेर जबरा, प्रकाशमान सिंह, प्रभु साह, प्रेम सुवाल रहनुभएको छ ।

उक्त समितिको सदस्यमा वर्षमान पुन, भीमप्रसाद आचार्य, महन्थ ठाकुर, माधवकुमार नेपाल, मोहन आचार्य, राजकिशोर यादव, विमलेन्द्र निधी, शिशिर खनाल, शेखर कोइराला, सम्झना थपलिया, सुनिता बराल, सङ्गीता मण्डल धानुक र हरिप्रसाद उप्रेती हुनुहुन्छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपाली, अब्दुल खान, अम्मरबहादुर थापा, अमृतलाल राजवंशी, अशोककुमार चौधरी, डा आरजु राणा, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, ज्वालाकुमारी साह, डिल्लीराज पन्त, दिक्पालकुमार शाही, नवलकिसोर साह, विनाकुमारी थनेत रहनुभएको छ ।

उक्त समितिको सदस्यमा विनिता कठायत, विमला सुवेदी, मानवीर राई, मिना तामाङ, योगेन्द्र मण्डल, रुपा विक, विजुला रायमाझी, वीरबहादुर बलायर, विष्णुकुमार कार्की, सरस्वती सुब्बा, सुरेन्द्रराज आचार्य, सूर्यकुमारी श्रेष्ठ र सूर्यप्रसाद ढकाल रहनुभएको छ ।

कानुन, न्याय तथा मानवअधिकार समिति किरणकुमार साह, गोमा लाभ (सापकोटा), चन्द्रबहादुर विश्वकर्मा, जीवन परियार, धुव्रबहादुर प्रधान, नैनकला थापा, पुष्पबहादुर शाह, पूर्णबहादुर घर्तीमगर, प्रतिक्षा तिवारी, महेशकुमार वर्तौला, मङ्गलप्रसाद गुप्ता, रन्जु कुमारी झा, रमेश लेखक, राम कुमार राई रहनुभएको छ ।

त्यस्तै, उक्त समितिको सदस्यमा रामहरि खतिवडा, रुपा चौधरी, डा शशाङ्क कोइराला, डा सुनीलकुमार शर्मा, शेरबहादुर कुँवर, शेरबहादुर देउवा, सन्तोष परियार, सुवासचन्द्र नेम्वाङ, सुशीला थिङ र सोविता गौतम हुनुहुन्छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा अमृतादेवी अग्रहरि, असिम शाह, कान्तिका सेजुवाल, किशोर सिंह राठोर, कृष्णकुमार श्रेष्ठ, गणेश पराजुली, गीता बस्नेत, डोलप्रसाद अर्याल, दुर्लभ थापा क्षेत्री, मनबहादुर गुरुङ, महेन्द्रबहादुर शाही, मोहनबहादुर बस्नेत, रघुवीर महासेठ र रणेन्द्र वराली रहनुभएको छ ।

समितिका सदस्यमा रमा कोइराला पौड्याल, राजु थापा, रामशङ्कर यादव, रेखा यादव, लक्ष्मी महतो कोइरी, लालप्रसाद साँवा लिम्बू, सपना राजभण्डारी, शान्ति चौधरी, सीता मिजार, सूर्यमान तामाङ (दोड़), सोनू मुर्मु र हेमराज राई हुनुहुन्छ ।

महिला तथा सामाजिक मामिला समिति अनिता देवी, अस्माकुमारी चौधरी, आशा विक, ईश्वरबहादुर रिजाल, उमरावती देवी, कल्पना मियाँ, चन्दा चौधरी, जावेदा खातुन जागा, टोपबहादुर रायमाझी, धनराज गुरुङ, विना देवी, माया राई, मंज शर्मा अन्सारी रहनुभएको छ ।

समितिको सदस्यहरुमा रोसन कार्की, लक्ष्मी तिवारी, शान्ति विक, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, सरस्वती बजिमय, सीताकुमारी राना, हर्कमाया विश्वकर्मा र हितबहादुर तामाङ रहनुभएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिमा अजय कुमार चौरसिया, अम्बिका बस्नेत, ईश्वरीदेवी न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गगनकुमार थापा, चन्दा कार्की (भण्डारी) चित्रबहादुर केसी, दिलेन्द्रप्रसाद बडू, दुर्गा राई, पृथ्वीसुब्बा गुरुङ, प्रकाश अधिकारी, बलराम अधिकारी, वासुदेव घिमिरे रहनुभएको छ ।

सदस्यहरुमा बुद्धिमान तामाङ, मेनकाकुमारी पोखेरेल, रघुजी पन्त, रवि लामिछान, राजेन्द्रकुमार राई, राजेन्द्रप्रसाद पाण्डे, लिलानाथ श्रेष्ठ, विश्वप्रकाश शर्मा, सर्वेन्द्रनाथ शुक्ला, सरिता प्रसाई, हितराज पाण्डे र हृदयराम थानी रहनुभएको छ ।

पूर्वाधार विकास समितिमा उर्मिला माझी, ऐनबहादुर शाही ठकुरी, कल्पना चौधरी, खमबहादुर गर्बुजा, गोकर्णराज विष्ट, चन्द्रकान्त राउत, ठाकुरप्रसाद गैरे, दयाल बहादुर शाही, दिनेशकुमार यादव, दीपकबहादुर सिंह, धनबहादुर बुढा, निर्मला कोइराला, निशा डागी, प्रतिमा गौतम र प्रदीप पौडेल रहनुभएको छ ।

समितिको सदस्यहरुमा प्रेमबहादुर महर्जन, बसन्तकुमार नेम्वाङ्ग, महेश बस्नेत, माधव सापकोटा, मैना कार्की, राजकुमार गुप्ता, राजेन्द्र बजगाई, लालबिर चौधरी, बिना लामा, शिव नेपाली, शंकर भण्डारी र सुशीला श्रेष्ठ रहनुभएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा अरुणकुमार चौधरी, ईश्वरी घर्ती, उर्मिला देवी, कालुराम राई, डा चन्द्रकान्त भण्डारी, सुनीलाल विश्वकर्मा, डिंगबहादुर लिम्बू, डा तोसीमा कार्की, दीपा शर्मा, दीपक कार्की, देवेन्द्र पौडेल, प्रभु हजरा दुसाध, बद्रीप्रसाद पाण्डे रहनुभएको छ ।

उक्त समितिको सदस्यहरुमा भानुभक्त जोशी, मनोरमा शेरचन, महेन्द्रकुमार राय, मिना यादव, योगेश गौचन थकाली, रामप्रकाश चौधरी, लिलादेवी बोखिम (लिम्बू), विद्या भट्टराई, विनिताकुमारी सिंह, वीना जैसवाल, सरिता भुसाल, सुमना श्रेष्ठ र ज्ञानु बस्नेत सुवेदी हुनुहुन्छ ।

सार्वजनिक लेखा समितिमा अच्युतप्रसाद मैनाली, डा अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, ऋषिकेश पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारालामा तामाङ, तेजुलाल चौधरी, दामोदर भण्डारी, दिपक गिरी, देवप्रसाद तिमलसेना, प्रदिप यादव, प्रेमबहादुर आले, मञ्जु खाण र मनिष झा रहनुभएको छ ।

समितिका सदस्यहरुमा योगेशकुमार भट्टराई, राजेन्द्रकुमार केसी, राजेन्द्रप्रसाद लिङ्देन, रामकृष्ण यादव, रुक्मणि राना बराइली, लेखनाथ दाहाल, विक्रम पाण्डे, श्यामकुमार घिमिरे, सराज अहमद फारुकी, सञ्जयकुमार गौतम र हरि ढकाल हुनुहुन्छ ।

कामको गुणस्तर बढाउन प्रहरी कर्मचारीलाई महानिरीक्षकको निर्देशन

काठमाडौँ – प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले सञ्चालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउन निर्देशन दिनुभएको छ ।

उहाँले नागरिकको विश्वास जगाउन तथा विश्वासको अभिवृद्धि गर्न सेवामा समर्पित हुँदै नेपाल सरकार र प्रहरी सङ्गठनको लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

काठमाडौँमा आज भएको नेपाल प्रहरीको कार्ययोजना, २०७९ र कार्यसम्पादन सम्झौताको कार्यप्रगति समीक्षा बैठकमा प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धान तथा नियन्त्रणका साथै अभियुक्तलाई कानूनी दायरामा ल्याउन अझ सक्रियताका साथ लाग्नसमेत निर्देशन दिनुभयो । उहाँले आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिका लागि ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताउनुभयो ।

शान्ति सुरक्षामा आउने समस्या र चुनौतीको सामना गर्न सबै प्रहरी कार्यालयलाई आवश्यक रणनीति तथा कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै जान उहाँले निर्देशन दिनुभयो ।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगङ्जका प्रतिनिधि, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान ब्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता थियो ।

उहाँहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्यप्रगति, विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक सेवालगायत आ–आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाहीलगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण

लुम्बिनी – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज पदभार ग्रहण गर्नुभएको छ ।

बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको सपथ लिएपछि उहाँले प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको बताउनुभयो । उहाँले प्रदेशको स्थायित्व र विकासका लागि सरकारले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । “राजधानी घोषणादेखि कार्यान्वयनमा हामी सँगसँगै छौँ”, उहाँले भन्नुभयो, “हामी सहभागी अघिल्लो सरकारले राजधानी कार्यान्वयन र पूर्वाधार निर्माणको काम गरेको थियो । अहिले पनि निरन्तरता दिन्छौँ ।”

नवनियुक्त मुख्यमन्त्री चौधरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख शेरचनले आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । गत पुस २७ गते नेकपा (माओवादी केन्द्र) सहितका दलको समर्थनमा सरकारको नेतृत्व गर्नुभएका नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले गत सोमबार प्रदेशसभामा दोस्रो पटक राख्नुभएको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि उहाँको नेतृत्वको सरकार ढलेको हो ।

मुख्यमन्त्री चौधरी नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एक जना र स्वतन्त्र एक सांसद गरी ५३ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

नेपालको सुरक्षित र आकर्षक पर्यटनको सन्देश फैलाउनुपर्छ : अध्यक्ष शाह (अन्तर्वार्ता)

काठमाडौँ – नेपाल होटल सङ्घ (हान) को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मतरूपमा निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको साधारणसभाले उहाँसहित आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ अध्यक्षमा निर्वाचित हुँदै गर्दा कोरोना महामारीले थलिएको होटल क्षेत्र अझै पनि पुरानो लयमा फर्कन सकेको छैन । ‘रिभाइभल’को चरणमा रहेको होटल क्षेत्रका आजका समस्या, तिनका समाधानका लागि विभिन्न पक्षको भूमिका र नेपालको पर्यटन क्षेत्रको विकासका लागि चालिनुपर्ने कदमलगायतका विषयमा केन्द्रित रही राष्ट्रिय समाचार समितिका लागि उपसम्पादक कमलकुमार बस्नेत र समाचारदाता सिबी अधिकारीले नवनिर्वाचित अध्यक्ष शाहसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ।

होटल सङ्घ नेपाल (हान)को १४औँ अध्यक्षमा निर्वाचित हुनुभएको छ । हानले यसपटक पनि सर्वसम्मत नै नेतृत्व चयन गर्न सफल भयो होइन ?

होटल सङ्घ नेपाल (हान)सँग ५७ वर्ष लामो इतिहास छ । यसबीचमा दुई पटक मात्रै निर्वाचन भएको छ । बाँकी सबै कार्यकाल सर्वसम्मत नै कार्यसमिति चयन भएको छ । हामी विशुद्ध व्यावसायिक सङ्गठन हौँ । राजनीतिक आस्थालाई सङ्घमा हावी हुन दिएका छैनौँ । पक्कै पनि कार्यसमिति निर्वाचित हुँदै गर्दा आकाङ्क्षी धेरै हुनुहुन्छ । यसपटक पनि हुनुहुन्थ्यो तर सबैलाई सहमतिमा ल्याउन सफल भयौँ । सबै साथीको आआफ्नै जिम्मेवारी छ । कार्यसमितिमा भए पनि नभए पनि उहाँहरुको योगदान सङ्घमा रहने नै छ । सहमतिका आधारमा नेतृत्व चयन हुँदा हाम्रो अनावश्यक खर्च जोगिएको छ । हामीबीच व्यावसायिक सौहार्दता पनि कायम हुने नै भयो । यसपटक नौ वटै वर्गका होटलबाट दुई जनाका दरले १८ जना छनोट गरी त्यसमध्येबाट अन्य पदाधिकारीहरू छनोट गरिएको हो ।

हानको अध्यक्षका रूपमा तपाईंका प्राथमिकता के हुनेछन् ?

अध्यक्ष निर्वाचित भएसकेपछि मैले गर्ने काम विधानमा उल्लेख भएबमोजिम नै हुने हो । विधानमा सङ्घको उद्देश्य नै देशभरका सदस्यका व्यवसायलाई बलियो बनाउने, उहाँहरूका समस्या समाधानका लागि पहल गर्ने नै भन्ने हो । त्यसैका आधारमा मैले काम गर्नेछु । सङ्घलाई यहाँसम्म ल्याउनका लागि पूर्वअध्यक्षहरूले पु¥याउनुभएको योगदानलाई कदर गर्दै सङ्घको छवि अझ उँचो बनाउनमा केन्द्रित हुनेछु । अहिले होटल क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि मेरो पूर्ण प्रयत्न हुनेछ । त्यसबाहेक होटल क्षेत्रलाई राष्ट्रिय उद्योग सरहको मान्यता दिलाउने विषयमा पनि मैले सक्दो प्रयास गर्नेछु । आगामी वर्षको बजेट निर्माण हुँदैछ बजेटमा हाम्रा माग सम्बोधन होस् भनी प्रयास पनि जारी नै रहनेछ ।

कोरोना महामारीले प्रभावित अन्य क्षेत्र लयमा फर्किए पनि होटल क्षेत्र अझै समस्यामा छ भनिरहनुभएको छ । सरकारसमक्ष पनि बारम्बार सम्बोधनका लागि माग राख्नुभएको छ । वास्तवमा अहिले होटल व्यवसाय कुन अवस्थामा छ ?

कोरोना महामारीले विश्वभरको पर्यटन क्षेत्रलाई प्रभावित पा¥यो । कोरोना महामारीको असर न्यून भएको आजको अवस्थामा पनि विश्वको पर्यटन पूर्णरूपमा रिकभर भइसकेको छैन । आजका दिनमा सबै देशलाई पर्यटक चाहिएको छ । किनभने पर्यटन यस्तो एउटा क्षेत्र हो जसका कारण अन्य कैयन क्षेत्रको विकास सम्भव छ । पर्यटन क्षेत्रबाट छोटो समयमै आर्थिक समृद्धि ल्याउन सकिन्छ । आजका दिनमा होटल ३० प्रतिशत अकुपेन्सीमा सञ्चालन भइरहेका छन् । जबकि सञ्चालन खर्च धान्नका लागि मात्रै पनि कम्तीमा ३८ प्रतिशत अकुपेन्सी आवश्यक पर्छ । तर आजका दिनमा हामीसँग कोरोना महामारीभन्दा अघिको जत्तिको पनि पर्यटक आएको अवस्था छैन । अब हामीले पर्यटक बढाउनका लागि प्याकेज ल्याउन सक्नुपर्छ । तीन वर्षसम्म पर्यटक नआएपछि होटलका कोठाहरू खाली भए भने आम्दानी नभएपछि बैंकबाट लिएको ऋणको साँवा तथा ब्याज तिर्न पनि नसक्ने अवस्था भयो । गत आर्थिक वर्षसम्म त सरकारले मौद्रिक नीतिमार्फत सम्बोधनको प्रयास गरेको थियो तर चालु आवदेखि त्यो पनि छैन । त्यसैले अहिलेको समस्या समाधानका लागि हामीले सरकारसमक्ष आफ्ना समस्या राखेका छौँ ।

होटल क्षेत्रमा खर्बौं रुपैयाँ लगानी भइसकेको छ । पर्यटक नआउने हो भने ब्याज तिर्न पनि गाह्रो हुने अवस्था छ । समस्या कहाँ छ भन्ने लाग्छ ?

होटलमा सरकारको वार्षिक बजेट जत्तिकै अर्थात् १७ देखि १८ खर्ब रुपैयाँ लगानी भएको छ । पाँचतारे होटल मात्रै १८ वटा पुगिसके भने काठमाडौँ बाहिर १८ देखि २० वटा राम्रा होटल आउने तयारी अवस्थामा छन् । सन् २०२२ मा करिब छ लाख पर्यटक आएका छन् । तर होटलको क्षमता भने ३५ लाख पर्यटक धान्ने छ । यस्तो अवस्थामा आन्तरिक पर्यटक केही बढे पनि होटलले आम्दानी लिन सकेका छैनन् । यस्तो अवस्थामा होटलमा भइरहेको लगानी जोगाउनका लागि तत्कालै पोखरा र भैरहवाका विमानस्थल राम्रोसँग सञ्चालन गर्नुपर्छ । विमानस्थल बनाउने तर सञ्चालन नै गर्न सकिएन भने अर्थ हुँदैन । हामीले राष्ट्रिय ध्वजावाहक विमान पनि चलाउन सकेका छैनौँ । विमानस्थल नै नचल्ने हो भने हामीले ३५ लाख पर्यटक ल्याउन पनि त सक्दैनौँ । यसमा सरकारी संयन्त्रबाटै पर्याप्त मार्केटिङ नभएको हो कि भन्ने पनि लाग्छ । यसका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्न पनि सक्छ ।

होटलमा भइरहेको लगानीको जोखिम कत्तिको देख्नुहुन्छ ?

कुनै पनि क्षेत्रमा गरिने लगानीमा जोखिम त जहिले पनि रहन्छ । अझ होटलमा गरिने लगानी उठ्न त लामो समय लाग्नु स्वाभाविक हो । होटलमा लगानी गर्दा लगानीकर्ताले नै २० देखि २५ वर्षको समय हेरेकै हुन्छ । सुरुआतमा घाटामै सञ्चालन गरिन्छ । पछिल्लो समय नेपालमा लक्जरियस होटल आउनेक्रम पनि जारी छ । मुस्ताङमा हाइब्राण्ड होटल सिन्तामणि आएको छ भने इन्टरकन्टिनेन्टलले चार वटा होटल ल्याउँदैछ । यसरी विश्वका राम्रा होटल नेपाल आउनुको अर्थ सम्भावना भएर नै हो । यस्तो अवस्थामा सरकारले हाम्रा समस्या सुनिदिनुपर्छ । आजका दिनमा हामीसँग व्यवसाय गर्ने आत्मविश्वास नै छैन । सम्भावना हुँदाहुँदै पनि प्रोत्साहन भएन भने काम गर्न पनि मन लाग्दैन । अपेक्षाकृत पर्यटक आउने हो भने होटलमा भइरहेको लगानी जोखिममा पर्ने हुँदैन । हामीले भारत र चीनबाट मात्रै पनि लाखौँको सङ्ख्यामा पर्यटक ल्याउन सक्छौँ । चीनबाट ठूलो सङ्ख्यामा पर्यटक ल्याउन सकिन्छ तर त्यसका लागि हामीसँग पर्याप्त ‘कनेक्टिभिटी’ छैन । चीनसँग सातामा पाँच वटा उडान मात्रै छ । जबसम्म कनेक्टिभिटी बढाउन सकिन्न तबसम्म चिनियाँ पर्यटक पनि ल्याउन सकिन्न । भारत पनि हाम्रा लागि ठूलो बजार हो । यसका लागि सरकारले केही प्रयास गर्नुपर्ने हुन्छ । कोरोना महामारी शून्यको अवस्थामा आइसकेपछि सरकारले नै नेपाल भ्रमणका लागि सुरक्षित गन्तव्य हो भन्ने खालको सन्देश दिन सक्नुपर्ने थियो भन्ने लाग्छ ।

पर्यटन क्षेत्रलाई हेर्ने व्यवहार कस्तो पाउनुभएको छ ?

पर्यटन क्षेत्रलाई हेर्ने दृष्टिकोण पनि राम्रो भएन भन्ने लाग्छ । पर्यटन क्षेत्र सरकारी परिभाषामा होटल क्षेत्र सेवा व्यवसाय हो । उद्योग होइन । उद्योग नहुँदा हामीले सुविधा पाएका छैनौँ । उद्योगले विद्युत् महसुल प्रतियुनिट रु छ तिर्छ भने हामीले महँगो शुल्क तिर्नु परिरहेको छ । मुलुकमा विदेशी मुद्रा आर्जन गर्ने र लाखौँलाई रोजगारी दिने पर्यटन क्षेत्रलाई उद्योगको मान्यता दिने हो भने निकै सहज हुने थियो । कोरोना महामारीपछि होटलको व्यवसाय राम्रो छैन । कति होटल बन्द अवस्थामा छन् भने कतिपय पलायन अवस्थामा छन् । सञ्चालन भएका होटलले पनि सञ्चालन खर्च धान्न सकेको अवस्था छैन । यससम्बन्धी सबै तथ्याङ्क नेपाल राष्ट्र बैंकसमक्ष छ तर सो अनुरुप समस्या समाधानका लागि सम्बोधन भएको छैन ।

आजका दिनमा होटल क्षेत्रका समस्या समाधानका लागि सरकारले के गर्नुपर्छ जस्तो लाग्छ ?

सबैभन्दा पहिले त सरकारले होटल क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता दिनुपर्छ । डा बाबुराम भट्टराई प्रधानमन्त्री भएको समयमा मन्त्रिपरिषद्को बैठकले होटललाई उद्योग क्षेत्रको मान्यता दिने विषयमा अघि बढे पनि त्यसले मूर्तरूप पनि लिन सकेको थिएन । अहिले होटल क्षेत्रले उद्योगको मान्यता नपाउँदा विभिन्न सेवा तथा सुविधाबाट वञ्चित भएको अवस्था छ । त्यसबाहेक सरकारले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवाला, निजी क्षेत्रसँग सहकार्य गर्न जरुरी छ । विदेशी पर्यटक ल्याउने विषयमा नेपाल पर्यटनका लागि सुरक्षित गन्तव्य हो भन्ने सन्देश सरकारले दिनसक्नुपर्छ । पर्यटकले विमानस्थलमा उत्रनेबित्तिकै खर्च गर्न सुरु गर्छ ।

युनाइटेड नेसन्स वल्र्ड टुरिजम अर्गनाइजेसनका अनुसार एक जना पर्यटक आउँदा ११ जनालाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगार दिन्छ । यस अर्थमा पर्यटन क्षेत्रको विकासले अन्य विभिन्न क्षेत्रलाई समेट्न सक्छ । कोरोना महामारीपछि कोरोना महामारीका कारण प्रभावित यस क्षेत्रबारे सरकारले श्वेतपत्र जारी गरी नयाँ कार्यनीति बनाएर अघि बढ्नुपर्छ । यसका लागि सबै सरोकारवाला निकाय, निजी क्षेत्र र सरकार मिलेर काम गर्न सकियो भने यसले राम्रो प्रतिफल दिनसक्छ भन्ने मेरो विश्वास छ ।

विष्णु पौडेल अर्थमन्त्री भएका बेला अध्यादेशमार्फत ल्याइएको बजेटमा एक वर्ष पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिइएको थियो । त्यसले होटल क्षेत्रलाई ठूलो राहत भयो । तर त्यसपछि बनेको सरकारले त्यसलाई निरन्तरता दिएन । अब सरकारले पर्यटन क्षेत्रलाई उद्योगसरहको मान्यता दिनुपर्छ । उद्योगको मान्यता नहुँदा यो क्षेत्र विभिन्न सुविधा पाउनबाट वञ्चित भएको छ । यस्ता समस्या सरकारले सुनिदिएर आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्छ ।

विदेशी पर्यटक बढाउन के गर्न सकिन्छ ?

हामीले नेपालमा पर्यटकको सङ्ख्या बढाउनका लागि प्याकेज दिन सक्नुपर्छ । अन्य देशका गन्तव्यको तुलनामा हामीले के फरक दिन सक्छौँ भन्ने हो । सन् २०१९ को तुलनामा अहिले एक तिहाइ पर्यटक मात्रै भएको अवस्था छ । सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउनका लागि पर्यटक आकर्षित गर्न ‘लाइफ टाइम एक्सपेरियन्स’का कार्यक्रम ल्याएका थियौँ । तर ती कार्यान्वयन भएनन् । अब सरकारले नेपाल भ्रमण दशक भनेर मनाउने योजना ल्याएको छ । जसअनुसार सन् २०३३ सम्ममा ३५ लाख पर्यटक ल्याउने योजना छ । आजका दिनमा पनि होटल मात्रै होइन, विमान कम्पनी, ट्राभल ट्रेकिङ एजेन्सीहरू सबैले आ–आफ्नो तरिकाले काम गरिरहेका छौँ । तर यो राष्ट्रियस्तरबाट संयोजन हुन नसकेको अवस्था छ । यदि राष्ट्रियस्तरबाट संयोजन हुने हो भने धेरै काम गर्न सकिन्छ । नेपालमा पर्यटक बढाउनका लागि आगामी दुईदेखि तीन वर्षमा दुई÷तीन वटा ‘इन्टरनेशनल मेगा इभेन्ट’ गर्नु आवश्यक छ । त्यसो भयो भने सरकार र निजी क्षेत्रले एउटै बोली बोल्ने हुन्छ र सन्देश राम्रो जान्छ । नेपाल ‘एड्भेञ्चर’का लागि राम्रो गन्तव्यका रूपमा प्रचारप्रसार गर्ने हो भने त्यसका लागि दुई÷तीन वर्ष त तयारीका लागि नै चाहिन्छ । सन् २०२३ देखि काम सुरु गर्ने हो भने सन् २०२५ सम्म काम गर्न सकिन्छ । यसका लागि सरकारले आगामी वर्षको बजेटमार्फत यो क्षेत्रलाई सम्बोधन गर्नुपर्ने अवस्था छ ।

पर्यटनमन्त्रीले पर्यटन ऐन परिवर्तन गर्छु भन्नुभएको छ । पुरानो ऐनका कारण पनि समस्या हो ?

नेपालको पर्यटन ऐन विसं २०३५ मा बनेको हो । त्यो तत्कालका लागि राम्रो थियो तर आजका दिनमा समयसापेक्ष छैन । मुलुक सङ्घीयतामा गइसकेको अवस्थामा पनि ऐनलाई सोहीअनुसार परिवर्तन गर्न जरुरी छ । हानलाई पनि सात वटै प्रदेशमा लैजाने गरी विधान संशोधन गर्ने तयारीमा छौँ । आजका दिनमा गण्डकी प्रदेशले पर्यटन क्षेत्रको राजधानीका रूपमा आफूलाई विकास गर्ने प्रयास गरिरहेको छ । प्रदेश सरकारहरूले पनि पर्यटन क्षेत्रलाई आर्थिक समृद्धिको क्षेत्र मानेकाले पर्यटन क्षेत्रको विकासका लागि लगानी ल्याउने गरी नीति बनाउनुपर्छ ।

कला र संस्कृतिको विकासमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली कला, संस्कृति, गीत–सङ्गीतको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।मिडिया सोलुसन प्रालिले आज आयोजना गरेको ‘म्युजिक अवार्ड–२०७९’ वितरण समारोहमा उहाँले सरकारले कला, संस्कृति, गीत–सङ्गीतलाई प्रोत्साहन गर्दै लगिएको बताउनुभयो ।

“कला, संस्कृति, गीत–सङ्गीत समाजको यथार्थतालाई अभिव्यक्ति गर्ने माध्याम हो, पुस्तान्तरणमा कला संस्कृतिको महत्वपूर्ण योगदान रहेको छ”, उहाँले भन्नुभयो । समाजको विकासमा कला, संस्कृतिको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री श्रेष्ठले म्युजिक अवार्ड विजेता कलाकारबाट समाजले आगामी दिनमा कला संस्कृति, गीतसङ्गीबारे धेरै कुरा सिक्ने विश्वास व्यक्त गर्नुभयो ।म्युजिक अवार्ड वितरण समारोहका अध्यक्ष सुमन पण्डित ‘बैरागी’ले नेपाली गीत–सङ्गीत क्षेत्रलाई क्रियाशिल बनाउन म्युजिक खबर टिमले विगत एक दशकदेखि अवार्ड प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा म्युजिक खबर दीर्घ साधना सम्मान–२०७९ बाट वरिष्ठ गायीका तीर्थकुमारी थापा, दशकको स्रष्टा सम्मान गायक भोजराज काफ्ले, दशकको स्रष्टा सम्मान गायीका निशा देशार, सङ्गीत पत्रकारिता सम्मान वरिष्ठ रङ्गपत्रकार सानुकाजी श्रेष्ठलाई प्रदान गरियो ।

यस्तै, म्युजिक खबर रेडियोकर्मी सम्मान रेडियोकर्मी चन्द्रमणि गौतम, डायस्पोरा सङ्गीत सम्मान गायक प्रेमराज महत, युवा प्रतिभा सङ्गीत सम्मान गायीका मनिषा पोखरेल, बालप्रतिभा प्रोत्साहन सम्मान गायीका आयुषा गौतम र सङ्गीत स्रष्टा सम्मान गीतकार राम अविरललाई प्रदान गरियो ।

फलामको रडले घोचिएर नेपाली सेनाका जवानको मृत्यु

कलैया – बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडमा घोचिएर एक नेपाली सेनाका जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा नेपाली सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको प्रहरी प्रवतmा पुरुषोत्तम सिंह पाण्डेयले जानकारी दिनुभयो ।

बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतकराम वीरगञ्जबाट कलैया जाने क्रममा कलैया वीरगञ्जको बीचमा पर्ने कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको फलामको रड लोड गरेका ट्र्याक्टरमा पटाडी पर्टीबाट घोचिँदा निजको घटनास्थलमा मृत्यु भएको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिनुभयो । मृत राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।

महाविर पुन आन्दोलनमा, माइतीघर मण्डलामा धर्ना शुरु

काठमाडौं – राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन आन्दोलनमा उत्रेका छन् ।  उनले आज माइतीघरमा धर्ना शुरु गरेका छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रने घोषणा गरे अनुसार आज उनले माइतीघर मण्डलामा प्रदर्शन शुरु गरेका छन् ।

पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेका छन् ।

उत्पादनमुखी अर्थतन्त्रले मात्र समृद्धि हासिल हुन्छ : उद्योगमन्त्री रिजाल

पर्सा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताउनुभयो ।

नेपाल ब्यूटिसियन सङ्घको वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री रिजालले विश्वका ठूला कम्पनीहरु नेपालमा आ–आफना शाखा विस्तार गर्न थालिसकेको बताउँदै उत्पादनमुखी बाटोले नै समृद्धिको गणतव्यसम्म पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री रिजालले आफू अनुकूल भएका मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई सबै राजनीतिक दललाई कमजोर बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बीचको अत्यधिक मत्वकाङ्क्षाले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको बताउनुभयो ।

रुसले युरोपमा तेल आपूर्ति घटाउने

मस्को – रुसले युरोपमा कच्चा तेल र तेल उत्पादनको निर्यातमा ठूलो मात्रामा कटौती गर्ने र बचत गरिएको मात्रा एसियामा पुर्यानउने योजना बनाएको छ । रुसी उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले बिहीबार सो बारे बताउनुभएको हो ।

रुसले सन् २०२२ मा एसियामा करिब ४ करोड टन कच्चा तेल र तेल उत्पादन र युरोपमा १८ करोड टन निर्यात गरेको नोभाकले ऊर्जा सम्बन्धित कार्यक्रममा पत्रकारहरूलाई बताउनु भएको छ ।

यो वर्ष १४ करोड टन तेल र तेल उत्पादन पूर्वतर्फ जानेछ । करिब ८०-९० मिलियन टन पश्चिमतर्फ पठाइनेछ।

अव्यवस्थित तार हटाउँदै वीरगन्ज महानगर

वीरगन्ज – वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रभित्र अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने भन्दै महानगरपालिकाले अव्यवस्थितरूपमा राखिएका इन्टरनेट तथा टेलिफोनका तार हटाउन थालेको हो ।

पहिलो चरणमा आइतबारदेखि घन्टाघर क्षेत्रबाट अव्यवस्थित तार हटाउने काम सुरु गरिने सेवा प्रवाह गर्ने सेवा प्रदायक कम्पनीका प्रतिनिधिसहितको बैठकले निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिनुभयो । महानगरले पटक–पटक तार व्यवस्थापनका लागि पहल गर्दासमेत सेवा प्रदायक कम्पनीले चासो नदेखाएपछि आइतबारबाट काटेरै हटाउन लागिएको हो ।

बैठकमा महानगरभित्र सेवा प्रवाह गर्ने सबै इन्टरनेट तथा केवल सेवा प्रदायकका प्रतिनिधि बोलाइएको भए पनि पाँचवटा सेवा प्रदायकका प्रतिनिधिमात्रै सहभागी भएका थिए । नेपाल टेलिकम, सिजी नेटवर्क, भायनेट, म्याक्स र हकनेटका प्रतिनिधि बैठकमा सहभागी थिए ।

वीरगन्जको मुख्य सडक र शाखा सडक छेउमा रहेका विद्युतीय पोल र टेलिकमका पोलमा विभिन्न कम्पनीका नेट सेवा प्रदायक तथा अन्य संस्थाले टाँगेका तार अव्यवस्थित रहेको र यसले महानगरको सौन्दर्यतालाई नै कुरूप बनाएकाले महानगरले व्यवस्थापनका लागि पटक–पटक प्रयास गर्दै आइरहेको छ ।

अव्यवस्थित तारका कारण नगर क्षेत्रमा दुर्घटना हुँदै आएको र आगामी दिनमा पनि यसबाट अन्य मानवीय दुर्घटना हुनसक्ने हुँदा ती तारको व्यवस्थापन गर्न तार काटेरै अघि बढ्न थालेको हो ।

ठाकुरराममा पठनपाठन थालियो

वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ । बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो । आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिनुभयो ।

क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिनुभएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी सङ्गठनले यही वैशाख ४ गते क्याम्पसमा तालाबन्दी गरेका थिए भने त्रिवि कर्मचारी सङ्घले पठनपाठन सञ्चालन गर्नुपर्ने माग गर्दै क्याम्पसमा तालाबन्दी गरेका थिए ।

तालाबन्दीका कारण विगत दुई सातादेखि क्याम्पसको पठनपाठन प्रभावित हुँदै आएको थियो । विद्यार्थी सङ्गठनले उठाएका माग सम्बोधन गर्न त्रिभुवन विश्वविद्यालयमा पत्र पठाएर पहल गर्ने सहमति भएसँगै ताला खोलिएको क्याम्पस प्रमुख रमणले बताउनुभयो ।

मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामी बोक्न हेलिकप्टरको भाडा बेहोर्दै

मनाङ-सडक सुविधाबाट वञ्चित मनाङको नार्पाभूमि गाउँपालिकाले बिरामीलाई हेलिकप्टरमा उद्धार गर्दैआएको छ । सडकको पहुँच नहुँदा यहाँका बासिन्दा उपचार गर्न समस्या हुने गरेको छ । यही समस्यालाई ध्यानमा राख्दै गाउँपालिकाले कुल भाडाको ५० प्रतिशत बेहोर्दै बिरामीलाई हेलिकप्टरमार्फत उपचारमा सहयोग गर्न थालेको हो ।

मनाङको विकट क्षेत्रमा पर्ने नार्पाभूमि सडकमार्गको पहुँचमा हालसम्म पुग्न सकेको छैन । स्थलमार्गको सहज पहुँच नहुँदा बिरामी उपचारका लागि हेलिकप्टरको भर पर्नुपर्ने अवस्था रहेको गाउँपालिकाका अध्यक्ष कोञ्जोतेञ्जिङ लामाले बताउनुभयो । “गम्भीर बिरामीलाई उपचारको व्यवस्था गर्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।

जिल्लामा भरपर्दो स्वास्थ्य सेवा छैन । गम्भीर वा जटिल प्रकृतिका बिरामीलाई पोखरा, काठमाडौँलगायत ठाउँका अस्पताल लैजान हेलिकप्टर चार्टर्ड गर्नुरेको उहाँले बताउनुभयो । पालिकाले विपन्न स्थानीयवासीको उपचारका लागि हेली चार्टर्डमा ५० प्रतिशत खर्च व्यहोर्ने गरेको लामा बताउनुहुन्छ ।

“हेलिकप्टर चार्टर्ड गर्न पालिकावासी सबै सक्षम छैनन्, त्यसैले विपन्नलाई उपचार तथा स्वास्थ्य पहुँचमा पु¥याउन यो निर्णय गरेका हौँैँ”, अध्यक्ष लामाले भन्नुभयो । हालसम्म पालिकाले सात गम्भीर तथा जटिल प्रकृतिका बिरामीलाई ५० प्रतिशत खर्च व्यहोरेर हेलिकप्टर चार्टर्डमार्फत उपचारका लागि अस्पतालसम्म पु¥याएको उहाँले बताउनुभयो ।

नवनिर्वाचित रबि लामिछाने र स्वर्णिम वाग्लेको आज सपथ हुदै

काठमाडौं -यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित तीनजना प्रतिनिधिसभा सदस्यहरुको शपथग्रहण आज हुने भएको छ ।चितवन-२ बाट निर्वाचित रवि लामिछाने, बारा–२ बाट निर्वाचित उपेन्द्र यादव, तथा तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज बिहान ११.३० बजे शपथग्रहण हुने तयारी गरिएको छ ।

निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनाका साथै सांसदको लोगो वितरण गर्ने कार्यक्रम तय भएको छ ।

गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपति उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो । साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति हुनुभएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त हुनुभएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिनुभएको हो ।


 

साझापुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री जलवाको मृत्यु

भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।

गए राति ना२२प ६८०० नंको मोटरसाइकलले पैदल हिँडिरहेका महतोलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते महतोको भरतपुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

मोटरसाइकलचालक भरतपुर–२७ का ३४ वर्षीय शिवनारायण महतो पनि घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।