सिरियाका राष्ट्रपतिद्वारा मध्यपूर्वमा शान्ति स्थापनार्थ चीनको भूमिकाको प्रशंसा


सिरिया – सिरियाका राष्ट्रपति बशर अल असदले सिरियाप्रति चीनको सहयोगी अडान र इरान–साउदी मेलमिलापलगायत महत्वपूर्ण क्षेत्रीय समस्या समाधानमा चीनको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
शनिबार राजधानी दमास्कसमा मध्यपूर्व मामिलाका लागि चीनका विशेष दूत झाई जुनसँगको भेटमा असदले उक्त टिप्पणी गर्नुभएको हो । सिरियाको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र क्षेत्रीय अखण्डतासँग सम्बन्धित मुद्दाहरूमा चीनको दृढ समर्थनको सिरियाले सराहना गरेको उहाँले बताउनुभयो ।
सिरियाले बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कभित्र रहेर चीनसँग विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई मजबुत बनाउन चाहेको उहाँले बताउनुभयो ।
यसैबीच असदले इरान र साउदी अरबबीचको मेलमिलापमा सफलतापूर्वक मध्यस्थता गरेकोमा चीनलाई बधाई दिँदै यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिमा महत्वपूर्ण र सकारात्मक प्रभाव पार्ने बताउनुभएको छ ।
सिरियाको अन्य अरब राष्ट्रसँगको सम्बन्धलाई प्रबद्र्धन गर्न चीनले खेलेको सकारात्मक भूमिकाको प्रशंसा गर्दै असदले क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न चीनले ठूलो भूमिका निर्वाह गरेकोमा स्वागत गर्नुभयो ।
हालैका वर्षहरूमा चीन–सिरिया सम्बन्ध निरन्तर विकसित हुँदै गएको र राजनीतिक पारस्परिक विश्वास निरन्तर वृद्धि भएको उल्लेख गर्दै सिरियासँग मिलेर दुई देशको मुख्य चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक सहयोग गर्न र नयाँ प्रगति हासिल गर्न दुवै पक्षबीच मैत्रीपूर्ण सहयोग लाई बढावा दिन चीन इच्छुक रहेको झाईले बताउनुभयो ।