`

जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक – महरा

भालुवाङ – पूर्वसभामुख कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताउनुभएको छ । अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

नेपाल दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताउनुभयो ।

“हामीले यसरी वर्गीय विभेदलाई निर्मूल पार्नका लागि लडाईं लड्दै गर्दा पनि देशका कैयौँ ठाउँमा दलित कुटिएका छन्, हेपिएका छन्, दुव्र्यवहारमा परेका छन्, त्यस कारण मलाई लाग्छ सामन्तसँगको लडाईं अझै सकिएको छैन”, नेता महराले भन्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताउनुभयो । उहाँले वर्तमान सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफू आशावादी भएको बताउनुभयो ।

रुपन्देहीमा गोली चलेको आशङ्का

रुपन्देही – आज साँझ रुपन्देहीको अमवामा गोली चलेको आशङ्कामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । घाइतेले गोली चलेको भने पनि घटनास्थलमा गोली चलेको कुनै प्रमाण नभेटिएको प्रहरीको भनाइ छ ।

रुपन्देहीको सियारी गाउँपालिका–३ रगरगञ्जका १९ वर्षीय वीरेन्द्र केवटले आफूमाथि गोली प्रहार भएको बताए । रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घाँस काट्न गएको मौका पारी अज्ञात व्यक्तिले केवटको मोबाइल खोस्न खोजेका थिए । “मोबाइल खोसाखोस हँुदा केवट सामान्य घाइते हुनुभएको छ, उहाँ उपचारपछि अहिले घर फर्किसक्नुभएको छ”, अर्यालले भने, “घटनास्थलमा गोली चलेको कुनै अवशेष देखिँदैन, सम्भवतः नक्कली बन्दुक देखाएर तर्साएको हुनुपर्छ । यसबारे हामीले अनुसन्धान सुरु गरेका छौँ ।”

तीन हुण्डी कारोबारी पक्राउ

वीरगञ्ज – हुण्डी कारोबार आरोपमा रकमसहित ३ जना पक्राउ परेका छन् । वीरगञ्ज–८ स्थित सडकखण्डबाट चेकजाँच गर्ने क्रममा बारा परवानीपुर गाउँपालिका–३ लिपनीमाल बस्ने कृष्णप्रसाद सोनार र सुनिल साह कानुलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाको साथबाट स्रोत नखुलेको साढे पाँच लाख रकम बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ ।

यस्तै, वीरगञ्ज–११ स्थित सडकखण्डमा प्रदेश ३–०३–००१ प १२३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा बारा जितपुर सिमरा उपमहानगरपालिका–७ बस्ने छठु महतोलाई स्रोत नखुलेको चौध लाख रकमसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।

महोत्तरीमा सवारी दुर्घटना हुँदा श्रीमान श्रीमतीसहित तीन जनाको मृत्यु

महोत्तरी – सवारी दुर्घटनामा परी महोत्तरीमा नवविवाहिता दम्पतीको मृत्यु भएको छ । बुधबार दिउँसो महोत्तरीको गौशालास्थित जंगलमा भएको सवारी दुर्घटनामा परी श्रीमान, श्रीमती र एक बालिकाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अन्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल छन् । अमृत र अन्जु श्रीमान श्रीमती रहेको प्रहरीले हुन् । विवाह भएको दुई महिनामै उनीहरूको मृत्यु भएको हो ।
 
आज दिउँसो अमृतले (ससुराली)बाट श्रीमतीलाई लिएर घरतर्फ गइरहेकोमा जंगलमा रहेको रेल्वे टयाक नजिकको मोडमा मोटरसाइकल बससँग ठोक्किदा तीनै जना गम्भीर रूपमा घाइते भएका थिए । 

अमृत र अंशुको बर्दिवासस्थित शुभस्वस्तिक हस्पिटलमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै अन्जुको वर्दिवास ट्रमा सेन्टरमा उपचारको क्रममा ज्यान गएको प्रहरीको भनाइ छ ।

 महोत्तरी प्रहरीले गौशालाबाट बर्दिबासतर्फ गईरहेको मधेस प्रदेश ०१ ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल गौशालातर्फ आइरहेका बा३ख २३९६ नम्बर बसमा ठोकिएको थियो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म उडान–अवतरण नहुने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिहीबार (वैशाख ७ गते) ६ घण्टा उडान अवतरण सेवा बन्द हुने भएको छ ।

विमानस्थलका अनुसार बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुयान उडान सेवा बन्द रहने जनाएको हो ।

विमानस्थल कार्यालयले एक सूचना प्रकाशित गरी अनलाइन यूपीएस जडान गर्दा विद्युत् आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने जनाएको छ । उक्त सुचना अनुसार उडान गर्ने यात्रुले आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी व्यवस्था मिलाउन समेत विमानस्थलले यात्रुलाई अनुरोध गरेको छ ।

सुटिङ सेटमा गर्ने गतिविधिबारे खुलासा – सेटमा सलमान फाटेको जुत्तामा पुग्छन्

मुम्बई । बलिउड अभिनेता सलमान खान हालका दिनमा फिल्म ‘किसी का भाई किसी की जान’का कारण चर्चामा छन् । अप्रिल १२ मा रिलिज हुने फिल्मका लागि उनका फ्यान ब्यग्र प्रतिक्षामा छन् ।

फिल्ममा उनले शहनाज गिलसँग रोमान्स गर्दैछन् । फिल्मका अन्य दुई कलाकार पलक तिवारी र जस्सी गिलका अनुसार फिल्मको सुटिङ सेटमा अभिनेता सलमान फाटेको जुत्ता लगाउँछन् ।

फिल्म प्रमोसनमा व्यस्त पलक र जस्सीले हालै मिडियासँगको अन्तरवार्तामा सलमानले सुटिङ सेटमा गर्ने गतिविधिबारे धेरै कुराको खुलासा गरेका थिए ।

‘सलमान आफूलाई ग्राउण्डेडमै राख्न चाहन्छन् । उनीसँग काम गर्दा हामीलाई कुनै सुपरस्टारसँग काम गरिरहेको छु जस्तो लाग्दैन । सलमान सेटमा चप्पल र सर्ट लगाएर आउँछन् । सलमानसँग धेरै सम्पत्ति भए पनि उनी जमिनसँग जोडिन चाहन्छन् । उनी कैयौं पटक फाटेको जुत्तामा फिल्मको सुट गर्छन्’, दुवैले भनेका छन् ।

यो फिल्म सय करोड बजेटमा निर्माण भएको हो । सलमानको यसै वर्ष ‘टाइगर ३’ फिल्म पनि रिलिज हुँदैछ । फिल्ममा कटरीना कैफ र इमरान हासमी पनि देखिँदैछन् ।

परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका – नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेपालको परिवर्तित राजनीतिमा नेपाल विद्यार्थी संघको ठूलो भूमिका रहेको बताएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका महरले शंकर देव क्याम्पसले नेविसंघको ५४औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघले नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरेका हुन्।

‘२००३ सालमा छात्राले पढ्ने संस्कृतमात्रै राज्यबाट स्वीकृत थियो। तीन धारा पाठशालामा तनहुँका श्रीवध्र शर्माहरूले नेपाली विद्यार्थीले गणित, विज्ञान र सामाजिक विषय पढ्न पाउनुपर्छ भनेर आन्दोलनको शंखघोष गरेको दिन हो। नेपालमा यात्रायात, शिक्षा, स्वास्थ्य सबै लथालिंग भएको बेला नेविसंघले ती क्षेत्रको व्यवस्थापनका लागि नेविसंघले आन्दोलनको आधिभेरि ल्याएको थियो,’ उनले भने। कांग्रेसले प्रजातन्त्र ल्याइसकेपछि नेपालमा थुप्रै विश्वविद्यालय स्थापना भएको महरले स्मरण गरे।

‘अब नि:शुल्क शिक्षा, स्वास्थ्यसँगै व्यवस्थित सञ्चार, उद्यमशीलतासहितको रोजगार जनताको अधिकार भन्ने मूल मर्मलाई राजनीतिज्ञले आत्मसाथ गर्नुपर्छ। यो मुद्दा अझैँ कार्यान्वयन भएको छैन,’ उनले भने। विद्यार्थीको सर्टिफिकेट धितो राखेर राज्यले पढ्न पाउने प्रवन्ध गर्नेु पर्नेमा आफूहरूको मागको सामान्य सुनुवाइ भए पनि पूर्ण रूपमा कार्यान्वयन नभएको महरले गुनासो गरे।

खुला विश्व विद्यालय र सेमिस्टरका कुरा पनि व्यवस्थित हुन नसकेको उनले बताए। ‘अब प्रविधियुक्त वैज्ञानिक शिक्षाको आवश्यकता रहेको छ। हाम्रा युवाहरू गुणस्तरिय शिक्षा हासिलका लागि विदेशीने क्रम अझैँ बढ्दो छ। अब यो दुखद अवस्था रोकिनु पर्छ’, उनले भने।

यसका साथै फरक प्रसंगमा बोल्दै नेता महरले उपनिर्वाचनमा चितवन २ र तनहुँ १ मा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे। ‘केही व्यक्ति राजनीति फोहोर भयो। पुरानाहरूले काम गरेनन् भनेर जनतामा भ्रम छर्दै आएका थिए। उनीहरू लगातार राज्यको नियम उलंघन गर्दैछन्,’ महरले भने।

राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षीत गर्दै महरले एक महिनामात्रै शासन चलाउँदा आदर्श छाट्नेहरू भ्रष्टाचारमा मुछिनु लज्जाको विषय भएको बताए। नयाँ अनुहार यति चाँडै कुरुप र कलंकित हुनुको कारण के हो? भन्दै महरले प्रश्न गरे। सेतो बस्त्रमा लुकेर कालो अनुहार नछोपिने उनले बताए। महरले नेपालको गोप्य सूचना विदेश चुहाउन पनि केही व्यक्ति सक्रिय रहेको आरोप लगाए।

ब्रह्मास्त्रको सिक्वेल संकटमा !

मुम्बई, ६ वैशाख । अभिनेता रणवीर कपूर र आलिया भट्ट स्टारर फिल्म ‘ब्रह्मास्त्र’ले रिलिजसँगै उनीहरुका फ्यानलाई नयाँ खुशी दिएको थियो । अयान मुखर्जी निर्देशित फिल्मले बक्सअफिसमा पाएको उत्कृष्ट सफलता र प्रतिक्रिया पछि फ्यानहरु यसको सिक्वेलको प्रतिक्षामा थिए । निर्देशक अयानले पनि फिल्मको सिक्वेल निर्माणको संकत दिएका थिए । तर अब भने यसको सिक्वेलमा खतराको बादल मडारिएको छ ।

फिल्मको ओरिजिनल क्रिएटर्स धर्मा प्रोडक्सन अर्थात करण जोहार र डिज्नीले यो फिल्म बनाउनबाट हात झिकेका छन् । दुवैले फिल्मको आगामी सिक्वेललाई तत्कालका लागि ‘ड्रप’ गरेका छ । दुवैले निर्देशक अयानलाई फिल्मको अधिकार बेच्न खोजेका थिए । अयान पहिलेदेखि नै फिल्मको केही हिस्सामा आफ्नो नियन्त्रण चाहन्छन् । फिल्मको अधिकार पाएपछि अयान यसलाई लिएर जिओ स्टुडिाये पुगेका थिए ।

करण र डिज्नीले हात झिकेपछि अयान यो फिल्मको दोस्रो र तेस्रो सिक्वेल जिओ स्टुडियोबाट निर्माण होस् भन्ने चाहन्छन् । यसबाहेक उनले स्टुडियोसँग मिलेर फिल्मको अर्को चरित्रलाई स्पिन अफ वेब सिरिज र स्वतन्त्र फिल्मका रुपमा ल्याउन चाहन्छन् । अयानले आफ्नो ‘अस्त्रवर्स’मा नन्दी अस्त्र, पवन अस्त्र, गज अस्त्र र जल अस्त्र बनाएका छन् । उनी फिल्ममार्फत जल अस्त्रलाई मात्र पर्दामा देखाउने योजनामा छन् । यदी जिओसँग उनको डिल फाइनल भयो भने बाँकी सबै अस्त्रमाथि स्पिन अफ बन्नेछ । जसको निर्देशन अर्को निर्देशकले गर्नेछन् ।

डिज्नीमा अहिले नयाँ सिइओ बब इगर आएका छन् । उनले पहिलो प्राथमिकतामा कम्पनीका कर्मचारी कटौतीलाई राखेका छन् । त्यहीकारण पनि उनले मार्वल र स्टार वार्सको फिल्म र सिरिजलाई तत्कालका लागि रोकेका छन् । यसमा निर्देशक पेटी जेनकिङ्स र निर्माता केविन फाइगीको नयाँ स्टार वार्स फिल्म र मार्वल डिज्नीको नयाँ शो पनि छन् । त्यसकारण ‘ब्रह्मास्त्र’बाट डिज्नी पछि सर्नुमा कर्मचारी कटौलीलाई पनि प्रमुख मानिएको छ ।
यता निर्माता करणले पनि ‘बह्मास्त्र’लाई नबनाउने कारण अयानको फिल्म ‘वार २’मा आबद्धतालाई मानेका छन् । अयानले ‘वार २’को काम पछि मात्र ‘ब्रह्मास्त्र’मा व्यस्त हुनेछन् । यो कारणले पनि अयान प्रति करण रुष्ट छन् ।
 

निजामती सेवा विधेयक सार्वजनिक नगरे सिंहदरबार प्रवेश नगर्ने कर्मचारी ट्रेड युनियनको चेतावनी

काठमाडौं, ६ वैशाख – निजामती कर्मचारीको ट्रेड युनियनहरूले आफूले उठाएको माग समेटेर संघीय निजामती सेवा विधेयकको सार्वजनिक गर्न सरकारलाई अल्टिमेटम दिएका छन् ।

निजामती कर्मचारीका विभिन्न ५ वटा ट्रेड युनियनले बुधबार संयुक्त विज्ञप्ति जारी गरी १८ वैशाखभित्र ट्रेड युनियनले साझा मागको रूपमा उठाएको विषय समेटेर संघीय निजामती सेवा ऐनको मस्यौदा सार्वजनिक गर्न र आफूहरूसँग वार्ता गर्न माग गरेका छन् ।

सरकारले माग पूरा नगरे आन्दोलन गर्ने भन्दै १९ वैशाखदेखिको विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै प्रवेश बहिस्कार गर्ने आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कार्यसमिति, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती), एकीकृत सरकारी कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले १९, २० र २१ वैशाखमा गर्ने विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् ।

१९ वैशाखमा मुख्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन, कानुन र अर्थ मन्त्रालयका सचिवलाई आफूहरुको माग समेटेर संघीय निजामती सेवा ऐन जारी गर्न देशभरका कर्मचारीबाट एसएमएसमार्फत ध्यानाकर्षण गराउने उनीहरूका आन्दोलन कार्यक्रम रहेका छन्

त्यस्तै २० वैशाखमा प्रधानमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री र अर्थमन्त्रीलाई एसएमएस गर्ने र २१ वैशाखमा सिंहदरबार प्रवेश नगर्न आह्वान गर्ने ट्रेड युनियनहरुको घोषणा छ ।


एकको शव भेटिँदा कोशीमा बेपत्ता दुई जनाको खोजीकार्य जारी

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।

सशस्त्र प्रहरीको नम्बर-१ बराह बाहिनी मुख्यालय सुनसरीबाट गोताखोरको टोलीले झापाको दमक नगरपालिका ९ बस्ने २० वर्षीय नविन न्यौपाने शव नदीबाट निकालेको हो । अन्य दुई जनाको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीको भनाइ छ ।

न्यौपानेसहित मोरङ्ग जिल्लाको उर्लाबारी नगरपालिका ७ बस्ने २० वर्षीय राजन गुरागाई र झापाको दमक नगरपालिका ९ बस्ने २२ वर्षीय रुद्र न्यौपाने बुधबार बिहान कोशी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

भीमफेदी कारागारमा एक कैदीको मृत्यु

हेटौंडा – मकवानपुरको भीमफेदी कारागारमा आज बिहान एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय समिर परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मनहरी गाउँपालिका-६ लोथर स्थायी घर भएर हाल कारागारमा  कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका परियारको आज बिहान १०:४० बजे एक्कासी बहोस भएका थिए ।

उनलाई उपचारको लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा ज्यान गएको हो । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

नयाँ बजेटले आशाको नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री

तनहुँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का पुष्पकमल दाहाल “प्रचण्ड”ले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताएका छन् ।

बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नम्बर १ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताए ।

सभामा प्रधानमन्त्रीले भने, ‘सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।’

प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन तनहुँबासीलाई अपीलसमेत गरे । प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक ‘रामचन्द्र पौडेलजीलाई जिताउनुस्, प्रधानमन्त्री बनाउँछौँ’ भनेको थिएँ, उहाँ राष्ट्रपति भइसक्नुभयो । यसपटक पनि हामीले निकै योग्य उम्मेदवार उठाएका छौँ । गोविन्द भट्टराई तनहुँको योग्य उम्मेदवार हो । उहाँ यहाँको माटोमा हुर्किएको जनताको छोरो हो । यहाँलाई जिताएर पठाउनुस्, तपाईहरूको मतको उचित सम्मान हुनेछ ।’

प्रधानमन्त्रीले निकै ठूलो मेहेनतपछि वर्तमान गठबन्धन फेरि एकतावद्ध भएर अघि बढेको बताए । उनले भने, ‘संविधानको हुर्मत लिने र गणतन्त्रमाथि प्रहार गर्नेहरूविरूद्ध अहिलेको गठबन्धन बनेको हो । विकास र समृद्धिको नयाँ अभियानतर्फ लाग्ने अठोटका साथ गठबन्धन अगाडि बढिरहेको छ । कहिलेकाहिँ खहरेखोला पनि उर्लेर आउँछ, तर त्यो सुक्नेवाला छ । नदी सदाबहार रूपमा अगाडि बढ्छ । जनता न्यायाधीश हो, त्यसैले तनहुँबासी जनताले उचित फैसला गर्नुहुनेछ भन्ने मेरो विश्वास छ ।’

चुनावी सभालाई पूर्वप्रधानमन्त्रीहरूः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।

यूएई पुगेका युवालाई ७० करोडको चिठ्ठा

काठमाडौं, ६ वैशाख – रोजगारीको लागि संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका एक नेपाली युवालाई २० मिलियन दिराम (नेपाली झण्डै ७० करोड रुपैयाँ) को चिठ्ठा परेको छ ।

विगत २३ वर्षदेखि यूएईमा सवारी चालकको काम गर्दै आएका पदम नाम गरेका नेपाली नागरिकले ‘महजुज ड्र’ मार्फत पहिलो विजेता हुँदै यो रकम प्राप्त गर्ने भएका हुन् ।

स्थानीय पत्रिका खालिज टाइम्स्का अनुसार यूएईमा हरेक हप्ता हुँदै आएको ‘महजुज ड्र’ को १२४ औं संस्करणमा पदमले यो रकम जितेका हुन् ।

पदमले ५,१०,४१, ४६ र ४९ नम्बरमध्ये पाँच वटै मिलाएर यति ठूलो रकम जितेका हुन् ।

उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

तनहुँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो भन्दा पनि ठूलो पदमा पुर्‍याएको दाबी गरे ।
 
‘केन्द्रमै हाम्रो गठबन्धन सरकार छ । हामी निरन्तर गठबन्धनको सरकार अगाडि बढाउँछौं,’ डुम्रेमा आयोजित चुनावी सभामा प्रचण्डले भने, ‘गोविन्द भट्टराईलाई यो क्षेत्रबाट  जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई सम्बोधन गर्दै उहाँलाई मन्त्री बनाउँछौं ।’ 

अब आफ्नो ध्यान देशमा शान्ति, सुशासन र समृद्धिको बाटोमा हिँडाउने रहेको पनि उनको भनाई थियो ।

अमेरिका र पोर्चुगल पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं, ६ चैत – अमेरिका र पोर्चुगललगायत देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले सिन्धुपाल्चोकका २३ वर्षीय टीकाबहादुर भण्डारी र भक्तपुरस्थित मध्यपुर ठिमीका ४४ वर्षीय उज्वल खड्कालाई पक्राउ गरेको हो ।

खड्कामाथि मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थलीकी सुनिला गुरूङसहित ४४ जनालाई वैदेशिक रोजगारीका लागि अमेरिका, जर्मनी, बेलायत र जापान लगिदिने भन्दै प्रतिव्यक्ति ३ लाखभन्दा बढी रुपैयाँ ठगी गरेको आरोप छ ।

खड्कालाई प्रहरीले रौतहटस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चपुरबाट पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । पक्राउ गरेका भण्डारीमाथि मिलन तामाङसहित १० जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पटकपटक गरी १५ लाख बढी ठगी गरेको आरोप छ ।

उनलाई ताहाचलबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहविरूद्ध थप १० जनाबाट उजुरी प्राप्त भएको छ ।

कास्की, दाङ, मोरङ, रूकुमलगायत जिल्लाहरूबाट पीडितहरूले ५ करोड १९ लाखभन्दा बढी रकम ठगी गरेको आरोपसहित निवेदन दिएका थिए ।

तनहुँ-१ मा गाेविन्द भट्टराईलाई भाेट मागे गठबन्धनका शीर्षनेताहरुले (फाेटाेफिचर)

तनहुँ, ६ वैशाख । यही १० वैशाखमा हुने प्रतिनिधिसभाकाे उपनिर्वाचनका लागि तनहुँ-१ का कांग्रेस उम्मेदवार गाेविन्द भट्टराईलाई गठबन्धनका शीर्षनेताहरुले भाेट मागेका छन् । तनहुँमा बुधबार आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै भाेट मागेका हुन् । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत शीर्ष नेताले गाेविन्द भट्टराईकाे पक्षमा भाे मागेका हुन् । 

उपचुनाव हुने क्षेत्रमा तीन दिन विद्यालय बन्द गराउन आग्रह

काठमाडौं, ६ वैशाख – निर्वाचन आयोगले उपचुनाव हुने तीन वटै क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूमा तीन दिनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन सरकारलाई अनुरोध गरेको छ ।

मतदान हुने मितिमा सम्बन्धित निर्वाचन क्षेत्रमा सार्वजनिक बिदाको व्यवस्थापन गरिदिन आयोगले अनुरोध गर्ने भएको छ ।

बुधबार आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले सरकारलाई उक्त अनुरोध गर्ने निर्णय गरेहो हो ।

खर्च विवरण नबुझाउने ७४ उम्मेदवारलाइ ७ दिन भित्र स्पष्टीकरण दिन निर्वाचन आयोगको निर्देशन

काठमाडौं –  गत मंशिर ४ गते सम्पन्न निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारले खर्च बिवरण नबुझाए पछि निर्वाचन आयोगले ताकेता गरेको छ ।  

चार महिनासम्म पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण पेस नगरे पछि आयोगले उम्मेदवारहरूलाई सात दिनभित्र सफाइसहितको स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो । 

आज एक सूचना प्रकाशित गर्दै निर्वाचन आयोगले उम्मेदवार र संलग्न पार्टीको नाम नै उल्लेख गरेर समयसिमासहित निर्देशन दिएको हो । प्रतिनिधिसभाका ३७ र प्रदेश सभाका ३७ गरी  ७४ जना उम्मेदवारले खर्च विवरण नबुझाएको सुचनामा उल्लेख छ । 

निर्रवाचन सम्पन्न भएकाे ३५ दिन भित्र बुझाउनु पर्ने खर्च विवरण के कारणाले नबुझाएकाे हाे ? र कारबाही  किन गर्न नहुने हाे ? भन्दै आयोगले साेधेकाे स्पष्टीकरणमा उल्लेख छ ।

प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले खर्च विवरण पेस नगर्नुको चित्तबुझ्दो कारण पेस गर्न नसकेमा कारबाही प्रक्रियासमेत अघि बढाइने आयोगले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

काठमाडौँ उपत्यकाका एक तिहाइ सटर खाली

काठमाडौँ । व्यावसायिक मन्दीका कारण पछिल्लो समय सहरी क्षेत्रमा व्यापारिक प्रयोजनमा प्रयोग भइरहेका सटर तथा गोदाम खाली हुन थालेका छन् । मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण व्यापार नहुँदा छोडेर अन्यन्त्र जान थालेपछि सटर खाली हुन थालेका हुन् । मुख्य सहरी क्षेत्रसँगै भित्र गल्लीमा सञ्चालन भएका सटर तथा पसल बन्द हुन थालेका हुन् । आर्थिक गतिविधि नियमित नभई व्यापार व्यवसाय चल्न छाडेपछि पसल बन्द हुन थालेका हुन् ।

राष्ट्रिय व्यवसायी महासङ्घका अनुसार मुलुकभर ३० देखि ३५ प्रतिशत सटर बन्द भएका छन् । पछिल्लो समय आर्थिक गतिविधि सुस्त गतिमा चलायमान हुँदा व्यापार व्यवसायबाट पलायन हुनेको सङ्ख्या बढ्दै गएको हो ।

काठमाडौँ उपत्यकामा अध्ययन, व्यापार व्यवसाय गर्ने, जागिर खानका लागि ७७ वटै जिल्लाका मानिस आउने गर्छन् । कोभिड–१९ को असरसँगै गत वर्ष देखा परेका रुस–युक्रेन युद्धका कारण मुलुकको आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ । व्यापार व्यवसाय सञ्चालन हुन नसक्दा पछिल्लो समय व्यवसायबाट पलायन हुने क्रम दिनप्रतिदिन बढ्दै छ । उपत्यकामा मात्र महासङ्घमा २५ देखि ३० हजार सङ्ख्यामा व्यवसायी आबद्ध छन् । तिनको व्यापार पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । कतिपय व्यवसायबाट पलायन भएको तथा कतिपय पर्ख र हेरको अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

बैङ्कको उच्च ब्याजदर, ऋणको किस्ता तिर्न नसक्दा धेरै व्यवसाय बन्द हुन थालेका हुन् । सहकारीबाट ऋण लिएर व्यापार व्यवसाय चलाउने गरेकामा अहिले नपाउँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको व्यवसायीको भनाइ छ ।

राष्ट्रिय व्यवसायी महासङ्घका पूर्वअध्यक्ष नरेश कटुवालले आर्थिक सङ्कटका कारण व्यापार व्यवसाय चल्न नसक्दा मुलुकभर ३० देखि ३५ प्रतिशत सटर खाली भएको जानकारी दिनुभयो । घरधनीको भाडा वृद्धि, बैङ्कको चर्को ब्याजदर र व्यापार नहुँदा किस्ता तिर्न नसक्ने अवस्थामा पुगेपछि सटर धमाधम बन्द हुन थालेका उनको भनाइ छ । व्यापार राम्रोसँग नहुँदा बालबच्चा पढाउन नसक्ने अवस्थामा पुगेपछि धेरै जना व्यवसाय छोडेर वैदेशिक रोजगारीमा गएको उनको भनाइ छ । खाद्य किरानासँगै अत्यावश्यक व्यवसाय चले पनि अन्य व्यवसायमा कारोबार न्यून रहेको उनको भनाइ छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

समयमा पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त

काठमाडौं । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रहेकोमा ५० हजार ४ सय ६६ पद रिक्त छन् । बाँकी ८५ हजार ६ सय ५६ पदमा भने कर्मचारीहरू कार्यरत छन् । स्थायी सरकार हाँक्ने जिम्मेवारीमा रहेको निजामती प्रशासनमा नै यति धेरै पदहरू रिक्त रहन पुग्दा सेवा प्रवाह कमजोर बन्न पुगेको जनाइएको छ ।

महालेखा परीक्षक कार्यालयको ६०औं वार्षिक प्रतिवेदनले सरकारले संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने सरकारी दरबन्दी समयमा नै पदपूर्ति गर्न नसक्दा सेवा प्रवाहमा गम्भीर असर परेको जनाएको हो । महालेखाले निजामती सेवा ऐनअनुसार पदपूर्ति प्रक्रिया तत्काल थाल्न पनि सरकारलाई निर्देशन दिएको छ ।

महालेखाले लोकसेवा आयोगको वार्षिक प्रतिवेदन २०७९ लाई उद्धृत गर्दै जनाएअनुसार अहिले पनि संघमा १५ हजार ४ सय ६, स्थानीय तहमा २८ हजार ९ सय ८५ र प्रदेशमा ६ हजार ७५ दरबन्दी रिक्त रहेको छ । ती रिक्त पदहरूमा पदपूर्ति हुन नसक्दा सेवा प्रवाह प्रभावकारी हुन नसकेको भन्दै महालेखाले कानुनअनुसार पदपूर्ति गर्न सरकारलाई सम्झाएको हो ।

विशेष गरी कर्मचारी अभावमा स्थानीय तहको सेवा प्रवाह सोचेअनुसार प्रभावकारी बन्न सकेको छैन । महालेखाका अनुसार संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहमा कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रहेकोमा हाल ८५ हजार ६ सय ५६ कर्मचारी कार्यरत छन् ।

बाँकी ५० हजार ४ सय ४६ पद रिक्त रहेको महालेखाले जनाएको हो । महालेखाका अनुसार हाल कार्यरत रहेकामा संघमा ३८ हजार १ सय २५, प्रदेशमा ११ हजार २ सय ४७ र स्थानीय तहमा ३६ हजार २ सय ८४ रहेका छन् । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

मिटरब्याज पीडितलाई राहतभन्दा आहत

काठमाडौं – काठमाडौंको चर्चित रत्नपार्क पारिपट्टि रानीपोखरीछेउमै शान्तिवाटिका छ। राजनीतिक परिवर्तनका लागि भएका आन्दोलन, ती आन्दोलनका सहिद, घाइते र २०४६ को राजनीतिक परिवर्तनका नेतृत्वकर्तामध्ये एक गणेशमान सिंहको स्मृतिमा उक्त शान्तिवाटिका स्थापना भएको हो।

त्यही शान्तिवाटिका सोमबार एकाएक अशान्त बन्यो। त्यहाँको शान्ति बिथोलियो। त्यहाँ प्रहरीका लाठी बज्रिए, ढुंगा हानाहान भयो। प्रहरीले पानीका फोहरा बर्सायो।

शान्तिवाटिकामा झन्डै महिना दिनदेखि देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित बसेका छन्। महोत्तरीको बर्दिबासबाट पैदल हिँडेरै चैत १३ गते काठमाडौं आएका मिटरब्याजपीडितको पहिलो समूह शान्तिवाटिकामा बसेको थियो।

त्यो समूह सरकारसँग पाँचबुँदे सहमति गरेर फर्किएको थियो। त्यसपछि विभिन्न जिल्लाबाट आएका मिटरब्याजपीडित चैत २० गतेदेखि शान्तिवाटिकामै बसेका छन्। काठमाडौं आएका मिटरब्याजपीडितको यो दोस्रो समूहले सरकारलाई माग पूरा गर्न दबाब दिइरहेको छ।

आन्दोलनकै क्रममा सोमबार मिटरब्याजपीडित मार्चपास्टसहित सिंहदरबार घेर्ने र गिरफ्तारी दिने योजनामा थिए। यसबारे प्रहरी वृत्त दरबारमार्गकी प्रहरी प्रमुख कोपिला चुँडाललाई जानकारीसमेत दिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए । यो समाचार नागरिक दैनिकमा छ ।

रियय म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश 

काठमाडौं, ६ बैशाख । रियल म्याड्रिडले च्याम्पियन्स लिगको सेमिफाइनलमा सिट सुरक्षित गरेको छ ।

इंग्लिस क्लब चेल्सीलाई पराजित गर्दै साविक बिजेता स्पेनिस क्लब रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफसम्म बराबरीको खेल खेलेको भए पनि दोस्रो हाफको ५८औं मिनेटमा भिनिसियस जुनियरको पासमा रोड्रिगोले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए भने उनै  रोड्रिगोले ८०औं मिनेटमा दोस्रो गोल गर्दै रियलको जित पक्का गर्दै क्लबलाई लिगको सेमिफाइनलमा प्रवेश गराए ।
 

कर्णाली सरकारमा कांग्रेसको प्रवेश, आज तीन मन्त्रीले सपथ लिने

सुर्खेत, ६ बैशाख । नेपाली कांग्रेस औपचारिक रुपमा पहिलो पटक कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ । 

केन्द्रिय राजनीतिमा आएको फेरबदलका कारण कर्णाली सरकारवाट नेकपा एमाले बाहिरिए पछि कांग्रेसले सहभागिता जनाउन लागेको हो । 

जसअनुसार कर्णाली सरकारमा सहभागिता जनाउँदै नेपाली कांग्रेसवाट सिफारिस भएका तीनजना मन्त्रीले आज सपथ लिदैछन । कर्णाली सरकारमा सहभागिता जनाउन लागेको कांग्रेसले मंगलवार तीनजनाको नाम मन्त्रीमा सिफारिस गरेको थियो । 
 

कांग्रेसको सिफारिसमा अनुसार कर्णाली सरकारमा कृष्ण कुमार बिसी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, खड्ग बहादुर पोखरेल सामाजिक विकास मन्त्रालय र बेदराज सिंह आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन् । 

सो नयाँ जिम्मेवारीका लागि आज तीनै जना मन्त्रीलाई मुख्यमन्त्री राजकुमार शर्माले सपथ ग्रहण गराउँदैछन्  ।

१६ बर्ष पछि एसी मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा

काठमाडौं, ६ बैशाख । इटालियन क्लब एसी मिलान १६ बर्ष पछि च्याम्पियनसिप लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।सन् २००७ मा उपाधि जितेयता मिलान सेमिफाइनल पुगेको यो पहिलो पटक हो ।

मंगलवार राती सम्पन्न क्वाटर फाइनलको दोस्रो लेगमा नेपोलीसँग बराबरीको खेलेकाे भएपनि समग्रमा २–१ को जीत निकाल्दै मिलान सेमिफाइनलमा प्रवेश गरेको हो । खेल नेपोलीको घरेलु मैदानमा भएको थियो ।

पहिलो हाफको ४३ औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै मिलानलाई १–० को अग्रता दिलाएका थिए ।दुवै इटालियन क्लबको रोमाञ्चारी खेलमा दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि सकिरहेका थिएनन् तर खेल सकिनै लाग्दा ९० औं मिनेटमा नेपोलीको भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

तर, यसअघि भएको खेलमा एसी मिलानले १–० को अन्तरले बिजयी भएको हुदाँ सेमिफाइनल यात्राका लागि एक गोलको एडभान्टेज लिने मौका पायो । जुन एडभान्टेजले उसलाई सेमिफाइनलमा प्रवेश गरायो ।

‘फ्री भिसा – टिकट’ नीति कार्यान्वयनमा चुनौती

काठमाडौं । सरकारले मलेसियासहित खाडीका देशमा रोजगारीमा जाने नेपालीका लागि निःशुल्क भिसा र टिकटको व्यवस्था लागू गरेको करिब सात वर्ष भइसकेको छ तर उक्त व्यवस्था अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

निःशुल्क भिसा र टिकट नीतिगत रूपमा भए पनि व्यवहारिक रूपमा कार्यान्वयन हुन नसकेको स्वयं सरकारी अधिकारी नै स्वीकार गर्छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले निःशुल्क भिसा र टिकट नीतिमा भए पनि कार्यान्वयनमा धेरै चुनौती रहेको बताए ।

निःशुल्क भिसा र टिकटको नीतिका बारेमा वैदेशिक रोजगारीमा जाने श्रमिक सचेत नभएसम्म सरकारले चाहेर मात्रै लागू गर्न समस्या भएको भन्दै उनले भने, “१० हजारको रसिद लिएर दुईरतीन लाख किन तिर्नु ? गल्ती त श्रमिककै भयो नि, न्यूनतमभन्दा बढी पैसा मागे विभागमा उजुरी गर्न सकिन्छ तर नगर्ने अनि ठगियौँ भनेर गुनासो मात्रै गर्ने, प्रमाण केही हुँदैन । बिनाप्रमाण हामीले कसरी कारबाही गर्ने ?”

त्यसो त महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदनले पनि निःशुल्क भिसा र टिकटको व्यवस्था पूर्ण कार्यान्यवनमा जान नसकेको औँल्याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको प्रक्रियामा निःशुल्क भिसा र टिकटको प्रावधान लागू गरेको सात वर्ष पूरा भइसकेको छ । नियम लागू भए पनि वैदेशिक रोजगार व्यवसायी ९म्यानपावर० कम्पनी एजेन्सीले निःशुल्क भिसा र टिकट टिकटको सट्टा विगतमा जस्तै श्रमिकसँग चर्को सेवा शुल्क लिइरहेका छन् ।

मन्त्रालयले कतार, साउदी अरब, मलेसिया, ओमन, बहराइन, कुवेत र संयु्क्त अरब इमिरेट्स (यूएई)मा समेत सात श्रम गन्तव्यमा जाने नेपालीका लागि भिसा र टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको थियो ।

महालेखाले सुविधा पाउने र नपाउने नेपालीको सङ्ख्या यकिन गरी नदेखाए पनि यो नियम पूर्ण रूपमा लागू नभएको स्पष्ट भनेको छ । महालेखाले जस्तै टे«ड युनियनहरूले गरेका अनुसन्धानले पनि वैदेशिक रोजगारीमा जाने ९८ प्रतिशत नेपालीले न्यूनतम एक लाख ५० हजारदेखि बढीमा तीन लाख रुपियाँसम्म तिरेर विदेश जाने गरेको पाइएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तुलसीको छेउछाउ कुन कुन बिरुवा रोप्नु हुदैँन ? जान्नुहोस

काठमाडौं, ६ बैशाख । हिन्दू धर्ममा तुलसीको बिरुवाको विशेष धार्मिक आस्था रहेको छ । यो बिरुवालाई तुलसी माताको रुपमा पुजिन्छ । तुलसी पुजामा धेरै कुराको विशेष ख्याल राखिन्छ । तुलसीको पूजा गर्दा भगवान विष्णु र माता लक्ष्मी पनि प्रसन्न भई मनको वरदान प्रदान गर्ने विश्वास गरिन्छ ।

तर, अक्सर मानिसहरूले तुलसीको हेरचाह गर्न गल्ती गर्छन्, जसको विपरीत प्रभाव पनि हुन सक्छ। जस्तै, केहि बिरुवाहरु छन्, जसलाई तुलसी वरिपरि राख्नु राम्रो मानिदैन। जान्नुहोस् तुलसीको नजिक यी बिरुवाहरु कुन हुन् र किन राखिदैन ? 

तुलसीको छेउमा राख्न नहुने बिरुवाहरु

क्याक्टस

मान्यता अनुसार क्याक्टसको बोट तुलसीको वरिपरि राख्नु हुँदैन । यो किनभने यो विश्वास गरिन्छ कि क्याक्टसले नकारात्मकता ल्याउन सक्छ र राहुको प्रतीक हो। यस कारण तुलसीको नजिक क्याक्टस कहिल्यै राख्नु हुँदैन।

शमी

तुलसीको बिरुवा नजिकै राख्न नहुने अर्को बिरुवा शमी बिरुवा हो। शमीको बिरुवालाई तुलसीबाट कम्तिमा चारदेखि पाँच फिटको दुरीमा राख्नुपर्छ । शमीको बिरुवाले भगवान शनिको स्थानलाई संकेत गर्छ। त्यसैले यसलाई तुलसीबाट टाढा राख्न सल्लाह दिइन्छ।

फिकस

फिकस बिरुवा धेरै सुन्दर देखिन्छ। तर, यो बिरुवाले वरपरको उर्जा सोस्ने मानिन्छ। यो बिरुवाबाट नकारात्मक उर्जा निस्कन्छ जसको असर तुलसीको छेउमा रोप्दा तुलसीमा पनि पर्ने गरेको बताइन्छ । यस्तो अवस्थामा फिकस बिरुवा रोप्नबाट जोगिनु पर्छ।

काँडे बिरुवाहरु
 

तुलसीको वरिपरि क्याक्टस मात्र नभई अन्य काँडादार बिरुवाहरू पनि नराख्नुहोस्। तुलसीको बोटलाई धेरै पवित्र मानिन्छ र यसको नजिक काँडाको बोट राख्नु अपमान मानिन्छ। जसका कारण घरमा कठिनाइ पनि आउने मानिन्छ ।

आजवाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौं, ६ बैशाख । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजवाट खुवाउन सुरु गरिदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजवाट नै खुवाइने मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधी भोलीसम्म खुवाइनेछ । 

  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 

सत्तारुढ गठबन्धननका शिर्ष नेताहरु तनहुँ जाँदै

काठमाडौं, ६ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ गठबन्धनका नेता आज तनहुुँ जाँदैछन् । तनहुँ– १ मा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेता तनहुँ जान लागेका हुन ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवार भट्टराईलाई भोट माग्न सत्ता गठबन्धनका शीर्ष नेताहरु आज तनहुँ आउन लागेको नेपाली कांग्रेस तनहुँका सभापति  जितप्रकाश आलेले जानकारी दिए । 

उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले तनहुँको डुम्रेबजारमा आज दिउँसो २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

आजको मौसम: डढेलोको कारण देशका अधिकांस भागमा तुवालो देखिने

काठमाडौं, ६ बैशाख  । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। 

सुदूर पश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका केही भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

राती भने देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भु–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भु–भागमा मौसम आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरु र बाँकी पहाडी भु–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

साथै नेपालमा वर्षाका गतिविधि कम भए संगै डढेलोका घटनाहरु बढेको कारणले उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ र यसबाट वायु प्रदुषणमा वृद्दि भईरहेको देखिन्छ। त्यसैले मेघगर्जन, चट्याङ्ग, हावाहुरी, डढेलो र प्रदुषणबाट हुन सक्ने क्षति रजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मतदाता परिचयपत्र, नागरिकता वा परिचयपत्र लगेर मतदान गर्न पाइने

काठमाडौं, ५ वैशाख – निर्वाचन आयोगले यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्र वा अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न पाउने निर्णय गरेको छ ।

बारा निर्वाचन क्षेत्र नम्बर २, चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जा वा सवारी अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिने निर्णय गरेको हो ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज विज्ञप्ति जारी गरी निर्वाचनको सन्दर्भमा आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको/नासिएको अवस्था भएमा उल्लेखित परिचयपत्रको आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए ।

एनटीआर ३० मा भिलेन सैफ

मुम्बई, ५ वैशाख । अभिनेता जुनियर एनटीआरको फिल्म ‘एनटिआर ३०’ अहिले स्टारकास्टका कारण चर्चामा छन् । यो फिल्ममा अब अभिनेता सैफ अली खानको पनि अभिनय रहनेछ । फिल्ममा उनी भिलेन चरित्रमा देखिनेछन् । फिल्ममा जान्हवी कपूरको पनि अभिनय रहनेछ । 

हालैमात्र सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भइरहेको छ, जसमा सैफ र जुनियर एनटिआर सँगै देखिएका छन् । हालैमात्र जान्हवीको जन्मदिनमा अभिनेत्रीको फस्टलुक सार्वजनिक भएको थियो । 

फिल्मका लागि सैफले सुटिङ सुरु गरिसकेका छन् । कोरताला शिवा निर्देशित फिल्म सन् २०२४ अप्रिल ५ मा विश्वभर एकसाथ रिलिज हुँदैछ । फिल्म तेलुगु, तमिल, मलयालम र हिन्दी भाषामा रिलिज हुँदैछ ।

जवानमा दीपिकाको केमियो

मुम्बई, ५ वैशाख । बलिउडमा एउटा नियम स्थापित छ । त्यो यो हो कि कुनै पनि फिल्ममा अभिनेता शाहरुख खान र अभिनेत्री दीपिका पादुकोणले अभिनय गरे भने त्यो फिल्मले बक्सअफिसमा अवश्य नै धमाल गर्छ ।

‘ओम शान्ति ओम’ होस् या ‘चेन्नई एक्सप्रेस’ अथवा पछिल्लो ‘पठान’ नै किन नहोस् । यी फिल्ममा यो जोडीको केमेष्ट्रीलाई दर्शकले खुबै मनपराए । अब पुनः यो जोडी फिल्म ‘जवान’मा देखिँदैछन् । 

हालैमात्र फिल्मको सुटिङ सेटबाट एक तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तस्वीरमा दीपिका र शाहरुखलाई नृत्यरत अवस्थामा देख्न सकिन्छ । जुन तस्वीर यतिबेला भाइरल भइरहेको छ ।

फिल्ममा शाहरुखको जोडी नयनतारा हुनेछिन् । फिल्ममा दीपिका भने केमियो भूमिकामा देखिनेछिन् । त्यहीकारण उनीहरुले त्यही केमियो दृश्यका लागि नृत्य गरेका हुन् ।

तस्वीरमा दुवैलाई सेतो सर्ट, कालो पेन्ट र कालो बुटमा देख्न सकिन्छ । दीपिकाले गलामा रातो रंगको स्कार्फ पनि लगाएकी छन् । दुवैले कैयौं स्टेप देखाएका छन् । 

फिल्म ‘जवान’ जुनमा रिलिज हुँदैछ । फिल्ममा दक्षिण भारतका लोकप्रिय निर्देशक एटलीको निर्देशन छ ।

नक्कली लाइसेन्समा बस चलाउने दुई चालक पक्राउ

काठमाडौं – नक्कली सवारी चालक अनुमतिपत्र बोकेर भाडाको बस चलाउने चालक पक्राउ परेका छन् । 

काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौंको मनमैजु  बस्दै आएका २३ वर्षीय श्रीकृष्ण भुर्तेल र सिन्धुली घर भइ काठमाडौंको स्वयम्भु बस्ने २७ वर्षीय भीम बहादुर स्याङतानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । 

सवारी चालक अनुमतिपत्र विद्युतीय माध्यमबाट जाँच गर्दा कुनै पनि विवरण फेला नपरेकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि सवारी चालक अनुमतिपत्रसहित प्रहरी वृत्त सिंहदरबार पठाइएको छ ।

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी – कैलालीका लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका–५ गेटाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन् ।

४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित गोदारी नगरपालिका–७ का २८ वर्षीय पदम साउँदसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।
 

जग्गा कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौं, ५ चैत – सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन् । 

उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको जानकारी दिइन् ।
 

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं, ५ वैशाख – राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ भएका छन् । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उनी मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन् । 

केही दिनअघि पनि पौडेल पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

अवसरवादीहरूको पराजय निश्चित छ : नैनसिंह महर

काठमाडौं, ५ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेकोमा आफ्नै चरित्र उदाङ्‍गो भएको बताए ।

सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेको गोविन्द भट्टराईको व्यास ९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुनेमा कांग्रेस विश्वस्त रहेको बताए ।

‘कांग्रेसले लगाएको गुन भुलेर छणिक अवसरका खातिर चुनावमा होमिएका उम्मेदवार पनि यही क्षेत्रमा छन् । अन्य राजनीतिक स्वार्थ बोकेका उम्मेदवार पनि यसै क्षेत्रमा छन् । तर, कांग्रेससँग जनताको हितमामात्रै काम गरेको इतिहास छ । पार्टीमा कुर्न पनि सक्नुपर्छ । इतिहास बोकेको पार्टी हो । पार्टीले अवश्य योगदानको कदर गर्छ । गोविन्द भट्टराई जस्ता इमान्दार र ग्रास रुटमा रहेर काम गर्ने नेताको पालो अहिले आएको छ । उहाँलाई तनहुँ क्षेत्र नम्बर १ का जनताले जिताउनेमा म विश्वस्त छु’, उनले भने ।

जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ १ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए । डरलको खेति गरेका विदेश प्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तिभर पनि स्वभनीय नभएको उनले बताए ।

‘दिनकै काण्डै काण्ड आइरहेका जेलमा बस्नुपर्नेहरूले नाकै छोपेर इमानको ढोङ् फुक्न नछोडेको देख्दा लाज पनि लगाउने अवस्थामा पुगिसक्यो । अब उहाँहरूको भ्रममा जनता पर्ने छैनन् । लोकतन्त्र ल्याएको कांग्रेसले हो । दुवै निर्वाचन सफलतापूर्वक सम्पन्न गराएको कांग्रेसले हो । संविधान जारी भएको कांग्रेसकै नेतृत्वमा हो । त्यसैले जनताले भ्रामक कुरामा होइनमा गरेका काममा केन्द्रित हुनुपर्छ,’ महरले भने ।

तनहुँ–१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन् ।

सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा महुरेगढीको ‘शुन्य’ नतिजा 

खोटाङ, ५ वैसाख – खोटाङको महुरेगढी प्राविधिक शिक्षालयले सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर (नियमित)मा ‘शुन्य’ नतिजा ल्याएको छ । सिटिइभिटिले २०७९ जेठमा लिएको परिक्षामा महुरेगढी प्राविधिक शिक्षालयका कुनै पनि विद्यार्थी उत्तिर्ण हुन नसकेका हुन् । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा महुरेगढीका ४८ विद्यार्थी परिक्षामा सहभागी भएका थिए । सिटिइभिटिको आंगीक क्याम्पसकारुपमा २०७५ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको महुरेमा महुरेगढी प्राविधिक शिक्षालय स्थापना गरिएको हो । सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरको नतिजाका विषयमा समिक्षा गर्दै कमजोरी सच्याउने योजना बनाइएको शिक्षालयका प्राचार्य पुष्पराज प्याकुरेलले बताए । 

 सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टरमा प्रदेशभरीका प्राविधिक शिक्षालयमध्ये गणेशमान मेमोरियल एकेडेमी, झापाले सबैभन्दा धेरै ९४.१२ प्रतिशत विद्यार्थी उत्तिर्ण गराएको छ । यस्तै, आशर्द सेकेन्डरी स्कुल, बिराटनगर, मोरङको ३७.५० प्रतिशत, दमक पोलिटेक्निक इन्स्टीच्युट, दमक, झापाको २९.५५ प्रतिशत, जालपादेबी सेकेन्डरी स्कुल, पाख्रीबास, धनकुटाको २०.४५ प्रतिशत, मदन भण्डारी मेमोरियल एकेडेमी, उर्लाबारी, मोरङको १८.१८ प्रतिशत, जनता सेकोन्डरी स्कुल, चुलाचुली, इलामको ११.५४ प्रतिशत, कन्काई पोलिटेक्निक इन्स्टीच्युट, कन्काई, झापाको १० प्रतिशत, महानगर बहुप्राविधिक शिक्षालय, बिराटनगर, मोरङको ९.३० प्रतिशत र गोल्डेनपार्क कलेज, बिराटनगर, मोरङको ४.५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । 

 मध्यपहाडी लोकमार्गले छोएको र लेकको मनोरमस्थलमा रहेको प्राविधिक शिक्षालय तत्कालिन प्राविधिक शिक्षालय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले २८ जेठ २०७६ मा उद्घाटन गरेका थिए । 

चुनाव प्रचारमा हेलिकप्टर प्रयोग नगर्न आयोगको निर्देशन

काठमाडौं, ५ वैशाख -र्वाचन आयोगले यही वैशाख १० गते हुने उपचुनावको प्रचारका लागि हेलिकप्टर प्रयोग नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेको छ ।

बारा, चितवन र तनहुँमा हुने उपचुनावका लागि कुनै पनि ठाउँमा निर्वाचन आचारसंहिता बमोजिम हेलिकप्टर प्रयोग नगरि प्रचार गर्न सकिने अवधि पर्याप्त रहेको साथै ती जिल्लामा यातायातको सहज पहुँच रहेकोले हेलिकप्टर प्रयोग नगरि मितव्ययिता अपनाउन आयोगले आग्रह गरेको हो ।

यस्तै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सरकारी निकाय तथा निजी हेलिकप्टर सेवा प्रदायकलाई आफ्नो सहमतिविना चुनाव प्रचारमा सेवा उपलब्ध नगराउन पनि सूचित गराएको छ ।
 

इट्टा बनाउनका लागि माटो मुछ्ने क्रममा मिक्सरमा परेर एक जनाले गुमाए दुवै खुट्टा

भक्तपुर, ५ चैत भक्तपुरको एउटा इट्टा उद्योगमा इट्टा बनाउनका लागि माटो मुछ्ने क्रममा मंगलबार खुट्टा मिक्सचर मेसिनमा पर्न गई एक जनाले मजदुरको दुवै खुट्टा गुमेको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित स्वेत भैरव फिक्स इट्टा उद्योगमा यसरी दुर्घटना हुँंदा रोल्पा नगरपालिका ६ घर भएको वर्ष २२ को विशाल परियारको दुवै खुट्टा गुमेको हो । मिक्सचर मेसिनमा परी दुवै खुटा घुडामुनी काटिएको (पेलिएको) प्रहरीले जनाएको छ ।

घटनापछि घाइतेको उपचारको लागी वी एण्ड वी अस्पताल ललितपुर लगेको भक्तपुर प्रहरी परिसरले जनाएको छ । परिसरका एसपी प्रजित केसीले घाइते बोल्न सक्ने अबस्थामा रहेको जनाए । तर दुवै घुडामुनिको खुटा काटिएको (पेलिएको) उनले जनाए ।

घाइतेको उपचारमा साहुँ र आफन्त सलग्न रहेको जनाइएको छ । घटनास्थल प्रभाग सुडालबाट प्रहरी वरिष्ठ नायब निरीक्षक  सुरेश केसीको टोली खटिएको जनाएको छ । घटनास्थल  बृत जगाती बाट ५ किमि उत्तर पूर्वमा पर्छ ।