`

तमोर नदीमा एक युवक बेपत्ता

धनकुटा, ५ वैशाख – धनकुटाको चौबिसे गाउँपालिका– ४ का एक युवकलाई तमोर नदीले बगाएर बेपत्ता बनाएको छ । तमोर करिडोरअन्तर्गतको सडकमा काम गर्दै आएका २५ वर्षीय होमनाथ मगर पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बिहानको खाना खाएर उनी दिउँसो १ बजेतिर पौडी खुल्न तमोर नदीमा गएका थिए । पाँचथरको तुम्बेवा गाउँपालिका–२ सिसौबोट नजिकैबाट पौडिएर उनी नदी पारी गएका थिए । पारिबाट वारि काम गर्दै आएको स्थानमा फर्कने क्रममा उनलाई नदीले बगाएको चौबिसे गाउँपालिका–४ का वडाध्यक्ष लोकेन्द्र मगरले बताए । पौडी खेल्न उनी एक्लै गएका थिए ।

मगरलाई नदीले बगाएर बेपत्ता बनाएपछि स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीयवासीहरूले खोजी जारी राखेका छन् । 
 

आजवाट दशौं चरणको लिग सुरुः रंगशालामा दुई खेल हुदैँ

काठमाडौं, ५ बैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजवाट दशौं चरणको खेल सुरु हुदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।  

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ । 

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।  यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ । 

मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ  स्थानमा छ ।

मोरङको केर्खाली चोकबाट तीनजना लागूऔषध कारोबार गरिरहेको अवस्थामा पक्राउ

मोरङ । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबारमा संलग्न ३ जना पक्राउ परेका छन् । उर्लाबारी नगरपालिका–३ केर्खाली चोकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा तीनजना पक्राउ पक्राउ परेका हुन ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार यसरी पक्राउ पर्नेमा विश्वास धिमाल, २२ वर्षीय आलोक धिमाल र भक्तपुर घर भएका २८ वर्षीय उपेन्द्र खड्का रहेका छन । लागु औषध कारोबार गरिरहेको अवस्थामा तीनै जनालाई सोमवार राति पक्राउ गरिएको हो । पक्राउ परेकावाट २१ ग्राम खैरो हेरोइन बरामद भएको छ । 

पक्राउ परेकाहरुमाथी थप अनुसन्धान गर्नका लागि हिरासतमा राखिएको छ ।
 

सिटी होटलको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ५ वैशाख । सिटी होटलको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो । होटलले सर्वसाधारणको लागि भने वैशाख २५ गतेदेखि आईपिओ बिक्री खुला गर्ने कम्पनीले जनाएको छ । उक्त आईपिओमा वैदेशिक राेजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । 

सिटी होटलले आफ्नो जारी पुँजीको १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १६ करोड ७४ लाख  रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । 

जसअनुसार प्रति सेयर १ सय अंकित मूल्यमा १६ लाख ७४ कित्ता सेयर निष्कासन गरेको र सो मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय सेयर निष्कासन गरेको छ । 

यसैगरि कम्पनीले कर्मचारीहरुका लागि जारी पुँजीको ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरुले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

यो आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सुचना आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौं – संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्नेछ ।संघिय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८/७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । 

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

अमेरिकी डलरको भाउ बढ्दा युरोमा भने झिनो सुधार

काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । लगातार दुई दिन स्थिर रहेको अमेरिकी डलरको भाउ मंगलबार १९ पैसाले बढेको छ । मंगलबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ८६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । यसअघि सोमबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ २७ पैसा कायमम गरिएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा कायम गरिएको छ। सोमबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ७५ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ४० पैसा कायम गरिएको थियो।  

मंगलबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६२ रुपैयाँ ३६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ११ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ १४ पैसाले बढेको हो । सोमबार यसको खरिदमूल्य १६२ रुपैयाँ २२ पैसा र बिक्री मूल्य १६२ रुपैयाँ ९७ पैसामा कारोबार भएको थियो । 

त्यसैगरी, मंगलबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ८८ रुपैयाँ १५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९२ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३७ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३६ रुपैयाँ कायम गरिएको छ । 

मंगलबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८० पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७३ पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा मंगलबार ४२७ रुपैयाँ २८ पैसा र बिक्रीमा ४२९ रुपैयाँ २४ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३४८ रुपैयाँ ६८ पैसा तोकिएको छ।

लामखट्टेले दुःख दियो ? लामखुट्टे भगाउन यो घरेलु उपाय अपनाउनुहोस् !!

काठमाडौं, ५ बैशाख । गर्मी मौसममा यदि कसैलाई रातको निद्रामा बाधा पुग्छ भने त्यो विषालु लामखुट्टे नै हो ।हात, खुट्टा र अनुहार टोकेर यसले हैरान मात्रै बनाउँदैन, बिभिन्न रोगहरु पनि निम्त्याउँछ । तिनीहरुलाई मारेर धपाउनका लागि कुण्डल बाल्नमा रातभरी बित्छ । जसका कारण दिनभर आँखामा थकान र निद्रा लाग्ने गर्छ, जसले काममा नराम्रो असर पार्छ ।

तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने यहाँ हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन।

लामखुट्टे भगाउने घरेलु उपाय
 

लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अब देखि यो घरेलु उपाय सिक्नुहोस् र अर्को पटक लामखुट्टे र झिंगा हटाउन प्रयोग गर्नुहोस्।

– नीमको सुख्खा पात । 
– तेज पत्ता
– लहसुन
– प्याज 
– ल्वाङ
–कपूर

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी कुचल्नुहोस्, त्यसपछि त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस्  ।

कसरी प्रयोग गर्ने

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस्। यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् ।

लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।

ब्लड प्रेसर लो भए तुलसीको पात खानुहोस ! 

काठमाडौं, ५ बैशाख । धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।

बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ ।  धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् ।

कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरिर कमजोरी हुनु आदी हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले । 

यसरी ब्लड प्रेसर लोको उपचार गर्नुहोस्ः

डिहाइड्रेसनः शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुहोस् । 

गर्भावस्थाः गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ ।  यद्यपि  समस्या यो समयका लागि भने सामान्य हो ।

क्याफिनः क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ । जसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महशुश गर्छ । 

तुलसीको पातः तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

यस्तो छ, आजकाे हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, ५ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा १२० रुपैयाँ, रातो आलु ३१ रुपैया, सेतो आलु २७ रुपैयाँ रहेको छ भने स्थानीय काउली २५ रुपैयाँ, कागती २३० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गान्टे मूला ५० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ७० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३० रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदीना १२० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

उता, ब्रोकाउली ५० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ५० रुपैया केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका २५ रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

बेलायतका प्रधानमन्त्री पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलर घाटा

काठमाडौं, ५ बैशाख । बेलायतका प्रधानमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिलाई ६१ मिलियन डलरको नोक्सान भएको छ । 

सोमबार इन्फोसिस लिमिटेडको शेयरमा भारी गिरावट आउँदा उनलाई सो रकम बराबरको नोक्सानी भएको हो । ऋषि सुनक प्रधानमन्त्री बनेपछि अक्षता मूर्तिलाई अहिलेसम्मकै ठूलो घाटा भएको छ ।

अक्षता मूर्तिसँग उनका बुबा एन नारायण मूर्तिद्वारा सह–स्थापना गरिएको भारतीय सफ्टवेयर कम्पनी इन्फोसिसमा ०.९४ प्रतिशत हिस्सेदारी छ।  ब्लूमबर्गको रिपोर्टका अनुसार सोमबार इन्फोसिसको शेयरमा गिरावट आएपछि ब्रोकरहरूले डाउनग्रेड गर्ने क्रम सुरु भएको थियो । सोमबार मार्च २०२० पछि इन्फोसिसको शेयरमा ९.४ प्रतिशतको को गिरावट आयो, सो गिरावट सो समय पछिको सबैभन्दा ठूलो गिरावट हो ।

यद्यपि, अक्षता मूर्तिलाई भएको क्षति सुनक परिवारको सम्पत्तिको एक अंश मात्र हो। अक्षता मूर्तिको सेयर अझै ४५० मिलियन पाउण्डभन्दा बढी छ । यसैबीच, ऋषि सुनकको कार्यालयले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

आज देखी उर्जा सम्मेलनः नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणमा छलफल हुने

काठमाडौं, ५ बैशाख । आज देखी काठमाडौंमा ऊर्जा सम्मेलन हुदैँछ ।

‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ आठौं उर्जा सम्मेलन हुन लागेको हो । सम्मेलन आज र भोलि दुई दिनसम्म चल्ने छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गरेको ऊर्जा सम्मेलनमा भारत, बंगलादेशलगायत ३० भन्दा बढी देशका प्रतिनिधि सहभागी हुदैछन् । सो सम्मेलनमा उर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झन्डै ३ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानले जनाएको छ ।

सो सम्मेलनमा विद्युत् उत्पादकहरू, बिद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गर्दै आएका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिहरुले सो सम्मेलनमा सहभागिता जनाउने छन् । मुख्यतः नेपालवाट उत्पादित बिजुलीको अन्तर्राष्ट्रियकरणका लागि सो सम्मेलन लाभदायक हुने आयोजकले दावी गरेका छन । 

बिद्यार्थीसँग यौन सम्पर्क राख्ने शिक्षिका पक्राउ

काठमाडौं, ५ बैशाख । अमेरिकामा छात्रासँग जबर्जस्ती यौनसम्बन्ध राखेको आरोपमा महिला शिक्षक पक्राउ परेका छिन् । 

शिक्षिकाले विद्यालय परिसरभित्रै विद्यार्थीलाई धम्की दिएको र विद्यार्थीसँग पटक–पटक यौनसम्बन्ध राखेको आरोप छ । उजुरी परेपछि प्रहरीले ती महिला शिक्षकलाई कारबाही गरेको थियो ।

जानकारीका अनुसार डेनभिलकी ३८ वर्षीया एलेन शेलमाथि बलात्कारको आरोप लागेको छ । मुद्दामा दायर गरिएको उजुरी अनुसार, शेललाई १६ वर्षका दुईवटा केटाहरूसँग तीन पटक यौनसम्पर्क गरेको आरोप लगाइएको छ। ड्यानभिल बिहीबार गारार्ड काउन्टी जिल्ला अदालतमा उपस्थित भएका थिए।

ब्ल्यूटीकेआरका अनुसार, वुडलॉन एलीमेंट्री स्कूलमा शिक्षक सहयोगीको रूपमा उनी काम गर्थिन र यसअघि पनि ल्यान्कास्टर इलिमेन्टरी स्कूलमा कार्यरत रहदा यस्तै हर्कत गरे पछि उनलाई प्रशासनिक बिदामा पठाइएको थियो ।

बल्खु–कलङ्की सडकको अनियमिततामाथि छानबिन

चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनस्र्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनस्र्थापनासम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिनुभयो । काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १।७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु भएको जानकारी दिए । चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनस्र्थापना अगाडि बढाएको थियो ।

सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्टाखुल्टी नपरेको र चक्रपथको अरू भागमा जस्तै सो सर्भिस लेनमा पनि सवारीसाधन आवतजावतमा कुनै अवरोध नहुँदानहुँदै बिनाकारण कालोपत्रे उप्काएर पुनस्र्थापना अगाडि बढाइएको पाइएको थियो । चीन सरकारको अनुदानमा निर्माण भएको चक्रपथको सो सर्भिस लेन काम नलाग्ने भएको भन्दै ऋण लिएर बनाउन थालिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

काठमाडौं प्लाजामा कामपाको कार्यालय सार्न दबाब

काठमाडौं – काठमाडौं महानगरपालिकाका कार्यकारी वसन्त अधिकारीले तयारै नभएको भवनमा हतारमा कार्यालय सार्न दबाब दिइरहेका छन् । उनले सबै विभाग, महाशाखा, शाखा, इकाई र आयोजना प्रमुखलाई प्रशासन विभागमार्फत दिनहुँजसो दबाब दिन थालेपछि कर्मचारीहरू भने तनावमा परेका छन् ।

केही सञ्चारमाध्यममा समाचार प्रकाशन गर्न लगाएर वैशाख १ गतेदेखि महत्वपूर्ण काम काठमाडौं प्लाजाबाट हुने भन्दै हल्ला पिटाएको कामपा प्रशासनले हिजो सोमबारसम्म पनि सर्ने कुनै तयारी गरेको छैन ।

सोमबार अपराह्न नयाँ भवनबाट सेवा दिन थालेको विषयमा समाचार संकलन गर्न काठमाडौं प्लाजा पुग्दा त्यहाँको अवस्था हेरिनसक्नु थियो । त्यहाँ सर्ने विभाग, महाशाखा र शाखाको नाम फोटोकपी कागजमा छापेर भित्तामा टाँसिएको थियो तर कर्मचारी एक जना पनि थिएनन् । जताततै कोठा भत्काइएको थियो । सबै तलामा रहेको शौचालय पूरै दुर्गन्धित थियो । लिफ्ट अघिल्तिर फोहोर थुप्रिएको थियो । लिफ्ट कहिले बन्छ भन्ने विषयमा त्यहाँ रहेका कसैलाई पनि जानकारी थिएन ।

तर, कामपाका प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने तत्काल कार्यालय सार्न निर्देशन दिएको जानकारी दिँदै कामपाका एक उच्च कर्मचारीले भने– ‘हामीलाई दैनिकजसो दबाब आउँछ । तत्काल जेजस्तो अवस्थामा छ, त्यही अवस्थामा स्थानान्तरण हुनु भन्ने उर्दी जारी भएको छ ।’

महानगरले अन्डरग्राउन्डदेखि सातौं तलामा कुन कुन विभाग, महाशाखा र शाखा कहाँकहाँ राख्ने भने तालिका बनाएर भुँइतलामा टाँसेको छ । कामपा प्रशासन विभागका निर्देशक दीपक अधिकारीले जस्तो अवस्था भए पनि सार्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘कार्यालयका सबै समग्री लगेर मिलाएर बस्न सबैलाई निर्देशन दिएका छांं । एकदुई दिनभित्रै सार्न सबैलाई आग्रह गरेका छौं, हामी पनि सर्दैछौं । सफ्टवेयर, इन्टरनेट र नेटवर्किङ जडान गर्ने विषयमा उहाँको भनाइ थियो– ‘सरेपछि सबै समाधान हुनेछ ।’

तर एक विभागीय प्रमुखका अनुुसार नेटवर्किङ र इन्टरनेट जडान नभएसम्म सर्ने सम्भावना नै रहँदैन । कामपाले नक्सा, राजस्व र व्यक्तिगत घटना दर्तालगायत विभाग र शाखालाई प्रविधियुक्त बनाइसकेको छ । ती निकायलाई हाल प्रयोग भइरहेको सफ्टवेयर तयारी नभइकन सार्नसक्ने अवस्था छैन ।

घरबाटै नक्सा पास गर्ने प्रणाली शुरूवात गरेको कामपाले त्यसलाई प्रयोगमा ल्याउन उक्त सफ्टवेयरलाई अनिवार्य रूपमा नेटवर्किङ गर्नेपर्छ । तर ती सफ्वेयर तयारी गर्ने अवस्था नभइकन कार्यालय सार्न थालेपछि झन् समस्या बढ्ने कर्मचारीको गुनासो छ । कामपाले नक्सा, राजस्व संकलन र ११ वटा विभागसँग जोडिनेगरी खरिद इकाईको नयाँ सफ्टवेयर प्रयोग गरिरहेको छ । यो समाचार नेपाल नेपाल समाचारपत्र दैनिकमा छ ।

संघाराम विहारमा करोडौं रकम भ्रष्टाचार

काठमाडौं । काठमाडौंको ढल्कोस्थित संघाराम विहारको पुनर्निर्माण र धर्मको नाममा त्यहाँको अध्यक्ष र कोषाध्यक्ष मिलेर करोडौं रकम हिनामिना गरेको तथ्य भेटिएको छ । भगवान् बुद्धका उपदेश र उनका आदर्शको प्रचार गरी सुखी मानिस र शान्त समाज स्थापना गर्ने उद्देश्यसहित स्थापना भएको सो विहारमा अध्यक्ष र कोषाध्यक्षको मिलेमतोमा भवन निर्माण र दान दक्षिणको रकम आफू खुसी प्रयोग गर्ने गरेको भेटिएको हो ।

विहारका प्रमुख भिक्षु उपतिस्स श्रेष्ठ महास्थवीर र कोषाध्यक्ष सद्दातिस्सले भवन निर्माणका लागि काठमाडौं महानगरपालिकाबाट विहारको बुद्धमूर्ति जीर्णोद्वार परियोजनाका लागि आएको रकम, भूकम्पपीडितको नाममा पुनर्निर्माण प्राधिकरण र सहरी विकास तथा भवन निर्माणबाट आएको १ करोड रुपैयाँ भ्रष्टाचार गरेको पाइएको हो ।

चन्दादाता र आस्थावान् उपासकको धार्मिक आस्था राख्नेहरूले दिएको रकमसमेत भिक्षुले हिनामिना गरेको भेटिएको हो । सहरी विकास तथा भवन निर्माण विभागबाट आएको ५६ लाख रुपैयाँ नक्कली खाता सञ्चालन गरेर राखेको र नक्कली लेखा परीक्षण गरेको समेत भेटिएको छ ।

साथै पुनः निर्माण प्राधिकरणबाट आएको २२ लाख ९५ हजार १ सय ११ रुपैयाँको हिसाबकिताब मिलान गर्न नसकेको र महानगरपालिकाले पहिलो किस्तावापत् दिएको २४ लाख ४९ हजार ५ सय १० रुपैयाँ भुक्तानी भइसकेको छ ।

जसमध्ये १४ लाख रुपैयाँको हिसाबकिताब मिलान हुन सकेको छैन । भवन निर्माणको नाममा नक्कली बैंक खाता र नक्कली लेखापरीक्षण बनाएर हिनामिना गर्ने गरेको भेटिएको हो । यो समाचार राजधानी दैनिकमा छ ।

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता, कति नोक्सान भयो ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो ।

विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ ।

‘असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,’ उनले भने । उनका अनुसार आइरन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका लागि २० करोड रूपैयाँ निकासी गरेलगत्तै विभागले सो कम्पनीसँग खरिद सम्झौता गरेको हो । यो समाचार नागरिक दैकिमा छ ।

प्रधानमन्त्री प्रचण्ड ‘फिट एन्ड फाइन’, यसो भन्छन् निजी चिकित्सक

काठमाडौं । प्राडा युवराज शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् । शर्मा प्रधानमन्त्री दाहालका निजी चिकित्सक हुन् । पाटन विज्ञान प्रतिष्ठानको मेडिसिन विभागका प्राध्यापक र मेडिकल डाइरेक्टर शर्माले भने, ‘जस्तो व्यस्त भए पनि उनले बिहानको समय आफुलाई दिनुभएको छ ।’ प्रधानमन्त्रीले दैनिक टेबल टेनिस खेल्ने र पसिना निकाल्ने गरी व्यापम गर्ने गरेको डा शर्मा बताउँछन् ।

प्रधानमन्त्री उपत्यका बाहिर जाने भनेपछि खानाको विषयलाई लिएर डा शर्मालाई चिन्ता हुन्छ । भन्छन्, ‘विशिष्ट व्यक्तित्वका लागि मीठो र राम्रो खुवाउनुपर्छ भन्ने हाम्रो चलन छ । नेपालमा राम्रो÷मीठो भन्ने बित्तिकै खसीको मासु, चिल्लो चाप्लो हुन्छ ।’ उनलाई त्यतिबेला त्यो खानाले गडबड गर्छ कि भन्ने डर हुने गरेको बताउँछन् ।

‘अहिले प्रधानमन्त्री फिट एन्ड फाइन हुनुहुन्छ । उहाँले आफ्नो स्वास्थ्यका लागि मिन्टेन गर्ने कुराहरु मैले भनेको कुरालाई फलो गर्नुहुन्छ ।’ डा। शर्माले भने, ‘औषधी समयमा नै लिदिनुहुन्छ ।’ प्रधानमन्त्री निवासमा रहेको नर्समार्फत नियमित जानकारी लिने गरेको शर्मा बताउँछन् । विदेश जानुअघि भने प्रधानमन्त्रीको अनिवार्य स्वास्थ्य परीक्षण हुन्छ । ‘आज भोलि नै म स्वास्थ्य परीक्षण गर्छु अब ।’ शर्माले प्रधानमन्त्रीको विदेश भ्रमण हुन सक्ने संकेत उनको यो भनाइले पनि पुष्टि गर्दछ ।

वर्षमा ३÷४ पटक भने कुनै पनि प्रधानमन्त्रीको नियमित ‘होलबडी टेस्ट’ हुने गरेको उनी बताउँछन् । प्रधानमन्त्रीलाई आरामको समय कम हुने गरेको डा शर्मा बताउँछन् । ‘जीवन व्यस्त छ । धेरै इस्युमा उहाँहरू व्यस्त हुनुहुन्छ । एउटा व्यक्तिले त्यति धेरै विषय व्यवस्थापन गर्नुपर्दा कतै स्वास्थ्यमा असर पो गर्छ कि भन्ने डर हुने कुरा स्वाभाविक हो,’ शर्मा भन्छन्, ‘तर उहाँले त्यसलाई व्यवस्थापन गर्नुभएको । जटिल विषयलाई पनि सहजरूपमा व्यवस्था गर्ने क्षमता देख्दा मलाई आश्चर्य पनि लाग्छ । राजनीतिक दलका ठूला नेतामा यस्तो क्षमता हुनेरहेछ जस्तो लाग्छ ।’ यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

पछिल्लो पाँच खेलमा लिभरपुलको पहिलो जीत, लिडस माथी ६–१ ले हावी

काठमाडौं, ५ बैशाख । लिभरपुलले लिड्स युनाइटेडलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको छ।

प्रिमियर लिगका लागि सोमबार राति भएको एक मात्र खेलमा लिभरपुलले लिडसलाई उसको घरेलु मैदानमा फराकिलो अन्तरले पराजित गरेको हो । पछिल्लो पाँच खेलमा लिभरपुलको यो पहिलो जित हो ।

सो खेलको पहिलो हाफ नै लिभरपुलले २–० को अग्रता लिएको थियो । जसका लागि ३५औं मनेटमा गाक्पो र ३९औं मिनेटमा सालाहले गोल गरेर योगदान गरेका थिए ।

उता, दोस्रो हाफको सुरुमै लिड्सका सिनिस्टेराले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याई दिए तर लिभरपुलका सामु लिडसको केही चलेन । दोस्रो हाफमा लिभरपुलले ४ गोल लिडसको गोल पोष्टमा लगातार हानिरहयो । 

दोस्रो हाफको सुरुवाती अर्थात ५२ औं मिनेटमा लिभरपुलका जोटाले थप गोल गर्दै ३–१ को अग्रता बनाए भने सालाहले ६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४–१ को स्थितिमा पु¥याई दिए । यस्तै,  ७३औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गरे भने खेल सकिनु अन्तिम समयमा अर्थात ९०औं मिनेटमा नुनेजले गोल गर्दै लिभरपुललाई ६–१ को फराकिलो अन्तरको जित दिलाए ।

यस जीतसँगै लिभरपुलको ३० खेलबाट ४७ अंक बटुलेको छ भने लिड्स ३१ खेलबाट २९ अंकसहित १६औं स्थानमा छ ।

आज देखी एसिसी प्रिमियर कप, उदघाटन खेलमा नेपाल मलेसियासँग भिडदै 

काठमाडौं, ५ बैशाख । आजदेखि एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिता सुरू हुँदै छ। 

आजवाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र मलेसिया बिच खेल हुनेछ । उक्त खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ।

साे खेलकाे समुह ‘ए’मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन भनजे समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन । 

पहिलो खेल मलेसियासँग खेल्ने नेपालले दोस्रो खेल भने ओमानसँग वैशाख ८ मा खेल्नेछ । मुलपानी मैदानमा साउदी अरेबियासँग तेस्रो खेल वैशाख ११ गते खेल्ने नेपाल अन्तिम खेल वैशाख १४ गते कतारसँग भिडनेछ । 

यो प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुनेछ। पहिलो पटक मुलपानीस्थित खेल मैदानमा पनि प्रतियोगिता हुनेछ । 

नेपालले दोस्रो खेल ओमानसँग वैशाख ८ मा त्रिविमा,  तेस्रो खेल मुलपानी मैदानमा साउदी अरेबियासँग वैशाख ११ गते र अन्तिम खेल वैशाख १४ गते कतारसँग त्रिवि मैदानमा खेल्नेछ। 

साे खेलकाे सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।

आजको मौसमः मुलुकका पहाडी भु–भागमा पानी पर्ने तथा तुवालो लाग्ने

काठमाडौं, ५ बैशाख । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागमा आँशिक बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू–भागमा आंशिक बदली देखी सामान्यतया मौसम सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू–भागहरुमा तुवाँलोको संभावना रहेको छ ।

राती भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ। 

सिरहामा आगलागीबाट चार घर जलेर नष्ट

सिरहा, ४ वैशाख।  सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो। 

ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशेषले घरमै राखेको ५० हजार नगद जल्यो, सबैको मिलाउँदा ५० लाखभन्दा बढीको क्षति भएको छ।’ 

उनीहरुले रातको समयमा भएकाले घरमा रहेको केही सामान निकाल्न नसकेको बताए। बुधेश्वरले भने, ‘हामीसँग बाँकी भनेको लगाएको लुगामात्र हो, पानी पिउन एउटा भाँडासमेत छैन, कहाँ बस्ने के खाने अन्यौल भइरहेको छ।’ 

राति करिब ११ बजेबाट सुरु भएको आगलागी सिरहा र गोलबजार नगरपालिकाको दमकल, स्थानीय वासिन्दा र प्रहरीले करिब २ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।  

आगलागी पीडितहरुले आफूहरुलाई तत्काल दैनिक उपभोगका अतिआवश्यक सामाग्रीको खाँचो रहेको बताए। उनीहरुले त्यसको लागि स्थानीय सरकार र मनकारी हातहरुसँग सहयोगको अपेक्षा गरेका छन्।

त्यसैगरी,  सिरहा नगरपालिकाको प्रशासनिक भवनमा आगलागी भएको छ। आगलागीका कारण कार्यालयमा रहेको बिलभर्पाइसहितका महत्वपूर्ण कागजात जलेर नष्ट भएको छ। विद्युत् सर्टभएर आगलागी भएको भनिए पनि आगलागीको सम्बन्धमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

रणवीरको करियर, भन्सालीमा भर

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह यतिबेला ‘रकी और रानीकी प्रेम कहानी’का कारण चर्चामा छन् । यो फिल्म यसै वर्षको जुलाई २८ मा रिलिज हुँदैछ । यसबाहेक उनी आदित्य धरको फिल्म ‘द इमोर्टल अश्वथामा’मा जोडिँदैछन् । रणवीर चाँडै नै निर्देशक सञ्जय लीला भन्सालीको फिल्मा पनि देखिँदैछन् । 

रणवीरको पछिल्लो फिल्मले बलिउड बक्सअफिसमा खासै कमाल देखाउन सकेको छैन । ‘८३’, ‘जयेशभाई जोरदार’ र ‘सर्कस’ तीन फिल्म बक्सअफिसमा फ्लप साबित भइसकेको छ । तिन फिल्म भएपछि उनका फ्यान दमदार कमव्याकको पर्खाइमा छन् । यिनै रणवीर सञ्जयको नयाँ फिल्म ‘बैजू बावरा’मा देखिने चर्चा छ । 

फिल्म ‘बैजू बावरा’मा रणवीर अभिनेत्री आलिया भट्टका साथ देखिँदैछन् । बलिउडमा सञ्जय र रणवीरको सहकार्य बक्सअफिसका लागि सफल मानिन्छ । यसको ठूलो उदाहरण फिल्म ‘पद्यावत’लाई हेर्दा हुन्छ । सञ्जयको सहकार्यमा रहेको फिल्म ‘गोलियाकी रासलिलाः रामलीला’मा पनि रणवीरले अभिनय गरेका थिए ।

संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गरिने

काठमाडौं, ४ वैशाख । सरकारले संघीय निजामती सेवा ऐन चाँडै संसदमा पेस गर्ने तयारी गरेको छ । यसबारे सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले राष्ट्रिय सभालाई जानकारी गराएकी छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले सरकारले चाँडै नै संघीय निजामती सेवा ऐन छिट्टै संसदमा पेस गर्ने तयारी गरेको जानकारी दिएकी हुन् । 

निजामती सेवा ऐन अहिले कानुन मन्त्रालयमा छलफलको अन्तिम चरणमा रहेको उनको भनाइ छ । मन्त्री शर्माले ऐनले कर्मचारी सरुवाको विषयर्लाव्यवस्थित बनाउने विश्वास समेत व्यक्त गरिन्। 
 

बाजुरामा भूकम्पको धक्का

बाजुरा – बाजुरामा सोमबार दिउँसो भूकम्प गएको छ । बडिमालिकामा केन्द्रबिन्दु बनाएर ४ बजेर १ मिनेटमा भूकम्प गएको कम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

बडिमालिका नगरपालिकाको जुगाडा केन्द्रबिन्दु बनाएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो । 

गत माघ १० गतेपछि बाजुरामा पटक-पटक भूकम्प जाने गरेको छ ।

फिल्म ‘पुष्पा २’ मा किन केटी बने अल्लू अर्जुन ?

मुम्बई । साउथ अभिनेता अल्लू अर्जुनले आफ्नो जन्मदिन अघिमात्र फिल्म ‘पुष्पा २’ को टिजर र पोस्टरले धमाका मच्चाएका थिए ।

अल्लूका फ्यानका लागि यो निकै खुशीको कुरा थियो । अल्लूलाई पोस्टरमा फरक रुपमा देखिएपछि सबै चकित परे । साडीसँगै निधारमा ठूलो टिका र गलामा मुण्डको स्थानमा निबूको माला लगाएको अल्लू देख्दा फ्यान दुःखी हुने कुरै थिएन । 

अहिले अल्लूलाई यो लुक्समा किन देखाइयो भन्ने चर्चा र चासो उत्तिकै छ । तिरुपतिको लोकप्रिय लोक अनुष्ठान गंगम्मा तल्ली जतारामा सहभागी हुन जाने पुरुषलाई महिला रुपमा तयार पारिन्छ । यो चाँड मेको आसपास एक हप्ताका लागि मनाइन्छ ।

यो पर्वको अन्तिम दिन पुरुषलाई महिलाको रुपमा तयार पारिन्छ र उनीहरुलाई गंगम्माको रुपमा देखाइन्छ । जो खराब कुरालाई नष्ट गर्नका लागि चिनिन्छन् । निर्देशक सुकुमारले यो पर्वलाई एक ठूलो एक्सन सिक्वेन्स विकसित गर्नका लागि एक पृष्ठभूमिका रुपमा यो पर्वलाई लिएको अनुमान गरिएको छ ।

फिल्म सन् २०२३ को अन्त्य या सन् २०२४ को सुरुवातमा रिलिज गर्ने निर्माण पक्षको तयारी छ । फिल्ममाथि अहिले पनि काम चलिरहेको छ । फिल्ममा रश्मिका र फहल फासिलको पनि अभिनय छ ।

बारामा त्रिपक्षीय प्रतिस्पर्धा हुने सम्भावना, कसले मार्ला बाजी ?

बारा। बारा जिल्लाको उत्तर दक्षिण भूगोलमा रहेको बारा क्षेत्र नम्बर २ निर्वाचन क्षेत्र दक्षिणमा सीमावर्ती दशगजादेखि उत्तर चारकोसे जंगलसम्म फैलिएको छ । १३६ मतदान केन्द्र, ८२ वटा मतदान स्थल रहेको यस क्षेत्रमा विगतको भन्दा २८७ मतदाता थपिएर १ लाख ५ हजार २ सय  ९८ पुगेको छ । यस क्षेत्रमा कोल्हवी नगरपालिका वडा नम्बर ८, पचारौता र महागढीमाई गरी २ नगरपालिका तथा देवताल, सुवर्ण र करैयामाई गरी ३ गाउँपालिका रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव गत चैत ३ मा उपराष्ट्रपतिमा चयन भएपछि यो निर्वाचन क्षेत्र खाली भएपछि प्रतिनिधिसभाको वैशाख १० गते हुन लागेको हो । गत निर्वाचनमा एमालेसँगको तालमेलमा बारा–२ मा जसपाका रामसहाय प्रसाद  यादवले चुनाव जितेका थिए ।

यस उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट राजनीतिक दल र स्वतन्त्रसमेत गरेर ३६ जनाले उम्मेदवारी दिएका छन् । हेभिवेटको प्रतिष्ठा सँगै जोडिएको कारण यस क्षेत्र सर्वाधिक चासोको रुपमा छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी, नेपाली कांग्रेस, लोसपा र नेकपा एकिकृत समाजवादी पार्टीको समर्थनमा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीबाट उम्मेदवार शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रमेश खरेल, आम जनता पार्टीबाट उमेदवार अरुण ज्ञवाली र नेकपा एमालेका पुरुषोत्तम पौडेल सहितका चर्चित अनुहार प्रतिस्पधीका रुपमा छन् ।

यादब यसअघि मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका कारण अबसर खोज्दै बारा आएका यादबलाई यो पटक समेत सिके राउतको पार्टी भारी पर्ने देखिन्छ । यादब त्यहीँ कारण समेत अहिले मतदाताको घर देखि बारी सम्म भोट माग्दै गरेको देखिन्छ । मधेशका मुर्दाका कारण सधै जनताको साथ पाएका यादबले पद र सत्तमा मधेशका मुर्दा भुल्दा यादबको बहुलिएता भएको यस क्षेत्रमा समेत उपेन्द्र यादवलाई सजिलै विश्वाश गर्न वतावरण भने छैन । तर यादब भने आफुलाई जनताले मत दिनेमा आफू विश्वत रहेको दावी गर्छन् । 

यिनै यादवले गत निर्वाचनमा सप्तरी बाट १६ हजार ९ सय ७९ मत प्राप्त गर्दा सिके राउतले दोबर मत भन्दा बढी ३५ हजार ४२ मत प्राप्त गरेर बिजयी भएका थिए । मधेशमा पछिल्लो समय उदाएको सिके राउतको पार्टी जनमतबाट उम्मेदवार बनेका शिवचन्द्र कुशवाहाले यस पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको मत आफुतर्फ आर्कषित गर्ने रणनीति लिएको देखिन्छ सोही कारण कुशवाहाले राउतलाई सगै लिएर चुनावी प्रचारमा छन् । सिके राउतको पछिल्लो क्रेजलाई उनले आफ्नाे मतमा परिवर्तन गर्ने प्रयासमा छन् । 

शिवचन्द्र कुशवाहासमेत पराजित अनुहार हुन् । नेकपा माओवादी केन्द्रबाट आफ्नो पार्टीमा भित्राउँदै डा. राउतले यादवविरुद्ध उम्मेदवार खडा गरेका हुन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका शिवचन्द्र कुशवाहा माओवादी केन्द्रबाट टिकट नपाउने निश्चित भएपछि जनमत पार्टी प्रवेश गरेका हुन् । कुशवाहाले गत निर्वाचनमा बारा २ मा १३ हजार ४ सय ६८ मत पाएका थिए ।

यस्तै गत निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ–१ उम्मेदवार भएका पूर्व प्रहरी रमेश खरेलले हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चाका कारण यस क्षेत्रमा हाेमिएको देखिन्छ । कमजोर पार्टी संगठन र कार्यकताका करणका बाबजुद उम्मेदवारी दिएका खरेल कमजोर देखिए पनि उनि तिब्र चुनाबी प्रचारप्रसारमा छन् । 

यता पूर्व युवा तथा खेलकुद मन्त्री समेत रहेका एमालेका पुरुषोत्तम पौडेल ‘हेभिवेट भिडन्त’ मा सफल हुँदै प्रतिनिधिसभा प्रवेश गर्न तयार देखिन्छन् ।  २०७० सालपछि प्रत्यक्ष निर्वाचन लड्दै गरेका पौडेलबाहेक अन्य चर्चित अनुहार भने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा पराजय व्यहोरेका पराजित अनुहार हुन् ।

बारा– २ मा १ लाख ५ हजार २९८ जना मतदाता रहेको यस क्षेत्रमा मुख्य गरी जसपा, नेकपा एमाले र जनमत पार्टीका उमेदवारबीचमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन् ।

सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएता पनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताए ।

बैठकमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ। वित्तीय तरलताको स्थितिमा सुधार भएको छ। विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको छ। कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको छ। समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार भएको छ ।’

बैठकमा प्रधानमन्त्रीले नयाँ जनादेशसहित गठन भएको संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा सेवा प्रवाह, सुशासन, विकास निर्माण एवं अर्थतन्त्रको रूपान्तरण र सुदृढीकरणका लागि नीतिगत, संरचनागत तथा कार्यगत सुधारका विषयलाई महत्त्वपूर्ण प्राथमिकताका रूपमा राखिएको बताए ।

बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकार क्षेत्रसँगको सहकार्यमा अगाडि बढ्न चाहेको बताउँदै निजी क्षेत्रका विषयगत विधाबाट नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटका लागि एकीकृत सुझावका लागि व्यवसायीहरूलाई आग्रह गरे ।

बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत नेपाल चेम्बर अफ कमर्श, गैरआवासीय नेपाली संघ, साना तथा घरेलु उद्योग महासंघ लगायत निजी क्षेत्रसम्बद्ध संघसंस्थाका प्रमुख र प्रतिनिधिका साथै निजी क्षेत्रसम्बद्ध व्यक्तित्वहरूको उपस्थिति थियो ।

कर्णाली प्रदेश : ६ वटा सार्वजनिक बिदा दिने निर्णय, चैते दसैँमा पनि बिदा दिइने

सुर्खेत, ४ वैशाख । कर्णाली प्रदेश सरकारले कर्णालीका दशवटै जिल्लामा लागु हुने गरि विभिन्न मितिमा ६ वटा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले साेमबार प्रदेश राजपत्रमा एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।

प्रकाशित सूचना अनुसार जुम्लाबाहेक नौ जिल्लामा असार १५ गते तथा जुम्लामा चैत १२ गते राष्ट्रिय धान दिवसको अवसरमा विदा दिइने भएको छ ।

साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्व, भदौ ४ गते प्रदेश स्थापना तथा सहिद दिवस, चैतै दशैं र राम नवमीका दिनमा सरकारले प्रदेशभरि नै बिदा दिने भएको हो ।

यस्तै, असोज कृष्ण त्रयोदशीमा जुम्ला जिल्लाका प्रादेशिक र स्थानीय तहका कार्यालयका लागि चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेलाको अवसरमा बिदा दिइने भएको हो ।

सडक दुर्घटनामा मोरङमा एक जनाको मृत्यु

वैशाख, ४ उर्लाबारी – मोरङको उर्लाबारीमा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारी ४ आइतबारेमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको हो ।

आइतबार बेलुका साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको प्रदेश १–०२–०४७ प १६४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएको पैदलयात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ वर्षीय लोकबहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मङ्गलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालक सुनसरी इटहरी उपमहानगरपालिका-२ का २२ वर्षीय प्रविन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

वायु प्रदूषणले त्रिभुवन विमानस्थलको भिजिविलिटी घट्यो 

काठमाडौं, ४ वैशाख – केही दिनदेखि काठमाडौंको मौसम धुम्मिएको छ । उपत्यका आसपासका वनमा डढेलो लाग्दा तथा भारतको बिहार र उत्तर प्रदेशमा गहुँको छवाली बालेको धुँवा काठमाडौं छिर्दा त्यसको प्रभाव काठमाडौंको आकाशमा देखिएको हो ।

यसले आकाश मात्र धुम्मिएको छैन, यहाँको वायुप्रदूषणसमेत बढाएको छ । वातावरण विभागका अनुसार साँझ ६ बजे काठमाडौंको हावाको गुणस्तर एक्यूआई १६० भन्दा माथि छ । जुन अस्वस्थकर मानिन्छ ।

स्वीट्जरल्याण्डस्थित हावाको हावाको गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपाल अहिले पनि विश्वका प्रदूषित शहरको दोस्रो स्थानमा छ ।

बिहीबार सूर्यग्रहण लाग्ने

काठमाडौं, ४ वैशाख  – वैशाख शुक्ल पूर्णिमा अर्थात वैशाख ७ गते सूर्यग्रहण लाग्ने भएको छ । शुक्रबार लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएको नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए ।

नेपालबाट नदेखिने भएका कारण सूर्य ग्रहणको नेपालमा कुनै दोष नपर्ने उनको भनाइ छ । यसबाट कुनै राशिका व्यक्तिलाई अशुभ वा शुभको फल प्राप्त नहुने उनले बताए ।

यस दिन दोष नपर्ने भएका कारण बार्नु पनि नपर्ने अधिकारीको भनाइ छ । आगामी कार्तिक ११ गते पूर्णिमाका दिन लाग्ने चन्द्रग्रहण भने नेपालबाट देखिने उनले जानकारी दिए । वैशाख  ७ गते लाग्ने ग्रहण चीन, मङ्गोलियालगायत देशबाट सूर्यग्रहण देखिने छ ।

रवि लामिछानेको चालक तीन तलाको घरबाट खसेको अवस्थामा फेला

चितवन, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक ३९ वर्षका शम्भु भनिने दिलबहादुर थापा चितवनस्थित एक घरको तीन तलामाथिबाट खसेको अवस्थामा फेल परेका छन् ।

उनी बिहान ४ बजे तीन तलामाथिबाट खसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । 

थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे भएको प्रहरीले जनाएको छ ।

तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं- तनहुँमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आइतबार साँझ पृथ्वी राजमार्गअन्तर्गत शुक्लागण्डकी नगरपालिका–१२ पिउरी दोभानस्थित भित्री कच्ची सडकखण्डमा ग१ज ७९४२ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा सात यात्रु घाइते भएका छन् । दुर्घटना हुँदा मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिका–६ बस्ने ३९ वर्षीय कुलबहादुर सुनार रहेका छन् ।

दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–१२ बस्ने २१ वर्षीया मोतीकला भुजेल, सोही ठाउँ बस्ने ३५ वर्षीया बबिता भुजेल, ३१ वर्षीया कल्पना भुजेल, आठ वर्षीय आरभ भुजेल, ९ वर्षीया रुसिका थापा, ३० वर्षीया तिलकुमारी थापा र २७ वर्षीया हेमकुमारी भुजेल घाइते भएका छन् ।

भारतीय मिसाइल र बममा रविना टण्डनको नाम

हमुम्बई । सामान्तया फिल्ममा कुनै रुखलाई मायाको निशानीको रुपमा देखाइन्छ त कहिले भित्तालाई मायाको शब्दले भिजाइएको रुपमा प्रस्तुत गरिन्छ ।

यस्ता दृश्य देशका हरेक सहरका कुनाकुनामा देखिन्छन्, जहाँ प्रेम डुबेका जोडीहरु यस्ता किस्सा सुनाएर रमाइलो मान्छन् । 
तर यदि कुनै अभिनेत्रीको नाम बम र मिसाइलमै लेखियो र ती हतियार उसको विपक्षी देशलाई सप्रेम भेट उपहारका रुपमा दिइँदा त्यो हतियार निकै घातक साबित हुन्छ । बलिउड अभिनेत्री रविना टण्डनको जिन्दगीमा पनि यस्तै एउटा रोचक किस्सा बलिउडमा अहिले पनि सुनिन्छ ।

यो किस्सा कारगिल युद्धको हो । भारत र पाकिस्तानको यो युद्ध भइरहँदा त्यसबेला भारतीय मिसाईल र बम निकै लोकप्रिय थिए । किनकी ती मिसाईल र बममा अभिनेत्री रविना टण्डनको नाम लेखिएको थियो । 

९० को दशकमा रविना बलिउडकी लोकप्रिय अभिनेत्री थिइन् । उनको सुन्दरताबाट पाकिस्तानी तत्कालीन प्रधानमन्त्री नवाज शरीफ पनि फिदा थिए । उनले सार्वजनिक रुपमा नै रविनाको सुन्दरताको बयान गर्थे । एक अन्तरवार्तामा त उनले रबिना आफूलाई मनपर्ने अभिनेत्री रहेको नै बताएका थिए । 

सन् १९९९ मा जब कारगिल युद्ध शुरु भयो, त्यो बेला पाकिस्तानका प्रधानमन्त्री शरीफ आफ्नो नीति अनुसार भारतलाई निशाना बनाइरहेका थिए । त्यही बेला भारतीय सेनाले नवाजलाई आफ्नै शैलीमा जवाफ दिए ।

उनीहरुले आफ्नो बम र मिसाइलमा रविनाको नाम लेखेर ‘रविना टण्डनको तर्फबाट नवाज शरीफलाई उपहार’भन्दै मिसाईल र बम पठाएका थिए । त्यो तस्वीर उसबेला निकै भाइरल भएको थियो ।

हुम्लाका नागरिककाे अवस्था सुधार हुन सकेन, नुनमै कालाेबजारी

मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला भनेर परिचित हुम्लाका नागरिकले  राज्यको भएकाे अनुभुति गर्न पाएका छैनन । 
रोग र भोगले बाँचिरहेका हुम्लाका नागरिककाे अवस्था सुधार हुन सकेकाे छैन । गरिबी, अशिक्षा, भोकमरी त छँदैछ त्यसमा पनि राज्यबाट सहुलियत दरमा प्रदान हुने खाद्यान्न लगायत अन्य सेवामा पनि ठगिन पुगेका छन् । 

नेपाल सरकारबाट सहुलियत मूल्यमा प्रदान गर्ने नुन हुम्लीवासीले त्योभन्दा बढी मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । राज्यबाट  प्राप्त  सहुलियत दर  नौ रुपैयाँमा  बिक्री गर्नुपर्ने नुन १५ रुपैयाँमा बिक्री  गरेर उपभाेक्तामाथि चरम अन्याय गरिएकाे छ । हुम्ला सदरमुकाम सिमिकोटदेखि करिब दुई तीन दिनको टाढा गाउँ चंखेली गाउँपालिकाका नागरिक एक पोका नुनको मूल्य १५ रुपैया तिरेर उपभोग गर्न बाध्य भएका छन् । 

हुुम्ला र मुगुका  बोहोराबाडा, रिमीलगायत गाउँका स्थानीयवासी एक पोका नुनको मूल्य १५ रुपैयाँ तिरेर उपभोग गर्न बाध्य भएका हुन । सरकारबाट ९ रुपैयाँमा बिक्री भएकाे एक पोका नुनको १५ रुपैया तिरेर स्थानीय उपभोग गर्न बाध्य भएकाे हुम्लाको चंखेली गाउँपालिका वडा नं १ बोहोरावाडा गाउँका स्थानीय असौजे बोहोराले बताए । 

हुम्लामा एक पोका नुुनको १५ रुपैयाँ पर्ने गरेकाे विषयमा जानकारी लिन खाेज्दा हुम्लाका प्रमुख जिल्ला अधिकारी श्रीनाथ अधिकारीले गैरजिम्मेवार जवाफ दिएनन् । न्युज कारखानाले हुम्लामा नुनमा भइरहेकाे कालाेबजारीबारे जिज्ञासा राख्दा प्रमुख जिल्ला अधिकारी श्रीनाथले भने, ‘यस्ता समस्या त नजिकका स्थानीय सरकार , वडा कार्यालयले सम्बोधन गर्ने कुरा हो । आफ्नो वडाको के समस्या छ, त्यो स्थानीय सरकारले गर्ने हो ।’

प्रमुख जिल्ला अधिकारीले नै जिल्ला खाद्य व्यवस्थापन समिति अध्यक्षकाे जिम्मेवारी निर्वाह गरेका हुन्छन् । 

भू-माफियाले गिद्धे नजर लगाएपछि मर्धर सिमसार क्षेत्र बचाऊ संघर्ष समिति गठन

राैतहट । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भू-माफियाले हत्याएपछि मर्धर सिमसार बचाउ संघर्ष समिति गठन भएको छ ।

मर्धर सिमसार क्षेत्रमा बसेको स्थानीयहरुको भेलाले शिवप्रसाद आचार्यको संयोजकत्वमा १७ सदस्यीय सिमसार क्षेत्र बचाउ संघर्ष समिति गठन गरेको स्थानीय युवा सुदिप गिरीले जानकारी दिएका छन् । समितिको सहसंयोजकमा राजन कार्की र सचिवमा सरोज बछार रहेका छन् ।

यसैगरी समितिको सदस्यहरुमा सुदिपराज गिरी, थिर कुमारी कार्की, सबिता आचार्य, राजु पराजुली, धुब्र घिमिरे, अमृत सापकोटा, जोखन बिक, शेरबहादुर तामाङ, थलराज भारती, तेजबहादुर महत, जंगबहादुर थापा, कुमार पहाडी, बिनोद कार्की, र बिद्या सापकोटा रहेका छन् ।

समितिले सिमसार क्षेत्रको संरक्षणको लागी सोमबारदेखि नै नगर प्रमुख लगायतका जनप्रतिनिधिहरुसँग छलफल गरेर काम अगाडि बढाउने संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।  समितिले सोमबार १० बजे चन्द्रपुर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधिहरुसँग छलफल तथा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको समितिका संयोजक आचार्यले बताए ।

जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भू- माफियालले आफ्नो नाममा गरेपछि स्थानीय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन् । भू- माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठ्ठाका दरले २० टुक्रा गरेका छन् ।

मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् ।

काँक्रो खानुका फाइदा : तौल घटाउनदेखि कब्जियत हटाउनसम्म

काठमाडौं, ४ वैशाख । गर्मीमा काँक्रो खाने हो भने तौल घटाउन सकिन्छ । काँक्रोलाई आहारको रूपमा समावेश गर्ने बानी बसाल्न सकिएमा विस्तारै शरीरको तौल घटाउन सकिन्छ । 

शरीरलाई शीतलता दिनको लागि होस् वा पेटको विकारलाई निको पार्न पनि काँक्रो निकै फाइदाजनक हुन्छ । शरीरलाई शीतलता र ताजगी प्रदान गर्नुका साथै काँक्रोका धेरै फाइदाहरू छन्। 

काक्रोमा एन्टिडायबेटिक र एन्टिअक्सिडेन्टहरू प्रशस्त छन् र यसमा भिटामिन सी, भिटामिन के र अन्य पोषक तत्वहरू पनि पाइन्छ जसले स्वास्थ्यलाई स्वस्थ राख्छ र तौल घटाउन पनि गर्दछ । 

काँक्रो एक कम क्यालोरी खाना हो, जसमा शून्य बोसो हुन्छ । त्यसैले तौल घटाउने आहारमा काँक्रोलाई समावेश गर्न सकिन्छ।

कब्जियत जस्ता पेटको समस्यालाई हटाउन काँक्रो निकै फाइदाजनक हुन्छ । काँक्रोमा प्रशस्त मात्रामा फाइबर हुन्छ र यसमा पानीको मात्रा पनि उच्च हुन्छ जसले कब्जियतबाट छुटकारा पाउन मद्दत गर्छ।
 

म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित

काठमाडौं, ४ वैशाख । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडसँग नटिङहम फरेस्ट पराजित भएको छ ।

युनाइटेडले नटिङहम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै युनाइटेडलाईबशीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।

द सिटी ग्राउन्ड नटिङहममा युनाइटेडको जितमा एक गोल डिएगो डालोटको नाममा रह्यो भने अर्को गोल विंगर एन्टोनीले गरे ।

यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

आजबाट सूर्य नेपाल एनपिजीए टुर हुने

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२÷२३ अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल एनपिजीए टुर च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ ।  गोकर्ण गल्फ क्लबमा चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिष्पर्धा हुने सूर्य नेपालले जनाएको छ । 

३२ व्यवसायिक गल्फर र आठ एमेच्योरले सहभागिता हुने प्रतियोगिताको सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट बनाउनेछन् ।

प्रतियोगितामा भुवन नगरकोटी, जयराम श्रेष्ठ, सञ्जय लामा, धन थापा, रामे थापा मगर, निरज तामाङ,  रवि खड्का, सद्भाव आचार्य , सुवास तामाङ  लगायतले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले एक लाख ४० हजार, उपविजेताले ९० हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
 

बालकोटमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता हुँदै

काठमाडौं – प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भेटवार्ता हुँदै छ । 

भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा सोमबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल हुन लागेको हो ।

बालकोट पुगेर एमाले अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामना गर्ने  र संसदमा विधेयक अगाडि बढाउन विषयमा छलफल गर्ने कार्यसूची रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सुर्यकिरण शर्माले जानकारी दिए ।

“विगत केहि दिनदेखि संबैधानिक परिषद् सम्बन्धी विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरू बीच छलफल भइरहेको छ,” उनले भने, “यो बीचमा तीन दिन यता पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या भई छलफल अवरुद्ध हुन पुगेकोले आज बिहान ९ बजे सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत ओली निवास बालकोट पुगी स्वास्थ्य लाभको कामना गर्ने र संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने  कार्यसूची रहेको छ।”