`

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं – राष्ट्रिय सभाको बैठक बस्दै छ । 

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ । 

यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । 

उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।

जनताको बढी भीड लाग्ने सरकारी कार्यालय नै बिचौलियाको घेराबन्दीमा

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयहरू नै बिचौलियाको घेराबन्दीमा रहने गरेकाले सुशासन कार्य जटिल र चुनौतीपूर्ण रहेको निष्कर्ष निकालेका छन् ।

भ्रष्टाचार नियन्त्रणमा काम गर्दै आइरहेका यी दुवै निकायले भ्रष्टाचार रोक्न ती सरकारी कार्यालयमा बिचौलिया प्रथा अन्त्य हुनुपर्ने सुझाव दिएका छन् । अख्तियारले गत आर्थिक वर्षमा मात्रै घुसको लेनदेन गर्ने १ सय ७४ जना बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्नुले पनि बिचौलियाहरू कुन हदसम्म हावी भइरहेका छन् भन्ने तथ्य उजागर गरेको छ ।

अख्तियारले भ्रष्टाचारको प्रकृति विश्लेषण गर्दा कर्मचारीका साथै निर्वाचित तथा मनोनित पदाधिकारी र बिचौलियार मतियारसमेतको संलग्नतामा भ्रष्टाचार अत्यधिक रूपमा भइरहेको विश्लेषण गरेको छ । अख्तियार र सर्तकता केन्द्रले जनताको बढी भीड लाग्ने सरकारी कार्यालयमा भ्रष्टाचार बढी हुने र बिचौलियाहरू हाबी हुने निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्रीको कार्यालयले त्यसलाई रोक्न कुनै रणनीति बनाएको छैन ।

मालपोत कार्यालय, नापी कार्यालय, यातायात कार्यालय, जिल्ला प्रशासन कार्यालय, खानेपानी कार्यालय, सिँचाई कार्यालय, घरेलु कार्यालय, स्थानीय तहहरूलगायतका निकायमा बिचौलियाहरू हाबी हुने गरेका छन् । यो समाचार नेपाल समाचार पत्रदैनिकमा छ ।

तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष बन्दै

काठमाडौँ। तीन महिनाभित्र वीर अस्पतालमा जलन उपचार कक्ष (बर्न वार्ड) सञ्चालन गर्ने घोषणा भएको समय व्यतीत हुन लाग्दा सामान्य भौतिक पूर्वाधार मात्र तयार भएको छ। दुई महिनामा सामान्य भौतिक पूर्वाधार तयार भएको छ भने आवश्यक उपकरण र जनशक्तिको व्यवस्था अझैसम्म भएको छैन।

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी २०७९ फागुन ३ गते राति ग्यास विस्फोटमा परेर घाइते हुँदा नेपालमा उपचार हुन सम्भव नभएपछि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो। सोही घटनामा उनकी आमाको भने निधन भएको थियो।

नेपालमा कीर्तिपुर बर्न अस्पताल मात्र जलनको उपचारका लागि राम्रो अस्पताल मानिएकोमा त्यहाँ पनि उपचार हुन नसक्दा सांसद भण्डारीलाई हवाई एम्बुलेन्समार्फत बाहिर लानुपरेको थियो। नयाँ वर्ष २०८० का अवसरमा भिडियो सन्देश जारी गर्दै उनले अब आफू नेपालमा नै आएर उपचार गर्ने बताएका छन्।

सोही घटनाबाट नेपालमा राज्य तहमा जलन अस्पताल नरहेको उजागर भएको थियो। त्यससम्बन्धी समाचार गोरखापत्रमा प्रकाशित भएको भोलिपल्ट २०७९ फागुन ५ गते वीर अस्पतालका कार्यकारी निर्देशकमा नियुक्त भएका डा. सन्तोष पौडेलले पहिलो निर्णय गर्दै तीन महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष निर्माण गर्ने घोषणा गरेका थिए । उनले घोषणा गरेको दुई महिना हुन लागेको छ। अबको एक महिनाभित्र वीर अस्पतालमा अत्याधुनिक जलन उपचार कक्ष सञ्चालनमा आइसक्नुपर्ने हुन्छ।

कार्यकारी निर्देशक डा. पौडेलले भौतिक पूर्वाधार तयार भए पनि उपकरण र जनशक्ति आवश्यक रहेको जानकारी दिए । उनले जलन उपचार कक्ष निर्माणका लागि प्लास्टिक सर्जन डा. पशुपतिबाबु पोखरेलको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा काम अघि बढिसकेको बताए ।

उक्त समितिले जलन वार्ड कहाँ राख्ने, कति क्षमताको हुने, जनशक्ति कति राख्ने, अन्य उपकरण के कति राख्ने भन्ने विस्तृत विवरणसहितको प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा जनशक्ति, भौतिक पूर्वाधार र उपकरणलगायतको प्रक्षेपण छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।

दस वर्षको अवधिमा निर्यातमा नगद अनुदानबापत पाँच अर्ब ३४ करोड वितरण

काठमाडौँ । सरकारले दस वर्षको अवधिमा निर्यातमा नगद अनुदानबापत पाँच अर्ब ३४ करोड रुपियाँ वितरण गरेको छ । स्वदेशी उत्पादनलाई निर्यातमुखी बनाई निर्यात प्रवर्द्धन गरी वैदेशिक व्यापार असन्तुलनलाई कम गर्ने उद्देश्यसहित निर्यातमा अनुदानको व्यवस्था गरिएको थियो तर निर्यातमा नगद अनुदान उपलब्ध गराए पनि निर्यात भने उत्साहपूर्वक बढ्न नसकेको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत निर्यातमा नगद उपलब्ध गराउने घोषणा गरिएको थियो । सोही घोषणाअनुसार उद्योग विभागले निर्यात कार्यविधि बनाई निर्यातकर्तालाई अनुदान प्रदान गर्दै आएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९/७० देखि आव २०७८/७९ सम्म पाँच अर्ब ३४ करोड ९२ लाख रुपियाँ अनुदान वितरण गरिएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६९/७० मा मुलुकबाट ७७ अर्ब ३५ करोड ७० लाख नौ हजार रुपियाँमा रहेको निर्यात आव २०७८/७९ मा बढेर दुई खर्ब ३० करोड ९६ लाख रुपियाँ पुगेको छ । १० वर्षको अवधिमा निर्यात वृद्धि गरी व्यापार घाटा कम गर्न निर्यातमा अनुदान दिए पनि सामान्य निर्यात बढे पनि लक्ष्यअनुसार निर्यात बढ्न सकेको छैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

हरेक वर्ष खेतीपातीको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव

हरेक वर्ष खेतीपातीको मुख्य सिजनमा रासायनिक मलको चरम अभाव देखिनु नेपाली किसानका लागि नियमित दुर्दशा भइसकेको छ । मल खरीदका लागि शुरूमै पर्याप्त बजेटको व्यवस्था नहुनु, खरीद प्रक्रिया असफल हुनु र ब्याकअप टेन्डरको व्यवस्था नहुनुजस्ता कारणले समयमै मल आपूर्ति हुन नसकेको बताइन्छ ।

मल अभावको असर पछिल्ला वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा समेत देखिन थालेको छ । पछिल्लो १ दशकको अवधिमा जीडीपीमा कृषिक्षेत्रको योगदान ३२ दशमलव ७ प्रतिशतबाट घटेर २३ दशमलव ९ प्रतिशत भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा खेती गरिने कुल ३० लाख ९१ हजार हेक्टर जमीनमा पुग्नेगरी प्रयोग गर्दा वर्षमा ७ लाख मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । कम प्रयोग गर्दा पनि वर्षभरिमा ५ लाख २० हजार मेट्रिक टन मल आवश्यक हुन्छ । तर, मन्त्रालयकै तथ्यांकले विगत ७ वर्षमा कुनै पनि वर्ष ४ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल आपूर्ति भएको देखाउदैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

फेसबुकले गरायो ५८ वर्षपछि दाजु–बहिनीको भेट

बाँके । सामाजिक सञ्जाल फेसबुकले ५८ वर्षपछि दाजु–बहिनीको भेट गराएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि फेसबुकले गर्दा भेट्न पाएका हुन् ।

हिमा ज्ञवालीका दाजु डीपी शर्मा घिमिरेले फेसबुकबाट आफन्तलाई खोजी गर्दा बहिनी हिमालाई भेटे । त्यसपछि बर्मामा बस्ने दाजु नेपालगञ्ज आएर बहिनीसँग भेट गरे । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन । बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हेमाको ठेगाना पत्ता लगाए ।

त्यसपछि उहाँ बहिनी र आफन्त भेट्न १८ दिनको भिसा लिएर नेपाल आए । बहिनी हिमाले भनिन्, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ । बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा खुसीले गदगद भएकी छु ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।

देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढ्यो

काठमाडौँ । पछिल्लो ६ महिना वर्षा नभएको कारण यस वर्ष देशभरि वन तथा निकुञ्ज क्षेत्रभित्र डढेलोको घटना बढेको छ, जसको कारण काठमाडौँ उपत्यका वायु प्रदूषणको हिसाबबाट विश्वमा सबैभन्दा बढी वायु प्रदूषित सहरहरूको सूचीमा पहिलो स्थानमा पुगेको छ ।

वातावरणविद्हरू काठमाडौँ प्रदूषित सहर हुनुमा काठमाडौँ उपत्यकाका वरिपरि लागेको डढेलो नै प्रमुख कारण रहेको बताएका छन् । उनीहरूका अनुसार बारा, पर्सा, चितवनलगायतका जिल्लाबाट बागमती कोरिडोर हुँदै प्रदूषण काठमाडौँ उपत्यका आइपुगेको छ । तर उपत्यका भित्रिएका प्रदूषित हावा उपत्यकाबाहिर जान नसकी उपत्यकामै थुप्रिएको छ ।

वन तथा भूसंरक्षण विभाग वन व्यवस्थापन महाशाखाका अनुसार २०७८ चैतको तुलनामा २०७९ चैतमा झन्डै दोब्बर डढेलोको घटना बढेको छ । महाशाखाका अनुसार २०७८ चैतमा २ सय ६७ वटा डढेलाका घटना भएका थिए भने २०७९ चैतमा ५ सय ४० वटा डढेलोका घटना भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

आजको मौसम : गण्डकी र कर्णालीमा क्षणिक वर्षा, तराईमा हावाहुरी

काठमाडौं, ४ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार गण्डकी र कर्णालीमा क्षणिक वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको जनाएको छ । 

सोमबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखााले जनाएको छ ।

महाशाखाका अनुसार देशका गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरु र बाँकी पहाडी भू-भागका एक–दुई स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । साथै तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

सोमबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
 

अर्पण, सलोन र केकीको फिल्म ‘जय हो’को छायांकन सकियाे

काठमाडाैँ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘जय हो’को मुक्तिनाथमा अन्तिम सट खिच्दै ३० दिनमा सम्पूर्ण छायांकन सकिएको छ । कास्की र मुस्ताङको विभिन्न स्थानमा सिनेमाको छायांकन गरिएको हो ।

टेक पौरखी राईको निर्देशन गरेको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, माओत्से गुरुङ, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सिनेमामा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, समीर मियाँको भिएफएक्स, केबलमान सिङ बस्नेत प्रोडक्सन म्यानेजरमा रहेका छन् । 

सुरेश न्यौपानेको कथा लेखन रहेको सिनेमामा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहको सिनेमा आगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् ।

सचिन तेन्दुलकरका छोरा अर्जुनको आईपीएलमा डेब्यू

मुम्बई, ३ वैशाख । इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ मा भारतीय चर्चित क्रिकेटर सचिन तेन्दुलकरका छोरा अर्जुनले डेब्यू गरेका छन् । उनले मुम्बई इन्डियन्सबाट कोलकाता नाइट राइडर्सबाट आईपीएलमा डेब्यू गरेका हुन् । 

उनले गतवर्ष भारतको सर्वाधिक लोकप्रिय घरेलु प्रयितोगिता रणजी ट्रफीमा डेब्यू खेलमै शतक हानेका थिए । अर्जुनले भारतीय यू–१९ टोलीबाट पनि खेलि सकेका छन् । उनी तीव्र गतिका बलिङको लागि चिनिन्छन् ।
 

ओलीको स्वास्थ्यमा समस्या देखियो

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएको छ । ओली भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि औषधि आएर आराम गरिरहेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् “भाइरल ज्वरोका कारण मेरो स्वास्थ्यमा केही समस्या आएको छ, अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु ।”

आगामी वैशाख १० गते हुन लागेको तनहुँ, चितवन र बारामा हुन लागेको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई अध्यक्ष ओलीले विजयी हुन अग्रीम शुभकामना व्यक्त गरे । “तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारको चुनावी अभियानमा सहभागी हुने मेरो इच्छा थियो, तर, अहिले म ती कार्यक्रममा सहभागी हुन सकिरहेको छैन”

अध्यक्ष ओलीले भने, “तनहुँ– १ मा सर्वेन्द्र खनाल, चितवन–२ मा राम न्यौपाने र बारा–२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौँ, तपाईंहरूको प्रतिनिधित्वका लागि उहाँहरू योग्य उम्मेदवार हुनुहुन्छ, उहाँहरूलाई विजय गराउनुहुन तनहुँ–१, चितवन–२ र बारा–२ का आम मतदाता समक्ष म विनम्र आग्रह गर्दछु ।”

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु 

कञ्चनपुर, ३ चैत – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । थप एक जना घाइते भएका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–४ रानाटोलस्थित सडकमा भकुण्डादेखि बेलौरी बजारतर्फ जाँदै गरेको से.७ प ५९४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार सोही नगरपालिका–१० शिवनगरका २२ वर्षीय रामबहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको इशान मेमोरीयल अस्पताल बेलौरी हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको  निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नियतवस लिलामीमा लगेकाे भन्दै बैंकमा तालाबन्दी

भैरहवा, ३ वैशाख – रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा अवस्थित एनआईसी एशिया बैंकमा तालाबन्दी भएकाे छ । बैंकले ज्यादती गरी करोडौंको सम्पत्ति नियतबस लिलामी प्रक्रियामा लगेको भन्दै सेवाग्राही र व्यवसायिकसंस्थाहरुले तालाबन्दी गरेका हुन् । 

स्थानीय पर्यटन तथा होटल व्यवसायी उमाशंकर मिश्राको होटल आकाशको भवन र पार्किङ रहेको करिब ४६ धुर तथा घर रहेको २० धुर जग्गा समयमा किस्ता नतिरेको भन्दै बैंकले लिलामी प्रक्रियामा लगेको छ । १५ करोड बढी मुल्य पर्ने जग्गा धितो लाखेर ४ करोड ऋण निकालेका मिश्राले २०७९ असोज मसान्तदेखि किस्ता नतिरेपछि बैंकले लिलामी प्रक्रियामा लैजान ताकेता गर्दै आएको थियो ।

आर्थिक संकटले किस्ता तिर्न नसकेका मिश्रालाई १० लाख बुझाएमा तत्कालका लागि लिलामी प्रक्रियामा नजाले र किस्ता तिर्न बैंकले केही समय उपलब्ध गराउने आश्वासन दिएर झुक्याएको पीडित बताउँछन् । मिश्राका अनुसार बैंकका म्यानेजर प्रविन रायमाझीले भने अनुसार नै उनले गत चैत्र २२ गते १० लाख रुपैयाँ लगेर रकम जम्मा गराए । त्यसको केही दिनपछि चैत्र २५ गते एनआइसी एसियाको क्षेत्रीय कार्यालय भैरहवा बोलाएर त्यहाँका प्रमुख तिलक सुन्दर कार्कीले थप ९ लाख बुझाउनु पर्ने नत्र लिलामी प्रक्रियामा जाने चेतावनी दिए । मिश्राले थप ९ लाख जोहो गर्नका लागि थप केही दिन समय मागे ।

केही दिनमा ९ लाख जम्मा गरेपछि केही दिनका लागि किस्ताको भाका सर्ने आशा लिएर घर फर्किएका उनलाई पुन बैंकले फोन गरेर भन्यो ‘९ लाखले पुग्दैन ३० लाख जम्मा गर्नुपर्छ नत्र लिलामी प्रक्रियामा जान्छौं ।’ उक्त रकम तत्काल जम्मा गर्न नसक्ने बताउँदै पीडित मिश्राले किस्ता तिर्ने भाका माग गरे । तर, बैंकले २०७९ सालको अन्तिम दिन चैत्र ३० गते नै लिलामी प्रक्रियाका लागि सूचना जारी गर्यो ।

आर्थिक संकटले व्यवसायी धरासायी भएको अवस्थामा यसरी बैंकले नियतबस नै जग्गा लिलामी प्रक्रियामा लैजाने तथा ज्यादती गरेपछि तालाबन्दी गर्नुपर्ने अवस्थामा पुगेको बताउँछन् उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली । आइतबार सेवाग्राहीले एनआईसी एसिया बैंकका लुम्बिनी शाखा अगाडि नाराबाजी सहित ज्यादतीको बिरोध गरेका थिए । बिरोध तथा तालाबन्दी कार्यक्रममा सिद्धार्थ होटल एशोसिएसन संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।

तालाबन्दीपछि बैंक प्रशासनले समस्या समाधानका लागि छलफल गर्न तयार रहेको भन्दै सोमबारका लागि समय दिएपछि ताला खोलिएको छ । घटना बारे बुझ्न खोज्दा बैंकका लुम्बिनी शाखाका म्यानेजर प्रविन रायमाझीले सोमबारको छलफल गर्ने भनि समती भएको बताउँदै अन्य कुरा खुलेर गरेनन् । बैंकले कानूनी प्रक्रिया अनुसार नै अघि बढेको बताउँदे उनले सोमबारको छलफलबाट समाधान निस्किने उल्लेख गरे । यसैगरी प्रादेशिक कार्यालयका प्रमुख तिलक सुन्दर कार्कीले पनि नियम अनुसार नै बैंक अघि बढेको दाबी गरेका छन् । हाल आफू काठमाण्डौंमा रहेको बताउँदै उनले सोमबार रुपन्देही आएर छलफल गरी निष्कर्श निकाल्ने उल्लेख गरे ।

२० हजार घुस लिने हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौं, ३ वैशाख – टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रमसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका एक हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सुरक्षा वेसक्याम्प बिष्णुपुरा रुपन्देहीका सशस्त्र प्रहरी सहायक हवल्दार नगेन्द्र सेनविरुद्ध भ्रष्टाचार मुद्दा हालेको हो ।

सेनले सेवाग्राहीसँग टयाक्ट्ररमा माटो ओसारपसार गर्ने क्रममा घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारको कार्यालय बुटवलबाट थएको टोलीले पुनले २० हजार घुस लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा उनलेले घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं, ३ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कप खेल्ने १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानले ओमानसँगको अभ्यास खेलपछि रोहित पौडेलको कप्तानीमा अन्तिम १४ सदस्यीय टोली घोषणा गरेको हो ।

त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा मंगलबारदेखि सुरु हुने एसीसी प्रिमियर कपमा  १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको उपाधि जित्ने टोलीले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी र ललित राजवंशी ।

वैकल्पिक खेलाडी : अर्जुन साउद, सन्दीप जोरा, सूर्य तामाङ र किशोर महतो ।
 

बालकोटमा नयाँ ढलमा कसरी पुरिएका थिए दुई कर्मचारी

भक्तपुर, ३ वैशाख – भक्तपुरको बालकोटमा नयाँ ढल विस्तारको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका दुई जना कामदार पुरिएका छन् । सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको बस्तीमा काम भइरहँंदा उनीहरू पुरिएको प्रहरीले जनाएको छ । 

साँंझ चार बजेपछि भएको घटनामा परेका उनीहरूको उद्धार कार्य जारी रहेको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जनाए । उनीहरूमध्ये सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षीय सियाराम सदालाईको साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए । उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जनाए । सोही स्थानमा घर भई हाल बालकोटमै बस्ने वर्ष २२ को नितेश सदाको उद्धार कार्य जारी रहेको एसपी केसीले जनाए । 

निजहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना संचालन गरी बस्ने ४६ वर्षीय रामदेव यादब एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर प्रेशरको रोगी भएको पनि जनाइएको छ । 

खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिई गएको जनाएको छ । साथै वृत्त ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्छ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ ।

अक्तियार दुरुपयोगको दायरामा हुनुपर्ने व्यक्तिले चुनाव जित्दैनन् : नैनसिंह महर

चितवन, ३ वैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा हुनुपर्ने व्यक्ति चुनाव लड्नु राम्रो नभएको बताएका छन्। आज चितवमा क्षेत्र नम्बर २ को चुनावी कोणसभामा बोल्दै नेता महरले राजनीतिमा  शुद्धीकरणको नारा दिएर छोटो समयमै स्थापित भएका नयाँहरू दर्जनौँ काण्डमा मुछिकाले उनीहरूको नैतिकता धर्मराएको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति इङ्‍गित गर्दै उनले भने, ‘उहाँले नयाँ अनुसारको ढोङ फुक्नु भएको थियो। जनतालाई भ्रमित पार्ने काम गर्नुभएको थियो। तर, एकपछि अर्को विवादित कुरा सार्वजनिक भएसँगै उहाँको भ्रमको मुकुन्डो उदाङ्‍गो भएको छ। जनतालाई लामो समय भ्रममा राख्ने उहाँहरूको सडयन्त्र विफल भएको छ।’

नेपाली कांग्रेसको त्याग र संघर्षबाट प्राप्त लोकतन्त्रलाई धमिल्याउन खोज्नेहरूलाई जनताले समयमै चिनेर पाखा लगाउनुपर्ने महरले बताए।

‘चितवनका जनता सचेत हुनुहुन्छ। उहाँ अब भ्रममा पर्नुहुने छैन। आसन्न उपनिर्वाचनमा बहुसङ्ख्यक जनताले कांग्रेसको पक्षमा मत जाहेर गर्ने छन्। नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएकोमा त्यो दिनानुदिन हट्दै गएको छ। उहाँहरूको असली चरित्र बाहिरिँदा जनता सचेत बनिरहेका छन्,’ महरले भने।

जनतामा सुशासनको लोकप्रिय नारा लगाउँदै मत पाएर गएकाले चार महिनामै करोडौंको बार्गेनिङ गर्नुले उनीहरू कस्ता चरित्रका हुन् भन्ने प्रस्ट भएको महरले बताए। भ्रमको पर्दा उध्रिसकेको अवस्थामा जनता जागरूक नबने लोकतन्त्रलाई खतरामा पार्ने शक्तिहरू सलबलाउनेतर्फ उनले चिन्ता व्यक्त गरे।

‘उपनिर्वाचनको लागि हामी चितवनका टोल-टोलमा छौं। किन फेरि उपनिर्वाचन हुँदैछ? भन्ने प्रश्नले हामीलाई घेरेको छ। फोहर सफा गर्न राजनीतिमा आएका हौं भन्ने नयाँ स्वेतवस्त्रधारीहरू यति चाँडै कुरूप बन्दा उपनिर्वाचनमा आउनु परेको हो। तपाईंहरूले यो कुरालाई बुझेर फोहर थुपार्नेहरूको विकल्प खोज्न तयार हुनुहोला,’ उनले जनतासँगको भेटमा भने।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरेसँगै यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा कांग्रेसबाट पूर्वसभापति जीतनारायण श्रेष्ठ उम्मेदवार छन्।

कास्की मालपोतको घटना तत्काल छानविन गरेर रिपोर्ट पेश गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं ३, वैशाख – भूमि व्यवस्था, सहकारि तथा गरिबि निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीको कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानविन गर्न निर्देशन दिएकी छन् । आईतबार मन्त्रि श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् । 

केही दिनअघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरुले आर्थिक चलखेल गरि सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।

सोही घटनाको बिषयमा थप सत्यतथ्य छानविन गरि विभागिय कारवाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् । ‘मैले नेतृत्व गरेको मन्त्रालय अन्तरगत हुने कुनै पनि अनियमितता, भ्रष्ट्रचार र गलत कामलाई म नजरअन्दाज गर्न सक्दिँन । जसरी मालपोत कार्यालय कास्कीको भिडियो मिडिया र सामाजिक सन्जालमा भाइरल भइहेको छ त्यस विषयमा तत्काल छानविन गरि रिपोर्ट बुझाउनु होला’, मन्त्री श्रेष्ठले महानिर्देशकलाई टेलिफोनमा भनिन् । 

मन्त्री श्रेष्ठले कास्की मात्रै हैन् अन्य जिल्लाको मालपोत तथा नापी कार्यालयहरूको अवस्था र समस्याका विषयमा अध्ययन गरि रिपोर्ट पेश गर्न निर्देशन दिइन् । मालपोत र नापी कार्यालयहरूमा सेटिङमा हुने अनियमितताको जालो आफ्नो नेतृत्वमा न्युनीकरण गर्ने उनले  बताइन् ।
 

ढल विस्तार गर्दा पुरिएका दुईमध्ये एकको मृत्यु

भक्तपुर, ३ वैशाख – भक्तपुरको बालकोटमा नयाँ ढल बिस्तारको क्रममा पुरिएका दुई जनामध्ये एकजनाको मृत्यु भएको छ । पुरिएका दुईमध्ये बर्ष २२ को नितेश सदाको मृत्यु भएको भक्तपुर प्रहरी परिसरले जनाएको छ । 

ढलको काम भइरहेको अवस्थामा एक्कासी माटोको ढिस्को खस्दा सोही स्थानमा काम गरिरहेका उनीहरू पुरिएका थिए । जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नम्बर २ बालकोटको रागीनी हाइटमा काम गरिरहेका उनीहरू पुरिएका हुन् । कौशलटारबाट सिरुटार जाने सडकको अन्दाजी २० मिटरभित्रको वस्तीमा काम भइरहेको हो । 

भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले घटना साँंझ चार बजे भएको जनाए । उनीहरुमध्ये सुनसरी गढी गाउपालिका –२ घर भई हाल भक्तपुर बालकोट वस्ने ३०वर्षीय सियाराम सदालाई साढे पाँंच बजे उद्धार गरी उपचारको लागि नजिकैको भक्तपुर इन्टरनेशनल अस्पताल लगेको उनले जनाए । उनी बोल्न सक्ने अवस्थामा रहेको उनले जनाए ।

सोही स्थानमा घर भई हाल बालकोटमै वस्ने  ६ बजे रितेशको मृत्यु भएको हो । उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको एसपी केसीले जनाए ।

घटनास्थलमा उनीहरूलाई काममा लगाउने सुनसरी गढी गाउपालिका–२ घर भई हाल भक्तपुर बालकोटमा रिङ कारखाना सञ्चालन गरी वस्ने ४६ वर्षीय रामदेव यादव एकासी बेहोस भई तत्काल एम्बुलेन्समा राखी भक्तपुर इन्टरनेशनल अस्पताल पठाइएको जनाइएको छ । उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनी सुगर र प्रेशरको रोगी भएको पनि जनाइएको छ । 

खवर प्राप्त हुनासाथ प्रहरी हवल्दार प्रमिला कार्कीको टोली घटनास्थलमा खटिएको थियो ।साथै वृत ठिमीबाट प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठको कमाण्डमा १८ जनाको टोली खटिई उपलब्ध श्रोत साधनसमेतको सहयोगमा उद्धार कार्य जारी रहेको जनाइएको छ । घटनास्थल वृत्त ठिमीबाट ४ किलोमिटर.दक्षिण पश्चिममा पर्दछ । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । 

नवनियुक्त परराष्ट्रमन्त्री साउद र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं, ३ वैशाख – नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । 

आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएको हो । साउद परारष्ट्रमन्त्रीमा नियुक्त भएपछि राजदूत श्रीवास्तव उनलाई भेट्न मन्त्रालय पुगेका हुन् । 

भेटमा श्रीवास्तवले नवनियुक्त मन्त्री साउदलाई बधाई दिएका थिए । भेटमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका विषयमा पनि सामान्य छलफल भएको बताइएकव छ ।

सेवा निवृत्त शिक्षकहरुका पेन्सन नरोक्न सरकारसँग अपिल

भक्तपुर, ३ वैशाख – सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्तिभरण निकासा नभएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति प्रकाशित गरी समाजका अध्यक्ष अम्बिकामान मानन्धरले शिक्षकहरूको मात्र निवृत्तिभरण किन रोकिएको भनी प्रश्न समेत गरेका छन् ।

‘सेवा निवृत्त शिक्षकहरूलाई निवृत्तिभरण (पेन्सन) सरकारको सामाजिक दायित्वभित्र पर्छ । यो शिक्षक आन्दोलनका उपलब्धीहरूमध्येको एक हो । त्यसैले यसलाई नरोक्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।
 
विगतमा नियमितरूपमा प्राप्त भइरहेको निवृत्तिभरण २०७९ चैत महिना नाघ्दा पनि सरकारले निवृत्तिभरण निकासा नगरेको जनाइएको छ । यसले निवृत्तिभरणको भरमा जीवन निर्वाह गरिरहेका ज्येष्ठ नागरिक शिक्षकहरू प्रभावित भएका छन् ।  समाजले शिघ्रातिशीघ्र शिक्षकहरूको निवृत्तिभरण निकासाको लागि सरकारसँग अपिल गरेको छ ।

विज्ञप्तिमा के सरकार आर्थिकरूपले टाट पल्टेकै हो भन्ने प्रश्न गर्दै भनिएको छ, ‘यदि टाट पल्टेकै भए शिक्षकहरूको लागि मात्र निवृत्तिभरण किन रोकिन्छ ? के शिक्षकहरूलाई सरकारले विभेद गरेकै हो ?’

सरकारबाट शिक्षकहरूलाई विभेदपूर्ण व्यवहार नगरियोस् र निवृत्तिभरण यथाशीघ्र निकासा गरियोस् भन्दै विज्ञप्तिमा समाजको यो आग्रहलाई बेवास्ता गरे यसबाट उत्पन्न कुनै पनि स्थितिको जवाफदेही सरकार स्वयम् हुने चेतावनी पनि दिइएको छ ।

कर्णालीमा कांग्रेस, माओवादी आठ मन्त्रालय बनाउने सहमति नजिक

सुर्खेत – माओवादी र कांग्रेसको सत्ता समिकरण भएसँगै कर्णालीमा फेरी आठ वटा मन्त्रालय बनाउने सहमति नजिक पुगेको छ । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको सहमति अनुसार गठन भएको कर्णाली प्रदेश सरकारले सात ओटा मन्त्रालय कायम गर्ने निर्णय गरेको  थियो ।  उक्त सहमतिको हनिमुन’ पिरियड नसकिँदै माओवादी र कांग्रेस बीचमा सहमति पछि अगाडीको निर्णय उल्टिने निश्चित भएको छ ।

एमालेसँग माओवादीले चार बुँदे सहमतिमा कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार एवम शहरी विकास मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय गाभ्ने उल्लेख थियो । कांग्रेसले सभामुख सहित तीन मन्त्रालय माग गर्दै आएको छ । स्रोतले दावी गरेअनुसार काँग्रेस र माओवादीमा भइरहेको छलफल यहि विषयमा केन्दीत रहेको बुझिएको छ ।

सोमबार प्रदेशसभाको बैठक बस्ने भएकोले विश्वासको मत सँगै सरकार  विस्तार हुने सम्भावना बढेको छ । नेताहरु आज दिनभरी छलफलमा रहेका छन् । यही छलफलमा केन्द्रीत हुनुपर्ने भएका कारण जाजरकोटमा माओवादीको समिक्षा छाडेर प्रदेश इन्चार्ज कालिबहादुर मल्ल सुर्खेत आएका थिए । उर्जामन्त्री शक्ति बस्नेत समेत छलफलमा आउने भनिएपनि अन्तिममा आएर स्थगित भएको थियो । 

भारतबाट बढेर आयो पेट्रोलको मूल्य

काठमाडौं, ३ वैशाख – भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उनले बताए । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर रहेकोमा अहिले अहिले प्रतिब्यारेल ८५ डलर पुगेको छ ।

नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री-वितरण गर्छ। आइओसीले नेपाल आयल निगमलाई पन्ध्र-पन्ध्र दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउँछ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ छ ।

बैशाख ६ र ७ गते भिटामिन ए तथा जुकाको औषधि खुवाइने

काठमाडौं, ३ वैशाख-सरकारले बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आफ्‍ना बालबालिकाहरूलाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत् भिटामिन ए र  जुकाको औषधि खुवाउन मन्त्रालयको आग्रह छ ।

सरकारले हरेक वर्ष बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै आएको छ ।कोरोन संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयले भौतिक दुरी काम गरी , अनिवार्य मास्क प्रयोग गर्न अनुरोध गरेको छ ।

शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुने

काठमाडौं, ३ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुँदै छन् ।

च्यासल मैदानमा अपराह्न ३ बजे संकटा क्लब र नेपाल एपीएफ क्लबबीच खेल हुनेछ भने साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

दोल्ती पावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडौं, ३ वैशाख । दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि चैत २८ गते आईपीओ निष्कासन गरेको थियो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ । कम्पनीले १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । जसअनुसार दोल्तीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १० लाख ७२ हजार ९७२ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यसमध्ये ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । कम्पनीले १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरिसकेको छ ।
 
बाँकी रहेको १२ लाख ७१ हजार ८६१ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा एनआईसी एसिया क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले दोल्ती पावरलाई ‘इक्रा एनपी इस्यूअर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत जनाउँछ । 
 

बारा-२ मा एमालेको जित सुनिश्चत छः पुरूषोत्तम पौडेल

बारा – नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् ।

चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए । 

पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरुको दिन अब सकिएको बताए । उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन् । 

‘बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए, यो सबै यसअघि जितेकाहरुले काम नगर्दाको परिणाम हो’ उम्मेदवार पौडेलले भने ‘अब एमालेले चुनाव जितेपछि विकास भनेको के हो देखाउनेछ ।’

बारा २ का मतदातालाई सत्तामा पुग्ने खुड्किलोको रुपमा प्रयोग गर्न केही नेताहरु चुनावी मैदानमा देखिएको भन्दै उम्मेदवार पौडेलले अब यस क्षेत्रका मतदाताले त्यस्तो हुन नदिने दाबी गरे । उनले बारा २ का जनता सचेत रहेको र क्षेत्रको विकासका लागि काम गर्ने नेता चयन गर्न योग्य रहेको समेत बताए । 

यसैगरी तेतरियामा आयोजित सभामा बोल्दै उम्मेदवार पौडेलले बारा २ नेकपा एमालेको क्षेत्र रहेको बताए । बारा २ कम्युनिष्ट नेता सोहन चौधरीले चुनाव जितेको क्षेत्र रहेको स्मरण गराउदै उम्मेदवार पौडेलले अब पुनः एमालेको झण्डै फहरिने बताए । उनले एमालेले जितले मात्रै बारा २ को मुहार फेरिने बताएका छन् । 

अमेरिकी डलरको भाउ स्थिर, युरो उकालो

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

आइतबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ । आइतबार एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार उक्त डलरको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार युरोपियन युरोमा ४२ पैसाले उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । शुक्रबार युरो एकको खरिदमूल्य १४४ रुपैयाँ र बिक्रीमूल्य १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको थियो।

आइतबार बेलायती पाउण्ड स्टर्लिङको कारोबार स्थिर रहेको छ । आज यसको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। शुक्रबार यसको कारोबार पनि सोहि मूल्यमा भएको थियो । 

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९६ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । 

आइतबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा आइतबार ४२७ रुपैयाँ एक पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९७ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।
 

आज हरियो तरकारी तथा फलफूलको मूल्य यस्तो छ

काठमाडौ, ३ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला ११० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु ३२ रुपैया, सेतो आलु २६ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३५ रुपैयाँ, कागती २४० रुपैयाँ, कुरीलो २५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ३० रुपैयाँ, चमसूरको साग १०० रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ३० रुपैया, तराइ परवर र न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ६० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ६० रुपैया केजी, मूला सेतो २० रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ३० रुपैयाँ र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
 

ला लिगा : रियल म्याड्रिडसँग क्याडिज पराजित

काठमाडौं, ३ वैशाख ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले क्याडिजलाई २–० ले पराजित गरेको छ ।  

क्याडिजमा शनिबार राति भएको खेलमा रियलले  घरेलु टोली क्याडिजलाई पराजित गरेर शीर्षस्थानको बार्सिलोनासँगको अंक दूरी छोट्यायो। रियलको जितमा नाँचो फर्नान्डेस र मार्काे एसेन्सियोले गोल गरे । 

यो जितसँगै रियलले बार्सिलोनासँगको अंक दूरी १० मा छोट्याएको छ । एक खेल कम खेलेको बार्सिलोनाको ७२ अंक रहँदा रियलको ६२ अंक छ । पराजित क्याडिज ३१ अंक जोडेर १५औं स्थानमा छ ।

आईपीएल : लखनउ २ विकेटले पराजित

काठमाडौं, २ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्ससँग लखनउ सुपर जायन्ट्स २ विकेटले पराजित भएको छ ।

लखनउले दिएको १६० रनको लक्ष्य पन्जाबले १९.३ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍य। सिकन्दर राजाको ५७ रनको उत्कृष्ट प्रदर्शनमा पञ्जावले जित निकालेको हो । राजा म्यान अफ दि म्याच बने । उनले ३१ बल खेल्दै ४ चौका र तीन छक्का प्रहार गरे । माथ्यु सर्टले ३४ रन बनाए भने शाहरुख खान २३ रनमा अविजित रहे ।

लखनउका मार्क उड, रबि बोस्नाई र युधभिर सिंहले २/२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

लखनउका लागि कप्तान केएल राहुलले ७४ रन र कायल मेयर्सले २९ रन जोडे ।

पन्जाबका कार्यवाहक कप्तान साम करनले ३ र कागिसो राबडाले २ विकेट लिए ।

यो जितपछि ५ खेलमा ६ अंक जोडेको पन्जाब चौथो स्थानमा उक्लेको छ । ५ खेलबाट नै ६ अंक रहेको लखनउ राम्रो रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

एमबाप्पेको कीर्तिमानी गाेलसँगै पिएसजीको लेन्समाथि विजयी

काठमाडौं , ३ वैशाख । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेको कीर्तिमानी गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्स लिग वानमा लेन्सलाई सहजै पराजित गरेको छ ।

पार्क डेस प्रिन्सेसमा शनिबार राति भएको खेलमा पिएजीले लेन्समाथि ३–१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेस्सी र भिटिन्हाले गोल गरे । लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए ।

लिगको शीर्षस्थानमा  पिएसजी छ भने दोस्रो स्थानमा लेन्स छ । शनिबार राति भएको खेलमा एक गोल गरेसँगै एमबाप्पे लिग वानमा पिएसजीको सर्वाधिक गोलबर्ता बनेका छन् । उनले एडिन्सन काभानीको कीर्तिमानलाई तोडेका हुन् । एमबाप्पेले १६९औं लिग खेलमा १३९औं गोल गरेका हुन् ।

यस जितसँगै पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ । पिएसजीको ३१ खेलबाट ७२ अंक पुगेको छ । पराजित लेन्स ६३ अंक जोडेर दोस्रो स्थानमा यथावत छ ।

किन चीन गए एमाले नेता विष्णु रिजाल ?

काठमाडौं – नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीनको राजधानी बेइजिङ गएका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागद्वारा आयोजित ‘वर्कसप फर थ्योरिटिकल लिडर अफ वल्र्ड कम्युनिस्ट पार्टीज’ नामक कार्यक्रममा नेकपा ९एमाले०का तर्फबाट भाग लिन शनिवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कार्यशालामा एसिया, युरोप लगायतका विभिन्न देशका २४ वटा कम्युनिस्ट पार्टीका नेताहरुले ‘विचारधाराको स्थानीयकरण तथा आधुनिकीकरण’ (लोकलाइजेसन एन्ड मोडर्नाइजेसन अफ थ्योरी) विषयमा आ–आफ्ना पार्टीहरुले अंगालेको सिद्धान्त तथा त्यसको प्रयोगका बारेमा धारणा राख्ने र त्यसमाथि छलफल गर्ने कार्यक्रम रहेको रिजालले जानकारी दिए ।

नेकपा (एमाले) का तर्फबाट नेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवाद, त्यसको प्रयोग र विश्वव्यापी प्रभावका बारेमा अवधारणा प्रस्तुत गर्ने कार्यक्रम छ ।
 

किन घट्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी ?

काठमाडौं । सरकारले तामझाम गरेर भर्ना अभियान सञ्चालन गरेको जनाए पनि कक्षा १–८ को आधारभूत तहमा वर्षेनी विद्यार्थी संख्या घट्दो क्रममा छ । चार वर्षको अनुपातमा विद्यार्थी संख्या ८ दशमलव ७७ प्रतिशत घटेको छ । सरकारले आजबाट यो वर्षको भर्ना अभियान सञ्चालन गर्दै छ । पाँच वर्षको अवधिमा सामुदायिक विद्यालयमा २० दशमलव १४ प्रतिशतले घटेको र संस्थागत विद्यालयमा ४७ दशमलव ५५ प्रतिशतले विद्यार्थी बढेको पाइएको छ ।

सरकारले सबै बालबालिकालाई शिक्षामा पहुँच सुनिश्चित गर्ने र माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क गर्न अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ कार्यान्वयनमा ल्याए पनि सरोकारवाला निकायले पूर्ण रूपमा कार्यान्वयन गर्न सकेका छैनन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले विद्यालय जाने सबै उमेर समूहका बालबालिकालाई विद्यालय भर्ना गरी निःशुल्क शिक्षा, पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजालगायत कार्यक्रम अघि बढाइरहेको छ ।

खर्च बढे पनि उपलब्धि हुन नसकेको महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको छ । २०७८ मा ५ हजार ३ सय २५ विद्यार्थी भर्ना भएका थिए । उनीहरूमध्ये ७२ दशमलव ८ सामुदायिक र २७ दशमलव २ संस्थागत विद्यालयमा भर्ना भएका थिए ।

सरकारले विद्यार्थी भर्ना दर बढाउन यो वर्षबाट दिवाखाजा कार्यक्रमलाई कक्षा ६ सम्म पु¥याएको छ । तैपनि सामुदायिक विद्यालयमा कुल विद्यार्थी भर्ना संख्या वर्षेनी घट्दै गएको छ । आजबाट विद्यार्थी भर्नासँगै निःशुल्क पाठ्यपुस्तक वितरण हुनेछ । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

राष्ट्रिय परिचयपत्रको वैधतामा प्रश्न : पूर्वमन्त्री नै रोक्किए विमानस्थलमा

काठमाडौं । राष्ट्रिय परिचयपत्रलाई सरकारले बहुउपयोगी आधिकारिक दस्तावेज बनाउने भनी लगत सङ्कलनको काम गरिरहेको छ । सङ्कलित विवरणबाट केहीलाई परिचयपत्र वितरण पनि गरेको छ । तर उक्त परिचयपत्रलाई नचिन्दा एक जना सांसद तथा पूर्वमन्त्री नै समस्यामा परेका छन् ।

राष्ट्रिय परिचयपत्र बोकेर भारतको बेङ्लुरु जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता तथा पूर्वमन्त्री डोलप्रसाद अर्यालको राष्ट्रिय परिचयपत्रलाई विमान सेवाका कर्मचारीले मान्यता दिएनन् । नेपाल वायुसेवा निगमको उडानबाट जान लाग्दा त्रिभुवन अन्तर्र ाष्ट्रिय विमानस् थलमा निगमका कर्मचारीले शनिबार राष्ट्रिय परिचयपत्रलाई यात्राको कागजात (ट्राभल डकुमेन्ट)को मान्यता नदिँदा समस् या भएको हो ।

सार्वजनिक सेवालाई सहज र नागरिकमैत्री बनाउन राष्ट्रिय परिचयपत्र अर्थात् विद्युतीय प्रणालीमा आधारित पृथक् नम्बर र चिप्सर फोटो सहितको बायोमेट्रिक स्मार्ट कार्ड प्रयोगमा ल्याए पनि ट्राभल डकुमेन्टमा नसमेट्दा कार्डलाई नै व्यक्तिको पहिचान एवं सेवा सुविधाका आधार कार्ड मान्ने नमान्ने भन्ने बारे प्रश्न उब्जाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

कांग्रेसबाट एनपी परराष्ट्रमन्त्री बन्दै, आज ३ बजे शपथ हुने

काठमाडौं – नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।

उनले आज ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

चीनको जनसंख्यालाई उछिन्दै भारत

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन। तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या उच्च दरमा वृद्धि भइरहेको र चीनमा घट्दो क्रममा रहेकाले केही समयमा नै चीनको स्थान भारतले लिने बताउँछन्।

अप्रिल १४ सम्ममा चीनलाई उछिन्दै भारतको जनसंख्या १ अर्ब ४२ करोडभन्दा बढी पुग्ने राष्ट्र संघले यसअघि नै प्रक्षेपण गरेको थियो। सन् २०२१ मा भएको चीनको सातौं राष्ट्रिय जनगणनाअनुसार चीनको जनसंख्या करिब १ अर्ब ४१ करोड छ। विज्ञ भन्छन्, ‘यो तथ्यांकलाई अब भारतले उछिन्ने छ। यही नोभेम्बरसम्ममा विश्वको जनसंख्या ८ अर्ब हुनेछ र त्यसमा भारत अग्रपंक्तिमा आउने छ।’

सन् २०११ को जनगणनाअनुसार भारतको जनसंख्या १ अर्ब २१ करोड छ। त्यसयता भारतको जनसंख्या २१ करोड थपिएको छ जुन संख्या ब्राजिलको जनसंख्या बराबर हो। अन्य देशमा जनसंख्या वृद्धि सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०८० सम्ममा विश्वको जनसंख्या १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ। भारत र चीनको जन्मदरलाई हेर्दा विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको पुष्टि हुन्छ। भारतका फरक–फरक राज्यमा जनसंख्या वृद्धिका विषयलाई हेर्ने कानुन पनि फरक भएकाले भरतमा चाँडै जनसंख्या बढेको हो। यो समाचार अन्नपूणै पोस्टमा छ ।

आजदेखि नयाँ शैक्षिक सत्र : विद्यार्थीका हातहातमै पाठ्यपुस्तक

काठमाडौँ । नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुग्ने भएको छ । विगतमा समयमै कम विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुन्थ्यो भने शैक्षिक सत्र सकिँदासम्म पूरै विषयका पाठ्यपुस्तक नपाउने अवस्था केही जिल्लामा हुन्थ्यो ।

यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको तयारी छ । सरकारले आइतबारदेखि मुलुकभर विद्यार्थी भर्ना अभियान सञ्चालन गर्दैछ । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ ।

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेका छन् । केन्द्रले एक करोड ५० लाख थान पाठ्यपुस्तक छापेको छ । निजी मुद्रणले कक्षा १–५ का एक करोड १८ लाख थान पाठ्यपुस्तक छापेका छन् । पाठ्यक्रम विकास केन्द्रका अनुसार १३ वटा निजी मुद्रण संस्थाले कक्षा १ देखि ५ सम्मका पुस्तक छपाइको जिम्मा पाएका छन् ।

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो । केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाले बाँकी जिल्लामा पनि केही दिनमै पाठ्यपुस्तक पु(याइसकिने दाबी गरे ।

केन्द्रले सानोठिमीस्थित केन्द्रीय कार्यालयका साथै उपत्यकाबाहिरका आठवटा डिपोबाट पाठ्यपुस्तक वितरण गरिरहेको छ । सानोठिमीको डिपोबाट उपत्यकाका तीनसहित दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा, धादिङ, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका लागि पाठ्यपुस्तक वितरण गर्ने गरिएको छ ।

मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले करिब पाँच महिनाअघि सबै स्थानीय तहलाई विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरिसकेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ ।

लाइसेन्सको काम तीन दिनदेखि ठप्प

सरकारको बेवास्ताका कारण सवारीचालक अनुमतिपत्रपत्र (लाइसेन्स) को काम तीन दिनदेखि प्रभावित बनेको छ । लाइसेन्सका लागि प्रयोग गरिने प्रणाली (सिस्टम) मा आएको समस्याका कारण तीन दिनदेखि नयाँ लाइसेन्स लिने र नवीकरणको काम ठप्प बन्न पुगेको हो ।

पटकपटक देखिने यस्तो समस्याका कारण सेवाग्राही समस्या पर्दै आएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री फेरिनेबित्तिकै मन्त्रीको चासो यातायात व्यवस्था विभागका कर्मचारी सरुवामा गए पनि यस्ता सर्वसाधारणसँग प्रत्यक्ष जोडिने समस्या समाधानमा भने जाने गरेको छैन । यातायात व्यवस्था विभागले गत बुधबार सूचना जारी गर्दै अनलाइन लाइसेन्स र नवीकरणको काम ठप्प भएको जनाएको थियो ।

प्रणाली अझै सञ्चालनमा आइसकेको छैन । सरकारको एकीकृत डेटा सेन्टरको सर्भरमा समस्या आएको भन्दै सरकारी पक्ष आफ्नो जिम्मेवारीबाट पन्छिने गरेका छन् । विभागले डेटा सेन्टरमा डेटा लस्ट भएको (हराएको) आशंकामा सिस्टम रिकभर गर्न यस्तो समस्या आएको जनाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।