`

व्यक्तिगत घटना दर्ता सप्ताहको आज तेस्रो दिन

काठमाडौं, ३ वैशाख । व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आइतबार तेस्रो दिन हो । 

शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । 

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । 

आजको मौसम : तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, ३ वैशाख । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । 

महाशाखाका अनुसार आइतबार दिउँसो  देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम आंशिक बदली रहनेछ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आइतबार राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहनेछ।
 

रवि लामिछानेलाई कांग्रेस र एमालेका उम्मेदवारबाट कस्तो चुनौती ?

वैशाख १० गतेका लागि तय भएको उपनिर्वाचन अन्तर्गत धेरैको ध्यान चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा चलिरहेको चुनावी अभियानले तानेको छ।प्रधानमन्त्री पुष्पकमल दाहालको गृह जिल्लामा दोस्रो पटक उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सत्ता साझेदार नेपाली कांग्रेस र विपक्षी एमालेले चुनौती ठानेको पाइन्छ।

अघिल्लो चुनावमा लामिछानेले ४९ हजार भन्दा बढी मत ल्याउँदा कांग्रेस र एमालेका उम्मेदवार १४/१४ हजार मतमा सीमित भएका थिए।छोटो समयमा नै राष्ट्रिय राजनीतिमा हलचल मच्चाउँदै लामिछानेले नेतृत्व गरेको दल चौथो ठूलो शक्तिका रूपमा संसद्‍मा प्रवेश गरेको छ।नागरिकता विवादमा सर्वोच्च अदालतले सुनाएको एउटा निर्णयसँगै लामिछाने अचानक पदमुक्त भएपछि चितवन निर्वाचन क्षेत्र नम्बर दुईमा उपचुनाव गराउनुपर्ने परिस्थिति उत्पन्न भएको हो।

कस्तो छ चुनावी चहलपहल
चितवन क्षेत्र नम्बर दुईमा विभिन्न दलका १२ जना र स्वतन्त्र १२ जना गरी २४ जना उम्मेदवार चुनावी मैदानमा छन्।एक लाख २४ हजार भन्दा बढी मतदाता रहेको उक्त निर्वाचन क्षेत्रमा गएको मङ्सिर ४ मा सम्पन्न आम चुनावमा लामिछाने भारी मत अन्तरले विजयी भएका थिए।

उक्त क्षेत्रमा यस पटक पनि कांग्रेस र एमालेले उम्मेदवारी दिएका छन्। कांग्रेस उम्मेदवारलाई सत्ता गठबन्धनका माओवादी केन्द्र सहितका दलले सघाउने वाचा गरेका छन्।सर्वोच्च अदालतले पुनः नागरिकता लिनुपर्ने आदेश दिएपछि लामिछानेको सांसद् तथा मन्त्री पद खारेज भएको थियो।

अदालतको निर्णयका कारण चितवन क्षेत्र नम्बर दुईमा उपचुनाव हुन लागेको हो।राजनीतिमा पाइला हाल्ने बित्तिकै लामिछानेलाई जिताएको प्रधानमन्त्रीको गृह जिल्लाको उपचुनावमा देशैभरीबाट चासो बढेको पाइन्छ।अघिल्लो चुनावमा लामिछानेलाई गएको भोट फर्काउन सत्ता गठबन्धनका उम्मेदवार जीत नारायण श्रेष्ठ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने लागि परेका छन्।

कांग्रेसका जीत नारायण श्रेष्ठले आफू स्थानीय उम्मेदवार भएकाले मतदाताको समर्थन पाउने विश्वास व्यक्त गरे।उनले भने, “म आम दाजुभाइ र दिदी बहिनीहरूको सुख दुखमा साथ दिएर हिँडेको मान्छे हुँ। हिजो एउटा हावाहुरी आएर के के भयो त्यो कुरा छाडिदिऊँ। अब हावाहुरी हावाहुरी नै रहन्छ। यो पालीको निर्वाचन हामीले जित्छौँ।”एमालेका उम्मेदवार न्यौपानेले पनि मतदाताहरूको समर्थन आफूले पाउने बताए।

उनले भने, “जनतालाई हिजो जुन ढङ्गले भ्रम पारिएको थियो, व्यवहारबाट नै त्यस्ता खालका भ्रमपूर्ण कामहरू पुस्ट्याइँ भइसकेका छन्। उहाँले कुनै खालको काम गर्न सक्नुभएको छैन। भ्रमहरू चिरिएको हुनाले जनताहरू हामी तिरै फर्किनेछन्।”

मत घटाउन चुनौती
चुनावपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी गएको थियो। तर सर्वोच्च अदालतको निर्णयले आफ्ना सभापतिको सांसद पद खारेज भएपछि उक्त दल सरकारबाट बाहिरियो।आफूलाई सुशासनको पक्षधर वैकल्पिक शक्तिका रूपमा उभ्याएको उक्त दल पछिल्लो समयमा आफ्ना एक जना सांसदले रकम मागिरहेको अडिओ टेप सार्वजनिक भएपछि विवादमा परेको छ।

ती सांसदलाई पदमुक्त गर्ने निर्णय सो दलले गरेको थियो।उपनिर्वाचन भइरहेका तीन वटै क्षेत्रमा आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेको स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले भने उपचुनावमा आफ्नो दलले थप सफलता पाउने बताउँदै आएका छन्।

आफ्नो मत घटाएर देखाउन विपक्षी उम्मेदवारहरूलाई चुनौती दिँदै उनले भने, “यस पटक रविको भोट घट्छ भनेर भनिरहेका छन्। कसरी भोट घट्दो रहेछ? काम गर्न चाहन्छु भन्ने मानिसको भोट घट्छ भने म त्यो स्वीकार गर्न तयार छु।”

आफ्ना निकटतम प्रतिद्वन्द्वीको तुलनामा सवा तीन गुना अर्थात् ४९ हजार भन्दा बढी मत ल्याएर चितवनमा लामिछाने मङ्सिरको आम चुनावमा विजयी भएका थिए।त्यही भएर अहिलेको उपचुनावमा उनलाई हराउन सत्ता गठबन्धनका लागि सजिलो नहुने कैयौँको आकलन पाइन्छ।

सम्भावित अन्तर्घात रोक्न उम्मेदवारहरूले कोसिस गरिरहँदा आफ्नो गृह नगरमा गठबन्धनको प्रतिष्ठा जोगाउने चुनौती प्रधानमन्त्री प्रचण्ड र उनका सहयात्री दलहरूको काँधमा छ।समाार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

सेती खोँचमा खसेकी बालिकाको मृत्यु

पोखरा, २ वैशाख – सेती नदीको खोँचमा खसेकी बालिकाको मृत्यु भएको छ । खोँचमा खसेको २ घण्टापछि उद्धार गरिए पनि उनको ज्यान जोगाउन नसकिएको प्रहरीको भनाइ छ ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्‍याइए पनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । 

पोखरा–८ की स्मृति पराजुली शनिबार दिउँसो साथीहरूसँग सेती खोला नजिक खेल्न जाँदा खोँचमा खसेकी थिइन् ।
 

रौतहटमा गोली चल्दा एक जनाको मृत्यु

रौतहट, २ वैशाख – रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

गोली लागेर गढीमाइ नगरपालिका-८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यादवको वीरगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य चार जना घाइतेको उपचार भइरहेको छ ।

घटनामा संलग्न भएको आशंकामा १० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको र सीमा क्षेत्रमा कडाइ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार गाउँमा सडक कहाँ बनाउने भन्ने विषयमा एकै गाउँका दुई समूहबीच विवाद चर्किँदै गर्दा झडप लिएको बताइएको छ ।

बिसु पर्व मनाएर घर फर्किँदै गरेका हजुरआमा र नातिनीको लडेर मृत्यु

दार्चुला, २ वैशाख – दार्चुलामा बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर हजुरआमा र नातिनीको ज्यान गएको छ । मार्मा गाउँपालिका वडा नम्बर १ घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनको साथ रहेकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर ज्यान गएको हो ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने बेला भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो करिब २ बजेतिर सुङगर भिरमा भेटिएको प्रहरीले जनाएको छ ।
 

फलफूल र तरकारी खाँदा कपाललाई फाइदै फाइदा

काठमाडौं, २ वैशाख । कपाल बढाउनुमा हाम्रो खानपानले पनि मूख्य भुमिका खेल्ने गर्दछ । हाम्रो कपालको विकासका लागि फाइबर, प्रोटिन, एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल्सले भरपूर खानेकुरा फाइदाजनक हुन्छ। त्यसमा धेरै भिटामिन र खनिजहरू हुनेभएकोले जुन कपालको वृद्धि तथा विकासमा मद्दत मिल्छ, हामीलाई थाहा हुनुपर्छ कि यी सबै कुन खाना र फलफूलबाट लिन सकिन्छ।

भिटामिनले हाम्रो समग्र स्वास्थ्यलाई व्यवस्थित गर्छ बी भिटामिनले चिनीको स्तरलाई सन्तुलनमा राखेर कपालको वृद्धिलाई बढावा दिन सक्छ, मेटाबोलिक प्रक्रियामा सुधार गर्छ, यसले रक्त प्रवाहलाई पनि सुधार गर्छ। कतिपय फलफूल र तरकारीहरू यस्ता छन् जसले कपालको वृद्धि बढाउन प्रभावकारी रूपमा काम गर्न सक्छ। जस्तै, एभोकाडो यस्तो फल हो जसमा ओमेगा–३ फ्याटी एसिड, प्रोटिन, फाइबर र भिटामिन ई र बी को ठूलो स्रोत हुनेगर्दछ।

एभोकाडोमा पाइने ओमेगा–३ फ्याटी एसिडले कपालको स्क्याल्पलाई पोषण दिन्छ र कपाललाई बलियो र चम्किलो बनाउन मद्दत गर्छ। एभोकाडोमा एन्टी–इन्फ्लेमेटरी गुण पनि हुन्छ जसले टाउकोमा रक्तसञ्चार बढाउँछ पालक एउटा यस्तो गाढा हरियो पात जस्तो तरकारी हो जुन भिटामिन ए, भिटामिन सी, बीटा क्यारोटिन, आइरन र फोलेट जस्ता अद्भुत पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। यी सबै पोषक तत्वहरूले भित्रबाट रक्तसञ्चार सुधार गरेर टाउकोको पोषण गर्न एकसाथ काम गर्छन्। पालक काँचो खानु यसको पोषक तत्व प्राप्त गर्ने उत्तम उपाय हा सुन्तला, कागती, कागती र अंगूर जस्ता सिट्रस फलहरू भिटामिन सी का उत्कृष्ट स्रोतहरु हुन्। नियमित रूपमा यी फलफूल खाँदा हाम्रो शरीरमा कोलाजेन उत्पादन गर्नमा मद्दत पुग्छ ।

कोलेजनले कपाललाई बलियो बनाउँछ र कपालको वृद्धिलाई बढावा दिन टाउकोमा रक्तसञ्चार सुधार गर्छ। भिटामिन सीले हाम्रो शरीरबाट फ्री रेडिकलहरू पनि हटाउँछ। यसैगरी गाजर धेरै पौष्टिक तरकारी हो जसमा क्यालोरी कम हुन्छ र पानी र फाइबर धेरै हुन्छ। गाजरमा पाइने भिटामिन ए ले कपालको वृद्धि गर्न मद्दत गर्छ । यस्ता, फलाम र बायोटिन को एक उत्कृष्ट स्रोत हो। यी सबै पोषक तत्वहरूले कपालको वृद्धिलाई बढावा दिन्छ र कपालको समयपूर्व सेतो हुनबाट रोक्न मद्दत गर्दछ।

बसको ठक्करबाट दाङमा एक युवकको मृत्यु

वैशाख, २ दाङ – दाङमा बसको ठक्करले एक युवकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजे तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ ख ३१२६ नम्बरको बसको ठक्करले घोराही उपमहानगरपालिका-१२ हापुरका १८ वर्षका बसन्त केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ र

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

कानुन बालमैत्री हुनुपर्छ : सभामुख घिमिरे

काठमाडौं, २ चैत – सभामुख देवराज घिमिरेले कानुनहरु बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्टसंघीय बाल अधिकार सम्वन्धी महासन्धी १९८९ माथि बालबालिकाहरुको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँंगको राष्टिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उदघाटन गर्दै यो विषयम जोड दिएका हुन् । 

सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था संसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए । ‘कुनै पनि कानुन बनाउँंदा भोलिका कर्णधार बालवालिकाहरुको भविष्यसँंग जोडेर हेर्नुपर्छ’, उनले भने । 

कार्यशालामा नेपालका बालबालिकाहरुको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्टसंंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल) प्रगतिनगर शंखमुल काठमाडौंले बालबालिकाहरुबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइयो । 

यसका लागि देशभरका बालबालिकाहरु राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्युनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरु मिलेर प्रतिवेदन तयारीको कामहरु भइरहेको छ ।

कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दंगालले आइतरभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । यसपछि बालबालिकाहरुबाटै तयार भएको प्रतिवेदन हामीले राष्टसँंघलाई बुझाउने हो, उनले भने । कन्र्सोटियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरु आआफनो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । अहिले सातवटै प्रदेशका बालबालिहरुले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँं प्रतिवेदन तयार हुन्छ, उनले भने ।

संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरुले समुदायस्तरमा पुगेर नेपाली बालबालिकाहरुको अवस्था समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेशस्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरुकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरु प्रतिवेदन लिएर काठमाडौं आएका हुन् । 

यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।

सेती खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार

कास्की, २ चैत – पोखराको सेती नदीको खोचमा खसेकी बालिकाको साढे दुई घण्टापछि उद्धार भएको छ ।

शनिबार दिउँसो खेल्दै गर्दा पोखरा ८ नागढुङ्गाकी १२ वर्षीया स्मृती पराजुलीको प्रहरीले उद्धार गरेको हो । पोखरा ८ नागढुंगा बस्ने स्मृतीसहित तीन जना साथी मिलेर सेती खोंचमा खेल्न गएका थिए ।

पोखरा १५ मा रहेको हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नदीको नजिकैको खोचमा खसेकी उनको उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

नेपालमा ६४ संक्रमित थपिए

काठमाडौं, २ चैत – नेपालमा पछिल्लो २४ घण्टामा ६४ कोरोना संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् । 

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

हाल ११ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका उपचाररत छन् । 
 

रवि लामिछानेले निर्वाचन हार्ने महेश बस्नेतको दावी

काठमाडौं । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले निर्वाचन हार्ने दावी गर्नुभएको छ ।

लामिछानेको नक्कली राष्ट्रवाद, अवसरवाद बुझेकाले चितवन क्षेत्र नम्बर २ का जनताले रवि लामिछाने हराउने नेता बस्नेतको बताउनु भयो ।

शनिबार काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको पनि बताउनु भयो ।

नेता बस्नेतले युवा र लोकप्रिय भएकाले सो निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवार रामप्रसाद न्यौपानेले चुनाव जित्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘चितवन २ का जनताले यो नक्कली राष्ट्रवाद, यो अवसरवादी चरित्र, यो पब्लिक कम्जवसन्शनका लागि गरिने कुराहरुबाट चितवन २ मुक्त हुुन्छ। त्यहाँ नेकपा एमाले र काँग्रेसबीच प्रतिस्पर्धा हुुन्छ । रविजी त्यसलाई पछ्याउनु हुन्छ। हिजो कृष्णभक्त पोखरेलले राम्रो काम गरेको हुनाले र आज रामप्रसाद न्यौपाने एउटा नयाँ युवाहरुको बीचमा पपुलर व्यक्ति हामीले उठाएका छौं।’

चितवन–२ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘युवाहरुलाई राजनीतिमा ल्याउनु पर्छ भन्ने मान्यता पनि छ। उहाँले सम्भावना निकै बलियो छ। कमजोर छैन भन्ने मलाई लाग्दछ। चितवनका जनताले रविजीलाई जिताउदैनन्।’

कांग्रेसबाट एनपी परराष्ट्रमन्त्री बन्दै

काठमाडौं, २ वैशाख -नेपाली कांग्रेसबाट नारायण प्रकाश (एनपी) साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् ।उनले भोली ३ बजे शपथ हुने पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । सभापति देउवा समूहबाट साउद परराष्ट्रमन्ती बन्ने भएका हुन् ।

मन्त्रिपरिषद् विस्तारका लागि शनिबार बिहान बसेको सत्तारुढ तीन दलको बैठकले ठोस निर्णय नहुँदा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणलाई ध्यानमा राख्दै साउदलाई परराष्ट्रमन्त्री नियुक्त गर्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको हो ।

परराष्ट्रमन्त्रीमा साउदलाई नियुक्त गर्नका लागि कांग्रेसले प्रधानमन्त्रीलाई पत्र पठाइसकेको बताइएको छ ।

चुरे संरक्षण अभियन्ता नागदेव यादव सरकारबाट सम्मानित

महा‍ेत्तरी, २ वैशाख ।  चुरे संरक्षणमा योगदान पुर्‍याएबापत नागदेव यादव नेपाल सरकारबाट सम्मानित भएका छन ।

राष्ट्र गौरव एवं नेपाली जनताको हित अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत यादवलाइ जनसेवा श्री पन्चम श्रेणीद्वारा विभूषित गरिएको हो । चुरे संरक्षणमा पुर्‍याए याेगदानकाे मूल्यांकन गर्दै नेपाल सरकारले राष्ट्रिय पुरस्कारबाट विभूषित गरेको हाे ।

पुरस्कारले चुरे संरक्षणमा लाग्न थप हौसला प्रदान गरेको बताउँदै चुरे संरक्षण विज्ञसमेत रहेका यादवले भने – `हामीले गरेको अभ्यास वास्तवमै सरकारले उत्कृष्ट ठहर्‍याएको छ ।´ जलवायु परिवर्तन तथा चुरे विनाशले मधेशको जनजीविकामा पारेको असरलाई मध्यनजर गर्दै यादवले विपन्न वर्गहरुलाई बगरमाथि खेती लगाउन सिकाउँदै आएका छन् ।

उनकै सहयाेगले बाढीले  बगर बनाएको नदीको तटीयक्षेत्रमा तरकारीदेखि अन्य नगदे बाली उत्पादन गर्न थालिएकाे छ । भूमिहीन किसानहरुलाई पहिचान गरि गौशालाको कुस्मारी, बर्दिबास, भंगाहा धनुषाको बट्टेश्वर र मिथिला अनि सिरहाको कर्जन्हा नगरपालिकामा बगरमा खेती गरिएको छ ।

मोरङमा ट्र्याक्टर दुर्घटना : एकको मृत्यु, १८ घाइते

मोरङ, २ चैत – मोरङमा ट्र्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् ।

रंगेली नगरपालिकाको आमतोलामा आज दिउँसो भएको दुर्घटनामा ग्रामथान गाउँपालिकाकी ६० वर्षीया वैशाखी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

आमतोला–तेतरियाको भित्री सडकखण्डमा प्रदेश १–०१–००१ त ९५५३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

घाइतेहरूको रंगेली र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक ग्रामथानका करिब ३१ वर्षीय बालक माझी फरार भएका छन् ।

नाच हेर्न गएका तुलबहादुरको हात्तीको आक्रमणबाट मृत्यु

सिरहा, २ वैशाख । सिरहाको गोलबजार नगरपालिका–१ लमाडाँडामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । 

शुक्रबार राति नाच हेर्न गएका बेला हात्तीले आक्रमण गर्दा  गोलबजार–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो । 

हात्तीले लखेट्दा भाग्न नसकेका आलेमगरको मृत्यु भयो भने अन्य साथीहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।  
 

महोत्तरीमा बलात्कारका घटना बढ्दै, पारिवारिक सदस्यबाट बालिकाहरू असुरक्षित

महोत्तरी, २ वैशाख -८ मंसिर २०७७ को बिहानै ७ वर्षीया बालिका गुलावसा खातुन घर नजिकै मृत अवस्थामा भेटिइन् । तीन दिनदेखि हराइरहेकी खातुनको बर्दिबास नगरपालिका–१४ को सुभम बस्तीमा मृत अवस्थामा भेटिएपछि निकै खैलाबैला भयो । उनको शवलाई हेर्दा बलात्कारपछि हत्या गरेको धेरैले अनुमान गरे । 

प्रहरीले शंंकाका आधारमा बर्दिबासका अरुण साहलाइ पक्राउ ग¥यो । पक्राउपछि पारम्भिक अनुसन्धानमा नै बालिकालाई बलात्कारपछि हत्या गरेको साहले स्वीकार गरेपछि अहिले जेल जीवन भोगिरहेका छन् । अवोध बालिकालाई बलात्कारपछि हत्या गरेको आक्रोशमा स्थानीयहरूले आन्दोलन गर्दा प्रहरीको गोली लागेर एक जनाको ज्यान समेत गएको थियो । अहिले अरुण साहको घरलाई समेत स्थानीयहरूले नियन्त्रणमा लिएका छन् । घटनालगत्तै आक्रोशित स्थानीयले लगाएको आगोले जलेको धरमा अहिले पनि लेखिएको छ–यो घर अपराधीको घर हो, यसलाइ कसैले किन्ने कोसिस नगर्नुहोला ।’ 

बालबालिका र अपांग महिलासमेत बलात्कृत भएका छन् । १६ जेठ २०७७ मा आफ्नै घरअगाडि खेलिरहेकी ६ वर्षीय नाबालिकालाई दाजु नाता पर्ने १४ र १२ वर्ष उमरेका दुईजनाले बलात्कार गरेको घटना बाहिरियो । बालिकालाई बाँसको मचानमा बलात्कार गरेको भन्दै पीडित पक्षले दुवैजनाविरुद्ध उजुरी दिए । सोही वर्ष भदौमा रामगोपालपुरमा यस्तै अर्को घटना भयो । 

बोल्न नसक्ने महिला राति शौच गर्न बाहिर निस्केका बेला सामूहिक बलात्कारको शिकार भइन् । उक्त घटनामा सग्लन दुई जनालाई पक्राउ गरेर छानबिन गर्न प्रहरीले महिनौँ लगाएको आरोप लागेको थियो । स्वास्थ्य जाँच र महिलाको अवस्थालाई हेर्दा उनलाई यातना दिएर बलात्कार गरेको प्रहरीले नै निष्कर्ष निकालेको थियो । 
त्यसयता महोत्तरीमा ६० वटा बलात्कार घटना भएका छन् भने पछिल्लो ६ महिनामा २२ वटा बलात्कारका घटना भएका छन् । यसमध्ये नाबालिगमाथि भएका बलात्कारका घटना आधा दर्जन रहेका छन् । 

सार्वजनिक भएका घटनाहरूलाइ आधार मान्ने हो भने बर्दिबास नगरपालिकामा सवैभन्दा बढी बलात्कारका घटनाहरू भएको देखिएको छ । परिवारभित्रका दाइ, काकालगायत परिवारका सदस्यबाटै बलात्कारका प्रयास भएका छन् । 

वर्दिबास क्षेत्रमा नै गत १५ चैैतमा आफ्नै बुबाले १३ वर्षीया छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको घटना सार्वजनिक भएको थियो ।  आमा नभएको मौका छोपेर छोरीमाथि टक–पटक बलात्कार गरेको र छोरी गर्भवती भएका थाहा पाएपछि बुबा फरार भए । 

शारीरिक र मानसिक तनाव दिएर जेठी छोरीलाइ जबरजस्ती गर्दै आएका बुबालाई प्रहरीले खोजी गरिरहेको छ भने गर्भवती बनेकी बालिकाको थापाथलीस्थित ओसीएमसीमा राखेर स्वास्थ्य उपचार भइरहेको छ । यातनाबाट विक्षिप्त बनेकी बालिकालाई ओसीएमसीमा राखेर स्वास्थ्य उपचारका साथै सामाजिक परामर्श समेत दिइएको छ । 

यस्तै प्रकृतिको अर्को घटना पनि बाहिरिएको छ । घरपरिवारले दिएको उजुरीको आधारमा प्रहरीले बर्दिबास–३ वाट अर्का बुबालाई पक्राउ गरेको छ । गत २३ चैतमा इलाका प्रहरी कार्यालय बर्दिबासले पक्राउ गरि थप अनुसन्धानलाई अगाडि बढाइरहेको छ । 

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा आफ्नै छोरीलाई बलात्कार प्रयास गरेको खुल्न आएको छ । पटकपटक बलात्कारको प्रयास गर्न खोजेपछि प्रहरीलाई खबर गरिदिएको छिमेकीहरूले बताए । ‘प्रारम्भिक बयानमा श्रीमती बाहिर निस्केको मौका छोपी वलात्कारको प्रयास गर्ने रहेछ, ’ प्रहरी नायव उपरीक्षक विजय यादवले भने ।

उजुरी दर्ता भएको तर जाहेरी भने अहिलेसम्म आएको छैन । आफ्नै घरमा समेत छोरीहरू कति धेरै असुरक्षित छन् भन्ने विषय पछिल्ला यी घटनाले प्रतिनिधित्व गरेका छन् । यी घटना त १५ दिनको अवधिमा सार्वजनिक भएका प्रतिनिधि मात्र हुन् । पछिल्लो ६ महिनाको अवधिमा मात्र २२ वटा जबरस्ती करणीका घटनाहरू भएको प्रहरीको तथ्यांक छ । 

तथ्यांकअनुसार १६ वर्षभन्दा कम उमेर भएका १० जना बालिकाहरू, १६ देखि २५ वर्षका ७ जना, २५ देखि ३५ वर्षका २ जना र ३६ देखि ४५ वर्षका २ जनामा बलत्कारका घटनाहरू भएका छन । 

पछिल्लो ६ महिनाको अवधिमा सबैभन्दा बढी गौशाला नगरपालिकामा जबरजस्ती करणी र जबरजस्ती करणीको उद्योगका घटनाहरू भएका छन् । गौशाला नगरपालिकामा ५ वटा, जलेश्वर नगरपालिकामा ३, बर्दिबास नगरपालिकामा ३ वटा, सोनामा गाउँपालिकामा ३ वटा, मनरासिस्वामा ३ वटा, पिपरामा २ वटा र सम्सी गाउँपालिकामा १ वटा घटना भएका प्रहरीले जनाएको छ । 
 

२७ वर्षीय सुजनले छेडे जिब्रो

भक्तपुर, २ वैशाख । मध्यपुरथिमि नगरपालिकाको बोडेका २७ वर्षीय सुजन बागले पहिलोपटक जिब्रो छेडेर जिब्रो छेड्ने जात्रालाई निरन्तरता दिएका छन् । शनिवार उनले पहिलोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।

मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष २ वैशाखमा  जिब्रो छेड्ने जात्रा मनाइन्छ ।
 

टेलिभिजन सिरिजमा आउँदै ह्यारी पोटर

लसएन्जल्स, १ वैशाख । लेखिका जेके रोलिङको विश्वकै चर्चित पुस्तक ‘द ह्यारी पोटर’को नयाँ टेलिभिजन सिरिज नयाँ कलाकारका साथ दर्शकमाझ आउने भएको छ । आगामी एक दशकमा निर्माण गरिने यो सिरिजको प्रत्येक सिजन सात पुस्तकमध्ये एकमा आधारित हुनेछ ।

पुस्तक ‘द ह्यारी पोटर’ विश्वभर सर्वाधिक बिक्री भएका पुस्तकमा पर्दछ । पुस्तक विश्वव्यापी रुपमा ६ सय मिलियन प्रति बिक्री भएको थियो । यो पुस्तकमा आधारि रहेर फिल्म पनि बनिसकेको छ । जसमा अभिनेता डेनियल रेडक्लिफले हेरी पोटरको चरित्र निर्वाह गरेका छन् ।

‘सिरिजले नयाँ कलाकार र नयाँ पुस्ताको फ्यानडमलाई फिचर गर्नेछ । सिरिजमा आकर्षक विवरण, रुचाइएका कलाकार र नाटकीय लोकेसन हुनेछन् । ह्यारी पोटरका फ्यानले २५ वर्षदेखि मनपराइरहेको विषयलाई सिरिजमा राखिनेछ’ वार्नर ब्रोस डिस्कभरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

लेखिका रोलिङलाई कार्यकारी निर्माता दिइने सिरिजका प्रत्येक सिजनले पुस्तकको आधिकारिक कथालाई प्रस्तुत गर्नेछ ।

एक युवकको डुबेर मृत्यु

पाल्पा, १ वैशाख । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको छ । 

नयाँ वर्ष मनाउन पाल्पा आएका उनको भुतखोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीबाट नयाँ वर्ष घुमघाम गर्न आएका उनको शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका– ३ झुम्सास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो । 

ढुंगामा चिप्लिएर लडेपछि उद्धार गरेर उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
 

धनगढी हाफ म्याराथनको उपाधि आर्मीका मुकेशबहादुर पाललाई

धनगढी, १ वैशाख । धनगढी हाफ म्याराथन २०२३ को उपाधि नेपाल आर्मीका मुकेशबहादुर पालले हात पारेका छन् । 

नयाँ वर्षको अवसरमा शुक्रबार भएको म्याराथनमा पालले १ घण्टा ४ मिनेट ४८ सेकेन्डमा २१.१ किलोमिटर पार गरेर उपाधि हात पारेका हुन् । उनले नगद ५५ हजार ५५५ प्राप्त गरेका छन् । 

म्याराथनमा द्वितीय भएका नरेन्द्रसिंह रावलले १ घण्टा ७ मिनेट २३ सेकेन्डमा २१.१ किलोमिटर पार गर्दा सन्तोषविक्रम विष्टले तृतीय स्थान हासिल गरे । 

म्याराथनमा द्वितीय भएका रावलले ३३ हजार ३३३ र तृतीय विष्टले २२ हजार २२२ नगद पुरस्कार प्राप्त गरेका छन् ।
 

शर्लिन चोपडालाई ज्यानको धम्की

मुम्बई, १ वैशाख । बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् ।

जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यिनै शर्लिनलाई ज्यानको धम्की आएको छ ।

शर्लिनका अनुसार उनलाई एक फाइनेन्सरले छेडछाड, गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् । त्यहीकारण उनले मुम्बईको जुहू पुलिस स्टेसनमा ती फाइनेन्सरकाविरुद्ध उजुरी दर्ता गराएकी छन् । शर्लिनले फाइनेन्सरले उनलाई भिडियोको रेकर्डिङका लागि पैसा दिन बोलाएको बताइन् । त्यही बेला उनीमाथि छेडछाड गरिएको थियो ।

‘जब मैले उसलाई त्यो कामबाट रोकें, तब उसले मलाई गाली गर्यो र ज्यानको धम्कीसमेत दियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएकी हुँ’, उनले भनेकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

शर्लिनलाई बलिउडमा विवादको पर्याय मानिन्छ । हालैमात्र उनले अर्की विवादास्पद अभिनेत्री तथा मोडल राखी सावन्तसँग झगडा गरेकी थिइन् । सोहीकारण उनी प्रहरीसमक्ष पुगेकी थिइन् ।
 

अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ

न्युयोर्क, १ वैशाख । अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा एकजना पक्राउ परेका छन् ।

युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहाएको आरोपमा २१ वर्षीय अमेरिकी एयर फोर्स न्याश्नल गार्ड ज्याक टेइसेइरालाई गिरफ्तार गरिएको छ । 

चुहाइएका दस्तावेजमा अमेरिकाले आफ्ना मित्र र शत्रु दुवैको जासुसी गरेको दाबी गरिएको छ । 

पक्राउ परेका टेइसेइरालाई अनलाइन च्याट ग्रुपमा अमेरिकी दस्तावेज सार्वजनिक गरेको आरोप लगाइएको छ । 
 

नम्बरी सुनको फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं, १ वैशाख । राजु गिरीको निर्देशन रहेको सिनेमा नम्बरी सुनको नयाँ वर्षको अवसर पारेर शुक्रबार फस्टलुक पोस्टर सार्वजनिक गरेको छ। 

सिनेमाका दुई मुख्य पात्र गौरव पहारी र नम्रता सापकोटा फिचर्ड छन् । सिनेमाले आफ्नु रिलिज मितिपनि  तय गरेको छ। सिनेमा आगामी भदाै१ गतेबाट प्रदर्शनमा आउँदै छ । 

नारायण खातीको शब्द कथा तथा प्रस्तुति रहेको सिनेमामा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी,लगायत कलाकारको अभिनय रहेको छ ।

सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको छ । सिनेमा सरोज खाती, सविन खाती र मनोज रिजालले मिलेर निर्माण गरेका हुन् । 

नम्बरी सुनमा  राजेश पायल राई, शान्तिश्री परियार, प्रताप दास र अनु चौधरीको स्वर रहेको छ । अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशक, समीर मियाँको भिएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन रहेको छ।

बिनोद भुजेलको ब्याकग्राउन्ड स्कोर मनोरञ्जन श्रेष्ठको।कलर करेक्सन  मुख्य सहायक निर्देशकमा जिवन गौतम रहेका छ्न।काठमाडौँ उपत्यकामा जिजिए ग्रुप र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछन्।

नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी

काठमाडौं, १ वैशाख । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् ।  

गोकर्णबहादुर बानियाँलाई सात मतले उछिनेर गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष चयनका लागि भएको मतदानमा ६०७ मत खसेको थियो। जसमध्ये गिरीले ३०५ मत ल्याएर निर्वाचित हुँदा बानियाँले २९८ मत ल्याएर पराजिजत हुन पुगेका हुन् । 

महाअधिवेशनले वरिष्ठ उपाध्यक्षमा इलमबहादुर शाही र उपाध्यक्ष महिलामा धनकला भण्डारी निवाचित गरेको छ । यसैगरी कोशी प्रदेश तर्फ उपाध्यक्षमा वीरेन्द्रकुमार खड्का, मधेश प्रदेशतर्फ उपाध्यक्षमा छोटेलालप्रसाद तेली शाह, बागमती उपाध्यक्षमा सुन्दर पन्त, गण्डकी उपाध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, लुम्बिनी उपाध्यक्षमा प्रेमनारायण भण्डारी, कर्णाली उपाध्यक्षमा भगवती श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा खड्कबहादुर खड्का निर्वाचित भएका छन्।

महासचिव ज्ञानेन्द्रबहादुर रावल, महासचिव अर्थमा निर्मला कोइराला, उपमहासचिवमा नारायणप्रसाद तिमिल्सिना, उपमहासचिव महिलामा गीता शिवाकोटी, उपमहासचिव अर्थमा प्रेमप्रसाद पौडेल चयन भएका छन् । 
 

सिनेमाघर एपमा रिलिज भयो चलचित्र ‘प्रेमगञ्ज’

काठमाडौं, १ वैशाख । ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ बर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।

चलचित्र हलहरुमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समिक्षात्मक रुपमा प्रशंसा पाएको थियो । सिनेमाघर एपमा रिलिज भएपछि निर्देशक सेन भन्छन्, “प्रेमगञ्ज सिनेमा हलहरुमा जतिले हेर्नू भयो निराश हुनुभएको थिएन । ओटीटीमा पनि यो चलचित्रले दर्शकको मन जित्छ भन्नेमा विश्वस्त छु ।” निर्देशक सेनले थोरै नै भएपनि शुल्क तिरेर चलचित्र हेर्नुपर्छ भन्ने बानीको विकास गराउनको लागि निशुल्क हेर्न पाईने युट्युबमा प्रेमगञ्ज नराख्ने बताए ।

यो प्रेमकथामा आधारित चलचित्र हो ।  यो चलचित्रले दुई कालखण्डको प्रेमकथा भन्छ । “‘जो जीवनमा छ, उ मनमा छैन । जो मनमा छ, उ जीवनमा छैन’ भन्ने ट्यागलाईनमा बसेर चलचित्रको कथा बुनिएको छ । मानिसलाई जीवनमा कहिले गर्नु नपरे हुन्थ्यो भन्ने काम जीवनभर गर्नुपर्ने हुनसक्छ  । कहिले जान नपरे हुन्थ्यो भन्ने ठाउँमा जीवनभर जानूपर्ने हुनसक्छ । कहिले बस्नु नपरे हुन्थ्यो भन्ने लागेको मान्छे सङ्ग जीवनभर बस्नु पर्ने हुनसक्छ । चलचित्रले यस्तै यस्तै कुराहरु बोल्न खोजेको छ”, निर्देशक सेनले प्रष्ट पारे ।

यस चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्का लगायतको अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् ।

सिनेमाघर एप सबै प्रकारका डिजिटल ग्याजेटहरु तथा स्मार्ट टिभिमा विश्वभर उपलब्ध छ ।

चन्द्र भण्डारीको भिडियो शुभकामना सन्देश : चाँडै नेपालमै स्वास्थ्य उपचार गर्नेछु

काठमाडौं, १ वैशाख । दुई महिनादेखि भारतमा उपचाररत कांग्रेसका सांसद चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देश जारी गरेका छन् । 

गत ३ फागुनमा खाना पकाउने ग्यास लिएर भएर भएको आगलागीमा परेर जलेपछि भारतमा उपचार गराइरहेका सांसद भण्डारीले भिडियो सन्देशमार्फत नयाँ वर्षको सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । 

सबैको माया सद्भाव, प्रेम र प्रार्थना कारण आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताउँदै उनले चाँडै नेपालमै आएर स्वास्थ्य उपचार गर्ने बताएका छन् ।  
 

आजदेखि व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

काठमाडौं, १ वैशाख । देशभर शुक्रबारबाट व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । सरकारले १ वैशाखदेखि एक साता व्यक्तिगत घटना दर्ता सप्ताह चलाएको हो । 

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो । 

शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । 

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह गरेको छ । 
 

नयाँ वर्षसँंगै रारामा पर्यटकको घुइँंचो

मुगु, १ वैशाख । नयाँं वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकहरुको घुइँंचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ ।  

विशेष गरेर नेपालकै सबैभन्दा ठूलो र प्रसिद्ध तालको रुपमा रारा ताल आसपासका क्षेत्र आन्तरिक पर्यटकहरुले भरिएका छन् । 
समुन्द्र सतहबाट दुई हजार नौ सय ९० मिटरको उचाइमा रहेको रारा ताल जान अहिले सहजता समेत भइसकेकोले घुम्न आउनेहरुको संख्या अत्याधिक बढेको बताइन्छ । 

‘पहिला पर्यटकले यो ठाउँंमा सहजै बास पाउने अवस्था थिएन, भक्तपुरबाट घुम्न पुगेका इन्जिनियक कृष्णभक्त दुवालले भने, ‘तर अहिले त्यस्तो छैन । रारा तालको छेउमै विभिन्न सुविधासम्पन्न होटलहरु भइसकेका छन् ।’ यही कारण नयाँं वर्षमा रारा घुम्न आउनेहरुको भीड बढेको उनको बुझाई छ ।  

रारा ताल जानको लागि हवाई तथा स्थल मार्ग दुबै प्रयोग गर्न सकिन्छ । यही तालको पुरा आकृती हेर्नको लागि समुन्द्री सतहबाट करीब ४ हजार मिटर उचाईमा रहेको मुर्मा टप नै उपयुक्त स्थल हो । घामको किरण अनुसार राराले आफ्नो कलर फेर्ने गर्दछ । 

कसरी जाने रारा ?

रारा जान अहिले हवाइ तथा स्थलमार्ग दुबै प्रयोग गर्न सकिन्छ । स्थल मार्ग हुँदै आफ्नै सवारी साधनमा जाने हो भने ताल नजिकैको सल्लाघारीमा गएर रोकिन्छ ।  हवाई मार्गबाट जादाँ भने मुगुको ताल्चा विमानस्थलबाट करिब दुई घन्टा हिडेपछि रारा ताल पुगिन्छ । रारा सार्वजनिक सवारी प्रयोग गरेर पनि जान सक्ने भइसको छ । केही वर्ष अगाडिसम्म सुर्खेतबाट हिडेर १० दिनमा रारा पुगिन्थो । तर, अहिले त्यस्तो रहेन । अहिले रारा जान १० दिन हिड्न पर्ने अवस्था छैन । सार्वजनिक सवारीमा जानेका लागि काठमाडौंबाट दैनिक कर्णाली यातायातको बस जुम्लासम्म जान्छ । 

काठमाडौंबाट हिँडेको करिब ३० देखि ३२ घन्टामा बसबाट जुम्ला सदरमुकाम खलंगा पुग्न सकिन्छ । जुम्लासदरमुकामबाट भने लोकल बस राराका लागि छुट्दैन । सवारीमै जानेहरुले साना गाडी रिर्जव गर्नुपर्छ । तर, खलंगबाट सिन्जा उपत्याका हुँदै मुगु सदरमुकाम गमगडी जाने बस पाइन्छ । गमगडीबाट हिडेर चार पाँच घन्टाका रारा पुग्न सकिन्छ ।

हवाई मार्गबाट रारा पुग्ने भने दुई वटा विमानस्थल प्रयोग गर्न सकिन्छ । बाँकेको नेपालगञ्जस्थित राजा विमानस्थलबाट र सुर्खेतबाट मुगुको ताल्चासम्मका लागि उडान भरिएको हुन्छ । ताल्चा विमानस्थलमा उत्रिएपछि केही घण्टाको पैदल यात्रामा रारा पुग्न सकिन्छ । तर, काठमाडौंबाट नै हवाई यात्रा गर्ने हो भने दुई दिनमै रारा पुगेर काठमाडौं आउन सकिन्छ । काठमाडौंबाट विहानको उडानमा नेपालगज्ज जाने । नेपालगज्जबाट फेरि ताल्चा विमानस्थल जान सकिन्छ ।

ताल्चाबाट भने दुई घन्टामा रारा पुग्न सकिन्छ । राराताल पुरै एक फन्को लगाएर एक रात राराका बसरे पनि भोलिपल्ट सहजै हवाई मार्गबाट काठमाडौं आइपुग्न सकिन्छ । हवाई मार्गले रारालाई नजिकै बनाइदिएको छ । तर, कालिकोट, दैलेख, जुम्ला र मुगुको मनोरम पहाड तथा पाटन हर्दै जानेका लागि भने हवाई मार्ग उचित छैन ।

रारा ताल जान पैदल यात्रीलाई सबैभन्दा सहज बाटो भनेको जुम्ला सुदरमुकाम पुग्नुपर्छ । तर, जुम्ला सदरमुकाम नपुगी नाग्माबाट पनि सिञ्जा उपत्यका हुँदै जान सकिन्छ । जुम्ला सदरमुकामबाट करिब तीन घन्टाको हिडाइमा डाँफेलेक पुग्न सकिन्छ । 
 

चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार : राष्ट्र बैंक

काठमाडौं, १ वैशाख । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा चालु खाता एवम् शोधनान्तर स्थितिमा उल्लेख्य सुधार आएको जनाएको छ ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।  

समीक्षा अवधिमा चालु खाता रू.४४ अर्ब ३१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू.४६० अर्ब ७२ करोडले घाटामा रहेकोथियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१४८ अर्ब ११ करोडले बचतमा रहेको छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२५८ अर्ब ६४ करोडले घाटामा रहेको थियो ।
 

पार्टीका नेता कार्यकर्ता भेटघाटमा प्रधानमन्त्री

काठमाडौं, १ वैशाख । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका छन् ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरिरहेका प्रधानमन्त्रीको प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

उनका अनुसार हप्ताको हरेक शुक्रबार प्रधानमन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेटघाट गर्ने कार्यक्रमको शुरुवात आजबाट भएको छ । 

अमेरिकी डलरको भाउ घट्दा, युरोको उकालो

काठमाडौं, १ वैशाख  – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । शुक्रबार अमेरिकी डलर ३६ पैसाले घटेर यसको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि बिहिबार उक्त डलरको खरिदमूल्य १३१ रुपैयाँ ३ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ६३ पैसामा कारोबार भएको थियो ।  

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोमा उकालाे  लागेको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७९ पैसाले बढेको हो । बिहिबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ २२ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो।

शुक्रबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १६४ रुपैयाँ १९ पैसा तोकिएको छ। यो मूल्य बिहिबारको तुलनामा ७५ पैसाले बढेको हो । बिहिबार यसको खरिदमूल्य १६२ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ ४४ पैसा कायम गरिएको थियो ।  

त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५७ पैसा र बिक्रीमा ९८ रुपैयाँ २ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९३ पैसा कायम गरिएको छ । 

शुक्रबार साउदी अरेबियन एकको खरिददर ३४ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५ रुपैयाँ, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ६९ पैसा र बिक्रीदर २९ रुपैयाँ ८३ पैसामा पाइनेछ ।

उता, कुवेती दिनार एकको खरिदमा शुक्रबार ४२६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ७१ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३४८ रुपैयाँ २१ पैसा तोकिएको छ।

नयाँ वर्षको रौनक [तस्बिरहरू]

काठमाडौं, १ वैशाख – नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिँदै छ । नेपालीहरूले नयाँ वर्षका अवसरमा विभिन्न कार्यक्रम गरिरहेका छन् ।

नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् । 

बैंकको ब्याजदर एकल अंकमा झार्ने निर्णय आजबाट कार्यान्वयनमा

काठमाडौँ, १ वैशाख । बैंक तथा वित्तीय संस्थाले शुक्रबारबाट नयाँ ब्याज दर लागु गरेका छन् । बुधबार बसेको बैंकर्स संघको बैठकले गरेको वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय शुक्रबारबाट कार्यान्यवनमा गएको हो । 

निक्षेपको ब्याजदर घटेसँगै कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ । 

बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

शुक्रबारबाट साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । 
 

बैतडी जीप दुर्घटनाका फरार चालक पक्राउ

बैतडी, १ वैशाख – बैतडीमा ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको जीपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोडमा मंगलबार राति ११ बजे से १ ज ७६४ नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो।  

दुर्घटनालगत्तै फरार रहेका चालक बझाङको केदारस्युँका २७ वर्षीय अर्जुन बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई ढोल्यामोडबाट नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। उनीमाथि सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

दुर्घटनामा परी बझाङको केदारस्युँ गाउँपालिका ५ को बाँझका ६० वर्षीय मने बोहरा, ४२ वर्षीय नरे बोहरा, ३५ वर्षीय गोरख बोहरा, ४५ वर्षीय मानबहादुर धामी, ४५ वर्षीय बिर्ख धामी र ४० वर्षीय वीरे धामीको मृत्यु भएको थियो। जीपमा सवार पाँच जनाले हाम फालेर ज्यान बचाएका थिए। 

दुर्घटनापछि क्षतिपूर्तिको मागसहित घटनास्थलमै मृतकका आफन्त बुधबार आन्दोलित भएका थिए। उनीहरूले चालक,साहुलाई नियन्त्रणमा लिन र आवश्यक क्षतिपूर्ति दिन माग गर्दै शव नबुझ्ने तथा घटनास्थलमै राजमार्गमा शव राखेर चक्काजाम गरेर आन्दोलन गरेका थिए। 

चालक र साहु सम्पर्कमा आएको र केदारस्युँ गाउँपालिकाले पनि क्षतिपूर्ति दिने भनेपछि उनीहरूले आन्दोलन फिर्ता गर्दै शव बुझेका छन्। 

विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब

काठमाडौं, १ वैशाख । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुनसम्ममा कुल विदेशी विनिमय सञ्चिति सुविधाजनक स्थितिमा रहेकोले बाह्य क्षेत्र सुदृढ भएको जनाएको छ ।

 
केन्द्रिय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको जनाएको हो ।  

केन्द्रिय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२० प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । 

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१० प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ । उक्त विदेशी विनिमय सञ्चितिले १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको बैंकले जानाएको छ ।
 

प्रधानमन्त्रीद्वारा नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले नयाँ बर्षले विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी नभई राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।

नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भने, “सङ्कल्प गरौँ, सिङ्गो राष्ट्रको साझा सङ्घर्ष र सङ्कल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौँ, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौँ ।”

उनले परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउन एउटा सकारात्मक वातावरण बनिरहेको बताएका छन् । “बैंक ब्याजदर कम हुँदै गएको छ, व्यवसायीहरूको बैंक ब्याजसम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ, राजश्व सङ्कलनमा वृद्धि भइरहेको छ, तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नुछ ।” उनले भने ।

उनले भने “मेरा केही ठोस सङ्कल्प छन्, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन्, नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको छ ।”

आदरणीय आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
नयाँ वर्ष २०८० को पुनित अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु । मलाई विश्वास छ, नयाँ वर्ष हामी आफैंमाथि भरोषा र आशाको वर्ष हुनेछ ।
                           
हरेक नयाँ वर्ष एउटा सुरुवात हो । विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो । हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन । राष्ट्र–निर्माणको साझा संकल्पका लागि नयाँ वर्षभन्दा उपयुक्त समय अरु हुनै सक्दैन । राष्ट्रले मलाई दिएको भूमिकामाथि आभार प्रकट गर्दै प्रधानमन्त्रीका रूपमा म समस्त नेपाली जनसमुदायसँग संकल्प गर्दछु, नयाँ वर्षका मेरा हरेक दिन र हरेक क्षण संविधानको कार्यान्वय, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुनेछन् ।

मेरा केही ठोस संकल्प छन् । निर्देशनको तहलाई कार्यान्वयनमा लैजान परम्परागत अवरोधबीच पनि यो बीचमा सकारात्मक सुरुवात भएको छ । अर्थतन्त्रमा देखिएका संकट र चुनौती क्रमशः कम हुँदै गएका छन् । वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको छ, श्रमिकको अधिकार सुरक्षित गर्न महत्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएका छन् । नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरू भएको छ ।

बैंक ब्याजदर कम हुँदै गएको छ । व्यवसायीहरुको बैंक ब्याज सम्बन्धी चिन्तालाई सम्बोधन गर्न सकारात्मक छलफल भइरहेको छ । राजश्व संकलनमा वृद्धि भइरहेको छ । परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा हामी क्रमभंग गर्न गइरहेका छौं । एउटा सकारात्मक वातावरण बनिरहेको छ तर हाम्रै पुस्ता र नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि हामीले अझै धेरै मेहेनत गर्नु छ । सामूहिकताको संस्कृति विकास गर्दै थुप्रै चुनौतीलाई सहमति र सहकार्यबाट परास्त गरेका सफल अनुभव हामीसँग छन् । नयाँ वर्षलाई पनि सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन म आम जनसमुदायमा विशेष अपील गर्दछु । नयाँ वर्षमा हामी विश्वास, आशा र साहसका साथ राष्ट्रका कमजोरी होइन, राष्ट्रका क्षमता उजागर गर्नेछौं ।

संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेण्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।  २०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गर्दछु ।
धन्यवाद ।


दार्चुलामा किशोर किशोरी मृत फेला

दार्चुला, १ वैशाख – दार्चुलामा एक  किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३/२४ वर्षका  किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ। किशोरको शव भिरमा अडकिएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए। उनको शव भन्दा करिब ४०/५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ।

उनको सनाखत हुन सकेको छैन। सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन्। एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए।

विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा

नारायणगढ–मुग्लिन सडकखण्डको बीचमा पर्ने तुइन खोलामा पुल बनाउन अवरोधक बनेको पहरो फोर्न आवश्यक विस्फोटक पदार्थ खरिद प्रक्रियाको फाइल काठमाडौंस्थित भारतीय दूतावासमा पुगेको देखिएको छ ।

बारुद किन्न ‘नो अब्जेक्सन लेटर’ का लागि फाइल भारतीय दूतावासमा रहेको नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । आयोजनाले बारुद किन्न गरेको मागअनुसार रक्षा र गृह मन्त्रालयको स्वीकृतिसहित परराष्ट्र मन्त्रालय हुँदै अहिले भारतीय दूतावासमा पुगेको कार्कीले बताए । दुई दिनअघिसम्म उक्त फाइल कहाँ छ भन्ने यकिन थिएन ।

गोरखापत्र दैनिकले बुधबारको अङ्कमा ‘पहरो फुटाउने फाइल नै हरायो’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । “समाचार आएपछि हामीले फाइल खोज्ने क्रममा अहिले खरिद प्रक्रियाकै क्रममा भारतीय दूतावासमा रहेको पाइएको छ,” उनले भने । भारतबाट विस्फोटक पदार्थ खरिदका लागि आयोजनाका सहजकर्ता कृष्ण न्यौपानेले एक÷दुई दिनभित्रै भारतीय दूतावासले ‘नो अब्जेक्सन लेटर’ दिने र त्यसकै आधारमा नेपाली सेनासँग सहकार्य गरेर भारतबाट बारुद आयात गर्ने बताए ।

“हामीले वैशाखको अन्तिमसम्म विस्फोट गराउन सक्ने गरी बारुद आयातको प्रक्रिया सुरु गरिसकेका छौँ,” न्यौपानेले भने, “आयात गरिएको विस्फोटक पदार्थ सेनाको भरतपुर ब्यारेकमा भण्डारण गरेर पहरा फोर्न प्रयोग गर्नेछौँ ।” भारतको महाराष्ट्रमा रहेको एस बी एल इनर्जी लिमिटेडबाट १५ टन बारुद खरिदका लागि परियोजनाले प्रक्रिया अघि बढाएको हो । “आवश्यकता हेरेर पाँच÷पाँच टन गर्दै बारुद आयात गर्ने हो,” उनले थपे, “नेपाली सेनाकै समन्वयमा उनीहरूसँगै सम्झौता गरेर आयात गर्ने हो ।

यसरी आयात गरिएको बारुद नेपाली सेनाले नै ढुवानी, भण्डारण र विस्फोट गराउँदासम्मको अनुगमन तथा निगरानी राख्ने गर्छ ।” नारायणगढ–मुग्लिन सडकको तुइन खोलामाथिको पुलसँगैको ११ मिटर अग्लो र ४० मिटर चौडाइको पहरो विस्फोट गर्न नसक्दा पुल निर्माणको काम लामो समयदेखि रोकिएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हिजोआज सुनसान बनेको गाउँमा विकास पुग्यो, मान्छे सहर पसे

दोलखाको वैतेश्वर गाउँपालिका–४, काब्रे ठूलोवनको शेर्पा गाउँ हिजोआज सुनसान बनेको छ। २०७२ सालको भूकम्प जानुअघि गाउँमा १९ घरपरिवार बसोबास गर्दै आएकामा अहिले चार घरपरिवार मात्रै छन्।ठूलोवनको शेर्पा गाउँमा बसोबास गर्ने १५ घरपरिवारले भूकम्पपछि पुख्र्यौली थलो छाडेका हुन्।

गाउँका धेरै जना सहर र विदेश पस्दा गाउँ रित्तै बनेको स्थानीय दानिमा शेर्पाले बताइन् । यो टोलमा उनी एक्लै छिन्। परिवार र गाउँका सबै काठमाडौँ र नजिकका सहर लागेपछि आफू एक्लै बस्दै आएको उनले बताइना् ।

उनले भनिन्, “टोलमा भूकम्पपछि बनेका चारवटा घर अहिले रित्तै छन्। सुविधा खोज्दै नयाँ पुस्ता सहर लागे। अहिले गाउँमै भएका सुविधा र विकासको उपयोग गर्ने मान्छे नै छैनन्। दुईरचार जना बुढेसकाल लागेका दाजुभाइ मात्रै गाउँमा छन्।”

ठूलोवन शेर्पा गाउँ वैतेश्वर गाउँपालिकाकै लेकमा पर्ने गाउँ हो। यहाँका स्थानीयको मुख्य पेसा नै आलु खेती हो। भूकम्पअघि गाउँमा सडक, खानेपानी, बिजुली, विद्यालयलगायतका समस्या थियो, गाउँभरि मान्छे थिए। उनले दुखेसो पोखिन्, “अहिले गाउँका घर आँगनमै सडक पुगेको छ, खानेपानी, विद्युत् तथा विकासका नयाँ–नयाँ संरचना धमाधम निर्माण भइरहेका छन् तर गाउँमा बस्ने मान्छे छैनन्। यहाँ अहिले विकासको भन्दा पनि गाउँमा बसोबास गर्ने छिमेकीको आवश्यक रहेको छ।”

केही वर्षअघि ठूलोवनका शेर्पा गाउँमा सयको हाराहारी जनसङ्ख्या रहेको थियो तर अहिले गाउँमा कर्म शेर्पा, पासाङ शेर्पा, लोमु शेर्पा, मैली शेर्पा, तेम्बा शेर्पा, दानिमा शेर्पा, दाक्षकी शेर्पालगायत दर्जनको हाराहारीमा मात्रै गाउँमा बसोबास गर्छन्। गाउँमा थोरै मान्छेको मात्रै बसोबास भए पनि गाउँवरपरका जग्गा भने हरियाली छन्। स्थानीयले बारीभरि आलु खेती गरेका छन्। युवा र नयाँ पुस्ताले गाउँ छोडेर हिँडे पनि आफूहरूले गाउँ छाड्न नसकेको लोमु शेर्पाले बताए ।

यहाँका स्थानीय मिलेर करिब दुई सय रोपनीमा आलु खेती गर्दै आएका छन्। आम्दानीको मुख्य स्रोत आलु खेती भएकाले घरखर्च चलाउन आलु बिक्री गरेर नै पुगेको स्थानीय तेम्बा शेर्पाले बताए । सिजनमा यहाँ एक किसानले ५० हजारदेखि चार लाख रुपियाँसम्मको आलु उत्पादन गर्दै आएका छन्। गाउँपालिकाको सहयोगमा सडक विस्तार भएसँगै काठमाडौँदेखि आलु लिन गाउँमै ठेकेदार गाडी लिएर आउने गरेको स्थानीय कर्म शेर्पाले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।