`

सरकारी खर्चमा रोकिएन विकृति

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६०औं प्रतिवेदनअनुसार सरकारको गत बर्षको बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रहेको छ । सरकारी खर्चमा विकृति बढ्दै गएकाले बेरुजु बढेको प्रतिवेदनले उल्लेख गरेको छ । कानुनअनुसार प्रक्रियागत रूपमा खर्च नगरिएको र लेखा स्पष्ट नराखिएको तथा अनियमित रूपमा खर्च गरिएको रकमलाई बेरुजु मानिन्छ ।

महालेखा परीक्षकको कार्यालय कुल ७१ खर्ब ३८ अर्ब १७ करोड रुपैयाँको लेखा परीक्षण गर्दा १ खर्ब १९ अर्ब बढीको बेरुजु देखिएको हो । प्रतिवेदनले खर्च गर्दा नियम नमान्ने प्रवृत्तिका कारण पनि बेरुजु मौलाएको प्रतिवेदनले औल्याएको छ । वर्षको अन्तिमा खर्च गर्ने परम्परा तोड्न नसक्नुले पनि बेरुजु बढ्दै गएको अर्थविज्ञको बुझाइ छ । विनियोजन गरेको बजेट खर्च नहुने अवस्था रकमान्तरण गर्ने विकृति अझै कायम रहेको महालेखा परीक्षको प्रतिवेदनमा उल्लेख छ ।

हालसम्म फस्र्योट हुन बाँकी कुल बेरुजु ५ खर्ब ८७ अर्ब ३४ करोड रुपैयाँ पुगेको महालेखाले जनाएको छ । संघीय मन्त्रालयगत भने अर्थ मन्त्रालयको बेरुजु सर्वाधिक छ । संघीय सरकारी कार्यालयतर्फ रकमगत आधारमा अर्थ मन्त्रालयको गत आवमा ५७ दशमलव ६६ प्रतिशतबराबरको बेरुजु रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

चार हप्ता चार्टर्ड उडानबाट चिनियाँ पर्यटक आउँदै

काठमाडौं । कोभिड १९ पछि पहिलोपटक नेपालमा चिनियाँ पर्यटक विमान चार्टर गरेर आएका छन् । हिमालय एयरलाइन्सको विमान चार्टर गरेर बिहीवार १८० चिनियाँ नेपाल आए। आगामी चार साता हप्ताको १ दिन यही संख्यामा चार्टर उडानबाट चिनियाँ आउनेछन् ।

हरेक हप्ता १ दिन चिनियाँ पर्यटक विमान चार्टर गरेर नेपाल ल्याउने नेपाल बिग माउन्टेन (एनबीएम) ट्राभल कम्पनीले जानकारी दिएको हो । हरेक उडानमा १८० जना हुनेछन् । सन् २०२३ को मार्च १५ देखि चीन सरकारले आफ्ना नागरिक घुम्न जाने देशको सूचीमा नेपाललाई राखेसँगै त्यहाँबाट आउने पर्यटक बढेका हुन् ।

चीन सरकारले आधिकारिक सूचना जारी नगरे पनि त्यहाँबाट नेपालमा पर्यटक आइरहेका छन् । तर, चीन सरकारको उक्त निर्णयपछि विमान नै चार्टर गरेर उनीहरू आउन थालेका हुन् ।

एनबीएमका अध्यक्ष सुदर्शन नेपालले चीन सरकारले नेपाललाई घुम्न पर्ने देशको सूचीमा राखेको छोटो अवधिमै पर्यटक ल्याउन सकिएको बताए ।’हामीले चार्टर उडानबाट पर्यटक ल्याउन शुरू गरिसकेका छौं,’ नेपालले भने, ‘अझै चिनियाँ पर्यटक नेपाल आउने पर्खाइमा छन् ।’ यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

घातक वैजनी रङको तहमा वायु प्रदूषण

नयाँ वर्षको पूर्वसन्ध्यामा राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा वायु प्रदूषण जनस्वास्थ्यका लागि ‘अस्वस्थकर तह’ अर्थात् वैजनी रङमा पुग्दा पनि नियन्त्रण प्रयास फिक्का देखिएका छन् ।

वायु गुणस्तर सूचकांक (एक्यूआई) मा २४५ अंकसहित बिहीबार अपराह्न काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा चौथो स्थानमा थियो । सोही समयमा वातावरण विभागले राजधानी सहर काठमाडौंको शंखपार्कमा जडान गरेको प्रदूषण मापक स्टेसनले त यो अंक ४०४ पुगेको देखाएको थियो ।

विपत्सम्बन्धी सूचना उपलब्ध गराउने सञ्जाल नेपाल डिजास्टर वाचका अनुसार बुधबार राति राजधानीस्थित अधिकांश प्रदूषण मापक स्टेसनहरूले प्रदूषण वैजनी रङको तहमा उक्लेको देखाएका थिए। बिहीबार साँझको तथ्यांक पनि झन्डै त्यस्तै देखियो ।

वायु प्रदूषणले जनस्वास्थ्यमा पार्ने प्रभावका हिसाबले शून्यदेखि ५०० सम्म विभिन्न तहमा विभाजन गर्दा २०१ देखि ३०० सम्मको एक्युआईलाई वैजनी रङ दिइएको छ । मानव स्वास्थ्यका लागि अत्यन्त अस्वस्थकर यो तहमा खुला ठाउँमा कुनै शारीरिक गतिविधि नगर्न र सकेसम्म घरभित्रै बस्न हितकर ठानिन्छ ।

वैजनी रङभन्दा माथिको तह अर्थात् ३०० भन्दा माथिको एक्युआइलाई मरुन रङ (गाढा रातो) दिइएको छ, जुन जनस्वास्थ्यका लागि घातक तह मानिन्छ । यो समाचार नागरिक दैनिकमा छ।

नयाँ वर्षले जनमुखी कानुन निर्माण गर्ने प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौं –  सभामुख देवराज घिमिरेले नयाँ वर्षले जनमुखी र प्रगतिशील कानुन निर्माण गर्ने मिलोस् भन्ने कामना गरेका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले राजनीतिक नेतृत्वले नेपाली जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना र मार्गचित्र निर्माण गरि कार्य प्रारम्भ गर्न जरुरी रहेको बताएका छन् । 

उनले नयाँ वर्षले सबै नेपालीबीच एकता, पारिस्पारिक मेलमिलाप, भाइचारा र साैहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन् ।

ज्योतिषीय नजरमा वर्ष २०८० : राजनीतिक परिवर्तनको सम्भावना

सुरेशचन्द्र रिजाल – राजनीति र कर्मचारीहरुका लागि वर्ष २०८० अधिक कष्टकर रहने योग रहेको छ । आम नेपाली समुदायका लागि नयाँ वर्ष भनेको सूर्यले १२ राशिको भ्रमण पूरा गरि पुनः मेष अर्थात् वैशाख महिनामा प्रवेश गर्ने पहिलो दिनलाई नयाँ वर्ष भनेर मनाउने परम्परा रहिआएको छ ।

नेपालमा प्रत्येक वर्ग र समुदायमा नयाँ वर्ष फरक–फरक समयमा मनाउने परम्परा रहिआएको  छ । कात्तिकदेखि वैशाख पूर्णिमासम्म विभिन्न समुदायले आआफ्नै परम्परामा नयाँ वर्ष मनाउने परम्परा रहिआएको  ।  नेवार समुदायहरुले कात्तिक महिनामा पर्ने गोवद्र्धन पूजाका दिन नयाँ वर्ष भव्य रुपमा मनाउँछन् भने अङ्ग्रेजी नयाँ वर्ष पुसको मध्यतिर नेपालसहित अन्य देशहरूमा मनाउने परम्परा रहेको छ । यसैगरी गुरुङहरूले पुस १५ गते, थारूले माघ १ गते, तामाङले माघ शुक्ल प्रतिपदामा, शेर्पाले फागुन शुक्ल प्रतिपदामा, वैदिक शास्त्रीय नियमअनुसार चैत्र शुक्ल प्रतिपदादेखि नयाँ सम्वत्सर प्रारम्भ हुनेभएकाले यसै दिनदेखि वैदिक  नयाँ वर्ष प्रारम्भ हुने शास्त्रीय नियम रहिआएको छ । 

 ‘चैत्रे मासि जगद् ब्रह्मा ससर्ज प्रथमेहनि । शुक्लपक्षे समग्रे तु तदा सूर्योदये सति ।’ यस श्लोकको आशयबमोजिम ब्रह्माजीले सृष्टिको  प्रारम्भ पनि यसैदिनबाट प्रारम्भ गर्नुभएको हो भन्ने प्रमाण पनि  यस श्लोकबाट पुष्टि हुन्छ । त्यस्तै हामीले मान्ने वर्षलाई विक्रम संवत् भन्ने गरिन्छ । विशेषगरी आर्यावर्तका चक्रवर्ती सम्राट् विक्रमादित्यले शकहरूलाई परास्त गरी विजयध्वजा फहराएको दिनको स्मरणमा वैशाख १ गतेबाट उनको नाममा नयाँ वर्ष मनाउन थालिएको र उनको विजयोत्सवलाई चीरस्थायी तुल्याउन विक्रम संवत् र शाके संवत् प्रारम्भ भएको धार्मिक मान्यता रहिआएको छ । विक्रम संवत् र शाके संवत्लाई आधार मानेर अंग्रेजी नयाँ वर्ष मनाउन थालिएको प्रमाणहरु पनि पर्याप्त भेटिएका छन् ।

ज्योतिषीय आधारमा नयाँ वर्ष २०८०

ज्योतिषीय आधारमा नयाँ संवत्सरको फल विचार गर्दा यसवर्ष पिंङ्गल नामक संवत्सर बीस २०८० भरि रहनेछ । नयाँ सम्वत्सरको फल विचार गर्दा समाजमा भय तथा अराजकता अधिक मात्रामा बढ्नेछ । हरेक क्षेत्रमा हुने मूल्य वृद्धिका कारण आम नागरिकले कठिनाई वर्षभरि नै झेल्नुपर्ने देखिएको छ । वर्षामा एकरुपता नहुँदा कतै थोरै त कतै भारि वर्षाका कारण नागरिकले सास्ती भोग्नुपर्ने योग रहेको छ । प्रतिपक्षीहरुले शक्ति प्रदर्शन गरिरहनाले जनताका लागि यो बर्ष कष्टकर  रहने संवत्सरको फलमा उल्लेख गरिएको छ । 

यस वर्ष गुरु बृहस्पतिको उदयास्तलाई विचार गर्दा देशका उच्च पदस्त कर्मचारी र राजनीतिक व्यक्तिहरुका लागि  अधिक कष्टकर रहने योग रहेको छ । विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुले  आफूअनुकुल नियम बनाउन खोज्दा सरकारले कात्तिक मसान्तसम्म निक्कै  कठिनाई पनि झेल्नुपर्नेछ । लामो समयदेखि जोखिममा रहेको सेयर बजारमा वर्षभरि उल्लेखनीय सुधार हुने छैन ।

नयाँ संवत्सर प्रारम्भ हुने दिन वर्षको राजा हुने र वैशाख सङ्क्रान्तिको दिन जुनबार पर्छ, बारका अधिपति ग्रह वर्षका मन्त्री हुने शास्त्रीय नियम रहेकोले यसवर्षका राजा (शासनाध्यक्ष) बुध ग्रह वर्षभरि नै राजाको भूमिकामा रहनेछन् । वैशाख १ गते शुक्रबार परेकाले वर्षभरि शुक्र ग्रह मन्त्री पदमा आसीन हुनेछन्  । अतः राजा बुध र मन्त्री पदमा शुक्र ग्रहको वर्षभरि नै आधिपत्य रहनेछ ।

राजा बुध र मन्त्री शुक्र ग्रह दुवै शुभग्रह भएकाले  यसवर्ष माङ्गलिक कार्यहरूमा बढोत्तरी हुनेछ । धर्म नमान्नेहरु पनि  पूजापाठ, धर्मकर्म र परोपकारका मार्गमा लाग्नेछन् । देशमा धार्मिक आन्दोलनको थालनी हुनेछ । खेलकुद तथा मनोरन्जनका क्षेत्रमा निकै अगाडि बढ्ने योग रहेको छ ।

सस्येशमा चन्द्रमाको अधिकार रहने भएकोले दूध तथा तरल पदार्थमा मुल्य वृद्धि भइरहने छ । त्यस्तै धनेशमा सूर्य ग्रहको  प्रभाव वर्षभरि नै पर्नेछ । विशेषगरी लुकेर राखिएका धन र बहुमूल्य सामाग्रीहरुको खोजीमा राज्य आफै लागि पर्नेछ ।  फलेश र दुर्गेशको जिम्मेवारी देवगुरु बृहस्पतिले प्राप्त गरेका छन्, जसका कारण विशेषगरी फलफूलहरुको उत्पादन वृद्धिले गर्दा आम जनता हर्ष, आनन्द र खुसीको जीवनमा रमाउन पाउने सम्भावना छ । 

देशका लागि जगल्लग्न कुण्डलीको प्रभाव

जगल्लग्नकुण्डलीमा लग्नेश तथा दशमेश बुध अष्टम स्थानमा बसी धनभावमा पूर्ण दृष्टि देख्नुलाई  शुभ मानिँदैन । आर्थिक रुपमा निकै कमजोरीको सामना गर्नुपर्ने योग रहेको । दीर्घकालिक फाइदा हुने केही ठूलठूला योजनाहरू प्रारम्भ हुनै  निकै कठिनाई हुनेछ । धार्मिक, सांस्कृतिक र पारम्परिक कर्म र अनुष्ठानमा भने उल्लेखनी वृद्धि हुनेछ । रेमिट्यान्स र वैदेशिक व्यापारिक कारोबार फस्टाउनेछ । वैदेशिकसम्बन्ध वर्षभरि  राम्रो रहनेछ । तर, अध्ययनका लागि बाहिर जानेहरुका लागि यो वर्ष सरकारले अंकुश लगाउने ग्रहयोग निर्माण भएको छ । 

बुध तथा मंगल ग्रहको राशि परिवर्तन योग  तथा  सूर्य ग्रहमा ग्रहण योग बन्नु चाहिँ राजनीतिकर्मी र शासकहरूका निम्ति नकारात्मक छ । सरकारी र राजनीतिक क्षेत्रबाट भएका निर्णय कार्यान्वयन हुन कठिन हुने र गलत साबित हुने सम्भावना देखिन्छ । दलहरूका बीचमा खिचातानी यथावत् रहनेछ । नेता र प्रशासकले जनतालाई आशलाग्दो योजना, कानुन र व्यवस्था प्रदान गर्न सक्ने छैनन् । असार २५ तथा मंसिर १९ गते राजनीतिक परिवर्तनको सम्भावना रहने योग रहेकाले विशेष सावधानी अपनाउनु पर्नेछ ।

नेपालको बृश्चिक राशि मान्दा वैशाख १५ गतेबाट सत्रु स्थानमा प्रवेश गर्ने बृहस्पति र कात्तिक अन्तिमसम्म राहुसँग गुरुचण्डाल योगमा पर्ने हुँदा  झिना–मसिना चुनौती र सम्भावनालाई बोकेर आगामी वर्ष २०८० ले राज्यलाई उन्नतिको नयाँ मार्ग पहिल्याउन निकै  मद्दत  गरोस् हार्दिक शुभकामना  ।

(लेखक सुरेशचन्द्र रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । )
 

आजदेखि वर्ष २०८० प्रारम्भ, शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइँदै

काठमाडौ – आज (शुक्रबार)बाट विक्रम सम्वत २०८० सुरु भएको छ । १ वैशाखलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएको छ । 

नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन शुक्रबार देश तथा विदेशमा रहेका नेपालीले एकअर्कामा शुभकामना आदनप्रदान गरी नयाँ वर्ष मनाइरहेका छन् । 

नयाँ वर्षको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । जस कारण नयाँ वर्षको दिन साथीभाइ तथा परिवारका सदस्यहरु भेला भएर घुम्न जाने, रमाइलो गर्ने गर्छन्  । यसदिन नयाँ कामको थालनी गर्ने परम्परा पनि छ ।

मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा चल्दै आएको विक्रम सम्वत विक्रमादित्यले चलाएका हुन् । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । 
 

आशिकी ३ मा दीपिका र कटरीनाबीच अभिनेत्री बन्न प्रतिष्पर्धा

मुम्बई । सन् १९९० को सांगीतिक प्रेमकथाको फिल्म ‘आशिकी’मा राहुल रोय र अनु अग्रवालको जोडीको रोमान्स दर्शकले हेरेका थिए । यसको सिक्वेल ‘आशिकी २’मा आदित्य रोय कपूर र श्रद्धा कपूरको रोमान्टिक जोडीलाई दर्शकले मनपराएका थिए ।

अहिले निर्माताहरु यसको तेस्रो सिक्वेल ‘आशिकी ३’ निर्माण गर्दैछन् । फिल्ममा अभिनेता कार्तिक आर्यन प्रमुख भूमिकामा छन् । यो वर्षको डिसेम्बरबाट छायांकन सुरु हुने फिल्मका लागि अहिलेसम्म अभिनेत्री फाइनल भइसकेका छैनन् ।

पछिल्लो चर्चा अनुसार फिल्ममा दीपिका पादुकोण र कटरीना कैफको नाम जोडिएको छ । यी दुईमध्ये कोही एकसँग कार्तिकले रोमान्स गर्ने भएका छन् । ‘फिल्ममा कार्तिकले पहिल्यै नै रोमान्स गरेका अभिनेत्रीसँग पुनः रोमान्स गर्ने छैनन् । फिल्ममा नयाँ अनुहारको पनि अभिनय हुने छैन । किनकी फिल्ममा अभिनेत्रीको भूमिका दमदार छ । त्यसकारण दीपिका वा कटरीनामध्ये कोही एक फाइनल हुने सम्भावना छ’, फिल्म निकट स्रोतले भनेको छ ।

दीपिका र कार्तिकले अहिलेसम्म सहकार्य गरेका छैनन् । त्यहीकारण उनीहरु काम गर्न इच्छुक छन् । ‘आशिकी ३’ निर्देशक अनुराग बसुले अभिनेत्री कटरीनासँग यसअघि फिल्म ‘जग्गा जासुस’मा काम गरिसकेका छन् । त्यहीकारण निर्देशक अनुराग पुनः कटरीनासँग सहकार्य चाहन्छन् ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदर एकल अंकमा झार्ने

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार बिहीबार पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार वैशाख महिनाका लागि ब्याज दर एकल अंकमा झारिएको छ । 

नयाँ ब्याजदरअनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत, संस्थागत निक्षेपमा ७.९९ प्रतिशत कायम गरिएको छ । वैशाखबाट बैंक तथा वित्तीय संस्थाले साधारण बचतमा न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् । निक्षेपको ब्याजदर घटाइएकाले अब कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्नेछ । उक्त ब्याजदर १ वैशाख शुक्रबारबाट लागु हुनेछ ।  
 

नौ हजार घुस रकमसहित एक जना प्रहरी अख्तियारको फन्दामा

सिराहा, ३० चैत – सिराहामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले एक जना प्रहरीलाई नौ हजार घुस रकमसहित पक्राउ गरेको छ ।

मुद्दा मिलाइदिने भन्दै इलाका प्रहरी कार्यालय मिर्चैया मुदा शाखाका प्रहरी सहायक निरीक्षक सचिन यादवलाई आज अपरान्ह कार्यालय बाहिर सेवाग्राहीसँग नौ हजार घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका प्नहरी सहायक निरीक्षक यादबले मिर्चैयाकै दुई जना सेवाग्राही मध्ये एउटासँग मुद्दामा सहज बनाइदिने भन्दै ९ हजार नगद रकम र अर्का सेवाग्राहीसँग मुद्दादर्ता नगर्न  दुई लाख रकमको माग गरेको अडियोको आधारमा पक्राउ गरेका छन् । 

पक्राउ परेका यादव पहिलादेखि नै कार्यलय प्रमुखहरूकै सहमतीमा सेवाग्राहीसँग अवैध रकम असुल्ने जुनसुकै मुद्दाको सेटिङ गराउने गरेको स्थानीय सेवाग्राही बताउँछन् । उनी पक्राउ पर्दा याहाँका सेवाग्राही निकै नै उत्साहित देखिएका छन् ।

घुस रकमसहित पक्राउ परेका यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आवश्यक प्रक्रिया पुरा गरी थप अनुसन्धानको लागी बर्दिबास लाने तयारी गरिरहेको जनाइएको छ ।

टाइगर ३ मा तीन एक्सन निर्देशक

मुम्बई । अभिनेता सलमान खान र शाहरुख खानको फिल्म ‘टाइगर ३’को एक्सन सिक्वेन्स बनाउन विश्वका प्रख्यात तीन एक्सन निर्देशक जोडिएका छन् । फिल्मका लागि फ्रान्ज स्पिलहस, परवेज शेख र से–योङ ओहले एकसाथ सहकार्य गर्न लागेका हुन् ।

फिल्मका निर्माता एक्सन सिक्वेन्सलाई अझ मनोरञ्जक बनाउन चाहन्छन् । ‘फिल्म पठानमा देखिएको एक्सनभन्दा जबरदस्त एक्सन ‘टाइगर ३’मा देखियोस् भन्ने निर्माताको चाहना हो’, फिल्म निकट स्रोतले भन्यो ।

फिल्ममा सलमान र शाहरुखको अभिनय रहने भएकाले पनि निर्माता आदित्य चोपडा र निर्देशक मनीष शर्मालाई फिल्ममा ऐतिहासिक एक्सन सिक्वेन्सलाई प्राथमिकता दिने चाहना छ ।

सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो

काठमाडौं – नेपाल सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको हो । 

प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८/७९ मा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७ करोड रुपैयाँ थप भएको उल्लेख छ । 

यो वर्ष ६ हजार ५ सय ४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँ बराबरको लेखापरीक्षण गरिएको महालेखापरीक्षक टङ्कमणि शर्माले बताउनुभयो । यस वर्ष बेरुजु प्रतिशत १.६८ प्रतिशत देखिएको छ । 

महालेखापरीक्षकको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा महालेखा परीक्षक टङ्कमणि शर्माले संघीय निकायमा सबैभन्दा धेरै बेरुजु अर्थ मन्त्रालयमा रहेको पाइएको बताउनुभयो । 

आर्थिक वर्ष २०७८/७९ मा अर्थ मन्त्रालयको बेरुजु ३२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यस्तै संघीय निकायका सबै कार्यालयको कुल बेरुजु ५६ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । 

यसैगरी दोस्रो धेरै बेरुजू हुने निकायमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेको छ । त्यस मन्त्रालयको ८ अर्ब ७९ करोड रुपैयाँ बेरुजु थप भएको छ । 

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको २ अर्ब ७० करोड, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको २ अर्ब ५३ करोड, गृह मन्त्रालयको १ अर्ब ५७ करोड, भूमि व्यवस्थाको १ अर्ब ३४ करोड, ऊर्जा, जलस्रोत तथा सिँचाइको १ अर्ब २९ करोड, शहरी विकासको १ अर्ब ९ करोड, खानेपानी मन्त्रालयको ८७ करोड र स्वास्थ्य तथा खानेपानी मन्त्रालयको ८६ करोड बेरुजु थप भएको छ ।

यस्तै प्रदेश सरकार मातहतका कार्यालयहरूमा यस वर्ष ८ अर्ब ४६ करोड बेरुजु देखिएको छ । प्रदेशहरूमा सबैभन्दा धेरै कर्णाली प्रदेशको ४ दशमलव ४३ प्रतिशत रहेको छ भने सबै भन्दा कम गण्डकी प्रदेशको १ दशमलव २४ प्रतिशत बेरुजु कायम भएको महालेखा परीक्षणले देखाएको छ ।

बाजुराका एक बालकमा कालाजार संक्रमण 

धनगढी – बाजुरामा एक जनामा कालाजार संक्रमण पुष्टि भएको छ । जिल्लाको हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका ६ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको हो ।

लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार जिल्ला अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताए । 

बालकमा कालाजारका साथै कुपोषण रहेको र शरिरमा दुई प्वाइन्ट मात्र रगत रहेको उनले बताए । रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए ।
 

जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न बालेन शाहलाई संघीय सरकारको सुझाव

काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न सुझाव दिएको छ । 

गत मंगबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारको प्रवक्तासमेत रहेकी सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मेयर शाहलाई सुझाव दिएकी हुन् । 

संविधानको अनुसूची ८ मा फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको हुने स्पष्ट व्यवस्था रहेको स्मरण गराउँदै उनले कुनै उद्देश्यपूर्तिका निमित्त र अर्को काम सल्ट्याउनका निमित्त हड्तालतको विषय बनाउनु नहुने बताइन् ।  आफूले भनेको विषय टुंगिएन भनेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्न नपाइने भन्दै मन्त्री शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताइन् । 

काठमाडौं महानगरपालिकाका शाहले दिएको सिंहदरवारसहित केही स्थानको फोहोर नउठाउने र सिंहदरवारका नेतालाई डम्पिङ गर्नुपर्ने अभिव्यक्तिलाई गैरजिम्मेवार भनेको थियो । साथै बिहीबार मन्त्री शर्माले उनको अभिव्यक्ति र निर्णयले जनताको स्वास्थ्यमाथि खेलवाड गरेको बताएकी हुन् । 
 

अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको छ – सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले अहिलेको संसदबाट जनताको आशा र भरोसा धेरै रहेको बताएका छन् । 

नयाँ वर्ष २०८० का अवसरमा संघीय संसद सचिवालयले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले २०७९ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरुसँग जनताको आशा र अपेक्षा धेरै रहेको बताए । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्ने उनले बताए । 

यस्तै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि वर्ष २०७९ मा पनि देशले स्थिरता दिन नसकेको बताए । 

दुई महिनामै सरकार परिवर्तन हुँदा निरासा पैदा भएको बताउँदै उनले सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न नपाएको बताए । 

‘विधेयकहरु समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद् छ । समितिहरु ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरु अघि बढ्न सकेको छैन,’ उनले भने । 
 

कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर, ३० चैत – कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

दोधारा–चाँदनी–१० कुतियाकभरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् ।

बिहीबार ३६ ग्राम ३४ मिलिग्रामसहित भारतीय नागरिक सन्तोष हिरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

कुन मन्त्रालयको बेरुजु कति ? 

काठमाडौं, ३० चैत – यस आर्थिक वर्षमा अर्थ मन्त्रालयको बेरुजु अत्यधिक देखिएको छ । महालेखा परीक्षकको ६०औं प्रतिवेदनअनुसार कुल बेरुजुको ५७ प्रतिशत बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।

यस्तै भौतिक पूर्वाधारमा १५.६२, सञ्चारमा ४.८१, कृषिमा ४.८१ प्रतिशत बेरुजु रहेको छ । यसैगरी गृहमा २.७९, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमा २.३८, ऊर्जा, जलस्रोत तथा सिँचाइमा २.३०, सहरी विकासमा १.९५ प्रतिशत बेरुजु रहेको प्रतिवेदनले देखाएको छ । 

खानेपानीमा १.५६, स्वास्थ्य तथा जनसंख्यामा ४.८८ र अन्यमा ४.८८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । 

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, अन्य समिति र संस्थागततर्फ लेखापरीक्षणबाट एक वर्षमा औँल्याइएको बेरुजु रु १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रहेको छ  । 

जसअनुसार यो वर्ष ६ हजार ५४६ निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाखको लेखापरीक्षण भएको प्रतिवेदनमा उल्लेख छ । 

संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थागततर्फ लेखा परीक्षणमा औँल्याइएको कुल अद्यावधिक बेरुजु ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख रहेको छ । जुन गत वर्ष भन्दा २१.४५ प्रतिशतले बढी हो ।

आँप र यसकाे पात स्वास्थयका लागि उपयोगी

काठमाडौं, २९ चैत । आँप स्वादमा मात्रै होइन स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । आँप मात्रै होइन यसको पात पनि धेरै फाइदाजनक छ ।आँपको पात धेरै गुणले भरिपूर्ण छ । आँपको पातमा भिटामिन ए, बी र सी पाइन्छ। यसबाहेक, यी पातहरूमा एन्टी–अक्सिडेन्ट र फ्लेभोनोइड्स र फिनोलहरू पनि प्रशस्त मात्रामा पाइन्छ। आँपको पातमा एन्टी–माइक्रोबियल गुणका कारण पनि प्रयोग गरिन्छ र यी पातहरू धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि प्रभावकारी साबित हुन्छन्। 

आँपको पातको सेवनले मधुमेह जस्तो रोगबाट बचाउनमा मद्दत गर्छ । यसमा ट्यानिन हुन्छ जसले सुरुवातमा मधुमेह निको पार्न धेरै प्रभावकारी भूमिका खेल्दछ । साथै यस्तो अवस्थामा आँपको पातलाई काँचो चपाएर पनि यसको फाइदा लिन सकिन्छ । अथवा पातलाई सुकाएर धुलो बनाएर खान सकिन्छ भने यी पातहरूलाई पानीमा उमालेर छानेर पिउदा पनि स्वास्थ्यमा निकै राम्रो असर गर्दछ । आँपको पातले रक्तचाप कम गर्नमा पनि मद्दत गर्छ। यी पातहरूको हाइपोटेन्सिभ गुणको कारण यो पात रक्तचाप कम गर्न प्रभावकारी मानिन्छ ।

आँपको पात सेवन गर्दा चिन्ता कम गर्न प्रभावकारी हुने गर्दछ। आँपको पात रुघाखोकिलाई निको पार्दछ । आँपको पातले रुघाखोकि वा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा निकै फाइदाजनक साबित हुन्छ । यी पातलाई पानीमा उमालेर पिउँदा चिसोको समस्याबाट राहत पाउन सकिन्छ । आँपको पातको पानी तताएर त्यसमा एक चम्चा मह मिसाएर चिया जस्तै पिउन पनि सकिन्छ ।

साथै आँपको पातको सेवनले पेटसम्बन्धी समस्यालाई पनि हटाउन सकिन्छ । आँपको पातलाई मनतातो पानीमा रातभर भिजाउने र भोलिपल्ट खाली पेटमा पिउनुहोस्। यसो गर्नाले पेटबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर भित्री रुपमा पनि सफा हुन्छ । यसो गर्दा पेटको स्वास्थ्य राम्रो रहनुका साथै छाला पनि भित्री रूपमा चम्किलो हुन्छ। तौल घटाउनमा पनि यस पातको फाइदा निकै रहेको छ। 

उवा महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाललाई सुरुआती अग्रता

काठमाडौं, ३० चैत नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। 

अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहति अग्रता बनाएका छन्। उनलाई संघईले ६० मत र अञ्जन पनि ६० मतका साथ पछ्याइरहेका छन्।

जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो । 

यस्तो छ हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौ, ३० चैत  । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी तथा फलफूलको मुल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर ११० रुपैयाँ, अनार २२५ रुपैयाँ, आभोकाडो ४०० रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अदुवा ११० रुपैयाँ, रातो आलु ३० रुपैया, सेतो आलु २५ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २४० रुपैयाँ, कुरीलो ३५० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, गुन्दु्रक २५० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौला ४० रुपैयाँ, चमसूरको साग ११० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ २९० रुपैयाँमा किनबेच भइरहेको छ भने तितो करेला ९० रुपैयाँ, तोरीको साग ४० रुपैया, लोकल परवर ११० रुपैयाँ, न्यूरो ९० रुपैया, भारतीय सुकेको प्याज ३१ रुपैयाँ, हरियो प्याज ४० रुपैयाँ, पुदीना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ, फर्सी पाकेको ४० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ७० रुपैयाँ, भान्टा लाम्चो ३० रुपैयाँ, भिण्डी ९० रुपैया केजी, मूला रातो ५० रुपैयाँ, रुख कटहर ७० रुपैयाँ, भुई कटहर १८० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १७० रुपैयाँ, लौका ५० रुपैयाँ र हरियो धनिया ३० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २८० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।
 

एसी मिलानसँग नेपोली पराजित

काठमाडौं, ३० चैत । बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ ।

 बुधबार राति भएको खेलमा घरेलु मैदान मिलानोमा मिलानले नेपोलीलाई १–० ले पराजित गरेको हो । मिलानको जितमा पहिलो हाफमा इस्माइल बेनासेरले गोल गरेका थिए । जुन गोल निर्णायक नै बन्यो ।

यो जितले मिलानले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउँदा एको छ  नेपोलीलाई कम्तीमा २–० को जितको आवश्यक छ ।

कैलालीबाट १५ जना जुवाडे पक्राउ

धनगढी, ३० चैत – कैलालीबाट प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ। टिकापुर नगरपालिका–१ ब्लक नं. १४ का खडक बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय टिकापुरको प्रहरी टोलीले जुवाको खालबाट ३१ हजार ६९५ रुपैयाँसहित ५ जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा टिकापुर नगरपालिका १४ वस्ने वर्ष ४६ का खडक बहादुर शाही, १४ वस्ने वर्ष ५६ का उदय राब ढुङगाना, दौलतपुरका वर्ष ५३ का सूर्य बहादुर कालुङमगर, वडा नम्बर १ का वर्ष ५६ का बिक्रम बहादुर खड्का र सोही वडाका वर्ष ३२ का प्रेम देउवा रहेका छन्।

त्यस्तै सोही  ठाउँकै  वडा नम्बर १ का वर्ष ६८ का दील प्रसाद शेरचनले सञ्चालन गरेको ३ तले न्यु ब्रान्च होटलमा जुवाको खालबाट १ लाख १४ हजार ९५ सहित १० जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ।

कैलाली टिकापुर नगरपालिका १ वस्ने वर्ष ६८ को दिल प्रसाद शेरचन,वर्ष ६६ का टंक बहादुर रावल, वर्ष४९ को देब बहादुर रावल, वर्ष ६३ को चक्रकान्त तिमिल्सेना, ५३ वर्षका हमाल,४८ वर्षका नरेश रावल,५३ वर्षका हस्त बहादुर शाही, ५० वर्षका दल बहादुर साँउद, ५८वर्षका हिरालाल कोईराला र ६३ वर्षका लोक बहादुर साँउद रहेका छन्।

ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार

गोरखा, ३० चैत – गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

पहाडबाट खसेको ढुंगा लागेर गुरुङ गम्भीर घाइते भएका थिए। मनास्लु पदमार्गमा हिँडिरहेका बेला गुरूङमाथि भिरबाट खसेको ढुंगा लागेको हो।

उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ।

गोरखा १ का सांसद राजेन्द्र बजगाईले ढुंगा लागेर घाइते गुरूङलाई प्रधानमन्त्री विपद् व्यवस्था कोष कार्यक्रमसँग समन्वय गरी उद्धार गरिएको बताए। उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

रियल म्याड्रिडसँग चेल्सी पराजित

काठमाडौं, ३० चैत ।  युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीलाई पराजित गरेको छ ।
 
सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलमा रियलले चेल्सीलाई  २–० को गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे ।

सान्टियागो बर्नबेउमा बुधबार राति भएको खेलको २१औं मिनेटमा बेन्जेमाको गोलबाट रियलले ० को अग्रता लिन सफल भयो । उनले भिनिसियस जुनियरको पासमा गोल गर्न सफल भए ।

यो जितसँगै सर्वाधिक १४ पटकको च्याम्पियन तथा साविकको विजेता रियलले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

चेल्सीलाई सेमिफाइनलको यात्र तय गर्न कम्तीमा ३–० को जितको आवश्यक छ ।

सगरमाथा आरोहण बाटो बनाउन कठिन

काठमाडौँ । यस पटकको वसन्तयाममा सगरमाथा आरोहणका लागि बाटो बनाउने काम सुरु भएको छ। हरेक वर्ष आरोहण सुरु हुनुपूर्व दोस्रो शिविर (क्याम्प टु)सम्मको कठिन बाटो बनाउनुपर्ने हुन्छ। यसरी बाटो बनाउने कार्य निकै कठिन बन्दै आएको छ।

बाटो बनाउने काम सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)ले गर्दै आएको छ। एसपीसीसीले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर क्याम्प टुसम्म बाटो बनाउने र मानव मलमूत्रको व्यवस्थापनको जिम्मा लिँदै आएको छ।

यस पटक क्याम्प टुसम्मको बाटो बनाउन खटिएका १० जना अनुभवी आइसफल डाक्टर (हिमालमा बाटो बनाउने मानिस)ले १० दिन पहिले नै क्याम्प टुसम्मको बाटो तयार पारिसकेका छन्। एसपीसीसीका अध्यक्ष लामाकाजी शेर्पाका अनुसार बाटो बनाउने तयारी सुरु भएपछि आधार शिविरमा बौद्ध परम्पराअनुसार पूजापाठ, क्षमापूजा गर्ने, शक्ति माग्ने र लामापूजा गरेपछि हिमालमा कुल्चने गरिन्छ।

उनले भने, “आधार शिविरबाट दोस्रो शिविरसम्म पुग्ने बाटोमा रहेको खुम्बु आइसफललगायतका ठाउँको बाटो निकै अप्ठ्यारो छ। ल्होत्से र नुप्त्से हिमाल आरोहणको बाटो पनि त्यही भएकाले समय–समयमा बिग्रिरहन्छ। यो बाटो बनाउन प्रायः एक महिना लाग्ने गरेको छ।”

सगरमाथा आरोहण गर्नुअघि आरोहीहरू आधार शिविरबाट क्याम्प टुसम्म पटक–पटक आवातजावतमा प्रयोग हुने यो बाटो बिग्रिरहने भएकोले आरोहण सिजन सकिने दिन (मे २९)सम्मै बाटो बनाउने टोली तयारी अवस्थामा रहने गरेका छन्। उनका अनुसार आइसफल डाक्टरले बाटोमा सङ्केत राख्ने, भ¥याङ राख्ने, डोरी टाँग्नेलगायतका काम गरेर आरोहीका लागि बाटो तयार पार्ने गर्छन्।

यस पटक आधार शिविरदेखि क्याम्प टुसम्मका विभिन्न स्थानमा १५ वटा भ¥याङ प्रयोग गरिएको छ। उक्त मार्गमा सन् २०१८ मा ३२ वटा भ¥याङ प्रयोग भएकोमा सन् २०१९ मा २० वटा प्रयोग भएको थियो। हिमनदी, हिउँ खाल्डा तथा चिरा धेरै रहेको क्याम्प टुसम्म हरेक वर्ष संरचना परिवर्तन भइरहने भएकाले भ¥याङ कति राख्ने भन्ने सुरुमा यकिन नै हुँदैन।

क्याम्प टुसम्म बाटो बनाएपछि आइसफल डाक्टरको टोली आधार शिविर फर्किने र आरोहण सकिएपछि टाँगिएका डोरी, भ¥याङलगायतका सामान निकालेर मात्रै करिब तीन महिनापछि फर्किन्छन्। आरोहणमा प्रयोग हुने डोरीको मोटाइ नौ मिलिमिटर र भ¥याङ बाँध्न प्रयोग हुने डोरी सात मिलिमिटरसम्मको हुन्छ।

जुन विदेशबाट आयात हुँदै आएको छ। उनले आइसफल डाक्टरले पनि आफ्नो सुरक्षाको त्यत्तिकै ध्यान दिनुपर्ने भएकोले हेल्मेट, चस्मा, पन्जा, हावा नछिर्ने खालका कपडा र बुट अनिवार्य लगाउनुपर्ने बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपाल बार प्रतिनिधिले प्रधानमन्त्रीलाई भेट्दै

काठमाडौं / नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने भएको छ । 

यसका लागि बिहीबार बिहान ८ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम रहेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी दिए । यसअघि मंगलबार पत्रकार सम्मेलन गरेर बारले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको थियो । 

एक वर्षदेखि न्यायपालिका नेतृत्वबिहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर संघर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ । 

यसबारे भेटमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराउन र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न आग्रह गरिने अध्यक्ष घिमिरेले जानकारी दिए । 
 

तरकारी सस्तिए पनि उपभोक्ताले पाएनन् राहत

काठमाडौँ । पछिल्लो साता देशकै ठूलो तरकारी बजार कालीमाटीमा तरकारीको थोक मूल्य ५० प्रतिशतसम्म सस्तो भएको छ । गोलभेँडा, बन्दा, हरियो र पाकेको फर्सी, घिउसिमी, तुनेबोडी, भान्टा, भिन्डीलगायतका मौसमी तरकारीको भाउ सस्तिएको हो तर खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैन । अरू त के कुरा गर्नु कालीमाटी बजारभित्र रहेको खुद्रा बजारमा समेत तरकारीको भाउ सस्तिएको छैन ।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार स्थानीय काउली, मूला, साग, गाजरलगायतका तरकारीको मूल्य भने क्रमशः बढ्दै गएको छ । ती तरकारीको मौसम करिब सकिएकाले पनि क्रमशः मूल्य बढ्न थालेको समितिले जनाएको छ ।

समितिले सार्वजानिक गरेको तथ्याङ्कअनुसार चैतको तेस्रो सातासम्म थोकमै प्रतिकेजी ८५/९० रुपियाँमा कारोबार भएको गोलभेँडा अहिले घटेर थोकमा प्रतिकेजी ५५ रुपियाँमा झरेको छ । यस्तै घिउसिमी, तनेबोडी, हरियो फर्सी, बन्दालगायतका तरकारी पनि सस्तिएका छन् ।

कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सानेपा घर बताउने बिनु अमात्यले थोकमा तरकारीको भाउ यति धेरै घट्दा पनि खुद्रामा आफूले महसुस गर्न नपाएको गुनासो गरिन् । “गोलभेँडा प्रतिकेजी १०० रुपियाँमा किन्नुपर्छ तर कालीमाटीमा त ११० रुपियाँमा एक धार्नी आयो । बन्दा, फर्सी, घिउसिमी, तनेबोडी, भिन्डी, भान्टा पनि आधा सस्तो रहेछ,” उनले आफ्नो अनुभव सुनाइन् ।

कालीमाटी बजारभित्रै रहेको खुद्रा बजार र थोक बजारको तरकारी मूल्य अन्तर हेर्दा पनि आधाभन्दा बढी भएको पाएको अनुभव तरकारी किन्दै गरेकी गङ्गामाया अधिकारीले सुनाइन् ।

कालीमाटी बजारमा पनि धेरै किन्नेलाई सस्तो हो तर थोरै किन्नेलाई कालीमाटीमै पनि महँगो छ । सरकारका अनुगमन गर्ने निकायले के गरेर बसेका छन् कुन्नि ? एउटै बजारभित्र मूल्यमा यति धेरै अन्तर हुँदा भनेर उले प्रश्न गरिन् ।

बजारको मूल्य नियमन गर्ने जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने सीमित स्रोतसाधन भएको विभागले मात्रै सबै क्षेत्रको अनुगमन गर्न नसक्ने बताउँदै आएको छ । विभागका निर्देशक होमप्रसाद भट्टराईले आमउपभोक्ताले गरेको अपेक्षाअनुसार विभागको सीमित स्रोत र जनशक्तिले सेवा दिन नसकेको स्वीकार गरे ।

उनले भने, “विभागले अनुगमन नै गर्दैन भन्ने होइन, हामीले सेवा र वस्तुको नियमित अनुगमन गर्दै आएका छौँ । त्यो पर्याप्त भने छैन, हरेक पालिकालाई अनुगमन गर्ने अधिकार छ, उहाँहरूको यसमा ध्यान किन नगएको हो ? ” यो समाचार गोरखापत्र दैनिकमा छ ।

खाना पकाउने ग्यासको घट्यो खपत

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महीनामा खाना पकाउने एलपी ग्यास (एलपीजी) को खपत घटेको पाइएको छ । नेपाल आयल निगमले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा गत साउनदेखि माघसम्ममा २९ करोड ४२ लाख २७ हजार किलो एलपीजी खपत भएको छ । गत आव २०७८/७९ को सोही अवधिमा यो परिमाण ३० करोड ९९ लाख १४ हजार किलो थियो ।

यो तथ्यांकले आव २०७८/ ७९ तुलनामा चालू आवमा १ करोड ५६ लाख ८७ हजार किलोले एलपीजी खपत घटेको छ । नेपाल आयल निगमका अधिकारीहरू देशमा एलपीजीबाट बल्ने चूल्होको विकल्पका रूपमा प्रयोग हुने विद्युतीय उपकरणको प्रयोग बढेपछि यो स्थिति आएको बताउँछन् ।

‘खाना पकाउने, पानी तताउनेलगायत काममा बढीजसो एलपीजी प्रयोग हुने हो। पछिल्लो समय यस्ता कार्यमा विद्युतीय उपकरणको प्रयोग बढ्दै गएको छ । त्यही भएर एलपीजी खपत घटेको हुनसक्छ,’ निगमका सहप्रवक्ता पुस्कर कार्कीले भने । कार्कीले खपतमा कमी देखिए पनि एलपीजी प्रयोगकर्ताको दायराचाहिँ फराकिलो बन्दै गएको बताए । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ३० चैत – आज अमेरिकी एक डलरको खरिद दर १३१.०३ रुपैयाँ रहेको छ। बिक्री दर भने १३१.६३ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४३.२२ रुपैयाँ रहेको छ। बिक्री दर भने १४३.८७ रुपैयाँ रहेको छ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९३ रुपैयाँ रहँदा बिक्री दर ३५.०९ रुपैयाँ रहेको छ।आज मलेसियन रिंगिट एकको खरिद दर २९.७० रुपैयाँ रहँदा बिक्री दर २९.८३ रुपैयाँ रहेको छ।

विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढ्याेः राष्ट्र बैंक

काठमाडौं – नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको जानाएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २५.३० प्रतिशतले वृद्धि भ्उर ७९४ अर्ब ३२ करोड पुगेको छ ।

यसैगरी अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३० प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८० प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष आप्रवाह २.६० प्रतिशतले घटेको थियो ।

ढाकाकुमार श्रेष्ठ रास्वपाबाट निकालिए, विन्दवासिनीलाई सांसद बनाइने

काठमाडौं – ढाकाकुमार श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निकालिएका छन् । बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टी र सांसद पदबाट निष्कासित गर्ने निर्णय गरेको हो । यस्तै उक्त बैठकले विन्दवासिनी कंशाकारलाई समानुपातिक सांसद पदमा निर्वाचित गर्ने निर्णय गरेको छ ।

घुस मागेर पार्टीको बदनाम गरेको र भ्रष्टाचारलाई बढावा दिन खोजेको देखिएकाले श्रेष्ठलाई सांसद र पार्टीको साधारण सदस्यबाटै हटाएर उनको सदस्यता खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए ।

उनका अनुसार श्रेष्ठको सांसद पद खारेजीका लागि संसद् सचिवालयलाई जानकारी गराउने र रिक्त रहेको पदमा विन्दवासिनी कंशाकारलाई निर्वाचित गर्न निर्वाचन आयोगमा निवेदन दिने पनि पार्टीले निर्णय गरेको छ ।

सेवा निबृत शिक्षकहरुको शैक्षिक अनुभब विमोचन

भक्तपुर । सेवा निबृत शिक्षक समाज भक्तपुरद्धारा प्रकाशित शैक्षिक अनुभबको १२ औं अंकको बुधबार एक कार्यक्रम गरी विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुस्तकको विमोचन गरेका हुन् । 
सो अवसरमा अध्यक्ष विजुक्छेंले पुस्तक प्रकाशन गर्न निरन्तर सहयोग गर्ने विभिन्न विद्यालयहरुलाई पनि सहयोगी सम्मान प्रदान गरे एभरेष्ट स्कुल व्यासी, बागीश्वरी मावि च्याम्हासिंह, शान्ति निकेतन मावि राममन्दिर, जेन्युइन स्कुल देकोचा, मेधा मावि तेखाचोलगायतलाई सम्मान गरेको हो । ती स्कुलका प्रधानाध्पाक तथा प्रतिनिधिहरुलाई धन्यवाद पत्र प्रदान गरी सम्मानित गरिएको थियो । 
कार्यक्रममा समाजका अध्यक्ष अम्विकामान मानन्धर, उपाध्यक्ष रामगोपाल कर्माचाय, कोषाध्यक्ष विश्वराम कवां, एभरेष्ट स्कुलका प्रिन्सिपल भक्त राजभण्डारी, वागीश्वरी माविका प्रिन्सिपल कृष्णप्रसाद धन्छा, प्रकाशित शैक्षिक अनुभबका सम्पादक मण्डलका प्रमुख ज्ञानसागर प्रजापति, संस्थापक अध्यक्ष नाति कवां, सदस्य तुल्सीराम ग्वाछालगायले निबृत शिक्षकहरुलाई सक्रिय बनाई उनीहरुको शाररिक र मानसिक विकासका लागि संस्थाको स्थापना गरी सक्रिय रहेको बताए । हामी अझै सबल छौ भन्ने मुल नाराका साथ निबृत शिक्षकहरुको संगठनको रुपमा समाजको स्थापना गरिएको थियो । समाजमा जिल्लाका सेवा निबृत दुई सय ३१ जना शिक्षकहरु सदस्य रहेको जनाइयो ।  
 

कृषि उपजमा आत्मनिर्भर नहुँदा गुणस्तरहीन खानेकुरा खान बाध्य हुनु परेको छ – ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषिको व्यवसायीकरण र आत्मनिर्भरताका लागि दक्षिण एशियाली मुलुकबीच सहकार्यको आवश्यकता रहेको बताएका छन् ।

बुधबार गृह जिल्ला झापाको शिवसताक्षीस्थित झिलझिलेमा आयोजित एक कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । उनले नेपाल कृषिउपजमा आत्मनिर्भर हुन नसक्दा गुणस्तरहीन र विषाक्त खानेकुरा खान बाध्य हुनु परेको बताए।

उनले कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकताका क्षेत्रमा एमालेको सरकारले गरेका कामको बारेमा पनि चर्चा गरे ।

प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको मृत्यु

काठमाडौं, २९ चैत – प्रादेशिक अस्पताल सिरहामा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । सिरहा नगरपालिका–७ स्थित प्रादेशिक अस्पतालको जेनेरेटर राखेको घरमा बुधबार दिउँसो आगलागी भएको हो । 

दिउँसो २ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ । 

आगलागी हुँदा बिरामीको भागाभाग भएको थियो । यसैबिच, बिरामीहरूको भागाभाग हुँदा अस्पतालमा डायलासिस गर्न पुगेका एक जना बिरामीको मृत्यु भएको छ । 

सिरहाको बरियारपटी गाउँपालिका–३ खोक्सी बस्ने किड्नीका बिरामी ६० वर्षीय प्रदीप दासको हेमोग्लोबिन कम हुँदा उपचारकै क्रममा मृत्यु भएको हो । 

राष्ट्रियसभाको बैठक वैशाख ४ गतेका लागि सारियो

काठमाडौं – सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका लागि सारिएको छ ।

जारी सूचनामा भनिएको छ “मिति २०७९ साल चैत ३० गते बिहीबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम २०८० साल वैशाख ४ गतेको लागि समय निर्धारण गरिएको छ’

पठानको बक्स अफिस र ओटीटीमा दबदबा

मुम्बई, २९ चैत । शाहरुख खानको पठानले बक्स अफिसमा मात्रै होइन ओटीटीमा पनि दबदबा बनाएको छ । पठानको चर्चा विश्वभर भैरहेको छ । योसँगै फिल्मसँग सम्बन्धित एक्सन दृश्यहरू पनि फ्यानहरूमा व्याप्त छन् । 

यसैबीच पठानको भिएफएक्सको भिडियो सार्वजनिक भएको छ, जसमा सलमान खान र शाहरुख खानको एक्सन सिन कसरी खिचिएको छ भन्ने फिल्मका निर्माताले एक झलक देखाएका छन्, जसलाई देखेर फ्यान पनि तारिफ नगरी रहन सकेनन् ।

पठान भिएफएक्स ब्रेकडाउन भिडियो हालै एफएक्स स्टुडियोले सेयर गरेको छ, जसमा फिल्मका सबै एक्सन दृश्यहरू कसरी खिचिएका छन्। यसका झलक देखिएका छन् । भिडियोमा वाटर सिक्वेन्सदेखि लिएर सलमान–शाहरुखको ट्रेन फाइटको दृश्य देख्न सकिन्छ । यसैक्रममा यो भिडियोमा क्लाइमेक्सको झलक पनि देख्न सकिन्छ । यो पुरा भिडियो हेरेपछि फ्यानहरुले पनि प्रतिक्रिया दिइरहेका छन् ।

भिडियोमा एक प्रयोगकर्ताले लेखेका छन्, ‘मैले सोचेकै थिइनँ कि पानीमुनिको दृश्य भीएफएक्सले खिचिएको हो । त्यो उत्कृष्ट छ।’ 
बलिउडमा भिएफएक्सको हिसाबले अगाडि बढिरहेको छ । अर्काे प्रयोगकर्ताले लेखेका छन्, ‘उत्कृष्ट, फिल्ममा केही दृश्यहरू साँच्चै वास्तविक देखिन्छन्। राम्रो भिएफएक्स दृश्य। यससँगै फ्यानहरूले टाइगर ३ र वार २ हेर्नको लागि उत्सुकता पनि व्यक्त गरेका छन् ।

पठानले बक्स अफिसमा १०५० करोडभन्दा बढी कमाएका छन् । योसँगै यो बक्स अफिसमा ब्लकबस्टर साबित भएको छ । जबकि ओटीटी प्लेटफर्मले प्राइम भिडियोलाई हल्लाइरहेको छ । योसँगै फिल्मको कमाइ पनि हलमा देखिन थालेको छ । वर्कफ्रन्टको कुरा गर्ने हो भने, शाहरुख खानको जवान र डंकी २०२३ मा रिलिज हुँदैछ, जसको सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ ।
 

चितवनमा गैंडाका दुई बच्चा मृत भेटिए

चितवन, २९ चैत – चितवनमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् । खाग नै नपलाएका गैंडाका दुईवटा बच्चा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

पश्चिम क्षेत्र अमलटारीको मर्दी घोलमा एउटा र माडी बगइ रिउ खोला आडमा गैंडाको अर्को बच्चा मृत फेला परेको हो । सोमबार निकुञ्जको टोलीले गैंडाका ती बच्चा मृत भेटाएको थियो ।

२७ गते सोमबार मध्याह्न साढे १२ बजेतिर निकुञ्जको पश्चिम क्षेत्र अमलटारी मर्दी घोलको नरायणी नदीको भंगालोमा गस्ती टोलीले गैंडाको सात महिना जतिको केटी (बच्चा) मृत फेला पारेको थियो । खाग पनि नपलाएको सो गैंडाको बच्चालाई भाले गैंडाले आक्रमण गरेर मारेको निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

त्यसैगरी २७ गते नै माडी नगरपालिका-९ बगइ रिउ खोला आडको काँसघारीमा अन्दाजी ६ महिनाको गैंडाको बच्चा मृत भेटिएको छ । गैंडालाई बाघले आक्रमण गरेर मारेको सूचना अधिकारी तिवारीले बताए । 

ब्राउनसुगरसहित दुई जना पक्राउ

बर्दिया, २९ चैत – ब्राउनसुगरसहित प्रहरीले बर्दियाबाट दुई जनालाई पक्राउ गरेको छ ।

बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ६ सय ३० मिलिग्रामसहित सोही गाउँपालिका-२ सितापुर बस्ने ३९ वर्षीय रमेश बुढासहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.९ प ९४१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

१० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न बारको अल्टिमेटम

काठमाडौं, २९ चैत । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया थाल्न अल्टिमेटम दिएको छ । लामो समयदेखि कामु प्रधानन्यायाधीशबाट न्यायालय चलिरहेको भन्दै बारले अबको १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएको हो । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले १० दिनभित्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया नथाले आन्दोलन गर्ने चेतावनी दिएका हुन् । यसका लागि बिहीबार प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने पनि उनले जानकारी दिए । 

एक वर्षदेखि न्यायपालिका नेतृत्वबिहीन भएकाले अब बार चुप लागेर नबस्ने भन्दै अध्यक्ष घिमिरेले १० दिनभित्र पनि प्रधानन्यायाधीश प्रक्रिया अघि नबढाइए आन्दोलनका कार्यक्रम सार्वजनिक गरेर संघर्षमा उत्रिने चेतावनी दिए । प्रधानन्यायाधीश नहुँदा कार्यपालिका र व्यवस्थापिकाले न्यायपालिकालाई हेपेको उनको भनाइ छ । 
 

२७ हजार १२९ अमेरिकी डलरसहित ३ जना बंगलादेशी र भारतीय नागरिक पक्राउ

काठमाडौं, २९ चैत । अबैध रुपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर २७ हजार १२९ सहित दुईजना बंगलादेशी नागरिक र एकजना भारीय नागरिक गरी तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बंगलादेशी नागरिकहरू ३७ वर्षीय एमडि मोफिजुल ईस्लाम र ४७ वर्षीय देबासहिस कुमार साह तथा भारतीय नागरिक ४३ वर्षीय सन्दिप कुमार रहेका छन् ।  

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट विमान बंगलादेशको उडानद्वारा बंगलादेशको ढाकातर्फ जान लागेका  बंगलादेशी नागरिकहरूलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा दुवै जनाको साथबाट १०/१० हजार गरी जम्मा २० हजार अमेरेकी डलर प्रहरीले फेला पारी पक्राउ गरेको हो ।

साथै फ्लाई दुबईको उडानद्वारा दुबई हुँदै युएसए जान लागेका भारतीय नागरिक सन्दिप कुमारलाई विभिन्न दरको अमेरिकी डलर ७ हजार १ सय २९ सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

माई खोला हाइड्रोपावरकाे आईपीओ बाँडफाँट

काठमाडौं, २९ चैत । माई खोला हाइड्रोपावर लिमिटेडले बिक्री गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा उक्त आईपीओ फागुन २५ गते देखि चैत ९ गतेसम्म बिक्री खुला गरेको थियो ।

समयभित्रमा आवेदन दिने स्थानीयहरूमा ३ लाख ९२ हजार १५७ कित्ता सेयर बाँडफाँड गरिएको छ । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि बिक्री गरेको हो ।

त्यस्तै सर्वसाधारणमा निष्कासन हुने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता सेयर भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरिएको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।