`

उपनिर्वाचन : आजवाट मौन अबधि सुरु, के-के गर्न पाइँदैन ?

काठमाडौं- वैशाख १० मा हुने उपनिर्वाचनका लागि मौन अबधि सुरु भएको छ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न रोक लगाएको हो ।

प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका जानकारी दिए । निवाृचन बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ । 

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइन्छ । साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोग हार्दिक आग्रह गर्दछ ।’

विज्ञप्ति :
यही वैशाख १० गते आइतबार हुने बारा निर्वाचन क्षेत्र नं. २, तनहुँ निर्वाचन क्षेत्र नं. १ र चितवन निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन, २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ ।

उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको  राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने छ ।

निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइन्छ । साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोग हार्दिक आग्रह गर्दछ ।
 
सूर्यप्रसाद अर्याल
उपसचिव एवं सहायक प्रवक्ता

महालेखा प्रतिवेदन : पाँच वर्षमा लुम्बिनी सरकारको झन्डै चार अर्ब बेरुजु

बुटवल – गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा रु एक खर्ब चार अर्ब ७८ करोड ९७ लाख ४५ हजार (कूल बजेटको ७०.९८ प्रतिशत) मात्रै खर्च गरेको छ । त्यसमध्ये हालसम्मको अद्यावधिक बेरुजु रु तीन अर्ब ९७ करोड ५७ लाख ४६ हजार रहेको महालेखा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, बेरुजुको अङ्क क्रमशः वृद्धि हुँदै गइरहेको छ भने बेरुजु फर्छ्योटमा क्रमशः कमी हुँदै आएको पनि उल्लेख गरिएको छ । महालेखा परीक्षकको कार्यालयले आज लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस गरेको थियो । उक्त प्रतिवेदन ग्रहण गर्दै प्रदेशप्रमुख शेरचनले भ्रष्टाचारलाई रोक्न सकिएन भने बेरुजुको खाडल पनि बढ्दै जाने र जनतालाई महँगीको भार पनि बढ्दै जाने बताउनुभयो ।

सरकारबाट हुने विकासका कामहरू नियमित प्रक्रियाबाट हुनुपर्ने बताउँदै सरकारले दिने अनुदानमा सञ्चालनको मापदण्ड बनाएर मात्रै अनुदान वितरण गर्नुपर्ने भनाइ राख्नुभयो । बेरुजुको आँकडा प्रत्येक वर्ष बढ्दै जाने कुरा राम्रो नभएको बताउँदै नीतिनियमभन्दा बाहिरबाट हुने कुराहरूलाई निरुत्साहित गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

उपमहालेखा परीक्षक बामदेव शर्मा अधिकारीका अनुसार सरकारले मातहतका सबै मन्त्रालयल र कार्यालयबाट राजस्व सङ्कलनको प्रक्षेपण लक्ष्य निर्धारण गरिएभन्दा २६ दशमलव छ प्रतिशतले कमी भएको छ । सरकारले २०७४/०७५ देखि २०७८/०७९ सम्मको आन्तरिक आय कूल रु १५ अर्ब ५५ करोड ५८ लाख ६४ हजार अनुमान गरेकामा रु ११ अर्ब ४१ करोड ८५ लाख १९ हजार मात्रै प्राप्त भएको छ । यो सरकारको लक्ष्यभन्दा २६ दशमलव छ प्रतिशतले कमी हो ।

त्यस्तै, राजस्व बाँडफाँटबाट रु ४३ अर्ब ७३ करोड २० लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको थियो । त्यसमा पनि रु ३७ अर्ब ८५ करोड ३० लाख १७ हजार मात्रै प्राप्त भएको छ । यो पनि १३ दशमलव ४४ प्रतिशत कमी हो ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारले छोटो समयमा मन्त्रालय सङ्ख्या र मन्त्रिपरिषद् सदस्यको सङ्ख्या बढाउँदै जाँदा कार्यालय व्यवस्थापनमा थप व्ययभार बढ्दै गएको छ भने मन्त्रालयको कार्यक्षेत्रमा दोहोरोपना तथा अस्पष्टता हुन गई सरकारको कार्यसम्पादनमा असर परेको छ । जसका कारण बजेट व्यवस्थापनमा समेत चुनौतीपूर्ण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालको संविधानको धारा २४१ र लेखा परीक्षण ऐन, २०७५ बमोजिम सङ्घ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको नियमितता, कार्यदक्षता, प्रभावकारिता र औचित्य समेतको आधारमा लेखापरीक्षण हुने व्यवस्था गरिएको छ । सोहीअनुसार महालेखा परीक्षकको कार्यालयले पाँचौँ वार्षिक प्रतिवेदन पेस गरेको हो ।

यो वर्ष लुम्बिनी प्रदेश मातहत एक सय ८९ सरकारी निकायको रु ४९ अर्ब ६६ करोड ३३ लाख ७२ हजार र समितिसमेत अन्य १६ वटा संस्थाको रु सात अर्ब ४१ करोड ७८ लाख ९१ हजार गरी कूल रु ५७ अर्ब आठ करोड १२ लाख ६३ हजारको लेखापरीक्षण गरिएको उपमहालेखा परीक्षक अधिकारीले जानकारी गराउनुभयो । त्यसमध्ये रु एक अर्ब ४९ करोड ८० लाख ८५ हजार बेरुजु देखिएको उहाँले बताउनुभयो ।

गत वर्षसम्म रु एक अर्ब ७० करोड ६७ लाख ४० हजार बेरुजु रहेकामा यो वर्ष रु १४ करोड ६६ लाख ५० हजार सम्परीक्षण भई एक अर्ब ५६ करोड ९० हजार बाँकी रहेको र यो वर्ष एक अर्ब ४९ करोड ८० लाख ८५ हजार थप भई जम्मा बेरुजु तीन अर्ब पाँच करोड ८१ लाख ७५ हजार अद्यावधिक भएको प्रतिवेदनमा उल्लेख छ ।

आज देशका पहाडका केही भू–भागहरुमा पानी पर्ने, तराईमा हावाहुरी

काठमाडौं । आज देशका केही स्थानमा बदली भई पानी पर्ने सम्भावना रहेको छ । अहिले स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ।

आज देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। यस्तै सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ। तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।

राहुल गान्धीको पुनरावेदन खारेज

नयाँदिल्ली – मानहानी मुद्दामा दोषी ठहरिनु भएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो ।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद्् पद गुमाउनुभएको थियो । सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए । यद्यपि उहाँको प्रधानमन्त्री मोदीसँग कुनै सम्बन्ध छैन ।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्नुहुने उहाँको दलका नेताहरूले बताएका छन् । दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको छ ।

काठमाडौमा शनिबार पाल्पाली महोत्सव हुने, कलाकारहरुले भव्य प्रस्तुती गर्ने

काठमाडौँ, ७ वैशाख । पाल्पाली संगमले आगामी शनिबार काठमाडौँमा आयोजना गरेको पाल्पा महोत्सवमा पाल्पाली परिकार चुकाउनी निःशुल्क खुवाउने भएको छ । लुम्बिनी तन्दुरी व्यवसायी संघले महोत्सवमा आएकाहरुलाई स्वागत स्वरुप चुकाउनी चखाउने प्रस्ताव गरेको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए ।

दही र आलुबाट बनाईने परिकारलाई पाल्पाली परिकार मानिन्छ । महोत्सवमा पाल्पाली ढाका, करुवा, कफि, बटुक लगायतका पाल्पाली उत्पादन तथा परिकारहरु पनि विक्रि वितरण गरिने उनले बताए । आगामी वैशाख ९ गते शनिबार राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा हुने महोत्सवको तयारी पुरा भएको काठमाडौमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष खत्रीले जानकारी दिए । महोत्सवमा नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, धिरेन शाक्य लगायतका झण्डै २० पाल्पाली कलाकारहरुको विषेश प्रस्तुती रहने संगमका महासचिव जीवन भण्डारीले बताए ।

उनका अनुसार महोत्सवमा कौरा, सोरठी, ख्याली र चुट्का नृत्यसहित प्रत्यक्ष दोहोरी कार्यक्रम पनि हुनेछ । पाल्पाको विकासका लागि विषयगत सम्वाद, रणनीतिक छलफल, महोत्सव, उत्पादन प्रवद्र्धन, खाना, कला, सँस्कृति प्रवद्र्धन, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक क्षेत्रहरुको प्रचार प्रसार तथा मानवीय सहयोग लगायतका कामहरु पाल्पाली संगमको नेतृत्व र सहजीकरणमा हुँदै आएको छ ।

पाल्पाबाट काठमाडौँ आई बसोबास गरिरहेका पाल्पालीहरु अनौपचारिक रुपमा वि.स. २०३२ सालदेखि संगठित भएपनि अनौपचारिक रुपमा पाल्पाली संगमको दर्ता २०४८ साल वैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको हो । संगमले स्थापनाकालदेखि देश विदेशमा रहेका पाल्पालीहरुलाई अपनत्व, अविभावकत्व, भावनात्मक र आर्थिक तथा भौतिक सहयोग गर्दै आएको अध्यक्ष खत्रीले जानकारी दिए । संगमले विभिन्न अक्षयकोष मार्फत हरेक बर्ष प्रोत्साहन तथा राहत सहयोग समेत दिने गरेको छ । पाल्पाली संगमले संस्थाको स्थापना दिवसको अवसरमा आयोजना गरेको महोत्सवबाट पाल्पाली कला, सँस्कृति, पुरातत्व, खाना तथा उत्पादनहरुको प्रवद्र्धन हुने विश्वास लिएको छ ।

महोत्सवस्थलमा पाल्पाका १० वटै स्थानीय तहको फोटो प्रदर्शनी, भिडियो, तथा पुस्तकहरुको प्रदर्शन, विक्रि र वितरण गरिने व्यवस्था मिलाईएको छ । संगमले निल्शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण र रक्तदान कार्यक्रम पनि पाल्पा महोत्सव स्थलमा गर्न लागेको छ ।महोत्सवमा पाल्पालीसँगै पाल्पाभन्दा वाहिरि जिल्लाका बासिन्दालाई विषेश आमन्त्रण गरिएको र उनीहरुका लागि बढी रुचीकरण र रमाइलो हुनसक्ने आयोजकहरुको विश्वास छ ।

“पाल्पालीहरु विच भेटघाटका साथै अन्य जिल्लावासीलाई पाल्पा चिनाउने र पाल्पा पठाउने उद्देश्य पनि महोत्सवले राखेको छ, महासचिव भण्डारीले भने । महोत्सवको उद्घाटन नेपाल सरकारका सँस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट हुने र धेरै विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहने तय भएको छ । एक दिने महोत्सव विहान १० बजेदेखी बेलुकी ७ बजे सम्म चल्ने छ । झण्डै १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवको सबै तयारी पुरा भएको संगमका अध्यक्ष खत्रीले जानकारी दिए ।

उपनिर्वाचनले त्रिविको परीक्षा सारियो

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यही वैशाख १० गते हुने परीक्षा सारेको छ । वैशाख १० गते तीन स्थानमा सङ्घीय संसद्को उपनिर्वाचन हुने भएपछि परीक्षा वैशाख १६ गतेलाई सारिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

उहाँले त्रिवि केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले परीक्षा सार्ने निर्णय गरेको बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोग, गृह मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्वाचनको दिन परीक्षा परेकाले सार्न अनुरोध गरेपछि सारिएको हो ।

वैशाख १० गतेको सम्पूर्ण परीक्षा स्थगित गरी वैशाख १६ गतेका दिन सोही समय र स्थानमा सञ्चालन गर्न निर्णय गरिएको उहाँले बताउनुभयो । अहिले स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । यही वैशाख ४ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ । वैशाख १० गते चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा उपनिर्वाचन हुँदैछ ।

तातो हावा तथा ‘लु’ बाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तराईमा गर्मी बढेसँगै ‘लु’ बाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तापक्रम बढेसँगै तराईका जिल्लामा तातो हावासँगै लु चल्ने सक्ने भएकाले बच्न सबैलाई आग्रह गर्नुभएको छ ।

मन्त्रालयले तातो हावा वा लुबाट बच्नका लागि दिउँसो घरबाट बाहिर ननिस्कन, बाहिर निस्कन परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्न, फलफूलको रस र पानी पिउन तथा धेरै पसिना आएमा जीवनजल खाना आग्रह गरेको छ ।

यस्तै, चिसो पानीमा नुहाउन, चिया, कफी, सोडा जस्ता पेयपदार्थ नखान, खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्न, मदिरा सेवन नगर्न र चिनीको मात्रा बढी भएको झोल पदार्थ पनि नखान मन्त्रालयले आग्रह गरेको छ । तातो हावा वा तथा लुले हृदयको गति तीव्र बनाउने, श्वासप्रश्वास र रक्तचाप कम हुने, शरीरबाट पसिना ननिस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने र अचेत हुने जस्ता समस्या देखापर्दछन् । यस्तै, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुने, छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।

माताप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो आमाको मुख हेर्ने पर्व

काठमाडौँ – नौ महिनासम्म कोखमा राखेर जन्म दिने आमाप्रति श्रद्धाभाव प्रकट गर्दै मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व देशभर मनाइएको छ ।प्रत्येक वर्ष वैशाख कृष्णपक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको हो । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाइदिने र मीठा–मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । जन्मदाता, कर्मदाता, शिक्षादातालगायत विभिन्न रूपका आमाप्रति श्रद्धा भक्तिसाथ यो पर्व मनाइएको छ ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले बताउनुभयो । वैदिक ग्रन्थमा ‘परदारेषु मातृवत्’ अर्थात् अरुकी श्रीमतीलाई पनि आमाकै रूपमा सम्मान गर्नुपर्छ भनी उल्लेख गरिएको छ ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले जन्मदाता आमाको महत्त्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाको सम्झनामा गरियो तर्पण, पिण्डदान र सिदादान
दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो ।

यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष कोरोना कम भएकाले मातातीर्थमा भव्य मेला लागेको छ । मेला भर्न बुधबार बेलुकीदेखि नै भक्तजन मातातीर्थ आएका थिए ।

विवादबीच गायक प्रकाश सपुतको ‘सकम्बरी’ लाई करोड ‘भ्यूज’

गण्डकी – गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ले साता दिनमै युट्युबमा करोड ‘भ्यूज’ पाएको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक सो गीतलाई बिहीबार दिउँसोसम्ममा एक करोड बढी पटक हेरिएको हो ।

‘सकम्बरी’ गत शुक्रबारदेखि नै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा छ । युट्युबमा गीत सुनेर/हेरेर १८ हजार बढीले प्रतिक्रिया दिएका छन् भने झन्डै चार लाखले ‘लाइक’ गरेका छन् । कलाकार बन्ने सपना बोकेर सहर छिरेकी ग्रामीण युवतीको कथा गीतमा छ । गीतको म्युजिक भिडियोमा महिला पात्रको चरित्रलाई लिएर गरिएको प्रस्तुतिलाई कतिपयले आलोचना गरेका छन् ।

गीतको सिर्जना र कला पक्षमाथि तर्क÷प्रतितर्क भइरहेको छ । गीतको बचाउ र विरोध जारी छ । विवाद र चर्चाबीच युट्युबमा भने गीतले आक्रामक भ्यूज बटुलिरहेको छ । युट्युबमा छिटो करोड भ्यूज पाउनेमध्येमा सकम्बरी परेको छ ।

गीतको रचना र सङ्गीत पनि गायक सपुत आफैँले गर्नुभएको हो । सपुतलाई गायिका व्रता गन्धर्वले स्वरमा साथ दिनुभएको छ । गीतको म्युजिक भिडियोमा कलाकार सुनिल थापा, कुशुम शर्मालगायतले अभिनय गरेका छन् ।

गायक तथा सर्जक सपुतका यसअघि सार्वजनिक ‘पिर’, ‘गलबन्दी’, ‘बोलमाया’ लगायत गीत सर्वाधिक चर्चित छन् । बागलुङको धम्जामा जन्मनुभएका सपुत चलचित्र ‘परदेशी–२’ मा नायकका रूपमा समेत देखा पर्दै हुनुहुन्छ ।

सो चलचित्र आगामी बडादशैँमा प्रदर्शनमा आउँदैछ । सिर्जनामा सामाजिक विषयवस्तुको उठान गर्ने सपुतले वर्ष २०८० लाई ‘जातीय विभेदविरुद्धको वर्ष’ बनाउने घोषणा यसअघि नै गर्नुभएको छ ।

प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौँ – उच्च अदालत पाटनले नेपाल दूरसञ्चार प्राधिकरणको लाइसेन्स खारेजी गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश गर्दै खारेजीको निर्णय कार्यान्वयन नगर्न र नगराउन आदेश दिएको हो ।

“किस्ताबन्दीमा नवीकरण शुल्क बुझाउने सुविधा माग गरेको देखिएको, यस अदालतमा सो विषयको रिट विचाराधीन अवस्थामा रही अन्तरिम आदेशको छलफलको लागि मितिसमेत तोकिएको छ”, आदेशमा भनिएको छ, “दूरसञ्चार प्राधिकरणले निवेदकले प्राप्त गरेको अनुमतिपत्र खारेज हुने गरी मिति २०८०÷१÷४ मा निर्णय गरी कार्यान्वयनमा ल्याउँदा निवेदकको लगानी जोखिममा परी अपूरणीय क्षति हुने र संविधानको सन्तुलनको दृष्टिबाट समेत निवेदकलाई घोर असुविधा हुने अवस्था छ ।”

आदेशमा दुवै पक्षबीच छलफल भई अर्को आदेश नभएसम्म नेपाल दूरसञ्चार प्राधिकरणबाट निवेदकका नाममा जारी गरिएको यही वैशाख ४ गतेको निर्णय कार्यान्वयन नगर्नु÷नगराउनु भनिएको छ ।

लाइसेन्स नवीकरणका लागि शुल्कसहित आवेदन नदिएपछि प्राधिरकणले दूरसञ्चार ऐनअनुसार लाइसेन्स स्वतः खारेज गर्ने निर्णय गरेको थियो ।

संसद्मा एमालेले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ – योगेश भट्टराई

दमौली – नेकपा (एमाले)का केन्द्रीय सचिव योगेश भट्टराईले संसद्मा आफ्नो पार्टीले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले संसद्मा टाउको हल्लाउनेमात्र नभई कमजोरी औँल्याउने भूमिका एमालेले निभाउने बताउनुभयो ।

सचिव भट्टराईले प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति बनाउन एमालेले प्रस्ताव गरेको बताउनुभयो । “संवैधानिक परिषद्मार्फत प्रधानन्यायाधीश नियुक्तिका लागि बैठक बसे पनि त्यो टुङ्गोमा पुग्न सकेको छैन, प्रधानन्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ समिति गठन गरौँ भन्ने एमालेको प्रस्ताव हो”, उहाँले भन्नुभयो ।

सचिव भट्टराईले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप विधेयकमा एमालेको केही आपत्ति रहेको बताउनुभयो । “उक्त विधेयक पीडितको पक्षमा हुनुपर्छ भन्ने हाम्रो भनाइ हो, पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा हामी छौँ ।”

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीचको भेटवार्तामा के भयो ?

काठमाडौं – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र रुसका उपप्रधानमन्त्री डिएन चेर्नुस्सेन्को बीच शिष्टाचार भेटवार्ता भएको छ । 

रुसको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र रुसी उपप्रधानमन्त्रीबीच मस्कोमा भेटवार्ता भएको हो ।उनीहरुका बीचमा भएको भेटमा आपसी समझदारी र लगानीका क्षेत्रहरुका बारेमा छलफल भएको छ । 

 भेटमा अध्यक्ष तिमिल्सिनाले नेपालमा ऊर्जा, पर्यटन, ब्यापार क्षेत्रमा लागनी अभिवृद्धि र यातयात क्षेत्रको पूर्वाधार विकासमा सहकार्यका पर्याप्त संभावना रहेको भन्दै नेपालमा राजनैतिक स्थायित्व कायम भई लगानीमैत्री वातावरण बन्दै गएकोले पूर्वाधार र ऊर्जा क्षेत्रमा रुसी लगानी भित्रने विश्वास  व्यक्त गरे । 

अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा हराएका भारतीय नागरिकको सेनाद्वारा उद्धार

काठमाडौँ – नेपाली सेनाले अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा केही दिनदेखि हराइरहेका भारतीय नागरिक अनुराग मल्लुको उद्धार गरी पोखरा हुँदै काठमाडौँ ल्याएको छ ।अन्नपूर्ण हिमाल आरोहणका क्रममा मल्लु यही वैशाख ४ गते दिउँसो २ः३० बजे क्याम्प–२ र ३ को बीचमा हिउँको खोचमा परी हराइरहेका थिए ।

अन्नपूर्ण हिमालको सफाइ अभियानमा जुटेको नेपाली सेनाको टोलीको सहयोगमा फेला पारी उहाँको आज बिहान उद्धार गरिएको हो । स्वास्थ्य गम्भीर अवस्थामा रहेका मल्लुलाई आधार शिविरमा ल्याएर सेनाको चिकित्सक टोलीले प्राथमिक उपचार गरेको र त्यसपछि पोखरास्थित मणिपाल अस्पताल हुँदै थप उपचारका लागि सेनाकै हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँको अहिले मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच जाजरकोट र रुकुमबीच भएर बग्ने ठूलीभेरी नदीमा जडान गरिएको बेलीब्रिज भत्कँदा चार श्रमिक गम्भीर घाइते भएकामा सेनाको टोलीले उद्धार गरेको छ । उनीहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत बाँकेको नेपालगञ्ज लगिएको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउछ – सभापति देउवा

चितवन – नेपाली कांग्रेसका सभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उपनिर्वाचनमा गठबन्धनलाई हार्ने छुट नभएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले गठबन्धनका उम्मेदवारलाई जिताएर पठाउन मतदातालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तपाईँहरूले जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो ।”

अहिलेको सत्ता गठबन्धनले पाँच वर्ष सरकार चलाउने उल्लेख गर्दै उहाँले विकासका लागि समेत ढुक्क रहन आग्रह गर्नुभयो । “चितवन ऐतिहासिक जिल्ला हो । जिताएर पठाउनुस्, अरु हामी गर्छाँै । जीतनारायण श्रेष्ठ काम गरेको र दुःख गरेको मान्छे भएकाले निर्वाचनमा जिताउनुपर्छ”, सभापति देउवाले भन्नुभयो–“विसं २००७, २०४७ साल र २०६२÷६३ सालको जनआन्दोलनमा यहाँका साथीहरूको सहभागिता र सक्रियतालाई बिर्सन हुँदैन् ।”

चुनावीसभामा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रजातन्त्रको बहालीका लागि अग्रपङ्क्तिमा लड्दै आएको चितवनका बासिन्दाले आफ्नो मतलाई गलतरुपमा प्रयोग गर्न नहुने बताउनुभयो । विचार र सिद्धान्त नभएको पार्टीले देशलाई सुशासन दिन नसक्ने उहाँको भनाइ थियो ।

सोही अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले देशमा व्यक्तिवादी चरित्र हाबी हुन थालेको उल्लेख गर्दै पुराना र इतिहास बोकेका पार्टीलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अवसरवादीले राजनीतिक दललाई घेराबन्दी गरेका छन्, त्यसलाई तोडेर अघि बढ्नुपर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणले आगामी चार वर्षमा आम नागरिकले देख्ने गरी विकास हुने बताउनुभयो । विकासका लागि सत्ता गठबन्धनका उम्मेदवार जिताउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा चितवन क्षेत्र नं २ बाट लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले आफूले यस क्षेत्रको समस्या नजिकबाट पहिचान गरेकाले समस्या समाधान गर्न पनि जिम्मेवारी दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँको विकासका लागि मेरो भूमिका महत्वपूर्ण रहने छ । यहाँको विश्वासलाई धोका दिने छैन ।”

चुनावीसभालाई नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य नारायण दाहाल, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य सावित्रा भुसाल, जिल्ला अध्यक्ष अरुणपीडित भण्डारी, नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनाललगायतले सम्बोधन गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो ।

चितवनका ठूला विकास निर्माणमा मेरो ध्यान पुगेको छ, विकासमा क्रान्ति आउने छ – प्रधानमन्त्री प्रचण्ड

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिल्लामा सुरु भएका ठूला विकास आयोजना सम्पन्न भएसँगै विकासमा क्रान्ति आउने बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनले आज कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उहाँले काठमाडाँै–चितवन द्रुतमार्ग, शक्तिखोर औद्योगिक क्षेत्र, रङ्गशाला, विमानस्थल विस्तार, नारायणी तटबन्धजस्ता ठूला आयोजना सम्पन्न भएपछि चितवनको विकासमा क्रान्ति आउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “शक्तिखोरको औद्योगिक क्षेत्र मैले नै प्रस्तावित गरेको हुँ, म अहिले प्रधानमन्त्री भएको बेलामा यसलाई सम्पन्न गर्ने काममा पुनः प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।” उहाँले औद्योगिक क्षेत्रको काम छिट्टै अघि बढ्ने बताउँदै भन्नुभयो, “चितवन क्षेत्र नं २ मा जीतनारायण श्रेष्ठ निर्वाचित भएर गएपछि यसलाई अघि बढाइने कुरामा उहाँको भूमिकालाई पनि बढाइने छ ।”

अघिल्लो बजेट भाषणमा काठमाडौँबाट चितवन एकदेखि डेढ घन्टाभित्र आउने गरी द्रुतमार्ग निर्माणका लागि प्रक्रिया अघि बढेको भन्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “त्यसलाई सम्पन्न गर्ने कुराले चितवनको सम्पूर्ण विकासमा सम्पूर्ण क्रान्ति आउने छ भन्ने मेरो विश्वास छ ।”

अघिल्लो निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएपछि त्यस क्षेत्रमा विकास निर्माणमा के–के सहयोग गरेँ भन्ने कुरा सबैले देखेको भन्दै उहाँले अगाडि थप्नुभयो, “भरतपुर महानगरपालिका अहिले कहाँबाट कहाँ पुग्यो ? तपाईंहरूले देख्नुभएको छ ।”

यहाँका ठूला विकास निर्माणमा आफ्नो ध्यान पुगेको भन्दै उहाँले भन्नुभयो, “म अर्काे जिल्लाको जनप्रतिनिधि भए पनि प्रधानमन्त्रीको हिसाबले विमानस्थल विस्तारको कुरा होस्, गौतमबुद्ध क्रिकेट रङ्गशालाको कुरा होस्, चाहे शक्तिखोर औद्योगिक क्षेत्रलाई अघि बढाउने कुरा होस्, चाहे नारायणी र राप्तीमा तटबन्धन निर्माण अगाडि बढाउने कुरा सबैमा मेरो ध्यान पुगेको छ ।”

सुकुम्बासी समस्या समाधान हुने प्रक्रिया सुरु भइसकेको भन्दै उहाँले भन्नुभयो, “यसलाई गति दिइन्छ र पूर्णतामा पु¥याइन्छ ।” चितवनमा कृषिमा आधुनिकीकरण गर्न पर्याप्त आधार रहेको भन्दै प्रधानमन्त्री दाहालले त्यसमा पनि आफ्नो ध्यान गएको बताउनुभयो ।

पछिल्लो समय देखिएका नयाँ दलहरूप्रति इङ्गित गर्दै उहाँले भन्नुभयो, “खहरे बढोे उर्लेर आउँछ, सुक्छ र केही दिनपछि कमिला हिँड्ने बन्छ ।” पुराना राजनीतिक दलहरूलाई सङ्केत गर्दै र ती दलहरूलाई नारायणी नदीसँग तुलना गर्र्दै भन्नुभयो, “नारायणी त्यस्तो हुँदैन, आफ्नो गतिमा बगिरहन्छ र महासागरमा पुग्छ ।”

नेपाली कांग्रेस र गठबन्धन दल भनेका निश्चित विचार, सिद्धान्त, मूल्य, मान्यता र इतिहास बोकेका विशाल नदीजस्ता पार्टी भएको भन्दै उहाँले खहरेसँग तर्सनुपर्ने आवश्यकता नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आँधी, बतास, हुरीजस्ता थुप्रै सहेर त्यसका विरुद्ध सतिसालझैँ उभिएर इतिहास बनाएका पार्टी हौँ, हामी कुनै आँधीहुरीसँग डराउनुपर्ने आवश्यकता छैन ।”

लोकतन्त्र, गणतन्त्र, संविधानका निम्ति एउटा मौलिक पहिचान जिल्ला चितवन भएको भन्दै उहाँले यो जिल्लाको अलग्गै पहिचान भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कुनै पनि हालतमा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्न दिनु हुँदैन ।”

आफू यस जिल्लामा पाँच वर्ष सांसद हुँदा यस क्षेत्रको उम्मेदवार जीतनारायण श्रेष्ठलाई नजिकबाट चिनेको भन्दै उहाँले उपनिर्वाचन हुने भएपछि पहिलो दिनदेखि नै यस क्षेत्रको उम्मेदवार श्रेष्ठ नै उपयुक्त हुन्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो । श्रेष्ठको गतिशीलता र आफ्नो कुरा प्रष्टसँग राख्न सक्ने क्षमता रहेको भन्दै यस्ता व्यक्तिले राष्ट्र र समाजका लागि केही गर्न सक्ने बताउनुभयो ।

सभामा ठट्टा गर्दै उहाँले यही गठबन्धनबाट निर्वाचित भएर अर्काे गठबन्धनबाट प्रधानमन्त्री भएपछि आफू र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैलाई रातमा निद्रा नलागेको बताउनुभयो ।

दाङमा खोलामा डुबेर १४ वर्षीया चेतनाको मृत्यु

काठमाडौं – दाङमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा लसीपुर उपमहानगरपालिका–१७ बनकट्टाकी १४ वर्षीया चेतना रावत रहेकी छिन् । बिहिबार दिउँसो हापुर खोलामा बाँधिएको कुलाको बाँधमा नुहाउने क्रममा रावतको डुबेर मृत्यु भएको हो ।

खोलामा डुबेकी किशोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रधानमन्त्रीविरुद्ध रास्वपाको उजुरी, कारबाही गर्न माग

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध तनहुँको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । आसन्न उपचुनावलाई लिएर बहालवाला प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ संयोजक सूर्यमणि पौडेलले कारबाही गर्न माग गरेका हुन् ।

पौडेलले प्रधानमन्त्री प्रचण्डले बिहीबार पूर्वप्रधानमन्त्रीहरूसहित नेपाली सेनाको हेलिकप्टर प्रयोग गरेर डुम्रेलगायतको क्षेत्रमा गएको र चुनावी सभामा भाषणको क्रममा गठबन्धनका उम्मेदवारलाई जिताएर पठाए मन्त्री, मुख्यमन्त्री बनाउनेजस्ता अनूचित प्रभाव पारेको भन्दै कारबाहीको माग गरेका हुन् ।

उजुरीमा गठबन्धनको उम्मेदवारको प्रचार प्रसारमा बहालवाला प्रधानमन्त्री संलग्न हुनु, उद्घाटन गर्ने बहानामा सेनाको हेलिकप्टर प्रयोग हुनु र निर्वाचनको बेलामा उम्मेदवारलाई भोट हालेर जिताए मन्त्री बनाउने सार्वजनिक अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण गराउन चाहेको बताइएको छ ।

एसिसी प्रिमियर कप क्रिकेट : मलेसियाले साउदी अरेबियालाई हरायो

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा मलेसियाले साउदी अरेबियालाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा भएको खेलमा मलेसियाले साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको हो । यसअघि भएको पहिलो खेलमा मलेसिया नेपालसँग ६ विकेटले पराजित भएको थियो । यसजितसँगै दुई खेल खेलेको मलेसियालले दुई अङ्क जोडेको छ ।

साउदी अरेबियाले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । आजको खेलमा साउदी अरेबियाले प्रस्तुत गरेको १५४ रनको लक्ष्य मलेसियाले २१ दशमलव २ ओभरमा २ विकेट गुमाउँदै पूरा ग¥यो ।

मलेसियाका मोहम्मद अमिर र वीरनदीप सिंहले अर्धशतकीय पारी खेले । अमिरले ४४ बलमा १२ चौकाको मद्दतमा सर्वाधिक ५६ रनको योगदान दिए । त्यस्तै वीरनदीप सिंहले ५३ बलमा ८ चौकाको मद्दतमा ५१ बनाए । मलेसियाका अर्का खेलाडी सैयद अजिजले अविजित ३४ रन जोडे । साउदी अरेबियाको लागि जइन उल अबिदीनले दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउदी अरेबियाले ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योफगल बनाएको थियो । साउदीका लागि हसिब घफोरले सर्वाधिक ४० रनको योगदान दिए भने अब्दुल वाहिदले ३६ रन बनाए । त्यसैगरी कप्तान हिसम शेखले २७ तथा अतिफ उर रहमानले अविजित १८ रन बनाए ।

बलिङर्फ मलेसियाका खिजर हायातले तीन विकेट लिए भने मोहम्मद वाफिक, रिजवान हैदर र अनवर रहमानले समान दुई÷दुई विकेट लिए । त्यस्तै वीरनदीप सिंहले एक विकेट झारे ।

निर्वाचनमा उम्मेदवारभन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्छ : महासचिव पोखरेल

लुम्बिनी – नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले हरेक निर्वाचन उम्मेदवारको भन्दा पार्टीको मुख्य मुद्दा बन्नुपर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा उम्मेदवारले नभएर पार्टीले उसको अभियानलाई नेतृत्व गर्नुपर्ने उल्लेख गर्नुभयो ।

एमाले लुम्बिनी प्रदेशको ‘मिसन ग्रासरुट’ समीक्षा बैठकलाई आज बुटवलमा सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउन जनमत वृद्वि गर्नुपर्नेमा जोड दिनुभयो । “चुनावमा जित्ने मात्र खोज्ने नीति, विचार नबुझेको मान्छे खोज्ने हो भने पार्टी सङ्गठनलाई बलियो बनाउन र स्थायित्व दिन सकिँदैन”, उहाँले भन्नुभयो, “अबको चुनाव पार्टीको नेतृत्वमा जनताबीच भिजेका, विचार राम्रोसँग बुझेका र परिवर्तनमा योगदान दिएका व्यक्तिलाई उम्मेदवार बनाउँछौँ ।”

महासचिव पोखरेलले निर्वाचनमा पैसावाला प्रवृत्ति हाबी हुँदै गएको उल्लेख गर्दै यसलाई रोक्नुपर्ने बताउनुभयो । पैसावालाले मात्रै चुनाव जित्ने भनेर टिकट दिने प्रवृत्तिलाई फेर्नुपर्ने उहाँको भनाइ थियो । महासचिव पोखरेलले राजनीतिक अस्थिरता सिर्जना गर्न बलिया, पुराना राजनीतिक दल निर्माण हुन नदिने र कमजोर बनाउने खेल भइरहेको आरोप लगाउनुभयो । “एमालेका हरेक नेता तथा कार्यकर्ताले जनताको सरोकारमा ध्यान पु¥याउन आवश्यक छ”, उहाँले भन्नुभयो– “जनताको चासोमा ध्यान दिन नसके उनीहरुसँगको सम्बन्ध टुट्छ ।”

झुटो समाचार बनाउने युट्युव च्यानल बिरुद्ध ऐश्वर्य रायको छोरीको उजुरी

मुम्बई । ऐश्वर्या राय र अभिषेक बच्चनकी छोरी आराध्याले केही युट्युब च्यानलविरुद्ध दिल्ली उच्च अदालतमा निवेदन दिएकी छन् । 

यी युट्युब च्यानलले केही दिनअघि आराध्याको स्वास्थ्यको बारेमा झुटो समाचार चलाए पछि आराध्याले उजुरी दिएकी हुन । आफ्नो याचिकामा आराध्याले ती च्यानल र तिनका सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेकी छिन् । अदालतले २० अप्रिल अर्थात आज नै यस विषयमा सुनुवाइ गर्नेछ ।

दैनिक भाष्करका अनुसार आराध्याले ती यु–ट्युब च्यानलहरूबाट आफूमाथि बनाइएका सबै भिडियोले मनोबैज्ञानिक रुपमा त्रसित बनाएको र उनीहरुका कारण आफु पिडक बनेको भन्दै तीनहरूलाई हटाउन आदेश दिन अदालतलाई अपील गरेकी छिन्। उनले गुगल एलएलसी र इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालयलाई पनि याचिकामा बिपक्षी बनाएकी छन्। 

बच्चन परिवारले यस पिटिशनको बारेमा अहिलेसम्म कुनै बयान जारी गरेको छैन।

अमेरिकी डलरको भाउ बढ्याे, युरो घट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । लगातार चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको भाउ दुइदिन यता बढेको छ । बिहिबार डलरमा ३० पैसाले वृद्धि भएको छ । यसअघि बुधबार ११ पैसाले डलरमा वृदी भएको थियो । बिहिबार एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । यसअघि बुधबार उक्त डलरको खरिदमूल्य १३० रुपैयाँ ९७ पैसा र बिक्रीमूल्य १३१ रुपैयाँ ५७ पैसा कायमम गरिएको थियो । 

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोपियन युरो १८ पैसाले घटेको छ । बिशीबार युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १३ पैसा कायम गरिएको छ। बुधबार युरो एकको खरिदमूल्य १४३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो।  

बिहीबार बेलायती पाउण्ड स्टर्लिङ बढेको छ। यसको खरिददर १६२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५४ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ७ पैसाले घटेको हो । बुधबार यसको खरिदमूल्य १६२ रुपैयाँ ८६ पैसा र बिक्री मूल्य १६३ रुपैयाँ ६१ पैसामा कारोबार भएको थियो । 

त्यसैगरी, बिहीबार अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ८८ रुपैयाँ ३१ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९ पैसा कायम भएको छ भने कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९८ पैसा र बिक्रीमा ३६ रुपैयाँ १५ पैसा कायम गरिएको छ । 

बिहीबार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ५५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६९ पैसामा पाइनेछ । 

उता, कुवेती दिनार एकको खरिदमा बिहीबार ४२८ रुपैयाँ ९ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५ पैसा पाइन्छ भने आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २१ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८० पैसा तोकिएको छ।
 

र्‍यापर हनी सिंह र टिना थडानीबीच ब्रेकअप

काठमाडौं। भारतका लोकप्रिय र्‍यापर हनी सिंह र उनको प्रेमिका टिना थडानीबीच ब्रेकअप भएको छ । टिना पेशाले अभिनेत्री तथा मोडल हुन् । उनले कैयौं प्रोजेक्टमा काम गरिसकेकी छन् । हनी र टिना एक वर्षयता प्रेममा थिए । हनी आफैंमा डिभोर्सी पुरुष हुन् । उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्धा अदालतमा चलिरहेको छ ।

हनी र टिनाले इन्स्टाग्राममा अनफलो गरेका छन् । उनीहरुले एकअर्काको सामाजिक सञ्जालमा रहेका दुवैको तस्बिर हटाइसकेका छन् । हनी र टिनाले गत वर्षको अप्रिलबाट डेट शुरु गरेका थिए । उनीहरुलाई नजिकबाट जान्नेका अनुसार दुवैको जीवन निकै फरक छ । उनीहरु एकापसमा समझदारीमा नआइरहेको बेला दुवैले सहमतिमा अलग्गिने निर्णय लिएका हुन् । अलग्गिएपछि उनीहरु काममै व्यस्त छन् ।

हालैको एक अन्तरवार्तामा हनीले ब्रेकअपको संकेत गरेका थिए । उनले नयाँ एलबमको बारे कुरा गर्दै यो संकेत गरेका थिए । ‘मैले मेरो रोमान्टिक एलबममा निकै परिवर्तन गर्नुपर्यो । किनकी म पहिला प्रेममा थिएँ, अहिले त्यो प्रेम मसँग रहेन’, हनीले भनेका थिए ।

हनीले सन् २०११ मा शालिनीसँग विवाह गरेका थिए । तर उनीहरुले गत वर्ष अलग्गिने निर्णय लिए । हनीले क्षतिपूर्तिस्वरुप शालिनीलाई एक करोड रुपैंयाँ पनि दिनुपर्यो । तलवारले हनीमाथि घरेलु हिंसा र अर्की महिलासँग शारीरिक सम्बन्धको आरोप लगाएका थिए ।

चुनावी आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आज बारा जाँदै

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बारा जाँदै हुनुहुन्छ ।

बाराको पचरौतामा आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीले आज बारा जान लाग्नुभएको हो ।  

उपनिर्वाचनको प्रचार प्रसारको अन्तिम दिन आज आयोजना हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बारा आउन लाग्नुभएको एमाले पोलिटब्युरो सदस्य एवं बारा इन्चार्ज अच्युत मैनालीले जानकारी दिनुभयो । त्यसका लागि अध्यक्ष ओली दिउसो १२ः०० बजे सिमरा विमानस्थल पुग्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । 

बारा २ बाट नेकपा एमालेका पुरुषोत्तम पौडेल उम्मेदवार हुनुहुन्छ । 

अध्यक्ष ओली केही दिन अघि नै तीन वटै निर्वाचन क्षेत्रमा आयोजना हुने आमसभालाई सम्बोधन गर्न जाने कार्यक्रम भए पनि स्वास्थ्यमा केही समस्या आएका कारण  जान सक्नुभएको थिएन । आज बारामा हुने कार्यक्रममा भने अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो ।

यमनमा रकम (दान) वितरण कार्यक्रममा भागदौड, ७८ को मृत्यु 

साना ।  रमजानको अवसरमा यमनको राजधानी सानास्थित एउटा विद्यालयमा रकम (दान) वितरण कार्यक्रममा भागदौड हुदाँ ७८ जनाको मृत्यु भएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार रमजानको अवसरमा वितरण गर्न लागिएको रकम लिनका लागि सो बिद्यालयमा सयौं मानिस जम्मा भएका थिए । प्रतिव्यक्ति करिब ९ डलर (करिब ७ सय ४० रुपैयाँ) रकम दिइँदै गर्दा भएको भाग दौडमा परी ७८ जनाको मृत्यु भएको हो ।

यसरी, रकम वितरण गर्दा सुरक्षाको ख्याल नगरिएको भन्दै रकम वितरण गर्नेलाई प्रहरीमा हिरासतमा लिई अनुसन्धान सुरु गरिएको सुरक्षा अधिकारीले जनाएका छन । 
 

आज रातीवाट उपनिर्वाचनको मौन अबधि सुरु, प्रचार प्रसारमा रोक

काठमाडौं – आज रातीवाट उपनिर्वाचनको मौन अवधि सुरु हुदैँछ । बैशाख १० गते हुन गईरहेको उपनिर्वाचनका लागि आज राति १२ बजेबाट मौन अबधि सुरु हुन लागेको हो । 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचन प्रयोजनका लागि कुनै पनि खाले प्रचारप्रसार गर्न  आज राति १२ बजेबाट पाइने छैन र प्रचार प्रसार गरेको पाईएमा कारबाही हुनेछ । 

आगामी बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

उपेन्द्र यादवलाई मत माग्न सत्तारुढ गठबन्धनको शिर्ष नेता बारा जाँदै 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनमा आबद्ध शिर्ष नेता आज बारा जाँदैछन् । 

गठबन्धनमा आबद्ध जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई मत माग्नका लागि सत्तारुढ गठबन्धनका नेता बारा जान लागेका हुन । बारा–२ मा आज बृहत चुनावी सभा राखिएको छ । 

उक्त चुनावी सभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जान लागेका हुन ।
 

म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

काठमाडौं । म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३–० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएकाे हाे ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले  १–१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन ।

पहिलो हाफमा सिटीका हालान्डले पेनाल्टी चुकाएका थिए, जसका कारण पहिलो हाफ गोलरहित बराबरीमा रहन पुग्यो । तर, पेनाल्टीमा चुके पनि हालान्डले ५७औं मिनेटमा गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।

खेल रोमाञ्चाकारी र प्रतिस्पर्धात्मक हुदैँ जाँदा ८३औं मिनेटमा योसुवा किम्मिखले गोल गरे पछि खेल १–१ को बराबरीमा पुग्यो । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । 

त्यसपछि थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको भएपनि समग्रमा जित निकाल्दै सिटी सेमिफाइनलको यात्रा तय गर्न सफल भयो। 

१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिगकाे सेमिफाइनलमा

काठमाडौं, ७ बैशाख । इटालियन क्लब इन्टर मिलान युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोर्चुगिज क्लब बेन्फिकासँग ३–३ गोलको बराबरीमा रोकिएको भए पनि इन्टरले समग्रमा दोस्रो लेगमा ५–३ को जित निकाल्दै सेमिफाइनलको यात्रा पक्का गरेको हो । इन्टर पहिलो लेगमा २–० ले विजयी भएको थियो ।

खेल सुरु भएको १४औं मिनेटमा निकोला बरेल्ला गोलबाट इन्टरले अग्रता लिन सुरु गरेको थियो तर ३८औं मिनेटमा बेन्फिकाका फ्रेडरिकले गोल फर्काएर खेललाई पहिलो हाफमा नै १–१ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफको ६५औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गरेर इन्टरले २–१ को अग्रताको स्थीतिमा लगिदिए र त्यसको १२ मिनेट पछि अर्थात ७८औं मिनेटमा जोआक्विन कोरेआले गोल गरेपछि इन्टर खेलमा ३–१ को फराकिलो अग्रता कायम गर्न सक्यो । 

तर, इन्टरले लिएको अग्रता लामो समयसम्म टिक्न सकेन । ८६औं मिनेटमा एन्टोनियो सिल्भाले गोल गर्दै खेललाई ३–२ को स्थितिमा ल्याई दिए, त्यसमाथी इन्ज्युरी समयको ५ औंं मिनेटमा पिटर मुसाले थप गोल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याउन सफल भए । 

तर, पहिलो लेगमा पराजय भएका कारण बेन्फिकाको यात्रा क्वाटरफाइनलमै रोकियो भने पहिलो लेगमा २–० ले विजयी भएकाले इन्टरलाई भने सेमिफाइनलमा जान सजिलो भयो ।

सन् २००९–१० को सिजनमा इन्टरले बायर्न म्युनिखलाई पराजित गर्दै च्याम्पियन बनेको थियो । १३ बर्ष पछि इन्टर सेमिफाइनलमा प्रवेश गरे पछि उसले च्याम्पियन हुनका लागि आफनो नयाँ रणनीति बनाउने जनाईएको छ ।  

मातातीर्थ कुण्डमा भक्तजनको घुइँचो

काठमाडौँ – काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन साँझदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।

मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले यसपटक पाँच लाखभन्दा बढी भक्तजनले मेला भर्ने अनुमान गरिएको बताउनुभयो । मन्दिरका पुजारी फणीन्द्र अधिकारीले मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाट मुक्त हुने विश्वास रहेकाले भक्तजन मातातीर्थ आउने गरेको बताउनुभयो ।

आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाले भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । मातातीर्थ मेलाका अवसरमा आज चन्द्रागिरि नगरपालिकाले आफ्नो नगरपालिकाभित्र सार्वजनिक बिदासमेत दिएको छ ।

घरमा बनाउन सक्नुहुन्छ कट्टी रोल, यसरी बनाउनुहोस् !!

कट्टी रोल: चनाले बनेको यो अचम्मको परिकारले मुखमा पानी ल्याउनेछ, बच्चाहरूलाई पनि मीठो र अमिलो स्वाद मन पर्छ।

के तपाईंले चना भरेर रोल खानुभएको छ ? प्याज, टमाटर, क्याप्सिकम र मसलाको साथ चना पकाएर रोल तयार गरिन्छ। सबैले आफ्नो अमिलो मीठो र मसालेदार स्वाद मनपर्छ। यदि तपाइँ यसलाई बच्चाहरूको लागि बनाउन चाहनुहुन्छ भने, केवल खुर्सानी छोड्नुहोस्, उनीहरूलाई यो धेरै मन पर्नेछ।

कट्टी रोल बनाउनका लागि सामग्री

  • १४ कप उमालेको चना
  • टमाटर केचप
  • २ वटा प्याज
  • २ वटा हरियाे खुर्सानी 
  • १/४ चम्चा सुकेको आम पाउडर
  • २ चम्चा वनस्पति तेल
  • १/४ चम्चा जीरा
  • १ वटा रोटी
  • सानो कचौरामा हरियो चटनी
  • २ वटा टमाटर
  • नुन  आवश्यकता अनुसार
  • १/२ चम्चा धनिया पाउडर
  • १/४ चम्चा हींग

कट्टी रोल कसरी बनाउने

  • एउटा प्यानमा तेल तताएर त्यसमा हिंग र जीरा हाल्नुहोस्। केही समयपछि काटेको प्याज हाल्नुहोस् र एक मिनेटको लागि फ्राइ गर्नुहोस्। अब टमाटर, नुन, धनियाँ पाउडर, सुकेको आँपको धुलो हालेर राम्ररी मिलाउनुहोस्। मसलालाई साढे दुई मिनेट पकाउन दिनुहोस्। अन्तमा क्याप्सिकम थप्नुहोस् र अर्को मिनेटको लागि पकाउनुहोस्।
  • अब यसमा उमालेको चना र थोरै पानी हाल्नुहोस्। यसलाई राम्रोसँग पकाउन दिनुहोस्।

-रोल बनाउनको लागि सबैभन्दा पहिले एउटा प्लेटमा रुमाली रोटी राख्नुहोस्। रोटीमा टमाटो केचप राख्नुहोस् र माथि पुदीना चटनी फैलाउनुहोस्। अब तयार मसलालाई रोटीमा हाल्नुहोस् र त्यसबाट रोल बनाउनुहोस् र सेवा गर्नुहोस्।

एकै पटक २२ सट रक्सी हान्दा बेलायती पर्यटकको मृत्यु

काठमाडौ‌ । रक्सीको सेवन स्वास्थ्यका लागि सधैं हानिकारक हुन्छ । विशेष गरी रक्सी धेरै मात्रामा सेवन गर्दा घातक हुन सक्छ। 

भर्खरै पोल्याण्डको एक स्ट्रिप क्लबमा नाइटआउटको क्रममा ९० मिनेटमा २२ वटा रक्सी खाँदा एक बेलायती पर्यटकको मृत्यु भएको छ ।

एक साथीसँग वाइल्ड नाइट क्लब पुग्दा मार्क पहिल्यै मातेका थिए। अन्वेषकहरूका अनुसार मार्कले उनलाई धेरै रक्सी पिउनबाट रोक्न खोजेका थिए। तर, क्लबक स्टाफहरूले उनलाई थप पेय र शटहरू थप्न प्रोत्साहित गरे।

मार्क बेहोस हुनुअघि उनलाई शक्तिशाली पेय पदार्थको दुई दर्जन शट दिइयो र पछि उनको मृत्यु भयो। क्लबका कर्मचारीले पनि उनीसँग २ हजार २ सय पोलिश ज्लोटीसमेत लुटेको खुल्न आयो । 

पोल्याण्डका अधिकारीहरूका अनुसार मृत्युको समयमा उनको रगतमा कम्तीमा ०‍‍‍‍४ प्रतिशत अल्कोहलको मात्रा थियो। विशेष गरी, रगतमा अल्कोहलको मात्रा ०३ प्रतिशत वा सोभन्दा बढी भएको कारणले अल्कोहल विषाक्तता हुन सक्छ।

पोल्याण्डको केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्लबहरू एक र्याकेट चलाएको बताएको छ जसमा उनीहरूले ग्राहकहरूलाई पैसा चोर्नु अघि मादक पदार्थ दिन्छन्। 

सीबीएसपीका अनुसार सो गिरोहले पीडितहरूको मानसिक र शारीरिक अवस्थाको फाइदा उठायो र क्लबमा कथित रूपमा प्रस्ताव गरिएका सामान र सेवाहरूको लागि भुक्तानी कार्ड वा अन्य वित्तीय उपकरणहरू प्रयोग गरी भुक्तानी लेनदेनहरू सञ्चालन गरिएको थियो । 

एनएचएसका अनुसार, रक्सी विषाक्तता तब हुन सक्छ जब तपाईले रक्सी पिउनुहुन्छ, तपाईको शरीरले यसलाई प्रशोधन गर्न सक्ने भन्दा छिटो काम गर्न सक्दैन। यसले तपाईंलाई गम्भीर बिरामी बनाउन सक्छ र तपाईंले उपचारको लागि अस्पताल जानु पर्ने हुन सक्छ।

तपाइ पनि रक्सी खाँदा उत्तेजित नहुनुहोस् । नत्र मार्कको जस्तै ज्यान जान सक्छ । 

चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा ११ खर्ब

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा मुलुकको व्यापार घाटा झन्डै ११ खर्ब रुपैयाँ रहेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आव २०७९/८० को बितेका नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकनुसार मुलुकको व्यापार घाटा १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार रहेको छ । गत वर्षको सोही अवधिमा नेपालले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँको व्यापार घाटा बेहोरेको थियो । विभागले अपेक्षाकृत रूपमा व्यापार घाटा घटाउन नसकेको स्विकारेको छ ।

चालू आवको बितेका नौ महिनाको अवधिमा देशको कुल वैदेशिक व्यापार १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख ५३ हजार रुपैयाँबराबर भएको विभागले जनाएको छ । अघिल्लो आवमा १६ खर्ब २७ अर्ब २३ लाख ४९ हजार रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८९ प्रतिशतले न्यून हो ।

यस अवधिमा आयातसँगै निर्यातमा पनि कमी आएको तथ्यांकले देखाएको छ । नौ महिनाको अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको आयात भएको छ । यो अघिल्लो वर्षको तुलनामा १८ दशमलव ८ प्रतिशतले कमी हो ।

यस अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँबराबरको निर्यात भएको जनाएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको निर्यात गरेको थियो । निर्यात पनि २६ दशमलव ३४ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा भन्सार राजस्व भने केही बढ्न थालेको देखिएको छ । विभिन्न वस्तुमा लगाएको आयात प्रतिबन्ध हटेसँगै एक महिनामै ३३ अर्ब ३२ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजस्वमा सुधार हुन थालेको हो । यो समाचार राजधानी दैनिकमा छ ।

शिक्षकसँग गैरकानुनी रकम असुली

काठमाडौँ । शिक्षा विकास तथा समन्वय एकाइले स्थायी नियुक्तिपत्रका लागि शिक्षकसँग गैरकानुनी रूपमा शुल्क असुलेका छन्। शिक्षक सेवा आयोगले सिफारिस गरेका शिक्षकले नियुक्तिपत्र बुझ्न एकाइमा शुल्क बुझाउनैपर्ने बाध्यता सिर्जना गरिएको छ। त्यसरी शिक्षकसँग शुल्क लिन पाउने कानुनी व्यवस्था छैन।

मातहतका निकायले त्यसरी रकम असुलेको प्रवृत्तिप्रति केन्द्रीय निकायका पदाधिकारीले आपत्ति जनाउँदै त्यस्तो कार्यलाई गैरकानुनी भनेका छन्। त्यसरी रकम असुलिए पनि रकम फिर्ता वा सचेत गराउन सकेका छैनन्।

एकाइले जिल्ला शिक्षा समितिको नाममा रसिद काट्ने गरेका छन्। यस्तो रकम जिल्लाअनुसार फरक–फरक छ। प्राथमिक तहका शिक्षकसँग पाँच सयदेखि एक हजार रुपियाँसम्म, निम्नमाध्यमिक तहका शिक्षकसँग आठ सयदेखि एक हजार पाँच सय रुपियाँसम्म र माध्यमिक तहका शिक्षकसँग एक हजारदेखि दुई हजार रुपियाँसम्म सहयोगका नाममा रकम असुलिएको छ।

शिक्षक सरुवा गर्दा, स्थायी अध्ययन अनुमतिपत्र वितरण गर्दा पनि एकाइहरूले सम्बन्धित शिक्षकबाट समेत गैरकानुनी रूपमा रकम असुल्ने गरेका छन्। धादिङ, नुवाकोट, भक्तपुर, बाजुरा, अछाम, कपिलवस्तु, बाँकेलगायतका जिल्लाले यस्तो रकम उठाएका छन्।

नुवाकोटका एकाइ प्रमुख देवकुमार बरालले विगतदेखि कार्यालयको बडापत्रमै लेखेर शिक्षकको सरुवा, नियुक्तिलगायतका लागि सामान्य रकम लिने व्यवस्था गरिएको र सोही व्यवस्थाअनुसार शिक्षकसँग रकम उठाइएको तर्क गरे ।

नुवाकोटमा हालै २२५ जना प्राथमिक तह तृतीय श्रेणीका शिक्षकको पदस्थापना गरिएको छ र उनीहरूसँग प्रतिशिक्षक एक हजार रुपियाँ उठाइएको छ। उनले शिक्षकसँग लिइएको रकम उनीहरूको स्वागत, परिचयात्मक कार्यक्रम गर्दा चियापानमा खर्च हुने गरेको बताए । यो समाचार गोरखपत्र दैनिकमा छ ।

अयोग्य लडाकुलाई राहत दिन कार्यविधि तयार

काठमाडौं । विदेशमा बसेको अयोग्य लडाकुले नेपालमा आएको बेला आफ्नो जिल्लाको प्रशासन कार्यालयमार्फत २ लाख रुपियाँ राहत लिन पाउने भएका छन् । मृत्यु भइसकेका अयोग्य लडाकुको हकमा भने कानुनबमोजिम निजको नजिकको हकदारले उक्त राहत रकम पाउने भएका छन् ।

गृह मन्त्रालयले बुधबार सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०७९ जारी गर्दै यस्तो जानकारी दिएको हो । कार्यविधिको परिच्छेद ३ को दफा ४ को उपदफा ४ मा ‘अयोग्य लडाकु हो भनी पहिचान भएको तर निज हाल नेपालमा नरहेको अवस्था भएमा निज नेपालमा आएको बखत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट दुई लाख राहत उपलब्ध गराउनेछ’ भन्ने उल्लेख छ ।

त्यस्तै, सोही परिच्छेदको उपदफा ५ यसरी उपलब्ध गराइने राहत रकम पहिचान भएका अयोग्य लडाकुको खातामा जिल्ला प्रशासन कार्यालयले जम्मा गर्ने र यसरी उपलब्ध गराएको राहत रकमको विवरण जिल्ला प्रशासन कार्यालयले मासिक रुपमा गृह मन्त्रालयमा पठाउने उल्लेख छ । यसअघि कार्यविधिको अभावमा अयोग्य लडाकुहरूलाई रकम वितरण गर्न समस्या परेको थियो ।

लडाकुले नागरिकता प्रमाणपत्रबमोजिम लडाकुको वास्तविक नाम, थर र ठेगानासमेतका आधारमा अयोग्य लडाकु हो भनि पछिसम्म फरक नपर्ने गरी एकिन र पहिचान गरेर गृह मन्त्रालयमा पठाउनेछ । सो प्रमाणपत्रको आधारमा गृह मन्त्रालयले अयोग्य लडाकुको विवरण प्रमाणीकरण गरी स्वीकृत गरेपछि जिल्ला प्रशासन कार्यालयले २ लाख रुपियाँ सम्बन्धित अयोग्य लडाकु वा प्रमाणित भएका आफन्तको खातामा दिने व्यवस्था कार्यविधिले गरेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा ‘बार्गेनिङ’ गर्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्का विषयगत समिति गठनपछि मात्र प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नुपर्ने अडान राखेकाले लामो समयपछि बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन बनेको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गर्न बुधबार परिषद् बैठक बोलाइएको थियो। ओलीले पहिला संसदीय समिति भागबन्डा गर्नुपर्ने अडान राखेकाले परिषद् बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि नाम सिफारिस गर्न नसकेको हो।

प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न बोलाइएको परिषद् बैठकमा एमालेले संसदीय समितिका सभापति भागबन्डा गर्न खोजेको बताउँदै स्रोतले भन्यो, ‘एमालेले सर्वोच्च अदालतका केही न्यायाधीशसँग प्रतिशोध लिन खोजेजस्तो देखिएको छ।’

तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्न दुईपटक गरेको सिफारिसलाई सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसबेला न्यायाधीश हरिकृष्ण कार्की मात्र होइन, पहिला एमालेबाट संविधानसभा सदस्य र पछि न्यायाधीश बनेकी सपना मल्ल प्रधानले पनि विघटनको कदमप्रति सहयोग नगरेको ओलीको बुझाइ छ।

प्रतिनिधिसभा विघटनको सिफारिस गैरसंवैधानिक भएको ठहर सर्वोच्चले गरेपछि कार्कीसँग रुष्ट ओली विभिन्न बहाना बनाएर उनलाई प्रधानन्यायाधीश हुनबाट रोक्ने प्रयासमा जुटेको दाबी गर्दै स्रोतले भन्यो, ‘उहाँ ९ओली० कार्कीसँग प्रतिशोध साँध्ने तयारीमा भएजस्तो देखिएको छ।’

कार्की अहिले कायममुकायम प्रधानन्यायाधीश छन्। यस आधारमा प्रधानन्यायाधीश हुने रोलक्रम उनको हो। आगामी भदौ चौथो सातासम्म प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया रोक्न सके कार्की प्रधानन्यायाधीश बन्न पाउँदैनन्। यो समाचार नागरिक दैनिकमा छ ।

आज सूर्य ग्रहण : नेपालबाट नदेखिने, बार्नु पनि पर्ने

सुरेशचन्द्र रिजाल — वैशाख ७ गते बिहीबार तदनुसार  अप्रिल २० तारिखका माता तीर्थ अैाशीका दिन बिहान मेष राशि र अश्विनी नक्षत्रमा लाग्ने सूर्यग्रहण नेपालकाे कुनै पनि भूभागबाट देखिँदैन । जसकारण नेपालमा कुनै पनि प्रकारका दाेष नलाग्ने र बार्नु पनि पर्दैन । ग्रहण अन्य देशमा बिहान ७ बजेदेखि मध्यान्ह १२ बजेसम्म भनिए पनि स्थानीय समयअनुसार फरक फरक समयमा लाग्नेछ । 

बिहीबार बिहान सूर्याेदयसँगै  पूर्वी एसियाली देश इण्डोनेसिया, मलेसिया, अष्ट्रेलिया, मकाउ, ताइवानलगायत पूर्वी चीनबाट पनि ग्रहणकाे प्रत्यक्ष अवलोकन गर्न मिल्नेछ । बिहीबार लाग्ने ग्रहण युरोप, अमेरिकालगाएतका अन्य कुनै पनि देशहरुबाट देखिने छैन । शास्त्रीय नियमअनुसार नदेखिएको ग्रहणबाट कुनै पनि प्रकारका दाेष नलाग्ने हुँदा बार्नुन पनि पर्दैन । 

अश्विनी नक्षत्र,बिहीबार,पर्व विशेष माता तीर्थ अैांसी तथा मेष राशिमा लाग्ने ग्रहणलाई शास्त्रले अशुभ व्याख्या गरेकाे पाइँदैन  । विशेषगरी मेष, कन्या, बृश्चिक, मकर र मीन राशिका मानिसहरुले सावधानी अपनाउनु पर्नेछ । 

माता तीर्थ अैांशी अश्विनी नक्षत्र, बिहीबार, मेष राशिमा परेकाे ग्रहणयाेग दान, तर्पण तथा कुनै पनि प्रकारका मन्त्र साधना गर्नका लागि भने अतिशुभ मानिएको छ । जन्म कुण्डलीमा नागदाेष या कुनै पनि प्रकारका ग्रहण दाेष याेग परेकाे छ भने विधिअनुसार पूजा तथा आराधना गर्नाले सम्पूर्ण दाेषमुक्त हुने शास्त्रमा उल्लेख गरिएको छ। 

बृहस्पति अस्त भए पनि नित्य पूजा तथा नियमितरूपमा मन्त्र जाप गरिएका मन्त्रहरु साधना गर्ने कुनै प्रकारकाे दाेष नलाग्ने त्यसमा पनि  बृहस्पतिबार शुभबार भएकाले साधना पूरा हुने उल्लेख गरिएको छ। बिहीबार बिहान ९ बजेर ५९ मिनेटसम्म मात्रै औंसी तिथि रहने पञ्चाङ्गहरुमा उल्लेख गरिएको छ । 

वैज्ञानिक तथा खगोलविद्का लागि यस्ताखाले खगोलीय घटनाहरुलाई विश्वभर निककै महत्वका साथ हेरिने भएकोले यसकाे चर्चा अधिक मात्रामा हुनेगरेकाे हाे । एक पटक लागेको ग्रहण पुन: दोहोरिन मानिसले धेरै लामो समय पछिमात्रै ठिक यही समयमा यस्तैखाले ग्रहण देखा पर्दछ । अत:लामो समय कुर्नुपर्ने भएकाले पनि  यस्ता ग्रहण याेगका  पर्वलाई विशेष महत्वका साथ शास्त्रमा व्याख्या गरिएको छ । 

(लेखक सुरेशचन्द्र रिजाल ज्याेतिष तथा वास्तुविद् हुन् ।)

आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौं। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । 

  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 

आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने पर्व

काठमाडौं । आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । 

आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने  सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी यो पर्व मनाईदै आएको छ । आजको दिनमा मातातीर्थ  सम्झना गरिन्छ ।

सनातन धर्मले मातापिताको दैनिक दर्शन, पूजन, सेवा, भोजन आदि गराउन अनादिकाल देखि नै सिकाउँदै आएको छ । तर सबै सन्ततिलाई दैनिक रूपमा मातापिताको समिप रहन र उनीहरुको सेवासुश्रूषा गर्न सम्भव नहुने भएकाले त्यही पवित्र कर्मको वार्षिक उत्सवको रूपमा मातातीर्थ औंसी तथा बैशाख कृष्ण औँसीलाई लिइएको हो ।

भगवान रामले बनाए मातातिर्थ कुण्ड

त्रेतायुगमा दशरथपुत्र मर्यादा पुरुषोत्तम श्रीराम वनवास कालमा लक्ष्मण र सीताका साथमा घुम्दै हालको मातातीर्थको स्थलमा पुगे । तर, भगवान राम भन्ने थाहा नपाएर अपरिचित ब्यक्ति सम्झदै  स्थानीयले उनीहरु माथी आक्रमण गर्न सुरु गरे । त्यसपछि श्रीराम र स्थानीयका बीचमा घमसान युद्ध भयो । सो घमसान युद्धमा दुवै पक्ष थकित र भोक–प्यासले आकुलब्याकुल भए । माता सीता पनि प्यासले आकुल ब्याकुल भईन । 

माता सिता पानि प्याँसले आकुल ब्याकुल भए पछि भगवान रामले वरिपरि पानीको खोजी गरे कतै पनि पिउनका लागि पानी भेटिएन । पानी कतै पनि नभेटिएपछि भगवान् श्रीरामले गंगा मातालाई पुकार्न थाले । ‘माता गंगासमो तीर्थ पिता पुस्कर मे वचः’ भन्दै जब श्रीरामले माता गंगालाई पुर्कादै जमिनमा बाण प्रहार गरे, छेउमै पानीको कुण्ड बन्यो । उक्त कुण्डमा पानी उघाउन जाँदा सीताजीले सारा ब्रह्माण्डको दर्शन पाइन । कुण्डको जलमा उनको छाया पर्नासाथ भित्रको ढुंगामा उनको मूर्ति समेत कुँदिन पुग्यो । यसरी साक्षात् गंगा मातालाई आह्वान गरी भगवान् श्रीरामले उत्पत्ति गरेको पवित्र कुण्डलाई मातातीर्थ भनिन थालिएको धार्मिक मान्यता छ । 

अर्को किवदन्ती

प्राचीन समयमा गाई चराउन आएका गोठालाहरूले कुण्डको नजिकै बसेर खाजा खाइरहेका थिए । एउटा गोठालाले रोटी खान खोज्दा मुखमा रोटी नपरी नजिकैको कुण्ड भएतिर जान थाल्यो । रोटीको पछि लागेर कुण्डमा गएर हेर्दा त्यो गोठालोले मृत्यु भईसकेकी आमाको दर्शन पाएछ । घर फर्कने बेलामा गोठालाले आमालाई सँगै घर लाने र आमाबिना एक्लै नफर्कने जिद्दी गर्न थाले ।

त्यसपछि कुण्डमा छाँयाको रुपमा आएकी आमाले छोरालाई प्रत्येक वैशाख औंसीको दिन यस तीर्थमा सन्तानलाई आशीर्वाद दिन आउने वाचा गर्दै जिद्धी गर्दैै गरेका छोरालाई घर फर्काइन् ।

मृतक आमा पनि मातातीर्थमा आउने जनविश्वास रहदैँ आएको छ ।  कुण्डमा आज पनि दिवंगत आमाहरू आई सन्तानले दिएको पिण्ड–तर्पण प्राप्त गरी पूर्वयात्रामा फर्किन्छन् भन्ने विश्वासले यस पवित्रस्थललाई मातातीर्थ भनिएको हो ।

आजको मौसम: मधेस प्रदेश बाहेकका पहाडी भू–भागमा पानी पर्ने

काठमाडाै‌ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू–भागहरुको मौसम समान्यतया सफा रहेको छ।

दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।

राती भने देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी  भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका केहि स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ।